Category: साहित्य / ब्लग

  • डा. सुरेन्द्र सिटौलाको कविता कृति ‘स्वर्गको बस्ती’ सार्वजनिक

    डा. सुरेन्द्र सिटौलाको कविता कृति ‘स्वर्गको बस्ती’ सार्वजनिक

    काठमाडौं । डा. सुरेन्द्र सिटौलाको नयाँ कविता संग्रह ‘स्वर्गको बस्ती’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पूर्वमन्त्री महेश आचार्य, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति विष्णुविभु घिमिरे तथा लेखक एवं समालोचक डा. गोविन्द भट्टराईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।

    बागमती बोर्डिङ स्कुलको आयोजनामा भएको उक्त कार्यक्रममा पुस्तकमाथि बोल्दै पूर्वमन्त्री आचार्यले सिटौलाको कवितामा भावना शिक्षा दर्शन चेतना र अनुभवको संगालो भेटिने बताए ।

    त्यस्तै घिमिरेले सरल भाषामा असरल्ल भावहरू कसरी बुन्न सकिन्छ, यसको उदाहरण पुस्तकमार्फत सिटौलाले दिएको टिप्पणी गरे ।

    ‘औसत सर्जकहरूको आँखामा, अनुभूतिमा नपरेका, त्यति महत्व र भाव नपाएका सूक्ष्म विषयहरूलाई काव्यिक रूपमा यति सुन्दर प्रस्तुति दिन सक्नु कविको विशेषता हो’, घिमिरेले भने ।

    डा. भट्टराईले वर्तमान स्थितिमा अनेक प्रकारहको विभाजन, विद्रुपता, विसंगति र विवेकहीनताले व्याप्त रहेको समयमा यी कविता यस्तो वर्तमान समाजमा केही उज्यालो पुर्‍याउन सकिन्छ कि भनी चेतना-चिराग बोकेर हिँडेको कविका सन्देश जस्ता लाग्ने बताए ।

    ‘यो संग्रह तीन तत्वको संघर्षको कथा हो । ती तत्व हुन् विज्ञान, भौतिकवाद र ईश्वर’, उनले भने, ‘कविता सामयिक सुन्दर र विविध अर्थ भावले भरिएका छन् ।‘

    कवि सिटौलाले आफ्नो ब्रह्मले सिकाएको आत्मबोधका अभिव्यक्तिहरूकै बाहुल्यता पुस्तकमा समेटिएको उल्लेख गरे ।

    पुस्तकमाथि कलाकार मनोज गजुरेललगायतले पनि टिप्पणी गरेका थिए । कार्यक्रममा शोभा खनाल, चक्र दवाडी, रामरञ्जन पौडेलले कविता संग्रहभित्रका कविता वाचन गर्दा गायक शिशिर योगीले सांगीतिक प्रस्तुति दिएका थिए ।

    ६३ वटा कविता संग्रहित उक्त पुस्तक मञ्जरी पब्लिकेशनले निकालेको हो । सिटौलाको यसअघि ‘देश र परिवेश’ कविता संग्रह प्रकाशित छ ।

  • भातको उत्पात !

    भातको उत्पात !

    कुनै दिन सम्मानपूर्वक सित्तैसस्तै जुम्ली मार्सी भातको सौगात पाएर हाँपझाँप गर्दै तीन थाल बजाउनु भा’थ्यो । चौरासी व्यञ्जनमाथि लोलोपोतो मिसिएको थप पचासी थरी थपुवा चिल्लोचापुल्लो पनि मनग्गे भ्याउनु भा’थ्यो । मह मिष्ठान्न, सलाद साथमा मीठा पानपरागको अनुरागमा पनि उत्तिकै रत्तिनु भा’थ्यो । जर्दा सुपारीका मुखसिद्धि खुराक पनि बुढो भालूले मकैका घोगा चपाए झैं बङ्गारा बङ्ग्याएर माक्लाकमुक्लुक पार्नु भा’थ्यो ।

    खास कुरा त अझ थप टीकाटाला दानदक्षिणाका किस्ती बण्डल भेटेर सुटकेश, गोजीभरि अटेसमटेस कोच्नु भा’थ्यो र दशैंको दक्षिणा पाएका बालबालिका जस्तै खुशीले काँचो पिँडालु बिर्साउनेगरी कोक्किनु भा’थ्यो । अनि त्यही मानभाउको तीनपाने तुजुकले हो कि, केले चैं हो, आफ्नो औकात भुलेर मालसिरीमा डान्स पनि गर्नु भा’थ्यो । बगालिएको अर्ना छटाए झैं उछिल्लिएर पुच्छर उचाल्दै बुर्कुसी मार्नुभा’थ्यो र सीधै चन्द्रागिरीदेखि नीलगिरिसम्मका रिसोर्टमा पुग्नु भा’थ्यो । त्यहाँ पनि त झन् उसै बस्ने कुरै भएन, पात्तिँदै मनमोजी चर्तिकला पनि अजमाउनु भा’थ्यो । बिहान हिमाली दृश्यावलोकन र बेलुकीका क्याम्पफायरका मोजमस्तीमा गस्ती गर्दै मांस-मदिराका तोङ्बा बोतल पनि भेटे जति लडाउनु भा’थ्यो । गफका पर्रा छोडेर दशै दिशाभरि आफ्नै हात जगन्नाथ भएको गुड्डी हाँक्नसमेत भ्याउनु भा’थ्यो । ‘कठै ती दिन गै गए ।’ वनवासी राजारामकै चाल पो हुने भयो त अहिले आएर ।

    अरुअरु पनि थुप्रै मार्सी धान प्रख्यात थिए यो कृषिप्रधान देशमा । परासीको तुलसीप्रसाद, कपिलवस्तुको कालानिमेक, पोखराको जेठोबुढो, गोकर्णको गौडियामार्सी, सीपाको छोटेमार्सी, दाङको तिल्की आदि इत्यादि मार्सीहरूको भर्मारै थियो र छ पनि, तर चिसो पानी लाग्ने, लेकाली प्रदेशमा फल्ने सौभाग्य पाएर होला, अनि चाहिँदो ख्याति कमाएर पनि होला, जुम्ली मार्सीले अरु सबै मार्सीलाई भारेभुरे बाथको कोटीमा पछाडि धकेलेको छ । आफ्नो अलग्गै पहिचान याने पेटेन्टको विश्वव्यापी गौरवगाथामा पनि उदरपीठ भएको छ । त्यसैले जुम्ली मार्सीको साख खास्सा वस्तु पो बन्न गएको छ देशभित्रै पनि ।

    चिसो पानी लाग्ने, लेकाली प्रदेशमा फल्ने सौभाग्य पाएर होला, अनि चाहिँदो ख्याति कमाएर पनि होला, जुम्ली मार्सीले अरु सबै मार्सीलाई भारेभुरे बाथको कोटीमा पछाडि धकेलेको छ । आफ्नो अलग्गै पहिचान याने पेटेन्टको विश्वव्यापी गौरवगाथामा पनि उदरपीठ भएको छ ।

    तर यताको समस्या अर्कै बल्झिदिएको छ यतिबेर । के तलबितल परेर हो कुन्नि, ती दिन अब रहेनन् । कमजोर पाचन शक्तिले गर्दा भात पचाउन नसकेर हो वा त्यसको रसायनले उन्माद जगाएर हो या अत्यधिक रसादि ग्रहण गरेर हो, दैव जानून् ! आज त्यही भात छड्किएर अन्धाधुन्द उत्पात मच्चाउन थालेको पो हो कि ! उसै त चिसो पानीको मार्सी धान, उसको पनि भात । त्यसलाई पनि अपच्तो भ्याएपछि के गरौं, कता जाउँको सन्निसर्पन भा’छ । पेटमा पगितो अपच पदार्थ परेर दिमाग छड्किएको थाहा पाएपछि पाहुना हजुर बल्ल ग्वाँ पर्नु भा’छ । भातले महँगो भाउ खोजेर छिर्के दाउ लगाएपछि हाउगुजीले हाराबारा पारेको छ ।

    डोरीमा गोमन सर्पको आभास भएर भासमा दबिँदै गएको भान भा’छ । उठौं त उठ्न नसकिने, बोलौं त कसैले नसुन्ने र नपत्याउने झम्पाट खलपात्रको बेढंगी चालले ठाडो शिरमाथि तेर्सो पेलम्पेल भा’छ । रातमा बास बसेका महिला बुढाबुढीलाई अरिँगाल सेना पठाएर लखेट्ता पनि भातको आँत गलेको हैन, झन् झन् अरठिएको छ । आँट खस्किएको हैन, झन् झन् दरिएको पो छ । माइतीघर पराइघर बनाएर प्रतिबन्ध लगाउँदा पनि भातको आँट छाँटिएको हैन ! उल्टै बल्खुका चौराह चोकमा आगो बाल्न पुगेर वाटर क्याननका फोहोरा छोड्नु पर्‍या’छ । मकैबारीमा पसेका बाँदरलाई जस्तै टिन ठटाएर लखेटौं भन्दा ढेडु जस्तो भात उल्टै जमात खडा गरेर ङिच्च दारा देखाएर जिस्क्याउन थालेको छ । बन्दुकका कुन्दा खटट्ट चलाउँदै हर्काउँदा पनि उल्टै फर्कीफर्की ढुङ्गामुढाले जाइलागेर हैरान पार्‍या छ । महँगो अँश्रुग्यासका लोला पड्काएर जाइलाग्नु पर्‍या छ । थरीथरी जासुस, प्रहरी र पाल्तु अरिँगालका न्वाराने शक्ति र सामर्थ्य खर्चिएर दबेट्नु पर्‍या छ । तैपनि टसमस हुने हैन मोरो भात !

    यता माइतीघर बन्दाबन्दी । उता भातले साँच्चै उत्पात मच्चाउने इरादाले मार्सी सेना बटुलेर बल्खुका सडक कब्जा गरेपछि टोक्नु न बोक्नुको चाल भा’छ । बन्दुक तोपको शक्ति प्रयोगको धमास दिएर लल्कार्दा पनि अटेरी भात भने झन् पो बाचाल भा छ । तथानाम गालीगलौजको मुख छोडेर हड्डी नै गाल्ने खालको अड्डी लिएको छ । कहिले गौशालाका चोक र थानाहुँदी ढुङ्गामुडाको वर्षाले सन्निसर्पन पारेर भन्नु नभन्नु भनेको सुन्नु पर्‍या छ । त्यो बेइज्जती खप्तै सहँदै गर्दा अचाक्ली भएपछि कतिबेर तिनै मार्सी सेनामाथि पुलिसका डण्डा भिडाउनु पर्‍या छ । डण्डा अँश्रुग्यासमाथि भिजिलान्ते खटाएर ढुङ्गामुढाको वर्षा पनि गराउनु पर्‍या छ ।

    त्यति गर्दा पनि भात शान्त नभैदिँदा मेजमानीमा हसुरेका थरीथरी परिकारका थपुवा जस्तै झञ्झट झ्याउलो र सास्ती पनि अझै बढ्या छ । जवाफी फयार काम नलागेपछि बसीखप्नु भा’छैन ।

    त्यति गर्दा पनि भात शान्त नभैदिँदा मेजमानीमा हसुरेका थरीथरी परिकारका थपुवा जस्तै झञ्झट झ्याउलो र सास्ती पनि अझै बढ्या छ । जवाफी फयार काम नलागेपछि बसीखप्नु भा’छैन । दुई दिन भए पनि तनावमुक्त हुने इरादाले कहिले यताउताका कुनाकाप्चातिर लुसुक्क लहसिनु परेको छ, कहिले विनाबित्थाँको जरुरी काम देखाएर विदेशका धामतिर नाम्सिँदै मुन्टो लुकाउनु पर्‍या छ । कतै शिर झुकाउनु पर्‍या छ । जता गए पनि भित्री कुरो लुकाउनु पर्‍या छ ।

    के चैं भन्नू, के नभन्नू खै ! अग्नि मन्द भएर हो कि, निकासी ढोका बन्द गरेर हो, उतिबेर पेटमा पुगेको भात यतिबेर पाचनक्रियालाई धक्का दिँदै भाँडिएर भाडभैलो गर्न लाग्या छ । भन्नु पनि भन्छ, नभन्नु पनि भन्छ भतुवा भातले । कतिबेर आसनबाट खँगार्छुृ भन्छ, कतिबेर शासनबाट लघार्छु भन्छ । कतिबेर रासनपानी बन्द गर्छु भन्छ । बेला न कुबेला बल्खुका चोक चौबाटालाई बाउको बिर्ता बनाउँदै छोप्या छ । कहिले सातदोबाटोतिर पैयाँ ठोक्तै छातीमाथि गुलेली ताक्या छ । कहिले भागशान्ति पाइनँ भन्दै गौशालामा अशान्तिको बीउ रोप्या छ ।

    मोफसलमा भए त तद्बिसेक भन्नुहुन्थ्यो, तर रजधानीमै आएर भातको बदला उत्पातले लिए झैं तमासै देखा’को छ । शान्ति सुरक्षामा सन्निसर्पन पारेपछि पुलिस लगाउनु पर्‍या छ । अनि तिनै भातका दातामाथि आँखाकैद याने नजरबन्द गर्नु पर्‍या छ । त्यसैले आज जे जे गर्नु नगर्नु मार्सी भातले गर्‍या छ । दारुको झुँगालो बिर्साउने यो मार्सी भातको उत्पातले बाफरे बाफ आतङ्क पो मच्चाको छ । ग्रहदशा पञ्छाए जस्तै कसरी पञ्छाउने हो अब यसलाई ? गतिलो ज्योतिषी खोजेर हेराइकोराई गर्नु पर्‍या छ । बस !

  • बीए एलएलबीमा औचित्यहीन शुल्क वृद्धि र विद्यार्थी आन्दोलन

    बीए एलएलबीमा औचित्यहीन शुल्क वृद्धि र विद्यार्थी आन्दोलन

    नेपाल ल क्याम्पस कानून अध्ययन हुने मातृ संस्थाको रूपमा परिचित छ । यो वि.सं २०११ साल असार १७ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयभन्दा अगाडिको क्याम्पस रहेको छ । सुरुमा भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन पाई सञ्चालन भएको यो संस्था वि.सं २०१६ सालमा त्रिभुवन विश्वविद्यालय मातहत सञ्चालनमा आएको हो । यो क्याम्पस हाल नेपालको जेठो विश्वविद्यालय त्रिविको आंगिक क्याम्पसमध्येको विशुद्ध कानून संकाय अध्ययन हुने शैक्षिक संस्थाको रुपमा स्थापित छ ।

    नेपाल ल क्याम्पसमा बीए एलएलबी कार्यक्रम १४ वर्षअघि सुरु भएको थियो । हालसम्म बीएएलएलबीको १४औं ब्याचसम्मले यस क्याम्पसमा प्रवेश गरी अध्ययन गर्ने अवसर प्राप्त गरिसकेका छन् । हालको भर्ना १५औं ब्याचको लागि प्रवेश परीक्षा सम्पन्न भई नतिजा प्रकाशन भइसकेको छ । प्रवेश परीक्षामा सामेल भएका विद्यार्थीबाट आवेदन माग गरी पहिलो मेरिट लिस्टसमेत प्रकाशन भइसकेको छ, तर नेपाल ल क्याम्पसबाट भएको औचित्यहीन शुल्क वृद्धिको कारण हाल भर्ना स्थगित छ र कलेज प्रशासनमा संयुक्त विद्यार्थी संगठन एवम् स्ववियुद्वारा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुको क्याम्पसमा गरिएको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालय कानून संकायले हाललाई भर्ना प्रक्रिया स्थगित गर्नु भनी क्याम्पसहरुलाई पत्राचारसमेत गरिसकेको छ ।

    बीए एलएलबी कार्यक्रमको भर्ना प्रक्रियाको इतिहास हेर्दा पहिले ६ वटा ब्याच वार्षिक प्रणालीमा पढाइ भएको र कोर्सको शुल्क २ लाख १८ हजार रहेको बुझ्न सकिन्छ । त्यसपश्चात समग्रमा त्रिविका धेरै संकाय सेमेस्टर सिस्टममा जाँदा बीए एलएलबी पनि २०७३ सालबाट सेमेस्टर सिस्टममा सञ्चालनमा आयो । त्यस बेला उक्त कोर्षको शुल्क संरचनासमेत अत्यधिक धेरै बनाउने गरी तयारी भएको अवस्थामा तत्कालीन मूलधारका विद्यार्थी संगठनहरुबाट ठूलो संघर्ष एवं दबाबको कारण एउटा समायोजित शुल्कमा सहमति भयो । त्यसबेला मुख्य रूपमा निम्न विषयमा सहमति भएको थियोः

    • १) बीए एलएलबीको कुल भर्ना शुल्क ३ लाख २५ हजार कायम गर्ने, जुन शुल्क अघिल्लो वर्षभन्दा १ लाख ७ हजार रुपैयाँ बढी थियो ।
    • २) प्रत्येक २ वर्षमा उक्त शुल्कमा ५ प्रतिशत वृद्धि हुने ।

    वि.सं २०७३ सालमा सुरु भएको उक्त शुल्क हालसम्म ३ पटक बढेर ३ लाख ७६ हजार हाराहारी पुगिसकेको छ । यस वर्ष पनि उक्त सहमतिकै आधारमा चौथो पटक वृद्धि हुँदै ३ लाख ९४ हजार पुग्दैछ । यतिले नपुगेर एकै पटक १ लाख ५० हजारभन्दा बढी बढाएर ५ लाख २३ हजार रुपैयाँ शुल्क पु¥याइएको छ । यसले समग्रमा कानूनी शिक्षामा भएको अस्वाभाविक, अवैज्ञानिक र अव्यवहारिक मूल्यवृद्धिमा हामी सबैको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यार्थी आन्दोलन विद्यार्थीकै हितमा केन्द्रित हुनुपर्ने एउटा नयाँ आयामको खोजी गर्न अग्रसर भएका छौं ।

    सबै शीर्षकको आम्दानी र खर्च छात्रवृत्तिसमेत जोड्दा कलेजले वार्षिक ७५ देखि ८० लाख हाराहारी नयाँ आम्दानी गर्दैछ । यसमा एउटा सेक्सन थप गर्दाको आम्दानी जोडिएकै छैन । त्यसकरण शुल्क वृद्धि गर्नुको कुनै औचित्य नै छैन ।

    त्यसकारण नेपाल ल क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी सङ्गठन र क्याम्पसबिच भएको सहमतिमा प्रत्येक २ वर्षमा शुल्क ५ प्रतिशतले बढिरहेको नै छ । यो हिसाबले सबै परिस्थिति र खर्च विवरणलाई मूल्याङ्कन गर्दा पनि अहिलेको अवस्थामा क्याम्पसमा ५५ सीट थपेर १६० बनाइँदा पनि क्याम्पस घाटामा जाने वा पढाइको गुणस्तर पुर्‍याउनै नसक्ने गरी थला पर्ने देखिँदैन ।

    जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ । समस्या देखाएर भाग्ने छुट अबको विद्यार्थी आन्दोलनलाई छैन । बीए एलएलबी कार्यक्रमको भर्ना प्रक्रियामा गरिएको अस्वाभाविक, अवैज्ञानिक र अव्यवहारिक शुल्कवृद्धिको कारण क्याम्पस प्रशासनबाट सृजित समस्या समाधानको लागी हामी अग्रसर हुनैपर्छ । तथ्य र तथ्याङ्कमा आधारित भएर हामीले समाधान खोज्नुपर्छ । शुल्क संरचनामा हालसम्म भइरहेको वृद्धिले ३ लाख ९४ हजार पुग्ने देखिन्छ । जुन अघिल्लो वर्षभन्दा १८ हजार रुपैयाँले बढी हो । यसलाई हिसाब गर्दा १६० विद्यार्थीबाट २८ लाख ८० हजार हाराहारी थप शुल्क क्याम्पसले प्राप्त गर्नेछ । सँगसँगै ३५ जनाको एउटा सेक्सनबाट बढेर ४० जनाको सेक्सन बन्दैछ, जसले गर्दा त्यही स्रोतबाट थप २० विद्यार्थी (४ सेक्सनमा ५ जनाको दर)ले भर्ना पाउनेछन् ।

    यस हिसाबले उक्त २० जना विद्यार्थीबाट कलेजले थप ८० लाख रुपैयाँ शुल्क आम्दानी गर्नेछ । यसरी अस्वाभाविक शुल्क वृद्धि नै नगरी पनि बीए एलएलबी तहबाट कलेजले वार्षिक १ करोड १० लाख हाराहारी थप आम्दानी यस शैक्षिक वर्षबाट गर्दैछ । कुरा रह्यो छात्रवृत्तिको, जुन १० प्रतिशतलाई दिने गरी कानून संकाय डिनको कार्यालयको परिपत्र छ । यसलाई सूक्ष्म रूपले अध्ययन गर्दा १६ जना विद्यार्थीले छात्रवृत्ति पाउने र उक्त छात्रवृत्ति पूर्ण रूपमा नभएर कलेजको पढाइ शुल्कमा मात्र हुने गरेको त्रिविकै व्यवस्था छ । यसरी लगभग ३४ लाख बराबरको छात्रवृत्ति कलेजले दिनुपर्ने हुन्छ ।

    यी सबै शीर्षकको आम्दानी र खर्च छात्रवृत्तिसमेत जोड्दा कलेजले वार्षिक ७५ देखि ८० लाख हाराहारी नयाँ आम्दानी गर्दैछ । यसमा एउटा सेक्सन थप गर्दाको आम्दानी जोडिएकै छैन । त्यसकरण शुल्क वृद्धि गर्नुको कुनै औचित्य नै छैन । यसरी कलेजले निहित स्वार्थपूर्तिका निम्ति अवैज्ञानिक तवरबाट गरेको शुल्क वृद्धि कुनै पनि हिसाबमा स्वीकार गर्न सकिँदैन । शुल्क वृद्धिविरुद्धको आन्दोलनमा सम्पूर्ण संघसंगठन विद्यार्थी अगुवाहरु हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन ।

    (लेखक अधिवक्ता एवं नेपाल ल क्याम्पसका स्ववियु सदस्य हुन् ।)

  • उहिलेकाे बनभतेर, अहिलेकाे पिकनिक

    उहिलेकाे बनभतेर, अहिलेकाे पिकनिक

    ओहो ! पिकनिक याम शुरु भएछ । छोराछोरीको स्कुलले पिकनिक ‘खुवाएको’ फोटो जहानले फेसबुकमार्फत सार्वजनिक गरेपछि निकैबेर टोलाउन मन लाग्यो । हामी ३-४ कक्षा पढ्दा कहाँ स्कुलबाट पिकनिक लैजानु ? बरु गाउँकै भुराले गाउँमै रहर चैँ मेट्थ्यौं । कक्षा १० मा पुग्दा सय-सय रुपैयाँ उठाएर स्कुलबाटै पशुपतिनगर वा कन्याम शैक्षिक भ्रमण भन्दै पिकनिक लाने चलन आएको थियो, तर गइएन । कलेजबाट तेस्रो वर्षमा ३ देखि ५ हजार उठाएर नेपाल भ्रमण भन्दै साता लामो यात्रा हुन्थ्यो, तर त्यता पनि गइएन ।

    बरु साताव्यापी भ्रमणबाटै अंकुरित प्रेम कहानीहरु फर्किएकाहरुले सुनाउँदा कक्षा नै छोडेर पनि बहुत रोमाञ्चित भएर सुनिन्थ्यो । आखिर त्यही भ्रमणबाट शिलान्यास भएका सम्बन्धहरु विवाहमा उद्घाटित पनि भए कति ! त्यही विन्दूबाट शुरु भएको कतिपय साथीहरुको दाम्पत्य जीवन देख्दा सधैं कलेजवयमै भएको भान गराउँछ अझै पनि, क्या मज्जा !

    अहिले वनभोज खाएर भन्दा पिकनिकमा नाचेर टिकटक रङ्ग्याउने र फेसबुक भर्नेको लर्को छ । अलि पछि त स्वस्थानी याम पनि शुरु हुन्छ । अर्को मज्जा ! यस बेला आमा समूह, कीर्तन मण्डली, अस्ति तिहारमा देउसी-भैली खेल्ने दौंतरी समूह, युवा क्लव साराका सारा वनभोजमा मस्तिएका फोटा सामाजिक सञ्जालबाट सामाजिकीकरण गरिरहेछन् ।

    पिकनिक, स्कुल–कलेजका लागि रकम असुलीको सदाबहार र सजिलो शीर्षक पनि बनिदिएको छ, अचेल । ठिटाठिटीहरुलाई फजुल खर्च असुल्ने काइदाको बहाना पनि बनिरहेको छ । घुम्दा-नाच्दा नथाक्नेहरुलाई फेरि अर्को उपक्रम बनिदिएको छ, कहिल्यै फुसैद नपाउनेहरुलाई फुर्सद उपयोगको माध्यम पनि बनिदिएको छ, पिकनिक ।

    हुल-भेलामा रमाउन नजान्ने, तर इष्टमित्रको कुरा काट्न नसक्नेलाई अर्को आपत्त पनि भई दिएको छ । खर्च धान्न नसक्नेहरुलाई पीर थप्ने अर्को माध्यम पनि यही पिकनिक भइदिएको छ । यसमा पनि व्यवसायिकता देख्नेहरुलाई आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम पनि भनिदिँदा भएको छ, पिकनिकलाई ।

    कोशीपूर्वका मान्छेलाई पिकनिक भन्नासाथ भेडेटार, दोमुखा र कन्याम फुत्तै आइहाल्छ मुखमा । अघिल्ला दशकबाट चैँ अरु पनि धेरै गन्तव्य थपिने सिलसिला बढेको छ । नत्र यिनै ठाउँमा दोहोर्‍याइतेहेर्‍याइ पनि पुग्ने धेरै थिए । बनभतेर-बनभात-वनभोज हुँदै पिकनिकसम्म आइपुग्दा यसको रुपमा मात्र रुपान्तरण आएको छैन, सारमा धेरै मानक पनि भत्किएका छन् ।

    ५० को पूर्वार्द्धतिर । भोलि पिकनिक जाने । आजै साँझ बाँसका झिँझा र केही चोइटा भेला पारेर शीत नपर्ने ठाउँमा बन्दोबस्त गर्‍यो । एक-एक थान स्टिलको थाल-गिलास र बटुका झोलामा राख्यो । झर्के लान नपाइने, फुट्छ भनेर । चम्ची लग्यो भने त हराइहाल्ने, कहाँ दिने आमाहरुले । एक माना चामल, केही दाना आलु, एकमुठी नुन, कागजमा बेसार पनि । खोकीको औषधिको सिसी पखालेर दुई कान जति तेल, यति भए सौदा तयार । अनि अन्य पकवान खरिदका लागि जिउको ५ रुपैयाँ । १०-१२ वर्ष उमेर समूहको पिकनिकको ढाँचा यस्तै थियो । टोली नेता केही जना, २-४ वर्ष उमेर मास्तिरका भएपछि हाँकिहाल्ने !

    चिया घोप्टिएर आगो भस्याकभुसुक

    सम्झना भएको पहिलो पिकनिक । घरै मुन्तिर, पैनीपारि । फुपूहरुसँग । ललिता दिदीहरुको घर पछाडि । कविता, चन्द्रा, पुष्पा, मन्दिरा, उर्मिला दिदीहरु । धान उठाएर खाली भएको खेतमा अघिल्लै साँझ दिदीहरुले गाँज उखेलेर खनी-तासी ढुंगा लगेर चुलो बनाएका रहेछन् । भोलिपल्ट बिहान पुग्दा कराइमा चिया उम्लिँदै थियो । हतारहतार निकाल्ने भए, भए जति सबै झुम्मिएर तान्ने हुँदा कराइको चिया घोप्टिएर आगो त भस्याकभुसुक भयो । न आगो रह्यो न त चिया पाइयो । भएमध्येको सबैभन्दा सानो मै थिएँ क्यार !

    केही बेर दोषारोपणमा दिदीहरुको बाझाबाझ भयो । चिया विस्थापनपछि चाम्रेको पालो आयो । ९ बजेतिर होला अनुमानमा, भुराभुरीले के गरिरहेका छन् भनेर हेर्न अलिक ठूला तारा, देवी, बविता दिदीहरु आए । बिजोग रमाइलो देखेर उनीहरुले पनि पकाउन-बनाउन सघाए । चाम्रे र साग खाएपछि पहिलो सालको पिकनिक सकियो ।

    आँपका फेददेखि, साधुहोली र दोमुखा

    वनभोजको स्वाद बेलैदेखि चाखियो । धुरको फेद होस् वा आँलीको कुनो ! चुल्हो बनायो, एकछिनमा एकथोक पकायो, खायो, मस्ती । वनभोज रमाइलो । टाढा जाने कुरो थिएन । घरका गुन्द्री, चट्टी कुम्लो पार्‍यो, घरैका तिहुन-तरकारी लियो गयो । गन्तव्य चाहिँ कहिले कमलबाको खेतका बिचमा रहेको झ्याप्प परेको आँपको फेद, कहिले मास्तिरको सिमलको रुखको आड । यस्ता ४-५ वनभोजमा कुनै परिकार खाएको स्वाद थाहा छैन, तर ८-१० भुरा मिल्यो, गयो खेतका माझमा र २-३ घण्टा ओर्‍याइ गर्‍यो, आयो । वनभोज भयो ।

    बुवाआमा खालचै साधुहोली जान्थे । जनवादी गीतका चक्काको बन्दोबस्ती गर्‍यो र ६ वटा टाइगर ब्याट्री लाग्ने क्यासेट प्लेयर घन्कायो । झिसमिसेमै साइकलका पछि गुन्द्री बेर्‍यो, अगाडि भाँडाकुँडाको पोको झुन्ड्यायो । तिहुन, चामल, नुन, तेल, थाल, गिलास जिउ जनङ्गे लाने । टेन्ट वा क्याटरिङ त ६० दशकपछि मात्र देखेको ।

    काका खालको लक्ष्य चैँ दोमुखा हुने । सामान उसैगरी घरबाट भेला पारेर झिसमिसै साइकलमा एक हुल ठिटा उत्तर हुँदै पूर्व हानिन्थ्यो, माई खोलाको डिल, दोमुखातर्फ । दोमुखा पिकनिक खाएर आउनेको रवाफ सिजनभरि चल्थ्यो । हामी पनि तन्नेरी भएपछि माघे सक्रान्तिको मेला घुम्न होस् कि दोमुखा पुगेर माई खोलामा डुबुल्की मार्न, गइयो ताँती लागेर साइकलमै हुलका हुल, धेरै वर्ष धेरै पटक । माई मेला र दोमुखा पिकनिक नगई त तन्नेरी भएको प्रमाणित नै नभएको क्या ! अनि जानुपरेन ?

    सिंगो खोला नै फ्रिज

    मध्य ५० भएको थिएन, शुरुवाती १-२ साल चैँ बितेको थियो । अघिल्लो पुस्ताका जाँगरिला काका-फुपू, मामा-सानिमाहरुको पनि प्यारै थिएँ म । धेरै नबोल्ने, छुलछुल नगर्ने, भनेको मान्ने भएपछि त नप्यारो हुनुपर्ने कारण पनि भएन । तल्लो गाउँका सुशीला सानिमा, जीवन मामालगायतको अगुवाइमा गेउरियामा खोलाको डिलमा वनभोज आयोजना भएछ । बुवाले नै थाहा पाएर २० रुपैयाँ दिनुभएछ मेरा लागि । ठूला मान्छेको २५ र साना मान्छेको २० थियो रेट ।

    ‘भोलि तल्लो गाउँको पिकनिक रैछ जानु, मैले पैसा दिइसकेको छ’ भनेर साँझ बुवाले सुनाउँदा बिहान कति खेर हुन्छ जस्तो लागेर साह्रै खटपटी भयो । आमाले एकमुठो साग, एक माना चामल र आधा किलो जति आलुसहित थाल-गिलासको झोला ठिक्क पारिदिएपछि सोझै हानिएँ, तोकिएको वनभोज स्थल, सिसौघारीतिर । गेउरिया खोलापारि गौरादह- १, वारि थियो पिकनिक लखनपुर- ४ ।

    भात-तिहुन, दाल-अचार त हुने नै भयो । हामी भुरालाई त्यहीको सिसौका बुटाबाट झिँझा भेला पार्ने जिम्मा थियो । नयाँ स्वाद र रमाइलोको लागि दिउँसो ‘ठण्डा’ पेय खुवाउने तर्जुमा भएन । हामी त भुरा, सानिमा र मामाहरुले गेउरिया अरुण गुरुङको पसल पुगेर एक झोला चिसो पेय लिएर आए । मध्यान्ह भर्खरै शुरु भएको थियो, ल्याएको चिसो त चिसो नै राख्नुपर्‍यो, उपाय लगाउनु पर्‍यो । अनि गेउरिया खोलामा हामीलाई बालुवा खोतल्न लगाए । एक-एक हात बालुवा खोतलिएपछि ठण्डा पेयको झोला गाडियो । पेय बोटलमै थियो, एक दर्जन जति बोतलको झोला खोलामा गाडियो । बेला बेला झोला खोतलियो कि भनेर हेर्न पनि गइरहन्थें ।

    मलाई चैँ किन खोलामा बोटल गाडेका होलान् भन्ने लागिरहयो, खासमा त्यो रेफ्रिजेरेटरको विकल्पमा उपयोग गरिएको रहेछ । ३-४ वर्षअघि दही चोकबाट दही लगेर काकडभिट्टामा बेच्ने हजुरआमाले बस छुट्ने बेलामा त्यस्तै ‘ठण्डी’ पेय खुवाएपछि लगातार छादेको झम्झिएपछि त्यो बाललुम्भताले त्यो पेयपदार्थ पिलाइहाल्यो । ओहो, क्या मज्जा ! गेउरिया खोलाको फ्रिजमा चिस्याइएको पेय पनि खाइयो, त्यो पिकनिकमा ।

    अनि आउँथ्यो स्वस्थानीको मज्जा

    वनभोज-पिकनिकको माहोल सकिँदानसकिँदै शुरु हुन्थ्यो स्वस्थानी माहोल । बाल्यकालमै मेरो घुलमिल भने तीन गाउँसम्म थियो । रामु टोलमा दोकाने दिदी (खासमा पोखरेल बा) को घरमा एक साल निकै साँझ धाइयो स्वस्थानी भट्याउन । पिकनिकमा गेउरियाको टोलीदेखि स्वस्थानीमा माथिल्लो गाउँसम्म भ्याइन्थ्यो । प्लस टु पढ्या साल हो क्यार, बिहानको कलेज सकेर भोकले खारिएर आउँदा पञ्चामृतको बटुको स्वाट्टै पार्दा खुब आनन्द आउने भन्या ! केही साल हाम्रामा पनि बाचियो स्वस्थानी, नाचियो भजनमा जाग्रामका रात, तर नाच्ने म चैँ होइन, नाच्न भनेपछि खुट्टै घुम्दैन मेरो त !

    स्वस्थानीको जाग्राम भनेपछि निम्तै किन आइरहनुपर्‍यो । ४०-५० घर भएका तीन गाउँमा साता-दशभित्र कुन दिन कसको घरमा जाग्राम छ केटाहरुलाई कण्ठस्थै । साँझ परेपछि हुल बाँध्यो, कुदिहाल्यो । स्वस्थानीको जाग्राममा जाने भनेपछि घरमा पनि बेरोक-टोक, फुक्काफाल !

    एक साल खुबै रमाइलो भयो । स्वस्थानीको निम्तो मान्न त जानुपर्‍यो, त्यसमाथि जाग्राम ! कसले किन छुटाओस्, त्यो पनि तन्नेरी बेलामा । स्वस्थानीको जाग्रामको निम्तो पनि थियो । यति भए बाँदरलाई लिस्नो भैगो । जाग्राम बस्ने त्यस घरमा पाहुना आएकी एक रुपवती किशोरी अन्ताक्षरी खेल्न खुव सिपालु ! नाच्ने पनि उस्तै उधुम । यति चाल पाएपछि केटाहरुलाई के चाहियो ? पालो गरीगरी नाच्न सुरिएँ । नाचेर गलेपछि अन्ताक्षरीमा लय मिलाउन उस्तै ट्याप्प । रात छिप्पिन थालेपछि स्यु स्यु गर्दै ‘ओहो, कस्तो चिसो’ भन्दै खुस्रुक्क बर्को तान्दा पनि बात लागि नहाल्ने !

    कतिपय त बत्तीको उज्यालो छल्दै खाँवा र भित्तामा छलिएर एउटै बर्काको सप्को हाल्थे । त्यो देखेर बर्को तान्न नपाएकाहरुलाई कम्ता रिस उठ्दैन थियो ! आरिसे दुईचार भाइ मिल्यो, सुटुक्क बाटातिर गएर कुरा काट्न थालिहाल्ने । कुनै केटी मान्छ आफ्नै कामले वा दिसा–पिसाबका लागि उठ्दा पनि अब लगत्तै कुन केटो उठ्छ भनेर चियो गरेर बस्ने केटाहरु पनि अब त पाकेर तिल–चामले टाउकाका भइसके ।

    समयले ल्याएको परिवर्तन र प्रविधिले ल्याएको रुपान्तरणले वनभोज, वनभोज कहाँ रह्यो र ? पिकनिक पार्टी भइसक्यो । घरघरबाट दूध लगेर खेतका माझमा, खोलाका डिलमा वा वनका मुखमा झिँजा खोजेर खिर खाने टन्टो कसले गर्ने ? क्यूआरबाट ट्रान्सफर गरेपछि कार्टुनका कार्टुन ‘माल’ आइहाल्छ । टेन्ट र क्याटरिङ लग्यो । साफसँग खायो-पियो, यही मज्जा !

    खै, स्वस्थानीमा जाग्राम नबसेको पनि वर्षौं भइसक्यो । स्वस्थानीको व्रत नै लिन छोडेर हो कि निम्तो नआएर हो, बिर्सन लागिसकियो स्वस्थानीको साङ्गे पनि ! अचेलका बेला, वनभोज त के गइएला र ! पिकनिक चैँ अनेक बहाना र शीर्षकमा गई नै हालिन्छ । यस वर्ष चैँ दही चोक गएका बेला छेक पर्‍यो र निम्तो आएछ भने रातभरि बस्ने गरी चैँ होइन, ‘हामी पनि तन्नेरीमा के के गर्थ्यौं’ भन्ने सम्झिन पनि स्वस्थानीको जाग्राममा जानुपर्ला झैं लागिरहेको छ ।

    १) ठिटाठिटीहरुलाई फजुल खर्च असुल्ने काइदाको बहाना पनि बनिरहेको छ । घुम्दा–नाच्दा नथाक्नेहरुलाई फेरि अर्को उपक्रम बनिदिएको छ, कहिल्यै फुसैद नपाउनेहरुलाई फुर्सद उपयोगको माध्यम पनि बनिदिएको छ, पिकनिक ।

    २) एक माना चामल, केही दाना आलु, एकमुठी नुन, कागजमा बेसार पनि । खोकीको औषधिको सिसी पखालेर दुई कान जति तेल, यति भए सौदा तयार । अनि अन्य पकवान खरिदका लागि जिउको ५ रुपैयाँ । १०-१२ वर्ष उमेर समूहको पिकनिकको ढाँचा यस्तै थियो ।

    ३) सम्झना भएको पहिलो पिकनिक । घरै मुन्तिर, पैनीपारि । फुपूहरुसँग । ललिता दिदीहरुको घर पछाडि । कविता, चन्द्रा, पुष्पा, मन्दिरा, उर्मिला दिदीहरु । धान उठाएर खाली भएको खेतमा अघिल्लै साँझ दिदीहरुले गाँज उखेलेर खनी-तासी ढुंगा लगेर चुलो बनाएका रहेछन् ।

    ४) हामी पनि तन्नेरी भएपछि माघे सक्रान्तिको मेला घुम्न होस् कि दोमुखा पुगेर माई खोलामा डुबुल्की मार्न, गइयो ताँती लागेर साइकलमै हुलका हुल, धेरै वर्ष धेरै पटक । माई मेला र दोमुखा पिकनिक नगई त तन्नेरी भएको प्रमाणित नै नभएको क्या ! अनि जानुपरेन ?

    ५) समयले ल्याएको परिवर्तन र प्रविधिले ल्याएको रुपान्तरणले वनभोज, वनभोज कहाँ रह्यो र ? पिकनिक पार्टी भइसक्यो । घरघरबाट दूध लगेर खेतका माझमा, खोलाका डिलमा वा वनका मुखमा झिँजा खोजेर खिर खाने टन्टो कसले गर्ने ?

  • डुकुछाप, देवीचौर र तीनपाने हाइकिङ

    डुकुछाप, देवीचौर र तीनपाने हाइकिङ

    प्रेममा चुम्बकीय आकर्षण हुन्छ । प्रेममा मन मनमगन पूर्ण चन्द्र झैं हुन्छ । कि प्रेम कि त नयाँले मान्छेलाई आर्कषित गर्दछ । कौतुहलता र जिज्ञासाले नयाँमा मान्छे आर्कषित हुन्छ । नयाँँ फूल वा नयाँ पुल, नयाँ साथी वा नयाँ राजनीतिक पार्टी ! बाख्राको पाठो होस् वा मान्छेको बच्चा, नयाँ ऊन वा नयाँ धुन, नयाँ नून वा नयाँ सुन ! सबै नयाँमा न्यानोपन भेटिन्छ ।

    मानव इतिहासकै धनी व्यक्ति एलन मस्कलाई नयाँ दुनियाँ बनाउने चस्को लागेको छ । मलाई केही समयदेखि नयाँ ठाउँ डुल्ने चस्को लागेको छ । मस्कको र मेरो मन फरक छ । उनी मंगल ग्रहमा बस्ती बसाउने दौडमा छन् । म मंगलताको कामना गर्दछु । मौजमस्तीले मस्तमौलाना भएर वन, जंगल र बाटो हिँडिरहेछु । मस्कको नयाँ र मेरो नयाँ फरक थियो । मलाई साधारण, तर नयाँ ठाउँको आकर्षण थियो । मस्कलाई मनीको र महान कामको ।

    डुकुछाप, देवीचौर र तीनपाने यस पटकको हाइकिङ थियो । यी तीन ठाउँमध्ये तीनपाने तेस्रो पल्ट पुगें । हेटौंडाबाट आउने नाका भएकाले एक पल्ट गाडी बिग्रेर विजोग भएको बेलामा । अर्काे पल्ट तीनपाने भञ्ज्याङमा कोभिडको समयमा सिर्जनात्मक लेखन प्रशिक्षणको अञ्जु तिमल्सिना घिमिरे, मञ्जु कार्की, सिर्जना भण्डारी, सिमल ढकाल र युवराज नयाँघरेसँग गएको बेलामा ।

    तीनपाने तेस्रोपल्ट तीनतिरबाट हेर्न चाहन्थें । डुकुछापबाट सुरु भएको हाइकिङ तीनपानेमा टुंगिन्थ्यो ।

    ह्याप्पी हाइकर्स नामक फेसबुक समूहको आयोजना थियो । आयोजना गर्ने साथी मूलपानीकै बालसखा राजाराम फुयाँल थियो । उसलाई हामी निकनेममा चिन्ता भन्ने गर्थ्यौं । सानैदेखि चिन्तनमनन गर्ने र दर्शनका कुरा गर्ने ऊ प्रस्ट र हक्की मान्छे थियो र नै उसलाई नजिकका साथीहरुले चिन्ता भन्थे । ऊसँग मेरो बालख हात थिए । बालख खुट्टा थिए । खेल थिए । पढाइ थिए । बाल्य मन थियो । ऊसँग मेरो बचपन थियो । म जत्तिकै पुरानो कुरो थियो । अनि एकाघरका भुवन ढकाल जाने भएपछि मलाई नयाँ ठाउँ र पुराना मित्रहरु एक सुन्दर कथा जस्तै लागेर जाऔं न त लागिरहेको थियो ।

    एक्लै शिवपुरी हिँडेको थिएँ । दुई जना भएर पुनहिल, गोसाईंकुण्ड, मार्दी हिमाल आदि र भर्खरै चिसापानी गएको थिएँ । बढीमा तीन जना पाँचपोखरी जाँदा गएको थिएँ । मेरो लागि १५ जनाको टोली हुलमुलको हाइकिङ थियो । यो पनि बुझ्ने मन थियो । कस्तो हुँदो रहेछ त, एक दर्जन बढी मान्छेसँग हाइकिङ जाँदा बुझ्न चाहन्थें । राजारामकै कोअर्डिनेटमा ह्याप्पी हाइकर्सले त एकै दिनमा ९५ जनासम्म पनि लगेको रहेछ । अहिलेसम्म एक दिने हाइक १०५ र लामो ट्रेक १५ वटा गरिसकेको भन्दैथ्यो राजाराम । ह्याप्पी हाइकर्सको विशेषता भनेको हरेक हप्ता नयाँ रुट रहेछ । २०७५ सालदेखि नेपाली हाइकर्सको नाममा फेसबुक पेज बनेछ । पछि अर्काे साथी सुरेन्द्र फुयालले नाम जुराएछ ह्याप्पी हाइकर्स । हरेक शनिबार यो ग्रुपले आफ्नो गतिविधि फेसबुकमा राख्ने र लैजाने गर्ने रहेछ ।

    एक्लै शिवपुरी हिँडेको थिएँ । दुई जना भएर पुनहिल, गोसाईंकुण्ड, मार्दी हिमाल आदि र भर्खरै चिसापानी गएको थिएँ । बढीमा तीन जना पाँचपोखरी जाँदा गएको थिएँ । मेरो लागि १५ जनाको टोली हुलमुलको हाइकिङ थियो । यो पनि बुझ्ने मन थियो । कस्तो हुँदो रहेछ त, एक दर्जन बढी मान्छेसँग हाइकिङ जाँदा बुझ्न चाहन्थें ।

    राजाराम र म सँगसँगै मूलपानीमा नव प्रगति क्लवमा, मनोहरा लाइब्रेरीमा र स्कार्स समूहको प्रस्तुति भनेर कलिला हातले लेख्ने भित्ते पत्रिकामा काम गरेका थियौं । उसले भन्यो, ‘तँ आज ९ बजे सुत, भोलि ५ बजेर २० मिनेटमा तेरो घर नजिकै चप्पल कारखाना आइज, त्यहाँबाट गाडी चढ् ।’

    म सधैं ६ बजे उठ्ने मान्छे । उसको कर्फ्युमा सुत्न खोजेको यताउता गर्दागर्दै १०ः३० बज्यो । ५ः०० को अलराम हालेर सुतेको थिएँ ।

    सुत्दा जहिल्यै फोन एरोप्लेन मोडमा हालेर सुत्ने बानी छ । मलाई लाग्छ जति नै इमर्जेन्सी परे पनि अप्सन हुन्छ । मोबाइलले मलाई हैन, मैले मोबाइल चलाउने हो भनेर हरेक दिन एरोप्लेन मोडमा हालेर सुत्छु । निन्द्राले हामी सबैलाई प्राकृतिक रुपमा मृत्युको रुप देखाउँछ । अर्थात् हर एक दिन मरेर हर एक दिन उठछौं हामी । म किन अप्राकृतिक भएर रातमै जन्मने भन्ने लाग्छ ! र त एरोप्लेन मोडमा सुत्छ मोबाइल पनि । म पनि मस्त सुते । अलराम बजेछ । अलरामले मस्तरामलाई कहाँ बिउँझाउँछ र ! छोरी सिमलले ५ः१० बजे उठाइन् । एकछिन है सिमल भन्दै फिल्मी स्टायलमा तकियालाई अंगालो हाल्दै सुत्न मन थियो । ५ः१५ भैगयो । श्रीमती सिर्जनाले गाडीमा एकान्तकुना छाडिदिइन् । लामो बस नचढेको धेरै भएथ्यो । आयो क्याम्पस जाँदा चढ्ने जस्तै बस ।

    जाडोमा सूर्य नै ६ः५० मा झुल्कने एप्पलले देखाएथ्यो । ६ः०० बजे त रिमरिम उज्यालोमात्रै थियो । एकान्तकुनाबाट गाडी भैंसेपाटी हुँदै बुङमतीमा रोकियो । त्यहाँ बिहानै ब्रेकफास्ट रोटी दुई, अण्डा एक, तरकारी र चिया खुवायो । एक बोतल पानी सबैलाई ह्याप्पी हाइकर्सले दियो । सम्पूर्ण खर्च दिनभरिको व्यहोर्ने गरी प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ गाडीमै उठाइसकेका थिए ।

    बुङमती बिग्रिएकोमा दुःख लाग्यो । बुङमती वडा कार्यालय नजिकै चिया खाँदा मनमनै कुरा गरिरहें । मेरो साथी वरिष्ठ पत्रकार शुभेच्छा विन्दुको जन्म ठाउँ हो यो । उहाँले काठको बुङमतीको कथा, त्यो गाउँको बुढी आमाको कथा, हजुरआमाको कथा, मच्छेन्द्रनाथको कुरा गरेको सम्झिएँ । शुभेच्छाजीसँगै परिवर्तन हुँदै गएको गाउँ सम्झिएँ । विश्व सम्पदामा सूचीकृत हुनसक्ने गाउँ थियो बुङमती । कहिलेकाहीँ म भैंसेपाटीको उकालोको चउरबाट त्यो गाउँ हेर्न आउँथें । हेर्दा सुन्दर चिटिक्कका घरहरु हेर्दा कति आँखालाई आनन्द आउँथ्यो । भूकम्पपछि कुनै कति तला कुनै कस्तो ओडे र खौडे घरहरु देखेर दिक्क लाग्यो । दुःख लाग्यो । विकासको नाममा संस्कृतिको विनाश भएकोमा नरमाइलो माने मनमनै ।

    यो कुरा कसैलाई थाहा थिएन । भर्खर भेटिएकालाई एकाबिहानै यस्तो भन्न पनि मन लागेन ।

    चिया खाँदै गर्दा १५ जनाको टोलीसँग हल्का परिचय गराउँदै राजारामले भन्यो- ‘यो मेरो लगौटिया यार हो ।’

    म मुसुमुसु हाँसिरहें । हिँ हिँ गर्दै हात जोड्दै वा मिलाउँदै नमस्कार गरें । केही पहिल्यैदेखि नाम सुनेका, देखेका, तर कुरा नभएका काठमाडौंको पूर्वी भेगीय मान्छेहरु पनि थिए । केही नयाँ । भुवन दाइको साथी पवित्रा गुरुङ हिमालय बैंकका सहकर्मी हुनुहुँदो रहेछ । उहाँसँग बैंकका कुरा गरेर चरा उड्ने गरी हाँस्यौं । हाँसोमा बैंकको भित्री मर्म लुकेको थियो । बैंकमा काम गर्नेहरुको पहिलेको आकर्षण र अहिलेको विकर्षणका कुरा, बैंकमा पैसा टन्न गन्ने, तर तलब नगण्य हुने कुरा, टाइ लगाएर बैंक गइन्छ, तर त्यसले आफैंलाई पासो लगाए झैं हुन्छ भन्ने अनिल शाहको कुरा, नेटफिक्सले भर्खरै राखेको बैंकसम्बन्धी फिल्म ‘लक्की भास्कर’का कुरा गर्दै हामी मस्तले हाँस्यौं । समग्रमा बैंकका गर्व र मर्मका कुरा भए ।

    बुङमती बिग्रिएकोमा दुःख लाग्यो । बुङमती वडा कार्यालय नजिकै चिया खाँदा मनमनै कुरा गरिरहें । मेरो साथी वरिष्ठ पत्रकार शुभेच्छा विन्दुको जन्म ठाउँ हो यो । उहाँले काठको बुङमतीको कथा, त्यो गाउँको बुढी आमाको कथा, हजुरआमाको कथा, मच्छेन्द्रनाथको कुरा गरेको सम्झिएँ ।

    मलाई त पृथ्वीमा जन्मने हरेक व्यक्ति एक अवतार जस्तै लाग्छ । त्यहाँ भएका १५ जना १५ कर्मका अवतार थिए । कोही टिचर, कोही व्यापारी, कोही पत्रकार, कोही लेखक, कोही बैंकर थिए । आआफ्नो कुनामा आआफ्नो कुरा चलिरहेका थिए ।

    सबैले खाजा खाइसकेपछि गाडी डुकुछापतर्फ जाने भयो । गाउँ-गाउँमा बाटो बन्दै र बनिरहेका छन् । उडेको धूलोले देश निर्माणको चरणमा छ झैं लाग्छ, तर प्रश्न आउँछ- कहिलेसम्म निर्माणको चरणमा हो हाम्रो देश ? दूरदृष्टि राखेर निर्माण भैरहेको देखिँदैन । वडाध्यक्ष र नगरपालिकाले पैसा सकाउन र भ्रष्टाचार गर्न बाटोको नाममा ससाना बाटो बनिरहेको आजको यथार्थ हो । तीन पुस्तापछिको प्लानिङ गरेर बाटो नबनेको सत्य हो । बाटोमा इँटाभट्टा नजिकै सुन्दर घर देखें । लाग्यो, सुन्दर घरका ती सुन्दर बालखका स्वास्थ कति कुरुप भयो होला ? चिसो पुस थियो । कुइरोले परका घरहरु केही देखिएका थिएनन् । बसभित्र बस्ने सबैको आँखा र कान चनाखा थिए । नयाँ कुरा हेर्न र सुन्न । बिहान हिउँ परेको जस्तै तुषारो सेताम्मे थियो ।

    बाटो-बाटोको जुँइनु हो । एक बाटोबाट अर्काे बाटो जोडिनु बाटोको विशेषता नै हो । हामी गौथली टोल समाज खुइपु ललितपुर लेखेको ठाडै ओरालो, तर सानो बाटो झर्नुपर्ने भयो । एकै प्रकारका लामो पार्टी प्यालेस जस्ता घरहरु पनि देखिए । खोलाको बाटो र त्यसको आवाजसँगै कुहिरो र तुषारोको फाइट बसभित्रैबाट हेरियो । कुइरोले सूर्यलाई समेत अठ्याएको थियो । सूर्य त सानो घरमा बल्ने बल्व जस्तै देखें । बसमा आआफ्नो तालका गफ छँदै थियो ।

    लगगभ ८ बजे हामी पुग्यौं डुकुछाप बस स्टेशन । च्यासल ललितपुर लेखिएको बोर्डमाथि डुकुछाप लेखिएको थियो । हामी त्यहाँ दाहाल खाजा घरबाट उकालो लाग्नु थियो । त्यहाँबाट तोरी बारी हेर्दै उकालो लागियो । ठूलो पिपलबोटमा सुस्ताउने चौतारी बनाएको रहेछ । उकालोपछिको सौन्दर्य हो चौतारो र पिपलको बोट । त्यहाँ फोटो खिचियो । सुस्ताइयो र फेरि यात्रा चालू गरियो ।

    मलाई भने डुकुछाप नाम नै अनौठो लागिरहेथ्यो । के होला यसको अर्थ भन्ने लागिरहेथ्यो । भूकम्पले नयाँ बनेका घरहरु नजिकै उभिएका एक ज्येष्ठ लालबहादुर घलान तामाङलाई सोधें-

    ‘यो डुकुछाप भनेको कसरी रह्यो नाम ?’

