काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ।
हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ताहरूले ल्याएको पछिल्लो प्रस्ताव स्वीकार गरेको हाे ।
कतारको पहलमा तयार पारिएको गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमासले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले बताएको छ ।
हमासले इजरायलका बाँकी रहेका करिब ५० मध्ये आधा बन्धकहरूमध्ये २० जीवित रहेको हुनसक्ने उल्लेख गरेको छ । ती बन्धकहरुलाई दुई चरणमा मुक्त गर्नेछ। प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा बन्धकहरू रिहा गरिनेछ, र त्यस अवधिमा स्थायी युद्धविरामबारे वार्ता अघि बढाइने बीबीसीले जनाएको छ ।
तर, याे प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया दिएकाे छैन। प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता इजरायलले सबै बन्धकहरू एकैपटक मुक्त नगरी कुनै सम्झौता स्वीकार नगर्ने बताएका थिए ।
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आजको छलफल अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा आज ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो वार्ता अहिलेसम्मकै उत्कृष्ट भएको बताएका हुन्। उनले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि तयार रहेको बताएका छन्।
बैठकमा सहभागी युरोपेली नेताहरूले पनि आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनीहरुले युद्धविराम, सुरक्षा प्रत्याभूति र युक्रेनको सार्वभौमिकताको विषयमा जोड दिएका थिए ।
बेलायती प्रधानमन्त्री कियर स्टारमरले आजको छलफल नेताहरूबीचको वास्तविक एकता को संकेत दिएको बताए। उनले युक्रेनबारे कुनै पनि निर्णय युक्रेनको सहमति बिना हुन नहुनेमा जोड दिए । त्यस्तै
जर्मन चान्सलर फ्रिडरिख मर्जले राष्ट्रपति ट्रम्पलाई रूसमाथि युद्धविरामका लागि दबाब दिन आग्रह गरे। उनको भनाइ उदृत गर्दै बीबीसीले लेखेको छ,‘म कल्पना गर्न सक्दिनँ कि अर्को बैठक युद्धविराम बिना सम्भव हुनेछ।’ उनका अनुसार, पुटिनले दुई साताभित्र जेलेन्स्कीसँग वार्ता गर्न सहमति जनाइसकेका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले युद्धविरामको समर्थन गर्दै युरोपेली सैन्य बलले युक्रेनमा जमिनमै खुट्टा राखेर समर्थन गर्नुपर्ने बेला आएको बताएका छन् र
फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले अमेरिकी सुरक्षा प्रत्याभूतिका सन्दर्भमा केही पनि ठोस कुरा नभएको टिप्पणी गरे। उनले भनेका छन् ‘पुटिनमाथि विश्वास गर्न सकिन्न।’
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लायनले युद्धका मानवीय पक्षमा ध्यान दिँदै रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको अविलम्ब फिर्तीको माग गरिन्। ‘यो युद्धको मानवीय मूल्य अब अन्त्य हुनुपर्छ,’ उनले भनिन्।
नाटो महासचिव मार्क रुट्टेले ट्रम्पलाई व्यवहारिक शान्तिकर्ता भनेर प्रशंसा गरे। उनले सुरक्षा प्रत्याभूतिका खाका तयार गर्न नेताहरूले केही दिनभित्र काम सुरु गर्नेछन्।
लन्डन । बेलायतमा ‘प्रतिभा नक्षत्र’को छैटौं संस्करण सम्पन्न भएकाे छ । नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ बेलायतमा ‘प्रतिभा नक्षत्र–६’ सम्पन्न भएकाे आयाेजकले जनाएकाे छ ।
कार्यक्रममा ‘बाल नक्षत्र’ र ‘युवा नक्षत्र’ गरी दुई समूहमा प्रतिस्पर्धा भएको थियो । बाल नक्षत्रतर्फ सुआग्या केसी विजयी भइन् भने फस्ट रनर अप आसिया भट्टराई, सेकेन्ड रनर अप सुमिना लिम्बू बने।यसैगरी युवा नक्षत्रतर्फ प्रथम इमाना गुरूङ, फस्ट रनर अप मनसुना सारु मगर र सेकेन्ड रनर अप डायमण्ड सारु मगर घोषित भए ।
विजेताले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। बाल नक्षत्रतर्फ प्रथम हुनेले पाँच सय पाउण्ड, द्वितीयले चार सय पाउण्ड र तृतीयले तीन सय पाउण्डसहित ट्रफी तथा प्रमाणपत्र पाए। युवा नक्षत्रतर्फ प्रथम हुनेलाई ७ सय पाउण्ड, द्वितीयलाई ६ सय पाउण्ड र तृतीयलाई ५ सय पाउण्ड सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
निर्णायक मण्डलमा डा. रक्षा थापा, सुशील प्रजापति, टंक धमला, किरण प्रधान र एलिना गुरूङ रहेका थिए ।
आइतबार लण्डन वुल्विचस्थित सेन्ट जर्जेस ग्यारिसन हलमा सम्पन्न कार्यक्रममा बेलायत र यूरोपमा बसोबास गर्ने नेपाली बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न प्रस्तुति र प्रतियोगिता आयोजना गरिएको थियो ।
सन् २०१७ देखि नियमित रूपमा हुँदै आएको ‘प्रतिभा नक्षत्र’ यसपटक पनि गुल्मेली प्रथम नौमती बाजा, पाईपर, धिमे बाजा सहित लाखेनाच, कुमारी नाच लगायतका मौलिक सांस्कृतिक प्रस्तुति तथा नेपालीपन झल्काउने स्टलहरूले थप आकर्षक बनेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले ‘प्रतिभा नक्षत्र’ले बेलायतस्थित नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति र मौलिकता नबिर्सन प्रेरित गरेको भन्दै समुदायमा यसले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा विभिन्न तहबाट अतिथि कलाकार, संघ–संस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। गुल्मी प्रथम नौमति बाजा यूकेले अतिथिहरूलाई न्यानो स्वागत गरेको थियो।
कार्यक्रममा बेलायत भ्रमणमा रहेका पत्रकार टिकाराम यात्री पनि सहभागी थिए ।
परिकल्पनाकार राजेन्द्र खसले ‘प्रतिभा नक्षत्र’ले नेपाली भाषा, संस्कृति र मौलिकतालाई संरक्षण गर्न विशेष योगदान पुर्याउँदै आएको उल्लेख गरे । उनले यसपटकको संस्करण ऐतिहासिक बनेको भन्दै आगामी वर्ष अझ परिष्कृत रूपमा आयोजना गरिने प्रतिवद्धता जनाए ।
कार्यक्रमको सञ्चालन लक्ष्मण श्रेष्ठ, राजेश बर्देवा र सिमिरा लामाले गरेका थिए भने स्वागत मन्तव्य संरक्षक मनिष श्रेष्ठले राखे भने धन्यवाद ज्ञापन अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए ।
काठमाडौं । प्यालेस्टाइनी पत्रकार मर्वा मुस्लिम र उनका २ जना भाइलाई इजरायली सेनाले हत्या गरेको पुष्टि भएको छ ।
घरभित्रै उनी र भाइहरु इजरायली सेनाको हमलामा परी मृत भेटिएका थिए । मारिएको ४४ दिनपछि पत्रकार मुस्लिम र उनका भाइको अस्थिपञ्जर भग्नावशेषहरुबाट स्वयंसेवकले निकालेका छन् । यो घटना पूर्वी गाजाको हो ।
ती पत्रकार अल शबाब रेडियोमा विभिन्न कार्यक्रम चलाउथिन् । उनीसहित गाजामा इजरायलले हत्या गरेका पत्रकारको संख्या २३३ पुगेको छ ।
काठमाडाैं । विवादास्पद युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवको हरियाणास्थित गुरुग्राम सेक्टर ५६ स्थित घरबाहिर आज बिहान अन्धाधुन्ध गोली प्रहार भएको छ । बिहान ५ः३० देखि ६ बजेको बीचमा तीन अज्ञात व्यक्तिहरू मोटरसाइकलमा आएर उनको घरमा आक्रमण गरेका हुन् ।
