Category: विश्व प्रेस

  • युट्यूव हेर्दै पित्तथैलीको शल्यक्रिया- १५ वर्षीय किशोरको मृत्‍यु

    युट्यूव हेर्दै पित्तथैलीको शल्यक्रिया- १५ वर्षीय किशोरको मृत्‍यु

    काठमाडौं । छिमेकी मुलुक भारतको विहारस्थित सारण जिल्लामा डाक्टर बनेर युट्युव हेर्दै शल्यक्रिया गर्दा १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।

    भारतीय सञ्चारमाध्यम इण्डिया टुडेका अनुसार नक्कली डाक्टरले युट्यूव हेर्दै पित्तथैलीको ढुंगा निकाल्ने शल्यक्रियाको प्रयास गरेका थिए । समाचारअनुसार किशोरलाई बान्ता र पेट दुख्ने समस्या देखिएपछि परिवारले कथित डाक्टर अजितकुमार पुरीको क्लिनिकमा लगेका थिए ।

    परिवारका सदस्यका अनुसार पुरीले उनीहरूको जानकारी तथा सहमतिविना किशोरीको शल्यक्रिया सुरू गरेका थिए । उनले मोबाइलमा युट्यूव भिडिओ हेरेर शल्यक्रिया गरेको परिवारको आरोप छ । शल्यक्रिया सुरू भएलगत्तै किशोरको अवस्था थप बिग्रिएको परिवारले विरोध जनाउँदा पुरीले ‘म डाक्टर हुँ कि तपाईँहरू ? झपारेका थिए ।

    किशोरको अवस्था बिग्रिँदै गएपछि पुरीले उनलाई पटनास्थित अस्पतालमा लैजान लागेका थिए । सोहीक्रममा किशोरको बाटोमै मृत्‍यु भएको हो । किशोरको मृत्‍यु भएलगत्तै पुरी फरार छन् ।

    घटनापश्चात पुरीमाथि लापरवाही र दुर्व्यवहार आरोप परिवारले प्रहरीमा उजुरीसमेत दिएको र प्रहरीले पुरी अयोग्य र अनुभवहीन भएकाले किशोरको ज्यान गएको निष्कर्ष निकाल्दै नक्कली डाक्टरको खोजी गरिरहेको बताइएको छ ।

  • श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ?

    श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ?

    काठमाडौं । श्रीलंकामा सेप्टेम्बर २१ अर्थात् असोज ५ गते चुनाव हुँदैछ । गत साउन ३१ गते राष्ट्रपतीय उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको थियो । जसमा चर्चित अनुहार थिए- वर्तमान राष्ट्रपति ७५ वर्षका रनिल विक्रमासिंगे, पूर्वराष्ट्रपति रनसिंगे प्रेमदसाका छोरा ५७ वर्षका सजिथ प्रेमदसा तथा पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महेन्दा राजापाक्षेका छोरा ३८ वर्षका लक्ष्मण नमल राजापाक्षे चर्चित अनुहार थिए । अहिले नयाँ अनुहारको चर्चा हुन थालेको छ । ती अनुहार हुन् अनुरा कुमारा दिसानायके ।

    ५५ वर्षका उम्मेदवार उनको चर्चा हुनुको कारण उनी अस्वाभाविकरूपमा लोकप्रिय बन्नुमा मात्रै होइन् । उनी वामपन्थी हुनुमा पनि हो । को हुन् त अनुरा कुमारा दिसानायके ? कस्तो छ उनको राजनीतिक चर्चा ? यो सामग्रीमा त्यो कुराको चर्चा गरिएको छ ।

    मत सर्वेक्षणमा अग्रणी बन्दै अनुरा कुमारा

    अनुरा कुमार दिसानायके पछिल्लो समयमा युवाहरूमा चर्चित छन् । उनको सर्वेक्षणको ग्राफ उक्लँदो छ । केही समय अगाडि श्रीलंका ओपिनियर ट्र्याकर सर्वेले गरेको एक सर्वेक्षण अनुसार अनुरा कुमारा सबैभन्दा अगाडि छन् । उनको पक्षमा ३७ प्रतिशत मत छ भने उनका निकट प्रतिस्पर्धी सजित प्रेमादसाको ३६ प्रतिशत छ । वर्तमान राष्ट्रपति रनिल विक्रमासिंगेको मत प्रतिशत २३ मात्रै छ । रोचक कुरा महेन्दा राजापाक्षेत्र पुत्र लक्ष्मण निमलको दलको मत भने कमजोर देखिएको छ । श्रीलंकाका मात्रै होइन विश्वका विभिन्न मिडियाहरूले पनि अनुरा कुमाराको जितको सम्भावना भएको देखाएका छन् ।

    फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ का अनुसार भ्रष्टाचार बिरोधी अडान तथा अभियानको कारणले सन २०२२ को आर्थिक संकट आएको बताएका कारण उनको लोकप्रियता बढेको छ ।

    तीन सीटे संसद र गत चुनावको तेस्रो स्थान सुधार गर्दै अनुरा कुमारा

    गत राष्ट्रपतीय चुनावमा उनी तेस्रो भएका थिए । स्थानको आधारमा तेस्रो भएका उनको मत प्रतिशत पनि ज्यादै कम आएको थियो । उनले ३.१६ प्रतिशतमात्रै मत पाउन सफल भएका थिए । यस्तै श्रीलंकाको वर्तमान संसदका २२५ सदस्यमा अनुरा कुमाराको गठबन्धनको सीट तीनमात्रै छ । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार उनी राष्ट्रिय जनशक्ति (एनपीपी) नामको गठबन्धनको उनी नेतृत्व गर्छन् । एनपीपी गठबन्धनको महिला समूह, नागरिक समुह, राजनीतिक दल तथा ट्रेड युनियनहरू गरेर २१ घटक छन् ।

    एनपीपीमा जोडिएको अनुरा कुमाराको दलको नाम जनमुक्ति मोर्चा (जेभीपी) हो । यो मोर्चामा अहिले महिला जेभीपी सशस्त्र युद्ध गरेको दल हो । तर, त्यो युद्धमा सर्वनाक पराजय भोगेर शान्तिपूर्ण राजनीतिमा आएको दल हो । जेभीपीले सन् १९७१ र सन् १९८७ मा शशस्त्र युद्ध गरेको थियो । युद्धमा ८० हजारको ज्यान गएको थियो र त्यसपछि दलले शान्तिपूर्ण राजनीतिक रोजेको फ्रान्स २४ ले उल्लेख गरेको छ । जेपीपीले सशस्त्र युद्ध गर्दा अनुरा कुमारा विश्वविद्यालयमा थिए । उनले सशस्त्र संघर्षमा भाग नलिएको बताउँछिन् श्रीलंकाकी पत्रकार नभोदया जयविक्रमा । उनी त्यो समयमा विद्यार्थी आन्दोलनमा भएको उनी बताउँछिन् ।  अनुरा कुमारा दिसानायके सन २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका थिए । उनले सन १९८७ सालबाट राजनीतिमा आएर सन १९९१ मा जेभीपी दलमा जोडिएका थिए ।

    सन २००० बाट श्रीलंकाली सदनमा आएका उनी सन् २००४ मै कृषि, पशुपन्छी, भू तथा सिँचाइमन्त्री भएका थिए । उनलाई मन्त्री बनाउनमा तत्कालीन राष्ट्रपति कुमारातुङ्गाको गठबन्धनको योगदान भएको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् ।

    अनुराका चुनावी मुद्दा- सीमित वैदेशिक लगानीदेखि राष्ट्रपति प्रणाली खारेजीसम्म

    अनुरा कुमाराका चुनावी मुद्दाहरूमा मुलतः भ्रष्टाचार नियन्त्रण हो । उनले वैदेशिक लगानीको कुरा पनि गरेका छन् । वैदेशिक लगानीमा उनले निश्चिम क्षेत्रहरूमा जहाँ श्रीलंकाको आन्तरिक अर्थतन्त्रले धान्दैन त्यसमा मात्रै विदेशी लगानी ल्याउने बताएका छन् ।

    यसबारेमा उनले दलको घोषणा सार्वजनिक समारोहमा भनेका छन्, ‘हामी विदेशी कम्पनीहरूले नविकरणिय उर्जाको क्षेत्रमा ल्याउँछौँ जहाँ हामीसँग लगानी गर्ने ठूलो पुँजी छैन ।’

    राष्ट्रपति गोताबाया राजापाक्षेलाई खेदाउने तहको आन्दोलनको नेतृत्व गरेका अनुरा कुमारा आफैँ भने राष्ट्रपतीय प्रणालीका विरोधी हुन् । उनले राष्ट्रपतीय प्रणाली खारेज गरेर संसदीय प्रणाली सुरू गर्ने बताएको फ्रान्स २४ ले उल्लेख गरेको छ । श्रीलंकामा लोकतन्त्र हुँदाको अवस्थामा सन् १९७८ ताकासम्म बेलायती मोडेलको संसदीय व्यवस्था थियो । त्यसपछि मात्रै राष्ट्रपतिय उमेद्वार सुरु भएको हो ।

    चुनावी मुद्दा उनले आन्तरिक उत्पादन बढाएर देशको आय बढाउने बताएका छन् । मार्क्सवादी लेनिनवादी सिद्धान्तबाट चल्ने उनको गठबन्धनले देशको अर्थतन्त्रमा श्रमजीवि वर्गको पक्षमा काम गर्ने बताएको छ ।

    श्रीलंकाको उत्तरी भागमा बस्ने तमिलहरूलाई पनि अरुना कुमाराले साथ लिन खोजेका छन् । उनको सामाजिक सञ्जाल फेसबुकको तमिल भाषाको बेग्लै पेज छ । हालसालै उनले दक्षिणी भारतबाट प्रकाशन हुने मूलधारे अखबार दि हिन्दूलाई अन्तर्वार्ता दिँदा पनि तमिलको कुरा गरेका छन् ।

    तमिल युद्धपछिको न्याय, जवाफदेहीता र सत्य तमिल जनताले पाउनुपर्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो उद्देश्य राष्ट्रिय संयन्त्रहरूलाई भरोसायोग्य र चुस्त बनाउनु हो ताकी तमिल जनताले विश्वास गर्न सकुन् । विगतका सरकारहरूले सत्य लुकाउन र प्रकृया लम्ब्याउन प्रतिबद्ध थिए ।’

