Category: साहित्य / ब्लग

  • कविता : गद्धार

    कविता : गद्धार

    यो सामूहिक चिहान हो
    कमरेड आजादहरू
    कमरेड आस्थाहरू
    प्रहरी जवान सोनेलालहरू
    र सैन्य जवान छेदिलालहरूको
    दोहोरो मूठभेडमा मारिएका छन तिनीहरू

    पुरिएका छन बगरमा लासहरू
    लाश संग संगै पुरिएका छन्
    आमाका सपनाहरू
    श्रीमतीका भरोसाहरू
    र छोराछोरीका भविष्यहरू ।

    आमने सामने
    गाडिएका छन झण्डाहरू
    नामाङकित गरिएर
    खोपिएका छन् ढुङगाहरू
    बनाइएका छन् सालिकहरू
    दुरुस्तै अनुहार मिल्ने
    र लेखिएका छन नाराहरू
    वीर शहीद-अमर रहुन्
    पश्चगमन-मुर्दावाद
    इन्क्लाम-जिन्दावाद ।

    सालिकहरू बोल्दैनन्
    देश दुःखीरहेकै छ
    तिम्रो नाम भजाएर
    उ क्रान्तिकारी नेता भएको छ
    बाटो बिराउँदै
    प्रतिकृयावादीसंग साँठ गाँठ गरी
    प्रतिक्रान्ति गर्न खोज्दै छ ऊ ।

    उसले बिर्सिसक्यो
    तिम्रा आमाका सपनाहरू
    तिम्रा श्रीमतीका भरोसाहरू
    तिम्रा छोराछोरीका भविष्यहरू
    उत सत्ता उन्मादले
    बौलाई सकेको छ
    उलाई कुनै मतलबै छैन
    घाइते, अपाङ्गहरूको जीवन कथा
    चिल्लो कारमा चढेर
    शहीद दिवसको दिन पारी
    नक्कली आँसु झारेर
    ओठे भक्ति देखाउँदै
    तिम्रो सालिकमा माल्यार्पण गर्छ
    र भक्कानिए जस्तो गरी
    श्रध्दाञ्जली व्यक्त गर्दै
    तिमीलाई झुक्याउने गर्छ
    शहीद परिवार र घाइतेको नाममा आएको राहत
    अपचलन गरी
    ऊ बडो ठाँटका साथ
    महलमा बस्छ
    शहीद परिवार र घाइतेहरू
    राहत पाउने आशमा
    उसैलाई नेता मानी
    नबुझेरै
    हार गुहार गर्छन्
    उ गजक्क पर्दै
    धैर्य गर्नोस् भन्छ ।

    धैर्यताको पनि सीमा होला
    कहिले सम्म धैर्य गर्ने ?
    तिम्रा कर्तुत उदाङ्गिए पछि
    को चुप लागि बस्ला ?
    तिमी त गद्धार रहेछौ
    तिमीलाई जिउँदै जलाउनु पर्ला ।

    सुन्दरहरैँचा-६, दुलारी, मोरङ

  • देश जोड्ने र निराशा तोड्ने प्रयत्न- ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’

    देश जोड्ने र निराशा तोड्ने प्रयत्न- ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’

    प्रचण्ड प्रधानमन्त्री थिए । पूर्णबहादुर खड्का रक्षामन्त्री । नेपाली सेनाले नेतृत्व गरिरहेको काठमाडौं-तराई जोड्ने द्रुतमार्ग निर्माण क्षेत्रमा जाने निम्तो आयो र म अरु पत्रकारहरूसँगै गएँ । द्रुतमार्गमा निजगढबाट हेटौंडातर्फ आउने तराई क्षेत्रको सडकको फैलावटलाई डिभाइडरले अलग नगर्ने हो भने यस्तो लाग्यो- यहाँ त वाइड-बडी विमान नै अवतरण हुन्छ । समथर क्षेत्रबाट पहाडमा पुग्दा सुरुङ खनेर छिचोल्ने अनि खोला आउँदा खोलाले भेट्नै नसक्ने अग्ला पुल बनाएर तर्ने ! कतिपय पुल त धरहराभन्दा अग्ला देखिए ।

    यी सबै हेरेपछि देशमा केही भएको छैन । देशमा केही हुँदैछैन भन्ने खालको एकखाले भ्रम तोडियो । बहुदल र गणतन्त्र आएपछि खासै केही देखिने काम भएनन् भन्ने मनमा लागेको कुरा मनबाटै केही भए पनि हटेर गयो । त्यही भएर मैले काठमाडौंबाट निजगढसम्म द्रुतमार्ग पछ्याउँदै हिँडेर काममा आएपछि ब्लग लेखेको थिएँ- ‘बहुदलीय विकासको भव्य ‘विम्ब’ हुनेछ फास्ट ट्रयाकः द्रुत बनाऔं, दर्शनीय बनाऔं ।’

    मैले भावुक भएर समस्या छैनन्, द्रुतमार्गमा सबै ठीकठाक छ भनेर चैं भनेको थिइनँ । बरु भनेको थिएँ- ‘हो, द्रुतमार्गमा २ खर्ब ११ अर्ब बढीको बजेट छ । त्यहाँ भ्रष्टाचार हुनसक्छ, तर अख्तियार छ नि ! हो, द्रुतमार्गमा जोडिएका अधिकारीहरूले अकुत सम्पत्ति आर्जन गर्न सक्छन्, तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ नि ! हो, द्रुतमार्गमा गुणस्तरीय सामान प्रयोग नहुनसक्छ, तर सडक विभाग छ नि ! जहाँ कमजोरी छ, त्यहाँ चेकजाँच गर्ने निकाय छन् त ! सम्भावित वा भएका कमजोरीलाई त्यसैबाट चेक गर्नुपर्छ, तर द्रुतमार्ग निर्माणलाई विलम्ब गर्नैहुन्न । किनभने यो राष्ट्रिय गौरवको आयोजना हो ।’

    यस्तै निराशाबाट गुज्रिएको नेपाली समाजमा केही न केही आशाको सञ्चार गर्न राष्ट्रिय समाचार समिति (रासस)ले हालै प्रकाशन गरेको रङ्गीन कलेवरको आकर्षक ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ काम लाग्ने पुस्तक हो ।

    यहाँ देशमा भएका सांस्कृतिक विविधताका विम्बहरू छन् । बडेमानका पूर्वाधारका प्याकेजहरू छन् । १८५ पेजको पुस्तकमा रासस सहकर्मीले खिचेका र राससलाई सौजन्य गरिएका तस्बिरहरूको भव्य प्याकेज छ । देशमा गणतन्त्रलाई उत्सवको रूपमा बनाउन तस्बिरको सुरुवातै संघीय लोकतान्त्रिक गणतन्त्रका पहिलो जनप्रतिनिधिहरूले बनाएको संविधान घोषणा, प्रमाणीकरणदेखि नारायणहिटी दरबार क्षेत्रको गणतन्त्र स्मारक जस्ता रत्न श्रेष्ठले खिचेका तस्बिर छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामनामा भने जस्तो ‘तस्बिरका माध्यमबाट नेपालमा भएका विकास, प्रगति, समाज, संस्कृति र विभिन्न घटनाक्रमलाई बुझ्ने एउटा जीवन्त दस्तावेज’ हो यो फोटो किताब ।

    दुई खण्डमा बाँडिएको पुस्तकको पहिलो खण्डको ‘हाम्रो संस्कृति, हाम्रो सम्पदा’मा पेज ७ को दिलकुमार लिम्बूले खिचेको सुदूरपूर्व ताप्लेजुङको पाथीभरा मन्दिरदेखि पेज १०१ मा राजेन्द्रप्रसाद पनेरुले खिचेको सुदूरपश्चिमको राना थारुको झिझी नाचसम्म अटेका छन् ।

    पहिलो खण्डले तस्बिरको आधारमा मात्रै होइन, तस्बिर खिच्नेको आधारमा पनि देश जोडेको छ । जस्तैः हिन्दू मनोज दाहालले इस्लाम धर्मको नमाज प्रार्थनाको तस्बिर खिचेका छन् । गैरदलित जनक श्रेष्ठले लमजुङको बेंसीशहरको दलित संग्रहालयको तस्बिर लिएका छन् । मधेशको मुटु जनकपुरधाम क्षेत्रका धमेन्द्र झाले सुदूरपश्चिको छलिया अर्थात् हुड्के नाचको तस्बिर कैद गरेका छन् । पहाडी पृष्ठभूमिका उत्तरकुमार उपाध्यायले गढीमाई मन्दिरको तस्बिर खिचेका छन् ।

    पहिलो खण्डमा सौका जातिदेखि राउटे जातिसम्म अटाएका छन् । देशको जात, धर्म, संस्कृति, सम्पदा र सभ्यता बलियोसँग देखाइएको छ पुस्तकमार्फत ।

    पेज १०५ बाट १८५ सम्म अटाएको दोस्रो खण्ड ‘समृद्धिको लागि पूर्वाधार’मा धेरै चित्ताकर्षक तस्बिर छन् । ती तस्बिरहरूले देशमा केही त भइरहेको छ है भन्ने भावना जगाउँछ । राधिका कँडेलले खिचेको पोखरा रङ्गशालाको चित्ताकर्षक तस्बिर हेर्दा होस् वा सुरेश आचार्यले लिएको कर्णाली रङ्गशालाको रमाइलो दृश्य हेर्दा होस् अथवा प्रदीपराज वन्तले कैद गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हेर्दा होस्, एक खालको ऊर्जा आउँछ । काभा भलिबलदेखि एनपीएल हुँदै केपी ओली कपसम्मको तात्तातो माहोलले यस्तो खेल पूर्वाधारमा केही न केही त हुने क्रममा छ है भन्ने सन्देश दिन्छ ।

    सुवास दर्नालले खिचेको सोलुखुम्बुको फाप्लुको टेलिमेडिसिन सेवा, हेमन्त केसीले खिचिक्क पारेको डोल्पा जिल्ला अस्पतालको चित्र, सिद्धराज भट्टले लिएको कैलालीको गेटा मेडिकल कलेज क्षेत्रको तस्बिर हेर्दा स्वास्थ्य क्षेत्रमा भएका प्रयत्न प्रकाशमा आउँछन् ।

    नेपालको जलवायु चेत, नेपालको हरित ऊर्जा प्रयोग र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा देशभर माहोल देखाउने विभिन्न तस्बिरहरूले नेपालको जलवायु कूटनीतिलाई पनि सहयोग हुने देखिन्छ । नवीन गड्तौलाले खिचेको सुनसरीको चार्जिङ स्टेसन, गोकर्णप्रसाद भण्डारीले खिचेको नेपाली लगानीमै दोलखामा बनेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, रामहरि न्यौपानेले खिचेको नुवाकोटमा बनिरहेको सोलार फार्म र नृपेन्द्रबहादुर मल्लले मुगुमा खिचेको सोलार प्यानल वितरणका तस्बिरले नेपालमा विभिन्न क्षेत्रमा हरित ऊर्जाको क्षेत्रमा देखिनेगरी जनस्तरमा र राज्यस्तरमा काम भएको स्पष्ट हुन्छ । यसले पृथ्वीलाई सेवा पुग्नेदेखि नेपालको जलवायु कूटनीतिलाई टेवा पुग्नेसम्म उजागर गरेको छ ।

    सुरुङ, पुलदेखि रेलसम्म, देश जोड्ने उत्तर-दक्षिणदेखि पूर्व-पश्चिम राजमार्गसम्म सबै तस्बिरले एक खालको विकासे विम्ब दिन्छ । ‘केही त भएको छ है’ भन्ने भान हुन्छ । ‘केही त गर्न खोजिएको छ है’ भन्ने महसुस हुन्छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामनामा भने जस्तो ‘तस्बिरका माध्यमबाट नेपालमा भएका विकास, प्रगति, समाज, संस्कृति र विभिन्न घटनाक्रमलाई बुझ्ने एउटा जीवन्त दस्तावेज’ हो यो फोटो किताब । पुस्तकको व्यापकताले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने जस्तै ‘भोलिको पुस्तालाई समेत यो पुस्तक एउटा दस्तावेजको रूपमा रहनेछ’ । पर्यटन दशकको लागि अग्रसर देशलाई यो नेपाली र अङ्ग्रेजी दुवै भाषामा आएको फोटो किताबले नेपालको विकास र समाज चिहाउने आँखीझ्यालको काम गर्नसक्छ ।

    पुस्तकमा केही कमजोरी देखिनेगरी छन् । खासगरी तस्बिर संग्रह गर्ने क्रममा मौलिकता र कला पक्ष ओझेलमा छ । हेटौंडाको गुम्बाडाँडाका अन्तर्राष्ट्रिय कलाकारले बनाएको मूर्तिकला होस् वा तेह्रथुमको चो?लुङ पार्कको मौलिक उपस्थिति ! यी र यस्ता देशलाई विदेशमा चिनाउन सकिने कुराहरू गयल छन् । अल्पसंख्यक र हिमाली जातिलाई प्राथमिकता दिएर अलग स्पेस दिन सकिने सम्भावनाको प्रयोग भएको छैन ।

    कतिपय तस्बिरहरूले आशावादी होइन, निराश पनि बनाउँछन् । चाहे त्यो वरिपरि पहिरोले घेरेको रसुवाको टिमुरे भन्सार होस् या चाहे त्यो चितवनको बिजोग अवस्थामा देखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला होस् ! यी र केही यस्ता पूर्वाधारका तस्बिरले विकर्षण गर्छ । तस्बिर खिच्नेको कारण विकर्षण होइन, त्यहाँको पूर्वाधारको बिजोगले पुस्तक हेर्नेलाई नरमाइलो लाग्नसक्छ । हुन त पुस्तकमै कमजोरी स्वीकार गरिएकै छ । र, पेज ५ मा भनिएको छ, ‘स्वीकार्नैपर्दछ, अझै कैयौं परम्परा, संस्कृति र प्रचलनका तस्बिरहरू यहाँ समेट्न सकिएको छैन ।’

    सुरुङ, पुलदेखि रेलसम्म, देश जोड्ने उत्तर-दक्षिणदेखि पूर्व-पश्चिम राजमार्गसम्म सबै तस्बिरले एक खालको विकासे विम्ब दिन्छ । ‘केही त भएको छ है’ भन्ने भान हुन्छ । ‘केही त गर्न खोजिएको छ है’ भन्ने महसुस हुन्छ । त्यसको लागि संस्था रासस, फोटो किताब प्रकाशन उपसमितिका सल्लाहकार धर्मेन्द्र झा र संयोजक सिद्धराज राईलाई यो फोटो किताबको लागि धन्यवाद दिने धेरै ठाउँहरू छन् । यो किताबले देश जोड्ने र निराशा तोड्ने काममा केही न केही देखिने भूमिका खेलेको छ । किनभने तस्बिरबारेमा फ्रान्सका चर्चित फोटो पत्रकार जिल्स पेरेसले भनेका छन्, ‘म शब्दहरू पत्याउँदिनँ । तस्बिरहरू पत्याउँछु ।’

  • ‘आमा, सपना र ताराहरू’ पढेपछि…

    ‘आमा, सपना र ताराहरू’ पढेपछि…

    ‘आमा, सपना र ताराहरू’ पढ्न थाल्दाथाल्दै मलाई विदुषी, समाज सुधारक, ध्यान, ज्ञान र चिन्तनको ऊर्जाले तत्कालीन निरंकुश शासकहरूको विरूद्ध धावा बोल्नसक्ने एक साहसिक र पहिलो महिला संगठक विद्रोहीको रूपमा मैले पढेको, पढेर चिनेको योगमाया न्यौपानेको विशेष याद आइरह्यो । कृतिका प्रमुख पात्र आमा रामकुमारी न्यौपाने पटकपटक योगमायाको सम्मोहनप्रति स्वरूप झै बनेर जाग्यो ।

    आमा रामकुमारी न्यौपानेको जन्म १९७० साल चैत ३० मा भोजपुरको गोगने अहिलेको टेम्केमैयुङ गाउँपालिकामा भएको थियो । साधक तर क्रान्तिकारी, सन्त तर विद्रोही योगमाया न्यौपानेको जन्म १९२४ सालमा भोजपुरको सिम्ले नेपालेडाँडा अहिलेको षडानन्द नगरपालिकामा भएको हो । योगमायाको ५ वर्षकै उमेरमा बाल विवाह, रामकुमारीको ११ वर्ष लाग्दैको उमेरमा बालविवाह । १९९५ सालमै भोजपुर मझुवामा ठूलो यज्ञको आयोजना गरी लैंगिक विभेद, जातीय विभेद, श्रमको आधारमा विभेद, सामाजिक शोषण, दमनका विरुद्ध तत्कालीन राणा शासकलाई हुँकार गर्न अग्नि समाधि लिन योगमायाले अनुयायीहरूसमेतलाई आह्वान गरेको समय होस् या त्यसपछि शासकहरूले हताहत पारी योगमायालगायतलाई बन्दी बनाएको समय होस् या १९९८ सालमा ६८ जना अनुयायीसमेतलाई सहजै जल समाधि लिनसक्ने गरी भक्ति साधना, अध्यात्म चिन्तनमार्फत महिलाहरूलाई संगठित बनाइरहेको स्थिति होस् । उही समयमा आमा रामकुमारीले भने घरगृहस्थीको बुहार्तन घुटघुटी पिउँदै हुनुहुन्थ्यो एक छोरी, बुहारी, श्रीमती र आमाको रूपमा ।

    योगमाया न्यौपानेले अरुणको उर्लंदो भेलमा जल समाधि लिँदा आमा रामकुमारी न्यौपानेको उमेर लाउँलाउँ-खाउँखाउँलाग्दो २८ वर्षको उर्लंदो रहरहरूमा हिँड्दै थियो । तुलसीको कण्ठी लगाएर अध्यात्म चिन्तन, कीर्तन र तीर्थाटन गर्ने आमा रामकुमारी न्यौपाने र योगमाया न्यौपानेको किन भेट भएनछ झैं लागिरह्यो । हुन त आमा रामकुमारी न्यौपानेले ११ वर्षकै उमेरमा ओखलढुंगा माम्खाका १४ वर्षीय शिवराज पोखरेलसँग विवाह भई ओखलढुङ्गाको माम्खा पुगेपछि जीवनमै मुस्किलले २ पटकमात्रै माइती गोगने पुगेको भन्ने छ ।

    उहाँले आफ्नो पढाइलेखाइ र इलममा लागेका तन्नेरी छोराहरूलाई आफू एक्लो भएँ भनेर जनकपुरबाट बोलाउनुभएन, झापाबाट पनि बोलाउनुभएन । बरु आफैं जानुभयो पालैपालो छोराहरूको गुँडमा मातृ वात्सल्य बोकेर ।

    स्वयम् लेखक ईश्वर पोखरेलले पनि आफ्नो अति प्यारो ममतामयी आमाको माइती (आफ्नो मावलघर) आमा बितेको १९ वर्षमात्रै जीवनमा एक पटक पुग्न पाएको भावुक स्मरण गर्दै लेख्नुभएको छ । जतिबेला आमा रामकुमारी जन्मीहुर्की अन्मिएको त्यो घर अरु कसैको निजीत्व भैसकेको विषयले निकै तिखो सन्नाटा दिएको थियो मलाई । यदि आमा रामकुमारी बोल्न, हिँड्न सक्ने अवस्थामै मेरो संगत हुन पाएको भए, म कतिकति कुराहरू गर्थे होला, योगमायाको जन्मघर र कर्मका बारेमा कति विध्न बातचित गर्थें हुँला भनेर यतिबेला मन हुटहुटी भइरहेको छ ।

    जीवनलाई सदैव साधना बनाउनुभयो, चाहे हुर्केका सन्तानहरू क्रमशः आफ्नो अध्ययन तथा वैयक्तिक जीवन निर्वाह गर्न तथा कामकाजका लागि घर छाड्दै गएपछि एक्लो भएको अवस्था होस्, चाहे रोगी श्रीमानको निधनपश्चातको शोक वैराग्यको समय होस्, चाहे आफैंले जन्माएका सन्तानहरू आफ्नै अगाडि मृत्युवरण गर्दाको वेदनाको समय होस्, दृढ मनोबलले आफू र आसपासका सबै आफ्नालाई समेत सम्हाल्नसक्ने आमाको अक्षुण्ण अवस्थालाई साधनाको अनुपम ऊर्जा भन्नुपर्दछ । बाल्यकालदेखि काम र जिम्मेवारीहरूलाई नै साधना मान्नुभयो र आफ्नो चेतन समयदेखि नै अध्यात्म चेतलाई आफ्नो सहनशीलताको दक्ष ऊर्जा बनाउनुभयो ।

    उहाँले आफ्नो पढाइलेखाइ र इलममा लागेका तन्नेरी छोराहरूलाई आफू एक्लो भएँ भनेर जनकपुरबाट बोलाउनुभएन, झापाबाट पनि बोलाउनुभएन । बरु आफैं जानुभयो पालैपालो छोराहरूको गुँडमा मातृ वात्सल्य बोकेर । समानताको लडाइँमा कलिलैमा लागेका क्रान्तिकारी कान्छा छोरालाई पनि क्रान्तिको बाटोबाट अलग हुन हौस्याउनुभएन । त्यतिबेलाको अशिक्षित समाजमा पनि शिक्षाको घामबाट आफ्ना सन्तानहरू कोही पनि वञ्चित नहोऊन् भनेर अध्ययन अध्यापनका लागि गर्नुभएको त्याग र सत्कर्मले कति ठूलो आयतनको चेतना आमासँग रहेछ भनेर बुझ्न सकिन्छ । आमा हुनुको महानता परिवारभित्रका अन्य कुनै नाता वा सम्बन्धले न बुझ्नसक्छ न त पक्रनसक्छ ।

    काम र जिम्मेवारीलाई नै साधना सम्झनुभयो, कर्तव्यलाई नै साधना सम्झनुभयो र आफ्नो धार्मिक, आध्यात्मिक संस्कारलाई दह्रो, धारिलो, उच्च नैतिक साहसको सहस्र स्रोत बनाउनुभयो । आमा रामकुमारीले अनेक अवयवलाई धैर्यका साथ पक्रँदै एउटा सकुनको आगतको प्रतीक्षामा गरेको एकल साधना बहुत साहसिक लाग्यो । आमा रामकुमारीका सपनाहरूको किरिङमिरिङ धर्काहरूलाई परिणाम ल्याउने गरी गरिएको अधीर संघर्षको साधना । कान्छा सन्तानको रूपमा लेखक ईश्वर पोखरेलसँगको विशेष माया, आशा, भरोषा त पुस्तकभरि आउने नै भयो, तर पनि अवतारी लामाकोमा लामो समयको यात्राका साथ मरणासन्न छोरालाई थाङ्नामा बेरेर उपचारका लागि पुर्‍याएको र यस कार्यका लागि बस्नेतनी आमैले गर्नुभएको सहयोग निकै हृदय छुने गरी प्रस्तुत भएको छ ।

    आमाको छोरो गाउँमै रहोस् भन्ने मनोविज्ञान, छोरा गाउँमै आमा सँगसँगै खेल्दै र रमाउँदै गाउँकै स्कूलबाट एसएलसी दिन पाइयोस् भन्ने मनोविज्ञान र जनकपुरमा कक्षा ८ सम्म पढाउँदै अभिभावकत्व लिइरहनुभएका दाइको कक्षा ९ पूरा नपढी कक्षा १० मा फड्को मार्दा भोलि एसएलसीमा परिणाम राम्रो आउन नसक्ने मनोविज्ञान !

    कक्षा ८ उत्तीर्ण गरिसकेपछि पहाड घर माम्खा पुगेको र पछि पढाइकै कारण फेरि जनकपुर दाइकोमा जाने मनस्थिति बनाइरहँदा आमाले ‘मलाई छाडेर जाने र कान्छा’ भन्नुभएपछि आमालाई छाड्न नसकेको, त्यसपछि माम्खा गाउँकै स्कूलमा आमाले भन्नुभएपछि कक्षा ९ मा भर्ना हुन पाएको, ९ मा पढ्दापढ्दै कक्षा पूरा नहुँदै मास्टरले पढाइ राम्रै छ भनेर १० कक्षा चढाएको र टेस्ट परीक्षामा स्कूलभरिमै उत्कृष्ट भएको र यस कुराले आमाको खुशीमा आफूले लिएको आनन्द र अब एसएलसी पहिलो ब्याच विद्यार्थीको रूपमा सोही विद्यालयबाटै दिन पाउने कुराले गद्गद् भएको, तर अन्त्यमा जनकपुरबाट दाइले पढाइ बिग्रन्छ, त्यसरी कक्षा नाघेर एकै पटक १० मा पढ्न सकिँदैन जनकपुरमै आउ भन्नुभएपछि आफ्नो माम्खा स्कूलकै पहिलो ब्याचको एसएलसी दिने विद्यार्थी हुने चाहना पूरा हुन नसकेको विषय मीठो स्पर्शी मनोविज्ञान लाग्यो ।

    आमाको छोरो गाउँमै रहोस् भन्ने मनोविज्ञान, छोरा गाउँमै आमा सँगसँगै खेल्दै र रमाउँदै गाउँकै स्कूलबाट एसएलसी दिन पाइयोस् भन्ने मनोविज्ञान र जनकपुरमा कक्षा ८ सम्म पढाउँदै अभिभावकत्व लिइरहनुभएका दाइको कक्षा ९ पूरा नपढी कक्षा १० मा फड्को मार्दा भोलि एसएलसीमा परिणाम राम्रो आउन नसक्ने मनोविज्ञान ! एउटै मान्छेको सफलताको लागि केन्द्रीकृत फरक-फरक आसयका मनोविज्ञानहरू कति रोचक !

    सबैका लागि कान्छो सन्तान अलि नजिक र सधैं सानो त लाग्छ नै । व्यवस्थाको विरुद्ध, तत्कालीन शासकहरूकै विरुद्ध भूमिगत भइसकेका आफ्ना नौजवान छोराप्रति आमाको मनोदशा कस्तो हुन्थ्यो होला ? त्यो अनुमान गर्न नै सक्दैनौं । क्रान्तिको समय, सरकार नै शत्रु भएको समय, अनि किशोरवय, त्यस्तो बेलामा आउने सबैभन्दा बढी माया गर्ने, देखभाल गर्ने व्यक्ति आमाको याद कति आउँथ्यो ? कसरी, कुन बेला आउँथ्यो ? कसरी भेट हुन्थ्यो र कस्तो भलाकुसारी हुन्थ्यो होला ? आमा भएरै छोराले लेखेका कथ्य रोचक रूपमा पढ्न पाउँदा दुवै पात्रप्रति उच्च सम्मान जागृत हुन्छ ।

    आजको पुस्तालाई कुनै लोकका चामत्कारिक कथा जस्तो लाग्नसक्छ गोगने र माम्खा, जनकपुर र झापा अनि काठमाडौंसम्मको आमा रामकुमारीको सन्तानप्रतिको सन्ताप यात्रा !

    ११ वर्ष लाग्दै गर्दाको किशोरवयमा अन्मिएकी आमा रामकुमारी न्यौपानेले १९९० सालमा २० वर्षको कलिलो उमेरमा पहिलो सन्तान जन्माएसँगै २०१० चैत २५ मा कान्छो सन्तान जन्माइरहँदाको समयसम्म १२ सन्तानको आमा भइसक्नुभएको थियो । जीवनको भर्भराउँदो उमेर २० देखि ४० वर्षसम्म गर्दा करिब २० वर्षको अवधि आमाले सन्तानलाई नै जन्माउँदै, जन्मिएकाहरूलाई हुर्काउँदै घरको सारा बुहार्तन सम्हाल्दै अनि त्यहीबीचमा पतिको शोकलाई समेत सम्हाल्दै स्पाती भइसक्नुभएको थियो । सन्तानको स्याहारसम्भार, अध्ययन अध्यापनमात्रै होइन, आफैंले जन्माएका केही सन्तान आफ्नै अगाडि अल्पायुमै गुमाउनुपर्दाको धैर्य पढ्दा लछप्प हुन्छ छाती !

    आजको पुस्तालाई कुनै लोकका चामत्कारिक कथा जस्तो लाग्नसक्छ गोगने र माम्खा, जनकपुर र झापा अनि काठमाडौंसम्मको आमा रामकुमारीको सन्तानप्रतिको सन्ताप यात्रा ! त्यो समयको आभा बोक्नुभएकी रामकुमारी आमा र आज हामीले भोगिरहेको समयको जीजीविषा कतै पनि मेल हुनैसक्दैन । धन्य धन्य साहसिक आमा !

    लेखक ईश्वर पोखरेल यतिबेला नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । पूर्वउपप्रधानमन्त्री/मन्त्री, सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) भइसक्नुभएको प्रतिष्ठित व्यक्ति हुनुहुन्छ नै । ‘आमा, सपना र ताराहरू’ मा भने उहाँको प्रारम्भिक राजनीति, अध्ययन, पारिवारिकता र भूमिगत क्रान्तिकारी राजनीतिका संघर्षशील पाटोहरू पढ्न बुझ्न पायौं, चीन भ्रमणको स्मरण होस् या आमाले बुहारी भेट्नुहुँदाको प्रसङ्ग होस्, सलल शब्दहरू सरल लयमा बगेका छन् । आजको पुस्ताले यो किताब एक पटक पढ्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । संघर्षशील आमा रामकुमारी न्यौपाने पोखरेलको संघर्षशील छोरा लेखक ईश्वर पोखरेललाई क्विन्टल बटालियन शुभकामना ! अरु नयाँ नयाँ धारिलो कृतिहरूको अपेक्षा !

  • हाइकिङले बदल्दै लगेको दृष्य, परिदृश्य र अन्तरदृष्य

    हाइकिङले बदल्दै लगेको दृष्य, परिदृश्य र अन्तरदृष्य

    उदये सविता रक्त्तःश्चास्तमये तथा ।
    सम्पतौ च विपत्तौ च महातामेकपता ।।

    अर्थात् महान व्यक्तिको स्वभाव, सम्पत्ति, समृद्धि र विपत्ति वा कठिनाईमा एकै स्वभावको हुन्छ । सूर्य उदाउँदा र अस्ताउँदा पनि रातो भए जस्तै उनीहरू धैर्यवान भएर जस्तोसुकै समयमा रहेका हुन्छन् ।

    यहिँ श्लोक आजकल मलाई झन बढी मन पर्न थालेको छ । कारण देशमा देखिएका भीआईपी र भीभीआईपी भन्दा गाउँका सामान्य मान्छे महान लाग्न र मन पर्न थालेको छ । घोष्ट राइटिङ नेपाल चलाएपछि, लेखन कुन्ज खोलेपछि समाजमा देखिएका भीआईपी र भीभीआईपीको संगत भयो । देश बर्बाद भएर बिग्रँदै गयो । खत्तम भयो । षडयन्त्र भयो । देशलाई संकट छ । हामी त्यसैको लागि आएको भन्नेहरूसँग भेट भयो । देशलाई खतरा छ भन्नेले त जनतालाई खतरामा लगेको थाहा पाएँ । उनीहरूको कथा लेखियो । पढियो । नजिकबाट संगत गरियो ।

    केही छाडेर अक्सर सबै उनीहरू त सन् १९४५ मा लेखेको जर्ज ओर्वेलको उपन्यास ‘एनिमल फार्म’ को पात्र जस्तै रहेछन् । सत्ता र शक्ति नपाउन्जेल पहिलेको शासकको विरोध गर्ने र सब परिवर्तन गर्नै पर्दछ भन्ने । सत्ता पाएपछि आफू पहिलेकै शासक जस्तै सबै भन्दा पहिले परिवर्तन हुने देखेँ । जनतालाई दिग्भ्रमित पारेर आफ्नो सत्ता र स्वार्थमा खतरा भएपछि देश बिग्रँदै छ भनेर आफ्नै दुनो सोझाउने उनीहरू नै रहेछन् भन्ने चिने । सत्तामा हुँदा सबै सकरात्मक , सत्ता बाहिर पुगेपछि सबै नकारात्मक भएको भन्नेहरूसँगै भेट भईरह्यो ।

    दिक्दारको दृष्यले दिमागमा दिगमिग बनायो ।

    सफा मान्छे देखेर दिगमिग भएको मगजलाई मज्जा दिन म आजकल मिलेसम्म माटोले मैलिएका मान्छे भेटन हाइकिङ जाने गर्दछु । गाउँका साधा जीवन र उच्च विचार भएको मान्छे मलाई महामहान लाग्दछ । प्रकृति र मान्छेको कुरा सुनेर शरीरलाई थकाउँदै गिदीमा क्यामराले भन्दा बढी फोटो खिचेर म फर्कन्छु र एक हप्ता फ्रेस हुन्छु । यसको तर्जुमा गरेको छ ह्याप्पी हाईकर्सले ।

    हरेक हप्ता नयाँ ठाउँ लैजाने सहचरी राजाराम फुँयालको समूहसँगै हिँडिरहेछु । सूर्य उदाउनुअघिको ब्रम्हमुहूर्त ( बिहान तीन बजेदेखि ५:३० को समयभित्रै) मै हिँडाउँछ उसले । फागुन १७ को यात्रा पूर्वतिर थियो । चराहरू पनि सूर्य उदाएतिर उड्दै थिए । हामी पनि ब्रम्हमुहूर्तमै सूर्य उदाएतिरै भक्तपुर , साँगा , बनेपा , पनौती, खोपासी हुँदै ख्याकुतिर जाँदै थियौ । पनौतीबाट ख्याकुतर्फ जाँदा बाटोमा बन्दै गरेका हाउजिङ ख्याक जस्तै लाग्दैथियो । आलु टन्नै हुने आलु फाँटमा घरहरू बन्दा ख्याकको जुलुस जस्तै जिङग्रिङ लाग्यो ।

    पहिले चार भञ्ज्याङमा गनिने उकालो-ओरालो भएको साँगा अहिले भन्ज्याङ लाग्दैन । गाडीको माथि बसेर सररर हिड्दा हिजोको पूर्खा हिडको बाटोको भन्ज्याङ कस्तो थियो होला भनेर सम्झिरहेको थिए । इँटाभट्टाको प्रदूषण बिहानै सूर्य नआउँदै आइरहेको थियो । घृतकौषिक ऋषि पुत्र भोला खनाल ‘भट्टाले भटाभट धुँवा भट्टाया’ भन्दै हुनुहुन्थ्यो । बाटो बन्दै गएको र घरहरू खस्दै गएको देख्दा नरमाइलो लाग्यो ।

    ‘दुई वर्षमा त गजब हुन्छ होला बाटो’ भनेर कौडिन्य ऋषिपुत्र मनोज प्याकुरेलले भन्न थाल्नुभयो । चार वर्ष लागेर पनि नबनेर ठेक्का रद्द गरेको समाचार काभ्रेकै बाटोको हिजैमात्र पढेको थिएँ, तर म बोलिनँ । बसमा पनि पहिलेदेखि चिनेजानेकाको हो हल्ला र भर्खर छिरेकाको शून्यता हुन्छ । शून्य र हल्ला दुवै हेर्दै म गम खाइरहेको थिएँ ।
    सूर्य झलमल्ल झुल्कियो । मलाई त सूर्य अघिअघि हामी पछिपछि जस्तै लाग्यो । सूर्य समाउन हामी हिँडेरहे झैँ लाग्यो । जति जति गाडी पूर्व जान्छ सूर्यको लालीमाले लाज मान्दै हामीतिर आईरहेको झैँ लाग्यो । मलाई अँध्याराको उज्यालो वाउ.. लाग्दछ । बिहानको झलमल्ल हुनु अगाडिको उज्यालो बत्तीहरू देख्दा भित्रै खुशी छिरेझैँ हुन्छ ।
    ह्याप्पी हाईकर्ससँग हिँड्दा सधैँ नै यो देखिन्छ । आकाशका तारा झरेजस्तै घरघरमा बत्तीहरू र परबाट टिलपिल गरेका यी बत्तिहरूको चित्र चित्ताकर्षक लाग्दछ ।
    चप्पल कारखानाबाट दुई घन्टा गाडी चढेपछि ख्याकु अलिक माथि डाडाँ गाउँ आईहाल्यो । ख्याकु के हो भन्ने लागिरहेको थियो । न वृहत शब्दकोषमा भेटिने न गुगलमै ! नेवारी भाषामा ख्याक त सुनेको तर क लाई तर्कुले लगाएको नसुनेको । सहरका पुराना ठूला घरका अँध्यारा कुनामा बस्ने तर्साउने भूतलाई ख्याक भनिन्छ । कस्तो ख्याक भएछ भन्यो भने दुब्लो र बुढो बुझिन्छ तर ख्याकु बुझिन ।

    ह्याप्पी हाईकर्सको ब्रेकफास्ट पुवा, तरकारी, दूध अण्डा खानुअघि स्थानीय ७५ वर्षीय नानीबाबु तामाङ (वाईवा) भेटेँ । उहाँले डाडाँगाउँ आफ्नो २० पुस्ता भैसकेको बताउनुभयो ।

    उहाँलाई सोधे ‘ख्याकु भनेको के हो ? ‘

    भन्नुभयो ‘गाउँको नाममात्र हो ।’

    मलाई चित्तै बुझेन । कसलाई सोध्ने ? दुई/तीन जनालाई भेटे । कसैले सही उत्तर दिएन । स्थानीय रामकुमार श्रेष्ठले भन्नुभयो, ‘सन्यासी , जोगीहरू त्याहाँ बस्ने र उनीहरू मरेपछि लास त्यहीँ गाड्ने हुनाले ख्याकु भनेको हो ।’

    ख्याकु बुझेपछि, डाडाँगाउँको ब्रेकफास्ट पछि हामी उकालो लाग्यौ । उकालो, ओरालो लाग्दै जाने बाटो ‘हाईकिङ ट्रेल’ हुन्छ । अहिले ‘हाईकिङ ट्रेल’ भत्कदै गएको छ । डोजर र वडाध्यक्ष बसेर गरेको विकास ( जुन हरेक जस्तो गाउँमा अनप्लान बाटो बनेका छन्) भेटिन्छ । त्यहिँ भेटिन्छ । जसलाई मूल बाटो भनिन्छ । हाईकिङ हिँड्दा मोटरबाटो भन्दा पूर्खा हिँडेको बाटो भए मस्त हुन्छ मन । उकालो उक्लँदै वा ओरालो ओर्लदै जाँदा हिँडन मज्जा आउँछ तर जब मोटरबाटो त्यही पूर्खा हिँड्ने बाटोमा भेटिन्छ । अनि जुत्ता धुलो मैलो हुन्छ र नाकमा म गाउँको बाटो हुँ बुझिस् भन्दै सर्लक्कै धुँलो आउँछ । अनि हाइकिङको मज्जा आउँदैन ।

    ०००

    वसन्त ऋतु नजिकिँदै गएको छ । यो समयमा आरु फूलिरहेका छन् । गुराँस फूलिरहेका छन् । तोरी फूलिरहेका छन् । ती सबैले आऊ मसँग फोटो खिच भनेर बोलाइरहेछन् । कहिँ फोटो खिचिन्छ, भिडिओ पनि बनाइन्छ । कहिँ आँखालेमात्रै खिच्दछ फोटो । डाडाँगाउँबाट उक्लदै गइयो । मान्छेहरू हिँडिरहँदा चराले चिरविर गरेर ए मान्छे आए, मान्छे आए… भने झैँ लागिरहयो । चराले पनि स्वागत गरिरहेको झैँ लाग्यो ।

    तामाङ संस्कृति बागमती प्रदेश वरिपरिको डाडाँमा भेटिन्छ । यो पनि काभ्रेको डाँडा थियो । जहाँ प्राय तामाङहरू नै भेटिन्थे । हिँडाइकै क्रममा लठ्ठी टेकेर घरमै बसिरहेका कृष्णबहादुर थिंग भेटियो । ८५ वर्षीय उहाँलाई दमको रोग रहेछ । कुखुरा, भँसी, बाख्रा घरमै पालेर आफैँले आफैँलाई ‘होम स्टे’ मा राख्नुभएका उहाँ बिहानी घाममा चहकिलो भएर बस्नु भएको थियो । दिकाली डाडाँ कटेर, साउनेपानी हुँदै पोखर डाडाँमा भेटिनुभएका कृष्णले बताएअनुसार त्यो ठाउँमा तामाङ (थिङ्, लोप्चन, स्याङ्तान) हरू मात्र छन् ।

    बाटोमा आउने पिपलबोट चौतारा र खर्कहरूले छुट्टै आनन्द दिन्थे । केहीबेर आराम गरौ गरौ झै लाग्दथ्यो । कहिँ बसिन्थ्यो । कहिँ हिँडिन्थ्यो । टोली ठूलो थियो । त्यहाँ एकै स्वर एकै बोली थिएन । हिँड्नु टाढा भएपछि बस्नु नजिकै हुँदैन । यहि सिद्धान्तमा हामी हिँडिरहयौं ।

    बाटोमा सुन्दरी युवती सरस्वती ठोकर भेटियो । बेथानचोक वडा नम्बर ४ पटगाउँमा कोईली कराइरहेको समयमा कोईलीजस्तै स्वर भएकी विदेश बसेर आएकी सरस्वतीले सुमधुर स्वरमा भन्नुभयो ‘बाढी पहिरो गएको कारणले चारैतिर भताभुङ्ग भए पनि बिस्तारै गाउँहरू बन्दैछ, गाउँ राम्रो छ, माथि बन्दै गरेको गुम्बा हेर्नुहोला ।’

    नेताहरूको आश्वासनभन्दा उहाँको आफ्नो आशा र विश्वास मलाई मन पर्‍यो । मान्छे मलाई पृथ्वीको उत्कृष्ट फूल लाग्दछ । गाउँ-गाउँमा यस्तै मान्छे रूपी फूलहरूले गर्दा गाउँ रमाइलो भए झै लाग्यो । घरमा आएर उहाँसँग कुरा गरेको टिकटकमा हालेको त उहाँका त लाखौं फ्यान फलोअर रहेछन् । गायिका, मोडल पो हुनुहुँदो रहेछ । उहाँले बेलुका टिकटकको म्यासेजमा लेख्नुभयो ‘टिकटक हाल्ने भनेको भए झन् राम्रो बोल्नेथेँ ।’

    मलाई ओहो अरुको प्राईभेसिमा दख्खल पो दिए की भन्ने लाग्यो र सोधेँ ‘हटाउँ त ?’

    उहाँले भन्नुभयो ‘पर्दैन भो हाल्नु ।’

    अहिलेसम्मकै बढी भ्यू टिकटकमा उहाँकै कारण आयो । म छक्कै परेँ ।

    हातभरि उहाँले लिएको गुराँस फोटोको लागि दिनुभएको थियो । त्यसमै फोटो खिचेको सम्झना आइरहयो ।

    उहाँले भनेको बन्दै गुम्बा देखियो । होटलजस्तै लाग्यो । यति टाढा यस्तो राम्रो भवन बन्दै गरेकोमा खुशी लाग्यो । एकै छिनमा आईपुग्यो । कपुर महांकाल प्राथामिक बिद्यालय , बेथानचोक गाउँपालिका ४ पट्गाउँडाडाँ काभ्रे । त्याहाँ पुग्दा बिहानको १०:०० बजेको थियो । २०५६ सालमा स्थापना भएको विद्यालय भूकम्पले भत्काएपछि गाउँगाउँमा बनेको जस्ताको छाने भएका घर जस्तै घर बनेको रहेछ । बिदाको दिन विद्यार्थी भेटिने कुरै भएन । स्कुल हाता भित्र एकछिन बसेर सुस्ताइयो । स्कुलको अर्को भवनको पाँच वटा कोठा जापानीज सुन्जी ओगाताले बनाइदिएका रहेछन् । गाउँ-गाउँमा विदेशी आउने र सहयोग गर्ने चलनको चलन त्यहाँ पनि देखियो ।
    ०००

    वनहरूमा हरियो बोटको गुराँस राताम्मे हुँदैछ । गुराँसको बोटले बोलाएर गुराँस झैँ गुराँसकै बोटमा ढकमक्क भएछन् साथीहरू । रातो गुराँस हेरिरहँदा नीलो आकाश कालाम्मे भएको थियो । एकै छिनमा पानी छिट्टायो । बर्षा रोक्न छाता ओडे ।

    छाता ओडेर अलिकति उकालो र ओरालो गरेपछि भेटियो साइँली तामाङ, ५९, । भन्ज्याङखर्ककी दश दिदीबहिनी र चार दाजुभाइको साईली उहाँको नागरिकता र बोलाउने नाम नै साइँली रहेछ । यो नामले गाउँको पुरानो तस्बिर हेरे झैँ लाग्यो । ललितपुरको बतासेबाट काभ्रेको भन्ज्याङ्खर्कका बुद्धलाल लोप्चनसँग बिहेवारी भएर आउनुभएकी उहाँको घर वरपर दाउँराको भारीहरू टन्नै देखेँ र सोधेँ

    ‘के काम गर्नु हुन्छ नी ?’

    भन्नुभयो ‘के हुनु नि उही घाँस दाउँरा त हो ।’

    मैले सोधेँ ‘बेच्ने हो र यो ।’

    उहाँले भन्नुभयो ‘हामी कृषक हौं’

    फेरि सोधेँ ‘कति सन्तान छन् नी ?’

    ‘मेरा पाँच वटा छन् ।’

    मैले ठट्टा गर्दै भनेँ ‘भएन न आमाको जति पुर्‍याउनु पर्‍यो ।’

    उहाँले भन्नुभयो ‘म २२ साले उमेरले डाडाँ कटिसक्यो ।’

    मैले भनेँ ‘२२ सालको मान्छे तगडा भएर यहिँ हाईकिङमा दौडेको हेर्नु त ।’.

    उहाँले भन्नुभयो ‘छोराको १७ वर्षको नाति भयो , छोरीको एक नाति छ ।’

    मैले भनेँ ‘आमा तगडा भएपछि तपाईँ बुढो भन्न मिल्यो त ?’

    भन्नुभयो ‘ए मिलेन त है मिल्न त, आमा तगडै छ मेरो ।’

    फुङ्ग उडेको अनुहारमा सेतो मुस्कान थियो साइँलीको । मस्त हाँसेर कुरा गर्ने उहाँ सहरको मान्छे जस्तो कपटि देखिन् । हाँस्न मन नलागी हिहिहि गर्ने , हाँस्न मन लागेर मुख सिलाएर बस्ने सहरको स्वभाव उहाँको थिएन । प्रकृतिको निश्चलता उहाँमा देखिएको थियो ।
    ०००
    उकाली ओराली भन्ज्याङ चौतारी त हो नेपाल । हिड्दै जाँदा अर्को भन्ज्याङ आइपुग्यो । खनिखर्कको माने भन्ज्याङ । पटगाउँ डाँडा ठूलै रहेछ । यसलाई पनि पटगाउँ डाडाँको माने भन्ज्याङ भन्ने रहेछ । माने रहेको त्यो भन्ज्याङको मानेमा केहीबेर बसियो ।

    त्यही कुरा गरियो रामकुमार श्रेष्ठसँग ।

    उहाँले भन्नुभयो ‘हामी गुम्बु डाँडा, बेथानचोक भ्यू टावर , बुढा महाँकाल हुँदै फाँटमा पुग्नेछौं र केहीबेर उकालो ओराले गरेपछि ढुङ्खर्क आउँछ ।’

    बाटोमा एक बुढी आमा भेटिनुभयो । उहाँले लगाएको ढुँग्री, सिसिफूल, झम्केफुली पुराना नेपाली गहना भएको चाल पाए । पार्थली पुग्नु भन्दा केही अघि भेटिनुभएको आमाले आफूलाई सुगर भएको घरमा अरु कसैलाई पनि किन नभएको होला बाबु भनेर सोध्नुभयो । यसको अर्थ मैले दिन सकिनँ । पार्थली डाँडागाउँ डेरी फर्म गाउँको दूध संकलन हुने कुरा बोर्डले बोलिरहेको थियो ।

    बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानकै पार्टीमा कालापानी सामुदायिक वन उपभोक्ता समूहले सूचना जारी गरेको रहेछ । डालेघाँस ,खस्रुघाँस लेकाचौरमा उपभोक्ता जम्मा भई कटानी गर्ने र उपभोक्ता समूहले आफ्नो वनको सिमाना पूर्व सिमाना नाकेडाडाँ , पश्चिम सिमाना आल्काडाँडा, उत्तर सिमाना भ्यू टावर रोड , दक्षिण सिमाना खरे जाने बाटोभित्रको घाँस काट्ने भनेर । सामुदायिक वनले नेपालमा व्यवस्थापनको एक नमूना दिएको पढेको थिए । नेपालले प्रशंसा पाएको वन संरक्षणको यो अभियान गाउँ गाउँमा यसरी नै उपभोक्ताहरूले र गाउँले जनताले गर्दा नै हो भनेर फेरि एक पल्ट गाउँका जनतालाई मनमनै अभिवादन गरे ।

    पाथीभारा चर्चित भएको यो समयमा अघिल्लो हप्ता नल्लुमा र यो पालि पनि बेथानचोक टावरनजिकै पाथीभारा मन्दिरमा पुगियो । हल्का उकालोपछि पुगिने पाथीभाराको परम्परा यहाँ पनि देखियो । सँगै स्थानीय देवी देवताको फोटोमा दर्शन , त्रिशूलमा यसो हात राखेर लागे बेथानचोक टावर । अरु टावरभन्दा अलिक व्यवस्थित लाग्यो यो टावर । छेउमै पाथीभारा भिलेज रिसोर्ट रहेछ । स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै हिँडेको आफूलाई टावर चढदा भिजेको टिसर्ट फेरेपछि आनन्द आयो । टावरनजिकै रतुवा मृग देखियो । हाहाहुहु गरेपछि मृग टाप ठोक्यो । टावरमा बसेर आफूले ल्याएको नट्स अरुलाई बाँड्दै खाइयो । फलफूल बाँडियो । सफला नेपालले ल्याएको कफी खाइयो । लगभग एक घन्टा त्याहाँ बिताएपछि ठाडै ओरालो लागियो ।

    सलिङ डाँडा मगर गाउँ ओर्लदै जाँदा गजबको एक रुख देखियो । अमूर्त आर्ट जस्तो बादल जस्तो रुख एकटकले हेरिरहे । मगर गाउँमा २५/३० घर थापा मगर र अरु ५/७ घर राना मगरहरू रहेछन् । त्यो डाँडाबाट अकाशतिर फर्केर हेर्दा आकाशले आफ्नो रङ्ग पोतेर आफैँ नीलो भए झैँ लाग्यो । साह्रै सुन्दर आकाश र सेतो बादल देखेर मनमा झंकार पैदा भयो । ओर्लिएपछि आयो कुनेखर्क । कुनेखर्कबाट हामी हिडेर आएको मगर गाउँ फर्केर हेर्दा गाउँहरू मिलेर कुरा गरे झै लाग्दै थियो । कहिले अगाडी कहिले पछाडी कहिले आकाशतिर र प्राय भुँईतिर हेरेर हिड्दा पनि प्रकृतिले बनाएको फरक पेन्टिङ देखिन्थे ।

    त्यहाँ देखे । प्राथमिक विद्यालय भत्केको । अनि कुनेखर्क सल्लेनी सामूहिक लप्सी प्रसोधन साझा सुविधा केन्द्रको नाममा अष्ट्रेलियनले सहयोग गरेको । गाउँ-गाउँमा नेपाल सरकार वा विदेशीले सहयोग गरेका छन् । त्यसको उपलब्धि के कति भिन्न कुरा होला तर सहयोगी हात गाउँ पुगेका रहेछन् । महिलालाई सशक्तिकरण गर्न सीपमूलक तालिम कुचो, साबुन, हर्पिक, क्लिनरलगायतका सफाइ सामाग्री, निर्माण, प्रशोधन, लेबलिङ, बजारीकरणको सीपमूलक तालिम कार्यक्रम बेथानचोक-३ नम्बर वडा कार्यालयले दिँदै भनेर सूचना टाँसिएको देखेँ ।

    अब आयो थानी महांकाल(बुढा महाङ्काल ) । पुग्दा एक बजेर २१ मिनेट गएको थियो । संगै कृष्ण गोपाल माध्यामिक बिद्यालय देखियो । तीन घन्टा अगाडी राम कुमार श्रेष्ठले मानेमा भनेको कथा यहाँ सुनियो ।

    कथा अनुसार, गजबको ठूलो ढुंगामा आएर एक जोडी बुढाबुढी गन्थन गरिरहेका थिए । राति सुतेर बस्दा उनीहरूले यहाँ पूजापाठ गरे सबैलाई कल्याण हुन्थ्यो भनेछन् र उनीहरू अलप भएछन् । स्थानीयले सुनेकोले पूजापाठ गर्न थालेपछि फूलपातीको दिन बुढा महांकालमा पूजा र मेला लाग्ने रहेछ ।

    गाउँ-गाउँमा मन्दिर छँदैछ । मन्दिर भएपछि पुजारी पनि हुने नै भए । श्रीहरी तिमल्सिना भेटिनु भयो । लक्ष्मी नारायण मन्दिरको पूजारी हुनुहुँदो रहेछ । तोरी पेल्न कोलमा जाँदै हुनुहुँदो रहेछ ।

    भन्दै हुनुहुन्थ्यो ‘एक पाथीको १० रूपैयाँ तिरेर आफ्नै बारीको तोरीको तेल खान पाउँदा खुशी छु म, छोराबुहारी काठमाडौं गठ्ठाघरमा पसल थापेर बसेका र नातिनातिना पनि उतै र यहाँ आफू र बुढी बसेको छु , उनीहरूलाई पनि तेल पठाउँछु ।’

    सखा सन्तोष अचार्यले केही दिनअघि काठमाडौंमा एक रेष्टुरेन्टको तेलको कथा भनेको सम्झेँ र श्रीहरी सम्झेँ ।

    उत्तम सञ्जेलसँग सन्तोषजीले भन्दै हुनुहुन्थ्यो ‘रेष्टुरेन्टमा सात दिनसम्म लगातार एकै तेलमा पकाएको, ग्राहकले खाएर प्लेटमै छाडेको मोमो होस् वा मासुभात सबै अर्को ग्राहकलाई त्यही दिएको देखेर , पाप लाग्ने भयो भनेर मैले यो पेशै छाडिदिएँ ।’

    कम्तीमा गाउँमा त आफ्नै बारीको तेल पेलेर सानले हिड्नु भएको छ श्रीहरी । झूटमुठ नभएको स्वच्छ गाउँ यस कारण पनि मलाई मन पर्दछ र गाउँमा हिँड्छु भन्ने लाग्यो ।

    उहाँलाई छाडेर हिड्दै जाँदा गैह्री भन्ज्याङ, बतासे हुँदै पुगियो ढुङ्खर्कको पाटने खोला । खोला नदीको सानो रूप हो । तर, यो रूपले पनि बेरूप बनाएको छ । सानो देखिएको खोलाले फाँट नै पुरेर घरहरू लतार्दै लगेको हेरे । त्यो दिनको बित्याँस र अत्याँस कस्तो थियो होला जुन दिन यहाँ बाढी आएको थियो भन्ने लाग्यो ।

    त्याहाँ पनि बाढीले विनाश ल्याएको दुर्दान्त दृष्य हेरेँ । हिँड्दै जाँदा बाटोहरूको घुमाउरो पहाड नै बाढीले खसाल्ला जस्तो देखिन्थ्यो । पुलहरू भत्किँदै गएका । भिरालो बाटोमा पहाडहरू नै खस्दै गरेको । अर्क‍ो वर्ष कस्तो होला भन्ने डर लाग्यो ।

    पाटने खोलाबाट हिँडेको २० मिनेटमा ढुङ्खर्क आइपुगियो । ८:१० मा डाँडागाउँबाट हिडेको हामी ढुङ्खर्क आईपुग्दा ३:३० भएको थियो । थालको भात कुन बेला पेटमा लैजाउ जस्तै भोक लागेको थियो । मज्जाले खाना खाएर, खुवा लिएर बसमा बस्दा मुसलधारे पानी परयो । बाटो बिग्रेर जाम हुने हो कि भन्ने डर लाग्दै बसबाट ४:३० मा काठमाडौतिर फर्कियो ।

    ०००

    ह्याप्पी हाइकर्सको त्यो दिन २९ जनाको टोली थियो । टोली नेता उहि राजाराम फुयाँल थियो । एकाघरका दाजु भुवन ढकाल , यो पाला थपिएकी पत्रकार , लेखक र कमेरी प्यारी बहिनी रीता सापकोटा , ज्वाइँ सा’व निरज गौतम , ह्याप्पी हाइकर्स टोलीका प्रदीप कँडेल , राम श्रेष्ठ , निराकार श्रेष्ठ , मोडल एवम चर्चित हाइकर्स वा ट्रेकर्स नम्रता योगी, मनमौजी मनोज प्याकुरेल (जसले रमाइलो रेल चलाइरहनु हुन्थ्यो ), वकिल भोला खनाल , गोपाल पन्थ , बद्री अर्याल , ओम प्रकाश गुरुङ, मुना आचार्य , विष्णुहरि पण्डित, लक्ष्मण काजी श्रेष्ठ , प्रताप महर्जन, रोनिश श्रेष्ठ ,शंकर खरेल , निरुता , सफला नेपाल , ऋषि बराल , हिमांशु बडाल , निमेश घिमिरे , महिमा घिमिरे , प्रताप महर्जन लगायत २९ जना थिए ।

    २९ जनाका २९ आचार, विचार, व्यवहार र आहार थिए । हिँड्दा कहिले कोसँग कहिले कोसँग सँगै परिन्थ्यो र परिचय गफगाफ हुन्थ्यो । नत्र हिँड्ने धुनमै सबै मस्त हुन्थे ।
    हिँड्दा आँखै अगाडिको चित्रको दृष्य । वरिपरिको परिवेश देखिने परिदृष्य । दृष्यहरूको समूह अनि दृष्यादृष्यले पारेको दृष्यमान र सदृष्य । यसले भित्रै ल्याउने अन्तरदृष्यको लागि म हाईकिङलाई धन्यवाद दिन्छु । हाइकिङ जाँदा आफ्नो अहंकार सानो भएको पाउँछु । नयाँ मान्छे नयाँ प्रकृति भेटदा दृष्यले परिदृष्य र अन्तरदृष्यमा बहुत ठुलो प्रभाव पारिरहेको पाउँछु ।

    बाढीले प्रलय ल्याएको देख्दा ३२ घन्टाको पानीले दशकौको जीवन कस्तो बनाउँदो रहेछ भन्ने पाउँछु । अनि लाग्छ ,सानो ढुंगा र दुई दिनको पानी पनि मान्छे भन्दा कैयौ गुणा शक्तिशाली रहेछ । एक रुख पनि मान्छेभन्दा कहाँ हो कहाँ फरक र शक्तिशाली रहेको पाउँछु । एक चराले सिंगो वनमा सुसेली हाल्दाको सुमधुर धुन गीतारको तार भन्दा कहाँ हो कहाँ फरक पाउँछु । गाउँको मान्छेको आतिथ्यता , हार्दिकता , छलछाम रहित व्यवहार बोलीले भित्रैबाट उनीहरू कति महान भन्ने लाग्दछ । कम्तीमा उहाँहरू जे सक्ने त्यही बोल्नुहुन्छ ।

    हामीले भीभीआईपी र शक्तिशाली भनेका गाउँको प्रकृति र मान्छेको अगाडि कमजोर निरीह रहेको पाउँछु । देशलाई धोका नदिने गाउँको जनताले नसक्ने पनि गरिहाल्छु नि ! भनेर कहिल्यै झुलाएको पाइँदैन । भुलाउँदा र झुलाउँदा पाप लाग्दछ भन्ने ठान्नु हुन्छ । प्रकृति होस् वा मान्छे दुवै सहरका भीभीआईपी र भीआईपी भन्दा कहाँ हो कहाँ शक्तिशाली लाग्दछ मलाई । यही फरकपनको लागि म हिँडिरहेको छु । हिँडिरहनेछु ।

    ढुङ्खर्कबाट बनेपा नआउँदै बिहानको सूर्य फेरि रातो हुँदै थियो । मैले उदाउँदा र अस्ताउँदा रातो भएको सूर्यजस्तै बाटोमा भेटिएका मान्छेहरू सम्झेँ । महान लाग्यो मलाई उहाँहरू । खोलाले घरै बगाउँदा, वा वस्तुभाउ बगाएको कुरा गर्दा हाँसिरहेको सम्झेँ । उहाँहरू मलाई त्यही रातो सूर्यजस्तै लाग्यो । सहरमा भए यति दुःख पाउँदा मान्छे डिप्रेशन वा फ्रस्टेसनमा जान्थे । उहाँहरू घरवारी र बस्तुभाउ सबै बाढीले लैजाँदा पनि आफूलाई विपन्न ठान्नु हुन्न । जस्तो कठिन परिस्थितिमा पनि भैहाल्छ नी, गरिहालिन्छ नी भन्नुहुन्छ ।

    आशामुखी स्वभाव, मेहनती मान्छेहरू देखेर मनमा ऊर्जा आयो । सूर्यको चक्रजस्तै काम गर्ने उहाँहरू कतिपय सूर्यसँगै सुत्ने र उठ्ने गर्नु हुँदो रहेछ । चराजस्तै जीवन बिताउने उहाँहरू नेताजस्तो गह्रुँगो झूठ नबोलेकोले नै होला फिस्स-फिस्स हाँसिरहनु हुन्छ ।

    यीनै कुरा सम्झँदै बसमा बस्दा रातो सूर्य ढल्केर गोधुली भैसकेको थियो । सूर्य ढल्कदै डाँडोबाट झरेपछि चिसो बढ्दै आयो । टोपी र ज्याकेट थपे । बनेपाबाट सूर्यविनायकसम्मको जाम छिचोल्न झण्डै एक घन्टा बढी लाग्यो । घुम्दै-घुम्दै चप्पल कारखाना आउँदा लगभग ७:४५ भएको थियो । गुँड पस्न हतारिएको चरा झै म पनि गुँडमा छिरे ।

  • यात्रुको जीवनकाे मूल्य १०० रूपैयाँमात्रै !

    यात्रुको जीवनकाे मूल्य १०० रूपैयाँमात्रै !

    सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सार्वजनिक यातायातको यात्रा सधैं यादगार हुन्छ । हामी जस्ता साधारण व्यक्तिहरुका लागि सार्वजनिक यातायातबाहेक अर्को कुनै विकल्प पनि हुँदैन यात्रा गर्न । झुण्डिए पनि, च्यापिए पनि, धक्का खाए पनि, जे गरे पनि सार्वजनिक यातायातका साधनहरु नै हाम्रा मित्र हुन् । सडक दुर्घटनामा परी मृत्यु भएका धेरै समाचार दिनहुँ पढ्छौं, हामी सञ्चारकर्मीहरु लेख्छौं पनि ।

    दुर्घटना हुनुको कारण क्षमताभन्दा बढी यात्रु भएको, चालकको लापरबाही, सडकको स्तर नमिलेको, तिब्र गति भन्ने ‘रेडिमेड’ जवाफ छ अनुसन्धान गर्ने निकायसँग । त्यही क्षमताभन्दा बढी यात्रु भएको सार्वजनिक यातायातमा यात्रा गर्न बाध्य छन् पहाडी जिल्लाका यात्रु । यात्रुको सोझो बुझाई गाडीको यात्रा भनेको वस्तु खाँदे जसरी खाँद्नु हो भन्ने भइसकेको छ । किनभने यात्रुलाई खाँदेर लगिन्छ र यातायात व्यवस्थापनका लागि सडकमा हल्लिरहेका ट्राफिक प्रहरीहरु रमिता हेरेर बस्छन् । यसको अर्थ यो कार्य ‘बैध’ हो भन्न सर्वसाधारणको बुझाइ हुन्छ ।

    केही दिनअघि सुदूरपश्चिम यातायातको एक हाइस (माइक्रो बस)मा कैलालीको अत्तरियाबाट डोटीको सिलगढी पुग्नुपर्ने थियो । ९ बजे बिहान हिँड्ने भन्ने काउन्टरले जानकारी दिएपछि करिब ८ः३० मा टिकट काटियो । अब हिँड्ला, तब हिँड्ला गर्दा १०ः१६ मा बल्ल हाइसले अत्तरिया छोड्यो । त्यो हाइसको यात्रु परमिट १६ जनामात्रै हो रे ! तर अत्तरियाबाट हामी २१ यात्रु थियौं । तराईलाई बाईबाई गर्दै हाइस गोदावरीबाट उकालो लाग्यो ।

    खानीडाँडाको खाना

    ९ बजे हिँड्ने योजनाका साथ आएका यात्रु पक्कै पनि भोकै थिए । करिब एक घण्टा लगाएर कैलालीको खानीडाँडा पुगियो र खाना खान भन्दै गाडी रोकियो । जुन होटलमा खाना खान गाडी पार्क गरियो, त्यहाँ अर्को एक बस पनि थियो ।

    ‘भात खानेलाई भात, रोटी खानेलाई रोटी, बस्नुहोस् खाना तयार छ’, चर्को स्वरमा सबै यात्रुले सुन्ने गरी होटेलको साउनी कराइरहेकी थिइन् । यात्रु हातमुख धोएर खान बसे । चिसो मौसम भएर होला अधिकांशले रोटी खान रुचाए । दाल, तरकारीसहितको एक रोटी सबैलाई पस्कियो । थप रोटी माग्दा जवाफ आयो– ‘रोटी त सकियो, भात खानुहोस् ।’

    ग्राहकले केही भन्न मुख खोल्न नपाउँदै होटेलवालाले थपिहाले– ‘तपाईं एक जनामात्रै हो र खाना खाने ? तपाईं जस्तो सयौंलाई खाना खुवाउनुपर्छ हामीले । अनि कति पुगोस् त रोटी !’

    उनी यसरी कड्किए कि सायद उनले निःशुल्क खाना बाँड्दै थिए । विचरा यात्रु, कति भात थप्न बाध्य भए, कति पूरा पेट नखाएरै हिँडे ।

    उनको १०० रुपैयाँको नोट यति शक्तिशाली थियो कि ट्राफिक प्रहरीले उनको गाडीमा कति यात्रु छन्, कागजात छन् कि छैनन् भनेर हेर्ने हिम्मत पनि गरेन ।

    यो त सवारी चालकहरुले होटेलबाट पाउने भत्ताको कमाल रहेछ । खाना खाने निश्चित ठाउँ बनाउने, अनि त्यो होटेलबाट खाना खाने प्रतियात्रुका दरले रकम असुल्ने । त्यसैले होटेलभित्रै गाडी घुसाउँछन्, स्टाफहरुका लागि मिठो मसिनो पाकेको हुन्छ र निःशुल्क खान्छन् । त्यसकारण उनीहरुले यात्रुको परवाह गर्दैनन्, तर यात्रुले भने सधैं यस्तै नियति भोग्नुपर्छ । कैयौं यात्रु खाना खाँदैनन्, चिया चना खाएर हिँड्छन् ।

    इसारैइसारामा रास्ता साफ !

    खानीडाँडाको त्यो खानापछि करिब आधा घण्टाको यात्रा पार गरियो । सहजपुर बजार नपुग्दै ट्राफिक प्रहरीको टोलीले हाइसलाई रोक्यो । चालकले साइडमा रोके, हत्त न पत्त गाडीबाट उत्रिए । उनी ट्राफिक प्रहरीको टोली प्रमुख भएतिर लम्किए । स्टेन्ड लगाएर सडक छेउमै रोकिएको सरकारी मोटरसाइकलको पिठ्युँमा बसेका ट्राफिक प्रहरी नायब निरीक्षक (दुई तारा) सँग खासखुस कुरा गरे । यात्रुलाई लागेको थियो, अब ट्राफिक प्रहरीले क्षमताभन्दा बढी भएका यात्रु झार्नेछ, उक्त हाइसलाई कारबाही गर्नेछ, तर त्यसो केही भएन । चालकले ती प्रहरी नायब निरीक्षकसँग केहीबेर कुरा गरे । दुवैले एकापसमा हात मिलाए, अनि हँसिलो अनुहारसहित चालक गाडीतर्फ कुँदे ।

    चालकको सीटमा बस्दै गर्दा उनले भने– ‘यो छैन, त्यो छैन भनेर झुलाउँछन् । त्योभन्दा त पहिले नै १०० रुपैयाँको नोट थमाइदियो, हिँड्यो ।’ उनी यसरी पैसा दिनु बाध्यता ठान्छन् । उनी थप्छन्– ‘कहिले बेल्ट लाइनस् भन्छन्, कहिले यात्रु बढी भए भन्छन् । उनीहरुले खान खोज्छन्, नभए हजार/पन्ध्र सयको चलान काट्छन् ।’

    चलान काटे साहूले पनि गाली गर्ने गरेको उनको भनाइ छ । उनको १०० रुपैयाँको नोट यति शक्तिशाली थियो कि ट्राफिक प्रहरीले उनको गाडीमा कति यात्रु छन्, कागजात छन् कि छैनन् भनेर हेर्ने हिम्मत पनि गरेन ।

    बाटोमा थपिए तीन यात्रु

    धनगढीबाट डोटीसम्मको बाटो पनि रमाइलै छ । कैलालीबाट डोटी, डोटीबाट डडेल्धुरा र डडेल्धुराबाट डोटी । २१ जना हुँदा पनि हाइस खचाखच जस्तै थियो, सहजपुर पुगेपछि तीन जना यात्रु थपिए । भित्रबाट यात्रुले ठाउँ छैन भन्दाभन्दै पनि नयाँ यात्रु गाडीमा उक्लिहाले । अनि धनगढीबाट आएका यात्रुलाई गाडीको सहचालकले ‘यता सर्न र उता सर्न’ भन्न थाल्यो । छुद्र्र भाषा, छुद्रै व्यवहार प्रदर्शन गर्न थाल्यो । यतिसम्म भयो कि सहचालकले ‘यो सार्वजनिक यातायात हो, तपाईंको निजी सवारीसाधन होइन, यसमा त दुःख गरेर जानुपर्छ भन्न थाल्यो ।’ यात्रु चुपचाप रहे ।

    ‘यिनीहरुसँग मुख लाग्नुहुन्न, प्रहरीसँग मिलेका हुन्छन्, बोल्यो भने बाटोमै उतारेर जान बेर लगाउँदैनन्’– अत्तरियाबाट सँगैको सीटमा यात्रा गरिरहेका एक व्यक्तिले भने– ‘धेरै कचकच भयो भने गाडी फालिदिन पनि बेर लाउँदैनन्, आफू बाँचिहाल्छन्, मर्ने यात्रु नै हो ।’

    बुडर बजारमा रहेको ट्राफिक पोस्टमा इन्ट्री त भयो, तर गाडीमा कति जना यात्रु छन्, गाडीको सीट क्षमता कति छ, कागजात छन् कि छैनन्, चालकको अनुमतिपत्र छ कि छैन भन्ने कुराको जाँच भएन ।

    यी मित्रको सल्लाहले झस्कायो पनि । अब हामी यात्रुको संख्या २४ पुगेको थियो । बुडर बजारमा रहेको ट्राफिक पोस्टमा इन्ट्री त भयो, तर गाडीमा कति जना यात्रु छन्, गाडीको सीट क्षमता कति छ, कागजात छन् कि छैनन्, चालकको अनुमतिपत्र छ कि छैन भन्ने कुराको जाँच भएन ।

    अत्तरियामा डडेल्धुरा बजारसम्म पुर्‍याउने वाचा गर्दै दुई जना यात्रुलाई भित्र्याएको थियो सहचालकले । ती यात्रु पनि सजिलै डडेल्धुरा पुग्ने आशमा थिए, तर उनलाई अटोरिक्सामा बस्न लगाइयो । बिचरा, छतमा भएको सामान झारेर अटोमा राख्दै गए । उनीहरु गएसँगै दिपायलका लागि तीन जना थपिए । अब यात्रुको संख्या २५ भयो ।

    ट्राफिक निरीक्षणको खिल्ली

    ‘हाइवे चेकिङ छ, सीधै १५ सय काट्दैछन्, अगाडिको मान्छे झारिहाल’, डडेल्धुराको दह व्यारेक नजिक विपरीत दिशाबाट गइरहेको गाडीका चालकले अ¥हाए । हत्तपत्त गाडी रोकेर चालकले आफूसँगै बसेका एक व्यक्तिलाई पछाडि बस्न लगाए, सीट बेल्ट कसे । नभन्दै ‘हाइवे चेकिङ’ रहेछ । ट्राफिक प्रहरीको सिट्ठीसँगै हाइसको गति धिमा भयो । ढोका खुल्नासाथ एक ट्राफिक प्रहरीले भित्रपट्टि हेरे ।

    उनले के खोजे, के निरीक्षण गरे, त्यो थाहा भएन । पूर्ववत झैं उनले पनि गाडीमा कति जना छन्, कति जनाको क्षमता हो, कसरी वसेका छन् भन्ने कुराको खोजी गरेनन् । ‘ल जा’ उनले ठाडो आदेश गरे चालकलाई, चालक हुइँकियो । ‘बाटोमा चेकिङ छ, मिलाएर आउनू’ मोडहरुमा एक हातले स्टेरिङ काट्दै अर्को हातले फोन कानमा लगाउँदै चालकले अन्य चार जना सहकर्मीलाई फोन गरे । विपरीत दिशाबाट आउने सबै गाडीलाई पनि उनले हाइवे चेकिङको सूचना दिए । ‘मामाहरु बसेका छन् बाटोमा, मिलाएर जाउँ’ उनी सबैलाई भन्दै थिए ।

    प्रहरीले नै थपिदिए एक यात्रु

    २५ यात्रु त गाडीमा थियौं नै । डडेल्धुराको स्याउले बजारबाट डोटीका लागि ओरालो लाग्ने क्रममा नेपाल प्रहरीका एक हबल्दारले गाडी रोके । उनले गाडीमा कति यात्रु छन् भन्ने कुराको वास्ता गरेनन् । लामा कपाल पालेका, एक हातमा गितार र अर्को हातमा झोला बोकेका एक व्यक्तिलाई गाडीतिर सार्दै ती हबल्दारले भने– ‘उहाँलाई दिपायल पु¥याइदिनू ।’ सहचालकले गाडीमा ठाउँ नभएको कुरा भन्दा पनि उनले ‘मिलाएर लैजाउ न’ भन्ने जवाफ दिए । उनी त्यो होचो हाइसमा निहुरिएरै दिपायल पुगे ।

    यो प्रतिनिधिमूलक यात्रामात्रै हो, पहाडी जिल्लाका हजारौं यात्रुले दिनहुँ यस्तै यात्रा गर्छन् । अधिकांश दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोकेको र तिव्र गति भएको भन्ने आउँछ, तर पनि न क्षमताभन्दा बढी यात्रु बोक्न छोडिएको छ न त तिव्र गति कम भएको छ । अलि ठूलो दुर्घटना भएपछि केही समय ट्राफिक प्रहरी निकै सक्रिय हुन्छ । यस्तै सक्रियता केही वर्ष पहिले देखिएको थियो ।

    गति सीमित गर्न ‘टाइम कार्ड’

    कैलालीको अत्तरियादेखि डडेल्धुराको स्याउलेसम्म करिब १३० किलोमिटरको दुरीमा कम्तीमा पाँच घण्टा लाउनैपर्ने थियो अर्थात् २६ किलोमिटर प्रतिघण्टा, तर पछि त्यसको मूल्य जम्माजम्मी ५० रुपैयाँ भयो, अर्थात ट्राफिक प्रहरीलाई ५० रुपैयाँ दियो भने सहजै ‘टाइम कार्ड’को ‘टाइम’ फेरिने व्यवस्था हुँदै गयो र अचेल त त्यो पूर्ण रुपमा बन्द भयो ।

    ‘बाटोमा चेकिङ छ, मिलाएर आउनू’ मोडहरुमा एक हातले स्टेरिङ काट्दै अर्को हातले फोन कानमा लगाउँदै चालकले अन्य चार जना सहकर्मीलाई फोन गरे । विपरीत दिशाबाट आउने सबै गाडीलाई पनि उनले हाइवे चेकिङको सूचना दिए ।

    पछिल्लो समयमा सार्वजनिक यातायातका साधनहरुलाई कुनै प्रकारको बन्देज छैन । यो सडकको अघोषित कानून हो । दुईचार पैसाको लोभमा ट्राफिक प्रहरीले आफ्नो आँखामा पट्टि बाँधेको छ नै । शान्ति सुरक्षाको जिम्मेवारी पाएको स्थानीय प्रशासन पनि पटकपटक जनगुनासो आउँदासम्म मस्त निन्द्राबाट व्युँझिएको छैन ।

    यात्रुको मूर्खता !

    सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले पनि आफ्नै जीवनसँग खेलवाड गरिरहेका छन् । गाडीवालाले उनीहरुलाई पटकपटक बिक्री गरिरहेको हुन्छ । ग्रामीण कच्ची सडकबाट आएका यात्रु मूल सडकमा पुगेपछि बिक्री हुन्छन् । अर्थात् कच्ची सडकमा चल्ने बसहरुलाई यात्रु बेच्छन् । प्रतियात्रुका दरले जीपले बस÷हाइसवालासँग पैसा लिन्छ । होटेलमा खाना खाँदा कति जनाले खायो, सोहीअनुसार होटेलवालाले गाडीवालालाई पैसा दिन्छ । गाडीमा कति मान्छे छन्, सोहीअनुसार गाडीवालाले ट्राफिक प्रहरीलाई पैसा दिन्छ । आफ्नै ज्यान जोखिममा राखेर हामी पटक पटक बिक्री भइरहेका छौं । यात्रुको गैरकानूनी सट्टेबाजी गरेर सार्वजनिक सवारी धनी र ट्राफिक प्रहरी रातारात धनी बन्दै गएका छन् ।

    सधैंभरि गाडीवाला र ट्राफिक प्रहरीलाई मात्रै दोष लगाएर हामी यात्रु पनि पन्छिन मिल्ने अवस्था छैन । गाडीवालालाई सीट क्षमताभन्दा बढी यात्रु नराख भनेको सुनुवाइ भएन भने क्षमताभन्दा बढी यात्रु भएको गाडीमा नबस्न त सकिन्छ ! गाडीको क्षमता कति हो र कति जना छन् गाडीमा भ्नने हेरेर त बस्न सकिन्छ होला नि ! प्रहरी प्रशासनले सार्वजनिक यातायातमा हाम्रो सुरक्षा गर्दैन । किनभने उनीहरुले छिट्टै महल बनाउनु पर्नेछ, तर ती महलमा सार्वजनिक यातायातमा यात्रा गर्ने हामी गरिबहरुको रगतको गन्ध आउने गरी किन हामीले नै सहयोग गर्नुपर्ने ? त्यसैले गाडीमा बस्दा सबैभन्दा पहिले सीट छ कि छैन भन्ने कुराको हेक्का राख्नु यात्रुको पनि कर्तव्य हो । सधैंभरि कति मूर्खता प्रदर्शन गर्ने ?

    सार्वजनिक यातायातलाई व्यवस्थित गर्न केही कुरा हुनु जरुरी छ ।

    पहिलो– सार्वजनिक यातायातले कति जना यात्रु बोक्ने क्षमता छ भन्ने कुराको खोजी हुनु जरुरी छ । भेंडा-बाख्रा ठेले जस्तै यात्रु ठेल्ने चालक र सहचालकलाई कारबाही हुने गरी कानून बनाउनुपर्छ ।

    दोस्रो– निरीक्षण गर्ने ट्राफिक प्रहरीको पनि निरीक्षण हुनु जरुरी छ । गाडीमा कति यात्रु छन् भन्ने कुरासम्म नहेरी १०० रुपैयाँमा काम चलाउने प्रहरीले दुर्घटनाको जिम्मेवारी लिने कि नलिने ? जहाँ दुर्घटना हुन्छ, त्यो क्षेत्रको ट्राफिक इकाइलाई दुर्घटनाको मुख्य दोषी मानिनुपर्छ र कारबाही चलाइनुपर्छ ।

    तेस्रो– क्षमताभन्दा बढी भएका यात्रुलाई झार्न लगाउनुपर्छ । जरिबानाको नाममा चलान काटेर यात्रु बोक्न दिने हो भने उताबाट असुल भएकै छ भन्ने सोच्छ गाडीधनीले । यात्रु उतार्ने, उनीहरुको टिकटको रकम फिर्ता गराउने र चालकलाई जरिबाना गर्ने गर्नुपर्छ ।

    चौथो– यात्रुलाई पनि जरिवाना गर्ने व्यवस्था ल्याइनु जरुरी छ । सीट क्षमताअनुसार टिकट काटेका यात्रुलाई गाडीमा राख्ने गाडीमा सीट नहुँदानहुँदै जबरजस्ती आएकाहरुलाई पनि कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।

    अन्यथा दुर्घटना हुँदै जाने, यात्रु मर्दै जाने, अङ्गभङ्ग हुँदै जाने, सवारीधनी र ट्राफिक प्रहरी मोटाउँदै जाने हुन्छ । आफन्त गुमाएकाहरुले शोक मनाउँछन्, अङ्गभङ्ग भएकाहरु आफ्नै जीवनप्रति घृणा गर्ने तहमा पुग्छन् ।

  • युरोपेली पथमा लम्किएको मोरोक्को र प्राथमिकताको सडक सञ्जाल

    युरोपेली पथमा लम्किएको मोरोक्को र प्राथमिकताको सडक सञ्जाल

    घुम्नु, नयाँ परिवेशबारे जानकारी लिन चाहनु वा केही नयाँ खोजी गर्नु मानवीय स्वभाव नै हो । यदि मानिसको प्रारम्भिक पुस्ता घुमन्ते नभई जंगलमै रहिदिएको भए यो एक्काइसौं शताब्दीको मानव पुस्ताको नयाँ गन्तव्य चन्द्रलोक वा मंगललोक हुने थिएन । दरबार छोडेर नयाँ गन्तव्यको खोजी नगरेको भए सिद्धार्थ गौतम बुद्धको रुपमा रुपान्तरित हुने सम्भावना कतिको थियो ? इटालीदेखि स्पेनसम्मको जीवन यात्रा तय नगरेको भए क्रिस्टोफर कोलम्बस कसरी आजसम्म उत्सुकता र खोजीका पात्र हुने थिए ?

    जापान किनारादेखि पूर्वी युरोप अनि साइबेरियादेखि हिमालय सीमा हुँदै इरान-अफगानसम्मको साम्राज्य खडा गर्न चङ्गेज खानले कति माइलको यात्रा तय गरे होलान् ? आखिर यात्राले भूगोलको नयाँ गन्तव्यमा मात्र पुर्‍याउँदैन, चेतना, अन्वेषण र चिन्तनको नयाँ उचाइमा पनि पुर्‍याउँछ । त्यही उचाइका कारण होला उनीहरूलाई धरातल साँघुरो देखिन थाल्छ र उनीहरू थप फराकिलो धरातलको लक्ष्यमा लाग्छन् । साँच्ची नै जति उचाइमा पुग्यो, भूगोल र धरातल त उत्ति नै सानो त देखिन्छ नि होइन ? त्यसैले त होला हजारौं माइलको यात्रा गरेर नयाँ क्षितिज भेट्टाउनेहरू नै सहश्राब्दीसम्म बाँचिरहेका छन्, त्यही उचाइको यात्रा र फाँटिलो क्षितिजका कारण ।

    मानव अभिरुचिको विषयमात्र होइन यात्रा र घुमन्ते जीवन । जनावर र चराचुरुङ्गी र जलचरहरू पनि घुमाइमा खुब रमाउँछन् । आवश्यकता, बाध्यता वा परिबन्धले पनि मानिस वा कुनै पनि प्राणी घुमिरहेको हुन्छ, घुमन्ते बनेको हुन्छ । घुम्नु भनेको जीवनलाई अनुकूलतर्फ डोर्‍याउनु र जगतलाई नयाँ दृष्टिबाट हेर्नु पनि हो । आफू बाँच्ने र भावी पुस्ता बचाउने अभिलाषाले पनि मानिस वा प्राणीलाई घुमाइरहेको हुन्छ । यही बुझेर त होला, साइबेरियाको प्रतिकूलताका कारण अनुकूलताको खोजीमा लाखौं चराको हुल घुम्दै नेपाल आइपुग्छ । अनि पूर्वोत्तर भारतदेखिका हात्तीका बथान हजारौं लमक पार गर्दै बाहुनडाँगी छिचोलेर कोशी टप्पु हानिन्छन् । सामुद्रिक मिचाहा माछाका प्रजाति पूर्वी नेपालका खोलामा भेटिन्छन् । घुम्ने मानिसमात्रै होइन, सबै प्राणी घुमिरहेकै हुन्छन् ।

    मानव अभिरुचिको विषयमात्र होइन यात्रा र घुमन्ते जीवन । जनावर र चराचुरुङ्गी र जलचरहरू पनि घुमाइमा खुब रमाउँछन् । आवश्यकता, बाध्यता वा परिबन्धले पनि मानिस वा कुनै पनि प्राणी घुमिरहेको हुन्छ, घुमन्ते बनेको हुन्छ ।

    जे होस्, घुम्नु कसैको रहर, कसैको नियति, कसैको अस्तित्व रक्षाको कवच पनि हो । घुमाइ र यात्राबारे मभित्रै चाहिँ विरोधाभाष छ । उत्सुक रहने, तर अल्छी गर्ने, तराई मधेशको समथर जमिनमा पाइला सार्न सिकेका कारण पनि अग्ला पहाडहरू मलाई उक्लिन आँट आउँदैन । फेरि सम्म भूमिमा जन्मिएकै कारण पैदल र उकालो यात्राबाट पन्छिन खोज्नु मेरो अल्छे पनि हो । मेरै जस्तै भूगोलमा हुर्किएर हाड-छाला कसिलो बनाएकाहरूले हप्तौंको यात्रा र हजारौं मिटरको उचाइ नापिसकेका छन् । मैले केही नापेको छैन । फेरि उचाइमा पुग्नुभन्दा उचाइमा टिकिरहनु थप चुनौतीपूर्ण पनि हो, चाहे त्यो भौगोलिक उचाइ होस् वा मानक उचाइ । त्यसैले उचाइदेखि मलाई डर पनि लाग्छ ।

    अनि शुरु भयो ५ हजार माइलको यात्रा

    हिमालको काखमा हुर्किएको मेरो लागि सागरको डिल र मरुभूमिको टुप्पोसम्म पुग्न पाउनु स्वाभाविक रोमाञ्चकता थियो । मभन्दा मेरो राहदानी हतारिएको थियो पुग्न र उसको आफ्नो जीवनको उत्तरार्द्धमा आफू हुनुको अस्तित्व पाउन लागेकोमा । ८ हजार ५१५ किलोमिटर अर्थात ५ हजार २९१ माइलको यात्रा थाल्ने बेलामा काठमाडौंको ठिही निख्रिँदै थियो, घामको जवानी जवान बनिरहेको थियो, तर काठमाडौंको उष्णता वयष्क हुन जति हतारिएको मलाई उत्ति बेस्सरी चाहिँ औडाहा भएको थिएन पहिलो वैदेशिक यात्राका लागि ।

    मभन्दा अनुभवी, बढी घाम-जून खेपेका, धेरै मूलको पानी पिएकाहरूको साथ रहने निधो भएकाले पनि म ढुक्क थिएँ, तर व्यवसायिक यात्राका लागि उत्ति आकर्षक नभइरहेको उत्तर अफ्रिकाको भूगोलले भने मलाई लोभ्याएको थियो । आन्ध्र महासागरले थकाई मार्नेदेखि सहारा मरुभूमिले यात्रा थाल्नेसम्मको मोरोक्को उत्सुकताको भूगोल थियो । मेरा लागि मोरोक्कोमात्र नयाँ ठाउँ थिएन, महासागर र महामरुभूमि पनि कुमारी गन्तव्य थियो ।

    वैदेशिक यात्राको प्रक्रियासम्म नबुझेको, विदेश यात्राका लागि औंठाछाप म । छामछाम-छुमछुम गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रक्रियाहरू पार गर्दा एक घण्टा त बितिहालेछ । विमानस्थलमा झोला पुर्‍याइदिन, शुभयात्रा भन्न, खादा-माला लगाइदिन वा विछोडका पीडा अँगालोमा बाँधिएर विभाजन गर्न आउनेहरू हुलका हुल थिए । न मैले कसैलाई बिदाईका हात हल्लाउनु पर्‍यो न त कसैको खादा-माला लाइदिनुपर्‍यो । आखिर ४-५ दिनको यात्रा न थियो, अँगालोमा बेरिएर बिदाई विरक्ति पनि बाँड्नु थिएन । म हात र काँधमा एक-एक झोला सम्हाल्दै प्रतीक्षास्थलमा पुगेर श्रीमती गीतालाई पछिल्लो अवस्थाबारे जानकारी दिएँ । विमानस्थलमा पुगेको फोटा माग हुँदा कसैलाई खिचिमाग्न पनि झ्याउ लाग्यो । ‘सेल्फिस’ हुँदै गएको दुनियाँ झैं केही थान ‘सेल्फी’ पठाइदिएँ ।

    घुम्ने मानिसमात्रै होइन, सबै प्राणी घुमिरहेकै हुन्छन् । जे होस्, घुम्नु कसैको रहर, कसैको नियति, कसैको अस्तित्व रक्षाको कवच पनि हो । घुमाइ र यात्राबारे मभित्रै चाहिँ विरोधाभाष छ । उत्सुक रहने, तर अल्छी गर्ने, तराई मधेशको समथर जमिनमा पाइला सार्न सिकेका कारण पनि अग्ला पहाडहरू मलाई उक्लिन आँट आउँदैन ।

    कार्यक्रमको सन्दर्भ थियो, विश्वका मन्त्रीहरू सहभागी हुने सडक सुरक्षासम्बन्धी विश्व सम्मेलनको चौथो संस्करण, सन् २०२५ फेब्रुअरी १८-२० । सडक र सडक सुरक्षा मामिला हेर्ने नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जाँदै थियो । नेपालबाट विभिन्न अनुसन्धानकर्ता, अभियानकर्मी, सरोकारवालाहरू सहभागी हुँदै थिए । कतार एयरको विमानभित्र आसन ग्रहणपछि मन्त्रालयका सचिव, हाम्रा टोली नेता केशवकुमार शर्माले भन्नुभयो– ‘गोपालजी क्या भाग्यमानी है ? पहिलो विदेश भ्रमण त्यो पनि अफ्रिकी मुलुक अनि बिजनेस क्लास जुर्‍यो है ? भाग्यमा त लेखेकै हो ।’ मुस्कुराउनु बाहेक मसँग के नै जवाफ थियो र ?

    हवाईजहाजले पखेँटा फिजाएपछि हाम्रो के काम ? उसले आफ्नो काम थालेपछि हामी फुर्सदिला ! उत्सुकुता, अत्यास, अन्योल खास त केही थिएन । सबै सामान्य थियो । मलाई त केही थिएन, बरु विमानभित्र उपलब्ध सामलतुमलको स्वादले जिब्रोले नै अनौठो मानिरहेको थियो । जहाजले उचाइ लियो, घरदेखि घरसम्मका दूरीहरू कम हुँदै गए । अघिसम्मका वैभवहरू पुड्का भए । बादलमाथि पुगेपछि पहाडहरू पोथ्रा भए, हिमालहरू छोपिए । आखिर जति उचाइबाट हेर्‍यो, दूरी र फरक त झन् झन् कम देखिँदो रहेछ नि ! भौतिक दृष्टिमात्रै होइन हाम्रा दूरी र फरक मतहरूलाई पनि त चेतनाको उचाइबाट हेर्दा त्यस्तै पोथ्रा र होचा देखिँदा हुन् नि है ? तर विवेकको त्यो उचाइ चढ्ने कसलाई फुर्सद छ र ! मलाई निदाउन साइत हेर्नुपर्दैन, कर लाउनुपर्दैन, समय चाहिँदैन, बहाना पनि चाहिँदैन । जोखना हेर्नु केही थिएन, सँगैको सीटकी सहयात्रीसँग पनि संवाद फुटाउने प्रयास भएन । विमान उडिरहयो, म सुतिरहेँ ।

    विश्रामस्थल कतार विमानस्थलसम्म ३ हजार ३९५ किलोमिटर अर्थात २ हजार १०० माइलभन्दा लामो दूरी पार गर्दा चानचुन ४ घण्टाका अधिकांश समय निद्राएरै बित्यो । रमिता हेर्नु केही थिएन आखिर । निदाउनुबाहेक, केही समय खानपिन र फाट्टफुट्ट शौचालयमा बित्यो । सचिव शर्मा र सहसचिव शुभराज न्यौपाने अघिल्लो सीटमा संवाद गरिरहेको पनि देख्दै थिएँ । आफ्नो सँगैकी सीटकी सहयात्री न मेरो भाषा बुझ्ने न त म मैले उनको । बुझ्नैपर्ने परिवन्ध भएको भए कष्ट पनि गरिन्थ्यो, त्यो परेन ।

    वैभवको कुरै नगरौं

    कतार विमानस्थलमा पाइला बिसाउनासाथ केही घण्टा अघि छोडेको मेरो विमानस्थल आँखाभरि नाच्न आइपुग्यो । साँघुरो, चेपारो भए पनि मेरो, मेरो नै थियो । वैभवशाली, चमकदार, बहुतले अनि भव्य सुपरमार्केट भन्दा पनि विशाल लागे पनि त्यो मेरो थिएन । ओठभरि लाली, आङभरि मासु र मुहारभरि कान्ति भरिएकी अर्काकी आमा र आफ्नी लुम्री-झुम्री आमाको तुलाना गरेर किन आफ्नै मुखमा छिटा पार्नु ? तर त्यो कृत्रिम भू-बनोटमा भीमकाय वैभव स्थापित गर्न मेरा हजारौं दौंतरीहरूको रगत-पसिना, बल-वैंश र हाडखोरसमेत त्यही माटोमा मिसिएको सम्झिन खोज्दा चाहिँ भोको पेटको झुसिलो डकार मुख तीतो पार्दै बाहिर निस्कियो । अर्काको उचाइसँग तुलना गरेर आफू होचो हुने, अर्काको सम्पन्नतासँग तौलिएर आफू दरिद्र सावित हुने, अर्काको वजनसँग जोखिएर आफू फिस्टो बन्ने यत्न नगरेकै जाती । भो, अर्काको वैभवको कुरा नगरौं !

    व्यवसायिक यात्राका लागि उत्ति आकर्षक नभइरहेको उत्तर अफ्रिकाको भूगोलले भने मलाई लोभ्याएको थियो । आन्ध्र महासागरले थकाई मार्नेदेखि सहारा मरुभूमिले यात्रा थाल्नेसम्मको मोरोक्को उत्सुकताको भूगोल थियो । मेरा लागि मोरोक्कोमात्र नयाँ ठाउँ थिएन, महासागर र महामरुभूमि पनि कुमारी गन्तव्य थियो ।

    केही घण्टा बिताउनु थियो विमानस्थलमा । के गर्ने, कसो गर्ने केहीबेर छटपटी भयो, तर यात्रुलाई आराम गर्न र सजिलो बिछ्यौना नचाही निदाउन सक्नेहरूका लागि ‘साइलेन्स रुम’ सहयात्री शुभराजले पहिल्याएपछि ज्यान छोडिदिन ढुक्क भयो । एउटा फ्ल्याक जत्रो, तर सुत्न सकिने तख्तामा घुरीघुरी निदाउनु अघि सम्झिएँ, हजारौं नेपालीहरूको बल-वैंशको जगमा उभिएको कतारको वैभव पूरापूर घुम्न पाए झन् कति देखिएला ? भाँडाको भात पाक्यो-पाकेन थाहा पाउन, दुई सिता औंलामा मिच्दै थाहा हुन्छ, प्रत्येक सिता जाँच्नु पर्दैन । पढिएका विवरण, सुनिएका बखान र देखिएको एयरपोर्ट त्यही वैभवको संकेत थियो, तर निद्रा पुर्‍याएर केही घण्टामा मोरोक्कोको कासाव्ल्याङ्का उड्नु थियो । त्यसैले आफ्नो घाउ, आफैं कोट्याएर, आफैंलाई कति दुःखाउनु ? भो अर्काको वैभवको कुरा नगरौं !

    अनि भ्रमको पर्दा च्यातियो

    काठमाडौंदेखि कतारभन्दा दोब्बर लामो हवाई उडानपछि मोरोक्कोको प्रमुख शहरमध्येको कासाव्ल्याङ्का विमानस्थलमा उत्रँदा हेँला-होचोको दृष्टिले हेरिने अफ्रिकाभन्दा भीमकाय लाग्यो, त्यो उत्तर अफ्रिकी भूमि । आँखाका लागि अनन्त लाग्ने फाँटसम्म फैलिएको विमानस्थलमा ताँती लागेका राष्ट्रिय ध्वजाबाहक विमानहरू । निख्रिँदै निख्रिँदै गएको मेरो देशको ध्वजाबाहक विमान सम्झिएर आफ्नै गोडा किन लुला पार्नु, त्यो विरानो भूमिमा भन्दै चेकजाँचको प्रक्रियामा लागियो ।

    विमानस्थलभित्रै रहेको कार्यक्रम आयोजकहरूको स्टलमा पुगेपछि उनीहरूले हामीलाई कार्यक्रमस्थलसम्म लैजान गाडीको व्यवस्था गरिएको जानकारी दिए । बाहिर पुग्दा गाडी हामीलाई नै पर्खिरहेको थियो । चालक बस्ने सीट हाम्रोभन्दा ठीकविपरीत । हाम्रोमा दायाँतर्फ चालक रहने, त्यहाँ बायाँतर्फ । फरक यहीबाट शुरु भयो ।

    २४२ किलोमिटरको दूरी पार गर्दै कार्यक्रमस्थलसम्म पुग्नु थियो । हतारिएका हामीलाई गाडी चालक आश्वस्त पार्दै थिए, नआतिनु अढाई घण्टामा पुगिन्छ । हामी सबैका लागि नौलो ठाउँ, नौलो परिवेश, उत्सुकता समान थियो । टोली नेता र चालकबीच भइरहने संवादले हामीलाई पनि कतिपय विषयहरूको जानकारी भइरहेको थियो । सडकबाट देखिने शहरमा गगनचुम्बी महल थिएनन्, शहरी कर्कसा सुनिएन । औसतमा ४-५ तलाका अरबिक मोडलका घरहरूका झुरुप्प बस्ती, कहीँ तिनै झुरुप्प बस्तीहरूका मझौला शहरहरू नियाल्दै यात्रा वेग मारिरहेको थियो ।

    भौगोलिक रुपमा उत्तर अफ्रिका, शासन व्यवस्थामा राजतन्त्र, राष्ट्रिय धर्म इस्लाम अनि समाज हेर्दा युरोप । मुस्लिम राजतन्त्रात्मक मुलुक भए पनि बुर्काले अनुहार छोपिएका महिलाहरू देखिएनन् । विमानस्थलमा महिला कर्मचारीहरू पनि उल्लेख्य । हुन त पर्यटकहरूका लागि आन्ध्र महासागरदेखि सहारा मरुभूमिसम्मको मज्जाका लागि मोरोक्को प्रमुख गन्तव्य हो । त्यसैले पनि यहाँ धेरै देशका पर्यटक आउने नै भए, तर कर्मचारी, सवारी चालक, वेटर, पसलका गल्लावाललगायतका ठाउँमा पनि महिलाहरू मधुर मुस्कान र फुर्तिलो छाँटासहित सक्रिय थिए । अफ्रिकी देश, मुस्लिम राजतन्त्र भएको देशप्रति जुन भ्रम थियो, गाडीको प्रतिघण्टा १२० किलोमिटरको गतिले क्रमशः च्यातिरहेको थियो ।

    आखिर जति उचाइबाट हेर्‍यो, दूरी र फरक त झन् झन् कम देखिँदो रहेछ नि ! भौतिक दृष्टिमात्रै होइन, हाम्रा दूरी र फरक मतहरूलाई पनि त चेतनाको उचाइबाट हेर्दा त्यस्तै पोथ्रा र होचा देखिँदा हुन् नि है ? तर विवेकको त्यो उचाइ चढ्ने कसलाई फुर्सद छ र !

    सडक, सुरक्षा र बजार

    आन्ध्र महासागरको अनन्त चुम्बनले चम्किएको कासाव्ल्याङ्का विमानस्थलबाट बोस्कुरा, बेरिचिड, सेत्तात हुँदै मर्सिडिज बत्तिँदा गति सुईले प्रतिघण्टा १३० सम्मको संकेत गर्थ्यो । सेत्तात बजार चाहिँ मोरोक्को राजधानी रावत र हामी पुग्ने शहर माराकेशको मध्यविन्दु हो । रावत जाने रहरलाई हुर्कन नदिई हामी लाग्यौं माराकेशतर्फ । आठ लेनको समथर सडकमा १२०-१३० किलोमिटर प्रतिघण्टाको वेग मार्दा पनि तिव्र गतिको महसुस हुन पाएको थिएन । ‘एक्सप्रेस वे’ प्रयोग गरेबापत ठाउँठाउँका सडक शुल्क बुझाउने ढाटहरू थिए, तर ढाटमा गाडी रोक्ने वा मानिस उत्रिएर पैसा बुझाउनु नपर्ने । अग्रीम रकम जम्मा गरिएका कार्डको स्टिकर गाडीको अग्रभागमा राखिएको रहेछ, ढाटका छेउमा पुगेर गाडीको गति घटाएपछि आफैं शुल्क भुक्तान हुने र ढाट खुल्ने । यो हाम्रो देशका लागि नौलो थियो ।

    सडक सुरक्षाका लागि आठ लेनको मध्य भागमा सडक विभाजनको दर्विलो संरचना वारपारै रहेको अनि किनारामा पूरापूर ‘क्यास बेरियर’ लगाएर सुरक्षित बनाइएको । सडक र सुरक्षाका लागि मोरोक्कोले राम्रै चेष्टा गरेको रहेछ । ट्राफिक लाइटको व्यवस्थापन पनि दृष्टिमैत्री पाइयो । हाम्रा शहरहरूमा १५-२० फिट अग्ला खम्बाहरूमा रहेका ट्राफिक लाइट र चिन्ह देख्न नजिकै आइसकेको सवारी चालकलाई सहज हुँदैन । आकाशतिर फर्किएर हेर्नुपर्छ, त्यो पनि सवारीसाधनभित्रबाट देख्न कठिन हुन्छ, तर त्यहाँका सडकमा सामान्य मानिसको उचाइभन्दा केही अग्लोमात्र, ८-९ फिट अग्लो खम्बामा राखिएका चिन्ह र बत्ती देख्न पनि सजिलो रहेछ ।

    समुद्रदेखि मरुभूमिसम्म फैलिएको मोरोक्कोको सडक सञ्जाल विस्तार पनि तिव्र रहेछ । इन्टरनेट सर्चले भन्यो, ‘यहाँ सडक र राजमार्गहरूको सञ्जालको कुल लम्बाइ ५७ हजार ३३४ किलोमिटर छ । यो देशको ३७.७१ मिलियन बासिन्दाको लागि प्रत्येकको लागि १.५२ मिटर हो । यसले मोरक्कोलाई विश्वव्यापी वरीयतामा ८२औं स्थानमा राख्छ ।’ यो आँकडामा रेलवेको लम्बाइ तथा अद्यावधिक विवरण थपिने ठाउँ भए पनि मोरोक्कोले सडक निर्माण, सुरक्षा र व्यवस्थापनमा महत्व दिएको पाइयो ।

    बजार क्षेत्रहरू एक्सप्रेस वेभन्दा निकै पर । मानव बस्तीलाई छलेर बगेको सडक । एक्सप्रेस वेदेखि बजार र मानव बस्तीसम्म पुग्न अन्य सहायक सडक तथा राजमार्गहरू लमतन्न थिएँ, आँखैअघि । तिव्र गतिका सवारीसाधनमात्र चल्ने भएकाले द्रुत मार्गमा भीड नहुने । कुनै पनि घर पालुवा जनावरले बाटो काटेन, हाम्रो यात्रा अवधिभरि । द्रुतमार्गलाई छिचोलेर कुनै सहायक सडक जानुपर्ने भएको ठाउँमा ‘फ्लाई ओभर’को व्यवस्था । द्रुत मार्गको २४२ किलोमिटर यात्राभरि कहीँ पनि मुख्य राजमार्गसँगै भुईंबाट सहायक राजमार्ग गएको पाइएन ।

    मानव बस्तीरहित सडक किनारा । बजार पनि १०-१५ किलोमिटरको अन्तरमा मात्र । बस्ती भएका ठाउँमा झुरुप्पै बस्ती नत्र खाली जमिन । सडक किनाराको जमिनमा हुर्किरहेका पोथ्रा विरुवाहरू । कहीँ घोडा नारेर नेपालको गोरु जोताइ शैलीमै जोतिरहेका किसानहरू । गाडी चालक भन्दै थिए, ‘यो किनाराको सबै खेती ओलिभको हो । ओलिभ आयात यहाँका मानिसहरूको मुख्य आम्दानी हो ।’

    विविधताका बावजुद पनि एक भाषा, एक धर्म भएको मोरोक्कोले युरोपको विकास मोडेल पछ्याइरहेको रहेछ । शक्तिशाली राजतन्त्र भएको यो मुस्लिम तथा अफ्रिकी मुलुक घुम्न नै वार्षिक ठूलो संख्यामा युरोपेलीहरू पुग्ने गरेका छन् । एसियाली पर्यटकहरूको नजरमा पनि यो पर्न थालेको रहेछ ।

    मार्चाबेन आबु, सिदि अलिलाब्रहलालगायतका बस्ती नजिकैबाट देखिने चुरे पहाडबाट सवारी चालक रोमाञ्चित हुँदै देखाए– ‘हाम्रो पहाड उता हेर त !’ हामी रोमाञ्चित हुनुको साटो आश्चर्यचकित बन्यौं । ‘यस्तो पोथ्रा थुम्का देखाएर पहाड रे ! हामीले भनिदियौं, माउन्ट एभरेस्ट सुनेको छ ? हो, हामी त्यहाँबाट आएका हौं, यीभन्दा धेरै अग्लाअग्ला पहाड हाम्रोमा त कति छन् कति !’ उनी मुसुक्क हाँसेमात्र । गहुँगोरोभन्दा उज्यालो मुस्लिम चेहरा लाजैले भए पनि मुस्कुराउँदा झनै उज्यालो भयो ।

    झण्डै अढाई सय किलोमिटरको दुरी द्रुत मार्गबाट द्रुत गतिमा आउँदा समय २ घण्टा ५० मिनेटमात्र बितेको थियो । बीचमा ‘लेम, चिज र पाउरोटी’ अनि कफी खाँदा १५ मिनेट जति खर्चिएका पनि थियौं । हाम्रा लागि निर्धारित होटलमा पुगेपछि चालकले आफू बलशाली भएको सावित गर्न मुस्कुराएर खोज्दै भने, ‘मैले भनेको थिएँ नि म व्यवसायिक चालक हुँ, समयमै पुर्‍याउँछु भनेर । कस्तो लाग्यो ?’ हामीले उसैगरी मुस्कुराएर उनलाई समर्थन गरिदियौं र पस्यौं हामीलाई पर्खिरहेको होटल, मन्सुर ईद्हावीभित्र ।

    युरोपेली पथको विकास

    रावतलाई राजधानी माने पनि सबैभन्दा ठूलो शहर क्लासाब्याङ्कादेखि अर्को प्रमुख व्यवसायिक शहर माराकेससम्म आइपुग्दा मोरोक्कोका बारेमा मनमनै धेरै जिज्ञासा उठे । बहुसंख्यकको मातृभाषा अरबी रहे पनि फ्रेन्च र स्पेनिस प्रभाव पनि राम्रै रहेछ । ९९ प्रतिशतभन्दा बढी सुन्नी मुस्लिम रहेको मोरोक्कोमा सिया मुस्लिम भने अल्पसंख्यक रहेछन् । ४ लाख ४६ हजार ५५० वर्ग किलोमिटरमा फैलिए पनि यहाँको सबैभन्दा ठूलो दुःख पानी हो । समुद्री बन्दरगाह भएर के गर्नु, करिब आधा प्रतिशतको हाराहारीमा मात्र जल क्षेत्र हुनु र वर्षा नहुनुले यहाँ कृषि क्षेत्रमात्र नभई मानवीय उपयोगका लागि पनि पानीको चरम अभाव छ ।

    विविधताका बावजुद पनि एक भाषा, एक धर्म भएको मोरोक्कोले युरोपको विकास मोडेल पछ्याइरहेको रहेछ । शक्तिशाली राजतन्त्र भएको यो मुस्लिम तथा अफ्रिकी मुलुक घुम्न नै वार्षिक ठूलो संख्यामा युरोपेलीहरू पुग्ने गरेका छन् । एसियाली पर्यटकहरूको नजरमा पनि यो पर्न थालेको रहेछ । अफ्रिकामा अभावैअभाव छ, मुस्लिमहरू कट्टरपन्थी हुन्छन्, राजतन्त्र विकासको अवरोध हो भन्ने जस्ता भाष्यहरू तोड्दै उत्तर अफ्रिकामा मोरोक्को सानदार विकासको पथमा लम्किएको देख्दा त्यो विरानो मुलुकमा एक पटक फेरि सम्झिएँ, उही कालजयी प्रिय गीत–

    पर्खि बसें आउला भनी मेरो उठ्ने पालो ।

  • ट्रम्प र भेन्स मिलेर ह्वाइटहाउसमा जब जेलेन्स्कीको झाँको झारे…(भनाभनको पूर्णपाठसहित)

    ट्रम्प र भेन्स मिलेर ह्वाइटहाउसमा जब जेलेन्स्कीको झाँको झारे…(भनाभनको पूर्णपाठसहित)

    काठमाडौं । युरोपको सबैभन्दा ठूलो मित्र, साझेदार र गठबन्धन देश नै अमेरिका हो । तर, केही हप्ता अगाडि यूरोपेली संघको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको चर्चित म्युनिक सुरक्षा सम्मेलनमा पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सबैलाई बिच्क्याए ।

    उनले यूरोपमा वाक स्वतन्त्रता कमजोर भएको र यूरोपेली लोकतान्त्रिक मान्यतामा विचलित हुँदै गएको आरोप लगाए । अरु त अरु, उनले युरोपले सुन्नै नचाहेको एउटा कुरा पनि भने, ‘युरोपको चुनौती रुस र चीनबाट होइन आफैं भित्रबाट हो ।’

    ट्रम्पको कुरा र काम पहिलो कार्याकालबाटै परिचित छ । गत जनवरी २० मा दोस्रो कार्यकालको सपथ लिएसँगै ट्रम्पले यूरोपेली संघका देशहहरुलाई बेवास्ता गरेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो संवाद गरे । दुई देशका उच्चस्तरीय अधिकारीहरुको भेट साउदी अरब र टर्कीमा गराइसके । आफ्नो उत्तरी निकट छिमेकी क्यानडालाई उनी ५१ औं राज्य बन्न पटकपटक भनिरहेका छन् ।

    हाम्रै दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणको तयारी अन्तिममा पुग्दापुग्दै उनले आफ्नो देशमा अवैधरूपमा बसिरहेका भारतीयलाई नेल र हतकडी लगाएर हल्लाखल्ला गर्दै लखेटे ।

    ट्रम्प प्रशासनका अधिकारीले सामाजिक संजालमा तस्बिर हाल्दै लेखेका छन्, ‘अवैधानिक भारतीय एलियनहरु ।’

    अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिको अराजक स्वभाव कूटनीतिक मर्यादाअनुरूप नभएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

    उसो त जो बाइडेनकालमै अमेरिकाको कूटनीतिक मर्यादा कहाँ थियो र ? बाइडेनले रुसका राष्ट्रपतिलाई होच्याउँदै भनेका थिए, ‘वेश्याको पागल छोरो ।’

    गैरकूटनीतिक छ्न् भनेर कूटनीतिक प्रयासबाट भाग्ने कुरा भएन । त्यही भएर आफू विपक्षी कित्तामा हुँदा ट्रम्पको कटु आलोचना गरेका हालका बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्पको तारिफ गरेका छन् ।

    हालसालै अमेरिकाको भ्रमणमा ह्वाउट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनको संवादलाई शान्तितर्फ लगेको भन्दै ट्रम्पको तारिफ गरे । स्टार्मरभन्दा अगाडि ट्रम्पसँग भेट गर्न पुगेका फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि ट्रम्पको तारिफ पटकपटक गरे ।

    युरोपभन्दा अमेरिकाले धेरै युक्रेनलाई दिएको कुरामा म्याक्रोनले पत्रकार सम्मेलनमै ‘फ्याक्ट चेक’ गरिदिए । तर, सम्मानपूर्वक गरे । मुस्कुराउँदै गरे । ट्रम्पको तीघ्रामा हातले थम्थमाएर आफ्ना कुरा गरे ।

    आवणिक शक्ति भएका बेलायत र फ्रान्सका शीर्ष नेताले पनि ट्रम्पसँग बोल्दा सम्मान प्रकट गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रकार सम्मेलनमा भारतले अमेरिकी सामानमा जति भन्सार लाउँछ अमेरिकाले भारतीय सामानमा त्यति लाउँछ भन्दै सीधासिधी भने । मोदीले त्यसलाई थप उत्तेजित बनाएनन् । आफ्ना कुरा राखे ।

    जलेन्स्कीसामु यसरी भड्किए ट्रम्प र भेन्स

    कुराकानीको सुरुमा माहोल राम्रै थियो । ट्रम्पले युक्रेनी सैनिक र जनताको तारिफ गरे । बहादुरीको सम्मानमा शब्द खर्चिए । यसमा जेलेन्स्की खुशी देखिए । तर ट्रम्पले जेलेन्स्कीलाई अब युद्ध रोकिने समय भएको भन्दा उनको मुहारको उज्यालो गयल भयो ।

    जेलेन्स्कीले पुटिनको नाम लिएर हत्यारा र आतंककारी भने । यसो भन्दा ट्रम्प र भेन्स दुवै शान्त थिए । जेलेन्स्कीले पुटिनले २५ पटक सम्झौता उल्लङघन गरे भनेपछि चै ट्रम्पले थपे, ‘मसँगको सम्झौता उल्लङघन भएको छैन ।’

    सुरुमा यत्ति मात्रै बिमति देखिएको थियो । ट्रम्पले पत्रकारहरुको प्रश्नमा आफू यूक्रेन र रुस कसैको पक्षमा नभएको आफू शान्तिको पक्षमा भएर अमेरिकाको शान्ति निर्माता राष्ट्रपतिको रुपमा चिनिन चाहेको बताए ।

    जेलेन्स्कीले अमेरिकी आडभरोसामै युद्ध गर्ने तर अमेरिकाले भन्दैमा रोक्दिनँ भनेपछि ट्रम्प चिढिए । आक्रामक पात्रहरु ट्रम्प र भेन्स जेलेन्स्कीसँग सहमत हुने सम्भावना थिएन । त्यसैको प्रतिबिम्ब हो अमेरिकी समयअनुसार शुक्रबार भएको चर्काचर्की र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट गरिएको निकाला ।

    अहिले भाइरल भएको ७ मिनेटभन्दा छोटो भिडिओ क्लिपहरु हेर्दा यस्तो लाग्छ– भेन्स र ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई बोलाए । क्यामेरा तेर्स्याए । अनि भकाभक थर्काएर आफ्ना कुरा भन्न थाले । जेलेन्स्कीलाई होच्याउने र थच्याउने गर्न थाले । तर पूरा ५० मिनेट लामो भिडिओ हेर्ने हो भने कथा फरक छ । अराजक स्वभावका ट्रम्प र भेन्सलाई उत्तेजित बनाउनुमा जेलेन्सकीकै पनि भूमिका छ ।

    ट्रम्पलाई मोदी, म्याक्रोन र स्टार्मर जतिको पनि मानमनितो नदिदाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर चुकेका हुन् । भेन्सले युक्रेनको युद्ध मोर्चामा धेरै मरिरहेका छन्, अब युद्ध रोकौं भन्ने तर्क गर्दा जेलेन्स्की च्याँठिएर सोध्छन्, ‘तपाईँ युक्रेन पुगेर हेर्नुभएको छ ?’

    यसबाट भेन्सले अमेरिकासँग युक्रेन कृतज्ञ नभएको गुनासो गर्दै भने, ‘कहिल्यै अमेरिकालाई सहयोगको लागि धन्यवाद भन्नु भयो ?’

    यस्तै, आफूले युद्ध गरेको धेरै गाह्रो भएको र अमेरिकालाई पनि युद्ध गरेमा गाह्रो हुने भनेर जेलेन्स्कीले अर्ती दिए । यसो भन्दा शान्त बसिरहेका ट्रम्पलाई पनि आत्मसम्मानमा ठेस पर्याे । र भने, ‘त्यस्तो आदेश दिने तपाईँको औकात छैन ।’

    ट्रम्प-जेलेन्स्की तनावको अर्को कारण बाइडेन

    स्वभाव, सम्बन्ध र स्वार्थको संयोजन नै कूटनीति हो । ट्रम्प र जेलेन्स्कीको कमजोर सम्बन्ध र यस अगाडिका राष्ट्रपति जो बाइडेन र जेलेन्स्कीको समधुर सम्बन्धमा स्वभाव, सम्बन्ध र स्वार्थले काम गरेको छ ।

    जेलेन्स्कीसँग ट्रम्प बिच्किने एक कारण सन् २०१९ मा ट्रम्पले भनेको कुरा जेलेन्स्कीले नमान्नु पनि हो । अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार सन् २०१९ जुलाई २५ मा ट्रम्पले जेलेन्स्कीलाई फोन गरेर जो बाइडेन र उनका छोरा हन्टर बाइडेनको छानबिन गर्न भनेका थिए । जेलेन्स्कीले मानेनन् । त्यसले पनि जेलेन्स्कीको सम्बन्ध बाइडेनसँग राम्रो भयो । ट्रम्पसँग भएन ।

    कार्यकालबाट बिदा हुँदै गर्दा हन्टर बाइडेनको मुद्दालाई माफी दिएर बिदा भएका थिए बाइडेन । त्यो मुद्दा त सकियो । तर ट्रम्प जेलेन्स्की तनाव सकिएन । त्यसकै एक पराकम्प ह्वाइट हाउसको पत्रकार सम्मेलनमा शुक्रबार देखिएको हो ।

    ट्रम्प जस्तै उनका उपराष्ट्रपति भेन्स पनि जेलेन्स्कीसँग राजनीतिक कारणले बिच्किएका छन् । जेलेन्स्कीसँग भनाभन हुँदा उनले गत वर्ष अक्टोबरमा पेन्सिलभियामा गएर डेमोक्रेटिक दलको तर्फबाट अभियानमा जोडिएको भन्दै कटाक्ष गरे ।

    यस्तो छ ट्रम्प, भेन्स र जेलेन्स्कीको चर्काचर्की संवादको पूणं अंशः

    भेन्सः म त्यस्तो कूटनीतिबारे कुरा गर्दैछु जसले तपाईंको देशको विनाश रोक्छ ।

    जेलेन्स्कीः हो, तर तपाईँले भन्नु खोज्नुभएको कूटनीति के हो ?

    भेन्सः राष्ट्रपति महोदय, सम्मानका साथ भन्न चाहन्छु कि अमेरिकी मिडियाको अगाडि आएर यस विषयलाई उठाउनु अपमानजनक हो । अहिले तपाईंहरूको अगाडि सिपाहीहरूको अभाव भएकोले जबरजस्ती भर्ती गरिरहनु भएको छ । तपाईंले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिनु पर्ने हो, किनभने उहाँ तपाईंको देशलाई विनाशबाट जोगाउन खोज्दै हुनुहुन्छ ।

    जेलेन्स्कीः तपाईँ युक्रेन पुगेर हेर्नु भएको छ र तपाईं हाम्रो समस्याबारे यस्तो भन्नुहुन्छ ? एकपटक आएर हेरिसक्नुभएको छ ?

    भेन्सः म… म त्यहाँ गएको छु… म वास्तवमा हेरेको छु, कुराहरु सुनेको छु, र मलाई थाहा छ कि तपाईंले मानिसहरू बोलाएर प्रचारात्मक भ्रमणमा लैजानुहुन्छ । राष्ट्रपति महोदय, के तपाईं सेनामा जनशक्तिको बिजोग भएको कुरामा असहमत हुनुहुन्छ ?

    जेलेन्स्कीः हामीसँग समस्या छन् ।

    भेन्सः अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा आएर प्रशासनलाई आलोचना गर्नु सम्मानजनक कुरा हो ? के लाग्छ तपाईंलाई ? जबकि उहाँ तपाईंको देशलाई विनाशबाट जोगाउन प्रयास गर्दैहुनुहुन्छ ।

    जेलेन्स्कीः धेरै, धेरै प्रश्नहरू आए । पहिलोबाटै सुरु गर्छु ।

    भेन्सः ठीक छ ।

    जेलेन्स्कीः सबैभन्दा पहिलो कुरा त युद्धको समयमा सबैलाई समस्या हुन्छ । तपाईंलाई पनि हुन्छ । तर तपाईंहरूसँग राम्रो समुद्र छ । अहिले महसुस गर्नुहुन्न, तर भविष्यमा यसको महसुस गर्नुहुनेछ ।

    ट्रम्पः तपाईंलाई केही पनि थाहा छैन ।

    जेलेन्स्कीः भगवानले कृपा गरून् ।

    ट्रम्पः हामी के महसुस गर्नेछौं भनेर तपाईंले हामीलाई अर्ती नदिनुस् । हामी समस्या समाधान गर्ने प्रयास गर्दैछौँ । तपाईंले हामीलाई के महसुस गर्नेछौ भन्ने होइन ।

    जेलेन्स्कीः मैले तपाईँलाई केही भनेको छैन । म उहाँको प्रश्नको उत्तर दिइरहेको छु ।

    ट्रम्पः त्यस्तो आदेश दिने तपाईंको औकात छैन ।

    जेलेन्स्कीः म आदेश दिइरहेको छैन ।

    ट्रम्पः हामी के महसुस गर्छौं भन्ने तपाईंको कुनै दम छैन । हामी राम्रो र शक्तिशाली महसुस गर्छौं ।

    जेलेन्स्कीः तपाईं प्रभाव महसुस गर्नुहुनेछ ।

    ट्रम्पः तपाईंको अहिले राम्रो अवस्था छैन । तपाईंले आफूलाई खराब स्थानमा राख्नु भएको छ । उहाँ (भेन्स) यसमा सही हुनुहुन्छ ।

    जेलेन्स्कीः युद्ध सुरु भएपछि ।

    ट्रम्पः तपाईँको बलियो स्थान छैन । तपाईं हामीसँग कार्ड खेल्न बन्द गर्नुहोस् ।

    जेलेन्स्कीः हामी कार्ड खेलिरहेका छैनौं ।

    ट्रम्पः तपाईं कार्ड नै त खेल्दै हुनुहुन्छ । तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्धको जुवा खेल्दै हुनुहुन्छ । अहिले तपाईँले जे गरिरहनु भएको छ त्यसले यो देश अमेरिकाको अपमान भइरहेको छ ।

    भेन्सः के तपाईंले एकचोटि धन्यवाद भन्नुभएको छ ?

    जेलेन्स्कीः धेरै पटक ।

    भेन्सः गलत । यो बैठकभरि तपाईंले धन्यवाद भन्नुभएको छ ? तपाईं अक्टोबरमा पेन्सिल्भेनिया गएर विपक्षी दलको समर्थन गर्नुभयो । अमेरिकालाई धन्यवाद भन्न शब्द खर्च गर्नुस्, जसले तपाईंको देश बचाउन प्रयास गर्दैछ ।

    जेलेन्स्कीः कृपया, तपाईं सोच्नुहुन्छ कि तपाईं युद्धबारे ठूलो स्वरमा बोल्नुभयो भने…

    ट्रम्पः उहाँ ठूलो स्वरमा बोल्नु भएको छैन । तपाईंको देश ठूलो समस्यामा छ ।

    जेलेन्स्कीः म उत्तर दिउँ ?

    ट्रम्पः परेन परेन । तपाईंले धेरै कुरा गरिसक्नुभयो । तपाईंको देश ठूलो समस्यामा छ ।

    जेलेन्स्कीः मलाई थाहा छ ।

    ट्रम्पः तपाईं जितिरहनुभएको छैन ।

    जेलेन्स्कीः म…

    ट्रम्पः तपाईं हामीले दिएको सहयोगको कारण राम्रो स्थितिमा आउन सक्नुहुन्छ ।

    जेलेन्स्कीः राष्ट्रपति महोदय, हामी हाम्रो देशमा बसिरहेका छौं । बलियो छौं । युद्ध सुरु भएदेखि हामी एक्लै थियौं । र हामी धन्यवाद दिन्छौं । मैले धन्यवाद दिएको छु ।

    ट्रम्पः तपाईं एक्लै हुनुहुन्थेन । हामीले तपाईंलाई यो मूर्ख राष्ट्रपति (बाइडेन) मार्फत ३५० अर्ब डलर सहयोग दियौँ । हामीले तपाईंलाई सैन्य उपकरणहरू दियौँ । तपाईंका सैनिकहरू साहसी छन्, तर तिनीहरूले हाम्रो सैन्य उपकरण प्रयोग गर्नुपर्यो । यदि तपाईंलाई हाम्रो सैन्य उपकरण नभएको भए यो युद्ध दुई साताभित्रै सकिन्थ्यो ।

    जेलेन्स्कीः पुटिनबाट सुन्दा त उनी तीन दिनमै भन्थे ।

    ट्रम्पः त्यो भन्दा पनि कम समय लाग्थ्यो सायद ।

    जेलेन्स्कीः दुई साताभित्र । यो पक्कै पनि ।

    ट्रम्पः यस्तो अवस्थामा सम्झौता गर्नु गाह्रो हुन्छ ।

    भेन्सः के तपाईं केवल धन्यवाद भन्न सक्नुहुन्छ…?

