Category: साहित्य / ब्लग

  • हात्ती छहराको ‘जुका हाइकिङ’

    हात्ती छहराको ‘जुका हाइकिङ’

    पुच्छरले टेकेर हिँड्नेको यत्रो सान !
    हाडविहीन लुर्के लाम्चो किरोको यत्रो मान ! 
    अरुको छालामा मुख जोती रगत चुस्नेको यत्रो आतङ्क !

    साथी सुरेन्द्र फुयाँलको भुँडीमा टोकेको जुका नाइटोभन्दा ठूलो देखेको सम्झेर लेख्न बस्दा अनायासै यो वाक्य लेखियो । परजीवी कीटाणु हो जुका । अरुको भरमा बाँच्ने जुकाले झन्डै मारेको हामीलाई !

    हुन त टोकाएर उपचार पनि गराइन्छ जुकाको । विभिन्न पत्रपत्रिकामा यो पढ्न पनि पाइएको छ । केही वर्षअघि शरीर चिलाएकै कारण दाङको तुलसीपुर उपमहानगरपालिका- १९ को प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जुकाले टोकाएर उपचार गरिएको पढेको थिए ।

    दूषित रगत चुसेर जुकाले लैजाने भएकोले छालासम्बन्धी घाउ चिलाउने रोग, डन्डीफोर र रक्त नली अवरोधमा जुकालाई टोकाउने सो अस्पतालका चिकित्सक डाक्टर मदन भण्डारीले भनेको र ५० जना उपचार गरेर फर्केको पनि पढेको थिए । जुका किन्दा एकको तीन सय रूपैयाँमा किनेर ल्याएको डाक्टरले बताएका थिए । एक जनालाई बढीमा पाँचवटा जुकाले टोकाउने गरिन्छ ।

    हामीलाई त पाँच हैन पच्चिस/तीस जुकाले टोके होलान् । एकको तीन सय पर्ने जुका तीस वटासम्मले टोक्दा हाम्रो शरीरमा कति पैसा आयो होला ? पख्नुस् , यो हिसाब गर्न नथाल्नुस् । कुरा अर्कै छ यहाँ ।

    हामीलाई टोकेको जुकाले अरुलाई टोक्दैन ,टोक्नु हुँदैन उपचारमा । हामीले त एकले टोक्यो भनेर फालेकोले अर्कोलाई टोकेको हो कि के थाहा र ! जाँदा एकलाई टोकेको जुकाले आउँदा अर्कोलाई त्यही जुकाले टोक्न के बेर र !

    धन्न अहिलेसम्म जुकाले टोकेको घाउ त्यति चिलाएको छैन कसैलाई र केही भएको छैन ।

    हाम्रै आयुर्वेद अस्पतालमा जुकाको टोकाई औषधीको रूपमा प्रयोग गरिने रहेछ । नरदेवी आयुर्वेद चिकित्सालय र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा पनि यस्तो उपचार गरिने गरिन्छ ।

    उपचार गर्न जाँदा टोक्दा त्यसले उपचार लाग्दो रहेछ । यसै हिँड्दा टोक्दा त अत्यास लाग्दो रहेछ । जिउँ चिलाएर हैरान हुँदो रहेछ । जता छाम्यो त्यतै जुका भएपछि बाफ् रे बाफ ! कता के गर्नु हुँदो रहेछ । जुकाका बाउ छोरा , आमा छोरी , परिवार सहित र पाँच पुस्तेले अट्याक दिएपछि कस्तो हुँदो रहेछ भन्ने भाद्र १४ को हात्ती छहरा हाइकिङमा बेहोरियो । कहीँ सेना झरे झैँ माथि रुखबाटै झर्छन् जुका ! कहीँ फटाफट हिँडेर टोकिहाल्छन् जुकाले । कहीँ कहाँबाट कहाँबाट कसरी चोर छिरे झैँ छिर्छन् जुका । जुकामय भयो त्यो दिन ।

    त्यो दिन बिहान ४:२५ मा बिउँझिए । बेलुका १२:२० मा घर छिरियो । यो बीचको २० घण्टा उधुमै भयो । बिहान पञ्चस्नान गरेर निक्ले । सहर झरीले पूरै नुहाएर सफा थियो । बाटोमा गाडीले मान्छे टिप्दै जान्थ्यो म भने अग्लो घर बनाउने प्रायः होचा मान्छे सम्झिरहेको थिए । टावर र मलको अगाडी गाडी हिँडिरहँदा मैले सम्झे । मान्छे मेरो टावर भन्दाभन्दै जिरो आवर भई संसारबाट शून्यमा विलय भएको ।

    आफ्नो लागि भनेर मरिमरी बनाएको घर र जग्गा अरुले भोग चलन गरेको कथाहरू सम्झिरहेँ । ठूलो बन्न हिँडेका र ठूलो भई भनेर हिँडेकाहरू साना मसिना भएका धेरै कथा आफैँले लेखेको सम्झेँ । पानी परिरहेथ्यो । सहर पूरै घुमेर गाडीले गट्ठाघरमा अन्तिम मान्छे टिप्न खोज्दा मदनमणि दीक्षित सम्झिए । उहाँले भनेको कुरा सम्झिएँ ।

    भन्नुभएथ्यो “बुझ्नु भयो ढकालजी , मेरो एक राजदूत साथी विदेशबाट विमानस्थल ओर्लने बित्तिकै उसलाई हाम्रो राजधानी हरियो जङ्गल जस्तै लाग्यो रे , अनि उसले भनेथ्यो, यहाँको रुखहरू काट्न नलगाउनु यो बहुतै राम्रो सहर छ है , तर आज हेर्नुस् त मेरै पनि यहाँ तीन वटा घर बने रुख छैनन्, यही रुखले मलाई जीवन दिएको छ ।”

    कालीकास्थानको उनको घरमा बसेर भनेको आवाज मेरो कानमा छ । उनी यो संसारमा छैनन् । जीवित नभएका दीक्षितलाई मैले जीवन्त राखेछु । राम्रा आवाज दिँदा, नबिर्सने कुरा गर्दा पनि मान्छे मनमा बाँचिरहने रहेछ भन्ने लाग्यो ।

    काठमाडौं सहर हामीले देख्दादेख्दै पनि धेरै रुख ध्वस्त पारेर काटिए । सहरभर सुलुत्त परेको अग्लो मसलाका रुखहरू लस्करै थिए ।

    अन्य प्रजातिका रुखहरू पनि थिए । रुख ढल्यो । बिजुलीको पोल लड्यो । मान्छेलाई असर पर्‍यो ।  हावाहुरी आएपछि रुख र पोल लडेर मान्छेको मृत्यु भयो भनेर के निहुँ पाउँ कनिका बिकाउँको तालमा रुखहरू सखाप भए । अब त पर कतै रुख रहेछ भने कि जङ्गल कि त त्यो मन्दिर होला भने जस्तै भइसक्यो ।

    मान्छे गाडीमा भित्रिन्थे । म बाहिर हेर्दथेँ । बिहानै कौसीमा तरकारी टिपिरहेको महिला देखेँ । अब त जग्गा छैन , हरियाली हेर्न कौसीमा जानु पर्ने भयो भन्ने लाग्यो । सहरमा कौसी खेती पो फस्टाइरहेछ है भने आफैँले आफैँलाई ।

    सम्झेँ, हामीले मुलपानीका बारीमा रोपेको रायोको तरकारी खाँदा आँसु आउँथ्यो । अब कौसीमा कहाँको अर्ग्यानिक स्वाद पाउनु र ! आँसु हिजो पनि आउँथ्यो र अहिले पनि । हिजो रायोको पिरोले आँसु आउँदथ्यो । आज स्वाद न व्याद बेस्मारी महँगो किनेर खाँदा आउँछ ।

    मैले मुलपानीको साग धेरै मिस गरे ।

     ०००

    बनेपा , धुलिखेल , पाँचखाल , लामिडाँडा , दोलालघाट, सुकुटे , बलेफी , खाँडीचौर , २१ घुम्ती , पाखरहरू (सानो पाखर , ठुलो पाखर , लिसङ्खु पाखर) ,मुँडे, खरिढुंङ्गा हुँदै गाडीले पुरायो शिवपोखरीको डिलमा रहेको खाजा घरमा । जहाँ हामीले रोटी , अन्डा चिया ,तरकारी खायौ ।

    बिहानको खाना खाने समयमा खाजा हैन खाना बराबर खान पर्‍यो भनेर डबल अम्लेट , चिउरा तरकारी थपेर खाइयो । भदौ महिनामै त्यहाँ काठमाडौंमा लाग्ने कात्तिक आइसकेछ । जाडो र कुहिरो थियो । लगभग ५ घण्टा गाडी चढेपछि हामी त्यहाँ पुगेका थियौ ।

    १०:३० मा पुगेको हामी खाजा खाएर ११:०० बजे फेरि गाडी चढ्दै बोचगामानागी पुगियो । त्यहाँ लेखिएको थियो । चरिकोट ११ किमी । हात्तीछहरा ७ किमी । भित्तेरी खेल मैदान २ किमी । काठमाडौं जान १२२ किमी । ओहो हामी त १२२ किमी आइसकिएछ भन्ने भयो ।

    हिँड्न आएका हामी जम्मा ७ किमी त हो नि भनेर हिँडियो । बाटोमा पानी परेपछि रातो रेनकोट रन्काउनै पर्‍यो रन्काए । बाटोमा खुकुरी कम्मरमा भिरेर गोठालो गरिरहेका व्यक्ति भेटिए । नाम रहेछ गणेश बहादुर भुजेल(कौशीला गोत्र) । उनले भने “यो भीमेश्वर नगरपालिका वार्ड नं ८ बोच साबिक २ नम्बर र ३ नम्बर वार्डमा जोडिएको छ , र यो एरियामा २ सय घर भुजेल छन् , साथै तामाङ( मोक्तान , रुम्बा ,पाख्रिन , ग्याबा , बम्जन ) र  बस्नेत छन् , यहाँ आलु बन्दा , मकै कोदो लगाउने गर्दछौँ ।”

    गाउँ दुःखमा पनि हाँस्छ । सहर सुखमा पनि रुन्छ ।

    उनका कुरा सुन्दा यस्तै लाग्यो ,भन्दै थिए “छहरा वार्ड नम्बर आठको मात्रै हैन, दोलखाको मात्रै हैन , देशकै सम्पदा हो , छहरालाई धेरै मान्यता गर्नुपर्ने सडकका कारणले गर्दा सकिएन् , पानी परे कुहिरो लागे छहरा देखिँदैन , त्यहाँ गिप्सिङ, भुँडे , निगाला र बिरौटा खोला काटेर मात्र छहरा पुगिन्छ ,  सबैले छहरालाई पूजा गर्दछन् ।”

    भेडाहरू कराइरहेका थिए । गाई चरिरहेका थिए । मैलो लुगा र गमबुट लगाएका भुजेल हाँसिरहेका थिए । उनको हाँसो अहिले सम्झँदा पनि मन हाँसिरहेछ । अरुण मोक्तान छेवैमा बसेर त्यहाँ कतिघर मोक्तान छन् भन्दै थिए । उनी बताइरहेका थिए ।

    बिस्तारै उकालो उक्लँदै गइयो । साने घरको फलैँचामा ठूलो मान्छे बसिरहेका थिए । उनी थिए ८९ वर्षीय बलबहादुर भुजेल । उनले श्रुति परम्परा कायम राख्दै बाउबाजेबाट सुनेको कुरा बताए । मान्छेहरू आफू कान नसुनेपछि चर्केर बोल्दछन् भन्ने सुनेको थिए । उनी पनि त्यस्तैमा एक थिए ।

    चर्को स्वरमा उनले कथा हाले ।

    “त्यो छहरा हाम्रो यो एरियाको भगवान् हो ,उहिले छहरा मुनि इन्द्रेणी पर्ने दह थियो, छहराको पानी दुङदुङ झरेर , त्यो दहमा मान्छे छिर्‍यो भने निक्लनै सक्दैनथ्यो , त्यो छहरामाथि चउर छ , त्यहाँ भेडी गोठ थियो रे , हाम्रा पूर्खाले भेडा चराउँदै लगेछन् र चउरमा राखेछन् , रात पर्‍यो  पोखरीको वरिपरि भेडा बसे रे, भेडा त निराए भेडाको रक्षार्थ हिँडेको कुकुरलाई भोक लाग्यो , कुकुरलाई खोले पकाउन लागेछन् कहिल्यै उम्लँदैन , रात अबेर भइसक्यो उम्लँदैन , देवतामाथि ताप्के रहेछ अनि कहाँबाट उम्लन्थ्यो ,कुकुरलाई काँच्चै दिएछन् , के काम यो चुल्होको भनेर एक ढुङ्गोलाई खुकुरीले खप्प हान्दिएछन् , पूरै चोइटै गएछ र ढुङ्गाबाट रगत आएछ त्यो बेलादेखि त्यो देवतालाई पूजा गर्ने चलन छ, त्यहाँ जे माग्यो त्यही पूरा हुन्छ,हाम्रो त पूरापूर विश्वास छ ।”

    विश्वासमा बसेको गाउँलाई कहाँ हुन्छ त्यस्तो भनेर एक दिन गएकोले किन अविश्वास हाल्नु भनेर हिँडियो । ढुङ्गाको बाटो र घर हुन्जेल त सजिलै हिँडिएको थियो । अब बिस्तारै चउर देखिए । झन् रमाइलो भयो । चउरबाट बाटो चल्न सर्टकर्ट उकालोमा लागियो । अब सुरू भयो जुकाको आगमन ।

    ममात्रै जुका लाग्यो भनेर टिप्न थालेको अर्को पनि र अर्को पनि गरी सब जुका टिप्न थाले । पानी परिरहेछ । बाटो चिप्लो छ । हिलो छ । कहिलेकहीँ खुट्टा यता टेक्यो भन्यो टन्नै रक्सीले मात्तिएको जस्तो खुट्टा हुन थाल्यो । यता टेक्छु भन्यो उता जान्छ । बाटोबाटोमा खोलाहरू कलकल बगेका छन् । सुन्दा मज्जा आउँछ । टेक्दा खोलाको छेउमा हरियो लेउको काई परेकोले चिप्लिएर लडिएला भन्ने डर छ ।

    कहिँकहिँ बगेको पानीले जुत्ता नभिजाई हिँडिरहन सकिएन । बचाउँदा बचाउँदै जुत्ता पनि भिजिसक्यो । रेनकोटबाट पानी भित्र पसेर भित्रको टिसर्ट पनि भिजिसकेछ । म पनि एक पल्ट राम दाइ भनेर राम थापालाई बोलाउन खोजेको डङ्ग्रङ्गै ढुंगामा लडे । ए बाबा ! पानी परेको बेला  सिस्नुमा समाउन पुगेछु । के भयो होला ? अरुले देख्लान् भन्ने डर छुट्टै भयो आफूलाई । नदुखे र नपोले जस्तै गरेर हिँडे पनि निक्कै बेर दुख्यो । तिघ्रा अझै दुखिरहेछ । सिस्नोको पोलाई भने केही बेरमै ठिक भयो ।

    जे जसो भए पनि हिँड्नै पर्‍यो लक्ष्य नपुगुन्जेल । शिवपुरी पिक चढे जस्तै उकालै उकालो लागिरहेछौँ । आउने छाँटकाँट छैन । उकालोमा त्यहीँ बाटो निक्कै टाढा लाग्दछ । ओरालोमा नजिकै । जम्मा ७ किलोमिटरको बाटो भनेको थियो आउँदै आउँदैन । यसो चिलायो भनेर छाम्यो जुका हातमा आउँछ । एक पल्ट टाउकोमा चिलाएर छामेको त्यहाँ पनि जुका । रेनकोटबाट छिरेर ढाडमा पनि जुका । जुका आतङ्क ।

    पानी परेको चिसोमा पतकरको आवाज पनि नआउने । उ पनि रोए जस्तै ओसिलो भइरहेको थियो । घाम लागेको बेला हिँड्दा करमकरम आवाज आउने पतकरलाई पानीले सुताइदिसकेछ । निदाएको झैँ उसको आवाज चुपचाप थियो । पत्कर घुर्ने कुरा भएन आवाज नै आएन ।

    भिजेका रुख , भिजेको बाटो हुँदै भिज्दै हिँडियो । बेला बेला माथि गणेश भुजेलले भने जस्तै खोलाहरू आइरहन्थे । उनीहरूको कलकलले र सेतो रङ्गले मन रङ्गी न हुन्थ्यो । चराहरू नदेख्दा भने फेरि मन रङ्गहीन भइरहेको थियो ।  खोल्सा , खोच र खहरेबाट हिँड्दा टेक्ने ठाउँ नभएर पानीबाटै हिँड्दा जुत्ताको कन्तबिजोग भयो । जसोतसो लड्दै पड्दै घुँडा फोर्दै झरना आइपुगियो ।

    साह्रै सुन्दर रहेछ हात्ती छहरा । २७२० मिटर अग्लाइमा रहेको त्यो झरना कम्तीमा १५० मिटर भएको साथीहरूले अनुमान गरे । माथि चउर पुग्न १५० मिटर बढी हिँड्नु पर्ने थियो तर जान सकिने बाटो थिएन । हात्ती छहरा वास्तवमै हात्ती छहरै रहेछ । पहरोबाट झरेको त्यो छहरोमा पहिरोको परवाह छैन । नुहाउने भने कुनै चान्स नै छैन । पर ५० मिटरबाटै हेर्नु पर्दछ । त्यो पनि कुनै बेला कुहिरो लागेर त्यहीँको त्यहीँ नदेख्ने हुँदो रहेछ ।

    आवाज र दृश्य साह्रै सुन्दर लाग्यो हात्ती छहराको । प्रचुर पर्यटकीय सम्भावना बोकेको यो छहरालाई हेर्ने सरकार कहिले आउने होला ? बाटोमा कान नसुन्ने र आँखा कम देख्ने भुजेल बा जस्तै भएको सरकारसँग आशा त छैन तर पनि यस्तो भव्य , सुन्दर ठाउँलाई विकास गरे चरिकोट र दोलखाकै नानी गेडी यो छहरा बन्न सक्ने लागिरह्यो ।

    क्यामरामा र धीत मरुन्जेल आँखामा फोटो लिएपछि नजिकै ककारोमा बसेर लगेको खाजा खाइयो र झरियो ओरालो ।

    दिनभर परेको पानी , नुहाउन नपाउने , चिप्लिएर लड्ने , गाडीमै ११ घण्टा गरेर खुसी भन्दा बढी यातना भएको र जुका हाइकिङ भएको हाइकर्सहरू भन्दै थिए । यसो भन्नेमा तीन फुयाँलहरू राजाराम, नमन र सुरेन्द्र ।

    दुई ढकाल म र भुवन ढकाल । दुई कार्की सुमन र नवीन । दुई थापाहरू बम बहादुर र राम । श्रेष्ठहरू सुमन , निराकार , नीरु ,रोनिश , दीपक , गोविन्द गरी ६ जना । जय दाहाल । विष्णुहरि पण्डित , प्रवीण अर्याल ,प्रमिला सापकोटा ,प्रदीप कँडेल,  अरुण मोक्तान ,अभिनाश शाह , बाबुकाजी महर्जन , भोला खनाल , रेणु डिसी ,राजेन्द्र भण्डारी ,स्वस्थानी खड्का , सुदीप अधिकारी ,सुमन मानन्धर र सुजन ।

    जुकाले कसैलाई पक्षपात गरेन । ३० जनालाई नै टोक्यो । साँच्चै जुकाले बेस्मारी टोक्दा के हुन्छ त भनेर चिन्ता पनि लाग्यो । घरमा आएर प्राणी शास्त्रका प्राध्यापक करणबहादुर शाहलाई सोधे ।

    उहाँले जुकाले अत्त्याएको कथै हाल्नुभयो र भन्नुभयो “झन्डै ४० वर्षअघि हेलम्बु तार्केघ्याङ्‍को स्थानीय बासिले जुका लाग्यो भन्दा उनले भन्थे, जुकाले डाक्टरले जस्तै शरीरमाथि हिँडेर रोग पत्ता लगाउँछ , जहाँ रोग हुन्छ त्यहीँ चुस्न थाल्छ, यस्तो नहुँदो हो त हाम्रो शरीरमा जहाँनिर पनि टोक्नु पर्ने हो किन खोजी खोजिकन निश्चित ठाउँमा मात्रै टोक्दछ?उनले भने अनुसार जुकाले शरीरमा भएको खराब रगतलाई चुस्ने र छाला वा मांसपेशीमा लागेको दुःखाई निको हुन्छ ।”

    डाक्टर शाहका अनुसार हालका अध्ययन अनुसन्धानले जुकाको पेटमा ब्याक्टेरिया र भाइरसको बास हुन्छ , यिनले मान्छेको रगत चुसेर लिँदा ती सूक्ष्म जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेर रोग पैदा गर्न सक्छ । एक-दुई जुकाले टोक्दा केही हुँदैन तर बढी जुकाले टोकेको खण्डमा ब्याक्टेरिया र भाइरस मानव शरीरमा प्रवेश गर्ने र रोग पैदा हुने सम्भावना हुन्छ ।

    प्रकृति पनि अचम्मकै छ । जुकाको कुरा सुन्दा पनि छक्क परेँ । जुकाले मान्छेको शरीरको गन्ध , ताप , स्वास फेर्दा मानिस आएको थाहा पाउँछ । जुकाको पाँच जोडी आँखा हुन्छ र सिकार परैबाट पत्ता लगाउँछ । पानीमा भएको जुकाले मान्छे आएको छायाको हलचलबाटै थाहा पाउँछन् । बोल्दै हिँड्नेलाई जुकाले बढी टोक्छ र जो अगाडि छ उसलाई कम पछाडिलाई बढी टोक्छ ।

    जुकाको र्‍यालमा छाला लट्ठ्याउने रासायनिक पदार्थ हुन्छ । उसले टोक्दा त्यो छाड्छ ठुलो घाउ बनाएको पत्तै हुँदैन । त्यसैले जुकालाई प्राकृतिक डाक्टर भनिएको हो । आफूभन्दा १० गुणा बढी रगत चुस्ने भएकोले जुका रगत चुसेपछि ठूलो देखिन्छ । एक पल्ट राम्रोसँग रगत चुस्दा जुकालाई वर्ष दिन वा त्यो भन्दा पनि बढी पुग्छ ।

    एकातिर रोग पैदा हुन्छ भने पनि विदेशमा रगतको नशामा रक्त सञ्चार सुचारु गराउने जुकाले टोकाउने पद्धतिलाई “लिच थेरापी” भनिन्छ । जुकाको र्‍यालबाट निकालिएको औषधि उच्च रक्तचाप ,पायल्स लगायतमा प्रयोग हुन्छ । डाक्टर करनलाई धेरै धन्यवाद दिन मन लाग्यो । उहाँले मुखले मात्रै बोल्नुभएन । लेख नै लौ पढ्नुस र साभार गर्नुस् भनेर दिनुभयो ।

    बाफरे ! सानो जुकाको यत्रो कमाल भन्ने लाग्यो । जुका स्वच्छ वातावरणको प्रतीक लाग्यो । पहिले मुलपानीमा हामी हिँड्दा जुका लाग्ने र अहिले प्रदूषण बढेकोले त्यहाँ नपाइने सम्झेँ ।

    विदेशमा जुकाको टोकाइबाट बच्न “एण्टीलिच सक्स” जुका अमैत्री मोजा लगाइन्छ । डाक्टर शाहले भने जुकाले टोकेको ठाउँमा गिलो चुना लगाइदिए रक्तस्राव बन्द हुनुका साथै चिलाउने र हुँदैन भन्नुभयो ।

                            ००० 

    त्यो दिन प्राय सबैले घरघरमा जुका लगे होलान् ।

    मेरो लुगामा कहीँ न कहीँ जुका होला भनेर राती नै वासिङ मेसिनको अगाडि लुगा राखेथेँ । श्रीमती सिर्जनाले बिहान वासिङ मेसिनमा लुगा हाल्न जाँदा कराउँदै आइन् “ए बुढा ! लौ न यो के हो मलाई त क्या चिलायो”

    यसो हेरेको त सानो जुका ठुलो भइसकेछ । जुका भनेपछि आत्तिएर तीन हात उफ्रने सिर्जनाले हत्तपत्त झारिन् र मैले टिपेर घर बाहिर मिल्काए । पछि सुरेन्द्र भन्छ “यार ! मलाई त अहिले पनि चिलाई रहेछ ।”

    भुवन दाइ भन्छन् “नुहाउन लाग्दा बाथरुममा जुका आयो भन्या ।”

    अहिले पनि त्यो हात्ती छहरो हाइकका साथीहरूलाई जुकाको ट्रमाले छाडेको छैन । यसो चिलाएर छाम्यो कि जुका आउला भन्ने डर लाग्दैछ । तर, केही नहुने रहेछ र केही हुने पनि रहेछ । तर पनि लाग्यो हात्ती छहरा जानै पर्दछ । जुका लाग्ने समयमा हैन है !

  • अबको एमाले : जबजको नीति, ओलीको नेतृत्व र विद्याको अभिभावकत्व

    अबको एमाले : जबजको नीति, ओलीको नेतृत्व र विद्याको अभिभावकत्व

    नेपाली राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित सत्ताको नेतृत्व गरेको नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदै छ । नेतृत्व छनोट गर्ने महाधिवेशनको झल्को दिने गरी देशभरका प्रतिनिधि जम्मा गरेर सुरु भएको विधान महाधिवेशन आजदेखि तीन दिनसम्म चल्नेछ ।

    यो महाकुम्भमा एमालेको विधान २०४९ (दशौँ महाधिवेशनको संशोधनसहित) को धारा १ को उपधारा २ बमोजिम २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ आयोजक गरी २ हजार ३ सय ४१ प्रतिनिधिको उपस्थिति रहेको छ । पार्टीका हरेक दुई महाधिवेशनबीच एक पटक आयोजना हुने यो महाधिवेशनले विधानको धारा १५ (३) अनुसार पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनदेखि अहिलेसम्मको राजनीति तथा सांगठानिक समीक्षा र आगामी कार्य योजनाका बारेमा घनिभूत छलफलपश्चात् ठोस निचोड निकाल्ने छ ।

    पार्टीको धारा १२ ले व्यवस्था गरेका ७ वटा केन्द्रीय निकायमध्ये नेतृत्व छनोट गर्ने महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगको नेतृत्व छनोटसमेत यो महाधिवेशनले गर्ने छ । संघीय सरकार र तीन वटा प्रदेश (कोशी, लुम्बिनी र कर्णाली) सरकारको नेतृत्व गरेको एमाले विधान महाधिवेशनले गर्ने छलफलको प्रक्रिया तथा निर्णयका बारेमा विश्वको ध्यान केन्द्रित छ ।

    पार्टीको एघारौँ महाधिवेशन निकट भविष्यमै हुँदैछ । एघारौँ महाधिवेशनबाट छनोट हुने नेतृत्वको आकार, नेतृत्व छनोट विधि, पार्टीले लिने नीतिको निर्क्योल गर्ने यो महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि मात्रै नभएर देशले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य प्राप्तिका लागि समेत यो महाधिवेशन कोशेढुङ्गा साबित हुन सक्नुपर्छ । पछिल्लो केही समययता पार्टीका पूर्वउपाध्यक्ष तथा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषयलाई बाह्य रूपमा गरिएको अनावश्यक चर्चाको विषयले पनि यो महाधिवेशन सर्वाधिक चासोको विषय बन्न पुगेको छ ।

    महामहिम पूर्वराष्ट्रपति भण्डारीका अघि ‘गर्ने भन्दा गराउने व्यक्ति ठूलो’ भन्ने नेपाली लोक उक्तिलाई प्रमाणित गर्ने ठूलो अवसर छ । सबै ठाउँमा आफै जानु भन्दा आफ्नो नीति कार्यान्वयन गराउन सुपर भिजन गर्ने काम आफैमा युक्ति सङ्गत मात्र होइन यो युगसंगत पनि हुने कुरालाई गहिरो रूपले मनन गर्नुपर्छ भन्ने लाग्छ ।

    विधान महाधिवेशन नीति र विधिका कुरा गर्ने हो । यो महाधिवेशनले मुख्यगरी यस पटक महत्त्व निर्णय गर्नेछ । खास गरी पोलिसी डिपार्चरका लागि नेपाली विशेषता सहितको समाजवादको मोडेल तय गर्ने छ । यो भनेको पार्टीको राष्ट्रिय आकांक्षा र गन्तव्यका रूपमा रहेको समृद्ध नेपालः सुखी नेपालीलाई नेपाली विशेषताको समाजवादको मोडेलमा ढाल्दै राष्ट्रिय दिशाका रूपमा लिने छ । यो पोलिसी डिपार्चरका लागि महत्त्वपूर्ण कार्य हुनेछ ।

    त्यस्तै महाधिवेशनले ४ वटा निष्कर्ष समेत निकाल्ने छ । वर्तमान राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने काम राजनीतिक प्रतिवेदनले गर्नेछ । पार्टी संगठन अब कसरी अघि बढ्ने ? हामी कहाँ छौँ ? हाम्रो लक्ष्य निर्धारण र अबको बाटो तय गर्ने काम संगठनात्मक प्रतिवेदनले गर्नेछ । पार्टी सञ्चालन सम्बन्धी विधि निर्माण संशोधित विधानले गर्नेछ । यसै गरी अनुशासन, केन्द्रीय लेखा, सल्लाहकार परिषद्का प्रतिवेदन पनि महाधिवेशनले ग्रहण गर्नेछ । केन्द्रीय निर्वाचन आयोगको नयाँ नेतृत्वको चयन पनि यसै विधान महाधिवेशनले गर्नेछ । आजदेखि सुरु हुने विधान महाधिवेशनका मुख्यतया यी चार कामहरू महत्त्वपूर्ण हुनेछन् ।

    पार्टीका सबै जिल्ला, प्रदेश, जनसङ्गठन, प्रवासको समेत प्रतिनिधित्व भएको यस ऐतिहासिक विधान महाधिवेशनले निम्न कुराहरूलाई आफ्नो मूल मन्त्रका रूपमा छलफल मार्फत आवश्यक नीति तथा कार्यक्रमको तय गरिने हो भने वास्तवमै एमाले विधान महाधिवेशन थप ऐतिहासिक साबित हुने देखिन्छ ।

    जबजको नीति

    एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद (जबज) सोभियत संघ र पूर्वी युरोपियन देशहरूको समाजवाद ढाँचा भत्किरहेको समयमा सार्वजनिक भएको दस्ताबेज हो । पूर्वी युरोप र सोभियत संघमा समाजवादी संरचना भत्किएपछि संसारभर कम्युनिष्टले भन्ने गरेको समाजवादको भयङ्कर ठूलो विरोध सुरु भयो । संसारभर कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट मुभमेन्ट कमजोर भइरहेको समयमा जननेता स्वर्गीय मदनकुमार भण्डारीको अगुवाइमा जबजको दस्ताबेज आएको हो ।

    नेपाली मार्सवादको उपमा पाएको जबजले परिकल्पना गरेको समाजवाद र लोककल्याणकारी राज्यको मापदण्ड अनुसार अहिलेसम्म एमालेले एकल सरकारको नेतृत्व गर्न अझैँ पाएको छैन । नेपाली भूगोल र अवस्था अनुसारको मार्सवादका रूपमा संसारभर चर्चा पाएको जबजका १४ वटा विशेषताहरू अनुसारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बाँकी नै छ । सर्वाङ्गीण विकासका सूचकहरू र नेपालको भूराजनीतिक अवस्था अनुसार पनि जनताको बहुदलीय जनवादको अपरिहार्यता अहिले पनि उत्तिकै छ ।

    २०५१ सालको छोटो अवधिको एमाले नेतृत्वको एकल सरकारले जबजले परिकल्पना गरेको नीति तथा कार्यक्रम अनुसार लोककल्याणकारी राज्यको अवधारणा अनुसार कामको सुरुवात गरेर नेपाली समाजका लागि यसको महत्वलाई थप प्रष्ट्याउने काम गर्‍यो । त्यसपछिका विभिन्न समय एमाले नेतृत्वमा सरकार गठन भए पनि अन्य राजनीतिक शक्तिहरूको सहकार्यमा बनेका सरकारका कारण जबजले परिकल्पना गरेका मोडेल अनुसारका नीति तथा कार्यक्रम ल्याउन सकिरहेको अवस्था छैन ।

    विधान महाधिवेशन नीति र विधिका कुरा गर्ने हो । यो महाधिवेशनले मुख्यगरी यस पटक महत्त्व निर्णय गर्नेछ । खास गरी पोलिसी डिपार्चरका लागि नेपाली विशेषता सहितको समाजवादको मोडेल तय गर्ने छ । यो भनेको पार्टीको राष्ट्रिय आकांक्षा र गन्तव्यका रूपमा रहेको समृद्ध नेपालः सुखी नेपालीलाई नेपाली विशेषताको समाजवादको मोडेलमा ढाल्दै राष्ट्रिय दिशाका रूपमा लिने छ । यो पोलिसी डिपार्चरका लागि महत्त्वपूर्ण कार्य हुनेछ ।

    यद्यपि अन्य सरकारको तुलनामा एमाले नेतृत्वका सरकारले देशको राष्ट्रियता, ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य तय गर्ने, पूर्वाधारको क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरूको सुरुवात गर्ने, नागरिकमा आशाको दियो सञ्चार गर्ने, तीन तहका सरकारला लोककल्याणकारी सरकारका अवधारणा अनुसार अघि बढ्न प्रेरित गर्ने काम एमालेकै नेतृत्व र जबजकै सैद्धान्तिक धरातलमा भएको छ ।

    नेपालको संविधानको प्रस्तावनामा समाजवाद उन्मुख उल्लेख गरिए पनि त्यसको प्राप्त जनताको बहुदलीय जनवाद मार्फत मात्रै हुन्छ भन्ने कुनै मतयैक्क्ता देखिँदैन । आज पनि एमालेले लिएको जबजको नीतिमा सबै राजनीतिक शक्ति आइपुगेका छन् । त्यसैले आजबाट सुरु हुने ऐतिहासिक दोस्रो विधान महाधिवेशनले एमालेको जबज नीतिको प्रभावकारी कार्यान्वयनलाई जोड दिनु पर्दछ ।

    नीतिगत रूपमा छलफल गरेर जबजले अङ्गीकार गरेको १४ विशेषता अनुसार सरकारका नीति तथा कार्यक्रममा सरकार साझेदार दल देखि सिद्धान्त मिल्ने राजनीतिक शक्तिहरूलाई समेत सहकार्यका लागि आव्हान गर्ने कामलाई प्राथमिकता दिनु पर्दछ ।

    ओलीको नेतृत्व

    एमालेको भावी संरचना आसन्न विधान महाधिवेशनको महत्त्वपूर्ण एजेन्डा हो । आफैमा यो प्राविधिक विषय पनि हो । नेतृत्व कस्तो हुने ? भन्ने विषय पार्टीको गतिशीलता र आम पार्टी पंतिको प्रतिनिधिहरू सम्मीलित महाधिवेशनले निर्माण गर्ने कुरा हो । यद्यपि ऐतिहासिक विधान महाधिवेशनले पार्टीको दीर्घकालीन भविष्यका लागि एउटा पारदर्शी रोडम्याप तयार गर्न जरुरी छ । १५ वर्ष पार्टीको एकल नेतृत्व पश्चात् कोमामा पुगेको एमाले पछिल्लो समय राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित छ ।

    त्यो पार्टी पाएको दूर दृष्टि नेतृत्व र उसको गतिशीलताकै कारण प्राप्त उपलब्धि हो भन्नलाई कुनै पनि पार्टीको कार्यकर्ता र नेतृत्वलाई सङ्कोच छैन । अझै पनि नेपालको भूराजनीतिक अवस्था, विकासका सूचकहरु, नेपाली समाजको विद्यमान अवस्थालगायतका कारण एमालेको सभ्यता र निर्णायक भूमिकाको अपरिहार्यता थप पेचिलो बन्दै गएको छ । एमालेले गर्ने निर्णय अज देश मात्र नभएर विश्वको समाजवादी आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनको सिकाइको विषय बन्न थालेको छ ।

    त्यो विद्यमान एमालेको कुशल नेतृत्व, एकीकृत पार्टी र चलायमान संयन्त्रकै परिणाम हो भन्ने निचोडबाट यो विधान महाधिवेशन डगमगाउन हुन्न । राजनीतिक रूपमा आफूलाई अब्बल साबित गरेर देखाउने यथेष्ट समय हुँदा पनि कोमा रहेको पार्टी मैदानमा आएर अरुलाई नेतृत्व गर्ने अवस्थासम्म पुर्‍याउने काम पार्टीका वर्तमान अध्यक्ष कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा सबलिभूत भएको हो । यो औचित्य अझै पुष्टि हुन बाँकी नै छ ।

    नेपालको संविधानको प्रस्तावनामा समाजवाद उन्मुख उल्लेख गरिए पनि त्यसको प्राप्त जनताको बहुदलीय जनवाद मार्फत मात्रै हुन्छ भन्ने कुनै मतयैक्क्ता देखिँदैन । आज पनि एमालेले लिएको जबजको नीतिमा सबै राजनीतिक शक्ति आइपुगेका छन् । त्यसैले आजबाट सुरु हुने ऐतिहासिक दोस्रो विधान महाधिवेशनले एमालेको जबज नीतिको प्रभावकारी कार्यान्वयनलाई जोड दिनु पर्दछ ।

    एक पटक एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाएर जबजले परिकल्पना गरेका सरकारका नीति तथा कार्यक्रममार्फत नेपाली समाजको रूपान्तरण गर्दै समाजवादको आधार तय गर्ने प्रमुख काम अझै बाँकी छ । त्यसका लागि ओलीबिनाको नेतृत्वको एमालेको परिकल्पना केही समयका लागि गर्न हुन्न । यद्यपि एमालेको नेतृत्व गर्ने क्षमतावान् नेताहरूको अभाव एमालेमा होइन तर दूरदर्शी नेतृत्व, एकताबद्ध पार्टी र गतिशील पार्टी संयन्त्र निर्माणका लागि अझै ओली नेतृत्वको खाँचो छ । जुन कुरालाई पार्टीले आधिकारिक रूपमा निर्णय गरे पनि सकेको छ ।

    अहिलेको सङ्क्रमणकालीन अवस्थामा एमालेले लिएका नीति र गरेका कामका आधारमा मुरमुरिएका आन्तरिक तथा बाह्य शक्तिहरूको पार्टीलाई कसरी कमजोर बनाउन सकिन्न भन्ने ध्याउन्नलाई बल पुग्ने बहसको पछि यो ऐतिहासिक दोस्रो विधान महाधिवेशन जाँदैन र जान हुन्न भन्नेमा समग्र एमाले जन सचेत नैं छन् । तथापि बन्द सत्रमा हुने छलफल र त्यसले प्रवाह गर्ने सन्देशमा समेत एकमाने रूपमा जबजको नीतिमा ओलीको नेतृत्वको अपरिहार्यतालाई थप पुष्टि गर्न पनि यो महाधिवेशन सफल हुनेछ ।

    विद्याको अभिभावकत्व

    विधान महाधिवेशनको मिति जति नजिकिँदै त्यति नै पार्टीका पूर्वउपाध्यक्ष तथा नेपालका प्रथम महिला राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीको राजनीति पुनरागमनको विषयलाई त्यति तिखार्ने काम भएको छ । एमालेको आजको उचाइका पछि महामहिम भण्डारीको त्याग, बलिदानी र समर्पणको धरातलले कति काम गरेको भन्ने मापनको कुनै पनि विधिले निर्धारण गर्ने सक्दैन । जसकै मूल्याङ्कनकै प्रतिफल तमाम नेतृत्व भएर पनि दुई कार्यकाल देशको सर्वोच्च पदका लागि निर्विकल्प व्यक्तिका रूपमा पार्टीले उहाँलाई स्वीकार गरेको हो र आज पनि स्वीकारिरहेकै छ ।

    पार्टीको निर्णायक तह हुँदै निरन्तर दुई कार्यकाल देशको अभिभावक बन्ने कुरा संसारमा बिरलैको जीवनमा आइपर्ने सौभाग्य हो । जुन हाम्रो महामहिम विद्यादेवी भण्डारीले प्राप्त गर्नुभयो । त्यो जबजको जगमा फैलिएको एमालेका लागि गर्व गर्न लायक विषय हो । तर, यसलाई राजनीतिक इखका रूपमा लिएर पछाडिबाट छुरा हान्ने आन्तरिक तथा बाह्य शक्तिका लागि सह्य भएको थिएन, छैन र हुन्न पनि ।

    पार्टीभित्रको चर्चा पूर्वराष्ट्रपति भण्डारीको सक्रियता, क्षमता र दीर्घकालीन सोचमा खेलेर उनीहरूलाई एमाले घुमिल्याउने ठूलो वर्ग बनेको छ । आँखामा निरावादको पट्टी लगाएर अन्धकार दृश्यमा एमाले नेतृत्वको तस्बिर देख्दै सराप्ने तथाकथित बौद्धिक तप्काले बजाएको बेमौसमे बाजामा महामहिम पूर्वराष्ट्रपतिले हल्लाएको हात संयोग मात्र हो । यसलाई ऐतिहासिक विधान महाधिवेशनले नृत्यकै रूपमा बुझ्नु र महामहिमले पनि नृत्य नै हो भन्न खोज्नु पार्टीले लिएको जबज र समग्र नेपाली वाम आन्दोलनका लागि कुनै पनि ढङ्गले शोभनीय होइन र मान्न सकिँदैन । यो त एमालेलाई कमजोर बनाएर नेपाललाई अस्थिर बनाइराख्ने, अनावश्यक चलखेल गर्ने घरेलु र बाह्य शक्तिहरुको कुत्सीत प्रपञ्च हो ।

    विधान महाधिवेशनको मिति जति नजिकिँदै त्यति नै पार्टीका पूर्वउपाध्यक्ष तथा नेपालका प्रथम महिला राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीको राजनीति पुनरागमनको विषयलाई त्यति तिखार्ने काम भएको छ । एमालेको आजको उचाइका पछि महामहिम भण्डारीको त्याग, बलिदानी र समर्पणको धरातलले कति काम गरेको भन्ने मापनको कुनै पनि विधिले निर्धारण गर्ने सक्दैन ।

    लामो समयको कोमाबाट धुलो टकटक्याएर भर्खर मूलधारको राजनीतिक मैदानमा एमाले आएको छ । पार्टीले लिएका अडान, अक्तियार गरेका नीतिका कारण बढ्दो जनलहरलाई रोक्न विविध खाले तिकडमले पार्टीलाई फुटको अवस्थामा पुर्‍याउने काम भयो । तर पनि एकताबद्ध पार्टीमा कुनै फरकपन आएन । एमालेप्रति जनताको भरोसा टुटेन । फेरि पनि राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा एमाले स्थापित भइरह्यो । यसलाई कमजोर बनाउन सम्माननीय भण्डारीको पछिल्लो कदमलाई बुद्धिमत्ता पूर्वक अवतरण गराउने काममा यो महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने दायित्व छ ।

    पार्टी उपाध्यक्ष जस्तो उच्च तहमा काम गरेर दशेको अभिभावकत्व गर्नु भएका पूर्वराष्ट्रपति भण्डारीको कार्य अनुभव पार्टीलाई कोमाबाट मैदानमा ल्याउन खेल्नु भएको भूमिका र निर्वाह गर्नु भएको जिम्मेवारी, दीर्घकालीन योजना अहिले पनि एमालेका लागि उत्तिकै महत्त्वपूर्ण छ । देशको अभिभावक बनेको व्यक्ति पार्टीको यसै पनि गौरवको विषय हो । त्यसमा त झनै पार्टीलाई अहिलेको अवस्थामा ल्याउन अतुलनीय भूमिका खेलेको नेताको सुपर भिजनले एमालेको उचाइ बढ्ने हो । त्यसैले महामहिम पूर्वराष्ट्रपति भण्डारीका अघि ‘गर्ने भन्दा गराउने व्यक्ति ठूलो’ भन्ने नेपाली लोक उक्तिलाई प्रमाणित गर्ने ठूलो अवसर छ । सबै ठाउँमा आफै जानु भन्दा आफ्नो नीति कार्यान्वयन गराउन सुपर भिजन गर्ने काम आफैमा युक्ति सङ्गत मात्र होइन यो युगसंगत पनि हुने कुरालाई गहिरो रूपले मनन गर्नुपर्छ भन्ने लाग्छ ।

    यो ऐतिहासिक विधान महाधिवेशनले मदनको नीति, केपीको नेतृत्व र विद्याको अभिभावकत्वको महान् लक्ष्यलाई एकताबद्ध रूपमा अघि बढाएर मिसन ८४ को यात्राबाट समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा अभिभारालाई एकताबद्ध ढङ्गले अघि बढाउने ठूलो जिम्मेवारी आएको छ । महाधिवेशनमा आउनु भएका सबै प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक र सञ्चारकर्मी साथीहरूलाई गोदावरीमा हार्दिक स्वागत गर्दै नेपाली राजनीतिको अर्को कुम्भ मेलाका रूपमा आयोजित दोस्रो विधान महाधिवेशन सफलताको हार्दिक शुभकामना ।

    (लेखक प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् ।)

  • ‘क्रसरोड’ बाट युवापङ्क्तिको प्रश्न, अहिले नगरे कहिले ? हामीले नगरे कसले ?

    ‘क्रसरोड’ बाट युवापङ्क्तिको प्रश्न, अहिले नगरे कहिले ? हामीले नगरे कसले ?

    नेपालमा राजनीति भन्ने बित्तिकै अधिकांश युवाको मानसपटलमा नकारात्मक छवि आउँछ, जसमा सत्तालिप्सा, दलको झगडा, भ्रष्टाचार र अस्थिरता मात्रै देखिन्छ । धेरै युवाका लागि राजनीति नेताको कुरा, चुनावी भाषण वा गुटबन्दीको अभ्यासभन्दा बढी केही छैन। यही सोचले गर्दा उनीहरू राजनीति भन्ने शब्दसँगै विमुख भइरहेका छन् । तर, यथार्थमा राजनीति त्यस्तो छुट्टै विषय होइन, जुन केवल सत्तामा रहेका व्यक्तिको सरोकार मात्र हो । बरु, राजनीति हाम्रो जीवनका प्रत्येक पक्षसँग गाँसिएको, हाम्रो हरेक निर्णय र भविष्यसँग जोडिएको विषय हो। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वातावरण, राष्ट्रिय सुरक्षा, यी सबै क्षेत्र राजनीतिक निर्णयबाट निर्देशित हुन्छन्। त्यसैले, राजनीति बुझ्नु र त्यसमा सहभागिता जनाउनु भनेको आफ्नै भविष्यको सुरक्षा गर्नु हो ।

    नेपालको जनसंख्यामा करिब ४० प्रतिशत हिस्सा युवाको छ । यति ठूलो संख्यामा रहेका युवा राजनीतिबाट टाढा रहनु गम्भीर चिन्ताको विषय हो । जब यस्तो ठूलो समूह नीति निर्माणको प्रक्रिया र संरचनाबाट बाहिर रहन्छ, तब त्यसको आवाज हराउँछ । धेरै युवा आफ्नो करियर, अध्ययन वा निजी जीवनमा केन्द्रित भएर राजनीतिलाई बेवास्ता गर्छन् । तर, उनीहरूले बिर्सन नहुने कुरा के हो भने, जब राजनीति नबुझी त्यसबाट टाढा बसिन्छ, तब अरूले बनाएका निर्णयलाई आफूले मौन रूपमा स्वीकार गर्नुपर्ने हुन्छ । यसले गर्दा शिक्षा सुधार जस्ता मुद्दा आधा बाटोमै अड्कन्छन्, रोजगारीको अवसर सीमित रहन्छ, स्वास्थ्य सेवा असमान बन्छ र नागरिक अधिकार सधैंजसो खोक्रो नारामा सीमित रहन्छ ।

    नेपालको राजनीतिक इतिहासले भने युवाको सक्रियताको महत्त्व बारम्बार प्रमाणित गरिसकेको छ । २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को ऐतिहासिक परिवर्तन, युवाले हरेक निर्णायक मोडमा अग्रणी भूमिका निर्वाह गरेका छन् । विश्वविद्यालयका विद्यार्थी संगठनले सडकमा आवाज उठाएर मात्र होइन, जनताको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिएका थिए । गाउँदेखि शहरसम्म युवाको सक्रियताले आन्दोलनलाई शक्तिशाली बनायो, जसको परिणामस्वरूप राजतन्त्रको अन्त्य भयो, संविधान निर्माणको बाटो खुल्यो र नागरिक अधिकारको दायरा फराकिलो बन्यो। यी उपलब्धि कुनै संयोग थिएनन्, यो युवाको जागरूकता, साहस र संगठित प्रयासको परिणाम थियो ।

    तर विडम्बना के छ भने, ती आन्दोलनले ल्याएको उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी पाएका नेतृत्वले जनताको आशा अनुरूप परिणाम दिन सकेनन् । परिवर्तनको वाचा गर्नेकै हातबाट फेरि पुरानै प्रवृत्ति दोहोरियो। सत्ता प्राप्त गरेपछि नेता जनताबाट टाढा गए र परिवर्तनको मर्म बिर्सिए। त्यसको असर अहिलेका युवाले जस्ताको तस्तै भोगिरहेका छन्, शिक्षाको गुणस्तरमा गिरावट, स्वास्थ्य सेवामा पहुँचको असमानता, दिन प्रतिदिन बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीतर्फको बाध्यतापूर्ण पलायन । लाखौँ युवा आफ्नो देशमा सम्भावना नदेखेर बिदेसिने क्रममा छन्। यो केवल व्यक्तिको समस्या होइन, यो देशको भविष्यको क्षति हो ।

    यस्ता परिस्थितिमा अब प्रश्न उठ्छ, के हामी युवा फेरि पनि ‘यो हाम्रो विषय होइन’ भन्दै मौन बस्ने हो ? कि, समयको माग अनुसार नेतृत्वमा प्रवेश गर्ने आँट गर्ने हो ? आजको राजनीतिक, सामाजिक र आर्थिक संकटको समाधान पुरानै प्रवृत्तिमा खोजेर सम्भव छैन । समाधान त केवल नयाँ सोच, नवीन दृष्टिकोण र इमान्दार नेतृत्वबाट मात्र आउन सक्छ, जुन युवाबाट अपेक्षित छ । युवाले राजनीतिमा प्रवेश गर्नु भनेको केवल कुनै दलको सदस्यता लिनु वा उम्मेदवार बन्नु मात्र होइन । त्यो हो, चेतना फैलाउनु, नीति निर्माणमा सरोकार राख्नु, सार्वजनिक संस्थाको जबाफदेहिता माग्नु र आवश्यक परे नेतृत्व लिने हिम्मत गर्नु ।

    आजको युग प्रविधिको युग हो र युवा डिजिटल संसारमा रमाइरहेका छन् । यिनै सीप र ज्ञानलाई सामाजिक परिवर्तनतर्फ प्रयोग गर्न सकिन्छ । ई–गभर्नेन्स, पारदर्शिता प्रवर्द्धन गर्ने डिजिटल उपकरण, तथ्यमा आधारित नीति विश्लेषण, यी सबै क्षेत्रमा युवाको योगदानबाट शासन प्रणाली सुधार गर्न सकिन्छ । राजनीतिको यो आधुनिक मोडेलमा पुराना नेता सीमित छन्, तर युवामा यी क्षमता प्रशस्त छन् । त्यसैले, अब नेतृत्वको परिभाषा पुनः लेख्न आवश्यक छ, जसमा उमेर, अनुभव वा पहुँच होइन, दृष्टिकोण, इमानदारी र प्रतिबद्धता मुख्य आधार बन्नुपर्छ ।

    राजनीतिमा प्रवेश गर्न चाहने युवा आज पनि दलीय अपारदर्शिताको शिकार भइरहेका छन्। अवसर पाउनका लागि पहुँच, झुकाव वा गुट चाहिन्छ भन्ने सोचले धेरै युवालाई हतोत्साहित बनाएको छ। त्यसैले, राजनीतिक दल आफैँले युवालाई स्थान दिनु, उनीहरूको प्रशिक्षण, सशक्तीकरण र नेतृत्व विकासमा लगानी गर्नु अहिलेको अत्यावश्यक आवश्यकता हो। युवाले पनि आत्मविश्वासका साथ अघि बढ्नुपर्छ। नेतृत्व भनेको उमेरको विषय होइन, दृष्टिकोणको विषय हो भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ । जबसम्म हामी आफ्नो स्थान आफैँ खोज्दैनौँ, तबसम्म त्यो स्थान अरू कसैले बनाइदिँदैन ।

    नेपाल आज ‘क्रसरोड’ मा उभिएको छ । एकातिर भ्रष्टाचार, असमानता, बेरोजगारी र अविकासले थिचिरहेको छ भने अर्कोतिर सम्भावना, क्षमता र ऊर्जावान् युवा पुस्ता छ, जसले भविष्यको बाटो कोर्न सक्छ । यदि हामीले अहिले आँखा चिम्ल्यौँ भने, यो अवसर फेरि गुम्नेछ । तर, यदि हामी सचेत भयौँ, आवाज उठायौँ र नेतृत्वमा हात हाल्यौँ भने, नेपाल नयाँ दिशातर्फ, नयाँ आशातर्फ र नयाँ यथार्थतर्फ अघि बढ्नेछ ।

    समयले हामीसँग ठूलो प्रश्न सोधिरहेको छ, अब होइन भने कहिले रु र यदि हामी युवाले नै अघि बढेनौँ भने, हाम्रो भविष्य फेरि अरूको हातमा पर्नेछ, जसले विगतमा जस्तै केवल आश्वासन दिने काम गर्नेछ । त्यसैले, अब नेतृत्व लिनु केवल विकल्प होइन, यो जिम्मेवारी हो।

    (लेखक नेकपा विप्लव समूहनिकट अखिल (समाजवादी) की केन्द्रीय सदस्य हुन् ।)

  • जसराज किराती: जसलाई कवि कहलाउन काठमाडौं धाइरहनु परेन

    जसराज किराती: जसलाई कवि कहलाउन काठमाडौं धाइरहनु परेन

    ‘धेरै कुरा बिर्सिसकेँ हौ ! अचेल धेरै कुरा याद आउनै छाडिसक्यो !,’ कसैसित कुराकानी गर्नुअघि ८२ वर्षीय वरिष्ठ कवि जसराज किरातीले राख्ने ‘डिस्क्लेमर’ हो यो । बोल्दै जाँदा कुनै प्रसंग छुट्न सक्ने कुरा पहिल्यै सचेत गराउँछन् । अनि सम्झनाको पोकोपुन्तुरो खोतल्न थाल्छन् ।

    उसो त पछिल्ला एकाध वर्षदेखि कवि किराती हिजोका कुरा फ्याट्–फ्याट् भन्न सक्दैनन् । उमेरका कारण कतिपय सम्झनाहरु विस्मृतिको गर्तमा पुगिसकेका छन् ।

    करिब करिब विस्मृतिमै पुगिसकेका किरातीको जीवन–कथा उधिन्न अलिकति सन्दर्भ कोट्याइदिने मान्छे छेवैमा हुनुपर्छ । यसपछि चलचित्रको फ्लासब्याक जसरी मिहीन तवरले विस्मृतिमा पुगिसकेको स्मृतिका वहीखाता पल्टाउन सुरु गर्छन् ।

    खोटाङको बुइपामा जन्मिएका किरातीले पाँच दशकअघि नै पहिलो कवितासंग्रह सार्वजनिक गरेका थिए, ‘उज्यालो खोज्ने आँखाहरु’ (२०३४) । २०५७ सालमा ‘जसराज किरातीका कविता’ सार्वजनिक गरे, २०६५ मा ‘जसराज किरातीका प्रतिनिधि कविता’ सार्वजनिक गरे ।

    पहिले गाउँमा हली थिए । अलि पछि व्यापारी भए, त्यसपछि शिक्षक भए । अलि पछि नेता भए, त्यसपछि जिल्ला पञ्चायतको उपसभापति भए । सबैभन्दा ज्यादा निख्खुर अर्गानिक कवि भए ।

    सर्पले सर्पको खुट्टा देख्छ

    कवि किराँतीको जीवनको किताब पल्टाउने हो भने त्यहाँ अनेकखाले उपकथाहरुको लामै श्रंखला भेटिन्छ । ती उपकथाहरु तत्कालीन समय र समाज देखाउने आँखीझ्याल समेत हुन् । जीवनको ऊर्जाशील समय खोटाङको माटोमा लगानी गरेका किराती शिक्षक थिए, विद्यार्थीलाई अक्षरको गोहो देखाए । राजनीतिज्ञ थिए, विकास र समृद्धिका सवाल उठाए । एक जिम्मेवार पिता थिए, १६ जना छोराछोरीलाई भविष्य देखाए ।

    मूलतः कवि थिए, कवितामार्फत् आममानिसका पक्षमा उभिए । समाजको विकृति, विसंगतिविरुद्ध दह्रो प्रश्न उठाए । देश र माटोप्रति माया देखाए, राजनीतिमाथि प्रश्न तेर्साए । अनि गाउँमा बसेर पनि कवि बन्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाए ।

    किरातीसँग मूलधार (काठमाडौं केन्द्रित)को मिडिया थिएन । मिडियाकर्मीसँग ओहरदोहर थिएन । काठमाडौंबाट साढे दुई सय किलोमिटर टाढा बुइपा (खोटाङ)मा बसेर निरन्तर काव्य साधनामा लीन भए । खोटाङको भूगोललाई आफ्नै पैतालाले नापेका किरातीले कविताको भूगोल कलमका निवले नापे ।

    काठमाडौंबाट दूर रहेर पनि आफ्नो कविताको ओजलाई कमजोर हुन दिएनन् । अहिले पनि पारिजातले भनेको वाक्य कवि किरातीको कानमा गुन्जिरहन्छ । पारिजातले भनेकी थिइन्, ‘किराती कवि, तिमी राम्रो लेख्छौ जसराज, लेख्न कहिल्यै नछाड ।’

    खोटाङमै बसे पनि कवि किराती संस्कृतिविद् सत्यमोहन जोशीको नजरमा परे । जोशी सँगसँगै बसे, साहित्यका कुरा गरे, लोक संस्कृतिबारे गन्थनमन्थन गरे । सँगसँगै लोकल रक्सीलाई चिरिप्प पारे । प्राध्यापक अभी सुवेदीदेखि खगेन्द्र संग्रौलासम्मले कवि किरातीको कवित्वमाथि आफ्ना शब्दहरु खर्चिएका छन् । यी उदाहरणका आधारमा भन्न सकिन्छ, किरातीले काठमाडौं खोज्दै आउन परेन, काठमाडौं नै उनका कवितालाई खोज्दै खोटाङसम्म पुग्यो ।

    तर, कसरी साहित्यमा घुसे त किराती ? यसको ठोस जवाफ किरातीसित छैन । त्यसवेलाको बुइपा अलग्गै थियो । पढ्ने मान्छेहरु औंलामा गन्न सकिने अवस्थामा थिए । शिक्षाको नाममा अक्षर चिन्नु नै ठूलो विषय हुन्थ्यो ।

    अक्षर खुट्याउनु पहाड फोर्नुजस्तो गाह्रो हुने समयमा कविता लेख्ने मान्छे बुइपामा भेटिनु सर्पको खुट्टा देखिनु जत्तिकै गाह्रो थियो । तर, भनिन्छ नि, सर्पले सर्पकै खुट्टा देख्छ । स्कुले जीवनमै किरातीको कवित्व देख्न सक्ने अर्का कवि गोरखबहादुर श्रेष्ठ सर्प बनेर आइपुगे । किरातीको कलममा कवित्व देख्ने ओखलढुंगाका शिक्षक गोरखबहादुर नै पहिलो व्यक्ति थिए ।

    ‘किन लेख्ने भएँ म ? बडो अनौठो लाग्छ । मलाई गोरखबहादुर सरले जीवनमा जीवनै दिनुभए जस्तो लाग्छ,’ किराती सुनाउँछन्, ‘म लेख्न नजाने पनि गाउन जान्ने मान्छे थिएँ । त्यो गीत गाउने कला नै पछि गएर कविमा परिणत भयो ।’

    किरातीको लेखनलाई अझैं परिस्कृत गराउन सहयोग गर्ने काम तत्कालीन प्रशासक परशु प्रधानले गरिदिए । साहित्यकार प्रधान सीडीओ बनेर खोटाङ गएका थिए । खोटाङमा साहित्यमा जमेका किराती थिए । दुवैबीच दोस्तियारी भयो । मिल्ने साथी बने । किताब साटासाट गरेर पढे । एक अर्काको सृजना देखाएर सुझावको लेनदेन गरे ।

    ‘गोरखबहादुर श्रेष्ठ त बित्नुभयो । भोजपुरे परशु प्रधान जीवितै हुनुहुन्छ । उहाँलाई अहिलेसम्म नभेटेकोमा मलाइ विस्मात् पनि लाग्छ,’ किराती थकथकी मान्छन् ।

    कतिवेला कवि भए, पत्तै पाएनन्

    २० को दशकबाटै कविता लेखनमा सक्रिय भएका थिए किराती ।

    आमाले आपाबाट लुकीलुकी किरातीलाई पढ्ने वातावरण मिलाइदिन्थन् । आपा भने छोराको पढ्ने सौखको विरुद्धमा थिए । आपाको चाहना थियो, आफूले जे काम गरेको हो छोराले त्यही काम गरोस् ।

    किरातीका आपा भाँडा व्यापारमा सक्रिय थिए । बाबुछोरा भााडाकुँडा किन्न धरानदेखि काठमाडौंसम्म हिँडेर जान्थे । झण्डै एक महिनामा भाँडाकुँडा बोकेर गाउँ पुग्थे । खोटाङका विभिन्न ठाउँमा पुर्याएर बेच्थे ।

    ‘आपाले मैले जे काम गरेको हो, त्यही गर् भन्नुहुन्थ्यो । राईको छोराले पढेर केही पनि हुँदैन भन्नुहुन्थ्यो,’ किराती सम्झिन्छन्, ‘तर म लुकी लुकी पढेँ ।’

    आपाले किरातीलाई पढाइमा रोक्नुका पछाडि अनेक कारण थिए । प्रमुख कारण थियो, गरिबी । किरातीका आपा टुहुरा थिए, फुपूले हुर्काएकी थिइन् । जमिनको नाममा दुई चार टुक्रा बारी मात्रै थियो । गाउँमा अरुको हली गरेर गुजारा चलाउनुपथ्र्यो । तर, जब भाँडाको व्यापारमा बाबुछोरा लागे, तब आर्थिक अवस्था सुध्रिँदै गयो । मनग्गे पैसा कमाए । जग्गा जमिन पनि जोडे । भाँडाकु्ँडाको व्यापारमै भविष्य देखेका पिताले किरातीलाई पनि त्यतै लगोस् भन्ठान्थे ।

    तर, किरातीले हिँड्ने बाटो अलग्गै तय भइसकेको थियो । आमाको सहयोगमा स्कुल पढ्न थालेका किरातीले २०२८ साल एसएलसी पनि दिए । एसएलसीमा उनलाई अनिवार्य अंग्रेजी लाग्यो । आपाले ठिक्क पर्यो भने । पछि भोजपुर पुगेर पूरक परीक्षा दिए, एसएलसी पास भए ।

    स्कुल पढ्दाताका नै गोरखबहादुर काठमाडौं आउ–जाउ गरिरहन्थे । काठमाडौंबाट किताबका रास बोकेर लैजान्थे । त्यसवेला नै पारिजातको किताबहरु गोरखबहादुरले बुइपा पुर्याइसकेका थिए । पछि किराती स्वयं नै पारिजातसँग नजिक भए । काठमाडौं आउँदा जहिल्यै पारिजातले भेटेर मात्रै फिर्थे ।

    किराती सुनाउँछन्, ‘गोरखबहादुर सरले मलाई किताब ल्याएर दिनुहुन्थ्यो, पढ्थेँ । म त थाहै नपाई भित्रभित्रै लेखक भइसकेको थिएँछु । अनि कविता लेख्न थालेँ ।’

    दुई महिनामा दुई विवाह

    किरातीको १४ वर्षको उमेरमै विवाह भएको थियो ।

    पछि श्रीमतीको मृत्यु भयो । २०२२ सालमा किरातीले दोस्रो विवाह गरे । दोस्रो विवाह गरेको दुई महिनामै तेस्रो विवाह गरे ।

    तेस्रो बिहेबारे किराती सुनाउँछन्, ‘तेस्री श्रीमती लाहुरेकी श्रीमती हो । ससुराले मेरो आपालाई फकाउनुभएछ, ‘ज्वाइँलाई खेटत पनि दिन्छु, जारी पनि तिरिदिन्छु’ भनेर । आपा फकिनुभयो । तर, मैले दोस्रो बिहे गर्न नमान्ने भएँ । आपाले काट्छु, मार्छु, मैले भनेको मान्दैनस् भन्नुभएपछि बिहे गर्नैपर्यो ।’

    बिहे गरेपछि सर्त अनुसार खेत पाएनन् । किरातीका आपा सम्धीसँग बेस्सरी रिसाए । त्यसवेला १२ सय हो वा १४ सय जारी किरातीले नै लाहुरेलाई तिर्नुपर्यो ।

    समय बदलिँदै गयो । दुई बिहे गरेको छ वर्षपछि किरातीले एसएलसी पास गरे । गाउँकै विद्यालयमा शिक्षक भए । किराती सुनाउँछन्, ‘पछि आपाले पनि पढ्नुपर्ने रैछ भन्ने बुझ्नुभयो ।’

    त्यसवेला किरातीको तलब १२० वा १७० थियो, उनलाई यकिन छैन । तथापि दुई सयभन्दा कम्ती नै थियो । नेपाली विषयको शिक्षक थिए । एसएलसी गरेकाहरुलाई नै पढाउनुपर्ने थियो । झण्डै आफू समानका विद्यार्थीहरुलाई पढाउनुपर्दा किरातीले झनै धेरै पढ्नुपर्ने भयो ।

    ‘धेरै पढ्नुपर्ने जिम्मेवारीले मलाई फाइदा नै गर्यो,’ किराती सुनाउँछन्, ‘विस्तारै मलाई पढ्ने, लेख्ने आदत बस्दै गयो ।’

    नागरिकतामै ‘किराती’ थर लेख्ने पहिलो व्यक्ति

    त्यसवेला ‘राई’ थरलाई पदविको रुपमा लिइन्थ्यो । अहिले पनि इतिहासविद्हरुले ‘राई’लाई थर नभएर पदवि भएको बताउँछन् । यो तथ्य प्रमाणित पनि भएको छ ।

    बुइपामा पनि तालुकदारहरुले मात्रै ‘राई’ लेख्थे । बाँकीले ‘जमी’ लेख्थे । किरातीले गोरखबहादुरसँग सल्लाह लिए, ‘के गर्ने दाइ ? राई नै लेख्नुपर्ने के बाध्यता छ र ? म थर फेर्छु ।’

    गोरखबहादुरले सोधे, ‘थरमा के लेख्छौ त ?’

