काठमाडौं । ज्योति मल्होत्रा एक औसत यूट्युबर मात्रै हुन् । झण्डै साढे एक अर्ब जनसंख्या भएको देश भारतकी ज्योतिको यूट्युबमा पाँच लाख सब्स्क्राइबर पनि थिएनन् । इन्स्टाग्राममा त दुई लाख पनि पुगेका थिएनन् ।
भारतको हरियाणा राज्यकी रैथाने ज्योति अहिले एकाएक चर्चित बनेकी छन् । उनलाई चर्चित बनाउने कारण भने भारतले पाकिस्तानको लागि गरेको ‘जासुसी’को आरोप हो । उनले पाकिस्तानमा गरेको पटकपटक भ्रमणको इतिहास हो । उनले भारतले निकाला गरेका पाकिस्तानी कूटनीतिज्ञसँग गरेको चिनजान हो ।
शनिबार (मे १७) हरियाणाको सिसारमा पक्राउ परेकी ज्योतिलाई अहिले भारतीय मिडियाहरूले यसरी खेदिरहेका छन् मानिलिऔं उनले नै गत अप्रिल २२ को पहलगामको आतकंकवादी हमला गरेकी हुन् । उनको पाकिस्तान भ्रमणलाई एक यूट्युबरले धेरैको ध्यान तान्ने कन्टेन्ट बनाउन गएको नभएर भारतका गोप्य सूचना लिएर बेच्न गएको जस्तो गरेर चित्रित गरिएको छ ।
उनी पाकिस्तानकी जासुस थिइन् वा पाकिस्तान जाने मेसो मिलाउन पाकिस्तानी अधिकारीहरूसँग व्यक्तिगत सम्बन्धमात्रै बनाएकी थिइन्, यसको कुनै ठोस आधार आएको छैन । न अदालतले नै उनलाई दोषी करार गरेको छ ।
भारत र पाकिस्तान तनावको घानमा परेकी उनलाई अहिले फिजिकल दुःखमात्रै छैन, डिजिटल दुःख पनि छ । हालै उनको इन्स्टाग्राम अकाउन्ट पनि बन्द गरिएको छ । सामाजिक सञ्जाल बन्द गरिएको छ र उनलाई थुनिएको छ । यो उनको दुःखद पक्ष हो ।
उनका सुखद पक्ष पनि छन् । उनको अस्वाभाविक चर्चा पनि भएको छ । बीबीसीमा पनि उनको समाचार आएको छ । समाचारमा उनका पिताले उनी पाकिस्तानको जासुस भएको खण्डन गरेका छन् । सबै प्रक्रिया पूरा गरेरै ज्योति पाकिस्तान गएको उनले बताएका छन् । यति हुँदाहुँदै पनि भारतीय अधिकारी र मिडियाले उनीमाथि खनिन छोडेका छैनन् ।
नेपाल र चीन जस्ता अरु देश पनि भ्रमण गरेकी ज्योतिलाई पाकिस्तानी तनाव
३३ वर्षकी ज्योतिको आधिकारिक यात्रा च्यानलको नाम हो ‘ट्राभल विथ जो’ । यो च्यानलका कन्टेन्ट बनाउने क्रममा ज्योति नेपाल पनि आएकी थिइन् । नेपालमा आउँदा उनले विभिन्न कन्टेन्ट बनाएकी छन् ।
‘नेपालमे गोल्ड इत्ने सस्ता कैसे’, ‘इन्डिया टु नेपाल इन नेपाल एयरलाइन्स’, ‘नेपाली विडिङ इन पशुपतिनाथ टेम्पल’, ‘नेपाल टु इन्डिया बस जर्नी’, ‘इन्डियन गर्ल इन पोखरा’ जस्ता नेपालबारेमा दश महिना अगाडि नै उनले विभिन्न कन्टेन्ट पोस्ट गरेकी थिइन् ।
उनका नेपालबारेमा भिडिओहरू प्लस माइनस लाख हाराहारीमा हेरिएका छन् । नेपाल एयरलाइन्सको उडानबाहेकका उनका अरु भिडिओहरू प्रवर्द्धनात्मक देखिँदैनन् ।
यो त भयो नेपालबारेमा ज्योतिले बनाएका सामग्री । उनले कैलाश मानसरोवर यात्राको क्रममा मात्रै नभएर सांघाईको यात्रालगायतका चीनबारेमा पनि भिडिओ बनाएकी छन् ।
उनले अरु पनि विभिन्न देश तथा भारतकै विभिन्न प्रदेशका भिडिओ बनाएकी छन् । हालसालै उनले बनाएको भिडिओ इन्डोनेसियाको बारेमा छ । पछिल्ला सात भिडिओ इन्डोनेसियाको बारेमा छन्, तर नेपाल, चीन, इन्डोनेसियाका भिडिओहरूमा कुनै प्रश्न नउठाएको भारतले पाकिस्तानबारेका भिडिओमा भने प्रश्न गरेको छ ।
ज्योतिले बनाएका पाकिस्तानबारेमा भिडिओहरू पाकिस्तानी बस यात्रा, विभिन्न शहर यात्रा तथा पाकिस्तानमा भारतीय युवतीको अनुभव, विभिन्न मन्दिर यात्रालगायतका छन् । ‘इन्डियन गर्ल इन पाकिस्तान भिया लाहोर’ भन्ने उनको भिडिओ एक करोडभन्दा धेरै पटक हेरिएको छ । उनको दोस्रो धेरै हेरिएको भिडिओ भने भुटानको लिङ्ग मन्दिरबारेमा छ, जुन ३० लाखभन्दा धेरै पटक हेरिएको छ ।
के छन् भारतमा उनीमाथि लगाइएका आरोप ?
