Category: साहित्य / ब्लग

  • बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

    बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

    काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।

    यसैगरी, प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।

    लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, संगीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–संगीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीबृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टंक वनेमले बताए ।

    रसिकका क्षितिजलाई छुन खोज्दा (कथा संग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह, २०२७), रसिकका गीतहरू (गीत संग्रह, २०४५), आकाशगंगाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५), बिलाउँदै गएका गीत (कथा संग्र्रह, २०५८), दशगजामा उभिएर हेर्दा (उपन्यास, २०६३), स्वाधिनताको पीडा (गीत संग्रह, २०६८), पेरुङ्गो संस्करण (पाँच कृति, २०७३) लगायत मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १ र २), ओ ! शून्यता (सी.डी.) आदि प्रकाशित छन् ।

    यसैगरी, लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध (कथाकृति, २०६०) प्रकाशित छ भने फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उनी मुन्धुमी ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न रहेका छन् ।

    सम्मानको राशि नगद पचास हजार र पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानका महासचिव चोक गुरुङका अनुसार सम्मान तथा पुरस्कार चैत्र महिनाको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्नेे कार्यक्रम रहेको छ ।

    सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् भने गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो ।

    यसैगरी, प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।

  • महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालाई अनुरोध र मेरो आँखा अगाडि डा. शेखर कोइराला

    महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालाई अनुरोध र मेरो आँखा अगाडि डा. शेखर कोइराला

    एकातिर रवि लामिछानेको घण्टी बजिरहेछ । अर्कोतिर बालेन शाहको ट्वीटर दौडिरहेको छ । अर्कोतिर राणा, पञ्चायत, माओवादी, एमाले, कांग्रेसलगायतको कुशासनले गर्दा नेपाली जनमानसमा आएको निराशा भोटमार्फत नेपाली कांग्रेस पार्टीमा पोखिएको छ ।

    यसको प्रमाण नेपाली कांग्रेस किल्ला चितवन र तनहुँमा विगतमा बजेको घण्टी र निर्वाचन परिणामले संकेत गरेको छ । नेपाली कांग्रेसले पहिले गम्भीर समीक्षा गरी पार्टीभित्र एकताको सन्देश दिनुपर्ने भएको छ । गिरेको शाख बढाउन, एकताको आभाष दिन गुट, उपगुटबाट माथि उठ्ने, समाजवादी समृद्धिको नारा बुझ्ने, सहिदको सपना साकार गर्नसक्ने, एकताको सन्देश भर्नसक्ने नेता नेपाली कांग्रेसभित्र खोजी गर्नु अपरिहार्य भएको छ ।

    डा. शेखर कोइराला, माननीय गगन थापा र विश्वप्रकाश शर्मा, हरेक दिन यी तमाम बेतिथिलाई थिति बसाल्न अब नेपाली कांग्रेस पार्टीको नेतृत्वमा नै सरकार बनाइ तमाम समस्या हल गर्न र जनविश्वास प्राप्त गर्न नेपाली कांग्रेसले पहल गर्नुपर्छ भनिरहनु भएको छ ।

    नेपाली कांग्रेस बलियो बनाउन अब सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा वरिष्ठ नेता डा. शेखर कोइराला अब उप्रान्त एकै ठाउँमा उभिनुपर्छ । यसमा नै नेपाल र नेपाली कांग्रेसको भलो हुन्छ ।

    सबैले आ-आफ्ना दावेदारी प्रस्तुत गरिरहँदा हामी कांग्रेसीहरुले कसले कस्ता एजेण्डाहरु बोकिरहेका छौं ?

    • विगतमा पदमा रहँदा कसले कार्यकर्ता र जनताका कुरा सुने ?
    • कसले व्यक्तिगत स्वार्थ त्यागेर मुलुक र जनताका लागि राजनीति गरे ?
    • कसले वर्तमान संकट निवारणमा सही कार्यदिशा दिनसक्छ ?
    • कांग्रेसलाई मुलुककै पहिलो पार्टी बनाउने आधार कसले तयार गर्दैछ ?

    भन्ने मुख्य कुरामा ध्यान दिन जरुरी छ ।

    किन डा. शेखर कोइरालालाई पार्टी सभापति बनाउनुपर्ने ? मेरो आत्माले देखेको डा. शेखर कोइराला यस्तो हुनुहुन्छ ! डा. शेखर कोइराला, माननीय गगन थापा, विश्वप्रकाश शर्मा हरेक दिन यी तलका बेतिथिविरुद्ध प्रस्ट आवाज उठाउने नेता हुनुहुन्छ ।

    उहाँ के भनिरहनु भएको छ भने

    • भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आमजनतामा निराशा बढाएको,
    • कोशी प्रदेशमा दुई–दुई पटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको,
    • प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको,
    • सरकार गठनको एक वर्ष पुग्दा पनि आमजनताले राहत नपाएको,
    • सरकारले जनहितको लागि डेलिभरीका काम गर्न नसकेको,
    • विवादास्पद व्यक्तिलाई नियुक्ति दिएर निराशा बढाउने काम गरेको,
    • जनभावनाअनुसार विकासको काममा सरकार पूर्ण असफल भएको,
    • केन्द्रले प्रदेश सरकारलाई संविधानले किटानी गरेको अधिकार दिन इन्कार गरेको,
    • चारैतिर अन्योल र असमञ्जस्य स्थिति रहेको,
    • बेरोजगार बढेको,
    • देशको आर्थिक अवस्था खस्केर Economy Crash हुने अवस्था आएको,
    • अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको,
    • नागरिकमा व्यापक फ्रस्ट्रेशन आएको,

    नेपालको राष्ट्रियतामा खिया लाग्दै गएको स्थिति जगजाहेर छ ।

    डा. शेखर कोइराला, माननीय गगन थापा र विश्वप्रकाश शर्मा, हरेक दिन यी तमाम बेतिथिलाई थिति बसाल्न अब नेपाली कांग्रेस पार्टीको नेतृत्वमा नै सरकार बनाइ तमाम समस्या हल गर्न र जनविश्वास प्राप्त गर्न नेपाली कांग्रेसले पहल गर्नुपर्छ भनिरहनु भएको छ ।

    यति गहिरो र यथार्थपरक प्रस्ट कुरा राख्ने, परिस्थिति नियाल्ने, सूक्ष्म विश्लेषण गर्ने र समाधानको लागि नेपाली कांग्रेस पार्टी र नेपाल सरकारलाई सल्लाह दिने नेता मैले भेटेको छैन । २०४६ सालयताका हरेक राजनीतिक घटनाक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएर डा. शेखर कोइरालाले पार्टीभित्र पुर्‍याएको योगदानको कदर गर्ने हो भने अब उनकै नेतृत्वमा कांग्रेस व्युँतिनेमा दुई मत छैन । १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण आन्दोलनमार्फत निमिट्यान्न गर्न स्वर्गीय गिरिजाप्रसाद कोइरालाले शेखर कोइरालालाई जति विश्वास गरे, त्यत्ति अन्य पात्रलाई गर्न सकेका थिएनन् ।

    डा. शेखर कोइरालाले तत्कालीन माओवादीसँग सात राजनीतिक दलहरुबीच १२ बुँदे सम्झौता गर्न गराउन खेलेको सकारात्मक भूमिकाकै कारण आज देश शान्तिपूर्ण राजनीतिमा छ । विगत २० वर्षयताको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक परिस्थिति र परिवेशलाई प्रत्यक्ष भोग्दै, अनुभूत गर्दै आएका, देशका ७७ वटै जिल्लाका नेता कार्यकर्ताहरुसँग समान धारणा बनाएर पार्टी र संगठनलाई विधि तथा प्रक्रियाबाट चलाउनुपर्छ भन्ने एकमात्र ध्येय बोकेर राजनीति गर्ने डा. कोइरालाले अब कांग्रेसलाई काँध थाप्नुको विकल्प छैन ।

    पछिल्लो समय पार्टीलाई नीतिनियमले चलायमान बनाउने भन्दा भित्र व्यक्तिवाद हावी भइरहेको छ । त्यसलाई समाप्त पार्न र पार्टीलाई विधिविधानमा चलाउन पनि डा. शेखरको लिडरसीप अनिवार्य छ । डा. शेखर कोइरालाले १३औं महाधिवेशनबाटै पार्टीलाई व्यापक पुनर्संचरनाको कुरा उठाएका छन् ।

    पछिल्लो समय पार्टीलाई नीतिनियमले चलायमान बनाउने भन्दा भित्र व्यक्तिवाद हावी भइरहेको छ । त्यसलाई समाप्त पार्न र पार्टीलाई विधिविधानमा चलाउन पनि डा. शेखरको लिडरसीप अनिवार्य छ । डा. शेखर कोइरालाले १३औं महाधिवेशनबाटै पार्टीलाई व्यापक पुनर्संचरनाको कुरा उठाएका छन् । पार्टीको स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवाहरुको सहभागिता गराउने डा. शेखरको रणनीति अहिलेको परिवेशमा सबैभन्दा श्रेष्ठ रणनीति हो । आगामी निर्वाचनमा पार्टीलाई पुनः एक नम्बर बनाउने सवालमा डा. कोइरालाले युवाहरुको भूमिका बढाउन खोज्नुभएको छ । यसले देशव्यापी रुपमा निष्क्रिय रहेका युवा पंक्तिलाई जागरुक गराएको छ ।

    कांग्रेसको १३औं महाधिवेशनमा सर्वाधिक लोकप्रिय मत ल्याएका डा. शेखर कोइराला एकमात्र यस्ता पात्र हुन्, जसलाई पुराना र नयाँ दुवै पुस्ताले उत्तिकै रुचाउँछन् । देश विदेशका हरेक राजनीतिक, आर्थिक, सामाजिक परिस्थितिलाई सूक्ष्म विश्लेषण गर्नसक्ने, आम युवाहरुको विचार र मनोभावनाको प्रतिनिधित्व गर्नसक्ने भनेकै डा. शेखर हुन् । स्पष्ट वक्ता, अध्ययनशील र जनताका हरेक सुखदुःखमा सहयात्री बनेर गाउँघर डुलेका डा. शेखरसँग व्यवस्थापनको कुशल अनुभवसमेत छ ।

    दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग बसाल्ने डा. कोइरालाले कांग्रेसको नेतृत्व गरे पार्टी र मुलुकको विकासमा ठूलो टेवा पुग्नेमा दुई मत छैन । नेतृत्वले सांगठनिक रुपमा पार्टी र देशलाई कसरी अगाडि बढाउने स्पष्ट रेखा कोर्न सकेन भने त्यो पार्टी भुत्ते हुन जान्छ । उहाँले पहिलो पंक्तिका नेताहरुलाई सम्मानजनक पदस्थापन गरेर दोस्रो र तेस्रो पंक्तिका नेता तथा कार्यकर्ताहरुलाई अगाडि ल्याउने उद्घोष गर्दैगर्दा त्यसले कांग्रेसभित्र नेतृत्व तयार गर्ने अभियान चल्नेछ । युवाहरु स्वःस्फुर्त पार्टीका कार्यक्रमहरुमा सक्रिय रहनेछन् । त्यसमाथि डा. कोइरालाले एक कार्यकालमात्र सभापति भएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनिरहँदा त्यसले कांग्रेसलाई पुनर्संरचनामा जाने आधार पनि तयार हुनेछ ।

    अर्कोतर्फ जनआन्दोलनमा सहिदहरुले देखाएको मार्ग स्मरण गरिरहने, समानता, सराबरा, हराभरा, विकास, समृद्धि र समाजवाद प्राप्तिको दीर्घकालीन लक्ष्य लिने, बौद्धिक र विज्ञहरु खोजी गरी राष्ट्र निर्माणको लागि जिम्मेवारी दिने र सम्मान दिने, Right man in Right place भन्ने, राष्ट्रियताको पक्षमा दरो खरो र प्रस्ट अडान राख्ने, तत्काल, मध्यकालीन र दीर्घकालीन योजनाको बारेमा सोच भएको सालीन भद्र र बौद्धिक नेतामा हुने गुण पाउँछु म डा. शेखर कोइरालामा ।

    देश विदेशका हरेक राजनीतिक, आर्थिक, सामाजिक परिस्थितिलाई सूक्ष्म विश्लेषण गर्नसक्ने, आम युवाहरुको विचार र मनोभावनाको प्रतिनिधित्व गर्नसक्ने भनेकै डा. शेखर हुन् । स्पष्ट वक्ता, अध्ययनशील र जनताका हरेक सुखदुःखमा सहयात्री बनेर गाउँघर डुलेका डा. शेखरसँग व्यवस्थापनको कुशल अनुभवसमेत छ ।

    विगतमा नेतृत्वहरुले पार्टी भन्दा पनि व्यक्तिगत स्वार्थ हेर्दा कांग्रेसको धरातल कमजोर भएको हो । माननीय गगन थापा त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दा म त्यहीँ बीएस्सी पढ्थें । हामी निकै मिल्ने दाजुभाइ जस्तो थियौं । हामी कालो चिया खाएर रमाउँथ्यौं । विश्वप्रकाश शर्मा र म निकै नै हितैषी थियौं । विश्वप्रकाश शर्मा त मलाई औधी माया गर्नुहुन्थ्यो । निकै मिल्ने दाजुभाइ जस्तो थियौं ।

    नेविसंघ जुझारु बनाउँथ्यौं । गगन थापा, विश्वप्रकाश शर्मा होनहार छन् । तर, उहाँहरुले पनि हतार गरी TOP नेतृत्वमा डा. शेखर कोइरालासँग प्रतिस्पर्धा गर्न खोजे उनीलाई अरु घाटा हुने मैले देखेको छु । डा. शेखर कोइरालापछि म स्वाभाविक रूपमा गगन थापाको विकल्प देख्दिनँ । गगन थापालाई हामीले डा. शेखर कोइरालापछि नेपाली कांग्रेस पार्टी सभापति र प्रधानमन्त्री बनाउनुपर्छ । त्यसपछि विश्वप्रकाश शर्माको पालो आउने नै छ र गगन थापा, विश्वप्रकाश शर्मा उदाउँदा तारा हुन् । उनीहरुसँग समय छ । विचार छ । नैतिकता छ ।

    हामीले गगन थापा, विश्वप्रकाश शर्मासँग भएको उमेर समय, विचार र नैतिकतालाई जोगाइ जोगाइ हिँड्नु छ । यहाँ कसैले उक्साहट र मुख्याइँ गर्न जरुरी छैन । एउटा उखान छ नि ‘ढिलो हिँडे पक्कै पुगिन्छ तर हतार गरे भन्न सकिन्न’ र दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ । यो कुरा अकाट्य छ । कुनै पनि चिज प्राप्त गर्न हतार गरे, त्यसले दुर्घटना निमत्याउन सक्छ । ठूलो पार्टीको राजनैतिक नेतृत्व केबल व्यक्तिको इच्छा पूर्ण गर्न हुनुहुँदैन । यो इच्छासँग नेपाल र नेपालीको भविष्य जोडिएको हुन्छ । त्यसैले त्यै नेतृत्व छान्दा अब बृहत परिवेश हेर्ने र सोच्नुपर्ने हुन्छ । तर, गगन थापाले डा. शेखर कोइरालासँग उक्साहटमा हतार गरी डा. शेखर कोइरालासँग पन्ध्रौं महाधिवेशनमा प्रतिस्पर्धा गर्दा गगन थापालाई धेरै घाटा हुने मैले देखेको छु । मैले त देखेको कुरा मात्र नडराइ नलुकाइ प्रस्ट राखिदिने हो ।

    गगन थापाले डा. शेखर कोइरालासँग उक्साहटमा हतार गरी डा. शेखर कोइरालासँग पन्ध्रौं महाधिवेशनमा प्रतिस्पर्धा गर्दा गगन थापालाई धेरै घाटा हुने मैले देखेको छु । मैले त देखेको कुरा मात्र नडराइ नलुकाइ प्रस्ट राखिदिने हो ।

    तसर्थ, पुनः भन्छु कि नेपाली कांग्रेस पार्टीभित्र बृहत एकताको सूत्र भनेको आदरणीय शेरबहादुर देउवाको प्रस्तावमा र गगन थापा, विश्वप्रकाश शर्मालगायतको समर्थनमा डा. शेखर कोइरालालाई भविष्यको नेपाली कांग्रेस पार्टी सभापति घोषणा गर्नु नै हो । यसले देशभर पार्टी एकताको सन्देश जानेछ । गाउँ-गाउँमा कार्यकर्ताको मनोभावना उच्च भई नेपाली कांग्रेसका कार्यकर्ता जुझारु बन्नेछन् । यो झूटो कुरा होइन । मैले हजारौं नेता कार्यकर्तासँग संवाद, छलफल, सम्पर्क गरी बनाएको निचोड हो ।

    विदेशमा आउँदा शेरबहादुर देउवासँग धेरै समय सँगै बसेर कुराकानी गर्ने, विदेश घुमाउनेमध्ये म पनि एक कार्यकर्ता हुँ । आदरणीय शेरबहादुर देउवा मलाई चिन्नुहुन्छ, बुझ्नुहुन्छ र असाध्य माया गर्नुहुन्छ । मैले प्रत्यक्ष भेटेरै आदरणीय शेरबहादुर देउवालाई यी सबै भनेको पनि छु । अब गगन थापा, विश्वप्रकाश शर्मालाई भेटेर भन्नुपर्नेछ ।

    नेतृत्व परिवर्तनमा मेरो विशेष धारणा छ । यहाँ पस्कन चाहन्छु- हामीलाई रोग लाग्छ र मेडिकल डाक्टरमा जान्छौं पटक पटक । यी डा. रोग पत्ता लगाउँदैनन् । हामी डा. फेर्छौं, अस्पताल फेर्छौं । मेडिकल क्लिनिक फेर्छौं र

    हाम्रो बच्चा बोर्डिङ स्कुलमा पढाउँछौं । बच्चाको स्कुलको नतिजा पटक राम्रो नआउँदा हामी स्कुल नै फेर्छौं वा शिक्षक फेर्छौं । रेष्टुरेण्टमा खाना खान जान्छौं । तर, खाना राम्रो लागेन भने रेस्टुरेण्ट फेर्छौं । जुत्ता पुरानो भए जुत्ता फेर्छौं । चपाउने दाँत झरे कृत्रिम दाँत राख्छौं । त्यसैगरी चप्पल, लुगा, बेड, फोन, खाना, जागिर, व्यवसाय सबै फेर्ने कोसिस गर्छौं । यो ध्रुव सत्य हो ।

    तर, अफसोस असफल नेता चाहिं फेर्ने होइन कि फेर्नु पर्छ भनी उच्चारणसम्म गर्न सक्दैनौं । यो सब आश, लाभ र त्रासले भइरहेछ ।

    नेपाली कांग्रेस पार्टीले लिएको सिद्धान्त चाहिं व्यक्तिगत आश, त्रास र लाभविनाको हो । नेपाली कांग्रेस बलियो बनाउन अब सम्माननीय शेरबहादुर देउवा, माननीय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला अब उप्रान्त एकै ठाउँमा उभिनुपर्छ । यसमा नै नेपाल र नेपाली कांग्रेसको भलो हुन्छ । तसर्थ, डा. शेखर कोइरालालाई कम्तीमा एक पटक नेपाली कांग्रेस पार्टी सभापति र नेपालको भविष्यको प्रधानमन्त्री बनाउन कोसिसा गरौं । यसमा नै नेपाल र नेपाली कांग्रेस पार्टीको हित हुनेछ ।

    स्नेही
    आरके त्रिपाठी
    लण्डनबाट

  • मान्छे बनिदिऔं भन्दा !

    मान्छे बनिदिऔं भन्दा !

    सबै बन्न सजिलो तर, मान्छे बन्न गाह्रो रैछ । एकदिन च्याटमा कुरा गर्दैगर्दा उसले भनी, ‘तिमी आजभोलि के गर्दैछौं ?’ जवाफमा ‘मान्छे बन्ने प्रयास गर्दैछु’ भनें । ‘प्रयास मात्रै !’, भनेर ऊ गायब भै ।

    मान्छे बनाउन सजिलो छ । तर, बन्न साह्रै गाह्रो । ठट्टा गर्दागर्दै । त्यसो त ।

    प्रकृतिसँग ईश्वरसँग सम्बन्ध बनाउनुभन्दा पहिला मान्छेसँग मान्छेको सम्बन्ध बनाउन जरुरी हुन्छ ।

    भनिन्छ, मानव सभ्यताको इतिहास जान्ने हो, बुझ्ने हो भने असफलतालाई बुझ्नु पर्छ रे ! पहिलो विश्वयुद्ध, दोस्रो या जुनसुकै युद्ध केवल मानिस र मानिसबीचको लडाइँ हो । इगोको लडाइँ । यसकारण मानिसको सबैभन्दा ठूलो असफलता यो हो कि हामी मान्छे हुन सकेनौं वा मान्छे बनेनौं ।

    यद्यपि संसारको सारा धर्म, सम्प्रदाय, रीतिरिवाज, व्यवस्था, पठनपाठन, सामाजिक व्यवस्था, धर्मग्रन्थहरु, हरेक पुस्तकहरु, नीति ज्ञान, मनुस्मृति, गरुणपुराण, महाभारत, रामायण, बाइबल, कुरान आदि सबै मान्छेलाई मान्छे बनाउन लेखिएका नीति पुस्तक हुन् । तर पनि मान्छे, मान्छे हुन सकिरहेको छैन ।

    किन ?

    किनभने मान्छेसँग सम्बन्ध बनाइसकेपछि मात्र ईश्वर र प्रकृतिसँगको सम्बन्ध बल्ल अर्थपूर्ण रहन्छ ।

    कतै एउटा किताबमा पढेको थिएँ-

    ‘आज संसारमा दानव हिरो भएर बसेको छ ।

    संसारको कुनै पनि समस्या आर्थिक, सामाजिक या राजनीतिक होइन ।

    हरेक समस्या केवल अध्यात्मसँग जोडिएको हुन्छ रे !’

    हामीलाई ईश्वर, प्रकृति र मान्छेसँग हाम्रा सम्बन्धहरु कस्ता छन्, हुनेछन् र हुनुपर्छ भन्ने थाहा हुनुपर्छ । मान्छेसँग मान्छेको सम्बन्ध हुन शुरु कहाँबाट हुने ?

    पक्कै पनि घरबाट । घरको सदस्यबाट ।

    संसारको सारा धर्म, सम्प्रदाय, रीतिरिवाज, व्यवस्था, पठनपाठन, सामाजिक व्यवस्था, धर्मग्रन्थहरु, हरेक पुस्तकहरु, नीति ज्ञान, मनुस्मृति, गरुणपुराण, महाभारत, रामायण, बाइबल, कुरान आदि सबै मान्छेलाई मान्छे बनाउन लेखिएका नीति पुस्तक हुन् । तर पनि मान्छे, मान्छे हुन सकिरहेको छैन ।

    जस्तो कि दाजुभाइबीच यस्तो सम्बन्ध बनोस्, जो सानैमा हुने गर्थ्यो । जीवनको अन्तिमसम्म स्नेह र प्रेममा बाँधिएर बस्न सकियोस् । समाज होस्, कसैले कसैलाई सानो-ठूलो देखाउन नपरोस्, लुट्न नपरोस्, छलकपट र बेइमानी गर्न नपरोस् ।

    मानौं, यस्तो अफिस कि जहाँ हाकिमले आफ्ना स्टाफको शोषण नगरोस् । स्टाफले आफ्नो हाकिमसँग बेइमान नगरोस् । यस्तो समाज, जहाँ प्रेम, करुणा, इमानदारी सर्वोपरी होस् । यस्तो परिवार, जहाँ श्रीमान र श्रीमती एक-अर्काका परिवार वा एकअर्कालाई सानो ठूलो देखाउनुको सट्टा आफ्नो सम्झेको होस् ।

    कोही कसैप्रति घृणा नगरेको होस्, धर्मको नाममा, जातिको नाममा कुनै पनि रंगको आधारमा, सामर्थ्यका आधारमा, बल निर्वलका आधारमा र दुब्लो तथा मोटोका आधारमा ।

    के यस्तो गतिविधि होला ? पसलले मिसावट नगरेको होस् । कालोबजारी नगरेको होस् । प्रहरीले घुस नखाएको होस् । निर्धोलाई नपक्रेको होस् । डाक्टरले जो गरिब र अज्ञानी बिरामी छन्, उनीहरुसँग फाइदा नलिएको होस् । वकिलले गलत जान्दाजान्दै आफ्नो विवेक र नैतिकता बिर्सेर पैरवी नगरेको होस् । जो गलत हो, जान्दाजान्दै गलतका सबै प्रमाण हुँदाहुँदै पनि न्यायाधीशले विवेकी भएर सही न्याय दिएको होस् ।

    यस्तो प्रदेश, जो धनीले गरिबलाई गरिबी, अशिक्षा, कुपोषण जस्ता मानव शत्रु निमिट्यान्न पार्न सहयोग गरेको होस् । एक-अर्कोको उत्थान गर्न हातेमालो होस् ।

    यस्तो एउटा संसार, जो धर्मको नाममा झगडा नहोस् । साम्यवाद जस्तै समानताको सिद्धान्त त होस् तर, त्यसको लागि संघर्ष नहोस् । स्वतन्त्रता त होस् तर, त्यस स्वतन्त्रताको उपयोगको लागि अर्काको स्वतन्त्रता हडप्न नपरोस् ।

    प्रेम होस् त निःस्वार्थ ! परिवार यस्तो होस्, जसमा लेनदेनको हिसाबकिताब नहोस् । व्यवसाय होस्, त्यसमा बेइमानी नहोस् । ठूलो पद होस्, शक्ति होस्, धनसम्पत्ति, यश आराम होस् तर, अहंकार नहोस् ।

    एक यस्तो संसार होस्, जसमा आफूले आफैंलाई अब्बल सावित गर्न अर्कालाई होच्याउन नपरोस् । अर्कालाई गिराएर आफू अग्लो हुने सोच नहोस् । एकअर्काको बीच यस्तो प्रतिस्पर्धा होस्, कसले अरुलाई धेरै सहायता गर्न सकियोस् भनेर ।

    यस्तो संसार, जसमा स्नेह होस्, क्रूरता नहोस् । मान्छेको योग्यता उसको जात, धर्म र वर्णका आधारमा तय नहोस् ।

    के लाग्छ र यस्तो संसार बनाउन ? यस्तो संसार बनाउन पहिला मान्छे हुन जरुरी छ । मान्छे हुन त्याग, सेवा, करुणा, सहयोग, समर्पण, प्रेम र यस्तै केही अनेक शब्दहरु । जुनकि सानोमा स्कुलहरुमा हामी बच्चा हुँदा रटाइ रटाइ पढाइन्थ्यो विभिन्न कथाहरु । तिनै कथाहरु पढेर हामीले नैतिक, सामाजिक, नेपाली किताबहरु पास गरौं । अब के ती लागू छन् त हाम्रो दैनिकीमा ? पक्कै छैन ।

    संसारमा यो विवाह भन्ने कुरा ५ हजार वर्ष पहिलेबाट सुरु भएको एउटा परम्परा हो । विवाह संस्था । ५ हजारदेखि प्रयोगमा आएको यो संस्था आज पनि परफेक्ट छैन । डिभोर्स, कलह, झैंझगडा, छुट्टी, भिन्न आदि इत्यादि । ५ हजार वर्षदेखि हामीले प्राक्टिसमा ल्याइरहेको परम्परा संस्था त आजसम्म सफल हुन सकेको छैन भने अस्ति आएको लोकतन्त्र होस् वा गणतन्त्र, नेपालमा किन सफल हुन्थ्यो ?

    किनभने मान्छे हुन त्यो पढाइएको बाटो चल्न पर्थ्यो, त्यो बाटो असजिलो हुनाले हामीले उल्टो बाटो हिँडेका हुन्छौं । जुन कुरा सिद्धान्तका आधारमा पढाइएको हुन्छ, त्यसलाई व्यवहारमा लगिदैंन । बीपी कोइरालाले आफ्नो आत्म वृतान्तमा भनेका रहेछन्- ‘सफल हुनुभन्दा असल हुनु राम्रो ।’ बीपी आफैंमा सफल थिए । उनलाई असल हुनु राम्रो लाग्यो । कोही असल छन् तर, तिनलाई सफल कसरी हुने चिन्ता होला ? सफलका आफ्नै परिभाषा होलान् । जो जे कुरामा हिँडेको छ, उसले त्यै पाउन चाहेको कुरा पाएको कुरा नै सफल होला । धन कमाउन हिँडेकालाई धनी हुनु सफल होला त्यस्तै ।

    संसारमा जति पनि सफल मान्छे छन्, पहिला ती मान्छे बनेर मात्रै सफल हुन्थे भने संसार अर्कै हुन्थ्यो । मान्छे नबनी लेखक बन्न सकिँदैन । लेखक बन्नलाई सोच्नुपर्छ, सोच्नलाई इमानदार । इमानदार हुन मान्छे बन्नुपर्छ ।

    कविला युगबाट मान्छेमा परिणत हुन सबैभन्दा महत्वपूर्ण अर्गान भनेको पेट हो । पेटले भोक माग्छ । भोकले भोजन माग्छ । भोजनले उत्पादन माग्छ । उत्पादन गर्न खेती गर्न पर्‍यो । मान्छेले खेती गर्न सुरु गरे । आफ्नो पेट भर्दैगर्दा उसमा अझ बढी लालच जाग्यो भण्डारण गर्न । उसले केही जग्गालाई हडप्न थाल्यो । पृथ्वीका टुक्रामा आफ्नो हैकम बढाउन थाल्यो । त्यसलाई व्यवस्थापन गर्न विवाह संस्था अपनायो । आफूले आर्जेको कुरा अरुमा नजान छोराछोरीमा सार्‍यो । यसरी सम्पत्ति र विवाहको संस्थागतमा मान्छे लागिपर्‍यो ।

    संसारमा यो विवाह भन्ने कुरा ५ हजार वर्ष पहिलेबाट सुरु भएको एउटा परम्परा हो । विवाह संस्था । ५ हजारदेखि प्रयोगमा आएको यो संस्था आज पनि परफेक्ट छैन । डिभोर्स, कलह, झैंझगडा, छुट्टी, भिन्न आदि इत्यादि । ५ हजार वर्षदेखि हामीले प्राक्टिसमा ल्याइरहेको परम्परा संस्था त आजसम्म सफल हुन सकेको छैन भने अस्ति आएको लोकतन्त्र होस् वा गणतन्त्र, नेपालमा किन सफल हुन्थ्यो ? यी संस्था पनि मान्छेले नै स्थापना गरेका हुन् । यी सबै असफल हुनुमा लोभलालच नै प्रमुख हो, मान्छेभित्र भएको । त्यसैले ।

    यी लामो व्याख्या गर्न खोज्दै गर्दा साथी साइनआउट भै सकिनँ । म मान्छे बन्ने प्रयासमा तीसको दशकपछि अब चालीस टेक्ने अभियानमा हुँदै गर्दा बल्ल बुझ्दैछु र मान्छे बन्ने प्रयासमा छु । बनाउने प्रयासमा होइन । अरुलाई पनि मान्छे बनिदिऔं न यार भन्छु र आफू पनि मान्छे बन्ने प्रयासमा छु । अरु कुरा सिक्ने प्रयासमा लाग्ने हो भने अथाह रैछ संसार ! कहिल्यै नसकिने रैछ ।

    लाखौं करोडौं तारामण्डलबीच एउटा सानो पीण्डको एक भागको २०९ देशभित्रको साढे सात अर्ब जनसख्यामध्येमा तीन करोड जनसंख्या भएको ७७ जिल्लामध्ये एउटा जिल्ला त्यसमध्येका एउटा नगरपालिका, जसमा २० हजार जनसंख्या भएको त्यसमध्येको म । मैले संसारमा सिक्नुभन्दा बरु आफैंभित्र आफूलाई सिकाउने र सिक्ने अभियानमा लाग्दै गर्दा पहिला मान्छे बन्नुपर्ने रैछ । यो मान्छे बन्ने कुरा गाह्रो रैछ भन्ने कुरा बल्ल चार दशकपछि बुझें ।

    ऊ अमेरिकामा बसेको केटीलाई मान्छे बन्ने प्रयासमा छु भन्दा अनौठो लाग्नु स्वाभाविक हो । त्यसैले गत सालको क्रिसमसदेखि यो क्रिसमससम्म ऊ अफलाइन नै छ । म मान्छे बन्ने अभियानमा छु । मेरो सपना मान्छे बन्ने हो ।

  • एमाले अभियानका सन्देशहरू

    एमाले अभियानका सन्देशहरू

    विषय प्रवेश

    नेकपा एमालेको आयोजनामा गत महिनाको मङ्सिर १४ गतेबाट सुरु भएको मध्य पहाडी राजमार्गको पूर्व पश्चिम अभियान सम्पन्न भएको छ ।

    मुलुकको एक प्रमुख राजनैतिक पार्टीले मुलुकमा व्यवस्थाका विरुद्धमा समेत आवाजहरू उठी रहेका बेला मुलुकको धेरै भूभागलाई समेट्ने गरी सम्पन्न गरेको अभियानको राजनैतिक र सामाजिक अर्थ छ ।

    हामी अभियानलाई सफल बनाउनका लागि सुदूरपश्चिम प्रदेश कमिटी र मातहतका पार्टी कमिटीहरूका विभिन्न चरणमा छलफल र बैठकहरू सम्पन्न भएका थिए । पार्टीको निर्णय अनुसार हामी पनि कैलालीबाट झुलाघाटका लागि प्रस्थान गर्‍यौँ ।

    हामी टीकापुरबाट पूर्व नगरप्रमुख तपेन्द्र रावल, एमालेका नेता तथा २०७९ को स्थानीय निर्वाचनमा टीकापुरबाट एमालेका मेयरका उम्मेदवार श्याम खत्री, एमाले कैलालीका सदस्य तथा टीकापुर नगर पालिका वार्ड नं.१ का वडाध्यक्ष मोहन विक र म लगाएको टिम थियो ।

    पार्टीको अभियानमा सहभागी भइरहँदा मध्य पहाडी क्षेत्रमा आफू सहभागी भएका जिल्लाहरूमा देखिएका केही समस्या र सम्भावनाहरूलाई यो आलेखमा समेट्ने प्रयास गर्ने छु ।

    अथाह सम्भावना बोकेको मध्यहाडी क्षेत्र

    हामी डडेल्धुरा भएर बैतडीको झुलाघाट तर्फको यात्रामा लम्किरहँदा बाटोमा देखिएका केही रोचक प्रसङ्गहरूको अध्ययन गर्दै अगाडी बढ्यौँ । मध्य पहाड अपार सम्भावनाको खानी हो तर राज्यले लगानीका लागि वातावरण नबनाएका कारण अहिले उजाड छ ।

    मानिसहरू सम्भावनाको खोजी गर्दै केही विदेश र केही सहर र सदरमुकाम केन्द्रित भएका कारण बस्तीहरू रित्ता देखिन्छ । धरै राम्रो प्राकृतिक सौन्दर्य अवलोकन गर्ने मानिसको अभाव देखिन्छ ।

    हामी झुलाघाट तर्फको बाटो तताइरहँदा बैतडीको सतबाँझबाट अगाडी मुसेचौर भन्ने एक ठाउँ रहेछ । त्यहाँ सुदूरपश्चिम प्रदेश सरकारले ओखर र अङ्गुर लगाएको नमुना खेती गरेको रहेछ ।

    जम्मा २९ हेक्टर जङ्गलको खाली ठाउँमा व्यवस्थित रुपमा स्याउ, नास्पत, आरु, आरुबखडा, खुर्पानी, ओखर, चुच्चे ओखर, कटुस, हलुवावेद, कागती बदाम, हेजलनट, लप्सी, जैतुन, किवि, आफ्नै फलफूल नर्सरी लगाएको एक नमुना प्रयास गरेको देखियो ।

    मैले यो नमुना फलफूल खेतीलाई मध्य पहाड भरी फैलाउन सकिने प्रचुर सम्भावना देखेँ । मध्य पहाडका सामुदायिक वनहरूका खाली ठाउँमा हजारौँ हेक्टर जमिनमा यसरी फलफूल खेती गर्न सकेमा यसले छिमेक मै रहेका दुई मुलुकहरू भारत र चीनको करिब ३ अरब जनसङ्ख्या हाम्रो उपभोक्ता हुन सक्ने ठूलो सम्भावना छ ।

    पहाडलाई फलफूलको केन्द्रका रूपमा विकास गर्नका लागि सरकारले नीति बनाउने हो भने अर्ग्यानिक फलफूल उत्पादनको नेपाल ठूलो केन्द्रका रूपमा विकास गर्न सकिने र यसले लाखौँ रोजगारी सिर्जना गर्नुका साथै मुलुकको आफ्नो उत्पादनको अहिले अवस्थाबाट मुलुकलाई फलफूल उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना छ ।

    अहिले पहाडका जङ्गलबाट बेचिने काठ र जडीबुटीको कर मात्रै मध्य पहाडी क्षेत्रमा यस्ता उत्पादनमूलक आयोजनामा लगानी गर्ने सरकारले नीति बनाउने हो भने यसले फलफूलका क्षेत्रमा एक क्रान्ति नै ल्याउने देखिन्छ ।

    परम्परागत अन्नको बजारीकरण

    मध्य पहाडमा केही रैथाने जातका अन्नहरू छन् , जसलाई अर्ग्यानिक उत्पादनको विकास गरेर अन्तर्राष्ट्रिय बजारीकरण गर्न सक्ने प्रचुर सम्भावना देखिन्छ । उदाहरणका लागि पहाडमा कोदो लगाउनका लागि कुनै रासायनिक मलको प्रयोग गर्नु पर्दैन । पहाडका प्राय सबै जमिनमा कोदोको खेतीले राम्रो उत्पादन हुन्छ ।

    अहिले पहाडका अधिकांश खेतबारीहरू बाँझो देखिन्छ । यसलाई त्यहाँको रैथाने जातको सजिलो खेती प्रणालीको विकास गरेर सरकारले प्रविधि र बजार दिन सक्ने हो भने यसले स्थानीयको आयआर्जन बढ्ने मात्र होइन, नेपाली अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय बजार समेत बढ्ने देखिन्छ ।

    यस्तै जङ्गलमा पाइने प्राकृतिक जडीबुटीहरूको समेत सामुदायिक वनहरूले खेती गर्न सक्ने सम्भावना छ । जस्तै पहाडका जङ्गलहरूमा टिमुरको खेती गर्न सक्ने सम्भावना हुन्छ । जङ्गलको केही भागमा ठूलो मात्रामा टिमुर खेती गर्न सकिए यसले राम्रो आम्दानी दिन सक्छ ।

    राजनैतिक र विकासको सन्देश

    विशेष गरी वर्तमान गठबन्धन सरकार बनी सकेपछि मुलुक आर्थिक रूपमा कमजोर हुने क्रम बढ्दो छ । मुलुकको अर्थतन्त्रले दबाब खेपी रहेका बेला जनतामा निराशा बढ्न थालेको छ । सङ्घीय सरकार र सबै प्रदेशमा गठबन्धनका नाममा सरकार बनेको छ र एमाले सबै तिर प्रतिपक्षमा छ ।

    सरकारले जनताका समस्या समाधान गर्न सकेको छैन । एमाले सरकारका पालामा कोरिएका समृद्धिका गोरेटाहरू भत्काउन वर्तमान सरकार उद्धत देखिन्छ ।

    यसको मौका छोपेर व्यवस्थाका विरुद्धमा नै प्रतिगामीहरू जुरमुराउन थालेका छन् । सरकार मूक दर्शक बनेर बसेको छ । यस्तो कठिन अवस्थामा नेकपा एमाले समृद्धिको सपना लिएर जनताका बिचमा जानु उसको दायित्व हुन्छ ।

    यसै क्रममा पश्चिमको झुलाघाट देखि पूर्वको चिवाभञ्ज्याङ सम्म एमालेको पूरै केन्द्रीय नेतृत्व सहित जानु र जनतासँग प्रत्यक्ष भेटघाट गरेर वर्तमान सरकारका अकर्मण्यताहरूका बारेमा जनतालाई सचेत गराउने र व्यवस्था विरोधीहरुको स्याल हुइयालाई चिर्ने काम समेत एमालेको अभियानले गरेको छ ।

    यस्तै एमालेको यो अभियानले समृद्धिका लागि एमालेको नेतृत्व अनिवार्य रहेको कुरा जनतालाई बुझाउन समेत सफल भएको छ । विभिन्न ठाउँमा भएका जनसभाहरू र त्यहाँको उपस्थितिलाई हेर्दा जनताले आगामी निर्वाचनमा एमाले नेतृत्व स्थापित गर्ने गरी मतदान गर्न आतुर छन् भन्ने समेत देखाएको छ ।

    निष्कर्ष

    अहिले देश गम्भीर आर्थिक सङ्कटको निकट देखिन्छ । सरकारले अर्थतन्त्रलाई सम्हाल्न सकेन भने मुलुकमा थप समस्यामा समेत जान सक्छ । नेपालमा भूभागको ठूलो हिस्सा ओगटेको पहाडी क्षेत्रमा बसोबास गर्ने जनताका समस्यालाई बुझ्नु र आफू भविष्यमा सरकारमा जाँदा त्यसलाई हल गर्ने गरी योजना बनाउनु तथा जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन एमालेको अभियान सफल रह्यो । मध्य पहाडको प्रमुख समस्या बसाई सराई हो । जसले गाउँहरु रित्तिने क्रम जारी छ । यस्तै अर्को समस्या भनेको रोजगारी हो ।

    मानिसहरू रोजगारीका लागि विदेश र सहर तिर जान थाले पछि अहिले गाउँहरु बालबालिका र वृद्धि वृद्धाको गाउँ हुन थालेको छ । अर्को व्यवस्थित बसाइको अभावमा छरिएर रहेका बस्तीहरू छन् । ती बस्तीहरूमा सरकारले सडक, बत्ती, बिजुली, स्वास्थ्य सेवा, शिक्षा लगायतका सेवाहरू पुर्‍याउन ठूलो लगानी गर्नु परेको छ ।यो पनि अर्को समस्या हो ।

    मध्य पहाडी राजमार्ग बनिसकेपछि सो क्षेत्र समृद्धिको बाटोमा अगाडी बढ्ने अपेक्षा गरिएको थियो तर सरकारले तद्अनुरुपका कार्यक्रमहरू नल्याउँदा निराशा बढ्न थालेको देखिन्छ । एमाले जस्तो जिम्मेवार प्रतिपक्षले सम्पन्न गरेको अभियान पछि पार्टीले यसको राम्रो समीक्षा गर्ने छ र सरकारलाई ध्यानाकर्षण गर्ने छ । एमाले फेरी जनताबाट बहुमतले निर्वाचित भएर सरकारमा जाँदा यी सबै समस्याको समाधानका लागि योजना र कार्यक्रम ल्याउने छ भनेर उसले आफ्नो अभियान मार्फत जनतालाई स्वास्थ्य पारेको देखिन्छ ।

    (लेखक नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य हुन)

  • कसरी रह्यो भट्टराई थर ?

    कसरी रह्यो भट्टराई थर ?

    खस आर्य जाति मध्ये एक भट्टराईको थरको नाम कसरी रहन गयो त भन्ने चासो हुनसक्छ । यही चासोलाई मेटाउन भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय कार्यालय झापा दमक स्थित वशिष्ठ आश्रममा भइरहेको कुलपूजाको अवसर पारेर सोधी खोजी गरी पत्रकार लीलाराज भट्टराईले यो लेख तयार पारेका हुन् । ।

    खस आर्यका थरमध्ये नेपालमा बसोबास गर्नेहरूमा सबैभन्दा बढी जनसङ्ख्या छ भनेर भट्टराईले दाबी गर्ने गरेका छन् । नेपालको जनगणनाले थरको तथ्याङ्क ननिकाल्ने भएकाले कुन थरको यकिन जनसङ्ख्या कति छ भन्न गाह्रो छ ।

    कुलवंश प्रतिष्ठान, कुल विकास प्रतिष्ठान लगायत गठन गरेर कुलको संस्कृतिको विकासमा भट्टराईहरू संगठित भएर कुल पूजा, पूलश्चरण लगायतका गतिविधिहरूमा सक्रिय देखिन्छन् । छोरी बुहारीसहितको नाम समेटेर व्यवस्थित वंशावली प्रकाशन गरेका कारण वंश नम्बरकै आधारमा साइनो लगाउन सजिलो भएको पाइन्छ ।

    वास्तवमा थर तीन किसिमले रहेको पाइन्छ । बसोबास गरेको स्थान, पाएको मानपदवी र बिर्ताका आधारमा नेपालमा बसोबास गर्ने जातजातिको थर राखिएको पाइन्छ । भट्टराईको थर कसरी रह्यो भन्ने बारेमा पनि मतैक्ययता छैन । विभिन्न मतहरू पाइन्छन् । भट्टलाई राईले पालेर भट्टराई भएको भन्ने पनि निक्कै सुनिन्छ । तर, भट्टराई थर उपाधिका आधारमा हो भन्ने मत बलियो देखिन्छ ।

    भट्टराईको गोत्र वशिष्ठ हो । अर्थात् भट्टराईहरू महर्षि वशिष्ठका सन्तान हुन् । ब्रह्माका दश भाइ छोरा मध्ये एक हुन्, वशिष्ठ । वशिष्ठका तीन पत्नी थिए अरुन्धती, कपिञ्जली र ऊर्जा । अरुन्धतीका छोरा शक्तिबाट ब्यासको जन्म भएको हो । ब्यासबाट शुकदेवका चार भाइ प्रभु, शम्भु, कृष्ण र गौर भए । यिनै चार भाइमध्ये साइला छोरा कृष्णबाट वशिष्ठ गोत्रीय भट्टराईको विकास भएको पाइन्छ ।

    भट्टराई कुल रत्न जगतगुरु बालसन्तका अनुसार ब्रम्हाजीका सुपुत्र वशिष्ठ ऋषि, ऋषिका छोरा शक्ति, शक्तिका छोरा पराशरका छोरा ब्यास, ब्यासका छोरा सुखदेव हुँदै वशिष्ठ गोत्रीय भट्टराई वंशको बिस्तार भएको पाइन्छ ।

    प्राध्यापक डा. माधव भट्टराईका अनुसार अठार पुराण र विश्वकै पुरानो ग्रन्थ वेदका रचयिता वेद ब्यास समेत वशिष्ठकै सन्तान हुन् । अनेक ऋषि महर्षि मध्ये महर्षि वशिष्ठको स्थान सर्वश्रेष्ठ रहेको पाइन्छ । उहाँलाई साधना, तपस्या, योग र ज्ञानका भण्डार मानिन्छ । सप्तर्षि मध्येका एक वशिष्ठ भगवान् रामचन्द्रका कुलगुरु हुनुहुन्थ्यो ।

    भट्टराई वंशावलीमा उल्लेख भए अनुसार नेपालमा १३०० वर्ष अघिदेखि भट्टको रूपमा भट्टराईको वंश पहिल्याएको पाइन्छ । भट्ट, भट्टराज, भट्टराई हुँदै भट्टराई भएको पाइन्छ । भट्ट भनेको उपाधि हो । पढेलेखेका ज्ञानी ब्राह्मणलाई भट्ट भनिन्थ्यो । राजा रजौटाबाट विद्वान व्यक्तिहरूले भट्ट पद पाउँथे । भट् धातुबाट भट्ट बनेको हो । भट् धातुको अर्थ विद्वान हुन्छ । राईको अर्थ राजा हुन्छ । भट्टहरूको राजा अर्थात् विद्वानको पनि श्रेष्ठ विद्वान भट्टराई भनेर थर रहन गएको अभिमत भट्टराई कुल वंश प्रतिष्ठानले प्रकाशित गरेको वंशावली पुस्तकमा उल्लेख छ ।

    अर्को मत अनुसार भट्टराईहरूका पुर्खा प्रकाण्ड विद्वान गर्भ भट्टले जुम्लाको स्वणर्ग्राम राजधानी भएका कल्याण नरेश बलिराज रावलबाट सम्मान सूचक राई उपाधि पाएका थिए । त्यही बेलादेखि विद्वान बोधक थर भट्ट र प्राप्त उपाधि राई जोडेर भट्टराई लेख्न थालेको भनिन्छ ।

    दशौं शताब्दीमा जुम्लाको सिँजा आसपासका भट्टराईहरूका प्रमुख पुर्खा ऋषि भट्ट भट्टराईहरूका वंश नम्बर १ हुन् । भट्टराईको गोत्र वशिष्ठ हो । अर्थात् भट्टराईहरू महर्षि वशिष्ठका सन्तान हुन् । वशिष्ठ ऋषिका सन्तान भट्टराईहरू तेह्रौँ शताब्दी अगावै तत्कालीन कर्णाली प्रदेशको खस राज्यमा भट्ट ब्राह्मणका रूपमा रहेको किम्बदन्ती पाइन्छ ।

    नेपालको एकीकरणभन्दा धेरै अघिदेखि धर्म, संस्कृति, राष्ट्रियता र सामाजिक सद्भावमा भट्टराईहरू प्रतिबद्ध देखिन्छन् । आधुनिक राष्ट्र निर्माणमा भट्टराई कुलका बलिदाशले पृथ्वीनारायण शाहसँग सहकार्य गरेको पाइन्छ । देशको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्रीदेखि लिएर प्रशासनिक उच्च तहहरूमा भट्टराईले नेतृत्व गरिसकेका छन् ।

    हिन्दु धर्म मान्नुभन्दा अघिदेखिको संस्कृति भट्टराईले पालना गर्दै आएका छन् । उभौली, उद्यौली पर्व, वैदिक र तान्त्रिक विधिमा आधारित भएर गरिने कुल पूजा, मस्टो संस्कृति, हिन्दु संस्कृतिभन्दा बाहिर र अघिको मानिन्छ । भट्टराईहरूको मूल धर्मग्रन्थ वेद हो । वेदमा पनि यर्जुवेद अनिवार्य पढ्नु पर्ने मानिन्छ ।

    लेखक  पत्रकार भट्टराई, भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीका सचिव हुन् । ।

  • भुटानमा पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’को लोकार्पण

    भुटानमा पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’को लोकार्पण

    काठमाडौं । विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित भएको पुस्तक ‘दन्किँदो भूटान’ आज काठमाडौंमा लोकार्पण भएको छ । भुटानका पहिला प्रजातान्त्रिक आन्दोलनका योद्धा भनेर चिनिने देवीभक्त लामिटारे जसले भारतमा बसेर बीपी कोइरालासँग पनि संगत गरेका थिए उनको पुस्तक सार्वजनिक भएको हो ।

    सन् १९७० मा पहिलोपटक छापिएको किताबको दोस्रो र तेस्रो संस्करण क्रमशः १९७६ र १९८५ मा प्रकाशन भएका थिए । पछिल्लो संस्करण यो वर्ष अमेरिकाको नर्थ क्यारोलाइनमामा रहेको भूटान मिडिया सोसाइटीले प्रकाशन गरेको हो । नयाँ संस्करणका सम्पादक विनोद ढुङ्गेल छन् ।

    सन् २०२२ मा मृत्यु भएका लेखकसँग भारतमा गएर गरेको पटकपटकको अध्ययन, अन्तर्वाता र पारिवारिक स्रोतसँगको समन्वयमा नयाँ सूचनासहित पुस्तक सार्वजनिक भएको सम्पादक ढुङ्गेलले बताए । पुस्तक लोकार्पण तथा चर्चा कार्यक्रममा भूटानी मुलका प्राध्यापक गोविन्द रिजाल, अमेरिकामा पुनर्वाश भएका भुटानी नागरिक शेखर कोइराला लागयतले बोलेका थिए ।

    भुटानी वक्ताहरुले भूटानमा भएको प्रजातान्त्रिक आन्दोलनको एक प्रमुख र पहिलो पुस्तकाकार दस्तावेज नै यहि भएको भन्दै किताबको तारिफ गरे । खोजी प्रकाशन गृहले नेपालमा वितरण गर्ने २८० पेजको पुस्तकको नेपाली मुल्य ७०० रुपैयाँ रहेको छ ।

     

  • भारतीय र पाकिस्तानी राजनीतिमा ‘एआई’को सानदार प्रवेश : नेपालमा कस्तो बाछिटा आउला ?