आक्रमणको समयमा एल्विश यादव घरमा थिएनन् । प्रहरीका अनुसार उनी कामको सिलसिलामा हरियाणाबाहिर गएका थिए । घरमा केयरटेकर र केही परिवारका सदस्यहरू थिए, तर आक्रमणमा कोही घाइते भएनन् ।
एल्विशले हालसम्म कुनै उजुरी दर्ता गराएका छैनन् । बन्दुकधारीले घरको तल्लो र पहिलो तलालाई निशाना बनाएका थिए । एल्विश दोस्रो र तेस्रो तलामा बस्छन् । आक्रमणकारीमध्ये दुई जनाले कम्तीमा एक दर्जन गोली प्रहार गरेर भागे ।
हिमांशु भाउ ग्याङले सामाजिक सञ्जालमार्फत उक्त आक्रमणको जिम्मेवारी लिएको छ । उक्त ग्याङले एल्विशलाई जुवा प्रवर्द्धन गरेको आरोप लगाएको छ । उनका पिता राम अवतार यादवले भने आफ्नो छोराले जुवा प्रवर्द्धन गरेकोबारे थाहा नभएको र कुनै पूर्व चेतावनी पनि नआएको बताए ।
‘प्रहरी यहाँ आएको छ, आक्रमण हुँदा म सुतिरहेको थिएँ,’ करिब २५–३० राउन्ड गोली चलेको थियो । एल्विशलाई कुनै धम्की आएको थिएन । सिसिटिभीमा तीन जना मोटरसाइकलमा देखिए, जसमध्ये दुई जना गेटमा थिए,’ राम अवतारले पत्रकारहरूसँग भने ।
प्रहरीले यादवको घरमा पुगेर प्रमाण सङ्कलन गरेको छ र आसपासको क्षेत्रको सिसिटिभी फुटेज पनि जाँच गरिरहेको छ । प्रहरीले कानुनी कारबाही सुरु भएको र परिवारले उजुरी दर्ता गरेपछि थप कदम चालिने बताएको छ ।
यसैबीच, हिमांशु भाउ ग्याङका राव इन्द्रजीत यादवले गोलाबारीको जिम्मेवारी लिँदै ग्याङस्टरहरू नीरज फरिदपुर र भाउ रिटोलियाले आक्रमण गरेको जानकारी दिएका छन् । जुवा प्रवर्द्धन गर्नेहरूलाई फोन वा गोलीको तयारी गर्न चेतावनी दिँदै ग्याङले दुईवटा पेस्तोलको तस्बिरसहित पोस्टसमेत गरेको छ । यद्यपि उक्त पोस्टको सत्यता पुष्टि गर्न भएको छैन ।
यसअघि गत महिना हरियाणवी गायक तथा र्यापर राहुल यादव उर्फ फजिलपुरियाको गाडीमा गोली प्रहार भएको थियो । उक्त घटनामा फजिलपुरिया सकुशल बचेका थिए । केही दिनअघि उनको नजिकको सहयोगी रोहित शौकीनको गुरुग्राममा दिनदहाडै हत्या भएको थियो ।
उक्त हत्याको जिम्मेवारी पनि हिमांशु भाउ ग्याङका ग्याङस्टर सुनील सरधानियाले लिएका थिए । एल्विश यादव प्रभावशाली तर विवादास्पद व्यक्ति हुन् । गत वर्ष उनलाई सर्पको विषलाई ड्रगको रूपमा प्रयोग गरेको रेव पार्टी आयोजना गरेको आरोपमा पक्राउ गरिएको थियो । पछि उनलाई मनी लान्ड्रिङ निवारण ऐन (पीएमएलए) अन्तर्गत पनि सोधपुछ गरिएको थियो ।
काठमाडौं । भारतको एक सरकारी पाठ्यक्रममा हिन्दुस्तानबाट पाकिस्तान अलग हुनुको एक कारण कांग्रेस पार्टीलाई समेत उल्लेख गरिएपछि ठूलो विवाद उब्जिएको छ ।
राष्ट्रिय शैक्षिक अनुसन्धान तथटा प्रशिक्षण परिषदको किताबको एक च्याप्टरमा उल्लेखित जानकारीले भारतमा हंगा खडा भएको हो । किताबमा भारत विभाजनको तीन कारकमध्ये मोहम्मद अलि जिन्नाहले इस्लामको अलग देश माग गर्नु, तत्कालीन स्वतन्त्र भारतको नेतृत्वकर्ता कांग्रेसले मुस्लिम लिगको माग स्वीकार गर्नु र तेस्रोमा तत्कालीन इस्ट इण्डिया कम्पनीका शासक माउन्टबेनले यसलाई बैधता दिनु उल्लेख गरिएको छ ।
कांग्रेसलगायत विपक्षी दलले इतिहासको तोडमरोड गरेर पक्षपातपूर्ण चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेस प्रवक्ता पवन खेडाले उक्त किताब आगो लगाउन आह्वान गरेका छन् । उनले तत्कालीन हिन्दू महासभा र मुस्लिम गिको मिलेमतोमा देशको विभाजन गरिएको बताएका छन् ।
उता सत्तारुढ भारतीय जनता पार्टीले भने विद्यार्थीलाई इतिहासको सच्चाइ अवगत गराउनु आवश्यक रहेको दावी गरेका छन् । बिजेपी प्रवक्ता गौरव भाटिले पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाह र स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुका पनाति हाल विपक्षी दलका नेता राहुल गान्धीको सोच एकैखाले रहेको भन्दै धर्मको आधारमा अखण्ड भारत बिभाजन गरिएको आरोप लगाएका छन् ।
यता अल इण्डिया मुस्लिम पार्टीका नेता तथा सांसद असदउद्दिन ओवेसीले कडा प्रतिक्रिया बारम्बार मुस्लिममाथि अपमान गरिएको बताएका छन् । उनले अखण्ड भारतत विभाजनको लागि मुस्लिम कतै पनि जिम्मेवार नरहेको भन्दै जो भागेर पाकिस्तान गए उनीहरु भगौडा थिए र जो बफादार थिए देशप्रति उनीहरु बसे भनेका छन् ।
सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्तसँगै पाकिस्तान देशको स्थापना भएको थियो । धर्मका आधारमा देश विभाजित हुँदा लाखौं मान्छे मारिएका थिए ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरेका छन् ।
ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्धविरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन ।
युक्रेन द्वन्द्वका कारण सैनिक तथा गैर–सैनिक गरी दशौँ हजार व्यक्तिको मृत्यु भएको छ र युक्रेनमा यसका कारण भौतिक संरचनामा समेत व्यापक विनाश भएको छ ।
भेटवार्तापछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा जारी एक सन्देशमा लेखेका छन्, “अलास्कामा एक महान् र धेरै सफल दिन!”
“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता निकै राम्रो भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्की र नेटोका अति सम्मानित महासचिवलगायत विभिन्न युरोपेली नेताहरूसँग अबेर राति भएको फोन वार्ताल पनि सकारात्मक काम गरेको छ,” सन्देशमा भनिएको छ।
उनले भने, “भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका सबैले निर्धारण गरेका छन् । यसको अर्थ सीधै शान्ति सम्झौतामा जानु हो । यसले युद्धको अन्त्य गर्नेछ ।”
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी नेतासँग भेटवार्ताका लागि वासिङ्टन जाने बताए ।
“यदि सबै कुरा सोचेजस्तो भएमा हामी राष्ट्रपति पुटिनसँग बैठक गर्नेछौं,” ट्रम्पले भने ।उनले यो त्रिपक्षीय बैठक हुनेछ कि छैन भन्नेबारे केही बताए ।
“सम्भवतः लाखौं मानिसको जीवन बचाइनेछ,”उनले भने । जेलेन्स्कीले यसअघि सामाजिक सञ्जालमा ट्रम्पको प्रस्तावको समर्थन गरेका थिए ।
उनले लेखेका छन्, “हामी युक्रेन, अमेरिका र रुसबीच त्रिपक्षीय बैठकका लागि राष्ट्रपति ट्रम्पको प्रस्तावको समर्थन गर्दछाैं । युक्रेनले प्रमुख मुद्दाहरू उच्च पदस्थ नेतास्तरीय बैठकमा छलफल गर्न सकिन्छ । यसको लागि त्रिपक्षीय ढाँचा उपयुक्त छ।”
काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन् । हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ ।
क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ) का अनुसार शनिबार बिहान १२ः५८ बजेबाट आन्दोलन औपचारिक रूपमा सुरु गरिएको हो । कम्पनीले आन्दोलन सुरु हुनु अगावै शुक्रबार साँझसम्म ६२३ उडान रद्द गरिसकेको थियो भने शनिबारका लागि तोकिएको सम्पूर्ण ७०० उडान पनि रद्द गरिएका छन् ।