    भारतबारेमा नकरात्मक मानिने जेभीपीका नेताहरूलाई पछिल्ल्लो समयमा भारतले निम्तो दिइरहेको छ । केही समय अगाडि भारतीय सांस्कृतिक सम्बन्ध प्रतिष्ठानको कार्यक्रममा जेभीपीका नेताहरूलाई निम्तो दिइएकव ।

    दि हिन्दूसँगको अन्तरवार्तामा पनि अनुरा कुमाराले भारतसँग ऊर्जा र पूर्वाधार क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै भनेका छन्, ‘भारतसँग काम गर्न आवश्यक छ ।’

    अनुरा कुमाराको राजनीतिबारे नेपाल प्रेसले श्रीलंकाका वामपन्थी राष्ट्रपति उम्मेदवार अनुरा कुमारा दिसानायकेको बारेमा जानकारी लिन दुईजनासँग कुराकानी गरेको छ । एकजना उद्यमी तथा प्रकाशन हेसन जे. पियरेस छन् भने अर्को एकजना पत्रकार तथा अनुरा कुमारालाई नजिकबाट चिन्ने पत्रकार नभोदया जयविक्रमा छिन् ।

     ७६ वर्षे पारिवारिक सत्तामा लाग्न सक्छ ब्रेक : उद्यमी हेसन जे. पियरेस

    श्रीलंका स्वतन्त्र भएपछि बन्दरानाइके, सेनानायके र जयवर्दने जस्ता केही परिवारमा सत्ता सीमित भयो । अहिलेका वर्तमान राष्ट्रपति तथा राष्ट्रपति उमेद्वार रनिल विक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयवर्दनेका भतिजा हुन् । सजिथ प्रेमदशा पूर्वराष्ट्रपति आर प्रेमादसाका छोरा हुन् भने नमल राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेत्रका छोरा हुन् । यसको मतलब चार प्रमुख राष्ट्रपति  उम्मेदवार तीनजना श्रीलंकाको पछिल्लो ७६ वर्षमा जमेका परिवार सत्तामा अनुहार हुन् । ती परिवारहरू श्रीलंकाको आर्थिक गिरावट र धान्न नसकिने ऋणका जोडिएका छन् ।

    यी सबैभन्दा फरक छन् अनुरा कुमारा दिसानायके । उनी जेभीपी दलका नेता हुन् । यसलाई एनपीपी गठबन्धन भनिन्छ । यहाँ २१ विभिन्न घटकहरू छन् । उनी विद्यार्थीकालबाटै माक्सवादी राजनीतिमा जोडिएका हुन् । उनले संरचनागत परिवर्तन, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाइरहेका छन् । उनी राष्ट्रपति हुने बलियो सम्भावना छ । भविष्यको राष्ट्रपति जो भएता पनि नयाँ राष्ट्रपतिले धेरै समस्याहरूसँग जुध्नुपर्ने हुन्छ । त्यसमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) सँगको सम्बन्ध, ऋण पुनःसंरचनादेखि देशको अर्थतन्त्रलाई स्थिर राख्नेलगायतका मुद्दा पर्छन् ।

    सबैभन्दा धैर्यवान नेता मान्छु : पत्रकार नभोदया जयविक्रमा

    म कमरेड अनुरा कुमारा दिसानायकेलाई श्रीलंकाका सबैभन्दा धैर्यवान् नेता मान्छु । सन् २०१९ को चुनावमा तेस्रो भएर पराजित हुँदा पनि उनले सन् २०२४ को चुनावमा जनतालाई आकर्षित गरेर बलियोसँग आउन सके । विगत आठ वर्षबाटै श्रीलंकामा पटकपटक सत्ता हाँकेकाहरूबाट भएका भ्रष्टाचारका मुद्दा उठाइरहेका उनले जनतालाई धोकाधडी, भ्रष्टाचार र अनियमिताको बारेमा जगाइरहे ।

    उनले सडकदेखि संसदसम्म यो कुराहरू उठाइरहे । जनतालाई जनताको करको दुरुपयोग गरेको भनिरहे । सूसूचित गरिरहे । उनी अरु नेता तथा दलहरूलाई चुनौती भइरहे । उनलाई सत्ताधारी र अरु ठूला दलहरूले तनाव दिइरहे पनि उनले बोल्न छोडेनन् ।

    विद्यार्थी नेताको रूपमा राजनीतिमा जोडिएका उनले जेभीपी दल सन् २०१४ मा मात्रै प्रवेश गरेका हुन् । सन् २००५ मा उनी एकीकृत जन स्वतन्त्रता गठबन्धनमा जोडिएर कृषि, पशुपन्छी, भू तथा सिँचाईमन्त्री भए । सहकार्यात्मक नेतृत्वमा अनुरा कुमारा दिसानायके विश्वास गर्छन् । अरुका कुरा सुन्ने र करुणाभाव पाउँछु म उनमा । सन् २०१९ मा एनपीपी गठबन्धन बनाएर उनले यो गठबन्धनमा जनआकर्षण बढाए । उनको लोकप्रियता गाउँदेखि सहरसम्म छ । सन् २०१९ को चुनावी हारपछि त झनै बढेको छ ।

    सबैलाई समान शिक्षामा पहुँच, कानूनी शासन भएको निष्पक्ष समाज उनका मुद्दाहरू हुन् । देशको अर्थतन्त्रको फाइदाको लाभ सबै जनताले लिनुपर्ने पनि उनको माग हो । श्रीलंकाको राजनीतिमा उनी एक टर्निङ प्वाइन्ट हुन् । सहकार्यात्मक नेतृत्वको लागि यो एक सुन्दर अभियान हो । मलाई विश्वास छ उनको जितपछि श्रीलंकाको राजनीतिक संस्कृतिमा व्यापक फेरबदल हुनेछ ।

  • पक्राउ पुर्जी जारी भएका भेनेजुएलाका विपक्षी दलका नेता स्पेनको शरणमा

    पक्राउ पुर्जी जारी भएका भेनेजुएलाका विपक्षी दलका नेता स्पेनको शरणमा

    काठमाडौं । भेनेजुएलका विपक्षी नेता स्पेनको शरणमा पुगेका छन् । केहि दिन अगाडि पक्राउ पुर्जी जारी गरिएका नेता एदमुन्दो गोन्जालेज स्पेन शरणमा पुगेको बताइएको छ ।

    हालसालै भेनेजुएलामा भएको चुनावमा धाँधली भएको भन्दै गरिएको आन्दोलनको नेतृत्व गर्नेमा एक थिए, गोन्जालेज । गोन्जालेजले स्पेनमा शरण लिएको कुरा भेनेजुएलाका उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताएकी छन् ।

    उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् । स्पेनको भेनेजुएलामा भएको राजदूतावासबाट स्पेनमा शरण लिने कुरा भएको बताइएको छ ।

    उपराष्ट्रपति रोद्रिगेजले भेनेजुएला सरकारले विपक्षी नेताले खोजेको शरणमा सहयोग गर्दै देश छोड्ने वातावरण सहज गरिदिएको बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

  • इजरायलले हत्या गरेको पत्रकारबारेको डकुमेन्ट्री फेसबुकले हटायो

    इजरायलले हत्या गरेको पत्रकारबारेको डकुमेन्ट्री फेसबुकले हटायो

    काठमाडौं । टर्कीको सरकारी विश्व च्यानल टीआरटी वल्र्डले बनाएको एक डकुमेन्ट्री फेसबुकले हटाएको छ । टीआरटी वल्र्डका अनुसार इजारायलले हत्या गरेका पत्रकारहरुको बारेमा बनाइएको डकुमेन्ट्री हटाइएको हो ।

    अरबी भाषामा बनाइएको उक्त डकुमेन्ट्रीको शिर्षक ‘नरशंहारमा परेका पत्रकारहरु’ रहेको थियो । इजरायलले प्यालेस्टाइनको गाजाा पट्टी तथा लेबनानको दक्षिणी भागमा गरेको हमलामा हत्या गरिएका पत्रकारहरुको कुरा डकुमेन्ट्रीमा राखिएको थियो ।

    गत अगस्ट ३० मा प्रशारण भएको थियो डकुमेन्ट्रीमा गाजामा मारिएका १७२ पत्रकारहरुको कुरालाई तीन महिना लगाएर प्रस्तुत गरिएको थियो । इजरायली मुद्धामा फेसबुक इजरायली हत्याको पक्षमा नरम भएको तर त्यो हत्या देखाउनेको भने विपक्षीमा भएको धेरैले आरोप लाउँदै आएका छन् ।

    यहुदी मालिक भएको फेसबुकले यहुदी राज्य इजरायलले गरेका खराब कुरामा आँखा चिम्लेर मौनता देखाएको र त्यसको विरोध गर्नेलाई कडाइ गरेको आरोप लाग्दै आएको छ ।

  • कमलालाई समर्थन गरेर पुटिनले आफ्नो अपमान गरेको ट्रम्पको गुनासो

    कमलालाई समर्थन गरेर पुटिनले आफ्नो अपमान गरेको ट्रम्पको गुनासो

    काठमाडौं । अमेरिकी राष्ट्रपति उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई समर्थन नगरेर प्रतिस्पर्धी कमलालाई गरेकोमा गुनासो गरेका छन् ।

    आफूलाई समर्थन नगरेर कमलालाई गरेपछि आफू धेरै अपमानित भएको ट्रम्पले बताएका छन् ।

    शनिवार अमेरिकाको विस्कन्सिनमा भएको एक चुनावीसभामा उनले आफूले पुटिनलाई चिनेको, पुटिनले आफूलाई चिनेको तर कमलालाई समर्थन गरेको भन्दै ट्रम्पले भने, ‘उनले किन कमलालाई समर्थन गरे मलाई अचम्म लागेको छ ।’

    ट्रम्पले सबै अमेरिकी चुनावमा रुसी हस्तक्षेप भएको हल्ला मात्रै गरिएको भन्दै आलोचना पनि गरेका छन् ।

    केहि दिन अगाडि रुसमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले आफूलाई कमलाको हाँसो राम्रो लाग्ने भन्दै उनलाई समर्थन गर्ने बताएका थिए ।

    उनले ट्रम्पलाई समर्थन नगरे पनि कसलाई चुन्ने भन्नेमा अमेरिकी जनताको हात हुने बताएका थिए ।

  • भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्यु

    भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्यु

    मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तीमा ५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

    युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा ५ जनाको मृत्यु भएको हो ।

    ‘जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भइरहेको छ । हालसम्म झडपमा ५ जनाको मृत्यु भइसकेको छ र हामी थप विवरणको प्रतीक्षामा छौं’, एक स्थानीय सरकारी अधिकारीले भने ।