    उनले भने- ‘कालतोरीको डुकु बेस्कन फल्ने भएर डुकु डुकुभन्दा डुकुछाप भयो ।’

    हामी पनि डुकु भएर हिँड्दै थियौं । हामी हाइकिङ नामक छाप बसालेर हिँड्ने डुकु छाप थियौं । तामाङको कुरा भेरिफाइ गर्न अलि माथि गएपछि एक घिमिरेबाजेलाई सोधियो-

    ‘यो डुकुछाप भनेको कसरी रह्यो नाम ?’

    उहाँले भन्नुभयो- ‘बुङमतीमा ल्याउने मच्छिन्द्रनाथ डोकोमा ल्याउँदा यो ठाउँमा छाप बसेकोले डोकोछाप भन्दाभन्दै डुकुछाप भयो ।’

    गाउँ-गाउँमा बाटो बन्दै र बनिरहेका छन् । उडेको धूलोले देश निर्माणको चरणमा छ झैं लाग्छ, तर प्रश्न आउँछ- कहिलेसम्म निर्माणको चरणमा हो हाम्रो देश ? दूरदृष्टि राखेर निर्माण भैरहेको देखिँदैन । वडाध्यक्ष र नगरपालिकाले पैसा सकाउन र भ्रष्टाचार गर्न बाटोको नाममा ससाना बाटो बनिरहेको आजको यथार्थ हो ।

    यसमा अलि तथ्य र इतिहास मिसिएको लाग्यो । बाटोभरि कालतोरी र तोरीहरु पनि थिए । घर आएर गुगललाई सोधें । उसले भन्यो- ‘ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ८ मा पर्दछ डुकुछाप ।’

    ओहो ! त्यो गाउँ त नगरपालिका पो रहेछ । एक सत्य समाचार पनि पढें । ‘यहाँ एक दिन दिनभर मान्छेले गाई वस्तु लुकाए । आफू पनि बाहिर निक्लेनन् । सबै त्रसित बने । वनको बाघ गाउँ पस्यो भनेर । पछि थाहा भयो, आतकिंत भएको कारण त पशु प्राविधिक स्थानीय ईश्वर पाण्डे रहेछन् । उनले स्पीकरमा बाघको आवाज बजाएर मान्छेलाई त्रसित पारेका रहेछन् । पाण्डेलाई पक्राउ गरी अबदेखि गल्ती नगर्ने भनी छाडिएको छ ।’

    बिहान हिँड्दा यो कुरा थाहा थिएन । म त हिँडदा ब्याट्री बच्ने, फोटो खिच्न पनि पाइहालिने भनेर एरोप्लेन मोडमा मोबाइललाई राखेर हिँड्छु । पुर्खा हिँडेको बाटो रहेछ काफल डाँडा । अलि उकालो आयो । उकालोको गर्मी र पसिनाले लुगा खोल है भन्छ शरीरले । ज्याकेट खोलेर ब्यागमा हालियो । हिँड्दाहिँड्दै आयो धुलाम्मे बाटो । ओहो ! त्यहाँ ट्रिपर आतंक थियो । हामी सबै धुलाम्मे भयौं । लुगाको रंगलाई धूलोले जित्यो । वनजंगल, खोलानाला र चरा हेर्दै हिँड्ने भनेको बाटैबाटो ट्रिपरको धूलो र धुँवाको आतंकले एक छिन बेकारमा आएछु झैं लाग्यो । रुट थाहा रहेनछ ह्याप्पी हाइकर्सलाई ! सात वर्ष पहिले आउँदा सानो बाटो थियो, अहिले गाडी गुड्ने भएछ भन्दैथे । एक दिन अगाडि नै कन्फरमेशन लिएर यो यस्तो भनेर बुझ्न पनि नभ्याएको होला झैं लाग्यो । एक छिन बोल्यो कि मुखभरि धूलो हुने भयो । बाटोको अलमल यता कि उता भनेर सोध्दै खोज्दै हिँड्न पर्थ्यो ।

    वनको बिचमा बाटो थियो । ट्रिपरहरु जाम हुने गरी चलेका थिए । ट्रिपरको कर्कश आवाज र उसले उडाएको धूलो र त्यसको साइजले ट्रिपर देख्दा पनि राक्षस आए झैं लाग्ने ! पानीले कहीँकहीँ हिलाम्मे बाटो थियो । बाटो नहेरी त्योभन्दा परको वन, घरहरु र तोरीबारी पर देखिएको सेताम्मे हिमाल हेर्दै हिँडौं झैं लाग्दै थियो ।

    एकै छिनमा वुरुन्चुली आयो । मज्जाको तामाङ गाउँ, प्रेयर फ्ल्यागहरु र पसलहरु पुगेपछि आनन्दको सास फेर्‍यौं । अब धूलोको काल काटियो । मिलेर बसेको समाज त्यहाँ देखियो । एकातिर ढुडुप साँगे चैत्य (सुनौलो मन्दिर) थियो । अर्काेतिर सरस्वतीको मन्दिर बनेको थियो । धार्मिक सहिष्णुता नेपालीको विशेषता नै हो । जहाँ राजनीति छिर्दैन, त्यहाँ समाज मिलेर बसेको छ । नामपछिका थरहरु डिम्डुङ, थिङ, योञ्जन, गोले, सिंगारु, स्याङतान, मार्पा लामा शिलालेखमा थियो । देवीचौर, छम्पी, लेले भनेर ठाउँ थर र पैसा लेखिएको थियो ।

    एकैछिनमा नमुना आदर्श माध्यमिक विद्यालय देखियो । वि.सं २०४२ सालमा स्थापना भएको सुन्दर विद्यालय रहेछ । सानो स्कुल हुँदा विद्यार्थी टन्नै हुन्थे । आजकल स्कुल ठूलो विद्यार्थी नै नहुने भएको छ । यहाँ पनि त्यस्तै थियो ।

    सिमाना पनि अचम्मैको हुन्छ । यति माथि पहाडमा आउँदा २००८ सालमा स्थापना भनेर लेखिएको प्रहरी चौकी टीकाभैरव ललितपुर विद्यालयको छेउमै देखियो । अनावश्यक ढंगमा थोपरिएका नगरपालिकाका दृश्य त्यहाँ देखें । ओर्लंदै जाँदा आयो सातदोबाटो । साना दुई चार घर छन्, यातायात छैन । त्यो रहेछ गोदावरी नगरपालिका ७ नम्बर वडा ।

    हरे ! किन नगरपालिका बनाउन परेको होला सरकारलाई भनेर दया लाग्यो । गाउँ नै रहँदा गाउँहरु सुन्दर थिए । के गर्नु ! विकासको नाममा इगो भयो । पञ्चायतले राखेको नाम प्रजातन्त्रपछि गाउँ विकास समिति भए । गाउँ विकास समितिका धेरै गाउँ समेटेर गणतन्त्रपछि गाउँपालिका र नगरपालिका बने ।

    हरे ! किन नगरपालिका बनाउन परेको होला सरकारलाई भनेर दया लाग्यो । गाउँ नै रहँदा गाउँहरु सुन्दर थिए । के गर्नु ! विकासको नाममा इगो भयो । पञ्चायतले राखेको नाम प्रजातन्त्रपछि गाउँ विकास समिति भए । गाउँ विकास समितिका धेरै गाउँ समेटेर गणतन्त्रपछि गाउँपालिका र नगरपालिका बने । विकासको नाममा बनेका सरकारहरु अघिल्लो सरकार र व्यवस्थाको अविच्छिन्न उत्तराधिकारी बनेनन् । अनि त्यो इगोले विकास टुहुरो बन्यो । नेपालभर यस्तै गरी बिग्रेको छ झैं लाग्यो । भन्ने कसलाई ? आफ्नै मनलाई भन्ने त हो यस्ता कुरा । मनमनै कुँढिँदै लागियो माथिल्लो बुरुन्चुली ।

    लटरम्म फलेका लप्सीका बोटहरु, सेता खुलेका हिमालहरु, हरियो पहाड, नीलो आकाश हेर्दै हुलमुलको कुराकानी सुन्दै हिँडिरहें । विकासको नाममा पैसाको सत्यानाश भइरहेको, सानो बाटो बनाइरहेको ठाउँ फेरि आयो । नरमाइलो लाग्यो । पैसा लिनेहरु त खुशी भएका होलान्, तर यसले भविष्य के होला भन्ने सोचें । नवनिर्माणको नाममा विनिर्माण भएको दृश्य टुलुटुलु हेर्दै हिँड्नैपर्‍यो ।

    एक महिलासँग कुरा गरें । सुनें, एक बोट लप्सी फल्नु पहिले नै आएर मान्छेहरुले १५-२० हजारमा किन्दा रहेछन् । हाम्रो पहाडमा औषधियुक्त यो लप्सी पहाडैभरि लगाउन पाए त पहाडहरु पनि सुन्दर देखिन्थ्यो भन्ने लाग्यो । अनि एक करोड बोट लप्सी लगाएर बेच्न पाए त आर्थिक समुन्नति हुन्थ्यो झैं लाग्यो । रैथाने फलफूलले औषधिको काम, भूक्षय नियन्त्रण र आर्थिक विकास हुन्थ्यो नि भन्ने लाग्यो । नीति हेर्ने र योजना हेर्नेको टाउकामा लप्सी गेडाले लागेर दिमाग खुले पनि हुने झैं लाग्यो ।

    हिँड्दै जाँदा जंगल आयो । उकालो ओरालो नै यात्राको मज्जा हो । स्वाँ स्वाँ गर्दै हिँडन पाइयो भनेर म अगाडि अगाडि हिँडें । देवी चउर आइहाल्यो । त्यहाँबाट त चिसापानीको भन्दा बढी हिमाल देखियो । मजाको टावरमा चढेर फोटो र भिडियो लिइयो ।

    मस्तको उकालोपछिको थकान ! अनि लगेको ड्राइ फुड्स एकको अर्काेसँग शेयर गर्दै खाजाको मज्जा मस्तै मिल्यो । आहा ! त्यहाँबाट ३६० डिग्री हिमाल देखिँदा मन नै हिमाल जस्तै हाँसिरह्यो । घाम पोखिएको चउरमा सुस्ताइयो । करिब एक घन्टा ड्राइ फुड्स र फलफूल, पानी खाँदै गफिँदा सेता हिमाल झैं हाम्रा दाँत पनि हाँसिरहेका थिए ।

    अब ग्रुपको होहल्लाभन्दा एक्लै हिँडनुपर्‍यो भनेर म एकछिन छिट्छिटो हिँडें । बाटोमा मलसाँप्रो तीनचार वटा आए । डुकुछापदेखि पछि लागेको कुकुरले मालिक भक्ति देखाएर उनीहरुलाई लखेट्यो । सेतो र कालो रङका मलसाँप्रोले मुन्टो उठाउँदै देखाएको मुहार अहिले पनि मनमा बसिरहेछ । यात्राको सुन्दर दृश्य लागेको थियो त्यो ।

    एकै छिनमा आयो भट्टेडाँडा । त्यहाँ रहेको थ्री सन राडार भ्यू होटलमा चियापानी खाइयो । नेपाली हवाई इतिहासकै सर्वाधिक कहालीलाग्दो र धेरै मानवीय क्षति भएको हवाई दुर्घटना भएको ठाउँ भट्टेडाँडा थियो । सन् १९९२ सेप्टेम्बर २८ मा १५७ जना यात्रु बोकेको पाकिस्तानी एयरवेजको एयरबस ३१० त्रिभुवन विमानस्थल ल्यान्ड गर्न खोज्दा दुर्घटना परेको थियो । कहालीलाग्दो त्यो दुर्घटनास्थलमा ३२ वर्षपछि जंगलमा गएर हात जोडेर मृतकको आत्माशान्तिको कामना गरें । अशान्त भएको मेरो मन यति गर्दा पनि शान्त भयो ।

    मोबाइलले चलाएको शहरमा मैले मेरा पाइला मोबाइलमा हेरें । २८ हजार प्लस पाइला हिँडिएछ । मनभरि गाउँ, पहाड र हिमालको दृश्य छ । थाहा छैन, त्यो सुदृश्य हेर्न फेरि कहिले जान्छु ?

    त्यहाँ गजबको राडार हेरियो । त्यहाँ पिकनिक स्पट रहेछ । अलि पर हिलसाइड भ्यू होटल छ । त्यो होटलबाट अगाडि लाग्दै जाँदा चिसोले हरियो जंगल रातो हुँदै गएको देखें । गाडी हिँड्ने बाटो भए पनि खाल्डाखुल्डी भएकाले गाडी आएनन् । चिसो पुसले ज्याकेट लगाउ भन्दै थियो । म एक्लै हिँडिरहेथें । बेलाबेलामा राजकुमार श्रेष्ठ र वृन्दा घिमिरे थलीसँग कुरा गरिन्थ्यो । टोखाका राम श्रेष्ठको आवाज आइरहन्थ्यो । सहदेव गुरुङ, हिमांशु बराल, मनिषा राउत, प्रदीप कँडेल, कृष्ण थापा, निराकार श्रेष्ठ, ओम गुरुङ, बमबहादुर थापाको आवाज कहीँकहीँ सुन्न पाइन्थ्यो । हुलमुलको हाइकिङमा सबैको सबै कुरा सुन्न पनि पाइन्न र जंगली जनावरहरु धेरै हेर्न पनि पाइन्न, तर मान्छेहरुसँगको रमाइलो भने मज्जैको हुनेरहेछ ।

    बेलाबेलामा एक्लै हिँड्थें । बेलाबेलामा ग्रुपमा कुरा सुन्थें । जसका कुरा सुन्यो उहीँ राम्रो म बहादुर हुन्थे । ‘मैले गर्दिएँ, मैले यसो भन्दिएँ, म नभएको भए के हुन्थ्यो ल भन्नुस् त ? म त कुरै नगरौं, मलाई यस्तो रिस उठ्यो । मलाई त्यसका कुराले यस्तो हाँसो लाग्यो । मेरो त झगडै पर्‍यो । मैले हान्दिएँ, मैले त्यस्तो गुन लगाएको धोखा दियो, म असल, खासमा त्यो खराब हो, यो यो कारणले । त्यसले त्यसो गर्न नहुने, त्यसको बुद्धि नै छैन ।’ यस्तै यस्तै ‘म’का रागहरु मस्तै सुनें । ‘म’का स्पष्टीकरण सुनें । अनि लाग्यो- प्रकृति र मान्छेलाई रागहरु ओकल्दा र आफूसँग भएको कन्फेशन गर्दा वा स्पष्टीकरण गर्दा मज्जा हुन्छ होला ! र त मान्छेहरु ‘म’को बखान गर्दै आफूले गरेको गल्ती कमजोरी पनि एकान्तमा भन्ने होलान् । प्रकृतिले त्यसलाई लिएपछि ऊ फ्रेस हुनु पनि हाइकिङको मज्जा होला झैं लाग्यो । नत्र किन उमेर ५५ भए पनि दिल बचपन हुँदै ‘ममम’ गर्थे होलान् र मान्छेहरु ?

    उतिसका रुखहरुले हामीलाई पछ्याउने कि हामीले उत्तिसका रुखलाई पछ्याउने ? जंगलबिचको बाटोमा उकालो ओरालो गर्दै हिँडिरह्यौं । पसिनाले भिज्ला भनेर लगेको भेस्ट र रुमाल चिसोले झिक्नै दिएन । पसिना हावाले हानेर उडायो । तीनपाने आउँदा हात चिसो भैरहेको थियो । लुगा धुलाम्मे भएको थियो । खाना तयार थियो । खाना खाइयो । तीनपानेमा स्कुसको जरा र टमाटर किनेर बसमा बसियो ।

    तीनपानेबाट टीकाभैरव, चापागाउँ, ठेचो, सुनाकोठी, ढोलाहिटी, खुमलटार, सातदोबाटो, लगनखेल, जावलाखेल, जमल हुँदै गाडीले कपुरधाराबाट चक्रपथ छिरेर चप्पल कारखानामा हामीलाई झार्‍यो ।

    फर्कंदै गर्दा गाडी जतिजति शहर छिर्दै जान्छ, उतिउति मन गाउँमै पुगिरह्यो । ठेचोमा आमाहरु गुम्लुङ ओड्ने ओढेर साँझलाई स्वागत गर्दै गफिँदै हाँसेको देख्दा मन खुशी भयो । मान्छे अरुको खुशीमा खुशी हुनसके कति मज्जा झैं लाग्यो । चापागाउँको सानो बाटोमा दाउरा बालेर आगो तापिरहेका पसले र उनका साथीहरु देखेर पुसले उसउस भने झैं लाग्यो । जति शहर पस्दै गयो, उति औषधि पसल र मासु पसल बढी देखें । अस्वस्थ मासु नखाए त यो औषधि पसल नै चाहिँदैनथ्यो कि भन्ने मनमा आयो ।

    शहरका फलफूल पसल देख्दा भर्खर गाउँ हिँडेर आएको मलाई बाल कृत्रिम चित्र हेरें झैं लाग्यो । गाउँको बालीनाली जस्तै मिलेका शहरका घरहरु बाली जस्तो राम्रो लाग्दै लागेनन् । शहरमा साँझ छिप्पिँदै जाँदा बलेका बत्ती देखेर प्रकाशमात्रै उज्यालो, मान्छे अँध्यारो झैं लाग्यो । गाउँमा मान्छेले लगाएको लुगा मैलो, तर मान्छे उज्यालो भएको सम्झें । गाउँको निःस्वार्थ हाँसो र मुस्कान सम्झें । शहरले फसाउन हाँसेको र मुस्कान दिएको सम्झें । जतिजति गाडी शहर छिर्‍यो, मलाई त गाउँ नै प्यारो लाग्न थाल्यो ।

    के गर्ने रोजगारको कारण शहर शहर छ । यहाँ पैसा कमाउने, पैसा खर्च गर्ने र समय, श्रम खर्च गर्ने ठाउँ छ । त्यसैले नै शहर शहर छ । एसीको हावा चलाएर, बनावटी हाँसो हाँसेर, टाइ-सुटमा कसिएर फेरि भोलि शहरबाट शहरभित्रै जानुछ । मोबाइलले चलाएको शहरमा मैले मेरा पाइला मोबाइलमा हेरें । २८ हजार प्लस पाइला हिँडिएछ । मनभरि गाउँ, पहाड र हिमालको दृश्य छ । थाहा छैन, त्यो सुदृश्य हेर्न फेरि कहिले जान्छु ?

  • नेपाली साहित्य र नेपाल-भारतको अन्तरसम्बन्ध

    नेपाली साहित्य र नेपाल-भारतको अन्तरसम्बन्ध

    साहित्यका पारखी प्रायः साहित्यकार नै हुने गर्छन् भन्ने मान्यतालाई प्रवासी नेपाली संघ भारतले नयाँदिल्लीमा पहिलो पटक आयोजना गरेको ‘नेपाल र भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध’ विषयक गोष्ठीले खण्डित गरेको छ । गत शनिबार झण्डै चार घण्टा उनीहरुले कथा, कविता त सुनेनन्, तर साहित्यमा नेपाल-भारतको अन्तरसम्बन्ध तथा बाल साहित्यबारेमा गरिएका विवेचनालाई धैर्यपूर्वक सुने ।

    यसको आयोजक कुनै साहित्यिक संस्था थिएन । थियो त एउटा राजनीतिक संगठन । स्रोता पनि सोही संगठनका अर्थात् राजनीतिक कार्यकर्ता । कार्यपत्र प्रस्तोता र टिप्पणीकारहरु साहित्यकार थिए भने सो सेसनको अध्यक्षता गरेका थिए नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले । साहित्यमा शितविन्दुका रुपमा परिचित ज्ञवालीलाई पूर्वपरराष्ट्रमन्त्रीको रुपमा सम्बोधन गरिएको थियो ।

    स्रष्टाहरुको उपस्थिति कम भए पनि असल र गुणस्तरीय स्रोताले भरिएको हलमा बडो गजबले साहित्य महोत्सवको पहिलो दिन सम्पन्न भयो । प्रस्तोताहरु यस अर्थमा खुशी थिए कि सम्भवतः यस प्रकारको कार्यक्रम पहिलो पटक हुँदै थियो ।

    आयोजक संस्था प्रवासी संघका अध्यक्ष नारायण हुमागाईं भने राजनीतिक तथा साहित्य दुवैमा स्थापित छन् । उनका केही कृतिहरु पनि प्रकाशित छन् । त्यसैले त उनले प्रवासमा बस्ने र पढ्ने युवा तथा बालबालिकाबारे चिन्ता गर्दै भनेका थिए- ‘उनीहरूले भाषा, साहित्य र संस्कृति नबिर्सून् भन्न यो कार्यक्रम राखिएको हो ।’

    नयाँदिल्लीस्थत हरिसिंह किशन सुरजित सिंह भवनमा आयोजित नेपाल-भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध समारोहमा नेपालका स्थापित साहित्यकार द्वयप्रा.डा. कपिल लामिछाने र प्रा.डा.देवी नेपाल तथा काशी विश्वविद्यालयका नेपाली भाषाका विभागीय प्रमुख प्रा.डा.दीवाकर प्रधानको प्रस्तुति थियो ।

    कार्यक्रमको खास उद्देश्य साहित्यको माध्यमबाट दुवै देशबीच सम्बन्ध सेतु कायम गर्नु, प्रवासी नेपालीका बालबालिकालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षण बढाउनु र प्रवासी नेपालीलाई विभिन्न क्षेत्रमा स्थापित गर्नु थियो ।

    प्रारम्भमा डा.देवी नेपालले प्रस्तुत गरेको ‘नेपाल र भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध सेतु’ विषयक कार्यपत्रमा भारतमा जन्मेर नेपाली साहित्यमा योगदान पुर्‍याउने साहित्यकारहरुको लामो फेहरिस्त प्रस्तुत गर्दै वर्तमानमा नेपाली भाषा विश्व भाषाको रुपमा र नेपाली जाति महाजातिको रुपमा स्थापित हुँदै गएको सन्दर्भ उल्लेख गरे । उनको भनाइ थियो- ‘नेपाल र भारत भौगोलिक रूपमा मात्र नभएर सामाजिक, सांस्कृतिक, भाषिक तथा जीवनशैलीका दृष्टिले पनि अत्यन्त निकटवर्ती देश हुन् ।’

    ‘भारतमा भूगोलसँगै विभाजित आदिवासी नेपाली, नेपालबाट आएका प्रवासी नेपाली र अध्ययन, जिम्मेवारी र कामका लागि आएका गरी तीन प्रकृतिका नेपालीको उपस्थिति रहेकोमा नेपाली तथा भारतका नेपाली भाषीहरू सिर्जनात्मक तथा गुणात्मक हिसाबले सामीप्य रहेको देखिन्छ’, डा. नेपालले थप भने ।

    अक्षरहरुको वंश परम्परालाई रक्त वंश र शब्द वंशमा व्याख्या गर्दै प्रस्तोता नेपालले रक्त वंश खुम्चिँदै र शब्द वंश फैलिँदै जाने भएकाले भारतीय भूमिसँग जोडिएको नेपाली भूमिको अन्तरसम्बन्ध विगतदेखि वर्तमानसम्म निरन्तर रहेको मानेका छन् । सो अवसरका उनले भने- ‘विशाल हिमवत खण्डमा सिर्जना भएका अनगिन्ती ज्ञान गौरवको वर्तमानसम्मको निरन्तरता नै नेपाली साहित्य हो र भारतीय साहित्य पनि हो ।’

    नेपाली र भारतीय नेपाली भाषीबीच भौगोलिक सीमा रहे पनि भाषिक सीमा र भावनात्मक सीमा कतै पनि नदेखिने प्रसंग उल्लेख गर्दै प्रस्तोता नेपालले राष्ट्रिय पहिचान वा नागरिकताका कारण फरक फरक राष्ट्रका नागरिकहरू भए पनि तिनीहरूबाट सिर्जित साहित्य भने साझा हुने दाबी गरे ।

    ‘अध्ययन, अनुसन्धान तथा विद्यालय तथा विश्वविद्यालयमा हुने पठनपाठनका तहमा पनि दुवै देशमा दुवै देशका स्रष्टाका रचनाहरू समावेश हुनुले क्षेत्रीय वा भेगीय विभेद नरहेको देखाउँछ’, उनले थपे ।

    दोस्रो कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.कपिलदेव लामिछानेले ‘नेपाल र भारतको नेपाली बाल कविताः दुई देशको सम्बन्ध’ विषयक कार्यपत्रमा नेपाल र भारतको नेपाली बाल कविताका प्रवृत्ति र विशेषता उस्तै उस्तै रहेको र नेपाली बाल कवितालाई अझ विकसित र समृद्ध तुल्याउन रहेका समस्या पनि समान रहेको धारणा व्यक्त गरे ।

    बाल कविताको सिर्जना प्रवर्द्धन गर्न र सिर्जना भएका कवितालाई स्तरीय रूपमा प्रकाशन गर्न तथा डिजिटल डिभाइसमा पहुँच पुर्‍याउन सके बाल कविताले भारत-नेपालको सशक्त सम्बन्ध स्थापित गर्नसक्ने धारणा प्रस्तोता लामिछानेको छ । डा. लामिछानेले साठीको दशकयता भारत र नेपाल दुवैतर्फ गुणात्मक र स्तरयुक्त लेखन र छपाइमा बढोत्तरी देखिए पनि बिक्री प्रवर्द्धनमा खासै अन्तर आउन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।

    दार्जिलिङका पादरी गङ्गाप्रसाद प्रधान र मिस गोलेनले हान्स एन्डरसनका बालकथाहरूको अनुवादबाट भारतीय नेपाली बाल साहित्यको प्रारम्भ भए पनि सुरुका दिनमा नेपाली भाषाले भारतमा संवैधानिक मान्यता नपाएकाले नेपाली भाषामा साहित्य, बाल साहित्य र बाल कविताको सिर्जना पछि पर्न गएको अनुमान पनि लामिछानेले गरेका छन् ।

    सो अवसरमा काशी विश्वविद्यालयका नेपाली भाषाका विभागीय प्रमुख डा.दिवाकर प्रधानले भारतमा नेपाली भाषाको पठनपाठनको आरम्भ र विकास कसरी भयो भन्नेबारेमा प्रस्तुति दिएका थिए ।

    कार्यपत्रमाथि पूरक टिप्पणी गर्दै वरिष्ठ पत्रकार डीआर घिमिरेले भाषा, साहित्य, संस्कृति र संस्कार हस्तान्तरण गर्ने सशक्त माध्यम बाल साहित्य हुने भएकाले यसको विशिष्ट भूमिका रहन्छ भने । उनको भनाइ थियो-‘बालबालिकालाई सानै उमेरदेखि सुनाइने किस्सा, कथा, संस्कार आदिले उनीहरुको भावना, जिज्ञासामात्र पूरा गर्दैन, ज्ञानसमेत हस्तान्तरण हुन्छ ।’

    नेपाल बाहिर बस्ने अभिभावकहरुले नेपाली भाषा, साहित्य र संस्कृति नबिर्सून् भन्न हरेक देशमा यस प्रकारका कार्यक्रम गरिएको स्मरण गर्दै उनले प्रवासी संघको यो कार्यक्रमले सोही भावनाको प्रतिनिधित्व गरेकोमा खुशी प्रकट गरे ।

    अर्का टिप्पणीकार विष्णु गुरूङ, जो अल इन्डिया रेडियोको नेपाली भाषामा कार्यक्रम सञ्चालन, समाचार वाचन, अनुवादक र इन्चार्जका रूपमा २४ वर्ष सेवा गरेर हाल निवृत्त भएका थिए । मलेसियामा जन्मेका, तर स्याङ्जा घर भएका गुरूङ अध्ययनका सिलसिलामा दिल्ली पुगेपछि रेडियोमा कार्यक्रम चलाउँदै गर्दा भाषाशास्त्री बनेका थिए । उनले नेपाली भाषाको कुरा गर्दा सबै धर्मका ग्रन्थहरुको माध्यमबाट पनि नेपाली भाषाको विकासमा सहयोग पुगेको टिप्पणी गरे ।

    यस्तै दार्जिलिङका साहित्यकार जेके बराइलीले संगीतका विषय पनि कार्यपत्रमा आउँदा अझ प्रभावकारी हुने आशय व्यक्त गरे ।

    कार्यपत्र-सत्रको अध्यक्षता गर्नुभएका शितविन्दु अर्थात् नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अक्षरको वंश परम्पराले नै नेपालीलाई जोड्ने सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूले विषद क्षेत्रको प्रतिनिधित्व गर्न सकेको अनुभव सुनाउनु भयो ।

  • गीतकार सुरेन्द्र राना- ‘रुकुम मैकोट’ले पुनः चर्चाको शिखरमा

    गीतकार सुरेन्द्र राना- ‘रुकुम मैकोट’ले पुनः चर्चाको शिखरमा

    काठमाडौं । ‘एउटा गीत चाहियो दाइ !’

    एक दिन ‘खुस्मा’ चलचित्रका निर्देशक अशोक थापा मगरले गीतकार सुरेन्द्र रानालाई फोन गरेर भने ।

    सिचुएसन के हो ? कुन सन्दर्भको कथामा गीत चाहिएको हो ? गीतमार्फत निर्देशकले अभिव्यक्त गर्न चाहेको कुरा के हो ? यी सवालको जवाफका लागि सुरेन्द्र र अशोक लगनखेलको एक कफीसपमा भेटे ।

    अशोकले कथा सुनाउँदै भने, ‘गीत रुकुम मैकोटमाथि चाहिएको हो ।’

    सुरेन्द्र गोर्खा लिगलिगकोटका हुन् । उनी रुकुम मैकोट पुगेका थिएनन् । मैकोट नाम सुनेका पनि थिएनन् । यसो सोचे, ‘रुकुमको मैकोट भनेपछि त्यहाँको पर्यटनलाई पनि सहयोग पुग्ने गरी गीत लेख्नुपर्‍यो ।’

    कफीसपमा अशोकले कथा सुनाउन सुरु गरे । कथा सुन्दासुन्दै सङ्लो पानीमा माछा खेले जसरी सुरेन्द्रको मनमा शब्दहरु खेल्न सुरु गरे । शब्दहरु छरिएर घरी यता, घरी उता गर्न सुरु गरे । सुरेन्द्रले छरिएका शब्दहरुलाई मिलाएर राख्न खोजे । तब कथा सुन्दासुन्दै हुक लाइन जन्मियो-

    रुकुम मैकोट, रुकुम मैकोट
    आँखा नि राम्रै हो, मनपर्‍यो नि ओठ

    अनि घर आएर गीतमा थप काम गरे । केटा र केटीले इशारामै सबै कुरो बोलेको भावका शब्दहरु तयार पार्न उनलाई चार दिन लाग्यो । चार दिनपछि उही कफीसपमा अशोक र सुरेन्द्रको भेट भयो । गीत पढेपछि अशोकले भने, ‘यो पूरा गीत छ । गज्जब भयो ।’

    गीत तयार भयो । एसडी योगीले गीतमा संगीत र स्वर भरे । सुरेन्द्रलाई अशोकले डमी सुनाए । सुरेन्द्रलाई पनि गीत मनपर्‍यो । स्वर पनि टिपिकल लाग्यो । गीत पनि सुन्दामै क्याच्ची बनेको थियो ।

    सुरेन्द्र र एसडीको बीचमा हुलाकी थिए अशोक । यही कारण नै सुरेन्द्र र संगीतकार एसडीको भेट अहिलेसम्म भएको छैन । चिनापर्ची पनि भएको छैन ।

    ‘यो गीतको एउटा शब्द पनि चेन्ज भएन । एक्युरेट फिट भयो । ठ्याक्कै ट्युनिङमा थियो’, एसडीसँग भेट नहुनुको कारणबारे सुरेन्द्र सुनाउँछन्, ‘संगीतकारसँग बस्नुपर्ने अवस्था नै आएन । त्यसैले उहाँसँग भेट नभएको होला ।’

    यो गीत यति धेरै लोकप्रिय होला भनेर सुरेन्द्रले सोचेकै थिएन, तर जे सोचेको थिएन, त्यही भइदियो । गीतले तीन महिनामा ७२ मिलियन अर्थत् ७ करोड २० लाख भ्युज पायो । युट्युब ट्रेन्डिङदेखि ग्लोबल ट्रेन्डिङसम्म पुग्यो । गीतको सरल शब्द र प्रेमिल भावले सबैलाई मोहित तुल्यायो ।

    ०००

    भारतीय गायक सोनु निगमले गाएको ‘विरहीको भाकाले’ गीत त पक्कै सुन्नु भएकै होला । ‘बादलपारि’ चलचित्रको यो गीतमा सुरेन्द्रकै कलमको निब तिखारिएको छ । यही चलचित्रको अर्को डान्सिङ गीत ‘कालो चस्मा लाऊ है मैंया विशालबजारको’मा तपाईं पक्कै नाचेकै हुनुपर्छ । यो गीत पनि सुरेन्द्रकै शब्दले सिंगारिएको छ ।

    रमेश उप्रेती र निरुता सिंह नाचेको ‘माइली’ चलचित्रको ‘जाऔं न ठमेलमा’देखि ‘कति आउली अग्ली भई नाच्नलाई गाह्रो भो’ गीतमा पनि सुरेन्द्रकै शब्द छ ।

    ‘जाऔं न ठमेलमा’को रोचक कुरा त के हो भने संगीतकार शम्भुजीत बाँसकोटाले स्वर भरेका छन् । संगीत त त्यसवेलाको अधिकांश चलचित्रमा शम्भुजीतकै हुने भयो । शम्भुजीतसँग सुरेन्द्रको चिनजान चाहिँ ‘मोहनी’ चलचित्रबाट भएको थियो । यो चलचित्रको हिट गीत ‘रसिलो अंगुर’मा यी दुई स्रष्टाले सहकार्य गरेका थिए । अनि ‘बादलपारि’को ‘कालो चस्मा लाऊ है माया’ गीतमा सहकार्य गरेका थिए ।

    सुरेन्द्रको अर्को गीत त तपाईंले पक्कै सुन्नुभएकै होला, ‘छिटको सारी मखमली चोलीलाई’ ।

    स्कुलका कार्यक्रमहरुमा अत्यधिक बज्ने यो गीत ‘आँखा लोभी मन पापी’ चलचित्रको हो । यस चलचित्रको पटकथा पनि सुरेन्द्रकै थियो । र, यही चलचित्रको गीत हो, ‘छिटको सारी मखमली चोलीलाई’ ।

    सुरेन्द्रका अनुसार यो गीत त्यस्तो धेरै अपेक्षा गरेर बनाइएको थिएन । उनले स्क्रिप्ट लेख्दै जाँदा कथाले गीत माग्यो, अनि गीत लेखेका थिए । यो चलचित्रका अन्य गीतहरुको तुलनामा हेंला गरिएको गीत थियो, तर त्यही हेंला गरिएको गीत सर्वाधिक चल्यो ।

    गीत यति धेरै चल्यो कि वरिष्ठ गायिका शर्मिला बर्देवाको केही मास्टरपिस गीतहरुको सूचीमा रहन पुग्यो ।

    ०००

    थामेर किन छोड्यौ हातहरु
    रोजेर किन तोड्यौ साथहरु
    छोडेर गयौ सारा यादहरु
    रोएर बिते मेरा रातहरु

    यो गीतको कथा चर्चित गायिका सुनिता सुब्बासँग गएर ठोक्किन्छ । आजभन्दा ४२ वर्षअघिको २०३९ सालको कुरा हो । सुनिताले भर्खरै एसएलसी दिएकी थिइन् । गायनमा भविष्य खोज्दै थिइन् ।

    रत्न रेकर्डिङ स्टुडियोले ‘खोजी प्रतिभाको’ भन्ने कार्यक्रम गर्थ्यो । सुनिताले यही प्रतियोगितामा भाग लिँदा सुरेन्द्रको यो गीत गाएकी थिइन् । यहाँ उनले दोस्रो पुरस्कार जितिन् । संगीतकार राम थापाले पनि पुरस्कार पाए । सुरेन्द्रले पुरस्कार पाए ।

    यो गीत चाहिँ सुरेन्द्रले योजना बनाएर लेखेको होइन ।

    संगीतकार राम थापाको डेरा बागबजारमा थियो । एक दिन सुरेन्द्र राम थापालाई भेट्न गएका थिए, तर राम थापा समयमा आएनन् । अनि सुरेन्द्रले त्यही कागजमा यो गीत लेखेर छाडेर गए ।

    ‘अनि दुई हप्तापछि जाँदा त गीतको ट्युनिङ भइसकेको रहेछ’, सुरेन्द्र नोस्टालजिक हुन्छन् ।

    यसवेला सुरेन्द्रको सुनितासँग चिनजान थिएन । पछि उनले ‘खोजी प्रतिभाको’मा भाग लिने भएपछि सुरेन्द्रको चिनजान भयो । सुरेन्द्र सुनाउँछन्, ‘सायद उसले पहिलो पटक यही गीतको कार्यक्रममा सारी लगाएकी थिई होलिन् । तत्कालीन युवराज ज्ञानेन्द्र शाहले पुरस्कार दिने भएकाले सारी लगाएर आउनुपर्ने बताएको थियो ।’

    सुरेन्द्रको अर्को गीत छ-

    यो मनको के भर हुन्छ
    बहकिने मात्रै डर हुन्छ
    जानी जानी पनि यहाँ
    भुल गर्ने रहर हुन्छ

    यो त्यही गीत हो, जुन गीतले रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा दिवंगत गायक अरुण थापालाई प्रथम बनायो । गीतकारमा सुरेन्द्र प्रथम भए । यो २०३७ सालको कुरा हो । अर्थात् आजभन्दा ४४ वर्षअगाडिको ।

    सुरेन्द्र भर्खरै स्नातक पढ्दै थिए । भोटेबहालमा डेरा बस्थे । लेखनमा सक्रिय थिए ।

    सुरुमा सुरेन्द्र गितार बजाउँथे । यही क्रममा संगीतकार राम थापासँग उनको भेट भयो । यसपछि सुरेन्द्रको बाक्लो भेट हुन थाल्यो थापासँग । यही क्रममा गायक अरुण थापा जोडिए ।

    अरुण थापाले सुरेन्द्रको गीत गाए- ‘यो मनको के भर हुन्छ’

    ‘त्यसवेला अरुण थापा युवा नै हुनुहुन्थ्यो । सायद मदिरा अलिअलि पिउनुहुन्थ्यो होला’, सुरेन्द्र अरुण थापालाई सम्झिँदै भन्छन्, ‘पछि उहाँको मृत्युु हुनु दुईतीन हप्ता अगाडि सिने साउन्ड रेकर्डिङ स्टुडियोमा हाम्रो भेट भएको थियो । त्यसवेला त उहाँ बिरामीले गर्दा नचिनिने भइसक्नु भएको थियो, एकदमै कालो हुनुभएको थियो ।’

    साढे चार दशकदेखि सक्रिय सुरेन्द्र अहिले पनि गीत लेखिरहेका छन् । भर्खरैमात्र ‘परालको आगो’ नामक चलचित्रको गीत लेखेर सकाए । रेडियो नेपालबाट ४०० पारिश्रमिक पाएका सुरेन्द्र अहिले १५-२० हजार पारिश्रमिक लिन्छन् ।

    सय बढी गीत लेखिसकेका सुरेन्द्र भन्छन्, ‘गीतमा थिम मुख्य कुरा हो । थिमअनुसार गीतका शब्दहरु फुर्ने हुन् ।’

  • राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई ४ लाख राशीको पहिचान पुरस्कार

    राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई ४ लाख राशीको पहिचान पुरस्कार

    काठमाडौं । २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कविता संग्रह ‘‘ओ पेङ्दोर्जे’ लाई प्रदान रिने भएको छ ।

    मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानि उत्कृष्ट आठ पुस्तक मध्यबाट उक्त कृतिलाई पुरस्कार दिने घोषणा गरिएको हो । पहिचान पुरस्कार कोषले प्रदान गर्ने यस पुरस्कारमा ताम्रपत्रसहित नगद चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।

    ‘ओ पेङदोर्जे’लाई पुरस्कार घोषणा गर्दै कोषका संस्थापक नरेश काङमाङ राईले भने, ‘यस कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पचिानको लागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँ मान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ ।

    उनका कविताहरुले आफ्नो पहिचान रक्षार्थको लागि आन्दोलन र विद्रोह बोलेका छन् । विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ ।’

    परस्कृत कविलाई २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वार्ड नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ ।

  • साहित्यकार दोस्ताज महेशको आइडिया: एउटा कवितालाई मात्र १ रुपैयाँ !

    साहित्यकार दोस्ताज महेशको आइडिया: एउटा कवितालाई मात्र १ रुपैयाँ !

    काठमाडौं । अहिले कवि तथा आख्यानकार दोस्ताज महेशले अनलाइनमार्फत् एउटा कवितालाई एक रुपैयाँमा बेचिरहेका छन् । कैलालीका दोस्ताजले आफ्नो ७९ वटा कविताको पिडिएफ बनाएर ‘भाँचिएको अनुहार’ नाम दिएका छन् ।

    अनलाइनमार्फत् ‘भाँचिएको अनुहार’का ७९ कवितालाई ७९ रुपैयाँमा बेचिरहेका छन् । कविता किन्न चाहने पाठकले इसेवामा ७९ रुपैयाँ पठाइदिन्छन् अनि दोस्ताजले कविताको पिडिएफ इमेल वा ह्वाटस् एपमा पठाइदिन्छन् । दोस्ताज भन्छन्, ‘मैले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु । अहिलेसम्म १५० कपि गइसक्यो । जापानमा रहनुहुने विनिशा सापकोटा जीले त आफ्ना साथीहरुलाई उपहार दिन एकैपटकमा नौ कपीसम्म किनिदिनु भयो ।’

    यसरी अनलाइनमा पीडीएफ पठाउँदा किन्नेहरुले अरुलाई सित्तैमा फर्वाड गरिदिने जोखिम ज्यादा रहेको दोस्ताज बताउँछन् । यस्तो जोखिम हुनुमा आफूलाई राम्रोसँग प्राविधिक ज्ञान नभएको उनको भनाइ छ ।

    गत वर्ष उनले कथा संग्रह ‘सिउँदो चिरिएको महेन्द्र हाइवे’ नामक कथासंग्रहको अडियो पनि अनलाइनमा बेचेका थिए । उक्त कथासंग्रहले ७० हजार रुपैयाँ हाराहारी कमाएको दोस्ताज बताउँछन् । उक्त कथासंग्रहको अडियोको मूल्य ४५६ रुपैयाँ थियो ।

    अब भने एउटा प्रिन्ट किताब नै ल्याउने सोचमा रहेको दोस्ताजले बताए । एक दशकदेखि लेखनमा सक्रिय रहेका दोस्ताजले भने, ‘राम्रो सृजना गरियो भने अनलाइनमा पनि लेखनको भविष्य रहेछ भन्ने कुरा मेरा दुई किताबले पुष्टि गरे । म खुसी छु ।’

  • वैदिक सभ्यताको जगमा लेखिएको विज्ञान आख्यान ‘सावर्णि’

    वैदिक सभ्यताको जगमा लेखिएको विज्ञान आख्यान ‘सावर्णि’

    उपन्यासमा सावर्णि, देरिक, देरिका, वासु जस्ता पात्रहरु छन्, तर यी मानव पात्रहरु होइनन् । यी कृत्रिम प्रज्ञा अर्थात् आर्टिफिसियल एन्टेलिजेन्स (एआई) पात्रहरु हुन् । दुर्घटनामा सेलिना, मार्टिन, किन्किनी खोँचमा खसेर मर्छन् । यी मर्नेहरु पनि मानिस होइनन् । यी सबै एआई पात्र हुन् । उनीहरुले ज्यानमा लगाइएको ‘पिए’ रोबर्ट अफ हुँदा उनीहरुको प्राण अफ भएको हुन्छ ।

    कथामा युद्ध पनि छ । युद्ध अहिले भइरहेको जस्तो पृथ्वीका मान्छेहरुको बीच हुँदैन । पृथ्वीका देशहरुबीच हुँदैन । युद्धमा पृथ्वीको उपलपुथलपछि ल्याबबाट एआईले जोगाएका मान्छे र मंगल गृहमा पुगेर बसेका मान्छेहरुको हुन्छ । युद्धमा हतियार प्रयोग हुन्न । हतियारभन्दा माथिको कुरा प्रयोग हुन्छ । त्यो के हतियार हो भन्ने बुझ्न चै यहाँभन्दा किताब पढ्दै मज्जा आउँछ ।

    बुकहिल प्रकाशनले ल्याएको डा. श्रीधर खनालको पुस्तक धेरै आकर्षक छ । फिक्सनहरुमा सुन्दै, देख्दै र भोग्दै वा कल्पना गर्दै आएका कथा, पात्र र घटनाहरुमा तलमाथि, सस्पेन्स, थ्रिलर बनाएर लेखिएका समसामयिक उपन्यासहरुको भीडमा ‘सावर्णि’ फरक छ । साँच्चिकै कल्पनिक प्रचुरता र आख्यानिक मिठास पुस्तकमा छ । पुस्तकको कथा र पात्रहरु केलाउँदा स्क्रिनमा अभ्यस्त नयाँ पुस्ता पनि पल्किने खालको छ । यस्तो लाग्छ उपन्यासलाई कार्टुन बनाएमा यो बालबालिकामाझ हिट हुन्छ । फिल्म बनाए पनि हल भरिने नयाँ पुस्ताका दर्शक पुग्छन् ।

    फिक्सनहरुमा सुन्दै, देख्दै र भोग्दै वा कल्पना गर्दै आएका कथा, पात्र र घटनाहरुमा तलमाथि, सस्पेन्स, थ्रिलर बनाएर लेखिएका समसामयिक उपन्यासहरुको भीडमा ‘सावर्णि’ फरक छ । साँच्चिकै कल्पनिक प्रचुरता र आख्यानिक मिठास पुस्तकमा छ ।

    एआईको किताब हो भन्ने कुरा पात्रहरुका बोलीबाटै बुझिन्छ । पृष्ठ २८ मा देरिकले देरिकाको वासुसँगको आँखा जुधाई देखेपछि भन्छ, ‘उसको नजरले मात्रै तिम्रो ह्यापिनेसमा १० प्रतिशतले वृद्धि भएको पाएको छु । त्यो केटा तिम्रो प्रेमी हुन पूर्ण योग्य भएको सबै सूचकहरुले बताएका छन् ।’

    अहिले मान्छेले बनाएका एआईले मान्छेलाई नेतृत्व गरेको युगभन्दा फरक एआईले बनाएका मान्छेले एआईलाई नेतृत्व गरेको रोचक कन्ट्रास्ट कथाले किताब सुन्दर देखिएको छ । मानवले बनाएका एआई र मानवको अन्त्यपछि एआईले ल्याबबाट बनाएका मानवले अरु बचेखुचेका मानवबाटै बनेर मंगल ग्रहतिर बसाइ सरेका मानवहरुको धागो उनिएको छ कथामा ।

    सुन्दा अचम्म लाग्न सक्छ, पढ्दा हो कि, होइन कि लाग्नसक्छ, तर युग एआईकै हो । त्यो हाम्रो वरिपरि आइसक्यो । हिजोआज बोलक्कडहरु च्याटमा एआईसँग गफिएका भेटिन्छन् । भारतीय प्रधानमन्त्रीले एक भूगोलमा बसेर एक भाषामा दिएको मन्तव्य अर्को भूगोलको अर्को भाषामा उनकै आवाजमा प्रशारण गरिएका समाचार आइसके । जेलमै बसेर पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले आफ्ना समर्थकहरुसँग एआईबाट सम्बोधन गरेका समाचार पनि आइसके ।

    विश्वका एक नम्बर धनाढ्य एलन मस्कले एक गृहमात्रै नभएर बहुग्रह मानव सभ्यताको योजना स्टारलिंकबाट सुरु गर्ने सपना देखिसकेका छन् । अहिलेका यी सबै घटनाहरुले आगामी दुनियाँ फरक हुने । त्यो दुनियाँको मानवता फरक हुने संकेत आइसकेका छन् । त्यसबाट जोगिन विभिन्न बहस पनि उत्तिकै भएका छन् । बहस सामाजिक सञ्जालबाट सदनसम्म छ । अस्ट्रेलियाली सदनले १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन नदिने कानून ल्याएको सवालमा होस् वा सामाजिक सञ्जाल र एआई नियमनका बहसहरु हुन्, दुनियाँमा अब प्रविधिलाई के गर्न दिने, के नदिने, कुन उमेरलाई दिने कुन नदिने भन्नेमा चर्को बहस सुरु भएको छ ।

    अहिले मान्छेले बनाएका एआईले मान्छेलाई नेतृत्व गरेको युगभन्दा फरक एआईले बनाएका मान्छेले एआईलाई नेतृत्व गरेको रोचक कन्ट्रास्ट कथाले किताब सुन्दर देखिएको छ ।

    १५९ पृष्ठमा भनिएको कथालाई लेखकले विज्ञान आख्यानको स्वैरकल्पनामा ढाले तापनि यहाँ मौलिकता छ । नेपाली माटो छ । नेपाली सुगन्ध छ । जस्तै पृथ्वीमा प्रलय भएर मानवता सकिएको समयमा सबैभन्दा अग्लो क्षेत्र सगरमाथाको एक ल्याबमा मानव जोगाउने अन्तिम वीर्य र डिम्ब भेटिन्छन् । एआईबाट जन्मिएका मानवलाई पूर्वीय वैदिक शास्त्रका पात्र कृष्णसँग जोडिएको छ । वासुदेव र देवकीका पुत्र कृष्ण भए जस्तै वासु र देरिकाबाट जन्मछन् किशन ।

    जसरी मथुराका कृष्ण जन्मेपछि नयाँ युग सुरु हुन्छ, त्यसैगरी एआई ल्याबबाट जन्मिएका किशनको उदयपछि उपन्यासको कथामा नयाँ युग सुरु हुन्छ । वैदिक ग्रन्थहरुमा अबको अर्को युगको पात्रको रुपमा चर्चा गरिएका सावर्णिलाई मुख्य पात्र बनाएर उपन्यास लेखिएकाले यहाँ पनि आख्यान, विज्ञान र वैदिक सभ्यताको तालमेल मिन्छ । ‘सावर्णि’लाई एक कोणमा भन्दा वैदिक सभ्यताको जगमा लेखिएको भविष्यको विज्ञान आख्यान मान्न सकिन्छ ।

    किताबमा कतिपय कुरा अमिल्दा पनि छन् । जस्तैः पृष्ठ २६ मा ‘लन टेनिस’लाई ‘लङ टेनिस’ भनिएको छ । पृष्ठ ७७ मा एआई नगरमा अचानक ‘मानव प्रहरी’ प्रयोग भएको छ । जबकि कथा त्यहाँभन्दा अगाडि र किशनको जन्म अगाडि कुनै मानवीय उपस्थिति देखाइएको छैन । एआईलाई चलाउने रोबर्ट पिए राखिएको पनि नमिल्दो जस्तो लाग्छ । किनभने एआई आफैंमा सक्षम हुनुपर्ने हो । असक्षम छन् भने किन भन्ने कथामा खुल्दैन ।

    केही प्रश्नहरु जन्मिए पनि उपन्यासमा पठनीय, सोचनीय र आनन्ददायी कुरा धेरै छन् । मानवताको पक्षमा लेखिएको उपन्यासमा अन्त्यमा एआईको नायक पनि मान्छे नै देखाइएको छ । फरक तरिकाले र फरक शैलीले लेखेको भएकाले नेपाली आख्यानमा नयाँपन खोज्ने, प्रविधिको लयमा आएको आख्यान खोज्ने भाषा साहित्यका शोध गर्नेहरुलाई यो उपन्यास एक आकर्षक प्याकेज हो । एक बसाइमा पढेर सकिने उपन्यासको लगानी खेर जाने देखिँदैन ।

  • ‘झ्याउरे छन्द’बारे विमर्श

    ‘झ्याउरे छन्द’बारे विमर्श

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द भएको बताएका छन् ।

    नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा प्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श कार्यक्रममा उनले मानव सभ्यता सुरु भएदेखि नै प्रचलनमा आएको झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको बताए ।

    हाम्रा वेद, ऋचा र मुन्धुमलगायतका कैयौं ग्रन्थ लयबद्ध भएकाले नै सहज रूपमा पुस्तान्तरण हुन सकेको भन्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    कार्यक्रममा अभियन्ता कवयित्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिकाबारे चर्चा भएको थियो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले मौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको बताइन् । आफूले पनि झ्याउरे छन्दलयमा गाएको चर्चा गरिन् ।

    शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेदलगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित सङ्गिनी, ख्याली, खैँजडी, भजन र मारुनी भाकाको संवर्द्धन गर्नेबारे जोड दिए ।

    प्रा.डा. राजाराम सुवेदीले नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको बताए । मूलतः गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएको र तिनमा पनि झ्याउरे छन्दलय रहेको उनले बताए ।

    जनगायक जीवन शर्मा, प्रा.डा. वीणा पौड्याल, प्रा.डा. ध्रुव भट्टराई, डा. शैलेन्दुप्रकाश नेपाल र भाषाविद् चूणामणि गौतमलगायतले मौलिक नेपाली झ्याउरे छन्दलयका बारेमा आआफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहाल, मञ्जिला अनिल, हरिराम प्याकुरेल, ढुण्डीराज पोखे्रल, शान्ति पौडेल, नरहरि प्रेमी र डाक्टर जनपालीलगायतले ‘झ्याउरे छन्द’ कविता वाचन गरे ।

  • सरुभक्तसँग हिजो आजका कुरा

    सरुभक्तसँग हिजो आजका कुरा

    साहित्यकार सरुभक्त बिहान सबेरै उठ्छन् । आधा घण्टादेखि एक घण्टासम्म मर्निङ वाकमा निस्कन्छन् । मर्निङ वाकमा पनि उनको हातमा कुनै न कुनै पुस्तक हुन्छ । प्रायः छोरी सरस्वती प्रतीक्षाकै घरमा रहन्छन् । शनिबार बिहान चाहिँ आफ्नै घरमा आउँछन् । घरमा माइला भाइको छोरी बुहारी बस्छन् ।

    पोखरालाई नै कर्मथलो बनाएका सरुभक्त उमेरले ७० आसपासका भए । तर, लेखनमा उस्तै सक्रिय छन् । दर्जनौं कविता संग्रह ल्याइसकेका छन् । दर्जनौं नाटक लेखिसकेका छन् । नाटक निर्देशन र अभिनय गरेका छन् । आजभन्दा ३३ वर्षअघि २०४८ सालमा ‘पागल बस्ती’ उपन्यासमार्फत् मदन पुरस्कार जितेका उनका ‘तरुनी खेती’, ‘चुली’ लगायत किताबहरू चर्चित छन् ।

    सरुभक्तहरूले पोखरेली युवा सांस्कृतिक परिवार स्थापना गरे । २०३५ सालमा चर्चित कवि तथा गीतकार हरिभक्त कटुवाललाई अतिथि बनाएर सरुभक्तहरूले आजभन्दा ४६/४७ वर्षअघि टिकटमा मुक्तक कार्यक्रम चलाए । यही कार्यक्रममा अरुण थापाले पहिलोपटक गीत गाए, ‘जति माया लाए पनि, जति कसम खाए पनि’ । विनोद गौचनले लेखेको यो गीत कालान्तरमा रेडियो नेपालमा रेकर्ड भयो, अनि चर्चित भयो । यही कार्यक्रममा अर्जुनजंग शाहीले सरुभक्तको नाटकमा अभिनय गरे । अलि पछि उनी शाही नेपाली चलचित्र संस्थानमा गएर नायक भए ।

    पोखरेली युवा सांस्कृतिक परिवार सुरू गर्दाताका साहित्यकार, कलाकर्मीहरूमध्ये प्रकट पंगेनी शिव, विनोद गौचन, विजय बजिमय, सरोजगोपाल बज्राचार्यहरू दिवंगत भइसके । ‘आँखाको निद खोसी लाने’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’ जस्ता गीत लेख्ने विक्रम गुरुङ युकेतिर छन् । साहित्यकार उषा शेरचन कहिले अमेरिका, कहिले नेपाल गरिरहन्छिन् । संस्थाको दोस्रो अध्यक्ष वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्सायन पोखरामै सक्रिय छन् ।

    ‘हङकङ पोखरा’, ‘चाइना कम्पनी’, ‘भेडी गोठैमा’ जस्ता चर्चित गीतसमेत लेखेका सरुभक्तलाई हामीले पोखरामै भेट्यौं । अनि लेखन र अध्ययनका कुरा गर्यौं । हिजो र आजका कुरा गर्यौं । जीवनका कुरा गर्‍यौं ।

    – अहिले सम्झँदा ५० वर्षअघिको पोखरेली सांस्कृतिक परिवार कस्तो लाग्छ ?