यात्रु सेवाका क्रममा बोर्डिङ र तयारीका कामहरूमा पारिश्रमिक नदिइने परिपाटी हटाइनुपर्ने तथा मुद्रास्फीतिलाई मध्यनजर गर्दै तलब समायोजन गरिनुपर्ने युनियनको प्रमुख माग हो । युनियनका अनुसार एयर क्यानडाले पेस गरेको प्रस्ताव महँगीदरभन्दा पनि तल रहेको छ ।
विशेषज्ञहरूका अनुसार यो आन्दोलन लामो नजाने अनुमान छ, तर यसले मुलुकको आन्तरिक यातायात, पर्यटन र व्यापार क्षेत्रमा तत्काल प्रभाव पार्ने देखिन्छ । व्यवसायिक महासंघले यस्तो समयमा हवाई यातायात रोकिँदा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।
काठमाडाैं । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन ।
झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन ।
राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । साथै, उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे ।
यद्यपि दुवै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् यद्यपि प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।
पानामा सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बताएकाे छ । संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् ।
ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । उनले विश्व समुदायले अमेरिकासँग गर्दै आएका व्यापार अभ्यासहरू अव्यावहारिक रहेको दावी गर्दै आएका छन् ।
विश्लेषकहरूले अमेरिकी आक्रामक नीतिले पानामा नहरमार्फत यातायातलाई कम गर्ने अपेक्षा गरिएको भएपनि अहिलेसम्म त्यसो नभएको बताएका छन् ।सबै विश्वव्यापी ढुवानीको पाँच प्रतिशत हिस्सा पानामा भएर जान्छ ।
“यस आर्थिक वर्षको नतिजा राजस्व र ढुवानी भएको सामान हिसाबले हामीले प्रक्षेपण गरेअनुरूप हुनेछ,” नहर प्रशासक रिकार्टे भास्केजले बताएका छन् ।
पानामा नहर प्राधिकरणले सेप्टेम्बर ३० मा समाप्त हुने आर्थिक वर्षमा ५.६ अर्ब अमेरिकी डलरको रेकर्ड राजस्व अनुमान गरेको छे, जुन गत वर्षको तुलनामा १२.७ प्रतिशतले बढी हो।
उक्त अवधिमा १३ हजार ९०० जहाजले ५२ करोड टन कार्गो ढुवानी गर्ने अनुमान गरिएको छ । तर भास्केजले समय बित्दै जाँदा शुल्कका कारण कार्गोको मात्रा घट्न सक्ने सम्भावना रहेको बताएका छन् ।
एटलान्टिक र प्रशान्त महासागरलाई जोड्ने ८० किलोमिटर (५० माइल) नहरले १७० देशका एक हजार ९०० भन्दा बढी बन्दरगाहहरूमा सेवा पुर्याउँछ भने यसले विशेष गरी चीन, जापान र दक्षिण कोरियालाई अमेरिकी पूर्वी तटमा बढी पहुँच प्रदान गर्दछ।
यसै साताको सुरुमा चीन र संयुक्त राज्य अमेरिकाले एकअर्काको आयातमा लगाउने भनी घोषणा गरेको उच्च कर वृद्धि थप ९० दिनका लागि स्थगित गरेका छन् । –एएफपी
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले दक्षिण कोरियाले जनताबीचको सम्बन्धका बारेमा दक्षिण कोरियाले भ्रम सिर्जना गरिरहेको आरोप लगाएकी छन् ।
मिडियामा कमै मात्र आउने उत्तर कोरियाका शासककी शक्तिशाली बहिनीले दक्षिणले आफ्ना जनतालाई भ्रमित गरेको आरोप लगाएकी हुन् । प्योङयाङले उनीहरूको साझा सीमाबाट केही लाउडस्पीकरहरू हटाएको दाबीलाई अस्वीकार गर्दै उनले दक्षिण कोरियाले प्रोपोगाण्डा मच्चाइरहेको बताएकी हुन् ।
उत्तर कोरियाको सरकार नियन्त्रण कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार प्रसारित गरेको एक विज्ञप्तिमा किम यो जोङले दक्षिण कोरियाली सेनाको दाबीलाई “निराधार एकपक्षीय अनुमान र वाहियात भनेकी छन् ।
“हामीले सीमा क्षेत्रमा जडान गरिएका लाउडस्पीकरहरू कहिल्यै हटाएका छैनौँ र हटाउन पनि इच्छुक छैनौँ,” किमले भनेकी छन् ।
किमले सियोलमाथि प्योङयाङविरुद्ध जनमत बनाएर आफ्नो नयाँ नीतिलाई स्थापित गर्न खोजेको आरोप लगाएकी छन् । दुवै कोरियाका सीमा क्षेत्रमा बाँडिएर बसेका सर्वसाधारणबीच संवादका लागि लाउडस्पिकर राखिएका छन् । कोरिया विभाजनपछि ती परिवार पनि विभाजित भएका छन् ।
उनले उत्तर कोरियालाई अमेरिकासँग वार्ता गर्ने वा अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिसँग गर्ने वार्ताबारे कुनै चासो नरहेको समेत प्रष्ट पारेकी छन् । दक्षिण कोरियाली मिडियाको अनुमानलाई खारेज गर्दै उनले यो जवाफ दिएकी हुन् ।
दक्षिणका मिडिया ले उत्तर कोरियाले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको योजनाबद्ध बैठकलाई मस्कोमार्फत वाशिंगटनलाई सन्देश दिन प्रयोग गर्न सक्ने अनुमान गरेका छन् ।
तर उक्त अनुमान खारेज गर्दै किमले भनिन्–हामीले अमेरिकी पक्षलाई किन सन्देश पठाउने ? उत्तर कोरियालाई अमेरिकीहरूसँग वार्तामा कुनै चासो छैन।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनसँग युद्धबिराम नगरे निकै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तय भएको संवादअघि वासिङटन डिसीमा पत्रकारसँग कुरा गर्दै उनले निकै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले भने–कस्तो प्रकारको परिणाम भन्ने कुरा अहिले मलाई भन्न नलगाउनुस् । तर यति भन्छु युद्धविराम नगरे रुसले गम्भीर परिणाम भोग्नेछ ।
ट्रम्प र पुटिनबीच १५ अगस्टमा वार्ता हुने तय भएको छ । यो वार्तामा युद्ध अन्त्य गर्नेबारे छलफल हुने अनुमान गरिएको छ ।
काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलकी श्रीमतीलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरिएको छ । सरकारी अनुसन्धानकर्ताहरूले घुसखोरी, स्टक हेरफेर र उम्मेदवार छनोटमा हस्तक्षेप लगायत विभिन्न संदिग्ध अपराधहरूको अनुसन्धानका लागि किम केन हीलाई हिरासमा लिएका हुन् ।
मंगलबार राति पक्राउ वारेन्टको लागि विशेष अभियोजकको अनुरोधलाई स्वीकृत गर्दै सियोल केन्द्रीय अदालतले जेलमा रहेका पूर्व राष्ट्रपतिकी पत्नीले प्रमाणहरु नष्ट गर्ने जोखिम रहेको भन्दै हिरासतमा राख्न अनुमति दिएको हो ।
किममाथिको अनुसन्धान सियोलको नयाँ उदारवादी सरकार अन्तर्गत सुरु गरिएको तीन विशेष अभियोजक अनुसन्धानहरू मध्ये एक हो । उनका पतिलाई गत अप्रिलमा पदबाट हटाइएको थियो । त्यसअघि डिसेम्बरमा उनले देशमा मार्शल ल लागू गरेका गरेका थिए ।
काठमाडौं । पप सुपरस्टार म्याडोनाले इसाई धर्मगुरु पोप लियोलाई गाजामा गएर त्यहाँका निर्दोष बालबालिकालाई इजरायलबाट बचाउन सार्वजनिक अपिल गरेकी छन् । पोप लियो संसारका सबै इसाई धर्मावलम्बीका साझा धर्मगुरु हुन् ।
म्याडोनाले टेलिग्रामबाट पोपलाई अपिल गर्दै भनेकी छन्– हे होली फादर कृपया गाजा जानुहोस् र धेरै ढिलो हुनुअघि त्यहाँका बालबालिकाहरूलाई आफ्नो प्रकाश दिनुहोस् । एउटी आमाको रूपमा, म उनीहरूको पीडा हेर्न सक्दिन। संसारका बच्चाहरू सबैका हुन् । तपाईँ हामीमध्ये एक मात्र त्यस्तो व्यक्ति हुनुहुन्छ जसलाई त्यहाँ प्रवेशबाट वञ्चित गर्न सकिँदैन। ती निर्दोष बच्चाहरूलाई बचाउन मानवीय ढोकाहरू पूर्ण रूपमा खोल्न आवश्यक छ ।
