Category: विश्व प्रेस

  • ह्यामरले गहना टाउकोमा फोर्दै अष्ट्रेलियाको नेपालीको पसल लुटपाट

    ह्यामरले गहना टाउकोमा फोर्दै अष्ट्रेलियाको नेपालीको पसल लुटपाट

    काठमाडौं । यही मंगलबार साँझ पाँच बजेपछि हतियारधारी चोरहरु पसलमा आए । लुटपाट गर्न रोक्दा गरगहना टाउकोमा राखेर ह्यामरले हाने ।

    पसलेको ब्रेन सर्जरी गर्नुपर्ने तहको चोट लाग्यो । यो घटना अष्ट्रेलियाको ब्रिसबनको हो । र यसरी पीडित हुने अनुहार हुन् क्विन्सल्याण्डका गिन्पी रोडमा रहेको श्री गणेश ज्वेलरीजका संचालक विजय सुनार ।

    उनकी पत्नी सविता सुवर्णकार सुनार पनि घटनाको समयमा पसलमै भएको अष्ट्रेलियाली समाचार पोर्टल सेभेन न्यूजले उल्लेख गरेको छ । चोरहरु पसल लुटपाट गर्न होण्डा सी–आरभी स्टेसन मोडेलको कारमा आएको बताइएको छ ।

    त्यो कार पनि आइतबार मात्रै चोरी गरेर प्रयोग गरिएको बताइएको छ । अष्ट्रेलियाली प्रहरीले घटनाको जानकारी गर्न सार्वजनिक आग्रह गरेको छ भने घटनामा जोडिएका कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

     

  • अस्ट्रियाका स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु

    अस्ट्रियाका स्कुलमा गोली चल्दा ९ जनाको मृत्यु

    काठमाडाैं। अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ ।

    गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् ।

    अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो ।

    घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

  • जलमार्गबाट गाजामा आउँदा पक्राउ परेकी जलवायु अभियान्ता ग्रेता थुनवर्गलाई इजरायले छोड्यो

    जलमार्गबाट गाजामा आउँदा पक्राउ परेकी जलवायु अभियान्ता ग्रेता थुनवर्गलाई इजरायले छोड्यो

    काठमाडौं । जलमार्गबाट गाजा आउँदै गरेकी स्वीडेनकी जलवायु अभियान्ता ग्रेता थुनवर्गलाई सोमबार पक्राउ गरेको इजरायले उनलाई छोडेको छ । इजरायली विदेश मन्त्रालयले थुनवर्गलाई फ्रान्स हुँदै घर फर्काइएको बताएको छ । तस्बिरमा ग्रेताले जहाजमा चढेको देखाइएको छ ।

    जलवायु अभियानमा सक्रिय ग्रेता हवाई यात्रा गर्दिन थिइन् । तर इजरायलले उनलाई जहाजमा चढाएर पठाएको छ । ६ घण्टा अगाडि इजरायली विदेश मन्त्रालयले एक पोस्ट गरेर उक्त जानकारी दिएको हो ।

    स्वीडेनकी जलवायु अभियान्ता थुनपर्गले जलवायु न्यायको पक्षमा लामो समय आन्दोलन गर्दै आएकी छिन् । कतिपयले उनलाई नोवेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै आएका छन् ।

    गाजामा इजरायली बमबारीमा परेर हजारौँ बालबालिकाहरु मारिएपछि उनीहरुको आवाज उठाउन समुद्री मार्ग हुँदै सानो ढुङ्गामा आएकी थुनबर्गलाई इजरायलले बाटैमा पक्राउ परेर स्वदेश पठाएको हो ।

     

  • नेटो प्रमुखको बेलायतीलाई सल्लाहः कि रक्षा बजेट बढाउनुस् कि रुसी भाषा सिक्नुस्

    नेटो प्रमुखको बेलायतीलाई सल्लाहः कि रक्षा बजेट बढाउनुस् कि रुसी भाषा सिक्नुस्

    काठमाडौं । रुस बिरोधी कटाक्ष गर्दै आएका उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)का महासचिव मार्क रुटले बेलायतीहरुलाई कि त रक्षा बजेट बढाउन कि रुसी भाषा सिक्न सल्लाह दिएका छन् ।

    बेलायती प्रधानमन्त्री केइर स्टार्मरले बेलायती सेनाको व्यापक सुधान गर्न गरेको प्रयासलाई समर्थन गरेर रुटले यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार रुटले सोमबार बेलायतको च्याथम हाउसको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

    बेलायती प्रधानमन्त्री स्टार्मरले कुल ग्राहस्थ उत्पादनको ३ प्रतिसत रकम रक्षा क्षेत्रमा लगाउने बताएसँगै यसको विपक्षमा विभिन्न मतहरु आइरहेको बेला रुटले यस्तो बताएका हुन् ।

    रक्षा बजेट नबढाएमा रुसले आक्रमण गर्ने र रुसी कब्जामा बेलायत हुने जस्तो उत्तेजना दिँदै रुटले यस्तो तर्क गरेका हुन् । रुसले भने आफूले यूरोपलाई कब्जा गर्ने कुनै योजना नबनाएको भन्दै यो जनतामा डर फिँजाउने यूरोपेली नेताहरुको चालबाजी भन्दै आएको छ ।

     

     

  • मनिपुरमा दंगा रोक्न कर्फ्यु र इन्टरनेट सेवा बन्द

    मनिपुरमा दंगा रोक्न कर्फ्यु र इन्टरनेट सेवा बन्द

    काठमाडौं । सन् २०२३ देखि जातीय तनावमा रहेको भारतको मनिपुर राज्यमा पुनः दंगा भड्किएपछि भारत सरकारले कर्फ्यु लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरेको छ।

    बेलायती समाचार संस्था बीबीसीका अनुसार, मेइतेइ समुदायका गुरिल्ला नेता असिम करन सिंहलाई मनिपुरको विमानस्थलबाट पक्राउ गरिएको थियो। उनीसहित पाँचजना शीर्ष नेताहरूको गिरफ्तारीपछि झनै तनाव चुलिएको जनाइएको छ।

    पक्राउपछि विभिन्न स्थानमा प्रदर्शन चर्किएको र हिंसा सुरु भएको जनाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

    मनिपुर राज्यमा बहुसंख्यक हिन्दू मेइतेइ र अल्पसंख्यक इसाई कुकी समुदायबीच अधिकार बाँडफाँड र आरक्षणको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ।

    मेइतेइ समुदायले कुकीलाई दिइएको आरक्षणप्रति असन्तुष्टि जनाउँदै आएको छ भने कुकी समुदायले आफूहरूको अधिकार सुनिश्चित भएको बताउँदै प्रतिवाद गरिरहेका छन्।

    जातीय तनाव नियन्त्रणमा लिन भारत सरकारलाई हम्मेहम्मे परेको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाइएको छ।

  • भारतलाई तारन्तार ट्रम्पको टोकसो : आप्रवासी, एपलदेखि अडानी काण्डसम्म

    भारतलाई तारन्तार ट्रम्पको टोकसो : आप्रवासी, एपलदेखि अडानी काण्डसम्म

    काठमाडौं । एक युग थियो जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सार्वजनिक रुपमा एकअर्कालाई राम्रो मित्रको उपमा दिन्थे । ट्रम्प मोदीको गृह राज्य गुजरात पुगेर रोयल स्वागतमा भिज्नु र मोदी अमेरिका पुगेर ठूल्ठूला सभाहरुमा पुगेर ‘अबका बार ट्रम्प सरकार’ भन्नु त्यही मित्रताको कारणहरु भएको भनियो । अहिले दोस्रो कार्यकालमा छन् ट्रम्प र तेस्रो कार्यकालमा मोदी ।

    अहिले उनीहरुको सम्बन्धमा दरार आएको भारत र अमेरिकाबीच देखिएको तनावले देखाउँछ । हुन त बंगलादेशमा भारतलाई बाइपास गरेर अमेरिका हाबी भएको भारतीय मिडियाहरु नै लेख्छन् । तर हसिनाको बहिर्गमन हुँदा बाइडेन सत्ता थियो । त्यसमा ट्रम्पको बल लागेको थिएन । यद्यपी पछिल्ला केहि घटना क्रमहरुले ट्रम्पले मोदी र भारतलाई तारन्तार तनाव दिइरहेका छन् । यहाँ त्यसैका चार कारणको चर्चा गरिएको छः

    १. आप्रवासीलाई हतकडी र नेल लगाएर भारत फिर्ता

    गत फेबु्रअरी पहिलो साता भारत र मोदीकै बेइज्जत हुने तस्बिर अमेरिकी अधिकारीहरुले सार्वजनिक गरे । उनीहरुले हतकडी र नेल लगाइएका भारतीयहरुलाई बटुलबाटुल गरेर भारतमा सैन्य विमानबाट फर्काइएको तस्बिर सार्वजनिक गरे ।

    विश्व गुरु भन्दै भारतले विश्वभर मान मनितो पाएको भनेर मोदीले गरेको राजनीतिक चर्चालाई धुलिसात बनाउन त्यही तस्बिर काफी बन्यो । मोदी र ट्रम्प असल मित्र भएको विज्ञापन त्यही तस्बिरबाट कमजोर बन्यो ।

    एक कोणमा भन्दा गठबन्धनबाट टिकेको मोदी सरकारलाई ज्यादै ठूलो टाउको दुखाई बन्यो त्यो घटना । यसले राजनीतिक र कूटनीतिक दुवै कोणमा मोदी र बीजेपीलाई घाटा गर्याे । भारतको मानमनितोमा आघात पुग्यो । उसो त पुटिन र सि चिनफिङलाई आफ्नो सपथमा बोलाउन चाहेका ट्रम्पले मोदीलाई भने बोलाएका थिएनन् । यो मुद्दा भारतका मिडियाहरुमा व्यापक चर्चामा पनि आयो ।