    किरातीले भने, ‘किराती लेख्दा हुन्छ कि ?’

    नयाँ थर सुन्नसाथ गोरखबहादुर उत्साहित बने, ‘काइदाको थर आयो । तिमीले साँच्चै राम्रो थर जुरायौ ।’

    यसपछि किरातीले नागरिकतामै आफ्नो थर किराती राखे ।

    नागरिकतामा नयाँ थर राख्नलाई उनलाई खास्सै झमेला भएन । उनको साथी परशु प्रधान नै सीडीओ थिए ।

    ‘अहिले यो थरमा आनन्द लाग्छ । सुदर किराती र गोपाल किरातीले पनि किराती नै लेखेका छन् । गोपालले पहिला राई लेख्थ्यो । अहिले धेरैले किराती लेख्छन्,’ उनी भन्छन्, ‘नागरिकतामा सबैभन्दा पहिला किराती लेख्ने मान्छे म नै हो ।’

    ‘राजनीतिमा लागेर ठूलो गल्ती गरेँछु’

    शिक्षक भइखाएका थिए । कविको परिचय बनाएका थिए । तर, एक दिन किरातीलाई मान्छेहरुले सुझाए, ‘तिमी जत्तिको मान्छे नेता बन्नुपर्छ ।’

    किराती पनि हौसिए । शिक्षकबाट राजीनामा दिए । पंचायतको राजनीतिमा लागे । जिल्ला पन्चायतको उपाध्यक्षसम्म भए । पंचायत ढलेको केही वर्षपछि माओवादीले ‘जनयुद्ध’ सुरु गर्यो । पछि माओवादीमै गोपाल किरातीको समूह पनि समाहित भयो ।

    गोपाल किराती उनको घर बुइपामा आइबस्थे । उनकै घरमा माओवादीको बैठक बस्थे । जनयुद्ध उत्कर्षको वेला रामबहादुर थापा बादल पनि बुइपा नै आइपुगे । किरातीलाई सबैले फकाए, फुल्याए । अन्ततः उनी माओवादी भए ।

    पछि २०६२/६३ को जनआन्दोलन भयो । २०६४ सालमा संविधानसभाको चुनाव पनि भयो । किरातीलाई समानुपातिक सूचिमा पनि राखियो । नारायणकाजी श्रेष्ठले पनि किरातीलाई निकै आश्वासन दिएका थिए । तर, अन्तिममा किरातीको ठाउँमा गणेश अधिकारीलाई समानुपातिक सांसद बनाए ।

    ‘मलाई उनीहरुले बिगारेर छाडिदिए नि ! त्यतातिर दिनुपर्ने समय मैले लेखनमा लगाउनुपर्ने थियो, तर म लहैलहैमा लागेँ । पछि मैले राजनीति नै छाडिदिएँ,’ किराती सुनाउँछन्, ‘मैले ठूलो गल्ती गरेँछु । मैले पहिल्यैदेखि लेखेर बस्नुपर्ने थियो । राजनीति गर्ने हुँदा मलाई यता मिल्काए, उता मिल्काए ।’

    ०००

    किरातीका दुई श्रीमतीबाट १६ जना छोराछोरी छन् । अहिले दुई श्रीमतीसँगै बसिरहेका छन् । छोराछोरीमध्येमा देवान किराती कविकै रुपमा स्थापित छन् । उपसचीव अनिल किराती पनि कवि नै हुन् । अर्को छोरा मिलन किराती पनि गीतकार तथा कवि हुन् । छोरी बबिना किराती अहिलेको चल्तापूर्जा गायिका हुन् ।

    सन्तान पनि कला, साहित्यमा लाग्दो कस्तो लागिरहेछ तपाईंलाई ?

    कतिपयको सपना सम्पत्ति कमाउने, ठूलो घर बनाउने, सुखसयलमा बस्ने मात्रै हुन्छ । त्यो भनेको गतिलो चिज चाहिँ होइन । गतिलो चिज भनेको त आफूले गरेको काम लामो समयसम्म बाँचिरहनुपर्छ । आफूले गरेको कामले समाजलाई योगदान देओस् न !

    यहाँ मान्छेले दश तले घर बनाओस्, कसैले पनि भन्दैन कि उसको दशतले घर छ भनेर । तर एउटा गीत सुन्यो वा कविता पढ्यो भने भन्छ, ‘क्या अचम्मको मान्छे रैछ, कस्तो सृजनशील रैछ । मैले पनि लेख्न पाएको भए हुन्थ्यो ।’

    तर, ठूलो घर छ भन्दैमा कराउँदै हिँड्नु भएन । धनी छु भनेर सुनाउँदै हिँड्न मिलेन । तर गर्वका साथ म कविता लेख्छु भन्न त पाइयो नि ! कवि, लेखकलाई ‘ल हजुर तपाईं हाम्रो कार्यक्रममा आइदिनुहोस्’ भन्छन् । तर, ‘तपाईं धनी हुनुहुन्छ, आइदिनुहोस्’ भन्ने कुरा भएन । त्यसैले त सृजनाको महत्व हुन्छ । त्यसैले मेरा सन्तान सृजनात्मक क्षेत्रमा लागेको देख्दा खुसी लाग्छ ।

    जीवन भनेको चाहिँ के रहेछ ?

    नजानिन्जेलसम्म केही पनि होइन, जानियो भनेदेखि जीवन भनेको अनौठो चिज हो । त्यो चिजभन्दा अर्को चिज केही पनि पाइँदैन । म त एक दिन मरिहाल्छु । सबै मान्छे मरेरै जाने हुन् । तर, मर्नुअघि केही न केही सृजनात्मक कामहरु गरेर मर्नु पर्दोरहेछ । त्यो नै जीवन रहेछ ।

    कविता के हो तपाईंका लागि ?

    कविता नभइदिएको भएदेखि जसराज नै जसराज बन्दैन थियो क्या ! कविता नलेख्ने भएको भए जसराजलाई कसैले पनि चिन्दैन थियो, कसैले नि बुझ्दैन थियो । जसराज किरातीलाई बचाएको नै कविताले हो ।

    पछाडि फर्केर हेर्दा आफूले हिँडेर आएको आठ दशक लामो समय कस्तो लाग्छ ?

    मैले गल्ती गरेँ । मैले जे काम गर्नुपर्ने थियो, त्यो काम नगरिकन जथाभावी हिँडेर, लोभिएर मैले जीवन बिगारेको हुँ । मैले धेरै गल्ती गरेँ छु । मैले लगातार लेख्दै जानुपर्ने थियो । नेता हुन छोड्नुपर्ने थियो ।

     

  • कविता : दृढ संकल्प

    कविता : दृढ संकल्प

    अलिकति आस्था र विश्वास
    बटुल्न हिँडेको ऊ
    कहाँ जाँदैछ ?
    नछेक
    छेक्नु पर्दैन रे
    उकुसमुकुस भयो भन्छ जिन्दगी
    बाँच्न मुश्किल पर्‍यो रे
    बाँच्न संघर्ष गर्दैछ ऊ ।
    आत्मा तड्पियो रे
    किन तड्पाउने आत्मा ?
    छल्नु पर्दैन भन्छ ऊ
    बेरोकतोक अघि बढ्न देऊ
    ऊ पीडित मान्छे हो
    पीडा कम गर्न
    मलहम खोज्दै छ रे ऊ ।
    गुलामी जीवन
    ऊ मन पराउँदैन रे
    स्वतन्त्रता कतै छ कि ?
    शहरमा पनि भेटिएन रे
    गाउँमा पनि भेटिएन रे
    मन कारागारभित्र कैद भएपछि
    मन एकैछिन एकान्तमा
    सुस्ताउन चाहन्छ रे
    मुक्तिको भोको ऊ
    ऊ मुक्ति खोज्दैछ रे ।
    धुवाँको आवश्यकता
    किन पर्‍यो र ?
    आगो जस्तो छ ऊ
    माथि माथि लप्का फ्याँक्छ रे
    मन मिल्नेसँग हात मिलाउँछ
    विवेकशील आगो हो ऊ
    डडाउनेलाई डढाउँछ
    बचाउनेलाई बचाउँछ
    यो उसको महान लक्ष्य हो रे ।

    एउटा जमात
    आगो फुक्तै छ रे
    ऊ आगो दनदनी बल्दै छ
    मान्छे आगो ताप्दै छन रे खुशीको
    कठयाङ्ग्रिएका हात गोडा
    तन्याक-तुनुक पार्दै छन रे
    भयानक/भयावह

    आँधीबेहेरीपछिको दिनमा जस्तो ।

    एउटा डर छेरुवा जमात
    माथि बार्दलीबाट
    पानी खन्याउँदै छ रे
    ऊ त आगो हो ननिभ्ने
    पुत्पुताउँदै छ
    बल्दै र सल्कदै
    वैरीहरूको सातो बोलाउने गरी ।

    मन रोए पछि के लाग्छ र ?
    बेदना असह्य हुन्छ जब
    बेदना साट्नु पर्छ रे
    कुण्ठित पार्नु हुँदैन भावना
    ओकल्नु पर्छ रे
    घाँटीमा सीमित नराख्नु
    विष्फोटित हुनै पर्छ भन्छ ऊ
    ऊ विद्रोहको राँको बाल्छ रे ।

    मन कसरी भत्कन्छ ?
    भत्कदो हो डरछेरुवाहरुको
    मन बरु रुन सक्ला
    एक आङ कपडा
    मनै रोएको त हो
    फूलमतीहरुको सिउँदो पुछिएको छ
    उनीहरुको सिङ्गो जीवन रोएको हो
    मुग्लानेहरुको खुट खबर छैन
    जहान परिवार रोएको हो
    ऊ बुझाउँदै जाँदै छ रे
    ऊ जिन्दगी पढाउँदैछ रे ।

    उथल पुथल भयो भावना
    व्यक्त गर्न मिल्दैन रे
    ऊ अभिव्यक्ति स्वतन्त्रता खोज्दै छ रे
    जीवन सस्तो नहुनु पर्ने
    जतापायो उतै
    मान्छे जीवन बेच्दै छ रे
    ए अमूल्य जीवन नबुझ्नेहरू !
    जीवन नबेचे हुँदैन र ?
    यो उसको यक्ष प्रश्न हो
    प्रश्नै प्रश्नको जिन्दगी घसारेर
    जीवन यात्रा चलाउँछ रे उ ।

    ऊ विश्वास बटुल्न हिडेको मान्छे
    विश्वास बटुल्दै छ रे
    परिवर्तन र क्रान्तिको दृढ संकल्प लिएर हिडेको ऊ
    ऊ संकल्पमा टक्क अडिएको छ रे ।

  • भूत छाँगोमा घोष्ट राइटर

    भूत छाँगोमा घोष्ट राइटर

    प्रश्न

    १) यसै यसै हिँडिरहनु पनि जीवनको लय बन्यो भने के हुन्छ ?

    २) त्यो लयमा विलय हुन सकियो भने के हुन्छ ?

    ३) त्यो कस्तो आलय हुन्छ ?

    नोट: प्रश्नमात्र दिएर मलाई मज्जा लाग्दैन । उत्तर पनि खोज्न मन लाग्दछ । धेरै आर्टिकलहरूले प्रश्न मात्र जन्माए । अब उत्तर पनि दिनु पर्दछ भन्ने लाग्दछ । हुन त प्रश्नको आधा उत्तर प्रश्नमै हुन्छन् । माथिको प्रश्नको उत्तर यस्तो लाग्यो । यहाँहरू झनै रचनात्मक र सिर्जनशील हुनुहुन्छ । यहाँहरूले थप्नुभयो भने झन् खुशी हुन्छु ।

    उत्तर

    यी तीन प्रश्नजस्तै भए लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रियामा समाहित होइन्छ तर त्यो प्रलयमा भने हैन । पैसा, पद, प्रतिष्ठाभन्दा पर रहेर यसै यसै हिँड्नुले पनि जीवनमा एक आलय बनाउँदछ । आजकल हाइकिङ र ट्रेकिङमा हिँड्न पाइरहँदा (आफ्नै खुट्टाले पनि सधैँ हिँड्न पाइँदैन नि !) मलाई यस्तो लाग्न थालेको छ ।

    एक लयमा हिँडेको जीवनलाई पैदल वा सवारीसाधनले अर्को ठाउँमा पुर्‍याएर शरीर र दिमागलाई चङ्गा बनाउने प्रक्रिया हो यात्रा । जहाँ जीउ दुख्न सक्छ तर मन दुख्दैन । जहाँ हात खुट्टा फुल्न सक्छ तर मन प्रफुल्ल रहन्छ ।

    सधैँ एकै मान्छे एकै ठाउँ एकै खानाले परिवर्तन खोजेपछि यात्रा सुरू हुन्छ । खाने समय एकै नहुनु । भेटिरहेका भन्दा नयाँ मान्छे भेट्नु । देखिरहेका भन्दा नयाँ ठाउँ देख्नु । सुतिरहेको समय गडबड हुनु । ब्युँझने समयमा क्रमभङ्ग हुनु ।

    समय आफ्नो वशमा नभई यात्राको वशमा हुनु नै यात्राको मोहकता हो । कहाँ कहिले कस्तो घटना आउँछ छ र के बनाउँछ त्यो यात्राकै जिम्मामा छाडिदिँदा (त्यसो भनेर सावधानी नअपनाउने हैन) यात्रा झनै सूरम्यता र सुमधुरता हुन्छ ।

    समय भङ्गता, स्थान भङ्गताले जीवनमा क्रमभङ्गता ल्याएर दिमागमा आनन्दको मसाज गराउने चिज हो यात्रा । कति नदेखेका मान्छे देखिरहँदा । नभेटिएका मान्छे भेटिरहँदा । नखाएको कुरा खाइरहँदा । त्यो स्थान, त्यो दृष्यहरू अनि तत्तत् मान्छेहरूको स्वर र रङ्गमा आफ्नो स्वर प्रकृतिको स्वर मिसिँदै जाँदा मन मनमगन हुन्छ ।

    निस्वार्थ यात्राको लयमा विलय भएर नयाँ आलय बनाएका महान् पुरुषहरू संसारमा धेरै छन् । त्यस्तो बन्न नसकेर वा त्यस्तो बन्न खोजेर हिँडेको हैन म यसै यसै हाइकिङ र ट्रेकिङमा छु ।

    यो पालाको हाइकिङको साढे अठार घण्टा यसरी बित्यो कि क्यालेन्डरको एक दिनको पाना एक छिनमा पल्टाए जस्तै लाग्यो । समय बित्दछ । त्यो समयको सम्झना नबितोस् भनेजस्तै साढे अठार घण्टा भयो ।

    ह्याप्पी हाईकर्सले यो पाला भूत छाँगो लैजाने भनेर हाल्यो । नयाँ ठाउँ जाऊँ न त भन्ने लाग्यो । नाम हाल्न लगाए । बुधवार नाम राख्यो । शुक्रबार आइहाल्यो । क्रमभङ्गता सुरू भयो । बेलुका १०:३० मा सुत्ने म ८:३० मै सुत्न गए । बिहान ६/७ बजे उठ्ने म ४:०० बजे नै बिउँझिएँ (४:३० को अलार्म अगाडि नै निन्द्रा खुल्यो ) ।

    ५:२५ मा त चप्पल कारखानामा हाइकर्सको गाडी आइहाल्यो । साउने पानी अलिअलि परिरहेको थियो । रिमझिम पानीमा रौसिँदै रमाएर बस चढेँ । हाइकर्सको गाडीले एक राउन्ड नगर परिक्रमा गर्दछ । अनि चिनेका मान्छेका हल्ला, नचिनेका मान्छेका चुपचाप बसमा सुरू हुन्छ । त्यो देखेर होला एक साथीको म्यासेज आयो “लठाबज्र ताल दुःखी हाइकर्स हाहाहा…..।”

    दुःखले एकाबिहानै आर्तनाद गरेर चिच्याए झैँ लाग्यो होला उनलाई र त यो म्यासेज पाए भन्ने लाग्यो । चक्रपथ, बसुन्धारा, सामाखुशी, लैनचौर, त्रिपुरेश्वर , कोटेश्वर गठ्ठाघरबाट मान्छे हालेपछि बसको घार भरियो ।

    कृष्ण जन्माष्टमीको दिन थियो । कृष्णको भजन सुन्ने गाउने कोही भएनन् । जो बोल्यो त्यही कृष्ण झैँ थिए । राधाहरूको स्वर चुप थियो । बसका कृष्णहरूले बसमा म बुझ्नु भयो ? मैले गर्दा बुझ्नु भयो सुन्दै साँगाचोकगढी पुगियो । ठ्याक्कै ८:२७ मा गाडीबाट ओर्लियौं । लेखेको देखियो, काभ्रे-कोटडाँडा-गढी-भञ्ज्याङ सडक ।

    १) बछला मन्दिर- ०.७१५ कि.मि

    २) भन्ज्याङ पँधेरा – १.१५९ कि.मि

    ३) गढी- १.४०० किमी ।

    खुशी लाग्यो । पीच गरेको त्यो सडक ७३,७८,१७९.५८ रुपैयाँमा पाँच महिनामै निर्माण भएको रहेछ । आयोजना सम्झौता मिति २०८१/०६/०३ र सम्पन्न मिति २०८१/११/३० मा सकिएको रहेछ । सडक डिभिजन चरिकोटलाई धन्यवाद दिन मन लाग्यो ।

    यहाँ त समयमा काम नसकेर पैसा एडभान्स लिएर, अन्त चलाएर, सडकमा रोपाइँ गर्ने समय बनाएर हैरानीको डल्लो खाइरहने नेपालीहरूलाई यो समय देख्दा खुशी लाग्यो । फेरि सोचेँ, हाम्रा खुसी पनि कति साना भए है ! आफ्नै खुसी दुब्लाए झैँ लाग्यो ।

    गेटबाट भित्र छिर्दै जाँदा रमाइलो उकालो आयो । आकाश खुलेको थियो । साउने झरी दर्काएर आकाश नीलो र सेतो भएको थियो । यो देखेपछि निकिता (बहिनी) बोलिन् “एक फोटो खिचिदिनु न कमल दाइ !”

    खिच्न थालेपछि एक कहाँ हुनु ! भएन, यो त झनै भएन, यसरी खिचौँ भन्दा भन्दै दर्जन खिच्दा पनि चित्त बुझाउन सकिएन । बल्ल तल्ल एउटा ठिक लाग्यो उनलाई । उनको फोटो रोगले गर्दा हामी सबैभन्दा पछाडि परियो ।

    बाटोमा अनेक नचिनेका फलहरू फलेका देखिए । दिउँसै जुनकिरी देखिए । फूलहरू देखिए । यसले थाहा भयो यहाँको पर्यावरण राम्रो रहेछ । सबै बाँचेका रहेछन् । शहरमा त मान्छेले आफूबाहेक अरुलाई बाँच्न दिँदैन । यहाँ धेरै प्रकृति , वनस्पति र जीव जीवाणु बाँचेका देखेँ । पृथ्वी उनीहरूको पनि त हो नि ! मेरो मन खुसी भयो ।

    गणतन्त्रपछि गाउँका मन्दिर सुकिला भएका छन् । स्थानीय तहमा पुगेको बजेटले गाउँ गाउँको मन्दिर र बाटो राम्रो भएको छ । हामी पनि सुकिलो मन्दिर बच्छलादेवी पुग्यौँ । घन्टै घन्टले सजिएकी उभिएकी बच्छला बहुत् सुन्दर देखिएकी थिइन् । मन्दिरबाट मकैबारी हुँदै हल्का दश मिनेट उक्लिएपछि ऐतिहासिक साँगाचोकगढी आइपुग्यो ।

    पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाताका पूर्वका जिल्ला समेट्न सैनिक राखेको साँगाचोकगढी भनेर इतिहासमा पढ्न पाइन्छ । त्यहाँ पुग्दा पृथ्वीनारायण शाह चाहिँ साँच्चै दूरदर्शी र आफैँ लड्ने लडाकु राजा नै हुन भन्ने लाग्यो ।

    सेतो बादलमा नीलो आकाश । तल बगिरहेको खोला । हरियो पहाडमा लुटुपुटु गरिरहेका बादलहरू । पर कतै किरिङमिरिङ घरहरू । अग्लो ठाउँबाट होचो हेर्दा आफैँ अग्लो भए झैँ ठान्दै फोटोमा तँछाडमछाड गर्दै थिए साथीहरू ।

    देखेँ, ओहो ! गढी त गेडागुडी झैँ भएछ । न कुनै शिलालेख छ । न कुनै भग्नावशेष छ । अलिकति भएको थुप्रिएको माटो पनि भत्किएछ । त्यहाँ त सिमेन्ट, मार्बल पो छ त ! सिँढीहरू सब नयाँ रहेछ । नयाँ बुद्ध बनेछ । यस्तो लाग्यो , कुन चाहिँ बुद्ध बनाउँछु र बुद्ध बन्छु भनेर किन यस्तो बुद्धु बनेर लद्दु काम गरेको होला ?

    त्यहाँ त गढीबारे, इतिहासबारेका अनेक राखेर संरक्षण पो गर्नुपर्ने । पछिल्लो पुस्तालाई त्यो देखाउन पर्ने । पुर्खा हिँडेको बाटो थाहा पाउनु पुत्रपुत्रीहरूको परम अधिकार पनि हो । त्यो अधिकार किन त्यसरी छिनेको होला भन्ने लाग्यो । अब यो सिमेन्टमा यो मार्बलमा कहाँ इतिहास खोज्ने ? खर्च यत्रो भएको छ । डोजर लगाएर भग्नावशेषको शेष मात्रै बाँकी छ भनेर दिक्क लाग्यो । ऐतिहासिक साँगाचोकगढी अक्षरमा मात्रै देखेर मन दुःखी भयो ।

    जबकि साँगाचोकगढीकै नाममा नगरपालिका बनाइएको छ । २०७१ वैशाख २५ गते नगरपालिका घोषणा गर्दा साबिकका चौतारा, कुभिण्डे, सानोसिरुबारी र पिपलडाँडा गाउँ विकास समिति (गाविस) हरू समावेश भए । विस्तारको क्रममा २०७३ फागुन २७ मा बिस्तार हुँदा स्याउले बजार, बतासे, ईर्खु, कदम बास, साँगा चोक र ठुलोसिरुबारी गाविस समावेश भए ।

    यो गढी आफैँमा महत्त्वपूर्ण छँदैछ । यो नगरपालिकामा धेरै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका सम्पदाहरू छन् । यहाँको महत्त्व दर्शाउँदै यो ठाउँ कालान्तरसम्म दर्शनीय बनोस् भन्ने भाव व्यक्त गरे । गढीको ढिस्को पनि पानीले बगाउँदै लगेको छ ।

    बन्ने एकै शब्दमा पनि खुसी र दुःख लाग्यो । अघि बाटो बन्दा यसै खुशी लागेको थियो । अहिले गढी बन्दा (बिग्रँदा) दुःख लाग्यो ।

    त्यो गढीमा पहिले ब्रेक फास्ट के हुन्थ्यो होला र ? अहिले गढीबाट तल चोक आएर खाइयो रोटी, तरकारी, अण्डा र चिया मानेडाँडाको निखिल भाइको पसलमा बसेर । खाएपछि हिँड्ने चलनै हो । हामी पनि चल्यौँ । हिँडेको एक छिनमा ‘वेलकम भूत छाँगा रिसोर्ट’ लेखिएको तर स्वागत ताल्चाले गरेको देखियो । हिँड्दै जाँदा रात माटे बाटो छाडेर ओरालो आयो । गाउँहरू छल्दै लगभग डेढ घण्टा हिँडेपछि आयो सिँढीको बाटो ।

    कानले भन्यो, छाँगो आयो । कानमा प्रकृतिको कुल कुलता कताकता मिठो धुनमा बजिरहेको थियो । निसास्सिएर ओरालो झर्दै छाँगोमा पुग्यौं । बाफरे बाफ ! पानीको बहाव गजबै लाग्यो । अनि सम्झिए भारतको मसूरीको केम्पटी फल्स । जहाँ लाखौँलाख पर्यटक जान्छन् भव्य झरना भनेर ।

    केम्पटी फल्स भन्दा कहाँ हो कहाँ ठूलो झरनामा चरो मुसो छैनन् । केम्पटी फल्स भाग्यमानी झरना लाग्यो । दुई वटा ढलबाट बनाइएको कृत्रिम झरना जस्तोमा त्यत्रो मान्छे देखे थेँ । यहाँ मान्छे देखिन्न । स्वर्गमा भएर स्वर्गको खोजीमा भौँतारिएका हामी नेपालीहरू हौँ भन्ने लाग्यो यो झरनासँग देहरादुन मसूरीको केम्पटी फल्स सम्झँदा ।

    साउने झरीमा रुझ्न मज्जा हुन्छ । वर्षात्‌को धुन सुन्न मज्जा हुन्छ । यत्रो झरनामा पुगेपछि झरना सुन्न र रुझ्न झनै मज्जा लाग्यो । झरनाको आवाजले कान र पानीले शरीर पखाल्दै मन शुद्ध पार्नलाई पस्यौँ झरनामा । महभीर झरनामा त मज्जाले साबुन लगाएर नुहाएका थियौँ । अगाडि पछाडि हेर्दा नरम पानीले हान्थ्यो ।

    भुता छाँगोमा त भूत नै रहेछ कि क्या हो ? उसको अगाडि पर्नै नदिने भन्या । मान्छेले पिटे झैँ आँखामा र कानमा एकैपल्ट चड्याम्म हानेर हैरान पार्ने । पछाडि पछाडि फर्केर ढाड फर्काउँदै उसको नजिक जानुपर्ने, पूरै नजिक जानै नसक्ने । थोरै नजिक जाऊँ न अगाडिबाटै हेरौँ भनेको त छर्रा बारुदले हाने झैँ हानेर आँखा र कान नै सुन्नाउला भन्ने डर भो ! लुगा फुकालेर मज्जाले साउन्ड थेरापी र छाँगो थेरापी ढाडमा गरियो । निक्कै बेर चलेपछि थाकेर लखतरान हुँदै चिसो पानीमा नुहाइयो र फेरि फर्कियो उही बाटो ।

    निराजन थापा मगर ।

    बाटोमा भेटिए निराजन थापा मगर (भुता छाँगा व्यवस्थापन समितिका अध्यक्ष) । उनले भने “यो भूतै बस्ने खालको खाल्डो थियो, हामी लहरा समातेर तल जान्थ्यौँ, यो डरलाग्दो थियो १० वर्ष अगाडि, भूत आउने हैन तर पुर्खाले बच्चाहरूले यो एकान्तमा जान्छन् र सिँढी पनि नभएको ठाउँमा परेर कोही पौडी खेलेर मर्लान् भनेर त्यहाँ इन्द्रेणी परेर भूत आउँछ नजानू भन्दा भन्दै भुता छाँगा रह्यो ।”

    हामी पनि छक्कै थियौँ । नुहाइरहँदा इन्द्रेणी आइरहन्थ्यो । समात्न खोज्यो इन्द्रेणी परपर देखिन्थ्यो ।अगाडि पर्न नदिने र इन्द्रेणी देखिने समाउन नसकिने यो कुरा कुनै अनुसन्धानको विषय बन्ला न कि भूत भनेर भन्ने लाग्यो । त्यो झरनाको यो पानी झयाँग्रे खोला बन्दै दोलालघाटमा पुगेर इन्द्रावतीमा मिसिने रहेछ ।

    बागमती प्रदेश सरकारले पचास लाख दिएर सुरू भएको यो योजना एक करोडको हाराहारीमा लगानी गरेर सिँढी मेचहरू राखिएको रहेछ । घले, मगर र अधिकारी रहेको यो टोललाई स्यानो सिरुवारी मगुवा खानीगाउँ(अहिले पनि राम्रो ढुङ्गा खानी चलिरहेको छ ) भन्ने रहेछ ।

    त्यहाँबाट निक्लँदा यो यहाँको मात्रै सम्पत्ति हैन, संसारको बनोस् भन्ने भाव आयो । दार्जिलिङ, नगरकोट, मसूरीजस्तै हल्का चिसो, प्राकृतिक छटाले भरिपूर्ण यो ठाउँको पनि दिन आउनेछ भन्ने लाग्यो । जसरी काठमाडौंमा भूत खेल्छ भन्ने ठाउँमा मान्छेहरू खेल्न थाले यहाँ पनि भूता छाँगोमा मान्छेको छाँगो आउने दिन आउँछ भन्ने लाग्यो ।

    सम्झेँ, मलाई पनि कत्तिले भूत लेखक भन्छन् । भूता छाँगोबाट नबुझेरै भनेको भूत लेखक पनि प्रिय लाग्यो । घोष्ट राइटर भनेको भूत लेखक हुँदै हैन । नेपालमा घोष्ट माने भूत राइटर माने लेखक भनेर माने घोकन्ते पढन्ते विद्याले घोष्ट राइटरलाई भूत लेखक बनायो । यो त एकदमै ब्रान्ड लेखन पद्धति हो ।

    नेपालमा संस्थागत रूपमै पहिलो घोष्ट राइटिङ नेपाल खोलेपछि (अरुको कथा सुन्ने र आफूले लेखिदिने पवित्र काम गरेपछि, मान्छेको मरणपछि पनि स्मरण हुनु पर्दछ भन्ने काम गरेपछि , मान्छेको दस्तावेजीकरण हुन पर्दछ , समय नहुने र लेख्नेको लागि संसारमा चलेको यो काम नेपालमा चलाउनु पर्दछ भन्ने लागेपछि ) लेखनको काम गरेपछि एक प्रसिद्ध पूर्वप्रधानमन्त्रीले मलाई ‘प्रिय भूत लेखक ! यहाँलाई बडादशैँको शुभकामना भनेर पठाएको सम्झेँ ।’
    २०७३ सालमा विराटनगरमा वृहत् पुस्तक प्रदर्शनी र साहित्यिक महोत्सव १० दिन चलाउँदा एक इस्लामिक बुक स्टलका अबुरोशन गुरुङले उनको कार्यक्रममा भूत लेखक कमल ढकाललाई कार्यक्रममा स्वागत गर्दछु भनेको सम्झेँ ।
    अनि लेख्न मन लाग्यो । भूत छाँगोमा घोष्ट राइटर । लाग्यो, म त घोष्ट (नेपालीमा घोष्ट र अङ्ग्रेजीमा गोष्ट) राइटर नै भएँ ।
    लगभग ५ सय जनाको पुस्तक लेखन , प्रकाशन र सम्पादन गरिसकेपछि आजकल त मान्छेहरूले उहाँहरूको मोबाइलमा घोष्ट राइटर कमल ढकाल नै लेखेको देखाउन थालिसके । लगभग ९० जना घोष्ट राइटर जन्माएपछि र पछिल्लो दश वर्षमा ४ सय जना सिर्जनात्मक लेखनमा कक्षा लिइसकेपछि मलाई लाग्न थालेको छ- सुप्रसिद्ध राइटर पनि घोष्ट राइटर हुन्छ ।
    संसारभर यो चलन छ । वाल्टर इजाक्सनले एप्पलका संस्थापक स्टीभ जब्सको किताब लेखे । सुप्रसिद्ध लेखकहरूले अमेरिकन राष्ट्रपतिहरूका लेखेका छन् । हरेक लेखकको एक समयपछि कलम चल्छ किताब चल्दैन । नाम बिक्छ किताब बिक्दैन अनि ऊ घोष्ट राइटर हुन्छ । लेखेर खानेले लेखेरै खानु पर्दछ भन्ने यो अभियान पनि हो । यो मैले गरिरहेकै छु ।
    अर्को जान्दै नजान्नेलाई म आफैँले लगभग सय जनालाई घोष्ट राइटर बनाइसकेँ । जसले अन्तर्वार्ता उतार गर्दै लेखन सिकिरहेका हुन्छन् र घोष्ट राइटर बन्छन् । अनि लाग्यो, आज यो भूत छाँगोमा पनि छायाँ बनेर लेख्ने कति लेखक आएका होलान् ।
    मित्र राजारामले पनि धेरैको घोष्ट राइटिङ गरिसक्यो । मेरो त पायोनियर संस्थै भइहाल्यो । नलेख्नेहरू पनि पछि कति अरुको पुस्तक लेख्ने बन्लान् । हेर्दा हेर्दै म त ह्याप्पी हाइकर्समा आजको घोष्ट राइटर र भोलिको घोष्ट राइटरहरू देख्न थालेँ । किताबहरू देख्न थालेँ । भोलिका घोष्ट राइटरहरू भुता छाँगोमा भेला भएको देख्न थालेँ ।
    हाइकर्सहरू ३० थिए । उही राजाराम फुयाँल, नमन फुयाँल, सुरेन्द्र फुयाँल, निकिता केसी फुयाँल, भुवन ढकाल, मधुसूदन ढकाल र म । हामी मुलपानी जरा गाडिएका मात्रै यो पाला ७ जना थियौँ । छ थापाहरूमा प्रेमबहादुर थापा, दाल चीनी थापा, किशोर थापा, बम बहादुर थापा, राम थापा र रेवत थापा । दुई खड्काहरू स्वस्थानी खड्का र विदुर खड्का ।
    गुल्मीका गोपाल पन्त, अर्घाखाँचीका नुमानन्द बेलबासे, नुवाकोटका अम्बिका खनाल, जय दाहाल ओखलढुङ्गा, रतन शाह महोत्तरी , सुजन ढुङ्गाना रामेछाप, अरुण मोक्तान मकवानपुर र राम श्रेष्ठ टोखा, बाबुकाजी महर्जन बाँसबारी । मनोज प्याकुरेल चक्रपथ , प्रदीप बराल बौद्ध, प्रदीप कँडेल धादिङ, निराकार श्रेष्ठ सङ्खुवासभा खाँदबारी, विष्णुहरि पण्डित कलङ्की, सुमन मानन्धर । ३० व्यवहार, विचार भएकाको सिङ्गो टीम थियो ह्याप्पी हाइकर्स ।
    पानीमा खेलेर चौतारा होम स्टेमा मिठो खाना खाइयो । फेरि चौतारा नपुग्दै साँगाचोकगढी, ईर्खु वनदेउ हुँदै दोलालघाट , धुलिखेल हुँदै फर्कियौँ । इन्द्रावती उर्लिरहेको थियो । गाउँ गाउँमा बाटो राम्रो बनेको देखेँ । ती नजना उभिएको छ भने एक जनालाई सोध्दा भएका तीन जनाले नै उत्तर दिने हाम्रो सुसंस्कृत नहराएको पाएँ ।
    घर आइपुग्दा लगभग चार घण्टा लाग्यो । घर आइपुगेपछि पनि आँखाको सेतोभन्दा कहाँ हो कहाँ झरनाको सेतो मनमा सेताम्मे भएको छ । त्यत्रो सबै झरना मेरो आँखामै अटाएको छ । सेतो झरना भेट्न हरियो हरियाली र रातो माटो टेक्दै जाँदा मज्जा आयो ।
    हयाप्पी हाइकर्सको ड्रेस नभएकैले मान्छेका अनुहारको रङ्गमात्रै हैन लुगाको रङ्ग पनि कसैको कोहीसँग मिलेको थिएन । आवाजहरू चराको जस्तै भिन्न थियो । फर्कँदा सबै मान्छे नै फरक लागिरहेको थियो । सबै रङ्गहरू फरक लागिरहेको थियो ।
    यात्राले म लयमा विलय हुँदै नयाँ आलय अन्तर्मनमा आइरहेको थियो । माथिको प्रश्नको उत्तर अरु पनि आउँछ भने तपाईँहरूले पनि कमेन्टमा लेख्नु होला । धन्यवाद !
  • उपसभामुखको मानव तस्करीको प्रमाण जुटाउँदा मेरो जागिर खोसियो, कार्यक्रम रोकियो

    उपसभामुखको मानव तस्करीको प्रमाण जुटाउँदा मेरो जागिर खोसियो, कार्यक्रम रोकियो

    घटना २०७२ साल कात्तिक १७ गतेको हो । नेपाल बाल संगठनको सिफलस्थित बालगृहबाट पाँच बालबालिका एकाएक गायब भए । दसैँ मनाउन भन्दै उनीहरूलाई कसैले लगेको थियो, तर उनीहरू कहिल्यै फर्केर आएनन् । त्यसबेला बिदामा रहेका बालगृहका केन्द्र प्रमुख सुरज खनालले संगठनको केन्द्रीय कार्यालयलाई एउटा चिठी लेखे ।

    आफ्नो अनुपस्थितिमा बिना जानकारी बालबालिका लगिएको र उनीहरू नफर्किएको भन्दै उनले तत्काल खोजी गर्न र फिर्ता ल्याउन अनुरोध गरेका थिए । ती बालबालिकालाई गैरकानुनी रूपमा लगेको आरोप तत्कालीन ‘पीए नेपाल’ नामक संस्थामाथि थियो, जसको नेतृत्व हालकी उपसभामुख इन्दिरा रानाले गर्थिन् ।

    यो विषय केन्द्रीय बालकल्याण समितिमा पनि पुग्यो, जहाँ उजुरी परेको थियो । समितिले केन्द्र प्रमुख खनालसँग स्पष्टीकरण माग्यो । २०७२ माघ १८ गते खनालले समितिमा उपस्थित भएर जवाफ दिए । उनका अनुसार, नेपाल बाल संगठनका तत्कालीन निर्देशक बालकृष्ण डंगोलले ‘माथिको आदेश’ भन्दै ती बालबालिकालाई अपरिचित व्यक्तिको जिम्मा लगाएका थिए ।

    त्यसपछि उनीहरूको अवस्थाबारे केही थाहा नभएको बयान खनालले दिए । यसरी सरकारको मातहतमा रहेको बालगृहबाट भएको बालबालिकाको अवैध ओसारपसारको यो गम्भीर विषय लामो समयसम्म गुपचुप रह्यो ।

    तत्कालीन केपी ओली सरकारले २०७६ कात्तिक १४ गते एउटा महत्वपूर्ण निर्णय गर्‍यो । मन्त्रिपरिषद्ले नेपाल बाल संगठन र बाल मन्दिरमा भएका सम्पूर्ण अवैध गतिविधिको छानबिन गर्न उच्च अदालत पाटनका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्‍यो । आयोगले आफ्नो छानबिन प्रतिवेदन सरकारलाई बुझायो । विशेष स्रोतबाट त्यो गोप्य प्रतिवेदन मेरो हातमा पर्‍यो ।

    प्रतिवेदनको परिच्छेद ३ मा एउटा सनसनीपूर्ण बयान छ । बाल संगठन स्थापनादेखि २०७६ सम्म अध्यक्ष रहेकी रिता सिंह वैद्यले आयोगलाई बयान दिने क्रममा सिफल बालगृहका पाँच बालबालिकालाई इन्दिरा रानाको संस्थाले गैरकानुनी रूपमा लगेको कुरा स्वीकार गरेकी छन् । रिता सिंह गणेशमान सिंहकी छोरी तथा वर्तमान उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

    त्यस्तै, प्रतिवेदनको तालिका नं. २४ मा संगठित अपराधको अनुसन्धान गर्नुपर्ने व्यक्ति र निकायहरूको सूची छ । त्यसमा स्पष्टसँग लेखिएको छ- ‘झूटा कागजपत्र बनाएर र पर्याप्त अनुसन्धान नगरी बालबालिकालाई परित्यक्त तथा अनाथ घोषणा गरी एक बालगृहबाट अर्कोमा गैरकानूनी रूपमा स्थानान्तरण गर्ने कार्यमा संलग्न ‘पीए नेपाल’ र त्यसकी तत्कालीन अध्यक्ष तथा वर्तमान उपसभामुख इन्दिरा रानालाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने ।’

    यी सबै तथ्य पत्ता लागेपछि मैले सिफल बालगृहका केन्द्र प्रमुख सुरज खनालसँग फोनमा कुरा गरेँ । खनालले ती बालबालिकालाई बाल संगठनका तत्कालीन नेतृत्व र इन्दिरा रानाको योजनामा ‘पीए नेपाल’ले लगेको पुष्टि गरे ।

    उनले थपे, ‘मैले यस विषयमा बारम्बार विरोध गर्दा इन्दिरा रानाले मलाई ‘बच्चा नदिने तँ को होस् ?’ भन्दै धम्क्याएकी थिइन् ।’ यो कुराकानीको अडिओ प्रमाण मसँग सुरक्षित छ । यता, बाल संगठनकी वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपानेले पनि क्यामेरासामुन्ने ‘पीए नेपाल’ ले बालमन्दिरका बालबालिका गैरकानुनी रूपमा लगेको र उनीहरूको अत्तोपत्तो नभएको बताएकी थिइन् । त्यो भनाइ पनि भिडिओमा सुरक्षित छ ।

    यति धेरै प्रमाण जुटिसकेपछि मैले उपसभामुख इन्दिरा रानालाई बारम्बार फोन गरेँ, जसको स्क्रिनसट मसँग छ । एकपटक उनले ‘त्यो सुमन भनेको तपाईं हो ?’ भनेर फोन काटिन् । अन्ततः उनको सचिवालयमार्फत अन्तर्वार्ताका लागि ४ बजेको समय मिल्यो । तर, त्यही दिन ३:३० बजे प्रेस चौतारी नेपालका निवर्तमान कोषाध्यक्ष इन्द्र आचार्यले फोन गरेर उपसभामुख नबोल्ने भन्दै अन्तर्वार्ता स्थगित भएको जानकारी दिए । आचार्य लामो समय उपसभामुख रानाको संस्था ‘पीए नेपाल’ मा कार्यरत थिए ।

    मेरो यो खोजमूलक रिपोर्टको प्रोमो मैले काम गरिरहेको टेलिभिजनमा तीन घण्टा प्रसारण भयो, तर त्यसपछि कार्यक्रम नै रोकियो । मलाई कार्यक्रम निर्माण नगर्न टेलिभिजनको उपल्ला अधिकारीबाट निर्देशन दिइयो । मैले कारण सोध्दा, मलाई नै कार्यालय नआउन र परिचयपत्र फिर्ता गर्न भनियो ।

    आफूले गरेको खोज र पाएका प्रमाण सन्तानजस्तै प्यारो हुँदो रहेछ । यो रिपोर्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्न मन थियो, तर सकिनँ । आज यो सब किन लेख्दैछु भने, यदि ती बालबालिका कहाँ छन् भनेर पत्ता लगाउन र दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सकिनँ भने समाजले मलाई एक कायर पत्रकारका रूपमा चिन्नेछ ।

    कसैले यसलाई प्रतिशोध भन्ठान्ला, तर यो अपराध तपाईंहरूको दलको परिकल्पना हुनुभन्दा धेरै अघिको हो । यो बालबालिकाको अवैध ओसारपसारजस्तो गम्भीर अपराध हो, जसमा प्रतिनिधि सभाकी वर्तमान उपसभामुख इन्दिरा राना र उनले नेतृत्व गरेको संस्था मुख्य अभियुक्त हुन् ।

  • डिजिटल युगको साहित्यिक दस्तावेज

    डिजिटल युगको साहित्यिक दस्तावेज

    आजभोलि थोरै पनि कलम चल्ने कोही छ भने दैनिक जसो स्ट्याटस लेखेर समाजमा उपस्थिति जनाउने  चलन बढ्दै गएको छ । सामाजिक सञ्जालले एक अर्थमा सार्वजनिक बहस, छलफल र अन्तरक्रिया गराउन सकेको छ । सूचना र ज्ञान, उत्प्रेरणा र जागरण जगाउन सकेको छ । कैयौँ हराएका व्यक्ति भेटाउन र अपराध गरेर लुकेकालाई पत्ता लगाउन पनि सहज बनाएको छ ।

    यसका साथै घृणा र आक्रोश जगाउन, असन्तुष्टि पोख्न, समाजका मूल्य—मान्यता र संस्कार बिथोल्न, मान्छेलाई आत्म केन्द्रित र असामाजिक हुँदै अराजकता फैलाउन पनि उत्तिकै सहयोगी हुने गरेको छ ।

    घनश्याम कोइराला त्यसका अपवाद हुनुहुन्छ । मैले उहाँका स्ट्याटस दैनिक अध्ययन गर्छु  । सकभर प्रतिक्रिया जनाउँछु, नभए पनि आत्मसात् गर्छु । किन कि उहाँका स्ट्याटस प्रेरणादायी र नैतिक मूल्य—मान्यतामा आधारित छन् । समाज, राजनीति, व्यक्तिगत जीवन र अनुभवलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको हुन्छ । साथै असहमति प्रकट गर्दा पनि शिष्टतापूर्वक गरेको पाइन्छ । तिनै कुरा उहाँका स्ट्याटसबाट सिक्न जरुरी छ ।

    यस पुस्तकमा सङ्कलित स्ट्याटसहरू निबन्ध हुन्, राजनीतिक विश्लेषण हुन्, समीक्षा हुन्, दार्शनिक चिन्तन हुन्, नीति वचन हुन् । यी सामाजिक निबन्ध र मानवअधिकारका विषय हुन् । सांस्कृतिक विमर्श हुन् । लघुकथा, मुक्तक र गद्य कविता हुन् । राजनीतिक व्यङ्ग्य र सामाजिक यथार्थ हुन् । त्यसैले साहित्यमा यिनलाई के भन्ने ? यस बारेमा साहित्यका विद्वानहरूले नै केही भन्ने छन् । मैले त जिज्ञासा मात्र उठाएको हुँ ।

    लेखन शैलीको कुरा गर्दा सामाजिक रूपमा आह्वान गरिएको छ । प्रेरणात्मक शैली अपनाइएको छ । आलोचना गरिएको छ । सुझाव दिइएको छ । कतै भावनात्मक पनि छन् तर संयमित छन् । पौराणिक कथाको आलोचनात्मक अध्ययन छ । प्रतीकात्मक गद्यको आभास छ । अराजकताको विरोधमा धावा बोलिएको छ र निर्माणको लागि आग्रह छ । समग्रमा यिनलाई नयाँ युगको “डिजिटल साहित्य” भन्न सकिएला र साथै, यतिसम्म पनि भनिएला– यो नयाँ युगको साहित्यिक अभिव्यक्ति हो ।

    स्ट्याटसहरूबाट आत्म छवि निर्माण गर्न, सामाजिक सम्पर्क तथा सम्बन्ध बढाउन, मान्छेको मनोविज्ञान बुझ्न, सूचना र ज्ञानको भोक जगाउन, जनमत निर्माण गर्न, कतिपय विषयमा स्पष्ट दृष्टिकोण बनाउन र विचार र प्रवृत्तिको विश्लेषण गर्न सहयोगी हुने कुरामा शङ्का छैन । यसैले त आज सामाजिक सञ्जालका अभिव्यक्तिमाथि विश्वविद्यालयमा विभिन्न अनुसन्धानहरू भइरहेका छन् । खास गरी भाषा शास्त्र र साहित्य शास्त्रको दृष्टिकोणबाट । यस अर्थमा स्ट्याटसहरू अब केवल क्षणिक अभिव्यक्ति मात्र होइनन्, भाषा शास्त्र, साहित्य, समाजशास्त्र, सञ्चार शास्त्र, र डिजिटल मिडिया अध्ययनका लागि गम्भीर विषय पनि हुन् । नेपाली ब्लगहरू र युवा लेखकहरूका लागि छिटो छरितो तरिकाले भावना, सूचना र सन्देश प्रवाह गर्ने माध्यम पनि हुन् ।

    सामाजिक सञ्जालमा प्रस्तुत हुने स्ट्याटसहरू यति शक्तिशाली हुँदै गएका छन् कि राजनीतिक हतियार र जनमत निर्माणको शक्तिशाली साधनको रूपमा विकास भइरहेका छन् । सामान्य जनताको मनोभाव, आक्रोश, समर्थन, संशय, भावनात्मक लहर र वैचारिक पक्षलाई स्ट्याटसहरूले प्रेरित गर्छन्, ध्रुवीकरण गर्छन्, र राजनीतिक लहर बनाउन सहयोगी हुन्छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूलधारका मिडिया विपक्षमा हुँदा पनि ट्विटर र फेसबुकबाट स्ट्याटसमार्फत चुनाव जितेको इतिहास ताजै छ । सन् २०१६ को चुनावमा ट्रम्पले ‘Drain the swamp in Washington’ भन्ने नारा प्रयोग गरे । जसको अर्थ हुन्थ्यो– ह्वाइट हाउस, कंग्रेस, र सरकारी निकायमा भएका गडबडी, भ्रष्टाचार, लोभी व्यापारी, र पूर्व–राजनीतिज्ञहरूलाई हटाउनेछु ।

    उनका Fake News, Make America Great Again जस्ता स्ट्याटस/ह्यासट्यागहरूले राजनीतिक आन्दोलनको स्वरूप लिए । ट्रम्पको डिजिटल रणनीति भनेको वैकल्पिक सञ्चार प्रणाली (alternative media ecosystem ) निर्माण गर्नु थियो, जसको केन्द्रमा स्ट्याटस थिए ।

    सस्तो र छरितो माध्यम, पैसाविना नै प्रचार गर्न सकिने, चुनावी एजेन्डालाई घर–घरमा पुर्‍याउन सकिने, तत्काल प्रतिक्रिया दिन सकिने र एउटै स्ट्याटसले लाखौँ मतदातासम्म सन्देश पुर्‍याउन सक्ने भएकोले अबका दिनमा हरेक सार्वजनिक व्यक्तिले कम्तीमा राम्रो स्ट्याटस लेख्ने सामर्थ्य राख्नु पर्ने अवस्था आएको छ ।

    यसैले गर्दा अन्तर्राष्ट्रिय रूपमा समेत यसबारे व्यापक अध्ययन, अनुसन्धान हुन थालेका छन्, किन कि सामाजिक सञ्जालले चुनौती थप्दै गएको छ र ती चुनौतीहरूलाई चिर्ने माध्यम पनि सामाजिक सञ्जाल नै हुन् । भविष्यमा यस्तो पनि दिन आउने सक्ने छ कि स्ट्याटस लेख्नका लागि तालिम दिन वा लिन परोस् ।

    यस अर्थमा यसको प्रकाशन हुनु सन्दर्भ सामग्री पनि हो र यो नेपाली साहित्यका लागि नवीन सोंच पनि हो ।

    यसै सन्दर्भमा एक दिन अचानक मेरा परम मित्र कोइरालाले स्ट्याटसलाई पुस्तकका रूपमा प्रकाशन गर्न थालेको जानकारी दिनुभयो । म छक्क परेँ । छक्क यस कारणले कि म पनि सन् २०२३ डिसेम्बरदेखि यही अभियानमा थिएँ । अहिले मेरो ल्यापटपको फाइलमा ६० हजार शब्दका स्ट्याटस थुप्रेका छन् ।

    मलाई लाग्छ कि प्रायः स्ट्याटसहरू समसामयिक हुने भएकोले यस्ता स्ट्याटसले तत्कालीन अवस्थाको प्रतिनिधित्व मात्र गर्दैन, समाजशास्त्र, मनोविज्ञान, इतिहास र संस्कृतिलाई पनि समेट्ने भएकाले पाठकहरूको चासो पनि जगाउँछ ।

    घनश्याम कोइरालाका स्ट्याटस प्रायः तत्कालीन अवस्थालाई सङ्केत गरे पनि तिनलाई सैद्धान्तिक जलप दिएर प्रस्तुत गरिएको हुन्छ । यसले गर्दा ती विचार कालजयी  हुन पुग्छन् । मलाई विश्वास छ, यस पुस्तकले सामाजिक स्तरका विभिन्न आयाम, प्रभाव, र महत्वलाई उजागर गर्न सक्नेछ ।

    मेरो जानकारीमा भएसम्म सामाजिक स्ट्याटसका विषयलाई आधार बनाएर पुस्तक लेख्ने र यसलाई गहन रूपमा अध्ययन गर्ने अभ्यास विश्वभरकै समाजशास्त्री, मनोवैज्ञानिक र लेखकहरूले गरेको भए तापनि स्ट्याटसकै सँगालो शायदै प्रकाशन भएका होलान् ।

    स्ट्याटसबाट मानिसको जीवनशैली, रुचि र उपभोगका शैलीबारे जानकारी प्राप्त हुन्छ । समाज कुन दिशामा गएको छ वा जाँदै छ भन्ने बारेमा स्पष्ट सङ्केत प्राप्त हुन्छ । मानिसले सामाजिक स्तरका लागि कसरी सङ्घर्ष गर्छन् र यसले जीवनलाई कसरी प्रभावित गर्छ भनेर पनि थाहा हुन्छ ।

    सामाजिक स्तरले ल्याउने चिन्ता, असुरक्षा र मानसिक स्वास्थ्यका समस्यालाई पनि उजागर गरेको हुन्छ । सामाजिक सफलता, असफलता, मानवीय सम्बन्ध, आर्थिक अवस्था र अन्ततः सामाजिक स्तरकै बारेमा जानकारी गराउने स्ट्याटसहरूले तत्कालीन समयको प्रतिनिधित्व गर्ने भएकोले भविष्यका लेखकहरूलाई पनि कथा, निबन्धजस्ता साहित्यिक विधामा कलम चलाउनेहरूलाई स्रोत सामाग्री हुन सक्छन् ।

    लघु कथा, अणु कविता भनेजस्तै स्ट्याटसलाई लघु साहित्य भन्न सायद नसकिएला, किन कि हरेक साहित्यका केही न्यूनतम मान्यता अवश्य नै हुन्छन् । तर पत्रकारितालाई हतारको साहित्य भनेजस्तै स्ट्याटसलाई सामयिक साहित्य भन्ने कि ? आखिर शब्द संयोजन त हुन्छ नै ।

    प्रविधि, सामाजिक सञ्जाल र उपभोगवादले स्ट्याटसमा पनि व्यापक परिवर्तन गरेको छ । हो, सामाजिक सञ्जालका धेरै नकारात्मक पक्ष भए पनि मेरो अनुभवमा व्यक्ति, समुदाय र संस्थामा सकारात्मक परिवर्तन ल्याउन, मानसिक तनाव र असमानता घटाउन पनि स्ट्याटसले सहयोग गरेको छ ।

    समयले मानिस असाध्यै व्यस्त हुन थालेको छ । व्यस्तताका कारण लामा साहित्य पढ्ने रुचि घट्दो देखिन्छ । यस अर्थमा थोरै शब्दमा धेरै भन्न सक्ने साहित्यप्रति नै रुचि बढेको पाइन्छ । यो समयलाई लेखकले बुझेर स्ट्याटसलाई निरन्तरता दिनुभयो र यो प्रकाशनका रूपमा तयार भएको हो ।

    नेपाली साहित्यमा यो नयाँ कोसेली भएर आएको छ । सम्भवतः पहिलो प्रयोगका रूपमा आएको यो प्रकाशनका लागि लेखक तथा प्रकाशकलाई हार्दिक बधाई र शुभकामना । यसबाट सबै क्षेत्रका अगुवाले फाइदा लिन सकिने छ ।

  • मसुरी र नालापानीले बिथोलेको मन

    मसुरी र नालापानीले बिथोलेको मन

    उता उत्तराखण्डमा बाढी आयो । मान्छे बगायो, घर बगायो । यता म रातभर बिथोलिएँ । रातैभर निदाउन सकिनँ, यता पल्टेँ उता पल्टेँ अनि उज्यालो भयो भनेर साहित्यमा प्रयोग हुने झूटो भाषा म लेख्दिनँ । तर, म नराम्ररी बिथोलिएँ । अझै २६ जना नेपाली बेपत्ता भएको समाचार आइरहेछ । भिडि‌ओ हेरेपछि आतङ्कित भैरहेछ मन । त्यो समाचारहरू पढेपछि । लगातार समाचारहरू आइरहेपछि यो लेख लेख्न मन लाग्यो ।

    कारण , जहाँ आफ्नो पन हुन्छ त्यहीँ भाव जोडिएको हुन्छ । भाव र स्मृति जोडिएपछि भावनात्मक सम्बन्ध पैदा हुन्छ । मलाई यस्तै भयो । गत असार १२ गतेदेखि १६ गतेसम्म उत्तराखण्डको राजधानी देहरादुन र मसुरी हुँदै हरिको द्वार हरिद्वार , ऋषिकेश गएर आएको थिएँ । घुमेको कति लेख्नु झैँ लागेको थियो । तर, भयानक बाढीले भयावह पारेपछि फेरि सम्झेँ र लेख्न मन लाग्यो ।

    लेख्न मन लाग्नुको कारण हो- नेपाली जताततै । पहिले गोर्खाको भूमि भएर नै हो । भावमा मेरो राष्ट्र जोडियो । स्मृति त्यहाँ पुगेपछि बन्यो र भावनात्मक भएर बग्न थाले ।

    थाहा पाएँ, उत्तराखण्ड भारतको २७ औं गणराज्यको रूपमा सन् २००० को ९ नोभेम्बरमा बनेको रहेछ। नेपालको साइनो यहाँ विशेष रहेछ । सन् २००६ सम्म उत्तराञ्चल राखिएको यो राज्यको नाम केदारखण्ड (वर्तमान गढवाल), मानसखण्ड ( वर्तमान कुमाउँ ) उत्तरको भूमि र भारतको प्राचिन पौराणिक शब्द भन्दै सन २००७ देखि उत्तराखण्ड भनेर राखियो ।

    सीमा सुरू हुनेबित्तिकै पस्ने गेट बोल्यो “देवभूमि उत्तराखण्ड आगमन हेतु धन्यवाद !” निक्लने गेटले भन्यो “देवभूमि उत्तराखण्डे आगमनाय धन्यवाद !” ऋषि र साधुको निवास रहेको यो ठाउँमा विभिन्न पवित्र तीर्थस्थल छन् । १८ औं शताव्दीमा गोर्खालीको अधिनमा रहेको यो भूभाग सन १८१६ को सुगौली सन्धि पश्चात अंग्रेजको भयो र आज भारतसँग छ ।

    नेपालीहरूसँग जरा जोडिएको उत्तराखण्डका मुख्यमन्त्री नेपाली मूलकै पुस्करसिंह धामी छन् । उनी भ्याएसम्म कुलदेवताको पूजा गर्न हरेक वर्ष सुदूरपश्चिम आउने रहेछन् । यति भनेपछि धामीलाई म नेपालकै नेता प्रेमसिंह धामीजस्तै नदेखिकनै आत्मीय अनुभव गर्न थालेँ ।

    देहरादुनका बलभद्र कुँवर खलंगा विकास समिति नालापानीका अध्यक्ष कर्नेल विक्रमसिंह थापाले भन्नुभयो “धामीज्यूलाई नौमती बाजा , पञ्चे बजा र नेपाली खानाहरू असाध्यै मन पर्दछ, हामी ५१ वर्षदेखि हरेक वर्ष १२ मईमा नेपाली खाना , बाजा र नाँच गर्दै खलंगा दिवस मनाउँदछौं ।”

    उत्तराखण्डमा जहाँ जाउँ नेपालीमै बोले हुन्छ झैँ लाग्दछ । अनुभवमा आफ्नोपनले अनभूति थप्दै जान्छ । शंख र घन्ट बज्दा यसै आनन्द आउने परिवारमा हुर्केको र नेपालीहरू प्रशस्त भेटेकोले पनि उत्तराखण्डसँग नजिकिएँ ।

    देहरादुन, मसुरी, हरिद्वार, ऋषिकेश , गंगोत्री , यमुनोत्री, केदारनाथ , बद्रीनाथ मात्रै हैन सिंगो उत्तराखण्डमा नेपालीहरू अनगिन्ती छन् ।

    पहिलो दिन मसुरीको यात्रा थियो । बिहान ७:१५ को एयर ईण्डिया केहीबेर डिले भयो । दिल्ली एयरपोर्टबाट बाहिरिँदा ९:४१ भैगयो । गाडी खोजेर हिँड्दा ओर्दा ११:१० बजायो घडीले । बीचमा भेज खाना खाएर मसुरी पुग्दा ७ बजेको थियो । ओहो मसूरीको जाम । ओहो टाटाटिँटीँ । ओहो हैरानी । बल्ल मसुरी पुगियो । त्यो रात यसै भैगयो ।

    भोलिपल्ट हेर्दा मसुरीको पहाडमै जस्तै लागेको थियो । नेपाल जस्तै लागेको थियो । काठमाडौं जस्तै लागेको थियो । धुलिखेल, नगरकोट, फूलचोकी जस्तै लागेको थियो । नेपाली प्रशस्त भेटिने मसुरी मनसुरी चामल जस्तै मीठो लाग्यो ।

    त्यहाँको दृष्यले अन्तदृष्यमा नराम्रो झस्का हानेको छ ।

    बोरा बोकेर टोपी लगाएर हिडेपछि “तपाई नेपाली हो ?” भनेर सोध्नै नपर्ने । एकैपल्ट “के छ दाइ खवर?” भने भै हाल्ने ।

    उनीहरूले पनि “ठिक छ त नी कतादेखि हो नि ?” भनिहाल्ने ।

    बोरा बोक्ने एक नेपालीलाई मैले सोधे “किन बोरो बोकेको ?”

