Category: साहित्य / ब्लग

  • झापा विद्रोह हुनेबारे दशकअगाडि नै अमेरिकी विज्ञले राजा महेन्द्रलाई दिएका थिए रिपोर्ट !

    झापा विद्रोह हुनेबारे दशकअगाडि नै अमेरिकी विज्ञले राजा महेन्द्रलाई दिएका थिए रिपोर्ट !

    काठमाडौं । २०२८ सालबाट नेपालका कम्युनिष्टहरुले झापा विद्रोह गरे । सामन्ती करार गरिएका व्यक्ति हत्यबाट भएको विद्रोहको जरा चैँ कमजोरलाई गरिने थिचोमिचो थियो । झापा विद्रोहको बारेमा लेखिएको पुस्तक ‘२०२८ झापा विद्रोहको अन्तरकथा’मा लेखक निरोज कट्टेलले झापा विद्रोह विसं २०२८ बाट २०३२ सम्म भएको भनेका छन् ।

    अझ रोचक कुरा चैँ यो विद्रोह वा यस्तै खालको विद्रोह हुने संकेत दशक अगाडि नै एक अमेरिकी विज्ञले गरेका रहेछन् । उनले संकेत मौखिक रुपमा मात्रै होइन, लिखित रुपमा गरेका रहेछन् । सुधीर शर्माले ल्याएको किताब ‘हिमालपारिको हुरी’मा यसबारेमा उल्लेख छ ।

    शर्माले सन्दर्भ सामग्रीसहित लेखेको किताबका अनुसार अमेरिकाले नेपालको पञ्चायतलाई विकासमा सहयोग गर्न खटाएको फोर्ड फाउन्डेसनका विज्ञले यो जानकारी दिएका थिए । ती विज्ञ थिए उल्फ ल्याद्जेन्स्की । भूमिसुधार क्षेत्रमा जापान, ताइवान टापु र कोरिया आदिमा सफल प्रयोग गरेर नेपालमा अध्ययन गर्न आउँदा उनले त्यस्तो पत्ता लगाएका थिए । त्यसबारेमा उनले तत्कालीन राजा महेन्द्रलाई रिपोर्ट नै दिएका थिए । रिपोर्टमा विद्रोह हुने संकेत गर्दै उनले लेखेका थिए, ‘त्यहाँको अवस्था यस्तो छ कि कम्युनिष्ट वा गैरकम्युनिष्ट कुनै पनि सरकारविरोधी शक्तिले किसानहरुको असन्तुष्टिलाई राजनीतिक पुँजीमा परिणत गर्न सक्छन् ।’

    उनले २०१८ साल फागुन ४ गते प्रतिवेदन बुझाएर राजालाई इच्छाशक्ति बलियो बनाएर त्यसमा सम्बोधन गर्न आग्रह गरेका थिए । राजाले सुने, तर गम्भीर रुपमा लिएनन् । प्रतिवेदन बुझाएको अर्को वर्ष पत्र बुझाएर पनि उल्फ ल्याद्जेन्स्कीले महेन्द्रलाई ताकेता गरेका थिए । विद्रोह हुने संकेत गरेका थिए । उनले पत्रमा लेखेका थिए, ‘अनुभवले हामीलाई सिकाएको छ- तलबाट उठ्नसक्ने सम्भावित सामाजिक विस्फोटहरुलाई समयमै रोकथाम गर्नु सबैभन्दा बुद्धिमतापूर्ण व्यवहारिक उपाय हो ।’

    अमेरिकीले दिएको नेपाली सम्भावित विद्रोहको कुरालाई राजा महेन्द्रले खासै चासो दिएनन् । उसो त २०२१ सालमा भूमिसुधार कार्यक्रम झापाबाटै सुरु गरिएको पनि थियो । त्यसले पनि केही विद्रोहलाई शान्त पार्न सहयोग हुन्थ्यो होला, तर त्यस्तो भएन । कारणबारेमा शर्मा लेख्छन्, ‘त्यस कार्यक्रमले जमिनदारीप्रथा खारेज गर्ने, जग्गामा हदबन्दी लगाउने, मोहियानी हकको व्यवस्था गर्ने, जग्गाको अभिलेखीकरण थाल्नेलगायतका थुप्रै सुधारात्मक लक्ष्य राखेको थियो, तर जसको ज्यादा जग्गा-जमिन छ, उनैले आफन्तका नाममा सारेर होस् वा चिया बगान, उद्योगधन्दा खोल्ने उद्देश्य देखाएर थुप्रै भूमि आफैंले ओगटेर राखे । प्रहरी-प्रशासन र सत्ताधारी वर्गमा तिनकै पहुँच थियो । कसैले मुख खोल्न सकेन ।’

    झापा विद्रोहमा भारतीय नक्सलवादी प्रभाव, नक्सलवादीमा चिनियाँ प्रभाव

    झापा जिल्लाको संधियारी क्षेत्र नक्सलवारी नक्सल विद्रोह भयो । २०२४ सालमा भएको विद्रोहका राजनीतिक नेता चारु मजुमदार र अरु कामका नेता कानु सन्याल, जङ्गल सन्थाललगायतका आदिवासी अनुहार भएको शर्माले लेखेका छन् । झापा विद्रोहमा त्यही नक्सलवारी विद्रोहले प्रभाव पारेको थियो । पारि जस्तै वारि भएको थिचोमिचो, पारिका नेतासँग वारिका नेता कार्यकर्ताको हिमचिम र झापाका धुलाबारी, शनिश्चरे, भद्रपुर, बुधबारेका हटियामा आउने नक्सलवारी क्षेत्रका व्यापारीले सुनाएका रोचाञ्चक क्रान्ति कथाले माहोल तातेर झापा विद्रोह भएको शर्माको ठम्याइ छ ।

    उनले लेखेका छन्, ‘वारिपारि आउजाउ गर्ने अरु मान्छेले पनि त्यसबारे बढाइचढाइँ गरेर सुनाउँथे । माहोल नै यस्तो थियो कि थुप्रै युवा थाहै नपाई विद्रोही बन्दै थिए । हतियार उठाएरमात्रै जनताको शासन आउन सक्छ भन्ने क्रान्तिकारी रोमाञ्चकताले उनीहरुलाई तान्दै लग्यो ।’

    झापा विद्रोह गराउन भारतीय कम्युनिष्टहरुका अनुहार थिए । उनीहरु चीनबाट प्रभावित थिए । कानु सन्यालहरु नेपाल हुँदै चीन पुगेका थिए । माओलाई भेटेका थिए । माओले कानुलाई हार्दिकता देखाउँदै फर्कनु अगाडि भनेका थिए, ‘यहाँ तपाईंहरुले जे सिक्नुभयो, नक्सलवारी फर्केपछि त्यो सबै बिर्सनुहोला । त्यहीको वास्तविकतालाई ध्यानमा राखेर आफ्ना क्रान्तिकारी राणनीतिहरु बनाउनुहोला ।’

    भारतीय कम्युनिष्टहरुले नेपाली भूमिबाट चिनियाँसँग पहुँच बनाए । त्यो पहुँचपछि उनीहरुले नेपाली कम्युनिष्टलाई जोडिदिन पनि प्रयोग गरे । यसबारेमा शर्माले लेखेका छन्, ‘नेकपा मालेलाई चीनसँग जोड्ने काम भारतको कम्युनिष्ट पार्टी माले लिबरेसनका महासचिव विनोद मिश्राले गरेका थिए । उनी आफैं २०३६ सालताका उच्च पहाडी मार्ग हुँदै भूमिगत रुपमा चीन पुगेका थिए, जुन सम्भवतः नेपाल नै थियो । त्यो भ्रमणपश्चात् उनले आफूसँग रहेका नेकपा मालेका महासचिव सीपी मैनालीलाई चिनियाँ कम्युनिष्ट पार्टीसँग जोडिदिएका थिए ।’

    त्यही चिनियाँ सम्पर्कको सेतुबाट नेपाली कम्युनिष्ट नेताहरु सिन्धुपाल्चोक हुँदै चीन पुगेका थिए । यो भूमिगत हुँदाको कुरा हो । यो पञ्चायत हुँदाको कुरा हो । २०३७ जेठमा मैनालीसँग ईश्वर पोखरेल चीन पुगेका थिए । खासामाथिबाट तिब्बत छिरेका उनीहरुलाई बाटो देखाउने काम सिन्धुपाल्चोकका नेता अमृत बोहोराले गरेका थिए ।

    यात्राबारेमा २०७२ भदौ २४ को ल्हासा यात्राको संयोगमा भेटिएका नेता पोखरेलसँग कुरा गर्दा उनले भनेको कुरा साभार गर्दै शर्माले लेखेका छन्, ‘बाटोमा लेक लागेर झण्डै मरेको । नेपालतर्फ त ओढारमै सुत्नुपरेको थियो । तिब्बतपट्टि निकै हिँडेपछि बल्ल चिनियाँ सम्पर्क व्यक्ति भेटिए । हाम्रो कारणले पञ्चायती सरकारसँग आफ्नो सम्बन्ध बिग्रेला कि भन्नेमा चिनियाँहरुको चिन्ता थियो । त्यही भएर हामी त्यस्तो घुमाउरो बाटोबाट जानुपरेको थियो ।’

  • ‘सुम्निमा’ उपन्यास : बीपी कोइरालाले के सोचेर लेखेका थिए ?

    ‘सुम्निमा’ उपन्यास : बीपी कोइरालाले के सोचेर लेखेका थिए ?

    काठमाडौं । साहित्यमा विश्वेश्वरप्रसाद कोइराला भनेर चिनिन चाहेका बीपी कोइरालाले लेखेको उपन्यासमा धेरैले धेरै रुपमा व्याख्या गरेका छन् । २०२७ सालमा साझा प्रकाशनबाट प्रथम पटक प्रकाशित ‘सुुम्निमा’ उपन्यासबारेमा विभिन्न भाषा, साहित्य क्षेत्रका अनुहारहरुले विभिन्न कुरा भनेका छन् । उदाहरणको लागि ‘सुम्निमा’ उपन्यासबारेमा साहित्यकार र आफैं आख्यानकार पनि रहेकी सरस्वती प्रतीक्षाले २०७३ मा भनेकी थिइन्, ‘पहिचान र आदिवासी मुद्दामा अहिले धमाधम कलम चलिरहेको छ । आजभन्दा वर्षौं अगाडि लेखिएको ‘सुम्निमा’को प्रत्येक आवाजमा म त पहिचानको आवाज सुन्छु ।’

    महेन्द्र आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अनिल अधिकारीले ‘सुम्निमा उपन्यासको विम्बपरक विश्लेषण’ शीर्षक लेखमा लेखेका छन्, ‘सुम्निमा उपन्यासले बहुसांस्कृतिक समाज र सभ्यतामा बहुल साँस्कृतिकले अल्प सांस्कृतिकलाई आफूभित्रै समाहित गर्ने मानवशास्त्रीय यथार्थलाई नेपाली समाजको संरचनासँग सम्बद्ध विद्यमान साँस्कृतिक विलयनको यथार्थलाई मिथकीय पुनर्सिर्जनाका माध्यमबाट प्रस्तुत गरेको छ ।’

    सप्तगण्डकी जर्नलमा सप्तगण्डकी क्याम्पसकी उपप्राध्यापक विन्दू पौड्याल (वस्ती)ले पनि सुुम्निमाबारेमा ‘सुम्निया उपन्यासको परिवेशीय मिथक’ शीर्षकमा धारणा दिएकी छन् । उनले लेखेकी छन्, ‘किराँती र आर्य संस्कृतिका पात्रहरुको सिर्जना गरी त्यसमा किराँती र आर्य समाजका मिथकहरुको संयोजन गरेर उपन्यासको कथावस्तुलाई जीवन्त बनाइएको छ ।’

    बीपी कोइरालाको बहुचर्चित उपन्यास ‘सुम्निमा’बारेमा लेखिएका यी त तीन थान तर्कमात्रै हुन् । नेपाली भाषा साहित्यमा शोध गरेका सयौंले यस्ता विभिन्न तर्क दिएका छन्, धारणा दिएका छन् । स्वयं बीपी कोइरालाले चै सुम्निमा उपन्यासबारेमा के भनेका थिए ? त्यो उपन्यासको कथाको जरो के थियो ? यो सामग्रीमा त्यही कुरा जोडिएको छ ।

    बीपीलाई २०२० सालमै फुरेको थियो सुम्निमा उपन्यास

    सुम्निमा उपन्यास २०२७ सालमा प्रकाशन भएको थियो, तर यसको कथाले बीपीको मथिंगल घुमाएको भने २०२० चैतबाटै हो । २०२० चैत ७ गतेको बीपी कोइरालाको डायरीमा यसबारे लेखिएको छ । भारतको जवाहरलाल नेहरु संग्रहालयबाट पदमबहादुर थापाले छायाँ प्रति लिएर शंकर तिवारी सम्पादक भएर शिखा बुक्सले २०८० मा प्रकाशन गरेको सन् १९६२ देखि १९६८ सम्मको बीपी कोइरालाको डायरीको संकलन गरेर छापिएको पुस्तक ‘जेल डायरी’मा यसबारेमा लेखिएको छ । यो उपन्यास लेख्नुमा बीपीलाई दुई सवालले छोएको देखिन्छ ।

    ‘यौन विलास कि जिम्मेवारी ?’ भन्ने दुई सवालमा जोडिएर बीपी चैत ७ गरेको डायरीमा दुई बुँदा लेख्छन्-

    १. जिम्मेवारीको रुपमा गरिने हो भने यो जायज संरक्षणका लागि गरिने जैविक अथवा प्रेरणात्मक जिम्मेवारीको रुपमा यो अनिवार्य हो, तर यो विलासको माध्यम भयो भने बेठीक छ । यो हिन्दू धर्मको दृष्टिकोण हो । ईसाई धर्ममा पनि यस्तै कुरा हुन्छ । विलासको क्रियाको रुपमा यौनलाई सबैतिर वर्जित नै मानिएको छ ।

    २. अर्कोतिर यौन विलास क्रीडा हो । यसबाट हुन आउने प्रजनन फगत एक अतिरिक्त उत्पादन हो । निकृष्ट उत्पादन तथा अनिश्चित ।

    यी बुँदा भनेर बीपी लेख्छन्, ‘यस विषयमा मेरो दिमागमा एउटा कथा फुरिरहेको छ । हिन्दू धारणामा आधारित यौन र एक जोडी दम्पतीको सम्बन्धबारे । उनीहरुका लागि यौनक्रिया फगत एक अनुशासन हो । एउटा निष्पृह कार्य । उनीहरुको बच्चा भएन । त्यसैले उनीहरुको जिम्मेवारीपूर्ण क्रीडा निष्फल भयो । पुत्र प्राप्तिको उनीहरुको प्रयास व्यर्थ भयो ।’

    बीपीले अर्को ठाउँमा उपन्यासको नाम सुम्निमा नै राखेको छनक दिएर लेखेका छन्, ‘सुम्निमा-विश्व सम्बन्धबारेमा मेरो धारणालाई निरुपण गर्न यो कथा मेरो अनुकूल हुनेछ । मानव जोडीमा देखिने आत्मश्लाघा, दैविक उद्देश्य र देवत्वको अवधारणा तथा तिनको कार्यान्वयन यस कथाले सायद समेट्छ । धरतीमा विद्यमान आवाज, गन्ध र रङहरु प्रिय छन् । मान्छेको प्रेमले समयलाई अझ स्वर्णिम बनाउँछ । मन अझ खुशी हुन्छ । मैले भगवानबाट थप केही कुराको पनि आशा राखिनँ । मान्छेलाई वास्तवमा मनपर्ने भनेको दुःखमा उसमा आउने साहस हो ।’

    बीपीले देखेको सुम्निमा उपन्यासको दुर्बल पक्ष

    सुम्निमा उपन्यासको कमजोरी पक्षमा पनि बीपी मुखर छन् सोही दिनको डायरीमा । उनले भनेका छन्, ‘यस कथाको कमजोर पक्ष के छ भने आफूले आफ्नो लोग्नेभन्दा बलियो पुरुषसँग यौन सम्पर्क राखेको कुराप्रति महिला अनभिज्ञ रहून् भन्ने म चाहन्छु । उता लोग्ने भने त्यस साँझ उनकी श्रीमतीले देखाएको उग्र प्रतिक्रियाप्रति चकित छ, तर प्राकृतिक रुपले यस्तो घटना घटित हुने कुनै पनि सम्भावनाको म कल्पना गर्न सक्दिनँ । कुनै प्रपन्चको शिकार बनाइएकी महिलाको कुनै मिथकीय कथा सायद मेरो लागि काम लाग्ला ।’

  • अन्तरिक्षकी चिनियाँ गुरुआमा

    अन्तरिक्षकी चिनियाँ गुरुआमा

    काठमाडौं । सन् १९८० जनवरीमा जन्मेकी वाङ याफिङले सानामा देखेको डाक्टर सपना पूरा गरिनन् । सन् १९९९ मा पहिलो जहाज उडाएर उनी पाइलट भइन् । कक्षा चारमा हुँदा दौडमा उनी दोस्रो भएकी थिइन् । चिनियाँ महिला अन्तरिक्षयात्रीको दौडमा पनि उनी दोस्रो नै भइन् । सन् २०१२ मा लिउ याङ प्रथम चिनियाँ महिला अन्तरिक्षयात्री हुँदा उनले २०१३ मा ‘सन्चौँ-१०’ अन्तरिक्षयानबाट ‘थियाङकोङ-१’ अन्तरिक्ष स्टेसनमा प्रवेश गरेर अन्तरिक्षको यात्रा गरिन् ।

    उनी दोस्रोमात्रै भइनन्, पहिलो पनि भइन् । जस्तो स्कुल पढ्दा सात हजार मिटरको दौडमा उनी प्रथम भएकी थिइन्, अन्तरिक्षमा कक्षा लिने चिनियाँ प्रथम अन्तरिक्ष महिला उनै भइन् । उनले सन् २०१३ जुन २० मा विज्ञान शिक्षाको कक्षा लिइन् ।

    स्पेस वाक गर्ने प्रथम चिनियाँ महिला पनि उनै भइन् । उनले सन् २०२१ नोभेम्बर ८ मा उक्त रेकर्ड बनाएकी हुन् । वाङ याफिङ विद्यालय शिक्षा सकेर गाँउमै शिक्षक बनुन् भन्ने आमाबाबुको सपना थियो । उनले चीनको सान्दोङ प्रान्तको फुसान जिल्लाको गाँउ चाङचेचुआङमा शिक्षक बन्ने आमाबुबाको सपना पूरा गरिनन् । तर, चीनको पहिलो अन्तरिक्ष शिक्षक हुने देशको सपना भने पूरा गरिन् ।

    अहिले उनी चीनमा त लोकप्रिय छन् नै, विश्वको चासोको केन्द्र बनेकी छन् । वाङ याफिङका समाचार, डकुमेन्ट्रीदेखि किताबहरू प्रकाशन भएका छन् । त्यसमा एक हो- चाओ यानले लेखेको र दिङ केचियाले अंग्रेजीमा अनुवाद गरेको उनको जीवनी ‘चाइनाज फर्स्ट फिमेटल टिचर इन स्पेस’ यसलाई नेपाली भावानुवाद गर्दा अन्तरिक्षकी प्रथम चिनियाँ गुरुआमा भन्न सकिन्छ । यो जीवनी एक व्यक्तिको सफलताको कथामात्रै होइन । यो चीनदेखि एसिया एक महादेशकै सफलताको कथा पनि हो ।

    चीनको कृषक परिवारमा जन्मेकी वाङले उच्च मावि पढ्दा कक्षामा चस्मा नलाउने एक्ली छात्रा भएकोले उनले चीनको महिला पाइलटहरूको सातौँ व्याचको सदस्यमा आवेदन दिन हौसला पाइन् । उनले आवेदन दिइन्, सफल पनि भइन । यसले उनको पाइलट करिअर बन्यो । पाइलट हुँदा उनले २००८ मा सिचुआन प्रान्तको भूकम्पको उद्धारमा होस् वा २००८ कै बेइजिङ ओलम्पिकमा बादल धपाउने पाइलटको रूपमा काम गरेको ऐतिहासिक अनुभव लिएकी छिन् । पाइलटको रूपमा भन्दा उनले अन्तरिक्षयात्रीको रूपमा भने आफ्नो ब्राण्ड बनाउन सकिन् ।

    वाङको कथाले बदलिँदो चीनको चित्र देखाउँछ । के चार दशक अगाडि वाङजस्तो कुनै गाउँको विद्यालय पढ्ने छात्राले पाइलटदेखि अन्तरिक्षयात्री हुन सक्ने सपना देख्न सक्थे ? सक्दैनथे । त्यसैले यो वाङको निजी सफलता कथामात्रै होइन । के सोभियत संघका युरिगागरिन पहिलोपटक अन्तरिक्ष पुग्दा होस् वा अमेरिकाका बज एल्ड्रिल र निल आर्मस्ट्रङ चन्द्रमामा पुग्दा युरोप र अमेरिका बाहिर एसियाबाट यसैगरी अन्तरिक्ष पुग्ने सपना कसैले देखेको थियो ? सायद थिएन । त्यसैले यो एसियाली सफलताको पनि कथा हो ।

    चीनको होप पब्लिसिङ हाउसले प्रकाशन गरेको वाङको कथामा कृषक परिवार, घरकी जेठी छोरीदेखि पाइलट श्रीमानसँगै भएको विवाह अनि अन्तरिक्ष यात्रु हुँदा श्रीमानले जागिरबाट बिदा लिएर गरेको सहयोगदेखि अन्तरिक्ष यात्रु हुँदाका दुःख र उत्साहको कथामात्रै छैन । पुस्तकमा विश्वभरका अन्तरिक्ष महिला शिक्षकसँगको कथादेखि उनले अन्तरिक्ष र स्वदेशको तुलना गरेको रोचक किस्सा पनि छन् । उनले भनेकी छिन्, ‘भुँइमा हुँदा मात्रीभूमि घर हो । अन्तरिक्ष सपना हो । अन्तरिक्ष हुँदा अन्तरिक्ष घर हो । मात्रिभूमि सपना हो ।’

    अन्तरिक्ष कक्षा लिँदा उनले हास्यबाट सुरू गरिन् । पृथ्वीबाट ३०० किलोमिटर माथिको अन्तरिक्ष स्टेसनबाट कक्षा लिनु अगाडि उनले सहकर्मी अन्तरिक्षयात्रु निए हइसङलाई हत्केलाले एक धक्का दिइन् । गुरुत्वाकर्षण नहुने भएकोले उनी उडेर सरर पर पुगे । पृथ्वीमा हुने ८० हजार चिनियाँ विद्यालयका करोडौं विद्यार्थीले यो देखिरहेका थिए । यत्ति गरेर उनले भनिन्, ‘अन्तरिक्षमा हामी सबै कङ्फू मास्टर्स हौँ ।’

    अमेरिकी स्कुले शिक्षक बार्बरा मोर्गनले सन् २००७ अगस्ट १४ मा अन्तरिक्षबाट कक्षा लिइन् । त्यसको ठिक छ वर्षमै वाङले चिनियाँहरूलाई कक्षा लिइन् । बार्बराले २५ मीनेर र वाङले चालिस मिनेट कक्षा लिएका थिए । यी दुवैको प्रेम पनि रोचक तरिकाले किताबमा लेखिएको छ । वाङले कक्षा लिन लागेको थाहा पाएपछि बार्बराले सन् २०१३ जुन १३ मा पत्र लेखेर बधाई र शुभकामना दिँदै भनेकी छिन, ‘सायद तिमी आफ्नो काममै अन्तरिक्षमा व्यस्त हुने छौँ । तर, समय निकालेर बाहिर पनि हेर्नु । चीन र विश्व अभूतपूर्व सुन्दर छन् ।’

    कक्षा सकेर जुन २० मा वाङले उत्तर फर्काउँदा लेखेकि छिन्, ‘मैले उडान भरिनै हाम्रो घर पृथ्वीलाई पटकपटक हेरिरहेँ ।’

    विज्ञान र प्रविधिको शिक्षामा आम विद्यार्थीहरूको चासो र चर्चा बढाउन अन्तरिक्ष कक्षा विद्यालयमा लान सुरू गरिएको हो । यसको आरम्भ अमेरिकाबाटै भएको हो । चीनले त्यसको सफल प्रयोग गरेर एसियामा उदाहरण पेस गरेको छ । जनसंख्या, अर्थतन्त्रदेखि अन्तरिक्ष शक्तिमा विश्वको शीर्ष देशहरूको सूचीमा चीन अटाएको छ । चीनको यो सूचीलाई चर्चित बनाउन वाङहरूको योगदान महत्वपूर्ण छ ।

    नेपालमा बसेर अन्तरिक्ष सपना देख्न त सकिन्न । तर, चीनजस्तो अन्तरिक्ष शक्तिसँग सहकार्य गर्न भने सकिन्छ । चीनको अन्तरिक्ष स्टेसनमा अफ्रिकि देशका कलाकृति प्रदर्शनदेखि पाकिस्तानसँग अन्तरिक्षका सहकार्यहरू भएका छन् । नेपालले विज्ञान कूटनीतिबाट यस्ता क्षेत्रमा आफ्ना मेधावी विद्यार्थी जोड्न बाटो देखाउन सक्छ । त्यसको पहिलो सर्त भनेको चीनको अन्तरिक्ष सफलता कथाहरू सुन्नु पढ्नु हो । त्यसको लागि वाङको यो अंग्रेजीमा आएको किताब एक ग्रन्थ बन्न सक्छ ।

  • गजल सङ्ग्रह ‘ रैबार टीकापुरका ’  विमोचन

    गजल सङ्ग्रह ‘ रैबार टीकापुरका ’  विमोचन

     कैलाली  ।  टीकापुरमा ‘रैबार टीकापुरका’ संयुक्त गजल सङ्ग्रहको विमोचन गरिएको छ ।
     २०७९ मा टीकापुरमा सम्पन्न भएको टीकापुर साहित्य महोत्सवको गजल सन्ध्या कार्यक्रममा सहभागी १५ जना स्रष्टाहरूका ५\ ५ वटा गजल समावेश गरिएको ‘रैबार टीकापुरका’ संयुक्त गजल सङ्ग्रहमा ७५ वटा गजलहरू समावेश गरिएका छन् । साहित्यकार स्व. गगनसिंह थापाको स्मृतिमा स्थापित गगन फाउन्डेसनले उक्त सङ्ग्रह प्रकाशन गरेको हो ।
    उक्त सङ्ग्रहमाथि टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. धनकृष्ण उपाध्यायले साहित्यिक कार्यक्रममा वाचन गरिएका १५ स्रष्टाका गजलहरूको सङ्ग्रह नै प्रकाशित हुनु आफैमा सुन्दर पक्ष भएको बताए । कार्यक्रममा सङ्ग्रहका स्रष्टा हर्क विष्ट र विष्णुकुमारी बिसी ‘सपना’ले आफ्ना ५\५ ओटा गजलहरू वाचन गरेका थिए ।
    सो विमोचन कार्यक्रममा सहभागीहरूका तर्फबाट साहित्यकारहरू मीनबहादुर थापा ‘मिलन’, आर्त अकुलीन, आनन्द विक्रम राणा, कण्ठराज गिरी, झलनाथ खनाल, भक्तराज देवकोटा, ललित विष्ट, जनकराज तिमिल्सेना, चेतराज देवकोटा, निलम चौधरी र बाबु देवकोटाले गजल तथा कविताहरू वाचन गरेका थिए ।
     गगन फाउन्डेसनको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार श्रेष्ठ प्रिया पत्थरले टीकापुरको माटोले थुप्रै साहित्यकार जन्माएको बताएकी थिइन् । उनले टीकापुरलाई सृजनशील भूमिको रूपमा पहिचान बनाउनु पर्ने बताइन् ।
    गगन फाउन्डेसनका संस्थापक तथा संरक्षक हिक्मत थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन पत्रकार परमानन्द पाण्डेले गरेका थिए  ।
  • ‘संकुचित सोचले गाँजेको जीवन’

    ‘संकुचित सोचले गाँजेको जीवन’

    सोचको विविधता पनि अनेकन् । यही अनेकताभित्र जीवनका पलहरू अनन्य रूपमा बगिरहे । आफूलाई लागेको मात्र सत्यतामा बगेको जीवन यही नै अन्तिम सत्यको पगरीमा गुथिरह्यौ । हेर्ने दृष्टिकोण सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थामा सिर्जित हुने अवस्थामा व्यक्तिको चेतना स्तरमा सोचको विविधता रहने नै भयो । तर त्यही सोचमा अगाडी बढ्दा कसैलाई सहज हुने र कसैलाई असहज हुने अवस्था नै जीवनको पर्याय रहेछ ।

    जीवनको सबैभन्दा ठूलो अभिसाप भनेको आफ्नो सोच नै सर्वमान्य हो भन्ने सोच्नु रहेछ । त्यही सोचले गाँजेको मानसिकतामा सोचको विविधताले दिएको सोच सबैलाई अवगत होला अथवा नहोला, त्यो गर्वमा नै रहला, तर यो पंक्तिकारमा पलाएको सोचले भने जीवनको गहिराई वुझन प्रेरित गरिदियो ।

    सामान्यतामा बाँच्न अभ्यस्त हामीहरू सोच र हृदयको पराकम्प मिलाउन नसक्दा अनेकन् पीडाको सिकार बन्नुपर्‍यो । सोचको बन्धकतामा रमेको हामीहरू त्यसभन्दा पर सोच्न कदापि सकेनौं । बेलाबेलामा देखिएको जीवनको सार्थकताको परिचित्रलाई टार्ने, लत्त्याउने र सार्ने परिपन्चमा परिरह्यो ।

    पलुवा फेरियो, वसन्तले नयाँ रूप लियो, अनुहारमा थप चाउरी पर्‍यो तर सोचको क्रियाशीलताले नवीनता ग्रहण गर्न सकेन । बेलाबेलमा झस्काउने पलहरू छायामा पर्दे गयो । आहा घमन्ड पनि कति कति ? मै मात्र सही, मै मात्र जान्ने, अरु सबै मै अधीनस्थ रहनुपर्ने सोच । भूमिका त्यही अनुसारको गरेता पनि सबैलाई पाच्य नहुने ।

    संकुचित सोचभित्र आवश्यकताको चाङ, वस्तुको आवश्यकता भन्दा महत्वकांक्षाले गाँज्दा अनेकन् जीवनहरू निस्कन नसकिने गरी थला परे । अनेक विषयहरू व्याख्या गर्न तम्सनेहरू आफ्नो मूल्यांकनमा भने चुक्दा रहेछ । कहिल्यै पनि आफूलाई नियाल्न नसक्ने आत्माहरू अरुको चियोचर्चामा अभ्यस्त बनिरहे । कमजोरीको महसुस नगर्नेहरू आफूलाई संसारका अभ्यस्त सोच्ने सोच भने निरन्तर घर गरिरह्यो ।

    आत्माले पटक पटक प्रश्न गरिरह्यो, जीवनको औचित्य पुष्टि गर्ने आधारहरू खोजिरहे । म भने प्रश्नबाट भागिरहे । जीवनमा सफल हुने हुटहुटीले सुर्किएको म उठ्नै नसक्ने बनिरहेको छ । प्राप्तिमा खुशी हुने र असफलतामा भाग्यलाई दोष दिने प्रवृत्तिले अरुलाई झैँ मलाई पनि नराम्रोसँग गाँजिदियो ।

    घमन्डको पनि सीमितता नहुने रहेछ । यही असीमित चाहनाभित्र सीमित प्राप्तीले जीवनमा कहिल्यै शान्ति नदिने रहेछ । के र कस्का लागि भन्ने भावनाको विकास र त्यसको सफल कार्यान्वयनबिना जीवन सफल नहुने रहेछ, जो कोहीले गर्न सकुन् । बोध पनि समयमा प्राप्त नहुँदा फसिसकेको जीवन निकाल्ने अनवरत प्रयत्नहरू धुमिल बनिदियो ।

    निरन्तरतामा बाँकी जीवन धकेल्ने र भाग्यलाई दोष दिएर भाग्ने बाहेक अन्य विकल्प रहेन । अविच्छिन्न सपनाहरूलाई बिट मार्ने बाध्यतामा बेला-बेला छल्किएको जोस जाँगरहरू लत्तिएका छन् । सत्यको परिभाषा पनि अनुकूलनमा व्यापक प्रयोग गरिरहे । अन्ततोगत्वा आत्मालाई ढाँट्न खोज्ने प्रयत्नहरू निरन्तर कमजोर बनिरहे । यही कमजोर प्रयत्न नै जीवनको अभिन्न अंग रहेछ ।

    पृथकता खोज्ने असम्भव प्रयास यो निरन्तरताको जीवन भित्र सम्भव नहुने रहेछ । फगत आत्मरतिमा रमाउने सोचहरू जीवनका लागी थप पीडाका स्रोत बन्दो रहेछ । सपना र कल्पना पनि कति कति रु असम्भव सोचहरू पनि सार्थक हुने सपना देख्ने वातावरण पनि कस्तो के ?

    जीवनका उपलब्धि र सार्थकता पनि भौतिकवादमा रूपान्तरण हुन्छ, त्यहीबाट जीवनको अध्याय समाप्त हुने रहेछ । तर, त्यही समाप्तिलाई नै जीवनको सुरुवाती देख्नेहरूको भिडमा रम्न बाध्य यही संकुचित सोचले बनाइदियो । जसका कारण जीवन खोज्ने अभिलाषाहरू निरन्तरताको उपज बनिदियो ।

    आकाशका सूर्य, चन्द्र र ताराजस्तै विलीन हुने सोचको पटाक्षेप पलपलमा नभए जीवन केही सहज हुने थियो कि ! प्रकृतिको सामान्य नियमलाई वुझन नसक्नेहरूका जीवन साँच्चै नारकीय हुने रहेछ । त्यही नारकीय जीवनमा अर्थअभ्यासहरू भनेका असम्भवप्राय हुने रहेछन् । प्राप्तिलाई जीवनका सफलता सोच्ने सोचले जीवन विज्ञानको अर्थ वुझन सक्ने रहेनछ ।

    घमन्डको पनि सीमितता नहुने रहेछ । यही असीमित चाहनाभित्र सीमित प्राप्तीले जीवनमा कहिल्यै शान्ति नदिने रहेछ । के र कस्का लागि भन्ने भावनाको विकास र त्यसको सफल कार्यान्वयनबिना जीवन सफल नहुने रहेछ, जो कोहीले गर्न सकुन् । बोध पनि समयमा प्राप्त नहुँदा फसिसकेको जीवन निकाल्ने अनवरत प्रयत्नहरू धुमिल बनिदियो ।

    दृष्टिकोण पनि फरक, चेतना पनि फरक, व्यक्ति पनि फरक । यति धेरै फरकपन हुँदा हुँदा पनि आफ्नो सोच जस्तै अरुको पनि सोच हुनुपर्ने कति धेरै घमन्ड । यही घमन्डले जीवन नै घृणित बनाइदियो । सोचको विविधता पनि असीमित हुने रहेछ, यति बुझ्न नसक्नेहरूको भिडमा आफूलाई पनि उभ्याइरहेँ । सुध्रनेको अनवरत प्रयासहरू पनि केही दिनका लागि मात्र रमिते बने ।

    चेतनासँग जोडिएका जीवनका सोचहरू बन्धक बनेपछि निरन्तरताका जीवन नै प्रिय बन्दा रहेछ । जति सोच, त्यति नै बोझको आभास हुने अवस्थामा अर्को बोझको सारथि कमै बन्लान् । प्रश्न यही हो कि पल पलमा क्रान्तिकारिता देखिने सोचहरू मानसपटलमा कहिलेसम्म घुमिरहने हुन् ?

    आकाशका सूर्य, चन्द्र र ताराजस्तै विलीन हुने सोचको पटाक्षेप पलपलमा नभए जीवन केही सहज हुने थियो कि ! प्रकृतिको सामान्य नियमलाई वुझन नसक्नेहरूका जीवन साँच्चै नारकीय हुने रहेछ । त्यही नारकीय जीवनमा अर्थअभ्यासहरू भनेका असम्भवप्राय हुने रहेछन् । प्राप्तिलाई जीवनका सफलता सोच्ने सोचले जीवन विज्ञानको अर्थ वुझन सक्ने रहेनछ ।

    विगत हुँदै वर्तमानलाई तौलिरहँदा अनेकन् प्रश्नले जरा गाडेको छ । हुर्कने र फैलने ती जराहरू सहज बन्न सकेनन् । यति धेरै तिरस्कृत जीवनभित्र पनि सपना देख्न, महत्त्वाकाङ्क्षा त्यो पहाडलाई रोक्न कदापि सम्भव भएन ।

    यही सोच्दैछु, धर्तीको वातावरणमा धुमिल हावाको कम्पन संसारका कुनै पनि कुनामा समान होला कि नहोला रु वातावरणको गतिसँगै सोचको विविधतामा फिक्का आयो कि आएन होला ? क्रान्तिकारी सोचको निरन्तरता धर्तीमा रहने जीवहरूमा रहलान् कि नरहलान् !

  • यसपाला नुनिलो आँसुमै घोलियो ‘बाधुरे’ को दशैँ

    यसपाला नुनिलो आँसुमै घोलियो ‘बाधुरे’ को दशैँ

    सधैँ झैं कार्यालय गइरहेको थिएँ, बाटोमा बाधुरे भेटिनुभयो । दश औंला जोडेर नमस्कार गर्दै बाधुरेले मेरो बाटो छेक्नुभयो । हार्दिकताका साथ नमस्कार ग्रहण गर्दै मैले बाधुरेलाई हालखबर सोधेँ । लौ ! उहाँ त झुत्रो र मैलो कोटको खल्तीबाट कागजको टुक्रा मलाई देखाउँदै रुन पो थाल्नुभयो । असहज स्थिति आएपछि यहाँ आउनुहोस् भन्दै नजिकै रहेको कमल जैसीजीको मोबाइल पसलमा बसेर त्यो कागजको टुक्रा लिएर पढेँ ।

    आम्मामा ! बाधुरेले त बिहानै कैलालीमा हुन लागेको धार्मिक महोत्सवका लागि १५० रूपैयाँ सहयोग गरेका रहेछन् । उनका हातमा १५० तिरेको रसिद थियो । नगदी रसिद मेरो हातमा दिएर बाधुरेले दुई हात जोडेर केही भन्न खोज्दै हुनुहुन्थ्यो । आँखाबाट बाटो छेक्दै आँसुका थोपा खसाल्दै बाधुरेले फेरि दश औंला जोडेर केही भन्ने प्रयास गर्नुभयो ।

    उहाँको आवाज बुझ्न नसकिने छ । अर्थात् उहाँले बोल्दा शब्द नछुट्टिएर हाहाहाह…… जस्तो आवाजमात्रै सुनिन्छ । बाधुरेको कुरा बुझ्ने एउटामात्रै माध्यम हातको इसारा हो । मैले पनि हातको इसाराबाट मात्रै उहाँका आँसुका मूल्य बुझेँ । सामाजिक सुरक्षा भत्ता पाउन नसकेको पीडा बाधुरेको आँसुको ढिका बनेर खसेको रहेछ ।

    बाधुरेलाई मैले चिन्न थालेको २०४६ सालदेखि हो । त्यो बेला म केटाकेटी नै थिएँ । विनायक बजारमा मैलो र झुत्रो लुगामा सधैँ भेटिने तिनै बाधुरेको नामबाट गाउँघरमा एउटा मानक बनेको थियो । कसैलाई अपमान गर्दा वा होच्याएर बोल्दा बाधुरेको नामलाई हतियार बनाउने गरिन्थ्यो । जस्तो-‘तेरो त बाधुरे जतिको पनि हैसियत छैन, तँ र बाधुरेमा केही फरक छ ?’ यस्तै संवाद त्यति बेलाका केटाकेटीदेखि वृद्धावृद्धसम्मको मुखबाट सुनिन्थ्यो । त्यतिमात्रै होइन, कसैले आफूलाई हेपिएको अनुभूति गर्‍यो भने उही बाधुरेकै नामको सहारा लिन्थे । जस्तो- ‘मलाई त बाधुरे जत्तिको पनि मानेको छैनस्, पख तँलाई !’ आदि ।

    बजारको हल्लालाई आधार मान्ने हो भने मन्त्रालयले मेयरको रोजाइको प्रमुख प्रशासकीय अधिकृत नखटाइदिएकाले मन्त्रालय र प्रमुख प्रशासकीय अधिकृतको रिस जनतामाथि पोखिएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतको वैयक्तिक मामिलाले नगरपालिकाको सार्वजनिक सेवा अवरुद्ध गरिएको हो रे ! जनताको नुन खाएर आफ्ना वैयक्तिक कुण्ठा र रिस जनतामाथि पोख्ने अधिकार कसले दियो ?

    बाधुरे विनायक बजारको ब्राण्ड हुन् । लगभग आधा अछामीले बाधुरेलाई चिन्छन् होला । उहाँलाई सानैदेखि चिन्ने जतिले बाधुरेको उमेर ७५ देखि ८० वर्षसम्म मान्छन् । होटेल र पसलमा गएर जुठा भाँडा माझ्ने, त्यसबापत कसैले दिएका खानेकुरा खाने, कसैले दिएका लुगा लगाउने बाधुरेको जीवनी हो । मैले थाहा पाएअनुसार बाधुरे अविवाहित हुनुहुन्छ । जसले एक गाँस खान र पिँढीमा बास दिन्छ त्यहीँ बस्नुहुन्छ, बाधुरे ।

    उहाँको आम्दानीको स्रोत भनेकै त्यही सामाजिक सुरक्षा भत्ता र कसैले दिने स्वेच्छिक दान दक्षिणा हो । बाधुरे आफैँले मागेर हिँड्नुभएको मैले आजसम्म देखेको छैन् । तर, कसैले दुई-चार पैसा दियो भने खुसी भएर पैसा लिने गर्नुहुन्छ । मैले पनि धेरै पटक दुई-चार पैसा दिएको छु । आज भने उनले उल्टै अरुलाई दान दिएको नगदी रसिद देखाएपछि म स्तब्ध भएँ । मसँगको छोटो बसिबियाँलोमा गहभरि आँसु झार्दै हातको इसाराले सामाजिक सुरक्षा भत्ता लिन दशचोटी बैंक गइसकेको र रित्तो हात फर्किएको गुनासो पोख्नुभयो र भत्ता कहिले पाइन्छ ? भनेर प्रश्न गर्नुभयो ।

    बाधुरेको प्रश्नले म निशब्द बनेँ । उत्तर दिनलाई मलाई शब्दको अभाव भयो । र, आफ्नो मनलाई एकपटक पढ्न मैले आफैँलाई आदेश दिएँ । म शब्दसँग लुकामारी खेल्छु । शब्द खेलाउँदै मैले कैयौं पटक गीत लेखेको छु भने कैयौं पटक कविता । निबन्ध लेख्न मैले शब्द नै खेलाउने गर्छु । शब्दकै माला बुनेर मैले प्रकाशन हुन मात्रै बाँकी रहेको पाण्डुलिपी हैसियतको उपन्यास लेखेको छु । मैले कविता पनि लेखेको छु । शब्द तौलेर नै मैले कथा लेखेको छु ।

    मैले थुप्रै शब्दमा सङ्गीत पनि भरेको छु । शब्दको जादु देखाउन सक्ने मान्छे मलाई महान् लाग्छन् । शब्द ब्रह्म त्यसै भनिएको होइन । त्यही शब्द कसैको प्रेरणाको स्रोत र जीवनमार्ग बन्छ भने त्यही शब्द कसैलाई उच्च रक्तचापको कारकमात्रै होइन, मृत्यु बनेर बज्रिदिन्छ । शब्द जादुगरको पङ्तिमा यो पङ्तिकारको पनि कतै न कतै उपस्थिति छ जस्तो लाग्छ । तर, आज बाधुरेको आँखाबाट छचल्किएका आँसु अगाडि म शब्दाभावको भूमरीमा निकै रनभुल्ल परेँ । जे हुन्छ सबै ठीक हुन्छ भन्ने गीतासारको सहयोग लिँदै मैले बाधुरेलाई हात हल्लाएँ र कार्यालयतिर हिँडे ।

    संविधानले बाधुरेजस्ता बबुरा जनतालाई न्याय गर्‍यो कि गरेन ? नीति निर्माताले गरिबमुखी नागरिक प्रशासन (निजामती ऐन) बनाएका रहेछन् कि शासकमुखी बनाएछन् ? संघीय सरकारले बाधुरेलाई सम्झियो कि सम्झिएन ? मन्त्रीलाई बाधुरेका आँसुको मूल्य थाहा भयो कि भएन ? बाधुरेका आँखाबाट निस्किएका आँसुलाई कतै हर्षका आँसु सम्झेर नगरपालिकाका मेयर साहेव भ्रमित हुनु त भएन ?

    हिँड्दा हिँड्दै बाधुरेको हातमा भएको नगदी रसिदले मलाई स्तब्ध बनाइरहेको थियो । कैलालीको लम्की चुहा नगरपालिकाको कालिका धार्मिक महोत्सवका लागि बाधुरेले १५० रुपैयाँ दान दिनुभएको विषय अतुलनीय थियो । आज रसिदबाट मात्रै मलाई थाह भयो कि बाधुरेको न्वारानको नाम बचनसिंह कामी रहेछ । बाधुरे त उहाँको ब्राण्ड रहेछ । एकातिर सामाजिक सुरक्षा भत्ता नपाएको पीडा, अर्कोतिर सर्वहारा बाधुरेको समाजसेवा गजबको संयोजन लाग्यो, मलाई । बाधुरे सामाजिक सुरक्षा भत्ता लिन दिनको दुईपटक बैंक पुग्ने गरेको सुनेको थिएँ । आज मेरै अगाडि बाधुरेलाई मैले दानविर तर असहायको रूपमा साक्षात्कार गरेको थिएँ ।

    कार्यालय जाँदै गर्दा मेरा खुट्टा भारी भए । टाउकोमा रिङ्गटाले फन्को मार्‍यो । करिब ५ मिनेटको बाटो मलाई आज ५ घण्टा जतिको लाग्यो । हिँड्दै जाँदा मैले कतै समुन्द्रका छालले लखेटेको महसुस गरेँ भने कतै काँडेघारीको बाटोमा अरेली काँडाले चसक्क घोचेको अनुभव भयो । कार्यालय पुग्दा आधा घण्टा ढिलो भइसकेको थियो । कार्यालयमा खासै काम थिएन । काम त थियो तर गर्न दिइएको थिएन ।

    दशैँको बिदा आउन केबल एक दिन मात्र बाँकी थियो । असहाय, एकल महिला, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताबाट लाभग्राही वञ्चित पारिएका थिए भने पसिना बगाएर पकाएको आफ्नो ज्याला पाउन आकाशको फल आँखा तरी मर भन्ने जनउक्ति सम्झिनँ विचरा शिक्षक/कर्मचारी विवश थिए । मैले जेनतेन कार्यालयमा २ घण्टा बिताएँ, तर मेरो मानसपटलमा चलेको भावनाको हुरी बतास शान्त हुने कुनै लक्षण थिएन । मानसपटलमा बाधुरे, समाजसेवा र सामाजिक सुरक्षा भत्ता घुमिरह्यो, घुमिरह्यो……।

    बाधुरेको आँखामा आँसु बगाउने अधिकार हामीलाई कसले दियो ? यस्तो कुकर्मको दोषी को हो ? यस्तै प्रश्नको उत्तरका लागि म निकैबेर घोत्लिएँ । उत्तर सहज थियो, तर आफैँलाई दोषी करार गर्न विवश थिएँ, म । किनकी म स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृत थिएँ । करिब तीन महिनाअघि मलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त जिम्मेवारी दिएको थियो । स्थानीय सरकारको आर्थिक र प्रशासनिक कार्यसम्पादन गर्नु मेरो कर्तव्य र दायित्व थियो । थुप्रै बाधुरेको सामाजिक सुरक्षा भत्ता भुक्तानी दिनु मेरो जिम्मेवारी थियो । सरकारी सेवामा पसिना बगाएर काम गर्दै आइरहेका शिक्षक कर्मचारीको ज्याला दिन खटाइएको सरकारको प्रतिनिधि भएर पनि म केही गर्न सकिरहेको थिइनँ ।

    बाधुरेको नुनिला आँसुको सन्देश

    बाधुरेको हातमा मैले देखेको समाजसेवाको रसिद र आँखाबाट चुहिएका पीडारूपी आँसुका ढिकाले मलाई परिवर्तनका लागि भएका राजनीतिक आन्दोलन, राष्ट्रको संविधान, इतिहासकालदेखि विकेन्द्रीकरण क्षेत्रमा भएका अभ्यास, ऐन, नियमावली र जनताले तिरेको करबाट नुन खाएर सार्वजनिक पदधारण गर्ने हाम्रो जवाफदेहिता र कर्तव्यनिष्ठतामाथि उब्जिएका थुप्रै प्रश्नमा म घोत्लिन पुगेँ । माथि उल्लेख गरिएका संवैधानिक तथा कानूनी विषय यही सवालका सिलसिला हुन् । सार्वजनिक सेवाको केन्द्रमा जनता हुनुपर्दछ । बिरालोले म्याउँ गरोस् वा नगरोस् तर मुसा मार्नैपर्छ भने झैँ केन्द्रिकृत वा विकेन्द्रित प्रशासन जे सुकै होस् केन्द्रबिन्दुमा जनता हुनै पर्दछ । मेरो मानसपटलमा खेलिरहेका प्रश्नको नालीबेली बाधुरेको नयनबाट खसेका आँसुका ढिकाबाट नै खोज्ने प्रयास गरेको छु ।

    यसपटक बाधुरेको दशैँ नुनिलो आँसुमै घोलियो । नगरपालिकामा कैयौँ बाधुरे होलान्, तर विनायकका बाधुरे एक प्रतिनिधि पात्र मात्र हुन् । असहाय भनेर सरकारले दिएको सामाजिक सुरक्षा भत्ता आउला र दशैँ मनाउला भनेर पर्खिएर बसेका बाधुरेजस्ता कैयौं जेष्ठ नागरिक, एकल महिलाले के सोचे होलान् ? संघीय सरकारले पठाएको ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको भत्ता र मजदुरको पारिश्रमिक स्थानीय सरकारले खोसिदिएको कतिले थाह पाए होलान् ।

    विनायक बजारदेखि करिब ५ घण्टा पैदल दुरी बारलामा बस्ने ९० वर्षीय जक्ति शाहीले भने यसरी दुःखेसो पोख्नुभयो- ‘हामीले भोट हालिकन जिताएका मान्ठले हाम्रै खुसी लुट्न्ना भन्ने सोचेका छिएनौ ।’ विनायक बजारदेखि तीन घण्टाको दुरी आली बस्ने ९३ वर्षीया कुन्ती माझीले गहँभरि आँसु चुहाउँदै पोख्नुभएको निराशा यस्तो छ- ‘यो पाला औठिमीमा पनि सत्ता पाएनौं । अर्को औठिमीमा मरिन्छ कि बाँचिन्छ खै पत्तै छैन ।’

    जक्ति शाही र कुन्ती माझी मात्रै होइन, शिक्षक, कर्मचारीको पीडा दु:खेसो उस्तै छ । किसान मजदूरलाई पनि यस पटकको दशैँ नियति बनेर बज्रिँदैछ । पसिना बगाएर आर्ज्याको श्रमको ज्यालाले दैनिकी चलाउने मेहनतको श्रमिकले दशैँ जस्तो चाडमा पकाएको ज्याला नपाउनु जस्तो अन्याय के होला र ?

    आम्मामा ! बाधुरेले त बिहानै कैलालीमा हुन लागेको धार्मिक महोत्सवका लागि १५० रूपैयाँ सहयोग गरेका रहेछन् । उनका हातमा १५० तिरेको रसिद थियो । नगदी रसिद मेरो हातमा दिएर बाधुरेले दुई हात जोडेर केही भन्न खोज्दै हुनुहुन्थ्यो । आँखाबाट बाटो छेक्दै आँसुका थोपा खसाल्दै बाधुरेले फेरि दश औंला जोडेर केही भन्ने प्रयास गर्नुभयो । उहाँको आवाज बुझ्न नसकिने छ ।

    संविधानले बाधुरेजस्ता बबुरा जनतालाई न्याय गर्‍यो कि गरेन ? नीति निर्माताले गरिबमुखी नागरिक प्रशासन (निजामती ऐन) बनाएका रहेछन् कि शासकमुखी बनाएछन् ? संघीय सरकारले बाधुरेलाई सम्झियो कि सम्झिएन ? मन्त्रीलाई बाधुरेका आँसुको मूल्य थाहा भयो कि भएन ? बाधुरेका आँखाबाट निस्किएका आँसुलाई कतै हर्षका आँसु सम्झेर नगरपालिकाका मेयर साहेव भ्रमित हुनु त भएन ? जिल्लाका सीडिओ र विभागीय हाकिमले बाधुरेलाई चिन्नु भयो कि भएन ? प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कर्तव्य निर्वाह गर्नु भयो कि भएन ?