    २. कस्मीर मुद्दाको अन्तर्राष्ट्रियकरण

    गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले नचाहेको अर्को मुद्दा बोले । उनले भारत र पाकिस्तानको कस्मीर मुद्दा समाधान गर्न आफू समन्वय गर्न तयार भएको बताए । सामाजिक संजाल ट्वीटरमा पाकिस्तानी परराष्ट्र मन्त्रालयले ट्रम्पको अकाउन्टलाई मेन्सन गरेर धन्यवाद दियो । भारत भने बिच्कियो । कस्मीर मुद्दा भारतको आन्तरिक मामिला भन्दै आएको भारतलाई अमेरिकाले कस्मीर मुद्दा अन्तर्राष्ट्रियकरण गर्नमा सक्रियता देखायो । यसले भारतले बिच्कियो ।

    तर भारत सरकारले ट्रम्पको आलोचना गर्न सकेनन् । बरु मिडियामा आलोचना आयो । मोदी र जयशंकरले आलोचना गर्न सकेनन् । अमेरिका भ्रमणमा पुगेका भारतीय बहुदलिय सांसदहरुको अगाडि खालिस्तानी पक्षको नाराजुलुसमा पनि अमेरिकाले टुलुटुलु हेर्नुबाहेक केही गरेन । यसलाई पनि भारतसँग अमेरिकी तनावको एक दृष्य भन्दै सामाजिक सञ्जालमा भारतीय डायस्पोराका एक अनुसार प्राध्यापक असोक स्वाइनले चर्चा गरेका छन् ।

    अरु त अरु भारत र पाकिस्तानको युद्धलाई आफूले व्यापारिक धम्की दिएर रोकेको भन्दै ट्रम्पले भारतको अतिरिक्त बेइज्जत गरिरहेका छन् । भारत एक महाशक्ति देश नभएर अमेरिकाले जे भन्यो त्यो मान्ने खालको जस्तो चित्र मोदी सरकारले बनाएको भन्दै भारतका विपक्षी दलहरुले चर्चा गरेका छन् । राहुल गान्धीले त मोदीलाई आफूले थर्काएको भनेर बारम्बार ट्रम्पले भन्दा पनि मोदी चुपचाप भएको भन्दै विभिन्न राजनीतिक सभामा बोल्न थालेका छन् ।

    ३. एपलको तनाव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अरब देशहरुको भ्रमणको कुरामा अर्को भारतलाई तनाव दिने कुरा बोले । उनले एपलका उत्पादनहरु तत्काल भारतमा नगर्न कम्पनीका सीईओ टीम कुकलाई आग्रह गरे । भारतमा उत्पादन गरे राम्रो नहुने बताए ।

    चीनसँगको व्यापारिक युद्धको फाइला लिएर चीनका उद्योग भारतमा सारेर व्यापक फाइदा लिन सोचेको भारतलाई ट्रम्पको एक बोलीले बिजोग बनायो । भारत रक्षात्मक बन्यो । तर मोदी र जयशंकरले यो मुद्दामा पनि ट्रम्पको खुलेर आलोचना गरेनन् । बरु भारतलाई विश्व गुरु भनेर यस्तो अपमान भएको भन्दै आलोचनात्मक मिडियाहरुले समाचार बनाए ।

    ४. मोदी म्यान अडानीलाई हैरानी

    हालसालै फेरि अमेरिकाबाट भारतलाई टाउको दुःखाइ हुने अर्को खबर आयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय खर्बपति व्यापारी गौतम अडानीलाई तनाव दिने खालको समाचार आयो । समाचार अनुसार अमेरिकी न्याय विभागले अडानीलाई निगरानीमा राखेको बताइएको छ । यसले मोदीलाई तनाव दिएको बताइएको छ ।

     

  • कमान्डर मारिएको बदला लिँदै भारतमा माओवादीद्वारा वरिष्ठ प्रहरी अधिकारीको हत्या

    कमान्डर मारिएको बदला लिँदै भारतमा माओवादीद्वारा वरिष्ठ प्रहरी अधिकारीको हत्या

    काठमाडौं । आफ्ना सर्वोच्च कमान्डरसहित सयौं कमरेड मारिएको घटनाको बदला लिने क्रममा भारतको सशस्त्र माओवादी विद्रोहीले प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को हत्या गरेको छ ।

    छत्तीसगढको सुक जिल्लामा सोमबार बिहान भएको एक बम विस्फोटनमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधिक्षक एसएसपी प्रकाश राव गिरिपुन्जेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    मओवादीका सर्वोच्च नेता नाम्बाला केशवराव उर्फ बसवराजसहित ४०० माओवादीको हत्याको विरुद्ध सो पार्टीले भारत बन्द आह्वान गरेको छ । सुरक्षा मजबुत बनाउने क्रममा पैदल गस्तीमा निस्किएका प्रहरी अधिकारी बम विस्फोटनमा परेको उपमुख्यमन्त्री जिय शर्माले बताएका छन् ।

    भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ भित्र भारतमा माओवादीलाई सखाप पार्ने र सन् २०२९ सम्म कम्युनिस्ट मुक्त भारत बनाउने घोषणा गरेका छन् ।

  • गाजातर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

    गाजातर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

    काठमाडौं । इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ । जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

    इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ ।

    उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन् ।

    उक्त यात्रा फ्रिडम फ्लोटिला कोअलिशनद्वारा आयोजना गरिएको हो । समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली सेनाले सहायता पुर्‍याउन गइरहेका कार्यकर्ताहरूलाई अपहरण ग‍र्यो, जहाजलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइयो, निर्शस्त्र नागरिक चालक दललाई अपहरण गरियो, र जिवनरक्षक सामग्री-जसमा बच्चाका लागि दूध, खाद्यान्न र औषधि सामाग्रीहरू थिए-जफत गरियो ।’

    तर, इजरायली विदेश मन्त्रालयले यो यात्रालाई प्रचारबाजीको प्रयासको रूपमा चित्रण गरेको छ । सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै मन्त्रालयले लेखेको छ, ‘सेलिब्रिटीहरूको सेल्फी याट सुरक्षित रूपमा इजरायली तटतर्फ आइरहेको छ ।’

    मन्त्रालयले थप जनाएको छ कि यात्रुरुहरू आफ्ना देश फर्किनेछन् र जहाजमा रहेको सहायता सामग्रीलाई गाजामा स्थापित माध्यमबाट पठाइनेछ । पछि इजरायली सेनाले सुन्तला रङको लाइफ ज्याकेट लगाएका कार्यकर्ताहरूलाई स्यान्डविच र पानी वितरण गरिरहेको भिडियोसमेत सार्वजनिक गरेको छ ।

  • रुसी नागरिक सर्वेक्षणः अमेरिका भन्दा धेरै घृणा जर्मनीसँग भएको खुलासा

    रुसी नागरिक सर्वेक्षणः अमेरिका भन्दा धेरै घृणा जर्मनीसँग भएको खुलासा

    काठमाडौं । विश्व राजनीतिमा रुसका प्रमुख शत्रुहरू युक्रेन र अमेरिका मानिन्छन्। तर, हालै गरिएको एक सर्वेक्षणले रुसी जनमतमा फरक दृष्टिकोण देखाएको छ। सर्वेक्षणअनुसार, रुसी नागरिकहरूले सबैभन्दा धेरै घृणा गर्ने देशको सूचीमा जर्मनी पहिलो स्थानमा परेको छ।

    रुसी सञ्चारमाध्यम आरटीका अनुसार, पश्चिमा समर्थकको आरोप खेपिरहेको अनुसन्धान संस्था ‘लेभादा सेन्टर’ले गरेको सर्वेक्षणमा ५६ प्रतिशत सहभागीले जर्मनीलाई रुसको सबैभन्दा ठूलो दुस्मनको रूपमा देखाएका छन्।

    यता, अमेरिकालाई दुस्मन ठान्नेको संख्या ४० प्रतिशतमा सीमित रहेको छ। बेलायतप्रति ४९ प्रतिशतले घृणा व्यक्त गरेका छन् भने युक्रेनप्रति ४३ प्रतिशतले नकारात्मक धारणा व्यक्त गरेका छन्।

    विश्लेषकहरूका अनुसार पछिल्लो समय युक्रेनलाई जर्मनीले लामो दूरीका मिसाइल दिनु, युक्रेनमै यस्ता मिसाइल उत्पादनमा सहयोग गर्नु र तिनै मिसाइलमार्फत रुसी भूमिमा आक्रमण हुने खतरा बढ्नु जस्ता कारणले जर्मनीप्रति रुसी नागरिकहरूको आक्रोश चुलिएको हो।

  • आफूले मारेका ६ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गर्न रुस तयार

    आफूले मारेका ६ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गर्न रुस तयार

    काठमाडौं । रुसले आफ्नो सैन्य कारबाहीमा परेका ६००० युक्रेनी सैनिकको शव बुझाउन तयार भएको बताएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार गत शनिबार रुसले युक्रेनी सैनिकहरुको लाश बोकेका लरी हस्तान्तरण गर्न गएपनि युक्रेनी अधिकारीहरु लिन आएनन् ।

    उता युक्रेनी पक्षले भने त्यो प्रोपोगाण्डा मात्रै भएको भन्दै आएको छ । आज रुसी रक्षा मन्त्रालयले १२१२ शव तत्काल दिन तयार भएको बताएको छ ।

    रुसले आफ्नो पक्षबाट ६००० युक्रेनी सैनिकहरुको शव दिन राजी भएको र त्यसको कुनै शर्त नहुने बताएको छ । तर युक्रेनी पक्षले शव लिनेबारेमा कुनै चासो नदेखाएको पनि रुसी दाबी छ । युक्रेनी सैनिक परिवारहरुले भने लास बुझ्न सरकारलाई दबाब दिइरहेका छन् ।

     

  • चाडले अमेरिकीलाई लगायो आफ्नो देश प्रवेशमा प्रतिबन्ध

    चाडले अमेरिकीलाई लगायो आफ्नो देश प्रवेशमा प्रतिबन्ध

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया र अफ्रिका तथा ल्याटिन अमेरिकाका विभिन्न १२ देशलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएसँगै अफ्रिकी देश चाडले पनि प्रत्युत्तरमा अमेरिकीलाई प्रतिबन्ध लगाएको छ ।