    जेलेन्स्कीः मैले धेरै पटक अमेरिकी जनतालाई धन्यवाद दिएको छु ।

    भेन्सः असहमतिहरू स्वीकार गर्नुहोस् र ती असहमतिहरू समाधान गरौँ । अमेरिकी मिडियामा विवाद उठाएर गलत सावित हुने प्रयास नगरौँ । हामीलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ ।

    ट्रम्पः तर हेरौँ, मलाई लाग्छ अमेरिकी जनताले के भइरहेको छ भन्ने देख्नु महत्वपूर्ण छ । तपाईंलाई धन्यवाद दिनुपर्छ किनभने अहिले तपाईँसँग कुनै कार्ड छैन ।

    जेलेन्स्कीः म आभारी छु ।

    ट्रम्पः तपाईँ युद्धमा पुरिनुभएको छ । मान्छेहरु मरिरहेका छन् । तपाईँका सैनिकहरु रित्तिइरहेका छन् ।

    जेलेन्स्कीः कृपया, राष्ट्रपति महोदय ।

    ट्रम्पः त्यसपछि तपाईं हामीलाई भनिहाल्नुस् ‘म युद्धविराम चाहन्नँ, म अघि बढ्न चाहन्छु ।’ सुन्नुहोस् यदि तपाईँ युद्धविराम चाहने हो भने अहिले हुन्छ । म चाहन्छु गोलाबारी रोकियोस् । तपाईंका मान्छेहरु मर्न रोकियोस् ।

    जेलेन्स्कीः अवश्य पनि । हामी युद्ध रोक्न चाहन्छौँ ।

    ट्रम्पः तर तपाईं युद्धविराम चाहनुहुन्न । म चाहन्छु युद्धविराम ।

    जेलेन्स्कीः तर मैले तपाईंलाई सोधें, के छन् त ग्यारेन्टीहरू ?

    ट्रम्पः किनभने तपाईं युद्धविराम छिट्टै पाउन सक्नुहुन्छ, सम्झौताभन्दा छिटो ।

    जेलेन्स्कीः हाम्रो जनतालाई युद्धविरामबारे सोध्नुहोस् । उनीहरुको चाहना हजुरलाई मतलब छैन ?

    ट्रम्पः त्यो कुरा मसँग थिएन । त्यो मुर्ख जो बाइडेनसँग थियो । त्यो ओबामासँग थियो । माफ गर्नुहोला, उनीहरुले तपाईंलाई सिरक दिए, तर मैले त ट्याङ्क हान्ने जेभलिन (हतियार) दिएँ । हो, मैले तपाईंलाई ती ट्याङ्कहरू ध्वस्त पार्नका लागि जेभलिन दिएँ । तपाईंसँग खेल्ने कुनै कार्ड छैनन् । तपाईं कृतज्ञ हुनुपर्छ । सोचाइहरु परिवर्तन गरेर मात्रै हुने हुनाले सम्झौतामा पुग्न सकस छ ।

  • प्रकाशचन्द्र खतिवडाका तीन कविता

    प्रकाशचन्द्र खतिवडाका तीन कविता

    १, शंका

    रुखहरू थिए /थिए लोखर्केहरू
    जङगल थियो/थिए जनावरहरू
    झ्यास/पत्कर/सोरल्याङ्ग, सोरल्याङ्ग
    त्यतै/कतै/रक्त पिपासु चितुवाहरू थिए
    गिद्धहरू थिए/थिए बाज पनि
    यात्रुहरू ससंकित थिए/त्रास थियो

    एउटा ओडार पनि ।

    तिर्खाएका थिए/प्यास मेट्ने पानी थिएन
    थाकेका थिए/सुत्ने ओछ्यान थिएन
    मौन थिए/कुनै हल्लिखल्लि थिएन ।

    यात्रीहरू निरुद्देश्य छन्/छन् अस्तित्वविहीन पनि
    मानौ/भोक सहेर/शोक मनाई रहेछन/शोकमग्न छन तिनीहरू
    एकबाट दुई/दुईबाट तीन/तीनबाट थप हुलहरू
    यहि बाटो/त्यही जङगल
    दैनिक/दैनिक/साँझमा आइपुग्छन्
    थकित/निराश/मेटिएको अनुहार छाम्दै
    लामो सुस्केरा सहित/विश्रामित हुन् ।

    यात्रीहरू हुँदैनन/भेटिदैन केहि अबशेष पनि
    यात्रा र गन्तव्य/अनि हराएका अनुहार खोज्न
    कहाँ जाने ? ओल्लो गाउँ/या पल्लो गाउँ
    यात्रुहरू छैनन/भेटिदैनन छायाँहरू पनि
    म झस्कन्छु/म ससंकित हुन्छु
    चिच्याउँछु/कराउँछु
    यात्रीहरू हो/पर्ख/पर्ख ।

    आवाजहरू ठोक्किन्छन/फर्कन्छन आफैतिर
    एकोहोरो/एकतमाशले/ओडारबाट प्रतिध्वनित भएर
    अँ हँ आएनन उत्तरहरू / भेटिएनन यात्रीहरू
    म दृष्य/उपदृष्य सम्झन्छु
    चितुवाहरू झम्टिरहेछन/ठुँगिरहेछन गिद्धहरू
    बाजहरू दाउ पर्खिरहेका छन/मूकदर्शक लोखर्केहरू झोक्राइरहेछन

    मलाई शंका लागिरहेको छ
    कि त्यो ओडारमा
    डरलाग्दो आजिङगर दाँत उध्याई बसेको छ
    निरन्तर यात्रीहरू चपाउन ।

    २, पहिचान

    एकान्त थिएन /थिएन शून्यवत
    न शान्ति थियो /क्रान्ति थिएन
    गल्ली/गल्ली/सडक/सडकमा
    नारा जुलुस/भीड भाड/केही थिएन
    न थिए मान्छेहरू/थिएन पदचाप पनि
    भवनहरू मौन थिए/थिए सडक असरल्ल
    समय लोलाइरहेथ्यो/लोलाइरहेथ्यो सूर्य पनि
    न थिए यात्रीहरू/विश्राम गर्ने चौतारी थिएन
    चिरविर चिरविर/चराहरूको आवाज थिएन
    पूmलहरू ओइलाका थिए/कुनै रखबारी थिएन
    आउनोस्/बस्नोस्/पाल्नोस्
    द्वार/द्वारबाट
    न कसैको सुभेक्षा थियो/न त स्वागतम नै
    मन्दिर थिए/गुम्बा थिए/चर्च थिए/ थिए मस्जिदहरू
    न पुजारी थिए/थिएनन भक्तजनहरू
    सहर सन्नाटा थियो/अस्तित्वविहीन थिए मान्छेहरू
    लुटिएका थिए/थिए खोशिएका पनि
    ग्रह/उपग्रह/तस्करहरूले ।

    अष्पस्ट/किरिङमिरिङ/बे अर्थ अक्षरहरू थिए
    न अक्षर मिले/मिलेनन शब्द र वाक्य पनि
    भाषा मिलेन/खुलेन अर्थ पनि
    अक्षर कोट्याउन खोजेँ/ खोजेँ अर्थ्याउन पनि
    अपशोच !
    त्रसित भएँ / भएँ आश्चर्य चकित पनि
    खबरदार !
    अक्षरहरू बिग्रिएलान/बिग्रिएलान सहरका इतिहासहरू
    गुंजित/तरंगित/आवाजहरू पैmलिए सहर भरी
    लाग्छ/जादुगरिको सहर हो
    कनै बस्तुगत पहिचान भएन ।

    ३, रहरका कथाहरू

    रहका कथाहरू मनका छेउ छेउबाट खुस्किएर गए
    बिहान सबेरै आएको भूँइचालो सँगै
    म आँगनमा थरथराउँदै ढलेँ ।

    मैले
    मेरो साथीलाई भनेको थिएँ
    उज्यालो खस्नै लागेको छ
    तिमी नजाउ
    त्यस बेला उ मौन थियो
    म रहरका कथाहरू सुनाइरहेको थिएँ ।

    हठात
    मेरो मुटु बेस्कन उफ्रर्‍यो
    मन दुःखेको अनुभूति हुँदा
    उ थिएन
    पुनः म थरथराउँदै ढलेँ ।

    म चिच्याइ रहेँ
    साथी फर्क
    रहरका कथाहरू थुप्रै छन
    तिम्रो भागमा परेजति लौजाउ
    बाँकी मलाई छोड ।

    ऊ फर्केन
    ऊ एकसुरमा गयो
    मेरा आँखाहरू निस्तेज पारेर ।

    यसरी
    एउटा साथी विरानो भयो
    मैले उसको अनुहार पढ्नै सकिनँ
    म युद्धभूमिमा पुगेँ
    त्याहाँ पनि थिएन ऊ
    म कर्म भूमिमा पुगेँ
    त्यहाँ पनि थिएन ऊ
    म सीमा रेखामा पुगेँ
    त्यहाँ पनि त थिएन ऊ
    ऊ हरायो
    मेरा रहरका कथाहरू विश्रङखलित बनाएर हरायो ।

    रहरका कथाहरू कस्लाई सुनाउँ ?
    यात्राका नमिठा डोवहरू पनि त छन
    जून घाम जस्तो छ जीवन
    मेरो नि यात्रा कस्लाई सुनाउँ ?

    दौतरीहरू साथमा छैनन्
    म बाट तर्केका छन किन ?
    मैले त कुभलो चिताएको हैन
    मेरा सपना चपाउँदै हिड्छन किन ?
    आउ, विश्वासका गर्विला हातहरू उठाउँ
    रहरका कथाहरू पनि त सुनाएकै छैन ।

    यात्राका डोबहरू पनि त हराएका छैनन्
    समय सूर्य विनाको दिन जस्तै छ किन ?
    उफ !
    यो भयावहता कहिलेसम्म ?
    रहर घटाउ रहर
    शून्य बरावरि शून्य
    अधुरा मेरा रहरका कथाहरू ।

    सुन्दरहरैँचा –६, दुलारी, मोरङ

  • राधिका शाक्यको ‘करुणा’ : आँसुले लेखिएको इतिहासको अभिलेख

    राधिका शाक्यको ‘करुणा’ : आँसुले लेखिएको इतिहासको अभिलेख

    सामान्यतया नेताको पत्नी वा परिवार भन्नसाथ आम मानिसको दिल-दिमागमा फ्याट्टै आउने उत्तर हो, ‘शक्ति केन्द्र, सत्ता अभ्यास, शक्ति उन्माद आदि ।’  विगत लामो समयदेखि नेताहरूको पत्नी वा परिवारबाट आजसम्म जे जसरी शक्तिको अभ्यास भयो, त्यसले आम मानिसमा निर्माण गरेको खराब बिम्ब हो यो । यही खराब बिम्बको घानमा कतिपय असल मान्छेहरू पनि पर्ने गरेका छन् ।

    नेताका पत्नी वा परिवार भन्ने बित्तिकै शक्ति अभ्यास वा उन्माद भन्ने आम बुझाइ छ । तर, यो बुझाइको अपवाद हुन्- राधिका शाक्य । जसले दशकौंदेखि हिँडेको बाटो र देखाएको उज्यालोले नेताहरूका पत्नी वा परिवारमाथि बनिरहेको खराब बिम्बलाई विनिर्माण गरिदिएको छ । राधिका स्वयं शालीनता, त्याग र समपर्णको प्रतीक बनेकी छन् ।

    पुस्तकमा लेखकले इमानका साथ आफ्ना कथाहरू भनेकी छिन् । पढ्दा यस्तो लाग्छ, राधिकाले अगाडि बसेर कथा सुनाइरहेकी छिन् ।

    राधिका शाक्य अर्थात् नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी ! जो ‘हाइ प्रोफाइल’ मा छिन्, तर ‘लो प्रोफाइल’ जीवन बाँचेकी छिन् । जसलाई मानव सेवाबाहेक अरु केही गर्नु छैन । श्रीमान्‌को पद र प्रतिष्ठालाई उनले कहिल्यै पनि निजी जीवनको हितमा लगाइनन् । पाएको सुविधा र अवसर पनि नलिँदा बरु ‘मूर्ख मन्त्राणी’ भनी मागिन् ।

    राजनीतिको उछिनपाछिनले विरोधी तथा आलोचकहरूको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेक प्रश्न होलान् । आलोचना गरिरहेका छन् । तर, राधिकाले चुपचाप र बेहिसाब गरिरहेको त्याग र समपर्णबाट उनीहरू पनि नतमस्तक छन् । उनै राधिका अर्थात् प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लाई पाणिनि बुक्सले बजारमा ल्याएको छ ।

    पाटनको महापालदेखि बालकोटको बार्दलीसम्म

    बीसको दशकदेखि सत्तरीको दशकसम्मको कथा छ, उनको आत्मकथा ‘करुणा’ मा । ललितपुरको पाटनदेखि भक्तपुरको बालकोटसम्मको आरोह-अवरोह र घुम्तीहरूको सम्झना छ । त्यसो त शाक्य केवल एकजना लेखिका वा नागरिकमात्रै होइनन्, इतिहासको एउटा अध्याय नै नेपाली राजनीति र समाजलाई आफ्नो बाटो र उज्यालोमा हिँडाउने एकजना नेतृत्वकर्ताको आरोह-अवरोहको प्रत्यक्षदर्शी हुन्, साक्षी हुन्, सहयात्री हुन् । त्यस कारण उनले बाँचेको समयको कथा केवल उनको आत्मकथामात्रै होइन नेपाली राजनीतिको इतिहास पनि हो, अभिलेख पनि हो र नेपाली समाजलाई चिहाउने एउटा आँखीझ्याल पनि ।

    पाटन महापालको सिलाइ घरमा कल घुमाइरहेका राधिकाको बुवालाई भामा दिदीले गरेको प्रश्न, ‘छोरीलाई किन स्कूल नपठाएको ?’ बाट सुरू भएको शैक्षिक यात्रा अर्थशास्त्र र इतिहासमा स्नातकोत्तरसम्म पुग्छ । त्यही उज्यालो यात्राले उनलाई वि.सं २०३६ देखि २०६८ सम्म नेपाल राष्ट्र बैंकको उच्च पदसम्म लैजान्छ । आदर्श कन्या निकेतनको शिक्षिका भामा दिदीको प्रश्नको तागतमा तय भएको राधिकाको आदर्श कन्या निकेतनको यात्राको कथा जो केहीका लागि प्रेरणादायी छ ।

    हुन त यही समाज हो, जहाँ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यहरूले बारम्बार रुँदै स्पष्टीकरण दिनु परेको छ । श्रेष्ठ र आचार्यहरूको माटोप्रतिको मायामा प्रश्न उठाइन्छ । आनीछोइङ डोल्मामाथि प्रश्न उठाइन्छ । उनै मान्छेहरूले राधिकाहरूलाई प्रष्टीकरण दिन बाध्य पार्छन् ।

    वि. सं. २०४४ फागुन १० मा कुपन्डोलको एक कार्यकर्ताको घरबाट सुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहयात्राको कथा केवल उनको मात्रै कथा होइन, नेपाली राजनीतिको इतिहासको अभिलेख पनि हो । पाटनको महापालदेखि बालकोटको बार्दलीसम्मको राधिकाको कथा नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिको आरोह अवरोहको कथा पनि हो ।

    आफ्नो कथा भन्दै गर्दा राधिकाले इतिहासको अभिलेख पनि सुरक्षित गराएकी छिन् । ४० वटा उपशीर्षक मार्फत उनले दिएको आत्म बयान सबै इतिहासको दस्तावेज भन्न सकिन्छ । किनभने ती हरेक उपशीर्षकमा नेपाली राजनीति र समाजको भित्री अन्तरकथा अर्थात् इतिहास लेखेकी छिन् ।

    सेवामा सिंगो जीवन

    तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली २०४४ असार ११ गते १४ वर्ष लामो जेल जीवन बिताएर रिहाइ भए । राधिका ललितपुरको शाक्य परिवारमा जन्मिएकी छोरी । २०३४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेकी शिक्षित महिला । अनेमसंघ बागमती अञ्चल कमिटीको सदस्य ।

    त्यसबेला केपी शर्मा ओलीको राजनीतिक पोर्टफोलियो के थियो ? राधिकालाई पत्तो थिएन । झुस्स दाह्री, फुक्क गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु, ह्यांगरमा झुन्ड्याएको कपडा जस्तो मात्र ! बिहेको प्रस्तावमा ओलीले भन्छन्, ‘मेरो नाम केपी ओली, ज्यान यही हो । मसँग सम्पत्तिको नाममा केही पनि छैन। मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ । तिमीलाई समय पनि दिन सक्दिनँ ।’

    बिहेको प्रस्तावमा न कुनै बाचा, न कुनै प्रतिबद्धता वा कसम । बरु उल्टै धागोको धरोसमेत दिन नसक्ने, समय दिन नसक्ते बताउँछन् । तैपनि राधिका बिहेका लागि तयार भइन् । यसको एकै कारण थियो, उनीसित निहीत करुणा भाव । उनले किताबमा लेखेकी छिन्, ‘राजनीतिक पोर्टफोलियो उहाँको के थियो थाहा थिएन तर, १४ वर्ष जेल जीवन बिताएर छुटेको भन्ने सुन्दा छुट्टै सम्मान र करुणाभाव जाग्थ्यो ।’

    केपी शर्मा ओलीप्रतिको राधिकाको आकर्षणको कारण रहेछ, इमानदारीता । आत्मकथामा भनेकी छिन्- ‘यसो सोचेँ, पहिलो पटक भेटेको केटाले तिमीलाई यो गरिदिन्छु, ऊ गरिदिन्छु आकाशकै तारा झारिदिन्छु पनि त भन्न सक्थ्यो नि ! त्यो नभनेर किन मबाट केही आशा नगर, म तिमीलाई धागोको धरो पनि किनिदिन सक्दिनँ भनेर टक्टकिन्छ ? यो त इमानदारी हो नि ! नसक्ने कुरालाई सक्दिनँ भनेर इमानदारिता देखायो ! झूटो आशामा बाँच्नुभन्दा साँचो अभावमा बाँच्नु नै जीवनको श्रेयस्कर पाटो हो भन्ने ठम्याइ भएकाले नै म कम्युनिष्ट धारमा ढल्केकी हुँ ।’

    बीसको दशकदेखि सत्तरीको दशकसम्मको कथा छ, उनको आत्मकथा ‘करुणा’ मा । ललितपुरको पाटनदेखि भक्तपुरको बालकोटसम्मको आरोह-अवरोह र घुम्तीहरूको सम्झना छ ।

    एउटा धागोको धरो र अलिकति समयको आशाविना बिहेका लागि तयार भएका राधिकाको सिंगो जीवन समर्पण र सेवामा बितेको छ । प्रधानमन्त्री ओलीले एकपछि अर्को स्वास्थ्यका समस्याहरूलाई सहनुपर्ने भयो । राधिकाको अधिकांश समय औषधिहरूको सूचीसँग बितिरहेको छ । दिल दिमागमा घुम्ने धेरै सम्झनाहरू अस्पतालसँग जोडिएका छन् । राधिकाको त्यही सेवा र समर्पणबारे आत्मकथा विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुशी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।’

    औषधि र अपरेसनहरूले प्रधानमन्त्री ओलीको शरीर सग्लो छैन । तैपनि सक्रियता असाधारण छ । औषधिदेखि दैनिकीहरूमा चनाखो भएर उभिनु पर्ने बाध्यता छ, राधिकालाई । उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘शरीर कहाँ सग्लो छ र ! मैले हेरिनँ भने त उहाँ ढली हाल्नुहुन्छ ।’

    आत्मकथामा अस्पतालहरूको यात्रा र औषधिहरूको सूचीसँगको दैनिकी पढिरहँदा जो केहीको हृदय उद्देलित हुन्छ । र सोध्न मन लाग्छ, ‘कस्तो समर्पण, कत्रो त्याग ?’ पुस्तकमा राधिकाले आफनो कथाहरू यस्तरी भनेकी छिन् कि मन परेको फिल्म हेरे जस्तो तानिरहन्छ । किताबमार्फत् प्रधानमन्त्री ओलीको अनेक निजी विशेषता जान्न, प्रधानमन्त्री ओलीका अनेकन आयामलाई नजिकबाट बुझ्न सकिन्छ ।

    आँसु र पीडाका कथा

    ‘हजुरआमाको स्वेटर’ र ‘मेरै काखमा बाको अन्तिम श्वास’ च्याप्टर आँसुको कहानी हो । मामाघरको हजुरआमा राधिकाको प्रिय मान्छे । राष्ट्र बैंकको पहिलो जागिर खाएर आएको पहिलो तलबले उनले हजुरआमालाई पहँलो रङको स्वेटर किनिदिएकी थिइन् ।

    उनले लेखेकी छन्, ‘त्यो स्वेटर हजुरआमाले जाडो महिनाभरी लाएको लायै गर्नुहुन्थ्यो । प्रसङ्ग नभएको ठाउँमा पनि नानीदेवीले ल्याइदेकी स्वेटर भन्नुहुन्थ्यो । मेरो नातिनीले ल्याइदेको स्वेटर कहिल्यै फुकाल्दिनँ, जहिल्यै लाउने हो म त भन्नुहुन्थ्यो ।’

    प्रिय नातिनी नानीदेवीले ल्याइदिएको पहेँलो स्वेटर कहिल्यै नफुकाल्ने हजुरआमा चापागाउँको पोखरीमा डुबेर सधैँका लागि बिदा हुन्छिन् । तर, संयोगवश उही पहेँलो स्वेटरसँगै डुबेकी थिइन् । लेखेकी छिन्, ‘जाँदा पोखरीबाट हजुरआमाको पार्थिव शरीर शहर निकालिँदै थियो । उहाँको शरीरमा त्यही पहेँले स्वेटर थियो । नातिनीले ल्याइदेको स्वेटर म कहिल्यै फुकाल्दिन भन्नुहुन्थ्यो रे । भावीको लेखन भनौं कि संयोग, जसो भन्या उसै त्यो स्वेटर उहाँले फुकाल्नु परेन ।’

    राधिकाको लागि ‘बा’ सबथोक थिए । उनको बाको अन्तिम श्वास राधिकाकै काखमा गयो । उनले लेखेकी छन्, ‘बाको रिक्तता मेरो जीवनको एक अपूरणीय अभाव हो । म उहाँकी जेठी छोरी भएर जन्मनु नै अहोभाग्य ठान्छु । बाको माया, स्नेह र विश्वासको जगमा नै मैले आफूलाई उभ्याउन सकेकी हुँ । त्याग, समर्पण, मिहिनेत, आत्म-विश्वास र आत्म-सम्मान बाबाटै सिकेकी हुँ । आज म जहाँ छु, थोरै मेरो प्रयत्न अनि धेरै बाको अभिभावकत्वको परिणाम हो ।’

    राजनीतिको उछिनपाछिनले विरोधी तथा आलोचकहरूको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेक प्रश्न होलान् । आलोचना गरिरहेका छन् । तर, राधिकाले चुपचाप र बेहिसाब गरिरहेको त्याग र समपर्णबाट उनीहरू पनि नतमस्तक छन् ।

    केपी शर्मा ओलीसँगको बिहेमा उनको ‘बा’ को केही असहमति रहेको प्रसङ्ग पनि उल्लेख गरेकी छिन् । आत्मकथामा भनेकी छिन्, ‘हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन यो मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुष मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएकी थिएँ अनि केपी सर, जोसँग म अन्मिएकी थिएँ ।’

    बाको शिल्पी केपी ओलीको शरीरमा सजिंदाको आनन्द पनि उल्लेख गरेकी छिन् । लेखेकी छिन्, ‘बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरो बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडामात्र नभएर ज्वाइँ-ससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिँदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’

    इतिहासको अभिलेख

    पुस्तकमा केवल राधिकाको निजी सुखदु:ख मात्रै छैनन् । उनीसँग जोडिएका घुम्ती र आरोहहरूबाट नेपाली राजनीतिको घुम्ती पढ्न पाइन्छ । खासगरी पार्टीका अन्तरसंघर्षका कथाहरू, त्यसले निम्ताएका मनोदशाहरूलाई पढ्न सकिन्छ । ‘मेट्न मिल्ने भए त्यो दिन क्यालेन्डरबाटै मेटाइदिन्थेँ’ उपशीर्षकमा लेखिएको कथाबाट तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षको कथा र मनोदशालाई नजिकबाट बुझ्न सकिन्छ ।

    १० फागुन २०७७ र त्यस वरिपरिका दिनहरू कति सकसपूर्ण थियो, त्यसलाई बुझ्न त्यो त्यही कहानी पढे हुन्छ । दासढुंगाको कथा पीडा होस् वा प्रधानमन्त्री ओली आफ्नै घरमा नजरबन्दमा पर्दाका कथाहरू हुन् वा प्रधानमन्त्री कार्यालयमा रहँदाका सम्झनाहरू हुन् । यी सबै इतिहासको अभिलेख हो ।

    राधिकाको करुणा र हाम्रो समाजको कृतघ्नता

    ११ फागुन २०८१, ‘करुणा’ को विमोचन कार्यक्रम । मञ्चमा प्रमुख अतिथिको रूपमा थिए, प्रधानमन्त्री ओली । पुस्तकको टिप्पणीकर्ता नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्मा ।

    त्यसदिन सधैँ मञ्चहरूमा भव्य पहाडजस्तै शालीन देखिने राधिका अलि खुलेर प्रस्तुत भइन् । केही प्रष्टीकरण, केही गुनासो, केही आग्रह र केही आक्रोशसहित । पुस्तक सार्वजनिक कार्यक्रमअगावै पुस्तकको अंश प्रकाशन भइरहेको रहेछ । प्रकाशित पुस्तक अंशमुनि गरिएका केही टिप्पणीहरू पढेकी रहिछन् । प्रश्नहरू पढेकी रहिछन् । ती टिप्पणी र प्रश्नहरूको उनले बढो शालीनतापूर्वक तर आत्मविश्वासका साथ उत्तर दिइन् ।

    ‘करुणा’ लोकार्पण समारोह ।

    भनिन्, ‘राष्ट्र बैंकमा अन्य ठाउँको तुलनामा सेवा सुविधा राम्रै छ । जसोतसो गरेर एउटा बस्ने घर हामीले बनाएकै हो । प्रश्न गर्नेहरूलाई भन्न मन लाग्छ, त्यो घर कसरी बन्यो, के भयो । एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा कतैबाट केही गरेर ल्याएका छैनौं । आफ्नै पसिना आफ्नै मेहनतले त्यो घर बनाएका छौं ।’

    आरोप लगाउनेहरूको प्रश्न छ, ‘बालकोटमा कसरी घर बन्यो ?’ राधिकाले भने जस्तै उत्तर सहज छ, सेवा सुबिधाको हिसाबले राष्ट्र बैंक आकर्षक सरकारी कार्यालय हो । जहाँ राधिकाले उच्च पदमा रहेर २०३६ देखि २०६८ सम्म काम गरिन् । फेरि प्रश्नहरू तिनै मान्छेले गर्छन्- जसले विनाउद्यम र आधार केही थान वर्षमा काठमाडौंमा महल बनाएका छन् ।

    राधिकाले बढो उन्मुक्त गरी ‘एक-एक हिसाब बुझाउन’ तयार भएको बताइरहँदा हलमा उपस्थित सबैले बढो श्रद्धाको साथ एकोहोरो ताली बजाइरहेका थिए । तर, त्यति शालीन र शान्त राधिकाले मञ्चमा उभिएर ‘हिसाब बुझाउन तयार छु’ भनिरहँदा एउटा स्वाभाविक प्रश्न उठ्छ, हाम्रो समाज कति कृतघ्न हुँदै गइरहेको छ ? हामी यति धेरै कृतघ्न किन भइरहेका छौं ?

    आत्मकथामा भनेकी छिन्, ‘हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन यो मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्वपूर्ण दुई पुरुष मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएकी थिएँ अनि केपी सर, जोसँग म अन्मिएकी थिएँ ।’

    राधिकाले यो प्रष्टीकरण दिइरहँदा एकजना उच्च पदस्थ कर्मचारीले खुसुक्क भने, ‘सर ! यो समाजमा असल हुनु पो समस्या छ त । हेर्नुहोस् त उहाँजस्तो मान्छेले पनि मञ्चमा उभिएर प्रष्टीकरण दिनुपर्छ ।’

    हामी कहाँ एउटा यस्तो समूह छ, जसले प्रश्नका नाममा, आलोचनात्मक दृष्टिकोणका नाममा, सधैँ सधैँ उत्तजेना र घृणा बाँडिरहन्छन् । जसको शिकार बेदाग राधिकाहरू पनि भइरहेका छन् । यहाँनिर फेरि पनि सोध्न पर्ने प्रश्न हो, ‘हामी यति धेरै कृतघ्न किन भइरहेका छौं ?’

    हुन त यही समाज हो, जहाँ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यहरूले बारम्बार रुँदै स्पष्टीकरण दिनु परेको छ । श्रेष्ठ र आचार्यहरूको माटोप्रतिको मायामा प्रश्न उठाइन्छ । आनीछोइङ डोल्मामाथि प्रश्न उठाइन्छ । उनै मान्छेहरूले राधिकाहरूलाई प्रष्टीकरण दिन बाध्य पार्छ ।

    आत्मकथा विमोचनका दिन राधिकाले दिनु परेको प्रष्टीकरणबाट बुझ्न सकिन्छ, हामीकहाँ घृणा र उत्तेजनाको आगो कसरी फैलिरहेको छ । हामीकहाँ नकरात्मकताको महामारी यस्तरी फैलिरहेको छ, त्यसले चेतना होइन, समाजमालाई डिप्रेसनतिर लगिरहेको छ । महामारी छ, निराशा र नकरात्मकताको भाष्यको ।

    पुस्तकमा लेखकले इमानका साथ आफ्ना कथाहरू भनेकी छिन् । पढ्दा यस्तो लाग्छ, राधिकाले अगाडि बसेर कथा सुनाइरहेकी छिन् । तर, कतिपय श्रृंखला र कथा भन्ने शैलीमा सम्पादकले थप ध्यान दिएको भए हुन्थ्यो भन्ने चाहिँ लाग्छ ।

    आत्मकथामा आफ्नो कथा ‘म’ भन्ने हो । तर, अन्तिमका आठ उपशीर्षकका आलेख चाहिँ पढिरहँदा कहीँ कतै वैचारिक लेखजस्तो भान हुन्छ । त्यसलाई पनि ‘फस्ट पर्सन’ अर्थात् ‘म’ भएर भनिएको भए सुनमा सुगन्धजस्तै हुने थियो कि ?

  • आदर्श र यथार्थको द्वन्द्व : आमा, सपना र ताराहरू

    आदर्श र यथार्थको द्वन्द्व : आमा, सपना र ताराहरू

    नीलो आवरण छ । अमूर्त शैलीमा आकाशतर्फ तारा हेर्दै गरेका आमा छोराको चित्र छ । आकाशमा ताराहरु पनि छन् । अनि त्यहीँ लेखिएको छ, ‘आमा, सपना र ताराहरु’ । ‘पिस्कर दमन र प्रतिरोधको कथा’ ‘माघ–१९’, ‘पूर्वको रातो तारा’ अनि ‘राष्ट्रिय सुरक्षा र नेपाली सेना’ नामक कृतिपछि ईश्वर पोखरेलले चौथो कृति ‘आमा, सपना र ताराहरु’ आमाको सम्झनामा समर्पित गरेका छन् ।

    दुई भिन्न–भिन्न दर्शन एवम् उत्तरदायित्व निर्वाह गरिरहेका आमाछोराबीचको आत्मिक प्रेमको मार्मिक कथानक छ किताबमा । किताबका पानाहरू पल्टाउँदै जाँदा दुईथान जिद्दी अनि हार नमान्ने पात्र (आमाछोरा) छन् । ती दुवै पात्रले अनेकन दुर्बलता, निराशा र संघर्षहरू सहेर इच्छाशक्तिद्वारा स्वयम्लाई स्थापित गरेका छन् ।

    आमालाई आफ्नै गृहस्थीको पिरलो छ, जसलाई जोगाएर अघि बढ्न सक्ण्नु नै उनको जीवन–जगत् हो । ईश्वर, धर्म र पारलौकिक ईश्वरीय सत्ता उनका आस्थाहरू हुन् । उनी पापसँग डराउँछिन् । अधर्मलाई घृणा गर्छिन् । नैतिक बल एवम् पातिव्रत्यको सम्पदा छ, व्रतरत जीवन छ । आमाको गाईवस्तु, खोलानाला, बारीपाखोसँग साइनो छ । आदर्श पत्नी, गृहिणी, आमालगायत दर्जा अनुसारका पारिवारिक सम्बन्धको भूमिकामा कुनै चुक भएको छैन ।

    आमाभित्र विश्वास छ, ‘पितृहरू आकाशमा तारा बनेर आफ्ना सन्तानलाई आशीर्वाद वर्षाउँछन् ।’ आमासित विश्वास छ, ‘मान्छे कहिल्यै मर्दैन, अपितु पुनर्जन्म र पूर्वजन्मको चक्रमा घुमिरहन्छ । माथि–माथि कतै वैकुण्ठलोक छ, जहाँ धार्मिक र सद्चरित्र मानिसका आत्माले बास पाउँछन् । ईश्वरीय जगत् नै चेतनाको मूल आधार हो ।’

    आमाको माइतीको संसार, पीडादायी घरायसी अवस्था, बाको निधनपछिका चुनौतीहरू, रुम्जाटार वरिपरिको प्राकृतिक वर्णन, जोशमनी सन्त परम्परा र साहित्यको चर्चा, स्वयम् जन्मेको स्थानको सुन्दर प्रकृति याद गर्दै अतीतमुखी भएर रुमानी भावधाराको सम्प्रेषण गरिएको छ ।

    यता छोरासँग वस्तुगतताको धरातल छ । अलि बुझ्ने उमेर भएदेखि नै अन्याय–अत्याचार, शोषण–दमनविरुद्ध आँखा उघारिसकेका छन् । माक्र्सवादको नजरिया छ, ‘पदार्थ नै चेतनाको जन्मदाता हो र संसार स्वभावले नै भौतिक छ । आजको ब्रह्माण्ड पनि द्वन्द्वात्मक भौतिकवादको परिणाम हो, प्रत्येक विषय वस्तुको विश्लेषण वैज्ञानिक दृष्टिकोणले हुनुपर्दछ । आदर्शवादको खोल ओढेर वर्गभेद–वर्णभेद–जातिभेद, पूर्वजन्म–पुनर्जन्मको त्रास देखाएर ईश्वरको काल्पनिक सत्तासंरचनामा टेकेर सोझा मजदुर–किसानलाई दबाएर राख्ने पुँजीवादी वुर्जुवातन्त्रका विरुद्ध संसारका सर्वहारा एक हुनुपर्दछ । ईश्वर फलदाता होइन, अपितु मानिसद्वारा आफ्नै परिश्रम–पसिनाबाट ईहलोकमै मानवीय उत्कर्ष र मानवता स्थापित गर्न सकिन्छ ।’

    कृतिको कथानाक प्रारम्भ हुन्छ ओखलढुङ्गा जिल्लामा रहेको माम्खा रुपनालुको सेपिलो पाखोमा अवस्थित एक निम्नवर्गको जराजीर्ण गृहस्थीको शब्दचित्रबाट । दैनिकी धान्न धौ–धौ परिरहेको परिवारका दाजुहरू आफ्नो अनिश्चित भविष्य सुधार्न मधेशतर्फ झरेका छन् । दिदीहरू विवाहपश्चात् आ–आफ्ना घर गएका छन् । दीर्घरोगले थलिएका पिताको मृत्यु हुन्छ ।

    लेखकले सार–सङ्क्षेपमै आफ्नो बालपनदेखि वर्तमानसम्मको वर्णन गर्दै आफू जन्मेको ठाउँबाट जनकपुर अनि जनकपुरबाट काठमाडौंसम्मको त्रिकोणीय यात्रा, राजनीति एवम् आमाको मृत्युमा टुङ्ग्याउँछन् । यस सन्दर्भमा सर्जकको बालवयी स्वभाव, किशोर एवम् युवावस्थाको यायावरीय सङ्घर्षका साथै मातृ निधनको पिडालाई किताबमा समेटिएको छ ।

    आमाको माइतीको संसार, पीडादायी घरायसी अवस्था, बाको निधनपछिका चुनौतीहरू, रुम्जाटार वरिपरिको प्राकृतिक वर्णन, जोशमनी सन्त परम्परा र साहित्यको चर्चा, स्वयम् जन्मेको स्थानको सुन्दर प्रकृति याद गर्दै अतीतमुखी भएर रुमानी भावधाराको सम्प्रेषण गरिएको छ ।

    एकातर्फ आमाको आफ्नै संघर्षको कथा–व्यथा छ । सानै छँदा आमाको आमा बित्नुभएको थियो । सौतेनी आमाको व्यवहार, एघार वर्ष नपुग्दै भएको बिहे, घरको बुहार्तन, लगातार बाह्र सन्तानलाई हुर्काउँदाका पीडा–व्यथा, निरन्तर गम्भीर अस्वस्थताका कारण मर्ने–बाँच्ने दोसाँधमा रहेका पतिको सेवा शुश्रूषा, भनेअनुसार औषधोपचार गर्न नपाएको पीडा, लगातार खस्किँदो आर्थिक अवस्था, दयनीय र कष्टकर बन्दै गरेको पारिवारिक स्थिति लगायत पाठकलाई भावनात्मक बनाएर लैजाने कथा छ आमाको ।

    सँगै लेखकलाई भने राजनीतिको सिद्धान्तले गाँजिसकेको हुनाले जीवन, मृत्यु र भविष्यको पर्वाह हुँदैन । यहानेरँ आमा–छोराबीच भावनात्मक रस्साकस्सी प्रारम्भ हुनजान्छ । दुबैजना दुई धारमा फाट्छन् मानौं कुनै नदीको दुई भँगाला हुन् । आमाको धर्मको यात्रा छ, छोराको द्वन्द्वात्मक भौतिकवादको यात्रा छ । सबैभन्दा बढी अपेक्षा गरिएको कान्छो छोरो कम्युनिष्ट (कमनिश) भएको छ ।

    राजाको गाथ–गादी ताक्नेहरू मारिएका छन्, बेपत्ता पारिएका छन्, कालकोठरीमा जाकिएका छन् । कतिपय घटनाहरू आमालाई ज्ञात पनि छ र साथै सन्त्रास पनि छ । बिचमा आमा आर्त–अबरुद्ध–कण्ठले छोराको अज्ञात–यात्रालाई रोक्ने अन्तिम प्रयास गर्छिन्, “ऐ बाबु जहाँ गए पनि एकपटक फर्केर त हेर् । तँलाई आमाको माया लाग्दैन ?’

    सर्जक भन्छन्, “म आमातिर नहेरी अँध्यारो हुँदै गरेको क्षितिजतिर भविष्यको उज्यालो हेर्ने कोसिस गर्दै फटाफट हिँडिरहेको थिएँ । … हिँड्दै गरेको बाटोका वरपरका घरहरूमा ठोक्किएर प्रतिध्वनित भएको आमाको त्यो आवाज गुन्जिरहे पनि म भने उज्यालोको खोजीमा अँध्यारोमा हराउँदै थिएँ ।”

    सामान्यतया सोझो पाराले यस कृति पढ्दा एक पुत्रले आफ्नी ममतामयी आमाको सभ्झनामा श्रद्धा–सुमन चढाएको एवम् आफ्नो पनि जीवनका केही निजी संघर्षका पाटाहरूलाई सार्वजनिक गरेजस्तो लाग्न सक्छ । तर आमा र आफ्नो कथामार्फत् यस पुस्तकभित्र नेपालको झण्डै ७ दशक लामो राजनीतिक, सामाजिक, आर्थिक, ऐतिहासिक सत्यतथ्य एवम् विभिन्न घटनाहरू समेटिएको छ ।

    नेपालको ताजा इतिहासमा राणाहरूले ए बी सी क्लास बनाएर कोखको विभाजन गरेका थिए । स्वयम् राजा महेन्द्रले आफ्नो जेठो छोरो रवीन्द्र शाहलाई उत्तराधिकारी बनाउने आँट गरेनन् ।

    जनकपुरको ‘रानीपाटी’मन्दिरमा बसेर पढेको, त्यहीँका स्थानीयहरूको सङ्गतले राजनीतिको चेत जागेको पुस्तकमा उल्लेख छ । त्यतिबेलाका नेताहरू लेखराज शर्मा, महावीर सिंह, श्रीराम, श्यामसुन्दर कुशवाहा आदि व्यक्तिहरूको राजनैतिक भूमिकाको चर्चा, २०२८–२९ सालमा धनुषाको यदुकुवामा पुलिसको गोली लागेर शहीद भएका कामेश्वर–कुशेश्वरको चर्चा पुस्तकमा पाइन्छ । यसैगरी रत्न कुमार वान्तवासँगको गाढा मित्रत पनि पुस्तकमा उल्लेख छ । धनुषा जिल्लामा भूमिगत भएको बेला ग्रामीण क्षेत्रमा सरकारी सुरक्षाकर्मी, सुराकी, दलाल, फटाहाहरूबिचको जोखिमको पनि उल्लेख छ ।

    एकदशक भन्दा पनि बढीको भूमिगत जीवनमा कसरी ग्रामीण आमा–दिदी–बहिनीहरूले सुरक्षा कवच बनेर संरक्षण एवम् सुरक्षा दिएको प्रसङ्ग छ । श्रमजीवी वर्गको माया, स्नेह, सहयोग र सहानुभूतिप्रति कृतज्ञता प्रकट गरिएको छ । भोकले गलेर बेहोस भएका बेला त्यहाँका स्थानीय अच्छेलाल खत्वेले उद्धार गरेको एवम् पितातुल्य व्यवहार गरेको घटनाको मार्मिक वर्णन छ ।

    २०२८ सालमा भारतले लगाएको नाकाबन्दी, सुस्ता र महेशपुरको नेपाली भूमि भारतले अतिक्रमण गरेको घटना, सिडिओ र एसपीले आफ्नो रोहवरमा पुलिस लगाएर मरणाशन्न हुनेगरी कुटपीट गरेको घटना, जलेश्वरजेलमा कारावास भएका बेला क्रान्तिकारी केशव कोइराला, विष्णु बहादुर राउत आदिसँगको भेटघाटको सन्दर्भ उल्लेख छ । यी सबका अतिरिक्त जनकपुरधाम जानकी मन्दिर अगाडि रहेको राजा महेन्द्रको शालिकमा नेपाली काँग्रेसका केही नेताहरूले कालोमोसो दलेका कारण व्यापक धरपकड एवम् जनसाधारणलाई यातना दिएको प्रसङ्ग पनि छ ।

    क्रान्तिकारी सिपी मैनालीका साथ राजनीतिको सम्पर्क सूत्र विस्तार गर्ने उद्देश्यले लुकिछिपी छिमेकी देश चीनसम्म पुगेको गतिशील एवम् रोमाञ्चकारी घटनाको वर्णन छ । छोटकरीमै भए पनि यस पुस्तकमा त्यस समयको नेपाली राजनीतिका संघर्षहरूका प्रतिनिधि घटनाहरू उल्लेख भएका छन् । कसरी त्यस समयमा निरंकुशताका विरुद्ध स्वतन्त्रताका लागि राजनीतिक चेतना भएकाहरू जेलमा जाकिन्थे, मारिन्थे, विस्थापित हुन्थे, त्यतिबेलाका त्रास अन्यौल आदि घटनाहरूलाई पढेपछि आजको नयाँ पुस्ताले लोकतन्त्र यसै हावातालमा प्राप्त भएको अधिकार होइन अपितु हजारौंको शहादत, लाखौं नागरिकको संघर्ष र वलिदानले प्राप्त उपलब्धि हो भन्ने बोध गराउन लेखक सफल भएका छन् ।

    “आमा सपना र ताराहरू”मा आमाले संघर्ष गर्न कहिल्यै पछि नपरेको, कतै पराजय स्वीकार नगरेको, दह्रो खुट्टा टेकेर ईहलोकदेखि परलोकसम्म आफ्ना सन्तानको रक्षाका लागि व्याकुलता प्रकट गरेको पाइन्छ । स्वयम् अशिक्षित भए पनि शिक्षाको महŒवप्रतिको बोध स्तुत्य छ । जातीय भेदभावको सङ्कीर्णताबाट माथि उठेर व्यवहार गर्न सक्ने, क्रमशः राजनीतिको चेतना पनि जागेको र अन्त्यमा आँखाको नानी (अङ्गदान) दान गर्ने इच्छाले वहाँ परम्पराग्रस्त रुढीवादीताको जालो च्यातेर चेतनशील आमाको रूपमा स्वयम्लाई स्थापित गरेको देखापर्दछ ।

    हाम्रा धर्मग्रन्थहरूमा मातृशरीरलाई जगत्जननी महामाया सृष्टि, प्रकृति आदि विशेषणले उच्च सम्मान गरेको पाइन्छ भने विरोधाभाषी तवरले पुरुषको प्रधानता र नारीलाई ‘अब्जेक्टिफिकेशन’ गरेको तीतो सत्य पनि हामी बिच छ । त्रेता युगमा आमाको घाँटी छिनाल्न सक्ने परशुराम हाम्रै अवतारी भगवान् हुन् । किराँत पुत्री भएकै कारण कैकेयी पुत्र भरत (अयोध्या)ले राज्यगद्दी नपाएको तर्क कतिपय विद्वान्हरूबिच रहेको छ । गर्भवती सीतालाई जनअपवादकै विषयलाई लिएर त्याज्य र अग्राह्य सम्झी फेरि जंगलमा निर्वासित गरेको दारुण कथा छ ।

    द्वापरमा कुन्तीले जन्मदै कर्णलाई त्याग्न बाध्य हुनुप¥यो । विदुरले दासी पुत्र हुनाकै कारण जीवनभर अपमानित हुनुप¥यो । माता कौशल्या र देवकीले आफ्नो पाठेघरमा ९ महिना राम र कृष्णलाई हुर्काए पनि तथाकथित भगवान् प्राकृतिक–प्रसवले जन्मिएनन् अपितु प्रकट भए किनभने पुरुषवादले ईश्वरको जन्म नारीको नर्कद्वारबाट (नारी नर्कस्य द्वारम्) हुनसक्दैन भन्ने घोषणा गर्‍यो ।

    नेपालको ताजा इतिहासमा राणाहरूले ए बी सी क्लास बनाएर कोखको विभाजन गरेका थिए । स्वयम् राजा महेन्द्रले आफ्नो जेठो छोरो रवीन्द्र शाहलाई उत्तराधिकारी बनाउने आँट गरेनन् ।

    यसरी ‘आमा’ शब्द जत्तिको सम्मानित र मर्यादित छ, उत्तिकै शोषित र अपहेलित पनि रहेको छ । आजको आधुनिक युगमा पनि आमाहरू वृद्धााश्रममा थुप्रिएर आँसु बहाइरहेका छन् । तथाकथित सभ्य हुँदै गएको मनुष्यको वर्तमान् र भविष्य झन् डरलाग्दो भइरहेको छ । मान्छेले भोगवादलाई नै परम्लक्ष्य बनाएका कारण समाजमा सरोगेट मदर, भ्रुण हत्या, कृत्रिम साधनहरूको प्रयोग, मातृत्वलाई बोझ सम्झने एवम् रोवोटिक आविष्कारले मानवीय अस्तित्व नै खतरामा रहेको स्वीकार गर्नुपर्ने हुन्छ । यसर्थ लेखकको यो पुस्तक ‘आमा, सपना र ताराहरू’ आजको तथाकथित केही पतनोन्मुख व्यक्तिका लागि मातृमहिमा, नैतिकमूल्य, कर्तव्यबोध गराउन सक्ने पुस्तक मात्र होइन अपितु साहित्यको क्षेत्रमा ‘सद्कर्म’ पनि हो ।

    अन्त्यमा, यस कृतिको केन्द्रीय पात्र ‘आमा’ जति विस्तारमा स्थापित भएको छ, त्यसको तुलनामा सपना र ताराहरूले खासै मान पाएका छैनन् । अर्थात् शीर्षक र कथावस्तुबीच तालमेलको अभाव देखिन्छ । लेखकले आमाको जीवनीसँगै आफ्नो जीवनका संघर्षहरूलाई पनि झण्डै समानान्तरमा प्रस्तुत गरेका छन् । प्रत्येक घटनामा आमालाई केन्द्रमा राख्न चुकेका छैनन् ।

    पुस्तक भित्र कता–कता एक सुन्दर उपन्यास लुक्न गएको झल्को आइरहन्छ । एक दशकभन्दा बढी भूमिगत जीवन बिताएका राजनीतिज्ञ लेखकले कतिपय सहयोगी पात्र र घटनाहरूलाई विस्तार गर्न कञ्जुस्याइँ गरेका छन् । प्रथम पुरुषीय दृष्टिविन्दुको प्रयोग गरी सिर्जना गरिएको प्रस्तुत कृतिमा कतिकारको जन्मस्थल, बाल्यकालीन जीवनभोगाइ, किशोरवयी र युवावयी आरोहअवरोहको सहज प्रस्तुतिले कृतिलाई जीवन्त तुल्याएको छ । यस कृतिमा सर्जकको राजनीतिक संघर्ष, पञ्चायतकालीन अनुदार एवम् कठोर शासन शैलीको ज्यादती, विभिन्न राजनीतिक दलका लोकतन्त्र प्राप्तिको चरणबद्ध संघर्ष समाविष्ट छन् ।

    निजात्मकता, आत्मपरकता, स्थानीय छटाको कलात्मक प्रस्तुति, सर्जकका कैयन निजी भोगाइका भावसङ्कुलपूर्ण अभिव्यक्तिले प्रस्तुत कृति आत्मजीवनीको स्वरूप ग्रहण गरेको छ । कृतिमा प्रयुक्त केन्द्रीय चरित्र आमाले आदर्श जीवनको पक्षधरतालाई आत्मसात् गरेकी छन् भने अर्को पात्र छोराले यथार्थलाई आत्मसात् गर्दै चेतना निर्मितिको आधार पदार्थ रहेको माक्र्सवादी चिन्तनलाई अँगीकार गरेकोले प्रस्तुत कृतिमा आदर्श र यथार्थका बिचमा द्वन्द्व रहेको प्रतीत हुन्छ । एकातर्फ आमाको ममता, छोराको वात्सल्य र अर्कोतर्फ राजनीतिको संघर्ष दुवै विषयवस्तुको उठान गरी लेखिएको पुस्तक आफ्नो उद्देश्य–विन्दुमा सार्थक उकालो चढ्न सफल छ ।

  • नल्लु-दलचोकी हाइकिङ : आजको नारा- भुँडी भित्र दाँत बाहिर

    नल्लु-दलचोकी हाइकिङ : आजको नारा- भुँडी भित्र दाँत बाहिर

    नाम के हो र ? काम पो ठूलो ! भन्नलाई यसै भनिन्छ तर बोलाउनलाई नाम नै चाहिन्छ । संसारको भौतिक, अभौतिक सबै चिजको नामको आ-आफ्नो भाषामा छ ।

    नामभित्र परम्परा छ । नामभित्र सभ्यता छ । नामसँग संस्कार छ । साहित्यकार मदनमणि दिक्षित माड्साव भन्नुहुन्थ्यो ‘जो सुकैसँग पनि परिचय गर्दा नाम थर , घर , देश भन्ने बित्तिकै उ कस्तो हो भन्ने आधा जानिन्छ, अरु व्यवहारबाट मात्रै ।’

    यहाँ मान्छेको हैन , भूगोलको नामको बारेमा कुरा गर्दैछु । यसपाला ह्याप्पी हाईकर्सबाट हाइकिङ रुटमा नाम राखियो नल्लु भन्ज्याङ दलचोकी हुँदै तीनपाने । दलचोकी र तीनपानेको नाम त सुनेको तर नल्लु भन्ज्याङको बारेमा नसुनेको मैले । नयाँ ठाउँको आकर्षणले तान्यो र जानेमा नाम टिपाएँ ।

    जिज्ञासा जाग्यो । के हो यो नल्लु ? नल्लु भन्ज्याङ ?

    गुगललाई सोधेँ । बतायो । ललितपुरको दक्षिणी भेक महाभारत श्रृंखलामा पर्छ नल्लु भन्ज्याङ र त्याहाँ छ पाथीभाराको मूर्ति त्यो थुम्को १८९० मिटर छ ।

    बाटोमा आउँदा सोच्दै आएँ । गुराँसका फूलहरू गाउँ जंगलमा बढ्दै गएका थिए । गुराँसजस्तै राता युवा किन गाउँ छाडिरहेछन् ? गाउँगाउँमा बाटो बनिरहेको छ । बनेको बाटो एक वर्षमै किन बिग्रिरहेको छ ? धेरै गाउँ र नगर मिलेर गाउँपालिका र नगरपालिका बनेका छन् । तर, किन ती पालिकाहरूले पालकको काम गर्न सकिरहेका छैनन् ?

    भयो अब यतिले मात्रै के बुझ्नु भनेर फेरि गुगल सर्च गरे । कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ मा पर्दछ नल्लु भन्ज्याङ भनेर गुगलले फेरि भन्यो र केही त्यहाँबाट देखिने फोटाहरू देखायो । झनै मन लोभियो । कहिले शनिबार आउला झैँ भयो । अग्लो पहाडबाट देखिने मनोहर दृष्यले झनै झन्कार पैदा गरायो ।

    शनिबारको प्रतीक्षामा सम्झेँ । गुगलले बताए भन्दा मान्छेको अनुभव कहाँ हो कहाँ ? गुगलले त राखेको न भन्छ । मान्छेको त आफ्नो भोगाई हुन्छ । ती मान्छेका अनुहार कथा कहानी र भूगोल हेर्न लालायीत भए ।

    फेरि कोन्ज्योसोमले कन्फ्यूज्ड बनायो । के हो यो भनेर गुगललाई सोधेँ । आजकल बा-आमा र दाजुभाइलाई भन्दा पहिले गुगललाई सोध्ने चलन नै भैसकेको छ । उहीँ चलन चलाएँ । ए ऊ त गाउँपालिका भैसकेको रहेछ ।

    पञ्चायतले गाउँ पञ्चायत भन्थ्यो । प्रजातन्त्रले गाउँ विकास समिति भन्यो । गणतन्त्र झन् के कम- धेरै गाउँ पञ्चायत वा विकास समिति समेटेर गाउँपालिका र नगरपालिका बन्यो । कोन्ज्योसोमले पनि चौघरे , शंखु , दलचोकी , नल्लु र भारदेउँलाई सर्लक्कै समेटेर बनेको रहेछ कोन्ज्योसोम । नाममा पनि व्यवस्था अनुरूप ईगो हुँदो रहेछ झैँ लाग्यो ।

    तामाङ भाषामा कोन्जो भनेको रत्न र सोम भनेको तीन हो । ७५.७८ प्रतिशत तामाङ समुदाय बसेकोले पहिचानको आधारमा यो नाम बनेको रहेछ ।

    फेरि तीन रत्न के हो भन्ने लाग्ला यहाँहरूलाई । बौद्ध दर्शनमा बुद्ध रत्न , धर्म रत्न र संघ रत्न वा मार्ग भनिन्छ । यो तीन रत्नलाई शरण स्थानको केन्द्र विन्दुमा स्वीकार गरी शरणगमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिहरूको समूहमात्र बौद्ध संघमा समाहित हुन्छन् । यहि तीन रत्न लिने यो गाउँपालिकामा यथेस्ट छन् । त्यसैले नै भारदेउको गुप्तेश्वरी सामुदायिक वनको फूलबारी डाडाँमा कोन्ज्योसोमको प्रतिमा छ । तीनवटा बुद्धको मन्दिर छ । स्वयम्भूको (४६फिट) बौद्धको मूर्तिभन्दा ठुलो (५६ बीचमा दायाँबायाँ ५२ फिट छ । यो तीन रत्नको उत्पत्तिसँगै हैन भर्खरै राखिएको हो । यो पनि पर्यटकीय केन्द्र बनेको छ अहिले ।

    कोन्ज्योसोम गाउँपालिकामा हिँडिरहँदा नल्लुमा हिँडिरहँदा यी कुरा जानियो । बुद्ध धर्ममात्रै हैन नल्लुमा हिन्दू धर्मको पनि आकर्षण रहेछ ।

    ताप्लेजुङबाट प्रतिमा ल्याएर पाथीभारा देवीको मन्दिर नल्लु भन्ज्याङमै राखिएको छ । पाथीभारा एक नाममा अनेक मन्दिर , होटल , यातायत कति के-के बनेका छन् छन् । पाथीभाराको नाममा एक मन्दिर यहाँ पनि रहेछ । भिडमभिड हुने रहेछ त्याहाँ । शनिबार भएकोले पनि होला पाथीमा धान, चामल र पैसा चढाउनेको भिड थियो ।

    मन्दिरमा टाढाटाढा देखि आएर पाठपूजा धर्मकर्म जपदान गर्ने रहेछन् । मन्दिरका पूजारी खतिवडा बाजे बिहान पाँच बजेदेखि बेलुका चार बजेसम्म मन्दिर खुल्ने बताउँदै थिए । रातो पोशाकमा सजिएका उनी , रातै टीका लिएर निधारमा रातो बनाउने टीका टाँसिदिने रहेछन् । प्रसाद रातै ध्वजा दिँदा रहेछन् । पाथीभारा ताप्लेजुङको झैँ ।

    पञ्चायतले गाउँ पञ्चायत भन्थ्यो । प्रजातन्त्रले गाउँ विकास समिति भन्यो । गणतन्त्र झन् के कम- धेरै गाउँ पञ्चायत वा विकास समिति समेटेर गाउँपालिका र नगरपालिका बन्यो । कोन्ज्योसोमले पनि चौघरे , शंखु , दलचोकी , नल्लु र भारदेउँलाई सर्लक्कै समेटेर बनेको रहेछ कोन्ज्योसोम । नाममा पनि व्यवस्था अनुरूप ईगो हुँदो रहेछ झैँ लाग्यो ।

    पाथीभारा नल्लुमा पसल थापेर बसेकी चिनीमाया घलान (७०) भन्दै थिइन्- ‘१५ वर्ष भयो मन्दिर बनेको २०६७ सालमा जयबहादुर स्याङ्तानले घर बनाउन ढुङ्गा खसाल्दा राति सपनामा तीन छोरीहरूले घर बनाउन पाइँदैन भन्दै इनारबाट पानी तानेर गाग्री र पाथी भरेर उनलाई दिएपछि त्याहाँ घर नबनाइ मन्दिर बन्यो, पहिले उनले ताप्लेजुङ पाथीभारा पुगेर कलश, बत्ती र त्रिशूल ल्याए र पछि एकै ढुङ्गाको पाँच फिट दुई ईन्चको मूर्ति बनाए र नवाह लगाएर यहाँ स्थापना गरियो ।’

    बुढी आमालाई मन्दिरभन्दा केही वरै भेटेको थिएँ । पछि मन्दिर नजिकै तल मोटरको ताँती देखेँ । मान्छेहरूको हुल नै देखेँ । सब पाथीभाराको प्रसाद लिन आएका रहेछन् ।
    पाटीको भित्तामा लेखिएको छ । चामल एक पाथी दुई सय । धान एक सय । मानामा द्रव्य पाँच सय । पाथीमा द्रव्य ३९ सय । लिएर कस्तो भाकल हो त्यसअनुसार चढाउने रहेछन् । हामी पनि पाथीभारा माताको मूर्तिको दर्शन गर्‍यौं । त्याहाँबाट देखिने मनोरम दृष्यहरूको फोटो खिच्यौं ।

    फोटो खिच्दाको आजको नारा थियो । भुँडी भित्र दाँत बाहिर । नमन बाबुबाहेक प्राय सबै चालिस कटेकाहरू हाइकिङ हिँडेका थिए । हुन पनि फोटो खिच्दा राम्रो आओस् /देखाउँ भनेर भ्यात्त भ्यागुताको जस्तो भुँडी स्वात्तभित्र तान्दथे । पुटुस्स पुन्टिएको भुँडी सुटुक्क भित्र हाल्दथे । जब फोटो खिच्ने भन्यो ठुस्स परेर खिच्ने कुरा भएन । हाँस्नै परयो । त्यसैले आजको यो नुमाकान्तजीको नारा सुहाएको थियो ।

    ०००

    गाउँ गाउँमा अहिले विकासको लहर छाएको छ । जहाँ जाउँ अहिले बाटो , स्कुल , मन्दिर , टावर यस्तै बनिरहेको बनिसकेको देखिन्छ । तर, सबै विकास दीर्घकालीन हुन सकेको छैन । यहाँ पनि हाइकिङ ट्रेल भत्काएर गाडी हिँड्ने बाटो बनाइ सकेछन् । वडाध्यक्ष र डोजर बसेपछि बाटो बन्यो तालमा बाटो यहाँ पनि बनिरहेको देखियो । बनेको बाटो पहिरोले, वर्षाले र केकेले केकेले खत्तम भइसकेको छ । बाटो बन्दैछ बिग्रँदैछ भइरहेको छ ।

    ०००

    झिसमिसेमै सदाझैँ ह्याप्पी हाईकर्सको गाडी चप्पल कारखानाबाट चढियो । ठेचो पुग्दा पनि रिमरिम उज्यालो थियो । धेरै घरहरूमा दैलोअगाडि रातोमाटोले पोतेर पूजा गरेको देख्दा सानैमा आमाले सखारैमा पिँढी पोतेको पुरानो काठमाडौं सम्झिएँ । सुनाकोठीको पिपलबोटमा पानी चढाउँदै परस्त्रीले पर्नपत्ते गरेको देख्दा पूर्ववृत्तमा पुगेँ । हेटौंडा जाने बाटो छाडेर लेले सरस्वती मन्दिरबाट अगाडि लागेर धुलाम्मे बाटो समात्यो बसले । शहर बनाउने नाममा मान्छे निष्ठुरी बनेको देखेँ । रुखहरू रोएको देखेँ । बिहानै रुखसँग सम्वाद गरेँ ।

    रुखले भन्यो- के गर्नु मान्छे पापी भए आफ्नो मात्रै सोच्ने भए

    मैले सोधेँ- किन त्यसो भनेको ?