    उनले भने “पाइलटको लागि हवाईजहाज जस्तै हो मेरो लागि बोरा ।”

    राम्रो मन भएका र जीउ र हात मैलो देखिने मेरा नेपालीहरू पुस्तौपुस्तादेखि मसुरीमै छन् । नेपालको पशुपति टाढा छ उनीहरूको लागि तर उत्तराञ्चल नजिक लाग्दो रहेछ । नेपालले खान दिन सकेन । बच्चाबच्ची पालिदिन सकेन । काम दिन सकेन । उनीहरू खान, पालिन र काम गर्न उता पुगे ।

    घरको सम्झनाले उनीहरूको आँखामा पानीको धारा बगिरहेको थियो । एकैछिनमा धारा बन्द गरे झै भन्थे “नेपालको पहाड दुःख उताको सुख ।”

    संसारभर बसाइ सर्ने र विदेशमा काम गर्नेहरू खुशीले गएका हुँदैनन् । उनीहरूको पनि परदेशमा पिरिएर बस्नु बाध्यता छ ।

    कालिकोटका अमरबहादुर शाही मसुरीमा भन्दैथे “परदेशमा कोही हुँदैन काम गरेको मात्रै आफ्नो, काम छैन कोही छैन यहाँ मजवुरीले मसुरीमा छौँ ।”

    हुन पनि हो हनहनी ज्वरो आए पनि काममा गएन एक-दिन दुई दिन र महिना दिन भयो भने लखेटीहाल्छन् । बाबु तँलाई ज्वरो आयो लौ तातोपानी खाउँ आराम गरेर बस भन्ने त घरमै हो । अब त्यही छाडेर हिँड्नुपरेको छ । सम्झेँ खाडीका नेपालीलाई । मलेशियाका नेपालीलाई र काममा गएका संसारभरका नेपालीलाई । भूगोल मात्र फरक लाग्यो । व्यथा उही लाग्यो ।

    ०००

    देहरादुन र दिल्लीमा हपक्क तातेपछि शीतल खोज्न मसुरी जाने नियम ब्रिटिशले बसालेछ । सन् १८२५ मा ब्रिटिश क्याप्टेन फ्रेडरिक योँग देहरादुनबाट माथि चढे पहाड र बस्ती बसाले । आज पहाडको घरहरू रुखजस्तै छपक्कै छन् ।

    कालिकोटको त गाउँका गाउँ नै त्यहीँ रहेछ । काठमाडौं कनेक्सन छैन उनीहरूको । उत्तराञ्चलमै किस्मत कनेक्सन छ उनीहरूको । भाषा पनि उस्तै लाग्दो रहेछ । चट्ट बिँडी तान्दै मनभरि माया लिएर मग्नमस्तिले बोल्दै थिए कालिकोटका बलबहादुर शाही “हामी त एक दिनमा ४/५ सय कमाउने हौ क्यारे तपाईँ कितना कमाउनु हुन्छ कुन्नी !”

    जम्मा पाँचसय भारु त्यो पनि सधैँ नहुने । यति कमाउँदा पनि खुशी देखिने बल बहादुर मलाई निर्बल लाग्यो । उनको देश र मेरो देश नेपाल कहिले सम्म निर्बल रहने भन्ने लागिरहयो ।

    नेपाली भन्ने मायाले उनले भनेको कुराले मेरो मन ढक्क फुल्यो ।

    भने “देशमा कामै छैन रोजिरोटी छैन नत्र किन आउँथ्यौ । मोटा माडा नेता लाई भयाको रोजी भए हामी किन आउँथ्यौँ गरिबहरू । पसिना बगायाबगायै खान्छौ हामी त, आठ पुस्ता भयो हामी यहाँ आएको।”

    उनीसहित उनका तीन पुस्ता त अहिले त्यहिँ मसुरीमै रहेछन् ।

    नेपालको असली राजदूत त उनी लाग्यो । इमानदार छन् । स्पष्ट बोल्छन् । उनले गर्दा बहादुर भने पनि नेपाली इमानदार छन् भन्ने गर्दछन् मसुरीमा ।

    मसुरीको लेख्ने हो भने त कति छन कति । जे होस् एक दिन बसेर चिसो खाएपछि हामी पनि गर्मीभन्दा पनि तातो नालापानी युद्धबारे बुझ्न देहरादुन झर्‍यौँ ।

    ०००

    नालापानीबारे बालकृष्ण समले लेखेको कविता याद आइरहेथ्यो । नालापानी नेपालको थियो भन्ने कुराले त्यसबारे हामी यात्रुहरू ( साथी सुरेन्द्र फुयाँल र उसको श्रीमती , निकिता केसी, मेरी सिर्जना , छोरी सिमल र ) बुझ्न खोजिरहेको थियौँ ।

    समले लेखेका थिए –

    धेरै वर्ष अघिको, कथा नालापानीको ,

    सानुसानु नेपाल, फूलजस्तो कोमल ,

    देश दाउ लाउने ,वैरी गर्थ्यो विचार

    नालापानी किल्लामा, नलिई आराम छिन्भर

    नसुती चारै प्रहर, खुवैसित लडे रे बलभद्र कुँवर

    पहाडको टाकुरी, चममचम चम्के खुकुरी

    जसरी मेघ गर्जन्छ, आकाशमा सनन

    उसरी गर्जे नेपाल, नालपानी घनन

    मुला काटे झैँ काटी, खुकुरी घुमे फनन

    एकरात सुनसान, पानी आउने मुहान

    वैरी आई थुनेछ, सास धान्ने कसरी ?

    मनमनमै गुनेर, यसरी कि उसरी

    नेपालीको फौजले , त्यहाँबाट आँटले

    पाईला चाल्यो सुस्तरी, स्वास्नीमान्छे ओइरेर, केटाकेटी धुइरेर

    युद्धको खेल खेलेथे, उछितो पारी वैरीको

    तर कठै छोडेथे, घुट्को नपाई पानीको

    अझ ताजा छँदैछ, रगतले लेखेको

    धेरै वर्ष अघिको, कथा नालापानीको

    ( नोटः पहिले बहादुरीका यी कथा पाठ्यक्रममा पढाइन्थ्यो अब, यो कविता अब दुर्लभ हुँदै गएकोले सबै हालको हो )

    सहस्त्रधारा, देहरादुन

    मैले सोचेँ धेरै धारा भएको ठाउँ होला । तर, यो त नालापानी जानु भन्दा अघि जानुपर्ने ठाउँ रहेछ । देहरादुनको बजारबाट केही पर मसुरी उक्लँदा बाटैमा पर्ने यो सहस्त्रधारा आँसुको धारा बग्ने ठाउँ रहेछ । यहाँ संसारमै नभएको विचित्रको स्मारक रहेछ । यो इतिहासकै अलग स्मृति स्मारक मानिन्छ । जसमा आफ्नो विरोधीले आफैँलाई मारेको र वीर बलभद्रको अदम्य वीरताको लागि संयुक्त श्रद्धाञ्जली दिँदै रिस्पना नदी तटमा यो सहस्त्रधारा स्मारक बनाएको रहेछ ।

    लेखिएको छ- सन् १८१४ मे दुन घाँटी मेँ । नालापानी की पहाड पर स्थित गोरखाऔँ के किले पर अंग्रेजी फौज के सेनानायक जनरल जिलेस्पी ने आक्रमण का प्रयास किया । गोरखा सेनापति बलभद्र थापा जो की अमर सिंह थापा के पौत्र थे, के नेतृत्व मे गोरखा सेना के सिपाहिँयो के साथ मेँ उपथित महिलाऔँ तथा बच्चोँ ने भी वीरतापूर्वक अंग्रेजी फौज का सामना किया जिँसमे जनरल जिलेस्पी अपने कई साथियोँ के साथ ३१ अक्टुवर १८१४ को माराय गया । बाख मे विपरीत परिस्थतियो मे गोरखा सेनापति बलभद्र थापाको नालापानी का किला त्यागता पडा ।

    अंग्रेजीमा It is the only martyr Memorial of its kind history where victorious army buil the memorial on the bank of river Rispana in memories of their General Gilaspy with other army men as well as Gorkha General ‘BALBHADRA THAPA’ their courage Jointly .
    In1814 the Battle of Nalapani which took place between the Gorkha Army under the Command of Balbhadra thapa , Grandson of Amar Singh Thapa and the British Army Led by General Gilaspy .In this Battle Women and Children Joined hands in Fighting along with THE GORKHA Army Agains the British Army the British General lost his life on 31st October 1814 with other fellow Military Men , later on due to Seer adversity the Gorkha General Balbhadra Thapa along with his army was forced to leave the fort of Nalapani.

    सहस्त्रधारा हेरेर फर्केदा सिक्किमका पासाङ नोर्वु शेर्पा हामीसँगै हुनुहुन्थ्यो । नालापानी युद्धबारे अध्ययन गर्दै किताब लेख्न देहरादुन बस्नु भएको उहाँ प्रश्न गर्दै हुनुहुन्थ्यो “नेपालीले युद्ध हारयो भन्छ ,दुईजनाको लडाइँमा जनरल अक्टर लोनीले मिलौं भनेर पहिलो प्रस्ताव गर्नेले हार्दछ कि लडौ भन्नेले हार्दछ ?”

    उहाँको प्रश्नमा नेपालीपन र बहादुरी मिसिएको गम्भिर र विचारणीय कुरा लाग्यो मलाई । नेपाल विश्वमा कसैको अधिनमा नबसेको देश हो भनेर कस्सिएर शेर्पा स्टायलमा भन्दै हुनुहुन्थ्यो “नेपालको इतिहास राणाले लेख्न दिएन भन्छन् लुकेका कहानी लेखिएन पनि, आज पनि नेपाल र हाम्रा पूर्खा सम्झदा गौरव गर्दछु हामी कसैको अधिनमा छैनौं, थिएनौं ।”

    भावमा गएर बुझ्दा भावुक कुरा लाग्यो । शेर्पाजीको नागरिकता भारतीय छ तर मनभर नेपालीपन छ । हामी कत्ति नेपाली नागरिकता लिएका छौ अरु देशको नागरिकता लिन नेपालीपन बिर्सदै छौ ।

    सहस्त्रधारामा लेखिएको कुरा हेर्दा बलभद्र सोचेभन्दा बढीका मान्छे भएर नै ब्रिटिश (त्यो बेलाको शत्रु) ले प्रशंसा गर्दै स्मारक बनाए । कुनबेला गएका बलभद्रलाई यतिबेला हेर्न हामी हतारिदै खलंगाको लागि लाग्यौँ ।

    जँदाजादै बाटोमा देखियो । १२ मई १९७४ मा स्थापित बलभद्र खलंगा विकास समिति । अनि तल लेखिएको थियो ‘आप सभी नागरिकोँ का स्वागत हे !’ नजिकै थियो खलंगा क्याफे । नेपाली गीत, नेपाली खाना र नेपाली मान्छे हामी त घरकै कोठामा भए झैँ लाग्यो । खलंगा क्याफेमा कफी खाएपछि रुखै रुखको बीचको पीच बाटोबाट गाडीमा पुग्यौं । बलभद्र खलंगा युद्ध स्मारक नालापानी देहरादून (उत्तराखण्ड) लेखिएको गेट । एकातिर अंग्रेजी अर्कातिर हिन्दीमा त्यहाँ लेखिएको थियो । (जसलाई नेपालीमा यस्तो छ )

    यो रणभूमिको महत्व

    यो युद्ध स्मारक वीर, वीराङ्गानालाई श्रद्धाञ्जली दिन निर्माण गरिएको हो । नालापानी युद्ध समाप्तीको सयम डिसेम्बर १८१४ मा ९७ जना वीर, वीराङ्गानाको शरीरलाई यस क्षेत्रमा अग्नीदहन गरिएको हो । साथै ३० जना वीर मृतक शरीरलाई आधाआधी नै भुइँमा गाडिएको थियो । उनै वीर, वीराङ्गाना देश भक्तको सम्मान र यादमा यो स्थलको गरिमा बढाइराख्नु नै सच्चा श्रद्धाञ्जली हो ।

    सन्देश र अनुरोध

    यहाँ कुनै लागुपदार्थ लेराउन र सेवन गर्न मनाही छ । जसले यसलाई उल्लङ्घन गर्दछ उसप्रति कठोर कारबाही हुनेछ । यो स्मारक स्थललाई सफा र प्रदूषण रहित बनाई राख्न आफ्नो व्यक्तिगत तथा सामूहिक योगदान दिई असल नागरिकको कर्तव्य निर्वाह गरौं ।

    बलभद्र खलंगा विकास समिति,

    नालापानी देहरादुन आज्ञा सांस्कृति निर्देशनालाय उत्तराखण्ड सरकार

    एक गर्विलो इतिहास पढेपछि जीउभरि सनन काँडा उम्रिए । कथा सुन्दा आँशु आँखाभरि आए । बच्चा , बुढा, केटाकेटी लडेका । जम्मा ५/६ सय (यसमा एक सय पचास आईमाई केटाकेटी)ले ३५ सय ब्रिटिश फौजसँग लडेको । ब्रिटिशसँग तोप, बन्दुक । नेपालीसँग मात्र साहस ।

    २४ अक्टुबर १८१४ पहिलो हमला गर्ने कर्नेल मोबे । त्यसलाई दृढताका साथ गोला , बारुद , बमलाई निस्तेज पारे गोरखा सैनिकले । दोस्रो हमला भयो ३१ अक्टुवर १८१४ मा जनरल जिलेस्पीले ३५ सय फौज लिएर आफै लडन आए । तोप बन्दुककको अगाडी बच्चा केटाकेटी र वृद्ध लिएर बलभद्रले खुकुरी , तरवार , खुँडा , घुनेत्रो , ढुङ्गा , मुडाले मजबुत भएर लडे ।

    तोप र बम र फौजलाई निस्तेज पार्दै जनरल जिलेस्पी उनका क्याप्टेन लगायत थुप्रै मारिए । २९ नोभेम्बर १८१४ मा फेरि कर्नेल माविले लगभग ६ हजार फौज लिएर आई चारैतिरबाट घेरा हालि टन्नै तोप, बन्दूकहरू सहित हमला गरे । दृढतापूर्वक लडेका नेपालीले जित्लान भनेर पानी जाने बाटो बन्द गरिदिए ।

    खानाको अभाव, पानीको अभाव, लड्ने क्षमताको अभाव हुँदै गएपछि ७० जना लिएर बलभद्र कुँवर नालापानी किल्ला छाडेर द्वारे गाउँतर्फ लागे । त्यो समयमा ब्रिटिश सेनाको अधिकारी ३१ जना , अन्य १५३१ जनाको मृत्यु भएको र घाईते ३५ जना भनेर नालापानी किल्लाको गेटको शिलालेखमा लेखिएको छ ।

    गोर्खाले देखाएको अविश्वसनीय बहादुरी र युद्ध कौशलको उच्चतम गुणवत्ताबाट ब्रिटिश अधिकारी चकित भएको भन्दै युद्ध इतिहासकै उदाहरण बनोस् भनेर शहादात प्राप्त जनरल जिलेस्पी र हारेका प्रतिद्वन्दी बलभद्र र उनका सैनिकको सम्मानमा स्मारक बन्यो भनेर पनि लेखिएको छ ।

    यसबारे ज्योति थापा मणिले “द खुकुरी ब्रेभस” नामक किताबमा गोर्खाको इतिहासको चित्रण गर्नुभएको छ । उहाँको बुबा प्रितम थापाले मेरो साथी सुरेन्द्र फुयाँललाई भन्नुभएछ । “हेर्नुस् हामी गोर्खाली भूमिसँगै जितेर आएर बसेका हौ यहाँ, जहाँ तपाईहरू आज बस चढेर आउनुभयो , मेरो बाबुबाजे त काठमाडौको टुँडिखेलबाट मार्च गर्दै आएर यहाँ बसेको थिएँ ।” बुझ्नेलाई इशारा काफी । यी वाक्यजस्तै सुरेन्द्रलाई प्रितमले प्रियतम शब्द बोल्नुभएछ लाग्यो मलाई ।

    उतिबेला सेनामा तलब पनि थिएन । डोटीबाट धेरै परिवार जनताबाट पैसा उठाएर खाँदै आउने समय थियो । हामीलाई बताउँदै हुनुहुन्थ्यो शेर्पाजी “खलंगाको युद्ध तीन प्रकारले विशेष छ ,जर्नल भएपछि कहिल्यै युद्धमा जाँदैनन प्लानर मात्र हो । यहाँ जीवन त्यागेर जर्नेल आयो , युद्ध मोर्चामा बच्चा र महिला हुँदैन, यहाँ छ, एक दुश्मनले अर्को दुश्मनले सम्मान कहिँ गर्दैन, यहाँ गरेको इतिहास छ ।” यो सुनिरहँदा बलभद्र मलाई मेरै बाबुबाजे जस्तै लागिरहेको थियो । राम्रो काम पूर्खाले गरे मरेर गएपछि मनि नमर्ने अमर हुँने रहेछ भन्ने लागिरहयो । राम्रो काम गर्न प्रेरणा दिइरह्यो ।

    ०००

    विचित्रको कुरा सचित्र ढंगले गर्ने शेर्पाजीले फेरि फायर खोल्नुभयो “बुझ्नु भयो गोर्खाली त सिस्नु, निगुरो र च्याँउ खाएर लडे, के खाएर यत्रो दिन लडे भनेर ब्रिटिशले लास हेर्दा भुँडीमा हरियो पायो ,ल यहाँलाई थाहा छैन, त्यसको लागि एफआरआई बनायो, जहाँ स्कलरसिपमा नेपाली धेरै पढेका छन् ।”

    लाग्यो, पहिले गरिबीले सिस्नु खायो अब युकेमा सिस्नु पाउन्डमा बिक्ने भयो । अहिले पनि यहाँको सिस्नु , निगुरो ,च्याउँ ब्रिटिशहरूले किन्छन रे । गोर्खालीहरू “बाई बर्थ दे आर सोल्जर” हो भन्छन् रे ब्रिटिशले । खानामा त्यस्तो अनि धनुकाँड, छेलो , घुनेत्रो बच्चामै यस्सै जान्दछन् नेपालीले र त जन्मदै लडाकु सैनिक हो नेपाली भनेका होलान् ।

    त्यो गौरव कहाँ पुग्यो हाम्रो भनेर म फतफताउँदै थिए । शेर्पाजी बोलिहाल्नुभयो “ब्रिटिश गोर्खामा नेपाली, ब्रुनाईको सुल्तानले किन धेरै पैसा दिन्छ नेपालीलाई, त्यो सबै बलभद्रहरूलाई सम्मान हैन त ? क्या कुरा गर्नु हुन्छ बा !”

    उनै बलभद्रको सम्मानमा नालापानी वा खलंगा अझै बन्दै रहेछ । विकास समितिका अध्यक्ष कर्णेल विक्रमसिंह थापा मगर नक्शा लिएर हिँडिरहनु भएको रहेछ । देखाउँदै हुनुहुन्थ्यो “यी ४० बिगा जमिन तार बार लगाउनु छ, अतिक्रमण हुन लागिसक्यो, फोर्टहरू, ढुङ्गाहरू सब मिलाउनु छ ।”

    पाँच पुस्तादेखि देहरादुन बस्दै आएका थापाका पूर्खा पश्चिम पहाडका हुन् । सन् १७८० मा रेल आयो देहरादुनमा त्यो सँगै रेलको बाटो बनाउन नेपाली आए । भूकम्प आयो सन् १८१० मा त्यसपछि नेपाली यता आए । लडाइँ चल्यो नेपाली यता आए ।

    समितिका सहसचिव कुल बहादुर कार्कीका पुर्खा गुल्मीका रहेछन् । र पासाङ नोर्वु शेर्पा त सिक्किमका भैहाले । उहाँहरू लगायत हामी सबै बसेर फोटो खिच्यौँ नालापानी स्मारकमा ।

    आफ्ना पूर्खा पनि त्यो युद्धमा लडेको बताउँदै अध्यक्ष थापा मगर भन्दैहुनुहुन्थ्यो “को लडे? के लडे ? कसरी लडे ? उहाँहरूको यादमा यो स्मारक बनाइयो, दुई दिनमा लिहाल्छु भनेर भन्ने अंग्रेजलाई माथ खुवाउँदै दुई महिना बढी लगाउने मेरो पूर्खाप्रति म सम्मान गर्दछु ।”

    नालापानी स्मारकमा बसेर कुरा गर्दा भावुक हुँदै कर्णेल थापा मगर भन्दै हुनुहुन्थ्यो “सवा दुई सय वर्ष अगाडि के थियो होला र न बाटो न केही, खाना पानी केही नभइकन लड्नु भनेको कस्तो हिम्मत होला । केले मोटिभेसन गरयो होला । सरेण्डर गर भने गरेनन्, लडेर मर्छु बरु भने मरे ।”

    नालापानीको लडाइँ इतिहासमा एक ठूलो घटना हो नेपालीको लागि । देशभक्ति के हो ? उनीहरूले सिकाए । यस्ता पूर्खाका सन्तानहरू हामी हरे ! आज देशभक्ति के भैरहेछ भन्ने मनमा लागिरहयो । त्यहाँ पुग्दा र त्यो इतिहास सुन्दा मेरा आँखा साँच्चै रसाए ।

    ब्रिटिशले जब के खाएर लडे भनेर भित्र किल्लामा पसेर हेर्दा भिजेको चामल खाएर लडिरहेका ! अनि एक महिला मरिरहेको ! उनको दूध भर्खरको बच्चाले चुसिरहेको ! अर्को बच्चा डाँको छाडेर रोइरहेको ! लासहरू धेरै दिनदेखि मरेकोले दुर्गन्ध भएर गन्हाइरहेको !

    लासहरू गन्हाउन थालेपछि बलभद्रले ल मर्न तैयार हौं आत्मसर्मण नगरौं, गोली ठोके ठोक्छ भनेर हस्ताक्षर गर्दा ७० जनाले हस्ताक्षर गरेको र नालापानी छाडेर अंग्रेजकै अगाडि नलापानी अजेय ठाउँ हो कसैले लिन सक्दैन हामी छाडेर जाँदैछौ भनेर बलभद्रसहित ७० जना अगाडि पुगेर द्वारे गाउँमा फेरि लडेको, अगाडि बढ्दै जाँदा जैतकमा फेरि लडेको, लन्डोर थापाले विलाप गरेपछि उनको किल्लामा बसेर लडेको, बलभद्र र उनका साथी लड्दै लड्दै गए र रणजीत सिंहको फौजमा पन्जाबमा मिसिएर लडे र जीवनकाल उतै बिताएको सुनेर म ह्वाँ ह्वाँ रुन मात्र सकिनँ ।

    नालापानी किल्लामा बलभद्र खलङ्गा विकास समितिका अध्यक्ष कर्णल विक्रम सिंह थापा मगर लगायत पदााधिकारी अनि हामी पछाडि सिमल ढकाल, म,सुरेन्द्र फुयाँल ,निकिता केसी र सिर्जना ढकाल ।

    सास फुलेर आयो । मुटु ढक्क भयो । शरीरभर काँडा उम्रिए । यस्तो बहादुर बलभद्रलाई सम्मान गर्नु पर्दछ भनेर नै ब्रिटिशले सम्मान गरेर सहस्त्रधारा स्मारक बनाएकोमा ब्रिटिशहरूलाई पनि मनमनै धन्यवाद दिए ।

    आजका राजनीतिज्ञका कारण आफूले राम्रो गर्दा गर्दै पनि आफैप्रति अपमान भएर छटपटाईरहेको मलाई हिजोको लडाइँले आफैप्रति सम्मान पाए झैँ लाग्यो । आजकल प्राय नेतालाई झ्याउँ नेता ! भन्ने म बलभद्रजस्ता नेतालाई वाउँ नेता! भन्न मन लाग्यो । बाहिर जाँदा ह्या ! नेपाली भन्नेहरूको बीचमा नालापानी जाँदा वाह ! नेपाली भन्ने सुन्दा आनन्दित भए ।

    मृत्यु जीवनको लागि हुन्छ र हुनुपर्दछ । वीरहरूको मृत्युले धेरैलाई जीवन दिन्छ । बलभद्रपछि पनि धेरै नेपाली मरे । बाँच्नेहरू भन्दा ती मरेर गएकाले हामीलाई अमर बनाए । हामी बाँचेका के गरिरहेका छौं ? भन्ने मर्मभेदी प्रश्न मनमा लिएर म रन्थनिरहेछु । नालापानी गएर आएपछि ।

    वर्षा अहिले पनि आइरहेछ । बाढी अहिले पनि चलिरहेछ । ऋषिकेश, हरिद्वारमा असारे बाढी आइरहेको थियो । साउनमा त झन् यो हाल भैगयो । अहिले त्यो बाहिरको वर्षाभन्दा बढी वर्षा मेरो मनमा आइरहेछ । लेख्न बस्दा पनि बिथोलिएको थिएँ । लेखिसकेपछि पनि बिथोलिएको छु । उत्तराखण्डमा नेपालीको उद्धार गरिरहेको बेला मेरो बिथोलिएको मन कसले उद्धार गर्ने भनेर चिन्तित छु ।

    बलभद्रजस्तै नेपाली नेता भए भनेर मन भित्रभित्रै पूर्वाग्राही भएर पिरोलिरहेको रहेछ । मनमा गडबड भैरहेछ । सम्झन सकेकै छैन ! लाखौ नेपाली जस्तै मैले गर्न सक्ने केही छैन । गर्नेले गरेनन् । देशको नाम भएन भनेर मन भतभति पोलिरहेछ ।

  • एक विक्षिप्त राष्ट्रसेवकको प्रश्न- आपराधिक गिरोहलाई चन्दा नदिनु कर्मचारीको गल्ती हो ?

    एक विक्षिप्त राष्ट्रसेवकको प्रश्न- आपराधिक गिरोहलाई चन्दा नदिनु कर्मचारीको गल्ती हो ?

    चितवनको खैरहनीस्थित नापी कार्यालयमा २०८२ साउन २७ गते भएको आपराधिक र पाशविक शैलीको घटनाबाट म व्यक्तिगतरूपमा पीडित भएको भए पनि यसले समग्र राष्ट्रसेवक कर्मचारीलाई त्रसित बनाएको छ । सरकारले खटाएको कामका सिलसिलामा देशका विभिन्न भागमा कार्यरत कर्मचारीका परिवारलाई चिन्तित बनाएको छ । समग्रमा भन्दा आज हीनताबोध र असुरक्षाको भावना छाएको छ ।

    ममाथि कार्यकक्षमै भएको दुर्व्यवहार र मोसो दलिएको समाचार राष्ट्रव्यापी भइसकेको छ । यसबारेमा मलाई केही कुरा भन्न मन लाग्यो कृपया पढिदिनुहोला ।

    आज म एकदम विक्षिप्त छु । घर परिवारको एक्लो छोरो भएकोले विदेश गएर उतै बस्ने रहर हुँदा हुँदै इन्जिनियरिङ पढाइ सकेर नेपालमै बसेँ । मलाई अवसर जताततै थिए तर, सरकारी सेवामा प्रवेश गरेँ,आफ्नो ठाउँबाट देश र परिवारको लागि केही गरौं भनेर ।

    हाल एक सरकारी अड्डाको प्रमुख छु । २४ वर्षको उमेरमा जागिर सुरू गरेको म हाल ३० वर्षमा छु । हालको दिसम्म मैले जानेर वा नियतवस कुनै पनि सेवाग्राहीलाई दु:ख दिने, काममा झुलाउने जस्ता अनैतिक कार्य गरेको छैन । जुन कुरा मेरो संस्कारमा कहिल्यै सिकिन र मलाई त्यस्तो गर्न सिकाइएन पनि ।

    मलाई मेरो परिवारसँग बस्नु नै ठूलो कुरा थियो कुनै दिन । तर, यस्ता गिरोहका दुर्व्यवहार र धम्कीका कारण आफ्नो जीवन नै जोखिममा राखेर जागिरमा बस्ने अवस्थामा म छैन । आज सबैथोक छोडेर विदेश जाउँ भन्ने अवस्थामा पुगेको छु । मैले कानूनी उपचार खोज्ने प्रयास जारी राखेको छु, मैले आफन्त र सबैबाट सहयोगको आशा पनि राखेको छु ।

    एक महिनाअघि म प्रमुख रहेको कार्यालयमा काम गरिरहेको बेला आफूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने केही व्यक्तिको समूह मेरो कार्यकक्षमा आएका थिए । उनीहरूले हामीहरू देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न र सुशासन कायम गर्न देशव्यापी अभियानमा छौं, हजुरबाट सहयोग गर्नु पर्‍यो भने । उनीहरूले मसँग सहयोग मागिएको पत्र समेत दिए । मैले हजुरहरूको अभियानमा मेरो पूर्ण सहयोग छ भनेँ । उनीहरूलाई मैले के सहयोग गर्न सक्छु भन्दा आर्थिक सहयोग गर्नुस् भने ।

    उनीहरूले म प्रमुख रहेको नापी कार्यालयका सम्पूर्ण कर्मचारीबाट सहयोग उठाएर दिनुस् भने । चन्दाजस्तो कुरा मनबाट जे जति सकिन्छ गर्ने हो, सबैजनाबाट जे जति संकलन हुन्छ स्वीकार गर्नुस् भनेको थिएँ मैले । तर, त्यो समूहले केही दिनपछि फोनमार्फत अनावश्यक दुःख र धम्की दिने काम गर्न थाल्यो । ५/६ लाख दिनुस् नत्र पार्टीले कारबाही गर्छ जस्तो धम्की दिइरहेका थिए ।

    आज (साउन २७) अचानक उक्त समूहका केही व्यक्ति सेवाग्राहीको रूपमा आफ्नो हुलिया छोपेर मेरो कार्यालयमा आएका रहेछन् । म काम गरिरहेको ठाउँमा अचानक छापामार र आपराधिक शैलीमा आएर ममाथि सांघातिक हमला गरे । मलाई कुटपिट गर्दै मेरो शरीरमा मोबिल छ्यापेर उनीहरू भागे । अहिले सोसल मिडियामा प्रविधिको प्रयोग गरी मेरो वर्षदिन पुरानो फोटोमा (जहाँ म मुस्कुराइ रहेको छु) फोटोसप गरेर विभिन्न मिडियामार्फत मिडियाबाजी गरिरहेको छ ।

    ममाथिको आरोप के हो ? कुनै आपराधिक र भ्रष्ट गिरोहलाई उनीहरूको कथित भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने नाममा कमाउ धन्दा चलाउन भ्रष्टहरूलाई चन्दा नदिनु नै मेरो गल्ती हो ? चन्दा भनेको स्वेच्छिक हुन्छ, न्यून वेतनधारी कर्मचारीले भ्रष्ट गिरोहलाई ५ लाख, ६ लाखसम्म चन्दा कसरी दिन सक्छ ?

    अहिले सोसल मिडियामा प्रविधिको प्रयोग गरी मेरो वर्षदिन पुरानो फोटोमा (जहाँ म मुस्कुराइ रहेको छु) फोटोसप गरेर विभिन्न मिडियामार्फत मिडियाबाजी गरिरहेको छ ।

    भ्रष्टहरूलाई चन्दा नदिनु नै मेरो अपराध हो भने यो अपराध मबाट सधैँ भइ नै रहनेछ । आज यो प्रश्नले मलाई एकदम विक्षिप्त बनाएको छ । कहा भनूँ ? कसलाई भनूँ ? सरकारी कर्मचारी भनेपछि वास्तविकता नबुझी भिडले कर्मचारीलाई नै गलत भन्छ, अर्काको रगत पसिना लुटेर चन्दा आतंक मच्चाउनेहरूको बारे समाज किन बोल्दैन ?

    मेरो अभिभावक भनेको सरकार हो । मैले पदको दुरूपयोग गरेर कुनै गलत काम गरेको छु भने ममाथि छानबिन गर्ने राज्यका सक्षम निकाय छन् । मैले गल्ती गरेको भए ममाथि कारबाही होस् । नत्र एउटा कर्मचारीले चन्दा दिएर यो समाजका अपराधी पाल्न कसरी सक्छ ? यो मेरो प्रश्नको जवाफ कस्ले दिन्छ ?

    मलाई मेरो परिवारसँग बस्नु नै ठूलो कुरा थियो कुनै दिन । तर, यस्ता गिरोहका दुर्व्यवहार र धम्कीका कारण आफ्नो जीवन नै जोखिममा राखेर जागिरमा बस्ने अवस्थामा म छैन । आज सबैथोक छोडेर विदेश जाउँ भन्ने अवस्थामा पुगेको छु । मैले कानूनी उपचार खोज्ने प्रयास जारी राखेको छु, मैले आफन्त र सबैबाट सहयोगको आशा पनि राखेको छु । म निःशब्द छु, गल्ती नगर्दा समेत मेरो यो बेइज्जति र ममाथिको दुर्व्यवहारको भरपाई कसरी हुन्छ ? जवाफ समाजले पनि खोजोस्, सभ्य समाजमा यो हदको पशुवत् व्यवहार स्वीकार्न अभिशप्त नबनौं ।

    ( नापी कार्यालय खैरहनी चितवनका प्रमुख शालिकराम लम्सालमाथि नेकपा बहुमतका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए)

  • तै जेहोस्, गाउँबाट यी हराए

    तै जेहोस्, गाउँबाट यी हराए

    हजुरआमाले बिहान उठ्ने बित्तिकै भन्नुहुन्थ्यो, ‘आज कताबाट नराम्रो खबर आउने हो कोनि, रात भरि हुच्चिल कराको कराई थियो ।’ त्यस बेला त हुच्चिल देखिएन, राती अनौठो आवाज चाहिँ सुनिन्थ्यो । हजुरआमाले भने जस्तै कहिले कोही बितेको खबर पनि आउँथ्यो, कहिले त्यसै टर्थ्यो । हुच्चिल कराउनु र कसैको मृत्यु हुनु सायद संयोग मात्र हुने थियो होला । तर त्यो अनिष्टको संकेत दिने हुच्चिल कराउँदैनन्, दहिचोकमा । हुच्चिल नकराउँदैमा अनिष्ट नहुने भन्ने कुरो पनि भएन । तै जेहोस्, गाउँबाट हुच्चिल हरायो ।

    अनिष्टको खबर ल्याउने अर्को पनि जन्तु सुनिन्थ्यो, हाप्सिलो । ‘हाप्–हाप्’ गर्दै कराउने भएकाले होला, त्यो आवाज निकाल्ने जन्तुलाई हाप्सिलो भन्थे ठुला मान्छे । ‘आज राति हाप्सिलो कराको सुन्यौँ ? लौ कताबाट जुठाको खबर आउने भयो ।’ बिहान उठ्ने बित्तिकै तल्लाघर–माथ्लाघरको भयभीत संवाद हुन्थ्यो । अचेल जुठो–सुतकको खबर ल्याउने माध्यम फेरिए, हात हातका मोबाइल काफी भए । तै जेहोस्, गाउँबाट हाप्सिलो हरायो ।

    ४ कक्षा पढ्दै गरेको बेला हो, विष्णुकट्टा (सिंहदेवी प्रावि) बाट फर्कँदै थियौँ । खोमनाथ बाको घर उत्तर, कमलबाको घर पछाडि सहपाठी विष्णुहरूको गहुँ बारी थियो । दाना पसेको गहुँको बाला चुँडेर पाइन्टको तल्लोभाग बाट छिराउँथ्यौ अनि जति हिँड्यो त्यो त्यति नै माथि सर्थ्यो, त्यसको चिलाई र सक्सक्मा रमाउँथ्यौ । गहुँबारीमा बिचमा पुग्दा नाकै बटार्ने नमिठो सिनो गन्हायो । जति पाइला चाल्यो, उति नै पिरो राग । आलिका फेदमा पुग्दा देखियो, बिरालो जस्तै तर सानो आकारको कुकुर जस्तो जन्तु कहिले हो कहिले मरेको रहेछ । सहपाठी नै हेमसागरले भन्यो, ‘बन ढाडेको पो मरेको रहेछ, अस्ति अस्ति कुखुरा चोरेर खाने यही बन ढाडे होला ।’ अचेल गाउँमा सबै थोक हरायो । न खेतमा गहुँ बारी, न खोरमा कुखुरा, न कुखुरा चोर्ने बन ढाडे । तै जेहोस्, गाउँबाट बन ढाडे हरायो ।

    साँझमा छुर र चट्टी खेल्दै गर्दा झमक्कै हुन्थ्यो । पश्चिम रतुवा बगर तिरबाट आवाज आउँथ्यो ‘हु’ गरेर । क्रमशः त्यो फैलिँदै जान्थ्यो गेउरीया खोला तरेर किस्नी तर्फ । अनि उताबाट पनि आउँथ्यो त्यस्तै आवाज । ‘लौ शुरु भयो, स्यालको हुँइया’ भन्ने जान्ने सुन्ने । साँझमा बारी–पारी गर्दा फुत्तै कुकुर जस्तो जन्तु हामीलाई उछिन्थ्यो, कहिले बाटो काटेर झाडीमा हामफाल्थ्यो । अझै पनि छ रतुवा खोला । भ्याएको बेला बग्दैछन् गेउरीया र किस्ने खोला पनि । साँझ उसैगर पर्दैछ, दहिचोकमा । छुर र छट्टी खेल्ने फुर्सद चाहिँ छैन अचेलका बालबालिकालाई । कैदी बनाएको छ प्रविधिले । तै जेहोस्, गाउँबाट छुर, चट्टी र चुङ्गी मात्रै होइन, स्याल पनि हरायो ।

    बालवयकै कुरा हो, सहपाठी लीलाको घर अलि गहिरोमा थियो । सामुन्नेमा बालुवा डाँडो थियो । उसका घरमा म पुग्नु र मेरा घरमा उ आउनु बेहिसाब थियो । उसको घर नजिकै पुग्दा बालुवाको डाँडोमा परेका दुला देखाउँदै भन्थ्यो, ‘हेर, यो ख्याँक्रीको दुला हो, रात भरि खोतलेछन् ।’ बनढाडेसँग मात्रै होइन, ख्याँक्रीसँग पनि कुखुरा जोगाउन उस्तै गाह्रो भन्थे । खुँगीमा राखेका चल्ला बिहान हेर्दा आधा मात्रै देखे पछि आमाहरु भन्थे, ‘आज पनि चल्ला भ्याउसाले लगेछ ।’ अचेल दहिचोकले खुँगीमा कुखुरा पाल्दैन । कसैका चोरिँदैनन् पनि । तै जेहोस्, गाउँबाट ख्याँक्र र भ्याउसो हरायो ।

    बर्खाका बेला माछा मार्ने खुब चलन थियो गाउँमा । बल्छी, लोथा थापेर होस् कि जाल थापेर । म भन्दा पनि अरू दौंतरीहरु बल्छी–लोथामा रमाउने । धिमाल दिदी–काकीहरू जाल थाप्ने । पैयाँ, हिले, टुकुना, गैँची, सिंगी, मुङ्ग्री, पोथी अनेक रूप र रंगमा माछा पर्थे । खोला र कुलाका भित्तामा दुला भित्र हात हालेर तननन परेको बाम माछो तान्दा हेर्नेको धुइरो हुन्थ्यो । अचेल गाउँका खोला–कुला प्राणहीन भए । माछा मात्र होइन, भ्यागुता र गंगटा समेत पाल्न छोड्यो गेउरीया खोलो । उही धित मार्न र जिब्राको बिख मार्न खाइने माछाको पालन क्षेत्र पनि फेरियो । बल्छी, लोथा खेल्ने र जाल थाप्ने चलन हरायो । धुर र आलिमा थाप्न बनाइएका ढोक्साहरु मक्किएर गए । तै जेहोस्, गाउँबाट सिंगी, मुङ्ग्रीसँगै बाम पनि हरायो ।

    साँझ पर्नु अघि घर हेरिन्न थियो । झाडीबाट झ्याउँकिरीको अर्लामले दिन ढल्किएको संकेत गथ्यो । ‘लु झ्याउँकिरी बास्न थाले, बस्तु थन्क्याउने बेला भयो’ भन्थे घरबुढा–घर बुढीहरू । साँझ परे पछि घरै भित्र नाच्न आई पुग्थे जुनकिरी । पाहुना बनेर आएका ती निर्दोष जुनकिरी भुराभुरीको झ्यालखानामा पर्थे । समाएर सिसाको बोतलमा हालेर उनीहरूलाई कैदी बनाउँदा हामी भुराको अनुहार जुनकिरीको पुच्छर भन्दा बढी चम्किलो हुन्थ्यो । अचेल गाउँमा जुनकिरी भन्दा चम्किला बिजुलीका चिम पुगेका छन् । तर जुनकिरीको मधुरो पुच्छर बल्दा पनि चम्किने अनुहारमा तेजस्वी विद्युतका चिमले पनि आभा भर्न सकेको छैन । झ्याउँकिरी भन्दा बेस्सरी कराउने अर्लाम हात हातमा छ । तर उसले झ्याउँकिरीको धिमा आवाजलाई खिचेर उत्तिसारो सजग पनि बनाउन सकेको छैन । तै जेहोस्, गाउँबाट जुनकिरी र झ्याउँकिरी पनि हराए ।

    गोहाबारी स्कुल (वाणी मावि) खेतै खेत गइन्थ्यो । अलिक मास्तिर नेपालका कित्तामा पुगे पछि हिउँदमा, मकैबारीका बिचमा लहरामा फलेको हुन्थ्यो घुर्मी । स्कुल जाँदा भन्दा आउँदा भोकाएका बेला भेटे पाकेको नभेटे कट्मिरो भए पनि अमिलो अमिलो घुर्मी खाँदा कम्ता आनन्द आउँदैन थियो । अलिक ठुलो आकारको, करिब सुन्तला जत्रो त्यही स्वादको फल पनि हुन्थ्यो । त्यसलाई कुर्मी भन्थ्यौँ । घुर्मी र कुर्मीले भोक मेटेर घर पुग्दा मोही र बासीभात खाने हतारो पनि नहुने । तर अचेल मोही र बासीभातले टर्ने भोक पनि हरायो, खेतै खेत स्कुल जाने बाटो पनि हरायो । तै जेहोस्, गाउँबाट घुर्मी र कुर्मी पनि हरायो ।

    किन हराए यी बोट, बुट्यान र जन्तु–जनावर ? हराएकाहरू मध्ये केही मात्र झुल्किए अहिले मेरो सम्झनामा । गाउँको खेती योग्य जमिनमा बालुवाको बिस्कुन लाग्यो, प्लटिङ भयो । खेतीमा मेशिन–औजार र विषादीमा बाढी पस्यो, घुर्मी–कुर्मी–पिचिङ्गेडी नासिए । खोलो बग्नै बिर्सियो, माछा मासिए । झाडी फाँडिए–कुला भत्काइए जुनकिरी र झ्याउँकिरी बसाइसरे । दुला–गौँडामा मानिसको अतिक्रमण भयो, ख्याँक्र–स्याल–बन ढाडेको नस्लमै बन्ध्याकरण भयो । अनि अरू पनि धेरै चिज मासिए–नासिए । कतिको त, गुगलमा खोज्दा समेत फोटो सम्म भेटिएन । अब के गरी चिनाउने यस्ता पनि वनस्पति र जीवजन्तु थिए भनेर हाम्रा सन्तानलाई ? हुन त न चिनाउँदा पनि त केनै नापिएला र होइन ?

    अनि तपाईँको तिर चाहिँ के के हराए ? के के सम्झनु भएको छ नि ?

  • नर्वेमा नेपाली उज्यालो

    नर्वेमा नेपाली उज्यालो

    ‘दाइ, म सानो हुँदा ऊ त्यो भित्ताको बस्तीमा आमासँग केही महिना बसेको छु नि !’

    धरानमा भेटिँदा निराजन बस्तीतिर देखाउँदै ती किशोरले यसो भनेको पनि २८ वर्ष भइसकेछ ।

    यति लामो समयको अन्तरालपछि त्यसबेलाको उनै किशोर प्रकाश आङ्देम्बेलाई हालै सोधेँ, ‘भाइ, तपाईंहरू त्यो सुकुमबासी बस्तीमा किन थोरै समय मात्रै बस्नुभएको ?’
    ‘सुकुम्बासी बस्ती, त्यसमाथि हामी आमाछोरा त डेरा पो गरेर बस्थ्यौँ त दाइ । त्योबेला एउटा छाप्रो हाल्नेसम्मको हैसियत थिएन नि, हाम्रो’, प्रकाशको स्पष्टीकरणले मर्ममै स्पर्श गर्‍यो ।

    प्रकाशकी जननी साँच्चिकै बघिनी रहिछन् । त्यसबेला दमकबाट साहित्यिक कार्यक्रम भ्याउन धरान आएका बेला पहिलोपटक प्रकाशको अनुहार हेर्दा नै उनी डमरुजस्ता लाग्थे । उनमा लघुताभाषको कुनै छेकछन्द थिए ।

    दमकमा रहेर पूर्वी नेपालमा सिर्जनाका धुनले धुम मच्चाइरहेको बेला केवल दाँतको होइन, आँतैको हाँसोबाट उनको मुहारमा जहिल्यै उज्यालो आभा पोतिएको देखिन्थ्यो ।

    ती सङ्घर्षका दिन

    डेराको बास थियो, पेशा पूर्णकालीन लेखक अनि शून्य आम्दानी, खल्ती जहिल्यै खालि । त्यसमाथि उनैको डेरामा श्रष्टाको ठूलो जमघट चल्थ्यो, ‘जोगीको घरमा सन्यासी पाहुना’ को तालजस्तो !

    दमकमा बस्दा पूर्वमा नाम चलेकै कविको काठको घरमा डेरा थियो, उनको । महिना मर्नासाथ घरधनी कवि भाडाका लागि ढोका ढक्ढक्याउँथे, टक…टक…टक…। खाली खल्तीवाल पूर्णकालीन लेखक प्रकाशले यो वा त्यो बाहना झिकेर एक दुई महिना त घरधनीलाई छक्याउँथे, अर्जेन्टिनी मेसीले बल छक्याएझैँ । तर, बाहना सकिएपछि उनी साहित्यिक यात्रामा निस्कँदारहेछन्, कहिले पाँचथर, कहिले इलाम अनि कहिले झापा । कतै प्रमुख अतिथि त कतै विशेष अतिथि बनेर । गजल र रुवाई वाचनले तालीको गड्गडाहट पाउँदा खालि खल्तीको पीडा केही क्षणलाई भए पनि बिर्सन ठूलो सहयोग मिल्दोरहेछ ।

    एक दिन अर्का पूर्णकालीन कवि चन्द्रवीर तुम्बापोसँग मेरो कुरा हुँदै थियो, कुराकानीको सेरोफेरोमा आइपुगे, उनै प्रकाश आङ्देम्बे । प्रकाश कतिसम्म गर्दारहेछन् भने, राति अध्यारोमा एउटा हातमा खुकुरी र अर्को हातमा टर्चलाइट लिएर मिल्ने साथीलाई साथमा लिई डेराबाट निस्कँदारहेछन् । अनि, पानी बग्ने वा जम्ने होलीतिर टर्च बालेर खुकुरीले प्वाक्क प्रहार गर्दा रहेछन् ।

    यसरी राति हुँदो माछाको शिकार गरेर पनि भोजन व्यवस्थापन गरेको बिर्सिनसक्नुका सम्झना प्रकाशका लागि मूल्यमा दाँज्न नमिल्ने सम्पतिका रूपमा संग्रहित छन् । यस्ता अनुभवको संगालोले प्रकाशलाई आगतको यात्रामा फड्को मार्ने ठूलो ऊर्जाको काम गरिरहेको छ ।

    वास्तवमा गरिब भए पनि धीरताले, कुरूप भए पनि विनयशीलताले, बासी खाना भए पनि तताएर, अनि पुरानै लुगा भए पनि धोएर जीवनलाई सुशोभित बनाउन सकिन्छ । आँधीमय संघर्षसँगको सामनामा प्रकाशले यही नियमलाई आत्मसात गरेको देखिन्छ ।

    नाडीमा बाँधिएको महंगो घडीले समयलाई आफ्नो खटनमा राख्नै सक्दैन । समय बलवान छ । त्यही बलवान समय प्रकाशको पक्षपाति भएर आयो । त्यो समय थियो, पूर्वमा गजल लेख्ने बहारको समय । पूर्वका उमेरदार युवापुस्ता गजल भनेपछि हुरुक्क भएर निस्कँदा गजललाई प्रेमिलो र गेयात्मक बनाउन रदिफ र काफिया सिकाउने होनहार गुरु भएर निस्के, प्रकाश ।

    कतिसम्म भने झापाका अग्रज साहित्यकार केशव आचार्य (पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सहोदर जेठान) ले पनि झण्डै नाति पुस्ताका प्रकाशलाई गुरु थापे । प्रकाशको जन्मदिनमा शुभकामना दिँदै आचार्यले यसबारे हालै फेसबुकको भित्तामा सम्झनाका शब्द टाँसेका छन् । वाह, गजल गुरु प्रकाश आङ्देम्बे !

    विस्तारै प्रकाशको डेरामा सहकाल छाउन थाल्यो । उनको चेलावेटा-चेलीवेटी तथा शुभचिन्तकले गुरु दक्षिणाको रूपमा चामल, दाल र आलुका बोरा पठाउन थाले । नुन, भुटुन र मसलाका सामान्य जो हो, प्रकाश आफैँले गरिहाल्थे । उनका डेरामा पहिलेदेखि नै पाहुनाको अटुट ताँती लागेकै हुन्थ्यो । त्यसबेलाका उनको डेराका नियमित पाहुनामध्ये अहिले उपेन्द्र सुब्बा चलचित्रकर्ममा छन्, चर्चित अनि उस्तै व्यस्त । अर्का नियमित पाहुना राजन मुकारुङ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ छन् ।

    त्यो बेला शिविरमा रहेका भूटानी शरणार्थीसँग स्थानीय युवाको झडप भइरहन्थ्यो; कुनै सामान्य, कुनै अचाक्ली अप्रिय । यी दुई पक्षबीच शान्ति स्थापनामा अगुवाइ गरेका प्रकाशले शिविरभित्र साहित्यिक आयाम पनि ल्याए । शरणार्थीलाई सिर्जनामा प्रेरित गरे । आफू पनि शरणार्थीको मर्म र व्यथाका गहिराई नाप्दै कलम चलाउन थाले । उनी शरणार्थीको मनभित्र पक्का र सच्चा साथी बनेर पसे । परिणाममा ‘देश खोज्दै जाँदा’ चलचित्र नै निर्माण हुन पुग्यो ।

    जता प्रकाश, त्यतै उज्यालो

    आफ्नो देश भुटानबाट लखेटिएर आफ्ना अभिभावकसँगै देशविहीन भएकी एक जना योङहाङ्मा लिम्बूनी सानु सुब्बासँग उनको आँखा जुध्यो । आँखा हुँदै उनको मुटुतिर पुगेर प्रकाश अडिए । दुवै घरजम गर्ने निर्णयमा पुगे । दुवैसँग उस्तै पीडा थियो, प्रकाश आफ्नै घरमा परदेशीजस्तै बास खोज्दै हिँडिरहेका । दुवैले एकअर्काको मुटुमा घर बसाए । मन मिलेपछि त सबथोक पो मिल्दोरहेछ । उनीहरूले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी त खुसी हो । एकअर्काको प्राप्तीमा दुवै दिलखुस भए ।

    तेस्रो देश पुनर्वासको क्रममा सानु नर्वे पुगिन् । पारिवारिक भिसामा प्रकाशको पनि नर्वे-नेपाल आऊजाऊ चलिरहेको थियो । सन् २०२१ मे महिनादेखि उनले पनि त्यतैतिर अलि लामै बसाईको तारतम्य मिलाए । सामान्यतय विदेश गएकामध्ये लगानीको क्षमता भएकोले व्यापार गर्छन्, पढाइका लागि जानेले काम गर्दै पढ्छन् भने कामका लागि जानेको नियतिचाहिँ जुवामा जोतारोले बाँधिएर नारिएको गोरुजस्तै हुन्छ ।

    प्रकाशले पनि नर्वे पुगेर काममा जोतिनुपर्ने नै अवस्था थियो । तर, उनमा त्यहाँको समाज र संस्कृति बुझ्ने चाहना भयो । समाज र संस्कृति बुझ्नका लागि भाषा बुझ्नुपर्ने भयो । त्यसैले उनले नर्वेजियन भाषाको औपचारिक ‘कखरा’ शुरू गरे ।

    ‘रवि नपुगेको ठाउँमा कवि पुग्छ’ भन्ने उक्तिलाई यथार्थमा परिणत गरिरहेछन्, प्रकाश यतिखेर । नर्वेजियन भाषामै ५० वटा कविता लेखिसिध्याएका उनी अहिले त्यसको सङ्ग्रह प्रकाशको तयारीमा छन् ।

    त्यो सभ्य देश हो; जसले कला, साहित्य र संस्कृतिको ठूलो इज्जत गर्छ । त्यही सभ्य देशमा पुगेर नेपाल चिनाउने अभियानमा लागेका उनी आफ्नो फोटोग्राफीको कला देखाएर ‘आर्टिष्ट अफ् दी मन्थ’ घोषित भइसकेका छन् ।

    उनी स्वभावैले चुपचाप बस्ने खालका परेनन् । नर्वेजियन चलचित्रकर्मी मुना हिल्टनसँग मिलेर ‘माङफुली माङफुल’ (रोजगारी जीवनको विविधता) नामको बृत्तचित्र बनाउन भ्याइसकेका छन् । शरणार्थी समस्यासम्बन्धी बृत्तचित्र निर्माण गर्ने जिम्मेवारी पनि उनले पाइसकेका छन् । १० भागको उक्त बृत्तचित्रको एक भाग हालै निर्माण भइसकेको छ । उनी अहिले भूटानी शरणार्थीमध्ये तेस्रो देशमा पुगेर पनि न्याय नपाइरहेकाहरूको अधिकारवादी अभियानसँग पनि जोडिएका छन् ।

    अचम्म चाहिँ के छ भने, छोटै अवधिमा उनले यति विश्वास जिते कि उनी नर्वेजियन प्रतिनिधिकै रूपमा कहिले रोमानियामा चलचित्रसम्बन्धी तालिम दिन पुग्छन् भने कहिले नर्वेकै नेतृत्व गरेर इटालीमा आयोजित चलचित्रसम्बन्धी कार्यशालामा भाग लिन पुग्छन् ।

    पोहर साल उनीसम्बद्ध शरणार्थी तथा आप्रवासीसम्बन्धी संस्था ‘लोपे’ का लागि उनीलगायत सहकर्मी पेरी इल्का टिकम्यान, एलेना मन्डिका र एमी अन्वेन त्यहाँका प्रतिष्ठित पुरस्कार ‘मङ्फोल्ड पुरस्कार’ २०२४ बाट पुरस्कृत भए । यो संस्थालाई नर्वेको समावेशीकरण तथा विविधता निर्देशनालय (आईएमडीआई) का वरिष्ठ सल्लाहकार क्विन ससिना वाकु जरामोले पुरस्कृत गरेकी थिइन् ।

    एउटा नेपालीको छोरोले नर्वेजस्तो देशमा पुगेर छोटै अवधिमा यतिसम्म गरिभ्याउनु चानचुने कुरा हो र ?