    चाडका राष्ट्रपति महमद इब्रिस देबीले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्च भाषामा लेख्दै राष्ट्रपतिले जवाफको सिद्धान्तअनुसार अमेरिकी नागरिकहरुलाई चाड प्रवेशमा रोक लगाएको सार्वजनिक गरेका हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा जोडेका छन्, ‘चाडले हवाईजहाजहरु दिन सक्दैन । अबौँ दिन सक्दैन, तर चाडको गरिमा र गौरव छ ।’

  • ट्रम्प बिच्किने डरले नेटो घोषणाले युक्रेनको कुरा कम गर्ने, जेलेन्स्कीले पाएनन् निम्तो

    ट्रम्प बिच्किने डरले नेटो घोषणाले युक्रेनको कुरा कम गर्ने, जेलेन्स्कीले पाएनन् निम्तो

    काठमाडौं । यस अगाडि युक्रेनको पक्षमा चट्टानी अडान र रुसको विपक्षमा कटु कटाक्ष गर्दै आएको उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)को आगामी घोषणामा भने युक्रेन मामिलामा छोटोमा बोलिने भएको छ ।

    बेलायती समाचार एजेन्सी रोयटर्सलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार यही जुन २४ देखि २५ सम्म नेदरल्यान्डमा हुने नेटो सम्मेलनको वक्तव्यमा युुक्रेनबारेमा छोटो बोलिने भएको हो ।

    रुसी राष्ट्रपति पुटिनसँग बोलचाल सुरु गरेका, विभिन्न टेलिफोन वार्ताहरु गरेका तथा नेटोको आलोचनामा बोल्दै आएका ट्रम्प नबिच्किऊन् भनेर युक्रेन मामिलामा छोटो बोलिने बताइएको छ । यत्तिमात्रै होइन, ट्रम्प बिच्किने डरले नेटोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई औपचारिक निम्तो अहिलेसम्म गरेको छैन ।

    सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनलाई सैन्य हमला गरेयताका सबै नेटो भेलामा जेलेन्स्की अतिथिको रुपमा पुग्दै आएका थिए, तर जेलेन्स्कीले रुसी हमलाको पहिलो दिनबाट आग्रह गरेको नेटोको सदस्यता दिन भने नेटो देशहरु तयार देखिएका थिएनन् । रुसले नेटोले युक्रेनमार्फत रुससँग प्रोक्सी युद्ध लडिरहेको बताउँदै आएको छ ।

  • रेडियोको प्रत्यक्ष प्रशारण हुँदै गर्दा चिलीमा भूकम्प आएपछि… (भिडिओ)

    रेडियोको प्रत्यक्ष प्रशारण हुँदै गर्दा चिलीमा भूकम्प आएपछि… (भिडिओ)

    काठमाडौं । भूकम्पको पर्याय मानिने देश हो चिली । अरु त नेपालका डलर अर्बपति विनोद चौधरीको आत्मकथाको प्रथम अध्याय नै पैसा के हो र भन्ने छ । र, त्यसलाई दर्शाउन चिलीको भूकम्पमा हुँदाको अनुभव सुनाइएको छ ।

    हिजो फेरि चिलीमा यस्तै रोचक घटना भएको छ । एक रेडियोले प्रत्यक्ष प्रशारण गरेकै समयमा भूकम्प आएर भएको भागाभागाको समाचार बनेको छ ।

    बेलायती विश्व समाचार एजेन्सी रोयटर्सले चिलीको कोपिआपोको एक रेडिओ स्टेसन मादेरो सीएलमा भूकम्प भएपछि देखिएको दृश्य पोस्ट गरेको छ । रेडिओमा एक महिला पत्रकारले दुई पुरुष अतिथिलाई प्रश्न सोधिरहेको समयमा भूकम्प आउँछ । अनि पत्रकारसँगै अतिथिहरु पनि भागेको दृश्य देखिएको छ ।

    पहिले कुर्सीबाट पत्रकार उठेको देखिन्छ । भूकम्प ६.४ रेक्टर स्केलको भएको रोयटर्सले उल्लेख गरेको छ ।

  • हसिनाको बहिर्गमनको १८ महिनापछि बंगलादेशमा चुनाव हुँदै, अवामी लिगको प्रतिबन्ध जारी

    हसिनाको बहिर्गमनको १८ महिनापछि बंगलादेशमा चुनाव हुँदै, अवामी लिगको प्रतिबन्ध जारी

    काठमाडौ । गत वर्षको अगस्त ५ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन भयो । विद्यार्थी आन्दोलनले भएको बहिर्गमनसँगै आएको नोबेल पुरस्कार विजेता महोमद युनुस नेतृत्वको सरकारले चाँडै चुनाव गर्ने भनिएको थियो, तर अहिले हसिना अपदस्थ भएको १० महिना कट्यो । अझै चुनाव भएको छैन ।

    यसबीचमा चुनाव सन् २०२६ को अप्रिल आधासम्म गर्ने भनेर घोषणा भएको छ । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार यस्तो निर्णय भएको हो ।

    पछिल्लो समयमा युनुस सरकारको विरोध र राजीनामाका मागहरु बंगलादेशमा आएका छन् । केही दिन अगाडि तलब वृद्धिको मागदेखि जबरजस्ती निकालिएका कर्मचारीहरुको आन्दोलनसम्म भएको थियो ।

    बंगलादेशको हसिनाको पालामा प्रतिबन्ध गरिएको पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको नेशनालिस्ट पार्टी (बीएनपी)ले पनि चुनाव चाँडै हुनुपर्ने माग गर्दै आएको थियो । अन्ततः युनुस सरकारले चुनाव गर्ने महिना र साल तोके पनि दिन भने तोक्न सकेको छैन ।

    शेख हसिना नेतृत्वको अवामी लिगलाई भने चुनाव लड्न प्रतिबन्ध गरिएको छ । बंगलादेशको स्वतन्त्रताको आन्दोलनको मोर्चामा जोडिएको अवामी लिगको प्रतिबन्धलाई लिएर पश्चिमा देशहरुका सरकार तथा गैरसरकारी संस्थाहरुले खासै चर्को आवाज उठाएका छैनन् ।

    पश्चिमा समर्थक सरकार भएकाले यस्तो भएको अवामी लिग पक्षधरहरुको आरोप छ । भारतमा भने अवामी लिगको प्रतिबन्धका समाचारहरु प्राथामिकताका साथ प्रकाशन गरिएका छन् ।

  • रुसी भाषा बोलेको भन्दै लातभियाका सांसद निष्कासित

    रुसी भाषा बोलेको भन्दै लातभियाका सांसद निष्कासित

    काठमाडौं । पूर्व सोभियत गणराज्यमध्ये एक देश लातभियाले रुसी भाषा बोलेको भन्दै एक सांसदलाई निष्कासन गरेको छ। एलेक्सी रोस्किलोभलाई रुसी भाषा प्रयोग गरेको आरोपमा हटाइएको हो।

    रुसी सञ्चारमाध्यम आरटीका अनुसार, सन् १९४० देखि १९९१ सम्म लातभियामा रुसीकरण भएको इतिहासलाई निरन्तरता दिएको भन्दै उनलाई निष्कासन गरिएको हो। लातभियाको संसदमा रुसी भाषा बोल्न प्रतिबन्ध लगाइएको छ। झन्डै २५ प्रतिशतले रुसी भाषा बोल्ने देशमा संसदमा रुसी भाषा बोल्न र रुसी नागरिकलाई लातभिया आउजाउ गर्न प्रतिबन्ध लगाइएको छ।

    यही प्रतिबन्धको विरोध गर्ने क्रममा सांसद रोस्किलोभ निष्कासनमा परेका हुन्। उनी ‘स्थिरताको लागि’ नामक दलका प्रतिनिधि हुन्, जसले रुसी भाषाभाषीको भावना प्रतिनिधित्व गर्छ।

    उनीमाथि निष्कासन प्रक्रिया अघि बढाउँदा १०० सांसदमध्ये ६९ जनाले उनलाई हटाउने पक्षमा मतदान गरेका थिए। संसदमा लातभिया भाषामै उनले रुसी भाषा र सभ्यतामाथि प्रतिबन्ध लगाउन खोजिएको भन्दै आपत्ति जनाउँदै भने, ‘अबको कदम के बालबालिकाको नाम रुसी जस्तो सुनियो भनेर बन्द गर्ने?’

    संसदमा मन्तव्यको अन्त्यमा उनले रुसी भाषामै भनेका थिए, ‘हामी यत्ति मात्र होइनौं। र रुसी हाम्रो भाषा हो।’

    स्मरणीय छ, रुसले युक्रेनमाथि आक्रमण गर्नुको एक कारण युक्रेनले रुसी भाषाभाषीमाथि लगाएको प्रतिबन्ध पनि थियो। यही कारण रुसी भाषाभाषी बहुल क्षेत्रहरू—क्राइमिया, लुगान्स्क आदि—रुसमा गाभिन तयार भएका थिए।

  • हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अमेरिकी अदालतको रोक

    हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अमेरिकी अदालतको रोक

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना रोक्ने प्रयासलाई अदालतले अस्थायी रुपमा रोक लगाएको छ।

    हार्वर्डसँग ट्रम्प प्रशासनको विवाद तीव्र भइरहेका बेला, बिहीबार अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले यो निर्णय सुनाएकी हुन्। उनका अनुसार, अस्थायी नियन्त्रण आदेश बिना, हार्वर्डले तत्काल र अपूरणीय क्षति भोग्न सक्ने देखिएको थियो।

    ट्रम्प प्रशासनले बुधबार राति जारी गरेको घोषणामार्फत हार्वर्डमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अमेरिका प्रवेशमा रोक लगाउन खोजेको थियो। साथै, विश्वविद्यालयमा पहिले नै भर्ना भएका विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने खतरा पनि देखिएको थियो।