    हामी केटाकेटीले केही गरौं भनेर पहल गरेको हो । यो संस्था यति दीर्घायू होला भनेर हामीले सोचेकै थिएन । त्यो उमेरमा सोच्ने कुरा पनि भएन । संस्थागत क्रियाकलाप गरौ भन्ने भावनाले प्रेरित भएर संस्था खोलेका थियौं । नाटकको मेकअप दुर्गा बराल वात्सायन दाइले गरिदिनुहुन्थ्यो । मेकअप गर्ने आइडिया हामीलाई थिएन । उहाँले नै सेट डिजाइन पनि गरिदिनुहुन्थ्यो ।

    -‘पागल-बस्ती’ उपन्यासको सन्दर्भमा जाऔं न !

    २०३८ सालतिर नाटक खेल्ने शंकरराजा श्रेष्ठ भन्ने भाइ र घान्द्रुक घुम्न गयौं । घान्द्रुकबाट फर्कँदा नौडाँडाँ भन्ने ठाउँ छ । त्यहाँ आएपछि वरिपरिको परिवेश रमाइलो लाग्यो । शंकर भाइलाई भनेँ, ‘आज यहीँ बसौं ।’ अनि त्यहीँ बस्यौं । साँझतिर यसो चिया पसलतिर गएका थियौं । त्यहाँ भर्खरैको केटो माग्न आइरहेको थियो । अनि साहुजीले उता जा भनेर लखेटिरहेको थियो । त्यो दृश्यले मलाई स्ट्रइक गर्‍यो, ‘भोक लागेर आएको होला, पागल त होइन होला त्यो केटो ।’

    भोलिपल्ट घर आएँ । सानो कपी लिएँ । र ‘पागल-बस्ती’ लेखेँ । अब चाहिँ उपन्यास लेख्छु भन्ने आँट आयो । त्यहीबेला केही च्याप्टर लेखेँ । एक ठाउँमा गएर अड्कियो । लामो समयसम्म बन्द भयो । अनि २०४४ सालपछि उपन्यासलाई पूर्णता दिएँ ।

    ‘पागल-बस्ती’पछि ‘तरुनी खेती’ लेख्नुभयो है ?

    ‘पागल-बस्ती’ पछि केही समयसम्म मैले उपन्यास लेख्न सकिनँ । २०५३ सालतिर ‘तरुनी खेती’ छापियो । ‘पागल-बस्ती’को ढोकाभन्दा बाहिरको संसार कस्तो छ त भनेर ‘तरुनी खेती’ बाट चिहाएको हुँ । पुरुष प्रधान समाजमा पुरुषको हैकम चल्छ । नारी त वस्तुकरण मात्रै भएको छ । अत्याचार भएको छ । तर, नारी र पुरुषको सम्बन्धले गर्दा नै समाज अगाडि बढ्छ । सृष्टि चल्छ । यही कुरालाई ‘तरुनी खेती’मा राखेको हुँ ।

    – तर, तपाईंले चाहिँ विवाह गर्नुभएन है ?

    ‘तरुनी खेती’ लेखेको मान्छे, त्यो खेतिपातीमा लाग्ने कुरा भएन (हाँसो) । किनभने त्यसमा मेरो विस्वास नै भएन । मलाई सबैले सोध्ने, मैले जवाफ दिन नसक्ने प्रश्न नै यही हो । तर, विवाह भन्ने संस्थाप्रति मेरो असम्मान चाहिँ छैन । म सधैँ के भन्छु भने कतिपय व्यक्तिहरू पनि विवाह गर्छन्, छोराछोरी पाउँछन्, डिभोर्स गर्छन् । कयौं विवाहेत्तर सम्बन्धमा जान्छन् । त्यस्ताहरूको संसार नै अलग छ । अनि उनीहरूले विवाह संस्थाको विरोध गर्छन् ।

    – सबैले तपाईंले जसरी सोच्दै जाने हो भने त सृष्टि नै नचल्ने भयो नि !

    मैले जिएको जस्तो जिन्दगी अरुले जिउनुपर्छ भनेर भन्दिनँ म । कस्तो जिन्दगी जिउने भन्ने कुरा निज व्यक्तिको आदर्श, नैतिकता र विश्वासको कुरा भयो । मान्छेलाई विवाह महत्वपूर्ण लाग्छ भने विवाह गर्ने हो । विवाहभन्दा अरु चिज महत्वपूर्ण लाग्छ भने अरु गर्ने हो ।

    – यो उमेरमा आउँदा विवाह गरेको भए ठिक हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?

    मलाई कहिल्यै पनि त्यस्तो लागेन । मलाई अलिकति चेतना पलाएको दिनदेखि मेरो प्राथमिकतामा विवाह कहिल्यै भएन । तर, म विवाह संस्थालाई किन इज्जत गर्छु भने मेरो बुवाआमाका कारण म यहाँ छु । मेरो बुवाआमा जीवनको अन्तिम अवस्थासम्म पनि उहाँहरू एक-अर्कालाई छाड्न सक्नुहुन्नथ्यो । मेरो बुवाको २०७१ सालमा मृत्यु भएपछि तीन वर्ष मेरी आमा बाँच्नुभयो । तर, त्यो तीन वर्ष एकदमै गाह्रोसँग बाँच्नुभयो । एकदमै लोनलीनेससित बाँच्नुभयो । त्यो उमेरमा पार्टनर गुम्दा डिसब्यालेन्स हुँदो रहेछ ।

    – तपाईँलाई चाहिँ एक्लोपनले थिच्दैन ?

    हामी वैज्ञानिक युगमा छौं । यो समयमा डेस्टिनी भन्ने कुरालाई मान्छु भन्दा अवैज्ञानिक भन्छन् । तर, कतिपय कुरामा चाहिँ डेस्टिनी हुँदो रहेछ भन्ने लाग्छ । मैले विवाह गर्ने मानसिकता कहिल्यै बनाइनँ । मलाई त्यसमा पछुतो पनि छैन । तर सौभाग्यले मैले छोरी पाएँ २०५५ सालमा । सरस्वती प्रतीक्षा त्यसबेला १५/१६ वर्षकी थिइन् । छोरी पाएपछि त्यसको १० वर्षपछि नाति पनि पाएँ । अहिले म छोरी र नातिमय जीवन बाँचिरहेको छु ।

    २०३८ सालतिर नाटक खेल्ने शंकरराजा श्रेष्ठ भन्ने भाइ र घान्द्रुक घुम्न गयौं । घान्द्रुकबाट फर्कँदा नौडाँडाँ भन्ने ठाउँ छ । त्यहाँ आएपछि वरिपरिको परिवेश रमाइलो लाग्यो । शंकर भाइलाई भनेँ, ‘आज यहीँ बसौं ।’ अनि त्यहीँ बस्यौं । साँझतिर यसो चिया पसलतिर गएका थियौं ।

    एक प्रकारको प्रारब्ध भनेको यी चिज नै होलान् । यदि मैले छोरी नपाएको भए, नाती रहितको जीवन भए कस्तो हुन्थ्यो, म त्यो सोच्न सक्दिनँ ।

    – तर, जीवन गुजार्ने त तपाईंले नै होला नि हैन र ?

    एक्लोपन भनेर केलाई भन्ने ? बुढेसकालमा एकान्तिक्ताले सताउँछ भन्छौं । एक्लोपन भनेको कोही नहुनु हो । अब विवाह नगर्दा लोनलीनेस महसुस गर्नुहुन्छ कि हुन्न भनेर मलाई कसैले सोध्यो भने चाहिँ म महसुस गर्दिनँ । किनभने विवाह गर्नु मेरो जिन्दगीको मक्सद नै थिएन । अनि मैले स्वास्नी भइदिए हुन्थ्यो भनेर किन सोच्ने ? यस्तो खाले एक्लोपन ममा छैन ।

    किनभने यो मेरो रोजाइ थियो । मलाई नरोजेका सुखहरू भन्दा रोजेको दुःख प्रिय छ । जुन चिज मैले रोज्दै रोजिनँ, जति राम्रो भए पनि रोजिनँ ! अब बजारमा कति मीठो परिकारहरू छन्, खल्तीभरि पैसा छ । तर, मैले किनिनँ त ! त्यो खान पाएको भए भनेर किन सोच्छु ?

    मसँग किन्ने क्षमता पनि छ । तर, किनिनँ । एकदमै सुन्दर बाटो छ, तर म गइनँ त त्यो बाटो ! सामान्य गोरेटोमा गएँ म । उकालो ओह्रालो भचएको भीर बाटोमा हिँडे । अब राजमार्ग हिँड्न नपाएको एक्लोपन मलाई किन आउँछ ?

    जुन भावना र चेतनासँग मैले जीवन बिताएँ । त्यसैकारण मैले विवाह गरिनँ । अब त गर्ने कुरा पनि हुँदैन होला । एक्लोपनलाई मनोवैज्ञानिक रुपमा हेर्ने हो भने घर परिवार, सन्तान भएको मान्छे पनि एक्लोपनमा हुन्छ । भिडमा बसेरै एक्लो हुनसक्छ । त्यसैले कसैले विवाह नगर्दैमा मात्रै एक्लोपन हुन्छ भन्ने हुँदैन । कतिपय साथीहरुले मलाई भन्थे, ‘यो ढोंगी हो ।’ कसैलाई देखाउनका लागि किन बाँच्ने ? कसैलाई देखाउनलाई दुई दिन पो बाँच्ला ! तर, सिंगै जीवन त बाँच्दैन नि त ।

    – शारीरिक आवश्यकताका कुराहरू पनि होलान् नि ?

    तपाईंले त्यो चिज नै नचाहनु भएपछि किन चाहियो ? प्रत्येक व्यक्तिमा भोक लागेको बेला खाने आवश्यकता हुन्छ । तर, कोही व्यक्ति खानै चाहँदैन त कुरै सक्कियो ! तर समाजले भन्छ, ‘यसले ढाँट्यो ।’ तर, त्योभन्दा बढी अरु कुनै कुरामा विश्वास गर्नुहुन्छ भने त्यसको आवश्यकता नै पर्दैन ।

    – अचेल स्वास्थ्य कस्तो छ ?

    म ७० वर्ष टेकेँ । शारीरिक रूपले समस्या आउँछ । तर, मानसिक रूपले चाहिँ ठीक छु । शरीरमा हुने परिवर्तन त भइरहन्छ ।

    – मदिरा पिउनुहुन्छ कि हुन्न ?

    म ड्रिंक्स गर्दिनँ । मेरो साथीहरू सबै पिउँथे । म दूध चिया धेरै पिउँथे । पछि स्वास्थ्यका कारण छाडेँ । धुम्रपान चाहिँ २०५०/५२ सालसम्म गरेँ । पछि प्रेसरको समस्या भएपछि डक्टरलदे ‘छाड्’ भने, छाडिदिएँ ।

    – त्यसबेलाका साथीहरू तितरबितर भए । तपाईंका कतिपय साथीहरू विनोद गौचन, प्रकट पंगेनी शिव, विजय बजिमय, सरोजगोपाल लगायत दिवंगत भए । साथीहरू बित्दा कस्तो अनुभूति हुने रहेछ ?

    साह्रै दुःख लाग्छ । नजिकका साथीहरू जाँदा एक प्रकारको एक्लोपन महसुस हुन्छ । जमानादेखि सँगै हिँडेको, खाएको, काम गरेको सम्झना आउँछ । उमेर बढ्दै गएपछि पुराना स्मृति, पुराना साथी र कामहरुको आउने रहेछ । जुन चिज आफूबाट छुट्यो, नचाहँदा नचाहँदै छुट्यो । उनीहरूको बोलीचाली, भावभंगी अहिले पनि सँगै छ जस्तो महसुस हुन्छ ।

    – छोरी सरस्वती प्रतीक्षासँग कसरी भेट भयो ?

    मेरी छोरीसँग २०५५ वैशाख २० गते मेरो भेट भएको हो । घरमा आएकी थिइन् । भानुभक्त क्याम्पस पढ्ने रैछिन् । अलिअलि साहित्यिक रुचि भएको, कविताहरू लेख्ने रैछिन् । अहिलेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पीएन क्याम्पसमा विद्यार्थी राजनीति गर्थे । मलाई दाइ भन्थे । एक दिन उनले फोन गरे, ‘दाइ एकजना नवोदित कवि दाइलाई भेट्न इच्छुक छिन् ।’

    एक्लोपन भनेर केलाई भन्ने ? बुढेसकालमा एकान्तिक्ताले सताउँछ भन्छौं । एक्लोपन भनेको कोही नहुनु हो । अब विवाह नगर्दा लोनलीनेस महसुस गर्नुहुन्छ कि हुन्न भनेर मलाई कसैले सोध्यो भने चाहिँ म महसुस गर्दिनँ । किनभने विवाह गर्नु मेरो जिन्दगीको मक्सद नै थिएन । अनि मैले स्वास्नी भइदिए हुन्थ्यो भनेर किन सोच्ने ?

    मैले भनेँ, ‘लिएर आऊ न त ।’ धनराज भाइले लिएर आए । अनि काम छ भनेर छाडेर गए । सरस्वती आउँदाखेरि नै छोरी आएको आभास भएको थियो । पारिवारिक जीवन नभए पनि छोरीको चाहना थियो ।

    हाम्रो कुराकानी भयो । उनको साहित्यिक अभिरुचि बुझ्दै गएँ । राम्रो लाग्यो । अनि ‘छोरी बनाउँछु म तिमीलाई’ भनेँ । उनले पनि ‘ओके’ भनिन् । उनको बु्वाआमाकहाँ पनि गएँ । उहाँहरूले पनि स्वीकार गर्नुभयो । त्यहाँबाट हाम्रो बुवाछोरीको औपचारिक सम्बन्ध जस्तो सुरू भयो ।

    – उनको लेखन कस्तो लाग्छ ?

    उनी सुरू सुरूमा धेरै नै कविता लेख्थिन् । कविताका पाण्डुलिपिहरू मकहाँ अहिले पनि दुईचारवटा छन् । पछि टीयूबाट इकोनोमिक्समा मास्टर्स गरिन् । केही समय लोकल रेडियोमा न्युज रिडरको रूपमा काम गरिन् । उनको विवाह पनि मैले घरबाटै गराएको हो । अहिले फुल टाइम लेखककै रूपमा उनी अगाडि बढेकी छन् ।

    मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य नै यही होकि मैले छोरी पाएँ । एउटा छोरी पाउनु सौभाग्य थियो । अर्को चाहिँ असाध्यै प्रतीभाशाली छोरी पाएँ । दोहोरो सौभाग्य भयो ।

    उनको पहिलो कवितासंग्रम काठमाडौंमै विमोचन भएको थियो । त्यसबेला मैले भनेको थिएँ, ‘आज मेरी छोरी मेरो नामले चिनिन्छे, भोलि म उसको नामले चिनिन्छु ।’ अहिले खुसी लाग्छ, म चिनिँदैछु ।

  • रवि लामिछानेले नलेखेकाे मनाेवाद !

    रवि लामिछानेले नलेखेकाे मनाेवाद !

    (म रवि लामिछाने नभए पनि रवि लामिछाने जस्तै हुँ । त्यसैले उनले नलेखेको  मनाेवाद मैले काल्पनिकरुपमा लेखिदिएँ । थाहा छैन, रवि लामिछानेले हिरासतमा यस्तै यस्तै सोच्दा हुन् वा फरक।)

    म प्रत्येक दिन ५ बजे ब्युँझिन्छु र पशुपतिनाथलाई दिमागमा राखेर ध्यानमा बस्छु । मेरो कानमा जय नेपाल भन्ने शब्द ठोकिन्छ । सुरक्षाकर्मीको बुटको आवाज र ‘जय नेपाल सर’ भन्ने शब्दले मलाई सुरक्षाकर्मीभन्दा पनि ‘जय नेपाल’ भन्ने शब्दप्रति माया लागेर आउँछ । जुन शब्द धेरै वर्ष अघिदेखि नेपाली कांग्रेसले भन्दै आएको हो । हाम्रा सुरक्षाकर्मीले जसरी त्यो शब्दको गरिमा, मान, मर्यादा र भावनालाई कांग्रेसले प्रतिबिम्बित गरिदिन्थ्यो भने सायद म आज अमेरिकामै हुन्थे होला र एउटा खुशी र सुखी जीवनयापन गर्दै थिएँ होला । अमेरिकामा पुगेका साथीभाइको राजनीतिप्रतिको वितृष्णा र देशको बिग्रँदो अवस्था पराइ भूमिमा छटपटिएका राष्ट्र प्रेम खप्न नसकेर म देशभित्रै, देशभित्रकै नेपाली दाजुभाइको पत्रकारिता पेशाबाट सेवा गर्ने मनसायले फर्कें ।

    मभन्दा योग्य, मभन्दा पढेलेखेका, मभन्दा ज्ञानी नेपालमै पत्रकार थिए । ८-१० हजार पत्रकारबीचबाटै म एउटा बबुरोले ६२ घन्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाइदिएपछि अमेरिका नटेकेका, टेक्न नपाएका, अमेरिकाले भिसा नदिएका र आफूलाई देशकै उम्दा पत्रकार ठान्नेहरुलाई पक्कै जलन भएछ, मैले पत्तै पाइनँ । ठीकै छ, आफ्नो रफ्तारमा दौडिरहें । यो १० वर्षका बीचमा टेलिभिजन पत्रकारिताको माध्यमबाट मैले सयौं चेलीलाई उद्धार गरें, जो विदेशमा फसेका थिए । दर्जनौंलाई मृत्युदण्डको मुखबाट निकाले, जो मृत्युदण्ड कुरिरहेका थिए ।

    म अहिले हिरासतमा रहँदा ती मैले उद्धार गरेका मान्छेको आँखामा पलाएको आशा र खुशी, जो मेरा कारणले आएका थिए, ती सम्झेर आज म आफूलाई बाघ ठानेको छु । आत्मबल बढेको छ । टेलिभिजन र छापा मिडियामा देशविदेशका ठगीमा परेका सयौं-हजारौंको उद्धार गरेका कोही पत्रकार छन् भने भनिदिनुहोस्, म उसलाई सम्मान गरुँला ।

    सुनेको थिएँ- मौरीको संगतले फूलबारीमा पुगिन्छ । खै, कसको संगतले कहाँ पुगिन्छ ? म कसको संगतमा फसें र आज यहाँ छु । कसैसँगको सम्बन्ध पहिल्यै थाहा हुने भए मानिस संसारमा रहँदैनथ्यो होला । पटकपटक भनेकै कुरा हो । मेरो हातले कुनियत राखेर कसैप्रति बेइमान गरेको छैन । मेरा लागि बनेको संसदीय सुनुवाइले स्पष्टै भनिदियो- मैले रकम ल्याएको छैन सहकारीबाट, प्रस्ट छ ।

    तानशाहीहरुले कोही-कसैलाई सीधै मार्दैनन् । आवाज हुनेको आवाज दबाइदिन्छन् । दौडनेको खुटृा बाँधिदिन्छन् । लेख्नेलाई पावन्दी लगाइदिन्छन् । यो नयाँ शैली हो । मेरो आवाज छ र म दौड्ने मान्छे हुँ । यतिबेला मेरो आवाज दबाइदिएका छन् र खुट्टा बाँधिदिएका छन् ।

    त्यसपछि मेरो बयान पोखरा सकेर भैरहवा पुर्‍याइयो । त्यहाँ सरकारी वकिल कार्यालयमा भएको बयान बाहिर ल्याइयो । सरकारी कार्यालयभित्रका गतिविधिहरु छरपष्ट बाहिरिन्छन् भने बिचौलियाहरु, मेराविरुद्ध षड्यन्त्र गर्नेहरु भित्ताभित्तामा छन् भनिरहन परेन । म केही महिना प्रबन्धक भएर काटेका सयौं हजारौं होलान्, त्यसमध्येबाट एकदुई वटा चेक निकालेर सहकारीका लागि काटिएको देखाइयो । म आउनुअघि ऋण लिइसकेको सहकारी म आइसकेपछि पुरानो ब्याज वा ऋण तिर्न अध्यक्षको आदेशले काटियाे हाेला। त्यो सँगसँगै जोडिएका अन्य कागजपत्रहरु नदेखाइ चेकमात्र देखाइयो । त्याे सबै मलाई सम्झना हुने कुरै भएन ।

    आयल नियममा हुने भ्रष्टाचार त्यहाँ जाने हरेक प्रबन्धकले व्यहोर्नुपर्ने हो र ? यसको पनि जवाफ प्रमाण होला ! म त्यता जान्न, तर जनताले जानून्, यस्तो संवेदनशील मुद्दा र राष्ट्रको चौथो पार्टी प्रमुख, १२ लाख जनताले पत्याएको र ४० हजार जनताले जिताएको अमेरिकी पासपोर्टसमेत त्यागेर देशसेवा गर्ने मनसायले बसेको व्यक्ति कहाँ भाग्थ्यो र ? जनमतको अपमान भएन र ?

    तानाशाहीहरुले कोही-कसैलाई सीधै मार्दैनन् । आवाज हुनेको आवाज दबाइदिन्छन् । दौडनेको खुटृा बाँधिदिन्छन् । लेख्नेलाई पावन्दी लगाइदिन्छन् । यो नयाँ शैली हो । मेरो आवाज छ र म दौड्ने मान्छे हुँ । यतिबेला मेरो आवाज दबाइदिएका छन् र खुट्टा बाँधिदिएका छन् । मलाई त ठीकै छ, ती आवाजविहीनहरुको प्रतिनिधित्व गर्ने मलाई त्यसो गर्दा उनीहरुमाथि अन्याय भएन भन्ने बुझ्ने कसले ? दुई–दुई पटक चुनाव जितेको मान्छे । पहिलो पटक प्रक्रिया गलत भो भनियो । गलत हुन्थ्यो भने मेरोमात्र किन ? त्यहाँ सीडीओ कार्यालय छ, निर्वाचन आयोग छ, सबैले मेरो डकुमेन्ट रुजु गरेका होइनन् ? सरकारी निकायले योग्य छ भनेपछि म चुनावमा गएको होइन ? यो देशमा विवेक हेर्ने, न्याय हेर्ने, दाँज्ने, हरेकको मति बिग्रिएकै हो ? तैपनि ती कुरालाई भुलेर म दोस्रो पटक चुनावमा होमिएँ । जनताले पत्याइदिए ।

    टेलिभिजनमा कराएर फुटकर उद्धार गरेर साध्य नहुने हुनाले मुहानै परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा होमिएको मान्छे । ठूला पार्टीबाट अवसर आउँदा पनि त्यसलाई लत्याएर आफ्नै पार्टी बनाएँ । मैले सायद वर्षौंदेखि जनताको गाँस, बास र आश काटेका पार्टीबीच मेरो राजनीतिक प्रवेशले भूकम्प नै ल्याइदिएछ । जुन दिन मैले टेलिभिजन छाडें, त्यस दिन स्पष्ट रुपमा भनेको छु । मेरा स्वर्गीय मातापिता, जो अहिले पितृ हुनुहुन्छ, उहाँलाई साक्षी राखेर कसम खाएको छु, जानेर कुनै गल्ती गरेको छैन । मरेर तपाईंहरुसामु पुगें भने आँखा जुधाएर भन्न सक्छु कि मैले गल्ती नगरी आएँ भनेर ।

    मेरा स्वर्गीय मातापिता, जो अहिले पितृ हुनुहुन्छ, उहाँलाई साक्षी राखेर कसम खाएको छु, जानेर कुनै गल्ती गरेको छैन । मरेर तपाईंहरुसामु पुगें भने आँखा जुधाएर भन्न सक्छु कि मैले गल्ती नगरी आएँ भनेर ।

    मैले यसो भन्दा वर्षौंदेखि गल्ती गर्दै आएका विभिन्न पार्टीका नेता कार्यकर्ताको निदहराम भएकै भएर होला, मेराविरुद्ध यतिविधि षड्यन्त्र गर्न पुगे । रवि लामिछानेको कपालको रौं र एक थोपा रगत भेटे भने मानौं यिनले हजारौं लिटर पेट्रोल होइन, एसिड नै फाल्नेछन् । पीडा के हो ? मान्छेका दुःख के हुन् ? विदेशमा नेपालीहरुले कसरी श्रम गरेका छन् ? त्यो देखेर फर्केको मान्छे हुँ ।

    अपचलन, यो शब्द घुसाएर ममाथि बनाएका संसदीय छानबिन समितिले जनताले बचत गरेको अर्बौं रकम रफादफा गर्ने मनसाय प्रस्ट छ । मैले खाएको, सुतेको र हिँडेको समाचार बनाउने पत्रकारहरु र मेराविरुद्ध यसरी मेहनत गरेर छानबिन गर्ने विभिन्न निकायहरुले साँच्चै नै लाउडा, धमिजा, चेज एयर, पजेरो, एनसेल, क्यान्टोनन्मेन्ट, आयल निगम, आरएनएसी, ललिता निवास, ओम्नी, यती, गिरीबन्धु, बुढी गण्डकी, भुटानी शरणाार्थी, कम्बोडिया, भाटभटेनी, अरुण तेस्रो, जनकपुर चुरोट, हरिसिद्धि इँटा, ट्रलीबसलगायत दर्जनौं छानबिन गरिदिए भने म शहीद हुन तयार छु । म धन्यवाद दिएर शहीद हुन चाहन्छु, वर्तमान प्रधानमन्त्रीलाई उनले आफ्नै पार्टीको कमरेड मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्ड पत्ता लगाइदिए भने । अझ भनौं दरबार हत्याकाण्ड पनि ।

    अस्ति राति नेपालको इतिहास पढें । यो देशमा ऊबेलैदेखि देशको लागि मरिमेट्नेलाई यसरी नै सडाइने रहेछ । मैले भीमसेन थापालाई सम्झिरहेको छु ।

    प्रिय निकिता,

    कुनै दिन यी शासकका बिचौलियाहरुले तिमीलाई सर्वस्व बनाइ भीमसेन थापाको श्रीमतीलाई झैं भनेर हल्ला पिटाए भने सम्झनू, म जेलमै भीमसेन थापाले झैं सेरिने छैन । त्यो हल्लालाई निराधार ठान्नू । शासकले यस्तै हल्ला पिटाउँछन्, जसरी मेरो हस्ताक्षर चेक देखेपछि हडबडायो, झोक्रायो भनेर भनिरहेका छन्, लेखिरहेका छन् ।

    मान्छेहरु भन्लान्, रविको बचाउमा जनता किन निक्लेनन् सडकमा ? मेरो आवाज भनेको आवाजविहीनहरुको हो । मेरो सक्रियता भनेको सक्रिय हुन नसक्नेहरुको हो । ती गरिब, बेसहाराहरुको लागि हो म । त्यसैले तिनले महिनौं मेरा लागि आन्दोलन गर्न सक्दैनन् ।

    केपी बालाई पनि दुई लाइन लेख्न चाहें ।

    प्रिय केपी बा,

    सायद म तपाईंको छोरा हुन्थे भने यो केसमा म यसरी हिरासत बस्दा तपाईंको आत्माले जेसुकै भनून्, तर कोही अजम्बरी छैन, गणेशमान बिते, मनमोहन बिते, अस्ति भर्खरै सुशील कोइराला बिते । केही भएन, तर तपाईंकै पार्टी महासचिव स्वर्गीय मदन भण्डारीले तपाईंलाई प्रश्न गरेको दिन के भन्नुहोला ? किनभने पद र यस धर्तीको बसाइ कसैको पनि स्थायी छैन । मेरा लागि टाउकोमा हात राखिदिनुभएका तपाईंले यसरी बोली नै फेर्नुहोला, यो उमेरमा आएर यो अस्थायी पदका लागि भनेर मैले कल्पनै गर्न सकिनँ । तपाईंले फेरेको बोलीले पनि मलाई ऊर्जा दिएको छ यस हिरासतमा बस्न ।

    मान्छेहरु भन्लान्, रविको बचाउमा जनता किन निक्लेनन् सडकमा ? मेरो आवाज भनेको आवाजविहीनहरुको हो । मेरो सक्रियता भनेको सक्रिय हुन नसक्नेहरुको हो । ती गरिब, बेसहाराहरुको लागि हो म । त्यसैले तिनले महिनौं मेरा लागि आन्दोलन गर्न सक्दैनन् । तिनलाई प्रत्येक दिनको जोहो गर्नुपर्दछ । मेरो कानूनी लडाइँ त म लडुँला, तर तिनको पेट कसले भरिदिने ? यदि मेरा लागि ती सडकमा उत्रे भने ! त्यसैले मेरो आह्वान छ, मेरा लागि प्रार्थना गर्नुस्, सक्नुहुन्छ भने वरिपरि लड्नुस् । चुनाव आउँछ, त्यहाँ १ दिन लड्नुस्, तर सधैं सडकमा गएर होइन भनेर भनिदिएको छु ।

    आज ठ्याक्कै ४१ दिन कट्यो । यो बीचमा कति सहकारी पीडितको रकम फिर्ता भयो मैले समाचार सुनिनँ । संगतअनुसार म भागीदार हुँला, तर राम्रो नियतले गरेका कामहरु गैरकानूनी रहेछन् भने म भागीदार हुन्छु, तर कसैको गलत मनसायले मलाई फसाइएको रहेछ भने मैले न्याय कहाँ पाउने ? यसको उत्तरको प्रतीक्षामा हुन्छु ।

    (प्रस्तुत आलेखमा लेखकका निजी धारणाहरु छन्, जुन नेपाल प्रेसकाे सम्पादकीय दृष्टिकाेणसँग असम्बन्धित हुन् । सम्पादक) 

  • यहाँको हालचाल !

    यहाँको हालचाल !

    हो त नि ! केही कुछ हुनु र भैरहनु पनि एउटा आतङ्क नै हो । भनौं नयाँ उपलब्धि । त्यसैले भर्खरै लाहाछाप लागेको शासन व्यवस्थाअनुसार गठन भएका सुन्दर गाउँ पालिकामाथि थपिएका अति सुन्दर महानगरपालिकाहरूले भरिपूर्ण हाम्रो यो गणतन्त्रमा टाङ आतङ्कको पनि शुभारम्भ भएको छ । एउटा सपूतले केही कुछ गरी देखाउँछु भन्यो भने उसको इरादामाथि सरकारी लाउके जमातले टाङ पसारेर वाङ खुवाइदिने कर्तुतमा कुनै कमी छैन । बरु बढोत्तरी नै हुन थालेको छ । अर्थात् यो देशमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्न बनेको जनताको सरकार छ ! र नै बेला कुबेला हुने र बारम्बार भैरहने नाना नौथरी टाङ आतङ्कको पनि उत्तिकै दर्कार ठान्दछ । नत्र बिचरो सरकार बाँचोस् पनि कसरी ?

    कामकाजविनाको हल्लुँड भएर हल्लनतिवारी बन्दै खाइपाइ आएको घाँसपानीमाथि बेरोजगारी भत्तासमेत थपिमाग्न अघि सर्‍यो भने ? या त काम खोज्दै खाडी मुलुक र कोरियातिर उक्लिएर घरघाटबाट फुक्लियो भने ? खाडीसम्म त लौ ठीकै पनि होला, तर कोरियातर्फ लाग्दा उसैको छिमेकीले भर्खर परीक्षण गरेको हाइड्रोजन बमका घातक विकिरणहरुले भेटे भने ? विकिरणले गाँजेको सरकार मधौरु ज्यान लिएर स्वदेश फर्किंदा बबुरा नेपाली जनताले झनै थेगी नसक्नुको अर्को आतङ्क खडा हुन के बेर ?

    टाढा किन जाउँ ? अलि वर्ष अघिसम्म स्थानीयदेखि केन्द्रीय तहसम्मको चुनाव आतङ्कले देशैलाई हाराबारा खेलायो । भागै नलिने भनेर कुनै भाइहरु गर्धन फुलाएर पाखा लागे । चुनाव गराउने निहुपिहुँमा आयोग नियोगदेखि गयोगसम्मका खाली खर्क खुला भए । हरियो घाँस चर्न धोतीपाटा फेरका लाउेकेहरूले अनेकौं पुस्ताका लागि सरसम्पत्ति जोडेरे राजनीतिक दलाली र पाउलागीको बेजो उठाए । अर्धाङ्गिनीदेखि मर्दाङ्गीसम्मले नाक,कान, घाँटी, नाइटो, नारी र औंलासमेत झरिझुट्ट सजाउँदै तीजको तिलहरीसमेत थपेर मेखै मारिदिए । दशैंतिहारको त झन कुरा गरी साध्यै भएन, झ्याँकु नै झारिदिए । फेरि मुखमुख आइरहेका अरुअरु चुनाव उपचुनाव नाउँका सदाबर्ते मेलाहरुले ठेलमठेल र पेलम्पेल गराउँदै उनीहरूलाई कहाँ कताको ताजमहल ठड्याउने बहादुरीमा पुर्‍याउने हो ? भोकानाङ्गा, रोगी र दैवीप्रकोप पीडित देखन्ते जनता रनभुल्लै छन् ।

    हो त यो देशमा सरकार छ र नै जनतामा विचित्र आनन्द छ ! विचित्र यस अर्थमा छ कि सरकार स्वयं बहुचित्रको छिर्बिरे पार्टीहरूका नौथरी रङ्गमा रङ्गिएको छ । घोडा, गधा, स्याल, बँदेल जस्ता मिसमासले तान्दै गरेको रथको आफैं सारथि बन्दैछ र नै यो टाटेपाटे चितुवा भएर जनतामा सुख, समृद्धि, अमनचैनका बाघ पञ्जा मार्न कस्सिएको छ ।

    त्यतिमात्रै किन ? यो देशमा पानी बत्तीको हाहाकार हुनुमा नै सरकारको असरदार योगदान रहेको छ । ठूला आयोजनामा सरकारी टाङ तेर्सिएपछि हण्डाचिण्डा मुख बाउँदै बाटो छेक्छन् । लेकबेंसीमा बस्ने भूकम्प पीडित बालबालिका र बुढाबुढीको बेलैमा थातबास र हेरचाह नहुनुमा पनि यसैको असर छ । विदेशीका दान अनुदानमा समेत सरकारी टाङ तेर्सिएर बिखपात छ । यहाँको सोच यस्तै छ र नै नयाँ युवा समुदायले देशभित्रै केही कुछ गर्न खोज्यो भने त्यसमाथि भुसतिघ्रे टाङ अड्याउनुमा नै सरकारको दम मानिन्छ । भूकम्प परकम्प र बाढीपहिरो पीडित क्षेत्रको खुशहाली र शान्ति सुरक्षा बहालीमा पनि टाङकै अनुपम सक्रियता बरकरार छ । बुढाबुढीले खाइपाइ आएको वृद्धभत्तामा समेत बहुखरानी धारी नयाँ जोगीले राष्ट्रिय परिचयपत्रको टाङ अड्याएर वृद्धवृद्धको सेवा गरिरहेका छन् । नयाँ मुल्लाहले बढी प्याज खान्छ भन्ने अरबी उखान नेपालका टपरटुइँया ठगाधिराज लाउकेहरूले चरितार्थ गरिरहेका छन् ।

    हो त यो देशमा सरकार छ र नै जनतामा विचित्र आनन्द छ ! विचित्र यस अर्थमा छ कि सरकार स्वयं बहुचित्रको छिर्बिरे पार्टीहरूका नौथरी रङ्गमा रङ्गिएको छ । घोडा, गधा, स्याल, बँदेल जस्ता मिसमासले तान्दै गरेको रथको आफैं सारथि बन्दैछ र नै यो टाटेपाटे चितुवा भएर जनतामा सुख, समृद्धि, अमनचैनका बाघ पञ्जा मार्न कस्सिएको छ । टाटेपाटे पनि यस अर्थमा छ कि यसभित्र संलग्न देश धुल्याउने माकुरा अरिङ्गाल अनि धमिरासमेत एक ज्यान भएर एकै काम्लोभित्र अटाएका छन् । सरकार भएर नै देशभित्र कर्मचारी नाउँका ट्रेड युनियनका हरुवाचरुवाहरु पाखुरा निमोठेर घुसघाँस केन्द्र कब्जा गर्न तँछाडमछाड गर्दै ऊभन्दा ऊ अगाडि पुगेका छन् ।

    जनताको खेतबारी खन्न जन्मिएका यिनै दुम्सीमार्का जननायक, महानायकहरू आआफूलाई पायक पर्ने दुला खोजेर कोही विदेशी नियोग आयोगमा छाल गन्न छरिएका छन् । कोही घाम तापेरै ढण्डेसो सेकाएरै कर्मठ अनुशासित कर्मचारी हुनुको पुरस्कारले सुशोभित बनी भ्याएका छन् । त्यही बहुरङ्गी सरकारको छत्रछायाँ पाएर नै देशभित्र अमनचैनको खाताखात छ र नै गणतन्त्र भाँणतन्त्रको सर्वोत्कृष्ट उदाहरण बनेको बात छ । यो तन्त्र पनि यति, यत्ति जनप्रिय भइदिएको छ कि मान्छेको मनमस्तिष्कमा ऐँजेरु बनेर दिनरात नभनी अहोरात्र मौलाएको छ । मन्त्री, महामन्त्री, क्षेत्रपाल, सभामुख, सांसद जस्ता गरिमामय पदका झण्डा, हण्डा, चिण्डा र मखुण्डाले गाउँ-गाउँ, बस्ती-बस्ती ढाक्नुभन्दा अरु ठूलो उत्सव अरु के हुनसक्छ ? छिमेकी चीन, भारत, श्रीलङ्का पलङ्का कहाँ चैं देख्न सुन्न पाउनुहुन्छ तपाईंले यो उखपात ?

    सरकार भएर नै देशभित्र कर्मचारी नाउँका ट्रेड युनियनका हरुवाचरुवाहरु पाखुरा निमोठेर घुसघाँस केन्द्र कब्जा गर्न तँछाडमछाड गर्दै ऊभन्दा ऊ अगाडि पुगेका छन् ।

    पुँजीवादी अर्थशास्त्रीहरु राज्यलाई आवश्यक अभिशाप पनि भन्थे, नभई पनि नहुने, भए पनि सुखभन्दा दुःख बढी दिने । हाल आएर गणतन्त्रे नेपालमा भने राज्य आफैं आवश्यकभन्दा अति आवश्यक अभिशाप हो या आशीर्वाद चैँ बनेको हो सोझासीधा जनतालाई दोधार, दोमन यस्तै उस्तै लाग्न थालेको छ । एउटा कुरा के चैं मज्जा भैदियो भने यहाँ त राज्यको मुख्य काम सरकार बनाउने र सरकारको प्रमुख काम परपरी भाषण ठोक्ने र जनताका दुःखकष्ट, असुविधा, अनिकाल, डुबान र अन्धकारमा रमाएर हाँसोठट्टा गर्दै रोधी र रत्यौली मनाउनु रहेको पाइयो । सभागृह नाउँको भूग्रहमा हुने डेउडा, रोधी र हुड्के नाचले अरु ज्यान थपेको छ । त्यसमा पनि दूरदराजमा रहेका बाढीपहिरो अनि भूकम्प पीडित अनाथहरुको नाउँमा राजनीतिक दाउ खेलेर तिनलाई महँगो भाउमा भजाउँदै आफू र आसेपासेको धोक्रो भर्ने काममा यो देशका सरकारले अझ बढी सुनाम कमाइरहेको छ ।

    सरकार छ र नै त्यो बनाउने, भत्काउने, पुच्छर निमोठ्ने र पगाहा लगाउने दलहरु छन् । दल भएर नै दलालहरु छन् । देशको अस्मितामाथि दाउ थापेर जुवा हान्ने खालेहरू छन् । अपच्दो सरकारी सुविधा हसुरेर मझेरी फोहोर गर्ने रण्डखालेहरू छन् । पालो आउला र एकलौटी पारेर विगौती खाउँला अनि विगुल बजाउँला भनी कोत पर्व पर्खिने भण्डारखालेहरु छन् ।

    हो, सरकार छ र नै नानाथरी नामनामेसीका विविध दिक्पालहरू अटाएका छन् । गरिबगुरुवाको ब्लडमनी र रेमिट्यान्सले जगेर्ना गरेको देशको ढुकुटी रित्याउन भूपू, वर्तमान सबैखाले सण्डमुसण्डका लागि सदावर्त भण्डारा लागेको छ । अनि हसुर्ने प्रयोजनमा बलियाबाङ्गाले मात्रै डाडुपन्युँ आफैंतिर घर्काउने र भारेभुरे बाथ भन्दै भोकानाङ्गा, वृद्धबालक जतिलाई ढिम्किन नदिने जोग परेको छ । बोर्डरमा तस्कर पालेर साँझ बिहानको मौका छोप्दै र नौथरी बाहना बनाउँदै एकलौटी हसुर्नेको खाँडो जागेको छ । त्यसमा सहयोग पुर्‍याउन जिल्लापाल, क्षेत्रपाल, द्वारपाल र उदरपाल नाउँका गणहरू पनि टाट्नो चाटेर उग्राउँदैछन् । आङमा सफा खोल हालेर भाङको तालमा देश बनाउन भन्दै पराइ देशमा पाउलागी पर्ने पनि छन् ।

    मन्त्री, महामन्त्री, क्षेत्रपाल, सभामुख, सांसद जस्ता गरिमामय पदका झण्डा, हण्डा, चिण्डा र मखुण्डाले गाउँ-गाउँ, बस्ती-बस्ती ढाक्नुभन्दा अरु ठूलो उत्सव अरु के हुनसक्छ ? छिमेकी चीन, भारत, श्रीलङ्का पलङ्का कहाँ चैं देख्न सुन्न पाउनुहुन्छ तपाईंले यो उखपात ?

    कुनै दिन संघीयतालाई घाँडो भनेर होहल्ला गर्ने र अहिले त्यसैको कुन्युमाथि दाइँ हाल्नेहरु छन् । छन् मात्र होइन, त्यही संघीयताको फाँडो खाएर मझेरीमा नै फोहोरको रैफाँडो थुपार्नेखालेहरु झनै जमजमाएका छन् । भूकम्प, आगलागी अनि बाढी जस्ता दैवीप्रकोपको नाउँमा लाग्ने विदेशी सदावर्ते भतेरको लागि हाँपझाँप गर्नमात्र यो धरतीमा अवतरित भएका जीओ, एनजीओहरू लाइन लागेका छन् । आआफ्नो औकात दक्षताअनुसार केही सहकारीको दानापानी हसुरेर घोक्र्रो फुलाउँदै सनै फुक्दैछन् । कोही आफ्नै गुणगानमा कर्नाल डुक्रदैछन् । कोही ट्याम्का ठटाउँदैछन् । कोही मादल त कोही झ्याम्टा बजाउँदैछन् । सबै बलिया बहादुरहरू अनाथ टुहुरा, विपन्न निमुखा जनताको रगत-पसिना लुटेर आआफ्नै राग अलापेर देश विकासको मालसिरी गाउनमा मग्न छन् ।

    हो, यो देशमा सरकार छ र नै विकास निर्माणका आयोजना छरपष्टै छन् । कोही सडक, बिजुलीका छन्, कोही नहरबाँध र खानेपानीका छन् । अनि कोही मोनोरेल गुडाउने र जहाज उडाउने, अनि पानी जहाज हेलेर देशमा नभा समुद्रै तारिदिने पनि छन् । कोही सिंचाइ गरेर देशमै चाहिँदो अन्न फलाउने पनि छन् । छन् मात्र होइन, ती सबै सधैँ चालू छन्, रहेकै छन् र नै ती कमिसन र कामचोरीको खलाँतीमा पिल्सिएर कहिल्यै पूरा हुनेतर्फ भने अघि बढ्दैनन् । तिनै आयोजनाको कात्रोमाथि बसेर यहाँका मुस्तण्ड नायकहरू बाइपंखे घोडा दौडाउँदै जनतामाथि नायबी चलाउँछन् । अनि जनताकै नाम भजाएर ङारङुर गर्दै सरकार बनाउने, बिगार्ने र टिकाउने, भत्काउने खेल पनि हुन्छन्, भैरहन्छन् । तिनमा कतै झेल हुन्छ त कतै राष्ट्रिय ढुकुटी पेलम्पेल हुन्छ । कतै कसले पहिलो भाग सुम्ठ्याउने भनेर आपसमै खडाजङ्गी र ठेलमठेल हुन्छ । अन्त्यमा मिलिजुली खाने एकसूत्रीय मेल हुन्छ । अनि भाषणको फास्टरोडमाथि गाडी र भाषणकै लीकमाथि सुपरफास्ट रेल दगुरेर हुइयाँ छोड्दै देशैभरि दौडिएर छुट्टी गर्छ !

    हो, सरकार छ र नै नानाथरी नामनामेसीका विविध दिक्पालहरू अटाएका छन् । गरिबगुरुवाको ब्लडमनी र रेमिट्यान्सले जगेर्ना गरेको देशको ढुकुटी रित्याउन भूपू, वर्तमान सबैखाले सण्डमुसण्डका लागि सदावर्त भण्डारा लागेको छ ।

    हो, देशमा सरकार छ र नै बलियाले भान्सा चलाउने ग्यास पाउँछन्, निर्धाले पुलिस दाइको कुटाइ खान्छन् । हो, देशमा सरकार छ र नै अनिकाल छ । अनिकाल छ र नै खाद्यान्न, तेलमसला, लुगाफाटा आयात गरिन्छ । आयात हुन्छ र नै सरकार आफैं उपभोग्य वस्तुको तस्करी र कालोबजारी चलाएर जनतामाथि जाल हान्छ । अन्नपात, चिनी, इन्धन र अरु चाहिने वस्तुमा उच्चस्तरीय सरकारी अधिकारीहरू खटाएर सरकार आफैं सुकिलो बजारी गर्छ । किन त भन्दा सरकार आफैंले गर्ने दुई नम्बरी धन्दालाई कालेबजारी भन्न नमिल्ने जो आचारसंहिता रहेको छ । अनि मोटै रकम कुम्ल्याएर इन्धन भण्डारणको लागि किनेका खोला बगरका कागजी भण्डार गृहमा थरीथरी माछा पाल्ने गर्छ । तिनै असला माछामाथि मसला मलमाल गरेर धनियाँ, प्याजसहितको सोरुवा बनाएर पुसको ठण्डी मनाउँछ । जेठको औलो भगाउँछ । महँगीको मारमा पिल्सिएका जनताको छाला तरेर सरकार चर्मपरिधान पहिरन्छ । बेसहारा चेलीबेटीको कपाल उखलेर झिँगा भगाउने चमर डोलाउँछ । आफू तीनपानेको बर्को ओड्छ । तिनै अनाथ जनताले भोगी आएको इन्धन अभावको क्याम्पफायरमा सुकुटीसँग तातो सीप दिँदै दोहोरी गीत गाएर नाँच देखाउँछ । तब पो सरकार !