    घटनामा एक जनाको सुतिरहेको बेला गोली हानेर हत्या गरिएको थियो । अन्य ४ जना सशस्त्र व्यक्तिको त्यसपछि भएको गोली हानाहानको क्रममा मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

    मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि द्वन्द्व बढ्दै आएको हो । द्वन्द्व बढ्दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ ।

    विद्रोही समूहले शुक्रबार गरेको रकेट आक्रमणमा एक ७८ वर्षीया वृद्धको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । एक स्थानीय सरकारको सूचनामार्फत ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षा’का लागि राज्यका सबै विद्यालय शनिबार बन्द गरिने घोषणा गरिएको हो ।

    मणिपुरका पूर्वमुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट आक्रमण हुँदा एक वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

    इन्डियन एक्सप्रेस नामक पत्रिकाले एक अज्ञात सुरक्षा स्रोतलाई उद्धृत गर्दै रकेटहरू गेल्वनाइज्ड फलामको पाइप प्रयोग गरेर बनाइएको ‘इम्प्रोभाइज्ड प्रोजेक्टाइल’ जस्तो देखिने जानकारी गराएको छ ।

    शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको बताएको छ ।

    मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् । -रासस/एएफपी

  • विश्व व्यवस्थामाथि रूस, चीन र मध्यपूर्वबाट खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

    विश्व व्यवस्थामाथि रूस, चीन र मध्यपूर्वबाट खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

    लण्डन । अमेरिकी गुप्तचर निकाय (सीआईए)का निर्देशक बिल बन्र्स र बेलायतको एमआई-सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीत युद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।

    फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, ‘हामीसँग एक-अर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन ।’

    उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने बताएका छन् ।

    संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् ।

    ‘सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ’, लेखमा भनिएको छ, ‘रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौं ।’

    लेखमा ‘उनीहरू (अमेरिका र बेलायत)ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेको लेखमा महत्वका साथ उल्लेख गरिएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएको वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो । ह्वाइट हाउसले शुक्रबार भनेको छ, ‘उनीहरू (बाइडेन र स्टार्मर)ले अन्य कुराका साथै ‘युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने’ र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् ।’

    इजरायलप्रति दुई राष्ट्रको अडान फरक-फरक रहेको समयमा यो बैठक हुन लागेको हो ।

    युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ । -रासस/एएफपी

  • रकेट आक्रमणपछि भारतमा विद्यालय बन्द

    रकेट आक्रमणपछि भारतमा विद्यालय बन्द

    मुम्बई । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ ।

    जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो ।

    स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।

    शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो । स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपछि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

    मणिपुरका पूर्वमुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसा बढेको जनाएको छ ।

    मेइतेई र कुकी समुदायहरूबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् । -रासस/एएफपी

  • आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

    आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

    काठमाडौं । मुम्बईबाट  जर्मनीकाे फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रवार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ ।

    २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।

    भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् ।

  • बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग

    बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग

    काठमाडौं । बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग भएको छ । बङ्गलादेशका पूर्व ब्रीगेडियर जनरल तथा बङ्गलादेशको इस्लामिक दल जमात इ इस्लामीका आमिर गुलाम आजमका छोरा अमान आजमीले यस्तो माग गरेका हुन् ।

    विगत आठ वर्षसम्म जबर्दस्त बेपत्ता बनाइएका र केही समय अगाडि मात्र सार्वजनिक भएका उनले यस्तो माग गरेका हुन् । भारतीय साहित्यकार रवीन्द्रनाथ ठाकुरले लेखेको ‘आमार सोनार बाङ्ला’ नामक गीतलाई सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएपछि राष्ट्रगानको रुपमा राखिएको थियो ।

    अहिले राष्ट्रगान परिवर्तनको कुरा गर्ने अमान आजमीले वर्तमान राष्ट्रगानले स्वतन्त्रताको ऊर्जा नबोक्ने दाबी गरेका छन् । बङ्गलादेश पूर्वी पाकिस्तानबाट स्वतन्त्र देश बन्नमा भारतले कूटनीतिक, आर्थिक र सैन्य साथ दिएको थियो । हसिनापछिको सरकार र भारतको तालमेल राम्रो मिलेको नदेखिएको दुवै देशका जानकार हरुले भन्दै आएका छन् ।

  • अमेरिकी राष्ट्रपति चुनाव: विपक्षी नेता र पत्रकारमाथि भएका दमनका पाँच उदाहरण

    अमेरिकी राष्ट्रपति चुनाव: विपक्षी नेता र पत्रकारमाथि भएका दमनका पाँच उदाहरण

    काठमाडौं । काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहले कब्जा गरेको ठीक दुई दशकपछि अमेरिकामा राष्ट्रपति चुनाव सुरु भएको थियो । सन् १७८९ मा अमेरिकामा जर्ज वासिङ्टनले पहिलो राष्ट्रपतिको चुनाव जित्दा नेपालमा रणबहादुर शाह राजा थिए ।

    नेपालसँगको अमेरिकी समयसीमा दाँज्दा पत्ता लाग्छ कि अमेरिकाको चुनावी इतिहास त्यो बेला सुरु भयो, जुन बेलामा विश्वले चुनिएका राष्ट्र तथा सरकार प्रमुख बनाउने कल्पेकै थिएन । यही कारण अमेरिकालाई विश्वको सबैभन्दा पुरानो लोकतन्त्र भन्ने गरिन्छ । र, अमेरिकी विदेश नीतिको एक प्रमुख औजार यही लोकतन्त्र हो ।

    अमेरिकाले अरु देशमा वाक स्वतन्त्रता नहुँदा चर्को आलोचना गर्दै लोकतन्त्र नभएको भन्छ । अमेरिकाले विपक्षी दलका नेताहरुलाई सत्ताले पेलपाल गरेको जस्तो लागेमा औंला उठाइहाल्छ । अमेरिकाले पत्रकारहरुले पत्रकारिता गर्दा कुनै सकस वा तनाव भएमा प्रेस स्वतन्त्रता हनन भएको कुरामा प्रश्न गरिहाल्छ । कुनै देशले अमेरिकी, युरोपेली मिडिया वा सोसल मिडिया बन्द गर्दा पनि अमेरिकाले लोकतन्त्रमा असर भएको भन्ने गर्छ ।

    यो त अमेरिकाले अरु देशहरुलाई खासगरी अमेरिकासँग त्यति राम्रो सम्बन्ध नभएका देशहरुलाई भन्ने कुरा हो, तर के अमेरिका जस्तो विश्वको सबैभन्दा जेठो भनिएको लोकतन्त्र मानक छ त ? के अमेरिकी लोकतन्त्रमा सत्ताका पात्रहरुको खरो आलोचना गर्ने प्रेसदेखि प्रतिपक्षीसम्म तनावरहित छन् त ? अमेरिकाको पछिल्ला उदाहरण, अमेरिकाको विपक्षी दल रिपब्लिकन पार्टीले लगाएको आरोप तथा अमेरिकी समाचारहरु हेर्दा भन्न सकिन्छ- छैनन् ।

    यो सामग्रीमा अमेरिकी लोकतन्त्रमा प्रतिपक्षी दलका नेता, पत्रकार तथा विदेशी मिडियाहरुलाई दिइएको तनावको सवालको पाँच उदाहरण राखिएको छ ।

    १. सत्ताधारी पार्टीकी पूर्वनेताले विपक्षीलाई समर्थन गर्दा आतंकवाद जोडिने कानून प्रयोग

    सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा अहिलेको सत्ताधारी दल तथा त्यो बेलाको प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवारी घोषणा गर्नेमा एक हुन् तुलसी गाबर्ड । अमेरिकी सेनामा जागिर गरेर इराक युद्धमा फ्रन्टलाइनमा जोडिएकी थिइन् तुलसी । उनी अमेरिकी सदनमा निर्वाचित पनि भएकी अनुहार हुन् । सन् २०२० को लागि सन् २०१९ जनवरीमा उम्मेदवारी घोषणा गरेकी उनले फेब्रुअरीबाट अभियान सुरु गरिन्, तर सन् २०२० को मार्चमा आएर उनले उम्मेदवारी त्यागिन् ।

    सन् २०२० मा अमेरिकाको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न चाहनेहरुमा कमला ह्यारिससँगै थिइन तुलसी गाबर्ड । उनीहरुले बर्नी स्यान्डर्स, जो बाइडेनलगायतका उम्मेदवारहरुसँग एकै लहरमा उभिएर दलको तर्फबाट भएको राष्ट्रपति चुनावको उम्मेदवारीको बहसमा भाग लिएका थिए ।

    उक्त बहसमा उनले हिलारी क्लिन्टनलगायतले गरेको विदेशी सत्ता परिवर्तन तथा युद्धमा अमेरिकी करदाताहरुको खर्बौं डलर खर्च गरेकोमा कडा आपत्ति जनाउँदै पहिलेको डेमाक्रेटिक पार्टी यस्तो नभएको बताएकी थिइन् । बहसमा तुलसीले कमलाको कडा आलोचना गरेकी थिइन् । जवाफमा कमलाले भनेकी थिइन्, ‘जसले ओबामाको चार वर्षे कार्यकालभरि उनलाई फक्स न्यूजमा गएर आलोचना गरिन्, आज उनै डेमोक्रेटिक पार्टीको उम्मेदवारको रुपमा उभिएकी छन् । यो दुःखद हो ।’

    जवाफमा तुलसीले भनेकी थिइन्, ‘सिनेटर ह्यारिसले जे गरिरहेकी छन् त्यो दुर्भाग्य हो । उनले मेरा तर्कलाई काट्न नसकेर मेरो बद्नाम तथा झूटो कुरा गरिरहेकी छन् ।’

    उनै तुलसी गाबार्डले दुई वर्ष अगाडि डेमोक्रेटिक पार्टी छाडिन् । उनले पार्टी छाडेपछि पनि कमलाको आलोचना गरिरहेकी छन् । उनले कमलालाई निर्वाचनबाट नआएको मान्छेले सेनाको कमाण्ड गर्न नसक्ने भन्दै आएकी थिइन् । सन् २०२२ अक्टोबर ११ मा पार्टी छोड्नुको कारण भन्दै तुलसीले ट्विटर (अहिलेको एक्स)मा भिडियो सन्देश राखेर भनेकी थिइन्, ‘म अहिलेको डेमोक्रेटिक पार्टीमा रहन सक्दिनँ, जुन पार्टी युद्ध चाहने एलिटहरुको घेराबन्दीमा छ ।’