    उसले भन्यो- हेर्नु न बिहानैको घाममा पनि म कति मैलिएको छु , यहाँ बस्ने चरा हराए, जंगली जनावर हराए मेरा कति साथी हराए , यी लहडमा बनेका बाटोहरूको कारण हाम्रो सत्यानाश भयो ।

    कुरा गरिरहँदा रुख रोए झैँ लाग्यो र भने झैँ लाग्यो ‘यहाँ मात्रै हैन देशैभरको यहि हालत छ, हामी हराउने मान्छे बस्ने भएर मान्छे बाँच्छ त ? ल भन्नुस् त ? जनावरभन्दा पनि जनावर त मान्छे पो भए । ‘

    मैले बोल्न सकिनँ । बस तालढुङ्गा जाने बाटो छाडेर पाथीभारा जाने बाटोको उकालो चढिरहेको रहेछ । म रुख हेरिरहेको थियो । बस घच्याक्क रोकियो ।

    ल ओर्लिऔ भनेपछि घडी हेरेको सात बजेको रहेछ ।

    ७ बजे हामी नल्लु भन्ज्याङ् ओर्लियौं । खुल्ला दिसामुक्त क्षेत्र कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा हार्दिक स्वागत गर्दछौं लेखिएको बोर्डभित्र टिनको टहरामा सानो पसल थियो । त्यही एकछिन बसेपछि रोटी तरकारी, अण्डा चिया सबैको जस्तै मेरो भागमा आयो ।

    आज जम्बो टोली थियो ।

    राजाराम फुयाँल जो बालसखा र टोली नेता थियो । उसकै छोरा नमन फुयाल, निरज गौतम, बिन्दा चौलागाईँ, निराकार श्रेष्ठ, राजकुमार श्रेष्ठ, नम्रता योगी, मनोज प्याकुरेल, राम श्रेष्ठ, सहदेव गुरुङ, अनमोल गुरुङ, अरुण मोक्तान, कृष्ण थापा, नुमानन्द बेलवासे, अरुण गौली, राजेन्द्र भण्डारी, प्रेमबहादुर थापा, सुमन लुईँटेल, राजन बराल, रेवत थापा, रतन शाह, विष्णुहरी पण्डित, मुना आचार्य, रोनिश श्रेष्ठ, सरिना महर्जन, पूजा जिरेल, अमी जिरेल, माया थापा, सानुमाया जिरेल, रमेश भट्ट, बम थापा, महेन्द्र दुलाल र म गरी ३३ जनाको टोली भएकोले पकाउँदै दिँदै गर्दा अलिक समय लाग्यो ।

    र, ८:०५ मा हामी त्यहाँबाट आर्मीले राखेको गेट हुँदै अगाडि बढ्यौं । आर्मीले द्वन्द्वकालमा राखेको ब्यारेक (जुन अहिले छैन) हुँदै हेलिप्याड पुग्यौ । त्यहाँ पुग्दा ८:३५ भएको थियो । लामपुच्छ्रे चराहरूको हुल एक रुखबाट अर्को रुखमा लागिरहेका थिए । मान्छेहरूको हुल देखेपछि उनीहरूको हुल बेपत्ता भयो । चउरमा एकछिन फोटो भिडिओ खिचियो र लागियो पाथीभारा मन्दिर नल्लुतिर ।

    बाटोमा आरु फूलिरहेको थियो सेताम्मे भएर । आलुबखडाको रुखहरूमा मस्त हरियो देखिएको थियो । आरुको रुखलाई ब्याकराउन्डमा राखेर फोटो खिच्न तछाडमछाड थियो । दुई स-साना फुच्चेहरू कुखुरा हेरिरहेका थिए । लोकल कुखुरा टन्नै थिए । कुमार बमजन ६ कक्षा र रोहित बमजन तीन कक्षा पढ्ने रहेछन् । विहानीको पारिलो घाममा भेटिएका उनीहरूको अनुहार पनि पारिलो थियो । कालो हुक निलो प्यान्ट र चप्पल अनि खैरो ज्याकेट निलो प्यान्ट र चप्पलमा सजिएका उनीहरू दाजुभाइ रहेछन् ।

    कुखुरालाई धपाउने सानो लठ्ठी लिएर दाजुभाइ गफिरहेका थिए । उनीहरू खुशी देखिन्थे । पढ्नु पर्दछ भन्नेमा थिए । यसले गाउँगाउँमा पढनु पर्दछ भन्ने पुगेको मलाई धेरै पल्ट लागेको थियो र यो पाली पनि यस्तै लाग्यो । अब बच्चालाई काम मात्रै लगाउने हैन पढने काम लगाउने चलन आएको छ गाउँगाउँमा । शहरमा त पढने मात्र र खेल्ने मात्र छ । तर, गाउँमा अझै खेती किसानी गर्दै पढने चलन छ । खेती किसानीमात्रै गर्ने बच्चा नपढाउने बाबुआमा अब अपहेलितमा पर्दछन् । यसले मलाई सन्तोषको आभाष दिइरहन्छ । यसैले पनि हरेकपल्ट बच्चाहरू भेट्दा पनि गफिइरहेको हुन्छु ।

    हिँड्दै जाँदा नयाँ दृष्य र नयाँ मान्छे देख्दै गइन्छ । केही पर गएपछि भेटिए रिमाल स्याङ्तान । उनले बताए नल्लु किन नल्लु भएको भन्ने कुरा । खोलासँगै नामहरू जन्मन्छन् । संसारमा धेरै ठाउँमा भूगोलको आधारमा, नदीनालाको आधारमा नामहरू जन्मन्छन् । नल्लु पनि खोला रहेछ उनको घर तल । उनले देखाउँदै भने ‘त्यही तलको नल्लु खोलाको नाममा यो ठाउँको नाम रह्यो । यो पर भारदेउँ गोटिखेल जाने बाटोबाट बगेर आउँछ । खासमा लेले र नल्लु जाने बाटो छुटिने डाडाँलाई नल्लु भन्ज्याङ भनिने रहेछ । तल तल्लो नल्लु र माथि पर्नेलाई माथ्लो नल्लु भन्छन् ।’

    काठमाडौं शहरमा मार्केटिङमा काम गर्ने उनी आफ्नो लुगा आफैँ धुँदै थिए । सफा पानीमा काठमाडौंको धुलो धुवाँले मैलाएको ब्यागलाई मिचिमिचि धुँदै थिए । त्यहाँबाट ठाडै वर्षाले भत्काएको भिरको बाटो जहाँ बाख्रामात्र मुस्किलले हिँड्ने ओरालो झर्दै झोलुङ्गे पुल तरियो नल्लु खोलालाई तल पारेर ।

    सबै विकास दीर्घकालीन हुन सकेको छैन । यहाँ पनि हाइकिङ ट्रेल भत्काएर गाडी हिँड्ने बाटो बनाइ सकेछन् । वडाध्यक्ष र डोजर बसेपछि बाटो बन्यो तालमा बाटो यहाँ पनि बनिरहेको देखियो । बनेको बाटो पहिरोले, वर्षाले र केकेले केकेले खत्तम भइसकेको छ । बाटो बन्दैछ बिग्रँदैछ भइरहेको छ ।

    पुल तरेको केहीबेरमै भेटिए- सुकुल डाडाँबाट खोलाको छेउ बगरमा बसेका रविन स्याङ्तान तामाङ । जति दुःख परे पनि हाँसेर बोल्ने गाउँले जनजीवन नै हो । जुन आम मान्छेको लागि प्रेरणा पनि हो । उनी पनि खोत्तरमा आएर बसेको चार पुस्ता भएछ । खोत्तर खोलाले उनलाई सोत्तर पारेछ । गत असोजमा आएको असरल्ल बाढीले उनको सपना पनि बगाएछ । भन्दै थिए- ‘बाढीले दुई भैँसी मर्‍यो , घर भत्कायो के-के भयो के-के भयो ।’

    लगातार ३६ घन्टा पानी परेपछि बाढी चार घन्टा आएछ । बारी सब बगाएर लगेछ । छानामा सुकुल र डस्ना सुकाइरहेको अझै पनि उस्तै छ । घर र मन बेस्कन चर्के पनि आँगनभरि ढुंगा बगाएर लेराए पनि, खेतबारी सबै गिङरिङले भरे पनि उनी मुसुमुसु हाँसिरहेका थिए । उनको कुरा सुनेर मेरो मन भने भारी भएको थियो । उनी भने हाँसिहाँसी ‘यस्तै त हो नि पहिले पनि २०३८ सालमा आएको थियो रे बाढी गर्दै जाउँला हेर्दै जाउँला अलिकति गाउँपालिकाले पनि सहयोग गरेकै छ के गर्नु दैव लागेपछि !’ भन्दै थिए ।

    बाढीले ठूलाठूला ढुङ्गा सानो-सानो पारेर फुटाउने रहेछ । नपत्याउने खोला खत्तरले खत्तमै पारेको दृष्य हेरियो । चाणक्यले भनेको सम्झे ‘आगोले दश गाउँ जलाउँछ पानीले सय गाउँ बगाउँछ ।’ त्यो गाउँ नै हाहाकार भएको रहेछ । प्रकृति र मान्छेको संघर्ष चलिरहने प्रकृया हो । मान्छे प्रकृतिसँग हार नखाई हिँडेको जीव हो भन्ने खत्तरले खतरासँग खेलेर हिडिरहेको देखेर फेरि एकपल्ट सिकेँ ।

    बिस्तारै ओरालो सकिएको थियो । अब उकालो हिँड्नु थियो । नल्लु भारदेउँ गुप्तेश्वर महादेव फुल्चोकी गोदावरी सबै देखाए जाडोमा तात्ने चिज खाएर ठिकठिक भएर बसेका श्याम स्याङ्तान । दुई कक्षामा पढ्ने नातीनीलाई लिएर उनी हल्लदै सब गाउँहरु बताइरहँदा पल्लो घरमा अर्का युवा देखिए । उनी पनि जाडोमा मातिएरै बसेका थिए ।

    श्यामसँग कुरा गरेको केहीबेरमै आएको थियो पाथीभरा मन्दिर । जहाँ हामी पौने दश बजे पुगेका थियौं । लगभग एक घन्टा मन्दिरमा अलमल गरेपछि अलमल नगर्ने भन्दै लागियो दलचोकीतिर ।

    ०००

    ‘त्यो यात्रा सुनौलो अनि साथ तिम्रो..’ भन्ने गीतजस्तै मान्छेहरू र प्रकृतिको कारण यात्रा सुनौलो हुन्छ । कौडिन्य ऋषिका सन्तान मनोज प्याकुरेल बडा मनमौजी लाग्यो । नाँच्ने , गाउने, हँसाउने, टिकटक बनाइहाल्ने उहाँको बानी रहेछ । हरेकका आफ्नो कथा हुन्छन् । म त हरेक मान्छे नलेखिएको किताब हो भनेर लेख्नु पर्दछ मान्छेको किताब भनेर लेखन कुञ्ज चलाएर हिँडेको मान्छे उहाँ पनि त्यस्तै खुल्ला किताब लाग्यो ।

    रिसर्चमा लाग्नुभएको रहेछ र त्यसैले दालभात ज्यूनार गर्नुभएको रहेछ । संसारै सानो भैसकेको समयमा देश त झनै सानो हुने नै भयो । यही यात्रामा मित्र ठाकुर बेलबासेका दाइ नुमानन्द बेलबासेसँग भेट भयो । मित्र शिशिर भट्टका भाइ रमेश भट्ट भेटियो । भाइ निरज गौलीको भाइ अर्जुन गौली भेटियो । जिरेल चेलीहरूले त्यही भाषामा गाएको गीत सुनियो । यातायतसम्बन्धी सहयात्रा नामक एप्स चलाउँदै गरेका रोनिश श्रेष्ठसँग गफगाफ भयो । नयाँ सपना, नयाँ योजना बोकेका मान्छेहरू पनि प्रकृतिको नजिकमा गएर आफैँलाई सिर्जनशील बनाएको देखेर सहज महशुस गरेँ ।

    बाटोमा भेटियो अक्षरहरू बोलिरहेका । दलचोकी स्वास्थ्य चौकी र कोन्ज्योसोम गाउँपालिकाको कार्यालय नजिकैको बोर्डका अक्षरहरू मलाई पढ् भनिरहेका थिए । मैले पढेँ ।
    लेखिएको थियो-

    वनमा चरोको बास

    कृषिमा किराका नाश

    बढदो बालको आश

    कृषकलाई सुखको सास

    त्यसैले वन डढेलोबाट वनलाई बचाऔं ।

    वतावरणलाई सन्तुलन गराउन मद्दत गरौं ।

    डिभिजन वन कार्यालयको बोर्डसँगै जुम्ल्याहा भएर बसेको अर्को बोर्डमा लेखिएको थियो-

    विवाहवारी २० बर्ष पारी

    नगरौं बिहेको कुरा, भएको छैन २० वर्ष पूरा

    तल बोर्डमा २० बर्ष नपुग्दै विवाह गरे के-के कसुर र सजाय हुने भनेर लेखिएको थियो । सबैभन्दा माथि कोन्ज्योसोमको नारा थियो-

    कृषि, पर्यटन वातावरण र पूर्वाधार

    सुशासनयुक्त सभ्य र समृद्ध कोन्ज्योसोमको आधार

    नारालाई पछाडि छाड्दै हामी अगाडि बढ्यौं ।

    दलचोकी खुब पढिरहेको थिएँ । दलचोकी फूलचोकीको भाइजस्तै लाग्यो नामले । तर, हैन यसको आफ्नै अस्तित्व रहेछ । यो नाम पृथ्वीनारायण शाहसँग गएर जोडिँदो रहेछ । चारैतिरबाट काठमाडौंलाई आक्रमण गर्न थालेका पृथ्वीनारायण शाहले ललितपुरको दक्षिणी डाँडोबाट पनि युद्ध छेडे । आज त मनोरम जंगल रहेको त्यो ठाउँमा उतिबेला कति जंगली जनावर थियो होला ? सेनाहरू डराएर तितरबितर हुन थालेपछि बाठा पृथ्वीनारायण शाहले धर्मको दुहाई दिएछन् ।

    भगवतीको पूजा गरी सैनिकको दल राखेर चौकी स्थापना गरेछन् । देवीको पूजा गरेको ठाउँ कालान्तरमा दलचौकी हुँदै दलचोकी भएको मानिन्छ । दलचौकीबाट ४ किमी पर २२६० मिटर उचाइमा पृथ्वीनारायण शाहले मनकामना मन्दिर भनेर पूजा गरेको स्थानमा अहिले मनकामना मन्दिर छ । २०५२ सालमा विधिवत रुपमा गोरखाबाट मनकामना ल्याएर मनकामना स्थापना गरिएको रहेछ ।

    २०७२ सालको महाभूकम्पले मन्दिर ध्वस्त पारेपछि त्यहाँ शिव मन्दिर र मनोकामना मन्दिर श्री रणसिंहदल गणका सकल दर्जाको अथक प्रयास स्थानीयको सहयोगमा पुन निर्माण भई २०७३ बैशाख २४ गते कार्य सु-सम्पन्न भएको रहेछ । मनकामना मन्दिर पुग्दा बिहानको ११ बजेर २३ मिनेट गएको थियो ।

    मनकामना मन्दिरसम्म आउने बाटो बनेकोले त्यहाँ पिकनिक मनाउन धेरै गाडीहरू आउँदो रहेछ । जसका कारण हाईकर्सलाई धुँलोको छालमा हिडेझै हुने रहेछ । जुत्ता त हिलोमा गाडिए झैँ धुलोमा गाडिएको थियो ।

    मन्दिरनजिकै बसेर केहीबेर सुस्ताउँदै नट्स र फलफूल बाँडचुड गरेर खाएपछि १५ मिनेट उकालो लागियो । जहाँ दलचोकी भ्यू टावर भेटियो । २३०० मिटर उचाइमा रहेको यो टावरबाट हिमालको ताँती नै देखिन्छ । मौसम त्यति नखुलेको कारण हामीले किरिङमिरिङ काठमाडौं देख्यौं । डोजरको दाह्रा र नङ्ग्राले कोतरेर प्लटिङ गरेका डाँडा देखियो । बाढीले बित्याँस पारेको जंगलको पहिरो देखियो । वर्षाले विषाद् पारेको बाटोहरू हेरियो । तराईको फाँट देखियो र महाभारत श्रृंखला देखियो ।

    भ्यूटावरको बिजोग थियो । गाउँपालिकाले भ्यूटावर बनाए भनेर आफ्नो प्रोफाईलमा गर्व गरे पनि त्यहाँ खुल्ला साँढे छाडेजस्तै भ्यूटावरलाई छाडेकैले होला भित्तामा फोहोरले दृष्य प्रदूषण नै भयो । असाध्यै फोहोर गरेर राखिएको छ । मित्र राम श्रेष्ठले त दलचोकी टावरको हरिविजोग भनेर भिडिओ नै बनाउनुभयो ।

    बाढीले ठूलाठूला ढुङ्गा सानो-सानो पारेर फुटाउने रहेछ । नपत्याउने खोला खत्तरले खत्तमै पारेको दृष्य हेरियो । चाणक्यले भनेको सम्झे ‘आगोले दश गाउँ जलाउँछ पानीले सय गाउँ बगाउँछ ।’ त्यो गाउँ नै हाहाकार भएको रहेछ । प्रकृति र मान्छेको संघर्ष चलिरहने प्रकृया हो । मान्छे प्रकृतिसँग हार नखाई हिँडेको जीव हो भन्ने खत्तरले खतरासँग खेलेर हिडिरहेको देखेर फेरि एकपल्ट सिकेँ ।

    जति अग्लो ठाउँमा चढे पनि त्यहाँ धेरै बेर बसिरहँन मिल्दैन सकिँदैन । यहि नियम लागू गर्दै आधा घन्टाको दृष्यपान गरी ओरालो झर्‍ंयौ तीनपाने । मोटरको धुले बाटो हुँदै ओरालो झर्दै साढे दुई बजे तीनपाने आईपुग्यौं । त्यहाँबाट हिँड्दा दिनको ३:३० भएको थियो ।

    बाटोमा आउँदा सोच्दै आएँ । गुराँसका फूलहरू गाउँ जंगलमा बढ्दै गएका थिए । गुराँसजस्तै राता युवा किन गाउँ छाडिरहेछन् ? गाउँगाउँमा बाटो बनिरहेको छ । बनेको बाटो एक वर्षमै किन बिग्रिरहेको छ ? धेरै गाउँ र नगर मिलेर गाउँपालिका र नगरपालिका बनेका छन् । तर, किन ती पालिकाहरूले पालकको काम गर्न सकिरहेका छैनन् ?

    सातदोबाटोबाट जम्मा २५ किमीको यो गाउँलाई काठमाडौंको कर्णाली किन भनिन्थ्यो ? र भनिन्छ ? प्रश्नहरू धेरै आए । सोध्ने कसलाई ? यो प्रश्नले सबै प्रश्नहरू गायब भए । फेरि अर्को हाइकिङमा केही उत्तर आउला कि भन्दै आफैँ अलप भएँ अहिलेलाई ।

  • नेपाली सेनामा तलब सुविधाको लागि १८२ वर्ष अगाडि भएको त्यो विद्रोह !

    नेपाली सेनामा तलब सुविधाको लागि १८२ वर्ष अगाडि भएको त्यो विद्रोह !

    काठमाडौं । आज शिवरात्री । आजै नेपाली सेना दिवस । नेपाली सेनाको २६२ औं दिवस मनाउन नेपाली सेनालाई धमाधम छ । सेना मात्रै होइन, नेपालको कूटनीतिक नियोग पनि व्यस्त छ ।

    सोमबार साँझ बंगलादेशको राजधानी ढाकामा सेना दिवसको छेका पारेर नेपाली दूतावासको ‘रिसेप्सन’ समारोह आयोजना गरेको थियो । बंगलादेशका प्रधानसेनापति वाकर उज जमान प्रमुख अतिथि भएको समारोहमा उनले नेपाली सेनाले नेपालभित्र र बाहिर गरेको प्रयत्नको चर्चा गरेका थिए ।

    यो सामाग्रीमा भने नेपाली सेनाको इतिहासको एक विद्रोहको कथाको चर्चा गरिएको छ । मदन पुरस्कार २०८० प्राप्त पुस्तक ‘मुकाम रणमैदान’मा लेखक तथा पत्रकार मोहन मौनालीले नेपाली इतिहासका धुलो धमिरा लागेका पुराना ढड्डाका कागजातहरु, चिठीपत्रहरु खोतलखातल गरेर ल्याएको तथ्यले नेपाली सेनामा भएको विद्रोहको कथा देखाउँछ । विद्रोह तलब सुविधासँगै जोडिएर आएको छ ।

    तानसेनाबाट तातेको नेपाली सेनाको विद्रोहः यसरी कुटपिटमा परेका थिए कमान्डर

    उसो त अहिले पनि नेपाली सेनामा काम गर्नेहरुको तलब भत्ता राम्रो छैन । न उनीहरुको निजामती कर्मचारीको जस्तो स्वतन्त्रता छ । न त छ आकर्षक अतिरिक्त भत्ता । अहिलेको अवस्थामा यस्तो छ भने नेपाल अंग्रेज युद्धताका कस्तो थियो होला ? अनुमानै काफी छ । अझ सेनाको नियमित जागिर तलब भत्ताको युग नभएको समस्या झन विकराल थियो । त्यस्तो समस्याबाट जुध्न एक पटक नेपाली इतिहासमा सैनिकहरुले विद्रोह गरेका थिए ।

    राजाले आदेश दिएर पाल्पाका सिपाइहरुको जागिर गयो । र कमान्डरहरुले आफूसँग भएका ‘तानाबाना’ अर्थात सैन्य पहिरन चिन्ह लगायका सामाग्रीहरु बुझाउन आग्रह गरे । एकातर्फ जागिर जानु । अर्कोतर्फ ‘तानाबाना’ बुझाएर आफ्नो बिचल्ली हुनु । यी दुई कुराले बिच्किए सैनिकहरु । एक हजार बन्दुकधारी सैनिकहरु बिच्किएको त्यो विद्रोह गर्ने जमातलाई ‘हजार नाल’ भनिन्छ ।

    हजार नाल अनुहारहरु उत्रिए विद्रोहमा । यो कुरा वि. सं. १८९९ चैतको हो । सैनिकहरुले विद्रोहको झोंक आफ्ना सैनिक कमान्डरहरुमाथि बर्साए । उनीहरुले ‘पगरीहरु’ अर्थात् अफिसरहरुलार्इं भकुर्न थाले । सुबेदार रणध्वज कार्कीले मुक्कैमुक्का भेटे । बिच्किएका सैनिकहरुले भकुर्दा भकुर्दा सुबेदार बलभद्र माझीको एक आँखो बिग्रन पुग्यो । अर्का सुबेदार रणकेशर बस्न्यातले इन्तु न चिन्तु भएर खुन छादे ।

    ‘दफदरखाना’का खर्दार जागेश्वर पाँडे भने बाहुन भएकोले जोगिए । तत्कालीन समयमा ब्राह्मण हत्या गर्दाका कानूनी र धार्मिक जटिलताले उनीहरुले पाँडेलाई बल प्रयोग गरेर बिजोग बनाएनन् । बन्धक मात्रै बनाए ।

    मुक्का भेटेका ‘कुम्मेदान’ जयभद्र थापा टाप ठोके भने सुबेदार चक्रध्वज शाही टुँडिखेलमा देखै परेनन् । तीनलाई खोज्न सैनिकहरु मिहिनेत गरिरहेका थिए । सैनिकहरुले तानसेनको टुँडिखेलमा अड्डा जमाएर नाल बोकेर बसे । नेपाली सेना थर्कमान भयो । त्यो थर्कमानको झिल्को पाल्पा तानसेनबाट रणध्वज पाँडेले १८९९ चैत ‘वदि १३ रोज ३’ मा पाल्पाको मुकाम तानसेनबाट पठाएको ‘अर्जि’मा देखिन्छ ।

    यसरी सैनिले विद्रोह गरेको एक शताब्दी हाराहारी पछि वि.सं. १९८९ मा आएर मात्रै नेपाली सेनामा एक वर्षको लागि मात्रै नियुक्त गरिने ‘पजनी’ प्रणाली हट्यो र सुरु भयो नियमित जागिर ।

    नेपाल अंग्रेज युद्धमा लडेका सैनिककै थियो आर्थिक पीडा

    नेपाल अंग्रेजको युद्धताका धेरै नेपाली सैनिकहरुले ज्यान फालेर देश र नरेशको नाममा लडे । तर, उनीहरु लडेर पनि आर्थिक सुरक्षा भएन । नालापानीको प्रख्यात युद्धका एक अनुहार रिपुमर्दन थापाले युद्धको दुई वर्षपछि १८७३ भदौमा लेखेको पत्रले त्यसको पुष्टि गर्छ ।

    डडेलधुराबाट भीमसेन थापा र रणध्वज थापालाई लेखिएको पत्रमा भनिएको छ, ‘ढाक्य्रा हुँदा पनि कति बाली पाइनँ । जागिर्या हुँदा पनि पूरा बाली पाइनँ ।’

    अंग्रेजसँगको युद्धको मौजारोपछि राजासँग बिदा लिएर काठमाडौँबाट मकवानपुर, माडी सिंहविर पाँडे र कर्णवीर पाँडेले पनि फौजको दुःख लेखेर पठाएका थिए । उनीहरुले लेखेका थिए, ‘चितवनका अनाज नल्याए पल्टनलाई खान नपुग्ने रहेछ ।’

    नेपाली सेनाको जागिर गुमाएका एक सैनिक अर्जुन बानियाँले आफूले गोरखा पल्टनमा काजी अमरसिहं थापाको फौजमा हवलदार हुँदा मोरनीगढीको युद्धमा तरबार दुई टुक्रा पारेर तीन वैरी हानेको तथा ठेवकगढीको युद्धमा पनि एक अर्को वैरी हानेको तर आफ्नो आर्थिक सुरक्षा नभएको गुनासो गरेका छन् ।

    उनले लेखेका छन्, ‘मजत्तिका अरु मानिस सुनको चाँद बाँधी ढल्केर हिँड्छन् । मैले भने दुःख पाएँ ।’ उनले भावनात्मक भएर थपेका छन्, ‘लडाइँमा मानिस हान्नु हाम्रो जन्माधिकार हो । मलाई चाहिँ मानिस हानेको पाप लाग्यो । मानिस हानेको पाप छुटाउनका निमित्त तीर्थ गर्न जाँदो हुँ ।’

    गढवालको युद्धमा लागेकाहरु धेरैले अंग्रेजको पक्षमा लागे । सबै खरखजाना ल्याउने मान्छे भएनन् । बागसिंह गुरुङले गढवालको झाम्टागढीबाट डोटीसम्म सबै थोक ल्याउन ऋण नै लाग्यो । त्यो ऋणको पैसा उठ्न त कहाँको कहाँ भएको जागिर पनि गयो गुरुङको ।

    अनि उनले राजाको नाममा एक पत्र लेखेर भनेका थिए, ‘नालनिशान, खरखजाना मेरा एक्ला जीउले स्याहारेर डोटीमा काजी बखतावर बस्नेतछेउ बुझाइदिएको थिए । नालनिशाल र खरखजाना ल्याउँदा ३०० रुपैयाँ कर्जा लागेको थियो । म गरिबले सकेसम्मको नूनको सोझो टहल गरेको थिएँ । आज मेरा अभागले जागिर पनि मिलेन । कर्जा पनि तिर्न सकिएन ।’

    पृथ्वीनाराणय शाह सेनाको घरखेत र छाती बलियो बनाउने पक्षमा थिए

    नेपाली सेनाको अहिलेको संगठनका संस्थापक पृथ्वीनाराण शाहलाई मानिँदै आएको छ । देशभर राजाका फोटो हट्दा पनि सैन्य शिविरबाट नहट्नुको भावनात्मक र वैधानिक नाता यो पनि हो ।

    पृथ्वीनारायण शाह सेनाको पक्षमा प्रष्ट थिए । सेनाको सेवा सुविधा र इज्जत दिने कुरामा उनको लाइन क्लियर थियो । यो कुरा उनले दिएको अर्तिमा सेनाको सम्मानको बारेमा र सेवा सुविधाको बारेमा प्रष्ट भनिएको छ । पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा सेनाको तलब सुविधा र सम्मान बारेमा यस्तो भनेका छन्ः

    ‘जड कुरो राजालाई चाहिने सिपाहीरुको घरखेत मिलाइ दिनू । उनीहरु खेत मलजल गर्छन् । त्यसबाट आएको मोही र साहु दुवै भाग भित्र्याउँछन् र जहान परिवार पाल्ने चिन्ता हुँदैन । ढोकामा भए पनि, गैँडामा भए पनि सिपाहीहरुको छाती बलियो हुन्छ ।’

     

  • तपाईँ खुसीमा देश बनाउँछु भन्नुहुन्छ, अनि दु:खी हुँदा देश छाड्छु ?

    तपाईँ खुसीमा देश बनाउँछु भन्नुहुन्छ, अनि दु:खी हुँदा देश छाड्छु ?

    केही दिनअघि अनामनगरको एउटा क्याफेमा एक साथीसँग गफिँदै थिएँ । धेरैपछि भेट भएकोले कुराकानीको सुरूमा केही अफिसियल अनि आफ्ना पछिल्ला दिनहरूको व्यस्तताबाट गर्‍यौं । गफ गर्दै जाँदा उहाँ नयाँ ऊर्जासहित आफ्नो जन्म ठाउँ छोडेर फरक केही गर्छु भन्दै राजधानी आउनुभएको रहेछ । उहाँको अनुहारमा केही गर्नुपर्छ भन्ने जोश जाँगार र उत्साह प्रस्टै झल्किएको थियो । केही योजना, केही आशा र केही थान रहरका पोका बोकेर काठमाडौं सहरमा सपनाको उडान भर्न आएको कहानी सुनाउन थाल्नुभयो ।

    मलाई पहिले धेरै बोल्न मन पर्थ्यो, तर आजभोलि सुन्ने काम बढी मन पर्न थालेको छ । घन्टौंसम्म झन्झट नमानी कसैको कुरा सुन्न सक्छु । आजभोलि अधिकांश मानिस सुनाउन उत्सुक हुन्छन्, सुन्ने धैर्यता कमैसँग हुन्छ । यदि सुनिहाले भने पनि जवाफ फर्काउन सुन्छन् न कि बुझ्नको लागि । त्यसैले होला त्यो भिडबाट म आफूलाई फरक पाउँछु ।

    त्यस दिन पनि कुरा जमेको थियो । क्याफेमा म सुनेर नथाक्ने अडानमा थिएँ भने उहाँ बोलेर नथाक्ने जिद्दीमा । त्यसैले होला धेरै समय बस्दा पनि गफ अझै सकिएको थिएन बरु साँझ परिसकेको थियो । तर, हाम्रो गफको सूर्य भर्खर उदाउँदै थियो । गफ जीवन, राजनीति, भौतिक संसार, आध्यात्म सबैको भइरहेको थियो । सुरूमा कुरा गर्दा उहाँको मुहारमा छुट्टै चमक देखिइरहेको थियो ।

    उहाँ मानव भएर जन्मेपछि हामीले धेरै योगदान दिनुपर्छ यो समाजलाई भन्दै हुनुहुन्थ्यो अनि सुनाउँदै हुनुहुन्थ्यो- यो मेरो जन्मभूमि समाज परिवार धेरैले मलाई म बन्न धेरै कुरा खर्चिएको छ । त्यसैले मैले पनि केही न केही यो मेरो गाउँ समाज राष्ट्रलाई फिर्ता गर्नुपर्छ र म मेरो काम निष्ठापूर्वक गर्छु भन्दै हुनुहुन्थ्यो । यो सबै कुरा गर्दैगर्दा उहाँको अनुहारमा चमक कायम नै थियो । उहाँको कुरामा म स्वयं आफैँ पनि डुबिरहेकी थिएँ ।

    अब युवामा देखिएको नैरास्यतालाई खुसीमा परिणत गर्नेछ । हाम्रा युवा वैदेशिक शिक्षाको नाममा विदेशमा पिल्सनु पर्ने परिपाटी अन्त्य हुनेछ । विदेशमा अपमान र तिरस्कारको जीवन होइन, सम्मान र सत्कारका साथ रहने वातावरण बन्नेछ ।

    उहाँभित्रको त्यो जोस र जाँगर भरिएको कुराले मलाई पनि ऊर्जा दिइरहेको थियो । हो त जिन्दगीमा धेरै कुरा गर्नु छ, धेरै छुटेका कुरालाई मिलाएर लानुछ । हामी आफ्नो लागि मात्र होइन । परिवार समाज र देशका लागि पनि केही गर्नुपर्छ, भन्ने लागिरहेको थियो । उहाँ आफ्नो सपनाको उडानको काहानी सुनाउँदै हुनुहुन्थ्यो । म एक टक उहाँको अनुहार हेर्दै कुरामा डुबिरहेको थिएँ । त्यतिकैमा एकजना वेटर हाम्रो टेबलमा अर्डर लिन आउनुभयो । उहाँले अमेरिकानो सिंगलसट मगाउनुभयो मैले मेरो फेवरेट मसाला मिल्क टी अर्डर गरेँ ।

    केही समयमा हाम्रो अघि दुई फरक च्वाइस कफी र चिया आयो । उहाँले कफीको चुस्की लिँदै भन्नुभो, तपाईँलाई थाहा छ यो कफीको कल्चर कहाँबाट कहिलेदेखि सुरू भएको हो ? मैले भने पक्कै पनि विदेशबाटै होला ? नेपालदेखि त पक्कै होइन ? मैले उहाँको प्रश्नमा जिज्ञासा सहितको प्रश्नै तेर्स्याएँ, उहाँले भन्नुभयो- सही भन्नुभयो ! कफीको इतिहास इथियोपियासँग जोडिएको छ । त्यहाँका जंगलमा यसका बिरुवा निकै तीव्र गतिले हुर्किएपछि । बिस्तारै मानिसहरूको ध्यान यसतर्फ मोडियो । त्यसपश्चात सन् १६५१ मा बेलायतको अस्फोर्डमा विश्वकै पहिलो कफी हाउस खुलेको थियो । त्यसपछि लण्डनमा पनि कफी हाउस खोलियो । त्यसपछि त कफी हाउस पोर्टो क्लब जस्तै बने ।

    अनि बिस्तारै अमेरिका यूरोप हुँदै । विश्वभरी फैलियो नेपालमा त भर्खर-भर्खर मात्र व्यापक भएको हो । हामीले प्रयोग गर्ने कफीहरू पनि केही नेपालमै उत्पादन भए पनि माग धान्न नसकेर विदेशबाटै निर्यात हुन्छ । हामी त सबैमा अरुमै त निर्भर छौं के मा पो आत्मनिर्भर छौं र ? त्यत्तिकैमा उहाँ एकछिन एकोहोरो कतै हराएको जस्तो हुनुभयो ।

    मैले उहाँलाई हेल्लो सरकार ! एकाएक ध्यान केमा अड्कियो भनेर प्रश्न गरे, उहा झसंग झस्के जसरी केही समयअघिको ऊर्जाशील र आत्मविश्वासले भरिएको आवाजलाई थकित मुद्रामा लगेर भन्न थाल्नुभयो, हामी आफूलाई वीर नेपाली स्वाभिमानी नेपाली कसैसँग गुलाम नभएको आत्मरतिमा रमाउँछौं । तर, हामीले दाँत कोट्याउने सिङ्कादेखि सियोसम्म पनि बाहिरबाट ल्याउनुपर्छ । हामीलाई के अब पनि स्वाभिमानी भन्न सुहाउँछ त ? देशमा बेरोजगारी गरिबि यति चरम रूपमा मौलाइरहेको छ ।

    यस्तो अवस्थामा के मेरो भविष्य यहा सुरक्षित होला त ? अनि के मेरो सपना पूरा होला त ? के मेरो एक्लो प्रयासले यो देशको परिवर्तन सम्भव होला त ? मेरो एउटा मुर्ख्याइँ र पागलपनाले मेरो सिंगो जिवन र जवानी व्यर्थै खेर त जाँदैन ? भन्दै भविश्य प्रति शंका,डर, अनिश्चिताको कालो बादल उहाँको अनुहारमा एकाएक मडारियो । म एकैछिन अगाडि उहाँका कुरामा मोटिभेट भएको मान्छे हेरेको हेरै भएँ, केही समयअगाडि खुसी हुँदा आफ्ने लक्ष्य प्राप्तिको निमित्त मिहिनेत गर्छु, केही समय आफूलाई खर्चिन्छु, असल मान्छे बन्छु देश परिवर्तन गर्न २०८४ को चुनावमा म आफ्नो जन्म जिल्लाबाट उठ्छु अनि यो मान्छे नेता भएर आएपछि यो सबै राम्रो परिवर्तन गर्‍यो नेता भनेको यस्तो पो हुनु पर्छ भन्ने बनाउँछु भन्दै हुनुहुन्थ्यो । उहाँभित्र देशमा आमूल परिवर्तन ल्याउने आगो दन्किरहेको थियो ।

    तर, केही क्षणमै त्यो आगो निभ्यो । किनकी उहाँले सम्झिन थाल्नुभो देशको अवस्था, केही गर्छु देशमै भन्दा आफन्त, गुरुहरूले होइन तिमीजत्तिको मान्छे विदेश गएको नै राम्रो भनेर सम्झाएको कुरा, यो देशमा केही हुन्न पुराना बुढा नेताहरूले देश सिध्याइसके भनेर चोक चौतारो चिया पसलमा गुञ्जिएको जबरजस्त भाष्य, सम्झेर उहाँ झसङ्ग हुनुभएछ ।

    अनि भन्न थाल्नुभो केही क्षणअघि देश बनाउँछु भन्नुभएको अब विदेश जान्छु रे ! अनि यति बेरसम्म कुरा सुनेर बसेको मैले भनेँ- तपाईँ खुसी हुँदा देश बनाउँछु भन्नुभयो अनि दु:खी हुँदा विदेश जान्छु भन्नु हुन्छ । सायद यो व्यथा हरेक युवाको हुनुपर्छ ।

    घटना फरक होला, विषय फरक होला, पात्र फरक होला तर कहानी सबैको एकै हो, अवस्था सबैको उस्तै हो । हरेक युवा एक समय कट्टर राष्ट्रवादी बन्छ, देश बनाउँछु भनेर कम्मर कस्छ । तर, जब घरदेखि दस पाइला बाहिर निस्कन्छ उसले धुलाम्मे सडक देख्छ, सडकमा धुवाँ फ्याक्दै हिँडेको सवारी देख्छ । त्यही सडक पेटीमा हिँडिरहेका हरेक मानिसको मुहारमा निराशाको धुलो र पीडाको तुवाँलो मडारिएको देख्छ । अनि उसको राष्ट्रवाद र देश प्रेम त्यही बेला सहिद हुन्छ । उसको सपना रहर र इच्छाले त्यही बेला आत्महत्या गर्छ ।

    हरेक नेपाली युवाहरूले आफ्नो आत्माको, इच्छाको, सपनाको हत्या गर्दै मनमा नेपाल, गलामा राष्ट्रिय झण्डा र आँखामा आँशु बोकेर आफू जन्मेको देश, आफ्नो परिवार साथीसंगीलाई चटक्कै छाडेर भाषा, भेष, भूगोल, संस्कृति केही नमिल्ने अर्को समाजमा गएर समाहित हुन पुग्छन् । यो बाध्यताको भुमरीमा हरेक नेपाली युवाको जीवन र जवानी परेको छ । धेरै आफ्ना सपना पूरा गरेर देश फर्कन्छन् त केहीका सपना काठको बाकसमा । दैनिक रूपमा नेपालमा ४ वटा शवको हाराहरीमा विदेशबाट आइपुग्छ ।

    उहाँले सम्झिन थाल्नुभो देशको अवस्था, केही गर्छु देशमै भन्दा आफन्त, गुरुहरूले होइन तिमीजत्तिको मान्छे विदेश गएको नै राम्रो भनेर सम्झाएको कुरा, यो देशमा केही हुन्न पुराना बुढा नेताहरूले देश सिध्याइसके भनेर चोक चौतारो चिया पसलमा गुञ्जिएको जबरजस्त भाष्य, सम्झेर उहाँ झसङ्ग हुनुभएछ ।

    सन् २०२३ मा १२ लाख ६३ हजार ४६९ जना नेपाल फर्किएका थिए भने सन् २०२४ मा १३ लाख ११ हजार तीन सय ७० विदेशबाट फर्किएका छन् । हामी नेपाली विदेश गएको मात्र देख्छौं तर पछिल्लो दुई वर्षको तथ्यांक हेर्ने हो भने लाखौंको संख्यामा नेपाली नेपाल फर्किएका पनि छन् ।

    रेक युवाको रोजाइमा त्रिभुवन विश्वविद्यालय पर्नु पर्ने ठाउँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको छ ।

    आफ्नो ऊर्जाशील जवानी र जोसलाई अरुको देशमा खर्च गरेर बुढो र रोगी शरीर बोकेर आफ्नो देश फर्किरहेको नेपालीको न अनुहारमा चमक हुन्छ न आत्ममा आत्माविश्वास, ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…’ होइन यो नेपाली पासपोर्ट उचाली देश विदेशको गल्लीमा भौतारिन्छ । भन्ने अवस्था बनेको छ ।

    आशा छ सरकारले अब समयमै यस विषयमा गम्भीर रूपमा सोचेर युवा शक्तिलाई देशमै परिचालन गरि विकास र समृद्धिमा फड्को मार्ने छ । शिक्षित कर्मठ युवाहरूलाई देशमै केही गर्न सकिन्छ भन्ने भाव जगाउने छ । युवा जनशक्तिलाई देशको आमूल परिवतर्नको निमित्त सदुपयोग गर्नेछ ।

    अब युवामा देखिएको नैरास्यतालाई खुसीमा परिणत गर्नेछ । हाम्रा युवा वैदेशिक शिक्षाको नाममा विदेशमा पिल्सनु पर्ने परिपाटी अन्त्य हुनेछ । विदेशमा अपमान र तिरस्कारको जीवन होइन, सम्मान र सत्कारका साथ रहने वातावरण बन्नेछ ।

    हाम्रा युवा अब यो देशमा विरक्तिएर होइन, आफैँसँग हार खाएर होइन सुन्दर सपना देखेर आफ्नो सपना साकार गर्न खुशीका साथ विदेशको उडान भर्नेछन् । र, त्यहाँ लिएको शिक्षाको प्रयोग आफ्नो देशको परिवर्तनको निमित्त गर्ने छन् । र, हाम्रो देश पनि विश्वमा एक विकसित र खुसी मुलुक बन्नेछ ।

  • मजदुरीको सिलसिलामा कोरियाले दिएको सुन्दर उपहार हो ‘नवयुगकी सुम्निमा’ : कवि शकुन आँसु

    मजदुरीको सिलसिलामा कोरियाले दिएको सुन्दर उपहार हो ‘नवयुगकी सुम्निमा’ : कवि शकुन आँसु

    कवि शकुन आँशुले भर्खरै कवितासंग्रह सार्वजनिक गरिन् ‘नवयुगकी सुम्निमा’ । यस संग्रहमा ४२ थान कविताहरुलाई दुई खण्डमा विभाजन गरिएको छ, ‘समय यात्रा’ र ‘सिली सिलसिला’ नाम दिएर । कवि श्रवण मुकारुङले भने झैं अभिव्यक्तिको उपल्लो तहमा पुगेर लेखिएका छन् ।

    डेढ दशकदेखि कविता लेखनमा सक्रिय शकुन आँसुका कविताबारे कवि मुकारुङले विमोचन कार्यक्रममा भनेका थिए, ‘अभिव्यक्तिको उपल्लो तहमा पुगेर कविताले सृजना पस्कनुभएको छ । शकुन आँसुको कविताको शक्ति नै यही हो ।’

    पुर्ख्यौली घर खोटाङ भएकी शकुन आँसु मजदुरीको सिलसिलामा एक दशक कोरियामा रहिन् । उनका कविताहरुमा कोरियामा रहँदाका अनुभूतिहरु पनि प्रचुर मात्रामा पाइन्छ । उनै कवि शकुन आँसुलाई हामीले पाँच प्रश्न सोधेका छौंः

    एक दशक समय बिताएँ मैले कोरियामा । ‘नवयुगकी सुम्निमा’ कोरियाले नै दिएको सुन्दर उपहार हो । त्यहाँ रहँदाका कठिन परिस्थिति, फरक भाषा र सृजनशील साथीहरूको सङ्गत अनि साहुले दिने गाली र तलब ! यी सारा अनुभूतिहरुलाई मैले कविता बनाएर लखेँ ।

    -तपाईलाई के चिजले कविता लेख्न उत्प्रेरित गरिरहन्छ ? कविता लेख्नुको आनन्द के हो ?

    मेरो मन एकदमै कोमल छ । स-सानो कुराहरूमा दुखिहाल्छ, जस्ले गर्दा कहिलेकाहीँ रातभरि निदाउन सक्दिनँ । तिनै दुखाका अनुभूतिहरुलाई पनि कवितामा समेट्ने गर्छु ।

    अनि हामीले सोचे जसरी समाज चलिरहेको हुँदै । नचाहँदा नचाहँदै मुटु मिचेर अचम्म अचम्मका घटनाहरूको साक्षी बन्नुपर्छ । त्यस्ता घटनाहरुले मलाई एकदमै विछिप्त गराउँछ । त्यस्ताहरुबारे आफ्नो धारणा राख्न म कविताको सहयोग लिने गर्छु ।

    अर्को कुरा चाहिँ यात्रामा भेटिने, छुटिनेहरुले केही न कहेी दिएर वा लिएर जान्छन् । त्यसको हिसाबकिताब पनि म कविता लेखेरै चुक्ता गर्नें गर्छु । सायद अशान्त मन, पोखिन नसकेको आँखाको भाव कवितातिर पोखिन्छ सायद । त्यसरी पोखिँदा प्राप्त हुने आनन्द अव्यक्त हुन्छ ।

    -कविता लेखनमा के विषयले बढी आकर्षित गर्छ तपाईंलाई ?

    म कविभन्दा पहिले त असल पाठक हुँ जस्तो लाग्छ । अग्रज स्रष्टाहरुलाई पनि पढिरहन्छु । उहाँहरुको कविता पढ्दा कुनै न कुनै कुराले प्रेरित गरिरहन्छ । मलाई चाहिँ कवितामा विचार र कलाको सुन्दर संयोजनले धेरै नै आकर्षित गर्छ । अनि पहिचानको मुद्दा र अदिवासी जीवनपद्दतिले बढी आकर्षित गरिरहेको हुन्छ ।

    -कोरिया बसाई कविता लेखनको लागि कतिको उर्वर रह्यो ?

    एक दशक समय बिताएँ मैले कोरियामा । ‘नवयुगकी सुम्निमा’ कोरियाले नै दिएको सुन्दर उपहार हो । त्यहाँ रहँदाका कठिन परिस्थिति, फरक भाषा र सृजनशील साथीहरूको सङगत अनि साहुले दिने गाली र तलब ! यी सारा अनुभूतिहरुलाई मैले कविता बनाएर लखेँ । त्यसैले कोरिया बस्दा पैसाभन्दा सयौंगुणा बढी अमूल्य चिज केही कमाएँ भने त्यो कविता नै हो ।

    -तपाईको कविता सङग्रह पाठकले किन पढ्ने ?

    यो कवितासंग्रह पढ्दा पाठकले मैले बाँचेर, भोगेर आएको परिस्थिति र परिवेश पाउनुहुनेछ । विविध विषयवस्तुमाथि मेरा नित्तान्त नीजि जीवनदृष्टिकोण पाउनुहुनेछ । यो कवितासंग्रह शकुन आँसु भन्ने व्यक्तिको प्रतिछाया हो ।

    -कसका लागि कविता लेख्नुहुन्छ ? तपाई जस्का लागि कविता लेख्नुहुन्छ, ती मान्छेले तपाईको कविता बुझ्छन् जस्तो लाग्छ ?

    म ती मानिसहरुका लागि कविता लेख्नु, जो सकसपुर्ण जीवन बाँचिरहन्छन् । जो परदेशमा पसिना बगाएर रेमिटेन्समार्फत् देश बचाइरहन्छन् । उनीहरुको मिहेनत र पसिनाको सम्मानका खातिर म कविता लेख्छु । परदेश त यस्तो ठाउँ हो, जहाँ मनको कुरा बुझिदिने, सुनिदिने मनहरु अत्यन्तै न्यून भेटिन्छन् । यो तीतो अनुभूति मेरो आफ्नै भोगाइ पनि हो ।

    मलाई त के लाग्छ भने जो जो नेपालीहरु परदेशमा हुनुहुन्छ, उहाँहरु सबै कवि लेखक हो । कसैले अक्षरको सहारा लिएर लेख्छन्, कसैले यसै छाडिदिन्छन् । मेरा कविता जसले जसरी बुझ्नुहुन्छ, उहाँहरु स्वतन्त्र हुनुहुन्छ । तर, यति चाहिँ भनिहालुँ, मैले जसका लागि कविता लेख्छु, उहाँहरुले मेरा कवितामा कतै न कतै आफूलाई पाउनुहुन्छ सायद ।

    ०००

  • गोर्खा मेजर राईको आत्मकथा ‘घुर्बिसेदेखि बकिङ्ह्याम’ सम्म सार्वजनिक

    गोर्खा मेजर राईको आत्मकथा ‘घुर्बिसेदेखि बकिङ्ह्याम’ सम्म सार्वजनिक

    काठमाडौं । गोरखा मेजर स्व.बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ को विमोचन भएको छ । जेठा राई फाउन्डेसनको आयोजनामा नयाँ बानेश्वरस्थित इन्द्रेणी स्वीट्स‌मा विमोचन भएको हो ।

    किताबमा मेजर राईको जीवन मात्रै नभई गोर्खा इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई समेत चित्रण गरिएको राष्ट्रियसभा सदस्य जयन्ती राईले बताइन् । उनले भनिन्, ‘पुस्तकले मेजर राईको जीवनकथा मात्रै भनेको छैन, यसले गोर्खा सैनिकमा भर्ना भएका नेपालीको इतिहासदेखि वर्तमानसम्मलाई खोतलखातल पारेको छ । यो किताब शिक्षामूलक छ ।’

    त्यस्तै पूर्वमन्त्री हेमराज राईले मेजर राईको जीवनकथालाई आउने पुस्तालाई ऊर्जा दिने बताए । नेपाली सेनाका उपरथि नरेश चन्द्र भट्टले भने, ‘उहाँ एकदमै ऊर्जाशील र प्रेरणादायी हुनुहुन्थ्यो । यो पुस्तकले उहाँको त्यो स्वभावलाई थप प्रमाणित गरेको छ ।’

    किरात राई यायोख्खाका पूर्वअध्यक्ष कूलबहादुर राई प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा जयकुमार राई, हरिवंश किराँत, किताबका सम्पादन प्रगति राई, चाम बहादुर राई, पृथ्वी राज मुकारुङ, वरिष्ठ गीतकार शुभ मुकारुङ, वरिष्ठ लोक गायक तथा संकलक दिलेन्द्र मुकारुङ,वरिष्ठ सस्कृतविद तिर्थराज मुकारुङ लगायतको बाक्लो उपस्थित रहेको थियो ।

  • प्रधानमन्त्रीको जन्मदिनमा एक राष्ट्रसेवकको अपेक्षा

    प्रधानमन्त्रीको जन्मदिनमा एक राष्ट्रसेवकको अपेक्षा

    आजको यो विशेष अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई हृदयदेखि नै जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु । राष्ट्र निर्माणको कठोर यात्रामा तपाईँको योगदान अतुलनीय छ । तपाईँको दृढ नेतृत्वमा देशले आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रामा ठूला फड्काहरू मार्दै गएको छ ।

    तपाईँको नेतृत्वमा देशले भूकम्पपछिको पुनर्निर्माणदेखि कोभिड-१९ महामारी व्यवस्थापनसम्म, राष्ट्रिय स्वाभिमान उच्च राख्ने विदेश नीतिदेखि ठूला पूर्वाधार परियोजनाहरूको थालनीसम्म अनेक महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने तपाईँकै अभियानले देशमा नयाँ आशा र उत्साह भरेको छ ।

    म निजामती कर्मचारीको हैसियतमा राष्ट्रसेवकका रूपमा कार्यरत छु । राष्ट्रसेवक हुनु भनेको केवल एउटा पेशा होइन, यो त राष्ट्रप्रति हाम्रो सर्मपण हो, जहाँ हाम्रा श्रम, समय र समर्पण समेटिएका छन् । प्रशासनिक संरचनाको मेरुदण्डको रूपमा हामीले संघ, प्रदेश र स्थानीय तहमा दिनरात खटेर जनतालाई सेवा पुर्‍याउने जिम्मेवारी बहन गरिरहेका छौँ । तर, संघीय निजामती सेवा ऐन अहिलेसम्म जारी नहुनु सम्पूर्ण निजामती सेवामा कार्यरत राष्ट्रसेवकका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

    संघीयता कार्यान्वयन भएको लामो समय भइसक्दा पनि संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अधिकार, कर्तव्य र उत्तरदायित्व स्पष्ट पार्ने कानूनी आधार अझै पूर्णरूपमा तयार हुन सकेको छैन। यसले राष्ट्रसेवकहरूको मनोबलमा असर पार्नुका साथै प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन कठिनाइ उत्पन्न गरिरहेको छ ।

    तपाईँको नेतृत्वमा सरकार अघि बढिरहँदा, यस हिउँदे अधिवेशनमै गहन छलफल गरी संघीय निजामती सेवा ऐन जारी गर्ने कार्यमा तपाईँको विशेष पहल रहनेछ भन्ने गहिरो अपेक्षा राख्दछु । यस कानूनले निजामती सेवालाई थप सुदृढ गर्दै, कर्मचारीहरूको सेवा, सुरक्षाको प्रत्याभूति दिलाउनेछ र संघीय प्रशासनलाई अझ प्रभावकारी बनाउनेछ ।

    राष्ट्रसेवकका रूपमा, हामी सरकारका नीतिहरू कार्यान्वयन गर्ने मुख्य सम्वाहक हौं । हाम्रो मनोबल उच्च रहनु भनेको सरकारको कार्यसम्पादन अझ प्रभावकारी बन्नु हो ।

    त्यसैले, ऐनलाई केवल कानूनी दस्तावेजका रूपमा होइन, बरु निजामती सेवाको मार्गचित्रका रूपमा अपनत्व गर्न सक्ने गरी यसको निर्माण हुनु अपरिहार्य छ । राष्ट्रले तपाईँलाई केवल एक नेताका रूपमा मात्र होइन, कुशल अभिभावकका रूपमा पनि हेरिरहेको छ । जो स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि समर्पित छ, जसले नेपाललाई अझ गौरवशाली बनाउन नेतृत्व दिन सक्छ ।

    तपाईँको निरन्तर प्रेरणाले हामी राष्ट्रसेवकहरूलाई अझ इमानदार, निष्कलंक र समर्पित भएर काम गर्न हौसला प्रदान गरिरहेको छ। तपाईँको दीर्घायु, उत्तम स्वास्थ्य र सफल कार्यकालको कामना गर्दै, नेपाललाई आत्मनिर्भर, सुव्यवस्थित र समुन्नत बनाउने तपाईँको अभियानलाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।

    (लेखक त्रिपाठी नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष हुन् ।)
  • विराटनगर भिडन्तमा जीबी र सीबीले राणाको गोलीबाट यसरी जोगाए बीपीलाई

    विराटनगर भिडन्तमा जीबी र सीबीले राणाको गोलीबाट यसरी जोगाए बीपीलाई

    काठमाडौं । नेपाली कांग्रेसको मुक्ति सेनाले विराटनगर कब्जा लगभग गरिसकेको थियो । क्षति कम गरेर राणालाई आत्मसमर्पण गराउने लाइनमा थिए पूर्वी कमाण्ड प्रमुख बीपी कोइराला । त्यही भएर कर्नेल उत्तमविक्रम राणालाई माइकमा आग्रह गर्दै बीपीले भनेका थिए, ‘कर्नेल साहेब ! तपाईँका छेउमा मेरो आवाज पुगेको छ भने केही बेरका लागि फायरिङ रोक्न लगाउनुहोस् ।’

    बीपीले माइकिङमा नरमता देखाउँदै थपेका थिए, ‘हामी राणातन्त्रका विरोधी हौं तर राणाका शत्रु होइनौं । मुक्ति सेनाका धेरै प्रमुखहरु राणा परिवारकै सदस्य छन् । तपाईँ जस्ता योग्य र अनुभवी प्रशासक नेपालको जुनसुकै सरकारका लागि पनि आवश्यक पर्नेछ ।’

    बीपीले भेट्ने कुरा पनि गरेर आग्रह गरेका थिए, ‘तपाईँ आफ्नो किल्लाबाट अङ्गरक्षको एउटा समूहसँग बाहिर निक्लिएर हुलाक कार्यालयको बार्दलीमा आउने कृपा गर्नुहोस् । म पनि अगाडि आएर त्यही ठाउँ पुग्नेछु, यदि तपाईँ चाहनुहुन्छ भने ।’

    विश्वबन्धु थापा नेपाली कांग्रेसबाट राजा महेन्द्रले २०१७ को ‘टेकओभर’ पछि कांग्रेसबाट अलग भए । उनी राष्ट्रिय पञ्चायतको प्रथम अध्यक्ष पनि भएका थिए । उनै थापाको ‘पञ्चायत’ सम्बन्ध सात सालबाटै भएको रेणुले लेखेका छन् ।

    बीपीको कुरा अनुसार सुनुवाइ पनि भयो । दोहोरो भिडन्त रोक्ने र सेतो झण्डा देखाउने काम भयो । राणाको तर्फबाट पर भित्ताबाट सेतो झण्डा आयो । मुक्ति सेनाले पनि सेतो झण्डा देखायो । अब युद्ध रोकिने छाँट देखियो । तर, राणाले गद्धार गरे । मेसिनगनबाट पटट… गोली बर्साउन थाले । मुक्ति सेनाले राणाले काठमाडौं पढाएको आकाशवाणी ‘इन्टरसेप्ट’ गरेर सुन्दा राणा भन्दै थिए, ‘हामीले बीपीलाई सिध्याएका छौं । हो हो … घाइते मात्रै भएका होइनन् । समाप्तै पारिए । निश्चित हो । बीपी मारिएकै हुन् । हामीले बीपीलाई मार्‍यौं ।’

    मुक्ति सेनाको लागि विराटनगरमा आकाशवाणी स्थापना गर्न सहयोग गरेका तथा विराटनगर मोर्चालाई प्रत्यक्ष हेरेका फणीश्वरनाथ रेणुले सन् १९७७ मा प्रकाशन भएको हिन्दी भाषाको पुस्तक ‘नेपाली क्रान्ति कथा’ मा यस्तो लेखेका छन् । गत शनिबार उक्त किताबको नेपाली अनुवाद ‘सात सालको कथा’ को नाममा नेपालयले सार्वजनिक गर्‍यो । तुलसी भट्टराईले अनुवाद गरेको किताबमा रेणुले बीपीलाई धोका दिएर राणाले मार्न खोजेको तर उनी बचाइएको बारेमा रोचक लेखेका छन् ।

    पुस्तक लोकापर्ण गर्दै अनुवादक तुलसी भट्टराई, तारिणीप्रसाद कोइराला परिवार सदस्य इन्दिरा कोइराला र वक्ता भाष्कर गौतम ।

    पुस्तकको सातौं अध्यायमा बीपी कसरी जोगिए भन्ने सवाल जोड्दै भनिएको छ, ‘याक्थुम्बा र सीबी सुब्बा दुवैले तत्कालै बीपीलाई अङ्कमाल गरेर यन्त्रचालित मेसिनले जसरी ट्रेन्चभित्र झारे र जमिनमा सुताए ।’

    आफैँलाई मार्न खोज्नेको ज्यान बचाउने बीपीसँग रोए कर्नेल राणा

    सेतो झण्डा उठाएर पनि बीपीतर्फ गोली हानेर काठमाडौंमा बीपी मारियो भन्ने सन्देश पठाएका कर्नेल उत्तमविक्रम राणाको परिवारलाई जोगाउन बीपी आफैं सक्रिय भएका थिए । बीपीमाथी गोली चलाइएपछि मोर्चा कमान्डर जीबी याक्थुम्बा र सीबी सुब्बाले निर्णायक आक्रमण गरे । आक्रमणमा एक लास मुक्ति सेनाले घिस्याँउदै ल्याए । बीपीले थाहा पाए त्यो कर्नेल उत्तमविक्रमण राणाका साइँला पुत्र सुदर्शनशमशेरको शव हो । त्यसपछि बीपी उत्तम विक्रमको घरमा पुस्ने ढोकामा हात फैलाउँदै भन्न थाले– ‘स्टप फायरिङ ।’

    कर्नेल परिवारै सखाप हुने अवस्थमा बीपीले आश्वस्त बनाउँदै सबै सुरक्षित हुने बताए । तर, उनीहरू मुक्ति सेनाले बन्दि हुने पनि सुनाए । ज्यान जोगिने निश्चित भएसँगै उत्तमविक्रमका आँशु थामिएनन् । उनी भन्न थाले, ‘प्रभु ! हजुर त साक्षात् देवता हुनुहुँदो रहेछ । म देवहत्या, ब्रह्महत्या गर्न तम्सिएको थिएँ । मलाई माफी गर्नुहोस्, म अपराधी हुँ ।’

    युद्धमा दयालु सुवर्णशमशेर

    मुक्ति सेनाका कमान्डर इन चिफ अर्थात् ‘सर्वाधिनायक मेजर जनरल’ सुवर्णशमशेर पनि युद्धमा दयालु देखिएको रेणुको युद्ध वर्णनले देखाउँछ । जीबी याक्थुम्बाले काठमाडौंबाट आएका राणाका सैनिकहरुलाई धराप थापेर मार्ने योजना सुनाउँछन् । दोस्रो विश्व युद्धमा प्रयोग गरिएको यो चर्चिच युद्ध तरिका सुवर्णशमशेरले मान्दैनन् । उनी जीबी याक्थुम्बलाई सम्झाउँदै भन्छन्, ‘हामीले अर्को दुश्मन देशसँग लडाइँ गरेका होइनौँ । हामी त आफ्नै देशभित्रको निरङ्कुश व्यवस्थासँग लड्दैछौँ । तिनै सैनिक भोलि हाम्रो काममा आउँछन् । निर्दोषहरूको हत्या गर्नु हुँदैन । हामी त मुक्तिसङ्ग्रामी हौँ ।’

    मुक्ति सेनामा भारतीयको उपस्थिति र ‘कोइराला भनेको के हो’ भन्दै पत्रकारको प्रश्न

    ७ सालको क्रान्तिमा होमिएको मुक्ति सेनामा भारतका धेरै अनुहार थिए । जसमा एक लेखक फणिश्वरनाथ रेणु थिए । बीपी पिता कृष्णप्रसाद कोइरालाले संचालन गरेको विद्यालयमा प्रारम्भिक शिक्षा लिएका रेणु तारिणिका साथी थिए । रेडियो प्रजातन्त्र नेपालका एक संस्थापक थिए । भारतीय साहित्यका एक नोटेट नाम रेणुबारेमा बीपीले लेखेका छन्, ‘रेणु पनि क्रान्तिमा सहभागी भए र मुक्ति सेनाको बर्दीमा मसँगै बन्दूक बोकेर लडाइँमा होमिए । त्यही बेला उनले नेपाली कांग्रेसको प्रचारप्रसार तथा प्रतिबन्धित आकाशवाणी विराटनगरमा स्थापना गर्न महत्वपूर्ण भूमिका पूरा गरेका थिए ।’

    सुभासचन्द्र बोसको ‘आजाद हिन्द फैज’का चर्चित लडाकु पुरनसिंह मुक्ति सेनाका मेकानिक थिए । गुरिल्ला युद्धका प्रशिक्षक भोला चटर्जी भारतकै थिए । वनारस विश्वविद्यालयका भारतीय विद्यार्थी दशरथ चौधरी तथा कयौँ भारतीय समाजवादीहरू आएका थिए । जीबी याक्थुम्बाको फौजमा मात्रै २५ जना समाजवादीहरू भएको रेणुले लेखेका छन् । पूर्वी मोर्चामा भारतको पूर्णिया जिल्लाका १५० सामाजवादीहरु आएका थिए ।

    बीपीले माइकिङमा नरमता देखाउँदै थपेका थिए, ‘हामी राणातन्त्रका विरोधी हौं तर राणाका शत्रु होइनौं । मुक्ति सेनाका धेरै प्रमुखहरू राणा परिवारकै सदस्य छन् । तपाईँ जस्ता योग्य र अनुभवी प्रशासक नेपालको जुनसुकै सरकारका लागि पनि आवश्यक पर्नेछ ।’

    कोलकाताबाट तारापद बाबु तथा अर्का समाजवादी मधुसुधन सिंह भारतीय नै थिए । कोसी नदी क्षेत्रको मुक्ति सेना कमान्डर कुलदिप झा पनि भारतीय । यो सवाल मुक्ति सेनालाई पत्रकारहरुले सोधेका थिए । जवाफमा प्रचार अधिकारीले भनेका थिए, ‘पत्रकार महोदय ! यसअघि तपाईँले यो प्रश्न किन नसोधेको ? कृष्णप्रसाद कोइरालाले भारतीय स्वतन्त्रता सङ्ग्रामका लागि जीवन किन अर्पण गरे ? उनका छोराहरूले किन भारतीय स्वतन्त्रता लडाईँमा जेलयातना रोजे ?’

