Category: विश्व प्रेस

  • रुसी मिडियामा जोडिएका अमेरिकीहरुलाई धरपकट गर्दै अमेरिका

    रुसी मिडियामा जोडिएका अमेरिकीहरुलाई धरपकट गर्दै अमेरिका

    काठमाडौं । अमेरिकाले रुसी मिडियामा जोडिएका अमेरिकीहरुलाई धरपकड गरिरहेको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्स्को समाचारलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार अमेरिकामा हुने राष्ट्रपतिय चुनावको लागि प्रभाव पार्न सक्ने भन्दै उनीहरुमा धरकपड सुरु भएको हो ।

    अमेरिकी सरकारी अधिकारीहरुले अमेरिकाका नागरिक तथा संयुक्त राष्ट्रसंघका हतियार अनुगमनकर्ता भइसकेका स्कट रिटर तथा सोभियत संघमा जन्मेका राजनीतिक विस्लेषक दिमित्रि सेमिन लगायको घरमा छापा मारेका छन् ।

    अमेरिकामा यहि नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । उक्त चुनावमा रुसको प्रभाव हुने अमेरिकी डर देखिएको छ । उसो त कुनै प्रमाण नभएता पनि सन २०१६ को अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई साथ दिएर रुसले चुनावमा धाँधली गरेको अमेरिकी आरोप लागेको थियो ।

  • बंगलादेशी बैंकहरुले ब्याजदर बढाए, १० प्रतिशतसम्म पुग्ने

    बंगलादेशी बैंकहरुले ब्याजदर बढाए, १० प्रतिशतसम्म पुग्ने

    काठमाडौं । बंगलादेशका बैंकहरुको ब्याजदर बढ्ने भएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार ब्याजदर साढे आठ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ ।

    बीबीसीसँगको एक विषेश अन्तरवार्तामा बंगलादेशका केन्द्रिय बैंकका प्रमुखले यस्तो बताएका हुन् । प्रमख डाक्टर असन एच मन्सुरले ब्याजदर बढेर १० प्रतिशतसम्म पुग्ने बताएका हुन् । अन्तराष्ट्रिय मुद्रा कोषले बंगलादेशलाई आफ्नो मौद्रिक नीतिमा कडाई गर्न भनेको सार्वजनिक भएसँगै ब्याजदर बढ्ने कुरा आएको हो ।

    बंगलादेशले विश्व बैंकबाट डेढ अर्ब डलर तथा एसियाली विकास बैंक तथा जापानबाट एक अर्ब डलर ऋण लिने तयारीसमेत गरेको छ ।

  • गाजाबाट सैनिक हटाउन इजरायल तयार : अमेरिकी विदेशमन्त्री ब्लिन्कन

    गाजाबाट सैनिक हटाउन इजरायल तयार : अमेरिकी विदेशमन्त्री ब्लिन्कन

    काठमाडौं । प्यालेस्टाइनी भूमि गाजाबाट सैनिक फिर्ता गर्न इजरायल तयार भएको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले यस्तो खबर सार्वजनिक गरेका हुन् । अमेरिकाले गाजाको लामो समय कब्जा नचाहेको पनि उनले खुलाएका छन् ।

    युद्ध बिराम अन्तर्गत इजरायलले यस्तो गर्न राजी भएको उनले बताएका छन् । कतारमा भइरहेको समन्वयपछि उनको यो भनाइ सार्वजनिक भएको हो ।

    कतार तथा इजिप्ट जस्ता देशहरू हमास र इजरायलको युद्ध बिराम गराउने पक्षमा लागि परेका छन् ।

    उनीहरुकै दबाबमा अमेरिकाले इजरायललाई पनि दबाब दिएको बताइन्छ ।

  • सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गर्ने सिक्किम सरकारको निर्णय

    सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गर्ने सिक्किम सरकारको निर्णय

    काठमाडौं । भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ । राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य गर्ने बताइएको छ ।

    सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ ।’

    मुख्यमन्त्री पिएस गोले हिजो मात्रै ३३ औँ नेपाली भाषा मान्यता दिवसमा सहभागी भएका थिए । सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४ (१)ले नेपाली भाषालाई आठौँ अनुसुचीमा राखेको दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा भारतका नेपाली भाषी नागरिकहरुले मनाउँदै गरेका छन् ।

    नेपाली भाषाको यो मान्यता दिलाउन सिक्किमको योगदान मानिन्छ । खासगरि तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीलाई यसको जस दिने गरिएको छ । तर, भारतका आसाम, मेघालय, दार्जिलिङ लगायका क्षेत्रका नेपाली भाषी भारतीयहरुले पनि यो माग चै जोडदार रुपमा उठाएका थिए ।

    मंगलबारको कार्यक्रमा बोल्दै मुख्यमन्त्री गोलेले संविधानले मान्यता दिएपनि नेपाली भाषाको विकास र वृद्धिमा स्थिरता आएको भन्दै चिन्ता व्यक्त गरेर भाषण गरेको भोइस अफ सिक्किमले उल्लेख गरेको छ । गोलेले मंगलबार गरेको चिन्ताको भोलिपल्टै आज नेपाली भाषालाई विज्ञापन तथा राजपत्रमा अनिवार्य गर्ने नियम सार्वजनिक भएको हो ।

  • कार्यकाल सकेकी अस्ट्रेलियाली राजदूत भन्छिन्- नेपालबारे दुई किताब लेख्छु

    कार्यकाल सकेकी अस्ट्रेलियाली राजदूत भन्छिन्- नेपालबारे दुई किताब लेख्छु

    काठमाडौं । हालासालै नेपालका लागि अस्ट्रेलियाको राजदूत रहेर बिदा भएकी राजदूत फेलिसिटी भोल्कले आफूले स्वदेश फर्केर नेपालबारेमा किताब लेख्ने बताएकी छिन् । पत्रकार कोषराज कोइरालासँगको कुराकानीमा भोल्कले यस्तो बताएकी हुन् ।

    उनले अन्तरवार्तामा भनेकी छिन्, ‘नेपालको अनुभवमा आधारित आख्यान र गैरआख्यानमा आधारित दुईवटा पुस्तक लेख्ने मेरो योजना छ ।’ आफ्नो पुस्तक लेखनको लागि आफ्नो नेपाल आगमन भने भइरहने भन्दै भोल्कले भनेकी छिन्, ‘यो योजना कार्यान्वयनका लागि पनि म प्रत्येक वर्ष केही महिना काठमाडौँमा आउँछु ।’

    ३५ वर्षको कूटनीतिक सेवामा रहेकी भोल्कले बंगलादेश तथा लाओस्मा रहेका अस्ट्रेलियाली मिसन सकेपछि तथा दुई छोरीको जन्म भएपछि लेखन सुरु गरेको आफ्नो आधिकारिक वेबसाइटमा बताउँछिन् । भोल्कले सन २०१३ को जुलाईमा लाइट्निङ नामक किताब लेखेकी थिइन् भने त्यसपछि सन २०२० को सुुरुमा डिजायर लाइन लेखेकी थिइन् । यी दुवै कृतिहरु उपन्यास हुन् ।

  • भारतको विज्ञान पाठ्यक्रममा अन्तरिक्ष प्रविधि पढाइने

    भारतको विज्ञान पाठ्यक्रममा अन्तरिक्ष प्रविधि पढाइने

    काठमाडौं । भारतको विज्ञान पाठ्यक्रममा अब अन्तरिक्ष प्रविधि पढाइ हुने भएको छ ।

    अमेरिका, रुस, चीन लगायतका देशहरूपछिको अन्तरिक्ष शक्ति भनेर पहिचान बनाएको भारतले यस्तो पठाइ सुरु गर्ने भएको भारतीय समाचार पोर्टल द प्रिन्टले उल्लेख गरेको छ ।

    प्रिन्टका अनुसार भारतका विज्ञान संस्थानहरूले यस्तो पढाइ गर्ने भएका छन् । पाठ्यक्रममा स्पेस फ्लाइटको संयन्त्र, रिमोट सेन्सिङ जस्ता कुराहरू स्नातक मुनी र स्नातक माथिका कक्षामा पढाइ हुने भएको छ ।

    अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (एआईसीटीई) र भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन प्राधिकरण केन्द्र (इन–स्पेस) को सहकार्यमा यस्तो पाठ्यक्रम मङ्गलवार सार्वजनिक भएको हो ।

    भारतीय अन्तरिक्ष अध्ययन संस्था (इस्रो)का अध्यक्ष एस. सोमनाथले अन्तरिक्ष प्रविधि क्षेत्रमा विद्यार्थीहरूको प्रारम्भिक दक्षता विकास गर्न यस्तो पाठ्यक्रम राखिएको बताएका छन् ।

  • इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

    इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ ।

    इरानी सरकारी मिडियाहरूलाई साभार गरेर बीबीसीले उल्लेख गरे अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् ।

    शिया मुसलमानहरूले मनाउने प्रमुख चाडको लागि इराकमा भएको धार्मिक धाम कार्बलामा जाने क्रममा त्यस्तो दुर्घटना भएको बताइएको छ ।

    बीबीसीले इरानमा सवारी दुर्घटनाबाट ज्यान जानेको संख्या धेरै भएको बताउँदै वर्षमा औसत २० हजार जनाको ज्यान जाने उल्लेख गरेको छ ।

  • एलन मस्कलाई ‘क्याबिनेट’ मा सहभागी गराउने तर ईभी सम्बन्धित कर नीति परिवर्तन गर्ने ट्रम्पको चाहना

    एलन मस्कलाई ‘क्याबिनेट’ मा सहभागी गराउने तर ईभी सम्बन्धित कर नीति परिवर्तन गर्ने ट्रम्पको चाहना

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति तथा आगामी चुनावमा राष्ट्रपतिको प्रत्याशी रहेका डोनाल्ड ट्रम्पले आफुले चुनाव जितेको खण्डमा टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई क्याबिनेटमा सहभागी गराउने चाहना प्रकट गरेका छन् ।

    अन्तर्राष्ट्रिय संचार माध्यम सीएनबीसीका अनुसार ट्रम्पले एलनलाई क्याबिनेटको कुनै पद अथवा सल्लाहकारको कुनै भूमिकामा सहभागी गराउने चाहना प्रकट गरेका हुन् ।

    संचार माध्यम रोयटर्सलाई उध्रदृत सीएनबिसीले जनाए अनुसार ट्रम्पले भनेका छन् , ‘उनी (एलन) ले चाहेमा क्याबिनेटको कुनै पद वा सल्हाकारको भूमिका अफर गर्नेछु । ‘

    तर ट्रम्पले ईभी सम्बन्धित कर नीतिमा भने केही परिवर्तन गर्न चाहेको पनि बताएका छन् । रिपोर्टका अनुसार केही नयाँ ईभीहरुमा दिइएको ७५०० अमेरिकी डलरको ट्याक्स क्रेडिटलाई भने रोक्ने ट्रम्पको मनसाय रहेको छ ।

    यसो भएमा एलन मस्कको टेस्ला कारको विक्रीमा समेत असर पर्ने छ । ट्रम्प भन्छन् ‘ट्याक्स क्रेडिट र ट्याक्स इनीसीएटीभ फलदायी कुरा होइनन् ।’ गत जुलाईमा ट्रम्प माथि गोली प्रहार भएसँगै एलनले ट्रम्पको समर्थन जनाएका थिए ।

    आगामी नोभेम्बर ५ मा हुन गइरहेको अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारीससँग प्रतिस्पर्धा गर्दै छैन ।

  • सहकर्मीको हत्यापछि भारतमा चिकित्सकहरूद्वारा कडा कानूनको माग

    सहकर्मीको हत्यापछि भारतमा चिकित्सकहरूद्वारा कडा कानूनको माग

    नयाँदिल्ली । भारतका सयौं चिकित्सकले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन् ।

    स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी सहकर्मीलाई न्याय दिन कडा कानूनको माग गर्दै चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

    ‘न्यायमा ढिलाइ हुनु न्याय नपाउनु हो’ जस्ता नारासहित प्रदर्शन गरिरहेका चिकित्सकहरूलाई नयाँदिल्लीस्थित मन्त्रालय बाहिर निःशुल्क बहिरङ्ग सेवा स्थापना गर्न खोज्दा प्रहरीले रोकेको थियो ।

    पश्चिम बङ्गालको राजधानी पूर्वी शहर कोलकातामा अगस्त ९ मा ३१ वर्षीया प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्यापछि भारतभरका चिकित्सकहरूले विरोध प्रदर्शन र मैनबत्ती (क्यान्डल लाइट) मार्च गरेका छन् । उनीहरुले गैरआकस्मिक बिरामीहरूको हेरचाह गर्न अस्थायी रूपमा अस्वीकार गरेका छन् ।

    सहकर्मीमाथि भएको आक्रमणले सम्पूर्ण भारतका अस्पताल र मेडिकल क्याम्पसहरूमा स्वास्थ्य सेवाकर्मीहरूको संवेदनशीलतालाई उजागर गरेको चिकित्सकहरूले बताएका छन् ।

    उनीहरूले ड्युटीमा रहेका चिकित्सकहरूमाथि हुने कुनै पनि आक्रमणलाई जमानतको सम्भाव्यताविना अपराध बनाउने, अस्पतालमा सुरक्षा बढाउने र उनीहरूलाई आराम गर्न सुरक्षित स्थान बनाउनेलगायतका कडा कानूनको माग गरेका छन् ।

    प्रदर्शनकारी चिकित्सक डेजी सिंहले भनिन्, ‘यदि एउटी महिला कार्यस्थलमा, अस्पतालमा सुरक्षित छैनन् भने मलाई आश्चर्य लागेको छ कि यो मुलुकमा कुन महिला सुरक्षित छन् ?’

    सरकारले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको मागप्रति समिति गठन गर्ने बताएको छ ।

    कोलकाताको आरजी मेडिकल कलेज एन्ड हस्पिटलमा प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याले महिलाविरुद्धको हिंसाको पुरानो मुद्दामा आक्रोशलाई बढाएको छ ।

    अस्पतालमा कार्यरत एक प्रहरी स्वयंसेवकलाई पक्राउ गरी अपराधको आरोप लगाइएको छ, तर पीडितको परिवारले यो सामूहिक बलात्कार भएको र यसमा थप व्यक्ति संलग्न रहेको बताएको छ । सङ्घीय अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।

    हजारौं मानिस विशेषगरी महिलाहरूले चिकित्सकलाई न्यायको माग गर्दै कोलकाताको सडकमा जुलुस निकालेका छन् । सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा २३ वर्षीया छात्राको सामूहिक बलात्कार र हत्यापछि लागू गरिएको कडा कानूनहरूका बाबजुद भारतमा महिलाहरूले बढ्दो हिंसाको सामना गर्नुपरिरहेको उनीहरूले बताएका छन् ।

    उक्त आक्रमणले सांसदहरूलाई यस्ता अपराधका लागि कडा सजायको आदेश दिन र बलात्कारका मुद्दाहरूमा समर्पित फास्ट ट्र्याक अदालत स्थापना गर्न प्रेरित गरेको थियो । सरकारले बारम्बार अपराध गर्नेलाई मृत्युदण्डको पनि व्यवस्था गरेको छ ।

    कडा कानून बने पनि भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या बनेको छ । राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०२२ मा प्रहरीले बलात्कारका ३१ हजार ५१६ रिपोर्ट रेकर्ड गरेको थियो । यो आँकडा सन् २०२१ को तुलनामा २० प्रतिशतले बढी हो । -रासस/एपी

  • दक्षिण चीन सागरमा जुधे चिनियाँ र फिलिपिनो पानीजहाज

    दक्षिण चीन सागरमा जुधे चिनियाँ र फिलिपिनो पानीजहाज

    काठमाडौं । आज दक्षिण चीन सागरमा चिनियाँ र फिलिपिनो पानीजहाज जुधेका छन् । लामो समय देखि दुवै देशहरूले यो क्षेत्रमा विवाद गर्दै आएका छन् ।

    दक्षिण चीन सागरको सेकेन्ड थोमस सोल क्षेत्रमा पानीजहाज जुधेको बताइएको छ । पानीजहाज फिलिपिन्सले जबरजस्त जुधाएको चीनको आरोप छ ।

    जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार फिलिपिन्सले भने पानीजहाज चीनको बलमिच्याइँले गर्दा जुधेको आरोप लाएको छ ।

    यस अगाडीका राष्ट्रपति रोद्रिगो दुतेर्ते हुँदा लिफिपिन्स र चीन सम्बन्ध राम्रो थियो । तर, बोमबाङ मार्कोस जुनियर राष्ट्रपति भएर आएपछि भने फिलिपिन्स चीनसँग विवादमा सिधा सीधा उत्रिन थालेका हुन् ।

    मार्कासलाई आलोचकहरूले अमेरिकी परस्तको आरोप लाउँछन् भने यस अगाडीका दुतेर्तलाई चीन परस्तको आरोप लागेको थियो ।

    फिलिपिन्समा चीन र अमेरिकासँग नरम हुने सरकारहरु किस्ता किस्तामा बन्दै आएका छन् ।

  • इजरायली सहर तेल अभिवमा ठूलो विष्फोट (भिडिओ)

    इजरायली सहर तेल अभिवमा ठूलो विष्फोट (भिडिओ)

    काठमाडौं । इजरायली सहर तेल अभिवमा ठूलो विष्फोट भएको छ ।

    विष्फोटमा परेर एक जनाको ज्यान गएको छ भने अर्को एक जना घाइते भएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार विष्फोटबारेमा इजरायले आतंकवादसँग कुनै सम्बन्ध छ कि भनेर खोजबिन सुरु गरेको छ ।

    स्थानीय समयअनुसार आइतार राती ८ बजे विष्फोट भएको हो ।

    घटना सुसाइड बम भएको हुनसक्ने पनि अनुमान गरिएको छ । तर, विष्फोटको कारण र पुरा विवरण आउनै बाँकी रहेको छ ।

  • बङ्गलादेशी पत्रकारले फेरि सम्झाए सोनिया गान्धीको प्रेम : को हुन ती गोलकिपर प्रेमी ?

    बङ्गलादेशी पत्रकारले फेरि सम्झाए सोनिया गान्धीको प्रेम : को हुन ती गोलकिपर प्रेमी ?

    काठमाडौं । हालसालै सामाजिक सञ्जालमा बङ्गलादेशी पत्रकारले एक ट्विट गरे ।

    साला उदिन सोआइब चौधरीले भारतीय कांग्रेसकी हेभिवेट नेतृ तथा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी पत्नी सोनिया गान्धीको पहिलो प्रेमबारेमा चर्चा गरे ।

    उनका पहिला भनिएका प्रेमी फ्राङ्को लुइसन भएको भन्दै यो पुरानो मुद्दालाई फेरि सतहमा ल्याएका छन् ।

    कसरी बाहिरियो सोनिया गान्धीको पहिलो प्रेमको कथा ?

    सोनिया गान्धीको प्रेमकथाको सुरुवात सन २००४ बाट हुन्छ । भारतमा कांग्रेसको सरकार र मनमोहन सिंह प्रधानमन्त्री भएको समयमा यो विवाद आएको थियो ।

    विवाद सोनियाका प्रथम प्रेमी भनिएका युवाबाटै सार्वजनिक भएको हो । उनले जेन्टे नाम गरेको एक म्यागेजिनमा दिएको अन्तरवार्तामा यो कुरा खुलाएका थिए ।

    प्रेमी फ्राङको लुइसनले आफ्नो प्रेम सोनियासँग चार वर्ष भएको बताएका छन् । त्यो बेला सोनियाको नाम एन्तोनिया माइनो रहेको उनले खुलाएका छन् ।

    सोनिया इटालीमा हुन्जेल प्रेम भएको तर बेलायत पढ्न गएपछि भने उनी क्रमशः राजीव गान्धीसँग प्रेममा परेर भारत भ्रमण गएर इन्दिरा गान्धी भेटेको । र, आएर पछि विवाहसम्म पुगेको लुइसले खुलाएका छन् ।

    साथै, उनले आफू र सोनियाको तस्बिर पनि खेन्ते म्यागेजिनलाई दिएका छन् । सोनिया किशोर हुँदा प्रेम भएको उनले बताएका छन् ।

    सोनियासँग प्रेम भएको भन्ने लुइसन भिजेन्जाबाट गोलकिपर थिए । सोनियालाई भने फुटबल मन नपर्ने उनले खुलाएका छन् ।

  • कमला ह्यारिसलाई कम्युनिष्ट करार गर्ने ट्रम्प र एलन मक्सको प्रयास, बारम्बार भन्दैछन्- कमरेड कमला

    कमला ह्यारिसलाई कम्युनिष्ट करार गर्ने ट्रम्प र एलन मक्सको प्रयास, बारम्बार भन्दैछन्- कमरेड कमला

    काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा अभूतपूर्व रुपमा कम्युनिष्टको चर्चा भएको छ । यो चर्चा सुरु गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनको चर्चा अमेरिकाले नाकाबन्दी लाएका क्युवा रउत्तर कोरिया जस्ता कम्युनिष्ट देश तथा व्यापार युद्ध सुरु गरेको कम्युनिष्ट देश चीनको कारण भएको होइन ।

    उनले कम्युनिष्ट भनेर चर्चा गरेका पात्र हुन् राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिस । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमलालाई ट्रम्पले पछिल्लो समयमा कम्युनिष्ट भन्दै आएका छन् । शनिबारको एक राजनीतिक समारोहमा ट्रम्पले कमला ह्यारिसलाई ‘कमरेड कमला’को उपमा दिएर । र, भने, ‘हिजोको उनको मन्तव्यमा कमला पूर्ण कम्युनिष्ट भइन् । तपाइँले त्यो सुन्नु भयो? उनी पूर्ण कम्युनिष्ट भइन् ।’

    कमरेड कमलाको बारेमा सामाजिक संजालमा कमलाको सम्बोधन गरेको तस्बिर अगाडि भिड र अनि हँसिया हथौडा भएको फोटो राखेर ट्रम्पले कमलाको खिल्ली उडाएका छन् । आफ्नै स्वामित्व भएको सामाजिक संजाल ट्रूथ सोसल देखि फेसबुक तथा एक्समा उनले यस्तो भनिरहेका छन् ।

    यसबारेमा अमेरिकी मिडियाहरुमा पनि समाचार आएका छन् । परम्परागत शक्ति पक्षधर फक्सदेखि डेमोक्रेटिक दलसँग नरम हुने सीएनएनसम्म यस्ता खबर आएका छन् । सीएनएनले कमलालाई कम्युनिष्ट भन्दा मतदातामा के प्रभाव पर्छ भन्नेबारेमा बसह गरेको छ भने फक्सले कमलालाई ट्रम्पले कम्युनिष्ट भनेको भनेर चर्चा गरेका छन् ।

    किन कमरेड कमला भन्दै कम्युनिष्ट कुरा जोड्दैछन् ट्रम्प ?

    कमलाले आफ्नो राजनीतिक भाषणमा खानेकुराको दाम तोक्ने बताएकी थिइन् । धेरै सित्तैमा दिने कुराहरुको सूची बनाएकि थिइन् । यो कुरा वितरणमुखी भएको, कम्युनिष्टमुखी भएको र सोभियत संघ शैलिको भएको भन्दै ट्रम्पले कमरेड कमला भनेका हुन् । उनले यस्तो गर्दा खाने कुराको दाम बढ्ने, पचास प्रतिशतसम्म पुग्ने तर्क गरेका छन् ।

    यस्तै कमलाले पहिलोपटक घर किन्नेहरुलाई सहुलियत दिने देखि पहिलो सन्तान भएकाहरुलाई ६ हजार डलरसम्मको कर क्रेडिट दिने जस्ता योजना ल्याएको फक्स न्यूजले लेखेको छ । यि कुरालाई ट्रम्पले कम्युनिष्ट भन्दै आलोचना गरेका छन् । दाम तोक्ने काम विश्वका अरु देशहरुमा असफल भइसकेको भन्दै कमलाको ट्रम्पले आलोचना गरेका हुन् ।