पोप लियोले यसअघिका पोप फ्रान्सिसको पाइला पछ्याउँदै गाजामा इजयरायली सेनाबाट भइरहेको युद्ध अपराधको विरुद्धमा र प्यालेस्टिनीहरूको समर्थनमा बारम्बार बोलेका छन्।
जेरुसेलमका ल्याटिन कुलपिता, कार्डिनल पियरब्याटिस्टा पिज्जाबाल्ला र जेरुसेलमका ग्रीक अर्थोडक्स कुलपिता थियोफिलस तृतीयले गत महिना गाजाको भ्रमण गरेका थिए । उनीहरूलाई त्यहाँ भइरहेको युद्ध अपराधलाई अस्वीकार्य भनेर टिप्पणी गरेका थिए ।
गाजा शहरको होली फेमिली चर्चमा इजरायली आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएपछि थियोफिलस तृतीयले गाजाको भ्रमण गरेका थिए।
अप्रिलमा आफ्नो मृत्यु हुनुभन्दा केही समय अघि पोप फ्रान्सिसले होली फेमिली चर्चमा आश्रय लिइरहेका मानिसहरूसँग रात्रिकालीन भेटघाट गरेका थिए।
इजरायलले हत्या गरेका अल जजीराका चर्चित पत्रकार अनस अल शरिफ कुनै पनि बेला आफू मारिन सक्नेमा सचेत थिए । इजरायलले उनलाई निशाना यसकारण बनाइरहेको थियो कि गाजामा भइरहेको जातीय नरसंहार अनि त्यहाँ महिला बालबालिकाको विभत्स हत्याको सचित्र वर्णन गरेर संसारलाई जानकारी गराउने उनी अग्रमोर्चाका पत्रकार थिए ।
उनको रिपोर्टिङले गर्दा इजरायलप्रति विश्वभर घृणा उत्पन्न गराइरहेको थियो, जसबाट आफ्नो युद्ध अपराध लुकाउन सकेको थिएन । शरिफले गत अप्रिल महिनामै एउटा लामो सन्देश लेखेर सहकर्मीलाई दिएका थिए, कि यदि आफ्नाे हत्या भयो भने यो सन्देश प्रकाशित गरिदिनू ।
इजरायली सेनाले उनलाई अस्पताल अगाडिको टेन्टमा आक्रमण गरेर उनीसहित ६ जना पत्रकारको हत्या गरेको थियो । सोही सन्देश उनको एक्स अकाउन्टमा उनको हत्यापछि पोष्ट भएको छ । नेपाल प्रेसले ती बहादुर पत्रकारको हत्याअघिको उक्त सन्देशको अंग्रेजीबाट भावानुवाद गरेको छ । जुन यस्ताे छ:
यो मेरो इच्छा र अन्तिम सन्देश हो । यदि यी शब्दहरू तपाईंसम्म पुगे भने, जान्नुहोस् कि इजरायलले मलाई मार्न र मेरो आवाजलाई दबाउन सफल भएको छ। पहिले, तपाईंमाथि शान्ति र अल्लाहको दया र आशीर्वादको याचना गर्दछु ।
अल्लाहलाई थाहा छ कि मैले जबलिया शरणार्थी शिविरका गल्ली र गल्लीहरूमा जीवनको लागि आँखा खोलेदेखि नै मेरा मानिसहरूको लागि समर्थन र आवाज बन्न मेरो सबै प्रयास र शक्ति दिएको छु । मेरो आशा थियो कि अल्लाहले मेरो आयु बढाउनुहुनेछ ताकि म मेरो परिवार र प्रियजनहरूसँग हाम्रो मूल शहर (कब्जा गरिएको अस्कालान (अल–मजदल) मा फर्कन सकूँ । तर अल्लाहको इच्छा पहिले आयो, र उहाँको आदेश अन्तिम हो ।
मैले पीडाका सबै विवरणहरू भोगेको छु । धेरैपटक दुःख र क्षतिको स्वाद चाखेको छु, तैपनि सत्यलाई विकृत वा बिना झुट यथास्थितिमा प्रस्तुत गर्न मैले कहिल्यै हिचकिचाएको छैन ।
ताकि अल्लाहले ती व्यक्तिहरूको विरुद्धमा साक्षी दिऊन् जो मौन बसे, हाम्रो हत्या स्वीकार गरे, हाम्रो सास निमोठे र जसको हृदय हाम्रा बालबालिका र महिलाहरूको छरिएका अवशेषहरूबाट अविचलित थियो, हाम्रा मानिसहरूले डेढ वर्षभन्दा बढी समयदेखि सामना गरिरहेको नरसंहार रोक्न उनीहरुले केही गरेनन् ।
म तपाईंहरुलाई प्यालेस्टाइन सुम्पन्छु । यो प्यालेस्टाइन मुस्लिम संसारको मुकुटमा रहेको रत्न, यस संसारका प्रत्येक स्वतन्त्र व्यक्तिको मुटुको धड्कन ।
म तपाईहरुलाई यो पवित्र प्यालेस्टाइनका भोका मानिसहरू, यसका अन्यायमा परेका निर्दोष बालबालिकाहरू सुम्पन्छु, जससँग कहिल्यै सपना देख्ने वा सुरक्षा र शान्तिमा बाँच्ने समय थिएन। तिनीहरूको शुद्ध शरीर हजारौं टन इजरायली बम र क्षेप्यास्त्रहरूमुनि कुल्चिएको थियो, च्यातिएको थियो र भित्ताहरूमा छरिएको थियो ।
म तपाईंलाई आग्रह गर्दछु कि साङ्लाले तपाईंलाई चुप नलगाओस्, न त सीमाहरूले तपाईंलाई रोक्न देओसे । हाम्रो चोरी गरिएको मातृभूमिमा सम्मान र स्वतन्त्रताको सूर्य नउदाएसम्म यो पवित्र भूमि र यसका मानिसहरूको मुक्तितर्फ पुल बन्नुहोस्। म तपाईंलाई मेरो परिवारको हेरचाह गर्ने जिम्मा सुम्पन्छु।
म तपाईंहरुलाई मेरी प्यारी छोरी शाम अर्थात मेरो आँखाको ज्योति सुम्पन्छु, जसलाई मैले सपना जस्तो हुर्किएको देख्ने मौका कहिल्यै पाइनँ। म तपाईंलाई मेरो प्यारो छोरा सलाह सुम्पन्छु, जसलाई मैले जीवनभर समर्थन र साथ दिन चाहेको थिएँ,जबसम्म ऊ मेरो बोझ बोक्न र अभियान जारी राख्न सक्षम हुँदैन।
शरिफ आफ्ना छाेराछाेरीसँग
म तपाईंलाई मेरी प्यारी आमाको हातमा सुम्पन्छु, जसको आशीर्वादपूर्ण प्रार्थनाले मलाई यहाँसम्म ल्यायो, जसको प्रार्थना मेरो किल्ला थियो र जसको ज्योतिले मेरो बाटो देखाएको थियो। म प्रार्थना गर्छु कि अल्लाहले उनलाई शक्ति प्रदान गरून् र मेरो तर्फबाट उनलाई उत्तम पुरस्कार प्रदान गरून् ।
म तपाईंलाई मेरी जीवनभरको साथी, मेरी प्यारी पत्नी उम्म सलाह पनि सुम्पन्छु, जसबाट युद्धले मलाई धेरै लामो दिन र महिनाहरूसम्म अलग गर्यो। तैपनि उनी हाम्रो बन्धनप्रति वफादार रहिन्, जैतुनको रूखको हाँगा जस्तै अडिग रहिन् जुन झुक्दैन । धैर्यवान भएर अल्लाहमा भरोसा राख्द मेरो अनुपस्थितिमा उनको सम्पूर्ण शक्ति र विश्वासका साथ जिम्मेवारी वहन गरिन् ।
यदि म मरेछु भने पनि मेरा सिद्धान्तहरूमा अडिग रहन्छु । म अल्लाहको अगाडि गवाही दिन्छु कि म उहाँको फैसलामा सन्तुष्ट छु, उहाँलाई भेट्ने कुरामा निश्चित छु, र आश्वस्त छु कि अल्लाहसँग जे छ त्यो उत्तम र चिरस्थायी छ ।
हे अल्लाह, मलाई शहीदहरुको पंक्तिमा स्वीकार गर्नुहोस् । मेरा विगत र भविष्यका पापहरू क्षमा गर्नुहोस्, र मेरो रगतलाई मेरा मानिसहरू र मेरो परिवारको लागि स्वतन्त्रताको मार्ग उज्यालो बनाउने ज्योति बनाउनुहोस्। यदि म चुकेको छु भने मलाई क्षमा गर्नुहोस्, र दयाका साथ मेरो लागि प्रार्थना गर्नुहोस्, किनकि मैले मेरो वाचा पूरा गरें र कहिल्यै परिवर्तन वा धोका दिइन् ।
र,अन्तिममा मेरो सन्देश रहनेछ, गाजालाई नबिर्सनुहोस् र क्षमा र स्वीकृतिको लागि तपाईंको निष्कपट प्रार्थनामा मलाई नबिर्सनुहोस् ।
शरिफकाे शव
(६ अप्रिल २०२५ को दिन अलजजीराका पत्रकार अनस अल सरिफले आफ्नो शहादतमा प्रकाशित गर्न अनुरोध गरेर लेखेको यो भावुक नोट उनको हत्यापछि एक्स एकाउन्टमा पोष्ट भएको छ)
हेर्नुस् उनकाे एक्स एकाउन्टमा भएकाे त्याे अन्तिम पाेस्ट:
काठमाडौं । दक्षिण कोरियामा जन्म दर घटेसँगै सेनामा भर्ना हुने जवानको संख्या २० प्रतिशतले घटेको छ । रक्षा मन्त्रालयका अनुसार जन्म दरमा गिरावट आएसँगै दक्षिण कोरियाली सेनामा सिपाहीको संख्या घटेर साढे ४ लाखमा सीमित भएको छ ।
यो भनेको २० प्रतिशतले कमी हो । सैनिकको संख्या घट्दै गएपछि कतिपय युनिट बन्द गरिएका छन् । दक्षिण कोरिया सरकारका अनुसार यो देशमा एकजना महिलाले बच्चाको जन्म दिने दर सुन्य दशमलब ७५ प्रतिशत छ ।
यो भनेको संसारमै काम जन्मदर हो । दक्षिण कोरियाका पुरुष नागरिकलाई अनिवार्य सैन्य सेवामा बाँधिएको छ ।
