Category: साहित्य / ब्लग

  • एक विद्यार्थीको चीन अनुभवः मेट्रो चढ्दा छक्कै परेँ !

    एक विद्यार्थीको चीन अनुभवः मेट्रो चढ्दा छक्कै परेँ !

    अहिले मजस्ता युवाहरू आफ्नो भविष्य निर्माणको लागि देशबाहिर जाने सामाजिक संस्कृति बनेको छ । यसमा कतिपय देशमा केही छैन भनेर त कोही थप अन्तर्राष्ट्रिय तहको शिक्षा र सिकाई लिनका लागि देश छाडिरहेका छन् । बुझाइ जे भए पनि साझा उद्देश्य समृद्धि र परिवर्तन नै हो । जहाँ यी उद्देश्यका लागि मजस्ता हजारौं युवाहरू विदेश गईरहेका छन ।

    अरु युवा साथीहरू जस्तै मैले पनि थप शिक्षा लिनको लागि विदेशी विश्वविद्यालय जाने सोच बनाएर चीनको एक विश्व विद्यालयमा आवेदन गरे सँगै सन् २०२४ को अप्रिलमा मेरो छात्रवृत्ति आवेदन स्वीकृत भएको थियो । मेरो छात्रवृत्ति सिभिल इन्जिनियरिङ, स्नाकोत्तर तह अध्ययनको लागि थियो भने जाने निश्चित भएको दिनदेखि मेरा मन र नयनले अनेक सपना देख्न थालिसकेको थिएँ । चीन मेरा लागि अध्ययनसँगै सानै उमेरदेखिको सपनाको देश पनि थियो । यो सपना मभित्र प्रवेश गरेर आफूलाई खुसी पनि दिइरहेको थियो ।

    मे महिनाको पहिलो हप्ता म परिवारसँग बिदा हुँदै जन्मभूमि छोडेर चीन जान हवाईजहाजबाट अन्तर्राष्ट्रिय विमानस्थल छोडेको केही घण्टामै चीनको भूगोलभित्र आइपुगेँ । सम्झिँदा कल्पनामा हराए जस्तो लाग्छ । रात्रि उडान शुरू गरेको केही समयपश्चात नै आकाशबाट देखेको त्यो चम्किला सहरले मलाई स्वागत गरिरहेको जस्तो लागेको थियो । मनमा केही खुसी, केही नरमाइलो, आशा, सपना बोकेर नयाँ वातावरणमा आफूलाई भिजाउन तयार हुँदै थिएँ ।

    मेरो उहान विश्वविद्यालय रहेको शहरमा जान अर्को ट्रान्जिट उडान थियो । मेरो यो पहिलो अन्तर्राष्ट्रिय भ्रमणको भोगाइ जुन विश्वको दोश्रो ठुलो राष्ट्र जहाँ शून्य गरिबी रहेको र सबै दृष्टिकोणबाट सक्षम देश मानिएको देशमा हुन गइरहेको थियो । विभिन्न माध्यम र स्रोतहरूमार्फत जानकारी लिएको म आज आफैँ त्यही देशको सम्पन्न शहरमा थिएँ । ट्रान्जिट परेको विमानस्थलमा आ‍वश्यक प्रक्रिया पूरा गर्न केही गाह्रो जस्तो भएको भएता पनि विमानस्थलमा रहेका चिनियाँहरूको अरूलाई सकेसम्म सहयोग गर्ने स्वाभावले मलाई सहज भयो ।

    सायद नियम कडा भए पनि जनताले पालना नगर्ने हो भने यी नियमको काम छैन । त्यही कारणले यहाँ जो कोही पनि सुरक्षित महसुस गर्छन् । मानिसहरू डराएर बाँच्न पर्ने अवस्था छैन रहेछ । नियममा बाँधिने र नियमको पालना गर्ने बानी एकदमै मन पर्‍यो ।

    म पुन: हवाईजहाजमार्फत विश्वविद्यालय रहेको प्रान्त पुगेँ । म यहाँको मजबुत सडक पूर्वाधार, भवन र निर्माणका प्रविधि आदि देखेर आश्चर्यजनक हुँदै उक्त दोस्रो ट्रान्जिट विमानस्थलबाट ट्याक्सी चढेर विश्वविद्यालयको हातामा प्रवेश गरेँ । जब विमानस्थलबाट निस्किएँ, यहाँको हरियाली, सरसफाइ र शान्त वातावरण देखेर छक्क परेँ । झरी परिरहेको बेलाको त्यो सुन्दरता वर्णन गर्नको लागि शब्द मात्र काफी थिएन । याङजे नदी पार गरेर येल्लो क्रेन टावर हेर्दै ट्याक्सीमा अगाडी बढ्दै गर्दा त्यहाँको आधुनिक विकासको भव्य अवस्था देखेर म एकदम चकित र प्रफुल्लित थिए भने अर्को तर्फ म मेरो देश को सामान्य सडक पूर्वाधारको अवस्था सम्झेर चिन्ता पनि लागिरहेको थियो कि मेरो देशमा कहिले हुने होलारु विकासमा यस्तो चमत्कार । हुन त विकास नाप्ने विभिन्न आधार र दृष्टिकोण छन तर पनि आधुनिक विकास अवधारणाले खोजेको विकास त यही नै थियो आखिरमा ।

    जब विश्वविद्यालयभित्र प्रवेश गरेँ झन् धेरै दंग परे हरियाली, सफा रोड र झरीमा नाचिरहेका पात र साना साना बोट बिरुवा देखेर। लाग्थ्यो झरी पाएर सबै दंग छन् र त्यसमा रमाइरहेका छन् । त्यसपछिको दुई/तीन दिन त्यहाँ बस्नको लागि पूरा गर्नु पर्ने कागजी कामहरू सकाएँ । यहाँको मानिस अनि ठाउँ हेर्दा मलाई आजसम्म पनि विरानो मुलुक आएजस्तो महसुस भएको छैन । पानी परिरहेको कारणले दुई दिनसम्म धेरै बुझ्न पाइनँ । सयौं वर्ष देखि इतिहास बोकेर बसेको रुख, स्वच्छ हावा र वातावरण, पर्यावरणीय अवस्था, पन्छी र हरियालीले त्यस क्षेत्रमा विकास गर्दा अपनाइएका दिगो र समावेशी सिद्धान्त प्रस्टै देखिन्थ्यो जहाँ आज भन्दा पनि आउने पुस्ताको दशौं वर्ष पछिको अवस्थालाई ठूलो महत्व दिएको राम्रै संग बुझ्न सकिन्थ्यो । यो मेरा लागि एउटा इन्जिनियरिङको विद्यार्थीको नाताले निर्माण र पूर्वाधार अनि पर्यावरणको सम्बन्धलाई कसरी मिलाउनु पर्दो रहेछ ? भौतिक र औद्योगिक विकास गर्दा भनेर सिक्ने मौका पनि मिलिरहेको थियो ।

    बिस्तारै मैले यहाँको सडकमा साइकल र इलेक्ट्रिक बाइकहरू देख्न थालें । म यो सब देखेर दंग परे किनभने मलाई महसुस भयो कि विद्युतीय साधनको प्रयोगले जीवनको सामाजिक र आर्थिक जीवनमा अफ्ठ्यारो नपर्ने रहेछ । केही पछि थाहा पाए कि यहाँ त ठूला ठूलासवारी साधन पनि बिजुलीबाट चल्ने रहेछ । ग्यास, पेट्रोल आदि को प्रयोग त मुश्किल ले देख्न पाइने । ओहो ! कति राम्रो हुने रहेछ भन्ने ख्याल आयो मनमा र महसुस भयो वातावरण प्रदूषण यही कारणले नेपालको तुलनामा न्यून रहेछ । मेट्रो पनि चढेँ । ओहो ! मेट्रो त कति छिटो हुने रहेछ । म हरेक दिन चीनको विकास देखेर दङ्ग पर्दै थिएँ । मेट्रो जमिनमुनि कुद्ने रहेछ । जमिनमुनि गएर आफ्नो फोनबाट स्क्यान गरेर मेट्रो चढ्ने प्रक्रिया देखेर त म अचम्म परेँ । अझ झुण्डिएर कुद्ने मेट्रो देखेर मेरो मुख खुल्ला भयो । म हेरेको हेरै भएको थिएँ । अनि हाम्रो राजधानीको शहर काठमाडौंमा केही पहिला शहरी ट्राफिक घटाउन र यात्रा समय छोट्याउन मोनो रेल चलाउने कुरा गरेको सम्झिएँ । जुन अहिले हुन सकेको छैन ।

    यहाँ आउँदा चिनियाँ पैसा सटही गरेर लिएर आएको थिएँ । यहाँ भएका बैंकमा गएर आफ्नो बैंक अकाउन्ट खोलेँ । त्यहाँ पनि कति सजिलो टेक्नोलोजी रहेछ, खाता खुलेपछि आफैँले पैसा जम्मा गर्न मिल्ने । मेसिनमा पैसा हाल्ने अनि त्यहीँबाट पैसा डिपोजिट हुने रहेछ । दिन दिनै नयाँ अनुभव बटुल्दै थिएँ । यहाँ नोटको प्रयोग एकदमै कम हुने रहेछ, सबै क्यूआर पेमेन्ट अथवा अनलाइन पेमेन्ट । कति सजिलो पैसा हराउने डर नै भएन । विश्वमा चीन सबैभन्दा धेरै अनलाइन पेमेन्ट प्रयोग गर्ने देश बनेको छ । यहाँ वित्तीय क्षेत्रमा विद्युतिय प्रणाली द्रुत विकास भएको रहेछ । म पनि यही प्रणालीमा अभ्यस्त हुँदैछु । हाहा भनिन्छ नी देश अनुसारको भेष । फेरि यहाँ पनि मेरै देश सम्झिएँ, जहाँ बैंकमा पाँच हजारको चेक सटही गर्न पनि कुपन समातेर घन्टौं लाइनमा उभिनु परेको अवस्था ।

    बिस्तारै पढाइ सुरू भयो । म पनि क्लास जान थालेँ । धेरै देशबाट आउनु भएका नयाँ साथीहरूसँग भेट्न थालेँ जो पृथ्वीको विभिन्न कुनाबाट आएका थिए मजस्तै । सबै एक अर्काको लागि नौलो र नयाँ । परिचय भयो । यहाँ शिक्षकलाई लाओशी भनिने रहेछ चाहे महिला शिक्षक जोसे या पुरुष । लाओशीहरू पनि एकदमै मिलनसार हुनुहुन्थ्यो र एकदमै बुझाएर पढाउने । बिहानदेखि पढाइ सुरू हुन्थ्यो । यसबीचमा १.५ घण्टाको ब्रेक । यहाँका मानिसहरू खाना दिनको दिउँसोको १२ बजे खान्छन् । त्यसैले १२ देखि २ बजेसम्म बजेसम्म हरेक कार्यालयहरू बन्द हुने गर्दछ ।

    हेर्दै जाँदा नाइट स्ट्रिट पुगेँ । यहाँ साँझ परेपछि साना साना स्टलमा मानिसहरूले खाना बेच्दा रहेछन । खाना एकदमै स्वस्थ हुन्छन्। हरियो साग सब्जी को साथै मासु गेडागुडी सबै मिलेको । धेरै आयु हुनुको कारण, फुर्तिलो हुनुको कारण, सानो उमेरको देखिनुको कारण नै स्वस्थ्य खानपान रहेछ भन्ने थाहा पाएँ। हामी भने स्वाद मात्र खोज्छौ तर स्वास्थ्यमा ख्याल गर्दैनौँ ।

    यति हुँदा पनि म देख्थे चिनियाँ विद्यार्थीहरू जहिले एकदमै हतारमा हुन्थ्यो क्लास जानको लागि । उनीहरू बिहान हातमा खाना लिएर बाटोमा हिँड्दै खाइरहेका हुन्थे । म यसको कारण जान्न एकदम इच्छुक थिएँ । बिस्तारै थाहा भयो उनीहरू आफूलाई अध्ययनमा यति तल्लीन बनाउँदा रहेछन कि खाना खाने समय पनि पर्याप्त नहुने रहेछ । उनीहरूलाई प्रोफेसरले धेरै मेहेनत गराउने रहेछ । यही कारणले होला सायद यहाँका युवाहरू सानो उमेर देखि नै मेहनती हुन्छन् र दक्ष हुन्छन् अनि सृजनशील पनि ।

    अभिभावकहरू पनि उनीहरूको सन्तानलाई सानै उमेरदेखि नै विभिन्न कुरामा दक्ष बनाउनमा सचेत हुने कुरा पाएँ मैले । खाली समयमा अभिभावकहरूले नै आफ्ना बच्चाहरूलाई अतिरिक्त क्रियकलापमा उत्प्रेरित गराउने रहेछ । आफ्नो सन्तानसँगै खेलेर रमाएर आफ्नो सन्तानलाई सन्तुलित राख्ने गरेको देखेँ । यी सबै कुरा देख्दा म एकदमै प्रभावित भएँ र भइरहेको छु । यहाँ आउने हरेक अन्तर्राष्ट्रिय विद्यार्थीले यस विश्वविद्यालयको नियम जान्न अनिवार्य रहेछ । त्यसै प्रक्रियामा मैले थाहा पाएँ कि यहाँको नियम एकदमै कडा र अनुशासित रहेछ ।

    सायद नियम कडा भए पनि जनताले पालना नगर्ने हो भने यी नियमको काम छैन । त्यही कारणले यहाँ जो कोही पनि सुरक्षित महसुस गर्छन् । मानिसहरू डराएर बाँच्न पर्ने अवस्था छैन रहेछ । नियममा बाँधिने र नियमको पालना गर्ने बानी एकदमै मन पर्‍यो । हुन त आफ्नो देशमा हुँदा चीनको नियाल्दा र जनताको स्वतन्त्रताको विषयलाई प्रजातान्त्रिक अधिकारसँग जोडेर कुरा गरेको पनि सुनेको थिएँ । तर, मलाई लाग्यो, सबैभन्दा पहिला त जीवन जिउनको लागि अहिले समय अनुसार पर्याप्त आम्दानी चाहिन्छ । त्यसको लागि मेहनत र लगनशीलता चाहिन्छ । अनि मात्र बाँकी कुराउने रहेछ र त्यो भन्दा पहिला अधिकार मात्रै खोजेर जीवन र प्रगति नहुँदो रहेछ कि भन्ने कुरा मैले बुझेँ । कोही पनि काम गर्ने उमेर पुगेका मानिसहरू यहाँ कुनै न कुनै खाले आम्दानी सृजना गर्ने काममा । जोडिएको हुने रहेछ ।

    एक दिन म साथीहरूसँग साँझको बेला हावा लिन बाहिर निस्केको थिएँ । साँझको दृश्य देख्दा मैले मेरो आँखा अन्त हटाउन सकिनँ । यहाँ वृद्ध मानिसहरू साँझमा जम्मा भएर सँगै नाच्ने, व्यायाम गर्ने र एक आपसमा खेल्ने गर्दा रहेछन । म वहाँहरूको जोश र जाँगर देखेर लोभिएँ । यति धेरै उमेरमा पनि वहाँहरू एकदमै जाँगरिलो हुनुहुन्थ्यो । हामीमा भने यत्तिको जोशीलो उमेरमा पनि वहाँहरूको उमेर जत्तिको जाँगर छैन ।

    हेर्दै जाँदा नाइट स्ट्रिट पुगेँ । यहाँ साँझ परेपछि साना साना स्टलमा मानिसहरूले खाना बेच्दा रहेछन । खाना एकदमै स्वस्थ हुन्छन्। हरियो साग सब्जी को साथै मासु गेडागुडी सबै मिलेको । धेरै आयु हुनुको कारण, फुर्तिलो हुनुको कारण, सानो उमेरको देखिनुको कारण नै स्वस्थ्य खानपान रहेछ भन्ने थाहा पाएँ। हामी भने स्वाद मात्र खोज्छौ तर स्वास्थ्यमा ख्याल गर्दैनौँ ।

    यसरी म यहाँ हेर्दै र देख्दै म चीनको यो म बसेको शहरलाई बुझि रहेको छु । अझ धेरै बुझ्ने मौका पाउने छु भन्ने कुरामा म ढुक्क छु किन भने म अझ यहाँ धेरै बस्नु पर्ने मेरो यस अध्ययन पूरा गर्न । यी सबै चिनियाँ गतिविधि, विकास, मानिस र उनीहरूको कर्मशील बानी देखेर लाग्यो, एउटा देश धनी र जनता सक्षम हुन राज्यमात्र जवाफदेही भएर नपुग्दो रहेछ । यसका नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुँदो रहेछ । नागरिक र राज्यको सम्बन्ध एउटा रथको दुई पांग्राजस्तो हुनुपर्ने रहेछ ।

    यसमा नागरिक जिम्मेवार, अनुशासित, कर्मशील, इमान्दार र राज्यको आदेश र नियमलाई पनि उत्तिकै सम्मान गरेर अगाडि बढ्नु पर्ने रहेछ। र सम्झे हामी नेपाली युवालाई, राज्य र विकास अनि समृद्धि जुन दशकौंदेखि खोजेर पनि नभेटिएको विकास लाई । यसबाट मैले के बुझेँ भने विकासमा हामीमध्ये को बढी जवाफदेही बन्यौ ? यसका लागि हामीले के गर्यौं ? विकास अरुले गरिदिने हो वा हामी आफैँले ? यसैले विकास खोजिरहँदा पहिला हामी आफूले गर्न पर्ने दायित्व, विकास पाउन कुर्नु पर्ने समय र हामी युवालाई हुनु पर्ने हुन पर्ने आवश्यक पूर्वशर्त बुझ्नैपर्ने रहेछ ।

  • सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो: प्रदेश प्रमुख मियाँ

    सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो: प्रदेश प्रमुख मियाँ

    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी रहेको बताएका छन् ।

    राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदूरपश्चिम प्रदेश अत्तरिया कैलालीले आज आयोजना गरेको गौरा तीज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँले अहिले राष्ट्रियस्तरमा पनि सुदूरपश्चिम प्रदेशका भाषा र संस्कृति झल्काउने गीत सङ्गीतले राम्रो चर्चा पाइरहेको बताए ।

    ‘सुदूरपश्चिम भाषा र संस्कृतिको एउटा खानी हो । सुदूरपश्चिम अन्य क्षेत्रभन्दा धेरै महत्त्वपूर्ण रहेको छ । धेरै सांस्कृतिक पहिचान रहेको छ’, उनले भने, ‘अहिले सुदूरपश्चिमले राष्ट्रियस्तरमा आफ्नो पहिचान कायम गरेको छ । जताततै हेर्दा पनि सुदूरपश्चिम प्रदेशको भाषा, संस्कृति र गीतले चर्चा पाइरहेको छ ।’

    उनले यहाँको संस्कृति संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

    गौरा तीज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँलाई नागरिक अभिनन्दन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष लीलाधर बास्कोटा, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायतले प्रदेश प्रमुख मियाँलाई दोसल्ला ओढाएर र कदरपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

    सुदूरपश्चिम प्रदेशका पाँच जना महिलालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा तीज गीत प्रतियोगितासमेत गरिएको थियो ।

  • प्रिय फेसबुक, ह्याप्पी बर्थडे टु यू

    प्रिय फेसबुक, ह्याप्पी बर्थडे टु यू

    प्रिय फेसबुक, तिमीले ‘ह्याप्पी बर्थडे राजेन्द्र’ भनिदिएकोले त मेरा साथीहरूले सुइको पाए, ‘आज यसको जन्मदिन रहेछ भनेर ।’

    तिमीले सबैलाई सूचना दिएकोले नै मैले ह्याप्पी बर्थडेको ओइरो पाए । उपहारहरू पाए । खादाहरू पहिरिएर फूलका गुच्छाहरू हातमा बोक्न पाए । चेरी र चकलेटले भरिएका केकहरू पाए । दीप जलाएर हाँस्न पाए । साथीहरू भेट्न पाए । भेट गर्न आएका साथीहरूसँग भलाकुसारी गर्न पाए ।

    प्यारो फेसबुक, तिमी थियौ र त मैले मेरो बर्थडे भव्य मनाउन पाएँ । हुन त म जन्मेको अर्को वर्षदेखि नै जन्मदिन आइरहे । कति वर्षका जन्मदिन त मैले थाहै नपाई आए, गए ।

    हे प्यारे फेसबुक, जब सन् २००९ सेप्टेम्बर ३० मा तिमीसँग गाँसिन प्रस्ताव गरें । त्यो बेला अरू कुराहरूसँगै तिमीले मेरो जन्म मिति सोध्यौ । आजसम्म त्यसैका आधारमा हरेक वर्षको भदौ ५ या ६ गतेको समय सुरू हुनेबित्तिकै भनिदिन्छौ, ‘ह्याप्पी बर्थ डे राजेन्द्र ।’ कुनै कुनै वर्ष विक्रम संवत् र इस्वी संवत् नमिल्दा तिमी पनि झुक्किन्छौ, तर मलाई लाग्दैन कि एकदिनले ह्याप्पी बर्थ डे भन्नलाई कुनै फरक पार्छ । महिनै गोलमाल भए पो जीवनको तिथिमिति हिसाब राख्ने ‘चित्रगुप्त’ पनि अल्मलेलान् !

    हे फेसबुक, तिमीलाई पनि कति हैरान छ है ? करिब एक करोड ५७ लाख तिमीसँग सम्बन्ध राख्ने नेपालीलाई ह्याप्पी बर्थडे भनिदिनु पर्छ । पृथ्वीभरिको तीन बिलियन मनुवाको जन्मदिन तिमीले नै दुनियाँलाई बताइदिनु पर्छ । तिमीसँग जोडिने सक्रिय साथीहरूको मनको भाव पोखिदिनु पर्छ । उनीहरूसँगै हाँसिदिनु पर्छ, रोइदिनु पनि पर्छ । अरू अरूले बिहे गर्छन्, जोडाको फोटो तिमीले नै छापिदिनु पर्छ । गर्भवती भएपछिको खुसी देखाइदिनु पर्छ, शिशुले जन्म दिएपछि खुसीहरू साटिदिनु पर्छ । त्यो नवजात पृथ्वीमा ओर्लनासाथ काखमा खेलाएको देखाइदिनु पर्छ । विवाह गरेका दिनहरू तिमीले सम्झाइदिएपछि साथीभाइले ‘ह्याप्पी एनिभर्सरी’ लेखिदिन्छन् ।

    त्यतिमात्र हैन, बिरामीको लागि तिमी अस्पताल पुग्नुपर्छ, ‘गेट वेल सुन’ भन्दै खिचेको सेल्फी छापिदिनु पर्छ । लासको अनुहार देखाउन पनि कहिलेकाहीँ तिमीलाई कसैकसैले बाध्य पारेको देख्छु । ‘रिप’ लेखेर समवेदना पोख्न अनि घाट र चिहानघारीहरू धाउनेसँग पनि तिमी नै साथ हुनुपर्छ । अब त यस्तो लाग्न थाल्यो, लासहरू घाट र चिहान पुगेपछि उठेर भन्न सक्छन्, ‘ए फेसबुक, अरू केही पर्दैन तिमी चाहिँ मसँगै हिँड ।’

    लासको अनुहार देखाउन पनि कहिलेकाहीँ तिमीलाई कसैकसैले बाध्य पारेको देख्छु । ‘रिप’ लेखेर समवेदना पोख्न अनि घाट र चिहानघारीहरू धाउनेसँग पनि तिमी नै साथ हुनुपर्छ । अब त यस्तो लाग्न थाल्यो, लासहरू घाट र चिहान पुगेपछि उठेर भन्न सक्छन्, ‘ए फेसबुक, अरू केही पर्दैन तिमी चाहिँ मसँगै हिँड ।’

    तिम्रो जन्म भएको सन् २००४ फेब्रुअरी ४ देखि मनुवाहरूका लागि प्राण जस्तै प्यारो हुन सक्यौ । मनुवाहरू तिमीसँग यति लिप्त भैसके कि तिमीले कान निमोठेर जतासुकै लानसक्छौ । तिम्रो प्रेमको डिजिटल पोखरीमा डुबाइरहन सक्छौ । यस्तो भैसक्यौ कि तिमीले हास भने हाँस्ने, रोऊ भने रूने, मर भन्यो भने मर्नेहरू पनि देखेको छु । तिमी एकछिन नहुँदाको छटपटी त मैले नै कैयौं पटक महसुस गरेको छु ।

    प्रिय फेसबुक, तिमिले नै मालिक मार्क जुकरबर्गलाई विश्वको चौथो धनी बनायौ । विश्वको जनसंख्याको झण्डै ३६ प्रतिशतलाई तिमी फनफनी घुमाउँछौ ।

    हे फेसबुक, तिमी छौ र त निन्द्रा नपरे पनि तिम्रै साम्राज्यभित्र डुबुल्की मारेर आनन्द लिन्छु । जब बिहानीको निन्द्रा खुल्छ, आँखा मिच्दै तिमीसँग स्पर्श गर्न पुग्छु । तिमीले यस्तो मोहित पार्न सकेका छौ कि दुनियाँले तिम्रो कुरा पत्याउँछ । कतिपय छट्टुहरूले ‘स्पोन्सर’ भन्दै बेवकुफ बनाउने दुस्प्रचार गरेर तिमीलाई अविश्वासी पनि बनाइरहेका छन् । कतिपय मनुवाहरू तिम्रै विश्वासमा ठगिएका छन् । कतिपय तिम्रै कारणले रातारात धनी भएका छन् ।

    तिम्रै कारणले कतिपय पुराना मिडियाहरूका त अस्तित्व नै सकियो । यसो नियाल्छु, नयाँ मिडियाहरू पनि तिमीले देखाइदिए दुनियाँले हेर्छन्, पढ्छन् । देखाएनौ भने हेर्दैनन्, पढ्दैन । मेरा केही लेखहरूमाथि पनि तिमीले अन्याय गर्‍यौ । धरैले सेयर गर्न थालेपछि केही लेखहरू अचानक लुकाइदियौ । त्यतिमात्र हो र, अनलाइन नै केही समय तिम्रोबाट नखुल्ने बनाइदियौ ।

    अश्लील चित्रहरूको फेक क्रियसन गरेर सौदाबाजी गर्ने सैतानहरू पनि देखिए । ठगीका धन्दा चलाउने गिरोह पनि सक्रिय छँदैछ, कहिले के, कहिले के, गर्दै फेसबुक तिमीलाई हैरान पारिरहन्छन् । तिमीले सहेको हैरानीले संसारभरका साइबर अनुसन्धान व्युरोहरू थप हैरानीमा परेका छन् । तिम्रै पछि पछि लाग्न बाध्य बनेका छन् ।

    च्याट, लाइभ, स्टोरी, रिल, ग्रुप, पेज के के छन् के के ? यो सुविधा प्रयोग गरेर धेरैले फाइदा लिइरहेका छन् । कतिले दुःख, हण्डर, बेइज्जत कमाइरहेका पनि छन् । तिम्रैबाट लाइभ गरेर प्रेमिका वा घरका आफन्तजनलाई देखाउँदै आत्महत्या गर्ने कुबुद्धिका मनुवा पनि निस्किए । अश्लील चित्रहरूको फेक क्रियसन गरेर सौदाबाजी गर्ने सैतानहरू पनि देखिए । ठगीका धन्दा चलाउने गिरोह पनि सक्रिय छँदैछ, कहिले के, कहिले के, गर्दै फेसबुक तिमीलाई हैरान पारिरहन्छन् । तिमीले सहेको हैरानीले संसारभरका साइबर अनुसन्धान व्युरोहरू थप हैरानीमा परेका छन् । तिम्रै पछि पछि लाग्न बाध्य बनेका छन् ।

    कतिपय देशले तिमीलाई सीमामै रोकेका छन् । चाइना, नर्थ कोरिया र इरानले सीमाबाट तिमीलाई रोक्न खोजेका छन् । पाकिस्तान, रसिया, युगान्डा, टुर्कमेनिस्तानलगायत देशहरूले विभिन्न हिसाबले रोक्न खोजेका छन् । तिमी पुगेको १६७ देशमध्ये करिब १० देशले तिमीलाई प्रतिबन्ध गरेका छन् । कतिपय देशहरूले नचाहे पनि भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) जस्ता अनेक गुप्त बाटोबाट देशको सीमा छिचोलेर तिम्रो सहायताले मनोरञ्जन लिएकै छन् ।

    नेपाल सरकारले पनि तिमीमाथि बेला बेलामा नियमन प्रयास नगरेको हैन । सामाजिक सञ्जाल नियमनबारे ऐन, कार्यविधिहरू ड्राफ्ट भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कानून शाखाले नयाँ मन्त्री आउनेबित्तिकै त्यस्ता ड्राफ्टहरू देखाउँछन् । तिमीले नेपालमा आधिकारिक सम्बन्ध राख्ने र करको दायराको कुरा उठाउँदा सरकार नै पल्टाउने गरी तिम्रो पक्षमा जनमत उर्लिएको देखेका छौ । ठूला मिडियाको सम्पादकीयले त ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै हनन भयो’ भन्यो । नेपाल सरकारले गएको मंसिरमा टिकटक बन्द गर्दा ‘प्रचण्ड सरकार’ नै हल्लिने गरी विरोध भएको थियो । ‘ओली सरकार’ले हिजो बिहीबारकै दिन पुनः टिकटकमाथि प्रतिबन्ध हट्दा वाहीवाही छ ।

    हिजो परेको जन्मदिनलाई साथीहरूसँग खुसी साट्दै राति घर पुगें । मैले कसैलाई नभन्दै बस्दा पनि तिमी नै हौ, साथीहरूलाई जानकारी दिएर खुसी ल्याइदिने, धमाधम साथीहरू पोस्टलाई सर्वत्र पारिदिने । त्यसैले मलाई जन्मदिनको शुभकामना दिने सबै शुभचिन्तक सँगसँगै तिमीलाई धन्यवाद छ । अनि तिम्रो जन्मदिनको हरेक फेब्रुअरी ४ का लागि आजैबाट भन्छु, ‘फेसबुक तिमीलाई पनि ह्याप्पी बर्थडे टु यू ।’

    (लेखक नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)

  • यस वर्षकाे दिव्यविक्रम नेम्बाङ स्मृति सम्मान भारतका राजा पुनियानीलाई दिइने

    यस वर्षकाे दिव्यविक्रम नेम्बाङ स्मृति सम्मान भारतका राजा पुनियानीलाई दिइने

    काठमाडौँ । दिव्यविक्रम नेम्बाङ स्मृति सम्मान यो वर्ष भारतका राजा पुनियानीलाई प्रदान गरिने भएको छ । राजनीतिज्ञ तथा साहित्यकार नेम्बाङको नाममा स्थापना भएको दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङका अनुसार भारत दार्जिलिङ सकुनामा पुनियानीलाई यो पुरस्कार प्रदान गरिनेछ ।

    नेम्बाङको पाँचौं स्मृति दिवसको अवसर पारेर यही भदौ १४ मा पुनियानीलाई झापाको बिर्तामोडमा सम्मान गरिनेछ । कवि, अनुवादक तथा चिन्तकको पहिचान बनाएका पुनियानी नेपाली, हिन्दी, बंगाली तथा अंग्रेजी भाषामा साहित्य कर्म गर्ने अनुहार हुन् ।

    पुनियानी अगाडि यो सम्मान प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बाले पाइसकेका छन् । सम्मानको राशी ३० हजार रुपैयाँ रहेको छ ।

    साहित्यकार दिव्यविक्रम नेम्बाङ प्रजातान्त्रिक योद्धा पनि थिए । निर्वासनको क्रममा उनले तेस्रो आयामको मुखपत्र ‘फूल पात पत्कर’ प्रकाशन गरेका थिए ।

  • दोरम्बा हत्याकाण्डको २१ वर्ष- ‘जिउँदो शहीद’ मैनकुमार यसरी सम्झिन्छन् त्यो दिनको त्रासदी

    दोरम्बा हत्याकाण्डको २१ वर्ष- ‘जिउँदो शहीद’ मैनकुमार यसरी सम्झिन्छन् त्यो दिनको त्रासदी

    काठमाडौं । नेपालको शान्ति प्रक्रियाको अन्तिम किस्ता टुंगो लगाउन संसदबाट संक्रमणकालीन न्याय सम्पादनसम्बन्धी विधेयक पारित भएकै भोलिपल्ट सशस्त्र द्वन्द्वकालीन एक भयानक हत्याकाण्डको आज २० औं वर्षगाँठ माओवादीले मनाउँदैछ ।

    रामेछापको दोरम्बामा भएको उक्त हत्याकाण्डलाई माओवादीले कालो दिनका रूपमा मनाउने गरेको छ । ६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला थियो त्यो ।

    सरकारी वार्ता टोलीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए भने माओवादी वार्ता टोलीको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका थिए । हापुरेमा वार्ता चलिरहेकै बेला खबर फैलियो- रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामूहिक हत्या गर्‍यो ।

    युद्धविरामको समयमा तत्कालीन शाही नेपाली सेनाका मेजर रामराज पोखरेलको सनकमा माओवादी कार्यकर्ताहरुको कत्लेआम गरिएको घटनाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराएको थियो ।

    दोरम्बा हत्याकाण्ड कसरी भएको थियो ? यसबारेमा राष्ट्रिय मानव अधिकार आयोगले समेत अनुसन्धान गरेको थियो । दोरम्बा हत्काण्डमा बाँचेका एक जीवित साक्षी मैनकुमार मोक्तान जो अहिले दोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष समेत छन्, उनले सो हत्याकाण्डबारे केही समयअघि नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलसँगको कुराकानीका क्रममा विस्तृत शब्दमा स्मरण गरेका थिए ।

    मैनकुमार मोक्तान ।

    युद्धकालमा तत्कालीन नेकपा माओवादीका रामेछाप जिल्ला सेक्रेटरी तथा जनमुक्ति सेनाको बटालियन कमिसारसम्म भएका मोक्तान दोरम्बा हत्याकाण्डका ‘जिउँदो शहीद’ हुन् । उनी सेनाको कब्जाबाट भागेर बाँचेका थिए । प्रस्तुत छ,उनले देखेको र भोगेको दोरम्बा हत्याकाण्डको नालीबेली-

    त्यो साउन ३२

    युद्धविरामको समय भएकाले हामी अर्धभूमिगत जस्तै थियौं । खुलेआम सदरमुकाम र सुरक्षाफौज भएका ठाउँतिर नगए पनि हामी युद्धको अवस्थामा थिएनौं । ०६० साउन ३२ गते रामेछाप काभ्रे विशेष जिल्ला कमिटीअन्तर्गत इलाका कमिटीको बैठक बस्ने भएकाले हामी दोरम्बातिर लाग्यौं ।

    तत्कालीन जिल्ला इन्चार्ज हरि दाहाल (ललित), जिल्ला सेक्रेटरी म, जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (पुष्प) सहितको टोली गुन्सीबाट दोरम्बातर्फ लाग्यौं । हामीसँग जनमिलिसिया हेडक्वार्टरका कमाण्डर रक्तिम र जनमुक्ति सेनाको सानो टुकडी पनि थियो । युद्धबिरामको बेला भएकाले कुनै भिडन्तको आशंका थिएन ।

    युद्धविरामको मौका, त्यसमा पनि तत्कालीन शाही सेना ब्यारेक वरिपरिको केवल ५ किलोमिटर क्षेत्रभन्दा बाहिर निस्कन नपाउने आचारसंहितामा सरकारले सहमति गरेको थियो । सेनाभन्दा करिब २५ कोष टाढा दोरम्बामा पार्टी बैठक राखेका थियौं हामीले ।

    साउन ३१ गते बेलुका हामी दोरम्बा पुगेर स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बास बस्यौं । युवराज माओवादीका समर्थक थिए । उनका छोरा लीला पनि हामीसँग आवद्ध थिए । राति हामीले त्यहीँ बसेर योजना बनायौं । इलाका सेक्रेटरी ललिका पनि हुनुहुन्थ्यो । बिहान हामी नेताहरूको टीम बसेर इलाका बैठकको योजना बनाउँदै थियौं ।

    साथीहरू कोही मेसमा खाना बनाउँदै थिए, कोही आराम गर्दै थिए । आ-आफ्नो धुनमा थियौं सबैजना । दोरम्बाको भिरकुनाभन्दा त्यो ठाउँमा सधैं कुहिरोले ढाकेको हुन्छ । साउन मसान्तको दिन सिमसिम पानी र कुहिरोले ढाकेको थियो ।

    बिहान ११ बजेतिर सेनाले हामी बसेको एरिया घेरा हालिसकेको रहेछ । तर, हामीले चाल पाएनौं । हामी बसेको घरभन्दा केही पर सेन्ट्री बसेकी एकजना बहिनीलाई गोलीले ढालेर उनीहरू अघि बढ्दासम्म हामीले थाहा पाएनौं ।

    बैठकस्थलमा आउँदै गरेका टेकवहादुर थापा मगरलाई पनि उनीहरुले कब्जा गरेर हत्या गरेपछिमात्रै हामीले सेना आयो भन्ने थाहा पायौं । तर, त्यतिबेला हामीले केही गर्न सक्ने अवस्था नै थिएन ।

    घरभन्दा बाहिर रहेका साथीहरू भाग्न सफल भएछन् । हामी मुख्य टीम घरभित्रै थियौं । घरबाहिर १०/१२ जना साथीहरु थिए । उनीहरू सेनाले टेकबहादुरलाई समातेर मारेको खबर सुनेपछि भागेछन् । घरभित्र हामी मुख्य नेतृत्वसहित २१ जना थियौं ।

    अब के गर्ने भनेर सोच्न नपाउँदै सेना घरभित्र प्रवेश गर्न थालिसकेको थियो । हामी बसेकै घरको करेसाबारीमा प्रदीप दोङ ‘रक्तिम’ लाई पनि हत्या गरेपछि हामी बसेकै ठाउँसम्म बन्दुक पड्केको आवाज आयो ।

    गोलीको घेराबाट भाग्दा..

    युद्धविरामको समय हो, किन आएको भन्ने पनि सोध्न पाइएन । यिनीहरुले मार्छन् भन्ने लागेपछि मैले भागौं साथी हो भनेँ । मचाहिँ घरभित्र माथिल्लो चोटाको झ्यालबाट हामफालेर बारीको कान्लाबाट ठाडै ओरालो भागेँ ।

    मेरो पछि-पछि दर्जनौं राउण्ड गोली चल्यो । तर, संयोगवश मलाई एउटै पनि लागेन । ओरालो बाटो, साउनको मकैबारी भएका कारण पनि लुक्दै गोली छल्दै भाग्न सकियोजस्तो लाग्छ ।

    जिल्ला इञ्चार्ज हरि दाहाल अलमलमा पर्नुभएछ । उहाँकी पत्नी ललिका, जो इलाका सेक्रेटरी पनि हुनुहुन्थ्यो, उहाँ अलि विरामी भएकाले के गर्ने भन्ने परेछ । तर, उहाँ पनि अन्तिममा ढोकामा उभिएका सेनालाई घचेटेर भाग्दै तल मलाई नै भेट्न आइपुग्नुभयो ।

    (हरि दाहाल हाल ललितपुरका माओवादी इन्चार्ज छन्)

    हामी ओरालो भाग्दै-भाग्दै खोल्सो तरेर पारिपट्टि पुग्यौं । अरु साथी के भए भन्ने थाहा हुनै सकेको थिएन । आँगनमा भएका साथीहरू हामीभन्दा पहिले भागिसकेका थिए । उनीहरू पनि पारि पुग्दा भेटिन थाले । भाग्न सफल भएका १४/१५ जना जम्मा भएर हामी भागेको घरमा के भयो होला भन्ने चिन्ताले खबर बुझ्न थाल्यौं ।

    सेनाले घरमाथि मात्र घेरा हालेकाले हामी भागेर बाँच्न सफल भएका थियौं । यदि घरमुनि पनि घेरा हालेको थियो भने हामी कोही नबाँच्ने रहेछौं ।

    हामी उकालो लागेर पारिगाउँमा पुग्दा साथीहरूलाई लहरै लाइन लगाएर हिँडाएको देख्यौं । त्योबेला कुहिरो भागेकाले देख्न सकियो । हामीलाई लाग्यो, साथीहरूलाई गिरफ्तार गरेर लगेको होला । उहाँहरूलाई पनि सायद गिरफ्तार मात्रै गर्ने होला, हत्या गर्दैन भन्ने विश्वासले नै भाग्नुभएन ।

    जो डाँडाकटेरीमा मारिए

    घेरामा पर्नुभएका सबै साथीलाई शाही सेनाले हात पछाडि लगेर डोरीले बाँधेको दृश्य हरि दाहालले अलि परको घरबाट देख्नुभएको रहेछ । हात बाँधेका निहत्था सबैलाई शाही सेनाले १ घन्टा हिँडाएर डाँडाकटेरी भन्ने ठाउँमा पुर्‍याएर लाम लगाएर एक-एक गर्दै गोली ठोकेर मारेको रहेछ ।

    हामीले पारिपट्टि बन्दूक पड्केको र महिला साथीहरु चिच्याएको आवाज सुनेपछि शाही सेनाले सिध्यायो भन्ने अनुमान गरिहाल्यौं । साथीहरूलाई लस्करै लाइन लगाएको रहेछ ।

    जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङले म कमाण्डर हुँ, जे गर्ने होला मलाई गर, अरु साथीहरुलाई छाडिदेऊ भन्नुभएको रहेछ । त्यसैले अरु सबै साथीहरुलाई मारेपछि उहाँलाई यातना दिएर मारेको भन्ने प्रत्यक्षदर्शीले बताए ।

    उनीहरू सबैजनालाई लाइन लगाएर हत्या गरेपछि लासहरू त्यतिकै छाडेर हिँडेछन् । त्यसदिन त्यतिकै रात परेको थियो । हामीले केही साथी पठायौं र लासहरु संकलन गर्न भन्यौं । भोलिपल्ट शवहरू गाडियो ।

    त्यो घटनामा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ, इलाका सेक्रेटरी ललिका, जनमिलिसिया प्रमुख रक्तिम, चतुरमान थामी, टेकबहादुर थामा मगर, बिष्णुमाया मगर, पदमराज गिरी, घरधनी युवराज मोक्तान र छोरा लीलालाई पनि सेनाले हत्या गरेको थियो ।

    त्यो घटनामा हत्या हुने अरु कमरेडहरूमा उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, सोमई थामी ‘संगिता’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायतका साथी पनि परे ।

    दोरम्बा हत्याकाण्ड तत्कालीन सेनाका मेजर (राममणि पोखरेल) को सनकमात्र थियो कि राज्यले नियोजितरूपमा गराएको थियो ? अहिलेसम्म प्रष्ट छैन ।

    अनि मैले अग्नि सापकोटालाई फोन गरेँ

    साथीहरूलाई हत्या गरेको थाहा पाउनासाथ अब के गर्ने भन्ने भयो । त्यतिबेला अहिलेजस्तो सञ्चार सम्पर्क सहज थिएन । मसँग एउटा नोकिया मोबाइल थियो । जिल्ला हेडक्वार्टरले प्रयोग गर्ने सो मोबाइलबाट मैले क्षेत्रीय व्यूरो इन्चार्ज अग्नि सापकोटालाई फोन लगाएँ । उहाँलाई सबै जानकारी गराएपछि आफू सुरक्षित हुन भन्नुभयो ।

    त्योबेला आफ्नो च्यानलभन्दा भन्दा बाहिर कसैसँग कुरा गर्न पाइन्नथ्यो । मैले उहाँलाई फोन गरेपछि उहाँले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो होला । त्यसपछि पार्टीले केही समयमै वार्ता भंग गरेर युद्धमा फर्किने निर्णय गर्‍यो । हामी त्यहाँबाट हिँडेर दिमीपोखरी पुग्यौं । यति ठूलो त्रासदी युद्धकालमा कहिल्यै भोगिएको थिएन । नसोचेको घटना भएको थियो ।

    दोरम्बा हत्याकाण्डपछि हामीले यसको कारण खोज्न थाल्यौं । हामीले धेरैसँग बयान लिएपछि त्यसक्रममा स्थानीय स्वास्थ्यकर्मी समेत रहेकी रेलिमाया मोक्तान र अर्का एकजनाले खबर गरेर सेना आएको भन्ने थाहा भयो ।

    (पछि माओवादीले उनीहरूको पनि हत्या गरे) ।

    कृष्णजंग रायमाझी नेतृत्वको छानबिन आयोगले पनि अनुसन्धान गरेर राज्यबाट युद्दविरामविपरीत निहत्थाको हत्या गरेको रिपोर्ट दिएको थियो । सायद त्यो रिपोर्ट अहिले पनि होला ।

    हामीले पनि केही असावधानीका कारण ठूलो क्षति भोग्यौं कि जस्तो लाग्छ । युद्धविराम भए पनि सेनाको गतिविधि हामीले वाच गर्नुपथ्र्यो । हामी बढी विश्वासमा परेका थियौं । हामीलाई सेनाबाट धोका हुन्छ भन्ने थाहा भएको भए हतियार हामीसँग पनि थियो । तर, हामीले हतियार चलाउनै पाएनौं ।

    हाम्रा साथीहरुले बन्दूकहरू दाउराको चाङमा राख्नुभएको रहेछ । केही दिनपछि हामीले त्यो घरमा गएर बन्दूक जहाँ राखिएको थियो, त्यहीँ भेट्यौं । मसँग पनि सानो हतियार थियो, तर चलाउन पाइएन । यदि हामीले पनि हतियार चलाएको भए हाम्रोतर्फ त्यति ठूलो क्षति हुने थिएन होला ।

    आज पनि दोरम्बामा मारिएका कमरेडका परिवारका सदस्य भेट्दा हामी भावविव्हल हुन्छौं । अब कहिल्यै त्यस्तो नहोस् भन्नु बाहेक हामी केही गर्न सक्दैनौं ।

  • कवि पराजुली मुछिएको जग्गा विवादको अन्तर्य र गाम्भीर्य

    कवि पराजुली मुछिएको जग्गा विवादको अन्तर्य र गाम्भीर्य

    कवि अर्जुन पराजुली सञ्चालक रहेको पाठशाला स्कुलले वानेश्वर, थापागाउँमा रहेको ‘सार्वजनिक जग्गा’ लाई तारवार गरेर पार्किङको रुपमा प्रयोग गरेको विषयलाई मैले सामाजिक सञ्जालमा उजागर गरेपछि अहिले यो विषयमाथि तीव्र बहस छेडिएको छ । धेरैले कवि पराजुलीको बचाउमा उभिएर भावुक स्टाटसहरु पनि लेखेको देखेँ । कवि स्वयम्ले जनआन्दोलनमा ज्यानको बाजी लगाएर हिँडेको व्यक्तिलाई कुनै पनि अनियमितामा मुछ्नु नहुने आशयमा भावुक टिप्पणी गर्नुभएको छ ।

    निश्चय पनि अरु कोही पनि व्यक्ति मुछिएकाे भए धेरै चित्तदुखाइ नहुन सक्थ्यो । तर, सामाजिक सञ्जालमा आफ्नो तिखो कलममार्फत निरन्तर भ्रष्टाचार र अनियमिताविरुद्ध पहरेदारी गरिरहेका र सबैले सदाचारी ठानेका व्यक्ति नै जग्गा अपचलनकाे विवादमा पर्नु एउटा अप्रिय अवस्था हो ।

    मेरो उद्देश्य कवि पराजुलीलाई डाम्ने नभएर झक्झकाउने मात्र थियो । तर, उहाँले कुनै पनि गल्ति महसुस गर्ने भन्दा पनि सामाजिक सञ्रजालकाे लाेकप्रियताकाे आडमा आफ्नो आलोचना गर्ने र आफूमाथि प्रश्न गर्नेहरुलाई सत्तानिकट व्यक्तिहरुको पगरी गुथाउन व्यस्त रहनुभयो । सँधै अरुमाथि प्रश्न उठाउने कविलाई आफूमाथि उठेका प्रश्नको सामना गर्न कठिनाइ भइरहेको मैले महसुस गरेको छु ।

    पछिल्लाे स्टाटसमा चाहीँ मैले अब पनि कविज्यूको बारेमा धेरे लेखेँ भने  व्यक्तिगत तहमा जान्छ, त्यस्तो कार्य जीवनमा कहिल्यै गरिएको थिएन, त्यसैले अब नलेखौँ भनेर ‘याे अन्तिम हो… ’ भनेको थिएँ । तर, ‘अन्तिम’ भनेपछि थापागाउँका, कीर्तिपुर, बालाजु, बागबजार र कागेश्वरीका स्थानीयले भेटेर, कल गरेर, म्यासेन्जरलगायत थुप्रै माध्यमबाट भनेका कुरा एउटै थियो ।

    ‘प्रकाश सर, हामीले बोल्न सकेका थिएनौ‌ं, तपाईंले कहाँ कताबाट लेखि दिनुभयो । हामीले न्याय महसुस गरेका थियौ‌ं । अब तपाईंले पनि लेख्न छाड्नु भयो भने हामी त सधैँ अन्यायमा पर्छौ‌ । हामीलाई  कविज्यूले गुन्डा र पावर लगाएर दबाएर राखिरहनु भएको थियो र छ, तपाईं लेख्न नछाड्नु होला’ भनेर धेरै कागजपत्र ल्याइदिनु भयो । धेरै जानकारीहरू दिनुभयो ।

    म के गरूँ ? लेखुँ व्यक्तिगत हुन जान्छ, जो मेरो कुनै इच्छा नै छैन । नलेखुँ, उनीहरूको गहिरो र भावनात्मक अनुरोध छ । अनि यस्तो पनि लाग्यो, मप्रति उहाँहरूले गरेको आशा र भरोसा टुट्न दिनु हुन्न, उनीहरूको भावनाको सम्मानमा भए पनि कम्तिमा जेसुकै होस, सबैको नलेखे पनि एउटा जग्गाका चाहीँ लेख्छु भन्ने लाग्यो ।

    हो यो, थापागाउँको जग्गाको कथा ।

    यो यस्तो क्षण भएको छ मलाई, जनमुक्ति सेनाको चेक माओवादी नेतृत्वले खोसेपछि ज्यान जोगाउँदै भागेर हिँडेकाहरूले जंगलका बीचबाट फोन गरेर दुःख सुनाएको क्षण जस्तो लागिरा’छ ।

    खैर,

    निःसन्तान भएपछि पाटनको एकजना नेवारले नुन छरेर छाडेको जग्गा रहेछ, पाठशालाले हाल पार्किङ गरिरहेको ठाउँ । त्यसैले ०२१ सालको नापीमा त्यसलाई ७ नम्बर (व्यक्तिको होइन, हुन नसक्ने) भनियो । त्यसपछि त्यहाँ शिवलि‌ंग राखेर पूजा गरिने गरिएको थियो ।

    पछि त्यो मेरीगोल्ड मतदान केन्द्र भयो । रवीन्द्र मिश्रले चुनाव उठ्दा पनि त्यही ठाउँबाट स्थानीयले मतदान गरेका थिए । जब पाठशालाले त्यहाँ बार लगाउन थाल्यो, तब स्थानीय छक्क परे । पछि बुझ्दै जाँदा थाहा भयो कि त्यो जग्गा त ०५३ सालमा नै उप्रेती परिवारले व्यक्तिगत बनाइसकेको रहेछ। तर भोग चलन चाहिँ कहिल्यै गरेका थिएनन् । सायद स्थानीयबाट विराेध हुने भएर नै होला ।

    यो कुरा रवीन्द्र मिश्र र प्रकाशमान सिंहसमक्ष पनि पुग्यो । दुवैले गलत भनिदिए, तर काम गरिदिएनन् ।

    पाठशालालाई घर भाडामा दिएर हाल बालकुमारीतिरका अपार्टमेन्टमा बस्दै आएका उप्रेती परिवारलाई थापागाउँका स्थानीय समाजले बैठक नै राखेर सोधेको रहेछन्, ‘यो सार्वजनिक जग्गा किन व्यक्तिको नाममा नामसारी गर्नु भएको ? यो त मतदान केन्द्र पनि हो ।’

    उप्रेती परिवारले जवाफमा भनेछन्, ‘छिमेकी भएकाले जग्गा हराउँला, दलालहरूले फेरि बेचेर खाइदेलान् भनेर संरक्षण गरिदिएको हुँ । यो सरकारी जग्गा हो, सरकारको नाममा फिर्ता गरिदिन्छु ।’

    तर, पछि पाठशालाका हाकिमहरूले उप्रेती परिवारसँग स्कुलले किन्ने भनेर लोभ देखाएपछि उप्रेतीहरू पनि अलिकति लोभिएका रहेछन् । त्यही व्यक्तिगत लालपुर्जाको आधारमा कविज्यू र उनको पाठशालाले जग्गा किन्न लागेको सुइँको पाएपछि अर्थात् किनबेच हुने नै भए पछि बल्ल स्थानीय वडा, अख्तियार, अदालत गएका रहेछन् । अहिले अख्तियारले किनबेच गर्न रोक त लगाएको छ, भोगचलन पाठशालाले गरेको छ ।

    सो जग्गा किनबेच रोक्न र खाली गराउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ आफैँ प्रदेशमन्त्री हुँदाको बखत झन्डावाल गाडीमा नै अख्तियार प्रमुख प्रेमकुमार राईलाई भेटेर मुद्दा दर्ता गराएका रहेछन् ।

    स्थानीयका अनुसार उनको पहलपछि मात्रै किनबेच रोक्का भएको हो, अब त्यो जग्गा किनबेच हुँदैन् ।

    उता, १० नम्बरको वडा अध्यक्षले पनि पार्किङ खाली गरेर पुनः सार्वजनिक बनाउने भनेर प्रयास गरे पनि नसकेपछि थापागाउँका स्थानीयहरू मेयर बालेन शाहको कार्यकक्षमा पुगे । मेयर शाहले तत्काल एक्सन लिइहाले । वडालाई तुरुन्तै भत्काउनु र पहिला झैँ सार्वजनिक बनाउनु भनेर पत्र पठाइदिए ।

    तर, बालेनको पत्र वडामा आउन लागेको थाहा पाएपछि कविज्यू र उनको पाठशालाले अदालतमा मुद्दा हाल्न उप्रेती परिवारलाई उक्साएछन् र उनीहरूले हालेका पनि छन् ।

    उता अदालत पुगेपछि अझ के थाहा भयो भने जग्गा १५ आना १ पैसा मात्रै होइन, जग्गा १ रोपनी १२ आना पो रहेछ। अहिले अदालतले अरू जग्गा खै ? भनेर नापी र उप्रेती परिवारलाई उल्टै प्रश्न गरेपछि उप्रेती परिवार (पाठशाला) को वकिल गएको मङ्गलवार अदालत नै गएनन्, जवाफ नै दिएनन् ।

    यो मुद्दा हाल्न कविज्यू र पाठशालाले उक्साएको भन्ने त्यो बेला पोल खुल्न गयो जुन बेला स्थानीयले फेरि उप्रेती परिवारलाई सोधे कि, ‘जग्गा फिर्ता गर्छु भनेर समाज अगाडि भन्नु भएको थियो, फेरी अदालत किन गएको ?’