    आरोपमा उनले प्रहरी तथा सुरक्षा निकायलाई पार्टीकरण गरेको, हरेक अमेरिकीलाई रेसमा बाँडेर विभाजन गरेकोलगायतका आरोप पनि लगाएकी थिइन् । पहिलेको पार्टी यस्तो नभएको भन्दै उनले छोडेकी थिइन् ।

    तुलसीले पार्टी नछोडुञ्जेल ठीकठाक थियो, तर जब उनले पार्टी छोडिन्, अनि गत महिना औपचारिक रुपमा रिपब्लिन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरिन्, त्यसपछि उनलाई तनाव दिन सुरु गरियो । कतिसम्म गरियो भने उनलाई आतंकवादसँग जोडिएको कानून लगाएर खानतलास गरियो । निगरानी गर्न तीन जना एयर मार्सल खटाइयो ।

    गत जुलाई २३ पछिका हरेक उडानमा उनले आफू र आफ्ना श्रीमानलाई धेरै खानतलासी गर्न थालेको गुनासो गरेकी छन् । यस्तो गरियो, मानौं उनी पूर्वअमेरिकी सैनिक, सांसद नभएर अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम भएको जस्तो गरियो । योबारेमा तुलसीले एक दिन अगाडि १४ मिनेट २० सेकेन्डको भिडिओमार्फत् आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् ।

    आफूले २१ वर्ष अमेरिकाको सुरक्षाको लागि काम गरेको तर अहिले आफूलाई नै बाइडेन-ह्यारिस सत्ताले राजनीतिक प्रतिशोधका रुपमा तनाव दिएको बताएकी छन्, तर बाइडेन-ह्यारिस सत्ताले तनाव दिएपछि तुलसी डगमगाएकी भने छैनन् ।

    उनले आफ्नो भिडिओमा भनेकी छन्, ‘म पछि हट्दिनँ । हामी पछि हट्दैनौं । अमेरिकन सेन्टर फर ल एण्ड जस्टिसले मेरोतर्फबाट मलाई र मेरो परिवारलाई गरिएको असंवैधानिक राजनीतिक प्रतिशोधको विरुद्धमा कानूनी लडाइँ लड्नेछ ।’

    २. डेमोक्रेटिक पार्टी छोडेका तथा पिता र बडाबा हत्या भएका स्वतन्त्र राष्ट्रपति उम्मेदवार केनेडी जुनियरलाई सुरक्षा दिन आलटाल

    रोबर्ट एफ केनेडी जुनियर अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीका पूर्वराष्ट्रपति उम्मेदवार हुन् । उनी यो चुनावमा सुरुमा स्वतन्त्र उम्मेदवार थिए । उनको समर्थन १५ प्रतिशतसम्म पुगेको बताइएको थियो, तर उनलाई अमेरिकी सरकारले सुरक्षा दिएन । सरकारी सुरक्षा नभएकोले उनको कार्यक्रममा निजी सुरक्षा व्यवस्था गर्नुपर्ने भयो । त्यसको लागि उनले ३० लाख अमेरिकी डलर खर्चेको गत जुलाईमा नेशनल रिभ्यू समाचार पोर्टललाई बताएका थिए ।

    रोबर्ट एफ केनेडी जुनियर त्यो घरानाका मान्छे हुन्, जसका परिवारका दुई सदस्य राष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार हुँदा मारिएका थिए । उनका पिता रोबर्ट एफ केनेडीलाई सन् १९६८ जुन ५ मा राष्ट्रपति उम्मेदवार हुँदा मारिएको थियो । उनका बडाबा तथा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई सन् १९६३ नोभेम्बर २२ मा हत्या गरिएको थियो । उनीहरु दुवै डेमोक्रेटिक पार्टीका उम्मेदवार थिए ।

    डोनाल्ड ट्रम्पको हत्या प्रयास भएपछि ट्रम्पको आग्रहमा उनलाई अमेरिकाले सुरक्षा सुविधा दिएको थियो । ट्रम्पले सुरक्षा माग गरेपछि मात्रै पाएका रोबर्ट एफ केनेडी जुनियरले अगस्ट अन्तिम साता ट्रम्पकै समर्थन गरे । बदलामा ट्रम्पले उनका पिता तथा बडाबाको हत्याबारेका गोप्य सरकारी फाइलहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ३. बाइडेन पुत्रको समाचारबारेमा बोल्ने सरकारी बजेटले चल्ने मिडियाका पत्रकार निष्कासित, ट्विटरसँगको साँठगाँठ सार्वजनिक गर्ने पत्रकारलाई करछली मुद्दा

    राष्ट्रपति जो बाइडेनका पुत्र हन्टर बाइडेनका ल्यापटप काण्ड आयो । त्यो काण्ड सरकारी प्रयोजन हुने अमेरिकी रेडिओ नेरसन पब्लिक रेडियो (एनपीआर)ले प्रकाशन गरेन । यसबारेमा वरिष्ठ वाणिज्य सम्पादन उरी बर्लिनरले दि फ्रि प्रेस नामक अन्लान पोर्टलमा लामो लेख गरेर हन्टर बाइडेनको ल्यापटपको समाचार प्रकाशन गर्दा डोनाल्ड ट्रम्पको जीत हुनसक्ने भन्दै नछापिएको लेखे ।

    उनले रेडियोले वामपन्थी खालका सामग्रीलाई मात्रै प्राथमिकता दिने बताए । यसो भन्दा उनलाई रेडियोले निष्कासन गर्‍यो । यसलाई डेमोक्रेटिक पार्टी पक्षधर अखबार न्यू योर्क टाइम्सले संस्थागत मर्यादा पूरा नगरेकोमा निष्कासन गरेको भन्ने समाचार बनायो । रिपब्लिकन पार्टी पक्षधर अखबार न्यू योर्क पोस्टले भने यसलाई हन्टर बाइडेनको कुरा उठाएकोमा निष्कासन गरेको समाचार लेख्यो, तर वाक स्वतन्त्रता भएको देशमा बोलेकै आधारमा जागिर गएको कुरामा सत्ताधारी विचार बोक्ने अखबार, बौद्धिक तथा अभियानकर्मीहरुले भने खासै चर्चा गरेनन् ।

    यस्तै पत्रकार म्याट ताइबीले अमेरिकी सरकारको हन्टर बाइडेनको समाचार लुकाउन ट्विटरसँगको साँठगाँठ सार्वजनिक गरे । न्यू योर्क पोस्टको समाचार सेन्सर गर्न अपनाइएको नयाँ नियमबारेमा उनले समाचार लेखेका थिए । त्यो समाचार प्रकाशन भएपछि उनमाथि सत्ताधारी पत्रकार तथा नेताहरुको आक्रमण सुरु भयो । पछि अमेरिकी सरकारले उनलाई करछलीको मुद्दा लगायो । सन् २०१८ को क्रिसमसको एक पार्टीमा उनले कर छलेको आरोप लगाइयो ।

    ४. रुसी मिडिया प्रतिबन्ध, पत्रकारलाई कारबाही

    लोकतन्त्र नभएको देशमा मिडिया बन्द हुनु सामान्य कुरा हो । पत्रकारले भोग्ने तनाव झन् सामान्य हो, तर लोकतन्त्र भएको र विश्वको सबैभन्दा जेठो लोकतन्त्र भन्ने अमेरिकाले गर्ने यस्तो बन्दलाई सामान्य मान्न सकिन्न । अमेरिकाले रुसी पत्रकार तथा रुसले अमेरिकी पत्रकारलाई प्रवेश रोक्ने कुराहरु त हुँदै आएका थिए, तर गत बुधबार अमेरिकाले रुसी मिडिया आरटीलाई प्रतिबन्ध लगाउने बाटो खुलाएको छ । आरटीमा काम गर्ने दुई पत्रकारलाई कारबाही गर्ने भएको छ ।

    भारत तथा भेनेजुएला तथा बंगलादेश आदिले विदेशी मिडियालाई कडाइ गर्दा आलोचना गर्ने अमेरिकी आईएनजीओहरु भने यो मुद्दामा मुखर भएका छैनन् । रुस, चीन आदिले विदेशी मिडिया तथा पत्रकारलाई तनाव दिँदा प्रेस स्वतन्त्रता हनन भएको भन्ने अमेरिकाले आफैंले त्यसो गर्दा भने मिथ्या सूचनालाई रोक्न तथा अमेरिकी चुनावमा रुसी हस्तक्षेप बन्द गर्ने तर्क गरेको छ, तर कुन कुन सूचना के कारणले मिथ्या भएको भन्ने कुरा चैँ खुलाइएको छैन । अरुले बन्द गर्दा लोकतन्त्रको हनन र आफूले बन्द गर्दा मिथ्या सूचनाको रोकथाम भन्ने अमेरिकी लाइन रोचक देखिन्छ ।

    हन्टर बाइडेनको ल्यापटपमा बन्दुक तथा विभिन्न गैरकानूनी कुराहरु भएको कुरा अमेरिकी अखबार न्यू योर्क पोस्टले सार्वजनिक गरेको थियो ।

    ५. एफबीआई निर्देशकबाट ट्रम्पको कानमा गोली नलागेको भन्दै हत्या प्रयासको सामान्यीकरण

    अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई हत्या प्रयास गरियो । गत जुलाई १३ मा पेन्सिलिभियाको बट्लर क्षेत्रमा भएको राजनीतिक सभामा उनलाई गोली हानिएको थियो । अनुहारमा ताकेर हानिएको गोली उनको भाषण हुँदा अनुहार छेलिएर लाग्न पाएन, तर उनको कानमा गोली लाग्यो ।

    अमेरिकी सुरक्षा निकायका एक एफबीआईका निर्देशक क्रिस्टोफर रेले ट्रम्पलाई गोली हानिएको कुरालाई हल्काफुल्का रुपमा लिए । उनले निजी सवालमा यस्तो हल्काफुल्का रुपमा लिएका होइनन् । उनले अमेरिकी सांसदहरुलाई दिएको बयानमा यस्तो बताएका थिए । निदेर्शक रेले जुलाई २४ मा भनेका थिए, ‘पूर्वराष्ट्रपति ट्रम्पको सवालमा गोली उनको कानमा लाग्यो वा लागेन भन्नेबारेमा केही प्रश्न छन् ।’