    शासकीय आदेशमा हार्वर्डप्रति आरोप लगाउँदै भनिएको थियो, हार्वर्डको आचरणले यसलाई विदेशी विद्यार्थी र शोधकर्ताहरूका लागि अनुपयुक्त गन्तव्य बनाएको छ।

    तर हार्वर्डले तुरुन्तै सङ्घीय अदालतमा उजुरी दर्ता गर्दै प्रतिक्रिया दियो, यो आदेश विश्वविद्यालयको पाठ्यक्रम, शिक्षक, विद्यार्थी र व्यवस्थापनको स्वतन्त्रतामा हस्तक्षेप गर्ने सरकारको प्रतिशोधपूर्ण अभियानको हिस्सा हो।

    हार्वर्डले आफ्नो उजुरीमा भन्यो, ‘राष्ट्रपतिका कार्यहरू अमेरिकी हितको रक्षा गर्न होइन, बरु हार्वर्ड र अन्य शीर्ष विश्वविद्यालयहरूमाथि सरकारी प्रतिशोधको खोजी गर्नका लागि गरिएका हुन्।’

    सरकारी अनुदान कटौती र दबाब

    ट्रम्प प्रशासनले हार्वर्डलाई दिइँदै आएको करिब ३.२ अर्ब डलर बराबरको सङ्घीय अनुदान कटौती गरिसकेको छ। साथै, आगामी दिनमा कुनै पनि संघीय कोष नदिने चेतावनी दिएको छ।

    हार्वर्डले विदेशी विद्यार्थीहरूलाई लक्षित गर्ने निर्णय गैर-आवश्यक र अनौचित्यपूर्ण भएको जनाएको छ। सन् २०२४–२५ को शैक्षिक वर्षमा हार्वर्डमा कुल भर्नाको २७ प्रतिशत हिस्सा विदेशी विद्यार्थीहरूको रहनेछ, जुन विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत पनि हो।

    ट्रम्पको विश्वविद्यालयमाथिको आक्रोश

    ट्रम्प र उनका सहयोगीहरूले हार्वर्ड तथा अन्य प्रतिष्ठित विश्वविद्यालयहरूलाई ‘जागृत विचारधारा’, उदार पूर्वाग्रह र यहुदी–विरोधी प्रवृत्तिको केन्द्र भएको आरोप लगाउँदै आएका छन्।

    बुधबार अमेरिकी शिक्षामन्त्रीले कोलम्बिया विश्वविद्यालयको मान्यता रद्द गर्ने चेतावनी दिएका थिए। ट्रम्पले कोलम्बियालगायतका आइभी लिग संस्थाहरू यहुदी विद्यार्थीहरूलाई पर्याप्त सुरक्षा नदिएको आरोप लगाउँदै, तिनीहरूको सङ्घीय कोषमा कटौती गर्ने तयारी देखाएका छन्।

    तर हार्वर्डले ट्रम्प प्रशासनको दूरगामी मागहरूप्रति प्रतिरोध जनाइरहेको छ। विपरीत, कोलम्बिया लगायत केही विश्वविद्यालयहरूले भने सरकारी दबाब सामु झुक्न थालेका छन्।

  • यस्ता ७ हजार नेपालीले दुई महिनाभित्र अमेरिका छाड्नुपर्ने (सूचनासहित)

    यस्ता ७ हजार नेपालीले दुई महिनाभित्र अमेरिका छाड्नुपर्ने (सूचनासहित)

    काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प प्रशासनले नेपाललाई सन् २०१५ को भूकम्पपछि प्रदान गरेको अस्थायी सुरक्षित बसोबास कार्यक्रम रद्ध गर्ने निर्णय गरेकाे छ ।

    अमेरिकाले नेपालको भूकम्पपछिको अवस्था सुरक्षित भएको र देशले उल्लेख्य रिकभर गरेको भन्दै यस्तो निर्णय गरेको त्यहाँको आवासीय सुरक्षा सचिव कृष्टि नोइमले जारी गरेको सूचनामा उल्लेख छ । सूचनाअनुसार नेपलको अवस्थाबारे विश्लेषण गरेर यो निर्णय गरिएको हो ।

    ‘त्यहाँ(नेपालमा) वातावरणीय/प्राकृतिक विपदको तयारी र प्रतिक्रिया क्षमतामा उल्लेखनीय रुपमा सुधार भएको छ, साथै भूकम्पपछिको क्षतिको पुनर्निर्माण पनि यसरी भएको छ कि बाँच्नको लागि कुनै अवरोध छैन । र नेपाल आफ्ना नागरिकको फिर्ती सवारलाई सम्बोधन गर्न प्रशस्तरुपमा सक्षम छ’, सूचनामा भनिएको छ ।

    उक्त विभागका अनुसार करिब १२ हजार ७०० नेपालीहरु यस सुविधाबाट अमेरिका बसिरहेका थिए । यस व्यवस्थाअनुसार अमेरिकाले अन्य देशका नागरिकले प्राकृतिक विपद, सशस्त्र द्वन्द्व वा असाधारण घटनाले बाँच्न कठिन भएको अवस्थामा आश्रय दिने गर्छ जसले निर्वासनबाट छुटकारा र काम गर्ने अनुमति प्राप्त गर्नेछन् । त्यसरी बस्ने नेपालीमध्ये ५ हजार ५०० जनाले ग्रीन लिएर स्थायी बसोबासको वैधता प्राप्त गरिसकेका छन् ।

    अब बाँकी करिब ७ हजार नेपाली जसको स्थायी बसोबास छैन उनीहरुले उक्त सूचना जारी भएको ६० दिनभित्र नेपाल फर्कनुपर्ने छ । उनीहरुलाई अगस्ट ५, २०२५ सम्ममा स्वदेश फर्कन भनिएको छ । नफर्किए डिपोर्ट गरिने सूचनामा उल्लेख छ ।

     

     

  • एलन मस्कसँग लफडा भएसँगै रातो टेस्ला त्याग्दै ट्रम्प, बोलचाल नहुने दाबी

    एलन मस्कसँग लफडा भएसँगै रातो टेस्ला त्याग्दै ट्रम्प, बोलचाल नहुने दाबी

    काठमाडौं । ‘आइ हेट माइ एक्स’ अर्थात म मेरो भूपू मायालुलाई घृणा गर्छु भनेर न्यू योर्क पोस्टले समाचार बनायो । यो कुनै फिल्म वा रंग क्षेत्रको समाचार नभएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र खर्बपति एलन मस्कको लफडाको कभर स्टोरी थियो ।

    दुईको प्रेमलाई ‘ब्रोमान्स’ भन्दै न्यू योर्क पोस्टले अब त्यो अन्त्य भएको अर्थमा यो समाचार छापेको थियो । यहि समाचारलाई सत्य साबित गर्ने गरि ट्रम्पले अब एलन मस्कको स्वामित्वमा रहेको विद्युतीय गाडी कम्पनी टेस्लाको रातो गाडी त्याग्ने भएका छन् । उनले गत मार्चमा मात्रै त्यो गाडी खरिद गरेका थिए ।

    सीएनएनसँग बोल्दै ह्वाइट हाउसका अधिाकारीहरुले ट्रम्पले गाडी त्याग्ने बताएका हुन् । उता रुसका पूर्वराष्ट्रपति तथा पुटिन अध्यक्ष रहेको सुरक्षा परिषदका उपाध्यक्ष दिमित्रि मेदभेदेवले ट्रम्प र मक्सको झगडा मिलाउन रुस थोरै शुल्क लिएर तयार भएको भन्दै व्यङ्ग कसेका छन् । उनले मक्सको स्वामित्वमा रहेको सामाजिक संजाल एक्समा उक्त अभिव्यक्ति दिएका हुन् ।

    यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्प निकट मिडिया फक्स न्यूजका अनुसार बिहिबारबाट परेको ट्रम्प र मस्कको झगडा पछि मस्कले अहिले ह्वाइट हाउसका सहयोगीहरुमार्फत संवाद थालनी गर्न खोजेका छन् । तर म मस्कसँग बोल्दिन भनेर ट्रम्पले बताएको सीएनएनले उल्लेख गरेको छ ।

  • जम्मु–कश्मीरमा १४ सय करोड भारु खर्चेर भारतले बनायो विश्वकै अग्लो रेल्वे पुल

    जम्मु–कश्मीरमा १४ सय करोड भारु खर्चेर भारतले बनायो विश्वकै अग्लो रेल्वे पुल

    काठमाडौं । भारतले जम्मु–कश्मीरको रियासी जिल्लामा विश्वकै सबैभन्दा अग्लो रेल्वे पुल निर्माण गरेको छ । चिनाब रेलवे पुल नामाकरण गरिएको यस पुलको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरे ।

    यो पुल उद्यमपुर–श्रीनगर–बारामुल्ला रेल लिंक परियोजनाको एक महत्वपूर्ण हिस्सा हो, जसले कश्मीर घाटीलाई भारतको अन्य भागसँग जोड्न एतिहासिक कदम हुने दावी गरिएको छ । मोदीले कटरा–श्रीनगर जोड्ने वन्दे भारत एक्सप्रेस र अन्जी पुलसहित ४६ हजार करोड भारतीय रुपैयाँ बराबरका परियोजनाहरूको उद्घाटन गरेका छन् ।

     चिनाब नदीमाथि रियासी जिल्लाको बक्कल र कौरीबीच निर्मित रेलवे पुल ३५९ मिटर अग्लो छ, जुन पेरिसको एफिल टावरभन्दा ३५ मिटर अग्लो हो । १,४०० करोड भारतीय रुपैयाँको लागतमा निर्मित यो पुल २७२ किलोमिटर लामो परियोजनाको हिस्सा हो ।

    यसको लम्बाइ १.३ किलोमिटर छ र यो २६० किलोमिटर प्रतिघण्टाको तीव्र हावाको गति, भूकम्प र अत्यधिक तापमानजस्ता कठोर परिस्थितिहरूको सामना गर्न सक्षम छ । इन्जिनियरहरूका अनुसार, यो पुल १२० वर्षसम्म सुरक्षित र टिकाउ रहनेछ ।