    अहिले उप्रेती परिवारले थापागाउँबासीलाई एउटै सन्देश दिइरहेका छन् कि, ‘म, हामी अदालत जान खोजेकै होइन, फिर्ता गर्छु भनेर बोलेका थियौ र गर्छौ तर अलि परिबन्दमा परेर गएका हाैंँ ।  म त्यतै आएर भेटेर भनौँला, सरकारको हो भनेका छौं, हामी सरकारलाई नै जग्गा फिर्ता गरिदिन्छौं ।’

    सायद यही भएर होला, मङ्गलवार मुद्दाको पेशी हुँदा पनि उप्रेती परिवारले आफ्ना वकिललाई अदालतमा प्रतिरक्षा गर्न नै पठाएन ।

    थापागाउँबासीको कुरा के हो भने ‘जग्गा फिर्ता गर्छु भनेको मान्छे मुद्दा कसरी हाल्न गए ?’ उनीहरूको बुझाई छ, कविज्यूको पाठशालाले लोभलालच दिए होलान् । सायद, कविज्यू र पाठशालाले बैनास्वरूप भनेर पहिला नै अग्रिम रकम लिएका कारण पनि अदालत गएको हुनुपर्छ भन्ने स्थानीयको बुझाइ छ ।

    उनीहरूका आफन्तहरूसँग बुझ्दा, स्वयं उप्रेती परिवार पनि यो लफडामा पर्नभन्दा जग्गा नै छाड्न हिजो पनि तयार थिए, आज पनि तयार छन् । यो उप्रेती परिवारले अहिले पनि बानेश्वरका पुराना छिमेकीहरूलाई खबर पठाइरहेका छन् ।

    पाठशालाले सो जग्गा जबरजस्ती घेराबार गरेको केही समयपछि स्थानीयले कविज्युलाई घेराउ नै गरेर ‘तपाईंका कविता धेरै सुन्यौँ, पढ्यौं अब हामी तपाईंलाई कविता सुनाउँछौँ’ भनेपछि उनी कुलेलाम ठाेकेका रहेछन् । अहिले स्थानीयले बोलाएर कुरा गर्न खोज्दा पनि कविज्यू छड्के छड्के लाग्ने रहेछन्, सामना नै गर्दैनन् रे !

    त्यसपछि त कविज्यू र पाठशालाको विरोध गर्नेलाई अप्रत्यक्ष रूपमा गुन्डा लगाएर धम्काउन लगाउने, गाडीको हावा खोलिदिने, चर्को चर्को हर्न बजाएर डिस्टर्ब गरिदिने मात्रै होइन, गाडी पार्किङ गरे भने चाबी लगाएर हिँड्नेजस्ता कार्य गरेर मानसिक टर्चर दिने गरेपछि आजकाल दिनहुँ पाठशाला र स्थानीयबीच लफडा परिरहेको हुने रहेछ । हुन त, मेयर बालेन शाहले पुनः पार्क बनाउन निर्देशन दिइसकेकाले अब चाँडै सो स्थलमा डोजर लाग्ने र पुनः पार्कले पहिला झैँ आकार पाउनेमा स्थानीय चाहीँ ढुक्क रहेछन् ।

    जो ‘जग्गा धनी’ हो, उ स्वयं गल्ती महसुस गरेर ब्याक भइसक्यो, केही चाहीँ अझै कविज्यूको ठेक्का लिएर बसेका छन् ।३-३ वर्षदेखि कविज्यूबाट जग्गा फिर्ता ल्याउन स्थानीयहरू वडा, अख्तियार, नापी, प्रहरी, सीआईबी दौडेको दौड्यै छन् । एकपटक उप्रेती परिवारलाई सोध्नु, स्थानीयहरूलाई सोध्नु, कविज्यू र उनको पाठशालाले दिएको ‘टर्चर’का बारेमा बुझ्नु, अनि बहस गर्नु आउँदा सजिलो हुनेछ । सजिलै भनिदियो, ‘सत्ताका विरोध गरेकाले कविको विरोध गरेका हुन् ।’ यो लडाई स्थानीयको कविज्यूसँग ३-४ वर्षदेखि नै चलिरा’छ । विदेशमा बसेको छ, जतिखेर पनि कुण्ठा पोखेको छ।

    सार्वजनिक र विवादित जग्गा, पार्क भइरहेको, मतदान केन्द्र हो भन्ने थाहा पाउँदा–पाउँदै र आफ्नै आँखाले देख्दादेख्दै भाडामा लिनु कुन सदाचार हाे ?  स्थानीयले विराेध गर्दा पनि अटेर नगरी नहटाउने, अझ किन्न नै खोज्ने (नसकेको पो हो) र बालेनले भत्काउने भएपछि उल्टै अदालत पुगेर रोक्न खोज्नुमा कविज्यू र उनको पाठशालाकाे नियत के हाे त । यति विवादमा मुछिँदा पनि अरूलाई हरेक दिन बिहान, बेलुका र ‘मध्यरात’मा नैतिकताको पाठ सिकाउने कविज्यूले भन्नू पर्दैनथ्यो, ‘ल मैले पार्किङ नलिने भएँ, छाडिदिएँ ।’ भनेका छन् त ?

    सबै कुरा कानुनी (कानुनको छिद्र दुरूपयोग गरेको हो) मात्र हुँदैन, नियत र नैतिकताको हुन्छ । मैले त नैतिकताको अपेक्षा गरेको मात्रै हो किनकी अरूलाई नैतिकताकाे हरेक दिन प्रश्र उठाइरहेकाले उनलाईं पनि उठाएकाे हाे । त्यो जग्गाबाहेक पाठशाला स्कुलकाे अरू जग्गाको बारेमा कसैले प्रश्न उठाएको छैन । तर अझै पनि व्यक्तिगत हो भनेर स्कुलको पार्किङ नछाडेर जिद्दी गरेर बस्ने हो भने कविज्यूलाई केही भनिनँ। सक्नु हुन्छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत पार्क बनाइदिएर छाडे सुनमा सुगन्थ हुने थियाे ।
    म त तपाईंकाे कबिता पढेर हुर्केकाे हुँ, चाैतारामा बसेर लाेलाे मिलाएर तपाईंकाे कविता सामुहिक गाएकै हाे । अब पनि हामीले तिखा कबिता पढिरहन पाऊँ । शुभकामना !!!

  • मृत्युको छायाँ मडारिएको त्यो पल

    मृत्युको छायाँ मडारिएको त्यो पल

    २०८१ सालको साउन महिना पनि बिदा हुने तरखरमा छ । मेरा लागि कहिल्यै नबिर्सिने महिना हो- साउन । मेरो पुनर्जन्म भएको महिना साउन, म चाहेर पनि भुल्न सक्दिनँ । पुनर्जन्म भएको हिसाबले ३ वर्ष पूरा भएर ४ लागेको छ । अनि रोग पत्ता लागेको हिसाबले साढे ४ वर्ष । २०७८ साल साउनमा मेरो बोनम्यारो प्रत्यारोपण भएको थियो । म यतिबेला मेरो उपचारमा अहोरात्र खट्ने निजामती अस्पतालका रक्तक्यान्सर रोग विशेषज्ञ विशेष पौडेललाई सम्झिरहेको छु । उहाँले मलाई पुनर्जन्म नदिएको भए मेरो यमलोकको यात्रा त्यही बेला तय हुन्थ्यो ।

    कोभिड १९ को कहरले लपेटेको बेला खान नपाएर हस्पिटलको क्यान्टिनबाट रोटी मगाएर पानीसँग निलेको अनि चट्टानको छाती बनाएर भित्रभित्रै तड्पिँदै जीवन साथीले आधा वर्ष हस्पिटलमा बिताएको त्यो क्षण चाहेर पनि बिर्सन सकिरहेको छैन । पटकपटक मृत्युको छायाँ मडारिएको त्यो पल सम्झँदा अहिले पनि अत्यास लाग्छ । बाँच्न हरतरहले मृत्युसँग लडिरहेको त्यो क्षण चाहेर पनि भुल्न सकिरहेको छैन । पीडाको पहाड सहन नसकेर मृत्युको कामना गर्दै तड्पिएको क्षण मेरो स्मृतिपटलमा गढेर बसेको छ । कडाखाले रक्त क्यान्सर, तीन चोटी कोभिड, आधा दर्जन पटक निमोनिया भोगेको सम्झन्छु । अनि सम्झन्छु ती प्रियजन, जसले मलाई त्यो कहालीलाग्दो अवस्थामा पनि हरतरहले बाँच्न प्रेरित गर्नुभयो ।

    एकातिर कोभिडको कहर अर्कोतिर क्यान्सरको कष्ट । यी दुवैले झण्डै मलाई मृत्युको संघारमा पुर्‍याए, तर लगिहालेन । गलायोमात्रै । धेरै पटक बेहोस बनायो । धेरै चोटी लडायो । कहिले बेहोस भएर बाथरुममा ढलायो । कहिले बसेकै ठाउँमा लडायो । धेरै पटक लडेर पनि उठ्न सके । उठेर दौडिन सक्ने भएको छु । नेपालमै चिकित्सकको राम्रो उपचार पाएर बाँचे । किनकि त्यो बेला मेरो आत्मबल खस्किन पाएन । त्यसका पछाडि ती धेरै प्रियजनहरुको हात छ । म थाकेको अवश्य थिएँ, तर कहिल्यै हरेस खाइनँ ।

    क्यान्सर प्राणघातक रोग हो, तर डराउँदैमा त्यसबाट छुटकारा पाइने हो र ? रोग लागिहाल्यो, अब डराएर र आत्तिएर केही हुन्छ ? क्यान्सरको पर्याय मृत्यु पनि त होइन । क्यान्सर जीवनको अन्त्य पनि होइन । बेलैमा उपचारमा जाने, हिम्मत जुटाउने, आत्मबल बढाउने, हरेस नखाने, धैर्य गर्ने हो भने अवश्य क्यान्सरलाई जितिन्छ ।

    म अहिले विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरका बिरामीहरुका लागि मनोपरामर्श गर्छु, हौसला दिन्छु । बाँच्न प्रेरित गर्छु । निरास नहुन आग्रह गर्छु । अँध्यारोपछि उज्यालो हुने प्रकृतिको नियम सम्झाउँछु । जिन्दगीदेखि हरेस नखान सल्लाह दिन्छु । किमो र रेडियसन थेरापीको कारण हाडछालामात्र बाँकी भएर डिस्चार्ज भएकाहरु २-३ महिनामा फलोअपमा आउँदा अनुहार निकै फेरिएको पाउँछु । उनीहरु मुसुक्क हाँस्दा औधी खुसी लाग्छ । हाँसोले औषधिको काम गर्छ । मेरो अनुभवले पनि यो कुरालाई पुष्टि गर्छ । हरहमेशा उनीहरुमा सकारात्मक ऊर्जा उत्पन्न होस् भन्ने चाहन्छु । क्यान्सरका बिरामी आफ्नै परिवारको सदस्य झैं लाग्छ । धेरैले मलाई उहाँहरुलाई मनमा लागेको कुरा फोनमा पनि सोध्नुहुन्छ । म घण्टौं कुरा गर्छु । जीवन एकनासले कहाँ चल्छ र ! जीवनको आफ्नै चक्र हुन्छ । जीवन हो घामपानी, सहनै पर्छ । क्यान्सर लाग्दैमा मरिहालिन्छ भन्ने पनि हुँदैन । समयमै उपचार हुन सक्यो भने धेरैखाले क्यान्सर निको हुन्छ ।

    क्यान्सरका बिरामीलाई मेरो बाबै के रोग लाग्यो नि भनेर ‘बिचरा’ बनाउने होइन । लोलोपोतो धेरै गर्ने होइन । मान्छेको शरीर हो, रोग लाग्छ उपचार गर्दा निको हुन्छ भन्ने हो । क्यान्सरका बिरामीलाई मनोबल बढाएन भने शरीर झनै कमजोर हुन्छ । शरीर कमजोर भयो भने क्यान्सरसँग लड्न सकिँदैन । थिलथिलो भएको शरीरले किमोको कहर थेग्न सक्दैन । औषधिको असरले केही खान मनलाग्दैन । खानमा पटक्कै रुचि हुँदैन । दाँतले चबाउन सक्दैन । जिब्रोले स्वाद थाहा पाउँदैन । खानेकुरा परैबाट गनाउँछ । वाकवाकी लाग्ने, बान्ता हुने नियमित प्रक्रिया बन्छ । त्यसले शरीर झनै गलाउँछ । उनीहरुलाई त्यो बेला उपचारको अलावा हौसलाको खाँचो हुन्छ ।

    त्यसैले बिरामी आफैंले आफूलाई दह्रो बनाउँदै जाने हो । त्यसलाई परिवारका सदस्यले साथ दिने हो । हुन त कुनै घरमा क्यान्सरको कहर छिरेपछि त्यो परिवार तहसनहस हुन्छ- मानसिक, सामाजिक, आर्थिक सबै हिसाबले । थाहा छ, तर उपाय पनि त छैन । घरमा क्यान्सर छिरेपछि त्यसको सामना गर्नुको विकल्प पनि त छैन । क्यान्सर शब्द सुन्नेबित्तिकै हामी धेरैजसो डराउँछौं । स्वाभाविक हो । क्यान्सर प्राणघातक रोग हो, तर डराउँदैमा त्यसबाट छुटकारा पाइने हो र ? रोग लागिहाल्यो, अब डराएर र आत्तिएर केही हुन्छ ? क्यान्सरको पर्याय मृत्यु पनि त होइन । क्यान्सर जीवनको अन्त्य पनि होइन । बेलैमा उपचारमा जाने, हिम्मत जुटाउने, आत्मबल बढाउने, हरेस नखाने, धैर्य गर्ने हो भने अवश्य क्यान्सरलाई जितिन्छ ।

    हामी सबैको शरीर सूक्ष्म कोषिकाहरुले बनेको हो । कुनै कारणबस ती सूक्ष्म कोषिकाको अनियन्त्रित वृद्धि हुँदै जानु नै क्यान्सर हो । यो विज्ञानले पुष्टि गरिसकेको छ । शरीरको कुनै यस्तो अंग हुँदैन जसमा क्यान्सर नछिरेको होस् । बाघले एक्कासि हरिणलाई आक्रमण गरे जत्तिकै अप्रत्याशित रुपमा लाग्छ क्यान्सर ।

    विश्वमा तथा नेपालमै कतिपय प्रतिष्ठित व्यक्ति विशेषले क्यान्सरलाई जितेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर, ७ पटक विश्व साइकल चालक विजेता ल्यान्स आर्मस्ट्रङ, अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, प्रसिद्ध अमेरिकी अभिनेत्री एन्जेलिना जोली, जोर्डनका राजा हुसेन बेन, भारतीय चर्चित क्रिकेट खेलाडी युवराज सिंह, भारतीय चर्चित कलाकार सोनाली बेन्द्रे, राकेश रोशन, किरण खेर अहिले आएर सञ्जय दत्त लास्ट स्टेजको क्यान्सर विजेता हुन् । उपचारसँगै सकारात्मक सोचको उपज उनीहरुले क्यान्सर जित्न सम्भव भएको हो । क्यान्सरलाई स्वीकार्नुपर्छ । समाजले क्यान्सरलाई स्वीकार्न धेरै गाह्रो मानेको देख्छु । विकसित देशहरूमा सम्बन्धित चिकित्सक र अस्पतालले बिरामीलाई उसको रोगबारे सम्पूर्ण जानकारी दिनैपर्छ भन्ने मान्यता छ । उनीहरुले त्यो बिरामीको नैसर्गिक अधिकार हो, मानव अधिकार हो भन्छन्, तर हामीलगायत कतिपय अल्पविकसित देशहरुमा बिरामीलाई थाहा दिनुहुँदैन भन्ने मान्यता छ । कतिपय बिरामीलाई जानकारी नदिइ उपचार गर्‍यो भने आयु लम्ब्याउन सकिन्छ भन्ने हाम्रो मान्यता छ । कतिपय बिरामीको हकमा त्यो सही पनि भएको छ ।

    हामी सबैको शरीर सूक्ष्म कोषिकाहरुले बनेको हो । कुनै कारणबस ती सूक्ष्म कोषिकाको अनियन्त्रित वृद्धि हुँदै जानु नै क्यान्सर हो । यो विज्ञानले पुष्टि गरिसकेको छ । शरीरको कुनै यस्तो अंग हुँदैन जसमा क्यान्सर नछिरेको होस् । बाघले एक्कासि हरिणलाई आक्रमण गरे जत्तिकै अप्रत्याशित रुपमा लाग्छ क्यान्सर । यसले उमेर, लिङ्ग, अङ्ग, जात, वर्ण केही छुट्टाउँदैन । शरीरको टाउकोदेखि खुट्टासम्म, भर्खर जन्मेको शिशुदेखि वृद्ध अवस्थासम्म र कुनै पनि धर्म, जातका व्यक्तिलाई लाग्न सक्ने रोग हो क्यान्सर । अहिले हरेक घरमा यो समस्या भित्रिरहेको छ, तर कतिपयले बेवास्ता गर्दा रोग बढेर उपचार नै नहुने अवस्थामा पुगिसकेको हुन्छ । क्यान्सर अब एक व्यक्तिको मात्र समस्या रहेन । समाजकै समस्या बनेको छ । क्यान्सरका रोगीहरुको बढ्दो क्रमले यो पुष्टि गर्छ ।

    म जहिले पनि आफूलाई चिनाउँदा क्यान्सर सर्भाइभर भनेर परिचय दिने गर्छु, तर क्यान्सर शब्द सुन्नेबित्तिकै कतिपय मेरो टाउकादेखि खुट्टासम्म हेरेर नपत्याए झैं गर्नुहुन्छ । मैले हो भने पनि उहाँहरुलाई पत्याउन मुस्किलपर्दो रहेछ । अहिले पनि समाजमा क्यान्सर यति भारी शब्द छ कि यसैले थिचेर मरिने हो कि भन्ने डर पो हुन्छ । हाम्रो समाजले क्यान्सरलाई हाउगुजी बनाइदिएको छ । शरीरको क्यान्सर त उपचार गरे निको पार्न सकिन्छ, तर ‘समाजमा व्याप्त क्यान्सर’ निको पार्न समय लाग्छ ।

    (लेखक पौडेल ब्लड क्यान्सर सर्भाइभर हुन् ।)

  • राम विनयको ‘पुनर्जन्म’ प्रकाशित

    राम विनयको ‘पुनर्जन्म’ प्रकाशित

    काठमाडौं । प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक ‘पुनर्जन्म’ प्रकाशित भएको छ ।

    कोभिड महामारीको समयमा आफ्नापिता तथा दुइ भाइहरुको मृत्यु भएको राम विनयको परिवारमा सबैलाई कोभिड भएको थियो । लेखक राम विनय कोभिडको कारण गम्भीर भएर झन्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो । आइसीयुमा जीवनका अन्तिम सास फेर्दै बाँचेका राम विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन् । आफ्नो परिवारमा भएको बज्रपात तथा आफुले सहनु परेको पीडाबारेउनलेआफूलाई निचोरेर लेखेको बताएका छन् ।

    उनले भने, ‘अस्पतालमा रहँदा बाहिरबाट एकजना भाइको निधन थाहा पाएँ, बुबा र अर्को भाइको निधन अस्पतालबाट डिस्चार्ज भएपछि मात्र थाहा पाएँ । घरमा सबैलाई कोरोना संक्रमण भएको पनि घर आएपछि थाहा पाएँ । मैले आइसियुमा हरेक पल जीवन र मृत्युको रेखामा संघर्ष गरें ।’

    कविता, नियात्रा तथा निबन्ध विधामा कलम चलाउने राम विनय साहित्य सन्ध्या, जनसाहित्य संघ लगायत संस्थामा आवद्ध छन् । उनले प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, रमेश विकल सम्मान, युद्धप्रसाद मिश्र सम्मान, प्रगतिशील लेखक संघ सम्मान आदि दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

  • साथीहरू, म बाचेँ !

    साथीहरू, म बाचेँ !

    कुनै कुनै साँझ काठमाडौंका डाँडाहरूमा पुगेको बेला सहर नियाल्न खुब रमाइलो लाग्छ ।

    सहर झपक्क बलेको हुन्छ । स–साना बत्तीहरूले सजिएको हुन्छ । अनि सोच्छु, यो झिलिमिली सहरका ५० लाख सपनाहरूमध्ये एउटा सपना म पनि हुँ । म सोच्छु, म धपक्क बलिरहेको स्वप्निल दियो हुँ, जसलाई निभाउन कुनै आँधी हुरीले सक्दैन । म सुदूर यात्रामा निस्केको मार्कोपोलो हुँ, जसलाई कुनै पहाड र नदीले छेक्न सक्दैन ।

    तर, मैले कहिल्यै सोचिनँ,- मेरो स्वप्निल यात्रामा ठूलो ब्रेक लाग्नेछ । झण्डैझण्डै सदाको लागि मेरो यात्रा त्यतै कतै रोकिनेछ । कुनै दिन भयंकर ठूलो सडक दुर्घटनामा पर्नेछु । दुर्घटनापछि मोटरसाइकल चालक साथीले छाडेर हिँड्ने छ ।

    कहिल्यै सोचेको थिएन, केएमसी अस्पतालमा खप्पर काटकुट पार्नुपर्नेछ । टाउकोको जटिल अप्रेसन गर्नुपर्नेछ । दुर्घटनापछि ३३-३४ घण्टा कोमामा जानेछु ।

    नवीन फर्केला कि नफर्केला ! आफन्त, शुभचिन्तकहरू अलमलमा हुनेछन् । बाँचेर फर्किहाले दिमाग ठीक ठाउँमा होला कि नहोला ! सबै चिन्तित हुनेछन् । मेरो आफ्नै कान्छो काकाले मेरो हालत देख्नेछन् । र आफन्तमा खबर फैलाउनेछन्, ‘नवीन दुई घण्टाभन्दा ज्यादा बाँच्दैन ।’ त्यो सुनेर छ्यामा(सानीमा) हताश हुनेछिन् । यस्तो होला भनेर मैले कहिल्यै सोचेको थिएन ।

    चिनेको डाक्टरले नजिकका साथीभाइलाई भन्नेछ,– कि देब्रे आँखाको दृष्टि जानेछ । कि देब्रे कानले सुन्न सक्ने छैन । कि देब्रे हात चल्ने छैन । कि देब्रे पाटो नै प्यारालाइज हुनेछ ।

    मैले कहिल्यै सोचेको थिएन, म कुनै दिन आफन्त, साथीभाइलाई आतंकित बनाउनेछु । उनीहरूको मनमा डर पैदा गर्नेछु । तर, भनिन्छ नि, जीवनमा जे सोचिँदैन त्यही भइदिन्छ । मेरो जीवनमा भइदियो त्यस्तै ।

    ०००

    वैशाख– १६ । सिनामंगल । केएमसी अस्पताल । बिहान ११:४५ बजे । म गहिरो निद्राबाट ब्युँझिएँ ।

    ब्युँझनसाथ लाग्यो, म त कहाँ हो कहाँ छु । बिझाउने खालको दुखाइ कतै पनि थिएन । धेरै उत्तानो सुतेकाले ढाड दुखेजस्तो भयो । कोल्टे फर्कन खोजेँ, सकिनँ । देब्रे कोखामा चसक्क दुखेजस्तो भयो । चलमलाउन सकिनँ । उत्तानो पल्टिएकै अवस्थामा सिलिङतिर हेरेँ । सिलिङ उज्यालो र सेतो थियो ।

    परिस्थितिको आँकलन गरेपछि निचोड निकालेँ,- ‘मेरो टाउकोमा अलिकति चोट लागेछ । बढीमा दुई दिनमा घर गइहाल्छु । अनुहारमा चाहिँ चोटपटक नहोस् !’ मेरो मुख्य चिन्ता घाउको थिएन, अनुहारमा कतै खतहरू पो बस्ने भए कि भन्ने कुराको थियो । अहिले सम्झँदा हाँसो लाग्छ ।

    एकछिन सिलिङलाई नियालेर हेरिरहेँ ।

    बिस्तारै वरिपरिको परिवेश नियालेँ । वरिपरि बेडहरू थिए । बेडमा बिरामीहरू लमतन्न थिए । एउटा बेड भने खाली थियो । दाहिने पट्टीको बेडमा एक जना बिरामी ख्याँक–ख्याँक खोकिरहेका थिए । छिमेकी बिरामीको खोकीसँगै कार्डिएक मोनिटरहरुको साउन्ड पनि एकोहोरो आइरहेका थिए, टुँट् टुँट टुँट…. टुँ…… ।

    मेरो बेडको देब्रेतिरको स्ट्यान्डमा रगतको पोको झुन्डिएको थियो । दाहिनेतिरको स्ट्यान्डमा स्लाइन पानीको बोतल । औषधिको बोतल पनि झुन्डिएको थियो । घाँटीको नशामा निकै ठूलो पाइप जत्रो चिज गाडिएको रैछ । अक्सिजन नाप्न बुढी औँलामा अक्सिमिटरको क्याप थियो । मुटुको गति नाप्न छातीमा इसिजी लिडको चार–पाँचवटा प्लक थियो ।

    परिवेशलाई नियालेपछि विश्वस्त भएँ,- म अस्पतालमा छु ।

    कसरी अस्पताल आइपुगेँ म ? मलाई १५ गते बिहान दरबारमार्गबाट राइजिङ मलतिर जाने बाटोको बिजुलीको पोलमा झड्याम्म ठोक्किनुअघिको पलसम्म सम्झना छ । त्यसपछि केही सम्झना छैन । एकै पटक ३६ घण्टापछि होस होस खुल्यो ।

    मलाई देब्रे आँखा हेर्न गाह्रो भइरहेको थियो । टाउको टनटन सुन्निएको महसुस भएको थियो । तर, दुखाइ भने खासै थिएन । सायद सीधै दिमागसँग जोडिएकाले होला, टाउकोमा चोट लाग्दा उति साह्रो दुखाइ नहुने रहेछ । बरु ग्यास्ट्रिक बल्झिँदा मरुँला झैँ गरी दुख्छ ।

    मलाई बेडबाट उठेर बस्न मन लाग्यो । उत्तानो अवस्थाबाटै उठ्न खोजेँ । सकिनँ । देब्रे कोखामा पुनः दुख्यो । अलिकति टाउको उठाएर हेरेँ, मेरो देब्रे कोखामा त बुढी औँला जत्रो पाइप भित्र फोक्सोसम्म खाँदिएको रहेछ ।

    पाइपबाट रगत–पानी(सिरोमा) बाहिर निस्किरहेको थियो । पिसाब नलीमा पनि पाइप लगाइएको रहेछ । टाउकोमा पनि रगत–पानी निकाल्न पाइप लगाइएको थिएछ । टाउकोको पाइपबारे चाहिँ मैले केही दिनपछि मात्रै थाहा पाएँ ।

    परिस्थितिको आँकलन गरेपछि निचोड निकालेँ,- ‘मेरो टाउकोमा अलिकति चोट लागेछ । बढीमा दुई दिनमा घर गइहाल्छु । अनुहारमा चाहिँ चोटपटक नहोस् !’ मेरो मुख्य चिन्ता घाउको थिएन, अनुहारमा कतै खतहरू पो बस्ने भए कि भन्ने कुराको थियो । अहिले सम्झँदा हाँसो लाग्छ ।

    म वरिपरि अरू बिरामीहरू पनि थिए । नर्सहरू ओहोरदोहोर गरिरहेका थिए ।

    एक जना नर्सलाई बोलाएँ, ‘सिस्टर सुन्नुस् न !’

    नर्स आइन् । सायद मेरो होस खुलेकोमा अर्की नर्सलाई भनिन्, ‘यहाँको बिरामीको होस् खुल्यो !’

    नर्सलाई भनेँ, ‘मेरो आफन्त बोलाइदिनुस् न ।’

    ‘हुन्छ’ भनेर नर्स बाहिरिइन् ।

    केही समयपछि बिरामी कुरुवाले लगाउने लुगामा बहिनी आइपुगिन् । मेरो खुट्टातिरको भागमा उभिएर मलाई एकोहोरो हेरिरहिन् । केही बोलिनन् । केही क्षण हेराहेर मात्रै चल्यो ।

    केही समयपछि बहिनीले सोधिन्, ‘मलाई चिन्नुभयो ?’

    ‘तँ शीतला होइन ?’ सुन्निएको दाहिने आँखा अलि खोलेर सोधेँ ।

    ‘हो,’ यति मात्रै बोलिन् । मैले भनेँ, ‘ममी कहाँ हुनुहुन्छ ?’

    ‘कोठामा हुनुहुन्छ । तपाईँलाई अहिले भेट्दा ममीलाई गाह्रो होला भनेर ठूलो बिरामी होइन भनेर भनेको छु,’ बहिनीले भनिन्, ‘केही दिनपछि भेट्नु न ।’

    यसपछि बहिनी बाहिर गइन् । बहिनी गएपछि साथीभाइ, दाइ दिदीहरू आउनुभयो । अहिले सम्झँदा लाग्छ, भेट्न आएका सबैले मेरो दिमाग ठीक छ कि छैन भनेर ख्याल गरिरहेका थिए । भेट्न आएका मान्छेहरू सबैलाई चिनेँ । सामान्य कुराकानी गरेँ । छिटै डिस्चार्ज भएर काममा फर्कने बताएँ ।

    निकै पछि पो थाहा पाएँ, मैले मान्छेहरूलाई चिन्नु नै ठूलो कुरा थिएछ त्यस वेला । धेरैले आस मारिसकेका थिएछन् । होस नै खुले पनि दिमाग चाहिँ ठीक ठाउँमा नहोला भन्ने सोचेका रहेछन् ।

    ०००

    पोस्ट अपरेसन थिएटरबाट न्युरो सर्जरीमा मलाई सारिएको धेरै दिन भएको थिएन । म सामान्य रूपमा गफ गरिरहेको थिएँ । वरिपरिका बिरामीका आफन्तसँग अलि ज्यादा नै गफ गरिरहेको थिएँ । वास्तवमा म गफ धेरै नै गर्ने गर्छु । प्रायः बोलिरहनु मेरो प्राकृत स्वभाव हो ।

    टाउकोमा ब्याण्डेज थियो । डक्टरले टाउकोमा हात नलानू भनेका थिए । यसवेलासम्म पनि हड्डी नै निकालिएको भन्नेबारे मलाई राम्रोसँग थाहा थिएन । टाउकोको अप्रेसन गर्दा हड्डी नै निकालेर उपचार गरिन्छ भनेर पनि थाहा थिएन । न्युरो सर्जरी वार्डमा हड्डी निकालिएका बिरामीहरू नियालेपछि पनि लागेको थियो,– ‘मेरो बिरामी त यस्तो खाले होइन, सामान्य हो ।’ मेरो बिरामीको गम्भीरताबारे मसँग आफन्तले पनि संवाद गरेका थिएनन् ।

    म गफ गरिरहेको वेला भिजिटमा आएका डक्टरले अचानक भने, ‘तपाईँलाई मैले ख्याल गरिरहेको छु, तपाईँ धेरै नै बोलिरहनुभएको छ । तपाईँलाई थाहा छ कि छैन ? तपाईँको टाउकोमा हड्डी छैन नि !’

    युट्युबमा नेदरल्याण्डबाट खेल्ने इथियोपियाली धाविका सिफान हसनका भिडियोहरू हेरेँ । पाकिस्तानी आइरन लेडी मुनिबा मजारीको भिडियोहरू हेरेँ । लामो संघर्षपछि सफलता प्राप्त गरेका मान्छेहरूको कथाले खुब छिटो हुन्छ मलाई । दुःखसँग हारेर नभागेका मान्छेहरू जब्बर लाग्छन् ।

    डक्टरले यसो भन्नसाथ अचानक बिजुलीको गतिमा ब्याण्डेज गरिएको टाउकोमा मेरो हात पुग्यो । मेरो हातले जहाँ छोयो, त्यहाँ गिदी मात्रै महसुस भयो । चट्याङ परे झैँ भयो । कुनै बज्र मेरो मस्तिष्कमा ठोक्किए झैँ भयो । मुटु एकदमै फुलेर आयो । छातीभित्र कता कता तीतो भयो । लाग्यो, मेरो टाउकोमा त कतै पनि हड्डी नै छैन ।

    हठात् सोचेँ, ‘म त बरबाद भएको रहेछु ।’

    डाक्टरको त्यो बोली मृत्युको सङ्ख झैँ लाग्यो । एकैछिनमा कालोमैलो भएँ । टाउकोमा हड्डी नहुनु त मरे सरह नै भइगयो नि ! अब त मरेकै जुनी भयो । निरन्तर यस्तै सोचको बालो बादल मडारिइरह्यो ।

    लाग्यो, मसँग अब केही बाँकी रहँदैन । अनि पो अचानक जीवनप्रति अगाध माया पलाएर आयो । जिन्दगी त्यति धेरै प्यारो कहिल्यै लागेको थिएन झैँ लाग्यो ।

    डक्टरले मलाई फ्याट्टै त्यसो भन्नुअघि म शारीरिक रूपमा त बिरामी थिएँ । तर, मानसिक रूपमा मेरो आत्मबल गिरेको थिएन । मानसिक रूपमा एकदमै बलियो थिएँ । तर, कति गम्भीर बिरामी हो भनेर थाहा पाएपछि भने म मानसिक रूपमा एकदमै विक्षिप्त भएँ । खासमा होस खुलेदेखि नै विक्षिप्त थिएछु । बलेको आगोमा घिउ थप्ने काम चाहिँ डक्टरले गरिदिएका थिए ।

    म कति धेरै निराश भएको ? जीवनको जस्तै कठिन यात्रामा पनि म यति धेरै निराश भएको थिइनँ ।

    मध्य बानेश्वरको केएफए कलेजमा बीबीए बीचमै छाड्नुपर्दा निराश त भएको थिएँ, तर यति धेरै भएको थिइनँ । ५ वर्षदेखि बुवासित अलग्गै रहनुपर्दा दुःखी त भएको थिएँ । तर, आमाले निराश हुन दिएकी थिइनन् । अझै पनि आमाले बेलाबेला भन्छिन्, ‘तँलाई बाघिनीले जसरी एक्लै हुर्काएको हुँ ।’

    जोरपाटीको फुटपाथमा जुत्ता–चप्पल बेच्दा पनि निराश भइनँ । बौद्ध, नयाँ बस्तीमा मासु पसल डुब्दा पनि निराश भइनँ । सुन्दरीजल र सुन्ताखानमा ब्रोइलर कुखुरा पालन गरेँ । त्यहाँ डुब्दा पनि निराश भइनँ । (सुन्ताखानका पार्टनर दीपेन्द्र अश्रुमाली दाइ अहिले पनि यही पेशामा हुनुहुन्छ ।)

    तर, बीबीए पढ्दाताकाको उद्यमी बन्ने भूत भने कुख्रापालनमा आएर सेलायो । साथीभाइसित ऋणपान गरेर व्यवसायी बनेको थिएँ । अधिकांश कर्जा अझै पनि बाँकी छन् । साथीहरू बैंक थिए भने यतिन्जेल कालो सूचिको लिस्ट सार्वजनिक गरिसक्थे ।

    म कविता लेख्थेँ । दौडन्थेँ । कुखुरापालनमा आइपुगेर व्यवसायी बन्ने भूत सेलाएपछि जागिरको खोजीमा लागेँ । कवि सञ्जीव राई दाइ समेत पार्टनर रहेको मण्डिखाटार र जावलाखेलको जर्मन बेकरीमा हेल्पर बनेर डेढ वर्ष काम गरेँ । पाटन कलेजमा बीए पढ्न सुरु गरेँ । र पनि मेरो जीवनको वहीखातामा ‘निराशा’ भन्ने शब्दै थिएन ।

    केही मान्छेसित साँच्चै ठूलो अपेक्षा थियो । किताब सम्पादन गर्ने कुनै प्रकाशन गृहबाट पहिल्यै पैसा पचाइसकेका लेखकले ६०-४० प्रतिशतको हिसाबमा काम गरौँ भनेर मलाई काम दिएका थिए । कतिपय किताबले त पछि पुरस्कार पनि खाए । तर, तिनले बिरामी हुँदा पनि हिसाबकिताब मिलाएनन् । होस खुलेपछि तिनको नाकमुख पनि देखिनँ । अनि मैले बुझेँ, कसैसित अपेक्षा राख्नु भनेकै महादुःख हो । तर जोसित अपेक्षा राखेकै थिइनँ, तिनले न्यानो माया र अंगालो दिए ।

    मोबाइलमा युनिकोड टाइप गर्न आए पनि कम्प्युटरमा टाइप गर्न नजानेकै कारण एक दैनिक पत्रिकामा जागिर खान सकिनँ । र पनि निराश भइनँ । न भोगिरहेको परिस्थितिप्रति गुनासो रह्यो । न घरपरिवारप्रति नै कुनै अपेक्षा नै थियो । न घरपरिवारले मेरो आवश्यकता नै पूर्ति गर्न सक्थ्यो । मभित्र एकै चिज मात्रै थियो, ‘जिन्दगीमा यही हालतमा त म मर्दै मर्दिनँ । खरानीबाट उठेर भए पनि म मेरो यो दुःखलाग्दो हालत बदल्छु ।’

    १० वर्षअघिको म र १० वर्षपछिको मबीच धेरै फरक थियो । त्यही फरकपनले सन्तुष्टि पनि दिन्थ्यो । ५ वर्षदेखि आमा र बहिनी मसँगै बस्न थालेका थिए । यो कुरा खुसीको अर्को थोपा थियो । सामान्य दुःख र अप्ठ्यारोलाई सजिलै कुल्चिएर, पन्छाएर हिँडेको थिएँ । कहिल्यै कमजोर देखिएर हिँडेको थिइनँ । तर, जब आफू नै रहने हो कि नरहने हो भनेर संशय पैदा हुन थाल्छ, तब एकदमै गाह्रो हुने रहेछ । जब दिमाग उड्ने हो कि भन्ने भयले चिथोर्छ, निकै नै गाह्रो हुने रहेछ ।

    डाक्टरले मेरो उपचार राम्रो गरिदिएका थिए । तर, अचानक मनस्थितिमा डरलाग्दो पहिरो ल्याइदिएका थिए । डाक्टरले त्यसरी बिरामीको मुखैमा प्याच्चै बोल्नुहुन्थ्यो वा हुन्नथ्यो, उनीहरूलाई नै थाहा थियो होला । तर, मलाई भने एकदमै आघात पर्‍यो । भनिन्छ नि, सत्य सधैँ तीतो हुन्छ ! मलाई एकदमै तीतो भयो डाक्टरको कुरा ।

    यसपछि एकदमै संवेदनशील बनेर गएछु । वरिपरिका बिरामीहरूलाई राम्रोसँग नियालेँ । सबै बिरामीमा एउटा न एउटा समस्या छ । कोही के बोलेको हो, पत्तो पाउँदैन । कोही हिँडेको हिँड्यै गर्छ । कोही दिशा पिसाब गरेको थाहा पाउँदैन । कोही धेरै बहुलाएपछि दुवै हात बेडमा बाँधिदिँदा बढी बल गरेर नाडीका छालाहरू सबै खुइलिएका छन् । कोही बिरामीको टाउको सँगै शरीरको आधा पाटो प्यारालाइज नै भएको छ ।

    अहो ! न्युरो सर्जरी वार्ड त अत्यासलाग्दो रहेछ, बल्ल थाहा पाएँ । सडक दुर्घटनामै परेर टाउको अप्रेसन गरेको एउटा बिरामी अस्पतालको पर्खाल नाघेर भागेछन् । बाहिर गएर पठाओ चढेर घरै पुगेछन् । पछि परिवारले अस्पताल ल्याएका रहेछन् । ती पनि मेरै वार्डमा थिए । खोटाङकै अर्की ३१ वर्षकी टाउकोको अप्रेसन गरेको महिला छिमेकी बनेर आएकी थिइन् । अलि पछि उनको परिवारले बाँकी उपचार नगर्ने भनेर घर लगे । सास फेरिरहेको बिरामी घर पुर्‍याएपछि भोलिपल्ट दिउँसो ३ बजेतिर सास गएछ ।

    छिमेकी बिरामी घर पुगेपछि बितेको खबर बहिनीले सुनाइन् । यसपछि त झनै बेचैन भएँ । आफूलाई त्यो बिरामीको ठाउँमा राखेर हेरेँ । अनि सोचेँ, पछि मेरो हालत पनि त्यस्तै त होला । अहिले पो दिमाग ठिकठाक छ, केही समयपछि त अरू बिरामीजस्तै बनिहाल्छु होला ! बिस्तारै मान्छेहरूको सम्झनाहरूबाट पनि बिर्सिइँदै जान्छु होला ।

    बिस्तारै यति धेरै नकारात्मक बनिसकेछु कि कोही पनि मलाई आफ्ना लाग्न छाडे । अरू त अरू ! बहिनी र आमाले पनि मलाई बुझ्दैनन् भन्ने लाग्न थाल्यो । नजिकका साथीभाइ आउँदा मर्नेबारे मात्रै कुरा गर्थेंं । तर, उनीहरू सजिलै लिइदिन्थे । हाँस्थे । र भन्थे, ‘नवीन प्यासीले फेरि गफ दियो ।’

    अति भएपछि बहिनीलाई भनेँ,– ‘मलाई कि ल्यापटप ल्याइदे । कि मोबाइल ल्याइदे । नत्र म त बहुलाउँछु होला अब ।’

    डक्टरले ग्याजेट चलाउनु हुन्न भनेका थिए । तर, प्रायः २१ दिनपछि दोस्रो अप्रेसन गरेर हड्डी ट्रान्सप्लान्ट गरिँदो रहेछ । मेरो भने घाउ नछिप्पिएका कारण ३१–३२ दिन भइसकेको थियो । पुराना धेरै बिरामीहरू डिस्चार्ज भएर गइसकेका थिए । नयाँहरू आएका थिए ।

    मैले जबरजस्ती गरेपछि बहिनीले ल्यापटप ल्याइदिई । मोबाइल पनि ल्याइदिई । मोबाइल चलाउन सुरु गरेँ । सोसल मिडिया चलाएँ । अहो, सोसल मिडिया ! सारा संसार भव्य छ । सारा संसारका मान्छेहरू खुसी छन् । रिल्सहरु हेरेँ, कसैलाई केही समस्या नै छैन । कति सुन्दर र सुखी छ संसार !

    अनि लाग्यो, दुःखी भनेको त म मात्रै रहेँछु । यसपछि मोबाइल चलाउनै मन लागेन । बन्द गरेँ । अनलाइनमार्फत अमेजन प्राइम र नेटफ्लिक्सको एक–एक महिनाको सब्सक्रिप्सन लिएँ । मन परेका फिल्महरू हेर्न थालेँ । ‘पञ्चायत’, ‘कोटा फ्याक्ट्री’का तेस्रो सिजन हेरेँ । ‘अल अर नथिङ : टोटेनह्याम हटस्पर’ स्पोर्टस् डकुमेन्ट्री हेरेँ । ल्यापटपमै भएका मन परेका धेरै फिल्महरू पुनः हेरेँ ।

    युट्युबमा नेदरल्याण्डबाट खेल्ने इथियोपियाली धाविका सिफान हसनका भिडियोहरू हेरेँ । पाकिस्तानी आइरन लेडी मुनिबा मजारीको भिडियोहरू हेरेँ । लामो संघर्षपछि सफलता प्राप्त गरेका मान्छेहरूको कथाले खुब छिटो हुन्छ मलाई । दुःखसँग हारेर नभागेका मान्छेहरू जब्बर लाग्छन् ।

    मुख्य कुरा चाहिँ अबका आउँदा दिनमा मैले देखेका बाँकी सपनाहरू पूरा गर्नु छ । धेरै थोक छ मैले गर्नुपर्ने । ती गर्नुपर्ने तमाम कामका लागि पनि म बाँच्नु छ । कतैबाट प्रहार गर्ने ठाउँ नपाएर सम्बन्धमा घुसेर प्रहार गर्नेहरूसित पनि जोगिनु छ । खराब मान्छेको संगतबाट मुक्त हुनु छ । यसका लागि त सबैभन्दा पहिला म सही हुनुपर्नेछ । सही हुनका लागि खराब र नकारात्मक गतिविधि, आदतलाई बागमतीमा सदाको लागि बगाउनु छ ।

    मैले दिनमा दिनमा १६–१७ घण्टासम्म निरन्तर हेरेँछु । यिनीहरूले एकै काम गरे,- ओभरथिंकिङलाई कम गरिदिए ।

    ४० दिनपछि मेरो दोस्रो अप्रेसन भयो । टाउकोमा हड्डी हालियो । दोस्रो अप्रेसन सफल भएपछि भने मलाई लाग्यो, ‘अब म बाँच्छु । बाँच्ने मात्रै होइन, पुरानै तरीकाले बाँच्छु । म पुरानै तरीकाले काम गर्न सक्छु ।’

    ०००

    दुर्घटनापछि थाहा भयो, मैले आफूलाई नजिकबाट महसुस नगरेको वर्षौँ भइसकेको रहेछ ।

    जहिल्यै अभिनय गरेर हिँडेको रहेछु । घरका सदस्यलाई मेरो आर्थिक अवस्थाबारे कहिल्यै नबताएको रहेछु । आफू जतिसुकै अप्ठ्यारोमा भए पनि घरमा जे आवश्यक पर्छ, यताउता÷तलमाथि गरेर व्यवस्थापन गर्नतिर लागेको रहेछु । हुन त यसको विकल्प पनि थिएन ।

    आफू कमजोर हुँदा पनि साथीभाइको अघिल्तिर कहिल्यै कमजोर नदेखिएको रहेछु । यदि देखिएको भए पनि तील जत्रो कुरालाई पहाड बनाएर बजारमा हल्ला चलाउँथे के रे ! कमजोर देखिनुहुन्न भन्दाभन्दै मलाई नै कमजोरीले मानसिक रूपमा गाँज्दै लगेको थिएछ । अस्पतालमा पनि भेट्न आएका मान्छेहरूको सामु कहिल्यै कमजोर देखिइनँ । बरु ठूल्ठूला कुरा गर्थेँ । यो स्वभावले मेरो अहम्लाई तृप्ति त मिल्यो होला, तर भित्रभित्रै मक्किँदै गइरहेको रहेछु । किनभने म पनि कमजोरी सहितको मान्छे थिएँ, रोबोट थिइनँ ।

    दुर्घटनापछि मैले आफूलाई सबैभन्दा नजिकबाट सुमसुम्याएँ, महसुस गरेँ । दोस्रो अप्रेसनपछि क्याबिन बसेँ । बाथरुमको ऐनामा हेर्थेँ, चिरिएको टाउको सहितको म आफैँलाई औधी मनपथ्र्यो । हेर्थेँ, मुस्कुराउँथे र आफैँ मक्ख हुन्थेँ । अब त म धेरै वर्ष बाँच्दिनँ सायद भन्ने सोच्दा अझै धेरै आफ्नो माया लागेर आउँथ्यो । यस्तो अवस्थामा कोही भइदिए, जसले अंगालो हालेर थुमथुम्याओस् ! यो मेरो कल्पना मात्रै थियो ।

    यहीबीचमा मैले सम्बन्धहरूलाई सुन्तलाको केस्रा केलाए जसरी जसरी केलाउँदै केलाउँदै गएँ । अरूको गुण र मेरो अवगुण छुट्याउँदै गएँ । मैले के अनुभूत गरेँ भने मेरो ७० प्रतिशत संगत खासमा संगत नै थिएनछ । हामी केही न केही स्वार्थले जोडिएका थिएछौं । बाँकी ३० प्रतिशत संगत खास थिएछ, जसलाई मैले महसुस नै गर्न सकेको थिएनछु ।

    केही मान्छेसित साँच्चै ठूलो अपेक्षा थियो । किताब सम्पादन गर्ने कुनै प्रकाशन गृहबाट पहिल्यै पैसा पचाइसकेका लेखकले ६०-४० प्रतिशतको हिसाबमा काम गरौँ भनेर मलाई काम दिएका थिए । कतिपय किताबले त पछि पुरस्कार पनि खाए । तर, तिनले बिरामी हुँदा पनि हिसाबकिताब मिलाएनन् । होस खुलेपछि तिनको नाकमुख पनि देखिनँ । अनि मैले बुझेँ, कसैसित अपेक्षा राख्नु भनेकै महादुःख हो । तर जोसित अपेक्षा राखेकै थिइनँ, तिनले न्यानो माया र अंगालो दिए ।

    ६८ औँ दिनमा दुर्घटनापछि मलाई सडकमा छाडेर गएका चिसो-साथी अस्पतालमा आउनुभयो । मैले उहाँलाई भनेँ,- ‘तपाईँ पहिले नै आउनुपर्थ्यो । मेरी बहिनीलाई सहयोग गर्नुपर्थ्यो । मेरो परिवारको सामना गर्नुपर्थ्यो । तपाईँलाई गोली ठोक्ने, कोर्रा हान्ने कुरा हुँदैन थियो । केही क्षण आक्रोशित हुनु अर्को कुरा हो । तर, वास्तविकताको सामना चाहिँ गर्नुपर्थ्यो । एक रात भए पनि कुरुवा बस्नुपर्थ्यो ।’

    ती साथी केही बोलेनन् । मित्रताको भावनात्मक तुरुप फ्याँकेर गए ।

    जे होस्, ७६ औँ दिन म अस्पतालबाट डिस्चार्ज भएँ । डिस्चार्ज हुँदै गर्दा मेरो डक्टरलाई मेरो एकै सवाल थियो,– मेरो दिमागी सन्तुलन त बिग्रँदैन नि ?