    त देशमा राष्ट्रिय भेषभुषासहितको सरकार छ र नै तराई र दूनका जनतालाई भोक, तिर्खा वा गर्मीसर्दीको अनुभव हुँदैन । बाढी आँधीबेरीको अलिअलि प्रकोप भैहाले पनि सीडीओ लगाएर चाउचाउ बिस्किट त कहिले ठुटामुढा बाँडिदिन्छ । भोको पेटमा भरपूर चारो हाल्ने गफ दिन्छ, तर काममा जिरो । उल्टै भाषणको बीचबीचमा धारे हात लम्काउँदै अलच्छिनको घारोमात्र तेर्स्याउँछ । उधारो आश्वासन बाँडेर अभाव र बेरोजगारी पीडितलाई झिँगा मार्ने व्यवसायको नाउँमा समेत एकमुष्ट ठगी गरेर पारङ्गत बनाउँछ । तास खेल्ने काम खिलाइदिन्छ । लामो हाते कोष खडा गरेर छाउरा भुरालाई बगली भरेर बर्बाद गर्छ । उसको जादुगर पाराको भाषण सुन्दा च्यातिएका प्लाष्टिके छाना एकाएक रङ्गीचङ्गी बज्रबुर्जामा बदलिएको भान पार्छ । ८० वर्षे लेकाली बुढाबुढीको कठ्याङ्ग्रिएको ज्यानलाई बादल फाटेको दिन न्यानो घामको पाहार उपहार दिएर सरकार मक्ख पर्छ ।

    उधारो आश्वासन बाँडेर अभाव र बेरोजगारी पीडितलाई झिँगा मार्ने व्यवसायको नाउँमा समेत एकमुष्ट ठगी गरेर पारङ्गत बनाउँछ । तास खेल्ने काम खिलाइदिन्छ । लामो हाते कोष खडा गरेर छाउरा भुरालाई बगली भरेर बर्बाद गर्छ ।

    यो देशैभित्र सरकार छ र नै सुरक्षा छ । किन त भन्दा सुरक्षाको लागि देशले प्रहरी गुप्तचर अनि सेना पालेको छ र नै सेना दरबन्दी थप्याथप्यै गर्छ । सेना परेड खेल्छ, तालिम गर्छ । विदेश जान्छ र डलर कमाइ ल्याउँछ । सेना छ र नै बन्दुक पड्काएर परेवा भगाउँछ, भँगेरा तर्साउँछ । बोर्डरपारिबाट आएका विदेशी अपराधीले पुलिस चौकीमा पेट्रोल बम हान्दा थपडी मारेर दुःख मनाउँछ । सीमापारिबाट सशस्त्र बल आएर आफ्ना नागरिकलाई मार्दा र दशगजा कब्जा गर्दासमेत गहिरो घुराइमा मस्त रहन्छ । अनि कसैले घचघच्यायो भने मज्जैले भनिदिन्छ– सोझासीधा नागरिकका अगाडि गुड्डी हाँक्ने, फुइँ झार्ने, ठेकेदारी गर्ने, दरबन्दी थप्ने र शान्ति सेना नाउँको चरिचरनमा विदेश जाने या बसीबसी खानेमात्रै हाम्रो काम हो ।

    त सरकार छ र नै देशभित्र थुप्रैथरी आयोगहरु छन् । यी बन्नैका लागि बनेकामात्र छैनन्, विनाकाम राज्यको ढुकुटी चपाएर कोही पङ्खा चलाएर त कोही हिटर तापेर उङ्दैछन् । कोही आफ्नै हाकिम कारिन्दामाथि लागेका भ्रष्टाचारका आरोप पखाल्न लागिपरेका छन् । कोही पहारमा उग्राइबसेका पनि छन् । कोही राम्रो गर्छु भनेर कस्सिँदा सत्तोसराप खाएर हाड मकाउने पनि छन् । तिनले गर्नुपर्ने काम, कर्तव्यसम्बन्धी नीति नियम कानून बनाउनमा प्रतिनिधि भनाउँदालाई सरोकार छैन । सरकारलाई चासो र फुर्सद पनि छैन । मानौं आयोग भन्नु विकासे घाँसको मैदान हो, जहाँ कामकाज नभएका, नपाएका दलाल र साँडे दादाहरू स्वछन्द चर्ने गर्छन् । खुराफातका पोका पन्तुरा सह्यार्दै अवाध विचरण गर्छन् ।

    त्यस्तै देशमा सरकार छ र नै विदेशमा नियोगहरु पनि छन् । नियोगमा नियुक्त उच्च अधिकारीहरू देशमा भूकम्प, बाढीपहिरो अनि छिमेकीबाट नाकाबन्दी हुँदा खुच्युँ भन्दै सुतेर दिन कटाउनमा आनन्द मान्छन् । रातमा अरुले दिएको हानपार्टी र भोजभतेरको मात साट्छन् । गरिब देशको कमजोर मुद्रा साटेर महँगो डलर पचाउँछन्, तर देशमा कस्तै संकट पर्दा तातोछारो केही नगरी अनलाइन र फेसबुकका समाचार हेरेर रमाउँछन् । युद्ध र द्वन्द्वबाट विदेशमा हराएका, अपहरणमा परेका नेपाली सन्तानको उद्धार उपकारमा तातोछारो केही नगरी उल्टै ताली पिटेर बस्छन् । अनि युट्युबमा मनोरञ्जन पघारेर निदाउँछन् । बस ! यस्तै छ यहाँको हालचाल ।

  • सिनामंगलमा अमंगल : कच्छु माझीलाई के आइपर्‍यो यस्तो !

    सिनामंगलमा अमंगल : कच्छु माझीलाई के आइपर्‍यो यस्तो !

    विराटनगर । ‘ओ भाइ दोकानमा माल सकिएन ? कि अर्कैलाई सामान बोकाउन थालिस् ?’

    सफारी (विद्युतीय रिक्सा) को ड्राइभर सिटमा कोल्टे पर्दै भेटेपिच्छे सोध्थे कच्छु माझी ।

    ‘बुढा, अब कति बोक्नु हौ सामान ? घरमा बस्नु नि नाति खेलाएर’ मैले जवाफ फर्काउँदा होचो कदका मोटा कच्छु भन्थे, ‘छोराको कमाइले हुँदैन, सकुन्जेल आफैले काम गर्नुपर्छ । बरु भन कहिले सामान पुर्‍याइदिउँ ?’

    उनी सफारीमा मान्छे मात्रै बोक्दैनथे । छिमेकीका सरसामान पनि गन्तव्यसम्म पुर्‍याउँथे । धान कुटाउन मिल पुर्‍याउने होस् या गाईभैँसीका दाना । बोक्ने उनैको सफारी थियो ।

    सुनसरीको दुहबी ८ रनीगाँउ घर भएका कच्छु माझीको अलि अलि जग्गा–जमिन छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको पानी लाग्ने खेतमा खेती पनि गर्छन् ।

    उनले सफारी चलाउन थालेको झन्डै ६ वर्ष जति भयो । सुरूका दिनमा तरकारीको व्यापार गरे । बिहानै उठेर सफारीमा तरकारी ल्याउँथे । तरकारी बेच्थिन् उनकी श्रीमती ।

    सफारी कुदाएर र तरकारी बेचेर उनले राम्रो शिक्षा दिए छोरा रमेशलाई । रमेशले मोरङको दुलारीमा रहेको इटहरी इन्टरनेसनल कलेजबाट कम्प्युटर साइन्समा डिप्लोमा गरे ।

    भेटमा भन्थे, ‘छोरो विदेश जान्छु भन्छ के पो गरौँ ?’

    ‘जान्छ भने पठाइ दिनु न त, यहाँ बसेर के गर्छ र ?’ पंक्तिकारले यस्तो सुझाव दिँदा कच्छु भन्थे, ‘यो विदेश गएर गर्छ पो के, कसैसँग बोल्दा त बोल्दैन । ’

    क्यानडाबाट फर्किएका छोराबुहारीको मुखै हेर्न नपाई दाहसंस्कार गरेर काठमाडौंबाट फर्किएका कच्छुको घरमा मंगलबार बिहान छिमेकीहरू ।

    पढ्नमा जेहेन्दार रमेश माझी धेरै बोल्दैनथे । साथीभाइसँग खास सङ्गत थिएन । उनी पढाइमै मेहनत गर्थे । अढाई वर्षअघि रमेशको क्यानडाको भिसा लागेपछि कच्छुले सुनाए, ‘छोरो जाने भयो । बुहारी पनि लाने कुरा भएको छ ।’

    ‘अब दिन फिर्ने भए त । यो सफारी बेच्दिनु अनि आफू पनि जानु क्यानडा,’ मैले भनेँ ।

    ‘धैत म त के जान्थे अहिले ?’ कच्छुले हाँस्दै जवाफ दिए ।

    रमेश पढ्न गएको ६ महिनापछि श्रीमती शर्मिला पनि क्यानडा उडिन् । उनीहरूको अढाई वर्षको छोरो हेरेर कच्छुकी श्रीमती घर बस्थिन् ।

    रमेश र शर्मिलाको सानै उमेरमा विवाह भएको थियो । शर्मिला विदेश जानुभन्दा अगाडिसम्म घरैमा बस्थिन् ।

    ‘मेरो बुहारी देवीजस्ती छ,’ कच्छुकी श्रीमती सुनाउँथिन्, ‘छोरा–बुहारी गइहाले, म नातिले गर्दा घरैमा बस्छु । अब सफारी नकुदाऊ भन्दा काका मान्दैन ।’

    जवाफमा कच्छु भन्थे, ‘म त सकुन्जेल कामै गर्छु ।’

    कच्छुकी छोरीको पनि विवाह भएको थियो । उनी भन्थे, ‘अब मलाई छोरीको पीर छ ।’

    उनले छोरीको पीर सुनाएको दुई महिनापछि उनको जीवनमा अर्कै बज्रपात थपियो ।

    क्यानडा पुगेका छोराबुहारी थाहै नदिई काठमाडौं आए । तर, घरमा आइपुगेनन् । सिनामङ्गलको एउटा होटेलमा दुवैजना मृत भेटिए ।

    कच्छुकी श्रीमतीलाई प्रहरीको फोन आयो ।

    प्रहरीले भने, ‘एउटा सानो घटना भएको छ । काठमाडौंमा को छ, आफन्तको नम्बर दिनु ।’

    ‘के घटना ? मेरा छोराबुहारी त क्यानडामा छन्,’ अत्तालिँदै उनले भनिन् ।

    प्रहरीले अहिले काठमाडौंमा भएका आफन्तको नम्बर दिन भनेपछि कच्छुकी श्रीमतीले देवरानीलाई भनेर भतिजाको नम्बर टिपाइन् ।

    उनका भतिजा नवराज माझी काठमाडौंमा बसेर पढ्छन् । सानोतिनो जागिर पनि खान्छन् । नवराज होटेलमा पुगेर दाजु-भाउजूको लास देखेपछि फोन गरेर बेलिबिस्तार सुनाए ।

    विक्षिप्त हालतमा आइतबार केही छिमेकीसहित काठमाडौं पुगेका कच्छु दम्पतीले छोराबुहारीको मुख पनि नहेरी पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरेका छन् ।

    सोमबार राति गाउँ फर्केका उनीहरू बिहान छिमेकीबाट घेरिएका थिए । छापो टालो बाँधेर बसेका कच्छुसँग छोरा बुहारीको मृत्यु हुनुको कारणबारे केही अनुमानै थिएन ।

    उनी भन्दै थिए, ‘मलाई केही थाहा छैन ।’

    नाति छाडेर आँगनमा आएकी कच्छुकी श्रीमतीले भनिन्, ‘शुक्रबार बिहान छोरासँग कुरा भएको थियो । केही भनेन । बुहारी खोइ भन्दा गाडीमा सँगै देखायो । बुहारीसँग कुरा भएन । अहिले बाटोमा छु, डेरामा पुगेपछि फोन गर्छु भनेको थियो ।’

    त्यसपछि न रमेशले आमालाई फोन गरे, न आमाले गरेको फोन उठ्यो । छोरा र बुहारी सम्झनामा मात्रै बाँकी रहे ।

  • ओलाङचुङगोला डायरी : हुकर सर ! ओलाङचुङगोला चिटिक्क सफा भएको छ है

    ओलाङचुङगोला डायरी : हुकर सर ! ओलाङचुङगोला चिटिक्क सफा भएको छ है

    काठमाडौं । कोही आउनुपर्ने समयमा नआएमा भनिन्थ्यो- ‘के ओलाङचुङगोलाबाटै आएको हो ?’ यसरी बाल्यकालबाटै दुर्गमताको बलियो बिम्ब थियो ओलाङचुङगोला ।

    सायद यही भएर होला फालुथाङ्काको ४,६०० मिटर उचाइबाट ओर्लंदै ३,२०० मिटर हाराहारीको ओलाङचुङगोला गत कात्तिक ५ को साँझमा आउँदा थकान थकान जस्तो लागेन । दाहिने खुट्टा पोलेर दुई वटा ट्रेकिङ पोलमा दुःखले गरेको यात्राका सबै कुरा बिर्सिएर मैले गोलामात्रै सम्झिएँ । गोलाका रैथाने डाक्टर सन्दुक रुइत सम्झिएँ । गोला क्षेत्रमा कुनै बेला बसेका खाम्पा लडाकु सम्झिएँ । ढिला बन्दै गरेको त्रिदेशीय मार्गको मुकाम सम्झिएँ । २०१६ सालमा खुलेको आधारभूत विद्यालय, २०४५ सालमा स्थापना भएको प्रहरी चौकीदेखि २०५५ सालमा स्थापना भएको स्वास्थ्य चौकीसम्मका धेरै कुरा सम्झिएँ ।

    सबैभन्दा धेरै चैँ हुकरलाई सम्झिएँ । हुकर अर्थात् चार्ल्स डार्विनका मित्र तथा यो क्षेत्रमा १७६ वर्ष अगाडि आएका जोसेफ डाल्टन हुकर । चाल्र्स डार्विनले ल्याएका सिद्धान्तहरु ‘थ्योरी अफ नेचुरल सेलेक्सन’ र ‘अन दि ओरिजिन अफ स्पेसिस’को कडा प्रतिरक्षा गर्नेमा एक थिए हुकर । उनले दक्षिण एसियाली वनस्पति क्षेत्रको अध्ययनमा धेरै नाम कमाएका छन् । उनको अध्ययनको एक क्षेत्र गोला थियो ।

    उसो त गोला मेरो कल्पनामा मात्रै सीमित थिएन । मैले बोकेको किताबमा पनि गोला आएको थियो । सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’मा पनि गोला मसँगै गोलाकै कुरा गरिरहेको थियो । पुस्तकको पेज नम्बर २८ मै भनिएको छ, ‘अझ पूर्वको ओलाङचुङगोला चल्तीको नाका थियो ।’

    हुकर सर पुस्तक अद्यावधिक गरौं : ओलाङचुङगोला सफाचट छ

    हुकरको कुरा गोला पुग्नु अगाडि नै हाम्रो यात्राका पायोनियर तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर तथा चर्चित लेखक अर्जुनबाबु माबोहाङले निकालेका थिए । यात्रामा जानु अगाडि उनले मलाई फोनमै भनेका थिए, ‘हुकरको किताब चैँ बोक्नु है ! गोलाबाट हुकरकै रुट होला जस्तो छ ।’

    सन् १८४८ अक्टोबर २७ मा ५६ जनाको लावालस्कर लिएर हुकर बेलायत शासित दार्जिलिङबाट इलाम हुँदै पूर्वी नेपाल छिरेका थिए । नोभेम्बर २३ मा हुकर गोला आएका थिए । यो भनेको हामी पुगेको (सन् २०२४ अक्टोबर २१) भन्दा १७६ वर्ष १ महिना २ दिन अगाडि । त्यो बेला हुकरले गोलाबारेमा तीतो टिप्पणी गरेका थिए । नोभेम्बर २३ को डायरीमा गोलाबारेमा हुकरले भनेका छन्, ‘यस गाउँका असल व्यवहार भएका, तर शरीर नै गन्हाउने गरी मैलाधैला भएर बसेका तिब्बती जातिको भीड छ ।’

    हुकरको यो टिप्पणी म गोला पुग्दा केही संकेत पाइएन । चिटिक्क परेको लुगाफाटो लगाएकाहरु थिए । ठाउँठाउँमा धारा थिए भने पानी घट्ट पनि बस्तीको बीचमा थियो ।

    अरु त अरु, फालुथाङकाबाट गोला पुग्दापुग्दै बस्तीको सुरुमै कुहिने र नकुहिने फोहोर छुट्याएर राखिने काला र निला भाँडा राखिएको थियो । भाँडाको माथि बोर्डमा लेखिएको थियो, ‘फोहोर मलाई ।’

    सफा गाउँले र सफा गाउँ देखेपछि हुकरलाई भन्नैपर्‍यो- ‘हुकर सर ! ओलाङचुङगोला चिटिक्क सफा भएको छ है ।’

    हुकरले पूर्वी नेपालका वनस्पतिको पुस्तक निकाले । र, सन् १८५० मा जंगबहादुर बेलायत यात्रा जाने क्रममा कोलकाता पुग्दा त्यो किताब उपहार दिए । जंगबहादुरका पुत्र पद्मजंगले लेखेको जंगबहादुरको जीवनी ‘लाइफ अफ महाराजा श्री जंगबहादुर अफ नेपाल’ पुस्तकमा उल्लेख भएअनुसार हुकरले सन् १८५० मार्च २० मा पूर्वी नेपालको वनस्पति अध्ययनको पुस्तक हस्तान्तरण गरेका थिए । उनले ओलाङचुङगोलाको बारेमा तीतो लेखेको जंगबहादुरले पढ्ने कुरै भएन । उनलाई अंग्रेजी आउँदैन थियो । अंग्रेजले अनुवाद गरेर त्यो पक्कै सुनाएनन् । सुनाएको भए जंगबहादुरको प्रतिक्रिया के हुन्थ्यो होला ? यो अनुमान अनुमानमै रह्यो ।

    १७४ वर्ष अगाडि जंगबहादुरको हातमा परेको हुकरको अंग्रेजी भाषाको पूर्वी नेपालको वनस्पतिको पुस्तक नेपाली भाषामा आउन १७२ वर्ष कुर्नुपर्‍यो । दुई वर्ष अगाडि बुक हिल प्रकाशनले छापेको किताबलाई हस्त गुरुङले अनुवाद गरेर नेपाली भाषामा ल्याएका छन् । हाम्रो ज्ञानको यात्रा कति ढिलो हुन्छ भन्ने एक ज्वलन्त उदाहरण यो किताबको अनुवाद यात्रा हो ।

    तमोरले निलेको डाक्टर रुइतको घर, आफन्त भन्छन्- गरिब होइनन् उनी

    नेपालका विश्वविख्यात डाक्टर सन्दुक रुइतको जन्मगाउँ हो फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ को ओलाङचुङगोला । सन्दुक रुइतको पुस्तक ‘बेयरफुट सर्जन’मा अस्ट्रेलियाली पत्रकार अलि ग्रिपरले लेखेको पढेर जानकारी पाएको मलाई गोलामा आउनासाथ सोधेको पहिलो ठेगाना उनै रुइतको थियो । रोचक कुरा, धेरैले रुइत चिनेनन् । आँखाको डाक्टरभन्दा चिनेका केहीले गलत घर देखाए ।

    अन्ततः भेटियो रुइतको घर । रुइत जन्मेको घर तमोरले निलेर बाँकी रहेको पुर्ख्यौली घर हेरियो । तस्बिर खिचियो । घरमा भेटिए रुइतका आफन्त छेतेन शेर्पा । पहिलो स्थानीय चुनावमा वडा नम्बर ७ का अध्यक्षमा एक भोटले जितेका उनी नेपाली कांग्रेसका युवा नेता हुन् ।

    नेपाल-भोट व्यापारमा जोडिएका उनलाई मैले ‘डाक्टर रुइतलाई अलि ग्रिपरको किताबमा गरिब भनिएको छ, त्यसो हो’ भन्दा उनले सीधै नकारे । उनले डाक्टर रुइत जन्मजात धनी भएको र गाउँ नबिर्सेको बताए । केही वर्ष अगाडि आएर गुम्बामा सहयोग गरेको छेतेनले सुनाए । रुइतका आँखा शिविरका सवाल सुनाए ।

    रुइतको घर र आफन्त
    रुइतको घर र आफन्त

    ओलाङचुङगोलाको फेदीबाट बग्छ तमोर । तमोरले क्रमशः हात लम्ब्याउँदै गोलाको जग्गा तान्दै गयो । तान्दा पीडित हुनेमा डाक्टर रुइतको घर पनि पर्‍यो । कुनै बेला २०० परिवार भएको बस्तीमा अहिले ५५ घरमात्रै भएको स्थानीयले सुनाए । गोलालाई जोगाउन गोलाको शीरमा भएको ङाग्युर दिकी छ्योलिङ गुम्बाका बुद्ध प्रार्थनाले मात्रै पुग्ने छनक छैन । यसमा त स्थानीय सरकार, प्रदेश र संघ सरकारले आड भरोषा दिनुपर्छ, तर दुःख त यो छ कि चुनावमा भोट माग्न पनि आएका थिएनन् पालिका अध्यक्ष । आफ्नै आँगनको सरकारले चुनावमा त ख्याल गरेनन् । अरु ठूल्ठूला र परपरका सरकारहरुले के गर्लान् ?

    धेरैजसो गोलाका स्थानीय काठमाडौं, दार्जिलिङ र अमेरिका गएको भन्दै छेतेन भन्छन्, ‘यहाँ चुनाव खर्च धेरै लाग्छ । त्यही भएर यो पालि सर्वसम्मत गरियो ।’

    गत वर्ष एक भोटले चुनावमा हराएका उम्मेदवारलाई नै सर्वसम्मत बनाउन छेतेनले सहयोग गरे । देशमा कांग्रेस र एमाले फरकफरक कित्तामा जाँदा किन सर्वसम्मत गर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘दाजुभाइहरु राजनीतिक कारणले किन झगडा गर्नु ? किन धेरै खर्च गर्नु भनेर हो ।’

    यस्तो लाग्छ अहिले सिंहदरबार चलाउन मिलेका कांग्रेस-एमाले पहिल्यै मिलेको एक सानो उदाहरण छेतेनहरुले चुनावताकै देखाइसकेका थिए ।

    गुम्बामा भेटिएका जर्मन वैज्ञानिकसँग राजनीतिक गफ

    उनी वैज्ञानिक । म पत्रकार । उनी जर्मन । म नेपाली । फरक पेशा र फरक राष्ट्रियता भए तापनि राजनीतिले हामीलाई जोड्यो । जर्मनीका वैज्ञानिक स्टेफेन रुसेन्सचुक क्यामेरासहित ओलाङचुङगोलाको ङाग्युर दिकी छ्योलिङ गुम्बामा भेटिए । अभिवादन आदानप्रदानपछि कुन देशको भन्दा उनले जर्मनीको भने । जर्मनी सुन्नासाथ सन् २००२ बाट निरन्तर जर्मनीको फुटबल फ्यान भएको भन्न मैले छुटाउने कुरै भएन ।

    जर्मनीका निवर्तमान नेतृत्व र वर्तमान नेतृत्वको तुलना गरेर सोधिहाले, ‘मर्केल सही थिइन् कि सोल्ज ?’ उनले मर्केलको खासै तारिफ गरेनन् । सोल्जको कडा आलोचना गरे । अक्टोबर २२ मा गुम्बामा वैज्ञानिक स्टेफेनले व्यक्त गरेको भावना एक सर्वेमै पनि व्यक्त भएको थियो । एक महिना अगाडि (सेप्टेम्बरमा) यूरोन्यूजले एक सर्वेक्षण साभार गर्दै लेखेको थियो- जर्मनीका चान्सलर ओलाफ सोल्जलाई मन पराउने जर्मनहरुको प्रतिशत १८ मात्रै थियो । इन्फ्राटेस्ट डिम्यापले गरेको सर्वेक्षणले यो भन्थ्यो कि हरेक १०० जर्मन नागरिकमा ८२ जनाले सोल्जलाई पटक्कै मन पराउँदैनन् । १८ जनाले मात्रै मन पराउँछन् । त्यही ८० प्रतिशतभन्दा धेरै मन नपराउने हिस्साका एक अनुहार थिए वैज्ञानिक स्टेफेन ।

    सोल्जबारेमा हाम्रो समान धारणा बुझेपछि मैले धक नमानी भने- ‘मलाई पनि जर्मनीकी परराष्ट्रमन्त्री एनालेना बाइरबोक पटक्कै मन पर्दैन । उनी ग्रिन पार्टीकी हुन्, तर कार्बन उत्सर्जन गर्ने एकल जहाज लिएर हिँड्छिन् । रुस र चीनलाई गाली गर्न चैँ माहिर छिन् ।’

    वैज्ञानिक स्टेफेनले स्थानीय समाचार आएको कुरा जोड्दै भने, ‘उनको मेकअपमै जर्मनीका करदाताको धेरै रकम खर्च भएको छ ।’

    जर्मनीको विश्व च्यानल डीडब्ल्यू हेर्दाको जानकारीलाई भरपूर प्रयोग गरेर मैले जर्मनीको राजनीतिबारेमा सोधिरहें । उनले टिप्पणी गरिरहे । मैले पनि टिप्पणी गरिरहे । गुम्बामा हामीले गुम्बाको कुरा गर्न बिर्सियौं । उनको गुम्बा भ्रमणको खास कारणबारेमा धेरे गफिन पनि भ्याइएन । जे होस्, राजनीतिले मान्छे विभाजनमात्रै गर्दैन, जोड्छ पनि । जस्तो फरकफरक देश, महादेश र सभ्यताका जर्मन वैज्ञानिक स्टेफेन र नेपाली पत्रकारलाई यो गुम्बामा जोडिरहेको थियो ।

    भोटे-शेर्पा गाउँका नेवार लामा

    प्रेम कहानीहरु उपन्यास र चलचित्रहरुमा मात्रै हुँदैनन् । हाम्रै आसपास पनि हुन्छन् । मलाई अञ्जान मान्छेका प्रेम कथा सुन्न मज्जा लाग्छ । विवाहका सवाल सुन्न रोचक लाग्छ । यसै मेसोमा गोलाको मध्य बस्तीको दर्ता नम्बर ७० को टिप्ताला होमस्टेका साहु र साहुनीको प्रेम जिज्ञासा सुरु भयो । लजालु साहुनी छिलामु आगन्तुकको सत्कार र सेवामा उदार थिइन् । प्रेमकथा भन्नमा अनुदार ।

    रौसे उनका पति लोप्साङ भने उदार भए । उनले आफ्नो मात्रै कथा भनेनन् । आफ्ना हजुरबासम्मको भने । श्रीमतीले नभन्न भन्दाभन्दै उनले आफ्नो पहिलो विवाह असफल भएर दोस्रो सफल भएको भन्न भ्याए । पहिलो विवाह सोलुमा पर्यटकसँग जाँदा उतैको महिलासँग भएको र त्यो बेला गाउँकै प्रेमिका छिलामुलाई धोका दिएको कन्फेसन गरे उनले । पछि सोलुको श्रीमतीसँग औपचारिक पारपाचुके गरेर गाउँमा आएर माफी मागेर छिलामुसँग फेरि जोडिएर विवाह गरेको उनले हाकाहाकी सुनाए ।

    लामा दम्पती

    यसरी सुनाउने लोप्साङको स्वर, आफन्त, छरछिमेकी, ससुराली र मामल सबै भोटे समुदाय हो । उनी आफैं चैँ नेवार समुदायका हुन् । उनले आफ्ना प्रहरी हजुरबा यता आएर प्रेम विवाह गरेर यतै बसेको सुनाए । नागरिकतामा श्रेष्ठ लेख्ने उनलाई आफ्नो श्रेष्ठ जरो दोलखातिर भएको भन्नेसम्म सामान्य सूचना छ, तर उनी भोटे संस्कृतिमा मिसिइसके । काठमाडौं पुगेर लामा पढेका उनी त गाउँकै ङाग्युर दिकी छ्योलिङ गुम्बाका लामा हुन् । लामा हुन पनि विभिन्न उम्मेदवारहरुमा चिट्ठा गर्दा उनी परेका थिए । उनको वेतन व्यवस्था गर्ने डाक्टर सन्दुक रुइत नै हुन् ।

    सांसारिक जीवनमा विवाह गरेको, पारपाचुके गरेको र फेरि विवाह गरेर होमस्टे चलाउने लामा बन्न मिल्छ भन्ने प्रश्न खस्न नपाउँदै चुलोको आगो लाइन राखेर ताप्ने आगन्तुकहरुलाई लोप्साङले एकै लाइनमा भने, ‘कतिपय गुम्बामा मिल्दैन । यहाँको गुम्बामा मिल्छ ।’

    गोलासँग चिनियाँ साइनो : व्यापार र विकासमा उदार, विवाहमा अनुदार

    ओलाङचुङगोला चीनसँगको भूगोल र भावनाले नजिक भएको गाउँ भन्न त्यहाँ पुग्दा थाहा भैहाल्छ । गोलामा उभिएका चिनियाँ नम्बर प्लेटका डोजर, तेल ट्याङ्कीदेखि स्थानीय पसलमा पाउने चुरोटदेखि चाउचाउसम्ममा चिनियाँ अक्षर देखिन्छ । धेरैका नातेदार चीनमा छन् । जस्तैः ओलाङचुङगोला गाविस हुँदाका उपाध्यक्ष चुम्बे शेर्पाको ससुराली चीन हो ।

    हामी बसेको होमस्टेकी साहुनी छिलामोको मावली चीन हो । मावली देशसँग हर्ष र विस्मात दुवै छ छिमाको । उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दिएको सीमाका बासिन्दाको लागि प्रवेश पास लिएर चीनको बजार जाँदा चिनियाँले राम्रो व्यवहार गर्छन् । सीमामा इन्ट्री गरेर बजारमा बेच्न लगिएका सामान नबिके चिनियाँ सुरक्षाकर्मीले किन्दिछन्, तर विवाह र कुटुम्ब बनाउने मामिलामा भने अब चिनियाँ अनुदार देखिएका छन् । चीनसँग विवाह गर्ने बाटो सन् २०१२ पछि बन्द भएको छ ।

    अचम्मै लाग्ने कुरा चैँ यो छ कि विराटनगरको मान्छेले बेइजिङ र सप्तरीको मान्छेको सांघाईको अनुहारसँग विवाह हुनसक्छ । यस्ता टाढाटाढाका प्लेनबाट पुगिने गन्तव्यमा विवाह गर्न उदार चीन पैदलबाट पुगिने गन्तव्यमा विवाह खुला गर्न राजी देखिएको छैन । जबकि नेपाल र चीनको रोटीबेटीको सम्बन्धको शताब्दीऔं पुरानो विरासत बोक्ने यिनै सीमाका गाँउहरु हुन् । ती गाउँहरुले बनाएका विवाहका कुटुम्बेरी सम्बन्धहरु हुन् ।

    अब चिनियाँलाई माइत, मावल र ससुराली बनाउने दिन सकिएको छ । चीन ससुराली भएका चुम्बेका अनुसार पहिले पहिले सबैजसो खानेकुरा नेपालबाट जाने र नेपालीहरुसँग विवाह गर्ने रुचि सीमा क्षेत्रका चिनियाँलाई थियो । उनी भन्छन्, ‘नेपालभन्दा कम विकास भएकोले नेपालमा विवाह गर्न खोज्ने धेरै हुन्थे । अहिले त उल्टो भयो ।’

    चीन सरकारले जनता पालेको, तर नेपालमा जनताले सरकार पालेको भन्दै चुम्बेले भने, ‘सरकारबाट पालिएपछि सरकारले भनेको मान्नुपर्छ । जनताबाट पालिएपछि सरकारले जनताले भनेको मान्नुपर्छ ।’

    छिलामुले कोभिडपछि चीनमा आफन्त भएर जान पनि सकस भएको सुनाइन् । जान त पाइन्छ । आफ्न्तसँग भेट पनि हुन्छ, तर हुने तरिका छिलामोलाई मनपरेको छैन । उनी भन्छिन्, ‘क्वारेन्टाइन जस्तो ठाउँमा राखेर आफन्तसँग भेट हुन्छ । घरमा जान दिँदैन ।’

    पूर्ववडा अध्यक्ष छेतेनले चीनले विकासमा खुलेर सहयोग गरेको बताए । डोजर दिने, तेल दिने र ट्रयाक खोल्न चीनले उदारता देखाएको भन्दै उनले भने, ‘चीनले त ठूलो बाटो बनाउन प्रस्ताव लेउ नै भनेको छ, तर नेपालतर्फबाटै काम भएको छैन ।’

    नेपाली सीमा बल : सडक, सञ्चार र सुविधाका दुर्बल

    २०७७ असोजमा गोलामा सशस्त्र प्रहली बल बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भयो । निरीक्षकको कमान्डमा चल्ने बीओपीका सात हाकिममा अहिलेका नयाँ हाकिम माधव खत्री छन् । असोजमा आएका उनी नयाँ हुन् । गुम्बा जाने बाटोमा रहेको अस्थायी मुकाममा घाम ताप्दै थिए खत्री । भन्दै थिए, ‘खास स्थायी बीओपी त माथि मौवाटारमा हो । यहाँबाट १२ किलोमिटर माथि छ ।’

    खत्रीले चिनियाँ सीमाबाट पनि मौवाटार १२ किलोमिटर हाराहारी नै भएको बताए । उनले आफू कमान्डमा आएपछि सीमा गस्तीमा गएको सुनाए । चिनियाँ पक्षलाई जानकारी नदिइकन गएका थिए । उनीहरुले ७९ नम्बरको पिल्लर हेर्दा सरर चिनियाँहरु गाडीमा आए । जानकारी नदिइकन जाँदा चिनियाँहरु आएको बारेमा खत्रीले भने, ‘उहाँहरुको २४ घण्टा निगरानी गर्ने सीसीटीभी क्यामेरा हुँदोरहेछ । हामी पुगेको देखेर आउनुभयो ।’

    चिनियाँ समकक्षीले राम्रो व्यवहार गरेको भन्दै खत्रीले केही सहयोग चाहिए खुलेर माग्न चिनियाँले भनेको सुनाए । खासमा यस्तो वचन सशस्त्र प्रहरी बलको बीओपी टोलीले चिनियाँबाट होइन, आफ्नै सरकारबाट पाउनुपर्ने हो, तर त्यस्तो देखिएन । स्तरीय सडक, २४ घण्टा निगरानी हुने खालका सीसीटीभी, बलियो टेलिफोन तथा इन्टरनेट सेवा टड्कारै आवश्यक देखियो । निरीक्षक खत्री भन्दै थिए, ‘एउटा फोटो पठाउन धेरै कुनुपर्छ ।’

    सडकको कुरै नगरौं । तमोर करिडोरको तल्लो धनकुटा र पाँचथरतर्फको भागमा केही पिच हुँदैछ, तर मासथ गोला क्षेत्र पुग्नै सकस छ । गोलाबाट ६ घण्टा हाराहारी पैदल यात्रामा आउने इलाडाँडासम्म मात्रै गाडी जान्छ । त्यहाँमाथिको बाटोमा गाडी कुद्ने स्तरको छैन । पहिरोले बाटो भताभुङ्ग छ । बाटोको हालत देख्दा यस्तो लाग्छ- यो नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छिटो पुग्ने त्रिदेशीय राजमार्गको ट्रयाक होइन । यो त एक वडाबाट अर्को वडा जोड्ने सबैभन्दा ढिलो ट्रयाक हो । सायद त्यही भएर होला सम्पादक तथा लेखक बसन्त बस्नेतले गोलाको यो यात्रा सकेपछि हेडलाइन बनाए, ‘प्रधानमन्त्रीकै पहल कुरिरहेको ओलाङचुङगोला सडक ।’

  • ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ गीतपछि सबै संगीतकारको रोजाइमा परेकी शर्मिला

    ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ गीतपछि सबै संगीतकारको रोजाइमा परेकी शर्मिला

    काठमाडौं ।

    छिटको सारी मखमली चोलीलाई
    कस्तो लाग्यो गाउँकी यो छोरीलाई
    भन्देउ सुटुक्क
    नबोली ओठले हाँस्देउ मुसुक्क

    ५० दशकको पुस्ताका धेरैको बाल्यकाल बनाएको छ यो गीतले । कतिपयलाई त यो गीतमा नाच्दाका स्टेपहरु अझै याद होलान् । पर्वहरुमा नछुट्ने यो गीत विद्यालयका कार्यक्रमहरुमा त छुट्दै छुट्दैन थिए । यही गीतसँगै हुर्किएको पुस्ता अहिले देश विदेशमा छन् । यो पुस्ता जहाँ जहाँ पुग्यो, त्यहाँ त्यहाँ गायिका शर्मिला बर्देवाको स्वर नोस्टालजिया बनेर पुग्यो । उनका गीतहरु जति पुराना हुँदै गए, उति दूरदूरसम्म फैलँदै गए ।

    तर गीतहरुलाई स्रोताको कानमा छाडेर शर्मिला भने २३ वर्ष अगाडि बेलायत हान्निइन् । परिवार र बालबच्चाका लागि विदेशिएकी शर्मिला बेलाबेलामा नेपाल आउँछिन् । गीतहरु रेकर्ड गर्छिन् । पुराना साथीभाइ भेट्छिन् । अनि फेरि बेलायत फर्किन्छिन् ।

    कर्णप्रिय गीतहरुको झंकार स्रोताहरुमा छाडेर विदेशिनुमा शर्मिलाको आफ्नै बाध्यता होलान् । राजनीतिक अस्थिरता, तत्कालीन गृहयुद्ध कारक होलान् । बेलायतबाट भर्खरै नेपाल आएकी शर्मिला सुनाउँछिन्, ‘त्यसवेलाको अवस्थै त्यस्तै प्रतिकूल थियो । विदेशिनुबाहेक विकल्प थिएन ।’

    विदेशिएर जहाँ पुगे पनि उनले नेपालीपन बिर्सिएकी छैनन् । बिर्सने कुरा पनि भएन । सँगै जन्मजात लिएर आएको फरासिलो स्वभाव पनि उस्तै छ । महत्वपूर्ण कुरा त उनको स्वर २३ वर्षअघिको जस्तै नै छ । त्यसैले त गफको क्रममा शर्मिला मुस्कुराउँदै आफ्ना पुराना गीत गुनगुनाउँछिन् । अनि फिस्स हाँसेर जिज्ञासा राख्छिन्, ‘मेरो स्वरमा त त्यस्तो बदलाव छैन नि ?’

    सायद उनले गाएर इंगित गर्न खोजेको कुरा हो, ‘हामीले त एक टेकमै गीत रेकर्ड गराइसक्नु पर्थ्यो ।’ अहिले त गीत रेकर्डको काममा प्रविधिले सहज बनाइदिएको छ । अनेक टेक लिन पाइन्छ । स्वर राम्रो भएन भने अटो ट्युनको सुविधा पनि छ ।

    गीत प्रशारणको पनि अनेक माध्यम छन् । त्यसवेला रेडियो नेपालबाहेक अर्को माध्यम थिएन । रेडियो नेपालमा पनि एक खालको मोनोपोली रहेको शर्मिलाको तीतो अनुभव छ । शर्मिला सुनाउँछिन्, ‘त्यहाँ गीत बज्दा ठूलो युद्ध जिते जस्तो हुन्थ्यो । अलि पछि एफएमहरु आएपछि भने गीतहरु प्रशारणका लागि सजिलो भयो ।’

    ०००

    धेरैले उदितनारायाण झाको स्वरमा सुनेको एउटा गीत छ-

    पूरा भयो सपना मेरो, तिमी नै हो जीवन मेरो
    आउ आउ अंगालोमा दुनियाँ सारा भुलेर

    ‘भन्नै सकिनँ’ नामक चलचित्रको यो गीतमा फिमेल भर्सनमा चाहिँ शर्मिलाको स्वर छ । आलोकश्रीको संगीत रहेको यो गीतका गीतकार हुन् राजेन्द्र शलभ । उनै राजेन्द्र चलचित्रका निर्देशक पनि थिए । यो चलचित्रमा शर्मिलाको चार वटा गीत थियो । एउटा गीत रामकृष्ण ढकालसँग, अर्को गीत यम बरालसँग र अर्को चाहिँ आनन्द कार्कीसँग ।

    त्योवेला चलचित्रमा मात्रै नभएर सिडी, क्यासेटमा बेच्न पनि गीत तयार गरिन्थे । यही प्रयोजनको लागि शर्मिलाको स्वरमा पनि ‘पूरा भयो सपना मेरो’ गीत रेकर्ड भएको थियो । शर्मिला सुनाउँछिन्, ‘चलचित्रमा चाहिँ कथाले नमागेर राख्नुभएन होला ।’

    यी सबै सन्दर्भ २०-२५ वर्ष अगाडिका हुन् ।

    ०००

    शर्मिलाको अर्को गीत छ- ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ ।

    ‘सगुन’ नामक चलचित्रको यो गीतको संगीतकार थिए सचिन सिंह । शर्मिलाले थुप्तेन भुटियासँग गाएकी थिइन् । गीत डोरेमी स्टुडियोमा रेकर्ड भएको थियो । शर्मिला सुनाउँछिन्, ‘गीत गाउने वेला कुन गीत हिट हुन्छ भन्ने थाहै हुन्नथ्यो ।’

    यही गीतले नै शर्मिलाको करियरमा पनि आगो लगायो । बजारमा नयाँ गायिका आएको छ भन्ने हल्ला चल्यो । शिव श्रेष्ठ र विपना थापा यस गीतको भिडियोमा खेलेकाले गीतले बजार पिट्यो । शर्मिला सुनाउँछिन्, ‘यसपछि त संगीतकारहरुले बोलाएर ब्याक टु ब्याक गाउन लगाउनुभयो ।’

    ०००

    शर्मिलाले गायिका बन्नेबारे सोचेकै थिइनन् । पारिवारिक माहोल पनि संगीतमय भएका कारण गाउन चाहिँ सिकिन् । रुपक शाहीसँग एउटा युगल गीत पनि गाएकी थिइन् । यही गीतमा संगीतकार सचिन सिंहले आलाप पनि गाइदिएका थिए ।

    ‘मेरो स्वर नयाँ स्वादको थियो । पिच पनि माथिसम्म जान्थ्यो । उहाँले त्यो नोट गर्नुभएको थियो होला’, सचिनले ‘दमकल बेलाइदेऊ’ गीत गाउन दिनुको कारण अनुमान गर्छन् उनी । दमकलमा आगो लगाएपछि त शर्मिलाले सिंगो चलचित्र क्षेत्रमा आगो लगाउन सुरु गरिन् । लगातार ३५–३६ चलचित्रमा गीत गाइन् । कुनैमा चार वटा, कुनैमा दुई, कुनैमा तीन त कुनैमा एउटा गीतमा शर्मिलाकै स्वर हुन्थ्यो ।

    लक्ष्मण शेषको संगीत रहेको ‘आँखैले हे¥यो लौन, मनैले बे¥यो’ भन्ने गीत यहीवेला चलेको थियो । शम्भुजीत बाँसकोटाको गीत पनि गाइन् । प्रकाश श्रेष्ठ, कुमार कान्छा, रामा मण्डल र राजेशपायल राईहरुसँग युगल गीत गाइन् । ‘म त आफूलाई फर्चुनेट गायिका हो जस्तो लाग्छ’, शर्मिला सुनाउँछिन् ।

    ०००

    जाउँ न हो डाइभर दाइ स्टेरिङ घुमाउँदै
    दुई दिने जिन्दगी पिरती लगाउँदै

    यो गीत शर्मिलाले दिवंगत खेमराज गुरुङसँग गाइन् । त्यसवेला प्रायः चलचित्रमा एउटा न एउटा गीत शर्मिलाको स्वरले सजिएको हुन्थ्यो । यही क्रममा उनले महेश खड्का, दिव्य खालिङका गीतहरु गाइन् ।

    शम्भुजीतसँग शर्मिलाको चर्चित सहकार्यमध्ये एक हो, ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’ । ‘मुस्कान’ नामक चलचित्रको यस गीतमा उनलाई यम बरालले साथ दिएका छन् ।

    ०००

    शर्मिलाका ममीतिरका हजुबा सेक्साफोनवादक थिए । सँगै सहनाई, बाँसुरी पनि उस्तै राम्रोसँग बजाउँथे । यही कारण उनी सानैदेखि संगीतमा आकर्षित थिइन् । उनले पनि सानैमा वाद्यवादन सिक्न खोजेकी थिइन्, तर हजुरबाले भने, ‘तिम्रो स्वर राम्रो छ । बाजातिर बढी ध्यान दिँदा गायनमा असर गर्नसक्छ ।’

    अनि बाजा छाडिन्, गीततिरै लागिन् । शर्मिलाको दाइ पनि संगीतमै थिए सुनिल बर्देवा । यही पारिवारिक माहोलका कारण शर्मिला संगीतको दुनियाँमा छिरिन् । गायनमार्फत सुमधुर स्वरको सुवास फैलाइन् । चलचित्रहरुमा गाउँदागाउँदै एल्बमहरु पनि निकालिन् । तिनै एल्बममध्ये एउटाको एक गीत चर्चित छ, ‘फूलको जवाफ पत्थरले दिनेलाई’ । आनन्द अधिकारीले लेखेको यो गीतमा आलोकश्रीको संगीत छ ।

    यसपछि भने उनी विदेशिइन् । अहिले त उनी विदेश गएको पनि २३ वर्ष भइसक्यो । यो २३ वर्षमा शर्मिलाले सधैं मिस गरिरहने कुरा भनेको संगीतको माहोल हो । भन्छिन्, ‘यहाँको सांगीतिक वातावरण सधैं मिस भइरहन्छ । एउटा गीत राम्रो बनाउन मरिमेट्थ्यौं । यही कुरा मिस हुन्छ ।’

  • जब संस्थामाथि राजनीतिक नेतृत्वले हस्तक्षेप गरे, तब विदेशिए डा. हमाल

    जब संस्थामाथि राजनीतिक नेतृत्वले हस्तक्षेप गरे, तब विदेशिए डा. हमाल

    चालू अवस्थामा रहेका संस्थामाथि राजनीतिक नेतृत्वले हस्तक्षेप गर्दै जाँदा संस्थामात्रै हैन, व्यक्ति पनि पलायन हुने अवस्था आउँछ भन्ने कुराका दृष्टान्त हुन् डा. कृष्ण हमाल । हाल अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका हमाल सन् १९७९ मा उच्च शिक्षा हासिल गर्न र सन् १९९१ मा स्थायी बसोबास गर्न यहाँ आइपुगेका हुन् । उच्च शिक्षा अध्ययनका क्रममा कृषि अर्थशास्त्रमा अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू इङल्यान्डबाट स्नातकोत्तर गरेका हमाल नेपालमा रहुञ्जेल कृषि आयोजना सेवा केन्द्रमा कार्यरत थिए ।

    विभिन्न दातृ संस्थाहरुको सहयोगमा सञ्चालित सो आयोजनाले देशैभरि एकीकृत विकास परियोजना लागू गर्दै थियो । राप्ती, सेती, महाकाली, गण्डकी, लुम्बिनीलगायतका ठाउँमा यूएसएड, विश्व बैंक, एसियाली विकास बैंक आदिको सहयोगमा ती परियोजना सञ्चालनमा आएका थिए । तत्कालीन अवस्थामा विश्व बैंकको नीति एकीकृत अवधारणामा आधारित विकास आयोजना सञ्चालनको थियो ।

    तर जब बहुदल आयो, नेताहरुले कार्यकर्ता भर्ती केन्द्र बनाए । फलस्वरुप संस्था टाटपल्टने अवस्थामा पुग्यो । डा. हमालका अनुसार १५-१६ जनाले धानेको सेवा केन्द्रमा २०० भन्दा बढी कर्मचारीको भार थपिएपछि तिनलाई तलब खुवाउन सक्ने अवस्था भएन । ‘सो केन्द्रलाई सरकारले अनुदान दिने नीति थिएन । परिणामस्वरुप योग्य र सक्षम नेतृत्व पलायन हुनुपर्ने अवस्था आयो । हामी १५-१६ जनाले नै छोडेर हिँड्नुपर्ने बाध्यता आयो’, हमालले त्यतिवेलाको अवस्था स्मरण गर्छन् ।

    अन्ततः कृषि मन्त्रालयले विभिन्न कारण देखाउँदै २०५८ सालमा सो संस्थालाई लिक्विडेसन (विघटन) ग¥यो । त्यसपछि सो कार्यालयको कार्यभार अन्य कृषिसम्बन्धी विभागहरूमा हस्तान्तरण गरियो । हमालका अनुसार उक्त कार्यालयले अपेक्षित परिणाम दिन नसक्नु, कार्य क्षमतामा कमी र योजनाहरू दोहोरोरिरहेको ठहर गर्दै लिक्विडेसन गरिएको भए पनि वास्तविकता कर्मचारी भर्ती केन्द्र बनाएपछि उनीलाई तलब खुवाउन नसक्नु नै हो ।

    जतिवेला उनी अस्ट्रेलिया आए त्यतिवेला यहाँको जनसंख्या लगभग १.७२ करोड थियो । जबकि अहिले सन् २०२४ मा २.६० करोडको हाराहारीमा पुगेको छ । यसले देखाउँछ कि पछिल्ला तीन दशकमा अस्ट्रेलियाको जनसंख्या करिब ९० लाखले मात्र वृद्धि भएको छ । सानो जनसंख्या रहेको मुलुकमा नेपालीको संख्या त झनै कम थियो । नेपालीहरु एक ठाउँ जम्मा हुनु परेमा सिड्नी र क्यानबेराको बिचमा पिकनिक गर्ने र भेटघाट गर्ने गरिन्थ्यो । त्यसो गर्दा ३० देखि ४० जनासम्म जम्मा हुन सकिन्थ्यो ।

    भनिन्छ, अस्ट्रेलियामा तीन प्रकारका नागरिक छन् । पहिलो- तिनै कैदीका छोराछोरी हुन्, जसले यो देश बनाएकोमा गर्व गर्छन् । दोस्रो- त्यतिवेलै आएका ब्रिटिस गोरेहरु र तेस्रो- त्यसपछि आउने ब्रिटिस तथा अन्य नागरिहरु ।

    क्यानडाबाट उहाँ आउनु अर्को संयोग यो थियो कि अस्ट्रेलियालाई सक्षम जनशक्ति चाहिएको थियो । उनीहरु भरसक ब्रिटिसहरु अर्थात् गोरेहरु नै ल्याउन चाहन्थे, तर ब्रिटिस अमेरिकनहरुका लागि यो देश आकर्षक थिएन । कसै गरे पनि ब्रिटिसहरु नआएपछि एसियनहरु खोज्ने अवस्थामा पुगे र क्यानडातिर जनशक्ति खोज्न लागे । हो, त्यसैवेला प्राकृतिक स्रोत विकास अर्थशास्त्रमा पीएचडी गरिरहेका हमाल अन्तर्वार्तामा सहभागी भए र उनले आफैंलाई स्नातकोत्तर अध्यापन गराएका एक जना प्रोफेसरको हवाला दिए ।

    अन्ततः उनले सोझै पीआर पाए । हमाल भन्छन्, ‘नेपालको अवस्था गोलमाल थियो । काम गर्ने वातावरण थिएन । राजनीतिले काम गर्ने संस्था दिनहुँ घाटामा जाँदै थियो । आखिर अस्ट्रेलियासँग सम्बन्ध गाँसिएकै थियो । त्यसैले केही वर्ष जहाँ भए पनि काम गरेर पैसा कमाउनुप¥यो भनेर यहाँ आएको हुँ । पछि परिवार, बालबच्चाका कारण यतै स्थायी बसोबास गरें ।’

    उनी यहाँ आउनासाथ कृषि तथा स्रोत अर्थशास्त्र विभाग (ब्युरो अफ एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्स) मा ४ वर्ष, पर्यटन अनुसन्धान विभाग (ब्युरो अफ टुरिजम रिसर्च) मा दुई वर्ष र त्यसपछि यातायात तथा क्षेत्रीय अर्थशास्त्र विभाग (ब्युरो अफ ट्रान्सपोर्ट एण्ड रिजनल इकोनोमिक्स) मा २० वर्ष सेवा गरे ।

    पछिल्लो सेवा गरेको संस्था यहाँका लागि महत्वपूर्ण एवं उच्चस्तरीय मानिन्छ । किनकि यसैले यातायातसम्बन्धी सम्पूर्ण निर्णय गर्नुका साथै तिनको प्रभावकारिताका बारेमा अध्ययन विश्लेषण गरी सरकारलाई अन्तिम सुझाव दिने गर्छ ।

    जस्तो कि ब्रिसवेन-सिड्नी-क्यानबेरा-मेलबर्नको रेल मार्गबारे २० वर्षदेखि अध्ययन भइरहेको छ, तर सरकार निर्णयमा पुग्न सकेको छैन । खासगरी लागतअनुरुपको लाभलाई विश्लेषण गर्दा उपयुक्त नदेखिएकोले निर्णय हुन सकिरहेको छैन ।

    यसबाट थाहा हुन्छ कि एउटा परियोजनाका लागि कति गहिरो अध्ययन हुन्छ ।

    आर्थिक नीतिलाई कृषि, पर्यटन र यातायातका दृष्टिले कसरी उपयोगी गराउन सकिन्छ भनेर सरकारको नीति निर्माण तथा कार्यान्वयन तहमा योगदान पुर्‍याएका हमाललाई मैले सोधेको थिएँ, ‘अस्ट्रेलियाको प्रमुख स्रोत के हो ?