    चिनाब रेलवे पुलले जम्मु र श्रीनगरबीचको सम्पर्कलाई सहज बनाउने तथा कश्मीर घाटीको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    रणनीतिक दृष्टिकोणबाट यो पुलले कश्मीर घाटीलाई वर्षभरि भारतको अन्य भागसँग जोड्ने पहिलो रेल लिंक प्रदान गर्नेछ । यसअघि, जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग बर्फबारी र पहिरोका कारण बारम्बार अवरुद्ध हुन्थ्यो । यो रेल लिंकले यस्ता चुनौतीहरूको समाधान गर्ने बताइएको छ ।

    यो उद्घाटन पहलगाममा अप्रिल २२, २०२५ मा भएको आतंकवादी हमलापछि भएको हो, जसमा २५ पर्यटकसहित २६ जनाको ज्यान गएको थियो । मूल रूपमा अप्रिल १९ मा तय भएको यो उद्घाटन उक्त त्रासदीपूर्ण घटनाका कारण स्थगित भएको थियो ।

    पुल उद्घाटन कार्यक्रममा मोदीले भने, ‘यो उद्घाटन स्टील र रेलगाडीको कुरा मात्र होइन, यो भारतको कश्मीरप्रतिको विकासको प्रतिबद्धताको प्रतीक हो । आतंकवादले हाम्रो प्रगतिलाई रोक्न सक्दैन ।’

     

  • ‘दोस्तबाट दुश्मन’ बने ट्रम्प र मस्क, यसरी उत्रिए वाकयुद्धमा

    ‘दोस्तबाट दुश्मन’ बने ट्रम्प र मस्क, यसरी उत्रिए वाकयुद्धमा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै एक नम्बर धनाढ्य इलोन मस्कबीचको सम्बन्धमा नाटकीय मोड आएको छ । केही समयअघिसम्म एक–अर्काको पर्याय जस्ता उनीहरु अहिले दुश्मन झैं भएका छन् ।

    संसारकै दुई शक्तिशाली व्यक्तिहरु सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा एकअर्काविरुद्ध तीखो आलोचना र गालीगलौजमा उत्रिएका छन् । यो वाकयुद्धको जड ट्रम्पको प्रस्तावित आर्थिक नीति विधेयक र मस्कको त्यसप्रतिको कडा असहमति रहेको छ ।

    ट्रम्प र मस्कको सम्बन्ध २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको अभियानबाट गहिरिएको थियो । मस्क, जो प्रायः राजनीतिमा तटस्थ रहन्थे, ट्रम्पको दोस्रो कार्यकालको अभियानमा सक्रिय रूपमा सहभागी भए । उनले ट्रम्पको रिपब्लिकन अभियानलाई करिब २५० मिलियन डलरको आर्थिक सहयोग गरे, जुन उनको राजनीतिक सहभागिताको सबैभन्दा ठूलो कदम थियो । मस्कले ट्रम्पलाई एक ‘प्रगतिशील’ र ‘नवप्रवर्तनलाई समर्थन गर्ने’ नेताको रूपमा चित्रण गरेका थिए ।

    ट्रम्पले पनि मस्कको प्रशंसा गर्न कुनै कसर बाँकी राखेनन् । उनले मस्कलाई ‘आधुनिक जीनियस’ र ‘अमेरिकी नवप्रवर्तनको प्रतीक’ भन्दै सार्वजनिक रूपमा सम्मान व्यक्त गरे । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि उनले मस्कलाई डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोग) को सह–प्रमुख नियुक्त गरे, जहाँ मस्क र उनका सहयोगी विवेक रामास्वामीले सरकारी खर्च कटौती र प्रशासनिक सुधारको जिम्मेवारी लिए । फेब्रुअरी २०२५ मा फक्स न्यूजलाई दिएको संयुक्त अन्तर्वार्तामा ट्रम्प र मस्कले एकअर्काको तारिफ गर्दै साझा दृष्टिकोणको कुरा गरेका थिए ।

    मस्कले त्यसबेला भने, ‘ट्रम्पको नेतृत्वमा अमेरिका फेरि नवप्रवर्तनको शिखरमा पुग्नेछ ।’

    सम्बन्धमा दरारः नीतिगत मतभेद

    यो मित्रता लामो समय टिकेन । मस्कले मे २९, २०२५ मा डोगबाट अप्रत्याशित राजीनामा दिए, जसले ट्रम्पसँगको उनको सम्बन्धमा तनावको संकेत गर्याे । राजीनामाको मुख्य कारण ट्रम्पको प्रस्तावित आर्थिक नीति विधेयक थियो, जसमा उत्पादन र ऊर्जा कम्पनीहरूलाई कर छुट, रक्षा खर्चमा ठूलो वृद्धि, र सरकारी ऋणको सीमा ४ ट्रिलियन डलरसम्म बढाउने योजना थिए ।

    मस्कले यो विधेयकलाई ‘अमेरिकी अर्थतन्त्रको लागि घातक’ भन्दै सार्वजनिक रूपमा आलोचना गरे । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा लेखे, ‘यो विधेयकले सरकारी घाटा बढाउनेछ र मन्दी निम्त्याउनेछ । यसको पक्षमा मतदान गर्ने सांसदहरूले लज्जित हुनुपर्छ ।’

    मस्कको यो आलोचनाले ट्रम्पलाई व्यक्तिगत रूपमा चोट पुर्यायो । ट्रम्पले तुरुन्तै प्रतिक्रिया दिँदै मस्कका कम्पनीहरू, विशेषगरी टेस्ला र स्पेसएक्सले प्राप्त गरिरहेको सरकारी अनुदान र ठेक्का रद्द गर्ने धम्की दिए । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखे, ‘इलोनले अर्बौं डलरको सरकारी ठेक्का पाएका छन्, ती सबै रोकेर हामी बजेट सन्तुलनमा ल्याउन सक्छौं ।’ यो धम्कीले मस्कलाई थप आक्रोशित बनायो ।

    वाकयुद्धको चरमताः व्यक्तिगत आक्षेप

    मस्कले ट्रम्पको धम्कीलाई चुपचाप सहने मुड देखाए । उनले आज बिहान एक्समा पोष्ट गर्दै ट्रम्पको नीतिलाई ‘विषाक्त’ भन्दै आलोचना गरे । थप विवादास्पद रूपमा उनले ट्रम्पलाई जेफ्री एप्स्टिनको फाइलसँग जोडिएको अप्रमाणित आरोप लगाए, जसलाई ट्रम्पको प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ‘आधारहीन र निन्दनीय’ भन्दै खण्डन गरिन् । मस्कले अमेरिकी अन्तरिक्ष कार्यक्रमको मेरुदण्डका रुपमा रहेको स्पेसएक्सको ड्र्यागन स्पेसक्राफ्टको फिर्ती प्रक्रिया तीव्र बनाउने चेतावनी पनि दिए ।

    ट्रम्पले पनि जवाफमा कुनै कसर बाँकी राखेनन् । उनले मस्कलाई ‘आत्ममुग्ध अर्बपति’ र ‘अमेरिकी मूल्यविरोधी’ भन्दै आलोचना गरे । ट्रम्पले मस्कको स्पेसएक्सको योगदानलाई कम आँक्दै ड्र्यागन स्पेसक्राफ्टलाई ‘महँगो खेलौना’ को संज्ञा दिए । उनले शुक्रबार ९ः५२ बजे (नेपाल समय) ट्रुथ सोसलमा लेखे, ‘इलोनले मेरो नेतृत्वमा प्राप्त गरेको अवसरको कदर गरेनन्, उनको कम्पनीले सरकारी ठेक्का लिन्छ, तर मलाई आलोचना गर्छ । यो देशद्रोह हो ।’

    यो वाकयुद्धले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ ।

    आर्थिक प्रभावः मस्कको टेस्लाको शेयर बिहीबार एकै दिन १४५ ले खस्कियो, जुन ट्रम्पको सरकारी ठेक्का रद्द गर्ने धम्कीको प्रत्यक्ष परिणाम मानिएको छ । नासासँग अर्बौं डलरको ठेक्का लिएको स्पेसएक्स पनि जोखिममा परेको छ । विश्लेषकहरूका अनुसार यो विवादले अमेरिकी अन्तरिक्ष कार्यक्रम र विद्युतीय सवारी उद्योगमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।

    राजनीतिक प्रभावः ट्रम्पको विधेयकलाई लिएर रिपब्लिकन पार्टीभित्रै मतभेद देखिएको छ । मस्कको प्रभाव र उनको आर्थिक शक्तिका कारण विधेयक पारित गर्न ट्रम्पलाई कठिनाइ हुन सक्छ । मस्कले आगामी मध्यावधि र राष्ट्रपति निर्वाचनमा ट्रम्पविरोधी उम्मेदवारहरूलाई सहयोग गर्ने संकेत गरेका छन्, जसले रिपब्लिकन पार्टीमा तनाव बढाएको छ ।

    सामाजिक प्रभावः सामाजिक सञ्जालमा ट्रम्प र मस्कका समर्थकहरूबीच तीव्र बहस चलिरहेको छ । एक्समा #TrumpVsMusk र #lEonBetrayed ह्यासट्याग ट्रेन्ड भइरहेका छन् । मस्कका समर्थकहरूले उनलाई ‘स्वतन्त्र विचारक’ भन्दै समर्थन गरेका छन् भने ट्रम्पका समर्थकहरूले मस्कलाई ‘अहंकारी’ र ‘देशद्रोही’ भन्दै आलोचना गरेका छन् ।

    किन यस्तो मोड ?