    रिपब्लिकन पार्टीका नेता कार्यकर्ता तथा अमेरिकी जनता नै गोली प्रहारको घटनाबाट चिन्तित हुँदा त्यसलाई सामान्यीकरण गरेर गोली लागेको हो वा छर्रामात्रै लागेको भनेर एफबीआईका निर्देशकले प्रश्नको खेती गरे । यसबारेमा विभिन्न समाचार बने । अमेरिकाको डेमाक्रेटिक दलसँग बढी झुकाब राख्ने भनिने टाइम म्यागाजिनलगायतले पनि यही कुरामा समाचार बनाए ।

    अन्ततः ट्रम्पलाई गोली लागेकै सार्वजनिक भयो । ट्रम्पको कानमा गोली लागेको प्रमाणित भयो । यो समाचार अमेरिकी सरकारको समाचार एजेन्सी एपीले पनि प्रकाशन गर्‍यो । जसलाई पछि गएर एफबीआईले नै हो भन्यो । देशको पूर्वराष्ट्रपति तथा वर्तमान राष्ट्रपति उम्मेदवारको हत्या प्रयास हुँदा कुनै सरकारी अधिकारीहरु पक्राउ परेका छैनन् । कसैलाई दोषी करार गरिएको छैन । योबारेमा अमेरिकी सरकार नै उदासीन भएको रिपब्लिकन पक्षधरहरुले आरोप लगाउँदै आएका छन् । तुलसी गाबार्डले पनि अमेरिकी सुरक्षा संयन्त्र अहिले सत्ताधारी दल डेमोक्रेटिक पार्टी तथा बाइडेन-ह्यारिस सत्ताको प्रहरीमात्रै भएको आरोप लगाएकी छन् ।

    याे पनि पढ्नुस् : अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलको चर्चा: एकतर्फ कमला, अर्कोतर्फ उषा

  • बढी तौलका कारण ओलम्पिक पदक गुमाएकी भारतीय पहलमान विनेश फोगट कांग्रेस आइमा प्रवेश

    बढी तौलका कारण ओलम्पिक पदक गुमाएकी भारतीय पहलमान विनेश फोगट कांग्रेस आइमा प्रवेश

    काठमाडौं । चर्चित ओलाम्पियन विनेश फोगट र बजरंग पुनियाले भारतीय राष्ट्रिय कांग्रेस प्रवेश गरेका छन् । हरियाणा राज्यको विधानसभा चुनावको संघारमा फोगट र बजरंग पुनिया कांग्रेस प्रवेश गरेका हुन् । फोगट र पुनियाको कांग्रेस प्रवेशलाई हरियाणाको आसन्न चुनावमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

    भारतीय रेलवेमा जागिरे रहेकी फोगटले राजीनामा दिएर शुक्रबार भारतीय कांग्रेसका अध्यक्ष मलिकार्जुन खड्गेलाई उनकै निवासमा भेटेकी थिइन् । लगत्तै कांग्रेस प्रवेश गरेकी हुन् ।

    रेलवेको जागिरबाट राजीनामा दिँदै फोगटले एक्समा लेखेकी छन्, ‘भारतीय रेलवेको जागिर मेरो जीवनको यादगार र गौरवमय समय रह्यो । राष्ट्रको सेवाका लागि मलाई दिइएको यस अवसरका लागि रेलवे परिवारप्रति आभारी छु ।’ यसअघि गएको अक्टोबर ४ मा नेता राहुल गान्धीलाई समेत भेटेकी थिइन् ।

    रेलवेको जागिरबाट राजीनामा दिएर राजनीतिमा हाम फालेकी फोगट केही महिना पहिले पेरिसमा सम्पन्न ओलाम्पिकमा चर्चामा आएकी थिइन् । उनी ५० किलो तौल समूहको कुस्तीमा फाइनलमा पुगेकी थिइन् ।

    तर, फाइनलको दिन उनको तौल एक सय ग्राम बढी देखिएपछि उनलाई अयोग्य घोषित गरियो । हारे पनि पक्का भएको रजत पदकबाट वन्चित भइन् । यस लगत्तै उनले अन्तर्राष्ट्रिय कुस्तीबाट सन्यासको घोषणा गरेकी थिइन् ।

    यसपटकको हरियाणाको विधानसभाको चुनावमा फोगट र पुनिया चुनाव लड्न सक्ने सम्भावना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • अन्ततः बाइडेन पुत्रले करछली स्वीकार गरे, १५ वर्षसम्म कैद हुनसक्ने

    अन्ततः बाइडेन पुत्रले करछली स्वीकार गरे, १५ वर्षसम्म कैद हुनसक्ने

    काठमाडौं । वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छलेको स्वीकार गरेका छन्।

    लामो समयबाट १४ लाख डलरको करछली मुद्दामा दोषी नभएको भन्दै आएका बाइडेनपुत्र हन्टर बाइडेनले अहिले आएर स्वीकार गरेका छन्।

    बीबीसीका अनुसार सन २०१६ बाट २०१९ सम्मको समयको कर छलीमा उनले औपचारिक स्वीकारोक्ति गरेका छन्।

    ५४ वर्षका हन्टर बाइडेनले सुरुमा अस्वीकार र अन्तिममा स्वीकार गरेपछि अमेरिकी अभियोजनकर्ताहरू अचम्म भएको बीबीसीले उल्लेख गरेको छ ।

    यो सँगै बहालवाला राष्ट्रपति पुत्रलाई आपराधिक मुद्दा लागेको प्रथम घटना भएको छ ।

    हन्टर बाइडेनलाई अदालतबाट ५ देखि १० लाख अमेरिकी डलर जरिवाना तथा १५ वर्षसम्म कैद हुनसक्ने बीबीसीले बताएको छ ।

    सजायको फैसला डिसेम्बर १६ मा हुनेछ । यो भनेको अमेरिकी चुनावको एक महिनापछि र जो बाइडेन सत्ता छोड्नु एक महिना अगाडि हो।

  • आफ्नो देशकी बालिकालाई भारतीय सीमा बलले गोली हानेको भन्दै बङ्गलादेशको आपत्ति

    आफ्नो देशकी बालिकालाई भारतीय सीमा बलले गोली हानेको भन्दै बङ्गलादेशको आपत्ति

    काठमाडौं । भारतीय सीमा बलले हानेको गोली लागेर आफ्नो देशकी बालिकाको हत्या भएको बङ्गलादेशले आरोप लगाएको छ ।

    बङ्गलादेशले १३ वर्षीया स्वर्ण दाश नामकी बालिकालाई सीमा पार गरेकोमा गोली हानिएको आरोप लगाएको छ । भारतीय मिडियाले भने गोली लागेको अवस्थामा बङ्गलादेशी हिन्दू बालिकाको शव सोमबार बिहान भेटिएको लेखेका छन् ।

    बङ्गलादेशको विदेश मन्त्रालयले बालिका हत्याबारेमा भारतसँग विरोध दर्ज गरेको सार्वजनिक गरेको छ । शेख हसिना सरकार सडकबाट ढलेपछि भारत र बङ्गलादेशको तनाव बढेको छ ।

    हसिनालाई शरण दिएर सुपुर्दगी नगरेको बङ्गलादेशी पक्षको आरोप छ भने भारतले हिन्दू अल्पसंख्यकको हिंसा भएको भन्दै आलोचना गरिरहेको छ । भारत र बङ्गलादेशको चार हजार किलोमिटर बढी सीमा छ । यो भनेको नेपालको भारत र चीन दुवै देशसँगको सीमाना भन्दा धेरै हो ।

  • अमेरिकी चुनावमा पुटिनको साथ कमलालाई (भिडिओ)

    अमेरिकी चुनावमा पुटिनको साथ कमलालाई (भिडिओ)

    काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो साथ कमला ह्यारिसलाई भएको बताएका छन् ।

    रुसी सहर भ्यादिभोस्तोकमा आयोजना भएको इस्टर्न इकोनोमिक फोरममा आयोजना गरिएको प्यानल डिस्कसनमा बोल्दै पुटिनले यस्तो बताएका हुन् ।

    उनले चिनियाँ उपरराष्ट्रपति हान चङ तथा मलेसियाली प्रधानमन्त्री अन्वर इब्राहिमसँगको प्यानलमा सहजकर्ताको प्रश्नमा पुटिनले यस्तो बताएका हुन् ।

    पुटिनले डेमोक्रेटिक पार्टीकि राष्ट्रपतिय उम्मेदवार कमला ह्यारिसको ‘संक्रामक हाँसो’को तारिफ गर्दै जो बाइडेनले आफ्नो सट्टामा राम्रो उम्मेदवार दिएको बताएका छन् ।

    पुटिनले अमेरिकी इतिहासमा सबैभन्दा धेरै प्रतिवन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प भएको भन्दै आफूले यस अगाडिको चुनावमा जो बाइडेनलाई समर्थन गरेको बताएका छन् ।

    यद्यपि, पुटिनले सार्वजनिक रुपमा पहिले जो बाइडेन र अहिले कमलालाई समर्थन गर्ने बताएपनि अमेरिकामा भने पुटिनले ट्रम्पलाई जिताउन धाँधली गरेको आरोप लाग्ने गरेको छ ।

  • रसिया पढ्न जान लागेका विद्यार्थीलाई अभिभावकको प्रतिवद्धताबेगर अनुमति पत्र नदिइने‍ (भिडिओ)

    रसिया पढ्न जान लागेका विद्यार्थीलाई अभिभावकको प्रतिवद्धताबेगर अनुमति पत्र नदिइने‍ (भिडिओ)

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिवद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छन् ।

    बिहीबार सिंहदरबारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रसियामा युद्ध भइरहेकाले अभिभावकको प्रतिवद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताएकी हुन् ।

    रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो । सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिवद्धता मागेको हो ।

    मन्त्री भट्टराईले रसियमा दुईदेखि ६ बर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरुप्रति सरकार चिन्तित भएको धारणा राखिन् । उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसंग छलफल गरिएको जिकिर गरिन् । अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनको भनाई छ ।

    अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरुको सम्बन्धीत देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उहाले बताए । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरुले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए । मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगाएतका क्षेत्रमा पढ्नकालागि ४० जना विद्यार्थीले छात्रवृति पाएका थिए ।

     

  • रुस युक्रेन युद्धमा समन्वयकर्ता बन्न सक्ने देशहरू चीन, भारत, ब्राजिल हुन् : पुटिन

    रुस युक्रेन युद्धमा समन्वयकर्ता बन्न सक्ने देशहरू चीन, भारत, ब्राजिल हुन् : पुटिन