    यहाँको प्रमुख स्रोत खानी, कर र कृषि तथा पशुपालन हो । खानी पत्ता लाग्नुको कारण पनि वडो रोचक छ । सन् १८औं शताब्दीको अन्त्यतिर ब्रिटिस साम्राज्यको उपनिवेशको रूपमा स्थापित अस्ट्रेलियाका टापुहरुलाई ब्रिटिसहरुले कैदी राख्ने ठाउँ बनाएका थिए । अर्थात् अपराधका कारण सजाय भोगिरहेका कैदीहरूलाई यहाँका विभिन्न भागहरूमा पठाउने गरिन्थ्यो । यसको कारण थियो- ब्रिटेनका जेलहरूमा अत्यधिक भीडको समस्या थियो ।

    त्यस क्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रको सिडनी बन्दरगाहमा सन् १७८८ मा पहिलो अंग्रेजी जलयान ह्यचेसन पुगेको थियो र त्यसै समयमा पहिलो पटक ७०० कैदीलाई पठाइएको थियो । यो क्रम १८५० को दशकसम्म कायमै थियो । सन् १८३० देखि १८७७ सम्म तास्मानियामा सबैभन्दा प्रसिद्ध जेल पोर्ट आर्थर थियो । जुन पर्यटकीय केन्द्र बनेको छ अहिले ।

    कुनै पनि खेती मनलाग्दी गर्न पाइँदैन । सरकारले जहाँ जे हुन्छ, त्यही गर्न भनेको हुन्छ । तदनुसार गरेपछि प्रायः नोक्सान हुँदैन र कथं प्रतिकूल मौसमका कारण समस्या भयो भने सरकारले क्षतिपूर्ति दिन्छ । त्यसैले कृषिमा ढुक्कसँग लगानी गर्दा हुन्छ ।

    पोर्ट आर्थर जेल अत्यन्तै कडाइका साथ सञ्चालन हुने कारागारको रुपमा चिनिन्छ । जहाँ कैदीहरूलाई कठोर काममा लगाउने र यातना दिने गरिन्थ्यो । यो यस अर्थमा पनि ऐतिहासिक मानिन्छ कि यसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।

    यही पोर्ट आर्थर जेलका कैदीहरूले अस्ट्रेलियामा सुन खानी पत्ता लगाएका थिए । १८३० को दशकमा कैदीहरूले पेट पाल्न तास्मानियाका विभिन्न क्षेत्रहरूमा खानी खन्ने काम गर्दै जाँदा द माउन्ट रसेल क्षेत्रमा सुनको खानी पत्ता लगाएका थिए ।

    यो सुन खानी फेला परेपछि पोर्ट आर्थर जेलका कैदीहरूलाई खानीमा काम गर्न पठाइएको थियो । यो कुराले अस्ट्रेलियालाई सुनको हर्षपूर्ण युगको आरम्भ गरायो ।

    डा. हमालका अनुसार सुन खानी उत्खनन्का लागि उनीहरुले चिनियाँलाई बोलाए । तिनै चिनियाँहरु अहिले पनि यहाँका खास खास धनीमानी मान्छेमा गनिन्छन् । सुन खानी भेटिएपछि ब्रिटिसहरु पनि यहाँ आएर बस्न थाले ।

    भनिन्छ, अस्ट्रेलियामा तीन प्रकारका नागरिक छन् । पहिलो- तिनै कैदीका छोराछोरी हुन्, जसले यो देश बनाएकोमा गर्व गर्छन् । दोस्रो- त्यतिवेलै आएका ब्रिटिस गोरेहरु र तेस्रो- त्यसपछि आउने ब्रिटिस तथा अन्य नागरिहरु । हमाल भन्छन्, ‘छुवाछूत यहाँ कतिसम्म छ भने पुराना गोरेले नयाँसँग वैवाहिक सम्बन्ध पनि कायम गर्दैनन् ।’

    अस्ट्रेलिया विश्वको प्र्रमुख खनिज उत्पादक देशमा पर्छ । यो विश्वको प्रमुख कोइला उत्पादक देशमा पर्छ । जहाँ मुख्यतः कालो र खैरो कोइला पाइन्छ । अस्ट्रेलिया सुनको पनि ठूलो उत्पादक मुलुकका साथै विश्वको प्रमुख लोहा उत्पादक र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक निर्यात गर्ने देश हो ।

    अस्ट्रेलियामा सिलिकनको ठूलो भण्डार छ । कपर, निकेल तथा जिंकको पनि प्रमुख उत्पादक हो । खैरो-चाँदी जस्तो देखिने निकेल कठोर, लचिलो र उच्च तापक्रम सहने क्षमतायुक्त धातु हो । विमानका इन्जिन, टर्बाइन र अन्तरिक्ष उपकरणहरूमा यसको प्रयोग हुन्छ । त्यस्तै आलुमिनियम निर्माण हुने बक्साइट खानी यहाँ छन् । डायमन्ड, प्राकृतिक ग्याँस र तेल, लिथियम आदिको उत्पादन पनि यहाँको प्रमुख स्रोत हो ।

    यसबाहेक कृषि उत्पादन र कर यहाँको स्रोत हो । यसले दूध, मासु, गहुँ, चिनीलगायत सम्पूर्ण खाद्यान्न, फलफूल यति उत्पादन गर्छ कि ८० प्रतिशत उत्पादन निर्यातमात्र गर्छ ।

    नेपालबाट आजभोलि धेरै मान्छे अस्ट्रेलिया आउने गर्छन् । उनीहरुलाई उनको एउटै सल्लाह छ- यहाँ पैसा फल्दैन । कठोर मेहनत गर्नुपर्छ भन्ने कुरालाई सम्झनुपर्‍यो । अर्को कुरा घरेलु हिंसालाई यहाँ ठूलो अपराध मानिन्छ । त्यसैले त्यसप्रति पटक्कै लापरबाही गर्नुभएन ।

    करको कुरा बडो रोचक छ । डा. हमालका दुइटा घरको भाडा २५ हजार डलर प्राप्त हुन्छ भने त्यसको १२ हजार डलर कर तिर्नुपर्छ । यो मालपोतवापतको रकम हैन । मालपोत तीन वटा घरको ५ हजार डलर तिर्दारहेछन् उनी । सरकारको वडो स्पष्ट जवाफ हुन्छ- घरघरमा सडक पुर्‍याउनुपर्छ, बिरामी हुँदा उपचार गर्नुपर्छ, वृद्ध अशक्त हुँदा पालनपोषण गर्नुपर्छ भने कर नलिएर के गर्ने ?

    हुन पनि दैनिक खर्चका लागि र यात्राका लागि बाहेक अन्य कामका लागि पैसा चाहिँदैन । मेडिकेयरले स्वास्थ्योपचारमा लाग्ने खर्च व्यहोर्छ भने विभिन्न अवस्थामा वृद्व भत्ता, बेरोजगारी भत्ता, सुत्केरी भत्ता, एकल महिला भत्ता इत्यादि र जनसंख्या कम हुन लाग्दा बच्चा जन्माउने भत्ता पनि विगतमा एक बच्चाको ५ हजार डलरसम्म दिएको रहेछ । हाल पनि सुत्केरीलाई ६ महिनासम्म तलबी बिदा दिने प्रावधान छ ।

    कृषिबाट कसरी फाइदा हुन्छ ?

    कृषिका ठूल्ठूला फर्महरु छन् दुईचार सय बिघा वा सोभन्दा बढीका । खेतीपातीका लागि सरकारले पानी, मल, बीउमा पर्याप्त अनुदान दिन्छ एकातिर भने अर्कोतिर काम गर्ने जनशक्ति धेरै चाहिँदैन । झार उखेल्ने, बीउ छर्ने, पानी हाल्ने, खेती स्याहार्ने सबै काम एउटा कोठाबाट एकदुई व्यक्तिले मेसिनबाट गर्न सक्छन् । कुन कुन समयमा पानी हाल्ने हो भनेर समय कम्प्युटरले तोकिदिएपछि आफैं पानी हालिन्छ । झार उखेल्न मान्छे खेतबारीमा जानै पर्दैन । ड्रोनबाटै सबै काम हुन्छन् ।

    कुनै पनि खेती मनलाग्दी गर्न पाइँदैन । सरकारले जहाँ जे हुन्छ, त्यही गर्न भनेको हुन्छ । तदनुसार गरेपछि प्रायः नोक्सान हुँदैन र कथं प्रतिकूल मौसमका कारण समस्या भयो भने सरकारले क्षतिपूर्ति दिन्छ । त्यसैले कृषिमा ढुक्कसँग लगानी गर्दा हुन्छ । यसो गर्दा कृषि कर्म गर्नेले पर्याप्त नाफा कमाउन सक्छन् । यद्यपि केही व्यापारिक कम्पनीले भाउमा समस्या भने पार्ने गर्छन् ।

    नेपालबाट आजभोलि धेरै मान्छे अस्ट्रेलिया आउने गर्छन् । उनीहरुलाई उनको एउटै सल्लाह छ- यहाँ पैसा फल्दैन । कठोर मेहनत गर्नुपर्छ भन्ने कुरालाई सम्झनुपर्‍यो । अर्को कुरा घरेलु हिंसालाई यहाँ ठूलो अपराध मानिन्छ । त्यसैले त्यसप्रति पटक्कै लापरबाही गर्नुभएन ।

    डा. हमाल अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्थामध्ये एक अस्ट्रेलिया नेपाल फ्रेन्डसीप सोसाइटी (एएनएफएस)को अध्यक्षमा ९ वर्ष, पछिल्लो वर्ष फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अस्ट्रेलिया (फेन्का) को अध्यक्ष र हाल संरक्षक परिषद्को अध्यक्षका रुपमा निरन्तर सेवा गरिरहेका छन् । यो संस्था उनी यहाँ आउनुभन्दा पहिल्यै अस्ट्रेलियन नागरिक मिक्की वेदरअलले जन्माएका थिए, जसले नेपालमा गएर इन्जिनियरिङ काम गरेका थिए । उनी झर्रा नेपाली भाषा बोल्न सक्थे । उनलाई लागेछ कि यहाँ आउने थोरै नेपाली संगत नपाएर मानसिक चिन्तामा हुँदा रहेछन् ।

    उक्त संस्थामा धेरै अस्ट्रेलियन र थारै नेपाली थिए पहिला । नेपालबाट आउनेलाई घरमै लगेर खाना खुवाउने, रमाइलो महसुस गराउने जस्ता काम गर्दा रहेछन् मिक्की वेदरअल र डा. हमालले पनि । ‘तर अहिले त्यस्तो वातावरण छैन । नेपालीहरु पनि त्यति बोल्न चाहँदैनन् । शुरुशुरुमा त मैले आफैं सोधेर परिचय लिने गर्थें’, हमाल भन्छन् ।

  • १२ कक्षाका विद्यार्थीको सपना-संघर्ष अनि अंक खोज्ने परिवार र समाज

    १२ कक्षाका विद्यार्थीको सपना-संघर्ष अनि अंक खोज्ने परिवार र समाज

    “कक्षा १२ पास गर्नुपर्छ,” भन्ने वाक्य हरेक विद्यार्थीको कानमा दिनरात गुन्जिन्छ। नेपालका धेरै किशोर-किशोरीका लागि कक्षा १२ मात्र एउटा शैक्षिक चरण होइन, यो एउटा सपना, जिम्मेवारी, र संघर्षको मार्ग हो। यो समय उनीहरूको जीवनमा सबैभन्दा चुनौतीपूर्ण समय हो, जहाँ उनीहरूलाई आफ्नो भविष्यप्रति मात्र होइन, परिवार र समाजको अपेक्षाप्रति पनि उत्तरदायी बन्नुपर्छ ।

    १२ मा अध्ययनरत विद्यार्थीहरूको जीवन बिहान पाँच बजे सुरू हुन्छ । बिहान पढाइ, दिउँसो कक्षा, बेलुका ट्युसन, अनि राति गृहकार्य र परीक्षा तयारीमा बित्छ । उनीहरूको दिन यसरी व्यस्त छ, मानौं उनीहरू रोबोट हुन्। यो समय उनीहरूले आफूलाई एक सेकेन्ड पनि फुर्सद नदिइकन आफ्नो भविष्य निर्माण गर्नका लागि होमिदिन्छन् ।

    उनीहरूको मनमा ठूला सपना हुन्छन्-डाक्टर, इन्जिनियर, पाइलट, वा अन्य प्रतिष्ठित करियर । नेपालमा अवसरको कमी र प्रतिस्पर्धा अत्यधिक बढेकाले, धेरै विद्यार्थी विदेश जानका लागि बाध्य छन् । आफूलाई आत्मनिर्भर बनाउनका लागि, र जीवनमा राम्रो अवसरको खोजीमा, विद्यार्थीहरू विदेशका विश्वविद्यालयमा अध्ययन गर्ने निर्णय लिन्छन् । तर, ती सपनाहरू पछाडि एउटा ठूलो संघर्ष लुकेको छ ।

    “सपना पूरा गर्न पढाइमा केन्द्रित होऊ” भन्ने परिवारको दबाब, समाजको “सर्वोत्तम नतिजा ल्याउनु पर्छ” भन्ने अपेक्षा, र आफ्नै भविष्यप्रतिको डरले उनीहरूलाई लगातार पिरोलिरहन्छ ।

    विद्यार्थीहरूले कति बलिदान गरेका छन्, त्यो समाजले देख्दैन । उनीहरूले आफ्नो रुचिका विषयमा ध्यान दिन सकेका छैनन् । खेलकुद, संगीत, र सिर्जनात्मक कार्यहरू उनीहरूको जीवनबाट हराउँदै जान्छन् । आफ्ना साथीभाइसँग रमाइलो गर्ने समय उनीहरूले किताबहरूमा खर्च गर्छन् ।

    कति विद्यार्थीहरूले आर्थिक समस्याका कारण अध्ययनसँगै काम पनि गर्नुपर्छ। बिहान कलेज गएर, दिउँसो पार्ट-टाइम काम गरेर, अनि राति ढिलोसम्म पढेर उनीहरूले दिन कटाउँछन् । थकानको बाबजुद, “मैले राम्रो अंक ल्याएर आफ्नो परिवारको इज्जत राख्नुपर्छ” भन्ने सोचले उनीहरूलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छ।

    कक्षा १२ का विद्यार्थीहरूको संघर्षमा सबैभन्दा गहिरो छाप परिवार र समाजको अपेक्षाले पार्छ । “तिमीले पास गरेर राम्रो नतिजा ल्यायौ भनेमात्र हाम्रो सपना पूरा हुनेछ” भन्ने परिवारको आशाले उनीहरूको मनमा डर उत्पन्न गर्छ। समाजले उनीहरूलाई केवल नतिजाका आधारमा मूल्याङ्कन गर्छ। “किन राम्रो अंक ल्याएनौ?” “तिमीले प्रयास गरेनौ कि के हो?” जस्ता प्रश्नहरूले उनीहरूको मनोविज्ञानमा गहिरो असर पार्छ।

    धेरै विद्यार्थीहरूले आफ्नो पूर्ण प्रयास गर्दा पनि असफलताको सामना गर्नुपर्छ। परीक्षा नसकेको डरले उनीहरूलाई रातभरि निदाउन दिँदैन । के गर्ने, कहाँ जाने, के पढ्ने भन्ने भविष्यप्रतिको अन्योलताले उनीहरूलाई निराशा र एक्लोपनको भूमरीमा पार्छ ।

    कक्षा १२ का विद्यार्थीहरूको संघर्ष केवल नतिजाका लागि होइन। उनीहरूको सपना, प्रयास, र बलिदानलाई बुझ्न आवश्यक छ। परिवार र समाजले उनीहरूको मेहनतको कदर गर्दै उनीहरूलाई मानसिक रूपमा सहयोग गर्नुपर्छ । “नतिजा जे भए पनि तिमीले गरेको प्रयास महत्वपूर्ण छ” भन्ने भावनाले उनीहरूलाई आत्मविश्वास दिन सक्छ।

    विद्यार्थीहरूको जीवन केवल अंकका लागि होइन । तिनका सपना, संघर्ष, र सम्भावना सबैले कदर गर्नुपर्छ ।

  • के मुख्यसचिव पद जागिर थाम्न संस्थागत भएको पद हो ?

    के मुख्यसचिव पद जागिर थाम्न संस्थागत भएको पद हो ?

    नेपालको इतिहासमा कोत पर्वलाई इतिहास परिवर्तन गर्ने घटना मानिन्छ । यो घटनाले नेपालको सत्ता र शक्तिभित्र जस्तोसुकै षड्यन्त्र पनि हुन्छ भन्ने चरितार्थ गर्छ । त्यसपछि बागमतीमा थुप्रै पानी बग्यो । हिजोको कोत पर्व आज पनि सत्ता र शक्तिमा त्यत्तिकै छ । समय परिवर्तन अनुसार यसका हतियार फरक छन् । राजनीति वा प्रशासन सबै ठाउँमा पद हत्याउने र कुनै तरिकाबाट पदमा पुग्ने नैतिक, अनैतिक तिकडम प्रवृत्ति घट्ने होइन, बढ्दो क्रममा छ । यो प्रवृत्तिले शासन र प्रशासनमा सही र निर्णायक मान्छे पुर्‍याउँदैन र सधैँभरि उच्च पद राजनीति खेलाडीका लागि पुर्जा बन्छन् । आज प्रशासनका उच्च पदको अवस्था यस्तै छ ।

    २०८१ साल निजामती प्रशासनको लागि इतिहास बन्यो । निजामती सेवाले महिला मुख्य सचिव पायो । यो खुसीको कुरा हो । तर के यो नियमित थियो ? अहिले हाम्रोमा दुई जना मुख्य सचिव छन् । दुवै कानुनी हुन् । एक जना नियमित र अर्को आकस्मिक । एउटालाई निजामती सेवा ऐनले चिन्छ । अर्को पदलाई कानुनले । तर दुवै जना कार्यरत छन् ।

    चार महिनाभित्र हाम्रोमा दुई वटा मुख्य सचिव नियुक्ति भए । तर बहालवाला मुख्य सचिव छँदै थिए र उनको मुद्दा अदालतमा विचाराधीन थियो । निजामती सेवा ऐनमा पद विचाराधीन रहँदा, मुख्य पदीय व्यक्ति बहाल नहुँदा सो पदमा कायम मुकरर गर्ने व्यवस्था छ । तर मुख्य सचिवको पदमा यो लागु भएन । मुख्य सचिवको पदमा कायम मुकरर गरिएको इतिहास नभएको होइन । अहिले अदालतको क्लिन चिटपछि मुख्य सचिव डा. वैकुण्ठ अर्याल हाजिर हुनुभएको छ । तर उनको पद बहाल भएन । के यो पद जागिर थाम्न संस्थागत भएको पद हो ? यो विषय जटिल कानुनी प्रश्न हो । यो नजिर बन्छ । किनकि मुख्य सचिवको पदलाई नै अन्योल बनाउने र तीन महिना भित्रै अदालतको फैसला हुँदा पनि पद बहाल नहुने अवस्थाले पछि यो पदमा षड्यन्त्र नहुने कुरै भएन । किनकि हाम्रो मनोवृत्ति नयाँ सिद्धान्त वा नीति स्थापित गर्नुभन्दा नजिरलाई दोहोर्‍याउन बढी आतुर हुन्छौँ । यो घटना निजामती सेवकको लागि दुर्दिनको सुरुवात हो ।

    संघीयतापछि पद र संगठनमा थुप्रै सुधार गर्नु थियो । थुप्रै विभाग मन्त्रालय समिति गठन गर्नु छ । विघटन गर्नु छ । तर केन्द्रमा जस्तै प्रदेशमा समेत संस्था स्थापित भए । योजना आयोग, नीति प्रतिष्ठान समेत प्रदेशमा बन्दै गए । यसले सरकारी खर्च मात्र बढाएन, कार्य सम्पादनको अन्यौलता समेत थपिदियो । संघ, प्रदेश र स्थानीय अधिकार स्रोत साधनको विषय अझै सैद्धान्तिक नै छ र संघीयताले प्रतिफल दिन सकेको छैन । यो विषयमा प्रशासनिक नेतृत्व र विज्ञता लाग्नुपर्नेमा अहिले मुख्य पद नै मनोवैज्ञानिक रूपमा ग्रस्त छन् । यसले हामीलाई सुशासन दिन्छ ? कर्मचारी नै विभाजित भइसकेपछि सेवा प्रवाह खरिद बिक्रीमा हुन्छ । अहिले सेवा प्रवाह गर्ने प्राय मन्त्रालयका पदको सरुवा खरिद बिक्रीमा छ । खुलेआम छ । यसप्रति उच्च पद सजग र निगरानीमा हुनुपर्ने हो । तर ती पदले नै उच्च नैतिकता देखाउन सकेका छैनन् । के यो अन्योलताले हाम्रो प्रशासन माथि राजनीतिले विश्वास गर्ला रु मुख्य सचिवको पदमा कायममुकायम नियुक्ति नगर्नुमा राजनीतिसँगै प्रशासनिक नेतृत्वको स्वार्थ कम छैन । आज समग्र प्रशासन संयन्त्र यिनै र यस्तै थुप्रै कारणबाट निराश छ ।

    निजामती सेवा ऐन ल्याउन हामीलाई हतार छैन । कार्यसम्पादनमा जेसुकै असर परोस् । पद सिर्जना गर्न र सुविधा लिन त्योभन्दा बढी हतार छ । हाम्रोमा दोहोरो सुशासन छ । सरकारी सेवामा पहुँच हुने र नहुनेको सन्तुष्टि फरक छ । सेवा प्रवाह हुँदैमा सुशासन प्राप्त हुँदैन । यसले सन्तुष्टि दिनुपर्छ । पहुँच र पैसा हुनेको सन्तुष्टि भिन्नै छ । अख्तियार र अदालतको आँखामा समेत यिनीहरू दोषी हुँदैनन् । तर, जोसँग पहुँच र पैसा छैन, उनीहरूले सेवासमेत सरल तरिकाले पाउँदैनन् । यसको कारण सेवाग्राही होइनन् । सेवा प्रदायक नै हुन् । माथिल्ला निर्णायक पदले उच्च नैतिकता राख्न नसकेपछि तल्ला पद स्वतः बिचौलिया हुन्छन् ।

    मुख्य सचिवको पद प्रशासन र राजनीतिको सेतु हो । अहिले थुप्रै प्रशासनिक चुनौती छन् । कर्मचारी विभाजित छन् । भ्रष्टाचार उच्च छ । नियम कानुन अन्योल छन् । सेवा समूहको अन्योलताले कर्मचारी आन्दोलित छन् । स्थानीय तहका कर्मचारी निजामती सेवामा नसमेटिएकोले असन्तुष्ट छन् । सरुवा अन्योल छ । सरुवा भित्र व्यापक भ्रष्टाचार छ । कुनै निर्णायक र स्थिरताका निर्णय सचिव बैठकमा समेत हुन सक्दैनन् ।

    राजनीति नेतृत्वको हेक्का प्रशासन भित्र भित्रसम्म पुग्दैन । कर्मचारी झण्डै–झण्डै अभिभावक विहीन जस्तै छन् । गुनासो सुन्ने नेतृत्व र निकाय छैन । सेवाग्राहीमा पैसा दिएपछि मात्र सेवा पाइन्छ भन्ने विश्वास बढ्दो छ । यस्तो अवस्थामा स्थिर ऐन कानुन ल्याएर सेवालाई मजबुत बनाउनुपर्नेमा उच्च पद नै अनैतिक मर्यादाबाट पदमा पुग्न ग्रस्त छन् । यो सन्देश वडा तहको वडा सचिवसम्म जस्ताको पुगेको छ । के यो दोहोरो मापदण्डले सुशासन प्राप्त हुन्छ ? पहुँच पैसा र शक्ति हुने र नहुनेको बीचमा सुशासनको सन्तुष्टि नै फरक छ । यो दोहोरो सुशासन कायम गर्न मुख्य सचिवको पद ‌मर्यादित हुनैपर्छ । प्राय अमूर्त जस्तो बस्ने तर, निजामती सेवकको अत्यन्तै विश्वासिलो मुख्य सचिवको पद अहिले प्रश्न चिन्हमा छ । यो समग्र प्रशासनले नै गहिरो तरिकाले सोच्ने विषय हो ।

    (दाहाल नेपाल सरकारका सहसचिव हुन् । उनी नेपाल ट्रस्टको कार्यालयमा कार्यरत छन् ।)

  • पाँच पोखरीमा पहिलो पाइला

    पाँच पोखरीमा पहिलो पाइला

    म सानै हुँदा नेपाल टेलिभिजनबाट एक टेलिफिल्म आउँथ्यो । जसको नाम थियो- ‘अविरल बग्दछ इन्द्रावती ।’ त्यसका लेखक रमेश विकल यो संसारमा नभएको धेरै भइसक्यो । त्यो पढेको र टेलिफिल्म पनि हेरेकोले मेरो दिमागबाट त्यसको प्रमुख पात्र शोभिते, गिरी मास्टर र इन्द्रावती हराएको थिएन ।

    लेखकले जहिले जस्तो अवस्थामा लेखे पनि सिर्जना र प्रकृति जहिल्यै वर्तमानमा रहन्छ । अविरल बगिरहेको इन्द्रावती नदी हेरिरहँदा मैले भैरव अर्यालले लेखेको ‘टाउको’ निवन्ध सम्झिएको थिएँ । अनि इन्द्रावती नदीको टाउको कहाँ होला भन्ने लागिरहेको थियो । यसपाला इन्द्रावतीको टाउकोमा जाने संयोग जुर्‍यो । यो ठाउँ अहिले उपत्यका नजिकको प्रख्यात ट्रेकिङ रुटमा चर्चामा रहेछ । ४ हजार २२० मिटरको उचाइमा रहेको पाँचपोखरी भ्यु प्वाइन्टमा जाने हामी तीन जनामात्रै होला भनेको त हैन रहेछ । त्यहाँ त गजबको भीड हुने रहेछ ।

    ०००

    पाँच पोखरीको कथा यस्तो छ ।

    उहिलेको समयको कुरा हो । आजभन्दा २ हजार ३४१ वर्ष अगाडि बुम्बा रुवा वाइवा शिकार खेल्दै त्यहाँ पुगे । उनी जाँदा त्यस ठाउँमा हिउँ परिरहेको थियो । उनलाई अचम्म लागेछ । यस्तो हिउँमा धान रोप्ने यी को होला भनेर नजिकै गए वाइवा बाजे । उनी जब नजिक पुगे । त्यहाँ भएका एक पुरुषसहित सम्पूर्ण अलप भए । पछि थाहा पाए, ती पुरुष भगवान महादेवको रुप र रोपाहारहरु महादेवका गण रहेछन् । उनले तत्कालै आफ्नो शिकारी कुकुरको गलामा रहेको घन्टी फुकाली त्यही झुण्डाए र केही समयपछि महादेवको मन्दिर बनाए । त्यसपछि त्यहाँ पूजाआजाको चलन चल्यो । आज पनि महादेवले रोपाइँ गरेको ठाउँमा धानको बाला भेटिए धनवान होइन्छ भन्दै खोज्ने चलन छ ।

    अर्काे कुरा यो पाँचपोखरीमा हाँसको एक सुन्दर जोडी रहेको किवंदन्ती छ । त्यो जसले देखे पनि भाग्यशाली हुन्छ भनिन्छ । हाँसको जोडी खोज्ने पनि उत्तिकै छन् । यहाँ एक चिज वर मागे महादेवले पूरा गरिदिन्छन् भन्ने जनविश्वास छ । धेरैको वर पूरा भएको पनि छ भनेरै त्यति टाढा मान्छेहरु धार्मिक आस्थाअनुसार पुग्ने गर्छन् । यति कुरा यहाँको शिलालेखमा लेखिएको पनि छ र वाइवा बाजेको सालिक पनि छ । तामाङ संस्कृति परम्परामा त यहाँ नआइकन धामीहरु नै परिपक्व हुँदैनन् भन्ने पनि रहेछ । त्यसैले भाद्र महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म यहाँ ठूलो मेला लाग्छ । यहाँ त्यो समयमा धामीहरु पनि ढयाङ्ग्रो ठोकेर बसेका हुन्छन् ।

    पछि थाहा पाए, ती पुरुष भगवान महादेवको रुप र रोपाहारहरु महादेवका गण रहेछन् । उनले तत्कालै आफ्नो शिकारी कुकुरको गलामा रहेको घन्टी फुकाली त्यही झुण्डाए र केही समयपछि महादेवको मन्दिर बनाए । त्यसपछि त्यहाँ पूजाआजाको चलन चल्यो । आज पनि महादेवले रोपाइँ गरेको ठाउँमा धानको बाला भेटिए धनवान होइन्छ भन्दै खोज्ने चलन छ ।

    यात्राभर तामाङ संस्कृति बाटैभरि देखिन्छ । वाइवाको कहानी बाटैभरि सुनिन्छ । एक वाइवाको सन्तान अहिले ७०० घर भए भनिन्छ । यहाँ हिन्दू सभ्यता बाँचेको छ । बौद्ध सभ्यता छ । नामहरु पनि त्यस्तै छन् । हामी छिम्तीमा ओर्लनेबित्तिकै बसेको होटलको नाम नै भीम अर्जुन शंकर होम स्टे थियो । बाटैभरि यस्तै नाम सुनिए, पढिए, देखिए ।

    ०००

    पाँचपोखरीको नाम पहिलो पल्ट मैले पाँचपोखरी बुक्सको सुनेको थिएँ । लेखन कुञ्ज चलाउन थालेपछि चिने, त्यस बुक्सका मालिक राम श्रेष्ठ । उनले पाँचपोखरीकै नाममा बुक्सको नाम किन राखे ? फर्केपछि उनलाई सोधे । पाँचपोखरी वडा नं ६ का वासिन्दा उनी त्यही मन्दिर र आफ्नै गाउँ भएर बुक्सको नाम पोखरीको नाममा राखेको बताए । पाँचपोखरी गएर फर्कंदा बौद्धमा मेरै गाडीको अगाडि पाँचपोखरी यातायत पनि देखें ।

    एक राम्रो प्रकृतिको नाममा अनेक नाम बनेको हुन्छन् । पाँचपोखरीको नाममा धेरै नाम रहेको पछि थाहा पाउँदै गएँ । मलाई लाग्थ्यो त्यो धेरै नामको उदगमस्थल, नदीको उदगमस्थल कस्तो होला ? जाने मन थियो, संयोग जुरिरहेको थिएन । यसपाला जुर्‍यो । यात्रा नयाँ थियो । पुराना साथी थिए । नयाँ यात्रा पुरानो साथी एक सुन्दर कविता पढे झैं लागिरहेथ्यो । त्यो यात्रा सुनौलो हुने नै भयो ।

    हामी तीनै जना मूलपानी काठमाडौंका बाल्यकालका सखा थियौं । कर्मको आधारमा नामको अगाडि उपनाम जोडिन्छ । साथीहरुको पनि उपनाम जोडिसकेको थियो । सुरेन्द्र फुँयालले आफ्नो नामको अगाडि पत्रकार लगाइसकेको थियो । ज्योतिराम फुँयाल अधिवक्ता । जन्मजत्तिकै पुराना साथीसँग पुरानै कुरा बढी भए । बचपनको उत्खनन गरियो । पेशा व्यवसायका कुरा भए । हामी तीनै वयस्क भइसकेका थियौं । बचपन खोजेर नपाउने थियो, तर उनीहरुसँग मेरो बचपन थियो । खुशी थियो । साथी थेरापी पनि हो । प्रकृति र प्रेमिल साथीको थेरापीमा थियौँ हामी । पेशा व्यवसायका कुरा, हिजोका कुरा, आजका कुरा । बाटो काट्ने एक माध्यम नै कुरा हो । अनेकौं कुरा भए ।

    बाल्यकालका सामूहिक सम्झना थिए । तिहार आउँदै गर्दा हामी एक महिनाअघि देखि लट्ठी बनाउने, क-कसको घरमा जाने, कसरी देउसी खेल्ने, कसको घरमा बढी पैसा दिन्छ, त्यसकोबाट सुरु गरौं भन्ने कुरा हुन्थ्यो । फेरि राति सुते भने के गर्नू भन्ने कुरा । अनि भटाउने शैली, अनेक कुरा भए । कुराका भकारी नै छन् । लेखे कथा, नलेखे व्यथा भनेर हिँड्दैछु आजभोलि । त्यो पाँच दिनको कुरा गर्ने हो भने सिंगो लेख त्यतातिर जान्छ ।

    उक्लने र ओर्लनेको संवाद सुन्दा उकालोले ओरालोसँग बात मारे झैं लाग्थ्यो । फर्कने र जानेको संवाद गरेको सुन्दा नेपालीको कति मीठो चलन भन्ने लाग्यो । बाटोमा अब कति बाँकी, फलानो ठाउँ पुग्न कति समय लाग्छ भन्ने मात्रै कुरा हरेकसँग हुन्छ । त्यतिमात्र हैन, मिल्ने भए जन्म कुण्डली लिएर नाता लाएर नम्बर लिनेसम्म पनि यात्रामा एकैछिनमा हुन्छ ।

    म यहाँहरुलाई पाँचपोखरी लैजान चाहन्छु । यात्रामा अनेक मान्छे अनायासै जोडिन आउँछन् । यो यात्राको रमाइलो चिज हो । पाँच पोखरी जान भोटाङ छिम्ती पुगेकै दिन एक जना बहिनी मोबाइल हरायो भनेर आइन् । अत्यासलाग्दो उनको अनुहार मोबाइलमा कल जाने नउठाउने र अहिले अफ हुने भन्ने कुराले चिन्तित थियो । आममान्छे पहिला नेगेटिभमै जान्छ । ‘ला कसले लियो होला मेरो फोन अनि अफ ग¥यो’ भनेर उनी चिन्तित भइन् । उनलाई अर्काे साथीले सिकायो । ‘म प्रहरीको मान्छे हुँ मेरो मोबाइल तपाईसँग छ, खुरुक्क दिनुस् । नत्र फन्दामा पर्नुहोला’ भनेर मेसेज गर्नुस् न ।’

    उनीहरुले अर्काेको मोबाइल लिएर मेसेज पनि गरे, तर पछि एक जनाले मोबाइल त्यही होटलमा कसैको हुनसक्ने भनेर छाडेर गएछ । फोन स्वीच अफका अफ रहेछ । त्यो मेसेज तिनै बहिनीले खोल्नेबित्तिकै हेरिछन् । हामी प्रायः पहिले नकरात्मकतामा किन जान्छौं भन्ने मलाई पनि मनमा परिरह्यो । उनले पनि र धेरैले सोच्न सकेनन्, त्यो मोबाइलमा ब्याट्री चार्ज कम भयो र अफ भयो होला भनेर । मोबाइल भेटेर दिने पनि हुन्छन्, सोच्नै सकेनन् । ल लग्यो, ल सक्यो, यस्तै कुरा बढी छ अहिले ।

    समाजमा भन्ने प्रतिनिधि घटना छिम्तीमा रातको खाना खानै गर्दा देखियो । भन्न त होटलको साहुजी भीम वाइवाले भनेका थिए, ‘यहाँ केही हराउँदैन । केही खराबी हुदैन ।’ मान्छे मान्छे भएर रहेको यो प्राकृतिक ठाउँ रहेछ भनेर खुशी भए म भित्रभित्रै । म त मान्छे मान्छे नबनिरहेको, मान्छे मान्छे बनेर नमरेको, हार्दिकता, प्रेम, सम्मान, माया, दया, क्षमा करुणा र मैत्रेय मान्छेमा नदेखेर अघाइसकेको थिएँ । आफ्नै लागि मात्र बाँच्ने मान्छेले दर्जनौं रुख काटेर एक रुख नरोपेको देखेको मलाई खुशी लाग्यो त्यो दृश्य देखेर ।

    ०००

    पाँचपोखरी जाने ढोका छिम्ती जान काठमाडौं नारायणटारबाट दुइटा गाडी बिहान ६ र ८ बजे जाने रहेछन् । टिकट नपाएर ज्योति र म मेरै गाडीमा अनि सुरेन्द्र (एसपी) बाइकमा जाने सल्लाहअनुसार त्यहाँ पुगेका थियौं । पहिलो रात छिम्तीमा सुतियो । प्रदूषण नपुगेको ठाउँ छिम्ती गजबकै रहेछ । त्यहीको आकाश र फुलेको फूल मस्त मनमोहक लागिरहेको थियो । झन पाँचपोखरी त कस्तो होला भनेर भित्रभित्रै काउकुती लागिरहेको थियो । भोलि पल्टको हिँडाइ उकालो थियो । त्यही भएर चाँडै सुतौं भनेर तीन जनालाई तीन वटा खाट लिएर एकै कोठामा सुत्यौं । खाना र सुताइको प्रतिव्यक्ति ६०० रुपैयाँ थियो । भोलिपल्ट बिहान अन्डा, चना, चिया खाएर केहीबेर तेर्साे बाटो हिँडेपछि उकालो सुरु भयो । हाम्रो उकालो, फर्कनेको ओरालो थियो ।

    नदीको कलकल सँगैको काठे पुल हरियाली हेर्दै हामी हिँडिरह्यौं । बाटोमा रुखका रङ्गहरु हरियोबाट पहेलो बन्दै थिए । रातो रुख पनि देखियो । चरा र पुतलीले ल्याएर रोपेका यी रुखहरु कहाँबाट कसरी आए होलान्, त्यो सम्झँदा पनि मन फुरुङ्ग हुँदै आयो ।

    मैले कवि तुलसी दिवसको बाटो कविता सम्झें-

    हिँड्दाहिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि
    हिँड्नेको पनि केही लाग्दोरहेनछ ।
    उक्लँदाउक्लँदै उकालोमा उक्लिएकै बाटो नै ओर्लिएपछि
    उक्लनेको पनि केही लाग्दोरहेनछ ।
    ओर्लंदाओर्लंदै फेरि ओर्लेको बाटो नै उक्लिएपछि ओलर्नेको पनि केही लाग्दो रहेनछ ।

    पहाडी बाटोको मर्म बोकेको यो कविता जस्तै हाम्रो यात्रा थियो । कविले भने जस्तै यहाँ त जाँदा उकालोमात्रै धेरै र आउँदा ओरालोमात्रै धेरै रहेछ ।

    ०००

    उक्लने र ओर्लनेको संवाद सुन्दा उकालोले ओरालोसँग बात मारे झैं लाग्थ्यो । फर्कने र जानेको संवाद गरेको सुन्दा नेपालीको कति मीठो चलन भन्ने लाग्यो । बाटोमा अब कति बाँकी, फलानो ठाउँ पुग्न कति समय लाग्छ भन्ने मात्रै कुरा हरेकसँग हुन्छ । त्यतिमात्र हैन, मिल्ने भए जन्म कुण्डली लिएर नाता लाएर नम्बर लिनेसम्म पनि यात्रामा एकैछिनमा हुन्छ । यसमा साथी एसपीभन्दा ज्योति खप्पिस थियो । हामी उक्लँदा होस् वा ओर्लंदा मान्छेहरुसँग बोल्दै हिँडेका थियौं । नेपालीको त्यो हार्दिकता मन प¥यो । विदेशी आँखा ठूलो पार्ने र हाई हेलोमात्रै गर्छन् । कर्टसि मात्र गर्छन् । नेपालीले भने मन नै दिने, भएको खानेकुरा दिन्थे । सुगन्धित नेपाली बास्ना यो नयाँ पुस्तामा पनि रहेछ मज्जा आयो ।

    बाटोका अजंगका पहाडका अगाडि अहंकार सानो हुन्छ । नदीको अगाडि आफूसँग भएको पानी केही पनि लाग्दैन । प्रदूषण नपुगेको हावाले जिउँमा सररर हान्दाको मादकता नै अर्कै छ । त्यसैले त आजभोलि ट्रेकिङ, हाइकिङ हिँडिरहन्छु । आफ्नै सास आफैंले सुन्दै हिँड्दा ध्यान, प्राणायाम गरे झैं लाग्छ । चराको आवाज, रुखको आवाज आफैंले सुन्दै हिँड्दाको मज्जा मस्तै छ ।

    छिम्तीबाट हिँडेको केही बेरमा पाइपले पानी हानेर बनाएको झरना देखियो । नजिकै मस्तैको झरना थियो । किन बेकारमा पाइपले बनाएको होला, यसले भूक्षय पार्न सक्छ भन्दै एसपीले नेपालको विकास मोडलको लामो व्याख्या गर्न थाल्यो । झोलुङ्गे पुल पनि पहाडी यात्राको कडी हो । कुरा गर्दागर्दै झोलुङ्गे पुल आयो । यसपछि सुरु भयो उकालो । उकालो उक्लेपछि पछाडि फर्केर हेर्नुको मज्जा बेग्लै छ । उकालो उक्लदै सुस्ताउँदै पछाडि फर्केर हिँड्दा हरेक डाँडा दार्जिलिङ जस्तै लागिरहेथ्यो । बाटैभरि भरियाहरुले सामान ओसारेको ठूल्ठूला ट्यांकी, जस्तापाताहरु, टुरिस्टको लागि खाने सामानहरु देखिए । उनीहरु भारी बोकेर हामीलाई जितेर हिँड्थे ।

    त्यहाँको जंगल असाध्यै रमाइलो लाग्यो । एक चित्ताकर्षक चित्र जस्तै । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यो दिव्य जंगल लाग्यो । एकै रुखमा पनि पाँच रङ देखे । भर्खरै गएको पहिरोले बाटो खाँदै हिँडेको रहेछ । मान्छे र प्रकृतिको संघर्ष यहाँ पनि देखें । पहिरो र खोलाले बाटो खान खोजे पनि मान्छेले बनाइसकेका रहेछन् ।

    बौद्ध गेटहरुमा लेखिएको थियो टाँसी धेलेक । शेर्पा सभ्यता , गुम्बा सभ्यता र बौद्ध सभ्यता यसमा पोखिइरहेको थियो । अलि अगाडि हिँडेपछि देखियो देउराली होम स्टे । एकैछिन देउरालीमा चिया खाएर सुस्ताइयो । बस्यो हिँडनु धेरै छ भन्ने लाग्ने, हिँडे कुन बेला बस्ने होला भन्ने लाग्ने पनि त मानवीय स्वभाव हो । हामी त्यो स्वभावको पनि कैदी छँदै थियौं । बाटोभरि युवाहरु थिए । मेरै भाञ्जी निरुपा दुलाल पनि केही दिन अगाडि गएकी थिइन् । उनले भनेकी थिइन्, ‘मामा एकदम चिसो हुन्छ, पञ्जा र टोपी लिएर आइस्योस् ।’ उनैले भनेबमोजिम मेलम्चीमा टोपी किनेका थियौं ज्योति र मैले । बाटोमा उनी र उनको साथी सदीक्षा भेट भयो ।

    उनीहरुले भने, ‘चोकरभन्दा माथि फोन नलाग्ने मोबाइलमा चार्ज गर्न गाह्रो हुने हुन्छ । हजुरहरु चोकरमै बस्नुहोला ।’ एसपी पहिले पनि आइसकेको ऊ भने नोस्याम पाटीमा बस्नुपर्छ भन्दै थियो । हिँड्दाहिँड्दै ज्योतिको खुट्टाले हिँडन मानेन । ऊ त यतै बस्छु भन्न थाल्यो । मेरो हातको लट्ठी दिएर दुइटा टेकेर हिँड, म सँगै हुन्छु भनेपछि विस्तारै ऊ हिँड्न थाल्यो । पहाडी बाटोमा जति माथि गयो, उति गाई, गोरु वा बाख्रा नै किन नहुन ठूलो पुच्छर, अगाडि पनि झयाप्प रौं देखिन्छन् । मज्जाका जंगली बाख्रा देखिए । खुलेको आकाश निलो थियो । निलोमा सेतो बादल देख्दा आकाशले पनि हामीले सानोमा लगाउने स्कुल ड्रेस लगाए झैं लाग्यो । सायद कुनै सरले प्रकृति हेरेर स्कुल ड्रेस पो कल्पना गरेको हो कि भन्ने पनि लाग्यो ।

    यत्तिकैमा आयो दुप्खाङ चौर । सुतौं सुतौं लाग्ने चौर भए पनि पुग्नु टाढा थियो, त्यहाँ बसिएन । नदीको कलकल सँगैको काठे पुल हरियाली हेर्दै हामी हिँडिरह्यौं । बाटोमा रुखका रङ्गहरु हरियोबाट पहेलो बन्दै थिए । रातो रुख पनि देखियो । चरा र पुतलीले ल्याएर रोपेका यी रुखहरु कहाँबाट कसरी आए होलान्, त्यो सम्झँदा पनि मन फुरुङ्ग हुँदै आयो । मान्छेले आएर यो जंगलमा रोप्ने कुरा त भएन, तर कस्तो प्रकृतिको आर्ट जस्तो भएको यो ठाउँ भन्दै खुशी भयौं । भिडियो, फोटो खिचियो जंगल एक पेन्ट जस्तै भएको भन्दै । हरियो जंगलमा पहेंला, राता रुखहरु देख्दा मन्त्रमुग्ध भएका थियौं । यत्तिकैमा आइपुग्यो टुप्पी डाँडा । भरियाहरु भारी बिसाउँदै थिए । हामी पानी–चिया खान रोकियौं ।

    टुप्पी डाँडामा टुप्पी जस्तै रुख थिए । रुखहरु बेस्मारी कुदेको बाहुनको टुप्पी ठाडो भए झैं देखें । भैंसी खर्कबाट ठाडै उकालो लागेपछि पुगिन्छ टुप्पी डाँडो । टुप्पी डाँडोमा दालभात तरकारी, लोकल अचार अनि अकबरे खोर्सानी खाएर फेरि उकालो लागियो । एसपीले भने भात खाएन, उसले चाउचाउँमा तीनवटा अकवरे खोर्सानी खायो । तीन जनाले खाएको जम्माजम्मी एक हजार पनि परेन । केहीबेर त्यहीको बच्चासँग बात मार्दै फेरि हामी उकालो लाग्यौं । बच्चाहरुलाई जाडो नलागेको देखेर म दंग थिए । कस्तो हुने प्रकृति भन्ने कुरा लागिरहेको थियो । हामी उक्लेको मान्छे केहीबेर बस्दा चिसो भएर ज्याकेट थपौ भन्ने भइसक्यो । तीन वर्षे फुच्चे नाङ्गैभुतुङ्गै खेलिरहेका छन् ।

    केही बेरमा आयो ताम्बु खर्क । हामी २ हजार ८७८ मिटरको उचाइमा थियौं । हामी त्यो खर्क वा चौरमा बसेनौं । अगाडि लाग्दै गयौं । बाटोमा कुरा गर्दै जाँदा चिनेका मान्छे थुप्रै भेटिए । परिचय गर्दा ह्वात्तै बढेका चार पुस्ताभित्रको बालापनको साथी इन्दिराका छोरा आशुतोष भेटिए । फोटो खिचियो । अगाडि बढदै जाँदा रुखहरुसँग पनि फोटो खिचियो । सँगै रहेको रुख केही हरियो, पहेंलो र रातो देखेपछि हामी तीनै जनाको सेल्फी लिइयो । त्यहाँको जंगल असाध्यै रमाइलो लाग्यो । एक चित्ताकर्षक चित्र जस्तै । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यो दिव्य जंगल लाग्यो । एकै रुखमा पनि पाँच रङ देखे । भर्खरै गएको पहिरोले बाटो खाँदै हिँडेको रहेछ । मान्छे र प्रकृतिको संघर्ष यहाँ पनि देखें । पहिरो र खोलाले बाटो खान खोजे पनि मान्छेले बनाइसकेका रहेछन् । झोलुङ्गे पुलसम्मको त्यो ठाउँ असाध्यै रमाइलो लाग्यो । पुल पारि गएर चिया पिउँदै फेरि लाग्नु थियो उकालो ।

    उकालैउकालो, उकालैउकालो अलिकति हिँडदै बस्दै हिँडिरहयौं । पूरै भीरको बाटो थियो । अक्कडे बाटो । यताउता भयो भने सीधै कहाँ हो कहाँ ! बाख्रा हिँड्ने बाटोमा मान्छे हिँडिरहेका छौं झैं लाग्यो । आर्ट जस्ता ढुंगाहरु हेर्दै हिँड्यौं । ढुंगा जस्तो बादल र बादल जस्ता ढुंगामा हामी अनेक आकृतिहरु देख्थ्यौं ।

    उकालैउकालो, उकालैउकालो अलिकति हिँडदै बस्दै हिँडिरहयौं । पूरै भीरको बाटो थियो । अक्कडे बाटो । यताउता भयो भने सीधै कहाँ हो कहाँ ! बाख्रा हिँड्ने बाटोमा मान्छे हिँडिरहेका छौं झैं लाग्यो । आर्ट जस्ता ढुंगाहरु हेर्दै हिँड्यौं । ढुंगा जस्तो बादल र बादल जस्ता ढुंगामा हामी अनेक आकृतिहरु देख्थ्यौं । केही घोडा जस्तै, केही फूल जस्तै । केही मान्छे जस्तै, केही हाँस जस्तै । यस्तै यस्तै । हिँड्ने बाटो कटाउनु थियो । सुस्ताउँदै हिँड्नु थियो । लगेका ड्राइ फुड्स र नट्स तथा पानी खाँदै उक्लिरह्यौं ।

    यही देखिएको, आवाज सुनिएको ठाउँ पनि उकालोमा आधा घन्टा मामुली लाग्ने ! रातामाटे आयो । केके न होला भन्यो, दुईचार घर अनि सकियो । अगाडि बढ्दा चोकर आयो । रात पर्दै थियो । ६ बजेर समय अगाडि जाँदै थियोे । ज्योतिले म हिँडन सक्दिनँ भनेपछि न्योसाम पाटी पुग्ने एसपी पनि ब्रेक भयो । हामी त्यही बस्यौं- आगो बालेर लोकल चिकन र भात खाएर गीत गाएर अरु मान्छेसँग कुरा गरेर रमाइलो गर्दै । त्यहाँ जेनेरेटरबाट चार्ज गरियो मोबाइल । त्यो पनि एक सय तिरेर । सम्झना जम्मा १९ वर्षकी बहिनी र उसको बुढा २२ वर्षीयले होटल चलाएका रहेछन् । त्यो रात लस्करै तीनवटा डनलपमा तीनै जना सुत्यौं ।

    बिहान चना, अण्डा र चिया ब्रेकफास्ट गरियो । हामी कुरा गरिरहँदा उनीहरुले होटलबाट फालेको आहारा खान काली कौवा का का गर्दथ्यो । उसको मोटो स्वर सुन्दा पहाडका मान्छे बलिया र शहरका निर्धा देखिरहेको मलाई कौवा पनि शहरिया कमजोर मजबुर लागिरहेको थियो । नेट कहीँ कहीँ टिपे पनि हुस्सु आएपछि नेट डिसकनेक्ट हुँदोरहेछ । टुप्पी डाँडामा थोरै टिपेथ्यो, त्यसपछि त बन्दै भैगयो । छहराको छङछङ, खोलाको सनसन सुन्दै गफगाफ गर्दै खाजा, खाना र लत्रक्कै थाकेको हामी भसक्कै निडायौं । दोस्रो दिनको बास चोकरमा सकियो । बस्न र खान जम्मा एक जनाको ८०० रुपैयाँ थियो । त्यो तिरेपछि बाटो लाग्यौं ।

    तेस्रो दिन बिहानको हिँडाइ चोकरबाट पाँच पोखरीको थियो । अनवरत उकालो उक्लने पालो सकिएको थिएन । कहीँकहीँ तेर्सो, नत्र उही अर्थात उकालो । जति माथि, उति बढी कुहिरो । भरियाहरुसँग कुरा गर्दै हिँडियो । हिमाल चढ्नेहरुले राम्रो पैसा कमाउने रहेछन् । भरियालाई दिनको दुई हजार, गाइडलाई पाँच हजार र लिडरले त दिनको एक हजार पन्ध्र सय डलर लिने कुरा सुनियो । चालीस जनाको टोलीलाई पाँच जना विदेशीले दोर्जे लाक्पा हिमाल चढ्नलाई रोजगारी दिएका रहेछन् । हिमाल नेपालको ठूलो आम्दानीको स्रोत रहेछ भन्ने प्रत्यक्ष प्रसारण गरे हाम्रो कानमा उनीहरुले ।

    आफैँले हिँडेको बाटो हेर्दै, आफ्नै फुलेको सास सुन्दै, सुस्ताउँदै हिँडनुको विकल्प थिएन । आयो तापखर्क ३ हजार ४०७ मिटर उचाइमा । भरियाले पनि भारी बिसाए । हामी पनि बस्यौं । ज्योतिले टोपीले पसिना पुछ्दै भन्यो- ‘एकछिन बसौ न !’ एसपी तलै थियो । उसलाई कुर्नु पनि थियो । हामी बस्यौं केही बेर विविध बात मार्दै । तापखर्कबाट माथि लागेपछि रुखहरु सकिएका थिए । बुच्काबुच्कीहरु थिए । ती पनि राता हरिया थिए । त्यसमा हिमाली चरा भँगेरा बस्ने रहेछन् ।

    लौ आइ त हाल्यो नोस्याम पाटी ! नोस्याम पाटीको स्यामहरु नो श्याम नै भए । कोही श्याम नामक भेटिएन । त्यहाँ भएका तीनचार होटलमध्ये एकमा अदुवाको चिया खायौं । चौरमा सुस्तायौं । भिजेको गन्जी खोलेर अर्काे लगाउँदै घाममा त्यसलाई सुकायौं । ३ हजार ७०० मिटरको उचाइमा हामी थियौं । नेपाल टुरिजम बोर्डले सन् २०२० मा भिजिट नेपाल इयर मनाउन नपाए पनि यस्ता बोर्डहरुमा उचाइ, ठाउँ र आफ्नो प्रचार गरेको रहेछ । नोस्याम पुगेपछि त पाँच पोखरी आए झैं हुने । जति उक्लियो, उति ठूलो पहाड देखिन्थे । त्यो चढ्यो, फेरि ठूलो पहाड । जिन्दगी जस्तै थियो यात्रा । एक समस्याबाट पार लागेर अगाढि बढ्यो फेरि अर्काे समस्या आउँछ । प्रकृतिले पनि जिन्दगी सिकाइरहेको थियो । हेर, तिम्रो जीवनमा मात्र हैन, यहाँ पनि थुप्रै पहाड यस्तै छन् ।

    जति उक्लियो, उति ठूलो पहाड देखिन्थे । त्यो चढ्यो, फेरि ठूलो पहाड । जिन्दगी जस्तै थियो यात्रा । एक समस्याबाट पार लागेर अगाढि बढ्यो फेरि अर्काे समस्या आउँछ । प्रकृतिले पनि जिन्दगी सिकाइरहेको थियो । हेर, तिम्रो जीवनमा मात्र हैन, यहाँ पनि थुप्रै पहाड यस्तै छन् ।

    बिहान ९ बजे नोस्याम पाटी पुगेका हामी विस्तारै उक्लनुको विकल्प थिएन । फेरि उकालो कुहिरोमा हराउन लागियो लुखुरलुखुर । पहाड चढ्दा ज्योतिले मानव इतिहासको कथा र हामीसम्म ल्याएर जोड्ने कथा अटुट भन्दै जान्थ्यो । हामी दुई सुन्दै जान्थ्यौं । बाटोमा चौरीहरु भेटिन्थे । सामान लिन आइरहेका खच्चरहरु । जोके भन्ने चौरी र गाईको भाले अजंगको थियो । जसलाई सामान लिन छिम्ती लैजाँदै थिए व्यापारीहरुले । जोकेले घन्टी बजाउँदै म आए नभनिकन भनेको थियो । हामीले बाटो छाडिदियौं, हानिहाल्यो भने के गर्ने भन्ने लागेर ।