    हेनरिक इब्सनको घरछेउमा

    नेपालमै रहँदा आख्यान, नाटक कविता, रुवाइ, गजल आदिमा धुम मच्चाउँदै कृतिसमेत प्रकाशन गर्न भ्याइसकेका प्रकाशले सिर्जनाका नयाँ आयाममा पछिल्लो समय चलचित्र र फोटोग्राफीको मियोमाथि अर्जुनदृष्टि लगाएका छन् ।

    नेपालमै रहँदा नाट्यक्षेत्र पनि प्रकाशका साधनाको विधा थियो । पहिले गुरुकूलमा हेरेको नाटक ‘पुतलीको घर’ को प्रभावले प्रकाशलाई भुतुक्क पारेकै थियो । छोरीको विद्रोह चेतना यस नाटकको मूल सन्देश हो ।

    नर्वेजियन नाटककार हेनरिक इब्सनको विश्वप्रसिद्ध यो नाटकको प्रभावले भुतुक्क भएका प्रकाश सन् २०१६ मा भिजिट भिसामा नर्वेकै सियान सहर पुगे, जहाँ उनको मुटुको टुक्रा सानु सुब्बाले तेस्रो देश पुनर्वासको क्रममा बसोबास शुरु गरेकी थिइन् ।

    त्यहाँ पुग्दा उनी ठूलै खुसीले उफ्रिए । पारिवारिक पुनर्मिलनमा युरोप पुग्न पाएको खुसीभन्दा पनि ठूलो खुसीको कारण थियो, त्यहीँ सहरमा उनै विश्वप्रशिद्ध नाटककार हेनरिक इब्सन जन्मेका थिए । उनको घर अहिले पनि संरक्षण गरेर राखिएको छ । समाजमुखी र यथार्थवादी नाटककार इब्सनको घरछेउ हुँदै हिँड्डुल गरिरहँदा उनी नतमस्तक हुन्छन् । उनको घर लामो छ, इब्सनले आफ्नो घरलाई पनि नाटकघर नै बनाएका रहेछन् ।

    इब्सनको अर्को खण्डकाब्य छ, ‘टार्ज भिगेन’, नेपालमा देवकोटाको ’मुनामदन’ जस्तै लोकप्रिय । यो खण्डकाव्यमा सन् १८०७-१८१४ को नेपोलियन युद्धकालीन कथावस्तु समेटिएको छ, जुनबेला नर्वेमा बेलायती नाकाबन्दीका कारण ठूलो भोकमरी फैलिएको थियो ।

    खण्डकाव्यका नायक टार्ज भिगेन एक साहसी नाविक हुन् । उनले ज्यानको बाजी लगाएर समुद्री बाटो हुँदै डेनमार्क पुगी परिवारको भोक शान्त बनाउन अन्न ल्याउने योजना बनाउँछ । अन्न लिएर आफ्नो सानो डुंगामा फर्कंदै गर्दा बेलायती युद्धपोतले समाउँछ । उनलाई युद्धबन्दी बनाएर युद्धको अन्त्यसम्म पाँच वर्ष राखिन्छ । युद्ध सकिएर जब उनी घर फर्किन्छन्, उनकी पत्नी र छोरी भोक र रोगले मरिसकेका हुन्छन् ।

    वृद्धवस्था र एक्लो टार्ज भिगेन एक दिन समुद्रमा आफ्नो सानो डुंगा खियाइरहेको बेला एउटा बिलासी याट समुद्री आँधीमा फस्छ । टार्जले याटका सबै यात्रुको सकुशल उद्धार गर्छ । याटको मालिक त उनलाई अनाहकमा पाँच वर्ष बन्दी बनाउने बेलायती कप्तान पो हुन्छ, जसका कारण उनका पत्नी र छोरी भोकभोकै मर्नु परेको थियो ।

    टार्जमा पुरानो कुरा सम्झेर बदलाभाव आउँछ । कप्तानको पत्नी र सानी छोरी पनि डुब्न लागेका हुन्छन्, त्यतिखेर उनले आफ्ना दिवंगत पत्नी र छोरीलाई सम्झन्छ । त्यसपछि उनमा बदलाभाव हराउँछ र सबैको ज्यान बचाउँछ ।

    नर्वे पुगेपछि एरिक नामका लेखकसँग प्रकाशको परिचय साटासाट भयो । उनले प्रकाश पनि लेखक हुन् भन्ने थाहा पाएपछि ठूलो इज्जत दिए । अनि, उनलाई खण्डकाव्यको हरफ हरफ वाचन गर्दै ‘टार्ज भिगेन’ मा वर्णित लोकेसनको सप्रसंग व्याख्यासहित ग्रीम्सतातको समुद्रीकिनार र टापु घुमाए । सन् १८६२ मा प्रकाशित उक्त खण्डकाव्यका रचनागर्भसम्मै पसेर त्यसको अन्तर्वस्तु नियाल्न पाएको त्यो क्षणले प्रकाशलाई उपल्लोकोटीकै आनन्द दिलायो । उनले एरिकसँग सिर्जनात्मक आनन्दमयी तीन रात बिताए ।

    आहा, सिर्जना र स्रष्टाको सम्बन्ध कति न्यानो, कति आत्मिय ! प्रकाश आङ्देम्बे जहाँ पुग्छन्, त्यहीँ छरिन्छ उज्यालो ।

    इतिहासको त्यो विरासत

    एउटा सानो थुम्कोको रूपमा दक्षिणतर्फ बाँझगराबाट जुरुक्क उठेर उत्तरतिर महाभारत पर्वत श्रृङ्खलालाई भेट्न दौडिए पनि छेवैमा पुगेर पनि किन हो विजयपुर डाँडा टक्क रोकिएको छ । यहाँ १६ औँ शताब्दिमा राजा विजयनारायण रायले मोरङको बाराताप्पाबाट आफ्नो राजधानी सारेपछि यो थुम्कोको नाम विजयपुर कहलायो ।

    यसको उत्तरी डीलमा सेनकालीन दरबारको भग्नावशेष छ । त्यहीँ दरबारमा बसेर गोरखालीसँग वि.सं. १८३१ साउनमा सम्झौता गर्ने लिम्बू सुब्बा हुन्, सुन राय, कुम राय र जंग राय । विजयपुरकै दक्षिणतिर डीलमा छ, पिण्डेश्वर मन्दिर । पिण्डेश्वर डाँडामुनिको भित्तामा रहेको छ, निराजन वस्ती ।

    एउटा गजबको संयोग, त्यहीँ बस्तीमा भूमिहीनले हालेको छाप्रोमा आफ्नी आमासँग कुनै बेला डेरा गरेर बस्ने प्रकाश आङ्देम्बे विजयपुरकै सेनकालीन दरबारमा रहेर पृथ्वीनारायण शाहका भारदार अभिमानसिंह बस्न्यात, पारथ भण्डारी तथा बलि बानियाँसँग सम्झौता गर्ने लिम्बू सुब्बा कुम रायका सन्तति हुन् ।

    विविध विडम्बनाले कुनै बेला आफ्नी आमाले अनेकन दुःखका भुक्तमान खेपेर हुर्काइएका प्रकाश दुःखसँग पौठेजोरी खेल्दा पनि त्यतिकै हाँस्न सकेका होइनन् । किनकि उनीसँग छ, इतिहासको गौरवमय विरासत ।

    अहिले उनी छ महिना रात र छ महिना दिन हुने देश नर्वेमा छन्, जहाँ उनी नेपाली उज्यालो छरिरहेका छन् ।

  • ‘क्षितिज, आमा र धरती’ : आमाकाे संघर्ष र प्रेरणाकाे कथा

    ‘क्षितिज, आमा र धरती’ : आमाकाे संघर्ष र प्रेरणाकाे कथा

    काठमाडौं मोडल कलेजमा विमोचित हुने सरस्वती ज्ञवालीद्वारा लिखित तेस्रो पुस्तक ‘क्षितिज, आमा र धरती’ का बारेमा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको फेसबुक भित्तामा देखेँ। शुक्रबार कार्यालयबाट ढिलो घर फर्केकाले साँझ एकछिन सामाजिक सञ्जाल चलाउँदा उहाँको पोष्टलाई मोबाइलमा सेभ गरेँ।

    श्रीमती शुक्रबार कार्यालयको विशेष कामले उपत्यका बाहिर भएकाले बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी मेरै थियो। बालबालिकालाई सँगै लिएर पुस्तक विमोचन कार्यक्रममा जाने निधो गरेँ। मैले लेखिका म्याडमको पहिलो कृति ‘लालटिनको उज्यालो’ पनि पढेको छु र उहाँको लेखनमा कुनै कृत्रिमता नहुने भएकाले उहाँ मलाई मनपर्ने लेखिका हुनुहुन्छ।

    उहाँ आफैँमा हामी सबैका लागि एक आदर्श नारी पनि हो। बालबालिकालाई लिएर समयमै कार्यक्रमस्थल पुगेँ, तर कार्यक्रम सुरु हुन केही ढिला भयो। मैले कार्यक्रमस्थल पुग्नासाथ एक प्रति पुस्तक खरिद गरिहालेँ, फेरि पछि बालबालिकाले दुख दिएर बीचमै हिँड्नुपर्यो भनेर। हुन पनि त्यस्तै भयो। कार्यक्रम सुरु हुनै लाग्दा मेरो छ वर्षे छोरोको धैर्यता टुट्यो। उसले “बाबा, घर जाने” भन्न थाल्यो। अब मलाई फुर्सद भएन, किनभने बालबालिकाको जिद्दीअगाडि बाबुआमा निरीह हुनु सिवाय केही हुँदैन। सोचेँ: किताब खरिद गरेकै छु।

    घर गएर आजै किताब पढेर सक्नुपर्छ। विमोचन कार्यक्रम बीचमै छोडेर हिँड्नुपर्यो। कार्यक्रममा धेरै परिचित अनुहारहरूसँग साक्षात्कार गर्ने र नयाँ अनुहारहरूसँग चिनजान गर्ने अवसर पनि प्राप्त भएको थियो। लेखिकाको लोकप्रियताका कारण पाठकहरूको राम्रो उपस्थिति थियो। हल खचाखच भरिएको थियो, र बाहिर पनि ठूलो भीड थियो।

    घर फर्केपछि मेरो मनले कतिखेर किताब पल्टाउन सुरु गरौँ, भनी कौतुहलता जगाएको थियो। किताब पढ्न सुरु गर्दा सशक्त र पेसेवर लेखकको रूपमा अब्बल लेखन शैलीले आकर्षित गर्यो। किताब नसकी, रहन मनले मानेन। एक बसाइमै किताब पढेर सकेँ, अर्थात् सोही दिन राति। केही समयअघि प्रथम महिला राधिका शाक्यद्वारा लिखित दोस्रो पुस्तक ‘आत्मकथा करुणा’ पढेर समीक्षा लेखेको थिएँ। यो पुस्तकले पनि मलाई केही न केही लेख्न बाध्य बनायो। मलाई उहाँको लेखनशैली एकदमै उत्कृष्ट लाग्यो।

    मुलुकको राजनीतिक परिवर्तनका लागि उहाँले एक छोरीको सपाङ्गता खोसिनु पर्नुपर्यो, त्यो पीडाको गहिराइ हामीले अनुमान मात्र गर्न सक्छौँ, तर उहाँ हरेक पल त्यसको साक्षी हुनुहुन्छ। यो पुस्तक नै क्षितिज छोरीको जन्मदेखि आजसम्मका जीवनका उकाली–ओराली र त्यसका लागि लेखिकाको सङ्घर्षको कथा हो, वास्तविकताको चित्रण हो ।

    पुस्तकमा कुनै काल्पनिक कुरा छैन। देशको राजनीतिक परिवर्तनका लागि लागेका राजनीतिक सिपाहीको श्रीमतीको रूपमा उहाँका जीवनका सङ्घर्षका पलहरूलाई पुस्तकमा उतारेर उहाँ धेरैका लागि प्रेरणाको पात्र बन्नुभएको छ। श्रीमानको राजनीतिक सफलता र उचाइमा पुग्नुमा उहाँको ठूलो देन छ।

    थाहा छैन, अहिलेको राजनीति नीति, निष्ठा, समर्पण, त्याग, सरलता, सिद्धान्तप्रतिको लगावमा कति केन्द्रित छ, तर पहिले राजनीति गर्नेहरू साँच्चै समाजमा आदरणीय लाग्थे र उनीहरूले समाजमा परिवर्तन र रूपान्तरणका लागि सैद्धान्तिक बहस तथा तर्क गर्दै जीवनलाई सोहीअनुसार पालना गर्थे। अहिलेको पुस्तामा त्यो पाउन चामलमा बियाँ भेटाउनुजस्तै कठिन हुन थालेको छ। उहाँले अपाङ्ग छोरीको सेवा र श्रीमानको राजनीतिक भविष्यका लागि आफ्नो सम्पूर्ण जीवन त्याग र समर्पण गर्नुभएको छ।

    पुस्तक पल्टाउँदै गर्दा – मान्छेको जीवन कापीका सादा पानाजस्तै रहेछ। केही नलेखे वर्षौँसम्म खाली नै रहन्छ। आफूभित्र लुकेका हजारौँ भावना र विचारका पाटाहरूलाई बन्दाकोबीको पत्रजस्तै एक–एक गरी खोल्दै र लेख्दै जाने हो भने पाकेको अनारको दानाजस्तै रसिलो भएर कला र साहित्यरूपी उडान भर्दै दूर क्षितिजसम्म पुग्न सकिन्छ! (पृष्ठ २–३) यी हरफमा आएर घोरिरहेँ, तर यसको अर्थ पुरै पुस्तक पढेपछि, छर्लङ्ग भयो।

    पच्चिस शीर्षक भएको पुस्तकको नाम कुनै शीर्षकसँग मेल खाँदैन, तर आमा र छोरीको यस धरतीमा भएको सङ्घर्षको शृङ्खलाबद्ध लिपी भएकाले पुस्तक पढ्दै जाँदा नाम अत्यन्त सान्दर्भिक लाग्छ। श्रीमानको सल्लाहमा छोरीको नाम आकाश र धरतीको मिलन बिन्दु अर्थात् क्षितिज राख्नुभएको रहेछ।

    सायद प्रहरीको खानतलासी नआएको भए यो पुस्तक जन्मने थिएन र लेखिकाको जीवनले अर्कै मोड लिन्थ्यो होला। छोरीको अपाङ्गता हुनुमा तत्कालीन निरङ्कुश राजनीतिक प्रणाली र त्यसविरुद्धको सङ्घर्षमा लेखिकाको जीवन प्रत्यक्ष रूपमा जोडिएको छ।

    मुलुकको राजनीतिक परिवर्तनका लागि उहाँले एक छोरीको सपाङ्गता खोसिनु पर्नुपर्यो, त्यो पीडाको गहिराइ हामीले अनुमान मात्र गर्न सक्छौँ, तर उहाँ हरेक पल त्यसको साक्षी हुनुहुन्छ। यो पुस्तक नै क्षितिज छोरीको जन्मदेखि आजसम्मका जीवनका उकाली–ओराली र त्यसका लागि लेखिकाको सङ्घर्षको कथा हो, वास्तविकताको चित्रण हो ।

    श्रीमानको राजनीतिप्रतिको लगाव र त्यसमा लेखिकाको पूर्ण सहयोग र त्याग अर्को अनुकरणीय पक्ष छ। जति अप्ठ्यारो परिस्थिति आए पनि आफैँले सङ्घर्ष गर्दै श्रीमानलाई मुलुकको राजनीतिक परिवर्तनको सङ्घर्षमा पूर्ण रूपमा सहयोग गर्नुहुँदा बाधा–अवरोध होला कि भनी सचेत रहँदै क्रान्तिकारी नारीको भूमिका निर्वाह गर्नुभएको छ। उहाँले एकैपटक कति जिम्मेवारी वहन गर्नुभएको रहेछ: अपाङ्ग छोरीको हेरचाह, पारिवारिक खर्च धान्न शिक्षिका, सासू–ससुराको रखवारी, र श्रीमानको राजनीतिक करियरको निरन्तरताका लागि जिम्मेवारी।

    सधैँ भूमिगत, घरको सबै जिम्मेवारी उहाँकै काँधमा, त्यसमाथि अपाङ्ग छोरीको जन्म, त्यो पनि श्रीमानको सुरक्षाका लागि कागजात लुकाउने क्रममा भर्याङबाट लडेर पेटमा रहेको बच्चाको मस्तिष्कमा परेको असरले जिन्दगीलाई अर्को मोडमा धकेलिदियो। त्यसपछि उहाँको अर्कै खालका दुख र कष्टका कथाहरू सुरु भए। छोरीलाई निको हुन्छ कि भन्ने आशमा अस्पतालहरू र अन्य विकल्पहरू छन् कि भनी धाउने, फेरि आफ्नो सन्तानका लागि एउटी आमाले के बाँकी राख्छिन् र? उहाँ त्यसको साक्षी हुनुहुन्छ। त्यसमाथि पहिलो सन्तानसँग कति सपना जोडिएका थिए !

    अर्को साह्रै नमिठो पक्ष, हाम्रो समाजमा अशिक्षा र रूढीवादी सोचका कारण अपाङ्ग सन्तान पश्चात् बच्चा, आमा र परिवारमा थुप्रने अनेकन लान्छना र शब्दबाणहरू अहिलेसम्म पनि सुध्रिएको छैन। मानिसहरू वास्तविकता नबुझी टिप्पणी र अनावश्यक चियोचर्चो गर्ने गलत संस्कार बसेको छ। जुन कुराको सिकार लेखिका स्वयंले कैयौँपटक हुनुपरेको कुरा पुस्तकमा यत्रतत्र पढ्न पाइन्छ। यो हाम्रो समाजको वास्तविकता हो, यसमा सुधार ल्याउन जरूरी छ र यो पुस्तकले पक्कै पनि योगदान पुर्याउने छ।

    “पुरुष कामबाट घर फर्किन्छ, स्त्री कामबाट काममा फर्किन्छ” (पृष्ठ–४२) मा उल्लिखित यो वास्तविकता गाउँघरमा मात्र सीमित नभएर शहरबजारमा पनि उत्तिकै छ। महिलाले कार्यालयको काम सकेर फर्केपछि गृहिणी र बालबालिकाको हेरचाहमा पनि उनै बढी खट्नुपर्ने बाध्यता अहिले पनि छ। सायद पुरुषप्रधान समाजको उपज होला। त्यस्तै, सन्तानका लागि आमाले जीवनमा कति कष्ट खप्नुपर्छ र अपमानका घुट्का पिएर बाँच्नुपर्छ भन्ने कुराको साक्षी म पनि हुँ।

    अपाङ्गता भएका सन्तानका आमाहरूले समाजको डरले पनि आफू बिरामी हुने स्थिति सिर्जना हुन्छ। रातदिन सन्तानको पीर–चिन्तामा बिताउने आमाबाबुहरूलाई सधैँ समाजको डर–त्रासमा बाँच्नुपर्छ (पृष्ठ–९५)। यी वास्तविकताको चित्रण उहाँले गर्नुभएको छ। यो सबैले भोगेको यथार्थ हो। किताब पढ्दा धेरै ठाउँमा आँखाबाट आँसु झरेको पत्तै हुँदैन।

    आर्थिक अवस्था कमजोर हुँदा र त्यसमाथि अपाङ्ग बच्चाको जन्म हुँदा आमालाई कति कष्ट हुन्छ, त्यो बयान गर्न सकिँदैन। त्यस्तै, अपाङ्ग छोराको सट्टा छोरी हुनुको थप कष्ट छ। यौन दुर्व्यवहारदेखि बलात्कारसम्मका अपराधिक घटनाका समाचार हामीले सुनेका छौँ, तर त्यस्तै अपाङ्गताका नाममा स्थापित र यिनलाई देखाएर कमाउन पल्केका सङ्घ–संस्थाहरूका व्यवहार पनि पुस्तकमा प्रस्तुत गर्नुभएको छ, जुन उहाँले स्वयं भोगेका कुरा हुन् (पृष्ठ–१०८–११८)।

    पृष्ठ १२१ मा गएर म रोकिएँ। हुन त, बच्चा बिरामी हुँदा बुबा–आमालाई बढी चिन्ता हुन्छ, तर उहाँले व्यक्त गरेको यो भावले गहिरो मन छोयो, मुटु काँपेर आयो – म त त्यस्ती आमा हुँ, जसको सन्तान आजीवन निको हुँदैन। उसलाई कहाँ दुखेको छ, के भएको छ, उसको मर्म के हो, थाहा पाउन सक्दिन।

    अनुमानको भरमा उसको उपचार खोज्न बाध्य हुन्छु। त्यस्तै, पृष्ठ १२५ मा पुनः रोकिएँ – आमाले सन्तानको भाव र भाषा बुझ्ने सामर्थ्य राख्छन् भनिन्छ। तर आमा भएर पनि नानीको भाषा बुझ्ने सामर्थ्य मसँग छैन। मानौँ, ऊ संसारको सबैभन्दा कठिन भाषा बोल्छ।

    उसको अनुहारमा संसारको सबैभन्दा कठिन लिपी लेखिएको छ, जसलाई पढ्नु सानोतिनो कुरा होइन। मुटु जल्न आगो चाहिँदैन रहेछ। बिनाआगो जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले। न कसैसँग बाँड्न मिल्ने! न त कसैलाई भन्न नै सकिने। नानीसँगको मेरो यो कस्तो सम्बन्ध हो? कति पीडादायी वास्तविकता व्यक्त गर्नुभएको छ एक भुक्तभोगी आमाले!

    यहाँ आफ्नो सन्तानका लागि भोगेका अनुभव र सन्तानका लागि केही बाँकी नराख्ने आमाहरूको वास्तविक चित्रण हो यो। यो केवल सरस्वती ज्ञवालीको मात्र पीडा होइन। त्यस्तै, पढ्दै जाँदा यी हरफहरूले पनि मन छोए – सबैका आमाबुबाले आफ्ना सन्तान सबैभन्दा राम्रो होस् भन्ने चाहन्छन्। तर परिस्थितिले के गराउँछ, कसैलाई थाहा छैन। सन्तान सबै बराबर भए पनि आमाबुबाले जो निर्धो र कमजोर छ, उसैमाथि विशेष ध्यान दिनुपर्छ (पृष्ठ–१३६–१३७)।

    उहाँले अपाङ्ग व्यक्तिप्रति र उनीहरूको परिवारप्रति समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार बदल्नुपर्ने कुरामा जोड दिनुभएको छ। आज सपाङ्ग मानिस भोलि अपाङ्ग हुन पनि सक्छ, र यस्ता धेरै उदाहरण मैले आफैँले देखेको छु। त्यसैले यसमा सुधार ल्याउन जरूरी छ।

    पुस्तकमा “अपाङ्ग: शब्द एक, समस्या अनेक” शीर्षकमा अपाङ्गताका विभिन्न प्रकार र सोहीअनुसारका जटिलताहरूको बारेमा व्यक्त गर्नुभएको छ, जहाँ अपाङ्गताका समस्याको गहिराइहरू त्यसको अवस्थाअनुसार हुने कुरालाई आफ्नो अनुभव र अपाङ्ग सन्तानका अभिभावकहरूसँगको सङ्गतका विभिन्न उदाहरणसहित उल्लेख गर्नुभएको छ (पृष्ठ १३८–१४४)।

    पुस्तकलाई विट मार्दै गर्दा केही वर्ष अघिको यात्राको क्रममा भैरहवा विमानस्थलको याद आयो। जहाँ मैले डा. चित्र वाग्लेसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरेको थिएँ, उनले गाउँका धेरै जनालाई नयाँ जीवन दिए, धेरैको मन र मुटुमा बसे, तर आफू क्यान्सर रोगका कारण अकालमा मृत्यु भयो।

    उनको अर्को कष्टकर पाटो पनि थियो – उनको बच्चा पनि अपाङ्ग थियो। त्यही यात्रामा रहेका एकजना साथी भन्दै थिए – सन्तान सपाङ्ग जन्मनु पनि आमाबुबाका लागि ठूलो भाग्य हो। तर कुन आमाबुबाले आफ्नो सन्तान अपाङ्ग जन्मोस् भन्छन् र? वास्तवमा, त्यो भवितव्य र परिस्थितिले हुने हो।

    लेखिकाको जीवनको यो वास्तविकता हो। उहाँले डाक्टरले अपाङ्ग छोरीको दश वर्षको आयु भने पनि छोरीको आयु तीन दशकभन्दा बढी पुर्याइसक्नुभएको छ। यसमा उहाँले विज्ञानलाई समेत माथ गर्नुभयो।

    शाङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशन गरेको एक सय छयसट्ठी पृष्ठसहित पच्चिस शीर्षक भएको यो पुस्तकमा उहाँले विशुद्ध रूपमा अपाङ्ग छोरीको जन्मपछि जीवनमा आइपरेको परिस्थितिले जिन्दगीको अर्को मोड लिएको र छोरीको उपचारका लागि गरेको सङ्घर्षको फेहरिस्त छ। यो लाखौँ परिवारको कथा हो, वास्तविकता हो, तर उहाँले लिपिबद्ध गरेर सबैका सामु ल्याउने हिम्मत गर्नुभयो। यो साहस कमैमा हुन्छ, फेरि हाम्रो जस्तो समाजमा लुकाउने प्रवृत्ति बढी छ। एक आमाले आफ्नो अपाङ्ग छोरीका लागि के बाँकी राखिनन्, आखिर आमाको मन हो! हृदयदेखि उहाँलाई साधुवाद दिन चाहन्छु।

    यो पुस्तकले पाठकको माया पाइरहोस् र समाजमा अपाङ्ग बालबालिका र उनीहरूका परिवारप्रति गरिने व्यवहार र दृष्टिकोणमा परिवर्तन ल्याउन पक्कै योगदान दिनेछ। आफ्ना जीवनका सङ्घर्षका घटनाक्रमलाई टिपोट गरी पुस्तकको रूपमा पस्कनुभएकोमा लेखिका सरस्वती ज्ञवालीलाई एकपटक हृदयदेखि साधुवाद।

     

  • १२ वर्षपछि फेरि किताब समाएँ, १२ कक्षा पास गरेँ !

    १२ वर्षपछि फेरि किताब समाएँ, १२ कक्षा पास गरेँ !

    जीवनमा केही कुराको प्राप्ति ढिलो होला, तर असम्भव हुँदैन । तबसम्म असम्भव हुँदैन, जबसम्म तपाईँमा त्यसको चाहना र हुटहुटी जीवित रहेको हुन्छ । त्यही चाहना र हुटहुटीले डोहोर्याएर मैले हासिल गरेको एउटा सानो उपलब्धि तपाईँहरूमाझ सेयर गर्न आएको छु ।

    भर्खरै मैले १२ कक्षा पास गरेँ । यो खबरले कतिलाई आश्चर्य लाग्ला र कतिले मनमनै खिस्याउलान् पनि । तर म गर्वसाथ सुनाउँदै छु । १२ कक्षा कुनै अग्लो शैक्षिक खुड्किलो होइन, तर मेरो लागि यसको विशेष महत्त्व छ । व्यावसायिक जीवनमा केही पाइला हिँडिसकेपश्चात्, उमेरको यो बिन्दुमा आइपुगेर आफ्नो टुटेको पढाइलाई फेरि जोड्नु मेरो निम्ति सहज र सामान्य थिएन । त्यसैले मलाई यो सानो उपलब्धिप्रति पनि ठूलो गर्व छ ।

    हो, शैक्षिक प्रमाणपत्रका खातिर नै म १२ वर्षपछि फेरि विद्यार्थी बनेको थिएँ । १२ कक्षाको परीक्षा दिइरहेका लाखौँ विद्यार्थीहरूको भिडमा मेरो कथा अरूभन्दा बेग्लै थियो । मैले उत्कृष्ट जिपीए ल्याएको होइन, तर मेरो लागि यही ३.०० जीपीए नै ऐतिहासिक छ । यो शैक्षिक प्रमाणपत्रले मेरो आत्मविश्वास र आत्मसम्मान जगाएको छ ।

    ०००

    मध्यम वर्गीय परिवेशमा हुर्किँदै गर्दा म पनि हजारौँ नेपाली युवाहरू जस्तै औपचारिक शिक्षा र जीविकोपार्जनको दोसाँधमा परेको थिएँ । कहिले पुस्तकमाथि टाउको निहुराएँ, कहिले तिनै पुस्तकभन्दा ठूलो भारी काँधमा बोकेँ । अन्ततः पारिवारिक दायित्वले थिचेपछि पुस्तक थन्क्याएर पूर्णरूपले रोजगारीमा होमिन भएँ ।

    विद्यालय जीवनमा म जेहेन्दार विद्यार्थी नै थिएँ । एसएलसीसम्म मेरो पढाइ राम्रो थियो । एसएलसीको रिजल्ट आएसँगै प्रेमिकासँग भागी बिहे गरेँ । विवाहपश्चात् गाउँमै ११ कक्षामा भर्ना पनि भएँ । तर आर्थिक अवस्था निकै कमजोर भएकाले मैले कामकै खोजीमा गाउँ छोड्नुपर्ने अवस्था भयो ।

    १८ वर्षको उमेरमा म श्रीमतीलाई गाउँमा छोडेर राजधानी प्रवेश गरेँ । सानोतिनो काम सुरु गरेँ । काम गर्दै बेलुका थोरै समय डेरामै पढ्न थालेँ । कलेज नगई मैले ११ र १२ को परीक्षा दिएँ । तर दुवै परीक्षा राम्रो हुन सकेन । एक-एक विषय लाग्यो । दुवै पटक अंग्रेजीमा फेल भएँ । मेरो औपचारिक शिक्षा यत्तिमै थचक्क बस्यो ।

    असफल नतिजापछि पढाइलाई अधुरै छोडेर व्यवहारिक र व्यावसायिक जीवनमा मोडिएँ । परिवारको जिम्मेवारी र दैनिक जीवनयापनको आर्थिक बोझले मलाई पढाइबाट छुटाएर काममा धकेलिदियो । त्यसबेला आफ्नो र परिवारको पेट पाल्नु प्राथमिक आवश्यकता थियो, पढ्नु होइन ।

    २०६९ सालमा काठमाडौं छिरेपछि मलाई ‘काम’ भन्ने शब्दको वास्तविक अर्थ बुझ्न समय लागेन । मैले ‘भरिया’ बाट काम सुरु गरेँ । एउटा किराना पसलमा भारी बोकेर आफूलाई काठमाडौंमा टिकाउने प्रयास गरेँ । त्यहाँ चामल, ग्यासका सिलिन्डर आदि बोकेर ग्राहकको घरसम्म पुर्‍याइदिन्थेँ । एक बोरा चामल बोक्ला १५ रुपैयाँ पाउँथेँ । महिनामा ४ हजार जति कमाइ हुन्थ्यो ।

    भरियापछि रेडियोको तार मिलाउने टेक्निसियनको काम पाएँ । किराना पसलमा काम गर्दागर्दै वरिष्ठ लोकसञ्चारकर्मी रमेश बस्नेतसँग मेरो भेट भयो । उहाँ त्यही पसलमा सामान किन्न आउनुभएको थियो । त्यसपछि उहाँलाई निरन्तर सम्पर्क गरिरहेँ । फलस्वरूप मेरो रेडियो यात्रा सुरु भयो । उहाँले रेडियो मिर्मिरेमा २०७१ सालमा काम लगाइदिनुभएको हो । बिना तलब नै म धेरै समयसम्म रेडियोमा जोडिएको थिएँ ।

    रेडियो स्टेसनभित्रका उपकरणहरू मिलाउँदै गर्दा म बिस्तारै माइक पछाडिबाट माइक अगाडि जान थालेँ । आफैँले अन्तरवार्ताहरू लिन सुरु गरेँ । यसरी मिडिया क्षेत्रमा मेरो यात्रा सुरु भएको हो । त्यो यात्रा सपनाको भन्दा बढी संघर्षपूर्ण थियो । एक हातले जिन्दगीको जरो समाउँदै, अर्को हातले नयाँ अवसरहरू खोज्दै गर्दा पढाइ भने सधैँ ओझेलमा पर्दै गयो ।

    ०००

    २०७२ को विनाशकारी भूकम्पले मेरो जीवनका योजना मात्र होइन, सपनाहरू पनि ध्वस्त बनाए । देशजस्तै मेरो आत्मबल पनि डग्मगायो । परिवार, समाज, काम, सबैको चाप बोक्दै गर्दा मैले अझ कडा संघर्षको बाटो रोज्नु पर्‍यो ।

    म गीतसंगीतमा सानैदेखि रुचि राख्थेँ । आफैँ गीत लेख्थेँ र त्यसमा लय हाल्थेँ । जति कठिन संघर्षका बीच पनि गीत संगीतको मोहलाई त्याग्न सकिनँ ।

    मिडियाकर्ममा आएपछि संगीत क्षेत्रका व्यक्तिहरूसँग चिनजान भयो । मैले केही गीतहरू रेकर्ड गराएँ र ती चर्चित पनि भए । काठ क्षेत्रमा परिचित गीत ‘बदम खाको सुन्तला छोडाको’ गीत मेरो एक हिट सिर्जना थियो । मैले एक सयभन्दा बढी गीतहरू लेखेँ र संगीत पनि भरेँ । यद्यपि, मलाई त्यसले न आर्थिक राहत दियो न त कुनै ठूलो ख्याति नै । मैले साहित्य क्षेत्रमा पनि हात हाले । धेरै साथीहरूसँग चिनजान भयो । तर साहित्यबाट पनि भविष्य अगाडी बढ्ने देखिनँ । त्यसपछि लाग्यो मैले बाटो मोड्न पर्छ ।

    बाध्यतावश मैले बाटो मोडेँ । र, यही नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्यो । भुईँचालोले जन्म दियो एउटा नयाँ सम्भावना । जन्मियो अनलाइन मिडिया ‘लालीगुराँस डटकम’ । कठिन समयमा जन्मिएको यही अनलाइन प्लेटफर्म आज मेरो जीवनको आधार र पहिचानको स्रोत बनेको छ । तर, यहाँसम्मको यात्रा सहज अवश्य थिएन ।

    २०७४ सालमा मैले लालीगुराँस टिभी नामक युट्युब च्यानल खोलेको हुँ । सुरुवातमा गाउँबाट बाबाले दुई लाख ऋण खोजेर मलाई पठाइदिनुभएको थियो । त्यसैबाट केही सामानहरू जोरजाम गरेर मैले युट्यूबकर्म थालेँ । सुरुमा एक्लै सञ्चालन गरेको लालीगुराँस डट कममा अहिले हामी दुई दाजुभाइ छौँ । नेत्र दाइ र मैले सञ्चालन गरिरहेको यो मिडियामा हाल २० जना कर्मचारी हुनुहुन्छ ।

    आफ्नै डिजिटल मिडिया सञ्चालन राम्रै आम्दानी हुन थाल्यो । आर्थिक अवस्थामा सुधार आयो र सुरुवातमा लागेका ऋणहरू बिस्तारै तिर्दै गएँ । डिजिटल प्लेटफर्मलाई सकारात्मक रूपमा प्रयोग गर्दा फलिफाप नै हुँदो रहेछ भन्ने एउटा उदाहरण नै बनेको छ लालिगुँराश ।

    अनलाइन मिडिया स्थापना गरेपछि लाग्यो- अब म पनि ‘केही’ हुँ । तर समयसँगै बुझेँ, काम र अनुभव मात्रै पर्याप्त हुँदैन । मेरो कमजोर शैक्षिक पृष्ठभूमिले गर्दा ठाउँ-ठाउँमा ठक्कर खानुपर्‍यो । प्रमाणपत्रको अभावले मेरो कयौँ कामहरू रोकिए । राम्रो रोजगारीका कैयौँ अवसरहरू मेरै आँखा अगाडि थिए, तर मैले टिप्न सकिनँ । मेरा एसएलसीको सर्टिफिकेट कुनै पनि रोजगारीका लागि काम लागेन । त्यसपछि बल्ल गहिरो महसुस भयो- जीवनमा क्षमता र अनुभव मात्र पर्याप्त नहुने रहेछ । शैक्षिक प्रमाणपत्र पनि उत्तिकै महत्त्वपूर्ण छ ।

    मैले ११ र १२ दुबैमा एक-एक विषयमा गुल्टेको कुरा कहिल्यै लुकाइनँ । साथीहरूले सोध्दा सिधा भन्थेँ, ‘अहिले अधुरो छु, तर म रोकिएको छैन ।’ त्यसो भन्दा खिन्नता महसुस हुन्थ्यो । तर झुटको सहारा लिएको भए म भित्रभित्रै लज्जित बन्थेँ होला ।

    शैक्षिक प्रमाणपत्रकै अभावमा केही गर्न नसक्ने देखेर मैले विदेश जाने योजनासहित पासपोर्ट समेत बनाएको थिएँ । तर बिस्तारै आफ्नै डिजिटल प्लेटफर्मले मलाई विदेश जानबाट रोक्यो । मैले आजसम्म तीन हजारभन्दा बढी अन्तर्वार्ता लिइसकेको छु । मैले लिएका कैयौँ अन्तरवार्ताहरू भाइरल भएका छन् । मैले प्रस्तुत गरेका सामग्रीले धेरैको जीवनमा सकारात्मक परिवर्तन पनि आएको छ । सन्तोषको पाटो यही नै छ । आफू भुईँबाट उठेर यहाँसम्म आएको हुँदा म आफ्नो पत्रकारितामार्फत भुईंमान्छेहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छु ।

    ०००

    श्री बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौलागाईं सर मेरो लागि केवल शिक्षक होइन, एक प्रेरणा श्रोत हुनुहुन्छ । उहाँले बारम्बार आग्रह गर्नुभयो- पढ्नुस्, तपाईँको अनुभवसँग पढाइको प्रमाण मिसिए भने अझ बलियो बन्नुहुन्छ।”

    तर समयको अभावले कहिले उहाँको कुरा मान्न सकिनँ । यद्यपि उहाँको शब्दहरू मनभित्र गढ्दै गए, जसले गर्दा म पुनः पढ्न अग्रसर भएँ ।

    समय मिलाउँदै, केही महिना मैले बिहान र बेलुकाको समयमा अनलाइन पढ्न थालेँ । दिनभरको कामपछि थकित शरीर लिएर स्क्रिन अगाडि बस्दा आँखा भारी हुन्थे, तर आत्मा भने उत्साहित हुन्थ्यो । बल्लतल्ल ११ कक्षा पास गरेँ, त्यो मेरो लागि सानो विजय थिएन । त्यो नै थियो, मेरो नयाँ प्रस्थानबिन्दूको सुरुवात । त्यसपछि १२ को तयारी गरेँ, झन् गहिरो संकल्पका साथ ।

    १२ को परीक्षा दिन म काभ्रेको चौरी देउराली जान्थेँ, त्यो पनि काठमाडौंबाट झन्डै ५ घण्टा मोटरसाइकल हाँकेर । कहिले वर्षा, कहिले घाम, कहिले पेट्रोल अभाव- तर कहिल्यै परीक्षा छुटाइनँ ।

    परीक्षाको पहिलो दिन एउटा रमाइलो घटना भयो । कक्षामा प्रवेश गर्दा सबै विद्यार्थीहरू मलाई ‘निरीक्षक’ सम्झेर जर्याकजुरुक उठे र भने- ‘गुड मर्निङ सर’ । म लाजले पानी भएँ । सकसका साथ भनेँ- म तपाईँहरूकै साथी हुँ, परीक्षा दिन आएको ।’ त्यो क्षण मेरो लागि अविस्मरणीय छ ।

    परीक्षा दिएपछि दिन गन्दै बसेँ । जब नतिजा प्रकाशित भयो, त्यस दिन झन्डै २ घण्टा अनलाइनमै रिफ्रेस गरिरहें । मैले आफ्नै दाइलाई नतिजा हेर्न लगाएँ । उहाँ कराउनुभयो– ३ जीपीए आएको छ !

    त्यसपछि त मैले खुट्टा जमिनमै छैन जस्तो महसुस भयो । ती १२ वर्ष, त्यो संघर्ष, त्यो लाज, त्यो प्रयास । सबै एकै पटक आँखा अगाडि सिनेमाको रिल घुमेझैँ घुमे । आँखाबाट तपक्क आँसु नै झर्‍यो– तर खुसीको ।

    म आफ्नो उपलब्धि सामाजिक सञ्जालमा सेयर नगरिरहन सकिनँ । लेखेँ– ‘१२ वर्षपछि १२ कक्षा पास गरेँ । अब जीवनमा कुनै अप्ठ्यारोलाई पढाइका लागि बहाना बनाउने छैन ।’

    प्रतिक्रियाको ओइरो लाग्यो । सबैले सराहना गर्नुभयो । तारन्तर फोन र म्यासेजका घण्टीहरू बज्न थाले । अहिले पनि बधाईको शृङ्खला रोकिएको छैन । मलाई सगरमाथा नै चढेर फर्केझैँ भएको छ ।

    १२ पास गर्नु मेरो अन्तिम लक्ष्य अवश्य होइन । नयाँ सुरुवातको ढोका मात्र हो । अब म स्नातकको तयारीमा जुट्नेछु । मलाई थाहा छ, यो झनै चुनौतीपूर्ण छ । तर अब म सबै चुनौतीका लागि तयार छु, किनभने मैले पढाइको शक्तिलाई बुझिसकेको छु ।

    शिक्षा लिन कहिल्यै ढिलो हुँदैन । जीवनले जतिसुकै घुम्ती फेरे पनि, आत्मबल, इच्छाशक्ति र अठोट रहेसम्म सबै सम्भव छ । मैले १२ वर्षको अन्तरालमा १२ कक्षा पास गरेँ । यदि तपाईँ पनि जीवनको कुनै मोडमा अल्मलिनुभएको छ भने, म भन्न चाहन्छु- ‘सुरु गर्न कहिल्यै ढिलो हुँदैन, तर नथाल्नु नै वास्तविक हार हो ।’

  • इतिहास बोकेका ९० वर्षीय डा. कौशलेन्द्र श्रीवास्तव- जीवनभर जनसेवामा समर्पित एक विरल सामाजिक पात्र

    इतिहास बोकेका ९० वर्षीय डा. कौशलेन्द्र श्रीवास्तव- जीवनभर जनसेवामा समर्पित एक विरल सामाजिक पात्र

    नवलपरासी । नवलपरासीका डा. कौशलेन्द्र श्रीवास्तव यस्ता इतिहास पुरुष हुन्, जसले जीवनका नौ दशक समाज, शिक्षा र संस्कृतिको सेवामा बिताए । नेपालको ग्रामीण तराईमा आधारभूत शिक्षापछि भारतमा उच्च शिक्षा हासिल गरेर पनि सरकारी जागिर वा पद प्रतिष्ठामा नलागी, उनले जन्मभूमि परासीमै रहेर निरन्तर सेवा गरेका छन् । हाल ९० वर्ष पुगेका श्रीवास्तव अहिले पनि भाडाको सानो कोठामा बसेर इतिहास, धर्म र संस्कृतिको अध्ययन तथा लेखनमा तल्लीन छन् ।

    कौशलेन्द्रलाई चिन्नेहरूले सम्भवत: त्यो समयमा जिल्लाबाट त्यो तहको अध्ययन पूरा गर्नेमध्येका अगुवा हुन् उनी । तर यति धेरै पढे पनि उनले आफ्नो जीवनका लागि कमाउने ध्यानमा कहिल्यै लागेनन् न त कतै सरकारी जागिर नै खोजे । भारतमा उच्चशिक्षा सकेर स्वदेश फर्केका उनी स्थानीयको स्वास्थ्य सेवा, विभिन्न शैक्षिक संस्थाहरूको संरक्षण अनि सबै सामाजिक संस्थाहरूको नेतृत्व गरेर ९ दशक बिताएका हुन् ।

    श्रीवास्तवको बुवाआमा कपिलवस्तुका निवासी हुन् तर बुबालाई राणाहरूले विचारी बनाएर परासी पठाएपछि स्थायी बसोबास परासी भएको हो । तत्कालीन परासी गाउँपञ्चायत ५ नम्बरमा उनको बसाई सुरुवात भएको हो । कौशलेन्द्रले आफू परासीमै जन्मेको बताए ।

    कसरी पढे त्यो समयमा कौशलेन्द्रले उच्चशिक्षा ?

    त्यतिबेला परासीमा ३ कक्षासम्म मात्रै पढ्न पाइने र त्यसपछि बढ्न भारत जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । गोरखपुर, प्रयाग र हरिद्धारमा पढेका उनले आयुर्वेद र एलोपैथिकको मिश्रित अध्ययन गरी चिकित्सक बनेका हुन् । पछि रुचिको विषय इतिहासमा पनि स्नातकोत्तर गरेका हुन् ।

    ‘परासीमा ३ कक्षाभन्दा बढी पढाई हुने ठाउँ थिएन, त्यो बेला पढ्नुपर्छ भन्ने नै थिएन तर मेरो बुवाले जसरी पनि पढ्नुपर्छ भनेर अघि बढाउनुभयो, ३ कक्षापछि गोरखपुरमा पढेँ, प्रयागमा आइएससी सकेपछि हरिद्वार गुरुकुल कांगडी विश्वविद्यालयबाट बीएमबीएस १९६५ मा पूरा गरेँ, प्राचीन इतिहासमा एमए पनि गरेँ, केही समय भारतका विभिन्न कलेजहरूमा पढाएँ तर आफ्नो बुवाले स्वदेशमै सेवा गर्नुपर्ने सुझाएपछि र आफूले पनि जन्मभूमिमा काम गर्नुपर्ने योजना बनाएर स्वदेश रोजेको हुँ’ कौशलेन्द्रले भने । यादवप्रसाद पन्त, रवीन्द्र शर्मा, सरदार रुद्रराज पाण्डेजस्ता अनेक चर्चित पात्रसँग पढेर पनि कुनै सरकारी जागिर नखाएको उनको भनाइ छ ।

    नवलपरासी मात्रै होइन धेरै भारतीयहरू पनि उनीसमक्ष चेक गराउन आउँथे । बुबाको आज्ञापालक भएर परासीमा बसेर धेरै वर्ष मेडिकल चलाएर जनताको सेवा गरे । उनको पहिचान नै डाक्टर साप हो । यसमै उनी सन्तोष भए । तराईमा धेरैले मेडिकल राख्ने सबैलाई डाक्टर भन्छन् तर उनी पढेर एमबीबीएस पास गरेकै डाक्टर हुन् । सरदार रुद्रराजले त कुनै काम परे मसंग आउनु भनेर आश्वासन पनि दिएका रहेछन् । तर उनले अरूका लागि त्यो चिनाजानीलाई प्रयोगमा ल्याएर तर आफ्ना लागि कुनै चिज मागेनन् । जबकि उनले चाहेको भए राम्रो जागिर वा राजनीतिक पद प्राप्ति सहजै हुन सक्ने अवस्था थियो ।

    रामग्रामबारे हिन्दीमा पुस्तक लेखेर भारतमा प्रवर्द्धन

    भारतको विभिन्न ठाउँमा बुद्धको जन्मस्थलबारे भइरहेको भ्रम चिर्न उनले रामग्रामसम्बन्धी पुस्तक हिन्दी भाषामै लेखे र भारतका विश्वविद्यालय, कलेज, पुरातत्त्व विभाग, र तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीसम्म पठाए ।

    ‘भारतीयहरूलाई उनीहरूकै भाषामा बुझाउन आवश्यक ठानेर मैले हिन्दीमा लेखेँ, श्रीवास्तव सम्झिन्छन्, ‘भारतमा पढेका कारण म ती भ्रमप्रति जानकार थिएँ । त्यसैले रामग्राम नगरपालिकाका तत्कालीन मेयर गोविन्द चौधरीले पुस्तक लेख्न आग्रह गर्दा मैले नै लेख्ने प्रस्ताव गरेँ ।’ लामो जीवनयात्रामा उनले भारतीय पक्षबाट बुद्धस्थलविरुद्ध गलत प्रचार चिर्न निकै धेरै पटक विषय उठान गरेर लेख रचना प्रकाशन गरे । बहुदल आइसकेपछि गोविन्द चौधरी रामग्राम नगरको नगर प्रमुख हुँदा उनले हिन्दीमा लेखेको रामग्रामसम्बन्धी पुस्तक लेखेर भारतभर नै छ्यापछ्यापती बनाएका थिए । श्रीवास्तवले किन हिन्दी भाषामा पुस्तक लेखेको भनेर खस्न नपाउँदै उनीहरूले बुझ्ने भाषामा बुझाउनका लागि लेखेको बताउँछन् ।

    ‘सन् १८६१ मा भारत उत्तर प्रदेशको बस्ती जिल्लामा रहेको देव कान्ति भन्ने गाउँलाई रामग्राम भनी एकजना अंग्रेजले अनुमान गरेका थिए । त्यसपछि सन् १८७५ मा एकजना अर्को विद्वान एससीएल कारलाइलले उत्तरप्रदेश देवरिया जिल्लामा रहेको रामपुर ठाउँलाई रामग्राम हुने सम्भावना व्यक्त गरे जबकि त्यस ठाउँको सेरोफेरोमा कतै प्राचीन राजधानीको अवशेष पाउन सकिएको थिएन । अन्ततः उनले आफ्नो अनुमानलाई आफै खारेज गरे । तर यसका वावजुद भारतीयहरुले रामग्रामवारे यस्ता कुप्रचार गर्न छाडेनन्’ उनले भने ‘म भारतमा पढेलेखेको हुनाले यो कुरा मलाई राम्रो गरी थाहा थियो । त्यसैले मेयर गोविन्द चौधरीले जब यसबारे किताब लेख्न भने म आफैले हिन्दीमा लेख्ने प्रस्ताव गरेँ । यसको कारण यो थियो कि भारतीयलाई पढाउने र सो भ्रमबाट मुक्त गर्ने ।’

    श्रीवास्तवले सो पुस्तक छापिएपछि भारतका विश्वविद्यालय, कलेज, केन्द्र र प्रदेशका पुरातत्त्व विभाग र तत्कालीन प्रधानमन्त्री अटलहिारी वाजपेयीसमेतलाई पुराएर सवैतिर व्यापक वितरण गरेको स्मरण गर्दछन् । यसबाट भारतले त्यसप्रकारका प्रपोगण्डालाई रोकेपछि आफूलाई आत्मसन्तुष्टि दिएको उनको बुझाई छ । अब उनको इच्छा छ रामग्रामलाई विश्व सम्पदा सूचिमा सूचिकृत भएको हेर्ने र सुन्ने ।

    अहिले कौशलेन्द्र जीवनको उत्तरार्धमा छन् । पोस्टेडको समस्याले अलि अस्वस्थ छन् । यही कारण सार्वजनिक कार्यक्रममा जान नसकेको बताउने उनले सबै अध्ययन सामग्री घरमै मगाएर अध्ययन तथा लेखन गर्दै आएका छन् । जिल्लाका हरेक संस्थामा रहेर सेवा गरेका श्रीवास्तवको जीवन कुनै चलचित्रको कथा भन्दा फरक छैन। धेरैलाई लाग्दो हो राणाकालका विचारीका सुपुत्र श्रीवास्तव ठूला जमिन्दार हुन्। तर हैन उनी त अहिले पनि डेरामै बसेका छन् । धेरैलाई यो विषय विश्वास नलाग्न पनि सक्छ तर उनको वासस्थानमा पुगेपछि त्यो प्रष्ट हुन्छ ।

    श्रीमती र दुई भाइ छोरा तथा दुई छोरी भए पनि ५ वर्षअघि उनको श्रीमतीको मृत्यु भएको हो । अहिले जेठा छोराबुहारीसँगै बसेका छन् । जेठा छोराबुहारीले सामान्य जागिर गरेर उनको सेवा गरिरहेका छन् । कान्छा छोराबुहारी पनि जिल्लामै बसेर काम गरेका छन् । कौशलेन्द्र तीन भाइ हुन् । ठूलो दाइ दानबहादुर श्रीवास्तवलाई माओवादीले सुराकी आरोपमा कपिलवस्तुमा हत्या गरेका हुन् । कौशलेन्द्रका बुवाले सबै सम्पत्ति कान्छो भाइको नाममा बकस गरिदिएका कारण आफू भाडामा बस्नुपरेको सुनाए ।

    नेपाल फर्केपछि उनी जिल्ला पञ्चायतको सदस्य बनेर जिल्लाको विकास निर्माणमा सेवा गरे, प्रौढ शिक्षाको संयोजक बनेर जिल्लाभरमै अध्ययनको अभियान चलाए । जिल्लामै पहिलो माध्यमिक विद्यालय रहेको आदर्श माविको व्यवस्थापन समितिको जिम्मेवारीमा १९ वर्ष बसेर यसलाई शैक्षिक क्षेत्रमा नमुना बनाए । यी सबै काम उनले पञ्चायतकालमै गरिसकेका थिए । सबै दलका नेताकार्यकर्ताके प्रिय पात्र बनेका उनी निर्वाचनताका पहिले सबै दलको घोषणा पत्र तयार गर्ने मुख्य पात्रका रूपमा काम गरे ।

    बहुदल आएपछि कुनै दलमा आबद्ध नभएकाले पनि सबैले मन पराएको र अहिले पनि धेरैले माया गर्ने उनको भनाइ छ । अहिले पनि जिल्लाबाट केन्द्रमा पुगेका नेताहरू हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल, बैजनाथ चौधरीलगायतका नेताहरू पटक पटक आएर सल्लाह लिने गरेको उनले बताए । ‘सँगै पढेलेखेका र आफूले पढाएका धेरै साथीहरू धेरैजसो ठूल्ठूला पदमा पुगे । म चाहिँ डाक्टर भए पनि जागिरतिर लागिनँ, आफ्नै गाउँघरमा बसेर सेवा गरेँ’ उनले भने । तिनै साथीहरूका सिफारिसबाट उच्च पद पाउन सक्ने अवस्था हुँदाहुँदै पनि उनले आफ्ना लागि कहिल्यै केही नमागेको बताउँछन् ।

    ’भारत र नेपालमा पनि सरकारी जागिरका लागि धेरै अफर आएका थिए तर बुवाले भारतमा जागिर खाएर यहाँको सेवा संभव नहुने बताएपछि आफू सहमत भएर यहाँ आएर जनताको काम गर्न थालेको हुँ, यहाँका कुनै पनि सामाजिक संघसंस्थामा आफूले काम गर्न बाँकी राखेको छैन, म कुनै दलमा जोडिएन त्यसैले सबैले माया गर्नुहुन्छ’ उनले भने ।

    राजनीति भन्दा माथि, सबैको विश्वासिलो पात्रका रूपमा उनले पहिचान बनाएका छन् । जस्ता जिम्मेवारी सम्हाल्दै उनले नवलपरासीको शैक्षिक क्षेत्रमा दूरगामी प्रभाव पारे । बहुदलपश्चात कुनै दलमा आबद्ध नहुँदा सबै राजनीतिक धारहरूबाट सम्मान पाएका उनी अहिले पनि जिल्लाबाट केन्द्रमा पुगेका नेताहरूको सल्लाहकारको भूमिकामा छन् । ‘म कुनै दलमा जोडिइन । त्यसैले सबैले माया गर्नुहुन्छ । विगतमा सबै पार्टीका घोषणापत्र तयार पार्ने जिम्मेवारीसमेत मैले नै सम्हाल्ने गर्थेँ’ उनले सम्झिए ।

    शिक्षा र सामाजिक क्षेत्रमा लामो समय काम गरेर जिल्लामा महत्त्वपूर्ण काम गरेका डा. कौशलेन्द्र जिल्लाको विकास निर्माणको इतिहास पुरुष भएको पूर्वमन्त्री वैजनाथ चौधरी बताउँछन् । ‘तराईको गाउँमा बस्ने त्यो समयमा डाक्टर पास गरेको व्यक्तिले आफ्नो कुनै स्वार्थबिना शैक्षिक र सामाजिक विकासमा गरेको योगदान अतुलनीय छ, म प्रदेश सरकारमा रहँदा उहाँलाई सम्मान गरेको हो, अहिले पनि धेरै सामाजिक संघसंस्थाले उहाँलाई माया गरेकै देख्छु, अब उहाँको कृतिहरूलाई प्रकाशन गरेर राख्नुपर्छ, रामग्रामको विषयमा भारतमा गरिएको गलत प्रचार चिर्नलाई ठूलो भूमिका थियो’ उनले भने ‘म पनि अहिले जिल्ला बाहिर धेरै बस्नुपरेको छ, त्यहाँ पुग्दा भेटेर सुझावसल्लाह लिन्छु, आर्शिवाद लिन्छु धेरै विषयमा ज्ञान छ उहाँसँग ।’

    कौशलेन्द्र श्रीवास्तवको जीवन नेपाली समाजसेवा, शिक्षा राजनीति र राष्ट्रिय स्वाभिमानको उदाहरण हो । उनको योगदानलाई मात्र होइन, कृतिहरूलाई पनि पुस्तकका रूपमा संग्रह गरिनु आवश्यक छ । उनले लेखेको रामग्रामसम्बन्धी हिन्दी पुस्तक केवल शैक्षिक दस्ताबेज होइन, नेपाली अस्मिता र ऐतिहासिक तथ्यको अभिलेख पनि रहेको उनको जीवनीलाई अध्ययन गरेका पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली बताउँछन् ।

  • बालापनदेखि आजसम्मको केपी अंकल- जसका आँखामा पूरा हुने सपनामात्रै नाचिरहे

    बालापनदेखि आजसम्मको केपी अंकल- जसका आँखामा पूरा हुने सपनामात्रै नाचिरहे

    नेपालगञ्जबाट काठमाडौं फर्किने जहाजको पर्खाईमा हामी एयरपोर्टमा थियौँ । प्रतीक्षा थियो, तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीको । उहाँकी धर्मपत्नी राधिका शाक्य, सचिवालयका कर्मचारी, आफन्त, पार्टीका नेता र १६ वर्ष पनि नपुगेको यो पंक्तिकार त्यही लाइनमा थियो । प्रतीक्षा गर्नेले अशक्त, बिरामी र जहाजबाट कसरी तल झर्नुहोला भन्ने खासखुस गरिरहेका थिए । शायद त्यो दिन २०५२ साल साउन ९ गते हुनुपर्छ ।

    जब जहाज एयरपोर्ट आयो, उहाँ मुस्कुराउँदै, सबैलाई अभिवादन गर्दै तल ओर्लनुभयो । त्यो देखेपछि सबैका आँखामा खुशी छायो । त्यति ठूलो हेलिकप्टर दुर्घटनामा परेर पनि उहाँमा देखिएको साहस, हिम्मत र खुशी दुर्घटना पर्ने अरु नेतामा थिएन । त्यसपछि सीधै शिक्षण अस्पताल भर्ना भएर केही दिन उपचार गर्नुभएको थियो ।

    हेलिकप्टर दुर्घटनापछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसहितका नेतासँगै उहाँ काठमाडौं आउनुभएको हो । उहाँमा दुर्घटनाले शारीरिक र मानिसिक रूपमा पक्कै असर गरेको थियो, तर त्यो पीडा देखाउन चाहनुभएन । ओर्लेपछि सबैसँग केही पनि नभए जसरी प्रस्तुत हुनुभयो, त्यो उहाँको साहस र उर्जा थियो । मेरो नजिकै आएर ‘भतिज, तिमीलाई ठीक छ ?’ भनी सोध्नुभयो ।

    २०५१ मंसिर १४ गते उहाँ गृहमन्त्री बन्नुभएको थियो । त्यसको ३ महिनापछि माघमा एसएलसी परीक्षा दिएर काठमाडौं जाने क्रममा काका बिलबहादुर खत्रीमार्फत् उहाँसँग चिनापर्ची भएको थियो । उहाँ गृह मन्त्री हुँदा काका नेपाली सेनाको तर्फबाट अंगरक्षक हुनुहुन्थ्यो । त्यसपछि झण्डै डेढ वर्ष उहाँको नजिक भएर बस्ने अवसर मिल्यो ।