    बाधुरेका आँखाबाट झरिरहेका आँसुले यिनै प्रश्नको जवाफ खोजिरहेको छ र, यसको लेखाजोखा हुनैपर्छ । जनताको कर खाएर जनताको खुसी र दुःखसँग खेलबाड गर्ने अधिकार कसैलाई हुनुहुँदैन । यसपटक बाधुरेको दशैँ नुनिलो आँसुमा घोलिएर बित्यो । शिक्षक, कर्मचारी, किसान र मजदुरको घर पनि यसअघिका दशैँजस्तै चम्किलो छैनन् । आखिर किन यस्तो अवस्था आयो ? बाधुरेका आँसुले यो प्रश्नको पनि जवाफ अवश्य खोजिरहेको छ ।

    बजारको हल्लालाई आधार मान्ने हो भने मन्त्रालयले मेयरको रोजाइको प्रमुख प्रशासकीय अधिकृत नखटाइदिएकाले मन्त्रालय र प्रमुख प्रशासकीय अधिकृतको रिस जनतामाथि पोखिएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतको वैयक्तिक मामिलाले नगरपालिकाको सार्वजनिक सेवा अवरुद्ध गरिएको हो रे ! जनताको नुन खाएर आफ्ना वैयक्तिक कुण्ठा र रिस जनतामाथि पोख्ने अधिकार कसले दियो ? के सार्वजनिक ओहदामा बसेर कुनै व्यक्ति विशेषसँग जुँगाको लडाइँ गरेर स्थानीय सरकारका पूरै सेवा अवरुद्ध गर्न पाइन्छ ?

    मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि बाधुरेको आक्रोशपूर्ण प्रश्नमात्रै होइन दोषीमाथि कडा कारबाही गर्न सरोकारवाला निकायमा हजारौं बाधुरेको अपिल छ । अन्तमा, अरूले दिएको दान दक्षिणाबाट प्राण धान्ने बाधुरेको सामाजिक सुरक्षा भत्ता खोस्नेले आँसुका नुनिला ढिका पिएर भए पनि बाधुरेले गर्नुभएको १५० रुपैयाँको समाज सेवाबाट कुनै सन्देश लिनुहुन्छ कि ? अस्तु !

    (पवन मधुश्री उर्फ पदम माझी अछामको पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

  • अनि पो दशैं आउँथ्यो…

    अनि पो दशैं आउँथ्यो…

    काठमाडौं । केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ… गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दशैं आयो ।

    नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दशैंका बेला न हो वर्षदिनमा नयाँ लुगा हाल्न पाइने । ‘स्कुल ड्रेस’ नै भए पनि नयाँ नाना लगाउन पाउँदाको खुसी सम्झिँदा पनि मनै फुरुङ्ग हुन्छ । दशैं आउन लाग्दैगर्दा बुबा कपडा लिन पसल जाँदा पछिपछि गइन्थ्यो । कपडाको ठूलो रुमालमा पोको पारेर कपडा घर भित्र्याएपछि दशैं भित्रिएझैँ लाग्थ्यो । झन् लुगा सिलाउने दाइँ मेसिन बोकेर घरमै आएर सिलाउन थालेपछि स्कुलसमेत जान मन नलाग्ने । नयाँ नानाको गन्धले दशैं निम्त्याउँथ्यो । स–सना कुरामा ठूल्ठूलो खुसी मिल्थ्यो उस बेला ।

    स्कुल लिपपोत गरेर चिटिक्क बनाएपछि दशैंको बिदा हुन्थ्यो । सरहरूसँग लाइन लागेर कमेरो माटो लिन औलतर्फ गइन्थ्यो । डल्ला बनाएर हातैमा बोकेर कमेरो र रातो माटो ल्याइन्थ्यो । समूहमा मिलेर काम गर्दाको आनन्द अर्कै । कुचोले कमेरो र रातो माटो स्कुल पोत्न सुरु गरेपछि लाथ्थ्यो यी त खुसीका रङ्ग पो रहेछन् । घरघरबाट ल्याएका ब्याट्री फुटाएर स्कुलका झ्याल ढोकामा कालो लगाएर चिटिक्क भएपछि लाग्थ्यो अब दशैं आयो । घर लिपपोत गर्दा त झन् खुसी फक्रने । कमेरो र रातो माटोको सुगन्ध केवल सुगन्ध मात्र थिएन, त्यो चाडपर्व आगमनको सङ्केत पनि थियो ।

    यसअघि नै गाउँका प्रत्येक घरबाट सहभागी भएर मूलबाटो फाँडफुँड र सरसफाइ गरेर दशैंलाई स्वागत गथ्र्यौं । घरमा बाँधेको खसीले ‘म्या’ गर्दा बुबाले दशैं करायो हैभन्दै जिस्केको पल सम्झिदा पनि मनमा आनन्द आउँछ । रातिदेखि नै ढिकी ‘भक्य्राङ ढयाँङ’ गरेर चिउराको सुगन्ध, बुबाले एकघरी केरा किनेर ल्याई तलाको डोरीमा झुन्ड्याएपछिको उमङ्ग बेग्लै । टाढाटाढा काममा वा परदेश गएका लाहुरे दाइहरु क्यासेट घन्काउँदै घर फर्कन थालेपछि छाउँथ्यो दशैंको रौनक । हाटबजारमा भीड बढ्थ्यो, वर्षौंपछि भेटघाट भएकाहरूको भलाकुसारीपछि पो खुसी फक्रिन्थ्यो ।

    नौ दिनसम्म दशैं घरमा हुने पूजापाठले ल्याउने खुसी र शान्तिको त कुरै नगरौँ । रेडियोमा घन्कने मालश्री धूनले मन प्रफुल्लित बनाउने । विजयादशमी टीकाको दिन घरमा बुबाआमाको हातबाट टीका र आशीर्वाद लिएर मान्यजनसँग टीका थाप्ने । आमैघरमा टीका लगाइसकेपछि आँगनभरि जम्मा भएर स्टिल क्यामराले एक दुई स्न्यापफोटो खिचेपछि मामाघर जाने हतारो । दक्षिणामा प्राप्त हुने नयाँ नोट गन्नुको आनन्द अर्कै । बाल्यकालका ती स्मृतिहरूले उस बेलाको दशैंलाई ताजा बनाउँछ ।

    अहिलको दशैं त के दशैं । बढ्दो उमेर या आधुनिकताको प्रभाव भनौँ दशैं त उहिलेकै राम्रो । अहिलेको त के दशैं । बसाइँसराइले त्यो बेला उल्लासमय हुने घरहरू अहिले खालीखाली छन् । युवा जति वैदेशिक रोजगारमा गएका कारण गाउँमा पिङ हाल्ने मान्छे पनि भेटिँदैनन् । अहिले त गाउँमा रहेका वृद्ध बुबाआमालाई पनि सहरमै बोलाएर दशैं मनाउन थालिएको छ । पहिला दशैं मनाउन सहर गाउँमा जान्थ्यो, अहिले गाउँ सहर आउन थालेझैँ लाग्छ । कतिपयले त यही बेला बुबाआमालाई विदेशमै बोलाउन थालेका छन् ।

    दशैंको मुखैमा आएको बाढीपहिरोले धेरैको दशैं निराश बनाएको छ । गाउँ फर्कन नपाएर सहरमै दशैं मनाउनेहरूको सङ्ख्या निकै देखिन्छ । सामाजिक र सामूहिकताको भावना विस्तारै स्खलित हुँदै गएको आभाष हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मै बरु मोबाइलमा व्यस्त देखिन्छन् । पहिले घरका भित्ताहरू रङ्गिएछि दशैं आएजस्तो हुने, अहिले त सामाजिक सञ्जालका भित्ताहरू दशैंको शुभकामनाले रङ्गिएपछि दशैं आएजस्तो हुने । समय कति बदलियो है !

    अहिलेका बालबालिकाले त नजिका आफन्तसमेत चिन्न छाडिसके । चाडबाडले भेला हुने, घुलमिल हुने, आत्मीयता आदानप्रदान गर्ने अवसर प्रदान गर्छ तर त्यो क्रम विस्तार कम हुँदै गएको महसुस हुन्छ । यस्तो अवस्थामा हामीले चाडबाडको मर्म र आनन्दलाई नयाँ पुस्तामा जस्ताको तस्तै प्रवाह गर्न सक्नुपर्छ ताकि उनीहरूले यसको अर्थ र महत्वलाई बुझ्न तथा अनुसरण गर्न सकून् ! दशैंलाई देखासिखी गरेर दशा नबनाऔँ । घाँटी हेरी हाड निलौँ । दशैंका बेला धेरै चिल्लो पिरो र मदिरा सेवन गरेर स्वास्थ्यलाई प्रतिकूल असर पार्ने काम नगरौँ । हाम्रा रितिथिति, चाडपर्वका मौलिकता संरक्षणमा सबै गम्भीर बनौँ ।

  • फेरिएको दशैँ : सन्तानसँगै चाड मनाउन आएकाको अष्ट्रेलियामा देखिएको भिड

    फेरिएको दशैँ : सन्तानसँगै चाड मनाउन आएकाको अष्ट्रेलियामा देखिएको भिड

    त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टस्थित सिचुवान एयरलाइन्सबाट छेन्दुका लागि दिउँसो १ बजे हामी तीनजनाको परिवार उडेका थियौँ । कुहिरोको लप्कासँगै जहाजले उचाइ लिँदै थियो भने हामीहरू आकाशमुनि बाक्लो कुहिरो, सेताम्मे हिउँले ढाकिएका पहाड छिचोल्दै गन्तव्यतर्फ जाँदै थियौँ ।

    काठमाडौंबाट जहाज चढेदेखि नेपाली यात्रु देखेर आश्चर्यमा परेको थिएँ म । दशैं नगिच आइरहँदा यति धेरै नेपाली किन बाहिर हिँडे होलान् ? यस्तै प्रश्न मनमा उठाउँदै जहाज चढेको भए पनि छेन्दुबाट संख्या घट्ने होला भन्ने मेरो अनुमान थियो ।

    २ वर्ष पहिला पनि म मलेसियन एयरलाइन्स हुँदै अष्ट्रेलिया आएको थिएँ तर, यति धेरै नेपाली थिएनन् । बरू फर्कँदा पर्याप्त नेपाली थिए । यो पटक छेन्दुबाट सिड्नीका लागि उडेको ४५० जना यात्री रहेको जहाजमा दुई तिहाइ नेपाली थिए ।

    दशैँको मुखमा हामी जानुको प्रमुख कारण यो वर्ष टीका नहुनु हो । यद्यपि टीका भएको भए पनि दुवै छोरा, बुहारी, छोरी ज्वाइँ र नाति-नातिनीहरूसमेतको संयोग आफैँमा रोमाञ्चक नै थियो । अरू सबैको कारण त हामीलाई थाहा भएन तर, अधिकांशका परिवारका बहुमत सदस्य अस्ट्रेलिया हुनु हो भनेर अनुमान लगाउन खासै गारो थिएन ।

    रोजगारी, अध्ययन वा अन्य कुनै कारणले घर छोडेकाहरू दशैंमा ‘घर’ फर्किएको अनुभव प्रायः सबैले गर्दै आएको विषय हो । यसबारे खासै धेरै चर्चा गरिरहनु पर्दैन । तर यो पटक मेरो अनुभव अलि फरक रह्यो ।

    लाग्थ्यो हिजो सम्म गाउँले नै संस्कृति, धर्म र परम्परा धानिदिएको थियो । त्यसैले मानिसहरू शहरबाट मात्र हैन विदेशबाट पनि फर्कने गर्दथे । गाउँ फर्कनुको अर्थ यति मात्र थिएन इष्टमित्र, नाता कुटुम्ब, साथी र आफन्तसँगको भेटघाट खास अर्थपूर्ण हुन्थ्यो । वर्षमा एक हप्ता जसो गाउँ जाँदा पाइने आत्मीयता, अपनत्व र सहयोगी भावनाले हरेकको मन फर्काउँथ्यो ।

    आजभोलि नेपालीहरू बाक्लै आउन थालेका छन् । एकातिर बुवाआमालाई घुमाउने, अर्कोतिर चाड पनि मनाइने भएपछि यतै बोलाउनेको संख्या दिनहुँ बढ्दो छ, कणेंलले भने- कतिपयका नातागोता नै यतै हुने र फरक फरक सहर वा राज्यमा हुने भएपछि पूर्णिमासम्म नै दशैँ मनाउन थालिएको छ ।

    पहाडबाट बसाइसराइ गरेर तराई वा सहरमा गएकाहरू पनि दशैँमा घर फर्कने गर्दथे । मेरो अनुभवमा सम्पूर्णरूपले बसाइसराइ गर्दा पनि दशैंको टीकापछि पहाड जाने गर्दा एक प्रकारको आनन्द आउँथ्यो । तर, बिस्तारै सो क्रम रोकिँदै गयो । पछिल्ला वर्षमा देश विदेश यात्रामा निस्कने क्रम बढ्न थाल्यो र अहिले दशैँमा घर छोड्ने क्रम उल्टो हुन थालेको छ ।

    सिड्नी जब म उत्रेँ । विदेश छु भन्ने भावनाले नै होला नेपालभन्दा धेरै मान्छे यतै छन् कि जस्तो लाग्यो । २०२३ को अनुमानित तथ्यांकअनुसार अस्ट्रेलियाको सिड्नी शहरको जनसंख्या लगभग ५.३ मिलियन (५३ लाख) छ र सिड्नी अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर न्यू साउथ वेल्स राज्यको राजधानी हो ।

    सामाजिक सञ्जालको कारणले धेरैको दैनिकी थाहा हुन्छ आजभोलि । सिड्नी आउँदा नआउँदै केही साथीहरूका स्टाटस र तस्बिरले ममात्र हैन भन्ने देखाएकै थियो । पत्रकार तीर्थ कोइरालाको यात्रा कतै भइरहेको छ भन्ने कुराको छनक पाएकोले सिड्नी आएको तेस्रो दिनमा सम्पर्क गरेँ । उनी अमेरिका थिए । छोरा बुहारी उतै भएकोले दशैं मान्ने सन्दर्भसहित अमेरिका पुगेका रहेछन् ।

    अस्ट्रेलियामा देखिएको तुलसीको मोठ ।

    ठिक यसरी नै बुटवलका राजनीतिक तथा सामाजिक व्यक्तित्व बलबहादुर आचार्य अमेरिकामै घुमेको देखिन्छ ।

    नेपालगन्ज बसेर पत्रकारिता गर्ने अक्षरी पोख्रेललाई अमेरिकामै देखेँ । उनी पनि छोरा बुहारीसँग दशैं मान्ने सन्दर्भमा गएकी रहिछन् । एक हप्ता पुग्दा नपुग्दै पोखराका पत्रकार गंगाधर पराजुली अस्ट्रेलियाको मेलबर्न आइपुगे । गत वर्ष अमेरिकामा दशैं मानेका पराजुली यो वर्ष दशैं मान्ने उद्देश्यले यता आएका रहेछन् ।

    लुम्बिनी प्रदेशकी सांसद वसन्ती अधिकारीका दम्पती अलि पहिल्यैदेखि अष्ट्रेलिया आएका छन् । उनी पनि दशैं मानेर मात्र फर्कने विचारमा छिन् । अर्घाखाँचीका राजनीतिज्ञ जनार्दन खनाल असोजको पहिलो हप्ता सिड्नी आइपुगेका छन् ।

    नवलपुर कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाल, बुटवलका व्यावसायिक तथा सामाजिक अगुवा अर्जुनमान सैजू, मेघराज भण्डारी, बुटवल- १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य र नयाँ गाउँका नन्दी किशोर खरेल, राधिका भुसाल, शिक्षक प्रेमबहादुर बस्नेत, निवृत्त शिक्षक प्रदीप श्रेष्ठ, सुखानगर निवासी काशिराम पोख्रेल, रामप्रसाद पाण्डे (क्यानबेरा), कलाकार चिरन बराल लगायत थुप्रै नेपाली दशैंको सम्मुखमा यतै छन् ।

    पहिलादेखिनै समय व्यवस्थापन गर्नुपर्ने धेरैले २६ गतेका लागि समय मिलाई सकेकाले सोही दिननै टीका लगाउने तयारी गरेको पाइयो । फेरि दुई-चार दिनसम्मै टीका लगाउनु पर्ने भएकोले पनि आफ्नो अनुकूलतामा दुवै दिन टीका लगाउने तयारी गरेका छन् ।

    कतिपयको धेरै बसाइनै यतै हुन थालेको छ । बुटवल-१३ का लक्ष्मण कँडेल प्रायः यतै बस्ने एकजना प्रतिनिधिमूलक पात्र हुन् ।

    यी त केही प्रतिनिधि पात्र मात्र हुन् । खोज्दै जाने हो भने हरेक टोलका मानिस भेटिन्छन् । बुटवलको वडा नं १३ को तथ्यांक विश्लेषण गर्ने हो भने हरेक पाँच घरबाट एक जना विदेशिएको भेटिन्छ ।

    अस्ट्रेलियामा रहेका नेपालीहरूले नेपालमा जस्तै दशैँ पर्वलाई परम्परागत रूपमा, आफ्ना परिवार, साथीभाइ र समुदायसँगै उत्साहपूर्वक मनाउँदा रहेछन् । भनिन्छ कर्मसँगै धर्म, संस्कार र संस्कृति पनि जान्छ । शायद यही कारणले होला उनीहरूले आफ्ना धार्मिक र सांस्कृतिक मान्यताहरूलाई जोगाउँदै सबै प्रकारका चाडबाडहरू मनाउने गर्छन् ।

    दशैंमा घरमा देवी दुर्गाको पूजा गर्ने र दशमीका दिन टीका र जमरा थाप्ने, परिवारका सदस्यहरूबीच आशीर्वादको आदानप्रदान गर्ने र कतिपय शहरहरूमा संघ–संस्थाहरूको माध्यमबाट सामूहिक कार्यक्रमहरू आयोजना गर्ने गर्छन् । जस अन्तर्गत नेपाली खानपान, सांस्कृतिक कार्यक्रम र परम्परागत खेलहरू पनि हुँदा रहेछन् ।

    त्यसो त केही वर्ष यता विदेशमा बस्नेहरूले पनि दशैं वा अन्य चाडबाडको महत्वलाई सजीव राख्दै, आफ्नो परिवारसँग भर्चुअल माध्यमबाट पनि जोडिने प्रयास गरेको पाइन्छ । कतिपयले बच्चाको जन्म पश्चात् न्वारन, पास्नी वा अन्य धार्मिक कर्म पनि त्यसरी नै गर्छन् । यद्यपि यो पण्डितहरूको अभावका कारणले पनि हो तर आजभोलि धार्मिक कर्म गर्ने पण्डितहरूको पनि समस्या रहेन ।

    सन् २०१४ देखि अहिलेसम्म सात वटा दशैं यही मनाउँदै गरेका लक्ष्मण कँडेलको अनुभवमा सुरुमा स्थायित्व नहुन्जेल अप्ठेरो भए पनि स्थायित्व भएपछि धेरैले आफ्ना परम्परा, संस्कृति र धर्मलाई प्राथमिकतामा राख्ने गर्छन् ।

    यसको अर्थ नयाँ तथा एक्लै रहेका वा स्थायित्व नभएकाले चाडबाड मान्दैनन् भन्ने हैन । उनीहरूले सामूहिक रूपमा विभिन्न पार्कहरूमा गएर पनि ज्येष्ठ नागरिक वा आफूभन्दा सिनियरबाट टीका थाप्ने गर्छन् । यसका लागि एनआरएनए तथा नेपाली समुदायका संघसस्थाले पण्डित र जमराको व्यवस्था गरेर सहयोग गरेका हुन्छन् । सानो परिवार भएका र आफ्नो घर नभएका कारण जमरा राख्न नसक्नेलाई नेपाली समुदायका व्यक्तिले सञ्चालन गर्ने पसलमा जमरा किन्न पाइन्छ ।

    आजभोलि नेपालीहरू बाक्लै आउन थालेका छन् । एकातिर बुवाआमालाई घुमाउने, अर्कोतिर चाड पनि मनाइने भएपछि यतै बोलाउनेको संख्या दिनहुँ बढ्दो छ, कणेंलले भने- कतिपयका नातागोता नै यतै हुने र फरक फरक सहर वा राज्यमा हुने भएपछि पूर्णिमासम्म नै दशैँ मनाउन थालिएको छ ।

    कुरा दशैंको मात्र हैन अन्य चाड तिहार, तीज, माघे सक्रान्ति, होली लगायत सबै चाडबाड र पर्वहरू उत्साहपूर्वक मनाउन थालिएको छ । बाक्लो नपाली बस्ती भएका ठाउँमा तदनुसारका पसलहरू पनि छ्यापछ्याप्ती नै भेटिन्छन् ।

    कुनै प्रकारको सार्वजनिक बिदा नहुने भए पनि बिदा लिएर वा समय मिलाएर दशैँलाई भव्यतका मनाउने क्रम बढ्दै गएको देखिन्छ । अस्ट्रेलियामा मुख्यतः इसाई धर्मका चाडपर्वहरू (जस्तै क्रिसमस, इस्टर) मा मात्र बिदा दिने गरिन्छ ।

    कणेंलको अनुमानमा सिड्नीको वाडियामा सबैभन्दा धेरै करिब पाँच सय र डेनम कोटमा करिब साठी घरपरिवार नेपाली छन् । यसबाहेक अवन, अस्टलमा पनि उल्लेख्य संख्यामा छन् । केही वर्ष पहिलेसम्म पूजाआजा गरेर फूलप्रसाद सेलाउने ठाउँ थिएन । तर, अहिले लिभरपुलमा भारतीय मूलका नागरिकले यसको व्यवस्था मिलाएका छन् । त्यसैले परम्परा अनुसार सबै कर्म गर्न कुनै समस्या छैन ।

    नेपालमा भन्दा एक दिन ढिला थियो अस्ट्रेलियामा दशैँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले असोज २७ गते अर्थात् अक्टोबर १३ तारिखमा दशैँ मनाउनुपर्ने जनाएको थियो । तर, पहिलादेखिनै समय व्यवस्थापन गर्नुपर्ने धेरैले २६ गतेका लागि समय मिलाई सकेकाले सोही दिननै टीका लगाउने तयारी गरेको पाइयो । फेरि दुई-चार दिनसम्मै टीका लगाउनु पर्ने भएकोले पनि आफ्नो अनुकूलतामा दुवै दिन टीका लगाउने तयारी गरेका छन् ।

    सिड्नीमा मात्र हैन, क्यानबेरा, मेलबर्न, वृशवेन, पर्थ, तास्मानिया लगायत जहाँ जहाँ नेपाली छन् ती सबै ठाउँमा दशैं मनाउने गरिन्छ ।

    क्यानबेरामा बसोबास गर्ने दीपक पाण्डेका अनुसार हिजो मात्र एउटै पार्कमा करिब पचास जना अभिभावकसँग भेट भएको थियो । यसबाट अनुमान लगाउन सकिन्छ दशैँको मुखमै पर्याप्त नेपालीहरू आएका थिए ।

    २५, असोज २०८१

  • न गाउँमा केटा, न घरमा पाटा- कस्ले हाल्यो होला र पिङ ?

    न गाउँमा केटा, न घरमा पाटा- कस्ले हाल्यो होला र पिङ ?

    शारदी रात । आकाश पघ्रिन थालेको थियो । धर्ती सेलाउन थालेको थियो । सूर्यको पहिलो चुम्बनले व्युँझिने पूर्वी तराई गोधुलीको बिदाईपछि भने उङ्न थालेको थियो । तर माथ्लो, खनाल गाउँमा राति अबेरसम्म तीन पुस्ताको जोश र जाँगरले कस्सिदै गएको लठारो चाहिँ बामे सर्दै लम्बिने क्रममा थियो । पाटाका केस्रा मिलाउँदै लठारोको घान हाल्न ठिटाहरूलाई धमाधम थियो । पाकाहरूले पोका कस्ने जिम्मा लिएका थिए । बटार्ने कामको कमाण्डर चाहिँ हजुरबा डम्बर खनालले लिनुभएको थियो ।

    केही वर्षअघि भारतको आसामबाट आउनु भएका ‘पिता’ पोया मिलाउन माहिर । हाम्रो गाउँमा आसामबाट आएको त्यो परिवारमा मात्र बुवा-आमालाई माता-पिता भन्ने चलन थियो । त्यसैले मन्जू, मनोज र मदनका माता-पिता चिन्ने जति सवैका माता-पिता । आसाम छोडेर आए पनि पिताले ब्रम्हपुत्र, कुँयेरघारी, गाईगोठ र मिठाईका कथा सुनाई रहँदा डम्बरबालाई उही तन्नेरीवयमा पुगेको भान हुन्थ्यो क्यार, त्यसैले त लठारो पनि झन् झन् खँदिलो र कसिलो भइरहेको थियो ।

    पाटा हुनेका घरबाट एक/एक मुठा भेला पारियो । नहुनेलाई एक किलो पाटा बराबरको २० रूपैयाँ तोकियो । राति १० बजेतिर लठारो बाट्दा बाट्दै जुवा बाँध्ने डोरी पुगेन । ‘अहिले पो यो जमघट छ, भोलि को कहाँ-को कहाँ ? पटुवा ल्याउँछौ भने अहिले बाटिन्छ, भोलिको चैँ भर छैन है केटा हो ।’ डम्बर बाले यति भने पछि केहि केटाहरु तातिए । ‘लु अहिल्यै ल्याउने, अधिकारी बालाई उठाएर भए पनि ५ किलो ल्याउँछौ’ भन्दै ३/४ भाइ गेउरीया चोकमा काँटा गर्ने अधिकारीबाको तिर लागे ।

    ढुंगेल मामाको छोरो, राजु । हाम्रै दौंतरी । एउटै कक्षामा पढ्ने । राजु र हाम्रो समुहको एउटा केटाको केही दिन स्कुलमा अघि झगडा परेको रहेछ । त्यही रिस फेर्न उसले ढुंगा हानेको रहेछ । आखिर हामीले आरोपको जति नै प्रतिरक्षा गरे पनि दोष हाम्रै केटाहरूको रहेछ । तर, जुन सहमति थियो, ढुंगा हान्ने मान्छे पत्तो लगाउने । हामीले पत्तो लगाएको कुराचै भनेनौं, कुरो ढिसमिस् भयो ।

    बाजे-छोरा-नाति पुस्ताको त्यो जमघटमा केही छिल्लिएका र इत्रिएका कथाहरूले निद्रा पनि लजाएर भागिरहेको थियो । पटुवा थपिएपछि झण्डै मध्यरातमा लठारो बाटिसकियो । ओहो, लठारोको पोया कस्न साह्रै कठिन । कसिएन भने फुस्स फुस्किएर पिङनै चुँडिने, दह्रो गरि कस्न हाम्रा कलिला नाडी बाउँडिने । त्यसैले बुढाहरूको साथले लठारोको बन्दोबस्त गरियो । हुन त त्यस बेला पोया कस्नेहरू त्यही ४०/४२ का थिए । आफ्नो भन्दा दोव्वर बढी उमेर भएकाले बुढा ठानियो । बा-बाजे साईनो थियो । ‘यी बुढाहरु किन छिल्लिएका’ पनि भनियो । तर, खासमा मान्छे, ४० पुग्दैमा बुढो त नहुँदो रहेछ नि ! यो ‘दिव्य ज्ञान’ पाउन आफू पनि त्यही छेक पुग्नु पर्‍यो । समयले यत्रो कुरायो ।

    लिङ्गा गाड्ने दिन आँगनमा कचहरी

    एसएलसी दिएसँगै ०५७ सालमा हामीले अघिल्लो पुस्ताले गठन गरेको ‘हिमाली युवा क्लब’ व्युँझाएका थियौं । त्यही क्लबको नेतृत्वमा गाउँमा पिङ हालिँदै थियो । क्लबमा २० वर्ष नाघेका कोही थिएन । सबै १५/१६ का । तर, पिङ हाल्न आमाहरूले भन्दा पनि बुवाहरूले खुवै हौस्याएका पनि थिए । क्लबको अध्यक्ष विष्णु पोखरेलका घरमा पुरानो गोरु गाडाको जुवा थियो । चार लिङ्गा जोडेर लठारो बाँध्न त्यही जोहो गरिएको थियो । राति अबेरसम्म लठारो बाटे पनि कति बेला बिहान हुन्छ र लिङ्गा काट्न जाउँ भन्ने औडाहा थियो । तर, पिङ हाल्न तम्सिएको त्यो जाँगरिला ठिटाहरूको हुल भोलिपल्ट बिहानसम्ममा झगडीया झुण्डको रूपमा चित्रित भयो ।

    तल्लो गाउँका ढुंगेलबाको घरमा अघिल्लो रात बरण्डाको बत्ति निभाएर मकै छोडाउँदै रहेछन् । त्यही बेला हाम्रा केटाहरू अधिकारीबाको काँटाबाट पाटा किनेर आउँदै थिए । त्यही बेला कुन केटाले त्यो घरको छानामा ढुंगा हानेछ । टिनको छानोमा बज्रिएको ढुंगाकै गतिमा केटाहरू टाप ठोकेछन् । तर, पाटा लिएर आएपछि पनि ढुंगा हानेको बारे उनीहरू कसैले केही भनेनन् । हाम्रै घर मुन्तिरको खाली ठाउँ, धरणीहरूको आँगनमा पिङ हाल्ने तयारी थियो ।

    ६ लिंगा जोड्न सकिँदैन भनेर ४ लिंगाको मात्र आँट गरेका थियौं । नाप जाँच गरेर लिंगा गाड्ने डोब खनियो । लिंगा ठड्याइयो पनि । लिङ्गोको टुप्पामा लीला र पोखरेल माईला चढेका थिए क्यार । पिङ लगाएको रमिता हेर्नेको कुँडुलो पनि थियो । मदन, म, धरणीलगायतको टोली जुवा बाँध्न लिङ्गोमा चढेकाहरूलाई भुइँबाटै डोरीले तानेर सहयोग गरि रहेका थियौं । एउटा चैँ काँडे बाँस परेछ, जुवा बाँध्न निक्कै हम्ये भयो । केटाहरू जोडसँग तानिरहेका थिए, त्यही बेला बड्याङ् त्यो बाँस पड्कियो ।

    बिहानैदेखि लिङ्गाको बन्दोबस्ती मिलाउन दाउ-खुकुरीको जोहो हुँदै थियो । तल्ला गाउँको एक हुल आँगनमा आक्रोशित भएर आइपुग्यो । म क्लबको सचिव, ठिक माथ्लो घरको विष्णु अध्यक्ष । ‘क्लवका केटाहरुले रात भरि हाम्रो घरमा ढुंगा हाने, बिजुलीको बोल फुट्यो । धन्न मान्छेलाई लागेन । यस्तो आतंक मच्चाउन पाइन्छ ?’ आक्रोश र आरोपबाट म त छक्क परेँ । हामी फतुर स्विकार्न तयार थिएनौं । ढुंगेल मामाले भन्नुभयो, ‘ढुंगा हान्नेमा गोपाल र विष्णुचै थिएनन्, तर ती सबै केटा तिमीहरूकै क्लबका हुन् । तिमेरुको क्लब यस्तै आतंक मच्चाउन खोलेको हो ?’ आँगनको कचहरी मिलाउन खुमनाथबाले मध्यस्थता गर्नु भयो । ‘अब यसो गरौं, यि केटाहरुले ढुंगा हानेको होइनन् आखिर । ती को केटाहरु थिए पत्तो लगाउने यिनीहरूलाई नै जिम्मा दिउँ । ती फटाहाहरू पत्तो लाएपछि जे गर्नु पर्छ गरौंला । कि कसो ?’ करिब ४५ मिनेटको कचहरी उहाँको प्रस्तावमा सहमति जनाउँदै टुङ्गियो ।

    भएको के रहेछ भने, ढुंगेल मामाको छोरो, राजु । हाम्रै दौंतरी । एउटै कक्षामा पढ्ने । राजु र हाम्रो समुहको एउटा केटाको केही दिन स्कुलमा अघि झगडा परेको रहेछ । त्यही रिस फेर्न उसले ढुंगा हानेको रहेछ । आखिर हामीले आरोपको जति नै प्रतिरक्षा गरे पनि दोष हाम्रै केटाहरूको रहेछ । तर, जुन सहमति थियो, ढुंगा हान्ने मान्छे पत्तो लगाउने । हामीले पत्तो लगाएको कुराचै भनेनौं, कुरो ढिसमिस् भयो ।

    ढाडमा लिङ्गो बजारिँदा पानी पानी

    कचहरीले बिहान खाइगयो । लिङ्गा व्यवस्थापनको काम दिउँसोलाई सर्‍यो । देवी-डिल्ली शिवाकोटीको बाँस झ्याङ्बाट एउटा काटियो । गेउरीया खोला डिलको झ्याङ्बाट सोझो र टुप्पोसहितको लिङ्गो निकाल्न कम्ति हम्ये परेन । बाँस तछारिएको चोयाले मेरो पैतालामा २ इन्च जति काट्यो । मैले लिङ्गो बोक्ने काममा सघाउन सकिन । शुरूमा त रगत खासै आएको थिएन, दुखेको मात्र थियो । तर ८/१० पाइला हिँडेपछि फित्तावाला चप्पल ल्याफ्फै भएर टाँसियो रगतले । हातको दाउ पनि साथीलाई जिम्मा दिएर म डिलैमा बसि रहेँ । बेनु शिवाकोटी र विष्णुहरुको बाँस झ्याङ्बाट अरु लिङ्गाको व्यवस्था मिलाइयो ।

    न अहिले गाउँमा केटा छन्, न घरमा पाटा । कसले हाल्छ र दोबाटामा लिङ्गे पिङ । राति अबेरसम्म पालो पर्खिने र नपाए धुइरिएर ‘लिङ्गा लिङ्गा प्लित प्लित’ भन्दै पिङमा झुण्डिने भुरा कोनै छन् र ? हात हातमा भएका मोवाईलको अम्मलबाट उनीहरूले मुक्ति पाउन नै सकेकै छैनन् । चालिसे हुनै लाग्दा म पनि गाउँ छोडेर शहर पसेँ, दशैं भित्रिसकेपछि मात्र गाउँ भित्रिँदैछु । उबेलाका जाँगरिला तन्नेरीहरू कतिलाई ‘सुगर’ले गाँज्यो । निहुरिँदा आँखाको चस्मा खस्ने भयो । टुक्रुक्क बस्दा घुँडा र कम्मर दुख्ने भयो । खै यो साल पनि कस्ले काट्यो होला र लिङ्गा, कस्ते बाट्यो होलार लठारो ?

    ६ लिंगा जोड्न सकिँदैन भनेर ४ लिंगाको मात्र आँट गरेका थियौं । नाप जाँच गरेर लिंगा गाड्ने डोब खनियो । लिंगा ठड्याइयो पनि । लिङ्गोको टुप्पामा लीला र पोखरेल माईला चढेका थिए क्यार । पिङ लगाएको रमिता हेर्नेको कुँडुलो पनि थियो । मदन, म, धरणीलगायतको टोली जुवा बाँध्न लिङ्गोमा चढेकाहरूलाई भुइँबाटै डोरीले तानेर सहयोग गरि रहेका थियौं । एउटा चैँ काँडे बाँस परेछ, जुवा बाँध्न निक्कै हम्ये भयो । केटाहरू जोडसँग तानिरहेका थिए, त्यही बेला बड्याङ् त्यो बाँस पड्कियो ।

    उता मनोज अझै डोव उधिन्दै रहेछ । त्यो बाँस गड्याम्मै उसको ढाडमा बजारियो । ऊ भ्वाक्कै लडेर दुवै गोडा जोडसँग झट्कार्न थाल्यो । पानी…..पानी…..भन्दै अर्धचेत भयो । बाँस पड्किएर धन्न बासमा भएको मान्छे झरेन । बरु फुत्तै हामफाले उनीहरू पनि । हामी दौडियौं मनोजलाई उठाउन । बोकेर शितल ठाउँमा लगियो । कोहीले हात त कोहीले गोडा रगड्न थाले । पानी ल्याउनेहरूले मुखमा लगाइदिन थाले ।
    एम्बुलेन्सको बोलाउनु पर्ने हो कि भनेर हामी हड्बडायौं पनि । तर, २ मिनेट नभई ऊ सामान्य अवस्थामा उठ्यो । भिड हटेपछि उसले हामी दौंतरीहरू मात्र भएका बेला भन्यो, ‘मुला हो, बाँसले लाग्दा अलि अलि त दुख्यो नि तर तिमेरु कतिको आतिँदा रैछौ भनेर एक्टिङ् पो गरेको त । कहाँ त्यस्तो हुनु ?’ मुलालाई झ्याम्झुम सवै मिलेर पड्काउनु जस्तो भयो कुरा सुनेर । तर, त्यता नलागि पिङ लगाउनै तर्फ लागियो ।

    ‘सरी दहिचोक’

    त्यस बेला उम्रिएका जुँगाहरू घुम्रिन थाले । पोया कस्ने बुढाहरूको पाखुराबाट बरगत बिदा भयो । पाटा खोज्ने केटाहरू कोही मुग्लान पसे कोही घरजममा फसे । तिनै जुवा कस्ने र लिङ्गो खोज्ने कतिका दोश्रो पुस्ता उही उमेरका भए । तर, अहिले पिङ चढ्न लिङ्गा गाड्नु पर्दैन । होटलदेखि मेला, महोत्सव र पार्कतिर अनेक रंग र ढंगका पिङ पाइ हालिन्छ । जुन दिन चढे पनि भैगो । दशैंको टीका लगाएपछि एकछिन भए पनि भुइँ छोड्नै पर्छ भन्ने पुस्ता पनि रहेन ।

    न अहिले गाउँमा केटा छन्, न घरमा पाटा । कसले हाल्छ र दोबाटामा लिङ्गे पिङ । राति अबेरसम्म पालो पर्खिने र नपाए धुइरिएर ‘लिङ्गा लिङ्गा प्लित प्लित’ भन्दै पिङमा झुण्डिने भुरा कोनै छन् र ? हात हातमा भएका मोवाईलको अम्मलबाट उनीहरूले मुक्ति पाउन नै सकेकै छैनन् । चालिसे हुनै लाग्दा म पनि गाउँ छोडेर शहर पसेँ, दशैं भित्रिसकेपछि मात्र गाउँ भित्रिँदैछु । उबेलाका जाँगरिला तन्नेरीहरू कतिलाई ‘सुगर’ले गाँज्यो । निहुरिँदा आँखाको चस्मा खस्ने भयो । टुक्रुक्क बस्दा घुँडा र कम्मर दुख्ने भयो । खै यो साल पनि कस्ले काट्यो होला र लिङ्गा, कस्ते बाट्यो होलार लठारो ? यदि कोही फुर्तिलो भएर पिङ हालेको रहेछ भने उनीहरूको जाँगरलाई धन्यवाद । नत्र ‘सरी दहीचोक ।’

  • ‘सावर्णि’ माथि छोटो चिरफार : मानव यान्त्रिक होइन, प्राकृतिक रहनुपर्छ

    ‘सावर्णि’ माथि छोटो चिरफार : मानव यान्त्रिक होइन, प्राकृतिक रहनुपर्छ

    समय यति परिवर्तन भइसकेको छ कि हामीले त्यसको पत्तो पाइरहेका हुँदैनौं । त्यो विशेष एकदिन जहाँ मृगका पाठाहरू आमासँग खेल्दै थिए जाहा मातृ वात्शल्य र प्रेमले आमालाई यस संसारकै सुन्दर र सबैभन्दा प्रेमिल वस्तुको रूपमा चित्रित गरिरहेको थियो । हुन पनि प्राकृतिकरूपमै निस्वार्थ भावले कसैले प्रेम दर्शाउँछ भने त्यो आमाभन्दा अर्को हुन सक्दैन र हुँदै होइन पनि !

    अहिलेको मानव विश्व जहाँ विहानीले प्रत्येकलाई भिन्न किसिमले छुन्छ । आफ्नै पर्खाल, आफ्नै अभिमान तथा आफ्नै पर्दाले धेरैको रोशनी छेक्छ । रोशनीको स्पर्सले कमैका मात्र आँखाका ढकनी खुल्छन् । धेरैका ढकनी छट्पटी, डर, अनिद्रा, बेचैनी, लोभ, अभिमान, घमण्ड बासना तथा अहंकारले उघारिन्छन, बन्द हुन्छन् । वर्तमान मानव स्वरूपलाई यति सरल र क्लिस्ट भाषामा दर्शाउँदै लेखक डा. श्रीधर खनालले पृथ्वीभन्दा अर्को विश्व खोज गर्नुपर्ने कुरा औंल्याएका छन् ।

    ‘सावर्णि’ को पुनरोदय भयो ‘सावर्णि’ ले आफ्नो अस्तित्व के हो भन्ने भेउ कतै पाउन सकेनन् । ‘सावर्णि’ को इच्छा भन्दा फरक, तर सम्झिने कोसिस गर्दै गर्दा जीवनका अनुभूतिसहितका सुरक्षित रहेका स्मृति पत्रहरू खुल्दै गए । संसार AI ले आफ्नो कब्जामा राखेको भन्ने आरोप खप्दै AI प्रयोग भएका सबै कुराहरू बाट AI लाई निष्क्रिय तथा विलय गराए र अन्त्यमा ‘सावर्णि’ माहाशून्यमा बिलाए ।

    यस पछाडि प्रयोग गरिएका ‘सावर्णि’ युगको प्रादुर्भाव कस्तो रह्यो, के भयो र मानव सभ्यतामा AI ले कसरी जरा गाड्यो, कसरी AI मानव सभ्यताको अभिन्न अङ्ग जस्तै बन्न पुग्यो रोचक प्रसङ्ग AI असिस्टेन्टले मानवीय संवेदनशीलतालाई कसरी नियन्त्रण वा प्रभाव पारेका कुरासँग खनालले गहन विश्लेषण गरेका छन् ।

    पात्र प्रयोग वासु, देरिका, हुन वा किशन नै हुन् यी पात्र छनौटले लेखक कतै द्वापर युगमा नै पुगेका हुन जहाँ वासुदेव, देवकीका पुत्र कृष्णलाई नै किसन बनाएका हुन कि भन्ने महसुससमेत गराउँछ । वासु र देरिकाले जन्म दिएका किसनको शरीरमा AI फिट नहुनु र उनीहरू चिन्तामा रहनुले स्वाभावत: लेखकको कल्पनशिलता सामान्य सोचभन्दा पर रहेको पुस्ट्याइँ गर्दछ ।

    वर्तमान मानव सभ्यतामा असर पर्नुका कारण समेत लेखकले औंल्याउन भ्याएका छन् । आणविक युद्ध, जलवायु परिवर्तन, उल्का पिन्ड, AI प्रादुर्भाव, प्राकृतिक विपत्ति र एलियन इन्भेजनका कुरा समेत गर्न भ्याएका छन् ।

    लेखक आफैँ paedriatician भएकैले हुनुपर्छ गर्भवती महिलामा हुने विभिन्न परिवर्तन, सुगर प्रेसर, हर्मोन हुँदै ब्लड्मा हुने कार्टिसोलको लेभलसमेत देखाउन भ्याएका छन् जसले यस उपन्यास मा मिठास भर्न सकेको छ ।

    किसनको चरित्र पनि ठ्याक्कै द्वापर युगका भगवान कृष्णकै जस्तो देखाएका छन- चन्चल, छट्पट । कृष्णले यसोदा मैयाँले खुवाएको जे सुकै होस् मीठो मान्थे त्यस्तै किसनले देरिकाले पकाएको वा उनले खुवाएकै मात्रै खान्छु भन्ने हठले किसनलाई कृष्णकै लेभलमा उतार्न र कथामा पाठकलाई जोडिरहन खोजेका छन् जुन यसको सौन्दर्य हो ।

    कृष्ण गोपीनीहरूसँग हराएजस्तै किसन पनि आफ्ना AI असिस्टेन्टबाट मिलिक्क हुँदै अर्कै संसारमा पुग्ने गरेको समेत देखाएका छन् जहाँ AI आधिपत्य हुँदा पनि मानव AI प्रभावबाट मुक्त रहने कोसिस गर्दछ भन्ने प्रतीत हुन्छ । उता कृष्ण बासुरीले ग्वाला र गोपीलाई सारा बज्रबारका लाई मन्त्रमुग्ध पार्ने गर्दथे यता किसनलाई बासुरी चाहिएको छ । AI ले प्रदान गर्ने संगीतभन्दा आफैँ धुन निकाल्न चाहन्छ । आफ्नै धुनमा रमाउन चाहन्छ । किसन र देरिकाको कथा ठ्याक्कै कृष्ण र यसोदा मैयाँसङ्ग खान्छ ।

    उता किसन र अल्फाको प्रेम प्रसङ्ग पनि राधा र कृष्णको भन्दा कम छैन । वृन्दावनका बगैँचा घुमेर प्रेमालाप गर्ने राधा-कृष्णलाई लेखकले यता काल्पनिक बगैँचामा प्रेमालाप गर्ने बनाउन सक्षम बनाएका छन् । यमुना नदीजस्तै नदीको कल्पना गरेका छन । गोपिनी, ग्वाला, राधाकृष्णको प्रेमरुपी लीलालाई ठ्याक्कै प्रदापण गरेका छन् ।

    AI द्वारा सृजना गरिएको संसार सबै कुरामा AI माथि भर पर्नुपर्ने अवस्थालाई AI असिस्टेन्ट अफ गर्दैगर्दा भएको दुर्घटनामार्फत जाहेर गरेका छन् । AI जगतमा AI विरुद्ध जानु अपराध करार किसनलाई जेल सजाय हुने प्रष्ट पारेका छन् । किसन नै त्यो पात्र हो जसले AI सृजित समाजबाट हामीलाई मुक्त गर्न सक्ने इङ्गित गरेका छन् किसन ‘सावर्णि’ युगको हिरो साबित गर्न जोड्नुपर्ने कस्मेटिक्स बाँकी राखेका छैनन् जसले सुरूदेखि अन्त्यसम्म नै पाठकको कौतुहलतालाई ताजै राख्ने भरमग्धुर प्रयास गरेको देखिन्छ ।

    ‘सावर्णि’ युग सर्वोत्कृष्ट हो भनेर सावर्णीले वकालत गरिरहँदा किसनको सानो शब्दरूपी भेदनले AI समेत प्रभावित भएको देखिन्छ । जहाँ मन छैन त्यो कस्तो युग ? जहाँ शब्द, रस, रंग, गन्ध, स्पर्श छैन त्यो युग कस्तो युग ? जहाँ मानवीय समवेदना नै छैन त्यो कस्तो मानव हो ? मानवलाई मानव नै राख्दा सही हुने कुरा, मानव यान्त्रिक होइन प्राकृतिक रहनुपर्ने कुरा गर्दै किसनको विलय हुनु नै फेरि नयाँ मानवीय संसार को प्रादुर्भाव हो भन्ने ‘सावर्णि’ ले महसुस गर्नु नै AI माथि मानवीय जित हुन्छ भन्ने फेरि प्रमाणित हुनु हो ।

    यसरी ‘सावर्णि’ युग सुरू किन कसरी भयो के कस्ता घटनाक्रमको सुरु वा अन्त्य भयो र अन्तमा मानव सभ्यताकै जित गराएर कथामा लेखकले न्याय गरेका छन् । लेखकलाई साधुवाद !

  • विश्वप्रभावशील चीनबाट के सिक्ने ?

    विश्वप्रभावशील चीनबाट के सिक्ने ?