    चट्टान काटेर बिचबाट बाटो बनाउने मान्छेलाई सलाम दिँदै कुइरोमा हराउँदै हिँड्यौं । उकालोको सात घुम्ती आयो, जहाँ एउटामात्रै बाटो थियो । पाङसिङ बिसाउने भनेर बोर्डमा लेखेको देखियो केहीबेरमै । भित्तोमा देखियो ३ हजार ८९० मिटर । हामी कुइरोभित्र थियौ । यहीबाट त्यही नदेखिने, ठयाक्कै गोसाईकुण्डकै जस्तो लौरी बिना भएर राखिएका होला नाम लौरी बिना । त्यहाँ पनि कुइरोमा हराउने र ठाडै उकालो यहाँ पनि त्यस्तै थियो । लौरी बिना चढेपछि त झ्याप्पै अन्धकार जस्तै भयो । चिसो न चिसो थियो । जति नै चिसो भए पनि लौरी बिना चढेर सुस्ताउँदै ज्याकेट खोलियो । एकछिन सुस्ताउने बित्तिकै फेरि जाडो भयो । बिचमा मानी आयो । अब पाँचपोखरी केही समयमा आउँदै थियो । ओठ-मुख सुकेको थियो उकालो नै उकालोले । गाह्रो पनि निकै भइसकेको थियो । दुई दिनदेखि हिँडेको हिँड्यै थियौं । मानेबाट हिँडेको दश मिनेटमै आयो पाँच पोखरी । जुगल हिमश्रृङ्खला देखियो ।

    ०००

    साँझ ५ बजे पाँचपोखरीमा हाम्रो पहिलो पाइला पर्‍यो । शिकारी वाइवा आएको २ हजार ३४१ वर्षपछि हामी आएका थियौं । लाखौंलाख पाइलापछिको हाम्रो पहिलो पाइला थियो । त्यस्तो थाकेको हाम्रो थकाइ पाँच पोखरी पुगेपछि स्वाट्टै हरायो । जादु जस्तै भयो । भए जति सबै आजै हेर्न पाए हुने भन्ने लाग्यो, तर बिहान र घाम कुर्नुपर्ने रहेछ । अब होटलको बसोबासतिर लागियो । दुई ज्याकेट दुई टोपी लगाउँदा पनि जाडो भएर भित्रै आगोको छेउमा शेर्पा दम्पतीसँग बसियो ।

    केही बेरमा मान्छेहरु थपिँदै गए । उनीहरु पनि चुल्होको वरिपरि आए । एकछिन भएपछि इन्द्रावती नदीको मुहान र वाइवाले स्थापना गरेको मन्दिर हेर्छु भनेर म साथीहरु छाडेर गएँ । सानो कुलो जस्तो रहेछ इन्द्रावतीको शीर त ! हाम्रो ठूलो शरीरमा सानो टाउको जस्तै । अनि ठूलो आस्था भएको सानो मन्दिर देखें । अजंगको पहाड चट्टान हेर्दा पानी पर्दै थियो । पानी परेपछि हिउँ पर्छ भनेर एक जनाले तर्साए । जाडो बढी लाग्ने म फेरि आगोको नजिक आए, जहाँ ज्योति र एसपी बसिरहेका थिए ।

    एकछिन भएपछि इन्द्रावती नदीको मुहान र वाइवाले स्थापना गरेको मन्दिर हेर्छु भनेर म साथीहरु छाडेर गएँ । सानो कुलो जस्तो रहेछ इन्द्रावतीको शीर त ! हाम्रो ठूलो शरीरमा सानो टाउको जस्तै । अनि ठूलो आस्था भएको सानो मन्दिर देखें । अजंगको पहाड चट्टान हेर्दा पानी पर्दै थियो । पानी परेपछि हिउँ पर्छ भनेर एक जनाले तर्साए ।

    चिकेन खान नहुने च्याङ्ग्राको सुकुटी भने खान मिल्ने रहेछ । काटमार बन्देज रहेछ । तरकारीमा लसुन र प्याज बन्द रहेछ । चुलामा हाल्नै हुँदैन लसुन र प्याज भनेर हामीले चाउचाउमा समेत आफैं हालेर खायौं । केहीबेरमा खाना आयो । खाएर एक तले घरको बुइगल जस्तैमा लस्करै सुत्न गइयो । अरु मान्छे र हामी पनि सँगै बस्यो । तीन बहिनी घरभित्रै राखिएको टेन्टमा बसे । अरु सात आठ जना र हामी लस्करै सुत्यौं । निन्द्राबाट चिसोले बेलाबेलामा बिउँझिन्थें । घुरेको आवाज सुने पनि निन्द्राको संगीत भन्ने दिमागमा सेट गर्दै मज्जाले सुतें ।

    ०००

    बिहान साढे ५ बजे नै बिउँझिएँ । एक ट्वाइलेट, मान्छे अनेक । त्यसको हैरानी ब्यहोर्दै तातोपानी खाएर नित्य कर्म सकी सबै साथी उठाइ हिँडियो भ्यू प्वाइन्ट । एसपी एकछिनपछि आउँछु भन्यो । एक ग्रुप अर्काे पनि थियो । उनीहरुको पछि लागेर गएको कहाँको भ्यू प्वाइन्ट पुग्नु ! अर्कै पहाड चढिएछ । गाह्रो र हैरानी भएपछि माथि पुगेर पाँच पोखरी देखेपछि खुशी भए । फेरि तल ओर्लिएपछि भ्यू प्वाइन्ट नगई के जानु भनेर त्यहाँ गएँ । ८ बज्दै थियो । ज्योति सीधै होटल आयो । भ्यू प्वाइन्ट नगई के फर्कनु झैं लाग्यो ।

    बाटोमा हिजोका सँगै आएका अरु साथी फर्कंदै थिए । म भने लाज मान्दै माथि लागें । एसपीले माथिबाट बोलायो । खुशी लाग्यो । चौरीको चिया खाइयो । भ्यू प्वाइन्ट गएर फोटो खिचें । हिमाल पनि देखें । मन प्रशन्न भयो । पाँचपोखरीमा एक जनाको खाएको र सुतेको जम्मा एक हजार थियो । त्यो तिरेर हामी फर्कियौं । फर्कंदा एक रात बाटोमा टुप्पी डाँडा बस्यौं । बसेको खाएको जम्मा ६०० रुपैयाँ थियो । छिम्तीमा रहेको आफ्नो गाडी लिएर घरतिर आयौं । चार रात र पाँच दिनको यात्रा सकियो ।

    ०००

    फर्केपछि र अहिले पनि अद्भूत लागिरहेछ पाँच पोखरी । आकाशको रङ्ग तालमा देखिँदा मैले आफैंलाई एक पल्ट फेरि देखे झैं भएँ । मान्छेका पाइला जस्तै पाँच पोखरी किन पाँचमात्रै भयो ? किन चार, तीन वा ६ भएन होला भनेर मनमा प्रश्न आइरह्यो । सायद यो पनि पञ्च जनेन्द्रिय, कर्मेन्द्रिय, हातका औंला, खुट्टाका औंला, पञ्चशील, पञ्चतत्व, पाञ्चाली, शरीर विज्ञान र जीव विज्ञानका अनेक कुरा प्रकृतिमा पनि लागू भएको झैं लाग्यो । हरेक तालसँग कुनै न कुनै खोला वा सानो कुलो वा केही न केही जोडिएको हुन्छ । जसरी गोसाईकुण्डमा त्रिशुलधारा जोडिएको छ । अरु तालमा खोला जोडिएका छन् ।

    यहाँ किन उपत्यका जस्तो वरिपरि पहाडको बिचमा पाँच पोखरी भएर बसेको ? कुनै मुहानविना त्यत्रो पोखरी किन भएको ? त्यो पनि मान्छेले खाने जस्तो एक, नुवाउने जस्तो एक, चराहरु बस्ने जस्तो एक, नागहरु बस्ने जस्तो एक र सबैलाई हुने एक गरी बनेको ? यी प्रश्नले मथिंगल भरिएको छ । घर आएपछि प्रविधिमा पाँच पोखरीको पाइला हेरे । मोबाइलले देखायो- जम्मा ९१ हजार २३४ पाइला । आफ्नै पाइला पछ्याउँदै पाँच पोखरी फेरि जाउँ झैं भइरहेछ । कहिले जान्छु, थाहा छैन । अद्भूत, अलौकिक, दिव्य, भव्य, सभ्य पाँच पोखरी फोटोमा भन्दा मनमा बसिरहेछ ।

  • कोशी भ्रमण वर्ष २०८२ बारे हिन्दी, बंगाली र चिनियाँ भाषामा किन भएन प्रचार ?

    कोशी भ्रमण वर्ष २०८२ बारे हिन्दी, बंगाली र चिनियाँ भाषामा किन भएन प्रचार ?

    यदि कुनै मान्छेले बुझ्ने भाषामा तपाईं कुरा गर्नुहुन्छ भने त्यो उसको मस्तिष्कमा पुग्छ । यदि तपाईं उसको भाषामा कुरा गर्नुहुन्छ भने त्यो उसको मुुटुमा पुग्छ ।

    – नेल्सन मन्डेला

    मातृ भाषामा नेल्सन मन्डेलाले भनेको कुराको महत्व भाषाशास्त्र, साहित्य, राजनीति जत्तिकै पर्यटनमा पनि छ । पर्यटन प्रचारमा हामीले हाम्रा स्रोत राष्ट्रका पर्यटकहरुकै भाषामा उनीहरुको पर्यटकीय चाहनाअनुसार प्रचार गर्न सक्दा धेरै राम्रो नतिजा आउनसक्छ ।

    पर्यटन प्रचारमा नेपालमा नेपाली भाषा र विदेशमा अंग्रेजीमात्र काफी हुँदैन । किनभने अंग्रेजी भाषामात्रै विश्व भाषा हैन । यही कुरा बुझेर हुनुपर्छ, नेपाल पर्यटन बोर्डले विभिन्न ६ भाषामा आफ्नो पर्यटकीय प्रचार गर्छ । अंग्रेजी, स्पेनिस, चाइनिज, फ्रेन्च, रसियन र जर्मन भाषामा नेपाल पर्यटन बोर्डको वेलकमनेपाल डटकममार्फत पर्यटकीय प्रचार हुँदै आएको छ । सरकारी पर्यटन प्रचारको आधिकारिक निकाय नेपाल पर्यटन बोर्डमात्रै हैन, निजी क्षेत्रको पर्यटन सेवा प्रदायकले पनि नेपालमा बुहुभाषिक प्रचार गरेको देखिन्छ ।

    कोशी प्रदेशकै कुरा गरौं, विराटनगर र झापाका सीमावर्ती आँखा अस्पतालका कतिपय प्रचारहरु बंगाली र आसामिस भाषामा भएका छन् । काकडभित्ताका कतिपय होटलकै बोर्डमा बंगाली र आसामिस भाषा प्रयोग भएका छन् । यी उदाहरणले भन्छ- चासो प्राकृतिक, चासो साहसिक, चासो मेडिकल, सबै खाले पर्यटनको लागि बहुभाषिक प्रचार आवश्यक हुन्छ । निजी र सरकारी सबै क्षेत्रमा यही कुरा लागू हुन्छ ।

    कोशी प्रदेशकै पर्यटन प्रचारको कुरा गर्दा हामीले प्रदेश सरकारको स्तरबाट बहुभाषिक प्रचार गरेका छैनौं । निजी क्षेत्रको तर्फबाट होटल एसोसियसन अफ भेडेटारले नेपाली, अंग्रेजी र हिन्दी भाषाका प्रचार बनाएका छन् । धरान तथा धनकुटालगायतका केही स्थानीय सरकारले पनि यी तीन भाषामा केही प्रचार सामग्री बनाएको छ ।

    नेपालीसँगै अंग्रेजी, हिन्दी, बंगाली र चिनियाँ भाषामा पर्यटकीय प्रचार

    हालसम्म निजी क्षेत्र र स्थानीय सरकारको अभ्यासमा तीन भाषामा केही पर्यटन प्रचार भएको छ । नेपाली, अंग्रेजी र हिन्दी, तर यत्तिमै मात्र कोशी प्रदेशको पर्यटन प्रचार खुम्च्याउनु हुन्न । कोशी भ्रमण वर्ष २०८२ आइरहेको र पर्यटकीय सूचना प्रवाहमा कोशी प्रदेश काठमाडौं, पोखरा, चितवन र लुम्बिनीको छायाँमा परेको छ । यो दुःख चिर्नलाई सबैभन्दा पहिले सूचनामा अभ्यास गर्नुपर्छ । एकसाथ नेपाली, अंग्रेजी, हिन्दी, बंगाली र चिनियाँ भाषामा प्रचार आवश्यक छ । नेपाल र नेपाली भाषीको लागि नेपालीमा प्रचार र एक विश्वभाषाको रुपमा अंग्रेजीमा प्रचार आवश्यक छ ।

    एकसाथ नेपाली, अंग्रेजी, हिन्दी, बंगाली र चिनियाँ भाषामा प्रचार आवश्यक छ । नेपाल र नेपाली भाषीको लागि नेपालीमा प्रचार र एक विश्वभाषाको रुपमा अंग्रेजीमा प्रचार आवश्यक छ ।

    हिन्दी, बंगाली र चिनियाँ भाषाको प्रचार भने कोशी प्रदेशको निकटता र अत्यधिक पर्यटक आउनसक्ने स्रोत मुलुक भएकोले आवश्यक छ । कोशी प्रदेशको दक्षिणी सीमा भारतीय राज्य बिहार पर्छ । बिहारको मुख्य भाषा हिन्दी हो । भारतको मुख्य भाषा हिन्दी विश्वका सबैभन्दा धेरैले बोल्ने भाषाको चौथो नम्बरमा आउँछ । चिनियाँ, स्पेनिस र अंग्रेजीपछि सबैभन्दा धेरैले संसारमा बोल्ने र बुझ्ने भाषा हिन्दी हो । हिन्दी बोल्नेहरु अरबिक र रसियन तथा जर्मन भाषा बोल्नेहरुभन्दा धेरै छन् ।

    बंगाली भाषामा कोशी प्रदेशको पर्यटन प्रचार गर्न उत्तिकै आवश्यक छ । बंगाली भाषामा प्रचार गर्दाका दुइटा फाइदा छन् । एक- यसले कोशी प्रदेशको पूर्वी सिमानामा पर्ने पश्चिम बंगालमा पर्यटकीय प्रचार सहज हुन्छ । दुई- बंगाली भाषा नै बोल्ने प्रदेशको पूर्वी नाका काकडभित्ताबाट एकै घन्टाको दूरीमा पुगिने बंगलादेशमा पनि पर्यटकीय प्रचार हुन्छ । बंगलादेशका पर्यटकहरु सबैभन्दा धेरै आउनेमा भारत पर्दा नेपाल भने कममात्रै आउने गरेका छन् ।

    बंगाली भाषाको पर्यटन प्रचार आक्रामक गरेर नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटकीय प्रडक्टहरु बेच्न सकिन्छ । पश्चिम बंगालमा धार्मिक पर्यटनलाई प्राथमिकता र बंगलादेशमा प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई बंगाली भाषामा प्रचार गरेमा प्रदेशले पर्यटकीय फड्को मार्नसक्छ । बंगाली भाषा विश्वको सबैभन्दा धेरै बोलिने भाषाको सातौं नम्बरमा आउँछ । बंगाली भाषा बोल्नेहरु रसियन, फ्रेन्च, जापानिज, कोरियन र जर्मन भाषा बोल्नेहरुभन्दा धेरै छन् ।

    अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड जस्ता अंग्रेजी भाषी बाहुल्य क्षेत्रबाट प्रदेशमा आउने पर्यटकको संख्या एकदमै कम छ । भारतीय राज्य बिहार र बंगालबाट आउनेको संख्या उत्साहप्रद छ । त्यसैले प्रदेशले अंग्रेजीभन्दा ध्यान हिन्दी र बंगाली भाषाको पर्यटन प्रचारप्रसारमा दिन आवश्यक छ । सिक्किम आउने वा दार्जिलिङ आउने बिहार र बंगालका पर्यटकहरुको एक हिस्सा कोशी प्रदेशमा तान्न सकिन्छ । त्यसमा उनीहरुको भाषामा पर्यटकीय प्रचार तथा जनशक्तिको विकास आवश्यक छ ।

    चिनियाँ, स्पेनिस र अंग्रेजीपछि सबैभन्दा धेरैले संसारमा बोल्ने र बुझ्ने भाषा हिन्दी हो । हिन्दी बोल्नेहरु अरबिक र रसियन तथा जर्मन भाषा बोल्नेहरुभन्दा धेरै छन् ।

    यसैगरी प्रदेशले पर्यटकीय प्रचार गर्नुपर्ने अर्को महत्वपूर्ण भाषा हो चिनियाँ । प्रदेशको ताप्लेजुङको ओलाङ्चुङगोला र संखुवासभाको किमाथांका जस्ता दुई उत्तरी नाका चीनसँग जोडिन्छन् । २०७६ बैशाख १६ गते नेपाल र चीनबिच भएको पारवाहन सन्धिको प्रोटोकल सम्झौतामा यी नाकाहरुले अन्तराष्ट्रिय नाकाको मान्यता पाएका छन् । भलै अहिले यी दुई नाकासम्म पुग्ने ट्र्याकमात्रै खुल्ने क्रममा छन्, तर भविष्यमा यी दुई नाका खोलिन्छन् । सरकारी अधिकारीहरुको भनाइमा केही वर्षभित्र खुलिसक्छ । यी नाका खोलिएसँगै यसमार्फत प्रदेश विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग सीधा जोडिनेछ ।

    कोशी प्रदेशसँग भौगोलिक रुपमा मात्रै जोडिएको चीन दुई नाका खोल्नासाथ व्यापार, पर्यटन र पारवहनसँग पनि जोडिनेछ । जोडिएपछि चिनियाँ सामानसँगै चिनियाँ पर्यटकहरु पनि यो स्थलमार्ग प्रयोग गरेर नेपाल आउन सक्छन् । जसरी केरुङ नाकाबाट स्थलमार्ग हुँदै हजारौं चिनियाँ पर्यटक नेपाल आउँछन्, ठिक त्यसैगरी कोशी प्रदेशका दुई उत्तरी नाका खोलिएपछि चिनियाँ पर्यटकहरु पनि आउँछन् । उनीहरु आउनु अगाडि प्रदेशको पर्यटकीय प्रचार बलियो र उनीहरुले बुझ्ने भाषामा बनाउन आवश्यक छ । चिनियाँ संसारमा सबैभन्दा धेरै बोलिने भाषा हो । यो भाषा भएको देश प्रदेशसँग जोडिएको छ । त्यसैले चिनियाँ भाषामा प्रदेशको पर्यटकीय प्रचारप्रसार अनलाइन र सामाजिक सञ्जालमार्फत गर्न सकिन्छ ।

    नेपाली पर्यटकीय प्याकेज भनेकै काठमाडौं, पोखरा, चितवन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण बेस क्याम्प ट्रेक, लुम्बिनी, पशुपतिनाथमात्रै भन्ने आम बुझाइ भारत, चीन जस्तै बंगलादेशमा पनि छ । यसका एक साक्षी हुन् भारतीय राज्य पश्चिम बंगालको कोलकातामा भएको ट्राभल एन्ड टुरिजम फेयर (टीटीएफ) लगायतका विभिन्न पर्यटन फेयरका नेपाली सहभागी किशोर थुलुङ । ‘खोकु छिन्ताङ दुख्यो कि’ गीतका गायक र कोशी प्रदेशको योजना आयोगका सदस्यसमेत रहेका थुलुङका अनुसार धरान र भेडेटारको प्रचार गर्दा अधिकांश सहभागीहरुले ‘काठमाडौं र लुम्बिनीबाट कति टाढा’ भनेर सोधेका थिए । सँगसँगै जोडिएका भारतीय राज्यका नागरिकलाई पनि कोशी प्रदेशको जानकारी कति कम छ भन्ने एक उदाहरण हो यो प्रश्न ।

    अब कोशी भ्रमण वर्ष २०८२ को तयारीमा लागेको प्रदेश सरकारले आफ्नो पर्यटकीय लक्ष्य भेट्न, प्रदेशको भर्जिन पर्यटकीय प्रडक्टको प्रचारप्रसार गर्न पनि हाम्रा प्रचार सामग्री छिमेककै भाषामा गर्न आवश्यक छ । उनीहरुको मस्तिष्क र मनसम्मै प्रदेशको पर्यटकीय प्रचार पुर्‍याउन अत्यावश्यक छ । किनभने धेरै पहिले नै नेल्सन मन्डेलाले भनिसकेका छन्ः

    यदि कुनै मान्छेले बुझ्ने भाषामा तपाईं कुरा गर्नु हुन्छ भने त्यो उसको मस्तिष्कमा पुग्छ । यदि तपाईं उसको भाषामा कुरा गर्नुहुन्छ भने त्यो उसको मुटुमा पुग्छ ।

  • विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङको ‘शब्दथुम’लाई, राष्ट्रिय कविता महोत्सवमा अन्जान प्रदीप प्रथम

    विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङको ‘शब्दथुम’लाई, राष्ट्रिय कविता महोत्सवमा अन्जान प्रदीप प्रथम

    सुनसरी । कवि विमल गुरुङ कृति पुरस्कार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिएको छ । २०८० भित्र प्रकाशित स्वदेश र विदेशबाट नेपाली भाषाका पुस्तकहरुमध्ये ‘शब्दथुम’लाई ‘कवि विमल गुरुङ कृति पुरस्कार–२०८०’ प्रदान गरिएको हो ।

    कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औ राष्ट्रिय कविता महोत्सवको अवसरमा शनिबार पुस्तकालयको भवनमा आयोजित पुरस्कार समर्पण समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा भीम खतिवडा, अध्यक्ष पूर्णवहादुर गुरुङले कृतिकार थाम्सुहाङलाई तामत्रपत्र र दोसल्लासहित नगद दुई लाख रुपैयाँले सम्मान गरे। यसअघि थाम्सुहाङको ‘पालामको मुर्छन्ना’ कवितासंग्रह प्रकाशित भएको थियो । ‘शब्दथुम’ उनको दोश्रो कृति हो ।

    निर्णायक समितिले ‘शब्दथुम’ले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृतिभित्र रैथाने चेतदेखि बैश्विक चिन्तन र मिमांसा पाएको दावी गर्दै विमल कृति पुरस्कार प्रदान गरिएको जनाएको छ । पुरस्कृत भएपछि थाम्सुहाङले भने, ‘मैले पुर्वेली रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निवन्धमार्फत गरेको हो । आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सिमान्तीकृत चेतलाई उजागर गर्दै आफ्नै धरातलको विचार प्रवाह गर्दै मातृभूमिको सुगन्ध र सांस्कृतिक रोमाञ्चचकतामा शालिन विमर्ष गर्ने प्रयास गरेको छु ।’

    यसैगरी उक्त अवसरमा इटहरीका तरहराका युवा साहित्यकार तथा संचारकर्मी विवेक विवस रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मान प्रदान गरिएको छ । सम्मानसहित उनलाई नगद राशी १० हजार रुपैयाँ, दोस्लला र सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा सिक्किमका लेखक टी वी चन्द्र सुब्बा, १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ र विरेन गुरुङलाई पनि सम्मान गरिएको थियो ।

    यही अवसरमा आयोजना भएको राष्ट्रिय कविता प्रतियोगितामा अवलपरासीका अन्जान प्रदीप प्रथम भए । उनको ‘सपना’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । यसैगरी ंथेम्स नदीको किनारै किनार’ शीर्षको शान्ति खिम्दिङ लिम्बुको कविता दोस्रो भयो भने समीक्षा छिलिङ राईको कविता ‘फूल र म’ले तृतीय स्थान हासिल गरेको थियो । पतियोगितामा विजयी कविहरुलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ नदग र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    समारोहमा कवि विमल गुरुङकाबारेमा साहित्यकार शशी लुमुम्बुले प्रकास पारेका थिए । १९ बर्षको उमेरमै पत्रकारितासंगै शसक्त कविता लेखेर उदाउँदै गरेको बेला २०४८ साल बैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घट्नामा परी विमलको देहावसान भएपछि एक्लो कवि छोराको नाममा बेलायती लाहुरे बाबु पूर्णवहादुर गुरुङ र परिवारले धरान १८ बुद्धचोकमा ‘कवि विमल स्मृति पुस्तकालय’ स्थापना गरेको लुमुम्बुले बताए ।

  • उपत्यकाका वानस्पतिक विविधता

    उपत्यकाका वानस्पतिक विविधता

    काठमाडौं । काठमाडौं उपत्यका जनसंख्या, कला संस्कृति, इतिहास र प्राकृतिक स्रोतमा धनी तथा विशिष्ट छ। यही प्राकृतिक स्रोतको महत्त्वपूर्ण अंश रंगीन तस्बिर समेटेर भर्खरै एक पुस्तक लोकार्पण भएको छ ।

    चार जना लेखकहरू मान बहादुर रोकाया, शालिक राम सिग्देल, सरोज कुमार कसाजु र ला दोर्ची शेर्पा रहेको उक्त पुस्तकको नाम ‘पलान्ट्स अफ काठमाडौँ भेली – अ पिक्त्टोरिअल गाइड ‘ रहेको छ। लेखकहरू मध्य रोकाया चेक एकाडेमी अफ साइन्स, चेक र सिग्देल चाइनिज एकाडेमी अफ साइन्स, चीनका शोधकर्ताहरू हुन् ।

    उनीहरूले त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका हुन् । उनीहरूका लेख अन्तर राष्ट्रिय स्तरका ख्यातिप्राप्त वैज्ञानिक जर्नलहरूमा प्रकाशित हुने गर्छन् ।

    त्यसैगरी कसाजु र शेर्पा प्रबल नागरिक वैज्ञानिकहरू हुन् । कामप्रतिको रुचि र अध्ययनमा सौखिन हुनेहरूलाई उमेर र विधाले अनुसन्धान गर्न छेक्दैन भन्ने गतिलो उदाहरण हुन् उनीहरू ।

    झन्डै एक दशक भन्दा बढी समयको लगाव र सहकार्यबाट यो सरल, आकर्षक र बहु उपयोगी पुस्तक वनस्पति जगतले पाएको छ। तसर्थ, हाम्रो विज्ञान र समाज जोड्नलाई यो पुस्तक उपयोगी हुने देखिन्छ ।

    ५०० पृष्ठको पुस्तकको अध्याय १ मा काठमाडौँ उपत्यकाको भूगोल, अवस्थिति, इतिहास, हावापानी र संस्कृतिको संक्षिप्त परिचय छ भने अध्याय २ मा वानस्पतिक समुदाय र वनस्पतिका तस्बिरहरू लिएको स्थान उल्लेख छ।

    खास गरी नागार्जुन, शिवपुरी, ककनी, टोखा, फर्पिङ, साँखु, गोदावरी, फूलचोकी, सुन्दरीजल, चिसापानी, नगरकोट, हात्तीवन, चन्द्रागिरी, नाला, गोकर्ण, सूर्यविनायक र बागमती नदी किनारामा रहेका वनस्पतिहरू समेटिएका छन् ।

    अध्याय ३ मा पुस्तक कसरी पढ्ने भन्ने बताउँदै ८८५ वटा वनस्पतिहरूको तस्बिर, सूचनामूलक जानकारी र ७८ वटा सन्दर्भ सामाग्री सूचीकृत गरिएका छन् । ८८५ वटा फूल फुल्ने वनस्पतिहरू ४९१ जाति र १२० वानस्पतिक परिवारभित्र समेटिएका छन् ।

    यसभित्र रहेका थुन्बर्जिया कसाजुएना र रुबस दोर्ची विश्व वनस्पति विज्ञानका लागि नयाँ प्रजातिहरू हुन् भने जसको वैज्ञानिक नामबाट क्रमशः लेखकहरू कसाजु र दोर्ची शेर्पाको योगदानलाई विश्वले सम्मान दिएको प्रस्ट हुन्छ ।

    यसैगरी नेपाल फ्लोरा प्रकाशनका लागि ३ वटा प्रजातिहरूको थप योगदान यही उपत्यकाबाट भएको छ । पाठकहरूलाई वनस्पतिहरू चिन्न सजिलो होस् भनेर हरेक पानामा २ वटा वनस्पतिको मात्र परिचय दिएको छ । हरेक वनस्पतिलाई आवश्यकता हेरी ५ वटा सम्म (विभिन्न भाग र कोणहरूबाट खिचिएका) फोटोहरू जोडिएका छन् ।

    साथै संक्षिप्त विवरण अन्तर्गत हरेक वनस्पतिको वैज्ञानिक नाम तथा पहिचान, वर्गीकरण , स्वरूप तथा बनावट, फूल तथा फल लाग्ने समय, वासस्थान तथा भौगोलिक वितरण र आर्थिक उपयोगिता पनि समेटिएको छ ।

    पछिल्लो समय विश्वमा बोटानिस्टहरु र वनस्पतिहरू पनि हराउँदै गएको महसुस भइरहेको बेला यो पुस्तकले केही राहत दिएको छ, खास गरी युवा पुस्ता र पाराट्यक्सोनोमिस्टहरुलाई, वनस्पतिको पहिचान विज्ञानप्रति आकर्षण गराई ज्ञान हस्तान्तरण गर्न ।

    यसका अतिरिक्त यो पुस्तकबाट प्रकृतिप्रेमी, शोधकर्ता, शिक्षक, किसान, बागबानीविज्ञ र पर्यटक गाइडहरू लाभान्वित हुन सक्छन् । जुन ग्लोबल ट्याक्सोनोमी इनिसिएटिभ (जिटिआइ) को मुख्य लक्ष्य पनि हो ।

    संस्थागत रूपमा भन्नुपर्दा राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशाला, राष्ट्रिय वनस्पति उद्यान, पुष्प विकास केन्द्र, इसिमोड, नेपाल पर्यटन बोर्ड, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, प्राकृतिक विज्ञान संग्रहालय, बागवानी विकास केन्द्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग लगायत विभिन्न शैक्षिक, औद्योगिक तथा अनुसन्धानमूलक संस्थाहरूको लागि पुस्तक उपयोगी हुने देखिन्छ ।

    पुस्तक राम्रो हुँदाहुँदै पनि सुधारका ठाउँहरू पनि छन् । खास गरी जलीय वनस्पति कमल – जुन हिन्दू तथा बौद्ध धर्ममा महत्त्वपूर्ण स्थान छ, वास्तवमा यो छुट्नु हुन्थेन । यसैगरी पृथ्वीको सबैभन्दा सानो फूल फुल्ने जलीय वनस्पति डकवीड (हंसझार) समावेश भएको भए थप कौतुहलता जाग्ने थियो, यद्यपि यो धानखेत, कुण्ड, पोखरीहरूमा मनसुन याममा सहजै पाइन्छ ।

    यसैगरी पेज vii, ७५ मा सामान्य टाइप गल्ती छ, केही घाँस प्रजातिका तस्बिरहरू प्रस्ट छैनन् । अरू तस्बिरहरूमा पनि सकभर स्केल प्रयोग गरेको भए सुनमा सुगन्ध हुने थियो । आर्थिक उपयोगिताको उपशीर्षकमा १ – ७ लाइनसम्मको विवरणको असमानता देखिन्छ ।

    एकरूपताको लागि सकभर बराबरी संख्याको लाइन र फिल्डको समुदायको प्रयोगको आधारमा राख्दा राम्रो हुन्थ्यो । सन्दर्भ सामाग्री अन्तर्गत फ्लोरा अफ काठमान्डू भ्याली हुनुपर्नेमा पलान्ट्स अफ काठमान्डू भ्याली भएको छ । हुन त लेखकहरूका पनि आफ्नै समय, सीमाहरू हुन्छन् ।

    त्यसैले यहाँ लेखकहरूले अर्को खण्ड पनि प्रकाशोन्मुख छ भनेर लेखकीयमा संकेत गरेका छन् । उक्त खण्डमा फूल नफुल्ने वनस्पतिहरू उन्यू, च्याउ, झेउ, लेउले पनि न्याय पाउने छन् । अहिलेको प्रकाशन अनुभव र उत्साहबाट लेखकहरूको कलम र लेन्स अझ बढी तिखारिने र निखारिने छ भन्ने आशा छ ।

    अन्त्यमा, लेखकहरूको दशकौँको मिहिनेत, समय, कभर पेज र पृष्ठहरूको गुणस्तर, अझ महत्त्वपूर्ण कुरा त वर्तमान समाजमा वनस्पतिको आधारभूत ज्ञान प्रवाहको हिसाबले हेर्दा पुस्तकको मूल्य रु. ३,१००/- स्वाभाविक देखिन्छ। यसको उत्साहजनक बिक्री वितरणबाट नयाँ संस्करण र खण्ड प्रकाशनको लागि लेखकहरूलाई थप ऊर्जा मिल्ने र दीर्घकालीन रूपमा वनस्पति विज्ञान र मानव कल्याणमा योगदान पुग्ने विश्वास छ ।

    लेखकहरूलाई पुन अग्रिम शुभकामना !! वनस्पतय शान्ति: । शान्ति: । । शान्ति: । । ।

    (रमेश बस्नेत उपसचिव वन बाेटानी, वन तथा वातावरण मन्त्रालय)

  • अर्हत्: आख्यानमा बुद्ध दर्शन

    अर्हत्: आख्यानमा बुद्ध दर्शन

    ऐतिहासिक र पौराणिक विषयमा आधारित रहेर नेपालमा थुप्रै उपन्यास लेखिएका छन् । ती उपन्यासमध्ये एक हो ‘अर्हत्’ । भगवान बुद्धको कथा लिएर शैलेन्द्र अधिकारीद्वारा लेखिएको यस उपन्यासले बुद्धकालीन विषयहरुलाई सशक्त रुपमा प्रस्तुत गरेको छ । कुनै पनि गहन र दार्शनिक चिन्तनलाई सीधै अभिव्यक्त गर्नुभन्दा त्यसलाई रोमाञ्चक बनाएर प्रस्तुत गर्दा आमपाठकका सामु प्रभावकारी रूपमा पुर्‍याउन सकिन्छ । सामान्य मानिसलाई क्लिष्ट चिन्तनहरू मन नपर्न सक्छ । दर्शनका गहिरा खाडलहरूको भेउ नपाउन पनि सकिन्छ । निर्विकल्प रूपमा आख्यान त्यस्ता विचारलाई सम्प्रेषण गर्नसक्ने र आममानिसलाई छाप पार्नसक्ने एक महत्वपूर्ण माध्यम हुँदै हो ।

    ‘अर्हत्’मार्फत् अधिकारीले बुद्ध धर्मका अनेकौं ज्ञानलाई आममानिससम्म पुर्‍याउन चाहेको देखिन्छ । यो उपन्यास विशेष गरेर बुद्ध गाथा र बुद्धको धर्मोपदेशको सङ्गालो जस्तो लाग्छ । भनिन्छ, कुनै व्यक्तिको गुण अवगुणको निर्क्योल इतिहासले गर्छ । उनीहरू बाँचेको समयमा हरेक महापुरुषहरूका (या भनौं सामान्य मानिसहरूका पनि) समर्थक र विरोधीहरू निश्चय नै हुन्छन् । हाम्रो समाजमा मृत्युको लगत्तै हर व्यक्ति राम्रो मानिन्छ अथवा त्यस्तै देखिँदै आएको छ । विस्तारै वर्तमान इतिहास बन्छ अनि भविष्यले ती व्यक्तिको महानताको उचित विवेचना गर्न थाल्छ । इतिहास जित्नेले लेख्छ । हिटलर क्रूर बन्छ । सायद जर्मनीले जितेको भए कथा अर्कै बन्थ्यो । बीपी कोइरालाको महत्वको मापन हुँदैछ ।

    बुद्ध कुनै समय मानिसको शरीरमा थिए । आज उनको भौतिक शरीर छैन । आज उनी भगवान बनेका छन् । बोधीज्ञान प्राप्त गरेको मनुष्य भगवान कसरी बन्यो भन्ने कथाको मूल कथ्य नै ‘अर्हत्’ उपन्यास हो । बुद्धको आदाहनोत्सव (मृत्यु संस्कार)बाट सुरु भएको उपन्यास उस्तै परिवेशमा अन्त्य हुन्छ । यसमा उनको जन्म, शिक्षादीक्षा, घर छोड्दै गर्दाको पारिवारिक पीडा, ज्ञान प्राप्त गर्दाको अवस्था, धर्म प्रचार आदि विषयको सुन्दर चित्रण छ । बोधी प्राप्त गर्नुअघिको संघर्ष र पाइसकेपछिका चुनौतीहरूको विवेचना छ । त्यस समयमा के भएको थियो होला । लेखकले सामान्य ढंगमा आजको दिनको परिवेशसँग मिल्ने चित्रण गरेका छन् ।

    आफूले बोधगयामा पाएको ज्ञान गौतम बुद्धले सामान्य मानिसलाई सिकाए अनि लाखौंको भीडबाट भिन्न बनेर आफू बुद्ध भगवान भए ।

    कथामा बुद्धले निर्वाण पाउनुअघि ज्ञानको खोजीमा पुगेका गुरुहरुसँगको अनुभव छ । सुजाताले दिएको खिरप्रतिको कृतज्ञता छ । कुनै महान उद्देश्य हासिल गर्न अथवा ज्ञान पाउन भीडको पडाडि लाग्नुहुन्न, आफ्नै बाटो रोज्नुपर्छ भन्ने सन्देश पनि छ सायद । त्यस समयका भिक्षुहरू बुद्ध बन्न तँछाडमछाड गर्दै थिए । उनीहरू भीडको पछि लागिरहेका थिए । आफ्नो शरीरलाई सकेको दुःख दिएर आशा गरिरहेका थिए कि बुद्धत्व प्राप्त गर्न सकौं । सिद्धार्थले भने अरूले पालना गर्दै आएका मार्ग छोडेर भिन्न कार्य गरिदिए । उनले खिर खाइदिए । समयक्रममा उनलाई बोधी प्राप्त भयो । उनी गौतम बुद्ध बने । उनले यहीबाट मध्यमार्गको अवलम्बन गरे । र, बुद्ध दर्शन यही मध्यमार्गमै विचरण गरिरहेको छ । आफूले बोधगयामा पाएको ज्ञान गौतम बुद्धले सामान्य मानिसलाई सिकाए अनि लाखौंको भीडबाट भिन्न बनेर आफू बुद्ध भगवान भए ।

    यस उपन्यासले आजभन्दा २५ सय वर्ष अगाडिको समयलाई प्रस्तुत गरेको छ । बुद्धकालीन समय, समाज र राजनीतिक अवस्थाको चित्रण उपन्यासको अर्को सौन्दर्य पनि हो । उपन्यासमा केही पाली भाषाका बुद्ध वचनलाई जस्ताको त्यस्तै राखिएको छ । अन्त्यमा शब्दार्थ र पात्र परिचय खण्डले उपन्यास बुझ्न थप सरल र सहज बनाएको छ । यस उपन्यासका शीर्षकहरू र बेलाबेलामा आउने ओजनदार संस्कृतका शब्दहरूले उपन्यासको सौन्दर्यमा थप मलजल गरेका छन् ।

    उपन्यासमा बुद्धले बताएका मुक्तिका मार्गहरूको पनि चर्चा गरिएको छ । भगवान बुद्धले समग्र मानव जातिलाई सांसारिक दुःखबाट मुक्तिका लागि अष्टाङ्गिक मार्ग अवलम्बन गर्नुपर्ने सुझाव दिनुभएको थियो । यसको चर्चा उपन्यासमा पाइन्छ । जस्तैः सम्यक दृष्टि (सही ढङ्गले बुझ्नु), सम्यक सङ्कल्प (नियत राम्रो हुनु), सम्यक वाणी (भनाइ र गराइमा फरक नहुनु), सम्यक कर्म (अरूलाई हानि हुने कर्म नगर्नु), सम्यक आजीविका, सम्यक व्यायाम (धेरै परिश्रम र धेरै अल्छी नहुनु), सम्यक स्मृति (सचेत र सतर्क भइरहनु) र सम्यक समाधि (एकाग्र चित्त हुनु) ।

    बच्चाबाट युवा हुँदै गएपछि साधारणतया मनुष्य रूप, गन्ध, रस, शब्द र स्पर्श जस्ता पाँच प्रकारका विषयको भोग गर्न लाग्छ । यहीबाट मानिसको जीवनमा दुःख आउँछ ।

    बच्चाबाट युवा हुँदै गएपछि साधारणतया मनुष्य रूप, गन्ध, रस, शब्द र स्पर्श जस्ता पाँच प्रकारका विषयको भोग गर्न लाग्छ । यहीबाट मानिसको जीवनमा दुःख आउँछ । त्यसैले मान्छेले तृष्णाको पहिचान गर्न सक्नुपर्छ । मानिसले त्यस तृष्णाको त्याग गर्नुपर्छ । यही नै दुःखको निरोध हो । कल्मषपूर्ण मनलाई ज्ञानले अभिषेचन गर्नुपर्छ । ज्ञानी मनुष्यले चञ्चल चित्तलाई साधनामा एकत्रित गर्ने कोसिस गरिरहनुपर्छ । आत्मसाक्षात्कारका लागि वैराग्यको मार्गलाई चयन गर्नुपर्छ । उपन्यासमा बुद्ध उपदेशलाई यसरी बुझिने भाषामा लेखकले प्रस्तुत गरेका छन् । सामाजिक मोहमायामा रुमल्लिइरहे कहिल्यै पनि मुक्तिको सपना देख्न सकिन्न । बुद्धले जहिले पनि शान्त तवरले मूर्ति पूजाको विरोध गरिरहे । यसको प्रसङ्ग उपन्यासमा जीवन्त रूपमा चित्रित भएको छ ।

    यस उपन्यासमा विभिन्न किसिमको भोगमा लिप्त पात्रहरू छन्, जो सांसारिक मोहबाट मुक्त हुन भगवानको शरणमा आइपुगेका छन् । अङ्गुलिमाल, वैशालीकी नगर वधू आम्रपाली, भद्दा, प्रबोध जस्ता चरित्रहरूलाई केही साक्ष्यको रूपमा लिन सकिन्छ । आफ्नै मोहमायामा फसेका छन् यी पात्रहरू । दुःखी छन् । उनीहरू बुद्धको धर्मोपदेश सुनिसकेपछि सङ्घमै सामेल भएर अर्हत् प्राप्त गर्न चाहन्छन् ।

    उपन्यासमा केही राजनीतिक आयामहरू पनि प्रस्तुत भएका छन् । बुद्धले बनाएको संघको नेतृत्व कसलाई दिने भन्नेमा पनि विवेचना छ उपन्यासमा । यस्तो विवेचना अलि कम भएको हो कि जस्तो लाग्छ । किनभने हामीले हालसालै हाम्रा युगका गुरूहरूका कथामा पनि देखे सुनेका छौं । ओशो, मदर टेरेसा जस्ता प्रख्यात गुरू या समाजसेवीहरू प्रख्यातसँगै विवादित पनि छन् । विवाद हुनुको एक कारण आर्थिक पाटो पनि हो । त्यस समयमा पनि केही आर्थिक अपचलन भएका हुँदा हुन् । उनका अनुयायीहरूमा पनि मतभेदहरू आएका हुँदा हुन् ।

    बुद्ध सुरुसुरुमा त महिलाहरूलाई भिक्षु सङ्घमा समावेश गराउन चाहन्नथे । उनलाई पुरुष प्रधान समाजको यथार्थ अवगत थियो । महिलाहरू पनि दुःखमा छन् भन्ने महसुस थियो ।

    बुद्ध संघमा, धर्म विस्तारको क्रममा महिलाहरू सहभागी गराउने कि नगराउने, गराउने भए कसरी गराउने भन्ने विषयमा संशयमा थिए कि ! बुद्ध सुरुसुरुमा त महिलाहरूलाई भिक्षु सङ्घमा समावेश गराउन चाहन्नथे । उनलाई पुरुष प्रधान समाजको यथार्थ अवगत थियो । महिलाहरू पनि दुःखमा छन् भन्ने महसुस थियो । आफ्ना शिष्य र आफ्ना परिवारजनले नै संघमा आवद्ध हुन देखाएको उत्सुकताले पनि उनी महिलाहरुलाई ससर्त संघमा राख्न तयार भएका हुन् कि !

    यसै क्रममा छोरो राहुलसँगको संवाद पनि रुचिकर छ । बुद्धत्व प्राप्त गरिसकेपछि घर फर्कंदा छोरो राहुल पितासँग अंश माग्छ । सानो बालकले मागेको अंश उनले दिन करै लाग्छ, तर परिवारलाई हेर्दै आएका सांसारिक मोहमायामा बाँचिरहेका बुद्धका पिता भने आफ्नो परिवार टुटेको अनुभव गर्छन् । आफ्नो छोरा त आफूसँग थिएन, तर अब नाति पनि आफूसँग नहुने थाहा पाएपछि दुःखी हुन्छन् शुद्धोधन । उपन्यासमा तत्कालीन कपिलवस्तु राज्यको पतनको प्रसङ्ग सानदार ढङ्गले प्रस्तुत भएको छ । शाक्यवंशीहरूले शासन गरेको कपिलवस्तु राज्य बुद्धपछि के भयो भन्ने प्रसङ्ग उपन्यासमा रोचक हिसाबले आएको छ ।

    यस उपन्यासमा सामान्य मानिसका संवेदनाहरूलाई गम्भीर ढङ्गले प्रस्तुत गरिएको छ । आखिर बुद्ध पनि मानिस थिए । सायद लेखक मानिस हुन्, जो ईश्वरको मन लेखिरहेका छन् । त्यसकारण पनि बुद्धको सोचाइमा मानवीय संवेदना पाइन्छ । सुनेकै कथा भएकाले उपन्यासमा द्वन्द्व कम भएको हो कि जस्तो लाग्छ । त्यसकारण पनि कथा सरल लाग्छ । धर्मको विवेचना पनि छ । समग्रमा उपन्यासले बुद्धको उपदेश र जीवनीलाई सरल ढंगमा प्रस्तुत गरिएको छ । केही क्लिष्ट शब्दहरू छन्, तर ती शब्दहरुले उपन्यासको बगाइमा असर गरेको छैन । हरेक किसिमका पाठकहरू र विशेषगरी बुद्ध दर्शन अध्ययन गर्न चाहने हरेक व्यक्तिका लागि उपन्यास राम्रो अध्ययनको स्रोत बन्नसक्छ ।

  • विदेशमा सजिलाे छैन नेपाली चलचित्र देखाउन र हेर्न

    विदेशमा सजिलाे छैन नेपाली चलचित्र देखाउन र हेर्न

    एउटा तथ्य खोलिहालुँ, कोरियामा नेपाली चलचित्र हलसम्म गएर हेर्न त्यति सजिलो छैन । नेपाली चलचित्रलाई औधी माया गरिएकाले नै बिदाको चाँजोपाँजो मिलाएर ३० हजार नेपाली रुपैयाँ खर्च गरेर नेपाली चलचित्र हेर्ने गरिएको छ । नेपाली चलचित्र हेर्न ड्युटी छाडेर महँगो यात्रा गर्नुपर्ने हुन्छ ।

    दक्षिण कोरियामा प्रायः सबै नेपाली चलचित्र प्रदर्शन भइरहेका हुन्छन् । मैले हलसम्म गएर धेरै चलचित्र हेरेको छु । म बसेको ठाउँबाट चलचित्र प्रदर्शन भएको हलसम्म पुगेर चलचित्र हेरेपछि फर्कंदासम्म तीन लाख कोरियन वन (३० हजार नेपाली रुपैयाँ) खर्च हुन्छ ।

    यहाँ आयोजकहरुले प्रतिटिकट ३० हजार वनमा बेच्ने गर्छन् । कोरियाको औसत कमाइको हिसाबले टिकटको दर ठीकै मान्नुपर्ने हुन्छ, तर टिकटको मूल्य सस्तो नै हुन्थ्यो भने पनि ट्रेन, बस जस्ता यातायातका साधनको सुविधा नपुगेको ठाउँबाट ट्याक्सी चढेर जानुपर्ने हुन्छ । फेरि कोरिया भन्नासाथ राजधानी सिओलमात्रै होइन, अन्य धेरै ग्रामीण ठाउँ पनि छन् ।

    कोरियामा यदि ट्यक्सी लिनुपरेको खण्डमा अत्यन्तै महँगो पर्न जान्छ । प्रवासमा म जस्ता नेपाली चलचित्रलाई माया गर्ने दर्शकले २०/३० हजार रुपैयाँसम्म खर्च गरेर भए पनि हलसम्म पुगेर नेपाली चलचित्र हेर्नु आफैंमा गर्वको कुरा हो । यसरी नेपाली चलचित्रप्रतिको महँगो मोह राख्ने म जस्ता कैयौं दर्शक विदेशमा छन् । जस्तोसुकै महँगो पर्न गए पनि चलचित्र हेरेपछि आत्मसन्तुष्टि भयो भने बेग्लै आनन्दानुभूति हुन्छ, तर कतिपय चलचित्र सामाजिक सञ्जाल र मिडियामा हल्ला गरिएको जस्तो र आफूले सोचे जस्तो नभइदिँदा चाहिँ बहुत नमीठो लाग्छ ।

    भन्ने गरिन्छ, एउटा राम्रो चलचित्रमा हजारौं पुस्तकमा अभिव्यक्त गर्न नसकिने कुरा व्यक्त गर्न सकिन्छ । हरेक चलचित्रले अलिकति भए पनि समाजमा भाष्य निर्माण गरिरहेकै हुन्छ । समाज रुपान्तरणका लागि पनि चलचित्रको महत्वपूर्ण भूमिका हुन्छ । चलचित्र मनोरञ्जनको साधनमात्र नभएर समाजको बहुआयामिक अभिव्यक्ति दिन सकिने माध्यम पनि हो, तर राम्रो चलचित्र कथा, पटकथा, निर्देशन र कलाकारको अभिनयमा भरपर्छ । म चलचित्रप्रति उस्तो ज्ञान भएको मान्छे होइन, सामान्य दर्शकको वर्गभित्र पर्छु ।

    राजनैतिक परिवर्तनसँगै प्रविधिको विकासले भने नेपाली चलचित्रले पछिल्लो समय बेग्लै छलाङ्ग मारिरहेको छ । किनाराकृत समुदायको कथा मूलधारमा आइरहेको छ । मौलिक कथामा चलचित्र बन्न थालेका छन् ।

    नेपाली चलचित्रले करिब ६ दशक पार गरिसकेको छ । यति लामो समयमा सायद धेरै नै आरोह-अवरोह झेलेको हुनुपर्छ । प्रविधिको विकास र सामाजिक, राजनीतिक परिवर्तनसँगै नेपाली चलचित्र सापेक्षिक रुपले परिवर्तन हुँदै आएको छ । २०६० को दशक यता भने नेपाली चलचित्रमा धेरै नै ठोस परिवर्तन आएको देख्छौं । यो समयभन्दा अघि प्रायः बलिउड चलचित्रको कार्बन कपी नेपाली चलचित्रको बोलवाला थियो । त्यसबीचमा पनि केही राम्रा चलचित्र भने नबनेका होइनन्, तर एकल धार्मिक, सांस्कृतिक प्रभावको रजगजका कारण ती चलचित्र छायाँमा पारिएका थिए ।

    राजनैतिक परिवर्तनसँगै प्रविधिको विकासले भने नेपाली चलचित्रले पछिल्लो समय बेग्लै छलाङ्ग मारिरहेको छ । किनाराकृत समुदायको कथा मूलधारमा आइरहेको छ । मौलिक कथामा चलचित्र बन्न थालेका छन् । नायक, नायिकाको परम्परागत भाष्य भत्किसकेको छ । नेपाली चलचित्र समावेशी बन्नुका साथै बहुआयामिक नेपाली समाजको सौन्दर्य पस्किन थालिएको छ । यसले हरेक नेपालीलाई स्वेदशी चलचित्रप्रति गर्वबोध हुने नै भयो ।

    गलत राजनीतिक नेतृत्व र यसले निम्त्याएको अस्थिरताका कारण देशमै केही गरौं भन्ने अवस्था छैन । केही गर्न खोज्नेलाई पनि राज्यले प्रोत्साहन गर्नुको साटो अनेक बाधा अड्चन लगाएर लखेट्न खोजिन्छ । यी यावत प्रतिकूलताका कारण सवा करोडभन्दा धेरै नेपालीहरु अहिले प्रवासमा छन् । मान्छे जहाँ पुगे पनि देशप्रतिको माया छातीमै बोकेर हिँड्छ । देशको माया गर्नु भनेको भाषा, कला, संस्कृति, साहित्यलगायत सबैको माया गर्नु हो । त्यसैले प्रवासमा रहेका म जस्ता आमनेपालीले स्वदेशी चलचित्रलाई माया नगर्ने कुरै भएन ।

    चलचित्र प्रदर्शन हुँदा प्रत्यक्ष हलमा उपस्थित भएर, टिकट काटेरमात्र नभएर विभिन्न माध्यमबाट समेत विदेशमा रहेका नेपालीले नेपाली चलचित्रमा योगदान गरिरहेका हुन्छन् । हलमा प्रदर्शन हुँदा चिलिम फर्केका कतिपय नेपाली चलचित्र युटुबमा रिलिज हुँदा विदेशमा बसेका नेपालीले हेरिदिएर निर्माताहरुलाई केहीसम्म राहत प्रदान गरेका छन् । युटुबबाट हुने आम्दानीको ठूलो हिस्सा विदेशमा बस्ने नेपालीहरुको छ ।

    हलमा प्रदर्शन हुँदा चिलिम फर्केका कतिपय नेपाली चलचित्र युटुबमा रिलिज हुँदा विदेशमा बसेका नेपालीले हेरिदिएर निर्माताहरुलाई केहीसम्म राहत प्रदान गरेका छन् । युटुबबाट हुने आम्दानीको ठूलो हिस्सा विदेशमा बस्ने नेपालीहरुको छ ।

    केही दशकयता नेपालमा चलचित्र रिलिज भएकै समयमा विभिन्न देशमा पनि रिलिज हुन्छ । यस्तो अवसर विदेशमा हुने दर्शकहरुलाई विभिन्न संघसंस्थाहरुले प्रदान गरिरहेका हुन्छन् । यसरी शीघ्र प्रदर्शन हुँदा नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुले डिजिटल प्लेटफर्ममा पर्खिनु परेन । कतिपय परोपकारी उद्देश्य राखेर संघसंस्थाले प्रदर्शन गरेका हुन्छन् । यसमा साथीभाइको बाध्यकारी अनुरोध पनि हुन्छ । चलचित्र जस्तो भए पनि बाध्यतावश हेर्न जानैपर्ने अवस्था हुन्छ, तर चलचित्र देखाएर समाज सेवाको नाममा उठाइएको रकम कतिको सही ठाउँमा सदुपयोग हुन्छ ? त्यो चाहिँ उहाँहरुले नै जानून् ।

    समाज सेवा वा व्यापारिक हिसाब जस्तोसुकै उद्देश्य राखेर विदेशमा नेपाली समुदायमाझ नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगलाई नै सहयोग पुग्नु हो । चलचित्र उद्योगको प्रवर्द्धन गर्नु हो । कतिपय नेपालमा फ्लप खाएका चलचित्रका निर्मातालाई विदेशमा रहेका नेपालीहरुले उद्धारसमेत गरेका छन् ।

    विदेशमा व्यवस्थापकलाई होस् वा दर्शकलाई, चलचित्र प्रदर्शन गर्नु/हेर्नु उति सजिलो भने छैन । समयको सेकेन्ड सेकेन्ड हिसाब हुने ठाउँमा प्रचारप्रसार गर्नु, हल खोज्नु, व्यवस्थापन गर्नु पक्कै पनि सहज काम भने होइन, तर पनि नेपाली चलचित्रप्रतिको माया र मोहले ती काम सम्भव भएका छन् । कमाइको हिसाबले पनि विदेशमा नेपाली चलचित्रले लाखमात्र होइन, करोड नै कमाइ गरेको पाउँछौं । साथै चलचित्र हेर्न कति महँगो छ, त्यो त माथि नै भनिसकें ।

    अहिले प्रविधिको युग हो । प्रविधिले हरेक कुरा सजिलो र सुविधायुक्त बनाइदिएको छ । चलचित्र हलमै प्रदर्शन गर्नुपर्छ भन्ने पनि छैन । विभिन्न डिजिटल प्लेटफर्म विकास भइसकेका छन् । विश्वका विभिन्न देशका अनेक चलचित्र अमेजन प्राइम, नेटफ्लिक्स जस्ता प्लेटफर्ममा सहजै पैसा तिरेर हेरिरहेका छौं । त्यसरी नै नेपालमा पनि विभिन्न ओटीटी प्लेटफर्महरु विकास भएका छन् । ती प्लेटफर्मलाई राम्रोसँग व्यवस्थापन गरेर हामी जस्ता प्रवासमा रहेका दर्शकका लागि पैसा तिरेर हेर्न मिल्ने गरी निर्माताहरुले उपलब्ध गराइदिए गजब हुने थियो ।

  • ‘ढुकढुकी ७२ मेगाहर्ज’: श्रीमान-श्रीमतीमार्फत सम्बन्धको आयाम केलाउँदै

    ‘ढुकढुकी ७२ मेगाहर्ज’: श्रीमान-श्रीमतीमार्फत सम्बन्धको आयाम केलाउँदै

    काठमाडौं । मेडिकल साइन्सले भन्छ, मुटुको औसत बिट प्रतिमिनेट ६० देखि ८० पटक हुन्छ । यसमा पनि उत्कृष्ट हर्टबिट चाहिँ ७२ हो ।  दिमागकाे बिटले पनि  ७२ सँग केही न केही सम्बन्ध राख्छ । शास्त्रीय संगीतमा रागहरुसँग सम्बन्धित अंक पनि हाे ७२ । यही बिटमाथि सम्बन्धका आयामहरु खोतल्दै मण्डला थिएटरमा आउँदो कात्तिक २४ गतेबाट मञ्चन हुन लागेको नाटक हो- ‘ढुकढुकी ७२ मेगाहर्ज ।’

    अर्कातिर मुटुको यो आवाज सानो, मधुर र सूक्ष्म हुन्छ, ढुक् ढुक् ढुक् ढुक्, तर यही आवाज जीवनको सबैभन्दा ठूलो आवाज हो । यो आवाज सम्बन्धसँग जोडिएको आवाज हो । त्यसैले नाटकको अन्तिममा ‘हर्ज’ मात्रै नराखेर ‘मेगाहर्ज’ राखेको निर्देशक केदार श्रेष्ठ बताउँछन् ।

    केदारलाई मात्रै होइन, नाटक पारखीहरुलाई लागेको कुरा हो- पछिल्लो समय नेपाली रङ्गमञ्चमा मुद्दा प्रधान नाटकहरु बहुल संख्यामा मञ्चन भइरहेका छन् । यी नाटक ज्यादै घटना प्रधान छन् । केदारलाई अलि अभाव महसुस भएको चाहिँ ती र त्यस्ता घटनाहरुले पार्ने मानवीय प्रभाव हो । जुन प्रभाव नेपाली नाटकहरुमा विरलै देखिन्छ । यसको कारण त नाटक ज्यादै पोलिटिकल भएर पनि होला !