    उहाँ २४ घण्टामा १८ घण्टाभन्दा बढी खटिइरहनुभएको छ । दिनरात भन्नुभएको छैन । यो कुरा एमाले पंक्तिमात्र होइन, धेरैलाई थाहा छ । अहिले पनि जुन उर्जा र साहस उहाँसँग छ, त्यो अरु कोसैसँग छैन । एउटा विश्वप्रशिद्ध भनाइ छ, ‘सपना देख्ने आँखा मरेपछि मात्रै मान्छे बूढो हुन्छ ।’

    गृहमन्त्री त्यसै व्यस्त हुने जिम्मेवारी । भेट्ने मान्छेको अति नै भिडभाड हुन्थ्यो । तर पनि, उहाँ फुर्सद भयो कि हामीलाई माया गर्न आउनुहुन्थ्यो । ‘कोही छ चेस र क्यारिमबोर्डमा मलाई जित्ने ? भन्दै खेल्न तम्सिनुहुन्थ्यो । उहाँसँग हामीले खेल्थ्यौँ, तर न चेस, न त क्यारिमबोर्डमै उहाँलाई जित्न सकियो । उहाँसँगको बसाइँका यस्ता धेरै अनुभव छन् । बालबालिकालाई असाध्यै माया गर्ने स्वभाव छ, उहाँको । बालबालिका भन्दा भुतुक्कै हुने । उनीहरूलाई भेटेपछि धेरैबेर सँगै खेल्नुहुन्थ्यो । मेरो त्यो बालपनलाई उहाँले दिएको माया अहिले पनि सम्झिन्छु । अंकल र भजितका रूपमा उहाँसँग जोडिएको सम्बन्ध आज पनि त्यस्तै छ । उहाँले देख्नासाथ सधैँ भतिज नै भनेर बोलाउनुहुन्छ ।

    ‘बाबु तिमीलाई जाडो भएजस्तो छ, बाक्लो कपडा लगाएनौँ’, मैले गरेको ल्याण्डलाइन टेलिफोन उठाउने मान्छेले मलाई सोधेको प्रश्न थियो । मैले भनेँ, ‘लगाएको छु । म आज साथीकोमा बस्ने भएँ, काका (बिलबहादुर खत्री) लाई भन्दिनुस् है ।’ उताबाट ‘हुन्छ’ भन्ने जवाफ आयो । मोबाइलको जमाना थिएन । मलाई टेलिफोन कसले उठाएको हो भन्ने थाहा भएन । यो ३१ वर्षअघि २०५१ सालमा भएको संवाद थियो ।

    भोलिपल्ट पुल्चोकस्थित मन्त्री क्वार्टरमा फर्किएँ । काका मन्त्री (केपी शर्मा ओली) को अंगरक्षक, म एसएलसी दिएर गएको । मन्त्री क्वार्टरमा काकासँगै बस्थेँ । ओली अंकल बाहिरै कुर्चीमा बस्नुभएको रहेछ । काकाले उहाँसँग पहिले नै भतिज हो भनेर चिनजान गराउनुभएको थियो । त्यसैले उहाँलाई ‘अंकल’ भन्थेँ । के देखेर हो कुन्नी, मेरो हात च्याप्प समात्न आउनुभयो । भन्नुभयो, ‘यति पातलो ज्याकेट लगाएकोले तिम्रो स्वर कापेको रै’छ ।’

    अनि मलाई थाहा भयो, हिजो मेरो टेलिफोन उठाउने केपी अंकल नै हुनुहुँदोरहेछ । अनि, एकजना त्यहीँ काम गर्नेलाई बोलाएर, पैसा दिँदै मतिर देखाएर भन्नुभयो, ‘यो बाबुलाई ज्याकेट किनिदेऊ ।’ १५/१६ वर्षको केटो म नयाँ ज्याकेट पाएपछि धेरै खुशी भएँ ।

    त्यसबेला नयाँ ज्याकेटले फुरुङ भएको म, यो समाज र राजनीतिलाई बुझ्दै जाँदा थाहा भयो, उहाँको बालप्रेम । जाडो भएको कुरा टेलिफोनमै कसरी थाहा पाउनुभयो होला ? अनि, भोलिपल्टसम्म त्यही कुरा ख्याल गरेर ज्याकेट किनिदिनुभयो । देशको गृहमन्त्री, जसले कति सानो कुरामा पनि ख्याल गर्नुभएको होला भन्ने मनमा सधैँ जिज्ञासा लागिरहन्छ ।

    एमालेको ९ महिने सरकार ढलेपछि उहाँ पाटनको माहपालमा डेरा सर्नुभयो । केही समय म त्यहीँ बसेँ । पछि सगरमाथा दैनिकमा काम गर्न थालेपछि अन्यत्रै साथीसँग बस्न थालेँ । म बेलाबेलामा उहाँको डेरा जान्थेँ । खाना खाए, नखाएको कुरा अनुहार हेरैरै छुट्टाउनुहुन्थो । नखाएको दिन आफूले भन्नै पर्थेन, उहाँले नसोधिकनै भन्नुहुन्थ्यो, ‘बाबु, तिमीले आज खाना खाएका छैनौँ । राधिका आन्टीलाई भेटेर खाना खाऊ ।’ डेरामा भिड हुन्थ्यो । झुटो बोलेर ‘खाएँ’ भनौँ, उहाँले नपत्याउने । उहाँले हातमै समातेर किचेनमा लिएर जानुहुन्थ्यो ।

    अहिले केपी अंकलको सफल नेतृत्वले नेकपा (एमाले) सबैभन्दा मत बढी भएको लोकप्रिय पार्टी बनेको छ । २०७९ मा एमालेलाई धुलो चटाउने भन्दै जतिसुकै घेराबन्दी गरिए पनि त्यो चिर्न एमाले सफल भयो । संसदको दोस्रो ठूलो दलका नेता केपी अंकल प्रधानमन्त्री भएको पनि एक वर्ष पूरा भएको छ । एक वर्षमा सकारात्मक कामको धेरै शुरुवात भइसकेको छ । उहाँ अप्ठेरो र समस्या छोडेर भाग्ने मान्छे होइन । हामीले विगतका धेरै घटनाक्रम देख्दै आएका छौँ ।

    एमालेको बहुमत ल्याएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभिभारा पूरा गर्नुपर्ने प्रमुख दायित्व उहाँसँगै छ । शायद त्यसकै लागि उहाँ रातदिन नभनी खटिइरहनुभएको छ । निर्णय गर्नसक्ने अब्बल क्षमता, उहाँको खटाइको परिणाम हुनुपर्छ, इलाम र बझाङको उपनिर्वाचनको सफलता । चौतर्फी घेराबन्दीविरुद्ध पनि उहाँको नेतृत्वमा २०७९ मा एमालेले प्राप्त गरेको सीट र मत पनि कम होइन । सीटमा दोस्रो भए पनि मतमा एमाले पहिलो शक्ति बनेको छ ।

    गठबन्धन नहुँदा त्यतिबेला नै एमालेले स्पष्ट बहुमत ल्याउँदोरहेछ भन्ने अहिलेको उपनिर्वाचनले पनि पुष्टि गरेको छ । यदि निर्वाचनमा प्रमुख दल छुट्टाछुट्टै लडेको भए के हुन्थ्यो ? धेरैको जिज्ञासा छ । तथ्यले के भन्छ भने, गठबन्धन भएकै कारण एमाले ४० स्थानमा झिनो मतले पराजय भोगेको छ । त्यो तथ्यले पनि झण्डै गठबन्धन नभएको भए एमाले बहुमत वा बहुमतको नजिक पुग्ने देखिएको हो । त्यसमा प्रमुख भूमिका उहाँकै हो ।

    माधव नेपालले मात्र पार्टी नफुटाएको भए पनि एमालेको सम्मानजनक बहुमत आउने निश्चित थियो । सीट संख्या प्राविधिक कुरा होला, तर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेता तथा कार्यकर्ताको शीर उठाउने काम गर्नुभएको छ । एमाले हुनुमा गर्व गर्ने अनुभूति एमाले पंक्तिलाई ओलीले नै गराउनुभएको छ ।

    आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्नुभएका ‘सुखी नेपाली, समृद्ध नेपाल’ का परिकल्पनाकार केपी अंकल कसरी खटिरहनुभएको छ भन्ने घामजस्तै छर्लङ्ग छ । उहाँले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अहिले मुलुककै सहमति बनिसकेको छ । उहाँको सार्वजनिक खटाईबाट लाग्यो यो सब पार्टी, देश र जनताकै लागि हो, भन्ने देखिन्छ । उहाँको दौडधुप, खटाई र त्याग हेर्दा यस्तो लाग्छ कि, उहाँको उमेर युवा जवानीमै छ । उहाँसँग हरेक परिस्थितिसँग जुध्ने तागत छ । हरेक कुरालाई रचनात्मक र रोचक बनाउने खुबी छ ।

    उहाँलाई कतिपयले सपनामात्र देख्ने नेता भने पनि ती सपना धमाधम पूरा हुँदैछन् । कतिपय स्वघोषित बुद्धिजीवीले ओली अंकललाई सपनामात्र देख्ने काम नगर्ने भनेको पाउँछु । जब कुनै नेताले देश बनाउने सपना देख्दैन, त्यसले काम पनि गर्दैन । ओलीले सपना नदेखेको भए काठमाडौंबाहिर बनेका अन्तर्राष्ट्रिय विमानस्थल कति सकिए, कति सकिने तयारीमा छन् ? चासो राख्नुहुने थिएन ।

    देशभरि सडक चौडा पार्ने काम, सबै पालिकामा अस्पताल बनाउनेलगायतका सयौँ काम भए । दैलेखमा पेट्रोलियम पदार्थ र ग्यासको भण्डार छ भन्ने कुरा बाहिर आउन पनि उहाँकै नेतृत्व चाहिने रहेछ । उहाँको नेतृत्वमा जनताका मुर्छित सपनामाथि पानी छम्किने काम भएको छ, हुँदैछ ।

    आजभोलि स्टण्डमात्रै गर्ने, काम नगर्नेको जमात राजनीतिक नेतामा बढी छ । जिम्मेवारी आउँदा काम नगर्ने, अनि बाहिर हुँदा कुरा मात्र चर्का गर्नेले राजनीतिको व्यापार गरिहेका छन् । तथ्य, तथ्यांक नकेलाउने, हिजो र आजको अवस्था तुलना नगर्ने, अनि झुट कुरालाई हजारचोटि भनेर सत्य सावित गराउन खोज्नेको भिड छ । त्यो भिड बर्खामासको भेलजस्तै हो । एकदिन सेलाउँछ । सेलाउनुपर्छ ।

    यो सत्ता गठबन्धन बनेको एक वर्षमा केही सकारात्मक संकेत देखिएको छ । विकास निर्माणले फड्को मारेको छ । धेरै ठूला आयोजना सकिने तयारीमा छन् । निर्यातको अवस्थामा धेरै सुधार भएको छ । आर्थिक मन्दी कम भएको छ । स्वास्थ्य, शिक्षा र आम नागरिकका मुद्दामा केही सफलता प्राप्त भएको छ, यो एक वर्षमा ।

    सोच्दा पनि अचम्म लाग्छ, भोलि देश हाँक्ने पुस्ता आज फेक कुराको पछि लागेका छन् । यसलाई रोक्ने उपाय भनेको सूचना बुझ्ने, परीक्षण गर्ने र विवेक प्रयोग गर्ने हो । युवापुस्ताले अवसरको खोजी गर्नु राम्रो हो, तर त्यसको लागि मेहनत, अभ्यास र धैर्यता चाहिन्छ । अरुलाई गाली गरेर आफू सफल भइँदैन । संसारका सफल मानिसको जीवन हेर्ने हो भने उनीहरू सबै आलोचना होइन, कर्ममा केन्द्रित थिए । नेता हुन भावनामा बहकिनु हुँदैन, विवेक र जिम्मेवारीमा विश्वास गर्नुपर्छ ।

    केपी अंकलसँग गहन अध्ययन गर्ने र विषयवस्तुलाई नजिकबाट बुझ्ने एउटा असाधारण क्षमता छ । संविधान निर्माणमा उहाँको भूमिका अतुलनीय छ । भारतीय नाकाबन्दीविरुद्ध उहाँले डटेर सामाना गरेको कुरा अहिले पनि सबैले स्मरण गरिहन्छन् ।

    विगतमा उहाँको नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देशको भूभाग हो भन्दै नक्सा जारी गर्‍यो, त्यो उहाँ नभएको भए सम्भावना नै थिएन । किन विगतका प्रधानमन्त्रीले त्यो साहस गरेनन् ? संविधानको अंगका रूपमा त्यो भूमिलाई राष्ट्रिय सहमतिका आधारमा कसले भित्र्यायो ? यद्यपि, यसका लागि भारतसँग गर्नुपर्ने धेरै काम बाँकी होलान् । कम्तीमा नेपालको नक्सामा कालपानी, लिपुलेक र लिम्पियाधुरा समेटी, यो भूमि नेपालको हो भन्ने सन्देश विश्वभर दियो । मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम उहाँकै नेतृत्वमा भएको हो ।

    उहाँ २४ घण्टामा १८ घण्टाभन्दा बढी खटिइरहनुभएको छ । दिनरात भन्नुभएको छैन । यो कुरा एमाले पंक्तिमात्र होइन, धेरैलाई थाहा छ । अहिले पनि जुन उर्जा र साहस उहाँसँग छ, त्यो अरु कोसैसँग छैन । एउटा विश्वप्रशिद्ध भनाइ छ, ‘सपना देख्ने आँखा मरेपछि मात्रै मान्छे बूढो हुन्छ ।’

    उमेर कति भयो भन्दा पनि उसको सोच, उत्साह, सपना र आत्मा जिउँदो छ कि छैन भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । कसैको उमेर ७० वर्षको हुनसक्छ, तर यदि ऊ अझै सिक्न चाहन्छ, बुझ्न चाहन्छ र केही गर्न चाहन्छ भने कहिल्यै बूढो हुँदैन । तर कोही २० को उमेरमै थकित र निराश भई सपना देख्न छोड्छ भने ऊ भित्रभित्रै बूढो भइसकेको हुन्छ ।

    उहाँलाई साधारण सदस्यबाट समेत हटाएर एमालेलाई छिन्नभिन्न बनाउँन खोज्दा होस् वा अब उहाँको राजनीति सकियो भनेर स्याल हुइँया मच्चाउँदा पार्टीलाई सम्हाल्दै, जोगाउँदै र धुलो टकटकाएर उठ्दा पनि केपी अंकलले नै ल्याउनुभएको हो ।

    राजनीतिमा फण्डा र स्टण्ट प्रहार गर्छन् । यस्तो झुटको फण्डालाई मसला बनाएर उहाँमाथि थप प्रहार गर्ने कि सत्य र तथ्य जाँच्ने ? विपक्षी पार्टीका कतिपय नेता ‘केपी ओलीजस्तो नेता हुनुपर्छ’ भनिरहेका छन् । कूलमान घिसिङ उज्यालो नेपाल अभियानमा केपी ओलीको महत्वूर्ण योगदान छ भनिरहनु भएको छ । माओवादीका सांसद रामनायारण विडारीले केपी ओलीजस्तो अध्ययनशील नेता अरु छैन भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । आमनागरिक केपी ओलीको विकास र समृद्धिको अभियानमा साथ छन् । केही थान फेक आईडीबाट बनेका र बनाइएका झुटको खेतीमा रमाउने कि तथ्यमा बुझ्ने ?

    उहाँ हावाले ढल्ने र ढलाउन सकिने मान्छे होइन । उहाँसँग कमीकमजोरी होलान्, तर उहाँमा केही गरौँ भन्ने जुन हुटहुटी र सपना छ, त्यो अरुमा देखिँदैन । उहाँको चट्टानी अडान र संगठन निर्माण गर्ने कौशलता नभएको भए नेकपा गठन पछि भत्केका कम्युनिष्ट पार्टीको बीचबाट एमालेलाई बत्ति बालेर खोज्नुको विकल्प थिएन ।

    ‘बाबु तिमीलाई जाडो भएजस्तो छ, बाक्लो कपडा लगाएनौँ’, मैले गरेको ल्याण्डलाइन टेलिफोन उठाउने मान्छेले मलाई सोधेको प्रश्न थियो । मैले भनेँ, ‘लगाएको छु । म आज साथीकोमा बस्ने भएँ, काका (बिलबहादुर खत्री) लाई भन्दिनुस् है ।’ उताबाट ‘हुन्छ’ भन्ने जवाफ आयो । मोबाइलको जमाना थिएन । मलाई टेलिफोन कसले उठाएको हो भन्ने थाहा भएन । यो ३१ वर्षअघि २०५१ सालमा भएको संवाद थियो ।

    कतिपयमा उहाँजस्तो बन्न नसकेकोमा रिस र डाह छ । जति गर्दा पनि एमालेलाई कमजोर बनाउन नसकेपछि अहिले सामाजिक सञ्चालको निशाना केपी शर्मा ओलीलाई बनाइएको छ । यद्यपी, उहाँको पक्षमा पनि उत्तिकै सद्भाव र सम्मान गर्नेको कमी छैन । सामाजिक सञ्जालमा चलाइएको हजारौँ फेक आईडी र केही अराजक समूहले तिललाई पहाड बनाउन खोजेपनि त्यो फण्डा र स्टण्टबाजी एकदिन निरर्थक हुनेछ ।

    अनि, त्यही फेक फण्डालाई पराजित गर्न लाग्ने कि ‘बेला यही हो’ भनेर एमालेपंक्ति बुरुक्क उफ्रिने ? जब नेतृत्वमाथि प्रहार भइरहँदा सही र गलत छुट्टाउन नसक्ने, योजना बनाएर तथ्य र झुटको चिराफार गर्नु जरुरी छ, न कि त्यही फण्डमा नाच्ने एमाले हुन सक्दैन ।

    यो सत्ता गठबन्धन बनेको एक वर्षमा केही सकारात्मक संकेत देखिएको छ । विकास निर्माणले फड्को मारेको छ । धेरै ठूला आयोजना सकिने तयारीमा छन् । निर्यातको अवस्थामा धेरै सुधार भएको छ । आर्थिक मन्दी कम भएको छ । स्वास्थ्य, शिक्षा र आम नागरिकका मुद्दामा केही सफलता प्राप्त भएको छ, यो एक वर्षमा । जनअपेक्षा धेरै छन्, भने जति भएको छैन होला । तर, सकारात्मक कामको शुरुवात भने पक्कै भएको छ ।

    अबको समय आफूले आफैँलाई पनि प्रश्न गर्ने समय हो । एकपटक सोचौँ, केपी ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल बनाउने सपना कसैले देख्छ भने त्यो दिवास्वप्नमात्र हो । केपी अंकलसँग जुन साहस, उत्साह र ऊर्जा छ त्यो अरु कोहीसँग छैन । उहाँसँग अहिले पनि २० वर्षे जवानीजस्तै जोश, जाँगर, हिम्मत र साहस छ । उहाँको दौडधुप, खटाई र त्याग हेर्दा यस्तो लाग्छ कि, उहाँको उमेर युवा जवानीमै छ ।

    (लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।)

  • साहसको पर्याय बनेर फुलेको कुश्मा

    साहसको पर्याय बनेर फुलेको कुश्मा

    ‘फाँटहरूले कस्लाई पुग्छ र भिरमा पनि फुलिदिन्छु…’ । नारायण गोपालले गाएको यो गितको शब्द प्रयोग गरेर केहीँ समय पहिँले पर्वत आएका एमालेका उपमहासचिव एवम् पुर्व मन्त्री प्रदिप ज्ञावलीले फेसबुकमा एक पोष्ट गर्नुभयो । यो गीतले भने जस्तै सजिला फाँटहरू सबैका लागि नहुन सक्छन्, तर साहस हुनेहरूका लागि कठोर भिर पनि फूलाउने थलो बन्न सक्छ । आज यही कुरा साँचो भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा अवस्थित कुश्मा बञ्जी जम्पिङमा ।

    फाँटहरूले मात्रै होइन, भीरहरूले पनि भविष्य बोकेका हुन्छन् । जब त्यहाँको माटोको सम्भावनालाई पौरखीहरूले बुझ्छन्, र सपना देख्न सक्ने आँखा लिएर जोखिम उठाउँछन् । जहाँ विगतमा शिर झुकाएर काप्दै हेर्ने भीर थियो, जुन भिरमा बाँदर र कालो चट्टान बाहेक अरु केही देखिदैन्थ्यो । आज त्यही ठाउँ साहसिक पर्यटनको केन्द्र बनेको छ । ‘द क्लिफ’ ले त्यस भीरलाई रमाइलोको रोमाञ्च, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण, र अवसरको उज्यालोमा रूपान्तरण गरेको छ ।

    कालीगण्डकीको खोंचमा पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल छ । त्यसको बिच भागको २२८ मिटरको उचाइबाट कालिगण्डकी खोँचमा हामफाल्नु कुनै सामान्य साहस होइन । तर यो केवल सहासिक खेल मात्र नभई, यो मानिसको सोच, आत्मबल र डरमाथिको जितको प्रतीक पनि हो ।

    पहाडको चट्टानमाथि स्काई क्याफे, बञ्जी जम्प, स्विङ, स्काई साईक्लिङ, स्काई चियर, मेगा ट्रोल जस्ता साहसिक खेलहरू अहिले कुश्माको परिचय बन्दै छन् । अग्लो र लामा पुलको शहरका रुपमा पनि चिनिएको कुश्माले हिजो आज भने सहासिक शहरको रुपमा परिचित भएको छ । यहाँ साहस मात्र होइन, सम्भावना छ र चुनौतीलाई अवसरमा बदल्ने क्षमता पनि उत्तिकै छ भन्ने सन्देश दिईरहेको छ ।

    अहिले कुश्मा बञ्जी जम्पिङ नेपालकै साहसिक गन्तव्यको पर्याय बनेको छ । देश-विदेशबाट युवायुवतीहरू यहाँ आउँछन्, हाम फाल्छन्, रमाइलो गर्छन् । उनीहरू यस अनुभवलाई जीवनकै ‘टर्निङ पोइन्ट’ भन्ने पनि गर्दछन् । यतिमै कुश्माको शक्ति सकिँदैन । यहाँ पूर्व तर्फ उर्लेको मोदी खोला र बञ्जीको तल उर्लेको कालिगण्डकी सम्भावनाको नदीले स्थानीय विकास र वैदेशिक लगानी लाई एकैसाथ आकर्षित गर्न थालेको छ ।

    पहिला जहाँ सुनसान भिर थियो, आज त्यहीँ पर्यटकहरूको चहलपहल छ । जहाँ जोखिम थियो, अहिले त्यहीँ लाभको अवसरमा परिणत भएको छ । कुश्मा बञ्जी जम्पिङले तीनवटा स्पष्ट संकेत दिइरहेको छ । त्यो हो स्थानीय पर्यटनको केन्द्र बन्न सक्ने क्षमता, पूर्वाधारको माग, र स्थानीय साझेदारीको बलियो सम्भावना । यिनै पक्षहरूले कुश्मालाई भविष्यको इनोभेटिभ टुरिज्म हब मा रूपान्तरण गर्ने बाटो खोलिरहेको छ ।

    केवल प्रचारका लागि मात्र नभएर पर्यटनको माध्यमबाट रोजगारी सिर्जना गर्न, गाउँको जीवनशैलीमा परिवर्तन ल्याउन र नेपालको सौन्दर्यलाई विश्व सामु पु¥याउन अझै भन्दा पर्यटन लाई समृद्धिको पहिलो आधार मान्न यी सहासिक पाइलाहरू लम्किरहेका छन् । वास्तवमा विकास भिरालो भीर र बन्जर देखिएका ठाउँहरूमा पनि सम्भव छ । यस्ता क्रियाकलापले केवल पर्यटन प्रवद्र्धन मात्र गर्दैन, मानिसको सोच बदल्छ । निराशालाई उत्साहमा परिणत गर्दछ । यही पृष्ठभूमिमा नारायण गोपालको कालजयी गीतको शब्दहरू झन् झन् गहिरो भएर मनमा बज्छ ।

    ‘फाँटहरूले कसलाई पुग्छ, भीरमा पनि फुलिदिन्छु,
    हाँसो मात्र कहाँ हुन्छ, पीरमा पनि फुलिदिन्छु !’

    यो गीत अब केवल प्रेमको प्रतीक मात्र होइन, नेपालका ती स्थानहरूको आवाज बनेको छ, जसलाई कहिल्यै उपयोगी मानिएन, तर जसले आफूलाई प्रमाणित गरिरहेका छन् । राजु कार्की,नेत्र पराजुली लगाएतका कर्मशील व्यक्तित्वहरूले यो क्षेत्रमा जे गरिरहनु भएको छ, त्यो केवल व्यावसायिक मात्र भन्दा पनि यो देशलाई हेर्ने दृष्टिकोणमै रूपान्तरण ल्याउने प्रयत्न हो ।

    धेरै लगानीकर्ता सजिला ‘फाँटहरू’ खोज्दै हिँड्छन् । जहाँ पूर्वाधार तयार छ, बजार छ, नीति स्पष्ट छ । तर साँच्चिकै लाभदायी र प्रभावशाली लगानी त्यहाँ हुन्छ, जहाँ जोखिम हुन्छ, तर सम्भावना पनि अपार हुन्छ । कुश्मा त्यहीँ भिर हो, जहाँ केही वर्षअघि कालो पत्थर मात्र देखिन्थ्यो, तर आज साहस, सौन्दर्य र संयोगको संगम बनेको छ । त्यत्ति मात्र होईन संघियता पछि पर्वतमा ७ ओटा स्थानिय तह भए । सबै सेवा नागरिकहरुले सोही ठाउँ बाट पाउन थालेपछि गुञ्जार कुश्मा बजार सुनसान बनेको थियो । सबै सटर डाउन थिए । स्थानिय व्यापारी कुश्माको विकल्प खोज्दै थिए वा त्यहाँ बाट प्लायन हुन थालेका थिए ।

    बञ्जि जम्प निर्माण पछि एकाएक कुश्मा बजारमा फेरी चहलपहल बढ्यो अनि गुञ्जार बन्यो । यहाँ सबैको चासो छ, पर्यटक बर्सेनि दोब्बर हुँदैछन्, र विदेशीयका युवा वर्ग गाउँमै बसेर केहीँ काम गर्ने् सोच बनाएका छन् । गीतले भनेझैं—“भिरमा पनि फुलिदिन्छु”, कुश्माको भिर अहिले साँच्चै फुल्दैछ । तर यो फूल आफैँ फुल्दैन । यसमा स्थानीय संकल्प, पर्यटकको आकर्षण, र लगानीकर्ताको दृष्टि मिसिनु पर्छ भने सरकारले पनि सोही अनुरुपको वातावरण बनाउनुपर्छ । आज लगानीकर्ताका लागि यो एउटा शून्यता बाट सिर्जना गर्ने दुर्लभ अवसर हो । यहाँ नेपालकै नमुना साहसिक गन्तव्य बन्ने क्षमता पनि उत्तिकै छ । र यहाँबाट फुल्ने फूलले नाफा मात्र होइन । पहिचान, प्रेरणा र परिवर्तन पनि दिन सक्छ । अब यहाँ फाँटहरू बाँकी छैनन्, तर भिर छन । जुन फुल्न थालेका छन् । र तपाईं, सहासिक पर्यटनको अनुभव लिन मात्र होईन, लगानीकर्ताको बीउ बन्नुहोस् । कुश्माले भनिरहेको छ, आउनुहोस्, लालीगुराँस झै फूल्नुहोस् ।

  • होम परिबागको ‘नेपालमा को-के ठीक छैन ?’ सार्वजनिक

    होम परिबागको ‘नेपालमा को-के ठीक छैन ?’ सार्वजनिक

    काठमाडौं । लेखक होम परिबागद्वारा लिखित पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक भएको छ । सोसाइटी बुक्स, नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो ।

    नेपाललाई आधा भरिएको गिलासका रुपमा विज्ञहरुले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो । पुस्तकको मूल उद्देश्य गिलास भरी बनाइ हेर्नुपर्ने अवधारणाबाट प्रेरित छ, यसको माध्यमबाट नेपालमा नयाँ सकारात्मक सोच विचारको चिन्तन सुरु हुनसक्छ भन्ने विश्वास लेखकको रहेको छ ।

    नेपाल र नेपालीले के कस्ता समस्याहरुमा बल्झिन, अल्झिन र गुज्रन परेको छ, तिनका मानव सृजित कारणहरु के हुन् ? विगतमा नसोचिएका सामान्य विषयवस्तुलाई लामो समय लगाएर लेखकले सरल तरिकाले यस पुस्तकभित्र उठान गर्ने प्रयास गरेका छन् ।

    पुस्तकमा लेखकले नेपालको राजनीति, राजनीतिज्ञ, राजनीतिक परिवेश, जटिलता, शक्ति सन्तुलन र समस्या, कर्मचारीतन्त्र, पत्रकार र पत्रकारिता, व्यापार र व्यापारी, बैंक तथा वित्तीय संस्था, गाउँ र शहर, गीतसंगीत, कलाकार, नेपाली सेना र प्रहरी, नेपाली कानुनी मामला र वकिलहरुलगायतका विषयहरु समेटेका छन् ।

    यसैगरी बस र ट्याक्सी चालक, यात्रा र यात्रु, ठेकेदारी, शिक्षा क्षेत्र, विदेशमा रहेका नेपाली, धनी र गरिबलगायतको पनि विवेचना गरेका छन् । सबै क्षेत्रको विवेचनापश्चात् लेखकले यी दुर्दशा किन सुरु भए र अबको बाटो के भन्ने सन्देश पनि पुस्तकमार्फत दिन खोजेका छन् ।

    गोरखा र धादिङको सिमाना आरुघाटमा जन्मिएका परिबाग हाल बेलायतमा बस्छन् । पत्रकारिताबाट करियर सुरु गरेका परिबागका यसअघि ‘याद हराएको मान्छे’ उपन्यास सहित गीत र कविताका पुस्तकहरु प्रकाशित छन् ।

  • एक आत्मसंवाद- धर्मराएका पाइलाहरू…

    एक आत्मसंवाद- धर्मराएका पाइलाहरू…

    गन्तव्यको पहिचान, तर पनि पाइला धर्मराइरहेका । प्रकृतिको अनुपमतासँग लक्षभेदन गर्ने सोच पटक–पटक अनुभूति भए, फेरि पनि । तर, त्यो लक्ष्य भने जहाँको त्यहीँ, जहाँ थियो, त्यहीँ पर, कहिलेकाहीँ मात्र देखिने, अनुभूति हुने र गन्तव्यमा पुगेको बीचमा धेरै भिन्नता रहेछ । त्यो भिन्नता पनि कहिले सहज लाग्ने, कहिले असहज । यही परिप्रेक्ष्यमा जीवनका अनेकौँ रौद्ररुप व्यतीत भए ।

    जब जीवनमा असहज हुन्छ, तब जीवनको अर्थको महसुस हुन्छ । आफ्नो लक्ष्यको याद पलपल आइरहन्छ । यो पनि प्रकृतिको पलभित्र पर्दछन् । अनुभूतिको यो अवस्था पनि निरन्तर नहुने, जब केही सहज हुन्छ, त्यो अनुभूति फिक्का साबित भइदिने ।

    सक्दासम्म टार्ने मनोविज्ञानले जरा गाडेको हाम्रो मस्तिष्कमा पनि लक्ष्यको अनुभूति नहोस् भन्ने चाहनाले घर गर्दा, यो आत्मा पटक–पटक, अनेकन् पटक रोइरह्यो । सामान्य मनोकांक्षा, जुन पूरा हुन सक्दछ, ज्ञात हुने विषयलाई पनि टार्न खोज्ने मनोवृत्ति भने गज्जबको । जति पनि सकिने, जब असफल भएर जीवनमा हेक्का हुन्छ, भाग्यलाई दोष दिने प्रवृत्ति भने अलौकिक ।

    प्रकृतिसँगै साक्षात्कार हुनैपर्ने बाध्यता कि कमजोर मानसिकता ? प्रकृतिसँग पौठेजोरी रहर होइन, यद्यपि सकिने सोचभित्रको परिणाममा समेत बाध्यता देख्ने मनोविज्ञान भने डरलाग्दो । यही डरलाग्दो परिपाटीले जीवन निरर्थक बनिदियो । आत्मादेखि नै असफलताको प्रत्याभूति भइरहँदा लाचारपनको दयनीयता यो वा त्यो नयनमा प्रष्टसँग देखियो ।

    हिजो यही समयमा निष्पट गर्मीले पोलिरहँदा र आज झरीको त्यो गुञ्जन गुज्रिरहँदा वातावरणीय प्रभावको महसुस राम्रोसँग गरायो । देख्दादेख्दै जीवन सृष्टिको निरन्तरता बनिरहँदा यो मानसपटल भने लाचार बनिरह्यो । साँच्चै जीवन त संकुचित नै बनेछ, क्यारे, जुन संकुचनमा चेतनाका भावको महसुस पनि भए ।

    महसुस हुनु र परिणाममा देखिनुमा चेतनाको अविकसित स्वरूपको घर रहेछ, जुन घरमा हामी सबै आश्रित छौँ । सोच जहाँजहाँ दौडिए पनि दैनिकी भने उही, मनमा आएका, ज्वारभाट फगत मिथ्या साबित भए । ज्वारभाटको कम्पनलाई केही भने पनि आत्मसात गर्न सके मन शान्ति हुने थियो नि । तर, त्यो त जब कमजोर र आत्मबल कम हुन्छ, नजरको सामुन्ने प्रष्फुटन भइदिन्छ ।

    हृदयको गहिराई पनि विशाल हुने रहेछ । मन र मष्तिष्कमात्र बाँध्न सके पनि मनका रहर केही हदसम्म पूरा हुन्थे । सानो कुरा प्राप्तिमा पनि जीवन सफल भएको मनोभाव, जीवन दर्शनका अणु होइनन् रहेछ, जसलाई हामी सम्झिरह्यौँ । प्रकृतिको चिसो सिरेटोले पटक–पटक आत्मानुभूति गरिरह्यो, त्यसलाई पूरा गर्ने अनेकन् सोच विकास भइदियो । तर, त्यो अनुभूतिको पल र सोचको पलको बीचमा ठूलो खाडल रहेछ, त्यसलाई पुर्नका लागि सानो चेतनाले सम्भव नहुने रहेछ । सपना देख्न पाउने अधिकारभित्र पूरा गर्ने ल्याकतको आवश्यकता पर्ने रहेछ, जुन अधिकांशमा नहुने रहेछ । त्यही नहुने अभिलाषा अन्तरआत्मामा भने गडिरह्यो ।

    जीवनदर्शन पनि अचम्मै रहेछ, जसले न सहजसँग बाँच्न दिन्छ, न बेअर्थ जिउन दिन्छ । ‘बेअर्थ’ भित्र अनेकन् सोचको विकास भयो । तर, त्यो विकास सोचमा मात्र सीमित बनिदियो । यसैले पनि बेचैनी, छटपटी, जीवनप्रतिको असन्तुष्टि पलपलमा प्रकट भइरहे । सोचेँ, जीवनका अर्थ पूरा भएन, तर पूरा नहुने अर्थभित्र लाखौँ तत्त्व सल्बलाइरहे, जसलाई चिरेर अगाडी बढ्ने सोच दीर्घकालीन हुन सकेन । अल्पकालीन सोचले जीवनको अर्थ पूरा भएन ।

    पलपलमा सोधिरहने यो निरन्तरको प्रश्न कहिलेसम्म सोधिने हो ?

    मन नै चञ्चल र कमजोर, सानो कन्दनीले पनि लर्किदिने । सामान्य हावाहुरीको बहावले पनि उडाइदिने । दिनको पारिलो घामले नै हुत्ताइदिने । वातावरणमा बग्ने वायुको मात्रा पनि असमान हुने रहेछ नि ! त्यसको हेक्का पनि नहुने । सधैँ अनुकूलता खोज्ने मेरो मानसिकता, वातावरणमा केही प्रतिकूलताको समेत असर ठूलो पर्ने ।

    हृदयको गहिराई नाप्न यो चेतना र क्षमताले सम्भव रहेनछ । आत्मानुभूति भएको सोच सबै प्राप्त गर्ने अभिष्टले जीवनमा नैराश्यताशिवाय अन्य प्राप्त नहुने रहेछ । रह्यो कुरा मन र मष्तिष्कको । त्यसको मिलन केही हदसम्म गराउन सके पनि यावत प्रश्नको समाधान हुने थियो ।

    कतै जीवनको अर्थ पुष्टि हुन्थ्यो कि ? अनायासै यही सोचले ग्रसित हुँदैगर्दा साथीलाई प्रश्न गरेँ, ‘तपाईँको जीवनको अर्थ पुष्टि भयो ?’ गमेर साथीले भन्यो, ‘भयो ।’ त्यो ‘भयो’ भित्र मेरो प्रश्नको उतारचढाव मिसिएका थिए कि थिएन होला ? साथीले मेरो प्रश्नको आशय कति प्राप्त गर्‍यो होला ? केही पलको अन्तरालमा केही पर साथीहरूको भीडबाट भनेछु, ‘मेरो जीवनको औचित्य पुष्टि भएको छैन ।’

    साथीहरू अवाक बने । लाग्यो होला, कस्तो जीवनको औचित्य खोज्दै छ ?

    जीवनको औचित्य पुष्टि गर्न हिँडिरहँदा लक्ष्यको आभास भयो । त्यही लक्ष्यको आभास पटक–पटक भयो । तर, सधैँ आभासमा नै यी महत्त्वपूर्ण पल बितिरहे । शून्यतामा नै जीवन मीठो हुन्छ क्यारे । ऊ त्यहीँ पर, जहाँ मेरो लक्ष्य देखिएको छ, तर त्यो लक्ष्यमा पुग्ने पाइला भने धर्मराईरहेका छन् ।

    प्रकृति पूजक पनि मीठो, तर त्यो पूजकको पूजा गर्न आमसोचबाट सम्भव रहेनछ । अन्तरआत्माबाट सधैँ सोधिरह्यो, ‘हृदय र मष्तिष्कको मिलन गराउन सके…?’ मेरो अनेकन् प्रश्न र जीवनको औचित्य पुष्टि हुन्थ्यो होला, तर त्यो कसरी नै सम्भव होला र ?

    धर्तीमा अनेकन् प्राणी, उनीहरूले आफ्नो जीवनको औचित्य आफ्नै तरिकाले पुष्टि गर्दैछन् । तर, म भने औचित्य पुष्टि गर्न नसकेर यो सांसारिक जन्जालमा भुलिरहेको छु ।

    ०००

    शून्यतामा नै जीवन मीठो हुन्छ क्यारे । ऊ त्यहीँ पर, जहाँ मेरो लक्ष्य देखिएको छ, तर त्यो लक्ष्यमा पुग्ने पाइला भने धर्मराईरहेका छन् ।

    धर्तीमा अनेकन् प्राणी, उनीहरूले आफ्नो जीवनको औचित्य आफ्नै तरिकाले पुष्टि गर्देछन् । तर, म भने औचित्य पुष्टि गर्न नसकेर यो सांसारिक जन्जालमा भुलिरहेको छु ।

  • ‘यु आर माई सैयारा’

    ‘यु आर माई सैयारा’

    केटा:–“यु आर माई सैयारा” 

    केटीः- “यु आर माई सैयारा” 

    अहिले राजधानी शहरमा साउने भेल झैँ यो हेडलाइनका वाक्यहरू गुन्जिरहेको छ । केटाकेटीहरू एकले अर्कोलाई भन्न थालेका छन् “यु आर माई सैयारा ।”

    केहीले थाहा पाए पनि धेरैलाई थाहा नहुन सक्दछ- “सैयारा” एक हिन्दी फिल्म हो जसले २ सय करोडको क्लब क्रस गरेर अगाडि बढिरहेको छ । यसको गति तीव्र छ । कति सय करोडमा पुगेर यो रोकिन्छ भन्न नसकिने अवस्था छ । फिल्म हेर्ने मान्छेको भिड खहरेको बाढीजस्तै छ । सिटी सेन्टरमा त्यो दिन पनि हाउस फूल थियो ।

    ४४ वर्षीय निर्देशक मोहित सुरीले बनाएको यो फिल्म मात्रै हैन थोरै बजेटमा धेरै नाफा कमाउने उनका अरू पनि थुप्रै हिट फिल्म छन् ।

    फिल्ममा एक डायलग छ “सैयारा अर्थात् आकाशको एक बेग्लै तारा, जो सबैभन्दा बढी चम्कन्छ, तर ऊ सधैँ एक्लै हुन्छ, आफैँ जलेर धेरैलाई प्रकाश दिन्छ, तर कहिल्यै बदलिँदैन, हो त्यही तारा तिमी हौ मेरो ।”

    मलाई जे भए पनि तिमी मलाई सधैँ माया गरिराख ल भन्ने भाव हिरोइन वाणीले प्रकट गर्छिन् । हिरो कृषले त्यो भूमिका निभाउँछन् । फिल्ममा गीत छ ।

    “सैयारा तु तो बदला नही हे मौसम जरा सा बदला हुआ हे ।”

    गीतजस्तै फिल्ममा मौसम र हालत बेस्कन बदलिन्छ । तर, हिरोको माया बदलिँदैन । मुख्य प्लट यही हो फिल्मको । अलिकति कथामा छिर्दा भने यस्तो छ । वाणीको स्मरण शक्ति क्षीण हुँदै जान्छ । यति सम्म हुन्छ कि उनी कृषलाई नचिनेर छुरा हान्छिन् । तैपनि कृष (हिरो) बदलिँदैन । माया गरिरहन्छ ।

    नाम, ठाउँ, गते, बार मात्रै हैन केही कहीँ याद नहुने वाणीलाई पूर्व स्मृतिमा ल्याउन हिरो कृषले कुशलता देखाउँछ । जे जस्तो अवस्थामा पनि कृषले वाणीलाई माया मात्रै गर्दछ र ऊ साँच्चै सैयारा हुन्छ । प्रसिद्ध गायक कृष र गीतकार वाणीबीच भएको प्रेमिल कथा नै यो फिल्म हो । यसलाई सत्य कथामा आधारित भनिएको छ । कोरियन फिल्मको कपी भनिएको छ । जे भनिए पनि सैयाराले मान्छेको मनमनमा सयर गरिसक्यो ।

    मेरै मनमा पनि मज्जाले सयर गरिरहेछ । सैयारा हेरेको भोलिपल्ट शनिबार साउन १० गते हाइकिङ महभीर झरना जानु थियो । त्यहाँ गएपछि थाहा पाएँ । ओहो ! त्यो झरना झन् राम्रै सैयारा रहेछ । प्रकृतिको सैयारामा फिल्मको जस्तै डायलग मैले नबोलीकनै बोलिरहेझैँ भएँ ।

    भनेँ, “महभीर झरना अर्थात् प्रकृतिको बेग्लै झरना । यस्तो भीरमा बसेर पनि तिमी सेतो प्रकाश फ्याँकिरहेको छौँ । एक्लै छौ तर हजार झरना जस्तै छौ । पृथ्वीमा आएपछि धेरै बदलिए, तर तिमी कहिल्यै बदलिएनौँ । एक विशिष्ट झरना जसले सबैलाई शीतलता प्रदान गरिरहेको छौ, तिमी मेरो लागि सधैँ यस्तै हुनु ।”

    महभीरमा नै मैले सैयारा देखेँ । म त महभीरको प्रेमी भए । फिल्म हेरेको आनन्द भन्दा कता हो कता आनन्द त्यहाँ नुहाउँदा आयो ।

    फिल्म हेर्दा मेरो मनमा प्रश्न आइरहेको थियो ।

    “बाफ्रे बाफ ! यस्तो पनि लभ कसैले कसैलाई गर्छ र ,हुनै सक्दैन ?”

    फिल्म हेरपछिको यो प्रश्न महभीर झरनामा गएपछि उसैगरी आइरह्यो ।

    झरनाकै अगाडि मै छु । प्रश्नले मन उद्वेलित भइरहेथे ।

    “बाफ्रे बाफ ! यस्तो सुन्दर झरना पनि कहीँ हुन्छ र, हुनै सक्दैन ?”

    अचम्मै लाग्यो । म त हिरोइन वाणीले बिर्सने बानीले ट्वाल्ल परे झैँ सब बिर्सेर ट्वाल्ल परेँछु । झरनामा ट्वाँ परेको देखेर नजिकैको साथी राजारामले भन्यो “नुहाउने हैन, लुगा फुकाल न के हेरिरा, म फोटो खिचिदिन्छु आइजो ।”

    यस्तो लागिरहेथ्यो । म फिल्मको वाणी बनेर वाणीविहीन भइसकेछु ।

    घोष्ट राइटिङ नेपाल हुँदै लेखन कुञ्जसम्म आउँदा मान्छेको किताब पढ्दापढ्दा, लेख्दालेख्दा , सुन्दासुन्दा मलाई प्रकृति र जीवनमा जे पनि सम्भव छ भन्ने लाग्छ । पत्रकारले झैँ कहाँ यो हुन्छ यो हुनै सक्दैन ? तपाईँले के हावा कुरा गरेको ? लौ त प्रष्ट पार्नुस् । बताउनुस्,  भन्नुस्, जोड दिनुस् भन्न छाडिसकेको छु ।

    फिल्म र झरना दुवै मेरो लागि अप्रत्याशित, आश्चर्यचकित, अनौठो अदभूत लागिरहेको थियो  ।

    पानी परिरहेको थियो । राजारामले नबोलाउन्जेल रेनकोट लगाएर झरना हेरिरहेथेँ । १८५० मिटर उचाइमा रहेको महभीर महको भीर पो रहेछ । भीर मौरीले भीरमा मह पारिरहेका चाकाहरूको फोटो हेरेको थिएँ । बेच्न हिँडेका मान्छेका फोटो हेरेका थिएँ । तर, त्यो दिन पानीले ती कुनै दृष्यहरू हेर्न दिएन ।

    महभीर झरनाबारे बुझौँ न त भनेर गुगलभाइलाई सोधी हेरेको उसले भटाभट नामहरू दियो । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको टेम्के डाँडामा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ७ हिस्तानमा, मकवानपुरमा, बागलुङको निसीखोलामा गाउँपालिका- ३ मा र सिन्धुपाल्चोक पिस्कर , जलजले , तौथली सिमानामा रहेको महभीर झरना (जहाँ हामी उभिएका थियौँ  ।

    भीरको देश नेपालमा महभीर झरना धेरै ठाउँमा रहेको थाहा भयो । तर, यो झरनालाई भने मह हैन महाभीर भने हुन्थ्यो भन्ने लाग्यो । महाभीरबाट झरेको यो झरनाको झरझरले दिमाग सरसर सरसराईरहेको थियो ।

    महाभीर झरना जाने बाटो सुकुटेबाट सुरू हुने रहेछ ।

                       ०००

    सुकुटे आजकल सुकुटे छैन । ऊ मोटाएको छ । मान्छेहरूको हुल उसले नबोलाई ऊतिर आइरहेका छन् । सुकुटेले र्‍याफ्टिङ गराउँछ । मीठो खाना खुवाउँछ । बीच भलिबल खेलाउँछ । बीच नभएको देशमा बीचको तिर्सना मेटाउँछ । यसैले त आजकल सुकुटे फुकुटे हुँदै गएको छ ।

    हो त्यही सुकुटेमा हामीले ब्रेकफास्ट गर्‍यौँ र लाग्यौँ सुनकोसी नदीको पुल तरेर उकालो । छक्क परेँ – पीच बाटो रहेछ त्यस्तो ठाउँमा पनि । धारापानीको उकालो नपुग्दै पीच त ईच भयो । खल्ड्याङखुल्डुङ डरलाग्दो र कहीँ कहीँ ढलान बाटोमा  टेकानपुर , गैरीगाउँ हुँदै पुगियो त्रिपुरा सुन्दरी गाउँपालिका तौथली । जहाँ त्रिपुरासुन्दरीको मन्दिर थियो र थियो महिलाले छिर्न नहुने मन्दिर । सूचना टाँसिएको थियो –

    श्री नातेश्वर गुरुले सबैको रक्षा गरुन् !!

    तपाईँहरूलाई यस ऐतिहासिक नगरी तौथलीमा स्वागत छ ।

    यस ऐतिहासिक नगरी तौथलीमा पर्ने धरोहर मध्ये एक महत्त्वपूर्ण स्थल (नातेश्वर) भित्र दर्शन गर्नको लागि परापूर्व कालदेखि नै महिला प्रवेश गर्नु हुन्न भन्ने मान्यता रहेको र अझैसम्म पनि पालना हुँदै आएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौ । 

    मिति २०८० असार २८ धन्यवाद !

    सौजन्य तौथली सिभिल क्लब । 

    सिभिल क्लबले किन यस्तो “अन सिभिल” काम गरेको होला भन्ने मेरो मनमा परिरह्यो । महिलाको कोखबाट जन्मेकै मान्छेले बनाएका होलान् अनि महिलाहरूको पनि यो मन्दिर बनाउँदा उति बेला योगदान थियो होला भन्ने मनमनमा च्वास्स लागेर हेर्न गएँ ।

    पुरुष भएको फाइदा भनेर मनमनमा बेकामको पुरुष मनोविज्ञान पनि खेलिरहेको थियो । भित्र गएर हेरेँ अलिक अनकन्टार रहेछ । त्रिशूलहरू टन्नै । मलाई त न कुनै साधुले केही कतै कहीँ बदमासी गरेर पो यहाँ महिला जान हुँदैन भन्यो कि भन्ने कुरा मन्दिर हेरेपछि लाग्यो भन्या ! ओहो मन्दिरमा आएर पाप चिताए कि भन्ने पनि लाग्यो फेरि भन्या !

    यस्तो सोचको लागि आफैले आफ्नै कान समाउँदै क्षमा मागेँ । तौलीमाथिको आकाशको बदलिएको बादलको मौसम झैँ मन मडारिएको थियो । पानी छिट्याउन थालिगो ।

    बाटोमा एक स्थानीय महिला भेटिनुभयो । भाँचेको मकै डोकोमा हालेर स्वाँ स्वाँ गर्दै उकालो उक्लँदै गरेको उहाँलाई सोधेँ “किन यहाँ महिला नजाने, कोही मरेर हो आमा ?”

    हिँड्दाहिँड्दै उहाँले भन्नुभयो “मान्छेहरू मरेर हैन देवता पनि लोग्ने मान्छे मात्रै छ, पूजा पनि लोग्ने मान्छेको मात्रै हुन्छ नि।”

    मैले फेरि सोधेँ “कहिलेदेखि नि यो ?”

    उहाँले भन्नुभयो “पहिलेदेखि नै यस्तै चलन चल्यो ।”

    सूचनाभन्दा अलिक पर रातो अक्षरमा बोल्ड गरी लेखिएको थियो ।

    महिला प्रवेश निषेध 

    No Entry For Women

    यस नातेश्वर मन्दिरमा महिलाले दर्शन गर्नु हुँदैन भन्ने परापूर्वकालदेखिको मान्यता रही आएको हुनाले कृपया महिला प्रवेश निषेध गरिएको छ । 

    दुई-दुई वटा सूचना लेखेको देखेपछि हामीहरूसँग हाइकमा जाने महिला जनको मन मैलो भयो । उहाँहरू त्यहाँ जानु हुन्न भनेपछि किन जाने भन्दै अलिकति स्वाभिमान अलिकति चित्त दुःखाई मिसाउँदै मन अमिलो बनाउँदै त्रिपुरा सुन्दरी लाग्नु भयो । आफूसँगै आउनुभएको दिदीबहिनीमध्ये कोहीले त्यो कहीँ नभएको नचाहिँदो परम्परा तोडे हुन्थ्यो नि ! भन्ने लागे पनि नआउनु भएकोमा म पनि मन मैलो बनाउँदै नातेश्वरमा नाता लगाउन छिरेँ र निक्लिहालेँ ।

                       ०००

    जसको नाउँमा गाउँपालिका बनेको थियो । उसलाई त भेट्नै पर्‍यो भनेर हामी हिँड्यौँ त्रिपुरासुन्दरीको मन्दिरमा । अग्लो त्रिशूल साथमा डम्बरु गडिएको चार तले मन्दिरमा पुरानो नेपाली कला झल्किएको घर कलात्मक लाग्यो । त्यही घरमा त्रिपुरासुन्दरीलाई एक तल्लामाथि लगेर चिटिक्क पारेको देखेँ । सिन्दूर चुरा पोते, टीका, गाजल लगाएको असाध्यै राम्री त्रिपुरासुन्दरीको बारेमा पुजारी दिलबहादुर श्रेष्ठले भन्नुभयो- “सात देवीमध्येको कान्छी हो उहाँ, पलाञ्चोक जेठी, कालिञ्चोक माइली, दोलखा, काठमाडौं, हुँदै…..।” उहाँले बिर्सनुभयो । मैले सम्झने कुरै भएन ।

    त्रिपुरासुन्दरीको सुन्दरता मनमा हालेपछि हाम्रो आजको एक मात्र लक्ष्य, उद्देश्य सबै भएको ठाउँ महाभीर झरनातर्फ थियो । बाटो न उकालो न ओरालो तेर्सोतेर्सो रहेछ । त्यहाँ पुग्नु अगाडि स-साना ३/४ झरनाले कास्टिङ देखाए । हामी ट्रेलर हैन फिल्म हेर्न हिँडेका थियौँ ।

    अरू बेला भए त्यही झरना नै कत्रो लाग्दथ्यो । फोटो खिच्ने , नुहाउने हुन्थ्यो । आज यो जरुरत थिएन । शक्तिको पछाडि लाग्ने मानवीय स्वभावलाई शिरोपर गर्दै हामी शक्तिशाली झरनातिर लाग्दै थियौ । ती झरनालाई झूर मान्दै फोटो पनि नखिचेर हामी लाग्यौँ महभीर झरना ।

    साउन हामी वरिपरि वर्षा बनेर हिँडिरहेको थियो । छाता र रेनकोट लगाएर हामीले साउनको सौन्दर्य बढाइरहेका थियौँ । हामी पानी हेर्न पानी पानी हुँदै गइरहेको थियो । बाटोमा पानी । परेको पानी । झरना खोला सबै नाघ्दै जाँदा आइहाल्यो ४/५ किमीको दूरीमा रहेको झरना । कोही चिच्याइहाले “आम्मामामा कत्रो झरना ।”

    जब झरना नजिकै पुगियो छाताले नथाम्ने पानी आयो । रेनकोटबाट पनि भित्र छिरेर टिसर्ट भिजिहालेछ । जुत्ता त लपक्कै भयो । झरनामा झरनाभन्दा ठूलो स्वरले कराउनेहरू चिच्याएको देख्दा पनि मस्त हाँसो लाग्यो ।

    लुगा खोलियो । लुगा लगाइयो । यो झरना लुकेको हीरा रहेछ । हीरा पाउन कालाम्मे भए जस्तै दुःख गर्नु परेन । तर, दुःख चाहिँ भयो । लेउ लागेको ढुङ्गाले भन्दै थियो- “मेरो साथी झरनालाई भेट्न बढी जान्ने भएर दौडेर नहिँड् अहिले तँलाई उत्तानो टाङ्ग पार्दिउँला !”

    ढुङ्गाले भने झैँ चिप्लो थियो झरना जाने बाटो । बिस्तारै बिस्तारै छेउमा पुगियो । झरनाभन्दा पचास मिटर पर नै झरनाको पानी आएर मान्छे भिजिरहेको थिए । भिज्न के को डर ! भिज्नै आएपछि ! भिज्दै पुगिहाल्यौँ ।

    ओहो ! पहिलोपल्ट झरनामा टाउको थाप्दा त थुचुक्कै बसाल्छ जस्तो भयो । झरनामा ह्वात्तै पानी आउँदा त असिनाले टाउकोमा हाने झैँ टिनिन्न भयो । कोही झरनाले बनाएको पोखरीमा भिजिरहेका थिए । कोही पोखरी बाहिरै भिजिरहेका थिए । झरनाको छाँगोले शरीरमा हान्दा त एक सङ्गीत पैदा भए झैँ लाग्थ्यो । कति नरम पानी रहेछ, साक्षात् प्रकृति भनेको त्यही होला । जति बस्यो बसिरहन मन लाग्ने ।

    कोही भन्दैथे “घाम लागेको भए कत्ति मज्जा हुन्थ्यो , पानी परेर झूर भयो।”

    राजाराम भन्दैथ्यो “मेरो त ढाड दुःखेको नै निको भयो भन्या !”

    बम बहादुर थापा भन्दै हुनुहुन्थ्यो “यो विशुद्ध प्रकृति हो नि त !”

    प्रकृतिले जति प्रेम कसले गर्दछ र ! उसले जत्ति प्रेम कसले सिकाउँछ र ! यस्तो वर्षामा त्यस्तो चिसो पानीमा नुहाउँदा न टाउको दुख्ने न रुघा लाग्ने । यस्तो लागिरहेछ । यसको ऊर्जा शरीरभर छ र रहनेछ । यस्तो लागिरहेछ । यो ठाउँमा धेरैपल्ट पुगेको छु, पुगिरहनेछु ।

    साउन वर्षिएर झरनामा नुहाएको खिच्न नै धेरै टेक लाग्यो । मोबाइलको लेन्स भरि परिरहेको पानीले थोप्ला बनाएको थियो । मैले आजसम्म झरनामा साबुन लगाएर नुहाएको थिइनँ । बिहानै लुगा हाल्दा झरनामा साबुनले नुहाउने हो भन्दै हिँडेको थिएँ । मस्त साबुन लगाएपछि आँखै पीरो भएर हेर्न सकिनँ । झरनाले एकैछिनमा साबुन त पखालिदने रहेछ । ओहो ! अद्भुत आनन्द । दुईपल्ट साबुन लगाएर नुहाएँ धोको फेरेर । आधा घण्टा झरनासँग जिस्किएपछि लाडिँदै लागियो लुगा भएतिर ।

    सब आफ्नो आफ्नो तालमा मस्किँदै, ठस्किँदै, उस्किँदै , चुस्किँदै थिए ।

    पानी परिरहेको थियो । लुगा फेरेर रेनकोट लगाएर सब आ-आफ्नो तालमा हिँडिहाले । सानैमा स्कुलमा सीट रोके झैँ झोला राखेर सीट रोक्न । झरनामा ग्रुप फोटो खिच्न पाइएन । अलिक माथि अर्को झरना छ भन्दै थिए साथीहरू “बडा बा नै भेटिसकेपछि छोरा भेट्न को जाने ?” भन्दै कोही गएनन् ।

    पानीले आँखा पखालिरहेको थियो । मैले कहीँ कतै पढेको सम्झेँ “म झरीमा हिँडिरहेको बेला रुन्छु ता कि आँसु हो कि झरी कसैले थाहै नपाओस् ।”

    यस्तो राम्रो महभीर हाम्रै देशमा । यसको संरक्षण गरेर लाख पर्यटन ल्याउन पाए मेरो देश कस्तो हुन्थ्यो होला भन्ने संवेदना समुन्द्र झैँ आयो । यस्तो भावनाले मेरो आँखा नि रसाइरहेको थिए । पानीको कारण कसैले थाहै पाएनन् ।

    असार १२ मा भारतको मसुरी पुगेथेँ । केम्पटी फल्स हिट रहेछ । लाखौँ मान्छे आउँछन् यो झरनामा भन्थे उनीहरू । मलाई त हाम्रो देशको धारा पनि यो भन्दा ठूलो हुन्छन् भनेर जानै मन लागेको थिएन र गइनँ पनि । तल पोखरीमा मान्छेहरू त्यही फल्सबाट फल भएको पानीमा पौडिरहेका थिए । पौडँदै के के न गरेँ कहाँ कहाँ न आएँ भनेर चिच्याएको आवाज अहिले पनि मेरो कानमा छ ।

    ती मान्छे यहाँ यो महभीरको चिसोमा आएर आँखा, नाक, कान, छाला र मुख (जिब्रो), पञ्चेन्द्रीयका रूप, रस, गन्ध, शब्द स्पर्शको व्याख्या यहाँ पाउँदा के गर्लान् भने झैँ लागिरह्यो र भावुक भइरहेँ देशवादी बनेर ।

     ०००

    हाइकर्सका आफ्नै कथा हुन्छन् । खानपानका, लवाइका, डुलेका कथा हुन्छन् । यहाँ पनि त्यस अतिरिक्त सबैका आ-आफ्ना कथा रहेछन् । ती कुनै दिन लेखौँला ।

    यो पाला ह्याप्पी हाईकर्सहरूमा राजाराम फुयाँल उसकै उत्तराधिकारी नमन, अचित्र थिङ्ग, प्रवेश ढुङ्गाना, पासाङ शेर्पा , प्रकाश तिमल्सिना, प्रदीप कँडेल, निराकार श्रेष्ठ , राज श्रेष्ठ, जय दाहाल , निश्चल पौडेल , मनोज प्याकुरेल , बाबुकाजी महर्जन, प्रवीण अर्याल, राम श्रेष्ठ, सुमन मानन्धर , सुमित्रा मानन्धर , शिलु अधिकारी श्रेष्ठ, सुदीप अधिकारी, कर्मा गुरुङ, प्रमिला सापकोटा , बमबहादुर थापा मगर, हरिहर रेग्मी , लक्ष्मणबहादुर साउद, निर्मल बोहरा, रतन शाह, सनतकुमार रेग्मी रामकृष्ण शंखदेव, सञ्जय लामा र म गरी दशको तीन गुणा थियौँ ।

    उकालो बाटो, चिप्लो माटो ठसठसी कन्दै गाडी उक्लँदा कहिँकहिँ डर फुत्त बाहिर निक्लन्थ्यो । फेरि यत्रो छौँ भन्ने लाग्दथ्यो । अनि यत्रो भएकै कारण झन् केही भयो भने के होला भन्ने पनि लाग्यो । त्यो बढेको सास फाल्न कहीँ गाडी रोकिने बित्तिकै ओर्लिएँ ।

    काठमाडौँबाट सुकुटे हुँदै झरना पुग्दा गाडीमै दश घण्टा बिताइयो । त्यो मेहनतले थाहा पाएँ । गुरुत्वाकर्षण र झरनाको मीठो सु-सम्बन्ध हुँदो रहेछ । नत्र त पानी पनि कहाँ तल खस्दथ्यो र ! मलाई त पृथ्वीको देखिएको झरनालाई हेरिरहँदा नदेखिएको गुरुत्वाकर्षणलाई धन्यवाद दिन मन लाग्यो र दिएँ मनमनै ।

    बाटोमा आउँदा साउने जुकाले सबलाई माया गरिरहेको रहेछ । परजीवीलाई जीवन दिँदै सबैले थाहै नदिई जुका चुसाएछन् । एक जना साथीको त यति रगत आएको थियो कुरै नगरौँ । मेरो त लुगामा पनि जुका रहेछ । यसो चिलायो भनेर छाम्यो जुकै जुका । जुकाका ६ पुस्ता चढे होलान् शरीरमा भन्दै थिइन् पासाङ शेर्पा ।

    बिहान ५:२५ मा गाडी चढेको रातको ७:२६ मा गाडीले चप्पल कारखाना ओराल्यो । लामो समय लाग्यो भनेर दुःख हैन सुखको अनुभूति गरेको छु । एक प्रेमी भेटेँ झैँ मन अल्हादित भइरहेछ । प्रेमीकाले फिल्ममा प्रेमीलाई भने झैँ म पनि महभीर झरनालाई भन्दैछु : “यु आर माई सैयारा !”