१८ देखि ३५ वर्ष उमेरभित्रका सक्षम पुरुषले त्यहाँको सेनामा कम्तिमा ३ वर्ष सेवा दिनुपर्छ । उत्तर कोरियासँग तनावपूर्ण सम्बन्धमा रहेको यो देशमा हरेक नागरिकले सैन्य सेवामा भाग लिनुपर्छ ।
काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।
आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा पिक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए ।
गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरु सडकमा आएको प्रतिक्रिया दिएका छन् । उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आ।रोप लगाएका छन् । मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव,महुजा मोइत्रा, संजय राउतलगायत थिए ।
काठमाडौं । इजरायलको युद्ध अपराध र आम नरसंहार बढिरहेका बेला विश्वका शक्ति राष्ट्रहरु प्यालेस्टाइन स्वतन्त्रताको पक्षमा उभिन थालेका छन् । अष्ट्रेलियाले आगामी राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा मतदान गर्ने भएको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बान्सेजले आगामी सेप्टेम्बरको महासभामा अष्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका हुन् ।उनले भनेका छन्–दुई राज्यको समाधान नै मानवीय चक्र हो जसले हिंसाको अन्त्य गर्नेछ । गाजामा भोकमरीबाट मानिसहरू मरिरहेका छन्,यसको अन्त हुनुपर्छ । यो अपराधिक द्वन्द्वको अन्त हुनुपर्छ ।
यसअघि क्यानडा,फ्रान्स र संयुक्त अधिराज्य बेलायतले समेत प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको मान्यता दिने प्रस्तावमा सहमति जनाइसकेका छन् । अघिल्लो साता मात्र सिड्नीमा लाखौँ मान्छेले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गरेका थिए ।
काठमाडौं । अमेरिकी सांसद प्रमिला जयपालले अमेरिकाले जातीय नरसंहार गरिरहेको इजरायललाई आर्थिक र सामरिक सबै सहयोग बन्द गर्नुपर्ने बताएकी छन् । अल जजिराका ६ जना पत्रकारको हत्याको निन्दा गर्दै उनले इजरायली सैनिकले हालसम्म २ सय भन्दा बढी पत्रकार र सन्चारकर्मीको हत्या गरिसकेको बताएकी छन् ।
उनले यस्तो नरसंहारकारीलाई अमेरिकाले हतियार सहयोग रोक्नुपर्ने सुझाव दिएकी हुन् । यसअघि रिपव्लिकन सांसदहरुले पनि इजरायलको नरसंहारकारी व्यवहारविरुद्ध राष्ट्रपति ट्रम्पको ध्यानकर्षण गराएका थिए ।
काठमाडौं । इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल-शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ।
आफ्ना पत्रकारको हत्यापछि अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो ।’ भनेको छ ।
बीबीसीले भने ५ जना अलजजिराका पत्रकारहरुको हत्या भएको उल्लेख गरेको छ । बीबीसीका अनुसार संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेकेह, साथै क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवाको हत्या भएको हो ।
अलजजिराले हमलामा जम्मा सात जनाको मृत्यु भएको र आफ्ना ६ सहकर्मी मारिएको बताएको छ ।
बेइजिङ । भविष्यको सम्भावित परराष्ट्रमन्त्रीको रूपमा हेरिएका चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ अनुसन्धानका लागि लागि नियन्त्रणमा लिइएको छ । लिउलाई जुलाईको अन्त्यमा विदेशी कार्ययात्राबाट बेइजिङ फर्किएपछि पक्राउ गरिएको स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लिउ जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्किएलगत्तै उनलाई नियन्त्रणमा लिइएको हो । यस विषयमा रोयटर्सले चिनियाँ सरकारको स्टेट काउन्सिल सूचना कार्यालय र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ प्राप्त भएन ।
६१ वर्षीय लिउ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारीमा थिए, जसले विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापन गर्दछ । सन् २०२२ मा यो भूमिकामा आएपछि उनले २० भन्दा बढी देशको भ्रमण गरेका छन् र १६० भन्दा बढी देशका अधिकारीहरूसँग भेटवार्ता गरिसकेका छन् ।
उनको व्यस्त तालिका र विशेषगरी वासिङ्टनमा अमेरिकी पूर्व विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँगको भेटले उनी चीनको भावी विदेशमन्त्री बन्न सक्ने अनुमानलाई बल पुर्याएको थियो ।
यो घटना पूर्वविदेशमन्त्री तथा राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिने छिन काङलाई पदबाट हटाइएपछिको सबैभन्दा उच्चस्तरीय कूटनीतिक अनुसन्धान हो । सन् २०२३ मा छिन काङलाई उनको विवाहइतर सम्बन्धको हल्लापछि पदमुक्त गरिएको थियो ।
चीनको उत्तरपूर्वी जिलिन प्रान्तमा जन्मिएका लिउले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीबाट अंग्रेजीमा स्नातक र अक्सफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरेका थिए । त्यसपछि उनले विदेश मन्त्रालयमा अनुवादकको रूपमा आफ्नो करियर सुरु गरे । उनले बेलायतस्थित चिनियाँ दूतावास तथा इन्डोनेसिया र फिलिपिन्समा राजदूतको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
६१ वर्षीय लिउले सन् २०२२ देखि विदेशी राजनीतिक दलहरूसँग सम्बन्ध व्यवस्थापन गर्ने कम्युनिस्ट पार्टीको निकायको नेतृत्व गर्दै आएका छन् । यस अवधिमा उनले २० भन्दा बढी देशको भ्रमण गरेका छन् र १६० भन्दा बढी देशका अधिकारीहरूसँग भेटघाट गरेका छन् ।
रुपन्देही । भारतको उत्तराखण्डस्थित धराली गाउँमा आएको बाढीमा बेपत्ता हुनेमा बर्दियाका चार जना नेपाली रहेका छन् ।
बुधबार बिहान उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोमा परेर बर्दिया जिल्लाका चार नेपाली नागरिक बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार रहेका छन्।
उनीहरु रोजगारीको सिलसिलामा उत्तराखण्ड पुगेका थिए । गत २० गते उत्तरकाशी जिल्लाको धराली गाउँमा भीषण बाढी आएको थियाे ।
उनीहरुको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसमक्ष लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आग्रह गरेका छन् ।
घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति सान्त्वना दिँदै बेपत्ताहरूको सकुशल उद्दारको कामना गरेका छन् ।
काठमाडौं । इजरायलले एक पटक फेरि गाजा पट्टी नियन्त्रणमा लिने प्रस्ताव सुरक्षा क्याबिनेटबाट पारित गरेपछि संसारभर यो खबर शीर्षस्थानमा प्रकाशन प्रसारण भइरहेको छ । २ वर्षदेखि चरम मानवीय संकटमा रहेको यो धर्तीकै सानो तर जनघनत्वको हिसाबले सबैभन्दा कोचिएको यो भूभाग के हो ? यो संक्षिप्त लेखमा केही जिज्ञासाहरूको समाधान गरिनेछ ।
सन् १९६७ मा इजरायलले पूर्ण कब्जामा लिएर २७ वर्षपछि प्यालेस्टाइनलाई फिर्ता गरेको यो ठाउँलाई राष्ट्रसंघले धर्तीकै सबैभन्दा ठूलो खुला कारागार भनेको छ । किन त ? यी ५ तथ्य बुझौं
गाजा पट्टी (स्ट्रिप)के हो?