    अरु देशको कुर गर्दै उनले सोभियत संघको नाम जोडेका छन् । उनले भेनेजवेलाका राष्ट्रपति निकोलस मदुरोको जस्तो योजनाहरु ल्याएको भन्दै कमलाको आलोचना गरेका छन् । कमला कम्युनिष्ट र सोसिअलिस्ट भन्दै उनले अमेरिकी अर्थतन्त्र सखाप पार्ने आरोप ट्रम्पले लाएका छन् ।

    सीएनएनले ट्रम्पले कमलालाई कमरेड भन्दा मतदातामा कस्तो प्रभाव होला भनेर मतदान विज्ञ फ्राङ्क लुचलाई सोधेका छन् । जवाफमा लुजले भनेका छन्, ‘अमेरिकी जनताले वैचारिक कुरा होइन दैनिक कुरामा ध्यान दिनेछन् । खाद्यान्न, इन्धन र घरको मुल्य बढेकोमा उनीहरु चिन्तित छन् ।’

    यसअघि एलन मस्कले कमला ह्यारिसलाई कम्युनिस्ट भन्दै उनी निर्वाचित भएमा समाजवादी मोडेलको अमेरिका बनाउने दावी गरेका थिए । उनी सोभियत विचारबाट ग्रसित भएको आरोप समेत थियो ।

  • चिकित्सकको हत्यापछि सुरक्षा माग गर्दै भारतभर विरोध प्रदर्शन

    चिकित्सकको हत्यापछि सुरक्षा माग गर्दै भारतभर विरोध प्रदर्शन

    काठमाडौं । कार्यस्थलमा राम्रो सुरक्षाको माग गर्दै राजधानी नयाँ दिल्लीलगायत भारतभरका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।

    गत हप्ता कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा ३१ वर्षीया डाक्टरको बलात्कार र हत्यापछि प्रदर्शन सुरु भएको थियो ।

    यस घटनाले स्वास्थ्य सेवा पेशेवरहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको चिकित्सकहरुको भनाइ छ । आन्दोलनकारीहरूले सरकारलाई चिकित्सा कर्मचारीहरूको सुरक्षा र सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्न कडा कदमहरू लागू गर्न आग्रह गरेका छन् ।

  • थाई नरेशद्वारा पेन्टोगटार्न सिनावात्रालाई औपचारिक रूपमा प्रधानमन्त्रीमा अनुमोदन

    थाई नरेशद्वारा पेन्टोगटार्न सिनावात्रालाई औपचारिक रूपमा प्रधानमन्त्रीमा अनुमोदन

    थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गरेका छन् ।

    सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उनका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।

    राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछिन् । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।

    अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोगटार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।

    संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएकी हुन् । उङ इङ उपनामले प्रसिद्ध पेन्टोगटार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य हुन् ।

    संसद्ले २७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।

  • मेडिकल हड्ताल गर्दै किन सडकमा उत्रिए भारतीय डाक्टरहरू ? पाँच प्रश्नोत्तर

    मेडिकल हड्ताल गर्दै किन सडकमा उत्रिए भारतीय डाक्टरहरू ? पाँच प्रश्नोत्तर

    काठमाडौं । अहिले भारत विश्वभर हेडलाइन बनिरहेको छ । त्यो हेडलाइन बन्नुमा प्रदर्शनहरूबाट देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत शरण भएर होइन । भारतमा निरन्तर डाक्टरहरूको प्रदर्शन भएर हो ।

    कोलकाताबाट सुरु भएको प्रदर्शनले अहिले देशव्यापी तथा विश्वव्यापी भारतको कमजोर डाक्टरी सुरक्षा प्रणालीको चर्चा र चिन्ता बढाएको छ । किन भारतमा भइरहेछ डाक्टरको प्रदर्शन भन्ने बारेमा यहाँ पाँच प्रश्नोत्तरमा चर्चा गरिएको छ ।

    १. भारतमा डाक्टरहरु किन सडक आन्दोलनमा उत्रिएका हुन् ?

    यसको कारण गम्भीर छ, जटिल छ, अमानवीय छ । भएको के हो भने आठ दिन अगाडि अगस्त ९ मा एक प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न लास फेला पर्‍यो । ३६ घण्टाको सिफ्टमा काम गरेर सेमिनार हलमा सुतेकी थिइन् ती डाक्टर । ३१ वर्षकी ती डाक्टरको लास अन्त कतै नभएर भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाताको आरजेकर नामक सरकारी शिक्षण अस्पतालमै फेला परेको थियो । बलात्कारपछि क्रूर तरिकाले हत्या गरिएको पछि खुलेको थियो । यसले भारतीय सबै डाक्टरलाई आक्रोशित र चिन्तित एकैसाथ बनायो र उनीहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

    २) अस्पताल र सरकारसँग किन थप आक्रोशित भए डाक्टरहरू ?

    लास भेटिएसँगै सुरुमा घटनाको कारण सोधे परिवारले । अस्पतालले आत्महत्या भएको जानकारी दियो, तर बुझ्दै जाँदा बलात्कारपछि हत्या भएको खुल्यो । त्यसपछि डाक्टरहरूमात्रै नभएर सर्वसाधारणसमेत आक्रोशित भए । त्यसले आन्दोलनको रुप लियो । अस्पतालले परिवारलाई आत्महत्या भएको जानकारी दिएको कुरा महिला अधिकारकर्मी तथा अधिवक्ता ब्रिन्दा ग्रोवरले कतारी विश्व च्यानल अलजजिरालाई बताएकी छन् ।

    कुरा यत्तिमै सकिन्न । पछिल्ल्लो समयमा डाक्टरहरूको हत्या भारतमा बढेको छ । उदाहरणको लागि सन् २०२३ मेमा केरेलामा एक हाउस सर्जन २३ वर्षका डाक्टरको पनि हत्या भएको भारतीय अखबार स्टेट्समेनले उल्लेख गरेको छ । तारन्तार डाक्टरमाथि हुने हिंसा तथा हत्याका कुराले सबैलाई आन्दोलित बनाएको देखिएको छ । भारतको इन्डियन मेडिकल एसोसियसनले गरेको एक अध्ययनले भारतका ७५ प्रतिशत डाक्टरले आफ्नो कार्यक्षेत्रमा कुनै न कुनै खालको हिंसा सहनुपर्ने तथ्यसमेत सार्वजनिक गरेको देखिन्छ ।

    भारतका २८ राज्य तथा ८ संघ प्रशासित क्षेत्र छन् । जसमा २५ राज्यमा मात्रै डाक्टरलाई हुने हिंसाविरुद्ध कानून भएको बताइएको छ । यी र यस्ता कुराले आन्दोलनलाई झन तथ्यगत बल पुगेको छ । आज शनिबार त बिहान ६ बजेबाटै भारत देशभर मेडिकल हड्ताल भएको छ । आइतबार बिहान ६ बजेसम्म २४ घण्टा हड्ताल हुने कार्यक्रम छ । मेडिकल सेवाहरू भारतमा बन्द भएका छन् । आपतकालीन सेवा भने बन्द भएका छैनन् ।

    ३) कहाँ कहाँ भइरहेछन् डाक्टरका प्रदर्शन ?

    अहिले भारतभर प्रदर्शन भइरहेका छन् । कोलकाता केन्द्र रहेर भएको प्रदर्शन भारतका गोआ, प्रयागराज, चण्डीगड, पटना, लखनउलगायतका क्षेत्रमा विस्तारित भएको छ । यही अगस्त १५ को दिन नयाँदिल्लीमा सरकारले स्वतन्त्रता दिवस मनाइरहँदा महिला अधिकारकर्मीहरूले भने प्रदर्शन गरेका थिए ।

    ४) के के हुन् डाक्टरका मुख्य माग ?