    संसारकै दोश्रो शक्तिशाली देश बन्न सफल उत्तरी छिमेकका दुई शहरहरू बेइजिङ्ग र कुइचाऊ पहिलो पटक प्रत्यक्ष रूपमा नियाल्ने अवसर प्राप्त भयो । दशकौंसम्म गरिबी र अभाव झेलिरहेको विशाल चीनमा जनवादी क्रान्तिपश्चात माओत्सेतुङले कम्युनिष्ट शासन ब्यवस्था शुरू गरे । सन् १९४९ मा माओबाट शुरू भएको समाजवादी यात्रामा देङ सियाओपिङ र वर्तमान राष्ट्रपति सी जिनपिङसम्म आउँदा कृषि उत्पादन, औद्योगिक र प्रविधिमा चीनको क्रान्ति चमत्कारिक, अभूतपूर्व र अकल्पनीय छ ।

    कम्युनिष्ट शासन भएपनि उदारवादी नीतिका कारण सबै खालका स्वतन्त्रता उपलब्ध छन् । कम्युनिज्म झण्डा र पाठ्यक्रममा मात्र सीमित छ । फरक यत्ति छ कि चीनमा जग्गाको स्वामित्व सरकारमा मात्र छ, आम मानिस केबल उपभोग मात्र गर्न पाउँछन् ।

    १ सय ४० करोड जनसंख्या रहेको चीन अहिले विश्वको सबैभन्दा शक्तिसम्पन्न राष्ट्र बन्ने दौडमा छ । माओलाई राजनीतिक परिवर्तन, देङलाई आर्थिक क्रान्ति र सीलाई उदारवादी अर्थव्यवस्थाका नायक मान्ने चिनियाँहरू आफ्नो देशविरुद्ध पश्चिमा राज्यहरूले इतिहासदेखि अहिलेसम्म प्रहार र षड्यन्त्र गरिरहेको ठान्छन् । १७ दिनसम्म चीनमा घुम्दा सरकारविरुद्ध असन्तुष्टि कहिँकतै देखिएन । आफूले सुधारको पहल नगर्ने, अरुको विरोध र कुरा काटेर नथाक्ने नेपाली संस्कृति चिनियाँ संस्कृतिसामु लज्जास्पद छन् । हामी कुरा गर्छौं, चिनियाँहरू काम गरेर देखाउँछन् ।

    व्यापारिक भवनमै आकाशे पुल

    सरकार निजी क्षेत्रलाई उच्च प्राथमिकता दिन्छ भन्ने कुराको बलियो प्रमाण ठूला ठूला व्यापारिक भवन (शपिङ्ग मल) जान मिल्ने गरी आकाशे पुल बनाइएको छ । आकाशे पुलबाटै मलका छिर्न मिल्ने हुँदा ग्राहकलाई सजिलो र व्यापारीलाई फाइदा । यसले व्यापार फस्टाउन सक्ने । हामीकहाँ त्यो कल्पना नै गरिँदैन, गरिहाले सरकारलाई खुइल्याउने ठूलो मसला बन्छ । राज्यबाट उपभोग गर्ने गरी लिइएको जग्गामा विशाल व्यापारिक भवन बनेका छन्, ती भवनमा रहेका सयौं व्यवसाय चलाउन आकाशे पुलले मद्दत गरेको छ । मेट्रो रेल स्टेशन पनि शपिङ्ग मलकै छेउमा बनाइएको छ, ताकि रेलबाट निस्कने यात्रुहरू तीनै मलमा किनमेल गर्न सकुन् ।

    बाटैभरि भाडाका साइकल

    बेइजिङ्ग शहरको सडकमा पैदल यात्राको लागि छुट्याइएको कुनामा साइकलको लहरै लाईन देखिन्छ । त्यो आम मानिस त्यसमा पनि घुम्न जाने पर्यटकलाई लक्षित गरेर भाडाको लागि राखिएको हो । महानगरपालिकाले राखेको साइकलमा क्यूआर कोड राखिएको छ । वीच्याटबाट क्यूआर स्क्यान गरी पैसा तिरेपछि साइकलको लक खुल्छ, अनि कहाँ जाने हो चलाएर लैजान सकिन्छ । पैसा सकिएपछि साइकल आफैँ लक हुन्छ अनि बाटोमै छाड्यो, हिँड्यो । न चोरी हुन्छ, न त कसैले दायाँबायाँ गर्छ । ठ्याक्कै रामराज्य जस्तो ।

    अधिकांश नेतृत्वमा महिला

    चाइना वैदेशिक एड अन्तर्गत बाणिज्य मन्त्रालयको निमन्त्रणा र कुइचाऊ एकेडेमी अफ साइन्सेजको आयोजनामा ‘बेइदउ नेभिगेशन सेटेलाइट बिग डाटा डिजाष्टर प्रिभेन्सन एण्ड रिलिप अप्लिकेशन फर डेभलपिङ्ग कन्ट्रिज’ सम्बन्धि अगस्त १४ देखि २७ सम्म कुइयाङ्ग प्रान्तको कुइचाऊमा आयोजित सेमिनारमा भाग लिन नेपालसहित अफगानिस्तान, इजिप्ट, म्यानमार र क्युबाका २८ जना प्रतिनिधि पुगेका थियौं । अध्ययन अवलोकनका क्रममा हामी पुगेका कुइचाऊ एकेडेमी अफ साइन्सेज, चाइना भूकम्प उद्धार तथा पुन:स्थापना केन्द्र बेइजिङ्ग, दैवि प्रकोप राष्ट्रिय उपचार केन्द्र बेइजिङ्ग, कुइचाऊ डाटा क्लाउड सेन्टरलगायतका कार्यालयहरूको नेतृत्व महिलाले गरेका थिए ।

    उच्च अनुशासन

    चिनियाँ नागरिकको अनुशासन अनुकरणीय छ । आफ्नो भूमि, शासक र नीतिको मुक्तकण्ठले प्रशंसा गर्छन् । दुई विशाल शहरहरू र विभिन्न पर्यटकीय एवं ऐतिहासिक स्थलहरूको अवलोकनमा सफा र सुविधायुक्त शौचालय, कुशल व्यवस्थापनले मन लोभ्याउँथ्यो । बेइजिङ्गको सिछेन काउण्टीको फुछेन्ङ्गमेन्नेइमा सडकमा हामी पैदल यात्रामा थियौं । रातको पौने दश बजेतिर साइकल चलाएर आएकी एक अधवैँशे महिलालाई हाम्रो टोलीका सदस्य बनेपाका अमृत आचार्यले बाटो छाडिदिनु पर्ने थियो । तर, उनैले झ्याप्प ब्रेक लगाइन् र सरी भन्दै साइकल डोर्‍याएर अघि बढिन् । हामीलाई लज्जाबोध भयो । नेपालमा भएको भए साइकिल चढ्नेले नानाथरी गाली गर्थे ।

    १७ दिनको घुमाईमा एकजना अपाङ्गले गीत गाएर पैसा उठाएको मात्र भेटियो । न माग्नेहरू, न त ठगहरू नै । ठगी र चोरी गर्नेमाथि कडा सजाय हुने भएकाले कसैले हिम्मत गर्दैनन् । छाडा गाईगोरु वा कुकुर पनि कहिँ कतै देखिएनन् । सार्वजनिक शौचालयहरू निःशुल्क छन् ।

    चपस्टीकको झण्झट

    चीन जानेहरूलाई खाना खाँदा चपस्टीक (दुई वटा काठका सुईरा) प्रयोग गर्न नजान्नु समस्या नै हुँदो रहेछ । बानी नहुँदा जेनतेन टिप्यो, खस्ने । चाइना रेडियो इन्टरनेशनल बेइजिङ्गमा कार्यरत पत्रकार चेतनाथ आचार्यले चीनियाँहरू चपस्टीकले तोरीका दाना टिप्छन्, बानी नपरेर मात्र हो भन्नुहुन्थ्यो । त्यही सम्झेर प्रयास गर्दा खान सक्ने भइयो । तर, चिनियाँहरू हातले खाँदा भन्दा सजिलो गरी चपस्टीकले खाएको देख्दा भने रमाइलो लाग्थ्यो । होटल, रेष्टुरेन्टहरूमा चपस्टीको बदलामा काँटाचम्चाको व्यवस्था भने हुन्थ्यो ।

    खानेकुरामा सजगता

    मांशाहारी खाना हिच्किचाहटविना खानेहरूका लागि चीन यात्रा गज्जव । तर, पोर्क र बिफ (सुँगुर र गोरु) नखानेहरूलाई भने समस्या । कतिपय सागको परिकारमा समेत पोर्क र विफ मिसाइँदो रहेछ । यात्रापूर्व भरिने फर्ममा पोर्क बिफ नखाने भनेर उल्लेख गरेपनि त्यसले काम नगर्ने । पोर्क वा बिफ खान्न भनेर भन्यो भने पोर्क या बिफका टुक्रा पन्छाएर ल्याइदिने । अझ रेष्टुरेन्टहरूमा पोर्क या बिफ हो कि होइन भन्दा भाषाको समस्या ।

    पोर्क/बिफ मिसिएको खाना हवाई यात्रामा पनि दिइने । चाइना साउदर्नको उडानमा काठमाण्डौं-ग्वाङ्जाओ रुटमा सोल्टी होटलको खाना पाइने । अरु हवाई रुटहरूमा बिफ/पोर्क मिसिएकै कारण पिनटकै भरमा चित्त बुझाउनु पर्‍यो ।

    भाषा समस्या

    हामीलाई अंग्रेजी भाषा अनिवार्य गरिएको थियो । टीममा एक दोभाषे युवती पनि थिईन् । उनी औपचारिक कार्यक्रम र भ्रमणमा हुन्थिन्, तर आफूखुशी घुम्दा वा अन्य सयममा भने भाषामा निकै समस्या । चिनियाँहरू अंग्रेजी नबुझ्ने, हामी चाइनिज । शपिङ्ग मलमा इशारा वा क्यालकुलेर, रेष्टुरेन्टहरूमा मेनु र कतिपय ठाउँहरूमा बोलेर मोबाइलबाट अंग्रेजी-चाइनिज अनुवाद एपले सहयोग पुग्ने ।

    सेमिनार सकिने दिन २७ अगस्तमा क्युबा र म्यानमारका प्रतिनिधि स्वदेश फर्किने भएपछि २६ अगस्तमा कुईचाऊको एक रेष्टुरेन्टमा हाम्रो बिदाई पार्टी थियो । विभिन्न ब्राण्डका मदिरा, बियर, जुसदेखि फलफूल, शाकाहारी र मांसहारी खानाका परिकार । आफैँले छानेर टेबुलमा जोडिएको हटपटमा पकाएर स्वाद अनुसार खान पाइने । सबै रमाइरहेका थियौं । मलाई पिसाबले च्याप्यो । एक वेटर युवतीलाई वाशरूप/ट्वाइलेट कहाँ छ भनेर अंग्रेजीमा सोधेँ, नबुझेर हैरान । पाँच युवतीले घेरे, म भन्छु- उनीहरू बुझ्दैनन् । नेपालमा झैँ कान्छी औँला देखाउन लाज लाग्यो । एउटा पेपरमा लेखेँ, उनीहरूले फोटो खिचेर अनुवाद गरे र मरीमरी हाँसे, अनि ट्वाइलेट देखाइदिए । म लजाउँदै ट्वाइलेटतिर गएको सम्झिँदा अहिले पनि लाज लाग्छ ।

    चिनियाँहरू अंग्रेजी भाषालाई महत्व नदिँदा रहेछन् । अंग्रेजी बुझ्नेले पनि सरकारी भाषा नै प्रयोग गर्ने र त्यसलाई दोभाषेले अनुवाद गरिदिने ।

    भरिभराउ वार, रेष्टुरेन्ट र खाना फ्याँक्ने संस्कृति

    कम्युनिज्म देश भन्नासाथ चीन नपुग्नेहरूलाई लाग्दो हो, कठोर परिश्रम, सादा जीवन, कडा शासन । तर, किताबका पानाहरूमा मात्र सीमित छ कम्युनिज्म । साँझ नपर्दै रेष्टुरेन्ट जाने, जमेर खाने, घुम्ने संस्कृति फस्टाउँदै गएको छ । शहरी क्षेत्रमा साँझमा प्रायः रेष्टुरेन्टमै खाने प्रचलन । घरमा खाना बनाउन चिनियाँहरू अल्छी हुँदा त्यसको फाइदा होटल रेष्टुरेन्ट फस्टाउने, अर्थतन्त्र चलायमान हुने । लोकप्रिय वार, रेष्टुरेन्ट क्षेत्रमा मध्यरात झन् रमाइलो । पुतली झैँ राम्रा युवतीहरू साथीहरूसँग झुम्मिए भिडभाडमा रमाइरहेको दृश्य मनमोहक नै देखिने ।

    हामी नेपालीहरू खाना फाल्नुलाई असहज मान्छौं । बरु बासी राखेर भोलिपल्ट भुटेर वा तताएर खान्छौं । तर, चीनमा खाना फाल्नु सभ्य संस्कृति । कारण- फ्याँकिएको खाना बुँगुँरको दाना हुने । दुई जना टेबुलमा बसेर चार जनाले खान नसक्ने अर्डर गर्ने र अलिअलि खाएर छाड्ने । हामीले लेख्दै, पढ्दै र भन्दै आएको खाद्य संप्रभूता भने चीनमा उपयोगी नहुने । आवश्यकता परे उत्पादन बढाउँछन् तर बंगुरलाई भोकै राख्न चाहँदैनन् ।

    हरेक विषयको डाटा

    चीनले ओलम्पिक खेलको उद्घाटन समारोहमा आकाशबाट परिरहेको पानी रोकेको, चुच्चे रेल, नागबेली झैँ सांघाईको फ्लाइओभर, नक्कली सूर्य बनाएर चमत्कार देखाइरहेको मात्र छैन, हरेक क्षेत्रका तथ्यांक अद्यावधिक गर्ने गरेको छ । कुईचाऊ क्लाउड डाटा सेन्टरका अनुसार कृषि, उद्योग, व्यापार लगायत हरेक क्षेत्रका तथ्यांक अद्यावधिक छन् । यहाँसम्मकी पसलहरूमा बिक्री हुने उपभोग्य वस्तुको तथ्यांकका आधारमा उत्पादन घटाउने वा बढाउने गरिन्छ । चीनको प्रविधि हाम्रो कल्पना बाहिर छ, अहिलेको चीनको अवस्थामा पुग्न हामीलाई वर्षौंमात्र होइन दशकौं लाग्न सक्छ ।

    चीनमा गुगल, फेसबुक, युट्यूव, ह्वाट्सएप वा म्यासेन्जर नचल्ने । भीपीएन डाउनलोड गरेर भने चलाउन सकिने । जिमेल नचल्दा असाध्यै गाह्रो । १ अर्ब ४० करोड जनसंख्यालाई नियन्त्रण गरी यस्ता सामाजिक सञ्जाल र प्रविधि छिर्न नदिनु चाहि ठूलै विषय मान्नुपर्छ ।

    चोरी, डकैती हुँदैन, जालझेल छैन । मूल्यमा सहमत भएपछि व्यापारीले एक सुको लिँदैनन् । स्वावलम्बी छन् चीनियाँहरू । घरिघरि लाग्थ्यो- यस्तै त हुँदो हो हामीले कल्पना गर्ने स्वर्ग !

    नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ दाइले जुलाई ३१ मा ‘नेपाल-चीन सुमधुर सम्बन्धबारे सामूहिक स्वर’ शीर्षकको समाचार लिंक म्यासेन्जरमा पठाउँदा मैले प्रत्युत्तरमा ‘जिन्दगीमा चीन घुम्न जाने रहर पूरा हुनी भएन दाजु !’ भनेँ । लगत्तै जन्ममिति सोधेर पासपोर्ट माग्नु भो । राजधानीका पत्रकारहरू मनोजकुमार दाहाल, अमृतनाथ तिमिल्सेना, नागरिक उड्डयन प्राधिकरणका अमृत आचार्य, राष्ट्रिय सहकारी बोर्डका ओमप्रकाश गैरे, चितवनका युवा किसान शरद चौधरीसँगको टीममा सहभागी गराइदिनु भयो । छोटो तर रोमान्चक र अविष्मरणीय यात्राको संयोग जुटाइदिने वरिष्ठ पत्रकार किशोर दाइप्रति आभारी छु ।

  • निरन्तर विश्वास गुमाउँदै परम्परागत आमसञ्चार

    निरन्तर विश्वास गुमाउँदै परम्परागत आमसञ्चार

    यति बेला परम्परागत मूलधारका सञ्चारमाध्यमको खुम्चिँदो प्रयोग र विश्वव्यापी रुपमा उर्लिंदो सामाजिक सञ्जालको प्रयोगले पूरै विश्वलाई डिजिटलाइज गरेको छ । कुनै समय मिडियाबाट दिने जानकारीलाई अधिकतम विश्वास गर्न सकिन्थ्यो, तर सामाजिक सञ्जालको बढ्दो प्रयोगले समाचारमाथिको विश्वसनीयतामा ह्रासमात्रै ल्याएको छैन, गोप्य रुपमा तपाईं हाम्रो रुचि र स्वभावमाथि पनि कसैले नियन्त्रण गरिरहेको छ ।

    २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा पनि स्थानीय र क्षेत्रीय सञ्चारको विस्तार उल्लेख रुपमा भयो, तर इन्टरनेट सञ्जालको द्रुत विकास हुने क्रमसँगै विकसित देशहरूमा सन् २००३/०४ तिर र नेपालमा सन् २०१०/११ देखि अनलाइन न्युज पोर्टल र मिडियाहरूले परम्परागत मूलधारका मिडियाको हैसियतलाई खुम्च्याउँदै ल्याए ।

    विश्वको परिदृश्यमा आमसञ्चारको इतिहास, सञ्चार गृहहरूको संस्थागत विकासक्रम, संख्या, गुणस्तर, हैसियत, यसका प्रयोगकर्ताहरूको संख्या आदि सबै पक्ष तथ्याङ्कमा अभिव्यक्त हुँदा तुलनात्मक रुपमा नेपाल असाध्यै नगण्य कोटीको औसतमा पर्छ । तथापि सूचना प्रविधि र विद्युतीय सञ्चारमाध्यममा आएका परिवर्तनहरूले यहाँको आमसञ्चार सूचना उपभोगको नागरिक व्यवहार वा प्रवृत्तिलाई उतिकै निर्णायक तवरले प्रभावित पारिरहेका छन् । खासगरी विश्वको आमसञ्चारको क्षेत्रमा जे जस्ता परिवर्तन हुने गरेका छन्, त्यसले नेपाललाई पनि प्रभाव पारेको नै हुन्छ ।

    अहिलेको परिप्रेक्ष्यमा टेलिभिजन, छापा माध्यम, एफएमलगायतले आफूले उत्पादन गरेका सामाचारहरु ग्राहकसम्म पुर्‍याउन पनि फेसबुक, युट्युब, एक्स, इन्ट्राग्राम जस्ता माध्यमहरूमाथि निर्भर हुनुपर्ने अवस्था छ ।

    भियनास्थित विश्वको सबैभन्दा पुरानो अखबार मानिएको वुनर जेटुङले प्रकाशनको ३२० वर्षपछि सन् २०२३ को जुन महिनामा आफ्नो दैनिक छापा संस्करण बन्द गर्‍यो । अस्ट्रिया सरकारको स्वामित्वमा रहेको यो पत्रिकाले आफ्नो आम्दानीमा अस्वाभाविक कमी आएका कारण प्रकाशन बन्द गरेको बताएको छ ।

    सन् २०१२ मै प्रसिद्ध साप्ताहिक म्यागेजिन ‘न्यू विक’ले आफ्नो छापा संस्करण बन्द गरेको घोषणा गर्‍यो, दुई वर्षपछि पुनः सुरु गरे पनि प्रकाशित प्रतिहरूको संख्या अत्यन्तै सीमित बनायो । अमेरिकी संसदको Congressional Research Services (CRS) ले उल्लेख गरेको अमेरिकाको एक सर्वेक्षणलाई सन्दर्भ सामग्रीको रुपमा हेर्दा अहिले समाचारका लागि ८ प्रतिशत अमेरिकीले मात्रै छापा माध्यम, २३ प्रतिशतले सामाजिक सञ्जाल, १४ प्रतिशतले गुगल जस्ता सर्च माध्यम र २५ प्रतिशतले वेबसाइट वा एपलाई स्रोत बनाउँछन् ।

    यतिबेला समाचार प्राप्त गर्ने माध्यम छापा वा रेडियो तरङ्गको सट्टा डिजिटल डिभाइस भएकोमात्रै छैन, आमसञ्चारको सिङ्गो अवधारणा नै प्रतिस्थापित र खण्डित हुँदैछ । व्यक्तिलाई आफ्नो निजी चासोको समाचार आफ्नै डिभाइसमा पाउने स्वतन्त्रता प्राप्त भएको छ । व्यक्ति-व्यक्तिलाई सुहाउँदो ओभर द टप सेवा दिने कम्पनीहरूले आमसूचना प्रवाहको अवधारणालाई निजी सूचना पस्कने अभ्यासद्वारा विस्थापित गर्दैछन् ।

    अहिलेका समाचारका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा आउने अक्सर गलत, भ्रामक, छुद्र, प्रतिक्रियात्मक, अपरिष्कृत र अविश्वसनीय जानकारीहरूको बाढीमा बग्दै गएका छन् । फेक न्युज र वास्तविक समाचार छुट्याउने धैर्य र चासो कम हुँदै गएको छ ।

    अहिलेको परिप्रेक्ष्यमा टेलिभिजन, छापा माध्यम, एफएमलगायतले आफूले उत्पादन गरेका सामाचारहरु ग्राहकसम्म पुर्‍याउन पनि फेसबुक, युट्युब, एक्स, इन्ट्राग्राम जस्ता माध्यमहरूमाथि निर्भर हुनुपर्ने अवस्था छ । विज्ञापनदाताहरू पनि डलर नै खर्च गरेर भए पनि यहाँका सञ्चारमाध्यमको सट्टा तिनै सामाजिक सञ्जालमार्फत विज्ञापन गर्न रुचाउँछन् ।

    पछिल्लो प्रविधिमैत्री पुस्ताको रुचि परम्परागत सञ्चारमाध्यममा भन्दा सामाजिक सञ्जालमा आउने सूचनाहरूमा हुन पुगेको छ । अहिलेका समाचारका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा आउने अक्सर गलत, भ्रामक, छुद्र, प्रतिक्रियात्मक, अपरिष्कृत र अविश्वसनीय जानकारीहरूको बाढीमा बग्दै गएका छन् । फेक न्युज र वास्तविक समाचार छुट्याउने धैर्य र चासो कम हुँदै गएको छ ।

    लामा विश्लेषण र विचारहरूप्रतिको आकर्षण घटेको छ । अब सञ्चारमाध्यमको औचित्य र आवश्यकता छैन भन्ने भाष्य स्थापित हुँदै गएको छ । एउटा सत्य कुरा के पनि हो भने जो कहिले पनि एउटा निजी डिभाइसबाट सामाजिक सञ्जालमा दिने जानकारीभन्दा परम्परागत सञ्चारमाध्यमले दिने जानकारीमा समाचारका सर्जक ज्यादा जवाफदेही रहन्छ । यिनीहरूको प्रयोग कम भए तापनि विश्वसनीयता गुमाएका छैनन् ।

    एउटा डरलाग्दो तथ्य के छ भने फेसबुक, गुगल, इन्ट्राग्राम, टिकटक जस्ता बहुराष्ट्रिय कम्पनीहरूले हामीलाई नियन्त्रण गरिरहेका छन् । उनीहरुले हाम्रो रुचि, चाहना र अवस्थाको बारेमा पूरै डाटा संकलन गरेर बसेका छन् ।

    एउटा डरलाग्दो तथ्य के छ भने फेसबुक, गुगल, इन्ट्राग्राम, टिकटक जस्ता बहुराष्ट्रिय कम्पनीहरूले हामीलाई नियन्त्रण गरिरहेका छन् । उनीहरुले हाम्रो रुचि, चाहना र अवस्थाको बारेमा पूरै डाटा संकलन गरेर बसेका छन् । त्यसको प्रयोग प्रायःजसो व्यापारको सिलसिलामा गर्ने गरेका छन् । अब यही प्रयोग उनीहरुले कुनै देशको राजनीतिमा गरे के होला ? सायद लोकतन्त्र नै धरापमा पर्नसक्छ ।

    हुन त हामीले प्रविधिलाई स्वीकार गर्नुको विकल्प छैन । अब हामीले हुने भनेको डिजिटल नै हो, तर बहुराष्ट्रिय कम्पनीका यी प्रविधिहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट नियमन हुन जरुरी छ । मुख्य कुरा हाम्रा डाटाहरू सुरक्षित हुनुपर्छ । हाम्रा डाटाहरूको विश्लेषण गरी हामीमाथि नै त्यसको प्रयोग गर्ने अभ्यास भइरहेका छन् । तिनलाई रोक्नुपर्छ । सेन्सरसिपको अधिकार बहुराष्ट्रिय कम्पनीहरूको इच्छाअनुसार होइन, हरेक देशको आफ्नो सञ्चार नीतिअनुसार अनुबन्धन गरिनुपर्छ ।

  • मैले लेख्न छाडे समाचार

    मैले लेख्न छाडे समाचार

    मलाई अचेल सोध्छन् धेरैले
    खोइ कहाँ गए तिम्रा समाचार ?
    कैले देशभक्ति त कहिले राज्यको रामकहानी
    म आज खोल्दैछु, यसको विस्तृत जानकारी

    म कसरी लेखुँ,
    के मा लेखुँ?
    मैले लेखेको सत्य घटना,
    कथामा मात्र सीमित भए
    मिडिया हाउसलाई भ्युज,
    र अन्य पत्रकारलाई कन्टेन्ट मात्र बने
    बलात्कार र मृत्युको घटना कठै विचरा मात्र भए
    सरकार गैरजिम्मेवार हुँदा,
    मृत्यु आज वकिलका लागि केस मात्र बने ।

    ठूला–ठूला नेताले कहिले खोला बेचे,
    त कहिले आफ्नै नागरिक !
    जनताको दुखपनि,
    पार्टीलाइ मत दिएकाको मात्र हेरे
    जसको हेरे,
    तिनीहरुले भाषण र आश्वासन मात्र पाए
    बिरामी भएर अस्पतालमा भर्ना भएकाले
    पैसा तिर्न नसक्दा दोस्रो दिन शव मात्रै पाए

    मैले नागरिकका कथा र राज्यको कुशासन बाहिर ल्याउन,
    राम्रा राम्रा मिडिया खोजे
    भाइरल कन्टेन्टको खोजीमा रहने मिडियाले,
    प्रकाशन गर्न निकै भाउखोजे
    नामका पछाडि खबर र पाटी भएका मिडियाले,
    नेताको भाषण मात्र लेखे
    त्यही नेताका कारण, उपचार नपाइ मरेका पीडितको
    न कथा सुने न बोले ।

    हामी राज्यमा बेथिति छ–छ भन्छौं,
    मिडिया हाउसकै कर्मचारी आज तलब नपाएर आफैं रुन्छन्
    गाउँबाट आफन्त आउँदा न घर जाउ भन्न सक्छन्
    न कतै साथी भेट्दा एक कप चिया खाउ भन्न सक्छन्
    हामी देशप्रेमी लेखक भावनाले मात्र पेट अघाउँदै आएका छौं ।

    एउटा राम्रो समाचार लेख्न हप्तौं लगाउँछौं
    सारा घटना र बेतिथि देखाउन खोज्छौं
    गलत चिजलाई गलत हो भनि औंल्याउन खोज्छौं
    ठूला–ठूला मिडिया हाउस,
    आफूलाई विज्ञापन दिनेका समाचार,
    लुकाउन खोज्छन्न ।

    अब भन्नुस के मा म समाचार लेखौं ?
    के मा म आफ्नो भावनापोखौं ?
    के मा म अन्याय विरुद्ध बोलौं ?
    भो अब धेरै कुरा नबोलौं भयो
    जतिबोले पनि हाम्रो सुन्ने कोही भए न हो
    त्यसैले सोचे अब समाचार नलेखौं भो ।

  • किंवदन्तीको गोसाईंकुण्डसँग यात्रीको साइनो

    किंवदन्तीको गोसाईंकुण्डसँग यात्रीको साइनो

    हुन त म जन्मको हिसाबले रामेछापको पहाडी गाउँ, सुनापाती गाउँपालिका (तत्कालिन गुन्सी भदौरे गाविस) मा जन्मेको मान्छे । हुर्काइ, बढाइ, पढाइ र भोगाइको कुरा गर्नु पर्दा मेरो आधाआधी जीवनको सर्वस्व भनेको काभ्रेपलाञ्चोकस्थित मण्डनदेउपुर नगरपालिका हो । काभ्रेपलाञ्चोक एक हिसाबले कुरा गर्दा रसुवाबाट टाढाको जिल्ला पनि हैन । काम र व्यस्त जीवनको सिलसिलामा वर्षौंदेखि गोसाईंकुण्ड पुग्ने मेरो अभिलाषा मृगतृष्णा बनिरहेको थियो । आघौं जसरी पनि जान्छु भन्यो, जाने समय आएपछि एउटा अड्चन । अर्को साल फेरि जान्छु भन्ठान्यो, उस्तै अड्चन ।

    त्यतिमात्र नभएर कहिले पठनपाठनको सन्दर्भ, कहिले महाभूकम्पको पीडा त कहिले कोरोना कहरका कारण सोचेको पूरा गर्न सकिरहेको थिएन । साँच्चै जान खोज्दा खाने मुखलाई जुँगाले छेक्दैन भने झैं भदौ १२ गते बिहान ७ः३० बजे काभ्रेपलाञ्चोकको मण्डनदेउपुर कुन्तावेंसीबाट प्रारम्भ भएको हेलम्बु बसको यात्रा ११ः३० बजे हुँदा माछापोखरी पुगेको थियो । यात्राकै क्रममा गल्छी, महादेवफाँट, देवीघाट, बट्टार, ढुंगे र नुवाकोटको सदरमुकाम विदुर, उत्तरगया बेत्रावती हुँदै हाम्रो बस घुमाउरो बाटोबाट उकाली चढ्यो ।

    पौराणिक किंवदन्तीअनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते । देवताहरू भगवान विष्णुको शरणमा पुगेपछि विष्णु भगवानको सल्लाहअनुसार दानव र देवता मिलेर समुद्र मन्थन गरे । समुद्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्यपान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइफुल्याइ समुद्र मन्थन गर्न सहमत गराए ।

    समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्किए । यसै क्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे भने कोही मर्न लागे । जसलाई शान्त नपारे यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो । यो अवस्था देखेपछि सबै देवता र दानव भगवान शिवको शरणमा पुगे । देवाधिपति महादेवले उक्त विष आफैंले सेवन गरे । विषले गर्दा उनको घाँटी नीलो भएकाले महादेवलाई नीलकण्ठ पनि भनियो । विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर महादेवले आफूसँग भएको त्रिशूलले भित्ता खोपे । त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भयो । त्यही त्रिशूलधाराबाट बगेको पानी जम्मा भएर हालको गोसाईंकुण्ड उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि महादेव विराजमान रहेको विश्वास गरिँदै आएको छ ।

    समुद्री सतहदेखि ४,३८० मिटरको उचाइमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीर्थस्थल गोसाईंकुण्ड गोसाईंकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ । गोसाईंकुण्डमा प्रत्येक वर्ष गंगादशहरा र जनै पूर्णिमा गरी वर्षको दुई पटक विशेष मेला लाग्छ । गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । काठमाडौं-धुन्चे, सिन्धुपाल्चोकको मेलम्ची-कुटुमसाङ ठाडेपाटी, काठमाडौं सुन्दरीजल-कुटुमसाङ र नुवाकोटको घ्याङफेदी-यार्सा हुँदै विभिन्न मार्गमार्फत गोसाईंकुण्ड पुग्न सकिन्छ । उकालै भए पनि छिटो हुने भएकाले काठमाडौं-धुन्चे हुँदै गोसाईंकुण्ड जाने पदमार्ग सबैभन्दा बढी चल्ती हुने पदमार्ग हो ।

    गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । काठमाडौं-धुन्चे, सिन्धुपाल्चोकको मेलम्ची-कुटुमसाङ ठाडेपाटी, काठमाडौं सुन्दरीजल-कुटुमसाङ र नुवाकोटको घ्याङफेदी-यार्सा हुँदै विभिन्न मार्गमार्फत गोसाईंकुण्ड पुग्न सकिन्छ ।

    गन्तव्यको त्यही मार्गलाई पछ्याउँदै हामी हिँड्यौं, हिँडिरह्यौं । बाटो कतै सम्म, कतै उकालो, कतै ओरालो थियो । मान्छेको लस्कर आँखाको डिकोले भ्याएसम्म देखिन्थ्यो । बाटैभरि जय शम्भु र जय भोलेको आवाज, ढ्याङ्ग्रेको आवाजले जोकोहीको मनमा जय भोले गुञ्जिन्थ्यो । बाटैभरि गोसाईंकुण्ड महादेवप्रतिको असीम श्रद्धा उब्जिरहन्थ्यो । १० जनाको टोली भएको हाम्रो समूह २०८० भदौ १२ गते गोसाईंकुण्ड यात्राको लागि साथमा लैजानुपर्ने सामानहरू न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट र केही अदुवा-लसुन, कागती तथा जोलामाइड २५० mg लगायत केही औषधि बोकेर काठमाडौंबाट प्रस्थान गरेको थियोे ।

    रसुवा बाग्मती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा कम वडा र कम जनसंख्या तथा नगरपालिका नभएको पहाडी जिल्ला हो । यसको सदरमुकाम धुन्चे नै गाउँपालिका हो । धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ मानिन्छ । जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिन्छ । त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे, रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिन्छ । स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिन्छ । त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामकरण रसुवा रहेको मानिन्छ ।

    धुन्चेको एभरेष्ट होटलको बासपछि १३ गते बिहान हामी गन्तव्यतिर लाग्यौं । भोलिपल्ट बिहान चिया नास्ता गरेपछि हाम्रो यात्रा फेरि सुरु भयो । प्रहरी चेकिङमा कार्ड चेकजाँच गरियो । हिँड्नुपर्ने उकालो बाटो अझै बाँकी थियो । देउराली-ढिस्सा-चन्दनबारी-चोलाङपाटी-लौरी विनायक-बुद्ध मन्दिर, त्यसपछि सीधा बाटो देखाइएको थियो । कस्तो होला घट्टेखोला, कति माथि होला खेन्दी, कस्तो होला देउराली ? कति माथि होला ढिम्सा, कहिले पुग्नु चन्दनबारी, चोलाङपाटी ? किन भनेको होला लौरी विनायक, कस्तो छ बुद्ध मन्दिर ? कति बेला पुगिएला गोसाईंकुण्ड ? मनमनै आफैंलाई प्रश्न गरें- दिनभरमा त कसो नपुगिएला ?

    ढिस्सा-चन्दनबारी हुँदै चोलाङपाटी पुग्दा कुहिरोले हामीलाई ढाकिसकेको थियो । हाम्रो यात्रा नजिकैबाट बगिरहेको त्रिशूलीमा अस्थायी पुल पार गरी पूर्वतर्फ मोडियो । वर्षाको याम भएकाले त्रिशूली मजैसँग छङ्छङिरहेको थियो । त्यहाँबाट केही पर पुगेपछि महादेवको सानो मूर्तिसहितको पोखरी रहेछ । त्यसलाई मिनी गोसाईंकुण्ड मानिन्छ । यो पोखरी गोसाईंकुण्ड पुग्न नसक्नेका लागि नुहाएर मनलाई सान्त्वना दिने ठाउँ पनि मानिन्छ । गोसाईंकुण्ड मेला भर्ने विशेष समय भएर होला, होटलमा खाना र बस्न केही महँगै पाइयो । त्यो त अझ फर्कंदा थाहा लाग्यो कि उकालो चढ्दा २०० रुपैयाँसम्ममा बेचेको फ्रुटी फर्कंदा त ३० रुपैयाँ भएछ । पानी किन्न खोज्यो, रु.२०० । चिया नै खाउँ न त भन्यो, रु.१०० । यो महँगो नै हो । हुन त निश्चित समयमा त्यो पनि निकुञ्जभित्र थापेको पर्थु र झ्याउलीसहितको पसल भएर पनि होला !

    बाटो कतै सम्म, कतै उकालो, कतै ओरालो थियो । मान्छेको लस्कर आँखाको डिकोले भ्याएसम्म देखिन्थ्यो । बाटैभरि जय शम्भु र जय भोलेको आवाज, ढ्याङ्ग्रेको आवाजले जोकोहीको मनमा जय भोले गुञ्जिन्थ्यो । बाटैभरि गोसाईंकुण्ड महादेवप्रतिको असीम श्रद्धा उब्जिरहन्थ्यो ।

    भदौको बीच भएर पनि न झरी, न बादल, न जाडो न त जुका ! कुनै डर र पीडा व्यहोर्न परेन । गोसाईंकुण्डको यात्रालाई तन्काउने क्रममा बिहान १०ः३० मा देउराली पुगेका थियौं जुन समुद्र सतहबाट २,६५० मिटर उचाइमा थियो । थकाइ र उकालीको स्याँस्याँ र फ्याँफ्याँले लखतरान थियौं । विश्रामपछि साथमा लगेका ड्राइफुडहरू झिक्यौं, भुटेको मकै, काजु, मिश्री र गुलिया तथा चाँडो तागत दिने चकलेटहरुले बेला बेलामा मर्न लागेको फुर्तीलाई बढाइदिन्थ्यो । चिसो पानीका साथ भोक, तिर्खा र थकाइ सबै मेट्यौं । उकालो लाग्न सुरु गरेपछि आर्मी क्याम्प र स्वास्थ्य शिविर देखियो । तीर्थयात्रीलाई आइपर्ने समस्या र सावधानीका उपाय अपनाउन सुझाव दिँदै केही जवान भने तातोपानी खान आग्रह गर्दै थिए, कोही प्रेसर जाँच्दै थिए ।

    देउरालीको सामान्य बसाइ र दृश्यावलोकनपछि हाम्रो यात्रा निरन्तर अगाडि बढिरह्यो । दिउँसो १ः०० बजेको हुँदो हो, हामी ढिम्सा पुग्न सफल भयौं । त्यहाँको एउटा होटलमा खाना भनियो । तयारै रैछ, खाइयो पनि । केहीबेर थकाइ मारेर पुनः यात्रालाई निरन्तरता दिइयो । अलिक अगाडि के बढेका थियौं- फापर तथा कोदोको ढिंडो यहाँ पाइन्छ लेखेको होटल देख्न बिस्मात लाग्यो । बिस्मातबाट निरुत्साहित बनिएन । फर्कंदा यही आएर फापरको ढिंडो खाने अठोट बनाइयो ।

    चन्दनबारीलाई स्थानीय भाषामा सिङ्गोम्पा पनि भनिन्छ । त्यो चिज उत्पादनको लागि प्रसिद्ध छ । त्यहाँ त्यस्तै पाँचसात वटा राम्रा होटल पनि देखियो । वातावरण मन छुने खालको थियो । केही पर डाँडामाथि निकुञ्ज सुरक्षार्थ आर्मी पोष्ट थियो । चन्दनबारी समुद्र सतहबाट ३,३३० मिटर उचाइमा अवस्थित छ । सफा, टकटकाउँदो सेता कपडा जस्ता बादलका ससाना टुक्रा कतै पर चुलिँदो पहाडसँगै अंकमाल गरिरहेका जस्ता देखिन्थे । पानी नपरेकाले हल्का कुहिरोसँग मधुरो घामको रंग उस्तै प्राकृतिक थियो । खुला आकाशमुनि सूर्य किरणले दिएको न्यानो तापमा आनन्दको अनुभूति भइरहेको थियो ।

    निःस्वार्थ भावमा लीन भएपछि उकाली र ओरालीका अप्ठेरा पनि हवाईजहाजका यात्राभन्दा सरल र सहज लाग्दोरहेछ । मानसिक थकाइमात्र जीवनको सबैभन्दा ठूलो थकाइरहेछ भन्ने लाग्यो । केही उकालो उक्लिएपछि अलि सजिलो बाटोले मोड लियो । करिब आधा घण्टाको हिँडाइ तेर्सो भएकाले थकाइमा केही राहत मिल्यो । तेर्सो बाटो सकिएलगत्तै चोलांगपाटी (३,६५४ मि उचाइ) स्थित एउटा होटल अगाडिको खुला चउरमा राखिएको काठका खटियाहरूमा बस्यौं । कुहिरो र बादलले पाइला सार्दै गरेको आकाशमुनि अट्टहासको थकाइ मार्‍यो । त्यहाँ आफैंले तयार गरेको चटपटे खाएर केही समयकोे विश्रामपछि दिउँसो ४ः३० बजे लौरी विनायकको उकालो सुरु हुने ठाउँमा पुगियो ।

    धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ मानिन्छ । जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिन्छ । त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे, रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिन्छ । स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिन्छ । त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामकरण रसुवा रहेको मानिन्छ ।

    भोलिपल्ट बिहान सबेरैलाई मात्र जनै पूर्णिमाको शुभ मुहूर्त पर्ने भएकाले होटलहरु सबै प्रायः टनाटन देखिन्थे । बुद्ध मन्दिर र गोसाईंकुण्डमा होटलहरु प्याक भैसकेको हल्ला र यात्रा टोलीका २ जना साथीलाई श्वासप्रश्वासमा केही समस्या देखिएकाले त्यस दिनको यात्रालाई त्यही पूर्णविराम लगाउने अठोट गरियो । प्लाष्टिक र त्रिपालले बेरिएका थर्पुसमेत प्याक भइरहेको अवस्थामा भाग्यवश एउटा ढुंगामाटोले बनेको पुरानो घर जस्तो होटलको बुइगल सुत्न ठाउँ पाइने देखियो र कुरा गरियो, प्रतिव्यक्ति २ हजारमा सुत्न र खान पाइने गरी । खाना खान मन छैन र खान्न भन्दा पनि पैसा चाहिं उत्ति नै बुझाउनुपर्ने सर्त लाग्यो ।

    भोलिपल्ट बिहान ३ः०० बजे नै लौरी विनायकको उकालो यात्राको तय गरियो । ७०-७५ वर्षका वृद्धवृद्धा पनि यात्राको क्रममा फाट्टफुट्ट भेटिएका थिए । त्यस हिसाबले सोचे जति कठिन नलागे पनि उचाइ बढ्दै जाने क्रममा अक्सिजनको कमीले पहिलेको ऊर्जामा केही शिथिलता अनुभव भयो । हिँडाइलाई केही सुस्त बनायौं । २-४ पाइलाअघि सर्दै बस्दै जाने क्रममा हामी ५ बजेमात्र ३,९१० मिटर उचाइको लौरी विनायकको उकालो छिचोल्यौं । बुद्ध मन्दिर पुगेपछि उकालो लगभग सकिएको थियो । त्यहाँबाट फलामको रेलिङ समात्दै अगाडि बढ्यौं । अगाडि बढ्दै जाँदा करिब डेढ घण्टाको बाटो लाइन नलागरै लाइन बसेको महसुस भयो । लाइनकै इसारामा हामी ४,३८० मिटर उचाइमा अवस्थित गोसाईंकुण्डमा पुग्यौं । हिन्दूहरू आफ्ना आराध्यदेव शिव, विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशूलबाट गोसाईंकुण्ड सिर्जना गरेको विश्वास गर्छन् । त्रिशूली नदीको स्रोत पनि यही कुण्ड हो । राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेजसँग भएको सुगौली सन्धिको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूलाई ब्रह्मलिन गराएको बताइन्छ ।

    गोसाईंकुण्डमा १०८ कुण्ड रहेको बताइन्छ । तीमध्ये गोसाईंकुण्डलाई विशेष महत्वका साथ हेरिन्छ । भैरवकुण्डको दर्शन गर्ने कुरालाई त्यति सहज मानिन्न । सरस्वतीकुण्ड गोसाईंकुण्डभन्दा १ घण्टाको अर्को यात्राभित्र पर्छ । त्यहाँको स्थान ख्याल गरियो तर, जान सकिएन । गोसाईंकुण्ड पदमार्गबाट मनास्लु, गणेश, लाङटाङलगायतका थुप्रै हिम चुचुरा देख्न सकिन्छ । कतिपय पैदलयात्रु सुन्दरीजल, हेलम्बुबाट पनि गोसाईंकुण्ड दर्शन गर्न आएका थिए । फर्कंदा भने ट्रेकिङका यात्रु हेलम्बु भएर जान रुचाउँदा रहेछन् । हेलम्बु प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिन्छ । त्यसैले पैदलयात्रीको लागि रोजाइमा पर्दै आएको छ । गोसाईंकुण्ड धार्मिक र पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण छ ।

    अक्सिजनको कमीले यात्रा तय गर्ने मार्गमा समस्या भए पनि प्रकृति हाम्रो साथमा रहेकाले हामी ऊर्जाशील थियौं । नीलो ब्रह्माण्ड रुपी छहारीमा तातो किरणले हामीमा ऊर्जा थपिरहेकै थियो । प्रकृतिले हामीमाथि गरेको करुणा अझ घनीभूत हुँदै कठ्यांग्रिँदो चिसो कुण्डमा पनि तीनतीन पटक डुबुल्की मारेका थियौं । तैपनि टुंगिन नपाएको अभिलाषाको साथै जीवनमा यस ठाउँको पहिलो चरणको यात्रा सफलताका साथ सम्पन्न गर्ने मनोकांक्षा पूरा भएकोमा आनन्दित छु ।

  • एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक

    एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक

    काठमाडौं । एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ । बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

    प्राध्यापक अभि सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे ।

    उक्त अवसरमा लेखक समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए ।

    ‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ’, पुस्तकबारे उनले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुप¥यो च्याट जीपीटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ ।’

    यही विषयलाई डा. खनालले मीठो भाषाशैलीमा लेखेको डा. समीरले बताए । उनले यो उपन्यास चिकित्सकले लेखे जस्तो नलाग्नेसमेत बताए ।

    ‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट बालबालिकालाई बचाउने तरिकाको लागि यो किताब उपयुक्त छ’, उनले भने ।

    लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् । ‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावटसमेत देखिएको उनले बताइन् ।

    उनले भनिन्, ‘यो किताब हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।’

    शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् ।

    मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।’

    पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन् । फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताएका छन् ।

    पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।

  • ‘छक्कापञ्जा’ टीमको स्त्रीद्वेषी दूषित सोच- ‘ब्रेकअप’ गीतबाटै भयो एक्सपोज

    ‘छक्कापञ्जा’ टीमको स्त्रीद्वेषी दूषित सोच- ‘ब्रेकअप’ गीतबाटै भयो एक्सपोज

    नेपाली चलचित्र जगतमा रावायण चल्नुअघि एकाएक पल शाह र पूजा शर्माको अन्तर्वार्ता र अन्तर्वार्ताको प्रत्युत्तरमा गायिका समीक्षा अधिकारीको भनाइले प्रशस्त चर्चा पायो । दर्शक-श्रोता या भनौं सामाजिक सञ्जाल प्रयोगकर्ता दुई भागमा फ्याक भए । समग्रमा पूजा शर्माको चलचित्र प्रचार गर्ने शैली र महिला तथा बालबालिकाको सवालमा पूजाको गलत बुझाइ दर्शकले मन पराएनन् । अर्कोतर्फ पलको पछिल्लो उपस्थितिलाई दर्शकले रिजेक्ट जस्तै गरिदिए ‘रावायण’मार्फत । कमजोर अभिनय, खेलाची जस्तै गरिएको भेषभुषा त ट्रोल नै बने । अझ पूजाले चलचित्र नचल्नुमा जातीयतालाई जोडेर फेरि विवादको फुर्का थपिन् ।

    यता मीनबहादुर भामको चलचित्र ‘साम्बाला’ले हलमा सामान्य व्यापार गरे पनि बलिउडलाई मात्र लोभ्याएन, बर्लिन फिल्म फेस्टिभलमा छनोट तथा ओस्कारको प्रतिनिधित्व गर्ने हैसियतमा समेत आफूलाई उभ्याउन सफल भयो ।

    हुन त विश्वव्यापी रुपमै आर्ट फिल्म र कमर्सियल फिल्म अलगअलग ढङ्गले निर्माण हुन्छन् र तिनीहरुका उद्देश्य फरक हुन्छन्, तर नेपालको परिप्रेक्ष्यमा बनेका फरक र मौलिक कथाका फिल्मले विश्वलाई चिनाउन प्रयास गरिरहँदा व्यवसायिक र ‘मेन स्ट्रीम’ मानिएका चलचित्रहरुले आफ्नो पहिचान दरिलो बनाउन नसक्नु चुनौतीपूर्ण अवस्था देखिएको छ । यद्यपि रङ्गमञ्चबाट खारिएका कलाकारहरुको बाक्लो उपस्थितिले उद्योगलाई आशालाग्दो नबनाएको हैन । तर पनि समग्रतामा सानो बजार, बृहत बजारको खोजीमा कमी, सरकारको प्रोत्साहनको अभाव, दर्शकको उच्च अपेक्षा, चलचित्र निर्माण पक्षको कमजोरी जस्ता पक्षले नेपाली चलचित्रमाथि चुनौती थपिदिएको छ ।

    यी त भए चुनौतीहरु, तर चलचित्रले आफ्नो उत्तरदायित्व कसरी निर्वाह गरिरहेको छ त बहसको विषय बनेको छ । अक्सर ‘ड्याम्म’ जसरी ट्रेलर देखाएर ‘फुस्स’ का अवस्थामा हलमा भेटिने आमचलचित्रलाई एकखाले दर्शकले पत्याउनै छोड्न लागेको अवस्था छ । अर्काेतर्फ कोभिडपछि विस्तार व्युँतेको इन्डस्ट्रीमा केही राम्रा ब्रान्डेड ब्यानरका चलचित्रले कहीँ न कहीँ बजार तताएकै छ । अक्सर तीज-तिहार रोजेर रिलिज गरेरै भएनि करोड क्लबमा यी दुईचार चलचित्र दौडेका छन्, तर चलचित्र बिल्कुल ‘हर्के हवल्दार’ भन्ने सिरियलमा हर्के हवल्दार नभए झैं, मुख्य चुरो कुरो हराए झैं भेटिन्छ, यो ‘तीतो सत्य’ जगजाहेर छँदैछ ।

    सामाजिक अगुवाहरुको भनाइमा नेपाली चलचित्रमा कहिले सामाजिक सद्भाव हराउँछ, कहिले अपाच्य र अश्लील सामग्री जबरजस्ती बेचिन्छ । चलचित्र समाजलाई जस्ताको तस्तै देखाइदिने ऐनामात्र नभई चलचित्र समाजको मार्गदर्शक पनि हो । उदाहरणका रुपमा धूमपान र महिलामाथिको दुर्व्यवहार चलचित्रहरुले यसरी सामान्यीकरण गरेर देखाइदिन्छ कि किशोरकिशोरीहरु हिरोगिरीका नाममा चलचित्रका कलाकार झैं बनिदिन्छ्न् । हेल्मेट नलगाई मोटरसाइकल चलाउनु, टेन्सन हुँदा धूमपान, मद्यपान गर्नु चलचित्रहरुकै प्रभाव हुन् कतै न कतै ।

    टिकटक तथा युट्युबमा सामान्य अश्लील भाइरल कन्टेन्टहरु आउँछन् र तुरुन्तै बिलाउँछन् । बरु यिनले समाजलाई निर्देश गर्न सक्दैनन्, तर राम्रा कलाकारहरुले गाएका, नाचेका, अभिनय गरेका गीत तथा चलचित्रहरु जनताका मनमा यसरी गढ्छन् कि त्यसले लामो समयसम्म समुदायको भावलाई निर्देश गर्ने ल्याकत राख्छन् ।

    टिकटक तथा युट्युबमा सामान्य अश्लील भाइरल कन्टेन्टहरु आउँछन् र तुरुन्तै बिलाउँछन् । बरु यिनले समाजलाई निर्देश गर्न सक्दैनन्, तर राम्रा कलाकारहरुले गाएका, नाचेका, अभिनय गरेका गीत तथा चलचित्रहरु जनताका मनमा यसरी गढ्छन् कि त्यसले लामो समयसम्म समुदायको भावलाई निर्देश गर्ने ल्याकत राख्छन् ।

    चर्चा गरौं ‘छक्कापञ्जा- ५’ को ब्रेकअप गीतको । हुन त निर्माण पक्ष कथाको कन्टेन्ट या हास्यव्यङ्ग्य भनेर पन्छिएला, तर ‘छक्कापञ्जा- ५’ को सरापे गीतले समाजमा अङ्गभङ्गसमेत होस् भनेर सराप्नुलाई सामान्यीकरण गर्दैछ । अब केही दिन तोतेबोली बोल्नेदेखि परिपक्वहरुसमेत सामाजिक सञ्जालमा ‘ब्रेकअप दिनेको आँखै फुटोस् भन्दै पैसा र बैंस फिर्ता’ माग्नेको लर्को लाग्नेछ । यसले चलचित्रलाई त फाइदै होला, तर समुदायलाई लङटर्म इफेक्ट गर्नेमा दुई मतै छैन ।

    साहित्यकार सीमा आभास भन्छिन्, ‘यदि कसैले गीत, कविता सिर्जना गर्छ भने शब्द छान्न सय पटक सोच्नुपर्दछ, तर यस्ता सरापलाई गीत नभनोस् । चलचित्र सेन्सरबोर्डले यी सरापे गीतलाई किन सार्वजनिक गर्न दिएको ? कलाकारहरू समाजप्रति जिम्मेवार हुनुपर्दैन ? ती शब्द र भावप्रति ठूलो आपत्ति छ । अझ ‘तेरो पैसा लैजा, मेरो बैँस फिर्ता ले’ भन्ने शब्दवाला गीतले दिमाग रन्थनिएको छ ।’

    ‘अपराधी मनोविज्ञानलाई बढावा दिन कलाकारितामा कसरी अभ्यास गरिँदैछ र यो स्थापित हुँदैछ भन्ने ज्वलन्त उदाहरण ‘छक्कापञ्जा–५’ का गीत हुन् । यी गीत चल्ने सम्भावना धेरै छ, तर अपराधमाथि कसरी मनोरञ्जन लिइन्छ भन्ने उदाहरणको उदांगो रूप यी गीत हुन्’, सीमा आभासको भनाइ छ ।

    दीपक-दीपा सामाजिक उत्तरदायित्वमा संवेदनशील छैनन् भन्ने ‘छक्का-पञ्जा’ले पटकपटक उदाङ्गो बनाइसकेको छ । ब्रान्डेड मानिएका चलचित्र उत्पादकहरु भेलु-भाइरलको हैसियतमै रहन थालेपछि नेपाली चलचित्रको मौलिकता ‘साम्बाला’ र ‘कालो पोथी’हरुले नै जोगाइदिनु परेको अवस्थालाई नकार्न सकिँदैन ।

    थप कुरा, दर्शकको मुटु यस्तै सराप्नेलाई सपार्नेतर्फ लागेपछि नै हो हाम्रा चलचित्र यस्तै पानीपुरी र चटपटेमात्र बनिरहेका र ‘साम्बाला’हरु जन्मिनुअघि दश पटक सोचिरहेका छन् ।

    देश बिगारे भनेर राजनीतिकर्मीलाई सम्झाउने यो जोडी (टीम)ले आफू कलाकार हुँदा निर्माण गरेको फिल्मले आफ्नो थैलो भर्नेबाहेक फिल्ममार्फत पनि देश र संस्कृतिका पक्षमा कस्तो कार्य गरेको छ ? स्वयं मूल्याङ्कन गर्नसमेत आवश्यक छ । आफैं नेपाली चलचित्रलाई माया गरौं भन्ने अभियान चलाइरहँदा, आफ्नै मौलिकता झल्किने र समुदायको उत्तरदायित्वसमेत बहन गर्ने क्षमता भएको चलचित्रमा कन्टेन्ट उत्पादन गर्न एड्भोकेसी हुँदा चलचित्रकर्मीले यसलाई नकारात्मक रुपमा नलिई आगामी दिनमा समालोचनात्मक सुझाव ग्रहण गर्दै अघि बढोस् र बढ्नु अपरिहार्य देखिन्छ ।

  • थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

    थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

    काठमाडौं । लेखक कार्ल बिक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको छ ।

    बिहीबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)कि केन्द्रीय सदस्य कल्पना धमला लगायतले सो पुस्तक सामुहिक रुपमा लोर्कापण गरेका थिए ।

    पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि नेपाली राजदूत शंकर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्रा.डा. सुरेन्द्र केसीले टिप्पणी गरेका थिए ।

    पुस्तकमा अमेरिकी झन्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको सङ्क्षिप्त इतिहास र अमेरिकामा रहेका जनजातिहरुको बारेमा उल्लेख गरिएको छ । त्यसैगरी ब्रिटिश शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दासप्रथा र स्वतन्त्रता भुमि आन्दोलनको विषयमा पनि लेखिएको छ ।

    पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरु लगायतका विभिन्न विषयहरुलाई समेटिएको छ । त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरुलाई पुस्तकमा उतारिएको छ ।

    लेखक स्वयम्ले प्रकाशन गरेको ७१६ पृष्ठको पुस्तकको मुल्य १ हजार १५० रुपैयाँ तोकिएको छ । लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरुले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि सो पुस्तक उपयोगी हुने बताएका छन् ।

    लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा र पक्षहरुका बारेमा जानकारी गराउन मद्दत गर्ने बताए ।

  • ग्रेटवालमा झण्डा फहराउन नपाउँदा…

    ग्रेटवालमा झण्डा फहराउन नपाउँदा…

    अगस्त १६ को साँझपख कुइयाङको होटलको सामूहिक भेलामा बेइजिङ भ्रमणबारे लिजले सुनाइन्- ‘वर्षातको समय छ, छाता अनिवार्य, हलुका कपडा, स्पोर्टस् जुत्ता लैजान नभुल्नुहोला । मौसमले साथ दियो भनेमात्र ग्रेटवाल यात्रा सफल हुन्छ ।’ मनमा चिसो पस्यो, कतै मौसमले साथ नदिने पो हो कि ! कुइचाउको कुइयाङ शहरमा मध्यरातमा घुम्दै गर्दा मन भने बेचैनी थियो, कतै मौसम प्रतिकूल पो हुने हो कि भनेर ।

    चीनको १७ दिने भ्रमण तालिका आउनासाथ दिमागमा तीन कुरामात्र फनफनी घुमेका थिए, ग्रेटवाल, पोतला दरबार र कैलाश पर्वत अर्थात मानसरोवर । यी तीन ठाउँ भ्रमण गर्ने मेरो उत्कट अभिलाषा पोतला दरबार र मानसरोवर तिब्बतमा पर्ने भएकाले सम्भव थिएन, बाँकी रहेको ग्रेटवाल पनि मौसममा निर्भर रहने ।

    तीव्र विकास र शहरीकरण भैरहेको चीनका हरेक ठाउँ र गाउँ हेर्नलायक थिए, तर त्यो शहरीकरण, विज्ञान र प्रविधिले भन्दा मेरो मस्तिष्कले ग्रेटवाल रोजेको थियो । प्रकृतिमाथि विजय हासिल गरिरहेको चिनियाँ प्रविधिको कुरा मेरो जानकारीमा थियो । नक्कली सूर्य बनाउन, ओलम्पिक प्रतियोगितामा वर्षा रोक्न सकेको चीनको प्रगतिका कुरा संसारसामु लुकेको विषय होइन, तर ती विकास र समृद्धि भने ग्रेटवालसामु होचा थिए मेरा लागि ।

    ग्रेटवाल विश्वको सातौं आश्चर्य । नाङ्गो आँखाले अन्तरिक्षबाट देखिने एकमात्र मानव निर्मित संरचना । विश्व सम्पदा सूचीमा सूचीकृत प्राचीन तथा ऐतिहासिक स्थल, जसले गर्दा चीन र ग्रेटवाल मेरो मन मस्तिष्कभित्र गडेर बसेको थियो ।

    ग्रेटवाल विश्वको सातौं आश्चर्य । नाङ्गो आँखाले अन्तरिक्षबाट देखिने एकमात्र मानव निर्मित संरचना । विश्व सम्पदा सूचीमा सूचीकृत प्राचीन तथा ऐतिहासिक स्थल, जसले गर्दा चीन र ग्रेटवाल मेरो मन मस्तिष्कभित्र गडेर बसेको थियो ।

    अगस्त १८ को साँझ पनि लिजले बेइजिङको वाङजिङ साउथस्थित होटल लबीमा त्यही दोहोर्‍याइन्- ‘लगाउने कपडा, लैजानुपर्ने सामग्रीदेखि बिहान ८ बजे तयार भएर होटल लबीमा जम्मा हुने ।’ अगस्त १९ अर्थात भदौ २ ग्रेटवाल पुग्ने साइत । हिन्दूहरुको पवित्र पर्व जनै पूर्णिमा परेको दिन । घरमा भएको भए बिहान ३ बजेदेखि शुरु हुन्थ्यो जनै पुज्न जान गरिने संस्कार कर्म, तर बेइजिङको होटलको रेस्टुरेन्टमा ललितपुरका पत्रकार साथी अमृतनाथ तिमिल्सेनाले दिएको जनै फेरेर कर्मकाण्ड पूरा गरें ।

    बिहानको खाजा खायौं । निर्धारित समय बिहान ८ बजे शुरु भयो ग्रेटवालको हाम्रो यात्रा । कुइचाउ एकेडेमी अफ साइन्सेजका डेपुटी डाइरेक्टर फुझाङजुङको नेतृत्वमा नेपाल, दक्षिण अफ्रिका, म्यानम्यार, अफगानिस्तान, क्युबा र इजिप्टका गरी झण्डै तीन दर्जन प्रतिनिधि बस चढेर ग्रेटवाल प्रस्थान गर्‍यौं । मौसम एकदमै सफा नभए पनि खराब पनि थिएन ।

    जब बसमा दोभासे लिजले मनोरञ्जन गराउन आआफ्नो देशको गीत गाउनसक्ने जानकारी गराइन्, हाम्रो टोलीका तिमिल्सेनाले सूर्यदेवको मन्त्रोच्चारण गरे । त्यसपछि हामीले रेशम फिरिरी गायौं, चिनियाँ र अन्य विदेशी गीत संगीतको प्रस्तुतिबाट करिब एक पौने घण्टा रमायौं । दुई घण्टाभन्दा बढी समय लाग्ने बस यात्रामा बाँकी समय भने आ-आफ्नो सीटबाट नियाल्दै अघि बढ्यौं ।

    हामी १०ः३० मा ग्रेटवालको बेसस्टेशन पुग्यौं । आइतबार सार्वजनिक बिदा भएकाले होला निकै भीडभाड थियो । अत्यन्तै सफासुग्घर र कुशल व्यवस्थापन, ठाउँ-ठाउँमा माइकिङ गरिरहेका कर्मचारी, लोभलाग्दो थियो बेसस्टेशन । त्यहाँ पूरा गर्नुपर्ने प्रक्रियापछि केही बेरमै हाम्रो यात्रा शुरु भयो । आयोजकले घोषणा गरे- ‘भीड छ, सबै सँगै नहुन पनि सक्छौं, यदि समूहबाट छुट्टिए पनि फर्किएर दिउँसो १ बजे यसै ठाउँमा भेटौं ।’

    ग्रेटवाल चीनको राजधानी बेइजिङलाई उत्तरी शासकबाट सुरक्षित राख्न झण्डै दुई हजार वर्ष लगाएर बनाइएको संरचना । ईशापूर्व पाँचौं शताब्दीदेखि १६ औं शताब्दीको मध्यसम्म यसको निर्माणकाल मानिन्छ ।

    मुख्य द्वारबाट भित्र पसेर टोली उकालो लाग्यो । भदौरे घाम कडा थियो, उकालो यात्रा, छिचोलिनसक्नु भीड, शुरुमा सँगसँगै रहेको हाम्रो टीम फोटो खिच्ने र दृश्यावलोकन गर्ने क्रममा तितरबितर भयो । कोही धेरै अगाडि, कोही धेरै पछाडि । ग्रेटवालको बीचबीचमा दुई–तीन तले घर, सहायक पर्खाल भएकाले अलमल पनि हुँदो रहेछ । पैदल हिँड्न नसक्नेका लागि केवलकारको पनि सुविधा । हामी सबै पैदल यात्रामा थियौं । ग्रेटवालको अग्लो प्वाइन्ट अन्तिम लक्ष्य थियो ।

    उकालो चढ्दै गर्दा युनिभर्सिटीका डेपुटी डाइरेक्टर फुसहित नेपाली टोलीका पत्रकार अमृतनाथ तिमिल्सेना, सहकारी बोर्डका ओमप्रकाश गैरे, अफगानिस्तानका अब्दुल रहिम मजदी र यो पंक्तिकार अरुसँग बिछोडियौं । फोटो खिच्दै जाँदा भीडभाडमा अरु कता पुगे, पत्तै भएन । हाम्रो टोली ग्रेटवालको सबैभन्दा हाइटमा पुग्यो । त्यहाँ पुग्दा ठूलै युद्ध जिते जस्तो, सफलताको सिंढी पार गरे जस्तो महसुस भयो । हत्तेरिका ! नेपाली झण्डा ल्याउनुपर्ने ! म बोल्दै थिएँ, गैरेले ब्यागबाट निकालिहाले, तर सुरक्षाकर्मीले त्यसलाई फहराउन भने दिएनन् । त्यसलाई सहज स्वीकार्नुको विकल्प थिएन ।

    त्यतिबेलै युनिभर्सिटीकी डेपुटी डाइरेक्टर फूलाई असहज भयो । हामीभन्दा छिटो उकालो चढेकी फूलाई चर्को गर्मी र उकालो यात्राले गाह्रो बनाएको थियो । शीतलमा टाउको समातेर बसेकी उनलाई तिमिल्सेनाले गोजीमा रहेको एउटा चकलेट दिए, त्यसैले उनलाई ऊर्जा दिएछ क्यार ! करिब पाँच मिनेटपछि पूर्ववत अवस्थामा फर्किइन् ।

    हामी बेसस्टेशन फर्किने अब दुइटा बाटो थिए । एउटा- अझै अगाडि गएर सहायक पर्खाल हुँदै फर्किने र अर्को- गएकै बाटो । हामीले अप्ठेरो भए पनि अझै अगाडिबाट जाने निधो गर्‍यौं, जुन अत्यन्तै उकालो र ओरालोले गर्दा अलि अप्ठेरो रहेछ । ऐतिहासिक पर्खालको फोटो, भिडियो र त्यहाँबाट देखिने पहाडी श्रृंखला, वनपाखा अवलोकन गर्दै निर्धारित समयभन्दा आधा घण्टा ढिलो बेसस्टेशन झर्‍यौं ।

    चीनका प्रथम सम्राट शी हुआङले ठूलो पर्खाल बनाएर राज्य सुरक्षित गर्ने कल्पना गरेका थिए । पछि मिङ वंशका शासकले निर्माण शुरु गरेर दुई हजार वर्ष पछिसम्म पनि निर्माण जारी रह्यो ।

    ग्रेटवाल चीनको राजधानी बेइजिङलाई उत्तरी शासकबाट सुरक्षित राख्न झण्डै दुई हजार वर्ष लगाएर बनाइएको संरचना । ईशापूर्व पाँचौं शताब्दीदेखि १६ औं शताब्दीको मध्यसम्म यसको निर्माणकाल मानिन्छ । पूर्वमा शानहाई गुआनदेखि पश्चिम लोप नुरसम्म पहाडमाथि नागबेली झैं फैलिएको यो विशाल पर्खालको लम्बाइको विषयमा फरक फरक तथ्य भेटिन्छन् । सन् २०१२ मा भएको एक सर्भेले ग्रेटवालको कुल लम्बाइ शाखा र उपशाखा जोडेर २१ हजार १९६ किमि रहेको देखाएको छ । त्यसअघि यसको लम्बाइ ८ हजार ८५१ किलोमिटर रहेको तथ्य थियो ।

    बाहिरी शत्रुबाट जोगाउन निर्माण गरिएको ग्रेटवाल सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले एक ठाउँमा भत्काएर त्यहीबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए । चीनमा यो पर्खाललाई वान ली चेङ चेङको नामले पनि चिनिन्छ । यो पर्खालको चौडाइको एकसाथ पाँचवटा घोडा वा १० जना सैनिक पैदल हिँड्न सक्छन् । पर्खाल माटो, ढुंगा र चामलको पिठोले बनाइएको छ । यसको उचाइ ३५ फिट छ । बीचबीचमा शत्रुलाई हेर्न स-साना प्वाल, लुक्ने किल्लाहरु पनि छन् ।

    चीनका प्रथम सम्राट शी हुआङले ठूलो पर्खाल बनाएर राज्य सुरक्षित गर्ने कल्पना गरेका थिए । पछि मिङ वंशका शासकले निर्माण शुरु गरेर दुई हजार वर्ष पछिसम्म पनि निर्माण जारी रह्यो । ग्रेटवाल सम्पन्न गर्न २० देखि ३० लाख मानिसले आफ्नो जीवन लगाएका थिए । निर्माणका क्रममा करिब १० लाख मानिसको मृत्यु भएको र उनीहरुलाई पर्खाल मुनि गाडिएको थियो । जसले गर्दा ग्रेटवाललाई संसारकै सबैभन्दा ठूलो चिहान पनि भनिदोरहेछ, तर यो विषय भने खोज हुन बाँकी छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९८७ मा ग्रेटवालका कतिपय भागलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

    ग्रेटवाल चिसो मौसममा चढ्न कठिन छ । तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने र बाक्लो हिउँ जम्ने भएकाले करिब दुई महिना अलि सुनसान देखिन्छ । वार्षिक १ करोड ५० लाख मानिस ग्रेटवाल अवलोकन गर्न पुग्ने गरेका छन् । त्यतिविधि भीडभाड हुने ग्रेटवालको चिरिच्याट्ट सरसफाइ र व्यवस्थापन हेर्दा लाग्थ्यो, माल पाएरमात्र हुँदैन, चाल पनि पाउनुपर्छ । चिनियाँ माल र चालले संसारलाई लोभ्याइरहेछ ।

  • ‘कानून पढ्न आउनू’ भन्ने त्रिविको गैरकानूनी सूचना

    ‘कानून पढ्न आउनू’ भन्ने त्रिविको गैरकानूनी सूचना

    नेपालको सबैभन्दा पुरानो मानिने त्रिभुवन विश्वविद्यालयका विभिन्न कलेजहरूमा शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेस्टर प्रणालीमा अध्यापन हुनेगरी पाँच वर्षे बीए-एलएलबी कार्यक्रमका लागि अहिले भर्ना फारम धमाधम वितरण भइरहेको छ । यसै सन्दर्भमा सो कार्यक्रम सञ्चालन र व्यवस्थापनका लागि विश्वविद्यालयले अख्तियार गरेको कार्यविधि र त्यसले लक्षित विद्यार्थी वर्गमाथि थोपरेका कानूनी वस्तुगत जटिलता यतिबेला आमचिन्ता र चासोको विषय बनेको छ ।

    भर्ना हुन चाहने विद्यार्थीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विश्वविद्यालयले मागेको छ । हेर्दा-सुन्दा सामान्य लाग्छ, तर निकै गम्भीर विषय हो यो । मेडिकल, इन्जिनियरिङ जस्ता केही प्राविधिक विषयबाहेक अन्य विषय अध्ययन गर्न नागरिकताको प्रमाणपत्र आवश्यक नपर्ने नेपालकै कानूनी परम्परा कानून अध्ययनका लागि नागरिकताको प्रतिलिपि मागेर त्रिविले भत्काएको छ । नागरिकता पाउन योग्य व्यक्तिले विभिन्न बहानामा नेपालको नागरिकता पाउँदैनन्, पाएका पनि छैनन् वा भनौं सरकारले उनीहरूलाई नागरिकताबाट वञ्चित गरेको तथ्य जगजाहेर छ । अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गरेको तीन वर्षे एलएलबी कार्यक्रममा भर्नाका लागि नागरिकताको प्रमाणपत्र माग्दैन, मागेको छैन । अब तीन वर्षे एलएलबी कार्यक्रममा भर्ना पाउन नचाहिएको नागरिकता पाँच वर्षे कार्यक्रमका हकमा ‘अनिवार्य’ गरिनुको औचित्य के हो भन्ने पुष्टि सरोकारवालाहरूबाट भएको छैन ।

    तीन वर्षे कार्यक्रमको भर्नाका लागि कुन सिद्धान्तका आधारमा नागरिकता नमाग्दा पनि चलेको छ ? पाँच वर्षे कार्यक्रमका लागि नागरिकता नभई हुँदैन भनेर कुन सिद्धान्तले निर्देशित गर्छ ? कानूनी शिक्षा प्रदायक संस्थाले पनि न्यायका सर्वमान्य सिद्धान्तको वस्तुगत रूपमा पालना गर्दैन र स्वेच्छाचारी ढङ्गले सिद्धान्तविपरीत नियम बनाउँछ भने किन कानून पढ्ने-पढाउने ? कालो कोट सँगसँगै किन चाहियो विधिशास्त्रीय दक्षता ? मलाई कानून थाहा छैन वा मैले कानून जानेको छैन भन्न पाइँदैन । अर्थात् कानूनी अज्ञानता अक्षम्य हुन्छ भन्ने विश्वव्यापी सिद्धान्त किन बनाउने ?

    व्यक्तिका लागि शिक्षाको समान अवसर प्राप्ति खाद्य अधिकार जस्तै आधारभूत मानव अधिकारको विषय हो, जो नागरिकता वा राष्ट्रियतासँग सापेक्षता राख्दैन भन्ने तहको आधारभूत जानकारी पनि नेपाल कानून व्यवसायी परिषद्ले राख्दैन ? कि नजाने जस्तो बहाना गरेर लक्षित व्यक्तिको अधिकार कुण्ठित गरी रमाइलो मानिरहेको छ यो सरकारी नियामक निकाय ?

    डी ग्रेड प्राप्त गरी राष्ट्रिय परीक्षा बोर्ड नेपालबाट प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले पनि पाँच वर्षे बीए-एलएलबीको प्रवेश परीक्षामा सहभागी हुन पाउँछ भन्ने विश्वविद्यालयको व्याख्या नै गलत छ ।

    नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली २०७७ को नियम ४ मा कानूनी शिक्षाको उपाधि र पाठ्यक्रमसम्बन्धी विशेष व्यवस्था उल्लेख छ । पाँच वर्षे बीए-एलएलबी सोही नियमको उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित छ । यस कार्यक्रममा प्रवेश पाउन आवश्यक शैक्षिक योग्यता सम्बन्धमा सोही नियमको उपनियम (३) मा मापदण्ड निर्देशित गरिएको छ । जसमा स्पष्ट रूपमा उपनियम (१) को खण्ड (ख) बमोजिमको उपाधिको शैक्षिक कार्यक्रममा प्रवेशका लागि योग्य हुन ‘शैक्षिक संस्थाले तोकेको सम्बन्धित विधाको कम्तीमा ५० प्रतिशत अङ्क वा सी प्लस ग्रेड ल्याई माध्यमिक तह प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ’ भनी किटान गरिएको छ ।

    यसैगरी सोही नियमको उपनियम (४), (२) र (३) मा उल्लेखित योग्यताका अतिरिक्त सम्बन्धित शैक्षिक संस्थाले आफ्नो नीति तथा कार्यक्रमबमोजिम आवश्यकताअनुसार थप वा माथिल्लो स्तरको योग्यताका आधारहरूको निर्धारण गर्न बाधा पर्नेछैन’ भन्ने व्यवस्थासमेत स्पष्ट रूपमा किटान गरिएको छ । विश्वविद्यालयले भने फारम भर्ने अन्तिम मितिसम्ममा प्लस टु वा सोसरहको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूले आवेदन फारम भर्नसक्ने सूचना जारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालबाट उत्तीर्ण भएका आवेदकहरूका हकमा ग्रेड ‘डी’ सम्म ल्याएका आवेदकहरूले फारम भर्न पाउने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

    सूचनाको ‘द्रष्टव्य’ महलमा लेखिएको छ- ‘श्री नेपाल बार काउन्सिलको नियमावलीअनुसार दश जोड दुईको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ५० प्रतिशत अङ्क वा सी प्लस ग्रेड प्राप्त गरेका व्यक्तिले मात्र अनुमतिपत्रको फारम भर्न पाउने व्यवस्था भएको हुँदा स्नातक तह उत्तीर्ण गरेपश्चात नेपाल बार काउन्सिलको अनुमतिपत्रका लागि परीक्षा फारम भर्न नपाएमा सम्बन्धित व्यक्ति स्वयम् नै त्यसको जिम्मेवार हुनेछ ।’

    यहाँ विश्वविद्यालयले नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली २०७७ को गलत व्याख्या गरेको देखिन्छ । एक त विश्वविद्यालयले बार काउन्सिलको नियमावलीअुसार भन्ने अत्यन्तै अस्पष्ट भाषा आफ्नो सूचनामा प्रयोग गरेको छ । नेपाल कानून व्यवसायी परिषद्को कहिले जारी भएको कुन नियमावलीको कति नम्बर नियमका आधारमा परिषद्ले लिने अनुमतिपत्रको परीक्षामा सहभागी हुन सी प्लस ग्रेड ल्याएकै हुनुपर्ने व्यवस्था छ भन्ने कुरा विश्वविद्यालयले प्रस्ट पार्न सकेको छैन ।

    तोकिएको योग्यताभन्दा कम वा तल्लोस्तरको योग्यतालाई भर्नाका लागि मान्यता दिने छुट सम्बद्ध शैक्षिक संस्थालाई छैन भन्ने नै यो प्रावधानको आशय हो । यही प्रावधानको रोहमा पनि डी ग्रेड ल्याई प्लस टु उत्तीर्ण विद्यार्थीले पाँच वर्षे बीए-एलएलबी तहमा भर्ना हुन पाउने गरी विश्वविद्यालयले जारी गरेको भर्नासम्बन्धी सूचना गैरकानूनी सिद्ध हुन्छ ।

    दोस्रो कुरा, नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली २०७७ को नियम ४ को उपनियम (३) मा गरिएको सम्बद्ध विधाको कम्तीमा ५० प्रतिशत अङ्क वा सी प्लस ग्रेड ल्याई प्लस टु उत्तीर्ण हुनुपर्ने व्यवस्था त सोही नियमको उपनियम (१) को खण्ड (ख) बमोजिमको पाँच वर्षे बीए-एलएलबी कार्यक्रममा प्रवेश पाउन नै आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हो । यो व्यवस्था नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको अनुमतिपत्र प्रदान गर्न सञ्चालन गर्ने परीक्षामा सहभागी हुन आवश्यक पर्ने शैक्षिक योग्यतासम्बन्धी व्यवस्था नै होइन । अर्थात्, डी ग्रेड प्राप्त गरी राष्ट्रिय परीक्षा बोर्ड नेपालबाट प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले पनि पाँच वर्षे बीए-एलएलबीको प्रवेश परीक्षामा सहभागी हुन पाउँछ भन्ने विश्वविद्यालयको व्याख्या नै गलत छ ।

    नियमावलीको नियम ४ को उपनियम (३) मा लेखिएबमोजिम सम्बद्ध विधाको कम्तीमा ५० प्रतिशत अङ्क वा सी प्लस ग्रेड नल्याएको विद्यार्थीले पाँच वर्षे बीए-एलएलबी कार्यक्रममा प्रवेश नै पाउँदैन । नियम ३ मा लेखिएको ‘उपनियम (१) को खण्ड (ख) बमोजिमको उपाधिको शैक्षिक कार्यक्रममा प्रवेशका लागि योग्य हुन’ भन्ने वाक्यांशले प्रस्ट रूपमा व्यक्त गरेको छ, तर विश्वविद्यालयले भने डी ग्रेड प्राप्त गरी प्लस टु उत्तीर्ण गरेकाले पनि पाँच वर्षे बीए-एलएलबीमा भर्ना हुन पाउने तर पछि अधिवक्ताको अनुमतिपत्र मात्र नपाउने भन्ने गलत अर्थ लगाई डी ग्रेड ल्याई प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि फारम भर्न आह्वान गर्दै सूचना जारी गरेको छ । यो प्रथम दृष्टिमै गैरकानूनी सूचना हो । सी ग्रेड नल्याएको विद्यार्थीले पाँच वर्षे बीए-एलएलबी कार्यक्रममा प्रवेश नै पाउँदैन ।

    अर्कोतर्फ नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली २०७७ को नियम ४ को उपनियम (४) मा उपनियम (२) वा (३) मा उल्लिखित योग्यताका अतिरिक्त सम्बन्धित शैक्षिक संस्थाले आफ्नो नीति तथा कार्यक्रमबमोजिम आवश्यकताअनुसार थप वा माथिल्लोस्तरको योग्यताका आधारहरूको निर्धारण गर्न बाधा गरेको छैन । यो व्यवस्थाले भर्ना पाउन आवश्यक पर्ने शैक्षिक योग्यतालाई कडा बनाउन वा माथिल्लो स्तरमा लैजानमात्र सम्बद्ध शैक्षिक संस्थाले पाउँछ भन्ने स्पष्ट छ । तोकिएको योग्यताभन्दा कम वा तल्लोस्तरको योग्यतालाई भर्नाका लागि मान्यता दिने छुट सम्बद्ध शैक्षिक संस्थालाई छैन भन्ने नै यो प्रावधानको आशय हो । यही प्रावधानको रोहमा पनि डी ग्रेड ल्याई प्लस टु उत्तीर्ण विद्यार्थीले पाँच वर्षे बीए-एलएलबी तहमा भर्ना हुन पाउने गरी विश्वविद्यालयले जारी गरेको भर्नासम्बन्धी सूचना गैरकानूनी सिद्ध हुन्छ । किनभने विश्वविद्यालयले नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली २०७७ को नियम ४ को उपनियम (३) मा कायम रहेको भर्नासम्बन्धी योग्यतालाई सी प्लस ग्रेडबाट घटाएर डी ग्रेडलाई योग्यता कायम गरी भर्ना आह्वान गर्ने छुट विश्वविद्यालयलाई छैन ।

    नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली २०७७ को नियम ४ को उपनियम (३) मा रहेको शैक्षिक योग्यतासम्बन्धी व्यवस्था पाँच वर्षे बीए-एलएलबी कार्यक्रममा भर्ना हुन लिइने प्रवेश परीक्षामा सामेल हुन आवश्यक पर्ने शैक्षिक योग्यता नभई परिषद्ले अधिवक्ताको अनुमतिपत्र प्रदान गर्न लिने परीक्षामा सामेल हुन आवश्यक पर्ने शैक्षिक योग्यता हो भन्ने विश्वविद्यालयलको जिकिर प्रथम दृष्टयाः अमान्य र बदरभागी जिकिर हो । किनभने परिषद्ले कानूनमा स्नातक उपाधि प्राप्त गरिसकेका उम्मेदवारलाई मात्र अधिवक्ताको अनुमतिपत्रका लागि लिइने परीक्षामा सामेल गराउँछ । स्नातक तह उत्तीर्ण गरेपछि मात्र अध्ययन गर्न पाउने तीन वर्षे एलएलबी वा प्लस टु उत्तीर्ण गरी अध्ययन गर्न पाउने पाँच वर्षे बीए-एलएलबी कार्यक्रम अध्ययन गरी कानूनमा स्नातक उपाधि प्राप्त गरिसकेका उम्मेदवारमात्र सहभागी हुन पाउने अधिवक्ताको अनुमतिपत्र प्रदान गर्न परिषद्ले कानूनको तीन वर्षे एलएलबी वा पाँच वर्षे बीए-एलएलबी तहको योग्यताको अङ्कको मूल्याङ्कन नगरेर सोभन्दा तल्लो तह प्लस टु को प्राप्ताङ्कको मूल्याङ्कन किन गर्छ ?

    अधिवक्ताको अनुमतिपत्र प्राप्त गर्न कानूनमा स्नातक तह उत्तीर्ण व्यक्तिलाई दिइनुपर्नेमा प्लस टु को प्राप्ताङ्कलाई पनि आधार मान्नु र तल्लो तह (जुन कानून विषयसँग मात्र सम्बद्ध हुँदैन) लाई लिएर अधिवक्ताको अनुमतिपत्र दिन्न भन्नु विद्यार्थीले सम्बद्ध विषयमा स्नातक तहमा ल्याएको अङ्कको अवमूल्यन हुन जान्छ ।

    यसर्थ अधिवक्ताको अनुमतिपत्र प्राप्त गर्न कानूनमा स्नातक तह उत्तीर्ण व्यक्तिलाई दिइनुपर्नेमा प्लस टु को प्राप्ताङ्कलाई पनि आधार मान्नु र तल्लो तह (जुन कानून विषयसँग मात्र सम्बद्ध हुँदैन) लाई लिएर अधिवक्ताको अनुमतिपत्र दिन्न भन्नु विद्यार्थीले सम्बद्ध विषयमा स्नातक तहमा ल्याएको अङ्कको अवमूल्यन हुन जान्छ । त्यस्तो गर्नु बौद्धिक क्षमतामा क्रमशः सुधार गर्दै जाने मानवीय प्रवृत्ति र त्यस्तो सुधार गर्न पाउने मानवको जन्मसिद्ध अधिकारलाई कुण्ठित गर्ने गैरन्यायिक कार्य हो ।

    कानूनमा स्नातक तह उत्तीर्ण गरेपछि पाइने अधिवक्ताको अनुमतिपत्र पाउन १० जोड दुई तहमा प्राप्त गरेको अङ्कको मूल्याङ्कन गरिन्छ वा गरिनुपर्छ भने त्रिभुवन विश्वविद्यालयको जिकिर सर्वथा मिथ्या र हास्यास्पद छ । यहाँ कानूनी शिक्षाको नियमन गर्ने अधिकार प्राप्त निकाय नेपाल कानून व्यवसायी परिषद् र कानूनी शिक्षाको अध्यापन गर्ने तथा अध्यापनका लागि अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिने अख्तियार प्राप्त निकाय त्रिभुवन विश्वविद्यालयबीच संस्थागत समन्वयको अभाव हुन गई विद्यार्थी मर्कामा पर्ने स्थिति उत्पन्न भएको छ । दुवै संस्थाले आआफ्नाे तर्फबाट द्विपक्षीय समन्वय स्थापना गरी विद्यार्थीलाई न्यून योग्यताका साथ भर्ना भएपछि अयोग्य घोषित हुनबाट बचाउनु आवश्यक छ ।

    यसका साथै कानूनी शिक्षा सञ्चालन गर्न आवश्यक पर्ने अभ्यास अदालत (इजलास), दक्ष जनशक्ति जस्ता पूर्वाधारको व्यवस्था दुवै निकायले समन्वयात्मक ढङ्गले मिलाउनु पर्छ । विद्यार्थीलाई कानूनी अध्ययन गर्दागर्दै इन्टर्नसिप कार्यक्रममा सहभागी गराउने दायित्वबाट विश्वविद्यालय र नेपाल कानून व्यवसायी परिषद् दुवै हालसम्म पन्छिदै आएकाले विद्यार्थीले इन्टर्नसिपको मौका नै नपाएको धरातलीय यथार्थलाई स्वीकार गर्दै सोको मौका विद्यार्थीले यथाशीघ्र पाउने व्यवस्था गरिनुपर्छ ।

    परीक्षामा प्रश्नपत्र दोहोरिने, परीक्षाअगावै प्रश्नपत्र बाहिरिने जस्ता त्रुटिहरूको निराकरण गरी कानूनी शिक्षाको प्रभावकारिता र विश्वसनीयता अभिवृद्धि गर्नसके मात्र यसप्रति विद्यार्थीको रुचि र तन्मयता बढाउन सकिने हुँदा सरोकारवाला निकायले कार्यशैलीमा परिवर्तन ल्याउनुको विकल्प छैन ।

  • एक लेखा अधिकृतकाे बकपत्रः पोल्याण्ड जाने भन्दै काठमाडौं आइयाे, सरकारी जागीर खाइयाे

    एक लेखा अधिकृतकाे बकपत्रः पोल्याण्ड जाने भन्दै काठमाडौं आइयाे, सरकारी जागीर खाइयाे

    महत्वाकांक्षी सोचलाई मानिसहरूले दिवा सपनाको संज्ञा दिन्छन् । किनकि मानव मस्तिष्कमा गहिरोसँग अड्डा जमाएका कतिपय सोच र विचारहरू रातिमात्र नभएर दिउँसो पनि आँखा झिमिक्क हुनासाथ सपना बनेर आइदिन्छन् । यसर्थ ‘दिवा सपना’ तथा ‘मनका लड्डु घिउसँग खाने’ वाक्यांशलाई नेपाली समाजमा पूरा हुन कठिन वा पूरा हुनै नसक्ने कल्पनाको बिम्बको रूपमा प्रयोग गरिन्छ ।

    यो आलेखमा पङ्तिकारको नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत र शाखा अधिकृतहरूलाई सेवा प्रवेश तालिमका रूपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट (स्टाफ कलेजका नामले बढि प्रख्यात) प्रदान गरिने आधारभूत प्रशासन प्रशिक्षण (BAT नामले प्रख्यात) सँग जोडिएको दिवा सपना र सो साकार हुँदाको अनुभवलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

    परापूर्वकालदेखि नै नेपाली समाजमा सरकारी नोकरीको उच्च महत्व गरेको पाइन्छ । ‘छोरी माग्न जाँदा…. तिम्रो छ र के भर ? खोजी आउ पहिले सरकारी जागिर !’ जस्ता नेपाली गीत बाल्यकालमा रेडियोमा सुनिन्थ्यो । सरकारी विद्यालयहरूमा खासै अतिरिक्त क्रियाकलापहरू हुँदैन थिए । यद्यपि अवसर मिलेसम्म प्राथमिक तहदेखि नै हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितामाहरूमा सहभागिता रहन्थ्यो ।

    २०६० साल माघ महिनाको बेला थियो- भगवती प्राथमिक विद्यालय चानुवा-८, धनकुटामा कक्षा ३ मा अध्ययनरत ७ जना विद्यार्थीहरू एकदिन नेपाली शिक्षिकाको प्रतीक्षामा थिए । माघे चिसो छल्न शिक्षिका टेककुमारी भण्डारीद्वारा सबैलाई बाहिर घाम लागेको चौरमा गोलो घेरामा बस्न आदेश भयो । उहाँसँग तुलनात्मकरूपमा विद्यार्थीहरू बढी डराउने हुनाले ७ जनाको समूह तुरुन्तै चौरमा गोलो घेरा लाग्न बेरै लागेन ।

    प्रशिक्षार्थी शाखा अधिकृतहरूका लागि स्टाफ कलेजसँगको आबद्धता निकै सुन्दर रहन्छ । यहाँ अध्ययन र सिकाईलाई औपचारिकतामा मात्र सिमित नराखेर प्रशिक्षार्थीहरूको आचरण, अनुशासन, जीवनशैली, मानसिक स्फूर्ति तथा मनोरञ्जनको पाटोलाई समेत सँगै डोहोर्‍याइन्छ ।

    पढाईको विषय छाडेर उहाँबाट ७ जनाको भविष्यको उत्खनन् हुन थाल्यो । ‘तिमीहरू भविष्यमा के बन्ने रहर छ ?’ ६ जना बालबालिकाको मुखबाट डाक्टर, पाइलट, इन्जिनियर, वकिल आदिको उत्तर आयो । सातौँ बालकको उत्तर थियो, ‘अधिकृत’ ! त्यो उत्तर दिने बालक म आफैँ थिएँ । जुन उत्तरले गुरुआमा आफैँ छक्क पर्नुभएको थियो । यसरी अन्जानमा ७ वर्षको उमेरमा मुखबाट निस्किएको शब्द करिब १६ बर्षपछि वास्तविकतामा परिणत भयो । संघीय व्यवस्थाको सुरूवाती अभ्यासका क्रममा प्रदेश लोकसेवा आयोगको स्थापना भएको थिएन । तसर्थ २०७६ सालमा संघीय लोकसेवा आयोगले स्थानीय तहको जनशक्ति पदपूर्तिका लागि परीक्षा लिएको थियो । उक्त परीक्षा उत्तीर्ण गरी लेखा अधिकृतको रूपमा सरकारी नोकरीमा प्रवेश भयो ।

    जसरी अन्जानमा ७ वर्षे बालकको आत्माबाट अधिकृत बन्छु भन्ने रहस्योद्घाटन भयो । ठीक त्यसैगरी स्नातक तहको अध्ययन सकेपश्चात नाटकीय रूपमा सरकारी नोकरीतर्फ ध्यान आकृष्ट भयो । पढाई खर्च व्यवस्थापन गर्ने क्रममा निजी फर्म तथा कम्पनीहरूको दर्ता, नवीकरण, करचुक्ता प्रमाण पत्र, खरिद-बिक्री खाता प्रमाणीकरण आदि काम गर्ने सिलसिलामा तत्कालीन करदाता सेवा कार्यालय इटहरीमा बाक्लै आउजाउ हुन्थ्यो ।

    ४-५ वर्ष सुब्बा साप र कार्यालय सहयोगी ज्यूहरूलाई नमस्कार गर्दा कुनै दिन सरकारी नोकरी गर्छु भन्ने सोच पलाएन । अन्ततः करदाता सेवा कार्यालय विस्थापन गरी आन्तरिक राजस्व कार्यालयमा स्थापना हुने संघारमा बनेको नयाँ कार्यालय भवनमा खरिद-बिक्री खाता प्रमाणित गर्न जाने क्रममा कर अधिकृत भोगीराज राईको नम्र तथा शिष्ट स्वभाव, व्यवहार साथै कार्यकक्षको आकर्षक सजावट र व्यवस्थापनले सरकारी नोकरी प्रति गहिरो चाहना सिर्जना गर्‍यो ।

    यद्यपि चाहनामा शाखा अधिकृतभन्दा तल्लो तहको परीक्षा नदिने अर्को महत्वाकांक्षा थपियो । चाहनाको वेग यति तीव्र हुँदै गयो कि, विद्यार्थीकालमा भएका विभिन्न जिम्मेवारी, ८-१० ‌ओटा निजी क्षेत्रका फर्म तथा व्यवसायहरूको हिसाब हेर्ने जिम्मेवारी, स्नातकोत्तर तहको अध्ययन, व्यक्तिगत जिन्दगीका अनेक विषयहरू आदि सबै कुरा हृदयबाट पाखा लगाइयो ।

    केही समयमा नै वैदेशिक रोजगारीका लागि पोल्याण्ड हिँडेको झूटो खबर नजिकका साथीभाइलाई छाडेर शाखा अधिकृतको सुन्दर दिवा सपना बोकेर काठमाडौंको यात्रा तय भयो । बीपी राजमार्ग हुँदै दगुर्ने माइक्रो बसको झ्यालबाट आफूले हिजो सम्म काम गरेका पसलहरू देख्दा आँखाहरू टोलाईरहेका थिए । अर्कोतर्फ समय समयमा वैदेशिक रोजगारीका लागि यात्रामा निस्किएकोमा साथीभाइ तथा शुभचिन्तकहरूबाट फोन आउने क्रम चलिरहेको थियो । झूटो बोल्न सबैभन्दा गार्‍हो काम लाग्ने मलाई त्यो दिनको सम्झनाले आजसम्म झस्काउन छाडेको छैन ।

    जसरी अन्जानमा ७ वर्षे बालकको आत्माबाट अधिकृत बन्छु भन्ने रहस्योद्घाटन भयो । ठीक त्यसैगरी स्नातक तहको अध्ययन सकेपश्चात नाटकीय रूपमा सरकारी नोकरीतर्फ ध्यान आकृष्ट भयो । पढाई खर्च व्यवस्थापन गर्ने क्रममा निजी फर्म तथा कम्पनीहरूको दर्ता, नवीकरण, करचुक्ता प्रमाण पत्र, खरिद-बिक्री खाता प्रमाणीकरण आदि काम गर्ने सिलसिलामा तत्कालीन करदाता सेवा कार्यालय इटहरीमा बाक्लै आउजाउ हुन्थ्यो ।

    संयोग भनौँ या नियति ! २/४ महिना लोकसेवा आयोगको तयारी भएपश्चात कर्मचारी समायोजन सम्पन्न नहुँदासम्म संघीय शाखा अधिकृतको नयाँ विज्ञापन नहुने भयो । योसँगै जिन्दगीमा थप अनिश्चितताको बादल मडारिन थाल्यो । शाखा अधिकृत हुन काठमाडौं पुगेको २१-२२ वर्षे ठिटो अब जेसुकै तह वा श्रेणी होस् मात्र सरकारी नोकरीको सपना बुन्न थाल्यो । नभन्दै स्थानीय तहका लागि चौथो, पाँचौं र छैठौँ तहका लागि विज्ञापन भयो । परीक्षामा सामेल भइयो । भाग्य नै भन्नुपर्ला पहिलो प्रयासमा नै बागमती प्रदेश अन्तरगत उत्तरगया गाउँपालिका रसुवामा लेखा अधिकृतको रूपमा सिफारिस भयो ।

    करिब डेढ वर्षको काठमाडौं बसाईले विरक्त भएको मन अधिकृत तहमा सिफारिस हुँदा शाखा अधिकृत र स्थानीय तहको अधिकृत बराबर होला भन्ने महसुस गरियो । तर, त्यो लामो समय रहन सकेन । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृत हुने, स्थानीय तहको सरुवा-बढुवा लगायत वृत्ति विकासका अवसरहरू अनिश्चित हुने, कर्मचारीतन्त्र र राजनीतिक पदाधिकारीहरूमा केन्द्रिकृत सोच व्याप्त हुने, स्थानीय तहका कर्मचारीहरूलाई राजनीतिक र प्रशासनिक तहबाट हेरिने अपमान र हेलाको दृष्टि आदिले पुनः शाखा अधिकृतको सपना मुर्छित हुँदै गयो ।

    तर, समय निक्कै परिवर्तन भइसकेको थियो । रसुवा जिल्लाको एक स्थानीय तहको लेखा प्रमुखको जिम्मेवारीमा रहेर पुनः शाखा अधिकृतको पाठ्यक्रम पल्टाउन कार्यबोझले निक्कै थिचेको थियो । जति कार्यबोझले थिच्यो उति शाखा अधिकृतको सपनाले ऐंठन गराउन थालेको थियो । अब त शाखा अधिकृतमात्र नभएर कामको सिलसिलामा काठमाडौं आवजजावत गर्दा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गेट छेवैमा देखिने ‘नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान’ लेखिएको त्यो निलो भित्तोले पनि खुबै तर्साउन थालेको थियो । जहाँभित्र आधारभूत प्रशासन प्रशिक्षण लगायत सरकारी सेवाका विभिन्न सेवा प्रवेश र सेवाकालीन तालिमहरू सञ्चालन हुने गर्दछन् । जस मध्येको एक सार्वजनिक प्रशासनमा अधिकृत स्तरको सपना देख्ने जो कोहीलाई लोभ्याउने कार्यक्रम आधारभूत प्रशासन प्रशिक्षण अर्थात् ब्याट (BAT) हो ।

    यावत् घटनाक्रमका बीच लोकसेवा आयोगको वार्षिक कार्यतालिका कार्यान्वयनका अनेक उतारचढावका बीच २०८० साल असारमा प्रारम्भिक चरणको परीक्षा तय भएको थियो । असारमा स्थानीय तहको बजेट तथा योजना र भुक्तानीको अन्तिम चरण चलिरहँदा म अभागीका लागि नै असार महिनामा परीक्षा तय भएको महसुस भएको थियो । यद्यपि लिखित पत्रको तालिका आर्थिक प्रशासनमा खासै कार्य चाप नपर्ने श्रावण महिना पर्न जाँदा आफ्नै लागि परीक्षा धकेलिएको महसुस भयो । यही संयोगले २०८० साल फाल्गुण १ गते दिउँसो १ बजे प्राप्त लोकसेवा आयोगको मोवाइल सन्देशले संघीय शाखा अधिकृत र स्टाफ कलेज दुवैको सपनाको संसार साकार भयो ।

    स्थानीय तहमा अधिकृतस्तर सातौँ तहमा काम गरेको ४ वर्ष बढी भइसकेको थियो । स्थानीय तहका कर्मचारीहरूलाई सान्त्वना दिने हिसाबले कोही आफन्त र साथीभाइहरूले भन्ने गर्दथे, अब उपसचिव दिन पाइन्छ किन शाखा अधिकृत पढ्नु ? तर, स्थानीय तहमा कार्यरत हुनुको पीडा मलाई र म जस्ता हजारौँ स्थानीय कर्मचारीलाई मात्र थाह छ । अनि पीडा लुकाएर भन्दिन्थेँ, उपसचिव एउटा अवसर होला तर वैष्णवहरूलाई बैकुण्ठधाम जति नै मेरा लागि स्टाफ कलेज र BAT को महत्व छ ! जुन २०८० साल फाल्गुण १० गते बाट सुरू भएको ब्याटको ३८ औँ श्रृङ्खलाबाट मैले हाँसिल गरेँ ।

    २२५ जना शाखा अधिकृत साथीहरूसँग ६ महिनासम्म आमने-सामने हुँदा एक पटक पुनः क्याम्पस जीवन फर्किएको महसुस जो कोहीले गर्न सक्थ्यो । अझ भनौँ अनिश्चित भविष्य रहँदाको क्याम्पस जीवनभन्दा शाखा अधिकृतको नियुक्ति लिएर वृत्ति विकासका अवसरहरू अगाडि रहँदाको समय जिन्दगीभर यादगर रहने खालको थियो । ब्याटको एउटा श्रृङ्खला समाप्त भएपश्चात् विभिन्न सेवा समूहमा नेपालभरी फैलिने राष्ट्रसेवकहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अलग-अलग जिम्मेवारी र भूमिकामा रहने आफ्ना ब्याटका सहयात्रीहरू भेट्न पाउनु आफैँमा स्टाफ कलेजले जोडिदिएको एउटा महत्वपूर्ण सम्पत्ति हो ।

    यसका लागि लोकसेवा आयोगद्वारा सिफारिस हुने नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा र नेपाल संसद सेवाका शाखा अधिकृतहरूलाई अब्बल तुल्याउन राज्यले गरेको लगानी र स्टाफ कलेजले गरेको मिहेनेतबाट प्रशिक्षार्थी अधिकृतहरूमा भएको सर्वाङ्गिण विकास आफैँमा महत्वपूर्ण छ ।

    स्टाफ कलेजमा विभिन्न मोड्युलमा हुने प्रशिक्षणले प्रशिक्षार्थी अधिकृतहरूको अन्तर वैयक्तिक क्षमतालाई उजागर गर्न सहयोग गर्दछ ।जस अन्तरगत आत्म रूपाण्तरण र व्यवस्थापकीय दक्षता विकास गर्न व्यवसायिक शिष्टाचार, सदाचार र नैतिकता, असल संगठनात्मक व्यवहार, सकरात्मक चिन्तन र तनाव व्यवस्थापन, वार्ता सीप र कौशलता विकास, कार्यालयमा गुनासो व्यवस्थापन, नेतृत्व क्षमता विकास तथा समूह कार्यका लागि भएका विभिन्न अभ्यासमुलक सत्रहरूले व्यक्तित्व विकासमा निकै महत्वपूर्ण योगदान पुर्‍याउँछन् ।

    ४-५ वर्ष सुब्बा साप र कार्यालय सहयोगी ज्यूहरूलाई नमस्कार गर्दा कुनै दिन सरकारी नोकरी गर्छु भन्ने सोच पलाएन । अन्ततः करदाता सेवा कार्यालय विस्थापन गरी आन्तरिक राजस्व कार्यालयमा स्थापना हुने संघारमा बनेको नयाँ कार्यालय भवनमा खरिद-बिक्री खाता प्रमाणित गर्न जाने क्रममा कर अधिकृत भोगीराज राईको नम्र तथा शिष्ट स्वभाव, व्यवहार साथै कार्यकक्षको आकर्षक सजावट र व्यवस्थापनले सरकारी नोकरी प्रति गहिरो चाहना सिर्जना गर्‍यो ।

    सार्वजनिक प्रशासनमा सञ्चार र निर्णय प्रक्रियाको महत्वलाई मध्यनजर गर्दै नेपाली र अंग्रेजी भाषाका विभिन्न सत्रहरू, अभिलेख व्यवस्थापन विभिन्न पक्षहरू, निर्णयका प्रक्रियाहरू तथा मन्त्रिपरिषद्मा पेश गरिने प्रस्तावहरू आदिको सैद्धान्तिक र व्यवहारिक अभ्यासले भोलिको कार्यावातावरणमा घुलमिल हुन सहयोग गर्नेछ । सार्वजनिक प्रशासनको मूल जिम्मेवारी नै शासन र सेवा प्रवाह हो । यस अन्तरगत नयाँ संरचनामा वित्तीय संघीयता, स्थानीय सरकारको सुदृढिकरण, सार्वजनिक सेवा उत्पादन र वितरण, राष्ट्रिय सुरक्षा व्यवस्थापन तथा कानून निर्माण प्रक्रियाका आदिका बारेमा विभिन्न मोड्युलमा कक्षाहरू सञ्चालन हुँदा महिनौँ समय बितेको कतिपनि पत्तै नहुने रहेछ ।

    विकास व्यवस्थापन अन्तरगत सार्वजनिक नीति तथा योजना निर्माण, सरोकारवालाहरूको चासो व्यवस्थापन, परियोजना व्यवस्थापन, सार्वजनिक खरिद व्यवस्थापन, लेखा र लेखा परीक्षण प्रणाली आदिको बारेमा अन्तरक्रियाहरू हुँदा भविष्यको सम्भावित कार्य जिम्मेवारी तत्कालै मानसपटलमा घुम्न थाल्ने रहेछ । सूचना तथा सञ्चार प्रणाली र प्रतिवेदन लेखनलाई प्रशिक्षणका विभिन्न सत्रहरूमा व्यवहारिक रूपमा नै अभ्यासको अवसर प्राप्त हुँदा प्रशिक्षण पश्चात् तत्कालै कार्यजिम्मेवारी बहन गर्ने क्रममा आउन सक्ने कतिपय अफ्ठेराका गाँठाहरू फुकाउने सिप हाँसिल गरेको अनुभव गर्न सकिन्थ्यो ।

    प्रशिक्षार्थी शाखा अधिकृतहरूका लागि स्टाफ कलेजसँगको आबद्धता निकै सुन्दर रहन्छ । यहाँ अध्ययन र सिकाईलाई औपचारिकतामा मात्र सिमित नराखेर प्रशिक्षार्थीहरूको आचरण, अनुशासन, जीवनशैली, मानसिक स्फूर्ति तथा मनोरञ्जनको पाटोलाई समेत सँगै डोहोर्‍याइन्छ ।

    विपद् व्यवस्थापन तथा उद्धार र राहतलाई र्‍याप्टिङसँग जोडेर होस् वा आवासीय बसाईका क्रममा अनिवार्य रूपमा फौजी तालिम, सांस्कृतिक कार्यक्रम, रक्तदान, आध्यात्म, योग तथा ध्यान, खेलकुद कार्यक्रमहरू, देश दर्शन कार्यक्रम तथा कार्य आबद्धता लगायतका क्रियाकलापहरूले प्रशिक्षार्थी अधिकृतहरूको मस्तिष्कमा स्टाफ कलेजसँगको आबद्धताको समझनाका लागि जिन्दगीभर छुट्टै स्थान बन्ने निश्चित छ ।

    यही निरन्तरताका लागि शाखा अधिकृतको सपना बोकेका लाखौँमध्ये लोकसेवा आयोगबाट सिफारीस हुने नयाँ शाखा अधिकृतहरूलाई स्वागत गर्न ब्याटको ३९ औँ श्रृङ्खला पर्खेर बसिरहेको छ ।

    (अधिकारी नेपाल सरकारका लेखा अधिकृत हुन् ।)

  • मध्यरातमा सेतो चैत्य हेर्दा…

    मध्यरातमा सेतो चैत्य हेर्दा…

    चीनबाट फर्केर कुलमणि ज्ञवाली

    ‘लौ न बर्बारद भयो, खत्तम भयो’ –  रातको नौ बजेतिर हामीले खानपिन गरिरहेको टेबुलमा आत्तिँदै लिज आइपुगिन् । एक छिन त हामी पनि अलमल्ल पर्यौं, के भयो भनेर । पछि थाहा भो, रेष्टुरेन्टको बिल १,०५४ युआन चाइना रेडियो इन्टरनेशनल बेइजिङ्गमा कार्यरत पत्रकार चेतनाथ आचार्यले तिर्नुभएछ । ९ जनाले खाएको बिल एउटैले तिरिदिनु उनका लागि बिलकुल नौलो र अनौठो भएछ । हाम्रोमा भने साथीभाइसँग खाँदा एउटैले बिल तिर्नु सामान्य मानिन्छ । तर उनको रोंतरोंत पछिसम्म पनि जारी रह्यो । लिज हाम्रो चीन यात्राको लागि तोकिएकी दोभासे थिइन् । अंग्रेजीलाई कम महत्त्व दिने चिनियाँहरुसँग संवाद गर्ने हाम्रो माध्यम नै उनै थिइन् ।

    जति रात छिप्पिन्थ्यो, मलाई डर लाग्थ्यो, कतै नेपालका राष्ट्रिय विभूति कलाकार अरनिकोले ७ सय ४५ वर्षअघि बनाएको सेतो चैत्य पुग्न भ्याइँदैन कि भनेर । नेपाल चाइना मिडिया फोरमको सिफारिसमा पत्रकारहरू मनोजकुमार दाहाल, अमृतनाथ तिमिल्सिना, नागरिक उड्डयन प्राधिकरणका अमृत आचार्य, राष्ट्रिय सहकारी बोर्डका ओमप्रकाश गैरे, चितवनका युवा किसान शरद चौधरी सहित यो पङ्क्तिकार नेपालबाट दुई साताको लागि चीन पुगेको थियो । अफ्रिकी उप प्राध्यापक टेण्डाइ गोण्डो पनि हामीसँगै सामेल थिए ।