    ‘हामीलाई सबैखाले नाटक चाहिन्छ । पछिल्लो समय चाहिँ नाटक भनेर नाटक नै कम भएको हो कि भन्ने लागेको हो’, नाटक मञ्चनको पूर्वसन्ध्यामा केदार भन्छन्, ‘नाटकभित्र पनि अनेक विधा छन्, तर एकै विधाको नाटकमात्रै हेरिरहँदा खास नाटक चाहिँ अलि कम भएको हो कि भन्ने लागेको हो ।’

    केदार नाटक लेख्छन्, खेल्छन् पनि । नाटक निर्देशन पनि गर्छन् । नाटक सिक्नेहरुलाई सिकाउँछन् पनि । फेरि केदार तीन कुरालाई केन्द्रमा राखेर नाटक गर्छन्- आँखाको लागि दृश्य ! मनको लागि इमोसन ! अनि मस्तिष्कको लागि विचार !

    अहिले महिला सशक्तीकरणको मुद्दा पूर्ण राजनीतिक बनेर गएको छ । जनजाति, आदिवासीको मुद्दा पनि राजनीतिक रुपले उठिरहेको छ, तर केदारलाई लाग्छ, कुनै लिङ्ग, जात नआइकन पनि जीवनसँग जोडिएको मुद्दा हुन्छ । त्यसकारण अहिले आफूले भन्न लागेको कथा चाहिँ सम्बन्धको भएको केदार सुनाउँछन् । भन्छन्, ‘सम्बन्धमा आउने घटनाहरुको प्रभाव नाटकमार्फत भन्न लागेको हो ।’

    सम्बन्धको कुरा गर्दा अहिले सञ्जालमा सबैभन्दा चर्चामा आउने नै घर झगडा हो । हेर्दा पारिवारिक र श्रीमानश्रीमतीको झगडा देखिए पनि यस्ता झगडाहरुको मनोविज्ञानभित्र सम्बन्धका अनेक लेयर हुन्छन् । यस्ता कुराहरुलाई हेर्ने समाजशास्त्रीय दृष्टिकोण आआफ्नै होलान्, तर हाम्रो नेपाली समाज झगडा प्रधान पनि रहेको केदारको विश्लेषण छ । भन्छन्, ‘बाटोमा दुई जना भनाभन हुँदा पनि दर्शक बनेर हेरिदिने टन्नै हुन्छन् । सृजनात्मक रुपले हेर्ने हो भने चाहिँ झगडा भन्नासाथ द्वन्द्व हो । द्वन्द्व आकर्षण पनि हो ।’

    आआफ्नै स्वाद, आआफनै नोस्टालजिया

    मुद्दा केन्द्रित नै सही, पछिल्लो समय नेपाली रङ्गमञ्चमा नाटकको बाढी नै आइरहेको छ । मण्डला, शिल्पीलगायत काठमाडौंका आधा दर्जन बढी नाटकघरहरुमा नाटकहरु मञ्चन भइरहेकै छन् । तैपनि नाटक पारखीहरु भन्छन्, ‘गुरुकुलमा जस्तो नाटक अहिले हामी हेर्न पाउँदैनौं ।’

    केदारलाई भने त्यस्तो लाग्दैन । सुनिल पोखरेलले नेतृत्व गरेको गुरुकुल त्यसवेला एउटामात्रै विकल्प थियो । त्यहाँबाहेक अर्को ठाउँ थिएन । जे हेरे पनि त्यहीँ हेर्नुपर्ने भएकाले सबैका लागि गुरुकुल नोस्टालजिया भयो ।

    केदार भन्छन्, ‘अहिलेको पुस्ता फ्री-फायर खेलेर हुर्कियो । हामी गोठाला गएर हुर्कियौं । हामीलाई गोठाला नै मनपर्छ । अहिले फ्री-फायर खेलेर हुर्किएका पुस्तालाई २५-३० वर्षपछि उसलाई आफ्नै बाल्यकाल रमाइलो लाग्छ नि !’

    भनिन्छ, २५-३९ वर्षभित्रको स्मृति एकदमै शक्तिशाली हुन्छ । मान्छेलाई अगाडि बढाउने नै ती स्मृतिहरुले हो । त्यही कारण हामीलाई पहिले पहिलेको कुरा एकदमै रमाइलो लाग्ने केदारको बुझाइ छ, तर जीवन त्यतिमात्रै होइन ।

    ‘पहिले निश्चित मात्रामा चिनी र चियापत्ती लिएर चिया पिउँथ्यौं, त्यही पर्फेक्ट थियो । अहिले हामी चिनी नहाली पनि पिउँछौं । ती चिज नहाल्दा पनि एउटा स्वाद त आउला नि ! हामीले आफ्नो नोस्टालजिया सँगसँगै आएको वर्तमान समयलाई पनि स्वीकार गर्नुपर्‍यो ।’

    नाटकको पूर्वकथा

    यो नाटक ८-९ वर्षअघिको समयसँग जोडिन्छ ।

    केदारले फिल्मका लागि लेखेको कथा अहिले नाटकमा परिणत भएको छ । केदारले चिनेको एकजना दाइ कोरियाबाट आएका थिए । उनले फिल्म बनाउने बताए । उनै दाइलाई केदारले ‘ढुकढुकी ७२ मेगाहर्ज’को कथा सुनाए । ती दाइले मन पराए । ‘पटकथा लेख’ भनेर भने ।

    ती दाइले थप भने, ‘खर्च चाहियो भने म दिन्छु ।’

    ती दाइ प्रोफेसनल मेकर थिएनन् । केही समयपछि हराए । कोरियाबाट कमाएर ल्याएको पैसा अनेक घरायसी खर्चहरुमा सकियो सायद । फिल्म नै नबने पनि नाटक बनाउने मनसायमा थिए केदार । यही वेला गत वर्ष मण्डला थिएटरले एक वर्षमा सात वटा नाटक गर्ने भनेर सात जना निर्देशकको नाम घोषणा गर्‍यो । ती सात जनामा केदार पनि परे ।

    ‘निर्देशकले कुनै काम गर्छ भने आफूलाई विश्वास हुने टेक्स्टमा गर्छ । पहिलो पटक कथा पढ्दा दृश्य आयो भने बढी विश्वासिलो हुन्छ, तर दृश्य के छ भनेर खोज्नुपर्‍यो भने समस्या आउँछ’, केदार सुनाउँछन्, ‘मसँग सात वर्षदेखि यही नाटक थियो दिमागमा । अनि यसैलाई अगाडि बढाएँ ।’

    मण्डलाले नाटकको मिति घोषणा गरेको थियो । केदारलाई पनि दिमागमा पहिल्यै भएकाले एक सातामा नाटक सकाउँछु भन्ने लागेको थियो, तर जब लेख्न बसे, सकेनन् । उनको दुईतीन महिना नाटक लेखनले खाइदियो ।

    ‘यो नाटक एकदमै भावनात्मक छ । यही कारण अन्तिम दृश्यदेखि लेख्न सुरु गरें । त्यो पात्र मै हुँ कि भनेर लेख्न सुरु गरें । यस्तो घटना कसैको जीवनमा नघटिदिए हुन्थ्यो भन्ने लाग्छ, तर क्लाइमेक्समा रिलिफ छ’, केदार सुनाउँछन्, ‘यो नाटक लेखिरहँदा कन्सेप्ट सुनिरहेका साथीहरुले लेख्न ढिला भयो भन्थे । साँच्चिकै ढिला भयो कि भन्ने लाग्थ्यो, तर नाटक लेखिसकेपछि लाग्यो, लेख्न ढिला भएको रहेनछ ।’

    यो नाटक श्रीमान-श्रीमतीको स्टोरी हो । साथै ससाना पात्रहरुले पनि घटना बोकेर आउँछन्, तर ससाना पात्रहरु मञ्चमा देखिँदैनन्, नेपथ्यबाट आउँछन्, नेपथ्यमै बिलाउँछन् । बरु गर्भमा रहेको बच्चाले पनि मुख्य भूमिका निभाएको छ । नाटकमा अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधानले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

  • भेटिएन जीवनको सार्थकता

    भेटिएन जीवनको सार्थकता

    मन प्रधान कि मस्तिष्क प्रधान ? यसमा म जीवनको लामो समय घोत्लिएँ । सधैं सोचमा आइरहने, तर निर्क्योल गर्न नसक्ने अवस्थामै जीवनका महत्त्वपूर्ण र उर्बर समय व्यतित भयो । यही प्रश्नको घेराबन्दीमा जीवनका अनेकौं प्रश्न छायाँमा परे । टार्न सम्भव हुने विषयहरु टारिरहें, सम्भव नहुने विषयहरु प्रश्नका कडीमा कसिरहें । सम्भव भनिएका प्रश्नहरु टारिए तापनि त्यसका अवशेषहरु भने अन्तरआत्माका अन्तरकुन्तरमा बसिरहे ।

    जीवनको सार्थकता खोज्ने मेरो सोच भने अन्तिम सास रहुञ्जेलसम्म पनि निरन्तर चल्छ भन्नेमा विश्वस्त छु । सोच र खोजको उर्बरताको उमेरमा पहिल्याउन नसकेका मेरा जीवनका सार्थकताहरु निश्चित समयपछि भने आफैं स्वतः कमजोर हुनेमा ममा कुनै द्विविधा छैन । त्यसैले पनि मलाई हरेक पाइलामा झक्झकाउने गर्दछ । त्यही झकझकाइ नै मेरो जीवनको सार्थकता खोज्ने प्रयत्नका असल कडी हुन् । मन (हृदय) ठूलो कि मस्तिष्क ? यो प्रश्नले चालीसौं वसन्त पार गर्‍यो । मन र मस्तिष्कको तादात्म्य मिलाउन नसकेर नै जीवनमा यति धेरै अशान्ति छाएको छ । तापनि यी दुईमा कुन प्रधान भन्ने विषयले गाँजिरह्यो ।

    टार्न र सार्न सकिने प्रश्नहरु अन्तरआत्माका अन्तरकुन्तरमा बसिरहँदा टार्न नसकिने विषयहरु भने पाइला-पाइलामा ठोक्किरहेका छन् । जसको समाधानविना जीवनको अर्थ नदेख्दा वार र पारका अवस्थामा विचारको मन्थन र विषयवस्तु निराकरणको खोजीमा लाग्नु नै पहिलो विकल्प हो । दोस्रो विकल्प भनेको जीवनको अन्त्य हो । जीवनको अन्त्यले सम्पूर्ण कुराको समाप्ति हुनुभन्दा अनेकौं प्रश्नको उत्तर खोज्नु नै अहिलेको प्राथमिकता हो, जुन प्रयत्न गरिरहेको छु ।

    मनमा लागेका विषयहरु सबै सत्य होइनन् भन्ने कुराको भेउ पाउन नै जीवन आधाआधी भयो । मन पनि चेतनामा निर्भर हुने रहेछ ।

    साँच्चै हामी सफल हुने भन्छौं र भौतिक प्राप्तिमा जीवन सफल सोच्नेहरु हामी अनगिन्ती छौं, तर यसमा यो पंक्तिकार भने सहमत छैन । जीवनमा दुःख र चिन्ताको कारण नै भौतिक सम्पत्ति भएको निष्कर्षमा यो मन र मस्तिष्क दुवै पुगेका छन् । जीवन सफल हुनुमा भौतिक सम्पत्तिभन्दा पनि चेतनाको विकास र सामाजिक योगदान हो भन्ने सोचमा मन र मस्तिष्क दुवै सहमत छन् ।

    मन (हृदय) साँच्चै क्षणिक हुन्छ क्यारे ! मस्तिष्क भने यथार्थमा आधारित । मनको सुनेर गर्नेमा अभ्यस्त बनिसकेको यो जीवनमा मस्तिष्कका निर्णय नै सर्वोपरि हो भन्ने बुझाउन कति सहज, कति असहज ! धेरै मनका सुन्यौं र गर्‍यौं, तर त्यसले जीवनका सुख र शान्तिको अनुभूति दियो कि दिएन ? यही प्रश्नले मन घोत्लिरहेको छ । मन र मस्तिष्कको फ्युजन गर्न नसकेको सन्दर्भमा यावत प्रश्न जीवनका उपहार बनेर टाँसिएका छन् ।

    हृदय र मस्तिष्कमा कुन प्रधान ? एकअर्काको परिपूरक बनेका यी अंगहरु नै जीवन चलाउने यन्त्रहरु हुन् । मनको आदेश मानिरहँदा मस्तिष्कलाई सोच्ने परिपाटी भने ओझेलमा परिदियो । आफूलाई लागेको नै एकमात्र सत्य हो भन्ने द्विविधामा रमेका हामीले यसभन्दा पर सोच्न कहिल्यै सकेनौं । त्यसो हो भने हृदयको आदेश मस्तिष्कले मान्छ कि मस्तिष्कको आदेश मनले ? हाम्रा अंगहरु कसका आदेशबाट परिचालित हुन्छन् त ?

    मनमा लाग्नु र मस्तिष्कमा लाग्नुको बीचमा असंख्य असमानता रहेछ । त्यही असमानताका बीचमा जीवन पौडिएका रहेछन् । यही असमानतालाई बुझ्न नसकेका र नखोजिएका पलहरुमा गरिएका अनेकौं कर्महरु भने जीवनका लागि बोझ बन्ने रहेछ । जुन बोझ हामी अविरल रुपमा अनन्तकालसम्म बोकी हिँडेका छौं ।

    मन र मस्तिष्कको फ्युजन गर्न पनि चेतनाको विकास हुनुपर्ने रहेछ । मन र मस्तिष्कको फ्युजन गर्न सकिए सायद मानव जाति संसारमा सबै प्राणीभन्दा सुख र शान्तिको प्रतिक हुन्थ्यो होला, जीवन सार्थक हुन्थ्यो होला ।

    मनले चाहेको तर मस्तिष्कलाई नसोधिएका अनेकौं कर्मले जीवन फर्कन नसक्ने ठाउँमा पुगिसकेका छन् । मन र मस्तिष्कको फ्युजन गर्न पनि चेतनाको विकास हुनुपर्ने रहेछ । जुन सामान्य मस्तिष्कमा बस्न सकेन । मनका निर्णय मस्तिष्कलाई किन सोधिएन ? मनका निर्णय नै किन प्रधान बनिदियो ? मन र मस्तिष्कको फ्युजन गर्न सकिए सायद मानव जाति संसारमा सबै प्राणीभन्दा सुख र शान्तिका प्रतीक हुन्थ्यो होला, जीवन सार्थक हुन्थ्यो होला ।

    त्यसो भए जीवनमा मस्तिष्कका निर्णयहरु कति भए ? यसले जीवन घोत्लिन पुगेको छ । जति घोत्लिए पनि भेट्टाउन नसकेका निर्णयहरु सबै मन (हृदय) का मात्र पाएँ । मनमा लागेका विषयहरु सबै सत्य होइनन् भन्ने कुराको भेउ पाउन नै जीवन आधाआधी भयो । मन पनि चेतनामा निर्भर रहने रहेछ । सहज वातावरण र क्षणिकमा हिँडाउन मनका निर्णयहरु निर्णायक बने तापनि त्यसले जीवनमा गलपासोमात्र थपिदियो । त्यही गलपासो हटाउन जीवनमा अनेकौं कर्म मञ्चन भए तापनि त्यसले पूर्णता नपाउने कुरामा विश्वस्त छु ।

    प्राप्तिमा जीवनको सफलता खोज्ने, सफलताका लागि सहज बाटो रोज्ने, क्षणिक खुशीका लागि गरिने मनका निर्णयहरु हुन् । सामाजिक हुन मनकाे निर्णय होइन, मस्तिष्ककाे निर्णय प्रधान हुने रहेछ । व्यक्तिगत उपलब्धिलाई समाज विकासको साधन खोज्नेहरुले जीवनको अर्थ बुझ्न सक्ने रहेनछ । थुप्रिएका अनेकौं समस्या समाधान गर्न त्यति सहज छैन । सानो सोच र चेतनाले यो सम्भव हुने विषय होइन रहेछ । लहलहैमा जीवन व्यतित गर्ने हामी सृष्टिका निरन्तरताभन्दा अन्य पृथक हुन सकेनौं ।

    चिसो हावाको शीतलतामा होस् वा रातको त्यो चकमन्न निष्पट अँध्यारोमा ! जीवनको सार्थकता कतै भेटिएन । जीवनको सार्थकता र शान्ति खोज्ने यी आत्माहरु थप उकुसमुकुस भएर भड्किनुको विकल्प देखिनँ ।

  • राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’- नेपाली युवाहरुकाे लागि सुनौलो अवसर

    राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’- नेपाली युवाहरुकाे लागि सुनौलो अवसर

    सेप्टेम्बर २० देखि २३ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालयमा ‘समिट अफ द फ्युचर’ आयोजना भएको थियो । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रहरुको सहभागितामा भएको उक्त समिटमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । यस कार्यक्रममा नेपाल युवा परिषद्को प्रतिनिधित्व गर्दै र सम्पूर्ण आर्थिक तथा अन्य व्यवस्थापन आफैंले गरी ‘समिट अफ द फ्युचर २०२४’ मा सहभागिता जनाएको थिएँ र धेरै नयाँ ज्ञान र विभिन्न देशका युवाहरुसँग पनि भेट्ने अवसर मिल्यो ।

    विभिन्न देशहरुमा धेरै सम्मेलन तथा तालिममा सहभागी भएँ, तर संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित समिट अफ द फ्युचरमा सहभागी हुँदा पहिले कस्तो कस्तो लाग्यो । बोल्ने वक्ताहरु उमेरले मभन्दा सानोदेखि ज्ञानले परिपक्वसम्मका थिए । उनीहरुले भविष्यप्रति देखाएको चिन्ता र चासोका साथै जलवायु परिवर्तन, डिजिटल र ‘इनोभेसन’का विषयमा निकै ठूलो चासो र चिन्ता दिएको पाएँ । यसतर्फ हाम्रो संगठन अनेरास्ववियु र नेपाल सरकारले पनि चासो दिनुपर्दछ । भविष्यप्रति यी विषयहरुलाई चासो र चिन्ताका साथ हेरिनुपर्ने रहेछ भन्ने कुरामा म आफू चाहिं स्पष्ट भएँ ।

    विशेषगरी ‘प्याक्ट फर दि फ्युचर’, ‘ग्लोबल डिजिटल कम्प्याक्ट’, ‘सेक्युरिटी काउन्सिल रिफर्म’, जलवायु परितर्वन र दिगो विकास तथा डेब्ट एण्ड फाइनान्स रिर्फमको वरिपरि रहेर ‘समिट अफ द फ्युचर’ आयोजना गरिएको थियो । जहाँ सदस्य राष्ट्रहरुको तर्फबाट हरेक देशका प्रमुख वा प्रतिनिधिले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए ।

    ‘समिट अफ द फ्युचर’ सेप्टेम्बर २२ र २३ मा हुनुभन्दा अगाडि ‘समिट अफ द फ्युचर एक्सन डेस’ आयोजना भएको थियो । जहाँ विभिन्न देशहरुबाट युवा, विद्यार्थी, सामाजिक अभियन्ता र सरोकारवाला निकायहरुको सक्रिय सहभागिता थियो । सबैको सक्रिय सहभागिता भएको समिटका वक्ताहरुले विश्वको चिन्ताका विषयहरु जस्तैः जलवायु परिवर्तन, ग्लोबल डिजिटल कम्प्याक्टका विषयहरुलाई कार्यान्वयन र आगामी दिनहरुमा थप सक्रियाताका साथ स्थानीयकरण गर्न जोड दिएका थिए । विभिन्न समुदाय र उमेर समूहका व्यक्तिहरुको विषयमा पनि जोडका साथ आवाज बुलन्द पारेका थिए । त्यसमा पनि युवालाई अझ बढी प्राथमिकतामा राखी वक्ताहरुले आफ्नो धारणा राखेको देख्दा हामी नेपाली युवाहरुले त्यति धेरै अवसर प्राप्त नगरेको हो कि भन्ने पाएँ । अन्य देशका युवाहरुको तुलनामा हाम्रो देशका युवाहरुको प्रतिनिधित्व अत्यन्तै न्यून पाउनुले पनि राज्यले आगामी दिनहरुमा यस्ता फोरमहरुमा बढीभन्दा बढी नेपाली युवाहरुलाई सहभागी गराउनेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।

    सबैको सक्रिय सहभागिता भएको समिटका वक्ताहरुले विश्वको चिन्ताका विषयहरु जस्तैः जलवायु परिवर्तन, ग्लोबल डिजिटल कम्प्याक्टका विषयहरुलाई कार्यान्वयन र आगामी दिनहरुमा थप सक्रियाताका साथ स्थानीयकरण गर्न जोड दिएका थिए । विभिन्न समुदाय र उमेर समूहका व्यक्तिहरुको विषयमा पनि जोडका साथ आवाज बुलन्द पारेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका थिए । महासभाको उक्त समिटको उद्घाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रस्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गरी त्यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।

    राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले महासभाको ‘समिट अफ द फ्युचर’ लाई सम्बोधन गरेको समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलले महासभामा भाग लिएको थियो । प्रधानमन्त्री ओलीले समिटलाई सम्बोधन गरी विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नुभएको थियो । साथै अमेरिकाका लब्ध प्रतिष्ठित विश्वविद्यालयमा समेत अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई विशेष सम्बोधन गर्नाुभएको थियो । त्यस अन्तरक्रियात्मक कार्यक्रममा सहभागी विद्यार्थीहरुले नेपाल र नेपालको पर्यटकीय गन्तव्यका विषयमा विशेष चाखो राखेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा उनले अल्प विकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगीकरण गरिनुपर्नेमा जोड दिनभयो । प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भई विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले लाखौं बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औंल्याउँदै गरिबी निवारणमा जोड दिनुभयो ।

    महासभामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत सहभागी भएका थिए । ‘समिट अफ द फ्युचर’ सम्पन्न भएपश्चात प्रधानमन्त्री ओली हावर्ड विश्वविद्यालय, केनेडी स्कुल अफ पोलिटिक्स र एमआईटीले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा नेपाललगायतका विभिन्न देशका विद्यार्थीहरुको सवाल र प्रधानमन्त्री ओलीको जवाफ कार्यक्रम नजिकबाट हेर्ने मौका मिलेको थियो ।

    प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भई विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले लाखौं बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औंल्याउँदै गरिबी निवारणमा जोड दिनुभयो ।

    बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिका (बाना), नेपाल अमेरिका पत्रकार संघ (नेजा), प्रवासी नेपाली मञ्च अमेरिका तथा ओहायो, न्यूयोर्क, टेक्सासलगायतका राज्य कमिटीका साथीहरु र नेपाली समाज टेक्सासले आयोजना गरेको भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई कर्मथलो अमेरिका बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीहरुसँगको भेटघाटले मलाई थप हौसला मिल्यो । उनीहरुको नेपाल र नेपालीप्रतिको माया र सद्भाव उच्चस्तरीय थियो, जुन कुराले भौतिक रुपमा ‘जहाँ भए पनि यो मन त नेपाली नै हो’ भन्ने कुराको चरितार्थ गर्‍यो ।

    अमेरिकाको क्लिभल्यान्ड आर्ट म्युजियममा अवलोकन गरी नेपालका स्रोत नखुलेका निकै वर्ष पुरानो उमा गणेश, बज्रबाराही गणेश र रोयल फिमेलको डोनर तथा विदेशी फन्डबाट प्राप्त भनी उल्लेखित मञ्जुश्रीका मूर्तिहरूले गहिरो प्रभाव पार्‍यो, केही वर्षअघि न्यूयोर्कको मेट्रोपोलिटन म्युजियममा ७०० वर्ष पुरानो बुद्धको मूर्ति फिर्ता गरिएको थाहा पाउँदा हर्ष लाग्यो । यी मूर्तिहरू यदि हराइएका नेपाली सम्पदा हुन् भने पुरातत्त्व विभागले तुरुन्त खोज अनुसन्धान गर्नु आवश्यक छ र यसको थालनीको लागि नेपाल सरकारलाई अपिलसमेत गर्दछु ।

    अमेरिका बसाइ र घुमघामको क्रममा अखिलका अग्रज तथा पुराना साथीहरुसँग समेत भेटघाट भयो र संगठनको विषयमा समेत विभिन्न दृष्टिकोणबाट छलफल गरियो र डायस्पोराको समस्या समाधानका लागि समेत अगाडिका कदमहरुको विषयमा वैचारिक छलफल गरी उहाँहरुले उठान गरेको विषयमा राज्य गम्भीर भई सम्बोधन गर्नसके नेपाल र नेपालीको माया र व्यवसायिक गाँठो अझै प्रगाढ बन्ने थियो भन्ने कुरामा म विश्वस्त छु र प्रधानमन्त्री केपी ओलीलाई यस विषयमा जानकारीसमेत गराइसकेको छु ।

    ‘समिट अफ द फ्युचर’ मा पर्शुराम नगरपालिकाका मेयर भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँले सहभागिता जनाउनुभएको थियो । विभिन्न पत्रकार, सामाजिक अभियान्ताहरु, विकास साझेदारका प्रतिनिधिहरुलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुसमेत नेपालबाट प्रतिनिधित्व गर्दै समिटमा सहभागिता जनाएका थिए ।

    आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न कार्यक्रममा नेपालका युवाहरुलाई सहभागिताको लागि विशेष पहल गर्नुपर्ने र यस्ता कार्यक्रमहरुमा सहभागी भई आएका व्यक्तिहरुलाई राज्यले बोलाई अन्य युवाहरुमाझ सिकाइ तथा अनुभव साटासाट गराउने वातावरण तयार गर्न अनुरोध छ, जसले गर्दा अन्य नेपाली युवाहरुले समेत भविष्यमा यो र यस्ता खालका कार्यक्रममा सक्रियताका साथ सहभागिता जनाउन सकून् ।

  • राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’

    राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’

    काठमाडौं । अहिले हाम्रो दैनिक आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको एउटा विशेषता यो हो कि यसले कोही पनि आममान्छेलाई रातारात चर्चित बनाइदिन सक्छ । चर्चाको आयु भने निश्चित हुँदैन ।

    पछिल्ला दिनमा सामाजिक सञ्जालले ह्वात्तै चर्चामा ल्याएको एक नाम हो- आशिका तामाङ । केही वर्षअघि दशैंताका एउटा भिडिओमा बोलेका शब्दले ‘भाइरल’ भएकी उनी अहिले आफ्ना क्रियाकलापका कारण ‘ट्रेन्डिङ टपिक’ बनेकी हुन् । मानिसहरु उनको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । उनले विभिन्न ठाउँमा क्यामरासहित पुगेर हस्तक्षेप घटनाहरुमा ताली र गाली समानान्तर आइरहेका छन् ।

    मेडिकल साइन्सले भन्छ, मान्छेको मस्तिष्कको औसत तौल १ हजार २०० देखि १ हजार ४०० ग्रामसम्म हुन्छ । यही मस्तिष्कको प्रयोग गरेर आइन्सटाइनले विज्ञानको कोर्स नै बदले । यही मस्तिष्कको प्रयोग गरेर चार्ल्स डार्बिनले क्रमिक विकासको अध्ययनमा उलटफेर ल्याए । यही मस्तिष्कको उच्चतम प्रयोग गरेर युवल नोह हरारी अहिले संसारभर चर्चामा छन् ।

    यही सवा एक किलो मस्तिष्कको प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र समृद्धिको गफ छाँटिरहेका छन् । यही मस्तिष्कको प्रयोग गर्दै कुत्सित मनसाय राखेर दलाल र विचौलियाहरुले निमुखा नागरिकहरुलाई ठगिरहेका छन् । यही सवा एक किलो मस्तिष्कको प्रयोग गरेर आशिका तामाङ सामाजिक सञ्जालमा छाइरहेकी छन् । मानिसहरुले पनि यही मस्तिष्क प्रयोग गरेर उनीमाथि टीकाटिप्पणीहरु गरिरहेका हुन् ।

    आशिका तामाङ कति सही छन् र कति गलत भनेर तराजुमा तौलन हामी सक्दैनौं । उनको नियत सफा नै देखिन्छ । यद्यपि उनको क्रियाकलापहरुले गम्भीर सवालहरु पैदा गरेका छन् । सबैभन्दा ठूलो सवाल के हो भने यदि कुनै ठाउँमा गलत काम भइरहेको छ भने त्यसलाई एउटा आमनागरिकले हस्तक्षेप गर्ने सही तरिका यो हो कि होइन ?

    यहाँ एक रुपैयाँ पर्ने डिकोल्डलाई साढे तीन रुपैयाँ तिर्नुपर्छ । यहाँ सामान्य उपचार गर्न ठूला अस्पतालमा गोजी रित्याउनुपर्छ । सुत्केरी हुन जाँदामात्रै लाखौंको बिल थमाइन्छ । बिरामीले सास फेर्न बन्द भइसकेपछि पनि ‘थप उपचारका लागि’ भन्दै एउटा परिवारको भावनासँग खेलवाड गरेर उनीहरुलाई सडकमा ल्याइन्छ ।

    यहाँ राम्रा भनिएका निजी स्कुलहरुमा महिनाको बीसौं हजार रुपैयाँ फीमात्रै बुझाउनुपर्छ । यातायात कार्यालयमा लाइसेन्सका लागि सीसीटीभी र अन्य रेकर्डहरु छल्दै घुस माग्नेहरु छ्यापछ्याप्ती भेटिन्छन् । मालपोत कार्यालयको गेटबाटै दलालले पिछा छाड्दैन । दलालसँग डिल फाइनल नगरेसम्म कर्मचारीले काममा भाँजो हालिदिन्छ । यहाँ खुलेआम नदी, खोलामा डोजर कुदाएर राज्यको सम्पत्तिमाथि लुटपाट मच्चाइन्छ । खोला दोहनले निम्त्याएको पर्यावरणीय चुनौती त बहसको अर्कै विषय भयो ।

    दशैंको वेला घर जान बसको टिकट पाउन पनि यहाँ घुस खुवाउनुपर्छ । रेस्टुरेन्टहरुमा राज्यको नियमन छैन, ग्राहकले मनपरी मूल्य तिर्नुपर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बदाम छोडाउँदै घाम तापेर बस्छ । ग्राहकले गुणस्तरहीन, सडेगलेका खानेकुरा खानुपर्छ । अनि जनताले प्रश्न गर्न सुरु गर्छ, राज्य खै ? संविधान छ, कानून छ, त्यसको कार्यान्वयन खै ?

    यहाँ हरेक खुड्किला जनतालाई ठग्न बनाइएका छन् । हरेक सासमा जनता ठगिनु परेको छ । जनताले एकएक पैसा तिरेको करले चलेको यो देशमा जनताले पाउनुपर्ने आधारभूत सुविधा खै ? राज्यलाई गर्नुपर्ने प्रश्न यावत छन् । राज्यले सम्बोधन गर्नुपर्ने सामान्य मुद्दाहरु अनवरत छन् । जनता राज्यसँग पूरै असन्तुष्ट छन् । यही असन्तुष्टिले सिर्जना गरेकी एक ‘विद्रोही’ पात्र हुन् आशिका तामाङ, तर उनको ‘विद्रोह’ ले समाधान दिन्छ कि नयाँ समस्याहरु जन्माउँछ ? चिन्ताको विषय यो हो ।

    सामाजिक अभियन्ता भन्दै क्यामरासहित सरकारी निकायदेखि निजी व्यवसायमा प्रवेश गरेर मानिसहरुलाई थर्काउने प्रवृत्ति पछिल्लो समय विकृतिकै रुपमा मौलाइरहेको छ । ज्ञानेन्द्र शाहीदेखि शर्मिला वाइबासम्मले अभ्यास गरेका यस्ता क्रियाकलापहरु सभ्य समाज र कानूनी राजका लागि चुनौती हुन् भन्न सायद धेरै अन्कनाइरहनु नपर्ला । कसैको शैली बढी अराजक त कसैको अलि शिष्ट वा नरम देखिएला, तर प्रवृत्ति उस्तै नै हो । एक थान बुम र क्यामरा साथमा भइसकेपछि यो प्रवृत्तिले ठान्छ ‘म नै प्रहरी हुँ, म नै वकिल हुँ, म नै न्यायाधीश हुँ, म नै अदालत हुँ, म नै राज्य हुँ ।’

    कुनै पनि किसिमका अनियमितताका विरुद्धमा जो कसैले गर्ने गर्ने हस्तक्षेप आममानिसहरुलाई मन पर्ने नै भयो । त्यो हस्तक्षेपको शैली जति कडा भयो, जनताको एउटाको एउटा तप्काबाट त्यति नै वाहवाही मिल्छ । यो त्यही तप्का हो, जो राज्य प्रणाली र शासकहरुसँग चरम असन्तुष्ट छ । जो पाइला-पाइलामा ठगी र भ्रष्टाचारको शिकार बनिरहेको छ । आशिका तामाङहरुको ‘कारवाही’ ले उनीहरुलाई क्षणिकरुपमा भए पनि सन्तोष मिल्छ । यदि राज्यसंयन्त्र बलियो थियो भने, यसले सबैतिर आफ्नो उपस्थिति देखाउन सकेको भए अभियन्ताहरुले यसरी स्पेस पाउने नै थिएनन् ।

    केही समयअघि आशिकाले साँगाको पुलमा काटिने टिकट जलाएको भिडियो भाइरल भयो । उक्त पुलमा मान्छेहरु टिकटकको भिडियो बनाउन र फोटो खिच्न जाने गरेका थिए । उनीहरुलाई नै लक्षित गरेर वडा कार्यालयले २० रुपैयाँ दस्तुर लिन्थ्यो । आशिकाले गएर टिकट जलाइदिइन् र त्यहाँ काम गर्नेहरुलाई थर्काएर हिँडिन् । त्यो टिकट कुनै अमूक व्यक्तिले नभएर राज्यले काटिरहेको थियो । यसरी टिकट काट्नु गलत लागेको भए यसको समाधान खोज्न उनी सम्वन्धित निकायमा पुग्नुपथ्र्यो । केही थान टिकट जलाएर यसको निरुपण हुनेवाला थिएन ।

    अरु पनि थुप्रै भिडिओहरु आशिकाले हालिरहेकी हुन्छिन् । कतिपय भिडिओहरु हेर्दा थोरै पैसामा काम गर्ने मजदुर र साना व्यापारीहरु उनको निशानामा परेको देखिन्छ । त्यसो त कति वास्तविक ठगहरुलाई पनि उनले सातो लिएकी छन् । जस्तो कि राजमार्गका यात्रुहरुलाई न्यून गुणस्तरको खाना खुवाउने र महंगो रकम ठटाउने होटल साहुहरु उनीसँग त्राहिमाम छन् । काठमाडौंका सपिङ मलहरुभित्र पार्किङ शुल्कका नाममा भइरहेको चर्को असुलीको विषयलाई उनले बहसमा ल्याइन् । रेस्टुरेन्टभित्र १५ रुपैयाँको पानी ५५ रुपैयाँमा बेच्नेहरुले आशिका तामाङ पो आइपुग्छिन् कि भनेर डराउनुपर्ने स्थिति आएको छ । कति ठाउँमा त आशिका तामाङलाई बोलाइदिन्छु भनेर समेत ठग व्यवसायीहरुलाई तर्साउन थालिएको छ ।

    उद्योगी व्यवसायीका पनि आफ्ना दु:ख छन् । आर्थिक मन्दीबाट गुज्रिरहेको छ देश । चालू आर्थिक वर्ष (२०८१/८२) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । ग्राहक महँगीको चपेटामा छन् । कतिपय व्यवसायीहरुलाई भाडा तिर्न नै हम्मेहम्मे परेको छ । पर्यटनको सम्भावनाबारे जति नै झ्याली पिटे पनि अर्बौं लगानी गरिएका स्टार होटलका कोठाहरु खाली छन् । तर, यसो भनेर आएका ग्राहकहरुमाथि लुट मच्चाउने हक कसैसँग छैन ।

    यो सबै कुराको नियमन गर्नुपर्ने सरकारले हो । थुप्रै सरकारी निकायहरु यसमा जिम्मेवार छन् । स्थानीय तहमा पनि उपभोक्ता हित संरक्षण महाशाखा हुन्छ । यी कसैले पनि आफ्नो जिम्मेवारी बहन नगर्दा जनताले आशिका तामाङहरुको खोजी गर्नुपर्ने दिन आएको हो ।

  • महाकवि देवकोटाका १५ रोचक पक्ष- के लेखे दार्जिलिङकी देवकुमारीको अटोमा?

    महाकवि देवकोटाका १५ रोचक पक्ष- के लेखे दार्जिलिङकी देवकुमारीको अटोमा?

    काठमाडौं । १९६६ कार्त्तिक २७ गते राती ९ः ५४ मा जन्मेका हुन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा । तर, आज अर्थात् कार्त्तिक १५ गतेलाई उनको जन्म जयन्तीको रूपमा मनाइँदैछ । २७ गते जन्मेका देवकोटालाई १५ गते जन्म जयन्ती मान्नु रोचक छ । यसो हुनुको कारण लक्ष्मीपूजाको दिन जन्मिएकाले देवकोटालाई हरेक लक्ष्मीपूजाको दिन जन्मजयन्ती मनाएर सम्मान गरिन्छ । खास वैदिक परम्परा अनुसार जन्मलाई तिथिको कोणमा मनाइने गरिन्छ । तर, धेरैजसो मितिको कारण मनाएर यो चलन कमजोर जस्तै छ । देवकोटाको हकमा भने तिथिकै जन्म जयन्ती प्रचलित छ जुन अरू नेपाली ठूला व्यक्तित्वको हकमा प्रचलनमा छैन ।

    देवकोटाका बारेमा धेरै बोलिएका छन् । लेखिएका छन् । पढिएका छन् । पढाइएका छन् । यो सामाग्रीमा देवकोटाबारेमा लेखिएको नरेन्द्रराज प्रसाईँको पुस्तक ‘देवकोटाको जीवनशैली’ र जगत नेपालको पुस्तक ‘पहिलो संसद’मा आधारित भएर देवकोटाका १५ रोचक पक्ष लेखिएको छ ।

    १. देवकोटाका तीन नाम: तीर्थमाधव, सरस्वतीप्रसाद र लक्ष्मीप्रसाद

    देवकोटाका विभिन्न चरणमा विभिन्न नामहरू भए । उनको चिनाको नाम तीर्थमाधव देवकोटा । उनी पढाइमा ज्यादै अब्बल भएपछि पिताले दिएको नाम सरस्वतीप्रसाद । र, उनको चिनिने औपचारिक नाम लक्ष्मीप्रसाद देवकोटा ।

    २. पिता तिलमाधवका कविता सार्दासार्दै कवितामा प्रवेश

    बाल्यकालमा देवकोटाका पिता तिलमाधव देवकोटाले लेखेका कविता सार्न सक्रिय थिए देवकोटा । त्यही क्रममा क्रमशः उनी कविता लेख्नमा जोडिएका थिए । तिलमाधवका कविता सार्दा कविताको यात्रामा जोडिएका देवकोटालाई तिलमाधवले जस्तै पण्डित बन्ने बाटो भने आमा अमरराज्यलक्ष्मी र जेठा दाजु लेखनाथले बन्द गरिदिएका थिए । तिलमाध देवकोटाले नै कखरा सिकाएका थिए देवकोटाका एक प्रिय पात्र तथा नेपाली नाट्यसम्राट बालकृष्ण समलाई ।

    ३.बीएल सकेर आउँदा ९० को भूकम्प: थानकोटमै अड्किए

    दरबार हाई स्कुल पढेका देवकोटाकाले १९८२ मा तत्कालीन म्याट्रिकुलेसन अर्थात् अहिलेको एसइईको परीक्षा दिएका थिए । नेपालमा पढाइ नहुने भएकोले उनले भारतको पटनामा पुगेर त्यो परीक्षा दिएका थिए । १९८५ सालमा आइएस्सी पढेका उनले १९८६ सालमा बीए पास गरे । १९९० मा पुग्दा कानुननमा स्नातक बीएसल नै सके । उनले बीएल सकेर थानकोटमा आउँदा नेपालमा १९९० को महाभूकम्प आयो । उनी थानकोटमै एक दिन रहे । धरहरा ढलेको र टुँडिखेल चिराचिरा बनाउने भूकम्पले धन्न उनको घरमा केहि ठूलो क्षति गरेन ।

    ४. वीरमानबाट सिके तामाङ भाषा: इलाममा सुनाए अंग्रेजी सेलो

    देवकोटाको घरमा घरेलु श्रमिक वीरमान तामाङ थिए । उनैबाट देवकोटाले तामाङ भाषा सिके । उनले २००९ असोज १९ मा इलाममा महानन्द सापकोटाले आयोजना गरेको सम्मेलनमा पुगेका देवकोटाले त्यसको भोलीपल्ट इलाम छात्रसंघले आयोजना गरेको कार्यक्रममा उनले तामाङसेलो लयमा अंग्रेजी भाषाको कविता वाचन गरेका थिए ।

    ५. विद्यार्थी हुँदा चुरोटको घृणा, शिक्षक भएपछि विद्यार्थीसँग चुरोट माग

    देवकोटाले चुरोट धेरै खाने कुरा यत्रतत्र छन् । विद्यार्थी अवस्थामा चुरोट खाएको देखी नहसने उनी पछि आफूले ट्युसन पढाउँदा विद्यार्थीहरूलाई नै सोध्न थाले, ‘चुरोट ल्याएनौँ?’ मागेर भए पनि चुरोट खाने, बनारसमा चुरोट नपाएर खोज्दै जाँदा रेलमा चुरोट खाने मान्छे भेटेर उसको सिटमा चुरोट खाँदा फैजावादमा पुगेका किस्साहरू छन् । ‘फूलमार’ र ‘मोटरमार’ ब्राण्डमा चुरो धेरै खाने देवकोटाले ‘माई डार्लिङ’ नामको चुरोट ब्राण्ड बन्द हुँदा चित्ता दुखाएका थिए । देवकोटापत्नी मनदेवी देवकोटा भने शाकाहारी थिइन् । उनी कविप्रसाद गौतमको हड्डा हतिर्कितनमा जोडिएकोले यस्तो भएको थियो ।

    ६. बीए गरेर प्राध्यापक हुने त्रिचन्दका प्रथम अनुहार

    २००३ असार १२ मा त्रिचन्द्र क्याम्पसमा देवकोटा प्राध्यापक भए । उनी नेपाली र अंग्रेजी पढाउँथे । प्राध्यापक भएकोमा देवकोटा खुशी भएर त्यो नियुक्ति पछिका आफ्ना कृतिहरूमा नामको अगाडी ‘प्रो’ भन्दै त्यसपछि ‘बीए, बीएल’ फुर्को पनि लाउँथे । १०० रुपैयाँको त्रिचन्द्रको तलबमा सरकारी सलामी कटाएर देवकोटाको हातमा ९५ रुपैयाँ आउँथ्यो । २०११ सालमा देवकोटाको पद्मकन्य क्याम्पसमा पनि अंग्रेजी पढाए । २०१२ असोजमा कमर्स क्याम्पसमा तीन महिना पढाए ।

    ७. सल्लाहकार सभा: अध्यक्षमा हार, प्रतिपक्षी नेतामा जित

    अहिलेको राष्ट्रिय सभा जस्तै तर मूलतः राजाले नियुक्ति गर्ने सल्लाहकार सभामा देवकोटा राजा त्रिभुवन र महेन्द्र दुवैको कार्यकालमा जोडिए । २००९ वैशाख १ गते गठन भएको सभामा उनले अध्यक्षतामा दिएको आवेदनमा उनी पराजित भए । २०११ वैशाख १ मा गठन भएको सल्लाहकार सभामा चैँ उनले प्रतिपक्षी नेताको उम्मेदवारी दिए, जिते । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको त्यही सभामा उनले खरो आलोचना गरेका थिए । सभामा हुँदा तराईका सदस्यहरूले हिन्दीमा बोल्न भनेपछि उनले अंग्रेजीमा बोलेका थिए । उनको त्यो कदमको प्रश्न उठ्दा उनले हिन्दीलाई राष्ट्रभाषा मान्ने देशमा पनि अंग्रेजी बोलिने, संयुक्त राष्ट्रसंघमा पनि अंग्रेजी हुने भन्दै कडा प्रतिवाद गरेका थिए ।

    ८. धर्मराज थापाको नाम काटेर केआई सिंहको मन्त्रीमा देवकोटा

    सिंहदरबार कब्जाको कसुरमा डाक्टर केआई सिंहले कारबाहीको डरले चीन निर्वासन रोजे । पछि उनलाई राजा महेन्द्रले माफी दिए । उनी ल्हासाबाट रसुवा हुँदै सन्दरीजल आए । उनलाई लिन जाने ताँतीमा एक थिए देवकोटा । सिंह र देवकोटा गाडीको अगाडीको सिटमा बसेर काठमाडौं आएका थिए । देवकोटा सिंहको ‘राष्ट्रवादी’ अडानबाट प्रभावित थिए । २०१४ कार्त्तिक २९ गतेसम्म ११० दिन चलेको सिंह सरकारका ‘शिक्षा तथा स्वायत्त शासनमन्त्री’ भए । सिंहको मन्त्रीको सूचिमा धर्मराज थापा थिए तर राजा महेन्द्रले सम्झाएपछि सिंहले देवकोटालाई राखेका थिए । उसो त टंकप्रसाद आचार्यको मन्त्रीमण्डलमा पनि देवकोटालाई अफर आएकै हो । उनी गएनन् । सिंहको पालमा भने पत्नी मनदेवीको आग्रह टार्न नसकेर मन्त्री भएका थिए । मन्त्री भएपछि त्रिविको मुख्यालय कीर्तिपुरको पाँच हजार रोपनी भन्दा धेरै जग्गा व्यवस्थापन, नेपाली भाषाको पठन अनिवार्य र सरकारी कार्यालयहरूमा नेपाली भाषाकै प्रचलन देवकोटाले मन्त्री हुँदा गरेका ऐतिहासिक निर्णयहरू थिए ।

    ९. लेखनाथ पौड्याल नभएको एकेडेमीमा नबस्ने अडान

    देवकोटाको कवि लेखनाथ पौड्यालसँग उच्च सम्मान थियो । लक्ष्मी निबन्ध सङ्ग्रहमा त पौड्याललाई उनले ‘महाकवि’ भनेका छन् । २००४ सालमा बनारसबाट प्रकाशन हुने नेपाली भाषाको पत्रिका ‘उदय’मा ईश्वर बरालले ‘महाकवि’ भनेर देवकोटालाई दिएको उपमा पछि स्थापित भयो । तर, देवकोटाको पौड्याल सम्मान कत्ति थियो भन्ने कुरा तत्कालीन शिक्षामन्त्री बालचन्द्र शर्माले पढाई लेखाइ नभएको भन्दै पौड्याललाई राजा महेन्द्रको अध्यक्षतामा बनेको एकेडेमी सदस्य नबनाउँदा देवकोटा बिच्किए । उनले तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई सच्याउन भने । बालचन्द्र शर्माले लेखनाथको ‘नामै सुन्न चाहँदैन’ भनेर आचार्य पन्छे । देवकोटाले राजा महेन्द्रलाई नै भनेर पौड्याललाई राखेरै छोडे । र, उनी पनि सदस्य बसे । पौड्यालबारेमा राजा महेन्द्रलाई देवकोटाले भनेका थिए, ‘ती ऋषि तुल्य स्रष्टा सदस्यमा अटाउँदैनन् भने म पनि एकेडेमीमा टेक्दिन ।’

    १०. विश्व व्यक्तित्वसँग देवकोटा: माओ र रवीन्द्रनाथसँग मिलाए हात

    देवकोटाले दुई छिमेकी भारत र चीनबाहेक पनि विभिन्न देश घुमेका थिए । उनी २०१० सालमा चौथो विश्व युवा सम्मेलनमा भाग लिन रोमानिया पुग्दा बीस दिन बसेर त्यहाँबाटै चोकोस्लोभाकिया, हङ्गेरी, रुस पुगे । रुसबाट ट्रान्ससाइबेरियन रेल चढेर चीन पुगे । मे डेमा पुगेका देवकोटाले माओसँग हात मिलाए । माओ र चीन दुवैसँग प्रभावित भए । ‘ए चीनका सुपुत्रहरू’ र ‘अक्टोबर एक र पेकिङ सहर’ शीर्षकका अंग्रेजीका दुई कविता चीनबारे लेखे । उनका ती कविताका नेपाली अनुवाद गोविन्द भट्टले गरेर ‘जस्केलो’ र ‘दर्पण’मा प्रकाशन गरे ।

    भारतमा हुने विश्वस्तरीय अफ्रोएसियाली जनसम्मेलनमा २०११ मा पुगेका उनी २०१३ को अफ्रोएसियाली लेखक सम्मेलनमा पनि पुगे । अफ्रोएसियाली सम्मेलनकै क्रममा उनी उज्बेकिस्तानको राजधानी तास्कन्दमा २०१५ सालमा पुगे । तास्कन्द सम्मेलनमा देवकोटाको भाषण लोकप्रिय भयो । आयोजकले चिठी नै लेखेर देवकोटाका सहयोगी कन्चन पुडासैनीलाई आयोजककी अध्यक्ष तथा सोभियत कवि एम. जुल्फियाले लेखिन्,‘तासकन्द सम्मेलनको सफलताको लागि नेपालका महाकवि देवकोटाको योगदान अतुलनीय रह्यो ।’ तासकन्दबाट देवकोटा अजरबैजान र रुस पनि पुगे ।

    १९९४ सालमै आफ्नो गीत रेकर्ड गर्न कोलकाता र मुम्बई गएका देवकोटाले रवीन्द्रनाथ ठाकुरसँग रेलले डिब्बामा भेटे । रवीन्द्रकै संगतले उनले बंगली भाषा सिके । गितान्तर खरर पारे । एक पटक भारतको अल इण्डिया रेडियोले अन्तरवार्ता लियो । गणेशमान सिंह लगायतसँगै रेडियोको कार्यालय पुगेका देवकोटाले कविता भने । कविता भनेपछि आयोजकले कविताको दश रुपैयाँको चेकमा हस्ताक्षर गराउन खोज्दा देवकोटाले भने, ‘तपाईँहरू रवीन्द्रनाथ ठाकुरलाई कविता भनेको कति रुपैयाँ पारिश्रमिक दिनुहुन्छ?’