    डक्टरको दाबी थियो, ‘तपाईँको दिमागको अवस्था पहिलाकै जस्तो छ । न्युरोको विशेषता के हो भने यदि समस्या देखिए सुरुमै देखिन्छ । पछि देखिने सम्भावना एकदमै न्यून हुन्छ ।’

    यस्तो दुर्घटनाको अधिकांश केसमा बिरामीमा केही समस्या नदेखिए पनि केही बिरामीमा दीर्घकालीन समस्याहरू देखिँदो रहेछ । जस्तो– बिरामीको मेमोरी फर्कियो । उसले विगत सबै सम्झियो । तर, भविष्यबारे योजना बनाउन, सपना देख्न नसक्दो रहेछ । फेरि हामी बाँच्ने भनेको त भोलि सम्झेर न हो ! आजको संघर्ष भोलि राम्रो होस् भनेर न हो !

    ०००

    डिस्चार्जपछि एक संस्थामार्फत् साइकोलोजिस्ट कहाँ गएँ ।

    त्यहाँ मनका सम्पूर्ण भडाँस पोखेँ । हल्का भएँ । त्यहाँ पुगेपछि नै मैले थाहा पाएँ, म आफैँ पनि कति असंवेदनशील रहेछु । मेरा साथीभाइ कति असंवेदनशील रहेछन् । अहिले पनि भेट हुँदा साथीभाइको पहिलो रहर हुन्छ, ‘खै टोपी खोल त, घाउ हेरुँ !’

    भेटिएका ९० प्रतिशतको यस्तो रहर हुन्छ । उनीहरूले हेरेर घाउको खत निको हुने भए बानेश्वर चोकमै दिनभरि उभिइरहन्थेँ । तर, घाउ त मेरा लागि ट्रमा हो । सायद घाउले मलाई मानसिक रूपमा एकदमै बिझाएको छ भनेर साथीभाइलाई सम्झाउन नसक्नु मेरो दोष हो ।

    अस्पतालमा आउने साथीभाइ सबैले चिन्ता नगर, केही हुँदैन भनेर ढाडस दिए । यो नै मेरा लागि ठूलो कुरा थियो । तर, ढाडससँगै तिम्रो मनमा के चलिरहेको छ, सुनाऊँ, म सुन्छु भनेर भनिदिएका भए… । तिमी उकुसमुकुस त छैनौँ नि ? छौ भने सेयर गर, म सुनिदिन्छु भनेर भनिदिएका भए….. । सायद म जिन्दगीप्रति त्यति नकारात्मक हुँदिनँ थिएँ कि ! म धेरै निराश हुनुमा मनमा गाँठो परेर बसेको उकुसमुकुस पनि कारक रहेछ ।

    जे होस्, यी सबै घटनाक्रमको जग दुर्घटना हो । र दुर्घटनाको जग मेरो अव्यवस्थित जीवनशैली हो । साथमा मदिराको आदत हो । मदिराकै लागि मात्रै जोडिएका साथीभाइ हुन् । मदिराकै बहानामा जोडिएका साथीसित हिँड्दा दुर्घटित भएँ ।

    र मेरो जीवनमा जति पनि खराब र नकारात्मक गतिविधि भए, ती सबैको कारण म नै हुँ । यहाँ अरू कसैको गल्ती छैन ।  अबका दिनमा खराब आदतलाई छाड्नु, मान्छे चिनेर संगत गर्नुको विकल्प मसित छैन । अचेल अलि छिटो रिस उठ्छ, चाँडै रियाक्सन पनि गर्दो रहेछु । मलाई नजिकबाट चिनेकाहरूले त बुझ्छन्, नजिकबाट नचिनेकाहरूले अलि नराम्रो मान्लान् । यो बीचमा निकै जना साथीहरूसित सानो निहुँमा झगडा गरेको छु । यो स्वभावलाई सुधार गर्नैपर्नेछ ।

    मुख्य कुरा चाहिँ अबका आउँदा दिनमा मैले देखेका बाँकी सपनाहरू पूरा गर्नु छ । धेरै थोक छ मैले गर्नुपर्ने । ती गर्नुपर्ने तमाम कामका लागि पनि म बाँच्नु छ । कतैबाट प्रहार गर्ने ठाउँ नपाएर सम्बन्धमा घुसेर प्रहार गर्नेहरूसित पनि जोगिनु छ । खराब मान्छेको संगतबाट मुक्त हुनु छ । यसका लागि त सबैभन्दा पहिला म सही हुनुपर्नेछ । सही हुनका लागि खराब र नकारात्मक गतिविधि, आदतलाई बागमतीमा सदाको लागि बगाउनु छ ।

    जे होस्, म संयोगहरूले बाँचेँ ।  स्पट डेथ भएको छैन भनेर औँला चलेको भरमा उठाएर ट्रमा सेन्टर लैजाने नेपाल प्रहरीप्रति कृतज्ञ छु । म आबद्ध संस्था नेपाल प्रेस परिवारको प्रेम, मायाले पुलकित छु । यदि नेपाल प्रेस सामाजिक सुरक्षा कोषमा गएको थिएन भने आर्थिक हिसाबले मेरो ठूलो क्षति हुने थियो ।

    बाँकी कुरा त अब पुरानै लय समात्नु छ । र जीवनमा सबैभन्दा ठूलो कुरा नै बाँच्नु रहेछ । बाँच्न सफल भएकैले यो अनुभूति लेखिरहेछु । बाँच्न सफल भएकैले यो संसार देखिरहेछु । बाँच्न सफल भएकैले तपाईँसित भेट भइरहेको छ/हुनेछ ।

    ०००

  • शिक्षामन्त्रीज्यू, नयाँ प्राविधिक शिक्षालय खोल्ने आधार के हो ?

    शिक्षामन्त्रीज्यू, नयाँ प्राविधिक शिक्षालय खोल्ने आधार के हो ?

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईज्यू

    तपाईं अध्यक्ष रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले नयाँ शैक्षिक सत्रका लागि एक साता अगाडि प्रवेश परीक्षा सञ्चालन गरेको थियो, तर विडम्बना सीटीईभीटीको इतिहासमै सबैभन्दा कम प्रतिशत विद्यार्थीले यस पटक प्रवेश परीक्षा दिए । सामान्य भाषामा प्रवेश परीक्षा भन्नाले कुनै पनि कार्यक्रम अध्ययन गर्न आधार भएको या नभएको भनेर जाँच्ने भन्ने बुझिन्छ, तर हाम्रा प्रवेश परीक्षाहरुमा विद्यार्थीलाई तानेर सहभागी बनाउने गरिएको छ । यसो भनौं, सीटीईभीटीको प्रवेश परीक्षा केवल आन्तरिक स्रोत वृद्धि गर्ने माध्यममात्रै भएको छ । अहिले स्वास्थ्य कार्यक्रमबाहेक १० प्रतिशत विद्यार्थीमात्रै प्रवेश परीक्षामा सामेल भएका छन् । स्वास्थ्य कार्यक्रममा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्यालाई लिएर सीटीईभीटीका पदाधिकारीहरुले आत्मरति गरिरहेका छन्, तर त्यो तथ्यांक भ्रमपूर्ण र तथ्यरहित छ । हामीले यसलाई वस्तुनिष्ठ ढंगले स्वास्थ्य र अन्य कार्यक्रम गरेर फरकफरक ढंगले विश्लेषण गर्नुपर्छ ।

    अहिले स्वास्थ्यबाहेकको (स्वास्थ्यका एचए, ल्याब र रेडियोग्राफीमा समेत) कार्यक्रममा प्रवेश परीक्षा दिनेको संख्या मन्त्रीज्यूले हेर्नुभएको छ या छैन ? एक पटक हेर्नुभयो भने आफू अध्यक्ष रहेको संस्थाको वास्तविक हविगत अवगत हुनेछ । तपाईं मातहतको संस्थामा सरकारले गरेको लगानी यसरी लाजमर्दो तरिकाले खेर जानु तपाईंमाथिको पनि प्रश्न हो भन्ने मलाई लाग्छ । संसारका देशहरु प्राविधिक शिक्षाको उच्चतम विन्दुमा पुगेको बेलामा नेपालमा सुलभ प्राविधिक शिक्षा हुँदा पनि किन आकर्षण हुन सकेन ? यसका दोषीहरु को को हुन् ? अब यसलाई कसरी सुधार गर्ने भन्नेबारेमा समयमै चासो दिन सकिएन भने सीटीईभीटी विद्यार्थीविनाको संस्था बन्ने निश्चित छ ।

    सञ्चालनमा आएका संस्थाहरु बन्द हुने अवस्थामा छन् । सीटीईभीटीकै आंगिक कलेजहरुमा स्वास्थ्यबाहेकका कार्यक्रम अधिकांश बन्द गर्नुपर्ने स्थिति छ । यस्तो अवस्थामा शिक्षालयको संख्या घटाउन र मर्ज गर्न समिति बनाएर काम गर्नुपर्नेमा परिषद्को साउन २२ गतेको बैठकले थप ६५ वटा संस्थालाई सम्बन्धन बाँड्ने निर्णय गरेको छ । जुन संस्थामा १० प्रतिशत विद्यार्थीमात्रै भर्ना हुन्छ, त्यो संस्थाले नयाँ शिक्षालय सञ्चालन गर्ने आधार के हो ? मन्त्रीज्यूसँग यसको जवाफ हुनुपर्छ । तपाईंले गर्ने हरेक निर्णयको जिम्मेवार मन्त्रीज्यू नै हुनुहुन्छ ।

    प्रधानमन्त्रीले बोलेको भन्दै सामान्य कक्षाकोठा व्यवस्थापन गरेको भरमा प्राविधिक शिक्षालयहरुलाई सम्बन्धन दिने क्रमको सुरुवात भयो । टिनको छानोमा एकाध डेस्कबेन्चमात्रै भएको भरमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने युगको सुरुवात भयो ।

    कहाँनेर छ त्रुटि ?

    योभन्दा अघिल्लो कार्यकालमा अर्थात २०७४ सालमा प्रधानमन्त्री बनेको बेलामा केपी शर्मा ओलीले प्राविधिक शिक्षाको क्षेत्रमा एउटा नारा लगाउनुभयो- ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ । प्राविधिक शिक्षाको पहुँच सबैसामु पुर्‍याउन यो नारा एकदमै जायज थियो, तर पहुँच भनेको शिक्षालय स्थापनामात्रै होइन भन्ने कुरा सीटीईभीटी नेतृत्वले त्यतिबेला बुझाउन सकेन या चाहेन । किनकि सम्बन्धन बाँड्दा मोटो रकम प्राप्त हुने गर्दथ्यो । त्यसका लागि जनशक्ति, पूर्वाधार, ल्याबलगायतका विभिन्न संरचनाकोे आवश्यकता पर्ने थियो । प्रधानमन्त्रीले भनेपछि यी पक्षमा सीटीईभीटीले आवश्यक तयारी गरेर सम्बन्धन बाँड्नुपर्ने थियो । प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम कार्यक्रम सम्बन्धन कार्यविधिको अक्षरशः पालना गर्नुपर्थ्यो, तर प्रधानमन्त्रीले बोलेको भन्दै सामान्य कक्षाकोठा व्यवस्थापन गरेको भरमा प्राविधिक शिक्षालयहरुलाई सम्बन्धन दिने क्रमको सुरुवात भयो । टिनको छानोमा एकाध डेस्कबेन्चमात्रै भएको भरमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने युगको सुरुवात भयो ।

    कुनै पनि खालको नक्सांकन नगरेर हरेक पालिकामा होइन, वडा-वडामा प्राविधिक शिक्षालय सञ्चालन गर्ने होडबाजी नै चल्यो । नेताका गोजीबाट सम्बन्धन बाँड्नेसम्मका काम पनि भए । जसले गर्दा शिक्षालयको संख्या त बढ्यो, तर विद्यार्थीको संख्या भने बढ्न सकेन । पूर्वतयारीविना पहुँचका भरका स्थापना भएका शिक्षालयलाई विद्यार्थीहरुले रुचाएनन् । बरु एउटा शिक्षालयमा पढ्ने विद्यार्थीहरु सबैतिर बाँडिदा अधिकांश शिक्षालयमा कोटा पूरा पनि भएन । एकातिर प्राविधिक शिक्षाको गुणस्तर खस्कँदै गयो, अर्कोतिर उत्पादन भएका विद्यार्थीहरुलाई रोजगारीको बजारमा कसरी लैजाने भन्ने कुरामा न सीटीईभीटीसँग कुनै योजना रह्यो न त सरकारले नै यसबारेमा केही गर्न सक्यो । साँच्चै भन्दा सीटीईभीटी अहिले सम्बन्धन बाँड्ने, परीक्षाको तालिका सार्वजनिक गर्ने र नतिजा प्रकाशन गर्ने रोबोट शैलीको संस्थामा मात्रै रहेको छ । सृजनात्मक काम गर्नमा सीटीईभीटीको रुचि नै देखिँदैन ।

    त्यहीबेलामा खुलेका शिक्षालयमा अहिले १० प्रतिशत पनि विद्यार्थी प्रवेश परीक्षामा समावेश हुन सकेका छैनन् । सरकारले तत्कालीन रुपमा गरेको त्रुटिपूर्ण निर्णयलाई गलत छ भन्ने थाहा हुँदाहुँदै पनि निहित स्वार्थका कारणले सम्बन्धन बाँड्नमा सीटीईभीटीले सक्रियता देखाउँदा यो अवस्था सृजना भएको हो । तत्कालीन सीटीईभीटीका हरेक जिम्मेवार व्यक्तिहरु यसका दोषी हुन् । एउटा इतिहास बोकेको संस्थाको गरिमालाई एकै पटक नामेट गर्नेहरुलाई सरकारले कारबाही गर्ने आँट गर्नुपर्दथ्यो । विडम्बना देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर स्थापना भएको संस्था आफैं बिग्रिएर थला पर्ने अवस्था सृजना भयो ।

    साँच्चै भन्दा सीटीईभीटी अहिले सम्बन्धन बाँड्ने, परीक्षाको तालिका सार्वजनिक गर्ने र नतिजा प्रकाशन गर्ने रोबोट शैलीको संस्थामा मात्रै रहेको छ । सृजनात्मक काम गर्नमा सीटीईभीटीको रुचि नै देखिँदैन ।

    मन्त्रीज्यूले वस्तुपरक अध्ययन गर्नमा रुचि नदेखाएर जथाभावी सम्बन्धन बाँड्ने कामलाई थप जोडबल दिनुभयो । तपाईंसँग अहिलेको विषम परिस्थितिमा शिक्षालयको संख्या बढाउनुको जिम्मेवारीपूर्ण जवाफ छ ?

    अब के गर्ने ?

    प्राविधिक शिक्षामा निरन्तर विद्यार्थी संख्या ओरालो लागेपछि ३ वर्ष अगाडिबाट न्यूनतम जीपीए ल्याएकाले पनि प्राविधिक शिक्षा अध्ययन गर्न सकिने गरी सीटीईभीटीले कार्यविधि परिमार्जन गर्‍यो, तर यसले पनि विद्यार्थीको आकर्षण बढाउन सकेन । विद्यार्थीहरुको आकर्षण एकाएक किन घट्यो भन्नेबारेमा अध्ययन गर्नुभन्दा पनि सस्तो खालको निर्णय गर्ने कुरामा सीटीईभीटी अभ्यस्त हुँदै गयो । पछिल्लो पटक फेल भएका विद्यार्थीले पनि प्रवेश परीक्षा दिने निर्णय गरेको छ ।

    मन्त्रीज्यूलाई सीटीईभीटीले नै निकालेको एउटा तथ्यांक पेश गर्न चाहन्छु । २०७५ सालमा ९३८ कार्यक्रम सञ्चालन हुँदा २३ हजार ८६४ विद्यार्थीले अध्ययन गरेका थिए । २०७९ सालमा १ हजार ३७६ कार्यक्रम सञ्चालन हुँदा २६ हजार ६४६ विद्यार्थी भर्ना भएका थिए । अर्थात् सीटीईभीटीको तथ्यांकअनुसार विद्यार्थीको संख्या २५ हजार आसपास नै रहेको छ । शिक्षालय थपिने क्रम भने तीव्रतर गतिमा भइरहेको छ । विद्यार्थी बढ्न नसक्ने, तर शिक्षालयमात्रै बढ्नुपर्ने यस्तो अवैज्ञानिक निर्णय गर्ने सीटीईभीटी नेतृत्वलाई मन्त्रीज्यूले स्पष्टीकरण लिने आँट गर्नुपर्‍यो ।

    विद्यार्थी आकर्षण बढाउन पहिलो कुरा पाठ्यक्रममा परिवर्तन गर्नुपर्छ । सबैभन्दा न्यूनतम जीपीए ल्याएका विद्यार्थीले पढ्न पाउने भन्ने, तर पाठ्यक्रममा विज्ञानका जटिल जटिल विषय राख्ने ? यस्तो उल्टो हिँडाइले नै हो प्राविधिक शिक्षा अलमलमा परेको । सामान्य शैक्षिक अवस्था भएको विद्यार्थीले पनि सीपमार्फत केही गर्न सकोस् भनेर सञ्चालन गरिएको प्राविधिक कार्यक्रममा विद्यार्थीको स्तरभन्दा जटिल विषय राख्दा पढिरेहका कैयौं विद्यार्थीमा निराशा छ । मन्त्रीज्यूले भर्खरै प्रकाशित भएको दोस्रो सेमेस्टरको परीक्षाको नतिजा हेर्नुहोला ५ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । जुन संस्थामा ५ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण हुन्छन्, त्यसमा कसरी विद्यार्थीको आकर्षण बढ्नसक्छ ? यसको दोष नेतृत्वले लिनुपर्छ । एकाध विद्यालयमा मात्रै नतिजा खस्किए विद्यालय प्रशासन दोषी हुन्छ, सबै ठाउँमा नतिजा खस्किए नेतृत्व दोषी हुन्छ । पहिलो महत्वपूर्ण कुरा भनेको हाम्रो पाठ्यक्रम परिवर्तन नै हो ।

    एउटा इतिहास बोकेको संस्थाको गरिमालाई एकै पटक नामेट गर्नेहरुलाई सरकारले कारबाही गर्ने आँट गर्नुपर्दथ्यो । विडम्बना देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने भनेर स्थापना भएको संस्था आफैं बिग्रिएर थला पर्ने अवस्था सृजना भयो ।

    दोस्रो कुरा भनेको शिक्षालय मर्ज गरौं । हामीलाई चाहिने शिक्षालय र कार्यक्रम कति हो ? पहिलो कुरा त्यसको लेखाजोखा गरौं, नक्सांकन गरौं । गाउँगाउँमा शिक्षालय पुर्‍याउनुभन्दा विशेष ठाउँमा शिक्षालय सञ्चालन गरेर छात्रावासको व्यवस्था गरौं । यसखालको काम गर्न अहिले विद्यार्थीविनाका शिक्षालयहरुमा गरिएको लगानी नै काफी हुन्छ । यसमा अतिरिक्त लगानी आवश्यक पर्दैन ।

    तेस्रो कुरा भनेको नयाँ सम्बन्धन बाँड्ने कार्य रोकौं । प्राविधिक शिक्षालयको हरिबिजोग हुँदा पनि अझै सीटीईभीटीले सम्बन्धन बाँडिरहेको छ । यसै वर्षमात्रै ८० वटा जति शिक्षालयले सम्बन्धमा पाएका छन् । यसले सीटीईभीटीको नेतृत्व प्राविधिक शिक्षालय जोगाउने भन्ने विषयमा संवेदनशील छैन भन्ने देखिन्छ । तत्कालका लागि यो कार्य बन्द गर्नुपर्छ ।

    चौथो कुरा भनेको विद्यार्थीको प्लेसमेन्टमा ध्यान दिऔं । विद्यार्थीहरुले प्राविधिक शिक्षा किन पढ्ने भन्ने कुराको एउटै जवाफ हो, ‘सहजै रोजगार प्राप्त गर्न’ तर हामीसँग उत्पादन भएका ठूलो परिमाणमा जनशक्ति बेरोजगार रहेको छ । उनीहरुले गर्ने काम पनि छ, तर काम र विद्यार्थीहरुलाई जोड्ने प्रणाली सरकारसँग छैन । सरकारी निकायहरुमा पेड भोलेन्टियरको व्यवस्था गरौं । यसले एकातिर राज्यको आर्थिक व्ययभार पनि कम गर्छ, अर्कोतिर विद्यार्थीलाई पनि रोजगार प्रदान गर्छ । उदाहरणका लागि फुड एण्ड डेरी टेक्नोलोजी अध्ययन गरेका विद्यार्थी खाली बसिरहेका छन्, तर स्थानीय तहमा उपभोक्ता हित संरक्षण शाखाको नेतृत्व प्रशासनिक कर्मचारीले गरिरहेका छन् । यसमा विद्यार्थीहरुलाई परिचालन गर्न सकियो भने सबैलाई प्रतिफल प्राप्त हुने देखिन्छ । यस्ता सम्भावना अन्य विषय र कार्यक्रमहरुमा पनि रहेका छन् ।

    पाँचौं कुरा भनेको दुई धारको प्राविधिक शिक्षा बन्द गरौं । एकातिर डिप्लोमा र प्रि-डिप्लोमा भनेर सीटीईभीटीबाट सञ्चालन गर्ने अनि अर्कातिर कक्षा ९ देखि १२ भनेर शिक्षा मन्त्रालयबाट सञ्चालन गर्ने । दुई खालको प्राविधिक शिक्षाका कारणले गर्दा पनि विद्यार्थीहरुमा अन्योल छाएको देखिन्छ । एउटै देशमा एकैखालको शिक्षा दुई तरिकाले दिनु आवश्यक छैन । कक्षा ९ देखि १२ मा विद्यार्थी भर्नाको दर हेर्नुभयो भने सीटीईभीटीको भन्दा पनि कहालीलाग्दो छ । एकातिर सीटीईभीटीबाट, अर्कोतिर शिक्षा मन्त्रालयमार्फत विद्यार्थीविनाका शिक्षालयहरुमा कसले धेरै लगानी गर्ने भन्ने होडबाजीको अन्त्य गर्नुपर्छ । प्राविधिक शिक्षाका लागि भनेर अलग संस्था बनाइसकेपछि अनावश्यक शिक्षा मन्त्रालयलाई किन फेरि कक्षा ९ देखि १२ का नाममा सक्रिय बनाउने ? यो कुरालाई पनि सुधार गर्नु आवश्यक छ ।

    आशा छ, हामी मैदानमा रहेर काम गर्नेहरुलाई नीति र नेतृत्वमा रहने तपाईंहरुले उचित नीति ल्याइदिनु भयो भने उत्साहित भएर काम गर्ने वातावरण हुने थियो । हामी उत्साहको प्रतीक्षामा छौं ।

    (लेखक तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन् ।)

  • ‘पृथ्वीको श्वेतपत्र’ लिएर आए अमरदीप सुनुवार

    ‘पृथ्वीको श्वेतपत्र’ लिएर आए अमरदीप सुनुवार

    काठमाडौं । कवि तथा गीतकार अमरदीप सुनुवारको कविता संग्रह ‘पृथ्वीको श्वेतपत्र’ विमोचन भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कुलपति भूपाल राई र लेखक सुनुवारलगायतले संयुक्त रूपमा ‘पृथ्वीको श्वेतपत्र’ पुस्तक विमोचन गरेका हुन्।

    विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले उनले कविता भनेको सुसंस्कृत गराउने सिर्जना भएको बताए।

    उनले ‘कर्मचारी र कवि’,‘कर्मचारी र कविता’ भन्ने बित्तिकै आफूलाई सुखानुभूति हुने बताउँदै राईले सबै निजामती कर्मचारीले कविता लेख्ने हो भने काममा समेत थप सिर्जनशिलता आउने धारणा राखे। ‘प्रत्येक कर्मचारीले कविता लेख्नुपर्छ, नलेखेपनि पढ्नुपर्छ।’ उनले भने, ‘जसरी शरीरको मयल साबुनले सफा गर्छ, त्यसैगरी साहित्यले मानिसको दिमाग सफा गर्छ। मानिसको दिमाग सफा गर्ने कविताले हो, त्यसैले कविता लेख्नुपर्छ,पढ्नुपर्छ।’

    उनले कवितामा समसामयिक राजनीति र समाजलाई भेटिने उल्लेख गरे।

    कविताका लेखक सुनुवारले आफ्नो कवितामा राष्ट्रप्रेम,राष्ट्रभक्ति, सुष्टि रचना, सुष्टिको सौन्दर्यता,मानवता, प्रकृतिवाद, समयका सुस्केरा, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाएको उल्लेख गरे। उनले पृथ्वी भएर नै हामी अस्तित्वमा रहेको उल्लेख गरे। उनले कवितामार्फत भनेका छन्,

    म नीलो ग्रह पृथ्वी हुँ
    जन्मजन्मान्तर पृथ्वी नै हुन चाहन्छु
    ब्रह्माण्डभरि शीतलता छर्न चाहन्छु
    गोलार्धभरि जीवनका लाँलीगुराँस फुलाउन चाहन्छु
    भूमध्यरेखामा जीवनको रेल गुडाउन चाहन्छु
    कसैले मेरो आकार र आयु नाप्न सकौँला
    तर करूणा र प्रेम नाप्न सक्दैनौं
    कसैले मेरो व्यास र तौल नाप्न सकौला
    तर मैले आजीवन बोकेको
    जीवन र जगत्‌को मूल्य मापन गर्न सक्दैनौ
    मलाई पृथ्वी भएकोमा कुनै खेद छैन
    मलाई नाङ्गिएर बाँच्नुमा कुनै ग्लानि छैन
    म जसले जे गरे पनि पृथ्वी नै भइरहन सकूँ
    म जसले जे भने पनि पृथ्वीमा जीवन उमारिरहन सकूँ ।

    सुनुवारको कवितामाथि साहित्यकार मोमिला जोशी,राजकुमार बानियाँ,सुशान्त गुरुङ,विमला तुम्खेवालगायतले समीक्षा एवम् टिप्पणी गरेका थिए। सुनुवारको पहिलो काव्यकृति उत्कृष्ठ बनेर आएको बताउँदै उनीहरुले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताए। सुनुवारले ४७ वटा कवितालाई १३१ पृष्ठमा समावेश गरेका छन्।

    शुक्रबार नै कवि तथा गीतकार सुनुवारको शब्दमा रहेको नयाँ बाल गीत ‘आँगनीमा नाच चरी’ गीतसमेत सार्वजनिक भएको छ। यस अगाडि उनले ‘दिनरात सधैँ सधैँ’ र ‘लिखु खोलाको तिरैतिर’ बोलको गीत ल्याएका थिए।

  • गुरुदेव कामतको जस्तो मृत्यु कुनै पनि कलाकारको नहोस्

    गुरुदेव कामतको जस्तो मृत्यु कुनै पनि कलाकारको नहोस्

    शास्त्रीय संगीत साधक गुरुदेव कामतको निधनले समाजलाई शोकमग्न बनाउनुभन्दा बढता उद्वेलित बनायो । मधेशमा उनको महानिर्वाणमा श्रद्धाञ्जलीको साथसाथै राज्य र उसको विभिन्न निकायप्रति कटाक्ष गरिएका स्टाटसहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् । मृगौला बिग्रिएर उपचाररत मूर्धन्य संगीत साधक गुरुदेव कामत उपचार खर्च नभएपछि काठमाडौंबाट सिरहास्थित पुर्ख्यौली घर पोखरभिण्डा फर्किएको समाचार दुई साता अघिदेखि प्रवाह भइरहेको थियो । उनी चिकित्सा सेवा र ओखतीमूलो नपाई कष्ट सहेर दुई सातासम्म घरमै थलिए । साउन १७ मा उनले सदाका लागि आँखा चिम्ले ।

    संगीतका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशलाई चिनाएका शास्त्रीय गायनका हस्ती र स्वरका धनी गुरुदेव कामतले ‘डायलासिस’ गर्ने रकम नभएर अस्पताल छाड्नुपर्‍यो, पीडा र सास्ती सहेर प्राण त्याग्नुपर्‍यो । गुरुदेवको शवयात्रा निस्किनुअघि मधेशभर सामाजिक सञ्जाल तात्तियो । सामाजिक सञ्जालमा मानिसहरुले राज्यलाई बर्बर, कमजोर वर्गप्रति संवेदनाहीन र मधेशीप्रति उपेक्षा तथा विभेदकारी भनेर आक्रोश पोखे । सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिहरुमध्ये एउटामा भनिएको थियो- ‘गुरुदेव जस्ता नागरिकले भोक लाग्दा खान नपाइ र रोग लाग्दा उपचार नपाइ मर्नुपर्ने समाजलाई २१ औं शताब्दीको वर्तमान परिवेशमा सभ्य समाज र न्यायपूर्ण राज्य भन्न मिल्दैन ।’

    सत्ताधारीहरुको मृगौला बिग्रिँदा राज्यको करोडौं रकम खर्च गरिने र विदेशमा गएर पटकपटक प्रत्यारोपण गरी पुनर्जीवन पाएर पटकपटक सत्तारोहण गरेको हरेक नेपालीलाई ज्ञात छ । भीआईपी सूचीमा परेकाहरुको वा सत्ताले पत्याएकाहरुको उपचारमा सरकारको वर्सेनि अर्बौं रकम खर्च हुन्छ, तर सिरहाको ग्रामीण क्षेत्रमा एक गरिब परिवारमा जन्मिएका शास्त्रीय संगीतका एक नक्षत्रले पैसाको अभावले उपचार नपाई मृत्युवरण गर्नु पर्‍यो ।

    कला, प्रतिभा, साधना र राष्ट्रको ख्यातिका खातिर गरिएको योगदानको दृष्टिकोणबाट गुरुदेव कामत असाधारण व्यक्तित्व थिए । साधना र साधकका हिसाबले शास्त्रीय संगीत एक दुरुह विधा हो । साधनाको विकट, पाषण मार्गमा लामो समयसम्म एकदुई पाल्सा रगत छाद्ने गरी छाती टेकेर यात्रा गर्ने कोही गुरुदेव कामत बन्न सक्छन् । संगीतमा सितिमिती त्यो स्तरको प्रज्ञा हासिल हुँदैन । यसर्थ गुरुदेव राष्ट्रका एक अमूल्य निधि थिए । गुरुदेव जस्ता प्रतिभा एक युगमा एक पटक जन्मिन्छन् ।

    अन्य गायकले जस्तै भारतीय नागरिकता स्वीकार गरेर नेपाल त्यागेको भए उनले पनि मुम्बईमा महल बनाउन सक्थे, तर सानो जनसंख्या र संगीतको सानो बजार भएको आफ्नो देश नेपाल कामतले त्यागेनन् । ढिँडो-रोटो खाएर स्वदेशमै बसेर नेपाली संगीत क्षेत्रलाई उकेरा लगाइरहे, उजिल्याइरहे ।

    राज्यले दुईचार लाख मात्र सहयोग गरिदिएको भए गुरुदेवको जीवनरेखा केही समय लम्बिन सक्थ्यो । कमसेकम सास्ती नझेली अस्पतालको शय्यामा उनको हृदय गति बन्द हुन्थ्यो, तर जाति र वर्ण विशेषलाई विशेष महत्व दिने समथर क्षेत्रका उपेक्षित मधेशीलाई हेंलाहोचो गर्ने विभेदकारी राज्यको चरित्र कामतको स्वास्थ्योपचारमा पनि प्रकट भएरै छोड्यो । मृत्युपछि पनि उनको सम्मानमा सरकारले दिनुपर्ने यथोचित राजकीय सम्मान देखाउन कञ्जुस्याइँ गरियो । संघीय सरकारले एउटा शोक सन्देश पनि जारी गर्न सकेन ।

    गुरुदेव कामत मृत्यु प्रकरणले दुइटा कुरा प्रष्ट्याएको छ । पहिलाे- संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि न्याय र समानताको लडाइँ अझै बाँकी छ । दोस्रो- मधेशी राष्ट्रियताको संरक्षण र जगेर्ना गर्ने हेतु बनेको मधेश प्रदेश सरकार र स्थानीय सरकारहरुको चरित्र पनि संघीय सरकारकै रंगमा रंगिएको छ । किसान नेता स्वर्गीय बलदेव रामले भने जस्तै ‘सामन्ती चरित्र पहाडिया र मधेशी दुबैको उस्तै हुन्छ । जसरी कौवा पहाडको र मधेशको कालै हुन्छ ।’

    गुरुदेव कामत जस्तो मधेशी सितारा प्याकप्याक्ती भएर उधर्व स्वास लिइरहँदा पनि सिरहाका कुनै स्थानीय सरकार वा मधेश प्रदेश सरकारको घैंटोमा घाम लागेन । यतिसम्म कि मधेश प्रज्ञा प्रतिष्ठानले काम गराएको पारिश्रमिकमा समेत बेइमानी गर्‍यो । सोही कारण प्रतिष्ठानका अध्यक्ष रामभरोस काापडी ‘भ्रमर’को राजीनामा दिनुपर्ने आवाज उठेको छ । कुनै उद्योगी, व्यापारी, धनाढ्य वा संघसंस्थाले पनि आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर एउटा जुसको बोतल बोकेर पनि गुरुदेवलाई भेट्न गएनन् ।

    गुरुदेव मधेशको एक अल्पसंख्यक, पछाडि पारिएका र गरिब परिवारमा जन्मिएका थिए । रामलीला र मधेशमा मञ्चन गरिने परम्परागत सांस्कृतिक नाचमा गीत गाउँदै उनले संगीत क्षेत्रमा वामे सारेका थिए । उनले शास्त्रीय संगीतमा नेपाल र नेपालीलाई विश्वस्तरीय चास्नी पिलाएका थिए । अन्य गायकले जस्तै भारतीय नागरिकता स्वीकार गरेर नेपाल त्यागेको भए उनले पनि मुम्बईमा महल बनाउन सक्थे, तर सानो जनसंख्या र संगीतको सानो बजार भएको आफ्नो देश नेपाल कामतले त्यागेनन् । ढिँडो-रोटो खाएर स्वदेशमै बसेर नेपाली संगीत क्षेत्रलाई उकेरा लगाइरहे, उजिल्याइरहे । साधना क्षेत्रअनुसार उनले चाकडी चाप्लुसी गर्न जानेनन् । कुनै सत्ताधारी पार्टी वा व्यक्तित्वसँग निकट हुन सकेनन् । गुरुदेवले संगीत साधनामा लाग्दा अतिरिक्त कमाइ गर्न र धन थुपार्न सकेनन् । फलतः एक कष्टकर, उपेक्षापूर्ण र घोर निराशापूर्ण गुमनाम मृत्युवरण गर्दै उनी बिदा भए ।

    गुरुदेवको मृत्यु प्रकरणले नेपाली राज्य व्यवस्था र मधेशमा वामे सर्दै गरेको संघीयतामार्फत हुर्किन खोजेको मधेशी राष्ट्रियताका वाचाल तथा वाकपटु कथित उन्नायक मधेशीहरुको पनि धोती खुस्किएको छ । मधेश प्रदेश सरकारको बजेट २२ अर्बभन्दा माथि अंकमा छ, तर गुरुदेव जस्ता होनहार मधेशी ‘उगना’ (कवि विद्यापतिका एक पात्र)लाई उपेक्षाको अगुल्टोले हानेर बिदा गरिएको छ । गुरुदेवको आत्माले सायद कसैलाई माफ गर्नेछैन ।

  • म बाँच्नको लागि विदेश जाँदैछु

    म बाँच्नको लागि विदेश जाँदैछु

    म इन्जिनियर हुँ । म विदेश जाँदैछु ।

    म डाक्टर हुँ । म विदेश जाँदैछु ।

    म सरकारी अधिकृत हुँ । म विदेश जाँदैछु ।

    म विद्यार्थी, लेखक, कलाकार, पत्रकार , प्राध्यापक, आर्मी, प्रहरी, राजनीतिज्ञ, व्यापारी, किसान, दक्ष , अदक्ष, आफ्नो गच्छेअनुसार मान्छे म विदेश जाँदैछु … यस्तैमात्र सुनिरहेको छु आजकल ।

    के भएको होला ! म जति भेट्दैछु । उति मान्छे भन्दैछन् “म बाँच्नको लागि विदेश जाँदैछु ।”

    कोही आजको लागि बाँच्न र कोही भोलिको लागि बाँच्न देश छाडिरहेका छन् । नेपालको एयरपोर्टको भिड जापानको ट्रेन स्टेशन जस्तै भैसक्यो । हाम्रो एयरपोर्ट मान्छे नै मान्छेको आँशु र हाँसोको संगम भैसक्यो ।

    बाँच्नको लागि विदेश जान पर्दैन । यहीँ (नेपालमै) ८० हजार खाइरहेको मान्छे विदेश जाँदैछ, जानु पर्ने छैन विदेश भनेर प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेले भनेको सुन्यौं, पढ्यौं । त्यही दिन पत्रिकामा रुकुमको एक गाउँ नै डंकी रुटबाट विदेश जाँदै गरेको पढ्यौं । मलाई यस्तै हो विदेश जान्छन्, फर्केर आउँछन् भन्ने लागिरहेको थियो ।

    तर, आज एकजनाले आएर “दाइ म बाँच्नको लागि विदेश जाँदैछु” भन्दा मेरो हृदय चसक्क भयो । उनी मेरो एकै कोखको भाइ हैनन् । एकै गाउँको र एकै जिल्लाको पनि हैनन् । मलाई यत्ति थाहा थियो- उनी एक असल मान्छे हुन्, भेट्दा मज्जा आउने मान्छे हुन् । सकेको अरुलाई भलो गर्ने मान्छे हुन् । नसके कुभलो नगर्ने मान्छे हुन् । उनी मान्छेजस्तै मान्छे हुन् । हृदयविहीन यो समाजमा उनी हृदय भएका मान्छे हुन् । दया, माया, क्षमा, करुण बोकेर हिँडेका मान्छे हुन् ।

    उनको अनुहारमा आएको उदासीले मलाई गाल्यो । उनले भने “म महिनाको चालिस हजार कमाउँछु, श्रीमती टीयूमा पढाउँछिन्, दुई बच्चा छन् , राजधानीमा २० वर्षदेखि डेरामा छु अब म बाँच्नको लागि विदेश जाने भए ।”

    मैले सोधेँ “तपाईँ दुईजना कमाउने हुँदा पनि किन बाँच्नकै लागि विदेश किन ?”

    उनले भने “दाइ सोझो सीधालाई नेपालमा केही छैन । कि त यहाँ दलाल हुनुपर्यो कि झूठो-मूठो कि राजनैतिक पहुँचको मान्छे हुनुपर्यो । हामीले यहाँ बाँच्न सक्दैनौं ।”

    अझ आश्चर्यमा पर्दै मैले सोधेँ “किन यस्तो भन्दै हुनुहुन्छ ?”

    उनले आफ्नो खर्चको फेहरिस्त बताए । “दाइ चार जना सुत्न परयो, कोठाभाडा २५ हजार, बच्चाको फी ३५ हजार, खान , बस्न ,लाउन , इष्टमित्र , बिमारी , विवाह बटुलो, यताउता जान ८० हजार कमाएर पनि पुगेन, एक लाख कमाएर बाँच्न सकिएन केही गरि ठूलै बिमारी परियो भने त मरियो नी !”

    मैले फेरि सोधेँ “अर्को सस्तो कोठा खोजेर, बच्चाहरूलाई सस्तो स्कुलमा राखे त भइहाल्यो नि !”

    उनले भने “दाइ हजुरले समाज नै बुझ्नु भएको रैनछ, अहिले राम्रो स्कुलमा, राम्रो ठाउँमा बसेका बच्चाहरूलाई अर्को ठाउँमा राखेर उनीहरूको मानसिकता के हुन्छ ? अनि मेरो त बीस वर्ष यो ताल भो, वर्को बीस वर्षमा त झन म गल्दै जान्छु अनि ?”

    उनको पुच्छ्रे प्रश्नले म अवाक भए ।

    “कहाँ जाँदै नि ? ” मैले सोधेँ । उनले भने मिले क्यानडा, अष्ट्रेलिया नमिले दुबई ।

    म अवाक भए । उनी गए । साउनको झरी वर्षिरहयो । ऋतुमास नै रोइरहे झै लाग्यो ।

    ०००

    एक जना महिला आउनुभयो । उहाँले भन्नुभयो “मेरो त उमेर गइगयो नत्र म विदेश जान्थेँ ।”

    ५० वर्षको हुनु भएछ उहाँ । अघि मलाई दाइ भन्ने पनि पचास वर्षको । उहाँ बाँच्नको लागि विदेश जाने भन्दै हुनुहुन्थ्यो । तर, महिला महोदय भने उमेर गइगयो भन्नु भयो ।

    म छक्क परेँ र सोधेँ “पचास वर्षमा विदेश हिँड्ने पनि छँदैछन् नी हजुर, किन उमेर गइगयो भन्नुभयो ।”

    उहाँले भन्नुभयो “हेर्नुस् सर मेरो त छोरी नै अधिकृत भइसकिन्, अनि मेरो उमेर गएन त ? उमेर पनि व्यवहारिक उमेर हुन्छ नि क्या !”

    अनौठो कुरा उहाँले पनि सुनाउनु भयो र भन्नुभयो “सरकारी अफिसर भएकी मेरी छोरी भन्न थालेकी छ, म त विदेश जान्छु ।”

    बल्लतल्ल पाएको सरकारी अफिसरले किन त्यस्तो भनेको होला भन्ने मेरो जिज्ञासा झर्न नपाउँदै उहाँले भन्नुभयो “हेर्नुस सर ! मेरो छोरी त आजकल अफिस जानै मान्दिनँ, विदेश जान्छु, जान्छु भनिरहन्छपन् ।”

    म झन् आश्चर्यमा परेँ । मनमा कुरा खेलाउँदै थिएँ । सरकारी अफिसमा केही भएछ कि भनेर । यसपालि पनि मेरो प्रश्न खस्न नपाउँदै उहाँको उत्तर आयो ।

    “सर छोरीले भनेको सुन्नु भयो भने तपाईँ छक्क पर्नु हुन्छ ।”

    मैले के हो र त्यस्तो मैले सोध्न नपाउँदै फेरि उहाँले भन्नुभयो “उनको अधिकृत साथीहरू पनि गएछन् ।”

    यसपाला भने उहाँको उत्तर झर्नु अगाडि मैले सोधेँ “मेम अनि साथी गए भन्दैमा जानु पर्दछ त ? त्यत्रो दुःख गरेर पाएको सरकारी जागिर, यहाँ त्यो जागिर खान लालायीत कति छन कति ।”

    उहाँले भन्नुभयो “सर, हजुरले भनेको हुन त हो, खासमा मेरो छोरीले भन्दैथिईन, खाउ त दिनभरिको शिकार नखाउँ त कान्छाबाबुको अनुहार भैरहेको छ मामु यो जागिर ।”

    “उखानले कुरा स्पष्ट भएन प्रष्ट पार्नु त मेम !” मैले भनेँ ।

    उहाँले भन्नुभयो “सरकारी जागिर हस्ताक्षर गरौ अख्तियारमा वा कहिँ जाकिनु पर्ला भन्ने डर, नगरौँ कहिलेसम्म हस्ताक्षर नगरी जागिर खाने दोधारमा मेरो छोरी परिछन्, उनी भन्छिन् “जागिर खाँदा पनि कुन दिन फसिने, नखाउँ के गरी बस्ने ? मेरी छोरी साह्रै सोझी छ सर, आफू इज्जतले बाँच्न पनि ऊ विदेश जाने भएकी छे, कुन दिन जान्छे थाहा छैन ।”

    मैले सम्झेँ । सचिवहरू र मुख्य सचिव नै अख्तियारले तानेपछि कर्मचारीमा भुइँचालो जानु त राम्रो हो । गलत गरेकोलाई तान्नु पर्दछ । तर, कामै गर्न नदिने, छोयोकी अख्तियारले तान्नु राम्रो हो त ? यस्तो कारणले भर्खरका युवा अधिकृतलाई त पैसा पनि थोरै जोखिम धेरै भनेर उनीहरू त भागमभाग गर्न थालेका रहेछन् । भन्ने लाग्यो ।

    मैले कुरा गरिरहेको मेमलाई नसोधी मनमा कुरा खेलाइरहेको थिए । म टोलाइरहेको बेला सन्नाटा चिर्दै मेमले भन्नुभयो “अबको केही महिनापछि सायद उनी उतै हुन्छिन् होला, के गर्ने सर, साइन गरे जेलमा, नगरे के गरी जागिर खाने ? ज्वाइँले पनि लैजाने भन्नुभएको छ ।”

    केही महिनाअघि चर्चित नायिकाले बच्चाको भविष्यको लागि भनेर विदेशमा बच्चा जन्माएर उताको नागरिकता लिएको सम्झेँ । चल्तीको गायिका विदेश गएको सम्झेँ । चर्चित कलाकारहरूको अनुहार झलझल आयो । के गर्ने होला ! गच्छेअनुसारको विदेश जानु नेपालीको नियति नै हो त भन्ने लाग्यो ।

    एकै पल्ट विदेशले भिसा दिए देश नै खाली हुन्छ भनेर चोकमा चिया पसलमा मान्छेहरू कुरा गरिरहेको सम्झेँ । गाडीमा, बाटोमा, अफिसमा, मेनपावरमा , कन्सल्टेन्सीमा भिसा कुरेर बसेको मान्छे सम्झेँ । महाराजगञ्जको अमेरिकन दूतावासमा भिसा लिन गएको तातीले बुझाएको पैसा सम्झेँ । अरु दुतावासमा मान्छेको कुदाकुद सम्झेँ । धेरै कुरा सम्झेर दुःख लाग्यो ।

    देश देश जस्तो नभएकोमा झर्को लाग्यो । दलालहरूको बिगबिगीले दुःख पाएका मान्छे सम्झेँ । सरकारी अफिस जानै मन नलाग्ने बनाएको कुराहरू सम्झेँ । घर, गाउँ, टोल, समाज, शहर देशमा काम नपाएर भौतारिरहेको युवा सम्झेँ । गर्दा गर्दै थाकेका अनुहारहरू सम्झेँ । खाली पाखा, खेतहरू सम्झेँ । कृषि गर्छु भन्ने कृषकले बिउ मल नपाएको सम्झेँ ।

    समयमा समयको काम कहिँ कतै नभएको सम्झेँ । सिंहदरबारमा बसेका सिंहहरू भएको र जनता मृग भएको सम्झेँ । चराले त गुँड मेरो भनेर बस्छ । हामी देश मेरो भनेर बस्न नसकेको सम्झेँ । देश चराले छाडेको गुँडजस्तै बन्दै गएको सम्झेँ । धेरै कुरा सम्झेँ । अनि सम्झेँ विदेश गएका मान्छेहरू पनि त फर्किरहेछन् नि !

    वर्षा सकिएर घाम चर्किएको थियो । वर्षा ऋतुको मज्जा नै यहि हो । वर्षा हुने र पसिना आउने घाम लाग्ने । फेरि वर्षा ऋतुले बढेको बाढी सम्झेँ । एकछिन घाम लाग्ने त हो । वर्षा ऋतुको काम नै पानी पर्ने त हो भन्ने सम्झेँ । विदेशबाट आउने मान्छे पनि वर्षा ऋतुमा एकै छिन लागेको चर्को घामजस्तै हो कि भनेर डर-डर लाग्यो ।

    नभन्दै पानी दरङरङरङ पर्न थाल्यो । त्यति नै बेला एक व्यापारी मेरो कोठामाभित्र छिरे । उनले पानीले हात पुछ्दै भने “यो देशमा बाँच्न नसकिने भइयो , विदेशिनु पर्ने भयो ।”

    दिनभर यस्तै कुरा सुनेर ह्याङ भएको मलाई साँझको पानीको वर्षा ऋतुको आनन्द नदिने कर्कश आवाज किन आयो ? मैले उनलाई भनेँ ।

    उनले भने “हेर्नुस्, हजुर म एक सानो व्यापारी, व्यापार गर्छु, खान्छु भनेर हिँडेको, मैले सामान किन्ने गरेको होलसेलरले भ्याट छलेछ, म परेँ फन्दामा ।”

    बाहिर पानीको आवाज र उनको कुरा उस्तै लाग्यो मैले भनेँ “मैले अलिक बुझिन नि हजुर !”

    उनले भने “मैले दशौं वर्षदेखि सामान किनिरहेको पसलमा एक कर अधिकृत र व्यापारी मिलेर भ्याट वर्षौंदेखि छलिरहेका रहेछन् । मलाई के थाहा त्यो कुरा, अब मैले त सामान ल्याएँ पैसा तिरेँ, त्यो कर अधिकृत र हाम्रो होलसेलरको कुरा मिलेनछ , मलाई समेत तानेर भ्याट छलेकोमा मुद्दा लगायो, सुन्ने कोही भएन, नखाएको विष लाग्ने भयो, अब मैले लाखौं रूपैयाँ कहाँबाट तिर्ने ? यो कुरा सुन्ने कसले, म त यो सकिनेवित्तिकै विदेश जान्छु हजुर, यहाँ त राम्रो गर्दा बाँच्नै नदिने भए ।”

    यसो गम खाएँ । आजको दिनमा यी तीन प्रतिनिधि पात्रले म बाँच्नकै लागि विदेश जाँदैछु भनेको सही हो । यस्तै अवस्था रहने हो भने म आफैँ कुनै दिन त्यहिँ पंक्तिमा उभिएर लेख्नेछु र भन्नेछु “म बाँच्नको लागि विदेश जाँदैछु ।”

    ओहो ! यो त भएन । तपाईँले चिनेको मान्छे फलानो फलानो हैन, उसलाई भन्नु न । मैले भनेँ ।

    उनले सबैलाई भन्न भ्याइसकेका रहेछन् । एक कप चिया खाउँ सँगै बसेर भनेर आएका थिए उनी । बाहिर पानीले माटोको सुगन्ध निकालिरहेको थियो । टेबुलको बाफले चियाको सुगन्ध निकालिरहेको थियो । उनी भने आफ्नो जीवन दुर्गन्ध हुने भयो केही छ भने गरिदिनुस् भनेर म नाथेलाई भनिरहेका थिए । मैले गर्न सक्ने केही थिएन ।

    यी त भेटेका मान्छे भए नभेटेका कति हो कति ? बाँच्नको लागि विदेश गएका कति त बाकसमा फर्किरहेका छन् । खाडीको धूप र जेलमा सडेका छन् । यति देख्दा देख्दै पनि लाखौंलाख आफू र परिवार बचाउन विदेश गइरहेका छन् । जाँदैछन् ।

    सम्झेँ, अनायासै अन्यायमा कति परेका होलान् । यहाँको सिस्टम र कानूनको फन्दामा नचाहिने काम कति भएको होला । सुनिन्छ/पढिन्छ- अदालत , प्रहरी, प्रशासन सबै-सबै वर्षाको पानीजस्तै नचाहिने कुरामा चुर्लुम्मै डुबिसकेका छन् रे !