    ट्रम्प र मस्कको सम्बन्ध बिग्रनुमा नीतिगत मतभेदमात्र नभई व्यक्तिगत अहंकार र शक्ति प्रदर्शनको टकराव पनि मुख्य कारण देखिन्छ । मस्क जो आफूलाई विश्वको आर्थिक र प्राविधिक नेतृत्वको केन्द्रमा राख्छन्, ट्रम्पको नीतिलाई आफ्नो व्यापारिक हित र दीर्घकालीन दृष्टिकोणविरुद्ध ठान्छन् । यता, ट्रम्प, जसले आफूलाई ‘अमेरिका फस्र्ट’ को प्रतीकका रूपमा प्रस्तुत गर्छन्, मस्कको आलोचनालाई व्यक्तिगत चुनौतीका रूपमा लिएका छन् ।

    यो वाकयुद्धले तत्काल समाधान हुने संकेत देखिएको छैन । मस्कले ट्रम्पको विधेयकविरुद्ध आफ्नो अभियानलाई तीव्र बनाउने संकेत गरेका छन्, जबकि ट्रम्पले मस्कका कम्पनीहरूलाई लक्षित गरी नीतिगत कदम चाल्ने धम्की दोहोर्याएका छन् । विश्लेषकहरूका अनुसार, यो टकरावले अमेरिकी अर्थतन्त्र, अन्तरिक्ष कार्यक्रम, र राजनीतिक परिदृश्यमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।

    ट्रम्प र मस्कबीचको सम्बन्ध एक समयको मित्रताबाट तीव्र शत्रुतामा परिणत भएको छ । नीतिगत असहमतिबाट सुरु भएको यो विवाद अब व्यक्तिगत आक्षेप र शक्ति प्रदर्शनको लडाइँ बनेको छ । यो वाकयुद्धले विश्वको सबैभन्दा शक्तिशाली देश र यसका प्रभावशाली व्यक्तित्वहरूको सम्बन्धलाई कसरी परिभाषित गर्छ, त्यो आगामी दिनमा स्पष्ट हुनेछ । तर, हाललाई यो द्वन्द्वले विश्वभर चर्चा र चासोको विषय बनेको छ । (एआईको सहयोगमा)

     

     

  • कर छलेको र रुसी पहिचान मेटाएको भन्दै ब्रिटिस काउन्सिल बन्द

    कर छलेको र रुसी पहिचान मेटाएको भन्दै ब्रिटिस काउन्सिल बन्द

    काठमाडौं । रुसले बेलायती संस्था ब्रिटिस काउन्सिल बन्द गरेको छ । पूर्व सोभियत संघ मुलुकहरुमा रुसी भाषीहरुलाई दमन गर्ने, रुसी पहिचान नस्ट गर्ने र कर छल्ने लगायतका विभिन्न मुद्दामा ब्रिटिस काउन्सिल बन्द हुने भएको हो ।

    रुसी विश्व च्यानल आरटीका अनुसार स्वतन्त्र संस्था भन्ने तर बेलयत सरकारको रकम लिएर बेलायती स्वाथ्र्यमा काम गर्ने पनि रुसले आरोप लगाएको छ ।

    रुसमा लैगिंक अल्पसंख्यकहरुलाई प्रोत्साहन गरेको पनि ब्रिटिस काउन्सिललाई आरोप लागेको छ । सन् २००७ मै रुसले काउन्सिललाई मस्को बाहिरका कार्यालय कर छलिका मुद्दा देखाएर बन्द गर्न उर्दी गरेको थियो भने सन् २०१८ मा रुसमा कुनै गतिविधीहरु नगर्न भनिएको थियो ।

    रुसले पश्चिमा गैरसरकारी संस्थाहरु बन्द गरेको यो पहिलो उदाहरण भने होइन । यस अगाडी एमनेस्टी इन्टरनेसनल लगायतका संस्थाहरु पनि बन्द गरिसकेको छ । ओपन सोसाइटी नामक जर्ज सोरसको संस्था बन्द गर्ने पहिलो चरणका देशहरुमा रुस पनि एक थियो ।

  • न्यूजिल्याण्डमा हाका प्रस्तुत गरेर ‘भाइरल’ बनेका सांसदहरु निलम्बित

    न्यूजिल्याण्डमा हाका प्रस्तुत गरेर ‘भाइरल’ बनेका सांसदहरु निलम्बित

    काठमाडौं । न्यूजिल्याण्डका आदिवासीहरुको नृत्य हाका प्रस्तुत गरेर विरोध गर्ने सांसदहरु निलम्बित भएका छन् ।

    केही समय अघि उनीहरुले संसदमा हाका प्रस्तुत गरेको भिडिओ विश्वभर भाइरल भएको थियो । त्यही भाइरल भिडिओबाट चिनिएका सांसदहरु विश्वभर चर्चामा आएका थिए ।

    जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार हाका प्रस्तुत गर्ने सांसदहरुलाई तुलनात्मकरुपमा लामो समय निलम्बन गरिने भएको छ ।

    बिहीबार देव्वी गारेवा प्याकर र राविरी वाइतीतीलाई २१ दिनको लागि निलम्बन गरिएको छ । यस्तै, हाना राहिती माइपी क्लार्कलाई भने सात दिन निलम्बन गरिएको छ ।

    यस भन्दा अगाडि संसदबाट निलम्बन गरिएको सबैभन्दा धेरै लामो समय तीन दिनको भएको डीडब्ल्यूले उल्लेख गरेको छ । सांसदहरुलाई अपमान गरेको अर्थमा उनीहरुलाई सजाय दिइएको बताइएको छ ।

  • अमेरिका प्रवेशमा १२ देशका नागरिकलाई ट्रम्पको प्रतिबन्ध

    अमेरिका प्रवेशमा १२ देशका नागरिकलाई ट्रम्पको प्रतिबन्ध

    काठमाडौं । अमेरिका पुग्न विभिन्न १२ देशका नागरिकहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले यही जुन ९ अर्थात् जेठ २६ गतेबाट यस्तो नियम लागू गर्ने भएका छन् ।
    ट्रम्पले प्रतिबन्ध लाएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, सोमालिया, इक्वेटरियल गिनी, इरिट्रिआ, हाइटी, इरान, लिबिया, सुडान र यमन छन् । यस्तै आंशिक प्रतिबन्ध लाएका देशहरू पनि ट्रम्पको सूचीमा छन् ।
    ती देशहरूमा बुरुण्डी, क्युवा, भेनेजवेला, लाओस्, सिरिआलेओन, टोगो, तुर्किमिनिस्तान छन् । ती देशहरू आतंकवादको अखडा भएको भन्दै राष्ट्रिय सुरक्षाको लागि प्रतिबन्ध लगाएको ट्रम्पको दाबी छ ।
  • शोकमा बदलियो उत्सवः आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु

    शोकमा बदलियो उत्सवः आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु

    बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएल २०२५ को फाइनलमा पञ्जाब किङ्ग्सलाई हराएर पहिलोपटक उपाधि जितेपछि बेंगलुरुमा आयोजित विजयी जुलूसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

    यो घटना चिन्नास्वामी स्टेडियम नजिकै भएको हो, जहाँ हजारौं समर्थकहरू आरसीबीको ऐतिहासिक जीतको उत्सव मनाउन भेला भएका थिए ।

    प्रत्यक्षदर्शीहरूका अनुसार जुलूसमा सहभागी हुन ठूलो संख्यामा भीड जम्मा भएको थियो । स्टेडियम बाहिर प्रवेश गर्न खोज्ने समर्थकहरूको भीडले स्थिति नियन्त्रण बाहिर गएको थियो ।

    प्रहरी स्रोतका अनुसार अचानक भएको भागदौडमा केही व्यक्ति लडेर च्यापिए, जसका कारण १०जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

    स्थानीय प्रहरीले घटनास्थलमा तत्काल उद्धार कार्य सुरु गरेको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ ।

    आरसीबीका एक समर्थकले भने, ‘हामी सबै उत्साहित थियौं, तर यस्तो दुःखद घटना हुन्छ भन्ने कसैले सोचेको थिएन । यो जीतको खुशी अब शोकमा परिणत भएको छ ।’

    विजयी जुलूसको आयोजना गरेको फ्रेंचाइजीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ । आरसीबीले एक विज्ञप्तिमा भनेको छ, ‘हाम्रो टिमको जीतको उत्सवमा यस्तो घटना हुनु अत्यन्त दुःखद छ । हामी पीडित परिवारसँग छौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौ ।’

    स्थानीय प्रशासनले भीड व्यवस्थापनमा कडाइ गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

  • बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा सुनुवाइ सुरु

    बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा सुनुवाइ सुरु

    काठमाडौं । गत वर्षको अगस्ट ५ मा सैन्य विमान चढेर भारत भासिएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा सुनुवाइ सुरु भएको छ ।

    बंगलादेशको राजधानी ढाकामा आइतबारबाट मुद्दा सुनुवाइ सुरु भएको हो । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार मानता विरोधी अपराधको नाममा हसिना विरुद्धको मुद्दाको सुनुवाइ सुरु गरिएको छ ।

    मुद्दाको सुनुवाइ अन्तर्राष्ट्रिय अदालतबाट सुरु भएको बताइएको छ । बंगलादेशमा भएको विद्यार्थी नेतृत्वको प्रदर्शनमा गरेको दमन तथा हत्यामा हसिनालाई जोडिएको छ । हसिनाविरुद्ध पाँच विभिन्न कसुर चलाइएको छ ।

    यता हसिनाले भने मुद्दा राजनीतिक रुपमा अभिप्रेरित भएको बताएकी छन् । आफ्नो दल अवामी लिगको दर्ता खारेजी हुनु, मानवता विरोधी मुद्दा लगाइनु भन्दै उनको यस्तो टिप्पणी आएको हो ।

    भारत र बंगलादेशले सुपुर्दगी सन्धि गरेका छन् । तर बंगलादेशको अन्तरिम सरकारले पटकपटक सुपुर्दगी गर्न भारतलाई आग्रह गरेता पनि भारतले आलटाल गरिरहेको छ ।

     

  • इजरेली आक्रमणमा १० मध्ये ९ सन्तान गुमाएका घाइते चिकित्सकको दर्दनाक मृत्यु

    इजरेली आक्रमणमा १० मध्ये ९ सन्तान गुमाएका घाइते चिकित्सकको दर्दनाक मृत्यु

    काठमाडौं । इजरायली आक्रमणमा आफ्ना १० मध्ये ९ सन्तान गुमाएका एकजना प्यालेस्टाइनी चिकित्सक पनि इजरायली हवाई हमलामा मारिएका छन् ।