    ११. देवकोटाले तनकी र मनकी सुन्दरी भनेकी दार्जिलिङकी देवकुमारी

    देवकोटा दार्जिलिङमा विभिन्न साहित्यको कार्यक्रमको क्रममा गए । पश्चिम बंगला सरकारले बनाउने नेपाली पाठ्यक्रमको विज्ञको रूपमा पनि उनी २०१० साल ताका पटक पटक दार्जिलिङ पुगे । उनलाई दार्जिलिङ तान्ने एक अर्को चुम्बक थिइन् देवकुमारी सिन्हा । उनीसँग देवकोटा रत्तिएका थिए । देवकुमारीको अटोमै लेखेका थिए, ‘तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।’ नेपाली साहित्यकार भवानी भिक्षुले देवकुमारीसँग विवाद नै गर्न खोज्दा उनले मानिनन् । उनको आकर्षण देवकोटामै थियो । त्यही भएर उनले पछिसम्म देवकोटाको अटोका अक्षर राखिरहिन् । सार्वजनिक गरिरहिन् । उनले देवकोटालाई भनिरहिन्, ‘मेरो किशोरावस्थाको नायक’ ।

    १२. ती रुसी विदुषी जो देवकोटाबाट प्रभावित भएर नेपाली साहित्यमा महाविद्यावारिधि गरिन

    देवकोटा सोभियत संघ पुग्दा उनको सहयोगी र अनुवादकको काम गर्ने प्राज्ञ थिइन डाक्टर ल्यूदमिला आगानीना । आगानीनाले अंग्रेजी भाषामा लेखेका देवकोटाका रचनाहरू रुसीमा अनुवाद गरिन् । उनले देवकोटाको भाषण र रचनाहरू देखेर नेपाली साहित्यमा महाविद्यावारिधि लिने निर्णय लिइन् । पछि उनले ‘आधुनिक नेपाली काव्यमा मानिस, समाज र धर्म’ शीर्षकमा त्यो गरेरै छोडिन् । उनले पछि ‘नेपाली साहित्यको संक्षिप्त विवेचना’ पुस्तक लेखिन् । सोभियत संघबाट प्रकाशन हुने विश्व साहित्यको इतिहासमा नेपाल खण्डबारेमा लेखिन् । देवकोटाको एक प्रभावकारी प्रस्तुतिले सोभियत संघको जस्कोलासम्म नेपाली साहित्य पुग्न पायो ।

    १३. देवकोटाको पत्रकारिता: कांग्रेसको मुखपत्रदेखि साहित्यिक पत्रिकासम्म

    पत्रकारितामा पनि देवकोटा जोडिएका छन् । नेपाली कांग्रेसको मुखपत्र ‘युगवाणी’मा उनी बनारस हुँदा २००४ सालमा सम्पादक मण्डलका एक सदस्य भए । त्यो भन्दा अगाडी २००१ देखि २००२ सम्म काठमाडौँबाट प्रकाशन हुने पत्रिका ‘शारदा’को सम्पादकीय पनि लेखेका थिए देवकोटाले । यसबाहेक विभिन्न साहित्य संस्थाहरूका लेखरचनाहरु पनि उनले लेखन, सम्पादन गरेका छन् ।

    १४. देवकोटाको जीवनमा रोगैरोगः बाल्यकालमा रगतमासी, अल्सर बिग्रेर क्यान्सर

    देवकोटाको मानसिक रोग, उनको राँची उपचार अनि उनको लोकप्रिय कविता ‘पागल’ त धेरै चर्चामा छन् । चार वर्षको हुँदै रगतमासीले थलिएका देवकोटा बाच्ने कल्पना थोरैको थियो । दिदी लोकप्रियादेवीले चिनेका धामीले गर्दा उनी निको भएको मानिन्छ । २००४ सालमा बनारस पुगेका देवकोटालाई मलेरियाले गाँज्यो ।

    २०१४ मा उनलाई अल्सर भएको देखियो । त्यसको समयमै निदान नभएकोले उनलाई क्यान्सर भयो । त्यसैले उनलाई लग्यो । आफ्नो ज्यान जानु अगाडी बागमती हेर्दै देवकोटाले आर्यघाटमा पत्नी मनदेवीलाई एक जलेको लास देखाउँदै २०१६ भदौ २९ मा भनेका थिए, ‘बजै’ त्यो लास जलेपछि मेरो पालो आउँछ हो कि?’ अन्तः त्यही भयो जो देवकोटाले अनुमान गरेका थिए ।

    १५. देवकोटाको मृत्युमा सदनमा मौन धारण, सरकारले तिर्‍यो ऋण

    ५१ वर्षको उमेरमा देवकोटाले देह छोड्दा देशले शोक मनाएको थियो । प्रथम जन निर्वाचित सरकारले बिदा दिएको थियो । प्रतिनिधि सभा तथा महासभा दुवैले २ मिनेट मौन धारण गरेर श्रद्धाञ्जली दिएका थिए ।

    सरकारले देवकोटाको २२ हजार ऋण मात्रै तिरिदिएन, उसले ३ हजार किरिया खर्च पनि दियो । ऋण तिर्ने मेसोको नेतृत्व गणेशमान सिंह अर्थात् तत्कालीन ‘निर्माण तथा संचारमन्त्री’ले लिएका थिए ।

    गणेशमानसँगै बनारसमा बसेका थिए देवकोटा । उनीसँगै दार्जिलिङ पनि पुगेका थिए । कोलकातामा पनि सँगै थिए । देवकोटाको निधनमा २०१६ भदौ ३० गते देशको प्रथम प्रतिनिधिसभाको बैठकमा बोल्दै तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले भनेका थिए, ‘नेपाली साहित्यजगत्का एक महान् विभूति महाकवि देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति भएको छ । नेपालको सबैभन्दा ठूलो साहित्यिक, मलाई त यो भन्नमा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासमा सबैभन्दा ठूलो व्यक्तिको निधन भयो ।’

  • दक्षिण कोरियामा नयाँ राजदूतले प्राथमिकतामा राख्नुपर्ने प्रमुख चार क्षेत्र

    दक्षिण कोरियामा नयाँ राजदूतले प्राथमिकतामा राख्नुपर्ने प्रमुख चार क्षेत्र

    कुनै पनि मुलुकमा राजदूत राखिनुको सीधा अर्थ सो व्यक्तिले सम्बन्धित देशका लागि कान, आँखा र तस्बिरको काम गरोस् भन्ने हो । एउटा कुशल राजदूतले आफ्नो कूटनीतिक क्षमताको सही प्रदर्शन गर्न सकेमा उसले आफूले प्रतिनिधित्व गर्ने देशको वैदेशिक नीति र सम्बन्धित देशबाट आफ्नो मुलुकको हितार्थ धेरै काम गर्नसक्छ । नेपालले संसारभरका अधिकांश देशसँग कूटनीतिक सम्बन्ध राखेको भए तापनि सीमित मुलुकमा मात्र राजदूतावास राखेको छ । विश्वका १७८ देशसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको नेपालले ३२ मुलुकमा आफ्नो दूतावास स्थापना गरेको छ । त्यसमध्ये दक्षिण कोरिया पनि एउटा महत्वपूर्ण मुलुक हो । ईपीएस कोटामार्फत नेपाली श्रमिक कोरिया लैजाने सिलसिला सुरु भएपछि दक्षिण कोरिया नेपालका लागि महत्वपूर्ण मुलुकको सूचीमा चढेको छ ।

    दक्षिण कोरियाका लागि नेपाली राजदूतमा यसअघि नेपालको संघीय संसदमा उपसभामुख र कानून मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी शिवमाया तुम्बाहाम्फे नियुक्त भइसकेकी छन् । कोरियासँग नेपालले दौत्य सम्बन्ध गाँसेको ५० वर्ष लागिसकेको छ । यस अर्थमा हेर्ने हो भने नेपाल र कोरियाबीच भएको सहकार्य राम्रो छ, तर यसमा अझ थप विकास आवश्यक छ । दुरीका हिसाबले ४ हजार किलोमिटर र ६ घण्टाको हवाई उडानमा रहेको कोरिया नेपाली समाजमा सन् २००८ मा ईपीएसअन्तर्गत नेपाली श्रमिकका लागि रोजगारी खुलेसँगै जनमानसमा लोकप्रिय देश बनिसकेको छ । हाल डेढ लाखले श्रम गन्तव्य बनाइसकेको यो मुलुकमा हाल ४४ हजार बढी नेपाली श्रमिक कार्यरत छन् । ६ हजारको संख्यामा नेपाली विद्यार्थीले अध्ययन गरिरहेको तथ्याङ्क छ । यस्तै सन् १९९१ बाट कोइकामार्फत नेपाललाई विभिन्न परियोजनामार्फत २० करोड अमेरिकी डलरको सहायता उपलब्ध गराइसकेको छ । यस अवस्थामा नेपालले कोरियासँगको विविध सम्बन्ध र सहकार्यलाई अझ बढाउनुपर्ने देखिन्छ । यसका लागि नयाँ राजदूतले आफ्नो दूतावासमार्फत विभिन्न काम गर्नसक्छन् र गर्नुपर्छ । यसका लागि उनले आफ्नो क्षमता विस्तार गर्नुपर्ने देखिन्छ ।

    मूलतः नेपाली दूतावासले कूटनीति श्रमिक, पर्यटन, शिक्षा तथा कोरियाली लगानी नेपालमा भित्र्याउनेमा आफ्नो क्रियाशीलता बढाउनुपर्ने देखिन्छ । राज्यस्तरीय भ्रमण, भगवान गौतम बुद्ध एवम् बौद्ध धर्मका कारण नेपाल र दक्षिण कोरियाबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध धेरै नै प्राचीन छ । सन् ३७२ मा कोरियाली प्रायःद्वीपमा बौद्ध धर्मको प्रवेशबाट नेपाल र कोरिया जोडिन थालेको मानिन्छ, तर देशको प्रमुख कार्यकारी तहमा भने हालसम्म कुनै भ्रमण हुनसकेको छैन । दक्षिण कोरिया जाने नयाँ राजदूतले यसका लागि विशेष पहल गर्नुपर्ने देखिन्छ । राज्यस्तरमा भ्रमण हुनसके दक्षिण कोरियासँग सम्बन्ध थप मजबुत हुनुका साथै नेपालले आफ्नो हितमा अर्को एक तहको सफलता प्राप्त गर्नसक्छ । यसले सहकार्यका अन्य पाटाहरु खुल्नेछन् ।

    ७० हजार बढी नेपालीले आफ्नो श्रम बेचिरहेका छन् । कोरियाबाट नेपालले श्रमिकमार्फत उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याइरहेको भए पनि दूतावास श्रमिक मैत्री हुन नसकेको अनुभव यहाँ श्रम गरिरहेका नेपालीहरुको छ ।

    श्रमबाहेक विशेषतः दुई देशबीचको अन्तर्राष्ट्रिय व्यापारमा नेपाली उत्पादनको सहज प्रवेश र सम्भावित उत्पादनका आयाममाथि नयाँ बाटो बनाउन पहल गर्न सकिन्छ । यसप्रकारको भ्रमणले विश्व कूटनीतिमा पनि नेपालको छवि उच्च बनाउन मद्दत गर्नेछ ।

    श्रमिक मैत्री दूतावास

    हाल कोरियामा ईपीएस (सिजनल भिसा- सिजनल भिसा सन् २०२५ सम्मका लागि बन्द छ) लगायतका अरु माध्यमसहित ७० हजार बढी नेपालीले आफ्नो श्रम बेचिरहेका छन् । कोरियाबाट नेपालले श्रमिकमार्फत उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याइरहेको भए पनि दूतावास श्रमिक मैत्री हुन नसकेको अनुभव यहाँ श्रम गरिरहेका नेपालीहरुको छ । दूतावास राजधानी केन्द्रित र व्यक्ति विशेष छ भन्ने जनगुनासो बढी सुनिन्छ । धेरै श्रमिक सिउलभन्दा बाहिर छन् । त्यसैले उनीहरुका लागि सोहीअनुसार कार्ययोजना बनाइ नयाँ राजदूतले काम गर्नुपर्नेछ । जस्तै दक्षिण कोरियामा सोमबारबाट शुक्रबारसम्म अनिवार्य काम गर्नुपर्ने हुन्छ । कुनै कुनै कम्पनीमा शनिबार र आइतबारसमेत बिदा नदिने पनि हुन्छ । यस्तो अवस्थामा हाम्रो दूतावास कोरियाली बिदा र नेपाली बिदामा पनि बन्द हुने भएको हुँदा शनिबार र आइतबार पनि दूतावास खोलेर आवश्यक नेपाली श्रमिकका काम गर्ने व्यवस्था मिलाउन सहजीकरण गर्नु आवश्यक छ ।

    यस्तै ईपीएसमार्फत कृषिमा आउने धेरै कामदारको सेवा सुविधा र बिदा सम्झौताअनुरुप छैन । हप्तामा एक दिन बिदा हुनुपर्नेमा महिनाको १-२ दिनमात्र बिदा दिने कम्पनीहरुसमेत छन् । यसमा ध्यान दिन जरुरी छ । पछिल्लो समय श्रमिक नेपालीको संख्या बढेसँगै मनोवैज्ञानिक रुपमा अस्वस्थ रहेका श्रमिकहरुको संख्या बढ्दो छ । दूतावासले मनो-परामर्शदातामार्फत उपचारमा सहजीकरण गर्नसके त्यहाँका नेपालीका लागि दूतावासको अपनत्व महसुस हुनेछ । त्यसैगरी दूतावासको घुम्ती सेवाको क्षेत्राधिकार (हाल घुम्ती सेवा राहदानी नवीकरण गर्नमात्र सीमित छ) विस्तार गर्ने कामलाई अविलम्ब बढाउनुपर्ने देखिन्छ । यहाँको स्थानीय सरकारसँग समन्वय गरेर श्रमिकका हक अधिकारका विषयमा छलफल गर्ने र कानून तथा नेपाल र कोरियाली सरकारबीच भएको सम्झौताअनुरुप नै गराउन पर्याप्त पहल लिनुपर्ने देखिन्छ । श्रमिकसँग दूतावास (राजदूत) कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यक छ । यसले हाम्रा लागि दूतावास छ भन्ने अनुभव कोरिया बस्ने नेपालीले गर्न पाउनेछन् ।

    हालसम्मका पूर्ववर्ती राजदूतहरुको कार्यशैली हेर्दा पार्टी तथा केही सीमित व्यक्ति निकटमात्र भएको पाइएको छ । अबका राजदूत श्रमिक निकट हुनुपर्छ । यस्तै श्रमिकको लागि राष्ट्रिय पेन्सनको व्यवस्था मिलाउन पहल गर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । यसै वर्ष नेपालप्रेस डटकममा नेपालका लागि कोरियाली राजदूतसँगको कुराकानीमा आधारित आलेखमा महामहिम राजदूत पार्क थेयङले नेपाली श्रमिकले कोरियाली अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावप्रति आभारी रहेको बताउँदै ईपीएसमार्फत कोरियामा कार्यरत नेपालीलाई स्वदेशी कामदारसरह समान न्यूनतम पारिश्रमिक, स्वास्थ्य बीमा, औद्योगिक दुर्घटना बीमा तथा कोरियालीसरह श्रम अधिकारको संरक्षण प्रदान गरिएको उल्लेख गरेका छन् । त्यसैले नेपाली श्रमिकले सोअनुसारको सुविधा पाएको वा नपाएको अनुगमन गर्नुपर्ने देखिन्छ ।

    ईपीएसमार्फत कृषिमा आउने धेरै कामदारको सेवा सुविधा र बिदा सम्झौताअनुरुप छैन । हप्तामा एक दिन बिदा हुनुपर्नेमा महिनाको १-२ दिनमात्र बिदा दिने कम्पनीहरुसमेत छन् । यसमा ध्यान दिन जरुरी छ । पछिल्लो समय श्रमिक नेपालीको संख्या बढेसँगै मनोवैज्ञानिक रुपमा अस्वस्थ रहेका श्रमिकहरुको संख्या बढ्दो छ ।

    पर्यटन

    श्रमिकपछि नेपालले लाभमा हिस्सेदारी बढाउनसक्ने अर्को क्षेत्र पर्यटन हो । गत वर्ष नेपालमा २४ हजारको संख्यामा कोरियाली पर्यटक आएको तथ्यांक छ । यो संख्या उत्साहजनक भए पनि सन्तुष्ट भइहाल्नुपर्ने संख्या होइन । नेपालले योभन्दा बढी कोरियाली पर्यटकलाई नेपाल भित्र्याउनसक्छ । यसका लागि बौद्ध धर्मसँग जोडिएको सद्भाव र यस धर्मका जन्मदाता भगवान बुद्धको साइनोले धेरैभन्दा धेरै पर्यटक नेपाल तान्ने क्षमता राख्छ । योसँगै पर्वतारोहण अर्को क्षेत्र हो । जीवनमा कम्तीमा एक पटक हिमाल आरोहण गर्ने इच्छा थुप्रै कोरियाली नागरिकको हुन्छ । कोरियाली राजदूतले सो अन्तर्वार्तामा यसबारेमा उल्लेख गरेका छन् । यसबाट हामीले बढीभन्दा बढी पर्यटक केमा भित्र्याउन सक्छौं, एकिन गर्न सक्छौं । त्यसैले पदयात्रा र हिमाल आरोहणमा कोरियाली नागरिकलाई तान्नसके हाम्रा लागि हाल आइरहेको २४ हजारको संख्या निकै कम हुनेछ । दूतावासले यसका लागि नेपालले केकसरी अगाडि बढ्नसक्छ, सोको पहिचान गरी नेपालको नीतिमा सहयोग गर्न सकिन्छ ।

    कोरियासँग सिन्डिकेट शैलीको हवाई सेवा हुनु दुःखद पक्ष हो । यसको समाधान गर्न पहल हुनु जरूरी छ । वार्षिक रुपमा कोरियालीहरु विदेश घुम्न जान्छन् । जहाँ नेपाल पर्दैन । भाडादर महँगो भएकाले नेपाल उनीहरुको रोजाइमा पर्दैन । बुद्ध र सगरमाथाको देश भनेर भावनात्मक रुपमा नजिक भए तापनि पर्यटनको लागि पहिलो रोजाइमा नेपाल परे पनि उस्तै उस्तै दुरीमा भएको देशका तुलनामा नेपालको भाडादर असमान (चौब्बर)रहेकाले जानै चाहँदैनन् । यसका लागि भाडादर घटाउन पहल गर्ने र नेपाल एयरलाइन्सको सीधा उडानको व्यवस्था गर्न दूतावासले पहल गर्नुपर्छ । कोरियामा एक करोड ८० लाख पर्वतारोही छन्, जसले हिमालय आरोहणलाई ‘बकेट लिस्ट’ वस्तु मान्छन् भन्ने कोरियाली राजदूतको भनाइलाई मनन गर्दा नै हामीले पर्यटनतर्फको कोरियाली हिस्सा कुन स्तरमा ‘मिस’ गरिरहेका छौं भनेर बुझ्न सकिन्छ । यसका लागि ठूलो लगानीभन्दा पनि पर्याप्त हवाई सम्बन्ध उपलब्ध गराउने कूटनीतिक पहल जरुरी छ । दूतावासले यसमा जोडतोड पहल गर्नुपर्ने देखिन्छ ।

    यस्तै पर्यटक बिच्किने अर्को तथ्य भनेको असमान भाडा शुल्क हो । नेपाल घुम्न गएको पर्यटकलाई असमान ट्राभल दर (भाडा शुल्क)ले नेपाल जान चाहने पर्यटकहरुलाई अन्त जान प्रेरित गरिरहेको छ । नेपालमा कोरियाली पर्यटकको आवागमन बढाउन राजदूतवासको समन्वयमा ‘मसँग एक पर्यटक’ जस्ता अभियान सञ्चालन गर्न सकिन्छ । त्यो अवधिमा नेपाल भित्रिने पर्यटकहरुलाई भिसा शुल्कमा छुट गराउँदा अझ राम्रो हुने देखिन्छ । यसका लागि पर्यटन मन्त्रालयमार्फत ‘मसँग एक पर्यटक’ कार्यक्रम कोरियास्थित विभिन्न संघसंस्था परिचालन गर्ने र उत्कृष्ट संस्थालाई नेपाल सरकारले औपचारिक रुपमै सम्मान गर्ने गरेमा यसले राम्रै प्रतिफल दिने अनुमान गर्न सकिन्छ । कोरियामा लगभग १५० भन्दा बढी संघसंस्था छन् । त्यसैगरी कोरियन पर्यटकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न नेपालका विभिन्न पर्यटकीय गन्तव्य, संस्कृति र पर्वहरुको प्रवर्द्धन गर्ने कार्यक्रमहरु आयोजना गर्न दूतावास सक्रिय हुनुपर्छ ।

    कोरियासँग सिन्डिकेट शैलीको हवाई सेवा हुनु दुःखद पक्ष हो । यसको समाधान गर्न पहल हुनु जरूरी छ । वार्षिक रुपमा कोरियालीहरु विदेश घुम्न जान्छन् । जहाँ नेपाल पर्दैन । भाडादर महँगो भएकाले नेपाल उनीहरुको रोजाइमा पर्दैन ।

    शिक्षा

    कोरियामा लगभग ६००० भन्दा बढी नेपाली विद्यार्थीहरु रहेका छन् । उनीहरुको सिकाइलाई नेपालसँग जोड्न दीर्घकालीन रुपमा कस्तो नीति बनाउने भन्ने विषयमा छलफल गरी नेपाल सरकारलाई सोहीअनुसारको नीति बनाउन पहल गर्नुपर्छ । अहिले कोरियामा अध्ययन गर्न आउने संख्या बढिरहेको छ । अध्ययन गर्न आउने कलेज कस्तो छ, कलेजको स्टाटस के हो, बुझेरमात्र आउने, त्यसको सहयोगी दूतावास बन्नुपर्ने देखिन्छ । कुन कुन कोरियाली कलेज उपयुक्त हो भनेर सूची बनाउने काममा लागेमा नेपाली विद्यार्थीका लागि धेरै सहज हुन्छ । यदि यसो भएमा नेपाली विद्यार्थीलाई आफू कस्तो कलेजमा अध्ययन गर्ने जाँदैछु भन्ने अग्रिम जानकारी हुनुका साथै बन्द हुन लागेका र बन्द भएका कलेजमा विद्यार्थी गएर अलपत्र पर्ने घटना कम हुन्छ ।

    कोरियाली लगानी

    हाल नेपालमा सरकारी तथा निजी तवरमा कोरियाली लगानी भित्रिरहेको छ । कोरियाली सरकारले कोइकामार्फत नेपालमा लगानी गरिरहेको छ । विश्व प्रसिद्ध सामसुङ, हुन्डाइलगायतका कम्पनीले पनि नेपालमा आफ्नो लगानी लगाइसकेका छन् । योसँगै कोरियाले लगानीका थप क्षेत्र नियालिरहेकोले नेपालले आफूले सम्भावना बोकेको क्षेत्रमा कोरियाली लगानी आकर्षित गर्नेतर्फ दूतावासले प्रयास गर्नुपर्ने देखिन्छ । कोरियामा ५ वर्षसम्म कृषि क्षेत्रमा काम गरेका श्रमिकहरु आफ्नो सीपलाई नेपालमा प्रयोग गर्न लगानी मैत्री वातावरण बनाउन स्थानीय तह र स्थानीय प्रशासनसँग सहजीकरण, समन्वय गर्ने काममा पनि दूतावास र राजदूतले पर्याप्त पहल गर्नसक्छन् ।

    दक्षिण कोरियामा रहँदा कृषिमा आर्जन गरेको प्रविधियुक्त ज्ञान र सीपलाई सिक्ने र सिकाउने अवसर सृजना गर्न सम्बन्धित रिटर्नीको आफ्नो पालिकामा स्रोतव्यक्तिको रुपमा रहने गरी पहल गर्दा दक्षिण कोरियाबाट फर्केका युवामा ज्ञान र सीपलाई सिकाउने जिम्मेवारीबोध हुन गई निश्चित अवधिपश्चात स्वदेश फर्कने र स्वदेशमा पनि आफ्नै स्थानमै फर्कने वातावरण सृजना गर्न मद्दत हुन्छ । विगतमा दक्षिण कोरियाबाट फर्केका श्रमिकले कुनै काम गर्न खोज्दा कानूनी प्रक्रियाको झन्झटले पुनः विदेशिएको घटना धेरै छन् । यस्तो अवस्था आउन नदिन सहजीकरण गर्न पहल गर्न आवश्यक छ ।

    नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि उपयुक्त वैदेशिक लगानी भनेको प्रविधि, पर्यटन र आधुनिक कृषिमा हो । दक्षिण कोरियामा आएका श्रमिकहरु यी तिनै प्रकारका क्षेत्रहरुमा जानकार रहने हुँदा उनीहरुको यो ज्ञान, सीप र प्रविधिलाई दूतावासमार्फत लगानी गर्न सहजीकरण गर्नुपर्छ । यसका लागि कोरिया आफैंसमेत उत्साहित छ र योजना निर्माणमा रहेको छ । यी क्षेत्रमा अब जाने राजदूतले गम्भीर भएर ध्यान दिने हो भने कोरियासँगको सम्बन्ध थप प्रगाढ हुनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानलाई गति मिल्नेछ ।

  • तीन महिना नाटक सिक्ने- सपना फिल्ममा बिक्ने

    तीन महिना नाटक सिक्ने- सपना फिल्ममा बिक्ने

    काठमाडौं । केदार श्रेष्ठ डेढ दशकदेखि रङ्गमञ्चमा सक्रिय छन् । ‘गाउँ आएको बाटो’ र ‘ऐना झ्यालको पुतली’ जस्ता फिल्ममा कास्टिङ डाइरेक्टर बनेर काम गरे । अभिनयमा रुचि भएका बालबालिकालाई २०७०/७१ सालबाट अभिनयको प्रशिक्षण दिइरहेका पनि छन् ।

    अभिभावकहरु पनि आफ्ना बच्चा लिएर केदारकहाँ आइपुग्छन् । अनि अभिभावकले केदारलाई सोध्छन्, ‘यति सिकेपछि फिल्म खेल्न पाउँछ ? नाटक गर्न पाउँछ ?’

    यस्तो प्रश्न झेल्ने केदार प्रतिनिधि पात्रमात्रै हुन् । जति पनि थिएटरहरुमा नयाँ प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइन्छ, त्यहाँ तेर्सिने साझा प्रश्न हो यो । रङ्गमञ्चबाट फिल्म क्षेत्रमा आएका कलाकारहरुलाई देखेर ‘स्टार’ बनिहाल्ने लालसाले आइपुगेकाहरुको एकै सोच हुन्छ, ‘तीन महिनाको कोर्स लिएपछि फिल्म खेल्ने !’

    केही महिनाको कोर्स गराएर आफ्नो बच्चालाई फिल्म खेलाउने अभिभावकको चाहना हुने नै भयो । साथै थिएटरभित्र छिरेका अधिकांश किशोरकिशोरीको महत्वाकांक्षा पनि फिल्म खेल्ने र ‘स्टार’ बन्ने सोचभन्दा पर हुँदैन । थोरै हाइट, थोरै लुक्स अनि त्यसमा थिएटरभित्र छिरेपछि ‘स्टार’ भइन्छ भन्ने सोच, तर थिएटरबाट फिल्ममा आएर चम्किएका कलाकारले कति त्याग, तपस्या र मेहनत गरेका छन्, त्यतातिर कसैको ध्यान गएको देखिँदैन ।

    अहिलेका चल्तीका कलाकारले सुरुवाती चरणमा धेरै नै छोटा र नोटिस्ड नहुने भूमिका गरेका थिए । यसको उदाहरण त आर्यन सिग्देल मुख्य भूमिकामा रहेको ‘मेरो एउटा साथी छ’ फिल्ममा दयाहाङ राईले गरेको अभिनय हो । यस फिल्ममा दयाहाङले कोरस नृत्य गरिरहेको क्लिप त अहिले पनि भाइरल छ ।

    त्यसैले त वरिष्ठ रङ्गकर्मी अनुप बराल भन्छन्, ‘अभिभावक र प्रशिक्षार्थीहरुले बुझ्नुपर्ने कुरा के हो भने डाक्टर, इञ्जिनियर या पाइलट बन्न जसरी वर्षौंको अध्ययन, अभ्यास र समय लाग्छ, त्यस्तै अभिनयमा महारत हासिल गर्न निरन्तरको अभ्यास, अध्ययन र साधना चाहिन्छ ।’

    फिल्मी क्षेत्रमा स्थापित हुन सकेको खण्डमा नाममात्रै छैन, दाम पनि छ, तर बाहिरबाट देखिए जस्तो सजिलो गरी कलाकारहरुले नाम, दाम कमाएका भने होइनन् । दयाहाङ, सौगात मल्ल, विपीन कार्की, नाजिर हुसेन, सृजना सुब्बा, मेनुका प्रधानलगायत कलाकार रङ्गमञ्चबाटै उदाएका हुन् ।

    रङ्गमञ्चबाट उदाएर अहिले सेलिब्रेटी बनेकाहरुको बीसौं वर्ष लामो संघर्ष छ । उनीहरु सडक नाटक हुँदै, अभिनयमा भविष्य अनिश्चित हुँदाहुँदै जोखिम मोलेर, आफ्नो करियर दाउमा राखेर आएका हुन्, तर उनीहरुको अहिलेको ‘चार्म’ हेरेरमात्रै कतिपय अभिभावक आफ्ना बच्चालाई थिएटरभित्र घुसाउने गरेका छन् । स्वतस्फुर्त आएका कतिपय किशोरकिशोरी पनि हल्लाखल्ला र चर्चा सुनेर थिएटरमा घुसेका छन् ।

    यति सजिलै कलाकार बन्न सकिने भए सबै मान्छे कलाकार भएर निस्कने रङ्गकर्मीहरु बताउँछन् । त्यसैले अनुप बरालको अनुभवले भन्छ, ‘अभिनयमा महारत हासिल गर्न समय, समर्पण र स्व-अनुभव आवश्यक हुन्छ ।’

    अहिले मण्डला, शिल्पी, सर्वनामलगायत थिएटरहरुले विभिन्न कोर्सहरु चलाइरहेका छन् । दशकौंदेखि रङ्गमर्कलाई करियर बनाएर काम गरिरहेका रङ्गकर्मीहरुले अभिनयमा भविष्य खोज्नेहरुलाई प्रशिक्षण कक्षाहरु चलाउँछन् । ती कक्षाहरु आफूभित्र अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन उपयोगी बन्ने गरेको रङ्गकर्मीहरुको अनुभव छ । श्रेष्ठ सुनाउँछन्, ‘हामीले त व्यक्तित्व विकासको लागि ट्रेनिङ दिने हो । के बन्ने, त्यो त बच्चाको छनोट हो । अभिनय कक्षाले उसको क्षमतालाई पहिल्याउन सजिलो बनाउनेमात्रै हो ।’

    सफलता तुरुन्तै पाइने भए…

    सबैले बुझेको सत्य हो, जुनसुकै क्षेत्रमा पनि सफलता सजिलै प्राप्त हुँदैन । यो सत्य जान्दाजान्दै पनि ख्याल नगर्नु, भाइरलहरुको पछि कुद्नु अर्को मानसिक समस्या भएको मनोचिकित्सकहरु बताउँछन् । फेरि भाइरलहरुको विसर्जन पनि त्यसरी नै भएको छ, जसरी उनीहरु भाइरल भएर उदाएका थिए ।

    भाइरलका अलावा आफ्नो क्षमताले सफल भएकाहरुले गुजारेको संघर्षका दिनहरु कति दुःखलाग्दा होलान् ! उनीहरुले गरेका विगतका संघर्षहरु अहिले उनीहरुले पाएको सफलतासामु केही नभएको श्रेष्ठको मत छ । नेपालका सौगात, दयाहाङ, विपीनमात्रै होइन, संसारभर रङ्गमञ्चबाट लाइमलाइटमा आएका कलाकारहरु छन् ।

    संसारका महानतम अभिनेताहरु डेनियल डे लुइस, मेरिल स्ट्रिप, केट ब्लान्चेट या आल पचिनो जस्ता थिएटरको पृष्ठभूमिबाट आएका कलाकारको जीवनको संघर्ष, उनीहरुको असफलताका कथा अनि कामको शिल्पलाई माझ्न गरेको मेहनतलाई नबुझी उनीहरुको सफलतामात्रै हेरेर अगाडि बढ्न नहुने बरालको सुझाव छ ।

    अभिनयको लघु कार्यशाला पूरा गरेपछि उच्च महत्वाकांक्षा र अवास्तविक आशा बोकेर थिएटर या सिनेमामा प्रवेश गर्ने युवाहरुद्वारा अनुभव गरिने मानसिक तनाव र निराशलाई नजरअन्दाज भने गर्न नमिल्ने बराल बताउँछन् । उनीहरुको यस्तो स्थिति आउनुको पछाडि सफलता भन्ने कुरा तुरुन्तै पाइन्छ भन्ने भ्रम रहेको उनको मत छ ।

    ‘उनीहरुको कल्पना वास्तविकतामा मेल खाँदैन । अनि निराश बन्छन्’, बराल सुनाउँछन्, ‘यसलाई सम्बोधन गर्न समानुभूतिसहित मार्गदर्शन र व्यवहारिक रणनीति आवश्यक पर्छ । कलाकार भएर स्थापित हुन लामो र क्रमिक विकासबाट गुज्रनुपर्छ भन्ने कुरा बुझाइनुपर्छ ।’

    महत्वाकांक्षा पाल्नु समस्या होइन, तर त्यसलाई पूर्णता दिन धैर्य र दृढताको खाँचो पर्ने रङ्गकर्मीहरु बताउँछन् । छोटो समयको कोर्सबाट ठूलो अपेक्षा राख्नेभन्दा पनि स-साना कुरा प्राप्त गर्न, सिक्न र त्यसलाई विकसित गर्न बल लगाउनुपर्ने उनीहरुको अनुभव छ ।

    त्यसैले बरालको सुझाव छ, ‘तीन महिनाको कोर्सभित्र एउटा व्यवसायिक अभिनेता बन्छु भन्ने महत्वाकांक्षा राख्नुको सट्टा कुनै खास सीप र कौशलमा निपुणता हासिल गर्ने कुरामा ध्यान दिन सकिन्छ । यी साना उपलब्धिले पनि हामीमा एउटा उत्साह र उमंग हालिदिन्छ । र, निराश हुन दिँदैन ।’

    शिल्पी थिएटरमा सक्रिय पछिल्लो पुस्ताकी रङ्गकर्मी पवित्रा खड्काको सल्लाह छ, ‘थिएटरमा काम गर्न तयार जो जो हुनुहुन्छ, आउनुस्, तर तीन महिना अभिनय सिकेर सिनेमामा जान्छु, अन्त भविष्य खोज्छु भनेर आउनुभयो भने चाहिँ काम छैन । सिनेमामा जाने कुरा स्वतन्त्रताको कुरा भयो, तर यही क्षेत्रमा भविष्य खोज्न चाहनुहुन्छ भने धैर्य र लगन चाहिन्छ । म त यति भन्छु कि रङ्गमञ्चमा भविष्य छ ।’

    सर्टकर्ट बाटो र मानसिक तनाव

    तीन महिने कोर्स लिएपछि फिल्म खेल्न पाइन्छ भन्ने मानसिकता लिएर थिएटरभित्र घुस्नेहरुले फिल्म खेल्न पाउने सम्भावना अत्यन्त न्यून भइदिन्छ । यसले अभिभावकमा एकखालको तनाव सृजना गर्ने भयो । उक्त तनाव बच्चामा पोखियो भने त्यसले निम्त्याउने क्षतिको आँकलन गर्न सकिँदैन ।

    ‘फिल्म खेल्ने’ लालसामा थिएटर छिर्नेहरु कसैले बीचबाटै कोर्स छाड्ने गरेका छन् । कोही विरक्तिएर हिँड्ने गरेको रङ्गकर्मीहरुको अनुभव छ । केदार श्रेष्ठ त बालबालिकाको सिकाइलाई समाजसँग जोडेर थिएटरले थप मद्दत गर्नेमात्रै बताउँछन् ।

    ‘अभिभावकले छोराछोरीको चौतर्फी व्यक्तित्व विकासका लागि अभिनय वा नाटकका कक्षा, कार्यशालामा राख्न चाहनुभयो भने साह्रै राम्रो । कार्यशालाहरुले पछि गएर जुनसुकै पेशामा गएपछि सघाउन सक्छ । यो व्यक्तित्व विकास, आत्मविश्वास जगाउने, नेतृत्व क्षमता वृद्धि गर्ने काममा निकै सहयोगी छ’, श्रेष्ठ भन्छन्, ‘यी सबै हुँदै गएपछि कुन पेशामा जाने भन्ने उहाँहरुको छनोट हो । अभिनयमै मन बस्यो भने कलाकारितामै रहन सकिहाल्नु हुन्छ ।’

    अभिनयमा निखार ल्याउन लामो समयबाट गुज्रनुपर्ने हुन्छ, तर यसरी सर्टकर्ट बाटो रोजियो भने ? यदि सर्टकर्ट बाटोबाट स्टार बन्ने लाइनमा कोही छ भने ऊ गलत पेशामा रहेको बरालको विश्लेषण छ । उनको अनुभवले भन्छ, अभिनयमा कुनै सर्टकर्ट बाटो छैन ।

    ‘जसले सर्टकर्ट बाटो हिँड्न खोज्छ, उसको प्रोफेसनल लाइफ पनि सर्ट नै हुन्छ । अभिनय मानवीय अनुभवहरुलाई मूर्त रुप दिने कला हो’, बराल सुनाउँछन्, ‘एउटा कलाकारका लागि तीन महिना अपर्याप्त समय हो । यस्ता कोर्स गर्दा परिणामभन्दा प्रक्रिया र विकासमा ध्यान दिनु जरुरी छ । यस्ता कोर्सलाई अभिनय सिक्न हिँडेको पहिलो पाइला मान्नुपर्छ ।’

    केदार पनि दुईतीन महिना भनेको प्रारम्भिक ज्ञानको लागिमात्रै रहेको बताउँछन् । मुख्य कुरा चाहिँ निरन्तरता रहेको उनको भनाइ छ । केदार भन्छन्, ‘रङ्गमञ्चमा कतिपय सवालमा अझै व्यवसायिकताको अभ्यास गर्नै बाँकी छ । एउटा समयमा पैसा नभए पनि मञ्च वा नाटक गर्न पाइराखोस् भन्ने हुन्छ । उमेर बढ्दै जाँदा सस्टेनाबिलिटीका कुराहरु स्वतः आउँछन् । मेरा लागि थिएटर आफैंमा थेरापीको साधन पनि हो । आफूलाई आफ्नो कामप्रति विश्वास बन्यो भनेमात्र सस्टेनाबिलिटीको पार्टमा पनि आफू खरो उभिनसक्छ । थिएटरमा रम्दै आफ्नो निराशालाई आशामा लग्न सकिन्छ ।’

  • कमल थापाको पब्लिक डिप्लोमेसी: डा. भोला रिजाल पुत्रमार्फत बेलायती कानूनमन्त्रीसँग द्रुत भेट

    कमल थापाको पब्लिक डिप्लोमेसी: डा. भोला रिजाल पुत्रमार्फत बेलायती कानूनमन्त्रीसँग द्रुत भेट

    काठमाडौं । राज्यका ठूल्ठूला कामहरुमा राज्यसत्ताकै ठूल्ठूला मान्छेहरुको मात्रै भूमिकाले काम हुँदैन । गैरराज्य पक्षका वा राज्य पक्षकै भए तापनि व्यक्तिगत सम्बन्धले कामहरुमा सहज हुन्छ । यसको एक उदाहरण हुन् भेषबहादुर थापा । थापा नेपालमा अरब क्षेत्रको देश कुवेतबाट पहिलो अनुदान ल्याउन सफल भएका थिए ।

    कुबेतले ५० लाख दिनार सहयोग दिनुको कारण अमेरिका पढ्दाका थापाका साथी अब्दुल लतिफ हुन् । उनी कुवेत सरकारको वित्तीय निकायको निर्देशक हुँदा त्यो रकम आएको थियो । भेषबहादुर थापाको किताब ‘राष्ट्र परराष्ट्र’का अनुसार राजा वीरेन्द्रको राजकीय भ्रमणमा हेलन भान्डमको तथा भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि हुँदा अमेरिकामा समकक्षी भारतीय राजदूत भएर बसेका केआर नारायणनसँग व्यक्तिगत निकटता भएको थापाले लेखेका छन् ।

    नेपालका चर्चित टेक्नोक्रेट भेषबहादुर थापाको जस्तै अनुभव छन् राजनीतिज्ञ तथा तीन पटकका परराष्ट्रमन्त्री कमल थापाको । खासगरी भारतीय नाकाबन्दी खोल्नमा उनले खेलेको पब्लिक डिप्लोमेसीमा बाबा रामदेवका सहपाठी आचार्य बालकृष्णदेखि रविशंकरसम्म जोडिएको कुरा उनको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’मा उल्लेख गरिएको छ ।

    किताबमा कमल थापाले बेलायतमा थुनिएका नेपाली कर्णेल कुमार लामाको रिहाइको लागि उच्चस्तरीय पहल गर्नमा पब्लिक डिप्लोमेसी प्रयोग गरेको खुलाएका छन् । नेपालका चर्चित डाक्टर भोला रिजालका पुत्र डाक्टर कपिल रिजालसँगको सम्बन्धले त्यो सहज भएको थापाले लेखेका छन् ।

    थापा २०७२ मंसिर २९ गते बेलायत पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली हुँदाताका परराष्ट्रमन्त्रीको हैसियतमा उनी नेपाल र बेलायतको २०० वर्ष पुरानो सम्बन्ध पुगेको कार्यक्रमको अवसरमा त्यहाँ पुगेका थिए । त्यही बेला थापाले बेलायती समकक्षी फिलिप हेमोन्डसँग भेट गरे । पुस्तकको छैटौं अध्यायको प्रथम शीर्षक ‘बेलायत भ्रमण : कुमार लामाको रिहाइको पहल’मा थापाले आफूले बेलायती समकक्षीसँग दुई कुरा राखेको बताएका छन् । दुवै कुरा सैनिक मुद्दा थिए । एक- नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ भएकाले रिहाइ । दुई- बेलायती सेनामा काम गरेका नेपाली भूतपूर्व सैनिकहरुको सुविधाबारेमा ।

    नेपाली सेनाका कर्णेल लामा प्रकरणमा बेलायती विदेशमन्त्रीले थापालाई ‘अदालती प्रक्रियामा रहेको विषयमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, तर ढिलो भएकोबारे भने न्यायमन्त्रीसँग कुरा गर्ने’ बताए ।

    अदालती प्रक्रियाको कुरा भए तापनि कानूनमन्त्रीसँग केही कुरा जोडिएको थापाले थाहा पाए । संयोगवस त्यही समयमा नेपालका चर्चित डाक्टर भोला रिजाल बेलायतमा थिए । श्रीमतीको उपचार गर्न गएका उनलाई भेट्न थापा भोलाका पुत्र डाक्टर कपिल रिजालको लण्डनस्थित घरमा पुगे । त्यहाँ पुग्दा थापालाई ढुङ्गा खोज्दा शालिग्राम भेटे जस्तै भयो । किनभने डाक्टर कपिल रिजालले बेलायती कानूनमन्त्री माइकल गोभ आफ्नो साथी भएको बताउँदै भने, ‘तपाईं भेट गर्ने भए म उनीसँग समय मिलाउन सक्छु ।’

    डाक्टर कपिलसँग भेट भएको भोलिपल्टै कानूनमन्त्रीसँग उनको कार्यालयमा भेट भएको थापाले लेखेका छन् । उनले तीन वर्षसम्म कर्णेल लामाको कुनै कानूनी प्रक्रिया अगाडि नबढेको अवस्था रहेकोमा बेलायत जस्तो कानूनी शासन भएको देशमा यो सुहाउने नभएको र गोरखालीहरुले बेलायतको पक्षमा रगत बगाएको कुरा उल्लेख गरेर चाँडै निरुपण गर्न मन्त्रीलाई थापाले आग्रह गरे । मन्त्रीले गम्भीर भएर आफ्नो कुरा सुनेको भन्दै थापाले लेखेका छन्, ‘उनले यत्तिमात्रै भने- यस विषयमा म सक्दो प्रयास गर्छु । कुमार लामाले न्याय पाउनेछन् ।’

    यो जानकारी आफूले लामालाई पनि दिएको भन्दै थापाले लेखेका छन्, ‘यी सबै घटनाक्रमबारे मैले फोनबाटै कर्णेल लामालाई जानकारी गराएको थिएँ ।’

    कमल थापाले कानूनमन्त्रीसँग भेट गरेको ९ महिनापछि कर्णेल लामाले बेलायती हिरासतबाट छुटकारा पाए । तीन वर्ष थुनिएका उनलाई रिहा गरियो । यसबारेमा पनि थापाले एक्लो जस आफूले नखाइकन लेखेका छन्, ‘सबैको प्रयत्नबाट उनले न्याय पाए ।’

    के थियो कर्णेल कुमार लामा प्रकरण ?

    सन् २०१३ जनवरी ३ को बिहानै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परे । उनलाई कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा हुँदा सन् २००५ को अप्रिल १५ बाट मे १ सम्म जनकबहादुर राउतलाई यातना दिएको पहिलो कसुर थियो । दोस्रो कसुर उनले सोही ब्यारेकमा हुँदा सन् २००५ अप्रिल १५ बाट अक्टोबर ३१ सम्म अर्का एक युवा करम हुसेनलाई यातना दिएको कसुर थियो । त्यही कसुरमा उनी साढे तीन वर्षभन्दा धेरै जेलमा बसे । सन् २०१६ सेप्टेम्बर ६ मा निर्दोष प्रमाणित भएपछि उनी कसुरबाट मुक्त भएका थिए ।

    कर्णेल लामा प्रकरणले नेपालको युद्धकालका गतिविधिहरुलाई नेपालमै समाधान नगरे विदेशमा पुग्ने नजिरमात्रै पेस गरेको थिएन, नेपाल र बेलायतको सम्बन्ध तथा व्यक्तिगत रुपमा लामाको मनोविज्ञानमा पनि धेरै असर गरेको थियो । बेलायती विश्व च्यानल बीबीसीसँग कुरा गरेका लामाका वकिल जोनाथम ग्रिम्सले रिहा भएपछि भनेका थिए, ‘पछिल्ला साढे तीन वर्ष कर्णेल लामा र उनको परिवारलाई तनावग्रस्त र चिन्ताग्रस्त समयको चरण थियो ।’

  • सुनको मूल्यभन्दा महत्वपूर्ण छ महिलाको आन्तरिक सौन्दर्य र आत्मसम्मान

    सुनको मूल्यभन्दा महत्वपूर्ण छ महिलाको आन्तरिक सौन्दर्य र आत्मसम्मान

    सुनको मूल्यवृद्धिसँगै महिलाहरूमा सुनको क्रेज घट्दै गएको छ । आजका महिलाहरूले नक्कली गरगहना लगाउन थालेका छन्, जसले पारिवारिक र सामाजिक दृश्यमा परिवर्तन ल्याएको छ । विगतमा सुनको गहना लगाउनु उच्च इज्जतको प्रतीक थियो, तर अहिले गहना भएका र नभएका दिदीबहिनीहरू उस्तै देखिन्छन् । कतिको विवाह पनि सुनविना भएको छ, जसले समाजमा रहेका पुरातन विचारहरुको बहिष्कारको सन्देश दिएको छ । महिलाहरूले अब बाह्य सौन्दर्यको सट्टा आन्तरिक मूल्य र आत्मसम्मानलाई प्राथमिकता दिन थालेका छन् ।

    सुन भन्ने बित्तिकै हामी महिलाहरुको सौन्दर्यलाई लिने गर्छौं । पछिल्लो समय सुनको मूल्य निकै चर्किंदै गएको छ । सुनको मूल्य बढेसँगै अधिकांश महिला दिदीबहिनीहरुले नक्कली गरगहना लगाउन थालेका छन् । बजारमा सुनको भाउ दैनिक रूपमा बढ्न थालेपछि नेपाली समाजमा सुनप्रतिको क्रेजमा कमी आएको छ । विगतमा सुन लगाउने प्रचलन अत्यधिक थियो । सुनका गहना धेरै लगाउने व्यक्तिहरूलाई उच्च घरानाको प्रतीक मानिन्थ्यो, तर आजको समयमा गहना भएका र नभएका दिदीबहिनीहरू उस्तै देखिन्छन् । महिलाहरुमा गहना लगाउने उत्साह घट्दै गएको छ ।

    पछिल्लो समय केही जोडीले सुनविना पनि विवाह गर्न सुरु गरेका छन् । सुनविना नै विवाह गरेर समाजमा रहेको गलत संस्कारको बहिष्कार गर्ने सन्देश दिन चाहेका छन् । उनीहरुले सुन बनाउने पैसा नभएर होइन । नितान्त आफ्नो व्यक्तिगत कुरा अरूसँग तुलना गरेर जीवनयापन गर्न त्यागेर जीवन जिउन जान्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । यसमा निकै पृथक सुगन्ध पनि भेटिन्छ ।

    यसरी सुनको मूल्यवृद्धिसँगै नेपाली समाजमा गहना र यसको प्रयोग गर्ने तरिकामा उल्लेख्य परिवर्तन आएको छ । यो परिवर्तनले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ । सुनको बढेको मूल्यले गहना र सौन्दर्यको परिभाषामै परिवर्तन आइरहेको छ ।

    निरन्तर मूल्य बढेपछि अधिकांशले सुरक्षा समस्याका कारण घरमा रहेका सुनचाँदीका गरगहना बैंकको लक्करमा राख्न थालेका छन् । सुनका गरगहनाले अनेक किसिमका घटना पनि निम्त्याउन सक्छ । कतिपयको सुनका गरगहनाले गर्दा ज्यान नै गएको छ । त्यसैले अहिले बजारमा नक्कली सुनका गरगहना लगाउनेको संख्या बढेको छ । एक पटक लगाएको गहना र पहिरनको फोटो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनः त्यसलाई लगाउन चाहँदैन भन्ने मनोविज्ञानले पनि गहनाको मोह घटाएको देखिन्छ । सुनको क्रेज घट्दा महिलाहरूमा गहना लगाउने चाहना पनि घटेको देखिन्छ । सुनचाँदी पसलेहरूका अनुसार गरगहना बनाउनेहरुमा ५० प्रतिशतले कमी आएको छ ।

    यसरी सुनको मूल्यवृद्धिसँगै नेपाली समाजमा गहना र यसको प्रयोग गर्ने तरिकामा उल्लेख्य परिवर्तन आएको छ । यो परिवर्तनले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ । सुनको बढेको मूल्यले गहना र सौन्दर्यको परिभाषामै परिवर्तन आइरहेको छ । आजको समाजमा गहना लगाउने कुरा केवल व्यक्तिगत चासो र चाहनामा मात्र महत्वपूर्ण भइसकेको छ ।

    बाह्य सौन्दर्यको सट्टा आन्तरिक मूल्य र आत्मसम्मानलाई प्राथमिकतामा राख्न थालेका छन् । सुनका गहना र पहिरनमा भन्दा आफ्ना व्यक्तिगत अनुभव र मूल्यहरूमा ध्यान दिन थालेका छन्, जुन महत्त्वपूर्ण परिवर्तन हो । समानता, आत्मनिर्भरता र व्यक्तिगत सन्तोषको सन्देश फैलाउन एकअर्कालाई सहयोग गर्नुपर्छ । सुनका गहनामात्र होइन, हाम्रो आन्तरिक सौन्दर्य र विचारहरूको कदर गर्नुपर्दछ । समृद्ध र समतामूलक समाज निर्माण गर्न सबैले हातेमालो गर्नुपर्छ ।