Category: साहित्य / ब्लग

  • के महिलाको इज्जत उनको योनीमा छ ?

    के महिलाको इज्जत उनको योनीमा छ ?

    आजभोलि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुको उपलब्धताले यौन दुर्व्यवहार/बलात्कारका समाचारहरु धेरै नै आएका छन् । तर, ती घटनाहरुमा व्यक्त प्रतिक्रियाहरुमध्ये पीडित भनिएकाहरुको चरित्र लक्षित नकारात्मक टिप्पणीहरु बढी देख्छौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तोता रहेको ‘ऐना’ भन्ने कार्यक्रममा यौन हिंसा/दुर्व्यवहारसम्बन्धी बहसमा एउटी सहभागीले छोरीलाई इज्जतको भारी बोकाउन नहुने र छोरीको इज्जत उसको योनीमा नहुने आफ्नो विचार राखेकी थिइन् । तर, के छोरीको इज्जत साँच्चिकै उनको योनीमा हुन्छ र ? कसले राखिदियो छोरीको इज्जत उनको योनीमा ? यौनसँग इज्जत कसरी जोडियो ? यी तमाम प्रश्नहरुको उत्तर पाउन प्रथमतः इज्जत नैतिकता भन्ने कुरा कसरी मानवसँग जोडियो भनी थाहा हुनु जरुरी हुन्छ ।

    वैज्ञानिकहरु दाबी गर्दछन्- नैतिकताको मूल बाँच्न (survival) सँग सरोकार राख्छ । जसले आपसी सद्भाव र सहयोगी आचरणलाई प्रोत्साहन गर्छ । समाजलाई जीवन्त र सन्तुलित बनाइराख्न हरेक समाजले आआफ्नै नैतिक मूल्य मान्यताहरु स्थापित गरेको हुन्छ । जुन सांस्कृतिक रुपमा पुस्तान्तरण हुँदै जान्छ । यी नै मूल्य मान्यताअनुसारको व्यवहार आचरणलाई नैतिक भनिन्छ भने त्यस विपरीतलाई अनैतिक । तर, समाज आफैंमा एउटा गतिशील संस्था भएका कारण कतिपय मूल्य मान्यताहरु समय सन्दर्भसँगै बदलिँदै जानुपर्छ र बदलिन्छ पनि । यौन व्यवहारलाई व्यवस्थित गर्न नै यसलाई नैतिकतासँग जोडिएको हो । जसको पछाडि सामाजिक डर र लाजले काम गरेको हुन्छ । यौन मानव जीवनको एक अभिन्न अंग हो । जससँग जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएको हुन्छ । यही जिम्मेवारी र दायित्वको बोध गराउन नै यौनलाई नैतिकतासँग जोडिएको हो । तर, के यसको भारी महिलाले मात्रै बोक्नुपर्ने हो कि पुरुषले पनि पर्ने हो ? के यौन हिंसा छोरी मान्छे माथि मात्र हुन्छ वा यसको शिकार छोरा मान्छे पनि हुन सक्छन् ?

    हिजोका दिनमा महिला पूर्ण रुपमा पुरुषमा निर्भर हुँदा आफ्नो सन्तानको पालनपोषणको लागि पनि पुरुषमै निर्भर हुनुपर्ने अवस्था थियो । सायद यही कारण उसको इज्जतलाई योनीमा राखिदियो किनकि पुरुषलाई अरु पुरुषका कारण जन्मिएका सन्तानको पनि पालनपोषणको भार पर्ने हुन्थ्यो । त्यसैले विवाह जस्तो संस्थाको विकास भएको हो ताकि यौनलाई त्यसभित्र मात्र सीमित गर्न सकियोस् । आज यही पुरुषवादी सोच नै नारीमाथि राज गर्ने माध्यम बनिदियो । एकल आमामात्र होइन, अहिले त अविवाहित आमासम्मले पनि आफ्नो सन्तानको पालनपोषणको जिम्मेवारी लिन सक्ने भएका छन् । किनकि नारी पनि आर्थिक रुपले आत्मनिर्भर हुन सकिरहेका छन् । तर, यो पुरुषवादी समाजले नारीलाई कमजोर र पुरुषलाई बलियो भन्ने भाष्य निर्माण गर्न लगायो । अरुको परनिर्भरतामा आफूलाई बलियो ठानेर गर्व गर्न खोज्ने कमजोर मानसिकताले नै समाजमा असन्तुलन निम्त्याएको हो ।

    समाजलाई जीवन्त र सन्तुलित बनाइराख्न हरेक समाजले आआफ्नै नैतिक मूल्य मान्यताहरु स्थापित गरेको हुन्छ । जुन सांस्कृतिक रुपमा पुस्तान्तरण हुँदै जान्छ । यी नै मूल्य मान्यताअनुसारको व्यवहार आचरणलाई नैतिक भनिन्छ भने त्यस विपरीतलाई अनैतिक ।

    भनिन्छ, यो संसार दुई विपरीत शक्तिहरुको सन्तुलनमा अडेको छ । महिला र पुरुष पनि यस्तै दुई विपरीत तर परिपूरक शक्ति हुन् । पुरुषलाई बलियो र महिलालाई कमजोर सोच्ने पुरुषवादी सोचले सबैभन्दा घाटा पुरुषलाई नै छ । त्यस्तै गल्ती महिला मुक्तिको नाममा प्रतिक्रियावादी भएर पुरुषको विरोध र नक्कल गर्ने कार्य महिलाहरुबाट भएका छन् । प्रकृतिले नारीलाई ठूलो शक्ति प्रदान गरेको छ, शारीरिक रुपमा कमजोर हुन सक्ला । फेरि आमा बन्ने शक्ति बोकेकालाई कसरी कमजोर मान्न सकिन्छ ? आत्मिक रुपमा नारी शक्तिको स्रोत नै हो । तर, यही शक्तिलाई चिन्न नसकेर आफैंले आफैंलाई कमजोर बनाएको हो । नारी शक्तिले संसार बदल्ने ल्याकत राख्छ ।

    नारीको काली शक्ति जाग्यो भने देवहरुको पनि देव महादेव त पाउमुनि आउन बाध्य हुन्छ । तर, आजको विडम्बना स्वछन्दताकी प्रतीक काली पितृसत्तात्मक समाजमा ओझेलमा पर्दै गयो वा पारिँदै लग्यो । यहाँसम्म कि काली भन्ने शब्द नै विरुप स्त्रीको प्रतीक बन्न गयो । पुरुषवादी समाजले निर्माण गरेको सुन्दरताको मानकमा आफूलाई प्रमाणित गर्न लालायित हुँदा स्त्री स्वयं पनि आफूलाई वस्तुकरण गरिएकोमै रमाउन खोज्ने भयो । यही स्वभावले उसलाई मानसिक र आत्मिक रुपमा पनि कमजोर बनाउँदै लगिएको हो । आफूलाई राम्री भनिदेओस् भन्ने लोभमा भुलाएर होस् कि सेक्सीको उपमा दिएर गर्व गर्न लगाएर होस्, यो पुरुषवादी समाजले आफूलाई परनिर्भर बनाएको कुरा बुझ्न नसकेसम्म छोरी आत्मनिर्भर हुनै सक्दैन । जबसम्म छोरी आत्मनिर्भर हुन सक्दैन तबसम्म उनको इज्जत उनको शरीरमै सीमित रहिरहन्छ वा जबसम्म छोरीलाई उनको शरीरमै सीमित बनाइन्छ तबसम्म आत्मनिर्भर हुने यात्रामा अगाडि बढ्नै सक्दैन ।

    यौन प्रकृतिको अनुपम देन हो । जसले दुई विपरीत शक्ति (स्त्री-पुरुष)लाई नजिक ल्याइ यस सृष्टिलाई सम्भव बनाएको छ । तर, अहिले यौन ऊर्जालाई काम वासना पूर्ति गर्ने माध्यममात्र बनाउन खोजिएको छ । यससँग जोडिएको एकअर्काप्रतिको जिम्मेवारीलाई नजरअन्दाज गरिँदैछ । नारी-पुरुषको सम्बन्धलाई यौनमा विसर्जन गर्नु वा शारीरिक तहमा सीमित राखेर हेर्नु भनेको सगरमाथा जित्न हिँडेको मान्छे आधार शिविरसम्म मात्र पुगेर गर्व गर्नु जस्तै हो । दुई विपरीत शरीर/शक्ति आमनेसामने हुँदा जनाउने जैविक प्रतिक्रियालाई यौन वा प्रेम भनी सरलीकृत गरी त्यसको आवेगमा बग्ने वा नैतिकताको कसीले हेरेर त्यसबाट भाग्ने कुराले यौनको वास्तविक शक्तिलाई बुझ्न सकिँदैन । यौनलाई आफ्नो प्रभुत्व वा आधिपत्य जमाउने वा मोलमोलाइको माध्यम बनाइ दुरुपयोग गर्नाले समस्यामा पर्नु स्वाभाविक हो । यौन प्रेमको अभिव्यक्ति पनि हुनसक्छ वा बलात्कार पनि हुनसक्छ । त्यो सानो/मसिनो धर्सालाई देख्नु र बुझ्नु जरुरी छ ।

    अहिले यौन ऊर्जालाई काम वासना पूर्ति गर्ने माध्यममात्र बनाउन खोजिएको छ । यससँग जोडिएको एकअर्काप्रतिको जिम्मेवारीलाई नजरअन्दाज गरिँदैछ । नारी-पुरुषको सम्बन्धलाई यौनमा विसर्जन गर्नु वा शारीरिक तहमा सीमित राखेर हेर्नु भनेको सगरमाथा जित्न हिँडेको मान्छे आधार शिविरसम्म मात्र पुगेर गर्व गर्नु जस्तै हो ।

    जहाँसम्म यौन हिंसा वा दुर्व्यवहारको सवाल छ, यो कमजोर मानसिकताको उपज हो । यौन हिंसा वा दुर्व्यवहारमा पीडितलाई भन्दा पीडकलाई लाज लाग्नुपर्ने हो । तर, यो पुरुषवादी समाजले छोरीको आत्मसम्मानलाई उनको शरीरमा सीमित बनाइदिएर थप पीडा दिइरहेको छ । हिंसा जुनसुकै रुपमा होस् चाहे शारीरिक, मानसिक वा आत्मिक, आफैंमा मानवतालाई लज्जित बनाउने विषय हो । जसले मानव भएर अर्काे मानवको इच्छालाई सम्मान नगरी त्यस विपरीत बलजफ्ती कार्य गर्छ । त्यस्तो मानिसलाई कसरी बलियो भन्न सकिन्छ ।

    हिजो नदेखिएको भगवानमा आफूलाई समर्पण गर्ने मानिस आज भगवानसँग पनि डराउन छोडेका छन् । स्वर्गको आशमा नैतिक आचरण अनुशरण गर्ने मानिस नर्कसँग पनि डराउन छोडेका छन् । त्यसैले आधुनिक समाजले सामाजिक सन्तुलनका लागि नियम कानूनहरु बनाएका छन् । भगवानको असीमित शक्तिसँग डराउन छोडेकाहरु नियम कानूनको सीमिततासँग त झन डराउने कुरै भएन । यस्ताले त नियम कानूनलाई पनि आफ्नो अनुकूल व्याख्या र प्रयोग गर्छन् । डर र लाज दुवै कुरा पचाइसकेकाहरुबाट राम्रो कुराको आश गर्नु नै बेकार हुन्छ । यौनलाई सौदाबाजी र पुरुषार्थको औजार बनाएर दुरुपयोग गर्न उनीहरुलाई केहीले रोक्न सक्दैन ।

    त्यसैले यौनलाई जैविक आवश्यकता भनी सरलीकृत गर्ने वा नैतिकताको कसीमा राखेर जटिल बनाउने भूल सुधार्नु जरुरी छ । पक्ष वा विपक्षमा बहस गर्नुभन्दा पनि हामी कस्तो संस्कारमा हुर्कियौं वा हुर्काउँदै छौं भनी बुझ्नु जरुरी छ । ‘स्त्रीमात्र आफ्नो कामवासना पूर्तिका लागि उपयोग गर्ने कुनै वस्तु होइन’ भन्ने कुरा स्त्रीले मात्र पुरुषलाई बुझाउन सक्छ । हिजोको समाज बदलिसकेको छ । त्यसैले पुराना मूल्य मान्यता पनि बदल्नु जरुरी छ । छोरीको इज्जत उनको योनीमा छैन र राख्नु पनि हुँदैन । किनकि आफ्नो अस्तित्वलाई शरीरमै सीमित गरायौं भने असीम सम्भावना पनि रोकिन्छ । जसका कारण पीडा र दुःख थपिन्छन् । त्यसैले हामीले छोरीलाई कसरी हुर्काइरहेका छौं भनी हाम्रै दोषलाई केलाउनु जरुरी छ ।

  • महत्वाकांक्षाले बन्धक बनाएको जीवन

    महत्वाकांक्षाले बन्धक बनाएको जीवन

    कमल नयनमा देखिएको स्पन्दन नै जीवनको बोझ रहेछ । हुटहुटीको क्रन्दनले अन्ततः पीडा सिवाय केही नदिने रहेछ । सोचको तादात्म्यतामा जब महत्वाकांक्षा हावी हुन्छ, त्यो जीवनको मिथक बन्ने रहेछ । त्यही मिथकको वरिपरि सम्पूर्ण जीवन घुम्ने रहेछ । सोच फर्काउन सकियो । तर, त्यो यथार्थमा हुन सकेन । सोच्न सोचमात्र बन्ने सोच मानसिक रुपमा बन्धक बन्दो रहेछ । फेरि पनि त्यही निरन्तरतामा लाग्नु नै यथार्थ रहेछ । हिँडेको पाइलालाई मेट्न किञ्चित सम्भव नहुने रहेछ ।

    सोच र हृदयको स्पन्दनमा सायद हृदय कमजोर र सोच हावी हुने रहेछ । सोचमा जब महत्वाकांक्षा हावी हुन्छ तब बगेको हावा पनि विपरीत हुने रहेछ । अत्यावश्यकभन्दा आवश्यकले प्रश्रय पाउँछ । त्यसपछि जीवन फिक्का फिक्का हुने रहेछ । हृदयको पुकार पनि मस्तिष्कको अगाडि लाचार बन्दो रहेछ, जुन कर्म र भाग्यमा गएर लीन हुने रहेछ । जीवनको न्यूनतम अर्थ नबुझ्दा धेरै आत्माहरु विलीन भए, हुँदैछन् र यो क्रम निरन्तर तीव्रका साथ चलिरहेछ ।

    हिजोको बहाव कहिल्यै समान भएन क्यारे ! तर, लाग्थ्यो, सबै समान छन् । बाहिरी दृष्टिकोणले आत्मिक पहिचान गर्न नसकिने रहेछ । जानेको र लागेको कुरालाई नै सत्यता सम्झी गरिएका हत्कण्डाहरु अन्ततः जीवनोपयोगी बन्न सकेन । क्षणिक र प्राप्तिमा नै जीवन सम्झने हुतहुतीले न फर्कन सक्ने न त सम्हाल्न सक्ने अवस्था बन्दो रहेछ । स्वार्थको पनि हद हुन्छ क्यारे ! जसलाई सजीव जातिले थेग्न सक्दैन । यही स्वार्थको गन्धले अन्तत्वोगत्व निराशाको पहाड बन्दो रहेछ ।

    क्षणिक र प्राप्तिमा नै जीवन सम्झने हुतहुतीले न फर्कन सक्ने न त सम्हाल्न सक्ने अवस्था बन्दो रहेछ । स्वार्थको पनि हद हुन्छ क्यारे ! जसलाई सजीव जातिले थेग्न सक्दैन । यही स्वार्थको गन्धले अन्तत्वोगत्व निराशाको पहाड बन्दो रहेछ ।

    मात्रात्मक रुपमा कम र बढी भए तापनि निरन्तर बगिरहेको जल अविरल रुपमा यात्रामा रहे जस्तै जीवनको गतिमा अविरल सत्य रहेछ । अनुकूल वातावरणीय प्रभाव साधन भइरहँदा जीवनका साध्यहरु धुमिल हुँदो रहेछ । जसको आभास कमैलाई हुने रहेछ । सोच सधैं आफनो अधिनमा नहुने सत्य जबसम्म चेतनामा रहँदैन, गल्ती र पीडाका महासागरहरु नजानिँदो रुपमा सहयोगीका रुपमा नजिकिने रहेछन् । देख्दा र सोच्दा सामान्य लाग्ने परिपूरकहरु जब जीवनका यथार्थबोधतर्फ ढल्कन्छन् तबमात्र आभास हुने रहेछ । यो नै सत्यको घोतक रहेछ ।

    प्राप्तिको यो उक्साहटमा जब अनियन्त्रित हुन्छ तब जीवनको तत्वबोध छायाँमा पर्दो रहेछ । जुन जीवनको केही समयसम्म छायाँमा नै विलीन हुँदोरहेछ, जसरी दिनमा सूर्यको किरण हावी भए जस्तै । यही अवधिमा महत्वाकांक्षाको पर्खाल ह्वात्तै बढिदिँदा दिनको सुस्तता र शितलता हुँदै अन्धकारतर्फ अग्रसर बन्दछ । त्यही पल नै जीवनभोगको चरम महत्वाकांक्षाको उपज रहेछ । देख्दा र भोग्दा सामान्य देखिए तापनि कहिल्यै सामान्य नहुने पलमा हाम्रा सोचहरुको उथलपुथलले यसको असमानता पुष्टि गरेको हुँदो रहेछ । यही पटाक्षेपभित्रको सत्य अन्ततः मात्तिएको उमेर र सोचपछि देखिँदो रहेछ ।

    नजिकबाट यथार्थबोधको सामिप्य त सायद सृष्टिमा कमैले गरेका होलान् । जीवनभोगलाई नियाल्न सकिएमा र प्रकृतिलाई आत्मसात मात्र पनि गर्ने कोसिस गरिएमा गल्तीका श्रृंखलाहरु निरन्तर घटिरहने थिएनन् । अल्झिएको जीवन फर्काउन गरिएको अथाह कोसिस उपलब्धि शून्य हुने रहेछ । यथार्थबोधलाई आत्मसात गर्न हैन, पन्छाउन र छल्न उद्यत हाम्रा व्यवहार फेरि पनि उही बाटोमा अविरल रुपमा लम्किरहे ।

    नजिकबाट यथार्थबोधको सामिप्य त सायद सृष्टिमा कमैले गरेका होलान् । जीवनभोगलाई नियाल्न सकिएमा र प्रकृतिलाई आत्मसात मात्र पनि गर्ने कोसिस गरिएमा गल्तीका श्रृंखलाहरु निरन्तर घटिरहने थिएनन् ।

    धेरै बहावहरु यात्री बनेर जलक्रीडा बनेर सारथी बने, निश्चित पलका लागि । फेरि पनि हेक्का हुन सकेन । लाग्छ उही सहयात्री साथमा छ, यही झूटो आत्मविश्वासमा बगेको नियति यथार्थमा भिज्न सकेन । सहज खोज्ने र प्राप्तिमा सफल जीवन ठान्नेहरुको भीडमा भिडिरहेको छु, त्यही आत्मरतिमा रम्न । कहिले त लाग्छ, यी सबै मिथ्या हुन् । तर, त्यो कदापि टिक्न सक्दैन । नयनको दृष्टिदोष हो कि हृदयको परकम्प ! सोच किन नयनको यो दृष्टिदोषबाट परिचालित हुन्छ ? आत्मा नै उथलपुथल हुनेगरी मस्तिष्कमा देखिने ज्वारभाटाहरु किन सधैं असन्तुलित ?

    हृदयको कुनाबाट मेरो नै आभास भए झैं । फेरि पनि त्यही हृदयको क्रन्दन किन असम्भव भयो होला ? त्यो नयनले खोज्ने आकृतिमा किन को बाधक बन्यो होला ? बाध्यता र भाग्यलाई दोष दिने अवस्थाको सृजनाकार हामी आफैं कि कोही अरु ? दोष दिएर नै फगत उम्कन खोज्ने दुस्साहस भनेको कमजोरीको द्योतक हो । जो हर कोहीमा देखिन्छ । कल्पना पनि बाँच्ने अचुक औषधि रहेछ । त्यही कल्पना र सपनाले हृदयको पुकार बोल्छ, जति नै आरोह, अवरोह र पर्खालहरु भए तापनि । तर, त्यो आरोह, अवरोध र पर्खाल तोड्ने हिम्मत र समयसम्म जीवित आत्मा रहला वा नरहला भन्ने हो ।

    धर्तीमा चालिएको पाइलामा पनि सोधिएका प्रश्नको बाढीले जीवनबोध गराए तापनि त्यसको लक्ष्य सम्भव छैन । चाहना र आवश्यकता फरक फरक विषय रहेछन्, जसलाई हामी परिपूरक मानिरहेका छौं । महत्वाकांक्षाको यो बाढीले सोचको यो बन्धन चिर्न सक्ला कि नसक्ला ? समयको पल जस्तै घडीका सुईहरु घुमिरहे । प्राविधिक रुपमा फर्काउन खोज्नु मनोभावनामात्र रहेछ । जीवनको गति पनि यही रहेछ, जसमा सोच र महत्वाकांक्षा हावी बन्ने रहेछ भने हृदय र मस्तिष्क बन्धक ।

  • त्यो यात्रामा मेरो हातमा किताब नभएको भए देशकै बेइज्जत हुनेरहेछ !

    त्यो यात्रामा मेरो हातमा किताब नभएको भए देशकै बेइज्जत हुनेरहेछ !

    प्रस्टोक्ति

    यो ब्लग चिनियाँ पठन संस्कृतिको बारेमा हो । चिनियाँ नागरिक र सरकारले पठन क्षेत्रमा गरेको लगानीको मैले देखेका दृश्यको बारेमा हो । त्योभन्दा अगाडि सुरुमै प्रस्ट गरौं कि चीनमा पठन संस्कृति प्रवर्द्धन राम्रो छ भन्दैमा तपाईं हामीले खोजेका सबै उत्तर चिनियाँहरुबाट नआउन सक्छ । हामीलाई सजिलो लागेका कुरा पनि आम चिनियाँलाई गाह्रो हुनसक्छ । जस्तोः मैले सिचुआन, हुनानदेखि फुजिआन प्रान्तमा पुग्दा कुरा गरेका कुनै पनि युवाले नेपाल चिनेको बताएनन् । उनीहरुले तिब्बत मुन्तिरको चिनियाँ छिमेकी देश भनेर संकेत गर्दामात्रै नेपाल चिने । नेपाल नचिन्नेले नेपाली प्रधानमन्त्री चिन्ने कुरै आएन । मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखाएर चिन्छौं भनें । मोदीलाई पनि नचिन्नेहरु उत्तिकै थिए । तर, भारत चिन्नेहरु चै थिए । मोदीभन्दा धेरै त आमीर खानलाई चिन्नेहरु थिए ।

    पठन, पठन र पठन- सीटदेखि ककपिटसम्म

    सिचुआन प्रान्तको राजधानी छेङ्दुसम्मको हवाई यात्रामा थिएँ । सिचुआन एयरलाइन्सको तीन सीटे पंक्तिमा झ्यालतर्फ थिएँ म । बाँकी दुई सीटमा युवती र उनीहरुको अगाडि थियो पुस्तक । हत्केलामा पुस्तक अड्याएर पुस्तकसँग आमनेसामने भएर बसेका उनीहरु मन्त्रमुग्ध थिए । पुस्तक पढेको कि मेडिटेसन गरेको जस्तो । मसँग पनि दुई पुस्तक थिए । एक पुस्तक थियो- इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालीमा लेखेको र उनका नाति माधव आचार्यले अनुवाद गरेको ‘चाइना, टीबेट एन्ड नेपाल’ । अर्को थियो, कोरी स्याकीले लेखेर हार्वर्ड विश्वविद्यालय प्रेसले प्रकाशन गरेको पुस्तक ‘सेफ प्यासेज’ ।

    साढे दुई घण्टा हाराहारीको हिमाल पार उडानमा यी पुस्तकले मलाई धेरै राहत दियो । पहिलो त लामो जहाजी यात्रामा आउने आलस्यलाई टार्न पुस्तकले धेरै राहत दियो । दोस्रो, मसँगै बसेका दुई साथीले खुरुखुरु पढ्दा म भने उङ्दै, हाई काड्दै बसेको भए, त्यहाँ मेरोमात्रै बेइज्जत हुन्थेन । मसँगै मेरो देशको पनि बेइज्जत हुन्थो । चीन यात्राको मेरो पहिलो प्रभाव नै पठनबाट सुरु भयो । सबै सीटका चिनियाँहरु पढ्दै देखिएनन् । धेरैजसो सीटका भने पढ्दै देखिए ।

    माओले लेखेका र माओबारेमा लेखिएका पुस्तकहरुको विशाल संकलन थियो । उसो त माओ आफैंमा राम्रा पाठक थिए, लेखक थिए । उनी पठनमा अब्बल थिए । दुई हजार वर्षभन्दा अगाडि चिनियाँ जर्नेल, रणनीतिकार, दार्शनिक तथा लेखक सुन्चुले लेखेको ‘आर्ट अफ वार’ पढेर जनवादी गणतन्त्र चीनको युद्ध सुरु गरेका थिए माओले ।

    छेङ्दु विमानस्थलमा अवतरण हुन लाग्दा पाइलटले त्यो शहर २ हजार वर्षभन्दा पुरानो लिखित इतिहास भएको भनेर सुनाए । उनले त्यो प्रान्तका केही लेखक कविहरुको पनि नाम भने । अब मेरो पठन इम्प्रेसन म बसेको सीटदेखि पाइलट बसेको ककपिटसम्म पुग्यो । मैले सोचें- सिचुआन प्रान्तको राजधानी छेङ्दु जस्तै हाम्रो संघीय राजधानी काठमाडौंको पनि त दुई हजार वर्षभन्दा पुरानो लिखित इतिहास छ । काठमाडौंले जन्माएका पनि नामी लेखक-कविहरु छन् । के नेपाली ध्वजाबाहक जहाजका पाइलटले काठमाडौंको त्यस्तै व्याख्या गर्लान्, जस्तो सिचुआन एयरलाइन्सका पाइलटले छेङ्दुको गरे ?

    माओ संग्रहालयको विशाल पुस्तक कक्ष

    म हुनान प्रान्तको माओ जन्माउने साओस्यानको घरमा पुगेको थिएँ । माओ गाउँमा उनको जन्मघर पुग्नुअगाडि एक संग्रहालय बनाइएको छ । विशाल संग्रहालयमा भिन्नभिन्न कोठामा भिन्नभिन्न कुराहरु सजाइएका थिए । सबैभन्दा ठूला कक्षहरुमध्ये एक पुस्तकको थियो । माओले लेखेका र माओबारेमा लेखिएका पुस्तकहरुको विशाल संकलन थियो । उसो त माओ आफैंमा राम्रा पाठक थिए, लेखक थिए । उनी पठनमा अब्बल थिए । दुई हजार वर्षभन्दा अगाडि चिनियाँ जर्नेल, रणनीतिकार, दार्शनिक तथा लेखक सुन्चुले लेखेको ‘आर्ट अफ वार’ पढेर जनवादी गणतन्त्र चीनको युद्ध सुरु गरेका थिए माओले ।

    एक पाठक र लेखकको संग्रहालयमा पुस्तकको बारेमा बेग्लै विशाल कक्ष हुनु स्वाभाविक हो । नेपालमा पनि मदन भण्डारी राम्रा लेखक र पाठक थिए । के मदन भण्डारीको संग्रहालयमा यस्तै विशाल पुस्तक कक्ष छ ? के बीपी वा पुष्पलालका संग्रहालयमा पुस्तक कक्षले स्थान पाएका छन् ? माओको पुस्तक कक्षमा पुग्दा मलाई यी प्रश्नहरुले घेरिरहे ।

    फुजिआनः होटलदेखि क्याफेसम्म पढ्न प्रवर्द्धन

    ताइवानसँगको संधियारी फुजिआन प्रान्तको राजधानी फुचौको एक कुनामा ‘एसियन टाउन’ छ । हामी त्यहाँ घुम्न पुग्यौं । दुई हजार वर्ष हाराहारी पुरानो संरचनाको एसियन टाउन पुग्दा नेपालकै वसन्तपुर पुगेको झल्को आयो । एसियन टाउनका सात गल्लीमध्येको एक कुनामा क्याफे भेटियो । पुस्तकहरुले भरिभराउ क्याफे अटोमेटेड थियो । किचेनका स्टाफबाहेक अरु कर्मचारीहरु नभएको शान्त क्याफे । क्याफेमा कर्मचारीहरु किचनमा मात्रै भएको तर अन्त नभएको बारेमा त्यहाँ भेटिएका अंग्रेजी बोल्ने चिनियाँसँग जिज्ञासा राखे । उनले यहाँ मान्छेहरु पढ्नमात्रै आउने र बेलाबेला खानपिन गर्नलाई मात्रै किचन स्टाफ चाहिएको बताए । पुस्तक पढ्न र किन्न दुवै सुविधा भएको एसियन टाउनको जस्तो क्याफे नेपालमा पनि बनेका छन् । किचनमा मात्रै कर्मचारी राख्ने स्तरमा भने हाम्रा क्याफे पुग्न अझै समय छ ।

    नेपालमा पनि मदन भण्डारी राम्रा लेखक र पाठक थिए । के मदन भण्डारीको संग्रहालयमा यस्तै विशाल पुस्तक कक्ष छ ? के बीपी वा पुष्पलालका संग्रहालयमा पुस्तक कक्षले स्थान पाएका छन् ? माओको पुस्तक कक्षमा पुग्दा मलाई यी प्रश्नहरुले घेरिरहे ।

    एसियन टाउनको घुमघाम सकेर होलिडे एक्सप्रेस इनमा आइयो । हाम्रो बसाइको चाँजोपाँजो त्यही थियो । साथीहरुसँगको घुमघाम सकेर कोठामा पुग्दा रोचक दृश्य देखियो । बेड नजिकै दुई स्विच थिए । एउटामा बत्ती मार्ने संकेत थियो, अर्कोमा पुस्तक । अर्थात् कि बत्ती मार्नुपर्ने कि बालेर पढ्नुपर्ने । पठनमा यो स्तरको प्रवर्द्धन गजब लाग्यो ।

    चिनियाँ पठन संस्कृतिः इतिहासदेखि उखानसम्म

    पठन संस्कृतिको शक्तिशाली डीएनए भएकैले होला चिनियाँ पठनको उचाइ र गहिराइ दुवै अब्बल छ । गहिराइको कुरा गर्दा हजारौं वर्ष पुराना किताबहरु चीनमा छन् । उचाइको कुरा गर्दा पेकिङ, सिङ्गुआलगायतका चिनियाँ विश्वविद्यालयहरु अहिले विश्व मानचित्रमा बलिया भएर उभिएका छन् । चिनियाँ पठन संस्कृतिको संस्थागत विकासकै विम्ब हुन् यी विश्वविद्यालयका सफलताहरु ।

    चिनियाँहरुको लेखनले, पठनले नेपाललाई पनि फाइदै भएको छ । जस्तो चिनियाँ तीर्थयात्रीले सातौं शताब्दीमा नेपालको बाटो यात्रामात्रै गरेनन्, तत्कालीन लिच्छविकाललाई चित्रित गरेका छन् । कैलाशकुट दरबारको दृश्य चित्रित गरेका छन् । यसले नेपाली इतिहासको वैद्यता थपिएको छ । यतिमात्रै होइन, चीनकै दस्तावेजहरु तथा लेखौटहरुका आधारमा भृकुटी र अरनिकोलाई नेपाली विभूतिको सूचीमा राख्न सकिएको छ । चिनियाँहरुको पठन र लेखन संस्कृतिले सगरमाथाको उत्तरी मोहडाको चीनलाई मात्रै फाइदा पुगेको छैन । दक्षिणी मोहडाको नेपाललाई पनि फाइदा पुगेको छ ।

    चीनको लोभलाग्दो पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने सरकारमात्रै छैन, नागरिकमात्रै छैन, उखान पनि छन् । जस्तै पठनमैत्री यी दुई उखान हेरौंः

    • पुस्तक एक घर सुन हो ।
    • तीन दिन पढ्न छोडेर गफिँदा कुरामा मिठास आउन छोड्छ ।

    याे पनि पढ्नुस् : उपहारमा चिनियाँ क्रेज: लिन उत्साहित, दिन उदार !

  • उपहारमा चिनियाँ क्रेज: लिन उत्साहित, दिन उदार !

    उपहारमा चिनियाँ क्रेज: लिन उत्साहित, दिन उदार !

    काठमाडौं । हामीले चीन पुग्ने कतिपटक कल्पना गर्‍यौं होला ? त्योभन्दा धेरैपटक चीन पुग्नुभएको छ किशोर श्रेष्ठ । किशोर दाइलाई व्यक्ति नभएर पुस्तक मान्ने हो भने उहाँ चीन जानकारी खण्डको धेरै भागहरुको ग्रन्थ हो ।

    किशोर दाइको चीन यात्राको सल्लाह कत्ति महत्वपूर्ण छ भनेर बुझ्न यिनै कुरा काफी छन् । चीन जानु अगाडि किशोर दाइको सल्लाह सञ्जीवनी बुटी नै हो । उहाँका भेज र ननभेज मगाउने टिप्स्देखि थुप्रै सल्लाह थिए । मैले नोट गरेका प्रमुख दुई सल्लाह चैँ यी थिएः

    • देश गरिब छ । तर, तिमी दरिद्र नहुनु । आफूसँग निकट भएकाहरुलाई केही न केही उपहार दिनु ।
    • औपचारिक कार्यक्रममा औपचारिक पोसाक खासगरी सुटमै उपस्थित हुनु ।

    औपचारिक पोसाकबारेमा त म पनि तयारै थिएँ । उपहारबारेमा खासै सोचेको थिइनँ । उपहारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने चिनियाँ भाषाका ब्रोसर दिने योजनामा थिएँ । ठमेल पुगेर केही एन्टिक नेपाली सामान किनेर दिने योजनामा थिएँ । तेह्रथुमे ढाका र संखुवासभाली अल्लोका पर्स वा रुमाल दिने योजनामा थिएँ । यी सबै मौलिक नेपाली उपहार दिने योजना बनेपछि किन्ने तयारीमा थिएँ ।

    जहाजको टिकट तत्काल आउने कुनै संकेत थिएन । त्यसैले उपहार किन्न कुनै हतारो पनि थिएन । एक दिन मित्र मिलन बिछोड र अक्षर काकासँग साँझ चिया चर्चा गर्दैगर्दा अचानक फोन आयो । फोनमा भनियो- ‘टिकट आयो । भोलि १० बजेको उडान हो । ८ बजे नै विमानस्थल पुग्नु ।’

    हिमाल पारिको पहिलो उडानको टिकट आएको खुशीभन्दा टिकट ज्यादै छिटो आएकोमा बेखुशी जस्तै पो भइयो । शनिबार आयो सूचना । कोभिड खोपको क्युआर कार्ड बनाएकै थिएन । लुगाफाटोको तयारी थिएन । लगेज बन्दोबस्त झनै थिएन । यी सबै तयारी नभएपछि उपहारको तयारी त्यत्तिकै कम प्राथमिकतामा पर्‍यो । यी सबै काम सक्दा बिहान ७ बज्यो । अब एक घण्टामा वानेश्वरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कि उपहार किन्न ठमेल ? ठमेल पुग्ने, किन्ने र पुनः विमानस्थल आउन समयको हिसाबले गाह्रो थियो । त्यही बेला मैले सत्यमोहन जोशीको कतै पढेको कुरा सम्झें । चिनियाँहरुको नेपाली सिक्का मोह । र, हत्तपत्त पसलमा गएर दुई रुपैयाँका टिलिक्क टल्किने पचास सिक्का खरिद गरेर पठाओबाट सोझिएँ विमानस्थलतर्फ ।

    म तीस हजार नेपाली रुपैयाँ लिएर पुगें र भने, ‘तीस हजारको युआन जत्ति आउँछ त्यही साटिदिनु ।’ काउन्टरका कर्मचारीले पासपोर्ट मागे । छाप हाने । १६ सय प्लस युआन रकम पनि ल्याए । मैले तीस हजार क्यूआर गरेर दिन लाग्दा उनी हच्किए । भने, ‘क्यूआरले हुन्न । हार्ड क्यासै चाहिन्छ ।’

    बैंकको सटहीको तनाव सिक्काले फुकायो

    पावर चाइना कम्पनीको आयोजनामा भएको नवीकरणीय ऊर्जाको कार्यक्रममा जानु थियो । नवीकरणीय ऊर्जामा लेख्ने बोल्ने कुरामा सक्रिय मलाई यो कार्यक्रम व्यक्तिगत रुपमा पनि महत्वपूर्ण थियो । व्यवसायिक रुपमा झनै महत्वपूर्ण । कार्यक्रम मध्य चीनको प्रान्त हुनानको राजधानी छाङ्सामा थियो । काठमाडौं छाङ्सा सीधा उडान छैन, तिब्बत पर्तिरको सिचुआन प्रान्तको राजधानी छेङ्दु हुँदै पुग्नुपर्ने ।

    सबै खर्चबर्च आयोजककै भए पनि सामान्य चिया कफी नास्ताको मुद्रा बोक्न युआन साट्नुपर्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै प्रभु बैंकको काउन्टरले साट्ने सूचना पाएपछि सहज महसुस भयो । म तीस हजार नेपाली रुपैयाँ लिएर पुगें र भने, ‘तीस हजारको युआन जत्ति आउँछ त्यही साटिदिनु ।’ काउन्टरका कर्मचारीले पासपोर्ट मागे । छाप हाने । १६ सय प्लस युआन रकम पनि ल्याए । मैले तीस हजार क्यूआर गरेर दिन लाग्दा उनी हच्किए । भने, ‘क्यूआरले हुन्न । हार्ड क्यासै चाहिन्छ ।’

    जुन बैंकको ग्राहक हुँ, त्यही बैंकले उसैले ल्याएको क्यूआरबाट पैसा भुक्तान नलिने नियम देखेर अचम्म लाग्यो । अझ नेपाली रुपैयाँमा यस्तो ! यत्ति बेला मैले बैंकको नारा सम्झें- ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ ।

    मैले मनमनै नारा सम्पादन गरें- ‘विश्वास लिन्छौं । धोका दिन्छौं’ ।

    आसपास देखिएका सुरक्षाकर्मी र स्वयं बैंकका कर्मचारीलाई पनि ‘हार्डक्यास दिनु क्यूआर गर्दिन्छु’ भन्दा कुरा असम्भव भयो । सेक्युरिटी चेकको प्रक्रियामा पुग्न अबेला हुने डर भयो । पार नलागेपछि म लागें एक सुक्का युआन नबोकी चीन यात्रामा । सिचुआन एअरलाइन्सबाट काठमाडौंको आकाश हुँदै हिमाल पार गरेर म छेङ्दुको उत्तरी उडानमा लागें । यो हिमाल पार भएर पहिलो उडान ५० वर्ष अगाडि भएको थियो ।

    राजा वीरेन्द्रले सन् १९७३ डिसेम्बर ७ मा पहिलोपटक काठमाडौंबाट हिमाल पारि उडान गरेका थिए । त्यो अवधिमा ल्हासामा महावाणिज्यदूत रहेका नेपालका चर्चित मानवशास्त्री डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’मा यो तथ्य लेखेका छन् । राजाले ५० वर्ष अगाडि गरेको उडान यात्रामा एक नागरिकको रुपमा मैले ५० वर्षपछि यात्रा गरिरहेको थिएँ । ५० वर्ष अगाडि राजाबाट सीधा उडान सुरु भएको चीनसँग आज नेपालको नियमित व्यवसायिक उडान हुन्छ । पासपोर्ट बोकेर आउने पर्यटकहरुको पछिल्ला दशकका सबैभन्दा ठूलो स्रोत मुलुक चीनका आगन्तुकहरु हवाई मार्गबाटै धेरै आउँछन् । पछिल्लो पचास वर्षमा यति परिवर्तन भयो । आगामी पचास वर्षमा कति होला ?

    यस्तै सोच्दै हिमाल माथि उडियो । तिब्बती पठारमाथि हुँदा सिचुआन एअरलाइन्सले दिएका मीठामीठा पकवान खाइयो । र, दुई घण्टापछि दुई हजार वर्ष पुरानो इतिहास भएको छेङ्दुमा अवतरण भइयो ।

    मैले आफूसँग भएको ५० सिक्कालाई ४९ बनाउने सोचें । उनलाई सिक्का दिँदै उनको मोबाइल अनुवादकसँग बोले, ‘तपाईं चीनमा भेटेको पहिलो साथी हो । यो मेरो देशको सिक्का हो । तपाईंलाई मेरो तर्फबाट यो भेटको चिनो ।’

    विमानमा जत्तिकै मीठा पकवान दिए पनि विमानस्थलमा ओर्लिएपछि केही खाउखाउ भन्ने तलतल लाग्नेरहेछ । अझ पैसा नभएको बेला त तलतलको आयतन बढ्दै बढ्दै जानेरहेछ ।

    छेङ्दु विमानस्थलबाट निस्किँदा चिनियाँ युवती सिसाङ लिन आएकी थिइन् । अंग्रेजी बोल्न नजान्ने उनी मसँग मोबाइल एपबाट चिनियाँलाई अंग्रेजी अनुवाद गरेर बोलिन् । मलाई भेटेसँगै उनले भनिन, ‘होटलको गाडी आउन बीस मिनेट लाग्छ । यतै बस्दै गरौं ।’

    मैले आफूसँग भएको ५० सिक्कालाई ४९ बनाउने सोचें । उनलाई सिक्का दिँदै उनको मोबाइल अनुवादकसँग बोले, ‘तपाईं चीनमा भेटेको पहिलो साथी हो । यो मेरो देशको सिक्का हो । तपाईंलाई मेरो तर्फबाट यो भेटको चिनो ।’

    मैले बोलेको कुरा चिनियाँमा अनुवाद पढेपछि उनी त्यति खुशी भइन् जति म यहाँ व्याख्या गर्न सक्दिनँ । सिक्का लिएपछि उनी नजिकैको पसलमा गइन् । मोबाइलको कभर चेञ्ज गरिन् । पहिलेको अपारदर्शी कभरलाई पारदर्शीले विस्थापन गरिन् । त्यो कभरको पछाडि त्यही दुई रुपैयाँ राखिन् । मैले बल्ल बुझें- मोबाइल कभर पारदर्शी बनाउनुको अर्थ त मैले उपहार दिएको सिक्का देखाउने गरी राख्न पो रहेछ !

    उनी एक्कासि हराइन् । र, आइन् एक हत्केला फलफूल र चकलेट लिएर । भोकको तलतल लागेको मलाई आफ्नै पैसाले किनेर खाने बाटो काठमाडौंको विमानस्थलभित्रको प्रभु बैंक काउन्टरले बन्द गरिदिएको थियो । तर, छेङ्दुको विमानस्थलभित्र मैले दिएको सिक्काले भोकको तलतल मेटाइदियो । सिसाङको काम मलाई रिसिभ गरेर होटलको गाडीमा पठाएर ‘बाइ बाइ’ गर्नेमात्रै थियो । एक सिक्काले हाम्रो सम्बन्ध त्यतिमै सीमित भएन । हामी चिनियाँ सामाजिक सञ्जाल विच्याटमा जोडियौं । अहिले पनि विच्याटको उनका पोस्ट हेर्दा म छेङ्दुमा उनले दिएको अतिरिक्त सत्कार सम्झिन्छु । सायद उनी पनि मेरा पोस्ट हेरेर मैले दिएको सिक्का सम्झिँदी हुन् ।

    उपहार आत्मीयताः सरकार, सवारीदेखि समुद्रसम्म

    मैले सिसाङमात्रै होइन उनीसँग छुटेपछि भेटिएका ड्राइभर, कोठामा खाना लिएर आउने होटल कर्मचारीलाई पनि सिक्का दिएँ । उनीहरुले मीठो मुस्कान दिए । ग्राहकहरुमा मलाई अतिरिक्त चासो दिए । अतिरिक्त सम्मान दिए ।

    चिनियाँहरुको उपहार क्रेज गजब नै लाग्यो । उसो त नेपाल चीन सम्बन्धकै कथामा पनि उपहार जोडिन्छ । जस्तैः सन् १७९१ मा नेपालले तिब्बत आक्रमण गर्दा चीनले आफ्ना सेना पठाएर नेपाललाई हरायो । नेपाल तिब्बतबाट भाग्दै आयो । चिनियाँ सेनाले रसुवासम्म खेद्यो । अन्तिममा रसुवाको बेत्रावतीमा सन्धि भयो । सन् १७९२ अर्थात् आजभन्दा २३१ वर्ष अगाडि भएको बेत्रावती सन्धिको एक प्रमुख प्रावधानमा उपहार कूटनीति थियो । नेपालले हरेक वर्ष चिनियाँ सम्राटलाई उपहार लानुपर्ने । इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको उपहार कूटनीतिमा नेपालले दिएको भन्दा धेरै उपहार चीनले दिएको कथा आफ्नो किताब ‘चीन, तिब्बत र नेपाल’मा उल्लेख गरेका छन् ।

    २३१ वर्ष अगाडि राज्यस्तरमा भएको उपहार कूटनीतिको जस्तै अनुभव मेरो निजी उपहार आदानप्रदानमा पनि भयो । ५० सिक्काको उपहारमा ५० सिक्काकै रोचक उदाहरण छन् । चीनको सिचुआनदेखि हुनान हुँदै फुजिआनका कुनाकुनामा यस्ता रोचक अनुभव आएका छन् । यहाँ म हुनान र फुजिआनका एक एक उदाहरण दिन्छु ।

    उनले दिएको घडी नलिँदा मलाई चिनियाँ भाषामा सम्झाए । मैले नेपाली भाषामा बुझें । उनले दिएको चिनियाँ कम्पनीकै ‘पिकक वाच’ मैले फुजिआन जाँदा विमानस्थलमै हराएँ । तर, उनले दिएको माया र सम्मान अहिलेसम्म हराएको छैन ।

    म एक्लै यात्रामा थिएँ । अंग्रेजी बोल्ने साथीहरु भएको छाङ्सा विश्वविद्यालयतर्फ गएँ । होटल स्टाफले बोलाइदिएको कारमा जाँदा अंग्रेजी नबुझ्ने ड्राइभर र चिनियाँ नबुझ्ने मेरो कुनै बोलचाल भएन । तर, सांकेतिक भाषामा गजब कुरा भयो । ओर्लिने बेला मैले उनलाई सिक्का दिएँ । उनी सिक्का लिएर केही पर गए । हातमा नयाँ घडी लिएर आए । उनले दिएको घडी नलिँदा मलाई चिनियाँ भाषामा सम्झाए । मैले नेपाली भाषामा बुझें । उनले दिएको चिनियाँ कम्पनीकै ‘पिकक वाच’ मैले फुजिआन जाँदा विमानस्थलमै हराएँ । तर, उनले दिएको माया र सम्मान अहिलेसम्म हराएको छैन ।

    फुजिआनमा पनि उपहारको रोचक किस्सा छ । हामी पूर्वी चीन सागरमाथि चीनले बनाएको १६ किलोमिटर लामो रेल रोड पुलबाट पिङतान टापु पुग्यौं । टापु फन्को मारीमारी हामीले विभिन्न सामुद्रिक तटहरुको भ्रमण ग¥यौं । सुरुको दुई तटीय क्षेत्र पुग्दा त ऊर्जा आएकै थियो । तेस्रो तटमा पुग्दाको चर्को घामले अल्छी लाग्यो ।

    म तट बाहिर आएँ । हामीलाई बोक्ने गाडी छेउमा उभिएँ । नजिकै पसल थियो । पसल अगाडि टक्क बस्ने गजब कुर्सी थिए । पसलमा केही नकिनी बस्नेहरुलाई पसल सञ्चालिकाले खाउँला झैं गरी हेर्थिन् । मलाई किन्नुपर्ने केही थिएन । तर, उभिँदा उभिँदा गोडा गलेर हैरान भएकाले बस्नु चैं थियो । मैले पर्सबाट सिक्का निकालेर उनलाई दिएँ । तपाईंलाई उपहार दिएको भन्दा उनी खुशी भइन् । म उनको पसल अगाडिको कुर्सीमा बसें । उनले केही बेरमा तीन बोत्तल कोकाकोला, दुई बोतल जुस र एक बोलत पानी ल्याइन् । म भर्खरै खाना खाएको मलाई ती कुनै कुरा आवश्यक थिएन । चिनियाँ अनुवादक एपबाट मैले भद्र अस्वीकार गरें ।

    गाडी छुट्ने बेला उनलाई चिनियाँ धन्यवादको ‘से से..’ भनेर हिँड्न लाग्दा उनले विच्याटको क्यूआर मागिन् । चिनियाँहरुलाई सामाजिक सञ्जालमा जोडिन नाम टाइप गर्न समय लाग्ने भएर होला क्यूआर प्रणाली राखेको । मैले दिएँ । उनले स्क्यान गरिन् ।

    म साँझ पिङतान टापुबाट डेढ घण्टा यात्रा गरेर फुजिआनको राजधानी फुजो पुगें । बेलुकाको खाना खाएर बेडमा पुगें । वाइफाइ अन गरेर विच्याट नोटिफिकेसन हेरें । दिउँसो भेटिएकी पिङतानकी युवती साहुनीको रिक्वेष्ट आएको थियो । मैले तत्काल एड गरें । एड गरेको केही मिनेटमै उनले साथीहरुको बीचमा बसेर आफूले सिक्का बोकेको सेल्फी पठाइन् । सेल्फीसँगै थुक्पा, चाउमिन र चाउचाउ मिसमास भएका मीठामीठा चिनियाँ अक्षरहरु आए । चिनियाँहरुले अंग्रेजीमा बोल्न/बुझ्न सहज होस् भनेर होला विच्याटमा अनुवाद सुविधा छ । मैले अनुवाद गर्दा लेखिएको पाएँ, ‘मलाई थाहा छ यो सुन होइन । तर, मलाई यो सुन जत्तिकै महत्वपूर्ण छ ।’

    त्यो पढिसक्दा नसक्दै उनले अर्को तस्बिर पठाइन् । एक युुवकसँग सिक्का बोकेरै उनको सेल्फी आएको थियो । त्यहाँ पनि केही कुरा लेखिएको थियो । उत्साहित हुँदै अनुवाद गरे । लेखिएको थियो, ‘मैले मेरो ब्वाइफ्रेण्डलाई पनि यो सिक्का देखाएँ । उसले पनि धेरै मन परायो ।’

    अघिसम्म उत्साहित म यो वाक्य पढेपछि भने फतक्कै गलें । किन गलें ? यसबारेमा प्रश्नहरुको भिडन्त जारी छ ।

  • सुनेको अमेरिका भर्सेस देखेको अमेरिका : केही सवाल-जवाफ

    सुनेको अमेरिका भर्सेस देखेको अमेरिका : केही सवाल-जवाफ

    नेपाल सरकारको छैटौं तहको एउटा कर्मचारी, मेरो स्कुले साथीलाई डीभी पर्‍यो । केही समय अगाडि उनी अमेरिका आइपुगे । हाम्रो लामो समयपछि भलाकुसारी गर्ने अवसर डीभी चिट्टाले जुरायो । साथीको मुहारले केही मिश्रित भाव बताइरहेको थियो । मानौं उनी दोधारकै बीच यहाँ आइपुगे ।

    म भने उनीसामु धेरै प्रश्नहरु बोकेर बसेको थिएँ । नेपाल सरकारको एक उच्च अधिकारी किन नेपाल छाड्न चाहे, जान्न उत्सुक थिएँ ।

    सुरुमै ‘किन तिमी नेपाल सरकारको जागिर छोडेर आयौ ?’ भनेर सोध्न मन थ्यो । तर, सकिनँ अनि ‘तिमीलाई धेरै धेरै बधाई छ साथी’ भनें ।

    मुस्कुराउँदै उनले बधाईलाई स्वीकारे ।

    ‘नेपाल बसेर केही नहुने रैछ, मित्र । गर्नेहरुले राम्रै प्रगति पनि गरेका छन् । तर, मैले चैं सकिनँ । यतिका वर्षहरु त्यसै खेर गए जस्तो भए ।आफ्नो लागि केही गर्न सकिएन । आफ्नो सानो परिवारका ससाना इच्छा पूरा गर्न सात चोटि सोच्नुपर्ने सधैं । इमानदारीपूर्ण काम गरेर खान गाह्रो रहेछ, हाम्रो नेपालमा ।’

    ‘अहिले त फेरि, देश बिगारेकै कर्मचारीहरुले रे ! कर्मचारीहरु सबका सब भ्रष्टाचारी रे ! भो मलाई केही चाहिएन भ्रष्टाचार गरेर खान । अब यहाँ केही गर्ने हो, आफ्नो नभए छोराछोरीको भविष्य त राम्रो हुन्छ यहाँ’, मेरो मनको पहिलो प्रश्न राख्न नपाउँदै उनले मनभरिको जवाफ दिए ।

    मित्र यहाँ आएको थाहा पाएर उनका गाउँले भाइ हामीलाई भेट्न आएका थिए । केही महिनाअघि उच्च शिक्षा अध्ययनका लागि आइपुगेका रहेछन् उनी । हाम्रो बसोबासभन्दा केही घण्टा परको युनिभर्सिटीमा भर्ना भएका रहेछन् । उनको अनुहार प्रश्नैप्रश्नले भरिएका जस्तो देखिन्थ्यो । उनले केही घतलाग्दा प्रश्नहरु गरे- ‘दाइ, हामीले सोचे जस्तो सपनाको देश त हैन रछ नि अमेरिका, है ?’