    भारतीय र पाकिस्तानी राजनीतिमा ‘एआई’को सानदार प्रवेश : नेपालमा कस्तो बाछिटा आउला ?

    आइतबार भारत र पाकिस्तानबाट दुई रोचक समाचार आए । ती समाचार भारत र पाकिस्तान तनावका थिएनन् । ती समाचार भारत र पाकिस्तानी सकसका पनि थिएनन् । ती समाचार भारत र पाकिस्तानका सर्वाधिक चासोमा रहेका दुई राजनीतिक मुहारले गरेको कृत्रिम प्रज्ञा अर्थात् एआईको राजनीतिक प्रयोगको बारेमा थियो । भारतको विश्वस्तरीय धार्मिकधाम तथा नरेन्द्र मोदीको चुनाव क्षेत्र बनारसमा मोदीले आइतबार भाषण गरे । त्यो भाषण मोदीको राजनीतिक तथा चुनावी जीवनको लागि एक अर्को औसत भाषणमात्रै भए पनि प्रविधिको प्रयोग खासगरी एआईको प्रयोगको कोणमा एक ‘ब्रेक थू्र’ थियो । मोदीले हिन्दीमा बोले । उनकै आवाजमा सोही समयमा तमिल भाषामा पनि भाषण आयो । त्यो रेकर्डेड भाषण थिएन । उनकै आवाजमा हिन्दीसँगै आएको तमिल भाषण थियो ।

    वैदिक सनातनी धर्मको मिथकमा पाइने ‘हजार मुख भएका शेषनाग’ का कथाहरु सुनेका हिन्दी तथा तमिल भाषी भारतीयहरुले आइतबार मोदीका दुई मुख एकै पटक देख्न पाए । दुवै मुखबाट एकै भाषण तर, दुई फरक फरक भाषामा सुन्न पाए । भाषाको कोणमा मात्रै होइन, भूगोलको कोणमा पनि आइतबारको मोदी मन्तव्य महत्वपूर्ण थियो । उनी हिन्दीमा भाषण गरिरहेका थिए उत्तरी भारतमा । तर, सोही समयमा उनको भाषण अर्को भाषाबाट पुगिरहेको थियो दक्षिणी भारतका विशाल जमातमा । भारतमै विकास भएको भाषिनी नामक एआई एपबाट मोदीको आवाज तमिलमा गएको थियो ।

    आइतबारै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै कथा पाकिस्तानमा पनि तयार भयो । त्यो कथाका पात्र पूर्वप्रधानमन्त्री इमरान खान हुन् । खान अहिले पाकिस्तानी सत्ताले लगाएका विभिन्न मुद्दामा जेलमा छन् । उनले जेलबाटै एक चिर्कटोमा केही लेखे । त्यो चिर्कटोमा खानले लेखेको कुरा खानकै आवाजमा कार्यकर्ताहरुमाझ पुग्यो, जनतामाझ पुग्यो । खानको शब्दमा र खानको आवाजमा आएको भाषणको शब्द खानकै भए पनि ध्वनि भने उनको रुद्रघण्टीबाट आएको थिएन । एआईबाट आएको थियो । मोदीको जस्तो आफ्नै देशमा बनेको एप वा विदेशी एपमा कसरी खानको भाषण गयो भन्ने यकिन भएको छैन । तर, यति चै पक्कापक्की छ कि खानको भाषण एआईले ग¥यो ।

    चुनावी मैदानमा भएका भारतीय प्रधानमन्त्री मोदीको हिन्दी भाषण तलिममा एकै पटक पुग्नु र जेलभित्र बसेकै समयमा आफ्ना समर्थक तथा जनतालाई पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको भाषणले दक्षिण एसियाली क्षेत्रको राजनीतिको मूलधारमा एआई प्रवेशको भव्य संकेत गर्छ । राजनीतिको मूलधारले एआईलाई स्वीकार गरेको उदाहरण हो यो । यो एआईको उज्यालो पाटो भयो ।

    भोलिका दिनमा यस्तै कला चुनावी मैदानमा एआईबाट बनाइएको नभनिकन कतै गोप्य छलफलमा बोलेको, कतै फोनमा बोलेको त कतै सभामा सम्बोधन गरेको जस्तो बनाएर चुनावी मिथ्या सूचनामा प्रयोग हुँदैन भन्न सकिन्न ।

    अब अँध्यारो पाटोको कुरा गरौं । चुनावी अभियानमा नेताको बोली महत्वपूर्ण हुन्छ । विभिन्न जातजाति, भाषाभाषी, समुदाय र क्षेत्रहरुको मिश्रित बसोबास भएको नेपाल जस्तो देशमा यसका अँध्यारा पाटाको चर्चा आवश्यक छ । खासगरी छिनभरमै गठबन्धन भत्कने र बन्ने देशको दल तथा नेता कार्यकर्ताहरुलाई एआईका अँध्यारा पाटाहरुले सताउने सम्भावना छ । अहिले हामी मोदीले हिन्दीमा बोलेको भाषण एआईले तमिलमा बोलेकोमा खुशी छौं । तर, यस्तो दिन आउनसक्छ, मोदीले बोल्दै नबोलेको भाषण उनकै भाषण भनेर उनका विपक्षीहरुले फैलाउन सक्छन् । त्यसले समाजमा हलचल र अशान्ति फैलाउन सक्छ ।

    अहिले हामी इमरान खानले जेलबाटै लेखेको कुरा एआईले उनकै आवाजमा पढेको भनेर खुशी छौं । भोलिका दिनमा इमरान खानले होइन, उनका विपक्षीले लेखेको समाज र शान्ति भड्काउने आवाजमा भाषण आएमा त्यसबाट धेरै मूल्य चुकाउने दिन आउनसक्छ । अहिले नेपाली टिकटकमा एआई आर्टिस्ट भन्ने एक ह्याण्डल आएको छ । त्यहाँ नेपाली गीतमा भारतीय तथा तेस्रो देशका गायकहरुले स्वर दिएको हुबहु झैं लाग्ने सामग्री आएका छन् । त्यहाँ भारतीय गीतमा नेपाली कलाकारका आवाज हुबहु झैं लाग्ने खुराकहरु पनि आएका छन् । अरु त अरु पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाको दोहोरीका अडियोहरु आएका छन् । अडियोमात्रै सुनेर एआईको बारेमा जानकारी नभएको जोकोहीले पत्याउने स्तरका सामग्रीहरु आएका छन् ।

    ‘एआई आर्टिस्ट नेपाल’ले त जानकारी दिएरै एआईबाट बनाएका सामग्री हुन् भनेको छ । भोलिका दिनमा यस्तै कला चुनावी मैदानमा एआईबाट बनाइएको नभनिकन कतै गोप्य छलफलमा बोलेको, कतै फोनमा बोलेको त कतै सभामा सम्बोधन गरेको जस्तो बनाएर चुनावी मिथ्या सूचनामा प्रयोग हुँदैन भन्न सकिन्न । सामाजिक सञ्जालमा लेखिएका पोस्टहरुमा परेका उजुरीमा त हम्मेहम्मे पर्ने नेपाल प्रहरीको साइबर व्युरोले एआई उजुरीहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्ने दक्षता छैन । प्रविधिलाई निषेध गर्न पनि नसक्ने र नियमन गर्न पनि योग्यता नपुग्ने अवस्था देखिनसक्छ ।

    खासगरी चुनावी समयमा कुनै दल विशेषका विपक्षीहरुले एआईको दुरुपयोग गरेर राजनीतिक रोटी सेक्ने सम्भावना छँदैछ । त्योभन्दा बढी समस्या त समाजका आपराधिक मानसिकता र धन्दा भएकाहरुले शान्ति भाँड्दै आफ्नो दुनो सोध्याउन एआईलाई औजार बनाउने सम्भावना सन्निकट छ । ९० प्रतिशत बढी इन्टरनेटको पहुँचमा पुगेको नेपाल जस्तो देशमा त इन्टरनेटबाटै हुने एआईको दुरुपयोग हुने आधार झनै बलियो छ । नेपालको विभाजित राजनीति, प्रतिस्पर्धी भूराजनीति तथा निराश नागरिक जमात भएको समयमा एआईको दुरुपयोगको र त्यसले संगीन घडीमा पार्ने गम्भीर संकटहरुका बारेमा अहिलेबाटै चेतनास्तरमा जनता र जनशक्तिस्तरमा राज्य तयार हुनुपर्छ । यद्यपि, यो सजिलो भने छैन । डिजिटल साक्षरताको युगमै डिजिटल साक्षर हुन नसकेको नेपाली समाजले एआई साक्षरताको पहुँच कसरी निर्माण गर्ला ? यो समयको गम्भीर सवाल यही हो ।

  • मन्त्रीको प्रेस संयोजकले किन जागिर खानुपर्‍यो ?

    मन्त्रीको प्रेस संयोजकले किन जागिर खानुपर्‍यो ?

    शहर, यो शब्द आफैंमा सबैका लागि आकर्षक हो । जीवनको कुनै न कुनै क्षण सायदै सबैलाई लाग्छ होला, ‘म पनि शहर’ गएर केही गर्छु भनेर । किनकि शहरमा सेवा, सुविधा हुन्छ । त्योभन्दा बढी अवसरको सम्भावना हुन्छ भन्ने बुझाइ छ । सोही बुझाइ मेरो पनि थियो । त्यसैले वर्षौंदेखि मनमा पालिरहेको शहर पस्ने चाहना पूरा गर्दै विसं २०७३ सालमा शहर (काठमाडौं)को यात्रा तय गरे । त्यसो त मेरो गृहजिल्ला दाङको घोराही पनि आफैंमा विकसित हुँदै गरेको सुन्दर शहर हो । जहाँ हामी दशक बढी भाडाको कोठामा बसेर संघर्ष गर्‍यौं । सोही शहर घोराहीमा दुःख गरेर म मुलुककै सबैभन्दा ठूलो शहर राजधानी काठमाडौं प्रदेश गरें ।

    सायद साउनको महिना थियो । कालो साउन (गाउँघरमा अशुभको रुपमा चित्रित गरिन्छ)मा आमाका हामी दुई छोरी (म र कान्छी बहिनी)ले घर बाहिरको यात्रा तय गरेका थियौं । अर्थात् आमाको काख छाड्दै थानका थान सपना बोकेर नयाँ यात्राको तय गर्‍यौं । उमेरले करिब अढाई दशकको छेउछाउ भेटे पनि म आमाका लागि बालख नै थिएँ । त्यसै पनि छोरीहरू आमाको निकट हुन्छन् । हामी दिदीबहिनीले आमालाई रुवाउँदै काठमाडौंका लागि नाइट बसको यात्रा तय गर्‍यौं । साथमा खर्चपानी पनि धेरै थिएन । अफिस (गणतन्त्र दैनिक नामक स्थानीय पत्रिका)का कर्मचारी मिलेर निर्माण गरेको बचत समूहमा जम्मा भएको केही रकम लिएर म सबैको सपनाको शहर काठमाडौं प्रवेश गरेको थिएँ ।

    जागिरको कुनै टुंगो थिएन । तर, डेरा भने लिएको थिएँ । केही दिनमा जागिर पनि पाइयो । नयाँ अनलाइन मिडियाका रुपमा खुलेको थाहाखबर डटकममा मैले काम गर्ने अवसर पाएँ । एक दशकको पत्रकारिता यात्रा तय गरेको भए पनि काठमाडौंमा नयाँ शिराबाट संघर्षको थालनी गर्नुपर्ने थियो । जिल्लामा सबैखाले रिपोर्टिङ गर्नुपर्ने भएकाले बिट (विषय विज्ञता)का हिसाबले झन् शून्यप्रायः थिएँ । सम्पादक दाजुहरू (तीर्थ कोइराला र अर्जुन खड्का)ले मैले मागेको राजनीतिक बिट दिनुभयो । राजनीतिक बिटमा काम गर्न सहकर्मी बुद्ध लोप्चनले सुझाउनुभएको थियो ।

    केही दिनमा जागिर पनि पाइयो । नयाँ अनलाइन मिडियाका रुपमा खुलेको थाहाखबर डटकममा मैले काम गर्ने अवसर पाएँ । एक दशकको पत्रकारिता यात्रा तय गरेको भए पनि काठमाडौंमा नयाँ शिराबाट संघर्षको थालनी गर्नुपर्ने थियो ।

    राजनीतिक बिटमा काम गर्ने पत्रकार महिलाहरू निकै न्यून रहेको समयमा यो बिट मेरा लागि बिल्कुलै नयाँ थियो, त्यत्तिकै चुनौतीपूर्ण पनि । तर पनि उक्त मिडिया हाउस र बिटले मलाई राजधानीमा म हुनु र नहुनुको परिचय दिलायो । त्यसै पनि त्यतिबेला औंलामा गन्न सकिने अनलाइन मिडिया थिए । जसका कारण एक्सपोजरका हिसाबले पनि उक्त मिडिया मेरा लागि सही साबित भयो ।

    यसबीचमा मैले तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र केही समय कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालको सचिवालयमा प्रेस संयोजकको रुपमा काम गरें । अनलाइन पत्रकारिताको भर्भराउँदो करिअर छाडेर प्रेस संयोजक बन्न गएकी थिएँ । समय क्रमसँगै करिब डेढ दशक स्वतन्त्र पन्छी जस्तै उड्दै पत्रकारिता गरेको आदत, बिल्कुल एउटा कार्यालयमा दिनभर बसेर जागिर खान मन मर्दै गयो । केही समयमै उक्त कामबाट कतिबेला निस्किउँ नभएको होइन । तर, हामीकहाँ राम्रै मनले बाहिरिँदा पनि गल्ती गरेर निकालियो होला भन्ने सम्भावित आरोपबाट बच्न उहाँको अन्तिम कार्यकालसम्म काम गरें । यद्यपि त्यहाँ रहँदा पनि मैले इमानदारीपूर्वक नै काम गरें भन्ने लाग्छ ।

    यसबीचमा मेरो व्यक्तिगत जीवनमा धेरै परिवर्तन आइसकेको थियो । विवाह भएको केही समयमै विश्वव्यापी महामारी कोभिड १९ का कारण मुलुक लकडाउनको अवस्थामा पुग्यो । तर, सत्तामा रहेका मन्त्रीहरूको काम कोभिडको कारणले रोकिने कुरा भएन, झन् सक्रियता बढिरहेको थियो । उतातिर अर्कै जिम्मेवारी भए पनि मलाई मेरो बाइलाइन मिस भइरहेको थियो । त्यसैले कोभिडकै बीचमा एउटा अनलाइनमा जोडिएर काम गरें । त्यो संस्थाले मलाई अफिस नआएरै स्टोरी लेखेर पठाउने काम दियो । त्यसपछि करिब एक वर्ष त्यो अनलाइनमा काम गरें र पारिश्रमिक पनि लिएँ ।

    मुलुकमा लकडाउन चरमोत्कर्षमा पुगेको थियो । दोस्रो लकडाउनतिर हुनसक्छ, देशभरका सबैजसो अस्पताल कोभिडका बिरामीले भरिएका थिए । यहीबीचमा म पहिलो पटक आमा बन्ने चरणमा थिएँ । गर्भवती अवस्थामा पनि प्रेस संयोजक र अनलाइनमा समाचार स्टोरी लेख्ने दुवै काम गरिरहेको थिएँ ।

    मुलुकमा लकडाउन चरमोत्कर्षमा पुगेको थियो । दोस्रो लकडाउनतिर हुनसक्छ, देशभरका सबैजसो अस्पताल कोभिडका बिरामीले भरिएका थिए । यहीबीचमा म पहिलो पटक आमा बन्ने चरणमा थिएँ । गर्भवती अवस्थामा पनि प्रेस संयोजक र अनलाइनमा समाचार स्टोरी लेख्ने दुवै काम गरिरहेको थिएँ । २०७८ सालमा केपी ओली सरकार बहिर्गमित भयो । त्यसपछि मेरो प्रेस संयोजकको काम पनि सकियो । त्यसै पनि मेरो डेलिभरीको समय आइसकेको थियो । २०७८ असार २१ गते हाम्रो पहिलो सन्तानको रुपमा दीक्षान्तको जन्म भयो । सरकार ढलेपछि जागिरविहीन भएको थिएँ । सँगै मेरो प्रेग्नेन्सी र सुत्केरीको कारण देखाउँदै अनलाइनले पनि बहिर्गमन गरेको थियो । पहिलो पटक मातृत्वको अनुभव प्राप्त गर्न सकेकोमा छुट्टै उमंगमा थिएँ । तर, काठमाडौंमा भाडाको बसाइ र घर खर्च पनि चलाउनुपर्ने भएकाले केही तनाव नभएको होइन । तैपनि ९ महिनासम्म घरमै बच्चा स्याहारेर बिताए ।

    तर, समय सधैं एकनासको कहाँ हुन्छ र ! काठमाडौंमा बस्न पनि केही त गर्नैपर्ने थियो । त्यसै पनि अब त हाम्रा लागि सन्तानको जिम्मेवारी थपिएको थियो । आफ्ना लागि नभए पनि हामीले उसका लागि बाँच्नुपर्ने थियो । सुत्केरी समयमा तौल पनि निकै बढेर गएको थियो । लामो समय नलेखी बसेका कारण केही अलमल पनि थियो । तैपनि कामको खोजीमा बाहिर निस्किएँ । काम खोज्दै जाँदा साथीभाइ, सहकर्मी सबैलाई गुहारें । तर, उत्तर चित्तबुझ्दो थिएन । धेरै शुभचिन्तकको उत्तर केही समय बच्चा हेरेर बस्नुस् न, बच्चालाई समय दिनुस् न भन्ने हुन्थ्यो । तर, मेरो बाध्यता त आफैंसँग थियो ।

    कामको खोजी गर्दै जाँदा त्यहाँबाट खाली हातमात्रै होइन, व्यवहार पनि फरक पाएँ । हिजोका दिनमा निकट रहेकाहरूको व्यवहार पनि फरक भेटें । यतिसम्म कि मन्त्रीको प्रेस संयोजक बसेको मान्छेले किन जागिर खानुपर्‍यो ? मन्त्रीले दिँदैनन् र ? मन्त्रालयमा बस्दा कमाउनुभएन र ? पैसा त टन्नै कमाउनुभयो होला नि ! लगायतका ब्लाब्ला कुराहरू भन्थे । कतिपयले तपाईं मजाक नगर्नुस् न समेत भने ।

    कतिपयले ५-६ महिना प्रेस संयोजक बस्नेहरूले अपार्टमेन्ट, घरघडेरी जोडिसके, तपाईंले के कुरा गरेको भने । आफूलाई यहाँ ५० प्रतिशत डाउन पेमेन्ट पनि सहकारीको ऋण निकालेर किनेको स्टुकटरको किस्ता तिर्न हम्मेहम्मे परिरहेको थियो । तर, मान्छेको तर्क र बुझाइ भने अनेक थिए । केहीले त यतिसम्म भने कि ठाउँमा पुगेर पनि केही गर्न नसक्ने मान्छे किन गएको त ?

    तैपनि कामको खोजीमा बाहिर निस्किएँ । काम खोज्दै जाँदा साथीभाइ, सहकर्मी सबैलाई गुहारें । तर, उत्तर चित्तबुझ्दो थिएन । धेरै शुभचिन्तकको उत्तर केही समय बच्चा हेरेर बस्नुस् न, बच्चालाई समय दिनुस् न भन्ने हुन्थ्यो । तर, मेरो बाध्यता त आफैंसँग थियो ।

    तर, म आफ्नो व्यथा आफैंसँग छ भन्दै कामको खोजीमा लागिरहेको थिएँ । लेख्ने थकथक मेटाउन हिमालखबरको अनलाइनमा स्टोरीहरू लेख्न थालें । हिमालले पेमेन्ट ठीकै गर्ने भएकाले मेरो मोबाइल खर्च चैं निस्कन्थ्यो । तर, यसले घर खर्च चल्ने कुरा भएन । त्यसैले केही समय एउटा अनलाइनमा काम गरें । त्यहाँ पनि भने जस्तो नभएपछि बाहिरिएँ । यसबीचमा केही अनलाइनहरूमा काम गरें । पछिल्लो समय एउटा नयाँ अनलाइनको तीन महिने सम्पादकसमेत भएँ । तर, त्यहाँ पनि परिस्थितिले छाडेर बाहिरिए सामूहिक रुपमै ।

    अहिले तीन महिनायता खाली छु । केही एकेडेमिक आर्टिकलहरूमा काम गर्दै बच्चासँग समय बिताइरहेको छु । तर, अहिलेसम्म पनि मलाई ती कमजोर (कमजोर यस अर्थमा कि सुत्केरी समयमा हर्मोनका कारण पनि महिलाहरू बढी भावुक र चित्त दुखाउने गर्छन्) समयमा प्राप्त गरेका सुझाव र टिप्पणी सम्झेर अचम्म लाग्छ । किनकि तपाईंले सबैभन्दा कमजोर समयमा साथ, सहयोग र सपोर्ट बढीभन्दा बढी पाउनुपर्ने समयमा तपाईं एक्लो जस्तो हुनुहुँदो रहेछ । यो समयमा तपाईंसँग हिजो अघिपछि लाग्नेहरू नहुँदा एक्लो महसुस हुँदोरहेछ । हुनैपर्छ भन्ने पनि छैन । किनभने यो शहर यति व्यस्त छ कि यहाँ कसैलाई कसैको बारेमा सोच्ने फुर्सद छैन ।

    म आफूलाई के कुरामा गर्व गर्छु भने मसँग आज घर, जग्गा, गाडी, पैसा केही पनि छैन होला । तर, मसँग सबैभन्दा ठूलो कुरा इमान छ । केही समय सरकारी तलब खाएँ पनि आज कसैले प्रश्न उठाउन सक्दैन । जुन स्वाभीमानका निम्ति मैले सारा जीवन खर्चिएँ । त्यसका लागि भने मलाई म आफैंप्रति गर्व छ ।

  • राजसंस्थासम्बन्धी बीपी कोइरालाको अदालती बयान- नेपालमा दुईटा राजतन्त्र थियो

    राजसंस्थासम्बन्धी बीपी कोइरालाको अदालती बयान- नेपालमा दुईटा राजतन्त्र थियो

    काठमाडौं । २०१७ साल पुस १ गते महेन्द्रको टेकओभरपछि बीपी कोइरालालगायत हजारौं नेपाली राजनीतिक नेता कार्याकर्ताहरु थुनामा परे । आठ वर्ष जेल बसेर उपचारमा अमेरिका गएका बीपी आठै वर्ष भारत बसेर नेपाल फर्किएका थिए । २०१७ पुस १ मा जेल परेका बीपी २०२५ कात्र्तिक १४ मा थुनामुक्त भएका थिए ।

    उनी २०३३ पुस १६ गते भारतबाट पुनः नेपाल आएका थिए । आएपछि पनि उनी थुनामा परे । थुनामा परेका उनलाई धेरै राजकाज मुद्दा लगाइएको थियो । उनलाई फाँसी दिनेसम्मका हल्ला पञ्चहरुबाट चलाइएको थियो । राष्ट्रिय पञ्चायतमा जुम्लाबाट मनोनीत सदस्य धिरबहादुर हमालले त विराटनगरको पञ्च भेलामा सार्वजनिक रुपमै बीपीलाई फाँसी मागेका थिए । वरिष्ठ पत्रकार भैरव रिसालको पुस्तक ‘उहिलेको नेपाल’मा यो कुरा लेखिएको छ ।

    अदालतमा ल्याइएका बीपीका विभिन्न मुद्दामा राजकाज पनि एउटा थियो । राजतन्त्रको सवाल पनि त्यहाँ आएको थियो । बीपीले आफ्नो अदालती बयानमा राजतन्त्रका बारेमा रोचक तर्क दिएका छन् । लिपि बुक्सले २०७९ चैतमा ल्याएको किताब ‘बीपी कोइरालाले अदालतमा दिएको बयान’मा यो प्रसंग उल्लेख छ । पञ्चायतको डेढ दशक पुग्न लाग्दा विशेष अदालत सिंहदरबारका अञ्चल न्यायाधीश जनकमान श्रेष्ठसमक्ष बीपीले दिएको बयान राजतन्त्रको हल्लाखल्ला भएको अहिलेको समयमा पनि उत्तिकै रोचक देखिन्छ ।

    पञ्चायतको डेढ दशक पुग्न लाग्दा विशेष अदालत सिंहदरबारका अञ्चल न्यायाधीश जनकमान श्रेष्ठसमक्ष बीपीले दिएको बयान राजतन्त्रको हल्लाखल्ला भएको अहिलेको समयमा पनि उत्तिकै रोचक देखिन्छ ।

    ‘म क्रान्तिवादी हुँ । आतंकवादी होइन’, ‘म नेपाली कांग्रेसको अध्यक्ष भएकाले नेपाली कांग्रेसले गरेका सबै कामको लागि मेरो नैतिक जवाफदेही छ, चाहे ती कार्यहरु मेरो ज्ञानमा भएका हुन् वा अज्ञानमा’ भन्ने जस्ता बोल्ड अभिव्यक्ति दिने बीपी राजतन्त्रको सवालमा भने सफ्ट देखिएका छन् ।

    राजतन्त्रका विभिन्न रुप, एक समयममा नेपालमा दुई राजतन्त्र

    २०३४ साल वैशाख २० गते दिएको अदालती बयानमा बीपीले नेपालको राजतन्त्रको रुप समयअनुसार फरक फरक भएको बताएका छन् । राणाकालभन्दा पहिलेको राजतन्त्र र २०१७ सालपछिको राजतन्त्रको उदाहरण दिएर उनले राजतन्त्र एकै खालको नभएको तर्क गरेका छन् । यतिमात्रै होइन, नेपालमा एक समयमा एकै पटक दुई राजतन्त्र अस्तित्वमा आएको उदाहरण दिँदै बीपीले भनेका छन्, ‘२००७ सालमा एक समयमा नेपालमा दुई राजा थिए । तसर्थ, नेपालमा दुई राजतन्त्र थियो । त्यसो हुनाले राजतन्त्र भनेरमात्र हुँदैन । राजतन्त्र कस्तो छ, त्यसको विवेचना हुनुपर्छ ।’

    वैधानिक राजतन्त्रमा बीपी विश्वास

    २०३४ वैशाख २८ गतेको अदालती बयानमा बीपीले आफू नेपाली कांग्रेसको अध्यक्ष भएको र आफूले राजतन्त्रमा विश्वास राख्ने बताएका छन् । उनले भनेका छन्, ‘श्री ५ को अनादर या राजमुकुटको बेकदर गर्ने मेरो कदापि पनि मनसाय हुनसक्दैन ।’ बयानको समय भन्दा तीन वर्ष अगाडि सन् १९७४ अप्रिल १५ मा भारतबाट प्रकाशन हुने अखबार ‘स्पिट फायर’मा लेखिएको आलेख ‘नेपाल द बेसिक क्वेश्चन’मा उठेको सवालमा बीपीले यस्तो बयान दिएका थिए ।

    उनले थपेका छन्, ‘मैले राजा र प्रजाको बीच फाटोको स्थितिको चर्चा गर्दा केही ऐतिहासिक तथ्यको विवरण त्यसमा दिएको हुँ । वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा जब नेपाली कांग्रेसले राष्ट्रिय एकताको सर्वाधिक आवश्यकता महसुस गरेर, राष्ट्रिय एकताको लागि प्रयत्नशील हुने उद्देश्यले हामी नेपाल फर्केका छौं, मेरो त्यो लेखमा लेखिएका कुरा ऐतिहासिक दृष्टिकोणबाट असत्य त छैन । तर, अप्रासाङ्गिक भएको हुनसक्छ ।’

  • भगवान कोइरालाको मुटुको बकपत्र

    भगवान कोइरालाको मुटुको बकपत्र

    मुटुका डाक्टर भगवान कोइरालाको वृत्तान्त ‘हृदय’का सबै अक्षर र शब्दहरु पढियो । सबैलाई थाहा छ कि कोइराला नेपालका सफल डाक्टरमध्ये एक हुन् । मुटु मान्छेको सबैभन्दा प्यारो अङ्ग मानिन्छ । मान्छेका भावना, प्रेम र संवेदनालाई मुटुसँग जोडेर हेरिन्छ । खासमा मुटुसँग ती कुराको साइनो छैन । डाक्टर कोइरालाको मुटुको साइनोका कारण नेपालमा ‘मुटु क्रान्ति’ ल्याउन सफल भएको छ ।

    कोइरालाले पुस्तकको सुरुमै स्वीकार गरेका छन् कि कतिपय घटनाक्रमहरु वाक्क लाग्ने गरी लम्बिएका होलान् र कतिपय थप जान्न पाए हुन्थ्यो भन्दाभन्दै टुंगिएका पनि होलान् । पुस्तक पढ्दाखेरि त्यस्तै अनुभव हुन्छ । किताब २२८ पेजको सामग्रीमा समेटिएको छ ।

    डाक्टर कोइरालासहितका धेरै डाक्टरले मुटुको महत्वलाई घरघर र व्यक्ति-व्यक्तिसम्म पुर्‍याउन सकेका छन् । देशमा थुप्रै मुटुका डाक्टरहरु छन् । जनताले कोइरालालाई मुटुका नेता डाक्टर मान्छन् । भगवान कोइरालासँग जाँच गर्न जाने बिरामीको आधा रोग त्यत्तिकै निको हुन्छ भन्ने मान्यता छ । तर, दुखान्त, एक जना पाल्पाका बिरामी उनको समीपमा गएर अपरेशन गरिदिन्छु र छिट्टै निको हुन्छ भन्नेबित्तिकै आफ्नै आँखा अगाडि मृत्यु भएको घटना निकै हृदयविदारक लाग्छ । देशको कहलिएको डाक्टरकै अगाडि बेहोस भएको बिरामीलाई बचाउन नसकिने रहेछ भन्ने मुटुरोगको जटिलता पेश गरिएको छ ।

    डाक्टर कोइरालाले पुस्तकमा जुन विषयहरु समेटेका छन्, १३ वर्षअगाडि म तिनै विषयमा एउटा अन्तर्वार्ता गर्न चाहन्थें । उनले मलाई चिन्दैन थिए । पत्रिकामा कोइराला खुबै छाइरहने भएको कारण मलाई पनि तिनकै अन्तर्वार्ता लिनुपर्छ भन्ने लागेको थियो । म अन्तर्वार्ताको लागि गंगालाल अस्पताल गएँ र उनका सहयोगी (अहिले नाम बिर्सिएँ)लाई भेटेर सम्पूर्ण परिचयसहित अन्तर्वार्ताको विषयवस्तुको जानकारी दिएँ । उनले पर्सिपल्ट फोन गर्न भने । सहयोगीले फोन नगरेपछि मैले दुई पटक ताकेता गरें ।

    मैले कोइरालासँग अन्तर्वार्ता गर्न चाहनुको बेग्लै कारण थियो । नेकपा (मसाल)को मुखपत्रको रुपमा प्रकाशन हुँदै आएको हाँक साप्ताहिकमा म काम गर्थें । २०६३ मंसिरमा जन्मको आधारमा नागरिकता दिने विधेयक संसदले पारित गरेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीसहितले उक्त विधेयक पारित गरेपछि मैले हाँक साप्ताहिकमै पार्टीका सांसदहरुलाई राष्ट्रघाती भनेर लेखें ।

    पार्टीका सांसदहरुलाई पार्टीको मुखपत्रमै राष्ट्रघाती भनेर लेखेपछि म हाँक साप्ताहिकबाट निकालिएँ । हाँकबाट निकालिएपछि ‘लालटिन’ मासिक पत्रिका दर्ता गरेर निकाल्ने तयारी गरें । युवा र विद्यार्थीहरुलाई लक्षित गरिएको पत्रिकामा मेरो पहिलो रोजाइमा डाक्टर भगवान कोइराला परेका थिए । कोइरालाको पारिवारिक पृष्ठभूमि, पढाइ, रुचि, संघर्ष, गंगालाल आउँदासम्मको यात्रा आदिका बारेमा प्रश्नावलीहरु तयार गरेको थिएँ ।

    पारिवारिक घुलमिल देखाउन बहिनीले भाइटीकाको लागि पर्खिने गरेको प्रसंग उल्लेख गरेको भए पनि आफ्नी सुत्केरी श्रीमती सान्द्रालाई छोडेर महिलाको अपरेशन गर्न गएको प्रसंग भने निकै रोचक छ । व्यवसायिक जीवन बाँचेका सबैले परिवारलाई समय दिन सकेका हुँदैनन् भने डाक्टर कोइरालाले नदिनु कुनै अनौठो भएन ।

    उनका सहयोगीले कोइरालाले अहिले अन्तर्वार्ता नदिने जानकारी गराए । उनले यो पनि भने कि त्यो कस्तो मान्छे हो ? हाइ-प्रोफाइल व्यक्तिको अन्तर्वार्ता लिएर फाइदा उठाउने मान्छे पो हो कि भनेर डाक्टर साबले शंका गरेको जस्तो लाग्यो भनेर मलाई जानकारी दिए । मलाई भाउन्न छुट्यो । मैले पूरै परिचय दिँदा र विषयवस्तुबारे सम्पूर्ण जानकारी दिँदा पनि अन्तर्वार्ता नदिने, सिंगो संसार एक्लै थामेको छु जस्तो गर्ने कस्तो डाक्टर रहेछन् भन्ने लाग्यो । कोइरालाले अन्तर्वार्ता नदिएपछि मैले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज शर्मा (हाल दिवंगत)को अन्तर्वार्ता लिएर पत्रिका प्रकाशन गरें ।

    मैले जुन विषयमा प्रश्नहरु तयार गरेको थिएँ, तिनै विषयहरुको विस्तृत लेखनसहित ‘हृदय’ प्रकाशन भएको छ । डाक्टर कोइरालाले मलाई अझै चिन्दैनन् होला । मलाई तिनको लगाव र योगदानप्रति निकै रुचि भएको हुनाले ६५० रुपैयाँ मूल्यको पुस्तक किनेर पढेपछि केही लेख्नुपर्छ भन्ने लागेको छ । जम्मा ५८ वटा शीर्षकमा विभाजन गरिएको पुस्तकका सबै शीर्षकहरु पढ्दा अल्छी लाग्दैन । पहाडी क्षेत्रका मान्छेहरुको बाल्यकाल त सबैको लगभग उस्तै हुनेरहेछ । विद्यालय, गोठालो, गाईवस्तु चराउँदाको रमाइलो, खेलकुद, आफूले काम बिराउँदा घरपरिवारलाई ढाँट्ने, साथीसंगतीहरुसँगको रमाइलो आदि आममान्छेको जस्तै कुरा सामान्य हुन् । डाक्टर कोइरालाको हुर्काइ पनि त्यस्तै रहेछ ।

    पुस्तकमा पढ्नलायक विषयवस्तु भनेको उनले पढ्दा गरेको मेहनत, अमेरिका र क्यानडाको अभ्यास, शिक्षण र गंगालाल अस्पतालमा गरेको संघर्ष, व्यवस्थापकीय क्षमता, लक्ष्य र उद्देश्यप्रतिको प्रतिबद्धता, विरोधीहरुको बीचबाट आफूलाई सफल बनाउन गरेको निरन्तरको प्रयत्न नै हो । यति हुँदाहुँदै पनि पुस्तकमा केही झूट पस्किइएको छ । लेखक, सम्पादक, प्रकाशक कसैले पनि झूट थाहा पाउन सकेको देखिएन । प्रशंसा गर्दागर्दै झूट पस्किएको थाहा नपाउनु अचम्मै भएको छ । पुस्तकको १८९ पेजमा कोइरालाले १५ हजार मुटुको अपरेशन गरेको तथ्यांक दिइएको छ । पुस्तकको १९१ पेजमा पेटमा बच्चा भएकी महिलाको अपरेशनको सन्दर्भमा डाक्टर कोइरालाले १५ हजार मुटुको अपरेशन गरेको सन्दर्भ लेखिएको छ । पुस्तकको अन्तिम गाता र अन्तिम पानामा करिब १२ हजार अपरेशन गरेको लेखिएको छ । तीन हजारको फरक कसरी आयो त ? प्रशंसा गर्दा, अपरेशन धेरै गरेको देखाउँदा त्यस्तो भएको हो भन्ने जस्तो देखिन्छ । डाक्टर कोइरालाले पाँच हजार अपरेशन गरेको भए पनि नेपालको लागि लाखै छ भने बढाइचढाइ चाहिं किन गर्नुपर्थ्यो ? यसको बारेमा डाक्टर कोइरालाले सार्वजनिक जानकारी दिनुपर्छ भन्ने लाग्छ ।

    ‘नेपालीको इम्युनिटी पावर अलि कडा हुने भएकाले होला, सितिमिती ज्यान गइहाल्दैन’, भीर माहुरीले बुबाआमाको चौरासीमा जम्मा भएका आफन्तहरुलाई टोक्दाको प्रसंगमा यस्तो लेखिएको छ । र, गोराहरुलाई दुई वटाभन्दा बढीले टोकेको भए मर्ने सम्भावना धेरै हुने प्रसंग उल्लेख छ । डाक्टर कोइरालालाई यहीनिर प्रश्न गर्न सकिन्छ, नेपालीको इम्युनिटी पावर धेरै हुन्छ भनेर कोरोना महामारीको समयमा प्रधानमन्त्री केपी ओलीले भनेकै थिए । कोरोनाले पनि गोराहरुलाई धेरै लग्यो । नेपालीलाई लगेन । त्यही इम्युनिटी पावर धेरै भएको हुनाले हो ? यदि हो भने डाक्टर कोइरालाले कोरोनाको बेलामा यो कुरा किन उल्लेख गरेनन् र आफ्नो पुस्तकमा लेखे ? यसको जवाफ उनले दिन्छन् कि दिंदैनन्, पछि थाहा हुनेछ । पुस्तकमा चाहिं नेपालीको इम्युनिटी पावर धेरै हुने लेखेका छन् ।

    पारिवारिक घुलमिल देखाउन बहिनीले भाइटीकाको लागि पर्खिने गरेको प्रसंग उल्लेख गरेको भए पनि आफ्नी सुत्केरी श्रीमती सान्द्रालाई छोडेर महिलाको अपरेशन गर्न गएको प्रसंग भने निकै रोचक छ । व्यवसायिक जीवन बाँचेका सबैले परिवारलाई समय दिन सकेका हुँदैनन् भने डाक्टर कोइरालाले नदिनु कुनै अनौठो भएन । सामान्य घटनालाई व्यक्त गरेका कारण कोइरालाले व्यक्त गरेका पारिवारिक प्रसंगहरु भने फिका लाग्छन् ।

    ‘मस्को कता पर्छ ?’, कोइरालालाई सोधिएको प्रश्न । मस्को जता परोस्, तपाईंले आफ्नो नम्बर हाले भइगो नि ! बंगलादेशको सीटमा तपाईंहरुले मलाई राम्रो जवाफ दिँदादिँदै गुल्ट्याएकै हो, यसमा मलाई फेल गर्न सक्नुहुन्न’ भन्नसक्ने तागत सायद कोइरालासँगै थियो । किनभने उनी उत्कृष्ट विद्यार्थी थिए ।

    जेठ १९ (राजदरबार हत्याकाण्ड २०५८)को शीर्षकमा कोइरालाले लेखेको प्रसंगमा दरबारका सेक्युरिटीका नाटकका बारेमा गजबसँग अनुमान लगाउन सकिन्छ । गोरखशमशेरको अपरेशन गर्न आर्मी अस्पतालमा उपकरण नभएको कारण शिक्षण अस्पतालमा लैजान डाक्टरहरुले सल्लाह गरी गोरखशमशेरकी आमा अम्बिका राणासँग प्रस्ताव राख्दा ‘सेक्युरिटी रिजनले म मेरो छोेरालाई आर्मी हस्पिटलबाट अन्यत्र लैजान दिन्नँ, जे गर्नु छ, तपाईंहरु यही गर्नुस्’ भनेको प्रसंगले अचम्मित पार्छ । दरबारको सेक्युरिटी ध्वस्त भएर त्यति ठूलो हत्याकाण्ड मच्चिइसक्दा पनि दरबारका मान्छेको होश खुलेको रहेनछ । डाक्टरले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्दा पनि तिनीहरुलाई बन्दुककै सेक्युरिटी चाहिने रहेछ । दरबारियाहरु मृत्युको मुखमा पुगेको व्यक्तिको लागि पनि कति नक्कली सेक्युरिटीमा विश्वास गर्ने रहेछन् भन्ने त्यस प्रसंगले बताउँछ ।

    खेलको जीवन

    डाक्टर कोइराला नियमित खेलाडी हुन् भन्ने कुरालाई उनले निकै महत्व दिएका छन् । लामो समय खेलेर थाकेको, थकाइकै कारण निद्रा र सुतेको प्रसंगहरुले खेलको महत्व दर्शाउँछ । यदि उनले आफूलाई खेल जीवनमा समर्पित नगरेको भए यो तहको शारीरिक तथा मानसिक तन्दुरुस्ती हुँदैन थियो होला । उनले खेल जीवनप्रति लगाव राखेको देखिन्छ ।

    आफ्ना दाजुले साथीलाई टर्च लाइट दिएर व्याडमिन्टन साटेको प्रसंगले रमाइलो बनाउँछ । कोइराला व्याडमिन्टन र टेनिस खेलाडी पनि रहेछन् । उनी पाल्पा, काठमाडौं, अमेरिका, क्यानडा, ढाका जहाँ जाँदा पनि खेललाई नियमित गरेका प्रसंगहरु पुस्तकमा छन् । सानोमा सिन्दूरे गोरु चढेर घाइते भएको प्रसंगले पुस्तक पढ्दा सबैलाई केटाकेटी उमेरमै लैजान्छ ।

    पढाइ

    सरकारी विद्यालयको पढाइ जहाँ पनि उस्तै रहेछ- गणित, अंग्रेजी र विज्ञानमा विद्यार्थीहरु कमजोर हुने । देशको नियति हालसम्म पनि त्यस्तै रहेको छ भने आजभन्दा ५० वर्ष अगाडि झनै हालत खराब थियो होला । विसं २०३३ सालमा एसएलसी दिएका डाक्टर कोइरालाको गणितमा जम्मा ३२ आउनु र अहिलेको अवस्था उस्तै उस्तै देखिनु नेपालको शिक्षा नीतिको निरन्तर कमजोरीको पाटो हो ।

    हेल्थ असिस्टेन्टमा भर्ना भएको विद्यार्थी पढ्दै र काम गर्दै जाँदा नेपालकै दामी, नामी र क्षमतावान डाक्टर हुन्छु भनेर त कोइरालाले पनि सोचेका थिएनन् होला । तर, आफ्नो पढाइ र पेशामा निरन्तर लगावकै कारणले उनले सफलता चुमेका हुन् भन्ने कुरामा दुई मत भएन । आफू उत्कृष्ट भएर पनि बंगलादेश पढ्न जान नपाउँदाको झोंक सोभियत संघमा पढ्न जान अन्तर्वार्ता लिँदा उनले दिएको जवाफ सामान्य मान्छेले दिन सक्दैन । ‘मस्को कता पर्छ ?’, कोइरालालाई सोधिएको प्रश्न । मस्को जता परोस्, तपाईंले आफ्नो नम्बर हाले भइगो नि ! बंगलादेशको सीटमा तपाईंहरुले मलाई राम्रो जवाफ दिँदादिँदै गुल्ट्याएकै हो, यसमा मलाई फेल गर्न सक्नुहुन्न’ भन्नसक्ने तागत सायद कोइरालासँगै थियो । किनभने उनी उत्कृष्ट विद्यार्थी थिए ।

    कोइरालाको सोभियत संघ र हालको युक्रेनको पढाइका सन्दर्भहरु पनि धेरैको लागि रोचक लाग्छन् । ट्रली बसको यात्रा, पढाइ, ड्युटी, खेल, थकान, समय अभावका कारण खाना खान नपाउने जस्ता कारणले आफैं न्यूरोको गम्भीर बिरामी अवस्थामा पुगेका प्रसंगहरुले संघर्ष गर्न सजिलो छैन भन्ने पुष्टि गर्छन् । यति कठिन अवस्थाबाट गुज्रिएर शत प्रतिशत अंक ल्याएर पास गर्नु सामान्य सफलता होइन । बंगलादेशमा विशेषज्ञ सर्जन हुन पढ्न गएको प्रसंग पनि निकै रोचक लाग्छ ।

    कैयौं सन्दर्भहरुमा म एक्लैले सबै समस्या समाधान गरेको हुँ भन्ने भाव पुस्तकमा प्रकट भएको छ, त्यति साह्रो आत्मकेन्द्रित चाहिँ नभएको भए पनि हुन्थ्यो होला । उनी समूहका नेता थिए, सही हो । तर, उनलाई नेता बनाउन समूहमा रहेर उनका मनपर्ने र नपर्ने व्यवहार सहँदै सहयोग गरेकाहरुको योगदान पनि उत्तिकै छ भन्ने कुरा बुझाउन सकेको देखिँदैन ।

    अंग्रेजी शब्दहरु एनेस्थेसिया, कार्डियोथोरासिक, रेजिडेन्ट, सर्जरी, कार्डियोभास्कुलर, ओपनहार्ट सर्जरी, अर्थाेपेडिक सर्जन, प्लास्टिक सर्जरी, पफ्र्युजनिस्ट, रेफर जस्ता शब्दहरुलाई प्रत्यारोपण जस्तै नेपाली शब्दहरु किन प्रयोग नगर्ने ? म आफैं ल्याबको विद्यार्थी हुँ । मलाई पनि अंग्रेजी शब्दहरु र त्यसको अर्थ खुलाउन गाह्रो पर्छ भने सामान्य मान्छेले मेडिकल अंग्रेजी शब्दहरुको अर्थ कसरी बुझ्छन् भन्ने कुरा पुस्तकमा ख्याल गरिएको देखिँदैन । मेडिकल अंग्रेजी शब्दहरुलाई नेपाली भाषामा बुझाउन सकेको भए झनै राम्रो हुन्थ्यो ।

    व्यवसायिक जीवन

    सानी बच्ची राधिका, जो नेपाली सेनामा कार्यरत जवानकी छोरी हुन्, उनको पहिलो ओपनहार्ट सर्जरी २०५३ फागुन १६ गते भएको थियो । अहिले उनले विवाह गरेर बच्चा पनि जन्माइसकेकी छन्, मात्रै होइन, ओपनहार्ट सर्जरीको अगुवाइ गर्ने डाक्टर गोविन्द शर्मा, बीएम सिंह र भगवान कोइरालासहित नेपाली डाक्टरको समूहको इतिहास लेखिनु आवश्यक थियो- निकै विस्तारपूर्वक कोइरालाले लेखेका छन् । पढ्दै जाँदा नेपाली डाक्टरहरुप्रति निकै गौरव लाग्छ । ‘नेपालको पहिलो ओपनहार्ट सर्जरी’ शीर्षक पढ्दा हामी नयाँ युगमा प्रवेश गरेको अनुभूत गराउँछ ।

    डाक्टर कोइराला अमेरिका र क्यानडा नगएका भए नेपालमा मुटुको उपचारलाई यति माथि उठाउने र व्यक्तिगत रुपमा पनि उनले यति प्रसिद्धि कमाउँथे होलान् ? त्यो भन्न कठिन पर्छ । पुस्तकमा उल्लेख भएअनुसार कोइरालाले अमेरिका र क्यानडामा धेरै सिक्ने अवसर पाएका छन् । उनले आफ्नो सिकाइलाई आफ्नै देशमा यसरी सदुपयोग गरेका छन्, त्यसका लागि उनी साँच्चिकै महान छन् । भगवान कोइराला सामेल भएर क्यानडामा गरेको मुटुको प्रत्यारोपणको प्रसंग निकै साहसिक र रोमाञ्चक छ । ब्रेन डेथ भएका मान्छेको मुटु निकाल्न हवाईजहाजमा गएर मुटु झिकेर, फर्किएर अर्काे बिरामीमा सफल प्रत्यारोपण गर्न पाउनु नेपाली डाक्टरको लागि मात्रै नभएर नेपालकै लागि दुर्लभ संयोग मान्नुपर्छ । कोइरालाले नेपाल र बंगलादेशमा मुटुको प्रत्यारोपणको दृश्य कसरी देख्न पाउनु ? क्यानडामा चाहिं आफैं सामेल भएर मुटुको प्रत्यारोपण जस्तो दुर्लभ कार्यमा आफूलाई सफलतापूर्वक अवतरण गरेका छन् ।