गाजा पट्टी (Gaza Strips) भूमध्य सागरको किनारमा रहेको सानो तर अत्यन्त जनघनत्व भएको भूभाग हो । यसको करिब ३६५ वर्ग किलोमिटर छ ।
गाजा क्षेत्र जम्मा ४१ किलोमिटर लामो अनि १० किलोमिटर चौडा छ। तर यहाँको जनसख्या २ दशमलव ३ मिलियन अर्थात् सन् २०२५ को जनगणना अनुसार २३ लाख छ । यहाँ बसोबास गर्नेहरू अधिकांश प्यालेस्टाइनीहरु हुन् । सन् २०२३ अक्टोबरपछि २ वर्षको बीचमा मात्रै इजरायलले यहाँका करिब ६५ हजार नागरिकको हत्या गरिसकेको छ । यहाँको मुख्य सहर वा राजधानीलाई गाजा सिटी भनिन्छ । यसको उत्तर र पूर्वमा इजरायल छ भने दक्षिणमा इजिप्ट अनि पश्चिममा भूमध्य सागर पर्छ । यो पृथ्वीमै सबभन्दा बाक्लो जनघनत्व भएको स्थान हो।
सबभन्दा ठूलो सहरी इलाका गाजा सिटीमा हरेक एक वर्ग किलोमिटरमा ९ हजार मानिस कोचिएर बसेका छन्।
गाजाको ८० प्रतिशत जनसंख्या अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ। यहाँ १० लाख मानिस प्रति दिन बाँडिने खाद्य सहयोगको भर परेका छन्।
गाजा पट्टी कसको हो?
संयुक्त राष्ट्रसंघले पारित गरेको रिजोल्युसन र अन्तर्राष्ट्रिय कानुन अनुसार यो प्यालेस्टाइनको भूभाग हो । तर १९६७ को करिब एक साताको युद्धपछि इजरायलले यो भूभाग कब्जा गरेको थियो । सन् १९९० को दशकको ओस्लो सम्झौतापछि यो मध्ये केही भूभाग प्यालेस्टानी प्राधिकरणको नियन्त्रणमा गएको थियो ।
सन् २००७ देखि हमास नाम गरेको एउटा प्यालेस्टाइनी उग्रवादी समूहले यहाँको वास्तविक शासन सम्हालेको थियो । अहिले यहाँ इजरायलले सीमा, हवाई क्षेत्र र समुद्री प्रवेशमा कडा नाकाबन्दी लगाएको छ । इजिप्टले पनि आंशिक नियन्त्रण राखेको छ।
इतिहास के भन्छ ?
प्राचीन कालमा गाजा प्यालेस्टाइनी क्षेत्रको हिस्सा थियो । इतिहासको विभिन्न कालखण्डमा यहाँ रोमी, बाइजान्टिन, अरब खलिफा र ओटोमन साम्राज्यको शासन रहेको पाइनछ । प्रथम विश्वयुद्धपछि यो भूभाग ब्रिटेनको म्यान्डेट अफ पालेस्टाइन अन्तर्गत आयो । सन् १९४८ सम्म यो बेलायती उपनिवेश अन्तर्गत थियो ।
सन् १९४८ देखि १९६७ सम्म अर्थात् १९ वर्षसम्म अरब–इजरायल युद्धपछि गाजा इजिप्टको प्रशासनिक क्षेत्र भएको थियो । यद्यपी यो इजिप्टको औपचारिक भूभागका रूपमा भने रहेको थिएन । तर सन् १९६७ को ६ दिन लामो युद्धपछि गाजा इजरायलको कब्जामा गयो । त्यहाँ तीव्र रूपमा इजरायली बस्ती बसालिए । यहुदीहरूको कब्जा भयो । सन् १९९५ को ओस्लो सम्झौतापछि यहाँका आंशिक भूभागसहित स्वशासनको अधिकार प्यालेस्टाइनी प्राधिकरणलाई दिइयो । सन् २००५ मा यहाँबाट इजरायलले आफ्नो सैनिक र यहुदी बस्ती हटायो, तर सीमा नियन्त्रण भने कायमै राख्यो ।
अहिले के छ ?
सन् २००७ देखि यहाँ प्यालेस्टाइनको भन्दा पनि त्यहिँभित्रको एउटा उग्रवादी मुस्लिम समूह हमास सत्तामा आएपछि इजरायल र इजिप्टको कडा नाकाबनदीमा छ । यसबीचमा पटकपटक यहाँ युद्ध र संघर्ष भइरहेका छन् । सन् २०२३ अक्टोबरमा हमासले इजरायलमाथि हमला गरेर सयौँको हत्या र बन्धक बनाएपछि कठिन युद्ध चलिरहेको छ ।
गजामा अहिले चरम मानवीय संकट छ । पानी, बिजुली, औषधि र खाद्यान्नको चरम अभाव छ । बारम्बारको युद्धका कारण अधिकांश संरचनाहरू नष्ट भएका छन् भने भोकमरीले सयौँ बालबालिका अकालमा मरिरहेका छन् । मानवीय सहायताकर्मीमाथि पनि इजरायलले आक्रमण गरेको छ ।
हृदय विदारक मानवीय अवस्था
गाजाको अवस्था अत्यन्तै गम्भीर मानवीय संकटमा छ, र यसलाई संयुक्त राष्ट्रसंघले “धरतीको सबैभन्दा ठूलो खुला कारागार” भन्दा पनि निकृष्ट अवस्था भनेको छ। यहाँ इजरायलले युद्ध अपराध गरिरहेको छ ।
करिब २३ लाख जनसंख्या रहेको यो धर्तीकै बाक्लो जनघनत्व भएको तर सबैभन्दा सानो सहरमा ६० प्रतिशत भन्दा बढी बालबालिका छन् । १७ लाख भन्दा बढी मानिस घरविहीन, अस्थायी शिविर वा भग्नावशेषमा बसिरहेका छन । यहाँ इजरायली आक्रमणपछि ७० प्रतिशतभन्दा बढी स्वास्थ्य सुविधा नष्ट वा अक्षम अवस्थामा छन् । बिजुली दिनमा औसत २–३ घण्टा मात्र आउँछ भने कतिपय क्षेत्रमा कहिल्यै आउँदैन । ९५ प्रतिशतभन्दा बढी पानी पिउन अयोग्य मानिएको छ भने विश्व स्वास्थ्य संग्ठनले लाखौँ बालबालिका जलजन्य रोगको जोखिममा रहेको जनाएको छ । यहाँ युद्धका कारण ६० प्रतिशत आवासीय भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने आधाभन्दा बढी विद्यालय बन्द वा शरणस्थलमा रूपान्तरण भएका छन् ।
(अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा नेपाल प्रेस ब्युरो रिपोर्ट)
काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजापट्टी नियन्त्रणमामा लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनालाई स्वीकृती दिएको छ ।
इजरायली प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गर्दै गाजामा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँच बुँदे रणनीति सार्वजनिक गरेको छ ।
दुई वर्षको बीचमा ६२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाजा नियन्त्रणमा लिने नेतान्याहूको प्रस्तावलाई सुरक्षा क्याबिनेटको बहुमतबाट पारित गरेको छ ।
उसले युद्ध समाप्त गर्नका लागि हमासको निशस्त्रीकरण,सबै बन्धकको जीवित वा मृतकको रुपमा समाप्ति,गाजाको विसैन्यकरण,गाजामा इजरायलले सुरक्षा नियन्त्रण र हमास वा प्यालेस्टाइनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकारको प्रस्ताव अघि सारेको छ ।
गाजामा इजरायलले हमासविरुद्ध भनेर गरेको सैन्य कारवाहीमा परेर हजारौं बालबालिकाको मृत्यु भइसकेको छ । पछिल्ला केही महिनायता खान नपाएर मर्नेहरुको संख्या बढेको छ ।
काठमाडौं । अमेरिकाले २५ प्रतिशत भन्सार दर बढाएर थप प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् ।
सात वर्षपछि उनको चीन भ्रमण हुन लागेको र यो भ्रमण अमेरिकासँग्को तनावका बीच भइरहेको रोयटर्सले जनाएको छ । अगस्ट ३१ बाट हुने सांघाइ कोअपरेशनको शिखर सम्मेलनमा भाग लिने गरी मोदी बेइजिङ जान लागेका हुने् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल किनिरहे भारतमाथि थप भन्सार लगाउने चेतावनी दिइरहेका छन् । जबकी चीन रुसबाट सबैभन्दा धेरै तेल किन्ने मुलुक हो । अमेरिकाको यो कदमपछि भारत र चीन नजिकिनेमात्र नभएर उनीहरुले रुससँग थप मजबुत सम्बन्ध बनाउने आँकलन समेत गरिएको छ ।