    कोइरालाबारेमा पनि पत्रकारहरूले प्रश्न थियो– ‘धेरैजसो गुरिल्ला दलपतिहरुको नामसँग कोइराला जोडिएको छ । यो कोइराला भनेको के हो ? कमरेड भनेजस्तै कुनै शब्द हो कि ?’

    सात सालबाटै ‘पञ्चायत’ मा जोडिएका थिए विश्वबन्धु थापा

    विश्वबन्धु थापा नेपाली कांग्रेसबाट राजा महेन्द्रले २०१७ को ‘टेकओभर’ पछि कांग्रेसबाट अलग भए । उनी राष्ट्रिय पञ्चायतको प्रथम अध्यक्ष पनि भएका थिए । उनै थापाको ‘पञ्चायत’ सम्बन्ध सात सालबाटै भएको रेणुले लेखेका छन् । रेणुले नेपालमा ग्रामीण क्षेत्रमा नेपाली कांग्रेसको सत्ता स्थापना बनाउन पन्चायतको कल्पना गरिएको कुरा जोडेर त्यसो गर्न भारतबाट प्रशिक्षक नरसिंह मण्डल ल्याइएको बताएका छन् ।

    उनले पञ्चायतसँग विश्वबन्धुको सम्बन्ध जोड्दै लेखेका छन्, ‘नागरिक सुरक्षा समितिका दुई प्रमुख अधिकारी शिवहरि र विश्वबन्धुको संयुक्त सुझावअनुसार छिटै नै ग्राम पन्चायत तालिम शिविर चलाउने र प्रशिक्षित कार्यकर्तालाई मात्र ग्राम पन्चायतको सङ्गठनका लागि गाउँ-गाउँ पठाउने निर्णय हुन्छ ।’

  • दुःखी आत्मा- यौनजन्य विषयवस्तुमा दर्शक हँसाउने प्रयास

    दुःखी आत्मा- यौनजन्य विषयवस्तुमा दर्शक हँसाउने प्रयास

    कविता लेखनमै भविष्य खोजिरहेको एक कवि छ छेवाङ लामा(दयाहाङ राई) । ऊ साम्राज्यवादको विरोध गर्छ, अमेरिकाविरुद्ध कविता लेख्छ । पूँजीवादको विरोध गर्छ । कफी पिउँदैन । मजदुरहरुको पक्षमा बोल्छ । सीमान्तमा रहेका, उत्पिडनमा बाँचेका मानिसहरुको पक्षमा चर्को कविता लेख्छ ।

    कविता लेखनमा तिखो कलम चलाउने ऊ यौनको मामलमा भुत्ते छ । यौन दुर्बलता लिएर बाँचिरहेको छ । यौन दुर्बलताकै कारण हीनताबोधले ग्रस्त छ । आफ्नो समस्या न साथीभाइलाई सुनाउन सक्छ न त घर परिवारलाई । कसैले चुइँक्क मेसो मात्रै पायो भने ‘नामर्द’को ट्याग लाग्छ भन्ने भय छ उसलाई । समाजमा ‘नामर्द’ को ट्याग भरिमाग्नु भनेको मर्नु सरह हो भन्ने चिन्तनले ग्रस्त छ ऊ ।

    लेखनमा प्रगतिशील भए पनि व्यवहारमा पुरातन सोच भएको पुरुष हो छेवाङ । उसले आफ्नो समस्या कसैलाई भन्न सकेको छैन । ऊ भित्रभित्रै मानसिक रुपमा बिरामी हुँदै गएको छ ।

    यौन दुर्बलताकै कारण प्रेमिकासँग शारीरिक सम्बन्ध राख्न सक्दैन । त्यसैले प्रेमिकाले छाडेर गइ । त्यही दुर्बलताकैबीच नयाँ युवती अनामिका (आँचल शर्मा)सँग उसको भेट हुन्छ । प्रेम झांगिएर बिछ्यौनासम्म पुग्छ । के यहाँ पनि उही पुरानै कथा दोहोरिन्छ कि नयाँ शीराबाट प्रेमकथा अगाडि बढ्छ त ? ‘दुःखी आत्मा’को कथा यही प्रश्नको उत्तर दिँदै अगाडि बढेको छ ।

    नाम ‘दुःखी आत्मा’ भए पनि कथालाई हाँस्यप्रधान बनाउन खोजिएको छ । दर्शकहरु हाँस्छन् पनि । तर, हाँस्यरसका कारण होइन, यौनजन्य र द्वीअर्थि संवादहरुका कारण हाँस्छन् । छेवाङले ‘समस्या भएकाले उपचार गर्न आएको’ भन्ने संवाद बोल्दा पनि दर्शक हाँस्छन् ।

    यौन आशयका गतिविधि र दृश्यहरु बग्रेल्ति छन्, जहाँ कमेडीको ‘क’ पनि  छैन् । यौन मिसिएको सामान्य दृश्यमा, सामान्य संवादमा पनि दर्शक किन हाँस्छन् त ? यो चलचित्र नेपाली समाजको कुण्ठित यौन मनोविज्ञान यसको कारण हुन सक्छ ।

    संसारभर सबैभन्दा बढी चासो गरिने, तर खुला बहस नगरिने विषय यौन हो । नेपाली समाज त यौनको विषयमा धेरै नै रुढिग्रस्त छ । यहाँ जबरजस्ती यौन स्वास्थ्यलाई दबाइन्छ । नेपाली समाजको त्यही प्रवृत्तिको प्रतिनिधि पात्र हो, छेवाङ । ऊ यौन दुर्बलता हटाउन ठगी उद्देश्यले खोलिएका क्लिनिकहरुमा पुग्छ । धामी झाँक्रीको शरणमा पुग्छ । भ्रामक बुटीहरुको प्रयोग गर्नुपर्ने अवस्थामा पुग्छ । शक्ति तेल नामक अप्रमाणित र अस्वास्थ्य औषधिहरुको शरणमा पुग्छ ।

    सँगै साहित्य क्षेत्रका विकृतिहरुलाई पनि चलचित्रमा उजागर गर्न कोसिस गरिएको छ । पैसाका लागि अरुको नाममा कविता लेख्न विवश हुन्छ छेवाङ । सृजनालाई होइन, आफ्नालाई पुस्कार बाँडिने विकृतिलाई छुन खोजिएको छ ।

    सत्ता र शक्तिमा बसेर अरुको शोषण गर्न उद्दत हुनेले नै मुक्ति, स्वतन्त्रता र न्यायको वकालत गर्ने प्रवृत्तिलाई चन्द्र मोक्तानमार्फत् देखाएका छन् । चन्द्र मोक्तान तिनै हुन्, जो पैसाको तुजुक देखाएर छेवाङहरुको सृजना किन्ने दुस्साहस गर्छ । जो आफ्नै गलैंचा फ्याक्ट्रीका मजदुरको श्रम शोषण गर्छ, अनि न्यायका खातिर लेखिएको कविता किनेर आफ्नो नाममा किताब छाप्छ ।

    गम्भीर मुद्दाहरु उठाउँदै कथालाई अगाडि बढाइएको ‘दुःखी आत्मा’मा दयाहाङको अभिनय उनका अघिल्ला चलचित्रमा भन्दा अलिकति फरक स्वादको छ । आँचल शर्माको अभिनय पनि ठिकै छ, पात्रलाई न्याय गरेकी छन् । प्रशंसालायक अभिनय चाहीँ अनुपविक्रम शाहीको छ । नेपाली समाजको असली प्रतिनिधिको रुपमा अनुपविक्रमले पात्रमार्फत् न्याय गरेका छन् । बाँकी फिलरको रुपमा प्रयोग गरिएका कलाकारहरुले ठिकठाक अभिनय गरेका छन् ।

    ट्रेलर, टिजर सार्वजनिक भएपछि चलचित्रमाथि अनेक खाले पतिक्रिया आएका थिए । यौनिक आशयका संवादहरु चर्चित र विवादित बनेका थिए । ट्रेलर र टिजर हेरेर दर्शकले जे जस्तो लख काटे पनि दुई घण्टा १९ मिनेट लामो चलचित्रले यौन स्वास्थ्यमाथि बहसको आवश्यकतामा जोड दिएको छ । वैज्ञानिक उपचार विधि अपनाए यौन दुर्बलता पुनर्जन्मको पाप नभएर सामान्य समस्या मात्रै हो भन्ने दाबी पेश गरेको छ ।

    चलचित्रको कथावाचनमा नयाँपन भने छैन । औसत नेपाली चलचित्र जसरी खिचिन्छ, त्यसरी नै क्यामेरा चलाइएको छ । ब्याकग्राउण्ड संगीत थोरै लाउड छ, तर पात्रको मुड र दृश्यअनुसार प्रयोग गरिएकाले ठिकै लाग्छ ।

    भक्तपुरको दरबार स्क्वायरतिर दयाहाङलाई नजानी नजानी नचाइएकोे गीत चलचित्रमा जबरजस्ती घुसाइएको छ । घाँटीमा न्याक्दै लगेर जबरजस्ती नाच्न लगाएको जस्तो लाग्ने कोरियोग्राफी भएको ‘जुनी जुनी भरिलाई’ बोलको गीतले कथालाई कुनै सहयोग गरेको छैन ।

    अति हतारमा अनामिका र छेवाङको लभ पारिएको छ । ब्रेकअपको रनाहमा भएकी अनामिकाको कवितासँग कुनै साइनो हुँदैन÷देखाइएको छैन । तर, अचानक ऊ छेवाङको कविताको फ्यान हुन्छे । यी दुईको प्रेम सम्बन्ध स्थापित गराउन तर्कसंगत परिस्थिति निर्माण गर्न सकिएको छैन ।

    सरसर्ती हेर्दा यौनको बाटो समातेर निर्माण गरिएको ‘व्यवसायिक’ चलचित्र हो ‘दुःखी आत्मा’ । बिक्ने विषय छनोट गरेर निर्देशक लामाले यौन स्वास्थ्यको हवाला दिँदै चलचित्रलाई चलाखीपूर्ण अवतरण गराएका छन् ।

    चलचित्रमा कवि श्रवण मुकारुङका १० वटा कविता छन् । तपाईं मुकारुङको कविताको नियमित पाठक हुनुहुन्छ भने चलचित्रका कविता ठिकठकै मात्रै लाग्न सक्छ । यद्यपि पात्रको मुड र परिस्थितिअनुसार कवितालाई प्रयोग गरिएकाले दर्शकलाई बोर नलाग्न सक्छ ।

     

  • द्वन्द्वकालमा माओवादीले देउवामाथि ‘भूलवस’ गरेको त्यो आक्रमण !

    द्वन्द्वकालमा माओवादीले देउवामाथि ‘भूलवस’ गरेको त्यो आक्रमण !

    काठमाडौं । माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो । लडाकुहरू शिविरमा भएपनि बल प्रदर्शन जारी नै थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र सांसद गगनकुमार थापाको टोलीलाई चितवनमा गरिएको आक्रमण त्यसैको उदाहरण हो ।

    घटना २०६६ कात्तिक ९ गतेको हो । तरुण दल चितवनले आयोजना गरेको कार्यक्रममा नारायणगढ पुगेका देउवा तथा गगनको टोलीमाथि माओवादीले आक्रमण गरे । उनीहरूलाई कुनै चोट भने लागेन । तर, कांग्रेसका दर्जन बढी कार्यकर्ता घाइते भएका थिए । यो घटनालाई भारतको हिन्दूस्तान टाइम्सले पनि प्राथमिकताका साथ छापेको थियो । समाचारमा माओवादीहरूले खुकुरी र तरबारले आक्रमण गरेको लेखिएको थियो ।

    माओवादीले देउवालाई गरेको आक्रमण यही पहिलो भने थिएन । युद्धकालमा पनि कैलालीमा अत्याधुनिक बन्दूकबाट आक्रमण गरिएको विषय अन्तर्राष्ट्रिय समाचार बनेको थियो । भारतीय अखबार टेलिग्राफ इण्डियाले माओवादीले नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ज्यान लिन खोजेको भनेर समाचार प्रकाशन गरेकाे थियो ।

    राजा ज्ञानेन्द्रले देउवालाई सत्ताच्यूत गरेको केही समयमा साे आक्रमण भएको हाे । टेलिग्राफको समाचारमा माओवादी प्रभावित क्षेत्रका गाउँलेहरूसँग भेटघाट कार्यक्रममा पुगेका देउवा चढेको गाडीमा आक्रमण गरिएको तर देउवालाई कुनै चोट नलागेको उल्लेख थियो । युद्ध तथा द्वन्द्व क्षेत्रमा काम गर्ने संस्थाहरूले पनि यो आक्रमणको चर्चा गरेका छन् ।

    देउवाको टोलीलाई एलएमजीबाट आक्रमण

    शेरबहादुर देउवालाई गरेको आक्रमणबारे कैलालीका पत्रकार दीर्घराज उपाध्यायले आफ्नो पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ मा सविस्तार चर्चा गरेका छन् । गत असार महिनामा सार्वजनिक भएको पुस्तकको २२ औं अध्यायमा ‘देउवामाथिको त्यो आक्रमण’ भनेर चर्चा गरिएको छ । पुस्तकका अनुसार देउवालाई २०६० भदौ ८ गते पौने तीन बजे कैलालीको पहलवानपुरको आमखैया जङ्गल क्षेत्रमा आक्रमण भयो ।

    माओवादी लडाकुले सडकका दुईतर्फका डाँडामा बसेर एलएमजीबाट पटट फायर खोलेका थिए । माओवादीका गोलाबारी चलेपछि देउवाका अंग क्षक सई रामजी कट्वाल र असई बाबुकाजी खड्काले ‘कभर’ गरेर देउवालाई जोगाएका थिए । देउवालाई गोली नै लागेपनि उनीहरूलाई छेडेर मात्रै लाग्नेगरीको सुरक्षा व्यवस्था गरिएको थियो । माओवादीको गोलाबारीबाट देउवालाई केही भएन । तर, नेपाली सेनाका प्रेम ढुङ्गानाले चलाएको सुरक्षाकर्मीको गाडीका पछाडिका दुवै पांग्रामा पन्चर भयो । पन्चरकै बाबजुद चालक प्रेमले सावरी चलाएर सुख्खडमा रहेको सुरक्षा फौजको शिविरमा लगेर राखे । सई कट्वालले सात प्रहरीलाई देउवाले काठमाडौंबाट मगाएको निजी गाडी टोयोटाको ल्याण्डक्रूजरमा हाले ।

     

    देउवामाथि आक्रमण भएपछि नीधि, सिंह र गिरीहरू सशस्त्र प्रहरीको शरणमा

    भदौ ७ गतेको कञ्चनपुरको कार्यक्रममा पुगेका कांग्रेसबाट फुटेर बनेको तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) सभापति देउवासँगै अरु नेताहरू देशभर संगठन बनाउन सक्रिय थिए । कञ्चनपुर धनगढी हुँदै नेपालगञ्ज जाने क्रममा देउवामाथि आक्रमण भएको थियो । उनको पछिपछि आउँदै गरेका नेताहरू रोकिए । ती नेतामा विमलेन्द्र निधी, प्रकाशमान सिंह, प्रदीप गिरीलगायत थिए । देउवा आक्रमणमा परेको जानकारी फैलिएसँगै निधी, सिंह र गिरीहरु सशस्त्र प्रहरीको शरणमा पुगेको सन्दर्भ ल्याउँदै उपाध्यायले लेखेका छन्, ‘देउवामाथि आक्रमण भएको जानकारी पाएपछि उनीहरू वनबेहडास्थित सशस्त्र प्रहरीको बडिमालिका गणमै रोकिए । र, त्यो रात उनीहरू त्यहीँ बास बसे । भोलिपल्ट पनि नेपालगञ्ज हुँदै तुलसीपुर पुगे ।’

    आक्रमणपछि पनि देउवाको सुरक्षामा राज्यको ढिलासुस्ती, हेलिकप्टर आउन एक दिन

    शेरबहादुर देउवामाथि कैलालीमा आक्रमण हुँदा मध्यवपश्चिम प्रहरी प्रमुख (डीआईजी) हेमबहादुर गुरुङलाई देउवाका अंगरक्षक सई रामजी कटुवालले हेलिकप्टर सहायता मागेका थिए । सरकारले पठाएन । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेरले फोनमा आक्रमणको जानकारी पाएपछि एन्टी माइन सवारी पठाए । त्यसैमा प्रहरीसहित चढेर जाने अवस्था थिएन र देउवा टोली सुख्खडमै बास बस्यो । भोलिपल्टमात्रै सेनाको हेलिकप्टर आयो । हेलिकप्टरमा पूर्वनिर्धारित कार्यक्रम भ्याउन नेपालगञ्ज हुँदै दाङको तुल्सीपुर पुगे । देउवालाई हेलिकप्टर पठाउनमा तत्कालीन रक्षा सचिवले साथ दिएको उपाध्याययले पुस्तकमा लेखेका छन् ।

    ‘रकेट लन्चर अड्याउने ठाउँ नहुँदा बाँचे देउवा’

    शेरबहादुर देउवामाथि आक्रमणको खबर सार्वजनिक भएसँगै माओवादीले माफी मागेको थियो । तत्कालीन माओवादीका सुदूरपश्चिम इन्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’ ले विज्ञप्ति जारी गरेर ‘भूलवस देउवामाथि आक्रमण भएको’ भनेर माफी मागेको थिए । आक्रमणमा जोडिएका माओवादी लडाकुले पनि पत्रकार उपाध्यायसँग त्यो ‘भूल’ नै भएको स्वीकारेका छन् ।

    माओवादीका तत्कालीन ‘बटालियन कमान्डर’ विजय केसी नेतृत्वमा आक्रमण भएको थियो । युद्धविरामको समयमा चारजना माओवादी कार्यकर्तालाई मसुरियाको बढैपुरमा प्रहरीले हत्या गरेको बदला लिन प्रहरीको गाडीलाई एम्बुसमा पारेर काउन्टर गर्ने योजनाअनुसार आक्रमण गरिएको तर प्रहरीले सुरक्षामा देउवा भएको जानकारी नभएको केसीले पत्रकार उपाध्यायलाई बताएका छन् । केसीले भनेका छन्, ‘हामीले प्रहरीलाई आक्रमण गर्ने योजना बनाएका थियौं । तर भूलवस पूर्वप्रधानमन्त्री देउवा चढेको गाडीमाथि आक्रमण गरेछौं ।’

    आक्रमण गर्दा रकेट लन्चर राख्ने राम्रो स्थान नभेटाएकोले एलएमजीले मात्रै आक्रमण गर्नु परेको र त्यही कारण देउवाको ज्यान जाेगिएकाे  संकेत केसीले गरेका छन् । उनले भनेका छन्, ‘रकेट लन्चर राख्ने उपयुक्त स्थान नभेट्टाएका कारण एलएमजीले आक्रमण गरेका थियौं । रकेट लन्चरले आक्रमण गरेको भए गाडीमा भएका कोही पनि जोगिँदैन थिए ।’

  • मझुवा-बज्रबाराही हाइक : ह्या नचाहिँदो कुरा, हिँड्ने पनि कहीँ रोग लाग्छ ?

    मझुवा-बज्रबाराही हाइक : ह्या नचाहिँदो कुरा, हिँड्ने पनि कहीँ रोग लाग्छ ?

    कति राम्रो छ प्रकृति !
    कति आश्चर्यजनक छ मान्छे !

    प्रकृतिले हामीलाई हेरेर भन्छिन्– ‘मलाई हेर, मसँग कुरा गर, तिमी जस्तै मान्छेहरुलाई हेर, उनीहरुसँग कुरा गर ।’

    प्रकृतिले त्यसो भने पनि हामी भने फोनमा घोप्टिरहन्छौं । सडक, शहर, वनजंगलमा समेत फोनलाई अगाडि लगाएर ऊसँगै कुरा गरिरहेका हुन्छौं । आश्चर्यचकित यो संसारमा अनौठो र रोचक प्रकृति र मान्छेसँग कुरा गर्न छाड्न थालेको धेरैले धेरै भइसक्यो । घरमै बस्दा पनि पाँच जना पाँच वटा मोबाइलमा मरिहत्ते गरेको देखिन्छ ।

    मोबाइलले देखाउँछ– ‘मान्छेका फोकटका कुरा, नेताहरुको हानथाप, घरघरको झगडा, बिग्रेको, भत्केको, ढलेको, पढेको, मरेको, मारेको ।’

    यस्ता कुरा हेरिरहेपछि मान्छेको दिमाग दिक्क बन्छ । दिमागमा अरुका फोटा र कर्म गरेको हेरेपछि मैले के गरेँ त खै भन्ने हीन भावना जन्मन्छ । हाइकिङ, ट्रेकिङले मान्छेमा भएको तनावलाई फ्रेस बनाउँछ । जब प्रकृतिको सानिध्यमा मान्छे पुग्दछ । प्रकृतिले बोलेको सुन्छ । बेग्लै हुन्छ जीवन । प्रकृतिले हामीसँग बोलिरहेको हुन्छ र भन्छ– ‘हेर त यो खोला हजारौं वर्षदेखि बगिरहेछ । त्यो पहाड, त्यो हिमाल लाखौं वर्षदेखि अटल भएर उभिरहेको छ, तिमी आज आयौ, तिम्रा कोही पुर्खा पनि यही आएका थिए कि ?’

    प्रकृतिको त्यो विराटता, व्यापकता, विशालता, नवीनता छाम्न नै म हाईकिङ जान्छु । उसले दिने शीतलता, कोमलता, स्वच्छता, स्वस्थ र मान्छे केही हैन भन्ने निस्पृहताको लागि पनि म हाइकिङ जान्छु । नयाँ ठाउँ, नयाँ मान्छे र समयको सदुपयोग र शरीरको स्फुर्तीको लागि पनि हाइकिङ जान्छु ।

    प्रकृतिको त्यो विराटता, व्यापकता, विशालता, नवीनता छाम्न नै म हाईकिङ जान्छु । उसले दिने शीतलता, कोमलता, स्वच्छता, स्वस्थ र मान्छे केही हैन भन्ने निस्पृहताको लागि पनि म हाइकिङ जान्छु ।

    हरेक शनिबार नयाँ रुट लैजान्छ ह्याप्पी हाइकर्सले । बालसखा राजाराम फुयालले नेतृत्व गरेको भएर पनि ह्याप्पी हाइकर्समा अपनत्व बढेको छ । माघ २६ गते शनिबार पनि सधैँ झैं गाडी सबेरै आयो चप्पल कारखानामा । गाडी भेट्न श्रीमती सिर्जनाले उनकै गाडीमै लगेर छोडिदिइन् । बिहानको ५ः२५ बजेको थियो । महाराजगञ्ज, बसुन्धरा, वनस्थली, स्वयम्भू हुँदै ढुंगे अड्डाबाट सानो हुल नै मान्छे उकालेपछि गाडीले तुफानी रफ्तार लियो । थानकोटबाट हामी ओरालो लाग्दा बत्ती बालेर उकालो उक्लिरहेका थिए नाइट बसहरु । रंगीन बत्तीको रिमरिम उज्यालोले मन उज्यालो भयो । लाग्यो कति पुस्तादेखि काठमाडौंलाई पालनपोषण गर्न यी गाडीहरु यसरी नै उक्लिरहेका होलान् ?

    झिसमिसे बिहानीमा बत्तीहरु पनि मान्छे जस्तै एकापसमा कुरा गरे झैं लाग्दै थिए । बसमा हिँड्दा एक दृश्य देखें । खसी कामिरहेको थियो, कराइरहेको थियो । मान्छेले काटिरहेको थियो । मलाई यस्तो लाग्यो एकएक किलो किन्न जानेले पनि त्यो खसी काटिरहेका छन् । म पनि कतिपल्ट मासु पसलमा मासु लिन जान्थें, मैले पनि ती कति खसी आफैं काटे झैं नरमाइलो लाग्यो । अनि सम्झें– ‘भेज हुन्छु त म आजदेखि ?’

    मनले नै भन्यो– ‘अहिल्यै त नगरौं, केही वर्षपछि ।’

    अनि मेरो मभित्रैको ढोँग र पाखण्ड मैले पत्ता पाए । आफैभित्र त मान्छे संवाद गर्दा पाखण्ड हुन्छ भने अरु संसारसँग ठूलो बन्न के के गर्ला मान्छेले झैं लाग्यो ।

    हुँदै गरेको विकासको धुँलो धुँवा खाँदै बसिरहेथ्यो सुरुङ मार्ग । सखारै भएकाले सुतिरहेको थियो सुरुङ मार्ग । ६ः४२ मा सुरुङ मार्ग आइपुगेको हामीलाई नौबिसे ७ः१० मा पुर्‍यायो ।

    आजको टोली ३० जनाको थियो । राजाराम फुयाल, नमन फुयाल, बृन्दा चौलागाईं, प्रदीप कँडेल, निराकार श्रेष्ठ, सजिता कटुवाल, बाबुकाजी महर्जन, भोला खनाल, राम श्रेष्ठ, राजु मानन्धर, अशोककुमार श्रेष्ठ, राम थापा, दीपेन्द्र महर्जन, एनिका सापकोटा, हिमांशु बराल, विष्णुहरि पण्डित, बम थापा, प्रवीण श्रेष्ठ, प्रतीक सापकोटा, उमेशमान श्रेष्ठ, राजेन्द्र भण्डारी, सुनिल आचार्य, सुयस आचार्य, प्रतिभा दाहाल, सुमन लुइँटेल, खडग पाण्डे, प्रदीप नकर्मी, हरिहर रेग्मी, प्रकाश आचार्य र म गरी ३० जना थियौं ।

    स्थानीय स्वाद र स्रोतले नै हो अन्तर्राष्ट्रिय बजार लिने । सोचे, के थियो र केएफसी ? के थियो र पिज्जा हट ? के थियो र म्याक डोनाल्ड ? आज सबै संसारभर पाउने भएका छन् । हामी पनि कुनै दिन स्थानीय स्वादको अन्तर्राष्ट्रिय स्वामित्व लिन पाउने भए कति रमाइलो हुने थियो भन्ने लाग्यो ।

    धेरै हुँदा पैसा सगोलमा सस्तो पर्छ । आज ११ सय प्रतिव्यक्ति है भन्दै पैसा उठाउन ह्याप्पी हाइकर्सका राम श्रेष्ठ आउनुभयो । नौबीसे पुगेर एकादशी मनाउँदै खिर, चना र केराउको तरकारी र चिया खुवायो ह्याप्पी हाइकर्सले । चिसोमा तातो तरकारी र खिरको बाफमा चियाको बाफ मिलाउँदै बाफिँदै बसमा बसियो । बसले लगेर छाड्यो मझुवा दोभान, जुगेडी ।

    बिहान ८ बजे हामी चण्डीदेवी आधारभूत विद्यालय दोभान हुँदै उकालियौं । देखियो धुनीबेंसी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जुगेडी, धादिङ लेखिएको । त्यहाँ लेखिएको कुराले मन खिच्यो ।

    रैथाने बाली हाम्रो अमूल्य सम्पदा
    संरक्षण एवं दिगो उत्पादनमा हाम्रो प्रतिबद्धता ।

    बोर्डमा लेखिएको थियो । कोदो, फापर, चिनो, गुर्जाेलगायतका रैथाने बालीले दिने फाइदाहरु । अनि लेखिएको थियो– रैथाने बालीको संरक्षणमा नगरपालिकाको प्रतिबद्धता । राम्रो लाग्यो । स्थानीय स्वाद र स्रोतले नै हो अन्तर्राष्ट्रिय बजार लिने । सोचे, के थियो र केएफसी ? के थियो र पिज्जा हट ? के थियो र म्याक डोनाल्ड ? आज सबै संसारभर पाउने भएका छन् । हामी पनि कुनै दिन स्थानीय स्वादको अन्तर्राष्ट्रिय स्वामित्व लिन पाउने भए कति रमाइलो हुने थियो भन्ने लाग्यो ।

    निक्लँदै गरेको पुस्तक ‘फादर अफ भिलेज टुरिजम’का लेखक डाक्टर सुरेन्द्रभक्त प्रधानाङले भिलेज टुरिजम नेपालको लागि वरदान हो भन्नुभएको छ । गाउँ नै गाउँले भरिएको देशमा पर्यटकहरु अब गाउँमा बिताएर गाउँको स्वाद र संस्कृतिको सुस्वाद लिन आउँछन् । त्यसैले रैथाने चिजबिजलाई संरक्षण गर्नुपर्दछ भनेर उहाँले भने जस्तै बोर्ड देख्दा अघिल्लो हप्ता पढेको पाण्डुलिपिको याद आयो ।

    हामी ३० जना थियौं । ३० चित्त र चरित्र थिए । सबैको उद्देश्य एकै थियो । हिँड्ने काम गर्ने अर्थात दिनभरि हिँडिरहने । सबै हिँड्ने रोग लागेका मान्छेहरु कुनै दिन कुन ग्रुपबाट कता हिँडेको, कुनै दिन कुन ग्रुपबाट कता हिँडेको भन्दै कहिले नेपाल हाइकर्स, कहिले वाकर्स, कहिले प्रकृतिप्रेमीसँग हिँडेको कुरा गर्दै थिए ।

    झरना देखेर हाहाहुहु गर्दै फोटोमा तँछाडमछाड गर्दै हाइकर्स टोली फोटो भिडियो लिन थाल्यो । ३० जनाको टोलीले झरनालाई ब्याकग्राउन्ड बनाउँदै फोटो लियौं । सामाजिक सञ्जालले पनि हाइकर्स बढेका छन् । उसले फोटो हाल्छ, ऊ पुग्छ, उसले फोटो हाल्छ, ऊ पुग्छ भएको छ आजकल ।

    जुगेडीबाट ठाडो उकालो उक्लेको उक्लियै, उक्लेको उक्लियै गरेर तीन छाङ्गे झरनामा १७ मिनेटमै पुगियो । वर्षामा यसको बात नै बेग्लै हुने रहेछ । अहिले हिउँदले उसको स्वर र हाइट दुबै घटाएको छ, तर पनि आँखा र कान अनि हृदयलाई झंकार दिन्छ झरनाले । झरना देखेर हाहाहुहु गर्दै फोटोमा तँछाडमछाड गर्दै हाइकर्स टोली फोटो भिडियो लिन थाल्यो । ३० जनाको टोलीले झरनालाई ब्याकग्राउन्ड बनाउँदै फोटो लियौं । सामाजिक सञ्जालले पनि हाइकर्स बढेका छन् । उसले फोटो हाल्छ, ऊ पुग्छ, उसले फोटो हाल्छ, ऊ पुग्छ भएको छ आजकल ।

    झरनाको संगीत सुसेली र स्वरमा हराउन त्यहाँ हरेक वर्ष हजारौं जान्छन् । झरनाको कुरा हुँदा हामीले पनि अबदेखि ‘ए ! गइसकेको’ भन्न पाउने उपलब्धि पायौं । पुग्नु टाढा थियो । झरनामा मन थियो । खुट्टाले अन्त हिँडाइरहेको थियो । ठूला पहाडलाई नाघ्दै पहाडलाई जित्ने अहंकार चढाउँदै पाइला बढाउँदै हिँडिरह्यौं । जंगली फूलको बोट आँखालाई र उसको सुगन्ध नाकलाई दिँदै स्वाँस्वाँ गर्दै उकालो उक्लिरह्यौं । बिहान ८ः२९ मा हामी झरनालाई बाई भन्दै पुर्खाले हिँडेको पुरानो बाटो आज डोजरले बनाएको मूल बाटो हुँदै हिँडिरह्यौं ।

    भित्तै रसाएको चट्टानबाट आएको चिसो पानीको थोपा थाप्लोमा पर्दा क्या चिसो भयो । लमतन्न सुतेको हरियो डाँडो, हिउँदले सुकाएको सुख्खा डाँडो र हरियो सुक्दै गरेको र पलाउँदै गरेको रुखहरुले प्रीत गाँसेका छन् झैं लाग्यो । मान्छे सुते जस्तो डाँडा, मान्छे उठे जस्तो डाँडाको दृश्यले दिमागलाई दनक दिइरह्यो । नीलो, हरियो पहाड र निलो आकाश माथि र तल पत्करको सर्‍याकसर्‍याक आवाजसँगै उकालैउकालो लागेपछि ठ्याक्कै आयो गुर्दुम । जहाँ भेटिइन् ठूलीकुमारी जिम्बा तामाङ । हरेकका आफ्ना दुःख छन् र सुख पनि ।

    उनले आफ्नो दुःख सुनाइन्– ‘बच्चाबच्ची चरा जस्तै भए, उडेर गए, मलाई मुटु दुख्ने व्यथा भएकाले पाँच घन्टा लाग्छ नौबीसे बजार जान, नगई भएन के गरौं ? बल्ल त्यहाँ माथि बहिनीले पसल खोलेकी छन् र सजिलो छ ।’

    १५ वर्षदेखि मुटु दुखेकी उनलाई पोहर झण्डै कालले लगेको रहेछ । मकै, तोरी, सिमी फल्ने त्यो गाउँमा चामल नौबीसेबाट ल्याउने रहेछन् । घरमा उनले बाख्रा, कुखुरा पालेका रहिछन् । सानो बाख्राको पाठासँग खेल्दै उसैसँग फोटो खिचियो । ७ दिनको बाख्राको पाठो कति मज्जाले हिँड्ने रहेछ । मान्छे सम्झें, सात दिनको मान्छे कति कमजोर झैं लाग्यो । प्रकृति पनि कति अचम्मको । कहिले मान्छेलाई कमजोर र बलियो बनाउँछ भने झैं लाग्यो ।

    मान्छे सुते जस्तो डाँडा, मान्छे उठे जस्तो डाँडाको दृश्यले दिमागलाई दनक दिइरह्यो । नीलो, हरियो पहाड र निलो आकाश माथि र तल पत्करको सर्‍याकसर्‍याक आवाजसँगै उकालैउकालो लागेपछि ठ्याक्कै आयो गुर्दुम ।

    यात्रा भनेको चिज नै मज्जा हो । कहाँ कहिले को भेटिन्छ र ऊसँगको यात्रा कसरी अगाडि बढ्छ थाहै नहुने ! ढुंगे अड्डाबाट चढेकी प्रतिभा दाहाल केही बेरसम्म अपरिचित थिइन् । एकैछिनमा परिचित भइन् । मेरै भतिजी रसना ढकालसँग न्यू समिटमा एकै बेन्चमा बसेर पढेकी रहिछन् । रसनाको तँ तँ र म म को साथी भएपछि एकै छिन अगाडि जिस्किएका लुइँटेल (उनका श्रीमानलाई) म ज्वाइँ भन्न थालें । प्रतिभा मलाई अंकल भन्न थालिन् । गुर्दुमको उच्च समस्थलीमा उनीसँग गफियो र गफिँदै उकालोओरालो गरियो ।

    गुर्दुम धुनीबेंसी नगरपालिका- ७ मा पर्दाेरहेछ । पहाडी गाउँले गुर्दुमले खेती गर्न वन फाँड्दै खेतका गह्रा बनाइरहेका रहेछन् । जिम्बा तामाङका सन्तान सुब्बा जिम्बा भेटिए । सन्तानले डाँडाकाँडा फैलाऊन् भन्ने जमानाका रहेछन् जिम्बा । अहिले त एक वा दुई बढीमा तीन सन्तान हुने समय छ । चार सन्तान कसैका छन् भने विवाहमा पुलाउ खान नै नबोलाउने समय आइसक्यो । ६८ वर्षका सुब्बाका तीन वर्षको पनाति खानीखोलाको बोर्डिङमा पढ्दै रहेछन् ।

    ठूल्ठूलो ट्यांकीमा पानी भर्ने उनी दुई घन्टा हिँडेर पानी लिन जाने रहेछन् । मस्तले हाँस्दै बोल्ने उनले ६८ घर रहेको गुर्दुममा सबै घरमा मान्छे भएको बताए । उनीसँग कुरा गर्दै मैले चाक्लाचाक्ला परेका गह्रा र घरहरु हेरें । अनि गजधुम्म परेको पहाड हेरें । भीर मौरी जस्तै टुप्पोमा घर बनाएर बस्ने मान्छे बहादुर हो भन्ने लाग्यो । बाख्राको पाठो देख्दा कमजोर लागेको मान्छे पहाड, वन र वन्यजन्तुलाई चुनौती दिँदै खेतका गह्रा बनाउँदै आकाश छेड्ने पाखोमा खेती गरेर खाएको देखेर बहादुर लाग्यो ।

    गुर्दुमबाट तोप्लाङ डाँडो, चिसापानी डाँडो र सिस्नेरी देखिने भनेर देखाउँदै थिए स्थानीय । चैत नलागे पनि लालीगुराँस फुलेको राताम्मे बोटहरु देखियो । देखेपछि आँखाले मात्रै हेरेर पुगेन, फोटो खिच्न मन लाग्यो । उकालोमा रोकिँदै, हिमाल हेर्दै, पहाड हेर्दै, बोटविरुवा हेर्दै हिँड्दाको मज्जा मनमस्त थियो ।

    गुर्दुमबाट उक्लँदै गएपछि आएको चउरबाट ३६० डिग्री देखिएको हिमाली दृश्यमा फोटो र भिडियो खिचेर एकै छिन सुस्ताइयो । ल्याएका केही खाजा स्याउ, काजु, किसमिस, बदाम, मकै एक अर्काेमा बाँडेर खाइयो । हिँड्दै जाँदा टुप्पोमा आइपुग्यो मनकामना मन्दिर । त्यहाँ पुग्दा घडीले १ बजाउँदै थियो । भूकम्पले भत्किएपछि नयाँ बनाइएको मन्दिर रहेछ । सुन्दर र चिटिक्कको मन्दिर परिसरबाट देखिएको ३६० डिग्रीको हिमालका दृश्य ‘वाउ नै’ थियो । स्थानीय नेता रामनारायण बिडारीले उद्घाटन गरेको र उहाँकै पुर्खा प्रेमराज बिडारीले स्थापना गरेको भनेर शिलालेख र प्रेमराजको अर्धकदको सालिकसमेत त्यहाँ हेरें ।

    लेखेपछि इतिहास बन्छ भनेर हिँडेको र लेखन कुञ्ज चलाइरहेको मलाई यसले पनि लेखनमा झनै झक्झकायो । इतिहास यसरी नै बन्छ भन्ने लाग्यो । पहिले मनकामना ल्याउने र स्थापना गर्ने को हो ? अहिले को ? तर लेखेपछि इतिहासहरु यसरी नै अर्काे पुस्ताका लागि बन्छन् झैं लाग्यो । बज्रबाराही मनकामना भनेर जस्ताको सानो पाटीमा लेखेको देखें । लेख्नुको महत्व जहाँतही छ झैं लागिरह्यो । हिजोको कुरा कल्पनामात्रै भयो । आज लेखेको सप्रमाण भयो भन्ने लाग्यो ।

    भीर मौरी जस्तै टुप्पोमा घर बनाएर बस्ने मान्छे बहादुर हो भन्ने लाग्यो । बाख्राको पाठो देख्दा कमजोर लागेको मान्छे पहाड, वन र वन्यजन्तुलाई चुनौती दिँदै खेतका गह्रा बनाउँदै आकाश छेड्ने पाखोमा खेती गरेर खाएको देखेर बहादुर लाग्यो ।

    केहीबेर मनकामना मन्दिरमा सुस्ताएपछि त्यहाँबाट लगभग आधा घन्टामा पुगियो मुलाबारी चउर । शैलुङको सानो भाइ जस्तै मुलाबारी गजबै थियो । मुलाबारीको चउरमा थाहा नगरपालिका मकवानपुरले कुर्सीहरुको व्यवस्था गरेको रहेछ । बियरको बोतल फुटाएर चउरभरि फालेको कारण चउरमा फुकेरमात्रै बस्न पर्ने थियो । अघिल्लोपल्ट एक हाइकर्सको जुत्ता प्वाल पारेर बियरको सिसा गाडिएर दिनभर रगत आएपछि हाइकिङ नै खल्लो भएको कुरा सुनियो । कस्ता बदमास मोराहरु रहेछन् । आफूले गर्दा अर्काेले दुःख पाउँछन् भन्ने नसोचेको भन्ने लागिरह्यो ।

    चउरको आनन्द लिदै एकछिन त्यही बसियो । मज्जाले घाममा सुत्न पाए पनि हुने झैं लागिरहेथ्यो । पुग्नु टाढा थियो । लागियो वनैवनको बाटो बज्रबाराहीतर्फ । ओहो ! सुकेका सल्लाका पात पत्कर सोहर्न गाउँले हिँडेको प्राचीन बाटो रहेछ । चिप्लिएर लडिएला कि भनेर हल्का सुस्त चालले तेर्साे खुट्टा टेक्दै लागियो वनको ओरालो । बीचमा गएर बाटै देखिएन । कसैले गुगल लगाए, कसैले के ! निर्जन वनमा हाम्रोमात्रै आवाज सुनिन्थ्यो । मान्छे नभेटिएपछि गुगलकै सहारा भयो ।

    गुगलले कहिले पुरानो बाटो देखाएर हैरान पार्छ । उसले त एक घन्टा लाग्छ भनेर स्थानीयले भनेको बाटो तीन घन्टा देखाउन थाल्यो । लौ आपत ! एकछिन सबै त्यही बसेर सुस्ताउन थाल्यौं । हिँड्ने रोग लागेर पहिलेदेखि हिँड्नेहरुले आफ्नो अनुभवको गाथा खोल्दै र गुगललाई सोध्दै ओरालो लागियो । हिँड्दै जाँदा बल्ल गाउँ देखियो । रुख समाउँदै रुखको बीचबाट हिँड्दाको आनन्दानुभूति अजबगजब थियो । बीचबीचमा हिमालले आँखा तानिरहन्थे ।

    वन सकिएपछि आयो कटुञ्जे । सानो गाउँ रमाइलो थियो । त्यहाँबाट देखियो सिस्नेरी, गाउँखेल जस्ता गाउँहरु ।

    राम बहादुर गोले भेटिए, कटुञ्जेमा । थाहा नगरपालिकामा पर्दछ कटुञ्जे । ८८ वर्षीय उनी सल्लेमा जन्मिएका थिए । कटुञ्जे राम्रो भएपछि उनी त्यहाँ आएका रहेछन् । ८६ वर्षकी बुढी बितेपछि उनी बुढी सम्झेर पूरै भावुक बने । फर्सी उसिनेर खाँदै हामीसँग कुरा गर्दै गरेका उनी टी–सर्ट र ट्राउजरमा थिए ।

    घरकै पिढीमा बसेर कुरा गरेका उनी बाख्रालाई अघाउने र खोर्सानीको बोट पोलेर आएको भन्दै थिए । लामो हरियो घरमा ढोकैढोका र झ्यालैझ्यालले घर सुन्दर बनाएको थियो । सम्म ठाउँ पारिलो र उँचो ठाउँमा रहेको उनको घर अगाडि प्रेयर फ्लयाग मज्जाले हल्लिरहेका थिए । उनको एक पार्टी खोल्न मिल्ने परिवार रहेछन् । जनाति भइसकेका उनको ५० बढी परिवार रहेको सुनाए ।

    आँसु भावको उत्कर्ष हो । बुढी सम्झँदै उनी भक्कानिन्थे । म कुरा छलाउँथें । फेरि उनी त्यही आउँथे । कति प्रेम रहेछ बुढाबुढीको झैं लाग्यो । जेठो छोरा पनि बितिसकेको र जेठाको आठ वटा छोराछोरी रहेको बताउँदै थिए । आफूलाई खानपिन ठीक र निन्द्रा राम्रो भएको बताउँथे । नीलो बार्दलीको लामो घरमा उनका दुःख सुनाउँदा उनी पनि रातोबाट नीला भए । धेरैबेर बुढो मान्छे रोएको नहेरौं भनेर कुरा छलाएर टाप ठोकियो ।

    बाटोमा पत्कर लेराउँदै गरेका मान्छेहरु भेटिए । ठूलो सेतो धोक्रोमा बोक्नसक्ने जति पत्कर बोक्दै बाटोमा भेटिएका जति सबैलाई मन्द मुस्कान फर्काउँदै बोल्न खोजे जस्तो गर्दथे ती मान्छेहरु ।

    हिँड्दै जाँदा माथि डाँडाबाट देखिएको आलुबारीको चित्रले सम्मोहित गर्‍यो । यति मज्जाको चित्र लाग्यो कि कुनै सुप्रसिद्ध कलाकारले पेन्टिङ गरे जस्तै ।

    सुकेका सल्लाका पात पत्कर सोहर्न गाउँले हिँडेको प्राचीन बाटो रहेछ । चिप्लिएर लडिएला कि भनेर हल्का सुस्त चालले तेर्साे खुट्टा टेक्दै लागियो वनको ओरालो । बीचमा गएर बाटै देखिएन । कसैले गुगल लगाए, कसैले के ! निर्जन वनमा हाम्रोमात्रै आवाज सुनिन्थ्यो । मान्छे नभेटिएपछि गुगलकै सहारा भयो ।

    पत्कर लिएर घर फर्किरहेकी विमला बिडारी भेटिइन् । उनले भनिन्– ‘टिस्टुङ बज्रबाराही, ठुलतरान, शिखरखेल, गोलभेंडालाई बचाउन राखिएका प्लास्टिकले आफ्नो गाउँमा गर्मी चढ्यो ।’

    वातावरणीय विज्ञ जस्ता उनका कुराले म उद्वेलित भएँ । धुलो उडाउँदै अगाडि हिँडेको टोली देखेर उनले सोधिन्– ‘किन आज बस पाएन र ? यत्रा मान्छे किन हिँडेर आएका ?’

    मैले भनें– ‘बस नपाएर हैन, हिँड्न हिँडेका । हिँड्ने काम गर्ने मान्छेहरु हुन् यी ।’

    उनले सोधिन्– ‘हिँड्ने पनि काम हुन्छ कहीँ नचाहिँदो कुरा !’

    मैले भने– ‘आमा यिनीहरु हिँड्ने काम हैन, हिँड्ने रोग नै लागेका मान्छेहरु हुन् ।’

    आमाले भनिन्– ‘ह्या नचाहिँदो कुरा ! हिँड्ने पनि कहीँ रोग लाग्छ ।’

    उनले त्यसो भनिरहँदा बुङबुङ धुलो उडाउँदै हिँडेकाहरु तल पुगिसकेका थिए ।

    तल पुग्दा देखियो शिखरखेल, फर्सीखेल गोरेटो बाटो देखाउने नक्सा । थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मकवानपुर भनेर बाटो बनाउने सूचना पाटी पढियो । सूचनापाटी नजिकै भेटियो नक्कली महर्जन । बज्रबाराही टिस्टुङकी उनले नाम भन्न अप्ठेरो मान्दै आफ्नो दुःख सुनाइन्– ‘खेती किसानी गर्नुपर्दछ । बुढा दुःख पाएर बिमारी भएर औषधोपचार गराइरहेको छ । बुहारी विदेश गएको छ । छोरीको विवाह भइहाल्यो, मलाई कस्तो दुःख छ ।’

    दुःख भए पनि जोड बेजोडले हाँस्ने नेपाली संस्कृति नै हो । उनले पनि बेजोडले हाँस्दै भनिन्– ‘दुःखसुख त कति आयो कति हैन यो जीवनमा, तर मेरो नाम नै अलिक भन्न नहुने खालको छ । नक्कली कसले राखेको होला हाहाहा ।’

    उनलाई भेटेर अगाडि बढेपछि टिस्टुङे राजाको दरवार भेटियो । खण्डहर जस्तै बनेको टिस्टुङे राजाको दरवार सामान्य नेपालीको घर जस्तै रहेछ । जस्ता हालेको तीन वटा झ्याल र एक ढोका । तल धारो । कम्पाउन्ड लगाएको, मौलो गाडिएको थियो । ढलेको लामो रुखले घर पछाडि पहरा दिएको सैनिक जस्तै थियो । घरले जीर्णाेद्धार खोजेको रहेछ ।

    अलिक अगाडि बढेपछि थाहा नगरपालिका ६ नम्बर वडा कार्यालय जाने बाटो देखियो । त्यसभन्दा अलिक अगाडि होटल टिष्टुङ कटेज थियो । आजको साँझको भोजन त्यही थियो । एकादशी भए पनि प्रायःले मासुभात खाए र मैले पनि । भोकले आतुर भएकाहरु भकाभक भात खान थाले । एकै पल्ट ३० जनालाई खुवाउन पाउँदा साहुजी पनि खुशी भए ।

    मान्छेहरुसँग कुरा, खोला–छहराको संगीत, रुखको रमझम, चउरको चमचम, मान्छेका कहानी, गजबको आलुबारी, बज्रबाराही देवी भगवतीको स्थान, हेटौंडा जाने राजमार्ग हेर्दै, भोक मार्दै गाडीमा बसेर बेलुका घर आउँदा पौने आठ बजेको थियो ।

    गाडीमा बसुन्धारा निवासी राम श्रेष्ठले घरमा फोन गरे । बहुत मिस भयो परिवारको भनेर । म छक्क परें । परिवारको याद आयो भनेको त कुकुरको पो रहेछ । उनको कुकुरको नाम लोभो रहेछ । भिडियो देखाए । कुकुरले मुखले च्यापेर मन्दिर जाँदा ढक्की लगिदिँदै गरेको । छक्क परें ।

    उनले अझै छक्क पार्ने गरी भने– ‘हाम्रो पाँच जनाको परिवार छ भन्छौं छोराछोरी, बुढी, म र लोभो । उसलाई हामी भोजमा पनि लैजान्छौं । छोराछोरी बरु आफ्नो कोठामै बसिरहन्छन्, लोभो यसोउसो गर्दै हाम्रो कोठामा आउँछ, उसले घरको साँचो राखिदिन्छ । हामी जानेबित्तिकै च्यापेर लेराउँछ । तरकारी किन्दा ६ पल्ट होस् तरकारी च्याप्दै भित्र लगेर राख्छ । केही भन्नैपर्दैन भन्या ! सब आफैं गर्दछ ।’

    राम श्रेष्ठले ओर्लने बेलामा भने– ‘सर कुकुर त मान्छे जस्तै भैसक्यो भन्या ! मान्छे चाहिँ कुकुर जस्तै । यसलाई बिमारी पर्दा अस्ति सलाइन पानी हालेर बेडमा सुताएर ल्याएको ।’

    मान्छे र कुकुरको सम्बन्धको कथा धेरै पढेको छु । हाचिको संंसार प्रसिद्ध कुकुरको कथा हो । जापानमा उसको सालिकमा फोटो पनि खिचेर आएको छु । रामजीले कुकुरको कथा भनिरहँदा मलाई हाचिको हेरें झैं भइरहेको थियो ।

  • श्रवण मुकारुङकी जीवनसाथी गीतासँग संवाद : उहाँको कविता र गीतले जेनतेन घर चलेको छ

    श्रवण मुकारुङकी जीवनसाथी गीतासँग संवाद : उहाँको कविता र गीतले जेनतेन घर चलेको छ

    कुनै समय गीता थापा मगरको परिचय गोर्खाको बुङकोट गाउँकी किशोरीको रुपमा मात्रै थियो । जब २०५५ सालमा एसएलसी पास गरिन्, उनको परिचय क्रमिक रुपमा फैलिँदै गयो । पद्मकन्या क्याम्पसमा आइए पढ्न थालिन् । जब जनजाति महिला मन्चको सदस्य बनिन्, सीमान्तमा बाँचेका महिलाहरुको प्रतिनिधि आवाज बनिन् । र, जब ‘महिला आवाज’ नामक पत्रिका च्यापेर राष्ट्रिय सभागृह पुगिन्, तब उनको भेट कवि तथा गीतकार श्रवण मुकारुङसँग भयो ।

    यो २०५७ सालको कुरा हो, ‘महिला आवाज’ पत्रिकाका लागि लेखहरु संकलन गर्थिन् गीता । त्यो पत्रिका जनजाति महिला मन्चले निकाल्थ्यो । उक्त संस्था रश्मी थापा, संगीनी राना मगर, सोनी लामा, यशुकान्ति भट्टचन लगायत मिलेर खोलेका थिए । संस्थाको उद्देश्य थियो, गाउँ गाउँमा पछाडि परेका जनजाति महिलालाई मूलधारमा ल्याउन कोसिस गर्ने, अवसर नपाएकाहरुलाई अवसर खोजिदिने । थापा स्वयं पनि पिँधमा पारिएको समुदायबाट आएकी थिइन्, त्यसैले संस्थामा जोडिइन् ।

    उनी संस्थामै भएको बेला कवि तथा गीतकार मुकारुङसँग उनको भेट भयो, राष्ट्रिय सभागृहमा । किराँत विद्यार्थी संगठनको कार्यक्रममा महिला मन्चको प्रतिनिधि बनेर गएकी थिइन् । संजोग लाफा मगरसँग उनको चिनजानी थियो । तिनै संजोगसँग लखरलखर हिँडेर आए, मुकारुङ ।

    मुकारुङलाई गीताको परिचय गराउँदै संजोगले भने, ‘उहाँ चाहिँ गीता थापा बहिनी, महिला आवाज पत्रिकामा काम गर्नुहुन्छ ।’ गीतालाई मुकारुङको परिचय दिँदै संजोगले भने, ‘उहाँ चाहिँ अहिलेको चर्चित गीतकार ।’ त्यसवेलासम्म मुकारुङको ‘माथि माथि सैलुङ्गेमा’ र ‘तिमी तारे भीर’ गीत चर्चित भइसकेको थियो ।

    गीताले पनि ‘माथि माथि सैलुङ्गेमा’ चाहिँ गाउँमै सुनेकी थिइन् । उनी पहिलो भेट सम्झिन्छिन्, ‘संजोग दाइले परिचय गराउनुभएपछि ‘ए ए’ भनेँ । अनि हामी छुट्टियौं ।’

    यसको ठीक एक वर्षपछि पुनः गीता–श्रवणको भेट भयो, पद्मकन्या क्याम्पसको एक कार्यक्रममा । एक वर्षअघि नै चिनजान भइसकेकाले मुकारुङले सीधै गीताको ल्याण्डलाइन नम्बर मागे । गीता हाँस्दै सुनाउँछिन्, ‘मैले पनि केही नसोची दिएँ ।’

    मुकारुङले बेला बेेला गीतालाई फोन गर्थे । हालखबर सोध्थे । हाइहेल्लो सोध्थे । अलि पछि भेट्ने प्रस्ताव गरे । दुवै भेट भए, चिया पिए, खाजा खाए । अन्ततः तीन वर्षपछि जागिर नभएको, गीत तथा कविता भनेर दौडिरहेको मुकारुङलाई जीवनभरका लागि झेल्न तयार भइन् गीता । २०६० सालमा विनासर्त विवाह गर्न तयार भइन् ।

    अहिले त गीता–श्रवणले विवाह गरेको पनि २१ वर्ष भइसकेको छ । दुई छोरी जन्मिसकेका छन् । र सामान्य आर्थिक अवस्थाकै बीच २१ वर्षदेखि बेरोजगार कवि तथा गीतकारलाई झेलिरहेकी छन् । प्रेम र साथ दिइरहेकी छन् । मुकारुङलाई लेख्ने, डुल्ने वातावरण बनाइदिइरहेकी छन् ।

    यो लामो सहकार्यमा गीताले मुकारुङसँग गरगहनाको माग गरिनन् । राम्रा कपडाको माग गरिनन् । भौतिक सुख सयलको अड्को थापिनन् । जे जति कमाइ हुन्थ्यो, त्यही कमाइमा घरपरिवार चलाएर आइन् । यदि गीताले आफ्नो रहर, इच्छा र चाहनाको भोल्युम मात्रै अलिकति बढाएकी भए सायद मुकारुङलाई ‘फुलटाइमर कवि’ भइखान गाह्रो पथ्र्यो ।

    नेपालप्रेसका लागि नवीनकाजी राईले तिनै गीतासँग वैवाहिक जीवन, घर व्यवहारबारे कुराकानी गरेका छन् । एउटा कविलाई झेल्नुका दुःख–सुखबारे उनले खुलेर कुरा गरेकी छन् । कविहरु लथालिंग हुन्छन्, गैरजिम्मेवार हुन्छन् भन्ने आम बुझाइ छ । ती आम बझुाइमाथि पनि गीताले खुलेर कुरा गरेकी छन् । प्रस्तुत छ मुकारुङका सृजनाहरुको पहिलो पाठक गीता थापासँग गरिएको कुराकानीको सम्पादित अंश:–

    श्रवण मुकारुङसँग भेट नहुँदै बिहेको प्रस्ताव थुप्रो आएको थियो होला, कसरी बिहेबाट जोगिनुभयो ?

    अँ, त्यसबेला एसएलसी पास गर्नु साँच्चिकै ठूलो कुरा हुन्थ्यो । यही बन्छु भन्ने सपना त थिएन, तर पढ्नुपर्छ भन्ने लाग्थ्यो । छोरीमान्छेलाई पढाउने चलन उति साह्रो थिएन । मेरी दिदी रश्मीको पालादेखि हाम्रो घरमा पनि छोरीलाई पढाउन सुरु गरियो । मैले पनि पढ्न पाएँ ।

    बिहे गर्ने प्रस्ताव त आएका थिए । हाम्रो घरमा चाहिँ कस्तो थियो भने बिहे नै गर्नलाई दबाब थिएन । कसैले त १६÷१७ वर्षको उमेरमै विवाह गरेका थिए । तर, कतिपय फुपूहरुले पनि विवाह गर्नु भएको थिएन । त्यसले गर्दा मलाई बिहे पन्छाउन सजिलो भयो ।

    श्रवण मुकारुङसँग भेट हुँदा कविताप्रति चाहिँ तपाईंको कत्ति को रुचि थियो ?

    म त यस्तो वातावरणमा हुर्किएँ कि गीत र संगीतको वातावरण नै थिएन घरमा । गीत गाउनुपर्छ, नाच्नुपर्छ, कविता लेख्नुपर्छ भन्ने कुरा धेरै परको थियो । पारिवारिक माहौल त्यस्तो भएकाले कवितातिर मेरो रुचि हुने कुरै भएन ।

    झनै म त एकदमै कम बोल्ने मान्छे हो । गीत गाउने, बोल्ने, हाँसखेल गर्ने खालको स्वभाव मेरो होइन । म त रिजर्भ मान्छे हो । त्यही कारण मलाई कुनै पनि कुरामा रुचि थिएन । झनै कविता त गाह्रो विषय भयो ।

    उहाँसँग सभाग्रहमा भेट भए पनि त्यसपछि उहाँ आफ्नै दुनियाँमा, म मेरो आफ्नै दुनियाँमा भएँ । उहाँले लेखेको गीत त गाउँमै सुनेकी थिएँ, कवितामै रुचि चाहिँ थिएन । सभागृहमा भेट भको एक वर्षपछि कलेजको कार्यक्रममा फेरि भेट भयो । भेट हुँदा उहाँले फोन नम्बर माग्नुभयो । मैले ल्याण्डलाइन नम्बर दिएँ । त्यसपछि कुराकानी सुरु भएको हो ।

    सीधै फोन नम्बर माग्नुभयो ?

    अँ, सीधै माग्नुभयो । मैले पनि दिएँ । दुई तीन महिनापछि फोन गर्नुभयो । कुराकानी भयो ।

    भनेपछि त्यसपछि बाक्लो कुराकानी हुन थाल्यो ?

    सुरु सुरुमा त फोन गरेर सन्चै हुनुहुन्छ, के कसो छ खबर भनेर सोध्नुहुन्थ्यो । हाम्रो महिला मन्चको अफिस अनामनगरमा थियो । म पुतलीसडक हुँदै अफिस जान्थेँ । उहाँहरु त्यतै पुतलीसडकतिरै बस्नुहुँदो रहेछ । उहाँले भेटौं भन्नुभयो । मैले भेटेँ । भेट भएर चिया खान सुरु गर्यौं । उहाँले ‘खाजा खाऔं’ भन्नुभयो । खाजा खायौं ।

    बिहे नै गर्ने निर्णय चाहिँ कसरी लिनुभयो ?

    हाम्रो भेटघाट हुँदा उहाँसँगै विवाह गर्छु भनेर सोचेकै थिइनँ । उहाँसँग बिहे नै गर्ने सोच त धेरै परको कुरा थियो । बेलाबेला फोन गर्नुहुन्थ्यो । भेटघाट बाक्लिँदै गएको थियो । दुई तीन वर्ष भेटघाटमै बित्यो । प्रेमजस्तो केही सायद पलाएको थियो । भेट्दा रमाइलो लाग्थ्यो ।

    तीन वर्ष नै भएपछि मैले सोचेँ, ‘अब यसरी नै त हुँदैन । केटा ठिकै छ । एक दिन जोसँग भए पनि विवाह गर्नैपर्ने हुन्छ ।’ अनि सीधै उहाँलाई प्रस्ताव गरेँ, ‘अब चाहिँ विवाह गर्नुपर्छ । यसरी भेटघाट मात्रै गरिरहनु राम्रो होइन ।’

    एक बेरोजगार कवि तथा गीतकारसँग विवाह गर्न किन तयार हुनुभएको थियो ?

    अब यस्तो हुन्छ, भगवानले लेख्या भनुँ कि के भनुँ कुन्नि ! उहाँसँगै भेट हुने लेखेको थियो होला सायद । त्यसैले पनि मैले अरु पाटोबारे नै सोचिनँ । सबै कुरा चल्दै जाला भन्ने सोचेँ । मुख्य कुरा पैसाको हो, पैसा भनेको आज हुन्छ, भोलि हुँदैन । आज नहुनेको साथमा भोलि हुनसक्छ । जिन्दगी त चल्दै जान्छ भन्ने सोचेँ ।

    घर परिवार चलाउने कुरालाई कसरी सोच्नुभएको थियो ?

    म पहिलेदेखि नै खर्च कम गर्ने मान्छे । मलाई तडकभडक मन पर्दैन । अनावश्यक खर्च गर्न त झनै फिटिक्कै मन पर्दैन । बाबा गोर्खा दरबारको पुजारी हुनुहुन्थ्यो । उहाँले तलब बुझेर ल्याएर मलाई जिम्मा लगाउनुहुन्थ्यो । कतिलाई कसरी पुर्याउने भनेर म आफैंले व्यवस्थापन गर्थें । पहिल्यैदेखि घरव्यवहार चलाएकीले ममा हिम्मत थियो । दुईटा जिन्दगी पनि सजिलै चलाइदिनसक्छु भन्ने आँट थियो ।

    म त सानो भए पनि संस्थामा काम गर्थें । उहाँको त त्यही पनि थिएन । गीतहरु लेख्नुहुन्थ्यो । कविताहरु लेख्नुहुन्थ्यो । त्यसबाट कति पारिश्रमिक पाउनुहुन्थ्यो, मलाई थाहा थिएन । एउटा किताब ‘जीवनको लय’ भन्ने चाहिँ निकाल्दै हुनुहुन्थ्यो । उहाँको आम्दानी नै थिएन । कहिलेकाहीँ पुरस्कारहरु पाउनुहुन्थ्यो । र पनि मैले बिहे गर्ने आँट गरेकी थिएँ ।

    अहिले चाहिँ कसरी घर चलाइरहनुभएको छ ?