    इण्डियन मेडिकल एसोसियसनले पाँच माग राखेर आन्दोलन गरिरहेको छ । शुक्रबार एसोसियसनका महासचिव डाक्टर अनिलकुमार जे. नायक तथा राष्ट्रिय सभापति आर.भी. अशोकानले हस्ताक्षर गरेको मागपत्रमा राखिएका पाँच माग यस्ता छन्ः

    • नीतिगत तहमा डाक्टरमाथि हुने हिंसामा बेवास्ता हुन बन्द हुनुपर्‍यो । महामारी रोग ऐन १८९७ को सन् २०२३ को संशोधन हुनुपर्‍यो ।
    • अस्पतालको सुरक्षा प्रोटोकल विमानस्थल तहकै हुनुपर्‍यो । सुरक्षा जाँच, सीसीटीभी निगरानी र उचित सुरक्षाकर्मीको व्यवस्था हुनुपर्‍यो ।
    • पीडितले ३६ घण्टे ड्युटी सिफ्ट गरेकाले डाक्टरलाई आरामको लागि उचित समय तथा स्थान हुनुपर्छ । आवासीय डाक्टरहरुलाई काम गर्ने तथा बाँच्ने अवस्थामा सुधार हुनुपर्‍यो ।
    • निश्चित समयसीमामा अपराधको व्यवसायिक अनुसन्धान गरेर गुण्डाहरुलाई उदाहरणीय सजाय हुनुपर्‍यो ।
    • क्रूर यातनाका पीडित परिवारलाई उचित र सम्मानयोग्य क्षतिपूर्ति दिनुपर्‍यो ।

    ५) डाक्टरहरुका मागमा प्रहरी, पार्टी, राज्य तथा संघ सरकारले के गरिरहेका छन् ?

    डाक्टरहरुको प्रदर्शनकाे समर्थनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी पनि उत्रिएकी छन् । उनले आफ्नो दल तृणमुल कंग्रेसका महिला सांसदहरुको साथमा लागेर हत्यारालाई मृत्युदण्ड दिनुपर्ने नारा लगाएकी छन् । भारतीय च्यानल एनडीटीभीका अनुसार ममताले मात्रै होइन बीजेपीको पश्चिम बंगालको महिला संगठनले पनि आन्दोलन गरेको छ ।

    उनीहरु प्रदर्शनमा उत्रिएका छन् । भारतीय कम्युनिष्ट पार्टीले भने धिक्कार दिवस मनाउँदै राज्यका गृहमन्त्री तथा स्वास्थ्यमन्त्रीको राजीनामा मागेको छ । प्रहरीले घटनाका मुख्य दोषी पक्राउ गरेको जानकारी दिएको छैन । भारतीय मिडियाहरुका अनुसार अस्पताल तोडफोड गर्ने १९ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

    उच्च अदालतले राज्यको संयन्त्र कमजोर भएको भन्दै आलोचना गरेको भारतीय अखबार दि हिन्दूले लेखेको छ । कोलकाता प्रहरीले अनुसन्धानको जिम्मा भारतको सीबीआईलाई दिएको छ । मुख्यमन्त्री ममता बेनर्जीले कोलकाता प्रहरीले ९० प्रतिशत काम सकेर सीबीआईलाई जिम्मेवारी दिएको भनेकी छन् ।

  • अमेरिकी सहायक विदेशमन्त्री आज काठमाडौं आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री आज काठमाडौं आउँदै

    काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड आर. वर्मा आज नेपाल आउँदै छन् । नेपाल र भारतको एक साता लामो भ्रमणका क्रममा उनी आज काठमाडौं ओर्लिने छन् ।

    अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार वर्मा आज नेपाल आएर भोलि भारत जानेछन् । नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्चस्तरीय भेटवार्तासँगै विकासे साझेदार, चिया विज्ञ तथा व्यापारिक व्यवसायी नेतृत्वसँग भेटघात गर्ने बताइएको छ ।

    रिचर्ड आर. वर्माले केही समयअघि नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख डलर बजेट दिएकोबारे अमेरिकी सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए । फ्लोरिडा प्रतिनिधित्व गर्ने सांसद ब्रीआन म्यास्टले सोधेको प्रश्नमा वर्माले जवाफ फर्काएका हुन् । यो विषयमा नेपालको सदनमा पनि कुरा उठ्यो । राप्रपाले पनि यसको खरो विरोध गरेको थियो ।

    अमेरिकी दूतावासले धार्मिक अनास्था फैलाउन बजेट नदिएको तर धार्मिक अल्पसंख्यकलाई साथ हुने विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेको थियो ।

  • अमेरिका, रुस तथा जापानसहितका सात देशका बंगालदेशी राजदूत तथा उच्चायुक्त फिर्ता

    अमेरिका, रुस तथा जापानसहितका सात देशका बंगालदेशी राजदूत तथा उच्चायुक्त फिर्ता

    काठमाडौं । बंगलादेशमा नयाँ सरकार आएसँगै राजदूतहरूको फिर्ता सुरु भएको छ । बंगलादेशी अखबार प्रोथम आलोका अनुसार छ देशका बंगलादेशी राजदूतहरू फिर्ता हुने भएका छन् ।

    फिर्ता हुने देश तथा राजदूतहरूमा अमेरिकाका महोमद इमरान, रुसका कामरुल असन, जापानका शाहाबुदिन अहमद, संयुक्त अरब इमिरेट्सका महमद अबु जफर, जर्मनीका मुसरफ हुसेन भुइयान, साउदी अरेबियाका महमद जाभेद पटवरी रहेका छन् ।

    यस्तै माल्दिभ्समा रहेका बङ्गलादेशका उच्चायुक्त पनि फिर्ता भएको प्रोथम आलोले जानकारी दिएको छ । गत साउन २१ मा जबरजस्त सत्ता छोडेर भारत शरण लिन बाध्य भएकी हसिना सत्ता पल्टेपछि बंगालादेशमा अस्थिरता तथा हिंसा सुरु भएको हो ।

    खास गरी अल्पसङ्ख्यक तथा हसिनाको दल अवामी लिगका नेता तथा कार्यकर्ताहरुमाथि हिंसा बढेको छ ।

    कतिसम्म भने बिहीबार बङ्गलादेशका राष्ट्रपति बङ्गबन्दु शेख मुजिबर रहमानको स्मृति दिवस मनाउन पुगेकाहरूलाई पनि कुटपिट गरेर सम्मान प्रकट गर्न रोकिएको थियो ।

    यसमा शेख हसिनाका छोरा सजिव वाजेद रोयले सार्वजनिक रुपमा आपत्ति जनाएका छन् । उनी हाल आइटी विज्ञको रुपमा अमेरिकामा काम गरिरहेका छन् ।

  • केन्यामा आयो मूर्ति विवाद : पदक विजेता खेलाडीको कुरूप मूर्ति बनाउनेलाई जेल हाल्न माग

    केन्यामा आयो मूर्ति विवाद : पदक विजेता खेलाडीको कुरूप मूर्ति बनाउनेलाई जेल हाल्न माग

    काठमाडौं । केहि वर्ष अगाडी नेपालका पर्यटकीय क्षेत्रहरूमा बनाइएका मूर्तिहरू कुरूप भएको तथा मूर्तिको कला पनि नभएको भन्दै व्यापक आलोचना भएको थियो ।

    अहिले यस्तै आलोचना अफ्रिकी देश केन्यामा भएको छ । भएको के हो भने केन्या हालसालै सकिएको पेरिस ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने अफ्रिकी देश बन्यो ।

    चार स्वर्ण, दुई रजत र पाँच कांस्य जितेर केन्याले ११ पदक हात पार्‍यो । यो पदक तालिकामा १७ औँ स्थान हो भने अफ्रिकामा सबैभन्दा धेरै ।

    त्यसकै सम्मानमा पदकधारी खेलाडीहरूको मूर्ति बनाउने कुरा गर्‍यो केन्याको एल्डोरेटको स्थानीय सरकारले । केन्याकी चर्चित खेलाडी फेथ किपयिगोन र इलिउड किपचोजको मूर्ति बनाउने निर्णय भयो ।

    मूर्ति बनाइयो पनि । तर, उनको मूर्ति उनलाई नै बेइज्जत गर्ने खालको कुरूप भयो । सामाजिक सञ्जालमा व्यापक आलोचना भयो । र, बिहीबार मूर्तिहरू हटाइयो ।

    एक जनाले मूर्तिबारेमा आलोचना गर्दै मूर्ति बनाउनेलाई खेलाडीको अपमान भएको भन्दै जेल हाल्न आग्रहसमेत गरेको बीबीसीले उल्लेख गरेको छ ।