    सफल व्यवस्थापक

    भगवान कोइराला पुस्तकमा इमानदार देखिन्छन् । उनले कहींकतै बेइमानी गरे कि गरेनन् भन्ने कुरा उनैले खुलाएको भए थाहा हुन्थ्यो । तर, कोइरालाले बिरामीप्रति चाहिं कुनै बेइमानी गरेका छैनन् भन्न सकिन्छ । जेसुकै भए पनि उनी कुशल व्यवस्थापक भएको प्रमाणित गरेका छन् । डाक्टर सशांक कोइरालाको पहल त्यसको लागि निर्णायक देखिएको छ । डाक्टर रामेश कोइराला, डाक्टर मनबहादुर केसी, डाक्टर अरुण मास्केलगायत युवा डाक्टरहरुको टीमका कारण गंगालाल हृदय केन्द्रले सफलताको विन्दू चुमेको रहेछ भन्ने कुरा पुस्तकमा वर्णित छ । गंगालालमा उनले जेजस्ता कठिनाइको सन्दर्भहरु उल्लेख गरेका छन्, ती नेपाली समाजमा आइरहने समस्या हुन् ।

    नेपालीहरुको जस्तो खालको चेतनास्तर छ, त्यस्तै समस्या आउँछन् भन्ने कुरा कोइरालाले बुझ्न सकेकै देखिन्छ । कैयौं सन्दर्भहरुमा म एक्लैले सबै समस्या समाधान गरेको हुँ भन्ने भाव पुस्तकमा प्रकट भएको छ, त्यति साह्रो आत्मकेन्द्रित चाहिँ नभएको भए पनि हुन्थ्यो होला । उनी समूहका नेता थिए, सही हो । तर, उनलाई नेता बनाउन समूहमा रहेर उनका मनपर्ने र नपर्ने व्यवहार सहँदै सहयोग गरेकाहरुको योगदान पनि उत्तिकै छ भन्ने कुरा बुझाउन सकेको देखिँदैन । आफूलाई असहयोग गर्नेहरुको नाम नलिइकन जसरी उल्लेख गरेका छन्, त्यसरी आफूलाई पिलरको रुपमा रहेर सहयोग गर्नेहरुको नाम लिएको भए डाक्टर कोइरालाको के जान्थ्यो ? त्यसले पक्कै पनि पुस्तकको विश्वसनीयता र सहयोगीहरुको योगदानको पनि उचित कदर हुन्थ्यो । कोइरालालाई सहयोग गर्ने सबैले यसरी पुस्तक लेख्दैनन् । लेखे पनि हृदयले जत्तिकै महत्व प्राप्त गर्दैन । पुस्तकमा धेरै प्रसंगहरुमा कहीं न कहीं एकल नेतागिरी देखिन्छ । यसप्रकारको एकल नेतागिरीले आफ्ना सहकर्मीहरुको योगदानलाई ओझेलमा पार्ने काम गर्नसक्छ भन्ने कुरा डाक्टर कोइरालाले ख्याल गरेका छैनन् ।

    ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ नामक संस्थाको नाम ‘काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठान’ वा ‘नेपाल बाल स्वास्थ्य प्रतिष्ठान’ चाहिं किन राखिएन डाक्टर साहेब ? काठमाडौंको गोल्फुटारमा नेपाल सरकारबाट लिजमा प्राप्त ४२ रोपनी जग्गामा स्थापना हुन लागेको संस्थाले नेपाली नाम पाउने अधिकार पनि राख्दैन हो ? यसको जवाफ पनि चाहिन्छ ।

    गंगालालमा काम गर्दा मन्त्री, सचिव, मन्त्रीका मान्छेहरुका टकरावहरु पनि गजबका छन् । कोइरालाले आफू कहींकतै नझुकेको देखाएका छन् । व्यवहारमा कत्तिको सत्यता छ, त्यो तिनी आफैंलाई थाहा होला । व्यवहारमा कहीं आगो, कहीं पानी नभइकन लगातार ८ वर्ष गंगालालको नेतृत्व र अन्य विभागहरुको नेतृत्व गरिन्छ जस्तो चाहिँ लाग्दैन ।

    शिक्षण अस्पतालको निर्देशक हुँदा आकस्मिक कक्षको निरीक्षण गर्दा बिरामीहरुलाई बाहिरका निजी अस्पतालमा पठाउने ‘अपराध’ हुँदा उनी कठोर भएको प्रसंग उद्धृत गर्नु प्रासंगिक नै हुन्छ । ‘म इमर्जेन्सीमा गएर एउटा कुनामा बसें । एक जना चिकित्सकले कुनै एउटा बिरामीलाई अन्यत्र रेफर गर्दै गरेको देखें । करिब एक सय वटा बेड अस्पतालमै खाली भएको मलाई थाहा थियो । मैले ती चिकित्सकलाई तत्काल भनें, ‘ए कान्छा, भित्र एक सय वटा बेड खाली छन् । यहाँ आएको बिरामी कहाँ पठाउन लागेको ? खुरुक्क भर्ना गर ।’ डाक्टर कोइरालाको यो आदेश सामान्य खालको छैन । शिक्षण अस्पताल सुधार्न उनले गरेका प्रयासहरु साँच्चिकै ऐतिहासिक छन् ।

    एक सफल प्रशासकको रुपमा दरिएका कोइरालाको ‘हृदय’ भ्रष्टाचारका विरुद्धको एक सशक्त दस्तावेज पनि हो । काममा ठग प्रवृत्ति, आर्थिक चुहावट, अस्पतालका सामग्रीहरुको चोरी, बिरामीहरुको रेफर आदिका विरुद्धमा आफूलाई उभ्याएका देखिन्छन् । एउटामात्रै व्यक्ति सफल भएर समग्र विधि र पद्धतिमा सुधार आउने होइन । देशको समग्र प्रणालीमै सुधार हुन आवश्यक छ । प्रणालीमा सुधारको एकमात्र बाधक भनेको भ्रष्टाचार हो भन्ने कुरामा कोइराला देखिन्छन् । यस कुरामा उनी सही छन् ।

    गरिब लक्षित राहत

    डाक्टर कोइराला एउटा कुरामा निकै दृढ देखिन्छन्- स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको प्रमुख दायित्व राज्यको हो । गरिब र धनीहरुले बराबरी हैसियतमा उपचार प्राप्त गर्न पाउनुपर्छ । उनले गंगालालमा ल्याएका राहतका कार्यक्रमहरु निकै प्रशंसनीय छन् । ‘पाटो बेचिकन आया हुँ हजुर’ शीर्षकको सामग्री वास्तविक र भावनात्मक पनि छ । गरिब र दुर्गम क्षेत्रका बिरामीहरुको दायित्व बहन गर्ने जुन प्रयत्न गरेका छन्, त्यो निकै सराहनीय छ । देशभरका अस्पतालका निर्देशकहरुले यस्तै पहल लिने हो भने देशको स्वास्थ्य क्षेत्रमा ठूलो सुधार गर्न सकिन्छ ।

    अन्त्यमा, डाक्टर कोइरालाले आगामी योजना जसरी प्रस्तुत गरेका छन्, त्यो निकै सराहनीय छ । काठमाडौंमा बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पताल, बाँकी ६ वटा प्रदेशमा जनरल बाल अस्पताल बनाउने उनको योजना सफल हुनेछ । यति हुँदाहुँदै डाक्टर कोइरालालाई अंग्रेजी मोहले चाहिँ कहींकतै छोडेको छैन । ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ संस्थाको नाम ‘काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठान’ वा ‘नेपाल बाल स्वास्थ्य प्रतिष्ठान’ चाहिं किन राखिएन डाक्टर साहेब ? काठमाडौंको गोल्फुटारमा नेपाल सरकारबाट लिजमा प्राप्त ४२ रोपनी जग्गामा स्थापना हुन लागेको संस्थाले नेपाली नाम पाउने अधिकार पनि राख्दैन हो ? यसको जवाफ पनि चाहिन्छ । यो देशलाई अंग्रेजीमोहले निकै गालेको छ । बाल स्वास्थ्य प्रतिष्ठान पनि आफैंमा निकै सुन्दर नाम हुनसक्छ । तपाईंका विदेशी साथीहरुलाई अंग्रेजीमा अनुवाद गरेर नाम सुनाउँदा भइहाल्यो नि ! होइन र ?

  • खुशी हराएको बस्ती

    खुशी हराएको बस्ती

    रुकुम पश्चिम । बिहानै मोबाइल बज्यो । ‘समय कस्तो छ ? भूकम्प प्रभावित क्षेत्र जानुहुन्छ ?’, मित्र मनोज राईले सोध्नुभयो ।

    ‘हुन्छ नि, कहिले ?’

    ‘आजै, तयार हुनुहोस् ।’

    गएको कार्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम ध्वस्त बनाएको थियो । भूकम्प गएको एक महिनासम्म पनि यहाँको दैनिकी सामान्य भइसकेको छैन । भूकम्पले रोग, भोक र शोकमा रहेका बस्तीहरूमा चिसोले थप कष्ट दिइरहेको छ । त्यहाँ पुरेरै स्थलगत समाचार संकलन गर्ने योजना भए पनि अवस्था भने मिलेको थिएन ।

    ढिलो नगरी साथीहरूले व्यवस्था गरेको गाडीमै जाजरकोट हानिए ।

    मध्य मङ्सिर । कठ्याङ्ग्रिँदो चिसोमा सानो त्रिपालमुनि लालाबाला च्यापेर गुजारा गरिरहेका यहाँका कैयौं परिवारहरूमा अझै पनि भूकम्पको त्रास हटेको छैन ।

    एक महिना पहिले शुक्रबार करिब सबै मस्त निद्रामा रहेका बेला राति ११ः४७ बजे थाम्नै नसक्ने गरी भुईं हल्लियो । जाजरकोट बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले १५४ जनाको ज्यान लियो । ३३६ जना घाइते भए । अहिले केही निको भएर घर फर्किएका छन् । कैयौं अझै अस्पतालको शय्यामा छटपटाइरहेका छन् । भूकम्पले दुई जिल्लामा मात्रै ६० हजार बढी घरमा क्षति पुर्‍याएको छ ।

    घटनाको एक महिनापछि पनि त्यो दिन अझै बिर्सन सकेका छैनन् यहाँका प्रभावितहरूले । त्यसैमाथि हरेक रात कठ्याग्रिँदो चिसोले उनीहरूलाई त्यो पल याद गराइरहन्छ ।

    जाजरकोटको भेरी नगरपालिका परिसरमा दर्जनौं त्रिपाल टाँगेर बसेका परिवार छन् । भूकम्प गएको एक महिना बितिसक्दा पनि अधिकांश घर फर्किन सकेका छैनन् । भूकम्प पीडितहरूको नाममा करोडौं रकम संकलन हुँदा पनि प्रभावित क्षेत्रका नागरिकहरूले राहत पाउन सकेका छैनन् ।

    एक महिनादेखि त्रिपालको सहारामा आफू र आफ्नो बच्चालाई ओत दिइरहेकी आरती परियारको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । उनका २ बच्चामा स्वास्थ्य समस्या देखिएको छ ।

    ‘यहाँ आएर बसेको पनि लामो समय भइसक्यो बच्चाहरू बिरामी भइरहेका छन् । खोकी लागिरहेको छ, सास फेर्न समस्या भइरहेको छ’, आरतीले बिलौना गरिन् ।

    अहिलेसम्म २२ जनाको चिसोले ज्यान लिइसकेको छ । जसमा जाजरकोटका १९ र रुकुम पश्चिमका ३ जना छन् । मृत्यु हुनेमा धेरैजसो दीर्घ रोगी छन् । चिसोले कठ्यांग्रिएकाहरुलाई यो तथ्याङ्कले थप त्रसित बनाएको छ ।

    केन्द्रबिन्दु बारेकोटको रामीडाँडामा १७ गते कसैको पनि मृत्यु भएन । तर, यो एक महिनामा मात्र त्रिपालमा बस्दा चिसो लागेर बारेकोटमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

    बारेकोट उच्च भेगको तापक्रम एक डिग्री सेल्सियसमा झरिसकेकाले पीडितको अवस्था झन् कठिन भएको छ । ‘सोमबार यो क्षेत्रमा पानी परेको छ । माथिल्लो भेगमा हिउँसमेत परेको छ’, गाउँपालिका प्रमुख वीरबहादुर गिरीले भने, ‘त्रिपालमा बस्दै आएकाहरूलाई झन् जोखिम बढेको छ ।’

    बारेकाटेको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेकाले चिसो झन् बढेको छ । ‘जुम्ला र डोल्पासँग जोडिएको क्षेत्र भएको हुँदा यहाँ निकै चिसो बढेको छ । १२ जनाले ज्यान गुमाइसके । अझै धेरैको स्वास्थ्य अवस्था बिग्रिरहेको छ’, उनले भने, ‘यहाँ न्यानो कपडा धेरै चाहिएको छ ।’

    मेयर गिरीले सरकारले हिजोमात्रै पहिलो किस्ता उपलब्ध गराएपछि अब उक्त रकम प्रभावितहरूलाई हस्तान्तरण गरिने बताए । ‘१३ करोड बढी रकम आएको छ । ५ हजार ५८६ जनालाई ५० हजार उपलब्ध गराउनु पर्नेछ’, उनले भने ।

    परिवारका सबै सदस्य गुमाएका, लाखौंऔकरोडौं धनमालको क्षति व्यहोरेका परिवारले सरकारबाट ५० हजार पाउँदैछन्, त्यो पनि एक महिनापछि । तर, उनीहरू अहिले न्यानो लुगा नपाएर तड्पिरहेका छन् । भूकम्प प्रभावितहरूले एउटा न्यानो लुगासमेत नपाएर कठ्याग्रिएर मृत्युवरण गर्नुपर्ने अवस्था देखेपछि सँगै रहेका किशोर शाहले भने, ‘यहाँ त सरकार नभएको आभास भयो है !’

    करिब २ सातासम्म भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणमा खटिएका शाहका अनुसार यी क्षेत्रका जनताको लागि सरकार नभएको आभास भएको छ । उनी भन्छन्, ‘मान्छेहरू अहिले पनि भयभीत र त्रसित छन् । सरकार घुम्न र हेर्न आएको जस्तो उनीहरूलाई भान भएको छ । अहिलेसम्म गतिलो व्यवस्था हुनसकेको छैन ।’

    जाजरकोट जस्तै क्षति व्यहोरेको रुकुम पश्चिमका बस्तीहरू पनि खण्डहर बनेका छन् । छोरा निर्जल बितेको एक महिनासम्म पनि रामबहादुर चन्दलाई राम्ररी निद्रा परेको छैन । २ वर्षअघि श्रीमतीले अर्कै रोजेपछि उनले निर्जललाई आमाको पनि माया दिइरहेका थिए । रामबहादुरले अर्काे बिहे गरे । कार्तिक १७ गते रामबहादुर सानीभेरी गाउँपालिका- ९ सिम्नीमा थिए । उनी श्रीमतीले १० महिनाको शिशुलाई आफूसँग सुताइन् । ८ वर्षको निर्जल भुईंमा सुतेका थिए ।

    जाजरकोट नलगाड नगरपालिका- १ को चोचे टोलमा स्थानीयवासी हिरे कामी तिहार मनाउन भारतबाट आएका थिइन् । चाडबाडमा रमाइलो गर्न, परिवारसँग बस्न गाउँ फर्किएका उनले तिहार देख्न पाइनन् । हिरे कामीसँगै श्रीमती र दुई सन्तानको मृत्यु भयो । समयमै उद्धार गर्न सकेको भए हिरे कामीलाई जोगाउन सकिन्थ्यो भन्ने लागेको थियो उनका छिमेकी र आफन्तहरूलाई ।

    ‘मध्यरातमा गाउँभरि कोलाहल र रुवाबासी मच्चियो, हामी कसैको दिमागले काम गरिरहेको थिएन’, हरिबहादुर चुनारा भूकम्पको रात सम्झिन्छन्, ‘जब हामी अरूलाई सहयोग गर्न सक्ने भयौं, हिरे कामी बोल्दै हुनुहुन्थ्यो ।’

    अधिकांश दलित समुदाय रहेको चोचे टोलका १४ जनाले ज्यान गुमाए । केही परिवार पूरै भूकम्पमा पुरियो । जस्तो भिउसन कुमाईंको चार जनाको परिवार नै भूकम्पले लग्यो । यहाँका १८६ घरधुरीमध्ये कुनै घर बस्न लायक छैन ।

    सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना लामो समय रहन सकेन । जाजरकोटको नापी कार्यालयमा पोस्टिङ भएको एक वर्ष नपुग्दै अमिन पदमा कार्यरत २५ वर्षीया एलिना भण्डारी भूकम्पमा पुरिइन् । उनीसँगै उनका भाइ प्रज्ज्वलको पनि भूकम्पमा परी ज्यान गएको थियो ।

    जाजरकोटको नलगाड नगरपालिका- ६ भारगाउँकी जमुना बुढामगरले भूकम्पका कारण श्रीमान् र पेटमा हुर्कँदै गरेको आठ महिने शिशुलाई गुमाइन् ।

    भूकम्पबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- १४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरलगायतका गाउँमा मात्रै ३० जना बढीको मृत्यु भयो ।

    भूकम्पमा परी ज्यान गुमाएका १५४ मध्ये करिब आधा बालबालिका थिए । प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म ७८ जना बालबालिका सधैंका लागि भूकम्पमा पुरिए । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाले भूकम्पमा ज्यान गुमाए । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेको प्रहरीले जनाएको छ ।

    भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अब बढ्दैन । तर, चिन्ता अब बाँचेकालाई कसरी जोगाउने भन्ने छ । ‘साना बालबालिकालाई चिसोमा कसरी जोगाउने भन्ने पीर छ’, हात्तीराम महरको चिन्ता छ, ‘बाहिरै रात काट्नु परेको छ । दिनदिनै चिसो बढ्दै गएको छ । निकै समस्या भइरहेको छ ।’

    भूकम्प गएको महिना दिन बितिसक्दा पनि यहाँका नागरिकको जीवनशैली सहज भएको छैन । भूकम्पका कारण घरविहीन प्रभावितहरु खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् । यहाँ सामान्य वर्षाले पनि थप जोखिम बढ्ने देखिन्छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालविना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका- ८ का रामप्रसाद खत्रीले बताए ।

    सरकारले उचित व्यवस्थापन गर्न ढिलाइ गरिरहेको बेला यहाँ राजनैतिक दल र तिनका भ्रातृ सङ्गठनले गरेका कामहरू प्रशंसायोग्य छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । दलहरूले आफ्ना भ्रातृ सङ्गठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् ।

    पछिल्लो केही समययता परकम्प गएको छैन । जसका कारण केही व्यक्तिहरू अहिले जीर्ण घरमा बस्न पुगेका छन् । तर, जीर्ण घर पुनर्निर्माण नगरिए सामान्य परकम्पले भत्काएर थप ठूलो क्षति पुर्‍याउन सक्ने भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्ती बताउँछन् ।

    नेपालमा २०७२ सालको विनाशकारी भूकम्प गएयता चार म्याग्निट्युडभन्दा माथिका ७७० भन्दा बढी भुइचालारू गइसकेको सरकारी विवरणले देखाएको छ । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने र विशेष गरी पश्चिम नेपालमा विगत ५०० वर्षयता ठूलो भूकम्प नगएकाले यहाँ महाभूकम्पको सम्भावना कम नभएको विज्ञहरू बताउँछन् ।

  • गौशालामा ‘बन्धक’ बने मधेशका महिला- दुर्गा प्रसाईंको शिविरभित्र पस्दा जे देखियो

    गौशालामा ‘बन्धक’ बने मधेशका महिला- दुर्गा प्रसाईंको शिविरभित्र पस्दा जे देखियो

    गौशाला क्षेत्रका स्थानीय र केही होटल व्यवसायीले दुर्गा प्रसाईंको आन्दोलनमा आएकालाई बन्धक शैलीमा राखेको सूचना दिएपछि हामी मंसिर १२ गते बिहान १० बजेतिर नेपाल प्रेसको कार्यालयबाट निस्कियौं ।

    कार्यालयबाट निस्कने क्रममा गौशाला प्रहरी प्रभागका प्रहरी नायब उपरीक्षक केशव थेबेलाई पनि सम्पर्क गर्‍यौं । किनकि त्यहाँ हामीमाथि समस्या पनि आउन सक्थ्यो । थेबे नेतृत्वका प्रहरी अघिल्लो दिनको प्रदर्शनदेखि नै हाइ अलर्टमा रहेछ त्यहाँ ।

    गौशाला चोकमा न्यू घरेलु होटल र सेभेन स्टार पार्टी प्यालेस दुई ठाउँमा प्रसाईंको आन्दोलनमा आएकालाई राखिएको रहेछ । पहिले हामी सेभेन स्टारमा राखिएका सहभागीको अवस्था बुझ्न गयौं ।

    अभियानमा सहभागी हुन आएकाहरु केही घाम ताप्दै गफगाफ गर्दै थिए । केही खाना खाएर फर्कंदै थिए । कतिपय सुतिरहेका थिए । त्यहाँ अधिकांश मधेशी मूलका महिलाहरु थिए । हाम्रो प्रवेशलाई त्यहाँ सबैले असहज ढंगले हेरिरहेका थिए ।

    हामी ती महिलासँग कुरा गर्न चाहन्थ्यौं, जो अघोषित रुपमा बन्धक जस्तै बनाएर राखिएका थिए । यो चिसोमा पार्टी प्यालेसको भुईंमा राखिएका मधेशका महिलाहरु आफ्नो घर फर्किन चाहे पनि उनीहरुलाई जान नदिइएको सूचना थियो हामीसँग ।

    हामी ती महिलासँग कुरा गर्न चाहन्थ्यौं, जो अघोषित रुपमा बन्धक जस्तै बनाएर राखिएका थिए । यो चिसोमा पार्टी प्यालेसको भुईंमा राखिएका मधेशका महिलाहरु आफ्नो घर फर्किन चाहे पनि उनीहरुलाई जान नदिइएको सूचना थियो हामीसँग ।

    हामीले उनीहरुमध्ये एक जनासँग कुरा गर्न खोज्दा हच्किए । अर्का एक व्यक्ति जो प्रसाईंको तर्फबाट हेरालुका रुपमा राखिएका थिए, उनीसँग हामीले कुरा गर्न खोजेका थियौं । उनले पनि ‘मैले बोल्न मिल्दैन, सरलाई बोलाएर ल्याउँछु, उनैसँग कुरा गर्नुस्m जे गर्नुस’ भन्दै ती व्यक्ति भित्र छिरे ।

    हामीले त्यहाँ घाम ताप्दै गरेका केही महिलाहरुसँग कुरा गर्न खोज्यौं । कुरा गर्न छेउमा जाँदा उनीहरुले अप्ठेरो मानेको र केही अलमल परेको जस्तो गरे । एकदुई जना हामी त्यहाँ पुग्नासाथ उठेर हिँडे पनि ।

    केही महिलासँग हामीले अनौपचारिक गफ गर्न खोज्यौं । तीन जना महिला एकै ठाउँमा थिए । उनीहरुले आफ्नै भाषामा ‘सब खतम है, हामुन के कछु बात ना पता है’ भने । यसबाट उनीहरुको अवस्था लख काट्न सकिन्थ्यो ।

    हामीले भन्यौं ‘डराउनुपर्दैन, हामी गलत मान्छे होइनौं, सामान्य अवस्था बुझ्न आएका हामी पत्रकार हौं ।’

    तीन जनामध्येकी एक महिला ‘का बताइ सरासर घर जाइके’ भन्दै चुप लागिन् ।

    केही महिलासँग हामीले अनौपचारिक गफ गर्न खोज्यौं । तीन जना महिला एकै ठाउँमा थिए । उनीहरुले आफ्नै भाषामा ‘सब खतम है, हामुन के कछु बात ना पता है’ भने । यसबाट उनीहरुको अवस्था लख काट्न सकिन्थ्यो ।

    हामीले सोध्यौं, ‘तपाईंहरु कहाँबाट आउनुभएको हो, कति दिनसम्म बसिन्छ होला ?’

    दुई जना महिलाले आफ्नो भाषामा ‘कब जाइके कब ? कछु पता ना होइल, अबही जाई, कसै जाइके घर’ एक ले अर्कालाई हेर्दै बोले । अर्थात ‘कहिले घर जानु ? केही थाहा छैन, जानु त अहिले नै हुन्थ्यो कसरी जानु हो ?’ उनीहरुको संवादको सार यही थियो ।

    सँगै रहेकी नाम खुलाउन नमानेकी एक जना महिला पर्सा निवासी रहिछिन् । उनले लकडाउन अगाडि लिएको एक लाख रुपैयाँ ऋण अहिले बढेर ११ लाख भएको रहेछ । दुर्गा प्रसाईंको मान्छेहरुले उक्त ऋण तिर्नुपर्दैन, आन्दोलनमा गएपछि माफ हुन्छ भन्दै ल्याएको नेपाल प्रेससँग बताइन् ।

    उनले आफूलाई यहाँ बस्न मन नलागेको तर घर कहिले पठाउँछन् थाहा नभएको बताइन् ।

    ‘पहिले पनि आन्दोलन गरेको हो केही भएन । अहिले यो अभियानबाट पनि आश मर्‍यो, जति सक्दो चाँडो घर पठाए हुन्थ्यो’, उनले भनिन् ।

    एउटी महिलाले अर्की महिलालाई कुरा नगर भित्र जा भन्दै ‘सब चोर है कछु ना बात करे का-का बात करके सब बक्दै चल भितर’ भनिन् । त्यसपछि उनी हामीसँग कुरा गर्न डराइन् ।

    अर्थात् ती महिलालले सबै चोर हुन्, के के कुरा गरेर तैले सबै कुरा भन्दिछेस्, नबोल् सीधै भित्र जा भनेकी थिइन् ।

    एक जना महिला पर्सा निवासी रहिछिन् । उनले लकडाउन अगाडि लिएको एक लाख रुपैयाँ ऋण अहिले बढेर ११ लाख भएको रहेछ । दुर्गा प्रसाईंको मान्छेहरुले उक्त ऋण तिर्नुपर्दैन, आन्दोलनमा गएपछि माफ हुन्छ भन्दै ल्याएको नेपाल प्रेससँग बताइन् ।

    त्यही बीचमा बाराबाट आएकी अर्की महिलाले भनिन्, ‘हाम्रो ऋण माफ गराइदिन्छु भनेर हाम्रो प्रयोग भयो, कति दिदीबहिनीहरु घाइते भएर अहिले अस्पतालमा छन् । आफैं घर जाउँ भने साथमा पैसा छैन ।’

    ०००

    एकाएक सेभेन स्टारको गेटबाट एक जना छातीमा नेपालको झण्डा बेरेको र दुई जना फोन कानमा लगाएका युवा भित्र छिर्दै भने, ‘ओई गेट बन्द गर ।’

    उनीहरुसहित थप तीन जना पुरुष हामीतिर आएर भने, ‘के हो ? को हो तिमीहरु ? किन आएको ?’

    हामीले प्रेसपास देखाएर ‘हामी पत्रकार हौं’ भन्यौं ।

    एक जनाले हामीमध्ये उमेश कार्कीको प्रेस पास लुछ्दै ‘किन आएको’ भने । उनीहरुको बोली र स्वभाब फरक अनि डरलाग्दो थियो । हिँडाइ हेर्दै कुटिहाल्छन् कि जस्तो । बोलीमा पनि रुखोपन थियो ।

    उनीहरुले हामीलाई ‘यहाँ केही पनि छैन, माथि सरहरु हुनुहुन्छ, जे गर्नुछ, जे सोध्नु छ माथि गएर सोध्नुस्’ भन्दै हामीलाई बाहिर निस्किन भने ।

    हामीले ‘केही होइन, हामी आन्दोलनकारीको अवस्था के छ, बुझ्न आएको’ भन्यौं ।

    ती एक जनाले भने, ‘के काम हो, माथि गएर कुरा गर्ने । यता आउने होइन । माथि जाउँ ।’

    हामीले ‘भिडियो खिच्न आएका हैनौं, सामान्य अवस्था बुझ्न आएको’ भन्यौं ।

    बाराबाट आएकी अर्की महिलाले भनिन्, ‘हाम्रो ऋण माफ गराइदिन्छु भनेर हाम्रो प्रयोग भयो, कति दिदीबहिनीहरु घाइते भएर अहिले अस्पतालमा छन् । आफैं घर जाउँ भने साथमा पैसा छैन ।’

    झण्डा छातीमा बाँधेका युवकले भने, ‘यता आउनु हुँदैन । यिनीहरुसँग कुरा नगर्नुस् । जे हो, माथि सरसँग कुरा गर्नुस् ।’

    उनीहरुले भने पछि हामी त्यहाँबाट बाहिरियौं । हामी बाहिरिएलगत्तै उनीहरुले गेट लगाए ।

    आन्दोलनका सहभागीहरु भएको ठाउँमा बाहिरका मान्छेलाई प्रवेश निषेध गरिएको रहेछ । बाहिरको मान्छे त के, पुलिस र पत्रकारलाई पनि भित्र छिर्न नदिने भनेको रहेछ । प्रहरी पनि बाहिरै तैनाथ थिए ।

    सेभेन स्टारमा त गेट खुला नै थियो र हामी भित्र पस्यौं । आन्दोलनका सहभागी बसेको अर्को ठाउँ घरेलु होटेलमा त गेट भित्रदेखि नै बन्द थियो । कोही भित्र जान खोज्यो भने ४-५ जना बसेर किन, कसरी भन्दै केरकार गर्न थाल्थे ।

    गौशालामा राखिएका अधिकांश सहभागी महिला छन् र उनीहरु मधेशका विभिन्न जिल्लाबाट ल्याइएका छन् । उनीहरुलाई ल्याउने सोही ठाउँका ठेकेदार रहेछन् । खानबस्न फ्री र ऋण मिनाहा हुने भनेर उनीहरुलाई ल्याइएको रहेछ । यहाँ आएकामध्ये केही महिला यसअघि मिटरब्याजीविरुद्धको आन्दोलनमा पनि आएका रहेछन् ।

    ती महिलालाई सरकारले उद्धार गरेर सुरक्षित रुपमा आआफ्नो घर फर्काउनु हितकर देखिन्छ । केही बिरामी पर्न थालिसकेका छन् । केही घर जान पाइएन भनेर आत्तिएका छन् । आफ्ना नागरिकप्रतिको दायित्व सरकारको केही हुन्न ? यो अनुत्तरित प्रश्न बोकेर हामी आन्दोलनकारीहरुको भिडिओ अन्तर्वार्ता अधूरै राखेर फर्कियौं ।

  • रवीन्द्र मिश्रलाई खुलापत्र

    रवीन्द्र मिश्रलाई खुलापत्र

    आदरणीय रवीन्द्रजी,

    तपाईं र उज्ज्वल थापाजीले एउटै कालखण्डमा नेपालमा वैकल्पिक राजनीतिको बिजारोपण गर्नुभयो भन्नेमा सायद दुई राय छैन । नेपाली राजनीतिमा पहिलो पाइला राख्दा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दललाई चुन्ने कि तपाईं नेतृत्वको साझा पार्टीलाई चुन्ने भन्दा मैले तपाईं नेतृत्वको साझा पार्टी चुनेको थिएँ । यसका केही आधारहरू थिए:

    पहिलो, तपाईंले लोक कल्याणकारी राज्य अबको आवश्यकता हो भनेर भन्नुभएको थियो र आज नेपालको आवश्यकता पनि लोक कल्याणकारी राज्य र डेलिभरी नै हो ।

    दोस्रो, तपाईंले भन्ने गरेको बटम टु टप अप्रोचको सांगठनिक संरचना हो, जसले विकेन्द्रीकरणको सिद्धान्तलाई आत्मसात गर्छ ।

    तेस्रो, माथिका दुबै कुरा पूरा गर्न सक्ने क्षमता र ज्ञान भएको नेतृत्व तपाईं हुन सक्नुहुन्छ भन्ने विश्वास थियो ।

    नेपाली राजनीतिले धेरै उतारचढाव व्यहोरेको छ । २००७ सालको क्रान्तिले जनताले चाहेको पूर्ण लोकतन्त्र नल्याए पनि निरंकुश राणा शासनको अन्त्य गरी जनताको शासन हुने व्यवस्था सुनिश्चित गरेको थियो । जनताको चाहनाले पूर्णता पाउनु त परै जाओस्, तत्कालीन राजा महेन्द्रले शिशु अवस्थामै रहेको प्रजातन्त्रको हत्या गरे । उनले स्वाभाविक रुपमा गर्नुपर्ने केही काम पक्कै गरेका थिए होलान् । तर, जनताबाट निर्वाचित संसद र सरकारको क्रूर हत्या गरेकै थिए, शिशु प्रजातन्त्रको घाँटी निमोठेकै थिए ।

    त्यसपश्चात् भएको २०४६ सालको जनआन्दोलनले फेरि नेपाली जनताको शासन पुनःस्थापना गर्‍यो । यद्यपि तत्कालीन परिस्थितिमा जनताले चाहेको पूर्ण लोकतन्त्रको माग पूरा हुन सकेन । राजाका केही अधिकार कटौतीसहित बहुदलीय प्रजातन्त्र नेपालको शासन प्रणाली बन्न पुग्यो । राजा सेरेमोनियल रुपमा बसून् र शासन नेपाली जनता आफैंले गरुन् भन्ने नेपाली जनताको चाहना आत्मसात गरेकाले तत्कालीन राजा वीरेन्द्र सर्वस्वीकार्य भएका थिए । तर, एउटै वंशमा जन्म लिने सबै व्यक्ति समान रुपका कहाँ हुन सक्छन् र ?

    दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको वंश नाश भएपश्चात् भने नेपाली राजनीतिले नयाँ मोड लियो । दाइको हत्यापछि राजगद्दीमा आसीन भाइ राजा ज्ञानेन्द्रले दाइको भन्दा बुबाको पदचापमा हिँड्ने निर्णय गरे । अनि फेरि जनताबाट निर्वाचित संसदको विघटन भयो । २१औं शताब्दीमा पूर्वराजा ज्ञानेन्द्रले लोकतन्त्रविरुद्ध चालेको त्यो कदम आजको दिनमा इजरायलले प्यालेस्टाइनका शिशुहरुको विभत्स नरसंहार गरे बराबरको थियो । नेपाली जनता दरबारबाट पटक पटक हुने यस किसिमको व्यवहारबाट आजित भइसकेका थिए । उनीहरू पूर्ण लोकतन्त्र र संविधानसभाको लागि फेरि एक पटक सडकमा ओर्लिए । परिणाम के भयो- राजतन्त्र इतिहास हुन पुग्यो । जनताले आफ्नो संविधान आफैं लेखे र व्यवस्था परिवर्तनको तिर्खा सम्भवतः मेटाए । त्यसपश्चात् नेपाली जनताको चाहना अवस्था परिवर्तनको रहँदै आएको छ ।

    प्रिय रवीन्द्रजी,

    यी सबै कुरा तपाईंलाई ज्ञात नभएको अवश्य होइन । तर, तपाईं नशामा युद्ध गर्न हिँडेको सेना जसरी बुझ्न नसक्ने अवस्थामा पुगिसक्नु भएको छ । वंशमा आधारित राजनीतिको केही सत्यता तपाईंलाई बताउन चाहन्छु । प्राचीनकालमा एक पुस्ताबाट अर्को पुस्तामा परिवारभित्रबाट सीप हस्तान्तरण हुन्थ्यो । त्यसकारण परिवारको पेसा नै हरेक पुस्ताले अवलम्बन गरेको पाइन्छ । आधुनिक युग र औपचारिक शिक्षाले अब सीप विकास परिवारभित्र सीमित रहेन । त्यसकारण वंशका आधारमा होइन, योग्यता र प्रतिस्पर्धाका आधारमा मानिसको पदस्थापन हुनुपर्छ भन्ने हो । आजको युग त्यसैको हो ।

    अब तपाईंका पछिल्ला केही अराजक र अतिवादी अभिव्यक्तिहरूमा जाऔं । बहुलवादमा आधारित लोकतन्त्र स्वीकार्नेले अरु कसैले पुरातनवादी विचार राख्छ भने त्यो विचार राख्न पाउने अधिकारको सम्मान नै गर्छ । त्यसैको उपजको हिजो बोल्ने स्वतन्त्रतासम्म नदिने राजतन्त्रको तपाईंले वकालत गरिरहँदा त्यसबाट पीडित राजनीतिक दलहरूले भने तपाईंको स्वतन्त्रता छिनेका छैनन् । यी राजनीतिक दलले त्यो अधिकारको सुनिश्चितता गरेका छन् । अब डेलिभरी र अवस्था परिवर्तनको बहसमा राजनीति केन्द्रित हुनुपर्छ भन्नेमा जनताको चाहना छ । यो अकाट्य सत्य हो ।

    श्रद्धेय रवीन्द्रजी,

    तर, आज तपाईं आफैंले सुरु गरें भनेर दाबी गर्ने ‘कल्याणकारी लोकतन्त्र’को बहसबाट धेरै टाढा पुगिसक्नु भएको छ । कतिसम्म टाढा पुग्नु भयो भने आज तपाईंको राजनीतिक एजेण्डा केवल एउटामात्रै रहेको छ । त्यो हो- राजतन्त्र पुनःस्थापना । हालै तपाईंले लेखेका केही स्टाटस पढ्ने हो भने तपाईं र तपाईं आबद्ध पार्टीसँग अरु एजेण्डा नै नभएको र एकल एजेण्डा ‘राजतन्त्र’ रहेको पुष्टि हुन्छ ।

    आजको दिनमा असान्दर्भिक भए पनि ‘राजतन्त्र’को एकल एजेण्डा बोक्न पाउनु तपाईं, तपाईं आबद्ध पार्टी या अन्य कसैको अधिकारको विषय हो । बहुलवादलाई स्वीकार्ने मलाई त्यसमा धेरै चासो रहने कुरा भएन । तर, आज यो खुलापत्र लेख्न बाध्य बनाएको तपाईंका केही खतरनाक र हानिकारक योजना देखेर हो ।

    तपाईंले भनिरहनु भएको खोपीमा राख्ने राजा भ्रममात्र होइन, षड्यन्त्रपूर्ण अभिव्यक्ति हो । पहिलो त नेपालका राजाहरू शक्तिविना बस्नै सक्दैनन् भनेर माथि नै लेखिसकेको छु । दोस्रो जुन किसिमका समस्या तपाईंले औंल्याइरहनु भएको छ, त्यो शक्तिहीन राजाले कदापि समाधान गर्न सक्दैनन् । राजा जादुगर त पक्कै होइनन् । त्यसो त राजतन्त्र स्थापना गर्न संविधान संशोधन गर्न प्रयास गर्ने हो भने त्यसले यस्तो प्याण्डोरा बक्स खोलिदिनेछ, जसले के के प्रलय निम्त्याउने हो, त्यो यसै भन्न सकिँदैन । संविधानसभाताका आफ्नो एजेण्डा स्थापित गर्न शक्ति राष्ट्रहरू लागेको कुरा तपाईं आफैंले बारम्बार लेख्नु नै भएको छ । अहिले आएर संविधानको त्यसै स्तरको पुनर्लेखन गर्ने हो भने देशमा कुन तहको अस्थिरता सृजना हुन्छ ? त्यसको हेक्का तपाईंले राखेको पाइँदैन ।

    तपाईंले पछिल्लो स्टाटसमा केसम्म लेख्न भ्याउनुभयो भने नेपालमा अब सुशासन दिए पनि हुँदैन रे ! अहिलेको व्यवस्थामा सुशासन, डेलिभरी र विकास जस्ता काम भएमा राजतन्त्रको बहस फितलो हुने देखेर अर्को भ्रमको एक्का फ्याँक्न खोज्नु भएको नबुझ्ने सायद कमै होलान् । शब्दको प्रयोग सायद निम्नस्तरको होला भनेर लेख्न चाहिनँ । तर, के चाहिँ पक्का हो भने तपाईं आजको दिनमा यो व्यवस्था रहँदा देशमा केही पनि राम्रो नहोस् भनी चाहने स्तरमा पुग्नु भएको छ । यो साह्रै दुःखद छ ।

    तपाईं बारम्बार जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गर्न खोजिरहनु भएको छ । त्यो साह्रै खेदजनक छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आज नेपालीको छोरा राष्ट्र प्रमुख भएको तपाईंलाई असह्य छ । संवैधानिक अवस्थामा रहने राष्ट्रपति या कार्यकारी भूमिकामा रहेको सरकारलाई गुण र दोषको आधारमा जनताले पुरस्कृत या दण्डित गर्ने अधिकार त छँदैछ । हो, तपाईंले चुनाव जित्न सक्नुभएन होला । तर, हालैको चुनावमा जनताले मत परिवर्तन गरेकै हुन् । कुनै दल या विचारप्रति धेरै व्यक्तिको आस्था छ भन्दैमा त्यसलाई होच्याउने होइन, आफ्नो विचार सच्याउन पर्छ भनेर तपाईंलाई मैले भनिरहनु पर्ने विषय त होइन जस्तो लाग्छ ।

    राम्रो काम जसले गरे पनि हुन्छ । अनि असल विचार जसले राखे पनि हुन्छ । म सक्दैन तर अनुभवहीन नै भए पनि कुनै अमुक वंशको एउटा ठिटोलाई राजगद्दीमा बसायोे भने देशले काँचुली फेर्छ भन्नेले कम्तिमा राजनीति भने गर्नुहुँदैन । तपाईं जब समाजमा जातीय र धार्मिक अतिवाद बढ्यो भन्नुहुन्छ तब तपाईंको आशय नेपालमा अतिवाद बढोस् भन्ने चाहना हुन्छ । जब तपाईं नेपाल असफल राष्ट्रउन्मुख भइरहेको छ भन्नुहुन्छ तब तपाईंको चाहना नेपाल असफल राष्ट्र भइदिओस् भन्ने हुन्छ । यस्तो देश र जनताविरोधी चाहना र सोच राख्ने व्यक्ति राष्ट्रवादी त के सामान्य नेपाली नागरिकसमेत हुन सक्दैन ।

    यस्ता अराजक अभिव्यक्तिका बीच युवाहरू विदेश पलायनका कुरा पनि गलत मनसायका साथ उठाएको देख्छु । तर, तपाईंले के हेक्का राख्न जरुरी छ भने गोर्खा भर्तीकेन्द्रका नाममा युवालाई मर्न बेच्ने काम राजाकै पालामा सुरु भएको थियो । केही रकममा गैंडा बेच्ने, तस्करीका काण्डहरू र अन्य धेरै गैरकानूनी काम लोकतन्त्र नभएकै आडमा लुकाइएका हुन् । आज निर्मला हत्याकाण्ड भनेर उफ्रिने तपाईंलाई नमिता-समिता काण्डको बारेमा ज्ञान छैन भनेर म पत्याउँदिनँ ।

    अन्तमा रवीन्द्रजी,

    म राजतन्त्रलाई दानवीकरण या गणतन्त्रलाई देवत्वकरण गर्न यो खुलापत्र लेखिरहेको छैन । मेरो आशय के हो भने तपाईं आफू हतियार नबोकी जनतालाई हतियार बोक्ने अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ । यदि तपाईंले यो बुझ्नुभएको रहेनछ भने आजैका मितिदेखि फेरि कल्याणकारी लोकतन्त्रको बहस सुरु गरेर आफूलाई सच्याउनुहुनेछ भन्ने सदीक्षा राख्छु । तपाईंका अर्थ-सामाजिक नीति सही भए र जनताले पत्याए भने तपाईं आबद्ध पार्टीले नै सत्ता चलाए भयो । राम्रा काम तपाईंहरूले नै गरे भयो । एजेण्डा केन्द्रित बहस र बहस केन्द्रित राजनीतितर्फ तपाईंको ध्यान जानेछ कि भन्ने झिनो आशाका साथ यो पत्र लेख्दैछु ।

    तर, यदि त्यसो हुन सकेन भने हेक्का रहोस् इतिहास निर्मम हुन्छ । वर्तमान आग्रह पूर्वाग्रहपूर्ण हुनसक्छ । तर, इतिहास भने सदा निर्मम हुन्छ । यसको सानो उदाहरण पेस गर्दै यो चिठीको अन्त गर्न चाहन्छु । तपाईं आफैंले सुरु गरेको पार्टी र तपाईंसँग नजिक भएका साथीहरूले विवेकशील साझालाई अघि बढाउँदै गर्दा पूर्वअध्यक्षका हैसियतले तपाईंलाई बिर्सेका छन् भने उज्ज्वल थापा छोटो समयका लागि संयोजक भए पनि उनलाई हरेक पटक सम्झिएका छन् । तपाईं आफैं पनि आफ्ना सामाजिक सञ्जालमा आफ्नोबारेमा विवेकशील साझाको भूतपूर्व अध्यक्ष लेख्न नसक्ने अवस्थामा पुग्नुभएको छ ।

    अरुलाई विचारको जञ्जिरमा फसेको भनेर आरोप लगाउँदालगाउँदै कतै आफैं राजतन्त्रको जडसूत्रतामा त फसिरहनु भएको छैन ? राजतन्त्र व्युँताउँदा भारतको वर्चश्व नेपालमा कायम रहन्छ भनेर लेख लेख्दा होस् कि राजतन्त्रको समर्थनमा आन्दोलन गर्ने भए दुर्गा प्रसाईंको तुच्छता पनि आशीर्वाद मान्ने अवस्था होस्, तपाईं शाही कुलिनताको यस्तो दलदलमा फसिसक्नु भयो, जहाँबाट बाहिर निस्कन तपाईंलाई फलामको चिउरा चपाएसरह हुनेछ ।

    तर पनि सकारात्मक पक्षबाट के भन्न चाहन्छु भने तपाईंको ज्ञान र भाषाको विज्ञता नेपालको विकास र नीति निर्माणमा खर्च होस् ।
    पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
    नेपालको जय होस् !

    हार्दिक अभिवादनसहित
    तपाईंको प्रिय
    आशिष रेग्मी

  • ‘नेपालकी प्रथम महिला पत्रकार योगमाया पुत्री नैनकलालाई किन नमान्ने ?’

    ‘नेपालकी प्रथम महिला पत्रकार योगमाया पुत्री नैनकलालाई किन नमान्ने ?’