    हम्दी अल नाजार नामका चिकित्सक इजरायलको हवाई हमलामा घाइते भएका थिए । इजरायली आक्रमणमा परेर उनका ९ सन्तानको मृत्यु हुँदा उनी घाइते भेटिएका थिए ।

    केही दिन आइसियुमा उपचारपछि उनको ज्यान गएको अल जजिराले जाएको छ । ती चिकित्सकका ९ जना बच्चालाई इजरायलले हत्या गरिसकेको थियो ।

    उनकी श्रीमती अला अल नजार जो आफैँ पनि चिकित्सक थिइन् इजरायलले आफ्नो घरमा आक्रमण गर्नुभन्दा केही घण्टा अघि कामका लागि त्यहाँबाट निस्किएका कारण बाँच्न सफल भइन् । उनीहरूका १० सन्तानमध्ये अब ११ वर्षीय एक मात्र छोरा जीवित रहेको अलजजिराले जनाएको छ ।

    ८ दिनअघि भएको हमला निकै दर्दनाक थियो । नासर अस्पतालमा कार्यरत डाक्टर नजारका साना साना ९ जना बच्चा एकै ठाउँमा मारिएका थिए । उनी स्वयं घाइते भएका थिए । मर्ने बच्चाहरू अधिकांश १२ वर्ष मुनीका थिए । मृत्युअघि ती चिकित्सकले विश्व समुदायलाई मानवताको पक्ष लिइदिन आग्रह गरेको थिए ।

    पछिल्लो दिनमा इजरायलले गाजा क्षेत्रमा गरेका आक्रमणमा दैनिक दर्जनौँ बालबालिकाहरूको हत्या भइरहेको छ । त्यहाँ भोकमरी छ भने औषधी उपचार हुन सकेको छैन । आज विहानमात्रै पनि इजरायलले कम्तीमा २२ प्यालेस्टानी जनताको हत्या गरेको छ ।

  • पाकिस्तानीले लडाकु विमान खसालेको भारतीय उच्च सैन्य अधिकारीको स्वीकारोक्ति

    पाकिस्तानीले लडाकु विमान खसालेको भारतीय उच्च सैन्य अधिकारीको स्वीकारोक्ति

    काठमाडौं । भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले गत साता भएको युद्धका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसालेको स्वीकार गरेका छन् । भारतको तर्फबाट आफ्ना लडाकु जेट खसालिएको सन्दर्भमा आएको यो पहिलो बयान हो ।

    जनरल चौहानले सिंगापुर भ्रमणका क्रममा ब्लमबर्ग टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पाकिस्तानले लडाकु जेट विमान खसालेको स्वीकार गरे तर संख्या भन्न चाहिँ अस्वीकार गरे ।

    पाकिस्तानले ६ वटा राफेलले विमान खसालेको दाबी गर्दै आएको छ । तर जनरल चौहानले यति मात्र भने–मलाई के लाग्छ भने, यो जरुरी छैन कि कति जेट गिराइयो तर यस्तो किन भयो यो महत्त्वपूर्ण छ । यसबाट हामीले आफ्नो प्राविधिक गल्ती जान्न पायौँ र हामीले त्यसलाई सुधार गरेर दुई दिनपछि लागु पनि गरेका छौं । त्यो घटनापछि हामीले सबै जेट उडायौं र लामो दूरीका ठेगानाहरूमा निशाना बनाउन पनि सफल भयौँ ।

    पत्रकारले पटक पटक सोधेको प्रश्नमा उनले कतिवटा लडाकु विमान पाकिस्तानले खसाल्यो भन्ने कुरा चाहिँ बताउन चाहेनन् ।

    पाकिस्तानले चीनमा निर्मित जेटको सहायताबाट भारतका फ्रान्समा निर्मित ६ वटा राफेल विमान खसालेको दाबी गर्दै आएको छ ।

    भारतले पाकिस्तानको दाबी खण्डन गर्दै आएको थियो । जबकि राफेल विमान खसेको समाचारसँगै फ्रान्समा उक्त कम्पनीको शेयर माकेर्ट समेत गिरेको थियो ।

  • झापड आतंकले हैरान फ्रान्सेली राष्ट्रपति म्याक्रोँ: जनतादेखि जहानसम्मले राखेनन् बाँकी

    झापड आतंकले हैरान फ्रान्सेली राष्ट्रपति म्याक्रोँ: जनतादेखि जहानसम्मले राखेनन् बाँकी

    काठमाडौं । खासगरी गसिपका समाचार कला क्षेत्रमा हुने गरेका छन्, तर फ्रान्समा भने पछिल्लो समयमा इम्यानुयल म्याक्रोँ र उनकी श्रीमतीको झगडा गसिप बन्यो । गसिपले विश्व बजार ततायो ।

    अरु त अरु पत्रकारहरुले बोलक्कड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि श्रीमतीको झापडबारेमा सोध्न भ्याइहाले । ट्रम्प पनि मौन भएनन् । बोलेरै छोडे र भने, ‘कोठा चैँ थुन्नुपर्ने थियो । मैले म्याक्रोँसँग कुरा गरेँ । उनी सकुसल छन् ।’

    के हो घटना ?

    घटना गत मे २६ को हो । उक्त दिन म्याक्रोँ भियतनाम भ्रमणमा थिए । जहाजबाट ओर्लन लागेका थिए । ओर्लन लाग्दा जहाजको ढोका खोलियो । क्यामेरा अगाडिबाट राष्ट्रपति दम्पतीलाई ताकेर खिचिरहेको थियो । ठीक त्यसैबेला म्याक्रोँलाई एक रातो हातले झापड हान्छ । केही बेरपछि थाहा हुन्छ, त्यो झापड हान्ने अरु कोही नभएर म्याक्रोँ पत्नी ब्रिजिट हुन्छिन् ।

    ब्रिजिटसँग जहाजबाट ओर्लंदा म्याक्रोँले हात मिलाउन खोज्छन् । उनी हात दिन्नन् । यसलाई लिएर अहिले विश्वभर समाचार बनेका छन् ।

    म्याक्रोँले भने घटना अस्वीकार गरेका छन् । फ्रान्सेली अखबार ले मोन्देका अनुसार आफूलाई पत्नीले झापड हानेको नभएर दुई जना तर्कवितर्क गरेको र ठट्टा गरेको भन्दै म्याक्रोँले आफ्नो बचाउ गरेका छन् ।

    म्याक्रोँले आफूभन्दा २५ वर्ष जेठी ब्रिजिटसँग विवाह गरेका हुन् । ब्रिजिटसँग म्याक्रोँको विवाह हुँदा उनी तीन सन्तानकी आमा थिइन् ।

    यस अगाडि पनि झापड खाएका थिए म्याक्रोँले

    आफ्नी जहानबाट झापड खाएका म्याक्रोँले जनताबाट पनि झापड खाइसकेका छन् । सन् २०२१ मा म्याक्रोँलाई दामिएन त्राएल नामका एक युवकले झापड हानेर १८ महिने कैद सजाय पाएका थिए । त्योभन्दा अरु झापडका घटनाहरु पनि भएको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् ।

  • एसियामा सैन्य बल प्रयोग गर्ने चीनको ‘तयारी’ छ: अमेरिकी रक्षामन्त्री

    एसियामा सैन्य बल प्रयोग गर्ने चीनको ‘तयारी’ छ: अमेरिकी रक्षामन्त्री

    सिङ्गापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द-प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा उक्त टिप्पणी गरेका हुन् ।

    जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध सुरु गरेका छन् । प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न खोजेका छन् र बेइजिङसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्स जस्ता सहयोगीहरूसँग सुरक्षा सम्बन्धलाई गहिरो बनाएका छन् ।

    विश्वभरका रक्षा अधिकारीहरूको सहभागिता रहेको साङ्ग्रिला संवादमा हेगसेठले भने, ‘चीनले खडा गरेको खतरा वास्तविक हो र यो तत्काल हुनसक्छ ।’

    ‘इन्डो-प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने तयारी बेइजिङले गरिरहेको छ’, उनले थपे ।

    हेगसेथले चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्ने क्षमता निर्माण गरिरहेको र ‘वास्तविक सम्झौताका लागि पूर्वाभ्यास’ गरिरहेको चेतावनी दिए ।

    बेइजिङले ताइवानमाथि सैन्य दबाब बढाएको छ र टापुको वरिपरि धेरै ठूला अभ्यासहरू गरेको छ, जसलाई प्रायः नाकाबन्दी वा आक्रमणको तयारीको रूपमा वर्णन गरिन्छ।

    हेगसेठले संयुक्त राज्य अमेरिका ‘साम्यवादी चीनको आक्रामकतालाई रोक्न पुनः उन्मुख भइरहेको’ बताउँदै एसियामा रहेका अमेरिकी सहयोगी र साझेदारहरूलाई बढ्दो खतराको सामना गर्दै आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न आह्वान गरे । -रासस/एएफपी

  • २५ करोड मौरी भागेपछि…

    २५ करोड मौरी भागेपछि…

    लस एन्जलस । मौरी बोकेको ट्रक दुर्घटनापछि मुक्त गर्न हिँडाइएका २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ ।

    अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो ।

    ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, ‘अहिले २५ करोड मौरी एकसाथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउँमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला ।’

    क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ ।

    पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागसेचन गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् । -रासस/एएफपी

  • नेताको मानमर्दन गरेको अदालतले ठहर गरेपछि बीबीसीले एक लाख यूरो तिर्नुपर्ने

    नेताको मानमर्दन गरेको अदालतले ठहर गरेपछि बीबीसीले एक लाख यूरो तिर्नुपर्ने

    काठमाडौं । इरिस नेता गेरी अ्याडम्सको मानमदर्न गरेको समाचार तथा डकुमेन्ट्री प्रकाशन तथा प्रशारण गरेको मुद्दामा बेलायती विश्व च्यानल बीबीसीले एक लाख यूरो क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