  • महिन्दा राजापाक्षेका छोरा बने श्रीलंकाको राष्ट्रपति उम्मेदवार- यस्तो छ तीन पुस्ते सत्ता यात्रा

    महिन्दा राजापाक्षेका छोरा बने श्रीलंकाको राष्ट्रपति उम्मेदवार- यस्तो छ तीन पुस्ते सत्ता यात्रा

    काठमाडौँ । श्रीलंकामा अगामी सेप्टेम्बर २१ मा राष्ट्रपतिय चुनाव हुँदैछ । चुनावमा आज बिहीबार अन्तिम उमेद्वारको नामावादी सार्वजनिक भएको छ । ३९ जनाको नामावाली स्विकार भएको श्रीलंकाको निर्वाचन आयोगले आज सार्वजनिक गरेको छ ।

    सन २०१९ मा भएको चुनावमा भन्दा पाँच जना धेरै उमेद्वारले यो चुनावमा भाग लिएका छन् । राष्ट्रपतिय चुनावमा वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगे तथा पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा लक्ष्मण नमल राजापाक्षेको उमेद्वारी भने धेरै चर्चामा छ । पूर्वराष्ट्रपति पिताका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भतिजा लक्ष्मणको उमेद्वारीले विश्वभर हेडलाइन बनाएको छ ।

    खासगरी भारतीय तथा पश्चिमा मिडियाहरुमा उनको बारेमा चर्चा बढेको छ । पिता प्रधानमन्त्री तथा काका राष्ट्रपति भएको समयमा लक्ष्मण युवा तथा खेलकुदमन्त्री भएका थिए । अहिले पनि उनी सांसद छन् । श्रीलंका तथा बेलायतमा गएर कानुन पढेका उनी अभिवक्ता पनि हुन् । ३८ वर्षका लक्ष्मण नमल राजापाक्षेत्रको उमेद्वारीमा धेरै चासो र सरोकार धेरैको छ ।

    लक्ष्मणको तीन पुस्ते सत्तामा बसेको अनुभव छ । उनी सांसद तथा मन्त्री भएका छन् । उनका पिता राष्ट्रपति तथा प्रधानमन्त्री भए । उनका काका पनि राष्ट्रपति भए । उनका हजुरबा दोन आल्बिन राजापाक्षे पनि सांसद तथा मन्त्री भएका थिए । उनी विजयानन्द दायानायके प्रधानमन्त्री भएको समयमा सन १९५९ देखि सन १९६० सम्म कृषि तथा भूमिमन्त्री भएका थिए । मन्त्री हजुरबा, प्रधानमन्त्री तथा राष्ट्रपति पिता भएको परिवारका सदस्य लक्ष्मण नमल राजापाक्षे अहिले पुनः राष्ट्रपतिमा उमेद्वार भएका छन् । राजापाक्षे परिवार जोडिएको दल एसएलपीपीबाट उनी आधिकारिक उमेद्वार भएको अगस्ट ६ मा सार्वजनिक गरिएको थियो ।

    राष्ट्रपतिय उमेद्वार भएपछि पहिलो प्रतिकृया सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मैले निर्वाचिन आयोग समक्ष सन २०२४ को राष्ट्रपतिय चुनावको लागि मनोनयन सार्वजनिक गरेको छु । लोकतान्त्रिक तथा निपक्ष चुनावमा हाम्रो विश्वास अनुरुप हामीमा चुनाव सामना गर्ने शक्ति छ । चुनौतीको लागि चुनौती बन्न तयार ।’

  • २० वर्ष लगाएर भारतले जम्मुमा बनायो आइफिल टावर भन्दा ३५ मिटर अग्लो रेल वे पुल

    २० वर्ष लगाएर भारतले जम्मुमा बनायो आइफिल टावर भन्दा ३५ मिटर अग्लो रेल वे पुल

    काठमाडौं । भारतले २० वर्ष लगाएर जम्मु क्षेत्रमा एक अग्लो पुल बनाएको छ ।

    फ्रान्सको राजधानी पेरिसमा भएको आइफिल टावर भन्दा ३५ मिटर अग्लो रेल वे पुल विश्वको सबैभन्दा अग्लो सिंगल आर्क रेल वे पुल भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    जम्मुको चेनव नदिमाथि बनेको पुल रेइसी जिल्लामा भएको बताइएको छ । २७२ किलोमिटर लामो जम्मु क्षेत्रको बाह्रमासे रेल वे अन्तर्गत यो पुल बनेको बताइएको छ ।

    कास्मिर जान हालसम्म मौसमले तनाव दिने सडक मात्रै भएकोमा भारतले यस्ता पुल बनाएर रेल वेबाट जोड्ने क्रममा सक्रियता जनाएको छ ।

    भारतको पाकिस्तान तथा चीनसँग जोडिएको कास्मिरको तनावग्रस्त सीमा क्षेत्रको पुलले भारतलाई रणनीतिक फाइदा दिने बताएको बीबीसीले उल्लेख गरेको छ । यो पुलले २६६ किलोमिटर प्रतिघण्टाको दरको गतिको रेललाई धान्न सक्ने बताइएको छ ।

  • उत्तर कोरियाले खोल्यो पर्यटन, कसरी र कहिले जाने ?

    उत्तर कोरियाले खोल्यो पर्यटन, कसरी र कहिले जाने ?

    काठमाडौं । बन्द समाज तथा राजनीतिक व्यवस्था भएको मुलुक उत्तर कोरियाले पर्यटन खुला गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार पाँच वर्षपछि उत्तर कोरियाले पर्यटन क्षेत्र खुला गरेको हो । कोभिड–१९ विश्वव्यापी आएपछि बन्द भएको पर्यटन क्षेत्र खुला गरिएको हो ।

    आगामी डिसेम्बर अर्थात चार महिनापछि उत्तर कोरिया जाने पर्यटन प्याकेज खुला हुनेछन् । विभिन्न टुर अपरेटरहरुले यो कुरा खुला गरेका हुन् । चीनमा मुख्यालय भएका पर्यटन एजेन्सीका अनुसार उत्तर कोरियाको उत्तरी क्षेत्रको पर्यटकीय केन्द्र साम्जियोनमा पर्यटकहरु जान पाउनेछन् ।

    उत्तर कोरियामा पर्यटकहरु लान चिनिएका एजेन्सीहरु केटीजी र कोर्यो टुर्सले यस्तो घोषणा गरेको सीएनबीसीले उल्लेख गरेको छ । सीएनबीसीका अनुसार सन २०१९ मा उत्तर कोरियामा साढे तीन लाख पर्यटकहरु पुगेका थिए ।

    विमानस्थल, होटल तथा स्कि रिसोर्टले भरिभराउ उत्तर कोरियाको उत्तरी क्षेत्र साम्जिायोनलाई विकास गर्ने योजनामा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उननै सक्रिय छन् । उनले गत जुलाईमा यसको विकास गर्ने कुरा सार्वजनिक गरेका थिए ।

    किमले मित्रवत देशहरुका पर्यटकहरु ल्याएर अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने उद्घोष गरेका थिए । उत्तर कोरिया जान डिसेम्बर सिजनको लागि उत्तर कोरियाली यात्रा गराउने एजेन्सीहरुबाट अग्रिम बुक गरेर जान सकिने बताइएको छ । त्यसरी जान पाउनेहरुमा भने उत्तर कोरियाले मित्रवत देश मानेकाहरुबाट मात्रै जान पाउनेछन् ।

    नेपाल उत्तर कोरियाले मित्रवत मानेकै देश हो । तर, उत्तर कोरियाको दूतावास भने नेपालमा छैन । गत वर्ष उत्तर कोरियाले नेपाल लगायत विभिन्न देशहरुका दूतावास कटौती गरेको थियो । नेपालीले उत्तर कोरियाली जाने भिसा लिन कि बेइजिङ कि दिल्ली जानुपर्ने हुन्छ ।

     

  • सामान डेलिभरी गर्ने युवालाई गार्डले घुँडा टेकाएपछि चीनमा व्यापक विरोध

    सामान डेलिभरी गर्ने युवालाई गार्डले घुँडा टेकाएपछि चीनमा व्यापक विरोध

    काठमाडौं । अनलाइन सामान डेलिभरी गर्ने एक युवालाई सुरक्षा गार्डले घुँडा टेकाएपछि चीनमा व्यापक विरोध भएको छ । बेलायती च्यानल बीबीसीका अनुसार घुँडा केटाएको विरोधमा दर्जनौं राइडरहरुले प्रदर्शन गरेपछि यो समाचार धेरै फैलिएको हो ।