    उहाँले नेपाल एकेडेमीमा चार वर्ष प्राज्ञ हुनुभयो । त्यसले अलिअलि सहयोग गर्यो । अहिले त गीत, कविताहरु लेख्नुहुन्छ । अलिअलि पारिश्रमिक ल्याउनुहुन्छ । त्यसरी नै चलेको छ ।

    घर व्यवहार चलाउन कतिको गाह्रो भइरहेको छ ?

    पैसा भन्ने चिज जति धेरै खर्च गरियो, उति खर्च गर्न मन लाग्ने चिज हो । तर, यति भएपछि घर व्यवहार चलाउन सक्छु भनेर सोचियो भने मज्जाले चलाउन सकिन्छ । अहिले त्यसरी नै चलाइरहेकी छु ।

    बिहे गरिसकेपछि गरगहनाको सौख भएन ?

    (हाँसो) बिहे नै अचम्म तरीकाले भयो । मैले उहाँलाई ‘बिहे गर्नुपर्छ’ भनेर त भनेकी थिएँ । तर, यही मितिमा गर्नुपर्छ भनेर भनेकी थिइनँ । मैले नै बिहेको प्रस्ताव राखेकीले उहाँलाई आँट आएछ क्यार ! उहाँ त चारपाँचजना जन्ती लिएर अचानक घरमा आउनुभयो । म त छक्क परेँ । कुनै सूचना दिनुभएको थिएन । म बेहुली बन्दैछु भन्ने थाहा पनि थिएन ।

    उहाँहरुले बाबा, काकाहरुसँग सल्लाह गर्नुभयो । ठूलो दाइले पनि भन्नुभयो, ‘ठिकै छ नि, केटाकेटी मन परापर भइसक्यो ।’ यसपछि टिका लगाएर पठाइदिनुभयो । गरगहनाको त कुरै भएन । अब अलिअलि गहनाको त रहर लाग्छ नि ! कहिलेकाहीँ अरुले छपक्कै लगाएको देख्दा अलिअलि रहर लाग्छ । तर, ‘जसरी पनि चाहियो’ भन्ने खालको रहर चाहिँ छैन ।

    वैवाहिक जीवनमा एकदमै गाह्रो आर्थिक अवस्थाबाट गुज्रिनुभएको छ ?

    गुज्रिएकी छु नि ! बालुवाटारमा बस्दाखेरि ठूली नानी भर्खरै जन्मिएकी थिई । सानै थिई । नानी हो, खानेकुरा देखेपछि खान खोज्थी । खेलौना देखेपछि खेलाउन खोज्थी । किनिदिनलाई चाहिँ पैसा हुन्थेन । अलि दुःख लाग्थ्यो । निकै दुःखले हुर्काएँ दुई छोरीहरुलाई ।

    श्रवण मुकारुङले चाहिँ अभिभावकको जिम्मेवारी कसरी निर्वाह गरे ?

    जागिर नभए पनि आर्थिक कुरामा सेन्सिटिभ नै हुनुहुन्थ्यो । जे जति पारिश्रमिक ल्याउनुहुन्थ्यो, ल्याएर मलाई दिनुहुन्थ्यो । बाहिर अनावश्यक खर्च गर्नुहुन्नथ्यो । त्यसले गर्दा घर चल्यो । हामी दुवैजनाको खर्च गर्ने स्वभाव मिल्छ । त्यसैले समझदारीमा हाम्रो घरपरिवार चल्यो ।

    श्रवण मुकारुङका कविताहरु चाहिँ कस्ता लाग्छन् तपाईंलाई ?

    उहाँको कविताहरु सबैलाई मन पर्छन् भने मलाई मन नपर्ने भन्ने नै हुँदैन । उहाँको कविताहरु सरल लाग्छन् । सबैले बुझ्ने गरी लेख्नुहुन्छ । आम जनतासम्म पुग्ने खालको लेख्नुहुन्छ । पछाडि पारिएका, बोल्ने आवाज नभएकाहरुको पक्षमा लेख्नुहुन्छ, मलाई त्यो मनपर्छ । म पनि त्यस्तै समुदायबाट आएकीले होला । उहाँका गीतहरु पनि राम्रो लाग्छ ।

    नयाँ कविताहरु तपाईंलाई सुनाउँछन् कि सुनाउँदैनन् ?

    उहाँको कविताको पहिलो पाठक म नै हो । मलाई सुनाएर ‘कस्तो छ’ भनेर सोध्नुहुन्छ । ‘यता अलि नमिलेको हो कि, अझैं मिलाउनुपर्ने हो कि’ भनेर सल्लाह दिन्छु । मैले दिएको सल्लाहलाई स्वीकार्नुहुन्छ । कवितालाई सुधार्नुहुन्छ । ‘अझैं मिलाउँदा राम्रो हुन्छ’ भनेर भन्छु । उहाँले मिलाउनुहुन्छ ।

    कविता भनेको के रै’छ त ?

    थोरै शब्दले धेरै कुरा भन्नु कविता होला ।

    छोरीहरुलाई बुवाको कविता, गीतप्रति कतिको रुचि छ ?

    उनीहरुलाई खासै छैन । अहिले पढाइमै केन्द्रित भएर पनि होला । फेरि अहिलेको पुस्ताले कोरियन गीत भन्छन्, इङ्लिस गीत भन्छन् । नेपालका पनि नयाँ गायक गायिकालाई सुन्छन् । पप टाइपको हो कि के टाइपको नयाँ नयाँ स्वादको गीत मात्रै सुन्छन् उनीहरु ।

    तपाईंलाई चाहिँ कस्ता गीत मनपर्छन् ?

    मलाई त अलि पुरानै, ‘तिमी तारे भीर’ जस्तै ।

    तपाईंलाई सम्बोधन गरेर श्रवण मुकारुङले कवितै लेख्नुभयो, ‘म्याडम गीता’ । त्यो कविता पढेपछि कस्तो लाग्यो ?

    अरुबेला त नयाँ कविता सुनाउनुहुन्थ्यो । त्यो कविता लेख्दा चाहिँ मलाई सुनाउनुभएन । एकैपटक कविता छापिएपछि पो तीनछक परेँ । त्यही भएर पो मलाई नसुनाउनु भएको रहेछ भनेँ । कविता पढेपछि राम्रो नै लाग्यो । जे छ, उहाँले त्यही लेख्नुभएको थियो । कवितामा जसरी नै हाम्रो भेट भएकाले पनि रमाइलै लाग्यो । खुसी पनि लाग्यो ।

    कविसँग बिहे गर्नुको रमाइलो पक्ष चाहिँ के रहेछ ?

    समाजका समस्या, मुद्दाका विषयमा घरमा पनि कुरकानी हुन्छ । त्यही कुरा कविताहरुमा आउँदा रमाइलो लाग्ने रहेछ ।

    खराब पक्ष चाहिँ ?

    उहाँको त सबै कुरा ठिकै छ, राम्रै छ । उहाँ असल श्रीमान् पनि हुनुहुन्छ । असल बुवा पनि हुनुहुन्छ । अनि असल अभिभावक पनि हुनुहुन्छ । समाजको लागि पनि असल मान्छे हो जस्तो लाग्छ मलाई । समाजकै लागि लेखिरहनुभएको छ जस्तो लाग्छ । उहाँको खराब बानी भनेको चाहिँ नढाँटी भन्दा अलिकति खाएको बेला सबैलाई डिस्टर्ब गर्नुहुन्छ ।

    खाएको बेला के गर्नुहुन्छ र ?

    खाएको बेला चुप लागेर सुत्नुहुन्न । सबैलाई डिस्टर्ब गर्नुहुन्छ ।

    मदिरा पिएकाले लफडा परेको छ कि छैन ?

    अगुल्टो त नठोसी बल्दैन भन्छन् । अलिअलि ठाक ठाक ठुक ठुक त हुन्छ । तर अहिलेसम्म लामो समयसम्म झगडा भएको चाहिँ छैन ।

    खाएरै लफडा गर्ने चरीत्र त छैन ?

    खाएको बेलामा मात्रै हो लफडा गर्ने । भोलिपल्ट त थाहै हुन्न उहाँलाई । हिजो राति केही नभएको जस्तो गर्नुहुन्छ ।(हाँस्दै)

    खाएको बेला कसरी सम्हाल्नुहुन्छ ?

    सकेसम्म सुताउने कोसिस गर्छु । शान्त बनाउने कोसिस गर्छु । कहिलेकाहीँ मलाई पनि रिस उठ्छ, कराइन्छ पनि (हाँस्दै) ।

    श्रवण मुकारुङले कविता वाचन गरेको कार्यक्रममा पुग्नुभएको छ ?

    छैन । म आफ्नै दुनियाँमा रमाइरहेकी हुन्छु । उहाँ आफ्नो काममा लाग्नुहुन्छ । उहाँको काममा लैजानुस् भनेर पनि भन्दिनँ । उहाँलाई काममा स्वतन्त्र छाडिदिन्छु । कहिलेकाहीँ उहाँको कार्यक्रममा जाऔं न त, कविता सुनौं न त भन्ने लाग्छ । तर, बच्चाहरु भएकाले जानै भ्याइँदैन ।

    तपाई त उतिवेलै आइए पढेको मान्छे । बिहे गरेर घरमै थन्किएको जस्तो लाग्दैन ?

    लाग्न त लाग्छ । बिहे गरेपछि मैले दुई वर्ष जति काम गरेँ होला । उहाँको पनि काम परिरहन्थ्यो । हामी दुवै घर बाहिर भएपछि घर सम्हाल्न गाह्रो भयो । अनि उहाँलाई काम गर्न स्वतन्त्र रुपमा छाडिदिनुपर्छ भन्ने लाग्यो । मैले जागिर छाडेँ । घर सम्हाल्नतिर लागेँ ।

    अनि गीत र कविताको पारिश्रमिकले घर सम्हाल्न सम्भव रै’छ त ?

    महत्वकांक्षा ठूलो राखेन भने जसरी पनि चलाउन सकिन्छ । चलाइराखेकै छु । बीचमा उहाँले उपन्यास लेख्छु भन्नुभयो, मैले ठिकै छ नि त भनेँ । अहिले उपन्यास लेखिसक्नुभयो । त्यसका लागि घरमा मैले माहौल बनाइदिएकी छु ।

    कवि लेखक लथालिङ्ग हुन्छन्, घर सम्हाल्न जान्दैनन् भन्ने आम बुझाइ छ । तपाईंको बुझाइ चाहिँ के हो ?

    त्यो त दुईजनाको समझदारीमा भर पर्ने कुरा हो । आफ्नो काम पनि अगाडि बढाउँदै, घरमा पनि समय दिनसक्ने गुण कविमा हुनुपर्छ । घरको वातावरण कस्तो बनाउने भन्ने कुरा कविमै भर पर्छ । मैले पनि कविको श्रीमती भएपछि उहाँको काम के हो, उहाँ के सोच्दै हुनुहुनछ भनेर बुझिदिनुपर्छ । यति भए जीवन चलाउन सकिन्छ ।

    कवि लेखकले बढी नै रक्सी पिउँछन् भनिन्छ । श्रवण मुकारुङको हकमा यो लागु हुन्छ कि हुन्न ?

    उहाँ पिउन त पिउनुहुन्छ, तर त्यस्तो लती चाहिँ होइन । दिनकै रक्सी चाहिने खालको मान्छे होइन । वेलावेला पिउनुहुन्छ । सधैं मातेर घर आउनुहुन्छ भन्ने पनि हुँदैन । हामीले उहाँको संगतहरुलाई पनि नियालिरहेका छौं नि ! त्यसैले उहाँको हकमा त्यस्तो कुरा त लागु हुन्न ।

    मान्छेलाई पैसा कति चाहिने रहेछ ?

    पैसा मान्छेलाई चाहिन्छ पनि, पैसाले मान्छे बिग्रेका पनि छन् । त्यो पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा मात्रै हो । पैसा पनि चाहिन्छ, सँगै पैसा मात्रै ठूलो कुरा पनि होइन ।

    घर चलाउनलाई के के चाहिन्छ ?

    पैसा त चाहिने भइगयो । मुख्य रुपमा श्रीमान र श्रीमतीको समझदारी नै हो । श्रीमानले श्रीमतीको इच्छा चाहनालाई कतिको ख्याल गर्छ भन्ने कुरा हो । श्रीमतीले पनि श्रीमान्को काममा बाधा अड्चन नल्याइदिएमा घर चल्छ ।

    घरमा लेख्ने वातावरण कसरी बनाइदिनुहुन्छ ?

    घरमा उहाँ आफ्नै काममा, म आफ्नै काममा हुन्छु । चियापानीको व्यवस्था गरिदिन्छु । लेख्न बसेको छ भनेपछि डिस्टर्ब गर्दिनँ । लेखनको क्रममा चाहिने सबै चिजको व्यवस्थापन गरिदिन्छु ।

    अब श्रवण मुकारुङले के के काम गरोस् जस्तो लाग्छ तपाईंलाई ?

    उहाँले काम गर्न त अझैं धेरै बाँकी छ । उपन्यास निकाल्दै हुनुहुन्छ । कवितासंग्रह र गीतसंग्रह पनि छ । आत्मकथा पनि छ उहाँको । पाँच दश वर्ष अझैं काम गरिरहनुपर्छ भन्ने लाग्छ । किनभने उहाँले केही न केही समाजलाई अझै दिनुपर्छ भन्ने लाग्छ ।

    तपाईंलाई श्रवण मुकारुङको सबैभन्दा मनपर्ने कविता कुन हो ?

    ‘पुरानो मानिस’, यो कवितमा हाम्रो जनजातिहरुको आवाज पनि हो नि त ! कविता मलाई कण्ठै छ,–

    यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न

    सबभन्दा नयाँ कुरा चाहिन्छ

    तिमीसित अब

    के छ त्यस्तो कुरा… ?

    सुधारिएको प्रजातन्त्र ?

    गणतन्त्र ?

     

    अत्याधुनिक बन्दुक

    ट्याङ्क, मिसाइल, रकेटलन्चर

    वा–

    जैविक हतियार

    अथवा–

    अन्तर्राष्ट्रिय गीत ?

    …..

    ०००

     

  • डियर साइकल !

    डियर साइकल !

    मैले पहिलो पटक कहिले साइकल चढेँ ठ्याक्कै याद छैन । बरु ४ वर्षको हुँदा मोटरसाइकल पहिलो पटक चढेको सम्झना छ । सायद त्यो मोटरसाइकल सवार मेरोमात्रै होइन, मेरो बुवाको पनि पहिलो पटक थियो । म बिरामी हुँदा साँझमा पाहुना आउनुभएका फुपाजूको मोटरसाइकलमा चढेर दमक ठाकुर ‘डाक्टर’ कहाँ गएका थियौं ।

    अँ, साइकल सिक्दाको एउटा पल चैँ याद छ । बुवाको अग्लो, ठूलो साइकल सीटमा बसेर खुट्टा नपुगेपछि सीटमा काखीले च्यापेर ‘तल’बाट साइकल सिकियो । म स्पिड साइकल कुदाइरहेका बेला सहपाठी मदनले दौडिएर आएर ब्रेक समाइदियो, म झ्याप्पै लडेँ । घुँडा पिल्सियो । त्यही कारण उसको र मेरो ४-५ वर्ष बोलचाल नै भएन ।

    तराईमा जन्मिएको मान्छे । सबैतिर समथर जमिन । घरैअघि सहायकस्तरको राजमार्ग, ग्राभेल । जोर वर्षको हुनुअघि नै साइकल कुदाउन प्रलय मन पर्ने ! कोही पाहुना साइकल लिएर आए कि आँखा छलेर फुत्तै दौडाइहाल्ने चलन थियो । ठूला मान्छेले हम्मेसी नदिने, तर अलि हुर्किएपछि साइकल जीवनमा अभिन्न बनेर सँगसँगै हिँड्यो । अर्थात् हिँडायो, कुदायो । सीटमा बसेर साइकल कुदाउनु भनेको जवान हुनु हो भन्ने भाष्य थियो, दौंतरीहरुमा । त्यसैले खुट्टाले दुवै पाउदानीमा एकैसाथ नभेटे पनि दायाँ-बायाँ पालैपालो पाउदानी घुमाउन चाक उचाल्दै–कम्मर घुमाउँदै साइकललाई गति दिन आतुर हुन्थ्यौं ।

    साइकल र तन्नेरी

    विद्यार्थी अर्थात् तन्नेरीकालमा त साइकल सानको मानक नै थियो । १० कक्षा पढ्दासम्म कसैले साइकल लिएर आयो भने उसको स्तरै अलग । ९ र १० कक्षामा पढ्ने चैँ केहीले साइकल ल्याउँथे । आफूलाई पनि साइकल लिएर जान पाए त ‘राजै’ होइएला भन्ने लागिरहने । त्यसैले बुवा कतै पाहुना गएका दिन पर्‍यो भने आमासँग झगडा गरेर पनि साइकल उम्क्याइहाल्ने ।

    हिरो रेन्जर, हेन्डल घुमेको, गियरवाला, चेनकभर छोपिएको चाइनिज साइकल त ओहो ! चौपट्टै सान हुने । बिग्रिएका क्यासेटको रिलको मुठो बनाएर हेन्डलमा सजाएपछि फिर् फिर् पार्दै कुदाउँदा उल्कै आनन्द ! डटपेनको खोललाई एक सेन्टीमिटर जतिको टुक्रा पार्ने र मध्य भागमा ब्लेडले चिर्ने अनि प्रत्येक स्पोकमा घुसाउने । त्यसपछि त साइकल चलाउँदा आउने ‘खिटीटीटी’ आवाजले वायुपङ्खी नै बनाइहाल्ने नि ! ५ रुपैयाँ गोटा पर्ने प्लास्टिकका फूल दुवै चक्काका बीचमा सजाउन र रिङ पुछ्ने ब्रस पनि टाँसेपछि त दोमुखातिर हान्निहाल्न मन पर्ने । कैयौं पटक हुल बाँधेर पुगियो माई मेला र दोमुखा साइकलमै ।

    सीटमा बसेर साइकल कुदाउनु भनेको जवान हुनु हो भन्ने भाष्य थियो, दौंतरीहरुमा । त्यसैले खुट्टाले दुवै पाउदानीमा एकैसाथ नभेटे पनि दायाँ-बायाँ पालैपालो पाउदानी घुमाउन चाक उचाल्दै-कम्मर घुमाउँदै साइकललाई गति दिन आतुर हुन्थ्यौं ।

    कलेज जीवनमा चाहिँ साइकल बाध्यता पनि थियो । बिहानको ५ बजे नै घरबाट हिँड्न पर्ने । सरकारी-सामुदायिक कलेजमा अझै त विद्यालय बसको चलन छैन, सवा २ दशकअघि झन् के हुनु ! दही चोकदेखि केर्खा झण्डै आधा घण्टा लाग्ने बाटो उछिन-पाछिनले आधा अवधिमा पु¥याउँथ्यो । त्यस बेलाको सहपाठी लीलाको भने साइकल औधी प्यारो । पाडाजुङ्गीको मेकानिक पसलमा दिनैपिछे नट कस्नुपर्ने र पुछ्नुपर्ने । उसको चैँ सिङ घुमेको साइकल थियो, त्यसैले अलिक सान पनि थियो । हाम्रो चैँ उही परम्परागत साइकल । खेतमा मल लैजान पनि हुने, मिलमा धान बोक्न पनि हुने !

    साइकल र म

    २०५७ सालको एसएलसीपछि मलाई व्यवसायिक जीवनमा जोडिने अवसर मिल्यो । अर्थात् बाध्यता आइपर्‍यो । सीप सिक्नुपर्छ, पछि कमाउने हुनुपर्छ भन्ने भएपछि घरदेखि दमक ५ किलोमिटर बिहान-बेलुका धाउनु मामुली थियो । ६ महिना काठमिस्त्री काम गर्दा-सिक्दा होस् कि केही समय छापाखानामा मेशिन चलाउँदा अथवा पेन्टिङको काम गर्दा-सिक्दा दिनहुँ साइकलले सघाउँथ्यो ।

    त्यसै बेलादेखि दैनिक २० किलोमिटर जतिको दुरीमा सहकारी संस्थामार्फत दूध ढुवानी गर्ने जागिर मिल्यो, तर समस्या साँझको बोक्नुपर्ने ! रंगपुर-मियाटोलीदेखि गुरुङ चोक-गेउरिया-पाडाजुङ्गी हुँदै केर्खाको चिस्यान केन्द्रसम्म । मासिक कमाइ १ हजार देखि १२-१३ सय हुने । एउटा व्यवसाय थियो अर्थात् आम्दानीको बाटो थियो, दूध ढुवानी । त्यस बेला प्रारम्भिक आम्दानी र स्वरोजगारीको जग बसाल्न साइकलले ठूलो साथ दियो । ४०-५० देखि १०० लिटरसम्म दूध भेला पार्दा र पुर्‍याएर फर्कंदा सामान्यतया रातको ८ बज्थ्यो ।

    वर्षायाममा रंगपुरको कजवेमा दूधको भारीसहितको साइकल बगाउँदा बटुवाले साथ दिन्थे । एक साँझ दूध लैजाँदै गर्दा भारीसहित साइकलको धुरा भाँचिँदा १५ लिटर जति दूध पोखियो, बाँकी केही भएन । त्यसपछि पनि साइकलले निरन्तर साथ दिइरहयो ।

    साइकल भनेपछि गाउँमा उघ्र हराउने । ५५ सालतिर हामी गौरीगञ्जमा पसल गर्थ्यौं । त्यस बेला बुवा र काका बिहारको सीमावर्ती बजार फुलबरिया पुगेर १८ सय हालेर ल्याएको साइकल दही चोकको घरमा भित्रिँदा बेहुली भित्रिए झैं रमाइलो भयो । पहिले पनि २-३ वटा साइकल हराएका थिए, चोरिएका थिए । त्यसैले फेरि पनि नयाँ साइकल नहराओस् भनेर काठे घरको लिस्नोबाट उकालेर साइकल माथिल्लै तलामा लान थालियो । दिनभरि हामीलाई बोक्ने साइकल किशोर काँधमा बोकेर घोप्टे लगाएको लिस्नोका १८ खुड्किला माथि पुर्‍याउन चैं निकै कठिन हुन्थ्यो । आँगनमा राखे त हराइहाल्ने, त्यति नगरी धरै नहुने नि फेरि !

    साइकल र सम्झनाहरु

    १) देशका मध्य र पश्चिममा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । तुलनामा पूर्वी तराई खासगरी झापामा कम । दमकबाट एउटा किशोरलाई माओवादीले जबरजस्ती मिलिसिया बनाउन उठाएर लगे भन्ने गुहार आयो, बाल अधिकारका क्षेत्रमा क्रियाशील मित्र जीवन नेपालीमार्फत । त्यो बालकलाई गौरादहमा भइरहेको प्रशिक्षणमा राखिएको छ भन्नेसम्म ती बालककी आमाबाट सुराक आयो । माओवादीसँग त्यति दोहोरो संगत भएको थिएन, त्रास अलि अलि भए पनि आँट बढी थियो । के नै गरिहाल्छन् र भन्ने लाग्यो । बिहान कलेजबाट आएपछि ‘केरियर’मा टायर बाँधिएको दूध बोक्ने साइकल चढेर लागें तालिम स्थल, गौरादह क्याम्पस । गौरादह क्षेत्र माओवादीको राम्रै उपस्थिति भएको क्षेत्र पनि थियो ।

    क्याम्पस परिसर सुनसान थियो, बाटो पनि निस्ताएको थियो । क्याम्पस प्रवेश गर्नुअघि सेन्ट्री बसेको माओवादीले सोध्यो, ‘किन आएको ? तपाईं को हो ?’ मैले पत्रकार हुँ भनेर परिचय दिए पछि ऊ कमान्डरलाई सोध्न गयो । माओवादी क्याम्पबाट त्यो बालक फिर्ता लान सके टटाइरहेका आमाका आँखामा लालगेडी झैं हुने थियो होला भन्ने उत्कण्ठाले केहीबेर बाहिरै पर्खिएँ । कम्ब्याट लगाएका ….गाईं थरका कमान्डर अभिवादनको मुठी उचाल्दै आए । उनले हार्दिकतापूर्वक स्वागत गरे ।

    हिरो रेन्जर, हेन्डल घुमेको, गियरवाला, चेनकभर छोपिएको चाइनिज साइकल त ओहो ! चौपट्टै सान हुने । बिग्रिएका क्यासेटको रिलको मुठो बनाएर हेन्डलमा सजाएपछि फिर् फिर् पार्दै कुदाउँदा उल्कै आनन्द !

    ‘कमरेडहरु, उहाँ पत्रकार झापाली । कमरेड झापालीे हाम्रा एक जना कमरेडलाई हामीले घरबाट जबरजस्ती उठाएर ल्याएको भन्ने आरोपसहित आउनुभएको रहेछ’ ३०-३५ जना तालिमेहरु बीचमा परिचयसहित म त्यहाँ पुग्नुको कारण बताए । क्याम्पसको एउटा कक्षा कोठामा प्रशिक्षण चलिरहेको थियो । कमान्डरको बेलिविस्तारपछि मैले भनेको थरसहितको एउटा किशोर उठ्यो । ‘उहाँले भन्नु भएको तपाईं नै हो ?’, कमान्डरको प्रश्नपछि उसले प्रष्टीकरण दियो, ‘हो कमरेड, तर मलाई कसैले जबरजस्ती ल्याएको होइन, म मेरै खुसीले यहाँ आएको हुँ । मैले घरमा पनि जानकारी गराइसकेको छु । अहिले म यो प्रशिक्षण छोडेर जान सक्दिनँ ।’

    केटो १४-१५ जस्तो देखिन्थ्यो, तर क्लियर कुरो राख्यो । कमान्डरको आत्मीय स्वागत झैं बिदाई पनि पाएपछि फर्किएँ म । साँझ रंगपुरबाट संकलन गरेर दूध केर्खा पुर्‍याउनु त छँदै थियो । ख्यार, ख्यार बज्ने चेन, खन्ट्याङ-खन्ट्याङ बज्ने मोटर गार्डसहितको साइकले घिस्याइहाल्यो मलाई मेरो नियमित जिम्मेवारीतर्फ ।

    २) बिहान दही चोकदेखि केर्खा । अनि कलेज सकेर फेरि केर्खादेखि दही चोक । खाना खाएर फेरि दही चोकदेखि मोरङ पथरीको मोफसल साप्ताहिकको कार्यालय । हप्ताभरिका टुक्राटाक्री समाचार, अन्तर्वार्ता, समीक्षाले भरिएका फुलिस्केपको मुठा नै बोकेर पुगिन्थ्यो मोफसल कार्यालय । आइतबार छापिने अखबारको तयारीका लागि शनिबार पुग्दा धनकुटा, इलामदेखि झापा-मोरङका विभिन्न ठाउँका संवाददाता साथीहरुसँग भेट हुन पनि पाइने । सम्पादक नरेन्द्र राईको कमान्डमा २ दर्जनभन्दा बढी ठाउँमा संवाददाता भएको उधुम चलेको पत्रिका थियो त्यो त्यस बेला । त्यहाँ समाचार छोडेर एक कप चिया पिएपछि उही ‘दूधवाला’ साइकलमा फेरि दही चोक हुँदै रंगपुर र फर्किएर गेउरिया हुँदै केर्खा दूध पुर्‍याएर फर्कंदा साइकल पनि लखतरान हुन्थ्यो । अझ त्यही बेला पम्चर हुने, चेन खुस्किने जस्ता समस्या आइदियो भने त गलेको ज्यान र साइकल झनै घाँडो लाग्ने ।

    ३) बराल बा वा खनाल बासँग बन्दाकोपी र खुर्सानीका भारी दमक तरकारी बजारसम्म लैजान पाए किलोमा ५ रुपैयाँ बढी आउँथ्यो । प्रतिकिलो ५ को योगफल विद्यार्थीकालको गर्जो टार्न कामयावी हुन्थ्यो । दशैंका लागि चिउरा कुटाउन गाउँभरिको धानका पोका भेला पारेर गोरु गाडाको बन्दोबस्ती गरी दमक पाठकको मिलसम्म लैजानुपर्ने झण्झट पनि साइकलले विस्थापित गरिदियो । साइकल सुलभ हुँदै गयो, त्यसपछि आआफ्ना भारी साइकलमा च्यापेर आफ्नै खुसीले लैजाने थिति बस्यो ।

    ४) आमफली बा, अम्बिका बा अनि कहिलेकाहीँ दंगाल बाको मिलमा चामल कुटाउन एक क्विन्टलभन्दा बढीका भारी डो¥याउने चलन निकैपछि सम्म रह्यो । नाम्लाले थाप्लामा बोक्नुपर्ने बाध्यता करिब थिएन । जीवन निर्वाहमा होस् वा दैनिकी व्यवस्थापनमा साइकल उधुम सहयोगी थियो ।

    घरअघिको ग्राभेल सडक कालोपत्रे भएपछि ठिटा र तन्नेरीहरुमात्रै होइन, धेरै बा-आमाहरु पनि साइकल सिक्न हौसिए । साँझको खाना-धन्दा सकेर गुन्युलाई पिँडुला भन्दा छोटो पारेर जुनेली रातमा साइकल सिक्ने आमाहरुको हुटहुटी केहीले पूरा गरे, केहीले पार लगाएनन् । ‘बुढो हड्डी भाँचियो भने त जोडिन गाह्रो छ है’ भन्दै डर देखाएपछि आमा र फुपू पुस्ताको सातो उड्यो । कैयौ बाहरुले भने ‘बापन’ देखाइछाडे । जीवनमा हजारौ घुम्ती पार गर्नुपर्ने यात्रालाई बुढेसकालमा सिकेको साइकलले पनि धेरै सरल र होलो बनाइदियो । साइकल सारथि बन्यो कैयौं प्रौढ र बा-आमाहरुलाई पनि ।

    साइकल र सपना

    मेरो पनि एउटा सपनाको जन्म भयो, २०६१/६२ साल तिर हो क्यार ! बुवाको अग्लो साइकल भो अब नकुदाउने भनेर नयाँ साइकल किन्ने सपना अंकुरित भयो । दूध बोकेर जोहो गरेको केही पैसा थियो । जनज्योति साप्ताहिकमा काम गर्दा पनि बेलाबेला ४-५ सय पाइन्थ्यो । अलिकति जोहो गरेपछि दमक चोकका एक दर्जनभन्दा बढी साइकल पसलमा एक हप्ता जति दिनहुँ जाँदै साइकल छान्दै हिँडियो । किनिहाल्ने आँट थिएन । बल्लतल्ल मुटु मिचेर ४४-४५ सयमा रातो रेन्जर स्टाइलको ‘सिटी बाइक’ साइकल किनेका दिन एउटा सपना पूरा भएको थियो । एक दशक जति कुदाएपछि बुवाले मलाई सोध्दै नसोधी ८०० जतिमा बेचि दिनुभयो त्यो साइकल । मोटरसाइकल किनेको त उही विवाहपछि मात्रै हो । साँच्ची, त्यो रातो साइकल हाम्रो विवाहपछि सम्म थियो कि थिएन पो गीता ? अझै पनि भेटे भने त्यही साइकल बेचेकोभन्दा दोब्बर दाम हालेर किनौं जस्तो लाग्छ । पहिलो सपना क्या, कति मूल्यवान लाग्ने है ?

    अझै पनि खासगरी तराईमा साइकलमा आधारित व्यवसाय गरेर परिवार धान्नेको संख्या ठूलो छ । राजधानीमै पनि एउटा साइकलमा आधारित उद्यमका भरमा परिवार चलाइरहेका, सन्तानलाई पढाइरहेका, औषधोपचारको जोहो गरिरहेका हजारौं श्रमजीवीहरु छन् । साइकलमै अडिएको छ जीवन र परिवारको खुसी । अनि थोत्रो साइकलसँगै वर्षौंदेखि शहर चहारिरहेका छन् सुखद भविष्यका सपना र कल्पनाहरु । त्यस बेलाका मेरा जस्तै ।

    दिनभरि हामीलाई बोक्ने साइकल किशोर काँधमा बोकेर घोप्टे लगाएको लिस्नोका १८ खुड्किला माथि पुर्‍याउन चैं निकै कठिन हुन्थ्यो । आँगनमा राखे त हराइहाल्ने, त्यति नगरी धरै नहुने नि फेरि !

    साइकल तराई मधेशका धेरै मानिसको रोजीरोटीको आधार हो । दुई दशकअघि केर्खा वा दमकदेखि दाउराका भारी साइकलमा हालेर दक्षिणका बजारसम्म लगी गुजारा चलाउनेको संख्या दर्जनौंमा थियो । चुरेको जंगल, खोला बगरबाट सुकुल बुन्ने पटेरका भारी गौरीगञ्ज र पारिसम्म पुर्‍याएर पनि धेरैको चुलो बल्थ्यो । दमकका बिस्कुट र बरफ फ्याक्ट्रीबाट गाउँगाउँ पु¥याएर पनि परिवारका सपना मर्न नदिने सयौं थिए ।

    ५० को मध्यपछि त्यही भोगाइ मिसियो ममा पनि । निर्वाहको सारथि बनेर आयो साइकल जीवनमा । काकडभिट्टासम्म पु¥याउने दहीका भाँडा भालेका डाकसँगै पाडाजुङ्गी पुर्‍याउन होस् वा मंगलबारे अधिकारीको चिया पसलमा ट्यामीभरि दूध लगेर एक कप चीया पर्खन लोभ्याउनु, साइकल जीवन निर्वाहको सारथि बनेर साथ दिइरहयो । एक दशकअघि सम्म सञ्चारकर्मको एक दशकभन्दा बढी समय साइकलले डुलायो दर्जनौं बस्ती । रेडियो र टेलिभिजनका स्टेशनहरुसम्म पनि वर्षौं लग्यो र ल्यायो साइकलले । एक दशक नाघ्यो, साइकल बिरानो हुँदै गयो जीवनबाट । मेरोमात्रै होइन, धेरैका लागि पनि अचेल ।

    समय फेरियो । कुनै बेला सान र सम्पन्नताको परिचायक बनेको साइकल मानिसहरुको जीवनमा प्राथमिकताको सूचीबाट हटेको वर्षौं भयो । सम्पन्नताको प्रतीकबाट बिलाएको दशक नाघ्यो । जीवनशैलीबाट हराउँदै गएको साइकल कि रहर बनेको छ कि त बाध्यता बनेको छ । साइकलको सम्बन्ध हिजो पनि पेटसँग जोडिएको थियो, आज पनि । आज पेट फाल्नेको रहर बनेको छ साइकल अनि पेट पाल्नेको बाध्यता बनेको छ साइकल, तर पनि पेट र साइकलको सम्बन्ध अझै उस्तै छ । पेट पाल्ने र पेट फाल्नेहरुको साझा साधन बनिरहेको छ अझै पनि साइकल ।

    साइकल र वर्ग

    शहरमा मानिसको मात्रै होइन, साइकलको पनि वर्ग छ । एउटा वर्ग छ, रित्तो पेट भर्न नै आधा रातदेखि आधा रातसम्म सयकडौं सपनाको भारी बोकेर साइकल घिस्याइरहन्छ, आफू पनि घिस्सिइरहन्छ । थोत्रिएको, खियासँग वर्षौंदेखि संघर्ष गरिरहेको, आफ्नो हृदयभन्दा बढी ठाउँमा टालिएको ट्युब र टायर भएको साइकलभरि सौदा भरेर गाउँ र शहरका घर-घर, गल्ली-गल्ली चिच्याइचिच्याइ इच्छाएका वस्तु र सेवा पुर्‍याइरहन्छ । अनि आफूमात्र जिउँदो हुँदैन, आफ्ना र आफन्तका सपना पूरा गर्ने अभिलाषा जिउँदै राख्छ ।

    अर्को वर्ग छ, भरिएर नियन्त्रण बाहिर गएको पेट घटाउन नै फेशनमा आएको, समुद्र पारिबाट ल्याइएको ‘म्यास्टिफ’ कुकुर जस्तै मूल्यवान साइकल चढेर शहर सयर गरिरहन्छ । पेट भर्न साइकल घिस्याउनेहरुले पेट घटाउन साईकल चलाउनेहरुलाई बाटो छोडिदिनु पर्छ । किनारामा उभिएर पालो दिनुपर्छ । सयौ जीवन धान्ने साइकलहरुको बाँच्ने रहर खोसिँदै गएको छ शहरमा । कति बेला लुटिनुपर्छ, कति बेला भाँचिनुपर्छ कुनै टुङ्गो छैन शहरमा । लुटिँदा र भाँचिँदा त्यहाँ एउटा साइकलमात्र भाँचिँदैन, लुटिँदैन । एउटा साइकले र उसको सिंगो परिवारको सपना लुटिन्छ-भाँचिन्छ । साइकलमा हुर्किने र फक्रिने रहर र सपना फरार अभियुक्त जस्तै हुन थालेका छन् शहरका लागि । साइकलप्रति निर्मम बनिरहेको छ शहर ।

    हप्तैपिछे साइकल फेर्ने र दशकौंसम्म पनि साइकल होइन, टायर पनि फेर्न आँट नगर्नेहरुका आआफ्नै कथा छन्, तर डियर साइकल, तिमी मेरो जीवनमा पहिलो प्रेमिका जस्तै हौ । साथमा नभए पनि कहिल्यै भुल्न नसक्ने, सम्झँदा पनि सम्झिरहुँ लाग्ने, बिर्सन खोज्दा पनि बिर्सनै नसक्ने । अनि त्यो रातो साइकल नि ? मैले कहिल्यै सम्झिन नपर्ने, एकतर्फीमात्र माया गरेकी प्रेमिका हो रातो साइकल त ! सम्झिनलाई त बिर्सिएको हुनुपर्‍यो नि ! कहिल्यै नबिर्सिएपछि, कहिल्यै सम्झनै नपर्ने । उसले माया नगरे पनि एकोहोरो-एकतर्फी माया गरिरहने, प्रिय डियर रातो साइकल ।

  • ममी : ‘हरर’ विधामा एउटा इमान्दार प्रयास

    ममी : ‘हरर’ विधामा एउटा इमान्दार प्रयास

    जसरी प्रेम कथानक चलचित्र हेरेर प्रेमिल अनुभूति गर्छौं, जसरी मोटिभेसनल चलचित्र हेरेर आफैंलाई उत्प्रेरित गर्छौं, जसरी इमोसनल चलचित्र हेरेर रुन्छौं, त्यसरी नै हरर चलचित्र हेरेर हामी डराउँछौं । हरर चलचित्रको खासियत नै दर्शकमा डरको तरंग पैदा गर्नु हो । डरको त्यो तरंग महसुुस गर्न नै दर्शक हलसम्म जान्छन् ।

    प्रेम, खुसी, सफलता र दुखजस्तै डर पनि मानवीय गुण हो । त्यसैले त हलिउडमा हरर, सुपरन्याचुरल हरर, फोक हररहरुले बक्स अफिसमा धमकेदार कमाइ गरिरहेका हुन्छन् । बलिउडमै पनि हरर कमेडी चलचित्रहरुले बक्स अफिसमा उछाल कमाइ गरिरहेका छन् ।

    सबैभन्दा पहिले दर्शकलाई चलचित्रको कथामा घुसाउनु, एक पात्र भएको महसुस गराउनु अनि भय र कौतुहलता सृजना गर्नु । त्यसपछि दर्शकको मुटु डरले ‘ढक्क’ फुलाउनु ।

    एकपटक मात्रै होइन, यसरी बारम्बार डर पैदा गरिरहनु निकै नै चुनौतीपूर्ण काम हो । यसका लागि कथा मात्रै बलियो भएर पुग्दैन । कथाको प्रस्तुतीकरण पनि उत्तिकै सुन्दर र कलात्मक हुन आवश्यक हुन्छ ।

    सानो ब्याकग्राउण्ड आवाजले मात्रै पनि धेरै ठूलो भूमिका खेलिदिन्छ । छिसिक्क आउने सानो आवाजको हर्जमा डरको ठूलो मेगाहर्ज हुन्छ । तर, यत्तिकै आवाज आउनसाथ दर्शक डराइहाल्ने भन्ने हुँदैन । डर पैदा गर्न पनि पृष्ठभूमि चाहिन्छ ।

    त्यो पृष्ठभूमिमा कथाको जति अहम् भूमिका हुन्छ, उत्तिकै ठूलो भूमिका हुन्छ कलाकारको अभिनयको । उत्तिकै ठूलो भूमिका हुन्छ प्रकाशको संयोजन र सिनेम्याटोग्राफीको । उत्तिकै ठूलो भूमिका हुन्छ कस्ट्युम डिजाइन र सेटिङको ।

    हरर चलचित्र भनेको शीशाका गुच्छाहरुको पिरामिड जस्तै हो, त्यहाँ एउटा गुच्छा मात्रै छिसिक्क तलमाथि भइदियो भने सिंगै चलचित्र भताभुंग हुन्छ । त्यसरी भताभुंग हुनबाट जोगिएको एउटा चलचित्र हो, ‘ममी’ । अहिले हलहरुमा लागिरहेको नेपाली हरर चलचित्र ‘ममी’ धेरै हदसम्म दर्शक तर्साउने आफ्नो उद्देश्यमा सफल छ ।

    यो चलचित्र एक परिवारको कथामा आधरित छ । बाल्यकालदेखि नै मानसिक ट्रमाबाट गुज्रिएकी सपना (प्रियंका कार्की)को एक छोरी र एक छोरा छन् । श्रीमान् (सुलक्षण भारती) स्वयं मनोचिकित्सक हुन् । तर, सपनाको मानसिक समस्याले उसको निजी जीवनसँगै पारिवारिक जीवनमा पनि समस्या पैदा गरिरहेको छ । मानसिक समस्याको नियन्त्रणका लागि औषधि खाइरहेकी छन् ।

    जति औषधि खाए पनि बाल्यकालीन ट्रमाले उनलाई लखेट्न छाड्दैन । सँगै १९ वर्षको उमेरमा बलात्कृत भएको पीडाले पनि लखेट्न छाडेको छैन । सँगै आफ्नो श्रीमान्को परस्त्रीगमनबारे पनि उनलाई थाहा छ । यी यावत् कारणले सपना बाइपोलर डिसअर्डरबाट ग्रस्त भएकी छन् । यो भनेको अत्याधिक रुपमा मुड स्वीङ हुने समस्या हो । मानसिक स्वास्थ्यसँग जोडिएको एक प्रकारको डिप्रेसन हो यो ।

    उता सपनाकी श्रीमान् भने बाइसेक्सुअल छ । ऊ महिला र पुरुष दुवैसँग शारीरिक सम्बन्ध राख्छ । यता दुई बालबच्चासँग घर गृहस्थी चलाइरहेकी सपनालाई ट्रमाहरुले चैनले बस्न दिँदैन । उनलाई ओभरथिङ्किङको समस्या छ । बेलाबेला आफ्नो गल्ती नै नभएको घटनाको समेत आफूलाई दोष दिन्छिन् ।

    सपनाले मानसिक विरामीबाट उन्मुक्ति पाउँछिन् त ? के सम्पूर्ण ट्रमाबाट बाहिर निस्कन सक्छिन् ? को हो उसको मानसिक समस्याको फाइदा लुटेर बलात्कार गर्ने मान्छे ? उक्त बलात्कारीसँग बदला लिन सक्षम हुन्छिन् त ? यिनै प्रश्नको जवाफ दिँदै चलचित्रको कथा अगाडि बढेको छ । र कथाले क्लाइमेक्ससम्म पुग्नलाई हररको बाटो अपनाएको छ ।

    पहिलो हाफ त जबरदस्त छ । एउटा सुन्दर परिवारको नयाँ सदस्य बनेर कालो बिरालो आउँछ । बिरालोलाई जबरजस्ती छोरीले घरभित्र ल्याउँछे । जब कि बिरालोसँग सपनाको बाल्यकालीन ट्रमा जोडिएको छ । तर, छोरीप्रतिको स्नेहका खातिर ऊ बिरालोलाई घर भित्र्याउन राजी हुन्छे । यसपछि कालो बिरालोसँगै अगाडि बढेको कथा र कथामा आउने ट्वीस्टहरुले दर्शकलाई डरको आनन्द दिँदै जान्छ ।

    दोस्रो हाफ थोरै स्लो छ । कथा ज्यादाजसो इमोसनल फ्लासब्याकमा अल्मलिएको छ । स्पष्टीकरणमा अल्झिएको छ । पहिलो हाफमा जस्तो आक्रामक रुपमा डरहरु पैदा गर्दैन । तर, सपनाको ट्रमाका जडहरु खोतल्दै कथा अगाडि बढेको छ । पहिलो हाफजस्तै आक्रामक हुन सकेको भए चलचित्र अझैं अब्बल हुने थियो ।

    निर्देशक समर निरौलाले गज्जबले डिटेलिङमा काम गरेका छन् । प्रकाशहरुको संयोजन राम्रो छ । कस्ट्युम डिजाइनमा पनि राम्रो मिहेनत देखिन्छ । सिनेम्याटोग्राफी गज्जब छ । कथाको प्लट पनि गज्जबले डिजाइन गरिएको छ । यदि दोस्रो हाफमा रहस्यहरु खुलाउनतिर मात्रै कथालाई बढी केन्द्रित नगरिएको भए चलचित्र अझै उत्कृष्ट बनेर जान्थ्यो ।

    प्रियंका कार्कीको अभिनय गज्जबको छ । उनको अभिनयले चलचित्रलाई थप रोचक बनाउन भूमिका खेलेको छ । सुलक्षण भारती, दिया मास्केको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । बाल कलाकार जेभिस श्रेष्ठबाट अझैं निखारयुक्त अभिनय पस्कन सकेको भए थप सुगन्धको काम गर्ने थियो ।

    यसअघि पनि हरर चलचित्रमा अभिनय गरिसकेकी प्रियंकाले ‘ममी’को गीत रिलिज कार्यक्रममा आफ्नो हरर चलचित्र हेरेर आफैं हाँसेको बताएकी थिइन् । तर, अहिले हलमा लागिरहेको ‘ममी’ भने हँसाउने जिम्मा कमेडी चलचित्रलाई दिँदै दर्शकमा डरको स्वाद चखाउन सक्षम देखिन्छ ।

    साथै सोसल कमेडी ड्रामा र दक्षिण भारतीय चलचित्रका एक्सनको कपीमा मात्रै रुमल्लिँदै आएको नेपाली चलचित्र क्षेत्रमा अरु विधामा पनि काम गर्न सकिने उद्घोष ‘ममी’ ले गरेको छ । अरु बिधाका चलचित्रमा पनि मज्जाले लगानी गर्न सकिन्छ भन्ने बाटो समेत ‘ममी’ले खोलिदिएको छ ।

  • कविता : अकविता

    कविता : अकविता

    म अकविता लेख्न मन पराउँछु
    अकविताको आफ्नै स्वभाव हुन्छ
    अकविता विद्रोह र विसंगति ओकलेर
    मध्य सडकको जेब्राक्रस टेकी
    मसाल बोकी उफ्रने गर्छ
    अकविता त अराजक बन्दै
    कानून हातमा लिएर
    कथित कविताहरूको
    भ्रूण हत्या गरी
    निशंकोच, निडर
    तिम्रो रोष्ट्रम घेराउ गर्दै
    तिम्रै कठालो समात्न सक्छ
    महाशय
    त्यसलाई निलम्बन गर
    सक्छौ पाता फर्काउ
    लैजाउ यातना शिविरमा
    र आजीवन काराबासमा कोच ।

    म रुन्छु
    तिमी हाँस्छौ
    म भोक लाग्यो भन्छु
    तिमी अघाएर डकार्छौ
    म झुपडीमा बस्छु
    तिमी महलमा बस्छौ
    मसँग मानवता छ
    तिमी दानवता ओकल्छौ ।

    म भूकम्पको आह्वान गर्छु
    धरती चीरा चीरा बनाउनलाई
    सागरहरू सुकी रहुन्
    मरुभूमि बन्नलाई
    हिमालको हिउँ पग्लियोस्
    हिमाल नाङ्गै देखिनलाई
    जङ्गलहरू डढेलोले खाओस्
    पृथ्वी उजाड फुङ्ग देखिनलाई ।

    सृष्टि नासिएर
    सबैतिर शून्यता छाओस्
    प्राणविहीन जिन्दगीहरू
    मसानघाटमा अलपत्र परिरहोस्
    मृत्यु यस्तो होस्
    त्यो भयावह बनेर आओस्
    कोकोहोलो मच्चाओस्
    पुनः लाशहरू नबौरिने गरी ।

    किन पलायो यसरी विदीर्ण भावना ?
    किन नैरश्यता छायो ?
    म बाँच्न चाहेर पनि
    हर दिन मरिरहन्छु किन ?

    सानी मैया मृत्यु चाहान्छे
    नारकीय जीवनबाट मुक्ति पाउन
    दलबहादुर पनि मृत्यु नै चाहान्छ
    दासत्वबाट मुक्ति पाउन
    मुक्ति र मृत्यु
    फरक कुरा हो
    कायर बनी मर्ने किन ?
    मरेर मुक्ति मिल्ने भए
    मर्नु हुन्थ्यो दिनै दिन ।

    सामन्तको खेलो फड्को चलिरहेकै छ अझैसम्म
    निमुखा मान्छेलाई दल्न भेटेपछि
    म विद्रोहको चिराग बोकी
    विद्रोहकै गीत गाइबसेको छु
    तिमीलाई तर्साउँदै
    अन्यायविरुद्ध लड्छु म
    खबरदार !
    म विष्फोटित पनि हुन सक्छु
    मलाई नतर्साउ घरि घरि
    तिम्रो बसाइ सुरक्षित राख
    तिम्रो सुरक्षा घेरा तोडेर
    म युद्ध लड्छु तिमीसित ।

    म दलालहरूलाई उल्टो झुन्ड्याई
    कोर्रा हान्न चाहन्छु
    चरम यातना दिँदै
    यातना शिविरमा
    ओहोर दोहोर घिसारेर
    तड्पाइ तड्पाइ राख्नु छ मैले
    तीनिहरूलाई शवक सिकाउनु छ
    निर्ममतापूर्वक
    यातना दिएर
    कहिल्यै शिर नउठ्ने गरी ।

    के हेर्दैछौ मानव अधिकार कर्मीहरू ?
    मेरोविरुद्ध मुद्दा हाले हुन्छ
    म मुद्दा लड्न तयार छु
    वादी , प्रतिवादीको बहस चल्ला
    मैले पाएको यातना आलै छ
    मलाई यातना दिने माथि
    मैले यातना दिँदा
    कसरी मुद्दा लाग्छ ?

    श्रीमान म अराजक हैन
    मलाई अराजक बनाइएको छ
    निष्पक्ष न्यायको आशा गर्छु
    आवाजहरू दमित भएपछि
    विष्फोटित हुनैपर्छ श्रीमान
    यो पनि युद्धभित्रको एउटा नियमै हो
    म सडकहरू तताउँदै
    मोर्चा कसि बस्छु
    मलाई विद्रोही भनिएको छ
    मसँग बन्दुक छैन
    म कसरी विद्रोही हुन सक्छु ?
    म त कलमको सहाराले
    आगोको झिल्को जस्तो
    तिम्रै छातीमा टेकेर
    म कविता हैन
    अकविता नै लेख्छु ।

    सुन्दरहरैँचा-६, दुलारी, मोरङ

  • बेलबारीमा बाल साहित्य तथा धिमाल भाषा गोष्ठी

    बेलबारीमा बाल साहित्य तथा धिमाल भाषा गोष्ठी

    विराटनर । मोरङको बेलबारीमा दुई दिवसीय बाल साहित्य तथा धिमाल भाषा गोष्ठी एवम् रचना वाचन कार्यक्रम भएको छ । बेलबारी साहित्य विकास समिति र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा बेलबारी नगर क्षेत्रका विद्यार्थीहरुले रचना वाचन गरे ।

    नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ साहित्यकार विमल निभाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बेलबारी नगरपालिकाले प्रथम धिमाल जातिका दुई व्यक्तित्व अजित धिमाल र कविन्द्र धिमाललाई सम्मान गरेको छ ।

    कार्यक्रममा अजित धिमालले धिमाल भाषा, भेषभुषा, रहनसहन र संस्कृतिसम्बन्धी ९ पृष्ठको शोधपत्र प्रस्तुत गरेका थिए । साहित्य विकास समितिले अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका साहित्यकार छवि बैरागी र बाल साहित्यका अग्रज साहित्यकार हस्त थापालाई पनि सम्मान गरेको छ ।

    राजकुमार राई, उमा सिजापती र विष्णु भण्डारी आचार्यलाई आजीवन सदस्यता प्रदान गरेको कार्यक्रममा साहित्यकार ईरान राई सेवकले बाल साहित्यको भविष्यसम्बन्धी विवरणात्मक शोधपत्र प्रस्तुत गरेका थिए ।

  • ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह ‘द स्प्राउटिङ स्टोरीज’ लोकार्पण

    ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह ‘द स्प्राउटिङ स्टोरीज’ लोकार्पण

    काठमाडौं । आठ वर्षीया आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह ‘द स्प्राउटिङ स्टोरीज’ को लोकार्पण भएको छ।

    शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन्। संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन्।

    कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पाण्डेले यति सानो उमेरमै कथा लेखनमा देखाएको प्रतिभा प्रशंसनीय रहेको बताउँदै लेखिकाको सृजनात्मक क्षमताको प्रशंसा गरे ।

    उनले साहित्यमा संलग्न व्यक्ति अन्य पेशागत व्यक्तिहरूको तुलनामा कम अपवित्र रहने धारणा राख्दै साहित्य सिर्जना गर्नेहरू भावुक हुने र तिनको भावुकताले समाजलाई असल कार्यतर्फ डोर्‍याउने विचार व्यक्त गरे। साथै, आजको डिजिटल युगमा मानिसको चिन्तन गर्ने क्षमतामा कमी आए पनि कल्पनाशक्ति सशक्त शक्ति भएको भन्दै कल्पनाशीलताको महत्त्वलाई जोड दिए ।

    नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले आकृति पाण्डे एक विशिष्ट प्रतिभा भएकी बताउँदै बालकहरूलाई सही मार्गदर्शन प्रदान गर्न अभिभावक, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका हुने विचार राखे ।

    जय नेपाल फाउन्डेशनका अध्यक्ष बद्री अर्यालले आकृति पाण्डेमा अलौकिक प्रतिभा रहेको र भविष्यमा विशिष्ट साहित्यकार बन्न सक्ने सम्भावना रहेको बताए।

    पुस्तकको समीक्षा गर्दै लेखक शङ्कर कुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउँदै पात्रहरूलाई न्यायपूर्ण रूपमा प्रस्तुत गरेको टिप्पणी गरे ।

    उनका अनुसार संग्रहमा करुणा, मित्रता, धैर्यता, एकता तथा अरूलाई चित्त नदुखाउने जस्ता सन्देश प्रवाहित गर्ने कथाहरू समेटिएका छन्। प्रधानले कथाहरू रोचक, सन्देशमूलक र मानव जीवनलाई छुने खालका रहेको बताउँदै यी कथाहरू मिहिनेतका साथ तयार पारिएको उल्लेख गरे।

    लेखिकाकी पिता अमिन पाण्डेले छोरीको सृजनात्मक क्षमताले आफू गर्वान्वित भएको बताउँदै सानै उमेरदेखि पढ्ने, लेख्ने र चिन्तन गर्ने उनको स्वभावले भविष्यमा अझ उत्कृष्ट कृतिहरू जन्माउने आशा व्यक्त गरे।

    संस्कार पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले समाजलाई गतिशील बनाउँदै समृद्धिको दिशामा लैजान पढ्न मात्र नभई लेख्न पनि आवश्यक रहेको धारणा राखे ।

  • आफ्नै ‘च्वाइस’मा किन घरमा अड्किरहेकी छन् सगुना ?

    आफ्नै ‘च्वाइस’मा किन घरमा अड्किरहेकी छन् सगुना ?

    काठमाडौं । ठूलो घर छ । सुत्न प्रशस्त कोठा छन् । घरको इन्टेरियर डिजाइन आकर्षक छ । श्रीपेच लगाएका तस्विरहरु भित्तामा टाँगिएका छन् । केही पेन्टिङहरु पनि तस्विरसँगै टाँगिएका छन्, तर त्यति ठूलो घर रित्तो छ ।

    सोफाहरु रित्ता छन् । कोठाहरु रित्ता छन् । हरर फिल्मको सुटिङ सेट जस्तो छ घर । घरको हरेक कुनामा मौनता थिचिएर बसेको जस्तो छ । सोफा, फ्रेमिङ गरिएका तस्बिर, पेन्टिङ, टेबल, बाथरुममात्रै एकापसमा बोलिरहे जस्ता देखिन्छन् । बाथरुमको धाराबाट चुहिने पानीको थोपाको आवाजले नै धेरै थोक भनिरहेको हो कि लाग्छ ।

    हल्लाको नाममा ढोका र झ्यालको चेपबाट बेलाबेला निचोरिएर छिर्ने गाडी, बाइकका आवाज छन् । नत्र ठूलो घरमा सिर्फ सन्नाटा छ । त्यो सन्नाटाभित्र सिर्फ उदासी छ । सिर्फ एक्लोपन छ ।

    तिलस्मी कथामा वर्णन गरिएको घर जस्तो लाग्ने यो घर लेखक सगुना शाहको हो । कहिलेकाहीँ त सम्साँझै पनि अँध्यारो हुन्छ घर । बत्तीको स्वीच दबाउने जाँगर पनि चलाउँदिनन् सगुना । तीन वटा कुकुरसँग ओछ्यानमै पल्टिरहन्छिन् ।

    दाहिने सिरानीमुनि राखिएको हनिफ कुरैशीको संस्मरण किताब ‘स्याटर्ड’ निकाल्छिन्, पन्नाहरु पल्टाउँछिन् । घरी देब्रे सिरानीमुनिबाट एलिफ शफाकको ‘फोर्टी रुल्स अफ लभ’ निकाल्छिन्, पन्नाहरु सुस्तरी पल्टाउँछिन् । घरी नेटफ्लिक्समा फिल्म र सिरिजहरु हेर्छिन् । घरी मोबाइल स्क्रोल गर्छिन्, विदेशमा भएका छोरा र आमालाई म्यासेज पठाउँछिन् ।

    मोबाइलमा फेसबुक स्क्रोल गर्दा मेमोरीमा आउँछ, बुकाहोलिक्स सुरु गरेको पनि १३ वर्ष भइसकेछ । दुईचार जनाबाट सगुनाहरुले सुरु गरेको बुकाहोलिक्सको फेसबुक ग्रुपमा अहिले २६ हजार बढी साहित्यप्रेमीको जमघट हुन्छ । सामाजिक सञ्जालमा ‘रिडिङ भाइब्स’ ल्याउनमा सगुना र बुकाहोलिक्सको भूमिका नहुने कुरा भएन ।

    फेसबुकको मेमोरीमै आउँछ, आफ्नै संस्मरणमा निर्मित नाटक खेलेकै १२ वर्ष भइसकेछ । सेक्सपियरको नाटक ‘मिड समर नाइटस् ड्रिम’ र ‘एज यु लाइक इट’ खेलेको पनि वर्षौं भइसकेछ । ‘भजाइना मोनोलग्स’ दुई पटक खेलेको पनि धेरै समय भइसकेछ ।

    सगुनाले अन्तिम नाटक ‘विमोक्ष’मा अभिनय गरेको पनि तीन वर्ष भइसकेको फेसबुकको मेमोरीमै आउँछ । सगुनाले अनुवाद गरेको ‘कान्छा महारानी’ सार्वजनिक भएकै चार वर्ष भइसक्यो । शिवा शाहले लेखेको अंग्रेजी उपन्यास ‘द अदर क्वीन’को नेपाली अनुवाद ‘कान्छा महारानी’ पनि सगुनाको मेमोरीमै आउँछ ।

    १२ वर्षअघिदेखि नियमित गरिरहेको चकटी बहस पनि अहिले त ९७औं श्रृंखला पुगिसक्यो । बुहाकोलिक्सले १२ वर्षमा ९७ वटा किताबमाथि मार्टिन चौतारीसँग मिलेर चकटी बहस चलाइसक्यो ।

    घरमै अड्किरहेकी सगुना

    सृजनात्मक कामहरुमा औधी सक्रिय सगुना अहिले घरमै अड्किएकी छन् । घरभन्दा बाहिर विरलै निस्कन्छिन् । विशेष काम नपरी बाहिर निस्कदिनन् । बाहिर निस्कनलाई पनि त बहाना चाहियो नि ! कुनै समय कलेज पढाउँदा घर बाहिर नियमित निस्कनलाई बहाना मिल्थ्यो । अहिले कलेज पढाउने कामबाट पनि विश्राम लिएकी छन् । अनि घरबाट बाहिर निस्कने बहाना खोई ?

    घरभित्रै यसरी रहनुलाई चाहिँ सगुना ‘आइसोलेसन’ नामकरण गर्छिन् । यो आफ्नो ‘च्वाइस’ भएको बताउँछिन् ।

    ‘म घरभित्रै सीमित भएकी छु । घरबाट बाहिर निस्कनै मन छैन । बाहिर निस्कँदा पनि आफूलाई मनपर्ने कुराको लागि मात्रै निस्कूँ लाग्छ । सबैलाई खुसी बनाउनुपर्छ भन्ने भ्रमबाट म मुक्त हुन चाहन्छु’, सगुना अलि मजाले सोफामा अडेसिँदै बोल्छिन्, ‘फाइनल्ली मैले आफूलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने अवस्थामा आइपुगेँ । मेरो शारीरिक, मानसिक स्वास्थ्यलाई मैले प्राथमिकतामा राख्नुपर्ने रैछ ।’

    लामो सास तानेर उनी थप्छिन्, ‘अरुका लागि दौडेर मलाई पुग्यो । अब थकाइ लाग्यो । मान्छेले आफ्नो संगतलाई फराकिलो बनाउँदै लैजान्छन् । म चाहिँ मेरो सर्कललाई साँघुरो बनाउँदै लगिरहेकी छु ।’

    उनी थप्छिन्, ‘खासमा भन्ने हो भने भाइ, मैले सम्बन्धहरुको सेन्सरिङ गरिरहेकी छु ।’

    सायद परिवार सँगै नभएर पो हो कि ?