    बेइजिङ । नेपालमा पत्रकारिताबाट सरकारी जागिरमा जानेहरु धेरै छन् । अमृता लम्साल चैं नेपाल राष्ट्र बैंकको जागिर छोडेर पत्रकारितामा जोडिएकी ‘अल्टर’ अनुहार हुन् । नेपालमा पहिले पत्रकारिता गर्ने र पछि पत्रकारिताको तालिम लिने चलन छ । लम्सालले चै कान्छी बहिनी बबिताको साथी बन्ने क्रममा २०४८ मा नेपाल प्रेस इन्स्टिच्युटमा जोडिएर पहिले पत्रकारिता तालिम लिइन् । अनि क्रमशः लेख्दै गइन् । पत्रकारितामा तीन दशक बढी सक्रिय भएकी लम्साल नचपाइ र नाफाघाटा नहेरी आफ्नो विचार राख्ने अनुहारको रुपमा परिचित छिन् । महिलाका विषयमा ज्यादा केन्द्रित भएर आफ्ना सामग्री दिने लम्सालको पहिलो पुस्तक ‘हजुरआमाको कथा’ हो । उक्त किताब २०७८ बाट त्रिविको मानवशास्त्र विषयको एमफिलको पहिलो वर्षको ‘जेण्डर, रिलेसनसिप र फेमिनिजम’मा समेत समेटिएको छ । उनै लम्साल दोस्रो किताब लिएर आएकी छन् ।

    अक्षर क्रिएसन्स नेपालले लम्सालको पुस्तक ‘मिडिया महिला र म’ बजारमा ल्याएको छ । यो किताब लम्सालको कथा हो । नेपाली महिला आन्दोलनको कथा हो । नेपाली महिला पत्रकारिताको इतिहासको एक कथा हो ।

    काठमाडौंको रैथाने शिक्षित परिवारमा जन्मेकी लम्सालको घर महिलामैत्री नै थियो । उनका पिताले उनलाई राम्रोसँग पढाए । घरमा पुरुष र महिलाको काम भनेर धर्को कोरेनन् । घरमा उनले महिलामाथिको विभेदका कुनै किस्सा महसुस गरिनन् । १६ वर्षको उमेरमा पद्मकन्या क्याम्पस पढ्दापढ्दै काठमाडौंको ‘धनाढ्य’ परिवारसँग विवाह भएपछि भने उनले महिला हुनुको सकस महसुस गरिन् । पठित महिला भए पनि बुहारीको रुपमा चौघेरामा सीमित हुँदा उनलाई सह्य भएन । उनले त्यसबाट उम्कन २०४१ सालबाट नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरिन् । लम्सालले महिलाका मुद्दामा संवेदनशील बनाउने दुई घटना पुस्तकमा उल्लेख गरेकी छन् । पहिलो घटना २०५१ सालको हो । त्यो साल अमेरिकाबाट विश्व नारीवादी रविन मोर्ग्यान काठमाडौं आएर तालिम दिएको वर्ष थियो ।

    दोस्रो घटना हो– २०५४ वैशाख २८ को । त्योे दिन काठमाडौं मैतीदेवीकी सरस्वती अधिकारीको बोक्सीको आरोपमा यातना दिएर हत्या गरिएको थियो । यी घटनाले उनी महिलाका मुद्दामा ज्यादै संवेदनशील हुन पुगिन् । पेशागत जीवनमा पनि उनले महिलाका मुद्दाहरुमा ज्यादै असंवेदनशील भएको भेटिन् । २०४७ सालका कांग्रेस गृहमन्त्री योगप्रसाद उपाध्यायले बलात्कारबाट जोगिन खोर्सानीको धूलो बोकेर हिँड्न भन्दा होस् वा २०७६ सालका कम्युनिष्ट गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार अमेरिकामा पनि हुन्छ भन्दै सामान्यीकरण गर्दा होस्, उनलाई सत्ता महिला मुद्दामा अनुदार छ भन्ने परिरह्यो । २०५३ सालताका दाजु गोरखशमशेर राणा र आमा अम्बिका राज्यलक्ष्मी राणाले अन्नपूर्ण राणालाई छोरीको अंश दिनुपर्ने सवाल आउँदा पाठेघर र योनी जँचाउन सर्वोच्च अदालतमा मुद्दा हालेको जस्ता कुराले उनलाई झनै घोच्यो ।

    २०५२ माघ १६ मा नेपाली कांग्रेसबाट मन्त्री भइसकेका दीनबन्धु अर्यालले कान्तिपुरमा ‘अलमलिएका अलमस्त अमृताहरु’ भनेर उनको साप्ताहिक पुनर्जागरण पत्रिकाको लेखलाई काउन्टर दिएर मानहानीदेखि धार्मिक धम्कीको कोणको आलेख लेखेको रोचक कुरा लम्सालले समेटेकी छन् । कान्तिपुरका तत्कालीन सम्पादक योगेश्वर उपाध्यायले प्रश्न गरेकै आधारमा सञ्चारिका समूहको स्रोत व्यक्ति बस्न नमानेकोदेखि साप्ताहिक पुनर्जागरणका सम्पादक माथवरसिंह बस्नेतले कांग्रेसको आलोचनात्मक आलेख आएपछि लेख बन्द गरेका रोचक कुरा उनले आफ्नो कथाको खण्डमा उल्लेख गरेकी छन् । २०५५ सालताका माओवादी आधार इलाकामा फिल्ड रिपोर्टिङ गरेर आउँदा तथा ३२ लाखको ‘ग्लोबल फण्ड’को पैसा आउने भएपछि सञ्चारिका समूहबाट राजनीति गरेर लम्साल र शोभा गौतमको बहिर्गमन भएको रोचक कथा किताबमा छ ।

    किताबमा महिला आन्दोलनका कथाहरु पनि समेटिएका छन् । सन् १८९३ मा न्युजिल्याण्डका महिलाले मतदानको अधिकारको लागि गरेको आन्दोलनदेखि नेपालमा २००४ सालमा मंगलादेवी सिंह नेतृत्वको नेपाल महिला संघले महिलाको मताधिकारको माग गरेकोसम्मका कुरा समेटिएका छन् । २०४८ सालको चुनावमा महोत्तरीको पर्सादेवाड र गैँडाभेटपुरका महिला मतदाताहरुलाई पुरुष नेताले निषेध गरेका कुख्यात प्रकरण पनि उनले यसै क्रममा जोडेकी छन् ।

    नेपाली महिला पत्रकारको इतिहास पनि लम्सालको किताबमा छ । २००८ सालमा महिलाहरु कुमारी कामक्षी र साधना प्रधान सम्पादक भएर छापिएको ‘महिला’ मासिक, २०१५ सालमा शशिकला शर्माको सम्पादनमा प्रकाशन भएको ‘स्वास्नीमान्छे’ त्रैमासिकदेखि नेपाल महिला संगठनको नाममा प्रकाशन भएको ‘महिला बोल्छिन्’ आदि अखबारहरु उनले उल्लेख गरेकी छन् । त्योभन्दा अगाडि १९९२ सालमै नर्स विद्यावतीको लेख शारदा पत्रिकामा छापिएका कुरा उनले उल्लेख गरेकी छन् । भारतीय अखबारहरुमा पौराणिक पात्रहरुको नाम पनि पत्रकारको रुपमा व्याख्या गरेर ऋषि नारदलाई पत्रकार मानिएको भन्दै लम्सालले नेपालमा योगमाया पुत्री नैनकलालाई पहिलो महिला पत्रकार मान्न सकिने तर्क गरेकी छन् । आमा योगमायाका विचारहरुलाई ‘सर्वार्थ योगवाणी’को रुपमा प्रकाशन गरेकोले नैनकलालाई पहिलो महिला पत्रकार मान्न सकिने उनले उल्लेख गरेकी छन् ।

    किताबमा नेपालकी विश्वस्तरीय पत्रकारिताको अध्ययन र अनुभव लिएकी मन्जुला गिरीको पनि कथा छ । सिरहा बस्तीपुरकी गिरी वर्ल्ड प्रेस इन्स्टिच्युटको फेलोसिप पाउने पहिलो नेपाली पत्रकार महिला हुन् । उनी राससकी पनि पहिलो महिला पत्रकार भएकोदेखि हार्वडको पुस्तकमा उनको रिपोर्ट भएको पुस्तकमा उल्लेख छ । बनारसको बनारस हिन्दू विश्वविद्यालयबाट पत्रकारितामा पोस्ट ग्राजुएट डिप्लोमा गरेकी गिरीले सन् १९७५ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको अन्तर्वार्ता लिएकी छन् । पोर्चुगलकी प्रथम महिला प्रधानमन्त्री मारिया डि ल्युड्स्गको पनि उनले अन्तर्वार्ता लिएको किताबमा उल्लेख छ ।

    किताबमा विचार र कथामात्रै छैनन्, कन्फेसन पनि छन् । उनले पेज २९३ मा लेखेकी छन्, ‘यो कृतिले समग्र नेपाली महिला पत्रकारको अनुभव र समयलाई पनि प्रतिनिधित्व गर्दैन ।’ यो सही हो । किनभने २०५५ सालमै यात्रा अगाडि बीमा गरेर हिँँड्ने लम्साल जस्तो स्तर अहिले पनि बहुसंख्यक नेपाली पत्रकारहरुको छैन । फिल्ड रिपोर्ट गरेर आएर प्रधानमन्त्रीलाई ब्रिफ गर्ने तहका लम्साल जस्ता पत्रकार अहिले पनि नगन्य छन् । फिल्ड रिपोर्ट गर्दा विभिन्न कार्यक्रममा सहयोगी दाता पाउने स्तरका पत्रकार अहिले पनि कम छन् । पत्रकारिताकै क्रममा चीन र अमेरिका पुग्ने अवसर धेरैको अहिले पनि छैन । स्तम्भ लेखेर बेलाबेला सोही अखबारमा रिपोर्ट गरेको तथा पैसा नदिने अखबारमा पनि काम गर्न राजी हुने लेखक लम्सालको कथाले आमश्रमजीवी पत्रकारहरुको कथा बोक्दैन । आम नेपाली महिला पत्रकारको कथा बोक्दैन । तर, उनले भोगेको कथा, लेखेको विचार र दिएका खुराक नेपाली पत्रकारहरु खासगरी महिलाहरुका प्रेरणा तथा ज्ञानका आधार भने अवश्य हुन् ।

    कन्टेन्टको रुपमा किताब राम्रो भए पनि कतिपय सामान्य कुरामा समस्या छ । फेमिनिजम, एक्टिभिजम आदिलाई ‘फेमिनिज्म’, ‘एक्टिभिज्म’ आदि भनेर गलत लेखिएको छ । माओवादीलाई हेर्ने नजरिया एकै छैन । जस्तो पेज २८२ मै कतै ‘सशस्त्र संघर्ष’ त कतै ‘जनयुद्ध’ भनिएको छ । पेज ६६ मा त ज्यादै ठूलो सम्पादकीय कमजोरी छ । २०३६ सालताका पत्रकारितामा सक्रिय मन्जुला गिरीको रिपोर्ट हार्वडमा सन् १७८९ मा प्रकाशन भएको भनिएको छ । यो दुई शताब्दी फरक पर्ने कुरा भएको छ ।

    पत्रकारिताका अध्येता भानुभक्त आचार्यसँगको कुरा कोट गरेर किताबमा कम्युनिष्ट पार्टीसँग जोडिएका पत्रकारका संस्थाहरुलाई ‘वामपन्थी’ पत्रकार संस्था भनिएको छ । तर, कांग्रेससँग जोडिएको पत्रकार संस्थालाई ‘दक्षिणपन्थी’ पत्रकार संस्था भनिएको छ । कम्युनिष्टलाई वामन्थी भन्नसम्म त ठीकै हो । तर, कांग्रेससँग जोडिएकालाई दक्षिणपन्थी भन्न मिल्ला र ? जबकि कांग्रेसको प्रजातान्त्रिक समाजवादीदेखि सोसिअलिस्ट इन्टरनेशनलसँगको आबद्धताले हेर्दा कांग्रेस पनि समाजवादी अर्थात् दायाँ ढल्कुवा नै हो । दायाँ ढल्कुवाभन्दा वामपन्थी भन्ने बुझिएर चित्त नबुझेमा लोकतान्त्रिक पत्रकार संस्था भन्नुसम्म ठीकै हो । दक्षिणपन्थी नै भन्दा चित्तबुझ्दो नहोला कि ?

    यी र यस्ता केही देखिने कमजोरी भए पनि यो पुस्तक नेपाली पत्रकारिता, नेपाली महिला आन्दोलनको बारेमा चासो राख्नेहरुले पढ्न लायक छ । पाठकले ३०८ पेजको योे पुस्तकमा गरेकोे ७०० रुपैयाँ लगानी रत्तिभर खेर जाँदैन ।

  • कविता : परिवर्तन

    कविता : परिवर्तन

    हरियो वन नेपालको धनका खातिर, वन व्यवस्थापन नगरी काठ किन्ने भएछौ

    कृषि प्रधान देशका लह लह फाँटहरु, टुक्र्याएर घडेरी बेच्ने भएछौ

    प्राकृतिक कृषि छटामा सिकाउन नसकेर, मरुभूमिमा खेती सिक्न इजरायल पठाउछौं

    त्यसैले त शहरमा मात्र बेसाएर खाने हामी, गाउँमा पनि बेसाएर खाने भएछौ ।।

     

    जनसांख्यिक लाभांशको बेवास्ता गर्दै,  उपयोग नीतिको अभावमा युवाहरू निर्यात गर्ने भएछौ

    त्यसैले, सडकको फोहोरदेखि पशुपतिको मोहोर उठाउन, मान्छे आयात गर्ने भएछौ

    कृषि भूमि उजाड र जंगल बनाई, जंगली जनावर चाहिँ वृद्धि गराएका छौ

    त्यसैले, दिगो अर्थतन्त्रको साटो, विप्रेषणमुखी असन्तुलित अर्थतन्त्रको बाटो हिँडेका छौ ।।

     

    गाउँ गाउँमा सिंहदरबार र अधिकार भनेको त, कर्तव्यपथ भुल्दै सिंहदरबार भैसेपाटी सरेछ

    केन्द्रमा थुप्रिएका मान्छे गाउँ जालान भनेको त, गाउँ बाट बसाई सर्ने बढेछ

    गाउँमा आकर्षण बढाउनुको साटो, पालिकाको खर्चमा सहरमा घरभाडा लिने होडबाजी चलेछ

    सुशासनको नाममा बनेका सात सय त्रिपन्न दरबार, गरिबलाई अनाबस्यक कर लिने ट्रेड सेण्टर बनेछ ।।

     

    सुशासन र समावेशीता भनेको त, साठी हजारले विनायोग्यता र प्रतिस्पर्धा जागिर खाने भर्‍याङ बनेछ

    राजनीतिज्ञ र कर्मचारीको तलब खुवाउन ऋण लिन पर्नाले, विकासले पछाडिको गेअर हालेछ

    राष्ट्रिय हितविपरीतको निजीकरणले गर्दा, उद्योग किन्नेहरू घडेरी बेच्दैछन

    उत्पादनमुखी अर्थतन्त्र थलापरी, अयातमुखी व्यवसाय सर्वत्र बढेछ ।।

     

    नीति र ऐन राम्रो नबन्दा र कार्यान्वयन फितलो हुदा, शैक्षिक संस्था रितिदै छन्

    विद्यालयहरू विदेशी विश्वविद्यालयहरुको शैक्षिक मेला गर्ने थलो बन्दा, एनओसी लिनेको लर्को बढेछ

    उध्यमशीलातामुखी शिक्षा, कामको सम्मान र न्यूनतम पारिश्रमिक नहुँदा, युवा पलायन निरन्तर छ

    परिणामस्वरुप, अंग्रेजी र टाईमुखी शिक्षाले, मान्छे निर्यात गर्ने र बाँकी सबै आयात गर्ने भएछौ ।।

     

    सरकारी कार्यालय, उद्योग, शिक्षण संस्था सबैमा, राजनीतिक संगठन विराजमान छ

    विकासको मूल फुटाउने बेला, राजनीतिकबाहेक सबै कारखाना चीर निन्द्रामा छ

    त्यसैले, कर्मशील नेपाली हामी, परजीवी र कुरामात्र गर्ने बनेछौ

    आपसमा सद्भाव बाँड्ने हामी नेपाली, जातीयतामुखी र सनातन धर्मविरोधी भएछौं ।।

     

    अत:  जनमुखी र सफा राजनीति, गुणात्मक र प्रतिस्पर्धी वातावरण, सन्तुलित र दिगो विकास

    युवामैत्री नीति, दक्षतामा आधारित उद्यमशीलतामुखी शिक्षा, चुस्त संरचना हुनेछ सवको निकास ।।

  • जलशा !

    जलशा !

    ‘जलशा’ भन्नाले कुनै उत्सव, समारोह, अधिवेशन या रंगारंग कार्यक्रम भन्ने बुझिन्छ अनि ‘जल-शा’ भनेपछि जल जस्तै कञ्चन, सफा र संग्लो यानि निश्चल भन्ने अर्थ राख्छ ।

    मैले कथामा बुन्न खोजेको ‘जलशा’ पात्र पनि मनको कोमल अनि जल जस्तै पवित्र, कञ्चन र निश्चल छिन् । अनि उनको नृत्यमा उत्सव, भाषणकलामा अधिवेशन, व्यवस्थापन कलामा समारोह र पाककलामा सिङ्गो ‘नेवारी भोजनालय’ झल्किन्छ । अनि उनका असीम प्रतिभाहरु रंगारंग टल्किन्छ ।

    ‘जलशा’को जन्म शिवधारा भन्ने गाउँमा भएको रे ! यो शिवधारा भन्ने गाउँ कौडेलेखको काखमा लुकेको छ कतै । कौडेलेखबाट निस्केको ‘शेरा खोला’ शिवधारालाई अंगालो मारेर बगेको छ । सुन्दर पहाडी बस्ती, शान्त र सौम्य गाउँ, मिलनसार गाउँलेहरु, अर्म र फर्म, मिलेर चाडपर्व मनाउनु यो सबै यस गाउँको लक्षिन हो । यो गाउँका छिमेकीहरु ज्युँदोका जन्ती अनि मुर्दाका स्वघोषित मलामी हुन् ।

    पाँच बहिनी छोरीकी कान्छीभन्दा अलि माथिकी छोरी हुन् ‘जलशा’ । अनि ‘जलशा’ नै जन्मेपछि किन अर्काे छोरी जन्माएको त ? जिज्ञासा राम्रो आयो । यसको जवाफ दिन केही समय अझै पछाडि जानुपर्छ । झर्को नमान्नुस् है !

    ‘जलशा’का बाबाममीलाई लामो समय बालबच्चा भएनन् । सन्तानका लागि बाबाममीले गाउँका सिमे, भुमे भाके । चौतारो चिने । लाख बत्ती र लक्ष्य बत्ती बाले । कहींकतै उपाय लागेन । बिहे गरेको १५ वर्ष भयो । बालबच्चाको छाँटकाँट देखिएन । अब हिम्मतले पनि जवाफ दिन थाल्यो । अब कर्मै खोटो रहेछ भनेर सबै आश यो दम्पतीले मार्‍यो ।

    एक दिनको कुरा हो, कौडेलेखमा ध्यान गर्न जान हिँडेका भिक्षु शिवधारा गाउँमा आए । ‘जलशा’को घर भिक्षाटनको लागि पुगेका भिक्षुले दम्पतीलाई नै निरास देखेपछि कारण खोतल्न थाल्छन् । बुवाले गहभरी आँसु झारेर भने- ‘गुरुदेव सन्तान भएनन् ।’ भिक्षुले निधार खुम्चाउन लगाए । हातका रेखाहरु हेरे । अनि लामो सास तान्दै भने- ‘चार बैनी छोरी हुन्छन् । अनि पाँचौं पटकमा छोरा हुन्छ । यो बुटीलाई गलामा बाँध्नू ।’

    भिक्षुको कुरा सही निस्कियो । चार वटी छोरी भए । अन्तिममा ‘जलशा’ जन्मिइन् । ‘जलशा’ रुपवती, गुणवती छिन् । बत्तीस लक्षिनले युक्त ‘कुमारी देवी’ झैं । बाबाआमाले साक्षात लक्ष्मी नै पाएपछि हर्क बढाइँ गरे । गाउँकी वयोवृद्धा हजुरआमाले ‘जलशा’को बाबाको शीरको ढाका टोपीमा पाँच रुपैयाँको नोट सिउरिँदै भनिन्- ‘छोरी होस् त जलशा जस्तै ।’

    अब पालो छोराको । भिक्षुले बताएअनुरुप दम्पतीलाई छोराको व्यग्र प्रतीक्षा थियो । दम्पतीलाई पाँचौं सन्तान पनि भयो । तर, छोरा थिएन । यसपालि पनि छोरी जन्मिएकी थिइन् । छोराको असीम आश थियो । दम्पतीलाई छोरा नभए कसले बुढेसकालमा पाल्छ, मरेपछि कसले दागबत्ती दिन्छ, कुल र खान्दानलाई कसले अगाडि बढाइदिन्छ भन्ने पिरलोले घर गर्न थाल्यो ।

    अव ‘जलशा’ तिर कहानी लैजान्छु है !

    ‘जलशा’ राम्री र सुयोग्यमात्र हैन, साहसी र मेहनती पनि छिन् । सानैदेखि पढाइमा अब्बल, खेलकुदमा पनि रुचि राख्ने अनि घरधन्दामा पनि सघाउने गर्छिन् । बाबाआमाको पिरलाई नजिकबाट बुझेकी छिन् । एकदिन साँझ बाबाले स्थानीय मदिरामा मुख चोपल्दै मुख खोले- ‘यो ‘जलशा’ छोरी नभएर छोरा हुनुपर्ने ।’ ‘जलशा’ले मुख लुकाउँदै भनिन्- ‘पिर नगर्नुस् बाबा, म हजुरको छोरा नै हो ।’

    ‘जलशा’ भर्खर १५ वर्षमा लागेकी छिन् । घरमा केटाहरु हात माग्न आउन थालेका छन् । मागे नदिए भगाएर भए पनि लैजाने भनेको नेपथ्यमा सुनिन्छ । बाबाआमाको एक मन भन्छ- ‘जलशा’ छोरी हैन छोरा हो, यो घर सम्हाल्ने ।’ फेरि अर्को मन भन्छ- ‘छोरी १५ वर्षकी भइसकेकी छे, बढेकी छोरी घरमा राख्न हुन्न ।’

    ‘जलशा’ कक्षा १२ मा पढ्छिन् । भर्खर १७ वर्षमा पाइला टेकेकी छिन् । छिमेक गाउँको केटा दीपेन्द्रले ‘जलशा’लाई औधी मन पराउँछ । दीपेन्द्र बुटवलमा बसेर डाक्टर पढ्ने तयारीमा छ । गत सालको तिहारमा सँगै देउसीभैलो खेल्दा ‘जलशा’ र दीपेन्द्रको भेट भएको थियो । दीपेन्द्रका सपना, लहड र रहर सुनेर कता कता ‘जलशा’ले पनि उनलाई मन पराउन थालेकी छिन् ।

    आज ‘जलशा’ सबेरै उठेर आमाको काम सघाउँदै छिन् । अंकलको छोरा वीरेले चिठी ल्याएर ‘जलशा’लाई दिन्छ । चिठी दीपेन्द्रको रहेछ । चिठीको भाव यस्तो थियो-

    प्रिय जलशा
    मुटुभरिको माया !

    थाहा छ तिमीलाई, तिमी पढेर नर्स बन्ने अनि म चाहिँ डाक्टर ! अनि सेतो कोटमा तिमी कति राम्री देखिनेछौ । अनि म पनि त सेतो कोटमै हुनेछु नि जलशा ।

    मैले मन-मुटुबाटै तिम्लाई आफ्नो बनाइसकें । बिन्ती तिम्ले नाई नभन्नु ल !
    बाँकी भेटमा …

    उही तिम्रो दीपेन्द्र

    चिठी पढेर ‘जलशा’ सपनामा हराइन् । नर्स बन्ने सानैको धोको अनि दीपेन्द्र जस्तो पढेलेखेको अनि प्यारो मन मुटुले अपनाउने जीवन साथी पाउने उत्कण्ठाले ‘जलशा’को खुशीको सीमा नै रहेन । चिठीको प्रत्युत्तर के भनेर पठाउने ? ‘जलशा’ले शब्दहरु बुन्न थालिन् ।

    आज साँझ ‘जलशा’लाई माग्न एक जना केटा आफ्नो बाबासहित आएका छन् । केटा भारतीय सेनामा लाहुरे रहेछन् । बढेकी छोरी अनि लाहुरे माग्न आउँदा ‘जलशा’लाई पनि एक शब्द नसोधी बाबाले बिहे गरिदिने निर्णय गरे । केटाले सोध्यो बाबा, ‘एक पटक ‘जलशा’लाई पनि सोध्ने कि ?’ ‘जलशा मेरी छोरी हो, मैले भनेपछि मर्न जा भने पनि मान्छे मेरी छोरी’, बाबाले बोलीमा पूर्णविराम लगाए ।

    बिहान सखारै आमाले मुख खोलिन्- ‘नानी, तिम्रो बिहे हुने भो ।’

    ‘जलशा’ले हतारिँदै सोधिन्- ‘को सँग ?’

    ‘त्यै पारि सिम्लेको केटासँग, लाहुरे रहेछ भाग्यमानी रैछस् जलशा तँ’, आमा बोल्दै गइन् । ‘जलशा’ रुँदै गइन् । मनमनै ‘जलशा’ले अठोट गरिन्- ‘दीपेन्द्रलाई चिठीको जवाफ दिन पाएको छैन । फेरि के आपत आइलाग्यो ? म त केवल दीपेन्द्रसित बिहे गर्ने हो । ऊबाहेक अरु म सोच्न पनि सक्दिनँ ।’

    साँझ परिसकेको छ । खाना खाने तर्खर हुँदैछ । बाबाले ‘जलशा’लाई बोलाए- ‘नानी, कति राम्रो केटा, कति राम्रो परिवार, केटा लाहुरे, मानामुरी फल्ने खेत छ रे ! कति राम्रो सिम्ले गाउँ ! तिमी त भाग्यमानी रहेछौ ।’ ‘जलशा’ले रुँदै भनिन्- ‘बाबा पढेर स्टाफ नर्स बन्ने सपना छ । अहिले बिहे गर्दिनँ ।’ बाबा कड्किए- ‘पोइ नै लाहुरे भएपछि किन बन्न प¥यो नर्स ? बिहे गरेर पल्टनमा लान्छु भनेको छ केटाले । १५ गतेको लागि बिहे छिनिसकिएको छ । बाँकी केही जान्दिनँ ।’

    ‘अहो, कस्तो फसाद आइलाग्यो । एक वर्षदेखि मन पराएको केटाले बल्ल प्रेम प्रस्तावसहितको पत्र पठाएको छ । जवाफ फर्काउनु छ, म पनि मन पराउँछु भनेर । नर्स बन्ने सपनामा टुसा पलाउन थालेको छ भर्खरै । प्रेमको सागरमा डुब्नै नपाइ बाबाले कति कठोर निर्णय लिनुभयो’- ‘जलशा’ रुँदै गइन् । तर, सुन्ने छैनन् कोही । चकमन्न रात अनि मात्र सिरानीको साथ ।

    आज मंसिर १५ गते जलशाको घर सिङ्गारिएको छ । मण्डपमा जग्गे लगाइएको छ । फलैचामा एक हुल मानिस चुरोटको धुँवासँगै गफ चुट्नमा ब्यस्त छन् । कोही सेल पकाइरहेका, कोही भतेरमा जन्तीलाई खाना बनाइरहेका, सबै ब्यस्त छन्, अनि मस्त छन् । एकै छिनमा कोलाहल सुनिन्छ- ‘जलशा खै ?’ एक कान, दुई कान हुँदै खबर डढेलो झैं सल्कियो जलशा हराइन् । भर्खर दुलहीको सोह्र सिंगारमा सजिएकी जलशा फ्रेस हुने भन्दै बाथरुममा पसेकी थिइन् । तर, कहाँ गइन् ? गाउँ सबै जलशाको खोजीमा लाग्यो ।

    लामो प्रयासपछि जलशा अंकलको गोठको भारमा भेटिइन् । बाबाले पहिले झपारे अनि अंगालो मारेर रोए । छोरी जन्ती सेराखोला तरेर माथि आइसके बाबाको इज्जतलाई माटोमा नमिलाउ । जलशा रुँदै, रुँदै जग्गेमा आएर बसिन् । बाबाको इज्जतको सवाल छ । औंठी साटासाट भयो । सम्धी, सम्धीमा माया साटासाट भयो । दुलही अन्माइदिए । जलशा रुँदै रुँदै डोलीमा चढिन् । बाबाआमा रुँदै रुँदै फलैचामा पल्टिए ।

    लाहुरेको छुट्टी सकिएछ । बिहे गरेको १० दिनपछि लाहुरे पल्टनमा हिँडे । जलशालाई पहिलो पटक लाहुरे दुलहाको माया लाग्यो । अंगालो मारेर रोइन् । लाहुरेले भने- ‘किन रोएकी लाटी ? अब छुट्टीमा आउँदा तिमी पनि सँगै पल्टन जाने हो ।’ जलशाले टाउको हल्लाइन् । बस लाहुरेलाई चढाएर सुदूर शहरको लागि गुड्यो ।

    जलशाका दिनहरु राम्रै बितिरहेका थिए । बाध्यताले बिहे गरे पनि लाहुरेको बानी, ब्यहोरा विस्तारै मन पर्न थालिसकेका थिए । मनबाट दीपेन्द्र ओझेल पर्न थालिसकेको थियो । अब भाग्य भनेकै लाहुरे भन्ने भैसकेको थियो । लाहुरेले पनि जलशालाई औधी मन पराउँथे । भन्थे- ‘पिर नगर जलशा, तिमी पनि छिट्टै पल्टन आउँदैछौ ।’

    एक दिनको कुरा हो । आकाशमा कालो बादल मडारिएर पानी पर्ला पर्ला जस्तो भएको थियो । जलशाले सीडीएमए फोनबाट माइत आमालाई तार हानिन्- ‘आमा कस्तो नराम्रो सपना देखें नि आज राति, मेरै दाँत भाँच्चिएको !’ आमाले भनिन्- ‘पिर नगर आधी रातमा देखेको सपना लाग्दैन ।’ यत्तिकैमा दुई जना युवा जलशाको घर आइपुगे ।

    ‘शेरबहादुरको घर यही हो हजुर !’

    ‘म शेरबहादुरको दुलही, जलशा ।’

    उनीहरुले पत्र हातमा दिए । पत्र पढ्दापढ्दै जलशा कतिखेर फलैचामा ढलिन् पत्तो भएन ।

    ‘भारतको जम्मु काश्मिरमा कार्यरत शेरबहादुरलाई हिजो राति गस्ती गरिरहेको अवस्थामा आतंककारीले टाउकोमा गोली हानेछन् । पानी पनि भन्न नपाइ ठहरै हुनुभएछ’- ती युवाले भने । शेरबहादुरको घरमा हेर्दाहेर्दै मातम छायो । बाबाआमा अर्धचेत छन् । जलशालाई टाउकोमा पानी ठोकेर होसमा ल्याउन एक हुल आइमाई लागेका छन् । सिङ्गो गाउँ नै स्तब्ध छ । जलशाको अवस्था देखेर गाउँको आँसु थामिएको छैन ।

    शेरबहादुरको शवलाई भारतको सुबाथुमा सैन्य सम्मानका साथ दाहसंस्कार गरे । जलशाले हातका चुरा फोरिन् । सेतो पहिरनमा अँश्रुधारा बगाउँदै मुखाअग्नि दिइन् । रोएर १३ दिन पनि बित्यो । गहत खाएर जलशा भित्र कोठामा छिरिन् । अनि श्रीमानको फोटो हेरेर रुन थालिन् । मलाई कति छिट्टै विधवा बनायौ है पापी ! मलाई पनि सँगै लिएर जाउ, म मर्न चाहन्छु, मलाई यो उजाड संसारमा बाँच्नु छैन ।’ चुन्नी निकालेर फन्दा कस्नै लागेकी थिइन् । गाँउले आएर रोके ।

    लोग्ने प्रदेशमा बितेपछि जलशाको जीवनमा कालो बादलले चारैतिरबाट छोप्यो । घरमा पनि सासूससुराले पोइ खाने ‘टोकाइ’ भनेर हेला, होचो गर्न थाले । पँधेरामा पानी लिन जाँदा गाउँलेले अभद्र व्यवहार गर्न थाले । ‘लोग्ने खाने अल्च्छिनी’ भनेर दिनहुँ वचन लगाउँदा दिक्क भएर एक दिन रुँदै रुँदै पोको पुन्तुरो कसेर माइत आइपुग्छिन् ।

    अन्तिम सहारा माइतमा उनको मनलाई बुझ्ने बाबाआमा छन् भन्ने असीम आस लिएर माइत छिरेकी जलशालाई एकदुई दिन त केही नराम्रो भएन । एक दिन बाबाले रक्सीको तालमा बर्बराए- ‘सब तेरो गल्तीले यो अनर्थ भएको हो । तैंले बिहेको सुभ साइतमा घर छोडेर नभागेको भए आज ज्वाइँ ज्युँदै हुन्थे ।’

    जलशालाई बाबाको वचनले छातीमा ज्वारभाटा उत्पन्न भयो । मुटुमा राँको छुट्यो । अब उनलाई आफ्नै शरीरदेखि घीन लाग्न थाल्यो । ‘अब जान्छु, जहाँ पुग्नेछु, त्यही आगो फुक्नेछु’- जलशाले पोको उठाइन् । पिढीलाई ढोगिन्, अनि निस्किइन् ।

    जलशाले खोंचलेख बजारबाट बुटवल जाने बस चढिन् । ढुङ्गा जस्तो मुटु, नियात्राका पाइला, मनभरि कलंकको डाम, शरीरभरि लागेको नखाएको विष धेरै वेदनालाई पोकोसँगै च्यापेर उनी बुटवल बजार झरिन् ।

    आफूसँग भएको जुली बेचेर सानो डेरा लिएकी छिन् । बाँच्न हस्पिटल लाइन नजिक मकै पोलेर बेच्न थालेकी छिन् । मकै पोल्दापोल्दै मुटु नै पोलिए जस्तो हुन्छ । एकोहोरो हुन्छिन्, अनि एक्लै रुन्छिन् । मन बहलाउन रेडियो किनेकी छिन् । रेडियोमा गीत बज्छ-

    मलाई मयाँले पिर दियो…

    सधैं झैं जलशा मकै पोलिरहेकी थिइन् । सेतो कोट लगाएका एक व्यक्ति हस्पिटलबाट निस्किएर जलशा छेउ आए । बैनी मकै पोलिदेउ त ! आवाज सुने झैं लाग्यो, माथि फर्केर हेरिन्, अनि मुन्टो लुकाइन् ।

    ‘जलशा तिमी ? तिमी कसरी यहाँ ? अनि यो पहिरन ? तिमी त सिम्लेको लाहुरेसँग बिहे गरेको हैन र ? मलाई चिन्यौ ?’- प्रश्नहरु छताछुल्ल भए- ‘म दीपेन्द्र प्रादेशिक हस्पिटलको डाक्टर, चिन्यौ नि !’

    जलशाले गहभरी आँसु पारिन्- ‘दीपेन्द्र, मलाई माफ गर्नुस् । मैले हजुरको पत्रको जवाफ दिन पाइनँ ।’

    ‘मलाई अरु थाहा छैन । तिमी मसँग मेरो घर जाने हो । म गाडी लिएर आउँछु’- दीपेन्द्रले जवाफ दिएर गाडी लिन जान्छन् ।

    ‘जलशा ! मलाई भन तिम्रो यो हालत कसरी भयो ?’ दीपेन्द्रले निकै कर गरेपछि जलशाले भन्दै गइन्, अनि रुँदै गइन् । दीपेन्द्र मलाई माफ गर्नुस्, म त हजुरको पत्र पढेपछि नै हजुरको भैसकेकी थिएँ । नियतिको अगाडि मेरो केही लागेन । बिहेको दिन भाग्दा पनि सुख पाइनँ । चिठीको जवाफ पठाउने ठूलो इच्छा थियो । तर…. ।

    ‘पिर नगर जलशा, म अझै पनि तिम्रै हो । मैले बिहे पनि गरेको छैन । अब तिमी मेरी हौ जलशा, केवल मेरी’- दीपेन्द्रले ढाडस दिन्छन् । ‘हजुर कहाँ आकाशको ध्रुवतारा, म कहाँ भुईंको धुलो ! मलाई अंगालेर आफूलाई दुःखको खाडलमा नधकेल्नुस्’- जलशाले बिलौना गरिन् ।

    दीपेन्द्रले जलशालाई नर्सको थप पढाइको लागि बुटवलको नर्सिङ कलेजमा भर्ना गरिदिए । लिन अनि पुर्‍याउन आफैं जान थाले । जलशा पनि दुःख बिर्सिएर विस्तारै मुस्कुराउन थालिन् । दीपेन्द्रलाई खाना बनाइदिन, लुगा धोइदिन राम्रो लाग्छ भन्छिन् । जलशाको मुहार एक पटक फेरि टल्किन र जवानी फेरि झल्किन थालेको छ ।

    कोठामा मधुर प्रकाश छ । जलशा र दीपेन्द्रले बिहे गरिसकेका छन् । दीपेन्द्रको हातलाई सिरानी बनाएर जलशा बेडमा पल्टिएकी छिन् । जलशा र दीपेन्द्रका दुई सेतो कोट ह्याङ्गरमा झुण्डिएका छन् । समीपै काँटीमा जलशाको नर्सको आईकार्ड र दीपेन्द्रको डाक्टरको आईकार्ड झुण्डिएका छन् । दीपेन्द्रले जलशाको निधारमा ओठले स्पर्श गर्छ । जलशाले लजाउँदै भनिन्- ‘डाक्टर साप, आफूलाई सम्हाल्नुस् है !’ दीपेन्द्रले अंगालोमा बेरेर लाइट बन्द गर्छन्- ‘हस, नर्स सिस्टर !’ उता टीभीमा मधुर स्वरमा गीत बजिरहेको छ-

    हाँसेरै बिताउँथें जिन्नकी
    करिमैले मयाँ दिन्नकि ।

    (केसी नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य हुन् ।)

  • स्रष्टाहरूको शुभकामना आदानप्रदान कार्यक्रम

    स्रष्टाहरूको शुभकामना आदानप्रदान कार्यक्रम

    काठमाडौं । साहित्य कला र सङ्गीतकर्मीहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा पद्मकन्या क्याम्पस काठमाडौंमा बडादशैं, तिहार, नेपाल संवत्, छठ लगायतका नेपाली चाडहरूको अवसर पारेर बिहीबार आयोजित उक्त कार्यक्रममा ठूलो संख्यामा साहित्यकार, कलाकार एवं संगीतकर्मीहरूको उपस्थिति रहेको थियो ।

    साहित्य, कला एवम् संगीत क्षेत्रका स्रष्टा, संस्था र प्रकाशनहरूका प्रतिनिधिहरू उपस्थित कार्यक्रममा अधिकांश सहभागिहरूले वर्तमान समयमा कस्तो सृजनाको आवश्यकता छ भन्ने विषयमा गम्भीर विचारहरू प्रस्तुत गरेका थिए ।

    प्रतिष्ठानका महासचिव प्राज्ञ नन्दु उप्रेतीले सहभागीहरूलाई स्वागत गर्दै कवि युद्धप्रसाद मिश्र र मिश्र प्रतिष्ठानका बारेमा स्पष्ट पार्नुका साथै कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए । प्रतिष्ठानका अध्यक्ष डाक्टर फणीन्द्रराज निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष जयन्ता पोखरेल र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष प्रा.डा.लेखप्रसाद निरौलाले गरेका थिए ।

    उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के।के।कर्मचार्य, संगीत नाट्य प्रतिष्ठानका पूर्व सदस्य सचिव श्याम तमोट, जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी भाषा आयोगका सदस्य एवम् पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेल, भाषा आयोगका सदस्य एवम् साहित्यकार गोपाल अस्क, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राध्यापक शैलेन्दुप्रकाश नेपाल, सार्थक संगीत प्रतिष्ठानका उदय श्रेष्ठ, दायित्व वाङ्मय प्रतिष्ठानका रामप्रसाद पन्त, अभिव्यक्तिका सम्पादक देविका तिमल्सिना, वनिताकी सम्पादक लक्ष्मी उप्रेती, सिस्नुपानी नेपालका चक्र दवाडी, रोज घिमिरे सहभागी थिए ।

    यस्तै नियात्राकार जय छाङ्छा राई, सिद्धिश्वर समृति प्रतिष्ठानकी संरक्षक एवम् अक्षलोककी संपादक सावित्री श्रेष्ठ, प्रगतिशील लेखक सङ्घकी पूर्व उपाध्यक्ष शुशिला प्रधानाङ्ग कलिङ फेस्टिवलकी रञ्जना निरौला, वरीष्ठ अनुसन्धानकर्ता एवं चिन्तक गोपिरमण उपाध्याय, इच्छुक प्रतिष्ठानका मित्रलाल पंज्ञानी, हिमान्द्रीका पुण्य घिमिरे, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कवि जेठा वैरागी सहभागी थिए ।

    यसैगरी कार्यक्रममा डा.अनन्त अधिकारी, डा. राजेन्द्रप्रसाद अधिकारी, चण्डिका मिश्र, वाग्मती प्रदेशका पूर्व सांसाद शशिजङ्ग थापा, साहित्यकार विक्रम भक्त जोशी, लालबहादुर भुजेल, सीता शरमा, भानुप्रकाश जोशी, नव प्रज्ञापनका सम्पादक नवराज रिजाल साथै लघुकथा समाज, नियात्रा समाजका सदस्यहरु र प्रगतिशील लेखक सङ्घका सदस्यहरु, युद्धप्रसाद मिश्रका परिवारजनका सदस्यहरू, मिश्र प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, अन्य लेखक कलाकार एवं गीतकार र संगीतकारहरूको बाक्लो उपस्थित रहेको थियो ।

    कवि युद्धप्रसाद मिश्रद्वारा रचित वरिष्ठ संगीतकार एवम् गायक रामेशको स्वर रहेको गीत पनि प्रस्तुत गरिएको उक्त कार्यक्रममा आगामी दिनमा पनि यस्ता स्रष्टा, साहित्यिक संस्था र प्रकाशकहरूले गौरव गर्न लायक कार्यक्रमहरूको आयोजना भइरहनुपर्ने विचार व्यक्त भएको थियो ।

  • कुनै पनि आमाले आफ्नै ममतामाथि प्रश्नको सामना गर्नु नपरोस्

    कुनै पनि आमाले आफ्नै ममतामाथि प्रश्नको सामना गर्नु नपरोस्

    केही महिनाअघि चितवनका एक दम्पतीको विवाद समाधानको लागि भएको छलफलमा थिएँ । उनीहरु ‘एक-अर्कासँग बस्नै नसक्नेगरी’ मनोमालिन्यको अवस्थामा पुगिसकेको एक-अर्काका आरोप प्रत्यारोपबाट देखिन्थ्यो ।

    सँगै सात वर्षे छोरा थियो । आमाबाबु चर्को स्वरमा एक अर्काको गल्ती खोतलिरहेका थिए । प्रहरी परिसरमा भएको छलफलमा छोरा भने घरी बाबुको काखमा दौडिएर पुग्थ्यो । घरी आमाको काखमा गएर अँगालो हाल्दै रुन्थ्यो । यो दृश्य देख्न नसकेपछि उसलाई लिएर म केही समय बाहिर निस्किएँ ।

    पानी पिउन दिएँ । खानेकुरा सोधें । तर, उसलाई बाहिरी वातावरणभन्दा पनि डर बाबुआमाको झगडाकै थियो । केही समय त उसलाई भुलाएँ । ऊसँग दैनन्दिन बाआमाको चर्को झगडा, कुटाकुटबाट निस्किने अवस्था थिएन ।

    तथ्यांकहरु हेर्दा नेपालमा सबैभन्दा धेरै महिला आफ्नै श्रीमानबाट हिंसामा पर्ने गरेका छन् । अदालतको तथ्यांकले पनि मुद्दामा प्रवेश गरेका घटनाहरुका पहिलो नम्बरमा सम्बन्ध विच्छेद देखाएको छ । यी सबै समस्या घरभित्रैबाट निस्किने हुन् ।

    विवाह सम्झौताको सम्बन्ध हो । दुई स्वतन्त्र महिला-पुरुष (नेपालको कानूनले व्याख्या गरेअनुसार) बीच एकापसमा सँगै बस्न नसक्ने अवस्था आए, उनीहरु सहमतिमै छुट्टिन पाउने व्यवस्था गरेको छ, जसलाई हामी सम्बन्ध विच्छेद भन्छौं । पतिपत्नीको सम्बन्धमा रहन नसक्ने अवस्था भए पनि कानूनी रुपमा अलग हुनु सामाजिक परिघटनामा सामान्य नै हो ।

    तर, विवाह सम्बन्ध निकै जटिल र त्यसबाट निम्तिने बाइप्रडक्ट निकै संवेदनशील हुने पछिल्ला घटनाले देखाउँछ । पछिल्लो उदाहरण मनोज गजुरेल र मीना ढकाललाई लिन सकिन्छ । हाँस्यव्यङ्ग्य क्षेत्रमा स्थापित मनोज गजुरेल र उनकी पत्नी मीना ढकाल एकापसमा सँगै बस्न नसक्ने निर्णय गरी अदालतबाट कानूनी रुपमा अलग भए । उनीहरुले आआफ्नो जीवनसाथी पनि रोजिसकेका छन् ।

    विवाह सम्झौताको सम्बन्ध हो । दुई स्वतन्त्र महिला-पुरुष (नेपालको कानूनले व्याख्या गरेअनुसार) बीच एकापसमा सँगै बस्न नसक्ने अवस्था आए, उनीहरु सहमतिमै छुट्टिन पाउने व्यवस्था गरेको छ, जसलाई हामी सम्बन्ध विच्छेद भन्छौं । पतिपत्नीको सम्बन्धमा रहन नसक्ने अवस्था भए पनि कानूनी रुपमा अलग हुनु सामाजिक परिघटनामा सामान्य नै हो ।

    बाआमा छुट्टिएको केही वर्षपछि उनीहरुका छोराले सार्वजनिक रुपमा आमा सम्झिए- त्यो पनि आमाले आफूलाई गरेका गलत व्यवहारहरु र्‍याप गीतमा अभिव्यक्त गरेर ।

    मीनाले आमा भइसकेपछि छोराप्रति आमाको कर्तव्य पूरा गर्नुपर्थ्यो । हरेक आमाले गर्नुपर्थ्यो, पर्छ । मनोज बाबु भए, यसै पनि परिवारप्रति बाबुआमा दुबैको बराबरी कर्तव्य रहन्छ, रहन्थ्यो नै ।

    यहाँनेर उनीहरुका छोराले आमा र बाबुलाई कसरी बुझे, आमाले गरेको व्यवहारलाई सार्वजनिक रुपमै छताछुल्ल गर्नुपर्ने स्थितिमा किन पुगे चाहिँ मुख्य कुरा हो ।

    मनोज, मीना र उनको छोराको मामिलामा हामीले नेपाली सामाजिक परिदृश्यको अवस्था बुझ्नुपर्छ । नेपाली सामाजिक, सांस्कृतिक व्यवस्थाले महिलालाई विवाहपछि स्वतः लोग्नेको ठेगानामा जानैपर्ने व्यवस्था गरेको छ । नगन्यबाहेक नेपाली समाजमा यो व्यवस्था हुबहु लागू छ ।

    विवाहपछि महिला लोग्नेको घर जान्छिन्, जहाँ उनको परिश्रम र स्वामित्वको कुनै वस्तु हुँदैन । कानून र सामाजिक, सांस्कृतिक व्यवस्थाले नै गरेको यो नियमका कारण विवाहपछि एक पटक हरेक महिलाको सामाजिक मूल्य शून्यको तहमा पुगेर उकासिनुपर्ने अवस्था छ । अझ नेपाली महिलामध्ये जम्मा २१ प्रतिशतसँग सम्पत्तिको स्वामित्व छ ।

    एकातिर सम्पत्तिको स्वामित्व आफ्नो हातमा नहुँदा उनी कमजोर हुन्छिन् । अर्कोतिर नयाँ मानिसलाई उसले विवाह गरेर गएको समाजले तत्काल स्वीकार गर्दैन । घरमा त सबैभन्दा तल्लो तहमा उनको स्थान यसै हुन्छ । यस्तो सामाजिक पृष्ठभूमिमा श्रीमानसँग मन मिल्न नसकेपछि ती महिलाले श्रीमानपट्टिका मानिसहरुको निकै कममात्रै समर्थन पाउँछिन् ।

    यस घटनासँग मिल्ने अर्को उदाहरण छ । मेरो एक जना साथी छन्, जसले श्रीमानको परस्त्रीसँग सम्बन्ध रंगेहात भेटिन् । तैपनि लडेर जुधेर केही समय ऊसँग गुजारिन् । अन्ततः श्रीमानको व्यवहार सुधार नभएपछि सम्बन्ध विच्छेदको अवस्थामा पुग्नुपर्‍यो ।

    सामाजिक सञ्जालहरुमा एउटी आमाले आफूले सन्तानलाई माया, स्नेहपूर्ण व्यवहार गरेको थिएँ भनेर आफ्नो प्रतिरक्षा गर्नुपर्ने र छोराले आफूलाई हुर्काउँदा आमाको ममता पाइनँ भनेर आरोप लगाउनुपर्ने अवस्था आउनु सिंगो आमाहरुका लागि कति पीडादायी होला ?

    अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा दायर नगर्दासम्म ती साथीप्रति लचिलो उनका परिवार मुद्दा दायर गरेपछि सबै विपक्षी बने । सम्बन्ध विच्छेदको सुइको पाउनासाथ भएभरका सम्पत्ति विवाहित छोरीको नाममा गरिदिएर आफूहरु सुकुम्बासीसरह रहेको अदालतमा विवरण पेश गरे ।

    उनीहरुले सम्पत्तिसहितको मुद्दामा उनीप्रति निर्मम व्यवहार गरेकामात्रै होइनन्, पूर्वपतिले उनले काम गरिरहेको ठाउँमा समेत गएर पटक पटक बेइज्जती गर्ने जस्तो हर्कत गरेको व्यवहारको साक्षी स्वयं छु ।

    सम्बन्ध राम्रो नभएकी महिलालाई एक्ल्याउन लोग्नेतिरका परिवार, आफन्त र समाजै उर्लिन्छन् भन्ने यस्ता अनगिन्ती उदाहरण हामीसँग छ । अझ मीनाले त आफूबीचको मनमुटावलाई सार्वजनिक गरिन् । उनी सामाजिक वृत्तमा मनोज गजुरेलकी पूर्वपत्नी भएकाले पनि अलि चर्चित भइन् ।

    अब छोरातर्फ जाऔं । लामो विवादपछि छुट्टिएका बाआमाका सन्तानको मनोविज्ञानमा नकारात्मक असर पर्ने कुरामा त कुनै संशय नै रहेन । तर, आफ्नी आमालाई नै गीतमार्फत यस्तासम्म शब्द व्यक्त गर्ने अवस्थामा पुग्नेगरी मीनाले छोरालाई कस्तो व्यवहार गरिन् होला ? एउटी आमा भएर सोच्दा पत्याउनै गाह्रो हुन्छ ।

    सामाजिक सञ्जालहरुमा एउटी आमाले आफूले सन्तानलाई माया, स्नेहपूर्ण व्यवहार गरेको थिएँ भनेर आफ्नो प्रतिरक्षा गर्नुपर्ने र छोराले आफूलाई हुर्काउँदा आमाको ममता पाइनँ भनेर आरोप लगाउनुपर्ने अवस्था आउनु सिंगो आमाहरुका लागि कति पीडादायी होला ?