    गत सोमबार चीनको सांघाइ नजिकैको तटीय राज्य चचिआङको राजधानी हाङचाओमा घटेको यो घटना सोमबारको हो । भित्र छिर्न नदिएपछि डेलिभरी गर्ने युवाले याचना गरेका थिए । सयममै छिर्न नदिँदाखेरि खराब प्रतिक्रिया दिने भन्दै उनले याचना गरेका थिए ।

    तर, गार्डले दिएका थिएनन् । बीबीसीका अनुसार चीनमा १ करोड २० लाखले डेलिभरीमा काम गर्छन् । कोभिड पछि यो व्यापारको फैलावट बढेको बताइएको छ । सामाजिक संजालमा यो भिडिओ फैलिएपछि अनलाइनमा विरोध पनि बढेको छ ।

  • अष्ट्रेलियामा बेरोजगारी बढ्यो

    अष्ट्रेलियामा बेरोजगारी बढ्यो

    काठमाडौं । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

    ‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो ।

    ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ ।

    एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।

    सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७।१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।

    यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

    उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसङ्ख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको सङ्ख्या धेरै भएको जनाउँछ ।

  • बंगलादेशका राष्ट्रपति रहमानको स्मृति दिवस मनाउन बलपूर्वक रोक्दै विद्यार्थी

    बंगलादेशका राष्ट्रपति रहमानको स्मृति दिवस मनाउन बलपूर्वक रोक्दै विद्यार्थी

    काठमाडौं । सन १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र बंगलादेश बनाउने नेतृत्वकर्ता बङगबन्दु शेख मुजिबर रहमानको स्मृति दिवस हो ।

    न १९७५ अगस्ट १५ मा बङ्गलादेशी सेनाबाट हत्या गरिएका रहमानको ४९ औँ स्मृति दिवस मनाउन रहमानको आवास क्षेत्र धनबन्दु ३२ मा जान लागेका सर्वसाधारणहरूलाई हातमा लाठी लिएका विद्यार्थीहरूले रोकेका छन् ।

    उनीहरूले रहमानलाई सम्मान गर्न निषेध गरेका छन् । बङ्गलादेशी अखबार डेली स्टारका अनुसार रहमानको घरतर्फ जानेहरूलाई आक्रमण गरिएको पनि देखिएको छ ।

    आइडी कार्ड जाँच गर्दै धमाधम मान्छेहरू रोकिएको र शंका लागेकाहरूलाई आक्रमण गरिएको बताइएको छ ।

    एक जना अवामी लिगका समर्थक भएका मान्छेलाई विद्यार्थीहरूले पक्राउ गरेर सेनालाई बुझाएको डेली स्टारले लेखेको छ ।

    गत साउन २१ मा प्रधानमन्त्री शेख हसिना बङ्गलादेश छोडेर भारत पुगेपछि बङ्गलादेशका राष्ट्रपिता रहमानका सालिकहरू ढाल्न थालिएका थिए ।

    कतिपय सालिकहरू सेनाले नै ढालेका भिडिओहरू पनि सार्वजनिक भएका थिए ।

  • बंगलादेशको प्रेस क्लबमा लुटपाट र कुटपिट, २० पत्रकार घाइते

    बंगलादेशको प्रेस क्लबमा लुटपाट र कुटपिट, २० पत्रकार घाइते

    काठमाडौं । बंगलादेशमा भएको हिंसा अब पत्रकारमा पनि सर्न थालेको छ । बंगलादेशको चित्तगोङ प्रेस क्लमा आक्रमण भएको छ । आक्रमणमा परेर २० पत्रकारहरु घाइते भएको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको छ ।

    घाइते हुनेहरुमा पत्रकारहरु निर्मल चन्द्र दाश, गोलान मोर्तुजा अली, हेलाल सिक्दर जस्ता वरिष्ठ पत्रकारहरु भएको समाचारमा बताइएको छ । प्रेस क्लब भएको चौँथो तलाको गोट तोडेर आक्रमणकारीहरु छिरेका र कुटपिट तथा लुटपाट भएको डेली स्टारले बताएको छ ।

    आक्रमण बुधबार साँझ भएको बताइएको छ । प्रेस क्लबका सभापति सलाउदिन रेजाले ४० जना हाराहारीको समुहमा आएकाहरुले प्रेस क्लबमा छिरेर आक्रमण गरेको बताएका छन् । सभापति रेजाले आक्रमण गर्नेहरुमा बीएनपी पार्टीका नेताका सहयोगी भएको बताइएको छ । आक्रमणको जानकारी पाएपछि बंगलादेशी सेनाले पत्रकारहरुको उद्धार गरेको बताइएको छ ।

  • बंगलादेशका छिमेकी तथा क्षेत्रीय देशहरुसँग छलफल गर्दै अमेरिका

    बंगलादेशका छिमेकी तथा क्षेत्रीय देशहरुसँग छलफल गर्दै अमेरिका

    काठमाडौँ । बंगलादेशमा भएको घटनाहरुको बारेमा अमेरिकाले भारत लगायतका बंगलादेशका छिमेकी देशहरुसँग छलफल सुरु गरेको छ । बंगलादेशी अखबार डेली स्टारले बंगलादेशका अरु छिमेकी तथा क्षेत्रीय देशहरुमा म्यानमार, चीन, नेपाल, भुटान आदि कुन कुन देशसँग अमेरिकाले छलफल गरेको हो भन्ने भने खुलाएको छैन ।

    अमेरिकाको स्टेट डिपार्टमेन्टका प्रिन्सिपल सहप्रवक्ता वेतान्द पटेलले यस्तो भनेका हुन् । उनले बुधबारको पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । बंगलादेशमा लोकतन्त्र बहाल गर्न अमेरिका प्रतिबद्ध भएको भन्दै पटेलले भनेका छन्, ‘बंगलादेशको शिर्षकमा यसबारेमा हामी भारतीय साथीहरु तथा त्यो क्षेत्रका अरु देशहरुसँग बंगलादेशमा भएका घटनाहरको बारेमा सम्पर्कमा छौँ ।’

  • नयाँ सर्वेक्षण- झन्डै ६० प्रतिशत बेलायती युरोपेलीसँग जोडिन चाहन्छन्

    नयाँ सर्वेक्षण- झन्डै ६० प्रतिशत बेलायती युरोपेलीसँग जोडिन चाहन्छन्

    काठमाडौं । एक ताजा सर्वेक्षणले बहुसङ्ख्यक बेलायतीहरू युरोपेलीसँग जोडिन चाहने देखाएको छ ।

    बेलायतभर गरिएको सर्वेक्षणले ५९५ ले युरोपेलीसँग जान चाहेको देखाएको छ ।

    युगभ पोलको सर्वेक्षणले यस्तो देखाएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    सन २०१६ जुन २३ मा भएको जनमत सङ्ग्रहमा ५१ प्रतिशत बढीले युरोपेली सङबाट बाहिरिने पक्षमा मतदान गरेका थिए । यो मतदान र त्यसपछिको प्रक्रियालाई ब्रेक्जिट भनिन्छ ।

  • बोत्स्वानाका स्वर्ण विजेतालाई आर्थिक सहयोग गर्न सरकारले अपिल गरेपछि नागरिक आक्रोशित

    बोत्स्वानाका स्वर्ण विजेतालाई आर्थिक सहयोग गर्न सरकारले अपिल गरेपछि नागरिक आक्रोशित

    काठमाडौं । अफ्रिकी देश बोत्स्वानामा ओलम्पिकबाट स्वर्ण पदक जित्ने खेलाडीलाई सहयोग गर्न सरकारले आग्रह गरेपछि नागरिक आक्रोशित भएका छन् ।

    सरकारले सहयोगको अपिल सोमबार गरेको बेलायती च्यानल बीबीसीले उल्लेख गरेको छ । लेत्सिले तेबोगो नामका धावक २०० मिटर दौडमा स्वर्ण ल्याएर देश मात्र होइन महादेशकै प्रथम खेलाडी भए ।