    सम्झेँ, दूध एक बाल्टी कागती अलिकति । खाना टन्नै हुन्छ, ढुसी अलिकति । यो यति राम्रो देशमा पनि सोझा साझा लाखौं लाख मान्छे छन् । धेरै दूधमा थोरै कागतीले गर्दा, धेरै खानामा थोरै ढुसीले गर्दा देशै खत्तम हुने भयो । पीर लाग्यो राम्रो मान्छेहरूको । बाँच्नको लागि विदेश जाने लाखौं मान्छेहरूको । उनीहरूले वर्षौं वर्ष दुःख गर्दा पनि कति मान्छे तावाको माछा भुङ्ग्रोमा परिरहेको ।

    अनि सम्झेँ, बाँच्नकै लागि विदेश जाने दिन नआओस् भनेर कम्तीमा स्वास्थ्य, शिक्षा सबैको लागि बीमा गर्न त सक्छ सरकारले । यति गरिदिए पनि भ्रष्टाचार कम हुन्थ्यो र विकास बढी हुन्थ्यो र बाँच्नकै लागि विदेश जानु पर्दैनथ्यो ।

    यसो गम खाएँ । आजको दिनमा यी तीन प्रतिनिधि पात्रले म बाँच्नकै लागि विदेश जाँदैछु भनेको सही हो । यस्तै अवस्था रहने हो भने म आफैँ कुनै दिन त्यहिँ पंक्तिमा उभिएर लेख्नेछु र भन्नेछु “म बाँच्नको लागि विदेश जाँदैछु ।”

    मैले यत्ति भन्न र लेख्न नपरोस् । हजुरहरूले सुन्न र पढ्न नपरोस् ।

  • औषधिको खोलभित्र लुकेको झूट : भारतीय औषधि निर्माता कम्पनीहरुको अँध्यारो पक्ष

    औषधिको खोलभित्र लुकेको झूट : भारतीय औषधि निर्माता कम्पनीहरुको अँध्यारो पक्ष

    सुन्दै अचम्म लाग्छ- के औषधिका खोल वा बोटलभित्र पनि झूट लुकेको हुन्छ होला र ? बिरामी हुँदा वा रोगको उपचारमा औषधिको प्रयोग हामी सबैले निःसन्देह गर्छौं । डाक्टर, स्वास्थ्यकर्मीले सिफारिस गरेका औषधि प्रयोग गर्न हामीलाई पूर्ण विश्वास लाग्छ । जीवनदायिनी औषधिको बजार निकै ठूलो र विस्तारित छ । उपभोक्ताहरु नाम चलेका ठूला औषधि निर्माता वा भनौं फार्मा उद्योगबाट कसरी ठगिन विवश छन् भन्ने सनसनीपूर्ण खोजमूलक अनुसन्धानमा आधारित भएर एउटा निकै चर्चित बेस्ट सेलर किताब छापियो अमेरिकामा सन् २०१९ मा । किताब हो ‘बोटल अफ लाइज’ रानबाक्सी र भारतीय फर्मा उद्योगको अँध्यारो पक्ष । लेखक हुन् क्याथरिन इबान । पेशाले पत्रकार हुन् उनी । खोज पत्रकारिताको उत्कृष्ट नमुना बनेर देखापरेकी छन् लेखक यो पुस्तकमार्फत ।

    ब्रान्डेड औषधि उत्पादन गर्ने कम्पनीहरुले बिक्री बढाउन औषधि सेवनको लत लाग्ने जस्ता जोखिमबारेका सूचना लुकाएर कुन हदसम्मको खेलवाड गर्दा रहेछन् उपभोक्ताको स्वस्थ्यप्रति भन्नेबारेमा खोजमूलक रिपोर्टिङ गर्थिन् क्याथरिनले सन् २००८ ताका । बन्दुकको अवैध बेचबिखन/अमेरिकी सरकारले सेप्टेम्बर- ११ पछिको युद्ध आतंकको बेला संदीग्ध अपराधीहरुलाई केरकार गर्ने क्रममा दिने गरेको चरम यातनाबारे ठूल्ठूला सनसनीपूर्ण तथ्य बाहिर ल्याउने साहसी र निडर पत्रकार हुन् उनी । अमेरिकाले सप्लाइ गर्ने अधिकांश औषधि‘जेनेरिक औषधि’ रहेछन् । भारतले एड्ससँग सम्बन्धित औषधि निकै सस्तो लागतमा उत्पादन गरेर अमेरिकालाई बेच्थ्यो, अमेरिकाले त्यसरी खरिद गरिएका औषधिहरु एड्स रोगबाट प्रभावित अफ्रिकी देशमा वितरण गर्थ्यो ।

    के हुन् जेनेरिक औषधि ?

    जेनेरिकको अर्थ हो- सामान्य वा साधारण । ब्राण्ड नाममा उत्पादन हुने, तर कानूनी अधिकार हिसाबले ‘पेटेन्ट अधिकार’ सकिइसकेका औषधिहरु हुन् जेनेरिक औषधि । यस्ता औषधिहरु डिप्रेसनदेखि मुटु रोगसँग सम्बन्धित हुन्छन् । जेनेरिक औषधिको कथा यथार्थमा विश्वव्यापी रहेछ । मध्य अमेरिकादेखि चीन, भारत, सब-सहारान अफ्रिका र ब्राजिलसम्मका घटना समेटिएको छ यो किताबमा ।

    रानबाक्सीलगायतका भारतीय औषधि निर्माता कम्पनीहरुको अँध्यारो पक्ष

    रानबाक्सी कम्पनी सन् २००४ ताका सबैभन्दा ठूलो र नाम चलेको औषधि निर्माता कम्पनी हो । सोही कम्पनीमा काम गर्ने दिनेश ठाकुर नाम गरेका उच्च तहका कर्मचारीले एक दिन डरलाग्दो गोप्य सूचना थाहा पाउँछन् । रानबाक्सीले उत्पादन गरेका औषधिहरुको गुणस्तर परीक्षण नतिजा ढाकछोप गरेर करोडौंको संख्यामा रहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पार्ने गरेको तथ्य बुझेपछि ठाकुरले कम्पनीको आकर्षक जागिर छोड्ने निधो गर्छन् र संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)को मुखबिर बन्छन् । मुखबिर, मुखबर शब्दको अर्थ हो- अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रुपमा खबर दिने व्यक्ति, जासुस, सरकारी साक्षी (बृहत् नेपाली शब्दकोशका) । अंग्रेजी शब्द हो- ह्वीसल ब्लोअर ।

    किताब पढ्दै जाँदा थप के खुलासा हुन्छ भन्ने कौतुहलले रोमाञ्चक अनुभूति हुन्छ । किताब पढिसक्दा यस्तो लाग्छ- अब हामीले सेवन गर्ने प्रत्येक औषधिका चक्की र सिसीमाथि आशंका गर्नुपर्ने, सन्देह गर्नुपर्ने अवस्थामा पुगिन्छ ।

    किताब पढ्दै जाँदा स्तब्ध पार्ने र आँखा खोल्ने खालका विवरणले विश्वविख्यात उच्च ब्राण्ड नामधारी औषधि निर्माता कम्पनीलाई परेशान/हैरान गराउने प्रश्न उजागर भएको भेटिन्छन् तथ्यगत रुपमा । भारतीय फर्मा उद्योगको नाङ्गो र कुरुप सत्य उजागर गरेकी छन् साहसी पत्रकार क्याथरिनले किताबमा । घटना, विषय र प्रसंग कथानक शैलीमा लेखिएको छ । किताब पढ्दै जाँदा थप के खुलासा हुन्छ भन्ने कौतुहलले रोमाञ्चक अनुभूति हुन्छ । किताब पढिसक्दा यस्तो लाग्छ- अब हामीले सेवन गर्ने प्रत्येक औषधिका चक्की र सिसीमाथि आशंका गर्नुपर्ने, सन्देह गर्नुपर्ने अवस्थामा पुगिन्छ ।

    खासमा किताब भारतमा उत्पादन हुने जेनेरिक औषधिहरुसँग सम्बन्धित घोटालामा केद्रित छ । वास्तवमा यस्ता औषधिको शिकार हाम्रो जस्तै चेतनास्तर भएका विकासोन्मुख र गरिब देशहरु सँगसँगै निम्न वर्गीय भारतीयहरु हुने रहेछन् भन्ने तथ्य उद्घाटन गरेकी छन् लेखकले । २१ औं शताब्दीकै सबैभन्दा महत्वपूर्ण जनस्वास्थ्यको क्षेत्रमा भएको विकासको रुपमा लिइन्छ जेनेरिक (सामान्य/साधारण) औषधिको व्यापक प्रयोगलाई विश्वभरि । त्यसैले यस्ता औषधि उत्पादन गर्ने कार्य आफैंमा स्वागतयोग्य र प्रशंसनीय मानिन्छ ।

    आजभोलि नब्बे प्रतिशतभन्दा बढी फर्मास्यूटिकल बजार हिस्सा यिनै जेनेरिक औषधिले ओगटेका रहेछन् । जेनेरिक औषधिहरु तिनीहरुका ब्राण्ड नामवाला समकक्षी औषधि जस्तै ठ्याक्कै उस्तै हुन् भनेर डाक्टर, फार्मासिस्टहरु र नियामक निकायहरु सबै आस्वस्त हुन्छन् र हामी उपभोक्ताहरु पनि विश्वस्त हुन्छौं । हो, यही विश्वासभित्र अडिएको/लुकेको झूटको उजागर गरेको छ ‘बोटल अफ लाइज’ किताबले । लेखक क्याथरिन इबानले जेनेरिक औषधि निर्माताहरुको छलकपट, धोका र त्यसका कारण उत्पन्न विश्वव्यापी स्वास्थ्य जोखिम उजागर गरिएको छ किताबमा ।

    बिरामीलाई औषधि लेख्ने, खान वा प्रयोग गर्न सिफारिस गर्ने डाक्टर र फर्मासिस्टहरु, औषधि उत्पादक कम्पनीलगायत सरोकारवालाहरुले एक पटक पढ्नैपर्ने किताब हो ‘बोटल अफ लाइज’ । नैतिक आचारसंहिताभित्र रहेर मेडिकल अभ्यास गर्नेहरुको आँखा खोल्ने किताब हो यो ।

    मुखबिर र नियामक निकायबाट प्राप्त विशेष जासुसी विवरण, हजारौं पृष्ठका गोप्य विवरणहरुका आधारमा लेखक इबानले समग्र औषधि उद्योगका ठगी धन्दा, तिनीहरुले नियामक निकायमा बुझाउने गरेको झूटो तथ्याङ्क, सुरक्षित उत्पादनका लागि अपनाइने सिद्धान्त, लागत कम गरी नाफा बढाउन निरीक्षकहरुलाई कसरी बेवकूफ बनाइन्छ भन्ने तथ्यमा आधारित विवरण समावेश गरेकी छन् किताबमा । किताबमार्फत उजागर गरिएको सत्य/तथ्य विश्वव्यापीकरणको आखिरी/अन्तिम सच्चाइको परीक्षण हो भन्न सकिन्छ ।

    ४०० पृष्ठको हार्डकभर संस्करणको यो किताब सन् २०१९ मा छापिएको हो । भारतमा भने सन् २०२० मा छापिएको थियो । किताबको पछिल्लो भागमा समावेश शब्दावलीले औषधि, उपचार, केमिकलसँग सम्बन्धित प्राविधिक शब्दको अर्थ बुझ्न मेडिकल क्षेत्रभन्दा बाहिरका सबैलाई सहज हुन्छ । किताबका ४१ पानामा नोट (छोटो पत्र) समावेश छ । यसबाट जिज्ञासु पाठकका लागि थप सन्दर्भ मिल्छ । सार्वजनिक स्रोत र कागजातहरुको विवरणले किताबको ओज बढाएको छ ।

    विश्वका केही ख्यातिप्राप्त पत्रकारहरुको समेत योगदान रहेछ किताबमा । सुन्दर लेखन, विज्ञान पत्रकारको सहयोग र उत्कृष्ट रिपोर्टिङ सीप भएका पत्रकारहरुले सम्बद्ध अनुसन्धान सहायकको भूमिका निर्वाह गरेर किताबलाई परिस्कृत बनाएका छन् । विश्वका ४० भन्दा बढी देशको भ्रमण गरेर खोजतलास गरिएका तथ्य समावेश छन् । यो किताब लेखनको प्रस्थानविन्दु हो इबानले सन् २०१३ मा फच्र्युन म्यागेजिनमा प्रकाशन गरेको जेनेटिक औषधिसम्बन्धी आफ्नै लेख ।

    आमपाठकका लागि औषधिका खोल/बोत्तलभित्र लुकेको झूटबारेमा जानकारी हुन्छ, सचेतना मिल्छ । त्यस्तै राजनीतिबाहेक अन्य समाचारका स्रोत नदेख्ने नेपाली पत्रकारिता जगतको आँखा खोल्छ यस किताबले । क्षणिक स्वार्थ र लाभको पछाडि नलागी विशुद्ध खोज पत्रकारिता गर्नेहरुलाई राम्रो सन्दर्भ स्रोत र हौसला मिल्छ यस किताबबाट ।

    पुनश्चः अहिलेसम्म मैले पढ्न नभ्याएको बिल्कुल फरक धारको यो किताब पढेर छोटो समीक्षा लेख्न अनुरोध गर्दै किताब प्रदान गर्ने सहृदयी डाक्टर मनोज ढुंगानाप्रति हार्दिक आभार र साधुवाद छ । बिरामीलाई औषधि लेख्ने, खान वा प्रयोग गर्न सिफारिस गर्ने डाक्टर र फर्मासिस्टहरु, औषधि उत्पादक कम्पनीलगायत सरोकारवालाहरुले एक पटक पढ्नैपर्ने किताब हो ‘बोटल अफ लाइज’ । नैतिक आचारसंहिताभित्र रहेर मेडिकल अभ्यास गर्नेहरुको आँखा खोल्ने किताब हो यो ।

    औषधि उत्पादकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, तिनका बजार प्रतिनिधि र बजारीकरणका दौरान दाबी गरिने गुणस्तर, सुरक्षा र पाश्र्व असर (साइड इफेक्ट)बारे पर्याप्त जानकारी नलिई क्षणिक लाभका लागि औषधि खान सिफारिस गर्न नहुने रहेछ भन्ने महत्वपूर्ण ज्ञान मिल्छ किताब पढेर खास गरेर मेडिकल अभ्यास गर्नेहरुका लागि । त्यस्तै आमपाठकका लागि औषधिका खोल/बोत्तलभित्र लुकेको झूटबारेमा जानकारी हुन्छ, सचेतना मिल्छ । त्यस्तै राजनीतिबाहेक अन्य समाचारका स्रोत नदेख्ने नेपाली पत्रकारिता जगतको आँखा खोल्छ यस किताबले । क्षणिक स्वार्थ र लाभको पछाडि नलागी विशुद्ध खोज पत्रकारिता गर्नेहरुलाई राम्रो सन्दर्भ स्रोत र हौसला मिल्छ यस किताबबाट ।

    हुन त औषधि विज्ञानबारेमा बेलाबेलामा विभिन्न घोटाला सार्वजनिक भैरहेका हुन्छन् । षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरुको ठूलो संख्या पनि छ विश्वभर नै आजभोलि, तर सङ्कट, जोखिम र आपतको बेला कुनै पनि औषधि हामी निःसन्देह प्रयोग गर्न विवश हुन्छौं । जस्तो कोभिड उपचारको दौरानमा ट्रायलको रुपमा विभिन्नखाले औषधिको प्रयोग भएको र तिनले स्वास्थ्यमा पारेका पाश्र्व प्रभावका कुरा समाचारमा आइरहेका छन् । यस्ता विषयमा विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरुले सजग गराइरहेका पनि हुन्छन्, तर हाम्रो जस्तो कमजोर चेतनास्तर भएको देशमा यस्ता औषधिले कुन हदसम्मको प्रभाव पारिरहेका होलान् ? सरोकारवालाहरुको चासो कत्तिको छ ?

    (लेखक रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गर्छन् ।)

  • नलेखिने प्रेम कथा- ५

    नलेखिने प्रेम कथा- ५

    हिजोको रमण र आजको रमणमा कति फरक थियो भन्ने कुरा रमण आफैंले मात्रै केही अनुमान गर्न सक्थ्यो, तर उचाइ हेरेरमात्र फरक छुट्याउन जान्नेहरुलाई के थाहा जिन्दगीको आयतनलाई उचाइले मात्र नाप्न सक्दैन भन्ने कुरा । आज ऊ पनि खुसीको मात्रा मापन गर्न खोज्दैछ, उसले जीवनमा कमाइ गरेर जम्मा गरेको खुसी । के त्यो पर्याप्त छ त ? यहाँनेर आएर भने उसको मन अमिलो भएर आउँछ । सोच्न थाल्छ, जीवनको कुन विन्दुमा प्राप्त हुने खुसीको लागि ऊ बालखकालदेखि आजसम्म दुःख गर्दैछ । के ती हरेक दुःखको हिसाबकिताब गरेर उसले कुनै कालमा गएर सुखभोग गर्न पाउला वा असंख्य पीडाको बदलामा असंख्य खुसी पाउला ? कसले होला यो सब हिसाब गरेर दिने उसलाई ?

    धेरैका लागि यो सबै गर्ने भगवान नै हुन सक्थ्यो, तर उसले त भगवानको अस्तित्वमाथि नै धावा बोलेको धेरै समय भैसक्यो । बच्चाकालमा तेत्तीस कोटी भगवानको नाम स्मरण नगरी निदाउनसमेत नसक्ने ऊ आज भगवानप्रति कसरी यति सारो विप्लवी हुन सकेको होला ? के उसँग भगवानको अस्तित्वलाई स्वीकार नगर्ने त्यस्तो कुनै ठोस कारण छ, उसले बेलाबेलामा आफैंलाई सोध्ने गरेको छ, तर खासमा उसँग त्यसको प्रमाण भए झैं उसलाई लाग्दैन । तैपनि अरुले यही प्रश्न सोध्दा चाहिँ उसले भन्ने गरेको छ, जसले भगवानको अस्तित्व छ भन्छ, उसले दिए भैगो नि प्रमाण त, म छैन भन्नेले के प्रमाण दिने ? नभएकाको पनि कुनै प्रमाण हुन्छ र ?

    के अब उसको जीवनले सही गति लिन लागेको थियो त ? के थाहा उसलाई, किनकि उसलाई गति नाप्नु नै थिएन त ! उसलाई ऊ पुगेको ठाउँ भनुँ वा गाउँ यति सुन्दर र रोमान्टिक लागेको थियो कि जसमा रिपुको सुन्दरता र आकर्षणलाई माथ दिनसक्ने क्षमता थियो । त्यही गाउँ नै उसको अन्तिम लक्ष्य त थिएन भन्ने उसलाई लागे पनि केही दिन यहाँको दैविक भव्यता भनौं या स्वप्निल संसारको रसास्वादन नगरी उसलाई अगाडिको यात्रा गर्न मन लागेन । गाउँको बीचमा एउटा ठूलो पोखरी थियो भने पोखरीको पूर्व र पश्चिमतर्फ लहरै हार मिलेका दाँत जस्ता एकैनासे घरहरु । घरका कराला छानाहरु स्लेट जस्ता देखिने ठूल्ठूला ढुंगाले छाएका थिए । घरहरुको लहरको केही पश्चिमतिर एउटा छुट्टै खालको भव्य महल थियो, जुन शहरको बीचमा भव्य राजदरबार झैं प्रतीत हुन्थ्यो । त्यो महलसँगै भाइभारदारका घर झैं २-४ वटा अन्य घरभन्दा राम्रा घर पनि थिए ।

    पोखरीको उत्तरतर्फ हेर्दा मनोरम जंगल देखिन्थ्यो र जंगलभन्दा माथिपट्टि भने डरलाग्दो भिर । त्यही जंगल रसाएर त्यो पोखरीमा पानी भरिन्थ्यो । गाउँभन्दा तल भने अझ डरलाग्दो भिर, त्यसैले गाउँलेलाई तल बेसी जान निकै घुम्नुपर्ने कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो । पोखरीको पानीको निकास पनि सोही भिरबाट मनमोहक छहरा हुँदै झर्थ्यो । तल बेसीतिरबाट हेर्दा साक्षात भगवानको शंकरको जटाबाट गंगा झरिरहेको भान हुन्थ्यो । गाउँको तिनैतिर माथि पहाडतिर हेर्दा अझ मन नै फुलेल हुनेगरी सुनौला हिमाल हाँसिरहेका देखिने ! यो गाउँ साँच्चै स्वर्गको अंश नै थियो भन्दा अत्युक्ति हुँदैनथ्यो ।

    को हो अबेलामा अर्काको घर बाहिर आएर कराउने ? बास त्यति सजिलै पाइन्छ ? घर न थर, ठाउँ न ठेगाना, कुन आधारमा बास दिने तिमीलाई ? उता परतिर धनीमानी, ठूलाबडाहरु छन्, त्यता जानु नि बास माग्न, हामी दुःखी गरिबकोमा केको बास ? बास दिइहाले पनि खान के दिनु ?

    गाउँको नाम पनि त कैलाशपुर अरे ! तल बेसीमा भेटिएको कुनै भरियाले भनेको । बच्चाकालदेखि नै स्वस्थानीको कथा बारम्बार सुनेको र हिन्दु संस्कारमा कैलाशपुर नाम निकै नोस्टाल्जिक र आकर्षक लाग्यो । त्यसैले त होला, यस्तो अलौकिक लाग्ने ठाउँमा केही दिन नबसी अन्यत्र लाग्न उसको मन मानेन । जोगीको घर न ठेगाना भने झैं उसले गाउँको एउटा सानो झुप्रोमा बास बस्न अलक लगायो ।

    घरमा बुढी आमै थिइन् । आमैको बोली रुखो, त्यसमाथि साँझका पाहुना ।

    – को हो अबेलामा अर्काको घर बाहिर आएर कराउने ? बास त्यति सजिलै पाइन्छ ? घर न थर, ठाउँ न ठेगाना, कुन आधारमा बास दिने तिमीलाई ? उता परतिर धनीमानी, ठूलाबडाहरु छन्, त्यता जानु नि बास माग्न, हामी दुःखी गरिबकोमा केको बास ? बास दिइहाले पनि खान के दिनु ?

    – आफू पनि दुःखी नै परियो नि आमै, दुःखीलाई दुःखीकै घरमा सुख लाग्छ, धनीको घरमा भन्दा । फेरि धनीका महलका भोजन पनि हामीलाई पचाउन गाह्रो पर्छ र रेशमी ओछ्यान पनि यो खस्रो जिउलाई बिझाउँछ । त्यसैले हजुरको घरमा भगवानले नै ल्याइपुर्‍याइदिए कि झैं मानेको छु । (भगवानको विश्वास लाग्दैन भन्छु, तर कसरी बेलाबेलामा भगवान मुखबाट फुत्कने होला, ऊ आफैंदेखि छक्क पर्‍यो)

    – मुख बजाउन त खुब जानेको रहेछौ त ! गफै गरेर ज्यान पाल्ने गरेका छौ कि के हो ? अनि घर कता हो नि ? परिवार, बाबुआमा कता, कुन जात ? यहाँ कसरी के कामले आइपुग्यौ ? सबै कुरा एक एक बताउ अनि बास दिने नदिने सोचौंला ।

    – मेरो घर पहाडतिरै हो । बाबुआमा गाउँमै हुनुहुन्छ । काठमाडौंमा बस्थें, तर त्यो शहर मेरो लागि होइन जस्तो लाग्यो, त्यहाँका मान्छे पनि किन किन मेरो टाइपका होइनन् भन्ने लाग्यो । त्यसैले गाउँ डुल्दै हिंडेको छु ।

    – ए त्यसो भए लफंगा भएर हिंडेको, बुढा भएका बाबुआमालाई एक्लै मर्न छोडेर ? अनि लफंगालाई मैले बास दिनुपर्ने ? अनि जात चाहिँ के हो नि ? अघि पनि सोधेको हैन जात के हो भनेर ? किन कुरा चपाएर बोलेको ?

    ए त्यसो भए लफंगा भएर हिंडेको, बुढा भएका बाबुआमालाई एक्लै मर्न छोडेर ? अनि लफंगालाई मैले बास दिनुपर्ने ? अनि जात चाहिँ के हो नि ? अघि पनि सोधेको हैन जात के हो भनेर ? किन कुरा चपाएर बोलेको ?

    जातको कुरामा बुढी अड्किएको देखेर उसले अब बास नपाइने भयो भनेर निस्वासको सास फे¥यो । अन्तमा कायल भएर अनकनाउँदा अनकनाउँदै भनिदियो- बाउन ।

    – हो, त्यही भएर त मलाई अघिदेखि नै डर लाग्दै थियो । तिमीलाई छैन बास मेरो घरमा । मलाई मराउन खोजेका छौ ? दमिनीले बाउनलाई बास दिएको, अनि खाना ख्वाएर बाउनको जातभात भ्रष्ट गराइदिएको भनेर मलाई समाजबाट बाहेक पार्न लागेको ? गइहाल मेरो घरबाट तुरुन्तै । नत्र मैले गुहार माग्नु नपरोस् ।

    यतिखेर भने ऊ ठूलो अन्योलमा परेको देखियो । खासमा उसका बाबाआमाकै बिजातीय विवाह थियो । उसका बाबा दलित थिए भने आमा क्षेत्री । आफू कुन जातको हो, ऊ आफैंले आजसम्म एकिन गर्न सकेको थिएन, तर एकिन नै नभएको जातले आफूलाई बारम्बार दुःख दिएको देख्दा उसलाई पीडा भैरहन्थ्यो ।

    खासमा आफू दलित भएको र बास नपाउने डरले बास पाउन भनेर ढाँटेको भनेर उसले कुरा सच्याउन खोज्यो, तर रिसले र डरले पागल झैं भइसकेकी आमैले उसको कुरा विश्वास गर्ने वा मन फिरेर उसलाई बास दिने सम्भावना देखिएन । आफ्नो काँधे व्याग बोक्यो र खुइय गर्दै लाग्यो गन्तव्यहीन यात्रामा ।

    साँझ बाक्लिएर कालो पोतिइसकेको थियो सबैतिर । अलि पर सेतो ढुंगा झैं खुट्यायो उसको अत्तालिएको मनले र लाग्यो त्यतै । प्रकृति कति दयावान छन् झैं लाग्यो उसलाई, जब ढुंगामा पल्टियो । किनकि दिनभरि घामले तातिएको ढुंगो न्यानो थियो अनि गोठालोहरुको प्रिय भएर हुनसक्छ नरम पनि । थोरै अन्धेरोको डर, धेरै चाहिँ भोक र थकाइको कहर, पल्टेको केही समयमै निदाइसकेको थियो ऊ ।

    करिब रातको १० बजेको हुँदो हो, कसैले हातमा समाएर जोडले हल्लाएकाले तर्सिंदै उठ्यो ।

    को हो ? -अन्धेरोको बीचमै ऊ चिच्यायो ।

    – घरमा हिंड उतै परिचय दिउँला ।

    खासमा आफू दलित भएको र बास नपाउने डरले बास पाउन भनेर ढाँटेको भनेर उसले कुरा सच्याउन खोज्यो, तर रिसले र डरले पागल झैं भइसकेकी आमैले उसको कुरा विश्वास गर्ने वा मन फिरेर उसलाई बास दिने सम्भावना देखिएन । आफ्नो काँधे व्याग बोक्यो र खुइय गर्दै लाग्यो गन्तव्यहीन यात्रामा ।

    उनै बुढी हातमा टर्चलाइट लिएर उभिएकी थिइन्, जसले साँझमा उनको घरमा टुसुक्क बस्न पनि दिएकी थिइनन् । केही नबोली ऊ बुढीको पछि लाग्यो ।

    तिमी यही बस -बुढीले उसलाई बाहिर चपलीको सानो खाटमा बस्ने इसारा गरिन् र आफूभित्र पसिन् ।

    घरभित्रबाट उसिनेको आलु, सिमीको बिरौला, नूनखोर्सानीको धूलो अनि मोही लिएर बुढी आइन् र भनिन्– यो खाउ र यही खाटमा सुत् । बुढी फेरि भित्र पसिन् र एकैछिनमा सानो कम्मल र अर्को हातमा पानीको ओम्खरा लिएर फर्किन् । बिहान सबेरै यहाँबाट जानू, नत्र मलाई मार्छन् यहाँका मान्छेले । बुढीको साहुती गरेको जस्तो आवाजमा डर स्पष्ट अनुभव गर्न सकिन्थ्यो ।

    – कसले मार्छ तपाईंलाई ? यस्तो स्वर्गको टुक्रा जस्तो गाउँमा पनि खराब मानिस बस्छन् र ? मलाई भगवानले फुर्सदमा बनाएको राम राज्य जस्तो अनुपम पुरी लागिरहेको छ यो ठाउँ । तपाईं चाहिं किन त्यसो भनिराख्नु भएको छ हँ ? मैले त केही बुझ्नै सकिनँ ।

    ऊ असमजस्यमा परे झैं देखियो ।

    हाहाहाहा -बुढीले हाँसेको उसले पहिलो पटक देख्यो, त्यो पनि अट्टहास ।

    – ईश्वरले यो गाउँ बनाउनको त कुरै छोडिदेऊ । यो गाउँमा न ईश्वर कहिल्यै आइपुग्ने छन् न त आउन नै चाहन्छन् । ईश्वरको डायरीमा यो गाउँको ठेगाना पक्कै मिसिङ हुनुपर्छ ।

    (बुढी पनि म जस्तै ईश्वरलाई बाल दिने परिछन् कि क्या हो ? अझ बुढीका शब्दहरु सुन्दा त केटोलाई सेन्टिफ्ल्याट खाइएला झैं लाग्यो ।)

    – मिसिङ रे ? डायरी रे ? तपाईंलाई अंग्रेजी पनि बोल्न आउँछ ? कति कक्षा पढ्नुभएको छ ?

    – हाहाहा । हो, पढेकी छु । तिम्रा रामहरुको राज्यमा टिक्न नसकेर ‘देश’ पसेको थिएँ, त्यही बाँची खाने बेजो गरें, बच्चा हेरिदिने काम । बेबीस्वीटर कि के पो भन्थे उनीहरुले । त्यही जानेकी यी गाईखाने शब्दहरु ।

    केहि समय बसेर त हेर ! अनि थाहा भैहाल्छ नि, यो गाउँमा कसको राज रहेछ भन्ने कुरा । तिम्राआदर्श पुरुष रामको कि रावणको ?

    रावण भनेको नराम्रो मानिस हो र आमै ? -उसले बाल कौतुहल देखायो ।

    खै तिम्रो राम राज्यको बखान भएको कथाले त्यसै भन्छ रे ?- बुढीले सोझो उत्तर दिइन्- तिमी त साँच्चै कुराको पोको रहेछौ । लौ अब सुत । भोलि बिहान चाहिँ बिहानै मेरो घर छोड्नु है ।

    म पनि दलित नै हो के आमै । डराउनु पर्दैन –उसले कुरा पूरा गर्नै पाएन, बुढीले भित्रबाट दैलो ओग्ल्याइहालिन् ।

    बुढीले किन यो गाउँमा केही समय बस्नु भनेको होला ? उसको मनमा केही डरसहितको कौतुहलता  रंग्मगीयो ।

    बिहान ५ बजेकै थिएन, बुढी भित्र कतै कपुर्र गौरम करुणा अवतार, संसार सारम् भुजगेन्द्र हारम् … भट्याउँदै थिइन् । उसको निद्रा बुढीको प्रार्थनाले भत्काइदियो ।

    बाहिरै आएर भट्याउनुहोस् न आमै म पनि सुन्छु- ऊ सुतेरै चिच्यायो ।

    – नकरा न ए केटा, तेरा बाजे आएर मार्छन् मलाई । तेरा राम राज्यका राजाहरुको उर्दी छ, हामी दलितहरुले भगवानको पुकारा गर्ने, मन्त्र जप्ने गर्नु हुँदैन रे ! उनीहरुको धर्म नाश हुन्छ रे !

    – अनि किन तपाईंलाई चाहिँ कराएरै प्रार्थना गर्नु परेको त ? भगवान त मनमनै पुकारा गरे पनि खुसी भैहाल्नुहुन्छ होला नि !

    – कसले भगवानको पुकारा गरेको छ र ? न भगवानले दुःखीको पुकारा कहिल्यै सुनेको नै छ ! हाम्रो पुकारा सुनेको भए हाम्रो हालत यस्तो हुन्थ्यो होला र ? आफूलाई त ती श्लोकहरु लय हालेर गाउन मनपर्ने भएर पो गाउने गरेकी त ! अब जाऊ तिमी, नत्र मलाई मार्छन् ।

    बुढीको डर फेरि जुरमुरायो ।

    – ठीक छ, आमै म जान्छु । तपाईंको डरको कारण बनेर मलाई बसिराख्नु पनि छैन, तर तपाईले हिजो भन्न खोज्नुभएको कुरा के हो ? यो गाउँमा के हुन्छ र २-४ दिन बसेरै हेर्नु पर्ने ? मलाई त्यो कुरा सुनाइदिनुहोस, अनि म जान्छु ।…

  • मृत्युले विभेद देखेको दिन

    मृत्युले विभेद देखेको दिन

    बितेको १२ दिनदेखि चितवनका सुदीप विक, रौतहटका फिरोज रहुप मियालगायत ६३ जनाका परिवार र आफन्तहरूको आँखा ओभाएका छैनन् । काठमाडौं जान र काठमाडौंबाट जान भनेर हिँडेका उनीहरूको सासलाई त्रिशूली किनारको त्रिभुवन राजपथमा आएको पहिरोले सधैंका लागि थुनिदियो । यीमध्ये कति परिवार त सास नफेर्ने लास हेर्न नै आश गरेर बस्नु परिरहेको छ ।

    धेरै जनाका लागि यो प्राकृतिक विपत् होला, तर मेरा लागि यो राज्यले गरेको हत्या हो । ए कोल्ड ब्लडेड मर्डर ! चालीसौं वर्षसम्म एउटै प्रकृतिमा जब निर्दोष व्यक्तिहरूको जीवन गइरहन्छ, तब त्यो विपत् हुँदैन । सायद कति जनालाई त्यही विपत्मा कमाउने भाँडो छ । त्यसैले त सायद राज्यका लागि यस्ता घटना र घटनामा ज्यान गुमाउने जीवन फगत अङ्कमात्र बन्छन् ।

    आममानिसलाई राज्यले ‘तिमीहरू फगत अङ्क हौ’ भनेर पटकपटक नभनेको पनि होइन । कहिले नबन्ने त्रिभुवन राजपथ होस् वा बाढीपहिरोका बेला हेलिकप्टर चार्टर गरेर अनुगमन गर्ने नेताहरूको यात्रा होस्, राज्यले देखाउने हरेक जात्रामार्फत हरेक पटक ‘ए निमुखा जनता तिमीहरूको हामीलाई के मतलब’ भन्ने कुराको हुँकार त सधैं देखिन्थ्यो नै । जनतालाई पनि सायद राज्यको आश छैन र त ऊ भगवानमाथि आस्था राख्दै खोला जस्ता बाटाहरूमा यात्रा गरिरहन्छन् हरेक दुःख झेल्दै, हरेक दुर्घटना छिचोल्दै ।

    जनताका एउटा पनि कुरामा खरो नउत्रेको राज्य जब हेपाहा र विभेदकारी बन्छ, तब भने एउटा सामान्य नागरिकको मन दुख्छ । राज्यले अस्ति देखाएको विभेदमा सिमलतालमा ज्यान गुमाउनेहरूका परिवारले के अनुभूति गर्दै होलान् भन्ने कुरा सोचेर म रन्थनिएकी छु । म स्तब्ध छु, राज्य चलाउनेहरूको अकर्मण्यताले नेपाली जनताको मनमा राज्य भनेकै भावनाविहीन, निर्दयी र विभेदकारी हुन्छ भन्ने कुरा सदाका लागि गड्यो भनेर !

    धेरैलाई लाग्नसक्छ, मृत्युको परिभाषा गर्ने यो सायद सही समय होइन, तर होइन अब त बोल्नुपर्छ । अब त लेख्नुपर्छ । राज्य चलाउनेहरुलाई उनीहरूको निर्दयता बुझाउनलाई पनि हामी शब्दमा निर्दयी बन्नैपर्छ । हामीले गर्नसक्ने सायद यति नै हो ।

    अरे यार, एउटा राज्यका लागि आफ्नो नागरिकको मृत्युको मूल्य कसरी फरक हुनसक्छ ?

    सिङ्गो देश १८ जनाको दुखद निधनमा दुखिरहँदा, एकदमै फरक कोणमा मैले अहिले सोचिरहँदा म निर्मम देखिन सक्छु । धेरैलाई लाग्नसक्छ, मृत्युको परिभाषा गर्ने यो सायद सही समय होइन, तर होइन अब त बोल्नुपर्छ । अब त लेख्नुपर्छ । राज्य चलाउनेहरुलाई उनीहरूको निर्दयता बुझाउनलाई पनि हामी सायद शब्दमा निर्दयी बन्नैपर्छ । हामीले गर्नसक्ने सायद यति नै हो ।

    कुरा राज्यले आज झण्डा किन झुकायो भनेर हुँदै होइन । राष्ट्रिय शोकको अपनत्व गर्न नागरिकको दुखेको मनलाई साङ्केतिक रूपमा जोड्न झण्डा झुकेको हो । सरकारलाई दुःख मनाउन झण्डा किन झुकायौ भन्ने प्रश्न हुँदै होइन । यो दुखद घटनाको गम्भीरता र यसले पु¥याएको चोटमा राष्ट्र एक हुनैपर्छ, राष्ट्र रुनैपर्छ ।

    प्रश्न केमात्र हो भने यी निर्दोष १८ आत्माको शोक गरिरहँदा दुई हप्ता अगाडि बस दुर्घटनामा आफ्नो ज्यान गुमाउनेहरूले मर्ने क्रममा थप के गर्नुपथ्र्यो, जसले गर्दा राज्यले दुखे जस्तो गरी नाटक गर्न बाध्य पाथ्र्यो ? हुन त आँसुमा पनि राजनीति गरिदिने राज्यले साँच्चै नै मन दुखेर झण्डा झुकाएको जस्तो लाग्दैन । राज्यको मन दुख्थ्यो भने यो राज्य अर्कै हुन्थ्यो ।

    यद्यपि अराज्यमा पनि यस्तो विभेद हुनुहुँदैन । नागरिकहरूबीचको जीवनको मूल्य फरक हुनुहुँदैन । शव र लास यी दुई फरक शब्दले समाजको फरकलाई देखाउनु हुँदैन । महलमा बस्ने होस् वा झुपडीमा, जमिनमा खुट्टा नटेक्ने होस् वा जमिनमै जीवन सक्ने होस्् वा देशका हरेक नागरिकको जीवन एउटै हो ।

    हुन त आँसुमा पनि राजनीति गरिदिने राज्यले साँच्चै नै मन दुखेर झण्डा झुकाएको जस्तो लाग्दैन । राज्यको मन दुख्थ्यो भने यो राज्य अर्कै हुन्थ्यो ।

    जीवन चाहे जसरी अन्त्य भएको होस्, त्यसको महत्त्व समान छ । समान हुनुपर्छ । बस दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटु प्लेन दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटुभन्दा कम दुख्छ होला र ! विधवा हुने श्रीमतीहरूको सिन्दूरको रङ कम गाढा हुन्छ होला र ! आमाको स्नेह, बुवाको सहारा, श्रीमतीको प्यारमाथि नापतौल देखिने तरिकाले नगरिदिए हुन्थ्यो भन्ने थोरै आशमात्र गरेको हो ।

    दुर्घटनामा आफ्नालाई गुमाउँदाको पीडा र त्रासदी कहालीलाग्दो हुन्छ । मुटु कमाउने यस्ता दुर्घटना आकाशमा वा जमिनमा जहाँ भए पनि सधैं आकस्मिक र दुखद नै हुन्छन् । यस्ता दुर्घटनाले परिवारलाई टुक्राएर राखिदिन्छन् । समाजलाई कहिले नभरिने घाउ दिएर जान्छन् ।

    यो विमान दुर्घटना र लगत्तै राष्ट्रको आधा झण्डा झुकाउने निर्णयले गुमेको जीवनको राष्ट्रिय मान्यता र सार्वजनिक शोकको अभिव्यक्तिलाई सङ्केत गर्दछ । यसले जीवन कति अमूल्य छ र आकस्मिकतामा गुमाइने जीवन सदैव सामूहिक शोकका विषय हुन्छन् भन्ने कुरालाई भावनात्मक रूपमा प्रतिविम्बित गर्छ, तर यो भावना पनि जब क्लासअनुसार परिवर्तन हुन थाल्छ, समस्या त्यहाँ खडा हुन्छ । दुःखका साथ भन्नुपर्छ, हवाई दुर्घटनामा बढी र बस दुर्घटनामा कम दुख्दै गर्दा राज्यमात्र होइन, नेपाली मिडिया र समाज पनि मृत्युलाई मास र क्लासमा वर्गीकरण गर्न अभ्यस्त भइसकेको छ भनेर नमीठो, तर सत्य आक्षेप लगाए भने पनि अतिशयोक्ति सायद नहोला ।

    सायद यो आक्षेप पनि होइन । यो भिन्नता त तपाईं हामी बसिरहेकै समाजको सामाजिक मान्यता र प्रतिक्रियाहरूको प्रतिविम्ब नै हो नि होइन र ? जहाजको मूल्य धेरै हुन्छ । जहाजमा यात्रा गर्ने मानिसहरू प्रायजसो सम्भ्रान्त परिवारकै हुन्छन् । आकाशमा उड्दै गरेर पहाडमा ठोकिँदा होस्, बादलभित्रै हराउँदा होस् वा अन्य विभिन्न अभयवरहरूबाट होस्, जहाज दुर्घटना गलत अर्थ नलाग्ने हो भने ग्लामरस हुन्छन् ।

    जीवन चाहे जसरी अन्त्य भएको होस्, त्यसको महत्त्व समान छ । समान हुनुपर्छ । बस दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटु प्लेन दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटुभन्दा कम दुख्छ होला र ! विधवा हुने श्रीमतीहरूको सिन्दूरको रङ कम गाढा हुन्छ होला र !

    त्यहीनेर बस दुर्घटना सायद सधैं एउटा फुङ्ग उडेको समाजको थोत्रो घर जस्तो हुन्छ । एउटा त्यस्तो घर, जसको कथाबारे कसैलाई न मतलब छ न त कसैलाई सुर्ता । त्यसैले त सामान्य बनाइएका बस दुर्घटनाहरू न अन्तर्राष्ट्रियकरण हुन्छन् न त दुःख नै राष्ट्रिय हुन्छन् । त्यसैले पनि होला यस्ता दुर्घटनाहरूको बाछिटा तिनीहरूकै नजिकसँग मात्र पुग्ने ।

    यो लेख पढ्दै गर्दा आफ्नै मनलाई सोध्नुहोला, आफ्नै विवेकसँग प्रश्न गर्नुहोला र विगतमा भएका हवाई दुर्घटना र गाडी दुर्घटनाहरूमा के तपाईंको मन उस्तै प्रकारले दुखेको छ । दुखेको छैन भने राज्यलाई मात्र दोष दिएर काम छैन । सायद राज्य पनि हामीलाई देखेर नै विभेदी पो भएको हो कि ? भन्छन् नि you get a state according to the citizen!

    कुरा जे होस्, कारण जे होस्, यसले कहीँ न कहीँ हाम्रो समाजको विभेदलाई प्रस्ट रूपमा देखाइदिन्छ र ठूल्ठूलो स्वरमा भनिदिन्छ, देशमा अझै पनि केही जीवन अरू जीवनभन्दा फरक त छन् । यो हाम्रो समाजको विद्यमान असमानताको ठूलो घचघच्याइ हो, जसले गरिबहरू प्रायः शोकको मौनताभित्र कहीँकतै हराउँछन् भन्ने तथ्यलाई फेरि पनि सतहमा ल्याइदिएको छ ।

    पछिल्लो बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारहरू सायद शोकमा यति धेरै डुबेका छन् कि उनीहरूले सायद टीभी हेरेका छैनन्, रेडियो सुनेका छैनन् । सायद ठीकै भयो नहेरेर, हेरेको भए, सुनेको भए समवेदनामा पनि राज्यले गरेको विभेद देखेर उनीहरू भावशून्य हुन्थे होलान् !

    राष्ट्रिय झण्डा देशभरि झुक्दै गर्दा यो राज्य र समाजले आफ्नो टाउको झुकाउँदै एक चोटि आफैंमाथि निर्मम प्रश्न गरोस् । सामाजिक मान्यताका हरेक त्यस्ता अवयवहरूमाथि प्रश्न गरोस्, जसले मृत्युपछिको यात्रामा पनि असमानता सिर्जना गरिरहन्छन् । यो प्रश्नको ध्वनि यति ठूलो होस् कि यसले समावेशी र सहानुभूतिपूर्ण समाज सृजना गर्न मद्दत गरोस् । यो सामूहिक दुःखको क्षण अब सामूहिक दृढताको पनि क्षण बनोस् । जसले सामाजिक संरचनाको खाडललाई सधैंका लागि पुरिदियोस् ।

  • दुर्घटनाको पनि वर्ग हुन्छ सरकार ?

    दुर्घटनाको पनि वर्ग हुन्छ सरकार ?

    गत असार २८ गते देशभर भीषण वर्षा भइरहेको थियो । देशको संघीय राजधानी भने ठूला साना दलहरू सत्ता अदलीबदलीको चटारोमा व्यस्त थिए । वर्षा वा राजनीतिक उथलपुथल आम नागरिकका गन्तव्य खोज्ने यात्रा रोकिएको थिएन । उनीहरू पूर्व हिँडेका थिए, पश्चिम हिँडेका थिए, गन्तव्य खोज्दै ।

    वर्षाले राजनीतिलाई असर नगरेपनि सडक बाटोबाट हिँड्नेहरूलाई रोकिरहन्छ । त्यो समय पनि कहिल्यै पहिरो नझरेको काली खोलामा ठूलो पहिरोले बाटो रोकेको थियो । सडकमा गुडेका गाडीहरु सुस्त अघि बढ्दै थिए ।

    त्यही समय, बिहानको झिसमिसे भुइँमा झरेकै थिएन । नेपालको काठमाडौं छिर्ने मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडकमा लेदोसहितको पहिरो गाडी गुडिरहने सडकको भित्तातर्फ बनाइएको कुलेसो, तारजाली सबै नाघेर आयो । मुग्लिन बजारबाट २३ किलोमिटर ५ सय मिटर नारायणगढतर्फको सिमलताल भन्ने ठाउँ थियो त्यो ।

    लेदोसहितको पहिरो आउँदा सडकमा गन्तव्य काठमाडौं बनाएर वीरगञ्जबाट हिँडेका र गन्तव्य गौर बनाएर काठमाडौंबाट हिँडेका कुल ६५ जना यात्रु सवार बस त्रिशूली नदीमा खस्यो । तीमध्ये ३ जना त्रिशूलीको भेलमा पौडिएर सडकमा निस्किए, आफन्त गुमाएको अलाप गर्न लागे । आँखै अगाडि दुई बसलाई लतार्दै त्रिशूलीमा डुबाएर बेपत्ता बनाएको देखेका बसका चालकहरु हतास मनस्थितीमा अतालिँदै प्रहरीलाई खबर गरे ।

    त्यो बसमा यात्रा गर्ने कोही केही पैसा कमाउन सकिएला जीवन सहज होला भनेर विदेश हिँडेका थिए, कोही सुन्दर भविष्य बनाउन सकिएला भनेर लोकसेवा परीक्षा दिन हिँडेका थिए । कोही राजधानी बाहिरको उपचारले निको नभएर संघीय राजधानीको सुविधासम्पन्न अस्पतालमा उपचार गरेर घर फर्किँदै थिए । समग्रमा भन्दा ति सबैजसो भुइँमान्छे थिए ।

    त्यस दिन प्रधानमन्त्रीको कुर्सीमा थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । बिहान झिसमिसे नहुँदै घटना भएको थाहा पाएर प्रधानमन्त्रीले फेसबुकमा घटनाप्रति दुःख मनाउ गरे ।

    सुरक्षा संयन्त्र, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतलाई कमाण्ड गर्ने कमाण्डर अर्थात् त्यस बेलाका गृहमन्त्री चितवनको दुर्घटना भएकै क्षेत्रका माननीय समेत रहेका रवि लामिछाने थिए ।
    सरकार बनाउने र परिवर्तनको खेल चलिरहँदा काठमाडौंमा बसेको उच्च पदस्थ बैठकले घटनाको दुःख मनाउ गर्यो । फेसबुके दुःखहरु सार्वजनिक भए । तत्कालै घटनास्थलको निरीक्षण गर्न आउने फुर्सद भएन ।

    चितवनका प्रहरी प्रशासन घटनाकै दिनदेखि आज १४ औँ दिनसम्म त्रिशूली र नारायणी नदीमा बेपत्ता यात्रु खोजिरहेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव दुईवटा बसलाई एकैपटक त्रिशूलीमा खसाउनु र ठूलो संख्यामा मानिस बेपत्ता हुनु सिंगो देशको लागि ठूलो दुःख भएका बताउँछन् ।

    चितवनको नदी किनाराबाट कम्तीमा शवमात्रै पाएपनि सद्‍गद् गर्न हुन्थ्यो भनेर कुरिरहेका यात्रुका आफन्तलाई के जवाफ दिने ? दिनभर नदीमा खोजेर रित्तो हात फर्किनुपर्दा र यात्रुका आफन्तमा दिने जवाफ नहुँदा चितवनका सुरक्षा संयन्त्र निराश बन्न थालिसकेका छन् ।

    घटनाको तीन दिनपछि ११ दिनको लागि भनेर गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन कार्यदल बनाएको थियो । यो दुर्घटना चालकको लापरबाही थिएन । लापरबाही त मूल सडकमाथि खनिने सहायक सडक र त्यसका इन्जिनियरिङ गर्ने राज्यका उच्च पदस्तहरूकै होला । तर, यसको दोषी कसलाई देख्छ समितिले, उसको प्रतिवेदनले नै बोल्छ होला ।

    चितवनमा कार्यदलका पदाधिकारी आउँदा यहाँका स्थानीयले सोधेका थिए, किन राज्यलाई सर्वसाधारणको मृत्यु दुख्दैन ? उनीहरुले नागरिकका प्रश्न गरेका थिए । समितिका पदाधिकारीले जवाफ दिएका थिए, राज्य संवेदनशील छ ।

    मृत्यु त्यो पनि दुर्घटनाजस्तो भयानक कारण, आफैँमा निकै पीडादायी हुन्छ । सबैलाई शोकमा पार्छ । काठमाडौंमा हिजो भएको जहाज दुर्घटना जति भयावह थियो, बिहान झिसमिसे नहुँदै यात्रा गरिरहेको त्रिशूलीमा दुई बस लतारेर ६२ जना बेपत्ता बनाएको घटना अझ बढी भयाबह थियो । अकल्पनीय र पीडादायी थियो ।

    त्यो दुर्घटनाले राज्यलाई पक्कै दुखेको होला । तर, व्यवहारमा देखिएन । १४ औँ दिनसम्म दुई लाख राहत दिने निर्णय मात्रै राज्यको देखिनेगरि काम हो । भवितव्य जुनसुकै समयमा आउन सक्छ । व्यक्तिलाई पीडा दिनसक्छ । राज्य त्यस्तै समयको अभिभावक हो । राज्यले गरेको विभेद नागरिकले महसुस गरे भने कल्याणकारी राज्यको के महत्व रह्यो र ?

    आज बस दुर्घटना र जहाज दुर्घटनाको सहानुभूति व्यक्त गर्ने तरिकामा किन विभेद भयो ? के राज्यको लागि नागरिकको मृत्युमा पनि वर्ग फरक देखिन्छ ? हरेक व्यक्ति सतप्रतिशत आत्मसम्मानमा बाँच्न पाउनुपर्छ । आफ्नो राज्यमा भएका नागरिकको सतप्रतिशत अभिभावकत्व राज्यको दायित्व हो । एउटै परिवारको अभिभावकबाट किन फरक व्यवहार ? आज आम नागरिकले दुई ठूला दुर्घटनामा प्रश्न गरिरहेका छन् ।

    उनीहरू सोधिरहेका छन्, ‘मृत्युको शोक राज्यलाई सडकमा मुस्किलले भाडा तिरेर हिँड्ने र जहाजमा सुविधाजनक यात्रा गर्नेबीचमा किन फरक भयो ? किन बराबरी दुखेन नागरिकको मृत्यु पीडा ?’