    आमा भनेको यस्तो सम्बन्ध हो, जहाँ आफैं मृत्युको मुखमा पुगेर पनि सन्तानको सुखमा रमाउन तयार हुने महिला हुन्छन् । उनीहरु ममता खन्याएर सन्तानलाई जितिरहन दिन्छन् । आज इन्टरनेट निर्मित भर्चुअल सञ्जालको संसारमा आमा र छोरा लडाइँ गर्दैछन्, त्यो पनि ममताको प्रश्नमा । एउटी आमालाई निर्मम भनिरहँदा आमाले म निर्मम थिइनँ भनेर छोरालाई जवाफ दिनुपर्ने पनि लडाइँ हुन्छ ? ममतामा पनि प्रश्न उठ्नुपर्ने अवस्था किन आउँछ ? म प्रार्थना गर्छु, हामी आमाहरुले कहिल्यै ममताको प्रश्नको सामना गर्न नपरोस्, जुन मीनाले गरिरहेकी छन् ।

  • जब ‘मिस्ड कल’मात्रै गरिरहने जनताले मन्त्री किराँतीलाई घरको आँगनमा देखेँ

    जब ‘मिस्ड कल’मात्रै गरिरहने जनताले मन्त्री किराँतीलाई घरको आँगनमा देखेँ

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको आफ्नै खाले आस्था र विश्वास छ । उनी भन्ने गर्छन्, ‘मेरा लागि मेरो आफ्नो भगवान् भनेको बोल्ने देवताहरू हुन् । अर्थात् जीवित मानिसहरू नै मेरा परम ईश्वर हुन् ।’

    किराँती ०६४ सालमा संविधानसभा सदस्य बने । दुई पटक संघीय सांसद हुँदै मन्त्री समेत बने । उनको यो राजनीतिक यात्राको महत्त्वपूर्ण सारथी तिनै थिए, जसलाई किराँती बोल्ने देवताहरू भन्छन् । भलै जनताले आफ्नो विवेकसम्मत मत दिएर किराँतीलाई यस ठाउँसम्म ल्याइपुर्‍याए । विकास, समृद्धि, शिक्षा, रोजगारी लगायत विविध कुराको जिम्मेवारी दिएर किराँतीलाई संसदमा पठाए ।

    जनताले विश्वासले दिएको अभिमतलाई किराँतीले कसरी सम्बोधन गरिरहेका छन्, त्यो कुरा जनतालाई नै थाहा होला । तर, किराँती आम जनताको जनगुनासो सुन्न उनीहरूकै घरघरमा पुग्छन् । सरकारमा हुँदा होस् या नहुँदा, आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहन्छन् । जनताका गुनासोलाई संकलन गर्छन् । जनताको माग र अपेक्षाहरूलाई टिपोट गर्छन् । र जनताको आवाज लिएर काठमाडौं फिर्छन् ।

    आफ्नो निर्वाचन क्षेत्रको वडा होइन, टोलटोलमा वर्षको दुई पटक पुग्ने किराँतीको वचन नै छ । आफ्नो वचनमा उनी अडिग पनि छन् । वर्षको दुई पटक उधौली र उभौलीमा किराँती गाउँमै भेटिन्छन् । शिली टिपिरहेका भेटिन्छन् । साकेला गाइरहेका देखिन्छन् ।

    उनले आफू मन्त्री भएपछि समेत भनेका थिए, तपाईँ मतदाताहरू मेरो भगवान् हुनुहुन्छ । भगवान्ले भक्तलाई भेट्न आउनु पर्दैन । सिंहदरबार आउँदा तपाईँहरूले अत्यन्तै झन्झट व्यहोर्नुपर्छ । तपाईँहरूले दुःख पाउनुभयो भने मन दुख्छ । त्यसैले म आफैँ तपाईंहरुलाई भेट्न समय मिलाएर तपाईंहरुको घर आँगनमा भेट्न आउनेछु ।’

    ०००

    मन्त्री किराँती मन्त्री भएपछि पनि पटकपटक निर्वाचन क्षेत्रमा पुगेका थिए ।

    पछिल्लोपटक लामो समय निकालेर जनतासँग भेटघाट गर्न गाउँ निस्किए । हुन त हरेक वर्षको दशैं मन्त्री किराँतीले फरक ढंगले मनाउने गरेका छन् । यसपटक दशैं लाग्दै गर्दा उनी काठमाडौंबाट गृहजिल्ला लागे ।

    कात्तिक एक गते विराटनगर पुगे । विराटनगरबाट मोरङको बेलबारीमा पार्टीको अभियान अन्तर्गत १४ जना शहीद परिवारलाई सम्मान गरेर जनभेटको प्रारम्भ गरेका थिए । २ गते उदयपुर हुँदै गृहजिल्लाको आमचोक गाउँपालिकाबाट मतदातासँग भेटघाट सुरु गरे ।

    आमचोक गाउँपालिकामै चार दिनसम्म भेटघाटलाई निरन्तरता दिए । आमचोक गाउँपालिका आफैंमा भौगोलिक हिसाबले अत्यन्त विकट गाउँपालिका हो । उदयपुरसँग दुधकोशीले सीमाना विभाजन गरेको यस गाउँपालिकामा १० वडा छन् । समुन्द्री सतहदेखि दुई सय मिटरको उचाइमा रहेको हैखराङ, किनुवा, जोगेपत्थर जस्ता गाउँहरु मन्त्री किराँती पुगेपछि सर्प्राइज भयो ।

    ती गाउँहरूमा अहिलेसम्म कुनै बहालवाला मन्त्री त के सांसदसम्म पुगेका रहेनछन् । अचानक मन्त्री किराँती ती गाउँहरूमा पुगेपछि गाउँलेहरू सर्प्राइज मात्रै भएनन्, भावनात्मक पनि बने । यसअघि पनि मन्त्री किराँतीको यी गाउँका जनतासँग सीधा सम्पर्क थियो । तर, उनी अचानक स्वयं गाउँमा पुगेपछि माहोल निकै नै प्रेमिल र भावनात्मक बनेको थियो ।

    गाउँलेहरुसँग विगतमा पनि मन्त्री किराँती सानातिना पारिवारिक समस्याहरूसँग परिचित रहन्थे । सकेको सहयोग गर्थे । मन्त्री भएपछि कामको चापले सबैको फोन उठाउन भ्याउँदैनन् । यो पंक्तिकारले समेत मन्त्री ज्युको फोन उठाइदिने गरेका छन् । मिहीन ढंगले फोन उठाउँदा पनि दिनमा दुई सय बढी मिस्ड कलहरु आउँछन् । र मन्त्री किराँतीलाई सम्झने विशेष जनता भनेकै ती मिस्ड कल गर्नेहरुहुन् । जोसँग सीधा कल गर्नलाई पनि मोबाइलमा ब्यालेन्स हुँदैन । तर, आफ्नो अपेक्षाहरु मन्त्रीसामु राख्न चाहन्छन् । पहुँचभन्दा बाहिर रहेका तिनै ‘मिस्डकल जनता’ नै मन्त्रीका विशेष जनता हुन् । जसको शिक्षा, स्वास्थ्य, रोजगारीका लागि काम गर्नु नै उनको प्राथमिकता हो ।

    यस्ता ‘मिस्ड कल जनता’कै सामुन्ने मन्त्री स्वयं पुगेका थिए आमचोकका गाउँहरूमा । दुधकोशीको तीरदेखि सुरु भएको यात्रा अनकन्टार विकट गाउँहरूमा पुग्यो । अरुवेला जस्तै कुनै गाडीहरुको लाइन छैन । स्वागतका लागि कुनै गेट र अनावश्यक फूलमाला र भड्किला मन्चहरु छैनन् । सिर्फ आम जनतालाई भेटेर उनीहरुको दुःख, सुख सोध्नु र उनीहरुको समस्यालाई टिपोट गर्नु नै किराँतीको मूल उद्देश्य थियो ।

    जनताले किराँतीलाई फूलमालाले त स्वागत त गरेनन्, तर प्रेमले किराँतीलाई स्वागत गरे । बरु जनताले आफ्नो घरमै फलेका सुन्तला, अम्बा, दही र महीले स्वागत गरे । आफैंले जिताएर पठाएको आफ्नो प्रतिनिधिलाई आलिंगनमा मात्रै बाँध्दैन थिए । हर्षको आँसु समेत झार्थे ।

    ०००

    जनताको घरको पिँढीमा बसेर गफगाफ हुन्थ्यो । अनि अर्को घरतिर निस्कन्थे । यस पटकको यात्रामा हैखराङमा पुगेका थियौं । पारी हतुवागढी गाउँपालिका वडा ९ हसनपुर निवासी पार्टीको जिल्ला सल्लाहकार लोकबहादुर मगरको निधन भएको दुःखद खबर सुन्यौं । खबर सुन्नसाथ मन्त्रीको टोली हसनपुरतिर लाग्यो । बाटोमा विदंगत लोकबहादुरसँगको अनेकौँ संयोग र सम्बन्धको पोयो फुकाउँदै मन्त्री किराँती नोस्टालजिक बने ।

    मन्त्री किराँतीको एक विशेषता छ, कोही मानिससँग चिनजान भए उनी गहिरो गरी ती मान्छेबारे जानकारी राख्छन् । किराँतीले मान्छेहरूको प्रेम पाउनुमा यो पनि एउटा कारण हो । हसनपुर पुगेर विदंगत लोकहादुरको पार्थीव शरीरमा पार्टीको झण्डा अर्पण गरियो । उक्त झण्डा लोकबहादुर आफैंले घरमा वर्षौंदेखि राखिरहनुभएको रहेछ । वृद्ध अवस्थामा पनि उहाँको पार्टीप्रतिको सम्मान र प्रेम देखेर मन्त्री किराँती भावुक भए । हुन त उहाँको स्वभाव पनि भावुक हुने खालकै छ ।

    लोकबहादुरको जीवन संगिनी लगायत छोराहरुलाई सान्त्वना दिएपछि केही आर्थिक सहयोग मन्त्री किराँतीले गरे । र त्यहाँबाट फेरि आमचोक फर्कियौं । प्राय हरेक कार्यक्रममा दशैंको शुभकामना आदानप्रदान हुन्थ्यो । योपटकको यात्रामा चाहिँ दशैंको शुभकामना आदानप्रदान फरक थियो । शुभकामना बाँड्दै गर्दा केन्द्रमा थिए ससाना नानीबाबुहरू । जो भविष्यका कर्णधारहरू हुन् । उनीहरूसित किराँतीको दशैं शुभकामना आदानप्रदान दृश्य रोचक थियो । १०–२० का नयाँ नोट सहित मन्त्री किराँतीको आशीर्वाद नानीबाबुहरूको हातमा हुन्थ्यो । बदलामा नानीबाबुहरूको निर्दोष र निश्चल आगिंलन मन्त्री किराँतीले पाउँथे । अनि कति नानीबाबुहरू त भन्थे, ‘मन्त्री ज्यु आज मेरै घरमा बसौं ।’

    मन्त्री किराँतीको जवाफ हुन्थ्यो, ‘म अर्कोपटक आउँछु । राम्रोसँग पढ्नु । पछि देश चलाउने तिमीहरूले हो । आज म अर्को गाउँमा तिमीहरूजस्तै नानीबाबुहरूसँग पनि दशैं मनाउन पुग्नु छ ।’

    ०००

    यात्राको क्रमका जनताको माया, स्नेह र गहिरो प्रेमले मन्त्री बेलाबेला भावनात्मक रूपले उद्वेलित भइरहेका थिए । आमचोकको दिङलापु, दुम्माना र पाचा ! तीनवटा वडामै तीन दिन बितिसकेको थियो । छिमेकी जिल्ला बोपुङ नजिकै पर्छ । त्यहाँका स्थानीयहरुले बास बस्न कर गरिरहेका थिए । यसपटक बोपुङमा पाइला नटेके बोलचाल नै बन्दै गर्ने उनीहरूको घुर्की थियो । त्यसमा अग्रपंक्तीमा थिए सामाजिक अगुवा मनि बान्तवा ।

    उनी पछिल्लोपटक मन्त्री किरातीसँगकै सम्बन्धका कारण कांग्रेस पार्टी परित्याग गरेर माओवादी केन्द्रमा आबद्ध छन् । बेलुका बोपुङमा बस्यौं । तर, आमचोकको वडा नम्बर ६ बयाङबाट ७ वर्षकी बालिका एक दिनदेखि हराइरहेको र अझैं फेला नपरेको खबरले हामीलाई स्तब्ध बनाएको थियो । ४ गते बिहानै आमचोक गाउँपालिकाको केन्द्र बालंखामा जभेटघाटको कार्यक्रम तय भएको थियो ।

    बेलुका खोटाङको बोपुङमा मध्यरातसम्मै स्थानीयसँग भलाकुसारी चलेको थियो । पहिलोपटक वहालवाला मन्त्री पुग्दा स्थानीय बडो हर्षित थिए । ४ गते बिहान बालंखा आएपछि हराएकी बालिका मृत भेटिएको दुःखद खबरले सबैलाई स्तब्ध बनायो । गाउँ नै शोकमा डुबेको थियो । बालंखाको कार्यक्रम सकाएर हामी वडा नम्बर ५ पांचा र वडा नम्बर ७ देवन्टारमा जभेटघाटमा निस्कियौं । यसवेलासम्म दशैं घरमै भित्रिसकेको थियो ।

    वहालवाला मन्त्री कुनै तामझाविना अचानक सामुन्ने देखिँदा अनौठो मान्थे । ४ गते बेलुका ६ नम्बर वडा बयाङमा बास बस्न निस्कियौं । यहाँ गाउँ नै शोकमा थियो । ७ वर्षीया बालिकालाई छिमेकी २१ वर्षीय युवकले जंगलमा लगेर बलात्कार गरेपछि मारेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भइसकेको थियो । मृत बालिकाको शवलाई पोष्टमार्टमका लागि सुनसरी जिल्लाको धरान घोपा क्याम्पमा बालिकाको बुवा लगायत गाउँलेहरुले लगिसकेका थिए ।

    घटनामा संलग्न युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । ५ गते बिहान सवेरै शोकमा डुबेका परिवारलाई भेट्न मन्त्री किराँती घरमै पुगे । बालिकाको आमा, बाजे, बजु र फुपू मन्त्रीलाई देख्ने बित्तिकै भावविह्वल भए । त्यो माहौलमा मन्त्री किराँतीसँगै गएका गाउँपालिका अध्यक्ष अशोक राई, माओवादीका युवा नेता सन्दीप किरावा, सम्झना राई लगायत कसैको पनि आँखा ओभानो रहेन । सबैले भिजेका आँखाले ७ वर्षीया बालिकालाई अन्तिम श्रद्धाञ्जली दिए । अपराधीलाई कठोर कारबाहीको लागि प्रार्थना गरे ।

    त्यहाँबाट फर्कने वेला मन्त्री किराँतीले मृतक नानीको आमालाई केही आर्थिक सहयोग प्रदान गरे । आमाले सहयोग लिन मानिरहेकी थिइनन् । बरु अनुरोध गरिरहेकी थिइन्, ‘दोषीलाई कानुन अनुसार कडाभन्दा कडा कारबाही हुने व्यवस्था गराइदिनु । यसरी साना नाबालिगहरूले ज्यान गुमाउन नपरोस् ।’

    जनतासँगको भावनात्मक भेटघाट एउटा पाटो थियो । अर्को पाटो भने उनीहरूको समस्या थियो । उनीहरूको साझा अपेक्षा थिए । उनीहरू एकै कुरा दोहोर्‍याउँथे, जिल्लाको नाम राखिरहनु । मतदाताको शीर झुक्ने काम कहिल्यै नगर्नू । दूधकोशीको रानीटारमा पुल लगाउनू ।’

    आमचोक हुँदै जिल्लाको दक्षिणी भेगलाई तराईसँग जोड्ने रानीटारको मोटरेबल पुल शिलान्यास भएको वर्षौँ भयो । तर, अहिलेसम्म पुल बन्न सकेको छैन । यो पुल बनेको खण्डमा दक्षिणी भेगको जनताको सास्ती अन्त्य हुने थियो । त्यति पूल मात्रै बनेदेखि जिल्लाको विकासले फड्को मार्ने थियो । जिल्लाको आर्थिक मुहार नै बदलिने थियो ।

    मन्त्री किराँती गृह जिल्लाबाट फर्किएपछि उनको सक्रियतामा यो पुल निर्माणको काम अगाडि बढेको छ । यो पुल निर्माणको क्रममा आएको प्राविधिक समस्या हलका लागि मन्त्री लागिपरेका छन् ।

    ०००

    आमचोकको १० वटै वडाहरुमा जभेटघाट गर्दै रामप्रसाद राई गाउँपालिका ओख्रेमा ५ गते बेलुकाको बास थियो । यो वडा मन्त्रीको आफ्नै वडा पनि हो । वडामा मन्त्री आइपुुगेपछि भलाकुसारीका लागि वडाध्यक्ष, गाउँपालिका अध्यक्ष लगायतको टिम आइपुगेको थियो ।

    ६ गते बिहानै भोजपुर गाउँपालिका छिचोल्दै टेम्के मैयुङ गाउँपालिका वडा नम्बर एक तिम्मामा बास बस्न पुगेको थियो । वडाध्यक्ष नरबहादुर राईको घरमा बासको व्यवस्था थियो । ७ गते बिहान भोजपुर जिल्लाको सबैभन्दा अग्लो पहाड शिलिचुङ पछिको अग्लो डाँडा मैयुङ (३३३३ मिटर) को यात्रामा टोली निस्कियो । बिहान मैयुङको ढुंगाखर्केमा गोठालाहरु भेला भए ।

    यसवेलासम्म मन्त्री किराँतीको जनभेटघाट र दशैं विशेष कार्यक्रममा जनताहरुसँग साक्षत्कार मात्रै भएन । सम्बन्धहरु नवीकरण पनि भयो । मैयुङको लेकमा चौरी र भेडा गोठालाहरुसँग दशैं मनाए । विगतमा कहिले दलित वस्ती त कहिले शहीद परिवारसँग दशैं मनाएका किराँती यसपटक गोठालाहरुसँग मनाउन मैयुङ पुगेका थिए ।

    २० गोठालाहरुसँग दशैं मनाएका किराँती ८ गते मैयुङदेखि चखेवासम्म ४२ किलोमिटरको मुन्दुम पदमार्गमा समेत हिँडे । पूर्वमा मुन्दुम पदमार्ग आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा विकास भएको छ । यसलाई सुनसरीको चतरा हुँदै सगरमाथासम्म जोडेर ग्रेटर मुन्दुम पदमार्गका रुपमा विकास गर्ने योजना मन्त्री किराँतीको छ । जसले पूर्वका उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा, धनकुटा लगायत जिल्लाको पर्यटन विकासमा छलाङ मार्नेछ । नेपालको विकास पर्यटन र कृषिले मात्रै सम्भव छ भनिरहँदा मन्त्री किराँतीको यो गुरुयोजना नेपालको समुन्नत विकासमा कोसेढुंगा सावित हुन सक्ने देखिएको छ ।

    अन्त्यमा रामप्रसाद राई गाउँ पालिकाको विभिन्न वडामा जभेटघाट सभा ९, १०, ११ गतेसम्म गरेर हतुवागढीको मचुटार भएर पानीबोर्ड चढेर सुनसरी हुँदै १२ दिनको जभेटघाटलाई बिट मार्दै मन्त्री किराँती १२ गते काठमाडौं फर्किए ।

    साथै यस पटकको यात्रामा मन्त्री किराँतीले आफू मन्त्री भएको वेला खादामाला वापत् एक हप्तामा संकलन भएको छ लाख रकम आमचोक गाउँपालिकाको ९ को सरस्वाती माविमा अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरे । सँगै आफू प्रमुख अतिथि हुने कार्यक्रममा मन्चमा बस्ने थितीको अन्त्य गर्ने घोषणा गरेका छन् । अन्य उपस्थित मानुभावसँगै मन्चको अगाडि दर्शक दीर्घामै बस्ने संस्कारको सुरुवात गरेका छन् ।

    साथै आफूलाई प्रमुख अतिथि बोलाइएका कार्यक्रममा सम्बन्धित कार्यक्रमको अगुवालाई नै प्रमुख अतिथि बनाउने र आफू विशेष अतिथिको रुपमा मात्रै सम्बोधन गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘यो गणतन्त्र हो । गणतन्त्रमा कोही राजा र कोही रैती हुँदैन । यो व्यवस्थामा सबै समान छन् । अब हामीले भड्किलो संस्कृतिलाई अन्त्य गर्नुपर्छ ।’

    ०००

  • शैलुङको थुम्कोबाट देखेको देश

    शैलुङको थुम्कोबाट देखेको देश

    चलचित्र क्षेत्रमा आउनुअघि म मार्सल आर्ट गर्थेँ, गराउँथेँ पनि । उकालो सिँढी दौडिएर चढ्नुपर्थ्यो । चढ्ने मात्रै हैन, अर्को मानिस वा गरुङ्गो सामान बोकेर दौडिन पनि पर्थ्यो । ती सबै काम हाम्रो जिम्मेवारी थिए ।

    मार्सल आर्टमा स्थापित भएपछि मात्रै चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ ।

    यसपटक संयोगले म शैलुङ यात्रामा निस्किएँ । यात्राका क्रममा खोलाखर्कबाट करिब ३५-४० मिनेटको उकालोमा पैदल हिँड्नुपर्‍यो । उकालोको पैदल यात्रा जति रोमाञ्चक थियो, उत्ति नै नोष्टालजिक पनि । उकालो यात्राले मलाई झण्डै-झण्डै विस्मृतिमा पुगिसकेको मेरो मार्सल आर्टको समय सम्झाइदियो ।

    धेरै वर्षपछि त्यस्तो उकालोमा हिँड्ने अवसर पाएको थिएँ । त्यो उकालो जति चढ्दै गएँ, उत्ति नै मेरो विगततिर फर्कँदै गएँ । विगतको सम्झना सहितको यात्रा बडो सुन्दर थियो ।

    हरेक चिजलाई बुझ्ने तरिका मेरो आफ्नै किसिमको छ । आफ्नै दृष्टिकोणले हरेक चिजलाई बुझ्न रुचाउँछु । शैलुङको ती उकालोको हरेक सिँढीहरू पनि मैले आफ्नै किसिमले चढेँ । उकालो यात्राका क्रममा कसैसित बोलिनँ । चुपचाप सिर्फ चुपचाप लामो लामो सास लिँदै उकालो चढिरहेँ । यसरी यात्रा गर्नु मेरा लागि एक खालको मेडिटेसन हो ।

    म जुन ठाउँमा पुग्छु, त्यस ठाउँको प्रकृति अनुसारको मेडिटेसन गर्ने गर्छु । कुनै कुनै यात्रामा बोल्दा पनि ऊर्जा खर्च हुन्छ । त्यसैले त्यो ऊर्जा म अक्सर हिँड्नमा खर्च गर्छु । खोलाखर्कको उकालो पनि मैले एकै फेरोमा कतै पनि नरोकिई आफ्नै लयमा पार गरेँ । उकालोको यात्रामा यात्रा गरिरहेका सबै चुपचाप थिए । सबैले लामो लामो सास फेरिरहेका थिए । आवाजको नाममा निस्किएको लामो लामो सासले कानलाई झंक्रित बनाइरहेको थियो ।

    शैलुङमा म पहिलोपटक पुगेको थिएँ । सडक मार्गबाट शैलुङसम्म पुगेका थियौं । त्यहाँको वातावरण गज्जबको थियो । भौगोलिक विकटता त थियो, तर स्थानीयको माया तथा सत्कारले विकटता होइन, मानवताको मात्रै अनुभव भयो ।

    हाम्रो करिब ५० वटा गाडीको लामबद्ध र्‍याली थियो । र्‍यालीलाई हेर्न गाउँ गाउँबाट स्थानीयहरू आउनुभएको थियो । अनि उहाँहरूले गर्नुभएको स्वागत लगायत दृश्यहरू अहिले पनि मानसपटलमा ताजै छन् । कोरोना महामारीको समयमा जनतालाई चेतना दिन हामी त्यसरी नै गाउँ गाउँ गएका थियौँ । त्यसपछि भने यो नै पहिलो गाउँ यात्रा हो मेरो ।

    हामीलाई धुलिखेलमा पञ्चेबाजा बजाएर स्थानीयले स्वागत गर्नुभयो । धुलिखेलबाट शैलुङतर्फको केही सहज यात्रा पश्चात सिन्धुलीबाट पारी लागेपछि भने ‘एड्भेञ्चर’ सुरू भएको थियो । ठाउँ ठाउँमा स्थानीयको स्वागत, माया, आत्मियता तथा स्थानीय खाना र परिकारले अहिले पनि ताजा महशुस भइरहेको छ । दोरम्बामा खाएको कटुस, स्थानीय खाना र परिकारका स्वादले मलाई निकै नै पुराना दिनहरूमा पुर्‍यायो । चलचित्र सुटिङ गर्न जाँदा प्रायः यसरी नै खाने गर्थ्यौँ । यसरी नै रमाइलो गर्ने गर्थ्यौँ ।

    शैलुङ यात्राका क्रममा बाटोमा चौँरी गाईको बास्ना आइरहेको थियो । चौँरीको दूध, चौंरीकै छुर्पी, चौरीकै बास्नाको महकले कतै प्रकृतिमा लिप्त भइरहेको महसुस हुन्थ्यो । खोलाखर्कमा पाहुनाको स्वागतका लागि स्थानीय संस्कृति अनुसारका झाँकीका साथै परिकार राखिएको रहेछ । त्यस ठाउँको सँस्कार नै रहेछ यस्तो ।

    आधुनिकताका नाममा मानिसहरूले आफ्नो संस्कार बिर्सँदै गएका छन् । स्थानीय संस्कृति संकटमा परिरहेको यस्तो विषम परिस्थितिमा शैलुङले आफूलाई बचाएर राखेको रहेछ ।

    खोलाखर्कमा सगुनका रूपमा पाहुनाहरूलाई स्थानीय प्याला दिइयो । मैले चाहिँ प्याला लिइनँ । विगतमा बियर पिउँथे । अहिले छाडेको धेरै नै भइसक्यो । साथीहरूले प्याला लिएर ‘इन्जोय’ गर्नुभयो । मैले त्यही हेरेर रमाइलो मानेँ । चिसो ठाउँमा चिसोबाट ज्यानलाई केही न्यानो बनाउन त्यो संस्कार सही हो । स्वास्थ्यका लागि पनि यो राम्रो हो सायद ।

    शैलुङ यात्रापूर्व मैले शैलुङबारे कुनै पनि जानकारी लिएको थिइनँ । जानकारी नलिई यात्रामा निस्कँदा त्यहाँको वास्तविक जानकारी प्राप्त हुन्छ । जसको आनन्द अर्कै हो भन्ने लाग्छ मलाई । मलाई केही थाहा नभएको ठाउँमा पुगेर त्यस ठाउँमा रमाउन र हराउनमा छुट्टै खालको आनन्द प्राप्त हुन्छ ।

    जब उकालो चढेर शैलुङको थुम्कामा पुगेँ, तब लाग्यो नेपाल टुक्राटुक्रा स्वर्ग मिलेर बनेको सुन्दर राष्ट्र हो । भलै त्यसको कदर पनि हामीले गर्न सकेका छैनौँ । र, प्रचार पनि गर्न सकेका छैनौं । शैलुङका थुम्काहरूमा खेल्ने हावा र हावासँगै आइपुगे स्थानीय संस्कृति र संस्कारको महक वास्तवमै प्राकृतिक थिए ।

    हामी शैलुङ पुग्दा अँध्यारो भइसकेको थियो । दृश्यावलोकन गर्न त सकिएन, तर शैलुङ ठाउँ नै त्यस्तो रहेछ ! राति पनि मोहित बनाइरहने वातावरण । झनै दुबो र जडिबुटीको ओछ्यानमा रात कट्ने भएपछि मन त्यसै अल्लहदित भइरह्यो ।

    म क्याम्पिङ टेन्टमा एक्लै थिएँ । बाहिर जोडले हावा चलिरहेको थियो । क्याम्पिङ टेन्टमा भने हावा छिरेको थिएन । बिहानै साढे चार बजे उठेँ ।

    प्रायः बिहान साढे चार बजे उठ्ने मेरो दैनिकी नै हो । तर, अरु साथीहरू भने सुतिरहेका थिए । शैलुङ शान्त थियो । मैले टेन्टभित्रै मेडिटेसन गरेँ । त्यसपछि अलि माथि रहेको गुम्बामा गएँ । गुम्बा रहेको ठाउँ वास्तवमै विशेष थियो । उसो त तीर्थ भएको ठाउँ मेरा लागि विशेष नै हुन्छ ।

    गुफाबाट करिब ४५ मिनेट ओरालोतर्फ केही साथीहरूसँग लागेँ । दुबो तथा अन्य जडिबुटीले सजिएका शैलुङका थुम्काहरू, भर्खर चर्न शुरू गरिरहेका चौँरीहरूले बिहानको परिवेशलाई सुनौलो बनाएको थियो । हामी हिँड्दै शैलुङको तल रहेको जंगलमा पुग्यौँ ।

    अलि जंगलमा पुगेपछि एक अपरिचित महिला हामी भएको ठाउँमा आउनुभयो । र भन्नुभयो, ‘तपाईँहरूलाई लेराउन माताले आदेश दिनुभएको छ, हिँड्नुहोस् ।’
    हामी उत्सुक हुँदै महिलाको पछि पछि लाग्यौँ ।

    हामी गुफातर्फ हैन, जंगलतर्फ गयौँ । ती महिलाले हामीलाई जहाँ पुर्‍याउनुभयो, त्यो ठाउँ वास्तवमै गज्जबको थियो । त्यस ठाउँबारे त्यहाँका स्थानीयलाई पनि त्यति जानकारी रहेनछ । जंगलभित्र रहेको त्यस ठाउँमा रहेका आकृतिहरू मानिसले नै कुँदेका जस्ता देखिन्थे । तर, सबै प्राकृतिक नै थियो । त्यहाँ पूजा पनि गर्ने गरिएको रहेछ । मैले त्यहाँ करिब एक घण्टा ध्यान गरेँ । त्यहाँ केही फोटो पनि खिचाइयो ।

    (तस्वीरमा मैले ध्यान गरेको पछाडि ठूलो नन्दी (साँढे) को आकृति छ । तर, यो ढिस्को हो ।)

    अध्यात्म एक विज्ञान हो । कुनै पनि ठाउँमा जाँदा त्यहाँ मानिसले के सोचेर गएको हुन्छ भन्ने कुराले फरक पार्छ । म सकेसम्म अध्यात्म, विज्ञान तथा विज्ञानभन्दा पनि माथि पुगेर सोच्ने प्रयास गर्छु । आजकल सामाजिक सञ्जालतर्फ मानिसहरू धेरै नै भुलिसकेका छन् ।

    चिया पनि नखाई गएको र भोक पनि बढ्दो भएकाले हामी गुफामा भने गएनौँ । दिउँसो त्यहाँबाट फर्कियौँ । त्यसपछि शैलुङको थुम्कामा स्थानीय संस्कृति अनुसारका झाँकीहरूमा हामी रमायौँ ।

    विकट हुँदा पनि त्यहाँ घण्टौँदेखि हिँडेर आएका स्थानीय र उहाँहरूको मायाले म भावविभोर भएको थिएँ । मजस्तो कलाकारलाई दिनका लागि केही हुँदैन भन्ने फील हुन्थ्यो ।

    ०००

    मलाई केही महिना अघिदेखि नै एलर्जीको समस्या थियो । म केही कमजोर पनि थिएँ । शैलुङ जाने क्रममा मलाई डर थियो, गाह्रो त हुने हैन ? तर शैलुङमा कुनै समस्या भएन । काठमाडौंमा गाह्रो भइरहेको मलाई त्यहाँ गएपछि सहज भयो ।

    मैले केही दिनलाई पुग्ने गरी औषधि बोकेर गएको थिएँ । तर, पानीले औषधि भिज्यो र बिग्रियो । शैलुङको दोस्रो दिन राति सम्ममा औषधिको कमी भइसकेको थियो । फेरि बिरामी बल्झेला भन्ने डरले तेस्रो दिन बिहानै काठमाडौं फर्किएँ ।

    शैलुङबाट चौँरीको नौनी र डल्ले खुर्सानी ल्याएँ ।

    शैलुङमा दुई रात बिताइसकेपछि र त्यहाँको तीर्थस्थलहरूको अवलोकन गरिसकेपछि मलाई पनि शैलुङको पर्यटन प्रवर्द्धनमा केही गर्ने सोच आएको छ । म त्यहाँ मेरा केही कार्यक्रमहरू गर्नेछु र भिडिओ बनाउनेछु ।

    शैलुङ पर्यटन तथा अध्यात्मिक पर्यटनको हिसाबले एकदमै महत्वपूर्ण भूमि रहेछ । त्यसको प्रचार अझ धेरै हुनुपर्छ । पर्यटन प्रवर्द्धनका लागि सञ्चालित संघसंस्था, पर्यटन बोर्ड, पर्यटन विभाग लगायतले पहल लिनुपर्छ । यस क्षेत्रमा पर्यटन विकास गर्ने र शैलुङलाई विश्वसामु फैलाउने उद्देश्य लिनुपर्छ ।

    नेपाल सुन्दर देश हो । तर, हामीले गलत नेताहरू छानेका कारण हामीलाई उनीहरूले यस्तो अवस्थामा पुर्‍याएका हुन् । पर्यटनकै माध्यमबाट हाम्रो मुलुकको विकास हुनेमा शंका छैन । हामीले हाम्रा पर्यटकीय क्षेत्रको पहिचान गरेर त्यसको प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता हो । छोटो दूरीमै गर्मी वा हिउँ परेको ठाउँमा पुग्न सकिन्छ ।

    हाम्रा राजनीतिक दलको ध्यान र स्वार्थ पनि मैले शैलुङमा देखेँ । प्राकृतिक हिसाबले त्यस्तो सुन्दर ठाउँ, जहाँबाट आफैं दृश्यावलोकन गर्न सकिन्छ, त्यस ठाउँमा भ्यूटावर बनाइएको छ । नेताहरूले त्यहाँका जनतालाई क्षणभरको विकास गरेर झुक्याएका छन् । जबकि त्यहाँसम्म पुग्ने सडकको विकासबारे उनीहरूलाई चिन्ता छैन ।

  • अबको युग ग्लोबल दसैँः धन्यवाद नेपाली युवा, धन्यवाद एनआरएन !

    अबको युग ग्लोबल दसैँः धन्यवाद नेपाली युवा, धन्यवाद एनआरएन !

    बेइजिङ। अष्टमीमा भुटानका राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुक भुटानको राजधानी थिम्पुमा रहेको देवी पाञ्चायन मन्दिर पुगेर पूजाआजा गरे । दसैँको पूर्वसध्यामा गरिएको पूजा थियो त्यो । यो तस्बिर भुटानी राजाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भुटानी राजाले दसैँको टीका लाउने गरेका तस्बिरहरू पछिल्ला वर्ष सामाजिक सञ्जालमा आइरहेको छ ।

    भुटानी पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेले दसैँ शुभकामनाको भिडिओ सन्देशमा भनेका छन्, ‘नमस्कार ! हाम्रो भुटानको महत्वपूर्ण चाड दसैँमा सबैजनालाई मेरो परिवार र मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना । दसैँ खुसी ल्याउने पर्व हो ।’

    प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको भूमिकाका उनको शुभकामनामा ‘भुटानको महत्वपूर्ण पर्व’ भनिएको छ । यसले पनि देखिन्छ दसैँ नेपालीकोमात्रै पर्व होइन भन्ने बुझिन्छ । यो त भुटानको पनि पर्व हो । जहाँ राजादेखि प्रधानमन्त्री सक्रिय सहभागी हुन्छन् ।

    भुटानको सत्ताधारीहरूबाट दसैँको शुभकामना आउनु दुई कोणमा महत्वपूर्ण छ । एक, कुनै बेला आफ्नो भाषा धर्म संस्कृति मान्दा नेपाली भाषाी भुटानी धपाएको भुटान अहिले त्यो क्रुरताबाट अगाडि आएर नरम हुने लाइन छ । उसले नेपाली भाषी भुटानीको धर्म संस्कृतिलाई स्वामित्व लिएको छ वा लिन बाध्य भएको छ । दुई, दसैँको महत्व अब नेपाली दशगजाबाट पर पुगिसकेको छ । यो त भयो भुटानको कुरा । जुन हुन भुटानकै भूमिका छ । नेपालका नेपाली वा एनआरएनहरूको छैन ।

    नेपालमै बसोबास गर्नेदेखि एनआरएनहरूकै कारण दसैँ ग्लोबल भएका अरु अरु गज्जब उदाहरणहरू पनि छन् ।

    यो पनि पढ्नुस् : चार महादेशका चार नेपाली : कसले कसरी दसैँ मनाउँदै छन् ?

    चैतको दसैँदेखि, असोज-कात्तिकको बडादसैँको लहरमा अर्को दसैँ मिसिएको छ, ग्लोबल दसैँ । नेपाल र नेपालीको प्रताप विश्वभर पुगेसँगै दसैँ अब ग्लोबल हुन गएको छ । ग्लोबल दसैँका आकर्षक बाछिटाहरु विश्वभर फैलिइरहेका छन् । विश्वका प्रतिष्ठित क्लबदेखि क्याबिनेटसम्म दसैँको शुभकामनाले स्थान पाएका छन् ।

    बेलायतीदेखी स्पेनी क्लबहरूले दिएको दसैँ शुभकामना

    हालसालै दसैँमा विश्वका चर्चित दुई फुटबल क्लबले शुभकामना दिएका छन् । फेसबुकमा १२ करोड बढी फलोअर भएको स्पेनिस क्लब रियल म्याड्रिडले २०८० को दसैँको शुभकामना दिएको छ । नेपालमा भएका आफ्ना समर्थकलाई सम्मान गरेर शुभकामनाको अगाडि नेपाली झण्डा राखेर क्लबले शुभकामना दिएको छ । यसले स्पेनी क्लबको नेपाली समर्थकलाई मात्रै होइन दसैँको ग्लोबल ब्राण्डिङमा सहयोग पुगेको छ ।

    यस्तै चार करोड २० लाख बढी फेसबुक फलोअर भएको बेलायती फुटबल क्लब आर्सनलले पनि दसैँ र तिहारको एकमुस्ट शुभकामना दिएको छ । उसले विश्वभरका नेपालीहरूलाई उक्त शुभकामना दिएको छ । यसले पनि दसैँको गरिमा र क्लबको नेपाली अपनत्व बढाउन सहयोग पुर्‍याएको छ ।

    आज नेपाली युवाहरूले विश्वका क्लबहरूको समर्थक हुँदा ती क्लबको नेपालमा महत्व मात्रै बढाएका छैनन्, नेपाल र नेपालीको दसैँ तिहार जस्ता चाडहरु पनि उनीहरुले विश्वभर नोटिसमा ल्याउन सफल भएका छन् । यो नेपाल सरकार र नेपालका तलबी कूटनीतिज्ञहरूको कूटनीतिले भएको होइन । यो नेपाली युवाहरूको गुडविलले भएको हो । यसमा नेपाली युवा धन्यवादका पात्र छन् । विश्वको सबैभन्दा लोकप्रिय खेलका दुई नामी क्लबहरूको नजरमा दसैँ पार्न सफल हुनु नेपाली युवाको मात्रै होइन नेपाली संस्कृतिको पनि एक खुशीको क्षण हो । अहिले समर्थकमात्रै हुँदा विश्व फुटबलका हस्ती क्लबको आँखामा पर्न सफल नेपाली संस्कृति भोलि नेपाली खेलाडी, कोच, रेफ्री आदिको रूपमा ती क्लबमा प्रवेश भएको दिन झनै बढेर जाने सम्भावना देखिएको छ । राज्य तहमा देशको विश्व हैसियत कमजोर भइरहेको बेला नागरिक तहमा यो स्तरको सकरात्मक मार्क बन्नु चानचुने कुरा होइन । त्यसैले धन्यवाद नेपाली युवा । धेरै धेरै धन्यवाद नेपाली खेलप्रेमी युवा ।

    अस्ट्रेलियाको प्रधानमन्त्री कार्यालयदेखि अमेरिकी सदनमा दसैँ माहोल

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानेजले दसैँको शुभकामना दिए । उनले प्रधानमन्त्री कार्यालयको लेटरहेडमै शुभकामना दिएका छन् । असत्यमाथि सत्यको जितको पर्व भन्दै एल्बानेजले अस्ट्रेलियाभरका समुदायहरूले हप्तौंदेखि दसैँको तयारीमा लागेको भन्दै शुभकामना दिएका छन् ।

    अस्ट्रेलियाका प्रधानमन्त्रीले दसैँको शुभकामना दिनुमा नेपाली दाजदूतको योगदान छैन, त्यहाँका नेपालीहरूको योगदान छ । अस्ट्रेलिया भ्रमणमा जाने नेपाली सत्ताधारी अनुहारको योगदान छैन । अस्ट्रेलियामा बसेर आफ्नो उपस्थिति देखाउन सफल नेपाली समुदयाको योगदान छ । भन्न सकिन्छ भोटको लागी प्रधानमन्त्रीले शुभकामना दिए । तर, भोटकै लागि पनि त देखिने सुनिने समुदायमा नेपाली परेछन् । भोटकै लागि पनि त नेपाली समुदाय अब प्रभावशाली समुदायमा एक समुदाय हुन पुगेछ । विदेशमा बसेर नेपालको चिन्ता नगर भन्ने धम्की दिने नेता तथा कार्यकर्तालाई पनि आफूले मान्ने दसैँ शुभकामना अस्ट्रेलिया जस्तो शक्तिशाली र विकसित देशको प्रधानमन्त्रीबाट आउँदा खुशी नै ल्याएको छ । अब त उनीहरूलाई पक्कै थाहा भयो होला एनआरएनले नेपाली नेताभन्दा धेरै नेपाल चिनाउन सहयोग गरेका छन् ।

    अमेरिकी खबर झनै सुन्दर छ । अमेरिकाको मेरिल्याण्डको प्रदेशसभाले गत अक्टोबर १ मा एक कानून लागू गर्‍यो । कानूनले हरेक वर्षको अक्टोबर ५ लाई ‘दसैँ डे’ मनाउने घोषणा गरेको छ । अमेरिकी राज्यमा बस्ने नेपालीहरूको चाडको सम्मानमा ‘दसैँ डे’ घोषणा भएको हो । यो पनि नेपाली नेता, प्रधानमन्त्री, राष्ट्रपति अथवा अमेरिकाका लागी नेपाली कूटनीतिज्ञहरूले गरेको पहल होइन । यो त नेपालमा जन्मेर अमेरिका पुगेका ह्यारी भण्डारीले गरेको पहल हो । प्रदेश सांसद भण्डारीले पहल गरेर कानूनीरूपमै अब अमेरिकाको प्रदेश सरकारले दसैँलाई मान्यता दिएको छ ।

    उसो त दीपावाली मनाउने अमेरिकी राष्ट्रपतिदेखि बेलायती प्रधानमन्त्रीका तस्बिर नआएका होइनन् । तर, त्यो नेपाली शैलीको दीपावली नभएर भारतीय दीवालीको शुभकामना हो । एकै सभ्यताको चाड भएपनि नेपाली मौलिकता सम्मान गरेर त्यो शुभकामना आएको होइन । त्यो भारतीय डायस्पोराको सम्मानमा हो । दसैँ भने नेपालीहरूकै हो । नेपालीहरूको मौलिक पर्व नै हो । त्यसैले दीपावली शुभकामनामाभन्दा धेरै खुशी दसैँ शुभकामनामा मान्नुपर्छ ।

    आज अमेरिकाको एउटा सदनमा एक नेपाली पुग्दा दसैँले कानूनी मान्यता पायो । अब अरु सदनमा अरु नेपाली पुग्दा त्यसले थप महत्व र ब्राण्ड पाउनेछ । मेरिल्याण्ड राज्यको उदाहरण दिएर अरु राज्यमा त्यसले थप सहज अभियान बन्न सहजता हुनेछ । भोलिका दिनमा अमेरिकी रास्ट्रपति तहबाटै शुभकामना दिने ट्रयाक पनि यसैबाट खुलेको छ । आज नेपालीको पर्वलाई अमेरिकामा पनि कानूनी मान्यता दिनुमा ह्यारी भण्डारीको योगदान छ । ह्यारीले प्रतितिधित्व गर्ने नेपाली डायस्पोराको योगदान छ । त्यसैले धन्यवादन ह्यारी । धन्यवाद एनआरएन ।

  • महेश बस्नेतको नाम लिएर भाइरल बन्ने दुर्गा प्रसाईँलाई चेतना भया

    महेश बस्नेतको नाम लिएर भाइरल बन्ने दुर्गा प्रसाईँलाई चेतना भया

    महेश बस्नेतले दुई दिनअघि लेखेको स्टाटसलाई धेरैले समर्थन जनाए । ‘संघर्षको बेलामा सँगै हिड्नुपर्ला भनेर डराउँछन्, उपलब्धि प्राप्त भएपछि भाग पाइन भनेर कराउँछन् आफ्ना मान्छेहरू’ । यो स्टाटस जति मार्मिक छ त्यति नै यथार्थ पनि बोलेको छ ।

    एउटा चुनाव हार्ने डरले देशका धेरै नेता सत्य बोल्नसमेत डराउँछन् । तर, महेश बस्नेतले सत्य बोल्दा चुनावी हारजित लेखाजोखा गर्दैनन् । नीति र नेतृत्वको पक्षमा दृढतापूर्वक संघर्ष गर्दा कहिलेकहिँ महेश एक्लै हुन्छन् तर उनको लडाइँ सफल हुँदा भाग खोज्ने अरु नै हुन्छन् ।

    त्यसैले यसपटक महेश बस्नेतबारे मेरो मनका कुरा लेख्न मन लाग्यो । किनकी उहाँ अहिले फेरि चर्चामा हुनुहुन्छ ।

    महेश बस्नेतको नाम म सानो हुँदादेखि मेरो कानमा सधैंभरि गुन्जिएको हो । अहिले त उहाँ मेरो राजनीतिक अभिभावक पनि हुनुहुन्छ। नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा सघं नेपालको इन्चार्जको बारेमा मेरो लेख्ने औकात नहुन सक्छ ।

    महेश बस्नेत राष्ट्रिय नेता हो तर भक्तपुरको चाहिँ विकासको संवाहक । आज भक्तपुरका भित्री सडकहरु समेत कालोपत्रे बनेका छन् र जितेका सांसदलाई जनताले खोज्दैनन् तर महेश बस्नेत चुनाव जिते पनि हारे पनि जनताको सुख दुःखमा भेटिनु हुन्छ ।

    हाम्रो हिजोको भक्तपुर र आजको भक्तपुर आकाश पातालको फरक भइसकेको छ । यो मेरो परिवारमात्र होइन भक्तपुरमा आएर बस्ने अधिकांशको भनाइ हो । आज हनुमन्ते कोरिडोर भन्नुस् वा सिपाडोलको विकास, महेश बस्नेतको मेहनत र जनताप्रतिको समर्पण हो ।

    शान्ति प्रक्रियामा आइसकेका बेला वाईसीएलको आतंकदेखि सबै दलका नेता त्रसित थिए । आतंकविरुद्ध बोल्ने हिम्मत कुनै नेतामा थिएन ।

    अपहरण र बन्दुकले त्राहित्राहि भएको बेला आफ्नो ज्यानको बाजी राखेर युथफोर्सको नेतृत्व गरी जुध्ने जोदाहा नेता र अराजकतालाई तह लगाउने बहादुर योद्दा हो महेश बस्नेत ।

    देश र जिल्ला जिल्लामा आफ्नो हक हित, सुशासनको बिगुल फुक्दै जनताको माझ अनबरत लाग्ने निडर युवा नेता । भक्तपुरको खानेपानी, सडक, खेलकुद मैदान , बनजंगल , पार्क मठमन्दिरको संरक्षण गरि भक्तपुर पर्यटनको आकर्षण बनाउने विकासे नेता हो महेश बस्नेत ।

    हनुमन्तेको बाढीले सदैव त्राहिमामको अवस्थाबाट जनताई मुक्त गराउने जनप्रतिनिधि हो महेश बस्नेत । सबैलाइ समान आँखाले हेर्ने, कहिल्यै ठूलो नबन्ने, साधारण व्यक्तित्व हो महेश बस्नेत ।

    महेश बस्नेतको लागि दुर्गा प्रसाईं कोहो र ? तर, प्रसाईँले जसरी कुनै समुदायप्रति घृणा फैलाउने, आस्था र धर्मप्रति भड्काउने काम गरेपछि यस्तो अराजकतालाई तह लगाउनु महेश बस्नेतेको कर्तव्य हो । दुर्गा प्रसाईँजस्ताले समाजमा हिंसा भड्काउन खोज्छ भने महेश बस्नेत चुप बस्न सक्दैन ।

    ऋण लिएर नतिर्ने अनि उल्टै बैंक तथा वित्तीय संस्थाहरुमाथि भौतिक आक्रमण गर्ने कार्य राज्यले नियन्त्रण गर्नु पर्ने हो । राज्य निरीह बन्छ भने महेश बस्नेत निरीह बन्दैन । देशको अर्थव्यवस्था नै तहसनहस पार्न कोही उद्यत हुन्छ भने त्यस्तालाई छाडा छाड्न मिल्दैन ।

    केपी ओली र महेश बस्नेतलाई मनपरी गाली गरेपछि भाइरल बन्न पाइन्छ भनेर दुर्गा प्रसाईँले आफ्नो सीमा नाघेका छन् । उनलाई ओली र महेश बस्नेतले माफी दिए पनि युवाले दिँदैनन् । अराजकताको समाधान खोजिन्छ ।

    दुर्गा प्रसाईँ, तपाईँ साच्चिकै नेपाल र नेपालीलाई माया गर्ने व्यक्ति हो भने पहिला आफूले गरेको गल्तीमा माफी माग्दै बैंक ठगीदेखि विभिन्न अवैध कामहरूको व्यवहार मिलाएर आउनुहोला । ऋण नतिर, आत्महत्या गर भनेर उक्साउनेलाई महेश बस्नेतले सलाम गर्नुपर्ने हो ?

    दुर्गा प्रसाईँको पछि महेश बस्नेत किन लागेको भन्ने टिप्पणीहरूमा हाम्रो यतिमात्र भन्नु छ, बौलाहा कुकुर भुक्यो भने बेलैमा उपचार नगर्दा अरुलाई टोक्छ । हाम्रा कतिपय काममा कमजोरी भएहोलान् तर अराजकतालाई प्रश्रय दिन सकिन्न । हो त्यही काम महेश बस्नेतले गरेको हो ।

    संघर्षको भट्टीमा खारिएर आएका नेता महेश बस्नेतको नाम लिएर भाइरल हुन खोज्ने दुर्गा प्रसाईँ प्रवृतिविरुद्ध युवा संघको वैचारिक संघर्षमात्र होइन आवश्यकता पर्दा जस्तालाई तस्तै सिद्धान्त पनि प्रयोग हुनेछ । चेतना भया ।

    (रमिला नेपाल, राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य हुन्)

  • रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं

    रवीन्द्र मिश्रलाई खुला पत्र- आज टीकामा शीतल निवासको गेटमा भेटौं

    रवीन्द्र जी,
    जय राष्ट्र,जय जनता ।

    कांग्रेसले जय नेपाल र कम्युनिष्टहरूले भन्ने लालसलामजस्तै राप्रपाको अभिवादन शैलीसहित तपाईँलाई यो छोटो खुला पत्र लेख्दैछु । हुन त तपाईँ विचारभन्दा माथि देश र देशभन्दा माथि नरेश भन्नुहुन्छ ।

    हुँदै नभएका नरेशलाई देशभन्दा माथि राख्ने तपाईँको अभियानप्रति मेरो टिप्पणी होइन । तर, राष्ट्र प्रमुखमाथि तपाईँले गरेका तुच्छ प्रहारप्रति यो पत्र केन्द्रित छ ।
    तपाईँले सामाजिक सञ्जालमा राख्नुभएका विचार देख्दा नलेखुभन्दा पनि लेख्न बाध्य हुनुपर्‍यो । तपाईजत्तिको विद्वान पूर्वपत्रकारको यति दरिद्र विचार छ भन्ने कल्पना पनि गरेको थिइनँ ।

    हो, लोकततन्त्रमा कमी कमजोरीहरु हुन्छन् । तर, यिनको समाधान पनि लोकतन्त्रभित्रै हुन्छ । कुनै वंश विशेषले शासन गर्ने र त्यसलाई देवत्व स्वीकार गरेर जनताालाई रैती र दास बनाउने तन्त्र नेपाली समाजलाई अब स्वीकार्य छैन ।

    तपाईँहरूको नरेशको निरंकुशकालमा नमिता सुमिता काण्ड, मूर्ति बेच्ने जस्ता काण्डै काण्डहरूको चाङ थुप्रिएको होइन ? त्यस्तै बोल्न नपाउने प्रणालीको पक्षमा नेपाली जनता छन भन्ने तपाईँलाइ लागेको छ भने तपाईँ दिउँसै सपना देख्दै हुनुहुन्छ ।

    गाँजा, चरेस, अफिम खाएर दिउसैँ मान्छे किच्ने अपराधीलाई मुलुकको शासक बनाउने र त्यसको पक्षपातिको वकालत गर्ने तपाईँको चाहनाप्रति घृणा होइन दया जागेको छ । व्यक्ति को हुन् मलाई मतलव छैन तर जनताले चुनेर पठाएको प्रतिनिधि आज मुलुकको राष्ट्र प्रमुख छन । जसको गरिमा, सम्मान र प्रतिष्ठा जति बढ्यो त्यति नै नागरिकको प्रतिष्ठा बढ्छ । उनले कुनै गल्ती गरे भने त्यो सच्याउने पनि यही लोकतन्त्रभित्रै जनतालाई अधिकार छ ।

    राष्ट्रपतिले गल्ती गरे भने राम्रोको लागि आवाज मुखरित हुनु स्वाभाविक हो, तर जनताको शासनप्रति विद्वेष फैलाउने तपाईँहरूको व्यवस्थाविरोधी नियत भने स्वीकार्य छैन । हिजो मण्डलेतन्त्रमा बोल्दा गोली खानुपर्ने नेपाली जनता तपाईँका दरिद्र विचारबाट प्रभावित होलान भन्ने मलाई लाग्दैन ।

    तपाईँले आज जसरी जनताको छोरो राष्ट्रप्रमुख बन्ने प्रणालीविरुद्ध विष वमन गर्दै हुनुहुन्छ त्यसै गरी मैले तपाईँहरूले कल्पना गरेको वंशीय शासक बन्ने प्रणालीको विरोध गरेँ भने मेरो हालत के होला ? तपाईँ भन्न सक्नुहुन्छ- मेरो छातीमा गोली हानिदैनथ्यो ?