    ‘कस्तो सोचेका थियौ र ?’, मैले सोधिहालें ।

    ‘खै त ती सञ्चार जगतमा देखिएका मनोरम गगनचुम्बी महलहरु ? खै कता छन् ती अविश्वसनीय शहरहरू, मनमोहक समुद्रहरु ? म जता गए पनि माटोले बनेका जस्ता, खबटाले छाएका, साना फुस्रा घरहरु, ससाना गाउँमात्रै देख्छु’, उनले जवाफ फर्काए ।

    अमेरिकी सरकारको ऋण राष्ट्रको कुल गार्हस्थ उत्पादनभन्दा ठूलो हुँदै गैरहेको छ । राष्ट्र चलाउन नयाँ ऋण नलिए राज्य नचल्ने अवस्थामा पुगेको छ । यदि अमेरिकी कांग्रेसले पुरानो ऋणको ब्याज तिर्न नयाँ ऋण गर्न अस्वीकार गरेमा अमेरिका कुनै पनि समयमा डिफाउल्ट हुने अवस्थामा पुगेको छ । यदि यस्तो भयो भने वित्तीय बजार र अर्थ व्यवस्थालाई नराम्रो असर गर्नेछ ।

    ठूलो क्षेत्र गाउँले भरिएको अमेरिका, यहाँ आएको २ महिना बितिसक्दा पनि शहर नपुग्नु एउटा विद्यार्थीको लागि नौलो कुरा थिएन ।

    ‘ल उसो भए भोलि बिहान डाउनटाउन (शहर) जाऔं है त अग्ला घरहरु हेर्नलाई । होमलेसनेश (घरबारविहीनता) समस्याले शहरमा संकटकालको जस्तो अवस्था छ, शहरमा पैदल यात्रा गर्दा चाहिँ अलि विचार पुर्‍याउनुपर्छ । अनि तिमीले भनेका समुद्रहरु चैं मै पनि पुगेको छैन आजसम्म’, उनलाई जवाफ फर्काएँ ।

    उनको पहिलो यक्ष प्रश्नले हामीलाई छोएको थियो, ‘के साँच्चिकै अमेरिका व्याख्या गरिए जतिकै अविश्वसनीय र व्यवस्थित सपनाको देश हो ?’

    हामी यै प्रश्नमा केही बेर गन्थनियौं । हामीबीचमा एकजना पुराना बासिन्दा (रवि दाइ) पनि हुनुहुन्थ्यो । उहाँले अमेरिकामा केही दशक बिताइसक्नु भएको थियो । हामीले केहीबेर अमेरिकी बनोटलाई नजिकबाट नियाल्यौं ।

    अमेरिका सुविधा सम्पन शहरैशहरले बनेको अविश्वसनीय र व्यवस्थित सपनाको देश हो भनेर किन भनिएको होला ? किन अमेरिका संसारको सबैभन्दा धेरै मकै उत्पादन गर्ने देश हो भनेर चै नभनिएको होला ? कुल क्षेत्रको ९७ प्रतिशत भूभाग ग्रामीण क्षेत्रले भरिएको देश हो भनेर कहिल्यै किन भनिएन होला ? कसरी सिंगो देशको ३ प्रतिशत शहरी क्षेत्रका केही राम्रा भागहरु देखाएर सिंगो देश परिभाषित गराइयो होला ?

    किन हामीले अमेरिकाको सबलतामात्र सुन्यौं, ताकतमात्र देख्यौं ? के साँच्चै अमेरिका हामीले सुनेको जस्तो सुविधा सम्पन व्यवस्थित सपनाको देश हो? के यो देशमा जीवन जिउन साँच्चिकै सहज छ ? भविष्यमा नयाँ पुस्तालाई यो देश कति वरदान सावित होला ? अमेरिका बसाइसराइ गरेपछि सबै ठीकठाक हुन्छ भन्ने सोचाइ कति सही होला ?

    भाइका यस्तै केही सवालहरुमा रवि दाइले जवाफस्वरुप आफ्नो विचार राख्दै जानुभयो-

    सवाल : अहिलेको अमेरिकी अर्थ व्यवस्था स्वस्थ छ, काम पाउन (हामी विद्यार्थीलाई) कति सजिलो गाह्रो छ ?

    जवाफ : तुलनात्मक रूपमा हालको समयमा रोजगार बजार राम्रै छ । तथापि, २१औं शताब्दीको सुरुदेखि नै अमेरिकासँग बजेट सरप्लस नभएको कारण अमेरिकाको ऋण ठूलो मात्रामा बढिरहेको छ । सबै राजनीतिज्ञहरू युद्ध, कर कटौती, विस्तारित संघीय खर्च, विस्तारित सामाजिक सुरक्षा खर्च तथा लोकप्रिय आपतकालीन खर्चहरु आदिको बढ्दो प्रयोगले राष्ट्रको ऋणले डाँडा काट्दैछ । अमेरिकी सरकारको ऋण राष्ट्रको कुल गार्हस्थ उत्पादनभन्दा ठूलो हुँदै गैरहेको छ । राष्ट्र चलाउन नयाँ ऋण नलिए राज्य नचल्ने अवस्थामा पुगेको छ । यदि अमेरिकी कांग्रेसले पुरानो ऋणको ब्याज तिर्न नयाँ ऋण गर्न अस्वीकार गरेमा अमेरिका कुनै पनि समयमा डिफाउल्ट हुने अवस्थामा पुगेको छ ।

    बढ्दो जनसंख्या वृद्धिका कारण अमेरिकाका धेरै प्राथमिक विद्यालयहरु नेपालमा झैं क्षमताभन्दा बढी विद्यार्थी राख्न बाध्य बन्दै गएका छन् । केही सीमित ठाउँहरुबाहेक बहुसंख्यक विद्यालयको प्रभावकारिता कम हुँदै गएको देखिन्छ । यहाँका विद्यार्थीहरुको विज्ञान र गणितमा दिन प्रतिदिन रुचि कमजोर हुँदै गएको देखिन्छ ।

    यदि यस्तो भयो भने वित्तीय बजार र अर्थ व्यवस्थालाई नराम्रो असर गर्नेछ । ऋणको उत्कर्षमा पुगेको अर्थ व्यवस्था छ अहिले यहाँ । राष्ट्रमात्र हैन, प्रत्येक व्यक्ति ऋणमाथि ऋण गरिरहेका छन्, ऋणको ठूलो जञ्जालमा छन् । उता मानिसहरू संसारभरबाट अनलाइनमार्फत सामानहरू खरिद गर्ने प्रक्रिया बढ्दो छ । जसका कारण आहिले स्थानीय साना मझौला व्यापार व्यवसायहरुदेखि ठूला रिटेल स्थानहरू बन्द हुने क्रम बढ्दो छ । जसले अर्थ व्यवस्थामा अमिलो धक्का दिइरहेको छ ।

    सवाल : के अमेरिकी विद्यालय, विश्वविद्यालयहरु व्याख्या गरेजतिकै सबल छन् ?

    जवाफ : छैनन् । अमेरिकी राष्ट्रिय विद्यालय बोर्ड संघ (एनएसबीए) को रिपोर्टअनुसार बढ्दो जनसंख्या वृद्धिका कारण अमेरिकाका धेरै प्राथमिक विद्यालयहरु नेपालमा झैं क्षमताभन्दा बढी विद्यार्थी राख्न बाध्य बन्दै गएका छन् । केही सीमित ठाउँहरुबाहेक बहुसंख्यक विद्यालयको प्रभावकारिता कम हुँदै गएको देखिन्छ । यहाँका विद्यार्थीहरुको विज्ञान र गणितमा दिन प्रतिदिन रुचि कमजोर हुँदै गएको देखिन्छ । कलेजहरूले ट्युशन फी बढाइराख्नाले औसत वा औसतभन्दा कम आम्दानी भएका अमेरिकीहरू उच्च शिक्षाबाट प्रभावित वा वञ्चित छन् ।

    तर पनि अमेरिकी शिक्षा प्रणालीलाई विश्वकै सबैभन्दा राम्रो भनी परिभाषित गरिन्छ । नाफामुखी शिक्षणको बढ्दो प्रयोगको कारण उच्च शिक्षाविरोधी मानसिकता बढ्दै गएको देखिन्छ । सरकार नियन्त्रित केही सीमित राम्रा विद्यालय र विश्वविद्यालयहरु देखाएर सिंगो देशको शिक्षा अवस्था व्याख्या गर्न मिल्छ र ?

    सवाल : के अमेरिकी सरकारको स्वास्थ्य सेवा प्रणाली प्रभावकारी छ ?

    जवाफ : छैन । केही निश्चित समूहलाई सेवा दिने गरी सीमित सरकारी अस्पतालहरु भए पनि सम्पूर्णलाई सरकारी स्वास्थ्य सेवा छैन अमेरिकामा । चिकित्सकहरूको अभावका कारण बिरामी हुनासाथ आवश्यक चिकित्सकलाई भेट्न, असल डाक्टर पाउन, सिफारिस गरिएको परीक्षण गर्न मुस्किल छ । उपचारको लागत कसैले अनुमान गर्न सक्दैन ।

    औसत वा औसतभन्दा कम आम्दानी भएका अमेरिकीहरू स्वास्थ्य सेवाबाट प्रभावित वा वञ्चित छन् । उपचारको उच्च लागत, बीमा कभरेजको अभाव, जटिल कभरेज प्रक्रिया, बीमा कभरेजको उच्च लागत आदिका कारण स्वास्थ्य सेवा लिन धेरैलाई अप्ठ्यारो छ । त्योभन्दा पनि ठूलो समस्या यहाँको स्वास्थ्य सेवा प्रणालीमा राजनीतिकरण छ ।

    सवाल : के अमेरिकी विकासका पूर्वाधारहरु व्याख्या गरेजत्तिकै अब्बल छन् ?

    चिकित्सकहरूको अभावका कारण बिरामी हुनासाथ आवश्यक चिकित्सकलाई भेट्न, असल डाक्टर पाउन, सिफारिस गरिएको परीक्षण गर्न मुस्किल छ । उपचारको लागत कसैले अनुमान गर्न सक्दैन । औसत वा औसतभन्दा कम आम्दानी भएका अमेरिकीहरू स्वास्थ्य सेवाबाट प्रभावित वा वञ्चित छन् ।

    जवाफ : छैनन् । यहाँ एउटा सानो उदाहरणलाई हेरौं । अमेरिकाको टेक्सास राज्यमा पोहोर साल हिउँ पर्‍यो । हिउँ नपर्ने ठाउँमा पहिलो पटक परेको हुनाले धेरै दिनसम्म बिजुली गयो, केही दिन बिजुली बत्ती जाँदा, बत्तीको विकल्प कल्पना नगरिएको हुनाले, त्यो राज्यका धेरै मान्छेहरु हातमुख जोर्न र ज्यान जोगाउन मुस्किलमा परे । खाना बेच्ने पसलहरु बन्द भए । समान राखेका फ्रीजहरु काम नदिने बने । खाना पकाउने चुलोहरु प्रयोगविहीन भए । अमेरिकाले लिएको विकासको गतिसँगै निर्माण भएका ठूल्ठूला सडक तथा पुलहरु दशकौं पुराना हुँदैछन्, केहीले शताब्दी छुन लाग्दैछन् । पचासौं हजार पुराना पूर्वाधारहरु पुनर्निर्माणको गम्भीर आवश्यकतामा पुगेका छन् ।

    सवाल : के अमेरिकी समाज विभाजनको समस्यामा छ ?

    जवाफ : छ । सजिलोसँग बुझ्न यहाँ केही उदाहरणहरु प्रस्तुत गर्छु ।

    नस्लवाद : विभेद-भेदभाव विश्वव्यापी छ । नेपाल, भारतमा ‘अछूत’ मान्छे पाइन्छन् । अमेरिकामा न्यानो नस्लवाद पाइन्छ । हो, प्रत्येक अमेरिकी विभेदकारी छैनन् । तर पनि अमेरिका अझै पनि संसारको सबैभन्दा जातिवादी, विभेदकारी देशहरूमध्ये एक हो । आज पनि आफ्नो छालाको रंगका कारण मान्छेहरु मारिन्छन् अमेरिकामा ।

    पूँजीवाद : अमेरिकी शैलीको व्यक्तिवादी पूँजीवाद आर्थिक प्रणालीले ठूलो मात्रामा व्यक्तिगत सम्पत्ति उत्पन्न गर्दैछ । मध्यम वर्गीय परिवार पीडित बनिरहेका छन् । बढ्दो आय असमानता र मध्यम वर्ग लोप हुँदै गएका छन् । होमलेसनेश (घरबारविहीनता) समस्याले शहरमा आपतकालको अवस्था सिर्जना गर्न थालेको छ ।

    विचारवाद : रुढीवाद भर्सेस प्रगतिवाद विचारको मारमा जनता छन् । इमिग्रेशनसँग सम्बन्धित समस्याहरु, स्वास्थ्य सेवासँग सम्बन्धित समस्याहरु, शिक्षासँग सम्बन्धित समस्याहरु, लागूपदार्थको लतसँगको सामाजिक समस्याहरु, विनाशकारी मौसमसँग सम्बन्धित समस्याहरु, सरकारी खर्च कटौती (राष्ट्रिय ऋण)सँग सम्बन्धित समस्याहरुलगायत देशका अन्य थुप्रै समस्याहरुमा विचारवादले समाधान दिन छेकेको छ ।

    प्रेस : प्रेसको स्वतन्त्रता अमेरिकी स्वतन्त्रताको मुख्य सिद्धान्तहरूमध्ये एक हो । बलियो लोकतन्त्रको आधार स्तम्भ हो । तर, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय बनाएको र अमेरिकाले स्वीकार गरेको ‘फेक न्यूज’ शब्दले प्रेसप्रतिको विश्वास र विभाजन गरिरहेको छ । पार्टीगत पत्रकार र पत्रकारिताको प्रयोग बढ्नु, एउटा विचारलाई बोकेर पत्रकारिता गर्नु, फरक विचारलाई समस्या मान्ने प्रवृत्तिले अमेरिकी प्रेस स्वतन्त्रता धेरैले सोचे जस्तो विश्वासिलो, निष्पक्ष र स्वतन्त्र छैनन् ।

    अमेरिकी शैलीको व्यक्तिवादी पूँजीवाद आर्थिक प्रणालीले ठूलो मात्रामा व्यक्तिगत सम्पत्ति उत्पन्न गर्दैछ । मध्यम वर्गीय परिवार पीडित बनिरहेका छन् । बढ्दो आय असमानता र मध्यम वर्ग लोप हुँदै गएका छन् । होमलेसनेश (घरबारविहीनता) समस्याले शहरमा आपतकालको अवस्था सिर्जना गर्न थालेको छ ।

    सवाल : परिवार  र समाजमा बन्दुकको बढ्दो डर त्रास ?

    जवाफ : कुनै सर्वेअनुसार प्रत्येक १०० व्यक्तिको लागि १०१ बन्दुक कानुनी रुपमा किनेर राखिएका छन् । जसका कारण सामूहिक गोलीबारी दिनानुदिन बढ्दैछ । बन्दुक हिंसा अभिलेखका अनुसार यस वर्षमात्र (अहिलेसम्म) अमेरिकाभर ५०० भन्दा बढी सामूहिक गोलीबारी भएका छन् । अमेरिकी बन्दुकहरूले यहाँ बच्चाहरूलाई मारिरहेका छन् । यहाँ कोहीकतै सुरक्षित छैनन् । स्कुलमा गोली चल्छ, पार्कमा गोली चल्छ, हलमा गोली चल्छ । जहाँ, जहिले, जतिखेर पनि गोली चल्नसक्छ, जो जहाँ जतिखेर पनि मारिन सक्छन् । सरकारले टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेको छैन । सरकारलाई थाहा छ, यो रोगको उपचार त्यति विधि सजिलो छैन ।

    सवाल : लागूपदार्थको लतको समस्यामा छ रे नि त अमेरिकी समाज ?

    जवाफ : हो । लागूपदार्थको लत अमेरिकाको एउटा अर्को पुरानो ठूलो टाउको दुःखाइको विषय हो । यसले समाजलाई नराम्रोसँग बिगार्दै लागिरहेको छ । नियन्त्रणको लागि सरकारले धेरै प्रयास गरे पनि हरेक वर्ष अमेरिकामा लागूपदार्थ दुव्र्यसनीको संख्या बढ्दै गएको छ । जसका कारण सामाजिक असुरक्षा तथा दुर्घटनाका घटनाहरु दिन प्रतिदिन बढ्दैछन् । शहरहरुका आसपास मान्छेहरु लडिरहेको भेटिनु नौलो होइन । बालबालिकामा दुव्र्यसनीको संख्या तथा ओभरडोजको मृत्यु तीव्र रूपमा बढिरहेको छ ।

    विशेष गरी तिमी हामी जस्ता आप्रवासीहरूका बालबालिकामा यो समस्या झन ठूलो छ । अभिभावक सधैं काममा व्यस्त हुन्छन् । अभिभावकहरुको प्रत्यक्ष निगरानी हुँदैन हाम्रा नयाँ पुस्तामा । उनीहरुसँग लागूपदार्थको सजिलो पहुँच छ । परिवार हुर्काउने सूचकांकमा खराब स्थानमा पर्‍यो यो देश ।

    आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)मा सम्पन्न ३० वटा धनी अर्थतन्त्र तथा उन्नत प्रजातन्त्र भनिएका देशहरुमा गरिएको ‘राइजिङ ए फैमिली इन्डेक्स’ अध्ययनबाट अनुसन्धानमा समावेश देशहरूमध्ये संयुक्त राज्य अमेरिका परिवार हुर्काउने संसारको सबैभन्दा खराब देशहरूमध्ये एकमा पर्‍यो । मेक्सिको सूचकांकमा परिवार सुरक्षाको लागि सबैभन्दा खराब स्थानमा प¥यो भने अमेरिकामात्र त्यसको केही पछाडि थियो ।

    सवाल : किन हामीले सुनेको अमेरिका र देखेको अमेरिकामा यतिका धेरै फरक त ? अनि किन केही वर्षदेखि यहाँ बस्दै आएका (आफूले आफूलाई जान्ने सुन्ने भन्ठान्ने) नेपालीहरुले अमेरिकाको उदाहरण दिँदै ‘समस्या चाहिँ नेपालमा मात्रै’ भए जस्तो गरी नेपालका हरेक विषयमा सत्तोसराप गरिरहन्छन् ?

    भाइको अर्को प्रश्न थियो यो । जसको जवाफ हामी कसैसँग पनि थिएन । बीचैमा रवि दाइले फेरि थप्नुभयो-

    अहिलेका उदाउँदा राष्ट्रहरुको संगठन (बीआरआईसीएस), व्यापारका लागि डलरको प्रयोग रोक्न चाहँदैछ । भनिन्छ, अहिले कुल डलरको १/३ मात्र अमेरिकाभित्र छ । यदि डलरको प्रयोग विस्थापित हुँदै गएमा माग कम हुँदा विनिमयदरमा नराम्रो असर पर्नेछ । कमजोर डलरको असरस्वरुप विनिमयदरको पतन हुँदै जाँदा आयातको लागत उच्च हुन पुग्छ । जसले गर्दा मुद्रा स्फीति अनियन्त्रित हुन्छ । यसले अमेरिकी समाज र अर्थतन्त्रमा हामीले सोचे जस्तो नरहन सक्छ ।

    यहाँ कोहीकतै सुरक्षित छैनन् । स्कुलमा गोली चल्छ, पार्कमा गोली चल्छ, हलमा गोली चल्छ । जहाँ, जहिले, जतिखेर पनि गोली चल्नसक्छ, जो जहाँ जतिखेर पनि मारिन सक्छन् । सरकारले टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेको छैन ।

    सवाल : यी यावत कुराहरुका बीच मुलुक फेरि पनि युद्धको चपेटामा परे के होला ?

    जवाफ : एउटा विश्वव्यापी मान्यता छ कि युद्धले कसैको भलो गर्दैन । तर, युद्धहरु भइरहन्छन् । युद्धकै कारण सयौं वर्ष संसारको नेतृत्व गरेको ब्रिटिश साम्राज्य ढल्यो । सयौं वर्ष संसार हाँकेको फ्रान्स, जापान, जर्मन तथा सोभियत संघ कमजोर बने । अमेरिकाले विगत शताब्दीबीच धेरै युद्धहरु लडिसक्यो । व्यक्ति होस् या देश, सबैको आआफ्नो तागत हुन्छ । तागतको निश्चित अवधि हुन्छ । बुढेसकालमा तागत ल्याउन खोजे आफैंलाई नोक्सानी हुन्छ । अमेरिकी युद्धलाई कुनै कुरा जित्ने अन्तिम प्रयासको रूपमा विश्वास गर्दछ । चीनसँगको द्वन्द्व उत्कर्षमा पुगे युद्ध लगभग अकाट्य छ । फेरि युद्धको भूमरीमा परे समाज र अर्थ व्यवस्थालाई आकलन सजियो छैन ।

    सवाल : त्यस्तो भए अमेरिकाको समाज कुन रुपमा बदलिँदै जाला ? अहिले अमेरिका बसेर अमेरिकाको गुणगान गाउँदै नेपाललाई हरेक पाठ सिकाएर बस्नेहरु त्यतिखेर कसलाई के सिकाउलान् ?

    यस्ता केही प्रश्नहरुको बारेमा रवि दाइको जवाफ भविष्यलाई नै छोड्यौं । आशा गरौं, कसैको नराम्रो दिन नआओस्, सबैको जय भैरहोस् ।

    केही राम्रा कुरा पनि गरौं न दाइ भन्ने भाइको कुरामा रवि दाइले भन्नुभयो-

    ‘हैन, मैले सबै नराम्रो छ भनेर कहाँ भन्या हो र ! तर पनि अझै अमेरिका बसाइसराइ गरेपछि सबै ठीकठाक हुन्छ भन्ने सोचाइ गलत हो । यहाँ सबैको भविष्य सोचेको जस्तो सुरक्षित नहुनसक्छ । आफ्नो सर्वस्व त्यागेर अमेरिका रोज्नु गलत हुनसक्छ भन्न खोजेको हो ।

    यद्यपि, अमेरिका अझै पनि अवसरको धनी भने पक्कै हो । यसले उत्कृष्ट क्यारियर अवसरहरू, एक उच्च जीवनस्तर प्रदान गरिरहेको छ । अहिले पनि धेरैको बसाइ सर्न संसारको सबैभन्दा मनपर्ने देशहरूमध्ये एक हो अमेरिका । अमेरिका धेरै हिसाबले सुन्दर छ । धेरै सुविधाहरू जस्तै राम्रो खाना, सफा पानी, किफायती मूल्यका सुन्दर घरहरू, गाडीहरू । धेरै ठूलो देश भएकाले घुमफिर गर्न र हेर्न प्रशस्त कुराहरु छन् । संस्कृतिको विविधतामा विश्वास गर्ने भएकाले यहाँ बस्ने कोही पनि अपमानित हुनुपर्दैन । सकारात्मकता तथा उदारता लगभग हरेक अमेरिकीको नसामा भेटिन्छ । कामप्रतिको सम्मान, समय र सरसफाइको महत्त्व हरेक अमेरिकीबाट सिक्न सकिने कुरा हो ।’

    यस्तै यस्तै दाइभाइका प्रश्न, उत्तर, जिज्ञासा र भावनाबीचको शून्यतामा हामी धेरैबेर हरायौं ।

    chapagaindr@gmail.com

  • १०बुँदे दिल्ली डायरी- एयरपोर्टदेखि इन्दौरसम्म को चुके, को झुके ?

    १०बुँदे दिल्ली डायरी- एयरपोर्टदेखि इन्दौरसम्म को चुके, को झुके ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएको नयाँ दिल्लीको चाणक्यपुरीको आईसीटी मौर्य होटलमा भ्रमणको दोस्रो दिन दुई देशका व्यापारिक समूहको कार्यक्रम थियो । साँझ ६ बजे आसपास सुरु भएको कार्यक्रम ८ बज्दानबज्दै सकियो । कार्यक्रम भएको होटलबाट हरियाणा हाउसतर्फको यात्रामा सडक किनारमा भारतीय मजदुरहरुले प्रचण्डको तस्बिर निकालिरहेका थिए । चार दिने औपचारिक भ्रमणको दोस्रो दिनको साँझमै सडक किनारमा स्वागत गर्न राखिएका पोस्टर हटाइँदै थियो ।

    उसो त बिहीबार मोदीसँगको हैदरावाद हाउसको संयुक्त पत्रकार सम्मेलनसँगै भ्रमणको चुरो कुरो सकिएको नै थियो । बाँकी त प्रचण्ड र उनको क्याबिनेटका मन्त्रीहरुको मध्य प्रदेशको धार्मिक भ्रमणमात्रै थियो । धार्मिक भ्रमण समयको हिसाबले पनि महत्वपूर्ण थियो । काठमाडौंबाट दिल्ली पुग्ने उडानभन्दा लामो दूरीको हवाई यात्रा गरेर महाकालेश्वर मन्दिर पुगेका थिए प्रचण्ड र उनका मन्त्रीहरु । नेपाली राष्ट्रिय ध्वजाबाहकको ‘आरए २१७’ को वाइड बडी जहाज ‘अन्नपूर्ण’बाट दिल्ली उडेका प्रधानमन्त्री प्रचण्डले ‘आरए २१८’ को वाइड बडी जहाज ‘मकालु’ हुँदै काठमाडौं आए । प्रधानमन्त्री काठमाडौं आउँदा धेरै तर्कवितर्क थपिएका छन् । भ्रमणका बारेमा आम सञ्चार हाउसदेखि संसदसम्म कुराकानी भएका छन् । यो ब्लग त्यसको कुनै चिरफार नगरी दिल्ली दौडाइमा मात्रै केन्द्रित छ ।

    विमानस्थलमा चर्चा : ‘व्याड लक’ र ‘गुड लक’का किस्सा

    प्रधानमन्त्री भारतीय मन्दिर महाकालेश्वर जाने कुरा प्रधानमन्त्रीले सार्वजनिक नगरे पनि भारतीय पक्षले पत्रकारहरुलाई सूचना चुहाइसकेको थियो । भारतको मध्य प्रदेशको चर्चित मन्दिर महाकालेश्वरमा प्रचण्ड जाने भएपछि तामझाम सुरु गरिएको थियो । प्रचण्ड पुग्ने शुक्रबार बिहान ६ देखि दिउँसो १२ बजेसम्म सर्वसाधारणलाई रोक लाउने सार्वजनिक जानकारी आइसकेको थियो । विमानस्थलमा पुगेर बोर्डिङ लाइनमा हुँदा भ्रमण दलले सूचना पायो- महाकालेश्वर मन्दिरमा आँधीहुरीले मूर्तिमा असर गर्‍यो । भ्रमण दलमा रहेका एकले सूचना आएपछि भने- ‘लु ब्याड लक ।’

    मन्दिरको गेट भत्किएको समाचार बासी भइसकेको थियो । सायद त्यत्ति बेलासम्म भत्केको मिलाउने काम भइसकेको थियो । त्यसैबीचमा अर्को समाचार आयो । त्यो समाचार चै नेपालकै थियो- क्याबिनेटले पठाएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे । त्यसमा पनि एक नेपाली सहभागीले भने- ‘अब दिल्लीमा ठूलै स्वागत हुन्छ ।’

    विमानभित्रै स्वागतमा को आउने भन्ने अनुमान

    अन्नपूर्ण चढेर काठमाडौंदेखि दिल्ली उडेका कर्मचारीतन्त्र, व्यापारीदेखि पत्रकारहरुले प्रधानमन्त्रीलाई कसले स्वागत गर्ला त भन्नेमा व्यापक अनुमान भयो । लाइनमा बसेर काठमाडौंमा भएको प्रवेशदेखि दिल्ली पुगेर विमानबाट निस्कनु अगाडिसम्म अनुमानका संग्रह आइरहे । एकले भने- ‘मोदी नै आउँछन् । किनभने नागरिकता विधेयक प्रमाणीकरण भएको छ ।’ अर्काले भने- ‘प्रधानमन्त्री मोदी नै त सम्भावना छैन । विदेशमन्त्री एस. जयशंकर आउनेछन् ।’ अर्काले थप्दै भने- ‘जयशंकर भारतमा छैनन् । नेपाली राजदूतसमेत भइसकेका विदेश सचिव विनयमोहन क्वात्रा आउनेछन् ।’

    एकले भने- ‘मोदी नै आउँछन् । किनभने नागरिकता विधेयक प्रमाणीकरण भएको छ ।’ अर्काले भने- ‘प्रधानमन्त्री मोदी नै त सम्भावना छैन । विदेशमन्त्री एस. जयशंकर आउनेछन् ।’ अर्काले थप्दै भने- ‘जयशंकर भारतमा छैनन् । नेपाली राजदूतसमेत भइसकेका विदेश सचिव विनयमोहन क्वात्रा आउनेछन् ।’

    विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्न न मोदी आए न त क्वात्रा । विदेश राज्यमन्त्री मिनाक्षी लेखी स्वागत गर्न आइन् । स्वागतको लहरमा उभिएकाहरुमा भारतका लागि नेपाली राजदूत शंकर शर्मादेखि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसम्म थिए । सबैभन्दा लाउड स्वागत त नेपाल र भारत दुवैमा प्रचलित भोजपुरी नृत्यबाट गरिएको थियो । स्वागत हुँदा प्रचण्ड धेरै उत्साहित देखिएनन् । गीतको कारण हो कि राज्यमन्त्री आएको कारण हो, उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ को अति विशिष्ट कक्षबाट छिटछिटो गरेर होटल मौर्यमा हानिए । भ्रमण दलमा सहभागीहरुले राज्यमन्त्री स्वागतमा आउनु भारत जस्तो शक्ति देशमा ठीकै भएको तर नेपालमा यसले धेरै आलोचना हुने तर्क गरेका थिए । नभन्दै केही समयपछि हरियाणा हाउसमा पुगेर वाइफाइमा जोडिँदा भ्रमण दलका सदस्यको अनुमान सही देखियो । नेपालमा सामाजिक सञ्जालमा प्रचण्डलाई बिजोग स्वागत भएको अर्थ दिने तर्कवितर्कहरु सुरु भएका थिए ।

    भारत भ्रमणको दौरा सुरुवाल साइनो

    इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा केही पोस्टर सजाइएका थिए । प्रचण्डको तस्बिर दायाँ र मोदीको तस्बिर बायाँ राखिएको पोस्टरमा नेपाली र हिन्दी भाषामात्रै प्रयोग गरिएको थियो । अंग्रेजी भाषा प्रयोग गरिएको थिएन । पोस्टरमा लेखिएको थियो-

    भारत मे आपका स्वागत है ।
    भारतमा यहाँलाई स्वागत छ ।

    पोस्टरमा मोदीलाई ‘भारतीय गणराज्य के प्रधानमन्त्री’ र प्रचण्डलाई ‘नेपालका प्रधानमन्त्री’ भनिएको थियो ।

    दौरा सुरुवाल लगाएको प्रचण्डको तस्बिर राखेर प्रधानमन्त्रीको स्वागत गरिएको थियो । प्रधानमन्त्री पनि दौरा सुरुवालमै आएका थिए । प्रचण्डको दिल्लीका पोस्टरमा राखिएको फोटो र उनले लगाएको दौरा सुरुवालको कुनै सम्बन्ध छ वा छैन, त्यो उनैले जानून् । तर, दौरा सुरुवालको प्रसंग प्रचण्ड आफैंले निकाले । नेपालको नयाँ दिल्लीको बाह्रखम्बा रोडमा रहेको दूतावास भवनमा भएको रात्रीभोजमा सरिक प्रचण्डले पूर्वभारतीय राजदूत मञ्जितसिंह पुरीलाई आफू नजिक आउन संकेत गर्दै भने, ‘धेरै पटक तपाईंले मलाई कहिले दौरा सुरुवाल लाउनुहुन्छ भनेर भन्नुभएको थियो । हेर्नु त आज मैले लगाएको छु ।’

    प्रचण्डको दौरा सुरुवालमोह बारेमा नेपालका जानकार तथा प्रचण्डसँग सम्बन्ध भएका अवकाशप्राप्त जर्नेल अशोक मेहतालाई लेखकले प्रश्न गर्‍यो । मेहताको जवाफ थियो, ‘यो कुरा मैले पनि नोट गरेको छु ।’ ‘जनयद्ध’कालबाटै माओवादी नेतृत्वसँग परिचित, २१ वर्ष अगाडि ‘शाही नेपाली सेना’ नामको अंग्रेजी भाषाको पुस्तक लेखेका अनि नेपालमा हजारौं किलोमिटर पैदलयात्रा गरेका मेहताले प्रचण्डले दौरा सुरुवाल लगाएको प्रसंगमा रोचक जवाफ दिएका थिए । बाह्रखम्बा दूतावास परिसरको प्रचण्ड सरिक भएको रात्रीभोजको एक कुनामा मेहताले भने, ‘३२ सीटलाई ५० पुर्‍याउन दौरा सुरुवाल त लगाउनै पर्‍यो ।’

    गंगा दाहाललाई भारतीय पत्रकारले सोचे- नेपालकी फर्स्ट लेडी

    प्रधानमन्त्री पुत्री हुन् गंगा दाहाल । उनी प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिवसमेत हुन् । हुन त स्वकीय सचिव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पनि थिए । तर, उनी सार्वजनिक मञ्चमा देखिएनन्, जति गंगा दाहाल देखिइन् । प्रधानमन्त्री प्रचण्डले भेट्दा भारतीय सुरक्षा सल्लाहकार अजित दोभलसँग डायरी लिएर बसेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा थिए । प्रचण्डसँग मोबाइल बोकेकी गंगा थिइन् ।

    ‘जनयद्ध’कालबाटै माओवादी नेतृत्वसँग परिचित, २१ वर्ष अगाडि ‘शाही नेपाली सेना’ नामको अंग्रेजी भाषाको पुस्तक लेखेका अनि नेपालमा हजारौं किलोमिटर पैदलयात्रा गरेका मेहताले प्रचण्डले दौरा सुरुवाल लगाएको प्रसंगमा रोचक जवाफ दिएका थिए । बाह्रखम्बा दूतावास परिसरको प्रचण्ड सरिक भएको रात्रीभोजको एक कुनामा मेहताले भने, ‘३२ सीटलाई ५० पुर्‍याउन दौरा सुरुवाल त लगाउनै पर्‍यो ।’

    मोदी र प्रचण्डको भेटपछिको तस्बिरमा पनि गंगा उभिएकी छन् । गंगा प्रचण्डसँगै यत्रतत्र सर्वत्र भएको देखेका कतिपय भारतीय जिज्ञासु बने । मौर्य होटलको लबीमा नेपाल-भारतका व्यापारिक समूहसँगको कार्यक्रममा आएका भारतीय च्यानल डीडीका एक पत्रकारले पंक्तिकारसँग गंगा दाहालले दोभलदेखि मोदीसँग प्रचण्ड उभिएको तस्बिर देखाउँदै सोधे, ‘उहाँ फर्स्ट लेडी हो ?’

    प्रचण्डको भाषा र कूटनीतिक भाषाको गोलमाल

    बुधबार बाह्रखम्बास्थित नेपाली दूतावासमा प्रचण्डले छोटो लिखित सम्बोधन गरे । भारतका नेपाल मामिलाका जानकारहरु, भारतका पूर्वनेपाली राजदूतहरु, भारतका पूर्वसेनापतिहरुदेखि भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले हुँदै भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी सहभागी थिए कार्यक्रममा । प्रचण्डले छोटो लिखित सम्बोधन नेपालीमा गरेका थिए ।

    त्यहाँ प्रचण्डले नेपालीमात्रै बोल्दा भाषा नबुझ्नेहरुले टिप्प्णी गरे । नेपाल मामिलाका जानकार भारतीय बौद्धिक डाक्टर निहार नायकले पंक्तिकारसँग भने, ‘नेपाली भाषा भारतको पनि संविधानमै मान्यता पाएको भाषा हो । भारतमा ६० लाख बढी नेपाली भाषी छन् । हाम्रो सम्मान छ । तर, आजका दर्शक नेपालीका मात्रै थिएनन् । नेपाली केही बोलेर महत्वपूर्ण कुराहरू अंग्रेजीमा भनिएको भए धेरैले बुझ्ने थिए । अनुवादक राखिएको भए पनि राम्रो हुन्थ्यो ।’

    भारतीय र नेपालीको भीडमा दूतावासमा नेपालीमा मात्रै बोलेका प्रचण्डले भोलिपल्ट हैदरावाद हाउसमा भएको मोदीसँगको सम्बोधनमा भने अंग्रेजी बोले । दौरा सुरुवाल लगाएर लिखित सम्बोधन खरर पढेका थिए प्रचण्डले । सबै पत्रकारलाई प्रवेश नदिइएको हैदरावाद हाउसको सम्बोधनलाई भारतीय सरकारी च्यानल डीडीबाट प्रत्यक्ष हेरिरहेका एक भ्रमण दलका सदस्यले भने, ‘मोदीले हिन्दीमा बोल्दा प्रचण्डले नेपालीमा बोल्नुपर्ने थियो । स्वागत पोस्टर नेपाली र हिन्दी नै प्रयोग भएको थियो । बरु अनुवादक राख्न सकिन्थ्यो ।’

    सम्बोधनको भाषामात्रै होइन, कूटनीतिक भाषामा पनि प्रचण्डको देखिने कमजोरी छताछुल्ल भए । उनले आफ्नो आकर्षक वाककला देखाउने गरी सम्बोधन गर्न सकेनन् । अनौपचारिक र औपचारिक कुरा मिसमास गर्न सक्ने सम्बोधनको मिठास प्रचण्डले दिन सकेनन् । कुनै स्कुले विद्यार्थीलाई शिक्षकले लेखेर दिएको वतृत्वकलाको कन्टेन्ट पढे जस्तो खरर्रमात्रै पढे ।

    मोदीको आत्मविश्वासी र आकर्षक मन्तव्यको अगाडि सँगै उभिएका प्रचण्ड ज्यादै कमजोर देखिए । कन्टेन्टमा राम्रो भए पनि कन्फिडेन्समा धेरै कमजोर देखिए प्रचण्ड । भारतीय राष्ट्रपति द्रौपदी मुर्मी भेट्न पुग्दाको दृश्य झनै बिजोग थियो । मुर्मीले प्रचण्डलाई कोठामा मात्रै आएर स्वागत गरिन् । सवारी आउनासाथ त्यही उभिएर रिसिब गरिनन् । प्रचण्ड टोलीका सदस्यको मोबाइल आतंकको कथा झनै बिजोग छ । जुन चर्चामा आइसकेको छ ।

    कूटनीतिक अभिव्यक्तिको भाषामा पनि प्रचण्ड धेरै अपरिपक्व देखिए । उनले भारतमा भएको मोदीसँगको भेटको सवाललाई जोड्दै कान्तिपुरसँग भनेका थिए, ‘कुरा त बिगार्छन् क्यारे भन्ने भएकै हो ।’ भारतीय कर्मचारीतन्त्र र मोदीभन्दा कनिष्ठ राजनीतिक नेतृत्वलाई लक्षित गरेर प्रचण्डले यसो भनेका हुन् । यो अकूटनीतिक रवैया हो । उनीसँग संवादमा जोडिएका ती अनुहारहरुको उनीसँगको यस्तो सार्वजनिक खपतको कुराले आगामी दिनमा विश्वास कमजोर बनाउने देखाउँछ । त्यतिमात्रै होइन, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको माटोसँग बंगलादेश जाने बाटो साटफेर गर्न सकिने जस्तो कुरा दिल्लीमा सम्पादकदेखि काठमाडौं विमानस्थलमा आएर पनि प्रचण्डले दोहोर्‍याए ।

    सोमबार सदनमा उनले बचाउनमा तर्क गरे पनि यस अगाडि सार्वजनिक भइसकेको उनको अपरिपक्व कूटनीतिक भाषा सार्वजनिक वृत्तमै छ । बिजुली व्यापारमा पनि प्रचण्डले कमजोर अभिव्यक्ति दिएका छन् । नेपालमा उत्पादन हुने बिजुली भारतमा बिक्री हुने आधार भएकोले विदेशी लगानी आउने बताएका छन् । तर, यथार्थ के हो भने भारतले आफू सहभागी नभएको आयोजनाको बिजुली किन्न कानून बनाएरै बन्देज गरेको छ । प्रचण्डले भने जस्तो तामाकोशीको चीन सहभागी भएको बिजुली भारत बेच्ने त अहिलेसम्मको अवस्थामा झनै सम्भावनै छैन ।

    बिजुली व्यापारमा पनि प्रचण्डले कमजोर अभिव्यक्ति दिएका छन् । नेपालमा उत्पादन हुने बिजुली भारतमा बिक्री हुने आधार भएकोले विदेशी लगानी आउने बताएका छन् । तर, यथार्थ के हो भने भारतले आफू सहभागी नभएको आयोजनाको बिजुली किन्न कानून बनाएरै बन्देज गरेको छ ।

    सत्ताधारीमात्रै भेट भएको दिल्ली दौड

    नेपालको स्थापित कूटनीतिक प्रचलनमा भ्रमणमा जाँदा भारतका सत्ताधारी र प्रतिपक्षी दलका नेताहरुलाई भेट्ने उदाहरण छ । विगत हेर्दा जीपी कोइरालादेखि केपी ओलीको भ्रमणसम्म त्यो देखिन्छ । सबैभन्दा पछिल्लो उदाहरणको लागि सन् २०१८ अप्रिलमा भ्रमण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले भारतीय प्रमुख प्रतिपक्षका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहदेखि नेता राहुल गान्धीलाई भेटेका थिए ।

    प्रचण्डको भ्रमणमा उनले सत्ताधारीसँग मात्रै भेटघाट गरे । भारतीय प्रतिपक्षीसँग औपचारिक र अनौपचारिक कतै प्रचण्डले भेट गरेनन् । यसले भ्रमण समग्र भारतीय पक्षसँग नभई सत्ताधारीसँग मात्रै भेट्ने एकपक्षीय भएको छ ।

    भारतीय प्रधानमन्त्री त परै जाओस्, भारतीय कर्मचारीतन्त्र पनि नेपाल आउँदा सबैसँग भेट्ने गरेका छन् । राष्ट्रपति चुनाव अगाडि नेपाल आएका विदेशसचिव विनयमोहन क्वात्राले सत्ताधारीदेखि प्रतिपक्षी दल हुँदै राष्ट्रिय दलको मान्यतासमेत नपाएको नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समेत भेटेका थिए । भारतीय विदेश सचिवले नेपालमा अपनाएको सर्वपक्षीय कूटनीति प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा अपनाएनन् । उनले सत्ताधारीसँग मात्रै भेटघाट गरे ।

    प्रचण्ड चुकेको ट्रयाक टु डिप्लोमेसी

    भारतमा अहिले पनि एक जमात नेपालको पक्षमा सकारात्मक छ । त्यसले ईपीजी प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने मत राख्छ । भारतमा अहिले पनि एक जमात छ । त्यसले सार्क पुनः सक्रिय हुनुपर्छ भन्ने मान्यता राख्छ । ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने नेपाली माहोललाई साथ हुने भारतीय बौद्धिकहरुको सहयोग जोडेर भारतमा बहस छेड्न प्रचण्ड असफल भए ।

    यस्तै सार्क अध्यक्ष भएकोदेखि सार्क मुख्यालय होस्ट गर्ने देशका प्रधानमन्त्रीले सार्क पक्षधर भारतीयहरुसँग ट्रयाक टु डिप्लोमेसी गर्नमा प्रचण्ड असफल भए । नयाँ दिल्लीमै रहेको सार्कले स्थापना गरेको विश्वविद्यालय साउथ एसियन युनिभर्सिटीमा एक प्राज्ञिक कार्यक्रममा सहभागी भएर वा आयोजना गरेर प्रचण्डले सार्कको पक्षमा भारतीय माहोल र पक्षधरता बढाउन पहल गर्न सक्थे । यसमा प्रचण्ड चुके । ईपीजीमा जोडिएका भारतीय सदस्य महेन्द्र पी लामादेखि ईपीजी सार्वजनिक हुनुपर्ने मुद्दाका पक्षधर भारतीय बौद्धिक डाक्टर निहार नायक जस्ता अनुहारहरुसँगको सफ्ट पावर र ट्रयाक टु डिप्लोमेसीमा प्रचण्ड फितला र अपिरपक्व देखिए ।

    मिडिया डिप्लोमेसीमा पनि प्रचण्ड कमजोर भए । अहिले सगरमाथा आरोहणको ७० वर्ष पुगेको छ । त्यही मौका वा अरु कुनै नेपाल जोडिएको वा नेपालले नेतृत्व गर्ने वैश्विक मुद्दामा भारतमा रहेको विश्वभरका सयौं पत्रकारहरुसँग प्रचण्डले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन गर्न सक्थे । ‘द फरेन कसरपन्डेन्ट्स क्लब अफ साउथ एसिया’मा नेपाली पत्रकार राजेश मिश्र निर्वाचित अनुहार हुन् । उनी वा उनी जस्तै सँगको समन्वयमा सम्मेलन गर्न सकिन्थ्यो । सगरमाथा वा कुनै नेपालको विश्वस्तरीय मुद्दामा रहेर अरु कुराहरु जोडेर नेपालको बारेमा प्रचण्डले विश्व मञ्चमा बलियो सन्देश दिन सक्थे । यस खालको मिडिया डिप्लोमेसीमा प्रचण्ड चुके ।

    उनले सबै नेपाली पत्रकारहरुसँग समेत कुराकानी गरेनन् । केही औंलामा गन्न सकिने सम्पादकहरुसँग मात्रै उनले कुराकानी गरे । मिडियालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जुन स्तर र रफ्तारमा सदुपयोग गर्न सकिन्थ्यो, त्यसो गर्न सकेनन् प्रचण्डले ।

    प्रचण्ड जस्तै दिल्लीमा कमजोर गैरराज्य पक्ष

    प्रचण्डको भारत भ्रमणमा राज्य पक्षमात्रै पुगेको थिएन । गैरराज्य पक्षको पनि सहभागिता थियो । गैरराज्य पक्षमा व्यापारिक र सञ्चार क्षेत्रको बाक्लो उपस्थिति थियो । भारतका खर्बपतिहरु त परै जाओस्, भारतका गिनेचुनेका प्रभावकारी व्यापारिक अनुहारहरुसँग नेपाली व्यापारिक वृत्तले उपस्थिति देखाउन सकेन । मौर्य होटलमा भएको दुई देशको व्यापारिक कार्यक्रममा भारतका प्रभावशाली उद्यमी र व्यापारिक घरानाको उपस्थिति थिएन ।

    भारतमा अहिले पनि एक जमात छ । त्यसले सार्क पुनः सक्रिय हुनुपर्छ भन्ने मान्यता राख्छ । ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने नेपाली माहोललाई साथ हुने भारतीय बौद्धिकहरुको सहयोग जोडेर भारतमा बहस छेड्न प्रचण्ड असफल भए ।

    नेपाली व्यापारीको तर्फबाट कन्दै कन्दै अंग्रेजीमा बोलेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको भाषण सुन्दा धेरै भारतीयहरुले मुखामुख गरिरहेका थिए । त्यो बिजोग देखेर हलबाट बाहिरिएका थिए लोकान्तरका पत्रकार विन्देश दाहाल । बाहिर आउनासाथ उनी भन्दै थिए, ‘लास्टै वाक्कलाग्दो । झ्याउलाग्दो भाषण । बरु नेपालीमै बोलेर अनुवादक राखेको भए कम बेइज्जत हुन्थ्यो ।’

    सञ्चार क्षेत्रमा उस्तै फितलो प्रस्तुति भयो । कतिपय कुराहरु बाहिर आइसकेका छन् । नेपालबाट गएका सम्पादकहरुले भारतीय समकक्षी सम्पादकहरुलाई भेटेको देखिएन । भारतबाट नेपाल आएका भारतीय मिडियाका सम्पादकहरुको अन्तर्वार्ता आउने गर्छ । नेपालबाट भारत गएका सम्पादकहरुले त्यो अवसर पाएनन् । पत्रकारहरु पनि पब्लिक डिप्लोम्याट हुन् । पत्रकारहरुका पनि नेतृत्व सम्पादकहरु त झनै शक्तिशाली पब्लिक डिप्लोम्याट हुन् । तर, तिनै पब्लिक डिप्लोम्याटहरुले त्यस्तो उपस्थिति देखाउन सकेनन्, जस्तो उनीहरुका भारतीय समकक्षीहरु नेपाल आउँदा देखिने गर्छ ।

    प्रचण्डको मन्दिर कूटनीतिमा मोदी ‘अनुमोदन’

    चार पटक भारत पुगेका प्रचण्डले भ्रमण तालिकामा मन्दिर पुग्ने पहिलो कार्यक्रम भने यो पटकको भ्रमणमा मात्रै राखे । त्यसमा मोदीले अनुमोदन गरे । नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी पुगेका मोदीले प्रचण्डलाई महाकालेश्वर मन्दिर यात्राको शुभकामना दिए । हैदरावाद हाउसको संयुक्त पत्रकार सम्मेलनमै मोदीले सम्बोधन सक्नु अगाडि धार्मिक यात्रा जोड्दै भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड जी, तपाईं भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्दै हुनहुन्छ । मलाई विश्वास छ कि तपाईंको उज्जैन यात्रा ऊर्जामय हुनेछ । साथै पशुपतिनाथदेखि महाकालेश्वरको यो यात्रामा तपाईंमा आध्यात्मक अनुभूति पनि हुनेछ । धेरै धेरै धन्यवाद ।’

    मोदीले अनुमोदन गरे पनि प्रचण्डका कट्टर कम्युनिष्ट समर्थकहरुले भने अनुमोदन गरेका छैनन् । उनीहरुले प्रचण्ड हिन्दूकरणको पक्षमा गएको आरोप लगाएका छन् । प्रचण्डले जे गरे पनि सही भन्ने कार्यकर्ताहरुले भने प्रचण्डले जुन धर्मको कार्यक्रममा गए पनि त्यही भेष लगाउने गरेको भन्दै बचाउ गरेका छन् । तर, उनीहरुले प्रचण्डले आफ्नो कूटनीतिक यात्राकै दौरानमा भारतको हिन्दू मन्दिर पहिलोपटक पुगेको बारेमा भने मौनता साँधेका छन् । महाकालेश्वर मन्दिर यात्रासँगै भारतसँगको मन्दिर कूटनीतिमा प्रचण्डको यूटर्न भएको छ । पहिलो कार्यकालमा भारतीय पुजारी पशुपतिनाथबाट निकाल्न खोज्ने प्रचण्ड अहिले भारतको मन्दिर पुगेर पुज्ने तहमा रुपान्तरण भएका छन् । प्रचण्डले बचाउमा भनेका छन, ‘म कम्युनिष्टमात्रै होइन । प्रधानमन्त्री पनि हुँ ।’

    भ्रमणको व्याख्याः ‘औपचारिक’ भर्सेस ‘राजकीय’

    अन्नपूर्ण जहाज चढेर काठमाडौंबाट दिल्ली पुग्दा प्रचण्ड उत्साहित थिए । उनले जहाजका सबै यात्रुसँग उनीहरुको ठाउँमा आएर नमस्कार साटासाट गरे । कतिपय चिनेकाहरुसँग दोहोरो कुराकानी गरे । मकालु चढेर दिल्लीबाट काठमाडौं आउँदा भने प्रचण्डमा त्यो उत्साह थिएन । उनले यात्रुसँग भेटघाट र नमस्कार साटफेर गरेनन् । भारत भ्रमणमा उत्साहित नभएर हो वा थकानले हो, प्रचण्डमा जाँदा जस्तो ऊर्जा आउँदा देखिएन ।

    नेपाल आउनु अगाडि आफ्नो सामाजिक सञ्जालमा ‘राजकीय भ्रमण’ लेखेका थिए प्रचण्डले । ‘गार्ड अफ अनर’ नदिइएको उनको भ्रमण राजकीय थिएन । औपचारिकमात्रै थियो । भारतीय विदेश मन्त्रालयले औपचारिक नै भनेको छ । प्रधानमन्त्री प्रचण्डले भने राजकीय भनेरै छोडे । अघिल्लो भारत भ्रमणमा राजकीय तह पाएका प्रचण्डले अहिलेको भ्रमणमा औपचारिक भ्रमणको मात्रै मान्यता पाए । त्यसको गुञ्जन सामाजिक सञ्जालमा मात्रै थिएन । प्रचण्ड चढेर आएको मकालु जहाजको सम्बोधनमा पनि थियो ।

    विमान परिचारिकाले सम्बोधन गर्दा भारतको ‘औपचारिक भ्रमण’ गरेर आउनुभएको प्रधानमन्त्री भनिन्, उनले ‘राजकीय भ्रमण’ भनिनन् । सामाजिक सञ्जालमा राजकीय भ्रमण लेखेर काठमाडौं यात्रामा आउँदै गर्दा राष्ट्रिय ध्वजाबाहक विमानकी परिचारिकाबाट औपचारिक भ्रमण भनेको सुन्दा भीआईपी कक्षमा रहेका प्रधानमन्त्रीले याद गरे गरेनन्, त्यो धेरैले देख्न सकेनन् । तर, यात्रुले भने यादमात्रै गरेनन्, कानेखुसी पनि गरे । त्यो चैँ धेरैले देखे ।

  • सिर्जनालाई बहिनीको चिठी

    सिर्जनालाई बहिनीको चिठी

    प्रिय सृजना दिदी,

    धन्यवाद दिदी तिम्लाई ! प्रेमको परिभाषा बुझाइदिएकोमा, माया के हो भनेर जताइदिएकोमा, ‘माया’ शब्दकै अपमान भैरहँदा तिमीले न्याय दिएकोमा । असह्य पीडा लुकाएर त्यो हरपल तड्पिएको मुहारमा आफ्नो प्रेमको लागि देखावटी हाँसो ल्याइदिएकोमा ।

    दिदी, कसरी सक्यौ त्यो बोक्नै नसक्ने पीडा लुकाएर मुस्कुराउन ? म तिम्रो १५ सेकेण्डको भिडियो हेरेर भक्कानो छोडेर रोएँ । निदाउन सकिनँ । मन भारी भयो । किताब अगाडि राखेर पढ्न बस्दा तिमी मेरो मस्तिष्कमा घुमिरह्यौ । छटपटी बढ्दै गयो । मेरो यो हाल भैरहँदा, तिम्रो अवस्था कस्तो छ होला ? के गरिरहेकी हौली ? हामी अन्जान छौं दिदी ! तर, यो बेला तिमीलाई मज्जाले अँगाल्न मन छ । त्यो बिरानो शहरमा मन भुलाउन कति गाह्रो भैरहेको होला ? त्यो आँट, त्यो साहस कसरी ल्यायौ दिदी ? तिम्रा आँसुहरुले त सागर नै बन्ने थियो । दिदी कहाँ लुकायौ ती आँसुहरु ?

    स्वार्थका लागि मानिसहरु ‘माया’को अपमान गरिरहेको देख्दा, शारीरिक निकटतालाई ‘माया’को नाम दिने जमात देख्दा अनि मायाको अगाडि जात र पैसा ठूलो देख्ने समाज देख्दा मैले प्रेम गर्ने आँट नै गरिनँ । मायाको नै हत्या गरिदिन मन लागेको थियो ।

    आज मानिसहरु धेरै स्वार्थी भएका छन दिदी ! ‘माया’ धेरै सस्तो भएको छ । सामाजिक सञ्जालको Newsfeedभरि अनेकौं घटना देख्दा मलाई त प्रेमदेखि नै घृणा लागेको थियो । स्वार्थका लागि मानिसहरु ‘माया’को अपमान गरिरहेको देख्दा, शारीरिक निकटतालाई ‘माया’को नाम दिने जमात देख्दा अनि मायाको अगाडि जात र पैसा ठूलो देख्ने समाज देख्दा मैले प्रेम गर्ने आँट नै गरिनँ । मायाको नै हत्या गरिदिन मन लागेको थियो ।

    तर, दिदी तिमी यसरी आयौ कि प्रेमको परिभाषा बनेर आयौ । बन्धनमा बाँधिँदै गर्दा खाएका कसमलाई जीवित पार्दै आयौ । एउटा असल प्रेमिका र श्रीमतीको उदाहरण बनेर आयौ । तिम्रो प्रेम अमूल्य छ दिदी ! तिमी महान छौ । तिम्रो त्यो निश्चल प्रेम देखेर भगवानले न्याय गर्नेछन् । दाइलाई छिट्टै सञ्चो हुनेछ । म दिनहुँ प्रार्थना गर्नेछु । म हतारिएको छु, दाइलाई सञ्चो भएको खबर सुन्न, तिम्रो मुहारमा खुलेको हाँसो देख्न । म आतुर छु, तिमी नाच्दा दाइले जानीनजानी कम्मर मर्काएको हेर्न । म कुरिरहेको छु तिम्रो प्रेमले जितेको हेर्न ।

    तिम्रो प्रेमको अनुयायी
    कृति भट्टराई

    याे पनि पढ्नुस् : अमेरिकामा मृत्युसँग संघर्ष गर्दै विवेक, पत्नी सिर्जनाको हौसला

  • भुईं मान्छेहरुले पछ्याइरहेका भुईं नेता

    भुईं मान्छेहरुले पछ्याइरहेका भुईं नेता

    धरानका मेयर हर्क साम्पाङले श्रमदान अभियान सुरु गरेको ठ्याक्कै एक वर्षपछि म उनको श्रम शिविरमा पुगें । मध्य जेठको चर्को घामलाई चुनौती दिँदै करिब तीन हजार श्रमदाताबीच म पनि कोकहा जंगलमा पाइप तान्दै थिएँ । शारीरिक श्रम गर्ने बानी नभएको म जस्तो मान्छेको लागि १२० केजीको पाइप दश जनाको समूहमा अनकण्टार भीरमा तान्दै हिँड्नु कुनै मनोरञ्जन थिएन । कहिले काँधमा, कहिले हातमा र कहिले भुईंमा धिसार्दै ६० मिटर लामो पाइप बाँदर लड्ने भिरमा तान्नु थियो र तानियो पनि ।

    धरानलाई पानी खुवाउने एकल सूत्रीय एजेण्डा बोकेर मेयर बनेका साम्पाङले धरान वरपरका सानातिना खोला खोल्सीका पानी त चुनाव जितेको ६ महिनामै ल्याएर खुवाइसकेका थिए । श्रमदानबाट पानी खुवाउने उनको अभियानमा विगत एक वर्षदेखि लाखौं मानिस सहभागी भइसकेका छन । उनको महत्वाकांक्षी योजना भनेको धरानदेखि पश्चिम उत्तर पर्ने कोकाहा खोलाको पानी धरान ल्याउनु हो । जसको लागि हरेक शनिबार श्रमदानमा हजारौं मानिस जुटिरहेका छन् ।

    परिचित अपरिचित मानिसहरुको बीचमा पाइप तान्दै जंगलमा कुदिरहँदा मनमा अनेक तर्कनाहरु आइरहे । दुई-तीन किलोमिटर लामो मान्छेको लस्कर, सिंगो पहाड नै थर्काउने गरी मान्छेको चिच्याहट, ठाउँठाउँमा मेडिकल टीम, जंगलको बीचमा खाना पकाउने ठूलो मेस, पानी खुवाउने स्वयंसेवकहरुको बेग्ला बेग्ला समूह, हाते माइकबाट निर्देशन दिइरहेका श्रम कमाण्डरहरुको चर्को आवाज हेर्दा यस्तो लाग्थ्यो, यो कुनै युद्धमा हिँडेको एउटा ठूलो फौजीको यात्रा हो ।

    हजारौंको भीडमा सँगैको साथी छुटेपछि फेरि भेट्न निकै मुस्किल पर्थ्यो । एक बेला एक साथी अर्को बेला अर्कै साथीसँग काँध मिलाएर पाइप तान्नुपर्ने हुन्थ्यो । यसो गर्दा अनेक किसिमका मान्छे भेटिए । धरानभित्रका मान्छेहरु श्रमदानमा आउनु स्वाभाविक नै थियो । तर, धरानभन्दा धेरै टाढा र देश बाहिरका मान्छेहरु पनि श्रमदान गर्न आएका थिए । लगभग ७७ जिल्लाकै मानिसहरु भेटिने ठाउँ थियो श्रमस्थल । अचम्मको कुरा दार्जिलिङ, सिक्किम, गान्टोक र पश्चिमा देशका नागरिकहरु पनि श्रमदान गर्न आएका थिए ।

    दुई-तीन किलोमिटर लामो मान्छेको लस्कर, सिंगो पहाड नै थर्काउने गरी मान्छेको चिच्याहट, ठाउँठाउँमा मेडिकल टीम, जंगलको बीचमा खाना पकाउने ठूलो मेस, पानी खुवाउने स्वयंसेवकहरुको बेग्ला बेग्ला समूह, हाते माइकबाट निर्देशन दिइरहेका श्रम कमाण्डरहरुको चर्को आवाज हेर्दा यस्तो लाग्थ्यो, यो कुनै युद्धमा हिँडेको एउटा ठूलो फौजीको यात्रा हो ।

    आखिर किन यसरी मान्छेहरु हर्क साम्पाङलाई पछ्याइरहेका छन् त ? एक दिन होइन, दुई दिन होइन, लगातार वर्ष दिनसम्म लाखौं मान्छे श्रमदानमा सहभागी भएका छन् र बाँकी दिनमा पनि यसरी नै सहभागी हुने पक्कापक्की जस्तै छ । रानी माहुरीलाई कर्मी माहुरीले पछ्याइरहे जस्तै हर्क साम्पाङलाई पछ्याइरहने मान्छेहरुको मनोविज्ञान बुझ्नुअघि हाम्रो समाज र राष्ट्रिय राजनीतिको थोरै विश्लेषण गर्नु जरुरी छ ।

    पागल बस्ती र पागल नेता

    एमालेका एक नेताले मेयर हर्क साम्पाङलाई ‘बहुला’ भनेपछि सामाजिक सञ्जालमा एमाले नेताप्रति गालीको बाढी आइरहेको बेला मैले चाहिँ साहित्यकार सरुभक्तको मदन पुरस्कार विजेता उपन्यास ‘पागल बस्ती’ सम्झिरहेको थिएँ । त्यस उपन्यासमा देखाइएको पोखराको नौडाँडापारिको काल्पनिक पागल बस्ती र उपन्यासका नायक प्रशान्तसँग धरानका काकाकुल जनता र मेयर हर्क साम्पाङ मिल्दोजुल्दो लाग्छ ।

    पागल बस्तीमा अशिक्षित, अनपढ, निमुखा, रोगी, अपहेलित मानिसहरु ठूलो जमात छ । जसलाई आफ्नो पुत्रपुत्री बनाएर आदि गुरु प्रशान्तले बस्तीको नेतृत्व गरिरहेको हुन्छ । बस्ती निकै आदर्शवान हुन्छ । सबैले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छन् । आदिगुरु प्रशान्त आफैं श्रम गर्छन् । उनको पछिपछि चेलाचेलीहरु श्रमको लागि लाइन लाग्छन् । एउटा साम्यवादी समाज जस्तो हुन्छ पागल बस्ती । जहाँ कोही उँचो कोही होचो हुँदैनन् । आदिगुरुको आदर्श र सिद्धान्तमा पागल बस्ती नियमति चलेको हुन्छ ।

    धरानका जनता पनि पागल बस्तीका मान्छेहरु जस्तै सीमान्तकृत छन् । आर्थिक हिसाबले सुसम्पन्न देखिने धरान शहर खानेपानीको समस्याले आक्रान्त बनेको वर्षौं भयो । धराने जनतालाई पानी खुवाउने भनेर राजनीतिक दलहरुले राजनीति गरेको करिब तीन दशक भयो । दलहरुको आस गर्दागर्दै धराने जनता काकाकुल भएर मर्ने अवस्थामा पुगिसकेका थिए । एसियाली विकास बैंकले धराने जनतालाई पानी खुवाउने भनेर ३ अर्ब पैसा सक्यो । तर, सफल भएन । धराने जनताको धैर्यताको बाँध भत्कनै लाग्दा एउटा पागल नेताको जन्म भयो ।

    पागल बस्तीको आदिगुरु प्रशान्त जस्तै हर्क साम्पाङ पनि धराने जनताको लागि आदिगुरु भएका छन् । प्रशान्त प्रेमको अहमतामा पागल भएका हुन् भने हर्क साम्पाङ विकासको अहमतामा पागल भएका छन् । राजनीतिक दलले दशकौंदेखि पानीको आस देखाउँदै झूटको राजनीति गरेपछि साम्पाङ त्यसैको बदला लिन अहिले पागल जस्तै भएर लागेका छन् । उनलाई साथ दिन धराने जनतामात्र होइन, देश बिदेशबाट समेत प्रत्येक हप्ता हजारौं मान्छे साम्पाङको पागल बस्ती (श्रमस्थल)मा ओइरिन्छन् ।

    धरानभित्रका मान्छेहरु श्रमदानमा आउनु स्वाभाविक नै थियो । तर, धरानभन्दा धेरै टाढा र देश बाहिरका मान्छेहरु पनि श्रमदान गर्न आएका थिए । लगभग ७७ जिल्लाकै मानिसहरु भेटिने ठाउँ थियो श्रमस्थल । अचम्मको कुरा दार्जिलिङ, सिक्किम, गान्टोक र पश्चिमा देशका नागरिकहरु पनि श्रमदान गर्न आएका थिए ।

    भुईं नेता

    हर्क साम्पाङ भुईं नेता हुन् । उनी सरकारी गाडी चढ्दैनन् । आफ्नै थोत्रे मोटरसाइकल भुटुटु बजाउँदै जहाँ पनि पुग्छन् । कार्यालय जाँदा सामान्य सर्ट, पाइन्ट, इस्टकोट र ढाका टोपी लगाउँछन् । अरु बेला पुरानो ट्राउजर, टीसर्ट र जुत्ता लगाएरै हिँडिरहेका हुन्छन् । बोल्दा ज्यादा आदरार्थी शब्द प्रयोग गर्दैनन्, आममान्छे जस्तै सामान्य भाषामा बोल्छन् । बरु विरोधीलाई सक्दो गाली गर्छन् ।

    उनलाई जहाँ पनि भेट्न सकिन्छ, उनीसँग जहाँ पनि बोल्न पाइन्छ । उनलाई भेट्न कार्यकक्षमा पास लिनुपर्दैन । उनीसँग सेल्फी खिच्न, टिकटक बनाउन अनुमति मागिरहनु पर्दैन । उनी पनि आममान्छे जस्तै फेसबुकमा लाइभ गर्छन्, टिकटकमा लाइभ बस्छन् । उनी जहाँ भए पनि फुर्सदमा गीत गाउनु उनको पहिलो रुचि हो । आफैं गीत कोर्छन्, संगीत भर्छन् र गाइदिन्छन् ।

    साम्पाङ एक सामान्य मान्छेको जीवन जिइरहेका छन् । आममान्छेलाई मनपर्ने उनको पहिलो विशेषता भनेकै यही सामान्य जीवनशैली हो । सुरु सुरुमा मानिसहरुले उनको यो शैलीलाई ढर्रा भनेर आलोचना पनि गरे । धेरैले भाइरल हुन गरिएको अवाञ्छनीय हर्कत भनेर टिप्पणी गरे । जब धराने जनतालाई पानी खुवाउन उनले गरेको श्रम अभियान सफल हुँदै गयो, तब सबैले उनको शैलीलाई स्वीकारमात्र गरेनन्, अनुशरण पनि गर्न थाले ।

    हुन पनि जब हर्क साम्पाङ हाते माइक लिएर श्रमदाताहरुलाई कामको विवरण सुनाउन थाल्छन्, सबै जना उनको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्न अग्रसर हुन्छन् । प्रत्येक हप्ता शनिबार बिहान साढे सात बजेसम्म घोपा चोकमा श्रमदाताहरु भेला भइसक्छन् । त्यहाँ श्रमदाताहरु बोक्न पन्ध्र बीस वटा ठूला बस तयार हुन्छन् । बसमा नअटेका श्रमदाताहरु टेम्पो र निजी सवारीसाधनमा चढेर श्रमस्थलतिर लाग्छन् ।

    श्रमस्थलको कमाण्डर त साम्पाङ आफैं हुन्छन् । तर, हजारौं मानिसलाई उनी एक्लै कमाण्ड गर्न सक्ने अवस्था हुन्न । कामको बाँडफाँट गरेर अरु सहायक कमाण्डरको साथमा मानिसहरु विभाजित हुन्छन् । सहायक कमाण्डरहरु पनि हाते माइकबाट श्रमदाताहरुलाई निर्देशन दिइरहेका हुन्छन् । श्रमस्थलमा पायक पर्ने केन्द्र बनाएर खानाको मेस स्थापना गरिन्छ । बिहानको खाजामा प्रत्येक श्रमदाताको लागि एक एक प्याकेट चाउचाउ र बिस्कुटको साथमा एक बोतल पानी वितरण हुन्छ । दिउँसोको खाना १२ बजेपछि हुन्छ । त्यसको लागि औसतमा ३ हजार मानिसको लागि दाल, भात, तरकारी, अचार र दुईथरि मासु पाक्छ । मासुमा प्रायः बङ्गुर र कुखुरा हुन्छ । तर, श्रमदाताले एक थोकमात्र रोज्न पाउँछ ।

    दिनभरिको काममा साम्पाङसँगै काम गर्ने मौका थोरैले मात्र पाउँछन् । तिनीहरु आफूहरुलाई भाग्यमानी ठान्छन् । किनकि फुर्सदमा साम्पाङसँग भिडियो बनाउन भ्याएका हुन्छन् । धेरैजसोले टाढैबाट साम्पाङलाई हेरेरमात्र चित्त बुझाउनुपर्ने हुन्छ । कामको बाँडफाँटअनुसार मानिसहरु ठाउँठाउँमा झुण्ड बनाएर काम गर्नुपर्ने हुन्छ । प्रायः अपरान्ह ४ बजे कामबाट फर्कने समय तालिका हुन्छ । त्यो बेला तोकिएको स्थलमा जम्मा भएर साम्पाङले धन्यवाद मन्तव्य दिने गर्छन् ।

    रोचक कुरा के हुन्छ भने मान्छेहरु दिनभरि काम पनि गर्छन् र पैसा पनि दिइराख्छन् । विभिन्न ठाउँबाट मानिसहरु समूह बनाएर ब्यानरसहित आएका हुन्छन् । कसैले नगद र कसैले जिन्सी सहयोग गरेर जान्छन् । सहयोग रकमको विवरण राख्ने छुट्टै टीम छ । कोही वृद्धवृद्धाहरु साम्पाङलाई भेट्न र हेर्नमात्रै पनि टाढा टाढाबाट आएका हुन्छन् ।

    रोचक कुरा के हुन्छ भने मान्छेहरु दिनभरि काम पनि गर्छन् र पैसा पनि दिइराख्छन् । विभिन्न ठाउँबाट मानिसहरु समूह बनाएर ब्यानरसहित आएका हुन्छन् । कसैले नगद र कसैले जिन्सी सहयोग गरेर जान्छन् । सहयोग रकमको विवरण राख्ने छुट्टै टीम छ । कोही वृद्धवृद्धाहरु साम्पाङलाई भेट्न र हेर्नमात्रै पनि टाढा टाढाबाट आएका हुन्छन् । प्रायः लाहुरे परिवारका बयोवृद्धहरुले निकै मोटो रकम साम्पाङको हातमा थमाउँछन् । कोही कोही त भावुक भएर साम्पाङको हात ढोग्दै रुन्छन् पनि ।

    राजनीतिप्रति अविश्वास

    श्रमदानमा जति पनि मान्छेहरु आउँछन्, उनीहरुसँग दुइटामात्र कुरा हुन्छ । एउटा हो- दलीय राजनीतिप्रति तीब्र अविश्वास र अर्को हो- हर्क साम्पाङप्रति उच्च विश्वास । एकापसमा कुराकानी गर्दा श्रमदाताहरु यही दुइटा कुराको सेरोफेरोमा टीका टिप्पणी गरिरहेका हुन्छन् । विगत एक वर्षदेखि यही विश्वास र अविश्वासको घनचक्करमा साम्पाङको श्रम अभियान चलिरहेको छ । न साम्पाङ थाक्छन् न त श्रमदाताहरु गल्छन् । बरु श्रमदानको अभियान दिन दुई गुणा र रात चौगुना बढिरहेको छ ।

    मेयर हर्क साम्पाङको कोकाहा खानेपानी अभियानमा अहिलेसम्म साढे चार करोडभन्दा बढी नगद र जिन्सी सहयोग उठिसकेको छ । फागुन दोस्रो सातादेखि लगातार ३ महिनाभन्दा बढी प्रत्येक शनिबार हजारौंको संख्यामा श्रमदाताले श्रमदान गरिसकेका छन् । श्रमदाताहरुको श्रमलाई रकममा परिवर्तन गर्ने हो भने यो पनि करोडौंभन्दा माथि नै हुन आउँछ । देश बाहिर दक्षिण कोरिया, जापान, यूकेबाट सहयोग रकम आउने क्रम जारी छ ।

    एक व्यक्तिमाथिको यस्तो जनविश्वास फगत भावनात्मकमात्र होइन । राज्यप्रति जनताले विश्वास गुमाउँदै गइरहेको अशुभ संकेत पनि हो । जब राज्य प्रणाली र राजनीति असफल उन्मुख हुन थाल्छ तब नागरिकहरु विद्रोहको तयारीमा हुन्छ । नेपाली जनता वर्तमान राजनीतिप्रति तीव्र असन्तुष्ट छन् । पछिल्लो समयमा आएको भ्रष्टाचारका अनेकौं काण्डहरुको कारणले त झन नागरिकहरु आक्रोशित छन् । नागरिकहरुको आक्रोश, निराशा, असन्तुष्टिले कुनै न कुनै बेला विद्रोहको रुप अवश्य लिन्छ । हर्क साम्पाङ त्यही विद्रोहको एक रुप हुन् ।

    अहिले बुलेट विद्रोहको सम्भावना छैन । त्यसैले नागरिकहरु परम्परावादी राजनीतिको विरुद्धमा ब्यालेट विद्रोहमा उत्रिएका छन् । धरान भनेको वामपन्थीहरुको लालकिल्ला हो । तर, लगभग तीन दशक वामपन्थीहरुले धरानमा शासन गरे पनि खानेपानीको समस्या समाधान गर्न नसकेपछि धराने जनताले ब्यालेट विद्रोहमार्फत वामपन्थीहरुलाई पाखा लगाई स्वतन्त्र व्यक्ति हर्क साम्पाङलाई आफ्नो नेता बनाए ।

    राज्य प्रणाली राजनीतिले चल्छ । तर, राजनीति नै विकृत भएपछि राज्य असफल उन्मुख हुन्छ । त्यो अवस्थामा राज्यप्रति आम नागरिकको विश्वास गुम्दै जान्छ र कुनै अमुक व्यक्तिमाथि नागरिकको विश्वास जम्न थाल्छ । हर्क साम्पाङप्रति पनि आम नागरिकको यति विश्वास छ कि उनीबाहेक धरानमा अरु कोही इमानदार नेता नै छैन जस्तो भएको छ । हुन पनि उनी न आफू एक पैसा भ्रष्टाचार गर्छन् न अरुलाई गर्न दिन्छन् । ठेक्कापट्टाको भूमरीभन्दा निकै टाढा छन् मेयर साम्पाङ । अवस्था यही रह्यो भने अब चार वर्षपछि आउने चुनावमा साम्पाङविरुद्ध उम्मेदवारी दिन राजनीतिक दलहरुलाई ठूलो चुनौती नै हुनेछ ।

    नेपाली जनता वर्तमान राजनीतिप्रति तीव्र असन्तुष्ट छन् । पछिल्लो समयमा आएको भ्रष्टाचारका अनेकौं काण्डहरुको कारणले त झन नागरिकहरु आक्रोशित छन् । नागरिकहरुको आक्रोश, निराशा, असन्तुष्टिले कुनै न कुनै बेला विद्रोहको रुप अवश्य लिन्छ । हर्क साम्पाङ त्यही विद्रोहको एक रुप हुन् ।

    आलोचना भर्सेज लोकप्रियता

    यति भनिरहँदा मेयर साम्पाङ आलोचनारहित सर्वमान्य नेता भने होइनन् । उनका विरुद्धमा धरानका राजनीतिक दलहरु अहिले पनि मोर्चाबन्दीमा छन् । धरानमा कार्यरत पत्रकारहरु मेयर साम्पाङविरुद्ध आन्दोलनमै छन् । वडा अध्यक्षहरुले बारम्बार कार्यपालिका बैठक बहिस्कार गरेर उपमहानगरपालिकाको कार्यकारी काम अघि बढाउन बाधा गरिरहेका छन् । तर, यी सबले मेयर साम्पाङलाई खासै छुदैन । उनी आफ्नो नीति, सिद्धान्त र आदर्शभन्दा एक इन्च डगमगाउँदैनन् । बरु विरोध गर्नेहरु कि झुकेर आउँछन् कि आफैं थाकेर चुप लाग्छन् ।

    हुन त उनका समर्थकहरु पनि उनी त्यसरी हठी भएकोमा सन्तुष्ट छैनन् । विशेषगरी उनी पत्रकारहरु सबैलाई झोले देख्छन् । राजनीतिक दलका प्रतिनिधि सबैलाई दलाल भन्छन् । चित्त नबुझे अदालतलाई समेत थुक्छन् । यही कारण उनी बेलाबखत सार्वजनिक आलोचनाको शिकार पनि बन्छन् । नियम, कानून र ऐनभन्दा पनि आफ्नै पारा र ढर्रालाई सर्वोपरि ठान्ने उनको प्रवृत्ति धेरै पटक कानूनी रुपमा अवैध भएका छन् ।

    उनीमाथि लाग्ने आरोप र गरिने आलोचना केही हदसम्म सत्य पनि छन् । यद्यपि उनको लोकप्रियताले ती सब ढाकछोप हुने गर्छ । विशेषगरी सामाजिक सञ्जालको माध्यमबाट उनी संसारभर लोकप्रिय छन् । फेसबुक पेजमा साढे ६ लाखभन्दा बढी फलोअर्स छन् भने टिकटकमा २ लाखभन्दा बढी । यति धेरै उनका समर्थकको बीच कसैले उनलाई आलोचना गर्छन् भने ती पनि आलोचनाको शिकार नै हुने गर्छ ।

    तर, जतिसुकै आलोचना र कमजोरीको घेराबन्दीमा परे पनि हर्क साम्पाङ भुईं मान्छेहरुका नेता नै हुन् । उनीमाथि आम भुईं मान्छेहरुको अगाध विश्वास र भरोसा छ । सुकिलामुकिला नेताहरुबाट वर्षौं ठगिएको सोझासाझा मान्छेहरु साम्पाङलाई आफ्नो आदर्श ठान्छन् । त्यही भएर दलीय राजनीतिबाट विकर्षित र अपरिचित भुईं मान्छेहरु उनलाई अविरल पछ्याइरहेका छन् । भुईं मान्छेहरुको आधारभूत जीवनशैलीमा परिवर्तन ल्याउन नसके दलीय राजनीतिविरुद्ध बदला लिन पनि उनीहरु हर्क साम्पाङको पछि पछि दौडिरहेका छन् ।

  • पुस्तकसँगै वैचारिक विस्फोटको ‘गन्तव्य समाजवाद’

    पुस्तकसँगै वैचारिक विस्फोटको ‘गन्तव्य समाजवाद’

    लेखक, समाजवादी चिन्तक, एमाले नेता आनन्दप्रसाद पोखरेलको नाम म र राजेन्द्र मानन्धर (हाल नेकपा एमाले दोलखाका उपाध्यक्ष) नेकपा एमालेको सदस्य बन्नुसँग जोडिएको छ । उनको हालै प्रकाशित पुस्तक ‘गन्तव्य समाजवाद’ पढ्दै गर्दा मैले हरेक पानासँग विगत साट्दै गएको छु ।

    चरिकोट बीच बजारमा थियो पुष्प कायस्थको मःम पसल । सानो सानो डल्लो मःम र चस्स स्वाद दिने झोलले २०४८/०५० ताका सबैको खाजा केन्द्र बनेको थियो पुष्पको मःम पसल । राँगा, खसी, कुखुराका परिकार त थियो नै । बजारमा सयर गर्ने नेता, कर्मचारी, पत्रकार, युवा, विद्यार्थी सबै पुष्पको मःम खाजा गन्तव्य पुगेकै हुन्थे एक पटक ।

    समय र मिति ठ्याक्कै याद छैन । २०५० सालताका नै हुनुपर्छ, एक दिउँसो राजेन्द्र र म उनै पुष्पको मःम पसलमा खाजा खाँदै थियौं । एमाले नभए पनि कम्युनिष्ट रुझान भएको र कम्युनिष्ट पार्टीको सशक्त विकल्प एमालेमात्र भएकोले हामी एमालेका कमीकमजोरी र सुधारका सूत्रबारे आपसमा गफिँदै थियौं ।

    आनन्दप्रसाद पोखरेल, जीवसराज खड्कालगायतका केही एमाले नेता कार्यकर्ता पनि हामीसँगैको टेबलमा बसेर खाजा खाँदै रहेछन् । हामीसँग परिचित थिएनन् उनीहरु । आनन्दप्रसाद पोखरेललाई हाम्रो आलोचना, सुझाब र रुझानले छोएछ । भोलिपल्ट एमाले दोलखाको मुख्यालयबाट निमन्त्रणा आयो भेटघाटको लागि । भोलिपल्टको भेटघाटसँगै केही सुझाब, केही आलोचनासहितको वातचितपछि म तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ दोलखाको सचिव तथा राजेन्द्र मानन्धर अनेरास्ववियु दोलखाको सचिवमा मनोनीत भयौं र राजनीतिमा सक्रिय बन्यौं ।

    राजनीति प्रवेशको त्यो रोमाञ्चक पल सम्झँदा अहिले पनि शरीरका रौं-रौं सर्तक बन्दछ मनभित्र मीठो भावनाको काउकुती लगाएर । त्यतिबेला राजनीतिक रुपमा एउटा हैसियत नबनेको भए पत्रकारिता र सामाजिक अभियानको यो यात्रा यति सहज पक्कै हुने थिएन होला, मलाई त्यस्तै लाग्छ ।

    आनन्दप्रसाद पोखरेलको गन्तव्य समाजवाद हाम्रो पनि गन्तव्य समाजवाद । अनि जोडियौं हामी एमालेमा । अहिले म उनै आनन्दप्रसाद पोखरेलको पुस्तक ‘गन्तव्य समाजवाद’को अक्षर भ्रमणको प्रतिक्रिया कोरिरहेको छु ।

    आनन्दप्रसाद पोखरेलको परिचय बनेको छ- वैचारिक नेता । पोखरेलको वाक क्षमताको समेत धेरै मानिसले प्रशंसा र इर्ष्या गरेको सुनेको छु । ‘गन्तव्य समाजवाद’ले पोखरेलको वैचारिक क्षमताको परिचयसमेत दिएको छ ।

    दोलखाका कम्युनिष्ट नेताहरुको आआफ्नै परिचय छ । स्व. पशुपति चौलागाईं सबैका आदर्श थिए । सालिन र मिलनसार चौलागाईं सबैका प्रिय लाग्थे । इन्द्रबहादुर खड्काको सालिनता र सरल जीवनशैली, जीतवीर लामाको चट्टानी विगत, वाङ्छे शेर्पाको सांगठनिक भूमिका, शिवप्रसाद भण्डारीको इमानदारी, पार्वत गुरुङको समन्वय, ईश्वरचन्द्र पोखरेलको तिखरता, स्व. रितबहादुर खड्का, गंगा कार्की, देवी खड्का, कृष्णप्रसाद शिवाकोटी, ठोकप्रसाद शिवाकोटी सबैले समाजवादी आन्दोलनमा एउटा स्पष्ट परिचय बनाएका छन् । अरु धेरै कम्युनिष्ट नेताहरु हुनुहुन्छ दोलखामा, उहाँहरु सबैलाई म सम्मान गर्दछु ।

    यही मेसोमा आनन्दप्रसाद पोखरेलको परिचय बनेको छ- वैचारिक नेता । पोखरेलको वाक क्षमताको समेत धेरै मानिसले प्रशंसा र इर्ष्या गरेको सुनेको छु । ‘गन्तव्य समाजवाद’ले पोखरेलको वैचारिक क्षमताको परिचयसमेत दिएको छ । ३४८ पृष्ठको ‘गन्तव्य समाजवाद’ भित्र कम्युनिष्ट विचारको धरातलमा समाजवादको यात्रा कसरी सहज हुनसक्छ भन्ने धेरै शीर्षक र उपशीर्षक दौडिएको पाइन्छ ।

    ‘गन्तव्य समाजवाद’ भित्र ६ वटा खण्डमा आफ्ना विचार, भावना र अनुभव समेटेका पोखरेलले पहिलो खण्डमा गन्तव्य समाजवाद पहिल्याउन अपनाउनु पर्ने वैचारिक पक्षमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । नेपाल सार्वभौम राष्ट्र कि पराइको खेल मैदान भनेर प्रश्न उठाएका पोखरेलले मार्क्सवादको जीवन्तता र बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) को औचित्य, सुगौली सन्धि र १९५० को सन्धि, भूमिसुधारको आवश्यकता जस्ता विषयलाई उठाएका छन् ।

    नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका लेखक पोखरेलले ‘गन्तव्य समाजवाद’को दोस्रो खण्डमा नेकपा एमालेको पृष्ठभूमि, नेपाली राजनीतिमा एमालेको भूमिका, विकास र समृद्धिमा एमालेको दृष्टिकोणलगायतका विषय प्रस्तुत गरेको पाइन्छ । यो खण्डमा नेपाली राजनीतिमा सधैं चर्चाको पर्याय रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताभित्र सिद्धान्तको व्यवहारिक कार्यान्वयनका खाकाहरुको समेत व्याख्या पाइन्छ ।

    पुस्तकको तेस्रो खण्डमा संविधान निर्माणको संघर्षअन्तर्गत राजतन्त्र, माओवादी जनयुद्ध, संविधानमा समुदायको अपनत्वलगायतका विषय समेटिएका छन् । चौथो खण्डमा कम्युनिष्ट सरकारको नेतृत्व र उपलब्धि, पाँचौं खण्डमा विकासको सम्भावना र प्राकृतिक स्रोत तथा छैटौं खण्डमा विविध भनेर आफ्ना विदेश भ्रमणका अनुभवलगायतका विषय राखेका छन् ।

    पोखरेलले ‘गन्तव्य समाजवाद’को दोस्रो खण्डमा नेकपा एमालेको पृष्ठभूमि, नेपाली राजनीतिमा एमालेको भूमिका, विकास र समृद्धिमा एमालेको दृष्टिकोणलगायतका विषय प्रस्तुत गरेको पाइन्छ ।

    पुस्तकको शीर्षक गन्तव्य समाजवाद, पुस्तकको सार जनताको सहजताको लागि समाजवाद गन्तव्य र पुस्तकभित्रका शीर्षक, उपशीर्षकका शब्द सहयात्राको निष्कर्ष समाजवादी गन्तव्य प्राप्तिको लागि छिमेकी सम्बन्ध, दलको विचार तथा राज्य सञ्चालकको विकास र समृद्धि अभियानको स्पष्ट मार्गचित्र हो भन्न सकिन्छ ।

    समाजवादी चिन्तक पोखरेलको ‘गन्तव्य समाजवाद’ भित्रको सन्देशलाई आत्मसात गर्दै अगाडि बढ्ने कुरामा दल, नेता, समाज र जनताको सहभागिता कस्तो छ त ? जवाफ धेरै सहज छैन र जवाफै छैन भन्ने पनि छैन । दलको विचारको बारेमा कुनै फरक मत राख्नुपर्दैन । कम्युनिष्ट पार्टीहरुको मार्क्सवाद, लेनिनवाद, माओवाद, स्तालिन, चे ग्वेभारा, चारु मजुमदार, सी जिनफिङ, मदन भण्डारीको जनताको बहुदलीय जनवाद जेसुकै होस् असलै छ । नेपाली कांग्रेसको बीपीवाद पनि असल छ । स्व. राजा महेन्द्रको राष्ट्रवाद र त्यसैको जगमा केही राजनीतिक दलहरुले लिएको राष्ट्रवाद पनि खराब छैन । तर, विचारको कार्यान्वयन, छिमेकी सम्बन्ध र छिमेकीले हामीलाई हेर्ने दृष्टिकोण तथा विकास र समृद्धि मार्गको कार्ययोजनामा भने समस्या देखिन्छ । र, यी कमजोरीहरुको गठजोर नेताको क्षमतामा निर्भर देखिन्छ ।

    विचारको कार्यान्वयनमा जनताको सहभागिता जुटाउने, छिमेकीलाई आफ्नो देशको सहजताको लागि उपयोग गर्ने र विकास तथा समृद्धि यात्रालाई उपलब्धिमूलक बनाउने काम नेताहरुको हैन ? के नेताहरुले यी कामहरु गर्न सकेका छन् या गरिरहेका छन् ? मनन गरौं । पोखरेलले आफ्नो पुस्तक ‘गन्तव्य समाजवाद’मा नेताहरुको सिद्धान्त तथा चिन्तनमनन, नेपाल र नेपालीको अवस्था, संविधानको सन्देश, विदेश भक्ति र विदेशी सरकारको नेपाल नीति जस्ता विषयमा आफ्नो वैचारिक लेपनले सामाजिक शुद्धताको सिद्धान्त स्थापित गर्न खोजेको आभाष मिल्छ । उनले उठाएका धेरै विषयहरु उनी आफैंले चाहिँ व्यवहारिक रुपमा कसरी अगाडि बढाइरहेका छन् ? भेटमा म सोध्नेछु र तपाईं पाठकहरुले पनि नोट गर्नुहोला यो विषय । किनभने उनी पनि यो देशको नीति निर्माण तहमा पुगेका र निरन्तर त्यो पहुँच राख्ने तहमै छन् ।

    विचारको कार्यान्वयनमा जनताको सहभागिता जुटाउने, छिमेकीलाई आफ्नो देशको सहजताको लागि उपयोग गर्ने र विकास तथा समृद्धि यात्रालाई उपलब्धिमूलक बनाउने काम नेताहरुको हैन ? के नेताहरुले यी कामहरु गर्न सकेका छन् या गरिरहेका छन् ?

    ‘गन्तव्य समाजवाद’ भित्रको समाजवादी चिन्तनसँग मेरो राजनीतिक यात्रामात्र जोडिएको छैन पत्रकारिताको पूर्णता पनि जोडिएको छ । २०५६/०५७ ताका मेरो पत्रकारिताको युवा अवस्थाको वृद्धि विकास अवधिमा प्रेस चौतारी प्रकाशक रहेको ‘शैलुङको सूर्य’ साप्ताहिकलाई सम्पादन गरिरहँदा नाम जुराउने लेखक, साहित्यकार, राजनीतिज्ञ प्रदीप नेपालको हातेमालो र आनन्दप्रसाद पोखरेलको निरन्तर स्तम्भ लेखनी सहयोग महत्वपूर्ण मान्नुपर्छ ।

    पोखरेलको ‘गन्तव्य समाजवाद’ पुस्तकको मोटाइलाई दाहिने हातको पाँच औंलाले कसिलोसँग चेपेर पेज संख्याको अनुमान लगाइरहँदा मैले निर्धक्कसँग ‘शैलुङको सूर्य’ साप्ताहिकको प्रत्येक अंकको योगदान यसमा परेको छ भन्ने हकसमेत राख्दछु । किनभने ३४८ पेजको ‘गन्तव्य समाजवाद’मा समेटिएका धेरै समाजवादी खुराकहरु ‘शैलुङको सूर्य’ साप्ताहिकले प्रकाशन गरेको लेखहरुबाटै आएका छन् ।

    अझ रोचक के भने पोखरेलको लेखनी खेस्रा बुझ्ने औकात हामी केही थान ‘शैलुङको सूर्य’ साप्ताहिकसँग जोडिएका सहकर्मीहरुको मात्र थियो । नामै लिएर भन्दा मलगायत विष्णु सुवेदी, बालकृष्ण शर्मा, रसिन श्रेष्ठ, शशि न्यौपाने, जीवसराज खड्कालगायतले मात्र पोखरेलको खेस्रामा जेलिएको अक्षरको आकार र अर्थ लगाउन सक्थ्यौं । गजब थियो पोखरेलको लेखनी खेस्रा, हेर्दा आकर्षक पढ्न कठिन ।

    जे होस्, ‘गन्तव्य समाजवाद’ एउटा पुस्तकमात्र नभएर आनन्दप्रसाद पोखरेलको चार दशक लामो राजनीतिक यात्राको अनुभवको वैचारिक विस्फोट र राजनीतिक सिद्धान्तको नेपाली वस्तुगत संश्लेषणको संगालो मान्दा अन्यथा नहोला । किनभने यो पुस्तकभित्र पोखरेलको वैचारिक धरातलले नेपाली वस्तुगत अवस्थाको चित्रणसँगै आयातित कम्युनिष्ट सिद्धान्तलाई रुपान्तरणको अभ्यास र अध्याय अगाडि बढाउन खोजेको देखिन्छ ।

    विभिन्न शीर्षकमा दौडिएको शब्दका धरोहरु गन्तव्य पहिल्याउने कुरामा कसरी सफल होला या त्यसको सफलताको लागि लेखक स्वयंले कति सजगताका साथ आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाऊलान्, त्यसको लेखाजोखा र विश्लेषण, विवेचना गर्ने अवसर अवश्य प्राप्त होला भन्ने अपेक्षा यो लेखमा पोखिँदै गएका भावनाहरुलाई बिट मार्ने बेलासम्म कायमै छ ।

  • अब मैले न्यायको लडार्ईं पनि छोडिदिएँ

    अब मैले न्यायको लडार्ईं पनि छोडिदिएँ

    काठमाडौं । गत वैशाख २५ गते मैले आफ्नो फेसबुक वालमा पत्रकारिता गर्दा कार्यक्षेत्रमा आफूले भोगेका केही घटनालाई जोडेर एउटा स्टाटस राखेकी थिएँ ।

    कतिपयले कुनै प्रतिशोधात्मक भावनाले लेखेकी होला भन्ने धारणा बनाए । तर, त्यो स्टाटस मात्रै थिएन, मैलै वर्षौंदेखि भोग्दै आएको यातना, पिडा र आफ्नै रोजाईले आएको पेशा छोड्दै गन्तव्य मोड्नुपर्दाको भावना विष्फोट थियो ।

    घरपरिवारको सहमती बेगर पत्रकारितामा स्थापित हुनका लागि मैले जेजति पिडा पाएँ, जे जति असहयोग भयो ती सबै लुकाएरै काम गरिरहेकी थिएँ । दुई वर्षभन्दा बढी समयदेखि मैले भोगिरहेका यातनाहरु पारिवारिक डरको कारणले खुलाउन सकेकी थिइनँ ।

    एक्लाएक्लै कानुनी लडाईं लड्न सक्ने आँट पनि आएन । दिनप्रतिदिन मैलै पत्रकारितामा असुरक्षित महसुस गरिरहें । एक व्याक्तिबाट मात्रै होइन, धेरैबाट । अन्तमा लड्न नसकेपछि मैले यो झमेलाबाट मुक्त हुने र पत्रकारिता छोड्ने निष्कर्षमा पुगेँ ।

    मैले यो पेशा छोडेर बाटो मोड्दा पनि सुख पाइनँ । मेरो चरित्रको कुरा पिडक आफैंले मेरो परिवारदेखि सबैसँग भन्दै हिँडेको थाहा पाएपछि मलाई सहनै गाह्रो भयो । त्यसपछि आफूले भोगेका यातना र पत्रकारिता पेशामा महिला कसरी असुरक्षित छन् भनेर वैशाख २७ गते सबै घटना खुलाएर नेपाल प्रेसमा ब्लग प्रकाशित गरेकी थिएँ ।

    मलाई पत्रकारितामा टिक्न नदिने, मानसिक यातना दिने कथित पत्रकारको विरुद्धमा महासंघ र सञ्चारिका समूहमा लिखित उजुरी दिइसकेपछि तिनै पत्रकारलाई प्रेस सेन्टर भन्ने संस्थाले सम्मानसहित खादा माला ओढाएको देख्दा म विक्षिप्त भएकी छु । सायद मजस्ता पत्रकारितामा भविष्य खोज्दै हिँडेकाहरुको सपनाको हत्या गर्न सफल भएकोमा उसलाई सम्मान गरिएको होला ।

    ब्लग प्रकाशनपछि मैले पत्रकारका नेता, पत्रकार महासंघ, पत्रकार महिलाको पक्षमा काम गर्नका लागि खुलेका संस्थाहरु मेरो सम्पर्कमा आए, कुनैमा म आफैं पुगेँ । सुरुआती दिनमा नेपाल पत्रकार महासंघ र सञ्चारिका समूहले हामी तिमीलाई खुलेर साथ दिन्छौं, यो मुद्दामा हामी तिम्रो साथमा छौं भनेर आश्वासन दिए ।

    महासंघ र सञ्चारिका समूहमा उजुरीका लागि निवेदन दिन भनेँ । त्यसपछि ११ दिनअघि आवश्यक कारबाहीका लागि पत्रकार महासंघ काठमाडौं र सञ्चारिका समूह नेपालमा ती व्यक्तिहरुको नाम नै खुलाएर निवेदन दिएकी थिएँ । विस्तारै पत्रकार महासंघ र सञ्चारिका समूहले पनि आफैंले दिएको बचनबाट पछि हटे । आनाकानी गर्दै वास्ता गर्न छोडे ।

    आज मैले पत्रकारिता, पत्रकार र गत वैशाख २७ मा प्रकाशित ब्लग पछिका सम्पूर्ण घटनाक्रम र न्यायका लागि स्थापित संस्थाहरुको भित्री वास्तविकता खुलाउँदै आफ्नो लेखाइलाई यहीँबाट पूर्णतः विश्राम दिने निर्णय लिएकी छु ।

    ‘मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु’ भन्ने शीर्षकमा ब्लग प्रकाशित भएपछि विभिन्न फोन कल आए । मोबाइल अफ नै गर्नुपर्ने बाध्यता आइलाग्यो । तर, कामविशेषले मोबाइल अन गर्दा केही चिनेका व्यक्तिहरुको कल रिसिभ गरेँ । धेरैले गरेका मेसेज र कमेन्ट पनि पढेँ ।

    ती व्यक्तिहरुको कुरा सुन्दा मेरो मानसपटलमा अहिले पनि अनेकौं प्रश्नहरु उठिरहेका छन् । कतिपयले आफ्नो भोगाइले पत्रकारिताभित्रको फोहरलाई पर्दाफास गर्न हिम्मत गरेको भन्दै तारिफ गरे । कतिपयले आफूले पनि कार्यस्थलमा यस्तै घटना भोगेको कुरा सुनाए ।

    धेरैले यो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै मानसिक स्वास्थ्यको ख्याल राख्न सुझाव समेत दिए । धेरैले पत्रकार महिलाले काम गर्ने दौरानमा मैले भोगेजस्तै हिंसा भोग्ने गरेको तर त्यसको विरोध गर्दा आफ्नै चरित्रमाथि प्रश्न उठाउने समस्या आउने भएकाले चुपचाप सहेर बसेको र पत्रकारिता छोडेको बताए ।

    पत्रकारिता छोड्न त मैलै पनि छोडेँ, तर पत्रकारको हकहितका लागि काम गर्छौं भन्ने संघसंस्थाको गैरजिम्मेवारी र पत्रकारितालाई बदनाम गर्ने कथित पत्रकारको असली रुप छर्ल¨ै पारेर बिदा लिने निर्णयमा पुगेँ ।

    पछिल्ला घटनाक्रमः

    ब्लग प्रकाशित भएपछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिवसँग मेरो कुरा भयो । एकै जिल्लावासी त्यसैमाथि पत्रकार महासंघको महासचिव भएकाले उहाँबाट सहयोग पाइने मलाई पूर्ण विश्वास थियो । तर मेरो उहाँमाथिको विश्वास धेरैबेर टिकेन ।

    उहाँले त ती कञ्चनपुरका पत्रकार आफ्नै ठाउँको मान्छे भएकाले उजुरी नदिन सुझाव दिनुभयो । ‘उसले जहाँ भन्छौं त्यहीँ आएर माफी माग्छ । तर अहिले उजुरीतिर नजाउ, बाँकी तिम्रो इच्छा’ भन्दै कुरा टुंगाउनुभयो ।

    ‘पीडक हाम्रो मान्छे हो, हाम्रै जिल्लाको मान्छे हो’ भन्दै गर्दा म को हुँ ? के मेरो पिडा तपाईंहरुका लागि केही पनि होइन ? पत्रकारमा नेता हौं भन्नेहरुले पिडक जोगाउने ठेक्का लिएको हो ? मेरो मनमा यस्ता प्रश्न उब्जिए ।

    त्यसपछि मेरो कुरा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामीसँग भयो । उहाँलाई मैले ‘सर न्यायको लडाइँमा तपाईंहरुको सहयोग चाहिन्छ । जिल्लाबाट प्रेस विज्ञप्ति मात्रै निकालिदिए धेरै राहत हुने थियो’ भनेकी थिएँ ।

    उहाँले भन्नुभयो, ‘तिमी आजभोलि जिल्लामा छैनौ । आजसम्म किन नभनेको मलाई ? तिम्रो घर कहाँनिर हो महेन्द्रनगर भन त’ भनेर उल्टै प्रश्न गर्नुभयो । उहाँकाअनुसार म अहिले काठमाडौं भएकाले मेरो घटनामाथि नेपाल पत्रकार महासंघ कञ्चनपुरले कुनै जिम्मेवारी लिन नसक्ने रहेछ ।

    यस्तै महिला पत्रकारहरूको हक, अधिकारबारे पैरवी गर्ने सञ्चारिका समूह नेपालका अध्यक्षसहितका पदाधिकारीसँग पटकपटक कुराकानी भयो । भेटेरै पनि उहाँहरुले सबै जानकारी लिनु भयो । अन्तमा उहाँहरु पनि रमिते मात्रै बन्नु भयो ।

    सञ्चारिका समूहका सबै पदाधिकारीलाई प्रत्येक दिन छुट्टाछुट्टै भेट्नुपर्ने र एउटै विषयमा सबैसँग छुट्टाछुट्टै ब्रिफिङ गर्नुपर्ने अवस्था त्यहाँ थियो । यसरी घटनाको सबै विवरण उनीहरुलाई भन्दाभन्दै म थाकिसकेकी थिएँ ।

    सञ्चारिकाका अध्यक्षले भन्नुभयो, ‘कार्यालयमा निवेदन बुझाउ, कारबाही अगाडि बढाउछौँ ।’ मैले पनि न्याय पाउने आशले सञ्चारिका समूह र पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गएर लिखित उजुरी दिएको आज (मंगलबार) ११ दिन भयो । सञ्चारिका समूह पनि अन्तमा ‘सबै कुरा पत्रकार महासंघबाटै गर्दा ठिक हुन्छ’ भनेर पन्छियो ।

    मेरो भोगाई र उजुरीका विषयमा पत्रकार महासंघका महासचिव रोशन पुरीलाई पनि राम्रोसँग जानकारी छ । उहाँले मलाई भेट्न बोलाएर सबै कुरा सहजैै हुन्छ भनेर चित्तबुझ्दो कुरा गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘महासंघ तिम्रो पक्षमै हुन्छ । तिमीले न्याय पाउँछौं ।’ यति सुनिसकेपछि मैले न्याय पाउने विश्वास लिएँ । मैले महासंघमा त्यत्रो उजुरी दिएको र महासंघका पदाधिकारी नै भेटेर सबै घटनाको बारेमा जानकारी दिएकाले महासंघले न्याय दिन्छ भनेर भर परेकी थिएँ ।

    तर केही दिन कुरेर महासचिव रोशन पुरीसँग मेरो निवेदनका बारेमा के हुँदैछ भनेर जिज्ञासा राख्न सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘बाला अधिकारी (पत्रकार महासंघकी उपाध्यक्ष) जीलाई बुझेर खबर गर्छु ।’ उहाँले बुझेर खबर गर्छु भनेर पटकपटक मेरो फोन राख्नुभयो । तर उहाँले अहिलेसम्म बुझेर मलाई एकपटक पनि खबर गर्नु भएन ।

    उता महिला तथा बालबालिकाहरुका मुद्दा हेर्न छुट्याइएको फाँटको जिम्मेवारी पाउनु भएकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले भने ती पीडक पत्रकार ‘कहिले शुक्रबार आउँछ भन्ने, कहिले आइतबार त कहिले सोमबार आउँछ’ भन्ने जस्ता जवाफ दिनुभयो । पिडक पत्रकारलाई महासंघले नै काठमाडौं बोलाउने र बाँकी प्रक्रिया अगाडि बढाउने भनेको थियो । तर फेरि उनै उपाध्यक्षले ‘बुधबारसम्म आएन भने तपाईं र म त्यहीँ गएर माफी माग्न लगाउँला है बहिनी’ भनेर कुरा गर्नुभयो ।

    म उनीहरुले दिएको यातना र पिडाले मानसिक समस्या झेलेर छट्पटाइरहेकी छु । फेरी मैले नै काठमाडौंबाट कञ्चनपुर गएर यो मुद्दा मिलाउनु पर्ने ?

    महासंघले मलाई न्याय दिन खोजेको कि पत्रकारले गरेको नराम्रो क्रियाकलाप बाहिर ल्याइस् भनेर उल्टै मलाई सजाय दिन खोजेको ? म पिडित भएँ भनेर माफी मगाउन कञ्चनपुर जाने हो कि महासंघले उनलाई झिकाउने हो ? के महासंघ पीडकले भनेअनुसार चल्ने हो ?

    यसै घटनाको बारेमा महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसँग पनि सबै कुरा सेयर गरेकी थिएँ । पहिलो दिन उहाँले फोन रिसिभ गरेर सबै कुरा त सुन्नुभयो । त्यसपछि भने उहाँले अहिलेसम्म मेरो फोन रिसिभ गर्नु भएन ।

    यदि पत्रकार महासंघको छाता संगठनका अध्यक्ष धेरै नै व्यस्त हुन् भने फुर्सदको समयमा कलब्याक त गर्न सकिन्थ्यो । एउटै नम्बरबाट पटकपटक, फोन आइरहेको छ भने कलब्याक दिनुपर्छ कि पर्दैन अध्यक्षज्यू ? पत्रकारकै समस्या सुन्न फुर्सद छैन भने तपाईं किन अध्यक्ष बन्नु भयो ? यति मरिहत्ते गरेर तपाईंसामु न्यायको भिख माग्दा पनि यो लेभलको वेवास्ता गर्नु हुन्छ भने तपाईं कसका लागि अध्यक्ष बन्नुभयो ? सुरुमा मेरो सबै पिडा सुनेर अन्तमा किन मेरो मुद्दामा वास्ता नगरेको अध्यक्षज्यू ?

    महासंघले यसको छिनोफानो गर्दैन भने म मेरो समय खेर फाल्दिन । बरु हँुदैन भनेर जवाफ दिए म ढुक्क भएर आफ्नो बाटो हिँड्छु भन्नका लागि मात्रै मैले अध्यक्षज्यूलाई धेरैपटक कल गरेँ । अन्तमा मैले यतिसम्म भन्न पाइन ।

    निवेदन दिनु अगाडि कल गर्दा अध्यक्षज्यूको जवाफ थियो, ‘म बाहिर जाँदैछु, मैले तपाईंको कुरा गरेको छु । चिन्ता नगर्नुस, रोशनजीले हेर्नू हुन्छ ।’ तर, निवेदन दिएकै आज–मंगलबार) ११ दिन पुग्दा पनि महासंघले मेरो लागि किन एक शब्द बोल्दैन ? महासंघले बलियो भएर एक्सन लिन सक्दैन अथवा महासंघलाई सहीलाई सही, गलतलाई गलत छुट्याउन गाह्रो पर्छ भने किन निवेदन देउ भनियो ?

    मैले न्यायका लागि कति दिन कुर्नुपर्ने हो ? अब त हरेस खाइसकेँ । न्याय नपाउने छाँटकाँट देखिएपछि अब म कुनै लडाईं नलडेर विश्राम लिँदैछु । यी सबै एउटा नराम्रो सपना सोचेर बिर्सन खोज्ने प्रयास गर्दैछु । तर, म जस्तै अर्की पीडित महिलालाई आफूले भोगेका घटनालाई लिएर अदालतको ढोका ढक्ढकाउन सुझाव दिन चाहन्छु । कमसेकम त्यहाँ न्याय पाउने आशा त हुन्छ । यदी पत्रकारका हक, अधिकारको नारा लगाउने संस्थामा गए मैलै जस्तै तपाईंले पनि झेल्नुपर्ने हुन्छ ।

    अनि पत्रकार महासंघको निर्वाचन हुँदै गर्दा महिला कोटाबाट पदाधिकारी र सदस्य भएका उनीहरुको काम के हो ? एउटा पिडितले पटकपटक महासंघको साथ खोज्दा पनि महिलाको हकहित र महिलाको पक्षमा बोल्छौं भनेर चुनाव लड्ने छुट कसरी हुन्छ ?

    समावेशी भएन भनेर आरक्षण खोज्दै गर्दा तिनीहरुको जिम्मेवारीभित्र मजस्ता पत्रकार महिलाको समस्या पर्दैन । यतिसम्म महासंघ र महिलाको पक्षमा काम गर्ने संस्थाको अगाडि आँशु बगाउँदा पनि साथ पाइदैन भने उजुरी दिन लगाएर मेरो भावनामाथि किन खेलियो ? यसको जवाफ भने म जस्तुसुकै अवस्थामा भए पनि खोजीरहने छु ।

    यो पनि पढ्नुस्: मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

     

  • प्रणालीले नै जन्माइरहेको त छैन भ्रष्टाचारी ?

    प्रणालीले नै जन्माइरहेको त छैन भ्रष्टाचारी ?

    पछिल्लो समयको एउटा चर्चित विषय हो, नक्कली भुटानी शरणार्थी प्रकरण । महत्वाकाङ्क्षी ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम असुल्ने राजनीतिक तथा गैरराजनीतिक गिरोहको लुटखसोट धन्दा बाहिरिएसँगै यो प्रकरणले सञ्चारमाध्यममा प्राथमिकता पाएको छ । र, आम चासोको विषय बन्न पुगेको छ । किनभने सरकारका बहालवाला सचिव, पूर्वगृहमन्त्री, गृहमन्त्रीका सुरक्षाविज्ञदेखि पूर्व उपप्रधानमन्त्री तथा वर्तमान सांसदसम्म यो घटनामा मुछिएका छन् । अनुसन्धानलाई स्वतन्त्र रुपमा अघि बढाउने वातावरण बन्ने अवस्थामा अझ धेरै राजनीतिक तथा प्रशासनिक नेतृत्वहरु तानिनेमा अब कुनै शङ्का छैन ।

    उसो त नेपालको सन्दर्भमा यो नै प्रथम काण्ड भने होइन । योभन्दा अगाडि सुडान घोटाला काण्ड, वाइड बडी काण्ड, एनसेल काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, बालुवाटार काण्ड, ओम्नी काण्ड, ३२ किलो सुन काण्डलगायतका थुप्रै काण्डहरु चर्चामा रहेका थिए । ती काण्डहरुमा राजनीतिक नेतृत्वहरु पनि मुछिएकै थिए । तर, अनुसन्धानका क्रममा सरकारले कस्तो प्रतिवेदन तयार गर्‍यो र कसलाई कारबाही भयो र कसलाई सफाइ भयो भन्ने कुरा जसरी चर्चाका साथ विषयलाई उठान गरिएको थियो । त्यसरी नै आम जनताले थाहा पाउने गरी बैठान गरिएको भने थाहा पाइएन ।

    पार्टी नेतृत्वहरु परिवारको र सचिवालयको घेरामा पर्दा, विभिन्न प्रकृतिका ठूल्ठूला स्वार्थ समूहको दबाबमा रहँदा यस्ता अपारदर्शी गतिविधिहरु हुने गरेको सामान्य बुझाइरहेको छ । केही हदसम्म यो तर्कलाई पनि मान्न सकिएला । तर, परिवार र सचिवालयको कारणले मात्र राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई प्रभावित बनाउने कुरा सत्य हुन सक्दैन । नीतिगत रुपमा नै हुने घोटालाहरुमा परिवारका सदस्य र सचिवालयले गर्न सक्ने अवस्था नै रहँदैन । उच्चपदस्थ कर्मचारीहरु अथवा अख्तियारप्राप्त व्यक्तिहरुले नीति निर्माणमा प्रभाव पार्न सक्ने हुँदा यस्ता ठूल्ठूला घोटालाहरु राजनीतिक संरक्षणविना असम्भव हुन्छ ।

    नीतिगत रुपमा नै हुने घोटालाहरुमा परिवारका सदस्य र सचिवालयले गर्न सक्ने अवस्था नै रहँदैन । उच्चपदस्थ कर्मचारीहरु अथवा अख्तियारप्राप्त व्यक्तिहरुले नीति निर्माणमा प्रभाव पार्न सक्ने हुँदा यस्ता ठूल्ठूला घोटालाहरु राजनीतिक संरक्षणविना असम्भव हुन्छ ।

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान गर्ने भन्दै बनाइएको कार्यदलमार्फत नै यी ८७५ जना नेपाली अमेरिका छिरेको भए त कुनै विषय बाहिर आउने नै थिएन रहेछ । तर, राजनीतिक र प्रशासनिक व्यक्तिहरुले पचासौं लाख रकम त बुझिहाल्ने थियो । यसरी हेर्दा कार्यदल पनि बनेको र मान्छे पनि अमेरिका पुगेको हुन्थ्यो । तर, नक्कली भुटानी शरणार्थी पुगेको र उच्चपदस्थ व्यक्तिसहितको गिरोहले अर्बौं पैसा कुम्ल्याएको भने जनताले पत्तै पाउने थिएनन् । तसर्थ के भन्न सकिन्छ भने योभन्दा अगाडि अमेरिका पुग्नेहरु पनि सबै सक्कली भुटानी शरणार्थी हुनेमा शङ्का देखिन्छ । यो प्रकरण सतहमा नआएको भए पनि नीतिगत भ्रष्टाचार त हुने नै रहेछ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले २०२२ मा प्रकाशित गरेको प्रतिवेदनमा नेपाल ३४ अङ्कसहित १८० देशमध्ये ११० औं स्थानमा रहेको छ । जुन सुशासनको दृष्टिबाट निकै पछाडि हो । दक्षिण एसियामा समेत नेपाल धेरै भ्रष्टाचार हुने देशमा पर्छ । नेपाल वीरहरुको देशबाट विस्तारै भ्रष्टाचारीहरुको देश भनेर चिनिँदै गएको छ । सरकार र राज्यप्रति आमविश्वास गुमेको अवस्था छ । नेता र कर्मचारीलाई देख्दा नागरिकमा सम्मानको भावना पैदा हुन छाडिसकेको छ । यो राजनीतिक नेतृत्व र राज्यको लागि सकारात्मक विषय होइन र निराशाजनक अवस्था हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली उच्चपदस्थहरुको संलग्नता देखिएपछि अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वासमाथि प्रश्न उठ्ने कुरा एकातिर स्वाभाविकै देखिन्छ भने अर्कोतिर अमेरिका जान पाएपछि शरणार्थी बन्न पनि लाखौं रुपैयाँ तिर्न तयारहरुको मनस्थितिले राज्य व्यवस्थाको दर्दनाक चित्रण गरेको छ । राजनीतिक संरक्षणमा हुने यस्ता गतिविधिहरुले राजनीतिक पार्टीहरु नै फोहारी राजनीतिको कारखाना बन्ने खतरा पैदा भएको छ । यस्ता वर्तमान राजनीतिक क्रियाकलापले राजनीतिको स्थापित मूल्य, मान्यता र सिद्धान्तहरुलाई क्षयीकरण गर्न मद्दत गरिराखेको छ ।

    सरकार र सत्तामा पात्रहरु फेरिरहन्छन्, पार्टीहरु फेरिरहन्छन् र काण्डहरु पनि दोहोरिरहन्छन् । नयाँ व्यक्ति आए पनि पुरानै गलत धन्दाहरु पुनरावृत्ति भइरहन्छ । यहाँ भ्रष्टाचारसँग सम्बन्धित रहेर कार्य गर्ने अख्तियार प्राप्त संवैधानिक अंगहरु नभएका पनि होइनन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायहरुले अनियमिततालाई नियन्त्रण गर्न सकेको छैन । किनभने नियन्त्रण गर्न नसक्नुको कारण छ । ती संवैधानिक अंगहरुमा राजनीतिक भागबन्डाबाट आएका वफादार कार्यकर्ताहरु छन् । तिनले आफ्नो जिम्मेवारी पूरा गर्नतिर होइन कि नूनको सोझो गर्नतिर लाग्नुपर्ने बाध्यता छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले २०२२ मा प्रकाशित गरेको प्रतिवेदनमा नेपाल ३४ अङ्कसहित १८० देशमध्ये ११० औं स्थानमा रहेको छ । जुन सुशासनको दृष्टिबाट निकै पछाडि हो । दक्षिण एसियामा समेत नेपाल धेरै भ्रष्टाचार हुने देशमा पर्छ । नेपाल वीरहरुको देशबाट विस्तारै भ्रष्टाचारीहरुको देश भनेर चिनिँदै गएको छ ।

    मान्छे जन्मिने बित्तिकै भ्रष्टाचारी हुँदैन । तर, मान्छेलाई जबरजस्त भ्रष्टाचारी बनाउने वातावरण वर्तमान राजनीतिक प्रणाली, संरचना, संस्कृति र मूल्यहीन आडम्बरी आदर्शले गरिरहेको छ । होइन भने बारम्बार यस्ता प्रवृत्तिहरुको पुनरावृत्ति नहुनु पर्ने हो । अहिले गाउँगाउँमा सिंहदरबार पुगेको भनिएको छ । पुग्न त स्थानीय तहहरुमा धेरै अधिकार पुगेको सत्य हो र यो पनि सत्य हो कि सिंहदरबारको फोहोर गाउँगाउँमा पनि पुगेको छ । अनियमितता र बेरुजुको समस्याले स्थानीय सरकारहरु ग्रस्त भइरहेका छन् ।

    अनियमितता र भ्रष्टाचार आज एउटा संस्कार जस्तो बन्न पुगेको छ । स्रोत नखुलेका सम्पत्तिहरु कहाँबाट आयो भनेर समाजले प्रश्न गर्ने आँट गर्न नसक्ने, पैसा भएको मान्छेको नै मान प्रतिष्ठा भएको जस्तो भ्रम हुने, श्रममा बाँच्ने इमानदार व्यक्तिहरुलाई गुमनाम बनाउने, जीवनको सफलता र असफलतालाई पैसामा लगेर मूल्याङ्कन गर्ने जस्ता परिपाटीले पैसा र सम्पत्तिबाहेक सबै भ्रम हो भन्ने मूल्यको निर्माण गर्न खोजिँदैछ । जुन कुरा नेपाली समाजको लागि अभिशाप बनेको छ । राज्यको शक्तिशाली निकायमा मात्र भ्रष्टाचार होइन, अहिले जनताको घरघरमा यसको प्रभाव एक संस्कारको रुपमा विकास हुन पुगेको छ । एउटा चार-पाँच वर्षको बालकले एक लिटर दूध किन्न पठायो भने दश-बीस रुपैयाँको अनिवार्य आफूलाई मनपरेको चीज खाइहाल्छ । जसलाई हामी एउटा सामान्य प्रक्रियाको रुपमा स्वीकार गर्छौं । हामीले घरैबाट भ्रष्टाचार सिकिरहेका हुन्छौं अथवा सिकाइरहेका हुन्छौं ।

    अर्काे विषय हामीले अभ्यास गरेको लोकतान्त्रिक गणतन्त्र आवधिक र खर्चिलो निर्वाचन प्रणालीसँग सम्बन्धित छ । लोकतन्त्रमा सरकार र राजनीतिक पार्टीको वैधता आवधिक निर्वाचनमार्फत हुन्छ भन्ने मान्यताअनुसार प्रतिस्पर्धा अथवा निर्वाचनबाहेक अरु गौण हुन् भने जसरी एउटा निर्वाचनदेखि अर्काे निर्वाचनसम्मको प्रक्रियामा मात्र सीमित रहँदा भ्रष्टाचारका विषयहरु अगाडि आइरहेका छन् । अत्यधिक खर्चिलो निर्वाचन प्रणालीको कारण स्थानीय निकायको वडा, पालिका, महानगर हुँदै प्रदेश र संघको माननीय हुन आइपुग्दासम्म दशौं लाखदेखि बीसौं करोडसम्म खर्च हुने परिस्थितिको कारण पनि नसोचेका व्यक्तिहरु अख्तियार दुरुपयोग गरी कालो धन जम्मा गर्न उद्यत देखिन्छन् ।

    अहिले गाउँगाउँमा सिंहदरबार पुगेको भनिएको छ । पुग्न त स्थानीय तहहरुमा धेरै अधिकार पुगेको सत्य हो र यो पनि सत्य हो कि सिंहदरबारको फोहोर गाउँगाउँमा पनि पुगेको छ । अनियमितता र बेरुजुको समस्याले स्थानीय सरकारहरु ग्रस्त भइरहेका छन् ।

    यही प्रणाली र संरचनाभित्र राजनीतिमिा टिकिराख्न व्यक्तिहरुले गलत कार्यमा संलग्न हुन पर्ने परिस्थितिको सृजना भएको देखिन्छ । किनकि आजीवन गरिने राजनीतिमा एक दशक, दुई दशक वा तीन दशक टिकेरमात्र नहुने भयो र जीवनभर टिक्न जीवनभर आर्थिक संकलन गरिराख्न पर्ने भयो । यसले गर्दा राजनीतिक पार्टीहरु र त्यसको नेतृत्व कुनै न कुनै तरिकाबाट आर्थिक प्रभावमा पर्ने गरेको देखिन्छ । यसमा कर्मचारीतन्त्र पनि सहयोगीको भूमिकामा देखिँदै आएको छ । सरुवा बढुवामा देखिने चलखेलदेखि सुरक्षा निकायका अफिसरहरु र कर्मचारी संयन्त्रबाट अवकास प्राप्त विशिष्ट श्रेणीका व्यक्तिहरुको राजनीतिप्रतिको आकर्षणले पनि के मान्छे सेवाकै लागि मात्र राजनीतिमा प्रवेश गर्छ भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जिएको छ ।

    राज्यको शासकीय र प्रशासनिक संरचना निकै प्रक्रियामुखी हुने र कुनै विवादास्पद अथवा शङ्कास्पद विषयको अनुसन्धानमा वर्षौंवर्ष लाग्ने हुनाले निर्णयको अन्तिम रुप आउँदासम्म सम्बन्धित विषय गौण भइसक्ने तीतो सत्य पनि हाम्रासामु छ भने अनुसन्धानमा निष्पक्षताको प्रश्न पनि त्यतिकै महत्वपूर्ण विषय छ । आजसम्मका ठूल्ठूला घोटालाहरुमा राजनीतिक नेतृत्व जोगिएको र कर्मचारी प्रशासनका सीमित व्यक्तिहरुमात्र कारबाहीको दायरामा आएको इतिहास पटकपटकको घटनाक्रमले पुष्टि गरेको छ ।

    अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि बिचौलियासहित नीति निर्माणको तहमा रहेका भीआईपी भनिनेहरु कोही पक्राउ परेका छन् त कोही फरार भएका छन् । कोही अनुसन्धानको क्रममा तानिनेवाला छन् । वर्तमान सरकारले लिएको यो कदमप्रति सकारात्मक नै मान्नुपर्दछ । तर, यसले राजनीति वृत्तमा तरङ्गित र आरोपप्रत्यारोपको वातावरण सृजना गर्न पुगेको छ । सबै आआफ्ना मान्छे जोगाउनलाई लागिपरेकै छन् ।

    मुद्दाको अन्तसम्म पुग्दा केही जेल चलान होलान्, केहीले सफाइ पनि पाउलान्, कसैको राजनीतिक र सामाजिक जीवन नै समाप्त पनि होला । तर, के भ्रष्टाचार र कालो धन्दाको अन्त्य हुन्छ ? यो प्रवृत्तिको पुनरावृत्ति समाप्त हुन्छ ? सहजै भन्न सकिन्छ, हुँदैन । किनभने आजको राजनीतिक प्रणाली, राजनीतिक संस्कार, राज्य संयन्त्रका इकाइहरु, भौतिक सम्पत्तिप्रतिको अत्यधिक मोह र व्यक्तिगत सफलता र समृद्धिको गलत परिभाषाको कारण यही प्रक्रियाभित्र कुशासन र अनियमितताको समाप्ति असम्भव छ । यति हदसम्म भइसकेपछि प्रणालीले नै भ्रष्टाचारी जन्माएको छ भनेर भन्न किन नपाउने ? तसर्थ स्थायित्व, विकास, सुशासन र समृद्धिको लागि व्यवस्थामा, संरचनामा, प्रतिस्पर्धामा, जिम्मेवारीमा नयाँ र सार्थक बहसको जरुरी भएको छ ।

  • (अ)सामाजिक सञ्जालको गुलाम

    (अ)सामाजिक सञ्जालको गुलाम

    झट्ट हेर्दा राम्रो देखिने तर हामीलाई भित्रभित्रै एक्लो (असामाजिक) बनाउने जाल हो सामाजिक सञ्जाल । नाममा सामाजिक मिसिए पनि यसले हामीलाई कतिसम्म असामाजिक बनाएको छ भन्ने कुरा बुझ्न हामी धेरै टाढा जानुपर्दैन । बरु प्राणवायु (अक्सिजन)विना जीवन कल्पना होला । तर, सामाजिक सञ्जाल अझै मोबाइलविनाको जीवन कल्पना बाहिरको संसार जस्तो भैसकेछ मोबाइल फोबिया भएकाहरुलाई । यति असामाजिक चिजलाई पनि कसले सामाजिक भनेर नामकरण गर्‍यो भन्ने कुरामा पटक पटक सोच्न बाध्य बनाउँछ । सायद सामाजिक सञ्जालको उद्देश्य मान्छेलाई सामाजिक बनाउनु नै थियो होला । तर, अहिले हेर्दा मान्छेलाई मान्छेभन्दा टाढा राख्ने भाँडो भन्दा फरक नपर्ला !

    कसरी फस्छाैं हामी ?

    हामी सामाजिक सञ्जालमा यसरी फस्नुको पछाडि केवल हाम्रो दोष छैन भन्दा अचम्म लाग्न पनि सक्छ । तर, यो सत्य हो । किनकि हामी र हाम्रो ध्यानलाई त्यतातिर मात्रै तान्न विभिन्न कम्पनीहरुको ठूलो लगानी रहेको हुन्छ । जसमा उनीहरुले विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई राखेर काम गरिरहेका हुन्छन् । ती विशेषज्ञहरुले हामी प्रयोगकर्ताहरुलाई उनीहरुकै साइटमा मात्रै ध्यान केन्द्रित होस् भनेर काम गरिरहेका हुन्छन् । अर्को कारण हो, हाम्रो मान्छेको मनोविज्ञान । हाम्रो मन चाहिं जुन चिजमा क्षणिक आनन्द आउँछ, त्यही चिजमात्रै गर्न खोज्ने हुन्छ । चाहे त्यो कुराले भविष्यमा आफ्नो लागि लाभहानी जे गरोस्, हेक्का नै नराखी त्यही काममात्र गर्ने बानीले गर्दा पनि हाम्रो मनलाई उनीहरुले सजिलैसँग नियन्त्रण गर्छन् ।

    अहिलेको समयमा बरु अरु चिजको लतमा नपरेको मान्छे सहजै भेटिएला । तर, यो सामाजिक सञ्जालको लत नलागेका मान्छे हरु सायदै भेटिएलान् । चाहे त्यो बालबालिका र वृद्धवृद्धा नै किन नहोऊन्, कुनै न कुनै रुपले सबै फसेकै देखिन्छ । बालबालिकामा त झन यो लत यति हावी भैसकेको छ कि उनीहरुलाई खाना खुवाउन पनि मोबाइलकै सहारा लिनुपर्छ । यस्तो नहोस् पनि कसरी ? जबकि अहिलेका शिक्षित भनिएका अभिभावकहरु पनि घरमा भएको बेलामा घर र परिवारलाई समय दिनुको साटो आआफ्नो मोबाइलमै व्यस्त हुन्छन् । अनि बच्चाले सिकोस् के ? सार्वजनिक स्थानमा बस्दा होस् या, अन्य कुनै लाइनमा बस्दा होस् या साथीभाइसँग बस्दा नै किन नहोस् एक न एक चोटी मोबाइल नहेरी वा नछोइ बस्यो भने उसको अवचेतन मनमा एक चोटी घन्टी बजिसक्छ । मोबाइल छुन नपाउँदाको पीडा त प्रेमीप्रेमिकासँग भेट्न नपाएको प्रेमीप्रेमिकाको जस्तो हुन्छ । युवा पुस्तामाझ बढी लोकप्रिय भए पनि यसले बालबालिकादेखि वृद्धवृद्धा कसैलाई पनि नछोडेको कुरा त दोहोराइरहनु पर्दैन । एउटा भनाइ प्रचलित नै छ, पहिले घरमा कोही पाहुना आउँदा हालखबर सोधिन्थ्यो भने आजभोलि वाइफाइको पासवर्ड सोधिन्छ । सामाजिक सञ्जालले टाढा भएकाहरुलाई नजिक बनाए पनि नजिक भएकाहरुलाई टाढा बनाएको पत्तै नहुने अवस्था आइसक्यो ।

    यति असामाजिक चिजलाई पनि कसले सामाजिक भनेर नामकरण गर्‍यो भन्ने कुरामा पटक पटक सोच्न बाध्य बनाउँछ । सायद सामाजिक सञ्जालको उद्देश्य मान्छेलाई सामाजिक बनाउनु नै थियो होला । तर, अहिले हेर्दा मान्छेलाई मान्छेभन्दा टाढा राख्ने भाँडो भन्दा फरक नपर्ला !

    कसरी आउने बाहिर ?

    कुनै पनि कुरा छोड्छु भनेर मात्रै छोडिने भए त मादकपदार्थ सेवन गर्ने व्यक्ति पनि यो संसारमा कमै हुन्थे । किनकि ‘भोलिदेखि त पक्का पिउँदिनँ’ भनेर कसम खानेहरु भोलि फेरि त्यही भट्टीमा भेटिन्छन् । त्यस्तै सामाजिक सञ्जालको पनि कथा उही हो । भोलिदेखि चलाउन छोड्छु भन्दाभन्दै झन बढी चलाउँछन् । उसो भए के कुनै पनि बानी र लत छोड्न सकिन्न त ? त्यस्तो कदापि हुँदैन ।

    कुनै पनि कुरा छोड्न हामीले सामान्यतया हाम्रो मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरो बुझ्नुपर्छ । हाम्रो मनले हामीसँग त्यही काम गराउँछ, जसमा मजा आउँछ । तर, त्यही मजाले पछि दीर्घकालमा दुःख दिन्छ भन्ने कुरा मनलाई थाहा हुँदैन । उसो भए गर्ने के त ? त्यसको लागि हामीले आफ्नो बुद्धिको प्रयोग गर्नुपर्छ । हामीले सबैभन्दा पहिले यो कुरा बुझ्नुपर्छ कि हाम्रो मस्तिष्कले प्रतिस्थापनको सिद्धान्तमा काम गर्छ । अर्थात हामीले कुनै चिज छोड्नु भन्दा पनि कुनै नयाँ कुरामा बानी बसाल्न सकेनौं भने हामीले जति मेहनत गरे पनि जहाँको त्यही भइन्छ । त्यसबाट हामीले गरेको मेहनत खेर जान्छ ।

    एउटा उदाहरणबाट बुझौंः हामीलाई साइकलको लतबाट बाहिर आउनु छ भने मोटरसाइकलको बानी बसाल्न थाल्नुपर्छ । जसले साइकलको लत आफैं छुट्दै जान्छ । यसको सीधा अर्थ हो, हाम्रो जीवनमा कुनै पनि लतभन्दा ठूलो लक्ष्य छैन भने हामीले जति मेहनत गरे पनि सफल हुँदैनौं । यदि तपाईंको जीवनको लक्ष्य सामाजिक सञ्जालको लतभन्दा पनि ठूलो छ भने तपाईं चाहेर पनि त्यसको गुलाम भएर बस्न सक्नुहुन्न । अथवा कसैले तपाईंलाई चाहेर पनि फसाउन सक्दैन ।

    नकारात्मक पक्ष

    १) कमजोर सामाजिक सम्बन्ध : हामी सामाजिक प्राणी भए तापनि समाजमा भन्दा पनि मोबाइलको सामिप्यमा बस्ने भएकाले हाम्रा सामाजिक सम्बन्ध कमजोर भएका छन् ।

    २) खराब स्वास्थ्य : हाम्रो शरीर सामान्यतया हिँडडुल गर्न बनेको भए पनि बढ्दो सामाजिक सञ्जालको प्रयोगले गर्दा एकै ठाउँमा बसिरहने गर्छौं । जसले गर्दा हाम्रो ढाड, घाँटीलगायत शरीरका अन्य भागमा जस्तैः आँखा र टाउको दुख्ने समस्या बढ्दै जान्छ ।

    हाम्रो ध्यानलाई त्यतातिर मात्रै तान्न विभिन्न कम्पनीहरुको ठूलो लगानी रहेको हुन्छ । जसमा उनीहरुले विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई राखेर काम गरिरहेका हुन्छन् । ती विशेषज्ञहरुले हामी प्रयोगकर्ताहरुलाई उनीहरुकै साइटमा मात्रै ध्यान केन्द्रित होस् भनेर काम गरिरहेका हुन्छन् ।

    ३) मानसिक चिन्ता : सामाजिक सञ्जाल र यसमा आउने कन्टेन्टहरुले गर्दा अनावश्यक रुपमा मान्छेको अवचेतन मनमा नराम्रो छाप छोड्छ । जसले गर्दा मानसिक चिन्ता बढ्छ । जसको असर शरीरमा पनि देखिने गर्छ । यसको माध्यमबाट हुने अपराधबाट पनि मान्छेहरु अछुतो छैनन् ।

    सकारात्मक पक्ष

    यसका नकारात्मक पक्ष धेरै भयङ्कर भए पनि सकारात्मक पक्ष पनि उत्तिकै शक्तिशाली छन्ः

    १) सम्भावना : बढ्दो प्रविधिको प्रयोगले गर्दा सूचना आदानप्रदानदेखि अन्य विभिन्न कुराहरुसम्ममा एउटा महत्वपूर्ण भूमिका खेलेको छ । हामीले यसको भरपुर फाइदा उठाएर यसलाई आफ्नो आम्दानीको स्रोत पनि बनाउन सकिन्छ ।

    २) कम खर्चिलो र समयको बचत : हामीले गर्ने व्यापार र व्यवसायलाई डिजिटल रुपमा गर्दा अरुको तुलनामा कम खर्चिलो हुन्छ र धेरैसामु पुग्न सकिन्छ । यसले समयको बचत हुन्छ ।

    ३) सिक्ने स्रोत : हामीले इन्टरनेटको माध्यमबाट सजिलै जुनसुकै कुरा पनि सजिलै खोज्न र त्यसको सही तथ्य फेला पार्न सक्छौं ।

    सकारात्मक र नकारात्मक पक्ष जे जस्ता भए पनि हामीले यसको सही सदुपयोग गर्न सक्यौं भने पक्कै पनि यसबाट लाभान्वित हुनेछौं । सामाजिक सञ्जाल वास्तवमै सामाजिक बनोस् र यसलाई सही तरिकाले प्रयोग गरी टाढा भएकालाई नजिक बनाए जस्तै नजिक भएकालाई पनि झन नजिक बनाउन हामी सबैले पहल गर्नुपर्छ ।

    सामाजिक सञ्जाल र यसमा आउने कन्टेन्टहरुले गर्दा अनावश्यक रुपमा मान्छेको अवचेतन मनमा नराम्रो छाप छोड्छ । जसले गर्दा मानसिक चिन्ता बढ्छ । जसको असर शरीरमा पनि देखिने गर्छ । यसको माध्यमबाट हुने अपराधबाट पनि मान्छेहरु अछुतो छैनन् ।

  • मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

    मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

    सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मिएकी म । मेरो बालापन भने भारतको उत्तराखण्डस्थित पिथौरागड जिल्लामा बित्यो । सानोमा आफ्नो हजुरबुवा र हजुरआमासँग बसेकाले होला म रेडियोतिर निकै आकर्षित थिएँ । उहाँहरु धेरै नै रेडियो सुन्नुहुन्थ्यो । म त्यही हुन्थें, अनि रेडियो सुन्दै गर्दा मनमा विभिन्न प्रश्नहरु आउँथे । यति सानो डब्बाभित्र कसरी मान्छे अटाएको होला भनेर जान्न मन लाग्थ्यो । म पनि यसरी बोल्न सकुँला र भन्ने सोचहरु आउँथे ।

    समय बित्दै गयो । म ६ कक्षामा पुगें । त्यसपछि आफूसँगै बसाएर छोरीको पढाइ राम्रो होला भनेर बुवाले आफू भएकै ठाउँमा अर्थात कञ्चनपुर लिएर आउनुभयो । जिल्ला सदरमुकाममै बसेर मेरो बाँकी अध्ययन सुरु भयो । सानैबाट मलाई धेरै अतिरिक्त क्रियाकलापहरु गर्न मन हुन्थ्यो । सधैंजसो नयाँ कुरा सिक्न आतुर हुन्थें । समय बित्दै जाँदा कञ्चनपुरमै मैले १२ कक्षाको परीक्षा दिएँ । र, त्यही रिजल्ट आउन पर्खनुपर्ने ३ महिनाको अन्तरालमा परिवारले ‘त्यो फिल्ड छोरी मान्छेका लागि ठीक छैन’ भनी विरोध गरिरहँदा पनि पत्रकारिताको यात्रा तय गरें ।

    आफू सही भए कसले के गर्छ भनेर त्यहाँको स्थानीय ‘रेडियो कञ्चनपुर’बाट काम सिक्ने रहर मैले पूरा गरें । त्यही बोल्ने र कार्यक्रम चलाउने रहर पूरा हुन थालेको थियो । त्यो समय आजभन्दा ठीक ५ वर्षअघिको थियो ।

    त्यही क्रममा विस्तारै पत्रकारिताको परिभाषा बुझें । यसबाट के उपलब्धि हुन्छ भन्ने थाहा पाएर म झनैपत्रकारितामा आकर्षित भएँ । अब यसलाई नै पेशा बनाउँछु भनेर म लागिपरें । नेपाली टाइपदेखि लिएर समाचार लेखन, स्टोरी तथा आर्टिकल लेख्न सिकें । कुनै समाचारमा आफ्नो बाइलाइन देख्दा मन हुरुक्कै हुन्थ्यो । अझ केही विशेष समाचारलाई अरु भन्दा पहिले नै लेखेर प्रकाशन गर्न पाए आनन्द लाग्थ्यो । सधैं केही तार्किक कार्य गर्छु, आमाबाबाद्वारा सजाइएका ती सपनाका तस्बिरलाई वास्तविक विपना बनाइदिन्छु । समाजमा कद उच्च राखी कसैको प्रेरक बन्नेछु । सिकून् न केही ! फलानाको छोरीबाट भन्ने थेगो ममा थियो । म त्यो स्थान स्थापित गर्न चाहन्थे ।

    मैले हार मानेको छु । यहाँ केही गर्छु भनेर आँट गर्नेलाई बारम्बार लडाइन्छ । यतिसम्म कि मर्नसम्म बाध्य गराइन्छ । लक्ष्यलाई सजाउँदा जीवनमा सपना देख्नु र त्यसको यसै अवसान हुनु कतिसम्मको दुःखाइ महसुस हुन्छ, हामी कति बेला कल्पना पनि गर्न सक्दैनौं ।

    तर, आज आएर म सकिरहेकी छैन । मैले हार मानेको छु । यहाँ केही गर्छु भनेर आँट गर्नेलाई बारम्बार लडाइन्छ । यतिसम्म कि मर्नसम्म बाध्य गराइन्छ । लक्ष्यलाई सजाउँदा जीवनमा सपना देख्नु र त्यसको यसै अवसान हुनु कतिसम्मको दुःखाइ महसुस हुन्छ, हामी कति बेला कल्पना पनि गर्न सक्दैनौं । खैर, केही क्षणका लागि सबै छोडेर आफ्नो यात्रा अर्कै बाटो तय गरी हिँड्न खोज्दा पनि समाजका केही कलंकहरु हिँड्नै दिँदैनन् ।

    पहिलो घटना

    रेडियो पत्रकारिता गर्दै जाँदा म सुदूरपश्चिम प्रदेशकै पहिलो रङ्गीन पत्रिका पश्चिम टुडे र रेडियो पश्चिम टुडमा आवद्ध भएँ । पश्चिम टुडेको टीम एकदमै राम्रो थियो । सबैजना सहयोगी थिए । तर, त्यसमा एकजना डेस्कमा काम गर्ने थिए । उनी समाचार अनलाइनमा अपडेट गर्न नमान्ने र ‘आई लभ यू’ भन अनि पोष्ट गर्छु भनेर मेसेज गर्थे ।

    त्यो कुरा सहनै सकिएन । दिनभरि घामपानी, भोकप्यास केही नभनी दुर्गमका गाउँ गएर रिपोर्टिङ गर्नुछ । फेरि समाचार डेस्कबाट त्यस्तो कुरा सुन्दा रिस उठ्यो । मैले उसका मेसेजको स्क्रिनसट गरेर न्यूज टीमको ग्रुपमै पठाएँ । त्यहाँ मैले पश्चिम टुडेका मालिक दीर्घराज उपाध्याय सरको साथ पाएँ । त्यसपछि ती व्यक्तिले माफी मागे । उनलाई त्यहाँबाट निकाल्ने कि के गर्ने भनेर दीर्घराज सरले मलाई सोध्नुभयो । मैले पहिलो गल्ती माफ गरौं सर भनें । त्यसपछि त्यो सबै भुलेर कामलाई निरन्तरता दिएँ ।

    दोस्रो घटना

    २०७६ सालको संविधान दिवसमा जिल्लाकै बेदकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा त्यहाँका नगर प्रमुखकै आग्रहमा मैले गजल वाचन गरेकी थिएँ । त्यो गजलको भिडियो मैले दाइ भनेर सम्बोधन गर्ने एक टेलिभिजनका पत्रकारले क्यामेरामा कैद गरेका थिए ।

    कार्यक्रम सकेर घर फर्केपछि मैले उनीसँग भिडियो मागें । उनले साइज ठूलो भएकाले भोलिपल्ट पेनड्राइभ लिएर कार्यालयमा आउन आग्रह गरे । मैले सजिलै हस् भनें । डराउनुपर्ने कारण थिएन । पत्रकार समाजको चौथो अंग अनि दाइ भनेर सम्बोधन गरे पनि उनी बुवाकै उमेरका थिए ।

    भोलिपल्ट बिहान त्यही अफिस टाइममा उक्त टेलिभिजनको कार्यालयमा भिडियो लिन गएँ । भिडियो डेस्कटपमा राखेको थियो । उनले कपी गर म काम गर्दैछु भनेर मोबाइल चलाइरहे ।

    ठ्याक्क कुर्सीमा बसेर माउस समात्ने बेला उनले आएर त्यही हात समाए र किस गर्ने आँट गरे । जिल्लामा केही समयअघि निर्मला पन्तको भयानक घटना घटेकाले म निकै डराएँ । उसको गलत नियत थाहा पाएर म त्यहाँबाट भिडियो नलिएरै भागें ।

    पुरुष कतिसम्म निच हुँदा रहेछन् भनेर त्यो घटनाले सिकायो । त्यसपछि म सधैं सावधान हुन खोजें । तर, त्यो घटनाबारे घरमा भन्न डराएँ । किनकि पत्रकारिता मेरो आफ्नो रोजाइ थियो । जिल्लामा हुँदा घटेका यी दुवै घटनाबारे मैले कसैलाई नभनेको भने होइन ।

    जसलाई भोगेका कुरा भनेको थिएँ, उनीहरुले पनि कुनै सल्लाह दिएनन् । जसको सजाय अहिलेसम्म भोगिरहेकी छु । आजसम्म सहेर बसेकी थिएँ । तर, मेरो घरैसम्म उल्टै कुरा लाउन थालेपछि अहिले असह्य भएर यो कथा लेख्दैछु ।

    त्यहाँका सिनियर पत्रकारलाई मैले शेयर गरें । उनीहरुले मेरो मुख अगाडि मात्रै त्यो मान्छे घटिया हो भनेर मेरो चित्त बुझाउन खोजे । तर, तिनै मान्छेलाई ‘इन्दुले तँलाई यस्तो भनेर बदनाम गर्दैछ’ भनेर उल्टै उनीहरुको कान भरेछन् ।

    उमेरले सानै भएकाले अब कस्तो कदम चाल्ने भनेर मैले भेउ पाइनँ । जसलाई भोगेका कुरा भनेको थिएँ, उनीहरुले पनि कुनै सल्लाह दिएनन् । जसको सजाय अहिलेसम्म भोगिरहेकी छु । आजसम्म सहेर बसेकी थिएँ । तर, मेरो घरैसम्म उल्टै कुरा लाउन थालेपछि अहिले असह्य भएर यो कथा लेख्दैछु ।

    ती पत्रकारले मेरो बदनाम गरिस् भने ठीक हुँदैन भनेर मलाई महेन्द्रनगरमा दुई वर्ष अगाडि अर्का पत्रकारकै अगाडि धम्की दिएको थियो ।

    तिमीलाई कञ्चनपुरमा बस्न नसक्ने बनाउँछु भनेपछि म डराएँ । यो सब झमेलाबाट टाढिनुपर्छ भनेर मैले काठमाडौंको यात्रा तय गरें ।

    तेस्रो घटना

    कञ्चनपुरको बसाइ बिट मारेपछि म संघीय राजधानी छिरें । ठ्याक्कै ग्यालेक्सी टेलिभिजन खुल्ने तयारी भइरहँदा विभिन्न अनलाइन मिडियाले ग्यालेक्सीसँग समय मागेर आफ्नो कार्यक्रम चलाउने निर्णय गरेको थियो ।

    जसमा मैले जिल्लाबाट काम गर्दै आएको नेपाली पत्रिकाले पनि ‘ग्यालेक्सी दिस मर्निङ सो’ बिहान ४ घण्टा समय लिएर चलाउने निर्णय गरेको रहेछ ।

    पुरानै स्टाफ भएकाले होला ‘तपाईंको लेखाइ राम्रो छ इन्दु, हामीलाई काठमाडौं डेस्कमै कन्टेन्ट राइटर आवश्यकता छ’ भनेर अवसर दिइयो ।

    त्यही आधारमा काठमाडौं आउने मेरो योजना पक्का भएको थियो । अरु कर्मचारीभन्दा बढी तलब दिएर मलाई ग्यालेक्सी दिस मर्निङ सो चलाउने टीमका प्रबन्धक राज हुमागाईंले बोलाए ।

    त्यहाँ काम गर्दै जाँदा एकदिन राज हुमागाईंले कार्यालयभित्रैको स्टाफ रुममा एक्लै भएको बेला त्यहाँकै एक कर्मचारीसँग बिहे गर्ने भनेर बोलाएको हो भन्ने कुरा गरे ।

    जब कि मेरो त्यस्तो कुरै भएको थिएन । ती व्यक्ति कञ्चनपुरकै थिए । उनी राज हुमागाईंसँग एउटै फ्ल्याटमा बस्दै आएका थिए । ती व्यक्तिसँग मैले त्यो विषयमा प्रश्न गर्दा केही जवाफ आएन । मैले त्यहाँ बस्न उचित मानिनँ र राजीनामा बुझाएँ । तर, न्यूज टीमको ग्रुपमा उनीहरुको वास्तविक रुप सबैले थाहा पाउन भनेर मेसेज छाडें ।

    यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो ।

    मेरा जीवनमा यस्ता किसिमका हिंसाका घटनाक्रम भने निरन्तर चलिरह्यो । उमेरले सानी सोचेर होला, धेरै पुरुषले बेलाबेला बुझ्न खोजिरहे । दाइ भन्दै आएका एकजना महेन्द्रनगरकै क्राइम रिपोर्टर पनि त्यही त्यही प्रवृत्तिका पुरुषमा गनिन्छन् ।

    उसले पनि ‘म तिमीलाई बेबी भन्छु है’ भन्दै गलत व्यह‍ोरा देखाइरह्यो । मैले यी सबैसँग केही गर्न नसकेपछि सबैलाई फेसबुकमा ब्लक गरेको छु ।

    आफ्ना आफन्त भनाउँदाहरूको डरले कहिल्यै बोल्ने हिम्मत गरिनँ । तर, म काठमाडौंमा आफ्नो काम गरिरहँदा पनि जिल्लामा तिनीहरुले आफूलाई सही र मलाई गलत सावित गराउन मेरोबारेमा दुष्प्रचार गरेको कुरा आफन्त र साथीहरुबाट सुनिन्छ । त्यसले मानसिक तनाव हुन्छ । अझै घरका मान्छेले वास्तविकता नबुझेर रिसाइकराइ गर्ने व्यवहार सही नसक्नु हुन्छ । जसकै कारण म माइग्रेनको शिकार हुन पुगेकी छु ।

    यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो । अझै मैले त यो क्षेत्रमा अग्रज मानिएका आफ्नै क्षेत्रका दिदी पत्रकारबाट सहयोग पाउनुको सट्टा थेग्नै नसक्ने याताना भोगिरहेकी छु । यति भन्दै गर्दा धेरैलाई आफैंलाई तोकेर गाली गरे जस्तो लाग्न सक्छ । मैले यो फिल्ड छाडेर जिन्दगीको बाटो अन्त मोड्दै गर्दा यी कुरा सबैले थाहा पाउन जरुरी छ भन्ने लाग्यो ।

    यो क्षेत्रमा संघर्ष गरेर स्थापित हुनै लाग्दा सबैभन्दा नजिकबाट कसैले असहयोग गर्छ भने ती सहकर्मी नै हुन्् । असहयोग पनि कामको दक्षतासँग जोडेर होइन, चरित्र हत्या गरेर ।

    फलानोसँग त्यसको राम्रो सम्बन्ध छ । योसँग हिँड्छे । यो सँग बस्छे । फलानो त त्योसँग बोल्छे । यी यस्ता कुरामा चरित्रका हजार अनावश्यक प्रसंग जोडेर ‘रक्सी गफ’ बनाइन्छ ।

    अफवाहका रूपमा फैलिएका कुराबारे कति जनालाई स्पष्टीकरण दिँदै हिँड्ने ? कि पत्रकार महिलाले कहाँ जाँदैछु, कोसँग जाँदैछु भन्ने कुरा सबै पुरुष पत्रकारलाई जानकारी गराउनुपर्ने हो ?

    सामान्य स्तरका मान्छे, नपढेका अनि केही नबुझेकाहरुले त्यस्तो टिप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरूको हैसियत बुद्धिजीवी रे !

    आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह, यसको लेखाइ भनून् । तर, हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने ! कस्तो नियतिबाट गुज्रिरहेका छौं हामी ।

    त्यतिमात्रै होइन जुन सञ्चारकर्मी महिला मिडिया हाउसका मालिक वा सिनियर मालिकसँग नजिक भइनन् उनीहरुले निकै दुःख पाउँछन् । स्टुडियोभित्रै नचाहिने हर्कतसम्म गरेका उदाहरण हामीसँग छ ।

    जुन पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन्, उनले यस्ता हर्कतको विरोध गरे जागिरबाटै हात धुनुपर्छ । इज्जत लिलामी गरेर मैले पत्रकारिता गर्न सकिनँ र छोडें । यतिसम्मका हर्कत गर्नेहरुको नाम मैले यही आटिर्कलमा नै मेन्सन गर्छु भनेर लेखेकी पनि थिएँ । तर, उनीहरुले मलाई देखाएको घीनलाग्दो व्यवहारको मसँग सबुत प्रमाण छैन । कानूनले प्रमाण माग्छ । म अहिले कागजी प्रमाण जुटाउन सक्ने अवस्थामा छैन । मैले अहिले कसैको साथ पाएकी छैन । तर, मैले भोगेको यातनामा कुनै कानून आकर्षित हुन्छ भने म तिनीहरूको नामै लिएर कानूनी लडाइँ लड्न तयार छु । मलाई सहयोग चाहिएको छ ।

    जसले आफू अनुकूल प्रयोग गर्न खोज्यो, उसले भने जस्तै गर्‍यो भने राम्रो नत्र चरित्रहीन ?

    अनि समाज यस्तो छ नि, महिलासँग जोडिएका हल्ला फैलाउने पुरुष हुन्छन् । अनि ‘होइन’ प्रमाणित गर्नुपर्ने चाहिँ स्वयं महिलाले । आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह, यसको लेखाइ भनून् । तर, हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने ! कस्तो नियतिबाट गुज्रिरहेका छौं हामी ।

    मैले पत्रकारितामात्रै छोडेकी छैन, आफ्नो सपनाको, भविष्यको समेत हत्या गरेर यो क्षेत्रबाट बाहिर निस्केकी छु । म अहिले मानसिक रुपमा गलेकी छु, थाकेकी छु । मैले आफ्नै घरमा विद्रोह गरेर रोजेको पेशा छोडेकी छु । म एक पटक फेरि उठ्नेछु, संघर्षको मैदानमा फेरि उभिनेछु । म थाकेकी हुँ, हरेस अझै खाएकी छैन । तर, यात्रा भने पत्रकारिताभन्दा अन्तै कतै हुनेछ । मेरो कलिलो मानसिकतालाई दुरुपयोग गरेर आफू अनुकूल प्रयोग गर्न खोज्ने र मेरा सपनाको हत्यारा कथित पत्रकारलाई मेरो आँसुले सराप्नेछ ।

    मेलै नराम्रो विगत सम्झेर भुल्न खोज्दा पनि फेरि घुमिफिरी आइरहने ती घटनाका छालहरुले मेरो मन सधैं बेचैन हुन्छ । केही नयाँ गर्न खोज्दा पनि तिनै कुराले छोपिरहन्छन् ।

    (कञ्चनपुरकी पत्रकार इन्दु धामीको ब्लग उनको व्यक्तिगत भोगाइ हो ।)

  • काठमाडौंको ट्राफिक जाम : चुनौती र व्यवस्थापन

    काठमाडौंको ट्राफिक जाम : चुनौती र व्यवस्थापन

    काठमाडौं उपत्यकाभरी साना ठूला गरेर २००० कि.मी सडक सञ्जाल छ । काठमाडौंको औसत जनसङ्ख्या ४० लाख हुँदै गर्दा देशभरी ४० लाख सवारी साधन दर्ता भएको यातायात व्यवस्थाको पछिल्लो तथ्याङ्कले बताउँछ । जसमध्ये ३८ प्रतिशत सवारीसाधनहरू काठमाडौंभित्र सञ्चालनमा छन् । उक्त १६ लाख सवारी मध्ये ८० प्रतिशत (अन्दाजी १२ लाख ८० हजार) दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा छन् । अझ अस्थायी रूपमा काठमाडौँ भित्रिने निजी तथा सार्वजनिक सवारीको हिसाब हुने भए काठमाडौंको सवारी तथ्याङ्क बढ्छ ।

    समग्रमा सवारीसाधन वृद्धि र सडक सञ्जालको वृद्धि अनुपात नमिल्नु, काठमाडौंको ट्राफिक जामको प्रमुख समस्या रहेको देखिन्छ । तर वर्तमान अवस्थामा काठमाडौंमा सडक सञ्जाल विस्तार प्रक्रिया अलि झन्झटिलो र खर्चिलो हुन्छ । यो भन्दैमा काठमाडौंको ट्राफिक जामको समस्या समाधान नहुने भन्ने चाहिँ हैन । यसै सन्दर्भमा उक्त समस्याको वर्तमान अवस्था, समस्याका प्रमुख कारणहरू, अल्पकालीन र दीर्घकालीन समाधानहरूको चर्चा गरौँ ।

    वर्तमान अवस्था

    काठमाडौं महानगरको मात्र हैन, देशभरिकै सार्वजनिक सवारीसाधन प्रयोग गर्न सर्वसाधारणलाई सधैँ कष्टकर नै छ । अझै काठमाडौंको सार्वजनिक सवारी प्रयोग गर्नलाई ठूलो चुनौती सामना गर्नुपर्छ । यात्रु चढाउने र ओराल्ने ठाउँमा ठूलो भिडभाडबिच आफू चढ्ने सवारी पहिचान गरी, गन्तव्यमा पुगेर उत्रिन मानिसहरूलाई हम्मे हम्मे पर्छ ।

    असहज, अव्यवस्थित र असुरक्षा हिजो आज सार्वजनिक यातायातको पहिचान नै भइसकेको छ। कुनै एक मात्र सार्वजनिक सवारीको कुरा नगरी समग्र काठमाडौंको यातायात संयन्त्रको कुरा गर्दा निकै कहालीलाग्दो छ । २-४ कि.मि बाटो तय गर्न कहिले काहीँ १/२ घण्टा नै लाग्छ । एउटा कर्मचारी कार्यालय समयमा आफ्नो कार्यालय पुग्न र फर्किन घन्टौँ लाग्छ । दैनिक रूपमा प्रत्येक व्यक्तिको उपलब्धिमूलक समय ट्राफिक जाममा नै खर्च हुँदा समग्र राष्ट्रलाई कतिसम्मको घाटा हुन्छ हामी यसलाई हिसाब नै गर्दैनौ ।

    वर्तमान ट्राफिक अवस्थाका प्रमुख कारणहरू ।

    काठमाडौं सुन्दर सहर हो । अव्यवस्थित सहरीकरणले यसलाई समस्या नै समस्याको सहर बनाइसकेको छ । सहरको भित्री भागमा ठुलो मात्रामा सवारी आवत जावत हुने संघ–संस्था जस्तै त्रिचन्द्र क्याम्पस, सिभिल मल, काठमाडौँ मल आदिहरूमा मानिसहरूको एकै पटक आवत जावत हुँदा केही समयको लागि ट्राफिक डेन्सिटी बढी ट्राफिक जाम हुन्छ ।

    बिना योजनाको भू-उपयोगिता र जोनिंगले गर्दा काठमाडौँ कङ्क्रिटको जङ्गलमा परिणत भइसकेको छ । भू-माफिया र जग्गा दलालहरूले व्यावसायिक लाभको लागि साँघुरो बाटो बनाएर घडेरी बिक्री गर्नाले उक्त टोलमा बाटो साँघुरो भइराखेको छ, जुन ट्राफिक जामको अर्को प्रमुख कारण हो । सार्वजनिक सवारी सेवा अस्तव्यस्त र अप्रभावकारी भएकोले निजी सवारीसाधनको प्रयोग बढ्दो छ । अत्यधिक निजी सवारी प्रयोग पनि ट्राफिक जामको अर्को प्रमुख समस्या हो ।

    ट्राफिक बत्तीको उचित व्यवस्थापन नहुनु, अव्यवस्थित पार्किङ, फुटपाथ बजार, सवारी चालकहरूले ट्राफिक नियमको पालना नगर्नु, ढल र बाटोको मर्मत कार्य समयमा नहुनु, आकासे पुल र अन्डर पासजस्ता भौतिक पूर्वाधारको निर्माण हुन नसक्नु, भौतिक उपस्थितिबिना कार्यालयको सेवा प्रवाह गर्न नसक्नु, विभिन्न मेला र भी.आइ.पी सवारी आदि कारणहरूले निम्त्याउने ट्राफिक जामले प्रायः हामी सबैलाई नकारात्मक प्रभाव पारिरहेको छ ।

    उक्त समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय सडक विभाग, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, विभिन्न बस व्यवसाय समिति, सङ्घीय तथा स्थानीय सरकार जस्ता राष्ट्रका विभिन्न निकायहरू सक्रिय छन् ।

    नेपाल ट्रान्सपोर्ट पोलिसी (२०५८), डी.ओ.आर. इस्ट्राटेजी १९९५, डी.ओ.आर ट्वान्टी एयर मास्टर प्लान, विभिन्न सेक्टोरल प्लान, पन्ध्रौँ पञ्च वर्षीय योजना, नीति तथा कार्यक्रम जस्ता दर्जनौँ नीतिहरू र कानुनी प्रावधानहरु बनि कर्यान्वयनमा पनि छन् । यद्यपि काठमाडौँको ट्राफिक समस्याले नागरिकलाई उक्त समस्यामा काम गर्न र कम गर्न कुनै पनि संयन्त्र नभएको महसुस हुन्छ ।

    सम्भावित मध्यकालीन समाधानका उपायहरू

    ट्राफिक जाम र सार्वजनिक यातायातसँग सम्बन्धित समस्याहरू रातारात समाधान हुने विषय भने पक्कै पनि होइन तर क्षणिक र दिर्घकालिन समाधान नभएका पनि होइनन् । समग्र महानगरको ट्राफिक जामलाई न्यूनीकरण गरी दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ त ?

    १. चुस्त यातायात व्यवस्थापन

    ट्राफिक चिन्हको प्रयोग, रोड मार्किङ, ट्राफिक नियम पालन, सम्बन्धित सरोकारवालालाई उपलब्धिमूलक तालिम, ट्राफिक बत्तीको अधिकतम प्रयोग गरी राम्रोसँग यातायात व्यवस्थापन गर्न सके केही हदसम्म ट्राफिक जाम कम हुन्छ । वान वे, टन कन्ट्रोल, अनि नो पार्किङको नियमलाई सवारी चालकहरू संयम भई राम्रोसँग पालना गर्नुपर्छ ।

    काठमाडौँको विभिन्न ठाउँदेखि भित्री भागमा आवत जावत गर्ने बस, माइक्रो बस, ट्याम्पो, रिक्सा आदी सवारीसाधनहरू वैज्ञानिक रुट व्यवस्थापन गरी सम्बन्धित निकायले सञ्चालनमा ल्याउँदा अझ बढी प्रभावकारी हुन्छ ।

    २. सार्वजनिक सवारीलाई प्रोत्साहन

    सहज, सफा, आरामदायी, भरपर्दो, सस्तो र ठुला विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्रोत्साहन गरी धेरैभन्दा धेरै प्रयोगमा ल्याउँदा सार्वजनिक सवारी प्रयोग गर्ने जनसंख्या अझै बढ्न सक्ने देखिन्छ । एउटै बसले ५० देखि ७० ओटा दुइपांग्रे सवारीसाधनलाई विस्थापन गर्न सक्छ ।

    चीनको बेइजिङ सहरमाजस्तै, निजी सवारी खरिद, प्रयोग अनि पार्किङ सुल्क महँगो गर्दा निजी सवारीसाधन केही हदसम्म घट्नेछन् जसले समग्रमा ट्राफिक डेन्सिटी घटाई ट्राफिक जाम कम गराउन मद्दत गर्छ ।

    ३. कम्प्रेस्ड वर्क सेडुलिंग र अल्टरनेटिभ वोर्किंग टायमिंग

    कुनै पनि कार्यालयका कर्मचारीहरू १ वा २ दिन आफ्नो घरमा बसी काम गर्ने, अनि उक्त कामको विवरण र नतिजा पेस गर्न वा कार्यान्वयन गर्न मात्र भौतिक रुपमा कार्यालय गई काम गर्ने तरिकालाई कम्प्रेस्ड वर्क भनिन्छ । यसो गर्नाले पेट्रोलियम पदार्थको खपत पनि कम हुन्छ ।

    अल्टरनेटिभ वोर्किंग टायमिंग भनेको १० देखि छ बजे मात्र कार्यालय समय नबनाई ठुलो सङ्ख्यामा सवारी प्रयोग गर्ने संस्थाहरूको कार्यालय समय तालिका हेरफेर गर्नु हो । यसो गर्नाले धेरै हदसम्म ट्राफिक जाम कम हुन जान्छ ।

    ४. राइड सेयरिंग र फुटपाथ पसल व्यवस्थापन

    यौटै संस्थाका विभिन्न कर्मचारीहरू, यौटै विद्यालयका कर्मचारी तथा विद्यार्थीहरू, आफ्नो आफ्नो सवारी प्रयोग नगरी रुट र समय मिलेको खण्डमा राइड सेयरिंग गर्न सकिन्छ । फुटपाथ पसलहरू उचित समय र ठाउँ व्यवस्थापन गरी प्रयोगमा ल्याउने गर्नाले सवारी चाप र इन्धन खपत घटाउन सकिन्छ ।

    दीर्घकालीन समाधान

    अस्तव्यस्त भइसकेको सहरी यातायात व्यवस्थालाई दीर्घकालीन समाधान दिन अलि खर्चिलो, झन्झटिलो र केही बढी समय लाग्न सक्छ । निश्चित सहरी विकासको लागि छुट्टै मास्टर प्लान तयार पारिनु पर्छ । केही समयअघि सहरी विकाससँग सम्बन्धित विज्ञ टोलीको अध्ययनले काठमाडौँका २०० ओटा भन्दा बढी रुट पहिचान गरी सबै ठाउँलाई पायक पर्नेगर मेट्रो ट्रेन सञ्चालन गर्न सकिने निष्कर्ष निकालेका थिए ।

    स्रोतसाधन र बजेट व्यवस्थापन गर्न सके, मोनो रेल, र्यापिड बस ट्रान्जिट र टनेल टेक्नोलोजी प्रयोग गरी मेट्रो रेलको विकास गर्न हामी पछि पर्न हुन्न । पैदल यात्रुलाई सहज हुने गरी आकासे पुल, फ्लाई ओभर, अन्डर पास, छुट्टै साइकल लेन, बहुतले पार्किङ, नो भेहिकल जोन आदी निर्माण र विकास गरिनुपर्छ ।

    सहरी केन्द्र जस्तै सुनधारा, न्यूरोड, पुतलीसडकमा अवस्थित सेवाग्राही धेरै भएका सार्वजनिक र निजी कार्यालय जस्तै त्रिचन्द्र क्याम्पस, वीर अस्पताल, सिंहदरबारको सेवा प्रवाह आदीलाई सहज पहुँच र सवारी चाप थेग्न सक्ने ठाउँ पहिचान गरी स्थानान्तरण गर्नु पर्छ ।

    समयमै बाहिरी रिंगरोड र वाकी भएको भित्री रिंगरोड बिस्तारको काम सकी, काठमाडौँ भित्रिने र बाहिरिने नाकाहरूमा सडक विस्तार गरी समग्र काठमाडौँको ट्राफिक समस्या न्यूनीकरण गर्दै केही समय पछि दीर्घकालीन समाधान गर्न सकिन्छ ।

    (सुबेदी विपद् व्यवस्थापन तथा न्यूनीकरण अध्येयता हुन् ।)

  • मिसन ग्रासरूट डायरी : एक जनामात्रै पार्टी सदस्य भएको ठाउँ पुग्दा

    मिसन ग्रासरूट डायरी : एक जनामात्रै पार्टी सदस्य भएको ठाउँ पुग्दा

    नेकपा एमालेले मिसन ग्रासरूट अभियानअन्तर्गत गत फागुनदेखि केन्द्रीय सदस्यलाई पालिका पालिकामा खटाएको थियो । मेरो जिम्मा बागलुङको तमानखोला र निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका थियो । यी तीन वटै पालिका गण्डकी प्रदेशको पश्चिम सिमानामा पर्छन् । निसीखोला गाउँपालिका गुल्मी, रूकुम, रोल्पा र प्युठानसँग जोडिएको छ । ढोरपाटनको वडा नम्बर ९ रूकुम र बाँकी म्याग्दीसँग, तमानखोलाको म्याग्दीसँग जोडिएको भौगोलिक अवस्था छ ।

    मिसन ग्रासरूटअन्तर्गत फागुन १२ गते बागलुङ जिल्ला भेला भएको थियो । त्यसपछि चैतको पहिलो हप्तादेखि वडा-वडामा कार्यक्रम सुरू भए । म फागुन १६ गतेदेखि बागलुङ खटिएँ । बीचमा स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला संघको चुनावलाई पोखरा बोलाइयो । चैत १३ गतेदेखि फेरि बागलुङ गएँ र मिसन ग्रासरूटकै काममा चैत २७ गतेसम्म बसें ।

    हाम्रो मुख्य उद्देश्यअनुसार संगठन सुदृढीकरण र संगठन विस्तारमा केन्द्रित थियौं । सदस्यता नवीकरण, कमिटी गठन-पुनर्गठन सक्ने, पार्टीका नेतृत्वको सम्भावना बोकेकाको पहिचान गर्ने, अन्य पार्टीबाट ल्याउन प्रेरित गर्ने, जनवर्गीय संगठनसँग अन्तरक्रिया, पार्टीको स्थानीय तहमा देखिएका अन्तरविरोधलाई समाधान गर्ने, जनता र जनप्रतिनिधिबीचको दूरी घटाएर समस्या समाधान गर्नेलगायत योजना ग्रासरूटका थिए । आधारभूत जनता, पछाडि परेकालाई कसरी पार्टीमा ल्याउने भन्नेमा पनि हामी केन्द्रित भयौं ।

    जनताको घरमै बस्ने, जनतासँगै खाने गर्‍यौं । म गएको निसीखोला, तमानखोला, ढोरपाटनको उपल्लो भेग गण्डकी प्रदेशकै निकै पिछडिएको ठाउँ हो । तीन वटै पालिकामा हामी पार्टीगत हिसाबले असाध्यै कमजोर छौं । ढोरपाटनमा प्रमुख हाम्रै पार्टीको हुनुहुन्छ । त्यहाँको उपप्रमुख र अन्य दुई पालिकाको प्रमुख-उपप्रमुख हामीले जित्न सकेनौं । मध्य बागलुङबाट टाढा भएकाले म खटिएका पालिकाको प्रतिनिधित्व गर्ने गरी त्यहाँबाट केन्द्रमा पनि साथीहरू निकै कम हुनुहुन्छ ।

    बागलुङमा सधैं अरूसँग मिलेर चुनाव लड्थ्यौं । लड्दा अरूलाई त्यही क्षेत्र छुट्याइन्थ्यो । म जाँदा त्यहाँका स्थानीय साथीहरूले हामीले अहिलेसम्म सूर्यमा जम्मा दुईपटक भोट हाल्न पायौं, अनि कसरी पार्टी बन्छ भन्नुहुन्थ्यो । मंसिरको चुनावमा गठबन्धनविरुद्ध र त्योभन्दा पहिला एक पटक मत हाल्नुभएको रहेछ । बागलुङ जनमोर्चा पक्षधर राम्रो भएको जिल्ला मानिन्छ । जनमोर्चाको गुण्डागर्दी शैली र माओवादीको पनि त्यस्तै रबैया रहेछ ।

    एक जनामात्रै पार्टी सदस्य !

    म गएका तीन पालिकामध्ये तमानखोला कमजोरमध्ये पनि निकै कमजोर रहेछ । तमानखोला-५ खुङ्खानी गएको थिएँ । बुर्तिबाङबाट तीन घण्टा स्थानीय जिप चढेर गएका थियौं । पार्टीको ढोरपाटन कमिटी अध्यक्ष गणेश थापामगर, तमानखोलाका कमरेड गजेन्द्र छन्त्याललगायत स्थानीय साथी खुङ्खानी गएका थियौं ।

    तमानखोला- ५ मा जम्मा एक जनामात्रै पार्टी सदस्य हुनुहुन्थ्यो । त्यहाँ हाम्रो कमिटी नै छैन । हामीले अहिले पार्टी सदस्यता फारम भरेर १० जना पु¥याएका छौं । खुङ्खानी निकै अनकन्टार ठाउँमा छ । हाम्रो संगठन कमजोर छ भनेर हामी जोसँग मिल्थ्यौं, उसलाई भाग दिन्थ्यौं । अब त्यसलाई सुधार गर्नुपर्छ । अब संगठन पनि विस्तार गर्नुपर्नेछ ।

    बागलुङमा सधैं अरूसँग मिलेर चुनाव लड्थ्यौं । लड्दा अरूलाई त्यही क्षेत्र छुट्याइन्थ्यो । म जाँदा त्यहाँका स्थानीय साथीहरूले हामीले अहिलेसम्म सूर्यमा जम्मा दुईपटक भोट हाल्न पायौं, अनि कसरी पार्टी बन्छ भन्नुहुन्थ्यो ।

    त्यो वडामा हामीलाई गत मंसिरको चुनावमा समानुपातिकमा २३२ मत आएको थियो । त्यो अहिलेसम्मकै धेरै पनि हो । २०७९ को वैशाखको स्थानीय तह चुनावमा तमानखोला- ५ मा त हाम्रो उम्मेदवार नै उठाउन सकेनौं । तमानखोला र निसीखोलामा हामी कतिसम्म कमजोर छौं भने हाम्रो पार्टी वडाध्यक्ष लड्दा पनि तेस्रो भएको थियो । निसीखोला- २, ५ मा त स्वतन्त्र उम्मेदवारले हामीलाई जितेका थिए ।

    तमान र निसीखोलामा हाम्रो जनप्रतिनिधि नै हुनुहुन्न । ढोरपाटनमा मेयरको व्यक्तित्वकै कारणले पार्टीको प्रभाव छ । तर, संगठनात्मक हिसाबले हामी कमजोर छौं । अहिलेको अभियानमा हामी जुट्यौं, त्यसले केही आशा जगाएको छ । बागलुङबाट प्रदेशसभामा समानुपातिकबाट चार जना र प्रतिनिधिसभामा एक जना हुनुहुन्छ । त्यो पनि हाम्रो पूँजी हो । यसले गर्दा आगामी दिनमा पार्टी संगठन विस्तार, चुनाव जित्ने आधार बनेको छ । जनमोर्चा र माओवादीबाट हाम्रो पार्टीमा आउने क्रम पनि जारी छ ।

    कमिटी विस्तार, छलफल गर्‍यौं । ढोरपाटन नगरपालिका- ७ र ८ को अधिवेशन गर्‍यौं । टोलटोलमा पुग्यौं । मलाई के लाग्यो भने कमजोर रहेका क्षेत्रमा जिल्लाका पार्टी नेतृत्व र केन्द्रीय कमिटी सदस्यले ध्यान दिनुपर्छ । म दुर्गम वडामा गइरहँदा त्यहाँका साथीले सोध्नुभयो- कसरी आइपुग्नुभयो ? यहाँ त आजसम्म कुनै केन्द्रीय कमिटीको सदस्य, जिल्लाको नेतृत्व पनि आउनुभएको छैन ।

    म गएका भूगोलमा सबैभन्दा समस्या यातायातको छ । कुनै ठाउँमा ८-१० किलोमिटर बाटो कच्ची छ । त्यहाँ जीप चढेपछि केही नभए पनि ५/७ सय रूपैयाँ भाडा तिर्नुपर्छ । पोखराबाट गाडीले बुर्तिबाङ गएको १४-१५ सय रूपैयाँ लिन्छ । दुरी १६० किलोमिटर जति हो । तर, बाटो बागलुङबाट उकालो लागेपछि राम्रो नहुँदा महँगो भाडा तिर्नु परिरहेको छ ।

    तमानखोला, निसीखोलातिर मगर समुदाय बाहुल्य छ । म ढोरपाटन नगरपालिका- ८ सेराबाङ पुगेको थिएँ । त्यहाँ ७० प्रतिशत जति दलित समुदायको बसोबास छ । जुन समुदाय छ, त्यसअनुसार नै कमिटी रहनुपर्छ भनें । त्यसो हुँदा त्यहाँ अध्यक्ष, सचिवसहित पदाधिकारी दलित समुदायबाटै बनायौं । त्यहाँको मान्छेलाई वृद्धभत्ता एमालेले दिएको हो, देश चलाउने पार्टी हो भन्ने नै छैन । मैले त्यहाँ जनमोर्चासँग केन्द्रित रहेर एउटा कुरा राखें । मैले त्यहाँका स्थानीयलाई भनें- एउटा, जिल्ला, टोलमा पार्टी भएर देश चल्छ ? जनमोर्चा बागलुङमा मात्र भएर देश बन्छ ? चल्छ ? कसैसँग यसको जवाफ नै थिएन ।

    मिसन ग्रासरूटलाई यत्तिकै छोडेर हुँदैन । त्यहाँ देखेका, सुनेका कुरालाई अझै घच्घचाउनुपर्छ । त्यहाँ पार्टी अझै केन्द्रित हुनुपर्छ । त्यस्तो ठाउँलाई पार्टीले विशेष रूपमा हेर्नुपर्ने क्षेत्र भनेर तोकिनुपर्छ र त्यस्तो भयो भने त्यहाँ हाम्रो पार्टीको सम्भावना पनि धेरै छ ।

    पोखराको मेयर (२०५४ सालमा) भएको, सांसद (प्रदेशसभा) भएको मान्छे, पोखरामा बसेको मान्छे दुर्गम ठाउँमा आउनुहुन्छ र भन्ने शंका रहेछ । उहाँहरूले त बुर्तिबाङसम्म आउनुहोला त्यहाँभन्दा माथि गाउँठाउँ उक्लनुहुन्न भन्ने सोच्नुभएको थियो ।

    पोखरा भनेको नेपालको ‘यूरोप-अमेरिका’ नै हो । निसीखोला, तमानखोला, ढोरपाटन शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र जनताको आम्दानीको हिसाबले पछाडि छ । ती ठाउँ त राज्यको पहुँचबाट धेरै पछाडि छन् । पोखरेलीले राज्यबाट जे पाएका छन्, त्यो ठाउँले पनि पाउनुपर्छ ।

    जापानीहरू जाइका प्रोजेक्टमा नेपालका दुर्गम ठाउँमा गएर दुई-चार वर्ष काम गरेका हुन्छन् । पहिला पहिला अमेरिकीहरू स्वयंसेवी भएर नेपालमा काम गर्थे । अहिले दक्षिण कोरियाका नागरिकहरू कोयका परियोजनाबाट आएर काम गर्छन् ।

    पोखरा र त्यो ठाउँको तुलना गर्नै मिल्दैन । पोखरा भनेको नेपालको ‘यूरोप-अमेरिका’ नै हो । निसीखोला, तमानखोला, ढोरपाटन शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र जनताको आम्दानीको हिसाबले पछाडि छ । ती ठाउँ त राज्यको पहुँचबाट धेरै पछाडि छन् । पोखरेलीले राज्यबाट जे पाएका छन्, त्यो ठाउँले पनि पाउनुपर्छ । मैले पार्टीले संगठन विस्तार गर्न ‘विशेष जोन’ बनाउनुपर्छ भने जस्तै सरकारले पनि त्यहीअनुसार सोच्नुपर्छ ।

    एक जना दिलबहादुर कुमाल (ढोरपाटन-२ सिमरचौर) भन्ने साथीकहाँ बसेको थिएँ । विप्लव नेतृत्वको पार्टीबाट हाम्रोमा आउनुभएकाले उहाँसँग राजनीतिक कुरा पनि गरौं भनेर त्यहाँ गयौं । डाँडाको भित्तामा दुई वटा कोठाको घर छ । पाँच जना छोराछोरी र श्रीमतीसहित सात जनाको परिवार छ ।

    उहाँले जालबाट माछा मार्ने गर्नुहुने रहेछ । उहाँले मलाई भन्नुभएको थियो- ‘आज म आफैंले मारेको माछा खुवाउने हो है कमरेड !’ उहाँले ल्याउनुभयो । तारे होटलमा बस्दा पनि मान्छेको मनले शान्ति नपाउन सक्छ । तर, त्यो गाउँ र माया देखाएको देख्दा आनन्द दिन्छ । म उहाँको घरमा खाएको बसेको कहिल्यै बिर्सिन्नँ ।

    ढोरपाटनको सेराबाङ भन्ने ठाउँमा एकजना पुरानो कमरेड हुनु हुँदोरहेछ । उहाँले सुनाउनुभयो- ‘पहिला यहाँ एक-दुई जनामात्रै थियौं । साह्रै हेप्थे । जनमोर्चाको बिगबिगी थियो ।’ हामी सुगम ठाउँमा बसेर एउटा स्कुलिङ र अवस्थामा हुर्कियौं । उहाँहरूको दुःख अर्कै छ । कति साथीलाई जनमोर्चा, माओवादीले मर्‍यो भनेर पनि फालेका थिए ।

    निसीखोला- ३ लाम्आले भन्ने ठाउँ छ । त्यहाँ उद्दीप भन्ने पुरानो कमरेड हुनुहुन्छ । पञ्चायतको थिचोमिचो हुँदा पनि त्यहाँ जुध्नुभएको रहेछ । त्यस्तो ठाउँ बसेर, जुधेर साथीहरूले गरेको योगदान निकै महत्वपूर्ण छ । त्यसरी नै संघर्ष गरेका एक जना साथी ढोरपाटन नगर संगठन कमिटीको अध्यक्ष गणेश थापा मगरलाई माओवादीले आक्रमण गरेर मर्‍यो भनेर फालिएको थियो । एकपटक जनमोर्चाको मान्छेले पनि त्यस्तै गरे । त्यसरी जुधेर साथीहरू काम गर्नुभयो । तर, सत्तामा कहीं पुग्नुभएको छैन नि ! त्यो कुरा हाम्रो लागि ठूलो प्रेरणा र पार्टीलाई ठूलो पूँजी हो । त्यस्ता कार्यकर्तालाई संरक्षण गर्नुपर्छ ।

    वास्तविक अप्ठ्यारो गाउँ र दुर्गम भूगोलमा रहेकालाई छ । त्यहाँ गाडी लिएर हिँड्न साध्य हुँदैनथ्यो । कच्ची बाटो भए पनि गाउँगाउँ पुगेको छ । हामी मोटरसाइकलमा गयौं । म पुगेका पालिकामा बाटो निकै अप्ठेरो छ । कथंकदाचित मान्छे बाटोबाट खस्यो भने हाड पनि भेट्टाउन गाह्रो पर्छ ।

    हामी एक दिनमा एउटा वडामा पुग्यौं । मोटरसाइकलमा जान आउनै ३-४ घण्टा लाग्ने ठाउँ थियो । पोखराको जुन भूगोलमा भए पनि हामी एक घण्टामा मुख्य बजार आउन सक्छौं । तर, तमानखोला, निसीखोलाको गाउँका बासिन्दालाई त्यस्तो छैन । म फेरि त्यो ठाउँमा मेरो कामले जाने कुरा हुँदैन । त्यहाँ गाउँगाउँ जाँदा जे जति देखियो, आउँदा जाँदा दुःख भयो त्यो नै जीवनको शिक्षा हो ।

    (थापा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज हुन् ।)

  • कविता : आफ्नो देशको माया

    कविता : आफ्नो देशको माया

    खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
    कतै दुःख पनि लाग्छ मलाई घुस खाने, आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा
    नेपालीकी छोरी म वीर बुबा, आमाबाट जन्मिएकी
    जन्मभूमि एउटा भयो, कर्मभूमि अर्को माया लाग्छ मलाई मेरो आफ्नो देशको ।

    खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
    कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
    आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।

    देख्छु चारैतिर रमझम संसार यी आँखाहरूले
    माइती जाने खुशीले बसमा चड्दै हिँड्छु
    कतै आफ्नतलाई देख्छु भनी झ्यालबाट नियाल्छु
    मान्छेहरूको भिडमा आफन्त नै हराएको पाउँछु ।

    खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
    कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
    आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।

    खुशीको बीचमा चिन्ताले पनि ढाक्दै जान्छ
    मनभित्र धेरै कुराहरु उथुल-पुथुल हुन्छ
    जनता बुझ्ने सरकार आए देश सुध्रिने थियो कि ?
    भ्रस्टाचार , घुसखाने हराएर जाने थियो कि ?

    खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
    कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
    आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।

    जति नेता आए आफूलाई नै बनाए
    आफ्नो भुँडी पैसाले भकारीमा अन्न राखे झैँ भरे
    ठाउँ ठाउँमा धेरै जग्गा, धेरै घर, सम्पत्तिहरू जोडे
    देशलाई नै कंगाल बनाई जनताहरुलाई रुवाएर छोडे ।

    खुशी लाग्छ मलाई मेरो पाउ जन्म मेरो जन्मभूमिमा पर्दा
    कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
    आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।

    मे‌रो देशमा म भए कति ठूलाठूला काम गर्थेँ होला
    घुस खाने, चम्चे गर्ने नेताहरूलाई उखालेरै फ्याँक्थे होला
    अटल उच्च विचारले सधै देशको सेवा गर्थे
    जनतालाई सधैँ खुशी राखेर देशको लागि आफूलाई नै समर्पित गर्थेँ ‌।

    खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्म भुमिमा पर्दा
    कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
    आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।

    -रमा कोइराला ‘अद्रिजा’

    रानीपुल, ढकाल गाउँ (पूर्वसिक्किम)

  • रंगशालाविहीन देशमा क्रिकेटको यतिसम्म क्रेज

    रंगशालाविहीन देशमा क्रिकेटको यतिसम्म क्रेज

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सोमबार उज्यालो नहुँदै दर्शकहरु जम्मा हुन थालिसकेका थिए ।

    सुरक्षामा खटिएका एक अधिकारीका अनुसार उनीहरु ड्युटीमा पुग्दा त्यहाँ दर्शकहरुको भीड लागिसकेको थियो । ‘त्यसरी आएका दर्शकहरु कहाँ जान्छन् त !’, मध्यान्ह भारी वर्षाबीच दर्शकदीर्घा नछाडेका हजारौं दर्शकलाई हेर्दै असई दर्जाका ती प्रहरी अधिकारी भन्दै थिए ।

    त्रिवि क्रिकेट मैदानमा विगतका २-३ दिन झैं सोमबार पनि वर्षा हुन सक्ने बिहानैदेखि संकेत देखिएको थियो । तर, निर्धारित समयमा खेल सुरु हुन व्यवधान भएन । खेल सुरु भएको करिब डेढ घण्टापछि भने वर्षा भयो । करिब २० मिनेट रोकिएर खेल पुनः सुरु भएको थियो ।

    त्यसपछि यूएईले २७.३ बल ब्याटिङ गरिसक्दा फेरि वर्षा भयो । यसपटक पानी मज्जाले पर्न थालेको थियो । पानी रोकिन सक्ने कुनै संकेत देखिएको थिएन । तर, दर्शकले ठाउँ छाडेनन् । बरु उनीहरु छाता ओडेर बसिरहे । खेल सुरु हुने प्रतीक्षा गरिरहे । २-३ घण्टासम्म उनीहरुले खेल पुनः सुरु हुने आशा मारेनन् ।

    मैदानमा ढाकिएको कभरमा पानी छचल्किरहे पनि दर्शकको आशा मरेको देखिएन । घरी उनीहरु साथमा ल्याएको बाजा बजाउँथे त घरी आकाशमा उडिरहेको ड्रोनतर्फ हेरेर चिच्याउँथे । बेला बेलामा ‘नेपाल… नेपाल…’ भन्दै खेल भइरहे झैं माहोल ल्याउँथे । वर्षाबीच हजारौं समर्थकले छाता ओडेर खेल कुरिरहेको तस्विर सामाजिक सञ्जालमा राख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली समर्थकले धैर्यता देखाएको भन्दै नेपाललाई छानोसहितको रंगशाला आवश्यक रहेको उल्लेख गरे ।

    वर्षाले खेल रोकिनुअघि यूएई १०६/९ को खराब स्थितिमा रहेको थियो । यो खेलमा नेपाल निकै बलियो अवस्थामा छ ।

    दर्शक ओइरिनुका केही खास कारणहरु थिए । नेपालले पछिल्लो समय निकै माथिल्लोस्तरको प्रदर्शन गरिरहेको छ । विश्वकप लिग- २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

    त्यसयता पनि नेपालको बेजोड प्रदर्शन कायमै छ । जारी एसीसी प्रिमियर कपको विजेता टोली भारत र पाकिस्तान सहभागी हुने एसिया कपका लागि छनोट हुने भएकाले यो प्रतियोगिताले निकै महत्व पाएको छ ।

    तस्बिर : उमेश कार्की 

    नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो १३ मध्ये १२ खेल जितेको छ । यस्तै त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला सबै ११ खेल नै जितेको छ । यस्तै यूएईसँग भएका पछिल्ला ६ भिडन्तमा ५ वटा जितेको छ । वर्षाका कारण स्थगित भएको सोमबारको खेल सोही अवस्थाबाट मंगलबार बिहान सुरु हुनेछ । नेपाल क्रिकेट संघले मंगलबार दर्शकले खेल हेर्न पैसा तिर्न नपर्ने जनाएको छ ।

    पानी नपरेको भए, सम्भवतः सोमबार नै नेपाल विजेता बनेको र एसिया कपका लागि छनोट भएको हेर्ने अवसर उनीहरुलाई जुर्न सक्थ्यो । १०६/९ को अवस्थाबाट खेल अगाडि बढाएर घरेलु टोलीलाई हराउन यूएईलाई सामान्य प्रदर्शन अब पर्याप्त हुने छैन ।

     

  • मैले राजीनामा दिने निर्णय किन लिएँ ?

    मैले राजीनामा दिने निर्णय किन लिएँ ?

    म, प्रहरी उपरीक्षक आभुषण तिम्सिना मिति २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु ।

    मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाढ निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिए। तर आज मिति २०८० साल बैशाख १७ गतेबाट म मैले लगभग २५ बर्ष पुरा हुन ४९ दिन बाँकि रहँदा नेपाल प्रहरी जस्तो जनस्तर सम्म जोडिएको पबित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु ।

    नेपालको संबिधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, बिभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ? अन्यायको शिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रबृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने बिश्वब्यापी धारणालाई गहिरिएर मनन गरेको छु ।

    आफ्नै मानव अधिकारको हरण पटक पटक ब्यहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरुलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन। चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दासप्रथालाई निरन्तरता दिने पक्षमा म सार्बभौम नेपाली नागरिकको हैसियतमा कदापी छैन। पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्बभौम र कानूनको सम्मान गर्ने पुर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्बित महसुस गरेको छु ।

    म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभुत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरानुभुती भइरहेछ। अन्याय, बिभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्यन्यायको शिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संबैधानिक उद्देश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पबित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभुति गरेर आफैं अन्यायमा परेको भावनाले पिडीत व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीबन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गीने निर्णय गरेको छु ।

    आफू अन्यायको शिकार भएको र आफु प्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारिले जागिरमा रहँदाबस्दा आफु माथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने; अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर संगठनमा अडेको व्यक्तिको रुपमा आफु समक्ष आउने आम नेपाली नागरिकहरुलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात मैले यो संगठनमा रहिरहनु उचित मानिन। मैले यो संगठनमा रहँदा बस्दा मँसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरुले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा रहिरहनेछन् ।

    ‘Injustice anywhere is threat to justice everywhere’ भन्ने मार्टिन लुथर किङ्गको भनाइलाई आज मेरो अन्यायको बिरुद्ध लडिरहने आदर्श मुल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहिँबाट पुर्णबिराम लगाउदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरुलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य बिस्तारै समाप्त हुदै जाने तर्फ समेत नेपाल प्रहरीका साथिभाई र अग्रजलाई समेत सुझाब दिन चाहन्छु। मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्यो भन्ने कुरा म क्रमशः मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यहि सार्बजनिक मञ्च मार्फत राख्नेछु ।

    यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पुर्ण अमर प्रहरीहरु, संगठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरु,देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पुर्ण पुर्व तथा कार्यरत प्रहरी कर्मचारीहरु प्रति हार्दिक नमनका साथ नागरिक समाजका मार्गदर्शकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारीको सहज बृत्तीबिकास, सकारात्मक कार्यवातावरणको प्राप्ति एवम् आगामी दिनमा सफलता र सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद

    जय नेपाल

    आभूषण तिम्सिना

    प्रहरी उपरीक्षक

     

  • स्वनिर्माणमा पराजित पोमु

    स्वनिर्माणमा पराजित पोमु

    कवि वैरागी काइँलालाई बीसको दशकतिरै यो देश साँघुरो लागेको थियो । त्यो सीमिततामा आफू बाँचेको हुँकार गर्न उनले कवितामार्फत् मातेर भाषण गरे । सायद मात्नु त्यतिबेला निरंकुश पञ्चायती व्यवस्थाले निम्त्याएको हीनताबोधको काथार्सिस थियो र भाषण गर्नु एक काव्यिक चेतावनी ।

    त्यतिबेलाको निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध कविले त्यो साहस गर्नु चानचुने कुरा थिएन । भलै जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा व्यवस्था फेरिए । तर, सत्ताले निर्माण गरेको शासकीय चरित्रको संरचनाहरु अझै यथावत छ । ती संरचनाभित्र सुषुप्त रुपमा जकडिएर बसेका छन् विभेदका अनेकौं रुपहरु । जहाँभित्र निसासिरहेका छन् अनेकौं सिमान्त अस्तित्वहरु । ती अन्याय, शोषण र असमानताविरुद्ध फेरि पनि कोही न कोही त उभिएर बोल्छन् नै ।

    इतर साहित्यिक अभियानमार्फत सिमान्तकृतको आवाज मुखरित गरेर पहिचानको मुद्दालाई थप सवल बनाउने कवि हुन् पराजित पोमु । पन्ध्र वर्ष कोरियामा बसेर स्वदेश फर्किएपश्चात् बजारमा ल्याएको कविता संग्रह हो ‘मद्वारा मेरो निर्माण’ । संग्रहभित्रका प्रायः कविताहरु पहिचानको पक्षधरतामा उभिन्छन् । मानवीय मूल्यको जगमा टेकी समानता र सहअस्तित्वको वकालत गर्छन् । प्रेम र संवेदनाको आवाज बुलन्द गर्छन् । मुन्धुम र आदिवासी सौन्दर्य उनको लेखनको मुख्य स्रोत हो । जहाँबाट निसृत भएर उनका कविताहरुले विश्व दृष्टिकोणको फराकिलो क्षितिज चिहाउँछन् । दर्शनको मौलिक आयाम निर्माण गर्छन् ।

    संग्रहमा ३८ कविता समावेश छन्, तीन खण्ड छन् । तीनवटै खण्डमा तीन फरक समालोचकहरुको समालोचना पढ्न पाइन्छ । सुरुमा अस्तित्वको तङ्सिङ् भन्ने खण्ड छ । जहाँ अस्तित्व चिन्तनका कविताहरु समावेश छन् । तङ्सिङ्ले शिर उठाउने अनुष्ठान भन्ने बुझाउँछ । जसरी तङ्सिङमा येवा साम्बाहरुले पृथ्वीको उत्पत्तिदेखिको मुन्धुमहरु फलाकी शिर उठाउने कार्य गर्दछ । त्यसरी नै कविले आफ्नो अस्तित्व उठाउन खोजेका छन् ।

    संग्रहमा ३८ कविता समावेश छन्, तीन खण्ड छन् । तीनवटै खण्डमा तीन फरक समालोचकहरुको समालोचना पढ्न पाइन्छ । सुरुमा अस्तित्वको तङ्सिङ् भन्ने खण्ड छ ।

    यस खण्डका कविताहरुमा दोस्रो खण्ड अम्लारी प्रेम भन्ने छ । यसमा प्रेमसम्बन्धी कविताहरु छन् । मुन्धुमअनुसार अम्लारी (सुनाखरी) फूल प्रेमको प्रतीक हो । अन्तिम खण्ड समयको चोत्लुङ भन्ने छ । जहाँ संक्रमणकालीन समयका अनुहारहरु चिहाउन खोजिएका कविताहरु छन् । खण्डमा समाविष्ट हरेक कविताहरुले पक्कै पनि खण्डको नामसँग अर्थ र सम्बन्ध राख्छ नै । तर, पहिलो र अन्तिम खण्डका कविताहरु प्रायः उस्तै अर्थ र प्रयोजनका लाग्छन् ।

    तर, कविलाई तीनवटै खण्ड राख्नु छ । जीवन, अस्तित्व र प्रेम । यी मूलभूत तीन तत्वले जीवन बनेको हुन्छ हुन्छ भन्ने कविको बुझाइ छ । कविताभरि तीन पङ्क्ति, तीन हरफको विशेष प्रयोग छ । तिनको अर्थ धेरै लाग्छ । किराँत साम्जिक मुन्धुमअनुसार सुम्लेङ अर्थात तीनको कुरा बारम्बर आउँछ । सायद कवि यसप्रति सम्मोहित छन् ।

    मानिसको परिचय भन्नु नै उसको पहिचान हो । पहिचान नरहे आफू हुनुको अर्थ रहन्न । सबैमा आफ्नो अस्तित्वप्रति प्रेम हुन्छ । कवि पोमुका कविताले त्यही प्रेमलाई घनीभूत रुपमा प्रकट गरेका छन् । कवितामा भूगोल र संस्कृतिप्रति प्रेम छ । नोस्टाल्जिया छ । कविताहरुले भन्छन्, कोरिया रहेर पनि कवि आफ्नै जराचिन्तनमा मग्न रहन्छन् । आफ्नो आदिम इतिहासको पदचाप खोज्छन् ।

    संग्रहमा संग्र्रहित अधिकांश कविताहरुले कविताको अस्तित्व बाँच्नुको स्पेस खोज्छन् । यस मानेमा उनका कविताहरु अस्तित्ववादी धारको देखिन्छन् । पहिचानको कुरा गरिरहँदा कवि अरुको पहिचानप्रति पनि संवेदनशील छन् भन्ने कविताले प्रस्ट देखाएको छ । कविताहरु अरुको पहिचानप्रति समभाव राख्दै सरसर्ती बहेका छन् ।

    राजनीतिक विश्लेषक लुइ अल्थुजरको भनाइअनुसार सत्ताले वैचारिक राज्य उपकरण र दमनकारी राज्य उपकरणमार्फत जनतालाई नियन्त्रण गर्न खोज्छन् । आफ्नो एकात्मक वैचारिकीको मोडेलमा रुपान्तरण गर्न खोज्छन् । इतिहासलाई हेर्ने हो भने सदिऔंदेखि आदिवासीहरुको इतिहासलाई कुल्चेर एकात्मक हिन्दू सत्ताले यो देशमा दमन र शोषणको नयाँ संस्करण कोरेको हो । विभेदको श्रृंखला सुरु गरेको हो । राजनैतिक र अर्थसामाजिक रुपमा सिमान्तकृत पारेको हो ।

    संग्रहमा संग्रहित अधिकांश कविताहरुले कविताको अस्तित्व बाँच्नुको स्पेस खोज्छन् । यस मानेमा उनका कविताहरु अस्तित्ववादी धारको देखिन्छन् । पहिचानको कुरा गरिरहँदा कवि अरुको पहिचानप्रति पनि संवेदनशील छन् भन्ने कविताले प्रस्ट देखाएको छ ।

    कविलाई पनि फक्ताङलुङको काखमुनि मेटिँदै गरेको आफ्नो इतिहासको खुब माया छ । छोपिँदै गरेको आफ्नो पुर्खाहरुको गाथाको चिन्ता छ । उनी कवितामार्फत एकजोर दियो कलश राखेर, सेक्मुरी फूल सिउरेर ढलेको माङ्गेन्ना उठाउन चाहन्छन् । उनलाई अब आफ्नै मस्तिष्कको गुलामी स्वीकार्य छैन । आफ्नै निरीहतामा बाँच्न स्वीकार छैन । उनी चेतनाको चुम्लुङ बस्न चाहन्छन् । तीन तियाली चार बाचा गरेर असमानताहरु थुन्न चाहन्छन् । सात राते तङ्सिङ राखेर समानताको मुन्धुम फलाक्न चाहन्छन् ।

    पूँजीवादले विश्वलाई गिँजोलेको छ । मानिस उपभोक्तावादी अर्थतन्त्रको हिस्सा बनेका छन् । यसबाट सबैभन्दा प्रताडित तेस्रो विश्वका नागरिकहरु भएका छन् । उनीहरु आफ्नो देश छोडेर रोजीरोटीको निम्ति दोस्रो देश पलायन हुन बाध्य छन् । दोस्रो देशमा श्रम बेच्ने क्रममा श्रमसँगै स्वाभीमान, ज्ञान, सीप र स्वतन्त्रता पनि बेच्न पुग्छन् । पन्ध्र वर्ष कोरियामा बिताएका कविलाई पनि पलायन हुन बाध्य भएकोमा हीनताबोध छ । मेसिनसँगै गुज्रने रोबोटिक जिन्दगीसँग बितृष्णा छ । मेसिनमा मेटिँदै गरेको आयु र सकिँदै गरेको उर्बर किशोरवयको लघुताभास छ ।

    कोरिया बसाइको क्रममा लेखिएका उनका कविताहरुले यस्तै निरासाहरुको गीत गाउँछन् । तर, चरम यान्त्रिकीकरणको चपेटामा परे पनि कवि उज्यालोको सपना देख्न छाड्दैनन् । रेमिट्यान्सको उज्यालोमा मुस्कुराइरहने खुशीहरुसँग एकाकार गर्न छाड्दैनन् । एक कविताको पंक्ति छ:

    बुबा येहाङको लागि रहरे घडी
    आमा लान्धामाको लागि सुनफूल
    दिदी युन्छोमाको लागि आइफोन
    भाइ सेसेहाङको लागि भटभटे

    आँसु, पसिना र रगत बगाउँदै परदेशबाट कविता लेख्ने कविहरुको कवितामा शासकप्रतिको चरम आक्रोश र निरासाको भाव व्यक्त भएको हुन्छ । तर, कवि पोमुको कविताले फरक तरिका अपनाएर आक्रोश र निराशा पोख्छन् । उनका कवितालाई प्रतिशोधको फिलुङ्गोमा जलेर शासकलाई ढुङ्गा हान्नु छैन, सराप्नु छैन । बरु उनलाई त परिवर्तनको वैकल्पिक चेतले उज्यालोको गीत गाउनु छ ।

    पूँजीवादले विश्वलाई गिँजोलेको छ । मानिस उपभोक्तावादी अर्थतन्त्रको हिस्सा बनेका छन् । यसबाट सबैभन्दा प्रताडित तेस्रो विश्वका नागरिकहरु भएका छन् । उनीहरु आफ्नो देश छोडेर रोजीरोटीको निम्ति दोस्रो देश पलायन हुन बाध्य छन् ।

    कवि पोमुका कविताहरु समयको बेथिति, कुरीति र गलत संस्कृतिको हाउगुजीले चिन्तित छन् । उनका कविताहरु यस्तो संक्रमणकालीन अवस्थाविरुद्ध प्रगतिवादी विचार छेड्छन् । राजतन्त्रको जरा उखेलेर देशमा गणतन्त्र स्थापित भए पनि सत्ताको अधिनायकवादी चरित्र अझै महसुस गर्न सकिन्छ । उनका कवितालाई अझै पनि इतिहासको कालो रगत बगाएर बीच सडकमा उभिरहेको सालिकहरुप्रति त्रास छ ।

    अहिलेसम्मकै उत्कृष्ट संविधान भनी लेखिएको समावेशी संविधान पनि जलाउन उद्यत नागरिकहरु पनि छन् । केही निश्चित समुदायले संविधानको संरचनात्मक लाभ लिइरहेको अवस्थामा पक्कै ती नागरिकहरुलाई संविधानले अपनत्वबोध नगराएकै कारण विरोध गर्ने गरेका छन् । सत्ताको अधिनायकवादी चरित्रले निम्त्याएको असमानता र विभेद अनि त्यसको पोषणमा मौलाएको वर्गीय, राजनैतिक एव चैतनिक शोषण र विभेदप्रति कवि कवितामार्फत् असन्तुष्टि पोख्छन् ।

    उनका कविताले यस्तो संरचनात्मक समस्याको सिर्जनात्मक पुनर्निमाण गर्न खोज्छन् । ‘राग्ये गाउँ’ कवितामा यस्तै आशय पाइन्छ । सहअस्तित्वको सवालबाट उनका कविताले बहुरङ्गी समाजको कल्पना गर्छन् । प्रगतिशील समाजको आह्वान गर्छन् । कहींकतै उनीभित्र सुषुप्त रुपमा रहेको विद्रोही चेत पनि कविताले दरिलो गरी बोकेको छ । उनका कविता आगोसँग खेल्ने कुरा गर्छन् । फिलिङ्गोसँग खेल्ने कुरा गर्छन् । ‘धुवाँको आकृति’ कवितामा यस्तै विद्रोहको बिगुल फुकेको पाइन्छ:

    सार्की दाइ युद्धमा जान
    जुत्तामा काँटी ठोकिरहेछ

    उनका कविता लैंगिक समानताको पक्षमा खरो उभिन्छ । नारीहरु राजनीति र आर्थिक रुपमा कमजोर हुनु नै उनीहरुउपर हिंसा र दमनको श्रृंखला सुरु हुनु हो भन्ने बुझाइ उनका कवितामा प्रस्टसँग देखिन्छ । नारीहरुलाई प्रेममात्रै नभएर सम्मान र अवसर पनि प्रदान गर्नुपर्छ भन्ने उनका कविताको मुख्य आह्वान हो । मुन्धुममा मुजिना खेयङ्ना, खाप्पुना मुरङ्ना र युमाहरुले मानव विकास र सभ्यताको तान बुन्दै प्रगतिशीलताको गाथा गाएको स्तुति पाइन्छ । लिम्बू समुदायमा पनि नारीको स्थान उच्च छ । उनका कविताहरुले यही आइडियोलोजीबाट नारीहरुलाई हेर्न खोज्छन् ।

    उनका कविताको ठोकुवा छ, अबका नारीहरु परम्पराको साँघुरो घेराभन्दा माथि उठेर उनीहरु राजनैतिक रुपमा आफ्नो उपस्थिति जनाउन कटिबद्ध छन् । आर्थिक परनिर्भरताको चंगुलबाट माथि उठेर आफ्नो भविष्य आफैं निर्माण गर्न प्रतिबद्ध भइसके । कोरियामा काम गर्ने एकचौथाइ नेपाली श्रमिकहरु महिला छन् । ती महिलाहरु उनका कवितामा संघर्षका प्रतिमूर्तिहरु हुन् । यति हुँदाहुँदै उनका कविताहरुमा प्रगतिशील नारीवादको आवाज भने नगुञ्जिएको हो कि भन्ने चैँ लागिरहन्छ । बलात्कार र घरेलु हिंसा जस्ता समस्याबाट प्रताडित नारीहरुउपर नबोलेर कवि कतै भागेको हो कि झैं लाग्छ ।

    आँसु, पसिना र रगत बगाउँदै परदेशबाट कविता लेख्ने कविहरुको कवितामा शासकप्रतिको चरम आक्रोश र निरासाको भाव व्यक्त भएको हुन्छ । तर, कवि पोमुको कविताले फरक तरिका अपनाएर आक्रोश र निराशा पोख्छन् । उनका कवितालाई प्रतिशोधको फिलुङ्गोमा जलेर शासकलाई ढुङ्गा हान्नु छैन, सराप्नु छैन ।

    जातीय विभेद र वर्गीय असमानताको साँघुरो पर्खालले किचेर प्रेमको हत्या गर्ने देश हो यो । इतर आवाजको अभियन्ता भएको नाताले यस्तो कुरुप सांस्कृतिक अवशेषविरुद्ध आवाज उठाउनु कविको दायित्व हो । तर, कवि सामाजिक न्यायलाइ भुलेर वैयक्तिक प्रेमको अतिसय भावनामा डुब्छन् । रुमानी सपनाको कल्पनाहरुमा गोता खान्छन् । कोरा अनुभूतिहरुमा रोमाञ्चित हुन्छन् । सीमापारिको नायुमाका सम्झनाहरुमा विरक्तिन्छन् । सँगै हुन नसकेकोमा गुनासो गर्छन् । नवराज बिकको लास भेरी खोलामा तैरिरहँदा कवि हिउँले पुरिएको हान नदीको किनारमाथि बसेर न्यानो यौनिकताको आभाषले कुण्ठित हुन्छन् । हिउँ परेको रात, मन, महसुस, मध्यरातको जुन र सागर कविताहरुमा त्यस्तै आसय पाइन्छ ।

    उनका कविताहरुले प्रकृतिको कुरा गर्छन् । सिर्जना र निर्माणको कुरा गर्छन् । पर्यावरणीय साहित्यको दृष्टिकोणबाट पनि उनका कविताहरु सार्थक देखिन्छन् । ‘चराहरु’ कविताले निर्वाणको कुरा गर्छ । ‘ॐ मणि पध्मे हुँ’ कविताले अध्यात्मको कुरा गर्छ । केही कविताहरु दार्शनिक लाग्छन् । ‘अभिजात्य पूर्णता’, ‘उपस्थिति’, ‘एकदिन’ यस्तै उत्कृष्ट दर्शन मिश्रित कविताहरु हुन् ।

    उनी मृत्युपछिको शून्यताको कुरा गर्छन् । यस मानेमा उनका कविताहरु जीवनवादी छन्, अस्तित्ववादी छन् । दर्शनको कुरा गर्न उनी कविताको विराट क्यानभास निर्माण गर्छन् । उनका कविताहरुले डेरिडा हुँदै निकोला टेस्ला र फाल्गुनन्दसम्म खोज्छन् । वेद, त्रिपिटक र मुन्धुम खोज्छन् । यस अर्थमा उनका कविताहरु अलि जटिल जस्ता लाग्न सक्छन् ।

    कविको शैली मौलिक छ । बेलाबेला उनी वान लाइनर कवि जस्तो पनि लाग्छन् । ती वान लाइनर स्टेटमेन्टहरुमा पूरै कविताको थिम भेट्न सकिन्छ । उनको हरेक कवितामा दर्शनिक चेत भेटिन्छ । एक बसाइमा पढ्न सकिने कविताहरु हैनन् पोमुका । बेलाबेला उनी प्रयोगधर्मी पनि देखिन्छन् । उनको प्रायः विम्बहरु मुन्धुमी छन् ।

    उनका कविताहरु पढ्दा येवाले मुन्धुम फलाके झैं महसुस हुन्छ । सरल कविताहरु पढिरहेका पाठकलाई उनका कविताहरु थोरै जटिल लाग्न सक्छन् । तर, कविताको नाममा कुण्ठा र वैयक्तिक भावना लेख्नेहरुलाई उनका कविताहरु पाठशाला हुन् । कवि पोमु आफ्नो निर्माण आफैं गर्न चाहन्छन् । त्यो निर्माण भनेको चेतनाको हो, वैचारिकीको हो । सायद उनी एकल नश्लीय चिन्तनको जगमा उभिएको शासकहरुले स्थापित गरेको संरचनाहरुभित्र कैद हुन स्वीकार्दैनन् । भाष्यहरुभित्र बाँच्न स्वीकार्दैनन् । कथित इतिहासको फ्रेमभित्र आफ्नो आदिम डोबहरु पहिल्याउँदा उनी निसासिएका छन्, छटपटिएका छन् । उनको चेतना मुन्धुमी बोध, वैचारिकी र दर्शनले निर्दिष्ट गरेको छ । उनी मुन्धुमी स्कुल अफ थटबाट चेतनाको विनिर्माण गर्न चाहन्छन् र त्यहीभित्र आफ्नो सग्लो र अग्लो कद खोज्न चाहन्छन् । वास्तविक अस्तित्व नियाल्न चाहन्छन् ।

  • ‘सकम्बरी विरोधी कलाचेत’ लाई मेरा ५ प्रश्न !

    ‘सकम्बरी विरोधी कलाचेत’ लाई मेरा ५ प्रश्न !

    ‘सत्य कुराको उठान गरेको’ कारण भिडियो को खुलेर समर्थन गर्न मन लागेको हो खासमा, नत्र सर्वगुण सम्पन्न थिएन सकम्बरी । उनले उठाएको कुरामा आंशिक सत्यता रहेको कारण पनि यो गीतको चर्को आलोचना गर्न मन नलागेको हो ।

    महिलालाई हेर्ने पितृसत्ताको दृष्टिकोणको खोट देखाउन खोजेको कारण पनि भिडियो मलाई मन परेको थियो । धेरै पटक लगभग दर्जनौँ पटक भिडियो हेरिसकेपछी भने केही केही कुराले कटक्कै मन खाँदै ल्याएको छ।

    निर्देशकको नालायकिपन ले गर्दा पात्रको चरित्रको गलत व्याख्या हुन जान्छ कहिलेकाहीँ आलोचकहरूले सबैलाई सोलोडोलो एउटै डालोमा हालेको भनेर आरोप लगाइरहँदा सोच्नुपर्ने कुरा के देखिन्छ भने – मनोरन्जन क्षेत्रमा काम गर्न आएका दुई युवतीमध्ये फुलमयाँले सजिलो बाटोको प्रयोग गरेर छ महिनामै प्रगती गरेको र तर अर्को कुनै पात्रले त्यही प्रगती छ वर्ष लगाएर गरेको अनी समाजले ति हेर्ने दृष्टिकोँण दुवैको लागि समान रहेको, प्रश्नहरू दुवैलाई समान गर्ने गरेको देखाउन सकेको भए अझै प्रभावकारी बन्थ्यो जस्तो लाग्न थालेको छ।

    जे होस छाला व्यवसायीहरू नमज्जाले तर्सेका छन् । युवतीहरूको कमाइले स्वास्नीलाई गहना किन्दिने र गाडी चढ्ने हैसियत बनाएका व्यापारीहरू रन्थनिएका छन् । त्यो विषय भने रोचक र घोचक छ !

    घोचक किन भने भिडियोमा देखाइएको सुनिल थापाले निर्वाह गरेको चरित्र भएका अंकल र दाइहरू ले नै उनलाई सांगितिक क्षेत्रमा भरथेग गरेर खुट्टा टेकाइदिएको सत्य पनि छुटेको छ भिडियोमा ! झण्डै त्यस्तै चरित्र भएका एकजना बाको ‘धर्म छोरा’ भनेर चिन्छन् मनोरन्जन क्षेत्रमा उनलाई !

    १. मनोरन्जनात्मक रात्रीकालिन व्यवसायका स्टाफहरू एचआईभीको ‘उच्च जोखिम भएका क्षेत्रका मान्छे’ मानिन्छन् । समय-समयमा आफ्ना स्टाफको एचआइभी टेष्ट गराइन्छ । एचआइभी लागेको थाह पाए कामबाटै निकालिन्छन् । यसबारेमा पनि आँखा चिम्लिनु पर्ने हो ? नबोल्नु पर्ने हो कथा लेख्नेहरू ?

    २. जड्याहा ग्राहकहरू ‘त्यो उत्यो चैँ केटी बोलाईदे..मेरो आडैमा बसाल्दे, म सँग गफ गर्ने वातावरण मिलाईदे’ भनेर साहुलाई आदेश दिन्छन् । साहुले जड्याहाको झण्डै काखैमा बस्न बाध्य बनाउछन् स्टाफलाई-यसबारे मा पनि कथाकारहरू आँखा चिम्लेर बस्नु पर्ने हो ?

    ३. जड्याहा ग्राहकले महिला स्टाफलाई छुने निहुँ गर्छ ! पैसा निकाल्छ ! सुरुमा हातमा दिन्छ अनी बिस्तारै चोली तिर घुसार्दिन थाल्छ- स्टाफले पनि सुरुमा रिसाएजस्तो गर्छन्, झर्केजस्तो गर्छन् अनी बानी पर्छन् ! पैसाको मुखै कालो हुन्छ – टिप्स दिने ले दिन छाड्यो भने त्यो टिप्स ले खर्च धान्न बानी परेकी युवती को दैनिकीमा अभाव सुरु भैहाल्छ ! अनी आफै जड्याहासँग ढेस्सीएर चोलिभित्र टिप्स थाप्ने अबस्था सृजना हुन्छ- आँखै अगाडी यो सबै देखेर पनि चुप लाग्नु पर्ने हो यौटा कथाकार ?

    ४‌‍‍‍.  ‘दाई’ या ‘साहु’ सँग ‘त्यो चैँ केटी मलाई मन परी, ल म तल गाडीमा छु, छिटो पठाइदे’ भनेर हजारौँको बिल तिर्ने ग्राहकसँग स्टाफ नपठाए भोली देखी उ रक्सी खान आउँदैन ! ‘यता यसको रेटबाट कमिसन उता उसको बिलबाट घरभाडा को जोहो’ यस्तो तर्कना गर्दै आफ्नै स्टाफलाई जड्याहाको गाडीमा ‘जा’ भनेर आदेश दिनेहरू हाम्रो आँखै अगाडी छन-अब आँखा चिम्लिनुपर्ने हो ?

    ५. अरुले अलिकती प्रगती गर्ने वित्तीकै -लौ म चल्न सकिन, मैले कमाउन सकिन, म पछाडी परेँ भनेर रुँदै आत्तीदै ‘जे पनि गर्न तयार’ हरूको भिड छ ! कसैले बाध्य नबनाउँदा पनि त्यही बाटो समात्न हतार गरिरहेका नवयौवनाहरू कति छन कति-नलेख्ने यसबारे कथा ? कसको लागि लुकाइदिनुपर्ने हो यो सत्य ?

    अन्त्यमा, समाजको विकृत स्वरुपलाई ऐना नदेखाउने? बलात्कार पिडितलाई समेत ‘त्यसले फसाएकी हो’ भन्ने सोच पालेर गाली गर्ने र महिला प्रति थोरै पनि सकारात्मक सोच नराख्ने समाजको दृष्टिकोँण माथी सपुतले निकै ससक्त प्रहार गरेका छन् !

    नबुझ्नेहरूको साहित्यिक चेत माथी सपुतले गरेको प्रतिप्रश्न गजप लाग्यो मलाई !

  • आमासम्बन्धी दुई कविता

    आमासम्बन्धी दुई कविता

    १. महत्व

    भेट गर्न पाइनँ आमा
    माता तिर्थे औंसीमा
    सधैँ सम्झिरहन्छु हजूरलाई
    यो मेरो मनमा ।

    दुःखी नहुनु कहिले
    छोरी आईन भनेर
    हरपल सम्झिरहेकी हुन्छु
    आमा मेरी भगवान् भनेर ।

    छु दूरीमा धेरै टाढा
    मनमै राखेकी छु हजुरलाई
    छैन सम्भव आउन यहाँबाट
    कोटी कोटी नमन गरेकी छु हजुरलाई ।

    कति भाग्यमानी छु म
    हजुर जस्ती आमा पाएर
    नौ महिनासम्म
    हजुरको गर्भमा बस्न पाएर ।

    कसरी गर्नु आभार व्यक्त
    हजुरको यो ऋणको
    सधैँ नै आभारी रहन्छु
    म जन्म जन्मको ।

    २. आमाको ममता

    सबैकी छन् आमा,
    जन्म दिएकी छन् सबैलाई,
    सारा संसार दुनियाँ नै,
    आमा नभए त अन्धकार छ ।

    नौ महिनासम्म गर्भमा बोकी,
    जन्म दिन्छिन् यो पृथ्वीमा,
    निन्द्रा, भोक सबै नै त्यागी,
    आफ्नो सपना सन्तानमा हेरी ।

    लुटाउँछिन् सारा दिन ममता,
    सबै संस्कारले भरी,
    दुःख, कष्ट सबै नै भुल्छिन्
    सन्तानको अनुहार हेरी ।

    कसरी तिर्न सकिन्छ र त्यो ऋण
    जो आमाले लगाएकी छन्,
    उनले जस्तो कष्ट भोग्न कस्ले सक्छ र,
    जो आमाले भोगेकी छन् !

    -रमा कोइराला ‘अद्रिजा’

    रानीपुल, ढकाल गाउँ (पूर्वसिक्किम)

  • चिया गफ विथ चौथाइवाले ‘सोल्टी’

    चिया गफ विथ चौथाइवाले ‘सोल्टी’

    काठमाडौं । ‘सोल्टीसँगको भेट कस्तो रह्यो त ?’ धनगढीको रुबुस होटल परिसरमा भएको ‘नेपाल भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलन’को सत्रका नेपाली सहभागीले प्रश्न गरे । सोमबार बिहानको त्यो प्रश्नमा मैले केही बुझिनँ । प्रतिप्रश्न गरें, ‘को सोल्टी ?’ उनले हाँस्दै थपे, ‘भाउजूका भाइ सोल्टी होइन त ? आरजु भाउजूले राखी बाँधेर भाइ बनाएका चौथाइवाले हाम्रा सोल्टी हुन् ।’

    यो ठट्यौली प्रश्न सकिएपछि हामी अडिटोरियम हलमा छिर्‍यौं । आरजु राणाले पनि सम्बोधन गरिन् । सम्बोधनमा उनले भारतीय सत्ताधारी दल बीजेपीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेलाई नेपाली भाषामा ‘भाइ’ नै भनेर सम्बोधन गरिन् । आरजुले राखी लगाएर बनाएको भाइ सम्बन्धमा चौथाइवाले खासै धेरै भावुक देखिएनन् । आरजुले माइकबाट ‘भाइ’ भन्दा उनी फिस्स हाँसे । बोल्दाबोल्दै आरजुले सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सबैतिर पुल भएको तर डडेलधुरामा नभएको भन्दै भारतीय राजदूत नवीन श्रीवास्तवको ध्यानाकर्षण गरिन् । त्यो ध्यानाकर्षणमा पनि चौथाइवाले मुस्कुराए । पाँच पटक प्रधानमन्त्री भइसकेको नेताकी श्रीमती, बहालवाल सांसद तथा संसदको सबैभन्दा ठूलो दलकी सांसदले एक राजदूतलाई एक पुल बनाउन सार्वजनिक मञ्चमा गरेको आग्रह देखेर मुस्कुराएका होलान् ‘सोल्टी’ ।

    चौथाइवाले सोमबार साँझको उडानमार्फत धनगढीबाट काठमाडौं आए । काठमाडौं आउनुभन्दा एक दिन अगाडि आइतबार साँझ सडकमार्गबाट भारतीय राज्य उत्तराखण्डको सीमा पार गरेर महेन्द्रनगर हुँदै धनगढी आएका चौथाइवालेसँग सोमबार हाम्रो दोहोरो कुराकानी भयो । योजनाबद्ध कार्यक्रम नभएर बिहानको चिया नास्ताको समयमा होटलको हलमा उनीसँग कुरा हुने समय जुर्‍यो ।

    एक प्रजातान्त्रिक देशको कूटनीतिमा सत्ताधारी दलको विदेश विभाग प्रमुखको भ्रमणले अर्थ नराख्नुपर्ने हो । तर, चौथाइवालेको भ्रमणले अर्थ राख्छ । बीजेपीले कर्मचारीतन्त्रभन्दा आफ्नो दलकै कूटनीतिमा बढी विश्वास गर्दै आएको छ । विश्वको दक्षिणी गोलार्द्धको सभ्यता शक्तिको रुपमा आफूलाई उभ्याउने बीजेपी पार्टी लाइनले पनि कर्मचारीतन्त्रको होइन दलकै स्थायी प्रकृतिको सम्बन्ध बनाउन चाहेको देखिन्छ । चौथाइवालेको भारतीय विदेशमन्त्री एस जयशंकरदेखि प्रधानमन्त्री मोदीसम्मको निकट उठबसले त्यसलाई बुझ्न थप सजिलो बनाइदिएको छ ।

    बीजेपी अहिले विश्वको सबैभन्दा ठूलो दल हो । स्थापनाको चार दशक भएको बीजेपीका अहिले १८ करोड बढी सदस्य छन् । बीजेपीपछिको दोस्रो ठूलो दल चिनियाँ कम्युनिष्ट पार्टी हो, जसका सदस्य १० करोड हाराहारी छन् । भारतको सत्ताधारी कोणमा मात्रै होइन विश्वको सबैभन्दा ठूलो दलको विदेश विभाग प्रमुख तथा विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देशको प्रभावशाली नेताको रुपमा पनि चौथाइवालेको महत्व छ । त्यही महत्व बुझेर उनका कुरा सुन्न र बुझ्न हामी तयार थियौं ।

    आरजुले सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सबैतिर पुल भएको तर डडेलधुरामा नभएको भन्दै भारतीय राजदूत नवीन श्रीवास्तवको ध्यानाकर्षण गरिन् । त्यो ध्यानाकर्षणमा पनि चौथाइवाले मुस्कुराए । पाँच पटक प्रधानमन्त्री भइसकेको नेताकी श्रीमती, बहालवाल सांसद तथा संसदको सबैभन्दा ठूलो दलकी सांसदले एक राजदूतलाई एक पुल बनाउन सार्वजनिक मञ्चमा गरेको आग्रह देखेर मुस्कुराएका होलान् ‘सोल्टी’ ।

    आजतकका पंकज दासले धेरै समय नभए पनि खाजा खाँदाखाँदै कुरा गर्न सकिन्छ भन्ने संकेत गरेपछि हामीले टेबल चेन्ज गर्‍यौं । लोकान्तरका विन्देश दाहाल, अर्थ टीभीका रञ्जन झा, हिमालय टाइम्सका बालाकृष्ण शाह, राससका हेमन्त जोशीलगायतले टेबल परिवर्तन गर्‍यौं र चौथाइवाले बसेको टेबलमा आयौं । लगत्तै नमस्ते साटफेरपछि कुरा सुरु भयो । बालाले कुराकानी रेकर्ड गर्न प्रस्ताव गर्दा चौथाइवालेले मानेनन् । तर, कुराकानीलाई आधार बनाएर सामग्री लेख्नमा भने उनी माने ।

    पंकज दासले संकेत गरेको ‘थोरै समय’लाई ख्याल गर्दै म प्रश्न सोध्न हतारिएँ । सोधें, ‘यो पटक काठमाडौं जान दिल्लीबाट काठमाडौं हवाई यात्रा नगरेर किन सडक मार्गबाट उत्तराखण्ड हुँदै सुदूरपश्चिम आएर काठमाडौं जाने रुट रोज्नुभयो ?’

    आफूले उत्तराखण्डको विकास र नेपालसँगको सडक सञ्जाल हेर्दै आउन फरक रुट लिएको चौथाइवालेले बताए । महेन्द्रनगरबाट सुरु भएको चौडा सडकले आफूलाई आकर्षित गरेको उनले सुनाए । यात्राबारेमा कुरा गरेपछि अब भारतीय मुद्दाको कुरा सुरु भयो ।

    ‘मैले एस. जयशंकरको पुस्तक दि इन्डिया वे हेरे, उनले जर्मनीमा भएको म्युनिक सेक्युरिटी कन्फ्रेन्सको भाषण हेरें । हालसालै राइसिना डाइलग पनि हेरें । अहिले इन्डियाको आत्मवल व्यापक बढेको देख्छु । तपाईंहरुको कूटनीतिमा यति आत्मबल हुनुको कारण के हो ?’

    यसमा चौथाइवालेले तीन कारण भने । एक, भारतको बलियो सरकार र सरकारको बलियो दल बीजेपी । दुई, जयशंकर जस्ता कूटनीतिका काबिल अनुहार विदेशमन्त्री हुनु । तीन, मोदीले काममा भरपुर सहयोग गर्नु । हौसला दिनु । कूटनीतिमा भारतले कांग्रेस नेतृत्वको सरकारले भन्दा फड्को मारेको तर्क दिँदै चौथाइवालेले पहिले भारतीय विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघमा आफ्नो भाषण पढ्नुपर्नेमा पूर्ववक्ताको पढेर बेइज्जत गरेको जस्तो अब नहुने बताए । सन् २०११ मा तत्कालीन भारतीय विदेशमन्त्री एसएम कृष्णाले आफ्नो भाषण नपढेर पोर्चुगलका मन्त्रीको भाषण पढेका थिए ।

    मोदी र जयशंकरमात्रै होइन भारतीय क्याबिनेटको टीम स्पिरिट एकदमै राम्रो भएको उनले बताए । ‘कहिले म विश्वको एक कुनामा हुँदा जयशंकर अर्को कुनामा हुनुहुन्छ । तर, कुनै काम पर्दा सीधै सम्पर्कमा कुनै समस्या हुन्न’, चौथाइवालेले भने, ‘जयशंकर जतिबेला पनि कामका कुरामा तयार हुनुहुन्छ ।’

    उनको आसय नेपाल-भारत सीमा तनाव किन सधैंलाई समाधान हुन्न भन्ने थियो । यो प्रश्नमा उनले यो जटिल समस्या भएको स्वीकारे । तर, हरेक स्थानीय समस्यामा दिल्लीको हात नभएको बताए । ‘कतिपय सीमा समस्या स्थानीय कारणले उत्पन्न हुन्छ । तर, दिल्लीले गराएको जस्तो हल्ला हुन्छ’, उनले भने, ‘सीमा यस्तो छ कि कतिपय घरको एक कोठा नेपाल अर्को कोठा भारतमा पर्छ ।’

    जयशंकरमात्रै होइन मोदी र अरु सबै क्याबिनेट अनुहारहरु त्यही रफ्तार र लयको भएको उनले सुनाए । युक्रेनबाट अड्किएका भारतीयहरु ल्याउन रुस र युक्रेनको ४८ घण्टाको युद्धविरामदेखि त्यो काममा भएको सहजीकरणको उदाहरण दिँदै चौथाइवालेले कर्मचारीतन्त्रले दश वर्षमा गर्न सकिने भनेको करोडौं भारतीयको बैंक खाताको काम एकै वर्षमा सकिएको तर्क गरे । मन्त्रालयका काममा मन्त्रीहरु १६ घण्टासम्म खट्ने उनले सुनाए ।

    पाकिस्तानको विरोध पहिले जस्तो धेरै भारतीय मञ्चहरुमा हुन छाडेको छ । किन यस्तो भन्ने प्रश्नमा उनले भने, ‘भारत अब पाकिस्तानको प्रतिस्पर्धाभन्दा धेरै पर गइसक्यो । पाकिस्तान समस्या त हो । तर, धेरै चर्चाको विषय होइन । पाकिस्तानबाहेक सबै छिमेकीहरुसँग भारतको सम्बन्ध राम्रो छ ।’

    रञ्जन झाले नेपाल र भारत देशको रुपमा आउनुभन्दा अगाडिबाट दुई क्षेत्रका नागरिकहरुको सम्बन्ध भएको तर अहिले राजनीतिमा त्योस्तरको आउन किन सकेन भनेर प्रश्न गरे । उनको आसय नेपाल-भारत सीमा तनाव किन सधैंलाई समाधान हुन्न भन्ने थियो । यो प्रश्नमा उनले यो जटिल समस्या भएको स्वीकारे । तर, हरेक स्थानीय समस्यामा दिल्लीको हात नभएको बताए । ‘कतिपय सीमा समस्या स्थानीय कारणले उत्पन्न हुन्छ । तर, दिल्लीले गराएको जस्तो हल्ला हुन्छ’, उनले भने, ‘सीमा यस्तो छ कि कतिपय घरको एक कोठा नेपाल अर्को कोठा भारतमा पर्छ ।’

    नेपाल-भारतको राजनीतिक सम्बन्धमा कर्मचारीतन्त्र हावी भएको छ कि छैन भन्ने प्रश्नमा उनले अहिले नेपाल-भारत सम्बन्धमा राजनीतिकस्तर सबैभन्दा राम्रो भएको बताए । ‘मोदी नेपालप्रति व्यक्तिगत रुपमै इच्छुक हुनुहुन्छ । अहिले भारतीय जनता पार्टीले पार्टीस्तरको सम्बन्धमा काम गरेको छ । त्यसैले कर्मचारीतन्त्र हावी हुने ठाउँ नै छैन’, उनको दाबी थियो ।

    कांग्रेस नेताहरुदेखि प्रचण्डसम्मको बीजेपी निमन्त्रणाको कार्यक्रम भएको भन्दै उनले अरु देशका प्रमुख नेताहरुलाई पनि क्रमशः बीजेपी मुख्यालयमा बोलावट हुने बताए । सुरुमा तीन पत्रकारसँग मात्रै कुराकानी भइरहेकोमा आधा घण्टा हाराहारी पुग्न लाग्दा अरु पत्रकार थपिए । अनलाइनखबरका दिपेश शाही, नेपाल टेलिभिजनका डीपी उपाध्यायलगायत थपिए । प्रश्नहरु पनि थपिए ।

    पार्टीहरुको कुरा आएपछि बाला शाहले सोधिहाले, ‘अहिले नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी आएका छन् । यसलाई कसरी लिनुहुन्छ ?’ यसमा उनले धेरै टिप्पणी गरेनन् । ‘साेल्टी’ चाैथाइवालेले भने, ‘यो नेपालको आन्तरिक राजनीतिक कुरा हो । मैले के भन्नु र ?’

    कुराकानीको रफ्तारमा रौनक आइरहेको थियो । पंकज दासले भनेको ‘थोरै समय’ भन्दा धेरै कुराकानी भयो । ४० मिनेट बढी दोहोरो कुराकानी भइसकेको थियो । आयोजकले हलमा कार्यक्रम सुरु हुन लागेको संकेत गरे ।

    समय छोटिएसँगै मैले बसाइको अन्तिम प्रश्न गरें, ‘तपाईंले नेपालका सबैजसो दलका प्रमुखहरुसँग व्यक्तिगत भेटघाट र दोहोरो कुराकानी गर्नुभएको छ । त्यो कुराकानीमा सबैभन्दा राम्रो प्रस्तुति कसको हुन्छ ?’

    यो प्रश्नको उत्तरमा उनी त्यसरी नै मुस्कुराए, जसरी आरजु राणाले राजदूतसँग डडेल्धुराको पुल बनाउन आग्रह गर्दा मुस्कुराएका थिए ।

  • ‘दुःख’ बोल्छन् योगेशहरु : मारमा पर्छन् माधवहरू

    ‘दुःख’ बोल्छन् योगेशहरु : मारमा पर्छन् माधवहरू

    योगेश भट्टराईका निम्ति यी पंक्तिले गाली गर्दैन, अर्ति पनि दिँदैन । ती दुवै कुरा उनका लागि जरुरी पनि छैन ।

    २९ चैतमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उभिएर उनले माधव नेपाललाई प्रश्न गरे, ‘होसमा हुनुहुन्छ कि हुनुहुन्न ?’

    यो उक्त प्रश्नको जवाफ पनि होइन ।

    योगेशको यस्तो अभिव्यक्तिपछि एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ता र त्यसका थुप्रै शुभचिन्तकले सामाजिक सञ्जालबाट उनलाई जवाफ वा त्यसप्रति विभिन्न कोणबाट टिप्पणी पनि गरे ।

    यदि स्वयं योगेश होसमा थिए भने प्रतिनिधिसभाको २५ पुसको बैठकमा उनका अध्यक्ष केपी ओलीले भनेको कुरा पक्कै सम्झना हुनुपर्छ । ओलीले उक्त बैठकमा भनेका थिए, ‘अघिल्लो पटक संसद् विघटन गर्नु प्रतिगमन हो भनेर विभिन्न हुइयाँ चलाइयो । त्यसो हो भने बेलायतमा धेरै पटक प्रतिगमन भएछन् । संसद् विघटन गर्नु प्रतिगमन होइन । विभिन्न हतकण्डा अपनाएर सरकार ढाल्नु प्रतिगमन हो ।’

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको भोलिपल्टको बैठकमा जवाफ दिएका थिए, ’हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । संसद् विघटन गरेर प्रतिगमनको कदम चालिएको थियो, कहिल्यै नचालियोस् ।’

    नयाँ संसदमा खुट्टा राख्नासाथ अघिल्लो संसद्लाई असंवैधानिक तवरले दुई–दुई पटक विघटन गरेको विषयलाई सही भन्ने ओलीको नियत हो, फेरि पनि विघटनमार्फत स्वेच्छाचारितातर्फ उन्मुख हुने । त्यसैले माधव नेपालहरूले एक पटक हैन, दुई पटक हैन, पटक–पटक भनिरहनुपर्छ, ‘खबरदार, संसद् विघटन गर्न पाइँदैन ।’

    किनभने, ओलीको नियत नै संसदविहीन सरकारको सञ्चालन हो । त्यस्तो सरकार संसदप्रति जबाफदेही हुनुपर्दैन । जवाफ दिनुपर्ने ठाउँ नै नभएपछि मनलाग्दी निर्णय गर्न, निकटस्थलाई पोस्न, भ्रष्टाचार गर्न र यावत इच्छाहरू पूरा गर्न सजिलो हुन्छ भन्ने कुरा अघिल्लो कार्यकालमा दुई पटक गरिएको विघटनको अनुभव उनीसँग छ ।

    योगेशको प्रश्न थियो, ‘एमाले आफैँ प्रतिपक्षमा छ, त्यसले कसरी संसद् विघटन गर्न सक्छ ?’

    अब दुई कुरामा जानुपर्छ । एउटा हो, एमाले सत्तारुढ भएको दुई महिनामै कसरी प्रतिपक्षी बन्न पुग्यो ?

    योगेशले २९ चैतमा माधव नेपालको ‘होस’ का बारेमा गरेको प्रश्न माधव नेपालका निम्ति गाली हैन, ओलीलाई खुशी पार्न बोलेका कुरा हुन् । अर्थात्, केपी ओलीको कार्यकर्ता बन्नका निम्ति पालना गर्नुपर्ने नियमअनुसार उनले त्यस्तो बोले । खासमा त्यो योगेशको ‘दुःख’ हो, ‘मर्जी’ हैन ।

    कारण हो, ओलीले पुस २५ मा संसद् विघटन गर्न पाइन्छ वा सकिन्छ भनेपछि प्रधानमन्त्री प्रचण्ड उनीसँगको सत्ता सहकार्यबारे सोच्न बाध्य भए । देशमा संसद् विघटनपछि विकसित राजनीतिक समीकरणलाई तोडेर प्रचण्ड ओलीसँग सहकार्य गर्न गएको १५ दिनमै ओलीले प्रचण्डको ढाडमा टेकेर आफूले गरेको संसद् विघटन ठीक थियो भन्ने पार्न चाहँदै थिए । फलतः राष्ट्रपति निर्वाचनको प्रक्रिया शुरु भएसँगै एमालेसँगको सहकार्य तोड्ने स्थितिमा प्रचण्ड पुगे, एमाले प्रतिपक्षी भयो ।

    दोस्रो कुरा हो, एमाले आज प्रतिपक्षी बेन्चमा छ, त्यसैले उसले संसद् विघटन गर्दैन, गर्न सक्दैन भन्ने योगेशको कुरा केटाकेटी खेलाएजस्तो हो । एमाले आज पनि कसरी, कन दाऊ रचेर सरकारमा हाबी हुन सकिन्छ र संसद् विघटन गरी ओलीको व्यक्तिवादी, अहंकारी सत्ता चलाउन सकिन्छ भन्ने ध्याउन्नमै छ । यद्यपि, अबका राष्ट्रपति ओलीको त्यो जालमा पर्ने सम्भावना शून्य छ ।

    हिजो ओलीले प्रचण्डसँग सत्ता सहकार्य गरिरहँदा राष्ट्रपतिको सुनिश्चितता खोजेका थिए । किनभने, आफ्नो मुठ्ठीको राष्ट्रपतिमार्फत आफ्ना नियतहरू पूरा गराउनु । आज राष्ट्रपति एमालेसँग नभए पनि संसद्का सभामुख उसका छन् । जुनसुकै बाटो वा विधिबाट भए पनि देशलाई संसदविहीन बनाउनु ओलीको नियत हो । पक्ष वा प्रतिपक्षमध्ये कता छ भन्ने कुरा गौण विषय हो । माधव नेपाल र अरू थुप्रै नेताहरूले भन्ने गरेको पनि यही नै हो कि, ओली संसद् विघटन गर्न चाहन्छन्, चनाखो भएर बसौँ ।

    योगेश भट्टराई र उनीजस्ता ‘होस’ लाई बन्धकमा राखेर अरूका ‘होस’ माथि प्रश्न गर्ने योग्य पंक्ति एमालेभित्र प्रशस्तै छ । सबैको एउटै दुःख हो, त्यहाँ टिक्नका लागि नचाहेर पनि नियम पालना गर्नुपरेको छ । वा, पालना गर्नुपर्ने बाध्यतामा परेका छन् । जो नियमभित्र बस्न बाध्य छैनन्, तिनीहरू केही दिन, साता वा महिनाभित्रै त्यहाँबाट अलग हुँदैछन् भन्ने सूचना प्राप्त भएको छ ।

    योगेशका दुःख

    समकालीन नेपाली राजनीतिको दोस्रो पुस्तामा योगेश भट्टराई त्यस्ता नेता हुन्, जसको हाराहारीमा थोरै मान्छे ‘नेता’ हुन सकेका छन् । एमालेभित्र खोज्ने हो भने त उनी जत्तिको चलायमान, क्रियाशील र देशभरिका कार्यकर्तालाई सांगठनिक विधिले परिचालन गर्ने ल्याकत कोहीसँग छैन । जो छन्, ती ‘बा’ का खुलेआम भक्त छन् ।

    तिनले कार्यकर्तामा जानुपर्छ, संगठन गर्नुपर्छ, विचार राख्नुपर्छ, फरक विचार सुन्नुपर्छ भन्ने कुरा सिक्दै सिकेनन् । वा, सिकेर पनि बिर्सिसके । योगेशचाहिँ ‘होस’ मा भएको बेला ‘बा’ सँग विद्रोह पनि गर्छन् । जस्तो कि, ०७७ पुस ५ को संसद् विघटन लगत्तै ओलीको क्याबिनेट मन्त्रीबाट राजीनामा दिए, सडकमा आए ।

    त्यसैले माधव नेपालको ‘होस’ माथि योगेशले प्रश्न गरेपछि एकीकृत समाजवादीका केही कार्यकर्ताबीच कुरा पनि चल्यो, ‘ओलीका अरू भक्तजस्ता योगेश हैनन्, किनभने, कहिलेकाहीँ उनको होस खुल्ने गरेको छ ।’

    ‘यसो भनेर उनले जे–जे भन्छन्, त्यसमा सही थाप्ने कि जवाफ दिने ?’, अर्का कार्यकर्ताको प्रश्न थियो ।

    यतिबेला एमालेभित्र योगेशहरु ठूलो दुःख पालेर बसिरहेका छन् । नछोड्नु माधव नेपालको साथ छोडिहाले । राजनीतिमा जो, जहाँ लाग्छ, उसले त्यहाँको नियमभित्र बस्नुपर्छ । उनको पार्टीको एकमात्र नियम हो, ‘बा’ हो हित र तारिफबाहेक केही सोच्न र गर्न पाइँदैन । गाली गर्न त झन् मिल्दै मिल्दैन । गरिहाले भीम रावल र घनश्याम भुसाल बनाइने हो ।

    त्यसैले योगेशले २९ चैतमा माधव नेपालको ‘होस’ का बारेमा गरेको प्रश्न माधव नेपालका निम्ति गाली हैन, ओलीलाई खुशी पार्न बोलेका कुरा हुन् । अर्थात्, केपी ओलीको कार्यकर्ता बन्नका निम्ति पालना गर्नुपर्ने नियमअनुसार उनले त्यस्तो बोले । खासमा त्यो योगेशको ‘दुःख’ हो, ‘मर्जी’ हैन ।

    कुनै दिन एमाले थामेर बसेका योगेश र उनीजस्ता सयौँ नेताहरू आज भूमिका शून्य छन् । अलिकति, कतैबाट भूमिका पाइहालिन्छ कि भनेर कहिलेकाहीँ आफ्नो बेहोसीबाट व्युँझिन खोज्छन् र अरूका ‘होस’ छ कि छैन भनेर सोध्छन् भने सोधिरहन दिऔँ । किनभने, हामीले हिजो पनि, भोलि पनि तिनलाई नेता मान्नु नै छ ।

    होस खुलेको योगेश भट्टराई संसद् विघटनदेखि नै सडकमा हुन्छ । उनलाई ओलीको क्याबिनेटमा मन्त्री बनाउनका निम्ति विद्या भण्डारीले लगाइदिएको गुन तिर्नु थियो । भनेको मानेर एमालेमै बसे । मंसिर ४ को चुनावका निम्ति ओलीले ताप्लेजुङबाट नदिन खोजेको टिकट विद्यामार्फत लिए । फेरि पनि गुनहरू तिर्दै जानु छ । त्यसैले कहिलेकाहीँ माधव नेपाललाई ‘तपाईँ होसमा हुनुहुन्छ कि हुनुहुन्न ?’ भनेर बोलिदिनुपर्ने अवस्था छ । यी कुरा उनले आफ्ना लागि हैन, आफूले रोजेको ठाउँमा बस्नका लागि पूरा गर्नुपर्ने नियम पालना गर्नका लागि बोले । एउटा ठाउँमा पुगेर उनको होस खुल्छ, फेरि उनी अर्को नियमतिर लागिहाल्छन् ।

    ‘त्यसैले साथी हो, गाली नगरौँ’, पंक्तिकारले एकीकृत समाजवादीका ती कार्यकर्तालाई यसरी आग्रह गरेको छ ।

    योगेश भट्टराई र उनीजस्ता ‘होस’ लाई बन्धकमा राखेर अरूका ‘होस’ माथि प्रश्न गर्ने योग्य पंक्ति एमालेभित्र प्रशस्तै छ । सबैको एउटै दुःख हो, त्यहाँ टिक्नका लागि नचाहेर पनि नियम पालना गर्नुपरेको छ । वा, पालना गर्नुपर्ने बाध्यतामा परेका छन् । जो नियमभित्र बस्न बाध्य छैनन्, तिनीहरू केही दिन, साता वा महिनाभित्रै त्यहाँबाट अलग हुँदैछन् भन्ने सूचना प्राप्त भएको छ ।

    यदि योगेशहरु उनीहरूकै क्षमतामुताबिकको जिम्मेवारीमा हुन्थे भने आजको एमाले पनि सुन्दर देखिन्थ्यो । तर, त्यहाँको नियमले त्यस्तो हुन दिएन । किनभने, यी बेलाबेलामा ‘होस’ खुल्ने मान्छेहरूको भरमा ओली परेनन्, योगेशहरु कुँजिएर बसे ।

    नवौँ महाधिवेशनबाट सचिवमा शानदार मत ल्याएर जित्ने योगेश सौराहा काण्ड (दशौं महाधिवेशन) बाट टीको लगाएर उही सचिवमै । नवौँमा सचिव हारेको मान्छे दशौँमा उपमहासचिव हुन्छ । यो ओली दलको नियम हो । त्यो नियम त्यहाँ मान्नुपर्छ, नमाने छाड्नुपर्छ ।

    कुनै दिन एमाले थामेर बसेका योगेश र उनीजस्ता सयौँ नेताहरू आज भूमिका शून्य छन् । अलिकति, कतैबाट भूमिका पाइहालिन्छ कि भनेर कहिलेकाहीँ आफ्नो बेहोसीबाट व्युँझिन खोज्छन् र अरूका ‘होस’ छ कि छैन भनेर सोध्छन् भने सोधिरहन दिऔँ । किनभने, हामीले हिजो पनि, भोलि पनि तिनलाई नेता मान्नु नै छ ।

    त्यसैले एकीकृत समाजवादीका टिप्पणीकर्ताहरूलाई पंक्तिकारको आग्रह छ, मान्छेहरूको दुःख हेरिदिऊँ । उनीहरू आफैँ होस र जोसमा छन् कि छैन, त्यो पनि बुझौँ । अनि मात्र, टिप्पणी गरौँ ।

  • ‘झम्के गुलेली’ भाकाको आन्तरिक कथा र अहिलेको विवादबारे चिरफार

    ‘झम्के गुलेली’ भाकाको आन्तरिक कथा र अहिलेको विवादबारे चिरफार

    एक पटक वरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’ अरु नै लेखकबाट लेखाइएको आरोप लागेपछि एक टेलिभिजन अन्तर्वार्तामा निकै रिसाएर भनेका थिए, ‘तपाईंले आफूले जन्माएको सन्तान तपाईंको होइन अरु कसैको हो भन्यो भने कस्तो लाग्छ ? मेरो पुस्तक पनि त्यस्तै हो ।’ मेरो संकलन र स्वरमा रेडियो नेपालमा रेकर्ड भएको लोकभाका ‘झम्के गुलेली’माथि पनि समय समयमा यस्तै आरोप लागिरहन्छ । हालै एक युट्युब च्यानलले ‘झम्के गुलेली’ लोकभाकाको विषयमा ममाथि अनर्गल आरोप लगाउँदा म आफू पनि बहुत मर्माहत भएको छु ।

    लोकभाकाको रचना हुन्न, सङ्कलनमात्र हुन्छ । मैले सङ्कलन गरेको लोकभाका ‘झम्के गुलेली’माथि बेला बेलामा लगाइने अनर्गल आरोपको खण्डन गर्न आज म बाध्य भएको छु । यो लोकभाकाको इतिहास र मेरो लोक गायनको सुरुवात संखुवासभा जिल्लाको धुपु भन्ने गाउँबाट सुरु भएको हो ।

    मेरो जन्म संखुवासभा जिल्लाको साविक धुपु गाविस वार्ड ३ मा भएको हो । गाउँमै विद्यालयस्तरीय शिक्षा हासिल गरें । पछि उच्च शिक्षाको लागि म काठमाडौं हानिएँ । पढाइ सँगसँगै संगीतप्रति अभिरुचि भएकाले डोरेमी संगीत पाठशाला जमलमा २०५८ सालमा भर्ना भएँ । त्यसको एक वर्षपछि नै आफ्नै सङ्कलनमा पहिलो लोकभाका ‘फुलै र फुल्यो ओइलेर गइगयो’ म्युजिक नेपालमार्फत रेकर्ड गराएँ । त्यसपछि २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरें । मेरो संगीत यात्राको कोशेढुंगा भने २०६२ सालमा रेडियो नेपालमा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगिता भयो । जहाँ मैले उत्कृष्ट सङ्कलकको अवार्ड जितें । त्यसपछि मलाई रेडियो नेपालमा वर्षमा कम्तिमा दुई वटा गीत रेकर्ड गर्ने अवसर मिल्यो । अनि म लोकभाका सङ्कलनको लागि गाउँ, बस्ती, पाखा, पखेरा घुम्न निस्कें ।

    गीत रेकर्ड गर्दैगर्दा वरिष्ठ संगीतकार आदरणीय बुलु मुकारुङ स्टुडियोमा टुप्लुक्क आइपुग्नुभयो । मेरो गीत सुनिसकेपछि मलाई धाप मार्दै ‘हौ केटा, यस्तो भाका त बीसौं वर्षपछि पो आयो त ! लु हौ, धेरै पो बज्ने भो । देश दुनियाँले सुन्ने भो है ! लु धेरै राम्रो छ । प्रगति गर्दै जानु है !’ भन्नुभएको कुरा अहिलेसम्म ताजै छ ।

    लोकभाका सङ्कलनको क्रममा ‘झम्के गुलेली’ लाई २०६६ सालमा फेला पारेको हुँ । उक्त साल दशैंको अवसरमा म काठमाडौंबाट जन्मथलो संखुवासभा धुपु गएको थिएँ । सो अवसरमा मेरा मावला गएको बेला मेरा मामा गुरुप्रसाद सुवेदीले ‘झम्के गुलेली’को केही गेडा र रहनी खेस्रा गरेर दिनुभयो । जुन यस्तो थियोः

    सबै र बाख्रा उकाली लागे अरुनी बाख्रा खोइ भन है झम्के गुलेली
    अरु है आउँदा जेसुकै भन म आउँदा चाहिँ पोइ भन है झम्के गुलेली

    यो भाका मलाई निकै राम्रो र नयाँ लाग्यो । यसको सर्जक झम्के अधिकारी भनिने उमापती अधिकारी थिए भन्ने कुरा पनि मामाले सुनाउनुभयो । उनी संखुवासभाको माङसिमा खर्क भन्ने ठाउँमा गाई-भैंसीपालन गरेर बस्ने, नौनीघ्यु बेच्ने, बख्खु लगाएर हिँड्ने उक्त क्षेत्रको निकै चर्चित मानिस रहेछन् । उनले ‘झम्के गुलेली’ भन्दै गीत गाउँदै हिँड्दा उनको नाम नै झम्के अधिकारी भएछ । मैले उक्त भाकाको अरु अंशहरु खोजी गर्न थालें । उक्त भाका संखुवासभा जिल्लाको धुपु, बाह्रबीसे, सुनाम्ला, आपुङ, गोरुजुरे आदि ठाउँतिर उबेला निकै चर्चित रहेछ ।

    एक दिन म मेरी फुपू हेमकुमारी कट्टेलको घरमा पुगें । फुपूले पनि ‘झम्के गुलेली’ भाका झम्के अधिकारीले गाउने गरेको भन्ने सुनेको भन्नुभयो । तर, गीतका अंशहरु चाहिँ ख्याल नभएको भन्नुभयो । फुपू पनि लोकभाकाहरुमा रुचि राख्ने र उहिले बैंसमा खुब गीत गाउने भएकाले मलाई गीतका विभिन्न भाका र अनुप्रासहरु सुनाउनुभयो । फुपूले गोठालो गर्दा, घाँस दाउरा गर्दा, लेभ्राङ भन्ने ठाउँमा रातोमाटो बोक्न जाँदा गाएका भाकाहरु निकै आर्गनिक र मार्मिक थिए । मैले सबै भाकाहरुलाई डायरीमा टिपोट गरेर फर्किएँ ।

    गीत रेकर्ड गर्नुभन्दा अगाडि रेडियो नेपालले ‘म आउँदा चाहिँ पोइ भन है झम्के गुलेली’ भन्ने लाइनको ‘पोइ’ शब्दमा सेन्सर गरेको थियो । यो शब्दको ठाउँमा अरु कुन शब्द राख्ने भन्नेबारे निकै सकस भोग्नुपर्‍यो । सुर्खेतका एक दिग्गज, विद्वान कलाकार, लोकगीत सङ्कलक एवं वरिष्ठ मादल वादक प्रेमदेव गिरीज्युले ‘ओइ’ भन्ने शब्दलाई अनुप्रासमा सिंगारी दिनुभयो । ‘अरुनी बाख्रो’को ठाउँमा ‘घोर्ली बाख्रो’ बनाइयो ।

    झम्के अधिकारीको शीर्ष भाका ‘झम्के गुलेली’मा मेरी फुपूले टिपाउनुभएको केही भाकाहरुलाई मिलाएर १० लाइनको गीत बनाएर रेडियो नेपाल छिरें । त्यो बेला रेडियो नेपालमा गीत रेकर्ड गर्न पालो कुर्नुपर्थ्यो । मेरो पालो २०६७ सालको माघ महिनामा आयो । गीतलाई मिठास दिन निकै रियाज र स्वर साधना गरेको थिएँ । गीत रेकर्डबाट मैले ४०० रुपैयाँ पारिश्रमिक पनि पाएँ । मेरो लागि रकम ठूलो कुरा थिएन । आफ्नो गाउँठाउँको एउटा लोकभाका रेडियो नेपालमा रेकर्ड गर्न पाएकोमा ठूलो खुशी लागेको थियो ।

    गीत रेकर्ड गर्दैगर्दा वरिष्ठ संगीतकार आदरणीय बुलु मुकारुङ स्टुडियोमा टुप्लुक्क आइपुग्नुभयो । मेरो गीत सुनिसकेपछि मलाई धाप मार्दै ‘हौ केटा, यस्तो भाका त बीसौं वर्षपछि पो आयो त ! लु हौ, धेरै पो बज्ने भो । देश दुनियाँले सुन्ने भो है ! लु धेरै राम्रो छ । प्रगति गर्दै जानु है !’ भन्नुभएको कुरा अहिलेसम्म ताजै छ । साँच्चै उहाँले भने जस्तै ‘झम्के गुलेली’ लोकगीत पारखीहरुमाझ निकै लोकप्रिय भयो र अहिले पनि लोकप्रिय नै छ ।

    रेकर्ड भएको ९-१० महिनापछि मात्रै गीत एफएम स्टेसनबाट पनि बज्न सुरु भयो । गीत रेकर्ड गर्नुभन्दा अगाडि रेडियो नेपालले ‘म आउँदा चाहिँ पोइ भन है झम्के गुलेली’ भन्ने लाइनको ‘पोइ’ शब्दमा सेन्सर गरेको थियो । यो शब्दको ठाउँमा अरु कुन शब्द राख्ने भन्नेबारे निकै सकस भोग्नुपर्‍यो । सुर्खेतका एक दिग्गज, विद्वान कलाकार, लोकगीत सङ्कलक एवं वरिष्ठ मादल वादक प्रेमदेव गिरीज्युले ‘ओइ’ भन्ने शब्दलाई अनुप्रासमा सिंगारी दिनुभयो । ‘अरुनी बाख्रो’को ठाउँमा ‘घोर्ली बाख्रो’ बनाइयो । रेडियो नेपालले सेन्सर लगाएको कुरा बीबीसी नेपाली सेवाले पनि थाहा पायो र मलाई पत्रकार सेवा भट्टराईज्यूले बीबीसीमा बोल्ने अवसर दिनुभयो । त्यसैगरी कान्तिपुर दैनिकका पत्रकार, गायक आदरणीय पारस नेपालज्यूले कभर स्टोरी बनाएर गीतको नालीबेली सबै लेख्नुभयो । त्यो अवसर आदरणीय पत्रकार एवं साहित्यकार देवेन्द्रराज भट्टराईज्यूबाट प्राप्त गरेको थिएँ ।

    ‘झम्के गुलेली’ सञ्चारमाध्यमा बज्न थालेको केही समयमा नै निकै लोकप्रिय भयो । मलाई विभिन्न महोत्सवमा यो गीत गाउन आमन्त्रण हुन थाल्यो । पहिलो चोटि मलाई तेह्रथुम महोत्सवमा आमन्त्रण गरिएको थियो । तर, यो गीतको ट्र्याक तयार थिएन । हतार हतार ट्र्याक बनाउन लगाएर २०६८ सालमा तेह्रथुम गएर पहिलो चोटि स्टेजमा यो गीत गाएको थिएँ । त्यसपछि यही गीत गाउन विभिन्न महोत्सव, सांगीतिक कार्यक्रम र रियालिटी सोहरुमा धेरै चोटि उपस्थित भइसकेको छु ।

    म विशुद्ध लोकभाका संरक्षणमा लागेको व्यक्ति हुँ । मैले पैसा कमाउने उद्देश्य राखेको भए उक्त लोकभाकालाई निजी स्टुडियोमा रेकर्ड गराएर बेच्थें होला । तर, लोकभाका भनेको लोकको हो भन्ने उद्देश्य राखेर रेडियो नेपालमा रेकर्ड गराएँ र राष्ट्रकै स्वामित्वमा छाडिदिएँ ।

    गीत रेकर्ड भएको आज १३ वर्ष भइसकेको छ । यस बीचमा मैले यसै गीतको लागि केही राष्ट्रिय अवार्डहरु पनि पाएँ । यही गीतका लागि ‘क्लोज अप हिट्स एफएम अवार्ड २०६८’ र ‘पूजा लोकदोहोरी अवार्ड २०६८’ पाएको थिएँ । गीतको लोकप्रियता अहिलेसम्म पनि घटेको छैन । तर, हाल आएर गीतको उत्पत्ति र सङ्कलनको बारेमा धावा बोल्न थालिएको छ । ममाथि गीतको भाका चोरेको आरोप लगाउँदै नक्कली रचनाकार खडा गरी युट्युब च्यानलहरुले गलत सूचना सम्प्रेषण गरिरहेका छन् । तिनै युट्युब च्यानलको अनर्गल सामग्री हेरेर आउने गालीगलौजको बाढी हेर्दा मर्माहत हुन्छु । मबाट ठूलै अपराध भएको जस्तो गरेर ममाथि प्रहार हुन्छ ।

    म विशुद्ध लोकभाका संरक्षणमा लागेको व्यक्ति हुँ । मैले पैसा कमाउने उद्देश्य राखेको भए उक्त लोकभाकालाई निजी स्टुडियोमा रेकर्ड गराएर बेच्थें होला । तर, लोकभाका भनेको लोकको हो भन्ने उद्देश्य राखेर रेडियो नेपालमा रेकर्ड गराएँ र राष्ट्रकै स्वामित्वमा छाडिदिएँ । मेरो निःस्वार्थ भावनामाथि कसैले कुदृष्टि राखेर अनर्गल प्रचार गरिदिदाँ ‘झम्के गुलेली’माथि नै अन्याय भएको छ ।

    म यो पनि भन्न चाहन्छु कि लोकगीत एउटाको बारीमा मात्र फल्ने फल हैन । यो त एक वरपीपल जस्तै वृक्ष हो । जसको जरा धेरै तलसम्म धसिएर जान्छ । चौतर्फी यसका जराहरु फैलिन पुग्छन् । जुन जरा अरुको सिमानामा पुग्दा गौरव गर्नुपर्छ, रिसले काट्ने होइन । पुराना सर्जकका अनुभवभित्र यी नै रहनी, बथनी भाव, रङ्गहरु लोकगीतमा भेटिन्छन् ‌। भाइरलको नाममा बनेका सृजनाहरुको मूल जरो गमलामा मात्र सीमित हुन्छ । सबैलाई सर्वोपरि हित हुने छायाँ र शितलता नदिनसक्छ । निस्वार्थ मन, शक्तिशाली सोचाइलाई देशको संस्कृतिमाथिको योगदानमा लगानी गर्नसके अझै पनि लोक जीवनका गोरेटोहरुबाट लोकलयको सुवास प्राप्त गर्न सकिन्छ ।

    जय लोकगीत, जय लोक संस्कृति !

    सुन्दरबजार, कीर्तिपुर

  • बसन्त चौधरीको पहिलो बालकविता संग्रह सार्वजनिक, नातिनीको नाममा ५६ कविता

    बसन्त चौधरीको पहिलो बालकविता संग्रह सार्वजनिक, नातिनीको नाममा ५६ कविता

    काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् ।

    आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहकाबीच कवि चौधरीले लेखेको बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो ।

    कवि चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बाल कविता संग्रह प्रकाशन गरेका हुन् । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीतहरुका संग्रह प्रकाशित भइसकेका छन् । दर्जनौं चर्चित नेपाली गीतहरुका उनी सर्जक समेत हुन् ।
    कवि चौधरी, उनी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य(चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरुले बालकविता संग्रह ‘आहाना’को सामूहिक लोकार्पण गरेका थिए ।

    आकर्षक साजसज्जासहितको रंगीन कलेवरमा प्रकाशन गरिएको बाल कविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ‘कोपिला किताब’ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरु समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक छ ।

    कविता संग्रह विमोचन समारोहमा बोल्दै कवि बसन्त चौधरीले आफू निकै खुशी भएको उल्लेख गर्दै भने, ‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ । मन प्रफूल्लित छ ।’

    उनले आफ्नी नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेको, भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कविताहरुलाई संग्रहको रुप दिएको बताए । कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाई थियो ।

    उनले बालसाहित्यको महत्वको विषयमा समेत आफ्ना धारणा राखेका थिए । ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो’, उनले भने, ‘मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाई देख्दा डाह लाग्थ्यो । नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन ।’

    कवि चौधरीले बाल साहित्यले नेपालमा उचाई हासिल नगरे पनि बाल साहित्यको विषयमा संस्थागत कामहरु भएका भन्दै त्यस्तो काम गर्ने सबै सर्जकप्रति आभार व्यक्त गरे । ‘लगानी गरेर बालसाहित्य वा कृति प्रकाशन गर्दा रिटर्न आउँदैन ।’ उनले भने, ‘तर बाल साहित्यलाई व्यापार भन्दा पनि एउटा आन्दोलनको रुपमा लिनुपर्छ ।’

    बालबालिकालाई रचनात्मक कुराहरु कविता र गीतबाट सिकाउन सकिए त्यसले निकै ठूलो परिवर्तन गर्ने र बाल मानसपटलमा सिर्जनात्मक कुराहरुको बास हुने उल्लेख गर्दै विश्वभर शिक्षामा परिवर्तन भइरहँदा नेपालमा पनि हुनुपर्ने र सिकाईको माध्यमको रुपमा कविता र गीतहरुलाई पनि समावेश गरिनुपर्नेमा उनको जोड छ ।

    कार्यक्रममा बोल्दै स्कूलकी डाइरेक्टर पवित्रा लिम्बूले कवि बसन्त चौधरीले आफ्नी नातिनीलाई जन्मदिनको दिन विशेष गिफ्ट दिएका उल्लेख गर्दै भनिन्, ‘हजूरबुबाबाट यस्तो गिफ्ट आयो कि सबैलाई बाँड्न मिल्ने ! अब आजदेखि बसन्त चौधरी आहानाको मात्र होइन, देशभरका बालबालिकाहरुको पनि हजूरबुबा बन्नुभयो ।’ उनले चौधरीले नेपालको बालसाहित्यको उन्नयनका लागि निकै ठूलो गिफ्ट गरेको समेत सो क्रममा बताइन् ।

    उनले अनाथ बालगृहका बालबालिकाहरुलाई बोलाएर सकेको सहयोग समेत गरी जन्मदिन मनाउनु अनुकरणीय रहेको उल्लेख गर्दै थपिन्, ‘यस्तो जन्मदिन आइरहोस् ।’

    सो क्रममा आहानाले आफ्नो जन्मदिन अनाथ बालगृहका बालबालिकासँग मनाएकी थिइन् । ती बालबालिकालाई उनले स्कूल ब्याग समेत वितरण गरेकी थिइन् ।

    कार्यक्रममा बालबालिकाहरुले कविता संग्रहका केही कविता वाचन पनि गरेका थिए ।

     

  • एरिक भ्यालीसँग कर्णाली सफर गरेका ‘गेमस्काउट’ यात्रीको ३३ वर्षे जंगल यात्रा

    एरिक भ्यालीसँग कर्णाली सफर गरेका ‘गेमस्काउट’ यात्रीको ३३ वर्षे जंगल यात्रा

    काठमाडौं । नागरिकताको नाम- केशवराज भेटवाल । तर, लेखन क्षेत्रको नाम- धर्तीचन्द्र यात्री । उनले झण्डै साढे तीन दशकदेखि गर्ने सरकारी इलमको पद- सिनियर गेमस्काउट । तर, उनको अतिरिक्त काम कविता, नियात्रा लेखन ।

    यस्तै भिन्नभिन्न परिचय बोकेका धर्तीचन्द्र यात्रीले गत फागुनमा पहिलो नियात्रा ‘जंगलमा ३३ वर्ष’ बजारमा ल्याएका छन् । नियात्रालाई चलेका व्यवसायिक प्रकाशन गृहले छापेको छैन । तत्कालीन श्री ५ को सरकारका सचिव रहेका डाक्टर ठाकुरनाथ पन्तको नामको स्मृति गुठीबाट पुस्तक प्रकाशन भएको छ । एक हजार प्रति छापिएको पुस्तक ११० पेजको छ । थोरै संख्यामा छापिएको सानो आकारको भए पनि पुस्तकमा केही गजब एवं रोचक खुराकहरु छन् ।

    खासगरी लाङटाङ राष्ट्रिय निकुञ्जबाट सरकारी इलम सुरु गरेका यात्रीले रसुवामै २५ वर्ष बिताएकाले त्यहाँका धेरै महत्वपूर्ण जानकारी किताबमा दिएका छन् । उनले वन, वन्यजन्तुका कुरासँगै विज्ञ र अध्ययनका कुरा तथा अनुभुति सबै मिलाएर किताब तयार गरेका छन् । नेपालको संरक्षण क्षेत्रमा काम गर्ने सामान्य कर्मचारीले लेखेको असामान्य पुस्तक हो यो । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागकी महानिर्देशक राधा वाग्लेले त पुस्तक वन संरक्षणमा सक्रिय कर्मचारीबाट आएको पहिलो पुस्तक हुनसक्ने बताएकी छन् ।

    पुस्तकको भूमिकामा डाक्टर वाग्लेले लेखेकी छन्, ‘हालसम्मको मेरो संरक्षण क्षेत्रको कार्यानुभवमा संरक्षणमा लागेका कर्मचारीको यस प्रकारको संस्मरण पहिलो नै जस्तो लाग्छ । यस सन्दर्भमा पुस्तकको छुट्टै महत्व छ ।’

    एरिक भ्यालीको परमिट चेक गर्न जाँदा भएको दोस्ती

    २०५४ वैशाखमा लाङटाङबाट सरुवा भएर डोल्पा उत्रे यात्री । त्यही समयमा उनले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुकाम पलममा एक हप्ता बिताएर शे-फोक्सुण्डो तालतर्फ यात्रा थाले । त्यसै क्रममा उनको भेट प्रसिद्ध फ्रान्सेली फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीसँग भयो । एरिक भ्याली ती नै अनुहार हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करमा उत्कृष्ट विदेशी चलचित्रको श्रेणीमा मनोनयनमा परेको थियो । ओस्करको ७२औं संस्करणको दौरानमा क्याराभान सूचीकृत भएको थियो । उनै कीर्तिमानी निर्देशक तथा फोटोग्राफरको पर्मिट चेक गर्ने नाममा यात्रीको भेट भएको थियो । विनाअनुमति क्याराभानको फिल्ड स्टडी गर्न एरिक डोल्पा पुगेको यात्रीले लेखेका छन् । तर, एरिकसँग उनले सात दिन सँगै बिताए ।

    पुस्तकको भूमिकामा डाक्टर वाग्लेले लेखेकी छन्, ‘हालसम्मको मेरो संरक्षण क्षेत्रको कार्यानुभवमा संरक्षणमा लागेका कर्मचारीको यस प्रकारको संस्मरण पहिलो नै जस्तो लाग्छ । यस सन्दर्भमा पुस्तकको छुट्टै महत्व छ ।’

    एरिकका बारेमा यात्रीले लेखेका छन्, ‘भ्याली हठी स्वभावका थिए । जसले आफ्नो काम पूरा गरेरै छाडे ।’ एकै पालमा एरिक, उनका साथी डेब्रा र आफू सुतेको बताउँदै यात्रीले एरिकसँगै टुल्कु रिम्पोछे गुम्बामा गएर लामासँग साक्षात्कार गरेको लेखेका छन् । विनाअनुमति डोल्पा प्रवेश गरे पनि एरिकले डोल्पा र नेपाललाई धेरै गुण लगाएको यात्रीको तर्क छ । उनले लेखेका छन्, ‘एरिकमा स्वार्थ थियो भने केवल मौलिक भाषा, संस्कृति र साहित्यको थियो । अरु त्यस्तो केही फाइदा लिने मनसायले भने उनी पक्कै नेपाल आएका थिएनन् । पानी जस्तै सफा मन लिएका एरिक धन्य धन्य छन् ।’

    नौ हजार इनाम दिन मन्त्री हेलिकप्टरमा, सोर्स लगाएको नाममा दुर्गम सरुवा

    धर्तीचन्द्र यात्रीको नियात्रामा नेपाली सत्ता र कर्मचारीतन्त्रका रोचक कुरा आएका छन् । नौ हजारको इनाम दिने कार्यक्रममा मन्त्रीले हेलिकप्टर सफर गरेकोदेखि कर्मचारीहरुको सोर्सफोर्स र सरुवाको चक्रव्यूहसम्मका कथा उनले लेखेका छन् । २०४९ साउन १६ गते नुवाकोछको घोप्टेभीरमा थाई एयरको जहाज दुर्घटना भएको थियो । १३ नेपाली र १४ विदेशी सवार जहाज दुर्घटनाको सूचना दिने तीन स्थानीयलाई दिइने जनही तीन हजारको रकम वितरण गर्न मन्त्री हेलिकप्टरमा पुगेको कुरा यात्रीले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सरकारका तर्फबाट तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामहरि जोशी आएर खबर गर्ने पहिला व्यक्तिहरु तत्कालीन घ्याङ्फेदी गाविसका तीन गोठालालाई जनही रु तीन हजार वितरण गर्नुभयो । उहाँ सरकारी हेलिमा आउनुभएको थियो ।’

    यात्रीको बत्तीसपुतलीमा छिमेकी थिए पूर्वकानून तथा न्याय राज्यमन्त्री डम्बरबहादुर बस्नेत । उनै छिमेकी पूर्वमन्त्री बस्नेतको सोर्समा तत्कालीन वन तथा वातावरणमन्त्री मोतीप्रसाद पहाडीले यात्रीलाई मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लागू भएको ‘दि माउन्टेन इन्स्टिच्युट’ परियोजनामा सरुवा गराए । मन्त्रीले मिलाइदिएको सरुवाको पत्र लिएर यात्री तत्कालीन महानिर्देशक डाक्टर तीर्थमान मास्केकोमा पुगे । मास्केले ‘तिम्रो हाकिम म कि मन्त्री’ भन्दै उनलाई लाङटाङकै सेवासुविधामा डोल्पा पठाए । पछि नयाँ महानिर्देशकमा डाक्टर उदयराज शर्मा आएपछि मात्रै यात्रीले पुरानै ठाउँमा आउन पाए ।

    गेमस्काउटका दुःख- मृत हात्ती रुङ्दै जंगलमा बास, हाकिमदेखि स्थानीयसम्मको आतंक

    हाल शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट धर्तीचन्द्र यात्रीले आफूले सिनियर गेमस्काउटको रुपमा काम गर्दाका दुःखहरु नियात्रामा उतारेका छन् । २०६१ सालमा माओवादीको दाङ बन्द सामना गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा रमाना भएर पुगेका थिए यात्री । बर्दियाको लमकोइली फाँटमा जङ्गली हात्ती बिरामी भएको सूचना साथी रमेशकुमार थापाले दिएपछि फिल्डमा पुगे यात्री । हात्तीको खुट्टा कुहिएको पाइयो । उपचार प्रयास गर्दागर्दै उक्त ‘ठुटे गज’ नाम दिइएको जंगली हात्ती म¥यो । त्यसको सम्पूर्ण काम सक्न २३ घण्टा समय लागेको र जंगलमै बिताएको यात्रीले लेखेका छन् ।

    मन्त्रीले मिलाइदिएको सरुवाको पत्र लिएर यात्री तत्कालीन महानिर्देशक डाक्टर तीर्थमान मास्केकोमा पुगे । मास्केले ‘तिम्रो हाकिम म कि मन्त्री’ भन्दै उनलाई लाङटाङकै सेवासुविधामा डोल्पा पठाए ।

    हाकिमले कनिष्ठ कर्मचारीलाई कसरी तनाव दिन्छन् भन्ने प्रसंग पनि यात्रीले आफ्नो अनुभवबाट सुनाएका छन् । उनलाई २०७३ फागुन ८ गते राति ८ बजे सहायक संरक्षण अधिकृत सूर्य खड्काले ज्यादती गर्छन् । उनलाई गालीगलौज गर्छन् । खाएको खानामा जुठो पानी हाल्छन् । त्यो तनाव यात्रीले फागुन १२ मा तत्कालीन मुख्यसचिव डाक्टर सोमलाल सुवेदीसँग पोख्छन् । सुवेदीले एक्सन लिन्छन् । रसुवाका प्रजिअलाई २४ घण्टाभित्र कार्यालयमा बोलाएर स्पष्टीकरण सोध्न भन्छन् । स्पष्टीकरण सोधिन्छ । पछि खड्काले लिखित भाषामा गल्ती भएको भन्दै माफी माग्छन् ।

    स्थानीयले राष्ट्रिय निकुञ्जको परिभाषित काम गर्दा तनाव दिएको कुरा पनि यात्रीले लेखेका छन् । २०५१ ताका संरक्षित ल्यारेक्स सल्लो काटेपछि ग्याल्बु र तेन्जेनलाई यात्री र उनका साथी पासाङ घले मिलेर समात्छन् । तर, त्यही नाममा पछि स्थानीय ठूलाठालु खासगरी तेन्जेनको जमातले हैरान पार्छ । मनोबल गिराउँछ । यी दुई व्यक्ति समात्न नेपाली सेनाले असहयोग गरेको यात्रीले लेखेका छन् । सेनाका क्याप्टेन महेन्द्रजंग लामिछानेले असहयोग गरेको उनले किटेरै लेखेका छन् । सेनासँग कामको सिलसिलामा केही समय अगाडि भएको भनाभनको आधारमा असहयोग भएको उनले लेखेका छन् ।

    ठूल्ठूला भेटघाट र ठूल्ठूला भय

    यात्रीले ३३ वर्षमा एरिक भ्यालीबाहेक पनि ठूल्ठूला व्यक्तित्वहरुसँग संगत गरेका छन् । जस्तै उनले १२ वर्ष अगाडि जामाचोमा चिनियाँ वन तथा वातावरणमन्त्री भेट्छन् । स्याफ्रुबेंसीमा अमेरिकी राजदूत क्यारल लनसँग भेट्छन् । लाङटाङमा हिउँ चितुवाको फुटप्रिन्ट पत्ता लगाउने अमेरिकी प्राणाीशास्त्री डाक्टर र्‍याण्डल काइज, २०४९ पुसमा हिउँ चितुवा प्रत्यक्ष देख्दाका नर्वेजियन पर्यटक साक्षीहरु साहारा र सान्द्रा भेट्छन् । यीबाहेक नेपालका एकएक विज्ञहरुसँग उनले भेट्ने मौका पाएका छन् । काम गर्ने मौका पाएका छन् ।

    २०५१ ताका संरक्षित ल्यारेक्स सल्लो काटेपछि ग्याल्बु र तेन्जेनलाई यात्री र उनका साथी पासाङ घले मिलेर समात्छन् । तर, त्यही नाममा पछि स्थानीय ठूलाठालु खासगरी तेन्जेनको जमातले हैरान पार्छ । मनोबल गिराउँछ । यी दुई व्यक्ति समात्न नेपाली सेनाले असहयोग गरेको यात्रीले लेखेका छन् ।

    कामको सिलसिलामा ठूल्ठूला भय पनि यात्रीले सामना गरेका छन् । २०४९ को घोप्टेभीर दुर्घटनास्थल पुग्ने अनुहारमा एक यात्री थिए । २०५८ मंसिरमा रसुवाको गौंथली भीर र स्याउबारीका बीचमा दुई मिनेटको फरकमा बम विस्फोट भयो । सेनाको गाडीलाई ताकेर राखेको धराप पार गरेर बचेकाे थियाे भाडाको मिनी ट्रकमा सवार यात्रीको टोली ।

    २०७२ को भूकम्पतामा यार्सागुम्बा लाइसेन्स वितरण गर्न जाँदा सात दिन अलपत्र परेर सेनाको हेलिकप्टरबाट उद्दार हुनेहरुमा पनि यात्री नै थिए । नेपाली सेनाका चालक अधिकृत मेजर पाइलट सुवास खड्काले उनीसहितको टोलीको उद्धार गरेका थिए । भूकम्पको समयमा अनकन्टार क्षेत्रमा सात दिन पीडित हुनु परेको बारेमा लेखक यात्रीले केही गम्भीर प्रश्न गरेका छन्ः

    • बबुराहरुलाई विनातयारी किन पठाइयो विकट ठाउँमा ?
    • किन एउटा सञ्चारको व्यवस्था गर्न सकेनन् निकुञ्ज व्यवस्थापकले ?
    • मेनेजरको दायित्व, कर्तव्य त थाहा नै छ नि ! किन कानमा तेल हालेर बसे संरक्षकले ?
  • उफ ! यो कस्तो अन्तर्वार्ता ?

    उफ ! यो कस्तो अन्तर्वार्ता ?

    सञ्चारकर्मी प्रकाश सुवेदीले नायिका आँचल शर्मासँग गरेको ‘अन्तर्वार्ता’ अहिले चर्चामा छ । खासमा यो नाममात्रको अन्तर्वार्ता हो । पूरा शो हेर्दा पत्रकार र सेलिब्रिटीको प्रश्नोत्तरभन्दा लोकसेवाको मौखिक परीक्षा जस्तो भान हुन्छ । कार्यक्रममा आँचल नर्भसमात्रै छैनन्, असिनपसिन नै बनेकी छन् ।

    कलाकारलाई अन्तर्वार्ताका लागि बोलाएर उनीहरुको सामान्य ज्ञानको जाँच लिँदै आएका पत्रकार सुवेदीले आँचलका रुपमा खोजे जस्तो पात्र पाए । आँचलले चर्चित नेताहरु पनि चिन्न सकिनन् । उनी आफूले राम्रो तयारी गरेर आएको र थुप्रै व्यक्तिको नामसमेत रटेर आएको बताइरहेकी थिइन् । तर पनि उत्तर दिन नसकेर लज्जित भइन् । सुवेदीको ‘मिसन बेइज्जती’ सफल भयो । अन्तर्वार्ताका क्लिप्सहरु भाइरल छन् टिकटकतिर । सुवेदी अर्को ‘शिकार’ को खोजीमा हाेलान् ।

    नेपाली चलचित्र पत्रकारिताका एक ‘लिजेन्ड’ हुन् प्रकाश सुवेदी । उनी पत्रकारमात्र नभएर निर्देशकसमेत हुन् । नेपाली चलचित्र क्षेत्रका कुनाकाप्चादेखि कलाकारका निजी जीवन सबै उनलाई थाहा छ । उनको टेलिभिजन कार्यक्रम धेरैले हेर्छन् पनि । तर, सुवेदीले आफ्नो कार्यक्रममा चलचित्र क्षेत्रका मुद्दाहरुमाथि गम्भीर र सन्तुलित विमर्श वा समालोचना गरेको प्रायः भेटिँदैन । कलाकारहरुलाई बोलाएर उनीहरुको पेशासँग असम्बन्धित अन्टसन्ट प्रश्न सोधेर ‘खुइल्याउने’ धन्धामै लिप्त छन् । आफू निकटका दुई-चार जनालाई उचाल्ने र अरु सबैलाई पछार्ने दिनचर्यामै उनको पत्रकारिता ध्वंस भइरहेको छ ।

    एउटा कलाकारको मूल्यांकन उनीहरुको सामान्य ज्ञानबाट गर्ने कि कलाकारिताबाट भन्ने प्रश्न उठ्छ । केही समयअघि सुवेदीकै कार्यक्रममा आएका अभिनेता सौगात मल्लले फोटो देखाइएका कसैको पनि नाम भन्न सकेनन् । अस्ति भर्खर विपीन कार्कीले पनि धेरै ठूला ‘हस्ती’ हरु चिनेनन् । अब के सौगात र विपीनलाई हामीले गयगुज्रेका कलाकार मान्ने ? कलाकारहरुले कलाकारिता बाहिरका कुरामा चासो राख्नैपर्छ भन्ने बाध्यता हुन्छ र ? कलाकारिताभित्रैका पनि सबैलाई चिन्नैपर्छ भन्ने केही छ ?

    कलाकारहरुलाई बोलाएर उनीहरुको पेशासँग असम्बन्धित अन्टसन्ट प्रश्न सोधेर ‘खुइल्याउने’ धन्धामै लिप्त छन् । आफू निकटका दुई-चार जनालाई उचाल्ने र अरु सबैलाई पछार्ने दिनचर्यामै उनको पत्रकारिता ध्वंस भइरहेको छ ।

    अब आँचल शर्माकै प्रसंगमा फर्किउँ । करिब १ घन्टाको कार्यक्रममा चलचित्र उद्याेग वा उनको करिअरसँग सम्बन्धित गम्भीर प्रश्नोत्तर १० मिनेट पनि भएको छैन । बरु उनका व्यक्तिगत जीवनलाई समेत असर पार्ने खालका विल्कुलै असंवेदनशील प्रश्नहरु सोधेका छन् सुवेदीले । यतिमात्र होइन, उनको सुन्दरतालाई नै होच्याउनेसमेत प्रयास गरेका छन् ।

    सुरुमै सुवेदीले आँचललाई उनको ‘नाक’ का विषयमा घोचपेच गर्छन् । यतिसम्म भन्छन्, ‘तपाईं मलाई हिजो अप्सरा जस्तै लाग्थ्यो । तर, श्रीमानको क्लिनिकमा नाकको प्लास्टिक सर्जरी गरेपछि त खोइ कस्ती हुनुभयो ?’

    सुवेदीको दृष्टिकोणमा एउटा युवतीको सुन्दरता उसको नाकको प्वालमा निर्भर हुनेरहेछ । आँचलका अनुसार उनको नाकको एउटा प्वाल टालिएको जस्तो थियो । त्यसले सास फेर्नमा समेत कठिनाइ भएपछि उनले श्रीमानको क्लिनिकमा सर्जरी गरेर ठीक बनाएकी हुन् । आँचलका श्रीमान प्लास्टिक सर्जन भएकाले उनलाई सजिलो भयो । तर, नाकको एउटा प्वाल खोल्दा आँचल ‘अप्सरा’ बाट एकाएक ‘डायन’ बन्न पुगेकोजस्ताे सुवेदीको  आशय थियो ।

    ठीक छ, नायिकाको शारीरिक सुन्दरता पनि सार्वजनिक चासोको विषय हुनसक्छ भनेर यो प्रसंगलाई छोडिदिउँ । तर, के एउटी विवाहित महिलालाई उनको श्रीमानको पूर्वप्रेमिकाको तस्वीर देखाएर लज्जित बनाउनु जायज हो ? सुवेदीले आँचलका पति र उनकी ‘पूर्वप्रेमिका’ बीचका अन्तरंग तस्वीरसमेत देखाउँदै केही ‘बेहुदा’ प्रश्न सोधेः

    ‘उहाँलाई कुन रुपमा चिन्नुहुन्छ ?’

    ‘तपाईंको उहाँसँग भेटघाट-बोलचाल हुन्छ ?’

    ‘उदीपजीसँग पनि उहाँको हेल्लो हाई केही हुन्छ ?’

    कुन रुपमा चिन्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदा आँचलले पनि विवेक पुर्‍याएकी छैनन् । सुरुमा त उनले भलिबल खेलाडीमात्र भन्छिन् । तर, सुवेदीले ‘त्योभन्दा बाहेक ?’ भनेर सोधेपछि उनले चाहेकै जवाफ दिन्छिन्, ‘उदीपजीकी पूर्वप्रेमिका ।’

    कतिपय कलाकार नाम होस् या बदनाम तर, गुमनाम नहोस् भन्ने मान्यतामा विश्वास राख्छन् । कतिपय भाइरल हुनुमै मजा मान्छन् । त्यही भएर उनीहरुलाई गाली आए पनि मतलब छैन, केवल चर्चा कमाउनु छ ।

    उनले यो भनिरहनु अनावश्यकमात्रै होइन कि अनुचितसमेत थियो । यसले उनको आफ्नै र सम्बन्धित युवतीको गोपनियता उलंघन भएको छ । जवाफ दिइरहँदा आँचलले आफूभित्रको ऐंठनलाई बनावटी मुस्कानले ढाक्ने प्रयास गरिन् ।

    सुवेदी यतिमा मात्र रोकिँदैनन् । उनी आँचलको पनि विगत कोट्याउन खोज्छन् ।

    ‘विगत सबैको हुन्छ, तपाईंको विगतबारे पनि भनिदिनु न अलिकति ?’ सुवेदीले सोधेका छन् । यसमा चाहिं आँचल जोगिइन् । उनले बिहेअघि आफ्नो प्रेमी नभएको भन्दै पन्छिन सफल भइन् । सुवेदी निराश देखिए । थप खोतल्न सकेनन् ।

    एउटा लिजेन्ड पत्रकारले यस्ताे थेत्तराे प्रश्नोत्तर गरिरहँदा ध्यानमा राख्नुपर्थ्यो कि आँचल एक विवाहित महिला हुन् र एउटा परिवारकी बुहारी हुन् । उनको परिवारका सदस्यहरुले यो अन्तर्वार्ता हेर्दा कस्तो लाग्दो हो ? प्रकाश सुवेदी पनि आफैं छोरीका बुवा हुन् नि ! उनले गत वर्षमात्रै आफ्नी छोरीको कन्यादान गरेका थिए । अब मानौं उनकी छोरी पनि कलाकार थिइन् र पत्रकारले उनलाई उनको श्रीमानकी पूर्वप्रेमिकाको तस्वीर देखाएर टिप्पणी गर्न लगाउँथे भने सुवेदीजीलाई कस्तो लाग्थ्यो ?

    कार्यक्रममा विनामतलब सुवेदीले आँचलको पासपोर्ट र नागरिकतासमेत प्रदर्शन गरेका छन् । यस्ता नितान्त निजी कागजात एउटा राष्ट्रिय टेलिभिजनले सार्वजनिक प्रदर्शन गर्न मिल्छ कि मिल्दैन ? सञ्चारमाध्यमले विवादित विषयमा लेखिएका कुनै समाचार पुष्टि गर्नका लागि यस्ता व्यक्तिगत डकुमेन्ट प्रकाशित गर्छन् । तर, यहाँ त्यस्तो केही विषय पनि थिएन ।

    अब एउटा प्रश्न उठ्छ, प्रकाश सुवेदीले आफ्नो शोमा बोलाएर बेइज्जत नै गर्ने हो भनेर जान्दाजान्दै कलाकारहरु किन उनको कार्यक्रममा जान मरिहत्ते गर्छन् ? आँचल पनि यो कार्यक्रममा दोहोर्‍याएर होइन तेहेर्‍याएर गएकी छन् ।

    सुवेदीको निम्तो अस्वीकार गरेर आगामी एपिसोडमा कसरी उनले धतुरो झार्छन् भन्ने धेरै कलाकार भुक्तभोगी छन् । आफूले अभिनय गरेको फिल्म चल्दा सुवेदीले नकारात्मक टिप्पणी गरिदिएर व्यापार प्रभावित हुने अर्को खतरा छ ।

    विगतमा सुवेदीसँग काम गरिसकेका एक पत्रकारका अनुसार यसका दुई कारण छन् । एउटा पब्लिसिटीको लोभ । उनको कार्यक्रम धेरैले हेर्ने भएकाले दर्शकको नजरमा परिन्छ भन्ने हुन्छ । कतिपय कलाकार नाम होस् या बदनाम तर, गुमनाम नहोस् भन्ने मान्यतामा विश्वास राख्छन् । कतिपय भाइरल हुनुमै मजा मान्छन् । उनीहरुलाई गाली आए पनि मतलब छैन, केवल चर्चा कमाउनु छ ।

    दोस्रो कारण हो, मजबुरी । कार्यक्रममा सुवेदीको निम्तो अस्वीकार गरे आगामी एपिसोडमा कसरी उनले धतुरो झार्छन् भन्ने धेरै कलाकार भुक्तभोगी छन् । आफूले अभिनय गरेको फिल्म चल्दा सुवेदीले नकारात्मक टिप्पणी गरिदिएर व्यापार प्रभावित हुने अर्को खतरा छ । त्यसैले बरु बेइज्जती सहने, तर सुवेदीलाई नचिढ्याउने पक्षमा छन् धेरै कलाकार । कतिपय कलाकार भने अहिले पनि उक्त शोमा अन्तर्वार्ता दिन जाँदैनन् ।

    प्रकाश सुवेदी नै हुन्, जसले एकपटक नायिका पूजा शर्मालाई ‘दाह्रा निस्केकी नायिकालाई हामीले महानायिका भनिदिनुपर्ने ?’ भन्दै अनर्गल टिप्पणी गरेका थिए । सो टिप्पणीपछि टेलिभिजनले समेत उनलाई कारबाही गरेर सुवेदीको कार्यक्रम निलम्बनमा पारेको थियो । तर, भ्यूजको लोभमा फेरि यसलाई फर्काइएको हो । र, सुवेदीले आफ्नो उही शैलीलाई निरन्तरता दिए । यही शैलीले गर्दा सुवेदीलाई ‘चिप्ल्याउने अंकल’ भन्ने गरिएको छ ।

    सुवेदी निकट अर्का एक पत्रकार टिप्पणी गर्छन्, ‘उहाँ जस्तो भेट्रान पत्रकारले त सिंगो चलचित्र क्षेत्रलाई सही मार्गदर्शन गर्नुपर्ने हो । चलचित्र क्षेत्रको छवि उजिल्याउन प्रयास गर्नुपर्ने हो । तर, ठ्याक्कै उल्टो बाटोमा हुनुहुन्छ । चलचित्र पत्रकारिताको ऋषि धमला बन्न खोज्नुभएको छ । भाइरल हुनुमै रमाइरहनुभएको छ । खोइ कहिलेसम्म हो ?’

  • लु जन्मिहाल, रेडियो दिउँला

    लु जन्मिहाल, रेडियो दिउँला

    जेठी बुहारीलाई साँझैदेखि व्यथा लागेर रातभरमा पनि सुत्केरी नभएपछि सासूले भन्नुभएछ, ‘लु जन्मिहाल, रेडियो दिउँला ।’ केही बेरमा च्याहाँ च्याहाँ गर्दै छोरो जन्मियो । ताप्लेजुङको तत्कालीन ढुंगेसाँघु गाविस वडा नम्बर २ तेल्लावुङका प्रख्यात होमनाथ पण्डितको पनाति, कान्छा महाजनका आठ भाइछोरामध्ये जेठा छोराको पहिलो सन्तानको जन्म भएपछि गाँउभरमै खुशीयाली छाएको रहेछ । जन्मनुभन्दा अघिदेखिकै रेडियोमोह रहेछ मेरो । हजुरआमाले रेडियो दिन्छु भनेपछि जन्मिएकाले केही वर्षपछि नै बुबाले नेशनल पानासोनिक रेडियो किनिदिनुभयो । त्यो बेला गाउँका सीमित घरमा मात्र रेडियो थियो । रेडियो राख्न पनि लाइसेन्स चाहिन्थ्यो । हाम्रो घरमा त्यो नेशनल पानासोनिक रेडियोको लाइसेन्स अझै पनि छ । त्यो रेडियो चाहिं केही वर्षअघि बिग्रियो ।

    शंखध्वनिदेखि रातिसम्म बज्थ्यो रेडियो

    बिहान ५ बज्नुअघि नै बुबाले रेडियो खोलेर घर बाहिर सिकुवाको काँटीमा झुण्डयाउनुहुन्थ्यो । रेडियो नेपालमा बजेको शंखध्वनिसँगै हाम्रो निन्द्रा खुल्थ्यो । अहिले पनि रेडियो नेपालको बिहानी शंखध्वनि उत्तिकै प्रिय लाग्छ । त्यपछि धार्मिक कार्यक्रम, ७ बजेको समाचार, ८ बजे अंग्रेजी समाचार, विज्ञान तथा प्रविधि कार्यक्रम, मानव अधिकार रेडियो शिक्षा कार्यक्रमलगायत बिहानभर काम गर्दै, पढदै, जे गर्दै भए पनि रेडियो चाहिं सुनेकै हुन्थ्यो । दिनभर त स्कुल गइन्थ्यो । हतारहतार फर्केर आएपछि बाल कार्यक्रम कहिल्यै छुट्दैनथ्यो ।

    ‘साना साना बाबुनानीहरु रेडियो नजिक आओ’, वासुदेव मुनालले बाल कार्यक्रममा नबोलाइ रेडियो नजिक पुगिन्थ्यो । त्यसपछि कृषि कार्यक्रम बुढीआमैलाई खूब मनपर्ने । ७ बजेको समाचार, घटना र विचार, शनिबार बज्ने सांगीतिक कार्यक्रम चौतारीमा गीत सुन्न कम्ता मज्जा हुन्थेन । बीबीसीसम्म नछुटाइ सुनिन्थ्यो । अनि सुतिन्थ्यो । शनिबार दिउँसोको रेडियो नाटक त छुटाउने कुरै भएन ।

    दाजुले पेजकसले रेडियो खोलेपछि झण्डै बाघभालु निस्केका

    मध्य असारको बेला झमझम पानी परिरहेको थियो । पहाडको ठाउँ आमैघर मुन्तिर टारीखेतमा धान रोपाइँ हुँदै थियो । घुम ओडेर हिल्याउने हिल्याइरहेका थिए, रोपाहारहरु असारे गीत गाउँदै धान रोप्दै थिए । बाउसे रोपाहारसँग जिस्कँदै हिलो छ्याप्दै बाउसे लगाउँदै थिए । घरको सिकुवामा एउटा पाँच वर्षको बालक रेडियो नेपाल सुनेर बसेको थियो । शनिबारको दिन थियो, रेडियोमा नाटक सुरु भयो । रेडियोभित्र धेरै मान्छेहरु, मान्छेहरु मात्र होइन, कुकुर, बाघ, भालु पनि कराएको सुन्यो । त्यो बालकलाई अचम्म लाग्यो । यति सानो रेडियोभित्र मान्छेहरु, कुकुर, बाघ, भालु, हात्ती कसरी अटेका होलान् । दाजु रोपाइँबाट कोदाली लिन घरमा आउनुभयो । भन्नुभयो- के गर्दैछस् केटा ?

    केटाले भन्यो रेडियो सुन्दैछु । दाजु यो सानो रेडियोभित्र मान्छेहरु, कुकुर, बाघ, भालुहरु कसरी अटेर बसेका छन् ? दाजुलाई पनि जिस्क्याउन मन लाग्यो । भन्नुभयो-  साना साना भएर बस्छन् भित्र बस्दा । बाहिर निस्के भने ठूला भइहाल्छन् । बालकले पत्याएन । भन्यो- हैन होला ।

    दाजु- हो हो किन नहुनु !

    बालक- हैन होला !

    दाजु- पत्याइनस् ?

    साँच्ची पत्याइनस् केटा ? अब रेडियो खोल्दिन्छु, खोलेपछि मान्छेमात्र निस्कँदैन है, अघि कराएका कुकुर, बाघ, भालु, हात्ती सबै निस्किन्छन् । म त कुदेर ऊ त्यो सुन्तोलाको बोटमा चडिहाल्छु । तँ चढ्न सक्दैनस् अनि भेटछस् । यति भनेर दाजुले त भित्रबाट पेचकस ल्याएर रेडियोको पेच खोलेर त्यहाँका मान्छे, जनावर निकाल्न पो थाल्नुभयो । अनि बालक डरायो । रुन थाल्यो । त्यही बालक दुई दशकदेखि रेडियोभित्र पसेको पसेयै छ । दुई दशकदेखि सप्तकोशी एफएम इटहरीमा कार्यरत छ । अहिले तपाईं त्यही बालकले रेडियो नेपालको स्थापना दिवसका अवसरमा लेखेको लेख पढदै हुनुहुन्छ ।

    घरैमा आइपुग्यो काठमाडौंदेखि रेडियो

    रेडियोका कार्यक्रम सुनेर पत्राचार पनि गर्न थालियो । विज्ञान तथा प्रविधि कार्यक्रममा बुबा र कान्छा काका पत्र पठाउनुहुन्थ्यो । पानीमा सानो सियो डुब्छ । तर, ठूलो पानीजहान डुब्दैन किन ? हामीले ऊ बेला पठाएको प्रश्नको जवाफ सुन्दा कम्ता मजा आएको होइन । म बाल कार्यक्रममा पत्र पठाउँथे । त्यो बेला रेडियो नेपालमा बिहान मानव अधिकार रेडियो शिक्षा कार्यक्रम बज्थ्यो । मानव अधिकार नानी र मावली काका नामक नाटक पनि बज्थ्यो । मनोज गजुरेल मावली काका हुनुहुन्थ्यो । कुरा गरे कुरैको दुःख थेगो थियो । त्यो कार्यक्रम नियमित सुन्थे । पत्र पनि पठाउँथे । रेडियोमा आफ्नो नाम आएको दिन आहा ! के के न भैयो जस्तो लाग्ने ।

    एक दिन तेम्बे स्कुलमा मलाई खोज्दै अपरिचित मान्छेको फोन आएछ । भोलिपल्ट फोन गर्न गएँ । जिल्ला सदरमुकामदेखि अपरिचित मान्छेले फोनमा भन्नुभयो- तपाईंको नाममा रेडियो आएको छ । घरैमा ल्याइदिन्छु, कहाँनेर पर्छ घर ? मैले भने बागधारा मास्तिर । ऐ ! लु मलाई थाहा भयो भन्नुभयो । केही दिन पछाडि रेडियो घरैमा ल्याइदिनुभयो । मेरै अध्यक्षतामा मानव अधिकार रेडियो स्रोता क्लव गठन पनि भयो । यो क्लव देशभरमै उत्कृष्ट भयो । कार्यक्रम सञ्चालक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले क्लव र मलाई उत्कृष्ट ग्रामीण अधिकार कार्यकर्ताका रुपमा काठमाडौंमा बोलाएरै सम्मान गरेको थियो । म पत्रकारभन्दा पहिला त मानव अधिकार कार्यकर्ता पो रहेछु । ती रेडियो ल्याइदिने व्यक्ति तत्कालीन इन्सेक जिल्ला प्रतिनिधि धनेन्द्र मादेन हुनुहुन्थ्यो । उहाँ जिल्ला समन्वय समिति ताप्लेजुडको निवर्तमान सभापति हुनुहुन्छ ।

    क्याम्पस बंक गरेर रेडियोमा फोन

    रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रबाट नमस्ते पूर्वाञ्चल भन्ने सांगीतिक कार्यक्रम बज्थ्यो । सो कार्यक्रममा गीत फर्माइस गर्न २ घण्टाअघि नै फोन गर्नुपर्थ्यो । मोबाइल सेवा थिएन । उर्लाबारी क्याम्पस मोरङ पढ्दै गर्दाको कुरा हो, कक्षा छाडेर सो कार्यक्रममा गीत फर्माइसका लागि फोन गर्न नजिकैको हुलाक कार्यालय गइन्थ्यो । फोन गरेर नाम टिपाइन्थ्यो । भरे कार्यक्रममा नाम बज्दा खुशी होइन्थ्यो ।

    अझै छोडनुहुन्न बुबा रेडियो

    बुबा ७४ वर्ष पुग्नुभयो । अझै नियमित रेडियो सुन्नुहुन्छ । बुबाको झोलामा रेडियो कहिल्यै टुट्दैन । नियमित रुपमा समाचार सुन्नुहुन्छ । सप्तकोशी एफएममा बज्ने कुनै समाचार बुलेटिन छुटाउनुहुन्न । बिहान रेडियो नेपालको शंखध्वनि सुन्दै बुबाको दैनिकी सुरु हुन्छ । रेडियो नेपालका समाचार सुन्नुहुन्छ । रेडियोका नियमित स्रोतामध्येका एक हुनुहुन्छ हाम्रो बुबा । २०४२ सालमा लाइसेन्ससहित रेडियो किनेदेखि अहिलेसम्म नियमित रेडियो सुन्दै आउनुभएको छ ।

  • ‘इजोरिया’ र ‘ऐंठन’: पुस्तकका मुद्दा राष्ट्रिय बहसमा आएको संयोग !

    ‘इजोरिया’ र ‘ऐंठन’: पुस्तकका मुद्दा राष्ट्रिय बहसमा आएको संयोग !

    काठमाडौं । ‘आख्यानले ठूलो सत्य भन्न सक्छ ।’ दक्षिण कोरियाको मिडिया क्षेत्रमा तीन दशक काम गरेकी पत्रकार बाइक जि येओनले सन् २०१५ मा यस्तो भनिन् । दक्षिण कोरियाको प्रमुख अंग्रेजी अखबार ‘दि कोरिया हेराल्ड’सँग येओनले यस्तो भनेकी हुन् । देशका ठूल्ठूला घटनाक्रममा जोडिएर पत्रकारिता गरेकी, समसामयिक मुद्दामा छलफल तथा बहस चलाएर तीन दशक पत्रकारिता क्षेत्रमा आएकी येओनको यो तर्क उनको नयाँ उपन्यास ‘ह्याण्डस्ट्याण्ड’ आएपछि आएको हो । सत्य उद्घाटन गर्ने सजिलो माध्यमको रुपमा येओनले आख्यानको सहारा लिइन् र त्यसमा सफलता मिलेपछि भनिन्, ‘आख्यानले ठूलो सत्य भन्न सक्छ ।’

    आख्यानले ठूल्ठूला सत्य भन्नसक्छ भन्ने दक्षिण कोरियाली पत्रकार तथा आख्यानकार येओनले जस्तै अहिले नेपाली बजारमा आएका दुई आख्यानले नेपाली समाजका ठूल्ठूला सत्यहरु भनेका छन् । रोचक संयोग नै भन्नुपर्छ, यी दुई आख्यानको पेटबोलीका मुद्दा अहिले नेपालमा मूलधारमा बहसमै आएका छन् । सुविन भट्टराईले लेखेर गत भदौमा बजारमा आएको ‘इजोरिया’ र विवेक ओझाले लेखेर फागुनमा बजारमा आएको ‘ऐंठन’ उपन्यासका पेटबोली अहिले नेपाली मूलधारमा बहसमा छन् ।

    ‘इजोरिया’ : बलात्कार हदम्यादको हुनुहुन्न भन्ने मुद्दाको आख्यान

    स-साना चिटिक्क आकारका प्रेमिल उपन्यास लेख्दै बजारमा एकछत्र राज गर्दै आएका लेखक सुविन भट्टराईको छैटौं पुस्तक र पाँचौं आख्यान ‘इजोरिया’ उनका पुराना पुस्तकहरुभन्दा फरक छ । ४८४ पृष्ठको जम्बो उपन्यास भएरमात्रै फरक होइन, उपन्यासका व्यापक मुद्दाहरुलाई एकै सुर्कोमा बाँध्ने कलामा पनि उपन्यास जम्बो छ । ‘इजोरिया’ खस नेपाली भाषाको शब्द होइन । यो मैथिली भाषाको शब्द हो । मैथिली भाषाको शब्द शीर्षक बनेको उपन्यासको कथा मैथिली भाषीको मात्रै छैन । यो जनकपुरकी नेपाली भाषा बोल्ने सिम्रिक र उनका मैथिली भाषा बोल्ने साथी ठाकुरको कथा हो । यो सिन्धुलीदेखि जनकपुर हुँदै मधेस प्रदेशका अरु जिल्ला र कोशी प्रदेशको विराटनगरसम्म फैलिएको कथा हो । सिम्रिककी हजुरआमा मायादेवीदेखि आमा रमिलासम्मको तीन पुस्ते नारी संघर्षको कथा हो इजोरिया । जूनको उज्यालो अर्थ लाग्ने इजोरिया शब्द जस्तै अन्धकारलाई उज्यालोले चिर्दै गएको संघर्षको कथा भन्ने उपन्यास हो इजोरिया । आमा रमिलाले पाएको यातना, हिंसा र बलात्कारका वेदनासँग जुध्न छोरी सिम्रिकले दिएको साथ, ढाँडस र हौसलाको कथा हो इजोरिया ।

    आख्यानले ठूल्ठूला सत्य भन्नसक्छ भन्ने दक्षिण कोरियाली पत्रकार तथा आख्यानकार येओनले जस्तै अहिले नेपाली बजारमा आएका दुई आख्यानले नेपाली समाजका ठूल्ठूला सत्यहरु भनेका छन् ।

    सबैभन्दा महत्वपूर्ण त बलात्कार हदम्यादको मुद्दाको कथा हो इजोरिया । आमालाई बलात्कार गर्ने गजराजलाई कानूनी कठघरामा ल्याउन सिम्रिकको संघर्ष कथा हो इजोरिया । कथामा बलात्कार हदम्याद हुँदाका दुःखका कानूनी व्यवधानका एकएक जानकारी छ । बलात्कार भएको १० वर्षपछि चलेको मुद्दामा दफा १३३ को बारेमा एक च्याप्टरै छ । बलात्कारका फरक फरक नाता हुँदा फरक फरक सजाय हुने कुरामा पनि पुस्तकले बहस गरेको छ । यो मुद्दामा सिम्रिकले प्रहरीसँग आक्रोश पोख्छिन्, ‘नाता नजिक भए धेरै सजाय, टाढाको भए थोरै सजाय किन ? बलात्कार त बलात्कार नै होइन र ? यसले त बलात्कारीलाई अलिक टाढाको नातामा गर्न चै छुट रैछ भन्ने बुझिएन ?’ जवाफमा प्रहरीले भन्छ, ‘कानूनमै यस्तो छ ।’

    इजोरिया मधेसको कथा त हुँदै हो । भाषा, लवज, संस्कृतिको सेरोफोरो मधेसकै छ । माओवादी विद्रोहदेखि मधेस आन्दोलन सबैलाई उपन्यासले छोएको छ । विगत पाँच वर्ष खोज अनुसन्धान गरेर लेखिएको इजोरिया आएसँगै नेपालमा बलात्कारको हदम्याद हुनुहुन्न भन्ने बहस सतहमा आयो । पल शाहदेखि सन्दीप लामिछाने केस आएपछि यसले बहस झनै बढायो । हदम्यादका मुद्दा सडकमा आउनुभन्दा अगाडि इजोरिया आएको थियो । इजोरियाले बलात्कारको हदम्याद हुनुहुन्न भन्ने पेटबोली बोकेको थियो ।

    ‘ऐंठन’ : टीआरसी विधेयकको बहस उठाएको आख्यान

    यो उपन्यास विवेक ओझाको दोस्रो आख्यान हो । कुनै बेला गजल लेख्दा विवेक ‘विशालु’ लेख्ने ओझाले यो उपन्यासमा राज्य र माओवादी दुवैतर्फबाट आममान्छेमा ल्याएका विशालु तनावका बारेमा लेखेका छन् । ऐंठन २०५२ देखि २०६२ सालसम्म चलेको माओवादी हिंसात्मक विद्रोह र त्यसको दमनमा राज्यले गरेको प्रतिहिंसामा पीडित बनेका आममान्छेको ऐंठनको कथा हो ।

    ३८० पृष्ठको उपन्यासको प्रमुख पात्र बबनकुमार हो । ऊ दाङ शान्तिनगरको जनता माविको शिक्षक हो । उसकी श्रीमतीको सेनाको गोलीबाट हत्या हुन्छ । माओवादीले घाइते छोरालाई पुर्छन् र बबनकुमारलाई अपहरण गरेर लान्छन् । अपहरणमा परेर माओवादी इलाकाहरुमा पुगेर बबनकुमारले माओवादी यातनाका दृश्य देख्छ । माओवादीले आममान्छे चढ्ने बस उडाएकोदेखि १४ वर्षकी बालिकालाई बलात्कार गरेर आमालाई यातना दिएका दृश्य पुस्तकमा छन् । आत्मसमर्पण गरेका सेना प्रहरीलाई पनि माओवादीले भटाभट काटेको र गोली हानेका गैरन्यायिक हत्याका कुरा पुस्तकमा छन् ।

    सबैभन्दा महत्वपूर्ण त बलात्कार हदम्यादको मुद्दाको कथा हो इजोरिया । आमालाई बलात्कार गर्ने गजराजलाई कानूनी कठघरामा ल्याउन सिम्रिकको संघर्ष कथा हो इजोरिया ।

    माओवादीबाट छुटेर आउँदा सेनाको थुनामा पर्दा बबनकुमारले सेनाको यातना उत्तिकै देख्छ । योनीमा लठ्ठी हाल्नेदेखि सामूहिक बलात्कार, सामूहिक हत्यासम्म गर्छ सेनाले । सेनाले माओवादीको नाममा गाउँमा धेरैलाई यातना र तनाव दिएका कथा पुस्तकमा छन् । उसो त माओवादी र सेनाकै नम्र अनुहारहरुलाई पनि उपन्यासमा देखाइएको छ । माओवादीभित्र राम्रा र नराम्रा दुवै पक्ष भए जस्तै सेनाभित्र पनि राम्रा र नराम्रा दुवै अनुहार भएको उपन्यासले भन्छ । अर्थात् माओवादी र राज्य पक्षबाट भएका गैरन्यायिक हत्या, हिंसाका कुराहरु र त्यसको बीचमा पिल्सिएका आममान्छेका कथा पुस्तकमा छ ।

    अहिले नेपालको मूलधारको बहसमा राज्य र माओवादी दुवै पक्षबाट भएका गैरन्यायिक हत्या, हिंशा र मानवतावादविरुद्धको अपराधमा कारबाही गर भनेर एम्नेस्टी इन्टरनेशनल, आरसीजे, ह्युमेन राइट्स वाचलगायतका विश्व संस्थासँगै नेपालमा पनि आवाज आइरहेका छन् । २०७७ सालसम्मको कथा बोकेको उपन्यासमा यो मुद्दा उठेको छ । उपन्यासको पेटबोलीमा आएको कुरा उपन्यास आएसँगै पुनः राष्ट्रिय बहसमा आएका छन् । देशमा संसदीय व्यवस्था थियो । सडकबाटै गणेशमान सिंह नेतृत्वमा तीन दशक लामो पञ्चायत ढल्यो । पञ्चायतको हतियार र संविधान ध्वस्त बनाउन गणेशमान सिंह नेतृत्वको शान्तिपूर्ण आन्दोलन काफी भयो । गणतन्त्र आउन पनि दोस्रो जनआन्दोलन आउनुपर्‍यो । माओवादीले न राज्यलाई हतियारले कब्जा गर्न सक्यो न त राज्यले माओवादीलाई निमिट्यान्न गर्न सक्यो । अर्थात् हतियारले कुनै प्रभाव पारेन । तर, हतियारले बबनकुमार जस्ता आम मान्छेलाई भने धेरै दुःख दियो ।

    चेतना र हतियारको तुलना गर्दै बबनकुमारले चेतनाको युगमा पनि हतियार धेरै सक्रिय भएको भन्दै भनेका छन्, ‘तर, चेतनाको जन्मसँगै हतियारको मृत्यु हुनुपर्थ्यो ।’ कसरी हतियारधारी सत्ता र विद्रोहीसँग हृदय थिएन भन्ने प्रसंगमा बबनकुमारले भनेका छन्, ‘दुनियाँमा जोसँग हृदय छ, ऊसँग शक्ति हुँदैन । जोसँग शक्ति हुन्छ, ऊसँग हृदय हुँदैन । दुनियाँ बनाउनेले तालमेल मिलाउन जानेन ।’

  • बाबुरामले नेपाली सेनासँग ‘गौरव’ गर्ने दिन कसरी आयो ?

    बाबुरामले नेपाली सेनासँग ‘गौरव’ गर्ने दिन कसरी आयो ?

    काठमाडौं । दोस्रो जनआन्दोलनको रापताप सकिएको थियो । तत्कालीन सात राजनीतिक दल र भूमिगत नेकपा (माओवादी)बीचमा युद्धविराम भयो । युद्धविराम भएको केही समयपछि २०६३ असार २ गते माओवादीका दुई शीर्ष नेता- पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई- एकै भेषमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्री निवास बालुवाटरमा सार्वजनिक भए ।

    कास्कीबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगै हेलिकप्टरमा काठमाडौं आएका थिए । सार्वजनिक भएर पत्रकारहरुसँग बोल्दा माओवादी नेताले नेपाली सेनालाई तथानाम गाली गरे । प्रचण्डले त बलात्कारी नै भने । सेनाको लाख संख्या घटाएर दश हजार हुनुपर्ने तर्क गरे । सेनाको संख्या घटाउने मुद्दा खासै बजारमा चलेन । बलात्कारी भनेको व्यापक आलोचना भएपछि प्रचण्डले आफ्नो भनाइ फिर्ता लिए ।

    माओवादीको हिंसात्मक विद्रोहबाट सार्वजनिक भएकै दिन प्रचण्डले सेनालाई आरोप लगाउँदाका साक्षी भट्टराई पनि नेपाली सेनाका बारेमा सकारात्मक व्यक्ति होइनन् । उनले नेपाली सेनाको बारेमा सार्वजनिक रुपमा सकारात्मक बोलेका थिएनन् ।

    हालसालै नेपाली सेनाको ‘आर्मी कमाण्ड एण्ड स्टाफ कलेज’मा प्रमुख वक्ताको रुपमा पुगेका भट्टराईले ‘अर्थतन्त्र र राष्ट्रिय सुरक्षा’ शीर्षकमा दुई हजार बढी शब्दमा आफ्ना कुरा राखे । युक्रेन युद्धको प्रभाव, डिजिटल क्रान्ति, चीन-अमेरिका हुँदै भारत-चीनको प्रतिस्पर्धालगायतका मुद्दामा उनले बोले । भट्टराईको बोलीमा सबैभन्दा रोचक कुरा चैं उनले सेनाबाट पाएको युद्धकालीन सहयोगको किस्सा हो । उनले सेना परिचालन भएको समयमा आफूलाई सोधपुछ गर्दा आफ्नो पहिचान भए पनि सैनिक अधिकारीले छोडिदिएको गम्भीर खुलासा गरेका छन् ।

    उनले सन् २००३ मा नवलपरासीको दाउन्नेको एक गम्भीर घटना सार्वजनिक गरेका छन् । नेपाली सेना नेपालको प्रगतिशील मुद्दामा सकारात्मक भएको भन्ने प्रसंगमा उनले भनेका छन्, ‘जनयुद्धकालताका म अझै सम्झन्छु, सन् २००३ मा सेना परिचालन भएको समयमा म पूर्वपश्चिम राजमार्ग भएर हिँड्दा नवलपरासीको दाउन्नेमा सेनाबाट सोधपुछमा परेको थिएँ । त्यहाँ रहेका सैनिक अधिकारीले मेरो अनुहार हेरे । मुस्कुराए र, मलाई जान दिए ।’

    यो पनि पढ्नुस् : आर्मी कलेजमा बाबुराम भट्टराईको मन्तव्य: नेपाली सेनासँग विश्वभरका सैनिक प्रेरित छन्

    माओवादीलाई नेपाली राज्यसत्तादेखि अमेरिकासम्मले ‘आतंककारी’ घोषणा गरेको समयमा माओवादीका शीर्ष नेतालाई चिनेर छोड्ने सैनिक अधिकारीबारे बाबुरामको खुलासा सुन्दा अहिले माओवादी मूलधारको राजनीतिमा आउँदा सुन्दर सुनिन्छ । तर, नेपाली सेनाको खासखास तप्कासँग माओवादीको कस्तो साँठगाँठ थियो भन्ने शंका पनि यसले उब्जाएको छ ।

    आफूलाई युद्धकालमा देखेर पनि छोड्ने मुद्दामा मात्रै नेपाली सेनासँग भावुक भएनन् भट्टराई । उनले नेपाली सेनाको तारिफमा थप तर्क गरे । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खेलेको योगदानको मात्रै तारिफ गरेनन्, नेपाली सेना विश्वभरका सैनिकहरुको प्रेरणा भएकोसमेत बताए । नेपाली सेनाको व्यवसायिकता र शान्ति मिसनमा पाएको सम्मानलाई सम्झँदै भट्टराईले स्टाफ कलेजको मन्तव्यमा भनेका थिए, ‘हामी सबै तपाईं (नेपाली सेना)सँग गर्व गर्छौं ।’

    उसो त माओवादीसँग ‘सफ्ट कर्नर’ राख्ने सैनिक अधिकारीहरु युद्धदेखि शान्ति प्रक्रियासम्म देखिएकै हुन् । युद्धकालमा माओवादीलाई सहयोग गरेकै उपहार अवकाशप्राप्त जर्नेल कुमार फुदुङले २०६४ चैत २८ गते भएको पहिलो संविधानसभामा माओवादीबाट सुनसरीमा प्रत्यक्ष टिकट पाएका थिए । २०६६ वैशाख २० गतेको कटवाल प्रकरणमा कुलबहादुर खड्काले प्रोटोकल र विधान मिचेर प्रचण्ड–बाबुराम क्याबिनेटले प्रधानसेनापति बनाउँदा स्वीकार गरेका थिए ।

    उसो त माओवादीले दाङमा सैनिक पोस्ट हान्नु अगाडि ‘सेनालाई नछो, पुलिसलाई नछोड’ भन्ने नारै लगाएका थिए । नेपाली सेनादेखि माओवादी नेतृत्वसँग हिमचिम भएका अवकाशप्राप्त भारतीय जर्नेल अशोककुमार मेहतासम्मले माओवादी युद्धकालमै सन् २००५ मा सार्वजनिक गरेको आफ्नो पुस्तक ‘दि रोयल नेपाल आर्मी’मा लेखेका छन् ।

    बाबुराम भट्टराईले पनि केही सैनिक अधिकारीहरुलाई च्यापेका अरु रोचक उदाहरण पनि छन् । जस्तै भट्टराई प्रधानमन्त्री हुँदा २०६८ पुसमा उनले नेपाली सेनाबाट अवकाश पाएका विकास निर्माण महानिर्देशनालयका प्रमुख (प्राविधिकतर्फका) उपरथि नरेश बस्न्यातलाई महानिर्देशनालयमा करारमा राखेको सैनिक अधिकारीहरु बताउँछन् । यस्तै भट्टराईले माओवादी थुनुवाहरुलाई धेरै यातना दिएको भनेर बदनाम भैरवनाथ गणका सैनिक अधिकारी राजु बस्न्यातलाई बढुवा गरेर सहायक रथी बनाएका थिए ।

    यतिमात्रै होइन, भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा सेनाले दुईवटा हेलिकप्टर किन्न साढे दुई अर्ब माग्दा उनले तीन अर्ब दिएका थिए । नेपाली सेनाको आकार ठूलो भएको भन्दै आइरहेको मास मिडिया र सोसल मिडियामा आलोचना भइरहेका वेला प्रधानसेनापति प्रभुराम शर्माले एक्लै डिफेन्स गरेको परिप्रेक्ष्यमा आएको भट्टराईको सेनाबारेको प्रशंसाले सेनालाई सार्वजनिक खपतकै लागि पनि सजिलो भएको छ । सेनासँग लडेका विद्रोही पक्षका नेताले समेत सेनाको तारिफ गर्नुले सेनाले त्यो भनाइ राम्रोसँग सेल गर्न पाएको छ ।

    बाबुराम भट्टराईले पछिल्लो समयमा स्टाफ कलेजमा दिएको सेनासँग गौरव गर्ने तथा युद्धकालमा सैनिक अधिकारीले भेटेर पनि छोडेको घटनाले मूलतः तीन कुरा देखाएको छ ।

    एक, बाबुराम सेनासँग शान्ति प्रक्रियामा आएर प्रधानमन्त्री बनेपछि मात्रै सकारात्मक भएका होइनन् । युद्धकालमै सैनिक अधिकारीले सेफ गरेकाले उनी सकारात्मक थिए । सैनिक र माओवादी दुवै पक्षले हत्या गर्ने भनेका तल्लो तहका हुन् भन्ने यसले संकेत गर्छ ।

    दुई, नेपाली सेनासँग एक त्यस्तो तप्का थियो, जो माओवादीलाई भित्री सहयोग गरिरहेको थियो । नेपाली सेना आफूले दाबी गरेको जस्तो व्यवसायिक नभएको यसले देखाउँछ । सैनिक अधिकारीहरु कसरी विद्रोहीलाई जोगाउन लागेका रहेछन् भन्ने उदाहरण देखाउँछ ।

    तीन, माओवादी नेतृत्वले सेनाको संख्या घटाउने, अन्य गम्भीर आरोप बलिया मुद्दा थिएनन् । त्यो सबै राजनीति गर्ने मेलोमात्रै थियो ।

  • नेपाल-टर्की जोड्ने काव्य कूटनीति ‘बोलिरहेका थियौंजस्तो’

    नेपाल-टर्की जोड्ने काव्य कूटनीति ‘बोलिरहेका थियौंजस्तो’

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अवधारणा आउनु अगाडि नै दक्षिण एसियाका फिल्मकर्मीहरु एकापसमा जोडिएका थिए । नेपाली चलचित्रहरु पाकिस्तान, बंगलादेशदेखि श्रीलंकासम्म चल्नुमा त्यही साइनो थियो । सार्क राष्ट्रमा अफगानिस्तान ल्याउनुभन्दा अगाडि सार्क साहित्य महोत्सव आयोजक फोस्वालले अफगानिस्तानलाई ल्याएको थियो । फिल्मकर्मीहरुदेखि फोस्वालसम्मले जसरी राज्यसत्ताभन्दा अगाडि देशहरु जोड्ने काम गरे, ठीक त्यसैगरी अहिले नेपाल र टर्कीका कविहरुले कविताबाट दुई देश जोडेका छन् ।

    तीन महिना अगाडि ‘शिखा बुक्स’बाट प्रकाशन भएको नेपाली र टर्कीका कविताहरुको संगालो ‘बोलिरहेका थियौंजस्तो’ले नेपाल र टर्कीलाई काव्य कूटनीतिले जोड्ने सेतुको काम गरेको छ । नेपालका भीष्म उप्रेती र टर्कीका फादिल ओक्तयले संयुक्त रुपमा सम्पादन गरेको कविता संग्रहमा दुवै देशका ३२ जना कवि समावेश भएका छन् । नेपालका १६ र टर्कीका १६ जना कवि संग्रहमा समेटिएका छन् । दुवै सम्पादकले नेपाल र टर्कीका दुवै कविता जोड्ने यो पहिलो ग्रन्थ भएको संकेत गरेका छन् ।

    उनीहरुले भूमिकामा भनेका छन्, ‘यो सङ्ग्रह नेपाल र टर्किए दुवै देशको कविता साहित्यका लागि एक-अर्को भाषाका कविता हाम्रो आफ्नो भाषामा अनुवाद भई संयुक्त पुस्तकको प्रकाशन सम्भवतः पहिलो प्रयास हो ।’ सम्पादकहरुले टर्कीको पुरानो नाम प्रयोग नगरेर नयाँ औपचारिक नाम ‘टर्किए’ प्रयोग गरेका छन् । सन् २०२१ को डिसेम्बरबाट टर्कीको औपचारिक नाम टर्किए भएको हो । अहिले संयुक्त राष्ट्रसंघले पनि टर्किएलाई नै आधिकारिकता दिएको छ ।

    नेपाल र टर्कीको कूटनीतिक साइनो बनेको ६१ वर्ष पुगेको छ । सन् १९६२ नोभेम्बर १५ (२०१९ कार्तिक ३०)मा दुई देशको औपचारिक कूटनीतिक सम्बन्ध बनेको हो । यो ६१ वर्षमा विश्वका शीर्ष २० धनी मुलुकको सूचीमा परेको टर्कीको नेपालमा दूतावास बन्न सकेको छैन । नेपाल र टर्कीबीचमा कूटनीतिक सम्बन्धले दूतावासको आकार नलिए पनि कवितामा भने दुई देश जोड्ने काम यो संग्रहले गरेको छ ।

    यो ६१ वर्षमा विश्वका शीर्ष २० धनी मुलुकको सूचीमा परेको टर्कीको नेपालमा दूतावास बन्न सकेको छैन । नेपाल र टर्कीबीचमा कूटनीतिक सम्बन्धले दूतावासको आकार नलिए पनि कवितामा भने दुई देश जोड्ने काम यो संग्रहले गरेको छ ।

    संग्रहमा दुई देशका कविहरुले लेखेका सुन्दर कविताहरु छन् । समुद्रले छोएको देश टर्कीका कविहरुले समुद्रका सुन्दर विम्बमा कविता लेखेका छन् । सबैभन्दा अगाडि नाम राखिएकी अएतेन मुत्लुको कविता नै समुद्रको विम्बबाट लेखिएको छ । १९ वटा कविता संग्रह प्रकाशन गरिसकेकी मुत्लुको कविता ‘तिम्रो अनुहार र घन्टीको आवाज’ मा समुद्रको विम्ब यस्तो छः

    तिम्रो अनुहारको बन्द समुद्रमा
    चराहरु विषाक्त वाणहरु जस्तै उडे

    अर्का टर्कीका कवि यासर बेद्रीको कविता ‘अवास्तविक बार्दलीका सपनाहरु’मा पनि समुद्रको सुन्दर विम्ब प्रयोग गरिएको छ । १३ कविता संग्रह ल्याइसकेका कवि बेद्रीको कवितामा भनिएको छः

    .. सानो पानीजहाजको सिट्टीले घामलाई उठाउँछ ।

    टर्कीका कविहरुका कवितामा समुद्रमात्रै छैन । हिमाल पनि छ । हिमाली विम्बहरु छन् । आधा दर्जन कविता संग्रह ल्याएकी कवि नुरदुरान दुमरले आफ्नो कविता ‘योग्यता’मा हिमाली कुरा जोड्दै लेखेकी छन्ः

    आवाज केवल अस्तित्व हो, प्रतिध्वनिले हिमालयलाई पर्खिरहेको छ

    छ वटा कविता प्रकाशन गरिसकेका तथा टर्कीको अर्थ मन्त्रालय, संसद, राष्ट्रपति कार्यालयमा प्रेस क्षेत्रको जिम्मेवारीमा सात वर्ष काम गरेका कवि मेहमेत महजुन दोगनले पनि कवितामा हिमाललाई जोडेका छन् । ‘टाढा र नजिक’ शीर्षक कवितामा उनले लेखेका छन्ः

    सूर्य पिता हो, हिमालहरु हिउँमय छन्
    म राम्रोसँग बनेको छु, तिमी आफूभित्रको इच्छालाई न्यानो पार
    त्यसपछि गीतहरुको बाढी बग्छ
    सडकबत्ती र चौबाटाहरु हुँदै

    फेरि हेर
    हेर, टाढा कति नजिक छ ।

    खासगरी अरब र इस्लाम विश्वका वास्नाहरु आउने विम्बहरु बोकेका टर्कीका कविताहरुको कवितामा विद्रोहका चेत पनि उत्तिकै शक्तिशाली भएर आएका छन् । युवा कवि मुएसेर येनिअले लेखेको ‘स्तनहरु’ शीर्षक कविता त्यसको एक उदाहरण हो । सात वटा कविता संग्रह प्रकाशन गरिसकेकी येनिअले लेखेको कविता भन्छः

    मेरा स्तनहरु जादूका कचौरा हुन्
    जसमा तिम्रा हातहरु रगडिन्छन्
    र धूलो बन्छन्

    पाँच पुस्तक ल्याइसकेकी कवि निशा लेलाको कविता ‘शान्ति’ले अरबी विश्वको कथा भनेको छ । इजरायल-प्यालेस्टाइनी तनावको कविता भनेको छ । अरब र इस्लाम दुनियाँको आँखाबाट अमेरिका हेर्ने झ्याल देखाएको छ । उनको कवितामा भनिएको छः

    म हिटलर थिएँ, मैले यहुदीहरुलाई गाडें
    मैले भियतनामका आदिवासीहरु अनि
    गाजा शहरका दूधे बालकहरुलाई मारें
    म अमेकिकृत भएँ
    मैले सबै समयलाई मारें, म फेरि मार्न सक्छु

    उनै कवि लेलाको अर्को कविताको एक ठाउँमा युद्धकै कुरा गरिएको छ । कविताले भन्छः

    गोलीका आवाजहरु यतिबेला चराको बोलीभन्दा चर्का छन्
    दुःखले भरिएको मेरो भूगोलमा….

    यो संग्रहले नेपाल र टर्कीलाई काव्य पुलबाट जोड्ने ऐतिहासिक पाइला चालेको छ । त्यत्ति हुँदाहुँदै संग्रहले नेपालको समकालीन कविता दुनियाँका केही राख्नैपर्ने कविहरु समेटिन पाएका छैनन् ।

    संग्रहमा नेपाली कविहरुका पनि राम्रा-राम्रा कविताहरु समेटिएका छन् । पूर्वसचिव, गीतकार तथा कवि दिनेश अधिकारीको कविता ‘योजना’मा भनिएको छः

    सरकार !
    मेरो चासो यत्तिमात्रै हो-
    अरब पुगेको मेरो छोरालाई
    ज्युँदै फेरि यो देशमा फर्काउने
    के तिमीसँग त्यस्तो कुनै योजना छ ?

    कवि केशव सिग्देलको कविता ‘एउटा बहुलाको सुसाइड नोट’ विम्बले भरिएको बलियो कविता हो । कविता भन्छः

    एउटा रुख ढल्यो
    र मूढो बन्यो
    रुखले बाँचेको समय पनि ढल्यो
    र इतिहास भयो
    मान्छेले इतिहास खनिखोस्री गर्‍यो
    र स्मृति बन्यो
    त्यही स्मृति फेरि मुढोमा खोप्यो
    र जीवनको नयाँ बान्की बन्यो ।

    झ्याल बाहिर अब कुनै रुख बाँकी छैन ।

    कवि टंक उप्रेतीको विम्ब प्रधान कविता उत्तिकै शक्तिशाली छ । ‘रबरको रोटी शीर्षक’ कवितामा उनी भन्छन्ः

    समस्त तेज गुमेपछि
    रबरको रोटी बन्छ सूर्य
    जसको कुनै अर्थ रहन्न
    भोकाहरुलाई

    कवि कृष्ण प्रसाईंको कविता ‘घर’ उत्तिकै शक्तिशाली छ । कविता यस्तो छः

    मेरो बस्ने घर
    मैले आफैं बनाएँ
    ऊ निर्जीव थियो
    म सजीव थिएँ
    एकदिन उसले
    आफ्नै ढोकाबाट
    निर्जीव बनाएर
    मलाई नै निकाल्यो

    कवि मन्जुलको कविता ‘हिउँ’ शक्तिशाली छ । कवितामा भनिएको छः

    हिउँका लागि
    रुनु अभिसाप हो
    रोयो कि पग्लिहाल्छ
    पग्ल्यो कि सिद्धिहाल्छ
    फेरि उसलाई कसले भन्छ र हिउँ ?
    ऊ पानी हुन्छ, सुक्छ र सिद्धिन्छ

    यो संग्रहले नेपाल र टर्कीलाई काव्य पुलबाट जोड्ने ऐतिहासिक पाइला चालेको छ । त्यत्ति हुँदाहुँदै संग्रहले नेपालको समकालीन कविता दुनियाँका केही राख्नैपर्ने कविहरु समेटिन पाएका छैनन् । मनु मन्जिल, श्रवण मुकारुङ, सुमन पोखरेल, सीमा आभासदेखि भूपिनसम्मका नेपालका केही स्टार कविहरुसमेत समेटिएको भए संग्रहमा अझ परिपक्वता आउने थियो । नेपालका चलेका स्टार कविहरुको उपस्थिति अझ बाक्लो सवालमा केही कमजोरी देखिए पनि कम्तिमा नेपाल र टर्की जोड्ने काव्य कूटनीतिमा यो संग्रह सफल छ । नेपाल र टर्कीको काव्य कूटनीति बलियो बनाउने कोशेढुङ्गो भएको छ यो संग्रह । निजी क्षेत्रबाट गरेको यो पहललाई आम नेपाली कविता पाठकहरुले मात्रै होइन नेपालको कूटनीतिक वृत्तले पनि धन्यवाद भन्नुपर्छ ।

  • पोलिटिकल मेरिटोक्रासी र केपी ओली

    पोलिटिकल मेरिटोक्रासी र केपी ओली

    कुनै पनि प्रतिस्पर्धामा समावेश भएकामध्ये उत्कृष्टलाई छनोट गर्ने प्रणालीलाई नै मेरिटबेस प्रणाली भन्ने गरिन्छ । कुनै पनि क्षेत्रमा प्रवेश गर्दा मेरिट (सर्वोच्चता) को आधारमा प्रवेश गरेको व्यक्तिको कार्यक्षमता र प्रस्तुतीकरण सधैं नै अब्बल हुने गरेको पाइन्छ । जनताको बहुदलीय जनवादमा पनि पहलकदमी, प्रतिष्पर्धामा श्रेष्ठता भन्ने उल्लेख नै गरेको छ । नेपालमा मात्र होइन विश्वको धेरैजसो सफल व्यक्तिको इतिहास हेर्ने हो भने आफ्नो क्षेत्र वा ठाउँको मेरिटबेसमा अगाडि रहेको पाइन्छ । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने पनि समयअनुसार र समकक्षीहरुको तुलनामा नेताको उचाइ नाप्ने गरेको पाइन्छ । तत्कालीन परिवेश घटनाक्रम परिस्थिति निर्णय क्षमता, राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण देश र जनताप्रतिको उत्तरदायी भावना, दबाब र प्रभावबाट मुक्त हुन सक्ने क्षमता आदिबाट नेताको मूल्यांकन उनीहरुको दर्जा र स्तर इतिहासमा रहने गरेको पाइन्छ । नेपालको इतिहासमा पनि विभिन्न कालखण्डमा नेताहरुले लिएको अडान र निर्णयका कारण राष्ट्रवादी छवि बनाएका छन् । यी छविहरु सापेक्षतामा आधारित भएको पाइन्छ ।

    अहिलेको समकालीन राजनीतिज्ञहरुको तुलनात्मक अध्ययन गर्ने हो भने केपी शर्मा ओली नेकपा एमालेको २०७० माघ २१ गते पहिलोपटक संंसदीय दलको नेता चयन भए । २०७१ असारमा नेकपा एमालेको अध्यक्ष चयन भएका ओली २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बने । यसपछि विभिन्न घटनाक्रम र निर्णयलाई आग्रह र पूर्वाग्रहविना कुनै अध्येताले अध्ययन गर्ने हो भने धेरै कुरा तथ्यपूर्ण तरिकाले पुष्टि होला नै ।

    २०७२ असोज ३ गते संविधान घोषणा गर्दा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । संविधान घोषणा नगर्न विभिन्न शक्ति केन्द्रको दबाब र प्रभाव उत्तिकै थियो । जसलाई वास्तै नगरी नेपालका लागि नेपाली नेता र संविधानसभा नै अन्तिम निर्णय लिने थलो हो भनेर केपी शर्मा ओलीको अडान लिएका थिए । त्यसकारण नेपालको संविधान २०७२ जारी हुनुमा उहाँको निर्णायक हात रहेको छ । संविधान जारी भएपछि कतिपय नेपाली राजनीतिक दलहरु संविधान बहिष्कार गर्ने भन्दै नेपाल र भारतको दश गजामा बसेर आन्दोलनको नाम दिँदै विदेशीको इसारामा नेपाललाई नाकाबन्दी गर्ने काममा सहयोग गरे । त्यसैको बलमा भारतले १३५ दिन नाकाबन्दी गर्‍यो ।

    समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्व गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी, षड्यन्त्र, अनेक जोड र कोणबाट प्रहार निरन्तर भइरह्यो । तर, उहाँ नेपाल र नेपालीप्रति सतिसाल भएर उभिरहनुभयो ।

    नाकाबन्दीकै बीचमा पहिलो पटक प्रधानमन्त्री भएका ओली विदेशीसामु नझुकेर नाकाबन्दी नखुलाए तिम्रो निमन्त्रणा नै स्वीकार्दिनँ भन्ने नेपाली प्रधानमन्त्री बन्न पुगे । अन्ततः भारत नाकाबन्दी खुलाउन बाध्य भयो । आफ्नो मुलुकको जमिन मिचिएको कुरा सहन नसकेर जमिनको स्वामित्व फर्काउन देशको नक्सा र सीमांकन परिवर्तन जस्तो अत्यन्त कठिन कामको नेतृत्व गर्ने काम पनि ओलीबाट नै सम्भव भयो । संसदको रोष्टममा उभिएर भारतलाई ‘सिंह मेह जयते कि सत्य मेह जयते’ भनेर प्रश्न गर्न सक्ने नेपाली नेताहरुमा पनि दम भएको राष्ट्र र राष्ट्रियताप्रति उच्च कद राख्ने नेताको रुपमा ओलीकै नाम आउँछ । उनले अनेक अन्तर्राष्ट्रिय दबाबहरुलाई किन्चित नमानी राष्ट्रको पक्षमा निर्णय लिइरहे । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्व गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी, षड्यन्त्र, अनेक जोड र कोणबाट प्रहार निरन्तर भइरह्यो । तर, उहाँ नेपाल र नेपालीप्रति सतिसाल भएर उभिरहनुभयो ।

    २०७४ को निर्वाचनपछि दोस्रो पटक प्रधानमन्त्री भएपछि राष्ट्र, राष्ट्रियता, विकास र समृद्धि जनताको भलाइ, राष्ट्र हित, जन हित आदिबाट त्रसित विदेशीबाट सञ्चालित कतिपय नेताहरुमार्फत उहाँविरुद्ध षड्यन्त्र भइ नै रहेको थियो । जुन कुरा अहिले आएर पुष्टि भएको छ । उहाँ सरकार प्रमुख हुँदा कुनै पनि विदेशीले चलखेल गर्न नपाउने हुँदा सबैको टाउको दुखाइको विषय त बनेको थियो नै । त्यसैले अन्तर्राष्ट्रिय शक्तिहरु एकजुट भएर विरुद्धमा लागि रहेका हुन्थे । आफ्नो स्वार्थअनुरुप हिँडाउन पाउने नेताहरुै भएका हाम्रो जस्तो मुलुकमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र ओली जस्ताको विरुद्धमा एकजुट हुनुलाई अनौठो भन्ने कुरा पनि भएन ।

    सरकार फेरिनु वा परिवर्तन हुनु ठूलो कुरा होइन । २ महिनामा सरकारमात्र होइन शक्ति फेरिनु, त्यो पनि विदेशीले जे भन्यो त्यो हुनु यो मुलुकको लागि शुभ संकेत भने पक्कै होइन ।

    संसदीय निर्वाचन २०७९ मंसिरमा केपी शर्मा ओलीले नेतृत्व गरेको दल नेकपा एमाले तराजुको एकपट्टि र अन्य सम्पूर्ण ५ दल गठबन्धन अर्कोपट्टि चुनाव हुनुले पनि झन यसलाई पुष्टि गर्दछ । जब निर्वाचन परिणाम आयो र गठबन्धनका दलहरुको स्वार्थ मिलेन तब प्रभुहरुको प्रधानमन्त्री को हुने भन्ने व्यक्तिको रोजाइमा पृथकता आयो । त्यतिखेर देशभित्र सरकार बनाउन सक्ने दल छ भन्ने पुष्टि गर्न अन्तर्राष्ट्रिय शक्तिले पत्तो नै नपाई घण्टाभरमा केपी शर्मा ओलीको नेतृत्वमा दलहबीच आपसी समझदारीमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सफल भयो । तर, यो धेरैलाई पचेको थिएन । सरकार बन्नेबित्तिकै विभिन्न नेताहरुलाई दबाब र प्रभाव, लोभ र प्रलोभन लिएर ढोका ढोकामा विदेशी शक्तिहरुको चलखेल सुरु भएको थियो । अनन्तः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हार्नुभयो । तर, नेपाली जनताले जिते । यस्तो हार पहिले पहिले नेताले मात्र थाहा पाउँथे । तर, यस घटनाले अहिले नेपाली जनताले पनि विदेशीको चलखेल सडकमा आएको घाम झैं छर्लङ्गै देखेका छन् ।

    सरकार फेरिनु वा परिवर्तन हुनु ठूलो कुरा होइन । २ महिनामा सरकारमात्र होइन शक्ति फेरिनु, त्यो पनि विदेशीले जे भन्यो त्यो हुनु यो मुलुकको लागि शुभ संकेत भने पक्कै होइन । केपी शर्मा ओलीले हार्दा केही थिएन । तर, यहाँ नेपाल र नेपालीले हारेको छ । यो चाहिँ चिन्ताको विषय हो । बुझ्नेलाई इसारा काफी छ भने झैं यो अझ अन्तर्राष्ट्रिय विषयका अध्येताहरुले थप अध्ययन गरे नेपाली जनता थप सुसूचित हुने थिए ।

    ७० को दशकमा समकालीन राजनीतिक नेताहरुलाई हेर्ने हो भने प्रतिकूल अवस्थामा राष्ट्र र जनताप्रति पूर्ण बफादार भई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अन्तर्राष्ट्रिय शक्तिसामु शीर नझुकाइ आँखा जुधाएर आफ्नो कुरा राख्ने र निर्णय लिने सतिसाल जस्तो जबरजस्त नेतामात्र होइन पोलिटिकल मेरिटोक्रासीमा ओली नै सर्वश्रेष्ठ त होइन भन्ने प्रश्न बहसको विषय रहला । अरु निकायमा मेरिटोक्रासी हुन्छ भने अब नेपालको राजनीतिमा पनि पोलिटिकल मेरिटोक्रासी हेर्ने बेला त आएको छैन ?

    (थपलिया नेपाल बुद्धिजीवी परिषदका महासचिव हुन् ।)

  • रवीन्द्र समीरको ‘कोरोनातन्त्र’ बजारमा

    रवीन्द्र समीरको ‘कोरोनातन्त्र’ बजारमा

    काठमाडौं । विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि हो ।

    कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।

    कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रुपमा बुनेका छन् ।

    कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रीयपात्र डा.शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।

    हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने बिम्बलाई पुस्तकमा सुललित रुपमा लेखिएको छ ।
    इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजको रुपमा रहने विश्वास गरिएको छ ।

     

  • ‘त्रिवि रंगशाला’का चरा दर्शक हेरेर रोमाञ्चित बनौं कि लज्जित !

    ‘त्रिवि रंगशाला’का चरा दर्शक हेरेर रोमाञ्चित बनौं कि लज्जित !

    मैदानका भित्तामा दर्शक अटेसमटेस देखिन्छन् । तर पनि बेलाबेला गेटमा प्रहरीको बाक्लो ब्यारिकेट तोडेर भित्तामा खाँदिन आइपुग्ने हुलका हुल अँटेकै छन् । मैदानलाई माथिल्लो भागबाट घेरेको पर्खाल भत्केला झैं बाहिरबाट दर्शकको चाप देखिन्छ । हेर्दा लाग्छ, दर्शक भित्तामा भन्दा बढी पर्खाल बाहिर औंलाले भूईं टेक्दै खेल हेरिरहेका छन् ।

    ‘ओहो, त्यो मान्छे अघिदेखि रुखको त्यतिमाथि खुट्टा हाँगाभन्दा तल झारेर बसिरहेको छ । कसरी सकेको होला’, चिच्याइरहेका हजारौं दर्शकको भीडभन्दा केही पर, पर्खाल बाहिर नजिकै रहेको रुखमा चढेर खेल हेरिरहेका केही व्यक्तिलाई नियाल्दै नजिकै बसेका युवक आफैंसँग कुरा गर्दैछन् (उनी एक्लै आएका हुन सक्छन् वा उनको कुरा अरुले सुन्न ध्यान नदिएको हुन सक्छ। तर, ती युवकलाई कुनै पर्वाह छैन) । केही बेरमा ओकेटोके बोकेका एक टाइसुटधारी सेक्युरिटी गार्डहरुलाई खोजेर जम्मा गर्दै निर्देशन दिन्छन्, ‘यिनीहरु सबैको कार्ड चेक गर्नुस् । पास नभएका सबैलाई बाहिर निकाल्नुस् ।

    बल्लतल्ल खेल हेर्न पाएका तर पास नभएकाहरु यताउता हेर्न थाल्छन् । ती टाइसुटधारीले यसरी बोलिरहेका थिए कि अब पास नभएकाहरु त्यहाँ बस्न सम्भव थिएन । सेक्युरिटी गार्डहरुले भीडमा छिर्दै चेक गर्न थाले । मानौं कि त्यहाँ उनीहरु ठूलै अपराधी खोजिरहेका छन् । दर्शक र उनीहरुबीच चर्काचर्की सुरु हुन्छ । दर्शकहरु एक मुख लाग्दै भन्छन्, ‘हामीसँग यी टिकट छ, उता जान सक्ने, छिर्न सक्ने अवस्था छैन । टिकट लिएको अर्थै भएन नि ! कि हामीलाई उता बस्ने ठाउँ चाहियो ।’

    सेक्युरिटी गार्डहरुको साझा जवाफ छ, ‘यो ठाउँ टिकट भएका दर्शक बस्ने ठाउँ हैन । पास भएकालाई छुट्याइएको स्थान हो । हामीलाई अरु कुरा थाहा छैन । तपाईंहरु यहाँ बस्न पाउनुहुन्न ।’

    मेरो अनुभवमा त्रिवि मैदानमा पुगेर खेल हेर्ने सबैभन्दा झुर ठाउँ यही हो । मैले पनि त्रिवि मैदानमा गएर खेल हेरेको नि भन्ने अवस्थाको मात्र । कुर्सीमा बस्न पाएकाहरु पनि केहीबेरपछि कुर्सीमाथि टेकेर खेल हेर्दै थिए ।

    त्रिवि मैदानको मूलगेटबाट प्रवेश गरेपछि नेट प्राक्टिस गर्ने ठाउँ नजिकै भूईं टेकेर खेल हेर्ने ठाउँमा हामी उभिएका थियौं । केही कुर्सी त राखिएको थियो । तर, अधिकांश उभिएरै हेरिरहेका थिए ।

    मेरो अनुभवमा त्रिवि मैदानमा पुगेर खेल हेर्ने सबैभन्दा झुर ठाउँ यही हो । मैले पनि त्रिवि मैदानमा गएर खेल हेरेको नि भन्ने अवस्थाको मात्र । कुर्सीमा बस्न पाएकाहरु पनि केहीबेरपछि कुर्सीमाथि टेकेर खेल हेर्दै थिए । उता पास नभएका तर टिकट भएका दर्शकलाई सेक्युरिटी गार्डहरु धकेल्दै यसरी बाहिर निकाल्दै थिए कि मानौं उनीहरुबाट अक्षम्य गल्ती भएको छ (साँच्चै उनीहरु कसरी मूलगेटबाट छिरेर त्यहाँ पुगेका थिए होलान् । बाहिर निस्किएर उनीहरुको टिकट असुल भयो कि भएन होला) । उता मूलगेट सम्हालिरहेका सेक्युरिटी गार्ड एक चर्चित मिडियाका फोटो पत्रकारसँग पाखुरा सुर्किरहेका थिए ।

    नेपाललाई विश्वकप छनोटमा पुग्न जित्नैपर्ने खेलका विभिन्न मोमेन्टहरु कति आवश्यक हुन्छन् भन्ने ती फोटो पत्रकारलाई मात्र थाहा थियो । यूएईको ब्याटिङपछि बाहिर निस्किएका ती फोटो पत्रकारलाई यहाँबाट मिडिया छिर्ने ठाउँ हैन भन्दै ती सेक्युरिटी गार्ड बाटो छेकिरहेका थिए । उनीसँग नेपाल क्रिकेट संघ (क्यान) ले दिएको फोटो पत्रकारको पास नै रहेछ । तर, मिडिया प्रवेश गर्ने गेट बन्द भएका कारण उनी मूलगेटमा आएका रहेछन् ।

    ‘तपाई जे जे गर्नुस् । तर, यहाँबाट छिर्न पाउनुहुन्न । यहाँबाट छिर्न मिल्नेलाई हामीले रोकेको छैन’, उनी भन्दै थिए । अचम्म त, क्यानका जिम्मेवार पदाधिकारीहरु पासका मुठा लिएर गेटसम्म आउँदै मान्छे ओसारिरहेका थिए । तर, ती फोटो पत्रकारको समस्या समाधान गर्नुपर्छ भन्ने उनीहरुलाई लागेन । ‘मिडिया हाम्रो सबै भानुजीले हेर्नुहुन्छ । उहाँसँगै कोअर्डिनेसन गर्नुपर्ला’, ती फोटो पत्रकारले मिडियाको गेट बन्द भएको र भानुजीको मोबाइलमा सम्पर्क हुन नसकिरहेको गुनासो गरिरहँदा पनि ती जिम्मेवार पदाधिकारी विभागीय जिम्मेवारी देखाएर पन्छिए (साँच्ची ती फोटो पत्रकारले त्यस दिन फोटो खिच्न पाए कि पाएनन् होला ? आफूमाथि भएको दुर्व्यवहार कसैसँग शेयर गरे कि गरेनन् होला) ।

    नेपालसँग खेल्न आउने कुनै पनि विदेशी टोली ‘जिल्ल’ परेर फर्कन्छ । खेलप्रति नेपालीको मोह भनौं या नेपालका लागि उम्दा समर्थन, विपक्षीका लागि अतिरिक्त खेलाडीको काम गर्छन् । दशरथ रंगशाला होस् या त्रिवि क्रिकेट मैदान, राष्ट्रिय टोलीलाई समर्थन गर्न हजारौं दर्शकको ओइरो लाग्छ, सवारी आवागमन नै प्रभावित हुन्छ ।

    नेपालसँग खेल्न आउने कुनै पनि विदेशी टोली ‘जिल्ल’ परेर फर्कन्छ । खेलप्रति नेपालीको मोह भनौं या नेपालका लागि उम्दा समर्थन, विपक्षीका लागि अतिरिक्त खेलाडीको काम गर्छन् । दशरथ रंगशाला होस् या त्रिवि क्रिकेट मैदान, राष्ट्रिय टोलीलाई समर्थन गर्न हजारौं दर्शकको ओइरो लाग्छ, सवारी आवागमन नै प्रभावित हुन्छ ।

    हरेकपटक एउटै दृश्य देखिन्छ- हजारौं दर्शक रंगशाला बाहिर देखिन्छन् । खेल भइरहेका बेला उनीहरु टिकट नपाएर निराश हुँदै घर फर्कन्छन् । त्रिवि क्रिकेट मैदानमा दर्शकहरु रुख चढेको, वरिपरि रहेका घरहरुको छतमा जम्मा भएको र पर्खालको धेरै परसम्म घुइँचो नेपालले खेल्ने खेलहरुमा अक्सर दोहोरिरहने दृश्य हुन् ।

    दर्शक आउनु भनेको खेल हेर्नु, रमाइलो गर्नु र फर्कनुमात्र होइन । त्यसले सम्बन्धित खेलको विकासमा जनस्तरबाट ठूलो भूमिका खेलिरहेको हुन्छ । अहिले क्रिकेटका विभिन्न ट्रेनिङ सेन्टरहरुमा बढेको भीडबाट पनि यसलाई बुझ्न सकिन्छ । दर्शकले खेलाडीलाई उत्साहित बनाइरहेका हुन्छन् र नयाँ पुस्तालाई आकर्षित गरिरहेका हुन्छन् ।

    किन कुनै खेलको खेलाडी बन्ने जवाफ उनीहरुले पाइरहेका हुन्छन् । त्यसमा देख्न सक्छन्, आफ्नो नेमफेम । यसले प्रायोजकहरुलाई लोभ्याइरहेको हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको दर्शकबाट कमाइ हुने आम्दानी । कुनै एक खेल आयोजना गरेर दशौं लाख रुपैयाँ उठाएको दशरथ रंगशालामा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय खेलहरुको तथ्यांकहरुबाट देखिन्छ । स्तरीय र नेपाल सहभागी हुने अन्तर्राष्ट्रिय खेलहरुमा नेपाली दर्शकको अभाव देखिँदैन । यस्ता आम्दानीले हाम्रा थुप्रै आवश्यकताहरु पूरा हुनसक्छ वा पूरा गर्न सजिलो हुनसक्छ । तर, यति राम्रो फ्यानबेस हुँदाहुँदै पनि रुखमा चढेर खेल हेरेको दृश्य देखाएर सरकार नेपालमा खेलप्रेमीको क्रेज व्याख्या गर्न उद्यत छ । टिकट पाएर पनि खेल हेर्न नपाएका कहानीहरु सुनाउँदा खुशी देखिन्छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीच भएको खेल हेर्न कीर्तिपुर मैदानमा पुगेर दर्शकको सागर उर्लिएको हेर्ने अवसर त पाए । तर, राम्रो रंगशाला निर्माण गर्नुपर्छ भनेर बोल्न पनि हिच्किचाइरहेका छन् ।

    करिब एक दशकअघि नेपालमा एएफसी च्यालेन्जकप आयोजना हुँदा नेपालका खेल हुने दिन र समयमा दशरथ रंगशाला आसपासमा खुट्टा टेक्ने ठाउँ हुन्थेन । यी दृश्य देखेर सरकारबाट रंगशाला निर्माणसम्बन्धी कुराहरु पनि अघि आएका थिए । सरकारले अब चाहिँ गर्छ झैं देखिएको थियो । तर, स्थिति अहिले पनि उही छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीच भएको खेल हेर्न कीर्तिपुर मैदानमा पुगेर दर्शकको सागर उर्लिएको हेर्ने अवसर त पाए । तर, राम्रो रंगशाला निर्माण गर्नुपर्छ भनेर बोल्न पनि हिच्किचाइरहेका छन् । २५-३० हजार दर्शक अट्ने रंगशाला भएमात्र पनि दर्शकले आरामसँग, अपमान नभोगी हुटिङ गर्न, आनन्द लिन र खेल हेर्न सक्ने देखिन्छ । तर, हामीले १४-१५ हजार दर्शक अट्ने दशरथ रंगशाला देखाएर खेल आयोजना गरिरहेका छौं । कीर्तिपुर मैदानका खाली भित्ता देखाएर टिकट बिक्री गरिरहेका छौं ।

    लगातार त्यही कमजोरी दोहोरिरहेको छ, आम्दानीको ठूलो स्रोतलाई व्यवस्थित गर्न सकिरहेका छैनौं । अनि रुखमा जोखिमपूर्ण तरिकाले चढेर, बसेर खेल हेरिरहेका दृश्यमा हामी रोमाञ्चित छौं । यस्तो लाग्छ- हामीबाट हरेकपटक एउटा सम्भावित दुर्घटना टरिरहेको छ । रुखबाट झरेर कुनै दुर्घटना नभएसम्म र गुन्द्रुक जसरी खाँदिएका दर्शकबीच हुलदंगा र भागदौडको अवस्था नभएसम्म हामी रोमाञ्चित बनिरहनेछौं । त्यस्तो दिन आएमा मात्र हामीलाई लाग्नेछ- दर्शकलाई व्यवस्थित बनाएर राख्नुपर्ने रहेछ ।

  • विश्वकप क्रिकेटको सपना र नेपालको सम्भावना

    विश्वकप क्रिकेटको सपना र नेपालको सम्भावना

    फागुनको अन्तिम हप्ता नेपाली क्रिकेटको लागि विशेष रह्यो । आईसीसी वल्र्ड कप लिग- २ मा नेपालको जादुमय पुनरागमन गर्दै एक दिवसीय मान्यता जोगाउन सफल भयो । त्यो खुशीयाली सेलाउन नपाउँदै लिग- २ को अन्तिम खेलमा युएईलाई डग बर्थ लुइसको आधारमा हराउँदै आईसीसी विश्वकप छनोट खेलमा सहभागी हुने सुनौलो मौका पनि पायो । लिग- २ का १२ मध्ये ११ खेलमा जीत हासिल गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेसँगै नेपालीहरुले विश्वकप क्रिकेटको सपना पनि देख्न थालिसकेका छन् ।

    टी–ट्वान्टी विश्वकपको अनुभव भए पनि वन डे विश्वकपको अनुभव नेपालसँग छैन । जुलाई महिनामा जिम्बावेमा हुने छनोट खेल पनि पार गरे नेपाललाई यो गौरवमय अनुभव पनि प्राप्त हुनेछ । क्रिकेटमा असम्भव भन्ने केही हुन्न भन्ने भनाइ त छ । तर, यो निकै कठिन पनि छ । के नेपालले सन् २०२३ मा भारतमा हुने विश्वकप क्रिकेट खेल्न सक्छ ? यो प्रश्नको जवाफको लागि आईसीसी वन डे विश्वकप क्रिकेटको छनोट प्रक्रियालाई बुझ्नुपर्छ ।

    छनोट प्रक्रिया

    आईसीसी विश्वकप क्रिकेटमा जम्मा १० राष्ट्र सहभागी हुनेछन् । त्यसको लागि टेस्ट मान्यता प्राप्त १२ राष्ट्र, वन डे मान्यता प्राप्त ८ राष्ट्र र २१औं देखि ३२औं वरियताका १२ एसोसिएट राष्ट्र गरी ३२ राष्ट्रहरुलाई छनोट प्रक्रियामा सहभागी गराइन्छ । त्यसमध्ये आयोजक राष्ट्रको लागि स्वतः एक स्थान सुरक्षित राखिन्छ । अब हुने आईसीसी विश्वकपको आयोजक राष्ट्र भारत हो । बाँकी ९ स्थानको लागि ३१ राष्ट्रहरुलाई ३ भागमा विभाजन गरी छनोट गरिन्छ ।

    दोस्रो चरणको छनोट प्रक्रिया निकै प्रतिस्पर्धात्मक हुन्छ । दोस्रो चरणमा १० राष्ट्र सहभागी हुन्छन् र शीर्ष २ राष्ट्रमात्र विश्वकपमा सहभागी हुन पाउँछ । सुपर लिगका अन्तिम ५ राष्ट्र, लिग- २ खेल्ने राष्ट्रहरुमध्ये शीर्ष ३ राष्ट्र र प्ले अफबाट आएका शीर्ष २ राष्ट्र यो चरणमा सहभागी हुन्छन् ।

    पहिलो भागलाई सुपर लिग भनिन्छ । जहाँ १३ टीम सहभागी हुन्छन् । त्यहाँबाट आयोजक राष्ट्रसहित ८ टीम छनोट हुन्छन् । यी टीममा टेस्ट म्याच मान्यता प्राप्त १२ र विश्व क्रिकेट लिग च्याम्पियनसिप विजेता एक टीम सहभागी हुन्छन् । यो पटकलाई नेदरल्यान्डस सो कोटाबाट सुपर लिगमा भाग लिएको छ । उनीहरुले प्राप्त गरेको पीटीएस अंकको आधारमा आयोजक राष्ट्रसहित ८ टीम छनोट हुन्छन् । आउने विश्वकपको लागि आयोजक भारतबाहेक इङल्याण्ड, न्युजिल्यान्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया र अफगानिस्तान गरी ६ टीम छनोट भइसकेका छन् । एक टीम छनोट हुन बाँकी छ । उनीहरुले सीधै विश्वकप खेल्न पाउँछन् । बाँकी अन्तिम ५ टीम भने दोस्रो चरणको छनोटमा पुनः सहभागी हुन पाउँछन् ।

    दोस्रो भागमा आईसीसी वर्ल्ड कप लिग- २ का ७ राष्ट्र सहभागी हुन्छन् । तीमध्ये शीर्ष ३ राष्ट्र छनोट भई दोस्रो चरणको छनोटमा सहभागी हुन पाउँछन् । यो पटक स्कटल्याण्ड, ओमन र नेपाल दोस्रो चरणको लागि छनोट भएका छन् । नामिबिया, संयुक्त राज्य अमेरिका, यूएई र पपुवा न्युगिनी छनोट प्रक्रियाबाट बाहिरिएका छन् । यसरी बाहिएका ४ टीम प्ले अफ छनोटमा पुनः भाग लिन पाउँछन् ।

    तेस्रो भाग हो, च्यालेन्ज लिग । यस लिगमा २१औं देखि ३२औं वरियताका १२ राष्ट्र सहभागी हुन्छन् र शीर्ष दुई राष्ट्र प्ले अफको लागि छनोट हुन्छन् । यो पटक च्यालेन्ज लिगबाट क्यानडा र जर्सी छनोट भएर दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । डेनमार्क, कतार, सिंगापुर, मलेसिया, भानुआतु, युगाण्डा, हङकङ, केन्या, इटाली र बर्मुडा छनोट चरणबाट बाहिरिएका छन् ।

    दोस्रो चरणको छनोट प्रक्रियाभन्दा अगाडि प्ले अफ भन्ने छुट्टै लिग हुन्छ । जसमा ६ राष्ट्र सहभागी हुन्छन् । लिग- २ बाट छनोट हुन नसकी अन्तिम ४ स्थानमा परेका राष्ट्रहरु र च्यालेन्ज लिगबाट शीर्ष २ स्थानमा परेका राष्ट्रहरु यस प्रतिस्पर्धामा भाग लिन्छन् र शीर्ष २ दुई राष्ट्र दोस्रो चरणको छनोट प्रक्रियामा सहभागी हुन पाउँछन् । यसको लागि च्यालेन्ज कपबाट क्यानडा र जर्सी छनोट भएका छन् । लिग- २ बाट यूएई, पपुवा न्युगिनी, यूएसए र नामिबिया छनोट भएका छन् । अब खेल यही २४ मार्चदेखि ५ अप्रिलसम्म नामिबियामा हुँदैछ ।

    दोस्रो चरणको छनोट प्रक्रिया निकै प्रतिस्पर्धात्मक हुन्छ । दोस्रो चरणमा १० राष्ट्र सहभागी हुन्छन् र शीर्ष २ राष्ट्रमात्र विश्वकपमा सहभागी हुन पाउँछ । सुपर लिगका अन्तिम ५ राष्ट्र, लिग- २ खेल्ने राष्ट्रहरुमध्ये शीर्ष ३ राष्ट्र र प्ले अफबाट आएका शीर्ष २ राष्ट्र यो चरणमा सहभागी हुन्छन् । यो हिसाबले टेस्ट मान्यता प्राप्त राष्ट्र र वन डे मान्यता प्राप्त राष्ट्र र एसोसिएट राष्ट्रहरुको मिश्रित खेल निकै रोचक हुन्छ । १० राष्ट्रमध्ये शीर्ष २ राष्ट्रको छनोटमा परी विश्वकप खेल्नु कम चुनौतीपूर्ण हुन्न । एक हिसाबले दोस्रो चरणको यो आईसीसी विश्वकप छनोट खेल आफैंमा विश्वकप जस्तै हो । यो खेल जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुँदैछ ।

    के विश्वकप खेल्नलाई यति आधार नै पर्याप्त छ ? अवश्य छैन । दोस्रो चरणको छनोट ज्यादै चुनौतीपूर्ण छ । श्रीलंका जस्तो विश्व विजेतादेखि दक्षिण अफिका, जिम्बावे, आयरल्यान्ड जस्ता टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई पछि पार्दै कम्तीमा दोस्रो स्थान हासिल गर्नु नेपाल जस्तो पूर्वाधारविनाको राष्ट्रको लागि आकाशको फल नै हो ।

    नेपालको सम्भावना

    पारस खड्काले कप्तानी छाडेपछि विभिन्न शंका उपशंकाको बीच नेपाली क्रिकेट चलिरहेको थियो । त्यसैबीचमा खेलाडी र क्यानको विवादले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो जिम्मेवारी छाडे र नयाँ कप्तानमा सन्दीप लामिछाने नियुक्त भए । तर, उनी यौन हिंसाको आरोपमा जेल परेपछि लगभग लथालिङ्ग जस्तै भयो नेपाली क्रिकेट ।

    तर, हालसालै नेपाली क्रिकेटमा नयाँ रक्तसञ्चारको महसुस भएको छ । गत कार्तिक २६ गते नयाँ कप्तानको रुपमा रोहित पौडेल नियुक्त भएपछि राष्ट्रिय टीमले नेतृत्व पायो । त्यसैगरी यही माघ २३ गते भारतीय प्रशिक्षक मोन्टी देशाई नयाँ प्रशिक्षको रुपमा नियुक्त भए । यसैबीचमा लेग स्पिनर सन्दीप लामिछाने पनि धरौटीमा रिहा भए । उनलाई अदालतले सुरुमा देशभित्र र पछि देश बाहिर पनि खेल खेल्न अनुमति दिए । छोटो अवधिमा भएका यी तीन घटनाले नेपाली क्रिकेट टीमलाई ओडीआई मान्यता जोगाउन मद्दतमात्र मिलेन, विश्वकप छनोटमा सीधै खेल्ने पहिलो अवसर पनि दिलायो ।

    के विश्वकप खेल्नलाई यति आधार नै पर्याप्त छ ? अवश्य छैन । दोस्रो चरणको छनोट ज्यादै चुनौतीपूर्ण छ । श्रीलंका जस्तो विश्व विजेतादेखि दक्षिण अफिका, जिम्बावे, आयरल्यान्ड जस्ता टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई पछि पार्दै कम्तीमा दोस्रो स्थान हासिल गर्नु नेपाल जस्तो पूर्वाधारविनाको राष्ट्रको लागि आकाशको फल नै हो । एउटा गतिलो क्रिकेट रंगशालासमेत नभएको देश विश्वकप खेल्न पुग्यो भने आठौं आश्चर्य पनि हुन सक्छ ।

    दोस्रो चरणको विश्वकप खेल्न पाउनु नै नेपालको लागि विश्वकप खेलेसरह हुनेछ । टेस्ट मान्यता प्राप्त टीमसँग खेल्न पाउनु नेपालको लागि ठूलै अवसर हो । यो अवसरलाई सदुपयोग गर्दै नेपालले प्रस्ट रुपमा दुइटा फाइदा लिनसक्छ ।

    तर, यसो भनेर हामीले आफैंलाई नजरअन्दाज गर्नु ज्यादै गलत हुन्छ । दोस्रो चरणको विश्वकप खेल्न पाउनु नै नेपालको लागि विश्वकप खेलेसरह हुनेछ । टेस्ट मान्यता प्राप्त टीमसँग खेल्न पाउनु नेपालको लागि ठूलै अवसर हो । यो अवसरलाई सदुपयोग गर्दै नेपालले प्रस्ट रुपमा दुइटा फाइदा लिनसक्छ । पहिलो, खेलको अनुभव हो । सिनियर टीमसँगको खेलले पक्कै पनि महत्त्वपूर्ण सिकाइ हुन्छ नै । दोस्रो, सम्बन्धको विस्तार । विश्व क्रिकेटको महाशक्ति राष्ट्रहरुसँग खेल सम्बन्ध कायम हुनसक्छ । जसले आगामी दिनमा नेपाली क्रिकेट सिमाना निकै फराकिलो हुनसक्छ ।

    नेपालको सम्भावनाबारे भविष्यवाणी गर्न भने निकै कठिन छ । कमजोर धरातलबाट भर्खरै वामे सर्न थालेको क्रिकेटबाट ठूलो आशा गरिहाल्नु हतार नै हुन्छ । तर, नेपालका केही बलिया पक्षहरु भने अवश्य छन् । नेपालको ब्याटिङ लाइन अहिले सुध्रेको छ । प्रशिक्षक मोन्टी देशाई स्वयं ब्याटिङ कोच भएको हुनाले नेपाली ब्याट्सम्यानहरुको खुबीअनुसारको ब्याटिङ फर्मेसन मिलाइरहेका छन् । अहिले हाम्रा ब्याट्सम्यानहरु पूरै ओभर टिकेर खेल्न सक्ने अवस्था पुगेका छन् । बलिङ पक्ष त पहिलेदेखि नि तुलनात्मक राम्रो हो । नयाँ कोच आएपश्चात बलिङ लाइन पनि अझ मजबुत देखिएको छ ।

    नेपालले पछिल्लो एक महिनामा गरेको प्रगति निकै लोभलाग्दो छ । आईसीसी वल्र्ड कप लिग- २ का ३६ मध्ये २४ खेल खेल्दा नेपालले जम्मा १८ अंकमात्र जोड्न सकेको थियो । यो अंकले नेपाललाई निकै निराश पनि बनायो । ओडीआई नै नजोगाउने हो कि भन्ने आशंकाले सबैलाई विक्षिप्त बनायो । यही बीचमा नयाँ कोचको आगमन भयो । लिगको बाँकी १२ खेल खेल्दा नेपालले थप २२ अंक जोड्दै ४० अंकका साथ तेस्रो स्थानमा उक्लियो ।

    यो हिसाबले हेर्दा नेपाल कमजोर टीम होइन । क्वालिफायर लिगमा ठूला राष्ट्रहरुलाई मजाले चुनौती दिन सक्ने हैसियत बनाएको छ नेपालले । चार टेस्ट मान्यता प्राप्त राष्ट्रहरुमध्ये कुनै एकलाई जितेमात्रै पनि नेपालको अन्तर्राष्ट्रिय छवि निकै माथि जानेछ । दोस्रो चरणको छनोट खेलमा नेपालले सफलता पाउनसक्छ भन्ने खास आधार त छैन । तर, क्रिकेट भनेको असीमित सम्भावनाहरुको खेल हो । जीतहार भनेको क्रिकेटमा भविष्यवाणी गर्न कठिन विषय हो ।