  • मदन पुरस्कारमा छनौट भएका सबै लेखकलाई प्रधानमन्त्री ओलीको बधाई, ‘मुकाम रणमैदान’ पढिसकेको भनाइ

    मदन पुरस्कारमा छनौट भएका सबै लेखकलाई प्रधानमन्त्री ओलीको बधाई, ‘मुकाम रणमैदान’ पढिसकेको भनाइ

    काठमाडौं । आज सार्वजनिक भएको मदन पुरस्कार २०८० को पुरस्कारमा छनौटमा परेका शीर्ष पाँच कृति तथा तीनका छ लेखकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट बधाई दिएका छन् ।

    मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आज एक प्रेस विज्ञप्तिमार्फत छनौट भएका पाँच कृति सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक संजालमा सार्वजनिक पाँचैं कृतिहरुमा आफूले छनौट भएका पुस्तकहरुमा ‘मुकाम रणमैदान’ मात्रै पढेको र अरु पढ्न बाँकी भएको भन्दै ओलीले लेखेका छन्, ‘पुस्तक पढ्ने बानी बसालौँ ।’

    यो वर्षको पुरस्काको लागि ३०४ कृतिको आवेदन परेको भन्दै गुठीले छनौट भएका कृति तथा लेखकहरुमा मुकाम रणमैदानका लेखक तथा पत्रकार मोहन मैनाली, डम्फूको आत्मालापका लेखक भक्त स्याङतान, भावलिपिका लेखकहरु भावेश भूमरी र प्रणिता चाम्लिङ, सन्त्रासका साठी दिनका लेखक रोशन थापा ‘नीरव’ र नुन–तेलका लेखक जीवन क्षेत्री परेको सार्वजनिक गरेको छ ।

    याे पनि पढ्नुस्: मदन पुरस्कारमा ३०४ पुस्तकको आवेदन, पत्रकार मैनालीको ‘मुकाम रणमैदान’सहित यी ५ कृति छनौट

     

  • मदन पुरस्कारमा ३०४ पुस्तकको आवेदन, पत्रकार मैनालीको ‘मुकाम रणमैदान’सहित यी ५ कृति छनौट

    मदन पुरस्कारमा ३०४ पुस्तकको आवेदन, पत्रकार मैनालीको ‘मुकाम रणमैदान’सहित यी ५ कृति छनौट

    काठमाडौं । मदन पुरस्कार २०८० को लागि पाँच शीर्ष कृति तथा तीनका छ जना लेखकको छनौट गरिएको छ ।

    मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको सार्वजनिक सूचीअनुसार पाँच शीर्ष कृति तथा छ लेखकहरुमा क्रमशः मुकाम रणमैदानका लेखक तथा पत्रकार मोहन मैनाली, डम्फूको आत्मालापका लेखक भक्त स्याङतान, भावलिपिका लेखकहरु भावेश भूमरी र प्रणिता चाम्लिङ, सन्त्रासका साठी दिनका लेखक रोशन थापा ‘नीरव’ र नुन-तेलका लेखक जीवन क्षेत्री परेका छन् ।

    यो वर्षको मदन पुरस्कारको लागि ३०४ वटा कृतिहरुको आवेदन परेको गुठी अध्यक्ष दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

    सूचीका लागि क्लिक गर्नुस् ।

     

     

  • कविता : थोत्रो नौमती

    कविता : थोत्रो नौमती

    क्रान्ति र क्रान्तिकारी विरुद्ध
    थोत्रो नौमती बजाउनु मुर्खता हो
    सौताबाजी गर्नु भुल हो
    त्यसैले कमरेट
    त्यसैले कमडेड
    बरालिनु हुँदैन विनालक्ष
    छुट्टिनु हुँदैन अचेतमा
    उफ्रनु हुँदैन कम वजनले
    कतै पुर्‍याउादैन रोदनले
    यहीँ भन्छ महापतनले

    तिमी भागेर गयौ
    हामीबाट आकाश खसाल्छु भनेर
    थाक्दा सम्म
    हाम्रा विरुद्धमा
    बजाउनु बजायौ
    तिम्रो थोत्रो नौमती
    हामी गम्भीर भयौ
    क्रान्ति पक्षधरमा
    हामी विश्वस्त दृढ भयौ
    हाम्रो रणनीतिमा

    त्यसैले त
    तिमीले थोत्रो नौमती
    बजाएको वास्ता नगरी
    कोदालो बोक्यौ,धान रोप्यौ
    आत्मनिर्भर बनेर पार्टी चलायौ
    तिम्रो आत्मरति र आत्मरक्षाको बेला
    हामी अभिभावक बनेर
    नेतृत्व गर्दैछौं नेपाली कम्युनिस्टको
    हामी नेतृत्व गर्दैछौं
    नेपाली विशेषताको समाजवादको
    आउ बरु सचेत भएर
    एकीकृत जनक्रान्तिको बाटोमा
    अनिश्चय,रक्षा ,सम्भावना र रुपान्तरणलाई
    आत्मसात गरेर
    कमरेट र कमडेडको
    थोत्रो नौमतीले
    बिचल्ली बनाउछ ।

    -रमेश सी विक्रान्त
    ५ साउन २०८१

  • ‘सम्झनाको सन्दुक’भित्र भेटिएका खजाना

    ‘सम्झनाको सन्दुक’भित्र भेटिएका खजाना

    गोठालो जेठा (वास्तविक नाम मिलन लिम्बू) ले विगत १४ वर्षदेखि बेलायतलाई आफ्नो कर्मथलो बनाएका छन्, तर उनको मनमुटु नेपालमै छुटेको छ । उनले लेखेको आत्मकथा पुस्तक ‘सम्झनाको सन्दुक’ पढिरहँदा यही महसुस गर्न सकिन्छ ।

    उमेरले ४० कटे पनि लिम्बू जीवनमा अनेक भोगाइबाट गुज्रिसकेका छन् । उनले भोगेका उतारचढावका कथाहरुमाथि एउटा गजबको व्यवसायिक फिल्म नै बन्नसक्छ । यो आत्मकथा पुस्तक पनि एउटा रोमाञ्चक उपन्यासभन्दा कम छैन । यसमा वेदना छ, संघर्ष छ, प्रेम छ, विरह छ, हन्डर छ, सफलता छ, सबैथोक छ ।

    आत्मकथा लेख्दा सबैभन्दा ठूलो चुनौती हो, आफ्नो जीवन भोगाइप्रति इमानदार हुनु । थुप्रै चर्चित हस्तीहरुको आत्मकथा यही पाटोमा चिप्लिएका हुन्छन् । आफ्ना कमीकमजोरीहरुको ढाकछोप गर्ने र घटना विवरणहरुलाई ‘म्यानुपुलेट’ गर्न खोज्ने प्रवृत्तिले आत्मकथा लेखनी नै बदनाम भइरहेको छ । यो मामलामा लिम्बू धेरै हदसम्म शुद्ध निस्किएका छन् । उनी आफ्नो सवल र दुर्वल पक्षलाई विश्वनीय रुपमा चित्रण गर्न सफल भएका छन् । आफूलाई कतै पनि ‘सुपरहिरो’ देखाउन खोजेका छैनन् । उनको लेखनशैली सरल, तर परिस्कृत छ ।

    लेखकले आफ्ना पिताको प्रेम र विरहबाट रोचक शैलीमा कथाको उठान गरेका छन् । पुस्तकले सुरुबाटै पाठकहरुलाई कथामा बाँधेर राख्छ । हङकङमा कार्यरत ब्रिटिश लाहुरे (तत्कालीन चलनचल्तीको शब्दमा रिकुटे) छुट्टीमा गाउँ आएको बेला मेलामा भेटिएकी एक षोडसीको प्रेममा पर्छन् । पालम गाएर उनलाई फकाउँछन्, तर आफ्नो बनाइहाल्न भ्याउँदैनन् । छुट्टी सकिन्छ र हङकङ फर्किन्छन् । लेखकको शब्दमा रिकुटेको छुट्टी भनेको मच्छडको आयु जत्ति नै हुन्छ ।

    अर्को छुट्टीमा आउँदा रिकुटेले पहिलेकी षोडसी भेट्दैनन् । अर्कैसित बिहे गर्नुपर्छ । बिहे गरेर फेरि कर्मथलो फर्किन्छन् । यता श्रीमती गर्भवती बनेको खबर सुन्छन् । बाबु बन्ने दिन गनेर बस्छन्, तर त्यो दिन कहिल्यै आउँदैन । बरु सुत्केरी वेथा लागेर श्रीमतीको प्राणान्त भएको खबर आउँछ ।

    विक्षिप्त भएर रिकुटे गाउँ फिर्छन् । वियोगान्तको पीडा मेटाउन फेरि पुरानै षोडसीको खोजीमा लाग्छन् । र, भाग्यवस सफल पनि हुन्छन् । ती षोडसीको अर्कैसित कुरा छिनिसकेको हुन्छ, तर उनले भगाएर बिहे गर्छन् । उनै षोडसी लेखककी आमा हुन् ।

    श्रीमती र हुनेवाला सन्तान गुमाएका रिकुटेको जीवनमा वियोगको श्रृंखला रोकिँदैन । दोस्रो श्रीमतीबाट दोस्रो सन्तानका रुपमा जन्मेकी छोरीलाई बचाउन सक्दैनन् । तेस्रो सन्तानका रुपमा मिलन (लेखक) को जन्म हुन्छ । जन्मेदेखि नै रोगी उनी पनि मृत्युको मुखमा पुग्छन् । जसोतसो भगवानले हात थाप्छन् ।

    त्यसपछि फेरि भोग्नुपर्छ अर्को पुत्रीवियोग । छोरापछि जन्मेकी छोरी अढाई वर्ष भएपछि गम्भीर बिरामी पर्छन् । सुरुमा धामीझाँक्री र झारफुकमा भर पर्नुपर्छ । अस्पताल लैजाँदासम्म ढिला भइसकेको हुन्छ । अस्पतालमा बहिनीको निधनपछिको घटनाक्रम असाध्यै हृदयविदारक छ । आमाले छोरीको लासलाई पिठ्यँुमा राखेर एक्लै दिनभरिको यात्रा गरेर कोशी अस्पताल विराटनगरबाट पथरी घरसम्म पुगेकी थिइन् ।

    त्यसभित्रको एउटा प्रसंग

    आमाले मृत बहिनीलाई बर्काेमा बेरिनन् । पिठ्युँमा लास बोकेर अस्पतालबाट बाहिर निस्किइन् । रिक्सा चढिनन् । बाटोमा सोध्दै खोज्दै बस चढ्ने ठाउँसम्म पुगिन् । पिठ्युँमा बहिनीको लास बोकेर घर जाने बस कुरिरहिन् । यो विवशता चराचर जगतमा कसैले थाहा पाएनन्, सिवाय मेरी आमा ।

    केही बेरपछि बस आयो । आमा बस चढिन् । बहिनीको लासलाई काखमा राखेर बसिन् । सँगै सीटमा बस्ने एक जना महिलाले आमालाई सोधिन्, ‘कति ज्ञानी बच्चा, कति वर्षकी भइन् ?’

    आमा केही बोल्न सकिनन् । ‘मेरी छोरी यो संसारमा छैन’ भन्न सकिनन् । भित्र भक्कानो फुटिरहेको थियो ।

    त्यस समय (चालीसको दशक) मधेश र पहाड दुवैतर्फको जनजीवन र दुखकष्टलाई लेखकले मिहिन रुपमा चित्रण गरेका छन् । बाबु लाहुरे भएकाले परिवारमा खान-लाउनको दुख थिएन । तर, त्यस समय ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अति कमजोर थियो । अस्पताल नजिकै नहुँदा मानिसहरु उपचारका लागि जडिबुटी र धामीझाँक्रीमा भर पर्नुपर्थ्यो । अहिले जस्तो अस्पतालमा लगेर सुत्केरी गराउने प्रचलन थिएन । हरेक महिलाले आमा बन्न मृत्युसँग संघर्ष गर्नुपर्थ्यो । जन्माएका सन्तानलाई बचाउनु पनि उत्तिकै चुनौतीपूर्ण थियो । यही दुरवस्थाका कारण रिकुटेले आफ्नो नवविवाहित श्रीमती र तीन बच्चा गुमाउन पुगे । अहिलेको शहरी पुस्ताका लागि यो दन्त्यकथा लाग्नसक्छ ।

    लेखक स्वयम्को जीवन पनि अनेक विश्रृंखलता र परिवन्दहरुबाट जेलिएको छ, यसका आयाम फरक फरक खालका छन् । ८ कक्षा पढिसकेपछि लहैलहैमा लागेर उनी नेपाली सेनामा भर्ती हुन्छन् । शारीरिक परीक्षणमा ‘अन्डरवेट’ हुँदाहुँदै पनि उनी कसरी छनोट भए अहिलेसम्म पनि मेसो पाउन सकेका छैनन् । भर्ती भएपश्चातको कठोर तालिम उनको शरीरले धान्न सक्दैन । पटकपटकको प्रयासपछि उनी सेनाको जागिर छोडेर भाग्छन् ।

    द्वन्द्वकालको त्यस समयमा माओवादी र सेना दुवैको तारो बन्न पुग्छन् उनी । सेनाले उनलाई भगौडा मान्छ भने माओवादीले सुराकी वा दुश्मन । सेनाको जागिर छाडिसकेर पनि निरन्तर थ्रेट भइरहेपछि उनी आखिर माओवादीमै लाग्छन् । त्यसो त विचारधारात्मक रुपमा पनि उनी माओवादीप्रति आकर्षित थिए । खासगरी आफ्नो माओवादीले बोकेका जातीय एजेन्डाहरुको उनको व्यक्तिगत अवधारणासँग मेल खान्थे ।

    माओवादीमा लागेपछि ‘जातीयता’ को संक्रमणले उनलाई पूर्ण रुपमा गाँजिसकेको थियो । देशमा लोकतन्त्र आएपछि उनी जातीय पहिचानको लडाइँमा प्रत्यक्ष रुपमा होमिए । लिम्बूवान आन्दोलनका एक सक्रिय अभियन्ता बने उनी । लिम्बूवान भोलेन्टियर्सको केन्द्रीय उपकमाण्डर र जिल्ला इन्चार्जसम्म बने, तर पहिचनाको लडाइँलाई निरन्तरता दिन भने सकेनन् । नेपालमा बसेर केही पार नलाग्ने देखेपछि अन्ततः बेलायत पलायन हुन बाध्य भए ।

    बेलायतलाई कर्मथलो बनाएको यतिका वर्षसम्म पनि लेखकलाई जातीयताको धङधङीले छोडेको देखिन्न । पहिचानको नाममा खसआर्यविरोधी आन्दोलनमा हिँडेका उनले विवाह भने अन्तरजातीय (क्षेत्री) सित गरेका थिए । यसले उनमा अलिकति वैचारिक विरोधाभाष अवश्य पैदा गरेको छ । जस्तो कि बेलायत पुगेपछि क्षेत्री विवाह गरेको विषयलाई आफ्नो समुदायका कतिपय व्यक्तिले सहज रुपमा पचाउन नसकेको भन्दै चित्त दुखाएका छन् ।

    एकजनाले यतिसम्म भनिदिएछन्, ‘लिम्बूको छोराले किन क्षेत्रीको छोरी बिहे गरेको त ? लिम्बुनी नै बिहे गर्नुपर्थ्यो नि ! एउटा लिम्बुनीले देश हेर्न पाउँथ्यो, संसार देख्थ्यो, सुख पाउँथ्यो, उसको भाग्य खुल्थ्यो । उसको परिवारलाई अलिकति भए पनि राहत हुन्थ्यो ।’

    नेपाली डायस्पोरामा जातीयताको संक्रमण कति गहिरो बनिसकेको रहेछ भन्ने यो सन्दर्भबाट उजागर हुन्छ । यसो हुनुमा नेपालमा भइरहेको कथित जातीय पहिचानको राजनीतिले कति भूमिका खेलेको छ भन्नेमा लेखकले समीक्षा गरेको पाइँदैन । हुन त जातीयता र जातीय पहिचान अलग हुन् भन्ने उनको भाष्य पनि हुनसक्छ ।

    विदेशमा बस्नेहरुको जातीय आडम्बरलाई झल्काउँदै एउटा कटुसत्य उनले लेखेका छन्, ‘नेपाली समुदाय कथित जात र वर्ग मान्छ, तर विदेशी विवाह ग¥यो भने सबै चल्छ । छोराछोरीले विदेशी विवाह गरेको छ भने गर्वले छाती फुलाउँदै चार फिट उफ्रिँदै हिँड्न बाबुआमा पनि बेलायतमा छन् । विदेशीसँग नाता जोडियो भने न त जात हुन्छ न धर्म ।’

    पुस्तकको उत्तरार्द्ध (बेलायत गएपश्चात) बने अलिकति निरस छ । कारण बेलायत पुगेपश्चात उनको जीवनमा कुनै उतारचढाव छैन । उनले वर्णन गरेका बेलायतका भोगाइहरु सामान्य गन्थन जस्ता मात्रै लाग्छन् । यद्यपि, बेलायत बसिरहेको नेपाली वृद्धवृद्धादेखि नयाँ पुस्ताका बारेमा केही गम्भीर विषयवस्तुहरु उठान गरेका छन् ।

    लेखकमा जातीय पहिचानप्रतिको मायामोहका अतिरिक्त देशप्रेमी भावना पनि उत्तिकै प्रवल देखापर्छ । देशभन्दा जात ठूलो भन्ने भ्रममा उनी छैनन् । विदेशमा बसेर नेपाली माटोको सुगन्ध उनले बिर्सेका छैनन् । र, त यति लामो बसाइमा पनि उनले बेलायतमा एउटा घर जोड्न चाहेनन् । अन्तत्वगत्वा नेपाल नै फर्केर आफ्नो माटोमा लडिबुडी गर्ने अभिलाषा व्यक्त गरेका छन् ।

    पुस्तकमा खुलेरै लेखेका छन्, ‘यो परदेशको माटोले मलाई कहिल्यै अपनत्व दिएन । मैले कहिल्यै यो माटोलाई आफ्नो भन्न सकिनँ ।’

  • धार्मिक रुढीवादविरुद्ध ‘एन्टिथेसिस’ बहस : वैज्ञानिक चेतना निर्माणमा विकल्पको साहस

    धार्मिक रुढीवादविरुद्ध ‘एन्टिथेसिस’ बहस : वैज्ञानिक चेतना निर्माणमा विकल्पको साहस

    ‘एन्टिथेसिस’ पढिरहँदा मलाई कार्ल मार्क्सका दुई भनाइ स्मरणमा आयो । एउटा ‘धर्म मानिस/जनताका लागि अफिम हो’ र अर्को ‘आफ्नो मालिक आफैँ बन्नुपर्छ ।’ सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दाताका मार्क्सले धर्म शासकहरूले शासनको बागडोर सम्हालेर शक्तिमा रहिरहन रचेको र जनतालाई नशाका रूपमा लादिएको बताएका थिए । त्यसले विश्वमा ठूलै हलचल ल्याएको मात्रै थिएन । त्यही कम्युनिष्ट विचार बोकेका आजका देशमा पनि धर्मलाई सकेसम्म नकार्न खोजिन्छ ।

    अर्को भनेको आफ्नो मालिक आफैं बन्नुपर्छ । यो जीवन नितान्त आफ्नो हो । एकपटकका लागि हो तसर्थ यो जिन्दगीको नियन्त्रण आफैंमा हुनुपर्छ भन्ने आशय उनले व्यक्त गरेका थिए । अवश्य पनि यसको प्रत्यक्ष आशय ‘एन्टिथेसिस’ मा भेटिन्छ ।

    २८५ पाना र २८ विभिन्न विषयसूचीको यस पुस्तक एउटा स्वसहयोगी कृतिको रूपमा पनि रहन सक्छ । ‘देश किन बनेन ?’ र ‘समृद्धिको रोडम्याप’ पछि जन्म भएको ‘एन्टिथेसिस’ को समग्र पक्षलाई यहाँ चिरफारको प्रयास गरिएको छ ।

    एन्टिथेसिसले भइरहेको रुढीवाद र धर्म संस्कारमाथि धावा बोल्न र निर्मम भएर प्रश्नमात्रै उठाउन जागरुक गराउँदैन त्यस्ता तत्वहरूलाई निषेध नै गर्नुपर्छ भन्न कट्टर वकालतसमेत गरेको छ । लेखक लेख्छन्, ‘जीवनमा एन्टिथेसिसको प्रयोगबाट नै उत्साह, ऊर्जा, आत्मविश्वास र सफलता मिल्दछ ।’

    लेखक एवं सुशासनका अभियन्ता प्रकाश विकल्पको तेस्रो कृति ‘एन्टिथेसिस’ ले नेपालमा एउटा बहसको सुरूवात गरेको छ । हुन त माओवादी युद्धले धर्म, संस्कृतिमा प्रश्नमात्रै उठाएको होइन धावा नै बोलेको थियो । यद्यपि अहिलेसम्म आउँदा राजनीतिमा परिवर्तन ल्यायो । एक किसिमको सोचमा पनि बदलाव भयो नै । तर, पनि समाजको आमूल रूपान्तरण भएन । अन्धविश्वास र रुढीवादमा अझै पनि ठूलै तप्का नेपाली नागरिक अभिसप्त छन् । विकल्पले त्यही धर्म, अन्धविश्वास, रुढीवादी चालचलन अनि वैज्ञानिक कारणविनाका संस्कारविरुद्ध एन्टिथेसिसमा दह्रो खुट्टा टेकेका छन् ।

    मानव मस्तिष्कको विशाल क्षमताको संक्षिप्त वर्णनमार्फत सुरू भएको विचारको ज्वाला अन्त्यमा ऊर्जाशील र उत्प्रेरक कवितामा समाप्त हुन्छ । अनुकूलताका नियम र वातावरणीय संयोगले संसार सृष्टि गरेको उद्घोष एन्टिथेसिसले गरेको छ । त्यही वातावरणीय संयोगको क्रिया र प्रतिक्रिया मिल्दा शिकारी युगबाट कृत्रिम बौद्धिकताको युगमा मानव सभ्यता प्रवेश गरेको विकल्पको ठम्याइ छ । मस्तिष्कको चर्चामा मानवले निर्माण गरेको एआई पनि सीमित क्षमताको हुने तर मानव मस्तिष्कमा असीमित क्षमता मौज्दुत भएको पुस्तकमा भेटिन्छ । त्यसैले, यसको प्रयोग यथेष्ट गर्नुपर्नेमा जोड दिइएको छ ।

    धर्मले मानिसलाई सीमित रहन सिकाएको, कोही ठूलो पुजनीय हुने कोही निरीह हुने कुरा देखाएको, त्यस्तै संस्कार पालना गराएकोले मानिस आफैंभित्रको अथाह शक्तिशाली मस्तिष्क बोकेर पनि सामान्य र अर्थहीन जीवन बाँचिरहेको लेखकको जिकिर छ ।

    एन्टिथेसिसले भइरहेको रुढीवाद र धर्म संस्कारमाथि धावा बोल्न र निर्मम भएर प्रश्नमात्रै उठाउन जागरुक गराउँदैन त्यस्ता तत्वहरूलाई निषेध नै गर्नुपर्छ भन्न कट्टर वकालतसमेत गरेको छ । लेखक लेख्छन्, ‘जीवनमा एन्टिथेसिसको प्रयोगबाट नै उत्साह, ऊर्जा, आत्मविश्वास र सफलता मिल्दछ ।’

    एन्टिथेसिस लोकार्पण समारोह । (१५ असार, २०८१)

    नेपालीहरूले अहिलेको अवस्थामै चित्त बुझाएर बस्नु वा सोचेजस्तो हासिल नहुनुमा धार्मिक अन्धविश्वास रहेको प्रधानताका साथ किताबमा उल्लेख छ । धर्मले मानिसलाई सीमित रहन सिकाएको, कोही ठूलो पुजनीय हुने कोही निरीह हुने कुरा देखाएको, त्यस्तै संस्कार पालना गराएकोले मानिस आफैंभित्रको अथाह शक्तिशाली मस्तिष्क बोकेर पनि सामान्य र अर्थहीन जीवन बाँचिरहेको लेखकको जिकिर छ ।

    मान्छेले चाहेर पनि नहुने र नसक्ने प्राय केही नभएको जस्ता ऊर्जाशील उत्प्रेरक विचारले पुस्तकमा यथेष्ट स्थान पाएको छ । नेपाल नबन्नुमा के छ त ? भन्ने प्रश्नमा लेखकले निकै जोडबलका साथ धर्मलाई दोष दिन्छन् । धर्मले नै मानिसलाई प्रयोगात्मक र वैज्ञानिक बनाउन रोकेकाले केही कुरामा प्रयोग नभएको उनको बुझाइ छ ।

    प्रश्न उठाउने, असहमति जनाउने, नयाँ खोज अनुसन्धान नगर्ने, आफ्नो मस्तिष्कको प्रयोग नगर्ने जस्ता अवस्था भनेको जुनसुकै धर्ममा अन्धभक्त हुनुले भएको उनको ठम्याइ छ । धर्मविशेषमा उनी छैनन् । उनले कुनै एक धर्मलाई दोषेका भने होइनन् । विश्वकै परिवेशमा उदाहरण पेश गर्दै जुन देश नास्तिक छ तुलनात्मक रूपमा तिनै देश विकसित भएको उनको तर्क छ ।

    आफू सीमित भएपछि आफ्नो प्रयास र कर्म वा एक इँटाले समाज, देश र विश्वलाई के नै फरक पर्छ र भन्ने मानसिकतालाई चिर्दै लेखक ‘डोमिनो ईफेक्ट’बारे जानकारी दिन्छन् । डोमिनो ईफेक्ट भनेको सानै सुरूवात पनि धेरैबाट निरन्तर भयो भने कालान्तरमा त्यसको प्रभाव देखिन सक्छ । सबै कुरा एकबाटै सुरू भएको हो । ‘एक थिएन भने सय हुने नै थिएन’, विकल्प यसरी मानिसमा ऊर्जा भर्छन् कि केवल एक व्यक्तिको भूमिका पनि संसारमा अहम हुन सक्छ भनेर ।

    लेखक गतिमा विश्वास गर्छन् । आजको युग एआईको युग भएकोले पनि अब देश र व्यक्तिगत जीवनको उन्नतिका लागि पनि समय धेरै नभएको उनको बुझाइ छ । त्यसैले उनी समयको तीन होइन चार काल भएको र त्यो ‘तत्काल’ भएको मान्छन् ।

    ‘हरेक साधारण मान्छेसँग असाधारण मान्छे बन्ने क्षमता हुन्छ । सवाल यति हो ऊ असाधारण मान्छे हिँडेको बाटो हिँड्न तयार हुन्छ कि हुँदैन’, एउटा प्रश्नपूर्ण उद्गारसहित एन्टिथेसिसको महत्व पुस्तकमा औंल्याइएको छ ।

    अग्रगामी रूपान्तरणको सोच, विचार, चेतना र कर्म नै एन्टिथेसिस हो । विपन्नताबाट सम्पन्नताको बाटो एन्टिथेसिस हो । यथास्थितिविरुद्धको विचार, दृष्टिकोण र व्यवहार प्रदर्शन नै आजको आवश्यकता हो । हरेक मानिसमा सफल र अदभूत बन्ने क्षमता भएर पनि त्यसो नहुनुमा यथास्थितिवादी चेतना र कर्म रहेकाले हो । धार्मिक जडतालाई त्याग्नेबित्तिकै जीवन सफल हुनसक्छ । यस्ता धारणा पुस्तकमा पाइन्छन् । यो सुरूमा स्वीकार्न गाह्रो हुनेमा पनि विकल्प आफैं सुझाउँछन् । अनि किन गाह्रो हुन्छ त ? किनकी वर्षौंदेखिको उही संस्कार र चालचलनमा भएकाले हो विकल्पको तर्क छ ।

    ‘हरेक साधारण मान्छेसँग असाधारण मान्छे बन्ने क्षमता हुन्छ । सवाल यति हो ऊ असाधारण मान्छे हिँडेको बाटो हिँड्न तयार हुन्छ कि हुँदैन’, एउटा प्रश्नपूर्ण उद्गारसहित एन्टिथेसिसको महत्व पुस्तकमा औंल्याइएको छ । एशियाका मानिसहरूको धार्मिक आस्थामा जकडिएको कूरीति र अन्धविश्वासले नै देश नबनेको कुरालाई पुष्टि गर्न विभिन्न प्रसंगहरू पुस्तकमा छन् ।

    वैज्ञानिक चेतनाले सिर्जित गरेको कृत्रिम बौद्धिकता मान्छेको उन्नत पुस्ता जस्तो बनेको छ । यसरी आफूमा रुढीवादी संस्कार छोडेर वैज्ञानिक संस्कारमा लाग्दा सिर्जना हुन्छ । पुस्तक जति सम्पादन गरियो उति उत्कृष्ट हुन्छ । ठीक त्यसैगरी जीवन पनि नियमित अपडेट गर्नुपर्छ । ‘जीवन अप्रकाशित पुस्तक हो । निरन्तर सम्पादन गर्नुपर्छ’, यो पंक्ति सोचनीय छ । यसले समाज रूपान्तरणमा लाग्ने राजनीतिज्ञलाई पनि घच्घच्याउन सक्छ यदि सच्चा सेवाकै लागि आएका हो भने । राजनीति गर्नेले जसरी पनि पढ्नै पर्ने पुस्तक हो यो । अन्य आम मानिसले पनि आफ्नो विचार र जीवनशैलीमा प्रश्न गर्न एउटा साधन बन्न सक्छ एन्टिथेसिस ।

    आफैंमाथि प्रश्न गरैरे बुद्धले निर्वाण प्राप्त गरेका हुन् । बाल्यकालमा मन्दवुद्धि कहलिएका अल्बर्ट आइन्स्टाइन २० औं शताब्दीकै महान वैज्ञानिक बन्नु पनि प्रश्न नै थियो । प्रश्न गर्ने गुणकै कारण बाल्यकालमै ‘मर्छ’ भनी डाक्टरले घोषणा गरेका स्टेफन हकिङ ७६ वर्षको लामो जिन्दगी मात्रै बाँचेनन् ब्राह्मण्ड उत्पतिसम्बन्धी अद्भूत सिद्धान्तहरू प्रतिपादन गरे ।

    मेरो नजरमा लेखक विकल्पको सराहनीय पक्ष उनी आफैंले स्वीकारेका छन् कि- १० वर्षअघि उनी भयंकर आस्तिक थिए । अहिले नास्तिक बने । आफूले कुनै धार्मिक कर्मकाण्ड नगरेको, अन्धविश्वास चेतना त्यागेको, गत असार १५ मा पुस्तक विमाेचनका क्रममा अतिथिहरुलाई खादा माला लगाउने संस्कार नगरेकाे, आफ्नो अल्टरनेटिभ फाउण्डेशनमा ओ माइ गड, दुर्भाग्यवशजस्ता धार्मिकतासँग सम्बन्धित कुरा त्यागेको जस्तो पक्षले के पुष्टि गर्छ भने उनले फगत अरुलाई सिद्धान्त र आफ्नो बौद्धिकता छ भन्ने आडम्बर देखाउनमात्रै एन्टिथेसिस लेखेका होइनन् । आफ्नै व्यवहारगत पक्षको प्रतिबिम्ब पनि यसमा छल्किएको बुझ्न सकिन्छ ।

    ‘एन्टिथेसिस’ ले विद्यमान परम्परावादी अवैज्ञानिक विचार, कार्य, प्रणालीमाथि प्रश्न गर्न घच्घच्याउँछ । आफैंमाथि प्रश्न गरैरे बुद्धले निर्वाण प्राप्त गरेका हुन् । बाल्यकालमा मन्दवुद्धि कहलिएका अल्बर्ट आइन्स्टाइन २० औं शताब्दीकै महान वैज्ञानिक बन्नु पनि प्रश्न नै थियो । प्रश्न गर्ने गुणकै कारण बाल्यकालमै ‘मर्छ’ भनी डाक्टरले घोषणा गरेका स्टेफन हकिङ ७६ वर्षको लामो जिन्दगी मात्रै बाँचेनन् ब्राह्मण्ड उत्पतिसम्बन्धी अद्भूत सिद्धान्तहरू प्रतिपादन गरे । उनले नै संसारमा कृत्रिम बौद्धिकता आउँछ भनि भविष्यवाणी समेत गरेका थिए । त्यस्तै, नेल्सन मण्डेलाले वेथिति र अन्यायविरुद्ध प्रश्न गरेकै कारण असल राजनेता बनेँ । नेपालमै पनि तत्कालीन राजनीतिप्रति बीपी, पुष्पलाल, मदन भण्डारी, प्रचण्ड, बाबुरामहरूले प्रश्न गरेकैले प्रजातन्त्र आएको, गणतन्त्र आएको हो । यसरी मानिसले विद्यमान विशेषगरी रुढीवादी प्रथाप्रति प्रश्न उठाउनुपर्ने र उठाउनलाई एन्टिथेसिसले जोड दिन्छ ।

    पुस्तकको मूल ध्येय भनेकै धर्ममाथि प्रश्न हो । लेखकले त प्रश्नमात्रै भन्दैनन् आज तपाईं जे जे गर्दै हुनुहुन्छ पक्कै पनि उति धेरै सन्तुष्ट हुनुहुन्न होला । यदि त्यसो हो भने आजै धर्म नामको भ्रमलाई त्याग्नुस् भन्ने विकल्पको आग्रह छ । आफ्नै उदाहरण दिँदै पनि उनी भन्छन्, ‘मैले धर्म र पूजाअर्चना त्यागेको एक दशक भइसक्यो ।’

    समयको गति अघि बढिसक्यो । यसलाई फर्काउनु भनेको पश्चगामी चेतना भएको पुस्तकमा उल्लेख छ । यसलाई लेखकले निकै खरो तवरले जोड दिएका छन् । उदाहरण नै दिएर पनि बुझाउने कोसिस गरेका छन् कि अब रूपान्तरणको बाटो जहिल्यै अगाडि हुन्छ । पछाडि फर्कनुले कसैको पनि प्रगति हुने अवस्था नहुने उनको बुझाइ छ । आजको गणतन्त्र केबल केही वर्षको संघर्ष र चेतना नभइ सदियौंदेखिको प्रयासको प्रतिफल हो । अब राजतन्त्रको वकालत गर्नेहरूले देशलाई कतै लैजान नसक्ने, आजको युगको प्रतिनिधित्व गर्न नसक्ने आशय पुस्तकमा समेटिएको छ ।

    यसै त नेपालीहरू अन्य विकसित मुलुकको दाँजोमा निकै पछि परेको आधुनिक सूचकदेखि अन्य सम्पूण विकासका आयामहरूले जनाउ दिएका छन् । त्यसमा पनि राजनीतिक व्यवस्थालाई पुनः हिजोको दिनमा फर्काउनुको आशय उल्टो गाडा चलाउनु हो । पुस्तकमा आक्रोशमिश्रित शब्दसहित लेखकले जोड दिएका छन् ।

    विकासका लागि एन्टिथेसिस

    पुस्तकको मूल ध्येय भनेकै धर्ममाथि प्रश्न हो । लेखकले त प्रश्नमात्रै भन्दैनन् आज तपाईं जे जे गर्दै हुनुहुन्छ पक्कै पनि उति धेरै सन्तुष्ट हुनुहुन्न होला । यदि त्यसो हो भने आजै धर्म नामको भ्रमलाई त्याग्नुस् भन्ने विकल्पको आग्रह छ । आफ्नै उदाहरण दिँदै पनि उनी भन्छन्, ‘मैले धर्म र पूजाअर्चना त्यागेको एक दशक भइसक्यो ।’

    रुढीवादी सोच र चेतनाले नै २४० वर्ष राजा जसमध्ये १०४ वर्ष राणा शासनले देशलाई अधोगतितिर लग्यो भन्ने एन्टिथेसिसको भनाइ हो । यो धेरै हदसम्म तथ्यपूर्ण छ । एकात्मक राज्य व्यवस्थाले समग्र नागरिकको हित चिताएको थिएन । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराबाट जनता बञ्चित थिए । विकल्पले शासनका ती खण्डको विरोधमात्रै गरेका छैनन् । वि.सं. १९७७ मा सती प्रथा उन्मुलन गर्नुले चन्द्र शमशेरलाई तत्कालीन राणाहरूभन्दा एन्टिथेसिस बुझ्न सकिने कुरा पनि दर्शाएका छन् । नेपालमा धार्मिकताका कारण मानिसको मनोविज्ञानमा आएको रुढीवाद, अन्धविश्वास, अवैज्ञानिक, सीमितता जस्ता कारणले जातीय विभेद, उत्पीडन, उत्पन्न छाउपडी, दाइजो प्रथा, महिनावारीमा बार्ने चलन, देशको दुर्गतिलगायत समस्याको पहिचान पुस्तकमा भेटिन्छ । साथै केरलाको नांगेली, नेपालकै योगमाया, देवी खड्का जस्ता एन्टिथेसिस समातेका सशक्त महिलाहरूको संघर्ष पनि उल्लेख छ।

    पुस्तकले समाधानको सुझावहरू पनि प्रस्तुत गरेको छ । कर्मचारीतन्त्रको भोलिवाद र ढिलासुस्तीलाई भर्खरवादमा रूपान्तरण गर्ने, टाइम कार्ड र स्वमूल्यांकन गर्ने, नेताहरूमा दोस्रो तेस्रो पुस्ताका युवा तर अग्रगामी सोच भएकालाई अवसर दिने, बजेटमा अग्रगामी नीति, नेतामा स्मार्ट छविको नेता, आम नागरिकमा पनि वैज्ञानिक संस्कार बोकेको मान्छे भएमा देश बदलिने विकल्पको विश्वास छ । त्यसका लागि चेतना बदल्नुपर्ने, चेतना बदल्न संगत, ज्ञानको स्रोत, हेर्ने, सुन्ने कुराको पृष्ठभूमि बदल्नुपर्ने उनी सुझाउँछन् । जीवनमा हाेस् वा देश विकासमा हाेस् सफलता र क्रमभंगताबीच प्रत्यक्ष सम्बन्ध रहेकाे आौंल्याउँदै क्रमभंगताको तर्कपूर्ण कार्यान्वयनका लागि आह्वान गरेका छन् । अब जे जे भइरहेका छन् । तिनीहरुले परिणमा नदिने सिद्ध भएकाले अब आक्रामक ढंगले क्रमभंगता अंगाल्नुपर्ने लेखकको ठम्याइ छ ।

    सबैभन्दा गजब पक्ष उनले २१ औं शताब्दीको वैचारिकीमा वैज्ञानिक मानवतावाद हुनु पर्ने भनेका छन् । यसमा उनले सामाजिक न्याय, समावेशिता, खोज अनुसन्धान र सबैको मानवताको रक्षाको विषय दमदार ढंगले उठाएका छन् । त्यस्तै, अबको समाज साइन्सबेस्ड अप्रोचमा अघि बढ्न सक्ने उनको विचार छ । र अन्त्यमा कोरिएको कविताले सम्पूर्ण मानवलाई जाग्न र अग्रगामी सोचको निम्ति लाग्न जागरुक बनाएको छ ।

    धर्म, रुढीवाद, अन्धविश्वासको खरो आलोचनामा लेखक उत्रिएका छन् । जबकी हरेक धर्ममा मानिसकै जीवन राम्रो बनाउनका लागि प्रयोग गरिने कतिपय रीतिरिवाज र दैनिकी छन्, ती पक्षलाई विज्ञानले पनि प्रमाणित गरेका छन् । ती विषयलाई स्वीकार्न लेखकलाई गाह्रो भएको देखिन्छ ।

    एन्टिथेसिस एउटा सशक्त ननफिक्सन अझभन्दा सेल्फहेल्प कृति हो । केही टिप्पणीको रूपमा लेखकले वातावरणीय संयोगलाई उति परिभाषित नगरेको महसुस भयो । किनकी संयोग त सम्भवत: धार्मिकतासँगै जोडिएको हो कि ? त्यस्तै, २१ औं शताब्दीमा हामीले सबैलाई समेट्नु पर्छ । विचार राख्ने स्वतन्त्रता पक्कै पनि आ-आफ्नै छ । तसर्थ कुनै वाद वा अग्रगमन पश्चगमनको नाममा निषेध गर्न वा बन्देज लगाउनु ठीक होइन । जबकी पुस्तकले नै अबको शताब्दीको विकल्पको रूपमा मानवतावादको वकालत गरेको छ । यो अलिक तादाम्यता नमिलेको हो कि ?

    धर्म, रुढीवाद, अन्धविश्वासको खरो आलोचनामा लेखक उत्रिएका छन् । जबकी हरेक धर्ममा मानिसकै जीवन राम्रो बनाउनका लागि प्रयोग गरिने कतिपय रीतिरिवाज र दैनिकी छन्, ती पक्षलाई विज्ञानले पनि प्रमाणित गरेका छन् । ती विषयलाई स्वीकार्न लेखकलाई गाह्रो भएको देखिन्छ । बुद्धको प्रशंसक देखिएका लेखकले होलिस्टिक अप्रोचलाई नजरअन्दाज गरेका हुन् कि !

    विकल्पको ‘एन्टिथेसिस’ को सार नै यही हो कि मान्छे भएर जन्मनुको अर्थ प्रमाणित गर्न खोज्नुपर्छ । त्यसका लागि फरक सोच्नुपर्छ । फरक सोच्न, फरक र उन्नत चेतना हुनुपर्छ । त्यसका लागि त्यस्तै किसिमका ज्ञान, पुस्तक अध्ययन, संगत, हेर्ने, सुन्ने गर्नुपर्छ । त्यसपछि चेतना बदलिन्छ । र, उन्नत एवम् वैज्ञानिक चेतनाले नै समग्र जीवन, समाज र राष्ट्र बदल्छ ।

    एन्टिथेसिस नयाँ बहस नै हो भने केही कन्टेन्ट अपूरो र सतहीजस्तो देखियो । सुरूवाती मानव चार महादेशमध्ये एशियामा धर्मका कारण अविकसित भयो भनिरहँदा अमेरिकी डलरमा आज पनि ‘ईन गड वी ट्रस्ट’ लेखिएको हुन्छ । त्यसकारण केही रुढीवाद, अन्धविश्वास हटाउन जुनसुकै धर्मबाट पनि पक्कै आवश्यक छ । तर, सबैको दोष धर्म र संस्कृतिमा लगाउन नमिल्ला ! युरोपमा जीआरडिनो ब्रुनोलाई जिउँदै जलाइएको प्रसंग पुस्तकमा धेरै ठाउँ भेटिन्छ । जो कि युरोपका थिए । तर त्यस्तै, प्रसंग नेपालमा नभएर हो कि उल्लेख छैन । यदि नभएकै हो भने त नेपालमा धर्मलाई विचारमा बन्देज गरेको रहेनछ पनि भन्न सकिन्छ कि ?

    त्यस्तै, मस्तिष्कसम्बन्धी जानकारी साँच्चै संक्षिप्त छ । निकै छोटो । अलिक पर्याप्त सूचना दिँदा अझै उत्तम हुन्थ्यो । मनोविज्ञानको पाटोलाई खासै उठान गरिएको छैन । जबकी सोच र चेतनाको विकासमा यसको अमूल्य योगदान रहन्छ । पुस्तकमा राजतन्त्र फर्काउनु पश्चगामी भनिएको छ र नामै तोकेर उदाहरण दिइएको छ । के त्यसो गर्नु जरुरी नै थियो र ? साथै केही केही पानामा भाषागत त्रुटि देखिएका छन् । आशा छ आगामी संस्करणमा सुध्रने छ ।

    एक वाक्यमा भन्नुपर्दा यदि तपाईंको जीवन सोचेजस्तै भइरहेको छ भने बधाई छ त्यही बाटो हिँड्नु्स् जुन हिँडिरहनुभएको छ । यदि छैन भने बाटो बदल्नुस्, कहिले ? यो वर्ष ? होइन, यो महिना ? होइन, आज पनि होइन, अहिल्यै बदल्नुस् । एकैपटक त नबद्लेला । तर, बदल्छु भन्ने निर्णय, प्रण र अठोट त अहिल्यै, यही पलमा गर्न सकिन्छ नि !

    विकल्पको ‘एन्टिथेसिस’ को सार नै यही हो कि मान्छे भएर जन्मनुको अर्थ प्रमाणित गर्न खोज्नुपर्छ । त्यसका लागि फरक सोच्नुपर्छ । फरक सोच्न, फरक र उन्नत चेतना हुनुपर्छ । त्यसका लागि त्यस्तै किसिमका ज्ञान, पुस्तक अध्ययन, संगत, हेर्ने, सुन्ने गर्नुपर्छ । त्यसपछि चेतना बदलिन्छ । र, उन्नत एवम् वैज्ञानिक चेतनाले नै समग्र जीवन, समाज र राष्ट्र बदल्छ । यही प्रक्रिया समाज रूपान्तरणमा पनि अनुसरण गर्नैपर्ने एन्टिथेसिसको सार हो ।

  • भोजपुरमा हेलिकप्टरबाट गाडी झारेको त्यो दिन

    भोजपुरमा हेलिकप्टरबाट गाडी झारेको त्यो दिन

    भरिया र ढाकरको भरमा जीवन धानिरहेको भोजपुर र भोजपुरेको पीडा अहिले एकादेशको कथाजस्तो लाग्छ । सुनसरीको चतरा र धनकुटाको हिलेबाट भरियाको पिठ्यूँ चढेर आएका दैनिक उपभोग्य सामग्रीले भोजपुरमा चुल्हो बल्थ्यो ।

    भोजपुरेलाई गाडी चढ्नको लागि दुई दिन कष्टपूर्ण पैदल यात्रा तय गरेर धनकुटाको हिले वा सुनसरीको चतरा पुग्नुपर्थ्यो । हामी सानै हुँदाबाटै बाउबाजेले समेत गाडी चढ्ने सपना सुनाइरहनुहुन्थ्यो । कैयौं रात आाँगनको डिलबाट धनकुटाको हिले-पाख्रिबासमा बलेको गाडीको बत्ती हेर्दा निदाउनै बिर्सिन्थ्यौं हामी । वास्तवमा यति चाँडै भोजपुरमा चिल्लो सडक बन्ने र गाडी गुड्छ भन्ने आशा र विश्वास मनको एकछेउमा पनि थिएन ।

    भोजपुरेको गाडी चढ्ने सपना जिल्ला विकास समिति भोजपुरको अगुवाइमा पहल सुरू भएपछि आशाको सञ्चार भयो । बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) को सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) ले धनकुटाको लेगुवादेखि भोजपुर सदरमुकामसम्म (६६ कीमी) र भोजपुर सदरमुकामदेखि दिक्तेल सिमाना चखेवा भन्ज्याङसम्म (४२ कीमी) र भोजपुर-घोडेटार सडक निर्माणको सम्झौता भयो ।

    २०५९ मंसिरबाट २०६५ असार मासन्तसम्म माओवादी युद्ध उत्कर्षमा पुगेको बेला निकै चुनौतीको सामना गर्नुपर्‍यो । पटकपटक माओवादीका कार्यकर्ताहरूले सडक निर्माणमा संलग्न दातृ निकाय स्थानीय संस्थालाई चन्दा माग्ने र विभिन्न नाममा काममा अवरोध गर्दा पनि भोजपुरका राजनीतिक दल, नागरिक समाज, पत्रकारको सुझबुझपूर्ण संवादले सहज बनाइयो । सडक निर्माणका लागि प्राविधिक पक्षको सहजीकरणमा इन्जिनियरिङ कन्सल्टेन्सी र सामाजिक तथा अर्थिक पक्षको काममा लेगुवा-भोजपुरमा स्थानीय गैसस सामुहिक अभियान र भोजपुर-चिहानडाडाँका लागि लागि हिहल्ड-सेतो गुराँसले सहजीकरणको जिम्मा पाएको थियो ।

    हरित सडकको अवधारणामा ट्रयाक खोलिएको यो सडकमा कहिँ पनि मेसिनरी प्रयोग गरिएन । जसका कारण अहिले पनि छिटपुटबाहेक बाढी/पहिरोजस्ता विपद्‍बाट सडकमा क्षति पुगेको छैन । आर्थिक रूपमा कमजोर स्थानीयको समूह बनाइ कुटो, कोदालो, गैँती र बेल्चाको भरमा खनिएको सडकले विकासमात्र ल्याएन सडक आसपासका हजारौं परिवारको जीवीकोपार्जनको टेवासँगै सामाजिक र आर्थिकरूपमा सशक्त भएका छन् । सडकले यातायातका साधनमात्र आउँदैन, योसँगै आउने लागुऔषध दुर्वसनी, चोरीडकैती, चेलिबेटी बेचबिखनजस्ता विकृतिलाई न्यूनीकरण गर्न ती समूहमार्फत् चेतना जागृत गराइएको थियो ।

    तराई र राजधानीबाट आएका गाडी रित्तै नफर्काउन उनीहरूलाई कृषि/पशुपालनलगायत उत्पादनसँग जोडिएको थियो । आत्मनिर्भर बनाउन आयमूलक र सिपमूलक क्रियाकलाप सञ्चालन गरिएको थियो । गाडी चढ्ने हैसियतमा पुर्‍याउन आर्थिक उपार्जनका गतिविधिमा जोड दिइएको थियो ।

    ५ वर्षमा जसोजसो ट्रयाक त खुल्यो । तर, अरुण नदीमा पुल नबनेसम्म गाडीको सपना पूरा हुने कुरामा जनतामा सधैँ निरासा छाइरह्यो । कमसेकम जिल्लाबासीलाई आशा जगाउन भएपनि केही जमर्को गर्नुपर्छ भनेर हामीले अगुवाइ गर्ने निर्णय गर्‍यौं । मेरो अध्यक्षतामा उदिम राई, सुनिल राई, डम्बर श्रेष्ठलगायतमा साथी मिलेर भोजपुरमा जसरी पनि एउटा गाडी झार्ने निर्णयमा पुग्यौं । विराटनगरस्थित महेन्द्र गाडीको डिलरमा जीप बुक गर जीप बुक गरियो । तर, त्यो गाडी भोजपुरमा टेकाउन हेलिकप्टरबाहेक अर्को विकल्प थिएन ।

    त्यसपछि काठमाडौंमा कृपाशुर शेर्पा दाइलाई भेटेर सुवास नेम्वाङ (तत्कालीन संविधानसभा अध्यक्ष) मार्फत् सेनालाई हेलिकप्टरका लागि अनुरोध गरियो । सहकारी संस्थाको स्वामित्वमा गाडी लैजाँदा मात्र सेनाले सहयोग गर्ने नीति थाहा पाएपछि मेरै अध्यक्षतामा हिमालय बचत तथा ऋण सहकारी संस्था दर्ता गरी सबै कागजातसहित नेपाली सेनामा अनुरोधपत्र शुझाएपश्चात स्वीकृत भयो ।

    तस्बिर : ध्रुव सुवेदी ।

    २०६५ असार २६ गते धनकुटा हिलेस्थित नेपाली सेनाको बाहिनीबाट सेनाको हेलीमा बोकेर भोजपुर सदरमुकामको टुँडिखेलमा गाडी झारियो । बिहानदेखि टुँडिखेलमा गाडी हेर्न आउने सयौंको भिड लागेको थियो । टुँडिखेलको डिलदेखि कारागारको पर्खाल अनि छेउको बरको रुखमा चढेका रमितेहरूका लागि केबल त्यो रमितमात्र थिएन उनीहरूको आँखामा भोजपुर र आफ्नो भविष्यको सपना पनि झलझली देखिन्थ्यो । हेलीबाट झारेको गाडीमा टुँडिखेल वरपर घुम्दा उनीहरूको खुसीको सीमा नै थिएन । जिल्लामा गाडी भित्र्याउन विशेष पहल गरिदिने सुवास नेम्वाड र हेलिकप्टर लिएर आउने पाइलट कर्णेल कैलाश गुरुड अहिले हामीमाझ हुनुहुन्न ।

    हेलिकप्टरबाट झारिएको त्यो गाडीले सुरूमा सदरमुकाम आसपास एयरपोर्ट, दावाँ बजारसम्म सेवा दिएका थियौं । पैसा कमाउने भन्दा पनि विशुद्ध सामाजिक काम र नागरिकमा आशा भर्नु नै हाम्रो टीमको ठूलो उद्देश्य थियो । त्यसपछि ट्याक्टरका पार्टपूर्जा खोलेर भरियामार्फत् लेगुवाको झोलुङ्गे पुल तारेर वारी ल्याई पल्टी गरेर दैनिक उपभोग्य सामान बोक्न थालियो । यसले नागरिकलाई समेत राहत भयो ।

    टयाक्टरहरू भित्रिने क्रम बढ्यो । धनकुटाबाट लेगुवा हुँदै टयाक्टरमा हिँडन थालेपछि महिन्द्र सान टयाक्टरलाई मोडिफाई गरेर गणेश थापा शालिक राम लुईटेल र राजकुमार राई यात्रुवाहक गाडि बनाएर मान्छे बोक्न थाले पछि विस्तारै भोजपुरमा यातायतको साधनहरु भित्रिन थाले ।

    भोजपुरेले कुटे कोदालोको भरमा खोलेको ट्रयाक नै आज मध्यपहाडी पुष्पलाल लोकमार्ग बनेको छ । दिक्तेल हुँदै राजधानी काठमाडौं ओहोरदोहोर गर्ने छोटो रुटको बाटो यही बनेको छ । समयक्रमसँगै आरामदायी बसहरू चल्न थालेका छन् । ईभीहरू भित्रिएका छन् । कालोपत्रेसँगै भोजपुरबाट धरान, इटहरी, विराटनगरलगायत तराई आवतजावतमा सहज भएको छ । विकासको मियो मानिने सडक यातायातले पक्की घर र टीनको छानोले बस्ती भरिएको छ । जिल्लाका उत्पादनले भाउ पाएको छ । नागरिकको दैनिकी फेरिएको छ ।