    तस्वीर : निराकार श्रेष्ठ ।

  • भव्य अँध्यारो र उज्यालोमा एकदिन

    भव्य अँध्यारो र उज्यालोमा एकदिन

    “हेर्नु न ! केही दिन हाइकिङ जान पाएन भने खुट्टै कट्कट् गर्ने, जिउ नै दुख्ने भइसक्यो भन्या !”

    कसले कसलाई भनेको ठान्नु भएको होला । यो मैले यहाँहरू पाठकलाई नै भनेको । लगभग एक महिना भैसकेको थियो हाइकिङ नगएको पनि ।

    यो पाला कहाँ जाने भनेर सोचिरहेको बेला ह्याप्पी हाईकर्सको ग्रुपमा मेसेज आयो “सप्तकन्या गुफा र झरनामा जाने भए नाम लेखाउनुस् ।”

    ओहो सातवटा र गुफा अनि झरना रहेछ कि क्या हो भन्ने मनमा आयो । एकछिन सातमा घोत्लिन मन लाग्यो ।

    सात कन्या, सात ऋषि भएको देश । पाश्चात्य दर्शनमा लक्की सेभेन भनेको सम्झेँ । पूर्वीय दर्शनमा सातलाई बेजोड अङ्क मानिने रहेछ । सात महासागर, सात महादेश । पृथ्वीबाट देखिने सात ग्रहहरू । अनि जीवनका सात बार । सात रङ्ग । सात सुर । सौर्य मण्डलका सात प्लानेट छन् । मान्छेभित्रको सात चक्र । हाम्रो सप्तकोशी नदी ।  विवाहको ढोका उघार्दा लगाइने सात फेरो । भाइटीकाको सप्तरङ्गी टीका । सुन्दर फूलको सात पत्र ।

    कति हो कति सात देखेँ । सा मा त पछि आउने थ थपौँ न त भन्ने लाग्यो । र, सात हेर्नको लागि साथ दिन मन लाग्यो । ह्याप्पी हाईकर्सको हेड सर मित्र राजाराम फुयाँललाई भने “मेरो नाम हाल्दे न त !”

    साउने पानी छल्न नवदुलहीहरू माइत गइरहेको यो समयमा म भने साउनको पानीमा खेल्न मन लागेर यता लागिरहेको थिएँ । मित्र सुरेन्द्र फुयाँलले फेरि सुतिसकेपछि राति म्यासेज पठाएछ ।

    कहाँ जाने यो पाला ? चुज वन ।

    हात्ती झरना दोलखा ।

    धेरै झरनाहरू धुन्चे

    सुन्दरीजलका झरना हेर्दै धाप डयाम्प नागमती हुँदै आउने ?

    दुवै फुयाँलहरू मुलपानीका बालसखा । किशोरकालमा हामी पाँचजना मिलेर मुलपानी भित्ते समाचार भनेर चलाउँथ्यौँ । पाँचमध्ये सुरेन्द्र र राजारामसँग क्लब, लाइब्रेरीहरूमा सँगै काम गरेको लगायतका थुप्रै यादहरू छन् । राजारामलाई बेलुकै नाम टिपाइसकेको । सुरेन्द्रलाई रिप्लाई म्यासेज पठाएँ “झरना र गुफा नै जाऊँ न त हिँड् ।”

    भन्यो “मेरो मिल्दैन यार ! अर्को बिहानै ५:०० बजे उठेर जुलुसमा हाइक गर्न अलिक सक्दिनँ ।”

    यता नाम टिपाइसकेको । धोका दिन मन लागेन । फेरि सुरेन्द्रले लेखेछ “धोकेबाज हौ तिमी.. धोकेबाज हौ तिमी” भन्ने गीत । साथी भनेको यही त हो । उसले उताबाट लेख्यो धोकेबाज, म यताबाट मुस्कान लिएर मस्किरहेँ ।

                          ०००

    गुगल सर्च गरेँ । दामी फोटो रहेछ । सातवटा हैन गुफा अनगिन्ती रहेछ झरना भने एकै । लाग्यो, एकै ठाउँमा गुफा र झरना भएको पृथ्वीको कति ठाउँ होला र  ! नेपाल सम्झँदा गर्व लाग्यो । यस्तो ठाउँ पनि छ । जहाँ झरनाबाट छिरेर गुफा जानु पर्दछ । कहिले पुग्ने होला त्यो ठाउँ भनेर खुट्टा उचालेर बसेँ ।

    भव्य अँध्यारो र भव्य उज्यालोको बीचको । गुफा र झरना बीचको । एक दिन कस्तो होला ? आफैँलाई अलौकिक लाग्यो । सम्झेँ, मान्छे उज्यालोका खोजीमा संसार विचरण गर्दछ । तैपनि कतिले उज्यालो पाउँछन् र ?

    म एकै ठाउँमा उज्यालो र अँध्यारो हेर्न जाने भएँ । शनिबार कहिले आउला जस्तै उत्साहित भएँ । ह्याप्पी हाइकर्सको बाध्यता धेरै मान्छे एकै गाडीमा लैजानु पर्ने टाढा जानुपर्ने भएकोले बिहान ५ बजे नै गाडी गुडाउँछ । यसरी गुड्न एकदिन त रमाइलो हुन्छ । हरेक हप्ता अलिक अफ्ठयारै लाग्छ । एक दिन त हो भन्ने पनि हुन्छ, तर शनिबारको दिन बिहानै ५ बजे नै उठ्दै आँखा मिच्दै गाडीमा जान बिहान ढिला उठ्ने मजस्तो अल्छीलाई भने हम्मे-हम्मे पर्दछ ।

    शरीर फेरि गज्जबकै छ । मन परेपछि र उसले जरुरी सम्झेपछि दिमागलाई आदेश दिएर राति नै दुईपल्ट ब्यूँझाइदिन्छ । कुनै कुरा जरुरी ठानेपछि समय जाला भनेर हामी धेरै जना धेरैपल्ट उठेका छौँ । म पनि ४:३० मै ब्यूँझिएँ । चप्पल कारखानाबाट साउन ३ को शनिबार ५:३० मा गाडी चढियो । ओहो ! अँध्यारो र उज्यालो हेर्न अँध्यारैमा हिँडियो उज्यालैमा आइन्छ भन्ने लाग्यो ।

    उपत्यका बाहिर गाडी जाँदा पटके कर काट्नु पर्ने रहेछ । २४ घन्टै बस्नुपर्ने पटकेको लागि मान्छे नभएर ढुङ्गे अड्डामा गाडी ड्राइभरको ताँती लाग्यो । कर तिर्ने ठाउँमा मान्छे नहुने । कर काटेन भने अर्को एक हजार जरिवाना तिराउने रहेछ । यता मान्छे छैन । उता नतिरेको भनेर जरिवाना पनि तिराउन मिल्छ भनेर कराउँदै थिए ड्राइभरहरू भन्दैथे- “सिस्टममा देश चल्ने भन्ने त सपना भइसक्यो !”

    बिहानको समय सूर्य एक-एक मिनेटमा बदलिन्छ । मान्छेको आधा घण्टा समय गइसकेको थियो । हामी पनि टाढा पुग्नु थियो । साथीहरू सबै ओर्लिए । मन शान्त भएपछि बाहिरकोले अशान्त केही गर्दैन । कोही चिया खान थाले कोही पानी वा कोही फोटोमा । एक छिनपछि पटके खुल्यो र चिट काटेर गुड्यो गाडी ढुङ्गे अड्डाबाट ।

    ढुङ्गेअड्डा , नैकाप , गोदामचौर , चन्द्रगिरी केबलकार,  चित्लाङ, वज्रवाराही, कुन्छाल, ओखरपाखर, पालुङ, भुङ्धुल खोला, घर्ती खोला, भालचौर, बाघ खोला, बन्द भकारी ढुङ्गा दामगडी हुँदै टुप्पो गाडीमा चार घण्टा बसेपछि डाँडाबास पुगियो ।

    त्यहाँ हाम्रो ब्रेकफास्ट थियो- सेल, तरकारी, चिया र अण्डा । सेलले एसिडिटी बढाउने सम्झेर हामी तीन ढकाल दाजुभाइ तरकारी चिउरामा लाग्यौँ । दूधको नभई कालो चिया खायौँ- लामो बाटो हिँड्नु छ, अमिलो पानी मुखमा आयो भने झ्याउ हुन्छ भनेर । त्यहाँ कोही साथीले प्यान टप हालेर सेल खानुभयो ।

    डाँडामा बास बसेको डाँडाबासमा चिटिक्क मिलेको गाउँ रहेछ । विकसित भएको ठाउँमा घरहरू जोडिएको हुन्छ । त्यहाँ पनि पङ्क्तिबद्ध भएर घर जोडिएर बजार बनेको रहेछ । नौ पोखरी होटेल एन्ड लजमा खाजा खानुअघि मलाई चारजना बच्चाले आकर्षित गरे ।

    म र मेरो भाइहरूले दशैँमा एकै लुगा लगाएजस्तै एकै स्विटर र प्यान्टमा दुई दाजुभाइ थिए । विनय गुम्बा, रुविन गोले एभिन्यू गोले, लियान, नेशान र लियानसँग कुरा गरेँ । पालुङकै श्री पालुङ माविमा यूकेजी र एक कक्षामा पढ्ने बच्चाहरूसँग रमाइलो लाग्यो । तीमध्येको सानो मान्छेले आँखामा ठूलो चस्मा लगाएको देखेर कुरा गर्न मन लाग्यो ।

    सोधेँ “किन चस्मा लगाएको ?”

    एभिन्यूले भने “बाथरुममा जान्छ भनेर ममीले फोन दिएको अनि चस्मा लगाउनुपर्‍यो ।”

    पाँच वर्षीय एभिन्यूले वर्तमान जीवन दर्शन बोलिरहेका थिए । आजकलका बच्चालाई बाबुआमाले रुन्छ भनेर, खाना खाँदैन भनेर, बाथरुममा पानी खेल्न जान्छ भनेर मोबाइल दिँदा हुने असर एभिन्यूको जवाफबाट बुझिन्थ्यो । केही समय सजिलोको लागि लाग्दा लामो जीवन गाह्रो हुने दर्शन नबोलीकनै बोलिरहेका थिए ।

    डाँडाबासमा बास बस्ने कुरो थिएन । घाम चर्कँदै थियो । डाँडाबास स्मारक हेरियो । स्मारकमा उभिएर स्थानीय पदमबहादुर थिङ्गले भने “तपाईँहरू अहिले वडा नम्बर ७ थाहा नगरपालिका डाँडाबासमा हुनुहुन्छ, तपाईँ पुग्ने ८ नम्बर वडा हो, तपाईँलाई एकजना साथी दिएर पठाउँछौँ लगभग दुई घण्टा लाग्छ, जानुस् ।”

    १०:०० बजे खाना खाने नेपाली समयमा ब्रेकफास्ट लिएर हामी ओर्लियौँ । हामी डाँडाबाट गुफा पुग्नु थियो । गाउँगाउँमा बनेका कच्ची बाटोमा धुलाम्मे गाडी उडाएर लैजाने चलन चलिसकेको छ । बाटोमा गाडी भेटियो, काठमाडौं पकली हेटौंडा लेखिएको । छतमा समेत मान्छे बोकेर हिँडेको गाडीको हर्न यति चर्को थियो कि नजिकै भए कानको सुन्ने डेसिमल नै उड्थ्यो होला !

    अलिक पर पुगियो । रोकिरहेको ट्रकको सायरीले तान्यो-

    पढाई किन बीचमै छोडिस् भनेर

    पछुतो नगरी दिनुस् महोदय 

    परीक्षामा गरिब भन्ने विषय लाग्यो 

    कटाउनै सकिनँ, यथार्थ जिन्दगीमा ।

    बाटोमा फूलेका फूलहरू । मकैको बोटहरू । मकैको बोटमा बेरिएका बोडी सिमीहरूसँग स्पर्श गर्दै ओरालो ओर्लँदै गयौँ । डाँडाबाट हामी गुफा पुग्नु थियो । लगभग २२ सय हाइटबाट ७/८ सयमा झर्नु थियो । प्रकृतिका रङ्गहरू साउने हरियोका फरकहरू हेर्दै रातो, पहेँलो हेर्दै हिँडिरह्यौँ । डाँडाबासबाट नौ किलोमिटर ओर्लँदा सुन्दर गाउँहरू भेटियो । राम्चे, सल्ले, ऐँसेलुखर्क, हाँडी खोला, किटिया आइपुग्यो ।

    किटिया चउरमा सप्तकन्या गुफाबाट तामा झिकेर चउरमा ल्याएर पगालेको भन्दै थिए स्थानीय धिरज कार्की । भने “सात पुस्ता अगाडि रे तामा पगालेको, संवत् थाहा भएन कहिले निकालिएको भन्ने ।”

    किटियाबाट केहीबेरमै सप्तकन्या झरना र गुफा आइपुग्यौँ । ओहो ! २ घण्टा १५ मिनेट सम्म हिँड्न मिल्ने गुफा छ भने स्थानीय कार्कीहरूले यहाँ सुतार कार्कीहरू ३ सयभन्दा बढी घर रहेछन् । बाटोमा धेरै कार्कीहरू भेटियो । जसको पनि थर सोध्दा कार्की भन्दथे ।

                          ०००

    कानले झरना आयो भन्यो । झरनाको आवाजमा थपियो घन्टको आवाज । घन्टको आवाजले सङ्केत गर्‍यो देवीदेवताको मन्दिर । सबैभन्दा पहिले आयो सप्तकन्या देवीको मन्दिर । लौ दर्शन गरौँ भनेर गरियो । त्यही दिन भव्य पूजा रहेछ त्यहाँ । हामी पुग्दा लगभग दिनको दुई बज्न खोज्दै थियो ।

    नवदुर्गा मन्दिर र खानीखोलाको निर्माण समिति रहेछ । जुन २०७० सालमा बनेको रहेछ । आग्रा ८ मकवानपुर भनेर लेखिएको बोर्डमा परिवार र टोल पढेँ । जुन रुचिकर लाग्यो । बिसाउनी डाँडाका थिङ्हरू । जामुन्ने डाँडाका भुजेलहरू । चापाखोल्ची पुछारघरका र जडीटोलका रुम्बाहरू । आग्राका लामा, परियार , खड्का, रुम्बा, घलापन, विश्वकर्मा, सेन्चुरीहरू ।

    खानीखोला र बाहुन गाउँका अर्यालहरू ।

    किटिनी, थरी, साहू टोल, ठूलोघर, डाँडाघर, भन्ज्याङ, कार्की गाउँका कार्कीहरू मिलेर त्यो ठाउँ बनाएको रहेछ । देवतालाई नमस्कार गर्दा उहाँहरूको टोल र थरलाई पनि नमस्कार गरे झैँ लाग्यो । मान्छे ठाडो ओरालोमा नलडुन् भनेर रेलिङ हालिएको थियो । मन्दिर पछि पनि ओरालो ओर्लियौँ । कानमा बजेको सप्तकन्या झरना आँखामा आइहाल्यो । साथीहरू लुगा खोल्न थालिहाले । गर्मीले सताइरहेको थियो । ठाडै ओरालो ओर्लँदा चर्केको घामले तालु सेकाउँदा ज्यानले भने चिसो खोजिरहेको थियो ।

                     ०००

    झरनासँगै थियो पोखरी । चरा झैँ पोखरीमा पौडी खेल्न थालिहाले साथीहरू । झरनामा फोटो लिन थाले । लुगा खोलेर आफू पनि पोखरीमा पखालिन थालेँ । पहिले गुफा जाउँ भनेपछि पो थाहा भयो । गुफाको द्वार त त्यही पोखरीसँगैको दाहिनेपट्टि रहेको कालो प्राकृतिक ढोका पो रहेछ ।

    केही गुफाभित्र छिरिसकेका थिए । कार्कीको जुलुस भएको गाउँमा पुगेका हाम्रो टोलीका नवीनजङ्ग कार्की भाइ जुत्ता लिन दौडँदै आएपछि गुफामा जुत्ता लगाएर जानुपर्ने थाहा भयो । लुगा खोलेर पखालिन सुरू गरेको मान्छे जुत्ता लिएर पहिले गुफा हेरौँ अनि नुहाउँ भन्ने भयो । हो रहेछ हिँड्नै गाह्रो हुने ढुङ्गाको छेस्कोले घोचेर । जुत्ता लगेको राम्रै भयो । गर्मीमा नुहाउन छिरेको त्यही लुगा लगाएर गुफा छिरियो ।

    ओहो ! तामा झिकेर मान्छेले बनाएको गुफा कति ठूलो रहेछ ! भित्र त फुटसल खेल्न मिल्ने खालकै । हजार लाख चमेराहरू कराउँदै उडेका । भित्र एक ठाउँमा कचक्कै कुल्चियो । के भनेको त हाम्रो गाईको गोबरजस्तो जमेको चमेराको लिदी !

    यत्तिकैमा स्थानीय एक भाइले चमेरा समातेर ल्याए । नजिकबाट देखेको थिइनँ । चमेराको पखेँटा चमेराभन्दा धेरै ठुलो हुने रहेछ । बेला बेला आएर ठोक्किउँला झैँ गर्दथे । टाउकोमा टर्च बालेर हिँडेको अँध्यारोमा बस्ने चमेरोलाई मन परेको थिएन । त्यही भएर उनीहरू उडेर यता उता गर्दथे । कहिले आएर ठोक्किन्थे । हामी चमेरासँग डराएको थियौँ । चमेरा हामीसँग डराएको थियो ।

    जहाँ जहाँ आउँछ तामा झिक्दै गएकोले होला । गुफाको मुख्य गेटबाट छिरेपछि अनेक गेटहरू देखिए । दायाँ बायाँ सबैतिर जान मिल्ने थियो ।

    एकजना मात्र छिर्न मिल्ने दुलोबाट अलिक भित्र छिरेपछि स्थानीय भाइले ठ्याक्कै नागको नक्शाजस्तै ढुङ्गा देखाए । म तीन छक परेँ । हुबहु नाग । नाग वा सर्प आइ हाल्छ कि भनेर डर नै लाग्यो ! पानी पनि बगिरहेको थियो नक्शामा । नागको नक्शाबाट बगेको पानी चिसो मीठो थियो । एकपल्ट चमेरालाई सर्पले लखेटेको बताउँदै थिए स्थानीयहरू । डरमाथि डर थपिन्थ्यो । धेरै मान्छे छौ के त होला भन्ने पनि लागिरहेको थियो ।

    तल ढुङ्गामाथि ढुङ्गा बीचमा हामी हिँडिरहेको ढुङ्गा । ढुङ्गै ढुङ्गाको गुफामा थियौँ । बत्तीको पुतली झैँ चमेराहरू चम्किरहेका थिए । ककारोबाट हामी निस्किरहेका थियौँ । स्थानीय मान्छेहरू पनि पूरै नछिरेको र धेरै ठूलो गुफा भएको बताउँदैथे । हराउँछन् मान्छेहरू भन्दैथे । अक्सिजन पुग्दैन भन्दैथे । यकिन नै भएको थिएन । गुफा कता हो कता ।

    सोच्नेले अनेक सोच्छन् । यही बेला भूकम्प आयो भने के गर्ने होला भनेर एकजना चिच्याए । एक अँध्यारोको डर थियो । अर्को डरमाथि डर थप्ने कुराहरू । कोही चितुवा लुकेको हुन्छ भन्थे । हामी ३० जना भएको मान्छे त एकैछिनमा को कता, को कता भयौँ । दुई-तीनजना मात्रै सँगै । तीखो ढुङ्गाले च्वास्स हुँदा केही साथीको खुट्टामा रगत आएको थियो । कहीँ ठूलो, कहीँ एक जना मुस्किलले छिर्ने ठाउँ । धेरै टाढा जान डर लाग्यो । फोटो भिडियोहरू लिएर लगभग ४५ मिनेट गुफामा टहलिएपछि निक्लियौँ ।

                           ०००

    गुफा छिरेर निस्केपछि लाग्यो । मान्छे आफैँभित्रको डर जित्न गुफा छिर्दछ । अँध्यारो कालोमा छिरेर आफैँभित्रको उज्यालो खोज्न मान्छे गुफाभित्र छिर्दछ । डरबाट जितेर साहस पैदा गर्न छिर्दछ । ध्यान योग प्रणायाम गर्न ऋषिमुनिहरू हिमाली र पहाडी गुफामा तपस्या गर्ने गरेको सुनेथेँ, पढेथेँ । उहाँहरूले पनि आफैँभित्रको उज्यालो खोज्न अँध्यारो गुफामा छिर्नुभयो भन्ने लाग्यो ।

    एक दिन अँध्यारो र उज्यालोको भव्यतामा दिन बिताएँ भन्ने लाग्यो । प्रकृतिको विराट क्यानभासमा आफैँ आफ्नै चित्र खोजिरहेँ । फूलमा , फलमा , बोटमा , चरामा , जरामा , जङ्गलमा , खोलामा , नालामा , झरनामा आकाशमा र गुफामा सबै सबैमा आफैँलाई अलिअलि देखेर दङ्ग परे ।  प्रकृतिको बाहिर र भित्र आफैँ पो रहेँछु झैँ लागिरह्यो ।

    प्रश्न आयो मनमा । पृथ्वीमा झरना र गुफा दुवै एकै ठाउँमा भएको दिव्य अलौकिक ठाउँ कति होला ?  अझ गुफामात्रै कति होला सिङ्गो पृथ्वीमा ? अनि झरनामात्रै कति होला ? नेपाललाई कत्ति दिएको प्रकृतिले भनेर फेरि एकपल्ट प्रकृतिलाई ढोग्न मन लाग्यो ।

    सोचेँ,  धनी मान्छेले गुफा किने कतिमा किन्न सक्ला ? कृत्रिम गुफा बनाउन पर्दा कति पैसा लाग्ला ? संसारमा कति कहाँ के-के होला नदेखिएको । नभेटिएको । यो पनि नदेखिएको नभेटिएको एक चिज भेटिए झैँ सन्तुष्ट भएँ ।

                         ०००

    ओरालो मात्र आजको हाइकिङको विशेषता थियो । खुट्टाले आज ओर्लिएको ओर्लियै गरेको सङ्केत देखाइरहेको थियो । मोरियामा खाना खान आउँदा मधु दाइले खुट्टा टेक्न गाह्रो मानेको देखेर सोधेँ- के भयो ?

    भन्नुभयो “आज ओरालो मात्रै पर्‍यो हाइकिङ्‍मा खुट्टा दुःखेछ यार !”

    हल्का सबैलाई दुःखेको थियो । खुट्टा दुखाएर मन खुशी पारेका थिए सबैले । एकदिन भए पनि प्रकृतिको दिव्यतामा भव्यतामा भएकोमा आफैँलाई भव्य ठानेँ । भित्र अँध्यारो, बाहिर उज्यालो त्यो सप्तकन्या जस्तै हामी त छैनौँ भन्ने लाग्यो । हामीभित्र उज्यालो भए बाहिरको अँध्यारोले केही गर्दैन । तर, भित्रै उज्यालो भएन भने बाहिरको उज्यालोको के काम भन्ने लाग्यो ।

    रङ्ग हेर्दछौ रङ्गीन हुँदैनौ भने ! लाखौँ उज्यालो बत्ती हेर्दछौ, लाखबत्ती बाल्दछौँ, तर मनभित्र बलेन भने ! यस्तो गुफा हेर्दछौँ भित्र उज्यालो आएन भने ! झरनामा नुहाउँछौ त्यो उज्यालो चहक र शीतलता मनमा प्रवेश गरेन भने ! वर्षौँदेखि चाडबाड बनाउँछौ मनमा चाडबाड लागेन भने !

    सप्तकन्या गुफा र झरना हेरेर फर्केपछि यो भने भन्ने धेरैपल्ट आयो  र गयो पनि । गरेन भने हटाउनै पर्ने र हुन्छ, बल्दछ, आउँछ, गर्दछ , लाग्दछ जस्तो सकारात्मकता शब्द सप्तकन्याले हामी सबैलाई दिनेछ भन्ने त्यो दिनको हाइकर्स टोलीले अठोट गरे । यो प्रतिबद्धता जाहेर गर्नेहरू राजाराम फुयाँल , भुवन ढकाल, मधुसुदन ढकाल, किशोर थापा , प्रदीप कँडेल , निराकार श्रेष्ठ , सनत रेग्मी , नवीनजङ्ग कार्की , सौरभ कँडेल , जय दाहाल , कमलविक्रम विष्ट , बाबुकाजी महर्जन, मनोज प्याकुरेल , राम श्रेष्ठ , भोला खनाल, अशोककुमार श्रेष्ठ, बद्री अर्याल , प्रमिला सापकोटा, सुमन अर्याल , हिमाली बतास , बमबहादुर थापा, कृष्ण थापा, राजन बराल, विदुर खड्का, राजेन्द्र भण्डारी, शंकर आचार्य, हरिहर रेग्मी, राम थापा, खड्क पाण्डे र म ।

    प्रति व्यक्ति ११ सय तिरेर ह्याप्पी हाइकर्स बन्न हिँडेका थियौँ हामी । यसैमा बिहानको ब्रेकफास्ट , पानी र खाना र आतेजाते थियो । सस्तो यात्रामा महँगो अनुभव लिएर बिहान ५:३० देखि बेलुका ९:३० सम्मको यात्रा समाप्त भयो ।

    तस्वीरहरू: निराकार श्रेष्ठ ।

  • कमरेड तारा सुब्बालाई सम्झिँदा

    कमरेड तारा सुब्बालाई सम्झिँदा

    त्यो ऐतिहासिक क्षण

    गणतन्त्रपछि २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा असार २६ गते राती १० बजेर ५० मिनटमा तारा सुब्बा धरानको मेयर  हुनुभएको परिणाम घोषणा गरिएको थियो । मेयर घोषणा भएको ३ सय ७२ दिन २०७५ साउन १ गते काठमाडौंको ग्राण्डी अस्पतालका चिकित्सकहरूले उनै तारा सुब्बालाई मृत घोषणा गरिदिए ।

    विकास प्रेमी नेताका रूपमा धराने जनताले माया र विश्वास गरेका तारा सुब्बालाई प्रतिद्वन्द्वी भन्दा ४ हजार ८ सय ५५ बढी २० हजार ९ सय ७५ लोकप्रिय मत दिएर विजयी गरेका थिए । फूलमाला, अबिर र नारा सहित बधाई दिएर मेयरको कुर्सीमा स्वागत गरेका धराने जनताले एक वर्षपछि उसै गरी फूलमाला लिएरै सडकमा लामबद्ध भएर आफ्ना प्रिय नेतालाई बिदाइ गरेका थिए ।

    अधुरै छन्, सपनाहरू

    २०७४ असार ११ र १२ गते धरानको नगरसभा थियो । मेयरको दौडधुप हुनेनै भयो, जेठ अन्तिम साता देखिनै मेयर सुब्बा अस्वस्थ हुनुहुन्थ्यो । पहिले नै मिर्गौला प्रत्यारोपण गर्नुभएका मेयर सुब्बाले आफ्नो स्वास्थ्य भन्दा नगर सभालाई प्राथमिकतामा दिनुभयो । स्वास्थ्य अवस्थाको वास्ता नगरी काम र तनावमा पर्नुभएको मेयर अहोरात्र तयारीमा जुट्नुभयो । नगरसभा सम्पन्न गरेर असार १४ गते राजधानी पुग्दा उपचारमा निकै ढिलाइ भइसकेको थियो । धरानको विकास र समृद्धिका लागि एक वर्षको योजना बनाएर उपचार गर्न काठमाडौं जानुभयो तर कहिल्यै नफर्किने गरी बिदा हुनुभयो ।

    भौतिक पूर्वाधार, खानेपानी, पर्यटन, सांस्कृतिक सम्पदाहरूको संरक्षण, सकुम्बासीहरुको व्यवस्थापन र राहत, शिक्षा र स्वास्थ्य, केबलकार सञ्चालन र स्मार्टसिटी सहितको आधुनिक धरान निर्माण गर्ने वहाँका योजनाहरूलाई अलपत्र छाडे सदाका लागि बिदा हुनुभयो । जुन सपना र योजनाहरू अझैसम्म अधुरै छन् ।

    महान् बिदाई 

    साउन १ गते मेयरको शवलाई हेलिकप्टर मार्फत ग्राण्डीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । २ गते बिहान ७ बजेदेखि साढे ९ बजेसम्म धरान १७ स्थित निवासमा राखियो । प्राय वहाँले लगाउनुहुने सर्ट, पाईनट, कोट, चस्मा र ढाका टोपी र टाईमा राखिएको थियो । जहाँ आफन्त, ईष्टमित्र तथा स्थानीय पार्टीका नेता कार्यकर्ताहरूले पुष्प गुच्छा अर्पण गरेका थिए ।

    बिहान १० बजे धरान उपमहानगरपालिका प्राङ्गणमा राखिएको थियो जहाँ नगरपालिकाका कर्मचारी, २० वटै वडाका जनप्रतिनिधिहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो । नगरपालिकाका सुरक्षाकर्मीहरूले राष्ट्रिय धुन सहित अन्तिम सलामी दिइयो ।

    बिहान ११ बजे धरान १२ स्थित पब्लिक उच्च माविको प्राङ्गणमा राखिएको थियो । जहाँ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झन्डा ओढाएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले श्रद्धा अर्पण गरे । मन्त्रीहरू, सांसदहरू, पार्टी तथा जनसंगठनका नेताहरू पुष्प गुच्छा चढाएका थिए । देशभरिबाट आएका पालिकाका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिहरू र हजारौँको संख्यामा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए । २ बजे धरान नगर परिक्रमा गराएर धरान १९ स्थित हरियाली सामुदायिक बनमा अन्त्येष्टि गरिएको थियो । धरान शोकमा डुब्यो । सुब्बाको महाप्रस्थान भएको सात वर्ष बितिसकेको छ वहाँका काम गर्ने शैली, कौशलता, क्षमता र प्रभावको अहिले पनि उतिकै अभाव भइरहेको छ ।

    जीवनको उकाली ओराली:

    वहाँ तेह्रथुमको खाम्लालुङ ८ स्थित एक किसान परिवारमा जन्मनुभयो । बुबा उजिरसिंह हुक्पा चोङ्बाङ र आमा फूलमाया हुक्पा चोङ्बाङका ४ छोरा र ३ छोरीमध्ये कान्छा छोराको रुपमा उहाँले धर्तीमा पाइला टेक्नु भएको थियो । जीवनको अनेकौँ उतारचढाव र संघर्षका खुटकिलाहरु पार गरेर मात्रै वहाँ चम्किलो तारा बन्नुभयो । २०४४ सालमा इन्दु राईसँग वैवाहिक जीवनमा बाँधिनु भएका सुब्बा दम्पतीका छोरा जुगल लिम्बूको जन्म भएको छ । सम्पन्न शाली पारिवारिक पृष्ठभूमिले वहाँको राजनैतिक जीवनलाई ठुलो साथ र सहयोगले वहाँलाई चम्किलो तारा बनाएको हो । राजनीतिक वृत्तमा उहाँलाई एक निष्ठावान्, बोल्ड निर्णय लिन सक्ने, प्रष्टवक्ता र कुशल नेताकोरुपमा पहिचान बनाएको हो ।

    २०३७ सालमा अनेरास्ववियुको सदस्य बनेपछि राजनीतिमा होमिएका सुब्बा २०४७ सालमा  आइपुग्दा युवा संघको नेताका रूपमा स्थापित भइसक्नुभएको थियो । धरान नगर कमिटी अध्यक्ष, सुनसरी जिल्ला संयोजक हुँदै दुई पटक जिल्ला अध्यक्ष, दुई पटक केन्द्रीय सदस्य हुनभयो । २०४८ सालमा नेकपा एमाले धरान नगर सदस्य बनेका सुब्बा सचिव हुँदै तीन कार्यकाल अध्यक्ष बनेर धरान उपमहानगरलाई कुशलतापूर्वक नेतृत्व प्रदान गर्नुभयो ।

    २०५१ सालमा नेकपा एमालेको सरकारमा खेलकुद विकास समिति सुनसरीको सचिव, २०५४ सालको स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्य निर्वाचित हुँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य समेत हुनुभयो ।

    भन्नु पर्ने विषयहरू बुट्टा नभरी सिधै राख्ने र आफूलाई चित्त नबुझेको कुरा स्पष्ट राख्न सक्ने सुब्बा हक्की, निडर, प्रष्टवक्ता र कुशल संगठकको रूपमा परिचय बनाउनु भएको थियो । अरूको चित्त बुझाउनका लागि हुनै नसक्ने कुरा पनि हुन्छ भन्ने स्वभाव उहाँंमा थिएन । समकक्षी मात्र होइन पार्टीका माथिल्ला तहका नेताहरू पनि सुब्बासँग हच्किन्थे । लामो अनुभव, दृढ, निर्णय क्षमतामा तीक्ष्ण र कार्यान्वयनमा दृढता उहाँंको स्वभाव थियो ।

    उमेर राजनीतिक चेत

    सुब्बाले ३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गर्नुभएको थियो । त्यसपछि भने उहाँ झापाको गोलधापमा कक्षा ४ अध्ययन गर्न झर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन चलिरहेको थियो । १३ वर्षकै उमेरमा उहाँ पनि अन्य विद्यार्थीहरूसँगै जुलुसमा सहभागी हुनुभयो । अध्ययनको सिलसिलामा उहाँ २०३७ सालमा धरान आउनु भयो । शिक्षा निकेतन माविमा भर्ना भएर अध्ययन थाल्नुभयो र २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । मावि तहमा शुल्क अत्यधिक वृद्धि भएपछि त्यसकोविरुद्धमा विद्यार्थीहरूले आन्दोलन गरेका थिए । त्यस आन्दोलनमा सुब्बा पनि सहभागी हुनुभयो, र भाषण नै गर्नुभएको थियो । २०४० सालको त्यस घटना हुँदा उहाँ कक्षा ८ मा अध्ययन गर्दैहुनुहुन्थ्यो । त्यसबेला नै उहाँ अनेरास्ववियुको सदस्य हुँदै नगर कमिटी सदस्य बन्नुभयो । अध्ययनको लागि धरान आउनुभएका सुब्बाले धरानलाई आफ्नो कर्मथलो मात्र बनाउनुभएन, वहाँ मेयर नै हुनुभयो ।

    पारदर्शिता 

    नेता भ्रष्ट हुन्छन् भन्ने धारणा जनतामा छ तर सुब्बा धरानमा पारदर्शी नेताका रूपमा चिनिनुहुन्छ । लामो समय पार्टी प्रमुख भएर, जनप्रतिनिधि भएर कामको अनुभव भएका सुब्बालाई आर्थिक अपचलन र अनियमिततामा कसैले औँल्याउन सकेनन् । बरु फरक विचारकाले पनि साथ दिए तर कसैले कुरा काट्न पाएनन् ।

    सपना र पक्षधरता :

    धरानलाई जनसहभागिताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा (एमाले) ले गरेको हो । सफा र विकासमा जनसहभागिता रहेको धरानलाई व्यवस्थित बनाउन सुकुम्बासीहरुलाई घर नम्बर दिने योजना मेयर तारा सुब्बाकै थियो । मेयर निर्वाचित भए लगतै तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माण, खानेपानीको दीर्घकालीन समाधानका लागि काम थालिसक्नु भएको थियो ।

    धरानलाई स्मार्ट सिटी बनाउने, धरानका चारवटै प्रवेशद्वारमा सांस्कृतिक पहिचान सहितको प्रवेशद्वार बनाउने, शान्तिस्तुपा निर्माण गर्ने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, केबलकार सञ्चालन गर्ने, नगर विकास लगानी बोर्ड निर्माण गर्ने सपना सुब्बाको थियो । शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष योजना थियो । विशेष गरी भूमिहिन सुकुम्बासी, गरिखाने श्रमजीवी र मजदुरका बीच वहाँ छपक्कै भिज्नु भएको थियो । तारा सुब्बा जति जनस्तरमा लोकप्रिय नेता विरलै भेटिन्छ ।

    अटल रहेको स्वाभिमान:

    मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले समयमै खानपिन तथा औषधी नखानु, उपचारमा समेत ढिलाइ हुनु वहाँको अर्लि मृत्युका कारणहरू थिए । उपचारमा ढिलाहुनुमा कतिपय प्रसंगहरुले त्यो बेला वहाँमा चरम आर्थिक अभाव रहेको बताइन्छ । मेयरले सरकारी सुविधाबाटै खर्च व्यवस्थापन गर्न सक्नुहुन्थ्यो तर उहांको स्वाभिमानी र स्वभावले सेवा सुविधा लिन अनिच्छा प्रकट गरेको देखिन्छ । त्यसको पछाडि केही मिडिया र मिडियाकर्मीले उहांलाई फलो गरिरहेकाले पनि उहांले त्यसो गर्नु भएन । अन्ततः स्वाभिमान नडगमगाई मृत्यु रोज्नु भयो ।

    धरान, एमालेको योगदान र भविष्य

    धरानलाई जनसहभागिताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा एमालेले गरेको हो । धरानमा २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेको हो । एमालेको नेतृत्वमा नगरपालिकाले ६०/४० को जनसहभागिताको नीति लियो, र मृत शहरबाट समृद्ध शहरको बाटोमा डोर्‍यायो । एमाले नेतृत्वकै मनोज मेयाङ्बो मेयर भएको समयमा धरानमा घण्टाघर बन्यो । भानुचौकको बसपार्कको विकल्प तीनकुने सुन्दर बस्ती विकास आयोजना धरान ८ मा बन्यो । एमालेकै नेतृत्वमा खानेपानीको दीर्घकालीन समाधानको लागि समिति नै बनाएर अध्ययन गरेको थियो र हालको परियोजना ल्याउन पनि निर्णायक भूमिका खेल्यो ।

    धरानलाई कस्तो बनाउने ? दीर्घकालीन भिजन जरुरी छ त्यसका लागि नेकपा (एमाले) को अभाव हुन्छ । यतिबेला धरानले भोगिरहेको दुर्दशाको कारण तारा सुब्बा जस्ता जनप्रिय नेताको असामयिक अवसान नै हो । यो समय जति जति धरान बेशरम नाङ्गिरहन्छ त्यति त्यति धराने जनताले प्रिय नेता तारा सुब्बा सम्झिरहन्छन् ।

    प्रिय कमरेड तारा सुब्बाको सातौँ स्मृति दिवसका दिन वहाँलाई श्रद्धा व्यक्त गर्दछु ।

    (लेखक राई नेकपा (एमाले) कोशी प्रदेश सदस्य हुन्)

  • सात शक्तिराष्ट्रको राजनीति एउटै पुस्तकमा

    सात शक्तिराष्ट्रको राजनीति एउटै पुस्तकमा

    कैलाली । शनिबार काठमाडौंमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिका पूर्वमेयर सोमप्रसाद मिश्रले लेखेको ‘शक्तिराष्ट्रका राजनीतिक दलहरू तुलनात्मक अध्ययन’ पुस्तक सभामुख देवराज घिमिरेको विमोचन गरे ।

    कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी, सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा लगायतको उपस्थिति थियो ।

    नेपाली पुस्तक बजारमा मिश्रले लेखेको पुस्तक विश्व राजनीतिमा चासो राख्नेहरूको लागि एउटा उपयुक्त अध्ययन सामाग्री हुने देखिन्छ । पुस्तकबाट संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य र स्थायी सदस्यमा आफ्नो दाबी बढाइरहेका जापान र भरतसमेत गरी सात देशको उत्पत्ति, संवैधानिक तथा राजनीतिक विकासक्रम, प्रमुख राजनीतिक पार्टीबारे विस्तृत जानकारी पाउन सकिन्छ ।

    ‘यस पुस्तकले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य र एसियाबाट स्थायी समितिमा आफ्नो दाबी बढाइरहेका जापान र भरतसमेत गरी सात देशको मानव बसोबासको अवस्था राज्यको उत्पत्ति आधुनिक समाजको विकासक्रम र विभिन्न कालखण्डमा भएका आन्दोलन तथा उपलब्धिका बारेमा यथार्थ जानकारी दिने मैले विश्वास लिएको छु’, प्रधानमन्त्री ओलीले पुस्तकको शुभकामना सन्देशमा लेखेका छन् ।

    सात शक्तिराष्ट्रको शक्ति बुझाउने गरी तयार गरिएको पुस्तक राजनीतिकशास्त्रका विद्यार्थीका लागि अनिवार्य अध्यनको विषय बन्ने पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक कृष्ण खनालले चित्रण गरेका छन् ।

    उनी लेख्छन्- ‘राजनीतिकशास्त्रका विद्यार्थीहरूका लागि यो उपयोगी सन्दर्भ पुस्तक हुन्छ । र, अन्य जिज्ञासु विद्यार्थीहरूको लागि पनि सान्दर्भिक ग्रन्थ साबित हुने छ । ’

    पुस्तकमा फ्रान्स, बेलायत , अमेरिका ,रुस , चीन, जापान र भारतका सबै राजनीतिक घटनाक्रम समेटेका छन् ।

    ती देशहरूको क्षेत्रफल, जनसङ्ख्या, जनसङ्ख्या वृद्धिदर, जनघनत्व, कूल राष्ट्रिय उत्पादन, आर्थिक वृद्धिदर,प्रतिव्यक्ति आय, मानव विकास सुचांकको स्थान, शासकीय स्वरूप, कार्यकारी प्रमुख र सत्तारुढ दलबारे राखिएका विवरणहरू निकै महत्त्वपूर्ण छन् ।

    ‘राजनीतिक दलहरूकै कारण विश्वयुद्ध, क्षेत्रीय युद्ध र गृह युद्ध हुन्छन्’, लेखक स्वयंले पनि पुस्तकबारे चर्चा गर्दै लेखेका छन् ।

    पुस्तकमा सबै भन्दा पहिलो जानकारी फ्रान्सबारे उल्लेख गरेका छन् । त्यहाँ लेखकले राज्यको उत्पत्तिबारे प्रस्ट पारेका छन् ।

    ‘एसियाका भारत चीन तथा इराक र इरानजस्तै स्वतन्त्र प्राचीन इतिहास र सभ्यताको गौरव फ्रान्सले बोक्न सकेन’ लेखकले मानव बसोबासको प्राचीनकालमा उल्लेख गरेका छन् । पुस्तकमा मध्यकालको फ्रान्सबारे पनि सचित्र वर्णन गरिएको छ ।

    पुस्तकमा संसार हल्लाउने फ्रान्सेली राज्यक्रान्ती र आधुनिक फ्रान्सको इतिहास पनि समेटिएको छ । संवैधानिक तथा राजनीतिक विकासक्रम, राजनीतिक संस्था तथा दलहरूको उदय, वर्तमान संवैधानिक व्यवस्था प्रस्ट पारिएको छ ।

    ‘रमाइलो कुरा के छ भने संसदहरुले फ्रान्समा मन्त्री बन्न पाउँदैनन् । मन्त्री बन्न संसद् सदस्यबाट राजीनामा गर्नु अनिवार्य छ ’, पुस्तकमा लेखिएको छ। पुस्तकमा पार्टीहरूका सङ्गठनात्मक संरचना पनि उल्लेख गरिएको छ ।

    बेलायतको विगत र अहिलेको अवस्थाबारे पनि पुस्तकमा विस्तृत समेटिएको छ । संविधानभन्दा जेठा र सांसदभन्दा कान्छा राजनीतिक दलहरूदेखि , पार्टी कमिटीबारे पनि उल्लेख गरिएको छ ।

    अमेरिकाबारे पनि उत्पत्तिदेखि लिएर मध्यकालीन विकास क्रम र संविधानको जन्मबारे पनि अध्ययन सामाग्री छन् ।

    ‘बेलायतका राजनीतिक पार्टीको उदय भएको झन्डै एक सय वर्षपछि अमेरिकामा पनि पार्टी राजनीतिको आवश्यकता महसुस हुन थाल्यो ’ पुस्तकमा लेखिएको छ, ‘अमेरिकामा संविधानको व्याख्या र कार्यान्वयन गर्ने सिलसिलामा राजनीतिक पार्टीहरूको उदय भयो । नेपालमा जस्तो पार्टीहरूको उदय भएर तिनीहरूले नै संविधान बनाउनु परेन ।’

    पुस्तकमा अमेरिकी राष्ट्रपतिको अधिकार र क्षेत्रबारे पनि वर्णन गरिएको छ ।

    ‘कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाबिच शक्तिपृथकिकरणको सिद्धान्तलाई अमेरिकी संविधानले अत्यन्त सुन्दर नमुनाको रूपमा प्रस्तुत गरेको छ ’ पुस्तकमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिलाई विश्वका कुनै पनि संसदीय वा राष्ट्रपतीय प्रणाली भएका मुलुकको कार्यकारी प्रमुखको भन्दा बढी अधिकार छ । ’

    पुस्तकमा राजनीतिक दल तथा संस्थाहरूको उदयलाई पनि विस्तृत रूपमा वर्णन गरिएको छ ।

    प्रमुख राजनीतिक पार्टी,मुख्य नीति तथा सिद्धान्त, विदेश नीति, तथा पार्टीको सङ्गठनात्मक संरचना प्रस्तुत गरिएको छ ।

    पुस्तकमा रुसी महासङ्घबारे पनि विभिन्न विषयहरू पढ्न पाइन्छ । त्यहाँको राज्य उत्पत्ति र पुनर्गठन, संवैधानिक तथा राजनीतिक विकासक्रम, मजदुर वर्गको नेतृत्वका भएको सफल क्रान्तिबारे पुस्तकमा चर्चा गरिएको छ ।

    ‘लेनिनको नेतृत्वमा रहेको रुसले सन् १९२१ बाट युद्ध कम्युनिजमको सिद्धान्तलाई देशको पुनर्निर्माणका लागि नयाँ आर्थिक नीति अङ्गीकार गर्‍यो । सन् १९२४ मा लेनिनको मृत्यु भएपछि पार्टी र मुलुकको नेतृत्वमा स्तालिन आए ’, पुस्तकमा भनिएको छ, ‘स्वतालिनकै समयमा मुलुकको समग्र विकास निर्माणका लागि प्रथम पञ्चवर्षीय योजना कार्यान्वयन भयो । तत्कालीन विश्वमा आवधिक योजनको निर्माण र कार्यान्वयन भएको यो नै विश्वको पहिलो घटना थियो । ’

    उक्त योजना कार्यान्वयन भएपछि मुलुक पछौटे र कृषि प्रधानबाट आधुनिक र औद्योगीकरण भएको परम्परागत र व्यक्तिगत कृषि प्रणालीको सट्टा सामूहिक र विशाल मात्रामा यान्त्रीकरण भएको लगायतका परिवर्तन भएको विषयमा पुस्तकमा छन् ।

    पुस्तकमा पुटिन युगलाई विस्तृत वर्णन गरिएको छ । प्रमुख राजनीतिक दलसँगै एक दशकभित्र उदय र अस्त भएका विभिन्न राजनीतिक पार्टीहरूबारे उल्लेख गरिएको छ । पुस्तकमा चीनबारे पनि केही नयाँ तथ्यहरू लेखकले प्रस्तुत गरेका छन् ।

    ‘चिनियाँ सभ्यताको इतिहास धेरै पुरानो छ यो युनानी (greek) रोम (roman) सभ्यता भन्दा धेरै पुरानो छ’ राज्यको उत्पत्ति अन्तर्गत मानव बसोबास तथा प्राचीन कालमा उल्लेख गरिएको छ ।

    मध्यकालीन चीन आधुनिक चीनको स्थापना, संवैधानिक तथा राजनीतिक विकास, चीनको पहिलो संविधानदेखि संवैधानिक व्यवस्थासम्मका विषयहरू पुस्तकमा छन् । प्रमुख राजनीतिक पार्टीहरूको अवस्थाबारे पनि पुस्तकका अध्ययन गर्न सकिन्छ ।

    ‘चिनियाँ कम्युनिस्ट पार्टीको साङ्गठनिक ढाँचा राज्यका प्रशासनिक निकायहरूको ढाँचासँग समानान्तर रूपमा गठन गरिएका छन्’ पुस्तकमा व्याख्या गरिएको छ । पुस्तकमा जापानको उत्पत्तिबारे पनि व्याख्या गरिएको छ ।

    ‘सन् १९४५ मा जब जापानमा राजनीतिक धार्मिक नागरिक आदी स्वतन्त्रताहरू खुल्ला गरियो , भाषण प्रेस र युनियनहरूको गठनलाई खुल्ला गरियो त्यसैबेलादेखी एक्कासि राजनीतिक पार्टीहरू च्याउ जस्तै उदाए’ राजनीतिक दलको उदयमा उल्लेख गरिएको छ ।

    राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको प्रमुख दाबेदारको रूपमा रहेको भारतबारे पुस्तका विभिन्न चर्चा गरिएको छ ।

    ‘सहरी सभ्यता र तुलनात्मक रूपमा विकसित संस्कृतिसमेत बोकेर आएका आर्यहरूले भारतमा प्राचीन ग्राम राज्य प्रणालीको विकास गरे । उन्नत किसिमका ग्रामीण बस्तीहरूको निर्माण गरे । उत्तर भारतबाट सुरु भएको यो क्रम उत्तिकै विशाल जङ्गलहरू पर गर्दै अगस्त्य मुनिको नेतृत्वसँगै दक्षिण भारतसम्म फैलियो’ भारतको उत्पत्ति एकीकरण र स्वाधीनतामा उल्लेख गरिएको छ ।

    विश्वको सबैभन्दा लामो संविधान भारतमा रहेको उल्लेख गरिएको पुस्तकमा १९५० देखि हालसम्म १०६ भन्दा बढी पटक संशोधन भइसकेको जनाइएको छ । पुस्तकका भारतका प्रमुख राजनीतिक पार्टीबारे विस्तृत जानकारी गराइएको छ ।

    भारतको विविधताबारे गरिने एउटा टिप्पणी लेखकले पुस्तकमा यसरी प्रस्तुत गरेका छन् ,‘भारतमा विश्वका सबैभन्दा धनी र सबैभन्दा गरिब, विश्वका सबैभन्दा अग्ला र सबैभन्दा होचा, विश्वका सबैभन्दा काला र सबैभन्दा गोरा, विश्वका सबैभन्दा विद्वान् र विश्वका सबैभन्दा मूर्ख मानिसहरूको बसोबास छ ।’

    पुस्तकमा मोदी युगबारे पनि लेखकले चर्चा गरेका छन् ।

  • कविता : श्रमिक

    कविता : श्रमिक

    श्रमको फूलबारीमा रमाई
    पसिनाको भेल संग खेली बस्ने
    आगो सँग लुकामारी खेल्दै
    असमानताका खुड्किला भत्काएर
    समानताको चौतारीमा थकाइ मारेपछि
    मालिकलाई समेत घुँडा टेकाई
    संसार हल्ल्लाउने सारथी हुन श्रमिक ।

    पूँजीवादी शोषणको
    चर्को उत्पीडन सहन गरेर
    क्रान्तिको नेतृत्व गर्दै
    श्रमको उचित ज्याला पाउनु पर्ने दृढ़ताका साथ
    श्रम, मनोरञ्जन र आरामको कुरा उठाउँदै
    स्वतन्त्रता संग्रामको पहरेदार बनी
    युग हाँक्ने/युग नायक/युग बाहक
    परिवर्तनलाई आत्मसात गर्न सिकाई
    घोर सामन्त्याइ प्रवृत्तिप्रति
    कडा चुनौती दिएर
    निरंकूशताको कठालो तान्दै
    वर्ग संघर्षको कथा उचाली
    हुँदा खाने

    हुने खाने विचको द्वन्द पचाइ
    तिमी अजपले बाँच्न सिक्यौ ।

    तिम्रो मालिक मौका हेरी बस्छ
    तिमीलाई दमन गर्न
    दमन र यातनासँग जुझ्दै
    न्याय र समानताको लडाइँ लड्दा
    तिमीले शाहदत प्राप्त गर्‍यौ होला
    सन्ततिहरु गर्वले छाती फुलाई
    अधुरा काम पूरा गर्न
    तिम्रो सालिकमा माल्यार्पण गरी
    तिम्रो बचनको कसम खाएर
    मोर्चामा तैनाथ भई बसेका छन्
    युगान्तकारी परिवर्तनलाई अङ्गिकार गर्दै
    तिमीले देखेको सपना साकार पार्न ।

    तिम्रो सिपमा संसार नाचिरहेको छ
    तिमीले कुटो, कोदालो र गैँती नबोकी
    हँसिया, हतौडा, बेल्चा र फोरुवा
    आरन, सुजेरो र घट्टा
    इन्जिन र मेशिन नचलाई बस्यौ भने
    ढुङ्गा, माटो रड इट्टा र सिमेन्ट उचाल पछार नगरी
    विद्यालय र कार्यालयमा चुपचाप हात बाँधी बस्यौ भने
    कल कारखानाको ढोका खोली काम नथाले सम्म
    तिमीले कम्प्युटर र रोवर्ट नचलाए पछि
    पृथ्वी जिवित मुर्दाहरुको सहर जस्तो सुनसान भई
    संसारलाई मृत घोषणा गरे हुन्छ ।

    तिम्रो हक अधिकार खोसिएर
    तिमीलाई प्रताडित बनाइन्छ किन ?
    तिम्रो चेतनाको ढोका खुल्नु पर्ने
    तिमीले अब युद्ध हार्न हुन्न
    तिम्रो साहस
    तिम्रो धैर्यता
    तिम्रो क्रान्तिकारिता
    वर्ग संघर्षको अनुपम उदाहरण हो
    तिमी मोर्चा कसी युद्ध लडी बस ?
    तिम्रा असहमतिका बुँदाहरु के के हुन ?
    तिम्रो आन्दोलनमा हाम्रो साथ रहन्छ
    श्रमिक, तिमी वर्गीय ऊर्जा हौ
    ऊर्जाले संसार चल्नु पर्छ ।

  • यात्रा विवरणः वसाङलुङलाई जगाएर आइयो

    यात्रा विवरणः वसाङलुङलाई जगाएर आइयो

    मधेशको तातो घामलाई कारको चिसो एसीले भुलाउँदै इटहरीको फूलबारी टोलबाट सरासर बरगाछी ससुराली घरमा पुगियो । बिहानको खाना खाएर केहीबेरको गफसपपछि सासू-ससुरा र दिदीसँग बिदा माग्दै कान्छो सालोसँग वसाङलुङको यात्रामा निस्किएँ । मधेशको गर्मीले हामीलाई बिदाई गर्न धरान जिरो प्वाइन्टमाथि सारङ्गा रिसोर्टसम्म पुग्छ र पहाडको चिसो काखमा सुम्पिएर फर्किन्छ ।

    ड्राइभरले बजाएको गीत ‘कालचुडा चरी कराउँदै होलिन् खोलीको डिलैमा’ सुन्दासुन्दै कार लेउतीको किनारै-किनार हुइँकिएर लाबर्बोटेतिर बढ्दै थियो । मैले लिम्बुनी माइलीलाई झल्यास्स सम्झेँ- धरान-धनकुटाको बाटो (सडक) खन्दा धनकुटाको फलामेटारमा गोरा र लिम्बुनी माइलीको लभ परेको कहानी ।

    सम्भवतः लिम्बुनी माइली रक्सी पैकारी (व्यापारी) थिइन् कि ? त्यस्तै, गोरा धरान-धनकुटा बाटोको सुपरभाइजर ।

    गोराले भनेको लिम्बुनी नबुझ्ने । लिम्बुनीले भनेको गोराले नबुझ्ने ।

    अनि त एक दिन गोरा र लिम्बुनी माइली फलामेटारबाट भागेपछि यस्तो गीत बनेछ-

    लिम्बुनी माइली ‘पेगिरो’ भन्छिन्, ‘गो’ भन्छ गोराले ।

    आँखैको चालमा भगाइ लग्यो त्यो खैरे मोराले ।

    झिली र मिली बत्ती है बल्यो, तामाको तारबाट ।

    लिम्बुनी माइली पोइल गइन् फलामेटारबाट ।

    कारलाई लिम्बुनी माइलीको घरतिर मोड्न लगाऊँ कि जस्तो लाग्यो । तर, वसन्तपुर पुग्न रात पर्छ भनेर हामी एकछिन तमोर किनारको चिया पसलमा पस्यौँ । तमोर किनारमा बसेर बाटोतिर हेर्दै चियावाली दिदीलाई चिया बनाउन लगायौँ । चियावाली दिदी घरीघरी पसिना पुछ्दै गर्छिन् । तीन कप चिया घुट्क्याएर ड्राइभर र सालो-भेना पहाडतिर लाग्यौँ । नागबेली घुम्ती पार गर्दै धनकुटा, हिले, सिधुवा, चित्रे छाड्दै वसन्तपुर पुग्यौँ र अन्नपूर्ण होटलमा बस्यौँ ।

    वसन्तपुर लालीगुराँस नगरपालिकामा पर्छ । त्यही लालीगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ दाइ पनि अन्नपूर्ण होटलमा आइपुग्नुहुन्छ र कफी पिउँदै गर्दा केहीबेरमै त्यहीँ होटलमा साथीहरू आइपुग्छन्- पाँचथरका लक्ष्मण लावती र नरेन्द्र केरुङ । अर्जुन बाबु माबुहाङ दाइले सबै पोर्टर र गाइडहरूलाई ‘तयारी छौ होइन, केटाहरू ?’ भन्दै जानकारी लिनुहुन्छ । फोनमा सबै तयारी भएको जानकारी गराउँछन् । केही गफसप गरेर मेयर सा’ब आफ्नो घरतिर लाग्नुहुन्छ । लक्ष्मण लावती, नरेन्द्र केरुङ र सालो केटासँग खाना खाएर म पनि आराम गर्न कोठातिर लाग्छु ।