भारत र चीनबीचको सीमा तनाव र कूटनीतिक चिसोपनपछिको यो भ्रमणलार्य महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।यस भ्रमणलाई भारत–चीन सम्बन्ध सुधार्ने कोशिस, व्यापारिक सन्तुलन खोज्ने रणनीति, र क्षेत्रीय स्थायित्वमा भारतको पुनः सक्रियताका रूपमा लिइएको भारतीय कुटनीतिज्ञहरुले बताएका छन् ।
ट्रम्पको धक्कापूर्ण कदमपछि मोदी देशभित्र पनि दबाबमा छन् । उनले अमेरिकी पछिल्लो निर्णयकोबारेमा केही बोलेका छैनन् तर विहीवार एक कार्यक्रममा देशका किसान र कृषि क्षेत्रको हितका विषयमा कसैसँग सम्झौता नहुने बताएका छन् । भारतले अमेरिकामा कृषि उपजको ब्यापार गर्छ र भन्सार दर बढेपछि त्यसको प्रत्यक्ष असर पर्नेछ ।
यसैबीच, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अहिले रूसमा छन् । ट्रम्पले भारतलाई रूसी कच्चा तेल किन्न रोक्न दबाब दिएपछि भारतले रूसी तेल खरिद गर्ने बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
डोभालले रुससँगको भारतको रक्षा सहयोगलाई सम्बोधन गर्ने सम्भावना छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्भावित भारत भ्रमण पनि डोभालको भ्रमणको एजेण्डामा रहेको भारतीय अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । डोभालको भ्रमणपछि आगामी विदेशमन्त्री जयशंकर मस्को जाँदैछन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क अर्थात् ट्यारिफ नीति आजदेखि औपचारिक रूपमा लागु भएको छ । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले गर्वका साथ यो घोषणा गरेका हुन् । ट्रम्पले यस कदमलाई ‘अमेरिकाको सुरक्षा र उद्योगको रक्षा’ का लागि अनिवार्य भनेका छन् । तर आलोचकहरूले यसलाई विश्व व्यापार प्रणालीमाथिको हमला भनेका छन्।
ट्रम्पका समर्थकहरूले यस कदमलाई ‘अमेरिकन रोजगारीको सुरक्षाका लागि साहसी कदम’ भनेका छन्। तर अमेरिकी उद्योग र खुद्रा विक्रेताहरूले भने उपभोक्ताले महँगो सामान किन्नुपर्ने र रोजगारीसमेत गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
ट्रम्पको नयाँ ट्यारिफ नीति अमेरिकी इतिहासकै सबैभन्दा कडा संरक्षणवादी नीतिहरूमध्ये एक मानिएको छ। यसको असर केवल अमेरिका वा चीनमा सीमित रहने छैन- सारा विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा गहिरो असर पार्ने सीएनएनले जनाएको छ ।
सीएनएनले जारी गरेको नयाँ ट्यारिफ लाग्ने सूचीका देशमा दक्षिण एशियाबाट नेपाल,माल्दिभ्स र भुटानबाहेक सबै परेका छन् । यीमध्ये सबैभन्दा बढी भारतलाई लगाइएको छ । भारतलाई २५ प्रतिशत ट्यारिफ लगाइएको र रुससँग तेल किनिरहेको यो बढेर ५० प्रतिशत पुग्ने चेतावनी ट्रम्पले जनाएका छन् ।
नेपाललगायतका देशले भने न्यूनतम १० प्रतिशतमात्र भन्सार महसुल तिरे पुग्नेछ ।
यस्तो छ ट्रम्प प्रशासनले लगाएको नयाँ भन्सार दर । कुन देशलाई कति ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको भन्सार करको दर अझ बढ्न सक्ने संकेत गरेका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कतिपय अतिरिक्त प्रतिबन्ध समेत लाग्न सक्ने बताए ।
ट्रम्पलाई पत्रकारले चीनसहित कतिपय देशले रुससँग तेल किनिरहेका छन्, तर भारतलाई नै किन निशाना बनाइयो भन्ने प्रश्न गरेका थिए ।
जवाफमा ट्रम्पले भने- अहिले त ट्यारिफ लागु भएको मात्र ८ घण्टा भएको छ । हेरौं अब के हुन्छ । तपाईँहरूले अरु धेरै देख्न पाउनु हुनेछ । कतिपय अतिरिक्त प्रतिबन्ध पनि देख्न पाउनु हुनेछ ।
भारतमाथि अमेरिकाले पछिल्लो समय लगाएको २५ प्रतिशत अतिरिक्त करको निर्णय आजैबाट कार्यन्वयन भएको छ । अब यो कर ५० प्रतिशत भएको छ ।
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने स्पष्ट पारेका छन् । साथै, उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर)सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
सीएनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले प्रारम्भमा औषधिमा सानो दरको शुल्क लगाइने भए तापनि आगामी एक वर्षदेखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताए।
‘हामी सुरुमा औषधिमा सानो शुल्क लगाउँदैछौं,’ ट्रम्पले भने ‘तर एक वर्ष वा डेढ वर्षभित्र यो १५० प्रतिशत हुन्छ र पछि २५० प्रतिशत पुग्छ। हामी चाहन्छौं कि औषधिहरू अमेरिकामै उत्पादन होउन् ।’
उक्त अन्तर्वार्तामा उनले भारतमाथि पनि आयात शुल्क निकै उल्लेखनीय मात्रामा बढाउने योजना रहेको बताए । यसको कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्दै आएको विषय भएको उनको धारणा छ ।
राष्ट्रपतिले यो निर्णय २४ घण्टाभित्र लागू हुन सक्ने संकेत दिएका हुन् । ट्रम्प प्रशासनले यसअघि सन् २०२५ को अप्रिल महिनामा अधिकांश व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको थियो ।
यद्यपि, केही विशिष्ट वस्तुहरू जस्तै औषधि र अर्धचालकहरूलाई छुट दिइएको थियो, जसमा छुट्टै अनुसन्धानपछि शुल्क लगाउने योजना बनाइएको थियो ।
यसप्रकारका क्षेत्र–विशेष शुल्कहरू सामान्यतः राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरूमा आधारित सरकारी अनुसन्धानपछि लागू गरिन्छन् ।ट्रम्प सरकारद्वारा औषधि र अर्धचालकहरूमा पहिल्यैदेखि अनुसन्धान सुरु गरिएको थियो र ती अध्ययनहरू अन्तिम चरणमा रहेको जनाइएको छ। अध्ययनको निष्कर्षका आधारमा नयाँ शुल्क घोषणा हुने अपेक्षा गरिएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले आयातित फलाम र एल्युमिनियममा ५० प्रतिशत भन्सार लगाइसकेका छन् । यस्तै, सवारीसाधन र पार्टपूर्जाहरूमा पनि छुट्टै तर कम दरको शुल्क लागू गरिएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटको जवाफ नदिएको भन्दै आक्रोश व्यक्त गरेको एउटा पोस्टको स्क्रिनसट अहिले भाइरल भइरहेको छ । तर विश्वसनीय सञ्चारमाध्यमहरूले यो स्क्रिनसट फर्जी भएको बताएका छन् ।
भाइरल स्क्रिनसटमा लेखिएको छ, ‘प्रधानमन्त्री मोदीले अझै मेरो ट्विट, बयान, वा ट्यारिफ सम्बन्धी चासोको जवाफ दिएका छैनन् । हामीले भारतलाई धेरै कुरा दियौँ- उत्कृष्ट सम्झौता, रक्षा सहयोग, ठूलो भीड- तर पूर्ण मौनता । धन्यवाद पनि छैन ! नबिर्सनुहोस्, मैले भारत र पाकिस्तानबीच युद्धविराम गराएँ । अरू कसैले त्यो गर्न सक्थेन । धेरैले मलाई नोबेल पुरस्कार दिनुपर्ने भन्थे !’