  • उत्खनन् र प्रवर्द्धनको पर्खाइमा ऐतिहासिक सिम्रौनगढ

    उत्खनन् र प्रवर्द्धनको पर्खाइमा ऐतिहासिक सिम्रौनगढ

    प्राचीन इतिहास

    सिम्रौनगढको स्थापना उपनिषद्काल र पौराणिककालमा प्रख्यात हिन्दू संस्कृतिको केन्द्र प्राचीन मिथिलामा भएको थियो । बौद्ध र जैन ग्रन्थहरुका अनुसार धेरै वर्षसम्मको संघर्षपछि ‘विदेह माथव’ ले अनार्यहरुमाथि विजय हासिल गरी ईपू १००० मा विदेह राज्य स्थापना गरेका थिए, जसलाई मिथिला भनिन्थ्यो । मिथिलाको सिमाना पश्चिममा सदानिरा (गण्डकी), पूर्वमा कौशिकी (कोशी), उत्तरमा शिवालिक (हिमालय) र दक्षिणमा गङ्गा नदीसम्म थियो । विदेह ‘मिथिला’ को स्थापनापछि ५५-५६ जना राजाले शासन गरेको भेटिन्छ ।

    ईपू ६०० को आसपासमा यस वंशको अन्त्यपछि मिथिला अष्टवृजिकुल संघको सदस्य बन्यो । पछि ‘मगध’ हुँदै ईपू ४०० तिर ‘नन्द’ र ‘मौर्य’ साम्राज्यअन्तर्गत रहन गयो । पछि यस क्षेत्रमा ‘कुशान’ र ‘गुप्त’ हरुले शासन गरेको भेटिन्छ । पछि बंगालका गौड राजा शशांक र हर्शवर्धनले शासन गरेको पाइन्छ र सातौं शताब्दीको अन्त्यतिर पुनः ‘मगध’ का राजा आदित्यसेनको अधिनमा गएको पाइन्छ । आठौं शताब्दीमा बंगालका ‘पाल’हरुले यस क्षेत्रमा आधिपत्य जमाए । सन् १०१९ मा यस क्षेत्रमा ‘गंगेदेव’ले शासन गरेको पाइन्छ । लामो समयपछि मिथिला क्षेत्र कर्नाट साम्राज्यका चालुक्य वंशका शासक चालुक्य राजा विक्रमादित्य छैठौं (सन् १०७६-११२६) द्वारा आक्रमण गरी केही समय आफ्नो अधिनमा शासन चलाए र केही समयपछि चालुक्यले यसलाई स्वतन्त्र गरेको इतिहास भेटिन्छ ।

    सिम्राैनगढको स्थापना

    कर्नाट साम्राज्यका चालुक्य राजा विक्रमादित्य छैटौं (सन् १०७६-११२६)द्वारा आक्रमण गरी आफ्नो अधिनमा शासन चलाए र केही समयपछि चालुक्यले यसलाई स्वतन्त्र गरेपछि चालुक्य राजाका एक सेनापति ‘नान्यदेव’ले सन् १०९७ मा मकवानपुर, विजयपुर र पूर्वी क्षेत्र मिलाएर मिथिला क्षेत्रका भूभागसहित स्वतन्त्र राज्य तिरहुत निर्माण गरी त्यसको राजधानी सिम्रौनगढमा स्थापना गरेका थिए (क्षेत्री, २०६२, पृ.२७९)

    सिम्रौनगढको नामकरण

     

    गोपाल राजवंशावलीका अनुसार प्राचीन समयमा यस क्षेत्रमा रहेका सिमलका रुखहरुको घना वन फडानी गरेर ‘गढी’ बसाएको कुरालाई जनाउ दिने सिमरा ‘वन’ गढीबाट अपभ्रंस हुँदै सिम्राैनगढ भनिन थालेको बताइन्छ (क्षेत्री, २०६२, पृ. २७८) ।

    भौगोलिक अवस्थिति

    अहिलेको बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर तथा मोतीहारी बिहार देखि ५० किलोमिटरको दूरीमा करिब २६ वर्ग किलोमिटरमा फैलिएको यस गढी समुन्द्री सतहदेखि ३००-४०० मिटर उचाइमा अवस्थित प्राचीन सांस्कृतिक सभ्यता र इतिहास बोकेको ‘सिम्रनगढ’ गढी प्राचीन, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सामाजिक रूपमा अत्यन्तै धनी मानिन्छ ।

    सिम्रौनगढ (तिरहुत) राज्यका प्रमुख शासकहरु

    कर्नाट वंशी तिरहुत (मिथिला) राज्यको स्थापनाको समयदेखि यस राज्यमा शासन गर्ने प्रमुख शासकहरूमा नान्यदेव (सन् १०९७-११४७), गंगासिंह देव (सन् ११४७-११८८), नरसिंह देव (सन् ११८८-१२२७), रामसिंह देव (सन् १२२७-१२८५), शक्तिसिंह देव (सन् १२८५-१२९५) र हरिसिंह देव (सन् १२९५-१३२६)ले सन् १०९७ देखि १३२६ सम्म शासन गरेका थिए । मिथिलाको इतिहासमा यस काललाई स्वर्णयुग भनिन्छ । यस समयमा यहाँको धार्मिक, सांस्कृतिक र कला साहित्यको विकास चरमोत्कर्षमा पुगेको थियो ।

    सिम्रौनगढको सुदृढीकरण

    सिम्रौनगढ दरबारको भुलभुलैया प्रकारको किल्ला भक्तपुर दरबारमा ढुङ्गामा कुँदिएको छ र भक्तपुरका मल्लहरूको विभिन्न सिक्काहरू संरचनामा छापिएको छ । सन् १२३६ मा सिम्रौनगढको भ्रमण गरेका तिब्बती विद्वान धर्मस्वामीले गरेको वर्णनअनुसार सिम्रौनगढ एक सुरक्षित र सम्पन्न राजधानी थियो । उनका अनुसार सिम्रौनगढ बलिया, अग्ला चक्रव्यूहाकार पर्खालद्वारा घेरिएको थियो । धर्मस्वामीका अनुसार त्यसबेला यहाँको जनसङ्ख्या ६ लाख थियो ।

    त्यसैगरी इटालियन पादरी क्यासियानो (१७०८-१७९१) भारतबाट नेपाल र तिब्बत भ्रमण गर्ने क्रममा सिम्रौनगढ गएका थिए । उनले सिम्रौनगढको भुलभुलैयालाई अत्यन्त जटिल संरचनाको रूपमा वर्णन गर्दै यसको रेखाचित्र (स्केच) गरेका थिए । त्यसैगरी अंग्रेज विद्वान हडसनले सन् १८३५ मा सिम्रौनगढ पुगी अध्ययन र अनुसन्धान गरेका थिए । तत्कालीन राजा वीरेन्द्रबाट यस क्षेत्रको अवलोकनपश्चात यहाँको पुरातात्विक अवशेषको अध्ययन अनुसन्धानका लागि भएको निर्देशनबमोजिम पुरातत्व विभाग र इटालियन सरकारको तत्वावधानमा सन् १९९१, १९९२ र १९९४ मा सिम्रौनगढको उत्खनन गरिएको थियो ।

    नेपाल र दक्षिण भारतका मल्लहरूसँग सिम्रौनगढ (तिरहुत/कर्नाटक)को सम्बन्ध

    इतिहासकार शिवराज श्रेष्ठका अनुसार ‘१७औं शताब्दीमा काठमाडौं उपत्यकाका नेवार मल्लहरूका कार्यहरू, विशेष गरी प्रताप मल्ल र जगज्योति मल्लले नान्या देवलाई प्रधान पूर्वपुरुष (उच्च सम्मानित पुर्खा) भनेर वर्णन गरेका छन् । उनका अनुसार कर्नाटक राजाहरूले उच्च ज्ञानपूर्ण र लोककल्याणोन्मुख धर्मको विकास गरेका थिए । साथै एक सकारात्मक गतिशील सामाजिक र राजनीतिक संस्कृतिलाई संस्थागत गरेका थिए । जुन संस्कृति पछि गएर नेवार मल्ल राजाहरूद्वारा पोषित भएको थियो, जुन मध्यकालीन सिन्जा-दुल्लुबाट फैलिएको अधिक क्रूर राजनीतिक संस्कृतिको तुलनामा बढी सहिष्णु, तर्कसंगत, उदारवादी, समतावादी र सामाजिक न्यायमा आधारित थियो । नेपालका मल्लहरूले आफूलाई ‘रघुवंशी’ घोषणा गरी रघुवंशीको परिवारकी देवी तुलजा (तलेजु)लाई आफ्नै ‘कुल देवी’ भनेर पूजा गरी कर्नाट रघुवंशी नान्यदेवको ‘माण्डव गोत्र’ ग्रहण गरे ।

    अर्का इतिहासकार लीलाभक्त मुनंकर्मीले स्पष्ट पारेका छन् कि देवी ‘देवीमाजू’ -नान्यदेवले पुज्ने भनिएको देवी तुलजा (तलेजु)बाहेक अरू कोही थिएन र लिच्छवि राजाहरूको पारिवारिक देवी ‘मानेश्वरी’भन्दा फरक थियो । तलेजु भवानी देवता मूल रूपमा हो । दक्षिण भारतीय राजवंशहरूको पारिवारिक देवता, विशेष गरी कर्नाटक शासकहरूको, देवतालाई ‘तुलजा भवानी’ पनि भनिन्छ र अन्य विभिन्न नामहरू जस्तै : तुलजा, तुराजा, त्वरिता र अम्बा ।

    १४औं शताब्दीमा दिल्लीका तुरक गयासुद्दिनको आक्रमणलाई झेल्न नसकेपछि आफ्नो परिवारसहित पहाडी क्षेत्रतर्फ भाग्ने क्रममा दोलखाको तीन(पाटन भन्ने ठाउँमा हरिसिंह देवको मृत्यु हुन जान्छ र पछि बाँकी रहेका परिवारका सदस्यसहित उनकी पत्नी देवलदेवी भक्तपुरमा शरण लिन पुग्छिन् । देवलदेवी छोरा जगतसिंह देवको विवाह भक्तपुरका मल्ल राजा रुद्र मल्लकी विधवा छोरीसँग गराउन सफल हुन्छिन् र जगतसिंह देवकी छोरी तिरहुतका जयस्थिति मल्लसँग विवाह गरी भक्तपुरको शासक बन्न सफल हुन्छिन् (शाह, भरत, २०१९, सिम्रौनगढ) ।

    सिम्रौनगढ (तिरहुत)को पतन

    १४औं शताब्दीमा दिल्लीका तुरक गयासुद्दिन तुगलकले सन् १३२६ जुन ७ (विसं १३८२ , नेपाल संवत् ४४६)मा आक्रमण गरी सिम्रौनगढलाई ध्वस्त पारिदिए । आक्रमण पछि गयासुद्दिनले तिरहुत (मिथिला) राज्यको राजधानी विहारको ‘दरभङ्गा’ लाई बनाइ तिरहुत राज्यबाट कर उठाउन स्थानीय कामेश्वर ठाकुरलाई जिम्मा दिएका थिए । उनै कामेश्वर ठाकुर र उनका उत्तराधिकारीहरूले यस तिरहुत (मिथिला) राज्यमा सन् १५२६ सम्म शासन गरेका थिए ।

    १६औं शताब्दीतिर मकवानपुरका सेन राजा लोहान सेनले यस सिम्रौनगढ क्षेत्र कब्जा गरस् शासन गर्दै आएका थिए । पछि मकवानपुरका राजा दिगवर्दन सेनको पालामा सन् १७६२ मा गोरखाली राजा पृथ्वीनारायण शाहले युद्धमा मकवानपुरलाई जितेर यस भूभागलाई गोरखा राज्यअन्तर्गत राखी शासन गरेका थिए । सन् १७३९ देखि १७५४ सम्म काठमाडौं उपत्यकामा आउने जाने गरेका इटालियन पादरी क्यासियानोले पनि ‘सिमानागढ’ भन्ने शब्द उल्लेख गरेको पाइन्छ ।

    सिम्रौनगढ अवलोकन

    सिम्रौनगढको धार्मिक, सांस्कृतिक तथा वास्तुकलाको महत्वपूर्ण धरोहर ‘इशरा तलाउ’ को पश्चितर्फ शिखर शैलीमा इँटाद्वारा निर्माण गरिएको ‘कंकाली मन्दिर’ देख्न पाइन्छ । कंकाली माताको ठूलो महिमा रहिआएको र हरेक वर्ष चैतमा राम नवमीको दिन ठूलो मेला लाग्ने गर्छ । शान्त र सौम्य मुद्रामा रहेको कंकाली माताको मूर्ति कालो प्रस्तरमा कुँदिएको छ । कंकाली मन्दिर प्राङ्गणमा विभिन्न देवीदेवताका अन्य मन्दिर छन् । एक जोर खराउ र समाधिस्थल रहेको मन्साराम बाबाको मन्दिर निर्माण गरिएको छ । मन्दिर परिसरका पीपल चौतारा, तलाउ किनारमा तुर्क आक्रमणका कारण उत्खननमा भेटिएका कर्नाटकालीन टुटेफुटेका मूर्ति तथा पत्थरहरू देख्न पाइन्छ । राजा शिवसिंह (सिबैसिंह/शक्तिसिंह देव)ले आफ्नी प्रेयसी इशराका लागि इशरा तलाउ बनाइदिएको किंवदन्ती छ ।

    कंकाली मन्दिरदेखि पश्चिम करिब १.५ किलोमिटर दूरीमा रानीबास रहेको छ, जहाँ राम जानकीको मन्दिर छ । इतिहासविद्हरूका अनुसार शिकार खेल्न जाने क्रममा भेटिएको केही अग्लो स्थानमा जङ्गबहादुर राणाले क्याम्प बनाउने क्रममा दरबार र मन्दिरको भग्नावशेष पाइएको बताउँछन् । विसं १९३३ मा सिम्रौनगढमा शिकार क्याम्प सकेर फर्कने क्रममा पत्थरघट्टा भन्ने ठाउँमा जङ्गबहादुर राणाको मृत्यु भएको थियो । उनकी रानी हिरण्यकुमारीले सती जाने बेलामा व्यक्त गरेको इच्छाबमोजिम छोरा जीतजङ्गले विसं १९३५ मा सो मन्दिरको पुनर्निर्माण गरेको कुरा यहाँको घण्टामा समेत स्पस्ट उल्लेख गरी लेखिएको छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका धातुका मूर्तिहरु छन्, जसका अगाडि जङ्गबहादुर, हिरण्यकुमारीलगायत आफ्ना परिवारका सदस्यको प्रतिमा छ ।

    मन्दिर वरिपरि भग्नावशेषको रुपमा रहेका दरबार तथा महल अझै देख्न पाइन्छ । मन्दिरकै सामुन्ने हनुमानको ठूलो मूर्ति देख्न पाइन्छ । मन्दिर प्राङ्गणको पश्चिम-उत्तर कुनाको नजिकमा त्यतिबेला खानेपानीका लागि बनाइएको इनार अझै देख्न पाइन्छ । मन्दिरको वरिपरि सत्तलसमेत निर्माण गरी गुठीको व्यवस्था गरिएको पाइन्छ । उत्खनन गर्दा प्राप्त चिल्ला काला ढुङ्गामा कुँदिएका आकर्षक तर टुटेफुटेका मूर्तिहरूलाई मन्दिरको बाहिरी भाग र वरपर स्थापित गरिएको छ ।

    सिम्रौनगढ छेउछाउमा रहेका खेती हुने जग्गालाई खनजोत गर्दा अझै पनि जलेका चामलहरू प्रत्यक्ष भेट्न सकिन्छ । त्यस बेला राजाको खजाना (कोष) रहेको खजानी गाउँको क्षेत्रमा रही आएका खेत खन्दा सुनचाँदी भेट्टाइन्छ, तामापित्तलका गाग्री, सुनका गहनाहरू भाँडावर्तन पनि भेटिएको यहाँका स्थानीय बताउँछन् । हरिहरपुरमा राजाको कोतवाल कचहरी कोर्ट रहेको स्थानमा तलेजु भवानी राखेको ढुंगाको बाकस र त्यही नजिकमा देवताको मूर्ति कुँदिएको पत्थरको खम्बालगायत संरक्षणको अभावमा यत्रतत्र टुटफुट रुपमा छरिएर राखेका ११औंदेखि १३औं शताब्दीका देवीदेवताका मूर्तिहरु भेट्न सकिन्छ ।

    चिल्ला काला ढुङ्गामा आवरण र आभूषणले भक्ति रस र सौन्दर्य रसको रसास्वादन गराउन सफल करुणा, शान्ति र ऐश्वर्यका साथै अलौकिक भाव अनि आकर्षक मुस्कानयुक्त मूर्तिहरुमा भाव अभिव्यक्तिको अनुपम कला देख्न पाइन्छ । उत्खनन्का क्रममा भेटिएका कर्नाटकालीन र गुप्तकालीन पुरातात्त्विक कलाकृतिहरुलाई हेर्दा सिम्रौनगढको सांस्कृतिक तथा आर्थिक समृद्धिलाई पुष्टि गर्दछ । यस समयमा यहाँको धार्मिक, सांस्कृतिक, कला तथा साहित्यको विकास चरमोत्कर्षमा पुगेको पाइन्छ ।

    भनिन्छ, भोको देशको कलात्मक दृष्टि हुनै सक्दैन र भइहाले पनि त्यसलाई पेटको ज्वालाले निभाइदिन्छ । कला र साहित्यले भरपूर उन्नति गर्ने मौका पाएको यस काललाई सिम्रौनगढको इतिहासमा स्वर्णयुग मानिन्छ । उत्खनन्मा भेटिएका शिव, पार्वती, हनुमान, विष्णु, विश्वकर्मालगायतका मूर्तिहरु हिन्दू धर्म संस्कृतिसँग सम्बद्ध रहेको हुनाले यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको बाहुल्य रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

    सिम्रौनगढको गढ क्षेत्रभित्र हालको कोटवाली, लक्ष्मीपुर, भगवानपुर, देवापुर, हरिहरपुर, कर्चोवा, अमृतजङ्ग, गोलागञ्जसहित, नयकाटोला, खजहनी, झमरीलगायत गाउँ भएर दक्षिणतर्फ नेपाल-भारत सीमासम्म पुग्छ । यस क्षेत्रमा देखिने पोखरी र इनारमध्ये इशरा, झरौखर, राजावादा, मनहर्वा, धोबिनिया, आमवा, हथाइया, नरकटी, जोकही प्रमुख हुन् ।

    निष्कर्ष

    सिम्रौनगढ क्षेत्रमा पुग्न आधुनिक बाटो तथा स्तरीय सडक संरचनाको निर्माण गर्नुपर्ने देखिन्छ । स्थानीय बासिन्दालाई सिम्रौनगढको इतिहास र यसको ऐतिहासिक, सांस्कृतिक सभ्यताको महत्त्वबारेमा धेरैभन्दा धेरै जानकारी गराउँदै यसको महत्त्वका बारेमा व्याख्या गर्नसक्ने केही इतिहास वाचक र पथप्रदर्शकहरु पर्यटकका लागि उपलब्ध गराउनु आवश्यक देखिन्छ । यस क्षेत्रमा सुविधायुक्त होटलको अभावले गर्दा पर्यटकहरुले धेरै समस्या व्यहोर्नुपरेको पाइएको छ ।

    पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको सिम्रौनगढको उत्खनन्, संरक्षण, सुरक्षण र प्रवर्द्धनका निम्ति बृहत योजनासहित स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारले विशेष महत्त्व दिनुपर्ने र विभिन्न संघसंस्था तथा व्यक्तिहरुको संयुक्त प्रयास आवश्यक देखिन्छ ।

    ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका दरबारका भग्नावशेष एवं बेवारिसे रुपमा टुटेफुटेका धार्मिक र सांस्कृतिक महत्त्व बोकेका प्राचीन कलात्मक मूर्तिहरुको उचित रुपमा संरक्षण, सुरक्षण र उत्खनन् गर्न तीन वटै तहका सरकारका सम्बद्ध निकायहरुले गम्भीर रुपमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । तुर्क आक्रमणबाट बचेखुचेका मिथिलाको कला-संस्कृतिको स्वर्णिम इतिहास बोकेका मूर्तिहरू संरक्षणको अभावमा चोरी हुने र हराउने क्रम तीव्र रुपमा जारी छ । सरकारले प्रभावकारी कदम चालेर चोरी हुने तथा हराउने कार्यलाई रोक्नु अत्यावश्यक छ ।

    यस्तो लाग्छ, ऐतिहासिक, सांस्कृतिक सभ्यता र अद्भूत कला-संस्कृतिको अमूल्य भण्डारको इतिहासलाई पुरेर त्यसमाथि वर्तमान अव्यवस्थित सिम्रौनगढ शहर बसेको छ । प्राचीन सिम्रौनगढको उत्खनन् गरी भूगर्भमा लुकी बसेका कर्नाटकालीन, गुप्तकालीन र यीभन्दा पूर्वकालका इतिहास, संस्कृति, कला र सभ्यताको अध्ययन, अनुसन्धान गर्न ढिलो गर्न हुन्न । यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक महत्त्व संरक्षण र प्रवर्द्धन तथा व्यापक प्रचारप्रसार गर्दै स्थानीयस्तरमा पर्यटन विकास आवश्यक छ । जसले देशको आर्थिक विकासमा समेत टेवा पुर्‍याउन सक्ने प्रचुर सम्भावना देखिन्छ ।

    सन्दर्भसामग्री सूची

    • क्षेत्री, दिलबहादुर (२०६२), प्राचीन तथा पूर्व-मध्यकालीन नेपाल, काठमाडौं : निरन्तर प्रकाशन ।
    • त्रिपाठी, चन्दप्रसाद (२०५४), तिरहुत राज्य र राजधानी सिम्रौनगढ : सिम्रौनगढ ।

    (केसी कास्की पोखरास्थित पृथ्वीनारायण क्याम्पस इतिहास र सस्कृति विभागका विद्यार्थी हुन् ।)

  • शैक्षिक कायापलटका लागि यी अपेक्षासहित शिक्षामन्त्रीलाई पत्र

    शैक्षिक कायापलटका लागि यी अपेक्षासहित शिक्षामन्त्रीलाई पत्र

    माननीय शिक्षामन्त्रीज्यू !
    शैक्षिक अभिवादन !

    राजनीतिक स्थिरताको उद्घोषसहित बनेको केपी ओली नेतृत्वको क्याविनेटमा शिक्षामन्त्रीको रूपमा तपाईँको आगमनले शिक्षा क्षेत्रमा नयाँ उत्साहको सञ्चार भएको छ । सामुदायिक विद्यालय व्यवस्थापनको कोर्सअन्तर्गत शिक्षाको स्तरोन्नति र शैक्षिक गुणस्तरको क्षेत्रमा क्रियाशील हाम्रो पंक्तिलाई पनि थप खुशी तुल्याएको छ । हामी सबैमा बिहानीको सूर्योदय समयको आभा झैँ चहकमहक छाएको छ ।

    यो हाम्रो खुशीलाई सूत्रबद्ध ढंगले संगठित गर्न सक्नुहोस् ! अपेक्षित सफलताको सिँढी चढ्नका लागि तपाईँको कार्यकाल तपाईँको राजनीतिक जीवनका लागि मात्र होइन, नेपालको शिक्षा क्षेत्रको कायापलट गर्न कोशे ढुंगा सावित हुन सकोस् ! धेरै-धेरै शुभकामना भन्दछु ।

    पढ्ने लेख्ने समुदायको प्रतिनिधित्व गर्ने अखिल एकताको पाँचौँ निर्माणकालको विद्यार्थी नेताको भूमिकामा रहँदै १७ वर्षसम्म स्नातकोत्तर तहको अध्यापनको समेत अनुभव आर्जन सँगसँगै राजनीतिमा आउनुभएको तपाईँ नामले पनि विद्या हुनु संयोगमात्र नभएर सौन्दर्य हुनुपर्ने हो भन्ने लाग्छ ।

    देशभरि नै सामुदायिक विद्यालय शिक्षा र शिक्षणका क्षेत्रमा आधारभूत रूपमा सुधार गर्नुपर्ने थुप्रै विषयवस्तुहरू छन् । कतिपय व्यवस्थापन र प्रशासनका कार्यकक्षमा छन् भने कतिपय यत्तिकै देख्न सकिने तहमा असरल्ल छन् । सार्वजनिक महत्त्वका हिसाबले यसतर्फ सरोकारवाला सबैको ध्यान पुग्न जरुरी छ । समस्याको वस्तुगत पहिचान र सुक्ष्म समाधानस्वरूप तत्काल गर्न सकिने विषयहरू के-के हुन् वा हुन सक्छन् ? यो पछिल्लो पत्रांशमा प्रयुक्त रायसुझावका रूपमा केही विषयवस्तु अघि सार्दछु ।

    सिद्धान्तमा समानता व्यवहारमा असमानता

    देशको संविधानले नागरिकको शिक्षा, स्वास्थ्य क्षेत्रमा पहुँच र प्रत्याभूतिलाई नैसर्गिक हक र अधिकार किटान गर्छ । यद्यपि, देशमा प्रचलित शिक्षा व्यवस्थापनले दुई प्रकारको नागरिकको परिचय कमाइरहेको छ, पहिचान बढाइरहेको छ र क्रमशः दुई खाले नागरिक जन्माइरहेको छ । स्वास्थ्यस्थिति पनि झण्डै यस्तो यस्तै हो । यद्यपि, मैले यहाँ शिक्षासम्बन्धी विषयोपर राय अघि सार्न चाहेको छु । सरकारको तहबाट भएको शिक्षाको सामुदायीकीकरण वा सार्वजनिकीकरण र निजीकरणले उत्पादित जनशक्ति पनि अविभाज्य छैन, विभाजित छ र परस्पर बेमेलको अवस्थामा छ । सबैखाले शिक्षा राज्यकै निगाह, नियमन र नियन्त्रणमा छन् ।

    अस्तित्व र सहअस्तित्वमा रहँदै सवल र समृद्ध राज्य निर्माणमा योगदान पुर्‍याइरहेका छन् तर उत्पादन र उत्पादित जनशक्तिमाझ मेल छैन बरु फराकिलो बेमेल छ । आज पनि समाजमा औसत कमजोर आयआम्दानीमुनिका नागरिकका छोराछोरीहरू तमाम सामुदायिक विद्यालय पढ्छन् र हुनेखाने वर्गाश्रित नागरिकका छोराछोरीहरू निजी विद्यालय पढ्छन् भन्ने भाष्य जनजिब्रोमा कायम छ । यो आफैंमा बेमेल हो । बेमेलको यो दूरी कसरी कम गर्ने ? कसरी छोट्याउने ? तपाईँ राज्यको उपल्लो निकायले सुक्ष्म ढंगले सोच्न, सरोकारवालासँग परस्पर सहकार्य गर्न र यसबीचमा एकरुपता खोज्न जरुरी छ ।

    विद्यालय व्यवस्थापन समिति

    विद्यालय व्यवस्थापन समिति स्थानीय अभिभावकसहित सिंगो समुदायको प्रतिनिधि संस्था हो । विद्यालय विकासमा यसले समुदाय आधारित रहँदै सम्बन्ध-सेतुका हिसाबले काम गरेको छ र हुन्छ । समुदायले आफ्नो दैनन्दिन आवश्यकता र कतिपय रहरलाई बन्दक राखेर सामुदायिक विद्यालय बनाएको, चलाएको र व्यवस्थापन गरेको पृष्ठभूमिमा आधारित रहँदै विद्यालय व्यवस्थापन समिति सामुदायिक विद्यालयको जीवनमा यसको अपरिहार्य अंगको रूपमा क्रियाशील छ ।

    निजी विद्यालय व्यवसायको पहुँच वृद्धि भएसँगै यसको प्रभावबाट आकर्षित केही नीति निर्माताहरूले विद्यालय व्यवस्थापन समितिलाई कुनै अस्तित्वपूर्ण भूमिकामा देख्न सक्नुभएन । विडम्बना ! विघटनको संघारमा हुनुहुन्थ्यो निवर्तमान शिक्षामन्त्री । यस्तो हुनु खेदजनक मात्र थिएन, दुर्भाग्यपूर्ण थियो । सामुदायिक विद्यालयलाई समुदायसँग जोड्नुको सट्टा यसको जुइँनु चुडाल्नु भनेको निजी विद्यालयको प्रहारले सामुदायिक विद्यालय उठ्न नसकेर ऐंठन भएको बेला घाँठी निमोठ्नुसरह नै हुन्थ्यो । सामुदायिक विद्यालय शिक्षाको प्रतिफलस्वरुप पालितपोषित तपाईँले अब यसलाई अर्थात् विद्यालय व्यवस्थापन समितिलाई थप कामकाजी, कार्यकारी र व्यवहारिक बनाउनु जरुरी छ ।

    संरचनागत पक्षमा सुधार

    सामुदायिक विद्यालयको जीवनलाई व्यवस्थापन र प्रशासनका दुई फरकफरक आँखाले हेर्नुपर्छ । व्यवस्थापकीय पक्ष समुदायको प्रतिनिधि पक्ष हो । यो राजनीतिक वा गैरराजनीतिक दुबै हुनसक्छ । तर, प्रशासकीय पक्ष पेशासँग जोडिएको सेवासुविधासहितको पक्ष हो । समुदायका छोराछोरीहरू प्रशासनको अधिन र मातहतमा हुन्छन् । यसमा राजनीतिक पहुँच वा कित्ताबन्दीको झल्को आउने तहमा दलीय सहभागिता देखिनुहुँदैन ।

    सैद्धान्तिक कुरा के हो भने सामुदायिक विद्यालयको प्रतिस्पर्धा निजी विद्यालयसँग हुन्छ, अथवा सामुदायिक विद्यालयको प्रतिस्पर्धी शक्ति भनेको निजी विद्यालय नै हो । शक्ति सन्तुलन र शैक्षिक जनशक्ति सञ्चयका दृष्टिकोणले यो दुबै विद्यालयबीच मित्रवत् प्रतिस्पर्धा हुन्छ । मित्रवत् प्रतिस्पर्धाका लागि पनि केही मानकहरू हुन्छन् । निजी विद्यालयको लगानीकर्ता सामुदायिक विद्यालयको शिक्षण पेशामा रहनुहुँदैन । वस्तुतः लगानीमोहका कारण यो उपस्थितिले परस्पर मित्रवत् प्रतिस्पर्धालाई कमजोर पार्दछ र सामुदायिक विद्यालयको शिक्षा अपेक्षित मात्रामा उठ्न सक्दैन । यसनिमित्त नियमन र नियन्त्रण जरुरी छ ।

    पहाडी क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन तराई मधेशभन्दा नितान्त भिन्न छ । एकैपटक सोरपटार पढाउने वा आलोपालो पढाइमा शिक्षक सामेल रहँदै लामो समयसम्म बिदामा रहने बस्ने गरेको पनि देखिन्छ । यसलाई निरुत्साहन गर्न शिक्षकले पाउने सेवासुविधाको बढोत्तरीसहित व्यवस्थामा सुधार ल्याउनुपर्छ ।

    यसवर्ष पनि अंग्रेजी माध्यमभन्दा नेपाली माध्यममा अध्ययनरत विद्यार्थी धेरै अनुत्तीर्ण रहेको देखियो । दुवै माध्यममा सञ्चालित पठनपाठनको क्षेत्रमा गणितमा अनुत्तीर्ण रहेको देखियो । यसको सुक्ष्म लक्षण खोजिनु र उपचारमा जानु अनिवार्य छ । गणितको पठनपाठनलाई प्रयोगमा आधारित अर्थात् प्रयोगात्मक विधिमा ल्याउन जरुरी देखिन्छ ।

    समाजमा बढ्दो सामाजिक अराजकता, नकारात्मकता, घीनलाग्दा टिकाटिप्पणी, घृणा, द्वेषादिलाई न्यूनीकरण गर्न नैतिक शिक्षा जरुरी छ । एकातिर मानिसमा नैतिक जिम्मेवारीबोधको अभाव छ भने अर्कोतिर हाम्रा पुर्खाले अँगालेको जीवनदर्शन, जीवनशैली, मौलिक मूल्यमान्यता, रैथाने कला संस्कृतिलाई पूनर्जागृत गर्न जरुरी छ । हामीमाथि पश्चिमा शक्तिको प्रहारको निशाना हाम्रो मौलिक शिक्षा र रैथाने संस्कृतिमाथि गडेको छ, यो जबरजस्ती छ । यसलाई निस्तेज तुल्याउँदै आफ्नोपनको समाजवादको आधार निर्माण गर्न जरुरी छ । हाम्रा आफ्नै तौरतरिकामा प्रविधिमिश्रित पठनपाठन वातावरण र पाठ्यपुस्तक निर्माण गर्न सकिन्छ ।

    मानसिक विकासका अलावा शारीरिक विकासको सुसंगठित आधार आज प्रचलित शिक्षाले गर्न सक्नुपर्छ । यसतर्फ विगतमा आशलाग्दो मति र गतिका साथ ध्यान पुग्न नसकेको देखिन्छ । योग्य र ऊर्जावान जनशक्तिको व्यवस्थापनका लागि शिक्षकलाई समयसमयमा तालिम प्रशिक्षण, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका छोराछोरीले अनिवार्य सम्बन्धित विद्यालयमा पढ्नु पढाउनुपर्ने विषयोपर नियमनसहित व्यवस्थापन, अभिभावकमात्र सामुदायिक विद्यालय व्यवस्थापन समितिमा रहन सक्ने वा रहन पाउने विषयको व्यवस्थापन, रणनीतिक योजना निर्माण कार्यशालाका अलावा वर्षमा दुईटासम्म व्यवस्थापन समिति, आमअभिभावक र शिक्षकबीच विषयगत विमर्श, विभिन्न प्रकारको अनुचित र अदृश्य नियुक्तिलाई निरुत्साहन गर्दै विद्यालयको आवश्यकतामा आधारित योग्यतम् पात्रलाई खुला प्रतिस्पर्धाको लड्न, भीड्न र उत्तीर्ण हुन सक्ने वातावरण व्यवस्थापन, विद्यालयमा प्रशस्तै पठनपाठन सहयोगी सामग्रीको व्यवस्थापन आदि पक्षमा अविलम्ब ध्यान पुग्न र कार्यनिर्देशित ढंगले गति लिन जरुरी छ ।

    नियमन र व्यवस्थापन

    कतिपय सामुदायिक विद्यालयमा विभिन्न निहुँ, नाउँ र बहानामा निजी व्यापारिक व्यवसायिक पब्लिकेशनका पाठ्युपुस्तक पढाइन्छ । यसबाट अभिभावकलाई ठूलो भार र मार पर्न गएको छ । राज्यले निःशुल्क उपलब्ध गराएको पुस्तक सामग्री तलतलसम्म पुग्न पाएको छ । यसमाथि नियमन, नियन्त्रण र व्यवस्थापनसहित जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित वा प्रकाशित पाठ्यपुस्तकमा आधारित पठनपाठन विधिमा जानुपर्छ ।

    कक्षा ८ लाई पालिकाले परीक्षा लिने र उपाधि दिने भएपछि एसईई र कक्षा १२ सम्मलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अधिनमा ल्याउनुपर्छ । जिल्लागत शैक्षिक जनशक्तिको आवश्यतालाई परिपूर्ति गर्न जिल्ला शिक्षा आयोग गठन गर्नुपर्छ । यो आयोगले मात्र यहाँको वस्तुगत आवश्यकता र विशेषतालाई सम्बोधन र व्यवस्थापन गर्न सक्छ । भू-राजनीतिक मानचित्रमा बैतडी र मोरङ आफैंमा धेरै हिसाबले फरक हुन् भन्ने तथ्यलाई हृदयांगम गर्नुपर्छ ।

    विद्यालयको हाजिरी र आन्तरिक जीवन व्यवस्थापनको पक्षलाई एकद्वार अर्थात् बैंक प्रणालीमा लैजानुपर्छ । सामुदायिक विद्यालयतर्फको आकर्षणता वृद्धि विकास गर्न अध्ययनरत विद्यार्थीले मात्र होइन, पूर्णकालीन र अंशकालीन शिक्षक कर्मचारी स्वयंले पनि विद्यालय समय र पोशाक पहिरनलाई अनिवार्य गर्नुपर्छ । विषयगत शिक्षकको मूल्यांकन निजले पढाएका विद्यार्थीले पाएको सफलता वा उत्तीर्ण प्रतिशत अनुपातका हुनुपर्छ ।

    निर्धारित विषय शिक्षामा गुणस्तर पाउने भनेको विषय शिक्षकबाट नै हो । शिक्षकको सहज उपस्थिति, प्रस्तुति र उपलब्धतालाई ध्यान दिनुपर्छ । मूलतः शिक्षकको दैनन्दिन साह्रोगाह्रोको सम्बोधन र व्यवस्थापन गर्दै जाने हो कार्यस्थलमा विषयगत शिक्षकको पूर्वतयारी अर्थात् लेसन प्लान कस्तो छ ? उपलब्ध हाम्रा सिकाइ क्रियाकलाप के-के हुन् ? हाम्रा सिकाइ उपलब्धि के कस्ता छन् ? भाषाको विषयमा विद्यार्थीको फरर पठनशैली कस्तो छ ? पठनपाठन समयको परिपालना कस्तो छ ? मोबाइल फोनबाट हुने शिक्षण के के हुन् ? पठनपाठनमा प्रविधिको प्रयोग कस्तो छ ? व्यवहारिक विषयोपर ज्ञानमाला कस्तो छ ? विद्यार्थी शिक्षक दुवैमा पोशाक पहिरनको अवस्था कस्तो छ ? आमरूपमा विद्यार्थीदेखि लिएर शिक्षक कर्मचारीमा पनि देखिने श्रृंगारको सामान्य असामान्य अवस्था कस्तो छ ? पूर्णकालीन शिक्षक पूर्णकालीन व्यवस्थानप्रति कति जवाफदेही हुनुहुन्छ ? जस्ता मूलभूत विषयोपर दोहोरो अनुगमन, मूल्यांकन र पदोन्नतिसहितको व्यवस्थापनको तहमा जान जरुरी छ । यसो गर्न सकियो भने निराशा चिर्न सकिन्छ र अपेक्षित सफलता प्राप्त गर्नु अवश्यंभावी छ । तपाईँले यस कामको सहजै अगुवाइ गर्न सक्नुहुने छ ।

    शुभकामनासहित बिदा !

    (लेखक सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्य हुन् ।)

  • अम्रिकाने काशी: प्रकृति लेखनको ‘रकेट’ रफ्तार

    अम्रिकाने काशी: प्रकृति लेखनको ‘रकेट’ रफ्तार

    काठमाडौं । झण्डै तीन दशक अगाडि सन् १९९७ मा नेपालका वैश्विक पत्रकार कुन्द दीक्षितले प्रकृति लेखनसम्बन्धी किताब लेखेका थिए । ‘डेटलाइन अर्थ’ नामको अंग्रेजी भाषाको किताबले साढे दुई दशकपछि गत साल नेपाली अवतारमा ‘डेटलाइन पृथ्वी’ भएर बजारमा आयो । सन् १९९१ मै खुम्बु हिमनदीलाई ‘खुम्बु झरना’ भनेर कार्टुन बनाएर जलवायु न्यायको पक्षको यो तहको बुझाइ देखाइसकेका दीक्षितले लेखेको किताबले पृथ्वी पत्रकारिताबारेमा जानकारी दिन्छ । यसले धेरै नेपाली तथा विदेशी पत्रकारहरूलाई प्रकृति पत्रकारिता गर्न प्रेरणा दिएको छ ।

    पत्रकारिताबाट साहित्यमा र साहित्यसँगै पत्रकारितामा सक्रिय सरला गौतमले आफ्नो तरोताजा किताब ‘अम्रिकाने काशी’मा प्रकृति पत्रकारिता गरेकी छन्, पृथ्वी लेखन गरेकी छन् । उनको प्रकृति पत्रकारिता उनले आफैं गरेकी छैनन् । उनले कथामा खडा गरेका पत्रकार पात्रहरूले गरेका छन् । उनले पृथ्वी लेखन आफ्नो अर्थात् मान्छेको कोणमा गरेकी छैनन् । जीवनजन्तुको कोणमा गरेकी छन् । अध्ययनको आधार क्षेत्रमा सरलाले जलवायु न्याय, प्रकृति प्रेम र प्राणीहरुको सहअस्तित्वका मुद्दालाई आकर्षक उठान गरेकी छन् ।

    ‘डुमेरो’ पछिको उनको दोस्रो आख्यान हो । विषयको कोणमा यो उपन्यास धेरै लामो समयसम्म यात्रा गर्ने आख्यान बन्नसक्छ । अहिलेको बलियो वैश्विक मुद्दा जलवायु न्याय हो, प्रकृति प्रेम हो । हिजो विद्यार्थी र विज्ञको सानो कोठामा बहस हुने जलवायु न्याय तथा प्रकृति प्रेमका मुद्दा अहिले कवितामा मात्रै पोखिएका छैनन्, कूटनीतिमा पनि अनिवार्य भएका छन् ।

    यी कुरा विश्वविद्यालयका थेसिसका ठेलीहरुमा मात्रै सीमित छैनन्, यी कुरा सी चिनफिङ र जो बाइडेन, भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको छलफलमा पनि जोडिन थालेका छन् । अर्थात् जुन समयमा जलवायु न्यायले विश्वको राज्य सत्तादेखि प्राज्ञिक सत्तासम्म सबैमा आयतन जमाएको छ, ठीक त्यसैबेला सरलाले नेपाली माटो सुहाउँदो, खासगरी काठमाडौं उपत्यकालाई मियो बनाएर देशभरका जलवायु मुद्दा र प्रकृतिमा प्राणीहरुको सहअस्तित्वका मुद्दामा सही समयमा सही आख्यान लिएर आएकी छन् ।

    किताबी क्षेत्रफलः नेपालदेखि अमेरिकासम्म, प्रकृतिदेखि प्रकृतिसम्म

    अम्रिकाने काशीको क्षेत्रफल नेपालदेखि अमेरिकासम्म छ । नेपालभित्र काठमाडौं, जनकपुर, मुस्ताङ, चितवन, मेलम्ची र सेरोफेरो आख्यानको क्षेत्रफल छ । किताबमा मुस्ताङबाट आएको पात्रको नाम काशी । मेलम्चीबाट आएको पात्रको नाम जोगिन्दर । मुस्ताङबाटै आएको पात्रको नाम पेम्बा । काठमाडौंकी पात्रको नाम मुरली । अमेरिकाकी पात्रको नाम कैली । चितवनको पात्र शिवप्रसाद, तर यिनीहरु मान्छे होइनन्, जनावर हुन् । काशी कुकुर हो । जोगिन्दर बाँदर । पेम्बा घोडा । मुरली बिरालो । कैली कुकुर । शिवप्रसाद हात्ती । अरु पनि धेरै पात्र छन् । धेरै जीवजन्तु छन् । यिनै पात्रहरुको आँखाबाट कथा भनिएको छ । ग्यारेजकी माया दिदी मुस्ताङका लेतेमा काशी भेट्ने सुफी तथा भैरव टोलका सरदार काका तथा काठमाडौं र ललितपुरका मेयरलगायत भने मान्छे पात्रहरु छन् ।

    यी पाटन क्षेत्रमा मुकाम बनाएका जनावरहरु मिल्छन्, रमाइलो गर्छन् । देउसी खोल्छन्, खोकना पुगेर वनभोज खान्छन् । चितवन पुगेर जंगल सफारी गर्छन् । तिनीहरुको प्रेम हुन्छ, झगडा हुन्छ । ईर्ष्या हुन्छ, तर प्रकृति सबैको हो भन्नेमा एकमत हुन्छ । मान्छेले बनाएको विश्व व्यवस्थामा तिनीहरुको भद्र विमति हुन्छ । विभिन्न प्रसंगमा तिनीहरुले मान्छेमा सोझ्याएका सवाल हेरौं –

    • हावा पनि विष नै विष भइसक्यो । खेतमा विष नै विष । पानीमा पनि विष । अब त मान्छेले विष खान्छ । मान्छेको लापरवाहीले सबैले विषय खानुपर्छ ।
    • सबै प्राणीको बुद्धि हुने भएर त आफ्नो जीवन चलाउँछन् । मौरीले फूलको रस चुसेर मह निकाल्छ । मान्छेले त्यही मह काढेर खान्छ, अनि आफूलाई सबैभन्दा उत्तम र बुद्धिमान प्राणी ठान्छ ।
    • तपाईंहरुको संसारमा कुकुरलाई अलग राखेर हेर्नुस् त, कस्तो देखिन्छ । अनुसन्धान गर्ने काममा हामी छौं । भेडा चराउने लेकका साथी हामी छौं । घरघरमा मान्छेको साथी र सहारा छौं ।
    • शहरको कुनाकाप्चातिर भएका ठाउँहरु खोज्ने हो । नयाँ मेयर आएको बेलामा जनावर पार्कको कुरा पनि अगि बढाउने हो ।
    • देशको गीत त सबैले लेख्छन्, हामी पृथ्वीको गीत लेखौंला ।

    सुत्केरी कुकुर मारिएका कुरा, बाँदर हत्याका प्रस्ताव, शहरमा जनावारले खानेपानी, हिँड्ने बाटो र बस्ने बासको अभाव भएका कुरा पात्रहरुबाट रोचक रुपमा उठाइएको छ । तिनीहरुका मूल मुद्दा जनावर पार्क स्थापनै भएर छोड्छ । कथालाई संयोगान्त रुपमा टुङ्ग्याउन लेखकको आँखा प्रकृति लेखनमा सकारात्मक ऊर्जाले भरिएको देखिन्छ, तर जनावार पार्क बन्ने तहको संघर्षको कथा बुझ्न र त्यो भावभूमिमा भ्रमण गर्न पाठकले केस्राकेस्रा केलाएर किताबै पढ्नुपर्ने हुन्छ । यत्ति चैँ भनौं तिनीहरुले दुःख गरेर उभ्याएको जनावर पार्कको उद्घाटन मूर्तिमा लेखेका थिए, ‘पृथ्वी सबैकी आमा हुन् । पृथ्वीको लोकतन्त्रमा हाम्रो पनि ठाउँ हुन्छ ।’

    कला, देशभक्ति अनि सरलाका साविक सफरहरु

    आख्यानलाई कलात्मक बनाउन लेखक सरलाले राम्रो मेहनत गरेकी छन् । दृश्यलाई राम्रो देखाउन बाँदरले सिलिन्डर बोकेको, कुकुर र बाँदरले तलाउमा डुबेको मान्छेलाई उद्धार गरेको, कुकुरले कुकुर तिहारको समयमा देउसी खेलेको, पैसा उठाएर सडक कुकुर र असहाय मान्छेलाई सहयोग गरेका जस्ता कुरा रोचक छन् । अमेरिका जाने क्रममा कुकुरले पनि अमेरिकी दूतावासमा अन्तर्वार्ता दिएको कुरा होस् वा कुकुर (काशी)ले बाकस होइन, झ्यालको सीटमै जान गरेको परराष्ट्रमन्त्री कर्मा राईदेखि अमेरिकी दूतावास हुँदै कतार एअरवेजसम्मको प्रयास गजब छ । यहाँ कला पक्ष बलियो भएर आएको छ । मूल पात्र अम्रिकाने काशीलाई पेज नम्बर ५ देखि १३७ सम्म यही नाम दिएर नामको न्याय भएको छ ।

    अम्रिका पुगेको भएकाले मात्रै तिनलाई अम्रिकाने कासी भनिएको हो । तिनको मनमा त नेपाल छ । काशीले नेपालकै घरेलु उत्पादनको जुत्ता गोल्डस्टार लगाउँछ, नेपाली ब्राण्ड सोनाको टोपी लगाउँछ, जर्मन सेफर्ड होइन, भोटे कुकुर पालनको पक्षपोषण गर्छ ।

    किताबमा सरलाका साविक सफरका झकहरु आएका छन् । उनले लेखेको उपन्यास डुमेरोको नाम उनले पेज ४९ मा ल्याएकी छन् । उनी पुगेका संखुवासभादेखि मुस्ताङसम्मका कुरा उनले ल्याएकी छन् । चितवनकी लेखकले पात्रहरुलाई चितवन एक फेरा घुमाएकी छन् । उनको दैनिकीमा झल्कने ‘बाल नदिने’ उवाच यहाँ पात्रहरुबाट किस्ताकिस्तामा आएका छन् । सरलाकै भौतिक, काल्पनिक र यथार्थ धरातलको क्षेत्रफलबाट आख्याउन उदाएको छ ।

    अलमलका कुरा र आखिरी कुरा

    १६० पृष्ठको उपन्यासमा अलमलका कुरा पनि छन् । पेज १०० मा उनले भोटे टोल र भैरव टोल भनेकी छन् । भोटे ग्याङ भन्दै आइएकोमा अचानक भोटे टोल आउँदा पाठक अलमलमा पर्छन् । किताबको गातामा ‘काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा’ भनिएको छ, तर दुई दिन हराएको काशीलाई कैलीसँग देखिएको बाहेक प्रेम नै हो भन्ने अतिरिक्त प्रमाण कैलीसँग देखाइएको छैन । भुसीसँग पनि प्रेमको कथा बलियोसँग उभ्याइएको छैन ।

    पठाओको युगको कथा छ, तर साउजी लाक्पाले भने टाइगर ब्याट्रीबाट बज्ने फिलिप्सको रेडियो घन्काउँछ । उनले इन्टरनेटबाट कुनै गीत प्ले गरेको सामान्य लाग्ने युगमा ब्याट्रीबाट चल्ने रेडियो घन्काउने पाटनको साहुको कुरामा सबैले विश्वास गर्न नसक्ने हुनसक्छ । अपवाद हो भने त्यो कुरालाई लेखकले भन्नसक्ने ठाउँ थियो, जुन कुरालाई उनले पेज ४ मा ‘कोइसन’ व्याख्या गरेर बुझाइदिइन् । पेज ७७ र ७८ मा धेरै पटक अम्बा भनिएको छ । पेज ७८ मा एक ठाउँमा बेलाउती भनिएको छ । यी दुइटै एकै हुन् भन्ने जानकारी नहुनेलाई सकस हुने अवस्था देखिन्छ ।

    पाठकीय कोणमा यस्ता केही प्राविधिक कुरामा अलमल देखिए पनि कथाको मेरुदण्ड अर्थात् प्रकृति प्रेम, जलवायु तथा वातावरणीय न्यायको कुरामा लेखक प्रस्ट छिन् । यो उनको सफलता हो । आख्यान एकै बसाइमा खरर पढ्न सकिने सलल बग्ने सरल तरिकाको छ । यो किताब नेपाली आख्यानका पाठकहरुले मात्रै नभएर जलवायु क्षेत्रमा काम गर्ने, वातावरणीय न्यायका अभियानकर्मीहरु, पशु अधिकारकर्मीहरु सबैले पढ्नैपर्ने किताब हो । मुद्दा, मर्म र मन्थनको कोणमा सरलाको पृथ्वी लेखनलाई ‘रकेट’ लेखन भन्न सकिन्छ । रकेट किताबमा काशीकी प्रेमिका भुसीले ‘दामी’ भन्ने अर्थको शब्द हो ।

  • इट्स दि कमिटमेन्ट ब्रो

    इट्स दि कमिटमेन्ट ब्रो

    आज पहिलो पटक कुनै अध्ययनविना लेख्दैछु, कुनै ढाँचाको ख्याल नगरी लेख्दैछु । अनि मनमा लागेको कुरा मनबाटै पोख्दैछु । मनमा धेरै कुराहरू खेल्छन्, साथीभाइहरूसित बसे, धेरै कुरा गरिन्छ र अरुका गफबाट धेरै कुरा बुझिन्छ । आज हरेकमा एक किसिमको निराशा देखिन्छ । अझ युवा पंक्तिको त उद्देश्य नै देश छोड्ने छ । अनि देशमा केही भएन भन्ने भाष्यले उनीहरूको मनमा दरिलो डेरा गाडेर बसेको छ ।

    आज विश्वव्यापीकरणको युगमा संसार नै सानो गाउँ जस्तो भइसकेको छ । तसर्थ, उचित अवसरका लागि आप्रवासन साधारण विषय हो । हामी सबैले आफ्नो पारिवारिक इतिहास हेर्ने हो भने हामी सबैका पुस्ताले एक भूगोलदेखि अर्को भूगोलमा बसाइसराइ गरेको पाउँछौं । अझ भनौं, विश्वले अहिलेको प्राविधिक फड्को मार्नुअघि पनि हाम्रै दुई पुस्ताअघिकाले पनि कम्तीमा दुई भूगोल परिवर्तन गरिसकेका छन् । तसर्थ, एक भूगोलदेखि अर्को भूगोलमा बसाइसराइ सर्नु सामान्य विषय हो ।

    तर, यति भनिरहँदा के नेपालले अहिले भोगिरहेको आप्रवासन सामान्य हो ? के यसमा हामी संवेदनशील हुन जरुरी छैन ? त्यसो भने होइन । किनकि एउटा राज्यका लागि उसको भौगोलिक क्षेत्रभित्र रहने जनसंख्या उसको विकाससँग जोडिएको हुन्छ । तर, यति भनिरहँदा सम्पूर्ण आप्रवासनमा गएकाहरूलाई फर्काउने बहस आजको हुनुहुँदैन । जसरी व्यापारिक प्लान बनाउँदा हामी टार्गेट कस्टमर भन्छौं, त्यसरी नै हामीले हाम्रो मिसन, भिजन र टार्गेट कस्टमर चयन गर्नुपर्नेछ । आदर्शवादी चिन्तनमा होइन, व्यवहारिक सत्य आज आवश्यक छ । त्यसकारण आज सम्पूर्ण युवामात्र होइन, नयाँ राजनीतिको तिर्सना बोकेकाहरूलाई भन्न चाहन्छु- ‘इट्स दि कमिटमेन्ट ब्रो !’

