Category: विश्व प्रेस

  • अमेरिकाले सैन्य बलले ग्रिनल्याण्ड लिन नसक्ने यूरोपेली आयोगकी प्रवक्ताको दाबी

    अमेरिकाले सैन्य बलले ग्रिनल्याण्ड लिन नसक्ने यूरोपेली आयोगकी प्रवक्ताको दाबी

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा चयन भएका डोनाल्ड ट्रम्पले आफ्नो स्वामित्वमा भएको सामाजिक सञ्जाल ट्रूथ सोसलमा डेनमार्कको स्वायत्त भूमि ग्रिनल्याण्डलाई किन्ने वा कब्जा गर्ने बताइरहेको बेला त्यो सम्भव नभएको यूरोपेली अधिकारीले बताएका छन् ।

    यूरोपेली आयोगकी प्रवक्ता पाओला पिन्हाले ट्रम्पको धारणालाई अनुमानमात्रै भनेकी छिन् । मंगलबारको पत्रकार सम्मेलनमा पनि ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि ग्रिनल्याण्ड महत्वपूर्ण भएको भन्दै सैन्य बल प्रयोगको कुरा अस्वीकार गरेका थिएनन् । अझ रोचक ट्रम्पले ग्रिनल्याण्ड किन्ने वा कब्जा गर्ने भनेको केही समयमा उनका छोरा ग्रिनल्याण्ड भ्रमणमा निस्किएका छन् ।

    डोनाल्ड ट्रम्प जुनियर बुधबार ग्रिनल्याण्ड पुगेका हुन् । तर, यो भ्रमण औपचारिक नभएर निजी भएकोले ग्रिनल्याण्डका अधिकारीहरूले नभेट्ने बताइएको छ । ग्रिनल्याण्डमा अमेरिकी सैन्य शिविर पनि रहेको छ । उत्तर अमेरिकी महादेशमा पर्ने ग्रिनल्याण्ड विश्वको सबैभन्दा ठूलो टापु हो । यहाँको ८० प्रतिसत भू-भाग हिँउले ढाकेको छ । यूरोपेली संघको सदस्य देश डेनमार्कको स्वायत्त देशको रूपमा रही आएको छ ।

  • दक्षिण भारतीय मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

    दक्षिण भारतीय मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

    काठमाडौं । दक्षिण भारतीय मन्दिरमा भागदौडामा परेर ६ जनाको मृत्यु भएको छ ।

    दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपती सहरको भेनकातेश्वरा स्वामी मन्दिरमा भएको भागदौडमा परेर बुधबारको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

    जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार असहज महसुस गरिरहेकी एक महिलालाई सहज बनाउन मन्दिरको ढोका खुला गरेपछि भागदौड मच्चिएको थियो ।

    भागदौडमा परेर ३० जनाको गम्भिर चोट लागेको बताइएको छ । मुख्यमन्त्री तथा मोदी गठबन्धनको एक घटकका नेता एन. चन्द्रबाबु नाइडुले घटनाको छानबिन हुने बताएका छन् भने मृतकका परिवारलाई समवेदना दिएका छन् ।

    भारतका विभिन्न मन्दिरहरूमा यस्ता भागदौडका घटनाहरू तारन्तार हुँदै आएका छन् । सानो स्थानमा धेरै मान्छेहरू भेला हुने भएकोले यस्तो हुने डिडब्लूले उल्लेख गरेको छ ।

  • तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

    तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

    ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कुल ६४६ परकम्पन पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

    क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

    भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनःस्थापना गरिएको छ ।

    चाइनिज रेडक्रस सोसाइटी (आरसीएससी)ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेडलगायत चार हजार ३०० वस्तु समावेश छन् ।

    आरसीएससीद्वारा आपत्कालीन सरसफाइ शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीहरूसहित ५० भन्दा बढी उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा पठाइएको छ । -रासस/सिन्ह्वा

  • दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए : पाकिस्तानी प्रहरी

    दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए : पाकिस्तानी प्रहरी

    लाहोर । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

    पञ्जाबको गुजरानवाला शहरमा जनवरी १ मा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा मङ्गलबार उनको मृत्यु भयो ।

    ‘ती केटीहरूले आफूहरूबीच ‘स्थायी समाधान’ खोज्ने निर्णय गरेको बताए’, शहरका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भने, ‘त्यसपछि उनीहरूले मोटरसाइकलबाट पेट्रोल लिएर सुतिरहेका बुबालाई आगो लगाइदिए ।’

    सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुई पटक बलात्कार गर्न खोजेको बताएका छन् ।

    उनीहरूका आमाहरू दुर्व्यवहारका बारेमा जान्दथे, तर बदला लिने योजनाका बारेमा थाहा थिएन । उनीहरू दुवै ती पुरुषसँग विवाहित हुन् ।

    केटीहरूको पहिचान सुरक्षित राख्न एएफपीले ती व्यक्तिको नाम उल्लेख गरेको छैन । तीमध्ये एक अघिल्लो विवाहकी छोरी हुन् । पत्नीहरूमध्ये एकलाई पनि पक्राउ गरिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको छ ।

    ‘अनुसन्धान सकिनेबित्तिकै केही दिनभित्रै उनीहरूलाई अदालतसमक्ष पेश गर्ने अपेक्षा गरेका छौं’, तारिकले भने । -रासस/एएफपी

  • भ्रष्टाचारविरुद्धको युद्धमा विश्वास र दृढता राख्न चिनियाँ कम्युनिष्ट पार्टीको आग्रह

    भ्रष्टाचारविरुद्धको युद्धमा विश्वास र दृढता राख्न चिनियाँ कम्युनिष्ट पार्टीको आग्रह

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारविरुद्ध युद्ध छेडेको भन्दै विश्वास र दृढता राख्न आग्रह गरेको छ ।

    राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेको पार्टीको अनुशासन समितिले २०औं केन्द्रीय कमिटीको चौथो प्लेनरी सेशनमा यस्तो निर्णय गरेको चिनियाँ अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

    चीनमा भ्रष्टाचारको मामिला गम्भीर र जटिल भएको चिनियाँ कम्युनिष्ट पार्टीले ठहर गरेको छ ।

  • क्यानडाका प्रधानमन्त्रीलाई गभर्नर बन्न आग्रह गर्ने ट्रम्पले क्यानडाको नक्सा अमेरिकामा देखाए

    क्यानडाका प्रधानमन्त्रीलाई गभर्नर बन्न आग्रह गर्ने ट्रम्पले क्यानडाको नक्सा अमेरिकामा देखाए

    काठमाडौं । केही समय अगाडि क्यानडाका तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रूडोलाई क्यानडा अमेरिकामा गाभेर क्यानडाको गभर्नर बन्न नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आग्रह गरेका थिए । त्यसको विरोध क्यानडाले गरेको थियो ।

    गर्भनर बन्न आग्रह गरिएका ट्रुदोको राजीनामा आइसकेको छ । अब फेरि ट्रम्पले देशको नयाँ नक्सा सार्वजनिक गरेका छन् । त्यसमा क्यानडालाई अमेरिकामा देखाइएको छ । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले क्यानडाको भूमिमा अमेरिकाको झन्डा फैलाएका छन् । र, क्याप्सन राखेका छन्, ‘ओ क्यानडा ।’

    मंगलबार जस्टिन ट्रुडोले लेखेका थिए, ‘क्यानडा अमेरिकामा गाभिने कुनै सम्भावना छैन ।’

    क्यानडाका विपक्षी दलका नेता पियरे पोइलिब्रेले पनि भनेका छन्, ‘क्यानडा ५१ औं राज्य बन्ने सम्भावना छैन ।’

  • १० जर्मनमध्ये ४ जनालाई राजनीतिमा भरोसा छैन: रिपोर्ट

    १० जर्मनमध्ये ४ जनालाई राजनीतिमा भरोसा छैन: रिपोर्ट

    काठमाडौं । जर्मनीमा १० नागरिकमध्ये ४ जनाले राजनीतिमा भविष्य नदेखेको र भरोसा नभएको रिपोर्ट सार्वजनिक भएको छ । जर्मनीमा बुधबार सार्वजनिक भएको रिपोर्ट चुनाव आउन सात हप्ता बाँकी हुँदा सार्वजनिक भएको हो ।

    जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार अहिले सत्तामा रहेको सोसल डेमोक्रेट दललाई सत्तामा देख्न नचाहनेको संख्या ५० प्रतिशत देखिएको छ ।

    सर्वेमा प्रगतिशीलभन्दा परम्परागत दलहरुको चुनावी जित हुने देखाइएको छ । अहिले ओलाफ सोल्ज नेतृत्वको सरकार आएपछि इन्धनको दाम बढेको छ । युक्रेनमा रुसी हमलाको असरले देखिएको इन्धनको दाम महँगिएपछि मूल्यवृद्धि बढेको छ ।

    त्यस्तै अर्थतन्त्रको आकार घटेको छ । यसले जर्मनहरुमा सरकार र सत्तासँग विमति बढेको टिप्पणीहरु हुन थालेका छन् । युरोपका सबैभन्दा कमजोर रेटिङ हुने नेतामा जर्मन चान्सलर सोल्ज पनि एक हुन् ।

  • ‘पुटिन एक नम्बरको आतंककारी’ लेखिएको टीसर्ट लगाउने अतिथिलाई टर्कीको च्यानलमा बोल्न निषेध

    ‘पुटिन एक नम्बरको आतंककारी’ लेखिएको टीसर्ट लगाउने अतिथिलाई टर्कीको च्यानलमा बोल्न निषेध

    काठमाडौं । टर्कीको एक टेलिभिजन च्यानलले पुटिनविरुद्ध लेखिएको टीसर्ट लगाएर दिन खोजेको अन्तर्वार्ता अस्वीकार गरेको छ ।

    युक्रेनका सांसद एलेक्सी गोन्चारेन्कोको टी-सर्टमा लेखिएको थियो- पुटिन एक नम्बरको आतंककारी ।

    टेलिभिजनले उनलाई टी-सर्ट परिवर्तन गर्न आग्रह गरेको थियो, तर सांसदले मानेनन् । र, उनको अन्तर्वार्तामा प्रशारण भएन ।

    रुसी विश्व च्यानल आरटीका अनुसार टर्कीको विश्व च्यानल टीआरटी वर्ल्डमा दिन खोजेको अन्तर्वार्ता रद्द भएको हो ।

  • ४० दिनभन्दा धेरै भोक हड्तालमा बसेका ७० वर्षे यी भारतीय कृषक

    ४० दिनभन्दा धेरै भोक हड्तालमा बसेका ७० वर्षे यी भारतीय कृषक

    काठमाडौं । भारतका एक ७० वर्षका कृषक विगत ४० दिनबाट भोक हड्तालमा उत्रिएका छन् । जगजित सिंह धल्लेवाल नामका कृषक हड्तालमा बसेका हुन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार धल्लेवालको आन्दोलन गत फेब्रुअरीबाट सुरु भएको भारतको पन्जाब र हरियाणाका किसान आन्दोलनको एक रुप हो । उनको स्वाथ्यमा समस्या आएकोले उनलाई अस्पतालमा लान भारतको सर्वोच्च अदालतले आदेश दिएको थियो । पन्जाब सरकारकालाई यस्तो आदेश दिइएको थियो ।

    भारतका किसानहरुले दिल्लीसम्म मार्च गर्न खोजेका छन् । तर, उनीहरुलाई रोकिएको बीबीसीले उल्लेख गरेको छ । भारतका किसान आन्दोलनका विभिन्न मागहरुमा न्यूनतम समर्थन मूल्यको प्रत्याभूति, ऋण मिनाहा, किशान र कृषि श्रमिकलाई पेन्सन, विद्युतको महशुल वृद्धिको अन्त्य, किशान आन्दोलनमा मारिएकाहरुलाई क्षतिपूर्ति लगायत छन् ।

  • चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द

    चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द

    ल्हासा । चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा (माउन्ट चोमोलाङ्मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । चिनियाँहरु विश्वको सर्वोच्च शिखर सगरमाथालाई चोमोलाङ्मा भन्छन् ।

    डिङ्ग्री संस्कृति तथा पर्यटन व्युरोका अनुसार चोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

    डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत कटौती भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ । -रासस/सिन्ह्वा

  • तिब्बत केन्द्र बनाएर गएको आजको भूकम्पबाट ३६ जनाको मृत्यु पुष्टि

    तिब्बत केन्द्र बनाएर गएको आजको भूकम्पबाट ३६ जनाको मृत्यु पुष्टि

    काठमाडौं । आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस भएको भूकम्पमा परेर ३६ जनाको ज्यान गएको छ ।

    चिनियाँ विश्व च्यानल सीजीटीएनका अनुसार मृत्यु हुनेहरूको आँकडा ३६ पुगेको छ । ज्यान जानेहरू सबै चीनको तिब्बतकै भएको बताइएको छ ।

    यस अगाडि अमेरिकी विश्व च्यानल सीएनएनले नौ जनाको ज्यान गएको बताउँदै भूकम्प ७.१ रेक्टर स्केलको आएको बताएको छ ।

    चिनियाँ अखबार ग्लोबल टाइम्सले भने ६.८ रेक्टर स्केलको भूकम्प आएको लेखेको छ ।

    ग्लोबल टाइम्सका अनुसार दिङ्ग्री काउन्टीमा भूकम्प गएको हो । यो काउन्टी तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट नजिकै रहेको छ ।

    चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो ।

  • हराएका भारतीय पत्रकारको शव सेप्टी ट्याङ्कीमा फेला

    हराएका भारतीय पत्रकारको शव सेप्टी ट्याङ्कीमा फेला

    काठमाडौं । हराएका भारतीय पत्रकार मुकेश चन्द्राकरको शव सेप्टी ट्याङ्कीमा फेला परेको छ ।

    भ्रष्टाचारबारेमा पत्रकारिता गर्दै आएका मुकेश भारतीय राज्य छत्तिसगढका पत्रकार थिए ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ३२ वर्षका पत्रकार अंग्रेजी नयाँ वर्षबाट हराइरहेका थिए ।

    उनको लास शुक्रवार फेला परेको हो ।

    सार्वजनिक क्षेत्रमा बढेको भ्रष्टाचारका मुद्दामा मुलेशले रिपोर्ट बनाएका थिए ।

  • वासिङटन पोस्टले साहु र ट्रम्पविरुद्ध भएको भन्दै छापेन कार्टुन, कार्टुनिस्टले दिए राजीनामा

    वासिङटन पोस्टले साहु र ट्रम्पविरुद्ध भएको भन्दै छापेन कार्टुन, कार्टुनिस्टले दिए राजीनामा

    काठमाडौं । अमेरिकाको अखबार वासिङ्टन पोस्टकी कार्टुन सम्पादकीयको नेतृत्व गर्ने एन टेल्नाइसले राजीनामा दिएकी छन् । उनले बनाएको एक कार्टुनको मुद्दालाई लिएर कार्टुन नछापिएपछि उनले राजीनामा दिएकी हुन् ।

    उनले खर्बपति मिडिया तथा प्रविधिका साहुले कसरी डोनाल्ड ट्रम्पको पक्ष लिइरहेका छन् भन्ने सन्देश दिने कार्टुन बनाएकी थिइन्, तर उनको कार्टुन छापिएन ।

    यस अगाडि कार्टुनको वासिङ्टन पोस्टका साहु जेफ बेजोस, प्याट्रिक सोन सिओङ, फेसबुक साहु मार्क जुकरबर्गलगायतका मिडिया र प्रविधि क्षेत्रका साहुहरुलाई लक्षित गरेको कार्टुन नछापिएको हो ।

    अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा आलोचनात्मक चेतको पैरवी गर्ने वासिङ्टन पोस्टको नारै ‘अन्धकारमा लोकतन्त्र मर्छ’ भन्ने छ, तर यही मिडियाले एक कार्टुन निषेध गरेको र सम्पादकले राजीनामा दिएको भन्दै सर्वत्र आलोचना भएको छ ।

    राजीनामा दिएकी कार्टुनिस्ट पुलित्जर अवार्ड विजेता कार्टुनिस्ट हुन् । पुलित्जर पत्रकारिता क्षेत्रको नोवेल पुरस्कारको रुपमा चित्रित गरिने पुरस्कार हो ।

  • ट्रम्पको हत्या प्रयास गर्नेसँग उठबस हुनेलाई जो बाइडेनको ‘स्वतन्त्रता’ अवार्ड

    ट्रम्पको हत्या प्रयास गर्नेसँग उठबस हुनेलाई जो बाइडेनको ‘स्वतन्त्रता’ अवार्ड

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा चयन भएका डोनाल्ड ट्रम्पको हत्या प्रयास गर्नेसँग उठबस गर्नेलाई वर्तमान राष्ट्रपति जो बाइडेनले अवार्ड दिएका छन् । होसे आन्द्रेसले डोनाल्ड ट्रम्पलाई हत्या प्रयास गर्नेसँग तस्बिर लिएका थिए ।

    उनले ‘राष्ट्रपतीय स्वतन्त्रता अवार्ड’ पाएका छन् । यस्तै डेमोक्रेटिक पार्टीकी विवादित नेतृ तथा भारतदेखि रुस हुँदै अमेरिका अनि विश्वमा धेरै देशमा विवादमा आएका जर्ज सोरसलाई पनि बाइडेनले अवार्ड दिएका छन् ।

    विवादित अनुहारहरुलाई अवार्ड दिएको भन्दै सामाजिक संजालमा विरोध भएको छ । विभिन्न विश्व मिडियाहरु खासगरि रुसी विश्व च्यानल आरटीले यसबारेमा प्राथामिकताका साथ समाचार प्रकाशन गरेको छ ।

    आफ्नो दलका नेता तथा निकटहरुलाई अवार्ड दिने अमेरिकी प्रचलनकै रुपमा रहिआएको छ । राष्ट्रपति बाराक ओबामाले जो बाइडेनलाई अवार्ड दिएका थिए ।

     

  • म्यान्माको सैनिक सरकारले ६ हजार कैदीलाई आममाफी दिने

    म्यान्माको सैनिक सरकारले ६ हजार कैदीलाई आममाफी दिने

    म्यान्मा । म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक आममाफीअन्तर्गत करिब ६ हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ । म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौं प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ ।

    म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।

    आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यमा उल्लेख छ ।

    कानूनले सेनालाई कमजोर पार्ने कुनै पनि कार्यलाई निषेध गरेको छ र बढीमा तीन वर्षको जेल सजायको व्यवस्था गरेको छ । माफी दिइएका विदेशीमध्ये अधिकांश थाइल्यान्डका नागरिक रहेको र उनीहरुलाई सीमामा रहेको क्यासिनोमा पक्राउ गरिएको उनले बताए ।

    सेनाले मानवीय र अनुकम्पाको आधारमा माफीको आदेश दिएको जनाएको छ । जुन्टाले आजीवन कारावासको सजाय सुनाइएका १४४ जनाको सजाय घटाएर १५ वर्षमा झार्ने पनि घोषणा गरेको छ । म्यान्माले कैदीहरूलाई बिदा वा बौद्ध चाडहरूको उपलक्ष्यमा आममाफी दिने गरेको छ ।

    गत वर्ष जुन्टा सरकारले स्वतन्त्रता दिवसको अवसर पारेर ९ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो । राजधानी न्यापितमा शनिबार आयोजित वार्षिक स्वतन्त्रता दिवस समारोहमा करिब ५०० सरकारी तथा सैन्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नभएका जुन्ता प्रमुख मिन आङ ह्लाइङले दिएको सम्बोधनलाई उपसेना प्रमुख सोइ विनले सम्बोधन गरेका थिए ।

    सोइ विनले विगत चार वर्षदेखि हतियार त्याग्न र ‘शान्तिपूर्ण तरिकाले राजनीतिक मुद्दाको समाधान गर्न’ दर्जनौं जातीय अल्पसङ्ख्यक सशस्त्र समूहलाई जुन्टाले गरेको आह्वानलाई दोहोर्‍याए । उनले ढिला गरी लोकतान्त्रिक निर्वाचन गराउने सैन्य प्रतिबद्धता दोहोर्‍याउँदै राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् । -रासस/एएफपी

  • विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

    विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

    टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया शहरले शनिबार घोषणा गरेको छ ।

    चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी शहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

    उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो । -रासस/एएफपी

  • ६० लाख डलर खर्चेर माल्दिभ्सको सत्ता पल्टाउने अमेरिकी अखबारको समाचारमा भारतीय खण्डन

    ६० लाख डलर खर्चेर माल्दिभ्सको सत्ता पल्टाउने अमेरिकी अखबारको समाचारमा भारतीय खण्डन

    काठमाडाैं । हालसालै अमेरिकी अखबार वासिङटन पोस्टले ६० लाख अमेरिकी डलर खर्चेर भारतले माल्दिभ्सका राष्ट्रपति माेहमद मैजूलाई सत्ताबाट हटाउने तयारी गरेको समाचार भारतले खण्डन गरेको छ ।

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले समाचारको शुक्रबार खण्डन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार भारतीय गुप्तचरहरुले माल्दिभ्सको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले मागे अनुसारको ६० लाख अमेरिकी डलर खर्चेर सत्ता ढाल्न खोजेपनि असफल भएको समाचारको भारतले खण्डन गरेको हो ।

    सन २०२३ नोभेम्बरमा सत्तामा आएका माल्दिभ्सका राष्ट्रपति माेहमद मैजूसँग भारत बेखुस छ । उनलाई चीन पक्षधर नेता भन्दै भारतीय मिडियाहरुले चित्रण गरिरहेका छन् ।

    भारतले सांसद किनेर सत्ता पल्टाउने खबर अमेरिकाबाट प्रकाशन हुनु भन्दा माल्दिभ्सको संविधान संसोधन गरिएको थियो । गत नोभेम्बर २० मा भएको संसोधन अनुसार एक दलबाट चुनिएको सांसदले अर्को दलमा प्रवेश गर्न नपाउने, स्वतन्त्र उठेको उम्मेदवारले अर्को दलमा प्रवेश गर्न नपाउने र गरेको खण्डनमा संसद पद जाने तथा माल्दिभ्सको जल, स्थल र हवाई भूभागको परिवर्तन गर्न संसदको तीन चौथाई मत आवश्यक हुने लगायतका संसोधन भएका थिए । मैजूको दलबो बहुमतबाट त्यो संसोधन गरिएको थियो ।

  • नयाँ वर्षको अतिसबाजीले पाँच जनाको ज्यान गएपछि जर्मनीमा प्रतिबन्धको माग

    नयाँ वर्षको अतिसबाजीले पाँच जनाको ज्यान गएपछि जर्मनीमा प्रतिबन्धको माग

    काठमाडौं । हालासालै सकिएको नयाँ वर्ष उत्सवको बेला गरिएको अतिसबाजीमा परेर पाँच जनाको ज्यान गएपछि जर्मनीमा अतिसबाजी बन्दको माग उठेको छ ।

    जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार २ लाख ७० हजार भन्दा धेरै जर्मनहरुले अनलाइनबाट एक पेटिसनमा हस्ताक्षर गरेर प्रतिबन्धको काम गरेका छन् ।

    शुक्रबार जर्मनीका अग्नि नियन्त्रकहरुसँग बोल्दै चान्सलर ओलाफ सोल्जले नियमन आवश्यम भएको बताएका थिए ।

    तर, उनले प्रतिबन्ध नै हुने वा नहुने भन्नेमा भने केहि खुलाएनन् । यस्तै बर्लिनका मेयर काइ वेग्नरले पनि नियमहरु लागु गर्न आवस्यक भएको बिहिबार बताएका छन् । उनले भने प्रतिबन्धको भने बिरोध गरेका छन् ।

  • म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै

    म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै

    काठमाडौं । म्यानमारका कैद भुक्ता गरिरहेका १८० विदेशी सहित ५ हजार ८६४ कैदीहरु रिहाई हुने भएका छन् ।

    म्यानमारको स्वतन्त्रता दिवसको अवसर पारेर रिहाई हुने भएको हो । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार ७७ औं स्वतन्त्रता दिवस मनाइरहेको म्यानमारले प्रजातन्त्रवादी नेतृ तथा नोबेर शान्ति पुरस्कार पाउने आङ सान सुकिलाई के गर्छ भन्ने कुनै टुंगो भने लागेको छैन ।

    सुकिले विभिन्न कैद फैसलाका २७ वर्षको सजाय भोगिरहेकी छिन् । सन २०२१ फेब्रुअरी १ मा म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि सुकि थुनिएकी छिन् ।

    दशकौं नजरबन्दमा बसेकी सुकिलाई म्यानमारको सेनाले पटकपटक थुनामा राखिसकेको छ । जेलमा लगिसकेको छ । म्यानमारको प्रजातान्त्रिक आवाजको सबैभन्दा ठूलो बिम्ब सुकि नै हुन् ।

  • युट्युबर मिस्टर बिस्टले गरे इन्गेजमेन्ट, को हुन् उनकी हुनेवाली पत्नी ?

    युट्युबर मिस्टर बिस्टले गरे इन्गेजमेन्ट, को हुन् उनकी हुनेवाली पत्नी ?

    वासिङ्टन डीसी । विश्वकै नम्बर एक युट्युबरका रूपमा परिचित मिस्टर बिस्ट (जेम्स डोनाल्डसन) विवाहबन्धनमा बाँधिने भएका छन् । उनले आफ्नी प्रेमिका थिया बुयसेनसँग हिजो इन्गेजमेन्ट गरे ।

    युट्युबमा सर्वाधिक सब्सक्राइबर्स भएका २६ वर्षीय बिस्टले गत ‘क्रिसमस डे’ मा प्रेमिकालाई प्रपोज गरेका थिए । नयाँ वर्ष २०२५ मा उनले आफूहरू ‘ईंगेज्ड’ भएको घोषणा गरे ।

    मिस्टर बिस्टले प्रेमिकासँगको ईंगेजमेन्टका तस्बिरहरू आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एउटा तस्बिरमा उनले आफ्नो लिभिङ रुममा एउटा घुँडा टेकेर बुयसेनलाई औँठी लगाइरहेको छन् । अन्य तस्बिरमा परिवारका सदस्यहरू पनि देखिएका छन् ।

    २७ वर्षीया बुयसेनले पनि भिडिओ क्लिप बनाएर ईंगेजमेन्टबारे पोस्ट गरेकी छन् । उनले आफ्नो हिराको औँठी पनि देखाएकी छन् ।

    एउटा अन्तरवार्तामा यो जोडीले बताए अनुसार बुयसेनको परिवार साउथ अफ्रिकाबाट क्रिसमस उनीहरूसँग क्रिसमस मनाउनका लागि नर्थ क्यारोलिना आएको थियो । त्यही अवसरमा इन्गेजमेन्ट भएको हो ।

    यो जोडीले विवाह कहिले गर्ने भनेर बताएका छैनन् । तर, तडकभडकपूर्ण भन्दा पनि सानो समारोहमा सुन्दर तरिकाले विवाह गर्ने उनीहरूको भनाइ छ ।

    मिस्टर बिस्ट सन् २०२२ मा साउथ अफ्रिका जाँदा बुयसेनसँग उनको भेट भएको थियो । उनीहरूले एक साझा साथीको घरमा सँगै डिनर खाएका थिए । तत्कालै आफूहरू एक–अर्काबाट प्रभावित भएको उनीहरूको भनाइ छ ।

    उनीहरूले २०२२ को अप्रिलमा किड्स च्वाइस अवार्डमा एक साथ रेड कार्पेट डेब्यू गरेका थिए । मिस्टर बिस्ट सन् २०२३ मा नै प्रपोज गर्न चाहन्थे तर कानूनमा ब्याचलर्स पढेकी बुयसेनले मास्टर्स नसिध्याउँदासम्म पर्खिने निर्णय गरे ।

    बुयसेनले गत नोभेम्बरमा युनिभर्सिटीअफ एडिनबर्गबाट ह्यूमन कग्निटिभ न्यूरोसाइकोलोजीमा मास्टर्स सकेकी थिइन् । उनी युट्युबमा पनि सक्रिय छिन् । थियाबिस्टी नामक युट्युब च्यानलमा उनका ४० हजार जति सब्सक्राइबर्स छन् । जबकि मिस्टर बिस्टको युट्युब च्यानलमा ३४ करोडभन्दा बढी फलोअर्स छन् ।

  • ट्रम्प होटल अगाडि पड्कियो टेस्ला गाडी, चालकको मृत्यु (भिडिओ)

    ट्रम्प होटल अगाडि पड्कियो टेस्ला गाडी, चालकको मृत्यु (भिडिओ)

    काठमाडौं । अमेरिकाको ट्रम्प इन्टरनेसनल होटल अगाडि टेस्ला गाडी पड्किएको छ । टेस्ला साइबरट्रक लस भेगासमा बुधवार पड्केको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    गाडी पड्केर चालकको मृत्यु भएको छ भने अरू सात नजिकका घाइते भएका छन् । डोनाल्ड ट्रम्पको स्वामित्वको संरचना र फेसन सो क्षेत्रमा गाडी पड्केको हो ।

    अमेरिकी च्यानल एबीसीले पड्केको कुरालाई आतंकवादसँग जोडेर अनुसन्धान गर्ने बताएको छ ।

    अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पको संरचना छेउमा उनका निकट व्यापारिक मित्र एलन मस्कको स्वामित्वको सवारी पड्किएकोले अहिले त्यो घटनाको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ ।

  • चीनसँग एआई गठबन्धन गर्न पुटिनको आग्रह

    चीनसँग एआई गठबन्धन गर्न पुटिनको आग्रह

    काठमाडौं । रुस र चीनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) गठबन्धन गर्न रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आग्रह गरेका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले देशको सबैभन्दा ठूलो बैंक र प्रविधिका नवप्रवर्तकहरुलाई चीनसँग गठबन्धन गर्न आग्रह गरेका हुन् ।

    चीनले विश्वको सबैभन्दा अत्याधुनिक एआई क्षेत्रको विकास गरेको भन्दै त्यसमा रुसले साझेदारी चाहेको छ ।

    सन २०१७ मा एक कार्यक्रम नीति ल्याएर चीनले सन २०३० भित्र एआईको सुपर पावर बन्ने लक्ष्य लिएको थियो । त्यसै अनुसार अहिले चीनमा एआईका धेरै कामहरू हुँदै आएका छन् ।

    सन २०१४ बाट सन २०२३ सम्ममा चीनले ३८ हजार जेनेरेटिभव एआईको पेटेन्ट दर्ता गराएको छ । त्यो भनेको विश्वको कुल पेटेन्टमा ७० प्रतिशत भएको आरटीले उल्लेख गरेको छ ।

  • बंगलादेश र पाकिस्तानको सामुद्रिक र सैन्य मित्रता बढ्दै, के छ भारतीय चिन्ता ?

    बंगलादेश र पाकिस्तानको सामुद्रिक र सैन्य मित्रता बढ्दै, के छ भारतीय चिन्ता ?

    काठमाडौं । गत डिसेम्बर २० मा इजिप्टको कायरोमा बंगलादेशका प्रधानमन्त्रीको हैसियतमा रहेका अन्तरिम नेता महोमद युनुस र पाकिस्तानका प्रधानमन्त्री शेबाज शरिफको भेट भयो । भेटको तस्बिर सार्वजनिक भयो । दुवैले अत्यन्त उज्यालो अनुहार बनाएर मुस्कुराएको तस्बिर आयो ।

    अँध्यारो ऐतिहासिक विगत भएका देशका नेताहरुको उज्यालो तस्बिर सार्वजनिक भएपछि केही समाचारहरु आए । त्यसमा एक प्रमुख समाचार सन् १९७१ पछि नयाँ ढंगले अगाडि बढ्न उनीहरुले छलफल गरेको कुरा आयो । त्योभन्दा अगाडि बंगलादेशमा परेको प्राकृतिक विपत्तमा सहयोग गर्ने पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट बताइसकेका थिए ।

    सामुद्रिक व्यापारदेखि सैन्य सहकार्यसम्म सुरु

    गत नोभेम्बरमा पनि दुई देशको बिचमा नयाँ अध्याय सुरु भयो । नोभेम्बर १३ मा पाकिस्तानको कराचीबाट आएका कार्गो जहाजहरु बंगलादेशको बन्दरगाह चित्तगोङमा बसे । यो बंगलादेशको स्वतन्त्रतापछिको पहिलो कदम भएको भन्ने समाचार धेरैतिर आइसकेका छन् । ढाकामा रहेका पाकिस्तानका हाइकमिस्नर सहिद अहमद मरुफले दुई देशको सीधा व्यापार भएको भन्दै सकारात्मक प्रतिक्रिया दिए ।

    यो त सामुद्रिक व्यापारिक सहकार्यको कुरा भयो । सैन्य सहकार्यका कामहरु पनि उत्तिकै देखिएका छन् । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार सन् २०२५ फेब्रुअरीबाट बंगलादेशी सैनिकहरुलाई पाकिस्तानले तालिम दिने भएको छ । यस्तै ‘अमन २०२५’ नामक पाकिस्तानमा हुने सैन्य अभ्यासमा बंगलादेश सहभागी हुने भएको छ ।

    के छ भारतीय प्रतिक्रिया ?

    बंगलादेशलाई स्वतन्त्र देश बनाउन भारतको सक्रिय र शक्तिशाली योगदान छ । भारतीय सैनिकहरुको खुन-पसिना बगेको छ । बंगलादेशका नेता शेख मुजिबर रहमान स्वतन्त्रताका मानक नेता थिए, तर यिनकै छोरी शेख हसिनाले गत अगस्त ५ मा विद्यार्थी आन्दोलनसँगै देश छोडेर भारत भासिनु परेपछि शेख परिवारकै विरासतमा हमला सुरु भएका छन् । शेख मुजिबर रहमानका प्रतिमाहरु भत्काइन थालेका छन् । नोटमा उनको तस्बिर हटाउन थालिएको छ । उनको जन्म र मृत्युको दिनलाई दिवस र बिदा दिन छोडिएको छ ।

    भारतको साथ पाएर बंगलादेशलाई स्वतन्तता दिलाउने शेख मुजिबर रहमानदेखि भारतकै शरणमा बंगलादेशबाट दशक लामो सत्ता छोडेर आएकी रहमानपुत्री हसिना दुवैको विरासत भत्काइन थालिएको छ । धार्मिक अल्पसंख्यकहरुमा दमन भएका छन् । विश्वभर आलोचना पनि भएको छ । यी सबै हुँदा बंगलादेशमा भारतविरोधी सेन्टिमेन्ट चुलिएको छ ।

    मोदीविरुद्ध, बीजेपीविरुद्ध र भारतीय मिडियाविरुद्ध नाराजुलुस पनि भएका छन् । ४ हजार किलोमिटर हाराहारीको सीमा भएको र भारतको उत्तरपूर्वी सात राज्यको सिमानामा भएको बंगलादेशमा भारतविरोधी सेन्टिमेन्ट र सत्ता हुँदा समस्या भएको भारतीय मिडिया र सोसल मिडियामा व्यापक आइरहेका छन्, तर भएको भन्दा ठूलो समस्या चैँ कूटनीतिक क्षेत्रबाट नभएर भारतीय मिडियाबाट भएको पनि टिप्पणी छन् ।

    एकातर्फ बंगलादेशको सत्तासँग भारतीय दूरी बढ्नु, बंगलादेशमा भारतविरोधी र भारतमा बंगलादेशविरोधी नाराजुलुस हुनुले कूटनीतिक र जनस्तरमा सम्बन्ध खस्किएको छ । अर्कोतर्फ भारतको दुश्मन देश पाकिस्तानसँग बंगलादेशको बढेको सैन्य तथा साझेदारी हिमचिमले भारतमा चिन्ता र चासो थपेको छ ।

    यस्तो छ पाकिस्तान र बंगलादेश एकै देशबाट अलग भएको कथा

    बेलायतीहरुले सन् १९४७ मा भारतलाई उपनिवेशबाट मुक्त गरिदिए । बेलायती सत्ता हुँदा अहिलेको भारत, बंगलादेश र पाकिस्तान एकै राजनीतिक इकाइ थियो, तर बेलायतकै अधिनमा रहेको श्रीलंका, माल्दिभ्स जस्ता अरु दक्षिण एसियाली क्षेत्रहरु भने अलग इकाइ थिए । त्यही भएर सन् १९४८ मा श्रीलंका छोड्दा श्रीलंका पूरा एकै देश भयो । सन् १९६५ मा माल्दिभ्स छोड्दा पूरा देश एकै भएर रह्यो ।

    दक्षिण एसियाको भारत क्षेत्रमा भने कथा फरक भयो । धार्मिक लाइनमा दुई देश बने । सन् १९४७ अगस्तमा भारत स्वतन्त्र भयो । भारतसँगै पाकिस्तान पनि अलग देश बन्यो । हिन्दू बाहुल्य भारत एक देश । मुस्लिम बाहुल्य पाकिस्तान अर्को अलग देश । पाकिस्तान पनि दुई भागमा थियो । एक पूर्वी पाकिस्तान, अर्को पश्चिम पाकिस्तान । बंगाली भाषा बाहुल्य मुस्लिम भएको पूर्वी पाकिस्तान र उर्दू भाषी बाहुल्य भएको पश्चिम पाकिस्तानमा दरार आयो ।

    उर्दू लादिएको भन्दै बंगाली क्षेत्रको आक्रोश आयो । पश्चिम पाकिस्तानले दमन गर्‍यो । धेरैको नरसंहार भयो । सन १९७१ मा आएर पूर्वी पाकिस्तान अलग देश बन्यो । त्यसलाई मान्यता दिने नेपाल सातौं देश बनेको थियो । नेपालले मान्यता दिँदा पाकिस्तान बिच्किएको थियो । खासगरी भारतीय सेना जसमा नेपालबाट भर्ती भएका भारतीय गोर्खालीहरु पनि थिए, उनीहरुको सैन्य बल र बंगलादेशी नागरिकको आन्दोलनको दोहोरो चेपुयामा परेर पाकिस्तानले स्वतन्त्रता दिन बाध्य भएको थियो ।

    अहिले कुनै बेलाका दुश्मन दोस्त भएका छन् । त्यसबाट भारतमा विभिन्न शंका र टिप्पणीहरु हुन थालेका छन् । भारतीय मिडिया र सोसल मिडिया दुवैमा यसका चर्चा बढेका छन् । विश्व मिडियामा पनि यसको चर्चा सुरु भएको छ ।

  • जिम्मी कार्टर र देङ स्याओपिङः सैन्य युद्धको विपरीत कित्तादेखि कूटनीतिक मित्रतासम्म

    जिम्मी कार्टर र देङ स्याओपिङः सैन्य युद्धको विपरीत कित्तादेखि कूटनीतिक मित्रतासम्म

    काठमाडौं । शताब्दी लामो आयु बाँचेका अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको दुई दिन अगाडि मृत्यु भयो । र, अहिले उनको र चिनियाँ नेता देङ स्याओपिङको चर्चा चुलिएको छ । अमेरिका भ्रमण गर्ने प्रथम चिनियाँ कम्युनिष्ट नेता हुन देङ स्याओपिङ । उनको भ्रमण सन् १९७९ मा हुँदा अमेरिकाका राष्ट्रपति थिए जिम्मी कार्टर ।

    यो त कूटनीतिक मोर्चाको कुरा भयो । यी दुई नेताको युद्ध मोर्चाको पनि रोचक साइनो छ । कार्टर सन् १९४६ मा नेभर एकेडेमीबाट दीक्षित भए । सन् १९४९ मा उनी पदोन्नति भएर लेफ्टिनेन्ट भए । बेलायती विश्व सेवा बीबीसीका अनुसार सैन्य सेवाकै क्रममा जिम्मी कार्टर सन् १९४९ मा चीनको छिङ्ताओ पुगे । त्यहाँ उनको मिसन जनवादी गणतन्त्र चीन बनाउन लडेका कम्युनिष्ट लडाकुविरुद्ध लडेको सत्ताधारी कामिङन्ताङलाई सैन्य सहयोग गर्नु थियो ।

    छिङ्ताओबाट नजिकै रहेको ‘दुश्मन किल्ला’को नेतृत्व गरिरहेका थिए देङ स्याओपिङ । अन्ततः चिनियाँ कम्युनिष्ट पार्टीले सोही वर्षको अक्टोबर १ मा चीन कब्जा गर्‍यो । अक्टोबर १ जिम्मी कार्टरको जन्म दिन पनि हो ।

    जिम्मी कार्टरको जन्मोत्सवमा चिनियाँ कम्युनिष्ट पार्टीको सत्ताको जन्म भयो । त्यसको ठीक तीन दशकमा जिम्मी कार्टर र देङ स्याओपिङको पुनः भेट भयो । भेट सन् १९४९ को जस्तो दुश्मन किल्लाका सैन्य अधिकारीको रुपमा होइन, दुई देशका राजनीतिक नेतृत्वको रुपमा ।

    हेनरी किसिन्जर र रिचर्ड निक्सनले अमेरिका र चीनको मित्रताको खाँबो गाडेका थिए । त्यसलाई बढाउन जिम्मी कार्टर र देङ स्याओपिङले भूमिका खेलेका थिए । यसैकारण चीनले सत्ता बाहिर हुँदा पनि कार्टरलाई विश्वास गर्ने राजनेताको रुपमा लिने बीबीसीले उल्लेख गरेको छ ।

  • कक्षाका साथीको हत्या कसुरमा चीनका दुई विद्यार्थीलाई आजीवन कैद फैसला

    कक्षाका साथीको हत्या कसुरमा चीनका दुई विद्यार्थीलाई आजीवन कैद फैसला

    काठमाडौं । आफ्नै कक्षाका साथीको हत्याको कसुरमा चीनका दुई विद्यार्थीहरुलाई आजीवन कैद फैसला भएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत मार्चमा चीनको हबई प्रान्तका चाङ र लि नामका विद्यार्थीले वाङलाई हत्या गरेका थिए ।

    उनीहरु दुवै १३ वर्ष उमेरका थिए । हत्या गरेर वाङको पैसा आधा-आधा बाँडेका थिए । उनीहरुले हत्या गरेर शवलाई एक हरितगृहमा गाडेका थिए ।

    हत्या गरिएका वाङ धेरै सयमबाट बुलिङमा पनि परेका थिए । यी सबै कुराले सोमबारको फैसलामा चिनियाँ सामाजिक संजालहरुमा खुशी व्यक्त गरिएको बीबीसीले उल्लेख गरेको छ ।

     

  • नेपालका मित्र अमेरिकी ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन

    नेपालका मित्र अमेरिकी ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन

    काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको हो ।

    कार्टरले १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए । राष्ट्रपतिको कार्यकालपछि उनले मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । यी कार्यहरूको कदर स्वरूप उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

    राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका छन् । जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। उनी १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे । त्यसपछि उनी २००७ मा दुईपटक नेपाल भ्रमणमा आए । पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । भने दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

    २००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आए, जसले लोकतान्त्रिक प्रक्रियामा ऐतिहासिक योगदान पुर्‍यायो। त्यसपछि २०१३ मा उनको भ्रमणले स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो। अन्तिमपटक उनी २०१५ मा नेपाल आएका थिए । जसमा उनले भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा पनि चासो दिएका थिए ।

    उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र नेपाली जनताको माया र आतिथ्यप्रति सधैँ प्रशंसा गरेका थिए । नेपालमा उनको कार्टर सेन्टरले चुनावी पर्यवेक्षण, स्वास्थ्य सेवा विस्तार, र शान्ति प्रक्रियामा अतुलनीय योगदान दिएको छ।

  • दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८५ पुग्यो

    दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८५ पुग्यो

    काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ ।

    चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

    थाइल्यान्डको राजधानी बैंककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

    धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

  • दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

    दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

    काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

    १ सय ७५ जना यात्री र ६ जना चालकदलका सदस्य रहेको जेजु एयरको विमान आज विहान अवतरणका क्रममा दुर्घटना भएको थियो ।

    योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।

  • दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

    दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

    काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

    एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

    योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

  • आप्रवासी सङ्कटले अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

    आप्रवासी सङ्कटले अमेरिकामा घरबारविहीनको सङ्ख्या उच्च

    न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा घरबारविहीनता उच्चस्तरमा पुगेको जो बाइडेन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।

    सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

    ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, ‘यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् ।’

    जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा पारिवारिक बेघर वा आश्रयविहीन जनसङ्ख्याको यो वृद्धि लगभग ७ प्रतिशतले बढेको छ ।

    सीमामा कमजोर सुरक्षाको कारण आप्रवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी दक्ष र यसका कारण उनीहरू बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ । यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीन बन्ने गरेको रिपोर्टमा उल्लेख छ ।

    ह्वाइट हाउस र अमेरिकी आवास तथा शहरी विकास विभागका अधिकारीहरूका अनुसार बाइडेनले शरणको दाबीमाथि कडा कदम चालेपछि गत जुनदेखि नै यो सङ्कट कम भएको जनाएका छन् ।

    अधिकारीहरूले गैरकानूनी रूपमा सीमा पार गर्ने क्रम निकै कम भएको बताएका छन् । -रासस/सिन्ह्वा

  • दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

    सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

    गत डिसेम्बरको शुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौं यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ ।

    युनको महाभियोग प्रक्रिया पूरा गर्न र उनलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि महाभियोग लगाएका थिए ।

    युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो, तर दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘राष्ट्रपति युनको रक्षाका लागि करिब २० लाख मानिस एकजुट हुनेछन्’, सियोलमा आयोजित ¥याली आयोजकमध्येका एक युनका समर्थक री काङ सानले भने, ‘महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई ¥यालीले निरन्तरता दिएको छ ।’

    युनविरोधी ¥यालीका आयोजकले उनीविरूद्धको महाभियोगलाई समर्थन गर्नेहरुको आक्रोश ‘झनै चर्को रुपमा जलिरहेको’ बताए ।

    ¥यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेको’ बताएका छन् ।

    विपक्षी र हानबीच उनले संवैधानिक अदालतमा रिक्त रहेका तीन थप न्यायाधीश नियुक्त गर्न इन्कार गरेपछि द्वन्द्व बढेको र पछि यसैको सिलसिलामा उनले कोही ‘सैन्य कानून’ कार्यान्वयन गर्ने घोषणापछि विपक्षी निलम्बित राष्ट्रपति र उनका मन्त्रीहरूप्रति आक्रोशित बनेका छन् ।

    युनलाई महाभियोग लगाउने संसदको निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा अहिलेका ६ न्यायाधीशले निर्णय गर्नसक्ने भए पनि असहमति जनाउने मतले उनलाई पुनर्बहाली गर्नेछ ।

    विपक्षीहरूले हानले ९ सदस्यीय बेन्च भर्न थप तीन जना मनोनीत व्यक्तिहरूलाई अनुमोदन गरोस् भन्ने चाहन्थे, जुन उनले गर्न अस्वीकार गरेका थिए । यसले गर्दा दुवै पक्ष गतिरोधमा परेका थिए ।

    दोस्रो महाभियोगले अर्थमन्त्री चोइ साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामा नियुक्त गरेको छ । यसले देशलाई अनिश्चितताको शिकार बनाएको छ ।

    इन्चोन नेसनल युनिभर्सिटीका प्राध्यापक ली जुन हानले भने, ‘हामीले यसअघि पनि कार्यवाहक राष्ट्रपति बनाएका थियौं, तर हामीले विकल्पको विकल्प खोज्दै एकपछि अर्को महाभियोग प्रस्तावमाथि छलफल र मतदान गरेको यो पहिलो पटक हो ।’

    चोईले महाभियोगपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस घडीमा सरकारी उथलपुथल कम गर्नु सबैभन्दा महत्वपूर्ण छ, सरकारले पनि आफ्नो सम्पूर्ण प्रयासलाई उथलपुथलको यस कालखण्डबाट पार पाउनका लागि समर्पित गर्नेछ ।’

    हान जस्तै चोईले पनि नयाँ न्यायाधीशको नियुक्ति स्वीकार गर्न विपक्षीको दबाबको सामना गर्नुपर्नेछ । यदि उनले अस्वीकार गरेमा उनले पनि महाभियोगको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । -रासस/एएफपी

  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

    भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु

    काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो ।

    ९२ वर्षीय उनको बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडिका प्रधानमन्त्री तथा भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । ३३ वर्ष राज्यसभामा रहेका उनले यसैसाल बिदा लिएका थिए ।

    यस्तै अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ । आजै होस गुमाएर अस्पताल भर्ना गरिएका सिंहको बुढ्यौलीको समयमा देखिने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ ।

  • नेपाली वाइड बडी प्रकरणमा घुस खुवाएको भन्दै अमेरिकी कम्पनीलाई साढे ५ करोड डलर जरिवाना

    नेपाली वाइड बडी प्रकरणमा घुस खुवाएको भन्दै अमेरिकी कम्पनीलाई साढे ५ करोड डलर जरिवाना

    काठमाडौं । अमेरिकाको कानूनी प्रावधान विपरीत जहाज खरिद बिक्रीमा विदेशीलाई घुस खुवाउने प्रतिवादीमाथि साढे पाँच करोड डलर जरिवाना हुने भएको छ । अमेरिकाको न्याय विभागले जारी गरेको सूचनाअनुसार एएआर कर्प नामक कम्पनीले जरिवाना तिर्नुपर्ने भएको हो ।

    नेपाल र दक्षिण अफ्रिकाका जहाज खरिदकर्तालाई घुस खुवाएको भन्दै पब्लिक ट्रेडिङमा जोडिएको यो कम्पनीले जरिवाना तिर्नुपर्ने भएको हो । सन् २०१५ बाट सन २०२० सम्म नेपाल र दक्षिण अफ्रिकाका हवाई सेवा प्रदायकलाई घुससहित जहाज बिक्री गरेको आरोप लागेको कम्पनीले त्यो दुई देशको प्याकेजबाट २ करोड ४० लाख अमेरिकी डलर नाफा कमाएको देखिएको छ ।

    नेपालको नेपाल वायु सेवा निगमको लागि खरिद गरिएको ए३३३–२०० मोडेलका दुई जहाज र अफ्रिकामा बिक्री गरिएका जहाजमा घुस खुवाइएको बताइएको छ । नेपाली सरकारी हवाई सेवा प्रदायकको खरिदमा नेपाली अधिकारीलाई विभिन्न माध्यमबाट घुस खुवाइएको बताइएको छ । तर, कुन कुन अधिकारीले कति कति घुस लिए भन्ने खुलाइएको छैन ।

  • २५० वर्षपछि अमेरिकाको औपचारिक राष्ट्रिय चरा भयो गिद्ध

    २५० वर्षपछि अमेरिकाको औपचारिक राष्ट्रिय चरा भयो गिद्ध

    काठमाडौं । अमेरिकाले बाल्ड एगल नामको गिद्धलाई राष्ट्रिय चराको मान्यता दिएको छ ।

    क्रिसमसको दिनमा राष्ट्रपति जो बाइडेनले औपचारिक मान्यता दिने कुरालाई अन्तिम हस्ताक्षर गरेका छन् ।

    १७८२ बाट अमेरिकी सरकारी दस्ताबेजमा यो गिद्ध प्रयोग हुँदै आएको छ भने सन १९४० बाट मार्न र बिक्री गैर कानुनी छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार अमेरिका स्थापनाका एक पिता बेन्जामिन फ्राङ्क्लिनले ‘खराब नैतिक आचरण’मा जोडिने चरा भएकोले बनाउन असहमत थिए ।

    तर, बलियो, लामो आयु भएको बहादुरीको र स्वतन्त्रताको प्रतीक भएकोले बाल्ड एगल भनिने गिद्धलाई नै मान्यता दिनुपर्ने पक्षमा सदन थियो । बाल्ड एगल उत्तर अमेरिकामा मात्र पाइने गिद्ध हो ।

  • कजकिस्तानमा  ६७ यात्रु बाेकेकाे जहाज दुर्घटना, २५ जनाकाे जीवितै उद्धार

    कजकिस्तानमा ६७ यात्रु बाेकेकाे जहाज दुर्घटना, २५ जनाकाे जीवितै उद्धार

    काठमाडौं । कजकिस्तानको अकताऊ शहरमा बुधवार विमान दुर्घटनामा परेको छ । अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज आज बिहान दुर्घटना भएको हो ।

    स्थानीय अधिकारीहरूका अनुसार विमान पाँच जना चालकदलसहित ६७ जना सवार थिए । जहाजमा सवार २५ जना जीवितै भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

    जीवितै उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लिएको छ । बीबीसीका अनुसार उक्त अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ जाँदै थियो ।