    सगुनाले कलेज पढाउन छाडिन् । कलेजमा वार एन्ड कन्फ्लिक्ट लिट्रेचरमा ट्रमा थ्योरी पढाउँथिन् । फ्रेन्च भाषा पढाउँथिन् । निरन्तर १५ वर्ष पढाइन् । अहिले भने आफूलाई ब्रेक चाहिएको महसुस भयो उनलाई ।

    सगुनाले पढाउन छाड्नुबारे विस्तारमा बोलिरहेकी थिइन् । यसैवेला काभ्रेका एक युवक आइपुगे । सगुनाले कलेज पढाउँदाताका प्रिय विद्यार्थीमध्ये एक रहेछन् उनी । ती विद्यार्थी गुरु पूर्णिमा, आमाको मुख हेर्ने दिन र जन्मदिनमा सगुनाको घर आइरहँदा रहेछन् ।

    ‘मैले पढाएर केही कमाइनँ, यिनै भाइहरुको माया र रेस्पेक्ट कमाएँ’, उनी सुनाउँछिन् ।

    भाइहरुको मायामात्रै होइन, साथीहरु पनि कमाएकी सगुना सुनाउँछिन्, ‘जीवनमा एकदुई जना साथी मिल्ने भए पुग्ने रहेछ । झनै पछिल्लो समय आएर मलाई लागेको त अन्तिममा परिवार चाहिने रहेछ । सायद परिवारसँग नभएर पनि म यसरी बाँचिरहेकी छु होेला ।’

    क्लोनाजको सहारामा निद्रा फकाउँदै

    सगुनाले १७ वर्षअघि डिभोर्स गरिन्, २०६४ सालमा । एकल आमा बनेरै दुई छोरालाई हुर्काइन्, पढाइन् । एकल आमा बनेरै घर सम्हालिन् । घर सम्हाल्दै कलेज पढाइन्, विद्यार्थीहरुको ज्ञानको दायरा फराकिलो बनाउन सहयोग गरिन् ।

    छोराहरु हुर्किए । घर छाडेर गए । दुवै छोरा विदेशमा छन् । सगुना भने त्यही पुरानो घरमा छिन् । आफ्नो भनिएका सबै कुरालाई समयले भौतिक रुपमा टाढा लग्दै गयो । सगुना जहाँको तहीँ रहिरहिन् । दुःख, पीडा र अप्ठेराहरु उनीसितै रहे । खुसी, उल्लास, हर्षहरु उनीबाट टाढिँदै गए ।

    उनलाई अनिद्राको समस्या छ । रातको २-३ बजेसम्म निदाउन सक्दिनन् । लामो समयदेखि निद्रालाई फकाउन क्लोनाज नामक औषधि खाइरहेकी छन् ।

    अनिद्राको पछाडि उनको मनमा गाँठो परेर बस्ने उकुसमुकुस पनि हो । मनमा गाँठो परेर ऐंजेरु जसरी बस्न खोजिरहेको कुरा विदेशमा भएकी आमा, अनि छोराहरुलाई शेयर गर्छिन् । उनकी आमाले पनि एकल जीवन बिताएको कारण सगुनालाई बेलाबेला भनिरहन्छिन्, ‘मनको उकुसमुकुस शेयर गर ।’

    आमा र छोरासँगै कतिपय कुरा शेयर गर्नलाई उनीसित लिल्की मुन ऋचा, लिना, सरस्वती, अञ्जना, तारा, गीता छन् । थप भन्छिन्, ‘साथै अमृता लम्साल दिदी, अर्चना थापाहरु छन् ।’

    कहिलेकाहीँ नबोलिकनै सकिन्छन् दिनहरु

    कहिलेकाहीँ पो साथीहरुलाई मनको गाँठो फुकाउँछिन् सगुना । कहिलेकाहीँ पो साथीहरुसँग समय मिल्छ, उनले फुकाएको मनको गाँठो सुनिदिन्छन् । उनलाई नै दिन सबैसँग फुर्सदिलो समय हुँदैन । सबै आआफ्नै दुःख र अप्ठेरामा हुन्छन् । त्यसैले अधिकांश समय घरमा एक्लै बिताउँछिन् सगुना ।

    बिहान घरको काममा सहयोग गर्ने महिला रमिला आउँछिन् । साँझमा फर्किछिन् । सिंगै रात सगुनाले एक्लै घर रुँग्नुपर्छ । कहिलेकाहीँ त रमिलाबाहेक अर्को मान्छेसँग नबोलीकनै उनको दिन सकिन्छ ।

    ‘मलाई त कसैसँग नबोली दिन सकिएकै ठीक लाग्छ’, सगुना सुनाउँछिन्, ‘शहरमा त जे विषयमा पनि जान्ने पल्टनुपर्ने मान्छेहरु मात्रै धेरै छन् । तपाईंले अलिकति पीडाको कुरा सञ्जालमा लेखिदिनुभयो भने मान्छेहरु पीडाबारे बुझ्न चाहँदैनन्, सल्लाह दिन सुरु गर्छन् ।’

    उनी सोच्छिन्, बरु नबोलेरै सकियोस् मेरा दिनहरु । नबोलेकै छटपटी र बेचैनी हुन्छ भने होस् ! मान्छेहरु सबै विशेषज्ञमात्रै छन् । अनि तिनै विशेषज्ञहरु आफ्नो मानसिक स्वास्थ्यबारे खुलेर बोल्न चाहँदैनन् । तिनै विशेषज्ञहरु आफूले झेलिरहेको फ्रस्टेसन र डिप्रेसनबारे खुलेर बोल्न चाहँदैनन् । अनि तिनैलाई समाजका अघि सबैभन्दा खुसी र बलियो देखिनुपर्छ ।

    सगुना खुल्छिन्, ‘यहाँ त नि भाइ, घरघरमा तमासा छ, तर सञ्जालमा खुसी भएको नाटक मञ्चन गर्छन् ।’

    ‘सिंगल मम र डिभोर्सी महिला मात्रै होइन म’

    गफगाफमा सगुना खुल्दै जान्छिन्, ‘मान्छेले मलाई बलियो भन्छन्, तर म बलियो देखिँदा देखिँदा थाकेँ । मलाई बलियो देखिनु छैन अब । बलियो देखिएर मलाई पुग्यो । संसारभरिको दुःख बोकेर हिँड्नलाई म एटलास त होइन नि !’

    बीचमा उनलाई एन्जाइटी अट्याक भयो, औषधि लिइन् । आफ्नै जीवनमा आँधीबेहरी झेलेर आएकी थिइन् । लगत्तै २०७२ सालमा भूकम्प आयो । भूकम्प पीडितहरुलाई राहत वितरण गर्न ठाउँ-ठाउँमा पुगिन् ।

    ‘राहत वितरण गरेपछि त म खुसी हुनुपर्ने हो’, सगुना भन्छिन्, ‘म त झनै दुःखी भएर आएँ । अहो, हाम्रो समाजको हालत त त्यस्तो रै’छ भन्ने लाग्यो । मेरो आफ्नै जीवन पनि सरल रेखामा बगिरहेको थिएन । मलाई त एन्जाइटी अट्याक भयो ।’

    उनलाई एन्जाइटी अट्याकका लागि भूकम्प बहाना भइदियो । एकातिर उनी ‘सिंगल मदर’, अर्कातिर घरेलु हिंसा सर्भाइभर । उनी बोल्छिन्, ‘म प्यासेन्ट मान्छे हुँ । कुनै डिसिजन लिनुअघि एकदमै अब्जर्भ गर्छु । मैले घरेलु हिंसा सहिरहँदा मलाई घर छाडेर आमाको घर जाने आँट त्यसवेला मेरो १० वर्षको छोराले दिएको थियो ।’

    सगुना थप भन्छिन्, ‘तर म मेरो जीवनलाई सिंगल मदर र दुई बच्चाको आमा भनेर मात्रै परिभाषित गर्न चाहन्नँ । मेरो जीवनलाई डिभोर्सी महिलाको रुपमा अर्थ्याउन चाहन्नँ । मेरो जीवन यति मात्रै होइन, धेरैथोक हो ।’

    यो समय पनि गुज्रेर जानेछ

    अचेल सगुनाको जीवनको एक हिस्सा बनेको छ- एक्लोपन । उनले महसुस गरिरहेको एकै चिज हो- रिक्तता । केको रिक्तता हो त ?

    ‘सायद न्यानोपन, आफ्नोपन नहुनुको रिक्तता होला । आफन्तसँगको इमोसनल टच नहुँदाको रिक्तता होला’, सगुना सुनाउँछिन्, ‘यस्तै रिक्तताको कारण मेरो जीवनशैली यस्तो भइरहेको होला सायद ।’

    तर यो फेज पनि लामो समयसम्म नरहने, गुज्रिएर जाने उनको विश्वास छ । सँगसँगै अलि सक्रिय हुनुपर्ने चाहिँ हो कि लाग्छ उनलाई । फेरि सक्रिय हुन मोटिभेसनको जरुरत पर्‍यो । त्यही मोटिभेसनको चाहिँ कमी भएको हो जस्तो लाग्छ उनलाई । ‘यसरी त भएन’ भनिदिने मान्छे नभएको हो कि लाग्छ उनलाई ।

    ‘म आफूलाई माया नगर्ने, अरुलाई मात्रै माया गर्ने मान्छे हो । यदि म आफूलाई माया गर्थें भने आफ्नो ख्याल गर्थें । म त १५ वर्षसम्म जिम गरेको मान्छे, यही बाटोपारिको जिममा जान्थेँ । जिम नै नगरे पनि ट्रेड मिलमा आफूलाई हिँडाउँथेँ’, सगुना लामो सास तानेर बोल्छिन्, ‘म यसरी बसेको मानसिक र शारीरिक रुपमा एकदमै थकान भएर हो, तर जिन्दगीमा कस्तो कस्तो अप्ठेरोलाई त चिरेर आएँ, यो अवस्थाबाट पनि फर्कन्छु म ।’

  • ‘उरमाल’ १२ पटकसम्म सम्पादन गरेका काविमो- लेखकले आफ्नै आङको जुम्रा देख्न सक्नुपर्छ (भिडिओ)

    ‘उरमाल’ १२ पटकसम्म सम्पादन गरेका काविमो- लेखकले आफ्नै आङको जुम्रा देख्न सक्नुपर्छ (भिडिओ)

    काठमाडौं । हरियो फाँट, त्यहाँ चियाको मुना टिपिरहेका मानिसहरु । ती मानिसको ढाडमा अडेसिएका डोकाहरु… । हामीले तस्विरमार्फत, भिडियोमार्फत देखेका चिया बगान यस्तै त हो । हेरिरहुँ लाग्ने, पुगिहालुँ लाग्ने, पुगेर एउटा फोटो लिइहालुँ लाग्ने, पुगेर एउटा टिकटक बनाइहालुँ लाग्ने । सँगै गीत पारखीहरुको जिब्रोमा झुण्डिएको हुनसक्छ, ‘अल्झेछ क्यारे पछ्यौरी चियाको बोटैमा ।’

    अनि चियाको बोटमा अल्झिएका मजदुरको दुःखबारे हामीलाई थोरबहुत थाहा हुनसक्छ । दिनभरि चियाको मुना टिपेर संसारभर चियाको स्वाद बाँडिरहेका मजदुरलाई प्राप्त ज्यालाले बाँच्नै धौ-धौ हुन्छ । सामान्यतया ‘चिया बगान’को दुःख यही हो कि लाग्छ हामीलाई ।

    अनि सबैलाई थाहा भएको कथामै उपन्यास ‘उरमाल’ लेख्ने आँट छुदेन काविमोलाई कसरी आयो ?

    ‘उफ…’, काविमो फिस्स हाँस्छन्, अनि जिब्रो चलाउँछन्, ‘यो त वान लाइन स्टोरी भयो । मान्छे जन्मेर मर्छ भने जस्तो भयो, तर जीवनको संघर्ष त हरेक मान्छेको आआफ्नै हुन्छ नि ! त्यही संघर्षको कथा हो उरमाल ।’

    त्यसैले त काविमोलाई लाग्यो, चिया बगानमा न फोटो-भिडियोमा देखाइए जस्तो रमाइलो मात्रै छ न त मजदुरहरुलाई बाँच्न धौ-धौ हुनु मात्रै चिया बगानको दुःख हो । काविमोलाई लाग्यो, उनीहरुको खास जीवन संघर्ष त धेरै अलग छ ।

    त्यही अलग कथाहरुको पत्र-पत्र उप्काउने कोसिस काविमोले ‘उरमाल’मा गरे । ‘उरमाल’मा डुवर्सको बहुसांस्कृतिक परिवेशलाई खोतल्ने कोसिस गरे । फरकफरक आदिवासी समुदायलाई कथाको एकै धागोमा उन्ने कोसिस गरे । अलगअलग कथालाई रेलका डिब्बाहरु जसरी जोड्ने कोसिस गरे । र, चियाका पत्तीहरुबाट जसरी हरेक कथाबाट फरकफरक रङ निकाल्ने कोसिस गरे ।

    काविमो भन्छन्, ‘चियाको मात्रै कथा लेख्नलाई त दार्जिलिङको कथा लेखे भइहाल्थ्यो, तर डुवर्सको कथाबाट म धेरै रङ निकाल्न सक्छु भन्ने लाग्यो । ‘उरमाल’मा हरेक पात्रको फरक रङ दिने कोसिस गरेको छु ।’

    ‘फातसुङ’सँगै दक्षिण एसियाभरि उडान भरेका काविमो

    भर्खरै काविमोले ‘उरमाल’ नेपालमा विमोचन गरे । यसअघि नै काविमोले ‘फातसुङ’मार्फत पाठकहरुको तर्फबाट अत्यधिक माया पनि पाए । हजारौं पाठक काविमोले खिपेको एकएक शब्दको प्रेममा परे । काविमोले गठन गरेको काव्यिक वाक्यहरुमा हजारौं पाठक मुग्ध भए ।

    काविमो पनि पाठकको मायाले पुलकित भए । ‘फातसुङ’को विषय नयाँ थिएन, ‘गोर्खाल्यान्ड मुभमेन्ट’मा आधारित थियो, तर सबैलाई थाहा भएको विषयमा काविमोले यसरी किबोर्ड चलाए कि उनको लेखन शैलीले हजारौं पाठकलाई चुम्बकले जसरी तान्यो । पहिलो कथा किताब ‘१९८६’ले आफूलाई दार्जिलिङ-कालेबुङतिर मात्रै चिनाएको सोच्ने काविमोलाई ‘फातसुङ’ले नेपालभर चिनायो ।

    यसपछि ‘फातसुङ’ बंगाली, सिन्धी, अंग्रेजी, हिन्दीमा अनुवाद भयो । किताबको माध्यमबाट काविमो दक्षिण एसियाभर फैलिए । अंग्रेजी अनुवाद त प्रतिष्ठित जेसिबी पुरस्कारको सर्टलिस्टमा पनि परेको थियो ।

    केही वर्षअघि काविमो कोलकाता लिट्रेचर फेस्टिभलमा गएका थिए । त्यहाँ एक बंगाली पाठकले काविमोलाई बोलाए । ती बंगाली पाठकका बुवा चाहिँ कम्युनिस्ट रैछन् । दार्जिलिङ भन्नासाथ चाहिँ ‘मान्छे मारिबस्ने ठाउँ’ भन्ने सुनेको रैछ उसले ।

    अनि तिनले काविमोलाई भने, ‘फातसुङ बङ्ला भाषामा पढेपछि दार्जिलिङलाई हेर्ने मेरो नजर बदलियो । म अब दार्जिलिङ घुम्न जान्छु ।’

    ‘उनले त्यसो भन्दा मलाई रमाइलो लाग्यो’, काविमो उत्साहित हुँदै बोल्छन्, ‘फातसुङ विभिन्न भाषाका पाठकसम्म पुगेर नेपाली भाषालाई अलि ठूलो र फराकिलो ठाउँ दियो कि भन्ने लाग्छ । यो किताबले जुन मञ्च पायो, त्यसले खुसी त पक्कै दिने नै भयो ।’

    काविमोको लेखन ‘टेक्निक’

    ‘अब यही विषयमा म लेख्छु’, काविमो विषय कन्फर्म गर्छन् । यसपछि रिसर्च गर्छन् ।

    जुन विषयमाथि लेख्दैछन्, त्यो ठाउँमा जान्छन् । त्यहाँका मान्छेहरुसँग घुलमिल हुन्छन् । ती मान्छेहरुको जीवनलाई नजिकबाट महसुस गर्ने कोसिस गर्छन् । उनीहरुको कथा सुन्छन् । किनभने काविमोलाई थाहा छ, हरेक मान्छेसँग कथा हुन्छ । मान्छेले नलेखेको वा नसुनाएको मात्रै हो ।

    ‘त्यहाँ गएर बात मार्दा अनावश्यक कुरा आउला । लेखकसँग लामो समयसम्म सुन्नसक्ने क्षमता चाहिँ हुनुपर्‍यो । सुनेका सबै कुरा काम लाग्छन् भन्ने छैन’, उनी सुनाउँछन्, ‘त्यसरी खोजिसकेपछि लेखन सुरु गर्ने हो ।’

    काविमो जब लेख्न बस्छन्, उनीसित न कथाको सुरुवात हुन्छ न त अन्त्य नै । सिर्फ लेखिरहन्छन् । लेखनलाई आफ्नै गति र लयमा बग्न दिन्छन् । ‘म यहाँबाट सुरु गरेर यहाँ सकाउँछु’ भनेर सोच्यो भने बीचतिर पुगेर कथा अर्कोतिर बग्न थाल्छ कि भन्ने सोच्छन् । त्यसैले काविमो कथाको सुरु र अन्त्य सोच्दैनन् ।

    ‘फातसुङ’ पनि बीचको च्याप्टरबाट लेख्न सुरु गरेका थिए । ‘उरमाल’ त झनै कसरी लेखे लेखे । अहिले भएको अन्तिम च्याप्टरलाई पहिलो च्याप्टर सोचेर लेखेका थिए ।

    ‘यहाँबाट सुरु गर्छु, यसले मान्छेलाई क्याच गर्नसक्छ भनेर धेरै समय लगाएर लेखेँ, तर फस्ट च्याप्टर सोचेको कथा त लास्ट च्याप्टर बन्यो’, काविमो हाँस्दै भन्छन्, ‘फस्ट च्याप्टर त अर्कै बन्यो ।’

    लेखकले आफ्नो आङको जुम्रा आफैं देख्नुपर्छ

    काविमोलाई लाग्छ, लेखन भनेको नियमित अभ्यास नै हो । झनै लामो कथा लेख्नु छ भने त दैनिक अभ्यास गर्नैपर्छ । हरेक दिन दुईचार घण्टा लेखकले निकाल्नैपर्छ ।

    उनी स्वयं हरेक दिन केही न केही लेख्ने कोसिस गर्छन् । लेख्नै मन लागेन भने पुरानो कथा पढ्छन् । त्यो पुरानो कथाले उनलाई नयाँ कथाको प्लट सोच्न सहज बनाउँछ ।

    ‘पुनर्लेखनमा चाहिँ हरेक लेखकको आआफ्नो लिरिकल टोन हुन्छ । आफूले लेखेको कुरा पढ्दा आफूलाई नै थाहा हुन्छ, कहाँनेर अल्झिराछ, कहाँ के भइरहेको छ’, काविमो सेल्फ सेन्सरशिपबारे भन्छन्, ‘तपाईंको लेखनको पहिलो पाठक नै तपाईं हो । त्यसैले आफूले लेखेको कुरा आफैंले पढ्नुपर्छ । पढ्दाखेरि थाहा हुन्छ, कहाँ कथा अल्झेको छ । अनि त्यसलाई फेरि बनाउने हो ।’

    मैले सोधेँ, ‘भनेपछि लेखकले अरुको आङको जुम्रा होइन, आफ्नै आङको जुम्रा देख्नुपर्‍यो ?’

    ‘एकदमै ! कुनै वेला कस्तो हुन्छ भने कथा सुन्दा एकदमै रुचिपूर्ण लाग्छ, तर लेख्न बस्दा ठ्याक्कै मिल्दैन’, उनी भन्छन्, ‘कुनै चाहिँ पहिलो ड्राफ्ट लेख्दा कस्तो दामी लाग्छ । अनि त्यसलाई १५ दिनपछि हेर्दा ठ्याक्कै मिल्दैन, जताततै कथा अल्झिरहे जस्तो लाग्छ । अनि म चाहिँ घरीघरी बनाइरहने प्रक्रियामा पसिरहेको हुन्छु ।’

    सँगै लेखकसँग धैर्य भएन भने कथाले बाटो बिराउने जोखिम ज्यादा हुने काविमोको अनुभव छ । ‘उरमाल’ च्याप्टर-च्याप्टर गरेर लेखे । लेख्दै जाँदा एक ठाउँमा पुगेपछि कथा आफैं मिलेको उनको अनुभव छ ।

    ‘जबसम्म मिल्दैन, तपाईंलाई सकसक लागिरहन्छ, यो भएन, त्यो भएन भइरहन्छ । जब मिल्छ, ठ्याक्कै मिल्छ’, उनी सुनाउँछन् । अनि लेखनको क्रममा आफूले लेखेको ‘सबै ठीक हो’ भन्ने ढिपीबाट लेखक सधैं पछि हट्नुपर्ने काविमोको सुझाव छ । यसका लागि लेखकको वरिपरि त्यस्ता मान्छे चाहिन्छ, जसले जे लेखे पनि ‘सही’ मात्रै नभनोस् ।

    लेखकलाई पनि आफूले लेखेको कथामा अलिअलि समस्या छ भनेर महसुस भइरहेको हुन्छ, त्यस्तो बेला ‘यहाँ ठीक भइरहेको छैन’ भनिदिने मान्छे चाहिने काविमोको अनुभव छ । यदि कसैको सुझाव तर्कसंगत छ भने अन्तिम समयमा पनि त्यसलाई स्वीकार्छन् उनी ।

    ला, ‘उरमाल’ त ठीकैमात्र भएछ !

    एक पटक काविमोलाई एक अंग्रेजी अनुवादकले भनेका थिए, ‘सम्पादक भनेको केही पनि होइन । ऊ किताबलाई पहिलो पटक पढ्ने पाठकमात्रै हो, तर सम्पादकको चुनौती के हुन्छ भने उसले जे देख्यो, त्यो भन्नैपर्छ । उसलाई जे लाग्यो, अरु पाठकलाई पनि त्यही लाग्नसक्छ ।’

    उनी सुनाउँछन्, ‘अनि त्यो लेभलको मान्छे आफू वरिपरि छ भने उसले सहज बनाइदिन सक्छ ।’

    काविमोले ‘उरमाल’ ११-१२ पटक पुनर्लेखन गरेपछि डुवर्सकै साथी संगीत नेम्बाङलाई पढ्न दिए । नेम्बाङले भने, ‘टोन अलि मिलाऊ ।’

    उनले डुवर्सको स्थानिक टोनमा काम गरे । नेम्बाङले थप भने, ‘अलि बढी राजनीतिक भएछ । त्यो मिलाउनू ।’

    काविमोले सिंगो च्याप्टर नै फालिदिए । थप चार वटा च्याप्टर पनि फालिदिए । अर्को साथीलाई देखाए । ती साथीले भने, ‘कथा धेरै नै कुदेछ, परिवेश चाहियो ।’

    अनि उनले परिवेशको वर्णनमा ८-१० हजार शब्द थपे । यसपछि कवि, समालोचक सुधीर क्षेत्रीलाई देखाए । क्षेत्रीले नै ‘फातसुङ’बारे काविमोलाई भनेका थिए, ‘यो किताबले तिमीलाई चिनाउँछ ।’

    ‘उरमाल’ पढेपछि क्षेत्रीले भने, ‘यो किताब त अझै बलियो भएको छ । दुई च्याप्टरमा थप काम गर्नू ।’

    थप दुई च्याप्टरमा काम गरेपछि पाण्डुलिपि नेपालमा फाइनप्रिन्टलाई पठाए । फाइनप्रिन्टले हेर्न ढिला गरिदियो । काविमो तनावमा गए, तर पर्खिनुबाहेक अर्को विकल्प उनीसँग थिएन । एक दिन म्यासेज आयो, ‘चियाबारीबारे कसरी थाहा भयो ?’

    काविमोले भने, ‘पहिला दुईतीन साल बसेको थिएँ । अनि अहिले रिसर्च धेरै गरेँ । कथा कस्तो लाग्यो ?’

    ‘ठीकै लागिराछ ।’

    अनि पो काविमो तनावमा गए, ‘ला ठीकै मात्र पो भएछ !’

    अनि उनी पूरा तनावमै भइरहेको वेला फाइनप्रिन्टको मेल आयो । मेलको सुरुमै लेखिएको थियो, ‘किताब एकदमै राम्रो भएको छ । रिराइट पनि खासै गर्नु नपर्ला जस्तो छ ।’

    काविमो सुनाउँछन्, ‘अनि पो म ढुक्क भएँ ।’

    कथा कसरी भन्ने ?

    चित्रले कागती खाँदैछ भनेर खाएको मात्रै देखाउन सक्छ रे ! तर आख्यानले चाहिँ कागती खाँदैछ भनेर थुक पनि निलेको फिल दिनुपर्छ रे ! काविमोलाई लाग्छ, साहित्य भनेको समाजको नक्सामात्रै होइन । साहित्य कल्पना पनि हो । शैली र शिल्पको पनि कुरा आउँछ साहित्यमा । यही सबै मिलेपछि कथा बन्छ ।

    ‘पहिला कन्टेन्ट पक्रिने हो । अनि त्यसलाई कल्पनामा हाल्ने हो । अनि पात्र सृजना गर्ने हो’, उनी सुनाउँछन्, ‘अनि कस्तो शैलीमा भन्ने, लेखकको आआफ्नो तरिका होला ।’

    मैले सोधेँ, ‘मानौं तपाईंको अघि एउटा कप छ । त्यो कपलाई लिएर कसरी कथा भन्नुहुन्छ ?’

    काविमो भन्छन्, ‘मलाई इतिहासमा अलि रुचि छ । त्यतातिर जान्छु होला । त्यो कप कसले बनायो, कसरी यहाँसम्म आइपुग्यो, कहाँ-कहाँ यसको टुक्रा चोइटियो, किन चोइटियो भनेर खोज्छु होला । अनि कपको डिजाइन राम्रो रैछ, कसले डिजाइन बनायो होला भन्नेतिर लाग्छु होला ।’

    अनि उनले कथा भनिरहँदा सिकेको एउटै कुरा हो, लेखकसँग सुन्ने क्षमता धेरै नै हुनुपर्छ । आफैंले दामी लेखिरहेको छु भन्नेतिर लाग्यो भने लेखन राम्रो हुँदैन । यस्तो भ्रमबाट लेखक माथि उठ्नुपर्ने काविमोको सुझाव छ । र, मात्रै कुनै राम्रो कुरा लेखेको दिन सबै दुःख भुलेर लेखक खुसी हुने उनको अनुभव छ ।

    उनको लेख्ने तरिका सिम्पल छ, लेखनको क्रममा उनी ब्याकग्राउन्डमा म्युजिक बजाउँछन् । म्युजिक जस्तो पनि हुनसक्छ । अधिकांश चाहिँ अहिले चलिरहेको हिन्दी गीतहरु बजाउँछन् । अनि लेख्न सुरु गर्छन् । लेख्दै जाँदा म्युजिक भुल्छन्, लेखनको म्युजिकमा पस्छन् ।

    ‘लेखिसकेपछि पढ्छु । लेखनको टोन आउँछ कि आउँदैन भनेर फोकस हुन्छु’, काविमो भन्छन्, ‘सरर्र पढ्दा जहाँ रोकियो, त्यसलाई फेरि बनाउँछु । मलाई के लाग्छ भने म रोकिएको ठाउँमा पाठक पनि रोकिन सक्छन् ।’

    जे विषयमा लेख्न मन छ, ड्याङ्गै सुरु गरिहाल्ने हो

    सलल बग्ने गरी कथा भन्ने नयनराज पाण्डेको लेखन शैली काविमोलाई गजब लाग्छ । अमर न्यौपानेको लेखनमा जुन संवेदना आउँछ, त्यसो उनलाई एकदमै मनपर्छ । बुद्धिसागरको कथा भन्ने शैलीका प्रशंसक हुन् ।

    सरस्वती प्रतीक्षाले उठाएका विषयहरुले काविमोलाई छुन्छ । वसन्त बस्नेतको लेखन पनि उनलाई राम्रो लाग्छ । श्रवण मुकारुङका गीत र कविताका प्रशंसक पनि हुन् उनी । भन्छन्, ‘उहाँका हरेक गीतहरु मनबाट लेखेको जस्तो लाग्छ । मनबाट लेखेर नै कसैको मनलाई छुन्छ नि हैन र ?’

    त्यसैले साहित्यमा छिर्न खोजिरहेका युवा लेखकहरुलाई काविमोको सुझाव छ- ‘कथालाई जसरी हुन्छ, लेख्न सुरु गर्नुस् । ‘यहाँबाट सुरु गर्छु, यहाँ अन्त्य गर्छु’ भनेर सोच्नुभयो भने सोचेको सोचेयै हुन्छ । लेखनको सुरु नै हुँदैन । त्यसैले जे लेख्न मन परेको छ, ड्याङ्गै सुरु गरिहाल्ने हो । अनि जता मनपर्छ, त्यता लेख्दै जानुस् । लेख्दै गएपछि कथाले विस्तारै आकार लिन थाल्छ । लेख्दै गएपछि तपाईंलाई थाहा हुन्छ, यहाँ अपुग भयो ।’

    उनी थप्छन्, ‘लेखन भनेको कसैलाई नयाँ कुरा दिनु मात्रै होइन, आफैंले नयाँ कुरा लिनु पनि हो । रिसर्चको क्रममा मैले नयाँ अनुभव बटुलिरहेको हुन्छु । मेरा लागि त्यो अनुभव सबैभन्दा मीठो अनुभव हो ।’

    उनी कथाका च्याप्टरहरु लेख्दै जान्छन् । लेख्दै गर्दा एउटा मोडमा पुगेपछि उनलाई लाग्न थाल्छ, अब कथा लेखेर सकियो । यसपछि कथालाई माझ्न सुरु गर्छन् । शिल्पमा काम गर्छन् । शैलीमा काम गर्छन् ।

    ‘ठूलो पर्खाल बनाउँदा सानो ढुंगाको चोइटो कहाँ राख्ने भन्ने कुरा पनि अर्थपूर्ण हुन्छ । त्यसैले मैले जे पनि लेख्नु भनेर किन भनेको हो भने त्यो च्याप्टर काम नै लागेन भने पनि बीचका लाइनहरु कतै काम लाग्न सक्छन् । जहाँ काम लाग्छ, टिपेर लगेर ट्याक्क राखिदिने हो’, काविमो सुनाउँछन्, ‘दुई प्याराग्राफ जति नराम्रो लाग्छ, त्यसलाई फ्याँकिदियो । एक प्याराग्राफ लगेर अर्कोतिर राखिदियो । त्यसो गर्दा ठ्याक्कै मजबुत पर्खाल बने जस्तो हुन्छ । त्यतिबेला चाहिँ ‘अँ अब चाहिँ कथा बनेछ’ भन्ने फिल आउँछ ।’

    ‘अनि पाठककहाँ फ्रेस किताब पुग्दैछ भन्दा कस्तो महसुस हुने रैछ’, मैले सोधेँ ।

    काविमो हाँस्दै भन्छन्, ‘उत्साह र डर दुवै हुन्छ ।’

  • जिल्ला शिक्षा अधिकारीबाटै ‘देशद्रोही’ करार हुँदा…

    जिल्ला शिक्षा अधिकारीबाटै ‘देशद्रोही’ करार हुँदा…

    वर्षे झरी खुलेकै थिएन । २०४५ भाद्र १ गतेको दिन थियो, मैले अस्थायी शिक्षकमा नियुक्ति पाउँदा । म कलेज पढेर फर्किएको २२ वर्षे ठिटो थिएँ । ममा केही गरौ भन्ने उत्साह र जाँगर थियो । थप अध्ययनका लागि खर्चको जोहो पनि गर्नु थियो । शिक्षक भए पनि पाँच जना छोराछोरी एक साथ पढाउन र घरव्यवहार धान्न बुबालाई हम्मेहम्मे परिरहेकै थियो । घरायसी सल्लाहअनुसार नै मैले गाउँको विद्यालयमा शिक्षण गर्न थालेको थिएँ । मलाई शिक्षक राख्न पाउँदा विद्यालय परिवार पनि हर्षित थियो ।

    शिक्षण गर्नु एउटा पाटो थियो भने शिक्षण सँगसँगै पञ्चायतइतर राजनीति गर्नु अर्को पाटो थियो । म कलेज पढ्दा वामपन्थी विचारद्वारा प्रशिक्षित अनेरास्ववियुको सक्रिय कार्यकर्ता थिएँ । मैले अनेरास्ववियुको प्रारम्भिक कमिटीको सचिवको जिम्मेवारी निर्वाह गरिरहेको थिएँ । जनतालाई पञ्चायतविरुद्ध संगठित गर्ने र शिक्षक विद्यार्थीलाई आन्दोलित पार्ने काम कम चुनौतीपूर्ण थिएन । पञ्चहरु र पुलिस प्रशासनको निगरानीलाई छलेर राजनीति गर्नुपर्थ्यो । सुराकी लाग्ला भनी उस्तै डराउनुपर्थ्यो । ज्यानको बाजी थापेर काम सल्टाउनु पर्थ्यो ।

    महेन्द्र मोरङ कलेज पूर्वकै चर्चित कलेज थियो । पूर्वी पहाडी जिल्ला र पूर्वी तराईका जिल्लाका विद्यार्थीको रोजाइमा पर्ने उक्त कलेजमा अनेरास्ववियुको पकड राम्रो थियो । म मावि पढ्दा पनि अनेरास्ववियुमै आस्था राख्थें । फलस्वरुप कलेजमा पनि स्वभावतः म अनेरास्ववियुसँगै जोडिन पुगें ।

    मेरो घर भोजपुरको बोया हो । बोया दुर्गम गाउँ थियो । अहिले जस्तो यातायात, सञ्चार, विद्युत, स्वास्थ्य जस्ता विकासका पूर्वाधार केही पनि थिएन । गाउँमा अशिक्षा व्याप्तै थियो । तथापि केही विद्यालय भने सञ्चालनमा थिए । छोरालाई विद्यालय पठाए पनि छोरीलाई विद्यालय पठाउनेको संख्या कमै थियो । घाँस, दाउरा, पशुपालन र खेतीपाती प्रमुख पेसा थियो । धेरै घरपरिवारलाई आफूले उब्जाएको अन्नले खान पुग्दैन थियो । गरिबीको शिकार बनेर गरिबहरु साहुसँग चर्को ब्याजमा पैसा चलाउन बाध्य थिए । बनिबुतो नगरी बिहान-बेलुकाको छाक टार्न हम्मे थियो ।

    शिक्षा प्राप्त गर्ने अधिकार टाठाबाठाका छोराछोरीलाई मात्रै थियो । गाउँमा असमानता थियो । गाउँलेहरु पूर्वजन्मको कमाइ सम्झेर चित्त बुझाउने गर्थे । उनीहरुको दिमागमा स्वर्ग नर्क पाप-पुण्य यो जन्म र पूर्वजन्म भन्ने जस्ता रुढी कुराहरु व्याप्त गराइएको थियो ।

    धनीहरु ऐसमाथि ऐस गरिरहेका थिए भने गरिबहरु झन् गरिब बन्दै थिए । शिक्षा प्राप्त गर्ने अधिकार टाठाबाठाका छोराछोरीलाई मात्रै थियो । गाउँमा असमानता थियो । गाउँलेहरु पूर्वजन्मको कमाइ सम्झेर चित्त बुझाउने गर्थे । उनीहरुको दिमागमा स्वर्ग नर्क पाप-पुण्य यो जन्म र पूर्वजन्म भन्ने जस्ता रुढी कुराहरु व्याप्त गराइएको थियो । अशिक्षा र गरिबीका कारण गाउँलेहरु तिनै रुढी कुरा पत्याउन विवश थिए । गाउँको सबै परिवेश चिरेर जनता संगठित गर्ने काम मेरा लागि आफैंमा कम चुनौतीपूर्ण थिएन । विराटनगरबाट पढेर आएको भने पछि पञ्चायती कार्यकर्ता शंकालु दृष्टिले हेर्ने गर्थे । मेरा हरेक गतिविधिमाथि निगरानी राख्थे ।

    अस्थायी शिक्षकको म्याद तीनतीन महिनामा सञ्चालक समितिको निर्णयानुसार जिशिकामा गएर थपाउनुपर्थ्यो । तीन महिना काम गर्नेबित्तिकै ममाथि प्रश्न उठाएर म्याद थप नगर्ने भन्ने खालको सञ्चालक समितिलाई माथिको निर्देशन भएछ । तथापि एक पटकलाई सञ्चालन समितिले बलजफ्ती तीन महिना म्याद थप्ने भन्ने निर्णय गर्‍यो । जिशिकाले पनि आनाकानीका साथ एक पटकलाई म्याद थप गर्‍यो । जेनतेन ६ महिने जागिर भयो मेरो । ६ महिनापछि मेरो म्याद थप गरिएन । म अवकाश भएँ ।

    विद्यार्थीहरु राम्रैसँग मेरो शिक्षणप्रति रमाइरहेकै थिए । म अवकाश हुने भएपछि विद्यार्थी र अभिभावकमा एक प्रकारको निराशा नै छायो । राम्रो पढाउने मान्छेलाई किन देखी नसहेको भनी अभिभावकरुले गुनासो पोखे । केही अभिभावकहरु मेरो म्याद थपको लागि अनुरोध गर्न जिशिका भोजपुर गए तर उनीहरुको भागमा निराशामात्रै पर्‍यो । उल्टै उनीहरुलाई समेत धम्की दिइयो- अराष्ट्रिय तत्वको पछि लाग्ने ? तिमीहरुलाई पनि जेलमा सडाइदिउँ ? तिमीहरुको मास्टरलाई हामी जहाँ भेट्यो, त्यही पक्डन्छौं र जेलमा हाल्छौं । देशद्रोही हो तिमीहरुको मास्टर !

    अभिभावकहरु च्कित भए । त्यति राम्रो पढाउने मान्छे कसरी अराष्ट्रिय तत्व हुनसक्छ ? कसरी देशद्रोही हुनसक्छ ? के अन्यायको विरुद्ध बोल्नु देशद्रोह हो ? अन्ततोगत्वा ६ महिनापछि म गाउँ छोड्न बाध्य भएँ । गाउँलेहरु निराश बने । गाउँको परिवर्तन अवरुद्ध भयो । ठूलावडाको हालीमुहाली कायमै रहने भयो ।

    उल्टै उनीहरुलाई समेत धम्की दिइयो-  अराष्ट्रिय तत्वको पछि लाग्ने ? तिमीहरुलाई पनि जेलमा सडाइदिउँ ? तिमीहरुको मास्टरलाई हामी जहाँ भेट्यो, त्यही पक्डन्छौं र जेलमा हाल्छौं । देशद्रोही हो तिमीहरुको मास्टर !

    २०४४ पौषमा विराटनगरबाट अनेरास्ववियुको काम लिएर धनकुटा आउँदै गर्दा म भेंडेटारमा पक्राउ परें । मेरो साथबाट प्रहरीले धनकुटा लगिएका प्रचार सामग्री र मोदनाथ प्रश्रितद्वारा लिखित देवासुर संग्राम नामको काव्य बरामद गरी मलाई हिरासतमा लियो । अड्डा सार गर्दै भोजपुर लैजाने तयारी गरियो । अड्डा सार्ने नाममा धेरै योद्धाहरुको हत्या गरिएको कुरा स्मरणमा आयो । अड्डा सार्ने नाममा मलाई पनि सिध्याउने त हैन भन्ने प्रश्नले मलाई सताउन थाल्यो । रात परेपछि भेंडेटारबाट धनकुटा हिरासत ल्याइयो । प्रहरीका अश्लील बोली सुनिसक्नु थिएन । तेरो यो अन्तिम यात्रा हो । तेरो बाँच्ने दिन सकियो भन्ने जस्ता त्रासदीपूर्ण व्यवहार देखाइयो ममाथि । मलाई शारीरिक यातना कम दिए पनि मानसिक यातना बढी दिइयो । भात खान दिइएन । भोकै राखियो ।

    अड्डा सार गर्दै मलाई धनकुटाबाट हिले, हिलेबाट पाख्रिबास, पाख्रिबासबाट लेगुवा, लेगुवाबाट तिवारी भञ्ज्याङ हुँदै भोजपुर पुर्‍याइयो । अहिले जस्तो बाटोघाटो थिएन । यातायात थिएन । पैदलै हिँड्नुपर्थ्यो । भोक र तिर्खाले गले पनि जबरजस्ती हिँडाइन्थ्यो । हातमा हतकडी लगाइएको थियो । चिसो फलाम गह्रुङ्गो भइरहेको थियो । दुई दिन हिँडेपछि भोजपुर हिरासत पुर्‍याइयो । भोजपुर पुग्नेबित्तिकै ‘खै कहाँ छ शिकार, अनेरास्ववियुको सचिव ? अब देख्छ बाउको बिहे ।’ सायद डीएसपी होला । दम्भले गर्जियो ऊ ।

    फोन सुविधा थिएन । चिठी पठाउन पनि नपाइने । बाहिर सम्पर्क हुने कुरै भएन । लेखपढ गर्न पनि नपाइने । साँच्चैको नारकीय हुँदोरहेछ हिरासतको जीवन । सीडीओ खतिवडा थरकै रहेछन् । उनी पनि आएर ममाथि खनिए । ‘साले खतिवडाको बेइज्जत गरिस् । तेरो घर खानतलासी हुन्छ बुझिस् । तँलाई जेलमै सढाउने हो । कही नभएको अराष्ट्रिय तत्व ।’ भर्खर नियुक्त भएको इन्स्पेक्टर हुँ भन्थ्यो । उसले पनि आफ्नो दम्भ देखाउँदै भनिहाल्यो- ‘साले तँ अनेरास्ववियु । तैले मात्रै पढिस् कलेज ? खै ! हामी पनि कलेजै पढेर आएका हौं । हामीले राजनीति गरिएन त ! तलाई ठिङ्गुुरा हालेपछि टुङ्गोमा आउँछस् । तेरो जिन्दगी सकियो बुझिस् ।’

    प्रहरीका अश्लील बोली सुनिसक्नु थिएन । तेरो यो अन्तिम यात्रा हो । तेरो बाँच्ने दिन सकियो भन्ने जस्ता त्रासदीपूर्ण व्यवहार देखाइयो ममाथि । मलाई शारीरिक यातना कम दिए पनि मानसिक यातना बढी दिइयो । भात खान दिइएन । भोकै राखियो ।

    तथानाम गाली र मानसिक यातना खप्नुबाहेक अर्को विकल्पै थिएन मसँग । सञ्चार सुविधा नभएपछि म कस्तो परिस्थितिमा छु भन्ने कुरा विराटनगरका साथीहरुलाई थाहा हुने कुरै भएन । घरपरिवार पनि अज्ञातै रह्यो मप्रति । कसोकसो गरेर भोजपुर बजारमा पसल गर्ने र काफ्लेको विद्यालयमा पढाउने मेरो क्लासमेट तथा गाउँले छिमेकी दाइ शिव श्रेष्ठसमक्ष म हिरासतमा भएको कुराको सूचना पुगेछ । सूचना पुग्नेबित्तिकै उहाँ मलाई विस्कुटहरु लिएर भेट्न आउनुभयो । बेलैमा थाहा पाउन नसकेकोमा उहाँले पश्चाताप व्यक्त गर्नुभयो । म साथी भेटेकोमा हर्षले पनि रोएँ । पीडाले पनि रोएँ ।

    म हिरासतमा रहेको कुरा तत्कालीन महिला संगठनकी सदस्य हुनुपर्छ सायद । विन्दुशोभा राई रहेछ उहाँको नाम । उहाँको कानमा पनि मेरो कुरा पुगेछ । उहाँको घर पनि बोयै रहेछ । मसँग कहिल्यै पनि देखभेट भएको थिएन । नाताले म मित भदै पर्दोरहेछु । उहाँ आएर हिरासत बसेको अठारौं दिन यो मेरो गाउँले भाइ हो । यसको जिम्मा म लिन्छु भनेपछि एउटा कागज गराएर मलाई हिरासत मुक्त गरियो । विन्दुशोभा राई पञ्चायती कार्यकर्ता भए पनि मेरो रिहाइमा पहल गर्नुभएकोमा उहाँलाई धन्यवाद दिँदै म बोया घरतिर लागें । सायद उहाँ जनपक्षीय कार्यकर्ता हो कि ? म पक्राउ परेको कुरा एक कान, दोकान, मैदान हँुदै गाउँभरि फैलिएको रहेछ । म गाउँ आएको देखेर केही मानिस आश्चर्यमा पर्नु स्वाभाविकै थियो । म गाउँ आएकोमा धेरै गाउँले खुशी थिए । किनकि म अन्यायको विरोध गर्दै उनीहरुको पक्षमा बोल्ने गर्थे ।

    म पक्राउ परी हिरासतमा बसेपछि प्रहरीले उसको सूचीमा मलाई अराष्ट्रिय तत्वको रुपमा राखी सबै कार्यालयहरुमा पत्राचार गरेको रहेछ । नेपालभरि जागिर खान नपाइने भनी पुलिस रिपोर्ट बिगारिएको रहेछ । पटकेमा पुनः पक्राउ गर्नसक्ने कुरा पनि लेखिएको रहेछ । आमाबुबा पनि घरमा नभएको मौका परेछ । भाइबहिनीहरु मात्रै थिए । आमाबुबा काठमाडौं जानुभएको रहेछ । म पक्राउ परी हिरासतमा रहेको कुराप्रति उहाँहरु अनभिज्ञ नै हुनुहुन्थ्यो । तथापि विराटनगरबाट धनकुटा गएको तर सम्पर्कमा नरहेको भन्ने सम्मको सूचना प्राप्त गर्नुभएको रहेछ । काठमाडौंको यात्रालाई छोट्याएर जतिसक्दो चाँडो फर्कने प्रयत्न गर्नुभएछ ।

    म आमाबुबा घर नआइपुगिकनै विराटनगर फर्कनुपर्ने भयो । मलाई पुनः गिरफ्तार गर्ने सूचना प्राप्त भयो । मेरो परीक्षा पनि आइरहेकै थियो । म राति नै बाटो लागें । दुई दिनपछि विराटनगर पुगें र साथीहरुको सम्पर्कमा गई घटना वृतान्त सुनाएँ । म बाँचेर आउन सफल भएकोमा साथीहरुले खुशी व्यक्त गर्दै मलाई बधाई ज्ञापन गरे । म पनि खुशीले पुलकित भएँ । अबको यात्रा कसरी व्यवस्थित गर्ने भन्ने सोचमा दिनहरु बित्न थाले । भूमिगत वा अर्ध-भूमिगत कस्तो जीवन रोज्ने ? मैले सुरक्षित रहन वैकल्पिक बाटा खोज्नैपर्थ्यो ।

  • कविता : अदृश्य अस्तित्वका भावहरू

    कविता : अदृश्य अस्तित्वका भावहरू

    म अदृश्य अव्यक्त भावनाहरूको गुह्य बिसौनी हुँ,
    जहाँ मौनताका हरेक ध्वनीहरूले आफ्नै कथा बुन्छन् ।
    तिम्रा दृष्टिका अनुत्तरित प्रश्नहरूको मौन प्रहर हुँ,
    जहाँ उत्तरले सधैँ अभावको आभास मात्र दिन्छ ।

    तिमी मेरा संवेदनशील सृष्टिका समर्पित गीत हौं,
    जसको प्रत्येक अक्षरले शाश्वत प्रेमको बाटो खोज्छ ।
    जहाँ भावनाहरूले सीमा तोड्छन्,
    र एउटा अद्वितीय ब्रह्माण्डको निर्माण गर्छन् ।

    तिम्रो अनुपस्थितिमा मेरो अस्तित्व क्षीण भई गल्छ,
    जसरी निर्वातमा कम्पनको कल्पना बिलाउँछ ।
    तिम्रा स्मृतिहरू असीम सागरको ज्वारभाटा जस्तै,
    मलाई हरेक क्षण तिम्रो अस्तित्वको लालसा दिलाउँछ ।

    तिम्रो चुप्पी, मेरो अन्तरमनको प्रलयंकारी राग हो,
    जसले मेरो मौनतालाई पनि असीम सजीव बनाउँछ।
    तिम्रो प्रत्येक निस्तब्धताको कण-कणमा,
    म मेरो अनन्तताको अंश खोज्छु ।

    मेरो प्राण, तिम्रो करुणा भित्र अटाएको एउटा छाया हो,
    जसले आफ्नो दीप्तिमय स्वरूपलाई तिमीमा अर्पण गरेको छ ।
    तिम्रा सुकिला भावना र तिम्रो न्यानो दृष्टिले,
    मेरो जीवनलाई पुनःप्रकाशित गर्छ ।

    तिम्रो हाँसो, मेरो अमरत्वको अभिलाषा हो,
    जसले सृष्टिका सबै दुर्दिनलाई विमोहित बनाउँछ ।
    तिम्रो एउटा मुस्कानले संसारको सम्पूर्ण दु:खलाई,
    शीतलताको प्रतीक्षामा परिणत गर्छ ।

    तर, म त केवल अभावको एक अनुगूँज हुँ,
    तिम्रो छोडेको गन्धको अमिट स्मृति ।
    तिमीले बिसाएको गीतको अन्तिम नाद,
    अनि ती अदृश्य शब्दहरूको अनन्त अनुग्रह ।

    यसरी, म तिम्रै परिभाषामा समाहित एउटा अदृश्य व्याख्या हुँ,
    जसको प्रत्येक अक्षर तिम्रो नाममा अर्पित छ ।
    मेरो अस्तित्व तिम्रै संसारको परिधिमा टेकेको छ,
    र तिम्रो उपस्थितिले मात्र मेरो जीवनको अर्थ दिन्छ ।

  • पत्रकार बुढाथोकीको पुस्तक ‘जङ्गबहादुर इन इङ्गल्याण्‌ड’ सार्वजनिक

    पत्रकार बुढाथोकीको पुस्तक ‘जङ्गबहादुर इन इङ्गल्याण्‌ड’ सार्वजनिक

    काठमाडौं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले तयार गरेको पुस्तक ‘जङ्गबहादुर इन इङ्गल्याण्‌ड ’ सार्वजनिक भएको छ ।

    मण्डिखाटारको गेट कलेजमा सार्वजनिक भएको पुस्तक प्राध्यापक त्रिरत्न मानन्धर, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कुन्द दीक्षित, इतिहास अध्येता यादव देवकोटा, लेखक पिता बक्तबहादुर बुढाथोकीलगायतले सार्वजनिक गरेका हुन् ।

    कमलमणि दीक्षितले जङ्गबहादुर राणाको बारेमा चार पुस्तक लेखेको भन्दै लेखक बुढाथोकीले फरकफरक पाटोबाट अध्ययन गर्ने क्रममा तयार गरेको र पुस ४ मा बेलायत पुगेको १७५ वर्ष पुगेको अवसर भएकाले यही हप्ता किताब सार्वजनिक गरेको बताए ।

    राणाकालको आर्थिक मुद्दा खोल्ने क्रममा पुस्तक तयार भएको उनले सुनाए । आफूले ११ पुस्तक पढेको आधारमा जङ्गबहादुरको रोचक सूचना पाएको उनको भनाइ छ ।

    उनले तथ्य केलाउँदाको अनुभव सुनाउँदै भने, ‘हाम्रोमा इतिहास चैँ मिति सही राखेर फिक्सन लेखिनेरहेछ ।

  • पुसको चिसो हाइकिङ

    पुसको चिसो हाइकिङ

    ४३,७०७ । यो नम्बर मोबाइलमा देखें । यो कसैको फोन नम्बर थिएन । नेताको भोटको नम्बर थिएन । पैसाको अंक पनि थिएन । संसार उलटपुलट पार्ने नम्बर पनि थिएन । यो थियो दिनभर हिँडेको पाइला । किलोमिटरमा गएर हेरे २७.८ देखायो । बाफ रे बाफ ! यत्रो हिँडिएछ झैं लाग्यो । दुःखले हिँडेको भए यो पाइला गणना नै हुने थिएन । सुखले हिँडेकाले मोबाइलमा हेर्ने भइयो भन्ने लाग्यो ।

    हामीले भन्ने पैदल यात्रालाई संसारले अहिले हाइकिङ भन्दैछ । यो चर्चित हुँदै गएको छ अहिले । कामविना मनोरञ्जनको लागि हिँड्ने यो हाइकिङ धेरै हिँडियो । आज यसको इतिहास बुझ्न मन लाग्यो । आवश्यकभन्दा बढी मनोरञ्जनको लागि हिँड्नुलाई नै हाइकिङ भनिँदोरहेछ भन्ने चाल पाएँ । यसको सर्वप्रथम प्रयोगमा ल्याउने श्रेय इटालियन कवि पेट्रोकलाई दिइँदोरहेछ । उनलाई बारम्बार पहिलो हाइकरको उदाहरणको रुपमा लिइँदो रहेछ । सन् १३३६ अप्रिल २६ मा भाइ र दुई सेवकको साथमा उनले मनोरञ्जनको लागि माउन्ट भेन्टक्स चढे । जुन १,९१० मिटर अग्लो थियो । सान सेपोल्को नामक भिक्षुलाई चढेको जानकारीस्वरुप लिखित पत्र पठाए । यसपछि नै उनलाई पहिलो हाइकरको रुपमा लिइयो । कतिपयले यो कविको काल्पनिक चढाइ हुनसक्छ भनेका पनि रहेछन् ।

    हामी सुखभन्दा बढी दुःख गन्छौं । शब्दहरु त सुखतिर पनि ढल्कने रहेछन् । भारी बोक्ने भरियाहरुले कति हिँडेका हुन्छन् । त्यो गणनामै आउँदैन । राजा, महाराजा र कविहरुभन्दा अघि पनि त हिँडिरहने थिए र रहनेछन्, तर कवि र राजा, महाराजाहरुले शब्दमा बुने र हाइकिङ, ट्रेकिङ शब्द सुखतिर ढल्कियो । बाध्यताको लागि नभई मनोरञ्जनको लागि पहाड चढ्ने, हिँड्ने, घुम्नेहरुलाई हाइकर्स र ट्रेकर भन्न थालियो । संसारभरका राजा, महाराजाहरुले मनोरञ्जनको लागि हिमालपहाड चढे, गरिबले चढेको कुरा कहीँ इतिहासमा आएन । रोमन सम्राट हेड्रियनले १२५० मा ग्रीसबाट फर्कंदा माउन्ट एटेना चढेको भनिन्छ । १४औं शताब्दी, १६औं शताब्दीमा पनि राजाहरुले हिमालपहाड चढेको इतिहास छ ।

    ग्रामीण क्षेत्रमा पदयात्रा गर्ने विचार युरोपमा १८औं शताब्दीमा विकसित भयो । १८औं शताब्दीमा युरोपमा आनन्दको लागि हिँडने तरिका विकसित भयो । क्यानडा र संयुक्त राज्यले हाइकिङ शब्द रुचाए । १९औं शताब्दीमा हाइकिङ लोकप्रिय बन्यो । पहिले पदयात्रा गरिबी थियो, अब सौख र धनीको लागि मानिन थाल्यो । कवि विलियम वर्डस्वर्थले फ्रान्स, स्वीट्जरल्यान्ड र जर्मनीको यात्रा सुरु गरेर आफ्नो आत्मकथामा लेखे ।

    आवश्यकभन्दा बढी मनोरञ्जनको लागि हिँड्नुलाई नै हाइकिङ भनिँदोरहेछ भन्ने चाल पाएँ । यसको सर्वप्रथम प्रयोगमा ल्याउने श्रेय इटालियन कवि पेट्रोकलाई दिइँदोरहेछ । उनलाई बारम्बार पहिलो हाइकरको उदाहरणको रुपमा लिइँदो रहेछ ।

    श्रुति परम्परामा हुर्केको छ हाम्रो समाज । हिजोदेखि नै हाम्रा बावुबाजे, बराजुका कथा लेखिएनन् । हिमालयको छेउमा जन्मेका हाम्रा पुर्खाहरु हिँडेरै त उतिबेला संसारभर पुगे होलान्, तर नलेखेपछि इतिहास मर्दाेरहेछ । मान्छेले आफ्नो कथाको इतिहास लेख्नुपर्दछ । मान्छेको मरणपछि पनि स्मरण हुनुपर्दछ । मान्छे मरे पनि कर्मको कथा मर्नुहुँदैन भनेर घोस्ट राइटिङ नेपालको यात्रा हुँदै लेखनकुञ्जमा आइपुगेको छु । मेरो पनि यात्रा नै हो यो । मान्छेहरु भेट्दै किताब लेख्ने यात्रा ! नत्र पदयात्राको इतिहास हाम्रो पूर्वले नै भन्नसक्ने थियो होला । लिखित प्रमाण नभएपछि अहिले १२औं र १३औं शताब्दीबाट हाइकिङ शब्द सुरु भएको मान्न पर्‍यो । लेखनकुञ्जको कर्ममा यो यात्राले अझ रोचकता र रोमाञ्चकता थपेको छ ।

    ०००

    प्राचीन समयमा मानिसहरु मुख्यतः व्यवहारिक कारणले धार्मिक तीर्थयात्राका लागि हिँड्थे । त्यो लेखिएन, गणना भएन । आज धेरै आधुनिक हाइकर्सले त्यही प्राचीन मार्गहरु अनुसरण गर्दछन् र क्या हिडियो वा ! भन्छन् । प्रकृति र शरीर जोड्ने सरल माध्यम हो हाइकिङ । एउटा झोलामा पानी एक बोतल, बाटोको खाजा, पसिना पुस्ने रुमाल, एक भेस्ट भए हाइकिङ चलि’गो । शारीरिक लाभ र मानसिक शान्ति र मन प्रशन्न पार्न हाइकिङ जाने गरेको छु । आफैंले आफैंलाई दुःख दिँदाको आनन्द खोज्न जाने गरेको छु ।

    पुस २७ को चिसोमा तात्न ह्याप्पी हाइकर्स टोलीसँग हाइकिङमा थिएँ । टोलीमा २१ जना थियौं । टोली नेता उहीँ बालसखा राजाराम फुयाँल थियो, जसले यो टोलीको नेतृत्व गरिरहेको थियो । उसले सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो ग्रुपमा मान्छे सलबलाउँछन् । नाम लेख्छन्, फेरि हटाउँछन् । जाने दिन शुक्रबार रातिसम्म पनि घट्ने र बढ्ने भैरहन्छ । ऊलगायत ह्याप्पी हाइकर्सका प्रदीप कँडेल, निराकार श्रेष्ठ, राम श्रेष्ठ टोखा, जसुना श्रेष्ठ, प्रकाश आचार्य, राधिका ढकाल, भोला खनाल धापासी, दीपेन महर्जन, रामेश्वर फैंजू, मनोज प्याकुरेल, नमन फुयाल, बृन्दा चौलागाईं घिमिरे, बाबुकाजी महर्जन, राम थापा, सजिता कटुवाल, हेमन्त ढकाल, तेम्बा शेर्पा, ओमप्रकाश गुरुङ र बद्री अर्याल गरी २१ जना भयौं । सदा झैं सखारै(५ः२०)मा श्रीमती सिर्जनाले उनकै गाडीमा लगेर चप्पल कारखाना छाडिदिइन् । त्यहाँबाट ह्याप्पी हाइकर्सको गाडीले चक्रपथ परिक्रमा गर्दै, मान्छे टिप्दै तीनपाने पुर्‍याउँदा बिहानको ७ बजेको थियो । त्यहाँ रोटी, तरकारी, एक अण्डा र चिया खाएर लाग्यौं उकालो ।

    तीनपाने-इकुडोल-माझखण्ड पदयात्रा थियो । बिहानको चिसो थियो । सूर्य निधारमा आइसकेको थिएन । दृश्यले दृष्टिकोण बदल्छ भन्दै प्रकृतिको छटा हेर्दे सुस्ताउँदै, सुयेल हाल्दै उकालो उक्लियो ।

    तीनपानेबाट नयाँ गाउँ हुँदै उक्लियो झाँक्री डाँडा । बाटो नभेटेपछि भालु खोला हुँदै उक्लियो, फेरि ओर्लियो । जताततैबाट हेर्दा पनि भट्टे डाँडाको टावर देखिन्थ्यो । पहिले गएको भट्टे डाँडाले आँखालाई आनन्द दिइरहेको थियो । हिँड्दै जाँदा भैंसे घौबारी हुँदै महाँकाल खोल्सा भन्ने ठाउँ आयो । त्यहाँ कृष्णकुमारी दुलालसँग भेट भयो । उहाँको पसल रहेछ । गाउँको पसल भनेको कमुनिकेशन सेन्टर हो । सब सूचना थाहा हुन्छ । उहाँले नजिकै रहेको महाँकाल देवी माध्यमिक विद्यालयलाई लक्षित गरेर पसल खोल्नुभएको रहेछ । २०१९ सालमा स्थापना गरेको त्यो स्कुलको भवन भव्य थियो । पढ्ने मान्छे हरे रामराम थिए । कृष्णकुमारी आमाले कथा हाल्नुभयो- ‘कक्षा कोठा धेरै भए, पढ्ने मान्छे थोरै भए । सुकुल हुँदा टन्नै मान्छे थिए, डेस्क बेन्च बन्यो, मान्छे छैनन्, गाउँका मान्छे सब काठमाडौं शहर लागे बाबु । त्यसमाथि पनि स्कुलले नै क्यान्टिन राखेपछि मेरो पसल चल्न छाड्यो बा ।’

    श्रुति परम्परामा हुर्केको छ हाम्रो समाज । हिजोदेखि नै हाम्रा बावुबाजे, बराजुका कथा लेखिएनन् । हिमालयको छेउमा जन्मेका हाम्रा पुर्खाहरु हिँडेरै त उतिबेला संसारभर पुगे होलान्, तर नलेखेपछि इतिहास मर्दाेरहेछ । मान्छेले आफ्नो कथाको इतिहास लेख्नुपर्दछ ।

    गाउँपालिकाले शिक्षाको बारेमा फरक ढंगले सोच्नुपर्ने समय आएको त्यो दृश्यले दृष्टिकोण दियो । गाउँबस्तीमा जहाँ जाउँ, सरकारी स्कुल भव्य बनिरहेका छन् । पढ्ने मान्छे भने सुकेनास लागेको रोगी जस्तै भएको छ । कमिसनको चक्करमा भवन बनिरहेका छन् कि लाग्ने ! मान्छे घटिरहेका छन् । पैसाले भवन बनाउनेभन्दा पनि संस्कार बनाउनेमा लगाउनुपर्ने सोच र सभ्यता गाउँपालिकाहरु, वडाहरुले गर्नसके कत्ति जाती हुन्थ्यो भन्ने लाग्यो । ह्याप्पी हाइकर्सले पहिल्यै बाटो कहिल्यै हेर्दाे रहेनछ । हिँड्दै जाने र बाटो बनाउँदै जाने चलन रहेछ । कता बाटो भन्दै सोध्दै हिँड्दै जाँदा बाटोमा टन्नै भोगटे मलाई खाउँ, मलाई खाउँ भनेर बसेका थिए । साना तर रसिला भोगटे सबैले छोडाउँदै खाँदै गरियो ।

    शरीर पनि एक ब्रह्माण्ड हो । हाम्रो शरीरका हरेक अंग विशिष्ट र अनुपम छन् । कुरा कानको गर्न खोजेको ! कान पनि गजब यन्त्र छ बा ! हामी खोला पुगेकै छैनौं, खोला आयो है भन्छ कानले । एकै छिनमा त दुई खोलाको दोभान भेटियो । मकर खोला र ठोस्टे खोलाको पानी एकै ठाउँमा मिसिन आउँदा आएको आवाज रहेछ । पानीको कलकल आवाजसँगै फोटो क्याचक्याच पारियो । खोलापार गर्दै खोलैखोला पहाड उकालो लागियो । खोलाका आवाज सुन्दै हरियाली हेर्दै उकालो हिँड्दा पसिना आइरहेको थियो । बिहान ७ः२६ मा तीनपानेबाट उक्लँदै ओर्लंदै गरेर हिँडेका हामीलाई भोक लागिसकेको थियो ।

    अब पालो थियो आफूले लगेको खाजा खाने ! रमाइलो समय हो यो हाइकर्सको । खुला चउरमा पुगिन्छ र पुरानो समयको वनभात जस्तै गरी सबै बसेर लगेको पानी, खाजा, नट्स, फलफूल कसले के ल्याएको छ, सबैले बाँड्दै खाने गर्छन् । सबैले एक अर्काेलाई बाँडेर खाने, मैले यो ल्याएको छु लिनुस् भन्दै बाँडेर खानुको पूर्वीय सौन्दर्य त्यहाँ झल्कन्छ । एक चउरमा बसेर दृश्यपान गर्दै खानपानमा लागियो ११ः२४ मा । प्लास्टिक च्याँतेको सर्‍याकसुरुक आवाज र खाना खाइरहेको खर्‍याकखुरुक आवाजले रमाइलो अनभूति भइरहेको थियो । थप रमाइलो भयो राम श्रेष्ठजीले अनुहारभर सनब्लक भनेर श्याम अनुहारलाई श्वेत बनाएको देखेर ! सब उहाँलाई हेर्दै हाँस्ने, उहाँ अरुलाई हेर्दै हाँस्ने भयौं । एक-दुई भिडियो र टिकटक बनाएर हिँड्नु थियो । ह्याप्पी हाइकर्सले बाटो भुलेछ । आएकै बाटो फर्कंदै जानुपर्‍यो ।

    त्यहाँ भएका २१ जना नै कोही कहाँको लिडर, कोही कहाँका छौं । ह्याप्पी हाइकर्सको हेडसर अर्थात लिडर उही प्यारो साथी बालसखा राजाराम थियो । तल उसको गाइडले गरेको फोन उसैलाई थाहै भएन । फोनले गर्दा सब आधा घन्टा जाने र आउनेमा परियो ।

    प्राचीन समयमा मानिसहरु मुख्यतः व्यवहारिक कारणले धार्मिक तीर्थयात्राका लागि हिँड्थे । त्यो लेखिएन, गणना भएन । आज धेरै आधुनिक हाइकर्सले त्यही प्राचीन मार्गहरु अनुसरण गर्दछन् र क्या हिडियो वा ! भन्छन् ।

    इकुडोल आइसकेको थियो । चारबाजे घिमिरे कुलायन मन्दिर लेखेको देखें । विसं १९८० मा स्थापना गरिएको रहेछ । हामीसँगै गएका घिमिरेहरुले फोटो खिच्नुभयो त्यहाँ । हामी विस्तारै उकालो लाग्यौं । नानुमैंया स्याङ्दान भेटियो । इकुडोल जान लागेको सहकारीमा हामी माझखण्डदेखि आएको भन्नुभयो । उकालो लाग्दै गयौं । मान्छेहरु भेटिदै गए । जंगलमा, सडकमा सबैले सहकारीमा जान लागेको बताउनुभयो । गाउँमा सहकारीको विकास देखेर शहरमा सहकारीको विनाश सम्भिmएँ । नियतले नियति बनाउने रहेछ । गाउँका मान्छेको नियत चोखो छ, उनीहरु सहकारीको मिटिङ भनेर गर्वले हिँडेका छन् । शहरमा सहकारी भन्यो भने राजनीति र सहकारी ठग दुबै देखिने ! इकुडोलको उकालो उक्लिइसकेपछि आयो बेतिनी । एक घन्टा उक्लेपछि अहा ! टन्नै तोरीबारी भेटियो र भेटिए प्रेमबहादुर जिम्बा तामाङ । बागमती गाउँपालिका वेतिनी माझखण्डका जिम्बा साधारण किसान रहेछन् । गाई चार वटा, नौदश वटा बाख्रा, केही कुखुरा पालेर तीन बच्चा हुर्काइरहेका रहेछन् । भन्दैथे- ‘घाँस काट्ने, वस्तु पाल्ने, दुःखी जीवन छ हजुर मेरो ।’

    मलाई भन्न मनलाग्यो । कम्तीमा तपाईंलाई खोज्दै अख्तियार आउँदैन । तपाईं भ्रष्टाचारमा संलग्न हुनुहुन्न । झूटो बोल्नुहुन्न आफ्नो कामसँग । खुशी हुनुहुन्छ । मस्त निदाउनु हुन्छ । म आएको ठाउँमा त मान्छेहरु रातभर निदाउँदैनन् । पैसा अगाडि आएपछि सत्य पाँच पाइला पछि पर्दछ । पावर आएपछि पैसा पाँच पाइला पछाडि सर्दछ । तपाईंलाई खाने लगाउने चिन्ता छैन, तपाईं सुखी मान्छे हो, तर भनिनँ ।

    छोरासँगै कुरा गर्दा निस्के चन्द्रबहादुर जिम्बा । ८१ वर्षका उनी तगडा रहेछन् । घाँस भारी बोक्ने, दाउरा भारी बोक्ने, खेतीपाती गर्ने उनी आफ्नो बुढी १४ बेत ब्याएको भनेर गर्व गर्दैथे । भन्दैथे- ‘१४ मा पाँचमात्रै बाँच्यो । तीन छोरा र दुई छोरी छान्, छेपारी डाँडा दलबाहादुरको छोरी हो मेरी बुढी, तगडा छ ।’

    फुर्तीले बोल्ने उनी आफू दुई माना पीठो आज पनि खाने बताउँदैथे । उनकै तोरीबारीमा फोटो खिचियो र लागियो ठाडो बेतिनीको उकालो । बेतिनीको उकालोले त ज्यानै खायो । हिँड्नै गाह्रो ठाडोको ठाडै । लगभग भट्टे डाँडाको हाराहारीमा थियो त्यो उकालो । उक्लेको उक्लेयै, उक्लेको उक्लेयै गर्दा असिनपसिन भइयो । चोपट्टै गाह्रो भयो । थकाई, भोक र पसिनाले आलस्य छाए पनि हिँड्नुको विकल्प थिएन । समय जुन बेला पनि सुन्दर रहन्छ । जब उकालो क्रस गरियो, आहा भन्ने ठाउँ आयो ।

    फराकिलो बागमती नदी बगेको देखियो । शहरमा साँघुरिएको बागमती त्यहाँ मस्त फैलिएको थियो । स्थानीय जीतबहादुर वल बागमती हेर्दै डाँडामा प्रशन्न मुद्रामा थिए । हामीलाई देख्नेबित्तिकै मुस्कुराए । उनले आस्राङ जाने बाटो देखाउँदै थिए । हामीलाई पूर्व हैन पश्चिम जानु थियो ।हामी घर नजिकैबाट बग्ने बागमतीलाई फराकिलो बागमतीमा हेर्दै थियौं । माझखण्डमा पुगेपछि बागमतीले ठूलो आकार लिएको देखेर खुशी लाग्यो ।

    नदीको बारेमा चिन्तन गरें । ओहो कति महान रहेछ नदी झैं लाग्यो । पहाडबाट निस्कन्छ नदी, तर नदीले कहिल्यै सोध्दैन समुन्द्र कहाँ पर्छ भनेर । उसले मात्र सिकाउँछ हिँडिराख, हिँडिराख । जति अवरोधका बीच पनि बग्न नछोड, एक दिन गन्तव्य आइहाल्छ । हजारौंहजार वर्षदेखि बगेका नदीका नाममा कविले कति कविता, कथा, उपन्यास लेखे, जुन उसैलाई थाहा छैन । बागमती सभ्यतामा हुर्केका हामी कतिले बागमतीको लागि कति के लेख्यौं, उसलाई थाहै छैन । निरन्तर बगिरहेछ । कसले के भन्यो भनी गुनासो नगरी हिँडिराख्न पनि नदीले त सिकाएछ । नदीले कहिल्यै कसैसँग गुनासो गरेन, बगिराख्यो । जबकि हामी मान्छे कसले के भन्यो भनेर खोज्न थालिहाल्छौं । नदीको विवेक छैन भन्छौं । अनि हामी विवेकशील भएर नदी जत्ति छौं त ? यो प्रश्न आयो र महान नदीलाई प्रणाम गर्दै हामी आयौं माझखण्ड बुद्ध विहार ।

    जंगलमा, सडकमा सबैले सहकारीमा जान लागेको बताउनुभयो । गाउँमा सहकारीको विकास देखेर शहरमा सहकारीको विनाश सम्भिmएँ । नियतले नियति बनाउने रहेछ । गाउँका मान्छेको नियत चोखो छ, उनीहरु सहकारीको मिटिङ भनेर गर्वले हिँडेका छन् । शहरमा सहकारी भन्यो भने राजनीति र सहकारी ठग दुबै देखिने !