    एमबीएका लागि एक अमेरिकी विश्वविद्यालयको अन्तर्वार्ताको बेला मलाई सोधिएको थियो- ‘हवाट इज योर फेलियर स्टोरी ?’ अर्थात तपाईंको असफलताको कहानी भन्नुहोस् । मेरा लागि उबेला यो अनौठो प्रश्न थियो । किनकि जित्नु नै ठूलो कुरा हो, सधैं प्रथम हुनुपर्छ भन्ने वातावरणबाट म हुर्केको थिएँ । जेनतेन उत्तर दिएँ र भर्ना पाउन सफल पनि भएँ ।

    हामीलाई नेपाल बनेको हेर्नुछ, तर नेपाल कसैलाई बनाउनु नै छैन । हामीलाई स्वर्ग जानु छ, तर मर्नु छैन । यस्तो दोग्लोपनले त नेपाल पक्कै बन्दैन । नेपाल आज जहाँ पुगेको छ, त्यो तिनै व्यक्तिहरुले बनाएका हुन्, जसलाई आज हामी परिवारसँग बसेर सुन्नै नसक्ने किसिमका गाली गर्छौं ।

    मेरो उत्तरपछि ती डीनले भने- ‘यू नो आशिष, धेरै साउथ एसियनहरुसँग आफ्नो सफलताको कथा छ, तर असफलताको कथा छैन ।’ आफू असफल हुनुका पछाडि उसले सधैं अरुलाई दोष लगाइरहेको हुन्छ, तर सफल हुँदा भने उसले मात्र गरेको हो । त्यो रमाइलो गफ थियो, तर भर्ना प्राप्त गरेपश्चात पनि म सो विश्वविद्यालयमा पढ्न गइनँ । अन्त मलाई पूर्ण छात्रवृत्ति मिल्यो र नेपाल फर्किने चाहना बोकेका मेरा लागि छात्रवृत्ति बढी प्यारो भयो । मैले यो प्रसंग जोड्नुका पछाडि आजको हाम्रो मनोवृत्तिलाई चित्रण गर्नु हो ।

    हामीलाई चाँडो सफल हुनु छ । यसको अर्थ के हो भने हामी जग नबनाइ या कमजोर जगको धरातलमा घर निर्माण गर्न चाहन्छौं । हामीलाई देखिने घर भए पुग्यो । अनि त्यस्तो घरको टिकाउ कति हुन्छ ? हाम्रौ सफलता पनि त्यस्तै भइरहेको छ । हामी टिकाउ हुने सफलताको बाटो नै कोरिरहेका छैनौं । अनि थोरै समस्या पर्दा पनि जब हाम्रो घर भत्किन्छ, तब हामी अरुलाई दोष दिन थाल्छौं । अझ नेपालमा त क्या सजिलो छ आरोप लाउन । आरोप खेपिदिने र सहिदिने नेताहरु पाएका छौं हामीले । हरेक असफलतालाई हामीले राजनीति र राजनीतिकर्मीका टाउकामाथि थोपरिदिएका मात्र छैनौं, हामी एक किसिमको अराजकतामा आनन्द खोज्ने एनार्किस्टहरूको जमातमा परिवर्तन हुँदैछौं । यसरी बलिरहेको आगोमा घीउ थप्ने काम भने राजनीतिमा नयाँ अवसर खोजिरहेका र पुरानो व्यवस्थातिर फर्किन चाहनेहरूले अझ बढी गरिरहेका छन् ।

    हामीलाई नेपाल बनेको हेर्नुछ, तर नेपाल कसैलाई बनाउनु नै छैन । हामीलाई स्वर्ग जानु छ, तर मर्नु छैन । यस्तो दोग्लोपनले त नेपाल पक्कै बन्दैन । नेपाल आज जहाँ पुगेको छ, त्यो तिनै व्यक्तिहरुले बनाएका हुन्, जसलाई आज हामी परिवारसँग बसेर सुन्नै नसक्ने किसिमका गाली गर्छौं । जब तपाईं हाम्रो परिवारले आफ्नो भविष्य निर्माण गर्दै थियौं, तब यी गाली खानुपर्ने राजनीतिकर्मीहरू घरबार छोडेर देशको लागि ज्यानै सुम्पन लागिपरेका थिए । हिजो त्यस्तो निरंकुशता र सामन्ती समाजबाट आज यहाँसम्म त यिनैले ल्याइपुर्‍याएका हुन् नि ! हामी देशमा केही भएको छैन भन्छौं, तर के राणाकालमा आज जत्तिकै स्वतन्त्रता हामीले पाएका थियौं त ? कि एक वंशीय पञ्चायतमा पायौं ? के हाम्रो प्रतिव्यक्ति आय आज जति छ, त्यति नै थियो त ? के हाम्रो कुल गार्हस्थ उत्पादन बढेको छैन ?

    भारत र चीन जस्ता विशाल देशहरूको बीचमा अवस्थित अनि अमेरिका र पश्चिमाहरूको भू-राजनीतिक स्वार्थ रहने ठाउँ हुँदा पनि यो देशलाई यही राजनीतिले अफगानिस्तान, सिरिया, प्यालेस्टाइन जस्तो बन्न दिएन । माओवादी जनयुद्धको निवारण पनि धेरै सरल तरिकाले भयो । प्रतिकूल अवस्थामा पनि धेरै त्याग र तपस्याले जोगाइएको मुलुक हो यो ।

    आज जुन पुस्तालाई हामी गाली गरिरहेका छौं, उनीहरूको लोकतन्त्र प्राप्तिप्रतिको कमिटमेन्टले हामी आजको सुवर्ण व्यवस्थामा जिउन पाइरहेका छौं । तर, अवस्था परिवर्तनको जुन हाम्रो प्यास छ, त्यसको लागि हाम्रो पुस्ताले कमिटमेन्ट देखाउन पर्ने हो नि ! धेरैलाई लाग्छ, युवा र नयाँ भएकै भरमा अरुले प्रतिस्पर्धामा भाग नलिएर किस्तीमा सबथोक सुम्पिदिनुपर्छ ।

    तर, यति भनिरहँदा के हामीले गर्नुपर्ने केही छैन त ? त्यसो होइन गर्नुपर्ने धेरै छ, तर त्यसको उत्तर अराजकता, असंवेदनशीलता, स्टन्टबाज र पपुलिजम होइन । अराजकता आज आफूलाई नपर्दा रमाइलो लाग्न सक्छ, तर के त्यसले समाजलाई सही दिशामा लग्छ त ? केही महिनाअघि सिंहदरबार जलाइदिन्छु जस्ता अराजक अभिव्यक्तिलाई वाहवाही गरेका कारण महानगरकै बैठकमा महानगर दरबार जलाउने विषयले प्रवेश पायो । यसको अर्थ के हो भने लोकतन्त्रमा हाम्रा बहस सही भएनन् भने त्यसले राष्ट्रलाई यस्तो दलदलमा फसाउँछ, जहाँबाट जति उम्किन खोज्यो त्यसमा त्यति भासिँदै गइन्छ ।

    आज जुन पुस्तालाई हामी गाली गरिरहेका छौं, उनीहरूको लोकतन्त्र प्राप्तिप्रतिको कमिटमेन्टले हामी आजको सुवर्ण व्यवस्थामा जिउन पाइरहेका छौं । तर, अवस्था परिवर्तनको जुन हाम्रो प्यास छ, त्यसको लागि हाम्रो पुस्ताले कमिटमेन्ट देखाउन पर्ने हो नि ! धेरैलाई लाग्छ, युवा र नयाँ भएकै भरमा अरुले प्रतिस्पर्धामा भाग नलिएर किस्तीमा सबथोक सुम्पिदिनुपर्छ । तर, हामीले चाहेको युवा र नयाँ त्यस्तो कदापि होइन । हामीले चाहेको नयाँ भनेको त विचारमा नयाँपन हो । वर्तमानको आवश्यकतालाई बुझेर गतिशील हुनसक्ने नयाँपन पो हो ! संसारभरमै हुने त्यही हो । यदि त्यसो हुँदैन थियो त, संसारमै हरेक दशकमा नयाँ नयाँ दलको उदय हुन्थ्यो होला । नयाँ दललाई निषेध गरिनुपर्छ भन्ने मेरो आशय होइन । तर, हामीले चाहेको नयाँपन गतिशील हुनुपर्ने हो र वर्तमानलाई आत्मसात गर्न सक्ने विचार र नेतृत्व हो ।

    हामी युवाको परिभाषा पनि उमेरसँग जोडेर हेरिरहेका छौं । तर, युवा हुनु भनेको त जोस, जाँगर र ऊर्जाले भरिपूर्ण हुनु पो हो । ४० वर्षमुनिका राजनीतिमा चाहियो भन्ने हो भने त दैनिक १५ घण्टा खटिन सक्ने ४० माथिका भन्दा दैनिक दुई चार घण्टा पनि काम गर्न अप्ठेरो मान्ने ४० मुनिका ठीक भने बराबर भयो । हामीलाई खासमा चाहिएको युवामा हुने जोस र जाँगरयुक्त नेतृत्व हो, जसले परिपक्व तवरले आजको समाजलाई सुन्दर भविष्यतर्फ डोर्‍याउन सकोस् ।

    हाम्रो पुस्ताको राजनीति अराजकता र पपुलिजममा आधारित हुनुहुँदैन । म युवा पुस्तालाई के अनुरोध गर्न चाहन्छु भने न दलका न त व्यक्तिका, कसैको पनि दास नभइकन सकारात्मक हस्तक्षेप गर्न आवश्यक छ । राजनीतिमै यो हस्तक्षेप गर्नुपर्छ भन्ने छैन । सडक बनाउँदा अलकत्रा नखाइदिए पुग्छ, नागरिकता बनाउँदा देशको सार्वभौमिकता नबेचिदिए पुग्छ, मत हाल्दा विवेक प्रयोग गरिदिए पुग्छ । अनि सामाजिक सञ्जालको अराजकताभन्दा मैदानमा सकारात्मक कमिटमेन्ट देखाइदिए पुग्छ । ‘गाइज’ यदि अवस्था परिवर्तनको चाहना छ भने जुन कमिटमेन्टका साथ हाम्रो अघिल्लो पुस्ताले काम गरे, त्यही कमिटमेन्टका साथ युद्धस्तरमा हामीले काम गर्नुपर्नेछ । सामाजिक सञ्जालको रोमान्टिसिजमले परिवर्तन ल्याउन असम्भव छ ।

  • मलाई ट्वाइलेट जान साथी चाहिन्छ, तपाईंलाई नि ?

    मलाई ट्वाइलेट जान साथी चाहिन्छ, तपाईंलाई नि ?

    चितवन । विषय उठानको निर्णय गर्नुअघि अलमलमा पर्छु । यस्तो सानो विषयमा पनि के कुरा गरिरहेको होला भन्ने टिप्पणी धेरैजसो आउँछ । अझ आफ्नै भोगाइ बाँड्दा ‘महिलावादी’को ट्याग भिर्नुपर्ने जोखिम पनि छ । आफ्नो भोगाइ र परिवर्तन गर्न सकिने विषयमा ‘वाद’को ट्यागलाई इग्नोर गरेर आफू र आफू जस्ता समुदायले भोग्दै आएका विषयमा बहस चलाउनु आवश्यक पनि छ ।

    वादका चर्चा छोडेर मूल विषयमै लागौं । करिब ३ महिना पहिला व्यक्तिगत कामले काठमाडौं थिएँ । त्यो बेला मेरो महिनावारी भयो । महिनावारीमा रगत बग्ने चक्र नसकिँदै काम सकेर चितवन फर्किनुपर्ने थियो । गाडी लाग्ने भएकाले गाडीको यात्रा मेरो लागि हरेक पटक कष्टदायी नै हुन्छ । त्यसमाथि महिनावारीको दोस्रो दिन । दुई घण्टा बढी प्याड टिक्दैन ।

    सार्वजनिक बसको यात्रा गरेर चार घण्टाको बाटो गाडीले यात्रु कुर्ने समय, ट्राफिक, खाजा समय हिसाब गर्दा चितवन–काठमाडौं यात्रा करिब ६ देखि ८ घण्टासम्मको हुन्छ । करिब ५ बजे कलंकीमा चितवन आउने बस चढिसकेको थिएँ । बसले अझै एक घण्टा यात्रु कुर्ने अवस्था बुझेपछि महिनावारी प्याड फेर्न कलंकी चोेकमा रहेको सार्वजनिक शौचालय गएँ ।

    भित्र छिर्नुअघि नै बान्ता आउला जस्तो ट्वाइलेटको गन्धले हुरुक्कै बनायो । सलको एक छेउ मुखमा कोचेर हातमा पोको पारेर लगेको प्याड फेरें । प्याड त फेरियो, तर फाल्ने ठाउँ छैन । न पानी नै छ । ब्यागमा एउटा प्लाष्टिक थियो । त्यसैमा प्याड पोको पारें । बाहिर निस्किएँ । महिनावारीमा प्रयोग गरेको प्याड प्लाष्टिकमा पोको पारे पनि फाल्ने ठाउँ भेटिएन । पसलका अगाडि राखिएका कार्टुनमा लगेर फ्यात्त फाल्ने आँट आएन । महिनावारी रगत भएको प्याड ह्याण्ड ब्यागमा नै बोकेर बसमा फर्किएँ । अन्ततः घरै आएरमात्रै फाल्ने ठाउँ पाएँ मैले ।

    मेरो सार्वजनिक शौचालय प्रयोग गर्दाको दिक्कलाग्दो अनुभूतिलाई यथार्थमा देखाउने एउटा अध्ययन काठमाडौं उपत्यकामा दुई वर्षअघि भएको रहेछ । उपत्यकाका चार शहर काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर थिमि नगरका सार्वजनिक शौचालयको एउटा सर्भे भएको रहेछ ।

    देशको संघीय राजधानी काठमाडौं, ललितपुर र भक्तपुरका चार स्थानीय तहका ११५ सार्वजनिक शौचालय समेटिएको अध्ययनको मूल पक्ष- नेपालका महिलामैत्री शौचालय, काठमाडौं उपत्यकाका चार नगरपालिकाको अध्ययन थियो ।

    यो अध्ययनपछि प्राप्त नतिजामा सार्वजनिक शौचालयमा भित्रबाट लगाउने चुकुलसमेत नभएको प्रतिवेदनमा उल्लेख छ । त्यतिमात्रै होइन, महिलाका लागि चाहिने महिनावारी प्याड (शौचालय आसपास किन्नसमेत नपाइने) उपलब्ध नभएको, पानी नभएको, फोहोर व्यवस्थापनको कमजोर अवस्था रहेको अध्ययनमा उल्लेख छ । अध्ययन प्रतिवेदनअनुसार सबैजसो शौचालयको अवस्था अति नाजुक छ ।

    कहाँ राख्ने झोला ?

    हाम्रा सार्वजनिक शौचालयमा प्याड फाल्नेमात्रै समस्या होइन, यात्रा गर्ने अवस्थामा महिलाहरुले भोग्नुपर्ने अर्को पनि अप्ठेरो छ ।

    सामान्यतया सार्वजनिक यात्राका क्रममा पुरुषहरु शौचालय प्रयोगका हकमा आत्मविश्वासी देखिन्छन् । अझ सार्वजनिक साधनको यात्रामा शौचालय जान पुरुषलाई खासै अप्ठेरो देखिँदैन, तर महिलाहरु प्रायः एउटा साथी लिएर जान रुचाउँछन् । महिलाहरु ट्वाइलेट जाने बेला किन साथी खोज्छन् ? कहिल्यै यो विषयलाई मिहिन रुपमा याद गर्नुभएको छ ?

    अझ पुरुषहरुलाई कमजोर करार गर्नुपर्‍यो भने सार्वजनिक रुपमा भन्ने गर्छौं- कस्तो ट्वाइलेट जान पनि साथी खोज्ने केटी मान्छे जस्तो ! हो महिला साथी नभइ ट्वाइलेट जान सक्दैनन्, तर किन ? कहिल्यै यो तरिकाले हामी सोच्ने गर्छौं त !

    हुन त ‘जाबो’ ट्वाइलेटको बारेमा पनि को सोचिबस्छ ? अझ नेतृत्व तहमा बस्नेलाई, देश बनाउँछु भन्नेलाई ट्वाइलेटबारे सोचेर बस्ने कहाँ फुर्सद, तर वर्षौंदेखि नेपाली महिलाले सार्वजनिक यात्रामा साथी लिएर शौचालय जाने भएकाले महिलाका हकमा ट्वाइलेट पनि एक्लै जान सक्दैनन् भन्ने टिप्पणी किन सुनिँदै आएको होला ?

    महिलाहरु साथीविना हिँड्न सक्दैनन्, कमजोर आत्मविश्वासका हुन्छन् भन्ने दृष्टिकोणबाट हुने आलोचना बाल्यकालदेखि सुनिँदै आएको हो । यो विषयमा महिला हुनुको भोगाइ थाहा पाउनुस् है त ! सार्वजनिक यातायातमा होस् वा व्यक्तिगत यातायातको साधनमा, जहिल्यै यात्रा गर्दा मलाई सार्वजनिक शौचालय जाने बेला झोला राख्ने ठाउँले अलमल पार्छ, अनि खोज्नुपर्छ साथी । आफू ट्वाइलेट बसुञ्जेल बोकाउनुपर्छ उसलाई झोला ।

    अझ हातमा झोला पनि छैन र साथी पनि साथमा छैनन् । एक्लै सार्वजनिक शौचालय जानुपर्ने भो भने महिला दिदीबहिनीहरु भन्नुस् त, तपाईंहरु कहाँ राख्नुहुन्छ हातको मोबाइल ? महिलाको शरीरको प्रकृतिले नै पुरुष जस्तो उठेर शौच गर्न सम्भव छैन । हिजोआज हामी पाइन्ट त लगाउँछौं, तर फोन गोजीमा राखेर दिसापिसाब गर्न मिल्दैन, खस्छ । मसँग दुइटा उपाय हुन्छ । एउटा- मुखमा च्याप्ने, अर्को- छातीमा राख्ने ! मोबाइल असाध्य फोहोर हुनेमध्ये एउटा डिभाइस हो, त्यसैले मुखमा च्याप्न घीन लाग्छ । म अधिकांश समय दोस्रो उपाय अपनाउँछु ।

    सुन्दा हाँसो लाग्दो पनि होला, तर सार्वजनिक शौचालय जानुपर्दा आफ्नै सामान व्यवस्थापनको तनाव भोग्नुपर्ने महिलाको मानसिक अवस्था कति दिक्कलाग्दो होला ? अनुमान गरौं त !

    यसको समाधान छैन त ?

    सार्वजनिक शौचालय यस्तै त हो, हामीलाई यस्तै पनि लाग्न सक्छ, तर सानो र कम खर्चमा व्यवस्थापन गर्न सकिने विषय हो यो । नेपालभित्रै केही स्थानमा अभ्यास पनि छ । जस्तो त्रिभुवन विमानस्थल, परराष्ट्र विभागलगायत केही ठाउँको शौचालयमा यी विषय सम्बोधन भएका छन् । बाहिर बस्ने वा जानेहरुलाई त यो छलफलको विषय नै लाग्दैन । जहाँ विकास प्रक्रियामै यस्ता साना लाग्ने विषय समेटिन्छन्, त्यो छलफलमा ल्याउनुपर्ने कुरै भएन ।

    नेपालमा महिला पुरुष सराबरी मोबाइल बोक्न थालेको धेरै भएको छैन । तर, आफ्नो सामान राखेर झोला बोक्ने त पुरानै चलन हो । यसको व्यवस्थापनको लागि महिला शौचालयमा (आवश्यक भए पुरुषमा पनि) हलुका झोला झुण्ड्याउन मिल्ने हुक हालिदिन सकिन्छ । नयाँ वा भएकै शौचालय व्यवस्थापनको लागि पन ठूलो खर्चको विषय होइन ।

    शौचालयमा हामीले बाथरुममा साबुन राख्न प्रयोग गर्ने जस्तो मोबाइल अटाउने एउटा सानो पाता ठोकिदिन सकिन्छ । ट्वाइलेटमा पसेपछि त्यही मोबाइल राखेर महिलाहरु दिसापिसाब गर्न सक्छन् । त्यसपछि तपाईंले भन्ने गरेका झोला कुरुवा साथी लिएर महिलाले शौचालय जानै पर्दैन । अर्को महिनावारीको प्याड व्यवस्थापन गर्ने र पानीको व्यवस्था त आधारभूत विषय हुन् ।

    सन् २०२२ मा नेपालमा गरिएको अध्ययनमा जम्मा २५ प्रतिशत शौचालयमात्रै बत्ती, पानी र महिनावारी सामग्री उपलब्धता र व्यवस्थापनको हिसाबले सन्तोषजनक पाइएको थियो ।

    अव्यवस्थित शौचालय महिलाको सार्वजनिक टिप्पणीसँग पनि जोडिँदै आउने गरेको छ । हामीलाई पनि फरक चेतबाट नहेरेकाले होला सामान्य झैं लाग्छ, तर यो विषय महिलाको होइन, विकासको चेतसँग छुटेको विषय हो । विकास भनेको पूर्वाधारसँगै चेतना पनि हो । शौचालय व्यवस्थापन विकासमात्रै होइन, चेतनाको अभिन्न अंग हो ।

    जसरी मानिसले सभ्यताको विकासक्रमसँगै खुला ठाउँ छोडेर तोकिएको ठाउँ हुँदै व्यवस्थित स्थानमा दिसापिसाब गर्न थाल्यौं, यसरी यसको व्यवस्थापन पनि चेतनासँग जोडिएको छ । समाजमा महिला, पुरुष, अन्य लैंगिक समूह तथा विशेष शारीरिक अवस्थाका मानिस पनि छन् । उनीहरुप्रति हामी कस्तो दृष्टिकोण राख्छौं, उनीहरुलाई हामी व्यक्ति, समाज, राज्यले कसरी मूल प्रवाहीकरण गरिरहेको छ भन्ने प्रस्ट देखाउने विषय सार्वजनिक शौचालय हो ।

  • राष्ट्रिय परिचय पत्रको नाममा नागरिकलाई सास्ती नदेऊ सरकार !  

    राष्ट्रिय परिचय पत्रको नाममा नागरिकलाई सास्ती नदेऊ सरकार !  

    नेपालका नागरिकलाई यतिसम्म पनि हैरानी छ की केही काम पर्‍यो भने एउटामात्र नभई थरीथरीका कागजात बोकेर हिँडनु पर्छ । अहिले सरकारले फेरि राष्ट्रिय परिचय पत्रको नाममा जनतालाई दु:ख दिन सुरू गरेको छ ।

    सरकारले हरेक सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौंलगायतका २८ जिल्लामा आउँदो साउन १ को सीमा तोकिएको छ । वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता लिन पनि अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा वृद्धवृद्धा तथा अशक्तहरूको भत्तासमेत रोकिने अवस्था छ । विनातयारी मन लागेको बेलामा हुकुमी शैलीमा ल्याइने यस्ता निर्देशन र आदेशको मारमा जनता छन् ।

    राष्ट्रिय परिचय पत्रका लागि जिल्ला तहमा संकलित विवरण कता पुगे ? २०७८ सालमा संकलन गरिएको विवरणका परिचय पत्र अहिलेसम्म पनि जिल्ला तहमा आइपुगेको छैन । जिल्लाका प्रशासन कार्यालयका अधिकारीसमेत कहिले आउँछ भन्ने नाजवाफ छन् ।

    सरकारी सेवालाई विना झण्झट प्रभावकारीरूपमा लिन पाउने व्यवस्था मिलाउनुको सट्टा विभिन्न नाममा दिइने सास्तीले नागरिकलाई पीडित बनाएको छ । नागरिकता हुदाँ हुदै तत्काल राष्ट्रिय परिचय पत्र नै किन अनिवार्य गर्नु पर्‍यो ? ७७ वटा जिल्लामध्ये कति जिल्लाका नागरिकको हात-हातमा राष्ट्रिय परिचय पत्र पुगेको छ ? सरकारसँग तथ्यांक छ ? राष्ट्रिय परिचय पत्रका लागि जिल्ला तहमा संकलित विवरण कता पुगे ? २०७८ सालमा संकलन गरिएको विवरणका परिचय पत्र अहिलेसम्म पनि जिल्ला तहमा आइपुगेको छैन । जिल्लाका प्रशासन कार्यालयका अधिकारीसमेत कहिले आउँछ भन्ने नाजवाफ छन् ।

    बनेर आएका परिचयपत्रसमेत पोको पारेर राखिएको छ । जबसम्म सबै जिल्लाका नागरिकको हातमा राष्ट्रिय परिचय पत्र पुग्ने सहज वातावरण बन्दै तबसम्म यो अनिवार्य लागू हुन सक्दैन । यो जिम्मेवारी लिएर बसेको सरकारी निकायले जनशक्ति र मेसिन थपेर परिचय पत्र समयमा छाप्ने साथै स्थानीय तहसमेतको सहयोगमा वितरणको संयन्त्रलाई मजबुत बनाउनुपर्छ ।

    एउटा नेपाली नागरिकको जन्मिएदेखि मृत्युपरन्तसम्म विभिन्न परिचयपत्र आवश्यक पर्छ । यदि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने हो भने हरेक सेवा त्यही परिचयपत्रबाट उपलब्ध हुने व्यवस्था मिलाइनुपर्छ ।  ताकि, नागरिकता, लाइसेन्स, अन्य परिचयपत्र बोकेर हिँडनु नपरोस् । एउटै कागजले काम गर्ने गरी नीतिगत व्यवस्था गरौं सबैको हातमा पुगेपछि अनिवार्य कार्यान्वयनको प्रक्रियामा लगौं ।

    त्यसैले सरकार, अलि अलि छापेर परिचय पत्र अनिवार्यको नाममा नागरिकलाई दु:ख दिने हैन, पहिले सबैको हातमा राष्ट्रिय परिचयपत्र पुग्ने वातावरण बनाऔं ।

    (कोइराला भोजपुरमा बसेर पत्रकारिता गर्छन् । )
  • नेतृत्वले क्रिकेट कहिलेसम्म हेरेरमात्रै बस्ने ?

    नेतृत्वले क्रिकेट कहिलेसम्म हेरेरमात्रै बस्ने ?

    नेपालले गत वर्ष एसिया कप र यो वर्ष विश्वकप टी-२० क्रिकेटमा सहभागिता जनायो । नेपालका लागि क्रिकेटका यी दुई ठूला रण संग्राममा छनोट हुनु नै एउटा विजय थियो । यी प्रतियोगिताको अन्तिम स्पर्धामा नेपालका खेलाडीहरुले आफ्ना सीमित स्रोत र राज्यको कर्मकाण्डी व्यवहारका बावजुद नेपालीहरुको मन जिते ।

    यसअघि नेपालले १० वर्ष अगाडि पहिलो पटक आफूलाई टी-२० विश्वकपमा प्रवेश गराउँदै विश्व क्रिकेट मानचित्रमा एउटा बुलन्द सन्देश दिएको थियो । त्यो १० वर्ष पहिले र आजको दिनसम्मको यात्रामा नेपाली क्रिकेटले क्षमता प्रदर्शन गर्‍यो । हाम्रा खेलाडीले उनीहरुले सकेको गरे, तर यो दश वर्षमा हामीले एउटा महत्वपूर्ण फड्को मार्ने अवसर थियो, जुन चिज सरकार र नेपालको निजी क्षेत्रको सहभागितामा कुनै ठूलो खेलोफड्को थिएन ।

    यी दुबै क्षेत्र कर्मकाण्डी स्याबासीबाट माथि उठ्न सकेन । यो विश्वकपको दौरानमा नेपाल एउटै कुरामा कमजोर देखियो, त्यो हो अनुभव । क्रिकेटका एसोसियट राष्ट्रहरुमा आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको नेपाली क्रिकेटलाई यो देशले यो १० वर्षमा त्यस्तो घनीभूत के दियो ?

    उत्तर- केही छैन् ।

    यो उत्तर मलाई मात्र होइन, खेलप्रेमी नेपाली सबैलाई अप्रिय लाग्छ । नेपाली क्रिकेटका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद्, क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) कसैले पनि गम्भीर भएर केही गरेकै छैनन् । यदि गरेका हुन्थे भने क्यान २०७३ सालमा आईसीसीको प्रतिबन्धमा पर्ने थिएन । यदि गरेका भए देशका प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष अगाडि टीयू क्रिकेट मैदानमा फ्लड लाइट राख्न दिएको निर्देशन केही समयमै पूरा भइसक्नु पर्थ्यो, तर आजसम्म भएको छैन । बरु यतिबेला प्रम सुपुत्री गंगा दाहालले फ्लडलाइट राखिसकियो भनेर गरेको पोस्ट मानसपटलमा आउँछ ।

    यो विश्वकपको दौरानमा नेपाल एउटै कुरामा कमजोर देखियो, त्यो हो अनुभव । क्रिकेटका एसोसियट राष्ट्रहरुमा आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको नेपाली क्रिकेटलाई यो देशले यो १० वर्षमा त्यस्तो घनीभूत के दियो ?

    यदि गम्भीर भएको भए यो अवधिमा मूलपानीको क्रिकेट मैदान तयार भइसक्नुपर्ने होइन र ? तर भइरहेछ के भन्दा वैकल्पिक शक्तिका रुपमा देखापरेको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सासंदहरु जर्सी लगाएर हुल बाँधेर संसद भवन प्रवेश गर्छन् र भाइरल फुटेजको लागि क्लिक सट दिन्छन् । स्मरणीय के छ भने खेलकुद मन्त्रालय यही दलले हाँकिरहेको छ ।

    आफूले फ्लडलाइट राख्न दिएको निर्देशनको कार्यान्वयन के भयो, त्यो प्रधानमन्त्रीलाई थाहा छैन, तर आउँछ केभन्दा जर्सी लगाएर सोफामा बसेर क्रिकेट हेरिरहेको तस्विर ! के यही शैलीले हाम्रो क्रिकेट अगाडि बढ्छ ? हामी भारत, अस्ट्रेलिया जस्ता क्रिकेटका महारथीसँग नियमित पैंठेजोरी खेल्ने अवस्थामा पुग्छौं त ?

    यसका लागि सरकार, राखेप र क्यानसँग कहाँ छ गुरुयोजना ?

    छ भने त्यो कहिले र कसरी सुरु हुन्छ ?

    यी प्रश्नको जवाफ खोज्न मुस्किल छ । नेपाल सरकार र नेपाली क्रिकेट नेतृत्व ‘नेपाल विश्वकपमा पुग्यो’ भन्ने क्षणिकतामा मात्र रमाइरहेका छन् । के हामी फेरि अर्को १० वर्ष कुरेर अहिले जसरी नै रमाउनेमात्र हो । खेलमात्र एउटा यस्तो माध्यम हो, जसबाट विदेशी भूमिमा देशको झण्डा लहराउँदै गर्वसाथ हिँड्न सकिन्छ । खेलले नै देशलाई चिनाउँछ । सगरमाथा र बुद्धको देशबाहेकको नेपालको परिचय दिनसक्ने खेललाई हाम्रो किन यस्तो उपेक्षा ?

    आजको मितिमा क्रिकेटले मात्र विश्वकपको मैदानमा आफूलाई उभ्याउन सकेको छ । फुटबललगायतका अन्य खेल यो अवस्थामा कहिले पुग्छ ? हामीलाई थाहा छैन । यस्तोमा क्रिकेटमा सरकारले आफ्नो लगानी किन नबढाउने, किन ठोस योजनामा काम नगर्ने ? सरकारले नगरे यो गरिदिने कसले हो ?

    क्रिकेटलाई मजबुत बनाउन देशमा थरीथरीका पिच भएका क्रिकेट रंगशाला आवश्यक छ । टीयू मैदानको पिचले मात्र हाम्रो ब्याटिङ सुध्रिने अवस्था छैन । हामीलाई त्यहीअनुसार प्रशिक्षण आवश्यक छ ।

    यसका लागि हामीले ठोस योजना ल्याउनुपर्छ । विश्वकप र यसैपालि खेलेको एसिया कपलगायतका प्रतियोगितामा नेपालमा अनुभवको कमी देखियो । क्यानले एक वर्षदेखि टीमलाई सँगै राखेर तयारी त गरायो, तर यो हाम्रा लागि पर्याप्त हुनसकेन । विश्वकप र एसिया कप अगाडि हामीले हामीभन्दा बलिया राष्ट्रमा गएर त्यहाँका बलिया टीमसँग क्रिकेट खेल्ने वातावरण बनाउन नै सकेनौं । यसमा क्यानको किचलो र फोहोरी राजनीतिबाट नेतृत्वले फुर्सद निकालेर सोच्ने र योजना बनाउने काम नै बनाउन सकेन ।

    विश्वकप खेल्न र वातावरणसँग भिज्न हाम्रो टोली विश्वकप खेल्नु एक महिना अघि नै अमेरिका गयो, तर त्यहाँ गएर खेलिएका अभ्यास खेल हामीलाई विश्वकप अनुभवका लागि परिपक्व बनाउने किसिमका थिएनन् । विश्वकपमा हुनुपर्ने जति तयारी नभएको पटक पटक हाम्रा क्रिकेट कप्तानले नै भनिरहे ।

    क्रिकेटका धुरन्धर राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश नजिक रहेको नेपालले खेल स्तर सुधार्न क्रिकेट डिप्लोमेसीमा किन ठोस कदम चालिरहेको छैन । आईसीसीसँग समन्वय गर्न सकेको पनि यो विश्वकपमा देखिएन । विश्वकपमा हाम्रा खेलाडीले सकेको गरे । केही खेलमा हामी जितको नजिक पुगेर पनि त्यसलाई हासिल गर्न सकेनौं, तर विश्वका क्रिकेटप्रेमीका माझ नेपालले आफ्नो उज्यालो भविष्यको संकेत भने गर्न सक्यो ।

    अबको हाम्रो रणनीति भनेको जतिसक्दो धेरै बलिया टोलीसँग क्रिकेट खेल्ने हुनुपर्छ । कुनै समय नेपालभन्दा कमजोर भएर क्रिकेट सुरु गरेको अफगानिस्तानले एउटा लामो फड्को मारिसकेको छ । नेपालसँग उसले क्रिकेट खेल्न चासो दिइरहेको छ ।

    क्रिकेटलाई मजबुत बनाउन देशमा थरीथरीका पिच भएका क्रिकेट रंगशाला आवश्यक छ । टीयू मैदानको पिचले मात्र हाम्रो ब्याटिङ सुध्रिने अवस्था छैन । हामीलाई त्यहीअनुसार प्रशिक्षण आवश्यक छ । निःसन्देश मोन्टी देशाईले नेपाली क्रिकेटमा ऊर्जा थपिरहेका छन्, तर हामी अगाडि बढ्ने हो भने हामीले अझ स्तरीय प्रशिक्षक ल्याउनुपर्छ । हामी अझै पनि बलरको भरमा क्रिकेट खेलिरहेका छौं । नेपालले ब्याटिङ सुधारका लागि पर्याप्त कदम चाल्नुपर्ने देखिन्छ ।

    अबको हाम्रो रणनीति भनेको जतिसक्दो धेरै बलिया टोलीसँग क्रिकेट खेल्ने हुनुपर्छ । कुनै समय नेपालभन्दा कमजोर भएर क्रिकेट सुरु गरेको अफगानिस्तानले एउटा लामो फड्को मारिसकेको छ । नेपालसँग उसले क्रिकेट खेल्न चासो दिइरहेको छ । हामीले यस्ता मौका खेर जान दिनुहुन्न । छिमेकी राष्ट्र भारतको क्रिकेटका क्षेत्रमा दबदबा छ । कैयौं कुरामा उसको साथ लिएको नेपालले क्रिकेटको विकासका लागि गम्भीर योजनासहित लबिङ गर्नैपर्छ । बाँकी पाकिस्तान, श्रीलंका एवं बंगलादेशलगायतका मुलुकसँग पनि यस्तै गर्न सकिन्छ ।

    चाहना भए यो सबै चिज गर्नै नसकिने काम होइनन्, तर हाम्रो खेल नेतृत्व बोलीमा मात्र गम्भीर छ । नेपाली खेलाडीहरुको क्षमता र सम्भावना कति छ बन्ने कुरा आईपीएलसम्म खेलेका खेलाडीको यात्रालाई लिन सकिन्छ । हङकङमा बलिङ गरिरहेको एउटा १५ वर्षे ठिटाको प्रतिभा पहिचान गरेर अस्ट्रेलियाका पूर्वकप्तानले उतै लगेर आफ्नो घरमा राखेर ग्रुमिङ गरेर आईपीएलसम्मको यात्रा तय गराइदिन सक्छन् भने हाम्रो खेल नेतृत्व किन अगाडि बढिरहेको छैन ।

  • दही चोकका इतिहासकारहरूप्रति सम्मान र श्रद्धाञ्जली

    दही चोकका इतिहासकारहरूप्रति सम्मान र श्रद्धाञ्जली

    लामो फड्को मार्ने आँटीले तर्नसक्ने गेउरिया खोलो । खोला वारि, डिल मास्तिर दुई काठे घर । त्यसका पश्चिमतिर बाटातर्फ फर्किएका खर र टिनको मिश्रित छानो र काठको बेरा भएका लहरै चार वटा घर । २०५० सालभन्दा केही अघितिरको स्मरण, झापाको लखनपुर गाविसको वडा नं ४ । महेन्द्र राजमार्गमा पर्ने पाडाजुङ्गी चोकदेखि सीमान्त गाउँ गौरीगञ्ज जोड्ने ढुङ्गे बाटो लमतन्न थियो । त्यही लमतन्न सडक किनारका चार घरको झुप्पो दही चोक ।

    ती थोत्रा काठे घर मक्किए । केहीले स्वरुप फेरे, रंग बदले, धनी बदले । तर, दही चोक अझै पनि खडा छ । यो तीन-साढे तीन दशकका बीचमा दही चोकको दही हजारौंले चाखिसके । तर, अचेल यही दही चोकमै दही होइन, मोही पाउन पनि कठिन भइसक्यो । त्यसो त, दही चोकले धेरै रमिता देख्यो । कैयौं रैथाने रमिता विस्मृतिमा पुग्दा न्यास्रिएको पनि छ, दही चोक । वर्षाका बेला धान र पाटा बोकेका पञ्जाबी ट्रक पुरिने बाटोका खाल्डा दुई चरणको कालोपत्रेले निलिसकेको छ । टुकीमा मट्टीतेल भरेर थाङ्नाको सलेदो फेर्नुपर्ने साँझहरु बिजुली बत्तीमा झिलिमिली भएका छन् । परदेशीको खबर बुझ्न दमकको आवाघरको बाटो हातहातका स्मार्ट मोबाइलले विरानो पारिदियो । सजिला धेरै भए । सुविधा धेरै पुगे । आनन्द छ, दही चोकमा ।

    विरानो पनि लाग्छ दही चोक, कैयौं दृश्य र सम्झनाले । बडेमानका हात्ती चढेर आउने जिम्दारहरु सायद बिते होलान् । बिचरा ती हात्ती चैँ के भए होलान् कुन्नि ? हातमा मकैका घोगा र बुटा बोकेर रमिता हेर्ने आँखा अझै पनि फट्किरी टोकेको मुख जस्ता भएका छन् । हात्तीले टेकेको माटो बारीमा छर्दा फलिफाप हुने कैरन सुनेको दही चोक त्यसै गर्थ्यो । कहाँ देखोस् जिम्दारहरुका ती हात्ती र कहाँ पाओस् दही चोकले अचेल ती हात्तीका पैतालाको माटो ।

    न्यास्रिएको छ दही चोक । डोलीमा बोकिएर आएका बेहुली हेर्न पिपल चौतारोमा धुइरिन पाउँदैन अचेल दही चोक । पिपलको सयेंलमा बेहुलीलाई बिसाएर काँधको गाम्छाले पसिना पुछ्ने महसुरहरुका पाखुरा पनि सुके होलान् अचेल । गोरुगाडामा झल्लाको छानो हालेर जन्ती जानेहरु कहाँ देखोस् दही चोकले । गाडाको ताँतीबाट आउने ‘चुई चुई’ सुन्न नपाएर खिस्रिक्क परेको छ दही चोक ।

    बडेमानका हात्ती चढेर आउने जिम्दारहरु सायद बिते होलान् । बिचरा ती हात्ती चैँ के भए होलान् कुन्नि ? हातमा मकैका घोगा र बुटा बोकेर रमिता हेर्ने आँखा अझै पनि फट्किरी टोकेको मुख जस्ता भएका छन् । हात्तीले टेकेको माटो बारीमा छर्दा फलिफाप हुने कैरन सुनेको दही चोक त्यसै गर्थ्यो ।

    झमझम झरी परेका बेला गौरीगञ्जबाट आउने आँप बोकेका गाडाका लस्कर, माटोका भाँडा बोक्नेहरुका ताँती, धानसँग बाँसका ढाकी र कोठा साट्न आउने श्रमजीवी, मामफुलीको ढाकी बोकेर खमार खमार धाउने मेहनती पाइलाहरु कहाँ रोकिए होलान् ? टिनको चौकुने बाकसमा साइकलको पछाडि बाँधिएर आउने दूध बरफ, रातो बरफ र पानी बरफ नभेट्दा खडेंरीमा खरिएको वर्षौं भयो दही चोक । त्यही बरफ गाउँमा भित्रिएको जनाउ दिने डमरुको ‘डमडम’ आवाज पर्खिएर प्याससँग जुधिरहेको छ, न्यास्रिएको छ, दही चोक ।

    कहाँ छन् ती इतिहासकार ?

    दही चोक बनाउने इतिहासकारहरु कहाँ गए होलान् ? जसका कारण बेनाम बस्तीले दही चोक नाम पायो । उनीहरु अहिले नेपथ्यमा छन् । सोनापुर र गेउरिया जस्ता पुराना बस्तीका माझको झुप्पो बस्तीलाई दही चोक नामकरण गराउनेहरु के गर्दै होलान् ? उनीहरुले उत्पादन गरेको दहीकै कारण बिहान १० बजे विराटनगरतर्फ लागेर साँझ ५ बजे लखतरान भएर फर्किने लालीगुराँस बस झ्याप्पै रोकिन्थ्यो, त्यो गाउँमा । पाडाजुङ्गी-गौरीगञ्ज सडकमा पर्ने गेउरिया पैनीमाथिको काठे पुलमा भद्रपुर जाने २२ नम्बरे र ४६० नम्बरे आरती बस आइपुग्दा पुलका बाकलको ‘घर्‍याकघुरुक’ ५० पाइला तल्तिरको हाम्रा घरसम्म पस्थ्यो । बुङबुङी धूलो उडाउँदै बोलबम, अन्नपूर्ण र गोधूली बस धरान र विराटनगरदेखि धाउँथे । लालुपाते एक्सप्रेसमा काठमाडौंवासी पुग्थे । अटेसमटेस गरेर चल्ने सीता ट्याक्सीहरु दही चोकमा पानी भर्दै दमक र गौरादह गर्थे । तिनै बस र ट्याक्सीबाट हलुङ्गेका ट्याम्पी खत्र्याङखुत्रुङ पार्दै झर्थे दही चोकका इतिहासकारहरु ।

    गेउरिया, विष्णुकट्टा, लालध्वन्द्रा, पिङडाँडालगायतका गाउँबाट दूध जम्मा हुन्थ्यो, गेउरिया चोकमा । पुरुषहरु बिहानै गाग्रीहरु लिएर दूध संकलनका लागि पुग्थे । दैनिक एक जना दहीवालाले ५० देखि १५० लिटरसम्म दूध वर्षौंसम्म ओसार्दा खुइलिएका काँध अहिले कस्ता भए होलान् ? दूध संकलन गर्ने, आँगनमा पित्ले कुँडेमा दनदनी आगो बालेर तताउने । दारका ठेकी र हर्पेमा जमाउने काम पुरुषहरुको थियो । अर्थात हाम्रा हजुरबाहरुको । बिहान ३ बजे उठेर ठेकामा जमाइएको दही सिल्भरे ट्यामीमा खन्याउने, बिर्कामा दाउराको चोइटोको चाबी लगाउने र काकँडभिट्टासम्म लगेर बेच्ने काम महिलाहरुको । अर्थात हजुरआमाहरुको । ठिक्क पारिएको दहीका भाँडा साइकलमा राखेर आधा घण्टाको दूरीमा पर्ने पाडाजुङ्गी चोकसम्म पुर्‍याइदिने काम छोराखाल अर्थात बुवाहरुको ।

    कहिलेकाहीँ रहरले म पनि त्यो सम्हाल्न तम्सिन्थें । बिहान उठ्न ‘अलार्म’ चाहिँदैन थियो । गाउँका भाले मन लागे बास्थे, मन नलागे बास्दैन थिए । बास्नैपर्ने तिनीहरुलाई केको टन्टो ! नबासे पनि हजुरआमाहरु आफैं थाहा पाउँथे रातको अन्तिम प्रहर । अनि उनीहरुले उठाउँथे सघाउने अरु पुरुषहरुलाई । पुरुषहरु दूध संकलन र दही बनाउने काममा मात्र लाग्दैन थिए, दही बेच्न जाने आमा वा श्रीमतीहरुलाई वर्षे झरीमा चुल्हो नबल्दा पनि मट्टीतेल हालिने सलेदोवाला स्टोभमा चाम्रे पनि बनाइदिन्थे, उनीहरुको खाजाको बन्दोबस्ती मिलाइदिन्थे । कस्तो राम्रो कार्य विभाजन !

    दही चोक बनाउने इतिहासकारहरु कहाँ गए होलान् ? जसका कारण बेनाम बस्तीले दही चोक नाम पायो । उनीहरु अहिले नेपथ्यमा छन् । सोनापुर र गेउरिया जस्ता पुराना बस्तीका माझको झुप्पो बस्तीलाई दही चोक नामकरण गराउनेहरु के गर्दै होलान् ?

    दैनिक सय लिटरभन्दा बढी दही । हाम्रै घरकी हजुरआमा (पवित्रादेवी गुरागाईं), बरालनी हजुरआमा, माथि मंगलबारेभित्र झारबारीकी दाहालनी हजुरआमा, मंगलबारेकी उप्रेती आमाहरु सीमावर्ती पूर्वी बस्ती काँकडभिट्टासम्म लिएर पुग्थे । चैते खडेरी र चर्को घाम, वर्खे झरी र भेल । न आँधीले रोक्थ्यो न त बादलले छेक्थ्यो । पौरख गर्ने ती आमाहरुले दशकौंसम्म यही रफ्तारको पौरखमात्र गरेनन्, अनाम बस्तीको नाम पनि स्थापित गरिदिए, दही चोक । दही चोकबाट दमकसम्म दही लानेमा पोखरेल हजुरआमा, खनाल हजुरआमाहरु, अधिकारी हजुरआमा, मास्तिर कान्छी फूपूहरु पनि यही मेसोमा हुनुहुन्थ्यो । पौरखको सिलसिला दशकौं चल्यो ।

    अहिले सिथिल भएका दही चोकका इतिहासकारहरु पञ्चामृत वा पञ्चगव्य बनाउन पनि दही खोज्न धर्खराउँदै हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । उनीहरुले बल र बरगत हुन्जेल पौरख गरे । पौरखले परिवार चलाए, गाउँ चलाए, गाउँको सुनाम चलाए । तर, उनीहरु पनि गले, थाके । व्यवसायिक ढाँचा र ढर्रामा आएको परिवर्तनले उही स्वरुपमा यो पेशाले निरन्तरता पाउन सकेन । आधुनिक रुपमा पनि कसैले दही चोकमा दही उद्यम गर्न सकेन । अहिले दहीविनाको गाउँ बनेको छ, दही चोक ।

    नाम फेर्ने घनचक्कर

    गणतन्त्र आएपछि कैयौ चोकहरुका नाम फेरिए । जनआन्दोलन चोक, गणतन्त्र चोक, मुक्ति चोक आदि आदि । बस्ती विकासको इतिहास बनाएका रैथाने नामहरु परिवर्तनको भेलले बगाएर लग्यो ।

    चोकको के कुरा, कैयौं देशकै नाम समयले फेरेको छ । शहरहरुले नयाँ भोटो लाए जस्तै नयाँ नाम पाएका छन् । परिवर्तन अविरल र अनवरत रहने कुरा हो । त्यसैले दही चोकको मात्र नाम नफेरिनुको कारण पनि के नै छ र ? दुनियाँको नाम फेरिँदा मामुली दही चोकको मात्र केही नफेरिनु कुन चैँ ठूलो पुरातात्विक नाम र ठाम हो र दहीचोक ? हो, फेरियो यसको पनि नाम !