    काठमाडौं । रुस र युक्रेनको युद्धमा समन्वयकर्ता बन्न सक्ने देशहरू पश्चिमा देशहरू नभएको पुटिनले संकेत गरेका छन् ।

    उनले युक्रेनले पश्चिमा मेन्टरहरुको साथ समन्वय गर्न नसक्ने भन्दै समन्वय गर्ने देशहरूमा चीन, भारत र ब्राजिल भएको बताएका छन् ।

    रुसमा जारी इन्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले यस्तो बताएका हुन् ।

    चिनियाँ उपरराष्ट्रपति हान चङ र मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमसँग प्यानल छलफलमा बोल्दै पुटिनले यस्तो बताएका हुन् ।

    स्विट्जरल्याण्डमा हुने वर्ल्ड इकोनोमिक फोरमको रुसी संस्करणको रूपमा बुझिने इस्टर्न इकोनोमिक फोरम यही सेप्टेम्बर ३ बाट सुरु भएर भोलि अर्थात् सेप्टेम्बर ६ सम्म चल्नेछ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार यो वर्षको फोरममा ७६ देशका ६ हजार प्रतिनिधिहरू सहभागी छन् ।

    फोरम रुसको पूर्वी क्षेत्रमा रहेको सहर भ्यादिभोस्तोकमा भइरहेको छ ।

  • युक्रेनमा युद्धमा मारिएको आँकडा झुटो भनेको ट्रम्पको आरोप

    युक्रेनमा युद्धमा मारिएको आँकडा झुटो भनेको ट्रम्पको आरोप

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले युक्रेनले युद्धमा मारिएकाहरूको आँकडा झुटो दिएको बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार उनले मरेका भन्दा थोरै संख्या दिइएको बताएका छन् । अमेरिकाका पडकास्टर लेक्स फ्रिडम्यानसँगको कुराकानीमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् ।

    पडकास्ट मङ्गलवार सार्वजनिक भएको हो । कुराकानीमा ट्रम्पले भनेका छन्, ‘उनीहरू संख्या थोरै देखाउन खोजिरहेका छन् । उनीहरूले दुई ब्लक भएको भवन भत्काउँछन् । अनि भन्छन्, एक जनालाई सामान्य चोट लागेको छ । त्यो हुँदै होइन । धेरै मान्छे मारिएका छन् । लाखौँ मारिएका छन् ।’

  • अमेरिकाको जर्जियास्थित एक विद्यालयमा गोली प्रहार, २ शिक्षक र २ विद्यार्थीको मृत्यु

    अमेरिकाको जर्जियास्थित एक विद्यालयमा गोली प्रहार, २ शिक्षक र २ विद्यार्थीको मृत्यु

    काठमाडौं । अमेरिकाको जर्जियामा एक १४ वर्षीय बालकले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् ।

    गोली प्रहारबाट मारिनेमा २ जना शिक्षक र दुई जना १४ वर्षका विद्यार्थी रहेको पुष्टि भएको छ । ९ जनालाई अस्पताल भर्ना गरिएको छ ।

    विन्डरस्थित अपलाची हाईस्कुलमा गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी नियन्त्रणमा रहेका छन् ।

    जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका निर्देशक क्रिस होसीले अपलाची हाई स्कूलमा सामूहिक गोलीकाण्डमा दोषी ठहरिएका १४ वर्षीय विद्यार्थी कोल्ट ग्रेलाई आज राति जेलमा राखिने बताए ।

     २०२४ मा भएको कम्तिमा ४५ औँ स्कुल गोलीबारी भएको सीएनएनले जनाएको छ ।

  • ‘सुन्दर’ विदेशी जासुसहरूबाट सावधान रहन विद्यार्थीहरूलाई चीनको चेतावनी

    ‘सुन्दर’ विदेशी जासुसहरूबाट सावधान रहन विद्यार्थीहरूलाई चीनको चेतावनी

    बेइजिङ । चीनको राज्य सुरक्षा एजेन्सीले बुधबार संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको छ । एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् ।

    गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्न प्रायः कठोर र असामान्य तरिकाले वफादार चिनियाँहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालय (एमएसएस)को दाबीलाई बढावा दिएको छ ।

    विदेशी जासुसहरूको ‘अनगिन्ती रूप छन् र तिनीहरूले आफ्नो लिङ्ग पनि परिवर्तन गर्न सक्छन् भन्ने चेतावनी दिँदै मन्त्रालयले नागरिकहरूलाई मुलुकको खतराविरुद्ध एक अर्ब ४० करोड जनताको रक्षा गर्न आह्वान गरेको छ ।

    साथै मन्त्रालयले बुधबार विदेशी गुप्तचर एजेन्सीहरूमाथि चिनियाँ विद्यार्थीलाई लोभ्याउन ‘रोमान्स जाल’ तैनाथ गरेको आरोप लगाएको छ ।

    विदेशी जासुसहरूले गोप्य जानकारी हस्तान्तरण गर्न विद्यार्थीहरूलाई विशेषगरी ‘संवेदनशील वैज्ञानिक अनुसन्धान डाटा’ सम्म पहुँच भएकाहरूलाई ‘प्रलोभनमा पार्न र बाध्य बनाउन’ नोकरीको विज्ञापन र अनलाइन डेटिङको पनि प्रयोग गरिरहेको एमएसएसले बताएको छ ।

    एमएसएसले चेतावनी दिँदै भनेको छ, ‘उनीहरूले आफूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ का रूपमा पनि युवा विद्यार्थीहरूलाई ‘रोमान्सको जाल’ मा तान्न सक्छन् ।’

    एमएसएसले कथित योजना पछाडि कुन मुलुक थियो भन्नेबारे बताएको छैन, तर एजेन्सीले जासुसहरूले आफूलाई विश्वविद्यालयको विद्वान, वैज्ञानिक शोधकर्ता वा सल्लाहकारका रूपमा विद्यार्थीहरूलाई पैसाको अभावमा प्रलोभनमा पार्न सक्ने चेतावनी दिएको छ । यसलाई ‘लक्षित घुसपैठ’ भनिन्छ ।

    यसै महिना एमएसएसले ‘राम्रो सामरी (परोपकारी वा सहयोगी व्यक्ति)’ भएको देखावटी गर्ने ‘भेंडाको लुगामा ब्वाँसाहरू’ विदेशी एजेन्टहरूबाट सावधान रहन जनतालाई चेतावनी दिएको थियो ।

    एजेन्सीले जुनमा बेलायतको एमआई ६ गुप्तचर एजेन्सीमाथि बेलायतका लागि जासुसी गर्न केन्द्रीय सरकारका लागि काम गर्ने एक जोडीलाई भर्ती गरेको आरोप लगाएको थियो ।

    दशकौंमा चीनका सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले मुलुकको उत्थानलाई रोक्न विदेशी शक्तिहरूले प्रयास गरिरहेको कडा चेतावनी दिएको छ ।

    चीन र पश्चिमा शक्तिहरूले लामो समयदेखि एकअर्कामाथि जासुसी गरेको आरोप लगाउँदै आएका छन् र उनीहरूले हालैमात्र कथित व्यक्तिगत मामिलाको विवरण सार्वजनिक गर्न थालेका छन् ।

    मे महिनामा अनुसन्धानकर्ताहरूले चीनका लागि जासुसी गरेको आशङ्कामा जर्मन एमईपीको ब्रसेल्स कार्यायलमा खानतलाशी गरेको थियो ।

    मङ्गलबार न्युयोर्क राज्यका गभर्नरको सहयोगीका रूपमा काम गर्ने एक पूर्वअधिकारीलाई लाखौं डलरको बदलामा चीनको एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ गरिएको थियो । -रासस/एएफपी

  • १० अफ्रिकी देशको नोट तथा सिक्कामा चिनियाँ परियोजनाका तस्विर

    १० अफ्रिकी देशको नोट तथा सिक्कामा चिनियाँ परियोजनाका तस्विर

    काठमाडौं । यही हप्ता चीनमा चीन-अफ्रिका शिखर सम्मेलन आयोजना भयो । अफ्रिकाका ५० देशका सरकार तथा राष्ट्र प्रमुखहरु र सरकारी प्रतिनिधिहरु सहभागी भएको शिखर सम्मेलन सेप्टेम्बर ४ देखि ६ सम्म भयो । प्रमुख कार्यक्रम यही भए पनि अरु साइड इभेन्टहरु भइरहेका छन् ।

    यसैबीचमा विभिन्न अफ्रिकी देशहरुका नोट तथा सिक्काहरुमा चिनियाँ परियोजनाका तस्बिरहरुले स्थान पाएको छ । शिखर सम्मेलन सुरु हुनु अगाडि चिनियाँ उपविदेशमन्त्री हुआ छुनयिङले एक नोट सार्वजनिक गरिन् ।

    इजिप्टको एक सिक्कामा चीनले बनाएको नयाँ प्रशासनिक भवनको तस्बिर राखिएको छ । चिनियाँ उपविदेशमन्त्रीले यहीमात्रै तस्बिर सार्वजनिक गरिन्, तर यस्ता सिक्का तथा नोट बनाउने इजिप्ट पहिलो र अन्तिम देश होइन ।

    अफ्रिकाका दश देशले यस्तै नोट तथा सिक्का सार्वजनिक गरेका छन् । सुडानले आफ्नो १०० पाउण्ड नोटमा चीनले बनाइदिएको ड्याम राखेको छ । अल्जेरियाले आफ्नो ५०० र १००० दिनारको नोटमा क्रमशः चीनले बनाइदिएको स्याटेलाइट र मस्जिदको तस्बिर राखेको छ ।

    गुइना देशले २० हजार फ्राङ्कमा चीनले बनाएको जलविद्युतको तस्बिर राखेको छ ।

    यस्तै मोरक्कोले २० दिरानको नोटमा चीनले बनाइदिएको पुलको तस्बिर सार्वजनिक गरेको छ । कङ्गोको ५०० फ्राङ्कमा चीनले बनाएको पुल तथा मलावीको दुई हजार नोटमा चीनले बनाइदिएको विश्वविद्यालयको तस्बिर राखिएको छ ।

  • डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

    डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

    काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरुसहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।

    हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ ।

    तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

    त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपयोर्कका अनुसार यो फैसलासँगै तीन वर्षबाट चलेको कानूनी लडाइँको अन्त्य पनि भएको छ ।