    बिहानै उठेर कफी र वसन्तपुरमै उत्पादन गरिएको कोदोको बिस्कुट खाएर केहीबेर सरसामान मिलायौँ । गाइड, पोर्टर चढेको जिपलाई अघि पठायौँ र हामी पनि जिपमा गुफापोखरीतिर लाग्यौँ । बिहानको खाना लामपोखरीमा खायौँ । याकको सिकुटी, पातले सिस्नुको दाल, तिमुरको अचारले चिसोमा दुई थाल भात रुचायो । खाना खाएर केहीबेर वरिपरि रमिता हेरेर मिल्केको उकालो लाग्यौँ ।

    १० किलो जतिको झोला र हातमा मालिङ्गोको लौरो टेक्दै-टेक्दै जति माथि चढ्दै गयो, उति नै सास बढ्दै गयो । पानीको महत्व कस्तो हुन्छ, थाहा पायौँ । बाटोमा कहीँ-कतै गाउँ भेटिँदैन । माथि-माथि पाखामा याक गोठहरू मात्र भेटिन्छन् । याकको दूध पिउँदै कुहिरोमा घरी लुक्दै, घरी निस्कँदै याक गोठालोसँग मौसम बुझ्दै हामी २८०० मिटरको उचाइमा पहिलो रात चौरीगोठमा बास बस्यौँ । रातभर पानी परेर जुकाले दु:ख दिनुसम्म दियो ।

    भोलिपल्ट बिहानै कफी र जौली खाना खाएर सबैजना आफ्नो गन्तव्यतर्फ बढ्यौँ । नाक ठोक्किने पहाडसँग पौठेजोरी खेल्दै बिहानको खाना खान हामी ३५०० मिटरको उचाइमा पुग्यौँ र खाना चौरीगोठमा खायौँ । बिहानैदेखि पानीले कुटेर सबैजना भिजिसकेका थियौँ । सबैले आफ्नो कपडा खोलेर गोठमा सुकायौँ । कम्मरमा खुकुरी बोकेर खुट्टामा गमबुट लगाएका सोझा याक गोठालोको मुसुमुसु निस्कने मुस्कान हेर्दै बस्यौँ । केहीबेरको बसाइपछि याकको हुलहरू पाखामा छाडेर गोठालो कुहिरोको घुम्टो ओढेर तल बेँसीको घामलाई जिस्क्याउँदै उटौलो गफ गरेको सुन्दै बस्यौँ ।

    याक उकालो लागेसँगै गोठालो पनि उकालो लाग्यो, सुसेलीमा पालम हाल्दै, हातमा मालिङ्गोको लौरो र कम्मरमा खुकुरी भिरेर । अलिक तल एक जोडी चिल फाइटर उडे जस्तैगरी घरी तल, घरी माथि, घरी कोल्टे फर्दै तल-तल बस्तीमा कुखुराको चल्लाहरू खोज्दै-खोज्दै झर्छ । खाना खाएर हामी उकालो लाग्छौँ ।

    चारैतिर २५-३० थरिका लालीगुराँसहरू फुलेका छन् । आँखैअगाडि मकालु र कञ्चनजङ्घा सेतै हाँसिरहेका छन् । झट्ट हेर्दा लाग्छ, हामी स्वर्गमा यात्रा गर्दैछौँ । साँझको ६ बजेतिर हामी काधेया फुक्पोमा पुग्यौँ र त्यहीँ ओडारमा बास बस्यौँ । चारैतिर निगालो र मालिङ्गोको घारी, कुहिरोले कहिल्यै नछाड्ने । भुसुनाले दिनुसम्म दु:ख दियो । रातभर बीचमा आगो बालेर वरिपरि सबै जना ढल्कियौँ । अलिक चङ्खो भएर सुत्नुपर्छ, राति यता भालु निस्किन्छ भन्ने कुरा गाइड बूढाको मुखबाट फुत्त निस्कियो । त्यसपछि सबैलाई मीठो निद्राले छुनसम्म सकेन ।

    रातको १२ बजेतिर आकाश खुलेर तारा र जुन टलटल टल्किएको देखियो । जङ्गली चराको आवाज खालखालको सुनिन्थ्यो । बिहानै उठेर लालीगुराँसको दाउराले पकाएको तातो चिया र बिस्कुट खाएपछि हामी उकालो लाग्यौँ । लगातार ५ घण्टा हिँडेर बिहानको खाना खान हामी ३७०० मिटरको उचाइमा चैनपुरे गोठालोले बनाएको चौरी गोठमा पुग्यौँ । हामी त्यहाँ पुग्दा खाना तयार भइसकेको थियो । याकको सुकुटी फ्राइ, दाल र सागसब्जीसँग खाना खायौँ । थाकेको शरीरलाई चट्ट ढल्न मन थियो, तर गन्तव्य टाढा भएकोले हिँड्नुको विकल्प थिएन ।

    दिउँसोको एक बजेतिर हामी त्यहाँबाट आफ्नो गन्तवतर्फ लाग्यौँ । बाटैभरि देखिने डाँफे र मुनालको नाच हेर्दै, चिमल फूल र लालीगुराँसको बास्नाले लठ्ठिँदै हामी साँझको सात बजे तिर ४१०० मिटरको उचाइमा चैनपुरे नेवारहरूले बनाएको पाटी घरमा पुग्यौँ । आकाश खुलेकोले चारैतिरको हिमश्रृङ्खला हेर्दै बस्यौँ अबेरसम्म ।

    साँझको खाना खाइसकेपछि तन्नेरी छँदाको गफ निकाल्न थाल्यौं पालैपालो । लामो सास फेर्दै माथि आकाशमा पिलपिल टल्किने जुन-तारा हेर्दै ‘हाउ नाती म पनि सुब्बाको छोरा, जग्गा-जमिन, पाखाबारी पर्याप्त, जगरबगरको धनी, रूप-डाल परेकै राजकुमारजस्तो केटाले वर्षौँ दिन लगाएर फकाएको तरुनी महिना दिनको छुट्टीमा आउने रिकुटेले लगिदियो, मन बिरक्तियो ।

    जोडी छुटेको मैनचरी जस्तै धान नाच्दै, हाट-बजार धाउँदै, पालम गाउँदै जसोतसो अर्को तरुनी फकाएँ । पुरानो तरुनीको सम्झना बिर्साउन खोज्दाखोज्दै फेरि अर्को वर्ष छुट्टीमा निस्केको रिकुटेले त्यो तरुनी पनि लगिदियो । बकुल्ला जस्तो एक्लो ज्यान, एक-दुई साल भौँतारिँदै, हल्लिँदै, आठ-दशवटा मेलामा तरुनी ढुक्दै डुल्दा बल्लबल्ल अर्की सुन्दरी तरुनी फकाएँ । अब त यहीँसँग बिहे गरेर घरबार बसौँला भन्दाभन्दै त्यसलाई पनि लाहुरेले टप्कायो । मन साह्रै विरक्तियो ।

    माथि सेतै हिमालतिर औँलाले देखाउँदै ‘मेरो तरुनी लाने लाहुरेको क्रिया बसेको हो’ भन्दै अरूलाई देखाउँथे । मनमा रिसको आगो बाल्दै, यो ‘जाँ… लाहुरेहरूसँग कस्तो मोहनी छ हो ? राम्री तरुनी देख्यो कि भगाइहाल्ने, अब त लाहुरे देख्दा डर मात्र लाग्छ । खिस्स हाँस्दै भन्छ, मलाई त्यो बेला लाहुरे-फोबिया नै भयो हो । हे भगवान, यदि भाग्यमा छैन भने भेट नगराइदेऊ, यो अधुरो भेटले धेरै रुवाउने रहेछ भन्दै देउरालीमा फूलपाती पनि चढाएँ । निकै भावुक हुनुभयो ।

    नरेन्द्र केरुङको गफ सुन्दासुन्दै कति बेला निदाएछु, पत्तै भएन । एकैचोटि बिहानको खाजा खान उठाउँदा मात्र झसङ्ग भएँ । बिहानको ६ बजेको रहेछ । खाजा खाइसकेर हामी वसाङलुङलाई निशाना बनाएर अघि बढ्यौँ । मालिङ्गो, लालीगुराँस र पोत्रे काँडाको बोट फाड्दै-फाँड्दै भुसुना र जुकाको हुलमा छिरेछौँ । टोक्नुसम्म टोक्यो । हामीले सिग्रेट तान्दै धुवाँ फ्याल्दै गर्‍यौँ । हामी भुसुना र जुकाको संसारमा प्रवेश गर्‍यौँ । यो यिनीहरूको संसार हो, हामीले यिनीहरूको नियम-कानून मान्नुपर्छ भन्ने लाग्यो ।

    दुई घण्टाको कष्टकर यात्रापछि हामी वसाङलुङको फेदमा पुग्यौँ । पहिलोपटक देख्दा सबैजना तिनछक्क पर्‍यौँ । चार-पाँच सय मिटरको विशाल अग्लो चट्टान, फेदमा बसेर माथि हेर्दा टोपी खस्ने । सबैले श्रद्धाले सिर झुकायौँ र ढोग्यौँ । वसाङलुङ तेरेपलुङलाई धीत मरुञ्जेल हेर्‍यौँ । अनि चोलुङ प्राप्तिको क्षण ।

    लालीगुराँस नगरपालिकाका मेयर, मुन्धुमविद् तथा इतिहासकार अर्जुनबाबु माबुहाङ, लिम्बूजातिका मुन्धुम इतिहास अध्येता लक्ष्मण लावती, पूर्व कियाचु पाँचथर अध्यक्ष नरेन्द्र केरुङलगायत हाम्रो समूहले ठूलो उत्साहकासाथ मालिङ्गो र गुराँसघारीको पाटेरोको भीरबाट वसाङलुङको दर्शन पायौँ । वसाङलुङलाई जगाएर पनि आइयो ।

    यसरी

    …असाङलुङ तेरेपलुङ माङ ए । सिन्दोलुङ मैवा पुन माङ ए । साजारा लुम्द्वा या ए । फएत सम्दो । सिजङ्वा पङ नु । तुम्फुङ सेरि स्या नु । फाक्सारा एतिम्भे नु । नावप्पा चिल्लेक्पा याङ नु । फाक्सारा लामलक के?नारो । आसेन्ना । सोदुङ लेप्मुहाबारे । चिनु ताङ केनिसिबा । हुकेसो ताङे केसेगिबा । सावा येहाङ पाङ्भे?यो । सावा येहाङ सेप्मा । चजुम चहाङ सेप्माफाङ । तेरेप असाङनु । आप्लाङ सेल्लेङनु । अम्लारि पेत्तारि सु?वानु । खामलुङ अइबुक्मानु । लिगे अदो बुक्मानु । सेरा केङ सिङदुम असेक । इसा पोनानु । साङपङ्गे लिङपङ्गे । सिरिङपङ्गे किरिङ तिम्मानु । सामतेख्खङ सुहेमतिम्बानु । लिङतेख्खङ तुयेङ तिम्मानु । पाङ फई नु । थक्लुङ काबे केयारिआङ । पुप्पुरु?ना प?ना केथासिबा । खप्मोसा …। फुङफाको यङाक मेल्लए । साक्फागो चिरेप मेल्लए । माता ए इमेत मेन्याके । हारा मिक्सो मेल्लेङए । कदासा पे मेल्लेके । सुङसारे केहाक मेन्बत्ते । साङखि थो मेन्बत्ते । लिङखि यो मेन्बोत्ते । मुन्धारा खारा मेन्याए । लाप्चामा इहु केरिरो । सिङदुङ कप्फा केरि । सक्वा मुइङ केरिरो। केत्तक नुधि साक्तिरो । सेजोपेहि थाइरो । मिधुङ मिराक पोगि । लजुम लना पोगि । सिगि सोसाम फोक्सुम । मुक्कुम सेमि सेरुम । तिङदिन नाहेन लाक्सिरो । खाप्पुरा सुगुत÷सुसुमे खेरेङ्मे सेरुम । इधुक सामसोघा÷लाङधोककेम्बा सेरुम । कुलित लेच्छाम थेक्तुम । थिरि यङदङ । आबु सेसिक थेक्तुम । काइ सोधोक खेक्सुम । चेङलुङ काङलुम खक्तुम । सोउम्रुङ नासो थप्पन । सोमायोमा लाभाक एक्मा । इङ्ला खांचो । तङअम्बा अमिक सङदोक इक्सुम …। तुत्तु तुम्याङ । याक्ला सुहाङ । सिसा मेन्छिन । नालि थाङ्बेन ।तेत्ले पाङली । चिनु मेन्छा ।आप्लुङ ताङसेप सेप्तुमसिम । सिङ्वा पेरुङ खजुम खया कत्तुमसिम ।

  • सुमना श्रेष्ठलाई खुलापत्र- शिक्षक माग्ने र थाङ्नेमात्र हुन् भन्ने सोच त्याग्नुस्

    सुमना श्रेष्ठलाई खुलापत्र- शिक्षक माग्ने र थाङ्नेमात्र हुन् भन्ने सोच त्याग्नुस्

    माननीय पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठज्यू
    नमस्कार !

    आराम छु, तहाँ तपाईं पनि आरामको कामना गर्दछु । तपाईँ तर्क, तथ्य र योजना सुन्दै गर्दा यतिको जोशिलो मान्छे देशको प्रधानमन्त्री हुनुपर्छ जस्तो लाग्छ । तर, शिक्षकको सेवासुविधाबारे तपाईंका पछिल्लो भनाइ ‘निजामतीसरह शिक्षकले सेवासुविधा पाउन निजामतीसरह काम पनि गर्नु पर्ला नि !’ अत्यन्तै निन्दनीय र चरम निराशापूर्ण छ । यसले शिक्षकको पेशामाथिकै अपमानका रूपमा आम शिक्षकले बुझेका छन् ।

    केही दिनदेखि उक्त अभिव्यक्तिबारे पत्रपत्रिका र सामाजिक सञ्जालमा सर्वत्र चर्चा थियो । तथ्य नहेरी आलोचना नगर्ने भएकाले केही दिन चुपचाप बसेँ । तपाईंले बोलेको भिडि‌ओ नै पाएपछि साँच्चिकै आत्मसम्मानमा ठेस पुगेको महसुस गरेँ र आफ्नै पेशालाई धिक्कार्न मन लाग्यो । शिक्षक अन्य पेशाको जननी हो, त्यो बिर्सिन हुने थिएन । ‘बाबुभन्दा छोरो जान्ने, खुकुरीभन्दा कर्द लाग्ने’ उखानले तपाईँको कुराको चरितार्थ गर्छ ।

    सबै शिक्षकलाई एउटै डालोमा हालेर गरेको टिप्पणी अत्यन्तै निन्दनीय र खेदजनक छ । यस पेशामा अब्बल, इमानदार र कर्तव्यनिष्ठ शिक्षक छ्न् भनेर बिर्सिन हुन्थेन । तपाईंहरू नीति बनाउने तहमा हुनुहुन्छ कुनै पनि देशको शिक्षालाई अग्रगामी, वैज्ञानिक र व्यवहारिक बनाउन देशको शिक्षा नीतिले मूल भूमिका खेल्दछ । संविधान निर्माणको झण्डै दश वर्ष हुँदा पनि संघीय शिक्षा ऐन नबन्नु के शिक्षकको कमजोरी हो ? काम नगरेर शिक्षक सुतेकै मात्र हुन् त ? के नीति निर्माणकर्ताको हैसियतले आफ्नो जिम्मेवारी बहन गर्नुभएको छ एक पटक छातीमा हात राखेर आत्म समीक्षा गर्नु होला ।

    माननीय सुमना श्रेष्ठज्यू ! तपाईं नयाँ हुनुहुन्छ, तर नयाँ हुनु सबै कुरामा अब्बल हुनु हैन । युवा हुनु जान्ने हुनु हैन रहेछ । शिक्षकलाई माग्ने र थाङ्ने मात्रै हुन् भन्ने सोचबाट मुक्त हुनुहोला । एउटा कुरामा सहमत भने पक्कै छु ! तपाईंसँग शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने समय भएको छ । शिक्षणलाई समय सापेक्ष बनाउन र अहिले जेन जी र जेन अल्फा पुस्ताका रुचि र आवश्यकतालाई मध्यनजर गर्दै शिक्षकले आफैँले आफैँलाई अपडेट गर्न आवश्यक छ । राज्यले पनि शिक्षकलाई अपडेट गर्न र उत्प्रेरित गर्न नसकेको कुरामा घामजस्तै छर्लङ्ग छ ।

    शिक्षक पेशामा नयाँ आउनेहरूलाई उत्प्रेणाको खाँचो छ । देशमै बसेर शिक्षाको ज्योति फैलाउँछु र आफ्नो ज्ञान यतै बेच्छु भन्नु मजस्ता नवप्रवेशी शिक्षकको गल्ती हो र ? आफ्नो तलबमात्र खाएर भ्रष्टाचार नगरी स्वाभिमानसँग बाँच्न पाउने अर्को पेशा देखाइदिनु होस् ।

    तपाईंमाथि जनताबाट अनुमोदित नभई ‘टीके’ को आरोप छ । नेताको खल्ती र पार्टीको कोटामा परेकोले देश र जनताको मनोभावना बुझ्न सक्नु हुन्न भन्ने तपाईँमाथिका आलोचना मिथ्या हुन् भन्ने कामना गर्दछु ।

    तपाईंले ल्याएको कार्यविधिबारे मैले खुल्ला पत्र लेखेको थिएँ । आज पनि भन्छु उक्त कार्यविधि अवैज्ञानिक र अव्यवहारिक छ । कानूनी छिद्रहरू राखेर करारमा राजनीतिक नियुक्तबारे तपाईँलाई म एक से एक प्रमाण दिन सक्छु । खैर यो विषय नै अदालत प्रवेश गरेको छ । अदालतले आफ्नो स्वविवेक प्रयोग गर्ला !

    अन्त्यमा, माननीयज्यू ! हामी अन्त कुनै अवसर नपाएर शिक्षण पेशामा आएका हैनौँ । आफ्नो ज्ञान सीपलाई प्रयोग गरेर लाखौं बालबालिकाको भविष्य काँधमा बोकेर यस पेशामा होमिएका हौँ । विश्व श्रम बजारमा बिक्ने सर्टिफिकेट झोलामै बोकेका छौँ । तमाम नेपाली विदेशी भूमिमा आफ्नो श्रम र पसिना बेचेर बाँचिरहेको तथ्य राख्नु पर्दैन होला । तपाईँ नै त्यस उदाहरणको प्रत्यक्ष साक्षी हो ।

    शिक्षक पेशामा नयाँ आउनेहरूलाई उत्प्रेणाको खाँचो छ । देशमै बसेर शिक्षाको ज्योति फैलाउँछु र आफ्नो ज्ञान यतै बेच्छु भन्नु मजस्ता नवप्रवेशी शिक्षकको गल्ती हो र ? आफ्नो तलबमात्र खाएर भ्रष्टाचार नगरी स्वाभिमानसँग बाँच्न पाउने अर्को पेशा देखाइदिनु होस् ।

    माननीय ज्यू ! म कुनै संघ संगठनमा आबद्ध छैन । एउटा स्वतन्त्र शिक्षक हुँ मेरो कर्म शिक्षण हो । पुन: भन्दै छु तपाईंको अभिव्यक्तिले इमानदार शिक्षकको आत्म सम्मानमा ठेस पुगेको छ । अभिव्यक्ति फिर्ता लिन जोडदार माग गर्दछु । धन्यवाद !

    हिक्मत रावल
    शिक्षक

  • ‘घरज्वाइँ’का निर्माता जनक घर्तीमाथि सुमन स्मारिकाको मर्मस्पर्शी कविता

    ‘घरज्वाइँ’का निर्माता जनक घर्तीमाथि सुमन स्मारिकाको मर्मस्पर्शी कविता

    काठमाडौं । गत मङ्सिरमा गम्भीर कार दुर्घटनामा परेर छातीभन्दा तल प्यारालाइज्ड भएका जनक घर्तीमगर सफल चलचित्र ‘घरज्वाइँ’का निर्माता हुन् । उनी बिरामी भएकै अवस्थामा अस्पतालको बेडबाट नयाँ चलचित्र ‘मितज्यू’ घोषणा गरे ।

    यो चलचित्र आउँदो नयाँ वर्षमा प्रदर्शन हुँदैछ । उनै घर्तीमाथि गजलकार एवं कवि सुमन स्मारिकाले लेखेको कविताः

    उसको छातीभन्दा तल सबै शून्य छ,
    हातहरू निदाएका छन्,
    खुट्टाहरू चुप छन्,
    तर टाउकोभित्र एक सिंगो सिनेमा चलिरहेको छ ।

    भोक लाग्छ,
    तर आफैं खान सक्दैनन्,
    रुँदा आँसु पुछ्न सक्दैनन्,
    तर ऊ हाँस्छ,
    किनभने ऊ अझै सपना देख्छ ।

    उसको शरीर स्क्रिप्टको पाना होइन,
    तर उसका आँखाले अझै पनि
    सिनेमाको पर्दाले जस्तै सबथोक समेट्न्छन् ।
    ऊ निर्माता हो, निर्देशन गर्दैन
    तर हरेक हिँड्न सक्ने पात्रहरूलाई,
    हामी जस्ताहरूलाई चाल दिन्छ ।

    ऊ ह्वीलचेयरमा बसेर
    सिंगो समाजलाई गुडाइरहेको छ ।
    ऊ रात–दिन कसैको सहारामा सर्दछ
    तर सिंगो नेपाली सिनेमा
    आज उसकै हिम्मती काँधमा अडिएको छ ।

    उसको शरीर अब स्क्रिप्टको पाना होइन,
    तर उसका आँखाले
    सिनेमाको पर्दा जस्तै सबै दृश्य समेट्छन्,
    तमाम सपना, पीडा, प्रतिरोध र प्रेम ।

    उसको मौनता नै संवाद हो
    उसको स्थिरता नै गति हो ।
    ‘घरज्वाइँ’ उसको साहस थियो
    जहाँ उसले पहिलो चोटि समाजलाई ऐना देखायो ।

    ‘मितज्यू’ उसको पुनर्जन्म हो
    जहाँ उसले लिंग, शरीर, शक्ति, समाज, सत्ता
    र मान्यतालाई चुनौती दिँदैछ ।
    ऊ एउटा नाम होइन, एउटा विम्ब हो
    एक विद्रोह हो, जुन मुस्कुराएर आउँछ ।

    ऊ शरीरको सीमामा बाँधिएको छैन,
    ऊ आँखा हो, विचार हो, दृश्य हो, ध्वनि हो
    ऊ एउटा अस्तित्व हो
    जहाँ सासभन्दा गहिरो केही बाँच्छ ।

    ऊ हतारमा छैन, ऊ पाइलामा छैन
    ऊ शरीरमा छैन
    तर ऊ कलाको मेरुदण्ड हो ।
    ऊ त्यस्तो दृश्य हो
    जसलाई कहिल्यै ‘कट’ भन्न मिल्दैन ।

    ऊ जिन्दगीसँग संवाद गर्छ
    कहिले कथा बनाउँदै, कहिले सट लिँदै, कहिले एडिट गर्दै
    ऊ आफैलाई कहिलेकाहीँ ऊ मर्छ जस्तो लाग्छ
    तर हेर, ऊ आफैं जिन्दगी बनाइरहेछ ।

    ऊ समयभन्दा परको घडी हो
    ऊ त्यस्तो पात्र हो, जो पर्दामा होइन,पर्दामुनि बाँच्दछ ।
    ऊ त्यो आवाज हो,
    जो क्यामराभित्र कैद हुँदैन, तर दिलभित्र गुञ्जिरहन्छ ।

    ऊ बाँसुरी बजाउन सक्दैन
    तर उसका फिल्महरूले आत्माको धुन बजाउँछन्
    ऊ दौडिन सक्दैन
    तर उसको एक संवादले हजारौँलाई अगाडि बढाउँछ ।

    ऊ भत्किन्छ,
    तर पुनः सम्पादनमा पुनर्निर्माण हुन्छ ।
    ऊ कमजोर देखिन्छ,
    तर उसैका बलिया सम्पादनहरूमाथि उभिएका छौँ हामी ।

    ऊ भविष्य हो
    जहाँ मजदुरको पीडा
    दलितहरूको स्वर, नारीहरूको विद्रोह,
    अल्पसंख्यकहरूको आक्रोश,
    सबै भिजेका छन् एउटै क्यामेराको भिजुअलमा ।

    ऊ कथाको निर्देशक होइन, तर ऊ नै कथा हो
    ऊ जीवन बाँच्दैन, ऊ रच्दछ जीवनलाई
    ऊ आज र भोलिको
    सपना बोकेको एक असम्भव हिम्मत हो ।

    ०००

  • लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन

    लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन

    नेपालको समकालीन राजनीतिक परिवेशमा लोकतन्त्रप्रतिको विश्वासमा क्रमशः ह्रास आएको देखिन्छ । राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार तथा नेताहरूको गैरजिम्मेवार व्यवहारले नागरिकहरूमा लोकतान्त्रिक प्रणालीप्रति मोहभंगको अवस्था छ । निराश भएका कतिपयले राजतन्त्रलाई विकल्पका रूपमा पुनर्विचार गर्नुपर्ने धारणा राख्न थालेका छन् ।

    नेपालमा लोकतन्त्र कुनै आयातित अवधारणा होइन । यो नेपाली जनताको दशकौँ लामो संघर्ष, बलिदान र परिवर्तनप्रतिको आकांक्षाको परिणाम हो । नेपालले राजतन्त्र, पञ्चायती व्यवस्था र विभिन्न चरणको लोकतान्त्रिक अभ्यासको इतिहास भोगेपछि २०६२/६३ सालको जनआन्दोलनको परिणामस्वरूप गणतन्त्रको घोषणा गरियो । २०६३ सालमा अन्तरिम संविधान जारी भएपछि २०७२ मा जारी नयाँ संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना औपचारिक रूपमा स्थापित भयो ।

    संविधानले शिक्षा, स्वास्थ्य, अभिव्यक्तिको स्वतन्त्रता, धर्मनिरपेक्षता, लैङ्गिक समानतालगायतका मौलिक अधिकारहरू सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको दिशा तय गरेको छ । विशेषतः महिला, दलित, जनजाति, मधेशी, मुस्लिम जस्ता ऐतिहासिक रूपले वञ्चित समुदायको प्रतिनिधित्व निर्णयकारी तहमा सुनिश्चित गरिएको छ । संसद र स्थानीय तहमा महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता अनिवार्यको व्यवस्था संविधानमै गरिएको छ । नेपालमा लोकतन्त्रको उपजका रूपमा मात्र महिलाले निर्णायक तहमा आफ्नो उपस्थिति बनाएका छन् ।

    जनस्तरमा समावेशिता, उत्तरदायित्व र आत्मसम्मानको भावना बढ्दै गएको देखिन्छ, जसले लोकतान्त्रिक मूल्यको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । यी उपलब्धिहरू जनताको बलिदान र संघर्षबाट सम्भव भएका हुन्, कुनै शासकको कृपाबाट होइन ।

    संघीय संरचनाले अधिकार प्रवाहलाई केन्द्रबाट स्थानीय तहसम्म पुर्‍याएको छ । जनस्तरमा समावेशिता, उत्तरदायित्व र आत्मसम्मानको भावना बढ्दै गएको देखिन्छ, जसले लोकतान्त्रिक मूल्यको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । यी उपलब्धिहरू जनताको बलिदान र संघर्षबाट सम्भव भएका हुन्, कुनै शासकको कृपाबाट होइन । नेपालमा स्थापित संघीय लोकतन्त्रले अधिकार, अवसर र प्रतिनिधित्वको दृष्टिले ऐतिहासिक युगको थालनी गरेको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपालमा अधिकारको सुनिश्चितता, समावेशी प्रतिनिधित्व र अवसरको सृजना गरे पनि पछिल्लो समय राजनीतिक अभ्यासप्रति जनतामा असन्तुष्टि बढ्दो छ । संविधानले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, प्रेस स्वतन्त्रतालगायतका मौलिक अधिकारहरू सुनिश्चित गरे पनि कार्यान्वयनको कमजोरी र नेतृत्वको अकर्मण्यताले लोकतन्त्रप्रतिको विश्वासमा ह्रास ल्याएको छ ।

    अहिलेको समस्या राजनीतिक नेतृत्वको असक्षमता र लोकतन्त्रको पद्धतिभित्र रही गरिएका अलोकतान्त्रिक व्यवहार र कार्यशैली हो , जनउत्तरदायित्वको अभाव हो । यी र यस्तै कारण पछिल्लो समय गुटबन्दी, कुशासन र भ्रष्टाचारको विस्तारले जनतामा निराशा उत्पन्न गराएको छ । कतिपय नागरिकले ‘राजतन्त्र नै ठीक थियो’ भन्ने भ्रम पाल्न थालेका छन् ।

    राजतन्त्र वंश परम्परागत विशेषाधिकारमा आधारित शासन प्रणाली हो, जहाँ निर्णय शाही इच्छाले हुने र जनताको मत, आलोचना तथा सहभागितालाई स्थान कमै मिल्छ । यस व्यवस्थाले नागरिकलाई शासनको केन्द्रभन्दा पर राख्छ । बरु लोकतन्त्रले त्यसको पूर्ण विपरीत व्यवहार प्रस्तुत गर्छ, जहाँ नीति निर्माण जनताको सहभागिता, विमर्श र सहमतिका आधारमा हुन्छ । संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू शिक्षा, स्वास्थ्य, अभिव्यक्तिको स्वतन्त्रता, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्व लोकतान्त्रिक अभ्यासका प्रतीक हुन् ।

    लोकतन्त्रमा नागरिक शक्ति केन्द्रविन्दुमा हुन्छ । उनीहरूको मत, प्रतिवाद र निगरानीले नेतृत्वलाई उत्तरदायी बनाउँछ । लोकतन्त्रले स्थापित गरेका नागरिक अधिकार, समानताको आधार र जनसहभागिताको मूल्य राजतन्त्रले कहिल्यै दिन सक्दैन ।

    लोकतन्त्रमा नागरिक शक्ति केन्द्रविन्दुमा हुन्छ । उनीहरूको मत, प्रतिवाद र निगरानीले नेतृत्वलाई उत्तरदायी बनाउँछ । लोकतन्त्रले स्थापित गरेका नागरिक अधिकार, समानताको आधार र जनसहभागिताको मूल्य राजतन्त्रले कहिल्यै दिन सक्दैन । यसकारण नेपालको दीर्घकालीन विकास, सामाजिक न्याय र समावेशी शासन सुनिश्चित गर्न राजतन्त्रतर्फ फर्कनु समाधान हुँदै होइन । बरु लोकतान्त्रिक अभ्यासमा सुधार र नेतृत्वमा जवाफदेहिता स्थापना गर्नु गर्ने हो ।

    राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कायम गर्दै नेतृत्व हस्तान्तरण, पारदर्शिता र स्पष्ट नीतिगत मार्गनिर्देशनको जरुरी छ । नागरिक समाजको सजगताले सरकार र दलहरूलाई आफ्नो उत्तरदायित्व सुनिश्चित गर्न भूमिका खेल्छ । नागरिक सचेत मतदाता, निगरानीकर्ता तथा प्रश्नकर्ताको रूपमा सक्रिय भई लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन आवश्यक छ ।

    साथै युवा तथा महिलाको निर्णायक तहमा व्यापक सहभागिताले लोकतन्त्रलाई समावेशी, उत्तरदायी र दिगो बनाउने सम्भावना बढाउँछ । दीर्घकालीन विकास, सामाजिक न्याय र राष्ट्रिय एकताको सुनिश्चितता यी अभ्यासगत सुधारहरूमार्फत नै सम्भव हुन्छ । नागरिकको सक्रियता र नेताको जवाफदेही व्यवहारले मात्र लोकतन्त्र बलियो हुन्छ र दीर्घकालीन विकास, सामाजिक न्याय तथा राष्ट्रिय एकता सम्भव हुन्छ । लोकतन्त्र सुदृढ गर्न कुनै वैकल्पिक प्रणालीको खोजी होइन, स्थापित अभ्यासको सुधार र नेतृत्वको जवाफदेहिता सुनिश्चित हुनपर्छ । लोकतन्त्रको विकल्प खोज्नैपर्दैन, सुधार गरेर अघि बढ्नु नै दीर्घकालीन समाधान हो ।

  • ‘दुप्चेश्वर महादेव’ ककारोको राजा

    ‘दुप्चेश्वर महादेव’ ककारोको राजा

    यो देश अलौकिक छ
    तर, प्राय नेता लौकिक भए ।।

    यो देश अभूतपूर्व छ
    तर, केही नेता भूत भए ।।

    यो देश अद्वितीय छ
    तर , नेता किन द्वितीय भए ?

    यो कविता हैन । देश डुल्दा मलाई भएको अनुभूति हो । प्रकृतिले कति खन्याउन सकेको यो देशलाई । जहाँ जाउँ त्यहीँ रमाइलो छ । अनौठौ छ, अप्रत्याशित छ, आश्चर्यचकित छ देश । यस्तो लाग्दछ यो देश साँच्चै सुन्दर देश हो । यो देश अभूतपूर्व देश हो ।

    विश्वकै गहिरो अन्धगल्छी यहीँ छ । अनि सर्वोच्च शिखर सगरमाथा यहीँ छ । हिमाल, हिमनदी र कलकल बग्ने नदीहरू यहीँ छ । चरा, पुतली फूलफल यहीँ छ । स्याउ र आँप एकै ठाउँमा फल्छ । लिची र लप्सी एकै ठाउँमा फल्छ । जहाँ जाउँ सुस्वादितम् लाग्दछ देश ।

    हाम्रो भूगोलमा पहाड बढी छ । पहाडका वन , झरनाले हामीलाई हरेक समय अनौठौ अनुभव दिलाउँछन् । जहाँ जाउँ देशभर प्राकृतिको सुरिलो संगीत बजिरहेको हुन्छ ।

    भारतीय अभिनेता गोविन्दाले एकपल्ट भनेका थिए “मलाई नेपाल एकदम मन पर्दछ, काठमाडौं एकदम मन पर्दछ कारण अलिकति यता उता लाग्ने बित्तिकै पहाड भेटिन्छ र सुन्दर हावापानी भेटिन्छ ।”

    हो पनि, काठमाडौंबाट अलिकति पर पशुपतिनाथको दोस्राे रूप मानिने दुप्चेश्वर पुग्दा आहा ! क्या रमाइलो लाग्यो । काठमाडौंमा जन्मेको म र नुवाकोटमा जन्मेका दुप्चेश्वरबीच भेट भएको थिएन । श्रीमती सिर्जनाले जेठ ३ गतेको शनिबार दुप्चेश्वर जाउँ भनेपछि नाम नै अनौठो लागेको नाम सुनिरहेको ठाउँ जाउँ न त भन्ने लाग्यो ।

    टोखा छहरे बाटोले नुवाकोटलाई नगिचै ल्याएको छ । बिहानको समय बाटो खाली नै थियो । सुरूरु परिवारै आफ्नै गाडीमा जाँदा एकैछिनमा गुर्जे भन्ज्याङ् कटिहाल्यो । गुर्जेपछिको जंगल मज्जा लाग्दछ मलाई । चारै झ्याल खोलेर आनन्दले सिरसिर हावा खाँदै रमाउँदै उक्लेको बाटो ओर्लिरहँदा आइहाल्यो छहरे, चौघडा, खरानीटार समुन्द्रटार र दुप्चेश्वर । जम्माजम्मी ६२ किमी बाटो त रहेछ । कोही भक्तिले, कोही प्रकृतिले, कोही पर्यटनका लागि, कोही अध्यात्मले जाने त्यो ठाउँमा म रमाउन पुगेको थिएँ ।

    मागेको पाउने आँटेको पुग्ने विश्वास छ दुप्चेश्वरको । पौराणिक कथन हरेक मन्दिरमा छ । यहाँ पनि छ । कुरा के रहेछ भने पाँच सय वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हरायो । खोजी गर्दै जाँदा दूध चढाएर बसेको गाई ढुङ्गाको ककारोमा भेटियो । अनि थालियो दुप्चेश्वर महादेव भनी विश्वासस्वरूप पूजा गर्न ।

    त्यहाँका पुजारी धादिङका रिजालहरू हुनुहुँदो रहेछ । समुन्द्र मन्थनपछि महादेव छटपटिँदै पशुपतिनाथ हुँदै दुप्चेश्वर बास बसी रसुवाको गोसाइकुण्ड गएको उहाँले बताउनुभयो । पुजारी भन्दै हुनुहुन्थ्यो “गोसाइकुण्ड गएर जल यहाँ ल्याएर चढाउनुस् मागेको चिताएको पुगेन भने मलाई भन्नुस् ।”

    पर्याप्त पर्यटकीय सम्भावना देखिन्छ यहाँ । आन्तरिक र बाह्य पर्यटन बढाउन यहाँको ढुङ्गामा अनेक किंवदन्ती कथा लेख्न सकिन्छ । शिवको महिमा लेख्न सकिन्छ । तल तादी खोला बगिरहेको छ । माथि शिवजीले हेरिरहेको छ । शिवजी हेर्न जानेले पनि हेरिरहेका छन् तादी । कस्तो मीठो महक दुप्चेश्वरको ।

    बहुत रमणीय छ । मलाई त ढुङ्गाको राजधानी झैँ लाग्यो । कत्रा कत्रा ढुङ्गा हुन् ती ! यसो हल्लियो भने अहिल्यै पल्टिएला झैँ लाग्ने । यत्रा भूकम्पहरू आए ती ढुङ्गाहरू किन नहल्लिएको होला ! अनि त्यति माथि रुख कसरी बढे होलान माटो नभएको ठाउँमा । अचम्म हो, अचम्म लाग्यो दुप्चेश्वर । तादीबाट २५० मिटर माथि अर्धवृत्ताकार शिवलिंग छ ढुङ्गाकै ।

    ५०० वर्षमा उत्पात भूकम्पहरू आए, गए । यहाँको डरलाग्दा ककारालाई केही असर परेन् । हलचल गरेनन् यी ढुङ्गाहरू । प्रकृतिको अदभूत् शक्ति यहीँ देँखे मैले । अर्को रहेछ ढाड दुखेको निको पार्ने ढुङ्गा ।

    ककारोबाट केहीबेर कुप्रेर हिँडेपछि बाहिर निक्लने ढुङ्गा रहेछ । धर्ममा विज्ञान पनि हुन्छ, औषधी पनि हुन्छ । बेस्कन ढाड दुखेको मान्छे बेस्कन कुप्रेर ढुङ्गाको ककारो छिर्दा सायद व्यायाम भएर शरीर ठीक भएर यो किंवदन्ती बसेको होला झैँ लाग्यो ।

    हामी दुवैजना छिर्‍यौं । त्यहाँ लेखिएको पनि रहेछ । किंवदन्तीअनुसार ढाड कम्मर दुखेको निको हुने बाटो । हाम्रो हरेक ढुङ्गाको यस्तो किंवदन्ती कथा कति होलान झैँ लाग्यो । निको नभएको भए किन पो लेख्दथे होला र भन्ने पनि लाग्यो । एक छिन त पूरै कुप्रिएर छिरियो ।

    धेरै मान्छे दुःख बिसाउन दुप्चेश्वर पुग्छन् । सन्तान नहुनेहरूको सन्तान हुन्छन् भनेर वर माग्ने भनेर । मलाई यस्तो भन्दा पनि कर्ममै बढी विश्वास लाग्दछ । कर्मको शक्तिले भगवानलाई पनि हराउने कथा मलाई मन पर्दछ । कर्मभन्दा ठूलो योग केही छैन भन्ने लाग्दछ । उत्साह उमंग जोश जाँगर र जिज्ञासा थियो दुप्चेश्वरको । त्यहाँ पुग्दा थाहा पाएँ दुप्चेश्वर महादेव ककारोको राजा रहेछन् र राजधानी रहेछ ती विशाल ढुङ्गाहरू । तलैबाट सिँढीहरूले मन्दिर आउनुस् भने झैँ लाग्दछ । अलिक माथि गएपछि डन्डी समातेर हिँड्दै माथिसम्म पुगिन्छ ।

    शिवलिंग पनि अद्भूत् लाग्यो । एकछिन हेरिरहेँ । ककारोको शिवलाई हेर्दै मनमनै अचम्मै छ यो देशमा भन्ने लाग्यो । अनि सम्झे हलेँसी । हलेँसीमा शिव तल सिँढी ओर्लेर गएपछि भेटिन्छ । त्यहाँ तल बसेछन् । यहाँ सिँढी पूरै उक्लेर जानु पर्दछ । यहाँ माथि बसेछन् झैँ लाग्यो ।

    २०-५० जना अटाउने लामो चोसो परेको अचम्मको शिवको लिंगको आकारको शिव शिलामा त्रिकुटीबाट जल खसिरहेको रहेछ । मान्छेहरूले त्यहीँ दूध, त्रिशूल चढाएका छन् । ध्वजा, अबिर, केसरी, डोराहरू चढाएका छन् । त्यही हुनुहुँदो रहेछ सुप्रसिद्ध दुप्चेश्वर । पुजारीलाई टीका लगाएर पैसा दिएका छन् । त्यहाँ पुग्दा मन नै अर्कै भयो । कता-कता सनातन हिन्दू धर्मावलम्बी रगत सलबलाएर आनन्द आयो ।

    जाने एक बाटो र फर्केर आउने अर्कै बाटो रहेछ । फर्कँदा किताब पढेर बसेका लामा रहेछन् । अझ तल आउँदा देखे स-साना बच्चाहरू निहुरो बेच्न बसेका । निहुरो बेचेर कपी किन्ने भन्दा रहेछन् बच्चाहरू । भन्छन् “पैले पैसा दिनुस् ।” समयले बाठो बनाएका बच्चाहरू ६ वर्ष, ३ वर्ष र ५ बर्षका रहेछन् । शहरमा १२ वर्षको बच्चालाई स्कुल पुर्‍याउन जानु पर्दछ । उनीहरू आफैँ पढ्ने खर्च पुर्‍याउँछन् । कति मज्जा !

    मंसिरको धान्य पूर्णिमामा भव्य मेला लाग्ने रहेछ । दुप्चेश्वर गाउँ पालिका-६ मा पर्ने यो ठाउँमा धादिङ, नुवाकोट , रसुवा ,सिन्धुपाल्चोक, गोर्खा चितवनदेखि यो समयमा आउने रहेछन् । मंसिरको धान्य पूर्णिमाका पाँच दिन यहाँ भिडमभिड हुने रहेछ । पूर्णिमाको उज्यालोसँगै यो मेला बिदा हुने रहेछ ।

    दुप्चेश्वर प्रख्यात भएकै कारण दुप्चेश्वरको नाममा गाउँपालिका बनेछ । कति खाजा घर, खानाघर, स्कुलहरू बन्ने होलान् । एक नाम प्रख्यात भएपछि त्यही नाममा अरु नामहरू बन्दछन् । नाम भन्ने चिज नै यस्तै छ । इन्दिरा गान्धी प्रख्यात भएपछि धेरै केटीहरू इन्दिरा बने ।

    बेलायतमा एलिजाबेथ रानी बनेपछि धेरै एलिजाहरू जन्मिए । पाथीभारा जाँदा धेरै पाथीभारा माताभन्दा धेरै पाथीभारा देँखे । गोसाइकुण्ड जाँदा एक गोसाइकुण्ड भन्दा धेरै गोसाइकुण्ड भेटेँ । लाङटाङ जाँदा त्यस्तै । जाँहा जाउँ त्यस्तै छन् नामहरू । राम्रो नाम टपक्क टिपिहाल्छ मान्छेले ।

    शिवको दर्शन गरेर तल ओर्लेपछि ढुंङ्गामा फोटो खिचियो । टिकटक बनाइयो । भजन चलिरहेको रहेछ । सक्ने सेवा गरियो । एक घन्टामै तादीको किनारमा पिकनिक खानेहरू प्रशस्त बढ्दै गएछन् । त्यो दिन पनि नौ बजेपछि त भिडमभिड गाडीको ताँतीहरू आउन थाले । मैले राखेको पार्किङबाट गाडी निकाल्न एक घन्टाजस्तै लाग्यो ।

    स्थानीयहरूको लागि पर्यटक बढेपछि बिस्तारै होटल खुल्दै छन् यहाँ । कोटबारी नामको ठूलो होटल बन्दै गरेको बाटोमा देखियो । स्थानीय प्रदीप उप्रेती भन्दै थिए “हामी त मोटरसाइकलमा पठाओ गर्दछौं, एकजनाको खरानीटारबाट यहाँ ल्याएको एक हजार लिन्छौं ।”

    फर्कँदा खरानीटारमा खाना खाइयो । लिचीको कोपिला टन्नै लाग्दै रहेछ । आँपको फूलहरू प्रशस्त फुल्दै थिए । हरियाली थियो डाँडाहरू । मान्छेहरू प्रसन्न भएर दुप्चेश्वर जानेहरू बढ्दै थिए । हामी बसहरू आउनु अगाडि नै गएकोले आधा घन्टामा दर्शन गरेर फर्कियौं ।

    फर्कँदा लाग्यो- हरेक यात्रामा जुन बाटो गयो त्यही बाटो फर्कनु पर्दछ । फर्कन्छौ । जाँदा टाढा लागेको कुरा फर्कँदा चाँडो हुन्छ । जीवन र प्रकृतिमा एकै कुरा लागू हुन्छ भन्ने लाग्दै मैले एकपल्ट जीवनलाई सम्झेँ । प्राकृतिक तवरले प्रकृतिमा आएको मान्छे पनि जसरी प्रकृतिबाट पञ्चतत्व लिएर आयो उसैगरी प्रकृतिमा फर्कन्छ ।

    जीवन नै एक यात्रा त हो भनेर यसैले भनेको होला । एक यात्रापछि अर्को यात्रामा तन्मय हुन्छ मन । जीवन जीवनको यात्राबाट फर्केपछि अर्को यात्रामा तन्मय हुन्छ होला त ? सम्झेँ, सुनेको कुरा शरीरले नयाँ चोला लिन्छ भन्ने । त्यो थाहा नभएको कुरामा धेरै गहिरिन मन लागेन ।

    जे होस् दुप्चेश्वर यात्राले पनि ढुंगामा कला हेर्ने कला सिकायो । ५ सय वर्षदेखि गएका ती सम्पूर्ण मान्छेलाई प्रेमपूर्वक सम्झँदै नमस्कार गरेँ । जे होस् दुप्चेश्वर यात्राले प्रकृति र जीवनलाई हेर्न अझै गहिरायो । यति नजिकै यस्तो राम्रो ठाउँ किन नगएको होला भन्ने लाग्यो । पछि आफैँले आफैँलाई बुझाएँ । हरेक कुराको समय आउँछ । शक्तिशाली समय कुर्नै पर्दछ ।

  • पन्ध्र सन्तानकी आमा हाम्री हजुरआमा

    पन्ध्र सन्तानकी आमा हाम्री हजुरआमा

    आज मेरी हजुरआमाले हामीलाई छाडेर गएको २४ वर्ष पुग्यो, तर उहाँको माया, जीवनशैली र वाणी अझै पनि मनभित्र झल्झली आउँछ- कहिले स्मृतिका चित्र बनेर, कहिले जीवनदर्शन भएर । उहाँको जीवन एक युगको दस्तावेज हो, जसलाई लेख्नु भनेको केवल श्रद्धाञ्जली दिनुमात्र होइन, एक अविस्मरणीय महिला पात्रलाई इतिहासमा सम्मानपूर्वक उभ्याउनु पनि हो ।

    १५ सन्तानकी आमा, समर्पणकी प्रतिमूर्ति

    हजुरआमाले १५ सन्तान जन्माउनुभयो । नौ भाइ, ६ बहिनीमध्ये एक भाइ र एक बहिनी सानैमा बिते । आठ छोरामध्ये हाम्रो बुबा र साइला काकाको भौतिक शरीर हामीबीच छैन । पाँच दिदीमध्ये अहिले पनि चार जना जीवित हुनुहुन्छ । त्यो बेला ताप्लेजुङ ढुँगेसाँघु तेल्लाबुङका पण्डित होमनाथ भट्टराई जस्ता प्रसिद्ध भागवत वाचकका कान्छा छोरा महाजन कान्छाकी पत्नी भएर पनि हजुरआमाको जीवन सुगम थिएन । घर, खेत, बच्चा, परिवार सबै जिम्मा उहाँको काँधमा थियो । १३ जना सन्तानलाई हुर्काउनु, पढाउनु, व्यवहार सिकाउनु चानचुने कुरा थिएन, तर उहाँले त्यो सबैलाई मातृत्वको अटल संकल्पले कुशलतापूर्वक सम्पन्न गर्नुभयो ।

    जे मन लाग्छ खा, तर खानेकुराले आफैँलाई नखाओस्

    हजुरबुबा धार्मिक, परम्परावादी र कडा स्वभावको व्यक्ति हुनुहुन्थ्यो । बाहुनका छोराहरू जनै नलगाई धारामा नुहाएको देख्नुभयो भने तीन गाउँ लखेटेर भए पनि अनुशासनमा ल्याउने स्वभाव । अण्डा त घरभित्र प्रतिबन्धित नै थियो, तर हजुरआमा व्यवहारवादी हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो- ‘हजुरबा नभएको बेला ल्याएर उसिनेर खाऊ ।’ उहाँले एक दिन मलाई सम्झाउनुभयो-‘देहीले मागे जे खाए पनि हुन्छ, तर याद राख, खानेकुराले चाहिँ आफैँलाई नखाओस् ।’ यो वाक्य अहिले आएर स्वास्थ्य र विवेकको गहिरो शिक्षा लाग्छ ।

    हजुरबुबा धार्मिक, परम्परावादी र कडा स्वभावको व्यक्ति हुनुहुन्थ्यो । बाहुनका छोराहरू जनै नलगाई धारामा नुहाएको देख्नुभयो भने तीन गाउँ लखेटेर भए पनि अनुशासनमा ल्याउने स्वभाव । अण्डा त घरभित्र प्रतिबन्धित नै थियो, तर हजुरआमा व्यवहारवादी हुनुहुन्थ्यो ।

    ‘जन्मिहाल, रेडियो दिउँला’

    बेलुकैदेखि आमालाई सुत्केरी व्यथा लागेको थियो । रातभरि म जन्मिनँ । बिहान सबेरै हजुरआमाले भनिदिनुभयो- ‘लु, नाती जन्मिहाल, रेडियो दिउँला ।’ नभन्दै म जन्मिएँ । अनि चालीसको दशकमै हाम्रै घरमा रेडियो आयो । त्यो बेला गाउँभरिमा रेडियो भएका गनिएका घरहरू थिए, हामी पनि तीमध्ये एक थियौं । आज म रेडियोमै काम गर्न थालेको पनि २४ वर्ष पुग्न लाग्यो- अचम्मको संयोग, हजुरआमाको इच्छाबाट सुरु भएको यात्राको ।

    ‘घरैमा बसेर अनुहार हेरीहेरी कुरा गर्ने दिन आउँछ’

    चालीसको दशकमा हाम्रो स्कुलमै मात्र पीसीओ थियो, फोन गर्न ४५ मिनेटको बाटो हिँडेर तेम्बे पुग्नुपर्थ्यो । त्यही बेलामा हजुरआमाले भन्नुभएको सम्झना छ- ‘हेर्दै जाऊ नाति, एक दिन यस्तो आउँछ, जहाँ घरैमा बसेर अनुहार हेरीहेरी कुरा गर्न पाइन्छ ।’ आज हामी भिडियो कलमा संसारसँग कुरा गर्छौं । त्यो भविष्यदृष्टि कहाँबाट आउँथ्यो होला हजुरआमामा ?

    औषधिमूलो: लोकज्ञानको कोष

    एक पटक म लडेर अनुहारमा ठूलो चोट लाग्यो । हजुरआमा दौडिँदै बारीतिर पस्नुभयो, जडिबुटी ल्याएर घाउमा लगाइदिनुभयो । रगत थामियो, घाउ सुक्यो, खतसमेत परेन । उहाँ भन्नुहुन्थ्यो- ‘लेखेर राख, काम लाग्छ ।’ तर त्यो औषधिमूलोको बारेमा लेखिएन । आज लाग्छ- लेखेको भए हुनेरहेछ ।

    हजुरआमाले भन्नुभएको सम्झना छ- ‘हेर्दै जाऊ नाति, एक दिन यस्तो आउँछ, जहाँ घरैमा बसेर अनुहार हेरीहेरी कुरा गर्न पाइन्छ ।’ आज हामी भिडियो कलमा संसारसँग कुरा गर्छौं । त्यो भविष्यदृष्टि कहाँबाट आउँथ्यो होला हजुरआमामा ?

    ‘बीचको लाइन खै ?’

    असारको झरी, खेतमा सबै व्यस्त हुँदा हामी हजुरआमा-नाति घरमा रामायण पढ्थ्यौं । म पढ्थेँ, उहाँ सुन्नुहुन्थ्यो । जानाजानी कहिलेकाहीँ एक लाइन छुटाउँथेँ, उहाँ तुरुन्तै भन्नुहुन्थ्यो- ‘बीचको लाइन खै ?’ उहाँको स्मृति यस्तो थियो कि सुनेको कथा पूर्ण रूपमा सम्झनसक्ने । भागवत सुनेपछि कथा सुनाउन सक्नुपर्छ भन्ने उहाँको मान्यता थियो । यही हो जीवनमा सुनिएको कुरा आत्मसात गर्नुको महत्व ।

    ‘स्कुलको पढाइमात्र हैन, चतुरविद्ये जान्नुपर्छ’

    म स्कुलमा सधैं प्रथम हुने गर्थेँ । रिजल्ट आयो कि घरमा खुशीयाली हुन्थ्यो, हजुरबाले पाती लगाइदिनुहुन्थ्यो, हजुरआमा पनि खुसी देखिनुहुन्थ्यो, तर भन्नुहुन्थ्यो- ‘यो स्कुलको पढाइले मात्र केही हुँदैन, चतुरविद्ये जान्नुपर्छ ।’ त्यो ‘चतुरविद्ये’ के हो भन्ने बालक मनले बुझ्न सकेको थिएन । अहिले आएर थाहा हुँदैछ- जीवनको बुझाइ, व्यवहारको बुद्धिमता, समयको मूल्य पो रहेछ चतुरविद्ये ।

    अन्त्यमा

    मेरी हजुरआमाले अस्पताल कहिल्यै जानुपरेन, तराई आउन मान्नुभएन । परम्परागत समयमा पनि हजुरआमा आधुनिक हुनुहुन्थ्यो । हजुरआमाले हामीलाई छाडनुभएको २४औं वर्ष भयो । शारीरिक रूपमा हुनुहुन्न, तर तपाईंको आशीर्वाद, शिक्षाहरू र जीवनदर्शन आज पनि मेरो विचार, कर्म र व्यक्तित्वमा बलिया जरा फैलाएर बसेका छन् । तपाईं हाम्रो परिवारको मात्र होइन, समग्र समाजकै एक प्रेरणादायी आमाको जीवित उदाहरण हो- सधैं सम्झना, सधैं सम्मान आदरणीय हजुरआमा भागीरथा भट्टराई ।

  • इजरायलको बंकरभित्रबाट बकपत्र- बमको सिरानी र बारुदको ओछ्यानमा पो छु कि !

    इजरायलको बंकरभित्रबाट बकपत्र- बमको सिरानी र बारुदको ओछ्यानमा पो छु कि !

    छिनछिनमै कानमा गुन्जिने बमको धमाका, साइरनको कर्कश आवाज, अनि बंकरतिर लुक्नुपर्ने । नियमित आकस्मिकता भनेजस्तो आज इजरायलमा हाम्रो जीवन यसरी चलिरहेको छ ।

    ‘सुन्दर , शान्त र विशाल मेरो देश नेपाल’ भनेर हामी पढ्दै हुर्कियो । कक्षा चढ्दै, उमेर बढ्दै जाँदा देश सुन्दर त छ नै, शान्त बन्न सकेन र विशाल होइन भन्ने लाग्दै गयो ।

    १० वर्षको सशस्त्र द्वन्द्वकालमा एकाध गोली र बमको आवाज पनि सुनियो । त्यसबेला कतै बम पड्किएको सुन्दा मुटु नै काँप्थ्यो । डर थियो, भय थियो ।

    मलाई जन्मिएर हुर्किएर आफ्नै कर्म गरिराख्दासम्म मेरो देश कहिल्यै शान्त लागेन । पछिल्लो पटक पनि विभिन्न आन्दोलनले हिंसाको रूपमा लिइराखेको नै छ । युद्ध, पटक–पटकको आन्दोलन, झडप यी सबै सञ्चार कर्म गरिराख्दा झनै नजिकबाट देख्न पाइयो ।

    ओहो, ‘कहिले होला शान्त मेरो देश’ भन्ने सोच्दासोच्दै समयले विदेश पुर्‍यायो । विदेश पनि त्यहाँ पुर्‍यायो, जहाँ हरेक दिन बम पड्किन्छ ,साइरन मिनेट मिनेटमा बज्छ, अनि ज्यान जोगाउन मिनेट भर मै बङ्कर छिर्नुपर्छ ।

    इजरायल मध्यपूर्वको एउटा विकसित देश । जहाँ हजारौँ नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । म केही वर्षयता यही देशलाई आफ्नो कर्मभूमि बनाइरहेकी छु । राम्रो कमाई र कामका कारण धेरै नेपाली हिब्रु भाषा रटेर यहाँ काम गर्न आइपुग्छन् । सुरु सुरुका दिनमा खासै युद्ध र बम बारुदको अनुभव भएन ।

    इजरायलको प्रतिरक्षा प्रणालीका कारण सामान्य बमबारी हुँदा मोबाइलमा सूचना आउनेबाहेक अरू थाहा भएन । तर पहिलो अनुभव हमास र इजरायलबीचको युद्धले मलाई तर्सायो । काम गर्दा गर्दै साइरन बज्ने र बजेको केही क्षणमै बंकर भित्र कुद्नुपर्ने ।

    त्यस समय सीमावर्ती क्षेत्रमा रहेका नेपाली बढी जोखिम र त्रासमा रहे । म काम गर्ने ठाउँमा त्यति ठूलो क्षति त भएन, तर एकाध ठाउँमा बम खस्यो । जति समय युद्ध चल्यो, त्यति समय निन्द्रा परेन । कति वेला दौडिनुपर्छ वा हिँड्दा हिँड्दै बम खस्छ भन्ने त्रास मनमा उत्तिकै रह्यो ।

    सानै हुँदा भरुवा बन्दुक, राइफलजस्ता हतियारको नाम सुन्दा डराउने म अहिले मिसाइल आक्रमणको अनुभव लिइराखेकी छु । यो सबै समयको खेल न रहेछ । जे पर्छ, त्यो टर्छ भनिन्छ नि, हो आजसम्म टर्दै आएको छ । थाहा छैन, युद्धको यो त्रासदीबीच रुमल्लिएको आतंकपूर्ण दैनिकीले कहिले विश्राम पाउँछ ? युद्ध हो, मर्ने–बाँच्ने कुरा आफ्नो बसमा हुँदैन । यसो भन्दा म छिनछिनमा देश सम्झिरहेकी हुन्छु । आमा, बुबा, दिदी, बहिनी, दाजु, भाइदेखि साथीसंगी सबै छिनछिनमा स्मृति पटलमा उपस्थित हुन्छन् ।

    भक्कानिन्छु, निसासिन्छु, फेरि साइरन बज्छ, बम पड्किन्छ र ज्यानको मायाले हस्याङफस्याङ गर्दै बंकरतिर दौडिन्छु । बंकर सुरक्षित त हुन्छ, तर मनले त्यसो भन्दैन । बंकरभित्रै पनि म बमको सिरानी र बारुदको ओछ्यानमा छु जस्तो लाग्छ । म मात्र हैन, इजरायलवासी प्रत्येक नागरिकले भोगेको वास्तविकता हो यो ।

    यहाँ आइसकेपछि पहिलो पटकको युद्धले मलाई जति कमजोर र त्रस्त बनायो, त्यो भन्दा बढी नेपालमा बस्ने मेरो परिवारका बूढा भइसकेका बा–आमालाई बनायो । उहाँहरूको त्यो चिन्ता म कल्पना मात्रै गर्न सक्छु । मानौँ, म आमा हुन्थेँ भने यस्तो त्रासदीबीच गुज्रिएको सन्तानको पिरले कसरी बाँच्न सक्थेँ होला र ?
    आधा घण्टामात्रै फोनभन्दा पर बस्दा दर्जनौँ म्यासेज र म्यासेन्जर कल आइसकेका हुन्थे ।

    सात समुन्द्र पारी आफ्नो सन्तान त्यसमाथि चलेको युद्ध र आइरहने समाचारले कुन बाबु आमाको मन शान्त रहोस् पनि । म भित्र–भित्र त्रास र मन कमजोर बनाइरहेर चलेको दैनिकीलाई लुकाएर बुबा आमाको अगाडि हाँस्दै, मुस्कुराउनुपर्ने बाध्यता र पीडा शब्दमा कसरी लेख्न सकिएला र ? नेपाली अपहरण पर्नु, दैनिक हत्याका समाचार आउनु, त्यो पल साँच्चिकै कठिन थियो ।

    हुन त अनुभव र अवस्थाले पनि होला । त्यो युद्धको अनुभवपछि अहिले मलाई केही सहज लागेको छ । तर पनि, मन हो, डरलाई रोक्न कहाँ सकिन्छ र ? यति बेला इरान र इजरायल दुवै युद्धमा छन् । भन्ने नै हो भने अघिल्लो पटक भन्दा यो युद्ध अझ भयानक हुनसक्छ । आक्रमण र बमबारीका हिसाबमा अघिल्लो पटक भन्दा यस पटक अझ त्रासदपूर्ण छ । के हुन्छ भन्न सकिने अवस्था छैन । युद्ध यही गतिमा अगाडि बढ्छ वा अझ भयानक हुन्छ, त्यो पनि थाहा छैन ।

    मिनेट मिनेटमा बज्ने ठूलो आवाजको साइरनले चाहिँ मानसिक रूपमा कमजोर बनाउने रहेछ । एक सुरले काम गरिराख्दा होस् वा रातमा निदाइराख्दा झ्याप्प साइरन बजेपछि दौडिहाल्नु पर्‍यो । बंकर छिरिहाल्नु पर्‍यो । म बस्ने ठाउँ र काम गर्ने ठाउँमा जान आउन बसको व्यवस्था छ । र पनि, यात्रामै केही भइहाल्छ की भन्ने डर चाहिँ जति नै मनोबल उच्च बनाउँदा पनि हुँदो रहेछ ।

    हिजो मात्रै अमेरिकाले इरान आक्रमणपछि अझ डरलाग्दो अवस्था हुने सम्भावना देखिरहेको छु । आज बिहान मात्रै एक एजकेयर अस्पताल नजिक आक्रमण भयो । आक्रमणले अस्पतालमा क्षति पुग्यो ।

    त्यहाँ रहेका मध्य २३ जना बिरामीहरूलाई मैले काम गरिराखेको एकयर सेन्टरमा ल्याइसकिएको छ र अहिले अझ बढी व्यस्त छु ।

    यति लेख्न सक्छु वा सक्दिनँ भन्ने अन्योलमा थिएँ । बमको आवाज, कहाँ, कति बेला बंकर जानुपर्ने हो भन्ने अवस्था । न दिन, न रात । जतिबेला जे पनि हुन सक्ने परिस्थितिमा मन शान्त कसरी हुन्छ र ? लेख्न कसरी सकियोस् ? तैपनि, आफ्नो ऊर्जाशील जवानी बिताएको पत्रकारिताको त्यो लत् कहाँ छुट्दो रहेछ र ? परिस्थिति र समय मिलाएर यहाँको अवस्थाबारे जानकारी दिने मेरो प्रयास रहन्छ नै ।

    (इजरायलमा कार्यरत नीता राउत पश्चिम एसियाबाट नेपाल प्रेसको लागि रिपोर्टिङ गर्छिन्)

  • कलमको माध्यमबाट जे लेखिरहेको छु, त्यो सीधा राजनीति नै हो: गुरुङ सुशान्त

    कलमको माध्यमबाट जे लेखिरहेको छु, त्यो सीधा राजनीति नै हो: गुरुङ सुशान्त

    काठमाडाैं । समीक्षक, निबन्धकार र समालोचक गुरुङ सुशान्तको पुस्तक ‘इतर समीक्षा’ भर्खरै पाठकहरुमाझ पुगेको छ । दुई दशकदेखि आख्यान तथा गैरआख्यानदेखि चलचित्रसम्म कलम चलाइरहेका सुशान्तले गरेका तीक्ष्ण विश्लेषण र मूल्यांकनहरुको संगालो हो, ‘इतर समीक्षा’ ।

    पहिचान पक्षधर लेखकको परिचय निर्माण गरेका सुशान्त सीमान्तकृत वर्ग र समुदायको पक्षमा निरन्तर बोलिरहेका छन् । कुनै दलको छत्रछायाँमा रहेर दलको झन्डा हल्लाउनुलाई मात्रै राजनीति नमान्ने उनी आफू जस्ता लेखक, समीक्षकले कलमको माध्यमबाट सीधा राजनीति गरिरहेको ठोकुवा गर्छन् ।

    हरेक लेखन राजनीतिक हुन्छ भन्ने मान्यता राख्ने उनै गुरुङ सुशान्तलाई कवि शकुन्तला जोशीले ‘इतर समीक्षा’ वरिपरि रहेर पाँच प्रश्न सोधेकी छन् । प्रस्तुत छ सुशान्तसँग शकुन्तलाको प्रश्नोत्तर:

    – तपाईंको नवीन कृति ‘इतर समीक्षा’ भर्खरै बजारमा आएको छ, समीक्षाले कृति र स्रष्टालाई कुन रूपमा योगदान गर्दो रहेछ ?