ज्योतिलाई विभिन्न आरोप र शंका गरिएका छन् । मुख्य आरोप त उनको पाकिस्तानी जासुस भएको हो । त्योबाहेक उनका विभिन्न देशको भ्रमणहरूका बारेमा छन् । उनले गत जनवरीमा पहलगाम पुगेर त्यहाँको भिडिओ पनि बनाएकी थिइन् । उनी पुगेको तीन महिनापछि आतंकवादी आक्रमण पहलगाममै भयो । त्यहाँ उनलाई जोड्न खोजिएको छ ।
यस्तै गत मार्च २८ मा पाकिस्तानको दिल्लीस्थित कूटनीतिक नियोगको तफ्तर पार्टीमा पुगेकी ज्योतिलाई त्यहाँ पनि शंकाले हेरिएको छ । पाकिस्तानमा निःशुल्क धेरै क्षेत्रहरू भ्रमण गरेर शंकाको कोण राखिएको छ । खासगरी डेनिस भनेर चिनिने पाकिस्तानी कूटनीतिज्ञ इन्सान उर रहिमसँगको हिमचिम, उनकी श्रीमतिसँगको चिनजान आदिलाई थप जोड दिइएको भारतीय मिडिया एबीपीलाइभले उल्लेख गरेको छ ।
उनले विभिन्न नक्कली नाममा आफ्नो नाम राखेर सामाजिक सञ्जाल चलाएको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
अहिले उनी पाँच दिने थुनामा छिन् । बाँकी अनुसन्धानबाट तय हुने बताइएको छ । हाल उनलाई दुई मुद्दामा कसुर लगाइएको छ । सन् १९२३ को अफिसियल सेक्रेट्स एक्टको खण्ड ३ र ५ तथा भारतीय न्याय संहिताको १५२ भाग लगाएर मुद्दा चलाउन खोजिएको भारतीय मिडिया एबीपीलाइभले उल्लेख गरेको छ ।
ज्योतिका पिता तथा हरियााणको ऊर्जा वितरण केन्द्रबाट अवकाश लिएका हरिश मल्होत्राले भने छोरी निर्दोष भएको बताएका छन् । उनले छोरीले सबै प्रक्रिया पूरा गरेर पाकिस्तानको भ्रमण गरेको बताएका छन् ।
राजनीतिमा पनि पुग्यो ज्योतिको मुद्दा: कसले के भने ?
भारतीय यूट्युबर ज्योतिको पक्राउको मुद्दामा समाचार र सत्तामा मात्रै सीमित भएन । यसले राजनीतिक अभिव्यक्तिको गति पनि पाएको छ । सोमबार बीजेपीका सांसद निसिकान्त दुबेले ज्योतिका सबै वैदेशिक यात्रा, विज्ञापन र बैंक खाताहरू जाँचपड्ताल गर्न आग्रह गरेको भारतीय मिडिया दि प्रिन्टले उल्लेख गरेको छ ।
एबीपीलाइभले ज्योतिको गृह प्रान्त हरियाणाका मुख्यमन्त्री तथा बीजेपी नेता नायबसिंह सैनीले अनुसन्धान पूर्ण रूपमा हुने र ‘दोषी पाइएमा कडा सजाय हुने’ बताएका छन् । हरियाणाका विपक्षी दलका नेता भूपेन्दरसिंह होडाले हतारमा न्याय दिने नाममा निर्दोषलाई फसाउने नगरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।