    आफूले तिरेको करबाटै आर्थिक सहयोग गर्न नागरिकले आग्रह गरेका छन् । कतिपयले भने मन्त्री तथा प्रधानमन्त्रीले आफ्नो तलब दिएर उदाहरण दिन आग्रह गरेको बीबीसीले लेखेको छ ।

  • बंगलादेशमा साउदी अरबले कामदारलाई दिन थाल्यो भिसा

    बंगलादेशमा साउदी अरबले कामदारलाई दिन थाल्यो भिसा

    काठमाडौं । बंगलादेशमा भएको आन्दोलनलगत्तै बन्द गरिएको भिसा सेवा साउदी अरबले बुधबारबाट पुनः सुरु गरेको छ । बंगलादेशी अखबार ढाका ट्रिब्युनका अनुसार बंगलादेशका लागि साउदी अरबका राजदूत इसा बिन युसुफ अल दुहाइलानले यो जानकारी सार्वजनिक गरेका हुन् ।

    बंगलादेशको अन्तरिम सरकारका विदेशमन्त्री महमद ताउहिन हुसेलाई भेट्दा उनले यस्तो जानकारी साझा गरेको अखबारले उल्लेख गरेको छ ।

    राजदूतले दैनिक औसतमा पाँच हजार भिसा दिन सुरु गरिएको जानकारी दिएका छन् । हालसालै भारतमा भएकी बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले साउदी अरबमा शरण लिने कुरा चुलिएको थियो, तर योबारेमा जानकारी लिन खोज्दा राजदूतले कुनै जानकारी नभएको तथा आफूले नसुनेको बताएको ढाका ट्रिब्युनले लेखेको छ ।

  • अपराधमा मुछिएकालाई मन्त्री बनाएको भन्दै थाइल्याण्डमा सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री बर्खास्त

    अपराधमा मुछिएकालाई मन्त्री बनाएको भन्दै थाइल्याण्डमा सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री बर्खास्त

    काठमाडौं । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो ।

    अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्रीमात्रै नभएर सबै मन्त्रीहरुको पद गएको तर अर्को सरकार बन्नु अगाडिसम्म कामचलाउ बन्न पाउने फैसला सर्वोच्च अदालतले बुधबार गरेको छ ।

    पदमुक्त भएका प्रधानमन्त्री स्रेता थाभिसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको पत्रकारसँग प्रतिक्रिया दिएका छन् । थाइल्याण्डमा प्रधानमन्त्रीको बर्खास्तीसँगै सेयर बजार ओरालो लागेको छ । ५.१० विन्दुको मंगलबारको सेयर बजार अदालतको फैसला पछि १७ विन्दुले झरेको बताइएको छ ।

  • विश्व मिडियाको हेडलाइन तोडमोड गरेर कमला ह्यारिसको गुगल विज्ञापन गरेको खुलासा

    विश्व मिडियाको हेडलाइन तोडमोड गरेर कमला ह्यारिसको गुगल विज्ञापन गरेको खुलासा

    काठमाडौं । अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावकी डेमोक्रेटिक दलकि उमेद्वार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले मिडियाहरुको हेडलाइन तोडमोड गरेर गुगुल विज्ञापन गरेको खुलासा भएको छ ।

    अमेरिकी मिडिया उक्जियसले यस्तो जानकारी सार्वजनिक भएको छ । विश्व भएका मिडियाहरुमा आएका समाचारको हेडलाइन तोडमोड गरेर विज्ञापन गरेको खुलासा भएको छ ।

    गार्डियन, रोयटर्स तथा सीबीएस न्यूज लगायतका समाचार आउटलेटहरुमा आएका हेडलाइनहरुलाई तोडमोड गरेर आफ्नो पक्षमा देखाउँदै गुगल विज्ञापन गरेको खुलेको छ । गुगलका अनुसार यस्तो प्रचलन पहिले पनि हुने भएता पनि यो पाली डोनाल्ड ट्रम्पले यस्ता विज्ञापन नगरेको जानकारी दिएको एक्जियसले लेखेको छ ।

  • बंगलादेशमा रोकिएन हिन्दूमाथिको हिंसाः ठाकुरगाउँको हिन्दू घरमा आगजनी

    बंगलादेशमा रोकिएन हिन्दूमाथिको हिंसाः ठाकुरगाउँको हिन्दू घरमा आगजनी

    काठमाडौँ । बंगलादेशमा हिन्दूहरुमाथि शेख हसिनाको बहिर्गनमसँगै बढेको हिंसा अझै रोकिएको छैन । बंगलादेशी अखबार डेली स्टारका अनुसार हालसालै ठाकुरगाउँमा हिन्दू घरमा आगजनी गरिएको छ ।

    यो घटना हिजो राती भएको बताइएको छ । बंगलादेशका हिन्दू कालेश्वर बर्मानको घरमा आगजनी गरिएको हो । राती साढे सात बजे यस्तो घटना भएको डेली स्टारले उल्लेख गरेको छ ।

    स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै डेली स्टारले अनुसन्धान भइरहेको तर अहिलेसम्म कोही पक्राउ नपरेको बताएको छ । मंगलबार राति भन्दा अगाडि पनि यस्ता घटनाहरु सोही क्षेत्रमा घटेको डेली स्टारले जानकारी दिएको छ ।

  • हसिनासहित आठ जनालाई मानवताविरुद्ध अपराध गरेको भन्दै मुद्धा दर्ता

    हसिनासहित आठ जनालाई मानवताविरुद्ध अपराध गरेको भन्दै मुद्धा दर्ता

    काठमाडौँ । गत साउन २१ मा अपदस्त भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र अरु आठ जनालाई अन्तर्राष्ट्रिय अदालतमा मानवता विरोधी अपराध गरेको भन्दै मुद्धा दर्ता भएको छ ।

    बंगलादेशी खबार डेली स्टारका अनुसार गत जुलाई १५ र अगस्ट ५ कोबीचमा भएका घटनालाई लिएर यस्तो मुद्धा दर्ता भएको हो । बंगलादेशी सर्वोच्च अदालतका वकिल गाजि महोमद तानिनले मुद्धा दर्ता गराएका हुन् । उनले कक्षा ९ मा पढ्ने विद्यार्थी आलिफ अहमद सिआमको परिवारको तर्फबाट मुद्धा दर्ता गराएका हुन् ।

    अगस्ट ५ मा सभार क्षेत्रमा गोली हानिएका कक्षा ९ का उनको दुई दिन पछि मृत्यु भएको थियो । मुद्धा परेका अरु आठ जनाहरुमा पूर्वमन्त्री, प्रहरी प्रमुख तथा शेख हसिनाको दल अवामी लिगका भात्री संगठनहरुका नेताहरु पनि भएको डेली स्टारले बताएको छ ।

  • ४२ हजार डलर लिएर चीनलाई सुरक्षा जानकारी बेचेको अमेरिकी सैनिकको स्वीकारोक्ति

    ४२ हजार डलर लिएर चीनलाई सुरक्षा जानकारी बेचेको अमेरिकी सैनिकको स्वीकारोक्ति

    काठमाडौं । चीनलाई देशको सुरक्षा जानकारी बेचेको एक अमेरिकी सैनिकले स्वीकार गरेका छन् ।

    बीबीसीका अनुसार गत मार्चमा पक्राउ परेका सैनिक कोर्बिन सुल्जले यस्तो स्वीकार गरेका हुन् ।

    आफूले सेनाको गोप्य जानकारी बेचेको उनले स्वीकार गरेको अमेरिकी न्याय विभागले सार्वजनिक गरेको छ ।

    उनले ४२ हजार अमेरिकी डलर लिएर सेनाका गोप्य जानकारी बेचेको खुलाएका छन् । सन २०२२ बाट यो काम आफूले नियमित गरेको उनले स्वीकार गरेका छन् ।

    आफूले जानकारी हङकङका व्यक्तिलाई बेचेको उनले बताएका छन् । सेक्युरिटी क्लियरेन्समा काम गर्ने भएकोले उनीसँग उच्च तहको गोप्य सैन्य जानकारीमा पहुँच हुने बताइएको छ ।