    समीक्षाले सामान्यतः कुनै रचनाबारे पाठकमाझ जिज्ञासा जगाउने काम गर्छ । सिर्जना या पुस्तक परिचयभन्दा माथि उठेको समीक्षाले चाहिँ विधागत, विषयगत र तथ्यगत आधारमा सम्बन्धित सिर्जनाका सबल र दुर्बल पक्षको विश्लेषण गर्दै मूल्य निरूपण पनि गर्छ । जिम्मेवार समीक्षाले भने कुनै रचनाले उठान गरेको विषयलाई सामाजिक, राजनीतिक, सांस्कृतिक परिप्रेक्ष्यमा बहस र विमर्शकै आह्वान गर्छ । र, आफ्नो विश्वदृष्टि र पक्षधरता पनि प्रकट गर्छ । यसरी जिम्मेवारीबोधका साथ लेख्ने हो भने समीक्षाले स्रष्टालाई आफ्ना कमजोरीप्रति घोत्लिने मौका दिन्छ ।

    यस्ता समीक्षाले स्रष्टालाई आगामी लेखनका लागि प्रत्यक्ष मार्गदर्शन गर्नसक्छ । उदाहरणका लागि गोविन्द भट्टले ‘शिरीषको फूल’ उपन्यासको निर्मम समीक्षा गरेपछि पारिजातको लेखनमै आनका तान फरकमात्रै परेन, वैचारिक बाटो नै बेग्लै भयो । गम्भीर समीक्षाले स्रष्टा, पाठक र सिंगो वाङ्मयलाई नै योगदान गर्नसक्छ भन्ने दृष्टान्त त धेरै पाउन सक्छौँ । समीक्षा लेखनमा लामो समय खर्चे पनि म आफूले आफैंलाई फर्केर हेर्दा चाहिँ योगदान गर्ने तहमा भन्दा अभ्यासरत लेखकको रूपमा पाउँछु ।

    – अहिले आख्यान तथा गैरआख्यान लेखनमा धेरैको रुचि छ, तपाईं आफैंले आख्यान वा गैरआख्यान नलेखेर किन समीक्षातिर काम गर्नुभएको हो ?

    गैरआख्यान त लेखिरहेकै छु । निबन्ध र संस्मरणात्मक लेख लेखिरहे पनि पत्रिकामा कम छापिएका होलान् । बटुल्दा एउटा किताब त बनिहाल्छ । हतार नगरेकोमात्रै हो । समीक्षा पनि गैरआख्यानकै एउटा शाखा हो । आख्यान मेरो मनप्रिय विधा हो, तर अहिले नै यस विधामा मेरो लेखनको योजनाबारे घोषणा या भविष्यवाणी गर्न चाहन्नँ । बरु लेख्न सके त मलाई आख्यानभन्दा कविता विधाप्रति आकर्षण छ, तर अरुका राम्रा कविता पढेरै स्वाद लिइरहेको छु । कवितालाई उपल्लो सम्मान गर्ने भएकाले लेख्ने आँट गर्दिनँ, अचेल । उहिलेउहिले म पनि कविता लेख्थेँ भन्ने कुराले मात्रै पनि म मखलेल हुन्छु ।

    – इतर समीक्षामा आख्यान, गैरआख्यान, सिनेमा, नाटक, संगीतलगायत विविध विधामाथि तपाईंले विभिन्न पत्रपत्रिकामा गर्नुभएको समीक्षाहरू छन् । समीक्षा नै गर्दा पनि किन यति धेरै विधामा बाँडिनुभयो तपाईं ?

    मान्छेलाई रुचि र संगतको फन्दामा परेपछि उम्किन गाह्रो हुने रहेछ । गाउँमा रेडियो सुनेर हुर्कियो । त्यसले संगीतको लती बनायो । रेडियो नाटकले रंगमञ्चप्रति रुचि जगायो । गाउँतिर मसलाको पोकोमा बेरिएर आउने पत्रिकाका टुक्रामा झल्याकझुलुक पढ्न पाइने मुक्तकले कवितातिर आकर्षित गरायो । दाइहरूसँग मागेर पढेका यौन उपन्यासले खास उपन्यासतिर मोह जगाए । दाइहरूले पढ्ने ‘कामना’ म्यागजिनमा सिने कलाकारको ‘ग्ल्यामर’ ले सिनेमातिर रुचि बढाइदियो ।

    समयक्रममा सिनेमा, साहित्य र संगीतको अम्मली बनेँ । त्यही अम्मलका कारण त्यतैत्यतै अलिअलि लेख्न थालेँ । पछिपछि साथीहरू र पत्रिकाका सम्पादकहरूले लेख्न अह्राएपछि निरन्तर लेखियो । यही नै हो वास्तविकता । यसमा घनघोर कारण छैनन् । एकै विधामा केन्द्रित भएर लेख्न सकेको भए राम्रो हुन्थ्यो भन्ने त लागिरहन्छ, तर आदत र साथीहरूबाट भाग्न मुस्किल छ ।

    – यतिका कृति/रचनामाथि समीक्षा लेख्नुभयो, कुनै समीक्षा निकै कमसल लाग्छन्, कुनै भने निकै शक्तिशाली । केके कारणले यसरी फरक भएको होला ?

    सिर्जनाको ल्याकतले समेत समीक्षाको ढाँचा, ढर्रा र भाषाशैलीमा फरकपन ल्याउनसक्छ । कतिपय सबल रचनाको कमसल समीक्षा भएको पनि हुनसक्छ । हाम्रै प्रिय र निकै अब्बल कविको कवितासंग्रहमा पनि सबै उही स्तरका कविता हुँदैनन् । त्यसरी नै समीक्षा पनि अध्ययन र अभ्यासले विकसित हुँदै जाने विधा हो । अर्को कुरा चाहिँ लेखनको समयले पनि फरक पार्दो हो । म चाहिँ दैवी प्रतिभा जस्तो आदर्शवादी कुरामा विश्वास गर्दिनँ । सबै लेखन रुचि, अवसर, अभ्यास, निरन्तरता र प्रतिबद्धताले खारिने होला । म पनि पढ्दै सिक्दैछु ।

    – तपाई राजनीतिक रूपमा सचेत मानिस, सीधा राजनीतिमा प्रवेश नगरेर किन लेखनको बाटो समात्नुभयो ?

    मैले लेखनबाट के गर्दैछु त, कविजी ? राजनीति नै त गर्दै छु नि ! स्वप्निल स्मृतिले पछिल्लो चरण कविताबाट के गर्दैछन् ? उत्तर सहज छ, राजनीति । तीर्थ गुरुङले ‘हिउँको गीत’ बाट आदिवासीको मौखिक इतिहासलाई अभिव्यक्त गरेर राज्यलाई लिखित इतिहासमात्रै पूर्ण होइन भनेका छन् । यो राजनीति नै हो ।

    भोगीराज चाम्लिङहरू ‘मुन्दुम’ र आदिवासी दर्शनलाई राम्ररी सुन्ने हो भने समाजवादको यात्रामा अघि बढ्न सक्छौँ भन्दैछन् । यो सीधा राजनीति हो । म पनि लेखनबाट पहिचानको पक्षमा बोलिरहेकै छु । सीमान्तकृत वर्ग र समुदायको पक्षमा निरन्तर बोलिरहेकै छु, कलमबाट । यो कुनै बाङ्गो राजनीति होइन नि, सीधा राजनीति नै हो । दलमा बसेर झन्डा हल्लाउँदै ‘म झोले हुँ’ भन्नु मात्रै सीधा राजनीति होइन । पार्टी, झोला र झन्डा भनेका राजनीति अभिव्यक्त गर्ने फोरम र प्रतीकमात्रै हुन् । खास राजनीति भनेको विचार हो । हरेक लेखन राजनीतिक हुन्छ भन्ने मान्यता राख्ने हामी लेखेरै सीधा राजनीति गरिरहेका छौँ भन्न धक मान्नुहुँदैन ।

  • म ‘सेम्योरी’भित्रका कविताहरूमा खुलेर पोखिएकी छु: अञ्जना इछमफूल

    म ‘सेम्योरी’भित्रका कविताहरूमा खुलेर पोखिएकी छु: अञ्जना इछमफूल

    काठमाडौं । सोलुखुम्बु जिल्लाको खालिङ परिवारमा हुर्किएकी कवि अञ्जना इछमफूल संस्कृति, भूगोल र समुदाय मिसाएर कविता लेख्न माहिर छिन् । उनी ग्रामीण परिवेशलाई टपक्कै टिपेर प्रतिरोधी कविता लेख्नसक्ने शब्दशिल्पी हुन् ।

    उनका कवितामा स्थानिकतासँगै श्रमको सम्मान, मातृ स्नेह प्रचुर मात्रामा पाइन्छन् । सांस्कृतिक र भाषिक तालमेलमा पनि उनी अब्बल छिन् । सृजनात्मक कर्मसँगै उनी व्यवसायमा पनि सक्रिय छिन् । हातले बुनेका ढाका, किराँती संस्कार, संस्कृतिमा चाहिने पहिरन, गरगहनालगायत सामानहरूको व्यापारमा केही वर्षदेखि सक्रिय छिन् ।

    उनै अञ्जना इछमफूलले भर्खरै कवितासंग्रह ‘सेम्योरी’ बजारमा ल्याएकी छन् । यही संग्रह वरिपरि रहेर कवि अञ्जना इछमफूललाई अर्का कवि किराँत नकराले पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ, कविलाई कविकै प्रश्नअन्तर्गत गरिएको वार्ताको सम्पादित अंश:

    – ‘सेम्योरी’ शब्द नेपाली कविता साहित्यमा नयाँ र आकर्षक लाग्छ । यसको अर्थ के हो ?

    खालिङ राई भाषामा ‘सोम्यो’ भनेको सपना र ‘री’ भनेको डोरी, लहरा, तरंग हो । यस अर्थमा ‘सेम्योरी’ मेरो सपना हो । मलाई सानैदेखि अरु लेखकको किताब देख्दा म पनि किताब लेख्छु भन्ने सपना थियो ।

    ‘सेम्योरी’को शाब्दिक अर्थ चाहिँ प्राचीन किराँती गहना हो । हाम्रो समुदायमा सोम्योरी बाटेर एकले अर्कोलाई लगाइदिने चलन छ । पछि आएर थाहा पाएँ, त्यो सोम्योरीलाई आकाश, धर्ती र हावासँगै तीन चुलाको प्रतीक मानिँदो रहेछ । चेतनाको गाँठो(चेत गाँठो) भनेर मगर समुदायदेखि सुनुवारमा, ‘प्लेकास’ भनेर आदिवासी जनजातिहरूमा सोम्योरी प्रख्यात रहेछ, तर यो लोप हुन लागेको आदिवासी गहना हो ।

    सोलुखुम्बुका खालिङ समुदायले चाहिँ लेकतिर पाइने सेम्योरीको बुट्यानबाट सेम्योरी तयार गर्छ । चोयाको सेम्योरी चाहिँ त्यति शुभ मानिँदैन । ओरिजिनल सेम्योरी लगाएर हिँड्दा, सिरानीमुनि राखेर सुत्दा सपना राम्रो देखिने, भविष्यमा आउने बाधा व्यवधान तथा अशुभहरू टरेर जाने मान्यता छ । त्यसैले मैले कवितासंग्रहको नाम ‘सेम्योरी’ राखेकी हुँ ।

    – कविता लेख्दा ‘साँस्कृतिक अतिवाद’लाई कसरी सन्तुलित गर्नुहुन्छ ? यो सन्दर्भ तपाईंको कवितासंग्रहमा कतिको पाइन्छ ?

    कवितामा मात्र नभएर हाम्रो दैनिक जीवनशैली, घर, समाज, संस्कार, संस्कृति, भाषा, धर्म र भूगोलको विषय नै किन नहोस्, अतिवाद लाद्नुहुँदैन भन्ने लाग्छ । म सधैं यस्तो कुरामा सतर्क पनि रहन्छु । म जन्मिएको भूगोल, हुर्किएको समाज, व्यतित गरिएको वातावरण, माहोल र सङ्गत नै मेरो लेखनशैलीमा झल्किने कुराहरू हुन् ।

    म सोलुखुम्बुको खाँटी पहाडमा जन्मेको मान्छे । किराँती संस्कार र भाषा मेरो मूल जरा हो । सायद पाठकले मेरा कविताहरूमा त्यसको प्रतिविम्ब अलि बढी पाउनुहुन्छ । आफ्नो भाषा, भूगोल र परिवेश झल्किनुलाई म कविको आफ्नो पहिचान मान्छु । कसैले कसैमाथि सांस्कृतिक अतिवाद हावी गर्न खोज्छ भने म त्यसको विरोधी हुँ ।

    – तपाईंको कवितामा श्रमको सम्मान, मातृ स्नेह, स्थानिकता, सांस्कृतिक एवं भाषिक संवादको तालमेल आदि विषयवस्तु पाइन्छन् । तपाईंको विषय छनोटमा यस्तै विषय पर्नुका पछाडिका कारण के के हुन् ?

    मेरो सृजनात्मक लेखनमा यिनै तत्वहरूको प्रभाव छ । श्रमको सम्मानविना सफल र सन्तुष्ट जीवनशैली सम्भव छैन । म आफू श्रमिक भएकैले बढी अरुको श्रमको सम्मान गर्छु ।

    म एउटी आमा हुँ । आमामात्र नभएर कवि मन भएकी आमा हुँ । संसारका सम्पूर्ण आमा हुने सौभाग्य पाएका आमाहरू मेरा निम्ति भगवानभन्दा माथि छन् ।

    लगनशीलता, इमानदारिता, सांस्कृतिक तथा भाषिक सद्भाव र स्नेहविनाको मानिसको जीवनको एक सेकेन्ड पनि कति खल्लो होला ! अनुमानमात्रै गर्दा पनि उकुसमुकुस हुन्छ । त्यसैले उल्लेखित विषयहरू मेरा रोज्जा विषय हुन् । तसर्थ म जे छु, ‘सेम्योरी’ मभित्रको म नै बोलेको हो ।

    – तपाईं व्यवसायमा पनि सक्रिय हुनुहुन्छ । सृजनात्मक लेखन, घरपरिवार र व्यवसायलाई कसरी सन्तुलनमा राख्ने गर्नुहुन्छ ?

    मलाई त अहिले धेरै लेखक र कविहरूले व्यापारीमात्र भन्ठान्छन्, तर मभित्रको कवित्व सधैं बौरिइरहन्छ । त्यो मरिसकेको छैन । म आफ्नो रोजीरोटीको निम्ति निश्चित समय छुट्ट्याएर मेसिन बनेर बाँच्छु । यसमा मलाई बानी परिसक्यो । म त काम नगर्दा बिरामी जस्तो हुन्छु ।

    सन्तुलन भन्ने कुरा चैँ मानिसले चाहेरभन्दा पनि मानिसको अवस्था हेरेर समयले निर्धारण गरिदिन्छ कि जस्तो पनि लाग्छ । म लामै समयदेखि औपचारिक कार्यक्रमहरूमा जान छोडेकी छु । समय नै पुग्दैन । मेरो ढाकाको पसल नै साथीभाइ जमघट हुने थलो पनि भएको छ । केही युवाहरूलाई रोजगारी पनि दिएकी छु ।

    कामबाट रातितिर घर पुग्दा कहिलेकाहीँ नुनको बट्टा रित्तो हुन्छ । वरिपरि पसल बन्द भइसकेको हुन्छ । नानीहरूलाई पनि मैले राम्रोसँग समय दिन सकिनँ कि जस्तो पनि लाग्छ । अहिले मभन्दा अग्लाअग्ला भइसके उनीहरू पनि । उनीहरूलाई भात पस्केर दिँदा ‘ममी तपाईं पनि खानुस् न’ भन्छन् । मलाई नानीहरूको यति बोलीले दबाइको काम गर्छ । यसरी नै आजसम्म यहाँ आइपुगिएछ, अब यसैलाई त सन्तुलन बन्ने होला कि !

    – तपाईंका कविताहरूमा समुदायप्रतिको लगाव एकदमै ज्यादा देखिन्छ, किन होला ?

    म सामाजिक प्राणी हो । मेरा हरेक गतिविधि समाजसँग जोडिन्छ । कवि हृदयले त झनै ज्यादा आफ्नो समुदायप्रति झुकाव राख्दोरहेछ । अब आफ्नो समुदायप्रति झुकाव र लगाव त अत्यधिक धेरै भएकै राम्रो हो नि !

  • मनभरि मनोहर मुस्ताङ

    मनभरि मनोहर मुस्ताङ

    यसअघि पनि लाखौँ आइसके यहाँ ।
    यसपछि पनि करौडौँ आउनेछन् यहाँ ।

    आइसकेका भूतकालमा भए । आउनेहरू भविष्यमा छन् । यतिबेला म र थुप्रै महरू वर्तमानकालमा थियौँ । मुक्तिनाथमा उहिले आएकाको पाइलाको डोब हराइसकेको थियो । अब आउनेको पाइला परेकै थिएन । हामी हाम्रा पाइलाले हिँडिरहेका थियौँ ।

    मुक्तिनाथ अझै कति जानै बाँकी छन् । गएका कतिले यो संसार छाडेर गइसके । जान्छु भन्नेहरू जन्मेकै छैनन । जन्मेका कति गइसके । सानैदेखि सुनेको तर जान बाँकी थियो मुक्तिनाथ ।

    यो पाला त्यो पनि पूरा भयो ।

    जाने कतिले यसको बारेमा लेख लेखे । कतिले लेखेनन् । लेख्ने इच्छा पनि पूरा गर्न यो लेखिरहेछु । मनोहर मुक्तिनाथ यात्रा प्रचलित पोखराबाट सुरू हुन्छ । अरु धेरै मान्छे पोखरा पुग्छन तर मुक्तिनाथ पुग्दैनन् । म पनि त्यस्तैमा एक थिएँ पोहरसालसम्म । पर्यटनको राजधानी पोखरा धेरैपल्ट गइयो, बागलुङ गइयो तर मुक्तिनाथ अहँ जान पाएको थिएन । समयले समय नमिलाएपछि हामीले समय मिलाएर मात्रै समय मिल्दो रहेनछ ।

    यो पाला त्यो संयोग जुर्‍यो ।

    केही वर्षदेखि मभित्र जन्मदिन मनाउन अलिक टाढा जाने बानी लागेको छ । कति काठमाडौंमा कौवा उडाएर भोज गर्नु बरु प्राकृतिक र अध्यात्मिक थलो जाउँ न भन्ने भूत सवार भैरहेछ । पोहोर पाथीभारा गएँ । यो पाला मुक्तिनाथ जाने भन्ने भयो ।

    थाहा छ, परिवारसँग हिँडेको प्रेमपूर्वक पाइलाको सूरम्यता संगीत झैँ मनमै आज र अघिपछि पनि बज्दछ । तर, पनि समय मिलेको थिएन । पाथीभाराको पाइलाको पात्रो पल्टदै थियो । एक वर्ष भयो मिस्टर, के गर्दैछौ भनेर ।

    श्रीमती सिर्जनासँग सल्लाह गर्दै भनेँ ‘यो पाला मुक्तिनाथ जाउँ न त !’

    उनी पहिले गइसकेकी थिइन् र भनिन् ‘मिल्छ भने अपर मुस्ताङ पनि जाउँ न ल ।’

    मैले हुन्छ भनेँ ।

    छोरी सिमल र आरिफा मेरी उनी र म आफ्नै गाडीमा पोखरासम्म गइयो । साली सपना र साढभाइ आर्यन सिग्देल र पुन्टे आयन्स पोखरामै थिए । उनीहरूसँग भेट भयो । उनीहरू त्यता नजाने भए । हामी जाने भयौं ।

    व्यापारी देश चाइनाको टिकटकले आजकल व्यापार बढाएको छ । सिर्जनाले त्यही टिकटकबाट प्याकेज लिइछन् । टिकटकमा स्कर्पियो लाइन लागेर गएको देखेकोले आफ्नो गाडी किन लैजानु भन्ने उनलाई लागेछ । मलाई पनि सही लाग्यो । छोरी सिमल, आरीफा, सिर्जना र मलाई लिन चैत मसान्तकै दिन स्कर्पियो होटलमै आयो ।

    हामी तीनसहित सातजना रहेछन् । बिहान ६ बजे हामीलाई लिएर गाडी लाग्यो बागलुङ रोड । यो देशको पहाडी बाटो अलिकति घल्च्याङघुल्चुङ हुनु सामान्य नै भयो । पर्वतको बाटो नसमाउँदासम्म गाडी धिमा गतिमा थियो । त्यसपछि रफ्तार लियो ।

    आजकलको चर्चित हेम्जा रोड, काँडे ,लुम्ले, कुश्मा बजार हुँदै गाडी अगाडि बढ्यो । हेम्जाबाट सुन्दर हिमाली दृष्य हेर्दा हेर्दै कुश्मानजिकै ककरामा भीर मौरीले पारेको चाका हेरियो । बन्जी जम्प हेर्दै अगाडी बढ्दा निक्कै भारतीय बाइक देँखे । सामानले दुईतिर बाँधेर उनीहरू पनि हाम्रो जस्तै यात्रारत थिए ।

    कुराकानी गर्दा गर्दै बागलुङ कालिका पुगिहाल्यो । गेटमै ‘कालिका भगवती मन्दिरमा पाल्नुहुने सम्पूर्ण भक्तजन एवं दर्शनार्थीहरूमा हार्दिक स्वागत गर्दछौं’ लेखिएको कालीका भगवती गुठी व्यवस्थापन समिको साइनबोर्ड थियो ।

    बागलुङ कालिका गेट छिरेपछि मन्दिरसम्मको बाटो मनै आकर्षित बनाउने । दुबै साइडमा ठूला ठूला रुखहरूले आउनुस् ! भन्दै नमस्कार गर्दै बोलाए झैँ ठान्दछु । खुशी हुन्छु यसै यसै । मन्दिर जाने बाटोमा विभिन्न मूर्तिहरू बन्दै रहेछन् । मन्दिरमा थपिँदै जाने मूर्तिहरू नेपाली सभ्यता नै भइसक्यो ।

    भगवती कालिकाको दर्शनपछि गाडी बागलुङ बजार नगई तलतिर बेनीको बाटो लाग्यो । त्यहाँबाट १९ किमीमा पर्ने बेनीको बाटो पहिरोले खत्तम पारेको रहेछ । सानो बाटो, भत्किरहने पीच, बनाउन लगाइएको ठेक्का । अनि ठेकेदारले लामो समय लगाउने र चाँडै नबनाउने नियति भैसक्यो हाम्रो । यहाँ यस्तै देखियो ।

    हामी शालिग्राम गुफा, पञ्चकोट फेदी खबरा हुँदै अगाडि बढ्यौँ । खबरा नाम कसरी रह्यो होला भन्ने भन्ने चिन्तन गर्दागर्दै एक घन्टा नलाग्दै आइपुग्यो बेनी ! बेनीमा पर्वत बेनी र म्याग्दी बेनी दुई बेनी छ । हामी म्याग्दी बेनी हुँदै आएका थियौँ । नदी किनारमा पहाडको फेदीमा रहेको बेनी बजारमा ‘बेनीको बजार, जता माया उतै छ नजर…’ सदाबहार गुञ्जिने गीतमा झुम्दै म्याग्दी क्रस गर्‍यौँ । पर्वतपट्टीको कालीगण्डकी दूर दर्शन भयो ।

    देश र जनताको लागि बलिदान दिने महान शहीदको सम्झनामा निर्मित ‘शहीद स्तम्भ’ लेखेको गेट देखियो । शहीद कुद्नेहरू संसार पुगे झैँ लाग्यो गेट हेर्दा । बेनीको न्यूरोडले काठमाडौंको न्यूरोड झैँ बन्न दुई साइडको घरको बीचमा बाटो बनाएको रहेछ । मान्छेहरू आवतजावत, मुक्तिनाथ जाने गाडीको ताँतीले एक छिन जाम भयो बेनीमा । अघि स्वागत गेटले गरेथ्यो । अहिले बिदाई गर्दै गेटले नबोली भन्यो- ‘बेनी बजार भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद !’

    कालीगण्डकीको किनारै किनार हामीले बाटो सररर एकैछिन हिँड्यौँ । फेरि थोत्रे, झुत्रे दिक्क लगाउने बाटो आयो । तल नदी हामीलाई पछ्याइरहेको थियो । ठूला ठूला ढुंगा, पहाडका हावा र माटोको सुगन्ध लिँदै झुरूप्प घर हेर्दै थियौँ । लेखिएको थियो- पवित्र तीर्थस्थल गलेश्वर महादेव जाने बाटो ।

    बेनीबाट करिब आधा घन्टाको ड्राइभपछि अलौकिक गलेश्वरधाम शिवालय प्रवेशद्वारमा पुग्यौँ । धार्मिक, प्राकृतिक र आध्यात्मिक थलोमा नदेखिकनै कानले सुनियो- भजन चलिरहेछ । नजिकै पुगेपछि आँखाले देख्यो- नाच पनि छ । त्यहाँ कालीगण्डकी स्नान पदमार्ग, बहुउद्देश्यीय बाटिका, पार्क, पिकनिक स्थल र खेलकुद मैदान क्षेत्रहरू रहेछन् । विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम गेटमै फोटो त खिच्नै पर्‍यो ।

    अलौकिक ठाउँ रहेछ त्यो । नौ रोपनीको ढुङ्गो पूरै शालिग्राम । त्यही ढुङ्गामाथि मन्दिर । बाहिर बगिरहेको नदी । गलेश्वर धाम गज्जब लाग्यो । हेरिरहुँ, बसिरहुँ, छोईरहुँ, झैँ लाग्ने त्यो ठाउँ पर्यटनको लागि सुप्रसिद्ध हुन सक्छ । हामीले देवता मानिरहेको यो ढुंगा नेपालको लागि केही खनिजको स्रोत हुन सक्छ । हरेक धार्मिक र पर्यटकीय थलोमा अनेक अलौकिक कथा हुन्छन् । यहाँ पनि छ ।

    श्रीमद्धभागवत पुराण अनुसार महादेवले सतिदेवीको मृत शरीर बोकेर कालीगण्डकी नदीको किनारै किनार हिमालय पर्वततर्फ जाँदा सतिदेवीको गला पतन भएको र ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूपले रहनु भएकोले यसको नाम गलेश्वर धाम रहेको लिखित दस्तावेजमा छ । विसं १९५९ मा पृथ्वीवीरविक्रम शाहले यसको गुठी स्थापना गरिदिएका रहेछन् ।

    विशाल चक्रशिलामाथि कहिल्यै नसुक्ने पोखरी, वृक्ष, भगवानको चित्र, शङ्ख, नाग, देवीदेवता आकृतिको अलौकिक दृष्य देखिन्छ । बेनीबजारबाट तीन किलोमिटर उत्तरमा रहेको यो मुक्तिनाथको प्रवेशद्वार वा मुक्तिद्वार पनि भनिन्छ ।

    कालीगण्डकी र रहु नदीको संगममा पर्ने यो ठाउँ गजबै छ । अनेकौ ऋषिले तपस्या गरेर सिद्ध प्राप्त गरेको यो ठाउँको मौसम मनमोहक छ । पहाड हेर्ने कि, हिमश्रृंखला वा खोला वा ध्यान योगको लागि प्रसिद्ध छ । बसिरहुँ झैँ लाग्ने गलेश्वरमा धेरै गुरुजी त्यहिँ बसेर बने । तर, हाम्रो गाडीका गुरुजीले धेरै बेर बस्न दिएनन् ।

    कालीगण्डकी सुसाइरहेको, विशाल शिलामाथि उभिँदा हावाको झोँकले बेस्कन हानिरहेको, पिपलको बोट हाँसिरहेको , शालिग्राममाथि टेकेर हिँड्दा हामी हिन्दू सनातनीलाई कस्तो अप्ठ्यारो ! तर, सबै हिँडेपछि हिँड्नै पर्‍यो । राधाकृष्णको मन्दिर, लक्ष्मी नारायण मन्दिर, कामधेनु गौमाताको मन्दिरले आकर्षण थपेका थिए ।

    राजा भरत, जडभरत, राजर्षि, रहुगण, गलेश्वर बाबाको तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि र मोक्षभूमि मानिएको गलेश्वरमा दिनभर त्यही शिवशिलामा सुतौँ झै शिवलिङ्गहरूमा घुमिरहुँ झैँ लागिरहेको थियो । तर, समूहमा भएकाले सम्भव भएन ।

    लगभग आधा घन्टाको बसाइपछि हामी गुइँठो, सुकेबगरको धुलो र खत्तम बाटोमा गाडी कुदाउँदै लमजुङ होटल दानामा खानाको लागि रोकियौँ । गलेश्वर धामबाट एक घन्टाको बाटोमा साढे एक बज्दा हाम्रो थालमा भात आइपुग्यो ।

    दानाको दानापानी आधा घन्टामा खायौँ हामीले । लगभग ४५ मिनेटमा दाना म्याग्दीबाट निक्लियौँ । झुपुक्क हुन नपाउँदै आयो रूप्से झरना । बेनी जोमसोम खण्डमा पर्ने यो झरना यतिबेला धेरै आवाजको रैनछ । गाडीबाटै झरनाको दूरदर्शन गरियो । सँगै थियो अन्धगल्छी । धौलागिरी र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छी खोँचलाई विश्वकै गहिरो माने पनि मनमात्र गहिरियो । बाढीको बितण्डाले ल्याएको विरूप दृष्यले बाहिरिनै मन लागेन ।

    झरना मलाई पहाडको संगीत लाग्दछ । हिँड्दा हिँड्दै थाकेपछिको त्यो दृष्य रूपकी रानी हेरेँ झैँ लाग्दछ । कडा चट्टानमा देखिने यो कोमलताले त्यही चट्टानमै जीवनको लयात्मक लय बग्दछ भन्ने दिव्य दर्शन दिए झैँ लाग्दछ । यस्तो धेरै लाग्दछ र मन नै मनोहारी बन्दछ ।

    बेनी जोमसोम खण्डमा पर्ने झरना हेरेपछि तितर गाउँ हुँदै घासा मुस्ताङमा पुग्दा थाहा भयो, गाडीले पास लिनुपर्ने रहेछ । तातोपानी बजारजस्तै गाडीको जक्सनमा ड्राइभरको ताँती पास लिन पर्खिरहेका थिए ।

    अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकोले गाडीहरूले त्यहाँ पास लिएर मात्रै मुस्ताङ प्रवेश गर्नु पर्ने रहेछ । चेक जाँचपछि पास नलिएको थाहा पाए जरिबाना वा जे कारबाही पनि गर्न सकिने नियम रहेछ । फरेनरलाई ३ हजार र सार्क देशकालाई एक हजार लाग्ने फरक फरक नियम रहेछ ।

    मुस्ताङ जाने गाडी एकैछिनमात्रै अलिक गाह्रो रहेछ । त्यसपछि त सरररर हाईवे जस्तै बाटो लाग्यो । आँखालाई आनन्द दिने मुस्ताङ घासापछि खास्सा देखियो । मिसँ गाउँ होस् वा छ्यो गाउँ, हिमाल त आँखाबाट आफ्नै औँलामा आए झैँ भयो । पहाडको फरक दृष्य, हिमालको फरक दृष्य सानदार बाटो वाउ रहेछ मुस्ताङ् !

    केहीबेरमा ‘म धम्पु गाउँ हो’ भन्यो बाटोको साइनबोर्डले । कहिँ कहिँ मोटरसाइकलसमेत रोक्नपर्ने गरी बाटो पहिरोले बिगारेको रहेछ । म्याग्दीतिरको जस्तो भने हैन । बाटोमा मरुभूमिजस्तै देखियो दामी बगर ! कालीगण्डकीको अर्कै रूप त्यहाँ देखेँ । निक्कै परसम्म पनि कतारको मरुभूमिमा हिँडे झैँ लाग्यो । ताङछार गाउँसम्म मरुभूमि जस्तै लाग्ने बगरसँगै हिँडिरह्‍यौँ ।

    मुस्ताङको हरेक दृष्य अलौकिक लाग्थ्यो । हेर्दा हेर्दै पहाडमा प्वालैप्वाल देखिए । पूर्खाले हतियार लुकाएर बसेको ठाउँ भने ड्राइभर पदमले । प्वालबाट अहिले मान्छे निक्लेलान् कि झैँ लाग्ने सयौँ बंकरजस्ता पहाडमा परेको प्राकृतिक प्वालले त्यो अदभूत देखिएको थियो ।

    नजिकै एक २००९ सालमा खोलिएको जनआदर्श अमरसिंह मावि देखियो । बाफ्रे लाग्यो । ७३ वर्षीय बुढो विद्यालयले पूरै मुहारमा मेकअप गरे झैँ नयाँ देखिएको थियो । मुस्ताङका स्याउको बोटहरू हामीलाई चियाउन थाले । पदमले भने ‘असोज कात्तिकमा आउनु पर्दछ ओखर र स्याउ आफ्नै हातले टिपेर खान पाइन्छ ।’

    थासाङ गाउँपालिका-१ नम्बर वडा कार्यालय टुकुचेमा पेट्रोल पाइने सूचना थियो । त्यो त नीलो ड्रममा राख्दै पानीको बोतलको एक लिटर मानेर बेच्ने पो रहेछ । छक्क परेँ ।

    घडीमा चार बज्न खोज्दै थियो, सूचना देखियो- हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिका-२ स्थित गुम्बै गुम्बाको गाउँ मानेकै गाउँ तथा स्याउको राजधानी ऐतिहासिक गाउँ मार्फामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौँ । नजिकै जनबाल माध्यमिक विद्यालयले बोल्यो ‘म २०१२ सालमा खुलेको हुँ’ । उतिबेला देखि यो हिमालपारीमा शिक्षाको विकास भएको र त्यो पनि मनमौजी मार्फामा देखेर खुशी लाग्यो ।

    ०००

    ड्राइभरसँग गफ गर्दै हिँड्दा मलाई मज्जा लाग्दछ । प्राय, ड्राइभर टुर अपरेटर र समसामयिक समाचार हुन् । त्यहाँको हालखबर यताउता बुझ्न मन भयो कुरा गरेँ । उनी पदम श्रेष्ठ रहेछन्, पोखरा-मुस्ताङ गाडी चलाउन थालेको १४ वर्ष भएछ । कुनै पनि काम १२ वर्ष गरे त्यो सिर्जना वा आर्ट हुन्छ झैँ लाग्दछ । उनको त्यो काम पनि आर्ट झैँ भैसकेछ ।

    हसिला फरासिला उनीसँग कुरा गर्दै र अपरिचत चारजना परिवारसँग चिनाजानी हुँदै गफ गर्दै हेर्दै निदाउँदै ब्यूँझँदै गइयो । अपरिचित चारजना केसी परिवार रहेछन् । दोलखाका उनी पेप्सीकोलामा बस्ने रहेछन् । वैदेशिक रोजगारीमा गएर बिदाको समयमा दुई छोरा र बुढी लिएर घुमाउन आएका ।

    भुवनजीलाई मैले सोधेँ ‘कति बस्ने विचार छ विदेश ?’ भन्नुभयो ‘खै सर ! देशको ताल यही हो जेठोले एसईई सक्यो, कान्छो छोरो दुई कक्षा पढ्छ, कम्तीमा जेठोले कमाउन नथालेसम्म त बस्नै पर्‍यो ।’

    खाडी, मलेसिया जाने कसैलाई त्यहाँ बस्न मन छैन । अमेरिका, युरोप वा विकसित मुलुक जानेलाई फर्कन मन छैन । देश अस्थिर राजनीतिको सिकार भएर युवाविहीन हुँदै जाने भयानक रुप यसपालाको तथ्याङ्कले देखाएको छ । उनलाई विदेश बस्न मन नभएको, अरुलाई फर्कन मन नभएको चित्र मनमा खेल्दा खेल्दै अर्को ठाउँ आइपुग्यो ।

    ०००

    मार्फा हाउस अनामनगरमा देखेथेँ । मार्फामै पुगेँ । काठमाडौँमा थकालीहरू लेते, टुकचे, थसाङ देखेथेँ । थाहा पाएँ, थकालीको नाम त टोलहरू पो रहेछन् । मार्फामा शेर्पा ड्रेस लगाएर फोटो खिच्ने फेशन रहेछ । एकजनाको २५० रूपैयाँ तिरेर शेर्पा ड्रेस लगाउने, फोटो खिच्ने रमाइलो लाग्यो जेरी गल्ली ।

    एक, दुई तीन, चार पाँच रहेछन् जेरी गल्ली । गल्लीभित्र पसेर केही किन्न मन लागे पाइने । हामीले पनि गुम्बामा फोटो खिच्यौँ । गल्ली, गुम्बामा गइयो । सेतो रङेले पोतिएका घरहरू बीचको गल्ली नेपाली फिल्मका सुटिङले हिट भैसकेको थिए ।

    मार्फा पूरै व्यापारिक थलो भैसकेछ । एक मिलाएर राखिएको डुब्लिकेट याकको फोटोमात्रै खिचेको पनि ५० रूपैयाँ चढेर खिचेको ३५० भन्दा तीन छक परेँ ।

    प्रेयर फ्ल्यागहरू गेटदेखि गल्लीसम्मै देखिन्छन् । मान्छेमात्रै हिँड्ने गल्लीमा बेलाबेलामा बाइकहरू आएर बहुतै बिथोलिदिन्छन् । स्याउको सानदार बोटहरू मार्फामा मनग्ये भेटिन्छन् । गल्लीमा रेष्टुरेन्ट, गेष्ट हाउसहरू पनि टन्नै । गुम्बाहरू पनि गनेर नसक्ने खालका । ढुङ्गाको पर्खालभित्र रहेको जेरी गल्लीहरूका फोटो जेरी जस्तै गुलिया आउँछन् ।

    ऐतिहासिक मार्फा गाउँमा हेर्ने ठाउँहरूमा गुम्बाहरूमा सप्तेछ्योलिङ, ह्यिसुम, प्रा, माम्ति, एकाई कावागुचि हुन् । एपल टावर , कवर्डी गल्ली, जेरी गल्ली हेरियो । मार्फामा मज्जाले डेढ घन्टा बिताएपछि हामी मार्फा खोलाको पुल क्रस गर्दै, सुन्दर पहाड हेर्दै, आँखालाई विश्राम दिन नमान्दा नमान्दै हामी पुग्यौँ । स्वाङको ग्रीनतारा होटलमा ।

    ड्राइभरले भने ‘राति सुत्ने बेलामा झ्याल अलिक भए पनि खुल्ला राख्नु होला, अक्सिजन चाहिन्छ शरीरलाई, पानी पर्‍यो भने हिउँ देख्नु हुन्छ मुक्तिनाथमा ।’

    बाटोमा सैनिक परेड खेलेर प्वाल पारे जस्तो डाँडाहरू । खोलाको संगीत । मस्त मौसम सम्झिँदै सुतेँ । भोलिपल्ट बिहान ६ बजे नै हामी मन्दिर प्रस्थान गर्नुपर्छ भनेर पदमजीले संकेत गरेका थिए । बिहान जीउ उठ्नै मान्दैन । तैपनि जसोतसो उठेर चिसो भगाउन तातोपानी खाएर लागियो चित्ताकर्षक चित्र हेर्दै मुक्तिानाथतिर ।

    गाडी जति चढ्दै जान्छ उति रमाइलो । एक ठाउँमा त गाडी खोलैबाट हिँड्नु पर्‍यो । सात नबज्दै कागबेनी पुगियो । त्यतिबेलै भिड भैसकेछ । हिमाल, पहाड तराई तीनवटै एकै ठाउँमा देखिए झैँ भयो कागबेनीमा । श्राद्ध गर्न ब्राम्हण राखेर पिण्ड लडाएर बसेका देखियो । एकैपल्ट धेरै मान्छे भएकोले ब्राम्हणले माईकबाट मन्त्र पढिरहेका थिए ।

    दुई खोलाको संगम कागबेनीको कथा कम्ता रोचक छैन । कागबेनीमा परापूर्वकालमा काग भुसुण्डे ऋषिले तिलोचो मनाङमा तपस्या गरेर काग खोलामा आएर स्नात गरी पितृ तर्पण र पिण्ड दिएको मानिन्छ । दुई कागबेनी धाममा रहेको सरोबरमा दुईवटा काग खसे तर खस्ने बित्तिकै चमत्कारिक रूपमा हाँस भएर उडेकोले यो हंस तीर्थ पनि मानिन्छ ।

    हामीले पनि नदी पूजा गर्‍यौँ । पितृलाई सम्झेर दियो बालेर बगायौँ । सेतो टोपी, नीलो मफलर, खैरौ स्वीटर लगाउँदै कलकल नदी बगे झैँ लागिरहयो । च्याङ्ग्राको हुल झोलुङ्गे पुल तर्दै गरेको यसअघि नदेखेको दृष्य देखेर दंग परेँ । धमिराले धुलो पारेको उसको दरबारजस्तै पहाडमा कताको फोटो खिचौँ झैँ भयो । जता हेर्‍यो उतै गज्जबै थियो ।

    घरहरू धेरै बाटोमा देखिएनन् । बाटोमा मान्छे हिँडिरहेका पनि देखिएनन् । त्यति माथि यति मज्जाको पीच बाटो देखेर देश त विकास भएको छैन भन्न मनै लागेन । पहिले मान्छेहरू मुस्ताङ आउँदा र हामी आउँदा आकाश पाताल फरक भइसकेको थियो । हिमालहरू हामीलाई हेरेर दंग परिरहेका थिए । हामी उनीहरूलाई हेरेर फुरुङ्ग थियौँ । हिमालमाथिको बादल र नीलो आकाश पनि आहा थियो । झारकोट गाउँ आइपुग्यो । यो संकेत मुक्तिनाथ आउँदैछ भन्ने थियो ।

    १५ मिनेटमै पार्किङमा पुग्यौँ । प्याकेजको खाना सुताई र ब्रेकफास्ट थियो । मन्दिर दर्शन नगरी ब्रेकफास्ट नखाने भनी त्यता लाग्यौँ । केही हिँडन पर्दथ्यो । मान्छेहरू हिँडन नसकेर पालकीमा र घोडामा बोकिएर माथि पुग्दथे । तीन भाषा (हिन्दी, नेपाली र अंग्रेजी) मा मुक्तिनाथमा बोत्तल प्लास्टिक नफाल्नुस् भन्ने सूचना थियो ।

    घोडाहरू नै उतिबेलाका टयाक्सी भएका थिए । उतिबेला मान्छेको नम्बर दिएर यति नम्बर टयाक्सी भने जस्तै अहिले घोडालाई नम्बर दिएर लस्कर राखिएको थियो । हिन्दूस्थानबाट आएकाहरू पालकी र घोडामा बसेर ठाडो उकालो उक्लिरहेका थिए ।

    ठूलाठूला होटल बनिरहेका । मुक्तिनाथ मन्दिर बिहान ७ बजेदेखि १२ र दिउँसो १ देखि साँझ ६ बजेसम्म खुला रहने बताइएको थियो । चिसोमा १०८ धारामा नुहाउने काम गरिएन ।

    कुण्डमा पनि पानी धेरै धमिलो र फोहोर देखिएकोले भगवानको मात्रै दर्शन गर्ने निर्णयअनुसार एक घन्टा दर्शनपछि वैशाख १ गते नयाँ साल मुक्तिनाथ मन्दिरमा मनचित्त एक गर्न बसियो । बाहिर पहेँलो ध्वजा र सेतो तीन तले मन्दिर थियो भित्र दुई मूर्ति ।

    ३७१० मिटरको उचाइमा हिमालपारीको जिल्ला मुस्ताङ पुगियो । बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात सय पानी भन्छन् भने हिन्दूले मुक्तिनाथ । हिन्दू, वैष्णव र बौद्ध धर्मको लागि प्रख्यात ठाउँ हो यो । मुक्ति वा मोक्ष हुने क्षेत्रमा लोभको भारी देखेँ । प्रसादको पनि पैसा बढाउन पाइन्छ कि भन्नेहरू भेटेँ ।

    हाम्रो त जहाँ गयो त्यहिँ कथा किंवदन्ती छ । यहाँ पनि छ । यहाँको कथा अनुसार विष्णुले जालन्धरको श्रीमती वृन्दाको सतित्व हरण गरेपछि वृन्दाको श्राप अनुसार बनेको शिला नै मुक्तिनाथ हो ।

    अलौकिक अनुभवका साथ दर्शनपछि नजिकैको बुद्ध गार्डेनमा पाउ हिलाइयो । त्यही गुम्बा रहेछ र गुम्बामा ज्वालामाई । ज्वाला बलिरहेको देखेँ । धर्म र अध्यात्मले गुम्बा, ज्वालामाई भने पनि त्यो त वैज्ञानिक दृष्टिले हेर्दा नेपाल धनी बनाउने चिज होला झैँ लाग्यो ।

    फर्कदा डिम्बा ताल गएँ । कतै मूल नभएको, कतैबाट पानी नआएको यो तालको अध्यात्मिक महत्व गुरु पद्यसम्भवसँग जोडिएको छ । यसको पानी कुछप तेरेङ्गा गुम्बामा चढाउने र गुम्बामा अझै कपाल, कपडा र जुत्ता पद्यसम्भवको रहेको मानिन्छ ।

    जोमसोमबाट ४५ मिनेटको पैदलमा पुगिने यो तालबाट जोमसोम फर्केपछि चिसो हावामा भिडिओ बनाइयो । फर्कँदा पर्वत बेनी हुँदै बेलुकीपख फेवा आइयो । बर्थ डे केक काटियो । जन्मदिन पोखराको घाह चोकको महाभोजको सुटिङ गरिएको ठाउँमा मनाएपछि रातको बास त्यतै बसियो ।

    काठमाडौं आएपछि भावुकतामा आएर फेसबुकमा लेखेँ ‘म मन्त्री/प्रधानमन्त्री भएको भए मुस्ताङमा सय होटल निर्माण गर्दथेँ र करोड पर्यटक यही मुस्ताङले ल्याउँथेँ, अलौकिक प्रकृति भएको देशमा लौकिक नेता पाइएन !’

  • रारा यात्राको १० दिने डायरी

    रारा यात्राको १० दिने डायरी

    २०८२ साल वैशाख ३ गते बिहानको सूर्यले मेरो यात्रा सुरुवातको संकेत गर्‍यो । काठमाडौंबाट हामी यात्रा प्रारम्भ गर्दै थियो । मनमा अपार उत्साह थियो । नेपालकै एक अनुपम र उद्भूत स्थलमा रहेको रारा तालमा पुग्ने सपना बोकेर । थोरै डर, धेरै उमंग र अनगिन्ती जिज्ञासाहरू लिएर अगाडि बढयौं ।

    पहिलो दिन पर्वतको कुश्मामा विश्राम गर्दा नै थाहा भयो यो यात्रा सहज हुनेवाला छैन । साँघुरा पहाडी बाटाहरू, उकालो ओरालोले भरिएको कच्ची सडक र सवारी साधनको असहजता, यी सबैले शरीरलाई थकाइ दिन थाले पनि, मन भने लक्ष्यप्रति अटल थियो ।

    अर्को दिन पूर्वी रुकुमको रुकुमकोट पुग्यो । रुकुमकोटको हरित परिवेश स्थानीय संस्कृतिको सरलता र डाँडाकाँडा बीच बसेको सुन्दर बस्तीले मुटुलाई छोयो । यहाँका मानिसहरूका उज्याला अनुहार र मेहनतबाजीले यात्राको थकान केही घटाएको अनुभव भयो ।

    तेस्रो दिन, हामी दैलेखको तल्लो डुंगेश्वर पुग्यौ । सडक यात्रा अझ विकट हुँदै गयो । बाटोमा कहिलेकाहीँ सवारी साधन रोकिन्थ्यो, कहिले घामले पोल्थ्यो, कहिले धुलोले ढाक्ने नै भयो । तर प्रकृतिको काखमा घुमिरहँदा यस्तो कठिनाइलाई पन्छाएर अघि बढ्ने ऊर्जा आफैँ जाग्थ्यो ।

    नाग्मा कालिकोट जिल्लाको एउटा सानो बस्ती थियो, चौथो दिनको गन्तव्य भयो । त्यहाँको हिमाली चिसो हावा, न्यून जनसंख्या र शान्त वातावरणले हामीलाई एकअर्कासँग अझ नजिक बनायो । यात्रामा केवल प्राकृतिक सौन्दर्य मात्र होइन, मानव सम्बन्ध पनि प्रगाढ बन्दै गइरहेको थियो ।

    रारा तिमी कति सुन्दर !

    पाँचौँ दिन, जब हामी रारा तालको किनारामा पुगेका थियो, शब्दहरू कम पर्थे । नीलो आकाशमा हलुका बादलहरूको पर्दा, शान्त र चञ्चल तालको पानी, वरिपरिको घना वनजंगल, यस्तो अनुपम दृष्यले मुटुमा शान्तिको सुगन्ध छर्‍यो ।

    छायानाथ नगरपालिका, हुटु मुगुमा २९९० मिटरको उचाइमा अवस्थित रारा ताल जलाधार क्षेत्र २६.८ वर्ग किमी, परिधि १४.८८२ किमी, अधिकतम लम्बाइ ५.२ किमी, अधिकतम चौडाइ २७ किमी र अधिकतम गहिराई करिब १६७ मिटर छ ।

    रारा ताललाई नेपालको मोती पनि भनिन्छ, यसको नीलो पानी, वरिपरिको हरियाली जंगल र हिँउले ढाकिएका पहाडहरूले निकै मनमोहक दृश्य सिर्जना गर्दछ । यहाँबाट देखिने चाँदनी रातको प्रतिबिम्ब र बिहानको सूर्योदय अत्यन्त रमणीय हुन्छ । ताल वरिपरि पाइने सल्लो, लालीगुराँस जस्ता वनस्पति पाइन्छ भने राष्ट्रिय निकुञ्जभित्र रेड पान्डा, मृग, भालु लगायतका वन्यजन्तुहरू पनि पाइन्छ ।

    रारा ताल नेपालको पर्यटनमा महत्त्वपूर्ण स्थान राख्छ । आन्तरिक र बाह्य पर्यटकहरू यस तालको शान्त वातावरण, पदयात्रा मार्गहरू, क्यापिङ र प्रकृतिसँगको घनिष्टताका लागि यहाँ पुग्ने गर्दछ ।

    तालको पश्चिम किनारमा रहेको होमस्टेमा बस्दै हामीले स्थानीय जीवनशैली नजिकबाट अनुभूत गर्‍यौँ । शान्त वातावरणमा रमाउँदा लाग्दथ्यो, संसारकै सबैभन्दा पवित्र स्थलमा छु । रारा तालले एउटा सन्देश दिएको जस्तो लाग्यो ‘सौन्दर्य सधैँ मौन हुन्छ ।’

    यात्राको कठिनाइहरू :

    तर यथार्थमा पनि यात्रा त्यतिकै कठोर थियो । विकट बाटाहरूले यात्रा थकाइपूर्ण बनाएको थियो । ठाउँठाउँमा शौचालयको अभावले पाखा भित्ता नै शौचालय वनेका थिए, पिउने पानीको कतै व्यवस्था थिएन आफैँले बोकेर जानुको विकल्प देखिएन । उचित र पर्याप्त बसोबासको पनि खाँचो नकार्न सकिँदैन यद्यपि यो पक्ष भने सुधारकै पक्षमा देखियो ।  यद्यपि यी अप्ठ्याराहरूले हाम्रो आत्मबलमा कमी ल्याउन सकेनन् ।

    सपना देखियो सुधारकोः

    रारा ताल जस्तो अमूल्य सम्पत्तिको संरक्षण र व्यवस्थापन अत्यन्त जरुरी देखिन्छ । भविष्यमा निम्न सुधारका लागि सुझाव उल्लेख गरेको छु ।

    १. सडक सुधार र स्तरीकरण: कच्ची, साँघुरा र असुरक्षित सडकहरूको सुधार अत्यन्त जरुरी छ । यात्रा सहज हुँदा पर्यटकको संख्या बढ्नेछ र स्थानीय आर्थिक विकासमा टेवा पुग्नेछ ।

    २. शौचालय तथा  पिउने पानीको व्यवस्था: प्रमुख विश्रामस्थलहरूमा स्वच्छ र पर्याप्त शौचालयको निर्माण हुनुपर्छ । साथै , स्वच्छ पिउने पानीका स्रोतहरू सुनिश्चित अनिवार्य छ ।

    ३. सस्तो र स्तरीय होटल तथा होमस्टे विकासः रारा क्षेत्र वरिपरि अझ व्यवस्थित सरसफाइयुक्त, सस्तो र गुणस्तरीय होटल तथा होमस्टेको आवश्यकता छ । यसले पर्यटकलाई दीर्घकालीन बसाइका लागि आकर्षित गर्नेछ ।

    ४. स्थानीय सहयोग र अभ्यर्थनाः स्थानीय बासिन्दाको पर्यटकप्रति सक्रिय सहभागिता जरुरी छ । उनीहरूको आय आर्जनका अवसर सिर्जना गरेर स्थानीय उत्पादन र सेवा पर्यटनसँग जोड्न सकिन्छ ।

    ५. स्वच्छता र वातावरण संरक्षणः राराको मौलिक सौन्दर्य जोगाउन सफाइ अभियान, फोहोरमैला व्यवस्थापन, प्लास्टिक निषेधजस्ता कार्यक्रम अनिवार्य हुनुपर्दछ ।

    यात्राको अन्तिम चरण घर फर्कँदैः

    छैठौं दिन रारा तालको अवलोकन सम्पन्न गरी कालिकोटको नाग्मामा नै बास बसियो । सातौं दिन बिहानै जुम्ला जिल्लाको सदरमुकामको ऐतिहासिक र सांस्कृतिक धरोहरहरू अवलोकन गरियो । स्थानीय खाधान्न र सामानहरू खरिद गरी नाग्मामा नै लन्च खाई दैलेख सदरमुकाम तर्फ लाग्यो ।

    आठौँ दिन सुर्खेत र नवौँ दिन स्वर्गद्वारी, जसको शान्त धार्मिक वातावरणले हाम्रो हाम्रो यात्रा थप पवित्र बनायो । स्वर्गद्वारी पृथ्वीको स्वर्गजस्तो ठाउँ, हरिया पहाडहरू, न्यानो घाम र आध्यात्मिक ऊर्जाले भरिपूर्ण स्वर्गद्वारीमा पुगेपछि यस्तो लाग्यो- यात्रा सफल भयो ।

    त्यहाँको आश्रम, पूजा अनुष्ठान, र शान्त वातावरणले मनमा स्थायी छाप छाड्यो ।

    दशौँ दिन, दाङ जिल्लाको भालुवाङबाट काठमाडौंबाट फर्कँदा, थकाइले थिचिए पनि मनमा एउटा उद्भूत सन्तोष थियो , मैले जीवनमा एउटा सपनालाई साकार बनाएको थिए ।

    यात्राको क्रममा बागलुङ कालिकाको दर्शन, दैलेख जिल्लाको ज्वालादेवी, बटुक भैरव र पञ्चदेवलको दर्शन र अवलोकन, सुर्खेतको काँक्रेविहार र बुलबुले तालको दर्शन र अवलोकन स्मरणीय रह्यो ।

    निष्कर्ष:

    रारा तालको यो यात्रा केवल भौगोलिक गन्तव्यसम्म सीमित रहेन, यो एउटा जीवन्त अनुभाव बन्यो, संघर्षपछि प्राप्त हुने सौन्दर्य र शान्तिको गहिरो बोध । रारा भनेको केवल ताल होइन, यो स्वच्छ आत्माको ऐन हो, आत्माको शुद्धीको केन्द्र पनि हो । यात्रा कठिन थियो, तर सम्झना अमूल्य रह्यो । जीवनमा कहिल्यै नबिर्सने क्षणहरू रारा तालले दिएको छ, जुन मेरा हृदयमा रहिरहनेछ ।

    त्यसैले, यो प्राकृतिक धरोहरलाई हामी सबैले माया र संरक्षण गर्नु अत्यावश्यक छ ।