    बेलायती अखबार द गार्डियनका अनुसार अ्याडम्सले सन् २००६ मा बेलायती गुप्तचर निकायका एक व्यक्तिको हत्या गर्न आदेश दिएको भनेर समाचार प्रकाशन गरेको थियो । सन २०१६ मा एक आलेखमा पनि त्यही रटान लगाएको थियो ।

    यही सबालमा हालिएको मुद्दामा यही शुक्रबार आयरल्याण्डको डब्लीन अदालतले गरेको फैसलाअनुसार एक लाख यूरो तिर्नुपर्ने भएको हो । फैसला आएसँगै ७६ वर्षका नेता अ्याडम्सले भनेका छन्, ‘मेरो विचारमा यो मुद्दा दायर गर्नुको प्रमुख कारण नै बीबीसीलाई सबक सिकाउन थियो ।’

    बीबीसीले फैसलापछि आफ्नो सामग्रीमा यसलाई तथ्यभन्दा पनि दाबीको कोणमा प्रकाशन तथा प्रशारण गरेको भन्दै कुनै खराब नियत नभएको दाबी गरेको गार्डियनले उल्लेख गरेको छ ।

     

  • अमेरिकाले पाँच महिनामा हजार भारतीय फर्कायो

    अमेरिकाले पाँच महिनामा हजार भारतीय फर्कायो

    काठमाडौं । अमेरिकाले विगत पाँच महिनामा एक हजार भारतीयलाई फर्काएको छ । यसको जानकारी भारत सरकारले नै सार्वजनिक गरेको हो ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले भारत ल्याइएका ६२ प्रतिसत आप्रवासीहरु व्यवसायिक उडान कम्पनीबाट आएका थिए । अर्थात ३८ प्रतिशतलाई भने अमेरिकी चार्टड जहाजले ल्याएका थिए ।

    गैरकानूनी रुपमा बसेका आप्रवासीहरु धपाउने ट्रम्प सरकारको योजना कार्यान्वयनको क्रममा यस्तो भएको हो । गत जनवरीबाट धपाउन सुरु गर्दा फेब्रुअरी महिनामा भारतीयहरुलाई साङ्लोले बाँधेर धपाइएको थियो ।

    मोदी सरकारको कमजोरीको रुपमा यसलाई भारतीय विपक्षी दलहरुले आचोचना गरेका थिए ।

     

  • विश्वविद्यालयमा कम्युनिस्ट बढेकोमा अमेरिका चिन्तित, चाइनिजको भिसा जाँच गर्ने

    विश्वविद्यालयमा कम्युनिस्ट बढेकोमा अमेरिका चिन्तित, चाइनिजको भिसा जाँच गर्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन विश्वविद्यालयहरूमा कम्युनिस्ट र इस्लामिक बढ्दो प्रभावप्रति सचेत बनेको छ । हालै विश्वभरका विद्यार्थीहरूको भिसा आवेदन रोक्नेदेखि हार्वर्ड र कोलम्बसलगायतका विश्वविद्यालयका अनुदान कटौतीको मुख्य कारण यहुदी विरोधी जमात बढ्नु रहेको प्रशासनले जनाएको छ ।

    यसैबीच विदेशमन्त्री मार्को रुबियोले चीन र हङकङबाट अमेरिकामा आएका विद्यार्थीहरूको भिसाको गहन जाँच हुने बताएका छन् ।

    उनले चिनिया कम्युनिस्ट पार्टीका सदस्यहरू विद्यार्थीको रूपमा अमेरिकी विश्वविद्यालयमा भर्ना भएको भन्दै यसको गहन जाँच हुने बताएका छन् ।

    सीएनएनका अनुसार अब भिसाको शर्तमा पनि संशोधन हुने र कम्युनिस्टहरूमाथि कडाइ गरिने प्रशासनको तयारी छ । हार्वर्ड लगायतका विश्वविद्यालयमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन भएकोमा समेत ट्रम्प प्रशासन रुष्ट छ ।

    अमेरिकामा पछिल्लो एक वर्षमा २ लाख ८० हजार चिनिया विद्यार्थी अध्ययनमा गएका थिए,ती मध्ये ठूलो संख्या कम्युनिस्ट पार्टीसँग सम्बन्धित रहेको आशंकामा भिसाको गहन अध्ययन थालिएको हो ।

  • युनुसले बंगलादेशको भूमि अमेरिकालाई बेचेको हसिनाको आरोप, के हो सेन्ट मार्टिन टापु प्रकरण ?

    युनुसले बंगलादेशको भूमि अमेरिकालाई बेचेको हसिनाको आरोप, के हो सेन्ट मार्टिन टापु प्रकरण ?

    काठमाडौं । निर्वासनमा रहेकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसमाथि देशको भूमि अमेरिकालाई बेचेको आरोप लगाएकी छन् । उनले निर्वासनको एक वर्षपछि सोसल मिडियामा पोष्ट लेख्दै बंगलादेशको सेन्ट मार्टिन टापु वासिङटनलाई जिम्मा लगाएको बताएकी हुन् ।

    एनले सोही टापु अमेरिकालाई नदिएबापत आफ्ना पिता बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको हत्या भएको समेत स्मरण गरेकी छन् ।

    उनले सामाजिक सञ्जालमा भनेकी छन्- जतिबेला अमेरिकाले सेन्ट मार्टिन टापु मागेको थियो मेरो बुबा त्यसमा सहमत हुनुभएन । त्यसबापत उहाँले आफ्नो ज्यान गुमाउनुपर्‍यो । त्यही नै मेरो लक्ष्य थियो कि म सत्तामा बस्नका लागि आफ्नो देशको भूमि बेच्न सहमत हुन सकिनँ ।

    सेन्ट मार्टिन टापु बंगालको उत्तर उत्तरपुर्वी क्षेत्रमा अवस्थित छ । यो बंगादेश र म्यानमारको बीचमा अवस्थित छ । करिब ८ हजार जनसंख्या रहेको यो टापु पर्यटकको लागि आकर्षक गन्तव्य हो । ५ हजार वर्षअघि यो टापु टेकनफ प्रायद्धीपको भाग मानिन्थ्यो । बिस्तारै यो टापु आधाजति समुद्रमा विलिन भयो ।

    करिब ४५० वर्षअघि आधा टापु फेरि जमिनी सतहमा आएको थियो, जसलाई सेन्ट मार्टिन टापु भनेर चिनिन्छ । भारतमा बेलायती उपनिवेश समाप्तिसँगै भएको विभाजनमा यो टापु पाकिस्तानको भागमा परेको थियो । सन् १९७१ म पाकिस्तानबाट बंगलादेश टुक्रिएपछि बंगालको भागमा पर्‍यो ।

    यो टापु बंगलादेशको अर्थतन्त्रमा महत्वपूर्ण मानिन्छ । यही टापुलाई अमेरिकाले सैन्य रणनीतिक महत्वका साथ आँखा लगाएको आरोप छ । बंगालको खाडीबाट यो क्षेत्रमा सैन्य हमला गर्न उक्त टापु रणनीतिक ठाउँमा छ । हिन्द प्रशान्त क्षेत्रमा हेर्नका अमेरिकाले यो टापुमा आँखा गाडेको छ ।

    हिन्दूस्तान टाइम्सले एउटा रिपोर्टलाई उद्धृत गर्दै अमेरिकाले सधैँभरी यो टापुमा आफ्नो सैनिक आधार राख्न चासो व्यक्त गरिरहेको थियो । आफूले अमेरिकाको सो चाहनामा बाधक बनेपछि अपदस्थ गरिएको दावी हसिनाको छ ।

    अमेरिकाले यो क्षेत्रमा चीनको प्रभाव रोक्नका लागि पनि सो टापुमा सैन्य बेस राख्न खोजेका छ । जब हसिनाले अमेरिकाको चाहनाविपरीत उल्टै चीनसँग बीआरआई सम्झौता गरिन्, त्यसपछि अमेरिका उनीसँग रुष्ट थियो ।

  • युक्रेनले रुसी राष्ट्रपति पुटिन चढेको हेलिकप्टर लक्षित ४६ वटा ड्रोन हमला गरेपछि…

    युक्रेनले रुसी राष्ट्रपति पुटिन चढेको हेलिकप्टर लक्षित ४६ वटा ड्रोन हमला गरेपछि…

    काठमाडौं । घटना मंगलबारको हो । रुसले उत्तर कोरियासमेतको सहभागितामा युक्रेनबाट मुक्त गरेको कुर्स्क क्षेत्रमा जाँदै थिए राष्ट्रपति भ्लादिमिर पुटिन । त्यसैबेला पुटिन यात्रारत हेलिकप्टरलाई लक्ष्य गरेर युक्रेनले दर्जनौं ड्रोन हमला गर्‍यो ।

    पुटिनलाई सुरक्षा दिइरहेको हवाई दस्ताले ती सबै ड्रोन खसाल्यो । अरु पनि आउन सक्ने भन्दै फायरिङबीच पुटिन यात्रा अघि बढ्यो । पुटिन र उनको सुरक्षा दस्तालाई केही भएन ।

    यो जानकारी आजमात्रै सार्वजनिक भएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार आज रुसका हवाई सेनाका कमान्डर युरी दास्किनले यो खुलासा गरेका हुन् ।

    पुटिनको यात्राको क्रममा ४६ वटा युक्रेनी ड्रोन खसालिएको दास्किनले बताए । मंगलबार यस्तो तनाव देखिए तापनि रुस र युक्रेनले आपसमा युद्धबन्दी साटासाट गरेका छन् । हालसालै दुई किस्तामा गरेर ३०७ युद्धबन्दी दुई पक्षले साटेका छन् ।

    केही दिन अगाडि टर्कीमा भएको दुई पक्षको प्रथम वार्ताका क्रममा भनिएअनुसार एक हजार युद्धबन्दीको साटफेर हुने बताइएको छ ।