    अगस्त १८ अर्थात् भदौ २ गते आइतबारको दिन । बिहानैदेखि ग्रेट वाल तथा ऐतिहासिक एवं पर्यटकीय स्थल ग्रीष्मकालीन दरबार (समर प्यालेस) घुम्दा समय नमिलेर खाना खाने मेसो परेको थिएन । भोक तथा थकाइले लखतरान हामीहरू बेइजिङ डक (यहाँको लोकप्रिय हाँसको परिकार) खानका लागि ‘बेइदउ नेभिगेशन सेटेलाइट बिग डाटा डिजाष्टर प्रिभेन्सन एण्ड रिलिप अप्लिकेशन फर डेभलपिङ्ग कन्ट्रिज’ सम्बन्धि सेमिनारमा भाग लिन आएका अफगानिस्तान, इजिप्ट, म्यानमार र क्युबाका २१ सहभागी तथा कुइचाऊ एकेडेमी अफ साइन्सेजका अधिकारीहरुलाई छाडेर ट्याक्सीमा सिछेन काउण्टीको फुछेन्ङ्गमेन्नेइस्थित एक रेष्टुरेन्टमा पुगेका थियौँ । यहाँ खानपिन गरी सेतो चैत्य हेर्न जाने योजना थियो ।

    हाम्रो उद्देश्य खाना भन्दा नेपाल र चीनबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको रूपमा रहेको नेपाली कलाकार अरनिकोले बनाएको प्यागोडा शैलीको सेतो चैत्य हेर्नु थियो । बेइजिङ भ्रमण तालिकामा यो ठाउँ परेको थिएन । राष्ट्रियताको हुटहुटीले हामीले भने यसलाई नहेरी नछाड्ने भयौँ । हाम्रो अन्तर मनलाई बुझेर नै चेतनाथजीले हामीलाई त्यहाँ पुर्‍याउने हुनुभएको थियो । त्यही भएरै हामी ग्रीष्मकालीन दरबारबाट अरू सहभागीसँग छुट्टिएर यता लागेका थियौँ । हतार हतार रेष्टुरेन्टबाट निस्कनै लाग्दा त्यसका सञ्चालकहरूले ढाका टोपी लगाएका हामीलाई नेपाली भनेर चिनिहाले । बाहिरसम्म बिदाइ गर्न आए र हामीसँग सामूहिक फोटो खिचाए । यो नेपालीप्रतिको सम्मान थियो ।

    रेष्टुरेन्टबाट निस्किएर हतारिँदै नगर बस चढ्यौँ । दश बज्नै लाग्दा सेतो चैत्यमा पुगियो । रात छिप्पिनै लागेको समयमा पुगेका चौकीदारले हामीलाई भित्र पस्न भने दिएनन् । नेपाली भनेर परिचय दियौँ, तैपनि रातको समयमा प्रवेश बन्द भइसकेले पस्न पाउने अवस्था रहेन । नियमका अगाडि चौकीदारको पनि केहि चल्दैनथ्यो । सडक र गल्लीबाट चैत्यको सेतो टुप्पो देखियो, तर धीत मरेन ।

    अन्तिममा एउटा उपाय जुर्‍यो, साइडको पाँच तल्ले रेष्टुरेन्टको छतबाट चैत्य नियाल्ने । ‘याओ क्याफे’ रेष्टुरेन्ट सञ्चालकसँग दोभासे लिजले कुरा मिलाइन् । छतमा रमाइरहेका ग्राहकलाई वाधा नपुग्ने गरी स्तूप हेर्न अनुमति पाएपछि नौ जनाको समूह कोही लिफ्ट चढेर त कोही सिढीं चढेरै छतमा पुग्यौँ ।

    छतैभरि युवायुवतीहरू कफी, बियर र वाइनसँग रमाइरहेका थिए । रातको सवा दश भैसकेको थियो । त्यहाँबाट मधुरो प्रकाशमा टल्किरहेको सेतो स्तूप हेर्‍यौँ, एक अफ्रिकी र एक चिनियाँसहितको टीमले फोटो खिचायौँ । नेपाली कलाकारले विशाल छिमेकी देशको राजधानीमा बनाएको विशाल चैत्य परैबाट हेर्दा पनि छाती गर्वले फुल्यो । त्यति टाढाबाट यहाँ आएर अरनिकोले कीर्ति राख्ने गरी बनाएको चैत्य बेइजिङ पुग्ने प्रायः सबैको रोजाइमा पर्छ ।

    राजा जय भीमदेव मल्लको पालामा कलाकार अरनिकोले १३ औँ शताब्दीमा बेइजिङ पुगेर बनाएका थिए सेतो चैत्य । प्रसिद्ध प्यागोडा शैलीको उक्त चैत्य अहिले पनि नेपाल–चीन सम्बन्धको सेतु बनिरहेको छ । नेपाली नागरिकलाई निःशुल्क प्रवेश पाइने एक मात्र स्थान हो यो । चिनियाँ र अन्य देशका पर्यटकले २० युआन तिर्नुपर्छ ।

    सन् १२७१ मा निर्माण शुरु भएर आठ वर्षमा सन् १२७९ मा सम्पन्न भएको यो स्तूपलाई चिनियाँहरू ‘ह्वाइट प्यागोडा’ ले चिन्छन् । यसलाई चिनियाँ भाषामा पाइथा स भनिन्छ जसको अर्थ सेतो चैत्य हो । ५०.९ मिटर अग्लो र ८१० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो चैत्य चीनको सबैभन्दा पुरानो र ठूलो चैत्य रहेछ ।

    अरनिकोले यो चैत्य निर्माण गर्दा चीनमा युआन वंशको शासन रहेको थियो । पछि यसलाई मिङ वंशमा पुनर्निर्माण गरियो र मिआवोयिङ मन्दिर नामकरण गरियो । मिआवोयिङको अर्थ अद्भूत फल प्राप्त गर्नु हुन्छ । चिनियाँहरु यो मन्दिरमा आएर वर माग्दा उद्भूत फल प्राप्त हुन्छ भन्ने विश्वास गर्दा रहेछन् । पत्रकार आचार्यका अनुसार चैत्यको अगाडि दुई वटा बौद्ध मन्दिरहरू रहेका छन् । बौद्ध मन्दिरमा विभिन्न मुद्रामा शाक्यमुनि बुद्धका मूर्तिहरू रहेका छन् । स्तूपा काठमाण्डौंको स्वयम्भू र बौद्धनाथको स्तूपासँग मिल्दोजुल्दो छ ।

    चीनमा अरनिकोले थुप्रै चैत्य निर्माण गरेका थिए । तर भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट नष्ट भए पनि बेइजिङ्गसँगै वल्लो सान्सी प्रान्तको वु थाइसानमा भने जीवन्त छ । थाइसानको चैत्यमा बुद्धका छोरा प्रह्लादको मूर्ति समेत रहेको छ ।

    चीनका तत्कालीन प्रभावशाली सम्राट् कुब्ला खाँका राजगुरु पाहसपाले अरनिकोसहित ८० नेपाली कलाकारलाई चीन लगेका थिए । न् १२४५ मा अहिलेको ललितपुर पाटनमा जन्मिएका अरनिको नेपालमा विवाहित श्रीमती छाडेर चीन गएका थिए । उनले उतै रजौटाका छोरीहरू समेत गरी नौ वटा औपचारिक विवाह गरेका थिए भने केहि ल्याइते श्रीमती पनि थिए भनिन्छ । उनको मृत्यु ६२ वर्षको उमेरमा सन् १३०६ मा चीनमै भएको थियो ।


    सरकारले राष्ट्रिय विभूति घोषणा गरेर उच्च सम्मान दिएका कलाकार अरनिकोको बाल्यकालको नाम बलबाह रहेको र चीनमा आउँदा कलिलो उमेरको महिला जस्तै भएकाले चिनियाँहरूले आनिक भनेर बोलाउँदा बोलाउँदै अरनिको नाम रहेको इतिहास रहेछ । रात छिप्पिन लागिसकेको थियो । भित्रै पसेर चैत्यको कुना कुना हेर्ने धोको भने अधुरै रह्यो । भोलिपल्ट पनि सार्वजनिक बिदा परेकाले हामीले चाहेर पनि अवलोकन गर्ने अवस्था थिएन । चीनमा अध्ययन गरेर नेपाल फर्किएकाहरूको संस्था अरनिको समाजले नेपाली कलाकारको उच्च सम्मानमा उनको शालिक स्थापना गरेका रहेछन् । सेतो चैत्य घुम्ने चिनियाँ र अन्य देशका पर्यटकले नेपाल र नेपाली कलाकारको नाम कण्ठै पारेर जाँदा रहेछन् ।

    (तस्बिरहरू : चेतनाथ आचार्य, शरद चौधरी, ओम प्रकार गैरे र पङ्क्तिकार स्वयं)

  • ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन

    ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन

    काठमाडौं । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमाचोन भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ।

    कलिङ्ग साहित्य महोत्सवमा नेपालका लागि बेलायती राजदुत रब फेन, संस्कृतिविद् डा.जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सन्यालले पुस्तक विमोचन गरेका हुन् ।

    भूपेन्द्रबहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्। विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए।

    अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाई सशक्त रूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले नेपाली जनमानसलाई सघाउने विश्वास गरेको सन्यालले बताए ।

    सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेसनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शत्तिशाली रूपमा देखा परेको छ। जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिर्पोटअनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो। २०२२–२०२३ मा ७.२५ को आर्थिक वृद्धि गरेर भारत जी २० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो।

    पूर्वाधार, इन्टरनेटको पहुँच, र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठूलो रूपमा भारत पुगेको छ। विश्वव्यापी रूपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ।

    सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चारपटक नेपाल भ्रमणमा आएका छन्। पहिलोपटक सन् २०१४ को अगस्ट । दोस्रो, २०१४ को सार्क बैठक। तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा। नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सयभन्दा बढी यात्रा गरेका छन्। ‘यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्त्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए।

    नेपाल र भारतको प्राग ऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आमनेपालीलाई समेत थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो।’ इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ।

  • ‘रातो नदी’भित्र घन्किरहेको विद्रोही आवाज

    ‘रातो नदी’भित्र घन्किरहेको विद्रोही आवाज

    साहित्यमा कविता एक सर्वप्राचीन विधा हो । यो एक समृद्ध र विकसित विधा पनि हो । नेपाली कविताको क्षेत्रमा देशको सिमानाभित्र र बाहिरबाट योगदान पुर्‍याउनेहरूको लस्कर लामो छ । यसैमा मिसिन आइपुगेकी छन् कवि जूनू राना । पश्चिम नेपालको बागलुङमा जन्मेर काठमाडौं हुँदै विगत दुई दशकदेखि समुन्द्री टापुको देश हङकङमा रहेकी रानाले आफ्नो पहिलो कृति ‘रातो नदी’ ल्याएकी छन् । कविता सङ्ग्रहले प्रवासबाट भए पनि उनका सामर्थ्यलाई देशसम्म जोडेको छ ।

    सङ्ग्रहमा भएका ६८ वटा कविताले कवि रानालाई प्रतिरोधी सर्जकका रूपमा पहिचान दिएको छ । उनका कविताहरूले धारको हिसाबले समकालीन नेपाली कविताको प्रवृत्तिको प्रतिनिधित्व गर्छ । उत्तर आधुनिकतावादको ठूलो जहाजभित्र नारीवाद, विनिर्माणवाद, नव-इतिहासवाद, नव-व्यवहारिकवाद, नव-मार्क्सवाद, उत्तर उपनिवेशवाद आदि विविध सिद्धान्त र दर्शनहरू पर्छन् । यीमध्ये नारीवाद एक सर्वाधिक चर्चित सिद्धान्त हो । कवि रानाका कविताहरूको एउटा मुख्य विन्दु हो नारीवाद, तर उनका रचनाहरूमा पुरुषप्रति फरकताकै आधारमा लिङ्गीय भेद छैन । समानताको तीव्र आकाङ्क्षा छ । विषमताप्रति प्रश्न छ । आख्यानकार भर्जिनिया उल्फले भने झैं कोठा र जग्गा नभएसम्म नारी पूर्ण रूपमा स्वतन्त्र हुन सक्दैनन् । यो भनेको अर्थ या उत्पादनको साधनमाथिको उचित नियन्त्रण हो । कवि रानाका कवितामा नारी अस्तित्व, पीडाबोध, संवेदनाका स्वरहरू मुखरित छन् ।

    कसले बनायो
    पुरुषत्वको मानक ?
    कसले तय गर्‍यो श्रेष्ठता ?

    ए कथित महापुरुष !
    तिम्रा वैचारिक द्रव्य
    र तर्कखुबीमा
    तिमीले मगज सौन्दर्य भर्नू । (मगज सौन्दर्य, पृ. ६५)

    कवि रानाको सङ्ग्रहको शीर्षकउपर दुई कविता छन् । रातो नदी- १ र रातो नदी- २ । शीर्षक र कविता पढिरहँदा स्वाभाविक रूपमा मासिक धर्म वा रजस्वलाको चित्र आउँछ । रानाले यस प्रक्रियालाई शक्ति सञ्चय र ऊर्जा प्राप्तिका रूपमा अर्थ्याएकी छिन् । उनले समाज र धर्मले खडा गरेका सीमाउपर प्रश्न गरेकी छन् । लाज, घिन र हीनताबोध नराखेर बाह्रै महिना नदी बग्नुलाई सक्षमतासँग गाँसेकी छन् । ‘वंशयुद्ध’, ‘घोषणा’, ‘सीताहरू’ उनका प्रतिरोधात्मक कविताहरू हुन् ।

    उनका कविताको केन्द्रविन्दुमा नारीकै कुरा बढी आउँछन् । सामाजिक मञ्चमा उनी एक खरो वक्ताका रूपमा चिनिनुले त्यसको प्रभाव उनको लेखनमा आएको हुनसक्छ । दोस्रो प्रवृत्ति भनेको उनले जाति प्रथा र वर्ण व्यवस्थाप्रति खुलेर आलोचना गर्दै विद्रोहका लागि उठेका आवाजमा साथ दिएकी छन् ।

    त्यसका अलावा उनले मातृत्वप्रति समर्पित भएर ‘जन्मदिन’, ‘मातृ अस्तित्व’, ‘मातृत्व’, ‘रगत’, ‘तिम्री आमा’ लेखेकी छन् । उनका कविताको केन्द्रविन्दुमा नारीकै कुरा बढी आउँछन् । सामाजिक मञ्चमा उनी एक खरो वक्ताका रूपमा चिनिनुले त्यसको प्रभाव उनको लेखनमा आएको हुनसक्छ । दोस्रो प्रवृत्ति भनेको उनले जाति प्रथा र वर्ण व्यवस्थाप्रति खुलेर आलोचना गर्दै विद्रोहका लागि उठेका आवाजमा साथ दिएकी छन् । उनले मानवतालाई प्रधान मानेकी छन् ।

    भेरी सुस्केरा हाल्दै बगिरहेको छ
    धोका, चोट र रोदन
    भेरीका हरेका ढुङ्गा ढुङ्गामा गुन्जिरहेका छन्
    नवराजहरू
    भेरीका वारिपारि
    सुसेली हालिरहेका छन् । (भेरी साक्षी छ, पृ. ८५)

    २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको सोतीमा अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोप लगाउँदै नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । यही विषयलाई कवि रानाले कवितामा ठाउँ दिएकी छन् । उनले यस घटनालाई मानवता हारेको दिनको संज्ञा दिएकी छन् । ‘म बेरङ रङ’ कवितामा वर्णका आधारमा हुने विभेदप्रति कटाक्ष गरेकी छन् । वर्णकै आधारमा कोही सम्राट, महाराजा, जमिनदार र कोही अछूत भएको भन्दै मानव चेतनाको धज्जी उडाएकी छन् । ‘जातको ब्रह्माण्ड’ एक छोटो, तर सशक्त रचना हो ।

    जातकै दिन बनाउनू
    जातकै रात बनाउनू
    सूर्य, चन्द्रमा र समुद्र जातकै बनाउनू
    अरूतरि नहेर्नू । (जातको ब्रह्माण्ड, पृ. ३९)

    ‘मान्छे’, ‘ढुङ्गा देवता बनेपछि’ पढिरहँदा मनुस्मृतिले वैदिक सनातन समाजमा ल्याएको विषमताउपर घोत्लिन बाध्य बनाउँछ । विभेदका रेखाहरू अस्तित्वमा आएर मानवीय संवेदना सङ्कटमा परेको भान हुन्छ । रङ्गभेद, जातिभेद र वर्गभेदका सिमानाहरूलाई भत्काएर समतामूलक समाजको निर्माण गर्नुपर्ने अभिप्राय कविको मूल कथ्य हो ।

    ‘म बेरङ रङ’ कवितामा वर्णका आधारमा हुने विभेदप्रति कटाक्ष गरेकी छन् । वर्णकै आधारमा कोही सम्राट, महाराजा, जमिनदार र कोही अछूत भएको भन्दै मानव चेतनाको धज्जी उडाएकी छन् ।

    कवि रानाको सङ्ग्रहको तेस्रो विशेषता भनेको डायस्पोरिक अभिव्यक्ति हो । हङकङ सन् १९९७ मा चीनलाई हस्तान्तरण गर्नुअघि ब्रिटिस साम्राज्यको एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । त्यतिमात्रै नभएर ब्रिटिस गोर्खा रेजिमेन्ट र तिनका परिवार बस्ने एक आवासीय थलो पनि । २०८ वर्ष लामो ब्रिटिस गोरखा (नेपाली)को विरासत थाम्न अहिले पनि सालिन्दा हजारौं तन्नेरी ‘लाहुरे’ बन्न तम्सिन्छन् । एक दशकअघि त झन् दुईदेखि तीन सयको अत्यन्तै न्यून कोटाका लागि चालीसौं हजार युवाले आवेदन दिन्थे । यसमा नेपालका आदिवासी जनजाति मूलका युवाहरूको लर्को लाग्ने गरेको कुरा कवि रानाको ‘लाहुरे’ कवितामा पढ्न सकिन्छ ।

    ठिङ्ग उभिएका छन् छातीहरू
    गहुँगोरो वर्ण
    बाक्लो छाला
    डल्लो मोहडा परेको सक्कल
    थेप्चो नाक
    चिम्सा आँखा
    बलिष्ठ तिघ्रा र पासुला मिलाएर
    छानिन्छन् छातीहरू । (लाहुरे, पृ. २४)

    ‘जग’ भन्ने कवितामा पुर्खा र बाजेबराजुप्रति सम्मान दर्शाएकी छन् । सेककोङ र ग्यालिपोल्ली सैन्य ब्यारेकमा १२ घण्टा बढी उभिएर सन्तान दरसन्तानको सुरक्षित भविष्यका लागि कडा परिश्रम गरेको र ताइमोसानको उकालो हिँडिरहँदा पुर्खाहरूको निसानीले झस्काइरहने बताउँछिन् । ‘कानमा देश गुञ्जिरहन्छ’मा उनले जन्मभूमिको सम्झना गरेकी छन् । ‘ह्याङओभरले बनाइरहन्छ झुम्म’ भन्दै विस्मृतिमा आफू जन्मेको र खेलेका ठाउँहरूलाई काम गरिरहँदासमेत भुल्न गाह्रो भएको जिकिर गरेकी छन् । उनले मदिराको मातसँग थातथलोको प्रेमलाई तुलना गरेकी छन् । ‘माटो र म’मा उनले मातृभूमिको काँचो माटो, झ्याउँकिरीको गीत, मकैका पहेंला पात, कोदोको सिरुपाते रूप, सिलटुङका बीउहरू झल्झली सम्झेका छन् । कवि रानाका प्रेमिल कविताहरू ‘तिम्रो अंश’, ‘म पर्खिरहेको मान्छे’, ‘चिठी’, ‘कामना’, ‘कोइली’, ‘सारथि’, ‘शीत’, ‘निकटता’, ‘तिम्रो नाम’, ‘याद र जून’, ‘आँखा’ आदि हुन् ।

    कवि रानाले कविता यात्रालाई आफूले बाँचेको परिवेश र देखेका समाज र घटनाले उत्पन्न गरेको कम्पनबाट प्रारम्भ भएको आफ्नो कहिरनमा बताएकी छन् । सानो आकारको सिर्जनात्मक लेखनमा उनको दख्खल देखिन्छ । यद्यपि शैलीगत हिसाबले उनले आफ्नो लेखनमा अरू प्रयोग गर्ने आँट गरे राम्रो हुनेछ । शीर्षक, विषयवस्तु र भावका हिसाबले केही कविता समान देखिन्छन् । त्यसउपर काम भएको भए उत्तम हुने थियो । अलङ्कार, उपमा, विम्बहरूको पुनरावृत्ति हुनबाट कविहरू विशेष रूपमा सजग हुनुपर्छ । पहिलो कृति भए पनि कवि रानाको सरल लेखन र सहज प्रस्तुतिका कारण यो सङ्ग्रह सबैलाई बोधगम्य नै हुनेछ ।

    पुस्तक विवरण
    कृतिको नाम : रातो नदी (कविता सङ्ग्रह)
    पहिलो संस्करण : सन् २०२४
    कृतिकार : जुनू राना
    प्रकाशक : रत्न पुस्तक भण्डार, काठमाडौं
    मूल्य : नेरू ३९९
    पृष्ठ : १३६

  • नजिर मियाँको आत्मवृत्तान्त: मृत्युको मुखबाट उम्किएका राजनीतिक योद्धा

    नजिर मियाँको आत्मवृत्तान्त: मृत्युको मुखबाट उम्किएका राजनीतिक योद्धा

    कैलाली । मुस्लिम समुदायमा रमजान पर्वको पूर्वतयारी चलिरहेको थियो । यही चाडको पूर्वसन्ध्यामा नजिर मियाँले प्रदेश प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए । यो समुदायबाटै राज्यको उच्च तहमा पुग्ने पहिलो मुस्लिम अगुवा हुन् नजिर ।

    पञ्चायतकालीन समयदेखि राजनीतिमा जोडिएका उनी नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा हाल केन्द्रीय सल्लाहकार हुन् । २०४९ तथा २०५४ मा अर्घाखाँचीको पालीको तत्कालीन गाविस अध्यक्ष रहेका मियाँ नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका संस्थापक अध्यक्ष हुन् । उनी पञ्चालयकालमा पनि जनपक्षीय उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिए । २०६४ सालमा समानुपातिकतर्फबाट पहिलो संविधानसभा सदस्यको रूपमा उनले काम गरेका थिए ।

    मुस्लिम समुदायमा सादगी, सरल, पाका तथा अनुभवी राजनीतिज्ञको परिचय बनाएका मियाँ २००८ साल माघ १५ गते अर्घाखाँचीको पालीमा जन्मिएका हुन् । पञ्चायतविरुद्धको आन्दोलनबाट राजनीतिमा क्रियाशील मियाँले संविधानसभामा हुँदा मुस्लिम समुदायका सरोकारका विषयलाई समावेश गर्न महत्त्वपूर्ण योगदान रहेको मुस्लिम अगुवाहरू बताउँछन् ।

    उनले आफ्नो आत्मवृत्तान्तमा पनि यी र यस्ता धेरै विषय उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई विभिन्न फरक फरक व्यक्तित्व समानान्तर रुपमा व्याख्या गरेका छन् ।

    ‘नजिर मियाँ ः नेपाली वामपन्थी राजनीतिमा चिनाइरहनु पर्ने नाम होइन । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको लामो समय अध्यक्ष ऐतिहासिक संविधानसभाको सदस्य, अर्घाखाँची पाली तत्कालीन गाविसको दुई कार्यकाल अध्यक्ष, द्वन्द्वात्मक भौतिकवादी चेत भएको एक हाजी मुस्लिम स्थानीय अगुवा, समाजसेवी र एमालेको पूर्वकेन्द्रीय कमिटी सदस्य तथा हालको सल्लाहकारसमेतलाई गणना गर्दा मैले उहाँको ६ वटा व्यक्तित्व समानान्तर रुपमा फक्रिएर मुस्कुराइरहेको पाउँछु’, ओलीले उनको आत्मवृत्तान्तमा शुभकामना सन्देश दिँदै व्याख्या गरेका छन् ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवाली जिल्ला सचिव हुँदाको एउटा घटना सम्झिएका छन् बाँसारुखका गोली काण्ड र कमरेड बसिर मियाँको सहादत ।

    अवैध रक्सी नियन्त्रण गर्न हिँडेको प्रहरी टोलीले गाउँमा बर्बरता मच्चाएको, तेजबहादुर घिमिरेले अन्धाधुन्ध गोली चलाएको त्यस क्रममा बसिर मियाँसहितका कैयौं युवा घाइते भएको ज्ञवालीले पुस्तकमा स्मरण गरेका छन् । ‘सईले नामै काढेर नजिरलाई खोजे, सायद उहाँ पनि त्यहाँ भएको भए आक्रमणको शिकार बन्नुहुन्थ्यो’, उनले पुस्तकमा लेखेका छन्, ‘उहाँ जिल्ला बाहिर भएको हुँदा बाँच्नुभयो । ’

    उपचारको क्रममा पाल्पा लैजाने क्रममा रिडी नजिकै एक्लीपिपलमा बसिर मियाँको निधन भयो । उक्त घटनामा जोगिएका नजिर समाज समुदाय र राष्ट्रको लागि सधैं अग्रपङ्क्तिमा रहे । सामान्य परिवारका उनी मुस्लिम समुदायबाट पहिलो प्रदेश प्रमुख भएका छन् ।

    प्रदेश प्रमुख हुनुभन्दा पहिल्यै तयार गरेको आफ्नो आत्मवृत्तान्तमा अध्यक्ष ओली, उपमहासचिव ज्ञवालीसहित मोदनाथ प्रश्रित, छविलाल विश्वकर्मा, सराज अहमद फारुकी, नजरुल हसललगायतले आफूले बुझेका र भोगेका विषयहरू उल्लेख गरेका छन् ।

    मियाँको आत्मवृत्तान्त एउटा पुस्तकमात्रै होइन, इतिहास पनि भएको छ । पुस्तकभित्र भएका खोज अनुसन्धान, मुस्लिम समुदायको अवस्था, सरकारसँग भएका छलफल, वार्ता र संवाद विस्तृत रुपमा उल्लेख गरिएको छ । उनी २०४६ सालपछि नेकपा माले हुँदै एमालेमा सक्रिय भएका थिए ।

    २०४१ सालमा आफू, श्रीमती र छोरीलाई एकैसाथ क्षयरोग (टीबी) लाग्दा परिवारले भोग्नुपरेको पीडाले आममान्छेको पीडाबोध गराउँछ । त्यस्तै २०५२ सालपछि माओवादीबाट पाएको धम्की र गाउँबाट विस्थापित हुनुपरेको अवस्थाले त्यो बेलाको द्वन्द्वको समय पुस्तकमा झल्किएको छ ।

    ‘माओवादी कार्यकर्ताहरूले मेरो घरमा आई तिम्रो लोग्नेलाई बोलाऊ, १५ दिनभित्र १ लाख रुपैयाँ हाम्रो लागि जम्मा गर’ भन्ने पत्र हातमा दिएपछि उनीहरुको मानसिक दबाबबाट बच्न घर छाडी केटाकेटीलाई लिएर सदरमुकाम सन्धिखर्क आएर बस्न मैले श्रीमतीलाई खबर पठाएँ’, उनले पुस्तकमा उल्लेख गरेका छन् ।

    उनले आफूले एक जीवनमा तीन युग भोगेको कुरालाई सविस्तार वर्णन गरेका छन् । विद्यालय जीवनको रोचक घटना सम्झँदै राति लुकेर रत्यौली हेर्न गएको र भोलिपल्ट सुरुवाल फुकालेर पानीमा चोप्दै सिस्नोले कुटेको कुरा लेखेका छन् । उनलाई स्वास्थ्यले भने साथ दिँदै छोड्दै गरेको थियो । २०३४ सालमा फोक्सोमा टीबी भएर एक वर्ष उपचार गरेपछि निको भएको थियो, तर २०४४ सालमा फेरि बल्झियो ।

    २०४४ सालमा अर्घाखाँचीको सुपाखोलामा साहित्यकार मोदनाथ प्रश्रित, छोरी सायरा खातुन, छोरा रजाक भुटुसमेत गाडी दुर्घटनामा पर्दा गम्भीर अवस्थामा पुगेको र आफूसँगै दुर्घटनामा परेका बुद्धिबहादुर टण्डनको मृत्यु भएको पीडाको क्षण पनि उनले पुस्तकमा समेटेका छन् ।

    मियाँले आफ्नो जनप्रतिनिधिको अनुभवमा उल्लेख गरेका धेरै विषय अहिले पनि सान्दर्भिक र प्रेरणादायी छन् । ‘अर्घाखाँची जिल्लाको पालीमा म पञ्चायती व्यवस्थाको गाउँ फर्क अभियानको समयमा २०३२ सालतिर वडा सदस्य भएँ । २०३८ सालको स्थानीय निर्वाचनमा उपप्रधानपञ्चमा ३६ मतले पराजित भएँ । २०४३ सालको प्रधानपञ्चको निर्वाचनमा १७ मतले पराजित भएँ’, उनको पुस्तकमा उल्लेख छ, ‘२०४९ सालमा एमाले पार्टीबाट जितेर गाविस अध्यक्ष भएँ, २०५४ को निर्वाचनमा पनि विजय प्राप्त गरें ।’

    २०४९ मा १ हजार ९४७ मतमध्ये मियाँको प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९२ र २०५४ सालको निर्वाचनमा १ हजार ९६४ मध्ये २९४ मत पाएको इतिहासले पनि मियाँको लोकप्रियतालाई देखाएको छ । २०५२ देखि २०७५ सालसम्म गाविस राष्ट्रिय महासङ्घको संस्थापक सदस्य भएर काम गरेका उनी । २०६५ साल जेठ १४ गते समानुपातिक सांसद भए । उनी १७ जना मुस्लिम सांसदको समन्वय समितिको अध्यक्ष पनि भए । उनले त्यस बेलाका आफ्ना असल अभ्यासहरूलाई पनि पुस्तकमा उतारेका छन् ।

    मदन भण्डारीसँगको पहिलो भेटदेखि आफ्नो घर एमाले नेताहरूको लागि सेन्टर बनाएकोसम्मको विषय पुस्तकमा छुटेका छैनन् । २०६१ माघ १९ गते राजाले ‘कू’ गरेपछि एमाले पार्टी कार्यालय सुनसान भएको र आफ्नो घरलाई नेताहरूको भेटघाटको थलो बनाएको उनले बताएका छन् ।

    अमृत बोहरा, वामदेव गौतम, युवराज ज्ञवालीलगायत सम्भव भएका नेताहरूको उपस्थितिमा मियाँकै घरमा केन्द्रीय समितिको बैठक बसेको थियो । बोहरा झन्डै दुई साता उनको घरमा बसे । गौतम पनि बेलाबेलामा आइरहेका हुन्थे । मियाँले समिको रुख घटना र गोली काण्डलाई सविस्तार वर्णन गरेका छन् ।

    जिल्ला कमिटी सदस्य रामजी घिमिरे, इलाका सचिव जीवराज घिमिरे, इलाका सदस्य मोहन घिमिरे अपहरणमा परेपछि आफूहरू खोज्न गएको र त्यस क्रममा भिडन्त भएको प्रसङ्ग पनि पुस्तकमा छ । आफूहरूले भिडन्त जितेर अपहरण भएकाहरूलाई मुक्त गरेर गाउँमा नाराबाजी गर्दाको घटना उनले उतारेका छन् ।

    २०४९ सालको स्थानीय तहको निर्वाचन हुँदा १२ दिन बाँकी हुँदा साहित्यकार मोदनाथ प्रश्रितको नेतृत्वमा नेताहरू प्रदीप ज्ञवाली, लक्ष्मण रायमाझीलगायतको टीममाथि ढुंगामुढा भएको थियो । उक्त घटना स्मरण गर्दै उनी लेख्छन्, ‘हाम्रा केही साथीलाई ढुङ्गा हानी रक्ताम्मे बनाइ घाइते भए, मेरो भाइ हाजी सहिदिन मियाँलाई घाइते अवस्थामा समातेर थप कुटपिट गरी मर्‍यो भनी फालिदिए ।’

    २०४८ असार २३ गते सदरमुकामबाट रक्सी नियन्त्रण गर्ने बहानामा पुगेको टोलीले गाउँमा नजिर मियाँ र बसिर मियाँलाई दादा सम्बोधन गर्दै स्थानीयलाई कुटपिट गर्दै सोधीखोजी गरिरहेका थिए । बसिर मियाँ त्यहाँ पुग्नासाथ एक जना प्रहरीले पेटमै ताकेर गोली हाने । ‘बसिर मियाँले अइया भन्दै पेट समात्नुभयो । प्रहरीले अन्धाधुन्ध गोली चलाए । उनलाई मेरो नाम लिँदै कहाँ छ त्यो नजिर भन्दै रक्ताम्मे बनाए । घाइतेमध्ये राइफलको गोली सफर मियाँको छातीबाट वारपार भयो । सफरलाई माया मारी त्यही गाउँमै छाडियो, पाल्पा लैजाने क्रममा रिडी नजिकै एक्लीपिपलमा बसिर मियाँको निधन भयो’, उनले पुस्तकमा लेखेका छन्, ‘घटना घटाएर फर्किएका प्रहरीले बाटोमा खुसीको खबर भन्दै सुनाए, बसिरलाई सही निशाना लागेको छ, ऊ बाँच्दैन ।’

    बसिर मियाँको हत्या हुँदा आफू त्यहाँ नभएकै कारण जोगिएको नजिर मियाँलाई लाग्छ । बसिर मियाँसँगको अन्तिम भेटलाई पनि पुस्तकमा स्थान दिएका छन् ।

    मुस्लिम जागरण र अधिकारका लागि नजिर मियाँले निभाएको भूमिका र गरेको योगदानले पुस्तकमा राम्रो स्थान पाएको छ । संविधानसभाभित्रको उनको लडाइँ अधिकार प्राप्ति नहुँदासम्म रोकिएन ।

    ‘नेपालका मुस्लिम समुदाय आफ्नो पहिचान हक, अधिकार र परिवर्तनको लागि नेपालका हरेक अग्रगामी आन्दोलनमा सक्रिय सहभागी भई सहादत प्राप्तिका साथै अङ्गभङ्ग र अनगिन्ती घाइते भएका छन्, आन्दोलन सफल भएपछि संविधान लेख्ने बेला नियतवस मुस्लिम समुदायलाई बेवास्ता गरी पाखा लगाउने काम बारम्बार भएको छ । यसको प्रमाणको लागि धेरै टाढा जानुपर्दैन, अन्तरिम संविधान हेरे पुग्छ’, संविधानसभाभित्रको लडाइँ उपशीर्षकमा उनले व्याख्या गरेका छन् ।

    लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई संविधानमा संस्थागत गर्ने, मुस्लिम धर्म होइन, मुस्किल समुदाय हो भन्ने प्रस्ट पार्ने, संवैधानिक मुस्लिम आयोगको व्यवस्थाको माग गर्ने, मुस्लिम समुदायको पहिचानसहित अधिकार सम्पन्न संविधान निर्माणमा पहल गर्ने यी र यस्ता मुद्दाहरुमा उनी सधैं अग्रमोर्चामा देखिए । निरन्तरको दबाब र सङ्घर्षकै कारण नेपालको संविधानमा मुस्लिम समुदायसहित पछाडि पारिएका समुदायहरूको अधिकार स्थापित भएको आभास गरेको कुरा पनि पुस्तकमा उल्लेख छ ।

    आफ्नो आत्मवृत्तान्तमा उनले लेखेको यात्रा, अनुभव र सिकाइ अरूका लागि पनि एउटा सिकाइ र प्रेरणा बन्नसक्छ । उनले पुस्तकमा बङ्गलादेशमा शेख हसिनासँग भएको भेट र उनीसँग भएको संवादको विषयमा पनि उतारेका छन् । पुस्तकमा सबैले सहज र सरल ढंगले बुझ्ने गरी भ्रष्टाचारको व्याख्या गरेका छन् । उनले भ्रष्टाचारलाई तीन तरिकाले विभाजन गरेका छन् ।

    जीवनमै सबैभन्दा खुसी भएको क्षण, समुदाय र धर्मबीचको अन्तर, नेपालमा मुस्लिम समुदायले प्रस्ट पार्नुपर्ने विषय पनि पुस्तकमा रहेको छ । उनले पटकपटक मुस्लिम धर्म नभई समुदाय भएको विषयलाई उल्लेख गरेका छन् । ‘मुस्लिम भनेको धर्म होइन, समुदाय हो । मुस्लिमको धर्म भनेको त इस्लाम हो’, २०६५ सालमा पहिलो पटक संसदमा उनले आवाज उठाएका थिए ।

    संविधानसभा मुस्लिम सभासद समन्वय समिति गठन, सरकारसँगको पाँच बुँदे सम्झौता, सरकारी वार्ता टोली र मुस्लिम दबाब समितिबीच भएको सहमति, समग्र मुस्लिम समुदायको तर्फबाट प्रस्तुत गरिएको साझा मागपत्र, राष्ट्रिय मुस्लिम मञ्चका घोषणापत्रहरू पनि पुस्तकमा बुँदागत रुपमा रहेका छन् । उनले नेपाली मुस्लिम समुदाय आयातित नभएर आदिवासी भएको पनि पुस्तकमा बताएका छन् ।

    २०६० साल चैत २२ गते काठमाडौं वीर अस्पताल अगाडि मियाँलाई प्रहरीको पाँच गोली लागेको थियो । उनको छातीमा २, पेटमा १ र दायाँ हातमा २ गोली लागेको थियो । पाँच गोली लागेर पनि जोगिएका मियाँलाई अहिले समाज परिवर्तनकै लागि ज्यान बक्सिस पाए झैं लाग्छ । आत्मवृत्तान्तमा घाइते अवस्थाको उनी र रक्ताम्मे उनको पोशाक देखिन्छ ।

    कालो दिन भाद्र २०६१ मा उनले इराकमा १२ जना नेपालीको हत्यापछि नेपालमा भएको आन्दोलन र उक्त आन्दोलनले पारेको प्रभावलाई लेखेका छन् । उनको आत्मवृत्तान्त एउटा आममान्छेको लागि प्रेरणा र एउटा नेतृत्वको लागि आममान्छेको जीवन बुझाउन सफल छ ।

  • सचित्र बाल कथामा आरोही पासाङ ल्हामु, पर्यटन उद्यमी अम्बिकासहित चार अग्रणी महिलाको जीवनी

    सचित्र बाल कथामा आरोही पासाङ ल्हामु, पर्यटन उद्यमी अम्बिकासहित चार अग्रणी महिलाको जीवनी

    काठमाडौं । राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अग्रणी चार महिलाको जीवनी सचित्र बाल कथाका रुपमा सार्वजनिक गरिएको छ । पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ दिनको अवसर पारेर उक्त चार पुस्तक आइतबार लोकार्पण गरिएको हो ।

    संग्रहभित्र श्रेष्ठसँगै न्यायकर्मी सपना प्रधान मल्ल, प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र बौद्ध भिक्षु गायिका आनी छोइङ डोल्माका जीवन भोगाइ समेटिएका छन् । लुज माथेमाका शब्दहरूमा उभिएको यो संग्रह पब्लिकेशन नेपालयले तयार पारेको हो ।

    पुस्तकको विमोचन बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा गरिएको थियो । राजा वीरेन्द्रको राज्याभिषेकका बेला संसारभरिबाट आएका पाहुनाहरूका निम्ति होटल अभाव भइरहेको बखत आफ्नै घरलाई अतिथि गृहका रूपमा थालनी गरिएको पहल नै कालान्तरमा होटल द्वारिकाजमा परिणत भएको हो ।

    अम्बिकाको मेहनतकै प्रतिफलमा यो होटल विशिष्ट विदेशी पाहुनाहरूको रोजाइमा पर्ने गरेको छ ।

    भिक्षु गायिका आनी सांगीतिक कर्ममार्फत परोपकारका क्षेत्रमा सक्रिय छिन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनको उल्लेखनीय योगदान छ ।

    सगरमाथाको शिखर चुम्ने क्षणसम्म पुग्नुअघि दिवंगत आरोही पासाङ ल्हामु शेर्पाले नेपाली समाजमा परम्परादेखि चल्दै आएको विभेदकारी परिस्थितिविरुद्ध निकै संघर्ष गर्नुपरेको थियो ।

    कानूनी क्षेत्रमा अग्रता लिइरहेकी सपना प्रधान मल्लले भने विभेदमुक्त समतामूलक समाज स्थापनाका लागि निकै अघिदेखि आफूलाई सक्रिय बनाउँदै आएकी छन् ।

    पुस्तक चारै जना पात्र तथा तिनका प्रतिनिधिले लोकार्पण गरेका थिए । दिवंगत अम्बिका र पासाङ ल्हामुका तर्फबाट उनीहरूका सुपुत्रीहरू क्रमशः संगीता एवं दावाको प्रतिनिधित्व थियो ।

    होटल व्यवसायी अम्बिकाकी छोरी संगीताले छोरीहरू सबै मामिलामा सक्षम र पूर्ण रहन्छन् भन्ने ज्ञान आफ्नी आमाबाट विरासतका रूपमा पाएको बताइन् ।

    सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले भने केटाकेटीलाई हुर्काउँदाको क्षणदेखि नै अभिभावकले तिनको हक र अधिकारको चेतना प्रदान गर्नुपर्ने औंल्याइन् ।

    आनी छोइङले आम केटाकेटीभन्दा आफ्नो बाल्यकाल बेग्लै किसिमको कठोर रहेको जानकारी दिँदै त्यो बेग्लैपनाले नै आफूलाई आजको ठाउँसम्म पुर्‍याएको औंल्याइन् ।

    पासाङ ल्हामुकी सुपुत्री दावाले भने आफ्नी आमाले सफलता अघि पनि चार पटक सगरमाथा चढ्ने प्रयास गरेको जानकारी आम रूपमा बाहिर नआएको अवस्थामा यो पुस्तकले ससाना बालबालिकालाई तथ्यसँग नजिक्याउने अपेक्षा प्रकट गरिन् ।

    लन्डन स्कुल अफ इकोनोमिक्सबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा लैङ्गिक विकास अध्ययन गरेकी लेखिका लुज माथेमाले आफूले ‘अदम्य महिलाहरू’ शीर्षकमा शृंखलाबद्ध कथात्मक बाल जीवनी लेखन थालेको बताइन् । त्यसैको पहिलो चरणमा चार नेपाली अग्रणी महिलाहरूको यो संग्रह तयार भएको उनले जानकारी दिइन् ।

    ‘हामी केटाकेटी हुँदा हजुरबुवाले आफ्ना अनुभवहरू अनि ठूला मानिसहरूको जीवनबारे कथा सुने जस्तै गरी चाखलाग्दो ढंगमा भन्नुहुन्थ्यो’, लेखिका लुज भन्छिन्, ‘उहाँबाटै मिलेको प्रेरणाबाट मैले नेपाली महिलाहरूको गाथा लेख्ने क्रम थालेकी हुँ ।’

    अदम्य नेपाली महिलाका यी छोटा अनि सरल कथाहरूमा प्रकाश रञ्जित, शैली मल्ल, न्हुज शाक्यले चित्रहरू तयार पारेका छन् । प्रवीण अधिकारीले ती कथाहरूको नेपाली अनुवाद गरेका हुन् । एकै पुस्तकमा अंग्रेजी र नेपाली दुवै भाषा पढ्न सकिन्छ ।

    ‘नेपाली महिलाहरूका संघर्ष र सफलताका कथाहरू कमै भनिएका पाइन्छन्’, पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसरी शृंखलाबद्ध रूपले बाल कथाका रूपमा जीवनी प्रकाशन गर्दा भावी पुस्ताले समेत उनीहरूबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यका साथ हामीले यसको सुरुवात गरेका हौं ।’

  • म ‘बा’को मुख हेर्दिनँ

    म ‘बा’को मुख हेर्दिनँ

    यति बेला प्रकाश तामाङ उर्फ पक्का चर्चामा छन् । उनको घर भोजपुरको षडानन्द नगरपालिका साम्पाङमा यति बेला कम्तीमा १० जना युट्युवरले डेरा जमाएका छन् ।

    उनलाई भेट्न र अन्तर्वार्ता गर्न पालो कुर्नुपर्ने अवस्था छ । तामाङलाई प्रधानमन्त्रीदेखि मुख्यमन्त्री सम्मले फोन गरे । नेता, प्रशासक, पत्रकार तामाङका सारथी बने । उनलाई अघि लाएर घर भित्र्याउनेहरू गिनेचुनेका मान्छे थिए ।

    मानौँ उनी युद्ध जितेर फर्किएको सिपाहीको कमान्डर हुन् । देश उनकै वरिपरि घुमिरहेको छ । समाजको नेतृत्व अब कयौँ वर्ष उनैले गर्ने छन् । अब समय प्रकाशकै वरीपरि घुम्ने छ ।

    ‘हेर्ने कथा’ युट्युव च्यानलमा तामाङको कथा सार्वजनिक भएपछि सामाजिक सञ्जालको भित्तामा आँसुको बाडी आयो । आँसुले देश पूरै डुबायो । प्रशासक नीति निर्मााताहरूलाई पनि आँसुले भिजायो । आँसुको छाल जहाँ-जहाँ नेपाली छन् त्यहाँ-त्यहाँसम्म पुग्यो ।

    भावविव्हल भएका मान्छेहरूको जोड बलमा चुम भ्याल्लीको चौँरी गोठबाट प्रकाश यति बेला भोजपुर पुगेका छन् । उनी लेकबाट बेँसी झरे । अनागरिक तमाङगलाई घरमै लगेर सरकारले नागरिकता दियो । आँसुको शक्ति कति हुन्छ भन्ने प्रमाण बनेका छन् प्रकाश यति बेला । सामाजिक सञ्जालको समाजशास्त्र कति बलियो छ भन्ने कुरा उनकै कथाले देखाइदिएको छ ।

    बुवाको श्याम स्वेत तस्बिर मनमा बोकेर बालापनमै हराएका प्रकाश आज आफ्ना बा को वरिपरि होलान् । मलाई विश्वास छ उनले आज बाको मुख पनि हेरे होलान् ।

    हिमालको स्याँठ, झरनाको सङ्गीत, खोलाको कलकल र भेडा र चौरीको बगालमा बर्षौं हराएका प्रकाश यति बेला सामाजिक सञ्जालमा हराउन अभ्यस्त हुन थाले होलान् । त्यहाँ अरूका बाको रङ्गिन फोटो हेरेपछि आफ्ना बालाई पनि हेरे होलान् । यो मेरो कल्पनामात्रै हो उनले त्यसो नगरेका पनि हुन सक्छन् । उनी मैले सोचे भन्दा बेग्लै पनि रहन सक्छन् । मैले जस्तो बा को मुख नहेरेका पनि हुन सक्लान् । खैर यो प्रकाशको कुरा हो । आज मलाई प्रकाशको नभई मेरा बाको कुरा गर्नुछ । बाको कुरा गर्न ल्यापटप अगाडि राखेर किबोर्डमा औंला चलाई रहँदा अहिले पनि मलाई डर र लाज लागिरहेको छ ।

    किनकि आजसम्म मैले मेरा बाको बारेमा कहिल्यै लेखेको छैन । बाका अगाडि निर्धक्क भएर बोलेको छैन । म समानको मेरो छोरो हुँदा पनि मैले बाका अगाडि धक फुकाएर हाँसेको छैन । क ख लेख्न नजान्दा, खरायो ख र गाइगोडे ग भन्न नजान्दा मनभित्र पसेको बाप्रतिको डर आजसम्म गएको छैन । मास्टरले तेरो छोरोले पढ्न जानेन भनेर पोल लाउँदा बाले रिसाएर भकुरेको मैले बिर्सेकै छैन । साथीहरूसँग माछा मार्न गएर साँझ फर्किँदा बा जङ्गिएको दिन हिजो जस्तो लाग्छ । बाको खल्ती मार्दा हानेको थप्पडको छाप अझै गालामा भएजस्तै लाग्छ ।

    मेरा बाले बाँसका छेस्काले धुलौटोमा क ख लेख्न मलाई कापीमात्रै बनाई दिएनन् काखमा राखेर हात समाउँदै ‘क’ को आकार बनाउन पनि सिकाए । खरायो ख र गाईको गोडा जस्तो ग भन्न पनि सिकाए । मेरा बा अहिले पनि क लेख्न सिकाउन जान्ने बा लाग्छ । मलाई अहिले पनि मेरा बा ले ठूलो वर्णमालामा छापिएका कविताको जस्तै सबै कवितामा लय हाल्न जान्दछन् जस्तो लाग्छ । उनले गीता महाभारत, रामायणमात्रै होइन समाजवाद र साम्यवाद पनि पढेका छन् जस्तो लाग्छ । उनले घर व्यवहारमात्रै होइन देश दुनियाँ जाने झैँ लाग्छ ।

    मेरा बाले कति पढेका छन् ? के-के जान्दछन् ? मैले कहिल्यै सोधिनँ । तर, हरेक समय मलाई लाग्छ उनी मभन्दा जान्ने छन् । स्कूल पढ्दा साथीहरूले भन्थे तेरो बाउ त बुडा छन् । बुडो हुनुको अर्थ मैले यति मात्रै जाने की उनी काम गर्न सक्दैनन् । तर, मैले देखुञ्जेल उनी काम नगरी बसेको याद छैन । हलो बाले नै जोत्थे, कोदालो उनैले खन्थे । बजार बा नै जान्थे । दसैँ तिहार उनैले धान्थे । मेरा लागि नयाँ लुगा र किताबको जोहो उनैले गर्थे । मैले मेरा बा बुडो भएको र काम गर्न नसकेको कहिल्यै देखिनँ ।

    समय फेरियो । मेरा साथीहरू आ-आफ्नै दर्का दिशा लागे । कोही युरोपतिर छन् । कोही अमेरिका, अष्ट्रेलिया त कोही खाडीतिर । देश नछाड्ने थोरैको लाइनमा म पनि छु । म युरोप र अमेरिका जान सकिनँ । खाडी र मलेसिया जाने आँट पनि गर्न सकिनँ । मैले बोइङ्ग चढ्ने आँट गरिनँ । मेरो भाग्यमा समुन्द्र तरेर उतै बस्ने लेखिएकै रहेनछ ।

    म देश नछाड्ने हुतीहारा हुँ । म बा छाड्न नसक्ने पानी मरुवा हुँ । मैले मेरो पौरख बालाई देखाउन सकिनँ । म बाभन्दा ठूलो बन्न सकिनँ । म बाभन्दा जान्ने हुन सकिनँ । मैले बालाई फादर भन्न पाइनँ । बुवाको मुख हेर्ने दिनलाई ‘फादर्स डे’ को रूपमा मनाउन पनि पाइनँ । मैले दुनियाँ नै देख्न पाइनँ । मैले बालाई छाड्न नसक्दा गँवारको गँवार नै भएँ ।

    मैले बालाई नछाड्दा सुटकेसमा पोको पारेर बाका लागि उपहार ल्याउन सकिनँ । बा का लागि घडी, जुत्ता, मोबाइल र सुटको पार्सल पठाउन पाइनँ । फलफूल र मिठाईको प्याकेट बोकेर बाका अगाडि आउन पाइनँ । सबैभन्दा ठूलो कुरो बालाई दिएको उपहारको फोटो फेसबुकमा टाँस्न पाइनँ । मैले पनि अरूले जस्तै बासँग टाँसिएर उपहार दिएको मिठाई खुवाएको फोटो टाँस्न पाए मेरा बा पनि त खुसी हुन्थे होलान् ? अरूका छोराले आफ्ना बालाई मीठो मीठो खानेकुरा खुवाएको फोटो हेर्दा उनलाई पनि रहर जाग्दो होला । उनी पनि नातिसँग फेसबुक हेर्दे कल्पना गर्दा हुन् ।

    मेरा बा बिरामी हुँदा अस्पताल लैजान अर्डर दिने मेरा लागि कोही छैन । लेख्दा लेख्दैको ल्यापटप सर्ट डाउन गरेर मै कुद्न पर्छ । बाको कमिज फाटेको देख्ने मैले नै हो । फाटेको कमिज फेरिदिन बुबाको मुख हेर्ने दिनसम्म कुर्न पनि त भएन । हातको घडीको सुई हिँड्न छाडेका दिन दिउँसै बाले मलाई नै भन्नु हुन्छ । बा कुशे औँसी आउँदै छ भनेर आलटाल गर्ने आँट गर्न कहिल्यै सकिनँ ।

    मिठाई र फलफूल बोकेर घर जाँदा फोटो कसरी खिच्नु ? नाथे एक जोर गन्जी र हाफ पाइन्ट बालाई दिएको प्रचार कसरी गर्नु ? मलाई यति न लाज लाग्छ कि तीन चोटि फोटो अपलोड गरेर पनि पोस्ट गर्ने बेलामा ‘डिस्कार्ड’ गर्नुपर्छ । यसरी बालाई दिएको फोटो हाल्न लान मलाईमात्रै हो कि अरूलाई पनि लाग्छ ? मैले आजसम्म थाहा पाउन सकेको छैन ।

    म बिहान उठ्नुभन्दा अगाडि उनै उठ्छन् । मैले नित्य कर्म गर्नुअगाडि उनैले गर्छन् । गाउँघरको खबर मलाईभन्दा अगाडि उनैलाई थाहा हुन्छ । आफन्त नातागोताको हेरचाह मैलेभन्दा अगाडि उनैले गर्छन् । मेरा बालाई म अहिले पनि सानै छु जस्तो लाग्छ । घर पुग्दा उनैले गेट खोल्छन् । रात विरात ढिलो हुँदा खोज खबर गर्ने उनै हुन् ।

    घर नपुगुञ्जेल मोबाइलमा ट्याइँ ट्याइँ घण्टी बजाउने उनै हुन् । दसैँ, तिहार, माघेसंक्रान्ती, साउने संक्रान्ती, तीज मलाईभन्दा छिटो बालाई लाग्छ । कसरी धान्ने कसरी टार्ने पीर उनैलाई छ । मलाई त चाडबाड आएको महसुस उनैको फराक फुरुक देखेपछि मात्रै हुने हो ।

    उठेपछि उनले खाने चिया र मैले खाने चिया एउटै हो । उनले खाने दालभात र मैले खाने दालभात एउटै भाँडामा पाक्छ । के बुवाको मुख हेर्ने दिन ? के आमाको मुख हेर्ने दिन मेरा लागि एउटै हो । मैले बाको मुख हेर्नुभन्दा पहिला उनैले मेरो मुख हेर्छन् । बाले नै मेरो मुख हेरेपछि मैले बाको मुख कसरी हेर्ने ? बाले नै मेरो मुख हेरेकाले मैले बा को मुख किन हेर्ने ?

  • तिरो उठाउन गुन्सी भदौरे

    तिरो उठाउन गुन्सी भदौरे

    काठमाडौँबाट घर जाँदै थिए । दोलखा । चाडबाडको समय हुनुपर्छ । तिहारको समय जस्तो लाग्छ । माइक्रो बस । सायद, त्यो मन्थलीसम्म मात्र जानेवाला थियो । त्यसपछि फेरि अर्को गाडीमा चढेर घर जाने सुरमा थिएँ । त्यो बेला मलाई मनमौजी पाराले हिड्ने सुविधा प्राप्त थियो । सोच्दै थिएँ- गाडी नपाए मन्थली नै बसिदिन्छु ।

    हातमा थियो पाउलो क्वेलोको अल्केमिस्ट । यात्राको क्रममा अलिक फरक दृष्टिकोण बोकेको अनि ऊर्जा दिने प्रकृतिको किताव बोक्नु मेरो पहिले देखिको बानी हो । कहिले पढिन्थ्यो, कहिले पढिन्थेन । तर, पनि बोकिन्थ्यो ।

    सधैँ झै एक अनुच्छेद पढ्ने, बाहिरको हरियाली नियाल्ने, फ्ल्यासव्याकमा जाने, आफूले देखेका घटनाक्रम अनि भोगाईसँग ती अनुच्छेदलाई जोड्दै जाने मेरो आफ्नै शैली हो । कितावको सन्देशलाई दिमागले बलियोसँग स्वीकार गर्दै थियो- हो नि, हाम्रो काम आफ्नो हृदयले जे गर भन्छ, त्यही गर्दै जाने हो । यो नै सफलताको एउटै सुत्र हो । अल्केमिष्टको त्यो गोठाले पात्रको यात्रा, यात्राको लागि उसको मनले सुझाएको मार्ग अनि उसले बाटोमा भेट्ने गरेका शकुन र अपशकुनका कथाहरूलाई पछ्याउँदै छु म । यात्रुहरू धेरै नभएकोले सीटमा ढलीमली गर्न पाएको छु । त्यसैले मलाई कहाँ आइपुगियो भन्ने कुराको कुनै वास्ता छैन । गाडी बत्तिएको छ । बेलाबेलामा ढल्किन्छ पनि । कहिले दायाँ , कहिले बायाँ । तैपनि, मेरा आँखाले अल्केमिष्टका कमिला टाउके अक्षरहरूलाई छोडेको छैन ।

    ०००

    अचानक बसाईमा अप्ठ्यारो अनुभूति भो । किताबको पान्नाबाट आँखा निकालेँ, अनि देब्रेपट्टी हेरेँ । गाडीले नयाँ यात्रु पाएछ । “मेरै छेउमा आएर बस्नुपरेको”- मनमनै भुतभुताएँ । गाडी नेपालथोक आइपुगेको रहेछ ।

    उहाँलाई कुराकानी गरिरहनुपर्ने रहेछ क्यारे । सोध्नुभयो- “तपाँई कहाँसम्म जाने ?” आफ्नु चाख फेरि पनि अल्केमिष्टमै छ । एकमनले सोचे- “मन्थलीसम्म भन्दिऊँ कि !” तर जिव्रोले जान्नी भएर फड्कालिहाल्यो- मालु । मालु भन्न बानी परेको जिव्रो रोकिएन यहाँ पनि ।

    त्यसपछि त उहाँलाई विषय फुरिहालेछ । सोध्नुभयो- के थरि ? मलाई यो थरिवाला प्रश्न सोध्नेवालाहरूसँग त्यति मज्जा लाग्दैन । मान्छे थरिको हुँ हजुर- बटारिएको उत्तर दिए तर नम्र भाषामा ।

    ०००

    “एकजना पोखरेल बाहुनसँग संगत भएको थियो धेरै पहिले । २०३८ सालतिर । उहाँ हाम्रै घरमा केही समय बस्नुभयो । तिरो उठाउन आउनुहुन्थ्यो । रामेछाप मालपोत कार्यालयबाट खटिएर । सानो गाठीको अनि गोरो । पातलो पातलो ओठ । तुक्का हालेर रसिला कुरा गर्ने । मालु घर हो भन्नुहुन्थ्यो । मान्छे बडो मज्जाको हुनुहुन्थ्यो । तपाँईले चिन्नुहुन्छ कि भनेर ।” उहाँले एकैसासमा स्पष्टीकरण दिनुभयो ।

    अव चाँहि मलाई चासो बढ्यो ।

    भने : हाम्रो तिरबाट धेरै मान्छे जागिरको सिलसिलामा रामेछाप आउनुभएको छ । फेरि हाम्रोमा पोखरेलहरू धेरै छन ।

    उहाँले भन्नुभयोः त्यो त हो । तर पनि मालपोतबाट गुन्सी भदौरेतिर २०३८ सालमा तिरो उठाउन आउँने को हो भनेर तपाँईले केही अन्दाज गर्नुहुन्छ कि भनेर ।

    मनले भन्यो : म जन्मिनुभन्दा पहिलेको कुरा म के जाँनु ?

    तर पनि मुखले चाहि फरक कुरा भन्यो : मेरो ठूलोबुबा रामेछाप मालपोतमा काम गर्नुहुन्थ्यो । सायद उहाँ नै हो ।

    फेरि थपेः गोविन्द पोखरेल । चिन्नुहुन्छ ?

    उनले मेरो ठूलोबुबाको शारीरिक बनावट बताउन लगाए ।

    मैले भनेः गोरो, मोटोघाटो, अग्लो ।

    उनले भनेः मैले भनेको मान्छेसँग तपाईँले बताएको हुलियामध्ये गोरो मात्र मिल्यो , बाँकी मिलेन । मैले भनेको मान्छे चाँहि पातलो अनि सानो गाँठीको ।

    उनले फेरि थपेः माल अड्डाको हाकिमको भाई हुँ पनि भन्नुहुन्थ्यो उहाँले ।

    “खै, जान्न सकिन । कोही होलान गाँउका”, मैले कुरोको विट मारे ।

    मेरो गन्तव्य मालु थियो । त्यसैले मन्थलीबजारमा आएर गाडी कुर्न थालेँ । उहाँ भने मन्थली बजारसम्म कामले आउनुभएको रे । भोलिपल्ट फर्कने कुरा बताउँदै हुनुहुन्थ्यो ।

    बेलुका घर पुगेँ । कुरैकुरामा बुवासँग दिउँसो त्यो मान्छेसँग भएको कुराकानी सुनाएँ । हामी बाबु छोराको सम्बन्ध अलिक औपचारिक प्रकृतिको थियो । अनौपचारिक गफगाफ चाहिँ ममीसँग मात्र हुन्थ्यो । तैपनि दिउँसो भेट भएको त्यो मानिसको मनमा रहेको पोखरेल बाहुनप्रतिको सम्मान अनि उसप्रति दर्शाएको प्रेमका कारण सो पात्रको बारेमा बुझ्ने हुटहुटी चाहि बाँकी नै थियो ।

    ०००

    बुबाले सोध्नुभयो- गाडीमा भेटिएको मान्छे चाहिँ कहाँको रे नि ?

    मैले भने- गुन्सी- भदौरे तिर भनेको थियो तर मैले खासै ध्यान दिइनँ ।

    बुबा मुसुक्क हास्नुभयो र भन्नुभयो- म पनि तिरो उठाउन त गएको थिए । त्यतिबेला तिरो उठाउने डोर भनिन्थ्यो । गुन्सी भदौरे नै हो । नाम थाहा भएको भए म पनि उसलाई चिन्थेँ कि !

    वास्तवमा मलाई त्यतिबेलासम्म बुबाले रामेछाप मालपोत कार्यालयमा काम गर्नुभएको कुरै थाहा थिएन । किनकि उहाँले कहिल्यै भन्नु नै भएन । अनि कसरी थाहा हुनु ?

    घर बनाउने पैसा त्यतिबेलाको जागिरबाटै कमाउनुभएको हो ?

    ममीले भन्नुभएको- २०३७ सालमा बुवाहरू अंशबन्डा गरेर छुट्टिनु भएको रे । बुबालाई हजुरबाको जजमानी धान्नै भ्याई नभ्याई भएपनि त्यसबाट पैसा धेरै नकमिने हुनाले बुवा अलिक पैसा आउने स्रोतको खोजीमा हुनुहुन्थ्यो रे ।

    फेरि हजुरबुबा तगडै त्यतिबेला । दिनकै बेताली, नामाडी र मालू गर्न सक्ने । त्यसैले जजमानी कामबाट केही समयको लागि विदामा जानुभएको, जागिर खान ।

    भिन्नै बसेपछि घर पनि बनाउनुपर्‍यो । पैसाको अभाव । पच्चीस सय नभई आठ वाई पन्ध्र हातको घर नठडिने !

    ठूलोबुवा मालपोतको कर्मचारी । मालपोतमा तिरो उठाउन कर्मचारी नियुक्त गर्नुपर्ने भएछ । त्यतिबेला अहिलेको जस्तो प्रतिस्पर्धा पनि थिएन । ठूलोबुवाले सिफारिस गरेपछि बुबाले तिरो उठाउने जागिर पाउनुभएछ ।

    त्यतिवेला अहिले जसरी स्थानीय निकायले तिरो उठाउँदैनथ्यो । मालपोतले नै उठाउँथ्यो । तर, गाउँगाउँमा डुलेर ।

    ज्यान हत्केलामा राखेर तिरो उठाउनुपर्थ्यो

    गुन्सी भदौरे । त्यतिबेला जनमोर्चाको अखडा । राजनीतिक दलमाथि प्रतिवन्ध लागेको इतिहासको त्यो कालखण्डमा गुन्सी भदौरेमा चाँहि जनमोर्चाको अखडा । राजनितिक क्रियाकलाप त हुनै नै भए, त्यो भन्दा पनि अराजक क्रियाकलापका कारण जनमोर्चा बदनाम थियो ।

    “जनमोर्चाले आफ्नो अधिपत्य घोषणा गरेको स्थानमा तिरो उठाउन जानु भनेको उनीहरुको अस्तित्व माथि सोझो प्रहार थियो । त्यसैले उनीहरुले यो कुरा मन पराउने कुरै भएन । तर पनि बुबाहरुलाई यो काम जसरी पनि सम्पन्न गर्नुपर्ने थियो,”, दाई उद्धव पोखरेलको भनाई छ ।

    बाहुन हो, छोड्दिम …

    कर उठाउने सिलसिलामा बुबा र ठूलोबुबा त्यतैतिरको खै कुन हो, गाँउमा जानुभएको रे । मतानकी माईली हजुरआमा बिरामी भएको कारणले बुबा घरमा आउनुभएछ । ठूलो बुबा सो स्थानको प्रधानपञ्चको घरमा बस्नुभएको । सुरक्षा र सजिलोका लागि प्रधानपञ्चको घरमा बसेर तिरो उठाउँदो रहेछ मालपोत टोलीले । प्रधानपञ्चको घरमा बस्ने, गाउँलेलाई तिरो तिर्न आउ भनेर उर्दी जारी गर्ने । पैसा लिएर रसिद दिने । अनि तिरोबापत उठेको रकम क्यानमा राख्ने । पानी, मोही जस्ता तरल पदार्थ हाल्न प्रयोग गरिने क्यानले त्यतिबेला मनी ब्यागको काम गर्दोरहेछ । नोटभन्दा सिक्काको कारोबार बढी हुनाले गर्दा क्यान नै उपयोगी थियो उ बेला ।

    एक साँझको कुरा हो- जनमोर्चाको स्थानीय समूहाले ठूलोबुबामाथि आक्रमणको प्रयास गरेछ । उनीहरुको उद्धेश्य पैसा लुट्नेमात्र हो भन्ने ठूलोबुबालाई थाहा रहेछ । अनि त क्यान चाँहि प्रधानपञ्चकी श्रीमतीको हातमा थमाईदिएर आफू त्यहाँबाट बाटो तताउनुभएछ । धन्न बाहुन हो, छोडिदिऔँ भनेर छोडिदिएछन् ।

    (‘बुवा’ पुस्तकबाट )

  • बुवा: एक विश्वविद्यालय

    बुवा: एक विश्वविद्यालय

    बुवा !

    आज पनि हजुर निदाउन सक्नुभएन । निदाउनै दिएन दुश्मन समयले ! किन यस्तो भएको समय तिमी ? मलाई क्रूर हुतिहारा समयले बुवाको निद, आराम र स्वास्थ्य पटकपटक क्षीण बनाइरहेकोमा जति आक्रोश अरुमा आउँदैन, तर पनि बुवाबाटै सिकेकी छु, सहनु, सहनु र सहनु । हजुरको निन्द्रा टाढिएसँगै म पनि त टाढिन्छु नि निन्द्राबाट । जीवनमा अरु के चाहिएको थियो र हजुरलाई ? एक झमक गहिरो आनन्दको निन्द्रा न थियो । त्यही निन्द्रा पनि हिजो शरीरमा रगत, पानीको ऊर्जा बसुञ्जेल मजदुरी गर्दागर्दै हराउँथ्यो । निन्द्रा आइहाले पनि त्यसलाई हराइदिने कलामा धेरै निपुण हुनुहुन्थ्यो हजुर !

    कारखानाका साहु, आफूले सानो तहमा नोकरी गरेको सार्वजनिक संस्थान जतासुकै होस्, हजुरको इमानदारीको प्रशंसक को थिएनन् ? हजुरको परिश्रमको भजन कसले गाउँदैन थियो ? तर इमान र मेहनतलाई गणितमा जोडिँदो रहेनछ बुवा । नत्र पसलमा साहुले दिने उधारो र कारखानामा साहुले दिने पेश्की किन कहिल्यै घटेन बुवा हजुरको खातामा ! जिन्दगीभर बैंक खाता नखोल्नुभएका, खोल्न आवश्यकता नै नभइकन जीवनलाई जीविकाकै संघर्षमा लगाइरहनु भयो । हजुरको उधारो र पेश्की खाताहरुले सधैं हजुरलाई लखेटिरह्यो, जिस्काइरह्यो र त्यो भादगाउँले कालो टोपी कहिल्यै नछुट्ने पौरखी शीरलाई शक्तिहीन बनाइरह्यो । किन हजुरले सानो सहयोगी पदको तलब पनि महिनाभरको एकमुष्ठ बुझ्ने अवसर कहिल्यै पाउनुभएन ? दिनभरको थकान, रातभरिको मजदुरीमा रटान, कहिल्यै पुग्दो निन्द्रा सुत्न सक्नुभएन । किन हजुरको सक्रिय जीवनमा पनि निन्द्राले नै सताइरह्यो, तर निन्द्राले नै साथ दिएन ? किन हटेन सक्रिय जीवन रहुञ्जेल हजुरको शीरबाट ऋण ? तर पनि किन डगेन काँधबाट जिम्मेवारी ? किन झन् झन् बढिरह्यो हृदयबाट आत्मविश्वास र भनिरहनुभयो- ‘मेरो कमाइ पनि, मेरो रमाइ पनि र मेरो दबाइ पनि मेरा छोरीहरु हुन् ।’

    बुवा

    हजुर प्रत्येक पटक घर आउनुहुँदा साइकलको दुवै कानमा वढेमानको नाइलनको झोलाभरि हरिया तिहुन तरकारीहरु ल्याउनुहुन्थ्यो । बजारमा भेटेको सकेसम्म ठूलो काउली फूल पात नचुँडिकन, हरियो सग्लो सागहरु, हरियो लसुन र प्याजको सबैभन्दा ठूलो मुठोका टुप्पाहरु साइकलको दुवैतर्फ ह्याण्डलमा बाहिरै निस्केको हुन्थ्यो । टिरिङटिरिङ साइकलको घण्टी बजेपछि सबै तरकारीको झोला झिकेर लस्करै तरकारीहरु राखेर हामी आमा, छोरीहरु कति राम्रो भन्दै हेरेर रमाउँथ्यौं । अनि हजुर झन् रमाउनुहुन्थ्यो । साइकलको पछाडि सीटमा पनि राख्न मिलेसम्मको झोला झुण्ड्याएर, च्यापेर ल्याउनुहुन्थ्यो । प्रत्येक शनिबार कुनै न कुनै पत्रपत्रिका ल्याउनुहुन्थ्यो र खुब पढ्नुहुन्थ्यो । कुनै राम्रो पुस्तक, डायरी पनि कहिलेकाहीँ ल्याउनुहुन्थ्यो ।

    दशैंमा रातो ठूलो भाले नाइलनको झोलाबाट शीर र सिउर बाहिर निकालेर बुवासँगै रमाउँदै साइकलमा घर आइपुग्थ्यो । हामी घरमा काटमार नगर्ने, तर बच्चाहरु रमाउँछन् भनेर हजुरको साथमा ज्यूँदो कुखुराको भाले यसरी आइपुग्थ्यो । हामी धेरै दिनसम्म कुखुरा बाँधेर त्यसलाई खान दिँदा, त्यो बास्दा र चराउन लैजान पाउँदा रमाइबस्थ्यौं । आफ्ना सन्तानका लागि पालनपोषण मात्र होइन, खुशी हुने र खुशी दिने कलामा पनि पूरै मन ओच्छ्याउने हृदय रहेछ बुवा भन्ने विषय भनेर क्रमशः मैले पढ्न सकें । हजुरले ‘क’ अक्षर पढ्नुभएन, स्कूलको दैलो टेक्नुभएन, तर पत्रपत्रिका, पुस्तकहरु पढिरहनु हुन्थ्यो । अनि हजुरले पत्रिका होस् या पुस्तक दुवै हातले फिजारेर पढ्ने बानी असाध्यै मनपर्छ मलाई ।

    हजुर सञ्चो हुनुहुन्छ भन्ने सन्देश हजुरको यो पत्रिका बसाइले घर परिवारभरि सञ्चार गरिदिन्छ । हजुरको सञ्चोसँग सिंगो घरको सञ्चो यसरी सम्प्रेषित हुने गर्छ । त्यसकारण त भनिएको रहेछ, आमाबुवा भएको घर पो घर !

    अहिले रोगव्याधीले हजुरको शरीर कमजोर भएको छ बुवा, जसरी पहिले पहिले कहिले ढलेको वा कहिले बसेको दुवै पोजिसनमा पनि दुवै हातले पत्रिका वा पुस्तक उठाउनुहुन्थ्यो र दुवै पेज फिजारेर पढ्नुहुन्थ्यो, अहिले अवस्था भिन्न छ, तर आदत उस्तै छ, टेबुलमा गोरखापत्रको दुवै पेज फिजारेर लाम्चो हातलाई पनि गोरखापत्रसँगै टेबुलमा सुताएर पढिरहनु भएको जब देख्छु, त्यसको उत्साह र ऊर्जाले दिने आनन्द कतै पाइन्न बुवा ! हजुर सञ्चो हुनुहुन्छ भन्ने सन्देश हजुरको यो पत्रिका बसाइले घर परिवारभरि सञ्चार गरिदिन्छ । हजुरको सञ्चोसँग सिंगो घरको सञ्चो यसरी सम्प्रेषित हुने गर्छ । त्यसकारण त भनिएको रहेछ, आमाबुवा भएको घर पो घर !

    हो नि, कंक्रिटले घेरिएर, छोपिएर आफैंलाई त्यसको मालिक सम्झने हामी मान्छेहरु के मान्छे ? हिजो गाउँमा छाप्रोमा, झुप्रोमा अनि शहरमा आएपछि डेराको एउटै कोठामा पकाउने, खाने, बस्ने र एकले अर्कोलाई देख्ने गरी सामूहिकतामा दुःखमा मलम, सुखमा साक्षी कति सरल एवं हृदय जोडिएको जीवन पद्धति थियो । आज धेरैको सानो या ठूलो या जस्तो भए पनि घर छ, तर घरमा के छ ? कोठा छ, टीभी छ, ल्यापटप छ, आइप्याड छ, आइफोन, ट्याब्लेट, मोबाइल छ । आफैंलाई जाँच्छु अनि खुरुरु बुवातिर भाग्छु । बुवा हुनुहुन्छ र घर सुवासित छ । घरका सबै कंक्रिटहरुमा प्राण भरिएका छन् । ती कंक्रिटले पनि बुवासँग बस, खाउ, कुरा गर भनिरहेको हुन्छ । बुवामात्रै होइन, म जहाँजहाँ बुवा उच्चारण गरिरहेकी छु, ती सबैमा आमा स्वतः गाँसिनुभएकै छ । किनकि हामी सन्तानहरु त्यही आमाबुवाको हिजोको ऋण, आजको धन दुवै हौं । अँ ! कंक्रिटलाई पनि प्राण भरिदिने र सबै निरसतालाई चिरिदिने भएर न हो घरप्रति प्रेम, आस्था र भरोसा जागेको । साँच्चै हामीले त नाम नै दिएका छौं आमाको घर !

    हाम्री निरक्षर, तर अद्भूत विदुषी आमाको विषय पछि लेखुँला ।

    सानैदेखि बुवा पढ्न लेख्न रुचाउने व्यक्तिको रुपमा हुनुभएकै कारणले हो, बुवाले पढ्नुभएपछि थपक्क पढ्ने आदत मैले हासिल गर्दै गएँ । बुवा विशेषगरी गोरखापत्र र कहिलेकाहीँ कान्तिपुर अनि विभिन्न साप्ताहिक पत्रिकाहरु किनेर ल्याउनुहुन्थ्यो । शनिबार त अझ धेरै किन्नुहुन्थ्यो र खाना खाएपछि केही समय पढ्नुहुन्थ्यो । अरु बेला चाहिँ राति सुत्नुअघि पढ्नुहुन्थ्यो । विद्यालयको प्राङ्गण नटेकेको, तर कसरी पढ्न जान्ने हुनुभो भनेर सोध्न सकेका रहेनछौं हामीले । यो कुरा धेरैपछि बोध भयो मलाई । हामी धेरै छोराछोरीहरु बुवाआमासँग निकट भएर उहाँका विषयहरु सोध्दारहेनछौं । हजार सपना बटुलेर सिंगो भावना, चाहना सशरीर सन्तानमै समर्पित हुने आमाबुवाको रूचि, प्रभाव, क्षमता, अनुभवका विषयमा खुलेर कुरा गर्दा त्यसको प्रभावले पारिवारिकतालाई छुट्टै प्रेम र प्रेरणा दिन्छ ।

    बुवाले पेट्रोल पम्पमा पेट्रोल भर्ने काम गर्नुहुन्थ्यो । पैसा हिसाबकिताब पनि गर्नुपर्ने, त्यही साहुको छोराले गोरखापत्र पढ्ने, बुवालाई पढ्न नआउने, बुवाले पढ्न रहर गर्नुभएको देखेपछि साहुका छोराले लु पढ भनेर कखरा सिकाइदिएछन्, कापी, कलम दिएछन् । त्यहीबाट बुवाले अक्षर सिक्नुभयो र पछि गोरखापत्र च्यातेर एक, एक टुक्रा लिँदै कोठामा गएर त्यसको हुबहु नक्कल गर्दै सार्दै, वाचन गर्दै अभ्यास गर्नुभएपछि पूरै अक्षर छिचोल्नुभएको रहेछ । अक्षरलाई आफ्नो बनाउने उहाँको संघर्ष सुन्दा हलुंगो लाग्न सक्छ, तर त्यतिबेलाको समयको त्यो चाहत र प्राप्तिका लागि गरेको परिश्रम निकै गहुँगो छ र रोचकता छ । कसैले पत्तो नपाइ रातभरि र दिउँसो खाना खाने समयमा पाएको समयसमेत उपयोग गरी पढ्नसक्ने हुनुभएको यो कथा धेरै धेरै वर्ष पछाडि (लगभग १० वर्ष अगाडि मात्र हुँला) म आफैंले सोधेपछि मात्रै उहाँले भन्नुभएको थियो ।

    बुवाले पढ्नुभएको रातो खोल भएको पुस्तक थियो र इन्द्रजाल भन्ने पुस्तक पनि पहेंलो किरिङ्गमिरिङ्ग मैलो रङ्गको पुस्तक मैले बाकसमा देखेकी थिएँ । दुवै पुस्तक अलि अलि पढ्दै थिएँ बुवालाई छलेर । अरु के के धार्मिक पुस्तकहरु पनि थिए ।

    उहाँमा सिक्ने उत्सुकता अनि गोपनीयता पनि कति रहेछ भन्ने कुराले गदगद् भएकी थिएँ । आफू यसरी पढ्नुभएकै कारणले होला आफ्ना सबै सन्तानलाई जसरी पनि पढाउँछु भन्ने उहाँको अठोटले उपलब्धि हासिल गर्न निकै समय लाग्यो, ती समयहरुले अत्यधिक अभाव, कठोर कष्ट, सन्त्रास, अत्यास, यातना दिएर गए तापनि अठोटले परिणाम दिएर गयो । हाम्रो बुवालाई त्यो किशोर युवा अवयवमा पनि पेट्रोल पम्पमा यसरी काम दिने, काम दिँदादिँदै अक्षर चिन्न सघाउने ती साहु र तिनका छोरा तथा गोरखापत्रलाई समेत हृदय चढाएर धन्यवाद भन्न चाहन्छु । त्यो समयले दिलाएको अक्षर चेतनाले बलेको बुवाको हृदयले नै हो आज उहाँका हामी ६ वटै छोरी अक्षर चेतना र त्यही चेतनाले जागृत बुवाको शिक्षित र अब्बल सन्तान हुन एक हिसाबले सफल छौं ।

    सफलताको परिभाषा हजार हुन सक्छन्, तर हामी जस्तो बुवाकै किशोरकालदेखि पुर्ख्यौली पहाड झरेर शहर पसेको, शहरले नचिनेको, नदेखेकोहरुले नै यही शहरमा हातनङ्ग्रा नौनाडी खियाएर हामीलाई मात्र होइन, यही शहरलाई आफ्नोपन दिएर हजार गुणले सिंगारेका छौं । आजका मूल्यवान समावेशी, सांस्कृतिक काठमाडौं शहर हुनुमा हामी जस्ताहरुको शारीरिक र बौद्धिक दुवै श्रमको यथेष्ट लगानी छ । हाम्रो बुवा जस्तो अनपढ मजदुरको लागि जीवनको उच्च सफलता भन्नु नै छोरीहरुले पढून् र आफ्नै पौरखले गरिखाऊन्, आफू जस्तै हातमुख जोर्न अभाव नपरोस्, बुद्धिले गरिखान सकून् भन्ने न थियो ।

    बुवाले पढ्नुभएको रातो खोल भएको पुस्तक थियो र इन्द्रजाल भन्ने पुस्तक पनि पहेंलो किरिङ्गमिरिङ्ग मैलो रङ्गको पुस्तक मैले बाकसमा देखेकी थिएँ । दुवै पुस्तक अलि अलि पढ्दै थिएँ बुवालाई छलेर । अरु के के धार्मिक पुस्तकहरु पनि थिए । मलाई रातो पुस्तकले ध्यान खिचेको थियो, त्यो माओत्से तुङको पुस्तक रहेछ, सानै थिएँ केही नबुझे पनि त्यो पूरा पढ्ने रहर थियो । पछि त्यो पुस्तक खोज्दा पाइनँ, बुवालाई सोध्दा पुलिसले समात्छ त्यो देख्यो भने, मैले च्यातेर मिल्काइसकें भन्नुभयो । अनि मैले पढेको भन्दा अचम्म मान्नुभयो । किन यसो भन्नुभयो होला भन्ने लागेको थियो त्यतिबेला, तर पछि बुझ्दै गएँ, नेपालमा राणा शासनविरोधीहरु, कम्युनिष्ट क्रान्तिकारीहरुलाई खोजीखोजी समात्ने, जेल हाल्ने र मार्ने गरिरहेको समय रहेछ त्यो बेला । राजनीतिक विषयमा बुवाको चासो र सूचना अद्यावधिक गर्ने आदत त्यतिबेलादेखि रहेछ भन्ने अन्दाज गरें । पछिपछि त बुवा युनियन बनाउन उद्यत, विभिन्न कार्यक्रमहरुमा भाग लिने, मन्तव्य दिनेलगायतका कतिपय प्रदर्शनीहरुमा हामी सँगसँगै सहभागी हुन्थ्यौं । राजनीतिक चेतनाको बिज पनि हाम्रो परिवारमा यसरी बुवाले नै जगाउनुभएको थियो ।

    हामी तामाङ समुदायको, आदर सम्मान, देवपितृ व्यवहारहरु बौद्ध संस्कृतिअनुसार नै गरिन्थ्यो, तर आमाबुवाले कोठामा सानो लाथान बनाउनुभएर पूजा गर्नुभएको र हामीलाई पनि सिकाउनुभएको संस्कार आज पर्यन्त उस्तै छ । थानमा बुद्ध, गणेश, लक्ष्मी, महादेव, पार्वती, कृष्णका फोटोहरु सँगै छन् । बुद्धलाई बुद्ध परम्पराअनुसार र हिन्दू देवीदेवतालाई हिन्दू परम्पराअनुसार । पूजा प्रार्थना विविध पर्व संस्कृति दुवै परम्पराबाट । मन्दिर पनि जाने, गुम्बा पनि जाने । आमाबुवाको यो मिश्रित संस्कारले धार्मिक, सांस्कृतिक विविधताको उपयोग तथा सहिष्णुताका विषयमा बुझ्नसक्ने ठूलो आधार बनायो । बुवाले लगभग सबै पुराण पढ्नुभएको छ । आमा भजनको पारखी । अहिले पनि घरको एकातिर भित्तामा बुद्ध र थाङ्काको थान, अर्कोतिर भित्तामा विभिन्न देवीदेवताको थान । मोलम, छ्योपो पनि सँगै, पूजाआरती पनि सँगै । आखिर देवताहरु कहाँ नमिलेका हुन् र ? देवताको नाममा मान्छे पो नमिलेका ।

    बुवाले लगभग सबै पुराण पढ्नुभएको छ । आमा भजनको पारखी । अहिले पनि घरको एकातिर भित्तामा बुद्ध र थाङ्काको थान, अर्कोतिर भित्तामा विभिन्न देवीदेवताको थान । मोलम, छ्योपो पनि सँगै, पूजाआरती पनि सँगै । आखिर देवताहरु कहाँ नमिलेका हुन् र ? देवताको नाममा मान्छे पो नमिलेका ।

    बुवा !

    कति बलियो, कति सामान अट्ने र हातभरि बोकेर हिँड्न सजिलो हजुरको सक्रिय समयको नाइलनको झोला आज मसँग छैन, तर जसरी बुवाले हामी खुशी हुन्छन् भनेर आफ्नो रोजाइको होइन, हाम्रो रोजाइको तिहुनदेखि लिएर अनेकानेक चिजबिजहरु ल्याउनुहुन्थ्यो, आज त्यही खुशी खोज्ने कला हजुरबाट सर्लक्क स्थानान्तरण भएको छ हृदयमा । अहिले त हामीलाई सजिलो छ, टोलटोलमै मार्टहरु छन्, साना तथा ठूल्ठूला बजार छन् । स्थानीय हाट तथा रैथाने बजार छन् । सुपरमार्केटहरु छन् । कहिलेकाहीँ बुवालाई मनपर्ने असन बजार पनि जान्छु र खोज्छु बुवालाई मनपर्ने तिहुन तरकारीहरु । सकेसम्म खोज्छु ठूलो काउली, कलिलो काँक्रो, रसिलो मुला, हरियो सर्लक्क परेको ताजा साग, हरियो ताजा लसुनप्याज । अनि अरु खत्र्याकखुत्रुक बुवा खुशी हुने खालका अन्दाज गरिएका चिजबिजहरु । घरमा ल्याएर झोला सर्लक्क राख्छु, बुवाका हातहरु सुस्तरी छुनमुन गर्दै के ल्यायौ भनेर जब झोला खोतल्न पुग्छ, मन पूरै भावनाले उडाउँछ र भनिबस्छ- समय कस्तरी फर्कंदोरहेछ । सायद यस्तै समयलाई भनिएको होला, जीवनमा एक पटक फेरि फर्कन्छ बालापन ।

    हजुरको जीवन गतिलाई ठूलो रफ्तारले हाँकिदिएको हजुरको सक्रिय साथी त्यो पुरानो र बुढो साइकल आज पनि घरको आँगनमा शान्त छ । कुचो कसेर लगाउँदा, सरसफाइ गर्दा छोइन्छ र साइकलको घण्टी टिरिङ्गरिङ्ग बजाउन मन लाग्छ । प्रत्येक पटक घरभित्र आउँदा र बाहिर जाँदा साइकलले हाँसेर स्वागत अनि गुडबाइ गर्छ । प्रत्येक दिन दुई घण्टा साइकल खियाएर आफ्नो दैनिकी नोकरीका लागि कार्यालय आउजाउ र साँझ–विहान थप मजदुरी गर्ने गरेको त्यो शरीरलाई एक बिहान कार्यालय गइरहेको समयमा सिंहदरबारको गेटै अगाडि मिनि बसले ठक्कर दिएपछि वीर अस्पतालको बेडमा सेतो सफेद कमीज रक्ताम्य भएर लडिरहनु भएको याद फेरि ताजगी गराइदिन्छ पिँढीको साइकलले । हजुरको जीवनमात्र होइन, हामी सन्ततिहरुको जीवन बसाउने र बनाउने आधार पनि बन्यो बुवा त्यो साइकल ।

    आज पिँढीमा निष्क्रिय र एकान्त छ साइकल जसरी घरभित्रै हजुर शान्त र एकान्त हुनुहुन्छ । नलाग्नुपर्ने सबै रोग, नव्यहोर्नुपर्ने सबै कष्टले छोपिदिएका छन् हजुरको शरीरमा । २२ प्रकारका औषधि धन्न धान्नुहुन्छ हजुर । चिकित्सा विज्ञानले पनि हजुरको शरीर पाएकै रछ जस्तो लाग्छ, हर उपचारको अभ्यास बनिरहेछ हजुरको शरीर । विचार, व्यवहार, आहारविहार र जीवन संघर्षले कहिल्यै हार्न नजानेको हजुरले आज औषधिहरु मकैभटमास जसरी खाइरहनु परेको निस्सार अनुहार देख्दा कति निष्ठुर लाग्छ समय, तर फेरि पनि जीवनलाई सधैं सकारात्मक, नैतिक धरातलीय र सरल बनाइरहन बाटो देखाइरहने बुवा हजुरकै मार्गदर्शनले सगरमाथा जसरी उठाइदिन्छ मनोभावना ।

    कहिलेकाहीँ बुवालाई मनपर्ने असन बजार पनि जान्छु र खोज्छु बुवालाई मनपर्ने तिहुन तरकारीहरु । सकेसम्म खोज्छु ठूलो काउली, कलिलो काँक्रो, रसिलो मुला, हरियो सर्लक्क परेको ताजा साग, हरियो ताजा लसुनप्याज ।

    यस पटक पटकपटक गरी लामो समयको अस्पताल बसाइले निकै दिक्किनु भयो हजुर । समयले निकै सन्त्रस्त बनायो हामीलाई । अहिले पनि हप्तादिनमा अस्पताल ओहोरदोहोर, आधा दर्जन चिकित्सकको निगरानी अनि करिब २ दर्जन औषधिहरुको साथ सामान्य लाग्न थालिसक्यो अब । हजुरको मनोबल, असल सोच र कर्मको प्रतिफल अनि चिकित्सकहरुको विशिष्ट सेवाले हजुर सञ्चो हुनुभो, तर औषधिसहितको । हिजोअस्तिको भन्दा अझ थप औषधिसहितको सञ्चो । कति सियोहरु घोच्नु त्यो शरीरमा, कति बिजुली मेशिनहरुमा हुल्नु, छुवाउनु त्यो कमजोर शरीर ? कति पम्प लगाउनु ब्लड प्रेसरको ? कति अस्पतालको दैलो टेकाउनु ?

    यी स्मृतिमा हराउँदा अहिले रातको १२ः३१ बजिसकेछ । बुवा मस्त निदाउनुभयो, आज मैले अलिकति भिक्स दलिदिएँकी थिएँ । २ दिनपछि बुवाको मुख हेर्ने दिन हो, के ल्याइदिउँ, कता घुमाउन लैजाउँ भनेर अघिन नेटीभीमा समाचार हेर्दाहेर्दै सोधेकी थिएँ । कतै घुम्न जानभन्दा घर बसिरहनै मनलाग्छ भन्नुभयो । बुवाको प्रिय नेपाल टेलिभिजन र पत्रिकामा सधैं गोरखापत्र । सधैं झैं म बुवाको खाटमुनि आफ्नो ओछ्यान सुस्तरी मिलाउँदैछु, बुवा ख्वाक्क खोक्नुभो, कफ अड्किन्छ र दुःख दिन्छ बेलाबेला । म एकछिन ध्यानदृष्टि दिन्छु, सुम्सुम्याउँछु । बुवा कहिलेकाहीँ खुइया सुइना हाल्नुहुन्छ, तर्सेर मेरो जग थर्किन्छ फेरि एक पटक ! कति लेख्नु, केमात्रै लेख्नु ! संसारमा सबैका आआफ्ना कथा हुन्छन्, तैपनि प्रेरणाका लागि लेखें । बुवा जीवनको मेरो पहिलो पाठशाला त हो नै, आजभोलि उहाँको सिंगो जीवन नै एक विश्वविद्यालय मान्छु । त्यसैले यो आलेख फेरि एक पटक पढ्न लेखें, बुझ्न लेखें ।
    २०८१ भदौ १५

  • देउवामाथि गोली प्रहार गरिएको त्यो क्षण

    देउवामाथि गोली प्रहार गरिएको त्यो क्षण

    ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार भने । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमा कांग्रेस सभापति देउवालाई लक्षित गरेर गोली प्रहार गरेको घटना विस्तृत रुपमा उल्लेख छ । पुस्तक विमोचन गर्दै कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना स्मरण गरेका थिए ।

    पुस्तकका विषयमा बोल्दै एमाले सचिव लेखराज भट्टले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरे । ‘त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सन्देश फैलिएको देखिन्छ’, उनले भने ।

    तत्कालीन विद्रोही पक्ष माओवादीले उनीमाथि २०५९ भदौ ८ गते दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर बजार नजिकैको वन क्षेत्र आमखैयामा आक्रमण गरेको थियो । अपराह्न ४ बजे बाँकेको नेपालगञ्ज पुग्ने तयारीसाथ कैलाली सदरमुकाम धनगढीबाट हिँडेको ४५ मिनेटपछि कांग्रेस सभापति देउवा सवार गाडीमाथि माओवादी लडाकुहरूले एलएमजीबाट अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

    माओवादीले चलाएको हतियारबाट छुटेको गोलीले देउवा सवार गाडीको पछाडिका दुवै टायर पन्चर भएका थिए । गाडीको बोनट, पछाडिको दायाँतिरको बत्ती र बायाँतिरको अगाडिको टायरको माथिल्लो भागमा गोली लागेको थियो ।

    पत्रकार उपाध्यायले उक्त घटनबारे पुस्तकमा प्रहरी निशानामा रहेको तर, भूलवश देउवा परेको विषय उल्लेख गरेका छन् । ‘युद्धविरामको समय थियो । त्यही बेला घर आएका चार जना माओवादी कार्यकर्ताहरू मसुरियाको बढैपुरमा प्रहरीको आक्रमणमा मारिए । उक्त घटनापछि माओवादी प्रहरीसँग क्रुद्ध थियो । उसले योजना बनायो, ‘हत्याको बदला हत्या’ । प्रहरीलाई त्यसरी नै मार्ने, जसरी आफ्ना साथीहरूलाई प्रहरीले मार्‍यो’, उनले पुस्तकका लेखेका छन् ।

    प्रहरीको बाटो ढुकेर केही दिनदेखि माओवादी जनमुक्ति सेनाको बटालियन मसुरिया, पहलवानपुर क्षेत्र आसपासमा थियो । बटालियन कमान्डर थिए, विजय केसी । उनको टीमले प्रहरीको टोली अत्तरियाबाट पूर्वतर्फ आइरहेको सूचना पायो । प्रहरीलाई आक्रमण गर्ने योजना पहिलेदेखि बनाइरहेको माओवादीले आक्रमणका लागि स्थान रोज्यो, पहलवानपुरको आमखैया जङ्गल ।

    मसुरियाबाट पहलवानपुर नपुग्दै बाटोमा पर्थ्यो, आमखैया । बाटोको दुवैतर्फ डाँडा थिए । डाँडाबाट सडकमा गुडिरहेको गाडीमाथि आक्रमण गर्न सजिलो हुने माओवादीले आकलन गरे । र, दुवैतर्फको डाँडामा आक्रमणको तयारी गरेर माओवादी लडाकुहरू प्रहरीको गाडी कुरिरहे ।

    ‘जब साँझ पर्‍यो सबैतिर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि कैलालीको आमखैयामा माओवादीद्वारा आक्रमण गरिएको समाचार आयो । तब भने हामी झस्कियौं’, आक्रमणमा संलग्न कमान्डर केसीले भने, ‘हामीले प्रहरीलाई आक्रमण गर्ने योजना बनाएका थियौं, तर भूलवस पूर्वप्रधानमन्त्री देउवा चढेको गाडीमाथि आक्रमण गरेछौं ।’

    ‘हाम्रो इन्टेलिजेन्सले हामीलाई प्रहरी आइरहेको सूचना दिएको थियो, त्यही सूचनाका आधारमा हामी आमखैयामा आक्रमणका लागि तयारी अवस्थामा बसेका थियौं’, केसीले थपे, ‘जब प्रहरीको गाडी आयो, तब हामीले डाँडाबाट एलएमजीले आक्रमण गर्‍यौं । गोलीले गाडीमा क्षति पुगे पनि चालकले नियन्त्रण नगुमाई गाडी हुइँक्याएर लगे र मानवीय क्षति हुन पाएन । देउवामाथि आक्रमण नियोजित थिएन । त्यो भूलवश भएको घटना थियो ।’

    त्यही कारण साँझ सुदूरपश्चिम ब्युरो इन्चार्ज पोस्टबहादुर बोगटीले भूलवस देउवामाथि आक्रमण भएको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागे ।

    पुस्तकबारे पत्रकार उपाध्यायले त्यो समयको साक्षीको रुपमा आफूले प्रस्तुत गरेको बताएका छन् । ‘यो पुस्तक पत्रकारिताको त्यो कालखण्ड भोगेको हरेकको अनुभव हो । आज पत्रकारले यो पुस्तक पढेर त्यो कालखण्डको पत्रकारको पीडा, भोगाइ, सङ्घर्ष, अनुभव, प्रताडना महसुस गर्ने मेरो विश्वास छ’, उनले पुस्तकका उल्लेख गरेका छन् ।

    उनले माओवादीको विथोलिएको आमसभा,पण्डौनले व्यहोरेको युद्ध मुर्दा शान्तिमा बनबेहडालाई विस्तृत रुपमा उल्लेख गरेका छन् ।

    २०६२ साल जेठ ३० गते राति बनबेहडा बजारमा डेरा गरी बस्ने सशस्त्र प्रहरीका परिवारका तीन महिला, एक नाबालक र सशस्त्र प्रहरीमा भर्ना हुन आएका तीन जनाको सुतेकै अवस्थामा क्रूरतापूर्वक हत्या गरिएको थियो । साना बालबालिकालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको हेर्नै नसकिने विभत्स दृश्य । ओहो ! मान्छे कसरी यत्ति क्रूर निर्दयी हुनसक्छ’, उनी पुस्तकमा लेख्छन्, ‘ती अबोध बालक, जसले कसैको बिगार गरेको छैन, जसले युद्ध बुझेको छैन । तिनलाई यति क्रूरतापूर्वक हत्या गर्ने हातहरू किन कापेनन् ।’

    पत्रकार उपाध्यायले आफूलाई समाचार लेखेपछि आएका धम्कीहरूका विषयमा पनि उप्काएका छन् । युद्ध त्रासदीमा अछाम युद्ध रिपोर्टिङको अनुभवमा उनले नागरिकहरूले सेना र माओवादीबाट पाएको यातनालाई उतारेका छन् ।

    ‘माओवादीको समर्थक हो भन्ने सुइँको पाए सेनाले मार्ने, सेनाको समर्थक वा सुराकी भएको थाहा पाए माओवादीले मार्ने, आमनागरिक दोहोरो चेपुवामा थिए’, पत्रकार उपाध्यायले लेखेका छन् ।

    सैन्य क्याम्पमा बिताएका चार रात र आँखाका कैद आक्रमणमा पत्रकारको पीडालाई सविस्तार वर्णन गरेका छन् । २०६५ साल जेठ १३ गते पत्रकार लक्की चौधरीको अपहरण, त्यसपछिको पत्रकारले भोग्नु परेको त्रास र धम्की, धनगढीमा लगाइएको कर्फ्यु र पत्रकारलाई जोगाउन गोली चलाउँदा तीन जनाको मृत्यु भएको विषय पनि उल्लेख गरेका छन् ।

    नेपाली पत्रकारहरूले शान्ति प्रक्रियापछि भोगेको सबैभन्दा नमीठो घटनाको रुपमा पत्रकार उपाध्यायले उक्त घटनालाई व्याख्या गरेका छन् ।

    एफएम लुटिएको घटना, माओवादीले पाएको धक्का र न्याय पर्खिरहेको परिवारमा पनि माओवादी, सेना दुबैबाट पत्रकारले पाएको सास्ती विस्तृत रुपमा उतारिएको छ ।

    २०६४ साल असार २१ गते कञ्चनपुरबाट बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरीको अवस्था अझै अज्ञात छन् । उनको परिवारले अझै न्याय पर्खिरहेको विषय र २०६२ साल साउन ५ गतेपछि अर्का पत्रकार नरेन्द्र उपाध्यायले सेनाबाट पाएको बर्बर यातना र २०६५ साल असोज २२ गते अपहरण गरेर हत्या गरिएका पत्रकार जगप्रसाद जोशीकाे परिवारले अझै न्याय नपाएका विषय पनि पुस्तकमा छन् ।

    निर्दोष मारिएका दुई घटना उनले सेनाको बर्बरताको पराकाष्ठालाई चित्रण गरेका छन् । भिडन्त हुँदाहुँदै रिपोर्टिङ गर्दाको खतरा र सेनाले पत्रकारलाई दिएका धम्कीहरू पनि पुस्तकमा समेटिएका छन् । माओवादीले २०६१ असार २७ गते उपमहानगरपालिका नजिकै राजाबाट मनोनीत मेयर धनबहादुर बमको गोली हानेर हत्या गरिएको विषय र त्यसपछि माओवादीभित्रै बढेको अन्तरद्वन्द्व पनि पुस्तकमा उल्लेख छ ।

    न्याय नपाएको परिवारका न्याय पाउने आशा, रोल्पादेखि डोटीसम्मको यात्रामा भोगेको पीडा र सास्ती, डोटीको उत्तरी भेगमा बिताएको पाँच दिन र देउवामाथिको आक्रमण पनि पुस्तकमा समेटिएका छन् ।

    पत्रकारको सङ्घर्षमा पत्रकार उपाध्यायले विभिन्न समयमा विभिन्न पक्षबाट मारिएका, बेपत्ता पारिएका पत्रकारहरूको विवरण पनि पुस्तकमा समावेश गरेका छन् । उनले महासङ्घको खस्किँदो छविबारे पनि प्रश्न गर्न छुटाएका छैनन् ।

    पत्रकार उपाध्यायले सार्वजनिक गरेको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमा द्वन्द्वका विभत्स हत्या, मारमा परेका परिवार र सबै पक्षबाट पत्रकारले खेप्नुपरेको हप्कीदप्की सबैलाई तथ्यगत रुपमा तिथिमितिसहित उल्लेख गरेका छन् । यो पुस्तक एउटा पुस्तकमात्रै नभई हिजोका घटना भोलि सम्झाउने एउटा दस्तावेज पनि भएको छ ।

  • अहिलेको तीज गीत हेरेर मैले छोरीलाई के सिकाउने ?

    अहिलेको तीज गीत हेरेर मैले छोरीलाई के सिकाउने ?

    मलाई चाडहरुमा तीज पन पर्थ्यो । किनकि मेरी आमाको अति मनपर्ने चाड थियो तीज । दशैंतिहारमा पारिवारिक दायित्व बढी हुने भएर पनि होला आमा तीजमा अलि बढी रमाउनुहुन्थ्यो । आमालाई मनपर्ने चाड भएर होला दशैंमा आमाको हातको टीका थाप्न कोहलपुर जान नपाए पनि आमा रहुञ्जेल तीजमा भने म माइत जान्थें ।

    कोहलपुरको छोरी विवाह भएर झापा पुगेपछि दशैंमा घर र माइत दुवैतर्फको टीका लगाउने अवसर पाउँदिनथें मैले । त्यसैले तीजमा भने सधैं आमाकहाँ पुग्ने गर्थें । छोरी आउँछे भनेर आमा दरका लागि केही दिन अघिबाटै तयारी गर्नुहुन्थ्यो । गावा, तामा, काँक्रोको अचार जोहो गर्न आमा केही दिन अघिबाटै लाग्नुहुन्थ्यो ।

    कोहलपुरमा विशेषगरी कृष्ण जन्माष्टमीबाट तीज सुरु हुन्थ्यो । साँझ सबैको घरमा खाना खाएपछि टोल छिमेकका महिलाहरु एउटाको घरमा जम्मा भएर तीजका भाका निकाल्थे । कर्णबहादुर थापा, अमृत तेल मिल, गोपाल बस्यालका घरमा पालो गर्दै मध्यरातसम्म मौलिक तीज गीत घन्कन्थे ।

    अहिले मेरी आमा पनि हुनुहुन्न । अनि कोहलपुरमा त्यो मौलिकता पनि छैन । मौलिक तीज गीतका ठाउँमा युट्युबबाट सार्वजनिक हुने आधुनिक गीतले तीजलाई छपक्क छोपेको छ । कोहलपुरमा अहिले ती घरहरुमा पनि तीजको जमघट हुन छोड्यो । अहिले पार्टी प्यालेस र होटलहरुमा पुगेको छ तीज । कृष्ण जन्माष्टमीबाट गाउँघरमा लाग्ने तीज अब पार्टी प्यालेसमा हुने दरमा सीमित भएको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा दर खाँदै सर्जकले सार्वजनिक गरेका गीत बजाएर नाच्ने र रमाइलो गर्न थालिएको छ ।

    कृष्ण जन्माष्टमीबाट गाउँघरमा लाग्ने तीज अब पार्टी प्यालेसमा हुने दरमा सीमित भएको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा दर खाँदै सर्जकले सार्वजनिक गरेका गीत बजाएर नाच्ने र रमाइलो गर्न थालिएको छ ।

    तीजको दिन गाउँ-टोलका महिला एक ठाउँमा जम्मा भएर मादल बजाउँदै स्थानीय भाकामा छमछमी नाच्दा घाँसे मैदान माडिन्थ्यो । त्यो परम्परा हराएको छ । आसपासका गाउँबाट भेला भएर तीजको मेला हुने ठाउँमा ठूल्ठूला भवन बनेका छन् । सडक छेउमा आजभोलि स्टेज बनाएर औपचारिक कार्यक्रम हुने गर्छन्, जसले तीजको प्यास मेटाउँदैन । केवल औपचारिकतामा मात्र सीमित भएको छ तीज । हाम्रो गाउँमा मात्र होइन, देशभरि नै तीजको रौनक र मौलिकता हराएको छ ।

    समय परिवर्तनशील छ । समयसँगै आएको परिवर्तनलाई स्वीकार गर्नु हाम्रो बाध्यता हो । समयसँगै प्राविधिक भएको तीजसँग म पनि अभ्यस्त हुन थालेको थिएँ । घरमै युट्युब, टिकटकमा तीजका गीत खोज्दै सुन्न मलाई निकै रमाइलो लाग्छ । अघिल्लो वर्ष ‘चोली पुरानै, साडी पुरानै… कल्ले देख्यो’, ‘अरेली काँडैले’, ‘लाहुरे दाइको टुम्लेटमा पानी’ लगायतका तीजका गीत युट्युबमा खूब हेरें । केही तीजका गीतमा टिकटक पनि बनाएँ । ‘तीजको रहर आयो बरिलै’ भन्ने गीत त सदाबहार नै हो ।

    तर यो वर्ष मलाई तीज आएन । कृष्ण जन्माष्टमी गैसक्यो, बजार तीजका पहिरनले भरिएका छन्, तर निकै मनपर्ने चाड तीजमा मैले यो वर्ष टीभीमा गीत हेर्न सकेकी छैन । यो वर्ष टिकटक पनि बनाइनँ । पछिल्लो समय प्राविधिक हुँदै गएको तीज यो वर्षदेखि भने उच्छृंखल भयो । घरमा १० वर्षकी छोरी छ, उसका अगाडि म तीजका गीत हेर्न नसक्ने भएँ ।

    तीज गीतको मर्म भनेको महिलालाई केन्द्रमा राखेर महिलाद्वारा गाइने गीत हो । महिलाले भोगेका पीडा, समस्या, वेदनालाई तीज गीतमार्फत अभिव्यक्त गर्ने परम्परागत शैली हो, तर अब तीजका गीतहरु सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएको र कलाकारहरुसमेत व्यापारिक बनेका छन् । तीज आउनु तीन महिना अघिदेखि नै युट्युबमा गीतका भिडियो सार्वजनिक हुन्छन्, तर ती गीतहरु तीजको मौलिकता जोगाउनेभन्दा पनि भ्युज कमाउने उद्देश्यबाट प्रेरित छन् ।

    सडक छेउमा आजभोलि स्टेज बनाएर औपचारिक कार्यक्रम हुने गर्छन्, जसले तीजको प्यास मेटाउँदैन । केवल औपचारिकतामा मात्र सीमित भएको छ तीज । हाम्रो गाउँमा मात्र होइन, देशभरि नै तीजको रौनक र मौलिकता हराएको छ ।

    यो वर्ष तीजको अवसरमा सार्वजनिक भएका गीत ‘मायाको पोको चोखो छ चोखो बिहे अघि दिन्न म लरीलरी लै’, ‘रननन रन्काउँदै ए होई मादलु घन्काउँदै’, ‘हेर्नीले हेर्छ मलाई सुन्नेले सुन्छ’, ‘टिकटकमा भाइरल भा हल्लाएरै हो’, ‘चियर्स बियर’लगायतका गीतहरु सार्वजनिक भए ।

    छाडा, अश्लील र द्विअर्थी शब्द भएका यस्ता गीत मोबाइलमा अचानक बज्यो भने पनि सार्वजनिक स्थानमा लज्जित हुनुपर्ने अवस्था भएपछि कसरी छोरीका अगाडि गीत हेर्दै रमाइलो गर्नु ? नयाँ कलाकारमात्र होइन, स्थापित कलाकारहरु पनि भाइरल र भ्युजका पछि कुद्दा तीजको मौलिकता छाडापनमा परिवर्तन भएको छ ।

    त्यसो त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीज पर्वलाई मर्यादित बनाउन र पर्वको मौलिकता झल्काउने गीत प्रस्तुत गर्न कलाकारहरुलाई सार्वजनिक आग्रह गर्दै आएको छ । संस्थाका अध्यक्ष रीता थापा मगरले यस्ता गीतहरुको निगरानी गरेर कलाकारसँग स्पष्टीकरण सोध्ने गरेको बताए पनि छाडा गीत सार्वजनिक हुने प्रक्रिया भने रोकिएको छैन ।

    कलाकारिताको क्षेत्रमा स्थापितहरुले नै अपाच्य गीत गाउन थालेपछि प्रतिष्ठानलाई पनि अप्ठेरो परेको छ । अपाच्य गीत र अश्लील भिडियो भएका गीतका सर्जकलाई गीत सच्याउन र भिडियो हटाउन प्रतिष्ठानले आग्रह गरेको भए पनि फेरि उनै कलाकारले उस्तै प्रकृतिका गीत सार्वजनिक गर्न भने छोडेका छैनन् । ‘विस्तराले पोल्यो’ भन्ने गीतले अश्लीलता फैलाएको भन्दै चौतर्फी आलोचना भएकै बेला सोही टीमले फेरि त्यस्तै प्रकृतिको अर्को गीत ‘जवानीले पोल्यो’ सार्वजनिक गर्‍यो ।

    यस्ता गीतहरुमा तीज आयो भन्दै कसरी नाच्ने ? यो वर्षको तीजमा सधैं झैं विष्णु माझीको गीत सार्वजनिक भएपछि मात्र तीज आए जस्तो भयो । उनको गीत सार्वजनिक भएपछि भने सामाजिक सञ्जालहरुमा एक प्रकारको तरंग उत्पन्न भयो । गीत सार्वजनिक भएपछि लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष थापा मगरले एक उदाहरणीय कृतिले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा त्राण दिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइन् ।

    समय र समाज परिवर्तनसँगै तीजका गीतमा नयाँपन देखिनुलाई स्वाभाविक मान्न सकिएला, तर नयाँपनको नाममा विकृति फैलाएर संस्कृतिमाथि हमला गर्ने अधिकार भने कसैलाई छैन ।

    भाइरल हुन र युट्युबमा भ्युज कमाउन अश्लीलता पस्कँदै गीतमा द्विअर्थी शब्द राख्नेहरुले मौलिकताको शक्ति कति हुन्छ भन्ने कुरा विष्णु माझीको गीत हेर्न सुझाव दिनुपर्ने देखियो । लोक दोहोरी प्रतिष्ठानका अनुसार माझीको गीत सार्वजनिक हुनुअघि बजारमा तीज गीतको ३०० भिडियो सार्वजनिक भएका थिए, तर मौलिकता पस्किएको गीत सार्वजनिक हुनासाथ सबैलाई पछाडि पारिदियो ।

    तीज गीतमा अश्लीलताले पराकाष्ठा नाघेपछि यो वर्ष तीज भड्किलो भयो भन्दै संसदमा समेत प्रश्न उठाइयो । राष्ट्रियसभाका सांसद पदमबहादुर परियारले पछिल्लो पटक सार्वजनिक भएका गीतले समाजमा गलत असर पार्ने भन्दै यस्ता गीत नियन्त्रण गर्नुपर्ने माग गरे ।

    समय र समाज परिवर्तनसँगै तीजका गीतमा नयाँपन देखिनुलाई स्वाभाविक मान्न सकिएला, तर नयाँपनको नाममा विकृति फैलाएर संस्कृतिमाथि हमला गर्ने अधिकार भने कसैलाई छैन । मेरो १० वर्षकी छोरीलाई अहिले सार्वजनिक भएका तीज गीत देखाएर मैले तीजको मौलिकता, परम्परा र संस्कृतिका बारेमा के भन्ने, के सिकाउने ? उसको तीजको मौलिकताबारेको जिज्ञासालाई कसरी जवाफ दिने ?

    त्यसैले तीजको मौलिकता जोगाउन, यसको धार्मिक सांस्कृतिक महत्वलाई बचाइराख्न हाम्रो पुस्ता सचेत रहन आवश्यक छ । हामीले तीजका बारेमा गलत भाष्य निर्माण गरिदिँदा हाम्रा सन्ततिले पनि त्यसैलाई अनुशरण गर्नेछन् ।

    लोक संस्कृतिमा लागेका सर्जकहरुले गल्ती गरेर समाजमा गलत असर गर्ने सिर्जना सार्वजनिक गरे पनि दर्शक/स्रोताले पनि खबरदारी गर्नु आवश्यक छ । हामी दर्शक, स्रोता, सञ्चारमाध्यम र सर्जकले विकृति फैलाउने खालका गीतमा रोक लगाउने र प्रोत्साहन नगर्ने हो भने केही हदसम्म गीत/संगीतको विकृति हट्नेछ ।

  • गोसाईंकुण्ड दिव्यादि दिव्य, भव्याति भव्य, सभ्याति सभ्य

    गोसाईंकुण्ड दिव्यादि दिव्य, भव्याति भव्य, सभ्याति सभ्य

    २०८१ भदाै ८,

    यो कुनै महान ऐतिहासिक दिन हैन । इतिहासको लागि ऐतिहासिक दिन नभएको दिन पनि सामान्य व्यक्तिको लागि भव्याति भव्य, सभ्याति सभ्य, देव्याति देव्य र ऐतिहासिक हुन्छ । देखिएका इतिहासका घटनाभन्दा सामान्य व्यक्तिका लागि घटेको सामान्य घटना निजत्वमा ऐतिहासिक हुन्छ ।

    हो, यस्तै कुरा लेख्दैछु । ममात्रै पहिलो पल्ट गएको पनि हैन र मेरोमात्रै अन्तिम पल्ट पनि यो हैन । यो मितिमा पहिलो पल्ट गोसाईंकुण्ड मैले पाइलो राखेको दिन हो । गोसाईंकुण्ड लाखौं मान्छे लाखौं पल्ट गए होलान् । लाखौंलाख मान्छे जान बाँकी होलान् । हजारौं लेख निक्ले होलान् । यो लेख ती जान बाँकी मान्छे र गएका मान्छेको लागि हो ।

    रसुवाको धुन्चेसम्म आफ्नै गाडीमा गएँ । साथमा थियो उही ट्राभलर अशोक । नुवाकोटबाट धुन्चेसम्मको बाटो हेर्दा लाग्थ्यो, म सातौं शताब्दीको बाटोमा गाडी चलाइरहेछु । धेरै मान्छे पहिरोले पुरेर मरे यो बाटोमा । तैपनि बाटो उस्तै र उत्रै थियो । पहिरोबाट बगेको ढुंगाले गाडी थिच्ला भन्दै गाडी कुदायौं । अशोक मुन्टो निकालेर बाहिर हेर्ने म गाडी चलाउने ! फेरि पानी र बादल एकै पल्ट भएर गाडी त पाँचको स्पीडमा हिँड्नुपर्ने ! राम्चे सुनेको थिएँ । पूर्व कर्साब ज्ञानजंग थापाले भन्नुभएथ्यो- ‘गोसाईंकुण्ड त जाने भन्नुभयो , राम्चेको पहिरोमा होस गर्नु नि !’

    कर्साबलाई भन्छु- ‘राम्चे त बजार भइसकेछ ।’

    सायद खाजा-खाना पहिरोले रोकिएकालाई खुवाउँदा खुवाउँदै बजार बन्यो । अहिले राम्रै रैछ राम्चेलाई कर्साब !

    ०००

    टोखा, छहरे, वर्षाले सडकै रातो हुनेगरी बगेको खहरे, नुवाकोट, कालिका, राम्चे, ग्राङ, ठाडे, सोले हुँदै धुन्चे साढे चार घन्टामा पुगियो । बाटोमा हरियो धान, वर्षाले बढेको नदी, केरुङबाट आउँदै गरेको ईभी भ्यान, बीवाईडी गाडीको लस्कर देखियो । एकै दिन यत्रा गाडी कसले चढ्ने होला भनेर चिन्तन पनि गरियो नेपाली अर्थतन्त्रको ।

    समग्रमा धेरै पैसा नलाग्ने र रमाइलो हुने पर्यटकीय रुट रहेछ गोसाईंकुण्ड । केही परेमा आपतकालीन नम्बर भनेर दिएको छ । त्यसमा फोन गरे मद्दत मिलिहाल्छ ।

    मान्छे नै सबैभन्दा सहृदयी प्राणी हो र क्रूर पनि । सहृदयी मान्छे भेट्दा क्या मज्जा हुन्छ ! यस्तै मान्छे भेटियो धुन्चेमा, रसुवाका वरिष्ठ पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने । हामीले ट्रेकिङ लट्ठी ल्याउन भुलेछौं । उहाँले दुई जनासँग मागेर हामीलाई दिनुभयो । हिमालय स्प्रिङ वाटरमा गाडी राख्न पाए आउँदा बाटो छोटो पर्थ्यो भनेको, त्यो पनि मिलाइदिनु भयो । उहाँ कवि पनि हुनुहुँदो रहेछ । गाडी राखेर बाहिरिएपछि उहाँले कवितामा गोसाईंकुण्ड गाउनुभयो ।

    समस्या
    स्वाश भनौं प्राणवायु अथवा पुग्दैन अक्सिजन
    स्वाँस्वाँ हुन्छ त्यसै हुँदा बुझ कुरा वाकवाकी लागिकन
    वान्ता हुन्छ कि लाग्छ धेर रिंगटा बेस्कन दुःखी टाउको ।
    ग्लेनी बन्छ शरीरमा बलगति बन्दा बिरामी छिटो

    उपचार
    रित्तो पेट नराख्नु छिनछिनै खानु रुचेको जति
    लागे चक्कर केही लिएर हरियो सुध्नु सफा कागती
    वीरेनुन मरिच ज्वाँनु अदुवा अथवा पाचक
    खानु पेट दुःखे कि त लसुन नै चपाउनु बेस छ

    छन्द नमिले पनि मन मिलेको उहाँको बोली सम्झँदै माथि लाग्यौं । सबैभन्दा पहिला आयो घट्टेखोला, जसलाई सानो गोसाईंकुण्ड भनिँदो रहेछ । कलकल आवाज, दूध जस्तै खोला र सानो महादेवको मन्दिर, छेउमै पसलहरू । गेटमै नक्सा थियो । नक्साले अत्यायो । बाटोमा मान्छे अत्याउने भेटिएकै थिए । उनीहरूले भन्थे । उक्लिएको उक्लियै । उक्लिएको उक्लियै । पहाड कट्यो, अझै आउँदैन । जति पहाड चढ्यो त्योभन्दा अर्काे पहाड आउँछ । नक्साले पनि तेर्सो देखाएन । धुन्चेबाट घट्टेखोला ४५ मिनेट । घट्टेखोलाबाट खेन्दी एक घन्टा । त्यहाँबाट देउराली दुई घन्टा । त्यहाँबाट धिम्सा डेढ घन्टा, अनि चन्दनबारी एक घन्टा ।

    चन्दनबारी पुग्दा धुन्चेको २००० मिटरबाट ३२५० हाइट हुनेरहेछ । चन्दनबारीबाट दुई घन्टा हिँडेपछि चोलाङपाटी । त्यहाँबाट दुई घन्टा हिँडेपछि लौरीबिना, अनि बुद्ध मन्दिर एक घन्टा हुँदै गोसाईंकुण्ड पुग्न लौरीबिनाबाट साढे दुई घन्टा र ४३८० मिटर । हरेक स्टेशनमा खाजा र खानाको मूल्य फरक थियो । घट्टेखोलामा चियाको २५ पर्थ्यो भने गोसाईंकुण्ड पुग्दा ८० रुपैयाँ । भात खाएको र सुतेको ५७५ सुरुमा थियो भने गोसाईंकुण्डमा १ हजार ६०० रुपैयाँ । समग्रमा धेरै पैसा नलाग्ने र रमाइलो हुने पर्यटकीय रुट रहेछ गोसाईंकुण्ड । केही परेमा आपतकालीन नम्बर भनेर दिएको छ । त्यसमा फोन गरे मद्दत मिलिहाल्छ ।

    आफ्नै सास हेर्दै स्वाँ स्वाँ गर्दै आफैंलाई हेर्दै हिँड्दै गयौं । लौरीबिना त साँच्चै लौरीबिना हिँड्नै नसक्ने रहेछ । म त हिँड्नै सकिनँ । मार्दी, पुनहिल र पाथीभराको त्यत्रो उकालो एकै छिनमा चढेको मलाई त निकै गाह्रो भयो । ममात्रै हैन, सबैलाई गाह्रो हुँदोरहेछ ।

    ०००

    हिँडन गएको हिँड्नै पर्‍यो । घट्टेखोलाबाट अगाडि बढ्नेबित्तिकै सेतो दूध जस्तो नदीको कञ्चन पवित्रता देखियो । आँखा र जिउँलाई एकै पल्ट आनन्द आयो । ककराको बाटोबाट हिँड्दै काठे पुल तर्दै, झोलुङ्गे पुलमा हल्लिँदै, त्यो पुलमा राखिएको प्रेयर फ्ल्यागको रंगसँग रंगिदै उक्लियो खेन्दी ।

    काठमाडौंबाट हिँडेर कालिकास्थान भन्दा तलै खाएको माम विस्तारै पेटमा मर्दै थियो । खेन्दीमा केहीबेर सुस्ताउँदै चढियो देउराली । दुई घन्टाको उकालो चढेपछि भोक लाग्यो । खाजा रोटी, तरकारी र चिया खाइयो । यहाँको पैसाको निर्धारण गरेर बोर्डमै टाँसिएको थियो । सुतेको, बसेको र खाएको जति माथि स्टेशन चढ्दै जान्छ, उत्ति महँगो ।

    बाटोमा भेटिएका यात्राका अपरिचितसँगको मधुर मुस्कान र मीठो आवाजले पनि हिँडाइमा मज्जा आएको थियो । अब कति लाग्छ फलानो ठाउँ पुग्न ? जाने र आउनेको एकै प्रश्न थियो । त्यसपछि हामी नेपाली न पर्‍यौं- तपाईं कहाँदेखि ? के के गर्नुहुन्छ ? सात पुस्तै भ्याएसम्म सोध्ने र हाँस्दै भन्ने यात्रा वार्ताले यायावर झैं लाग्दै थियो । वर्षा ऋतु न पर्‍यो । आकाश एकैछिनमा धुम्मिने र पानी पर्ने भैहाल्छ । यसो रोकिएर एक कप चिया खाँदाखाँदै दर्के पानी परिगो । रेनकोट नाम मात्रका हुन्छन् । तैपनि लगाउनै पर्‍यो । धिम्सा पुग्दा रेनकोटबाट पानी छिरेर लुगा भिजेछ । लुगा सुकाउँदै त्यही बस्ने निधो गरियो ।

    थाकेको शरीर खाना खाएर एकै छिनमा निदाइयो । भोलि बिहान चिया खाजा खान चन्दनबारी जाने भनेर सात बजेतिर हिँडियो । थाके बस्ने, भोक लागे खाने हाम्रो अलिखित आचारसंहिता थियो । चन्दनबारीमा खाजा खाइएन । चोलाङपाटी गएर चौरीको दूध होटल तिब्बतमा खाइयो । लौरीबिनाले अत्याइरहेको थियो । एक छिन बसेर सिमसिम पानीमा रेनकोट लगाउँदै हिँडियो लौरीबिना, एकै पल्ट खाना खाने भन्दै । हेर्दाहेर्दै लौरीबिना आइहाल्यो । सकेसम्म लौरीबिनाको टुप्पोमा खाना खाऔं, अलिकति भए पनि बाटो छोटिन्छ भन्ने लाग्यो । माया होटल एन्ड लजमा खाना खाँदै कुरा गरियो । ग्याल्जेन लामा सञ्चालक रहेछन् । भन्दै थिए- ‘यो एरियाकै पहिलो होटल हो यो, सन् १९८५ मा मेरो बाबाले चियाको ३० रुपैयाँ हुँदा विदेशीले ३० डलर दिँदा लिनु भएनछ, नेपाली नै दिनुस् भन्नुभएथ्यो रे !’

    कथा सुन्दै भात खाँदै मज्जा आयो । यताको टमाटर जस्तो उताको कुन्नि के नाम बिर्सेको अचारको स्वाद अहिले पनि जिब्रोमा बसिरहेछ । हामी त यात्री थियौं, हिँड्नु थियो । खाना खाएपछि एकछिन बसेर हिँड्यौं ।

    ०००

    आफ्नै सास हेर्दै स्वाँ स्वाँ गर्दै आफैंलाई हेर्दै हिँड्दै गयौं । लौरीबिना त साँच्चै लौरीबिना हिँड्नै नसक्ने रहेछ । म त हिँड्नै सकिनँ । मार्दी, पुनहिल र पाथीभराको त्यत्रो उकालो एकै छिनमा चढेको मलाई त निकै गाह्रो भयो । ममात्रै हैन, सबैलाई गाह्रो हुँदोरहेछ । फेरि मनोविज्ञान पनि कस्तो भने आफ्नो साथी अगाडि लाग्यो भने आफूलाई झनै थिचे झैं हुने, अगाडि बढ्नै नसक्ने । मलाई त एकदमै गाह्रो भए झैं भयो । लेक लाग्छ भनेको थिएँ । लेक नलाग्ने औषधि खाना खाँदै खाएको थिएँ । चिसो हावा चलेको छ । बादलले ढपक्कै ढाकेर त्यो चिसोले थिचेर सासै फेर्न गाह्रो भयो । बादलको चिसो, बादलकै सास फेर्दा र ठाडो उकालो हिँड्दा मलाई त एकदमै गाह्रो भए झैं भयो । अगाडि आउने मान्छेले लौ अदुवा चपाउँदै जानुस् भनेर दिनुभयो । चपाएँ । पेटले हैन, खुट्टाले हिँड्नु पर्ने, खुट्टा अगाडि सार्नै मान्दैन । पछाडि जान पाए हुन्थ्यो झैं गर्छ । दश पाइला पछि रोकिँदै हिँड्दै गरें । एक जना स्वयम्भूको युवा भाइ लगभग २३ वर्षका भेटिए । ‘दाइ म त जान्न, यति गाह्रो त जीवनमा भएको थिएन, फर्कें म’ भन्दै थिए । उक्लँदै उक्लेनन् ।

    उकालो र ओरालो आफू उभिएकै ठाउँमा हुन्छ । उक्लँदै गरेकोले कति लाग्छ भनेर ओरालो ओर्लंदै गरेकोलाई सोध्छ । राम्रै मान्छे छ भने त ठीकै छ, नत्र अब यति घन्टा लाग्छ भनिदिन्छ, मान्छे लत्रक्कै पर्छ । तैपनि जे त होस् भनेर हिँड्न त हिँडिहाल्छ ।

    आफूलाई कुन बेला बौद्ध गुम्बा आउला र त्यसपछि तेस्रो बाटो आउँछ भनेका छन्, अनि हिँडौला भैरहेको थियो । विस्तारै बिरालाको चालमा हिँड्दै रोकिँदै, रोकिँदै हिँड्दै गरेर उकालो चढें ।

    बादलले लौरीबिनामा मान्छे नदेखेर ए फलानु भनेर बोलाउनुपर्ने ! केही कहीँ देखिँदैन । बादलको लुकामारीमा आफैं बादलमा लुकियो । भात खाएर गाह्रो भयो मलाई भनेर भन्दैथ्यो एक जना । एक जना नखाएर गाह्रो भयो भन्छ । हावाको आवाज नै अर्कै । कानै चिसो हुने ! मुखमा र हातमा बादलले ल्याएको बाष्प पारिदिन्छ । चिसो हुन्छ, भिजे झैं हुन्छ । लौरीबिना बन्जर छ । कहीँ केही बस्ने ठाउँ नै छैन । पानी परेपछि त झनै हिँड्नै सकिँदैन ।

    उकालो र ओरालो आफू उभिएकै ठाउँमा हुन्छ । उक्लँदै गरेकोले कति लाग्छ भनेर ओरालो ओर्लंदै गरेकोलाई सोध्छ । राम्रै मान्छे छ भने त ठीकै छ, नत्र अब यति घन्टा लाग्छ भनिदिन्छ, मान्छे लत्रक्कै पर्छ । तैपनि जे त होस् भनेर हिँड्न त हिँडिहाल्छ । यस्तै भएको थियो । बल्लतल्ल गुम्बा आयो । एक्साइटेड भएको ठाउँ पुग्दा त सामान्य लाग्यो । गोसाईंकुण्डबाहेक मलाई हरेक डेस्टिनेशन किन हो, यस्तै लागेको थियो । दुईचार घर अनि सकियो त्यो डेस्टिनेशन ।

    २०७७ साल असोज महिनामा बुद्ध मन्दिरदेखि गोसाईंकुण्डसम्म २.५८ किमि रेलिङ बनाएको रहेछ कालीबक्स गणले । धन्न सेना छ र राष्ट्र छ झैं लाग्यो । सेनामा कीरा नलागोस् भनेर प्रार्थना नै गरें । सुन्दैछु, सेनामा पनि भ्रष्टाचारको कीरा लाग्दैछ रे ! कम्तीमा त्यहाँ त्यस्तो नहोस् भन्ने लागिरह्यो ।

    हिँड्न नसक्नेले रेलिङ समाउँदै हिँड्दै थिए । बल्ल बुद्ध मन्दिर आयो । मज्जाले भिडियो बनाएँ । अलि अगाडि गएँ । झरनाहरू देखिँदै थिए । तालहरू देखिए । अलिक फ्रेस भयो । थकाइ बेस्मारी लागेको थियो । यात्रामा अरुले बोलेको मनमात्रै पर्दैन, थाक्दै र भोक लाग्दै आएपछि रिस पनि उठ्छ । यस्तै हुन खोज्दै थियो । साथी पनि निकै अघि थियो । बल्लतल्ल गोसाईंकुण्ड उकालोको क्लाइमेक्स सकेपछि गोसाईंकुण्ड आयो ।

    डाँडैडाँडा काट्दै पुगेको गोसाईंकुण्ड अलौकिक लाग्यो । दिव्यादि दीव्य, भव्याति भव्य, सभ्याति सभ्य लाग्यो । शिवको महिमा, नीलो ताल, एक हैन दुई वटा । विशाल पहाड । त्रिशूलबाट बगेको नदी । ठूला हिमाली चराहरू । छोइरहुँ, बसिरहुँ झैं लाग्ने अद्भूत गोसाईंकुण्ड ! जहाँको यात्राले अनेकौं नचिनेका मान्छेहरू चिनिए झैं भयो । गोसाईंकुण्डको मादकताले यो लेख्दा छोइरहेछ । विस्तारै कम हुँदै जाला, तर जीवनभर सम्झिरहने यात्रा शरीरको लागि र दिमागको लागि बनेको छ । सबैको बन्नेछ ।

    डाँडैडाँडा काट्दै पुगेको गोसाईंकुण्ड अलौकिक लाग्यो । दिव्यादि दीव्य, भव्याति भव्य, सभ्याति सभ्य लाग्यो । शिवको महिमा, नीलो ताल, एक हैन दुई वटा । विशाल पहाड । त्रिशूलबाट बगेको नदी । ठूला हिमाली चराहरू । छोइरहुँ, बसिरहुँ झैं लाग्ने अद्भूत गोसाईंकुण्ड !

    यात्राको क्रममा देखिएका चराको आवाज, सुसाएको खोला, नुहाएका रुखहरू, फूलको सुगन्ध, मान्छे जस्तै रुखहरू, रुख जस्तै मान्छेहरू, हिमाली खाना, सुताइ, चौरीको दूध, लेकका भेंडा, जंगलमै भएका गाईहरू, सेतो दूध जस्तै बगेको खोला, प्रदूषण नभएको नील गगन, भुवादार बादल, दुःखेको खुट्टा, चिसो मौसम, हिमाली कुकुर अनेक दृश्यमा आइरहेका छन् ।

    ०००

    त्रिशूलीको उत्पत्ति त्रिशूल धारामा गएर सुरु हुने रहेछ । महादेवले कालकुट विष सेवन गरी निल्नु न ओकल्नु भएपछि पर्वत फोेरेर तीन वटा त्रिशूल पहरामा हानेपछि जन्मेछ त्रिशूल धारा । त्यही पानीबाट महादेवले शीतल प्राप्त गरेपछि हरेक मनुवा पनि आफ्नो जीवनमा शीतल खोज्दै गोसाईंकुण्ड पुग्छ । पीडामा भएको सिर्जनाबाट गोसाईंकुण्ड, भैरव कुण्ड हुँदै धेरै कुण्ड र झरना हुँदै जन्मिएको हो त्रिशूली र जन्मे धेरै कुरा ।

    यो संसार आश्चर्यचकित छ । अप्रत्याशित छ । अचम्मको छ । कहिले को प्रकृतिको यो भव्यतामा कसरी परिचित हुन्छ, त्यो फरक कुरा हो । गोसाईंकुण्ड गएपछि अचम्मै लाग्यो । पहाडमा त्रिशूल खोपिएको छ । मुनिमुनिबाट पानीका तीन धारा आएका छन् । अनि त्यही तीन धारा नै गोसाईंकुण्डलगायतका कुण्ड र अनेकौं खोलाको उत्पत्तिको रुप हो ।

    प्रकृतिको त्यो दिव्यता सम्झें । अनि सम्झें आफूलाई र अरुलाई । कालकुट विष पिएर छटपटिएको महादेवबाट यत्रो सिर्जना भयो । हामी कहाँ छौं ? के गरिरहेका छौं ? हाम्रो सिर्जना के छ ? हामी जीवनमा के गरिरहेका छौं ? मलाई गोसाईंकुण्डले धेरै बेर प्रश्न गरिरह्यो ।

    त्रिशूल धारामा बिहान जानुअघि तीन वा पाँच चोटि गोसाईंकुण्डमा चोपलिनु पर्ने रहेछ । यस्तो जाडोमा के चोपलिनु लागिरहेको थियो । बोडेबाट आएका कार्की, राई र बुढाथोकी भाइहरूले ‘ह्या दाइ ! कहाँ हुन्छ डुबुल्की मार्नू, हामी छौं’ भनेपछि लौ त भनेर एक डुबुल्की मारेको, करेन्ट लागे झैं भयो । तीन पल्ट डुबुल्की मारेपछि बिहानको जाडो त कहाँ भाग्यो भाग्यो । त्रिशूल धारामा त्रिशूल चढाएर महादेवको मन्दिरमा दर्शन गरेर फेरि अर्काे दिशाबाट गोसाईंकुण्ड हेरें । जति हेर्‍यो, उति आकाश जस्तै नीलो, गहिरो, गहकिलो गहन । असाध्यै सुन्दर ! ठूला पहाड र त्यो बीचको दुई कुण्ड कति मनमोहक, गजबै ठाउँ रहेछ । फेरि ढुंगामै फुलेका फूलहरूले पनि जगमग जगमग पारिरहेका ! फोटो खिच्ने, भिडियो बनाउने ! सारङ्गी, गितार र टुंगाना बजाइयो । संगीत पनि हृदयको तार हो, प्रकृतिको आधार हो । यसमा एकछिन रमाइयो । गीत गाए भाइहरूले । यस्तो रमाइलो लाग्यो कि सम्झना सदैव रहिरहनेछ ।

    भर्खरै सकिएको जनै पूर्णिमा मेलामा यसपाला पोहर जस्तो मान्छे आएनन् भनेर होटलवालाहरू भन्दै थिए, तर त्यहाँ गएर हेर्दा गोसाईंकुण्ड मैलदै रहेछ । नुहाएर छाडेका भित्री वस्त्रहरू, चिज बल्स र चकलेटका खोलहरू, पानीका बोतलहरूले गोसाईंकुण्डमा प्रदूषण फैलिएला है भन्दै थियो । बजेट आएपछि आफैं सफा हुन्छ, हामीले गरेर हुँदैन भन्दै थिए होटलवालाहरू ।

    गोसाईंकुण्ड मैलदै रहेछ । नुहाएर छाडेका भित्री वस्त्रहरू, चिज बल्स र चकलेटका खोलहरू, पानीका बोतलहरूले गोसाईंकुण्डमा प्रदूषण फैलिएला है भन्दै थियो । बजेट आएपछि आफैं सफा हुन्छ, हामीले गरेर हुँदैन भन्दै थिए होटलवालाहरू ।

    अहिले पनि बिजुली सबै ठाउँमा पुगेको छैन गोसाईंकुण्ड एरियामा । कारण ट्रान्सफरमर बोकेर लैजाने मान्छे नभेटेर रे ! छुटाएको तीन लाखमा बोक्नेले एक लाख र बीचको दलालले दुई लाख झ्वाम पारेपछि काम गर्नेलाई दिक्क लागेर बीचमै ‘बरु पैसा चाहिँदैन, यहाँसम्म बोकेको’ पनि भनेर हिँडेछन् । त्यसैले तीन महिनाअघि आउने बिजुलीको लाइन अझै आएको रैनछ । पवित्र ठाउँको अपवित्र कथा सुन्दा नरमाइलो लाग्यो ।

    ढुंगामा यसै फुलेका फूलहरूको बुच्का देख्दा ती हामीलाई प्रकृतिले दिएको बुक्की झैं लाग्ने । गोसाईंकुण्ड तिब्बतीहरू चौरी चराउँदै आएर बसेको ठाउँ हो । उनीहरूको संस्कार-संस्कृति तिब्बतसँग मिल्छ । बौद्ध धर्मका बढी भेटिन्छन् । उनीहरू व्यापारमा छन् । उनीहरू गोसाईंकुण्डमा नुहाएर फोहरी नहुने भन्छन् ।

    काठमाडौंका नेपालभाषीहरूको लागि सिलु तीर्थ मानिने गोसाईंकुण्डमा नेपालभाषी दम्पती जानै नहुने कथा रहेछ । सर्वाेच्च अदालतको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ आफ्नो श्रीमान उहिल्यै गए पनि आफू अहिलेसम्म नगएको कारण सँगै जान नहुने कथाले हो भन्नुहुन्थ्यो । पति २०३९ सालमै गए पनि सँगै जान नहुने भनेर उहाँको सिलु तीर्थ छुट्यो । छुटेको छुट्यै भइरहेछ ।

    एक लोक कथा यस्तो रहेछ (लामो कथालाई छोटोमा)-

    नेपालभाषी एउटी नवविवाहित जोडीमा श्रीमान साथीहरूसँग मिलेर गोसाईंकुण्ड जाने भएछन् । यो कुरा थाहा पाएर श्रीमतीले आफू पनि सँगै जाने भन्दै जिद्दी गर्छिन् । श्रीमानले गोसाईंकुण्ड सँगै गए आफूहरू छुट्टिनुपर्ने र ज्योतिष देखाउँदा पनि त्यही भनेको भनेर श्रीमतीलाई बताउँछन्, तर, श्रीमतीले जिद्दी छोड्दैनन् । साथीहरूसँग गोसाईंकुण्ड लागेका श्रीमानलाई थाहै नदिई उनी पछि पछि लाग्छिन् । बीचमा आफ्नो श्रीमतीलाई देखेर श्रीमानले फर्कन धेरै पटक सम्झाउँछन्, आफूहरू छुट्टिनै पर्ने बताउँछन् । तैपनि श्रीमती पछि पछि लाग्दै गोसाईंकुण्डसम्मै पुग्छिन् । गोसाईंकुण्डमा नुहाउने क्रममा राजाले श्रीमतीलाई हरण गरेर लग्छन् र श्रीमान एक्लै घर फर्कन्छन् ।

    यही लोक कथाअनुसार नेपालभाषीहरूमा सिलु तीर्थमा दम्पती जानु हुँदैन भन्ने प्रचलन थियो । मैले सम्झें । उतिबेला त कुनै औषधि थिएन, होटल थिएनन् । जानु आउनु, त्यो अनकन्टार बाटोमा बहुत गाह्रो थियो । एक जना गए पनि अर्को परिवारको लागि बाँकी रहन्छ भनेर यो कथा बनेको होला भन्ने लाग्यो । त्यो लोक कथा बनेको सयौं वर्षपछि मेरो मिल्ने साथी वरिष्ठ अधिवक्ता ज्योतिराम फुँयाललगायतलाई १४ वर्षअघि लुटपाट भएको भन्दै थियो । धन्न हामीलाई केही भएन । कथा त्यस्तो भए पनि धेरै दम्पती गएर ओर्लंदै गरेको र जाँदै गरेको भेटें ।

    पहाड जाँदा र खोला हेर्दा लाग्छ- कति निश्चल, निर्मल कञ्चन छ । अनि हामी मान्छे कति कञ्चन, निर्मल र निश्चल छौं ? कि नाममात्रै छ ? गोसाईंकुण्डका सानाभन्दा साना कुराले पनि मलाई प्रश्न गरिरहेका छन् ।

    ०००

    अग्ला पहाड र सग्ला नदी हेर्दा देशका भीआईपी र भीभीआईपीहरू पहाडी सेतो कञ्चन नदीको एक अञ्जुली पानी जस्तो र पहाडको एक सानो ढुंगा झैं पनि लागेन । मान्छेहरू धेरै भेट्दै हिँड्दा मान्छेमात्रै हैन, खोला पनि मैलँदो रहेछ । त्रिशूलीको मुहान गोसाईंकुण्ड कति कञ्चन ! मान्छेले मान्छे भेट्दै जाँदा मान्छे मैलिए झैं खोलाले पनि खोला भेट्दै जाँदा खोला मैलँदो रहेछ । दूध जस्तो घट्टेखोला त्रिशूली बनेर माटो र मान्छे बगाउँदै लगेपछि कति फोहरी भयो भन्ने लाग्यो ।

    त्यहाँ बसेर धेरै कुरा सम्झिएँ । ‘रात बस्दै नबस्नु’ बाटोमा एक जनाले भन्नुभएको थियो । एक जना अस्ति भर्खर लेक लागेर सुतेको सुत्यै भए । यस्तै सुनिएको थियो । राम्रोभित्रको नराम्रो यही थियो गोसाईंकुण्डको । हिँड्न कठिन, सास फुल्ने चिसो ! हात गोडा आफ्नो हुन् कि अरुका झैं हुने, तातोमा मात्रै बसिरहुँ लाग्ने ! तलको भन्दा पैसा पनि महँगो । तीन वटा होटलमा एकको मात्रै पालो रहेछ । त्यही होटलबाहेक अरुले मान्छे राखे, मारामार पर्ने रहेछ । चिया पनि खुवाउन अरुले मान्दो रहेनछ ।

    बसियो रात होटल तिब्बतमा । तातोपानी खाएको खायै, तातोमा बसेको बस्यै गरेर । खाना खाएर सुतियो । राति सिरक तीन वटा खाप्न पर्‍यो । पानी त छुनै नसक्ने, चिसोले लत्रक्कै पार्दाेरहेछ । तीन दिनदेखि घाम लागेको थिएन, पानी परिरहेको छ । केको लागि तपाईं जानुभएको भन्दै थिए । बादलले एकै छिनमा गोसाईंकुण्ड ढपक्कै ढाक्छ भन्दै थिए । ती सब कुरा हावा भए । जब हामीले बेलुका पनि फोटो खिच्यौं । बिहान पनि घाम लाग्यो ।

    ०००

    पहाड जाँदा र खोला हेर्दा लाग्छ- कति निश्चल, निर्मल कञ्चन छ । अनि हामी मान्छे कति कञ्चन, निर्मल र निश्चल छौं ? कि नाममात्रै छ ? गोसाईंकुण्डका सानाभन्दा साना कुराले पनि मलाई प्रश्न गरिरहेका छन् । गोसाई (गृहस्थको रुपमा रहने सन्न्यासी) यो नामका मान्छे जीवनमा धेरै पल्ट भेटेको थिएँ, गोसाईंकुण्ड पहिलो पल्ट । गोसाईंकुण्ड पुगेपछि साँच्चै भव्य, सभ्य, दिव्य र आनन्द लाग्यो ।

    प्रकृतिको मनोरम सुरम्यता सुनेर घर फर्कें । प्रविधिमा हेरें- एप्पल फोनले देखायो । भाद्र ७ गते १३,२७७ पाइला । ८ गते १६,९२८ पाइला । ९ गते २०,१९६ पाइला । १० गते १९,७८८ पाइला । घर आएँ । आँखामा फोटोभन्दा बढी बसेको छ गोसाईंकुण्ड । मनको तार वर्षाको सितार झैं बजेको छ । दिमाग ध्यान गरेर फर्के झैं भएको छ । गोसाईंकुण्डमा परेका मेरो पाइला पछ्याउँदै फेरि कहिले जान्छु ? त्यो समयलाई थाहा छ, मलाई थाहा छैन ।

  • कमल थापाको नाकाबन्दी नोट्स: मोदीकाे प्रश्न- नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ?

    कमल थापाको नाकाबन्दी नोट्स: मोदीकाे प्रश्न- नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ?

    काठमाडौं । किताब पढ्ने नेताहरुको सूचीमा आउने केही नाममध्ये एक हुन् कमल थापा । थापा भारतले नेपाललाई २०७२ सालमा नाकाबन्दी लगाउँदा उपप्रधानसहित परराष्ट्रमन्त्री थिए । उनै थापाले हालै उक्त नाकाबन्दीबारेको कुरा किताबमा ल्याएका छन् ।

    सम्बर्धन प्रकाशनले बजारमा ल्याएको किताब ‘नाकाबन्दी र भूराजनीति’मा ६ अध्याय रहेका छन्, जसमध्ये चौंथो अध्यायमा उनले भारतीय नाकाबन्दीको कुरा उल्लेख गरेका छन् । उक्त भारतीय नाकाबन्दी हटाउन नेपालले पहल गरेको डिप्लोमेसी र ट्रयाक टू डिप्लोमेसीका कुरा उनले खुलाएका छन् ।

    भारतले लगाएका पछिल्ला दुई नाकाबन्दीमा सत्ताकै आँखाबाट हेर्ने पात्र हुन् थापा । २०४५ सालको नाकाबन्दी हुँदा उनी तत्कालीन सरकारको सञ्चारमन्त्री थिए । २०७२ सालको नाकाबन्दीको त उनी नेपालको प्रमुख कूटनीतिज्ञको रुपमा सर्वदलीय बैठक कोठादेखि भारतसँगको कूटनीतिक कर्नरसम्म प्रत्यक्ष जोडिएका थिए । एकतर्फ मधेश आन्दोलनसँग वार्ता गर्ने घरेलु कारणको जिम्मा उनकै थियो भने अर्कोतर्फ त्यही आन्दोलनको बहाना बनाएर गरिएको भारतीय नाकाबन्दी खुलाउन गरिने कूटनीतिक पहलमा परराष्ट्रमन्त्रीको रुपमा सक्रियता पनि उनकै थियो । उनले किताबमा यी दुइटै पक्ष खुलाएका छन् ।

    मुख्यमन्त्री हुँदै मोदीसँग भेट

    मोदीसँग थापाले भारतको प्रधानमन्त्री हुँदा नाकाबन्दीको समयमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतले मात्रै मात्रै होइन, मुख्यमन्त्री हुँदा पनि भेटेका थापाले । उनले किताबमा लेखेअनुसार २०७० सालको नवरात्रिमा जलहारी भएर बसेका तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसँग थापाले भेटेका थिए । भेटको सूत्र आर्ट अफ लिभिङ अभियानका संस्थापक भारतीय गुरु रविशंकर थिए । उनै रविशंकरले उनको आश्रम बेङ्गलुरुमा बृहत् नवरात्रि पूजा तथा यज्ञ गरेको समयमा थापा सहभागी भएका थिए । उनलाई यज्ञको अन्तिम दिन रविशंकरले घर जानु अगाडि मोदीलाई भेटेर जान भनेका थिए । थापाले माने र भेटे मोदी ।

    मोदीसँगको त्यो भेटबारेमा थापा लेख्छन्, ‘उनी (मोदी)सँग अहमदावादस्थित मुख्यमन्त्रीको निवासमा लामो कुराकानी भयो । नेपालको वर्तमान अवस्था, दुई देशको सम्बन्ध एवं नेपाल र भारतमा हुन लागेको आमचुनावबारेमा लामो विचार विमर्श भएको थियो ।’

    सुषमा स्वराजसँग थापाले अटलबिहारी बाजपेयीको सरकारकै समयमा भेट गरेका थिए । त्यसबेला थापा स्वास्थ्यमन्त्री थिए । २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री उनका भारतीय समकक्षी थिइन् सुषमा । थापाभन्दा जेठी भएकीले उनी
    थापालाई ‘कमल भाइ’ सम्बोधन गर्थिन् । उनीहरुको भेट दिल्ली र जेनेभामा स्वास्थ्यमन्त्री भएकै समयमा भएको थियो ।

    २०७२ मा संविधान जारी भएपछि जयशंकरले थ्रेट दिँदा बिच्किए प्रचण्ड

    उसो त प्रचण्डले ओली नेतृत्वको सरकार बनाउन थापालाई छलफलमा बोलाउँदा नै जयंशकरले भारतको विमतिमा संविधान जारी गरेकामा थर्काएको कुरा सुनिसकेका थिए । तत्कालीन निवास लाजिम्पाटमा प्रचण्डले आफू र बाबुरामलाई सँगै राखेर जयशंकरले थर्काएको कुरा भावुक भएर थापालाई भनेका थिए, ‘कमलजी, केही दिनअघि तपाईं बसेको ठाउँमा भारतीय विदेश सचिव एस. जयशंकर बसेका थिए । बाबुराम त्यत्तापट्टि बस्नुभएको थियो । म यही सोफामा थिएँ । तिमीहरुले संविधान जारी गर्‍यो भने राम्रो हुनेछैन, हामीले सहयोग नगरेको भए अहिले पनि तिमीहरु कि जङ्गलमा कि राजाको जेलमा हुन्थ्यौ भन्दै जयशंकरले थर्काए । दुई जना पूर्वप्रधानमन्त्रीलाई थ्रेट दिँदै उनको संविधान जारी नगर्न अनुचित दबाब दिए ।’

    त्यसमा प्रचण्डले अनुहारमा भावुकता छल्काउँदै भने, ‘अब हामीले कहिलेसम्म सहेर बस्ने यिनको दादागिरी ? के हामी गुलाम हौं ?’

    संविधान बनेपछि सरकारको नेतृत्व एमालेले गर्ने सहमति तोडे सुशील कोइरालाले । त्यो भारतीय लाइनमा तोडेको थापाले लेखेका छन् । यही समयमा ओलीले पनि सरकारमा सहभागी हुन आग्रह गर्दै थापालाई भनेका थिए, ‘अहिले राष्ट्र बचाउने चुनौती छ । तपाईं महत्वपूर्ण जिम्मेवारीसहित सरकारमा आउनुपर्छ ।’

    नाकाबन्दीमा जयशंकर गरम, सुषमा र अजित दोभल नरम

    नेपालमा नयाँ संविधान जारी भयो २०७२ असोज ३ मा । त्यसमा विश्वले बधाई सन्देश दिइरहेको थियो । भारतले भने बधाई दिएन । ‘नोट’ मात्रै गर्‍यो । नोट गरेर कूटनीतिक आक्रोश देखाएको भारतका शीर्ष नेताहरुको अनुहार र हाउभाउमा पनि त्यो छनक देखे थापाले । असोज ३० मा भारत उडे थापा ।

    समकक्षीको निम्तोमा भारत गएका उनले सत्ताधारी दलका महासचिव राममाधवसँग आफू बसेको होटल ओवेरायमा भेटे । सोही होटलमा भोलिपल्ट थापाले भारतीय विदेश सचिव एस. जयशंकरसँग भेटे । भेटमा जयशंकरको हाउभाउबारेमा थापाले लेखेका छन्, ‘जयशंकरको अनुहार अँध्यारो थियो र व्यवहार चिसो । बडी ल्याङ्ग्वेजमा पनि उत्साह थिएन ।’

    थापाले ‘जयशंकरको जवाफ निकै रुखो थियो’ भन्दै सीमा नाकाबाट प्रदर्शनकारीहरु हटाउन आग्रह गर्दा उनको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘तिनलाई हटाउने काम भारतको होइन ।’

    सोही भ्रमणमा हैदरावाद हाउसमा सकमक्षी सुषमा स्वराजसँग भेटे थापाले । उक्त भेटमा स्वराजले पनि भारतले नाकाबन्दी नगरेको, सीमा नाकामा अवरोध भएको मात्रै भनिन् । जुन कुरा सबै भारतीय अधिकारीहरुले एकमुखले भन्दै आएका थिए । अवरोध नभएका नाकामा पनि समस्या भएको नेपाली ट्याङ्करमा भारतीय आयल निगमले तेल नदिएको जस्ता कुरा गर्दा पनि भारतीयले एकै रटान लगाइरहे ।

    डेलिगेसनको बैठकमा एकै रटान भएपछि स्वराजसँग एक्लै भेट्न प्रस्ताव गरे थापाले । भेटमा कमल थापाले भने, ‘तपाईं मलाई भाइ भन्नुहुन्छ । म मन्त्रीको हैसियतबाट होइन, भाइकै नाताले तपाईंलाई भन्छु- अहिले जे भइरहेछ, के यो ठीक छ ? आखिर नेपालले त्यति ठूलो अपराध के गर्‍यो, जसका कारण भारतले नेपाली जनतालाई सजाय दिनुपर्‍यो ?’

    मधेशका दलहरुलाई चित्त बुझाउने सर्त राखेर सुषमा स्वराजले भनिन्, ‘कमल भाइ, म तपाईंको भावना बुझ्छु …. भोलि प्रधानमन्त्रीसँग तपाईंको भेट हुँदैछ । उहाँलाई सबै जानकारी गराउनुहोला । म आजै साँझ प्रधानमन्त्रीसँग भेटेर तपाईंको सन्देश पुर्‍याउँछु ।’

    थापाले प्रधानमन्त्रीलाई ‘सबै जानकारी गराउनुहोला’ भन्ने कुरामा खास अर्थ भएको बुझेको लेखेका छन् । प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि उनका सुरक्षा सल्लाहकार अजित दोभलसँग भेटे थापाले । उनले भने, ‘तपाईंको प्रधानमन्त्रीबाट हामीले यस्तो अपेक्षा गरेका थिएनौं ।’ नाकाबन्दी लगाएको होइन र सीमाको अवरोध नेपालकै भन्ने कुरा उनले पनि दोहोर्‍याए, तर एक घण्टाको छलफलपछि उत्तराखण्डको गडवाल क्षेत्रमा जन्मेका दोभलले भने, ‘म पनि पहाडिया नै हुँ । पहाडी जनताको पीडा राम्ररी बुझ्छु ।’

    जब मोदी नेपालमा आफूलाई ‘भिलेन’ बनाइएको भन्दै बिच्किए

    नेपाल भ्रमण गरेर मोदीले उच्च सम्मान पाएको भन्दा मोदी बिच्किएर भने, ‘सुन्दैछु, हिजोआज त मलाई गाली गर्ने गरिएको छ । भिलेनको रुपमा हेरिन्छ रे !’ मोदीसँगको भेट व्याख्या गर्दै थापा लेख्छन्, ‘त्यो भेटमा प्रधानमन्त्री मोदीको बडी ल्याङ्ग्वेज असहज देखिन्थ्यो ।’

    मोदीले नेपालले नाकाबन्दी भनेकोमा आपत्ति जनाउँदै भने, ‘भारतले नाकाबन्दी गर्‍यो भनेर अन्तर्राष्ट्रिय मञ्चमा भन्दै हिँड्ने ? नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ?’

    मधेश समस्या सुल्झाउनेतर्फबाटै बोलेको कुरा पूरा गर्न मोदीले सुझाएको थापाले लेखेका छन् । उनले भने, ‘तपाईंका नेताहरुलाई भनिदिनुस्, उहाँहरु दिल्ली आएर एउटा कुरा गर्नुहुन्छ । प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । उता गएपछि बिर्सनुहुन्छ । कसरी विश्वास गर्ने ?’

    सुरुमा चर्को कुरा गरेका र पछि नरम भएका मोदीबारेमा थापाले लेखेका छन्, ‘प्रधानमन्त्री मोदीको सुरुको आक्रोश अलि अस्वाभाविक थियो । त्यत्ति ठूलो नेताले एउटा सानो छिमेकी देशको अतिथिका अगाडि किन आक्रोश देखाए ? त्यो अभिनय थियो वा बनावटी पो थियो कि ?’

    देउवा र प्रचण्डले सर्वदलीय बैठकमै खुलाए हिन्दू राज्यबारेमा भारतलाई दिएको वचन

    मोदीले नेपाली नेताहरु भन्ने एक थोक, गर्ने अर्को थोक भनेको कुरा कमल थापालाई सापटी लिएर सर्वदलीय बैठकमा अहिलेका राष्ट्रपति तथा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेलले कुरा उप्काएका थिए । प्रचण्ड र देउवाले स्वीकारे । देउवाले भने, ‘मसँग हिन्दू राष्ट्र राख्न उनीहरुले कुरा गरेका हुन् । मैले त प्रयास गरैकै हो, तर सकिनँ त के गरौं !’

    प्रचण्डले पनि सर्वदलीय बैठकमा भने, ‘मसँग पनि अलि अलि त्यस्तै कुरा भएको हो । मोदीले त होइन, उनका सहयोगीहरुले हिन्दू राष्ट्रको कुरा गरेका थिए । मैले प्रयास गर्छुसम्म भनेको हो । वचनै त दिएको होइन । यता अब सम्भव भएन, बाबुरामजीहरुले मान्नुभएन । म चाँहि धर्मनिरपेक्षता नभएर अर्को कुनै शब्द राख्न सकिन्छ कि भन्नेमा थिएँ ।’

    नाकाबन्दी खोल्ने रणनीति: विपक्षी दलहरुसँग भेटघाट, धार्मिक तथा सैन्य कूटनीति

    भारतले लगाएको २०७२ सालको नाकाबन्दी खोल्न राज्यको रुपमा र व्यक्तिको रुपमा दुवै कोणमा काम गरेको थापाले खुलाएका छन् । यो कुरा प्रधानमन्त्री ओलीदेखि आफूसम्म भएको उनले लेखेका छन् । ओलीबारेमा उनले भनेका छन्, ‘नाकाबन्दीको बेला यदाकदा प्रधानमन्त्री ओलीले दिल्लीमा आफ्नै ढङ्गबाट आफ्नो प्रभाव उपयोग गरेको थाहा पाएको थिएँ । यद्यपि आफ्नो प्रयासबारेमा उनले मलाई कहिल्यै खुलेर बताएनन् ।’

    भारतीय आध्यात्मिक गुरु रविशंकरसँग आफ्नो निजी तथा तत्कालीन एमाले सांसद विनोद चौधरीलाई ओलीले पठाएर नाकाबन्दी खोल्नेबारेमा कुरा भएको थापाले खुलाएका छन् । नेपाली मूलका भारतीय गुरु आचार्य बालकृष्णको पनि भूमिका उनले खुलाएका छन् । दक्षिण भारतका गुरु रविशंकरसँग बैंङ्गलुरुमा भएको भेटपछिको आश्वासन साभार गर्दै थापाले लेखेका छन्, ‘चिन्ता नगर्नुस्, म यो समस्या समाधान गर्न सक्दो प्रयास गर्छु । भोलि तपाईंसँगै म पनि दिल्ली जान्छु । त्यहाँ मोदीजी र अन्य नेताहरुसँग म कुरा गर्छु ।’

    दिल्ली पुग्दा विमानस्थलमै केही भारतीय मन्त्रीहरु बोलाएर रविशंकरले बैठक गरेको थापाले बताएका छन् ।

    भारतका विपक्षी दलका नेताहरुमा मनमोहन सिंहसँग दिल्लीमा शिष्टाचार भेट गरे थापाले । दक्षिण भारतबाट दिल्ली आउँदा एकै बगलमा परेका भारतका पूर्वअर्थमन्त्री पी. चिदाम्बरन । दुई घण्टा पचास मिनेट लामो उडानमा उनले नाकाबन्दीको कुरा गरे । त्यो भेटपछि उनले भारतीय अखबार टाइम्स अफ इण्डियामा लेख लेखेर नेपाल जस्तो सानो छिमेकी देशसँग नाकाबन्दी अस्त्र गलत भएको लामो लेख लेखे ।

    नेपाली सेनाको तर्फबाट पनि कूटनीतिक कार्य भएको भन्दै थापाले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक भारत भ्रमण र त्योभन्दा अगाडि उपरथी हिमालय थापाको भ्रमणले नाकाबन्दी हटाउने माहोलमा केही बल पुगेको थापाले लेखेका छन् । राजेन्द्र क्षेत्री त भारत जानु अगाडि थापालाई भेटेर सल्लाह लिएर गएका थिए ।

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालतर्फ सहानुभूति देखाउने भारतीय विपक्षी दलका नेताहरु बोलाएर दूतावासमा रात्रिभोज दिए । भोजमा आउने नेताहरुमा कम्युनिष्ट नेता सीताराम येचुरी, राष्ट्रवादी कंग्रेसका नेता डीपी त्रिपाठी, जनता दल (संयुक्त)का महासचिव पवनकुमार वर्मालगायत भएको थापाले लेखेका छन् । पाँच पटकको भारत भ्रमणमा भारतीय उच्च नेतृत्वसँगको छलफल, विभिन्न राज्य तथा गैरराज्य पक्षका कूटनीतिक च्यानलको प्रयोग र २०७२ पुस ६ गते मधेश केन्द्रित दलहरुसँग गरिएको वार्तापछि क्रमशः नाकाबन्दी खुलेको थापाले लेखेका छन् ।

    जेनेभा मञ्च: अरु देशले संविधान बनाएकोमा बधाई, भारतको केरकार

    कमल थापा परराष्ट्रमन्त्रीको हैसियतमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर जेनेभा पुगे । त्यहाँ उनले मानव अधिकारबारेमा आफ्नो मन्तव्य दिए । संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषद्अन्तर्गतको कार्यक्रममा पुगेका थापालाई अरु देशका प्रतिनिधिहरुले नयाँ संविधान बनाएकोमा बधाई दिए, तर भारतीय प्रतिनिधिले संविधानले सबैलाई नसमेटेको भन्दै आलोचना गरे ।

    प्रतिकारमा थापाले नेपालको संविधान बनाउने नेपाली अधिकार भएको भन्दै त्यसमा भारतले लगाएको नाकाबन्दीले विद्यालय, कलकारखाना, उद्योग बन्द भएर मानव अधिकार हनन भएको कुरा उठाए । उनको मन्तव्यको धेरैले तारिफ गरे ।

    मोदीसँगको वक्तव्यको बारेमा बेलायती मन्त्रीले फोन गरेरै दिए स्पष्टीकरण

    नेपालमा संविधान जारी गरेपछि भारतीय प्रधानमन्त्री मोदीको बेलायत, जापान तथा युरोपेली संघको यात्राको क्रममा नेपाल जोडे । नेपाली संविधान जोडे । यो कुरामा नेपालले आपत्ति जनायो । त्यसमा बेलायतले स्पष्टीकरण दियो ।

    यसबारेमा थापाले लेखेका छन्, ‘संयुक्त वक्तव्यमा नेपालको आन्तरिक मामिलाबारे चर्चा भएपछि हामीले तत्काल विरोध गरेको सन्दर्भमा बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोनमार्फत् मलाई स्पष्टीकरण नै दिएका थिए- ‘नेपालको राजनीतिक समस्या नेपालले नै समाधान गर्नेमा बेलायत स्पष्ट छ ।’

    २०७२ सालमा भारतले नाकाबन्दी लगाउने तत्कालीन चार कारण

    थापाले आफ्नो पुस्तकमा भारतले नेपाललाई नाकाबन्दी लगाउनुका चार कारण लेखेका छन् । उनले औंल्याएका चार कारण हुन्:

    • १. संविधान जारी गर्ने कार्य केही पर सार्न अनुरोध गरेकोमा त्यसलाई नेपालले नटेर्नु ।
    • २. आफूले संरक्षण गरेर हुर्काएका मधेश केन्द्रित दलहरुको माग सम्बोधन हुन नसक्नु ।
    • ३. नेपालमा चीनको प्रभाव तीव्र बढ्दै जानु ।
    • ४. नेपाली नेताहरुले दिएको वचन पूरा नगर्नु ।

    किताबको सुरुमै थापाले नाकाबन्दीका बारेमा भनेका छन्, ‘भूराजनीति, नेपाल-भारतबीच सुरक्षा एवं सामरिक विषयमा विद्यमान अवधारणागत भिन्नता नै नाकाबन्दीका प्रमुख कारण हुन् ।’

    भविष्यमा नाकाबन्दी नहुने माहोल सुझाउँदै थापाले लेखेका छन्, ‘भविष्यमा नाकाबन्दी जस्ता घटना दोहोरिन नदिन तथा नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भूराजनीतिक र अवधारणागत मतभिन्नताले सिर्जना गर्ने चुनौतीहरुलाई समयानुकूल सम्बोधन गरिनुपर्छ ।’

    याे पनि पढ्नुस् : भारतले लगाएका ४ नाकाबन्दीको नालीबेली : नेपालले कुन कसरी खेप्यो ?

  • स्व. खेमराज गुरुङका अधुरा ७ सपना

    स्व. खेमराज गुरुङका अधुरा ७ सपना

    आज नेपाली संगीतिक क्षेत्रका एक चम्किला नक्षत्र खेमराज गुरुङको स्मृति दिवस । अमर श्रष्टा गुरुङले हामीलाई छाडेर गएका अमृत कोसेलीहरू सुनेर, पढेर, हेरेर उहाँलाई सम्झने खास दिन । उनका लोकप्रिय तथा मर्मस्पर्शी गीतले विश्वका नेपाली भाषीमाझ नै सदावहार सम्झनामा आउँछन् उनी ।

    वारि जमुना पारि जमुना, अष्टमीमा बोकालाई डोर्‍याउने, बेहाल भयो जिन्दगी यो, सिरैफूल सिरबन्दी जस्ता नेपाली सांगीतिक आकाशमा गुञ्जिरहने गीतका श्रष्टा खेमराज गुरुङ एक विशाल हृदय भएका कलाकारको रूपमा स्थापित छन् ।

    एक नेपाली कलाकारले पाउनु पर्ने तत्कालीन समयका सम्पूर्ण पुरस्कार र सम्मानद्वारा विभूषित श्रष्टा गुरुङले करिब १५-२० देशको संगीतिक भ्रमण गरेका थिए । वाम राजनितीबाट प्रभावित गुरुङ आवाजविहीनहरूको आवाज बोक्ने एक जनकलाकार थिए । उनले ‘पाखुरी चलाउनेलाई कस्ले भन्छ कठै बरीलै’ जस्ता दर्जनौं जनवादी गीत जनताको नाममा नासो स्वरूप छाडेर गएका छन् ।

    गोठदेखि विश्वका अनेकौं तारे होटलसम्म सांगीतिक कोसेली पस्किएका गायक खेमराज गुरुङ अस्थिर राजनीति र पतन हुँदै गएको सर्वहारा वर्गको मुक्तिको आन्दोलनमा बढो चिन्तित थिए । श्रमजिवी र सर्वहाराको पक्षमा खुलेर राजनीति गर्ने उनको चाहना भौतिक शरीर विलिनसँगै अपूरो रह्यो ।

    यद्यपि धेरै युवा आज पनि उनको पदचाप पछ्याउँदै भेटिन्छन् । यो पंक्तिकार पुगेको प्राय हरेक ठाउँमा संखुवासभा र खेमराज गुरुङको चर्चा पर्यायको रूपमा हुने गरेको पाइएको छ ।

    उनका केही सपनाहरुः

    १) सिक्किम कल्चरल हाउस

    संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ४/५ हुँदै चिचिला गाउँपालिका सिमाना क्षेत्रमा सिक्किम र नेपाल जोड्ने एक साँस्कृतिक संस्था बन्नेछ भने नेपाल र सिक्किमको साँस्कृतिक आदानप्रदान हुनेछ । जहाँ वर्षेनी हजारौ नेपाल भाषी भरतीयहरू आउनेछन् भने नेपालीहरू सिक्किम जानेछन् । सम्पूर्ण भ्रमण आधिकारिक र अफिसियल हुनेछ । भ्रातृत्व र भगीनी सम्बन्ध स्थापित हुनेछ । भूगोलले छुट्याएको हामीलाई भावना, भाषा र संस्कृतिले जोड्नेछ ।

    २) अर्गानिक जिल्ला संखुवासभा

    संखुवासभा विषादीरहित जिल्ला हुनेछ । जिल्लाका हरेक ठाउँमा व्यवस्थित कृषि फार्महरू र हरेक घरमा व्यवस्थित करेसाबारी हुनेछ । संखुवासभामा आउनेले अर्गानिकमात्रै खान पाउनेछन् । अर्गानिक हब बनाइने छ । विभिन्न कृषि पाठशालाहरू बन्नेछ । देशभरबाट संखुवासभामा कृषि पर्यटक बनेर आउने छन् । किसानसँग कृषि एम्बुलेन्स हुनेछ, शीत भण्डार हुनेछ ।

    ३) जलयातायात र माछापालन

    उच्च कोशी ड्याम बनेसँगै चताराबाट संखुवासभाको यातायात सहज र सुलभ हुनेछ भने सभाताल निर्माणसँगै पर्यटकीय र असला माछाको हब बन्नेछ त्यो क्षेत्र । खोलाहरू माछापालनको निम्ति ठेक्का लगाइनेछन् । माछा पालक र माछा मार्नेहरूलाई लाइसेन्स दिइनेछ । गिटी बालुवा ढुंगा होइन खोलाबाट माछा निस्किने छ ।

    ४) मनकामना धामको भौतिक विकास

    पूर्वको पाथिभरा, हलेसीजस्तै मनकामनादेवीको बास रहेको मनकामनामा विश्वका ठूला धामहरू जस्तै बनाइनेछ । एकपटकमा हजारौं भक्तजनले दर्शन गर्न मिल्ने धाम निर्माण गरिनेछ भने एकादशी बजार हरेक नेपाली र नेपालभाषीले पुग्नै पर्ने बजारको रूपमा विकास गरिनेछ ।

    ५) तुम्लिङटार एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट

    चाइना र इन्डियाको हवाई दूरी नजिक रहेको तुम्लिङटार एयरपोर्टलाई जेट प्लेन र कार्गो प्लेन चल्ने एयरपोर्ट बनाइनेछ ।

    ६) घरेलु उत्पादन र व्यापार

    अब लसुन, प्याज, बन्दा र सागमात्रै होइन सुन्तला, अलैँची, चिया, राडी, लुकुनी, अल्लो, भाङ्ग्रालगायत घरबुना उत्पादन वार्षिक आउने लाखौं पर्यटकलाई बिक्री गरिने छ । संखुवासभा आउँदा लाउने र खाने स्थानीयमात्र हुनेछन् ।

    ७) गुराँसको राजधानी र चियाको सदरमुकाम

    तीनजुरे मिल्के क्षेत्रमा व्यवस्थित पर्यटकीय हब बनाइनेछ साथै राज्यस्तरबाटै लगानी बढाइनेछ । हिमालमात्रै होइन विश्व बजारमा गुराँस देखाएर पर्यटक बोलाइने छ । छ्याङ्कुटी-नुम क्षेत्रसम्म चिया खेती गरिनेछ । राजधानी बनाउन नसके पनि चियाको सदरमुकाम बनाउन पहल गरिने छ ।

    यसरी समग्र समृद्ध संखुवासभा निर्माणमा अमर श्रष्टा खेमराज गुरुङ कल्पनाशील रहेको मैले पाएको छु । यस स्मृति दिवसमा सम्झँदै उहाँका सपना पूरा गर्ने जिम्मेवारी कसको ? भनी ध्यानाकर्षण गराएँ । लौ न, गुरुङको मृतात्माको चीर शान्तिको निम्ति भए पनि प्रण गरौं ।

  • सामाजिक सुरक्षा छ, स्वास्थोपचारको तनाव छैन !

    सामाजिक सुरक्षा छ, स्वास्थोपचारको तनाव छैन !

    गएको बैशाख १५ गते म मोटरसाइकल दुर्घटनामा परें । केएमसी अस्पतालमा शल्यक्रियापश्चात् ३३-३४ घण्टापछि होसमा आएँ । टाउकोको दुई पटक जटिल शल्यक्रिया गरिएको थियो । दैनिक १९ हजार रुपैयाँसम्मको एन्टिबायोटिक प्रयोग गरें । ७६ दिन अस्पतालमा बसें ।

    यति लामो अस्पताल बसाइ आफैंमा अत्यासलाग्दो थियो । झनै न्युरोका बिरामीहरुको हालत र अवस्थामात्रै हेरिरहनु पर्ने अवस्था थियो । प्रायः अधिकांश बिरामी मानसिक रुपमा ठीक थिएनन् । म शारीरिक रुपले त बिरामी थिएँ नै, सँगै न्युरो सर्जरी वार्डको हालत देखेर मानसिक रुपले पनि उस्तै विक्षिप्त थिएँ । एकातिर न्युरो सर्जरी वार्डको त्यस्तो हालत थियो, अर्कातिर अँध्यारो भविष्यको चिन्ता ! भोलि के हुने हो, यकिनका साथ भन्न सकिने अवस्था थिएन ।

    तर आर्थिक रुपले भने एक हिसाबले सुरक्षित रहें । म आबद्ध संस्था नेपालप्रेस डटकम सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुले मलाई निकै ठूलो भरथेग मिल्यो । कोषले सात लाख रुपैयाँको व्ययभार बहन गरिदियो । यसले मलाई ठूलो राहत नै प्रदान गर्‍यो । हुन त कोषले व्यहोरेको सात लाखपछि पनि झण्डै यति नै मात्रामा मेरो खर्च भयो । कोषको सात लाख सकिएपछिका बाँकी खर्चहरुमा केही साथीभाइ, शुभचिन्तकको पनि भूमिका रह्यो । त्यसैले म बाँचेर आएँ ।

    सुरुवातमा मैले सामाजिक सुरक्षा कोषलाई उति गम्भीर रूपमा लिएको थिइनँ । कार्यालयले आफ्ना कर्मचारीलाई कोषमा आवद्ध गरेर मासिक रुपमा पाउने पारिश्रमिकको निश्चित प्रतिशत जम्मा गरिदिन्छ र त्यसवापत कोषले कर्मचारीलाई औषधोपचारमा छुट दिलाउँछ भन्नेसम्म मात्र बुझेको थिएँ । यो सामान्य नै होला भन्ने लागेको थियो, तर जब गम्भीर बिरामी भएर अस्पताल पुगें । अनि लाग्यो, कोषको योगदान सामान्य होइन रहेछ । थप बुझ्दै जाँदा थाहा पाएँ कि बिरामीलाई मात्रै होइन, कोषमा आबद्ध हरेकलाई नै धेरै सुविधा रहेछन् ।

    संविधानको धारा ३४ को उपधारा २ मा प्रत्येक श्रमिकलाइ उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था बमाेजिम राज्यद्वारा यो कोष स्थापना भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा टेकेर स्थापना भएको यस कोषको एकै उद्देश्य छ- नागरिकको सुरक्षाको हक सुनिश्चित गर्ने, उनीहरुको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पोल पोलमा टाँगेर नयाँ युगको शुरुआतका विज्ञापन देख्दाखेरीको आलोचकमध्ये म पनि एक थिएँ । तर अहिले आएर आफैं त्यसको एउटा लाभग्राही बनेर यो ब्लग लेखिरहँदा साँच्चिकै त्यो दिन अर्थात २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा शुरु भएको दिन नयाँ युगकै शुरुआत रहेछ । सामाजिक सुरक्षा र समाजवाद एक अर्काका परिपूरक समेत भएकाले यसलाई अझ सहज,सुलभ र सबल बनाउँदै लैजानुपर्छ ।

    सुरुवातमा मैले सामाजिक सुरक्षा कोषलाई उति गम्भीर रूपमा लिएको थिइनँ । कार्यालयले आफ्ना कर्मचारीलाई कोषमा आवद्ध गरेर मासिक रुपमा पाउने पारिश्रमिकको निश्चित प्रतिशत जम्मा गरिदिन्छ र त्यसवापत कोषले कर्मचारीलाई औषधोपचारमा छुट दिलाउँछ भन्नेसम्म मात्र बुझेको थिएँ ।

    कोषमा निजी, औपचारिक, अनौपचारिक तथा स्वरोजगारमा रहेका व्यक्ति आवद्ध हुन सक्छन् । सरकारी कर्मचारीले जसरी पेन्सनको सुविधा पाउनेमात्रै नभएर उनीहरुलाई भन्दा राम्रो सुविधा दिन सरकारले यो कोष सञ्चालनमा ल्याएको थियो । धेरैलाई थाहा नहुनसक्छ, कोषमा कसरी आबद्ध हुने ? कोषले दिने सुविधा के के हुन् ? आउनुस्, छलफल गरौं ।

    श्रीमान्‌लाई पनि सुत्केरी स्याहार भत्ता

    मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता महिला गर्भवती हुँदा कोषले आर्थिक रूपमा संरक्षण गर्छ । निजले ३८ दिनको न्यूनतम तलब पाउनुका साथै सम्पूर्ण उपचारमा ८० प्रतिशत छुट पाउनेछिन् । ३८ दिनको तलब चाहिँ यसकारण भनिएको हो कि सुत्केरी महिलाले ९८ दिन बिदा पाउँछिन् । उक्त बिदामा ६० दिन कटाएर बाँकी ३८ दिनको तलब सुविधा कोषले निजको बैंक खातामा हालिदिन्छ । यसबीच निज कार्यरत कम्पनीले पनि निरन्तर तलब हाल्नुपर्ने कानूनी व्यवस्था छ । यस हिसाबले कोषमा आबद्ध योगदानकर्ता महिलाले ३८ दिनको छुट्टै तलब पनि पाउने भयो ।

    यस्तै सुत्केरी स्याहार भत्ताबापत योगदानकर्ता पुरुषलाई १७ हजार रुपैयाँ बेग्लै प्राप्त हुन्छ । मानौं कोही योगदानकर्ता पुरुषकी श्रीमती सुत्केरी भइन् । अब कोषले निज पुरुषलाई सुत्केरी स्याहार भत्ता उसको बैंक खातामा हालिदिन्छ । यतिमात्रै होइन, निजको श्रीमती कोषमा नभए पनि सुविधा श्रीमतीले पनि पाउँछिन् ।

    योगदानकर्ता पुरुषकी श्रीमतीलाई गर्भावस्थादेखि सुत्केरी भएपछिको तीन महिनासम्मको सम्पूर्ण उपचारको ८० प्रतिशत खर्च कोषले व्यहोरिदिन्छ । कोषले तोकेका अस्पतालमा बच्चाको समेत तीन महिनाको उपचारमा ८० प्रतिशत छुट हुन्छ । यदि जुम्ल्याहा बच्चा भएमा ३४ हजार पाइन्छ । यो भनेको सरकारले तोकेको मजदुरको न्यूनतम पारिश्रमिक बराबरको रकम हो ।

    सँगै यदि २४ हप्तासम्मको गर्भपतन भएमा वा बच्चा मरेमा पनि १७ हजार नै कोषले उपलब्ध गराउँछ, तर कानूनविपरीत गर्भपतन गराउँदा भने पाइँदैन । यो सुविधा पाउन योगदानकर्ताले कम्तीमा तीन महिना कोषमा योगदान गरेको हुनुपर्छ । यदि घरमै रहेर चिकित्सकको परामर्श, उपचारलगायत गरेमा पनि बिलबमोजिम कोषले रकम उपलब्ध गराउँछ ।

    घातक रोगमा क्षतिपूर्ति १० लाखसम्म, बेरोजगार भएमा तलब तीन महिनासम्म

    कोषले घातक रोगहरुको उपचारका लागि पीडितहरुलाई धेरै सुविधा दिएको छ । ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, विस्मृति, शरीरका हड्डीमा समस्यालगायत रोगका लागि कोषले एकै पटक वा पटकपटक गरी १० लाख रुपैयाँसम्म उपलब्ध गराउँछ ।

    मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता महिला गर्भवती हुँदा कोषले आर्थिक रूपमा संरक्षण गर्छ । निजले ३८ दिनको न्यूनतम तलब पाउनुका साथै सम्पूर्ण उपचारमा ८० प्रतिशत छुट पाउनेछिन् । ३८ दिनको तलब चाहिँ यसकारण भनिएको हो कि सुत्केरी महिलाले ९८ दिन बिदा पाउँछिन् ।

    सामान्य चेकअप (ओपीडी)का लागि कोषले २० हजार रुपैयाँसम्मको वार्षिक सुविधा दिएको छ । यदि अस्पताल भर्ना हुने अवस्था आएमा वार्षिक एक लाखसम्म कोषले नै व्यहोर्छ । योगदानकर्ताको नेपालमा उपचार हुन नसकेमा सरकारी मेडिकल बोर्डको सिफारिसमा विदेशको अस्पतालमा भर्ना भई उपचार गरेमा बढीमा सात लाखसम्म कोषले उपलब्ध गराउँछ ।

    यदि योगदानकर्ता बिरामी भएर १२ दिनभन्दा लामो अस्पताल बसाइ भएमा वा चिकित्सकको सल्लाहबमोजिम घरमै बसी उपचार गराउनुपर्ने अवस्था आएमा मासिक रुपमा खाइपाइ आएको आधारभूत तलबको ६० प्रतिशत रकम कोषले उपलब्ध गराउँछ ।

    रोजगारदाताको व्यवसाय बन्द भएमा वा रोजगारी अन्त्य हुने अवस्था भएमा पनि कोषले तीन महिनासम्म तलब उपलब्ध गराउँछ । उदाहरणका लागि कुनै रोजगारदाताले ‘दुईतीन महिना बिदा बस, त्यतिञ्जेल सक्दैनौं’ भनेमा खाइपाइ आएको तलबको ६० प्रतिशत रकम कोषले योगदानकर्तालाई उपलब्ध गराउँछ ।

    कोषले सबै रोगको उपचारमा सहयोग गर्ने भए पनि प्लास्टिक सर्जरी र दाँतको उपचारको खर्च भने व्यहोर्दैन । त्यस्तै शरीरको बोसो निकाल्ने (बारियट्रिक सर्जरी)को पनि खर्च कोषले व्यहोर्दैन, तर अन्य रोगहरुको भने बिल पेश गरेअनुसारको रकम कोषले व्यहोर्छ ।

    यदि दुर्घटना भएमा ? यसमा कोषले नै उपचार गरिदिने भयो । योगदानकर्ता कोषमा सूचीकरण भएर पैसा जम्मा हुन थालेको दिनदेखि नै यो लागू हुन्छ, तर योगदान गर्न छाडेमा भने यो सुविधा पाइँदैन । व्यवसायजन्य रोगको उपचार सुविधा भने योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म पनि पाउँछ । जस्तोः सिलाइकटाइ गर्ने योगदानकर्ताको औंलामा समस्या आयो । यस्तो अवस्थामा योगदान गर्न छाडे पनि दुई वर्षसम्म योगदानकर्ताले सुविधा पाउँछ ।

    कोषले सबै रोगको उपचारमा सहयोग गर्ने भए पनि प्लास्टिक सर्जरी र दाँतको उपचारको खर्च भने व्यहोर्दैन । त्यस्तै शरीरको बोसो निकाल्ने (बारियट्रिक सर्जरी)को पनि खर्च कोषले व्यहोर्दैन, तर अन्य रोगहरुको भने बिल पेश गरेअनुसारको रकम कोषले व्यहोर्छ ।

    दुर्घटनाको सवालमा व्यवसायजन्य दुर्घटनामा कोषले लागे जति सम्पूर्ण खर्च व्यहोर्छ । यसका लागि सात दिनभित्र कोषलाई सूचना दिनुपर्छ । जस्तो कुनै पनि संस्थामा कार्यरत पत्रकार रिपोर्टिङका क्रममा घाइते भयो वा कुनै कफी सपमा काम गर्ने व्यक्ति कामको सिलसिलामा घाइते भयो । यस्तो अवस्थामा कोषले जति खर्च लागे पनि सम्पूर्ण खर्च व्यहोरिदिन्छ, तर योगदानकर्ता निजी कामको सिलसिलामा दुर्घटनामा पर्‍यो, उसले सात लाखसम्मको उपचार सुविधा पाउँछ । जस्तो मैले पाएँ । यदि म अफिसियल कामका लागि दुर्घटनामा परेको भए उपचार खर्च जति लागे पनि कोषले नै व्यहोरिदिन्थ्यो ।

    आकर्षक पेन्सन, परिवारलाई लाभैलाभ

    यदि कोषमा आबद्ध योगदानकर्ता केही समय काम गर्न असक्षम भएमा उसले खाइपाइ आएको तलबको ६० प्रतिशत रकम काममा नफर्कंदासम्म पाउँछ । सधैंका लागि काम गर्न नसक्ने भएमा जीवनभर पेन्सन सुविधा पाउँछ । यदि आफैं हिँडडुल गर्न नसकेमा उसलाई हेरचाह गर्ने व्यक्ति वा संस्थाले उक्त पेन्सन रकम पाउँछ । मानौं, म दुर्घटनामा परेपछि यदि केही समय काम गर्न नसक्ने अवस्थामा पुगेको थिएँ भने मैले खाइपाइ आएको तलबको ६० प्रतिशत रकम कोषले नियमित रुपमा काममा नफर्किञ्जेलसम्म उपलब्ध गराउँथ्यो ।

    साथै यदि योगदानकर्ताको मृत्यु भएमा उसको पति/पत्नीले तलबको ६० प्रतिशत पेन्सन सुविधा पाउँछ । योगदानकर्ताको छोराछोरीले १८ वर्ष नपुगुञ्जेल शैक्षिक वृत्तिवापत् ४० प्रतिशत पाउँछन् । पति/पत्नीसँगै छोराछोरी पनि भएको सवालमा कोषले पूर्ण तलब नै उपलब्ध गराउँछ । दुईभन्दा बढी छोराछोरी भएमा दामासाहीमा ४० प्रतिशत बाँडिन्छ । यदि छोराछोरी नियमित पढिरहेको छ भने उसले २१ वर्षसम्म यो सुविधा पाउँछ, तर योगदानकर्ताको कुनै छोराछोरी शारीरिक र मानसिक रुपमा काम गर्न असक्षम भएमा उमेर हद लागू हुँदैन । छोराछोरीले नमरुञ्जेलसम्म पाउँछन्, तर योगदानकर्ता विवाहित हैन र आश्रित आमाबुवा छन् भने उनीहरुले पनि ६० प्रतिशत पेन्सन बाँचुञ्जेल पाउँछन् ।

    साथै योगदानकर्ता बित्यो भने उसका परिवारका सदस्य वा हकवालाले २५ हजार अन्तिम संस्कार खर्च पाउँछन् र कोषमा भएको सबै रकम फिर्ता पाउँछन् । अनि जीवनभर हकवालाले पेन्सन पाउँछ ।

    ६० वर्षपछि नियमित पेन्सन, तर कसरी कोषमा आबद्ध हुने ?

    कोषमा आबद्ध हुन योगदानकर्ता आफैंले नियमित योगदान गर्नुपर्ने हुन्छ । व्यक्तिगत रुपमा भने योगदान गर्न पाइँदैन । योगदान गर्न सबैभन्दा पहिला योगदानकर्ता आबद्ध संस्था सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको हुनुपर्‍यो र संस्थाले पहल गरिदिनुपर्‍यो । कोषमा आबद्ध भएपछि भने संस्था छाडेमा योगदानकर्ताले व्यक्तिगत रुपमा पनि योगदान गर्न पाउँछ ।

    यदि योगदानकर्ताको मृत्यु भएमा उसको पति/पत्नीले तलबको ६० प्रतिशत पेन्सन सुविधा पाउँछ । योगदानकर्ताको छोराछोरीले १८ वर्ष नपुगुञ्जेल शैक्षिक वृत्तिवापत् ४० प्रतिशत पाउँछन् । पति/पत्नीसँगै छोराछोरी पनि भएको सवालमा कोषले पूर्ण तलब नै उपलब्ध गराउँछ । दुईभन्दा बढी छोराछोरी भएमा दामासाहीमा ४० प्रतिशत बाँडिन्छ ।

    कोषमा कसरी रकम जम्मा गर्ने त ? मेरै उदाहरण लिउँ- म आबद्ध संस्था नेपाल प्रेस डटकमले मेरो तलबको १० प्रतिशत काटिदिन्छ । यसमा २० प्रतिशत संस्थाले थपिदिएर कोषमा खुलेको मेरो खातामा जम्मा गरिदिन्छ । यसरी मासिक रुपमा कोषमा पैसा जम्मा हुन्छ ।

    अहिले न्यूनतम चाहिँ ३ हजार ३०० सम्म कोषमा योगदानकर्ताले जम्मा गर्न पाउँछ, तर सबैले यति नै रकम जम्मा गर्ने भन्ने हुँदैन । तपाईंको तलबमा निर्भर हुन्छ । जस्तो ५० हजार तलब खाने योगदानकर्ताको ११ प्रतिशत भनेको ५ हजार र अफिसले थप २० प्रतिशत थपिदिँदा १५ हजार मासिक रुपमा जम्मा हुने भयो ।

    जम्मा भएको रकममध्ये केही प्रतिशत रकम दुर्घटना, उपचार खर्च कोषमा जान्छ । बाँकी रकम योगदानकर्ताको पेन्सन रकम हो । ६० वर्ष पुगेपछि उसले सरकारी कर्मचारीले जस्तो नियमित पेन्सन पाउँछ । पेन्सनका लागि कोषमा जम्मा भएको कूल रकमलाई १६० ले भाग लगाउँदा जति रकम आउँछ, त्यो रकम योगदानकर्ताले मासिक रुपमा पेन्सनको रुपमा पाउँछ ।

    पेन्सन पाउन कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्छ । १५ वर्षपछि जति समय योगदान गरे पनि हुन्छ, तर जति लामो समय योगदान गर्‍यो, योगदानकर्तालाई उति नै फाइदा हुन्छ ।

    कोषले दिने सुविधा अर्को पनि छ । मानौं, कुनै संस्था कोषमा आबद्ध छ, तर उक्त संस्थाले कुनै पनि कर्मचारीको योगदान रकम जम्मा गरेको छैन र यही बीचमा उक्त संस्थामा आबद्ध कर्मचारी दुर्घटनामा पर्‍यो, मृत्यु भयो वा बिरामी पर्‍यो भने कोषले व्यहोर्नुपर्ने सबै खर्च सम्बन्धित संस्थाले व्यहोर्नुपर्ने हुन्छ । यसका लागि सम्बन्धित व्यक्तिका परिवारले कोषमा निवेदन वा उजुरी हाल्नुपर्ने हुन्छ । यसपछि मात्रै कोषले सम्पूर्ण खर्च व्यहोर्नु भनेर निर्देशन दिन्छ ।

    न्यून ब्याजदरमा ७५ लाखसम्म घर कर्जा, ३५ लाखसम्म शैक्षिक कर्जा

    कोषमा जम्मा भएको रकम बीचमा निकाल्न पाइँदैन । यसका लागि ६० वर्ष नै पुग्नुपर्छ, तर सुविधाहरु भने अथाह छन् । कोषमा नियमित योगदान गरेको तीन वर्ष पुगेपछि घर कर्जा, विशेष सापटी, अध्ययन सापटीलगायत सस्तो ब्याजदरमा लिन पाइन्छ ।

    धितो मूल्यांकन भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँसम्म घर कर्जा पाइन्छ वा योगदानकर्ताले १५ वर्षसम्मको योगदान बराबरको रकम ऋण लिन पाउँछ । ऋणको पहिलो किस्ता लिएको अधिकतम २० वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ, तर योगदानकर्ताले योगदान गर्न छाडेमा भने ६ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ ।

    पेन्सन पाउन कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्छ । १५ वर्षपछि जति समय योगदान गरे पनि हुन्छ, तर जति लामो समय योगदान गर्‍यो, योगदानकर्तालाई उति नै फाइदा हुन्छ ।

    शैक्षिक सापटीको सवालमा योगदानकर्ता आफैं वा उसको पति/पत्नी, छोराछोरीलाई उच्च शिक्षाका लागि स्वदेश वा विदेशका शैक्षिक संस्थामा अध्ययनका लागि ३५ लाखसम्म ऋण पाइन्छ । विशेष सापटीको रुपमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण पाइन्छ । जस्तो एक लाख कोषमा जम्मा भएमा योगदानकर्ताले विशेष सापटीस्वरुप ८० हजारसम्म ऋण लिन पाउँछ । यो खालको सापटी भने १५ वर्षसम्म चुक्ता गर्नुपर्ने हुन्छ ।

    ब्याजको रुपमा विशेष सापटीमा ६.६० प्रतिशत तिर्नुपर्छ । घरकर्जामा ७.५ प्रतिशत ब्याज तिर्नुपर्छ । योगदानकर्तालाई कोषले जम्मा भएको रकमको ५.५ प्रतिशत ब्याज रकम दिन्छ ।

    वैदेशिक रोजगारीमा जानेहरुलाई सुविधैसुविधा

    वैदेशिक रोजगारीमा जानेहरुले पनि कोषमा योगदान गर्न पाउँछन् । अहिले त वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा कोषमा आबद्ध भएर जानुपर्छ, तर वैदेशिक रोजगारीमा जाने अधिकांशले विदेश गएपछि नियमित रुपमा योगदान गर्दैनन् । यसको जोखिम भने उनीहरुले नै लिनुपर्छ ।

    वैदेशिक रोजगारीमा जाने योगदानकर्ताका पति/पत्नी र छोराछोरीले सामान्य चेकअपका लागि वार्षिक २५ हजार र अस्पताल भर्ना हुनुपरेमा वार्षिक एक लाखसम्मको उपचार सुविधा कोषले उपलब्ध गराएको छ, तर वैदेशिक रोजगारीमा जानेहरुले कोषमा नियमित योगदान नदिएको कोषको रिपोर्टले देखाउँछ । दुई तीन प्रतिशतले मात्रै कोषमा नियमित योगदान दिइरहेका छन् ।

    कोषमा आबद्ध हुँदै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीहरुको संख्या साढे १० लाख नाघेको छ । उनीहरुबाट साढे दुई अर्ब रकम जम्मा पनि भएको छ, तर ९६-९७ प्रतिशतले नियमित योगदान गरेका छैनन् ।

    यो लेख लेख्दै गर्दा वैदेशिक रोजगारीमा जानेहरु १० लाख ४६ हजार ३४६, नेपालको औपचारिक क्षेत्रका पाँच लाख २१ हजार ६४६ र केही स्वरोजगार र अनौपचारिक क्षेत्रबाट गरी १५ लाख ६७ हजार ६५७ योगदानकर्ता कोषमा आबद्ध छन् । कोषमा १९ हजार ४२१ कम्पनी आबद्ध छन् ।

    कोषमा आबद्धहरुमध्ये अहिलेसम्म ७३ हजार ७२७ जनाले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत सुविधा लिएका छन् । उनीहरुले झण्डै १३ करोड रकम सुविधावापत लिएका छन् । ३ हजार ७८६ जनाले दुर्घटना तथा अशक्तता योजनाअन्तर्गत सवा १४ करोड रकमको सुविधा लिएका छन् । ५६१ जनाले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत परिवारका सदस्यले योगदानकर्ताको मृत्यु भएपछिको सुविधा लिइरहेका छन् । त्यसैले कोषमा आबद्ध हुनु भनेको हरेक हिसाबले भविष्य सुरक्षित हुनु हो ।

  • ‘केपी बा’काे एक महिने रिपोर्ट कार्ड

    ‘केपी बा’काे एक महिने रिपोर्ट कार्ड

    चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली फरक छवि र शैलीका साथ काममा जुटिरहेको संकेत देखिन्छ । शैलीमा स्वच्छन्द देखिए पनि त्यसका पछाडि नेपाली नागरिकको चिन्ता र विकासको हुटहुटी देखिन्छ । नयाँ पुस्तासँग हातेमालो गर्ने विषय प्राथमिकतामा राखेको कुरा चाहे युवाहरुबीच विवाहको प्रसङ्ग होस् वा महिला भलिबल खेलाडीहरुको उत्साह गर्ने सन्दर्भमा होस् या क्रिकेट खेलाडीलाई हौसला दिने र क्रिकेट रंगशाला निर्माणको विषय होस्, यो एउटा संकेत हो । सार्वजनिक कार्यक्रममा जान नियन्त्रणवादी सोच बनाएका ओलीले पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने प्रतिबद्धता व्यक्त गरेर अर्को एउटा सन्देश दिनुभएको छ । यसअघि विकासको सपना देखाउने गरी भाषण गरे पनि यस पटक त्यति सारो सुनिएको छैन । अहिले ती सपनालाई मूर्तरूप दिने अभियानमा लागेको बुझ्न सकिन्छ । सुनिन छाडेकोमात्र होइन अहिले रातदिन १८ घण्टाभन्दा वढी सक्रिय रहँदै साँच्चिकै देशलाई पार लगाउने कुरामा दत्तचित्त भएर लागिपरेको देखिन्छ ।

    साँच्चिकै केपी शर्मा ओलीको नाम सम्झनासाथ दिमागमा कस्तो चित्र बन्छ ? निःसन्देह अटल, दृढ इच्छा शक्ति भएको भिजनरी लिडर, बुढेसकालमा पनि दैनिक १८ घण्टाभन्दा बढी खट्ने, राष्ट्रवादी र बालकदेखि वृद्धसम्म उत्तिकै रुचाउने, टावर पर्सनालिटी, (राजनेता) अर्थात् ‘केपी बा’ यो नामप्रति वेग्लै क्रेज छ । जहाँ केपी ओली पुग्नुहुन्छ, त्यहाँको माहोल नै अर्कै हुन्छ । उत्सुक भीडले घेरा हाल्छन्, सेल्फी खिच्नेको तँछाडमछाड हुन्छ, हात मिलाउने ताँती हुन्छ । बालबच्चादेखि बुढापाकासम्म उहाँका फ्यान छन् । अहिलेको राजनीतिका सर्वाधिक सेलिब्रेटी ओली दृढ आत्मविश्वास, कहिल्यै नझुक्ने शीर, फुर्तिलो शरीर, भाषण गर्ने गला र ज्ञानको भण्डारका पर्यायवाची नै हो । त्यसैले नेपाली राजनीतिका नेताहरुमध्ये उहाँप्रति जनस्तरमा आशा, भरोसा र विश्वास अडिएको छ ।

    साँच्चिकै केपी शर्मा ओलीको नाम सम्झनासाथ दिमागमा कस्तो चित्र बन्छ ? निःसन्देह अटल, दृढ इच्छा शक्ति भएको भिजनरी लिडर, बुढेसकालमा पनि दैनिक १८ घण्टाभन्दा बढी खट्ने, राष्ट्रवादी र बालकदेखि वृद्धसम्म उत्तिकै रुचाउने, टावर पर्सनालिटी, (राजनेता) अर्थात् ‘केपी बा’ यो नामप्रति वेग्लै क्रेज छ ।

    हो, अहिले मुलुकको विषम परिस्थितिका बीच उहाँले देशको शासनसत्ताको वागडोर सम्हाल्न पुग्नुभएको छ । यसवेला अर्थतन्त्र शिथिल छ, समाजमा चरम निराशा र अराजकता छ । राजनीति र नेताप्रति एक प्रकारको बितृष्णा छ, समस्या बग्रेल्ती छन्, देश रि-इन्जिनियरिङको अवस्थामा छ । यस्तो चुनौतीको पहाडमा सत्ताको वागडोर सम्हाल्न आएका भूराजनीतिक अवस्था र त्यसमाथि प्रतिस्पर्धी नेपाली कांग्रेस जस्तो पार्टीलाई विश्वासमा लिएर अघि बढ्नु कम चुनौतीको विषय होइन । त्यसमाथि कांग्रेसका महामन्त्रीद्वय म्याउँम्याउँ गरिरहेका छन् । कतिपय शक्ति, समूह, केन्द्रलाई उहाँको नामदेखि नै एलर्जी छ । यो परिवेशमा प्रधानमन्त्री ओलीका सामु चुनौती र अवसर दुवै छ । देशको प्रधानमन्त्री, देशको अभिभावक अर्थात् सबैका ‘बा’ ‘केपी बा’ साँच्चिकै अभिभावक बन्ने ठाउँमा हुनुहुन्छ ।

    संसदीय राजनीतिमा दुर्लभ मानिने घटनाक्रमलाई साकार बनाउँदै गएको असर १७ गते देशको ठूला र शक्तिशाली तथा प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण निर्माण भयो र असार ३१ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार गठन भयो । देशमा अस्थिरता र निराशा बढेकाले नागरिकलाई डेलिभरी दिन दुई ठूला दल मिल्नु परेको उनीहरुको दाबी छ । दुवै दलका शीर्षस्थ नेताहरु यस पटक विषम परिस्थिति भएकाले ठूला दुई दल मिलेर सरकार बनाउनु परेको दलिल पेश गरिरहेका छन् । साथै आलोपालो सत्ता चलाउने गरी ७ बुँदे समझदारी सार्वजनिक पनि भएको छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच उच्चस्तरको सहमति भएकाले यो सरकार शक्तिशाली र बलियो रहेको दाबी पनि नेताहरुले गरेका छन् ।

    अहिलेको राजनीतिका सर्वाधिक सेलिब्रेटी ओली दृढ आत्मविश्वास, कहिल्यै नझुक्ने शीर, फुर्तिलो शरीर, भाषण गर्ने गला र ज्ञानको भण्डारका पर्यायवाची नै हो । त्यसैले नेपाली राजनीतिका नेताहरुमध्ये उहाँप्रति जनस्तरमा आशा, भरोसा र विश्वास अडिएको छ ।

    मुलुकको विशिष्ट आवश्यकताबीच निर्माण भएको यो समीकरण र सरकार गठन भएको महिना दिन बितेको छ । सरकार गठन भएको एक महिनामा प्रारम्भिक लक्षणहरु सकारात्मक देखिएका छन् । नयाँ सरकार गठन हुनासाथ आर्थिक बजार र पुँजी बजारले स्वागत गरेका छन् । निजी क्षेत्र उत्साहित बनेको छ । शेयर बजारमा हरियाली छाउँदै ठप्प प्रायः रहेको मुलुकको अर्थतन्त्र चलायमान भएको प्रतिविम्ब दिएको छ । पावर शेयरिङका विषयले यसअघि महिनौं लाग्ने गरेकोमा यस पटक सरकारले एकै पटक पूर्णता पायो । यसले पनि सत्ता साझेदार दुई दलबीच उच्चस्तरको समझदारी भएको पुष्टि गरेको छ । त्यसैले १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ । प्रधानमन्त्री ओलीकै नेतृत्वमा शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगिने दिशातिर गएको छ । नेपालको निजामती प्रशासनको इतिहासमा पहिलो महिला मुख्यसचिव पाएको छ । यसले नेपालको निजामती क्षेत्रमा मात्र होइन, नयाँ पुस्ताका महिलामा नयाँ सन्देश प्रवाह गरेको छ ।

    शिथिल अर्थतन्त्र जुर्मुराउन थालेको छ । मुलुकको कर्मचारीतन्त्रमा आत्मविश्वास बढेको छ । काम शुरु भएको छ । आमनागरिकमा आशा जगाएको छ, प्रभाव र परिणाम आउन केही समय लाग्छ, तर प्रारम्भिक एक महिनामा सरकारले लय समाएको छ, सही दिशा लिएको सङ्केत देखापरेको छ । यद्यपि गर्नु धेरै छ । राजनीतिक परिवर्तन भयो, वंशका आधारमा राज गर्ने परम्परा भत्काएर जनताका छोराछोरी शासनसत्तामा पुग्ने व्यवस्था आयो । राजनीतिक व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने आमभाष्य निर्माण भएको छ । यो भाष्यलाई बदल्नु छ । कमजोर अर्थतन्त्रका बीच चौतर्फी निराशालाई आशामा बदल्नु छ । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । विशेषगरी नयाँ पुस्ताको निराशा चिर्दै उनीहरुसँग हातेमालो गर्दै अघि बढ्नु जरुरी छ । यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न टेवा पुर्‍याउने छ ।

    प्रधानमन्त्री स्वयम्ले भन्नुभएको छ, यो सरकार असामान्य अवस्थामा बनेको सरकार हो । यस कुराले प्रधानमन्त्री वर्तमान अवस्थाका बारेमा गम्भीरताका साथ अघि बढेको बुझ्न सकिन्छ । यो सरकारले दैनिक कार्य (रुटिन वर्क्स) गरेरमात्रै पुग्दैन । यो सरकारको सफलता वा असफलतासँग हाम्रो लोकतान्त्रिक गणतन्त्र र संविधानको भविष्य जोडिएको छ । त्यसैले सरकारले देखिने गरी काम गर्नुको विकल्प छैन । कोही कसैको फन्डा र विषयान्तरका पछि नलागी जनताका समस्या समाधान गर्नेगरी अघि बढ्नु आवश्यक देखिन्छ । राजनीतिक रुपमा ‘क्रोनिक’ समस्याका रुपमा रहेको यो अवस्थालाई पार लगाउनु अर्को अहम् विषय हो । यी यस्ता विषयमा फटाफट निर्णय हुने, सेवा प्रवाहमा सहज र सरल, छिटोछरितो हुने ‘इम्प्रेसन’ दिन सक्नुपर्छ ।

    मुलुकको विषम परिस्थितिका बीच उहाँले देशको शासनसत्ताको वागडोर सम्हाल्न पुग्नुभएको छ । यसवेला अर्थतन्त्र शिथिल छ, समाजमा चरम निराशा र अराजकता छ । राजनीति र नेताप्रति एक प्रकारको बितृष्णा छ, समस्या बग्रेल्ती छन्, देश रि-इन्जिनियरिङको अवस्थामा छ ।

    यससँगै सरकारले आन्तरिक राजनीति, अर्थतन्त्रमा देखिएको समस्यादेखि छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित राख्नेसम्मका चुनौतीलाई छिचोल्दै आफूलाई अब्बल सावित गर्न जरुरी छ । त्यस्तै सरकारको अर्को महत्वपूर्ण टास्क वर्तमान संविधानलाई संशोधन गर्नु रहेको छ । संविधान संशोधनको फाइल खोलिसकेपछि यसले धेरै विवादलाई सतहमा ल्याउने छ । यो निकै संवेदनशील र पेचिलो विषय हो, जसलाई निकै सजकता र सतर्कताका साथ अघि बढाउनु पर्नेछ । त्यस्तै ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्रीको उद्घोषलाई समाजले जान्ने सुन्ने गरी परिणाम देखाउने गरी भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अपरिहार्य देखिन्छ । यी र यस्तै विषयमा परिणाममुखी कार्य गरेमा दुई ठूला र शक्तिशाली दल मिलेर समीकरण निर्माण गरेको र सरकार गठन गरेको सार्थक हुनेछ ।

    धेरै बेथिति छन्, थितिमा ल्याउनु छ । निजी क्षेत्रलाई उत्साही र आत्मविश्वासी बनाउनुपर्ने छ । परम्परागत प्रणाली र शैलीलाई अपनाउँदै निम्न मनोवलमा अडिएको कर्मचारीतन्त्रलाई उच्च मनोबल बनाउँदै जनताको सेवामा लागिरहने सक्षम कर्मचारीतन्त्रको निर्माण गर्नुपर्ने छ । जनतामा रहेको चरम निराशा र बितृष्णालाई बोलेर होइन काम र परिणामबाट चिर्नुपर्नेछ । सुशासनको इन्डिकेटर बढाउनु पर्नेछ । उत्पादन बढाएर रोजगारी बढाउनुपर्ने मुख्य र चुनौतीपूर्ण कार्य छ । कृषि उत्पादन बढाउने र उचित मूल्य दिने कुराको ग्यारेन्टीको विषय छ । यी सबै विषय चुनौतीकै रुपमा छन् । यी सबै विषय परिणाममुखी बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीकै काँधमा छ । यो सामान्य अवस्थामा बनेको सरकार होइन, एउटा विशिष्ट परिस्थितिमा समयको मागसँगै बनेको सरकार हो । यसर्थ यो सरकार साँच्चिकै नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने विषयसँग जोडिएको छ । त्यसैले यो सरकारलाई असफल हुने छुट छैन । यो सरकारले पनि जनताका निराशालाई चिर्न नसके असफलतातर्फ मुलुक धकेलिनेछ र यसले नेपालको राजनीतिमा खतराको घन्टी बजाउने छ ।