  • रुसमा परिवारका सदस्य भएको भन्दै युक्रेनले ड्रोन बल प्रमुखलाई गर्‍याे बर्खास्त

    रुसमा परिवारका सदस्य भएको भन्दै युक्रेनले ड्रोन बल प्रमुखलाई गर्‍याे बर्खास्त

    काठमाडौं । युक्रेनले आफ्नो सैन्य बलको ड्रोन प्रमुखलाई बर्खास्त गरेको छ । रुसमा परिवारका सदस्य भएको भन्दै यस्तो गरिएको बताइएको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार ड्रोन बल प्रमुख रोमन ग्ल्यादकीलाई हटाएर छानविन सुरु गरेको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले मङलबार मात्रै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीलाई हटाएका छन्।

    यस्तै ,अमेरिकाले दिएको एफ-१६ जहाज र पाइलट हराएको भन्दै केही दिन अगाडि युक्रेनी हवाई बल प्रमुखलाई पनि हटाइएको छ । छ वटा एफ-१६ भएकोमा अब पाँच मात्र बाँकी भएको बताइएको छ ।

  • माओको ‘अपमान’ गरेका मूर्तिहरु बनाउने चिनियाँ कलाकार पक्राउ

    माओको ‘अपमान’ गरेका मूर्तिहरु बनाउने चिनियाँ कलाकार पक्राउ

    काठमाडौं । माओको अपमान गरेको आरोपमा चीनका एक कलाकार पक्राउ परेका छन् । काओ चेन नामका ती कलाकारले माओको स्तन ठूलो भएको, जिब्रो निकालेको तथा माओले घुँडा टेकेको लगायतका मूर्तिहरु बनाएको र माओबारेमा आलोचनात्मक कुरा गर्ने गरेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    दुई वर्ष अगाडि चीन छोडेर अमेरिका पुगेका कलाकार चेन हालसालै चीनको हबई प्रान्तमा फर्किँदा पक्राउ परेको बताइएको छ । उनको पक्राउको खबर उनका दाजुले सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् । तीस जना प्रहरी अधिकारीहरु आएर पक्राउ गरिएको बताइएको छ ।

    उनी गत अगस्ट २६ मा पक्राउ परेको खुलेको छ । सन् १९६० र १९७० को दशकमा चलेको चीनको सांस्कृतिक क्रान्तिको समयमा ती कलाकारका पितालाई घिसारेको मारिएको थियो । उनलाई जेलमा, प्रहरी स्टेसनमा नभएर अन्त कतै यस्तो गरिएको उनीहरुले सन २००९ मा अमेरिकी अखबार न्यूयोर्क टाइम्सलाई बताएका थिए ।

    सन् २०२१ मा सि चिनफिङले नयाँ कानून ल्याएका छन् । त्यो कानूनअनुसार माओको अपमान गर्नु गैरकानूनी हुन्छ । तर, कलाकार पक्राउ गरेको कुराको विरोधमा चिनियाँ कालकारहरुले खुला पत्र लेखेर छुटाउन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

     

  • न्यूजिल्याण्डले झण्डै तेब्बर बढायो पर्यटक कर

    न्यूजिल्याण्डले झण्डै तेब्बर बढायो पर्यटक कर

    काठमाडौं । न्यूजिल्याण्डले पर्यटकबाट लिँदै आएको करबापतको शुल्क बढाएको छ । बेलायती विश्व सेवा बीबीसीका अनुसार न्यूजिल्याण्डले झण्डै तीन गुणा धेरै पर्यटन कर बढाएको छ । जसअनुसार ३५ न्यूजिल्याण्ड डलर कर लिँदै आएकोमा अब बढाएर १०० पुर्‍याइएको छ ।

    नयाँ कर नियम अक्टोबर १ बाट लागू हुनेछ । पर्यटन कर बढाइएकोले यसलाई धेरैले पर्यटकहरु बिच्किनसक्ने रुपमा व्याख्या गरेका छन्, तर न्यूजिल्याण्ड सरकारले भने यसलाई आर्थिक वृद्धि गर्ने कामको रुपमा व्याख्या गरेको छ ।

    न्यूजिल्याण्डले सबैभन्दा पहिलोपटक पर्यटक करको कुरा सन् २०१९ मा ल्याएको थियो । पाँच वर्षमा त्यो दर झण्डै देब्बर बनाइएको छ । १०० डलर करलाई न्यूजिल्याण्डमा औसत पर्यटकले खर्च गर्ने ३ प्रतिशतभन्दा थोरै रकम भएको भन्दै सरकारले नियमको प्रतिरक्षा गरेको छ ।

    न्यूजिल्याण्डमात्रै पर्यटन कर लिने देश भने होइन । इन्डोनेसिया, इटाली, स्पेन, क्रोएसिया, अस्ट्रिया, आइसल्याण्ड, कोस्टा रिका आदि देशहरुले पनि पर्यटन कर लिइरहेका छन् ।

  • एलन मस्क डोनाल्ड ट्रम्पको सरकारमा जोडिन आतुर !

    एलन मस्क डोनाल्ड ट्रम्पको सरकारमा जोडिन आतुर !

    काठमाडौं । अमेरिकी खर्बपति एलन मस्क डोनाल्ड ट्रम्प सरकारमा जोडिन आतुर देखिएका छन् । विद्युतीय सवारी कम्पनी टेस्ला, अन्तरिक्ष उडान कम्पनी स्टार लिङ्क तथा सामाजिक सञ्जाल एक्सका साहु मस्कले यो चुनावमा ट्रम्पलाई साथ दिएका छन् ।

    ट्रम्पलाई गोली प्रहार गरिएको गत जुलाई १३ कै दिनबाट सार्वजनिक रुपमा मस्क उनको समर्थनमा जोडिएका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टको समाचार उद्धृत गरिएकाे रसियाली सञ्चारमाध्यम आरटीका अनुसार अमेरिकी सरकारी निकायहरुमा भएका कमजोरीहरु र त्यसको समाधान गर्न बनाइने व्यवसायिक प्रतिनिधिको एक सदस्य मस्क हुने भएका छन् । यसो गर्न मस्क आतुर भएको बताइएको छ ।

    मस्कले ट्रम्पको चुनावी अभियानमा देखिनेगरी साथ दिइरहेका छन् । कमला ह्यारिसलाई ‘कमरेड कमला’ भन्दै कम्युनिष्ट करार गर्न ट्रम्पसँगै मस्क बराबर सक्रिय छन् ।

  • रुसी राष्ट्रपति पुटिन मंगोलियामा, पक्राउ गर्न जेलेन्स्कीको आग्रह

    रुसी राष्ट्रपति पुटिन मंगोलियामा, पक्राउ गर्न जेलेन्स्कीको आग्रह

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी भूपरिवेष्टित देश मंगोलिया पुगेका छन् । सोमबार राती मंगोलिया ओर्लिनु भन्दाअगाडि पुटिनलाई पक्राउ गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आग्रह गरेका थिए ।

    सन २०२३ मार्चमा अन्तर्राष्ट्रिय अपराध अदालतले गरेको फैसलाको सम्मान गरेर पक्राउ गर्न जेलेन्स्कीले आग्रह गरेका थिए ।

    युक्रेनी बालबालिकाहरूलाई गैरकानुनीरुपमा रुसमा लगिएको आरोप पुटिनलाई थियो । सोही मुद्दामा अदालतले फैसला गरेको थियो । तर, रुस तथा पुटिनले भने बालबालिकाहरुलाई युद्धबाट जोगाउन लगिएको तथा रुसमा पनि उनीहरूलाई युक्रेनी भाषामै शिक्षादीक्षा दिइएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय अपराध अदालतको सदस्य देश भएकोले मंगोलियाले पुटिनलाई पक्राउ गर्नुपर्ने युक्रेनी आग्रह छ । सोमबार मंगोलिया पुगेका पुटिनलाई पक्राउ नगरेर स्वागत गरिएकोमा युक्रेन क्रुद भएको छ ।

    युक्रेनी विदेश मन्त्रालयले मंगोलियाले त्यसको परिणाम भोग्ने चेतावनी दिएको छ । तर, कस्तो परिणाम भनेर खुलाएको छैन । पुटिन सन १९३९ मा रुसी तथा मंगोलियाले सेनाले पराजित गरेको जापानी सैनिकसँगको युद्धको वार्षिक उत्सव मनाउन पुगेका हुन् ।

    उक्त युद्ध महिनौँ चलेको थियो र दुवै देशका हजारौँको मृत्यु भएको थियो तर जित रुस तथा मंगोलियाको पक्षको भएको थियो ।

  • बङ्गलादेशका विद्यार्थी नेताले आन्दोलन अगाडि अमेरिकी र पाकिस्तानी गुप्तचरलाई भेटे : भारतीय गुप्तचर

    बङ्गलादेशका विद्यार्थी नेताले आन्दोलन अगाडि अमेरिकी र पाकिस्तानी गुप्तचरलाई भेटे : भारतीय गुप्तचर

    काठमाडौं । बङ्गलादेशका आन्दोलन हाँक्ने विद्यार्थी नेताहरूले आन्दोलन अगाडि अमेरिकी गुप्तचर निकाय सिआईए र पाकिस्तानी गुप्तचर निकाय आईएस आईलाई भेटेको भारतीय गुप्तचर निकायलाई साभार गरेर भारतीय मिडियाले उल्लेख गरेको छ ।

    ती विद्यार्थी नेताहरूले कतारको राजधानी दोहा, यूएईको सहर दुबई र पाकिस्तान पुगेर एक बर्स अगाडि भेट गरेको बताइएको छ । यो समाचार शेख हसिनापुत्र सजिब वाजेजले पनि साझा गरेका छन्।

    सन २०२३ को अप्रिल र सेप्टेम्बरमा विदेशी गुप्तचर भेटेको बारेमा बङ्गलादेश गुप्तचर बेखबर थिए भने भारतीय गुप्तचर नि जानकार नभएको बताइएको छ ।

    यस्तै कतारलाई प्रयोग गरेर अमेरिकीले विद्यार्थीलाई पैसा दिएको बताइएको छ ।

    समाचारमा बङ्गलादेशी र भारतीय गुप्तचरले पाकिस्तानी र अमेरिकी भेटमा चासो नदिएको तर रुसी गुप्तचरले भने चासो दिएर सचेत गराएको पनि समाचारमा उल्लेख गरिएको छ ।