    २०५८ सालमा नयाँ बनेको बागमती गाउँपालिका वडा नं ५ माझखण्ड बुद्ध विहारको प्रख्याति राम्रै छ । थेरवादी संस्कारमा बनेको यो विलकुल नेपाली बुद्ध विहार रहेछ । इकुडोल माझखण्डको यो विहारमा बेला बेलामा साह्रै राम्रा कार्यक्रम हुने रहेछ । यहाँ बुद्धको फोटो मुनि राखेको पञ्चशील फेरि एक पल्ट पढें । लेखिएको थियो- पञ्चशील सभ्य समाजको आधार हो ।

    • १) म प्राणी हिंसा नगर्ने शील पालना गर्छु ।
    • २) म चोरी नगर्ने शील पालना गर्छु ।
    • ३) म व्यभिचार नगर्ने शील पालना गर्छु ।
    • ४) म झूटो नबोल्ने शील पालना गर्छु ।
    • ५) म जाँड रक्सी, नशालु पदार्थ सेवन नगर्ने शील पालना गर्छु ।

    पञ्चशीलमा बसेर फोटो खिचे पनि हामी कतिले पञ्चशील प्रतिदिन पालना गर्दछौं, यो मुख्य कुरा हो । मान्छे हिंसा, चोरी, व्यभिचार, झूटो नबोल्ने, जाँडरक्सी, नशालु पदार्थ सेवन नगर्ने भनिरहे पनि त्यो गरिरहेको छ त ? प्रश्न उठिरह्यो मनमा । कायिक, वाचिक, मानसिक रुपले पनि मान्छेले शील पालना गर्नसक्छ । शरीरले नगरे पनि वचनले र मानसिक रुपमा भित्रभित्रै हामी कत्ति पञ्चशीलको नियम मान्छौं, यो मुख्य कुरा लाग्यो मलाई । पञ्चशीलका तीन शीलमात्रै पनि मान्छेले शरीर, वचन र मनले पालन गर्नसके कत्ति जाति हुन्थ्यो होला मानव जाति भने झैं लाग्यो । धातु विहारबाट फोटो खिचेर बाहिरिँदा ३ः४४ भएको थियो । चिसो हावाले हानेर एकछिनै बसेर फोटो खिची हिँडिहालियो ।

    एकै छिन अगाडि बढेपछि भेटियो शारदा शिक्षा सदन माध्यमिक विद्यालय । २०२२ सालमा यो स्कुलमा पढेका मान्छे को कहाँ पुगे होलान् जस्तै लाग्यो । स्कुल भवन भव्य थियो । गाउँमा एक तला त अहिले स्कुल नै हुँदैन । यो पनि तीन तले स्कुल थियो । ४ बजे हामी खाना खाने ठाउँमा पुग्यौं । स्थानीय रस्मिता तामाङ, त्यो गाउँमा बाहिरी मान्छेलाई खाना खुवाउनेमा प्रख्याती रहिछन् । उनले हामी सबैलाई खाना खुवाइन् । स्थानीय चामलको भात, लोकल कुखुरा, लोकल तरकारी, दाल, अचार सबैले मस्तले खाइयो । दिव्यसिंह बम्जनले बुद्ध विहारको बारेमा बताउँछु भने, तर जाडाले भित्रैबाट तातेर बसेका उनले बुद्ध विहारको बारेमा उति बताउन सकेनन् । ल राम्रो भन्दै हामीले बाटो ततायौं ।

    यति बेला ४ः४४ भएको थियो । बाटो नराम्रो भएकाले हामी हिँडेर गाडीमा जानुपर्ने थियो । सूर्य लुक्दै थियो । हामी लम्कँदै थियांै । बाटो ओरालैओरालो झर्नुपर्ने रहेछ । अब रात पर्‍यो । मोबाइलको टर्च बाल्दै ठाडो ओरालो झरियो । ओरालो र अँध्यारोमा बाटो फेरि हरायो । तल गएका हामी माथि उक्लनुपर्ने भयो । सबै हिँडन नसक्ने भइसकेका थियौं । राम श्रेष्ठजीले धन्न ज्यान बचाउनुभयो, खुत्रुक्कै खसेर एक रुखको हाँगो समातेर । नत्र के हुन्थ्यो भन्न सकिन्नथ्यो । खुट्टाले हिँड्न मानिरहेका थिएनन् । बृन्दा चौलागाईं डङ्ग्रङगै दुई पल्ट लडेर हाँसिरहनु भएको थियो । सबै हिँड्न नसक्ने भएका थियौं । वामे सर्दै सर्दै हिँड्दै हामी ७ बजे आइपुग्यौं कलबन । कलकल बगिरहेको खोला नजिकै गाडी थियो । ४० किमि फर्कनुपर्ने थियो । बाटो सानो, धूलो र अँध्यारोले केही देखिँदैनथ्यो ।

    कसले के भन्यो भनी गुनासो नगरी हिँडिराख्न पनि नदीले त सिकाएछ । नदीले कहिल्यै कसैसँग गुनासो गरेन, बगिराख्यो । जबकि हामी मान्छे कसले के भन्यो भनेर खोज्न थालिहाल्छौं । नदीको विवेक छैन भन्छौं । अनि हामी विवेकशील भएर नदी जत्ति छौं त ?

    भैसे, घैबारी, मकर खोल्सा, माझखण्ड, बसेरी, कलवन, दुरी तय गर्दा लगभग २८ किमि सडक यात्रा भयो । २१ पात्र, २१ प्रवृत्ति र प्रकृतिका कुरा भए । ह्याप्पी हाइकर्सले १८ किमि भने पनि २८ भएर लखतरान भएपछि यो लापरबाही भयो भन्दैथे मान्छेहरु । साँझ पर्दै गएपछि महिला दिदीबहिनीहरुलाई घरबाट फोन आइरहेको थियो । फोनमै घरबाट यति ढिला किन भनिरहेको सुनिन्थ्यो । लामो बाटो भोकै हिँड्दा कुनै दिन कसैलाई साह्रै पर्न सक्छ भन्दै थिए । हिँड्दै जाँदा जहाँ पुगिन्छ पुगिन्छ, के भयो हिँड्ने त हो, दुःखमै रमाइलो मान्ने त हो, तालले हाइकिङ हिँडनु हुँदैन भनिरहेका थिए । अरु हाइकर्सहरुले यसो यसो गर्दछन्, यहाँ यसो भनेर भनिरहेका थिए । कम्तीमा बाटो नहराउने र समयमा खुवाउने र पु¥याउने गर्नुपर्दछ भनिरहेका थिए । कति कुरा जायज थिए, कति अनावश्यक थिए ।

    ह्याप्पी हाइकर्समा अरु हाइकर्सले लापरबाही गरेकाले यहाँ आएको भन्दै थिए । यहाँ पनि खन्दै जाने बाटो बनाउँदै जाने हुँदै गयो भनेर भनिरहेका थिए । प्रिय मित्र राजाराम मेरो बालसखाले ग्रुप लिड गरेको देखेर म खुशी छु । दंग छु । हिँडिरहेको छु । हिँडिरहने छु । ह्याप्पी हाइकर्सको सबैभन्दा राम्रो कुरा हरेक हाइक नयाँ हुनु हो । नयाँ भनेको आफैंमा उत्सव हो । उपयुक्त सुझाव लिँदै परिमार्जन गरी उत्सवमय जीवन बनाउन ह्याप्पी हाइकर्सले सहयोग, साथ देओस् मेरो पनि चाहना छ । मुडो काटेर किलो बनाउन ताछ्नै पर्दछ । प्रकृतिले यो सिकाएको छ । केही कुरा ताछ्नै पर्ने रहेछ ह्याप्पी हाइकर्सको । यो बनिसक्यो । यत्रो यात्रा गरिसक्यो । यसको लागि राजारामलाई बधाई दिँदै सुझाव, सल्लाहले सुगन्धित हुन मेरो आग्रह छ । बाल सखालाई अरुले भनेको कानले सुन्न सक्दो रहेनछ । बरु आफैंले भने हुने, अरुले नभने हुने जस्तो लाग्दोरहेछ ।

    पुसको चिसो । रातको चिसो । बिहानको चिसो । साथीहरु लडेको देखेर मनमा परेको चिसो । देशको विकासको ताल देखेर मनमा परेको चिसो । देश देखेर दुःखेको चिसो । रात पर्दै जाँदा मान्छेहरुको मनमा परेको चिसो । पुसको अन्तिम हाईकिङ समग्रमा रमाइलो चिसो हाइकिङ भयो । यारहरुसँगको यादगार दिन भयो । सम्झनाको लागि यसलाई चिसो हाइकिङ नामकरण गरे । कलवन आइपुग्दा खाएको खाना सकिँदै थियो । हामी शहर आउन ४० किमि आउनुपर्दथ्यो । आउनेबित्तिकै साँझ ७ः१९ मा गाडीमा बस्यौं । सानो बाटो र मोडहरुमा गाडी बिस्तारै हिँड्दै थियो । सबै थकित थियौं । चुप थियौं । कोही गाडीमै निदाए । बिहानको जस्तो होहल्ला सुनिएन ।

    सम्झें, विहान शहरबाट गाउँ जाँदै गर्दा पनि मान्छे देखिएन । बेलुका गाउँबाट शहर आउँदै गर्दा पनि मान्छे देखिएन । लाग्यो, आँखा भएर त देखिने भए त ती हिँडिरहेका मान्छे सबै देखिन्थे । आँखा त छ नि ! यी मान्छेहरु हिँडेका किन देखिएनन् ? आँखाले हैन उज्यालोले पो मान्छे देखिने रहेछ । जीवनमा उज्यालो कति महत्वपूर्ण रहेछ भन्ने लाग्यो । हामी सबै उज्यालोको खोजीमा यो पृथ्वीमा छौं । कतिले भेट्छौं । कतिले भेट्दैनौं । प्रश्न यही झैं लाग्यो । अँध्यारोको कारण बस कहाँ आइपुगेछ भन्ने हेर्न गुगल म्याप हेर्नुपर्दछ । बसमा परिचितहरुको हल्ला हुन्छ बिहान । अपरिचितहरु चुप बस्छन् । बेलुका अपरिचित सबै परिचित भैसकेका हुन्छन् ।

    प्रकृतिका रङ्गहरु हेरेर फर्केपछि मलाई लाग्यो । हाइकिङको मुख्य रङ्ग मान्छेको हाँसो हो । संसारकै सबैभन्दा राम्रो रङ्ग नै हाँसो हो । त्यो रङ्ग लगाउन मान्छे संसारमा कहाँकहाँ कुदिरहेका छन् । आफैंसँग भएको रङ्ग अर्केसँग खोज्दै हामी हिँडिरहेका हुन्छौं । हाइकिङ पनि खुशीको रङ्ग हो । अब फेरि यो खुशीको रङ्ग खोज्दै कहाँ जाने हो ? चरैवेति चरैवेति । उपनिषदले भने झैं जानै पर्दछ । हिँड्नै पर्दछ नदीले भने झैं । हाइकिङले भने झैं ।

  • पन्चायतमा ओढार बस्दै पैदल चीन पुग्ने ईश्वर पोखरेल : नेपाल फिर्दा डायरी ल्याउन प्रतिबन्ध !

    पन्चायतमा ओढार बस्दै पैदल चीन पुग्ने ईश्वर पोखरेल : नेपाल फिर्दा डायरी ल्याउन प्रतिबन्ध !

    काठमाडौं । नेपालमा चीनसँगको राज्य तहको हिमचिम राजाहरुबाटै भएको हो । सातौं शताब्दीका लिच्छवि वंश राजा नरेन्द्रदेवदेखि शाह वंशका राजा वीरेन्द्रसम्म चीनका राजतन्त्रदेखि जनगणतन्त्रसम्मका शासकहरुको सम्बन्ध राम्रो थियो । नेपाल र चीनको सम्बन्ध पन्चालयतमा राजतन्त्रसँग अझ प्रगाढ थियो । राजा महेन्द्रदेखि राजा वीरेन्द्रसम्म चीनसँग मित्रता बढेको थियो । राजा वीरेन्द्रले दश पटक चीनको भ्रमण गरेको तथ्यले यसलाई देखाउँछ ।

    राजासँग चीनको राजकीय सम्बन्ध हुँदाहुँदै चीनले नेपालका कम्युनिष्ट पार्टीहरुसँग पनि सम्बन्ध बनाएको देखिन्छ । तर, सम्बन्ध बनाउँदा राजासँगको सम्बन्ध खलबल नहोस्, सूचना नचुहियोस् भन्ने सजकता देखिन्छ ।

    त्यही भएर हुनुपर्छ २०३७ सालमा साढे दुई महिना चीन पुगेर आएका तत्कालीन नेकपा (माले)का नेताहरु सीपी मैनाली र ईश्वर पोखरेललाई चीनले आदर गर्यो । सम्मान गर्यो । घुमायो । तर, यो सबै गुपचुप गर्यो । यही महिना प्रकाशन भएको ईश्वर पोखरलको चीन भ्रमणको कुरा केही अगाडि प्रकाशन भएको सुधिर शर्माको पुस्तक ‘हिमालपारीको हुरी’मा पनि चर्चा गरिएको छ ।

    संयोगले ल्हासा विमानस्थलमा भेट भएका शर्मा र पोखरेलको संवादलाई लिएर शर्माको पुस्तकमा ईश्वर पोखरेलको चीन भ्रमणको कथा थोरै भनिएको छ । यो महिना पोखरेलले सार्वजनिक गरेको पुस्तक ‘आमा सपना र ताराहरु’मा भ्रमणलाई अझ विस्तृतमा चर्चा गरिएको छ ।

    ओडार बास बसेर पैदलयात्रामा चीन : हिन्दी र नेपाली बोल्ने चिनियाँ अधिकारीको स्वागत

    २०३७ जेठ पहिलो हप्ता चीन पुगेका थिए पोखरेलको टोली । नेपाल आउँदा सावन दोस्रो हप्ता भएको थियो । यात्रा सुरु गर्ने सोचाइ सोलेखुम्बुबाट थियो ।

    तर, भौगोलिक कारणले असम्भव भएको भन्दै पोखरेलले आफ्नो अगुवाईमा बाँकी रुटमा रामेछाप र दोलखा खोजिएको लेखेका छन् । ओखलढुंगामा पारिवारिक जरा भएका पोखरेलले सोलुखुम्बुबाट बाटो खोजेर सुटुक्क चीन जाने मेलोमेसो बनाउने मैनालीको आग्रह थियो । त्यसैअनुसार सोलुखुम्बु पुगेर इश्वर पोखरेलले जानकारी बटुले ।

    जिल्लामा मालेको संगठन कमजोर भएकोले बाहिरबाट जागिर गर्न जानेमा भरपर्ने अवस्था भएको पोखेरेलले लेखेका छन् । सोलुखुम्बुको नाङ्पाला भन्ज्याङ हुँदै जाने कुरा पनि ‘मौसम, भौगोलिक विकटता र सूचनाका माध्यमका अभावले’ जान गाह्रो भयो । अनि तय भयो अमृत बोहोराको सहयोगमा दोलखाबाट जुङ खोला तर्दै चीन छिर्ने योजना ।

    २०३७ जेठ ३ गतेबाट यात्रा सुरु भयो । काठमाडौं–बाह्रबिसे–कालिन्चोक–ठिङ्सान हुँदै टोली अगाडि बढ्यो । पहिलो रात ठिङ्सानको लेकको ओढारमा बास भयो ।

    रात कटाउन टिमुरको थुलोसमेत राखिएको मकै भटमासका सातु र पानी खाएको भन्दै पोखरेलले लेखेका छन्, ‘झमझम पानी परिरहेको, दिनभरि खरी जुकाहरुको आतंकबाट जोगिँदै त्यो ओढारमा पुगेका हामीले निकै प्रतिकूल अवस्थामा रात काटेका थियौं ।’ पोखरेलले ओढार बासबारेमा थपेका छन्, ‘म इन्तु न जिन्तु भएर रातभरी बर्बराएछु । त्यस्तो अवस्थामा मैले धेरै पटक आमा आमा भनेर कराएको थिएँ रे !’

    ओढारमा रात बिताएको भोलिपल्ट जेठ ४ मा पोखरेलहरुको टोली चीन सीमा पुग्यो । नेपालमा हुँदा तनावमा भएको र चीन हुँदा आनन्द आएको विरोधाभासबारे पोखेरल लेख्छन्, ‘हामी अर्को मुलुकमा प्रवेश गरेका थियौं तर त्यहीँ आफूहरु सुरक्षित भएको महसुस भइरहेको थियो । आफ्नो मुलुकभन्दा बाहिर पुगेपछि मात्र सुरक्षित रहेको अनुभव गर्नुपर्ने अवस्था, कस्तो विचित्र, अचम्म उदेग !’

    त्यहाँ दुई जनाले स्वागत गरे । जसमा एक जना दिल्लीको चिनियाँ दूतावासमा काम गरिसकेका तथा हिन्दी बोल्ने वाङ थिए भने अर्को एक जना खाङ चै नेपाली भाषी सिक्किमे आमा र चिनियाँ बाबुकी छोरी थिइन् । चीन टेकेकै दिन पोखरेलहरु गाडीमा चढेर ल्हासातर्फ हानिए । एक दिन बाटोमा बास बसेर जेठ ५ मा ल्हासा पुगे । ल्हासामा दुई दिन बसेर जहाजबाट तिब्बतको छिमेकी प्रान्त सिचुआनको राजधानी छन्तु पुगे । त्यहाँ पुगेकै दिन अर्को जहाज चढेर बेइजिङ पुगे । त्यहाँ उनीहरुलाई राजकीय अतिथि सदनमा राखियो ।

    ‘राष्ट्रिय स्वाभिमान’को लागि राजा र कम्युनिष्ट मिल्नेबारेमा चिनियाँ चासो

    चीनमा पुगेर पोखरेलको टोलीले दुई पक्षीय वार्ता गर्यो । बेइजिङ घुम्यो । चिनियाँ कम्युनिष्ट आन्दोलन र इतिहाँस जोडिएका कुराहरुको अवलोकन गर्यो । दुई पक्षिय वार्ता मात्रै लगातार १५ दिन भएको पोखरेलले लेखेका छन् ।

    चिनियाँ पक्षबाट कहिले तीन त कहिले चार जनाको टोलीमा वार्ता हुने, नेपाली पक्षले आफ्ना कुरा भन्ने, चिनियाँ पक्षले टिपोर्ट गर्ने लगायतका कुरा पोखरेलले लेखेका छन् । नेपालको कम्युनिष्ट राजनीतिदेखि तत्कालिन राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र’को कूटनीतिसम्म नेपाली पक्षले चिनियाँलाई धारणा दियो ।

    नेपाली कम्युनिष्ट नेताहरुले राजतन्त्र विरोधी धारणा राख्दा चिनियाँहरुले भने राजासँग मिल्न सक्नेबारेमा चासो राखेका थिए । त्यसबारेमा पोखेरेल लेख्छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र स्वाभिमान रक्षाका लागि नेपालका कम्युनिष्टहरु राजासित किन मिलनेर जान सक्दैनन् ? भन्ने चिनियाँ पक्षबाट विशेष किसिमको जिज्ञासा राखिएको थियो ।’

    चिनियाँ भूमिमा शहीद रत्नकुमार वान्तवाको सम्झनामा आँशु

    शहीद रत्नकुमार वान्तवा र ईश्वर पोखरेलका धेरै कुराहरुमा भावनात्मक पक्ष छन् । उनीहरु दुवै नेपाली कम्युनिष्ट आन्दोलनका सहयोद्धा मात्रै थिएनन्, कम्युनिष्ट आन्दोलन जोगाउन स्वीट्जरल्याण्ड सरकारले दिएको छात्रवृत्ति त्यागेर आन्दोलनको जोखिम लिने दुई अनुहार थिए । उनीहरु ‘क्लासमेट’ मात्रै थिइनन्, ‘रुममेट’ पनि थिए ।

    कीर्तिपुरमा पढ्दा विद्यार्थीकालमा पोखरेल बिरामी हुँदा वान्तवाले हेरेका थिए । २०३५ चैत २७ गते पन्चायतले रत्नकुमारले हत्या गर्यो । ईश्वर पोखरेलहरुसमेतको पहलमा २०७२ फागुन १९ मा पहिलो किस्ताको केपी शर्मा ओली सरकारको पालामा वान्तवा शहीद घोषित भए । वान्तवाबारेमा पोखरेलको ‘पूर्वको रातो तारा’ नामक पुस्तक २०७२ मै प्रकाशित भएको थियो ।

    चीन पुग्दा पोखरेलले उनै वान्तवाको ‘मिस’ गरेका छन् । चिनियाँ क्रान्तिको चलचित्र ‘उज्यालो’ हेर्दा उग्र क्रान्तिकारिताले अनाहकमा ज्यान गुमाउन बाध्य अनुहारहरु सम्झँदा वान्तवा सम्झेको पोखरेलले लेखेका छन् । सिनेमा हेरेपछि रातभर ननिदाएको तथा रत्नकुमार वान्तावालाई सम्झिएको बताउँदै पोखरेलले लेखेका छन्, ‘त्यस बेला नेपालमा पनि उग्रवामपन्थका कारण कतिपय होनहार र उज्ज्वल सम्भावना भएका साथीहरु मारिनुभएको थियो । म त्यस बेला रत्नकुमार वान्तवालाई सम्झिएर निकै बेर रोएको थिएँ ।’

    मध्यरातमा लालसेनाले खोलो तारेर छोडिदिए, चीन लेखिएका स्टिकर उक्काइदिए

    तीन हप्ता बेइजिङ बसेर येनान, छाङ्सा, सिआन जस्ता चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास तथा नेतृत्व जोडिएका विभिन्न क्षेत्रहरुमा पुगे । दोलखाको जुङ खोला तरेर सहज चीन पुगेको पोखरेल टोली साढे दुई महिनापछि आउँदा खोला बढेको थियो । बाढीमा तर्दा जोखिम थियो । चिनियाँ लालसेनाले शरिरमा डोरी बाँधिदिए, टर्च लाइट दिएर तारिदिए ।

    यसबारेमा पोखरेल लेख्छन्, ‘मध्यरात पारेर चिनियाँ लालसेनाले हाम्रा कम्मरमा कसिलो गरि डोरी बाँधिदिए तर्दै गर्दा चिप्लिएर नलडुन्, लडिहाले पनि नबगुन् भनेर । विशेष किसिमले कपडाले बेरेर उज्यालो मात्र छिर्ने गरी बालिएका टर्च लाइटहरु थिए । हामी पालैपालो (पहिले म र त्यसपछि सीपी) तरेका वा तारिएका थियौं ।’

    नेपाल सहज आउन पाएता पनि नेपालमा आफ्ना सामान ल्याउन भने पोखरेलहरुलाई सकस भयो । ‘मेड इन चाइनाँ’ लेखिएका स्टिकर च्यातिएका थिए । चिनियाँ भूमिमा साढे दुई महिना हुँदा किनेका कतिपय सामान चिनियाँहरुले नै राखे । त्यसबारेमा पोखरेल लेख्छन्, ‘त्यहाँ रहँदा हामीले लेखेका डायरीलगायतका कुनै पनि टिपोट ल्याउन दिएनन् ।

    डायरी र टिपोटहरु साथमा ल्याउन खोज्दा गोपनीयता र सुरक्षाको कारण देखाएर रोके । गह्रौ मनका साथ हामीले चिनियाँहरुको त्यो व्यवहार सहेका थियौं । हुन त गोपयिनता र सुरक्षाको प्रश्नमा हामी गम्भिर थियौं तर त्यहाँ लेखिएका टिपोट र डायरीहरु छोड्नुपर्दा भने साह्रै पीडा भयो ।’

     

  • कविता : एउटी सुनगाभा

    कविता : एउटी सुनगाभा

    प्रकाशचन्द्र खतिवडा
    एउटी सुनगाभा छे
    जीवनकै प्रतीक
    सधै अप्ठेरोहरूमा
    जुझ्न सिकाउँछे
    मृत्यु स्वभाविक छ
    तर पनि बाँच्न सिकाउँछे ।
    निर्दयीहरू निमोठ्न खोज्छन
    ऊ प्रतिवाद गर्छे
    र भन्छे
    मैले तुसारो र ठिही खपेर
    मेरो जिन्दगी हुर्काएकी छु
    मैले खडेरी र हुरी सहेर
    मेरो जिन्दगी बचाएकी छु
    स्वभावैले
    म फूल्न चाहान्छु
    मेरो फूल्न पाउने अधिकार
    म सुरक्षित राख्न चाहान्छु ।
    जीवन दर्शनकी श्रष्टा ऊ
    जीवनको भिन्ने परिभाषा गर्छे
    काँडाघारीभित्र फूल्न सक्नु
    ऊ जीवनको जित हो भन्ठान्छे
    चट्याङ् परोस् वा असिना
    नओइली फूल्नु
    ऊ जीवनको अन्तिम विजय ठान्छे ।
    कति प्रतिवद्ध विचार
    कति दृढ आस्था
    जीवन कसरी जिउने ?
    मार्ग चित्र कोरी दिन्छे
    यसरी एउटी सुनगाभा
    मान्छेको जीवन पढ्दै भन्छे
    मलाई अप्ठेरोमा फूल्न मन छ
    जहाँ मान्छेहरू भोक युद्ध लडिरहेका हुन्छन्
    मलाई संघर्षमा बाँच्न मन छ
    जहाँ मान्छेहरू अन्यायसँग जुझिरहेका हुन्छन्
    मलाई त मृत्यु संग पनि जिस्कन मन छ
    जहाँ केही कायर मान्छेहरू मृत्युसँग डराइरहेका हुन्छन् ।
    म उद्घोष गर्छु
    मेरो जीवन यात्रामा
    विनाशकारी भूकम्प आए पनि
    प्रलयकारी तुफान आएपनि
    विष्मयकारी ज्वारभाटा उठे पनि
    म विचलित हुने छैन
    म त दृढ संकल्पित छु
    जीवन रक्षार्थ
    जीवनकै बलि दिनु परे पनि ।
    मृत्युसँग डराउने किन ?
    म मारिन तयार छु
    म मर्दा अरु बाँच्छन् भने
    मेरो मृत्यु पीडादायी नै किन नहोस्
    म जीवनको भिख माग्ने छैन
    लाचारी दृष्टहरूसँग
    जब म मुक्ति युद्धमा हुन्छु ।
    तिमी नठान
    म कमजोर छु
    मैले युद्ध हार्नु किन ?
    मलाई नचिमोट घरी घरी
    मैले के अन्याय गरेकी छु र ?
    म त
    अप्ठेरो भीरको खोंचमा
    ठिङ्ग एक्लै उभिएर
    निस्फिक्रि
    जीवनका मिठा गीतहरू गाउँदै
    खुला आकाश मुनि
    तन्मय पूर्वक
    फूल्न चाहान्छु
    मलाई फूल्न देऊ
    मेरो फूल्ने अधिकार
    सुरक्षित छ कि नाइ ?
    सुन्दरहरैंचा-६, दुलारी, मोरङ 
    ९८४२०७३५२५
    kpchandra2023@gmail.com
  • झिसमिसदेखि झिसमिसेसम्म

    झिसमिसदेखि झिसमिसेसम्म

    मिरमिरे थियो । रिमरिमे थियो । धमिलो प्रकाश थियो । अरुणोदयको आकाशको लाली उदाएकै थिएन । उषाभन्दा अघिअघिको कुरा हो । हामी सखारै हुँदाको कुरा हो ।

    मिरमिरे भयो । रिमरिमे भयो । धमिलो प्रकाश भयो । अरुणोदयको आकाशमा रजनी देखिन थाल्यो । निशापछि पछिको कुरा हो । सूर्य संसारबाट हराइसकेपछिको कुरा हो । बिहान ५ः०० बजेदेखि बेलुकी ७ः५० हुँदासम्मको कुरा हो । शनिबार पुस २० गतेको कुरा हो ।

    त्यही दिन बिहानै वैदेशिक रोजगारको लागि कतार, दुबई, साउदी अरेबिया र मलेसिया जान लागेका दाजुभाइ उहीँ पुगिसकेका थिए । जापान, कोरिया, चाइना जाने पनि तत्तत् ठाउँमा पुगिसकेका थिए । म भने मेरै माटोमा हाइकिङ गर्ने भनेर त्यो दिन बिताउँदै थिएँ । एकै दिनमा संसारको सीमा कटेर आउने जानेहरु संसारभर थिए । त्यो दिनले संसारमा संसारिक प्रभाव पारिरहेको थियो ।

    मेरो भने उदायचलदेखि अस्तायचलसम्म हिँड्दा साढे १४ घन्टाको सुई घुमेको थियो । त्यो दिन संसारमा धेरै बच्चा जन्मिसकेका थिए । धेरै मान्छे मरिसकेका पनि थिए । संसारमा त एक दिन र एक छिनले त कत्रो महत्व राख्छ भने म साढे १४ घन्टापछि घर फर्केको थिएँ । संसारको अपडेट मसँग थिएन ।

    घरका परेवा उहीँ थिए । बिहान उठ्दा र बेलुका सुतिरहेकै थिए । मलाई चप्पल कारखाना पुर्‍याउन जाने र लिन जाने प्रिय पत्नी उनै सिर्जना थिइन् । चप्पल कारखानाबाट लैजाने र त्यही लेराउने गाडी उही ह्याप्पी हाइकर्सको थियो । बिहान ५ः२० को बत्तीका लाइटहरु र बेलुका ७ः५० बत्तीको लाइट उसैगरी बलेका थिए । फरक थियो त म र म हिँडेका बाटाहरु । समय नै त हो, मान्छेलाई फरक देखाउने । त्यो दिनको समयले म र हामीलाई फरक पारिरहेको थियो ।

    नामै नसुनेको, गुगलले र च्याट जीपीटीले पनि अर्थ नदिएको नदेखाएको पुरन्डी जानु थियो । सिर्जनाले उनकै गाडीमा चप्पल कारखाना लगेर छाड्दा अँध्यारोमा रातो ब्रेकलाइट बालेर बसेको बस देखियो । चढिहालें । भित्रका साथीलाई हाइहेलो गर्दै सीटमा गएर बसें । बस अगाडि बढ्दै, मान्छे टिप्दै गयो । बल्खुमा अन्तिम मान्छे टिपेपछि बस हुइँकियो हुमाने । दक्षिकाली जाने बाटोलाई छाडेर गाडी हिटीटोल, लामीडाँडा, मिलनडाँडा हुँदै आयो हुमाने भञ्ज्याङ । यो मकवानपुर र काठमाडौंलाई छुट्ट्याउने थलो हो । यहाँसम्म जाँदा तीन प्रकारकै बाटा थिए । धूलो उड्ने बाटो, ग्राभेल बाटो र पिच बाटो ।

    बाटो भन्नेबित्तिकै विकास जोडिएर आउँछ । हाम्रो विकास कति बिग्रिएको भन्ने लाग्छ बाटो हेरेपछि । योजना तर्जुमा गरेर कार्यान्वयनमा जानेभन्दा पनि वडाध्यक्ष र डोजर साहु बसेर यता काट, उता काट तालले बाटो बनेर विनाशको मोडमा हामी गइरहेछौं ।

    बाटो भन्नेबित्तिकै विकास जोडिएर आउँछ । हाम्रो विकास कति बिग्रिएको भन्ने लाग्छ बाटो हेरेपछि । योजना तर्जुमा गरेर कार्यान्वयनमा जानेभन्दा पनि वडाध्यक्ष र डोजर साहु बसेर यता काट, उता काट तालले बाटो बनेर विनाशको मोडमा हामी गइरहेछौं । बाटोमा वर्षाको पहिरोले त्यही देखाएथ्यो । अनि रुखहरु मैलो भएर ‘हेर त तिमीहरुले गर्दा हामी मैलो भयौं, तिमीहरुले गर्दा मसँग बसेका चराहरु पनि बसाइ सरे । मान्छे तिमीले विकास गर्ने नाममा हाम्रो विनाश गर्न मिल्छ’ भनिरहे झैं लागिरहेथ्यो ।

    हुमाने भञ्ज्याङ छिचोलेपछि लागियो फाखेल । फाखेल राम्रो बजार एरिया रहेछ । त्यही नजिकैको ठाउँलाई भनिँदोरहेछ पुरन्डी । च्याङ्वा खाजा घरमा ह्याप्पी हाइकर्सको टोलीले भनेका रहेछन् दुई रोटी, एक तरकारी, अण्डा र चिया । बिहान ५ः२५ मा चप्पल कारखानाबाट चढें । ओराल्यो खाजा घरमा ७ः२८ मा । यति हिँड्दा बल्खुबाट लगभग ३० किमि भएको कुरा हाम्रो ड्राइभर नारायण जीसी (दोलखा)ले बताए ।

    नाम नसुनेको र नदेखेको पुरन्डी देखियो । यसबारे बुझ्न मन्लाग्यो । थाहा भयो यो, तामाङ समुदायको बसाइ भएको थलो रहेछ । कुनै समयमा यहाँ तामाङका वल र रुम्बाहरु राजा भएको बेला गोलीगठ्ठा र खरखजाना राख्ने घर बनाएकाले नै यसको नाम तामाङ भाषामा पुरन्डी भयो । गुगलले र च्याट जीपीटीले पनि पुरन्डी भनेको के हो उत्तर नपाएको हामीलाई त्यही होटलका एक भाइ विपीन वल लामाले यिनै कुरा बताए । उनी त्रिचन्द्रमा बीएस्सी पढ्दै रहेछन् । अनि च्याङ्वा खाजा घरमा बाबामुवालाई सघाउँदै रहेछन् । खुशी लाग्यो, युवा देशमै पढेको र काम गरेको देखेर । ‘फाखेलमा वल, रुम्बा, डिम्डुङ, दोङ, तितुङहरु छौं र हामीबिच विवाह हुँदैन’, विपीनले भने । खाजासँगै संवाद सकियो र काम सुरु भयो हिँड्ने । हिँडिरहने काम हाइकिङमा ।

    राजाराम फुयाँल जो ह्याप्पी हाइकर्सका लिडर थिए । उनले भने, ‘आजको हाम्रो यात्रा पुरन्डी, सिन्नेरी जाने बाटो, फार्म हाउस, भालुखर्क, कुलेखानी झर्ने मोड, सलेमलेचौर फाखेल र पुरन्डी ।’ खाजा खाएपछि उकालो लागियो । हिँड्दै जाँदा बाटोमा आकाश घिसिङ भेटिए । उनले हेटौंडा सिस्नेरी जाने र सलेमले जाने बाटो देखाए । हाम्रो ग्रुप फोटो खिचिदिए । अनि हामी लाग्यौं । चिसो पुसमा तातो घामको स्पर्श गर्दै उकालोओरालो भञ्ज्याङ चौतारो ! उक्लँदाको पसिना चिसो हावाले मान्छेले काउकुती लगाए झैं भगाउँथ्यो ।

    उकालो उक्लँदै गएपछि सानो चउर आयो । हिउँदमा चउरमा पल्टनुको मज्जै बेग्लै हुने भएर केहीबेर पल्टियौं । सब आआफ्नो तालमा फोटो खिच्न लागे । भिजेर लत्रक्कै भएको भेस्ट फेरे । चिसोमा पसिनाले थप चिसो लाग्ला भनेर रुमालले शरीर पुछे । बिहानको पौने दश बज्दै थियो । सूर्यको तातो बढ्दै आएको र हिँडाइको गर्मी बढ्दै गएकाले ज्याकेट खोलियो र व्यागमा राखियो । हेलिकप्टर भएको त्यो चउर साह्रै रमाइलो थियो । चन्द्रागिरी, भुलभुलैया जंगल, चम्पादेवी, छाप भञ्ज्याङ, चखेल, डाँडीखेल, हुमाने, जाती पोखरी, सिस्नेरी, कुलेखानीको कलंकी, मार्खु, ईन्द्र सरोवर यहीबाट देखिन्थ्यो । औंला जस्तै मिलेका डाँडै डाँडाको अलौकिक दृश्यले मन मस्तमगन भएको थियो । यहाँबाट महाभारत पर्वत श्रृङ्खलाका सम्पूर्ण पहाड र तराईको चुरे पनि प्रस्टै देखिन्थ्यो ।

    एक छिन त्यहाँ सुस्ताएपछि यात्रा अगाडि बढ्यो । आँखालाई राम्रो लाग्ने ससाना दृश्यले पनि जीवनमा ठूलो अर्थ दिनेरहेछ । लस्करै मिलेका डाँडाहरुको दृश्य फोटोमा भन्दा बढी दिमागमा बसेको छ ।

    चन्द्रागिरी, भुलभुलैया जंगल, चम्पादेवी, छाप भञ्ज्याङ, चखेल, डाँडीखेल, हुमाने, जाती पोखरी, सिस्नेरी, कुलेखानीको कलंकी, मार्खु, ईन्द्र सरोवर यहीबाट देखिन्थ्यो । औंला जस्तै मिलेका डाँडै डाँडाको अलौकिक दृश्यले मन मस्तमगन भएको थियो ।

    हेलिकप्टर बस्ने त्यो डाँडा घुमेर फर्केपछि आइपुगियो कफ्रेनी डाँडा । त्यहाँ ससाना तीन दिदीबहिनी भेटिए । तीमध्येको जेठी आरोशी, युना, समृद्धि घले सबै पढिरहेका भेटिए । खुशी लाग्यो । त्यहाँ ढोडका रास देख्दा पहिलेको मूलपानी सम्झिएँ । पुराना टायले घरहरु र झयाँल देख्दा मूलपानीको उत्खनन गरे झैं लाग्यो । एक छिन घर र ढोडको रासमा फोटो खिचेर अब हिँडियो जंगलैजंगल ! हुलले जंगलमा हिँडेपछि जंगली जनावरले हामीलाई जंगली ठान्दो हो । तिनीहरु हामीलाई देखेर टाप ठोक्दथे । हामी तिनीहरुलाई लुकेर हेर्दा सायद तिनीहरु हामीलाई लुकेर हेर्दै पो थिए कि झैं लाग्यो । बाटो न घाटो दगुर्छ लाटो भने झैं आफैं बाटो बनाउँदै वनमा छल्लिँदै, घुम्दै फिर्दै परपरका नागबेली पहाडहरु हेर्दै हिँड्यौं ।

    दृश्यले दृष्टिकोण बदल्छ । नागबेली पहाडमा नागबेली बाटो हेरिरहँदा त्यो बाटोबाट सामान लगेर टुप्पोमा घर बनाएका भीर मौरी जस्तै मेहनती मान्छेहरुलाई सलाम गर्न मनलाग्यो । यस्तो लाग्यो, यति मेहनती नेपाली जातिलाई काम दिएर विदेशीले उनीहरुकै देश सुन्दर बनाइसके । हाम्रै देश बनाउन मेहनती र इमानदार नेपालीले राम्रो नेता नभएकै कारण पाएनन् । कठै ! कति दुःखलाग्दो कुरा नेपालीकै कारण नेपालीले नेपाल बनाउन पाएनन् भनेर चसक्क आफैं दुःखें ।

    हिँड्दै जाँदा कसले के ल्याएको छ, त्यो बाँड्दै खुवाउँदै हिँड्ने नेपाली प्रचलन त्यो हाइकिङमा पनि थियो । धापासी बस्ने घृतकौशिक ऋषिका सन्तान भोला खनालले माघे सक्रान्तिमा खाने तिलको लड्डु ल्याउनुभएको रहेछ । उहाँले सबैको मुख मीठो गराउनु भयो । मीठो मुख गरेको केहीबेरमै भेट भयो गन्कु भञ्ज्याङ, फाखेल वडा नं ४ का स्थानीय सोमसिंह पाख्रिन । गन्कु भनेको के होला भन्न नपाउँदै उनले भने, ‘कु भनेको नौ वटा र गन्कु भनेको गनेको भन्दै नौ वटा डाँडाको पाखा हो यो हुन त धेरै डाँडा छ, तर पनि पुर्खाले यही भने ।’

    तोरी हेर्ने भने पनि ह्याप्पी हाइकिङ टोलीले हेर्न पाएन । मंसिरमै काटिने तोरी पुसमा त सुकाएर पेल्ने बेला भैसकेछ । गन्कु डाँडाबाट भालु खर्क जाँदा बाटोमा असाध्यै राम्रो चरा देखें । चराले मनलाई लोभ्याउँछ । चरा हेर्न बसें । रामले सुनको मृग लखेटे झैं म पनि सुन्दर चराको आकृति भिडियोमा कैद गर्न बसें ।

    साथीहरु गफको सुरमा चरा झैं उडिसक्नु भएछ । मेरो मन पनि चरासँगै उड्यो । साथीहरुको कल्याङबल्याङ नसुनेपछि ला निकै तल पुग्नुभयो भनेर कुदें । म कुदें पूर्वतिर, उहाँहरु जानुभएछ पश्चिमतिर । म भेट्न दौडें । उहाँहरु पनि मलाई भेट्न झन यताउता जानुभयो । १५-२० मिनेट उहाँहरुलाई नभेटेपछि ला उहाँहरु निकै टाढा पुग्नुभयो भनेर म भालुखर्कतिर दौडें । पहिल्यै भालुखर्क माने र गुम्बा हुँदै हामी माथि जाने भनिएको थियो । तदनुरुप कुदें । पछि भालुखर्क गएपछि त कोही आएको छैन भन्छन् स्थानीय । रामले लखेटेको सुनको मृगकै रुपधारण गरेर रामले दुःख पाए झैं मैले पनि दुःख पाएँ ।

    मेरो खराब बानी फोनले मलाई चलाउने हैन, मैले फोन चलाउने हो भनेर एरोप्लेन मोडमा हालेथे । अन गरेको त १०-१५ कल आएछन् । वर्तमान सबैभन्दा प्यारो हुन्छ । मैले पनि भर्खरै भएका साथीहरु भुवन ढकाल र राजारामको फोनलाई कल ब्याक गरें । राजारामलाई ह्याप्पी हाइकर्सको तातोले पनि होला तात्दै भन्यो- ‘आई कन्टयाक्टमा हिँड्नुपर्दैन ? फोन अन गर्नुपर्दैन ? यहाँ एक घन्टा खोजिसक्यौं, कहाँ छस् ?’

    दृश्यले दृष्टिकोण बदल्छ । नागबेली पहाडमा नागबेली बाटो हेरिरहँदा त्यो बाटोबाट सामान लगेर टुप्पोमा घर बनाएका भीर मौरी जस्तै मेहनती मान्छेहरुलाई सलाम गर्न मनलाग्यो । यस्तो लाग्यो, यति मेहनती नेपाली जातिलाई काम दिएर विदेशीले उनीहरुकै देश सुन्दर बनाइसके ।

    मैले भनेको उसले त्यति सुनेन, तर भनें ‘म भालुखर्क आइसकें । गुम्बामा गएर बस्छु आइजो ।’

    उनीहरुले सोचे- मैले छाडें । मैले सोचें- उनीहरु गैसके । उनीहरुलाई भेट्टाउन म दौडें । मलाई भेटाउन उनीहरु दौडे । बाटोमा एक्लै जंगलमा आउँदा मलाई डरडर पनि लाग्यो । फेरि बन्दुक बोकेका चारपाँच जना भेटिए । के हो के भन्ने पनि लाग्यो । एक्लै भएपछि जंगली जनावर देखिन्छ लाठो टिपौं कि भन्ने ठानें, तैपनि दौडेर जान्छु भनेर जाँदा असिनपसिन भैसकेको थिएँ ।

    गुम्बामा खाजा खान बस्दा थाहा भयो- मेरो कारणले उनीहरु सबैको एक घन्टा लस भएछ । झाडीमा यताउति लड्यो कि के भयो, बोलाउँदा सुन्दैन, अब के गर्ने ? अगाडि जाने कि पछाडि जानेमा उनीहरु पुगेछन् । हाइकिङ यही अन्त भयो भन्नेमा पुगेछन् । जब मैले फोन गरें, अनि उनीहरु ल जाऔं भन्दै आएको रहेछन् । भेट्ने बत्तिकै नचिनेका मान्छे ठुस्कने, चिनेका मान्छे कराउने गर्न थाले । भन्न थाले- ‘कान समातेर उठबस गर्नुपर्छ अनि भिडियो हाल्नुपर्छ ।’

    मान्छेमा आआफ्नो इगो हुन्छ । ममा पनि म हुनुको इगो थियो । मैले भने- ‘उसो भए म एक्लै जान्छु तपाईंहरु १२ जना जानुस् ।’ मलाई लागेथ्यो म गलतमा छैन, उनीहरुलाई लागेथ्यो म गलतमा छु । यति भनेपछि कान समातेर उठबस गर्ने कुरा स्यालको सिङ झैं भयो । बाटोभरि एक घन्टा ढिलो भयो, भोकको बेलामा यस्तो आवाज सुनिरहें । सजाय त दिनैपर्नै हो, यस्तो पनि सुनें । मान्छे कस्तो चिज ? भोक लागेको छ, प्रकृतिमा हिँड्नु छ, तर पनि मान्छेको इगो उठबसमा छ झैं लाग्यो ।

    अहिले यो लेखिरहँदा लागेको छ- कमिला पनि मर्ला भनेर म खुट्टा उचालेर हिँड्छु । कहिलेकाहीँ मुखमा भुसुना पसेर मर्‍यो भने पनि नरमाइलो लाग्छ । लामखुट्टे नमारेर मलाई डेङ्गु नै भयो । कसैको पनि हृदय नदुखोस् झैं लाग्छ, तर यत्रो जनाको हृदयमा चोट मेरो कारणले एक घन्टा र अरु समय पनि दुखेको भए यही लेखमार्फत मैले आफैं हराएको पुरन्डी हाइकिङ् सम्झेर माफी मागेको छु । त्यो यात्रामा रहने राजाराम फुयाँल, राम श्रेष्ठ, प्रदीप कँडेल, भुवन ढकाल, बिन्दा चौलागाईं, विन्दू अधिकारी, निराकार श्रेष्ठ, भोला खनाल, प्रकाश पन्थी, राजु मानन्धर, सरिता महर्जनको लागि यो लेख माफी विज्ञप्ति पनि हो ।

    ०००

    प्रकृतिमा पाइलाको छाप छाड्दै हिँड्नु, चउरमा उत्तानो परेर अनन्त आकाश हेर्नु, पारिलो घाममा शरीर सेकाउनु, सेतो हिमाल र हरिया पहाड साथैमा भए झैं हुनु, अनायासै कोही नौला मान्छे भेटिनु र गफ गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

    मैले गर्दा साथीहरुलाई मानसिक पीडा त भैहाल्यो । आफूलाई पनि डर र ग्लानी जस्तै भइहाल्यो । नकरात्मकतामा पनि सकारात्मकता हुन्छ । दौड्दै आएर साथीहरुलाई कुर्दा मान्छे जस्तै मान्छे भेट्टाए । एकजना मान्छे तोरीको तेल पेल्न हिँडेका रहेछन् । नजिकै आएर भारी बिसाए । नाम थर रहेछ भीमरत्न लामा । रुम्बा थरका उनी पढेर लामा भएका रहेछन् । ज्ञानी स्वभावका उनी साधारण परिचयपछि गफिन थाले ।

    हेर्नुस् ‘संसार अनित्य छ, हामी अनित्य छौं, कोही जन्मेर हिँडेपछि र कोही जन्मँदै र कोही नजन्मँदै मर्छ, सब मर्ने संसार हो यो ।’

    ‘उमेर ढल्कँदै गएकाले यसो भन्नुभयो कि ? किन मर्ने कुरा नै गरेको, मान्छे त कर्मले अमर पनि हुन्छ नि ?’, मैले भने ।

    उनले भने- ‘बीस हजारको एक कल्प भन्छ मान्छे, सत्तरी असी बस्दैन । देउता र मानवको हिसाब गर्दा सियोको टुप्पो जत्ति पनि मानवमा सुख छैन, धनले मान्छे बौलाहा भयो, नहुनेलाई भन्दा हुनेलाई सुख भयो, हुनेलाई के गर्ने भन्ने भो, नहुनेलाई जहाँ गयो, त्यही खायो, सुख त्यो भयो, अनित्य नजानेर यो दुःख भयो ।’

    प्रकृतिमा पाइलाको छाप छाड्दै हिँड्नु, चउरमा उत्तानो परेर अनन्त आकाश हेर्नु, पारिलो घाममा शरीर सेकाउनु, सेतो हिमाल र हरिया पहाड साथैमा भए झैं हुनु, अनायासै कोही नौला मान्छे भेटिनु र गफ गर्नुको मज्जा नै बेग्लै हुन्छ ।

    दार्शनिक र चिन्तकका झैं कुरा गर्ने लामासँग आधा घन्टा बढी गफिएँ । साथीहरु कहाँ आइपुग्यो भनेर फोन गर्दा आइपुगेकै छैन भन्छन् । गफ चलिरहेको थियो । लाग्यो तपाईंलाई त केही चढाउनैपर्ने भो बुद्ध छिरिसकेको मान्छे हुनुहुँदो रहेछ भनेर स्याउ दिए । उनले आधा मलाई नै फिर्ता दिए ।

    उनी त भालुखर्ककै फुन्सुक छेलिङ गुम्बाको प्रमुख लामा रहेछन् । आफूहरुले प्रत्येक महिनाको औंसी र पूर्णिमाको दशमीमा दुई पल्ट गुम्बामा पूजा गर्ने बताउँदै भने- ‘हामी दशमीमा गुरु रिम्पोछे र औंसीको दशमीमा खान्डोमान्डो देवीको पूजा गर्छौं । २१ वार्षदेखि यही पूजा प्रमुखको हैसियतमा गरिरहेको छु ।’

    सहकारीले शहरमा आतंक मच्चाइरहेको बेला गाउँमा भने चुपचाप सहकार्यमा चलिरहेको रहेछ । भन्दै थिए- ‘पूजा चलाउन गाह्रो छ । हाम्रो २४ जनाको संघ छ । वर्षमा एक चोटी एक जनाको पालो आउँछ र उसले त्यो काम गर्दछ ।’

    प्राकृतिक हावापानी खाएर, सुखदुःख गरेर बसेको गाउँको मान्छे कति कञ्चन झैं लाग्यो । बुद्धले दुःखको प्रमुख कारण अर्काेको सुखमा दुःखी हुने र अर्काेको दुःखमा सुखी हुने भन्नुभए पनि उनीहरु त्यो कारण बुझेर बुद्धले भने झैं निवारण गरेर बसेका छन् । मेलमिलाप, हार्दिकता, कृतज्ञता, क्षमा, करुणा भएमा मान्छे मान्छे जस्तै हुन्छ । अरु आउने मान्छेहरु पनि मज्जाले हाँस्दै हिँडेका छन् गाउँमा । शहरमा हसाउने अस्पताल चाहिएको छ । उनीसँग आधा घन्टा गफिँदा मान्छे जस्तै मान्छे भेटेर आनन्द आयो ।

    मेलमिलाप, हार्दिकता, कृतज्ञता, क्षमा, करुणा भएमा मान्छे मान्छे जस्तै हुन्छ । अरु आउने मान्छेहरु पनि मज्जाले हाँस्दै हिँडेका छन् गाउँमा । शहरमा हसाउने अस्पताल चाहिएको छ । उनीसँग आधा घन्टा गफिँदा मान्छे जस्तै मान्छे भेटेर आनन्द आयो ।

    तोरीको भारी बोक्दै भन्दैथे- ‘अनित्य संसारमा मनले धकेल्छ, कहिले सम्पत्ति, दम्पती, सन्तति, पद प्रतिष्ठा र हुँदाहुँदा भ्रमण अध्ययनको लागि हैन र सर ? हेर्नुस् सर मन राजा हो, जिउ पल्टन हो हाम्रो । मनले खटाएर त तपाईं यहाँ पल्टन झैं कुदेर आउनुभयो, तर हेर्नुस् है ! भोलिको राम्रोको लागि पल्टन बनेर खट्नुस् ।’

    कति मीठो सत्य वचन बोले लामाले झैं लाग्यो । मन राजा र जिउ पल्टन अनि भोलिको लागि यो शब्द अहिले पनि कानमा गुञ्जिरहेको छ । सोच्दैथें, राजारामको फोन आयो- ‘हामी गुम्बामा आइसक्यौं, कहाँ हो ?’ म अलिक तल थिएँ । एकै छिनमा पुगिहालें । केही खाएर सुस्ताउँदै लागियो हाम्रो प्रमुख गन्तव्य सलेमले चौर । बाटोमा भेटिएका राजु भ्लोन भन्दैथे- ‘सलेमले भनेको हाम्रो भाषामा गोलोमोलो भनेको हो । हामी भकुन्डो खेल्ने ठाउँ हो यो ।’

    अहाँ कति राम्रो चौर रहेछ । दोलखाको शैलुङ डाँडा बिर्साउने । त्यहाँ मस्तै बसियो । भिडियो, फोटो खिचियो । शहरमा त चौर किन चाहियो र भन्दै मासिसके । गाउँमा पनि वृक्षारोपणको अनावश्यक हल्लाले यस्ता चौर नमासियोस् भन्ने लाग्यो । खुला चौरमा बसेर अनन्त हरियो डाँडा अटुट हेर्दै पारिलो घाममा बस्दा आहा ! अप्रितम, अद्भूत आनन्द आयो ।

    यतिबेला घडीमा सवा ३ बजिसकेको थियो । खाना खाएका थिएनौं । थकान र भोकले रटान दिएको थियो शरीरमा । विस्तारै हिँड्दै ओरालो पुरन्डी झरियो । ईन्द्र सरोवर गाउँपालिका वडा नं ४ को कार्यालय फाखेल हुँदै हामी बिहानकै च्याङ्वा होटलमा खाना खान बस्यौं । हाँसले हिलो निले झैं सबैले एकै सासले भात बुत्याए । चराहरुले बास बस्नुअघि भोलिको मिटिङ गरेको चिरबिर कानमा आइरहेको थियो । हामी पनि गाडीमा यस्तै गर्दै थियौं । फ्रेस हावा, फ्रेस पानी, फ्रेस मान्छे भेटिरहेका हामी कुलेखानीको फ्रेस तरकारी वन तरुल, हरियो साग, ज्यामिर, मुला, टमाटर लिएर फर्कियौं ।

    नदेखेका, नभेटेका, नबोलेका मान्छेहरु देखेको, भेटेको, बोलेको रमाइलो कानमा, आँखामा, दिमागमा दृश्य, आवाज र स्पर्शको रुपमा आइरहेछ । बिहान फुर्तीका साथ गएका पाइला बेलुका थाकेर फर्केका थिए । घर नजिकै आएर प्रविधिमा पाइला ३०,१७४ र १८.३ किमि देखायो । झिसमिसदेखि झिसमिसेसम्मको यात्राले गाउँ मनभरि बसिरहेछ । शहर तनभरि हुनेछ भोलिदेखि । तन र मनको मिलन गराउन फेरि गाउँ, पहाड, वनजंगल, पाखा-पखेरा, पहाड, हिमाल कहिले जाने हो भन्ने भैसक्यो । फेरि संयोग कुर्दैछु ।

    तस्बिरहरू: निराकार श्रेष्ठ ।