    तपाईँ बीबीसीमाा काम गर्दा मेरो आदर्श हुनुहुन्थ्यो, मेरो त्यो आदर्श कायमै गर्ने हो भने आज विजयादशमीको टीकामा शीतल निवास गेटमा भेटौं । रामचन्द्र पौडेलबाट होइन देशको अभिभावकबाट टीका र आशीर्वाद लिन आउनुस् ।

    तपाईँले जसरी राष्ट्र प्रमुखको हातको टीका बहिष्कार गर्न आह्वान गरिरहनुभएको छ, यो आह्वान दसैँ बहिष्कार गरौं भन्ने आङकाजी शेर्पा शैलीको अर्को अतिवाद हो । आफूलाई सच्याउनुस्, त्यो अपील फिर्ता गरेर आज शीतल निवास आउनुस् ।

    (लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन्)

  • युद्धले बिथोलिएको परदेशको दसैँ

    युद्धले बिथोलिएको परदेशको दसैँ

    इजरायल र दसैँ शब्दले नै रोमाञ्चित बन्छन् कास्कीको अन्नपूर्ण गाउँपलिका- ३ का गणेश गिरी । १५ वर्षदेखि इजरायलमा बस्दै आएका उनले परिवारको साथमा दसैँ मनाउन नपाएको ८ वर्ष भइसकेको छ । गाउँघरमा दसैँको बेला नयाँ कपडा लगाएर साथीसंगीसँग रमाउँदै उफ्रिएको विगतले सधैं चिमोटिरहन्छ उनलाई ।

    ‘तर, के गरौं चाहेर पनि प्रत्येक वर्ष दसैँ मनाउन घर जान सकिँदैन’, उनी भन्छन् । यसो भन्दै गर्दा मनको पीडा उनको मलिन अनुहारमा झल्किन्थ्यो ।

    हुन त इजरायलमात्रै होइन, देश छाडेर विदेशिएकाहरु चाडवाडका बेला घर, परिवार र साथी नसम्झने को पो नहोलान् र !

    अघिल्ला वर्ष इजरायलमा बस्ने नेपालीहरुले एकै ठाउँमा भेटेर आफूभन्दा ठूला व्यक्तिको हातबाट टीका लगाई दसैँ मनाएका थिए । यसरी जमघट भएर दसैँ मनाउँदै गर्दा नेपालको न्यास्रो धेरथोर मेटिन्थ्यो पनि । तर, अहिले अवस्था फरक छ ।

    पछिल्ला दिन इजरायलमा बस्ने नेपालीका हरेक दिन त्रासदीपूर्ण छ । दसैँ मनाउन त पर, सहज रुपमा साथीभाइ भेट्ने अवस्थासमेत छैन । इजरायल-हमास युद्वका कारण यस वर्ष दसैँ मनाउने अवस्था छैन । त्यही बहानामा रमाउने अवसर पनि यसपालि छैन । ‘दुःखदायी अवस्थाका कारण यो पटक त दसैँ शब्दले रोमाञ्चित बनाएको हैन, कता कता घोचे झैं पो लागिरहेको छ’, उनी सुनाउँछन् ।

    नेपालबाट रोजगारीको लागि इजरायल आएकी कुसुमको परदेशमा यो दोस्रो दसैँ हो । टिकटकमा पहिलेको दसैँको फोटो र भिडियो हेरेर टोलाइरहेकी कुसुम नेपालमा दसैँको बेला गरिएको सपिङ, घुमघाम र पोज-पोजका फोटो सेसन गरेको पल सम्झिएर भावुक बनिन् ।

    ‘मनको पीडा कम गर्न आँखाको आँसु सहारा बनेको छ’, उनी भन्छिन्, ‘यहाँको युद्धले देशको सम्झना गरेर परदेशमै भए पनि दसैँ मनाउने अवसरसमेत गुमेको छ ।’

    गणेश र कुसुम जस्ता धेरै नेपाली छन् इजरायलमा आफ्नो देशको दसैँ सम्झिएर भक्कानिँदै बस्नेहरु ।

    त्यस्ता नेपालीलाई अपनत्वसहित रमाइलो गराउन इजरायलमा भएका विभिन्न संघ-संगठनहरुले योजना बनाइरहेका थिए । तर, इजरायल-प्यालेस्टाइन युद्धले ती सबै योजना स्थगित भए ।

    एनआरएन इजरायलले घुम्ने र रमाउने योजनासहित देशको न्यास्रो मेटाउन कार्यक्रम आयोजनाको तयारी गरेको थियो । अन्य विभिन्न नेपाली समाज र संस्थाले पनि तय गरेका कार्यक्रम रोकिन पुगेका छन् ।

    ‘हामीले दसैँको बेला आफ्नो देश फर्कन नपाउने नेपालीहरुलाई नरमाइलो नलागोस् भनेर भ्रमणलगायतका कार्यक्रम राखेका थियौं । तर, युद्धमा १० नेपालीले ज्यान गुमाउनुपरेको पीडादायी परिस्थिति र सुरक्षाका कारण पनि सबै कार्यक्रम स्थगित गर्‍यौं’, एनआरएन इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने ।

    युद्धको कारण परिस्थिति अनुकूल नभएको भन्दै दसैँ मनाउने नै भए पनि आफू बसेको ठाउँमै मनाउन आग्रह गर्छन् भण्डारी ।

    प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलले पनि दसैँमा आफ्नो देश फर्कन नसक्नेहरुको लागि सामूहिक रुपमा टीका लगाउने कार्यक्रम स्थगित गरेको छ ।

    ‘इजरायलप्यालेस्टाइन युद्ध र त्यस युद्धमा १० नेपालीले ज्यान गुमाएको पीडादायी परिस्थितिका कारण कार्यक्रम स्थगित गर्‍यौं’, कमिटी अध्यक्ष गीता सुवेदीले भनिन् ।

    दैनिक सयौं बमका आवाजले त्रसित कतिपय नेपाली युद्ध लम्बिँदै गए घर फर्कन बाध्य हुने चिन्तामा छन् । डर, त्रास र चिन्ताका बीचमा आएको दसैँले खुशी कम र पीडा धेरै थपेको छ यसपालि ।

  • दशैंमा रित्तिएको काठमाडौं

    दशैंमा रित्तिएको काठमाडौं

    सधैंको रहर लाग्दो
    काठमाडौंमा
    अहिले शान्ति छाएको छ
    सिङ्गो शहर
    मौन बसेको छ
    हरेक वर्षझैं
    यो वर्ष पनि
    दशैंमा,
    दुलही अन्माएको घरजस्तै
    भएको छ ।

    अहिले खुल्ला आकाशले बाटो होइन
    बाटोले आकाशलाई हेरिरहेको छ,
    यहाँ गुड्ने गाडी कम
    उडेका चङ्गा र चराहरु बढी
    देखिन थालेका छन् ।

    सधैं भरिभराउ रहने
    बसन्तपुर, भक्तपुर, पाटनका
    चिया पसलहरुका आफ्नै
    भनाइहरु छन् ।
    कुकुरले भरिएका यी चोकहरुका पनि
    आफ्नै तर्कहरु छन् ।
    घरै पिच्चछे बत्ती निभेका
    कोठाहरुका पनि
    आफ्नै कथाहरू छन् ।

    उता भने,
    आफू वर्षभरी रित्तिदा
    छप्क्क भरिएको काठमाडौं देखेर
    ईर्ष्या गर्ने ती गाउँहरुलाई
    मस्तै दशैं लागेको छ
    गाउँका धेरै चोकहरुमा
    लिङ्गे पिङ गाडिएका छन्
    जिल्लाहरुमा
    पालिका स्तरीय खेलकुद उमंग
    छाएको छ ।

    चौतारीमा फेरि
    उत्तिकै मानिसहरु जम्मा भएका छन्
    खेतका कान्लादेखि
    भिरपाखा,
    खेतबालीदेखि चिसो घारी
    र छोराछोरी फर्कि आउने
    दिन गन्दै बसेका
    तमाम बुवाआमाका ती चाउरी परेका गाला
    हर्षले तन्किएका छन् ।

    यता सञ्चो–बिसन्चो सोध्न
    समय नभएको
    व्यस्त काठमाडौं शहर,
    दशैंकै मुखमा रित्तिएको छ
    फुर्सदिलो भएको छ
    र एक पटक फेरि
    भरिएका गाउँलाई देखेर
    लोभिएको छ ।

    आफूलाई व्यस्त राख्ने पाहुनालाई
    सम्झेर मन अमिलो बनाएको छ।
    हो यस्तै काठमाडौं
    शान्त बनेको छ
    मौन बसेको छ ।

    तर यी मौनताका पनि
    आफ्नै हल्लाहरु छन्
    यी हल्लाहरुले आफूलाई छोडेर
    गएका पाहुनालाई
    काठमाडौंले दशैंको
    शुभकामना दिरहेको छ ।

  • कसले पढ्न भ्याउँछन् दसैँमा किताब ?

    कसले पढ्न भ्याउँछन् दसैँमा किताब ?

    सामाजिक सञ्जालहरुमा दसैँ लाग्दा नलाग्दै किताबका चर्चा अलि धेरै हुन्छ । पढ्न रुचि भएकाहरु किताबका लिष्ट पनि सार्वजनिक गरिरहेका हुन्छन् । अझ पुस्तक व्यवसाय गर्नेहरुको त व्यवसाय बढाउने अवसर पनि ।

    अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि सामाजिक सञ्जालहरुमा यो दसैँमा कुन, कस्ता किताब पढ्ने भन्ने चर्चा बढ्न थालिसकेका छन् ।

    फेसबुकका स्टाटसहरुमा पुस्तकको रुचिसहित कमेन्ट गर्ने साथीहरुको लर्को पनि लाग्न थालिसकेको छ । पर्वका बेला अझ विशेषगरी दसैँमा अलि लामो बिदा हुने भएकाले पुस्तक पठनका क्रिया प्रतिक्रिया हरेक वर्ष भइरहन्छन् ।

    सञ्चारमाध्यमहरुले त दसैँ बिदामा कस्ता पुस्तकहरु पढ्ने भनेर नामसहित विवेचना गर्ने वा लिस्टसहित लेख्ने र पढ्नेहरुका अनुभव सार्वजनिक गर्ने त दसैँ न्यूज बिट जस्तै भइसकेको छ ।

    हुन पनि हो, दिनदिनैको जागिरे वा व्यवसायिक जीवनबाट छुट्टी मिल्नेहरुले फुर्सदमा आफ्नो रुचिअनुसारका किताब पढ्ने, घुम्न जाने वा आफूलाई खुसी मिल्ने काम गरेर मनाउनै पर्छ ।

    चाडपर्व खुसी ल्याउन नै मनाइने हो । वर्षभरका व्यस्तता भुलेर फुर्सदमा उत्सव मनाउने बेला । आफ्नो रुचिको काम गरेर बिताउने नै हो । पर्व र किताबसँगको सम्बन्धबारे चर्चा हुँदा म भने ती महिलाहरुलाई सम्झिन्छु, जो चाडपर्वसँगै घरको भान्छाभन्दा बाहिरको अनुभूत गर्न पाउँदैनन् ।

    केही दिनअघि एकजना साथीसँग दैनिकी, काम र परिवारबारे छलफल गर्दै थिएँ । उनले भनिन्, ‘कहिलेकाहीं त मलाई झ्वाम्म नारायणीमा हाम फालेको दिनमात्रै यो हजार बेफुर्सदबाट छुट्टी मिल्छ जस्तो लाग्छ ।’

    दुई सन्तान, श्रीमान अनि सासूससुरासहितको संयुक्त परिवार । उनी र श्रीमान दुबै जागिर गर्छन् । परिवारको खर्चको हिस्सा श्रीमानसँग निभाउँछिन् उनी ।

    बाहिरबाट देख्दा श्रीमानश्रीमती दुबै जना जागिरे । सँगै अफिस जान्छन्, सँगै फर्किन्छन् । कति सुन्दर अनि सुखी परिवार । तर, त्यो सुन्दरताभित्र उनको भागमा मात्रै भएको तेहेरो भूमिका देख्ने को ?

    श्रीमानले भातभान्छा महिलाको मात्रै हो भनेर बाल्यकालमा सिके । अहिले मेरो जिम्मेवारी पनि बराबरी हुन्छ भन्ने सायद महसुस गर्दैनन् ।

    सायद भातभान्छामा दुईभन्दा बढी हात थपिए आफूसरह घरको आर्थिक व्यवस्थापन गर्ने श्रीमतीलाई कामको बोझ हलुको हुन्छ भन्ने उनी भेउ पाउँदैनन् । उनले पनि आफ्नो लागि केही समय बिताउन पाउँछन् भन्ने महसुस नै नहुँदो हो । कुनै दिन श्रीमतीले नसक्ने अवस्था आयो भने त्यो काम ‘सघाइदिन’ समेत हम्मे पर्छ उनलाई ।

    तर, चाडपर्वमा भने इन्जोय गर्नुपर्छ भनेर सचेत छन् । त्यसैले उनी पठन सोसाइटीको हिस्सा बन्छिन् । उनको जत्तिकै बुझाइ क्षमता राख्ने मेरी साथीले यो दसैँलाई किताबका पानाको लागि समय छुट्याउने योजना बनाउन भ्याएकी छैनन् । उनलाई पर्व त आफ्नो लागि भातभान्छाको हिस्सा सम्हाल्नमात्रै आउँछ जस्तो लाग्छ । आराम गर्ने समय पाउन त हम्मे उनले कसरी पाउन रुचिका पुस्तक छान्ने समय ।

    म पढेलेखेका पुस्ताको पुस्तक पठन संस्कृतिमा छर्लङ्ग देखिने असमान लैंगिक व्यवहारले बेलाबेला निसासिन्छु । किनकि बौद्धिक बहसमा सँगसँगै हुन म, मेरो महिला आफन्तसँग वा अधिकांश विवाहित महिलासँग पनि उत्तिकै रहर हुन्छ, जति म जत्तिकै हैसियत राख्ने केटा साथीलाई हुन्छ ।

    राष्ट्रिय जनगणना २०७८ ले १० वर्षभन्दा माथिका व्यक्तिले गर्ने कामको आर्थिक रुपमा पेशागत वर्गीकरण गरेको छ । जसअन्तर्गत अहिले नेपालमा आर्थिक काम गरेका मानिसको संख्या एक करोड ४९ लाख ८३ हजार ८१० जना छन् । तीमध्ये ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला छन् ।

    तर, चाडपर्व आएसँगै पढेलेखेकाहरुको सोसाइटीमा पुस्तक छनोट गर्ने समूहमा ४७.४ प्रतिशतका महिलाबाट होइन, पुरुषबाट चैँ अधिकांश रहेका हुन्छन् ।

    हुन त पठन संस्कृति र पुस्तकका कुरा पनि एक किसिमको बजार नै हो । जसरी दसैँ आएसँगै कपडाका बजारमा मानिसहरु भीड लाग्छन्, पुस्तक बजारले पनि आफ्नो लक्षित समूहलाई तान्न जनसम्पर्कको सबैखाले अभ्यास गर्छन् ।

    तर, त्यो पुस्तक बजारले निकै कममात्रै महिलालाई तान्नसक्छ । म पढेलेखेका पुस्ताको पुस्तक पठन संस्कृतिमा छर्लङ्ग देखिने असमान लैंगिक व्यवहारले बेलाबेला निसासिन्छु । किनकि बौद्धिक बहसमा सँगसँगै हुन म, मेरो महिला आफन्तसँग वा अधिकांश विवाहित महिलासँग पनि उत्तिकै रहर हुन्छ, जति म जत्तिकै हैसियत राख्ने केटा साथीलाई हुन्छ ।

    तर, ऊसँग जत्तिकै समय हामी महिलासँग छ त ? महिलाहरु पढ्दै पढ्दैनन्, वैचारिक बहसमा आउनै सक्दैनन् भनेर महिलाको वौद्धिकतामा प्रश्न गर्ने पुरुषहरुले एक पटक आफ्नै घरभित्रको लैंगिक दृश्यमा विवेचना गरुन् ।

    एउटा घटना सुनाउँछु, सन् २०१२ तिर तत्कालीन बीबीसी मिडिया सर्भिसले उत्पादन गर्ने सारंगीको भलाकुसारीमाका म गर्थें । काठमाडौंमा तालिम परेको बेला त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.गोविन्दराज भट्टराईका दम्पत्तीसँग कुराकानी गर्ने मौका मिलेको थियो । कीर्तिपुरस्थित उनीहरुकै घरमा पुग्दा देखेको दृश्य आज पनि मेरो आँखाअघि घुमिरहे झैं हुन्छ ।

    डा. भट्टराई आफ्नो लाइब्रेरीमा पढिरहनुभएको थियो । उहाँकी श्रीमती अञ्जना भट्टराई पनि पढिरहनुभएको थियो । तर, उहाँको लाइब्रेरी थियो किचनको टेबल । त्यो समय अहिले झैं चाडपर्वको थिएन । एउटा सामान्य दिनमात्रै थियो ।

    लैंगिक समानतासँग सम्बन्धित नै एउटा रिपोर्टको बाइट लिन त्यहाँ पुग्दा देखिएको त्यो दृश्यले आज पनि कताकता असहज महसुस हुन्छ । परिवारभित्रको लैंगिक भूमिका देखाउन नेपालको उपल्लो प्राज्ञिक तहमा रहेका भट्टराई दम्पतीको घरको त्यो दृश्य काफी छ ।

    हामी ढुंगे समाजबाट माइक्रोचिप्सले विश्वलाई कन्ट्रोल गर्ने उत्तर आधुनिक समाजको अभ्याससम्म आइसक्यौं । प्रविधिमा हजारौं गुणा परिवर्तन भए पनि त्यही ढुंगे युगबाट उदाएको पितृसत्ता नामको गलत सामाजिक अभ्यासबाट भने अझै उम्किन सकेनौं ।

    अहिले आँगनैमा भित्रिएको छ दसैँ । दसैँ बिदाको उमंग सबैका मनमष्तिस्कमा आइसक्यो । जागिरे नै किन नहून्, विवाहित महिलालाई सोध्नुस् त दसैँ आइदिए हुन्थ्यो जस्तो लाग्छ ? या, यो पर्व तपाईंको लागि कति रमाइलो छ ? आफूसरहको पेशा गर्ने श्रीमानले झैं उनले पनि दसैँका लागि दर्जन पुस्तक पढ्ने लिस्टमा राखेकी छिन् त ?

    पक्कै पनि उनको पढ्ने लिस्ट छैन या निकै कमले मात्रै पढ्ने पुस्तकका लिस्ट बनाएका छन् । हामी आफैंलाई थाहा छ । एउटा पर्वमा विवाहित महिलाको भूमिका कस्तो हुन्छ ?

    अझ दसैँ, विशेष खानपान गर्ने अनि आफन्तकहाँ गएर रमाउने पर्व । यो पर्व वा अरु जुनसुकै समयमा पनि अधिकांश नेपाली परिवारमा भातभान्छा सम्हाल्ने जिम्मा महिलाकै भागमा पर्छ, अझभन्दा महिलाकै ठानिन्छ ।

    हामी ढुंगे समाजबाट माइक्रोचिप्सले विश्वलाई कन्ट्रोल गर्ने उत्तर आधुनिक समाजको अभ्याससम्म आइसक्यौं । प्रविधिमा हजारौं गुणा परिवर्तन भए पनि त्यही ढुंगे युगबाट उदाएको पितृसत्ता नामको गलत सामाजिक अभ्यासबाट भने अझै उम्किन सकेनौं ।

    समाज परिवर्तनको लागि पहिले व्यक्ति परिवर्तन जरुरी छ । अझ परिवर्तन महिलाले आफूलाई सहज होस् भनेर पुरुषलाई जबरजस्ती परिवर्तन गराउन खोजेर हुँदैन । समाजका व्यक्ति महिला हुन् अनि उत्तिकै जिम्मेवार पुरुष । अधिकांश परिवारको सत्ता पुरुषबाट सञ्चालित छ । कमजोर वर्ग त सधैं सत्ताको वरिपरि न हुन्छ । त्यसैले परिवार परिवर्तन हुन पहिला पुरुषको सोच परिवर्तन हुन जरुरी छ ।

    हामी बराबरी आउन महिलालाई चुनौती दिइरहेका छौं भने भातभान्छाको काममा पुरुषले लजाउन छोड्नुपर्छ । आजैदेखि सोच बदल्नुस् त ! पक्कै तपाईंको परिवारको महिला सदस्य पनि तपाईंजत्तिकै खुसीसाथ दसैँमा रमाउनेछिन् । त्यहीबाट सुरु हुन्छ परिवर्तनको अर्को चरण । अनि गर्नेछन् महिलाले पनि चाडपर्वको फुर्सदमा पढ्ने पुस्तकका छनोट ।

  • त्यसपछि म ‘एनआरएन’ को निसर्त समर्थक भएँ

    त्यसपछि म ‘एनआरएन’ को निसर्त समर्थक भएँ

    २०७२ को भारतीय नाकाबन्दी विरोधमा विश्वभर नेपाली माहोल बनाउन सरकारले सकेन । सबैभन्दा ठूलो दलले त नाकाबन्दी भन्दै भनेन । विदेशमा तीन दर्जन पनि कूटनीतिक मुकाम नभएको नेपालले विश्वभर कूटनीतिक हल्ला गर्ने औकात पनि राखेन । तर, ठीक त्यसैबेला डीभी, पीआर र ग्रीन कार्ड लिएका तथा नलिएका गैरआवासीय नेपालीले विश्वभर प्रदर्शन गरे । विश्वका मिडियामा फाट्टफु्ट्टमात्रै आएको समाचार सडकमा पोख्न एनआरएन सफल भए । एनआरएन अर्थात् सार्क देशबाहिर दुई वर्ष बढी बसेका जुनसुकै नेपाली अनुहार । विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन होस् वा भारतीय प्रधानमन्त्रीको बेलायत भ्रमणमै हल्ला गर्न होस् एनआरएनहरूले नेतृत्व लिए । हो, त्यही बेलाबाट मलाई आफ्ना पुराना धारणा गलत भएको महसुस भयो ।

    नेपाल छोड्नु । नेपाली नागरिकता छोड्नु । डीभी, पीआर, ग्रिन कार्डको नाममा उतै बस्न रुचाउनु । विदेश बसेर नेपाली नेतालाई अर्ती दिनु । यो सबै देख्दा मलाई गैरआवासीय नेपाली अर्थात् एनआरएन्सँग बढो झोँक चल्थो । विदेश बसेर देशलाई अर्ती दिने भन्दै मैले झोँक आफ्ना सामाजिक सञ्जालहरूमा व्यापक पोखेको थिएँ । म गलत रहेँछु । एनआरएन त देशका सदाबहार राजदूत पो रहेछन् । एनआरएन त देश नपुगेको क्षेत्रमा देश बोकेर जाने बेतलबी ब्राण्ड एम्बासडर पो रहेछन् । हो त्यहीँबाट मैले एनआरएनलाई देशलाई माया नगर्नेहरू भनेर भन्न छोडे ।

    हो म एनआरएनहरूमा हुने मानव तस्करीदेखि गैरकानूनी विदेश प्रवेशको खरो विरोधी हुँ । तर, राज्यतहमै तस्करी गर्ने सत्ताका खेलाडीहरूले त्यो विरोध गर्ने अधिकार राख्छन् ? हो म एनआरएनले विदेशमा बसेर पनि नेपाली शैलीको राजनीतिक गन्जागोल गरेकोमा फरक मत राख्छु । तर, देशमा जस्तै विदेशमा पनि नेपालका थोत्रा राजनीतिक दोकान निर्यात गर्ने राजनीतिक दलहरूका अनुहारलाई फरक मत राख्ने अधिकार छैन ।

    नाकाबन्दी प्रकरणले एनआरएनसँग सकारात्मक भएको मैले सोही सालको भूकम्प सम्झिएँ । भूकम्पमा विश्वभरबाट आएको जनस्तरको राहत सम्झिएँ । त्यो राहत के बीबीसी, सीएनएन र अलजजिराको समाचारले मात्रै आएको हो त ? होइन । हुन्थ्यो त हालसालै अफगानिस्तानमा पनि भूकम्प गयो । सबै विश्व मिडियामा समाचार आयो । नेपालको जस्तो राहत भने आएन । टर्कीदेखि सिरियाका भूकम्पका कथा यस्तै छन् । युरोपदेखि पूर्वी एसियासम्म, अरबी दुनियाँदेखि अमेरिकी गोलार्द्धसम्म सबैतिर गैरआवासीय नेपालीहरूले बनाएको ‘पर क्यापिटा गुलविल’ राम्रो थियो । नेपालको विश्वभर देखिने कूटनीतिकले हैन, एनआरएनले बनाएको त्यो गुडविलले भूकम्पको नेपालमा विश्वको राहत नेपालमा व्यापक आयो । एनआरएन त देश छोडेर भाने भगौडा होइन रहेछन् । एनआरएन त देशलाई झन बलियो बनाउने खम्बा पो रहेछन् । हो त्यहीँबाट मैले एनआरएनलाई भगौडा भन्ने काँचो आरोप लाउन छोडेँ ।

    अठार महिनाअगाडि देशको वैदेशिक मुद्रा सञ्चिती ज्यादै बिजोग भएका समाचार आए । त्यो सम्भावित बिजोग अन्त्य गर्न सरकारले दाता देश तथा संस्थाहरूलाई भन्दा एनआरएनलाई भर गर्‍यो । एनआरएनले आपतकालीन बैठक गर्‍यो । कार्यकारी अध्यक्ष कुल आचार्यले सभापतित्व गरेको बैठकले हरेक गैरआवासीय नेपालीलाई नेपाली बैंकहरूमा कम्तीमा एक हजार अमेरिकी डलर राख्न भन्यो । यो घटनादेखि एनआरएन विदेशमा भएको फुइँ लाउने जमात होइनन्, उनीहरू त देशलाई आर्थिक आपत् आइलाग्दा चाहिने दरिला आडभरोसा पो हुन् भन्ने लाग्यो । हो त्यहीँबाट मैले एनआरएनलाई नेपालको चिन्ता होइन आफ्नो चिन्ता गर भन्ने छोडे ।

    यो देशबाट युरोप सीधा हवाई उडान छैन । प्लेनको अभावमा होइन, प्रतिबन्धको प्रभावमा हो । दशक अगाडि नेपाली हवाईजहाजमा लागेको प्रतिबन्धले त्यो तनाव आएको हो । अब केही महिनामै नेपाल र युरोप सीधा उडान हुँदैछ । यो हुनुमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद र पर्यटनमन्त्री किरातीको कूटनीतिले हुन लागेको उडान होइन । यो त एनआरएनबाट हुन लागेको हो । बेलायत मुख्यालय र नेपालमा कार्यालय भएको हिमालय जेट नामक एनआरएनकै अनुहारले खोलेको विमानसेवा प्रदायकको कारणले हो । जमुना गुरुङ अध्यक्ष भएको कम्पनीले १८ वाइडबडीबाट नेपाल र युरोप जोड्दैछ । नेपाल र अमेरिका जोड्दैछ । हो यहीँबाट मैले एनआरएन नेताहरूलाई राजनीति गर्नेहरूमात्रै भन्न छोडेँ ।

    रेमिटान्सले चलेको देशमा एनआरएनदेखि वैदेशिक रोजगारीमा जानेहरूको योगदान महत्वपूर्ण छ । यसबारेमा तथ्य र तथ्यांकहरू बोल्छन् । दल र कर्मचारीतन्त्र नेतृत्वको अक्षमताले निर्यातको नाममा युवा र देशको खराब चित्रमात्रै विश्वभर निर्यात गर्ने देशमा कम्तीमा देशका नेता, कर्मचारी पाल्नेदेखि जनताको भातभान्सासम्म मुद्रा आयात गर्ने एनआरएन नै हुन् । यो दाबी होइन । सत्य हो । एनआरएन त यो देशका अन्नदाता हुन् ।

    यो देशका नेताहरूको विदेश भ्रमणमा लागेका पासपोर्टमा एनआरएनका पसिना छन् । एनआरएनले अगुवाइ गरेका कार्यक्रमहरूमा नि:शुल्क भ्रमण गर्नेहरूमा प्रधानमन्त्री भइसकेकादेखि उदीयमान नेताहरू छन् । यो देशका कलाकारहरूले बोक्ने ब्राण्डेड ग्यागेडका बिलदेखि उनीहरुका तारकातार विदेश सफरका बोर्डिङ पासहरूमा एनआरएनहरुकै रगत पसिनाका थोपा लागेका छन् । उनीहरूका घरडेरीमा एनआरएनका चन्दा उठाएर भएका कार्यक्रमका जरा छन् । चाहे भोजपुर पैवादुङ्माका दोहोरिएर चुनाव जित्ने अध्यक्ष किरण राईको चुनावी खर्चमा होस् वा विश्वभरबाट लाखौं भ्यूज पाएर युट्युब व्यवसायबाट राम्रो आम्दानी गर्ने मोरङ उर्लाबारीका युट्युबर किशोर श्रेष्ठको खर्चबर्चमा होस्, एनआरएन जोडिएकै छन् ।

    यो देशलाई एनआरएनले दिन सक्ने जत्ति सबै कुरा दिएका छन् । अर्थ दिएका छन्, आवाज दिएका छन्, पहिचान दिएका छन् । आज हामी शेष घले, जीवा लामिछाने र उपेन्द्र महतोलाई विदेशका खर्बपति नेपाली भनेर गर्व गछौँ । तर, के उनीहरूले नेपाली नेतृत्वबाट गौरव गर्ने आधार पाएका छन् ? आज हामी अमेरिकी प्रदेश सांसद भएका ह्यारी भण्डारीदेखि हलिउड सेलिब्रेटीदेखि विश्वभरका एलिटहरूका डिजाइनर प्रबल गुरुङ नेपाली भएको गर्व गर्छौं । के उनीहरूले नेपालबाट त्यस्तै गर्व गर्ने केही कुरा पाए ? हो नपाएकोमा उनीहरूलाई झोँक चल्दो हो ।

    यो देशबाट युरोप सीधा हवाई उडान छैन । प्लेनको अभावमा होइन, प्रतिबन्धको प्रभावमा हो । दशक अगाडि नेपाली हवाईजहाजमा लागेको प्रतिबन्धले त्यो तनाव आएको हो । अब केही महिनामै नेपाल र युरोप सीधा उडान हुँदैछ । यो हुनुमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद र पर्यटनमन्त्री किरातीको कूटनीतिले हुन लागेको उडान होइन । यो त एनआरएनबाट हुन लागेको हो ।

    एनआरएनको नागरिकता जुन देशको भएनि जोडिने ‘नेपाली’ नै हो । नेपाली अस्ट्रेलियन, नेपाली अमेरिकन, नेपाली बेलायती आदि इत्यादि । त्यो जोडिएको नेपाली फूर्को इज्जतिलो बनाउन हामीले नउभ्याएको सगरमाथा, हामीले सोचेर नजन्मेका बुद्ध र हामीले आफूभन्दा अरुलाई काम गर्ने गोर्खाभन्दा मौलिक कुरा के के दियौँ ? दिएनौँ । हो, त्यो नदिएकोले एनआरएनलाई झोँक चल्छ । झोँक शेष घले, जीवा लामिछाने, उपेन्द्र महतो, ह्यारी भण्डारी र प्रबल गुरुङहरुले खुलेर नपोख्लान् । तर, आम एनआरएनले त पोख्छन् । त्यो पोख्नु उनीहरूको अधिकार हो । त्यो झोँक चल्नुमा देशको राजनीतिक र कर्मचारीतन्त्र नेतृत्व दोषी छ । त्यसमा चर्को आलोचना गर्न पाउनु उनीहरूको अधिकार हो ।

    तालेवानले महिला अधिकार सिध्याए अथवा उत्तर कोरियामा लोकतन्त्र दिएन भनेर जसरी विश्वले आलोचना गर्छ । आक्रोश पोख्छ । ठीक त्यसैगरी सबैथोक दिन्छु भनेर संविधानमै दिएका नेताले खासमा केही दिएनन् । स्वीजरल्याण्ड बनाउने सपना देखाएर स्वाजिल्याण्ड पनि बनाएनन् भन्दै गाली गर्ने अधिकार नेपाली र एनआरएनलाई मात्रै छैन । विश्वको जुनसुकै नागरिकलाई छ । एनआरएनको दोहोरो नागरिकमा कुनै दुर्लभ अधिकार होइन् । त्यो विश्वभर प्रचलनमा आएको एक अधिकार हो । त्यही दिनुलाई बक्सिस भन्न मिल्दैन ।

    हो म एनआरएनहरूमा हुने मानव तस्करीदेखि गैरकानूनी विदेश प्रवेशको खरो विरोधी हुँ । तर, राज्यतहमै तस्करी गर्ने सत्ताका खेलाडीहरूले त्यो विरोध गर्ने अधिकार राख्छन् ? हो म एनआएनले विदेशमा बसेर पनि नेपाली शैलीको राजनीतिक गन्जागोल गरेकोमा फरक मत राख्छु । तर, देशमा जस्तै विदेशमा पनि नेपालका थोत्रा राजनीतिक दोकान निर्यात गर्ने राजनीतिक दलहरूका अनुहारलाई फरक मत राख्ने अधिकार छैन ।

    हो म एनआरएनहरूले बिहानदेखि बेलुकासम्म आक्रोशमात्रै पोखेकोमा आलोचक हुँ । तर, त्यो आक्रोश पोख्ने खराब देशको बिम्ब बनाउने सत्तामा बसेका र बसेको अनुभव हुनेहरूलाई आलोचक हुने अधिकार छैन । हो म देशको राजनीतिक, कर्मचारीतन्त्र, प्रहरी, सेनाको शीर्ष पदमा बसेर राम्रो पैसा कुम्ल्याएर अन्तिममा एनआरएन हुन जानेहरूको विरोधी हुँ । तर, त्यस्तो अवस्था ल्याउन संरचनागत भूमिका खेल्न दल र नेता नेताहरूले यसको विरोध गर्ने अधिकार छैन ।

  • गजल

    गजल

    – अरुण आकाश, भोजपुर

    बा-आमालाई वृद्धाश्रममा राखेको देखें
    नवजात शिशुलाई झाडीमा फ्याँकेको देखें

    मान्छेको मन कस्तो हुँदैछ ? समाज कता जाँदैछ ?
    सबै केवल आफ्नो स्वार्थ पूर्तिमा लागेको देखें

    केवल पैसासँग मतलब छ यो दुनियाँलाई अहिले
    आफ्नै चेलीलाई केही रकममा बेचेको देखें

    यता वृद्धहरूले देश बनाउन कम्मर कसेर लाग्दा
    उता युवाहरूले परदेश बनाउन हड्डी घोटेको देखें

    धन्यवाद ।

  • युद्धभूमिबाट रिपोर्टिङ- त्रासमै छु, तर पत्रकारिता कर्मबाट पछि हटेकी छैन

    युद्धभूमिबाट रिपोर्टिङ- त्रासमै छु, तर पत्रकारिता कर्मबाट पछि हटेकी छैन

    असोज २० गते शनिबार, समय आफ्नै रफ्तारमा अघि बढ्दै थियो । इजरायलको किरियात मलाखीको एउटा नर्सिङ होम मेरो ‘वर्किङ’ गन्तव्य । सधैं झैं म बिहान ६ः३० बजेको निर्धारित ड्युटीको लागि नर्सिङ होम पुगेकी थिएँ ।

    काम गरिरहेको बेला एक्कासि बाहिर साइरन बजेको सुनियो । हामी काम गरिरहेका नेपालीको मनमा एउटा कौतुहल बल्झियो किन बाहिर साइरन बजिरहेको छ ? साइरनको रहस्य जान्न नपाई बाहिर बम पड्किन थाल्यो । यो क्रम बढ्दै गएपछि हामी त्रसित भयौं । किनभने यो अघिपछिको भन्दा फरक र भयङ्कर थियो ।

    पछि थाहा भयो, इजरायलका विभिन्न ठाउँमा हमास विद्रोहीले आक्रमण गरेका रहेछन् एकैपटक । हजारौंको संख्यामा हमासका विद्रोहीहरु इजरायलीका घर र ठूला व्यापारिक भवनहरुभित्र घुसेर नरसंहार मच्चाइसकेका रहेछन् । हामीलाई बाहिर निस्कन दिइएन र निस्कने अवस्था पनि थिएन । कतिबेला हामी बसेकै भवन बमको शिकार हुन्छ भन्ने ठेगान थिएन ।

    झण्डै दुई महिनाअघि पनि यस्तै घटना भएको थियो । त्यो बेला सामान्य बमबारी भएकोले थोरै समयमात्र त्रसित बनायो । यो पटक भने पाँच दिन बितिसक्दासमेत मनको त्रास हट्न सकेको छैन र आफू बस्ने कोठामा पुग्न सकेको छैन । शनिबार सुरु भएको बमबारी घटेको छ । तर, रोकिएको छैन । सीमा क्षेत्रमा अहिले पनि अवस्था भयङ्कर नै छ ।

    त्यसो त हामी अहिले सुरक्षित नै छौं । हाम्रो नर्सिङ होमको व्यवस्थापनले हामीलाई काम गर्ने ठाउँ आसपासमै सुरक्षित स्थानमा राखेको छ । तर, मनको त्रासका कारण मानसिक रुपमा खुशी हुन सकिरहेका छैनौं । हाम्रो व्यवस्थापनले हुनेसम्म सबै उपाय लगाए पनि त्रास र बेचैनी हट्ने कुरा भएन ।

    हमासले आक्रमण गरेको सुरुको दिन निकै कठिन र त्रासदीपूर्ण भयो । बमबारीसँगै जब टेलिभिजनहरुले बाहिरको भयङ्कर आक्रमणसहितको सदृश्य समाचार दिन थाल्यो, हामीलाई अब जीवित रहन सक्छौं कि सक्दैनौं भन्ने त्रासले निकै पिरोल्यो ।

    यो बेला नेपालबाट आफ्नो परिवारका सदस्यले मात्र हैन, कहिल्यै नबोलेका सामान्य चिनजानका नेपालीले समेत चिन्ता व्यक्त गर्नुभयो । यसले एक प्रकारको खुशी पनि दियो । किनकि संसारभर जहाँ रहे पनि नेपालीहरुले यस्तो बेलामा नचिनेकाले समेत चिन्ता व्यक्त गरे । तर, परिवारले गरेको चिन्ता र अनावश्यक आशंकाले थप गम्भीरसमेत बनाएको छ ।

    म नेपालमा रहँदा पत्रकारितामै थिएँ । इजरायल आएपछि पनि कामबाट बाँकी रहेको समय पत्रकारितामै सर्मपण गरेको छु । नेपाल प्रेसको लागि इजरायलबाट रिपोर्टिङसमेत गरिरहेको छु र ब्लग तथा लेखहरु पनि लेख्छु । नेपाल प्रेसको प्रवास व्यूरोको सदस्यकै रुपमा आधिकारिक प्रतिनिधि छु ।

    इजरायल-हमास युद्धमा म आफैं पनि पीडित हुँ । कोठामा जान नसकेर काम गर्ने ठाउँमै सुरक्षित बसेको छु । तर, मैले मेरो पत्रकारिताको धर्म पनि भुलेको छैन । जोखिम हुँदाहुँदै पनि सकेसम्म यहाँको अवस्थाको बारेमा रिपोर्टिङ गरिरहेको छु । शुरुकै दिन नेपालमा धेरै अन्योलका बेला भिडिओ रिपोर्ट गर्न सफल भएँ ।

    अहिले इजरायलले समेत प्रत्याक्रमण गरेकाले केही शान्त जस्तो छ इजरायल । तर, हमासका विद्रोही कति इजरायल छिरेका छन् भन्ने कुराले सबैलाई चिन्तित बनाएको छ । हामी बसेको ठाउँ तुलनात्मक रुपमा सुरक्षित छ । प्यालेस्टाइन सिमाना गाँजा क्षेत्रमा बसेका नेपालीहरु बढी जोखिममा छन् । उनीहरुको तत्काल उद्धार गर्नु आवश्यक छ ।

    म सुरक्षित छु र पत्रकारिताको माध्यमबाट समस्यामा परेका नेपालीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा लागेको छु । साथै पत्रकारिताको माध्यमबाट इजरायलको ताजा जानकारी गराउँदै सकेसम्म नेपालीको अवस्थाको बारेमा समेत नेपालमा रहेका परिवारका सदस्यलाई सूचना पुर्‍याउने प्रयत्न गरिरहनेछु ।

    सरकारले आफ्नो प्रयास गरिरहेकै होला । नेपाल दक्षिण एसियामै इजरायलको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको मित्र राष्ट्र पनि हो । त्यसैले नेपालले लगाएको गुण इजरायलले पनि तिर्ने बेला आएको छ । नेपाल र नेपाली असंलग्न रहेको यो युद्धमा विनाकुनै कारण हमासबाट १० जना होनहार नेपाली युवाको हत्या भएको छ ।

    ‘हामी नेपाली हौं’ भन्दाभन्दै पनि उनीहरुको किन हत्या भयो ? हमास संगठनले एक दिन जवाफ दिनुपर्ला । सरकारले पहिलो चरणमा विद्यार्थीहरुको उद्धार गरेर स्वदेश फर्काउने निर्णय गरेको समाचार पढियो । त्यो उपयुक्त निर्णय नै हो । बाँकी नेपाली जो इजरायलबाट फर्किन चाहन्छन्, उनीहरु सबैलाई सरकारले सुरक्षित उद्धार गरोस् ।

    इजरायलमा करिब ४५ सय नेपाली कार्यरत छौं । तीमध्ये कतिपय घरपरिवारकै सदस्यसरह इजरायलमा बसेकाहरु तत्काल फर्किन नचाहन पनि सक्छन् । इजरायल सरकारसँग नेपाल सरकारले वार्ता गरेर भोलि परिस्थिति सहज भएपछि फेरि काममा फर्किन पाउनेगरी अन्तरिम व्यवस्थापन गर्न पनि पहल गर्नुपर्छ ।

    यो त्रासदीपूर्ण अवस्थामा बंकरभित्र बसेर भने पनि नेपालीहरुको उद्धार, खोजी र स्वदेश फिर्तीका लागि तेल अभिभस्थित नेपाली दूतावासको टीमले गरेको पहल पनि उल्लेखनीय छ । यो युद्धमा नेपाल आफ्नो परराष्ट्र नीतिअनुसार असंलग्न रहेको छ । तर, इजरायलमा आफ्ना नागरिक रहेकाले उसको स्वाभाविक रुपमा सद्भाव सोहीबमोजिम हुन्छ नै ।

    तर पनि नेपाल र नेपाली इजरायल तथा प्यालेस्टाइन दुवैतिरका जनता शान्तिपूर्वक बाँच्न पाउनुपर्छ भन्नेमा दृढ छौं । थाहा छैन, यो युद्ध कति लम्बिन्छ र कति हिंस्रक बन्दै जान्छ ? तर, सकेसम्म यो युद्धभूमिबाट पत्रकारको भूमिका पनि निर्वाह गर्ने प्रयास जारी राख्नेछु ।

  • कथा: हटस्पट

    कथा: हटस्पट

    बाहिर तुषारोले गजधुम्म छ, आकाश । आकाशबाट खसेका शीतका थोपा रुखका पातमा बजारिएर चकनाचुर हँुदैछन् जमिनमा । कोठाभित्र र बाहिरको हावाले भरसक लुकामारी नगरोस् भनी पर्दा लगाइएको छ । पर्दाले तारबारको जस्तै काम गरेको छ । कोठाको न्यायोपनलाई जतिसुकै रोक्न खोजे पनि चोर बाटोको इस्तमाल गर्दै हावाले बाहिर भित्र गर्दैछ । कोठाको न्यानोपन ओडेर ल्यापटप अघि बसेको छ एउटा मान्छे ।

    (बे)नाम : भगवान क्षेत्री
    (अ)पेशा : गोदावरी नगरपालिका वडा नं. ७ कैलालीमा वडा सचिव
    (अ) रुचि : साहित्य लेखन र पत्रकारिता
    वतन : अत्तरिया, कैलाली

    भगवानलाई तलतल लागेर आयो । तलतल मेटाउन उसले चुरोट सल्कायो । एक सर्को तान्यो पनि । धुँवा उड्दै उड्दै सिलिङतिर गयो । धुँवाको केही अंश झ्यालको बाटो उड्यो । बाँकी टेवल र कुर्सीको वरिपरि रुङ्दै थियो । झ्यालको बाटो बन्द देखेर फेरि निसास्सिँदै धुँवा सिलिङमा हरायो । मुखमा चुरोट राखेरै उसले चार लाइन ल्यापटपमा लेख्यो । अनि रोकियो । के के सोचेर फेरि चुरोट तान्न थाल्यो । धुँवाको नियति पूर्वनिर्धारित अवस्थामै पुग्यो । कोठाका केही थान लोकसेवा आयोग पुस्तक, केही साहित्यिक पुस्तक र टेवलको फूलदानलाई पनि चुरोटले राम्रो नशा दिइरहेको छ जस्तो लाग्दै थियो ।

    उसले मनमनमा भन्यो, ‘एक शब्द लेख्न पनि पसिना आउँदैछ । चुतियाहरुले जिब्रो छ भन्दैमा, कस्तो झुर लेख्यो, टाइमपास भन्छन् । भन्नेको के जान्छ । लेख्न नसक्नुको पीडा (लेखन्दास) सरी, लेखकलाई मात्र था छ ।’

    उसले चुरोटको ठुटो एस्ट्रेमा ठोस्यो । एक फेरि थपियो ठुटोको जमातमा, अर्को ठुट्टो चुरोट ।

    एकछिन कोठामा एक्लै टहल्न थाल्यो । ऊ एकोहोरो सिलिङमा हेरिरह्यो, मनमा अनेक तर्क बिर्तक खेलाउँदै । हेर्दा लाग्दैथ्यो, लेख्न नपाएर औडाह भएको छ । तर, उसका औंला ल्यापटपमा हिँड्न मानिरहेका थिएनन् ।
    त्यसपछि,

    र्‍याकबाट रमको आधा भरिएको (रित्तो) बोतल झिक्यो । थर्मसको बिर्को खोल्यो । तातो पानीसँग ककटेल बनाएर पियो एक गिलास रम । सितन केही थिएन । रक्सीसँग अभ्यस्त भइसकेको भगवानलाई कुनै सितनको अनिवार्य आवश्यक लाग्दैनथ्यो । जिन्दगीमा अनिवार्य आखिर के नै छ र ? ऐच्छिक आवश्यकताहरुले जेनतेन चलेको उसको दैनिकीमा गिलास, रक्सी र चुरोट मन भुलाउने बहाना बनेका थिए । ऊ लेख्नलाई फेरि कुर्सीमा बस्यो । तर, किबोर्डमा औंला नै चल्न मानिरहेका थिएनन् । ऊ एकोहोरो भित्तामा हेरेर टोलाउन थाल्यो ।

    – ‘हेलो’
    – हाई
    – म समय
    – म लेखक
    – कस्तो लेखक ?
    – कस्तो समय ?
    – कथा लेख्ने लेखक
    – कथा भन्ने समय । तर, म महाभारत भन्न आएको होइन ।
    – म पनि वेदव्यास होइन
    – ओके छ त
    – यो आफ्नै निजी थेगो हो र तपाईंको ?
    – होइन ।
    – अनि ।
    – मलाई जोसँग प्यार छ । प्यार मोहब्बत से आपका लेना देना ।
    – अच्छा ! कोसँग छ प्यार, थेगो कि मान्छे ?
    – मान्छे ।
    – को हो र ?
    – भने त ।
    – ओके छ त ।
    – तपाईं पनि हो र ?
    – के ?
    – मेरी पूर्वप्रेमिका प्लस वर्तमान श्रीमतीको फ्यान ।
    – होइन ।
    – अनि किन त्यही थेगो प्रयोग गरेको नि ?
    – म समय हुँ ।
    – अनि केही काम छ कि ? किन हजुरको सवारी भयो ? मेरो (अ)कुमार कोठामा ।
    – मैले कथा भन्नु छ ।
    – मैले कथा लेख्नु छ ।
    – (दुवैले एकैसाथ) ओके छ त ।
    – फेरि दुबै, चेर्यस….।

    समयजी आज्ञा गर्नुहुन्छ हे लेखकमुनि……………!

    तिम्रा जुँगाका रेखी परेका ओठको मुस्कान वास्तवमै मलाई मन परेको थियो । तसर्थ तिमीलाई रुचेको थियो तिम्रो बालापन । पढाइमा तेज, टिचरको आँखाको नानी । म तिमीसँग थिएँ, त्यसैले तिमीलाई काँधमा राख्थें तिम्रा बाले । आफ्ना सपना तिमीमा पाएको थियो तिम्री आमाले, उनले खान्थिन् तिम्रो गालामा म्वाइँ । तिम्रो निर्दोषिता, इमानदारिता र जेहेनदारितालाई कसैले आफ्नै जस्तो ठानेकी थिई । त्यसैले तिमीलाई उसले राख्थी मुटुभित्र । तिमी त्यसै यो अवस्थासम्म कहाँ पुगेका हौ र जनाब !

    मज्जाकी, कल्कलाउँदी, भर्रभराउँदी यस्तै कुनै उपमा दिन लायक युवतीको तिमी प्रेममा थियौ । लाउलाउ खाउँखाउँ भन्ने उमेर कि युवतीको प्रेममा पर्नु साँच्चै खतरनाक जोखिम मोल्नु थियो । हो, तिमी खतरनाक जोखिम मोल्न पनि राजी थियौ । प्रेम र युद्धमा हरेक कुरा सम्भव हुन्छ । युद्धमा प्रेमको अनुभूति सके नगरिएला । तर, प्रेममा हर कोहीले युद्धको सामना गर्नुपर्छ नै । युद्ध, मानसिक होस् या शारीरिक । हतियारले होस् कि विचारले ! युद्ध त युद्ध हो ।

    तिमीहरु एउटै स्कुलमा पढ्ने सहयात्री थियौ । कक्षा समान भए पनि सेक्सन फरक थियो । तर पनि टिफिन बेला, लिजर पिरियडमा तिमी भेट्न जान्थ्यौ । ऊले पनि तिमीलाई घण्टौं हेरेर बस्थी । तिमीलाई त्यसै बेला आत्मज्ञान भएको थियो । आफूलाई बिर्सेर, आफूलाई अरुका आँखामा भेट्नु प्रेम हो । जसलाई जति हेरे पनि धित नमरोस् । जसबाट कुनै अपेक्षा नरहोस् । तर, समपर्णको संसारमात्र दिनानुदिन फैलिँदै जाओस् । हो, तिमी त्यस्तै फिलिङमा पर्‍यौ । जसरी स्कुलमा उसका गाजलु आँखालाई तिमी लुकीलुकी एकोहोरो हेर्थ्यौ त्यसरी नै घरमा पनि तिमी घण्टौं टोलाएर बस्थ्यौ । मानौं घरमा पनि तिम्रोसम्मुखमा उभिएर ऊ तिमीलाई नै हेरिरहेकी छे । तिमी उसको गहिरो प्रेममा परेका थियौ ।

    एकपल्ट आमाले भनेकी पनि थिइन्, ‘के भयो ? आरामी बिरामी त नै भै ? रात निद दिन भोग छैन । के दगाउन लागिस् ?’ तिम्रो निन्द्रा र भोग साँच्चै हराएको थियो ।

    तिमीले ‘केही होइन’ भनेर पहिलो पल्ट आमासँग झूटो बोलेका थियौ । तिमीले प्रेम गर्न सिकेका थिएनौ । प्रेमसँगै झूटो बोल्न पनि सिकेका थियौ ।

    वसन्त ऋतुमा कर्नालीको छाल बढेझैं, दिनानुदिन बढ्दै गयो तिम्रो प्रेमको नदी ।

    तिमीले हातै समाती उसलाई भगाउन सकेनौ । किनकि तिमी गोजीमा गाँठ र मनमा आँट भएको मान्छे थिएनौ । गाँठ र आँट त्यसै आउँदैन । समस्यासँग जुध्नुपर्छ । जोखिमहरु उठाउनुपर्छ । अनि अवसरलाई चिन्नु पनि पर्छ । थुप्रै विकल्पहरुको माझबाट सही र दीर्घकालीन निर्णयको छनोट गर्नुपर्छ । अनि आउँछ जीवनमा सन्तुष्टि । अनि बल्ल अनुहारमा बल्छ सय वाटको खुसीको बल्ब ।

    आज तिमी दुःखी आत्मा कि खुसी ? आज तिमी सफल कि विफल ? तिमी त लेखक रे ! हा….हा……हा…… मिस्टर भगवान क्षेत्री ।

    नयाँ वर्ष आउन एक दिनमात्र बाँकी थियो । तिमीले गुलाबको फूल भएको पोस्टकार्ड किन्यौ । कार्डको पछाडि उसलाई सम्बोधन गरेर नयाँ वर्षको शुभकामना दियौ । उसका लागि त्यो भगवानले दिएको बहुमूल्य उपहार थियो । त्यसैले उसले बडो जतनले खल्तीमा राखेकी थिई । मुस्कराएकी थिई । मनमा काउकुती लागेको थियो । उसका आँखाको भाव पढ्ने तिमीमा फुर्सद नै थिएन । पोस्टकार्ड समातेर ऊ दौडिँदै कक्षा कोठामा गएकी थिई । उसको ध्यान पोस्टकार्डबाहेक कतै गएन । उसको कल्पनाको आकाश यसरी विस्तार भएर आएको थियो कि शिक्षकले के पढाए ? कस्तो पढाए ? साथीहरुले के के भने ? के के भयो कक्षामा ? सबै सबै बिर्सेकी थिई । सम्झेकी थिई त केवल तिमीलाई । पोस्टकार्डलाई मात्र । टिफनपछिका आधा घण्टाका तीन पिरियड उसलाई चौबीस घण्टा जस्ता लागेका थिए ।

    ऊ हतार हतार घर आएकी थिई । स्कुले ड्रेस नै नखोलेर पसेकी थिई कोठामा । त्यो तिम्रो प्रेमलाई कसैले थाह नपाऊन् भनी उसले ढोकाको चुकुल लगाएकी थिई । जतनले चिठ्ठी खोलेकी थिई । उसको मुटुको चाल बढेर आएको थियो । मनमा नानाभाँतीका उत्तेजनाले ठाउँ पाएको थियो । कौतुहलताले डेरा जमाएको थियो । र, बाहिरी परिवेशले बेला बेला चिमोठ्थ्यो पनि । चिठ्ठी पढिसकेर ऊ खुसीले गदगद भएकी थिई । प्रफुल्ल भएको थियो उसको मन । हावामा उड्दै उड्दै तिम्रो समीपमा पुगेको थियो उसको आत्मा । तिमीले खै कतिको अनुभूति ग¥यौ ?

    उसका मन र तनमा एक्कासि ऊर्जा सञ्चार भएको थियो । तर, त्यो ऊर्जाले दीर्घ प्रकाश दिन सकेन । त्यसै साँझ उसका बाले साइन्स किताबको भित्र फेला पारे तिम्रो मायाको निसानी । बड्डाले पोस्टरसँगै च्यातचुत पारेर फालेको थियो तिम्रो प्यार । उसले त्यो दिन घरमा गृहयुद्ध नै लड्नुपरेको थियो ।

    दोस्रो दिन एक सितो अन्नसमेत मुखमा नहालेर आएकी थिई स्कुल । तिमीलाई त्यो दिन याद नहुनसक्छ । तर, उसको लागि थुप्रै कोणबाट विशेष थियो । त्यस दिन तिमीहरु दुबैले सँगै बसेर पोटली खाएका थियौ । तिमीेले दिएको खाजाको उसले धेरै तारिफ गरेकी थिई ।
    उसले भनेकी थिई, ‘कस्तो मीठो अर्नी (खाजा) । भोक मीठो कि भोजन मीठो भन्थे । मलाई त भोकभन्दा भोजन नै खास लाग्यो ।’ उसको अनुहारको भाव तिमीले बुझ्नै सकेनौ बेवकुफ ।

    ‘तँ घरबाट निस्किहाल । जुन केटाको यो लभलेटर सिरानी हालेर बसेकी छस् । उसैसँग लागोस् तेरी डाणीँ (बल्ली बाठ)। तेरी एकोरी लभ गराइ होइजाउ, दोसर्‍या लभ गर्न जन्पाएइ । हाम्रा लागि त, जिउनी मरे बराबर भइ गै । ’

    उसकी आमाले त्यसैमा थपेकी थिइन्, ‘इस्कुल पढ्न जान्छस् कि दुनिँयाभरिका मुले हेर्न । मान्छेले मनाई आफ्ना जातमा बस्नुपर्छ । छि भन्नु गोडको गुहु हो । सबैको नाक काट्न लागिस् अब ।’

    त्यो रातभरि भुईंमा सुती । बिहान कसैसँग नबोली स्कुल आई । स्कुलमा तिमीलाई उसले हेरेरै पूरापूर दिन बितायो । घरमा बाले दिएको गाली भन्दै भनिनन् । आमाले सुनाएको बचन तिमीलाई देखेर बिर्सिई । तिम्रो चुलिँदै गएको मायालाई उसले लाम्चे बजारमै रोक्न सकिन । तिम्रो आँखामा देखिएका सपना आफ्नै ठानी । तिम्रो जीवनको गति उसले आफ्नै सम्झी । अरुमा आफ्नो जीवनको छायाँ देख्नु नै सायद प्रेम हो ।

    मलाई लाग्छ सायद आजका मितिसम्म यो घटना तिमीलाई भनेको छैन होला ।

    ‘भनेको छ ?’, समयले सोध्छ ।
    ‘छैन ।’
    ‘आखिर किन नभनेको होला ?’

    अर्को साल उसले एसएलसी दिई । बोर्डमा कक्षा प्रथम भई । रेष्ट नामक गैरसरकारी संस्थाले उसलाई छात्रवृद्धिको लागि छनोट गर्‍यो । त्यसपछि उसका निधारमा घाम लाग्यो । कैलाली बहुमुखी क्याम्पसमा ऊ उच्च शिक्षा पूरा गर्न लागी । होस्टेलमा बस्दा पनि उसको शील स्वभावको सबै मुक्तकण्ठले प्रशंसा गर्थे । कक्षामा उसको रुप र जोवनमा फिदा नहुने कमै थिए । उसको तर्कशक्ति मजबुत थियो । कलेजमा हुने वादविवाद, वक्तृत्वकला प्रतियोगितामा सधैं प्रथम । मिलनसार, सहयोगी थिई । त्यसैले क्याम्पसमा उसको व्यक्तित्वको सबैले कदर गर्थे ।

    तिम्रो पनि आर्थिक अवस्था नाजुक थियो । तिम्रो आमाले हिउँद, वर्खा जमिनदारका मेलोमा ज्याला गरेर सिकाएको थियो, साउ अक्षर । तिम्रो बाको पन्जाबको नौकरीले बल्थ्यो, चुलो । तिम्रो भविष्यको चिन्ताका अगाडि प्रेम बिचरो त नाजुक र टुहुरो थियो । त्यही टुहुरो प्रेमलाई मलजल गर्ने, फुलाउने, फलाउने र गोडमेल गर्ने को हो त आखिर ? कसरी त्यत्रो समयपछि पनि मुहारको कान्ति उस्तै रह्यो ? कसरी आपसमा मिले तिम्रा भावना र विचार ? कुन रसायनले काम गर्‍यो ? लेखेक हुँ भन्छौ । कुनै दिन योबारेमा पनि केही मिनेट खर्च गरेका छौ ?

    प्रस्ताव राखी औपचारिक प्रेमलाई अगाडि बढ्ने तिम्रो सपना थियो । मैले तिम्रो त्यो इच्छा पूरा गरेकै हो । तिमीले मलाई आफू अनुकूल बनाउन सक्यौ कि सकेनौ, त्यो तिम्रो कमजोरी बन्यो वा शक्ति । आफैं विचार गर । तिमीलाई थाहा छ, भाग्य भनेको निधार होइन । उचित समय चिन्नु र उचित समयमा उचित निर्णय गर्नु नै भाग्य हो ।

    तिमी अहिले जुन अवस्थामा पुगेका छौ, त्यसमा तिम्रो निर्णयले कति काम गर्‍यो, आफैं चिन्तनमनन गर । तिमीले प्रथम श्रेणीमा स्नातक गर्‍यौ । आयोगको तयारी गर्‍यौ । निराश भएनौ । असफलताभित्र नै सफलता छ भन्ने बुझ्यौ । निरन्तरको प्रयासले सफलता पनि आयो । प्रयास गरे भाग्यलाई पनि चुनौती दिन सकिन्छ । (समय) मलाई प्रत्येकले आफ्नो बशमा पार्न सके सफल भइन्छ । तिमीले प्रमाणित गरेर देखायौ । अब व्यवस्थापकीय पक्ष कमजोर हुनु, त्यो व्यक्तिको कमजोरी हो । त्यसको दोष दर्शनलाई दिन मिल्दैन । दर्शन ज्ञानको उच्चतम विन्दु हो । दर्शन मान्छेको अनुभवबाट खारिएर सामान्यीकरण भएको हुन्छ । अनुभव काल्पनिक हुँदैन । बरु जीवनको भोगाइबाट ज्ञान नवीकरण हुन्छ, खैर त्यो फरक पाटो भयो ।

    हो, म मान्छु, तिमी गरिब परिवारमा जन्मेको मान्छे हौ । तर, तिमीप्रति मेरो भरोसा थियो । तिमी मेहनती थियौ । मेहनतको कुनै सीमारेखा हुँदैन । मेहनतले नै मान्छेलाई जीवित बनाएको छ । मलाई विश्वास थियो, तिमी गरिब नै भएर मर्ने छैनौ । हेर, आज लेखक बनेका छौ । यही हो तिम्रो सफलता । सरकारी कर्मचारी भएर सेवा गरेका छौ । एउटा छोरी छे । प्रेमिका पाएका छौ । श्रीमती पनि छे । खुसी छौ । यदि खुसी छैनौ भने त्यो नितान्त तिम्रो कमजोरी हो । पछि भाग्यलाई दोष दिए म मान्नेवाला छैन । बुझिस् मिस्टर फुच्चे केटो ।

    तिम्रो प्रेम प्रस्तावलाई उसले सहर्ष स्वीकार गरिनन् । किन नगरेको होला ? उसले तिम्रो प्रेम प्रस्तावलाई किन धेरै दिन पेन्डिङमा राखी होला ? कहिल्यै कुल दिमागले एकान्तमा सोचेका छौ ? यदि छैन भने तिमी मुला कच्चा र नक्कली लेखक हौ । तिमी मुला शब्दको हत्यारा मात्र हो । फगत एउटा लेखनदास । ऊ पढाइ सिध्याउन चाहन्थी । आफ्नो खुट्टामा उभिएर जीवनलाई सरल र सहज तरिकाले बाँच्ने कला सिक्दैथी । त्यसका लागि केही समय पर्खनुपर्ने थियो । तिमी त कृष्णभूषण बलको पर्खनुपर्छ भन्ने कविता पढेको मान्छे हो नि ? है न र ! हो भने त्यही हो, तिमीलाई उसले पेन्डिङमा राख्नुको खाँटी कारण ।

    यसबीचमा तिमीहरु नङ र मासुको जति नजिकै भयौ । फोन र फेसबुकबाट घन्टौं गफ गर्न सक्ने भयौ । कहिले दोधारा चाँदनी पुल, कहिले बेतकोट ताल त कहिले धनगढीका फनपार्कहरुमा खुब घुम्यौ । अत्तरिया बजारका कुनै क्याफे बाँकी राखेनौ । खुब फोटो अपलोड गर्‍यौ फेसबुकमा । खुब लाइक र कमेन्ट गर्‍यौ एक अर्काका फोटो र स्टाटसमा ।

    खुब बित्यो समय बनाएर टिकटक भिडियोहरु ।

    चोक चौतारा र चिया पसल हुँदै तिमी दुवैका बारेमा चर्चा परिचर्चा खुबै चल्यो । सबै चर्चा परिचर्चालाई तिमीहरु दुबैले नजरअन्दाज गर्‍यौ ।
    समय बित्दै गयो ।

    उसले एउटा निजी कलेजमा प्रध्यापन गर्न थाली ।

    उमेर बढ्दै गइरहेकाले उसका बुवालाई छोरीको खुब चिन्ता थियो । कुनै सोझो र इमानदार केटो पाए सालका पातमा गोडो धोएर बिदा गर्ने ठूलो इच्छा थियो ।

    नभन्दै उनका बुवाले एक दिन भने, ‘बुढेसकालमा तेरा गोडाको पानी खाएर मर्ने धोको छ, लाटी । अब कमाउने जमाउने पनि भैगै । यतिञ्जेल हामले केही भनेका थिएनौं । अब भनेको मान, अब गोडो अल्झाइहाल । यसो गरे हाम्रो पनि ढुक्कले सास जाने थियो ।’ बाको वचनका अगाडि उसले एक शब्द बोल्न सकिनन् । केवल आँसीको टुप्पो जस्तो घोसे मुन्टो लगाएर भुईं कोतर्न थाली ।

    कुनै किशोरसँग उसको हित्तचित्त मिलेन । कुनै किशोरसँग विचार, भावना र मन मिलेन । कुनै किशोरको शारीरिक बनोटले उसलाई दीर्घ आकर्षण गरेन ।

    एकपल्ट एउटा किशोर आयो उसको घरमा । केटो एउटा बैंकमा जागिर खान्थ्यो । हेर्दा उसको लवाइखवाइ उच्चस्तरीय नै थियो । उनीहरुले घन्टौं बसेर बात पनि मारे ।

    कुरैकुरामा केटोले भन्यो, ‘तिमी भर्जिन हो कि होइन ?’ किशोरको प्रश्न सुनेर ऊ कोठा नै हल्लिने गरी हाँसी । उसको हाँसोका अगाडि केटो सर्मिन्दा भयो । केटोलाई कतै मैले बेतुकको प्रश्न त सोधिनँ जस्तो लाग्यो । एक छिन रातोपिरो मुख लगाएर बस्यो । उसको हाँसोका अघि किशोरको हैसियत के हो ? पूरै देखियो । किशोरको बौद्धिकता चकनाचुर भएर खस्यो, रुखबाट आँप खसे झैं । उसको निधारभरि चिरचिर पसिना आयो । किशोरलाई बसेको ठाउँ नै भारी लाग्न थाल्यो ।

    उसले भनी, ‘के फरक पर्छ भर्जिन हुन नहुनुमा ? के हो यो भर्जिन भनेको ? मैले त भर्जिन ब्राण्डको रक्सीमात्र पिएको छु ।’

    यो त दराहा केटी रैछ । मेरो परिवारमा सुहाउँदैन भन्दै केटो भाग्यो । विनाकारण कसैबाट अस्वीकार हुँदा पनि खुसी भइदोरैछ । ऊ यस्ता धेरै किशोरबाट अस्वीकृत भएकी थिई । अस्वीकृतिको अनुभूति पनि भोगेकी थिई ।

    अर्को प्रसङ्ग भन्छु, सुन-
    ‘ओके छ त ।’

    एउटा किशोरले उसको नाक अलि लामो रैछ भन्यो । बानी अलि चुलबुले भएको भन्यो । कपाल साना भएको कमेन्ट गर्‍यो । गोडाका माझी औला अस्वाभाविक लामा रैछन् । यस्ता आइमाई त अलक्षिण हुन्छन् रे भन्यो । यसरी एकैछिन भेट भएको मान्छेले आफ्नो बानी व्यहोरा र शारीरिक बनोटको बारेमा गरेको कमेन्टस्ले रननन रिस उठेर आयो । उसले रिसलाई काबुमा राखी । पाहुनालाई गर्नुपर्ने कुनै स्वागतमा कमी हुन दिएन । सके जति सुशील र सहनशील भएको जस्तो देखाई । चिया पानीको भव्य र सभ्य स्वागत नै गरी । तर, जब तिमी त कस्तो लाटी जस्तै बोल्न नि पैसा पर्ला जस्तो पो गर्छौ भन्यो । उसले रिस थाम्न सकेन ।

    ‘तपाईं बिहेको लागि मेरो हात माग्न आउनुभएको कि मेरोबारेमा कमेन्ट गर्न ? सामान किनबेच गर्ने जस्तो यो मिलेन, त्यो मिलेन ! के तुर्काकाजस्तो कुरा गरेको’, उसले बुलेट पड्केको आवाजमा भनी ।

    केटोको मनमा भुइचालो नै गयो । केटाको अभीमानमा चोट पर्‍यो । अब लाटो हुने पालो केटोको थियो । त्यसपछि एक शब्द नबोलेर बिदा भयो ।

    एउटा अर्को घरको पनि आएको थियो उसलाई रिस्ता । केटो रसायनिक विज्ञानमा स्नातकोत्तर पास गरेर एउटा कलेजमा पढाउँथ्यो । हेर्दा उसलाई राम्रै लागेको थियो ।

    युवकको बाले चिना हेरेर भन्यो, ‘यो त जेठमा जन्मेकी रैछ । जेठी टोक्नसक्छ । त्यसैमाथि औंसेलाई बिहे गर्न सकिँदैन ।’ ऊलाई बुढाको अभिव्यक्ति देखेर रिसको पारो तातेर आयो । उसले भनी, ‘दुनियाँभरिका जेठमा जन्मेका सबै खोटी नै हुन् त ? हरेक औंसीमा जन्मेकाहरु पूर्णिमा जस्तै सुन्दर र ओजश्वी छन् । त्यसैले पूर्णिमाले आफ्नो सट्टामा हामीलाई पठाएको हो, बुझ्नु भो । कस्ता कस्ता गवार मान्छे आउँछन् यार ।’ बुढो उसको तर्कका अगाडि नाजवाफ भयो र घर फर्केको थियो ।

    उसले प्रण नै गरेकी थिई । म विवाह त गर्छु, आफूले मन पराएको केटासँग । मन परेको मान्छेसँग कैयौं रात अनिदोमै बिताउन सकिन्छ । कैयौं साँझ र बिहान भोकै बस्न सकिन्छ । सबैभन्दा बढी विश्वास गरेको मान्छेसँग हो विवाह गर्ने । जोसँग सजिलै मन बिसाउन सकियोस् । जोसँग विचार र भावना मिलोस् । जोसँग खुलेर गाली र माया गर्न सकियो । जोसँगै हाँस्न र सँगै रुन सकिन्छ उसैसँगको जिन्दगी बिताउने पनि । तर, कहिल्यै नभेटेको, कहिल्यै नदेखेको अपरिचित मान्छेसँग कसरी बिताउनु जिन्दगी ?

    एक दिन, उसको आमाले भनिन्, ‘हेर छोरी, जे जस्तो भए पनि छोरी मान्छे भनेका अर्खाका घर जाने जात हो । पढाइ पनि सकिस् । जागिर पनि खाइस् । अब घरबारी बसाइहाल । हाम्रो पनि मर्ने बेला नातिनातिना खेलाएर मुक्ति पाउने रहर छ ।’

    उसले भनी, ‘गतिलो मान्छे नै आउँदैन । कसका पछि लागेर जाउँ त ?’

    ‘हामले खोजेको तँलाई अगतिलो लागे आफैं खोज न त ।’

    त्यसपछि उसले धेरै दिन तिम्रोबारेमा सोचिबसी । किन धेरै दिन तिम्रोबारेमा सोचेकी होली ? कहिल्यै सोेचेका छौ ? अन्ततः तिम्रो नाम मेन्सन गरेकी हो आफ्नो दिलबाट परिवारसमक्ष । जात मिल्ने थिएन तिमीहरुको । ठूलै गृहयुद्ध लड्नुपर्‍यो उसले ।

    आफन्तले भने, ‘पुन्यालकि मौ त क्षेत्रीको गोडो धुन लागे भन्यो । के उपद्दर गद्द लागे । बाहुनको लाटो गाँणो मुले के काइन पायो हो । त्यो जात्की लै कसी रैछ । रै रै र भाँणका पोइल गै भने जसो केलाई अद्द लागि हो । बाँच्नुमात्र पर्छ के के देख्न पाइन्छ कलियुगमा ।’

    उसका मावलीले भने, ‘हाम त खस्सेको गोडो धुने होइनौं । हाम्रा लागि त्यो मरी गै ।’

    उनीहरु केही आएनन् बिहेमा । मान्छे कति बनावटी छ । योभन्दा गतिलो उदाहरण दुनियाँमा अन्त कतै भेट्टाउन सकिँदैन ।

    ऊ हठी थिई र हक्की पनि थिई । त्यसैले ज्ञानी थिई । ज्ञानको हठ साँच्चै समाजका कुरीति र कुव्यवस्थाका अगाडि चुनौती बनेर बसेको हुँदोरहेछ ।

    सकेसम्म परिवारले सन्तानको खुसी नै खोज्छन् ।

    अन्ततः परिवारले हार्‍यो । तिमीहरुले जित्यौ । सालका पातमा गोडो धोएर उसको हात तिम्रो हातमा राखिदिए । उनले हातमात्र कदापि दिएका थिएनन् । एउटा लक्ष्मी उपहार दिए, तिमीलाई तिम्री प्रेमिका । दुनियाँमा आफूले मन पराएको मान्छे जति सुन्दर अरु कुनै चिजवस्तु पनि हुँदैन ।

    जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग सबै सबै यस्ता बनावटी कुरालाई बिर्सेर तिमीमा एकाकार भएकी थिई । हो, सक्कली प्रेम भनेको यही हो । जुन तिमीले पाएका छौ ।

    विवाह भनेको केवल सामाजिक संगठनमात्र कदापि होइन । यो मनोवैज्ञानिक र आत्मिक एकताको सूत्र पनि हो । प्रेम खुसी र सुखको रसायन हो । तिमीले प्राप्त गर्‍यौ, तिम्रो प्रेम फेरि किन हो ल्याङल्याङ ?

    ++++++

    किरणहरु बर्दलीभरि छरपस्ट भए । बर्दलीबाट झुसिलकीरे शैलीमा कोठासम्म पुगे किरणहरु । त्यसपछि भगवानको निन्द्रा खुल्यो । भगवानको दर्शन गर्न ओछ्यानको भगवान जाग्यो । जागेको भगवान दाँत माझ्दै बाथरुम पस्यो । उसका आँखा राता भएका छन्, पाकेका गुल्लरका दाना जस्ता । ओठहरु कलेटी परेका छन्, दिनभरि पानी नपाएको बटुवाको जस्ता । मुख सुन्निएर फुकेको पाउरोटी जस्तो देखिएको छ ।

    हिजो रातभरि उसलाई निन्द्रा परेन । कार्यालयको कचकचले ऊ सधैं घरमा थाकेर पुग्छ । कहिलेकाहीं त उसलाई लाग्छ, यो जागिरबाट गिर्नुभन्दा बरु चटपटे र पानीपुरी पसल थापेर बसौ, कुनै व्यस्त चोकको किनारमा । तर, पेन्सन पाउने लोभले अझै चटपटे बेच्ने आँट गरेको छैन । बरु तत्काललाई जागिरबाट जतनले गिराउनमा नै भगवानले फाइदाजनक मुकाम सोचेको छ ।

    एक हप्ताअघिको एक साँझ खाना खाइबरी ओछ्यानमा सुत्न भनेर के गएको थियो । मानुषीसँग कुरा बाझियो (मानुषी भनेको उसकी पूर्वप्रेमिका वर्तमान श्रीमती) । खासै बाझिनुपर्ने, रिसाउनुपर्ने, तँ तँ र म म भन्नुपर्ने ठूलो र महत्वपूर्ण कुरा त केही थिएन । सामान्य विषयको स्थिति असामान्य बन्यो ।

    मानुषी, ‘भोलि म साथीहरुसँग घुम्न कर्नाली जान्छु ।’

    भगवान, ‘जानुपर्दैन । खाना तयार गर्नुपर्ला । नानीलाई स्कुल पुर्‍याउनु पर्दैन । धामीसितको लामी किन गर्नुपर्‍यो ।’

    मानुषी, ‘सधैंको मेरो काम एक दिन तमले गरे के घाम पश्चिमबाट उदाउला र ? चेली दुवैकी बराबर ।’

    भगवान, ‘ठीक छ । मेरो अफिस तँ जा न त ! घरको सबै काम म गर्छु ।’

    मानुषी, ‘अफिसको मात्र काम । घरको के काम होइन ?’

    भगवान, ‘बिहान खाना पकाउँछेस् । छोरीलाई स्कुल लग्यो, ल्यायो । बाँकी समय रुममा चाक पल्टाएर सुतेकी त हुन्छेस् । खुब बाँजो नै खनेको जस्तो धाक लगाउँछेस् त !’

    मानुषी, ‘अफिसमा के बोजो बोक्नुपर्छ र ? यता हल्लियो । उता हल्लियो । भात पचायो, फर्कियो । जिन्दगीमा के लछारपाटो लागेको छ र ? त्यो अफिसले ।’

    भगवान, ‘मुख छ भन्दैमा धेरै चलाउने होइन है ।’

    मानुषी, ‘जागिर छ भन्दैमा धेरै सेखी नदेखाए हुन्छ ।’

    भगवान, ‘मेरो जस्तो जागिर तैले यो जुनीमा खानसके म कान काट्न तयार ।’

    मानुषी, ‘कोही कान काटोस् कि जिब्रो हाम्लाई के बालै फररर्रररर ।’

    त्यो दिन खुब चलेको थियो दुबैको झगडा । एकले अर्कोको इगो नै हट हुने गरी नानाभाँती सवालजवाफ गरेका थिए । हात हालाहाल नै भएको थियो दुबैको । पुरुष सत्ताको अघि मानुषीको केही नचलेपछि आँसु झारेकी थिई । त्यो रातभरि मानुषी सुतिन । उसले मनमनमा अनेक कुरा सम्झी । आँसुले सिरानी ओसिलो बनाई ।

    कहिले खाना कसले बनाउने भन्ने प्रसङ्गमा त कहिले आफ्नो लुगा आफैं धुने सवालमा सामान्य विवाद त उनीहरुको सधैंजसो हुन्थ्यो नै । भगवान सधैंजसो साँझ रक्सी खाएर आउँथ्यो । भए नभएको तनाव गर्थ्यो । रक्सी बोलेको हो भनेर मानुषीले सहेर बस्थी । एकछिन रिसाएर दुर्वासा बने पनि घण्टाभरमै भगवान भगवान बनिहाल्थ्यो ।

    तर, त्यो साँझ न मानुषीको मन बदलियो न त भगवानको । दुबै पत्थर नै बने । भगवान भगवान नै रह्यो । मानुषी मानुषी नै रही । न भगवान मानुषी बन्न सक्यो न त मानुषी भगवान बन्न सकी ।
    छोरी हुँदा भगवानको आग्रह मानेर मानुषीले जागिर छोडेकी थिई ।

    भगवान, ‘तिमी दुई जिउकी छौ । पैसाको मुखमात्र हेरेर भए न नि ! आफ्नो ज्यानको पनि त ख्याल गर्नुप¥यो यार । त्यस्ता निजी कलेजका जागिर त फेरि फेरि पाइन्छन् ।’

    उसले फेरि थपेको थियो, ‘तिमीलाई नपुग्ने भन्ने के छ र । बसी बसी खान पनि केको अल्छी ?’

    मानुषीलाई पनि पेटको बच्चाको खुब माया लागेर आउँथ्यो । उसले त्यसै साँझ नजन्मेको बच्चाको अनुहारको कल्पना गर्दै राजीनामापत्र लेखेर बुझाएकी थिई कलेजमा ।

    उसको खाइपाइ आएको जागिर छुट्यो । दिनभरि घरमै बसेर बित्यो समय । नत्र महिनाको तीस हजार कमाउँथी । अहिले उसलाई जागिर छोडेर आफ्नै खुट्टामा बन्चरो हाने जस्तो लाग्दैछ । हजार कुरा सुन्नुपर्ने भएको छ ।

    बजार सामान किन्न जाँदा भगवानले ठिक्क सामानलाई पुग्ने पैसामात्र उसका हातमा राखिदिन्थ्यो । आफूले कमाएको बैंक खाताको रकम पनि सकिएको एक वर्ष भइसकेकोथ्यो । बैंकमा भए पनि त्यही होला हजार दुई हजार । कहिलेकाहीं साथीहरुसँग घुम्न जाँदा पनि भगवानकै मुख हेर्नुपर्थ्यो । पानी, टेलिफोन र विद्युतको बिलमात्र होइन, सबै सबै घरका कामको लागि मानुषीले भगवानकै तलबको बाटो कुर्नुपर्थ्यो । यतिमात्र होइन, मोबाइलमा ब्यालेन्स नहालेकोसमेत महिनौं भइसकेको थियो ।

    मलाई ब्यालेन्स हालिदिनुस् न । दिनमा कहिलेकाहीं माइतमा फोन गर्न हुन्छ भन्दा भगवानले भन्थ्यो, ‘ल्याण्डलाइन छँदैछ त । किन चाहियो मोबाइलमा ब्यालेन्स हाल्न ? जग्गा किनेको ऋण फाइनल नै भएको छैन फेरि घर बनाउनु छ । बेला बेला छोरीको फी तिर्नुपर्छ । फजुलको खर्च किन गर्नु ?’

    मानुषीलाई पनि श्रीमानको कुरा ठीकै लाग्थ्यो । त्यसैले उसले आफ्ना रहरहरुलाई विस्तारै बिर्सिंदै जाँदै थिई । भगवानले सबैका इच्छा पूरा गर्छन रे ! तर, उसको भगवानले कुनै इच्छा पूरा गरेको थिएन । मानुषीले पनि कर गर्दैनथी ।

    उसले आफूलाई मन लागेको बेला फेसबुक चलाउँथ्यो । मानुषीले पनि आशालाग्दा नजरले हेरेको देखेर हटस्पट खोलिदिन्थ्यो । दुबैले चलाउँथे सोसल मिडिया ।

    भगवानलाई फेसबुक चलाउन मन नलागे हटस्पट बन्द गर्थ्यो । यसरी एक्कासि हटस्पट बन्द गर्दा मानुषीलाई दिक्क लाग्थ्यो । उसलाई रुन मन लागेर आउँथ्यो । उसले कति साथीका फोटोमा लाइक गर्न भ्याएको हुन्नथ्यो । कति साथीलाई जन्मदिनको शुभकामना दिन ढिला भएको हुन्थ्यो भने कति साथीको म्यासेजको रिप्लाइसमेत समयमै गर्न नसक्नुको पीडा बोकेकी थिई । नयाँ फोटो राख्न नपाएको पनि महिनौं भैसकेको थियो भने फोटोको कमेन्ट, लाइक र रिप्लाइसमेत गर्न पाएकी थिइनन् । उसलाई मनमा कताकता नरमाइलो हुन्थ्यो । औडाह छाउँथ्यो । तर, भन्न केही सकेकी थिइनन् ।

    त्यो रातभरि दुबैलाई छटपटी नै भयो । दोस्रो दिन भगवान कोठामा भए, मानुषी बर्दलीमा । मानुषी कोठामा भए, भगवान बार्दली । दुबैले जेठाजु बहुरानीको जस्तै गरे ।

    भगवान साढे नौ बजे झोला बोकेर अफिस गयो । मानुषीले पनि खाना खुवाएर छोरीलाई स्कुल पुर्‍याई । कोठामा आई । तयार भएर साथीहरुसँग ऊ पनि घुम्न गई । कतिपछि भेट भएका साथीहरुसँग दुःखसुख बाँडे । हाँस्दै, रमाउँदै समय गएको पत्तै भएन । साँझ अबेर घरमा आई । भगवान खाना बनाएर खाएर छोरीलाई सुताएर आफू ओछ्यानमा पल्टिएर फेसबुक चलाउँदै थियो ।

    मानुषीको आगमन अप्रत्याशित जस्तै लाग्यो, उसलाई । अघिदेखि तीनचार पल्ट फोन गर्दा उठेन । अहिले एक्कासि कोठामै पुगेको देखेर भगवानले ठूल्ठूला आँखाले हेर्न थाल्यो । उसका मनमा अनेक तरहका शंका उपशंकाहरु पलाउन थाले । आफ्नो वरपरको परिवेश पूरै कालो देख्न थाल्यो । उसलाई मानुषी देखेर रिस उठेर आयो । तर, केही बोलेन ।

    मानुषी लुगा फुकालेर भान्सामा पसी । भान्सामा रित्ता भाँडाहरुमात्र थिए । मिटिङ हलमा सुगा एकोहोरो कराइरहेको थियो । सुगाको नाम मानुषीले सोना राखेको थियो ।

    सात महिनाअघि माइतबाट फर्किंदा बाटोमा भेटेको थियो सोनालाई । सोना जाति थियो । मानुषीको लागि पक्षी कम मान्छे ज्यादा । उसको घरमा एक्लो हुँदाको साथी भनेको त्यही सोना त हो । सोनाले घरका सबै सदस्यको नाम मान्छेले जस्तै पुकार्थ्यो । साउ अक्षर अंग्रेजी पनि बोल्थ्यो । आई लभ यु गड । गुड मर्निङ डियर । उसले सधैं भन्ने गरेका सेन्टेन्स थिए ।

    एक दिन सोनालाई आँगनमा लगेर छोडेको पनि हो । तर, दिनभरि कता कता डुल्यो । साँझ फेरि त्यही आँगनमा आएर मानुषी भन्दै करायो । ढोका खोल्दा सोनालाई देखेर मानुषीले मनलाई थाम्नै सकिनन् । ऊ खुब रोई । कोठामा ल्याइ काखमा राखेर सुम्सुम्याइ । त्यसपछि मानुषीले कहिल्यै आँगनसम्म पु¥याउने कुचेष्टा गरिनन् । बरु ऋचालाई जति नै माया गर्न थाली ।

    एक महिनायता सोनाले राम्ररी खान पाएको छैन । मानुषीलाई बेचैनी बढेदेखि ऊ कसैसँग बोल्दिनन् । ऊसँग बात मार्न मानुषीलाई फुर्सद नै छैन । छोरी, ऋचाले पनि उसको खातिरदारी गर्न पटक्क छोडी । भगवान आफ्नै कोठामा व्यस्त हुन्छ । सोना घरका सबै सदस्यबाट निराश भएको छ । उसका मनमा कुनै दिप्ती छैन ।

    मानुषीले खाना बनाई, खाई र कोठामा पसी । भगवान निदाइसकेको थियो । उसलाई आज दिउँसोका फोटो फेसबुकमा पोस्ट गर्ने मन थियो । तर, न उसको मोबाइलमा ब्यालेन्स न त हटस्पट नै अन । भगवानको निन्द्रा बिग्रेला किन डिस्ट्रब गर्नु सोची । एकछिनमा थाकेकोले भुसुक्क निदाई ।

    उनीहरुको युद्ध भने रुस र युक्रेनको जस्तै भयो । कसैले आत्मसर्मपण गरेनन् । प्रेममा युद्ध मिसियो भने त्यो झन् खतरनाक हुँदोरहेछ । एक अर्कोसँग बोल्न लगभग छोडिसकेका थिए । तर, आआफ्नो काम भने दुबै गरिरहेकै थिए ।

    मानुषीले घर छोड्नु अघिल्लो दिन,

    मानुषीको अलि अबेर निन्द्रा खुल्यो । हतार हतार उठेर दूध लिएर आई । बार्दलीबाट लेमन ग्रास चुडेर चिया उमाली । नास्ता तयार पारेर टेबलमा राखिदिई ।

    आठ बजेतिर खाना तयार पारी । दुई चोइली भात थालमा के पस्केकी थिई । भगवान केही नबोलेर अफिस जाने झोला बोकेर निस्कियो । हप्ता दिनदेखि भगवान भान्सामा पसेकै छैन । खाना तयार हुनेबित्तिकै कोठा छोडेर भाग्थ्यो भने राति अबेर मात्तिएर आउँथ्यो ।

    उसले अफिस निस्किेको भगवानलाई एकोहोरो हेरिरही । भगवान आँखाबाट ओझेल भएपछि ऊ धेरैबेर एक्लै टोलाएर बसी । मनमनमा आफूलाई धिक्कार पनि गरिरही । अकारण अस्वीकार हुनुले उसलाई पिरोलिरह्यो । आफूले आफैंलाई हीन भावले हेरिरही । जिन्दगीको कुनै टुङ्गो नभए पनि कसरी चल्छ यत्रो जिन्दगी ? उसले कल्पनासमेत गर्न सकिनन् । र पनि छोरीलाई खाना खुवाएर रोडमा हर्न बजाइरहेको स्कुल बससम्म पुर्‍याएर फर्की । भगवानको व्यवहारले उसको खानाप्रतिको रुचि मरिसकेको थियो । तर पनि मुख जुठो पारी । बार्दलीमा गएर कपाल कोर्न थाली ।

    स्कुटरको आवाज गुन्जियो उसको कानमा । सडकतिर हेरी । स्कुटर पल्लोघरको अधबैसे स्वास्नीमान्छेको थियो । ती स्वास्नीमान्छेसँग मानुषीको दुईचार पल्ट भेटघाट भएको थियो । सँगै बसेर बात पनि मारेका थिए । स्वास्नीमान्छे एउटा गैरसरकारी संस्थामा प्रोजेक्ट अफिसर भएर काम गर्थिन् । एक छोरो र आमा विगत सात वर्षदेखि त्यसै घरमा भाडामा बस्दै आएका थिए ।

    ती स्वास्नीमान्छेले एक भेटमा भनेकी थिइन्, ‘म बिहेअघि नै एनजीओमा काम गर्थे । श्रीमानले जागिर छोड भनी कर गर्न थाले । मैले मानिनँ । उनले अफिसकै एक सरको जारी लगाउन थाले । सम्बन्ध चिसिँदै गयो ।’ उनले फेरि थप्दै भनेकी थिइन्, ‘म माथि हातपात गर्न खोजे । विनाकारण पनि माइतीलाई दोष दिएर गाली गर्ने । सँगै बस्ने अनुकूल वातावरण रहेन । एक्लै बस्नुपर्दा गाह्रो त हुन्छ । मायाको अभाव त खड्किन्छ । तर, हिंसा सहेर बस्न सकिँदो रहेनछ । चुप लागेर कति दिन बस्ने ? अनि निर्णय लिएँ ।’

    ती स्वास्नीमान्छेको कुरा उसको कानमा धेरै बेर गुन्जिरह्यो । विगत चार महिनादेखि भगवानले गर्दै आएको उपेक्षा र हिंसात्मक गतिविधिलाई श्रृङ्खलाबद्ध रुपमा सम्झिन थाली । उसलाई अझै सहेर बसिरहन मन लागेन ।

    उसलाई लाग्यो, अब आफैं हाल्छु आफ्नो मोबाइलमा ब्यालेन्स । आफैं किन्छु डाटा र मनलागी चलाउँछु सोसल मिडिया । कति हटस्पटले काम चलाउनु ? चाहिँदैन कसैको हटस्पट ।

    अनायासै उसका आँखा रसाएर आए । हर्थुलुङ्गोले आँसु पुछी । एक्कासि उठेर कोठामा आई । र्‍याकबाट कपी र कलम झिकी । टेबुलमा बसेर लेख्न थाली ।

    प्रिय भगवान,

    यतिञ्जेल तिमी मेरो लागि भगवान नै भएर बसेका थियौ, मनको कुनै कुनामा । म त मान्छे न परें । मान्छेसँग भगवानको सम्बन्ध सुमधुर रहेन, यतिञ्जेल भोगाइले प्रमाणित भयो । भगवानसँग मान्छे खुसी र सुखी नहुँदोरहेछ । भगवान मन्दिरमा नै बस्न सुहाउँछ, घरमा होइन । किनकि भगवानहरु प्रायः पत्थरका हुन्छन्, तिनको मन पनि पत्थर नै हुँदोरहेछ । राम्रैसँग भोगियो । न तिमी मान्छे बन्न सक्यौ न त म नै भगवान बन्न सकें । म म नै भएर बाँच्न चाहन्थे । तिमीले मलाई पनि भगवान बनाउने असफल प्रयास ग¥यौ । मलाई लाग्छ, जबदेखि मान्छेहरुले पत्थरहरु पुज्न थाले । सायद त्यसै दिनदेखि ईश्वरको मृत्यु भयो । त्यसैले मान्छे र भगवान एकै ठाउँमा बस्न कदापि सक्दैनन् ।
    छोरीको ख्याल राख्नु ल ।

    तिम्रो भक्त बन्न नसकेकी मानुषी

    उसले टेबुलमा चिठी राखी । त्यसैको छेवैमा राखी कलम पनि । अनि ढोका लगाई । बर्दलीमा पुगेर उसले सोनाको आवाज सुनी । चराहरु पिँजडा सुहाउँदैनन् । चराहरु स्वतन्त्रताका सेनानी हुन् । तिनलाई आकाश नै प्यारो लाग्छ । उसले यस्तै धेरै कुरा सोच्दै सोनालाई बाहिर लगेर छोडिदिई । सोना पनि मानुषी आई लभ यू भन्दै उड्यो ।

    ++++++

    ‘हेलो फुच्चे राइटर ? कस्तो लाग्यो मैले भनेको कथा ?’
    ‘ओके छ त’, भगवान निन्द्रामा बरबरायो ।

    भगवान कुर्सीमा बस्दाबस्दै निदाइसकेको थियो । ऋचाले काँधमा समातेर हल्लायो । भन्यो, ‘बाबा …।’
    छोरीको आवाजले निन्द्रा बिथोलियो । उसले बोतलको पानी पियो । एकछिन टोलाएर बस्यो ।
    ऋचालाई काखमा राख्दै भन्यो, ‘आमाको माया लाग्छ ?’
    ‘धेरै लाग्छ नि ।’
    ‘हो ।’
    ‘हो नि ।’
    ‘ओके छ त ।’

    ऊ ऋचालाई लिएर कोठाबाट बाहिर निस्क्यो । हावा एक तमासले चलेको थियो । घण्टीका पातहरु हावामा नाच्दै थिए । रुखमा थुप्रै चराहरु कराइरहेका थिए ।

    एक्कासि रुखबाट आवाज आयो, ‘हेलो मिस्टर गड ।’

    दुबैले घण्टी फूलको हाँगामा हेरे । अनि दुबै मुस्कुराए । भगवानले भन्यो, ‘आई लभ यू सोना ।’

  • स्थानीय तहका कर्मचारीहरुकाे आन्दाेलनमा ट्रेड युनियनको विकृतिकाे चर्चा

    स्थानीय तहका कर्मचारीहरुकाे आन्दाेलनमा ट्रेड युनियनको विकृतिकाे चर्चा

    अहिले देशभित्र सबै क्षेत्र सुषुप्त द्वन्द्वको अवस्थामा छ । यो द्वन्द्वले निकास मागेको छ । धेरै क्षेत्र आर्थिक मन्दीको आशंकाले द्वन्द्वमा छ । पेशागत क्षेत्रसमेत अहिले आन्दोलनमा छ । हिजोको शिक्षक आन्दोलनपछि अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा छन् । स्थानीय तहका कर्मचारीको माग मुख्य दुइटा विषयमा केन्द्रित छ । स्थानीय तहलाई निजामती सेवा ऐनभित्र समेट्नुपर्ने र स्थानीय तहमा ट्रेड युनियनको व्यवस्था हुनुपर्ने । झट्ट हेर्दा माग स्वाभाविक लाग्छ । तर, यसभित्रको गहिराइसम्म हामी कति पुगेका छौं ? यहाँ थोरै चर्चा गरौं ।

    अहिलेसम्म सरकारी जागिरको साख र इज्जत निजामती सेवाले धानेको छ । सरकारी उपनाम निजामती सेवा मानिन्छ । संघीयतापछि पनि हामीले प्रदेश र स्थानीय तहमा निजामती सेवाको मोह बिर्सन सकेनौं । किनकि प्रदेश र स्थानीय तहको नेतृत्वसमेत कर्मचारीमैत्री हुन सकेन ।‌ कर्मचारी पनि स्थानीय राजनीतिक नेतृत्वसँग त्यति विश्वस्त देखिएनन् । त्यसैले केन्द्रीय कर्मचारी नीतिप्रति कर्मचारीको विश्वास र भरोसा आउनु स्वाभाविक हो । हाम्रोमा निजामती सेवाको अभ्यास सात दशक पुगिसकेको छ । तर, यसले दिएको नतिजा र सन्तुष्टि हाम्रासामु छर्लङ्ग छ ।

    निजामती सेवा नामले मात्र यसको सुविधा र नतिजालाई निश्चित गर्दैन । निजामती सेवाको आकर्षण यसको सेवा शर्त हो । स्थानीय तहका कर्मचारीले निजामती सेवा ऐनभित्र स्थानीय तह समेटिनुपर्ने माग राखेका छन् । यो माग नाम वा काम केप्रतिको आकर्षण हो ? बुझ्न गाह्रो छ ।

    कर्मचारीलाई सेवाको नामभन्दा वृत्ति विकास मुख्य हुन्छ । नामले वृत्ति विकास दिँदैन । निजामती सेवाभित्र समेटिनुपर्ने माग स्थानीय तहका कर्मचारीको हो । स्थानीय राजनीतिक नेतृत्व छुट्टै सेवा र नाम चाहन्छ । किनकि हाम्रो संघीयताको मर्म यही हो । स्थानीय तहका कर्मचारी र नेतृत्वको बीचमा यो विषयमा सहमति हुनसक्छ । किनकि हामीले छुट्टै सरकारको अभ्यास संविधान र ऐनबाट गरिसकेका छौं । संघीय निजामती सेवाका शर्तसँग नबाझिने गरी प्रदेश र स्थानीय तहले कानून बनाउने व्यवस्था संविधानमै छ । सेवा शर्त नबाझिने गरी तल्ला सरकारले कानून बनाउने तर, सरकारपिच्छे सुविधा थप्न बाधा नपुग्ने विषय राख्दा कर्मचारीमा वृत्ति विकास र सन्तुष्टि मिल्नसक्छ ।

    कर्मचारीलाई सेवाको नामभन्दा वृत्ति विकास मुख्य हुन्छ । नामले वृत्ति विकास दिँदैन । निजामती सेवाभित्र समेटिनुपर्ने माग स्थानीय तहका कर्मचारीको हो । स्थानीय राजनीतिक नेतृत्व छुट्टै सेवा र नाम चाहन्छ । किनकि हाम्रो संघीयताको मर्म यही हो । स्थानीय तहका कर्मचारी र नेतृत्वको बीचमा यो विषयमा सहमति हुनसक्छ ।

    संघ, प्रदेश र स्थानीय तहका निश्चित पदमा प्रतिस्पर्धाबाट संघसम्म आइपुग्ने कोरिडर दिन सकिन्छ । अन्तरप्रदेश, अन्तरस्थानीय तह सरुवा र बढुवाका विषय प्रदेश सरकारकै अधिकार हो । यो खासै ठूलो विवादको विषय होइन । यसो गर्दा अन्तरतह वृत्ति विकास नरोकिने र निजामती सेवाको अनुशासन र शर्त सबै तहले पाउँछन् । प्रदेश र स्थानीय तहले छुट्टै नाम र सेवा गठन गर्दा कर्मचारी मर्कामा पर्दैनन् । प्रमुख प्रशासकीय अधिकृत पठाउने विषय स्थानीय तहका कर्मचारीको माग होइन । यो विषय सङ्घीय ऐनको विषय हो । तर, हामी संघीयतालाई कति सफल पार्न चाहन्छौं । कर्मचारी नीतिले संघीयताको सफलता र असफलतालाई निर्क्योल गर्दै जान्छ ।

    अहिले स्थानीय तहमा ट्रेड युनियनको व्यवस्था छैन । स्थानीय तह सुशासन प्राप्त गर्ने केन्द्रीय विन्दु हो । यहाँ राजनीतिक नेतृत्वसमेत दलगत हुनुहुँदैन भन्ने मान्यता रहन्छ । कमसेकम हाम्रोमा दलगत भए पनि स्थानीय तहको सरकारलाई स्थायी सरकार मानिन्छ । यहाँ दलगत होइन, प्रजातान्त्रिक अभ्यास हुन्छ निर्णय प्रक्रियामा । त्यसैले यो तहबाट नतिजा लिन साह्रै सजिलो हुन्छ । त्यसैले यो तहमा कर्मचारी ट्रेड युनियनको अधिकार दिनुहुँदैन । पेशागत हकहित र सामूहिक सौदाबाजीका थुप्रै अभ्यास हुनसक्छन् । संघीय ट्रेड युनियन महासंघले स्थानीय तहका जुनसुकै कर्मचारीको मर्का सुन्ने र स्थानीय तहमा मर्का सुनुवाइ प्रतिनिधि तोक्नसक्छ । उनीहरूको मर्का संघीय ट्रेड युनियनले सुन्नसक्छ ।

    ट्रेड युनियन दलगत रङ्गमा फसेकाले यो समस्या देखिएको हो । हामीले अहिलेसम्म संघीय ट्रेड युनियनको विकृति देखिसकेका छौं । कर्मचारीलाई ट्रेड युनियनले राजनीतिमै विभाजन गरिदियो । वृत्ति विकासका विषयमा समेत हस्तक्षेप भयो र आज ट्रेड युनियनले राजनीतिक र प्रशासनिक नेतृत्वको विश्वास जित्न सकेको छैन । संघीय सेवामा समेत यसका अधिकारका विषयमा छलफल हुँदैछ । स्थानीय तहका कर्मचारीको पेशागत हकहित र माग सम्बोधन केन्द्रीय ट्रेड युनियन महासंघले स्वतन्त्र रुपमा गर्ने व्यवस्था राम्रो हुन्छ । स्थानीय तहका कर्मचारीलाई दिने ट्रेड युनियनको अधिकार सैद्धान्तिक रुपमा राम्रै होला । तर, व्यवहारिक रुपमा स्थानीय नेतृत्वसँग राजनीतिक गन्ध विभाजित गर्ने कामले भोलि आजकै अवस्थाबाट गुज्रनुपर्छ । यो विषय माग र दबाबको आधारमा होइन, अनुभवको आधारमा पनि सिक्नु जरुरी छ ।

    स्थानीय तहका कर्मचारीलाई बाटोमा आन्दोलन गर्न दिएर रमिता हेर्नुहुँदैन । नीतिगत र सैद्धान्तिक संवाद गर्नु अत्यन्त जरुरी छ । किनकि देश सुषुप्त द्वन्द्वको अवस्थामा छ । वेतनधारी कर्मचारीले समेत आगोमा घिउ थप्दै जाने हो भने बाहिरी वातावरण त्यति सकारात्मक छैन । हाम्रा माग अहिलेको राजनीतिक र आर्थिक समस्याभन्दा त्यति गहन र दरिला छैनन् । यी विषयलाई चाहेमा नेतृत्वले टेबलको संवादबाट समाधान गर्न सकिन्छ ।

    (दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)

  • ‘बहुदल्नी बुढी’को आँगनबाट मोडिएर देवेन्द्र दाइको दैलोमा पुगेपछिका नमेटिने स्मरणहरु

    ‘बहुदल्नी बुढी’को आँगनबाट मोडिएर देवेन्द्र दाइको दैलोमा पुगेपछिका नमेटिने स्मरणहरु

    केही दिनअघि सिटी सेन्टरबाट नागपोखरीतर्फ मोडिँदै थिएँ । देब्रेतिर कमलपोखरी किनारामा सबै उमेर समूहका मानिस विचरण गरिरहेको मनरोम दृश्यले मलाई एकाएक ‘नोस्टाल्जिक’ बनाइदियो । ‘नोस्टाल्जिया’को पहिलो अनुहार वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतम मेरो मानसपटलमा आउनुभयो ।

    त्यसको एक दुई दिनअघिमात्र भाइ किरण गौतमले बुबा स्वर्गीय देवेन्द्र दाइको बारेमा केही लेख्न आग्रह गरेका थिए । तर, मेरो दिमागमा के लेख्ने भन्ने खाली थियो । कमलपोखरीको त्यो फेरिएको स्वरुप र किरणको आग्रहसँगै स्मृतिमा देवेन्द्र दाइ आएपछि केही लेख्न बसें ।

    कमलपोखरीको अहिलेको फेरिएको स्वरुपसँग मेरो पत्रकारिताको पुरानो साइनो छ । अनि यसमा देवेन्द्र गौतमको योगदान । पचासको दशकको अन्तिमतिर २०५८ सालमा म साप्ताहिक पत्रिकाबाट त्यसबेला भनिने व्यवसायिक पत्रकारितातर्फ पाइला मोड्दै थिएँ ।

    राजधानी दैनिकमा आबद्ध भएपछिको सम्भवतः मेरो पहिलो बाइलाइन स्टोरी थियो ‘नमुना पार्क पोखरी बन्दैछ कमलपोखरी’ । सायद यही शीर्षकमा मेरो र विमल गौतमको संयुक्त बाइलाइन स्टोरी राजधानीको एंकरमा (पहिलो पृष्ठको दाहिने पुच्छरमा) प्रकाशित भएर बजारमा आउँदा मेरो खुट्टाले भुईं छोडेको थियो ।

    विमल गौतम (हाल लोकान्तर डटकमको प्रधान सम्पादक) देवेन्द्र दाइको घर पछाडि स्पेशल मःमः सेन्टरको छेउमा डेरा बस्थ्यो । उनीहरु तीन दाजुभाइ बस्ने डेरामा म पटक पटक जान्थें । किनकि सातामा एक दिन देवेन्द्र दाइको घरमा म जानु नै थियो, जसको कारण म पछि खोल्नेछु यो लेखमा ।

    समाचार आएलगत्तै देवेन्द्र दाइले फोन गर्नुभयो, तिमी केटाहरु अलि हतार गर्छौं । मैले भने जस्तो अझै आएन । तर पनि लेखाइ राम्रो छ, भरे भक्तपुरे खान आऊ । मामीले सिप्लिकानको अचार पनि बनाकी छन् । (भक्तपुरे ऐला हाम्रो स्पेशल थियो अनि स्पिलीकान मिसाको आलुको अचार) ।

    विद्यासुन्दर शाक्य काठमाडौंको मेयर भएपछि कमलपोखरी साँच्चिकै देवेन्द्र दाइले सोचे जस्तै नमुना पार्क पोखरी बन्यो । यद्यपि त्यो बन्न नदिन केही अभियन्ताहरु कमलपोखरीको माटो निधारमा टीका लगाएर विरोधमा उत्रिए ।

    खासमा त्यो स्टोरीको आर्किटेक्ट नै देवेन्द्र दाइ हुनुहुन्थ्यो । उहाँ कमलपोखरी संरक्षण तथा विकास समितिको अध्यक्ष बनेर पानीविहीन भइसकेको कमलपोखरीलाई पुनर्जीवन दिने अभियानमा लाग्नुभएको थियो । त्यसको स्टोरी मैले गरेको थिएँ । उहाँको सपना पूरा हुन भने धेरै समय लाग्यो ।

    विद्यासुन्दर शाक्य काठमाडौंको मेयर भएपछि कमलपोखरी साँच्चिकै देवेन्द्र दाइले सोचे जस्तै नमुना पार्क पोखरी बन्यो । यद्यपि त्यो बन्न नदिन केही अभियन्ताहरु कमलपोखरीको माटो निधारमा टीका लगाएर विरोधमा उत्रिए ।

    कमलपोखरीले पुनर्जीवन पाउँदासम्म देवेन्द्र दाइ भने त्यो ठाउँ छाडेर भक्तपुरतिर सरिसक्नुभएको थियो । आज कमलपोखरी नमुना पार्क पोखरी बनेको छ । २२ वर्षअघिको मेरो बाइलाइन समाचार सार्थक भएको छ । तर, मेरो समाचारको आर्किटेक्ट अग्रज पत्रकार देवेन्द्र गौतम भने हामीबीच हुनुहुन्न ।

    पहिलो भेट

    देवेन्द्र गौतमलाई मैले देखेको र चिनेको २०५५ सालतिर हो । तर, त्यो देखाइ र चिनाइ एकोहोरो जस्तो मात्र थियो । म भर्खरै पत्रकारितामा लागेको थिएँ । देवेन्द्र दाइ नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो ।

    त्यसको केही समयपछि २०५६ मा किसुनजी प्रधानमन्त्री भएर अध्यक्ष किशोर नेपाल प्रेस सल्लाहकार बन्न गएपछि देवेन्द्र दाइ महासंघको कार्यवाहक अध्यक्ष बन्नुभयो । त्यसबेला पत्रकार महासंघको कार्यालय बागबजार रत्नराज्य क्याम्पसको पछाडि घरमा थियो ।

    म आरआरकै विद्यार्थी पनि भएकाले कक्षा सकिएपछि महासंघमा जाँदा आउँदा कार्यबाहक अध्यक्ष देवेन्द्र दाइ, महासचिव सुरेश आचार्य, सचिव किशोर श्रेष्ठलगायत अग्रजहरुसँग चिनजान भएको जस्तो लाग्छ । यो पनि अब २५ वर्षअघिको इतिहास भइसक्यो ।

    २०५४ को अन्तिमतिर म साँघु साप्ताहिक छाडेर सूर्योदय साप्ताहिकको सहसम्पादक भएको थिएँ । त्यहाँ सम्पादक बालकुमार नेपालका समकालीन र अग्रज दौंतरी पत्रकारहरु गोकुल बास्कोटा, सूर्य थापा, प्रमोद दाहाल, राजकुमार रेग्मी, केपी गौतमहरुको जमघट हुन्थ्यो । यी सबै जनासँग मेरो चिनजान त्यसैबेला भएको हो र आजपर्यन्त घनिष्ट सम्बन्ध छ ।

    एक दिन डिल्लीबजार पिपलबोट नजिकै ‘बहुदल्नी बुढी’को मदिरालयमा गफगाफकै सिलसिलामा केपी गौतमले मलाई हप्ताको एक दिन सोमबार नयाँ करेन्ट साप्ताहिकको लागि समाचार लेख्न प्रस्ताव गरे । मेरो लेखन शैली र घ्राण शक्तिका कारण त्यो प्रस्ताव राखेको उनको भनाइ थियो । एक ठाउँमा काम गरेर पेट पाल्न गाह्रो हुने भएकाले तत्कालै मैले उक्त प्रस्ताव स्वीकार गरें ।

    बहुदल्नी आमै (सबैले बहुदल्नी बुढी भन्थे)को मदिरालयको प्रसंग ल्याएपछि त्यसबारे प्रस्ट नपार्दा अपूरो हुनसक्छ । डिल्लीबजार पिपलबोटको खाल्डोमा अहिले पनि एउटा माटोको पुरानो घर छ । त्यहाँ ज्ञानदेवी भन्ने दिदीले घरेलु मदिरा र छोइला बनाउँथिन् र मान्छेहरु सुकुलमा बसेर खान्थे ।

    आज कमलपोखरी नमुना पार्क पोखरी बनेको छ । २२ वर्षअघिको मेरो बाइलाइन समाचार सार्थक भएको छ । तर, मेरो समाचारको आर्किटेक्ट अग्रज पत्रकार देवेन्द्र गौतम भने हामीबीच हुनुहुन्न ।

    मैले त्यहाँ अहिलेका केही चर्चित युवा नेता, वकिल, पत्रकारहरुलाई चिनेको हुँ । उनीहरुको अनुमतिविना नाम उल्लेख गर्न आचारसंहिताले मिलेन । तर, पत्रकारहरु पदमसिंह कार्कीदेखि राजकुमार रेग्मीसम्म जीवित साक्षी हुनुहुन्छ । ज्ञानदेवीकी फुपू जसलाई मैले देखिनँ, उनलाई बहुदल्नी बुढी भन्थे रे ! अर्थात त्यसबेलाका बहुदलवादी नेताहरुको ‘जक्सन’ थियो रे !

    कतिपयले त शेरबहादुर देउवादेखि पूर्णबहादुर खड्कासम्मले खाएको उधारो ५०-५५ रुपैयाँ याक चुरोटको भित्री कागजमा लेखेर राखेको थियो समेत भन्थे । मैले पछिसम्म नेता भेटेको चाहिँ स्वर्गीय रामहरि ढुंगेल हो । देउवाले बहुदल्नी आमैको उधारो तिर्नुभयो वा भएन यसबारे रिपोर्टिङ गर्ने चाहना अहिलेसम्म पूरा भएन ।

    ‘बहुदल्नी बुढी’को मदिरालय अगाडि सूर्योदयको कार्यालय थियो । पवन थापा कुन्तलले हिन्दू साप्ताहिक पनि त्यहीबाट निकाल्नुहुन्थ्यो, त्यो एक प्रकारले गोश्वारा कार्यालय थियो । केपी गौतमले नै कमलपोखरीमा लगेर मलाई नयाँ करेन्टमा काम लगाएपछि देवेन्द्र दाइसँग व्यवसायिक हुँदै पछि गएर पारिवारिक भावनात्मक सम्बन्धमा गासियौं ।

    देवेन्द्र गौतमको परिवारसँग मेरो पत्रकारिताभन्दा पृथक भावनात्मक सम्बन्ध रह्यो । मैले कतिपटक मैतिदेवी र गौरीघाटका डेरामा बस्दा भाइ बहिनीको पेट भर्न त्यो घरबाट ‘सामल र तिउन’समेत लगेको छु भन्दा मलाई आज कुनै लज्जाबोध छैन बरु गर्व लाग्छ ।

    किनकी त्यो यथार्थ विगत हो र म वर्तमानको यथार्थ हुँ ।यतिसम्मकी मेरो विवाहमा बेहुलीको सारी समेत सोही घरबाट लगेको थिएँ ।

    केही रोचक घटना र कृतघ्न पात्रहरुबारे

    नयाँ करेन्टमा हामी सातामा एक दिन जम्मा भएर काम गथ्र्यौं । एक प्रकारले जनवादी सहयोग थियो । देवेन्द्र दाइको पत्रिकाबाट आयआर्जन थिएन, त्यो एक प्रकारले उहाँको पाइन राख्न र पत्रकारितामै जीवन बिताउने प्रणमात्र थियो ।

    युवराज विद्रोही, फूलमान वल, लक्ष्मण भण्डारीलगायतका साथीहरु पनि त्यसमा जोडिएका थिए । तर, म चाहिँ चाँडै त्यस परिवारमा केपी गौतमपछिको भित्रिया बन्न पुगें । मामी र भाइहरु प्रदिप्न र किरणले परिवारकै सदस्यको रुपमा व्यवहार गरे ।

    देवेन्द्र दाइबाट पत्रकारितामा सिकेको भनेको सूचनाको स्रोत बनाउने, त्यसको संरक्षण गर्ने र जीवन्त सम्पर्कमा ररिरहने नै हो । जो आज पर्यन्त मेरो पत्रकारिताको मूलमन्त्र हो । उहाँले चिनाएका कतिपय व्यक्तिहरु आज पनि मेरो सूचना र विश्लेषणका स्रोतहरु बनिरहेका छन् ।

    तत्कालीन राजदरवारका सचिव चिरन शमशेर थापा, सोल्टी होटलका मालिक प्रभाकर शमशेर जबरा, उद्योगपति मोहनगोपाल खेतान, हुलाशचन्द गोल्छा, स्पेसटाइम नेटवर्कका जमिम शाह जस्ता व्यक्तिहरु उहाँलाई फोन गरेर समसामयिक विषयमा सूचना र विश्लेषण जान्न खोज्थे ।

    करिब २० वर्ष जति मैले नयाँ करेन्टमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गरें । त्यसबीचमा घरको सदस्य जस्तै बनियो । कमलपोखरीस्थित गौतम निवास देशका नेता, पत्रकार र प्रतिष्ठित व्यक्तिहरुको जमघटस्थलसमेत थियो कुनै बेला । कीर्तिनिधि विष्टसम्मलाई मैले त्यहाँ भेटेको हुँ ।

    लामो अवधिका असंख्य स्मरणहरु छन्, जुन उल्लेख गर्नुको अर्थ पनि छैन । २०५८ सालतिर होला देवेन्द्र दाइ नेपाल पत्रकार महासंघको अध्यक्षको उम्मेदवार बन्नुभयो । हायात होटलमा महाधिवेशन थियो । उहाँबाट रक्सीका बोतल लिएर भोट चाहिँ अर्कैतिर दिएका कृतघ्न पात्रहरु अहिले पनि महासंघको राजनीतिमा बिचौलिया बन्ने गरेका देखिन्छन् । मलाई ती पात्रहरुदेखि हल्का घृणा जाग्छ । तर, मुर्मुरिनुको विकल्प छैन ।

    जसले उहाँलाई अध्यक्षमा सघाउने भने अन्तिममा रातारात राजनीतिक समीकरण बनाएर उहाँलाई धोका दिए । पत्रकार महासंघको अध्यक्ष बन्ने उहाँको सपना पूरा नभए पनि नेपाली पत्रकारिताको एउटा अविश्रान्त नायक बनेर बिदा हुनुभयो ।

    आम सञ्चार संग्रहालय बनोस् र नेपालको पत्रकारिता तथा आमसञ्चारको विकासका सबै कालखण्डको बारेमा जान्न बुझ्न चाहने भावी पुस्ताको लागि राम्रो अभिलेख रहोस् भन्ने उहाँको एकमात्र चाहना थियो ।

    मैले पहिलो पुस्ता र त्यसपछिका अग्रज पत्रकारहरु बालमुकुन्ददेव पाण्डे, देवेन्द्र गौतम, केदारमान सिंह, पदमसिंह कार्की, ध्रुवहरि अधिकारी, गोपाल बुढाथोकी, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ,गोपाल थपलिया,हेम पाठक,पुरुषोत्तम दाहाल,किशोर नेपाल,जीवेन्द्र सिम्खडा,कपिल काफ्ले,महेश्वर दाहाल,ओम शर्मा, बालकुमार नेपाल, अरुण बराललगायतको नेतृत्वमा काम गर्ने मौका पाएँ । सायद यस्तो मौका र संगत मेरा समकालीन कमैले पाए होलान् ।

    आज उहाँहरुमध्ये केही हुनुहुन्न । केही अहिले पनि सक्रिय पत्रकारितामै हुनुहुन्छ । काम त किशोर नेपालसँग पनि गरियो । तर, उहाँ नेपाल वान टेलिभिजनको प्रधान सम्पादक भएर दिल्लीबाट आए पनि कार्यालयमा आउनुभएन । बाहिरै कतै बसेर मुकुन्द दाहालजीमार्फत हामीले निर्देशन पाउने भएकाले संगत भएन ।

    आमसञ्चार संग्रहालयको अपूरो सपना

    देवेन्द्र गौतमले पञ्चायतकालमा पनि हण्डर खाएका कथा पढियो । आकाश पाताल र समाचारभित्रको समाचार उहाँका स्तम्भहरुबाट पनि धेरै थाहा पाइयो ।

    पत्रकारिता गरेर उहाँले के कमाउनु भयो थाहा छैन । तर, जीवनको उत्तरार्द्धमा कमलपोखरीको पैतृक सम्पत्तिसमेत बेचेर हिँड्नुभयो । यसका अरु पाटाहरु मलाई थाहा छैन । तर, पत्रकारिताबाहेक उहाँले अरु केही गर्नुभएको थाहा छैन ।

    आज मलाई उहाँको बारेमा के लेख्ने, के नलेख्ने धेरै उछालकुद भइरहेका बेला एउटा प्रसंगमात्र जोडेर यसलाई बिट मार्न चाहन्छु । २०७० र २०७२ सालमा गरी २ पटक म सञ्चार मन्त्रालयको सल्लाहकार बनें । त्यसबेला दाइले धेरै केही माग्नुभएन ।

    आम सञ्चार संग्रहालय बनोस् र नेपालको पत्रकारिता तथा आमसञ्चारको विकासका सबै कालखण्डको बारेमा जान्न बुझ्न चाहने भावी पुस्ताको लागि राम्रो अभिलेख रहोस् भन्ने उहाँको एकमात्र चाहना थियो ।

    कमलपोखरीको घरमै तत्कालीन सञ्चारमन्त्री शेरधन राईसहित रात्रीभोजमा हामीबीच लामो सल्लाह भयो र आमसञ्चार संग्रहालय बनाउने निर्णय मन्त्रालयबाट गरियो । त्यही बेला हामीले नै गोरखापत्र प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय पनि गरेका थियौं ।

    देवेन्द्र दाइले आफ्नो घरमा भएका विभिन्न कालखण्डमा ऐतिहासिक दस्तावेज र पत्रिका छाप्ने पुराना प्रेसहरु पनि आमसञ्चार संग्रहालयलाई दिन चाहनुभएको थियो । गिद्धे प्रेसदेखिका सबै अभिलेखहरु त्यसमा रहोस् भनेर उहाँले आफूसँग रहेका सबै ऐतिहासिक संग्रहहरु पनि दिनुभएको थियो ।

    अहिले मलाई थाहा छैन, यो के भइरहेको छ भन्ने । तर, यतिमात्र भन्छु आमसञ्चार संग्रहालय बन्छ वा त्यो व्यवस्थित रुपमा रहन्छ भने त्यसमा कतै स्वर्गीय दाइ देवेन्द्र गौतमको नाम अंकित होस् । दाइ हामीबीच सदा स्मरणमा रहनुहुनेछ ।

  • अनलाइन सट्टेबाजीले खोक्रो बनाउँदै अर्थतन्त्र

    अनलाइन सट्टेबाजीले खोक्रो बनाउँदै अर्थतन्त्र

    पछिल्लो समय नेपालमा अनलाइन सट्टेबाजी चिन्ताजनक रुपमा बढेको छ, जसले देशका युवा र कमजोर अर्थतन्त्रमा दूरगामी परिणाम ल्याएको छ । नेपाल राष्ट्र बैंकले बढ्दो यस खतरा रोक्न प्रयास नगरेको होइन । तर पनि निश्चित भुक्तानी गेटवे र बेटिङ कम्पनीहरूसँग जोडिएका एजेन्टहरूको लापरबाहीका कारण भूमिगत जुवा उद्योग फस्टाउने क्रम जारी छ । सरकारले पनि अवैध जुवा खेल्ने गतिविधि रोक्ने प्रयास बढाएको छ । जुवा खेलाउने एजेन्टहरूको पहिचान र पक्राउ गर्ने कार्यलाई सरकारले तीब्र बनाएको छ ।

    मनमोहक दृश्य र समृद्ध संस्कृतिका लागि प्रख्यात नेपाल अनलाइन सट्टेबाजीको अँध्यारो पक्षसँग जुधिरहेको छ । छिटो पैसा कमाउने लोभले मुख्यतया युवाहरूलाई जुवाको भर्चुअल संसारमा लोभ्याएको छ, जसले परम्परागत मूल्य मान्यता र आर्थिक स्थिरताको क्षयमा योगदान पुर्‍याएको छ । गाउँहरू पहिले नै यस लतको चपेटामा परेका थिए । जबकि शहरहरूले पनि बढ्दो ऋण र जुवासम्बन्धी मुद्दाहरूको दबाबमा उनीहरूको सामाजिक कपडाको मैदान देखेका छन् ।

    नेपाल राष्ट्र बैंकले यसअघि पूँजीलाई देश बाहिर जान नदिन र अर्थतन्त्र जोगाउन अनलाइन सट्टेबाजीमा प्रतिबन्ध लगाएको थियो । दुर्भाग्यवश, धेरै भुक्तानी गेटवेहरू अवैध लेनदेनमा पर्याप्त नियन्त्रण गर्न असफल भएका छन्, जसले उद्योगलाई निरन्तरता दिन अनुमति दिएको छ । यसले सट्टेबाजी कम्पनीहरूका लागि काम गर्ने एजेन्टहरूको विशाल नेटवर्कलाई भत्काउन थप चुनौतीपूर्ण साबित भएको छ ।

    सरकारले अब यो समस्यालाई सम्बोधन गर्ने आवश्यकतालाई बुझेको छ र नियन्त्रण पुनः प्राप्त गर्न पर्याप्त प्रयास गरिरहेको छ । अधिकारीहरूले भूमिगत जुवा उद्योगको सफलतामा महत्वपूर्ण भूमिका खेलेका यी मायावी एजेन्टहरूलाई पहिचान गर्न र पत्ता लगाउन अथक प्रयास गरिरहेका छन् ।

    नेपालमा अनलाइन सट्टेबाजी बढ्नु आर्थिक चिन्तामात्र होइन, सामाजिक संकट पनि हो, जसले विशेष गरी युवा पुस्ता गलत बाटोमा डोर्‍याउँछ । युवाहरूलाई सजिलो पैसाको लोभबाट टाढा लैजान र जुवाको लतको विनाशकारी नतिजा महसुस गर्न गराउन शिक्षा र सचेतनाका कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ ।

    सरकारले भुक्तानी गेटवेहरूको कडा निगरानी गर्दै गैरकानूनी लेनदेन पत्ता लगाउन र रोक्न वित्तीय संस्थाहरूसँग सक्रिय सहकार्य गर्दै आएको छ । त्यस्तै अनलाइन सट्टेबाजीका खतराबारे जनचेतना जगाउने कामसमेत सरकारले गर्दै आएको छ । नागरिकहरूलाई जुवासँग सम्बन्धित कुनै पनि संदिग्ध गतिविधि रिपोर्ट गर्न प्रोत्साहित पनि गर्दै आएको छ ।

    रेमिट्यान्समा निर्भरका कारण पहिलेदेखि नै नाजुक रहेको नेपालको अर्थतन्त्र अवैध सट्टेबाजीमार्फत पैसाको निकासका कारण थप तनावग्रस्त बनेको छ । यस भूमिगत अर्थतन्त्रमा डिस्पोजेबल आम्दानी जम्मा भएकोले रोजगारी र आर्थिक वृद्धिमा असर पारेको छ । जसले स्थानीय व्यवसायीहरू पीडित छन् ।

    नेपालमा अनलाइन सट्टेबाजी बढ्नु आर्थिक चिन्तामात्र होइन, सामाजिक संकट पनि हो, जसले विशेष गरी युवा पुस्ता गलत बाटोमा डोर्‍याउँछ । युवाहरूलाई सजिलो पैसाको लोभबाट टाढा लैजान र जुवाको लतको विनाशकारी नतिजा महसुस गर्न गराउन शिक्षा र सचेतनाका कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ ।

    एजेन्टहरू ट्र्याक गर्ने र भुक्तानी गेटवेहरूको नियन्त्रणलाई सुदृढ पार्ने, अनलाइन सट्टेबाजी उद्योगमा लगाम लगाउने सरकारको महत्त्वपूर्ण कदमहरू हुन् । तथापि, यो एक चुनौतीपूर्ण लडाइँ हो । जुन लडाइँको सफलता वित्तीय संस्थाहरू, प्रविधि कम्पनीहरू र जनतालगायत सबै सरोकारवालाहरूको प्रतिबद्धतामा निर्भर हुनेछ । देशका युवाहरूलाई बचाउन र अर्थतन्त्रलाई अनलाइन सट्टेबाजीको चंगुलबाट जोगाउन सबै एक ढिक्का भएर यसविरुद्ध लाग्नुको विकल्प छैन ।

  • आत्मसम्मानमा चोट पुर्‍याउने ‘सीडीओ साब’को त्यो टिप्पणी

    आत्मसम्मानमा चोट पुर्‍याउने ‘सीडीओ साब’को त्यो टिप्पणी

    सुनकोशी गाउँपालिकाकी एक बहिनी सम्बन्ध विच्छेदपछि नागरिकतामा रहेको पतिको नामथर हटाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली आइन् । कार्यालयको नागरिकता फाँटले नयाँ नागरिकता जारी गर्‍यो । नागरिकताको पछाडि वैवाहिक स्थितिलाई देखाउने गरी टिप्पणी लेखिएको थियो- ‘पतिको नामथर हटाइ प्रतिलिपि ना.प्र. जारी ।’

    उनले त्यो टिप्पणी तत्काल हेर्थिन् वा हेर्दिनथिन् त्यो थाहा छैन । तर, त्यहीकै एक जना पुरुष कर्मचारीले नागरिकता हेरे । ती बहिनीको शीरदेखि पाउसम्म हेरेर हिंसा महसुस हुने गरी खिस्स हाँसे । उनले ती पुरुष कर्मचारीको हेराइबाट असहज महसुस गरिन् । तत्कालै किन त्यसरी हेरेको भनेर प्रश्न गरिन् । ती कर्मचारीले टिप्पणी हेरेर हाँसेको बताए । उनले के भएको हो पनि भने । महिलाले तत्काल टिप्पणी पढिन् । विगतको वैवाहिक सम्बन्धका बारेमा सधैं स्पष्टीकरण दिनुपर्ने त्यो टिप्पणी देखेपछि हटाउन कार्यालयकै एक अर्का कर्मचारीको सहायतामा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको कार्यकक्षमा पुगिन् । गिरीले उक्त टिप्पणी लेख्नैपर्ने जवाफ दिएर सच्चाउन अस्वीकार गरे ।

    सिन्धुलीका प्रमुख जिल्ला अधिकारी महिला भएकाले सच्चिन्छ कि भनेर उनी प्रजिअ सुनिता नेपालसँग अनुरोध गर्न कार्यकक्षमा गइन् । त्यहाँ पनि उनको विषयले सुनुवाइ पाएन । सीडीओले महिलाले यति त सहनुपर्‍यो नि भनेर जवाफ दिएर आफूलाई फर्काएको भन्दै उनले मसँग गुनासो गरिन् ।

    ‘दिदी यस्तो पनि हुन्छ त ? म यो नागरिकता कसरी देखाउन सक्छु ?’, उनले भनिन्, ‘अब मैले कति जनालाई स्पष्टीकरण दिनू दिदी ? मलाई विगत सम्झिनै मन छैन ।’

    ती बहिनीलाई मैले नागरिकताको फोटो खिचेर पठाउन आग्रह गरें । फोटो खिचेर पठाइन् । टिप्पणी पढें । मलाई त्यो टिप्पणीले चिमोट्यो । उनको विगतका बारेमा पनि म जानकार नै थिएँ । एउटा महिलाले जोडिएको सम्बन्ध तोडेर स्वतन्त्रपूर्वक बाँच्न र विगत बिर्सन नपाउने ? हामी कस्तो देशमा छौं भन्ने कुराले पिरोल्यो । राज्यले नै पटक पटक विगतको वैवाहिक सम्बन्धलाई सम्झन बाध्य बनाउने कुराले पिरोल्यो । आखिर चाह्यो भने त नागरिकतामा यस्ता विषय सच्याउन कानूनले त रोक्दैन जस्तो लाग्यो । एक पटक संविधानमा महिलाका सवालमा लेखेका कुरा सम्झें, नागरिकता ऐन सम्झें । कतै त्यस्तो लेख्नुपर्छ जस्तो लागेन ।

    धेरै महिलाहरु अत्यधिक हिंसापछि सम्बन्ध विच्छेदको अवस्थामा पुगेका हुन्छन् । जुन सम्बन्ध आफूसँग हुँदैन त्यसलाई सम्झन नै चाहँदैनन् । अझ नागरिकता जस्तो संवेदनशील विषयमा लेखिएको टिप्पणी सानो लागेकै थिएन । उहाँले भनेको परिपत्र मैले खोजिरहेको छु । त्यो परिपत्र अहिलेसम्म फेला पारेको छैन ।

    मैले सीडीओ साबलाई तत्कालै फोन गरें । उहाँलाई किन त्यस्तो भएको हो भनी सोधें । उहाँले पतिको नामै त लेखेको छैन नि ! त्यति त महिलाले पनि सहनुपर्‍यो नि म्याम भन्नुभयो । के आधारमा लेखिएको हो भनेर सोधें । गृह मन्त्रालयको परिपत्र नै छ भन्नुभयो । मैले उहाँलाई फेरि सम्झाएँ, टिप्पणी त नागरिकतामा हैन अफिसको कागजातमा लेखिन्छ नि हैन र ! हैन, नागरिकतामा लेखिने हो भनेर जवाफ दिनुभयो । मैले हस म्याम भनेर फोन राखें ।

    म त्यतिले शान्त भएर बस्न सक्ने अवस्थामा थिइनँ । धेरै महिलाहरु अत्यधिक हिंसापछि सम्बन्ध विच्छेदको अवस्थामा पुगेका हुन्छन् । जुन सम्बन्ध आफूसँग हुँदैन त्यसलाई सम्झन नै चाहँदैनन् । अझ नागरिकता जस्तो संवेदनशील विषयमा लेखिएको टिप्पणी सानो लागेकै थिएन । उहाँले भनेको परिपत्र मैले खोजिरहेको छु । त्यो परिपत्र अहिलेसम्म फेला पारेको छैन । केही महिला सीडीओहरु, केही कानूनका जानकार र केही जिल्ला प्रशासनमा काम गरेका अधिकृतहरुसँग यो विषयमा जानकारी लिएँ । सबैले त्यो नागरिकताको टिप्पणी हेरेर ठीक हो, सही हो भनेनन् । सबैले गलत नै गरेको भने ।

    गृह मन्त्रालयले महिलाको आत्मसम्मानमा चोट लाग्ने गरी परिपत्र गर्न नहुने, गरे पनि परिपत्र कानून नभएकाले कसैलाई समस्या हुने भए त्यसलाई सच्याउन सकिने जवाफ गृहकै माथिल्लो निकायबाट आयो । त्यसपछि गृह मन्त्रालयमा परिपत्र खोज्न लगाएँ । नभएको जानकारी आयो ।

    गल्ती गरेपछि नागरिकता सच्याउने जिम्मेवारी त प्रशासनको नै हो । सच्चिन्छ भन्नेमा अलि आशावादी भएँ । म यता बुझिरहेकी छु । नागरिकता बोकेर भारी मनले काठमाडौं गएकी ती बहिनी भिडियो कल गर्दै रुँदै फोन गर्छिन् । त्यतिबेला आफू नै सही गर्ने ठाउँमा भएको भए यति धेरै महिलाले रुनुपर्दैन थियो होला भन्ने पनि लागिरहेको थियो ।

    तुरुन्तै त्यसलाई सच्याउन प्रजिअ नेपाललाई गृहकै कर्मचारीहरुको सुझाव आयो । नागरिकता सच्याउन तयार भएर सीडीओ साबले बहिनीलाई बोलाउनु भनेर मलाई फोन गर्नुभयो । मैले बहिनीलाई बोलाइदिएँ ।

    बुधबार बहिनी काठमाडौंबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आइन् । म पनि कार्यालयमा उनीसँगै गएँ । सीडीओ साब बाहिर कार्यक्रममा हुनुहुँदो रहेछ । सहायक सीडीओ गिरीलाई भन्नुस्, म एकछिनमा आउँछु भन्नुभयो । मैले गिरीलाई भेटें । उहाँले नागरिकता सच्याउन असहज मान्नुभयो । सीडीओ साबले गर्नुहुन्छ भन्नुभयो ।

    नागरिकता फाँटमा कर्मचारी भेट्न गयौं । त्यो नागरिकता कसैले हेर्न चाहेन । अन्तमा त्यो नागरिकता कार्यालय सहयोगीको हातमा पुग्यो । ती कार्यालय सहयोगी थिए विजय लामा । उनले त्यो नागरिकता लिन र सच्याउन नमिल्ने बताए । मैले सीडीओ साव र गृह मन्त्रालयभन्दा तपाईं माथि हो भनें । उनले त्यो नागरिकता रिसाएर बोके । अनि सहायक सीडीओकोमा पुगेर सच्याउनै नमिल्ने भनेर गिरीलाई दर्शाए ।

    नागरिकताका सवालमा अन्य गुनासा पनि आइरहेका थिए । विशेषगरी महिलाका सवालमा अति धेरै समस्या फाँटका केही कर्मचारीले पारिरहेका छन् भन्ने गुनासो पनि मलाई पुष्टि गर्नु थियो । नागरिकता फाँटमा कर्मचारी भेट्न गयौं । त्यो नागरिकता कसैले हेर्न चाहेन । अन्तमा त्यो नागरिकता कार्यालय सहयोगीको हातमा पुग्यो । ती कार्यालय सहयोगी थिए विजय लामा । उनले त्यो नागरिकता लिन र सच्याउन नमिल्ने बताए । मैले सीडीओ साव र गृह मन्त्रालयभन्दा तपाईं माथि हो भनें । उनले त्यो नागरिकता रिसाएर बोके । अनि सहायक सीडीओकोमा पुगेर सच्याउनै नमिल्ने भनेर गिरीलाई दर्शाए ।

    सहायक सीडीओ गिरी नागरिकता सच्याउने विषय सुन्न र बोल्न चाहेको मनस्थितिमा थिएनन् । मैले पुनः सीडीओ साबलाई कर्मचारी र सहायक सीडीओले नमानेको जानकारी गराएँ र सीडीओ नेपाललाई नै कुरें । हामी प्रशासनमा पुगेको एक घण्टा जतिमा सीडीओ साब कार्यक्रमबाट आउनुभयो । हामीले उहाँकै कार्यकक्षमा भेट्यौं । सीडीओले कर्मचारीलाई टिप्पणी हटाएर आफूले नागरिकतामा हस्ताक्षर गर्नेगरी ल्याउन अह्राउनुभयो । नागरिकता बन्यो । त्यहाँ सीडीओसँग कुनै सवालजवाफ भएन, गरिएन ।

    टिप्पणी भएकाे नागरिकता (माथि) र टिप्पणी हटाएर दिइएकाे नागरिकता (तल) ।

    हामी फेरि तल झर्‍यौं । ती बहिनीको राष्ट्रिय परिचयपत्रमा बैंक भौचर सच्याउनु रहेछ । त्यो काम गर्‍यौं । मैले ती कार्यालय सहयोगीको बारेमा जानकारी लिएँ । उनी करारका कर्मचारी रहेछन् । राष्ट्रिय परिचयपत्रतर्फका कर्मचारीले नागरिकता फाँटको कम्प्युटर अपरेटरको काम गर्दा रहेछन् । उनीसँग मेरो प्रत्यक्ष चिनजान थिएन । त्यहाँका कर्मचारीलाई सिस्टम नियम कानून सिकाउने उनै रहेछन् । सेवाग्राहीलाई सम्बन्धित शाखामा समेत जान नदिएर अनावश्यक फर्काउने, दुःख दिने, हकारपकार गर्ने काम उनको रहेछ ।

    उनले हामीलाई परिचयपत्र शाखामा आएरै हकारे । उनले कानून मिच्ने आरोप लगाए । मैले ऊसँग परिचय र सवालजवाफ गर्न चाहिनँ । तर, उनको अभिव्यक्ति यति खराब थियो कि उनी गृह मन्त्रालयभन्दा माथिका मान्छे हुन् ।

    उनको बारेमा धेरै सेवाग्राहीदेखि त्यही काम गरेर बाहिर गएका पुराना कर्मचारीहरुसँग पनि सोधखोज गरें । उनकै कारण जिल्ला प्रशासनका कर्मचारीले धेरै दुःख पाएको सबैतिरको गुनासो रहेछ । उनले सीडीओ चलाउँदा रहेछन्, सहायक सीडीओ चलाउँदा रहेछन् । सेवाग्राहीले गाली, अपमान र दुःख पाउँदा रहेछन् ।

    एकाघरको सदस्यले नाता खुल्ने कागजात भएपछि नागरिकता सनाखत गर्न पाउँछ । तर, जिल्ला प्रशासन कार्यालयमा अहिले पनि अविवाहित प्रमाणित गर्न लगाएर महिलाहरुलाई अनावश्यक दुःख दिइरहेको छ । वडा कार्यालयहरुले अहिले पनि अविवाहित प्रमाणित गरिरहेका छन् । यसले नागरिकलाई सेवा लिन दुःखमात्र हैन, अपमान महसुस हुने वातावरण बनाएको छ ।

    यो एउटा प्रसंग भयो । मसँग महिला संवेदनशीलताको अर्को प्रसंग पनि छ सीडीओ कार्यालयको । महिलाहरुले नागरिकताको सनाखत गर्न अविवाहित प्रमाणित गर्नुपर्ने रहेछ । सीडीओ कार्यालयमा छोरीहरुले आफ्ना दाजुभाइ, परिवारका सदस्यहरुको नागरिकता सनाखत गर्न अविवाहित प्रमाणित गर्नुपर्छ । केही समयअघिको कुरा हो, भाइको नागरिकता सनाखत गर्न गएकी मेरो पत्रिकाकी कर्मचारीले त्यो गर्न पाइनन् । सनाखत गर्न नपाएपछि उनले गुनासो गरिन् । अविवाहित प्रमाणित गर्न जाँदा दुई दिन समय खर्च हुने, दुःख हुने कुरा त थियो नै । त्योभन्दा बढी महिलाको आत्मसम्मानको कुरा थियो ।

    मैले तत्कालीन सहायक सीडीओलाई भनेर यो त अति नै भयो, महिला भएर बाँच्नै पो राज्यले नदिने भो भनेर सवालजवाफ गरेपछि भाइको नागरिकता सनाखत गर्न दिइयो । बाबु एउटै, नागरिकता प्रमाणपत्रमा सबै कुरा उल्लेख छ । अनि महिलाको वैवाहिक स्टाटसले के फरक प¥यो ? महिलाको विवाह र नागरिकता सनाखतको विषय कसरी जोडियो ? विवाह पुरुषले पनि गरेका हुन्छन् । उनका परिवारका सदस्यको नागरिकता सनाखत गर्न कानूनले तोकेको कागजातबाहेक खोज्नु नपर्ने तर, महिलाको वैवाहिक अवस्था किन चाहियो ?

    एकाघरको सदस्यले नाता खुल्ने कागजात भएपछि नागरिकता सनाखत गर्न पाउँछ । तर, जिल्ला प्रशासन कार्यालयमा अहिले पनि अविवाहित प्रमाणित गर्न लगाएर महिलाहरुलाई अनावश्यक दुःख दिइरहेको छ । वडा कार्यालयहरुले अहिले पनि अविवाहित प्रमाणित गरिरहेका छन् । यसले नागरिकलाई सेवा लिन दुःखमात्र हैन, अपमान महसुस हुने वातावरण बनाएको छ । अविवाहित प्रमाणितका विषयमा सिन्धुलीको मानव अधिकार र नागरिक समाजका विभिन्न कार्यक्रममा चर्चा पाइरहेको विषय पनि हो अहिले । तर, सीडीओ कार्यालय यो सच्याउन तयार छैन ।

    अब प्रशासनकै अर्को प्रसंग, धेरै समय पनि भएको छैन । यो केश पनि मेरै आफन्तको हो । बुवाको नागरिकता छ, आमाको नागरिकता छ, जन्म दर्ता, विवाह दर्ता छ । नागरिकता बनाउने व्यक्तिको शैक्षिक योग्यताको प्रमाणपत्र पनि छ । कमलामाई नगरपालिका- ५ को केश हो । वडाले नागरिकताको लागि सिफारिस गरिसकेको छ । बाबु सम्पर्कमा नरहेकाले आमाले नागरिकता सनाखत गर्नुपर्ने थियो । यो विषयमा सीडीओ सुनिता नेपालसँग फोनमा परामर्श लिने पारिवारिक सल्लाह भयो । सनाखत आमाले गर्दा हुन्छ भन्ने जानकारी हुँदाहुँदै पनि हामीले समयमा काम गर्न सकियोस् भन्ने हेतुले उहाँलाई सोध्यौं । सनाखत आमाले गरेर हुँदैन, काका, हजुरबुवा अथवा अरु नै लिएर आउनुपर्छ भन्नुभयो ।

    संविधानलाई नै आधार मान्ने हो भने सीडीओ कार्यालयले महिलालाई विभेद गर्ने तीन खालका विषय गम्भीर हुन् । गृह मन्त्रालयले यसलाई सच्याउन र जिल्ला प्रशासन कार्यालयमा भए गरेका त्रुटि सच्याउनेतर्फ ध्यान दिन आवश्यक छ । पटक पटक गलत भइरहेको जानकारी गराउँदा पनि तिनै गल्ती दोहोरिरहेका छन् भने कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

    काकालाई खोजेर जिल्ला प्रशासनमा ल्याइयो । सनाखतका सवालमा सीडीओले भनेको आधारमा आएका काकाको आवश्यकता नभएकोबारेमा कार्यालयमै गएर नागरिकता शाखाबाट प्रस्ट गरियो र अन्तमा छोराको नागरिकतामा आमाले सनाखत गरिन् । अहिले पनि आमाले नागरिकता सनाखत गर्न जाँदा, दिदीबहिनीले दाजुभाइको नागरिकता सनाखत गर्न जाँदा धेरै सेवाग्राहीले दुःख पाएका गुनासाहरु छन् । यी सबै विषय महिलाको आत्मसम्मानसँग जोडिएका विषय हुन् । महिलाको पहिचानलाई राज्यको निकायले कसरी अस्वीकार गरेको छ भन्ने उदाहरण पनि हुन् यी ।

    महिलाले सधैं सरकारी निकायमा काम गर्न जाँदा आत्मसम्मानमा चोट पुर्‍याएरै आउनुपर्ने हो ? हैन भने यस्ता गम्भीर असर गर्ने र धेरैलाई सामान्य लाग्ने विषयका बारेमा सरकारी निकायमा बहस किन हुँदैन ? किन लैंगिक हिसाबले सरकारी सेवा प्रवाह संवेदनशील छैनन ? के मन्त्रालयहरुले पनि महिलालाई विभेद गर्न नै सीडीओको शब्दमा भन्ने हो भने परिपत्र गर्छन् ? कानूनमा नलेखिएका विषयहरुलाई किन कार्यान्वयनमा ल्याएर नागरिकलाई सेवा लिन समस्या पारिन्छ ? यो गम्भीर छलफलको विषय हो ।

    अझ अर्को गम्भीर विषय व्यक्तिको सार्वजनिक कागजातमा कहिलेदेखि टिप्पणी लेख्न थाल्यो सरकारी निकायले ? टिप्पणी त कार्यालय प्रयोजनका लागि लेखिने विषय हो । यो कुरा कर्मचारीलाई किन बुझाइएन । कार्यालय सहयोगीलाई नागरिकता जस्तो संवेदनशील विषयमा किन जिम्मेवारी दिइयो ? यो विषयमा गृह मन्त्रालय जिम्मेवार बन्ने कि नबन्ने ? यदि जिल्ला प्रशासनमा कर्मचारी अभाव हो भने पर्याप्त कर्मचारी पठाउने दायित्व राज्यको हो । राज्यले यस्ता विषयमा ध्यान दिने कि नदिने ?

    यी माथि उल्लेखित विषयसँग संविधान पनि आकर्षित हुन्छ । नेपालको संविधानले हरेक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ । लैंगिक हिसाबले कसैलाई पनि विभेद गर्न पाइँदैन भनेर उल्लेख गरिएको छ ।

    हाल कार्यान्वयनमा रहेको यो संविधानलाई नै आधार मान्ने हो भने सीडीओ कार्यालयले महिलालाई विभेद गर्ने तीन खालका विषय गम्भीर हुन् । गृह मन्त्रालयले यसलाई सच्याउन र जिल्ला प्रशासन कार्यालयमा भए गरेका त्रुटि सच्याउनेतर्फ ध्यान दिन आवश्यक छ । पटक पटक गलत भइरहेको जानकारी गराउँदा पनि तिनै गल्ती दोहोरिरहेका छन् भने कारबाहीको दायरामा ल्याउन आवश्यक छ । यो गम्भीर मानव अधिकारको सवाल पनि हो । महिलाको आत्मसम्मानमाथि गरिएको खेलवाड पनि हो ।

    (लेखक पत्रकार एवं मानव अधिकारकर्मी हुन् ।)

  • कविता : मेरी आमा

    कविता : मेरी आमा

    – सुरेन्द्र लिम्बू ‘परदेशी’


    यो धर्तीमा आएको दिन
    आमा मेरी आमा बनेकी हुन् ।

    त्यही दिन
    मेरी आमा
    पूर्ण जून मुस्कुराएकी थिईन्
    नयाँ जीवन अञ्जुलीमा थामेर
    सुन्दर घाम उज्यालिएकी थिईन्
    त्यो असीम आनन्दको धङधङीमा
    नबोलेरै थुप्रै थुप्रै बोलेकी थिईन् ।

    थुन्चेमा बोकेर
    जिन्दगीको भारी
    काटेर पेटको भोक
    साटेर टाउकोको पीर
    तोडेर मुटुको धमनी र शीरा
    आमाले रोपेकी हुन् मलाई
    आफ्नो सपनाको बारीमा ।

    हो साँच्चै हो
    म आएपछि नै
    आमाको जीवनमा
    एउटा आशाको आकाश खुलेको हो
    एउटा खुसीको फूल फुलेको हो ।

    मेरी आमाले त
    उभ्याउन चाहेकी हुन् मलाई
    भरोसाको पिरामिडमाथि
    र बनाउन चाहेकी हुन्
    एउटा आदर्शको सगरमाथा ।

    जिन्दगी भोगाइको
    आधा बाटो हिँडी सक्दा
    खै म आमाले चाहे जस्तो मान्छे
    बने बनिन
    भए भइन
    थाहा छैन
    तर यति बुझ्ने चाँही भएको छु
    बाटो र बटुवाको सम्बन्ध
    नदी र किनाराको सम्बन्ध
    फल र बोटको सम्बन्ध जस्तै
    सन्तान र आमाको सम्बन्ध ।

    यो खोलानाला, बन जंगल
    यो धर्ती आकाश, जून घाम
    यो मिलन विछोड, जीवन मृत्यु
    म छु र नै त छन् यी सब
    “म सोच्छु त्यसैले म छु”
    रेने देकार्तले त्यसै भनेका होइनन् रहेछ
    जीवन र जगतको अस्तित्व
    आफु भए मात्रै त हुने रहेछन्
    यि सबै सत्य हुँदाहुँदै पनि
    मेरोलागि यही सत्यको धरातल हो
    मेरी आमा ।
    @
    अध्यक्ष
    विश्व नेपाली साहित्य महासंघ