    २०५० साल जेठ ३ गते एमाले नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको निधनको शोक दही चोकसम्म पुग्यो । स्तब्ध भयो दही चोक पनि । दिवङ्गत नेताहरुप्रति सम्मान र श्रद्धा गर्नेहरुकै बाहुल्य थियो, दही चोकमा । राष्ट्र परिवर्तनका लागि युगान्तकारी परिवर्तन गर्ने नेताहरुको स्मृतिमा मामुली एउटा बस्तीको नाम परिवर्तन किन नगर्नु ? घर अगाडि एउटा काठे घुम्तीमा किराना पसल थियो हाम्रो । त्यही पसल र सडकका माझमा ‘मदनपुर टोल, लखनपुर- ४ झापा’ लेखिएको एउटा टिनको पातो काठको बाकलमा ठोकेर उभ्याइयो । नेता मदनकै प्रतिमूर्ति सम्झिएर फूलमाला पनि त्यही बाकलमा चढाइयो । बिहान गौरीगञ्ज, दामुनाबाट आउने केही बसहरुलाई हामीभन्दा ठूलाहरुले रोक्दै सम्झाए, ‘अब यो ठाउँलाई दही चोक होइन, मदनपुर भन्नु’ भनेर ।

    बिहान उठ्न ‘अलार्म’ चाहिँदैन थियो । गाउँका भाले मन लागे बास्थे, मन नलागे बास्दैन थिए । बास्नैपर्ने तिनीहरुलाई केको टन्टो ! नबासे पनि हजुरआमाहरु आफैं थाहा पाउँथे रातको अन्तिम प्रहर । अनि उनीहरुले उठाउँथे सघाउने अरु पुरुषहरुलाई ।

    त्यसको केही महिनापछि, गौरादहमा तत्कालीन एमाले नेतृ विद्या भण्डारी तथा सोही क्षेत्रका नेता केपी शर्मा ओलीको सम्बोधन थियो । जाँदा उनीहरु हतारमा थिए, ‘मदनपुर टोल’मा रोकिन भ्याएनन् । नेतृ भण्डारी गौरादहबाट दमकतर्फ फर्किंदा उनलाई स्वागत सम्मान गर्ने भनेर बेलैमा खाना खाएर खासगरी आमाहरु त्यही मदनपुर लेखिएको बाकलका फेदमा भेला भए । हामी भुराहरु पनि आमाहरुका गुन्युका फेर समाउँदै ताँतीमा उभियौं । पर्खाइ निकै बेला रह्यो । पट्यारलाग्न थालिसकेको थियो । तर, साँझ रातमा बदलिँदै गर्दा केही गाडीको ताँती सम्मुखमा आउँदा सबैले थप्पडी बजाएर स्वागत गरे ।

    ‘बरखी’ पहिरनमा रहेकी विद्या भण्डारी हेर्न आमाहरु जीपका झ्यालबाट मुन्टो छिराउन तँछाडमछाड गरे केहीबेर । हातका फूलका माला र थुङ्गा दिए । नेता ओलीलाई पटक पटक उसैगरी स्वागत गरिरहेका कारण पनि स्वागतको प्राथमिकतामा भण्डारी थिइन् । स्वागत टोलीले गर्वका साथ गाउँको नाम फेरेको टिनको पातोतर्फ इङ्गित गर्दै भन्दै थियो, ‘हामीले त अब यो दही चोकको नाम पनि फेरिसक्यौं नि, मदनपुर टोल राख्यौं ।’ ओली, भण्डारीसहितका नेताहरु हतारमा थिए । गाडीको ताँती दमकतिर हानियो, हामी सबै घरघरतिर ।

    नाम फेरेकोप्रति दही चोकका इतिहासकारहरु खुसी थिएनन् । जसले दैनिक हजार लिटरसम्म दही उत्पादन गरी दमकदेखि काकडभिट्टासम्म लान्थे, उनीहरु हाम्रै कारण यो गाउँको नाम दही चोक भएको हो, किन फेर्नु भन्थे, भनिरहन्थे, भनिरहन्छन् । त्यसपछि कतिपय सरकारी कागजातमा टोलको नाम लेख्ने महलमा देखिने दही चोक देखिन छोड्यो, दही चोकलाई मदनपुरले विस्थापित गरिदियो । कागजमा दही चोक हराए पनि जनजिब्रोमा हराएन । गाडीवालाहरु यात्रु चढाउन र उतार्न दही चोक नै भनिरहे । दक्षिणबाट आउने गाडीमा गेउरिया कट्नासाथ र उत्तरबाट झर्ने गाडी लखनपुर कट्नासाथ कण्डक्टर र सहचालक चिच्याइहाल्थे ‘दही चोक झर्ने जति ढोकातिर आउनू है’ भन्दै । अहिले त गाडीवालाले मात्र होइन, अधिकांशले दही चोक नै भन्छन् । आर्थिक वर्ष २०८१/८२ को सरकारी बजेट पुस्तिकामा पनि यो गाउँलाई दही चोक नै भनेर उल्लेख छ । कतिपय सरकारी कागजमा पनि फेरि दही चोक भनिन थालिएको छ ।

    म घुम्न जाँदा बरालबा जिस्क्याउनु हुन्थ्यो, यो केटी हेर्न गएको भनेर । ‘हजुरआमालाई भन्नु है’ भन्दै मलाई उडाउनु हुन्थ्यो, गीतका भाकामा भन्नुहुन्थ्यो, ‘एक मानेमा के छ, के छ, दुई मानेमा दही छ । ससुराली जान्छु आमै केटी कत्री भइछ ।’

    अचेल दही चोक न चोक छ न त दही पाइन्छ । गाउँको विहे, बटुलामा पनि बजारबाट दही किनेर ल्याउन थालिएको छ । पहिले काठे पुल भएको ठाउँमा पक्की कलभर्ट छ । त्यहाँबाट पूर्व गाउँपालिकातिर जाने सडक पनि कालोपत्रे भइरहेको छ । त्यही कुइनेटोका जग्गाधनी मोहिनी खनालसहितको परिवारले केही सटरसहितको कवल बनाएका छन् । सटरहरुमा विभिन्न पसल छन्, दही नपाए पनि त्यहाँ दूध चैँ पाइन्छ । बिहान बिहान संकलन पनि हुन्छ । सटर बनाउने खनाल परिवारकी आमा र भाउजूले पनि दही चोकको इतिहास दर्विलो पार्न योगदान पु¥याएकै हुन् । थाप्लामा ठेकी र ट्यामी राखेर दमकसम्म दही ओसारेका हुन् । खनाल परिवारले कुनै भावनात्मक नभई व्यवसायिक उद्देश्य नै राखेर पसल कवल बनाएको होला । तर, त्यसले अन्ततः प्राण धर्मराउन थालेको दही चोकलाई प्राण दिएको छ । जीवन्तताका लागि सहयोग गरेको छ । कम्तीमा दही चोकलाई चोकको इज्जत दिएको छ ।

    इतिहासकारहरुलाई सम्मान र श्रद्धाञ्जली

    जसले दूधबाट दही र दहीबाट दही चोक बनाए, उनीहरु अवकाश प्राप्त बनिसके । कति बसाइ सरेर अन्तै पुगे । कति ओछ्यान परेका छन् । कति बितिसके । दूध संकलन गर्ने हजुरबुवाको कामलाई मेरो बुवाले पनि निरन्तरता दिनुभयो । उहाँपछि मैले पनि केही समय पछ्याएँ । घरबाट गाडीसम्म ओसार्ने काममा बुवापछि म पनि तम्सिएँ । काकडभिट्टामात्र होइन, भारतीय बजार पानी ट्याङ्की र नक्सलसम्म दारका ठेकी टाउकामा राखेर घरघर डुलाउँदै बेच्ने हजुरआमाको बिँडो केही समय आमाले पनि थाम्नुभयो । अरुका परिवारमा पनि यस्तै यस्तै सिलसिला चल्यो । तर, केही समय चल्यो, टिकेन । इतिहास बनाउनेहरु सबै इतिहासकार हुँदैनन् । उनीहरुको योगदान अरुले लेखिदिए त हुने/बन्ने हो, इतिहास । तर, दही चोकको इतिहास बनाउनेहरुले न आफैं इतिहास लेख्न सके न त कसैले लेखिदियो उनीहरुको इतिहास । गुमनाम बितिरहेका छन्, थला परिरहेका छन्, उनीहरु ।

    केही वर्षअघि बिते बरालबा । हाम्री हजुरआमा र ती बापत्नी अर्थात बरालनी हजुरआमा बीचको नाता दिदीबहिनी । सँगै जाने-आउने गर्नुहुन्थ्यो । म पनि कहिलेकाहीँ हजुरआमासँग काकडभिट्टा घुम्न जान्थे २०५०/५१ सालतिर । १० रुपैयाँ भाडा तिर्नुहुन्थ्यो, दमक पूर्वको पाडाजुङ्गीदेखि काकडभिट्टाको । म घुम्न जाँदा बरालबा जिस्क्याउनु हुन्थ्यो, यो केटी हेर्न गएको भनेर । ‘हजुरआमालाई भन्नु है’ भन्दै मलाई उडाउनु हुन्थ्यो, गीतका भाकामा भन्नुहुन्थ्यो, ‘एक मानेमा के छ, के छ, दुई मानेमा दही छ । ससुराली जान्छु आमै केटी कत्री भइछ ।’

    रतुवा पुल पार गरेर पूर्व आउँदै गर्दा एक किलोमिटरभन्दा परको गाडीको न रंग देखिन्थ्यो न त नम्बर । नम्बर नै देखिए पनि ती निरक्षर आमा/हजुरआमाहरुले के चिन्नू ? तर ‘यो भैरहवाको गाडी हो, यो पोखराको, यो गाडीमा फल्नो ड्राइभर छ, यो गाडीले भाडा धेरै लिन्छ………’ प्रस्टै भन्ने, प्रस्टै चिन्ने । कसरी चिन्न सक्या हुन् ?

    दाहाल बा अझ केही वर्षअघि बिते । दाहालनी हजुरआमा र बरालनी हजुरआमा साख्खै दिदीबहिनी । प्रायः कुर्ता सुरुवाल लगाउने होचा कद दाहालबा सुस्तरी मीठो भाकामा बोल्ने । कहिलेकाहीँ हामी जाँदै गर्दा उहाँ हजुरआमालाई गाडी चढाएर फर्कंदै गर्दा भेट्नुहुन्थ्यो । ‘हाम्रो त अघि नै रैनामा गयो’ भन्दै खबर सुनाउनु हुन्थ्यो । दाहालबा दही चोकभन्दा अलिक माथिल्लो गाउँका । बरालबा खास दही चोकका । यी इतिहासका शिल्पीहरु गुमनाम बिते । श्रद्धाञ्जली उहाँहरुप्रति । गुमनाम बिते पनि गुमनाम गाउँलाई दही चोक नाम दिने उनीहरुको कृति दही चोकले भुलेको छैन ।

    बिहानको ३-३:३० बजे । रतुवा पुल पार गरेर पूर्व आउँदै गर्दा एक किलोमिटरभन्दा परको गाडीको न रंग देखिन्थ्यो न त नम्बर । नम्बर नै देखिए पनि ती निरक्षर आमा÷हजुरआमाहरुले के चिन्नू ? तर ‘यो भैरहवाको गाडी हो, यो पोखराको, यो गाडीमा फल्नो ड्राइभर छ, यो गाडीले भाडा धेरै लिन्छ………’ प्रस्टै भन्ने, प्रस्टै चिन्ने । कसरी चिन्न सक्या हुन् ? ती पराक्रमी र पौरखीहरुको त्यो तिख्खर र तेज आत्मविश्वास र शरीर कमजोर भएसँगै अहिले धमिलो भइसकेको छ ।

    यसरी इतिहास बनाउनेहरु धेरैजसोका हात-पाउबाट बरगत बिदा भयो, आँखा मधुरा भए, पाखुराका छालाहरु लावर जस्ता भए, अनुहार मुझाले छोप्यो, हातगोडा चल्न छोडे । तर, उनीहरुले नाम दिएको दही चोक चलिरहेकै छैन । तीव्र बस्ती विकास भइरहेको छ । गाडीहरु ठस्ठसी कनेर कुद्ने सडकमा प्रतिघण्टा ६० किलोमिटरको दरमा हुइँकिन्छिन् । किनाराका घरभित्र बसेर दही चोकका इतिहासकारहरु आफ्नो पौरख सम्झँदै घोरिइरहन्छन्, बाटातिर हेरेर टोलाइरहन्छन् । विस्मृतिमा मात्र पुगेका हुन्, इतिहासकारहरुका पौरख र पराक्रम मेटिइसकेका छैनन् ।

    करिब ४ दशकअघि व्यवसायिक दही उत्पादन गरी उद्यमशीलता र स्वरोजगारी सिर्जना गर्ने, दूध उत्पादन र पशुपालनलाई प्रोत्साहित गर्ने, निरक्षर भएर पनि घरघरमा आर्थिक गतिविधिलाई चलायमान बनाउने, दैनिक १०० किलोमिटरभन्दा लामो दूरी तय गरी शहरको पैसा गाउँसम्म भित्र्याउने ती सबै पौरखी र पराक्रमी आमाहरुलाई सम्मान । यी सबै आर्थिक कारोबार र उद्यम ती निरक्षर र निर्धन-विपन्न आमाहरुकै अगुवाइमा भएको थियो । उनीहरुको पसिनाले नै परिवारमा आर्थिक विकासको जग बसाल्यो, शिक्षा-स्वास्थ्यको अभर टार्‍यो । सबैभन्दा ठूलो कुरो त, गुमनाम गाउँले नाम पायो । दही चोकलाई नाम दिने ती सबै पौरखी-श्रमजीवी श्रमशिल्पीहरुप्रति उच्च सम्मान !

  • प्रभावमा होइन, आफ्नो स्वभावलाई पछ्याउनुस्

    प्रभावमा होइन, आफ्नो स्वभावलाई पछ्याउनुस्

    माध्यमिक शिक्षा परीक्षा (एसईई)पछि के गर्ने, के पढ्ने भनी धेरै भाइबहिनीमा अन्योल र चिन्ता भइरहेको होला ! कसैलाई परिवार, आफन्तहरुको सल्लाह, सुझाव र दबाब पनि होला- यो गर्नुपर्छ, यसमा राम्रो हुन्छ, फलानोको छोराले यस्तो पढे, फलानोकी छोरीले त्यस्तो पढी, तर कमैमात्र भाइबहिनीले त्यो स्वतन्त्रता पाएको होला- तिमीलाई इच्छा लागेको पढ, गर, हामी तिम्रो साथमा छौं भन्ने । त्यो उमेरमा त्यति परिपक्व पनि भएका हुँदैनन् कि जीवनको निर्णय आफैं गर्न सकून् ! कोही अरुको सल्लाह सुझावलाई अँगााल्छन् त कोही अरुको दबाब स्वीकार्छन् । कोही अरुको देखासिकीमा लाग्छन्, जुन कुरा आफ्नो रुचि र क्षमतासँग नमिल्न पनि सक्छन् ।

    धेरै भाइबहिनी आफ्नो गलत छनोट र निर्णयका कारण आफ्नो अमूल्य समय खेर फाल्न पुग्छन् । जसको असर ऊ/उनी जे बन्नसक्ने क्षमता राख्थ्यो, त्यो हुन नसक्दा जीवनप्रति नै निराशा उत्पन्न हुनसक्छ । हाम्रो जीवनको यो निकै कठिन मोड हो, जहाँ हाम्रो निर्णयले हाम्रो अगाडिको बाटो तथा भविष्य निर्धारण गरिदिन्छ । त्यसैले आफूले के विषय पढ्ने, कुन बाटो रोज्ने भन्ने कुराको निर्णय लिनुभन्दा पहिले केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । जस्तैः आफ्नो रुचि, क्षमता, गुण, स्वभाव, आवश्यकता आदि । महान वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्- ‘सबै जना आफ्नो हिसाबले प्रतिभावान छन्, तर माछालाई रुख चढ्न लगाइ उसको क्षमताको मूल्याङ्कन गरियो भने ऊ जीवनभर आफूलाई कमजोर/मूर्ख सोची बिताँउछन् ।’

    वास्तवमा हामी सबै जन्मँदा नै कुनै न कुनै प्रतिभा लिएर जन्मेका हुन्छौं । बस त्यसलाई चिन्न सक्नुपर्‍यो र त्यसलाई निखार्न सक्नुपर्‍यो । सन्दीप लामिछाने क्रिकेट नखेलेर कलाकारितामा लागेको भए, राजेश हमाल कलाकार नभएर खेलाडी बन्नतिर लागेको भए, उनीहरु सायदै आजको सफलताको उचाइमा पुग्न सक्थे ! उनीहरुले आफ्नो गुणलाई चिने, आफ्नो रुचिलाई पछ्याए, सीपले निखारे र त सफल पनि भए, तर अधिकांश मानिस अरुको सफलताको नक्कल गर्न खोज्छन् । कमैले मात्र आफ्नो गुण, क्षमता, रुचिलाई बुझ्न खोज्छन् ।

    भगवानले हामीलाई यो संसारमा पठाउँदा सबैलाई केही न केही गुण र क्षमता भरेरै पठाएको छ । अमेरिकी मनोविद् होवार्ड गार्डनरले विद्यार्थीमा भएका गुण तथा क्षमतालाई विभिन्न नौ समूहमा विभाजन गरी सोअनुसारको शिक्षा तथा तालिमको लागि सल्लाह दिए, जसले सफल र सुखी जीवन जिउन सकिन्छ ।

    शब्द तीक्ष्ण विवेकी (Word Smart) भन्नाले शब्द वा बोल्ने र लेख्ने क्षमता भएको हो । यस्ता व्यक्तिहरु नयाँनयाँ शब्द प्रयोग गर्न, पढ्न, लेख्न मनपराउँछन् । साथै बोल्ने, लेख्ने शैली पनि उच्चस्तरको हुन्छ । यस्ता व्यक्तिहरु भविष्यमा सफल लेखक, शिक्षक, पत्रकार, कवि, वकिल, न्यायाधीश बन्न सक्छन् । बोल्न तथा शब्दसँग रमाउन सक्नेहरुका लागि मानविकी र शिक्षाशास्त्र संकाय उपयुक्त हुन्छ ।

    हामी सबै जन्मँदा नै कुनै न कुनै प्रतिभा लिएर जन्मेका हुन्छौं । बस त्यसलाई चिन्न सक्नुपर्‍यो र त्यसलाई निखार्न सक्नुपर्‍यो । सन्दीप लामिछाने क्रिकेट नखेलेर कलाकारितामा लागेको भए, राजेश हमाल कलाकार नभएर खेलाडी बन्नतिर लागेको भए, उनीहरु सायदै आजको सफलताको उचाइमा पुग्न सक्थे !

    संख्या-तर्क तीक्ष्ण विवेकी -Number-Reasoning Smart) भन्नाले गणितीय बुद्धि, तार्किक तथा समस्याको विश्लेषण गर्नसक्ने क्षमता भएको हो । यस्ता व्यक्तिहरु अंक तथा जटिल डाटाहरुलाई राम्रोसँग बुझ्न सक्ने, तर्कसंगत कुरा गर्नसक्ने, कुनै पनि घटनाको कारण र सम्बन्ध बुझ्न सक्ने, रणनीतिक खेलहरुमा दक्ष हुन्छन् । यस्ता व्यक्तिहरु भविष्यमा सफल वैज्ञानिक, व्यापारी, बैंकर, शोधकर्ता, सैन्य अधिकारी, कम्प्युटर प्रोग्रामर, एकाउन्टेन्ट बन्न सक्छन्, जसका लागि गणित, विज्ञान तथा कम्प्युटर विज्ञान विषय राम्रो हुन्छ ।

    चित्र तीक्ष्ण विवेकी (Picture Smart) भन्नाले ठाउँ, दूरी र मापनबारेको उच्च दक्षता हो । यस्ता व्यक्तिहरु चित्र कोर्न, रङ्ग भर्न मन पराउँछन् । साथै अधिक कल्पनाशील हुन्छन् । यस्ता व्यक्तिहरु भविष्यमा सफल चित्रकार, कला निर्देशक, फेशन डिजाइनर, आर्किटेक्चर, ग्राफिक डिजाइनर, फोटोग्राफर, सर्वेयर बन्न सक्छन् । ललितकला, इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, फेसन डिजाइनिङ पढ्नु राम्रो हुन्छ ।

    आवाज तीक्ष्ण विवेकी (Sound Smart) भन्नाले ताल, आवाज र लयप्रति लगाव राख्ने तथा जहिल्यै गुनगुनाइरहने व्यक्तिहरु गायक, संगीतकार, ध्वनि इन्जिनियर, डीजे बन्न सक्छन् । त्यस्ता व्यक्तिहरुले संगीत विषय रोज्न सक्छन् ।

    शरीर तीक्ष्ण विवेकी (Body Smart) भन्नाले शारीरिक दक्षता हो । यस्ता व्यक्तिहरु शारीरिक रुपमा आकर्षक, बलियो र फुर्तिला हुन्छन्, शरीरमा लचकता राम्रो हुनुका साथै शारीरिक अंगबीच पनि राम्रो समन्वय कायम गर्न सक्ने हुन्छन् । उनीहरु भविष्यमा सफल डान्सर, कलाकार, खेलाडी, फिजियोथेरापिस्ट, जीव वैज्ञानिक बन्न सक्छन् ।

    प्रकृति तीक्ष्ण विवेकी (Nature Smart) भन्नाले प्रकृतिप्रति संवेदनशील यस्ता व्यक्तिहरु प्रकृतिसँग नजिक हुन रमाउँछन् । वातावरण प्रदूषणबारे चिन्तित हुने तथा चासो राख्ने हुन्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा सफल वातावरणविद्, पशु चिकित्सक, कृषिविज्ञ, रेन्जर, भू-वैज्ञानिक बन्न सक्छन् । वातावरण विज्ञान, पशु विज्ञान, कृषि विज्ञान, वन विज्ञान जस्ता विषय पढ्नु उनीहरुका लागि फलदायी हुन्छन् ।

    कुनै पनि विषय तथा पेशालाई छनोट गर्दा आफ्नो गुण तथा स्वभाव र क्षमतामात्र नभई आफ्नो रुचि र आवश्यकतालाई पनि ध्यान दिनु जरुरी हुन्छ । यसरी जुन कुरामा आफ्नो क्षमता, रुचि र आवश्यकता जोडिएको छ, त्यो आफ्नो खुशी वा जोस हो ।

    मानव तीक्ष्ण विवेकी (People Smart) भन्नाले मानिसलाई चिन्न सक्ने, घुलमिल हुन, वार्तालाप र अन्तरक्रियामा रमाउने स्वभावका यस्ता व्यक्तिहरु अरुको भावना तथा व्यवहारलाई सजिलै बुझ्न सक्ने क्षमता राख्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा सफल रेडियो तथा टेलिभिजन प्रस्तोता, कार्यक्रम सञ्चालक, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, शिक्षक, रिसेप्सनिस्ट, सेल्स ब्याइ/गर्ल, मनोवैज्ञानिक, प्रबन्धक, मध्यस्थकर्ता बन्न सक्छन् ।

    स्व तीक्ष्ण विवेकी (Self Smart) अन्तरमुखी स्वभावका यस्ता व्यक्तिहरु एक्लै काम गर्नमा आनन्दित हुने, आफ्ना भावना, प्रेरणा तथा लक्ष्यप्रति चिन्तित हुने, विषय परिस्थितिको आफैं विश्लेषण र निष्कर्ष निकाल्ने हुन्छन् । उनीहरु धर्म तथा दर्शनशास्त्र, मनोविज्ञानमा रुचि राख्ने हुन्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा लेखक, वैज्ञानिक, दर्शनशास्त्री, दार्शनिक, उद्यमी बन्न सक्छन् ।

    जीवन तीक्ष्ण विवेकी (Life Smart) जीवन र जगतको अस्तित्वप्रति उत्सुक यस्ता व्यक्तिहरु आफू यस संसारमा आउनुको उद्देश्य तथा जीवनको अर्थ खोज्ने स्वभावका हुन्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा सन्न्यासी, धर्म गुरु, दार्शनिक बन्न सक्छन् ।

    कुनै पनि विषय तथा पेशालाई छनोट गर्दा आफ्नो गुण तथा स्वभाव र क्षमतामात्र नभई आफ्नो रुचि र आवश्यकतालाई पनि ध्यान दिनु जरुरी हुन्छ । यसरी जुन कुरामा आफ्नो क्षमता, रुचि र आवश्यकता जोडिएको छ, त्यो आफ्नो खुशी वा जोस हो । सफलता तबमात्र सम्भव हुन्छ, जहाँ हामी खुशी हुन्छौं, तर हामी यो भ्रममा छौं कि सफल भएपछि खुशी मिल्छ । एप्पलका संस्थापक स्टिभ जब्सले भनेका छन्- ‘तिमी त्यही गर, जसमा तिमी खुशी छौ कि जे गर्छौ त्यसमा खुशी हौ ।’

    नेपाली फिल्म क्षेत्रमा महानायकको उपमा पाएका अभिनेता राजेश हमाल एक अन्तर्वार्तामा सुनाँउदै हुनुहुन्थ्यो- उहाँको बुवालाई छोरो फिल्मी क्षेत्रमा लागेको मन परेको थिएन, जसले गर्दा बोलचाल पनि बन्द भयो । यसरी नै बुवाले यो संसार छोड्नुभयो । यसो भनिरहँदा उहाँका आँखा रसाइरहेका थिए र उहाँले आफ्नो बुवाको भनाइलाई जोड्नुभएको थियो- ‘तिमी जे गर, त्यसमा शत प्रतिशत देउ, फल पक्कै मिल्छ ।’ आज बुवाले मेरो अवस्था देख्न पाउनुभएको भए पक्कै खुशी हुनुहुन्थ्यो होला ।’

    कुनै पनि कुरामा सफल हुन योग्यता र योजनाले मात्र पुग्दैन । त्यसमा आफ्नो खुशी पनि जोडिनु जरुरी हुन्छ । यही खुशीले मात्र निरन्तरको प्रयास र लगनशीलताको गुण विकास हुन्छ । सफलता भनेको निरन्तरताको प्रक्रिया हो, गन्तव्य होइन ।

  • सरस्वती प्रतीक्षाको ‘स्व’: बौद्ध दर्शनको आकर्षक आख्यानीकरण

    सरस्वती प्रतीक्षाको ‘स्व’: बौद्ध दर्शनको आकर्षक आख्यानीकरण

    पर्यटकीय नगरी पोखराकी चर्चित लेखक तथा कवि सरस्वती प्रतीक्षाको दोस्रो आख्यान ‘स्व’को लोकार्पण असार १ गते नेपाल पर्यटन बोर्डको सभाहलमा भयो । सभाहल खचाखच देख्दा यस्तो लाग्थ्यो- यो उनको ‘काठमाडौं’ लोकार्पण नभएर गृहनगर लोकार्पण हो । अरु काममा व्यस्त हुनेहरु पनि प्रतीक्षासँग किताब लिएर तस्विर खिचाएर निस्कन हतारमा देखिन्थे । नेपाली कविता, निबन्धमा पहिचान बनाएकी प्रतीक्षामाथि पाठकहरुको विश्वासको विम्ब कार्यक्रमको भीड मान्न सकिन्छ । यो त भयो पाठकहरुको सरस्वतीमा विश्वास ।

    ‘नथिया’बाट औपन्यायिक राजमार्गमा शयर गर्न पुगेकी प्रतीक्षाको ‘स्व’ विधाको कोणमा एकै हो, तर मुद्दाको कोणमा बिल्कुल फरक । ‘नथिया’ मुद्दाबारेमा लेखन थियो । ‘स्व’ चैँ मनबारेमा । ‘नथिया’ सामाजिक मुद्दा थियो । ‘स्व’ मनोवैज्ञानिक । ‘नथिया’ सीमान्तकृत मुद्दा थियो । ‘स्व’ दार्शनिक ।

    ‘बुद्ध वाज बर्न इन नेपाल’

    बुद्ध वाज बर्न इन नेपाल, बुद्ध नेपालमा जन्मिएका हुन् । नेपालीहरुले लाउने टी-सर्ट, सामाजिक सञ्जालमा पोस्टदेखि सवारी साहित्यमा यो कुरा यत्रतत्र देखिन्छ । ‘स्व’मा पनि यो छ । फेवातालको जलकुम्भी जक्सनमा भेट भएर प्रेममा परेका सप्तम र काव्या दुई पात्र उभ्याएर लेखकले बुद्धको दर्शन भनेकी छन् । बुद्ध नेपालमा जन्मेको कुरा ल्याएकी छन् । लेखकीय खण्डमा ‘हामी बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्वमात्र गरिरह्यौं, तर बुद्धले जीवनका लागि जुन व्यवहारिक दर्शन पस्किए, त्यो दर्शनलाई नजरअन्दाज गरेर बाँच्यौं’ भन्ने लेखक प्रतीक्षाले आफ्ना पात्रहरुलाई पनि यस्तै भनाएकी छन् । किताबमा मादी किनार नामका पात्रले भन्छ, ‘बुद्ध जन्मेको देशको हुनाले बुद्धको अनित्यको दर्शनबारेमा अलि–अलि त सुनेकै थिएँ ।’

    सांसारिक दुनियाँको सप्तम पात्रको बुद्ध दर्शनको गन्तव्यमा पुग्ने कथाहरु लेखकले बुनेकी छन् । सप्तम स्याङ्जामा सवारी दुर्घटनामा पुगेर सात दिन कोमामा पुग्छ, त्यो कोमायात्रा नै उसको लुप्त बौद्ध दर्शनको अवचेतन मनको गन्तव्य बन्छ । उसले गन्धकुटीमा सत्संग गर्छ । कर्म देशना सुन्छ । धर्म देशना बुझ्छ । नारेश्वर वृक्ष बुझ्छ । अप्पो दीपो भवःमा गुञ्जिन्छ । विनय-पिटक, सुत्त-पिटक र अभिधम्मा-पिटक बुझ्छ । किताब लेख्न लेखकले गरेका संगतमा भिक्षु धज्जवन्तो आउँछन् । किताबमा चैँ भिक्षु अश्वघोष, बोधानन्द नामका भिक्षु आउँछन् ।

    बौद्ध दर्शनमा सामान्य सूचना भएको सप्तमलाई बौद्ध दर्शनको लागि घरबार त्याग्ने तहमा पुर्‍याउनु लेखकीय तरिका सुन्दर छ । सांसारिक जस्तो देखिने सप्तम पछि बुद्ध मार्गमा जान्छ । बौद्ध मार्गको झलक आउने काव्य चैँ सप्तम सांसारिक नै भएको देख्न चाहेको रोचक कुरा लेखकले कथामा ल्याएकी छन् । मल्टिपल पर्सनालिटी डिसअर्डर तथा डिमेन्सिया जस्ता मेन्टल हेल्थ र बुद्ध दर्शनलाई जोड्ने उनको कला आकर्षक छ ।

    ‘नथिया’बाट औपन्यायिक राजमार्गमा शयर गर्न पुगेकी प्रतीक्षाको ‘स्व’ विधाको कोणमा एकै हो, तर मुद्दाको कोणमा बिल्कुल फरक । ‘नथिया’ मुद्दाबारेमा लेखन थियो । ‘स्व’ चैँ मनबारेमा । ‘नथिया’ सामाजिक मुद्दा थियो । ‘स्व’ मनोवैज्ञानिक । ‘नथिया’ सीमान्तकृत मुद्दा थियो । ‘स्व’ दार्शनिक ।

    किताबको पृष्ठ इ देखि सुरु भएर अन्तिम पृष्ठ २८० सम्म गौतम बुद्धको कुरा जोडिएको छ । हर्मन हेस्सेको उपन्यास सिद्धार्थकै परिमार्जित नेपाली मौलिक संस्करण जस्तो लाग्छ ‘स्व’लाई । सिद्धार्थमा मूल पात्र सिद्धार्थ सांसारिक भएर पनि आफूलाई खोज्ने मिसनमा हुन्छ । उसले गौतम बुद्धलाई पनि ज्ञान आफैंमा खोज्ने भन्ने तपाईं आफैं किन बुद्धत्व पाउन भिक्षुहरुको भीड बनाएर हिँड्नुहुन्छ भन्ने गम्भीर प्रश्न छ ।

    ‘स्व’मा काव्याले पनि मौलिक प्रश्न गर्छिन् । उनी भन्छिन्, ‘हर युगमा लोग्नेमान्छेको सोच र खोजको मूल्य स्वास्नीमान्छेले नै किन चुकाउनुपर्छ ? उति बेला सिद्धार्थ गौतमको महानिभिष्क्रिमणको मूल्य यशोधराले चुकाउनुपर्‍यो । अहिले सप्तमको खोज र बोधको मूल्य मैले चुकाउनु परिरहेको छ । हर युगमा जीवनका फरकखाले दर्शन र मूल्यहरु सन्धान गर्न लोग्नेमान्छे निस्कँदा त्यसको मूल्य चुकाउने पाटो चाहिँ स्वास्नीमान्छेकै भागमा किन पर्छ । के स्वास्नीमान्छेको ‘स्व’ हुँदैन?’

    कविता र कलाको संक्रमण

    कवि भएकाले हुनसक्छ उपन्यासमा कवि र कविताको सुन्दर संक्रमण देखिन्छ । कविहरु मनु मञ्जिल, श्रवण मुकारुङ जस्ता नेपाली कवि, रोबर्ट बर्न्स, रोबर्ट फ्रस्ट, अमृता प्रितम जस्ता कविहरु आएका छन् । कथाकी एक प्रमुख पात्रको नाम काव्या छ । अर्को प्रमुख पात्र सप्तमको प्रकाशित किताब कथाको भए पनि उसको प्यार भने कवितामा छ । ऊ विद्यार्थीलाई पढाउँदा कविता खण्डमा आउँदा अतिरिक्त ऊर्जाशील हुन्छ ।

    कविता पात्र, रुचि र कविका नामबाट मात्रै आएको छैन, लेखनीको सुन्दरतामा पनि कविता आएको छ । जस्तैः पृष्ठ ३९ मा पात्रले बोल्ने कुरा कविताको छः

    राम्रो अंक ल्याएर एसएलसी पास भएको खुसीको खबर कसलाई सुनाउने ?
    उसले सबैभन्दा पहिले झोलुङ्गे पुलमुनि सुसाउँदै बगिरहेको नदीलाई सुनायो
    घरछेउको वरपीपल चौतारीलाई सुनायो
    चौतारीनेर हिँडिरहेका भुस्याहा कुकुरहरुलाई सुनायो
    बाटोमा हिँडिरहेका केही थान बाख्रा, गाई र भैँसीहरुलाई पनि सुनायो
    छिमेकीको आँगनमा फुलिरहेका नीलजाई र कामिनी फूलहरुलाई सुनायो
    साँझपख झ्यालनेरै चिरबिर चिरबिर गर्दै आइपुगेको एक जोडी भँगेरालाई सुनायो
    माउसुलीलाई चाँहि किन नसुनाउने ?
    खानाखाने बेला घरको भित्तोमा चलमलाइ बस्ने माउसुलीलाई पनि सुनायो ।

    लेखन, प्रयोग, कला र कथा सबै कोणमा ‘स्व’लाई पढ्नैपर्ने कोटीको पुस्तकमा राख्न सकिन्छ । २८० पृष्ठमा दौडिएको ‘स्व’बारेमा आत्मसमीक्षा स्वयं लेखकबाटै भएको छ । उनले एक ठाउँमा भनेकी छन्, ‘अनुभव, अनुभूति र बोधले मलाई अब तैँले फिलोसोफिकल उपन्यास लेख्न सुरु गर भन्यो र मैले ‘स्व’ उपन्यास लेखें ।’

    कवितामात्रै होइन, सुन्दर पन्चलाइनहरु पनि उपन्यासमा आएका छन् । जस्तैः

    • संसारको सबैभन्दा ठूलो अदालत आफ्नै हृदयको अदालत हो । हृदयको अदालतमात्रै यस्तो अदालत हो, जहाँ म जे भन्छु, सत्य भन्छु भनेर कुनै गीता वा बाइबल छोएर कसम खानै पर्दैन । हृदयको अदालतमा कसैले झूट बोल्नै सक्दैन ।
    • घडीमा पेन्डुलम बनेर बाँच्दा पो घडीको शोभा बढ्छ । जीवनमा पेन्डुलम बनेर बाँच्दा त जीवनकै शोभा घट्छ ।
    • मित्रता वा दुश्मनीमा पो झगडा गर्नलाई ठूलो कारण चाहिन्छ । प्रेममा त झगडा गर्नलाई ससानो कारण नै काफी हुन्छ ।
    • किन जीवनभन्दा जीवनसम्बन्धी प्रश्नहरुको वजन बढी छ ?

    किताबको नाम ‘स्व’देखि, प्रमुख पात्रको नाम सप्तमको पनि कथाले न्याय गरेको छ । यी दुवैको नाम जस्टिफाइ हुने कथानक प्रस्तुत गर्नु लेखकको अर्को कला हो ।

    घच्याकघुचुकहरु र अरु कुरा

    किताबमा केही घच्याकघुचुकहरु नभएका होइनन् । कतिपय शब्द, कतिपय प्रसंग र कतिपय सवालमा लेखक तथा सम्पादकका देखिने कमजोरी छन् । उदाहरणका लागि पृष्ठ ‘ए’मा ‘बुद्धिज्म’ भनिएको हो । भन्नु पर्ने ‘बुद्धिजम’ हो । पृष्ठ २४ मा विद्यालयको छात्राबासमा बस्ने एक साथीले सप्तमलाई भन्छ, ‘आमा सम्बन्धमा बाँच्नेभन्दा पनि फिल गर्ने कुरा हो ।’ यो तहको बुझाइ स्कुले बच्चाहरुमा हुने कुरामा प्रश्न गर्ने ठाउँ छ । कतै पात्रमा लेखकीय घुसपैठ भएको पो हो कि ?

    पृृष्ठ ८९ मा ‘पृथ्वीका १९५ देशहरु’ भनिएको छ । हामीले मान्दै आएको आँकडा संयुक्त राष्ट्रसंघको हो । उसले विश्वसमा १९३ देश भएको भन्छ । यो कुरा त्यो कोणमा तथ्यगत कमजोरी भएर आएको छ । यस्तै जलकुम्भी र जलवायुको कुरा गर्दा लेखले हृदयभन्दा बुद्धि धेरै प्रयोग गरेको देखिन्छ । वैज्ञानिक तथ्यांकहरु र आँकडाहरु दिएको देखिन्छ । यी कुरालाई वैज्ञानिक तथ्यांकभन्दा हृदयकै गणितबाट पनि भन्न सकिन्थ्यो कि भन्ने प्रश्न आउँछ ।

    यी र यस्ता केही कमजोरी देखिए पनि किताब पठनीय छ । संग्रहणीय छ । लेखन, प्रयोग, कला र कथा सबै कोणमा ‘स्व’लाई पढ्नैपर्ने कोटीको पुस्तकमा राख्न सकिन्छ । २८० पृष्ठमा दौडिएको ‘स्व’बारेमा आत्मसमीक्षा स्वयं लेखकबाटै भएको छ । उनले एक ठाउँमा भनेकी छन्, ‘अनुभव, अनुभूति र बोधले मलाई अब तैँले फिलोसोफिकल उपन्यास लेख्न सुरु गर भन्यो र मैले ‘स्व’ उपन्यास लेखें ।’ त्योभन्दा अगाडि अर्को ठाउँमा उनी भन्छिन्, ‘वर्षौंदेखि मनभित्र कतै गडेर बसेको एउटा रहर थियो- एउटा यस्तो उपन्यास लेखूँ, जुन उपन्यासमा म दर्शनको कुरा गर्न सकूँ, जीवनको कुरा गर्न सकूँ, मृत्युको कुरा गर्न सकूँ, मान्छेभित्र मान्छेले लुकाएर राखेको अर्को मान्छेको पत्र-पत्र उधिनेर देखाउन सकूँ ।’ स्वयं लेखकले आशा गरेको जस्तो कुरा उपन्यासमा भेटिन्छ ।

  • शैलजा आचार्य र प्रदीप गिरीको विवाहमा बीपीको ‘असहमति’

    शैलजा आचार्य र प्रदीप गिरीको विवाहमा बीपीको ‘असहमति’

    काठमाडौं । ग्लोबल टेलिजिनमा २०७९ भदौ ७ गते मंगलबार राति ९ः१० बजे प्रशारण भएको ‘तक्षशिला’ नामको अन्तर्वार्तामा अग्रज पत्रकार किशोर नेपालले शैलजा आचार्य र प्रदीप गिरीको प्रेम भएको खुलाए । निजी जीवनको सवालमा बोल्दा उनले यस्तो खुलासा गरेका थिए ।

    नेपालकी प्रथम उपप्रधानमन्त्री तथा तीन महिने कार्यबाहक प्रधानमन्त्री भएकी नेपाली कांग्रेसकी हेभीवेट नेतृ शैलजा आचार्य र नेपाली कांग्रेसको केन्द्रीय कमिटिसम्म पुगेर चिन्तकको परिचय बनाएका प्रदीप गिरीको सवालमा बोल्दै थिए नेपाल । प्रश्नकर्ता प्रकाश गिरीले प्रदीप गिरीको व्यक्तिगत जीवनका केही कुरा खुलाउन आग्रह गर्दा नेपालले भनेका थिए, ‘व्यक्तिगत कुरा गर्दाखेरि चै प्रदीप दाइ, भन्दिऊँ ? शैलजा आचार्यसँग प्रदीप दाइको प्रेम थियो, मोह थियो । त्यो दोहोरो नै थियो । त्यो पछि कसरी वियोगान्त भयो, त्यसको कुरा चैँ कुनै बेला भनौला ।’

    प्रश्नकर्ताले वियोगको कथा भन्न जोड गर्दा नेपालले भन्न चाहेनन् । पछि भन्ने भन्दै पन्छिए । यति चै भने, ‘त्यो गर्दा राजनीतिका धेरै कुराहरु गर्नुपर्ने हुन्छ । जुन म अहिले गर्न चाहन्न ।’

    प्रश्नकर्ताले फेरि सोधे, ‘त्यो अन्य पात्रहरुसँग पनि जोडिन्छ ?’ त्यसमा नेपालले भने, ‘धेरैसँग जोडिन्छ ।’

    २०७९ भदौ ४ मा निधन भएका गिरीको बारेमा गरिएको ५० मिनेट ७ सेकेण्डको कुराकानीमा नेपालले गिरी र आचार्यको प्रेममा खुलेर बोलेका थिए । त्यो बोलेको भिडिओ क्लिप सार्वजनिक भएपछि धेरैले नेपालको आलोचना गरे । नेपालले हावा बोलेको जस्ता आरोप लगाए । तर, अन्तर्वार्ता प्रशारण भएको ठीक एक वर्षपछि शिखा बुक्सले प्रकाशन गरेको ‘जेल डायरी’मा यसबारे खुलासा भएको छ ।

    भारतको जवाहरलाल नेहरु सङ्ग्रहालय तथा पुस्तकालयमा भेटिएको बीपीको डायरीका २०२८ पुस १८ देखि २०३५ कात्र्तिक १४ सम्म (सन् १९६२ जनवरी १ देखि १९६८ अक्टोबर २०) को शिखा बुक्सले प्रकाशन गरेको छ ।

    यस अगाडि प्रकाशन गरिएको बीपीका तीन जेल डायरीहरु ‘जेल जर्नल’ (१९६१-१९६४), ‘फेरि सुन्दरीजल’ (१९७७) र ‘बीपी कोइरालाको डायरी’ (१९५१-१९५६) भन्दा भिन्न डायरी हो यो । यो ४२१ पृष्ठको डायरी संकलन पुस्तकाकारमा आएको छ । जसको पृष्ठ २८३ र २८४ मा प्रदीप गिरी र शैलजा आचार्यको प्रेम र विवाहको कुरा बीपीले गरेका छन् । २०२४ असोज १ को डायरीमा बीपीले लेखेका छन्, ‘आमाको पत्र आयो, जसमा उहाँले भन्नुभएको थियो- शैलजा प्रदीप गिरीसँग बिहे गर्न चाहन्छिन् । ती दुई प्रेममा छन् । उनीहरु मेरो रिहाइ नहुँदासम्मलाई बिहे रोकिरहेका छन् ।’

    त्यसको भोलिपल्ट असोज २ को डायरीमा पनि शैलजाको विवाहको कुरा बीपीले जोडेका छन् । शैलजाका पिता डाक्टर पिनाकीप्रसाद आचार्यले शैलजाको विवाह गिरीसँग गराउन नचाहेको तर सम्झाएपछि चाहेको बीपीले लेखेका छन् । उनले तारिणीको भनाइ साभार गरेर डायरीमा लेखेका छन्, ‘शैलजासँग हुन लागेको विवाहका सम्बन्धमा प्रदीप गिरीको परिवार खुशी छैन । शैलजाकी बाबु पनि खुशी थिएनन् । तर, शैलजाले उनले मुसलमानसँग विवाह गरिदिइन् भने उनी के गर्छन् ? भनेपछि उनले सन्न्यासँगको विवाहलाई मञ्जुरी दिएका रहेछन् ।’

    बीपी कोइरालाले प्रदीप गिरीलाई तारिफ गरेका छन् । तर, शैलजासँगको विवाहमा भद्र असहमति राखेका छन् । असोज १ को डायरीमा उनी लेख्छन्, ‘मेरो सोचाइमा प्रदीप गिरी एक असल युवक हुन्, बौद्धिक कोटिको । आफैं पनि बौद्धिक रहेकी शैलजाका लागि उपयुक्त छन् । मेरो भय केमात्रै हो भने यी दुवै बौद्धिक जवान विवाह गर्ने खालका छैनन् कि ! जब विवाहको सामना गर्नुपर्ने हुन्छ, बौद्धिकहरु अक्सर त्यसको सकुशल सामना गर्न सकिरहेका हुँदैनन् ।’

    असोज २ को डायरीमा बीपीले प्रदीप गिरी-शैलजाले विवाहविना पनि प्रेम गर्नसक्ने भन्दै विवाहमा जोड दिएका छैनन् । उनले लेखेका छन्, ‘उनले बिहे गर्नुपर्छ र जोखिम उठाउनुपर्छ भनेर म उनलाई चिठी लेख्ने थिएँ । तर, मलाई चिठी लेख्ने अनुमति छैन । विवाह भन्नु प्रेम होइन । हामीले जीवनमा देखेको वा पुस्तकमा पढेको प्रेम, अधिकांश अवस्थामा कि विवाहपूर्वको छ या विवाहेत्तर छ । विवाह केही यो यदि भने प्रेमको औषधि हो । यो कसैले कसैलाई दिएको साथ होइन । किनभने विवाहविना पनि हामी साथ पाउन सक्छौं ।’

    शैलजा आचार्यले २०६६ जेठ २९ मा देहत्याग गरिन् । प्रदीप गिरीले त्यसको ठीक १३ वर्षपछि देहत्याग गरे । प्रदीप गिरीले खुलाएको शैलजासँगको प्रेम किशोर नेपालमार्फत् व्यक्त भयो । शैलजा आचार्यले खुलाएको गिरीसँगको प्रेम उनको परिवार तथा बीपीका परिवारबाट सूचना पाएर बीपीका दिनचर्या लेखनबाट व्यक्त भयो ।

  • शिक्षामन्त्रीलाई हिक्मतको खुल्ला पत्र- शिक्षकलाई सौतेलो व्यवहार कहिलेसम्म ?

    शिक्षामन्त्रीलाई हिक्मतको खुल्ला पत्र- शिक्षकलाई सौतेलो व्यवहार कहिलेसम्म ?

    माननीय शिक्षा मन्त्री ज्यु नमस्कार !

    तपाईंको नेतृत्वमा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षक सरुवासम्बन्धी कार्यविधि २०८१ स्वीकृत २०८१/२/१३ र संशोधन गरिएको कार्यविधि २०८१/२/२५ अध्ययन गरेँ । तपाईं नेतृत्वमा रहेको यो मन्त्रालयबाट भएको कार्यविधिका बुँदा बुँदा केलाएँ । तपाईं शिक्षामन्त्री भएको दिन जुन उत्साह र उमंग थियो, त्यो सबै हराएर गए । अरुभन्दा भिन्न, नयाँ र व्यवहारिक शिक्षक सरुवा कार्यविधि आउने आशा निराशामा बदलिए !

    यस कार्यविधिको परिच्छेद-५ को दफा १५ (२) (क) देखि (घ) मा जुन व्यवस्था गरिएको छ, त्यो व्यवहारिक छ्न्, यसमा आपत्ति छैन । परिच्छेद ४ को निवेदनको संकलन, अभिलेख र सार्वजनिकीकरण दफा १२ मा शिक्षकले दफा ११ बमोजिम सरुवाको लागि निवेदन दिँदा नियमावलीको अनुसूची-१७ बमोजिम ढाँचामा पेश गर्ने कुरा गरिएको छ । २०८१/२/२५ को शिक्षको सरुवाका विषयमा थप स्पष्टमा बुँदा नम्बर (५) मा अर्को जिल्ला अन्तर्गतको विद्यालय भए हालको कार्यरत विद्यालय, विद्यालय रहेको स्थानीय तह र कार्यरत विद्यालय रहेको इकाइको समेत सहमति समेत चाहिने व्यवस्था छ । कुनै विद्यालयमा सरुवाको सार्वजनिक सूचना जारी भएपछि विषय मिल्ने शिक्षक अन्य प्राविको हकमा जतिजनाले पनि अनुसूची १७ बमोजिम फारम भरी निवेदन दिन सक्छ्न् ।

    एउटा शिक्षकले कुनै एउटा विद्यालयमा सरुवा सहमति लिन कति गार्‍हो छ भने तपाईं जानकार हुनुहुन्छ । एकजनाको कोटामा एकजना बाहेक अन्य सरुवा हुने कुरा पनि भएन । निवेदकमध्येका एकजनाको सरुवा भए पनि अन्य शिक्षक पुरानै विद्यालयमा फर्किनुपर्छ । सरुवा सहमति लिएर गएको शिक्षक पुन: अन्य जिल्ला र अन्य विद्यालयमा सरुवा सहमति लिन जिरोबाट सुरू गर्नुपर्छ । व्यवस्थापन समिति, पालिका र इकाईले एउटै शिक्षकको लागि कतिपटक सरुवा सहमति दिने ? के अहिलेका व्यवस्थापन समिति, पालिका र इकाईले पटक पटक सरुवा सहमति दिन्छन् अनि त्यो सजिलो छ र ? तपाईंले सोचे जस्तो सहजै सरुवा दिन्छ भन्ने सोच्नु भएको छ भने त्यो तपाईं भ्रममा हुनुहुन्छ । मसँग यसबारे थुप्रै दृष्टान्त छन् । आवश्यकता परे त्यो पनि पेश गरौंला ।

    २०८१/२/२४ को सरुवासम्बन्धी थप स्पष्टमा बुँदा नम्बर १ मा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम करार शिक्षक पदपूर्ती गर्ने हो यकिन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाउनु भनिएको छ । के विद्यालयमा राजनीति दलको भर्ती केन्द्र बनाउन खोजिएको हो ? कार्यविधिमा परिच्छेद ९ को दफा २४ मा शुल्क वा सहयोग लिन नपाइने व्यवस्था गर्नुभएको छ । तीन वटा तहबाट पटक पटक सहमति लिनुपर्ने व्यवस्थाले शुल्क र सहयोगलाई कसरी निस्तेज गर्छ ?

    वर्षौंदेखि सुविधा सम्पन्न विद्यालयमा अड्डा जमाएका अझै प्रष्ट भनौं दाइ विद्यालयको नामले प्रसिद्धी पाएका विद्यालयमा भएका शिक्षक ग्रामीण क्षेत्रमा पनि गएर सेवा गर्नपर्ने व्यवस्था खै ? स्वचालित सरुवा प्रणाली खै ? दुर्गमको एउटै विद्यालयमा वर्षौंदेखि झोला बोकेर दौडिएको ‘बिचरा’ शिक्षक तपाईंको कार्यविधिले देखेन ! २१ औं शताब्दीको विज्ञान र प्रविधिको युग हो ग्रामीण क्षेत्रमा फोन नै नलाग्ने ठाउँमा एउटा शिक्षक आफू कसरी अपडेट हुन सक्छ ? यो कार्यविधिमा घर पायक शिक्षकका मुद्दा खै ? सेवा सुविधा निजामतीसरह दिनुहोस् घरपायक चाँहिदैन !

    यी माथिका कुरा कार्यविधिका बारे असहमति भए । यो मेरो मात्रै असहमति र फरक मत हैन, म जस्तै हजारौं शिक्षकको पीडा हो । करिब २० दिनको छलफल र अन्तरक्रियाबाट यी समस्या औंल्याइएको हो ।

    २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट भाषणमा पनि पढियो र सुनियो । निजामती ऐनबारे नीति तथा कार्यक्रम र बजेट भाषणमा बोलिए पनि संघीय शिक्षा ऐनबारे एक शब्द बोलिएन । शिक्षा ऐन २०२८ ले अहिलेको शिक्षा प्रणालीलाई बोक्न सक्छ ? विश्व बजारसँग हामी प्रतिस्पर्धा गर्न सक्छौँ ? अम्बाको बोटमा स्याउ फलाउने आशा कत्तिको व्यवहारिक वैज्ञानिक छ ? अघिल्लो शिक्षा मन्त्री र तत् निकायले शिक्षक संघ र महासंघसँग गरेका सहमतिलाई अपनत्व लिन हिचकिचाउनु भएको त हैन ? मैले रास्वपाको मुख पत्र पढेको छु त्यहाँ शिक्षकका बारेमा थुप्रै कुरा लेखिएको छ जो अत्यन्तै व्यवहारिक छन्, तर आज त्यो मुख पत्र नै बिर्सिएको छैन नि तपाईंको पार्टी र तपाईंको नेतृत्वमा रहेको मन्त्रालयले ?

    माननीय मन्त्रीज्यू यो पत्र कुनै आवेगमा लेखिएको हैन । मैले थुप्रै तथ्यमा टेकेर विषय उठान गरेको छु । पत्रमा सबै लेखेर साध्य छैन । तपाईंसँग भेटको अवसर मिल्यो भने थप प्रष्ट पार्ने छु । यसलाई गम्भीरताका साथ लिनुहोला । नयाँ आउने दल र व्याक्तिसँग साँच्चिकै जनताले अपेक्षा गरेका छ्न् । तपाईंहरू अरु भन्दा फरक गर्छौँ भनेर जनताबाट अनुमोदित हुनु भएको छ । तपाईं एक ऊर्जाशील युवा मन्त्री हुनुहुन्छ । शिक्षालाई र शिक्षकलाई बुझ्न सक्ने तपाईंजस्तो मन्त्रीबाट पनि शिक्षा प्रणालीमा आमूल परिवर्तन भएन भने देशको शिक्षा प्रणाली ध्वस्त हुन्छ । मजस्तै शिक्षण पेशामा लागेका हजारौं साथीहरू यो पेशाबाट हात धोएर विदेश जान बाध्य हुन्छ्न । मन्त्रीज्यू यस कार्यविधिबारे व्यापक गुनासो र मुद्दा नै परेको अवस्थामा केही सोच्ने कि ? सुझाव दिने सबै विरोधी हुँदैन असल समर्थक पनि हुन सक्छ्न् । धन्यवाद !