यो पोस्ट ट्विटरमा एक हास्य लेखकको खाताबाट उत्पन्न भएको हो । यसमा लेखकको वाटरमार्कसमेत देखिएको थियो, जुन पछि अन्य खाताहरूले सेयर गर्दा मेटाइदिए । तथ्यजाँच स्रोतहरूले ट्रम्पको आधिकारिक ट्रुथ सोसल खातामा यस्तो कुनै पोस्ट नभएको पुष्टि गरेका छन् ।
भारतसँग हाल ट्रम्प असन्तुष्ट रहेको भने सत्य हो । ट्रम्प प्रशासनको भारतप्रति कडा व्यापार नीति र रूससँगको भारतको ऊर्जा र रक्षा सम्बन्धलाई लिएर उत्पन्न असन्तुष्टिको सन्दर्भमा यो फर्जी पोस्ट आएको छ । ट्रम्पले अगस्ट १, २०२५ देखि भारतमाथि २५५ ट्यारिफ र रूसी तेल र हतियार खरिदको लागि थप जरिवाना लगाउने घोषणा गरेका थिए । उनले भारतले रूसबाट ठूलो मात्रामा तेल खरिद गरेर ‘रूसी युद्ध मेसिन’ लाई सहयोग गरेको र खुला बजारमा त्यसलाई बेचेर ‘ठूलो नाफा’ कमाएको आरोप लगाएका छन् ।
भारतले भने यी आरोपहरूलाई ‘अनुचित’ भन्दै आफ्नो आर्थिक हित र ऊर्जा आवश्यकताको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हाम्रो रूससँगको सम्बन्ध ऐतिहासिक र स्थिर छ, र यो कुनै तेस्रो देशको दृष्टिकोणबाट हेर्नु हुँदैन ।’
भारतले सन् २०२२ को युक्रेन युद्धपछि रूसबाट तेल आयात ०.२५ बबाट ३५-४०५ मा बढाएको छ, जसलाई ऊर्जा आयातमा निर्भर देशको आवश्यकताको रूपमा भारतले बचाउ गरेको छ ।
काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा भीषण बाढी आएको छ ।
खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले धराली गाउँमा ठूलो विनाश निम्त्याएको छ।
बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धाराली गाउँमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडिया टाइम अफ इन्डियाले उल्लेख गरेकाे छ । उनका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।
उक्त क्षेत्रको खोज र उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू खटाइएको उनले जानकारी दिए।
अर्याका अनुसार उक्त प्रभावित क्षेत्रमा थुप्रै साना गेस्ट हाउस, होटल र रेस्टुरेन्टहरू रहेका छन्।
भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग घटनाको सम्बन्धमा कुराकानी गर्दै धराली क्षेत्रमा क्लाउडबर्स्टका कारण भएको व्यापक क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।
काठमाडौं । अमेरिकाले कतिपय देशका भिजिटर तथा व्यापारिक भिसा लिने नागरिकसँग ५ हजार डलरसम्मको धरौटी लिने भएको छ ।
भिसा ओभरस्टे दर उच्च भएका देशहरूका मानिसका लागि यो नियम ल्याउन लागिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।
“स्पष्ट राष्ट्रिय सुरक्षा खतरा’ लाई सम्बोधन गर्दै ट्रम्प प्रशासनले केही विदेशी आगन्तुकहरूलाई उनीहरूको भिसाको सकिएपछि अमेरिकामै बस्न नदिनका लागि १५ हजार डलर धरौटी माग गरेको हो । यो ट्रायल कार्यक्रम सोमबार घोषणा गरिएको छ ।
१२ महिनाको लागि थालिएको यो परीक्षण कार्यक्रम अगस्ट २० बाट लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विशेषगरी बी वान र बी टु भिसामा यो नियम लागू हुने बताइएको छ । ओभरस्टे उच्च भएका ३६ देशका नागरिकमा यो नियम लागू हुनेछ ।
काठमाडौं । इजरायलको गुप्तचर एजेन्सीका एक पूर्व प्रमुखसहित ६ सयभन्दा बढी अवकाशप्राप्त सैनिक अधिकारीले गाजाको युद्द अन्त्यका लागि पत्र लेखेका छन् । उनीहरुले इजरायल सत्ताले प्यालेस्टाइनविरुद्ध थोपरेको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब बढाउन पत्र लेखेका हुन् ।
बीबीसका अनुसार इजरायलका पूर्व सैन्य अधिकारीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि दबाब दिन ट्रम्पलाई गुहारको हुन् । पत्रमा उनीहरुले हमास इजरायलका लागि अब रणनीतिक खतरा नभएको दावी गरेका छन् ।
पत्रमा उनीहरुले लेखेका छन्–इजरायली जनताको बीचमा तपाईको लोकप्रियता र भरोसा छ यो छ कि तपाईले प्रधानमन्त्री नेतान्याहू र उनको सरकारलाई सही दिशामा लैजान मद्दत गर्न सक्नेछ । यो युद्धलाई बन्द गराउनुस् ।
नेतान्याहूले गाजा युद्धलाई थप सशक्त बनाउने प्रयास गरिरहेका बेला इजरायलका पूर्व सैन्य अधिकारीहरुको यो पत्र बाहिर आएको हो । यसअघि इजरायलका विपक्षी पार्टीले पनि नेतान्याहु सरकारले अनावश्यक युद्धमा देशलाई संलग्न गराएको बताएका थिए ।
गाजामा इजरायली सेनाले हजारौं महिला र बालबालिकाको हत्या गरिरहेको आरोप छ । २ वर्षको बीचमा इजरायलले ६२ हजार सर्वसाधारणको हत्या गरेको छ । मर्नेहरु अधिकांश खानाका लागि मानवीय सहायता कुरिरहेका सर्वसाधारण थिए ।
इजरायलले युद्ध अपराध गरेर सर्वसाधारणको गैरन्यायिक हत्या गरेको अन्तर्राष्ट्रिय मानवअधिकार एजेन्सीहरुले आरोप लगाउँदै आएका छन् । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा नाकाबन्दी गरेका कारण भोकमरीले सयौं बालबालिकाको मृत्यु भएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने संकेत गरेको छ ।
भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण निर्देशित भएको बताए ।
नयाँदिल्लीले रुसी तेल खरिद गरेको कारण भारतबाट आउने सामानमा २५ प्रतिशत भन्सार शुल्क र अतिरिक्त आयात कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि यो टिप्पणी आएको हो ।
यो धम्की अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्धविराम सहमति गर्न असफल भएकोमा रुसप्रति बढ्दो असन्तुष्टता देखाउनुभएको र प्रगति नभएमा नयाँ आर्थिक प्रतिबन्धहरूको धम्की दिएको समयमा आएको हो ।
भारतले सन् २०२२ जनवरीमा रूसबाट प्रतिदिन ६८ हजार ब्यारेल कच्चा तेल खरिद गरेको थियो, तर सोही वर्षको जुनमा तेल आयात प्रतिदिन ११ लाख २० हजार ब्यारेल पुगेको थियो । दैनिक आयात सन् २०२३ मे महिनामा २१ लाख ५० हजार ब्यारेल पुगेको थियो र त्यसबेलादेखि फरक–फरक रहेको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाले डाटा एनालिटिक्स कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरेअनुसार आपूर्ति एक समयमा भारतको आयातको झण्डै ४० प्रतिशतसम्म पुगेको थियो, जसले मस्कोलाई नयाँदिल्लीको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनाएको थियो ।
भारतको दैनिक तेल खपत लगभग ५५ लाख ब्यारेल रहेको छ र त्यसमध्ये झण्डै ८८ प्रतिशत आयातबाट पूरा हुन्छ ।
देशले ऐतिहासिक रूपमा आफ्नो अधिकांश कच्चा तेल मध्यपूर्वबाट किनेको छ, तर सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि यो परिवर्तन भएको छ ।
चीन र अमेरिकापछि विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले पश्चिमी देशहरूले मस्कोलाई सजाय दिन त्यसलाई बहिष्कार गरेपछि छुटमा उपलब्ध रुसी तेल किन्न थालेको हो ।
काठमाडौं । अमेरिकालगायत विभिन्न देशका गोप्य डकुमेन्ट लिक गरेर विश्व चर्चित बनेका विकलिक्सका संस्थापक जुलियन असान्ज प्यालेस्टाइनको पक्षमा भइरहेका प्रदर्शनमा सहभागी भएका छन् ।
अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा आइतबारको प्यालेस्टाइन समर्थक मार्चमा भाग लिनेहरूमा असान्ज पनि देखिएका छन् ।
गोप्य सरकारी जानकारी प्रकाशित गरेकोमा सम्भावित आजीवन कारावासबाट बच्न अमेरिकी सरकारसँग सम्झौता गरेपछि गत वर्ष आफ्नो जन्मभूमि अष्ट्रेलिया फर्किएका असान्जको सहभागितालाई अन्तर्राष्ट्रिय मिडियाले महत्व दिएका छन् ।
अष्ट्रेलियाको प्रतिष्ठित सिड्नी हार्बर ब्रिज देशको सबैभन्दा ठूलो शहरमा प्यालेस्टाइन समर्थक मार्चको लागि बन्द गरिएको छ। न्यु साउथ वेल्सको सर्वोच्च अदालतले प्रदर्शनलाई निषेध गर्न प्रहरीको आवेदन अस्वीकार गरेपछि आइतबार दिउँसो प्रदर्शनकारीहरूले पुल पार गरेका छन् ।
प्रहरीले सार्वजनिक सुरक्षा र “भीडभाड दबाउने“ सम्भावनाको बारेमा चिन्ता व्यक्त गरेको थियो, तर न्यायाधीश बेलिन्डा रिगले आयोजकहरूको पक्ष लिइन् । प्रदर्शनकारीले इजरायलबाट गाजामा भइरहेको मानवताविरोधी अपराधबारे विश्व समुदायको ध्यानाकर्षण गराइरहेका छन् ।
मार्चको आयोजक प्यालेस्टाइन एक्सन ग्रुप सिड्नीले दशौं हजार मानिसहरू उपस्थित हुने अपेक्षा गरेको बताएको छ।
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् ।
ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काऊ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरेका हुन्
। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्त्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ । मलाई आशा छ, यो त्यस्तो घटना हुने छैन । जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ । र हामी पूर्ण रूपमा तयार छौँ ।’
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तयारी’को प्रयास भएको बताएका छन् ।
रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित ग¥यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ ।