Category: साहित्य / ब्लग

  • सपनासँगको त्यो रात

    सपनासँगको त्यो रात

    टिमिक्क परेको सेता सर्टलाई चुनौती दिदै उठेका उनका छाती आकर्षक थिए । गोरी पनि नभनौ, गहुँगोरी । मेकअप गरेर होला, उनका पुक्क परेका गाला टल्किरहेका थिए । अनुमान लगाएँ, उमेरले २०–२२ नाघेकी हुनुपर्छ । टिमिक्क परेको सेतो सर्टमा टाइट जिन्स लगाएकी उनको कम्मरमा कालो बेल्ड थियो । जसले उनको कम्मर निकै आर्कषक देखाईरहेको थियो । साइज २५ हुनुपर्छ ।

    मैले चाहेजस्तै थिइन् उनी । मैले कल्पना गरेजस्तै थिइन् उनी । सुन्दरताको मापदण्डका सबै सर्त पूरा गरेकी थिइन् । उठेका नितम्ब, बसेको कम्मर, ब्राउन कलरको लामो कपाल, गाजलको घेराभित्र तैरिरहेका मृर्गनयनी आँखा र उर्बर छातीले सुन्दरताको हदै पार गरेका थिए । पटक–पटक मेरा नजर उनको क्लिभेज (दुईटा स्तनको विचको भाग)मा गएर भास्सिन्थे । उनले चाल नपाएसम्म तिनलाई उद्धार गर्न जाँगर नचलाउनुमै मलाई मजा आइरहेको थियोे । मेरो मन बदमास बनिरहेको थियोे, उनि थिइन् नै त्यस्तै ।

    झ्यालको सिसा थोरै खुलेको थियो । जहाँबाट एकसर्को हावा आफ्नै गतिमा भित्र आइरहेको थियोे । तर ऊ एक्लै आइरहेको थिएन, सँगसँगै कपासजस्ता मुलायम कपालका धर्सा मतिर ल्याइरहेको थियो । म रङ्गमा होइन, गुणस्तरमा गएँ । बिम्बमा कपास भने पनि कपाल सेतो थिएन । फोरेनरकोजस्तो ब्राउन-ब्राउन थियो । जो हावामा समाहित भएर अघिदेखि मेरो अनुहारलाई जिस्काउन आइरहेको थियो ।

    हटाउने बहानामा मैले हात लम्काउदै छुन खोज्थेँ । फेरि उडेर मेरो अनुहार भन्दा पर पुग्थ्यो । छुनु पनि कसरी ? फेरि हच्किन्थेँ । उनको नामसमेत थाहा थिएन । आँट गर्नु कसरी ? फेरि इजाजत नै नदिइ, उनको लागि म बाटो हिडने बटुवा न थिएँ । तर, मेरो लागि उनी आफ्नै लाग्दै थिइन् । परिस्थिति स्वर्णिम लाग्दै थियो । गुडिरहेको बसमा चङ्गाजस्तै उडिरहेको मेरो मन । जो छुन रहर गरिरको थियोे, रहरको अन्तिम विन्दु ।

    भनिन्छ, मायामा केही हेरिदैन । तर माया गर्नलाई धेरै थोक हेरिन्छ । रुप र सौन्दर्यता गौण हो भनेर गफ छाँट्छन् मान्छे । तर यो हात्तीको देखाउने दाँत मात्रै हो । सुरुमा सुन्दरतामा नै आकर्षित हुन्छन् मान्छे । अपवाद हरेक कुरामा हुन्छ, पहिलो सर्त सुन्दरता नै हुन्छ । अरु कैफियतका बिषय हुन् । म पनि मानवीय आम आचरणबाट कसरी अछुत रहन सक्छु र, म उनको सौन्दर्यतामा हराउँदै गए । मन बेकाबु हुँदै गयो । मेरो कल्पनाको दुनियाँबाट उनी सिधै बुटवल बजारमा अवतरण गरेजस्तै भान भइरहेको थियो मलाई । दश मनमा एकमन पनि लागेको थिएन, यति सुन्दर मान्छेसँग भेट हुनेछ ।

    मुनाल यातायात बसको एउटा सीटमा बसिरहेको थिएँ म । बोल्ड अवतारमा बसमा उक्लिएकी उनी मेरो छेउमा आएर बसेकी थिइन् । मैले झ्याल छोडिदिएको थिएँ । जहाँबाट अहिले उनी मेरो अनुहार जिस्काउन हावा सँगसँगै रेशमी कपालका धर्सा छोडिरहेकी थिइन् । प्रिय मान्छेसँगको लामो यात्रा पनि छोटो लाग्छ । जो नसक्किदिए हुन्थ्यो भन्ने लाग्छ । बस तिब्र गतिमा गुडिरहेको थियो । उनको गन्तव्य भेटिने डरले मलाई भयभित बनाइरहेको थियोे । मैले चाहेर पनि उनीसँग कुराको मेलो थाल्न सकिरहेको थिईन ।

    गाजलको घेराभित्र तैरिरहेका मृगनयनी आँखा एकछीन टुल्ल परी हेरिरहे । रसिला भन्दा मिल्ला की ? उनका आँखालाई, रसिला नै थिए । अनी रस भने नयन भित्र नै सलबलाइरहेका । रसले भरिएका र रस चुइहिएला जस्ता तर, चुहिइसकेका भने थिएनन् । सिधै भन्नुपर्दा उनको कलकलाउदो बैंस जस्तै । मेरा नजर अनियन्त्रित बनेका थिए । सायद एकोहोरो हेरेर होला । देब्रे आँखाले उनले मतिर हेरिन् । मैले मन्द मुस्कान दिन नपाउदै उनका आँखा झ्याल बाहिर डोरिए । झ्यालको सिसामा टाउको अडेस लगाउदै कपालजती बायाँ तिर झारिन् । कपालले गर्दा अनुहारको एक भागको मात्र अब मैले दर्शन पाउने भएँ । थोरै भए पनि हेरेरै चित्त बुभाइरहेँ ।

    असाध्यै चाहेर पनि नपाएका कुरा धेरै छन् जिवनमा । धेरै प्रयास गरेर पनि नसकेका काम धेरै छन् जीवनमा । सूची लामै हुनेभयो । आज अर्को थपियो । कसैगरे पनी म उनिसँग बोल्न सकिन । उनको गन्तव्य आयो । उनको रुप हेरर त म सायदै अघाइन । उनी बसबाट बाहिरिदा अन्तिमपल्ट नियालेँ । हाइट पाँच फिट प्लस नै थियोे । पछुतो भयो, नाम सोधेको भए नि हुने । किन सोधीन होला ? सकिन, किन सकिन ? आँट आएन ।

    मन बेचैन थियो । मनभरी उनको स्वरुप सलबलाइरहेको थियोे, घर पुगेँ । उसलाई देख्न आँखा छट्पटाइरहेका थिए । तर त्यो सम्भव थिएन । स्वभावतः असम्भव लाग्ने कुराले खुब उकुसमुकुस बनाउँछन् । नाम सोधेको भए पनि उनलाई फेसबुकमा खोज्थेँ । अब कहाँ जानू खोज्न ? कहाँ छिन उनी, मेरो एक्सेस (पहुँच) भएको र उनि भएको ठाउँ मेरो मन मात्रै हो । उनि मेरो मनमा थिइन् । बिर्सिएर जानलाई निदाउदाँ देखिएको उनी कुनै सपना होइनन् । उनी त विपनामै आएर मेरो मनमा बसेकी मेरी राजकुमारी हुन् । आसा छ, कुनै न कुनै दिन हाम्रो भेट हुनेछ, किनकि पृथ्वी गोलो छ ।

    थाहा छैन, म आफूलाई उनले सजाउँन पाउँछु कि पाउँदिन । तर, म उनैले सजाउँछु मेरो कोठाका भित्ता । लाग्यो, बनाउँ चित्र । टाँसु चारैतिर । लागोस्, हरप्रहर म उनिसँगै छु । उनको स्केच बनाउँने तयारी गरेँ । मनबाट उनलाई हेर्दै स्केच बनाउँदै गएँ । स्केचमा उनका आँखा निकै आर्कषक बने । नाम नि ‘गाजलु’ भन्दा ठ्याक्कै सुहाउने थिइन् उनी । घाँटी देखी थोरै तलसम्म जहाँ उसका पुक्क उठेका छाती निकै आकर्षक बने, बस त्यही ल्याएर एकछिन रोकिदिए कलम । किनकि भास्सिए फेरि मेरा नजर उनका क्लिभेजमा । म त्यती कुशल चित्रकार त होइन । तर उनले आज साँच्चै कुशल बनाइन् । उनको चित्र मनभित्र निकै राम्रोसँग बनेर होला, क्यानभासमा पनि सुन्दर बन्यो । उनी बोल्न खोजेजस्तै देखिन्थिन् ।

    वस्तु टाढाबाट सुन्दर देखिन्छ, चन्द्रमा टाढाबाट सुन्दर देखिए जस्तै । सुनेको थिए, दुरी बनाइ बसेका मान्छे झन प्रिय लाग्छन् । भर्खरै बनाएको उनको चित्रलाई टाढा गएर हेरेँ । उनलाई पासैमा पाएर उसरीनैँ नर्भस भएँ । लाग्यो, सदा सदाकाल उनलाई यसरी नैँ हेरिरहुँ । क्यानभासमा नै सहि उनको छेउमै गएर भने, जति हेरेपनि हेरिरहुँ लाग्ने दृश्य हौ तिमी । जति सम्झिए पनि सम्झिरहन मनलाग्ने स्मृति हौ तिमी । तिमीलाई हेर्दा लाग्छ, धरतीमा यो भन्दा सुन्दर अर्को कुनै दृश्य छैन । चाहान्छु म मेरो जिवनको सारा आयु तिमीलाई हेर्दै सक्काउँ ।

    एकछिन सपनामा हराउन मन लाग्यो । लाइट बन्द गरेँ । आँखा बन्द गरेँ । आँखामा बसेकी उनि त्यहिभित्रै थुनिइन् । म कुनबेला निदाएँछु पत्तै भएन । यतिबेला उनी मेरो कोठामा आएकी थिइन् । र मेरै छेउमा बसिरहेकी थिइन् । साँचो मनले तपाईं जुन सपना देख्नुहुन्छ, त्यसलाई पूरा गर्न सारा कायानाथ लाग्छ भन्थे हो रैछ । उनी मेरै छेउमा बसेर चारैतिर भित्तामा नजर डुलाइरहेकी थिइन् ।

    त्यसदिन बुटवलबाट छुटेको मुनालको बस काठमाडौं जाँदै थियो । उसको अन्तिम गन्तव्यको एउटा यात्रु थिएँ म । तर उनी थिइनन् । नारायणगढको पुलचोकनेर झरेकी थिइन् । झ्यालको सिसा खोलेर नछेल्लियौँन्जेल हेरेको थिएँ, न्युरोडलाई पछ्याएकी थिइन् । त्यसपछि म हरेक दिन पुलचोकमा टहलिन थालेँ । उनको सुन्दर चित्र छातीमा टाँसेर उनी आउनेबाटोमा कुर्न थालेँ । कयौं दिनसम्मका कयौँ प्रयास असफल हुँदै गए । उनि आउने बाटोबाट उनी आइनन्, मेरो प्रयासका असफलतामात्रै आइरहे । भनिन्छ, कुनै चिज नभेटाएसम्म त्यो ठूलो लाग्छ । कोठामै हराएको कुनै चिज नभेट्टाएसम्म त्यो कोठा बिशाल लाग्छ । हो यस्तै मलाई पनि भयो । मलाई नारायणगढ शहर संसारमै विशाल लाग्न थाल्यो । तर हरेक दिन आएर होला, एकदिन थाकेछ असफलता । न्युरोडबाट पिङ्क कलरको छाता ओडेर एउटा मान्छे आयो । मेरा आँखा उसमा अड्डिए, सदाबहार थिइन् गाजलु । म उनलाई मनमनै गाजलु भन्थे । उनलाई ठम्याउनसाथ मुटु ढप्प भए पनि कन्ट्रोल गरेँ । उनी छेउनेरै आइपुगेकि थिइन् ।

    बोलाएँ,-`हेलो एक्सयुज मी !´

    `भन्नुस् ।´ उनले भनिन् ।

    `तपाईंसँग केही कुरा गर्न चाहान्छु ।´ मैले साहस गरेँ ।

    `भन्नुस् न के ?´उनी नरम बनिन् ।

    `साइड लागौँ न ।´मैले प्रस्ताव गरेँ ।

    म छेउतिर गएँ । उनी मलाई हेर्दै आइन् । मैले छातिमा टाँसेर राखेको चित्र सुल्टो बनाएँ, जहाँ उनी हाँसिरहेकी थिइन् ।

    `ओ माइ गड !´ हठ्ठात उनको बोली फुत्कियो ।

    `माफ गर्नुहोस् । मैले तपाईंको चित्र बनाएँ ।´ म उनको प्रतिक्रिया के आउला भनेर आत्तिएको थिएँ, पहिल्यै सजग बनेँ ।

    `किन बनाउनुभयो नि मेरो चित्र ?´उनी सामान्य देखिइन् ।

    `किनकि मेरा आँखालाई संसारको सबैभन्दा सुन्दर दृश्य तपाईं लाग्यो ।´ मैले आँट गरेँ ।

    `थ्यान्क्यु !´ उनले चित्र हातमा लिदै भनिन्- `मैले तपाईंलाई कतै देखे-देखेजस्तो लाग्छ ।´

    `देखेर त बनाउन सम्भव भयो नि !´ मैले उत्तर दिएँ,- `शिवरात्रीको दिन; बसमा ।´

    चिया पसलमा गएर लामै कुरा गर्यौँ हामीले । छुट्टिनेबेला मैले उनलाई भनेँ- `तपाईं काठमाडौं आउनुस् । मन्दिरको शहर घुमाउँनेछु । जहाँको घरको एउटा कोठामा तपाईं आफुलाई मात्रै भेट्नु हुनेछ ।´

    साह्रै सुन्दर चित्रकार भनेर प्रशंसा गरेकी थिइन् । तर मलाई प्रेमी नभनेर चित्रकार भनेकोमा नमज्जा लागेको थियोे । मैले केही भनिन । एकदिन आउने बाचा गर्दै ह्वाटसप नम्बर दिएर उनी छुट्टिएकी थिइन् ।

    त्यसअनुरूप नै हो । उनी आज मेरो कोठामा थिइन् । आउँदा बाटोमा मैले उनलाई मन्दिरको शहरका ऐतिहासिक किस्सा सुनाउदै महत्त्वपूर्ण ठाउँ घुमाएको थिएँ । मलाई पनि सौराहा पार्क घुमाउने बाचा गर्दै अघिसम्म चञ्चल देखिएकी उनी मेरो कोठामा आइपुग्दा अक्क न बक्क भएकी थिइन् । मेरो कोठाका भित्तामा चारैतिर आफुलाई एकटक हेरिरहेकी थिइन् । मैले चैँ उनलाई हेरिरहेको थिएँ । बदामी ओठ, मृग नयनी आँखा र आकर्षक वक्षस्थल ती काफी थिए मेरा आँखालाई बदमास गराउन । म उनको पर्फ्युमको बासनाले मदहोस बन्दै गइरहेको थिएँ । उनी उठेर चारैतिर नजर डुलाइरहेकी थिइन् । मैले छेउमै गएर सोधेँ,- `मबाट केही गल्ती भयो कि ?´

    `म यति सुन्दर छु भन्ने कुरा मलाई पहिलोपटक थाहा भयो । थ्यान्क्यु !´ उनले भनिन् । उनी हौसिदै आएर मलाई अङ्गालोमा कसिन् । उनको छुवाइले मेरो शरीरमा करेन्ट सञ्चार भयो । मैले केही सोच्न नपाउँदै उनी छुट्टिइन् । अलि पर सरेर भनिन्-`सरी ! मलाई के भयो मैले आफुलाई कन्ट्रोल गर्न नैँ सकिन ।´

    `अघि तपाईंले आफुलाई कन्ट्रोल गर्न सक्नुभएन । अब म आफुलाई कन्ट्रोल गर्न सक्दिनँ । पिलिज !´मैले बाहु फिजाएँ । उनी मेरो अंगालोमा आएर कस्सिइन् निकै बेर । सायद मसँगको स्पर्शले लठ्यायो उनलाई पनि । उनका आँखा मात्तिरहेका थिए । मलाई ठम्याउन गाह्रो भएन, ती सिकार गर्न चाहान्छन् । नसालु आँखामा हेर्दै भनेँ,-`गाजलु मलाई एकछिन छोडन ।´
    उनले भनिन्,-`मैले समातेकी छु र ?´

    `छोडन कस्तो मुटु च्यातिने गरी बोलेकी गाजलु !´खिस्स हाँस्दै भनेँ । यो पक्कै पनि उसले नाई हुन्न अझै कस भन्ने भावले भनेकी पनि हुन सक्छन् भन्ने सोचेँ । सोच साँचो/सत्य भयो । उनी लिप्त भएसँगै म तृप्त भइरहेको थिएँ ।

    मुटुले गति बढायो । हात र ओठ अनियन्त्रित हुँदै गए । मेरा हातका औला उनको शरीरको अनुसन्धानमा जुटिसकेका थिए । मेरो सेतो सर्टमा उनको रातो लाली पुछिएसँगै उनका र मेरा ओठको पनि आपसमा भेट भयो । उनको सासले मलाई लठ्यायो । हतारमा रहेका मेरा औला उनको स्तनका आयातन नाप्न पुगिसकेका थिए ।

    हामी दुबै लड्यौँ, खाटमा । मात्र होइन, म उनको मनमा र उनी मेरो मनमा । लाग्यो, अब त एकलाई चोट लाग्दा दुबैलाई दुख्नेछ । हामी चोट नलाग्ने गरी लड्यौँ । लड्नुको बेग्लै रमाइलो थियो र हामी लड्यौँ । एकछिनको कसरतपछि मैले परिस्थितिलाई उल्ट्याएँ । हामी एकअर्कामा बगेर समुन्द्र पुग्न खोज्दै थियौँ । `टिन टिन टिन !´ फोनको घन्टी बज्यो, ब्यूझिएँ ।

    सपना रहेछ । सोचको प्रभाव पुरै परेछ । तर कसले हो ठूलै पाप गरेछ । सपनामा पनि रमाउन दिएन । फोन उठाएँ । अफिस बाट साथी बिपिनको कल रहेछ । भन्यो,-`आज अफिस आउनु हुन्न ? कता हराउनु भयो नि ?´
    `कसैको चित्र कोर्दै थिएँ, चित्र बनाउन व्यस्त भएँ ।´छोटो उत्तर दिएँ ।

    उसले तत्तकाल सोधिहाल्यो-`कसको हो नि ?´

    मैले बडो साहसका साथ भनेँ-`गाजलु ।´

  • एक स्वास्थ्यकर्मीको वेदना- मन्त्रीज्यू ! मलाई डोरी दिनुहुन्छ ?

    एक स्वास्थ्यकर्मीको वेदना- मन्त्रीज्यू ! मलाई डोरी दिनुहुन्छ ?

    असार अन्तिम हप्तातिर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको एउटा भाषणबारे ‘अपत्यारिला’ समाचारहरू पढेँ । सरुवा, काजको कुरालाई लिएर मन्त्रालयमा न्याय खोज्न गएका स्वास्थ्यकर्मीलाई आत्महत्या गर्ने भए मेरै गेटमा आएर झुण्डिनुस्, डोरी दिन्छु’ भनेको भिडिओमा समेत हेरेपछि विश्वास गर्न कर लाग्यो । मन्त्रीज्यूले २/३  दिन अघिमात्र जनसंख्यासम्बन्धी कार्यक्रममा डोरिको कुरा दोहोर्‍याउनुभयो ।

    म एउटा स्वास्थ्यकर्मी भएको नाताले मन्त्रीज्यू मेरो अभिभावक हो । तर, दिनरात नभनी बिरामीको सेवामा आफ्नो जीवन अर्पिइरहेका हामीजस्ता स्वास्थ्यकर्मीलाई दरबन्दी र कार्यक्षेत्रको उचित व्यवस्थापनको माग गर्दा आत्महत्या गर्न उक्साउने मन्त्रीलाई कसरी अभिभावक मान्ने ? मेरो मनमा जिज्ञासा उठेको थियो । आज म वास्तवमै मन्त्रीज्यूसँग डोरी माग्नुपर्ने अवस्थामा पुगेकी छु ।

    निजामती सेवाभन्दा अलग गरेर स्वास्थ्यका कर्मचारीलाई गरिएको फरक व्यवहारका कारण हामीजस्ता स्वास्थ्यकर्मी यसै पनि मर्कामा परिरहेका छौं । यो ब्लग मैले डेढ महिना स्वास्थ्य मन्त्रालय, सिंहदरबारदेखि अदालतसम्म धाउँदा पाएको भुक्तमान अनि माथिल्लो ओहोदामा बसेका हाकिमहरुबाट पाएको तीता वचनले आहत भएर मात्र लेखिरहेको छैन । आफ्नो समस्याको पोको बोकेर मन्त्रालयको कोठाकोठा चाहर्दा व्यथित बनेका मजस्ता कैयन स्वास्थ्यकर्मीको प्रतिनिधि पात्र भएर लेख्दैछु ।

    सरकारको एउटा मन्त्रालयको निर्णय अर्कोले लत्याएकाले मैले पाएको दुःख यहीँनेर हो । त्यतिखेर कामकाजमा मात्र खटाइदिएर यतिले हुन्छ भने । मन्त्रालयको कुर्सीमा बसेकाहरूको तर्क ताकेता नपुगेकाले ढिलो भयो भन्नेछ । तर, ४/५ वर्षअघिकै निर्णयको आधारमा समायोजन, समायोजन मिलानका पत्र अहिले पनि दिँदा मेरो किन नहुने ? किनकि मसँग कुनै पावर छैन, म कुनै दलको क्याडर परिन, सेटिङका लागि कुनै विचौलियासम्म पुग्न सकिन ।

    सरकारी नूनतेल खाइरहेको मलाई मेरो भोगाइ लेख्दा नूनको सोझो नगरेको ठहर्ला, कारबाहीको भागीदार भइएला, त्यसका लागि मानसिकरूपमा तयार छु । तर, भन्नुपर्ने जति सबैलाई भन्दा र कागजपत्र देखाउँदा सुन्नेले नसुनेपछि, दिने र दिनुपर्नेले न्याय नदिएपछि समायोजनको अन्यायमा परेका म र मजस्ता स्वास्थ्यकर्मीले न्याय पाउने झिनो आश बोकेकी छु । पक्कै यो सामग्री मन्त्री, मन्त्रालयका हाकिम, नीति बनाउने तहमा बस्नुभएका सरोकारवालाले पढ्नुहुनेछ । नपढ्नेलाई तपाईँले पुर्‍याइदिनुहुनेछ नै ।

    म पब्लिक हेल्थ नर्स समूहअन्तर्गत (सीअनमी) पदमा हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत् छु । २०७५/१२/१४ को निर्णयअनुसार मेरो समायोजन स्थानीय तहमा भयो । मेरो पति दुवै मिर्गौला फेल भई प्रत्यारोपण गरेको कारण मेडिकल बोर्डको सिफारिसको आधारमा रेखदेख गर्नुपर्ने कारण २०७६/२/२८ को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट समायोजन ऐन २०७५ को दफा १९ बमोजिम संघ पुल दरबन्दीमा राखेर खटाउने गरी गरिएको संशोधन कार्यान्वयन गर्न भनी पठाइएको पत्र स्वास्थ्य मन्त्रालयले अहिलेसम्म किन बेवास्ता गर्‍यो ? सरकारको एउटा मन्त्रालयको निर्णय अर्कोले लत्याएकाले मैले पाएको दुःख यहीँनेर हो ।

    समायोजन गर्ने मूल मन्त्रालयले समायोजन संशोधन गरी कार्यान्वयन गर्नु भनी स्वास्थ्यलाई पठाएको पत्र ।

    त्यतिखेर कामकाजमा मात्र खटाइदिएर यतिले हुन्छ भने, बीचमा जाँदापनि मन्त्रालयका तत्कालीन कप्रका सरहरूबाट अहिले शुक्रराजमै काम गर्नु केही हुन्न भन्ने जवाफ आयो । मन्त्रालयको कुर्सीमा बसेकाहरूको तर्क ताकेता नपुगेकाले ढिलो भयो भन्नेछ । तर, ४/५ वर्षअघिकै निर्णयको आधारमा समायोजन, समायोजन मिलानका पत्र अहिले पनि दिँदा मेरो किन नहुने ? किनकि मसँग कुनै पावर छैन, म कुनै दलको क्याडर परिन, सेटिङका लागि कुनै विचौलियासम्म पुग्न सकिन ।

    सहसचिव तुलसी सर ! तपाईँले एकपटक सोच्नुमात्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई पत्नी राधिका शाक्यको कति केयर र साथ छ, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई परिवारका सदस्यको कति सपोर्ट छ, सीता दाहाललाई प्रधानमन्त्री प्रचण्ड र छोरी-बुहारीले ४/५ वर्षसम्म कसरी हेरचाह गरी ढाडस दिएर बचाइरहनुभयो । औषधिले मात्र होइन आत्मबल र परिवारको साथ सहयोग अचुक दबाई हो यो चाहिँ हजुरमा हेक्का रहोस् ।

    एक त मलाई भोजपुरबाट पूरै अपायक पर्ने ठाउँ सिन्धुपाल्चोक समायोजन गरियो । त्यसमाथि मेरो पारिवारिक स्वास्थ्य समस्या बुझेर समायोजन गर्ने मूल निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको निर्णय अहिले पनि कार्यान्वयन गर्न केले छेक्छ ? मैले नबुझेको कुरा पत्रको मितिको कुरा गर्ने हो भने ७२ सालमा भएको मेरो नियुक्ति पनि अहिले अमान्य नै हुनुपर्ने हो किनकि त्यो पत्र पनि अहिलेको त होइन ।

    हो मलाई थाहा छ खटाएको ठाउँमा जान तयार भएरै सरकारी सेवामा प्रवेश गरेकी हुँ । भोजपुरजस्तो दुर्गम ठाउँमा ४/५ वर्ष दैनिक ४ घण्टासम्म काँधमा कोल्डबक्स र काखमा नानि च्यापेर काम गरेकै थिएँ । पतिकै स्वास्थ्य समस्याले रहर नभई बाध्यताको बसाइ पर्‍यो काठमाडौं । सरुवा रोग अस्पतालमा कोरोनाको ‘पिक आवर’ देखि लिएर अहिलेसम्म आफ्नो सीप र बलबुताले भ्याएसम्म बिरामीको सेवामा खटिएकी हुँ । अहिले पनि मेरो माग ऐस आरामका साथ सुविधाभोगी र कमाउ अड्डामा बस्न पाउँ भन्ने पटक्कै होइन- जनताकै सेवा गर्न तयार छु, हिजोअस्ति झैँ दत्तचित्त भएर काम गर्छु, तर पति निरन्तर चिकित्सकको फलोअपमा बसिरहनुपर्ने, घरमा पनि त्यत्तिकै केयर चाहिने, आलार्म लगाएर बिहान-बेलुका औषधि खाइरहनुपर्ने भएको साथै दुई बच्चासमेत साना भएकोले बिहान बेलुका साथमा बस्न सकुँ भन्नेमात्र हो । मन्त्री, सचिवदेखि सबैलाई एकमुष्ट विनय छ- कृपया मलाई पलपलमा नमार्नुस् । विक्षिप्त र भारी मन बोकेर म कसरी बिरामीको सेवा गर्न सक्छु ? आफैँले आफैँलाई सोधिरहेकी छु ।

    यहाँ थानकोट नकटी पेन्सन पकाउने कर्मचारी, पहुँचकै भरमा अन्यत्र मन्त्रालयकालाई काजमा राखिएका विषय बेलाबेला मिडियामा पढेकी छु, सुनेकी छु र देखेकी पनि छु । हो, यही पहुँचका भरमा शक्ति वरपर घुमिरहेका सुविधाभोगी केन्द्रितलाई होला मन्त्रीज्यूको अभियान । त्यसका लागि मेरो साथ र समर्थन छ । तर, सामान्यीकरण गरेर सबै केसलाई एउटै डालोमा राखेर हेर्दा हामीजस्ता पीडितले कहिले न्याय पाउने ? कोबाट पाउने ? मेरो सवाल यतिमात्र हो ।

    न्यायको भीख माग्दा भेटिएका मनकारीदेखि ‘निर्दयी’ सम्म

    सुरूमा काजकालाई फिर्ता गर्ने गाइँगुइँ सुनेपछि मेरो फरक कारण नै जनाएर शुक्रराजमा खटाएको हो भन्नेमा ढुक्क भइयो । पछि हाजिर काट्ने काम गर्न नदिने भनेपछि आफूले चिनेजानेका मार्फत् भनसुनमा लागेँ । पार लाग्ने नदेखेपछि सर्वोच्चको ढोकासम्म पुगेँ । किनकि मसँग आधार थियो । तर, सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट दर्ता गर्न मान्नुभएन । बुझ्दै जाँदा मेरोमात्र होइन उहाँले आएका रिटहरूमध्ये भरसक अधिकांश फर्काउनै खोज्नुहुँदो रहेछ । हुन त सरकारविरोधी मुद्दा दरपीठ गर्दा भोलि सरुवा बढुवामा मार्क्सको कुरा होला ! त्यहाँ गाइँगुइँ केही कर्मचारीले नै बोलेको सुनेको मात्र । दरपीठविरुद्ध पुनरावेदन त गरियो डेढ महिनासम्म मेलो नसर्दा खोजेको/चाहिएको बेला नपाएको न्यायको के काम ? अहिले अदालतले तड्पाउने मात्र काम गरिरहेको छ ।

    एक त मलाई भोजपुरबाट पूरै अपायक पर्ने ठाउँ सिन्धुपाल्चोक समायोजन गरियो । त्यसमाथि मेरो पारिवारिक स्वास्थ्य समस्या बुझेर समायोजन गर्ने मूल निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको निर्णय अहिले पनि कार्यान्वयन गर्न केले छेक्छ ? मैले नबुझेको कुरा पत्रको मितिको कुरा गर्ने हो भने ७२ सालमा भएको मेरो नियुक्ति पनि अहिले अमान्य नै हुनुपर्ने हो किनकि त्यो पत्र पनि अहिलेको त होइन ।

    मन्त्रीसम्म पनि पुग्न नखोजेकी होइन । तर, माननीयदेखि कार्यकर्तासम्मले हुलका हुल पालो पाउँदा हामी वास्तविक समस्यामा परेकाहरूलाई ढोका नै नखुल्दोरहेछ । २ पटक पुगेर सचिवालयकाले टाइम नमिलाइदिएको व्यथा मैले भोगेँ । सचिव देवकुमारी गुरागाईँ, कर्मचारी प्रशासन प्रमुख सहसचिव तुलसीनाथ गौतम, उपसचिव कृष्ण थापा, स्वकीय (उपसचिव) मोहन निरौला, शाखा अधिकृत बैकुण्ठराज रेग्मीसमक्ष तारिख त कति हो कति । केहीले समस्या सुन्छन्, कागज हेर्छन् समाधान गर्नुपर्ने खालको रछ भन्छन् तर एकले अर्कोलाई देखाएर कलम चलाउन डराउँछन् । कृष्ण सर र बैकुष्ठ सरले मलहम लगाउन खोजेपनि नतिजा निस्किने छाँटकाट महिनौं धाउँदा पनि देखेकी छैन ।

    प्राय श्रीमान्‌सँगै स्वास्थ्य र सामान्य, अदालत दिनहुँ धाइरहेकी छु । सधैँ निरास भएर फर्किनुपर्छ । केही दिन बिदामा बस्दै गर्नु मिलाउँला भन्ने आश्वासन पाएँ । बिदा स्वीकृत कसैले गरेनन् । हाजिर गर्न नदिएको आज एक महिना भयो । जागिरकै धरमर छ । यस्तो पीडामा मन्त्रालयका सहसचिव तुलसी सरले उल्टै नूनचुक छर्कनुभयो । दुवैजना पुग्दा उहाँले निवेदन पन्छाउँदै ‘लोग्ने बिरामी हुँदा स्वास्नीले राहत पाउने कहाँ लेखेको छ ?’ भनेर उठेर हिँड्नुभयो । तुलसी सर ! हामी कर्मचारीले अभिभावक मानेरै हो केही सुनुवाइ हुन्छ कि भनेर न्याय खोज्दै तपाईँहरूलाई भेट्न आउने । कुरा सुन्दिने, समाधानको बाटो खोज्ने तपाईँहरूको जिम्मेवारी र दायित्वभित्र पक्कै पर्छ नै होला ।

    पतिको मेडिकल बोर्डको सिफारिस । (गोपनीयताका कारण व्यक्तिगत विवरण नदेखाइएको ।)

    श्रीमान्‌-श्रीमती एउटै रथका दुई पाङ्ग्रा त्यसै भनिएको हैन होला नै । तपाईँ पनि यही समाज, परिवारभित्रकै मान्छे हुनुन्छ । आफूलाई सामान्य ज्वरो आउँदा श्रीमतीले तातोपानी ल्याएको क्षणमात्र सम्झनुस् । मेरो पति त टाउको दुख्दा पनि मिर्गौला विशेषज्ञकैमा पुग्नुपर्छ । तपाईँकै मन्त्रालय (सरकार) ले कडा रोगको सूचीमा राखेको रोगमा पर्छ मिर्गौला प्रत्यारोपण, मासिक १२/१५ हजारको औषधिको भरमा कहिलेसम्म हो भनेर बाँचिरहनुपरिरहेको छ । अरु परीक्षणको खर्च र सास्ती त परै जाओस् । सक्ने त सधैँ डाक्टरकै निगरानीमा बसेका छन् । तपाईँलाई भनिरहनु नपर्ला ।

    यहाँ थानकोट नकटी पेन्सन पकाउने कर्मचारी, पहुँचकै भरमा अन्यत्र मन्त्रालयकालाई काजमा राखिएका विषय बेलाबेला मिडियामा पढेकी छु, सुनेकी छु र देखेकी पनि छु । हो, यही पहुँचका भरमा शक्ति वरपर घुमिरहेका सुविधाभोगी केन्द्रितलाई होला मन्त्रीज्यूको अभियान । त्यसका लागि मेरो साथ र समर्थन छ । तर, सामान्यीकरण गरेर सबै केसलाई एउटै डालोमा राखेर हेर्दा हामीजस्ता पीडितले कहिले न्याय पाउने ? कोबाट पाउने ? मेरो सवाल यतिमात्र हो ।

    र, तपाईँले एकपटक सोच्नुमात्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई पत्नी राधिका शाक्यको कति केयर र साथ छ, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई परिवारका सदस्यको कति सपोर्ट छ, सीता दाहाललाई प्रधानमन्त्री प्रचण्ड र छोरी-बुहारीले ४/५ वर्षसम्म कसरी हेरचाह गरी ढाडस दिएर बचाइरहनुभयो । औषधिले मात्र होइन आत्मबल र परिवारको साथ सहयोग अचुक दबाई हो यो चाहिँ हजुरमा हेक्का रहोस् ।

    हुन त तपाईँहरू कानूनका धारा र बुँदा तेर्साउनुहुन्छ । तर, द्वन्द्वपीडितका नाममा, कर्मचारी नेताका नाममा, पहुँचका भरमा बनेका चिठ्ठी, उठेका टिप्पणी र गरिएका पत्राचार पनि देखेकी छु । जुन विभिन् माध्यमबाट सामाजिक सञ्जालहरूमा बाहिरिएकै छन् ।

    अन्तिममा, मन्त्रीज्यू ! राज्यबाटै पीडित भएकी म एउटी स्वास्थ्य कार्यकर्ता जागिर नै छाड्ने सोचसम्मको अवस्थामा पनि पुगेँ । तर, बाँसका मुनाजस्ता दुई छोराको भविष्य र जोखिम स्वास्थ्य बोकेका पतिलाई सम्झिएँ । जागिर खान, जनताको सेवा गर्न नभइ जागिर जोगाउन तपाईँकै जिल्लामा जानुपर्ने बाध्यता छ । मलाई थाहा छैन यही पीरका बाबजुद मैले कस्तो र कति सेवा दिन सक्छु । तर, हेर्दा म एउटाको केस देखेपनि समायोजनताका देखि नै बिगारिएको सिस्टमले क्रोनिक बनेको स्वास्थ्यकर्मी व्यवस्थापन र प्रभावकारी सर्भिस डेलिभरीको लागि दीर्घकालीन भिजन चाहिँ पक्कै चाहिएला ।

    पतिको पछिल्लो फलोअप । (गोपनीयताका कारण बिरामीको व्यक्तिगत विवरण नदेखाइएको ।)
  • सुवास नेम्वाङको छोराको काल्पनिक पत्रका बारेमा प्रष्टीकरण

    सुवास नेम्वाङको छोराको काल्पनिक पत्रका बारेमा प्रष्टीकरण

    स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छुँ । म पहिला केही दृष्टान्त पेश गर्दछु ।

    बीबीसीमा छापिएको वेस्ट लोथियानका सात वर्षीया जेस हाइण्डमनले आफ्ना स्वर्गीय बुवालाई पठाएको चिठ्ठी निकै भाइरल बन्यो । केही दिनअघि मात्रै गाईजात्राको अवसरमा स्वर्गीय बीपी कोइराला र मदन भण्डारी बनेर गरिएको काल्पनिक नाटक निकै चर्चित बन्यो ।

    हामीले पटकपटक बीपीलाई पत्र, मदनलाई पत्र, प्रधानमन्त्रीलाई पत्र, श्रीमान्‌लाई पत्र, बुवालाई पत्र भनेर लेखिरह्यौँ । मैले सुवासलाई पत्र भनेर लेखेको भए यो यति चर्चित पक्कै बन्ने थिएन । सबैको ध्यान लेखाईबाट तान्नु थियो ‘शीर्षक’ आकर्षक बनाएँ ।

    पत्रभित्र मैले लेखेको विषयले स्वर्गीय नेम्वाङजीमाथि कुनै किसिमको असर गरेको छैन । मैले उहाँको आदर्श, निष्ठाबारे पटकपटक चर्चा गर्ने गरेको छुँ । आजमात्रै स्पेस फोरके टेलिभिजनमा प्रसारित सामाग्री ‘सुवासको अन्तिम संस्कार, पशुपति आर्यघाट’, केशव बडाल, शेरबहादुर तामाङजीसँग गरेको अन्तर्वार्ता हेरे पुग्छ ।

    एकाध मिडियाले ‘सुवास नेम्वाङका छोराले नलेखेको पत्र’ भनेर अनावश्यकरूपमा यसलाई विवादमा पार्ने र नेम्वाङज्यूप्रतिको मेरो आदर सम्मानलाई अनदेखा गरेकोमा मलाई धेरै दुःख लागेको छ । पत्रकारिताको अभ्याससमेत बिर्सेर उहाँहरूले जसरी विवादित बनाउन खोज्नुभयो यसप्रति अवश्य उहाँहरूको पनि ध्यानाकर्षण भएकै होला । किनकी सार्वजनिक व्यक्तित्वको बारेमा मिडियाबाट लेखिने पत्र वा भावनात्मक अभिव्यक्तिहरु अन्तर्राष्ट्रिय अभ्यास पनि हुन् । मैले त भन्ने गरेको छु कि, सुवास नेम्वाङ संविधानको पिता हो । उहाँ अध्यक्ष भएकै बेला धेरै भूराजनीतिक अवरोधकाबीच उहाँको नेतृत्वमा संविधान जारी भएको हो ।

    एउटा राष्ट्रकै पिता र मेरो पिता समान व्यक्तित्वको सम्मान र उहाँको असामयिक अवसानप्रति मेरो मनमा आएका भावना अनि देशको परिस्थितिलाई समेत समेटेर एउटा पुत्र समानको नागरिकले लेखेको पत्रलाई विवादित बनाएर कसैलाई पनि फाइदा छैन र म त्यसो नगरिदिन पनि विनम्र आग्रह गर्दछु । सुवास नेम्वाङ राष्ट्रपिता हुन्, संविधानको अभिभावक हुन् । उहाँको अगुवाइमा देशले संविधान पायो । अब यसको कार्यान्वय महत्वपूर्ण छ । काल्पनिक लेखमा मेरो कुनै कुत्सित मनसाय होइन । म पत्रकार लेखक हुँ । विषयवस्तुलाई पाठकको रुचिकर बनाउनु मेरो धर्म हो । योबाहेक मेरो उहाँप्रतिको सम्मान र उहाँका छोराछोरी तथा परिवारप्रतिको सम्मानमा कुनै फरक आ‍शय छैन । म अथाह यो शोकको घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँको दल नेकपा एमालेको सिंगो परिवार तथा नेम्वाङको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु । मलाई आशा छ, देशको एउटा नागरिकले संविधानका पिताको निधनमा पिता समानको व्यक्तिको स्मृतिको लेखेको पुत्र समानको नागरिकको पत्रका रूपमा उहाँहरूले बुझिदिनुहुनेछ ।

    त्यसैले सबैलाई मेरो अनुरोध छ पत्रलाई एकपटक राम्ररी अध्ययन गरिदिनु होला । तर, मैले लेखेको पत्रलाई तोडमोड गरी अन्य सञ्चारमाध्यममा पनि आएको पाइएको छ, कृपया कसैको दुःखमाथि नखेलौं । अन्तमा पत्रमा काल्पनिक भनेर उल्लेख गरिएको व्यहोरा जानकारी गराउँदछु ।

    सूर्योदय हुने जिल्लामा जन्मनुभएका सुवास कसैलाई कष्ट नगरी अस्ताउनुभयो । हार्दिक श्रद्धासुमन ।

    (पत्रकार खेम बमले अन्तर्राष्ट्रिय अभ्यास र भावनाका आधारमा आफूले लेखेको काल्पनिक कथालाई लिएर कतिपयले गलत अर्थ लगाएकाले यो स्पष्टीकरण दिएका हुन् । )

    यस्तो थियो, कल्पनामा आधारित बमको पत्र

    बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको आवाज गुमाएको छ । केही समय आफूलाई पर्खिएको चीर निन्द्राको शरिरलाई सुम्सुम्याउन बाहेक ऊ सँग अर्को विकल्प छैन । भक्कानिएकी मेरी आमा, बहिनी कसरी सम्हालिन् होला ? आफ्नै अगाडि एउटा खम्बा ढल्दा उनीहरुलाई कम्ति चोट परेको छैन ।

    बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।

    बुवा, हजुरले मात्रै चाहेर देशको कायापलट त पक्कै हुने थिएन । तपाईंले आफ्नो अभिभारा पूरा गरेर जानुभयो । २०७२ सालको संविधान जारी गर्दा कम्ता दुःख थिएन । देशी, विदेशी तत्वको आँखाको तारो बन्नुभएको थियो । माओवादीको जगजगी, सेनाले सिंहदरबार घेर्ने हल्ला, छिमेकीको धम्की सबै स्थितिलाई संयमतापूर्वक आफू अनुकुल बनाउनु त्यो तपाईंको खुबी थियो । मात्रै धेरै सम्भावना छोडेर जानुभयो, ती अवसर गुमाएर जानुभयो । हुनत भगवानको घरमा पनि तपाईंजस्तै महामानवको खाँचो खड्कियो होला । त्यै भएर यति निर्दयी बन्नुभयो होला ।

    आज यो पीडा हरेक नेपालीको साझा बनिदिएको छ । बुवा, पीडा सानो ठूलो हुँदैन यसलाई तौलिन मिल्दैन । आजपनि तपाईंजस्तै चीर निन्द्रामा धेरै जना हुनुहुन्छ । तर, मेरो मनमा काउकुतीले किन छोडिरहेको छैन ? किन मलाई अत्यास लागिरहेको छ ? किन म आफै बेहोसी बनुला जस्तो भएको छ ? म अर्काको भूमिमा भएर पनि होला । भनेको समयमा टिकट पाइँदैन, भनेको समयमा जहाज उड्दैन । मलाई त रातिनै आउने मन थियो, मेरा बुवाको निश्कलंक अनुहारमा म्वाई खाने मन थियो ।

    बुवा, म सोचिरहेको छुँ भोलि मेरी आमाको दिनपनि यस्तै त हुने होइन ? म नेपालमै बसौँ की फर्किउला केही सोच्न सकेको छैन । अब तपाईंजस्तो महान बन्नलाई मलाई सहज छैन । किनकी तपाईंले मलाई यो परिस्थितिबाट टाढा राख्नुभयो, राजनीतिको छायाँ पर्न दिनुभएन । मेरी आमा पनि राजनीतिबाट निकै पर बस्नुभयो । तपाईंले अरुका जस्तै परिवारका जम्मै सदस्यहरुलाई राजनीतिमा ल्याउन चाहानुभएन । न हामीलाई यो खेल खेल्न सिकाउनुभयो । अब कसरी बसौँला यो देशमा ?

    मलाई कहिल्यै नमेटिने घाउ दिएर जानुभो, कहिल्यै नभेटिने ठाउँमा जानुभो । म विमानस्थलभित्र पस्दैछुँ । तपाईंको अनुहार एकपटक भएपनि हेर्ने मन छ । हजारौँ तपाईंका शुभेच्छुकहरुले सम्झिरहनेछन्, हामी पनि सम्झिरहने छौँ । हार्दिक श्रद्धाञ्जली बुवा ।

  • अनि वर र पीपलका बोट जोडिए

    अनि वर र पीपलका बोट जोडिए

    यो घटना हुँदा नेपालमा भर्खर-भर्खर बहुदलीय व्यवस्था आएको थियो । त्यतिबेला रेडियोमा बहुदलबारे खुब समाचार सुनिन्थे । मसँग पनि एउटा रेडियो थियो । तर, खोलेपछि त्यो स्याँ….मात्र गर्थ्यो । बेलाबेलामा ठोकठाक पनि पार्थें । मिस्त्री भइटोपलेको । तर पनि त्यसले समाचार भन्न सकेन ।

    आफ्नो रेडियोले समाचार भन्न नसके पनि समाचार सुन्न भने छाडिएन । कहिले पल्लाघर नरहरि दाइकोमा त कहिले कता ! सम्भव भएसम्म रेडियो नेपालबाट आउने साँझ ७ बजेको समाचार र त्यसपछि आउने घटना र विचार कार्यक्रम छुटाइएन ।

    सोह« श्राद्धको समय हुनुपर्छ । अन्य दिन झैं त्यस दिन पनि साँझ ७ बजेको रेडियो नेपालको समाचार र घटना र विचार सुनिसकेपछि घरमा आएर खाना खाएँ । केटाकेटी सानै थिए । कान्छी छोरी शोभा त जन्मेकै पनि थिइन । मनमा तर्कना थियो– भोलि धेरैवटा श्राद्ध भ्याउनुपर्ने छ । मिर्मिरे उज्यालोमै हिँड्नुपर्छ । पुग्नुपर्ने बेताली अनि नमाडी । पुगेरमात्र भएन । विधि पु¥याएर श्राद्ध पनि गर्नु छ । बेताली मास्टर बाको घरमा । मास्टर बाका नामले चिनिने बेतालीका इन्द्रप्रसाद घिमिरे स्कुलका मास्टरमात्र नभएर कर्मकाण्डका घगडान गुरु पनि । त्यस्ता घगडानको पुरेत चाहिँ म । साँच्चै भन्नुपर्दा मलाई कर्मकाण्ड सिकाउने मेरा बा खडानन्द पोखरेलपछि उहाँ नै हो । म उहाँको पुरेत थिएँ । तर, उहाँ मेरो गुरु हुनुहुन्थ्यो ।

    सोच्दा–सोच्दै निदाएछु । तर, तर्कनाले होला निद्राले छिट्टै छाडेछ । यसो बाहिर निस्कें, अनि शुक्र तारा कता पुग्यो भनेर आकाशतिर अलिक गौर गरेर हेरें । किनकि मलाई रात कति बाँकी छ जान्नु थियो । तर, तारा नियाल्नै सकिनँ । सायद कुनै बादलको टुक्रोभित्र लुकेको थियो ।
    सोचें, अब उज्यालो हुन लागिसक्यो, लाग्नुपर्छ । बाटो लामो छ । होला ५ किलोमिटर त । मनले हिँड भनिसकेको थियो । ज्यानले कति समय अड्याउन सक्थ्यो र अनि लागें बेतालीतर्फ ।

    सूर्यको उज्यालो आउला भनेको त शहरे गाविसमा पर्ने अर्खौले कटिसक्दा पनि जूनको उज्यालो पो चहकिलो भएर आउँछ बा… । ४ पो भर्खर बज्यो कि के हो, फेरि अर्को लख काटें । शहरे डाँडा अनि शहरे डाँडामुनिको जङ्गल कटेर पल्लो कल्लेरीको पीपलबोट पुगिसकें । जून झन् टहटह हुँदै गइरहेको छ । अब चाहिँ ‘अलिक राति नै हिँडे कि के हो कामको तर्कनाले’ भन्ने मनमा आयो ।

    सोचें, एकछिन यतै आराम गर्छु । तर, निद्रामा परेका मान्छेलाई बोलाउन मन लागेन । हरेक घरको बाहिरै खाट छँदै थिए । अनि हरेक घरधनी चिनैकै थिएँ । पल्लो कल्लेरीको पीपलबोटभन्दा तल बाटामुनि पर्ने घरको खाटमा ढल्किएँ । निद्रा त के पर्थ्यो !

    बाटोमा खिम्ती खोला । खिम्ती खोलाको चोरसाँघुमा पुग्दा चाहिँ उज्यालो भइदिए हुन्थ्यो भन्ने लागेको थियो । सायद डर लागेर होला ।

    म झर्दैछु खिम्ती खोलातिर । जङ्गलको बीचमा जूनको उज्यालोको कामै नहुने । रूखको छायाँले मात्रै हैन, आफ्नै छायाँले पनि बाटो छेक्थ्यो घरी-घरी । तर पनि गोडालाई बानी परिसकेका थिए बाटो ठम्याउन । आँखाको भन्दा पनि खुट्टाको भर बढी थियो मलाई । चिनेको बाटो भएकाले अन्दाजमा खुट्टा टेक्दा पनि फेल खाँदैनथ्यो ।

    कति पो बस्नु अर्काको घरमा । त्यो पनि चूपचाप । एउटा लौरो भाँचें अनि बाटो तताएँ । पांग्रे खोलाको छहरोले साउन-भदौको भन्दा सानो आवाज निकाल्न थालेको भए पनि रातमा त्यसको आवाज पनि कम्ती भयानक सुनिएन ।

    साँघुरो अनि काइ परेको बाटो । बाटोभन्दा केही मिटरमात्रै माथि करिब १०० मिटर माथिबाट पांग्र्रे खोला हाम फाल्छ । त्यसपछि त्यो खोलो म भएतिरै आउँछ । अनि फेरि अन्दाजी १२० मिटर तलतिर हाम फाल्छ । २ वटा छहराको बीचमा छु म । त्यसमाथि अलिक तल खिम्ती खोलाको गर्जनसहितको सुसाहट । मन एकतमासको भो, नआत्तिए पनि ।

    पांग्रे खोला गड्गडाएपछि कति पटक धेरै घण्टा खिम्ती खोला र पांग्रे खोलाबीचको जङ्गलमा रोकिएको छु म । तर पनि यो खोलाको मलाई माया छ । यहाँ आएपछि मेरो बाटा आधा हुन्थ्यो । यहाँ आएपछि अब त आइपुगी हालियो नि घर भन्नेखालको भाव जागृत हुन्थ्यो ।

    अँ, सालको जङ्गल । साना र ठूला पोथ्राहरू । तल खिम्ती खोला उसैगरी सुसाइरहेको छ । म झर्दैछु खिम्ती खोलातिर । जङ्गलको बीचमा जूनको उज्यालोको कामै नहुने । रूखको छायाँले मात्रै हैन, आफ्नै छायाँले पनि बाटो छेक्थ्यो घरी-घरी । तर पनि गोडालाई बानी परिसकेका थिए बाटो ठम्याउन । आँखाको भन्दा पनि खुट्टाको भर बढी थियो मलाई । चिनेको बाटो भएकाले अन्दाजमा खुट्टा टेक्दा पनि फेल खाँदैनथ्यो ।

    खिम्ती खोला पनि पुगियो । अहिले चोरसाँघु भनेर चिनिने शहरे र बेतालीको सीमा क्षेत्रमा पर्ने सो नदी खण्डमा अहिले जस्तो फलामे झोलुङ्गे पुल थिएन त्योबेला । काठको पुल थियो । त्यो पनि केही फ्ल्याकले बनाइएका । असाध्यै कामचलाउ खालका । कामचलाउ नै सही तर मेरो सबैभन्दा बढी काम यसैबाट चलेको थियो ।

    कहिले ओरालोको पालो त कहिले उकालोको । खिम्ती खोलाबाट उकालो सुरु भयो । करिब २० मिनेट जति जङ्गलको उकालो हिँडेपछि बन्चरेको लामाटार आउँछ । लामाटार लमतन्न परेर सुतेको अनि खिम्ती खोला र हलुवा खोलाको खोंचभन्दा ठ्याक्कै माथिको समथर चौर हो । लामो अनि टार परेको जग्गा भएकाले त्यसलाई लामाटार भनिएको होला । ‘लामाटार पुगेपछि जङ्गलको बाटो सकिन्छ’, यस्तै सोच्दै थिएँ ।

    उकालो चढ्न सुरु के गरेको थिएँ, सल्याङ्ग-बल्याङ्ग आवाज ठोक्कियो कानमा । आवाज आएको दिशातर्फ हेरें । मान्छे हिँडिरहेका । मभन्दा करिब १०० मिटर जति माथि । लाग्यो, अब चाहिँ उज्यालो भएछ । मान्छे हिँड्न लागिसकेछन् । कताका मान्छे रहेछन् ! अघि माथिबाट झर्दा त देखिएका थिएनन् । झर्ने बाटो त एउटैमात्र हो । नजिकै अर्को गाउँ पनि छैन ।

    त्यो समयमा अचम्मै भो । म अघि बढ्दैछु, तर म हिँड्ने बाटो ढाकिने गरी बाटोको दुवैपट्टिका बुट्यान र पोथ्रा एकअर्कासँग जोडिन्छन् । हावाले हल्लाएर त्यस्तो भएको हो भनौं भने हावा चलेको पनि छैन । हावा नै चलेको भए पनि सबैतिरका रूख र बुट्यानमा त्यसको प्रभाव पर्नुपर्ने हो ।

    फेरि सोचें, यी मान्छे मभन्दा बढी हतारोमा रहेछन् । कहाँबाट आएका हुन् कुन्नि ? दिसा बस्न खिम्ती खोला नै आइपुग्नु परेछ यिनीलाई ।

    तर आश्चर्य, अलिक अगाडि पुगेपछि ती मान्छे देखिएनन् । दिमागले फेरि अर्को धार पक्ड्यो- पिसाबले च्याप्यो होला । अघि सो मान्छे देखेको स्थानमा पुगें । तर पनि देखिनँ ।

    आ.. जे होस् भन्दै अगाडि बढें । बाटोको दुवैतिर सालका रुख अनि केही अरू बिरुवाका पोथ्राहरू । सो स्थानमा एकपटक चितुवासँग जम्काभेट भएको छ मेरो । तर, दिन नआएर होला उसलाई चूपचाप बाटो छोडिदिएपछि ऊ पनि लमकलमक लस्कियो ।

    तर त्यो समयमा अचम्मै भो । म अघि बढ्दैछु, तर म हिँड्ने बाटो ढाकिने गरी बाटोको दुवैपट्टिका बुट्यान र पोथ्रा एकअर्कासँग जोडिन्छन् । हावाले हल्लाएर त्यस्तो भएको हो भनौं भने हावा चलेको पनि छैन । हावा नै चलेको भए पनि सबैतिरका रूख र बुट्यानमा त्यसको प्रभाव पर्नुपर्ने हो । बाटोमै भएका रुखलाई मात्र असर नपर्नुपर्ने हो । जति मेरा पाइला अगाडि बढ्दै गए, म हिँड्दै गरेका बाटोका रुखहरू जोडिने र फुस्किने उपक्रम चली नै रह्यो । २० मिनेटको त्यो उकालोले यस पटक मलाई धेरै नै थकायो । मुटुसँगै गोडा पनि छिटो चलेछन् ।

    लामाटारमा बाटोको एकापट्टि वर र अर्कोपट्टि झ्याम्म परेको पीपलको बोट थियो । जब म त्यहाँ पुगें । वर र पीपलका बोटहरू पनि जोडिँदै फुस्किँदै पो गर्दैछन् । पछि अन्त्यमा फेरि आकाश गर्जे जस्तो ठूलो आवाज आयो अनि त्यो आवाज खिम्ती खोलातिरै झर्‍यो ।

    लामाटारभन्दा माथि त्यस्तो केही भोग्नुपरेन । बन्चरे रिसालको घरछेउको धारोमा पुगेर मुख धोएँ, जनै मन्तरें अनि केही समय आराम गरें । विस्तारै चराहरू पनि कराउन लागिसकेका थिए ।

    बेताली मास्टर बाको घरमा पुग्दा मास्टर्नी आमा भर्खर उठ्नुभएको रहेछ । किन राति नै हिँडेको भनेर गाली खाइएला भन्ने मनमा परिरहेको थियो । नभन्दै के बाँकी राख्नुहुन्थ्यो र उहाँले । त्यसपछि मास्टर बाको गाली । भाइ कृष्णले समेत मलाई गाली गर्न बाँकी राखेन ।

    (स्वर्गीय माधव पोखरेलले आफ्ना छोरा उमेश पोखरेलसँग आफू जीवित रहँदै गरेको कुराकानीको आधारमा यो संस्मरण ब्लग तयार भएको हो । -सं.)

  • ‘त्यो दिन नेम्वाङ निवास नगएकोमा मलाई पश्चाताप छ, उहाँको ग्याप मेट्न एमालेले धेरै कोर्ष तयार गर्नुपर्छ’ (भिडिओ)

    ‘त्यो दिन नेम्वाङ निवास नगएकोमा मलाई पश्चाताप छ, उहाँको ग्याप मेट्न एमालेले धेरै कोर्ष तयार गर्नुपर्छ’ (भिडिओ)

    संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान निधन भयो । बालुवाटारस्थित निजी निवासमा ज्वरो आएपछि आराम गरिरहेका उनको निधनलाई अबेरसम्म कतिपयले विश्वास गरेनन् । इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको हृदयघातका कारण निधन भएको छ । सामान्य ज्वरो आएर घरमै आरम गरिरहेका उनको मृत्युको खबर पत्याउन कठिन नै थियो । यस्तै अविश्वास नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पनि भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पौडेलले आफू संसदीय दलको कार्यालयमा जाँदा उपनेता नदेखेपछि फोन सम्पर्क गरेका थिए । फोनमा स्वर मलिन सुनेपछि स्वास्थ्य अवस्थाबारे बुझ्दा आफू अस्वस्थ भएको जवाफ नेम्वाङले दिएको पौडेल सम्झन्छन् । फोनमा अस्वस्थ भनिसकेपछि आफूले आराम गर्न र औषधि सेवन गर्न आग्रह गर्दै अर्को दिन भेट्ने वाचासहित फोन राखेको उनको भनाइ छ । तर, अस्वस्थ भनिसकेपछि नेम्वाङलाई घरमै गएर आफूले भेट्नुपर्नेमा भेट गर्न नपाएकोप्रति पश्चताप पौडेललाई छ ।

    समाजका सबै राजनीतिक दल र सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो

    आजको दिन नेपालको राजनीतिक इतिहासमा अत्यन्त पीडा, दुःखको दिनका रट्ठपमा रहनेछ । संविधान सभाका अध्यक्ष,नेकपा एमालेका उपाध्यक्ष २०४८ सालदेखि अविछिन्नरूपमा सर्वोच्च जनप्रतिनिधि संस्थामा प्रतिनिधित्व गर्दै आउनुभएका सफल र असल जनप्रतिनिधि हुनुहुन्थ्यो । जसले लोकतन्त्र प्राप्तिको आन्दोलनमा राष्ट्रिय स्वाधिनताका निम्तिको आन्दोलनमा जनताका सरोकारका माग र मुद्दाका निम्ति आन्दोलनमा अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । सामाजिक न्याय, समृद्धि र समाजवादतर्फको यात्रालाई गतिका साथ अघि बढाउन योगदान दिनुभयो । सर्वोपरि रुपमा सात दशक लामो संघर्षको जगमा उभिएर हामीले जुन संविधान निर्माण गरेका छौँ, त्यो संविधान लोकतान्त्रिक, जनमुखी र अग्रगामी अन्तरवस्तु सहितको संविधान निर्माण गर्नका निम्ति उहाँले असाध्यै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । नेपाली जनताको प्रिय नेता, नेपाली जनताको प्रिय प्रतिनिधि हुनुहुन्थ्यो । कुनै एमाले मात्रैको होइन । उहाँले समाजका सबै राजनीतिक दल, सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो । त्यस्तो जनताको प्रिय प्रतिनिधिलाई हामीले आज गुमाएका छौँ । यो अत्यन्त पीडा र दुःखको क्षण हो । म आज कम्रेड सुवास नेम्वाङप्रति उहाँले नेपाली जनताको पक्षमा, राष्ट्रको पक्षमा जुन योगदान दिनुभयो, त्यसकाप्रति उच्च आदरकासाथ स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँका असल विचार र असल अभ्यासलाई अनुशरण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

    सबैको मनमा घर बनाउनसक्ने असाधारण खुबी

    यो पीडालाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ । उहाँ सबैको प्रिय हुनुहुन्थ्यो । सायद उहाँका कोही वैरी थिए भन्ने मलाई लाग्दैन । त्यस्तो सबैको प्रिय हुनसक्ने सबैको विश्वास जित्नसक्ने सबैको मनमा घर बनाउनसक्ने त्यो असाधारण खुबी उहाँसँग थियो । व्यक्तिगत रुपमा म उहाँसँग नजिकको सम्बन्धमा रहेँ । उहाँ सँगको सम्बन्ध, उठाबसी, सहकार्य,अनुभव, आदानप्रदानका अनुभूतिहरू मेरो मानसपटलमा तरंगित भइरहेका छन् । उहाँको अनुपस्थिति स्वीकार गर्न हामी बाध्य छौं । तर, मनले उहाँको अनुपस्थिति स्वीकार गर्न सकिरहेको छैन, यो पीडालाई व्यक्त गर्ने शब्द शब्दकोषमा कतै छैन ।

    आगोरुपी मनलाई पगाल्नसक्ने शालीनता

    सुवास नेम्वाङमा शालीनता एउटा ठूलो शक्ति थियो । सामर्थ्य थियो । कुनै आगोले पगाल्न नसक्ने मनलाई उहाँको शालीनताले पगालि दिन्थ्यो । कस्तो अभ्यासले पग्लिन नसक्ने मनहरू उहाँको शालीनतापूर्ण व्यवहार र प्रस्तुति उहाँका तर्कपूर्ण प्रस्तुति पग्लिन्थे । त्यो उहाँको विशेषता नै हो । त्यसका साथै उहाँमा जहिले पनि जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोचका साथमा अघि बढ्नुहुन्थ्यो । प्रतिकूलतालाई उहाँले सहज ढंगले लिने र सामना गर्दै अघि बढ्ने, प्रतिकूलभन्दा प्रतिकूल परिस्थितिमा पनि सकारात्मक सम्भावनातर्फ अघि बढ्ने, सकारात्मक सोचका साथ अघि बढ्ने गर्नुहुन्थ्यो । उहाँ जस्तोसुकै विषम परिस्थितिमा पनि जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उहाँ निराश भएको पाएनौँ, निष्क्रिय भएको पाएनौं । उहाँ परिस्थितिलाई बुझ्ने खुबी उहाँसँग थियो । जहिले पनि अघि बढ्नका लागि कुन स्थितिमा कसरी अघि बढ्न सकिन्छ ? भन्ने विषयमा उहाँ सही र उचित निस्कर्ष निकाल्दै अघि बढ्नुहुन्थ्यो ।

    निजी निवासमा गएर स्वास्थ्य लाभको कामना गर्न नसक्दा पश्चताप

    मैले हिजो दिउँसो मात्रै उहाँसँग फोनमा संवाद गरेको थिएँ । म सिंहदरबार जाँदै थिएँ । प्रायः उहाँ सिंहदरबारमा दलको कार्यालयमा दलको उपनेताको कार्यकक्षमा प्राय हुनुहुन्थ्यो । मैले उहाँ दलको कार्यालयमा हुनुहुन्छ भने भेट्नपर्ला भनेर फोन गरेँ । मैले दिउँसो सवा २ बजेतिर फोन गरेको थिएँ । फोन गर्दा उहाँको स्वर भारी भएको सुनियो । मैले स्वास्थ्य ठिक छैन की के हो ? भनेर सोधेँ ।

    नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै पौडेल ।

    उहाँले असहज र अस्वस्थ भएको बताउनुभयो । मैले आराम गर्न र औषधि खान आग्रह गरेँ । भोलिपर्सि भेटौँला भने । उहाँले औषधि खाएर आराम गर्नेकुरा बताउनु भयो । उहाँलाई यसरी गुमाउनुपर्छ भन्ने अनुमान गर्न सकिने अवस्था रहेन । मलाई पश्चताप छ की म दलको कार्यालयबाट उहाँको निवासमा गएर उहाँको स्वास्थ्य लाभको कामना गर्नुपर्दथ्यो । डाक्टरसँग भएको कन्सलटेसनबाट जानकारी लिनु पर्दथ्यो । त्यो गर्न सकिनँ चुकेँ भनेर पश्चताप महसुस भएको छ ।

    आफ्ना समस्या आफैँ समाधान गर्ने व्यक्ति

    उहाँ खासगरी सुगर प्रेसर लगायतका कतिपय विषयमा औषधि सेवा गर्नुहुन्थ्यो भन्ने जानकारी हामीलाई छ । तर त्यस्तो उहाँले आफ्नो बारेमा, आफ्नो समस्याका बारेमा पार्टीलाई जानकारी दिनुभएन । उहाँ आफ्ना समस्या आफैँ समाधान गर्दै अघि बढ्नुपर्छ, भन्ने सोच राख्नुहुन्थ्यो । त्यस्तो कुनै गम्भीर अस्वस्थताको अवस्था हो भन्ने हामीले अनुमान गर्न सकेनौँ । नियमित औषधि सेवा गर्दै उहाँ अघि बढिरहनुभएको थियो । अस्वस्थताको अवस्था यति गम्भीर हो भनेर हामीले अनुमान गर्न सकेनौं ।

    राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा लामो समयसम्म अभाव खड्किनेछ

    पूर्वसभामुख र संविधानसभा अध्यक्ष, त्यो सभाको नेता, मुख्य नेताको जिम्मेवारी हो । सभामुखको, संविधान सभा अध्यक्षको जिम्मेवारी । त्यो जिम्मेवारी उहाँले अत्यन्त कुशलता, उत्कृष्टताकासाथमा पूरा गर्नुभयो । उहाँ जुन दलबाट प्रतिनिधित्व गरेर संविधान सभामा निर्वाचित हुनुभएको थियो, जुन दलबाट प्रतिनिधित्व गरेर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । त्यो दल पनि उहाँसँग धेरै खुशी भएन । प्रतिपक्ष पनि उहाँसँग कुनै नाखुश भएनन् । त्यो खालको विशिष्ट खुबी उहाँसँग थियो ।

    उहाँले सदन प्रतिपक्षको हो, सदनमा प्रतिपक्षको आवाज मुखरित हुन दिनुपर्छ, भन्नेकुरामा उहाँको विशेष ध्यान जान्थ्यो । सत्तापक्ष र प्रतिपक्षका बीचमा अनावश्यक र अनुचित दुरी नबनोस्, उनीहरुका बीचमा एउटा वर्केवल रिलेशन बनोस्, सदन समस्या सिर्जना गर्ने थलो होइन, राष्ट्रका समस्या समाधान गर्ने निर्णायक थलो हो, त्यसकारण सत्ता र प्रतिपक्षका बीचमा वर्केवल रिलेशन हुनुपर्छ भन्ने मान्यताबाट सभा सञ्चालन गर्नुहुन्थ्यो । उहाँले सिंगो सदनको सदनको नेतृत्व गर्दा सबैको विश्वास जित्नुभयो । कम्रेड सुवास नेम्वाङको अनुपस्थिति लामो समयसम्म नेपालको राजनीतिमा खड्किनेछ । उहाँले राष्ट्रिय राजनीतिमा विशेष गरी संसदीय राजनीतिमा समन्वयकारी जुन प्रकारको भूमिका निभाउँदै आउनुभयो, त्यसमा हेर्दा उहाँको अभाव लामो समयसम्म खड्किनेछ । तर, हामीसँग अब अर्को कुनै विकल्प छैन, उहाँको अभाव पूरा गर्नका लागि अब हामीले उहाँका अभ्यास र आचरणबाट उहाँको विचार र विश्लेषणबाट सिक्दै उहाँको अभाव पूरा गर्नेगरी अघि बढ्नुको कुनै विकल्प छैन । उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्नेछ ।

    उहाँका आदर्शको अनुशरण गर्नुको विकल्प रहेन

    यो प्रकृतिको नियति हो की जीवनसँगै मृत्यु पनि लिएर आएका हुन्छौं । धेरै असल र सुयोग्य सन्तानले पनि मृत्युवरण गर्नुपर्छ । हामीले अनपेक्षित र नचिताएको र नसोचिएको समयमा सुवासचन्द्र नेम्वाङलाई गुमाउन पुग्यौं । उहाँले जे भूमिका निभाउनुभएको छ, त्यसलाई निर्वाह गर्ने सन्दर्भमा हामीकहाँ एउटा ग्याप जरुर रहनेछ । उहाँले जुन भुमिका, ग्याप निर्वाह गर्नुभयो, हामी उहाँको अभावलाई, उहाँका आदर्शलाई अनुशरण गरी अघि बढ्नेछौँ ।

    नेम्वाङको राजनीतिक यात्रा

    नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो ।

    प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो ।

  • मृत्यु कि उत्सव ?

    मृत्यु कि उत्सव ?

    ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ, कुन ठाउँ जाउँ, मान्छे नमर्ने कुनै शहर हुँदैन ।’ एकताका धेरैको मुखमा झुण्डिएको गीत हो यो । गीतको भावलाई कतिले आत्मसात गरे, त्यो फरक कुरा भयो । तर, गीत चाहिँ धेरैले मनपरायो । जन्मपछि मृत्यु शाश्वत सत्य हो र यो संसारमा कुनै कुरा निश्चित छ भने यही मृत्यु हो । तर, कहिले र कसरी यो चाहिँ अनिश्चित छ । गहिराइमा बुझ्ने हो भने हाम्रो भौतिक शरीरका कोषहरुमा जन्म र मृत्यु त पलपलमा भइरहेको हुन्छ र यही जन्म र मृत्युबीचको समय नै जीवन हो ।

    मानिसमा जीजिविषा हुनु स्वाभाविक हो । तर, यो पनि बुझ्नु जरुरी छ कि यो हाम्रो जीवन भनेको मृत्युको तयारी पनि हो । महाभारतको एक प्रसंग ‘यक्षको प्रश्न’लाई जोड्न चाहें । पानीको खोजीमा यक्षको प्रश्नलाई इन्कार गरी पानी पिउँदा पालैपालो पाँच पाण्डवका चार भाइ मृत्युवरण गर्छन् । तर, सालिन र धैर्यवान युधिष्ठिर पानी पिउनुअघि प्रश्न सामना गर्न तयार हुन्छन् । यक्षका प्रश्नहरुमध्ये एउटा प्रश्न- ‘यो संसारको सबैभन्दा ठूलो आश्चर्य के हो ?’ यसको जवाफ युधिष्ठिरको यस्तो हुन्छ- ‘अरु मरेर गएको देखेर पनि आफूलाई चाहिँ अजमवरी ठान्ने मान्छेहरुको मूर्खता यो संसारको सबैभन्दा ठूलो आश्चर्य हो ।’

    म पनि मर्नुपर्छ वा मरेर जानुपर्छ भन्ने कुराको बोधले जीवनको मूल्य बुझ्न र जीवनलाई सार्थकतामा डोर्‍याउन मद्दत मिल्छ, जुन आफैंमा आध्यात्मिक यात्राको थालनी हो । यही मृत्युलाई बुझ्न नसकेर त हो, हामी काम, क्रोध, लोभ, मोह र घमण्ड पालेर दुःखदायी जीवन रोजिरहेका छौं । कोही कहिल्यै तृप्त नहुने सुखको तृष्णामै जीवनलाई रित्याउँछौं भने कोही यहाँ दुःखको सामना गर्न नसकेर जीवनबाट नै विरक्तिएर आफ्नो मृत्युमा आनन्द खोज्न पुग्छौं । के मृत्यु आनन्दको बाटो हो वा दुःखको ? यो हाम्रो जिज्ञासालाई बुझाउने यहाँ कोही मृत्यु अँगालिसकेका अनुभवीहरु उपलब्ध पनि त छैनन् । तर, यो कुरामा चाहिँ दुविधा नलिए हुन्छ कि आनन्द वा सुखदुःख भन्ने कुरा भौतिकभन्दा पनि आत्मिक कुरा हो । त्यसैले आनन्द बाहिरी कुरामा खोज्ने गल्ती नगरी आफूभित्र खोज्न जरुरी छ ।

    चिकित्सा विज्ञानले शरीरका महत्वपूर्ण अंगहरुले काम गर्न छोड्नु वा नसक्नुलाई मृत्यु मान्छ भने अध्यात्मले आत्मा (जसलाई सरल रुपमा बुझ्दा चेतना, शक्ति) ले शरीर छोड्नुलाई मृत्यु भनेको छ । तर, हामीले आफूलाई शरीरभन्दा माथि उठेर चिन्न नसक्दा मृत्युलाई गुमाउनुको रुपमा मात्र बुझ्न सक्यौं । यदि हामीले आफूलाई विराट स्वरुपको आत्माको रुपमा बुझ्न सकेको भए मृत्युलाई पनि एउटा शक्तिको रुपान्तरणको रुपमा बुझ्न सक्ने हुन्थ्यौं । किनकि मृत्यु त यस भौतिक शरीरको हुने हो, जसको स्वभाव नै नाशवान छ । गहिरिएर बुझ्ने हो भने त्यहाँ जन्म र मृत्यु त पलपलमा भइरहेको हुन्छ । मृत्युलाई एक प्राकृतिक प्रक्रियाको रुपमा बुझ्न नसकेकै कारण यसलाई सहज रुपमा स्वीकार गर्न नसकेका हौं । त्यसैले त आफ्नो वा आफन्तको मृत्युको कल्पनामात्र आउँदा पनि हामी दुःखी हुन्छौं, हामी डराउँछौं । किनकि मृत्युलाई गुमाउनुको अर्थमा बुझेका छौं । लिएर के नै आएका थियौं र गुमाउने कुरा गरिरहेका छौं ?

    हामीले आफूलाई शरीरभन्दा माथि उठेर चिन्न नसक्दा मृत्युलाई गुमाउनुको रुपमा मात्र बुझ्न सक्यौं । यदि हामीले आफूलाई विराट स्वरुपको आत्माको रुपमा बुझ्न सकेको भए मृत्युलाई पनि एउटा शक्तिको रुपान्तरणको रुपमा बुझ्न सक्ने हुन्थ्यौं । किनकि मृत्यु त यस भौतिक शरीरको हुने हो, जसको स्वभाव नै नाशवान छ ।

    यस संसारमा पाएका कुराहरु तथा पाउन चाहेका कुराहरु सबै आखिरमा छोडेर त जाने हो र हामीले छोडेर जान सकेका कुराहरुले नै हाम्रो मृत्युपछि पनि अरुको मनमा जीवित हुनसक्ने हो । त्यसैले भोलि आइरहेको मृत्युुलाई सम्झेर रुनुभन्दा हरेक पललाई अर्थपूर्ण रुपमा बाँचेर आफ्नो जीवनलाई सार्थकतामा बदल्नु जरुरी छ । यो जीवन भनेको नै अर्थहीनताभित्र पनि अर्थ खोज्नु हो । हामी धेरैको बुझाइ छ, मरेपछि त सबै कुरा व्यर्थ हो । तर, यही व्यर्थताभित्र पनि अर्थ भेट्टाउन सक्यौं भने बाँच्नुको पनि अर्थ थाहा पाउँछौं । अनि त होशपूर्वक बाँच्न सक्छौं । हामी त बेहोशीमै जीवन सकाउँछौं । अनि मृत्युको घडीमा होश खुल्दा पश्चाताप गर्छौं आफ्ना विगतका कर्मलाई लिएर ।

    हाम्रो पूर्वीय दर्शनमा मृत्यु संस्कारलाई एक महत्वपूर्ण संस्कारको रुपमा लिएको छ । ताकि हामीले मृत्युलाई नजिकबाट बुझ्न सकौं, मृत्युलाई पनि एउटा उत्सवको रुपमा मनाउन सकौं । तर, हामीले मृत्यु संस्कारलाई एउटा कर्मकाण्डको रुपमा मात्रै सीमित बनाएर बुझ्दै आयौं । त्यसभित्रको दर्शनलाई बुझ्ने हामीलाई समय मिलेको भए पक्कै मृत्युलाई बुझ्न सक्थ्यौं । अनि आफ्नो जीवनलाई पनि । अरुको मृत्युमा मलामी जाने हामी आफ्नो अन्तिम गन्तव्य पनि त्यही चिता हो भन्ने कुराको चाहिँ हेक्का राख्दैनौं । एउटा राजकुमार त्यही मलामी देखेर दुःखको कारण र निवारणका उपाय खोजी गरेर बुद्धको रुपमा आज २६ सय वर्षसम्म पनि हाम्रो मनमा जीवित रहन सफल भए । एकछिनको मसान वैराग त हामीमा आउने पनि हुन्छ । तर, फेरि हामीलाई भौतिक सुख र सफलताको तृष्णाले भुलाइहाल्छ । यसको मतलब यो पनि होइन कि भौतिक सुख र सफलता केही पनि होइन, जीवनको यो अनित्य चोलालाई बुझ्न सिकियो भने कुनै पनि कुराप्रति हाम्रो आशक्ति रहँदैन, जसले सुखदुःख दुवैमा आनन्द लिन सक्छौं । रागविनाको कर्मले नै हामीलाई आनन्द दिने हो ।

    मनोविज्ञानमा स्नातकोत्तर गर्दाको समयतिर माइन्डफुलनेसको कार्यशालामा सहभागी हुँदाको त्यो क्षण सम्झिन्छु । हामी सहभागीहरुलाई एउटा कार्य दिइएको थियो, जसमा हामीले आफ्नो मृत्यु हुँदाको कल्पना गरेर आफ्ना आफन्त/साथीहरूले पत्रिकामा छपाउने आआफ्नो समवेदना लेख्न लगाइएको थियो । त्यसपछि एक अर्काको समवेदना पढेर सुनाउनुपर्ने थियो । त्यसै पनि सन्नाटाले भर्दै गरेको माहोलमा मेरो समवेदना पढ्नुपर्ने साथी भावविह्वल भएर गला सुकेर मुखबाट शब्द निस्कन नसकेर आँखाबाट आँसु निस्कँदा हामी सबै एकछिनको लागि स्तब्ध भएका थियौं । त्यस सत्रको उपादेयता थियो कि मृत्युलाई नबुझिकन जीवनको वा समयको महत्त्व बुझ्न सकिँदैन ।

    हाम्रो जीवन आफैंमा सबैभन्दा ठूलो पाठशाला रहेछ । हाम्रा आफ्नै जीवनका भोगाइहरुले हामीलाई शिक्षा दिइरहेको हुँदोरहेछ । फरक यतिमात्र रहेछ कि हामी आफ्नै जीवन र आफूप्रति कति सचेत र इमानदार रहन सक्छौं । आफ्नो पेशागत धर्म निर्वाह गर्ने क्रममा मैले त्यस्ता धेरै बिरामीहरुसँग जोडिने सौभाग्य पाएको छु । कोही मृत्युको पर्खाइमा रहेका त कोही मृत्युलाई जितेर आएका, जसले मलाई मृत्युको बोध गराइदियो । अनि जीवनको मूल्य बुझाइदियो । उहाँहरुलाई फिजियोथेरापी र मनोपरामर्श गर्ने क्रममा उहाँहरुले आफ्ना भावनाहरु तथा अनुभवहरु साट्दा कतिपय अवस्थामा म आफैं निःशब्द भएको छु । किनकि हाम्रो कोर्समा जीवनलाई कसरी सहज बनाउने भन्ने कुरामात्र सिकाइन्थ्यो । तर, मृत्युलाई सहज बनाउने कुरा समाहित नै छैन ।

    मृत्युुलाई सम्झेर रुनुभन्दा हरेक पललाई अर्थपूर्ण रुपमा बाँचेर आफ्नो जीवनलाई सार्थकतामा बदल्नु जरुरी छ । यो जीवन भनेको नै अर्थहीनताभित्र पनि अर्थ खोज्नु हो । हामी धेरैको बुझाइ छ, मरेपछि त सबै कुरा व्यर्थ हो । तर, यही व्यर्थताभित्र पनि अर्थ भेट्टाउन सक्यौं भने बाँच्नुको पनि अर्थ थाहा पाउँछौं ।

    अर्को कुरा, मृत्युबारे कुरा गर्ने हाम्रो बानी पनि त छैन । कतिपय बिरामीहरुको अवस्था यस्तो पनि हुन्थ्यो कि उहाँहरुको जीवनलाई सहज बनाउने उपाय पनि हुँदैनथ्यो । मसँग मनमनै उहाँहरुको सहज मृत्युको कामना गर्नुबाहेक अरु केही नै उपाय हुँदैनथ्यो । यस्तो अवस्थामा मृत्यु नै उपचार हुनेरहेछ । तर, आफ्नो मृत्युलाई सहज रुपमा स्वीकार गर्नसक्ने अवस्थामा पनि सबै कहाँ हुन्छ र ? अनि मृत्यु भनेको आफ्नो वशमा भएको कुरा पनि त भएन ? कि योग साधनाले सिद्ध भएर इच्छा मृत्यु या मृत्युलाई होसपूर्वक रोज्न सक्ने हुनुपर्‍यो ! एउटा स्वास्थ्यकर्मीको धर्म हो कि आफ्नो अगाडिको बिरामीको जीवनलाई सहज बनाउने र जीवनको आशा जगाउने । तर, आफ्नै आँखा अगाडि आइरहेको मृत्युलाई सहज रुपमा स्वीकार गर्न वा मृत्युलाई जितेर पाएको जीवनमा जिउँदो लास (हरेक कुरामा अरुको भरपर्नु पर्ने अवस्था) भएर भोग्नु परेका ती कष्टहरु (जसको कुनै समाधान वा सुधारका उपायहरु छैनन्) सामना गर्न धेरै साहस जरुरी हुन्छ । यस्तो साहस बाहिरबाट होइन, आफूभित्रबाट मात्र निस्कन सक्छ । जसको लागि आध्यात्मिक जागरण जरुरी छ ।

    २०६१÷६२ सालतिर हो । म एक बौद्ध गुरु (रिन्पोचे)को निवासमा थेरापी गर्न जाँदा कहिलेकाहीं उहाँलाई कुर्नुपर्ने हुन्थ्यो । यस्तो समयमा उहाँकोमा भएको किताब ‘The Tibetan book of living and dying : Sogyal Rinpoche’ मागेर पढ्ने गर्थें । जसमा तिब्बती दर्शनअनुसार मृत्युलाई कसरी सजिलो बनाउन सकिन्छ, आफ्नो जीवनको अन्तिम घडीमा रहेकाहरुलाई आफ्नो प्राण त्याग्न कसरी सहयोग गर्न सकिन्छ जस्ता कुराहरु पनि समावेश थिए । योग साधनामा लागेको र अध्यात्ममा उत्सुक मेरो मनले यस्तै पूर्वीय दर्शनका किताब संगत अनि प्रवचनहरुबाट जीवन र मृत्युका बारेमा अझ जान्ने बुझ्ने अवसर पाएँ र पाउँदैछु । यसले मलाई उहाँहरु (बिरामी)सँग आध्यात्मिक विमर्श गर्न सजिलो पनि भयो । एक जना बुवा हुनुहुन्थ्यो motor neuron diseaseले हातखुट्टा कमजोर हुँदै गइरहेकाले थेरापी गर्न निवासमै जाने गर्थें । उहाँ आफैं पनि स्वास्थ्यकर्मी भएको कारण उहाँलाई आफ्नो रोगबारे जानकारी थियो ।

    उहाँ भन्नुहुन्थ्यो- ‘जीवनका आफ्ना सबै कर्तव्य र जिम्मेवारी पूरा गरिसकें । अब त चाँडै मर्न पाए हुन्थ्यो ।’ यस्तो कुरा सुन्दा आमा भने नराम्रो मान्नुहुन्थ्यो । आमा मसँग बुवाबारे गुनासो पोख्नुहुन्थ्यो- ‘हेर न बाबु ! बुवा के के नचाहिने कुरा गर्दै हुनुहुन्छ ।’ बुवा चाहिँ ‘तिम्रो आमाको बीपी बढेको छ । खाना खाँदैन । निद्रा पनि छैन । एकछिन आमालाई पनि सम्झाइदिनु है’ भन्नुहुन्थ्यो । तर, आमालाई सम्झाउन सक्ने स्थितिमा थिएन । किनकि आमालाई बुवाको रोेगबारे जानकारी थिएन । मलाई अनि बुवालाई पनि थाहा छ कि यस्तो रोगमा मृत्यु कति कष्टकर र पीडादायी हुनसक्छ । बुवालाई भन्थें- ‘शरीरले प्राण/आत्मा धान्न सक्ने अवस्था नभएपछि आत्माको प्रस्थानलाई सहज बनाउन सकियो भने मृत्यु मुक्तिको अवसर बन्नसक्छ । तर, हाम्रो आफ्नो मृत्यु कामनाले मात्र हुँदैन । पहिला हाम्रा आफ्नै मोह वा हाम्रा आफन्तका मोहको बन्धनलाई फुकाउनु जरूरी हुन्छ ।’ आमाले पनि यो कुरा विस्तारै बुझ्दै जानुभयो । खुशीको कुरा भन्छु म, बुवालाई आफ्नो शरीरबाट प्राण छोडेर जान त्यति गाह्रो भएन । वास्तवमा राम्ररी मृत्युवरण गर्न राम्ररी जीवन ज्यूँन पनि जान्नुपर्ने रहेछ ।

    आफ्नो छोराको मृत्युको वियोगमा भाव विह्वल आफ्नी रानीलाई सम्झाउन राजाले निकालेको यो उपाय आजपर्यन्त पनि गाईजात्रा रुपमा चलिआएको छ । तर, हामी भने मर्ने अरुमात्र हो, आफू पनि मरेर जानुपर्छ भन्ने कुराको समझ वा बोध नहुँदा आफ्नै अमूल्य जीवनलाई पनि गाईजात्रा (लथालिङ्ग) बनाउन पुगेका हुन्छौं ।

    अरुको मृत्युमा समवेदना प्रकट गर्नु र उसका आफन्तलाई सम्झाउनुभन्दा आफूलाई पर्दा आफैंलाई सम्झाउनुमा धेरै फरक हुने रहेछ । आफैंमा लागू गर्न नसकिएका ज्ञानहरुमात्र जानकारीहरु हुन सक्छन्, जसले हामीलाई यस सांसारिक सुखदुःखबाट पार लगाउँदैनन् । भावनात्मक रुपमा अलि बढी नै निकट रहेर कर्म गर्नुपर्ने मेरो जस्तो पेशामा मृत्यु र यसको तयारीबारे कुरा गर्दा कतिले त निराशा र नकारात्मक सन्देशको रुपमा पनि लिने गर्ने रहेछ । यही वर्ष उमेरले ९० वर्ष भइसकेकी ठूली फुपू अनि ८० वर्ष भएको ठूलो बुवालाई पनि यो संसारबाट बिदा गर्‍यौं । उमेरले मुटुका भल्भ बिग्रेर बिरामी हुनु भएकी ठूली फुपू भन्नुहुन्थ्यो- ‘म हस्पिटलमा मर्दिनँ । म आफ्नै घरमा मर्न चाहन्छु ।’ त्यसैले सबैको सल्लाहमा आवश्यक व्यवस्था गरी घरमै राख्यौं । उहाँलाई भन्थें- ‘जान त सबैलाई पर्छ नै ढिलो चाँडोको मात्र कुरा हो । तर, आनन्दले जानलाई आफ्नै मनलाई शान्त गर्नु जरुरी हुन्छ । काम, क्रोध, लोभ, मोह, घमण्ड त्याग्न सक्यौं भने प्राण त्याग्न पनि सहज हुन्छ ।’

    फुपूले आफ्नो प्राण त्याग गरेको अघिल्लो दिनको राति १२ बजेसम्म पनि म फुपूसँगै थिएँ । पूरा शरीर दुःख्यो भन्नुभएकाले मालिस गर्दै फुपूसँग मृत्युको तयारीको बारे कुरा गर्दै मनलाई शान्त बनाउन भगवानको जप गराउँदै सुताएर आएको थिएँ । दमको बिरामी ठूलो बुवा अक्सिजनको सहयोगमा हुनुहुन्थ्यो । जीवनका अन्तिम दिनहरुमा एक्लोपन र निराशाले गर्दा नकारात्मक भावनाहरु बढेर रिसको रुपमा दाइभाउजूलाई पोख्ने गर्नु हुन्थ्यो । ठूलो बुवालाई सम्झाउँथें- ‘समय आएपछि हामी सबैले यो संसार छोड्नु नै पर्छ, जाने दिनहरु नजिक आइरहेको बेला आफ्नाहरुसँग रिसाएर आफूलाई र अरुलाई पनि किन दुःखी बनाउने ? मनलाई शान्त राख्न सकिएन भने शान्तिले जान पनि सकिँदैन ।’ अनि दाइभाउजूहरुलाई भन्थें- ‘जानलाई सहज बनाउन सायद हाम्रा मोहका बन्धनहरुलाई फुकाउँदै हुनुहुन्छ । नराम्रो रुपमा नलिइ उहाँको मनलाई शान्त बनाउन कोसिस गरौं ।’

    प्राण त्याग्नु दुई दिनअघि ठूलो बुवाले ‘अब मेरो जाने बेला आयो, घरमा थापना गरिराखेको कुल देवता मेरो भाइ (मेरो बुवा)को घरमा सार्नुपर्यो । म गएपछि तिमीहरुले पूजा गर्न मिल्दैन’ भन्दै मेरो बुवालाई बोलाउन लगाउनुभएको रहेछ । बेलुका म पनि ठूलो बुवालाई भेट्न गएँ । म जाँदा आनन्दले बसेर हाँसेर मसँग कुरा गरेको देखेर भाउजूले अघि दिउँसो त त्यतिबेला नै जाने जस्तो श्वास बढेर गाह्रो भएको थियो । अहिले केही नभएको जस्तो फ्रेस देखिनु भएको छ । हामीसँग खान नमानेर अहिले केहीबेर अगाडि सानो बुवा (मेरो बुवा)ले खुवाएर जानुभएको भन्दै हुनुहुन्थ्यो । निबुलाइजर वाफ लिन मानिराख्नु भएको थिएन, सम्झाएर सँगै बसेरै लिन सिकाएर मनलाई शान्त राख्नलाई सम्झाउँदै राति घर फर्कें । आफ्नासँग मृत्युको कुरा गर्दाभन्दा अरुसँग यसबारे कुरा गर्दा चाहिँ अलि बढी सजग हुनुपर्ने हुन्छ । आजभन्दा सात वर्षअघि मैले आफ्नै भाइलाई यस संसारबाट बिदा गर्दा मैले यही अनुभूत गरें ।

    भर्खरै गाईजात्रा सकिएको छ । आफ्नो छोराको मृत्युको वियोगमा भाव विह्वल आफ्नी रानीलाई सम्झाउन राजाले निकालेको यो उपाय आजपर्यन्त पनि गाईजात्रा रुपमा चलिआएको छ । तर, हामी भने मर्ने अरुमात्र हो, आफू पनि मरेर जानुपर्छ भन्ने कुराको समझ वा बोध नहुँदा आफ्नै अमूल्य जीवनलाई पनि गाईजात्रा (लथालिङ्ग) बनाउन पुगेका हुन्छौं । अनित्य यो चोलालाई बुझ्न सक्यौं भने मृत्युलाई पनि सहज स्वीकार गर्न सक्छौं । अनि जीवनलाई पनि मृत्युको तयारीमा लगाउन सक्छौं । मृत्यु निराशाको उपज हुनै सक्दैन । यो आफैंमा एउटा उत्सव हो, एउटा नयाँ परिवर्तनको बाहक हो । जसलाई ‘म’ भनि अहंकार पालेर भ्रममा बाँचिरहेका छौं, त्यही अहंकारलाई मेटाएर आफ्नो असली ‘म’ लाई चिन्न बुझ्न सिकेपछि जन्म-मृत्युको भवचक्रलाई पनि बुझ्न सक्छौं । आफ्नै अहंकारलाई मार्न सफल भयाैं भने आत्महत्यामा समाधान खाेज्ने मूर्खता पनि गर्दैनाैं ।

  • तीज : पर्व एक मनाउने शैली अनेक

    तीज : पर्व एक मनाउने शैली अनेक

    हाम्रो देशमा विभिन्न रीतिरिवाज, संस्कार, धर्म संस्कृतिका मानिसहरूले आ-आफ्नो चलनअनुसार विभिन्न चाडपर्व सदिऔ देखि मनाउँदै आइरहेका छन् । नेपाली समाजमा विविधता कायम छ । यही विविधता नै समाजको सौन्दर्य पनि हो । एउटै फूलको बगैँचा भन्दा थरी थरीका फूलको बगैँचा नै सुन्दर देखिन्छ ।

    हिन्दु धर्मअनुसार हिमालय पुत्री पार्वतीले भगवान् विष्णुसँग विवाहको प्रस्तावलाई अस्वीकार गरिन् र पार्वतीका साथीहरूले हरण गरेर घनघोर जङ्गलमा लामो समयसम्म तपस्या गरिन् र एक दिन शिवलिंग स्थापना गरी आराधना गरिन् यसबाट शिव प्रभावित भएर प्रकट भए र पार्वतीलाई चिताएको पुगोस् भन्ने वरदान दिए ।

    त्यस दिन नै पार्वतीले शिवलाई पतिको रुपमा मागिन र यसरी शिव पार्वतीको विवाह भयो त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । यही मान्यताले हिन्दू महिलाहरूले तिजको बर्त बस्ने परम्परा छ । अविवाहित महिलाहरूले असल श्रीमान् पाउने र विवाहित महिलाले श्रीमानको दीर्घायु र सुस्वास्थ्य कामना सहित यो बर्त बस्ने परम्परा छ ।

    उति बेलाको समयमा स्रोत साधनको अभाव थियो, सडकको बिस्तार थिएन, यातायातका साधन थिएनन् विवाह भएर गएका छोरी चेलीहरूको माइत आउने र जमघट हुने भनेकै तिजको अवसरमा थियो भने कतिपय त पारिवारिक जिम्मेवारीका कारण तिजमा पनि माइत जान नपाउने बाध्यता समाजमा थियो, त्यति बेला त्यहि परिवेशका दु ख पिडा, वेदनाका गीतहरू गाइन्थ्यो ।

    तर अहिले आएर तिज पर्वको परिभाषा नै फेरिएको छ, यसको मौलिकता धरापमा परेको छ । बर्षायामको पानीले च्याउ उमारेझैँ गायक गायिका उमार्ने पर्व बनेको छ तीज, वर्षभरी नाक मुख नदेखाउने नाम नै नसुनेका कलाकारहरू पनि सके आफू नाङ्गिएर नसके शब्दलाई नङ्ग्याएर त्यो पनि नसके सिङ्गो संस्कृति नङ्ग्याएर आफू हिट हुने मेलो बनाइरहेका छन् ।

    व्यापार र आफ्नो क्षणिक चर्चाको लागि परम्परा र संस्कृतिको अनर्गल प्रयोग गरेर पर्वको संवेदनालाई महत्त्वहीन बनाइँदै छ । हरेक कुरा समयसँग परिमार्जन हुन जरुरी छ तर परिमार्जनको सिलसिलामा आफ्नो विषयवस्तुको मान्यता नै विचलित हुने गरी परिमार्जन गर्नु कतिको जायज हो ।

    समय बदलियो र समयसँगै महिलाको जीवन जिउने शैली बदलियो । शोषण र दासता हट्दै गए । महिलामा आधुनिकता छायो तर आधुनिकताका नाउमा तिजको रौनक पनि उत्ताउलो र तडक भडक हुँदै गएको छ ।

    अहिले त भन्न सक्छौ त्यो पुरानो तिजको स्वाद बदलिएर पुरै फरक भएको छ । अबका पुस्ताले खास तिज के हो भन्ने कुराको समेत पत्तो नपाउने परिस्थितिको सिर्जना हुँदै छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

    तीज पर्वको पौराणिक, सामाजिक र सांस्कृतिक महत्त्व हुँदाहुँदै पनि निराहार बर्त बसेर श्रीमानको आयु लामो हुन्छ भन्ने मान्यता अन्धविश्वास हो भन्दै क्रान्तिकारी भावहरू पनि प्रकट हुन थालेका छन् तर बर्त बस्ने सन्दर्भमा यस्ता विरोध गरे तापनि तिनै महिला दिदीबहिनीहरू महिनौं अगाडिदेखि पार्टी प्यालेसहरूमा दरको नाममा मासु र दारु खाने, सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि भएपनि नयाँ नयाँ सारी र गहनाहरू लगाउने, भेला भएर दु ख साटासाट र रमाइलो गर्न भन्दा पनि लवाई खवाई र बिलासी, देखावटी रुपमा फेसबुक र टिकटकका लागि कन्टेन बनाउने प्रतिस्पर्धामा नै उत्रेको भान हुन्छ ।

    अहिले तिजको संस्कृति कता जादैछ भनेर चिन्ता र चासो पनि व्यक्त हुन थालेका छन् ।

    उठाउनै नसकिने गहना, आलिसान होटेलमा पार्टी, हातमा बियर र वाइनको गिलास अनि गीत बज्छ चरी जेलैमा र सोचे झै जिन्दगी रहेन छ भन्ने यस्ता खालका प्रवृत्तिले तीजको मौलिकता माथि नै प्रश्न प्रश्न चिह्न खडा गरेका छन् ।

    हाम्रा चाडपर्व मनाउने शैलीले समाजमा वर्गीय असमानतालाई फेरि ब्यूँताउन खोजेको जस्तो देखिन्छ तडक भडक र विलासी प्रवृत्तिले कम आय भएकालाई हीनताबोध हुन्छ भने अर्कोतिर अनावश्यक अरूलाई देखाउनकै लागि भएपनि खर्च गर्ने प्रवृत्तिले गर्दा जसरी पनि कमाउनुपर्छ भन्ने पारिवारिक दबाब हुन्छ जसले गर्दा भ्रष्टाचार समेत मौलाउँदै गएको देखिन्छ । उच्चपदस्थ सरकारी कर्मचारीहरूले परिवारलाई खुसी पार्न आफूहरूले दायाँबायाँ गर्नु परेको अनौपचारिक गफमा बताउने गरेका छन् ।

    केही महिलावादीहरूले फरक खालका तर्क पनि गर्ने गरेका छन्, ‘पहिला महिलाहरूको हातमा खर्च थिएन, घरको कामबाट कहिल्यै मुक्ति पाउँदैनथे, अहिले उनीहरु काम गर्छन् र दुई चार पैसा कमाउँछन् ।’ अब उनीहरुले आफ्नो हिसाबले खर्च गर्न र रमाइलो गर्न किन नपाउने ?

    यी तर्कहरू पनि आफ्नो ठाउँमा ठीकै हुन तर दरका नाममा हुने अस्वस्थकर खानपानले गर्दा सामाजिक जनजीवनमा नकारात्मक प्रभाव परेको देखिन्छ भने रमाइलो गर्ने र स्वतन्त्रताको नाममा फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको देखिन्छ । जसको प्रत्यक्ष लाभ छिमेकी मुलुकहरूले लिइरहेका छन् ।

    हुन त चाडपर्व मनाउने आ-आफ्नै शैली र तरिका होलान् । मनोरञ्जन बिना जीवन सार्थक नहोला तर अहिले जति समय कपडा किन्न र छिमेकीसँग खानमा प्रतिस्पर्धा गर्दै खेर फालिरहेका छौ त्यसको केहि प्रतिशत समय र पैसा समाजको निम्ति खर्च गर्न सके राम्रो सन्देश प्रवाह हुने थियो ।

    अहिलेको समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगले गर्दा हिंसाका स्वरूपहरू फेरिएका छन् । युवाहरू दुर्व्यसनीका शिकार हुँदै छन्, यसरी दिनदहाडै आमा, दिदी, बहिनी, छोरी चेलीको अस्मिता, आत्मसम्मान तथा ज्यान नै जोखिममा पर्दा पनि हामी तिजजस्तो महिलाको कथा र व्यथा सुनाउने पर्वमा पनि गहना र सारीका गीतमा रमाउँदैछौं । परिस्थिति अनुसार खुसी हुनु रमाउनु राम्रो हो तर हामी सबैको सामाजिक दायित्व छ । हामीले अन्यायको पक्षमा पनि आवाज उठाउनुपर्छ । दोषीलाई उन्मुक्ति दिनेका विरुद्ध दबाब सिर्जना गर्नुपर्छ । तीजको दरका अवसरमा गरिने कार्यक्रममा यस्ता विषय उठाउनुपर्छ ।

    अहिलेसम्म जे जस्तो भएता पनि अबको दिनहरूमा भने तिज लगायत सम्पूर्ण पर्वहरूलाई खर्चिलो र भड्किलो हुनबाट बचाउने विषयमा आजदेखि नै सबै सम्बन्धित सरोकारवाला पक्ष प्रतिबद्ध होस् र हामी सबैले आ आफ्नो ठाउँबाट सहयोग पुर्याऔ ।

  • के चीन इतिहासको पुन: व्याख्या गर्दैछ ?

    के चीन इतिहासको पुन: व्याख्या गर्दैछ ?

    भारतका विदेश मन्त्रालयका पूर्वसचिव श्याम शरण लेख्छन्, देशहरुले आफ्नो बारेमा भन्ने कथाहरुबाट उनीहरुको व्यवहार बुझ्न सकिन्छ । चिनियाँहरु यसलाई ‘डिस्कोर्स पावर’ भन्छन् । आकर्षक भाष्यले शक्तिको चाहनालाई लुकाउन वैधताको आवरण दिने गर्छ । चीनसँग राजनीतिक वैधताका लागि इतिहासका हरेक दस्तावेजहरु सुरक्षित छन्, जसले व्यवस्थाको भाष्य निर्माण गर्न महत्वपूर्ण स्रोतको काम गरेको छ । चीनको दाबीअनुसार इतिहासमा चीन सधैं महाशक्ति रहेको छ । यसको शक्ति र प्रभावलाई चीनसँग जोडिएका अरु देशले समेत स्वीकारेका थिए । तर, के चीन सधैं शक्तिशाली थियो त ? आजको शक्तिशाली चीन निर्माणको पछि कस्तो पृष्ठभूमि छ, जसले चीनको विश्व दृष्टिमा गहिरो प्रभाव पारेको छ ? सन् २०२२ माजुगरनट बुक्सले प्रकाशन गरेको पुस्तक ‘हाउ चाइना सिज इन्डिया एण्ड दि वर्ल्ड’ (चीनले भारत र विश्वलाई कसरी हेर्छ) ले चीनसँग सम्बन्धित यिनै जिज्ञासाहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

    सन् २००२ देखि २००४ सम्म नेपालमा समेत राजदूतको जिम्मेवारी सम्हालेका श्याम शरण अपरिचित नाम होइन । सन् १९७० मा भारतकोे विदेश मन्त्रालयमा सेवा सुरु गरेका शरण त्यसलगत्तै हङकङमा म्याण्डरिन (चिनियाँ भाषा) सिक्न गए । सांस्कृतिक क्रान्तिको उत्तरार्द्ध (सन् १९७४-७७) र खुलापनको नीति लिएपछिका प्रारम्भिक वर्षहरु (सन् १९८३-८६) गरी जम्मा ६ वर्ष चीनमा बिताएका शरणले पुस्तक चिनियाँ बसाइका अनुभवसहित सुरु गरेका छन् । उनी त्यस्तो बेला चीन पुगेका थिए, जति बेला चीनमा कमैमात्र आधिकारिक सञ्चारमाध्यमहरु थिए । राजदूतसँग सम्बन्ध राख्नेबाहेक अरु चिनियाँ अधिकारीहरुसँग पहुँच थिएन । सूचनाहरु छरिएका हुन्थे । सीमित सञ्चारमाध्यमका खबरहरु पनि घुमाएर लेखिएको हुन्थ्यो, इतिहासको सन्दर्भसँग जोडेर त्यसलाई बुझ्नुपर्थ्यो ।

    तर, दोस्रो पटक उनी चीन पुग्दा परिस्थिति बद्लिएको थियो । सन् १९७८ मा देङ स्यायोपिङले आर्थिक पुनर्संरचना र खुलापनको नीति लिएपछि भने पश्चिमा प्रभाव फैलँदै थियो । देङको ‘धनी हुनु गौरव हो’ भन्ने नारालाई मानिसहरुले गम्भीरतापूर्वक लिएका थिए । चिनियाँ अधिकारी, प्राज्ञ, कलाकारहरुलाई भेट्न सम्भव थियो । पाँचतारे होटलहरु बढ्न थालेका थिए । सडकमा विदेशी ब्राण्डका कारहरु देखिन थालेका थिए । तर, ४० वर्षभित्रै चीन विश्वको आर्थिक शक्ति बन्ने छाँट त्यहाँ देखिएको थिएन । यसरी लेखकले सुरुमै दुई फरक समयको चीनलाई चिनाउने कोसिस गरेका छन् ।

    विश्व मानचित्रमा चीनको सशक्त उदय भइरहँदा भारत पनि पाँचौं ठूलो अर्थतन्त्र भएको छ । यी भीमकाय देशहरुबीच सैन्यमात्र होइन, आर्थिक र राजनीतिक शक्ति संघर्ष पनि उस्तै जबरजस्त छ । साँधसिमाना जोडिएका यी दुई देश इतिहासको कुन चरणमा जोडिए र किन छुट्टिए ? यसको सांस्कृतिक, वैचारिक, राजनीतिक जग के हो ?

    सन् १९४७ मा स्वतन्त्र भएको भारत तथा सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि ‘हिन्दी-चीनी, भाइ-भाइ’को आत्मीयता साटेका यी दुई विशाल देश सन् १९६२ मा युद्धमा होम्मिए । सन् २०२० पनि लद्दाखमा आमनेसामने भए । विश्व मानचित्रमा चीनको सशक्त उदय भइरहँदा भारत पनि पाँचौं ठूलो अर्थतन्त्र भएको छ । यी भीमकाय देशहरुबीच सैन्यमात्र होइन, आर्थिक र राजनीतिक शक्ति संघर्ष पनि उस्तै जबरजस्त छ । साँधसिमाना जोडिएका यी दुई देश इतिहासको कुन चरणमा जोडिए र किन छुट्टिए ? यसको सांस्कृतिक, वैचारिक, राजनीतिक जग के हो ? यी कुरा बुझ्न फेरि पुस्तककै सन्दर्भमा जाऔं ।

    पहिलो सहस्राब्दीमा व्यापारको सिलसिलामा मध्य एसिया, नेपाल र तिब्बत तथा सामुन्द्रिक माध्यमबाट भारतीय उपद्वीप र पूर्वी चिनियाँ तटबाट दुबै देश एकअर्काको सम्पर्कमा आए । चीनमा बौद्ध धर्मको विस्तारसँगै सुआन चाङले आधिकारिक ग्रन्थहरु प्राप्त गर्न तथा अध्ययनका लागि नालान्दा र विक्रमशीला विश्वविद्यालयमा आए । त्यसक्रममा अरु चिनियाँहरु पनि भारत आएका थिए । पहिलो सहस्राब्दीमा भारतीयहरुमा चीन प्रतिकम रुचि देखिन्छ । तर, दोस्रो सहस्राब्दीसँगै भारतीय उपमहादीपमा मुस्लिमहरुको आक्रमण र बौद्ध धर्म क्रमशः कमजोर बन्दै गएपछि भने सीमित रुपमा रहेको सम्पर्क लामो समयका लागि टुट्यो । त्यसपछि एकैपटक ब्रिटिश उपनिवेशको समयमा चीन र भारत आमनेसामने भए । तर, यो चीनका लागि त्यति सुखद अनुभव थिएन ।

    सन् १८३९-४२ र १८५६-६० मा भएको अफिम युद्धमा ब्रिटिशले चीनमाथि गरेको सैन्य आक्रमणमा अग्र पङ्क्तिमा भारतीयहरु थिए । जसमा चीन पराजित भएको थियो । लेखकले भारतप्रति चिनियाँ दृष्टिकोण यसै घटनाबाट प्रेरित भएको भनेका छन् । सन् १९५० मा तिब्बत नियन्त्रणमा लिएपछि चीन र भारत नजिकका छिमेकी त भए । तर, दुबै देश एकअर्कासँग त्यति परिचित थिएनन् । त्यसैले लेखकले चीनको भारतप्रति र भारतको चीनप्रतिको दृष्टिकोण तेस्रो पक्षले अघि सारेका स्रोतका आधारमा भएको भनी लेखेका छन् । यसैकारण चीनले विदेशी शक्तिको दासको रुपमा भारतलाई हेर्छ । तर, चीन आफैं एलियन अर्थात गैरहान जातिबाट अधिकांश समय शासित थियो । मंगोल युआन वंश (सन् १२७१-१३१८ सिई ) र मन्चु छिङ वंश (सन् १६४४-१९१२) सम्म चीन एलियनबाट शासित भयो भने भारत (सन् १८५८ देखि १९४७ सम्म ) ब्रिटिशको उपनिवेशको रुपमा रह्यो । यस अर्थमा भारत र चीनले इतिहासमा उस्तै नियति भोग्नुपरेको दाबी लेखकको छ ।

    सन् १९५० मा तिब्बत नियन्त्रणमा लिएपछि चीन र भारत नजिकका छिमेकी त भए । तर, दुबै देश एकअर्कासँग त्यति परिचित थिएनन् । त्यसैले लेखकले चीनको भारतप्रति र भारतको चीनप्रतिको दृष्टिकोण तेस्रो पक्षले अघि सारेका स्रोतका आधारमा भएको भनी लेखेका छन् । यसैकारण चीनले विदेशी शक्तिको दासको रुपमा भारतलाई हेर्छ ।

    इतिहासमा रोमनहरुले ग्रिकबाट सिके । अरबले पर्सिया, मध्य एसिया र इन्डियाबाट, युरोपमा पुनर्जागरणको क्रममा ग्र्रिकको ज्ञानको पुनः खोजी गरियो । मेजिको जापानले पश्चिमाबाट सिक्यो भने चीनले पश्चिमा ज्ञान र प्रविधिलाई समायोजन गरी अघि बढेको छ । यसरी एउटा राम्रो सिकारु हुँदै चीन ज्ञान र प्रविधिमा उच्चतम केन्द्र हुँदैछ । आर्थिक इतिहासले प्रस्ट देखाउँछ, कुनै पनि देशको विकासको प्रारम्भिक चरण पहिल्यै विकसित ज्ञान र प्रविधिको आत्मसात गरेर हुन्छ । त्यसपछि सिकेको ज्ञान र प्रविधिको समायोजन र आन्तरिककीरण र अन्तिम चरण चाहिँ आफैं ज्ञानको सिर्जना गर्न पर्याप्त ज्ञान पूँजी निर्माण गर्ने हो । चीनको विकासको सन्दर्भमा पनि यो नियम लागू हुन्छ ।

    यसर्थ लेखकले चीनको आर्थिक, सैन्य तथा राजनीतिक सामर्थ्यको कारण लेनिनवादी कम्युनिष्ट सत्ता नभएर आर्थिक उदारीकरणको पश्चिमा नीतिको अनुशरणलाई मान्छन् । इतिहासमा लामो समयसम्म पेरिफेरीका राज्यहरुको निरन्तर आक्रमणको सामना गरेकोले बाहिरी दुनियाँसँग चीनको सम्बन्धलाई त्यसले अझै पनि प्रभाव पारेको छ । कमजोर र विभाजित राजनीति हुँदा राज्यले बाह्य आक्रमणको सामना गर्न नसक्ने भएकोले केन्द्रीयता र अधिनायकवादी राजनीतिक प्रणालीको आवश्यकताबोध भयो ।

    बुद्धकै समयका दार्शनिक कन्फुसियसले सामाजिक सद्भाव र श्रेणीबद्धतालाई सँगै जोडेर हेरे । यही मान्यतामा आज पनि चीनको विश्व दृष्टि श्रेणीमा आधारित छ । जहाँ सबैभन्दा माथिल्लो तहमा चीन र अरु देशहरु मातहतमा छन् । लेखक भन्छन्, चीनमा बोलिने भाषामा विविधता छ । तर, लेखाइमा एकरुपता छ । केन्द्रीयताका लागि यो पनि एउटा महत्वपूर्ण पक्ष हो । चीन एकैखालको जाति, भाषा, संस्कृतिको बाहुल्य भएको देश हो भने भारत विविधतापूर्ण देश हो । यसको प्रतिविम्ब दुबै देशले अँगालेको राजनीतिक व्यवस्थामा पनि देख्न सकिन्छ । चीन र भारतको प्रतिद्वन्द्विताको कारण लेखक यी देशहरुको फरक मूल्य र मान्यतामा आधारित राजनीतिक व्यवस्थालाई मान्छन् ।

    इतिहासमा रोमनहरुले ग्रिकबाट सिके । अरबले पर्सिया, मध्य एसिया र इन्डियाबाट, युरोपमा पुनर्जागरणको क्रममा ग्र्रिकको ज्ञानको पुनः खोजी गरियो । मेजिको जापानले पश्चिमाबाट सिक्यो भने चीनले पश्चिमा ज्ञान र प्रविधिलाई समायोजन गरी अघि बढेको छ । यसरी एउटा राम्रो सिकारु हुँदै चीन ज्ञान र प्रविधिमा उच्चतम केन्द्र हुँदैछ ।

    इतिहासको पुनः व्याख्याको प्रश्न

    चीनले तिब्बत नियन्त्रणमा लिनु अघिसम्म तिब्बत कहिल्यै हान वा गैरहान जातिको प्रत्यक्ष शासनमा थिएन । मंगोल युआन र मंचु छिन वंशको शासनमा हुँदा समेत तिब्बतले अलग र धार्मिक रुपमा स्वायत्त भई राज्य सञ्चालन गरिरहेको थियो । सन् १९१२ मा छिन वंशको पतनपछि दलाई लामाले तिब्बतको स्वतन्त्रता घोषणा गरे । तर, अन्तर्राष्ट्रिय मान्यता पाउन सकेनन् । यद्यपि तिब्बतमा चीनको वैधतालाई प्रमाणित गर्न चिनियाँ विद्वानहरु प्राचीनकालदेखिको सम्बन्धको व्याख्या गर्छन् । अझ मंचु छिन वंशलाई चीनको शासकको रुपमा हेर्नुपर्ने तर्क छ । सातौं शताब्दीमा तिब्बतले साङ वंशमाथि गरेको आक्रमण र त्यसपछि चिनियाँ सम्राटलाई शान्तिका सर्तहरु मान्न बाध्य पारेको विषयलाई पन्छाएर तिब्बतले सहयोग खोजेको र त्यसै क्रममा चिनियाँ राजकुमारी वेङ चेङको तिब्बती राजा स्रोङसेन ग्याम्पोसँग विवाह गरी साङ-तिब्बत सहकार्य बलियो बनाएको भनी इतिहासको आफू अनुकूल व्याख्या गरेको लेखकको दाबी छ ।

    त्यस्तै, लेखकले चीन कहिल्यै एसियाको केन्द्र नभएको र कुनै पनि ऐतिहासिक तथ्यले त्यसलाई प्रमाणित नगरे तापनि चीनले इतिहासलाई तोडमोड गर्दै आफूलाई केन्द्रको रुपमा स्थापित गर्न खोजेको भनेका छन् । पुस्तकमा चिनियाँ ईतिहासका धेरै सन्दर्भहरु उधिन्दै त्यसलाई भारतसँग जोडेर हेरिएका छन् । ती घटनाक्रमको सन्दर्भमा तयार गरिएको नयाँ चिनियाँ भाष्यहरुको खण्डनहरु गरेका छन ।

    समग्रमा ‘हाउ चाइना सिज इन्डिया एण्ड दि वर्ल्ड’ ले भारत र विश्वप्रति चिनियाँ दृष्टिकोण प्रस्ट पार्न खोजेको भए पनि यो पुस्तक भारतीय विदेश मन्त्रालयका पूर्वउच्च अधिकारीको विचार, बुझाइ र धारणा हो । अर्को शब्दमा भन्ने हो भने पुस्तक चीनको सन्दर्भमा भारतले स्थापित गर्न खोजेको नयाँ भाष्य हो । यसर्थ, स्वाभाविक रुपमा यसबाट भारतले चीनलाई कसरी हेरेको वा बुझेको छ भन्ने थाहा पाउन सकिन्छ । जम्मा १८ अध्याय र २८६ पृृष्ठमा समेटिएको पुस्तकले घुमाउरो भाषामा इतिहासदेखि नै भारतको सांस्कृतिक, वैचारिक, राजनीतिक सर्वोच्चता स्थापित गर्न खोजेको छ । एक-अर्काको बुझाइ, समानता, भिन्नतालगायतका विषयहरु अगाडि सार्ने क्रममा पुस्तकले एकैपटक भारत र चीन दुबैको बारेमा यथेष्ट ज्ञान र जानकारी दिएको छ । भारत-चीन प्रतिस्पर्धा नयाँ शीरामा पुगेको विषम परिस्थितिमा सुझबुझपूर्ण ढंगले अगाडि बढ्न नेपालका लागि पुस्तकले केही ‘आइडिया’ पक्कै दिनेछ ।

  • चीन हेर्ने दुई नेपाली पत्रकारका दुई दूरबिन

    चीन हेर्ने दुई नेपाली पत्रकारका दुई दूरबिन

    चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)को नेपाली विभागमा अन्तराष्ट्रिय विशेषज्ञको रुपमा कार्यरत दुई पत्रकार हुन लक्ष्मी लम्साल ‘लक्ष्मी पूजा’ र चेतनाथ आचार्य । सीआरआईमा कामको कोणमा लम्साल अगाडि बेइजिङ आए पनि सीआरआईको मुख्यालय बेइजिङमा आएर किताब लेखनमा भने आचार्य अगाडि देखिएका छन् । आचार्यको पुस्तक ‘चीन चियाउँदा’ सांग्रिला बुक्सबाट २०७४ भदौमा प्रकाशन भयो भने लम्सालको ‘निहाउ नमस्ते’ बुलबुल पब्लिकेसनबाट २०७५ बैशाखमा प्रकाशन भयो । दुई लेखकको चीनबारेको किताब प्रकाशनमा आठ महिनाको अन्तर देखिएको छ । दुवैले आआफ्ना किताबमा चीनमा भएको अंक प्रेमको कुरा गर्दै चिनियाँहरुले सबैभन्दा धेरै मन पराउने र भाग्यशाली मान्ने अंक ८ भएको भनेका छन् । त्यही अंक ८ कै अन्तरको महिनामा किताब प्रकाशन गरेर उनीहरुले रोचक संयोग पेस गरेका छन् ।

    चीनबारेमा नेपालको बुझाइ कमजोर छ । कमजोर हुनुका दुई कारण होलान्, एक चीन ज्यादै विशाल छ बुझ्न गाह्रो छ । दुई, चिनियाँ भाषा नेपालीहरुको आम पहुँच बाहिर जस्तै छ । उसो त नेपाल र चीनको सम्बन्ध जनस्तरमा पाँचौं शताब्दीबाटै सुरु भएको र राज्य तहमा सातौं शताब्दीबाटै सुरु भएका प्रमाणित दस्तावेजहरु छन् । जस्तैः सन् ४०३ मा चीनका बौद्ध भिक्षु फाहियान नेपालको लुम्बिनी र आसापास क्षेत्रमा आएका थिए भने उनीसँगैको संगतमा भगवन गौतम बुद्धका काकाका छोरा भिक्षु बुद्धभद्र पनि फाहियानकै निम्तोमा सन् ४०६ मा चीन पुगेका थिए । चीनको नानचिङ मुकाम बनाएर बौद्ध ग्रन्थ तथा संस्कृति भाषा अनुवादको काम २० वर्ष गरे । यो जनस्तरको प्रथम प्रमाणित नेपाल-चीन साइनो हो । राज्य तहमा सातौं शताब्दीमा लिच्छवी वंशका राजा नरेन्द्र देवले सन् ६४३ मा चीनका बादशाहलाई भेट्ने मिसन पठाएको इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक चीन तिब्बत र नेपालमा उल्लेख गरेका छन् ।

    यति पुरानो सम्बन्ध भएको देशका कुरामा नेपालीहरु धेरै जानकार छैनन् । पश्चिमा मिडियामा आएका खुराकदेखि आक्कलझुक्कल चीन आएकाहरुको लेखहरु पढेर चीनबारेका नेपाली धारणाहरु बन्दै आएका छन् । चीनमा आएर यहाँ घुमन्ते नभएर श्रमजीवी भएर आएर यहाँको दैलोभित्रबाट देखेको चीन चिनाउन लम्साल र आचार्यले मेहनत गरेका छन् । चीनलाई नेपाली आँखाबाट हेरेर नेपाली पाठकमाझ चिनाउन उनीहरुले पहल गरेका छन् ।

    एक सन्तान नीतिमा छोरालाई प्राथमिकता दिने क्रममा कसरी छोरीहरु कम भए र छोरीहरुको महत्व बढ्यो भन्ने तथ्यांक लम्सालले दिएका छन् । अरनिकोले बनाएको श्वेत चैत्यमा नेपाली प्रवेशमा पैसा नलाग्ने तर चिनियाँलाई लाग्ने रोचक तथ्य दुवै किताबमा उल्लेख छन् ।

    किताबमा चीनको सकारात्मक पाटामात्रै छैनन्, दुःखद पाटा पनि छन् । जस्तो चीनमा चालकदेखि पसलेसम्मले गर्ने नक्कली ठगी, चीनको लामा गुम्बामा नेपालको मूर्ति भएर पनि क्रेडिट नदिइएकालगायतका कुरा आचार्यले छोएका छन् । लम्सालले चिनियाँ भाषा आकर्षक भएर पनि कतिपय महिलाहरुलाई खराब चित्रित गर्ने कुराहरुमा धेरै आलोचना भएकालगायतका कुराहरु जोडेका छन् । दुवै लेखकले सगरमाथा चीनको मात्रै र लुम्बिनी नेपालको मात्रै नभएर भारतको भएको भन्ने आम चिनियाँ बुझाइ भए पनि चिर्न ठूलो प्रयत्न नगरिएको कुरा आलोच्य भनेर संकेत गरेका छन् । चिनियाँ सरकारी मिडियामा काम गरेका भन्दैमा चीनका सकरात्मकमात्रै कुराहरु छन् भन्ने अनुमान गरेर पुस्तक नछुनेहरुलाई धेरै छुट्ने खुराक किताबमा छन् ।

    लेखकहरुले चीन र नेपालका मिल्ने कुराहरुको तुलना गरेका छन् । जस्तैः विदेशी खासगरी गोरो छालालाई महत्व दिनेदेखि चीनको वसन्त चाड र नेपालको दशैंको तुलना गरेका छन् लेखकहरुले । दशैंमा जस्तै चीनको वसन्त चाडमा पनि नयाँ लुगा लगाउने, दक्षिणा पाउने, घरआँगन सफासुग्घर बनाउने, मान्यजनलाई मान्ने कुरा समान भएको बताएका छन् । लम्सालले नेपालको दशैंमा दैत्यमाथि देवताको जीत भएको जस्तै चीनको वसन्त पर्वमा नियान राक्षस पराजित गरेको मिथक भएको लेखेका छन् । आचार्यले नेपालमा जस्तै चिनियाँहरुले पनि धुपबत्ती बाल्ने र पूजाआजा गर्ने कुरा लेखेका छन् ।

    नोभेम्बर ११ अर्थात् ११-११ आउने दिनलाई चिनियाँ युवाले एकल दिवसको रुपमा मनाएको रोचक प्रसंग र त्यो बेला अनलाइन सपिङका बाढी आउने दुवै लेखकले गज्जबसँग लेखेका छन् । चीनमा साकाहारी हुन बडो गाह्रो भएको र साकाहारीभन्दा अन्डा, माछा, मासुबाट साग वा तरकारीमात्रै तानेर पनि खान सकिने अर्थमा धेरै चिनियाँहरुले बुझ्ने गरेको दुवै लेखकहरुले आफ्ना अनुभवसहित लेखेका छन् । कतिपय नेपालीहरुले खाएको चकलेट गाईको सुकुटी परेका रोचक किस्सा आचार्यले लेखेका छन् भने आफूले साकाहारी खाना माग्दा झण्डै असम्भव जस्तै भएको लम्सालले लेखेका छन् ।

    आचार्यले चीनको सामाजिक सञ्जाल, फेसबुक प्रतिबन्धले नेपालीहरुले पाएका दुःख, नेपाली भाषा शुद्ध बोल्ने चिनियाँ रेडियोका प्रस्तोताले नेपाली प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाले २०७० मंसिर २० गते अंग्रेजी मिसाएर बोल्दा नबुझेको जस्ता रोचक कुरा लेखेका छन् ।

    नातिनी पर्नेलाई सासू भन्नुपर्ने एक चिनियाँको रोचक सम्बन्ध आएको कुरा आचार्यले लेखेका छन् भने पारपाचुके भइसकेको बुढा छोरीको आडमा पालिन आएपछि पुनः सँगै भएको र पूर्वबुढाले विवाह गर्न प्रस्ताव गर्दा नमानेको तथा खानपिन भने दिँदै आएकी महिलाको कथा लम्सालले लेखेका छन् । एक सन्तान नीतिमा छोरालाई प्राथमिकता दिने क्रममा कसरी छोरीहरु कम भए र छोरीहरुको महत्व बढ्यो भन्ने तथ्यांक लम्सालले दिएका छन् । अरनिकोले बनाएको श्वेत चैत्यमा नेपाली प्रवेशमा पैसा नलाग्ने तर चिनियाँलाई लाग्ने रोचक तथ्य दुवै किताबमा उल्लेख छन् ।

    कतिपय कुरामा समान विषयमा लेखिए पनि उदाहरण र लेखनीका प्रसंग फरक भएकाले दुवै किताब एकअर्काका परिपूरक छन् । चिनियाँ भाषाको उच्चारण र प्रयोगमा केही जानकार भएकाले लम्सालले चिनियाँ अक्षरहरु धेरै स्थानमा प्रयोग गरेका छन् । नेपाल र चीनको उच्चारण फरक फरक हुँदा कसरी चिनियाँहरुले नेपालीले भनेको नबुझ्ने र कसरी चिनियाँहरुले भनेको नेपालीलाई गाह्रो हुने भन्ने बारेमा लम्सालले उदाहरण दिएका छन् । लुम्बिनी भ्रमण गर्ने चिनियाँ यात्रु ह्वेन साङलाई चीनमा सुआनचाङभन्दा मात्रै चिन्ने लेखेका छन् ।

    आचार्यले चीनको सामाजिक सञ्जाल, फेसबुक प्रतिबन्धले नेपालीहरुले पाएका दुःख, नेपाली भाषा शुद्ध बोल्ने चिनियाँ रेडियोका प्रस्तोताले नेपाली प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाले २०७० मंसिर २० गते अंग्रेजी मिसाएर बोल्दा नबुझेको जस्ता रोचक कुरा लेखेका छन् । विश्वविद्यालय प्रवेश गर्दा चिनियाँले दिनुपर्ने परीक्षा ‘काउखाउ’का दुःख, चीनको कान्सु प्रान्तका अविवाहित महिलाले रातो लाछा कपालमा लगाउने तर नेपालमा विवाहित महिलाले रातो सिन्दूर लाउने जस्ता तुलना आचार्यले रोचक रुपमा गरेका छन् । बेइजिङमा आउने मौसमी परिवर्तनका कुरादेखि छोटो समयमा भएका विकासे कुरा आचार्यले राम्रोसँग उतारेका छन् ।

    सन् १९७८ को अक्टोबरमा जापान भ्रमणमा जाँदा तत्कालीन उपप्रधानमन्त्री तङ स्याओपिङलाई जापानीहरुले उच्च गतिको रेलको नाममा हेपेको र त्यसैको इखले चीनले जापानलाई उछिन्ने खालको विकास गरेको कथा लम्सालले राम्रोसँग लेखेका छन् ।

    लम्सालले चिनियाँ रक्सी माउथाइ सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनदेखि सन् २०१३ का राष्ट्रपति ओबामासम्मलाई चखाएको भन्दै चिनियाँले कूटनीतिसँगै रक्सीको पनि व्यापक ब्रान्ड बनाएका रोचक किस्सादेखि माउथाउको उत्पादन कथा लेखेका छन् । उनले पहिले बेलायत, अमेरिकादेखि बेल्जियमको सहयोगमा रेल बनाएको चीन अहिले कसरी रेलका नामका असंख्य रेकर्डहरु बनाएर आफैं प्रविधि हस्तान्तरण गर्ने तहमा पुग्यो भन्ने रोचक कुरा लम्सालले लेखेका छन् ।

    सन् १९७८ को अक्टोबरमा जापान भ्रमणमा जाँदा तत्कालीन उपप्रधानमन्त्री तङ स्याओपिङलाई जापानीहरुले उच्च गतिको रेलको नाममा हेपेको र त्यसैको इखले चीनले जापानलाई उछिन्ने खालको विकास गरेको कथा लम्सालले राम्रोसँग लेखेका छन् । सी चिनफिङले चर्चा गर्ने सिल्क रोड अर्थात रेशमी मार्गको कथा चीनमा मात्रै नभएर भारतीय उपमहाद्वीपमा पनि भएको भन्दै लम्सालले कालीदासदेखि वाण भट्ट जस्ता संस्कृतका विद्वानहरुले रेशमी मार्गका बारेमा रचनाहरु सिर्जना गरेका उदाहरण चित्ताकर्षक बयान गरेका छन् । साथीभाइहरुमा को पहिले खाएको पैसा तिर्ने भन्नेमा भीडभाड र ठेलठाल हुँदा घाइते भएकोदेखि ज्यान गएका उदाहरण लम्सालले दिएका छन् ।

    समग्रमा चीनको विकास, चीन-नेपाल ऐतिहासिक साइनोदेखि चिनियाँ समाजको शहर र गाउँघरसम्म बुझ्न यी दुई पुस्तक सहयोगी छन् । अरु बेला नपढे पनि चीन आउन खुट्टा उचालेर बसेकाहरुले वा चीन आएकाहरुले पढ्दा पुस्तकले धेरै सहज बनाउँछ । ‘चीन चियाउँदा’ एकै बसाइ वा उडानमा पढ्न सकिन्छ भने ‘निहाउ नमस्ते’ केही बाक्लो भएकोले थप केही समय दिएमा पढ्न सकिन्छ । यी दुई किताब सबै चीन बुझ्ने ग्रन्थ होइनन् । तर, चीन हेर्ने दुई नेपाली पत्रकारका दुई राम्रा दूरबिन चैं अवश्य हुन् ।

    २०७५ साल अगाडिका कुराहरुमात्र भएकाले कोभिडकालको चीन, सन् २०२२ को विन्टर ओलम्पिकलगायतका कुराहरु पुस्तकमा अट्न पाएनन् । यी खुराकहरु समेटेर लेखकहरुलाई नयाँ पुस्तक निकाल्न अवसर मिलेको छ ।

  • सर्रे अम्बासको त्यो फुच्चे केटो म

    सर्रे अम्बासको त्यो फुच्चे केटो म

    भदौ १३ गते सिराहाको सर्रे अम्बासमा मलाई देख्नासाथ धनकुटाका पाका कमरेड गोपाल गुरागाईँले सोध्नु भयो, त्यसबेला सबै भन्दापछि आउने फुच्चे–फुच्चे महाधिवेशन प्रतिनिधि तपाईँ नै हो नि हैन ? म हाँसे मात्र । उहाँको प्रश्नले मलाई ३४ वर्ष अघिको घटना एक पटक सम्झाई दियो । सुरु मै महाधिवेशन स्थल पुग्ने तर महाधिवेशन सुरु हुँदा चाहिँ सबैभन्दा ढिलो देखा पर्ने ‘केटो’म नै थिएँ ।

    नेकपाको चौथो महाधिवेशन स्थल सर्रे अम्बासमा मेरो जिम्मेवारीको प्राविधिक पक्ष त्यति उत्पात केही पनि थिएन- हलको आन्तरिक साजसज्जा गर्ने र साउण्ड सिस्टमको व्यवस्था गर्ने !  त्यति बेलाको चलन अनुसार साजसज्जा भनेको सहिद र अन्तर्राष्ट्रिय ‘प्राधिकार’हरुको फोटो भित्तामा टाङ्ने, मोटिभेसनल नारा आकर्षक अक्षरमा लेखिएको राता तुलहरू र उद्घाटनको ब्यानर तयार पार्ने र उपयुक्त ढङ्गले भित्तामा टाङ्ने … बस्! साउण्ड सिस्टमको चुनौती चाहिँ बाहिर आवाज नजाने तर त्यहाँ चाहिँ प्रष्टै सुनिनु पर्ने भनिएको थियो । मलाई यी कामका अतिरिक्त पार्टी हेडक्वार्टरले महाधिवेशनको डकुमेन्ट प्रोडक्सनको जिम्मा दिएको थियो । त्यतिखेर कम्प्युटर टाइप प्रयोगमा आइसकेको थिएन– थोरै कागजमा, लामा विश्लेषण गरिएका डकुमेण्ट तयार गर्नुपर्ने चुनौती थिए । सबै तयारी पछि सूचना लिक भएको आशंकामा सिराहा कै मेथियाई गाउँमा तय गरिएको महाधिवेशन रद्द गरिएको करिब अढाई महिना पछि म फेरी त्यही काम गर्न हप्ता दिन अघि सर्रे अम्बास जाँदै थिएँ ।

    महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राखी त्यहाँ जाने नेता, प्रतिनिधि तथा स्वयंसेवकहरूलाई विभिन्न गौडाबाट लगिएको थियो । म चाहिँ अन्तिम स्पटबाट महाधिवेशन स्थलतिर जाँदै गर्दा भने हुनेवाला महासचिव मदन भण्डारीसँगै थिए । ३४ वर्षपछि अहिले पनि सर्रे अम्बास पुग्न राइनी खोलाले ३/३ ठाउँमा रोक्छ । त्यति बेला पैदल हिँड्न समेत खोलाले छेक्थ्यो, अहिले बाइक र पैदल यात्रीहरू झोलुङ्गे पुल हुँदै तर्ने सुगमता भएछ । तर भेल बढ्दा गाडी सहित तर्न अवरोध रहेछ । त्यो ठाउँ सञ्चार सुविधाबाट अझै  पर रहेछ। त्यसबेला हामी दुवैले महाधिवेशनका दस्ताबेज र मेरो प्राविधिक कार्यलाई आवश्यक पर्ने सामग्रीका गह्रौँ झोला बोकेका थियौँ । रातीको यस्तै १२/१ बजेको हुँदो हो । तेस्रो घुम्तीमा खोला तर्नु अघि कमरेड मदनले भन्नुभयो, ‘कुन बेला कसले कहाँ प्याक्क हानेर सिध्याउँछ, के मरिहत्ते गर्नु ? आउनुस् एक छिन थकाइ मारौँ !’ हामी दुवै आकाश हेर्दै चौरमा केही बेर निस्फिक्री पल्टियौँ । फेरी उहाँले नै सोध्नुभयो– यी डकुमेन्ट पहिले पनि ल्याउनु भएको थियो हैन र तपाईंले? यतै छोडेको हैन? मैले हो भनेँ । ‘त्यसो भए यी भारी किन बोकी रहने त ?’  उहाँको यो प्रश्नसँगै दस्ताबेज अनावश्यक रहेको ठानी सबै डकुमेन्ट बाल्यौँ । त्यसपछि हल्का झोला बोकी महाधिवेशन स्थल पुग्यौँ ।

    भदौ ७ गते म त्यतिखेरे ‘टु–इन–वान’ भनिने नेशनल पानासोनिक कम्पनीको टेपरिकर्डरको माइक्रोफोनलाई लट्ठीहरू बाँधी बनाइएको ‘माइक स्ट्याण्ड’मा जोड्दै थिएँ । एक्कासि मदन कमरेड अलि आत्तिए झैँ म भए ठाउँमा आउनुभयो । सायद उहाँहरू पोलिटब्युरो बैठक बसिरहनु भएको थियो । सोध्नु भयो, पहिले ल्याएको डकुमेन्ट कहाँ छ ? मैले भनेँ, कमरेड आर (माधव नेपाल)लाई थाहा छ, उहाँलाई दिएको हो । मसिनो स्वरमा मदनले भन्नु भयो, गल्ती भयो जस्तो छ । राजनीतिक प्रतिवेदनमा संशोधन भएकोले तपाईँलाई रि–प्रोडक्सन गर्न भनिएको हो । पहिलेको त्यो त काम लाग्दैन नि ! त्यति बेला म काठमाडौं मजदुर विशेष जिल्ला संगठन कमिटीको प्रमुख (सचिव) थिएँ । मैले भनेँ, केन्द्रले गरेको करेक्सन त मैले कसरी जान्नु र कमरेड !

    उहाँ फर्किनु भयो, मदन फर्किएको मिनेट भरमै ‘आग–बबुला’हुँदै माधव आउनु भयो । उहाँले चोर औँला नचाउँदै भन्नुभयो– डकुमेन्ट खै ? ल्याउनुस् । मैले भनेँ पहिलेको तपाईँलाई नै छोडेको हो, अहिलेको त डढाइयो ! ‘तपाईँ  गैर जिम्मेवार’ माधवले मेरो कडा आलोचना गर्दै सजायँ सुनाउनु भयो– पर्सी (भदौ ९ गते) महाधिवेशन सुरु हुँदा मलाई सबै डकुमेन्ट जस्ताको तस्तै चाहिन्छ, म अरु कुरा जान्दिन । मैले भनेँ– पुरानो डकुमेन्टमा परिवर्तन भएको कुरा कमरेडहरूले पनि भन्नु भएन । मैले सोध्न मिलेन । ठीक छ कमरेड, मलाई ‘राजमार्ग’सम्म पुर्‍याउने व्यवस्था होस् । आज राती नै काठमाडौं पुग्छु । सामग्रीसहित पर्सी बिहान राजमार्गमा नै हाजिर हुन्छु । त्यहाँबाट यता ल्याउने प्रबन्ध होस् ।

    त्यस्तै भयो । म ७ गते राती काठमाडौं फर्किएँ । कुपण्डोलमा पार्टीका साथी कवीन्द्र अमात्यको घर छ । उहाँकै घरमा हामीले पार्टी केन्द्रको छपाइको काम गर्न हेभि–ड्युटीवाला फोटोकपी मशिन राखेका थियौँ । त्यहाँ पहिले फोटोकपी गरेको सबै दस्ताबेजको मास्टर–कपी सुरक्षित थियो । सायद त्यतिखेर सयको हाराहारीमा प्रतिनिधि हुनुहुन्थ्यो । जलाइएका सबै दस्ताबेजलाई मैले सबै प्रतिनिधिलाई पुग्ने गरी फोटोकपी गरेँ । सेन्टर स्टीच गरी किताब जस्तै बनाएँ र राती नै फर्किएँ ।

    मलाई भनिएको थियो– कटारीमा ओर्लनु । ओर्लिएपछि चरा कराएको आवाज सुन्नु, जताबाट आवाज आउँछ, त्यतै जानूँ । जो व्यक्ति भेटिनु हुन्छ, उहाँसँगै पछि लाग्नु । पूर्व जाँदा हामी त्यतिखेर लालिमा यातायातको बस चढ्थ्यौँ । लालिमा यातायातले बिहान करिब ३/४ बजेतिर पुलिस पोस्टकै छेउमा झारी दियो । ठ्याक्कै स्मरण छैन, त्यो कटारी वा मिर्चैया कतै हुनुपर्छ । झोलाभरि संवेदनशील दस्ताबेज, त्यहाँको केही पनि लोकेशन नजान्ने म उभिई रहेछु, चरा कराएको आवाज आउँदै आएन । झण्डै ४५ मिनेट जति पछि चरा करायो, खुट्टा खञ्चयाङ खञ्च्याङ गर्दै कमरेड लाल (राम औतार पासवान) देखिए । मैले फुसफुसाउँदै सोधेँ– किन ढिला कमरेड ? संवेदनशील ठाउँमा यति बेरसम्म कुर्न पर्‍यो, केही भएको भए कति ठूलो क्षति हुन्थ्यो होला !

    उनको आफ्नै कथा सुरु भयो- समय मै आइपुग्थेँ । बाटोमा सर्पले टोक्यो । अब गोमनले डस्यो, मरिनो भइयो भन्ने लाग्यो । बाँची पो हालिन्छ कि भनेर स्वास्थ्य चौकी खोज्ने तिर लागेँ । बाँचे भने त तपाईँलाई लिन आइहाल्थेँ । मरिने भयो भनेँ के गर्ने ? तपाईँ गर्नु होला ? कम्युनिस्ट मान्छे, मर्नै लाग्दा “राम–राम” भन्न भएन, के भन्ने होला ? आपत् पर्‍यो, बाटाभरि माओत्से तुङ, माओत्से तुङ भन्दै हिँडे ।

    त्यो अप्ठ्यारो समयमा पनि लालका कुराले मलाई रोमाञ्चित गर्‍यो । सम्झेँ- हाम्रो पार्टी पङ्क्ति कसरी धार्मिक अन्धविश्वास र भौतिकवादको छिपछिपे ज्ञानबीच रुमल्लिई रहेको छ ! विडम्बना पनि कस्तो ! मरिने पो भइयो कि भन्ने चिन्ताले (सायद) स्वर्ग जान यी कमरेड जुन माओको नाम जप्दै थिए, आजैबाट सुरु हुने महाधिवेशनमा तिनै माओको विचारधारा पार्टीको मार्गदर्शक सिद्धान्तबाट हट्दै थियो !

    विष्णुपुरवा गाउँ पुग्दा झिसमिसे उज्यालो भयो । गाउँलेहरू हातमा लोटा लिएर बाटो छेउमा मलमूत्र त्याग्न लामबद्ध हुन थालिसकेका थिए । हामीलाई उज्यालोमा हिँड्ने अनुमति थिएन । उता ९ गते महाधिवेशन सुरु हुनु अघि दस्ताबेज पुग्नै पर्ने ! कमरेड लालले मलाई एउटा सेल्टरमा राखे । मैले पार्टीलाई आफू आइपुगेको र महाधिवेशन स्थलमा आउने अनुमतिको लागि पत्र लेखेँ । मलाई त्यो सेल्टरबाट सर्रे अम्बास कति पर छ, त्यो पनि थाहा थिएन । दिउसो त्यस्तै ४ बजेतिर होला म महाधिवेशन स्थल पुगेँ । त्यतिखेर महाधिवेशन सुरु भइसकेको रहेछ । जीवराज आश्रित मैले लौरो बाँधेर बनाएको माइक स्ट्याण्ड अघि उभिएर उद्घोषण गर्दै हुनुहुँदो रहेछ । मलाई देख्नासाथ कमरेड काठमाडौंबाट भरखर आइपुग्नु भयो भन्नुभयो । त्यो जीवन्त र ऐतिहासिक महत्वको महाधिवेशनमा अन्ततः म पनि  सहभागी हुन सकेँ । गोपाल गुरागाईँ कमरेडले त्यही सन्दर्भलाई स्मरण गर्दा मलाई एकै छिन महाधिवेशनको त्यो क्षणको नियाँस्रो लाग्यो । यदि आज मदन जीवित हुनुभएको भए यस्तो भावना आइहाल्दो रहेछ । यदि चौथौँ महाधिवेशनले कोर्स करेक्सन नगरेको भए सँगसँगै यो पनि आइहाल्दो रहेछ ।

    अहिले सम्झन्छु, २०४६ सालको चौथो महाधिवेशनदेखि २०७८ सालको दशौं महाधिवेशनसम्म ‘व्यवस्थापन’ भन्ने विषयले मलाई छोडेको छैन, भलै भूमिका फरक फरक किन नहोस् । सर्रे अम्बासमा नेकपा स्थापनाको हिरक स्तम्भ निर्माणको शिलान्यास भदौ १३ गते भयो । त्यस स्मारक निर्माणको समन्वय अहिले पनि मेरो जिम्मामा परेको छ । पार्टीमा लाग्दा जिम्मा पाउँदा जो पनि दङ्ग पर्छन् । ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि किन दङ्ग नपरौँ  ?

  • बालेन, के छैन तिम्रो शहरमा ?

    बालेन, के छैन तिम्रो शहरमा ?

    तिमी मेयर भयौ,
    तिम्रो चर्चा छ
    तिमीसँगै तिमिले चलाएको
    बुल्डोजरको चर्चा छ ।

    साँझमा बल्दा बिजुली
    झलमल्ल, उज्यालो देखिन्छ
    झरि परेर उघ्रिएको मौसममा
    गगनचुम्वी महल भव्य र आकर्षक देखिन्छन् ।

    व्यस्त छ, सडक…
    पैदलयात्री ठेलिएर/पेलिएर
    हिडिरहन्छन् फुटपाथमा
    सुत्दैन रातको १२ बजेसम्मै
    भालेको डाको अघि उठिसक्छ ।

    ०००

    यही व्यस्ततालाई, यही कोरा सुन्दरतालाई
    शौम्य शहर भन्दै त छैनौं ?
    साझको बत्तीले भिलिमिलि देखिएजस्तो,

    अग्ला-अग्ला महलको टुप्पाबाट नियाल्दा
    मनोमोहक देखिएजस्तै छ र शहर ?
    भोको पेट पाल्न सडकमा गाउने
    मगन्तेप्रति दया नजाग्नेहरु
    हजारौं उडाउँछन् रेष्टुराँ र बारहरुमा

    हिड्नलाई फुटपाथ छैन
    मुख थुन्नु पर्छ, दुर्गन्धले

    ०००

    पूजा अर्चना गर्न जाँदा
    मन्दिर, शक्तिपीठहरुमा
    भक्तजनहरुका जुत्ता हराउँछन्

    भान्छामा सकिँदा नुन
    पैंचो चल्दैन, छिमेकीको ।
    गाडी चढ्दा जेव काटिन्छन्,
    अगाडीको कोठामा शोक पर्दा
    पछाडी भोज चल्छ ।

    पहिले घर बनाएर,
    खोलामाथि सडक बनाएर
    भव्य विकास गरियो ।
    अहिले घर भत्काएर, सडक भत्काएर
    खोला बनाएर विकास गरिदैछ ।

    ०००

    बाहिर निस्कदा वर्षात्मा
    बढीले बगाउँछ, हिउँदमा धूलोले ढाक्छ
    विद्यालय गएको बच्चो सडकको भेलसँगै बग्छ
    दशक पहिले थालेको अधुरो फ्लाइ ओभर
    दैनिक पैदल यात्रुलाई गिज्याइरहन्छ,

    विभिन्न कोण प्रतिकोणबाट
    मानवता र स्वाभिमानको
    बलात्कार गरिरहन्छ ।
    भन त बालेन, के हुँदैन, तिम्रो शहरमा ?

    ०००

     

     

     

     

  • ‘ह्वाइ आई एम अ हिन्दू’ : भाजपाकाे ‘हिन्दूत्व’ विचारधाराकाे चिरफार !

    ‘ह्वाइ आई एम अ हिन्दू’ : भाजपाकाे ‘हिन्दूत्व’ विचारधाराकाे चिरफार !

    भारतीय राजनीतिज्ञ शशि थरुरको पुस्तक ‘म हिन्दू किन हुँ’ जुन २०१८ मा प्रकाशित भएको थियो । पुस्तकमा थरुरले हिन्दू धर्मको इतिहास र यसका मूल सिद्धान्तहरुसँगै भारतमा भएका सामाजिक-सांस्कृतिक विकासहरु जुन धर्मसँग सम्बन्धित छन्, ती सबै विषयवस्तुलाई प्रमाणका साथ आफ्ना बुझाइहरु राखेका छन् ।

    पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा थरुरले हिन्दू धर्मको संक्षिप्त इतिहास र आफ्नै व्यक्तिगत विश्वासको विकासबारे प्रकाश पारेका छन् । उनी भन्छन्, ‘हिन्दू धर्म निरन्तर विकास हुने स्पेक्ट्रम (वर्णक्रम) भएकाले यसले धेरै विरोधाभासी विचारहरुको सहअस्तित्वलाई झल्काउँछ । हिन्दू धर्मले देखाएको यो विरोधाभासपूर्ण जटिलताले अन्य धर्महरुलाई अन्तर्निहित गर्ने एकताबद्ध संगठनात्मक शक्तिबाट वञ्चित भएको देख्नेहरुले यसलाई आफ्नो कमजोरीको रुपमा हेरेका छन् । त्यस्ता चिन्ताहरुले हिन्दूत्व मिशनलाई उत्तेजित गरेको छ, जसले आफ्नो तत्वावधानमा हिन्दू धर्मलाई सुदृढ र मानकीकरण गर्न जोसिलो ढंगले अगाडि आउँछ । यद्यपि थरुरले जोड दिँदै वैधता र भिन्नताको स्वीकृति हिन्दू धर्मको मुख्य शक्ति हो र भारतको लोकतान्त्रिक संस्कृतिको जग स्थापना गर्न जिम्मेवार छ ।

    थरुरले हिन्दू धर्मका महान आत्माहरु, आदि शंकरा, पतञ्जली, रामानुज, स्वामी विवेकानन्द, रामकृष्ण परमहंस र अन्य धेरैको बारेमा कुरा गरेका छन्, जसले हिन्दू धर्मको सारमा ठूलो योगदान पुर्‍याएका छन् । उनले हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण विचारधारा, जस्तै अद्वेत वेदान्तमा गहिरो अध्ययन रहेको देखिन्छ । थरुरले हिन्दू दर्शनका महत्वपूर्ण पक्ष पुरुषार्थ र भक्ति जस्ता अवधारणाहरुबारे प्रस्ट गर्नुका साथै गीता र विवेकानन्दको विश्ववादका पाठहरुलाई निपुणताका साथ प्रस्तुत गरेका छन् । आस्था र विश्वासको जगमा हिन्दू धर्मलाई मान्नेहरुसँग सहानुभूतिपूर्वक अन्वेषण गरी तयार पारिएको पुस्तक हो, ‘ह्वाइ आईएम अ हिन्दू’ ।

    उनले हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण विचारधारा, जस्तै अद्वेत वेदान्तमा गहिरो अध्ययन रहेको देखिन्छ । थरुरले हिन्दू दर्शनका महत्वपूर्ण पक्ष पुरुषार्थ र भक्ति जस्ता अवधारणाहरुबारे प्रस्ट गर्नुका साथै गीता र विवेकानन्दको विश्ववादका पाठहरुलाई निपुणताका साथ प्रस्तुत गरेका छन् । आस्था र विश्वासको जगमा हिन्दू धर्मलाई मान्नेहरुसँग सहानुभूतिपूर्वक अन्वेषण गरी तयार पारिएको पुस्तक हो, ‘ह्वाइ आईएम अ हिन्दू’ ।

    आजको आधुनिक युगमा राजनीतिको नाममा हिन्दू धर्मभित्रका असंख्य अभिव्यक्तिहरु जसमा वैचारिक हिसाबले दक्षिणपन्थी संगठनहरु र उनीहरुका अनुयायीहरुद्वारा आस्थाको नाममा गरिएका विभिन्न हिंसालाई पनि समावेश गरिएको छ । थरुर केवल विश्वासको आधारमा मात्र नभइ सांस्कृतिक कारण पनि आफूलाई अब्बल हिन्दूको हैसियतमा प्रस्तुत गरेका छन् । सांस्कृतिक कारणबारे उनी भन्छन्, मेरो आफ्नै भूमिमा मेरो विश्वासको इतिहासमा गर्व छ । आदि शंकरको यात्रा, जसले भारतको चारै दिशाको अन्तिम भूमिसम्म पुगेर आध्या बहसहरु गरे, सनातन धर्मको मर्मलाई प्रचारित गर्नुका साथै आफ्ना मठहरु निर्माण गरे ।

    थरुर लेख्छन्, जब सन् १९८० को दशकको उत्तरार्द्धमा विश्व मिडियाले पहिलो पटक हिन्दू कट्टरवाद शब्दको प्रयोग गर्‍यो अनि हामी (हिन्दूहरु)मध्ये धेरैले आफैंलाई सोधपुछ गर्न थाल्यौं ! थरुरको नजरमा यो अनौठो थियो । यसबारे टिप्पणी गर्दै उनी भन्छन्, हिन्दू कट्टरपन्थीविनाको धर्मको रुपमा रहेको छ । सनातन धर्मका कोही पनि संस्थापक छैनन् । यसमा ‘संगठित चर्च’ जस्तो अवधारण भेटाउँदैन । यसमा न बाध्यात्मक विश्वास छ न त बाध्यात्मक पूजाको संस्कार नै । अरु धर्म जस्तो यसमा कुनै एकल पवित्र पुस्तक छैन ।

    थरुरको बुझाइमा एक हिन्दू आस्तिक वा नास्तिक दुबै हुनसक्छ, जसका सर्तहरु अर्थोडक्सी (विश्वास) को सट्टा अर्थोप्राक्सी (कार्य) सँग सम्बन्धित हुन आउँछ । आस्तिकको रुपमा कसैले वेदको पवित्रता, आत्माको अस्तित्व र ईश्वरमा विश्वासलाई स्वीकार गर्छ वा उसले यीमध्ये एक वा बढी विश्वासलाई अस्वीकार गर्नसक्छ र अझै पनि हिन्दू हुनसक्छ । उसलाई हिन्दू दर्शनको नास्तिक संस्करणको अनुयायीको रुपमा बुझ्न सकिन्छ ।

    थरुरका बुझाइमा एक नास्तिक हिन्दूको रुपमा उसले बौद्ध र जैन धर्मसहित पाँचवटा विद्यालय (स्कूल अफ थट्स) मध्ये एउटामा आफ्नो सहमति घोषणा गर्नसक्छ, जुन तिनीहरुको समयको कर्मकाण्डवादी हिन्दू धर्मको विरुद्धमा सुधार आन्दोलनको रुपमा उठेपछि, व्यवहारिक रुपमा अभिभावकको विश्वासमा पुनः समाहित भएको थियो (यद्यपि तिनीहरुका अनुयायीहरुले यसलाई नदेख्न सक्छन्) वा नास्तिकले आफूलाई भौतिकवादी चार्वाक स्कूलमा जोड्न सक्छ, जसका अनुयायीहरुले धेरैजसो भार्मिक अभ्यासहरुलाई निन्दा गरे र आफूलाई धन र नाफामा समर्पित गरे । लेखकका अनुसार एकै समयमा एक हिन्दूको रुपमा, म हिन्दू धर्मले कुनै झूटो प्रमाणहरु पेश गर्दैन भन्ने तथ्यको कदर गर्छु । सृष्टिमा आश्चर्य व्यक्त गर्ने क्षमता र सृष्टिकर्ताको सर्वज्ञताको बारेमा शंका गर्ने क्षमता हिन्दू धर्मको लागि अद्वितीय छ ।

    उनी भन्छन्, हिन्दू कट्टरपन्थीविनाको धर्मको रुपमा रहेको छ । सनातन धर्मका कोही पनि संस्थापक छैनन् । यसमा ‘संगठित चर्च’ जस्तो अवधारण भेटाउँदैन । यसमा न बाध्यात्मक विश्वास छ न त बाध्यात्मक पूजाको संस्कार नै । अरु धर्म जस्तो यसमा कुनै एकल पवित्र पुस्तक छैन ।

    पुस्तकमा भारतका महान दार्शनिक-राष्ट्रपति डा.सर्वपल्ली राधाकृष्णनको अनुभूतिलाई साभार गरिएको छ, जसमा राधाकृष्णनले भनेका छन्, हिन्दूहरुलाई सामान्य इतिहास, साझा साहित्य र साझा सभ्यतासहितको छुट्टै सांस्कृतिक इकाई भनिएको छ । हिन्दू धर्मप्रतिको मेरो निष्ठा दोहोर्‍याउँदै म यो भूगोल र इतिहास, यसको साहित्य र सभ्यतामा सचेत रुपमा दाबी गर्दैछु । आफूलाई अनादि कालसम्म फैलिएको गौरवमय परम्पराको उत्तराधिकारी (एक अर्ब उत्तराधिकारीहरुमध्ये एक) भनेर चिनाउँदै छु । म पूर्ण रुपमा स्वीकार गर्दछु कि मेरा धेरै साथीहरु, स्वदेशी र सह-हिन्दूहरुले समान आवश्यकता महसुस गर्दैनन् र त्यहाँ हिन्दूहरु छन्, जो भारतीय छैनन् (वा अब छैनन्) । तर, म यो सांस्कतिक र भौगोलिक हिन्दू धर्मसँग सहज छु । हिन्दू हुन विभिन्न चित्तबुझ्दो तथ्यहरुले भरिएको थरुरको पुस्तक हिन्दू धर्म बुझ्न चाहनेहरुको लागि तृष्णा जगाउने खालको छ । वेद, उपनिषद, शंकराचार्य, विवेकानन्दसहित हिन्दू दर्शन नपढेकाहरुले थरुरको यो पुस्तकलाई पूर्णतः ‘स्पर्श’ गर्न सक्दैनन् जस्तो मेरो अनुभति रह्यो ।

    आजको बदलिँदो विश्व राजनीतिमा आर्थिक प्रतिस्पर्धासँगै आआफ्नो सभ्यताको सम्बर्द्धन गर्न र फैलाउन जो पनि चाहिरहेका छन् । हिन्दू सभ्यताको मूल तत्कालीन भारत वर्षलाई मान्दै गर्दा वर्तमान समयमा त्यसबारे रुचि राख्नेहरुका लागि यो पुस्तक दमदार छ । भारतीय जनता पार्टीले आधिकारिक तवरबाट सन् १९८९ मा ‘हिन्दूत्व’लाई आफ्नो विचारधाराको रुपमा कसरी अपनायो भनी बुझ्न यो पुस्तक सहयोगी छ ।

    सन् १९२५ मा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लगायत अन्य संगठनहरुको निर्माण र विस्तारसँगै हिन्दूत्वको शब्दको भाष्य निर्माण हुन थाल्यो । हिन्दूत्वको अवधारणाको अविष्कारको श्रेय मुख्य रुपमा विनायक दामोदर सावरकर (१८८३-१९६६) जसले हिन्दूत्वलाई विचारधाराको रुपमा स्थापित गर्न कैयौं पुस्तहरु लेखेका छन् । गोलबलकर, श्यामाप्रसाद मुखर्जीदेखि दिनदयाल उपाध्यायसम्मले हिन्दू विचारधारालाई प्रस्ट र जोडदार ढंगले उठाएका तथ्यहरु भरपुर भेटिन्छ । उपाध्यायका अनुसार भारतको प्राचीन विशेषता अलग थियो, जसको आफ्ने लोकाचार हुन्थ्यो । उपाध्यायको बुझाइमा स्वतन्त्र भारत व्यक्तिवाद, लोकतन्त्र, समाजवाद, साम्यवाद र पूँजीवाद जस्ता पश्चिमा अवधारणाहरुमा भरोसा गर्न सक्दैन । भारतले आफ्नै दृष्टिकोण खोज्नु आवश्यक छ । उपाध्यायको दृष्टिमा एकातर्फ पश्चिमा विचार ‘संघर्षको सिद्धान्त’मा आधारित हुन्छ, जसले व्यक्ति र समाज, शासक र शासित तथा धनी र वञ्चितको बीच हुने संघर्षलाई मान्छ । अर्कोतर्फ, भारतीय चिन्तनले संघर्षको सट्टा सहयोग र संश्लेषणमा जोड दिन्छ । उनी तर्क गर्छन् कि पश्चिमी दिमागले अधिकारलाई जोड दिन्छ । खासगरी त्यस्ता समूह, जसको उनीहरुले प्रतिनिधित्व गरेको हुन्छ । उपाध्यायको नजरमा भारतीय लोकाचारमा कर्तव्यमा अधिक जोड दिइन्छ । त्यसका लागि द्वन्द्व होइन, समन्वय र समझ चाहिन्छ ।

    विद्वान र लिबरलको परिचय प्राप्त लेखक थरुर हिन्दूत्वसँग परहेज राख्छन् । गैरअख्यान विधामा लेखिएको यो पुस्तक अंग्रेजी भाषामा छ । ३२० पृष्ठमा तयार यो पुस्तक हिन्दू धर्म बुझ्न र यसका विभिन्न पाटाहरुमा मन्थन गर्न रुचि राख्नेहरुको लागि दमदार छ ।

  • समाज भाँड्ने माध्यम नबनोस् ‘भाइरल मोह’

    समाज भाँड्ने माध्यम नबनोस् ‘भाइरल मोह’

    केही समयअघि चितवनका एक विद्यालयका प्रधानाध्यापकले आफ्नी श्रीमतीलाई खुट्टा ढोग्न लगाएर फेसबुकमा तस्वीर पोष्ट गरे । उनले भाइरल पोष्ट भन्दै तस्वीर राखेपछि धेरैले प्रश्न गरे । कतिले विद्यालयका प्रधानाध्यापकको यस्तो व्यवहार देखिन्छ भने उनका विद्यार्थीले के सिक्लान् भनेर सामाजिक सञ्जालमै चिन्ता व्यक्त गरे ।

    त्यही कमेन्टमा उनको जवाफ थियो, अरु भाइरल हुन कस्ता कस्ता पोष्ट राख्छन्, मलाई पनि भाइरल हुने रहरले फोटो राखें । त्यसपछिका प्रतिक्रिया थेग्न नसकेपछि उनले त्यो पोष्ट नै हटाए ।

    अहिले भाइरल मोहमा यी शिक्षकले झैं पोष्टहरु राख्ने र हटाउने प्रतिस्पर्धा जस्तै देखिन्छन् सामाजिक सञ्जालका भित्ताहरुमा ।

    सरकारको सचिव पदबाट निवृत्त भीम उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । यस्तो लाग्छ, निवृत्त जीवन सामाजिक सञ्जालमै रमेर बिताउँदैछन् । अझ भीम उपाध्याय मनमौजी नामको फेसबुक पेजका पोष्टहरु हेर्दा उनी विवादमा आउने खालका स्टाटस लेख्न रुचाउने स्वभावका देखिन्छन् ।

    उनले धरानमा गोरुको मासु खाएको विषयमा चितवनकी पूर्णमाया गुरुङले कुनै भोजमा खाएको मासुको फोटो राखेर भने- गोरु खाने धराने ।

    सामान्यतया सामाजिक सञ्जाल चलाउने मानिस डिजिटल साक्षर हुन्छन् नै । तर, साक्षरता पढ्न जानेरमात्रै नहुने रहेछ । जानेको कुरालाई जीवन र सामाजिक सम्बन्धसँग जोडेर उपयोग गर्न सकिन्छ अनि बल्ल त्यसको सिकाइमा साक्षर गनिने रहेछ ।

    उता धरानमा गोरु काटेर खाएको विषयमा पक्ष र विपक्षमा प्रदर्शनहरु भइरहँदा यता चितवनमा भीम उपाध्यायविरुद्ध साइबर अपराधको जाहेरी दर्ता भएको छ । दिनदिनै गुरुङ परिषद्ले दबाबमूलक कार्यक्रम गरेर भीम उपाध्यायमाथि कारबाहीको माग गरिरहेका छन् ।

    कानूनी प्रक्रियाअन्तर्गत प्रहरी अनुसन्धान अघि बढ्ने हो भने पूर्णमायाले दिएको जाहेरीका आधारमा भीम उपाध्याय पक्राउ पर्नेछन् । बढीमा २४ दिनसम्म उनलाई प्रहरीले हिरासतमा राख्नसक्छ । अदालत पेश गरेपछि कसुर प्रमाणित गर्ने कागजात बलियो भएमा पुर्पक्ष हुँदै साइबर अपराधमा कैद सजायसमेत सुनाउन सक्छ । के उनले पूर्णमायाको फोटो सार्वजनिक गर्ने बेला यति परसम्म सोचे होलान् ?

    सामान्यतया सामाजिक सञ्जाल चलाउने मानिस डिजिटल साक्षर हुन्छन् नै । तर, साक्षरता पढ्न जानेरमात्रै नहुने रहेछ । जानेको कुरालाई जीवन र सामाजिक सम्बन्धसँग जोडेर उपयोग गर्न सकिन्छ अनि बल्ल त्यसको सिकाइमा साक्षर गनिने रहेछ ।

    हुन त उपाध्यायले पटक पटक पूर्णमायाले अनुरोध गरेर आफू धराने नभएको र गोरु पनि नखाएको अनुरोध गर्दा नहटाएको पोष्ट जाहेरी परेपछि हटाएका छन् । तर, ती प्रधानाध्यापकको झैं उनले पोष्ट हटाए पनि उपाध्यायले माफी पाएका छैनन् । किनकि उपाध्यायको उट्पट्याङले सामाजिक सञ्जालमा आएका गाली थेग्न नसकेपछि पूर्णमाया प्रमाण बोकेर प्रहरीकहाँ पुग्ने अवस्था आयो । अब त उपाध्यायविरुद्धको उजुरी नै प्रहरीमा लिखित रेकर्ड बनिसकेको छ ।

    धरानको गोरु काटेको कसुर हो वा होइन, हो भने कति गम्भीर हो र यसको कानूनी प्रक्रिया कसरी अघि बढ्नुपर्ने भन्ने विषयमा धेरै विश्लेषण भइरहेका छन् । यसतर्फ म जान चाहन्न । तर, धरानमा गोरुको मासु खाएको विषय सार्वजनिक र आलोचनाको सुरुवात हुने स्थल सामाजिक सञ्जाल नै हो ।

    आजको प्रतिस्पर्धात्मक प्रविधियुक्त समाजमा हामी चाहेर पनि इन्टरनेटको जालोमा जोडिएको सामाजिक सञ्जालबाट टाढा हुन सक्दैनौं । हाम्रा दैनन्दिनका क्रियाकलाप, कतिपयको जीविकाको माध्यम नै इन्टरनेट, सामाजिक सञ्जालसँग जोडिएको छ ।

    परिवर्तनशील सामाजिक विकासक्रमसँगै विकसित यस्ता प्रविधिलाई समाजका सामाजिक प्रतिष्ठा खललका माध्यम बनाउनबाट हामीले जोगाउन सक्छौं । तर, त्यसको लागि सामाजिक सञ्जाललाई सुरक्षित रुपमा कसरी चलाउने भनेर जान्न जरुरी छ ।

    हामी विविधतायुक्त समाजमा छौं । धार्मिक आस्था फरक फरक बोकेर एउटै समाजमा बसिरहेका छौं । उत्पत्तिदेखि नै मानवको प्रजातीय हिसाबमा विविधता छ । हामी सांस्कृतिक पहिचानमा पनि फरक फरक चिनारीसहित छौं । समुदायअनुसार सञ्चारको माध्यम अर्थात् भाषामा पनि विविधता छ । यद्यपि हामीसँग विविधतामा पनि मिलेर बसेको समाज छ ।

    हाम्रा सामाजिक सञ्जालमार्फत भएका असामाजिक कामले स्वयंको पहिचान शून्यमा झार्न सेकेण्डभर लाग्दैन । त्यसैले कम्तिमा पनि सामाजिक सञ्जालमा सक्रिय हामीले टिकटकमा पोष्ट हुन तयार भिडियो, फेसबुकमा लेखेर तयार भएको स्टाटस अनि अन्य सञ्जालतिरका कन्टेन्ट रिभ्यू गरिहेरौं त ! भाइरल सामग्री खोजिरहँदा जोखिममा आफैं त परिँदै छैन ?

    तर, पछिल्ला दिनमा क्षणिक रुपमा भर्चुअल दुनियाँमा भ्यू बटुलेर भाइरल हुने होडबाजीले भीम उपाध्यायले झैं आफैंलाई कानूनको उल्लंघनकर्ताको लहरमा उभ्याउन किन उद्यत छौं ?

    कहिले रमाइलो गर्ने नाममा त, कहिले भाइरल हुने नाममा सामाजिक सञ्जालको सही उपयोग हुन नसक्दा आपराधिक प्रवृत्तिहरु बढ्न थालेका छन् । त्यसैले होला टेकु साइबर व्युरोमा मात्रै दिन सकिने साइबर अपराधका जाहेरीहरु देशभरका प्रहरी कार्यालयमा दिन सकिने गरी सरकारले नयाँ व्यवस्था ल्याइसकेको छ ।

    यही आर्थिक वर्षदेखि सुरु गरेको विद्युतीय अपराधमा उजुरीको सहजता भएपछि चितवन अदालतमा विद्युतीय अपराधको मुद्दा दर्ता भइसकेको छ । यसको मतलब हामी हातमा भएको मोबाइलबाट सामाजिक सञ्जालको जालोमा मनलाग्दी सामग्री राख्न तयार भएर बसेका छौं, जसले स्वयंलाई हानि गरिरहेको पत्तो छैन । अब हामीविरुद्ध नै न्याय माग्ने मानिसहरु न्यायिक निकायमा धाउन थालिसकेका छन् ।

    विश्व स्वास्थ्य संगठनले भनेको छ, मानिस स्वस्थ हुन शारीरिक, मानसिक र सामाजिक सम्बन्धमा पनि स्वस्थ हुन जरुरी छ । हामी कतिको स्वस्थ छौं भन्न पनि हामीले निभाएका सामाजिक जिम्मेवारी पनि हेरिने रहेछ । एउटा स्वस्थ मानिस न समाज बिगार्न चाहन्छ न त स्वयंलाई कानूनको उलंघनकर्ता भनेर चिनाउन नै सहज ठान्छ । भाइरल मोहमा रमाउँदा हामीलाई क्षणभरमै सबैले ‘पपुलर’ अप्सनमा खोज्ने मान्छे त बनाउला । तर, हाम्रा सामाजिक सञ्जालमार्फत भएका असामाजिक कामले स्वयंको पहिचान शून्यमा झार्न सेकेण्डभर लाग्दैन ।

    त्यसैले कम्तिमा पनि सामाजिक सञ्जालमा सक्रिय हामीले टिकटकमा पोष्ट हुन तयार भिडियो, फेसबुकमा लेखेर तयार भएको स्टाटस अनि अन्य सञ्जालतिरका कन्टेन्ट रिभ्यू गरिहेरौं त ! भाइरल सामग्री खोजिरहँदा जोखिममा आफैं त परिँदै छैन ?

  • के मुलुक बन्दै बन्दैन ?

    के मुलुक बन्दै बन्दैन ?

    केही वर्षदेखि देखिएको युवा शक्तिको मनोभावनालाई नजिकबाट नियाल्दा उनीहरुको मनमा देशमा बसेर केही गर्न सकिन्छ भन्ने भाव नै पाउन मुुस्किल देखिन्छ । जसोतसो माध्यमिक तहसम्मको अध्ययन पूरा गर्ने र देश छाड्ने हुटहुटी हरेक युवामा जुर्मुराएर आएको पाइन्छ । आखिर देश बनाउने कर्णधार युवा शक्तिमा किशोर अवस्थादेखि नै देश छाडेर पलायन हुने हुटहुटी कसरी आयो त ? पहिले यसको कारण पत्ता नलगाइ यसको निराकरणको तहमा पुग्न सकिन्न । तर, अब यसको कारण खोज्ने र समाधान गर्ने कसले ?

    देशको अवस्था कस्तो बनाउने भन्नेमा राज्य नै बढी जिम्मेवार र सचेत हुनुपर्छ । देशको बागडोर, शासन सत्ता हातमा लिएर बस्नेहरु नै परजीवी हुँदासम्म मुलुक बन्छ भन्ने सोच्नु मूर्खता सिवाय अरु केही पनि हुँदैन । जब देशको बागडोर समालेकाहरु नै परजीवी हुन पुग्छन् तब जनताले मुलुकमा भविष्य सुरक्षित हुन्छ भनेर कसरी कल्पना गर्न सक्छन् ?

    जबसम्म मानिसले आफ्नो सुरक्षाको अनुभूति गर्न सक्दैन तबसम्म ऊ ढुक्क रहन सक्दैन र उसले आफ्नो सुरक्षाको प्रत्याभूति खोजिरहेको हुन्छ । हो, मुलुकमा पनि अहिले ठीक यही भएको छ र युवाहरु जति सक्दो छिटो देश छाडेर विदेशिने हुटहुटीले आफ्नो योजना बुनेर बसिरहेका छन् । यो युवा जमातको हुटहुटी र विदेशिने चाहना तथा बाध्यतालाई रोक्न देशमा गरिखाने वातावरण सिर्जना गर्नुका साथै श्रमको सम्मान गर्ने परिपाटीको विकास गर्नु नै पहिलो र अनिवार्य कार्य हो ।

    शिक्षामा देशप्रति भक्तिभाव जगाइ श्रमको सम्मान गर्ने नागरिक तयार पार्ने उद्देश्यमात्रै राखेर केही हुँदैन । त्यसलाई व्यवहारमा उतार्दै कार्यान्वयनको तहमा लान पनि उत्तिकै महत्वपूर्ण छ । अहिले आधुनिक संसारमा आएका सबै वस्तुहरु उपभोगको मात्रै नीति लिँदै अगाडि बढ्दा त्यसले भित्रभित्रै थप जटिल स्थिति सिर्जना गर्दै लगेको छ । ती वस्तुको उपभोगको क्षमताबारेमा पनि चासो दिनु जरुरी छ ।

    मुखले देशको विकास गर्छौं, देश बनाउँछौं भनेर अब कसैले पत्याउनेवाला छैन । कुनै पनि मुलुक विकास हुन आत्मनिर्भर हुनु पहिलो आवश्यकता हो । जबसम्म आत्मनिर्भर छैन, तबसम्म शासकहरुले यो गर्छु र त्यो गर्छु भन्नुको औचित्य छैन ।

    यी सबै कुराहरुको बेलैमा मूल्याङ्कन गर्दै देशको क्षमता र अवस्थाको आधारमा कुनै पनि वस्तुको प्रयोग र उपयोगिताको नीति अवलम्बन गर्नु राज्यको महत्वपूर्ण दायित्व हो । मुखले देशको विकास गर्छौं, देश बनाउँछौं भनेर अब कसैले पत्याउनेवाला छैन । कुनै पनि मुलुक विकास हुन आत्मनिर्भर हुनु पहिलो आवश्यकता हो । जबसम्म आत्मनिर्भर छैन, तबसम्म शासकहरुले यो गर्छु र त्यो गर्छु भन्नुको औचित्य छैन । मुलुक यो अवस्थामा आउन अहिलेका शासकमात्रै नभएर दुईतीन दशकका शासकहरुको महत्वपूर्ण भूमिका छ । शासकहरुले देशलाई आत्मनिर्भरको बाटो अगाडि बढाउनभन्दा अरुलाई नै खुशी पार्ने अभियानमा लागेपछि अन्ततः हुने यही नै हो ।

    सरकारहरु देशमा भएका कलकारखानाहरु बन्द गर्दै जाने र बचेखुचेका पनि अर्कैको जिम्मा लगाउँदै गएर आफ्नो दायित्वबाट पन्छिन मिल्छ ? आफूसँग भएको उत्पादनको क्षमता शून्य बनाउँदै लैजाने अनि कसरी हुन्छ देशको विकास ? अनि कहाँबाट गुन्जिन्छ स्वाभीमानको स्वर ?

    भारतले चामल निर्यात रोक्ने भएपछि सरकारले पत्र नै लेखेर चामल निर्यातमा लगाइएको रोक खोल्न आग्रह गर्नुपर्ने अवस्था आयो । योभन्दा लाजमर्दो कुरा अरु कुनै हुनसक्छ, एउटा कृषिप्रधान देशको लागि ? नेपाल ‘कृषि प्रधान’ देश भन्ने तर सरकारले व्यवहारमा केही नगर्ने, यस्तो पनि कतै हुन्छ ? कृषिप्रधान देशको भूमिका कृषिका क्षेत्रमा कस्तो हुनुपर्ने भन्ने विषयमा कहींकतै छलफल, योजना र नीति कार्यान्वयन भएको पाइँदैन । जबसम्म कृषि पेशाको सम्मान र युवा जनशक्तिलाई यसमा आकर्षण गर्न सकिँदैन, तबसम्म देशमा बेरोजगारीको अन्त्य र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकिँदैन ।

    मुलुकको बागडोर समाल्नेहरु युवा निर्यात गरेर रेमिटेन्सको भरमा र मागेर देश चलाउँछु भन्ने भ्रमबाट मुक्त नभएसम्म मुलुक कुराले मात्रै बन्नेवाला छैन । त्यसैले शासकले आफ्नो धरातल र विगतलाई स्मरण गर्दै वैदेशिक रोजगारीको बहानामा युवा जनशक्तिलाई निर्यातमा रोक लगाउनेतर्फ अघि बढ्न ढिलो भइसक्यो । स्वदेशमै माटो र भूगोल सुहाउँदो कार्य गर्न सम्पूर्ण देशवासीलाई उत्साहित गर्न सके देश अवश्य बन्छ ।

    (पराजुली प्रेस चौतारीका केन्द्रीय सदस्य हुन् ।)

  • कविता : चराको देश हुँदैन

    कविता : चराको देश हुँदैन

    चरा मलाई मन पर्छ
    किन कि चराको देश हुँदैन

    ऊ धर्तीको हुन्छ
    ऊ आकाशको हुन्छ
    त्यसैले चरा मलाई मन पर्छ
    किन कि चराको देश हुँदैन

    तर हाम्रो देश हुन्छ
    देशको भूगोल हुन्छ

    इतिहासमा हामी चरा जस्तै उड्यौँ
    पँखेटा फिजायौँ र बेग मार्‍यौँ
    कहिले टिस्टा पुग्यौँ
    कहिले सतलज पुग्यौँ
    जहाँ पुग्यौँ त्यहीका भयौँ
    हामीलाई छोडेर उडे केही
    ती कहिल्यै फर्किएनन्
    फर्किए तर आफ्ना भएर आएनन् ।

    उडी जानेहरूसँगै
    कोरलेर बच्चाहरू
    जङ्गल छोडी जाने निष्ठुर माउ चरी जसरी
    बनाएर दलिनमा गुँड
    भीरमा फर्किजाने
    गौँथली जसरी
    फर्कि गयो देश पनि

    तर हामी उही छौँ
    जहाँ पुर्खाले टेकेका थिए
    वीरशाली पाइला
    दिग्विजयको अभियानमा
    बसाए सभ्यताको बस्ती
    त्यहीँ माटोको भएर
    सम्हाली रहेछौँ आफ्नो विरासत
    हामीले देश छोडेको होइन
    देशले हामीलाई छोडेको हो ।

    हामीले
    जति चौडा बनाए पनि छाती
    खुम्चिँदै जाने त देशको नक्सा हो
    टिस्टामा बगेको आँशु
    सतलजमा बगेको रगत सम्झिएर
    नरुने मन देशको हो
    हाम्रो होइन ।

    जसरी सक्दैन
    बगेको खोलालाई तरबारले टुक्राउन
    उडेको हावालाई हत्केलाले छेकेर कैद गर्न
    त्यसरी नै
    युद्ध विभिषिकामा कोरिएका
    मानचित्रका रेखाहरूले
    सक्दैन हामीलाई अलग्याउन
    किञ्चित सक्दैन
    जहाँ बसे नि हामी एकै हौँ
    जहाँ पुगे नि हामी एकै हौँ
    सपाट हृदयको पत्रपत्र पोतिएका
    हाम्रो भावनाको मसी एउटै हो
    राष्ट्रियताको कुनै सिमाना हुँदैन ।

    त्यसैले मलाई चरा मन पर्छ
    चरा कहिले साइबेरियाको हुन्छ
    चरा कहिले अफ्रिकाको हुन्छ
    चरा कहिले भारतको हुन्छ।
    चरा कहिले नेपालको हुन्छ
    त्यसैले मलाई चरा मन पर्छ
    किन कि चराको कुनै देश हुँदैन ।

    – कविता राई

  • ‘भूराजनीतिको भार’ कि चिनियाँ भार ?

    ‘भूराजनीतिको भार’ कि चिनियाँ भार ?

    चीन र भारत जस्ता दुई उदाउँदो महाशक्तिको बीच रहेको नेपालमा पछिल्लो समय शक्ति राष्ट्रहरुको उपस्थिति र चासो बढेको छ । विश्वको पहिलो महाशक्ति बन्ने दौडमा रहेको चीनको उदयले पश्चिमा देशलाई झस्काएकोमात्र छैन, उनीहरुलाई सोच्न र चीनको उदयलाई रोक्न यथासक्य कदम चाल्नुपर्ने अवस्था छ । चीनलाई पनि क्षेत्रीय प्रभुत्व विस्तार गर्दै वैश्विक नेतृत्व गर्नुछ । उता, भारत पनि दक्षिण एसियामा आफ्नो प्रभुत्वमा आँच आउन दिने पक्षमा छैन । चीन र भारत दुबै देशहरुको विश्व शक्ति बन्ने दौड र अमेरिकाको नेतृत्वमा भारतसहित पश्चिमा राष्ट्रको चीन घेर्ने रणनीतिको कार्यान्वयन गर्न विभिन्न क्षेत्रीय समूह तथा उपसमूहहरुका साथै सैन्य एवम् सुरक्षा गठबन्धन निर्माण गर्ने काम भइरहेको छ ।

    विश्व राजनीतिमा देखापरेको यस प्रकारको नवीन प्रवृत्तिको छाल नेपालसम्म पनि आइपुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालमा शक्ति राष्ट्रहरुको उपस्थिति, चासो, दबाब र प्रभावको विभिन्न सन्दर्भहरुमा पटापेक्ष हुँदै आएका छन् । यसै पृष्ठभूमिमा खोज पत्रकारितामा अनुभवी पत्रकार बाबुराम विश्वकर्माले नेपालमा शक्ति राष्ट्रको स्वार्थ, प्रतिस्पर्धा, द्वन्द्व र त्यसले नेपालको स्वतन्त्र विदेश नीतिमा पारेको प्रभावलाई मिहिन रुपमा केलाउँदै भर्खरै ‘भूराजनीतिको भार’ पुस्तक सार्वजनिक गरेका छन् । इन्डिगो इंक प्रकाशनद्वारा प्रकाशित पुस्तकमा २६७ पृष्ठ र १३ अध्याय रहेका छन् । पुस्तकले विशेषगरी संविधान निर्माणपश्चातका घटनाक्रमहरुलाई विश्लेषण गरेको छ ।

    आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए । दुई ठूला देशको बीचमा तुलनात्मक रुपमा सानो हिमाली देश नेपालको भू-रणनीतिक अवस्थिति र संवेदनशीलतालाई मध्यनजर गर्दै शाहले दिव्य उपदेशमार्फत सारेको अवधारणालाई नेपालको विदेश नीतिको आधार मानिन्छ । नेपालको संविधान, २०७२ को भाग ४ अन्तर्गत धारा ५१ (ड) मा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीति उल्लेख गरिएको छ । यसअनुसार नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंग्लनता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताको आधारमा सञ्चालन गर्ने भनिएको छ । तथापि विभिन्न समय र सन्दर्भहरुमा स्वतन्त्र परराष्ट्र नीति र असंग्लनताको मान्यताबाट नेपाल विमुख हुन खोजेको वा राष्ट्रिय स्वार्थअनुसार परराष्ट्र नीति सञ्चालन गर्न नसकेको देखिन्छ । संसारका देशहरुमा सरकारको परिवर्तनले परराष्ट्र नीतिमा खासै प्रभाव पारेको हुँदैन । तर, नेपालमा भने फरक परिदृश्य देख्न सकिन्छ । भूराजनीतिको भारले यिनै विषयहरु उधिन्ने प्रयास गरेको छ ।

    लेखकले अध्याय एकमा कोल्टे ‘कूटनीति र सन्तुलनको खोजी’ शीर्षकमा ओली-गोयल वार्ता, कालापानी लिपुलेक लिम्पियाधुरासहितको नक्सा प्रकरण, भारतसँग सम्बन्ध चिसिएको बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालगायतका विषयहरु समेटेका छन् । अध्याय दुईमा उनले ‘रणनीतिक साझेदारी : संविधानको मर्ममै प्रहार’ शीर्षकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको उच्चस्तरीय भ्रमण र त्यसक्रममा दुई देशबीचको सम्बन्ध रणनीतिकस्तरमा पुगेको भन्ने टिप्पणीको आलोचना गरेका छन् । ‘संसारमा सैन्य तथा सामरिक स्वार्थलगायत समान धारणा अनि वैचारिक धरातल पनि उस्तै भएका देशहरुबीच रणनीतिक साझेदारी हुने गरेको छ, हुन पनि सक्छ । तर, राजनीतिक तथा शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वैचारिक धरातल र शासन व्यवस्था नै अलग अलग अभ्यास गरेका नेपाल र चीनबीच किन र केका लागि रणनीतिक साझेदारी गरिएको हो ?’ भन्दै लेखक विश्वकर्माले उक्त विषय स्पष्ट नपारिएको तर्क गरेका छन् (पृष्ठ २७) । उनले चीनसँग सगरमाथा फ्रेन्डसिपको नाममा संयुक्त सैन्य अभ्यास हुन थालेको तर तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमस्टेक स्तरको सैन्य अभ्यासमा सैनिक टोली नपठाएर भारतलगायत विमस्टेक क्षेत्रसँगको सम्बन्धमा गम्भीर असर परेको दाबी गरेका छन् ।

    अध्याय तीनमा लेखकले अधिकांश शब्द चिनियाँ राजदूत होउ यान्छीको आलोचनामा खर्चिएका छन् । ‘होउ यान्छी : कम कूटनीति, अति राजनीति’ शीर्षकमा राजदूत यान्छीलाई नेता कि कूटनीतिज्ञ भनेर प्रश्न गरेका छन् । यसैक्रममा उनले तत्कालीन नेकपाका नेता कार्यकर्ताका लागि सी विचारधारा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सन्दर्भलाई असामान्य मानेका छन् । तर, यसक्रममा उनले नेपालको अमुक दलप्रति आपेक्षपूर्ण धारणासमेत व्यक्त गरेका छन् । ‘चीनले भ्रष्टाचारमा विवादित भइसकेका र हिसाबकिताब राज्यलाई बुझाउनु नपर्ने, जवाफदेही कमजोर भइसकेका राजनीतिक दलसँग नीतिगत आदानप्रदान गर्न थालेको छ ( पृष्ठ ४८ ) ।’

    यसै अध्यायमा उनले राजदूत यान्छीले काठमाडौं पोष्टका तत्कालीन प्रधानसम्पादक अनुप काफ्ले र जीवनबहादुर शाहीलाई धम्क्याएको प्रसंग उल्लेख गरेका छन् । नेकपाको विवादमा राजदूतको भूमिकालाई समेत यस अध्यायमा समेटिएको छ ।

    अध्याय चारमा ‘नेपालमा सीका दुई दिन’ शीर्षकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१९ अक्टोबर १२-१३ मा भएको भ्रमणलाई विश्लेषण गरिएको छ । विशेषगरी त्यसक्रममा जारी भएको संयुक्त वक्तव्यको सार र सीको नाममा नेपाली सञ्चारमाध्यममा प्रकाशित आलेखको अर्थ खोतल्ने प्रयास गरिएको छ । ‘नेपाल न दाजु न भाइ’ उपशीर्षकमा लेखकले चीन नेपाल एक-अर्काबाट सिक्ने असल छिमेकी भएको र यस मान्यताविपरीत सीले आलेखमा चीन-नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् भनी उल्लेख गरेकोमा उक्त कथनलाई असान्दर्भिक भनेका छन् । निश्चय नै राष्ट्रहरुको सम्बन्ध समानताको र पारम्परिकताको आधारमा सञ्चालन हुन्छ र हुनुपर्छ ।

    अध्याय पाँचमा ‘नागरिकले थाहा नपाएको बीआरआई’ अन्तर्गत गुपचुप सम्झौता र नौ परियोजना, कार्यान्वयनको अन्योल, विदेशको अनुभव र पाठ, बीआरआई के हो ? नेपालको आगामी बाटो जस्ता उपशीर्षकहरु समेटिएका छन् । यसमा पोखरा विमानस्थल बीआरआईअन्तर्गतको परियोजना नभए पनि चिनियाँ दूतावासको प्रवक्ताबाट भ्रमपूर्ण ट्वीट भएको, एमसीसी जस्तो बीआरआईको सम्बन्धमा राजनीतिक दल र संसदमा छलफल नभएको, बीआरआईको माध्यमबाट चीनको कर्जाको भारी बोकेका देशहरु त्यसबाट उम्किन नसकेका अनुभवहरुलाई सन्दर्भहरुसहित उल्लेख गरेका छन् ।

    अध्याय छ र सात एमसीसी र एसपीपीको सम्बन्धमा रहेको छ । एमसीसीको सन्दर्भमा नेपालीजनको मानसिकतामाथि नकारात्मक प्रभाव पार्न चिनियाँ मिडियाले आक्रामक भूमिका निर्वाह गरेको तर सफल हुन नसकेको भनेका छन् । एसपीपीमा नेपालको अयोग्यता देखिएको उनले दाबी गरेका छन् । स्मरणीय छ, नेपालले एसपीपीलाई अमेरिकाको हिन्द प्रशान्त रणनीतिको हिस्सा भएको भन्दै पछि हट्ने निर्णय गरेको थियो ।

    अध्याय आठमा ‘सीमा विवाद र गोप्य प्रतिवेदन’ र नौमा ‘सगरमाथा सरोकार’ भन्ने शीर्षकमा चीनसँग विवादका विषयहरु र पछिल्लो समय देखिएको आक्रामक चिनियाँ नीतिको चर्चा गरिएको छ । विशेषगरी हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चा क्षेत्रमा चीनले अतिक्रमण गरी नेपाली भूमिमा नयाँ भवन निर्माणको समाचार बाहिरिएपछिको अवस्था, सरकारी प्रतिक्रिया र चिनियाँ आक्रामकतालाई यहाँ चित्रित गरिएको छ । सीमा समस्या अनदेखा गरेर वा लुकाएर होइन, नेपालको दुवै छिमेकी देशसँग सीमा विवाद रहेकाले कूटनीतिक संयन्त्रमार्फत समाधान खोज्नुपर्नेमा उनको जोड रहेको छ ।

    त्यसैगरी ८ डिसेम्बर २०२० मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त भिडियो सम्मेलन गरेर संसारको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरिएकोमा उनले प्रश्न उठाएका छन् । नेपाली भूमिमा रहेको सगरमाथाको उचाइ घोषणामा चीनका विदेशमन्त्रीलाई किन सहभागी गराइयो भन्नेबारे तत्कालीन सरकारले प्रस्ट नपारेको उनले उल्लेख गरेका छन् । ‘सानो होइन, अग्लो नेपाल’ हीन भावनाबाट माथि उठेर विकास र प्रगतिको मार्गमा अग्रसर हुन लेखकले अघि सारेको दृष्टिकोण हो ।

    अध्याय दशमा ‘सीपीसीको नेपाल नाता’ शीर्षक भए पनि यसले विशेष गरी सीपीसी र नेकपाको सम्बन्ध वा कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई बढी जोड दिएको छ । यस अध्यायमा सी विचारधाराको प्रशिक्षण, दाजुभाइको सम्बन्ध (चाइनिज ब्रदर), एमसीसीमा चिनियाँ असन्तुष्टिलगायत कतिपय विषयहरु दोहोरिएका छन् भने केही विषय विस्तारसँग लेखिएको छ ।

    अध्याय एघारमा अन्तरसंसदीय सम्झौताको अर्थ खोतल्ने प्रयास गरिएको छ भने अध्याय बाह्रमा जीएसआई, संयुक्त राष्ट्रसंघ र नेपालका विषयहरु समेटिएका छन् । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुले प्रतिनिधिसभा सभामुखको निमन्त्रणामा १२-१५ सेप्टेम्बर २०२२ मा नेपालको चारदिने भ्रमण गरेका थिए । त्यस क्रममा दुई देशका संसद प्रमुखले ६ बुँदे लिखित सम्झौता गरे । यसलाई लेखकले गम्भीर प्रकृतिको समझदारी भनेका छन् । एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यास जानकारी आदानप्रदान गर्ने सहमतिलाई उनले गम्भीर भनेका हुन् ।

    त्यसैगरी जीएसआईको सम्बन्धमा चीनले दबाब दिएको र यो सैन्य रणनीतिको हिस्सा भएकाले सहभागी हुन नहुने लेखकको आशय रहेको छ । जीएसआईको सम्बन्धमा यस प्रकारको धारणा राख्ने लेखकले अध्याय सातमा एसपीपीको सम्बन्धमा भने फरक मत प्रस्तुत गरी विरोधाभाष सिर्जना गरेका छन् । ‘राष्ट्रसंघ भर्सेस जीएसआई’ उपशीर्षकमा उनले राष्ट्रहरुको साझा संस्थासँग चीनको सुरक्षा तथा सैन्य रणनीतिलाई किन तुलना गर्न खोजे अस्पष्ट छ ।

    पुस्तकको अन्तिम अध्याय तेह्रमा ‘सीएमजी, मिडिया र पत्रकार’ शीर्षकअन्तर्गत चाइना मिडिया ग्रुपले कसरी नेपाललाई यसको अंग बनाएको छ भन्ने विषय प्रष्ट्याएका छन् । साथै, नेपाली मिडियाको माध्यमबाट चीनको प्रभाव विस्तारमा कसरी काम भइरहेको छ, यस अध्यायबाट बुझ्न सकिन्छ । सीएमजीमार्फत नेपालको मिडियामा भएको लगानी र नेपालमा सीएमजीका मिडिया सारथिहरुको विषयलाई थरीथरीका हितैषी उपशीर्षकअन्तर्गत समावेश गरिएको छ । ‘पत्रकार रिझाउने काइदा’ उपशीर्षकमा चीनले नेपालको आफ्नो हितको प्रवर्द्धन गर्न कसरी पत्रकारहरुलाई प्रभावित गर्दै आएको छ भन्ने उजागर गरेका छन् ।

    समग्रमा पुस्तकमार्फत लेखकले संविधान निर्माणपछि नेपालमा चिनियाँ उपस्थितिलाई विभिन्न कोणबाट विश्लेषण गर्न धेरै मेहनत गरेका छन् । साथै पुस्तकले नेपालमा देखापरेका भूराजनीतिक मुद्दा, जटिलता र नेपालको प्रतिक्रियाहरु महत्वका साथ समेटेको छ । यसै क्रममा भारत, अमेरिकाको स्वार्थ र चासोलाई समेत लेखकले प्राथमिकताका साथ उठान गरेका छन् । ‘भूराजनीतिको भार’ भनिए पनि पुस्तक पढ्दै जाँदा पाठकलाई ‘चिनियाँ भार’ को प्रभाव दिन खोजिएको महसुस हुन्छ । विषयवस्तुहरुमा पुस्तककार लेखकीय पूर्वाग्रहबाट मुक्त हुन नसक्नु कमजोरीका रुपमा रहेको छ । यद्यपि राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिलगायतका विषयमा रुचि राख्ने जो-कोहीका लागि पुस्तक महत्वपूर्ण र संग्रहणीय छ ।

  • हिन्दूत्वको भर्त्सनामा टिकेको उदार प्रगतिशील ‘फण्डित’ जमात र शास्वत धाममा शास्त्रीको प्रवचन

    हिन्दूत्वको भर्त्सनामा टिकेको उदार प्रगतिशील ‘फण्डित’ जमात र शास्वत धाममा शास्त्रीको प्रवचन

    वाचन शिरोमणी स्वर्गीय नारायणप्रसाद पोखरेलले दिएका सयौं प्रवचनहरूमध्येका दुईवटा भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा चर्चामा छन् । जुन क्लिपमा पण्डित पोखरेलले बोक्सी हुँदैन र हिन्दू धर्ममा महिला, पुरुष र तेस्रो लिंगी (उनको भाषामा नपुंसक) बाहेक अरु जात हुँदैन भनेका छन् ।

    उनले बोक्सी र जातपात मान्छेहरूले एक अर्कोलाई थिचोमिचो र शासन गर्नका लागि पछि बनाएको भन्दै हिन्दूत्वको बदनाम नगर्न भनेका छन् । दुर्भाग्य जातपात र बोक्सीप्रथाजस्ता सामन्ती व्यवस्थाको अन्त गर्न हिँडेका माओवादी जनयुद्धकारीहरूले नै पण्डित पोखरेलको हत्या गरे ।

    पोखरेलका पुराना यी दुई भिडिओ क्लिप भाइरल भइरहेका बेला नेपालका केही मिडियामा भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीका स्त्रीद्वेषी, जातीद्वेषी भिडिओ क्लिपहरूसहित उनी हिन्दूत्वको नाममा विष फैलाउन नेपाल आउन लागेको भनेर उनलाई रोक्नुपर्ने लेख, समाचारहरू आइरहेका छन् ।

    धरानमा हिन्दू मन्दिर परिसरमा चर्च बनाएपछि सुरू भएको विवादले गोरु काटेर सामूहिक भोजको चरणमा प्रवेश गरिरहेका बेला नेपालको ‘उदार, प्रगतिशील’ अभियन्ताको तप्का शास्त्रीलाई रोक्न र हिन्दूत्वलाई ठोक्न संगठित मिसनमा उत्रिएको देख्दा केही न केही हुँदैछ भन्ने आशंका उब्जिनु स्वाभाविक हो ।

    नेपालमा उदार प्रगतिशील अभियन्ता बन्न, सामाजिक न्यायसहितको फरक चेतको प्रमाणपत्र पाउन अरु केही गरिरहनु पर्दैन, मात्र हिन्दूत्वलाई भर्त्सना गरे पुग्छ । त्यति गर्दा पनि नपुगे पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलाई निन्दा गर्नुपर्छ । त्यतिले समेत नपुगे राजा महेन्द्रदेखि कविवर माधव घिमिरेसम्मको भर्त्सना गरेपछि त सामाजिक न्यायको अभियन्तावाला ‘साठीपिकेट’ घरमै आइपुग्छ ।

    जहाँसम्म हिन्दूराज्य वा हिन्दूत्व रक्षाको कुरा छ त्यो त एउटा धार्मिक गुरुको मन्त्र नै हो । पटकपटक नेपालका सत्ता सन्चालकहरूकै निम्तोमा आउने स्वामी रामदेवले खुलेरै नेपाल हिन्दूराज्य हुनुपर्छ भनिरहेकै छन् । पछिल्लोपटक खप्तडमा आएर पनि उनले नेपाल हिन्दूराज्य हुनुपर्ने बताए । के नेपालमा धार्मिक हिंसा भयो ?

    केही दिनयता भारतको एउटा धार्मिक प्रतिष्ठानका धर्मगुरु नेपालको एउटा धार्मिक प्रतिष्ठानमा कथा प्रवचन गर्न आउन लागेको विषयले अब नेपालमा धार्मिक दंगा मच्चाउन लागियो भन्ने तहमा बहस थालिएको छ । के धीरेन्द्रकृष्ण शास्त्री नेपालमा धार्मिक हिंसा मच्चाउन र नेपाललाई हिन्दू राज्यमा पुन:स्थापित गर्न आउन लागेका हुन् ? मूलधारकै मिडियामा छेडिएको बहसले यो प्रश्न सिर्जना गरेको छ ।

    स्वर्गीय पण्डित नारायण पोखरेलको स्मरण यसकारण गरिएको हो कि, उनका प्रवचनमा धार्मिक हिंसा देखेर त्रसित हुनेहरूकै उत्तराधिकारीहरू आज एउटा धार्मिक अनुष्ठानमा हुने प्रवचनबाट नेपालमा धार्मिक दंगा मच्चिने भनेर आतंक फैलाउन खोजिरहेका छन् ।

    पण्डित नारायण पोखरेलले जातभात, बोक्सी डाइनीजस्ता कुप्रथा हिन्दू धर्ममा बर्जित छन् भनेका थिए । उनले हिंसाको वकालत गरेनन् तर हिंस्रकले उनको शान्ति प्रवचनबाट डराएर हत्या गरेका थिए । यस्तै ‘फण्डित’ हरूको जमात आज नेपालमा कुनै धार्मिक ठाउँमा प्रवचन हुन लाग्दा धार्मिक हिंसाको आतंक मच्चाएर हिन्दूत्वमाथि प्रहार गर्दैछ ।

    शास्त्री कसका पाहुना हुन् ?

    सबैभन्दा पहिले शास्त्रीलाई किन र कसले बोलायो ? यसबारे जानकारी आवश्यक छ । उनी नेपाल सरकार वा कुनै सरकारी निकाय पशुपति विकास कोष वा अन्य कुनै सरकारी अनुदानप्राप्त प्रतिष्ठानहरूको निम्तामा आउन लागेका हुन् ? वा कुनै स्थानीय सरकारको निम्तोमा ?

    भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि आउँदैछन् । प्राप्त जानकारी अनुसार उनी चौधरी गुप्रका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आउन लागेका हुन् ।

    नेपालको अग्रणी औद्योगिक तथा व्यापारिक घराना चौधरी गुप्रले व्यवस्थापन गरेको शाश्वत धाम सोही उद्योग ग्रामभित्र रहेको छ । भदौ १ गते नेपाल आउने धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री पशुपतिनाथको दर्शनपछि नवलपुर जानेछन् ।

    शास्त्रीसँगै उनको कथा वाचन समूहका ५०/६० जना पनि नेपाल आउनेछन् र शाश्वत धाममा पण्डाल लगाएर हनुमान कथा वाचन हुनेछ । व्यवस्थापनका अनुसार एक दिनमा करीव ११ हजार जनाले कथा श्रवण गर्न मिल्नेछ भने प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल र डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइएको छ ।

    भदौ २,३ र ४ गते हुने कथा वाचन श्रवण गर्नका लागि इच्छुकहरू जान सक्छन् तर कसैलाई जानका लागि कर छैन । यहाँ हिन्दू वा गैरहिन्दू भनेर नछुट्याइएको र सबै धर्म, संस्कृतिका मान्छेहरूलाई स्वागत गरिएको आयोजकले प्रष्ट पारेका छन् । र, यहाँ नेपालको संविधान, कानून र नीति नियमभित्र रहेर कथा वाचन तथा श्रवणका कार्यक्रम हुनेछन् ।

    को हुन् शास्त्री ?

    भारत विश्वकै सबैभन्दा ठूलो हिन्दू आवाद भएको देश हो । भारतमा बेला बेलामा धेरै धर्मगुरुहरू चर्चामा आउँछन् । कोही आफ्नो मान प्रतिष्ठा कायम राखेरै यो लोकबाट विदा हुन्छन् भने कोही जीवनकालमा अनेक काण्डमा परेर जेल पुगेका धेरै उदाहरण छन् । पछिल्ला उदाहरण आशाराम बापु हुन् ।

    साइबाबादेखि जगतगुरुसम्म, रामदेवदेखि स्वामी शिवानन्दसम्म धेरै विश्वचर्चित गुरुहरूले आफ्ना प्रवचन वा योगशिक्षबाट नाम कमाए । बदनामी कमाउनेहरू पनि थिए तर उनीहरू आफ्नै कर्मले हराए ।

    पछिल्लो समय नेपाल आउन लागेका धीरेन्द्रकृष्ण शास्त्री जसलाई बागेश्वर धाम महाराजसमेत भनिन्छ । उनी बागेश्वर धामका पिठाधीश हुन् र उनी विभिन्न प्रवचनका कारण चर्चा र विवादमा समेत आउने गरेका छन् ।

    खासमा शास्त्रीको आगमनलाई देखाएर नेपालको सनातन धर्म संस्कृतिविरुद्ध लामो समयदेखि योजनाबद्धरुपमा तयार पारिएको पश्चिमा ‘फण्डित’ तप्का हिन्दूत्वमाथि हमला गर्ने मौका यहि हो भनेर ‘अतिवादको अस्त्र’ देखाएर तर्साउँदैछ ।

    २७ वर्षीय शास्त्रीका पिता पनि बागेश्वर धाममै काम गर्थे । पछिल्लो समय शास्त्री चर्चामा आउनुको अर्को कारण चाहिँ भारतलाई हिन्दूराज्य बनाउने उनको बहुचर्चित घोषणा हो । यसैले नेपालमा उनको आगमनलाई लिएर हिन्दूराज्यका विरोधीहरूले विवादस्पद बनाउन खोजेका छन् ।

    शास्त्रीले गलत काम गरेका छन् वा उनी धार्मिक हिंसा मच्चाउन खोज्छन् भने त्यो भारतको संविधान र कानून आकर्षित हुने कुरा हो । उनी नेपालको एउटा निजी धार्मिक प्रतिष्ठानमा हनुमान प्रवचन दिन आउँदैछन् । यदि नेपालको संविधान र कानूनविपरितका गतिविधि गरे भने उनीमाथि कारबाही गर्न नेपाल स्वतन्त्र छ ।

    प्रवचनबाट त्रसित धर्मनिरपेक्षवाद

    भारतीय जनता पार्टीले हिन्दूत्वको वकालत गर्छ । अझ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हिन्दूराज्य भारत बनाउने भनिरहेका छन् । त्यसो भए धर्मनिरपेक्ष देश नेपालमा भाजपाका नेता र मन्त्रीहरूलाई आउन नदिने ? उनीहरूले धार्मिक हिंसा मच्चाउँछन् भन्ने ? प्रश्न यसरी पनि उठाउन सकिन्छ ।

    शास्त्रीको राक्षसीकरण जसरी नेपाली मिडियामा गरिँदैछ उनी गलत भए भारत सरकारले प्रवचन दिएर हिँड्नको साटो जेलमा राख्थ्यो होला । बीजेपी सरकारकै पालामा धेरै धर्मगुरुहरू जेलमा पुगेका छन् । त्यसैले एउटा धर्मगुरुको प्रवचनबाट डराउने धर्मनिरपेक्षवाद कति कमजोर छ ? प्रश्न त यो कोणबाट पनि उठाउन सकिन्छ ।

    शास्त्रीले नेपालको सार्वभौमसत्ता, अखण्डा र यहाँको संविधानविपरीत केही बोले भने त्यो क्षम्य हुँदैन र उनले आफ्नो सीमाको उल्लंघन गरे भने उनलाई निम्ता गर्ने चौधरी ग्रुपले त्यसको जिम्मा लिनुपर्छ । उनको प्रवचनको शीर्षक जे हो, त्यसमा उनले सीमित हुनुपर्छ ।

    भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि आउँदैछन् । प्राप्त जानकारी अनुसार उनी चौधरी गुप्रका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आउन लागेका हुन् ।

    जहाँसम्म हिन्दूराज्य वा हिन्दूत्व रक्षाको कुरा छ त्यो त एउटा धार्मिक गुरुको मन्त्र नै हो । पटकपटक नेपालका सत्ता सन्चालकहरूकै निम्तोमा आउने स्वामी रामदेवले खुलेरै नेपाल हिन्दूराज्य हुनुपर्छ भनिरहेकै छन् । पछिल्लोपटक खप्तडमा आएर पनि उनले नेपाल हिन्दूराज्य हुनुपर्ने बताए । के नेपालमा धार्मिक हिंसा भयो ?

    खासमा शास्त्रीको आगमनलाई देखाएर नेपालको सनातन धर्म संस्कृतिविरुद्ध लामो समयदेखि योजनाबद्धरुपमा तयार पारिएको पश्चिमा ‘फण्डित’ तप्का हिन्दूत्वमाथि हमला गर्ने मौका यहि हो भनेर ‘अतिवादको अस्त्र’ देखाएर तर्साउँदैछ ।

    यो त्यही जमात हो जसले बलात्कारी उत्पादन गर्ने कारखाना मठ मन्दिर र बलात्कारको विषवृक्ष हिन्दू धर्म हो भनेर ओपेड लेख्छ । नेपालको उदार हिन्दू मनमाथि इमोसनल ब्ल्याकमेल गर्दै सनातन संस्कृति तथा सभ्यता मास्ने मिसनरीको कलो खाएर हिन्दूत्वको गला घोट्छ ।

    शास्त्रीको प्रवचनबाट उनीहरू डराउनुको कारण एउटै हो, कतै फण्डित्याइँको ड्युटी राम्ररी नगर्दा प्रोजेक्ट बन्द गरिदिन्छन् कि ? नत्र भने कथा सुन्न मन हुनेहरू शास्वत धाममा जान्छन्, मन नहुनेहरू जाँदैनन् । उसै पनि यस्ता पुराण, कथा वाचनहरू च्लिरहेकै हुन्छन्, कसले कहाँ दंगा मच्चाए हँ ?

  • दुई पुस्तकमा समिर नेपालका नोष्टाल्जियाहरू

    दुई पुस्तकमा समिर नेपालका नोष्टाल्जियाहरू

    गत महिना पूर्वीय साहित्य आकाशमा दुई तारा उदाए- ‘वर्षका बिहानीहरू’ र ‘नबिर्सिने यात्रा’ । एक कुशल राजनीतिज्ञ, मानव अधिकारवादी तथा कुशल संगठक समिर नेपालले यी दुई पुस्तकहरु उहाँकै दाजु मन्जुल नेपालको बाहुलीबाट विमोचन गराउनुभएको छ । बाल्यकालको पारिवारिक भोगाइ तथा यात्राका दौरानमा भोगेका अनुभवलाई यी दुई सिर्जनामा समेटिएको छ ।

    एक पर्वते नेपाली समाजमा भएका तथा प्राय: भइरहने घटनाहरूको सँगालो हो, वर्षका बिहानीहरू, जहाँ लेखकका आफ्नै भोगाइ झल्किन्छ । कृतिकारले ९ फरक-फरक विषयमा आफ्ना विषयहरु उठान गर्नुभएको छ । बाल्यकाल, माध्यमिक शिक्षा, गाउँघरको जीवनमा सर्जकले भोजपुर र काठमाडौंको बसाइको बारेमा भोगेका तीता-मीठा अनुभवलाई पस्किएका छन् ।

    एक आमाविहीन छोराले भोग्नुपरेको खानपानदेखि पठनपाठनसम्मको घटनाक्रमलाई अति रोचक र नदी बगेजस्तो भावमा अक्षरमा व्यक्त गर्नु लेखक नेपालको अर्को शक्ति हो, तथापि जीवनका तीता भोगाइलाई बालसुलभ मनोविज्ञानले के-कसरी लियो भन्ने कुरा वर्षका बिहानीहरूमा झुल्किन्छ ।

    पुस्तकको अर्को पाटो लेखकको जागिरे जीवनको हो । जागिरे जीवनमा काम गर्दै जाँदा एकजना राई थरका व्यक्तिले दिएको सल्लाह र सुझाव नमानेको भए लेखक स्वयम् दूरदराजमा आज पढाइरहनुभएको हुन्थ्यो । तर, त्यसपछि काठमाडौं बसाइँ गर्दै अघिबढ्नु भएका लेखकले विवाह, बुबाको मृत्यु, अनौठो अनुभव र राजनीतिक जोड घटाउको तीतो र मीठो यथार्थ पनि पुस्तकमा समेट्नु भएको छ ।

    रचनाकार समिर नेपालको अर्को कृति ‘नबिर्सिने यात्रा’ । पूर्वी नेपालदेखि पश्चिम दूर-दराजका भौगोलिक यात्राको सन्दर्भ उल्लेखित यस पुस्तकमा विभिन्न विषय समेटेर फरक-फरक शीर्षकमा नियात्रा झैँ रोचक ढंगमा व्याख्या गर्नुभएको छ । सामान्य घटनालाई रोचक तरिकाले प्रस्तुत गर्नु लेखकको अर्को खुबी हो ।

    नबिर्सिने यात्रामा अलपत्र यात्रा, अमेरिका यात्रा, बाजुराली जनताजस्ता विषयलाई लेखकले आफ्ना यात्राक्रमका भोगेका विषयलाई प्रस्तुत गर्नुभएको छ । त्यसैगरी हत्याको छानबिनमा नेपाल प्रहरीको तत्कालीन अवस्था, तराईको सामाजिक अवस्था, धनी र गरिबबीचको भेदभाव तथा माओवादीको तत्कालीन युद्धलाई पनि पुस्तकमा उजागर गरिएको छ । अस्पतालमा भोगेको पीडा र राजनीतिमा लागेको दागको पीडा पुस्तकको अर्को रोचक पाटो हो ।

    वर्षका बिहानीहरूमा लेखकले आफ्नो पारिवारिक अवस्थालाई स्पष्ट ढंगले प्रस्तुत गर्ने आँट गर्नुभएको छ । मनको कुरा नलुकाई आफ्नो बाल्यकालको कुरा पुस्तकमा उतार्नु मुश्किल नै हुन्छ तर यो परीक्षामा सर्जक नेपाल पास हुनुभएको छ ।

    नबिर्सिने यात्रामा लेखकले नेपालको पहाड, मधेशको सामाजिक वस्तुस्थितिसँगै पहाड, मधेश र विदेश यात्रालाई सूक्ष्मरूपले प्रस्तुत गर्नु लेखकको अर्को क्षमता हो । सामाजिक मनोकांक्षा, सरकारको अंगहरूका शासन र कार्यशैलीलाई लेखकले निर्भिकरूपमा राख्नुभएको छ ।

    आउँदा दिनमा अझ निखारिएको सिर्जनाको शुभेच्छासहित शुभकामना ।

  • ‘लेफ्ट राइट’ : नेपालको सत्ता संघर्षमा भारत, चीन र अमेरिकाको दाउपेच

    ‘लेफ्ट राइट’ : नेपालको सत्ता संघर्षमा भारत, चीन र अमेरिकाको दाउपेच

    नेपाली राजनैतिक घटनाक्रम कुनै बेला अनपेक्षित रुपमा अघि बढ्ने गरेको र कुनै बेला कछुवा गति पनि चल्न नसक्ने गरेको हामीले पाइरहेका छौं । एमाले र माओवादीबीच चुनावी तालमेल हुँदै एकतासम्मको अवस्था होस् या एकतापछि देखिएका अन्तरविरोध र शक्ति संघर्षदेखि नेकपा विभाजन हुँदै एमाले विभाजनसम्म भारत, चीन र अमेरिकाको खेल नेत्र पन्थीले ‘लेफ्ट राइट’मा उल्लेख गरेका छन् ।

    डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय पन्थीले पुस्तकमा सत्ता र शक्तिका लागि उठेका नियत, नियति र नैतिकताका प्रश्नहरू पनि उजागर गरेका छन् । राजनैतिक दलका नेताहरू एउटा एजेन्डामा र विषयमा पनि कसरी विभक्त भइरहेका छन् भन्ने विषय ‘लेफ्ट राइट’मा सविस्तार वर्णन गरिएको छ ।

    एमालेको सहयोगमा प्रधानमन्त्री भएका प्रचण्ड १ महिनाभित्रै कांग्रेससँगको गठबन्धनमा कसरी जोडिन पुगे भन्ने विषय पनि रोचक ढंगले प्रस्तुत गरिएको छ । ‘कांग्रेसले धोका दिएपछि बालकोट गएर प्रचण्ड प्रधानमन्त्री भएको ३७औं दिन थियो । २०७९ माघ १७ मा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य सम्झौता भयो । राष्ट्रपति कांग्रेसले पाउने तीन वर्ष प्रचण्डले सरकार सञ्चालन गर्ने र दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने’ पुस्तकमा भनिएको छ, ‘डिनरसहित मध्यरातमा भएको सहमतिको साक्षी प्रचण्ड पुत्री गङ्गा र देउवा पत्नी आरजु थिइन् । गोप्य राख्न त्यो सहमतिलाई हस्तलिखित गरियो । त्यसमा प्रधानमन्त्री र देउवाले हस्ताक्षर गरे ।’

    माघ १७ गते भएको सहमति पुस्तकमार्फत पहिलो पटक खुलासा गरेको लेखकले दाबी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री भइसकेपछि उपयुक्त समयमा पाँच दलीय गठबन्धन ब्युँताउने र सम्भव नभए प्रचण्डको विकल्प खोज्नेसम्मको कोर्स अगाडि बढाउने दिल्लीको मार्गचित्र थियो । दिल्ली प्रचण्ड र बेइजिङ नजिक नहोस् भन्नेमा सचेत थियो । आफ्नो खेमाबाट प्रचण्डलाई बालकोट पुर्‍याएकोमा देउवा ओलीसँग रुष्ट थिए । दिल्ली र देउवाको स्वार्थ मिलेपछि एमालेसँग मिलिसकेको माओवादीको गठबन्धन टिक्न भने सकेन ।

    एमालेसँग प्रचण्डले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति एमालेलाई दिने गरी गरेको भद्र सहमति अमेरिका र भारतको दबाबमा पुरा गर्न नसकेको पुस्तकमा उल्लेख छ । गैरकम्युनिष्ट राष्ट्रपति खोजिरहेका अमेरिका र भारतको दबाब पनि प्रचण्डमाथि थियो ।

    एमालेसँग प्रचण्डले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति एमालेलाई दिने गरी गरेको भद्र सहमति अमेरिका र भारतको दबाबमा पुरा गर्न नसकेको पुस्तकमा उल्लेख छ । गैरकम्युनिष्ट राष्ट्रपति खोजिरहेका अमेरिका र भारतको दबाब पनि प्रचण्डमाथि थियो । पुस्तकमा राष्ट्रपतिको लागि भारतको पहिलो रोजाइ महन्त ठाकुर थिए भन्ने सङ्केत गरिएको छ ।

    ‘प्रचण्डले महन्तको नाममा अन्तर्राष्ट्रिय चर्चा छ भन्नुको उद्देश्य उनलाई दिल्लीले राष्ट्रपति बनाउन चाहेको अर्थमा भनेका थिए’, पुस्तकमा भनिएको छ, ‘उच्च राजनैतिक वृत्तमा महन्त राष्ट्रपतिको लागि दिल्लीका पात्र हुन् भन्ने पनि सन्देश थियो । प्रचण्डले ओलीले आफूलाई काम गर्न सकस पु¥याइरहेको भन्दै अर्काे गठबन्धनको तयारीमा थिए ।’

    २०७९ पुस १० मा प्रचण्डको सरकार गठनदेखि राष्ट्रपति निर्वाचन फागुन २६ गतेसम्म अमेरिकी पक्षबाट श्रृंखलाबद्ध भ्रमण भएको उल्लेख गरिएको छ । प्रचण्डको छवि एक क्रान्तिकारी माओवादी नेताबाट संसदीय राजनीतिको चतुर खेलाडी कसरी बने भन्ने कुरा रोचक ढंगले पुस्तकमा प्रस्तुत गरिएको छ ।

    प्रचण्डको पहिलो घेरामा परिवार, दोस्रोमा दलाल नोकरशाह र नवधनाढ्य, तेस्रोमा व्यापारी-उद्योगी र अन्तिममा पार्टीभित्रका नेता कार्यकर्ता राखेर त्यहीअनुसारको व्यवहार गरेको विषय पुस्तकमा उल्लेख छ । एमसीसीमा नेपाली नेताहरूलाई अमेरिकाले थेग्नै नसक्नेगरी दबाब दिएको र अमेरिकी दबाबपछि नेताहरूले आत्मसमर्पण गरेको लेखकको बुझाइ पुस्तकमा उतारेका छन् ।

    चीन वाम गठबन्धन जोगाउने खेलमा लागेको तर कांग्रेस र भारत भत्काउने खेलमा लागेको लेखकको विश्लेषण छ । कृष्णबहादुर महरा र वर्षमान पुनले विमलेन्द्र निधि र रमेश लेखकलाई चुनाव रोकेर वाम गठबन्धन तोड्न सकिने सुझाव दिएको पनि पुस्तकमा खुलासा गरिएको छ । पछि गठबन्धनमात्रै भएन, एमाले र माओवादी एकता पनि भयो । तर, एकता अघि र पछिका शक्ति संघर्ष पनि पुस्तकमा अध्ययन गर्न पाइन्छ । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि ओलीले लेखराज भट्टलाई सभामुख बनाउने चाहना राखेका थिए । तर, त्यो पूरा भएन ।

    नेकपामा नेताहरूको लिखित युद्धबारे पनि प्रस्ट पारिएको छ । पाँच भाइको जवाफी हमला, प्रचण्डको दोस्रो पत्र, ओली हटाउने राजनैतिक प्रस्ताव, क्रिया, प्रतिक्रिया र अन्तरक्रियाका फेरिस्त छन् । दुई अध्यक्षका अलग अलग लिखित प्रस्ताव पार्टी विभाजनको लागि औपचारिक प्रस्थान विन्दू थिए । प्रचण्डको आरोप र ओलीको प्रत्यारोपले उनीहरुबीचको अप्राकृतिक र स्वार्थको सम्बन्ध सतहमा ल्याइलियो ।

    चीन वाम गठबन्धन जोगाउने खेलमा लागेको तर कांग्रेस र भारत भत्काउने खेलमा लागेको लेखकको विश्लेषण छ । कृष्णबहादुर महरा र वर्षमान पुनले विमलेन्द्र निधि र रमेश लेखकलाई चुनाव रोकेर वाम गठबन्धन तोड्न सकिने सुझाव दिएको पनि पुस्तकमा खुलासा गरिएको छ ।

    योबीचमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता साझेदारी गर्ने र चुनावसम्मै जाने तयारी गरेको तर, कांग्रेसका अन्य नेताले नमानेपछि त्यो प्रयास अघि बढ्न नसकेको पनि पुस्तकमा सेमटिएको छ । पुस्तकमा त्यसपछि उत्पन्न घटनाक्रम, संसद विघटनदेखि पार्टी विभाजनसम्मका विषयवस्तुहरू छन् ।

    लेखकले नेकपा भारत र अमेरिकाको विषय पनि सूक्ष्म ढंगले विश्लेषण गरेका छन् । पुस्तकमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सन्तकुमार गोयलले ओलीसँग भेटेर तीन महत्त्वपूर्ण मौखिक सहमति गरेको उल्लेख छ:

    १) भारतविरोधी र चीनसँग निकट हुने नीति र छवि ओलीले पुनरावलोकन र सुधार गर्ने,

    २) ओलीले चाल्ने राजनैतिक कदमको भारतले समर्थन गर्ने वा मौन समर्थन गर्ने, चुनावसम्म ओलीकै सरकार कायम राख्न गरिने प्रयत्नलाई सहयोग पुर्‍याउने र

    ३) ओली सरकारले भारतीय चासो र सरोकारको यथोचित सम्बोधन गर्ने ।

    ओली-गोयलबीचको यही सहमतिअनुरूप तत्कालीन जनता समाजवादी पार्टीका महन्त ठाकुर-राजेन्द्र महतो समूहलाई विश्वासमा लिई ओलीको मन्त्रिमण्डलमा सामेल गर्न गराउन भारतले उल्लेख्य भूमिका खेलेको उल्लेख छ । कम्युनिष्ट पार्टीलाई नियन्त्रित अस्थिरताको अवधारणाअनुरूप भारतको रणनीतिसमेत रहेको सङ्केत पुस्तकमा दिइएको छ ।

    ‘गोयलले ओलीलाई उकास्न मीठो बचन दिएको हुन सक्थे । समानान्तर रुपमा उनीहरुको उद्देश्य ओलीलाई नै कमजोर पार्नु पनि हुन सक्थ्यो’, पुस्तकमा लेखिएको छ ।

    नेकपाभित्र चीनको चालबारे पनि पुस्तकमा उल्लेख छ । ‘चिनियाँ पक्षको बुझाइ ओलीको विकल्पमा माधव नेपाल वा वामदेव गौतम हुन सक्दैनन् भन्ने थियो । चिनियाँ पक्षले ओलीको विकल्पमा प्रचण्डलाई चाहन्थ्यो । यता प्रचण्ड-माधव समूहले भने भावी प्रधानमन्त्रीको रुपमा माधव नेपालको नाम चर्चामा ल्याएको थियो । प्रचण्ड प्रधानमन्त्री नहुने भए माधव नेपाल र वामदेवभन्दा ओली नै ठीक भन्ने बुझाइ चिनियाँ पक्षको थियो’, पुस्तकमा लेखिएको छ ।

    ‘झलनाथलाई प्रधानमन्त्री बनाउँदा, संविधान जारी गर्दा र ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले भारतलाई छक्काएर जितेका थिए’, पुस्तकमा भनिएको छ, ‘तर ओलीले आफू प्रधानमन्त्री भएपछि प्रचण्डको भूमिका र महत्वलाई कम आँक्ने गरे । प्रचण्डलाई त्यो मनपरेको थिएन ।’

    प्रधानसेनापति प्रकरणमा राष्ट्रपति रामवरण यादवसँग सोझै सम्पर्क गर्न सक्ने भारतीय राजदूत राकेश सुदले कटवाल प्रकरणमा प्रचण्ड सरकारको निर्णय अस्वीकार गर्न ठाडो निर्देशन दिएको विषय उल्लेख गरिएको छ । त्यसपछि प्रचण्डले राजीनामा दिएको उक्त राजीनामा बाबुराम भट्टराईले लेखेको, राजीनामा दिनुभन्दा पहिले भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँग कुरा गर्न खोजेको तर, मुखर्जीले अनिश्चितता देखाएको पनि पुस्तकमा छ ।

    ‘झलनाथलाई प्रधानमन्त्री बनाउँदा, संविधान जारी गर्दा र ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले भारतलाई छक्काएर जितेका थिए’, पुस्तकमा भनिएको छ, ‘तर ओलीले आफू प्रधानमन्त्री भएपछि प्रचण्डको भूमिका र महत्वलाई कम आँक्ने गरे । प्रचण्डलाई त्यो मनपरेको थिएन ।’

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियुक्त गर्नुभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओलीले घण्टौंसम्म संवाद गरेको र एक-अर्कालाई कुनै अप्ठेरो नपार्ने र सकेसम्म सहयोग गर्ने एक-अर्काले प्रतिबद्धता जनाएको पुस्तकमा उल्लेख छ । ओलीको सेटिङमा रहेको आरोप लागेका जबरा संवैधानिक इजलासमा अल्पमतमा परेपछि त्यो अवसरलाई विपक्षी गठबन्धनतर्फ बार्गेनिङको हतियार बनाएको र शेरबहादुर, प्रचण्ड र माधवलाई स्वयं जबराले मागदाबीअनुसारको परमादेशसहित संसद पुनःस्थापना हुनेमात्रै होइन नयाँ मन्त्रिपरिषद्का लागि पात्रहरू खोज्नेसम्मको सूचना दिएको लेखकले खुलासा गरेका छन् ।

    प्रचण्ड चितवनबाट गोरखा जानुका कारण उल्लेख गर्दै भनिएको छ, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध रवि लामिछाने वा दिनेश कोइरालामध्ये एक जनालाई उम्मेदवार बनाउन सक्ने सूचना प्रचण्डसँग थियो । त्योभन्दा ठूलो डर उनलाई आफूविरुद्ध अमेरिका, युरोपियन युनियन र भारतीय पक्षले हराउन भूमिका खेल्न सक्ने सूचना थियो । त्यसैमाथि गृहमन्त्री बालकृष्ण खाणले चुनाव हार्न सकिने रिपोर्ट प्रचण्डलाई दिएका थिए ।’

    भारत नयाँ संविधानमा मधेसको मुद्दा छुटेकोभन्दा बढी चिन्तित हिन्दू राज्य नलेखेकोमा थियो । त्यसपछि प्रचण्ड थुप्रै धार्मिक कार्यक्रमहरूमा देखिन थाले । पुस्तकमा परिवारवादलाई प्रचण्डले गरिरहेको प्रश्रय पनि उल्लेख गरिएको छ । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्दा परिवारभित्रकै बहुकेन्द्र सतहमा आउन थालेको थियो । दिदी रेणु र भाइ प्रकाशबीच केही दूरी थियो । प्रकाश प्रधानमन्त्रीका स्वकीय सचिव थिए । रेणुको हैसियत पूर्वसांसदको थियो र प्रकाश वीनालाई अघि बढाउन चाहन्थे । अर्की दिदी गङ्गा र भिनाजु जीवनसँग पनि प्रकाशको सम्बन्ध घनिष्ठ थिएन ।

    पुस्तकमा भनिएको छ, ‘उनीहरुले बुवालाई प्रभावमा पार्न खोज्ने र त्यसले विवाद ल्याउने प्रकाशको बुझाइ थियो । २०७३ चैतमा देखापरेको आईजीपी काण्डमा पनि दिदीभाइको फरक मत थियो । दिदी रेणु जयबहादुर चन्दलाई आईजीपी बनाउन बाबु प्रचण्डकोमा धाइरहेकी थिइन् भने भाइ प्रकाश नवराज सिलवालको पक्षमा थिए ।’ दिदीभाइको टक्करमा वीना भने पर्दा पछाडिबाटै खेलिरहेकी थिइन् ।

    प्रकाशको निधनपछि अहिले वीना र रेणुबीच प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा भइरहेको विवादलाई पनि पुस्तकमा ठाउँ दिइएको छ । प्रचण्डले पारिवारिक छलफलमा जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतलाई उत्तराधिकारी बनाउन नचाहेको पुस्तकमा छ । ‘उनीहरूलाई आपसमा लडेको देखाएर पुराना नेतालाई साथमा लिने र उपयुक्त समय र सन्दर्भ मिलाएर नेतृत्व तेस्रो पुस्तामा अर्थात् परिवारभित्रै लैजाने रणनीति छ’, पुस्तकमा भनिएको छ, ‘प्रचण्ड परिवारको यो रणनीतिबारे शर्मा, पुन र बस्नेत जस्ता नेताहरू पनि जानकार छन् ।’

    पुस्तकमा लेखकले प्रचण्डको अधुरो सपनाका रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहेको उल्लेख गरेका छन् ।

  • दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान

    दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान

    काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ ।

    बिहीबार दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गरेका हुन् ।

    सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट दुई जना छात्रछात्रा सम्मानित भएका छन् । दरबार हास्कुलको कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८०) र छात्रातर्फ लुनिभा कार्की (३.३३) सम्मानित भएका हुन् । २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।

    बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रियामा प्रा.डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाइन भने देवकुमारी लुइटेलले कविता वाचन गरिन् ।

    सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई, पूर्व मन्त्री गिरिराजमणि पोखरेल, साहित्यकार प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
    ‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोशमा राखिएको छ ।

    अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ । बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ ।

    वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।

     

  • रवि लामिछानेलाई खुल्ला पत्र- ‘गल्ती स्वीकार्नुस्, सच्चिनुस्’

    रवि लामिछानेलाई खुल्ला पत्र- ‘गल्ती स्वीकार्नुस्, सच्चिनुस्’

    माननीय रवि लामिछानेज्यू,
    एवं सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी ।

    सर्वप्रथम नमस्कार ! सँगसँगै एउटा अनुरोध छ, ‘तपाईँको रचनात्मक आलोचना गर्नेहरूलाई समेत कुन पार्टीको झोले होस् ? कसको कति पैसा खाएर यो लेख्ने आँट गरिस् ? रिप ! यी यस्ता कमेन्ट गर्ने तपाईँका आम समर्थकहरूलाई अलिक शान्त, सभ्य भएर प्रतिवाद गर्न सुझाव दिनुहोला ।’

    यो मैले मेरो बचाउका लागि भनेको हैन । १४ वर्षको बाल्यकालदेखि पत्रकारिता सुरु गरेको मलाई शीर्षक हेरेर कमेन्ट गर्नेहरूका यी यस्ता शब्दले भाला रोप्न छाडिसके । सबैभन्दा कम उमेरमा कुनै दलनिकट पत्रकार संगठनको कान्छो जिल्ला अध्यक्षको पद पनि छाडिसकेँ । कारण एउटै हो, ‘विचारमा अधीनस्थ बन्न चाहिनँ ।’ म स्वतन्त्रतामा रमाउने मान्छे हुँ, झण्डै एक दशकको पत्रकारिता यात्रामा म कहिल्यै कसैको दबाब र प्रभावमा परिनँ । समाचार लेखेपछि आएका ज्यान मार्ने धम्कीपछि कुनै जिल्ला छाडेँ, समाचार छाप्न नमानेपछि कुनै मिडिया हाउस ।

    माननीय रवि दाइ,

    म रहरले पत्रकारितामा लागेको हुँ तर परिस्थितले राजनीतिमा ल्यायो भन्दै दल खोल्ने सन्देश आफ्नो फेसबुक मार्फत दिएको त्यो दिन मलाई राम्रोसँग याद छ ।त्यो दिन अन्य कति पत्रकार खुसी भए थाहा छैन । तर, म गदगद थिएँ । त्यसमा दुई कारणहरू थिए ।

    पहिलो,

    मैले पनि रहरले पत्रकारिता सुरु गरेँ । अहिले वाक्क दिक्क हुँदा पनि देशको लागि केही गर्नुपर्छ भनेर निरन्तरता दिइरहेकै छु । सानै उमेरमा गोरखादेखि पत्रकारिता गरेको मलाई कहिलेकाँही अग्रजहरुले रवि लामिछाने/अपिल त्रिपाठीको तरिकाले टिकिन्न भन्दै गिज्याउँथे । थाहा छैन किन ? तर, मलाई ती गिज्याइले मनमनै खुसी भने दिन्थ्यो । गिज्याउनेहरूले नेपाली पत्रकारितामा रवि लामिछानेको परिवर्तित शैली स्वीकार्न सकेनन् । सायदै पुरानो तरिकामै रमाउने कतिपय पत्रकारहरूलाई तपाईँको शैली मन परेनन् । तर, आम नेपाली जनताको नजरमा ‘वाह’ पत्रकार भनेको यस्तो पो हुनुपर्छ भन्ने उदाहरणका रूपमा स्थापित हुनुभयो ।

    दोस्रो,

    पत्रकारितामा जस्तै नेपाली राजनीतिमा पनि परिवर्तनको आशा र भरोसा ! तपाईँले पत्रकारिता गर्दा तमाम नेपालका ज्वलन्त समस्याहरूका उदाहरण देख्नुभयो/देखाउनुभयो । विकृत राजनीति, मक्किएका राजनीतिक दल, देशका लागि धमिरा जस्ता नेतृत्व, दलको इसारामा नाच्ने राज्य व्यवस्था, भ्रष्ट्रहरूको रजगज अनि उनीहरूबाट पिल्सिएका पीडित जनताका आँसुले थिलोथिलो बनेको देशमा तपाईँ नेतृत्वको दलबाट सम्भावित रूपान्तरण र परिवर्तनको विश्वास लिएर रमाउनु सायदै गल्ती थिएन तत्कालीन समयमा !

    मेरो यी आशा आगामी एक दशकभित्र वरिपरीमा पूरा हुने कुरामा मलाई मंसिर ४ को निर्वाचनले पनि दिलायो । निर्वाचनपछि तपाईँकै नेतृत्वमा सरकारमा सानदार ‘इन्ट्री’ ले यो विश्वासलाई थप मलजल गरिदियो । सरकारमा गएर गल्ती गर्याे रास्वपाले भन्नेहरू थुप्रै थिए । तर, काम गर्न सरकारमा जानै पर्छ ।

    राज्यको वर्तमान शासन प्रणाली रहँदासम्म गठबन्धन विना सत्तामा जानु सहज छैन । दल दर्ताको महिना दिनमै निर्वाचनमा गएको रास्वपाका लागि कसरी होस् ?सत्तामा पुगेर रास्वपाले के गर्याे ? या कति गर्याे ? यसमा पछि चर्चा गरौँला ।

    सरकारमा गएपछि तपाईँको राहदानी र नागरिकता जस्ता विषय जसरी आयो त्यसमा मलाई दुखेसो छ । दुखेसो यस कारण कि, तपाईँले आवश्यक सबै प्रक्रिया पूरा नगर्नु भएकै हो । तर, यस विषयमा तपाईँसँग भन्दा यो राज्य व्यवस्थासँग बढी छ । किनकि, राज्यका यत्तिका धेरै संयन्त्र हुँदाहुँदै सत्तामा पुगेपछि कमजोरी देख्ने र रातारात अनागरिक बनाउनेहरूका आँखामा पट्टी कस्ले लगाइदिएको थियो ?हाम्रो राज्यको संयन्त्रहरू कति कमजोर या लापरबाही छन् ?विषय छर्लङ्गै भयो । तपाईँले जस्तै प्रक्रिया नमान्ने या मिच्नेहरूलाई पनि सावधान र खतराको जनाउ ‘घण्टी’ पक्कै बज्यो ।

    तपाईँले गरेका कानुनी बेवास्ताका कारण व्यक्तिगत रूपमा तपाईँका लागि सांसदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुम्यो । केही घण्टाका लागि तपाईँकै भाषामा भन्नुपर्दा अनागरिक बन्नु भयो । तर, आम जनताका लागि केही समय नेपाली राजनीतिको आशाको दियो निभ्यो ! परिवर्तन विरोधीहरूले भन्न पाए, ‘आफ्नै देशको कानुन मिच्ने÷नमान्ने र अटेरी गर्नेहरूले देश बनाउँछु भन्दै आएको थियो अब जेल जाने भयो ! देख्यौँ रविको भेडाहरू ?’

    एकअर्थमाथि यस्ता आलोचना सही थिए । कहीँकतै तपाईँबाट चाहेर/नचाहेर गल्ती भएकै हो । तपाईँको ठाउँमा अन्य कोही हुँदो हो त सायद आज उ नेपालको कानुन अनुसार जेलमा कैदी बन्दीको रूपमा हुन्थ्यो होला ! तपाईँ राजनीतिक सम्झौता गरेर उपनिर्वाचनबाट पुनः निर्वाचित भइसक्नु भयो । त्यो पनि इतिहासमै अत्यधिक जनमत पाएर ।

    नेपालको कानुन ‘ठूलालाई चैन र सानालाई ऐन’ भन्ने उखान तपाईँमा पनि चरितार्थ भयो । एउटा पत्रकारको हिसाबले हेर्दा कानुनी राज्यमा भएको यो खालको राजनीतिक सम्झौता र कानुन मिच्नेलाई उन्मुक्ति दिनुलाई म गलत नै ठान्छु ।

    तर, तपाईँको नेतृत्वमा मैले देख्न चाहेका राष्ट्रको परिवर्तनका चाहानाले मलाई व्यक्तिगत रूपमा त्यो गलत लागेन । हजारौँ हजार नागरिकको हत्या गर्नेहरू/राष्ट्र र राष्ट्रियतामा विदेशीसँग घुँडा टेक्ने र सम्झौता गर्नेहरू/देशको भूमिदेखि पहिचान बेच्नेहरू/भ्रष्ट र भ्रष्ट्राचारीका नेतृत्व र संरक्षणकर्ता अनि देशका संयन्त्रहरुलाई अपाङ्गता बनाएर कुर्सीमा बस्दै नचाउनेहरु देखेका मेरा यी नजरले तपाईँका गल्ती सामान्य ठान्यो । अपेक्षा घटेको थिए, छैन ।

    हप्ता दिनअघि रास्पवाको केन्द्रीय कार्यालय पुगेको थिएँ । छिर्ने बित्तिकै त्यहाँ नाम ‘इन्ट्री’ गरेर मात्रै कस्लाई भेट्ने हो त्यहाँ जान पाइने रहेछ । साथमा अन्य दुईजना दाइहरू थिए । नाम टिपायौँ । आधा घण्टा कुर्नु भनियो । त्यहाँ कुर्सी, बेन्चहरु राखिएको थियो, प्रतीक्षा सुरु भयो । कुर्दाकुर्दै रास्पवाकै कार्यालयमा कार्यरत एकजना आएर सोध्नुभयो, ‘कहाँबाट आउनु भएको ? ’हामीले भन्यौँ, ‘गोरखा’ ।
    त्यसपछि उहाँले सोध्नु भयो, पार्टीको अवस्था त्यहाँ कस्तो छ ?सँगै रहेका साथीले ओठे जवाफ दिए, ‘कसको पार्टी ?’

    रास्वपा कार्यालयका दाइ हाँस्दै भन्नु भयो, ‘अरू कसको हुनु हाम्रो ।’ अनि मैले भनेँ, ‘तपाईँहरूको सहमहामन्त्री भएको जिल्ला हो । राम्रै हुनु पर्ने तर जति हुनु पर्ने थियो त्यो अनुसार देखिँदैन । कुनै कुनै पालिकामा भने राम्रै देखिएको छ । यद्यपि रिजल्ट आउँदो निर्वाचनमा देखिएला ।’

    मैले थपेँ, ‘तपाईँको केन्द्रीय कमिटीमा नै लफडाको समाचार आइराख्छ । धार छुट्टी सक्यो रे ! घण्टी रहन्छ त आउँदो निर्वाचनसम्म ? कि महाधिवेशनपछि सकिन्छ ?’

    उहाँले जवाफ दिनुभयो, ‘हैन, पार्टीमा यस्तो चल्नु स्वाभाविक हो । यो सबै पार्टीमा हुन्छ । तर, रवि सरको विकल्प छैन ।

    विवादलाई ब्यालेन्समा ल्याउन केस (केन्द्रीय सदस्य) हरू थपिँदैछन् । पार्टी टिकाउनु पर्छ । तपाईँहरू पनि लाग्नुस् है पार्टी बनाउन ।’

    उनले हामीलाई रास्वपाकै कार्यकर्ता सम्झिएर कुराकानी गरिरहेका रहेछन् । साथीले भनिहाले, ‘हामी त पत्रकार हौँ । रास्वपा बनाउन किन लाग्नु ? राम्रो काम गरे पनि समाचार लेखिन्छ, नराम्रो गरेपनि ।’ यत्ति भनेपछि उनी झस्किए । त्यसपछि ल है हजुर, काम छ मेरो तपाईँहरूको पालो आउन लाग्यो होला भन्दै निस्किए । जाँदाजाँदै उनले नाम ‘इन्ट्री’ गर्ने अर्को कर्मचारीलाई उहाँहरूलाई अब माथि पठाइदिनुस् त बुझेर भन्दै निस्किए ।

    त्यसको केही मिनेटपछि हामीलाई पाँचौँ तल्लामा जानु भनियो । त्यहाँ पुगेर झट्ट हेर्दा एनजिओ/आइएनजिओको अफिस जस्तै, चिटिक्क परेको सामूहिक काम गर्ने अफिस । आहा ! क्या गज्जब ।

    डिपि अर्याल, कवीन्द्र बुर्लाकोटी, मुकुल ढकाल लगायतका नेताहरू भिन्नभिन्नै मान्छेहरुसँग भेटघाट गर्दै थिए । तीनैमध्ये एकजना नेतासँग भेट्यौँ । सामान्य कुराकानी भयो । त्यहीँ बस्दाबस्दै मैले थाहा पाएँ, ‘रास्वपाले महाधिवेशनअघि नेताहरूलाई अन्तरवार्ता नदिन निर्देशन नै दिएको रहेछ ।’ मनमनै पत्रकारिता गरेर आएका व्यक्तिको नेतृत्व रहेको पार्टीमा अन्तरवार्ता दिन नै रोक ? यो कस्तो लोकतन्त्र ? रास्वपाको यो कस्तो रणनीति ?या भनौँ यो कस्तो नियति ? तर, यो प्रश्नको जवाफ त्यहाँ कसैले दिनेवाला थिएनन् । फर्कियौँ ।

    त्यसको भोलिपल्ट रास्वपाकै एकजना युवा नेतालाई भेटेँ । उनलाई सोधेँ, किन यसरी अन्तरवार्ता दिनै रोक लगाएको ?आन्तरिक विवाद चर्किरहेको छ । पुकार बम, स्वर्णिम वाग्ले, अनिल केशरी शाह जस्ता थुप्रैलाई पार्टीमा ल्याउँदा फलानो फलानो पद दिन्छु भन्दै ल्याए अहिले दिन सक्ने स्थित छैन । कस्लाई हटाउने ? कस्लाई ल्याउने ?आन्तरिक रूपमा पदको चर्को लडाइँ सुरु भइसक्यो । केन्द्रीय सदस्य नथप्ने हो भने महाधिवेशनबाट ताल पर्यो भने रवि दाइलाई असन्तुष्ट पक्षले आउट गर्न पनि सक्छन् । त्यसैले हालसालै केही केन्द्रीय सदस्य थपे, फेरि थप्ने तयारी हुँदैछ ।

    उनको कुरामा म कन्भिन्स भएँ । किनकि, रवि दाइ तपाईँले नै केही समय अघि पार्टीको केन्द्रीय कमिटी कार्यकर्ता भर्ती केन्द्र बनाउँदैनौँ । हामी काम गर्ने सानो ‘कोर टिम’ बनाउँछौँ भनेको कुरा याद गरेँ । दल भित्र हुने यो खालको आन्तरिक लडाइँ पनि ठिकै हो भन्ने लाग्यो ।

    तर, दिन नसक्ने पद दिन्छु भन्दै तपाईँले कसैलाई पार्टीमा ल्याउनु भएको छ भने त्यो सरासर गल्ती हुनेछ । यदि साँच्चै त्यस्तो गरिराख्नु भएको छ भने आगामी दिनमा यस्तो काम भने नगर्दिनु होला ! अन्यथा निकट भविष्यमै यस्ता काम ‘आफ्नै खुट्टामा बन्चरो हान्नु’सरह साबित हुनेछ ।

    पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा बाहेक तपाईँले आफ्नो सामाजिक सञ्जालमार्फत खासै केही लेख्नेरबोल्ने गर्नु भएको थिएन । लामै समयपछि चार दिन अघि मात्रै एउटा स्टाटस लेख्नु भयो ।
    जसमा लेखिएको थियो, ‘यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदै छन् ।

    चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’ । अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदै छु । भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला ।’

    जागिर कसरी दिने ? स्रोत के हो ? उत्सुकता हुँदै थियो । भोलिपल्ट तपाईँले भनेकै कुरा मानेँ, फलो गरिरहेँ । ब्लु बस सेवा, मोबाइल एम्बुलेन्स सेवा, सय दिन सय रोजगारी जस्ता सुन्दा चर्चित लाग्ने थुप्रै योजनाहरू सुनाउनु भयो । प्रचार यसरी गर्नुभयो कि मानौँ त्यो सबै काम तपाईँ आफैँले खल्तीको पैसा हालेर गर्दै हुनुहुन्छ । यो मैले आरोप लगाएको हैन, तपाईँका स्टाटस, तपाईँको भिडियो सन्देशहरूले यस्तै भान पुष्टि गर्छ ।

    सोही चितवनमा बोल्दाबोल्दै चिप्लनु भयो, ‘१०० जनालाई जागिर दिने योजना विभिन्न स्रोतहरूलाई परिचालित गरेर विभिन्न संघ संस्थालाई सहभागी गराइ डोनर, एजेन्सी र शुभचिन्तकहरूसँग साथ लिएर त्यसलाई पारदर्शी गराएर सञ्चालन गर्ने छौँ । कुनै पनि चिज मान्छेले आफूले खल्तीबाट गर्ने चिज होइन । त्यो व्यवस्थापन गर्ने कुरा हो ।’

    यत्ति भनेपछि बुझेँ तपाईँले पनि ‘बिना ढेउवा के’क्रडिट लिन खोज्नु भएको रहेछ । हरेक क्षेत्रका मानिसहरूसँग सहकार्य गरेर काम गर्नुस् । देशमा बेरोजगार बनेर बसेकाहरूलाई सकिन्छ प्रतिस्पर्धाका आधारमा जागिर खाने अवस्था सिर्जना गराउनुस् । उनीहरूको श्रम शोषण अन्त्य गर्न पहल गर्नुस् । समयमै र उचित पारिश्रमिक पाउने अवस्था बनाउनुस् ।

    नेपालीहरूले आज विदेश जान गर्ने लाखौँलाख लगानी स्वदेशमै ढुक्कसँग कुनै व्यवसायमा लगानी गर्न सक्ने अवस्था सिर्जना गर्नुस् । देशमा सत्ता, शक्ति र राज्यसंयन्त्रको दुरुपयोग गर्दै भएका तमाम भ्रष्ट्रचार, अनियमितता र गैरकानुनी धन्दा निर्मूल पार्न काम गर्नुस् । कानुनी राज्यको आभास गराउनुस् । ‘ठूलालाई चैन र सानालाई ऐन’ को भाष्य परिवर्तन गराउने गरी काम गर्नुस् ।त्यसका लागि हरेक क्षेत्रका व्यक्तिहरूसँग सहकार्य गर्नुस् । तर, भुलेर पनि त्यसको क्रेडिट लिन नखोज्नुस् ।

    याद गर्नुस् त, तपाईँले पत्रकारिता गर्दा भएका राम्रो कामको प्रतिफल लिन कहिल्यै स्टाटस लेख्नु भयो ? त्यसको प्रचार र ब्रान्डिङ तपाईँ स्वयंले कहिल्यै गर्नुभयो ?मलाई त लाग्दैन गर्नुभयो । तपाईँले मात्रै कर्म गर्नुभयो जसको फल स्वरुप नेपाली जनताले तपाईँकै विश्वासमा जन्मिएर न्वारन मात्रै गरेको पार्टीलाई देशकै चौथो राजनीतिक शक्ति बनाइदिए ।

    शास्त्रमा पनि लेखिएको छ, ‘कर्म गर फलको आश नगर ।’

    माननीय रवि दाइ,

    तपाईँको विदेशमा रहेका नेपालीहरूलाई ‘फ्री टिकटमा’ नेपाल ल्याउने कुरामा म अझै कम्तीमा १० वर्ष सहमत छैन, हुँदिन पनि ।देशमा रहेका नेपालीहरु दैनिक हजारौँ वैदेशिक रोजगारीमा जाँदैछन् । यहाँ व्यवसाय गरिरहेकाहरु आजित छन् । यो अवस्थामा एक सय, दुई सय, एक हजार या कति जनालाई ‘फ्री टिकट’ मा नेपाल ल्याउनु हुन्छ ? तपाईँले अरू कसैको सहयोगमा, अरू कसैसँगको समन्वयमा काम गर्ने नै हो आखिर त्यो हो भने आजैदेखि नारा परिवर्तन गर्नुस् । ‘फ्री टिकट’ मा नेपाल ल्याउने हैन, देशमै रोजगारी सिर्जना गर्ने र विदेश जानबाट रोक्ने ।

    एक पटक सोच्नुस् त, कहिले रविले या रास्वपाले या अरू कसैले टिकट काटिलेला र स्वदेश फर्किउँला भन्दै कुरेर बस्ने कति होलान् ?अन्ततः विदेश जानेहरू निश्चित पैसा कमाएपछि स्वदेश फर्कने नै हुन् । सबैले त्यहाँ ‘पिआर’ पाउँदैनन् । ‘पिआर’लिनेहरू मध्य पनि तपाईँ जस्तै स्वदेशमा नै फर्कने र फर्कन चाहनेहरु थुप्रै छन् । मात्रै उनीहरुले नेपालमा आएर के गर्ने ? कुन क्षेत्रमा गर्ने ?भन्ने बाटो देखेका छैनन् । अथवा देखे पनि लगानी पश्चातको सुरक्षा प्रत्याभूति गर्न सकेका छैनन् ।

    तपाईँ अब त्यस्ता मानिसहरूलाई स्वदेश ल्याउनुस् जो टन्न पैसा कमाएर विदेशमा व्यवसाय गरेर बसिरहेका छन् । उनीहरूलाई स्वदेशमा ल्याएर लगानी गर्ने अवस्था सिर्जना गर्नुस् । यहाँ उद्योग, कलकारखाना खोल्ने वातावरण सिर्जना गर्नुस् । विश्वविद्यालय, अस्पतालदेखि जलविद्युत देखि कृषिसम्मका क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुस् । तपाईँले निर्वाचित भएको एक सय दिनमा हैन, कार्यकाल सक्किएको यस्ता एक सय लगानीकर्ता नेपाल फर्काउनुस् । त्यसमा नै तपाईँ सफल हुनुहुन्छ । सक्नु हुन्छ ?

    यदि यस्तो गर्न सक्नु हुँदैन भने कम्तीमा देशमा गर्दागर्दै उपाय नलागेर घरको ऋण तिर्ने र आफू अनि आफ्ना सपना पूरा गर्न विदेशमा गएका दुखी नेपालीलाई यहाँ ल्याएर अलपत्र नपार्नुस् । यहाँको कमाइ भन्दा विदेशकै राम्रो छ, कम्तीमा केही समय कमाउन दिनुस् । ताकि त्यहाँ कमाएको पैसा ल्याएर नेपालमा लगानी गरुन् । सके अरूका लागि पनि रोजगारी सिर्जना गर्ने गरी नसके आफू स्वरोजगार बन्ने गरी ।

    ‘फ्री टिकट’ नेपाल ल्याउन नै चाहनु हुन्छ भने ती नेपालीहरूलाई ल्याउनुस् जो दलालको जालझेलमा परेर विदेश पुगेर दुख पाइरहेका छन् ।जो दिनरात नेपाल फर्कने चाहाना राख्छन् । तर, टिकट काट्ने पैसा नहुँदा फर्कन पाएका छैनन् ।

    तपाईँकै चार दिन अघिको स्टाटसमा भएको एउटा शब्द चोरौँ ? स्टन्ट क्या ! हो यो कुरा तपाईँ अलिक बढी नै गर्दै हुनुहुन्छ । काम गर्नुलाई स्टन्ट भनिँदैन् । तर, नयाँ जोगीले धेरै खरानी धस्छ भनेझैँ गर्नुलाई स्टन्ट भनिन्छ । अरूले गरेको कामलाई आफूले गरेको भन्दै दाबी गर्नुलाई स्टन्ट भनिन्छ ।

    दाइ,

    अहमताले मान्छेलाई क्रूर बनाउँछ ! घमन्डी मान्छे अन्ततः पाखण्डी बन्छन् । देशको अवस्था र व्यवस्था संकटमा छ, त्यसैले रास्वपा आज यो ठाउँमा छ । परिवर्तनका आशा तमाम नेपालीले गरेका छन् फरक यत्ति हो कसैले विश्वास गरेर साथ दिँदैछन् कसैले विश्वास गर्ने वातावरण बनोस् भनेर गल्ती कमीकमजोरी देखाउँदै टिप्पणी दिँदैछन् । अक्सर मान्छे आलोचना उसैको गर्छ, जोबाट आशा÷अपेक्षा गर्दछ । त्यसैले आलोचना भनेको विरोध हैन ! भएका कमीकमजोरी र गल्ती स्वीकार्नु र सुधार्नु भनेको पतित हुनु पनि हैन ।

    सत्ता र शक्तिको आडमा अनेकौँ गैर तरिकाबाट फाइदा लिएकाहरू बाहेक अधिकांशले रवि लामिछाने, सिके राउत, रेशम चौधरीहरूले जन्माएका पार्टीलाई विकल्प देखे । बालेन, हर्कहरूमा पनि देखे । तर, विकल्प देखिएका तपाईँमा परिपक्वता देखिएन । यदि देखिन्थ्यो त भारतीय दूतावासले दिएको गाडी प्रयोग किन ? प्रयोग गर्नु नै गलत हैन । तपाईँका उद्देश्य सही छन् । यद्यपि त्यो गाडी सुरुकै दिनमा भारतीय दूतावासको हो, फलानो मेडिकल कलेजमा थियो । हामीले समन्वय गरेर प्रयोगमा ल्यायौँ भनिदिएको भए के बिग्रिन्थ्यो ?
    अनि, त्यो गाडी अन्त्यैको हो भन्ने केही टीकाटिप्पणीबाटै तर्सिएर फिर्ता गर्नुको पछाडि आवश्यक प्रक्रिया पुरा नगर्नु नै कारण हैन ? आवश्यक सम्झौता, प्रक्रिया पूरा गर्नु पर्दैनथ्यो ?गरेको भए समाचारका ‘हेडलाइन’ सँग तर्सिएर त्यो गाडी फिर्ता चाहिँ किन गर्नु परेको ?विरोध आयो भएर भन्ने जवाफ होला तर खबरदार यस्ता काइते तर्कबाट पन्छिने छुट छैन ।

    ‘ब्लु बस’ पनि अनुमति बिना नै रंग परिवर्तन गर्नुभएछ । समाचारहरू आए, आउँछन् । आज रवि लामिछाने पत्रकारितामा नै हुन्थ्यो र रवि लामिछानेको ठाउँमा अन्य कसैले यसरी नै नियम, विधि र पद्धति मिच्थ्यो भने समाचार बन्दैनथ्यो होला ?के रविले त्यो विषयलाई समाचारको ‘हेडलाइन’ बनाउँदैनथ्यो होला ? तपाईँ आफूलाई नै प्रश्न गर्नुस् त ।

    उत्तर के आयो ?यदि तपाईँले पत्रकारिता बिर्सनु भएको छैन भने पक्कै पनि एउटै जवाफ पाउनु हुनेछ पक्कै पनि समाचार बन्छ । बन्नु पर्छ । बनाइनु पर्छ । तर, लाग्छ तपाईँ पनि राजनीतिको दलदलमा फसेर पत्रकारहरूलाई आफ्नो परम शत्रु ठानिसक्नु भयो ।
    मैले किन यसो भनेँ ? थाहा छ दाइ ? सुन्नुस् म भन्छु ।

    हिजो बिहान अलिक ढिलो उठेँ । उठ्ने बित्तिकै मोबाइल हेरेँ । झण्डै ११ बजिसकेको थियो । एकजना पत्रकार साथीको स्टाटस देखेँ । लेखिएको थियो, ‘यो निलो पार्टीले सबै काम गैरकानूनी मात्र किन गर्छ ? एम्बुलेन्स पनि गैरकानूनी रूपमा लिएका थिए,फिर्ता गरे ।महिलाहरूका लागि निःशुल्क सञ्चालनमा ल्याएको बस पनि अनुमति नलिई निलो रंगमा परिवर्तन गरेको पाइएको छ । यिनलाई नि गाह्रो छ ।’

    खासै वास्ता गरिनँ । नित्यकर्म सकेँ । के रहेछ विषय भन्ने लाग्यो, कम्प्युटरमा बसेँ । समाचारहरू हेरेँ । विषय प्रष्टै भयो ।

    त्यसपछि तपाईँलाई फेसबुकमा सर्च गरेँ । वालमा हेरेँ । ४८ मिनेटअघि एउटा स्टाटस लेख्नु भएको रहेछ । जसमा लेखिएको थियो, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाइन आतंकर, हैरानी । सक्दैनौँ, सक्दै त सक्दैनौ ।’

    अनि, तपाईँलाई सुझाव दिँदै स्टाटस लेख्न मन लाग्यो । लेख्दा लेख्दै सोचेँ । स्टाटस त कति लेख्नु । लेखे पनि हेर्ने हैनन् । बरु एउटा खुल्ला पत्र लेख्छु भन्ने सोचेँ । र यत्ति लेखेँ ।

    अन्त्यमा,

    दाइ, आफ्नो पूर्व पेशाका साथीहरू प्रतिको तपाईँका टिप्पणीहरूका त कुरै नगरौँ । तपाईँका समग्र अभिव्यक्तिहरू देखेर कहिलेकाहीँ उदेक लागेर आउँछ । अधिकांश तपाईँका भाषणहरू सुन्छु, ‘आक्रोश, आक्रमण र अनियन्त्रित’ हुन्छ । आशा कम आक्रोश बढी । परिवर्तनका एजेन्डा कम गाली धेरै ।

    यसलाई तपाईँ स्वीकार्नु हुँदैन होला ! किनकि तपाईँ बारम्बार भन्नु हुन्छ कि म आलोचनाको राजनीति गर्न आएको हैन ।

    यद्यपि, किनकिन तपाईँको व्यक्तिगत फ्यान भएकोमा कहिले कसो पछुतो पनि लाग्छ । तर, अरूलाई हेर्छु, अनि हैन आश गर्न लायक पनि यिनै छन् अहिलेसम्म भन्ने सोच्छु । तपाईँ पत्रकारिता मार्फत आम जनमासमा भगवान् जस्तै स्थापित पात्र, म भर्खरै कर्म गर्दैछु । मेरो सुझाव पनि तपाईँलाई आलोचना लाग्ला । तर, लागोस्, केही छैन ।

    युवा नेतृत्व भनेको आम जनमासको भावना र बिचारको प्रतिनिधित्व गर्न सक्ने हुनुपर्छ । हरेक सकारात्मक परिवर्तनका आवाज सुन्न र कार्यान्वयन गर्न सक्ने हुनुपर्छ । राष्ट्र र राष्ट्रियतामा अडिग रहने, देशको पहिचान जोगाउँदै थप इतिहास रच्ने हुनुपर्छ ।

    तपाईँमा घमन्ड छ, अहमता छ । त्यो नत्याग्नुस् । तर, त्यसलाई सकारात्मक ऊर्जामा बदल्नुस् । हर कसैको रचनात्मक आलोचनालाई स्वीकार्न सिक्नुस् । गर्ने आफूले हो तर अरूका पनि कुरा सुन्नुस् ।अनि, तपाईँले गरेका कामको प्रचार गर्दिने आज दुनियाँ साथमा छ । मपाईँत्व गर्दै ‘क्रेडिट’ लिन हतार नगर्नुस् । तपाईँमा पारदर्शिता कम देखिँदै छ । यदि पारदर्शी हुनुहुन्थ्यो भने एम्बुलेन्स फिर्ता गर्नु पर्दैनथ्यो ।

    देशमा रहेको भद्रगोल तन्त्र र राज्य संयन्त्रको अकर्मण्यताको दुरुपयोग तपाईँ स्वयं गर्दै हुनुहुन्छ । हिजो नागरिकता र राहदानीका विषय देखि आज ‘ब्लु बस’ सम्म पनि । आफूले जान अन्जानमा गरेका गल्ती कमजोरी यदि कसैले भन्दियो भने तपाईँ सच्चिन छाडेर उछित्तो काट्न पछि पर्नु हुँदैन । यी यस्ता थुप्रै विषयवस्तुहरु छन्, जसले तपाईँमा राजनीतिक अपरिपक्वता दर्शाउँदैछ ।

    हो, राजनीतिमा नयाँ हुनुहुन्छ । तर, नयाँ छु भन्दैमा मनलाग्दी गर्ने छुट सधैँ नहोला नि ?केही गर्नु र बोल्नु अघि सोच्नुस्, राम्रोसँग ताकि तपाईँको आलोचना गर्नेहरूलाई पनि ठाउँ नहोस् । काम यति परिपक्काताका साथ गर्नुस् कि तपाईँका विरोध गर्न ठाउँ खोजेर बस्नेहरू पनि चुपचाप हेर्न मात्रै बाध्य हुन् । अझै उनीहरूलाई पनि समर्थन गरौँ÷गरौँ लागोस् ।

    तर, यसको लागि तपाईँले आफ्नो गल्ती कमिकमजोरीहरुलाई सच्चाउँदै राजनीतिक परिपक्वता देखाउनु जरुरी छ । अन्यथा, तपाईँ र तपाईँको दलमा लागेकोमा पनि आज तपाईँलाई आँखा बन्द गरेर समर्थन गर्नेहरू पछुताउने दिन नआउला भन्न सकिन्न । किनकि, याद राख्नुस्, आज तपाईँ र रास्वपालाई समर्थन गर्नेहरूको जमातमा हिजो अन्य नेता र दललाई समर्थन गर्नेहरूका जमात ठूलो छ ।

    त्यसैले, सच्चिनुस् रवि दाइ ।

  • हिमालय एअरलाइन्समा बिझाएका तीन काँडा

    हिमालय एअरलाइन्समा बिझाएका तीन काँडा

    चाइना इन्टरनेशनल प्रेस कम्युनिकेसन सेन्टरको कार्यक्रमको अवसर आयो । ६९ देशका ८१ पत्रकार सहभागी कार्यक्रममा अहिलेसम्म नेपालबाट आधा दर्जन पत्रकार पुगेका छन् । नेपालका अनलाइनबाट पुग्ने म नै पहिलो रहेछु । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र भविष्यको महाशक्ति भनेर चित्रित गरिएको नेपालको उत्तरी छिमेकी चीनको राजधानीमै हुने कार्यक्रममा पुग्नु आफैंमा गजब अवसर हो । कार्यक्रममा जाने तयारी भएपछिको हवाई यात्रामा पहिलो कल्पना नै ट्रान्जिटको बारेमा भयो । तर, जब काठमाडौं बेइजिङ सीधा उडानको टिकट हातमा आयोजकबाट आयो, मैले पत्याइनँ र आयोजकलाई सोधें, ‘काठमाडौंदेखि बेइजिङ सीधै उडान हो ?’ उताबाट उत्तर आयो, ‘सीधै हो । साढे पाँच घण्टाको यात्रा हो ।’

    नेपाल र चीनको निजी क्षेत्रको संयुक्त लगानीको हिमालय एअरलाइन्स सञ्चालन भएको धेरै भए पनि सीधा बेइजिङ उडान भएको थिएन । त्यो कोणमा पनि सीधा उडान भएको थाहा पाउँदामात्रै पनि खुशी हुनुपर्ने म आफैं सीधा उडानको अनुभव लिन पाएपछि झन खुशी भएँ । फ्लाइट नम्बर एच९६६५को सीट नम्बर ८ को लहरमा बस्दा म मख्ख थिएँ ।

    हिमालय एअरलाइन्सको इनफ्लाइट म्यागनिज ‘डाँफे’ तानेर हेर्दा मेरो मन डाँफे जस्तै उडिरहेको थियो । मेरो हातमा साढे पाँच घण्टामा मुड चल्दा पढ्न बोकेको सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’ थियो । म जन्मनुभन्दा अगाडि २०४४ सालमा छापिएको किताब नेपाली विभूति अरनिकोको बारेमा व्यापक जानकारीमूलक थियो । तेह्रौं शताब्दीमा बेइजिङसम्म पुगेर नेपाली कलाकारिताको अमर पहिचान बनाएका अरनिको पढ्दै म पनि बेइजिङ उड्दै थिए । तेह्रौं शताब्दीका अरनिको पढ्दा मैले भने चिनियाँ बौद्ध भिक्षु फाहियान र नेपाली बौद्ध भिक्षू बुद्धभद्र मिस गरिरहेको थिएँ । सन् ४०३ मा फाहियान बुद्ध र बौद्ध धर्मका पाइला खोज्दै दक्षिण एसिया आएका थिए, नेपाल पुगेका थिए । फाहियानको निम्तोमा नेपाली बौद्ध भिक्षु बुद्धभद्र सन् ४०६ मा चीन पुगेका थिए ।

    पाँचौं शताब्दीमा नेपाल र चीनका बुद्धभद्र र फाहियान दुई अनुहारको त्यो सहकार्यकै निरन्तरताको पछिल्लो हवाई क्षेत्रकोे उदाहरण हो हिमालय एअरलाइन्स । किनभने यहाँ पनि नागरिकस्तरमा चीन र नेपालले एक अर्कालाई जोड्न सहकार्य गरिरहेका थिए । यस्तै भावना मनमा आइरह्यो । तर, प्रि-बोर्डिङ अनाउन्समेन्टदेखि डाँफे पढ्दा यी भावना एकपछि अर्को गर्दै भत्किइरह्यो । मूलतः हिमालय एअरलाइन्सको साढे पाँच घण्टाको उडानमा बिझेका तीन काँडाको बुँदागत चर्चा यो ब्लगमा गरिएको छ ।

    १. भाषा

    नेपाली र चिनियाँ लगानीकर्ताले खोलेको विमान सेवाले नेपाल र चीन जोड्छ । भाषा पनि नेपाली र चिनियाँ दुवै हुनुपर्ने हो । छ पनि । तर, ढंग पुगेको छैन । हिमालय एअरलाइन्सको इनफ्लाइट म्यागजिन डाँफेमा नेपाली र अंग्रेजी भाषामात्रै छ । चिनियाँ भाषाको सामग्री छैन । नेपालीभन्दा चिनियाँ यात्रु धेरै बोक्ने जहाजमा चिनियाँ भाषाका कन्टेन्ट नहुनु बडो दुःखद हो ।

    यो बारेमा निकै अगाडि नेपाली, चिनियाँ र अंग्रेजी भाषामा पोख्त अरनिको प्रोजेक्टकी एक पायोनियर अनेका राजभण्डारीले पनि सामाजिक सञ्जालमा गुनासो गरेकी थिइन् । राजभण्डारीले गत मार्च ८ मा गरेको गुनासो म आएको जुलाई २८ मा जस्ताको तस्तै देखियो । फ्लाइट अनाउन्समेन्टमा पनि ‘एयर टुर्बलेन्स’ भएपछि मात्रै चिनियाँ भाषा प्रयोग भयो । यात्रु सतर्कता सन्देश नेपाली र अंग्रेजी भाषामा मात्रै भयो । मसँगै बसेका दुवै चिनियाँ यात्रीलाई अंग्रेजी र नेपाली दुवै आउँदैन । कसरी बुझे होलान्, के बुझे होलान् उनीहरुले ?

    पानी परिरहँदा प्यासेन्जर बोर्डिङ ब्रिज नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गाडीबाट जहाजमा जाँदा छाता ओढाएर मन जितेको एअरलाइन्सले भाषा प्रयोगको गोलमालले भने फिटिक्कै मन जित्न सकेन ।

    २. भोजन

    लामो दूरीको यात्रामा विमानले आफैं खान्तेपिन्ते व्यवस्था गर्ने चलनै छ । हिमालय एअरलाइन्सले पनि गरेको थियो । तर, यात्रु बिच्क्याउने तरिकाले गरेको थियो । बिहान ५ बजे नै विमानस्थल प्रवेश गरेर बोर्डिङ लिँदै ७ बजे जहाजमा छिरेको समूहले विहानै भात खाने कुरा हुन्न । बिहानै टन्न नास्ता खाने कुरा आउन्न । जहाजले दिन्छ भनेर एक खाले ढुक्क हुन्छ । यस्तै ढुक्क भएर म यात्रामा थिएँ । एक प्याकेट जुस, एक थान बदाम र एक थान पानीको बोतल र केक आइटम दिएर जहाजले टार्‍यो । ५३ हजार ६८३ रुपैयाँ वान वे भाडाको टिकट बोकेर साढे पाँच घण्टा यात्रा गर्ने यात्रुको रुपमा मलाई यो ज्यादै झुर सुविधा लाग्यो । काठमाडौं-दिल्ली उडाउने नेपाल एयरलाइन्सले साढे एक घण्टाको यात्रामा दिने खानपिनको मिठासको एक खण्ड पनि थिएन काठमाडौं-बेइजिङ यात्रामा हिमालय एअरलाइन्सको यात्रु सत्कार । हिमालय एअरलाइन्सको खानपिनको त्यही तनावले बेइजिङ तासिन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सँगै यात्रारत मञ्जु टेलर भन्दै थिइन्, ‘यस्तो खाना खुवाउनुभन्दा नखुवाएको राम्रो ।’

    मञ्जुमात्रै होइन, पत्रकार सृष्टि काफ्लेले पनि हिमालय एअरलाइन्सको खान्तेपिन्ते बिजोगको गुनासो केही महिना अगाडि गरेकी थिइन् । डेढ घण्टाको काठमाडौं दिल्लीको नेपाल एयरलाइन्सको खाना र तीन घण्टाको काठमाडौं कुन्मिङको हिमालय एअरलाइन्सको तुलना गरेर मार्च ४ मै पोस्ट गरेकी थिइन् उनले । मनमनमा पोस्ट गर्नेहरुको कुनै सूची छैन ।

    अरुले एयरलाइन्स लेखेर अंग्रेजी स्पेलिङ बिर्गाछन् । हिमालयले चै एअरलाइन्स लेखेर स्पेलिङ राम्रो राखेको छ । तर, त्यही स्पेलिङ शुद्ध लेखनमा अगाडि भए झैं हिमालय एअरलाइन्सले भोजन व्यवस्थापनमा अगाडि पर्न सफल भएन । सन् २०१९ सेप्टेम्बर २५ बाट सञ्चालनमा आएको बेइजिङको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङ तासिन अन्तर्राष्ट्रिय विमानस्थलमा योस्तरको खाना खुवाउने अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक सम्भवतः हिमालय एअरलाइन्स नै हुनुपर्छ ।

    ३. भावभङ्गी

    एक चिनियाँ यात्रु सीटबाट उठेर शौचालयतर्फ जान खोजे । बिच्किँदै आएकी विमान परिचारिकाले भनिन्, ‘गो ब्याक टु योर सीट ।’ ती चिनियाँले अंग्रेजी बुझे बुझेनन् थाहा भएन । तर, औंलाले इसारा गरेर बिच्किँदै परिचारिकाले दिएको आदेशले पक्कै भन्न खोजेको कुरा बुझे होलान् । विमानले समय समयमा बोलिने अनाउन्समेन्टमा सिरियस पनि न आवाजमा देखियो न त प्रविधिमा । कतिपय आवाज क्यारक्यार आएर हैरान । खोक्दै बोल्दा पनि कतिपय कुरा बुझ्न पूरा वाक्य सुन्नुपर्ने अवस्था आयो ।

    हिमाल आएपछि बीचका खाली सीटमा बोलाएर हिमाल देखाउने सेवाले मन छोएकै हो । सगरमाथा, ल्होत्सेदेखि मकालुमाथि उड्दा ती चुचुराका बारेमा व्याख्या गर्ने पाइटलको तरिकाले मन छोएकै हो । बेइजिङ ओर्लेर जहाजका कर्मचारीलाई कति सिटे हो भनेर सोध्दा १८० भनेर हार्दिक उत्तर दिँदा पनि मन छोएकै हो । तर, गो ब्याक भनेर यात्रु थर्काएकोदेखि उद्घोषण र साउन्ड सिस्टममा आएको कमजोरीले ती मन छुने कुरा बिर्सायो ।

    नेपालमा पासपोर्ट बोकेर आउने सबैभन्दा ठूलो संख्या चीनकै पर्यटक हुन् । चीनमा नेपालीहरु अध्ययन, भ्रमणदेखि काममा आउजाउ धेरै हुन्छन् । चार महावाणिज्य दूतावास र एउटा केन्द्रीय राजदूतावास भएको चीनमा नेपालको कूटनीतिक आउजाउ पनि बाक्लै हुन्छ । त्यस्तो महत्वपूर्ण गन्तव्य मुलुकबाट नेपाल आउजाउ गर्ने विमान सेवा प्रदायकले यस्ता कुरामा ख्याल गर्न आवश्यक छ । हिमालय एअरलाइन्स नेपाल चीनको निजी क्षेत्रको लगानी सफलताको विम्बमात्रै होइन, नेपाल विश्वभर चिनिने र नेपाली चिन्ने एक विश्व माध्यम पनि हो । यही वर्ष बेलायतबाट सञ्चालन हुन लागेको गैरआवासीय नेपालीको लगानी भएको नयाँ विश्व हवाई सेवा प्रदायकको नाम पनि ‘हिमालय जेट’ छ । त्यही ‘हिमालय’ विम्ब बोकेर उड्ने जहाजले त्यसको गरिमा कायम गर्न यस्ता झिनामसिना कमजोरीहरुमा तत्काल सुधार आवश्यक देखिन्छ ।

  • राप्रपाको भवनमा डोजर चलाउने कि चालू नरहेको हाइटेन्सन हटाउने ?

    राप्रपाको भवनमा डोजर चलाउने कि चालू नरहेको हाइटेन्सन हटाउने ?

    काठमाडौं । विगत लामो समयदेखि सञ्चालनमा नरहेको धुम्बाराहीको हाइटेन्सन लाइन तलको जग्गामा बालेन-प्रहरीको आँखा किन लागेको हो बुझ्न सकिएन ! न त्यो हाइटेन्सन लाइन मुनिको जग्गा सरकारी हो, न त ऐलानी नै हो! न नेविप्राले मुआव्जा दिएर अधिग्रहण गरेको हो, न त महानगरपालिका अन्तरगतको सार्वजनिक जमिन नै हो !

    राप्रपाका देशभरिका कार्यकर्ता र शुभचिन्तकहरूले चन्दा उठाएर बनाएको राप्रपाको केन्द्रीय कार्यालयमाथि कसैको बहकावमा बालेनले डोजर चलाएमा त्यसले गम्भीर नतिजा उत्पन्न गर्ने निश्चित छ ! अरिंगालको गोलोमा ढुंगा हान्दा बागमती किनारामा महानगर प्रहरीले के भोग्यो ?

    बालेन महानगर प्रशासनको उद्देश्य सिद्धान्त तः सही भए पनि बालेन प्रहरीले नेपालकानुनले निर्देशित गरेको प्रक्रिया समेत नपुऱ्याई जुन दवंगशैलीमा पुलिसराज सञ्चालन गरिरहेको छ, त्यसले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचमै द्वन्द्व उत्पन्न गर्नेछ ! किनभने, संघीय सरकारले जनताको सम्पत्ति र जीउधनको सुरक्षा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुनसक्छ !

    राप्रपाको केन्द्रीय कार्यालयमा डोजर चलाउन, बालेन प्रशासनले –

    १) सर्वप्रथम: मन्त्रिपरिषद्को पूर्वस्वीकृति लिनुपर्छ, किनभने राप्रपा संवैधानिक राजनीतिक पार्टी भएकोले त्यो de jure संवैधानिक अंग हो !

    २) बालेन प्रशासनले सार्वजनिक रूपमा सडकमा माइकिङ गरेर कसैको घर भत्काउनु विधिको शासन (Rule of Law) विपरीत कुरा हो ! यदि, स्थानीय तहको क्षेत्राधिकारमा रहेर राप्रपाको भवन भत्काउने निर्णय महानगरपालिकाको बोर्डले गरेको हो भने महानगरपालिकाका अधिकार सम्पन्न व्यक्तिको हस्ताक्षर सहितको लिखित नोटिस राप्रपालाई विधिसम्मत तरिकाले दिनु पर्नेमा राप्रपा सचिवालयलाई सो सम्बन्धी लिखित सूचना हालसम्म पनि दिएको छैन ! तर ३ दिनभित्र घर खाली गर्न गत शुक्रवार माइकिङ गरिएकोले भोली आइतबार महानगरपालिकाले घोषणा गरेको समय सीमा सकिँदै छ ! लिखित सूचना विधिसम्मत तरिकाले नदिई बलजफ्ति कसैको घर वा सम्पत्तिको नोक्सानी गर्नु गैरकानूनी कार्य हुनेछ ।

    ३) राप्रपाको भवन रहेको वडा समिति वा वडा अध्यक्षलाई समेत राप्रपाको भवनमाथि डोजर चलाउनेबारे कुनै जानकारी महानगरपालिकाले नदिएको बुझिएको छ ।

    ४) महानगरपालिका सार्वभौम अधिकार सम्पन्न निकाय होइन, त्यसैले पहिले ऊ आफै कानुनबाट बाँधिनु पर्ने हुन्छ। काठमाडौं महानगरपालिकाले शक्तिको आडमा बलिमच्चाई गरी नुवाकोट जिल्लाको सिसडोलमा त्यहाँको ककनी गाउँपालिकाको स्वीकृति र स्थानीय जनताको अनुमोदन बेगर कामनपाको फोहोर विसर्जन गर्दै आएको छ।यसले महानगरपालिका विधिसम्मत तरिकाले नहिँडेको इंगित गर्दछ।

    ५) कामनपाले राप्रपाको भवन रहेको जमिन कामनपाको प्राधिकार भित्रको जमिन हो भन्ने पुष्टि नगरी डोजर चलाएको खण्डमा द्वन्द्व निम्तिने र सँगसँगै राप्रपाले अदालतबाट injunction जारी गराउनु पर्ने हुनसक्छ ! तद्उपरान्त, यस प्रकरणको कानुनसम्मत टुंगो अधिकारप्राप्त अदालतले नगरून्जेलसम्म महानगरले कानुन हातमा लिएर राप्रपाको भवनमा छुन पनि नमिल्ने हुन्छ ।

    ६) संविधानमै त्रुटि गरिएकाले पालिकाहरूले संघीय वा प्रदेश सरकारलाई टेर्न छोडेको अवस्था अथवा संघीय वा प्रदेश सरकारहरूले स्थानीय तहलाई कानुनसम्मत बाटो देखाउने वैधानिकता गुमाएको अवस्था छ ! संविधानमा स्थानीय तह प्रदेश वा संघीय सरकारका विस्तारित अंग वा प्राधिकारभित्रका निकाय हुने गरी संवैधानिक रूपमा ब्रिज (लिंक) नगरिएको कारणबाट अहिलेको जटिलता उत्पन्न हुन थालेका हुन् । यस्तो स्थिति बढ्दै गएमा संविधान नै संशोधन गरेर पालिकाहरू प्रदेश वा संघीय सरकारको प्राधिकारभित्रकै अंग हुन् भनी संविधानमै किटान गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न!

    ७) राप्रपा कार्यालय मात्र नभई सो क्षेत्रमा मात्रै १८ वटा भन्दा बढी भवन मृत (चालू नरहेको) हाइटेन्सन लाइनमुनि रहेकाले राप्रपाको मात्रै खाली गराउने कुरा उपयुक्त छैन, न त ती सबै घरहरूलाई उठिबास लगाउने कुरा मान्य हुन सक्छ ! अधिग्रहण नगरेको व्यक्तिको निजी जमिन माथि चालू नरहेको हाइटेन्सनलाइन विना कारण गरिराख्नुको कुनै औचित्य छैन । चालू नरहेको हाइटेन्सनलाइन त्यतिकै राखेर व्यक्तिको निजी सम्पत्तिको भोग चलनमा बाधा पुऱ्याउने कामनपाको नियत बुझिनसक्नुको छ ।

    ८) संसदको अधिवेशन चलिरहेको समयमा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिंगदेनलाई इंगित गर्दै “देश परिवर्तन गर्छु भन्ने नेताबाटै नियम उल्लघंन भएपछि महानगरले सक्रियता बढाएको” भनी काठमाडौ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफ्नो वैधानिकता र हैसियत बिर्सी जुन अशिष्ट टिप्पणी कान्तिपुर टिभीमा गरेका छन्, त्यसले राप्रपा पंक्तिलाई उत्तेजित बनाएको छ।

    ९) संसद चलिरहेको समयमा नगरपालिकाको वेतनधारी कर्मचारीले जथाभाबी बोल्दा प्रतिनिधि सभाका सभामुखले नै पाण्डेलाई कारबाही गर्न सक्ने संसदको नियमावलीले व्यवस्था गरेको छ!

    १०) यदि, कानुनसम्मत तरिकाले कामनपाले आफ्ना कार्यहरूलाई अघि बढाएमा राप्रपा जस्तो राष्ट्रियस्तरको राजनीतिक दलले समर्थन र सहयोग नगर्ने भन्ने प्रश्नै छैन ।

  • ‘पीपला’: माओवादी सशस्त्र युद्धकालीन तीता कथा

    ‘पीपला’: माओवादी सशस्त्र युद्धकालीन तीता कथा

    • ट्रान्सपोर्टको सीसामा सासले फुकेर धेरैपटक आफ्नै नाम लेखेको थिएँ । उनको नाम माझीऔंलाले ठूलो अक्षरमा लेखेको थिएँ भने आफ्नो नाम कान्छीऔंलाले सानो अक्षरमा ।
    • अभावले आइडोलोजीमा हानेपछि रहरहरु त्यसै मर्माहत हुँदारहेछन् ।
    • जुम्राको रगतले मन्दिरको पेटी र भित्तो रंगिएको छ । कटकटिएको रगतबाट बनेको दाग खप्पिस चित्रकारले क्यानभासमा पोतेको रंग जस्तो लाग्छ । लाग्छ- म दामी कलाकार हुँ, चित्रकार हुँ । हो, मेरो जीवनको क्यानभासमा पनि धेरैधेरै रगत लतपतिएको छ, कटकटिएको छ ।
    • शरीरमा मयलका पाप्रा कति पत्र भए, गनेकी छैन । तर, भन्न सक्छु- मयलका भन्दा पीडाका पत्र धेरै छन् । एउटा पत्र पल्टाउनु भनेको पीडाका अरु पत्रका लागि बाटो खोलिदिनु हो ।
    • यो शहरमा मान्छेभन्दा देउता धेरै छन् । घरमा देउता, कोठामा देउता, चोकमा देउता, रुखमा देउता, बगरमा देउता । देउतैदेउताको शहर । यहाँ एउटा देउताले एउटा मान्छेलाई मात्रै हेर्ने हो भने देउतालाई भाग नै पुग्दैन ।

    यी माथिका लाइनहरुमै विमल नेपालले गत जेठमा बजारमा ल्याएको डेब्यु उपन्यास ‘पीपला’को कथासार बुझ्न सजिलो हुन्छ । ‘पीपला’ मूलतः २०५२ सालदेखि दश वर्ष चलेको सशस्त्र विद्रोहको समयमा गुज्रेका पात्रहरुको कथा हो । यो कथा माओवादी युद्धताका गाउँमा असुरक्षा भएर बजारमा गएर पढ्दै प्रवेशिका दिएर काठमाडौंमा उच्च शिक्षा पढ्न कुदेका समीर न्यौपानेको कथा हो । यो कथा सेनाबाट पीडित अनुराधा थापामगरको हो, जो कमरेड प्रभाबाट माओवादीमा लागेकी हुन्छिन् । यो कथा आफ्नै काकाबाट बलात्कृत भएर र माओवादीले ललाइफकाइ १४ वर्षकै उमेरमा विद्रोहमा लगिएकी पीपला अधिकारीको हो, जसको माओवादीको नाम कमरेड उषा हुन्छ । यो कथा आफ्नी श्रीमती पिट्ने, भतिजी बलात्कार गर्ने र गाउँले शिक्षक शिवलाई सेनाको सुराकी भनेर माओवादीमार्फत मार्न लगाउने र पछि आफैं कमरेड जनार्दन अधिकारी भएर माओवादीको सरकारमा मन्त्री भएका पात्रको हो ।

    सेनालाई जनता पिराहा र लुटाहाको रुपमा देखाइएकाले तत्कालीन राज्यपक्षका कट्टर समर्थकहरुलाई पनि उपन्यासले बिझाउन सक्छ । तर, राज्य र माओवादी दुवै पक्षबाट चेपुवामा परेको एक विशाल तप्कालाई भने उपन्यासले छुन्छ ।

    यी कथाहरुको भीडमा मूल कथा चै समीर न्यौपाने र पीपला अधिकारीको हो । कक्षामा प्रथम पीपला र दोस्रो समीर पढाइमा जत्तिकै प्रेमिल भावनामा पनि प्रतिस्पर्धी हुन्छन् । सिन्धुपाल्चोकको रामपुरदेखि संघीय राजधानी काठमाडौं आउन समीर र पीपलाले लिएको बाटोमात्रै फरक हुन्न, व्यक्तित्व पनि फरक हुन्छ । लेखक र साहित्यकार अनि पत्रकार बन्ने सपना बोक्ने समीर दुःखसुख सपनाको नजिक हुन्छ । एक पत्रिकामा ‘प्रतितर्क’ नामको स्तम्भ लेखेर लेखकीय व्यक्तित्व बनाउँदै हुन्छ ।

    बाल्यकालमा वैज्ञानिक बन्ने सपना देख्ने पीपला भने माओवादीमा लागेपछि न्यायिक समाजको नागरिक बन्ने एक औसत सपना पनि पूरा गर्न नसक्ने विवश भएर काठमाडौं आउँछिन् । सँगैकी साथी अनुराधा क्याबिन रेस्टुरेन्टमा काम गरेर हिंसा सहन तयार हुन्छिन् । पीपला भने बहुलाएको अभिनय गरेर बसन्तपुर, भृकुटीमण्डपदेखि पशुपति क्षेत्रहरुमा ओहोरदोहोर गर्छिन् । विभिन्न मन्दिरहरुमा बस्छिन् । नुवाकोटको गौँडा हुँदै पीपलाले काठमाडौं आएर भिन्न अवतार लिए पनि काभ्रेको साँगा हुँदै काठमाडौं आएका समीरलाई चिन्छिन् । समीरलाई भने पीपला चिन्न उनले छोडी हिँडेको शान्तिनगरको मन्दिरको डायरी हेर्ने अवस्थामा आइपुग्नु पर्‍यो ।

    कथाको क्लाइमेक्स पीपलालाई समीरले चिनेपछिको उनको खोजीसम्ममा छ । बीचमा धेरै उतारचढाउ आउँदा पनि पीपला नभेट्ने समीरले सिंहदरबारको दक्षिण गेटमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री कमरेड जनार्दन अधिकारी सवार गाडीले मारेको अवस्थामा मात्रै भेटाउँछ । यसरी कथालाई एकदम कारुणिक बनाएका छन् लेखकले ।

    ‘पीपला’को डायरीका पहिलो चरणको अध्यायसम्म जुन तहको साहित्यिक कल्पना, विम्ब र सूक्ष्म चित्रण छ, त्यो खालको प्रस्तुति बाँकी अध्यायहरुमा देखिँदैन ।

    पछिल्लो समयमा माओवादीको सशस्त्र संघर्षको समयमा लेखिएका किताबहरु बजारमा व्यापक आइरहेका छन् । यही भीडमा ‘पीपला’ पनि आएको छ । यसले माओवादीको मात्रै खराब चित्र देखाएको छैन, सरकारी पक्षको कमजोरी पनि छताछुल्ल बनाएर पात्रहरुमार्फत् केलाएको छ । भन्नमा कुनै नयाँ कथा छैन । तर, कथा भन्ने तरिका भने रोचक छ । सँगै पढेका दुई प्रेमीहरुको कथालाई जोडी युद्ध भित्र र बाहिर भएको दृृश्य देखाएर लेखकले रोचक प्रयोग गरेका छन् । माओवादी आन्दोलन सही भन्दै त्यहाँ भएका सबै कमजोरी पनि मान्य भन्नेलाई उपन्यास खल्लो लाग्नसक्छ । सेनालाई जनता पिराहा र लुटाहाको रुपमा देखाइएकाले तत्कालीन राज्यपक्षका कट्टर समर्थकहरुलाई पनि उपन्यासले बिझाउन सक्छ । तर, राज्य र माओवादी दुवै पक्षबाट चेपुवामा परेको एक विशाल तप्कालाई भने उपन्यासले छुन्छ ।

    उपन्यासमा केही कमजोरी पनि छन् । उपन्यास लेखनीको मूल पात्र समीरसँग जोड्न दीपक सापकोटा नामका एक दाइ पात्र ल्याएका छन् । लेखकले अध्याय सातमा तपाईं भनेर सापकोटालाई सम्बोधन गरेका छन्, ‘भन्नुभयो’ भनेका छन् । फेरि उनै सापकोटालाई अध्याय २८ मा पुगेर ‘भने’ ‘सोधे’ आदि भनेका छन् । अध्याय सातसम्म सम्मान गर्न लायक सापकोटा अध्याय २८ मा पुगेर सम्मानमा किन घटुवामा परे भन्ने पाठकमा प्रश्न आउँछ । यस्तै ‘पीपला’को डायरीका पहिलो चरणको अध्यायसम्म जुन तहको साहित्यिक कल्पना, विम्ब र सूक्ष्म चित्रण छ, त्यो खालको प्रस्तुति बाँकी अध्यायहरुमा देखिँदैन ।

    यति हुँदाहुँदै पनि पुस्तक लोकार्पण समारोहमा प्रमुख अतिथि तथा स्थापित आख्यानकार नयनराज पाण्डेले भने जस्तै पुस्तकले पाठकलाई पूरा निराश भने बनाउँदैन । माओवादीका युद्ध कथा आफ्नै मौलिक शैलीले भन्न लेखक नेपाल सफल भएका छन् ।

  • गोरखापत्रमा सुधार अभियान : वार्षिक आम्दानीमा १५ करोड वृद्धि

    गोरखापत्रमा सुधार अभियान : वार्षिक आम्दानीमा १५ करोड वृद्धि

    काठमाडौं । वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थानको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान अगाडि बढाइएको छ ।

    लामो समयदेखि परम्परागत ढर्रा र ढाँचामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो।

    संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’ तर्फ उन्मुख भइसकेको छ ।

    आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनः संरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेका छौँ।

    संस्थानसँग उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन तथा संस्थानको आन्तरिक प्रशासन तथा पद्धतिमा गरिएको व्यापक सुधारसँगै सम्पादकीय उत्पादन (गोरखापत्र दैनिक, दि राइजिङ नेपाल तथा अन्य प्रकाशनहरू) को डिजाइन लेआउटमा गरिएको परिवर्तन तथा कन्टेन्टको प्रस्तुति एवं गुणस्तरमा भएको अभिवृद्धिको स्पष्ट सकारात्मक प्रभाव संस्थानको आम्दानीमा देखिएको छ ।

    अघिल्लो वर्षको तुलनामा बितेको आर्थिक वर्ष मा २६ प्रतिशतले (१५ करोड) आम्दानी वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८र७९ मा वार्षिक आम्दानी ५७ करोड भएकोमा बितेको आर्थिक वर्ष ७९र८० मा ७२ करोड आम्दानी प्राप्त भएको छ। आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय प्रगतिबारे मन्त्रालयमा आयोजित समीक्षा बैठकमा पनि चर्चा र प्रशंसा भएको थियो ।

    सुधारसँगै आन्तरिक नियमन तथा सुशासनमा कडाइ गरेर मितव्ययिता अपनाएकोले यो प्रगति सम्भव भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत निकायमा यसरी सबैभन्दा आम्दानी बढाउनेमा गोरखापत्र संस्थान नै पहिलो भएको छ ।

    संस्थानको वित्तीय प्रणाली तथा वित्तीय अनुशासनको अवस्था पहिले नाजुक थियो । सरकारलाई तिर्नुपर्ने ऋण ब्याज समयमा चुक्ता नगरिएको, लेखा परीक्षण सम्पन्न नगरिएको र करको दायित्वसमेत बाँकी रहेको अलि भद्रगोल अवस्था थियो ।

    अघिल्ला आर्थिक वर्षहरूको बाँकी लेखा परीक्षण सम्पन्न गरेर सरकारलाई तिर्नुपर्ने साँवा ब्याज बुझाएर, कर दायित्वसमेत फर्स्योट गरेर संस्थानको वित्तीय प्रणालीलाई लिकमा ल्याउने कोसिस गरिएको छ ।

    बितेको आर्थिक वर्षमा मात्रै २०७५ साल यताकै बाँकी कर बापतको दायित्वसमेत गरी करिब १३ करोड कर चुक्ता गरिएको छ । संस्थानको नाममा रहेको नेपाल सरकारको ७ करोड ऋण चुक्ता गरिएको छ ।

    लेखा प्रणालीलाई अझ वैज्ञानिक र जवाफदेही बनाउनका लागि विज्ञ सेवा खरिद गरी नेपाल लेखामान प्रणाली NFRS प्रणालीमा प्रवेश गर्न सफल भएका छौँ । NFRS अनुसार लेखा परीक्षण सम्पन्न गरेर महालेखा परीक्षकसमक्ष पेस गरिसकेका छौँ । NFRS प्रणालीअनुसार वित्तीय विवरण तयार गरेर लेखा परीक्षण सम्पन्न गर्ने गोरखापत्र संस्थान नै सरकारी स्वामित्वको पहिलो सञ्चार संस्था हो ।

    भुक्तानी, बिलिङ, आम्दानी, करलगायतका आर्थिक कारोबार एवं नियमनलाई वैज्ञानिक र छरितो बनाउने प्रयास गरिएको छ । खरिद गुरुयोजना तथा खरिद कार्य योजना तयार गरी खरिद प्रणालीलाई तथा अन्य आर्थिक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइएको छ ।

    गोरखापत्र र राइजिङ नेपालको १९५८ सालदेखि प्रकाशित गोरखापत्रका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा संग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवर्द्धन गर्न डिजिटल अर्काइभको कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।

    राष्ट्रिय अभिलेखालय, प्रेस काउन्सिल र मदन पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलगायत अन्य सरोकारवाला संस्थाहरुसँगसमेत सहकार्य गरिएको छ ।

    संस्थानभित्रै डिजिटल अर्काइभका लागि अत्याधुनिक ल्याब समेत स्थापना भएर काम सुरु भएको छ ।

    डिजिटल अर्काइभसँगै पुराना सामग्रीको प्राप्ति तथा प्रयोगलाई डिजिटल माध्यमबाट सहज पहुँच उपलब्ध गराएर आम्दानी बढाउने दीर्घकालीन अवधारणासमेत तयार गरिएको छ ।

    संस्थानले उठाउन बाँकी बक्यौतामध्ये गएको वर्षमा ६ करोड फर्स्योट भएको छ । बाँकी बक्यौता व्यवस्थापन तथा असुलीका लागि विशेष कार्यदल बनाएर अध्ययन गरी कार्ययोजनासहित काम थालिएको छ भने बेरुजू न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण र नियमन प्रणालीलाई प्रभावकारी बनाइएको छ ।

    निकै कमजोर रहेको डिजिटल प्लेटफर्ममा व्यापक सुधार गरिएको छ । २०७९ वैशाख १ गतेदेखि गोरखापत्र र राइजिङ नेपाल दुवैको न्यूज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ ।

    न्यूजपोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामीले लन्च गरिसकेका छौँ । सामाजिक सञ्जालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामी गरिरहेका छौँ । अब हाम्रो जोड डिजिटल प्लेटफर्मको आक्रामक विकासतिर छ।

    सम्पादकीय उत्पादनलाई प्रभावकारी बनाउनका लागि स्मार्ट न्यूज रुम तयार गरेर जनशक्तिमा प्राविधिक सिप र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने काम भएको छ ।

    न्यूजरुम, विज्ञापन, आर्थिक कारोबार, भण्डार, वितरणलगायतका कामहरूलाई प्रविधिसँग जोडेर थप प्रभावकारी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर खरिद गरी सम्पूर्ण कार्य प्रणालीलाई स्मार्ट बनाउने पहल थालिएको छ ।

    हाम्रो दैनिक कार्य प्रणालीलाई डिजिटल सिस्टमबाट सञ्चालन गर्न एकीकृत कार्य व्यवस्थापन प्रणाली (अफिस अटोमेशन) मा हामी समायोजित भइसकेका छौँ । डिजिटल एकीकृत कार्य व्यवस्थापन प्रणाली अभ्यास गर्ने हामी नै पहिलो संस्थान भएका छौँ।

    वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै प्रकाशनहरूको पहुँच विस्तार गरिएको छ । अहिले ७७ जिल्लामा गोरखापत्रको पहुँच सहज भएको छ । सय वर्षका लागि ग्राहक बन्ने नयाँ अभ्यास सुरु भएको छ ।

    (सुवेदी गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष हुन्।)

  • खतरनाक हुनसक्छ स्मार्टफोनको लत

    खतरनाक हुनसक्छ स्मार्टफोनको लत

    के तपाईंलाई मोबाइल फोन एकैछिन पनि छोड्न गाह्रो हुन्छ ? केही नयाँ आयो कि भनेर छिनछिनमा फोन हेर्नैपर्ने बानी परेको छ ? फोन हेर्‍यो, केही नयाँ कुरा छैन । तर, जतिखेर पनि ध्यान चाहिँ मोबाइलमै हुन्छ ? यस्तो मनस्थितिमा हुनुहुन्छ भने तपाईंलाई स्मार्टफोनको नराम्रो लत (एडिक्सन) लागिसक्यो । धेरैले त्यति महत्व नदिएको यो समस्या विकराल बन्दै गएको छ । संसारभरि नै प्रतिदिन यो समस्या बढ्दो छ ।

    हालै गरिएको एउटा अध्ययनअनुसार संसारभर स्मार्टफोन प्रयोगकर्तामध्ये लगभग आधा मानिस यो गम्भीर लतमा फसिसकेका छन् । स्मार्टफोनको यो लतले मानव जीवनमा गम्भीर प्रभाव पारिराखेको छ । ‘वर्ड इण्डेक्स’ नामक अनुसन्धान संस्थाका अनुसार स्मार्टफोनको कुलतमा परेका सबैभन्दा धेरै मानिस चीनमा छन् । सोही प्रतिवेदनले नेपाललाई दशौं स्थानमा राखेको छ, जतिखेर पनि मोबाइल फोनमा झुण्डिरहनेहरूका हिसाबले ।

    मोबाइल फोनको कुलतले हाम्रो पारिवारिक तथा सामाजिक सम्बन्ध, काम र स्वास्थ्यमा अनेक समस्या निम्त्याउन सक्छ । यो लत लाग्यो भने कुनै काममा ध्यान केन्द्रित गर्न नसक्ने, नयाँ कुरा सिक्न नसक्ने र निदाउनसमेत गाह्रो हुनसक्छ ।

    विश्वलाई प्रविधिले जोड्दै लगेर पृथ्वी नै एउटा गाउँ जस्तो भैसक्यो । सञ्चार प्रविधि प्रयोग गरेर हामी ‘भर्चुअल’ हिसाबले संसारको जुनसुकै कुनाको विचरण निर्वाध रूपले गरिराखेका छौं । मोबाइल फोनमार्फत एक प्रकारले हामी सम्पूर्ण विश्वलाई हत्केलामा बोकिराखेका छौं । तर, त्यही मोबाइल फोनले हामीलाई यसरी बन्दी बनाइराखेको छ कि हामी एकै छिन पनि फोनविना बस्नै नसक्ने हुँदै गएका छौं । मोबाइल फोनले एउटा महामारीको रूपमा नजानिँदो किसिमले दशौं करोड मानिसलाई कज्याइसक्यो ।

    स्मार्टफोनको पर्दाको झल्याकझुलुकले हामीलाई सूचना, जानकारी, ज्ञान र मनोरञ्जन दिइराखेको छ । तर, यसले लाइक, शेयर, कमेण्ट अनि अनन्त स्क्रोलिङको सुरुङमा पनि हामीलाई छिराइराखेको छ । मोबाइलमा लठ्ठिएर हामी महत्वपूर्ण समय, एकाग्रता, ध्यान, सोच्ने क्षमता र सम्भवतः हाम्रो विवेक पनि गुमाउँदैछौं ।

    ‘वर्ड इण्डेक्स’ नामक अनुसन्धान संस्थाका अनुसार स्मार्टफोनको कुलतमा परेका सबैभन्दा धेरै मानिस चीनमा छन् । सोही प्रतिवेदनले नेपाललाई दशौं स्थानमा राखेको छ, जतिखेर पनि मोबाइल फोनमा झुण्डिरहनेहरूका हिसाबले ।

    वास्तविक जीवन र भर्चुअल संसारबीचको भिन्नता र सीमा मेटिएको जस्तो भैसक्यो मोबाइल फोनका कारण । अब सोच्ने बेला आइसक्यो, के हामी स्वतन्त्र छौं ? हामी कठपुतलीका रूपमा डिजिटल उद्योगी र व्यापारीहरूको तालमा नाचिरहेका त छैनौं ?

    स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । यसले कुराकानी गर्ने, काम गर्ने, पैसा कमाउने र सूचनामा पहुँचको तरिकामा परिवर्तन ल्याएको छ । तथापि, स्मार्टफोनको अत्यधिक प्रयोगले मोबाइल फोन एडिक्सनको रूपमा चिनिने एउटा गम्भीर समस्या जन्माएको छ ।

    मोबाइल फोनको एडिक्सनले प्रयोगकर्ताको जीवनका अनेक पक्षमा नकारात्मक परिणाम निम्त्याउँछ । जतिबेला पनि फोन चलाइराख्ने यो रोगले मानिसको दैनिक काम, मानवीय सम्बन्ध र जीवनको समग्र पक्षलाई खल्बलाइदिन्छ ।

    स्मार्टफोन एडिक्सनका लक्षणहरू

    • जति बेला पनि फोन चलाइराख्ने : स्मार्टफोनको एडिक्सनले गाँजेका व्यक्तिहरू फोनमा अत्यधिक समय बिताउँछन् । आफ्नो दैनिकीलगायत अन्य गतिविधि र जिम्मेवारीलाई बेवास्ता गर्छन् । ‘स्टेटिष्टा’ नामक अनुसन्धान संस्थाको सन् २०२० को एउटा अध्ययनअनुसार विश्वभर स्मार्टफोनमा खर्च गरिने औसत प्रतिव्यक्ति दैनिक समय लगभग ३ घण्टा १० मिनेट पाइएको थियो । केही व्यक्ति त औसतभन्दा धेरै समय फोन चलाएर बस्छन् ।
    • छटपटी र चिन्ता : मोबाइल फोनको लतमा फसेका मानिस फोनबाट एक्कै छिन टाढा हुँदा पनि लागुऔषधको कुलतमा परेको जस्तै गरी छटपटाउन थाल्छन् । चिन्ता, बेचैनी र झर्कने लक्षण देखिनसक्छ यस्ता व्यक्तिमा । सन् २०२२ मा ‘कम्प्युटर्स इन ह्युमन बिहेबियर’ नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार स्मार्टफोनबाट अलग भएका बेला मोबाइल फोन दुर्व्यसनीको मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने र चिन्तित हुने गरेको पाइएको थियो ।
    • छिनछिनमा फोन हेर्ने : स्मार्टफोन दुर्व्यसनी नयाँ सूचना, सन्देश, अपडेट आयो कि भनेर छिनछिनमा फोन हेर्छन् । सामाजिक सञ्जाल अपडेट नगरी एकै छिन पनि बस्नै सक्तैनन् यस्ता व्यक्ति । प्यू रिसर्च सेन्टरले सन् २०२१ मा गरेको एक सर्वेक्षणअनुसार ६७ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा कम्पन वा घण्टी नबज्दा पनि नोटिफिकेसनका लागि चेक गर्ने गरेको पाइएको थियो ।

    स्मार्टफोनको पर्दाको झल्याकझुलुकले हामीलाई सूचना, जानकारी, ज्ञान र मनोरञ्जन दिइराखेको छ । तर, यसले लाइक, शेयर, कमेण्ट अनि अनन्त स्क्रोलिङको सुरुङमा पनि हामीलाई छिराइराखेको छ । मोबाइलमा लठ्ठिएर हामी महत्वपूर्ण समय, एकाग्रता, ध्यान, सोच्ने क्षमता र सम्भवतः हाम्रो विवेक पनि गुमाउँदैछौं ।

    • वास्तविक जीवनको व्यवहारबाट पन्छिने : स्मार्टफोनको एडिक्सनले प्रत्यक्ष भेटेर गरिने सामाजिक अन्तरक्रियामा ह्रास ल्याउन सक्छ । मोबाइल फोनको कुलतमा फसेका व्यक्तिलाई मानिससँग कुराकानी गर्न वा साथीभाइ तथा परिवारसँग समय बिताउन गाह्रो लाग्न सक्छ । सन् २०२० मा कम्प्युटर्स इन ह्युमन बिहेबियर नामक जर्नलमा प्रकाशित एक अध्ययनले स्मार्टफोनको कुलतको स्तर उच्च भएका मानिसहरूमा प्रत्यक्ष भेटेर गरिने अन्तरक्रियामा कमी आएको देखिएको थियो ।
    • एकाग्रता र उत्पादकत्वमा ह्रास : स्मार्टफोनको अत्यधिक प्रयोगले व्यक्तिको उत्पादकत्व र एकाग्रताको स्तरमा ह्रास ल्याउन सक्छ । सन् २०१९ मा जर्नल अफ द एसोसिएसन फर कन्जुमर रिसर्चमा प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार स्मार्टफोन प्रयोग नगरिकन नजिकै राखेका सहभागीहरूले, फोन नजिकै नभएका व्यक्तिहरूका तुलनामा तार्किक अन्तरक्रियामा नराम्रो प्रदर्शन गरेका थिए ।
    • निद्रामा गडबडी : मोबाइल फोनले फाल्ने नीलो प्रकाशले हाम्रो निद्रा बिगार्न सक्छ र निदाउन कठिनाइ हुनसक्छ । सन् २०१७ मा ‘पीएलओएस वान’ जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार सुत्नुअघि स्मार्टफोनको बढ्दो प्रयोगले निद्राको गुणस्तर कम हुनुका साथै निदाउने समयमा समेत कमी आएको पाइएको थियो ।
    • मानसिक स्वास्थ्यमा नकारात्मक असर : स्मार्टफोनको दुर्व्यसनलाई डिप्रेसन, चिन्तालगायत अनेक मानसिक स्वास्थ्य समस्याहरूसँग जोडेर हेर्ने गरिएको छ । सन् २०१९ मा जर्नल अफ बिहेबियरल एडिक्सनमा प्रकाशित एउटा प्रतिवेदनले स्मार्टफोनको कुलत र डिप्रेसन, छटपटी र चिन्ताका लक्षणहरूबीच सम्बन्ध फेला पारेको थियो ।
    • शारीरिक स्वास्थ्य समस्या : दैनिक लामो समयसम्म स्मार्टफोन चलाउने बानीले घाँटी दुख्ने, आँखा टट्याउने, पिठ्युँ दुख्ने जस्ता शारीरिक स्वास्थ्य समस्या आउन सक्छ । गेम र सामाजिक सञ्जाल जस्ता गतिविधिका लागि स्मार्टफोनमा बढ्दो निर्भरताले गतिहीन जीवन शैली निम्त्याउन सक्छ । वजन बढ्ने जस्ता अन्य स्वास्थ्य समस्या आउन सक्छ ।

    ‘स्टेटिष्टा’ नामक अनुसन्धान संस्थाको सन् २०२० को एउटा अध्ययनअनुसार विश्वभर स्मार्टफोनमा खर्च गरिने औसत प्रतिव्यक्ति दैनिक समय लगभग ३ घण्टा १० मिनेट पाइएको थियो । केही व्यक्ति त औसतभन्दा धेरै समय फोन चलाएर बस्छन् ।

    मोबाइल फोनको एडिक्सनका लक्षणहरू व्यक्तिपिच्छे फरक हुनसक्छ । यो दुर्व्यसन गम्भीर समस्या भएकाले यसको समाधान पत्ता लगाएर हाम्रो डिजिटल जीवनमा स्वस्थ्य सन्तुलन ल्याउनु जरूरी छ ।

    युवामा स्मार्टफोन दुर्व्यसनको असर

    स्मार्टफोनको कुलतका कारण युवा पुस्तामा निम्न असरहरु देखिन्छ्न्:

    • पढाइमा कमजोर हुनु : युवाहरूमा स्मार्टफोनको अत्यधिक प्रयोगले पढाइमा नकारात्मक प्रभाव पार्न सक्छ । विचलित हुनु, पढ्ने समय घट्दै जानुले परीक्षामा राम्रो गर्न नसक्ने जस्ता कमजोरी देखिन सक्छ । सन् २०१९ मा कम्प्युटर्स इन ह्युमन बिहेबियर नामक जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले कलेजका विद्यार्थीमा स्मार्टफोनको कुलत र शैक्षिक उपलब्धिबीच नकारात्मक सम्बन्ध रहेको देखाएको थियो ।
    • सामाजिक अलगाव : स्मार्टफोनको कुलतले सामाजिक अलगाव बढाउँछ र युवाहरूमा प्रत्यक्ष भेटेर गरिने अन्तरक्रियामा कमी ल्याउन सक्छ । भर्चुअल संसार र सामाजिक सञ्जालमा अत्यधिक निर्भरताले वास्तविक जीवनका गतिविधिहरूमा कमी आउन सक्छ । युवाहरूमा एक्लोपन र अरूबाट टाढा बस्ने अलगावको प्रवृत्ति बढाउन सक्छ । सन् २०१७ मा जर्नल अफ एडोलेसन्समा प्रकाशित एक अध्ययनअनुसार स्मार्टफोन दुर्व्यसनका कारण किशोरकिशोरीमा सामाजिक अन्तरक्रियामा ह्रास आएको देखाएको थियो ।
    • मानसिक स्वास्थ्यमा असर : स्मार्टफोनको दुर्व्यसन युवाहरूमा डिप्रेसन, चिन्ता, छटपटी र तनावलगायत विभिन्न मानसिक स्वास्थ्य समस्याहरूसँग जोडिएको पाइएको छ । ‘अनलाइन प्रोफाइल’ अपडेट गरिराख्ने निरन्तरको दबाब, साइबर बुलिङ र अरूले बिर्सने हुन् कि, आफू पछि परिने हो कि भन्ने डरले युवाहरूमा मनोवैज्ञानिक रूपमा नकारात्मक असर पार्छ । सन् २०१८ मा साइबर साइकोलोजी, बिहेबियर एन्ड सोसल नेटवर्किङ जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार स्मार्टफोनको कुलत र किशोरकिशोरीमा डिप्रेसनका लक्षणबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको थियो ।
    • निद्रामा गडबडी : सुत्नुअघि स्मार्टफोनको अत्यधिक प्रयोगले निद्रामा खलल् पुर्‍याउन सक्छ । स्मार्टफोनबाट उत्सर्जित नीलो प्रकाशले ‘मेलाटोनिन’ नामक हार्मोनको उत्पादनमा बाधा पुर्‍याउन सक्छ । यो हार्मोनले हाम्रो निद्रा नियमित गर्न मद्दत गर्छ । फलस्वरूप मानिसलाई निदाउन गाह्रो हुन सक्छ । निदाउने अवधि कम हुन सक्छ र राम्रो निद्रा नलाग्ने हुन सक्छ । सन् २०१९ मा स्लीप मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार स्मार्टफोनको कुलत किशोरकिशोरीहरूमा निद्राको गुणस्तर कमजोर हुनुसँग सम्बन्धित रहेको पाइएको थियो ।

    स्मार्टफोनको अत्यधिक प्रयोगले युवाहरूको सिक्ने क्षमतामा ह्रास ल्याउन सक्छ । एकाग्रता घट्दै जाने, पढाइमा ध्यान दिन छोड्ने, तार्किक र उत्पादनमूलक सोचाइ हराउँदै जाने जस्ता समस्या देखिन सक्छ । सन् २०१८ मा फ्रन्टियर्स इन साइकोलोजी जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले स्मार्टफोनको कुलतमा परेका किशोरकिशोरीहरूमा पढाइमा कमजोरी, स्मरण शक्तिमा ह्रास जस्ता समस्या अत्यधिक रहेको देखाएको थियो ।

    • शारीरिक स्वास्थ्य समस्या : स्मार्टफोनको कुलतले युवाहरूमा अनेक शारीरिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । स्मार्टफोनको प्रयोग गर्दा धेरै बेरसम्म एकै ठाउँमा, एउटै आशनमा बस्दा शारीरिक गतिविधिमा कमी आउँछ । यसबाट वजन बढ्ने, मोटाउने र त्यसबाट उत्पन्न हुने अन्य विविध स्वास्थ्य समस्या आउन सक्छ । सन् २०१६ मा पीएलओएस वान जर्नलमा प्रकाशित एक अध्ययनले स्मार्टफोनको कुलतले किशोरकिशोरीमा गतिहीन व्यवहार र हलचल नगरी एकै ठाउँमा बसिरहने जस्ता गतिविधि अत्यधिक रहेको देखाएको थियो ।
    • सिक्ने क्षमतामा ह्रास : स्मार्टफोनको अत्यधिक प्रयोगले युवाहरूको सिक्ने क्षमतामा ह्रास ल्याउन सक्छ । एकाग्रता घट्दै जाने, पढाइमा ध्यान दिन छोड्ने, तार्किक र उत्पादनमूलक सोचाइ हराउँदै जाने जस्ता समस्या देखिन सक्छ । सन् २०१८ मा फ्रन्टियर्स इन साइकोलोजी जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले स्मार्टफोनको कुलतमा परेका किशोरकिशोरीहरूमा पढाइमा कमजोरी, स्मरण शक्तिमा ह्रास जस्ता समस्या अत्यधिक रहेको देखाएको थियो ।
    • सञ्चार सीपमा ह्रास : स्मार्टफोनको अत्यधिक प्रयोगले प्रभावकारी सञ्चार सीपको विकासमा बाधा पुर्‍याउन सक्छ । फलस्वरूप मानिस-मानिसबीचको भावनात्मक सम्बन्ध निर्माण गर्न र त्यस्ता सम्बन्ध कायम राख्न कठिनाइ हुन सक्छ ।
    • उत्पादकत्वमा ह्रास : स्मार्टफोनको कुलतले कार्यस्थलमा र पढाइमा उत्पादकत्व घटाउन सक्छ । यसबाट समग्र आर्थिक विकास र व्यक्तिगत क्षमतामा नकारात्मक असर पर्छ ।
    • सार्वजनिक स्वास्थ्यमा असर : स्मार्टफोनको अत्यधिक प्रयोगले मानिसलाई शारीरिक रूपमा गतिहीन बनाइदिन्छ । शारीरिक गतिविधि कम गर्ने, हिँडडुल नगर्ने, व्यायाम नगर्ने जस्ता बानी धेरै मानिसमा भयो भने त्यसले सिङ्गो समाजको स्वास्थ्यमा असर पार्छ । धेरै मानिस रोगी भए भने समाज र राष्ट्रलाई नै भार पर्न सक्छ ।

    स्मार्टफोनको कुलतले व्यक्तिलाई मात्र होइन सिङ्गो समाज र राष्ट्रलाई नै नकारात्मक असर पारिराखेको छ । खास गरी युवा पुस्ताको भलाइ र उनीहरूको समग्र विकासका लागि स्वस्थ्य डिजिटल वातावरण सिर्जना गर्नु जरूरी छ ।

    स्मार्टफोन एडिक्सन न्यून गर्ने केही उपाय

    समयमै सटिक उपाय अपनाइयो भने स्मार्टफोनको कुलतबाट बच्न सकिन्छ । निम्न हुन सक्छन् त्यस्ता उपायः

    • चेतना र शिक्षा : स्मार्टफोनको एडिक्सनको सम्भावित जोखिम र परिणामबारे युवा वर्गमा चेतना बढाउनु जरूरी छ । यसका लागि विभिन्न शैक्षिक कार्यक्रम, कार्यशाला र अभियान सञ्चालन गरेर युवालगायत सबैलाई स्मार्टफोन प्रयोग आवश्यकताअनुसार मात्र गर्न प्रोत्साहन गर्न सकिन्छ । सन् २०१९ मा जर्नल अफ मेडिकल इन्टरनेट रिसर्चमा प्रकाशित अनुसन्धानका अनुसार चेतनामूलक कार्यक्रमहरू गर्दा कलेजका विद्यार्थीहरूमा स्मार्टफोनको कुलतको स्तर उल्लेखनीय रूपमा घटाएको पाइएको थियो ।

    स्मार्टफोनको प्रयोग आवश्यक पर्दा मात्र गर्ने खालको वातावरण निर्माण गर्नु जरूरी हुन्छ । व्यक्तिगत भेटघाट र अन्तरक्रिया जस्ता गतिविधिलाई प्रोत्साहन गर्न सकिन्छ । विद्यालय, परिवार र कार्यालयले स्वस्थ प्रविधि प्रयोगको बानीलाई प्रोत्साहन गर्ने नीति अपनाउन सक्छन् ।

    • प्रयोगको सीमा निर्धारण : स्मार्टफोन प्रयोग गर्ने निश्चित समय र सीमा निर्धारण गरेर प्रयोगकर्तालाई मद्दत गर्न सकिन्छ । निश्चित समय तोकेर ‘नो फोन’ समय र स्थान लागू गर्ने, सुत्ने बेलामा र खाना खाने समयमा फोन प्रयोग निषेध गर्ने जस्ता उपाय अपनाउन सकिन्छ । सन् २०१८ मा जर्नल अफ बिहेबियरल एडिक्सनमा प्रकाशित एक अध्ययनले स्मार्टफोनको प्रयोगमा स्वघोषित सीमाले कुलतको लक्षण कम भएको देखाएको थियो ।
    • डिजिटल ‘डिटक्स’ : बेला बेलामा डिजिटल ‘डिटक्स’ को उपाय अपनाउन प्रोत्साहित गरेर निश्चित समयका लागि स्मार्टफोन प्रयोगमा रोक लगाउन सकिन्छ । यसका लागि फोन प्रयोगकर्तालाई ‘अनलाइन’ जान नमिल्ने स्थिति सिर्जना गरेर उनीहरूलाई ‘अफलाइन’ गतिविधिमा संलग्न हुन प्रेरित गर्न सकिन्छ । सन् २०१८ मा कम्प्युटर्स इन ह्युमन बिहेबियर नामक जर्नलमा प्रकाशित अनुसन्धानले डिजिटल डिटक्स गतिविधिमा संलग्न हुँदा स्वास्थ्यमा सुधार आएको र स्मार्टफोनको कुलतका लक्षणहरू कम भएको देखाएको थियो ।
    • मोबाइल ‘याप’ जस्ता सुविधाको प्रयोग : स्मार्टफोन निर्माताहरू र याप बनाउनेहरूले स्मार्टफोनको स्वस्थ प्रयोगलाई प्रोत्साहन गर्ने खालका सुविधाहरू समावेश गरेर कुलत कम गर्न मद्दत गर्न सक्छन् । यसमा स्क्रिन टाइम ट्र्याकिङ, याप प्रयोग गर्ने सीमा, सूचना व्यवस्थापन याप जस्ता सुविधाहरू प्रयोग गर्न सकिन्छ ।
    • स्वस्थ ‘अफलाइन’ गतिविधिलाई प्रोत्साहन : स्मार्टफोन प्रयोगकर्ताहरूलाई अफलाइन गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गरेर यो कुलत कम गर्न सकिन्छ । यसका लागि सामाजिक अन्तरक्रिया, शारीरिक व्यायाम र ‘हबी’ लाई प्रोत्साहन दिन सकिन्छ । खेलकुद, कला, सामुदायिक संलग्नता र अन्य गतिविधिहरू मनोरञ्जनका साथै समय उपयोग गर्ने वैकल्पिक उपाय हुन सक्छन् ।
    • सहयोगी वातावरण निर्माण : स्मार्टफोनको प्रयोग आवश्यक पर्दा मात्र गर्ने खालको वातावरण निर्माण गर्नु जरूरी हुन्छ । व्यक्तिगत भेटघाट र अन्तरक्रिया जस्ता गतिविधिलाई प्रोत्साहन गर्न सकिन्छ । विद्यालय, परिवार र कार्यालयले स्वस्थ प्रविधि प्रयोगको बानीलाई प्रोत्साहन गर्ने नीति अपनाउन सक्छन् ।
    • विशेषज्ञको सहयोग : स्मार्टफोनको गम्भीर कुलत लागेका व्यक्तिहरूका लागि थेरापिष्ट वा कुलत विशेषज्ञहरूको सहायता लिनुपर्ने हुनसक्छ । अनेक प्रकारका थेरापी र अन्य उपायमार्फत स्मार्टफोन कुलतको उपचार गर्न सकिन्छ ।

    स्मार्टफोन एडिक्सन कम गर्न अपनाइने यी उपायहरू व्यक्तिको आवश्यकता र परिस्थितिअनुरूप हुनुपर्छ । कुलतको स्तर र आवश्यकताअनुसार विभिन्न रणनीतिहरू एकै पटक प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्ता प्रयास लगातार जारी राख्ने हो भने धेरै दुर्व्यसनीलाई स्मार्टफोनको कुलतबाट मुक्त गर्न सकिन्छ ।

    स्मार्टफोनको कुलतले युवामात्र होइन समग्र समाजका लागि ठूलो चुनौती खडा गरेको छ । स्मार्टफोनको प्रयोग बढ्दै जाँदा, कुलतका लक्षणहरू पहिचान गर्न र यो समस्या समाधान गर्न अनेक उपाय अपनाउनु महत्त्वपूर्ण हुन्छ । डिजिटल साक्षरता बढाएर, स्वस्थ स्मार्टफोन प्रयोगको बानीलाई प्रोत्साहन गरेर र आवश्यकताअनुसारका विविध उपचारात्मक उपायहरू अपनाएर स्मार्टफोन कुलतको नकारात्मक असर कम गर्न सकिन्छ र सन्तुलित र एकापसमा जोडिएको स्वस्थ समाज निर्माण गर्न सकिन्छ ।

  • बिपी विचार हो, अबलम्बन गरौं

    बिपी विचार हो, अबलम्बन गरौं

    नेपालमा मात्र नभई समकालिन विश्वमानै उच्च छवि बनाएका महान राजनितिज्ञ हुन् बिपी कोईराला । नेपाली कांग्रेस पार्टीका सस्थापक नेता कोईराला जीवनभर प्रजातन्त्रका लागि लडिरहे । उनै बिपीका राजनैतिक जीवन र उनका प्रेरणादायी कुराहरुलाई समेटेर आज उनको पुन्य स्मृति दिवसका अवसरमा यो आलेख लेख्ने प्रयास गरिएको छ । हामी सानो हुँदा बिपीबारे प्रशस्त किस्साहरु सुनिन्थ्यो । बिपी यस्ता थिए उस्ता थिए भनेर स्कुलमा सरहरुले सुनाउनुहुन्थ्यो । हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको थियो । त्यसकारणले पनि बिपी सँगसँगै हिंडेका नजिकबाट चिनेका र बिपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरुले हामीलाई पढाउँदा बिपी र उनका विचारहरुबारे भनिररहनुहुन्थ्यो । त्यसकारण बिपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लदै गर्दा बिपीबारे पढ्न पाईयो , उनका राजनैतिक जीवन, उनका सिद्धान्त र बिचारहरुबारे अध्ययन गर्न थालियो ।

    सानैमा पढें मोहन शमशेर र बिपीबिच भएका संवादका कुरा जहाँ मोहन समशेरले बिपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन्, ‘बिपी अब तपाई प्रधानमन्त्री हुनुभयो, तपाईको उद्देश्य के छ ? बिपीले सरल उत्तर दिएका थिए, ‘म एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा हुन्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पु¥याउने हो ।’ बिपीको यस्तो विचार सानैमा पढेको थिए मैले । जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौ कुराहरु बिपीका बारेमा पढिन्थ्यो, सुनिन्थ्यो, बिपीका बारेमा अग्रजहरुबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेलाको मेरो बाल मस्तिष्कबाट नै बिपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि बिपीको त्यो विचार, आर्दश र सिद्धान्तलाई आत्मसात् गरिएको छ ।

    हामीले आत्मकथामा बिपीलाई पढ्यौं, सुन्दरीजलमा पढ्यौं, अन्तर्वार्ताहरु पढ्यौं, लेखहरु पढ्यौं, विचार गोष्ठीहरुमा सहभागी भएर बिपीलाई सुन्यौं । मेरो बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होईन । बिपीलाई पढेर, बुझेर, आर्दश, सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन । म रुखमा भोट हाल्ने हुनुको पछाडि एउटै कारण बिपी विचार हो जसले मलाई उनलाई पछ्याउने बनायो । तर आजको दिनमा नेता भई टोपलेकाहरु कांग्रेसलाई आफनो विर्ता सम्झन्छन् अनि रुखमा भोट हाल्ने नेपालीलाई आफ्ना दास ठान्छन् । जसले गर्दा बिपीले खडा गरेको यो विशाल ईमरात धरमाउन थालेको छ । नयाँ भनिएका,युवा ठानिएका र आशलाग्दा भनिएका नेताहरुबाट समेत ठोस काम हुन नसक्दा यतीबेला बिपीका अनुयायीहरु निराश हुनुपरेको अवस्था छ ।

    बिपी बारेको एउटा प्रसंग करिब ८ बर्ष पहिले एउटा म्यागाजिनमा प्रकाशित भएको थियो । तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि गरेको हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिंदो उपस्थितिको विश्लेषण गर्दै बिपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । र, ०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बिपीको त्यो निर्णय भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यती सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेतले लेखेका थिए, ‘इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । बिपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बिपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।’

    बिपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बिपीकहाँ पठाइन् । आसामका बरुवा बीएचएूमा पढ्दैताका बिपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बिपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, ‘तर, बिपीले इन्दिरालाई महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।’

    तत्कालिन भारतकी शक्तीशाली प्रधानमन्त्री ईन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे बिपी, उनीसंग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे । त्यो थियो बिपीको राजनैतिक उचाई, यसले आजका दिनमा पनि म तिनै बीपीका आर्दश मूल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ ।

    ईन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बिपी ‘प्रजातन्त्रमार्फत फासिस्टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बिपीले भनेका कुरा त्यहाँका जीवित कतिपय अग्रजहरु अझै सम्झन्छन् । भन्छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु । नभन्दै बिपी मेलमिलापको निति लिएर नेपाल फर्कीए र लगत्तै जेल पनि परे ।’

    बिपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

    तर, बिपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलीपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौ, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बिपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘बिपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपैयाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बिपी चीनतर्फ ढल्किदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

    यसरी राष्ट्रियताको सवालमा बिपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउँदैनथे र तत्काल प्रतिक्रिया जनाईहाल्थे, तत्कालिन भारतिय र चीनका शाशकहरु बिपीसँग यसकारण डराउँथे की बिपिले बिस्तारै आफ्नो छवि अन्तर्राष्ट्रिय स्तरमा एक ख्यातप्रिाप्त राजनेताको रुपमा स्थापित गर्दै लगेका थिए ।

    नेपाल र नेपालीका लागि बिपीले थुप्रै विचार, नीति र सिद्धान्तहरु छाडेर जानुभएको छ । जुन अहिले पनि उतिकै सान्दर्भिक छ । विडम्वना आज सबैका प्रिय सान्दाजुको पुण्य स्मृतिमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसले त सान्दाजुका कुरा लागू गर्न सकेन, चाहेन अरुको के कुरा गर्नु । आज कांग्रेस बिपीलाई बेच्छ मात्र, तर बिपीका आर्दश, सिद्धान्त र बिचारहरुलाई व्यवहारमा लागू गर्दैन । यसले बिपीका अनुयायीहरुलाई ठुलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न बिपी सम्झियो न त बिपीका विचार सिद्धान्त र आर्दशहरुनै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमश घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ । बिपीका आफ्नै भाई भतिजा यो देशका प्रधानमन्त्री पटक–पटक भए, उनकै शिष्य शेरबहादुर पटक–पटक प्रधानमन्त्री भए, अहिले कांग्रेसको सभापति छन् । बिपीकै कान्छो छोरा डा. शशांक कोईराला कांग्रेसका महामन्त्री बनें । बिपीका भतिजा डा. शेखर कोईराला कांगेसभित्र प्रभावशाली नेताका रुपमा छन् । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनितिमा र सत्ता संचालनमा बिपी विचार र नीति लागू गर्न सकेन । यसले बिपीको अनुयायीहरुलाई त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुशी भएको छैन होला ।

    बिपीको जिवन संघर्षमानै बित्यो । तर पनि उहाँ कहिल्यै विचलित हुनुभएन । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति उहाँको सधै निष्ठा रहिरह्यो । तरका आजका कांगेसीहरुमा त्यसप्रतिको निष्ठामा शंका गर्ने पशस्त आधारहरु छन । पत्रकार मणिराज उपाध्यायले बिपीसंग लिएको अन्तर्वार्तामा बिपीले भन्नु भएको छ ः ‘इन्दिरा गान्धिको कुरा मान्ने हो भने म भोलिनै मुलुकको प्रधानमन्त्री बन्न सक्छु । तर, प्रधानमन्त्री भै सकेपछि मैले कस्को कुरा मान्ने ? नेपाली जनताको कि इन्दिरा गान्धीको ?’ राष्ट्रियता प्रति बिपीको यस्तो अविचलित अडान थियो । अहिलेका कांगेस नेतृत्वले यती कुरा मात्र मनन गरिदिने हो भने पनि देश छिट्टै कायापलट हुन्छ । तर बिडम्वना त्यस्तो हुन सकिरहेको छैन । र बिपीले सधै देश रजनताकोहित सोच्नुभयो । उहाँले त्यसैकालागि आजिवन संघर्ष पनि गर्नुभयो । उहाँका बिचार आज पनि उत्तिकै सान्र्दभिक छन् । तत्कालिन समयमा आफ्ना कर्म र विचारका कारण बिपी विश्वभर चर्चित हुनुहुन्थ्यो ।

    वर्षको एक दुई दिन बिपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमानै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्तिनै समस्याको मुल जड हो । हरेक वर्ष श्रावण ६ गते कांग्रेसले देशभरी वृक्षारोपण गर्छ, आजसम्म कति बिरुवा रोपिए, ती कति हुर्किए र कति मरेर गए भन्ने कुराको लेखाजोखा नभए जस्तैं कांग्रेस नेतृत्व पनि अन्धाधुन्द रुपमा बिपीलाई बेचिरहेको छ । बिपीका विचार र सिद्धान्तको धज्जी उडाईरहेको छ । कांग्रेसले अब पनि बोलीमा मात्र होईन व्यवहारमानै बिपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कांग्रेस फेरी पनि वामपुड्के हुँदै जानेमा दुईमत छैन । यही सन्दर्भमा स्वयम् बिपीले भनेको एउटा भनाई स्मरण हुन्छ, एक दिन एकजना कार्यकर्ताले बिपीलाई सोधेछन्, सान्दाजु प्रजातन्त्र आएपछि हामी जस्ता कार्यकर्तालाई के हुन्छ, बिपीले भनेछन्, प्रजातन्त्र आएपछि एकपटक फेरी पार्टीभित्र सुकिला मुकिलाहरु हावी हुन्छन्, तिनले आर्दश बिर्सन्छन्, त्यस्ताहरुका विरुद्ध पार्टीभित्रै फेरी तिमिजस्ता कार्यकर्ताहरुले संघर्ष गर्नुपर्दछ । बिपी कति दुरदर्शी थिए भन्ने यही कुराले पुष्टी गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, बिपीका आर्दश र सिद्धान्तहरु बिर्सिन थालियो र सुकिला मुकिलाहरु हाबी भए । तर ईमान्दार कार्यकर्ताहरुले अझै तिनिहरु विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एक दिन त्यो पनि अवश्य हुन्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बिपी व्यक्ती मात्र नभएर विचार र सिद्धान्त हो तसर्थ बिपीलाई अब कांग्रेसले व्यवहारमानै अबलम्वन गर्न आवश्यक छ । आफु पनि केहि नयाँ दिन नसक्ने अनि ७ दशक भन्दा अगाडी बिपीले अघी सारेका सिद्धान्तलाइ पनि व्यववहारमा अबलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र बिपीकै आर्दश नीति र सिद्धान्त हो । यसलाई तुरुन्त व्यवहारमानै अबलम्बन गर्न एकपटक सबै इमान्दार देशप्रेमी नेपाली र कांग्रेसजनहरुले नेतृत्वलाई दबाब दिन आबश्यक छ ।

     

  • जुनु दिव्य रानाका दुई कविता

    जुनु दिव्य रानाका दुई कविता

    काठमाडौं । हङकङमा रहेकी जुनु दिव्य राना लामो समयदेखि कविता लेखनमा सक्रिय छिन् । उनका विभिन्न साहित्यिक पत्रपत्रिका र वेबसाइटमा फुटकर कविताहरु प्रकाशित छन् ।

    उनको ‘रातो नदी’ कविता संग्रह प्रकाशोन्मुख छ । उनै रानाका दुई कविता:

    तिम्री आमा

    तिम्रो कोमल पाउहरु चुमेर
    तिम्रो हत्केला आँसुले पखाल्ने मेरो सपना
    निश्चल कलिलो लवजको स्पन्दनले
    छाती निचोरिएर हृदयको समुन्द्रमा छचल्किन्छ ।

    म एक जननी
    ममताको पुकार छचल्किएको
    मैले कसलाई देखाऊँ
    यो मस्तिष्क नमस्तक बन्छ
    आत्मा उद्वेलित हुन्छ ।

    म तिम्रो आमा
    नजन्मिएको तिमी मेरो रगत हौ
    मलाई तिम्रो जन्म कल्पनाले पगाल्छ
    गर्भ सुखको कल्पनाले पोल्छ
    रातले झस्काउँछ
    तब तिमीलाई छातीमा समेट्छु
    र मातृत्वको धारा कल्पनामै पिलाउँछु ।

    म अद्भूत र भाग्यशाली हुन्छु
    जब तिमीलाई काखमा समेटेर
    तिम्रो कलिलो स्पर्श महसुस गर्छु
    तब अनेक सकस भुल्छु
    अनिद्रा र भोक भुल्छु ।

    मेरो आत्मामा तिमी जन्मिसकेका छौ
    र मेरो प्राणसँगै बाँच्न सुरु गरिसकेका छौ ।

    ०००

    याद र जून

    हर साँझ गोधुली आउँदैन
    हर रात जून उदाउँदैन ।
    हर साँझ रमाउँदैन
    हर रात निदाउँदैन ।

    तर, तिम्रो याद बोक्ने गोधुली
    हरेक साँझ उदाउँछ
    तिम्रो कल्पना बोक्ने मधुर जून
    हरेक रात उदाउँछ
    तिम्रै झझल्को बोकी हर रात जाग्राम बस्छ ।

    तिम्रो कल्पनाको गोधुली र जून
    साँझको अनि रातको श्रृङ्खला
    हरेक साँझ उदाउँछ
    हरेक रात उदाउँछ ।

    ०००

  • कर्मचारीतन्त्रमा ललिता निवासको साइड इफेक्ट- मानहानी र हप्की दप्की खेप्ने कि कृष्ण राउतको नियति भोग्ने ?

    कर्मचारीतन्त्रमा ललिता निवासको साइड इफेक्ट- मानहानी र हप्की दप्की खेप्ने कि कृष्ण राउतको नियति भोग्ने ?

    निजामती सेवा आत्मघाती साबित हुँदै गएको आभास हुँदै छ ! मन्त्रिपरिषद्का निर्णय, अदालतका आदेश तथा माथिका निर्देशनको अध्ययन गर्ने, अभिलेख राख्ने र ती निर्णय तथा आदेश कार्यान्वयनको लागी सम्बन्धित कानूनी र प्राविधिक ब्यहोरा उल्लेख गरी आवश्यक निर्णय र निर्देशनको लागि टिप्पणी पेश गर्नु कर्मचारीको नियमित दायित्वभित्र पर्ने कुरा हो ।

    सरकारका निर्णय र अदालतका आदेशलाई कार्यान्वयनमा नलगी फाइल दराजमा थन्काएर राख्ने कुरा एउटा कर्तव्यनिष्ठ कर्मचारीले सोच्न पनि सक्दैन, र यस्तो कार्य पद्धतिलाई प्रशासनको कुनै पनि सिद्धान्त र मूल्यमान्यताले चिन्दैन पनि ।

    मन्त्रिपरिषदबाट निर्णय भई विभिन्न निकायबाट मन्त्रालयमा पेश भएको फाइलको ब्यहोरा उल्लेख गरी जानकारी एवं आवश्यक कारबाहीको लागि पेश गरेको छु भनी टिप्पणी लेखेको, पत्र दर्ता चलानी गरेको, माथिबाट भएको आदेश बमोजिम जग्गा नाप जाँच गरेको, मोठ-स्रेस्ता भिडाएको र मन्त्रिपरिषदमा पेश हुने विषयमा आफ्नो राय विवरण दिएकै भरमा ‘हनुमानले पर्वत’ उठाएजस्तो गरी कर्मचारी मात्रलाई छानिछानी गरिएको यो हदसम्मको दुर्व्यवहार र बेइज्जतीलाई कुनै अर्थमा पनि जायज मान्न सकिँदैन ।

    यस्ता क्रियाकलापले गर्दा ‘असल नियतले काम गर्न डराउनु पर्दैन’ भनी तमाम कर्मचारीले आत्मसात् गरेको र सिकाइँदै आएको प्रशासनिक मान्यता नेपालको हकमा भने लागू हुँदैन । बरु काम गर्नु नै आत्मघाती साबित हुन्छ भनेर निर्णय सम्बन्धी हरेक जिम्मेवारीबाट पछाडि हट्नु पर्ने अवस्था आएको छ । जुन दुःखद पक्ष हो र यसले मुलुकको प्रशासन र विकासलाई थप क्षयीकरण गर्ने छ ।

    जहाँसम्म ललिता निवास प्रकरणको सवाल छ, यो माथिबाट बनाइएको ग्र्याण्ड डिजाइन हो भन्ने कुरो प्रष्टै छ ।

    प्रधानमन्त्री र सभामुखको निवास साँघुरो भएको र यसलाई बिस्तार गर्नुपर्छ भन्ने कुरा र यस भित्रका तानाबाना कहिल्यै बालुवाटार नछिरेको खरिदार सुब्बा वा अन्य कर्मचारीलाई थाहा हुने कुरै भएन । प्रधानमन्त्रीको निवास बिस्तार गर्ने निर्णय भएर आएपछि यो प्रक्रिया अगाडि बढाउनु पर्दैन भनेर कर्मचारीले कसरी भन्न सक्ला र ?

    अझ गम्भीर कुरा त प्रधानमन्त्रीको निवास बिस्तार गर्ने जस्तो महत्त्वपूर्ण निर्णय र प्रक्रियामा यो हदसम्म बिचौलियाहरूको संलग्नता र डिजाइन छ भनेर एउटा सामान्य कर्मचारीले कसरी पूर्वानुमान गर्न सक्छ ?

    चाहिने नचाहिने कुराको मन्त्रिपरिषदबाट निर्णय गराउने र आवश्यक परे अदालतको समेत आदेश गराइ कर्मचारीलाई कलम चोब्न बाध्य पार्ने परिपाटी हिजो देखि आजसम्म चलिरहेकै छ । फाइल अगाडि नबढाऊ अदालतको मानहानि र माथिको हप्कीदप्की खेप्नुपर्ने, बढाउ ‘कृष्ण राउत’ बन्नु पर्ने बाध्यात्मक परिस्थितिबाट गुज्रिरहेका छन् अधिकांश कर्मचारीहरू आज।

    यसो भनिरहँदा ललिता निवासमा कोही पनि कर्मचारीबाट बदमासी भएको छैन भनेर भन्न खोजिएको होइन ।

    चलखेलको योजना माथिबाटै शुरु भएको भए पनि त्यो काममा चलखेल र स्वार्थ छ भनेर थाहा पाउने र नपाउने दुवै थरीका कर्मचारी निर्णय प्रक्रियामा संलग्न देखिन्छन् र दुवै थरीलाई एकै नजरले हेर्नू हुँदैन भन्ने हाम्रो गुनासो हो।

    एक थरी कर्मचारीले यो प्रक्रियामा चलखेल हुँदै गरेको/भएको सुइँको पाएपछि र मन्त्रिपरिषद (अदालत समेत) बाट आवश्यक निर्णय भएको/हुने भएकोले भोलिका दिनमा समस्या नपर्ने अनुमान (मुर्ख्याइँ) गरी बिचौलिया समेतको मिलेमतोमा नाजायज फाइदा लिएको देखिन्छ ।

    ललिता निवासका केही जग्गा प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्राप्त गर्ने वा अन्य प्रमाणित नजराना लिने कर्मचारीको समूह यो श्रेणीमा पर्दछन् ।

    यस्ता कर्मचारीलाई हदै सम्मको कारबाही हुनुपर्दछ । यो ग्राण्ड डिजाइनको सुइँको थाहा नपाउने र खुरुखुरु आफ्ना टेबलमा आएका फाइल कागजात अगाडि बढाउने अर्को थरीका कर्मचारी छन्, जसले आफ्नो पदीय दायित्व मात्र पूरा गरेका हुन, जुन कर्मचारी भएको नाताले गर्नै पर्थ्यो, त्यसो नगर्नु बरु गैर जिम्मेवारपन हुन्थ्यो ।

    हाम्रो सवाल र चासो त्यस्ता कर्मचारीमाथि भएको अन्याय अत्याचार उपर हो । राज्यले बालुवाटार भित्र बदमासी हुँदै थियो भनेर त्यति बेलै किन थाहा पाइनस् र टिप्पणी पेश गरिस् ? तैँले त्यो केशमा खाएकै हुनुपर्छ भनेर शाखा अधिकृत हुँदा पेश गरेको टिप्पणीलाई लिएर बहालवाला सचिवलाई अहिले आएर बिना कुनै प्रमाण, त्यसमा पनि संगठित अपराध जस्तो संगिन आरोप लगाएर पक्राउ गरेर के सन्देश दिन खोजिएको के हो बुझ्न सकिएन ।

    बालुवाटारमा रचिँदै गरेको त्यति ठूलो षड्यन्त्रको सूचना त्यति बेलाको राज्यका जिम्मेवार निकायले किन थाहा पाएन ? वा थाहा पाएर पनि स्वार्थवश आँखा चिम्लेको हो ? यसले केही राम्रो गरौँ र हामीले नै गर्नु पर्छ, सुधार सम्भव छ भनेर बढी जान्ने भएर खोक्दै र काममा जोतिँदै हिँड्ने तमाम कर्मचारीको स्वाभिमानमा गहिरो आघात त पुगेको छ नै, हिजोका ती आदर्श र मान्यताबाट पछि हट्नु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको त होइन भनेर सोच्नु पर्ने भएको छ ।

    (लेखक नेपाल सरकारका सहसचिव हुन)

  • प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ बजारमा

    प्राध्यापक गुप्तोको ‘संस्कृति चिन्तन’ बजारमा

    काठमाडौं । प्रा.डा.अरुण गुप्तोको संस्कृति दर्शन सम्बन्धी निबन्धसंग्रह ‘संस्कृति चिन्तन’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा लेखक तथा प्रध्यापकद्धयक अभी सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका छन् ।

    कार्यक्रममा बोल्दै लेखक सुवेदीले संस्कृतिको ‘टाइम फ्रेम’ नहुने बताउँदै पहिरन, संरचना, बनावट, रङ, ध्वनि र कालिक चेतनामा संस्कृति बाँचिरहने बताए । यसैगरी उप्रेतीले राज्यले खस संस्कृतिलाई राष्ट्रिय संस्कृति भनेर स्थापित गर्नु गम्भीर त्रुटी भएको आशय व्यक्त गरे ।

    पछिल्लो समय समृद्धि र सहरीकरणको बहस भइरहेको र पूर्वाधार निर्माण नै विकास हो भन्ने भाष्य स्थापित हुँदै गएकोमा आपत्ति जनाउँदै उनले भने, ‘समृद्धिको बहसबारे विश्वभर विवाद छ । समृद्धि कसका लागि ? समृद्धिसँग विकास जोडिएको हुन्छ, विकास कसका लागि ? जीडीपी बढ्नुलाई मात्रै विकास मान्ने कि ह्याप्पिनेसलाई ?’

    समालोचक लामाले सहर परिवर्तनशील भएको, तर स्मार्ट सहर नभई सांस्कृतिक सहर निर्माण गर्नुपर्ने बताइन् ।

    गुप्तोले आफू कलाको पाटोबाट संस्कृति चिन्तन बढी गर्ने बताए । आफूले संस्कृतिलाई लेखका रुपमा नभई निबन्धका रुपमा प्रस्तुत गर्नुको कारणबारे गुप्तोले भने, ‘कलाले प्रश्न गर्छ, समालोचना गर्छ, धम्की दिन्छ । कलाको बाटोबाट हिँड्दा यसबाट मुक्त हुन सकिन्छ । त्यसैले कलाको बाटो लिएर संस्कृतिबारे लेख्छु ।’

    संस्कृति चिन्तक तथा अध्येता गुप्तोको नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक ‘संस्कृति चिन्तन’ लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

  • जङ्गली च्याउ र सडक बालक

    जङ्गली च्याउ र सडक बालक

    भनिन्छ, कहिलेकाहीँ हामीले सुनेका कुरा र देखेका कुरासमेत सत्य हुन्नन् ।

    तर कतिपय अवस्थामा सत्यतालाई पनि हामी नजरअन्दाज गर्छौ अनि असत्यमाथि पनि सत्यताको खोजी गर्न थाल्छौँ शायद ।

    म काम विशेषले केही दिनदेखि काठमाडौं उपत्यकाबाहिरको यात्रामा थिए । यसअघि मलाई कहिल्यै अनुभूत भएन तर आज भने कता–कता काठमाडौंको न्यास्रो लागे जस्तै भएको थियो फर्कँदा ।

    कति बेला काठमाडौं पुगूँ भन्दै हतारिँदै कुर्दै थियो मेरो गाडी ।

    त्रिभुवन राजपथको असङ्ख्य घुम्तीहरू हुँदै सुन्दर दृश्य, हरिया डाँडाकाँडा अनि पर डाँडामाथि देखा पर्ने मनमोहक हिमालमा सधैं लोभिने मन अहिले कतै नलागी आफू पुग्नुपर्ने गन्तव्यमा मात्रै केन्द्रित भएको छ आज ।

    प्राकृतिक सुन्दरतामा असाध्यै धेरै बहकिने मन आज खासै नरमाएकोले पनि होला अनि लगातार निकै समयदेखि गाडी चलाइरहेकोले पनि हुन सक्छ केही थकित महसुस गर्दै थिए म ।

    काठमाडौंबाट बाहिरिँदा म एक्लै निस्के पनि अहिले काठमाडौँ फर्कने बेला मसँगै काठमाडौँ जान मेरो छेउको सीटमा एक जना साथी पनि बसेको थियो ।

    दक्ष कम्प्युटर प्राविधिक मेरो साथी मलाई बाटामा अनेकानेक प्रश्नहरू सोध्दै थियो ।

    सदैव निकै व्यस्त रहने उसलाई काठमाडौँ पुग्न मलाईभन्दा धेरै हतार भइरहेको थियो । आज शनिवार भएता पनि । उसले काठमाडौँमा कसैलाई कहीँ आफ्नो समय दिएको रहेछ ।

    मलाई भने आज छुट्टीको दिन भएर फुर्सदिलो भएर पनि खै केले पो हो कुन्नि, कहिले काठमाडौँ पुगूँ भइरहेको थियो ।

    मेरो साथी र म, हामी दुवै जना त्रिभुवन राजपथ हुँदै हेटौडाबाट काठमाडौंको लागि निस्केका थियौ । बिहान करिब ७ बजेको समयमा ।
    जाडो याम थियो तर पनि आकाशमा बादल वा हुस्सु लागेको थिएन । निकै खुला मौसम । चिसो हावासँगसँगै खूबै आनन्दित मस्तको घाम लागेको वातावरण ।

    करिब तीन घण्टाको लगातारको ड्राइभपश्चात् हामी करिब १० बज्नै लाग्दाको समयमा दामन पुग्यौ ।

    हिँड्ने बेला हेटौडामा बिहान चिया मात्रै पिएर निस्केका हामीलाई भोक लाग्न खोजेको महसुस भएकोले दामनको प्रख्यात भ्यु टावरभन्दा अलि तलको होटलमा खाना खाने भयौ ।

    दामन पुग्दा चिसो सिरेटो र पारिलो घाम दुवैले स्वागत गर्‍यो हामीलाई ।

    केही बेर होटलबाहिर राखिएको बेन्चमा बसी सुस्ताइसकेर खाना खायौ हामीले ।

    दामन–पालुङ प्राकृतिक सुन्दरताको रूपमा मात्रै अगाडि छैन, यो क्षेत्रले तरकारी खेतीको ख्याति पनि उत्ति नै कमाएको छ ।

    जतिसुकै साना भए पनि खेतीयोग्य जमिन कहिल्यै बाँझो रहँदैन यहाँ । असाध्यै मेहनती छन् यस क्षेत्रका आधुनिक कृषकहरू ।

    रमाइलो–घमाइलो वातावरणमा आनन्दित मनले दामनको होटलमा बसी त्यहाँ स्थानीय उत्पादनको खूबै स्वादिलो खाना खाँदै गर्दा त्यसै होटलको काउन्टरको दाहिने कुनामा केही फरक निकै अनौठो वस्तु देखो मैले ।

    उक्त वस्तु करिब दुई फूट उचाइ र उत्ति नै मोटाई अनि उत्ति नै चौडाइको हुनुपर्दछ ।

    कालो रङ्गको त्यो वस्तुको बाहिरी भाग एकदमै चिल्लो भएर टल्केको जस्तो लाग्थ्यो । वरिपरि खाल्डाखुल्डी भएर विविध आकृति बनेको झैं पनि देखिन्थ्यो । त्यस वस्तुको एकतर्फ भने करिब डेढ–दुई फूट व्यास भएको खैरो रङको केही बाङ्गोटिङ्गो गोलो प्लेटको जस्तो सफा भाग थियो जसको छेउ प्लेटकै बिट झैं थियो । जहाँ मसिनो अक्षरले कसै–कसैको नाम कोरेको पनि देखो मैले ।

    स्वादिलो खाना खाँदै गर्दा पनि मन भने त्यो वस्तुमै अल्झिरह्यो मेरो ।

    के होला यो अजिबको वस्तु ? अचम्म लागेर, खाना खाइसकेपश्चात् आफ्नो बिलको रकम भुक्तान गर्दै त्यो वस्तुलाई सुमसुम्याउँदै–नियाल्दै होटलका साहूजीलाई सोधो ।

    दाँत दुखेर बोल्न कठिन भइरहेको होटलको साहूजीले निकै गाह्रो गरी सिन्काले दाँत कोट्याउँदै जब उक्त वस्तु ‘जङ्गली च्याउ हो’ भने, झनै अचम्मित भए म ।

    अहिलेसम्म टिनको डिब्बामा तरकारी खाने सानो डल्लो, घरमा उमारिएका केही फैलिएको अनि कहिलेकाहीँ ओसिलो रूख बिरुवामुनि देखेको सामान्य च्याउबाहेक अरू च्याउहरूको बारेमा सोचेको पनि थिइन कहिल्यै ।

    त्यहाँको त्यो अजङ्गको च्याउ देखेर घोर आश्चर्यका साथ मनमा उठेका अनेकन् जिज्ञासाहरू प्रकट गर्दै थिए म अविरल रूपमा होटलका साहूजीलाई ।

    बिचरा उनी त्यसै त दाँत दुखेर छट्पटिँदै थिए, बोल्ने अवस्थामा थिएनन्, त्यहीमाथि मैले च्याउको बारेमा के–के सोधेर गनगन गरिरहँदा कति झर्को मानिरहेका थिए होलान् । तर पनि, मैले आफ्नो प्रश्नको बहावलाई कम गरिन ।

    मेरा अनेकन् प्रश्नहरूको उत्तरमा उनका दुई वटा मात्रैको जवाफले म झनै जिल्ल परो ।

    उनले बताए, ‘यो च्याउ यहीँ वरिपरिको जङ्गलबाट ल्याइएको हो र करिब पचास वर्ष पुरानो हो ।’

    अजङ्गको, सुकेर काठ बनिसकेको साह्रै हलुको वजनको त्यो बूढो जङ्गली च्याउ खेलाउँदै गर्दा झनझनै आकर्षित बन्दै गए म त्यो च्याउप्रति ।
    जति हेर्‍यो उति हेरिरहूँ लागिरहेर नियाल्दै जाँदा मलाई त्यो च्याउले केही भन्न खोजिरहेछ कि झैं लाग्यो ।

    शायद, त्यो च्याउले मसँग गुहार मागिरहेको थियो– ‘मलाई लैजाऊ यहाँबाट ! म यहाँ सामान्य होटलको सानो काउन्टरमा सजेको छु । म यहाँ अटेको छैन । म फैलन चाहन्छु । मलाई ठूलो ठाउँमा लगेर राख ! मलाई यहाँ कसैले चिन्दैन । म धेरैभन्दा धेरै मान्छेहरूका बीच चिनिन चाहन्छु । मेरो महत्त्व ठूलो छ ।’ मलाई यस्तै भान भयो ।

    मलाई झट्ट याद आयो, म सानो छँदा मलाई मेरी आमाले कुनै धार्मिक पुस्तकमा भएको कथा सुनाउनुभएको थियो ।

    कुनै एक राजाको घमण्ड नाश गर्न देवताले सानो माछोको रूप लिए । राजाले नदीमा नुहाउन लागेको बेला त्यो माछो राजाको हातमा गई सोध्यो– ‘राजदरबारमा बस्न चाहन्छु, मलाई अट्ने ठाउँ छ रु’ घमन्डी राजाले ‘तिमीजस्तो तुच्छ जीवको लागि मेरो विशाल दरबारमा स्थान हुँदैन र रु’ भन्दै दरबार लिएर गए । राजदरबारमा लगेर त्यो माछोलाई एउटा सानो पानीको भाँडोमा राखियो । बिस्तारै–बिस्तारै माछोले आफ्नो आकार बढाउँदै लगेर दरबार नै ढाक्न थालेपछि राजाले माछोसमक्ष माफी मागी त्यसलाई पुनः समुद्रमै छोडे ।

    म त्यो कथाको राजाझैं घमन्डी त छैन होला । न त मसँग घमन्ड गर्न क्षमता नै होला । तर पनि, यो च्याउलाई यहाँभन्दा अझै व्यवस्थित रूपले राख्न र प्रदर्शनीमार्फत सबैलाई चिनाउन भने सक्छु भन्ने लागेर त्यस च्याउलाई आफैसँग लैजान मन लाग्यो ।

    मैले कत्ति पनि अप्ठेरो नमानी सो च्याउ मलाई बिक्री गर्नका लागि अनुरोध गरो मैले होटलका साहूजीलाई ।

    मेरो साथी दङ्ग पर्दै भन्दै थियो, ‘जति वर्षको जस्तो च्याउ भए पनि किन चाहियो तपाईँलाई ? होस्, पर्दैन लिन ।’

    तर मलाई अब त्यो च्याउ आफूसँग नलगी भएको थिएन । शायद यो मेरो हठ थियो वा च्याउप्रतिको मोह ।

    किन–किन मेरो मन मन अड्क्यो त्यो अजङ्गको अनौठो च्याउमा जुन मैले आफ्नो जीवनमा कहिल्यै देखेको थिइना, न त कल्पना नै गरेको थिए ।

    मैले च्याऊ मलाई बिक्री गर्न अनुरोध गरिरहँदा होटलका साहूजीले यो बिक्रीमा नभएको भनेर अनेक पटक पन्छिन खोजे ।

    म उहाँसँग कुरा गर्दागर्दै उनी कहिले होटलको कुन कुनामा पुग्थे, कहिले कहाँ पुग्थे ।

    उनी जति–जति मबाट पन्छिन खोज्थे उत्ति नै मेरो हठ बढ्दै थियो ।

    यो च्याउ खरिद गर्न मसँग भएको पैसाले नपुगे मेरो घडी, मोबाइल जे राख्नुपर्छ राखेर भए पनि मलाई च्याउ दिनै पर्छ भनेर उनको अगाडि आफ्नो पर्स थमाएर अनुरोध गर्दै अड्डी कसेपछि मेरो साथी, होटलको साहूजी, होटलका कर्मचारीहरू र त्यहाँ खानपान गर्न बसेका अन्य व्यक्तिहरूसमेतले छक्क पर्दै हेर्न थाले मलाई ।

    मलाई ती सबै कुराहरूसँग कुनै प्रवाह भएन । मलाई त बस् त्यो च्याउ आफ्नो साथमा चाहिएको थियो ।

    जसरी पनि लिएर नै जान्छु भनेर जिद्दी गर्न थालो । खाना खाईवरी बिलसमेत तिरेर निस्किसकेको मान्छे पनि बसो फेरि होटलकै काउन्टरअगाडि ।

    म च्याउ नलगी कुनै पनि हालतमा त्यहाँबाट जान तयार भइन ।

    मेरो जबरजस्तीको अनुरोधको कारण साहूजी शायद रिसले मुरमुरिइरहेका थिए, ‘कस्तो ग्राहक फेला परेछ आज !’ उनी आफ्नो हात आफ्नो शिरमा राखेर हल्लाउन थाले ।

    उनको दाँत–दुखाइ थाहा पाएर पनि उनको त्यो पीडाले मेरो एकोहोरोपनलाई कुनै असर गरिरहेको थिएन ।

    मैले जिद्दीले हद नाघेपछि भने उनी केही गले शायद । तर, उनले त्यो च्याउ भने मलाई दिन कुनै पनि हालतमा मानेनन् । उनले आफ्नो कोठाको कुना–कुना खोतली अलिक सानो र फरक खालको च्याउ ल्याए र मलाई दिएर पन्छाउन खोज्दै भने, ‘ यसको सट्टा बरु यो लग्नुस् न !’

    तर, मलाई यो सानो च्याउले कत्ति पनि आकर्षित गरेन ।

    उनले ठूलो च्याउ नदिने नै भइसकेपछि औपचारिकताको लागि अनि ठूलोको मूल्य अनुमान गर्नका लागि पनि यो सानोको मूल्य कति हो भनेर सोधो ।

    ‘चाहिन्न पैसा यसको । सित्तै लैजानुस् !’ उनले त्यो सानो च्याउको पैसा लिन मानेनन् ।

    नबुझ्नुपर्ने कुरो नै के पो थियो र ! उनी त मलाई केवल पन्छाउन खोज्दै थिए ।

    मैले जति नै जिद्दी गरे पनि सम्पत्ति त उनकै थियो । अधिकार पूर्ण रूपमा उनकै थियो । उनले मलाई कुनै पनि मूल्यमा ठूलो च्याउ नदिने पक्का भएपछि आखिर म नै गल्न बाध्य भए ।

    मैले भनो– ‘अहिलेको लागि यो सानो भए पनि ठिकै छ । नमुनाको लागि मात्रै लग्दै छु तर म त्यो ठूलो च्याउ नै केही हप्तापछि आएर लैजान्छु । त्यसको मूल्य तोकिराख्नु होला !’ र, सानो च्याउ लिएर म गाडीमा बसो ।

    मेरो साथी शायद मलाई मूर्ख ठान्दै–हाँस्दै मेरो छेउको सीटमा बस्यो ।

    हामी पुनः काठमाडौंतर्फ बाटो लाग्यौं ।

    मलाई विविध प्रश्नहरू गरिरहने मेरो साथी मेरो व्यवहारले केही नबोली अझै हाँस्दै थियो ।

    मेरो अघि देखिको क्रियाकलापले दङ्ग परिरहेको साथी बाटोभरि मेरो त्यो च्याउको पृथकता र त्यसलाई प्रदर्शनीमा राख्ने योजनाको कुरा सुन्दासुन्दै दिक्क लागेर थाकेको हुन सक्छ । सोही कुराले शायद उसलाई निद्रा पनि लागेको हुन सक्छ । ऊ निदाउने कोशिश गर्दै थियो ।

    तर, म भने उसलाई झिजोल्दै मेरो मनमा उठेको च्याउप्रतिको विभिन्न कुराहरू र योजनाहरू सुनाउनमै व्यस्त थिए ।

    ऊ छक्क पर्दै थियो, किन म त्यो जङ्गली च्याउप्रति यत्तिको धेरै क्रेजी भएको होला ?

    निकै बेरदेखिको उसको लागि बिलकुलै बेकारको विषयमाथिको मेरो कथाको व्याख्यानले ऊ केही खिन्न भावमा भन्दै थियो मलाई– ‘होइन, तपाईँलाई भएको चाहि के हो ? किन यति धेरै जिद्दी हुनुभएको  ?’
    उसको जवाफमा उसको शिर हल्का सुमसुम्याउँदै म हाँसो मात्रै ।

    दामनबाट हिँडेको केही समयसम्म पुनः गाडी चलाइरहँदा म पनि केही थाकेको जस्तो भए ।

    हामी दुवै जना कहीँ–कतै चिया पिउँदै आराम गर्ने ठाउँ खोज्न थाल्यौ । बसिहाल्न मन लाग्ने खालको कुनै ठाउँ भने भेटेनौ हामीले, दामनदेखि केही घण्टा लगातार दौडिरहेता पनि ।

    हुन पनि त हेटौडादेखि दामन पालुङसम्मको बाटोमा पाइने हरियाली र पर देखिइने ढ्याप्प बसेको हिमाल र रमणीय दृश्यहरूले फुरुङ्ग हुने मन पालुङ कटेपछिको उराठलाग्दो दृश्यहरूका कारण दिक्क पनि मान्दथ्यो ।

    बल्ल केही घण्टापछि नौबिसे आइपुगियो ।

    हामी राजमार्गकै एक छेउमा गाडी रोकेर नौबिसे बजारमा चिया पिउनका लागि एउटा होटलको बाहिर पेटीमा राखिएको बेन्चमा बस्यौ ।
    मेरो मनले भने त्यो च्याउलाई एकै पटक पनि छोडेको थिएन ।

    अब कसरी त्यो होटलको साहूजीलाई च्याउको मूल्य निर्धारण गर्न लगाई खरिद गर्ने ?

    गाडीबाट निस्केर पनि दामनको होटलको साहूजीले दिएका सानो च्याउ हातमा खेलाउँदै, चुरोट सल्काएर चुरोटको धूवाँ उडे जस्तै च्याउको प्रदर्शनीको विचार गर्दै बसेको थिए ।

    चिया अर्डर भइसकेको थियो, आइसकेको थिएन । शायद उम्लने तरखरमा थियो ।

    अचानक मेरो दाहिने खुट्टामा केही वस्तु ठोक्किएको महसुस गरो मैले ।

    झस्केर हेरो, मेरो खुट्टा एउटा सडक बालकजस्तो लाग्ने करिब ११–१२ वर्षको केटोले छोएको रहेछ ।

    म होटलको पेटीमा बसेकोले होला ऊ उक्लँदा ठेस लागेर मेरो खुट्टा छोइएको होला भन्ने लाग्यो मलाई । मैले सामान्य रूपमा लिए । त्यति वास्ता गरिन ।

    त्यो बालकले मेरो च्याउप्रतिको ध्यान भङ्ग गर्नासाथ मलाई थाहा भयो– मेरो साथीलाई मेरो अघिल्तिर थिएन । कहाँ गएछ रु खोज्न थालो ।
    ऊ अलि पर गएर मोबाइलमा कसैसँग कुरा गर्दै रहेछ एकोहोरो भएर ।

    मलाई अघि छोएको त्यो बालक अलि पर गएर मलाई हेर्दै हाँस्न थाल्यो ।

    म पनि अनौठो मान्दै–हाँस्दै चुरोट अझ कसिलोसँग तान्न थालो ।

    केहीबेरमा मेरो साथी मेरो नजरबाट ओझेल भएर कतै कुनामा बसेर शायद मोबाइलमा नै कुरा गर्दै थियो ।

    मैले होटलको साहुनीलाई सोधो– ‘चिया पाकेन साहुनी रु’ सोध्नु के थियो पुनः त्यो बालक आएर मेरो खुट्टा छुँदै मेरो मुख हेरेर हात जोड्न थाल्यो ।

    मलाई अचम्म लाग्यो ।

    अघि त भूलवश वा ठेस लागेर त्यस्तो भएको हुन सक्छ भन्ठानेको तर अहिले पनि फेरि किन यस्तो गर्दै छ उसले ?

    अब बल्ल कुरा बुझ्दै थिए म । वास्तवमा उसले मलाई अघि छोएको होइन ढोगेको पो रहेछ ।

    म कसैलाई खुट्टा ढोग्न दिन मन नपराउने मान्छे भएकोले उसलाई समातेर पन्छाउँदै केही हप्काएको झौं गरी सम्झाउँदै थिए, ‘किन यसो गरेको रु यस्तो गर्नु हुँदैन ।’

    यसैबेला होटलकी साहुनीले अंखोराको पानी ह्वात्तै छ्यापिदिँदै गाली गरिन् त्यो बालकलाई– ‘भागिहाल् यहाँबाट !’

    मैले होटलको साहुनीलाई हप्काए– ‘किन त्यो बच्चालाई त्यस्तो व्यवहार गर्नु भएको रु म ऊसँग कुरा गर्दै थिए ।’

    मेरो त्यो बालकप्रतिको जिज्ञासाको जवाफमा होटलकी साहुनीले उसको सम्पूर्ण कुरा बेलिबिस्तार लगाउन थालिन् ।

    उनका अनुसार त्यो बालकले काम नै त्यस्तै गर्ने रहेछ । जोसुकै बाहिरका व्यक्तिहरू आएमा तिनको खुट्टा ढोगी–ढोगी पैसा माग्दो रहेछ ।

    अरूसँग पैसा माग्ने यो शैली पनि फरक लाग्यो मलाई, जो अहिलेसम्म देखेको थिइन मैले । म त्यो बालकपूत्री झन् उत्सुक भए । उसको बारेमा सम्पूर्ण कुरा जान्न मन लाग्यो मलाई ।

    अब मैले त्यो बालकलाई बोलाएर ऊसँग कुरा गर्ने विचार गरो ।

    मेरो साथी अझै फोनमै व्यस्त थियो शायद मैले नदेखिने गरी कतै कुनामा बसेर कुरा गर्दै थियो । अझै सामुन्ने देखिएको थिएन ।

    मैले बालकालाई इशाराले बोलाए । बोलाएपछि त्यो बालक हाँस्दै आफ्नो शरीर नचाउँदै अचम्मको हाउभाउ गर्दै मेरो सामु आयो ।

    मैले उसलाई सोधो– ‘के चाहियो तिमीलाई ?’

    उसले कुनै जवाफ दिएन, मात्र अनौठो हाउभाउ गरिरह्यो ।

    मैले धेरै पटक उसलाई ‘के चाहियो रु’ भनेर सोधिसकेपछि बल्ल केही बेरमा मसँग उसले पैसा माग्यो ।

    मैले भनो– ‘पैसा त दिन्न, खाने कुरा दिन्छु । के खान्छौ रु भन !’

    ऊ केही बोलेन । निकै बेरसम्म चुपचाप मेरो अगाडि नै उभिइरह्यो । फेरि अचानक मेरो खुट्टा समायो र मैले तान्दै गरेको चुरोट देखाउँदै मसँग चुरोट माग्यो ।

    म झस्को । हत्त न पत्त उसलाई समाएर आफ्नो खुट्टा छुटाए र चुरोटको ठुटो फाल्दै उसलाई गाली गर्न थालो– ‘के चाहियो तिमीलाई ? भन, के खान्छौ रु चुरोट खानु हुँदैन ।’

    कत्ति हाँसोलाग्दो कुरा गर्दै थिए म ! आफै चुरोट तान्दै थिए, अरूलाई भने चुरोट खानु हुँदैन भनेर सम्झाउँदै थिए ।

    उसले मेरो अगाडिको टेबुलमा रहेको चुरोटको प्याकेटमा ‍‍औंला देखाउँदै पुनः चुरोट नै माग्यो, जुन प्याकेट अघि मैले एक खिल्ली सल्काएर खल्तीमा राख्न बिर्सेको रहेछु ।

    अब मलाई असह्य भयो ।

    मैले उसलाई राम्ररी सम्झाउँदै फकाउन थालो– ‘चुरोट खानु राम्रो होइन… कुनै पनि हालतमा चुरोट खान दिन्न म । बिस्कुट–चाउचाउ के खान्छौ ? भन !’

    उसले मानिनमानी बल्ल–बल्ल ‘कोक खान्छु’ भन्यो ।

    मलाई, उसलाई कोक खान दिन पनि मन लागेन, भनो– ‘बरु कोकभन्दा जुस खाऊ !’ र, चिया अझै नआइसकेको र मेरो साथी पनि आइसकेकोले तीनवटा जुस मगाए ।

    उसलाई एउटा दिएर हामी दुवै चिया नआउन्जेलको लागि जुस पिउन थाल्यौ ।

    ऊ रमाउँदै जुसको बट्टा हावामा उडाउँदै बाटोको छेउतिर लाग्यो ।

    निकै बेर लगाएर चिया आइपुग्यो हाम्रो टेबुलमा । हामी जुस पिइसकेर चिया पिउँदै थियौ ।

    मलाई केही बेरमै देखिएको अर्को दृश्यले झनक्क रिस उठ्यो ।

    अघि मैले जुस दिएको बालक त अहिले दूधको प्लास्टिकमा डेन्डराइट भरेर त्यसको राग पो तान्दै रहेछ ।

    मलाई बुझ्न गाह्रो भएन । मैले दिएको जुस बेचेर उसले त्यो डेन्डराइट खरिद गरेछ वा जुससँग साटेछ ।

    मैले काठमाडौं ठमेलका गल्लीहरूमा यस्ता दृश्यहरू दैनिक देख्दै आएको थिए ।

    विदेशी पर्यटकहरूले दिएका पैसा त छादै छ, बिस्कुट–जुसहरूसमेत छेउछाउका पसलमा साटेर पैसा लिने मात्रै होइन, सहयोगी संस्था अनि व्यक्तिले दिएका खाना अनि कपडाहरू फाल्ने गरेका सडक बालबालिकाहरू ।

    पुनर्स्थापना केन्द्रमा लगिएर पनि भागेर पुनः सडकमै सडक बालक वा चल्तीको संज्ञा ‘खाते’ बन्न चाहेका बालबालिकाहरूको जमात र तिनको व्यवहार नजिकबाट नियालेको थिए मैले ।

    मलाई भाउन्न भएर आयो । ठमेल त कुरै छोडौं तर नौबिसेजस्तो सानो ठाउँमा समेत यस्तो होला भन्ने कल्पनासमेत गरेको थिइन मैले ।

    अब म उभिएर ठूलो–ठूलो स्वरमा कराउन थालो– ‘मैले भर्खरै जुस दिएको बालकसँग जुस साटेर कसले दियो डेन्डराइट रु कसले यी कलिला बालकहरूलाई यस्तो कुलतमा फस्न सहयोग गर्दै छ ?’

    मेरो आवेशमा निस्केको ठूलो ठूलो स्वर सुनेर वरिपरि केही मानिसहरू जम्मा भए ।

    तीमध्ये एक जना वृद्ध आमाले सम्झाउन थाल्नुभयो मलाई– ‘बाबु, त्यो केटो पूर्ण रूपमा बिग्रिसकेको छ । सबै जनासँग यस्तै गरी पैसा माग्छ । यसले नखाने लागु औषधका कुराहरू केही छैन । यसको बानी नै बिग्रिसक्यो । भयो छोडिदिनुस्, कुरा अघि नबढाउनुस् !’

    मचाहिँ अझै पनि कराउन छोडेको थिइन । चिच्चाउँदै थिए, ‘जुन समाजमा तपाईँजस्ता जाने बुझेका मानिसहरूले बालबालिकाहरूलाई गलत बाटो हिँड्न उल्टो मद्दत गर्नुहुन्छ, अनि कसरी सही बाटोमा लाग्न सक्छन् यिनीहरू ?’

    अन्तमा, मलाई मेरो साथीले सम्झाउन थाल्यो– ‘ तपाईं अहिले एक्लै यहाँ कराएर केही हुनेवाला छैन । शान्त हुनुस्, चुप लाग्नुस् !’

    म अलि शान्त भएर त्यो बालकलाई पुनः बोलाउन थालो– ‘अब उसलाई यहाँ राख्दिन, मसँगसँगै लैजान्छु अनि सही बाटो चिनाउँछु, उसलाई पढाउँछु ।’

    म उसलाई बोलाउँदै थिए । ऊ मैले बोलाएको सुने–नसुने झैं गरी यो चिसो मौसममा पनि आफूले लगाइराखेको ज्याकेट खोलेर भुइँमा पछार्न थाल्यो ।

    मैले हेर्दाहेर्दै, बाटोमा रोकिएको अर्को कारको मानिसलाई के–के भन्दै, त्यो कारको सिसा पुछेको जस्तै गर्दै पैसा माग्न थाल्यो ।

    मलाई फेरि तिनै वृद्धाले सम्झाउन थालिन्– ‘बाबु, यसलाई निकै पटक धेरै मानिसहरूले काठमाडौँ लिएर गइसकेका छन् । फेरि पनि फर्केर वा भागेर यहीँ आउँछ । अरूले दिएका नयाँ कपडाहरू पनि यस्तै भुइँमा पछार्दै फटाउँछ र फाल्छ । त्यसैले, भैगो छोडिदिनुस् यसलाई यही हालतमा, तपाईँ जानुस् !’

    त्यहीँबाट म मेरा सम्पर्कमा भएका केही सामाजिक क्षेत्रमा काम गर्ने साथीभाइहरूसँग सम्पर्क गरी यो बालकको लागि के गर्न सकिन्छ भनी सल्लाह गर्न थालेँ ।

    मेरा साथीभाइहरूले कुनै पनि बालबालिकालाई उसको परिवारको मन्जुरीबेगर वा कानूनी प्रावधान पूरा नगरी कतै पनि लैजाँदा निकै धेरै समस्या आइपर्ने र राम्रो उद्देश्य लिई गरेको कामको समेत परिणाम नराम्रो निस्कन सक्नेमा मलाई सचेत तुल्याउँदै थिएँ ।

    उनीहरू मलाई जोशमा कुनै पनि काम नगर्न सुझाउँदै थिएँ ।

    मैले सोचो, हो नि हुन त ! सम्झो, आमाघर चलाइरहनु भएकी पूर्ण समाजसेवी दिलशोभा श्रेष्ठमाथि पनि त हालै मात्रै निकै लाञ्छना लगाइएको थियो ।

    आफूले आफ्नो जीवन समाजको लागि समर्पित गरी यसरी काम गर्दा पनि गलत आरोप लागेको भन्दै स्पष्टीकरण दिइरहनु हुँदा उहाँका आँखाबाट आँसुका बलिन्द्र धारा बहँदै थिए ।

    मैले पनि साथीहरूको सल्लाहबमोजिम यो कुरा हाल अघि नबढाउने विचार गरेँ ।

    तर तत्काल त्यो बालकको लागि मैले केही गर्न नसकेकोमा निकै हीनताबोध भयो ।

    बडो अनौठो पैसा माग्ने कला भएको त्यो बालकको क्षमतामाथि शङ्का गर्ने कुनै ठाउँ नै छैन । तैपनि, उसको त्यस्तो हालत देखेर म बडो गह्रौं मन लिएर ठमेलका गल्लीहरूका सडक बालबालिकाहरूलाई सम्झँदै फर्केँ त्यहाँबाट ।

    त्यो बालकसँग बिहान देखेको जङ्गली च्याउलाई दाँज्न थालो । तिनका समानता र भिन्नताहरू सोच्न थालेँ ।

    ५० वर्ष पुरानो सुकेर काठ बनिसकेको अजङ्गको एउटा जङ्गली च्याउ र बाटो बिराएको त्यो ११–१२ वर्षको सडक बालकको बीचमा तुलना गर्न थालेँ ।

    र, धिक्कार्न थालो यो मानवीय सोचलाई, जसले त्यो सुकेर काठ बनिसकेको जङ्गली च्याउलाई बहुमूल्य मानेर सजाएको छ अनि यो भर्खरको कलिलो बालकलाई बेकार ठानी समाजबाट पन्छाइएको छ ।

  • आदिकविलाई सम्झिएर दुई कविता

    आदिकविलाई सम्झिएर दुई कविता

    आदिकवि भानुभक्त

    अठोट लियौ भानु तिमीले
    घाँसीका मीठा वचन सुनेर
    म पनि केही गर्नेछु जीवनमा
    सधैँ अगाडि बढेर ।

    भन्छन् सबैले भानु भानु
    साहित्यिक सम्झना गरेर
    पायौ ज्ञान घाँसीबाट धेरै तिमीले
    उद्धार गर्‍यौ ज्ञानको भण्डार भरेर ।

    हीरा मोतीभन्दा ठूलो नाम पायौ
    कति धेरै ज्ञान पायौ
    संसारले नै जप्छन् सधैँ तिमीलाई
    आफ्नो नाम अमर बनायौ ।

    छोडेर गयौ छाप संसारमा तिमीले
    आदिकवि भानुभक्त नाम दिएर
    शिरलाई सधैँ उच्च राख्यौ तिमीले
    ज्ञानको गंगामा डुबेर ।

    चौरास्ताको भेट

    चौरास्तामा भेटे मैले भानुभक्तलाई
    भानुभक्तको धेरै राम्रो शालिकलाई
    एउटा हातमा किताब बोक्नु भएको
    उभिएर सबैलाई हेरिरहनु भएको।

    मैले पनि हेरिरहे एकोहोरिएर उहाँलाई
    मनमा खेले धेरै विचार देखेर भानुभक्तलाई
    गफ गरे मनमनै उहाँको शालिक अगाडि
    धेरै खुशी लाग्यो भेटेर साहित्यका खानीलााई ।

    लेख्न सकुँ कविता मपनि भानुभक्त झैँ
    ‌सम्झिएर लेख्ने छु कविता भानुभक्तलाई
    आशीर्वाद धेरै दिनु है सधैँ मलाई
    हजुर जस्तै महान कवि बन्नलाई ।

    फोटोहरू धेरै खिचे उहाँसँग
    सधैदिन समिप रहनलाई
    मनमा लिएर आए धेरै खुशी
    साहित्यमा सधै उर्तीण हुनलाई ।

    चौरास्ताको भेट मेरो
    सधैँ कलम अगाडि बढी रहोस्
    मनमा रमाएका उहाँका कीर्तिहरू
    सधै मेरो जीवनको प्रेरणा बनोस् ।

    -रमा कोइराला ‘अद्रिजा’

    रानीपुल, ढकाल गाउँ (पूर्वसिक्किम)

  • तोसिमा कार्कीलाई गाली गर्न छुट्नु भयो कि ?

    तोसिमा कार्कीलाई गाली गर्न छुट्नु भयो कि ?

    कहिलेकाहीं यस्तो लाग्छ, हामी तीन करोड नेपाली तीन करोड भेंडा हौं । अगाडि हिँडेको भेंडो भिरबाट हाम्फाल्यो भने त्यसको पछिपछि आउनेहरु पनि एक-एक गरी हाम्फाल्छन् रे (म आफैंले चाहिँ देखेको छैन) ! हामी पनि यस्तै प्रवृत्ति देखाउँछौं बारम्बार । एकजना टाठोबाठो उफ्रिएपछि ऊ पक्कै माथि नै पुग्यो होला भन्ठान्छौं र भटाभट सबै उफ्रिन्छौं । अनि एकसाथ हिलोमा पछारिन्छौं ।

    यो प्रवृत्ति खासगरी सामाजिक सञ्जालमा अत्यन्तै सघन रुपमा देखिन थालेको छ । पक्कै पनि, मैले निकाल्न खोजेको ताजा प्रसंग ‘डा. तोसिमा कार्की काण्ड’ कै हो । उनले हिजो प्रधानमन्त्रीपत्नी स्व. सीता दाहाललाई पेरिसडाँडामा श्रद्धाञ्जली दिन जाँदा बोलेका केही क्लीपहरु सामाजिक सञ्जालमा भाइरल छन् । र, मानिसहरू मच्चिमच्ची उनलाई गाली गरिरहेका छन् । उनको अभिव्यक्तिलाई ‘अमानवीय’ संज्ञा दिइएको छ । त्यस्तो आपत्तिजनक के बोलेकी थिइन् त तोसिमाले ?

    सर्वप्रथम पत्रकारले उनलाई सोधेको प्रश्न र तोसिमाले दिएको ‘विवादित’ जवाफ जस्ताको तस्तैः

    पत्रकारः तपाईंले प्रचण्ड पत्नीको एकखालको प्रशंसा गर्नुभो, प्रचण्ड पनि श्रीमतीका लागि कति लागिपरे भन्ने उदाहरण छ । उहाँ श्रीमतीकै लागि हरेक समय आफ्नो समय त्याग गरिरहनु भएको थियो । यसलाई कसरी लिनुहुन्छ ?

    तोसिमा: हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरु पनि आउनसक्छ । त्यो कारणले सायद मैले (उहाँ) ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु ।

    अहिले पत्नीयोग (पत्नीवियोग) को दुःखमा पर्नुभएको छ । पुत्रको दुःख पनि भोग्नुभएको छ । त्यो बाबजुद प्रधानमन्त्री जस्तो पदमा बसेर (केही) गर्न खोजिराख्नुभएको छ, त्यसमा अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टीकाटिप्पणी नगरौं । उहाँलाई साथ नै दिनुपर्छ जनताले । अरु राजनीतिक हिसाबकिताब र राजनीतिक मुद्दाका कुराहरु त छँदैछन् ।’

    हो, तोसिमाले श्रद्धाञ्जली दिन जाँदा मिडियालाई यस्तो प्रतिक्रिया दिइरहन आवश्यक थिएन । उनले अनावश्यक रुपमा लामो प्रवचन पनि दिइरहनु हुन्थेन । तर, उनको कोणबाट पनि सोचौं न !

    यो भनाइ पहिलोपटक सुन्दा तपाईंले के बुझ्नुभयो ? सम्भवतः यही बुझ्नुभयो कि तोसिमाले श्रीमतीलाई पनि समय दिन र स्याहार्न नसक्ने प्रधानमन्त्रीले राष्ट्रका लागि के गर्न सक्लान् भन्ने छुद्र प्रश्न गरिन् ?

    के यही नै भन्न खोजेकी हुन् त उनले ? अब एकपटक प्रश्न पनि सुन्नुस् र उत्तर दोहोराएर सुन्नुस् ।

    प्रश्नकर्ताले नै भनेका छन् प्रधानमन्त्रीले आफ्नो श्रीमतीका लागि धेरै त्याग गर्नुभयो, यसलाई कसरी लिनुहुन्छ ?

    के तोसिमाले प्रश्नकर्तालाई नकारेकी छन् त ? छैनन् । उनको भनाइको भाव के हो त ? अलिकतिमात्रै दिमाग लगाउँदा उनको आशय बुझिन्छ कि यदि प्रधानमन्त्रीले श्रीमतीलाई समय नदिएको भए वा राम्ररी हेरचाह गर्न नसकेको भए आफ्नै श्रीमतीलाई हेरविचार नगर्ने प्रधानमन्त्रीले राष्ट्रका लागि के गर्न सक्लान् भन्ने प्रश्न उठ्न सक्थ्यो । तर, प्रधानमन्त्रीले आफ्नो निजी जीवन र राजनीतिलाई ब्यालेन्स नै गर्नुभयो ।

    मैले चाहिँ यही बुझें । आफैं सोचौं, न एउटा सद्दे दिमाग भएको व्यक्ति कसैको निधनमा श्रद्धान्जली र समवेदना दिन जाँदा शोकाकुल परिवारलाई उल्टै निम्छरो गाली गर्ने धृष्टता गर्छ ?  उनले भाषा अलिकति मिलाउन नसकेकै हो । ‘प्रश्न उठ्नसक्छ’ भन्दा प्रश्न उठ्न सक्थ्यो’ भनेको भए अलि धेरैले बुझ्थे होला । प्रश्न नसुनी उत्तरमात्रै सुन्दा त आपत्तिजनक नै लाग्छ । टिकटकमा १५ सेकेन्डको भिडियो हेरेर ‘रिप’ हुत्याइहाल्ने जमातका लागि यो गतिलो खुराक हुने भइहाल्यो । तर, आफूलाई विशिष्ट श्रेणीका बौद्धिक ठान्ने अर्को जमात पनि अभिव्यक्तिको भाव नबुझी (वा बुझ पचाएर) तोसिमाको चरित्रहत्यामा उत्रिरहेको छ ।

    हो, तोसिमाले श्रद्धाञ्जली दिन जाँदा मिडियालाई यस्तो प्रतिक्रिया दिइरहन आवश्यक थिएन । उनले अनावश्यक रुपमा लामो प्रवचन पनि दिइरहनु हुन्थेन । तर, उनले त्यहाँ गएर प्रेस मिट बोलाएकी त होइनन् । एकपटक उनको कोणबाट पनि सोचौं न !

    पूरै हेर्दा त्यो अन्तर्वार्ताभरि तोसिमाले सीता र प्रचण्डलाई नराम्रो केही पनि भनेकी छैनन् । सीताको त खुलेरै प्रशंसा गरेकी छन् । तर, कसलाई फुर्सद छ सबै हेरिबस्ने ? १५ सेकेन्डको भिडियो हेर्‍यो, आरआईपी ठोकिहाल्यो ।

    तपाईं एउटा नयाँ र शिकारु राजनीतिज्ञ हुनुहुन्छ । मानवीयताका हिसाबले प्रधानमन्त्रीकी पत्नीलाई श्रद्धाञ्जली दिन जानुभयो । तपाईंले सायदै सोच्नुभएको थियो कि त्यहाँ पनि ‘प्रेस’ को सामना गर्नुपर्नेछ । मिडियाले तपाईंलाई यसरी छोपे मानौं, गतिलै ‘कन्टेन्ट’ भेटेका छन् (कसैको मृत्युमा श्रद्धाञ्जली दिन आउनेहरुलाई झ्याप्पै छोपेर कन्टेन्ट निचोर्न खोज्ने पत्रकारहरु कुन स्तरका हुन् भन्ने प्रश्न सोध्ने चेष्टा नगरौं, नेपालमा पत्रकार प्रश्नभन्दा माथि छन्) । यदि तपाईं त्यहाँ प्रतिक्रिया दिन इन्कार गरेर सरासर हिँड्नुभएको भए पनि तपाईंको भिडियो भाइरल हुने थियो । ‘हेर यसको घमण्ड’, ‘नउम्रिँदै तीन पात’, ‘कत्ति चढिएकी आइमाई’ आदि इत्यादि कमेन्टको वर्षा भइहाल्थ्यो ।

    अब यत्रा मिडियाले घेरेपछि जबरजस्ती केही त फलाक्नै पर्‍यो । सोधेको प्रश्नको ‘सारगर्भित’ जवाफ दिनै पर्‍यो । जवाफ दिँदै गर्दा, राम्रै बोल्न खोज्दा अलिकति जिभ्रो लट्पटियो । भाषागत त्रुटि भयो । त्यसपछि तपाईं सक्किनुभयो । छिनभरमै ‘दानव’ हुनुभयो ।

    पूरै हेर्दा त्यो अन्तर्वार्ताभरि तोसिमाले सीता र प्रचण्डलाई नराम्रो केही पनि भनेकी छैनन् । सीताको त खुलेरै प्रशंसा गरेकी छन् । तर, कसलाई फुर्सद छ सबै हेरिबस्ने ? १५ सेकेन्डको भिडियो हेर्‍यो, आरआईपी ठोकिहाल्यो ।

    त्यही अन्तर्वार्तामा तोसिमाले दिएको अर्को अभिव्यक्तिलाई पनि कतिपयले आलोचना गरेका छन् । जुन प्रश्न र उत्तर यस्तो थियो :

    पत्रकार : प्रधानमन्त्री परिवारविहीन हुनुभएको छ, तपाईंले उहाँलाई के सुझाव दिनुहुन्छ ? (कस्तो फाल्तु प्रश्न हो यो ? तर सोधेपछि जवाफ दिनैपर्‍यो)

    तोसिमाः प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने पटकपटक परिवारका सदस्यहरु श्रीमान/श्रीमती/छोराछोरी गुमाएका तमाम आमनागरिकका दुःखलाई पनि उहाँले सम्झिनुपर्छ । आफ्नै दुःखसरह बुझ्नुपर्छ । त्यसका लागि के गर्नुपर्छ, कसरी सम्बोधन गर्नुपर्छ भन्ने कुरा चैं प्रधानमन्त्रीको हैसियतमा रहेको, राष्ट्रले नै पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ र त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ । आफ्नो परिवारका सदस्य गुमाएका सहिद परिवारलाई सम्झिनुपर्छ । यो भन्दै गर्दा हामीले दबाब होइन, उहाँप्रति समवेदना नै दिन खोजेको हो ।

    यो भनाइप्रति सबैका आ-आफ्ना दृष्टिकोण हुन सक्छन् । माओवादी र जनयुद्धलाई समर्थन गर्नेहरुका निम्ति यो सुरुचिकर नहुन सक्छ । होइन भने उनले केही गलत बोलेकी छैनन् । आफ्ना छोरा, छोरी र श्रीमती विभिन्न रोग लागेर गुमाउँदा प्रचण्डलाई जति चोट लागेको छ, हिजो जनयुद्धमा अनाहकमा मारिएका १७ हजार नागरिकका परिवारलाई त्यो भन्दा कम चोट होला ? तर, प्रचण्डले आजसम्म कहिल्यै पनि यो नरसंहारप्रति क्षमायाचना त के सामान्य आत्मसमीक्षा पनि गरेका छैनन् । बरु सगर्व ‘५ हजारको जिम्मामात्रै म लिन सक्छु’ भनेर सार्वजनिक भाषण गरेका थिए ।

    नेपालको सन्दर्भमा कुरा गर्दा पछिल्लो समय सामाजिक सञ्जालले धेरै मुद्दाहरुमा सरकारलाई झुकाएको छ । सूचना र विचारमा मेनस्ट्रिम मिडियाको एकाधिकार अन्त्य भएको छ । बरु मेनस्ट्रिम मिडियालाई नै सामाजिक सञ्जालले गाइड गर्न थालेको छ ।

    तोसिमाले प्रचण्डलाई यत्ति भनेकी हुन् कि तपाईंले आफू पारिवारिक वियोगमा पर्दा ती नागरिकका परिवारलाई पनि सम्झिनुस् । यो म पनि भन्छु । प्रचण्डको अगुवाइमा भएको व्यक्तिहत्याको अभियानमा १७ हजार नागरिक मारिएकै हुन् । त्यो कलंकले उनलाई आजीवन छोड्ने छैन । पारिवारिक वियोगमा उनलाई सहानुभूति दिनेहरुले पनि ‘१७ हजारको हत्यारा’ भनेर मनको एउटा कुनामा त राखेकै छन् ।

    अब कुरा गरौं सामाजिक सञ्जालको । हरेक नयाँ आविस्कारहरुले समाजमा केही न केही सकारात्मक परिवर्तन ल्याएका हुन्छन् । र, सँगसँगै त्यसका साइड इफेक्टहरु कालक्रममा देखिन थाल्छन् नै ।

    स्मार्टफोन र सामाजिक सञ्जाल आएदेखि दुनियाँ बदलिएको छ । संसारभरका मानिसहरु आपसमा जोडिएका छन् । सबैले आफ्नो विचार/धारणा निशंकोच प्रवाह गर्न पाएका छन् । सूचनामा सबैको पहुँच पुगेको छ ।

    नेपालको सन्दर्भमा कुरा गर्दा पछिल्लो समय सामाजिक सञ्जालले धेरै मुद्दाहरुमा सरकारलाई झुकाएको छ । सूचना र विचारमा मेनस्ट्रिम मिडियाको एकाधिकार अन्त्य भएको छ । बरु मेनस्ट्रिम मिडियालाई नै सामाजिक सञ्जालले गाइड गर्न थालेको छ । तर, अर्कोतर्फ सामाजिक सञ्जालका दुष्प्रभावहरु पनि दिनदिनै बढिरहेका छन् । यो यस्तो धारिलो हतियार बन्न थालेको छ, जसले अत्यन्त मामुली गल्तीमा जोकोहीलाई जीवनमरणको अवस्थामा पुर्‍याउँछ । रातारात हिरो बनाउँछ, क्षणभरमै जिरोमा झारिदिन्छ । सबैको हाइहाइ खाएर सुतेको व्यक्ति ब्युँझँदा सबैको दुत्कार पाइरहेको हुन्छ ।

    अहिले हातमा स्मार्ट फोन भएका प्रत्येक व्यक्ति आफूलाई पत्रकार र वकिलमात्र होइन, न्यायाधीश नै सम्झिन थालेका छन् । कसैलाई सानो आरोप लाग्नासाथ अदालतको फैसला प्रतीक्षा नगरिकन उसलाई सामाजिक सञ्जालले अपराधीको ठप्पा लगाइहाल्छ । भोलि अदालतले सफाइ दियो भने पनि त्यो ठप्पा मेटिनेवाला छैन । आरोप लागेपछि सकियो । यस्तै तरिकाले त नेपालमा कोही पनि मान्छे निष्कलङ्क बाँच्न असम्भव छ । कुलमान घिसिङ र सन्दुक रोइतहरु पनि एक दिन कुनै न कुनै आरोपले डामिनेछन् । सामाजिक सञ्जाल वास्तवमै खतरनाक हतियार बन्दैछ ।

    अहिले हातमा स्मार्ट फोन भएका प्रत्येक व्यक्ति आफूलाई पत्रकार र वकिलमात्र होइन, न्यायाधीश नै सम्झिन थालेका छन् । कसैलाई सानो आरोप लाग्नासाथ अदालतको फैसला प्रतीक्षा नगरिकन उसलाई सामाजिक सञ्जालले अपराधीको ठप्पा लगाइहाल्छ ।

    यही सामाजिक सञ्जाल हो, जसले गायिका समीक्षा अधिकारीलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याएको थियो । लगातार एक वर्षसम्म उनले ‘आरआईपी’ खाइरहिन् । आत्महत्याको मनस्थितिमा समेत पुगेकी उनले जसोतसो हिम्मत बटुलेर बाँचेकी हुन् ।

    अहिलेको माहोल अर्कै छ । जब मिडियालाई समीक्षाले एउटा अन्तर्वार्ता दिइन्, माहोल यूटर्न भयो । उनीमाथि सहानुभूतिको भेल उर्लिन थाल्यो । अब सामाजिक सञ्जालको बाण पल शाहतिर फर्केको छ । हिजो यही सामाजिक सञ्जालले पललाई ‘रियल हिरो’ भन्दै उचालेको हो । अहिले राक्षस बनाइरहेको छ । पल शाहले भोलि कुनै भावुक अन्तर्वार्ता दिएपछि यो परिवेश पनि बदलिन सक्छ ।

    सीता दाहालकै कुरा गरौं न ! मृत्युपछि उनको महिमामण्डन गर्ने प्रतिस्पर्धा छ । उनको योगदान र बलिदानीको गाथा गाउने काम भइरहेको छ । तर, सक्रिय जीवन बाँचुञ्जेल उनको छवि कस्तो थियो ? के अहिलेकी देउवा पत्नीभन्दा उनी कम अलोकप्रिय थिइन् ? उच्चपदस्थहरुको भेटवार्तामा हात बाँधेर उभिँदा शिष्टाचार नजानेको भनेर आलोचना भएकै हो । कहिल्यै हाँस्न नजानेको भनेर पनि ट्रोल गरिएकै हो । छोरा प्रकाश दाहाललाई पुल्पुल्याएर उनका उद्दण्ड हर्कतहरुलाई प्रश्रय दिएको तथा जेठी हुँदाहुँदै कान्छी बुहारी भित्र्याएको भनेर आरोप लागेकै हो । प्रचण्ड र पार्टीका अन्य नेताहरुमाथि हाइहुकुम गरेको भनेर टिप्पणी भएकै हुन् । सरकारी खर्चमा सिंगापुर र अमेरिकामा उपचार गर्न जाँदा विरोधका स्वरहरु उर्लिएकै हुन् ।

    तर, जब बितिन् उनी एकाएक ‘उदाहरणीय नारी’ मा परिणत भएकी छन् । सरकारले उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्‍यो । राजकीय सम्मान उनले के आधारमा पाइन्, देशका लागि उनको योगदान के थियो भन्ने प्रश्न कसैले उठाएन । कसैको पनि मृत्युमा नकारात्मक कोणबाट चर्चा नगर्नु हाम्रो संस्कार हो । तर, राज्यले गर्ने कामकारबाहीहरु भनेका भविष्यका लागि पनि नजिर हुन्छन् । नेपालको संविधानले प्रधानमन्त्रीकी पत्नीलाई कुनै पनि औपचारिक हैसियत दिएको छैन । कतिपय देशमा राष्ट्रप्रमुखकी पत्नीलाई ‘फर्स्ट लेडी’ भन्ने गरिन्छ र त्यसबाहेक उनीहरुले निश्चित सम्मान पाउँछन् । तर, नेपालमा त्यो छैन । यदि त्यसलाई पछ्याउने नै हो भने पनि सीता दाहाल फर्स्ट लेडी होइनन् । राष्ट्रपति रामचन्द्र पौडेलकी पत्नी फर्स्ट लेडी हुन् । शोकको बेलामा सरकारले एउटा अभ्यास सुरु गरेको छ, नेतापत्नीको मृत्युमा राजकीय सम्मान दिने । तर, अहिले यसमा धेरै टिप्पणी नगरौं ।

    एकपछि अर्को पारिवारिक वियोगले प्रधानमन्त्री प्रचण्डलाई पक्कै पनि विक्षिप्त बनाएको छ । त्यसमाथि आधा शतक सहयात्रा गरेकी, आफूलाई हरकदममा साथ दिएकी जीवनसंगिनी गुमाउनु सानो चोट होइन । मेरो पनि व्यक्तिगत समवेदना र सहानुभूति छ प्रधानमन्त्री प्रचण्डप्रति । उनी र उनको परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवानले दिऊन् ।

  • गृहमन्त्रीलाई ‘अमर प्रहरी’ पत्नीको प्रश्न- मेरा पति कसरी भए पीडक ?

    गृहमन्त्रीलाई ‘अमर प्रहरी’ पत्नीको प्रश्न- मेरा पति कसरी भए पीडक ?

    दुई आत्माको मिलनपश्चात् जिन्दगी इन्द्रेणी जस्तै रंगीन र हराभरा हुन्छ भन्ने सोचेर २०५१ सालमा प्रेम विवाह गरेकी थिएँ । अन्तिम साससम्म एक अर्काको सारथि बन्ने सपना थियो, तर त्यो बीचमै टुंगियो ।

    प्रहरी चौकी भाडसर, सर्लाहीमा दरबन्दी भएका मेरा श्रीमान् प्रहरी जवान ओमबहादुर कार्की काजमा प्रहरी चौकी हजारियामा कार्यरत हुनुहुन्थ्यो । २०५६ सालको चुनाव नजिकिएकाले घर पायक मिलाएर काजमा हुनुहुन्थ्यो । हजारिया चौकी र घरको दूरी दश मिनेट वरपरको थियो । सोही चौकीबाट गस्ती जाने क्रममा २०५६ बैशाख १९ गतेको साँझ साढे नौ बजे मकैबारीमा लुकेर बसेका तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणमा परेर ठाउँको ठाउँ ज्यान गुमाउनुभएछ ।

    भोलिपल्ट बिहान पाँच बजे प्रहरीको भ्यान मेरो घरअघि रोकियो । मैले भ्यानमा नजर डुलाएँ । आफ्नो मान्छे नदेख्नेबित्तिकै मलाई शंका लाग्यो । अघिल्लो रात नजिकै गोली पड्किएको आवाज सुनेकी थिएँ । त्यही गोलीसँगै देशमा चलिरहेको त्यो विध्वंशकारी द्वन्द्वले मेरो जिन्दगीमाथि तुषारापात हानिसकेछ ।

    त्यसपछि अचेत भएकी थिएँ रे म ! तीन दिनपछि मात्र आँखा खुलेको थियो । म पूर्ण रुपमा होसमा आउँदा मेरा वरिपरि क्रिया पुत्री र कुरुवाहरू थिए । मेरो हातमा सलाइन पानीको सुई थियो । सलाइन पानी चढाइएको थियो । नजिकै डाक्टर साहब हुनुहुन्थ्यो ।

    यसो आफूलाई हेरें, म सेतो कपडामा बेरिएकी थिएँ । एकपटक फेरि चिच्याएर रोएँ । तर, जसरी भए पनि मैले आफूलाई सम्हाल्नु थियो । किनकि काखमा रहेकी एक वर्षकी छोरीको जिम्मेवारी मेरो काँधमा आएको थियो ।

    हिजो चप्पल र एकजोर सर्ट पाइन्ट लगाएर लडाइँमा पस्नेहरू आज हाइ-प्रोफाइल बने । कम्युनिष्ट सिद्धान्त बोकेर लडाइँ गर्‍यौं भन्नेहरूमा कतै देखिन्न कम्युनिजम । न राजनीतिक दलसँग आवद्ध रहेका द्वन्द्व पीडितहरूले पाए न्याय न त राज्य पक्षका पीडितले पाएका छन् ।

    हुन त म उहाँसँगै त्यतिबेला आधा मरिसकेकी थिएँ । कैयौंपटक जिन्दगीलाई विश्राम दिने सोच पनि मनमा नआएको होइन । मनमा अनेक कुरा खेल्थ्यो, ‘अब म उहाँविना कसरी बाँच्ने ? मेरो को छ ? छोरीको लालनपालन कसरी गर्ने ? श्रीमानको मृत्युपश्चात् त्यसको अपजस श्रीमतीलाई बोकाउने यो समाजसँग मैले जुध्न सकुँला ?’

    मेरो मन फिटिक्कै स्थिर थिएन । दुवै आँखा कैयौं रात खुलै बसे । कुनै रात सिरानी ओभानो रहेन । तर, विचलित मनलाई सम्हाल्ने एउटैमात्र अस्त्र थियो, छोरीको मुहार !

    गलत निर्णय लिएर आधा रातमा घर छोडेर खेतको बीचमा रहेको रुखको फेदमा पुगेपछि त्यही मायाको निशानी सम्झेर धेरैपटक घर फर्केकी छु म ।

    सोच्थें, सरकार छ हेर्ला नि ! द्वन्द्वपश्चात् सरकारले द्वन्द्वबाट प्रभावित परिवारलाई व्यवस्थापन गर्नुपर्ने हो तर, गरेन । व्यवस्था परिवर्तनको नाम दिइए पनि लुटिखाने माध्यम जस्तै बन्यो यो व्यवस्था । हिजो चप्पल र एकजोर सर्ट पाइन्ट लगाएर लडाइँमा पस्नेहरू आज हाइ-प्रोफाइल बने । कम्युनिष्ट सिद्धान्त बोकेर लडाइँ गर्‍यौं भन्नेहरूमा कतै देखिन्न कम्युनिजम । न राजनीतिक दलसँग आवद्ध रहेका द्वन्द्व पीडितहरूले पाए न्याय न त राज्य पक्षका पीडितले पाएका छन् ।

    वर्ष दिनको छोरी काखमा लिएर संघर्ष गर्न सुरु गरेकी २० वर्षे मैले कहाँबाट लेख्न सुरु गरौं ? ‘तँ लड्न जा, तँ बाँचे प्रमोसन, मरिस् भने तेरो परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ’ भनेर पठाएको राज्य किन मौन बस्यो ? यसरी नै आफ्नै भुँडी भर्नमात्र मारिएको हो १७ हजार निहत्था नागरिक ? खै हाम्रा सन्ततिलाई शिक्षाको ग्यारेन्टी ? खै रोजगारी ? शरीरभरि गोलीको छर्रा बोकेर हिँडेकाहरू दिनहुँ क्यान्सर, किड्नी फेल जस्ता समस्याले ज्यान गुमाइरहेका छन् । खै उपचारको ग्यारेन्टी ?

    एउटी छोरीलाई उच्च शिक्षासम्म पुर्‍याउन मैले जति संघर्ष गर्नुपर्‍यो, त्यसको लेखाजोखा छैन । न शब्दमा लेखेर पूर्ण हुन्छ । मबाहेक १६ हजार ९९९ जनामध्ये एकभन्दा बढी सन्तान भएका आमाहरूले कसरी दिनचर्या व्यतित गर्दै होलान्, म कल्पनासमेत गर्न सक्दिनँ । खै राज्यलाई दुःखेको ? यो जिम्मेवारी कसको ? पटकपटक राजनीतिक दलहरूको खेलौना भयौं हामी । एउटा सरकार आउँछ, सेवा सुविधा बढाउँछ । फेरि अर्को सरकार आउँछ, पाएको सुविधा पनि काट्छ । थाहा छैन, कतिञ्जेल कठपुतली बनिरहनु पर्ने हो ।

    मबाहेक १६ हजार ९९९ जनामध्ये एकभन्दा बढी सन्तान भएका आमाहरूले कसरी दिनचर्या व्यतित गर्दै होलान्, म कल्पनासमेत गर्न सक्दिनँ । खै राज्यलाई दुःखेको ? यो जिम्मेवारी कसको ? पटकपटक राजनीतिक दलहरूको खेलौना भयौं हामी ।

    न्यायका लागि लडेको पनि वर्षौं भयो । न्याय माग्दै पटकपटक सडकमा बसियो । सबैजसो राजनीतिक दलहरूसँग छलफल गरियो । हामी शान्तिका प्रतीक सुरक्षाकर्मीका परिवार हौं । हामीले अशान्ति फैलाउन चाहेका छैनौं, उचित न्याय खोजेका हौं । न्यायको झोली थाप्दै जहाँ जाउँ आश्वासन दिनेहरूमात्र भेटिन्छन् ।

    यसपटक पनि २०७९ चैत ५ देखि सुरु भएको हाम्रो आन्दोलनको रुप अहिले सरकारसँग वार्ताको टेबुलमा छ २०८० बैशाख ८ गतेदेखि । अझैसम्म वार्ता टुंगो लागेको छैन । गृह मन्त्रालयलाई सबैभन्दा निल्नु न ओकल्नु बनेको छ वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक ।

    यसमा मुख्य समस्या हो, पीडक र पीडित शब्दको परिभाषा स्पष्ट नहुनु । राज्यको लाइसेन्ससहितको हतियार बोक्नेलाई सशस्त्रधारी भनिनु र शब्दमा अल्झाएर सुरक्षाकर्मीलाई पीडक अंकित गर्नु । मेरो प्रश्न छ, राज्यले दिएको हतियार बोकेका मेरा पति कसरी पीडक भए ? केही ठूलाठालूले आफूले उन्मुक्ति पाउन जबरजस्ती सशस्त्रधारी बनाएर तिनको परिवारलाई सेवा सुविधाबाट वञ्चित गराउने हो भने विनालाइसेन्सको हतियार बोकेर राज्यविरुद्ध लागेका तत्कालीन विद्रोही पक्षलाई के भन्ने ? यिनीहरूलाई देशको कानूनले नछुने हो ? यसरी नै पेलेर जाँदा देशमा भोलि अर्को विद्रोह नजन्मेला भन्न सकिन्छ ?

    झट्ट हेर्दा गृह मन्त्रालय हाम्रो मागहरूप्रति सकारात्मक देखिए पनि मन्त्रालयको एकल निर्णयले हाम्रा मागहरू सम्बोधन हुनसक्ने स्थिति देखिँदैन । विधेयक संशोधन, परिपूरण र शहीद पार्क, स्तम्भ र शहीद परिवारलाई परिचयपत्र गरी हाम्रा मागलाई तीन भागमा वर्गीकरण गरिएको छ ।

    गृहमन्त्री ज्यू ! हामीले तपाईंको माध्यमबाट न्याय पाउने आशा राखेका छौं । हामीलाई यतिका वर्ष निकै झुक्याए झुक्क्याउनेहरूले । अब हामी झुक्किने पक्षमा छैनौं । अब त हाम्रा छोराछोरी पनि हुर्किसकेका छन् । देशमा न्यायको ढोका बन्द भए अन्तर्राष्ट्रिय ढोका हाम्रो लागि पनि खुलेको छ । तर, त्यो दिन आउन दिनुहुने छैन भन्ने ठूलो विश्वास छ तपाईंप्रति ।

  • ‘गुरु’ कसरी यति धेरै जान्ने हुनुभयो होला ?

    ‘गुरु’ कसरी यति धेरै जान्ने हुनुभयो होला ?

    काठमाडौं । गुरु पूर्णीमा मनाइएको छ । त्यही अवसरमा गुरुहरुप्रतिको सम्मानमा म सोच्दै थिएँ कि साँच्चै हामीलाई यो अवस्थासम्म डोर्याउने गुरुहरु यति धेरै जान्ने कसरी हुनुभयो ? गुरु अर्थात अँध्यारोबाट उज्यालोतर्फ डोर्याउन सहयोग गर्ने जुनसुकै व्यक्ति, औपचारिक वा अनौपचारिक व्यक्ति तथा भौतिक वा अभौतिक प्रकृति सबैलाई गुरु मान्न सकिन्छ ।

    यसरी हेर्दा जीवनका पहिलो गुरुहरु भनेका यो उज्यालो संसारमा हामीलाई पदार्पण गराउने पुजनीय आमाबुबा नै हुनुहुन्छ । त्यस्तै, शिक्षा ज्ञानको कुरामा पनि उहाँहरुले नै प्रारम्भिक चरणका ज्ञान हामीलाई प्रदान गर्नुभएको हुन्छ । तसर्थ सर्वप्रथम उहाँहरुमा हाम्रो हृदयदेखि नै नमन भाव जाग्नुपर्छ ।

    त्यसपछि जीवन यतिमै रोकिँदैन । जीवनमा भएका हरेक घटनाहरु हामीलाई नयाँ गन्तव्यमा डोर्याउने पाठ दिएर जान सक्छन् । तिनीहरुलाई पनि गुरुको रुपमा हामीले स्वीकारेर अघि बढ्नु पर्ने हुन्छ ।

    मानिसले केही पनि कुरा एकैपटक शत प्रतिशत प्राप्त गर्न सक्दैन । उसलाई कुनै न कुनै प्रेरणा, हौसला र विशेष तरिकाहरु आवश्यक हुन्छन् । जसमा गुरुको भूमिका अतुलनीय हुने गर्दछ ।

    शैक्षिक उन्नतिको पाटोमा पनि जीवनमा गुरुहरुको भूमिकाले एउटा विद्यार्थीकाे बाँकी जीवनको खाका कोर्न विशेष योगदान निभाएको हुन्छ । यस क्रममा मलाई मेरो प्राथमिक तहदेखि दर्शनचार्य हुँदै पीएचडीको अवस्थासम्म आइपुग्नमा धेरै संख्यामा गुरुहरुको भूमिका रहेको छ ।

    हुन त याे यात्रामा हुनुहुने सबैप्रति मेरो उच्च सम्मान रहन्छ । यहाँ भने मेरो मनमा अमिट छाप छोड्न सफल केही गुरुहरुबारे सामान्य चर्चा गर्न चाहन्छु ताकी गुरुहरुप्रतिको व्यवहारिक सम्मान गर्नुपर्छ भन्ने अनुभूति आजका पुस्ताका विद्यार्थीहरुमा पर्न सकोस् ।

    मनमा बस्न सफल गुरूहरू

    टीकाबहादुर घिमिरे प्राथमिक विद्यालयमा मलाई अंग्रेजी पढाउने शिक्षक हुनुहुन्थ्यो । उहाँले अत्यन्तै राम्रोसँग पढाउनुहुन्थ्यो । विभिन्न व्यवहारिक उदाहरण दिएर अध्यापन गराउनुहुन्थ्यो । उहाँले पढाउने तौरतरिकालाई हाम्रो मस्तिष्कले टपक्कै टिप्थ्यो । वास्तवमा भन्नुपर्दा मेरो जीवनमा अंग्रेजीको आधारस्तम्भको रुपमा घिमिरे सर रहनुभएको छ ।

    त्यस्तै, निमावि तहमा हाम्रा लागि उत्कृष्ट शिक्षक पदम खड्का हुनुहुन्थ्यो जसले गणितका स-साना तथा महत्वपूर्ण विषयलाई व्यवहारसँग जोडेर सुस्पष्ट हुनेगरी हामीलाई सिकाउनुहुन्थ्यो । त्यसैगरी माध्यमिक तहमा बद्री बस्नेत सशक्त शिक्षक हुनुहुन्थ्यो । उहाँले भूगोल र अर्थशास्त्र पढाउनुहुन्थ्यो । यी दुवै विषयमा उहाँको शिक्षण निखारिएको तथा स्पष्ट थियो । उहाँले पनि निकै व्यवहारिक पक्षलाई ध्यान दिएर अध्यापन गर्नुहुन्थ्यो । मेरो अर्थशास्त्रको आधार भूगोलप्रतिको अगाध माया तथा लगाव र सुस्पष्टता पनि उहाँकै योगदानले तयार भएको हो ।

    यता आईएड र आईए गर्दा ताका पनि केही शिक्षक एवम् प्रध्यापकहरु निकै सशक्त हुनुहुन्थ्यो । त्यो बेला पूर्णमान शाक्य हुनुहुन्थ्यो । उहाँमा राम्रो भौगोलिक ज्ञान विद्यमान थियो । उहाँले भूगोल पढाउँदा निकै उत्कृष्ट प्रस्तुती रहने गर्दथ्यो । उहाँले पढाएका कुराहरु आफू उहाँ स्पष्ट भएकाले विद्यार्थीलाई छर्लङै पार्नुहुन्थ्यो । जसका कारण विद्यार्थीहरुलाई भूगोलको विषय बुझ्न निकै सहज भएको थियो ।

    अंग्रेजीका ऋषिकेश उपाध्याय हुनुहुन्थ्यो । जसले पढाएको अंग्रेजी अत्यन्तै राम्रो ढंगले बुझिन्थ्यो । उहाँले जसरी पढाउनुहुन्थ्यो विद्यार्थीले सिरिन्जमार्फत औषधि लिएको जसरी बुझ्थ्यौं । उहाँ ज्ञानको खानी नै हुनुहुन्थ्यो । र उनले हामीलाई अंग्रेजी भाषाको ज्ञान हो कि दर्शन भन्ने विषयमा पनि निकै मजाले बुझाउनुहुन्थ्यो । उहाँले अंग्रेजीलाई भाषाभन्दा माथि गएर प्रस्तुत गर्नुहुन्थ्यो । यसबाट विद्यार्थीहरुले दार्शनिक चेतना विकास गर्न सहज भयो ।

    त्यस्तै, अर्का भूगोल पढाउने विलक्षण प्रतिभाको प्रतिमूर्ति जस्तै शिक्षक हुनुहुन्थ्यो कलाधार पौडेल । अंग्रेजी तथा भूगोल दुवै विषयमा गहिरो ज्ञान राख्ने उहाँ आफैंमा ज्ञानको महासागर हुनुहुन्थ्यो । उहाँले पढाएको भूगोल सबै मानिसहरुलाई उदाहरणीय हुन्थ्यो । उहाँले आउँदा भविष्यमा कसरी भौगोलिक ज्ञानलाई आफ्नो जीवनोपयोगी बनाउन सकिन्छ भनेर जानकारी दिने गर्नुहुन्थ्यो ।

    स्नातकोत्तरमा पढ्दै मेरो जीवनमा केही भूगोलवेत्ताको गहिरो प्रभाव पर्यो । पहिलो प्राध्यापक डा. भीमप्रसाद सुवेदी जो तीक्ष्ण बुद्धि भएको हुनुहुन्थ्यो । सर्वदा उत्कृष्ट नतिजा हासिल गरेको तथा उत्कृष्ट अमेरिकन विश्वविद्यालयमा अध्ययन गर्नुभएको मात्रै नभएर आफैंमा सामाजिक भूगोलको अथाह ज्ञान भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँमा जति गहिरो खोतल्यो त्यति विशेष हुनुहुन्थ्यो । उहाँसँग जस्तोसुकै समस्याको समाधान गर्न सक्ने, जवाफ दिन सक्ने ल्याकत थियो ।

    त्यस्तै, हामीमाथि नरेन्द्रराज खनालले पनि ठूलो छाप छोड्नुभयो । उहाँसँग भूआकृति विज्ञानको विशेष क्षमता थियो । उहाँ अति नै ज्ञानी एवम् बुद्धिमानी र हाम्रो त्यो विषयको पुस्तक लेख्ने विद्वान रिचार्ड जेम्सचोरले जस्तै ज्ञान भएको हुँदा हामी उहाँलाई पनि त्यही नामले बोलाउँथ्यौं । यद्यपी उहाँको अंग्रेजी भाषाको सीप कम थियो तर हामीलाई जसरी पनि सहज ढंगले बुझाउने प्रयत्न गर्नुहुन्थ्यो ।

    नामै छुटाउन नमिल्ने जो विशेषगरी अतिथि प्राध्यापक मात्रै रहेपनि मेरो शोधकार्यमा भने प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो डा. हर्क गुरुङ सर । भौगोलिक ज्ञानमा अब्बल उहाँ आफैं एक दार्शनिकको छवि समेत बनाउनुभएको थियो । भूगोलका विषयमा उहाँले निकै राम्रो जानकारी प्रदान गराउनुहुन्थ्यो ।

    अर्कोतर्फ आर्थिक प्रा. डा. पिताम्बर शर्मा अत्यन्तै तेजावी प्राध्यापक हुनुहुन्छ । उहाँले मलाई योजना सबालमा प्रदान गरेको ज्ञान अकाट्य भएर रह्यो । त्यो व्यवहारिक ज्ञानले पछि मलाई फ्रान्सको टुलुज स्कुल अफ इकोनोमिक्समा पुग्दासम्म पनि स्मरण मात्रै गराएन सहयोगी समेत बन्यो । यसैगरी, प्रा. उपेन्द्रमान मल्ल हुनुहुन्थ्यो । उहाँले पनि मेरो शोध कार्यमा धेरै ठूलो सहयोग गर्नुभयो । वातावरण भूगोलमा विशेष दख्खल राख्ने उहाँको ज्ञानले पनि मलाई निकै सहज बनायो ।

    यहाँनेर प्रा. डा. चन्द्रमान श्रेष्ठलाई पनि सम्झिन्छु । उहाँले पनि हामीलाई अनुसन्धान भूगोलको ज्ञान प्रदान गर्नुभएको थियो । उहाँसँग आधारभूत भूगोलको राम्रो क्षमता थियो । तसर्थ उहाँले प्रदान गर्नुभएका कुराहरु राम्रोसँग बुझ्थ्यौं ।

    त्यस्तै, प्रा. डा. पुष्कर प्रधान जो क्षेत्रीय योजना भूगोलमा गहिरो ज्ञानसहित गणितीय तवरले प्रस्तुत गर्ने सीप भएको व्यक्तित्व हुनुहुन्थ्यो । त्यस्तै, प्रा. डा. उमेशकुमार मण्डल जो तथ्यांकशास्त्रका प्रखर व्यक्तित्व हुनुहुन्थ्यो । तथ्यांकसम्बन्धी विषयलाई सरल ढंगले उहाँले प्रस्तुत गर्ने क्षमता राख्नुहुन्थ्यो ।

    विश्वम्भर प्याकुरेल जो मलाई एकदमै सशक्त प्राध्यापक लाग्थ्यो । उहाँले दिनुभएको, देखाउनुभएको बाटो, प्रदान गर्नुभएको शिक्षाले आज म अरुसमक्ष आफूलाई राम्रोसँग पस्तुत गर्ने अवस्थामा जस्तो लाग्छ । त्यस्तै, अंग्रेजीमा सकारात्मक प्रभाव छोड्न सफल प्रा. डा. श्रीधर लोहनी लाग्थ्यो । जसले अंग्रेजीको गहिरो ज्ञान प्रदान गर्न सक्नुहुन्थ्यो । उहाँसँग मैले एकता पब्लिेकसनलाई पुस्तक दिने क्रममा १४ वर्ष सँगै काम गर्ने मौका पनि पाएँ । यही समयमा मेरो अंग्रेजीको विकास हुन सकेको जस्तो अहिले महसुस गर्छु ।

    इतिहास शिक्षातर्फ भने मलाई प्रा. डा. गंगा कर्माचार्यले अत्यन्तै राम्रो ढंगले मलाई शिक्षा दिनुभएको महसुस हुन्छ । उहाँले प्रदान गर्नुभएको त्यो दक्षताले गर्दा मलाई अरु ज्ञान हासिल गर्न सहज भयो । इतिहास सबै विषयको ऐतिहासिक विषय उजागार गर्ने माध्यम हो । यी विषयका जरैदेखि ज्ञान प्राप्त गर्न उहाँको सानिध्यले सजिलो भयो ।

    दर्शनचार्य गर्दाताका भने प्रा. डा. मनप्रसाद वाग्लेज्यूले कसरी यति धेरै जान्ने हुनुभयो होला भन्ने मलाई अनुभूति हुन्थ्यो । उहाँलाई शिक्षाका हरेक विषयका गहिरो ज्ञान थियो । विद्यानाथ कोइरालाले सरले पनि दर्शनचार्यका क्रममा, मेरो शोध कार्यमा सहयोग गर्नेदेखि लिएर आफ्नो शिक्षा सम्बन्धी सुस्पष्ट ज्ञान उपलब्ध गराउनु भयो । यद्यपी उहाँ गुणात्मक अनुसन्धानका लागि धेरै महत्वपूर्ण मानेँ मैले ।

    त्यस्तै, प्रा. डा. टंकनाथ शर्मा तिमिल्सिना पनि प्रतिभाशाली, तीक्ष्ण र सुस्पष्ट हुनुहुन्थ्यो । उहाँले प्राविधिक शिक्षामा प्रदान गर्नुभएको ज्ञानले हामीलाई जीवनमा सहजता प्रदान गरेको थियो ।

    यता प्रा. सुसाना क्रिक प्याट्रिक भन्ने प्राध्यापकले मलाई अष्ट्रेलियामा ठूलो प्रभाव पार्नुभयो । उहाँले प्रदान गर्नुभएको अर्थशास्त्र शिक्षाको ज्ञानले आफ्नो जीवनमा अघि बढ्न धेरै सजिलो भयो । त्यस्तै, बर्लिनको हम्बोल्ड विश्वविद्यालयमा पढाउने डोनाल्ड वानिस्जाले मलाई अर्थशास्त्र सम्बन्धीको ज्ञान प्रदान गरेको महसुस हुन्छ ।

    नोभा युनिर्भिसिटीमा आएर प्रा. डा. डेभिड जस्टिनले साह्रै राम्ररी ज्ञान दिएको मलाई लाग्छ । उहाँमा अर्थशास्त्र, समाज र विकास शिक्षाका विषयमा गहन ज्ञान रहेको छ । जस्टिन अर्थशास्त्र शिक्षा, समाज र विकास एवम् ऐतिहासिक अर्थशास्त्रको धरोहर र अत्यन्तै तेजावी जो विश्वपरिवेशकै प्रतिस्पर्धी प्राध्यापकको रुपमा प्राप्त हुनुभयो । उहाँले आथिर्क विषयलाई शिक्षा, समाज, विकास तथा विज्ञानसँग जोडेर विद्यार्थीलाई प्रतिस्पर्धी बाटोमा डोहोर्याउनु हुनेरहेछ । जसको अनुभूत भयो ।

    क्लिनिकल साइकोलोजीमा फ्रान्सिस्को पेसोते विश्वपरिवेशमै सशक्त प्राध्यापक रहेछन् । जसले गणितीय र तथ्यांकशास्त्रीय नमुना प्रयोग गरी प्रमाणिक ढंगले प्रयोगिक मनोविज्ञानको अध्यापन गराउनुहुन्छ । उहाँले सयौं लेख तथा पुस्तकहरु लेखन तथा सम्पादन गर्नुभएको छ । पेसोतले आफ्नो अद्भूत ज्ञान सजिलो, सरल सटिक किसिमले प्रदान गर्नुभएको ज्ञान मेरो जीवनको लागि मार्गदर्शन मात्रै नभएर जीवनशैली बनेको छ ।

    त्यस्तै, एलिसन बुथ र ब्रुस च्याम्पम्यान अस्ट्रेलियन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ । उहाँहरु अत्यन्त्रै विद्यत व्यक्तित्व जोसँग अर्थशास्त्र, समाज र विकास अध्ययनका विषयमा गहिरो ज्ञान भएको प्राध्यापकहरु हुनुहुन्थ्यो । बुथले मानव साधनको विकास कसरी गर्न सकिन्छ भन्ने सवालमा अत्यन्तै व्यवहारिक ढंगले ज्ञान प्रदान गर्नुभयो । त्यसैगरी, च्याम्पम्यानले अर्थशास्त्र शिक्षा सवालमा सशक्त, प्रयोगिक र सुस्पष्ट रुपमा प्रदान गर्नुभयो । जसमा जसरी उहाँका अन्य छात्रछात्राहरु गौरवान्वित महसुस गर्छन् मलाई पनि त्यस्तै अनुभूति हुन्छ ।

    म बेलाबेला उहाँहरुले यतिधेरै ज्ञान कसरी जान्नु भएको होला भनेर सोच्ने गर्छु ।