  • भेनेजुएलाका राष्ट्रपतिको प्लेन अमेरिकाले कब्जा गर्‍यो

    भेनेजुएलाका राष्ट्रपतिको प्लेन अमेरिकाले कब्जा गर्‍यो

    काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्लेन अमेरिकाले कब्जा गरेको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार डोमिनिकल गणतन्त्रबाट कब्जा गरिएको फाल्कन ९०० इएस्क जहाज अमेरिकाले कब्जा गरेर फ्लोरिडामा लगेको छ । प्लेनमा मदुरो भने सवार थिएनन्।

    एक करोड तीस लाख अमेरिकी डलर दाम पर्ने प्लेन कब्जा गरिएको हो ।

    सन २०२३ मा अमेरिकाबाट क्यारिबियन हुँदै बेनेजुएलामा अवैध किनबेच गरिएको प्लेन भन्दै अमेरिकाले कब्जा गरेको जस्टिस डिपार्टमेन्टले उल्लेख गरेको छ । प्लेन कब्जा बारेमा मदुरोको कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।

  • नेटो देश टर्कीले ब्रीक्स सदस्य बन्न आवेदन दिएको खुलासा

    नेटो देश टर्कीले ब्रीक्स सदस्य बन्न आवेदन दिएको खुलासा

    काठमाडौं । अमेरिका तथा युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोको सदस्य देश टर्कीले रुस, चीन र भारत आदि अगुवा भएको ब्रीक्समा सदस्यता लिन आवेदन दिएको सार्वजनिक भएको छ ।

    अमेरिकी अखबार ब्लुमबर्गका अनुसार दुई महिना अगाडि टर्कीले निवेदन दिएको हो ।

    नेटोको युक्रेन युद्ध तथा इजरायल नीतिमा फरक मत राख्दै आएको टर्कीले नेटोमा दिक्क भएर ब्रीक्स सदस्य बन्न खोजेको ब्लुमबर्गको समाचारले सङ्केत गरेको छ ।

    यस्तै सन १९९९ बाट निरन्तर युरोपेली युनियनको सदस्यता मागेको टर्कीलाई ‘मानव अधिकार’को बाहानमा सदस्यता दिइएको छैन।

    टर्कीले भने इसाई एकछत्र भएको युनियनमा इस्लाम देश भएकोले नपाएको टर्कीमा चर्चा हुने गरेको छ । अहिले ब्रीक्सको अध्यक्ष रुस छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार रुसी विदेश मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारसँग बोल्दै टर्कीले आवेदन दिएको सार्वजनिक गरेका छन्।

    तीन महिना अगाडि टर्कीका विदेशमन्त्री हाकान फिदानले पनि सदस्यता लिन सकिने बताएका थिए।

    सन २००६ मा ब्राजिल, रुस, भारत, चीनले स्थापना गरेको ब्रीक्समा सन २०११ मा दक्षिण अफ्रिका जोडिएको थियो।

    यो सालबाट इरान, इजिप्ट, इथिओपिया, यूएईले सदस्यता पाएका छन्।

    विश्वका दर्जनौँ देशहरूले ब्रीक्समा जोडिन आवेदन दिएका छन्।

  • जनदबाबपछि निजेरबाट जर्मनीको सेना फिर्ता

    जनदबाबपछि निजेरबाट जर्मनीको सेना फिर्ता

    काठमाडौं । युरोपेली देश जर्मनीको सेना अफ्रिकी देश निजेरबाट फिर्ता भएको छ । आठ वर्ष निजेरमा बसेर सेना फिर्ता भएको जर्मनीको विश्व च्यानल डीडब्ल्यूले जनाएको छ ।

    डीडब्ल्यूका अनुसार सन् २०२३ जुलाईमा सैन्य ‘कू’ भएर सैन्य सत्ता स्थापना भएपछि जर्मनीले सेना फिर्ता बोलाएको हो । फिर्ता भएपछि निजेरको राजधानी मियामे नजिकैको सैन्य शिविर निजेरको सेनालाई हस्तान्तरण गरिएको छ ।

    दुई वर्ष अगाडि जर्मनीका चान्सलर ओलाफ सोल्जले पनि निजेर भ्रमण गरेका थिए । निजेरमा विदेशी सैनिकहरु फिर्ता लाने विषयमा सैन्य ‘कू’ भएपछि लामो समय आन्दोलन पनि भएको थियो । आन्दोलनपछि अमेरिकी तथा फ्रान्सेली सेना फिर्ता भएका थिए ।

    निजेर सैन्य शिविरमा जर्मनीको १२ करोड यूरो खर्च भएको डीडब्ल्यूले उल्लेख गरेको छ ।

    रोचक कुरा पश्चिमा देशका सैनिकहरुलाई फिर्ता गरेको निजेरले रुसी सैन्य अधिकारीहरु ल्याएर तालिम सुरु गरेको छ ।

  • अनलाइन यौन प्रकरणमा जोडेर टेलिग्राममाथि छानबिन गर्दै दक्षिण कोरिया

    अनलाइन यौन प्रकरणमा जोडेर टेलिग्राममाथि छानबिन गर्दै दक्षिण कोरिया

    काठमाडौं । दक्षिण कोरियाले टेलिग्राम नामको सामाजिक सञ्जालमाथि छानबिन सुरु गरेको छ ।

    अनलाइन यौन प्रकरण जोडेर टेलिग्राममाथि छानबिन सुरु गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार टेलिग्राम मालिक पाभेल दुरोपलाई फ्रान्समा पक्राउ गरेको एक हप्तापछि यो छानबिन सुरु भएको हो ।

    छानबिन गर्दा दक्षिण कोरियाली प्रहरीले फ्रान्स प्रहरी तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्ने बताइएको छ ।

  • जापानमा विद्यार्थीले सपिङ सेन्टरबाट हाम फाल्दा पैदलयात्रुसहित मृत्यु

    जापानमा विद्यार्थीले सपिङ सेन्टरबाट हाम फाल्दा पैदलयात्रुसहित मृत्यु

    काठमाडौं । जापानकी एक विद्यार्थीले अग्लो सपिङ सेन्टबाट हाल फालेर मृत्युवरण गरेकी छिन् ।

    उनीसँगै एक पैदल यात्रुको पनि मृत्यु भएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार १७ वर्षकी किशोरी विद्यार्थीले शनिवार साँझ हाम फाल्दा ३२ वर्षका महिलालाई किचेर उनको मृत्यु भएको हो । ती विद्यार्थीको आत्महत्याको कारण सार्वजनिक भएको छैन ।

    बीबीसीका अनुसार सेप्टेम्बर १ लागेपछि नयाँ कक्षा सुरु हुने भएकोले त्यो अवधिमा धेरै जापानी विद्यार्थीहरूले आत्महत्या गर्दै आएका छन् ।

    गत वर्ष मात्रै विद्यालयको समस्या देखाएर ५१४ जापानी विद्यार्थीहरूले आत्महत्या गरेका थिए ।

    जापानमा विद्यालय फिर्न नचाहाने विद्यार्थीहरूलाई फुतोको भनिन्छ । फुतोको हुनेहरूको कारण साथीहरूसँगको समस्या तथा उनीहरूले खेप्नु परेको तनाव बताइएको छ ।

    जी–७ देशहरूमा जापान एक्लो देश हो जहाँको किशोरकिशोरीहरुको मृत्युको प्रमुख कारण आत्महत्या हो ।

  • इजरायली बन्धकहरू गाजामा मारिएको सार्वजनिक भएपछि नेतान्याहु विरोधी प्रदर्शन (भिडिओ)

    इजरायली बन्धकहरू गाजामा मारिएको सार्वजनिक भएपछि नेतान्याहु विरोधी प्रदर्शन (भिडिओ)

    काठमाडौं । हालसालै इजरायलका छ जना बन्धकहरू गाजामा मारिएको पाइएपछि इजरायलमा प्रदर्शनहरू भएका छन् ।

    प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध गरेका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार प्रदर्शनकारीहरूले युद्ध बिरामको पक्षमा आवाज उठाएका छन् भने इजरायलका ट्रेड युनियनले सोमबार हडताल घोषणा गरेका छन् ।

    हमाससँग सम्झौता गरेर बाँकी बन्धकहरूलाई सकुशल ल्याउन यस्तो नागरिक दबाब दिइएको बताइएको छ ।

    गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछिको सबैभन्दा ठूलो प्रदर्शन आइतबार भएको बताइएको छ ।

    जहाँ तेल अभिभमा मात्रै तीन लाख प्रदर्शनकारीहरू भेला भएका थिए भने अरू सहरहरुमा बिस हजार बढी भेला भएको बताइएको छ ।

    हमासले हमला गर्नु अगाडि पनि प्रधानमन्त्री नेतान्याहु विरोधी प्रदर्शनहरू भएका थिए । तर हमास हमलापछि बनेको युद्ध मन्त्रिपरिषद्पछि आइतबारको तहका प्रदर्शनहरू भएका थिएनन् ।

  • मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

    मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

    भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ ।

    आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएको प्रहरीले बताएको छ । द्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए ।

    सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व सुरु भएको थियो । उक्त जातीय द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो ।

    प्रतिद्वन्द्वी मिलिसियाले युद्धग्रस्त म्यान्माको सीमासँग जोडिएको राज्य मणिपुरका केही भागमा नाकाबन्दी गरेका छन् ।

    दुवै समूहबीच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूका लागि प्रतिस्पर्धाको वरिपरि घुमेको छ । अधिकार कार्यकर्ताहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभ हासिल गर्नका लागि जातीय विभाजनलाई बढाएको आरोप लगाएका छन् ।

    “सामान्यतया ड्रोन बमहरूको प्रयोग सामान्य युद्धमा प्रयोग गरिन्छ तर सुरक्षा बल र सर्वसाधारणविरुद्ध विस्फोटक पदार्थहरू तैनाथ गर्नका लागि ड्रोनको यो हालैको तैनाथीले महत्त्वपूर्ण वृद्धिको सङ्केत गर्दछ”, मणिपुर प्रहरीले आइतबार विज्ञप्तिमा भनेको छ ।

    राज्यको राजधानी इम्फालबाहिरको आक्रमण ‘कथित कुकी’ विद्रोहीहरूले गरेको विज्ञप्तिमा उल्लेख छ ।

    घाइते हुनेमा मृत्यु हुने महिलाकी आठ वर्षीया छोरीका साथै तीन सर्वसाधारण र दुई प्रहरी अधिकारी रहेका छन् ।

    “सम्भवतः प्राविधिक विशेषज्ञता र सहयोगका साथ उच्च प्रशिक्षित पेशेवरहरूको सहभागितालाई अस्वीकार गर्न सकिँदैन”, प्रहरीले भनेको छ ।