Category: विश्व प्रेस

  • टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी बाइडेनले लगाए कोरोना खोप

    टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी बाइडेनले लगाए कोरोना खोप

    एजेन्सी । हालै अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका जोय बाइडेनले टेलिभिजन प्रत्यक्ष प्रसारणमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका छन् ।

    टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नुपर्नाको कारणबारे प्रष्ट पार्दै उनले भनेका छन्, ‘यो खोपको प्रयोग सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वस्त पार्न सकुँ ।’

    बाइडेनले जस्तै वर्तमान उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसीलगायतले यो खोपको पहिलो मात्रा लिइसकेका छन् । आइतबार खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । अमेरिकामा पहिलो खोप लगाउने न्युयोर्ककी नर्स मोडर्नालाई नै दोस्रो मात्रा पनि दिइएको छ ।

    समाचारहरुमा बताइएअनुसार ५ लाख भन्दा बढी अमेरिकीलाई कोरोना खोपको आवश्यकता छ । ‘म यो सन्देश दिन खोजिरहेको छु कि मानिसहरुले उपलब्ध खोपका लागि तयार हुन सकुन्,’ डेमोक्रेटिक नेता बाइडेनले न्युयोर्क डेलावेरमा भने, ‘कुनै चिन्ता लिनु पर्दैन ।’

    उनले यो पनि भनेका छन् कि ट्रम्प प्रशासन खोप कार्यक्रम सुरु गर्नका लागि केही श्रेयको हकदार बनेको छ । बाइडेनकी श्रीमती जिल बाइडेनले खोपको पहिलो डोज अघिल्लो दिन नै लिएकी थिइन् ।

    उपराष्ट्रपति पदको चुनाव जितेकी कमला ह्यारिस र उनका पति डग एमहोफले अर्को साता खोपको पहिलो डोज लिनेछन् ।

    बाइडेनको टिमले ह्वाइटहाउसको जिम्मेवारी सम्हालेको १०० दिनभित्र १०० मिलियन कोरोना खोपको बन्दोबस्त गर्ने लक्ष्य राखेको छ ।

    कोरोना महामारीको क्रममा अमेरिकामा विश्वमै सबैभन्दा धेरै १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ लाख १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

  • युट्युवमा सर्वाधिक कमाउने ९ वर्षे बालक, एकै वर्षमा कमाए साढे तीन अर्ब

    युट्युवमा सर्वाधिक कमाउने ९ वर्षे बालक, एकै वर्षमा कमाए साढे तीन अर्ब

    ९ वर्षकी अमेरिकी बालक रायन काजी सन् २०२० मा युट्युवबाट सर्वाधिक कमाउने व्यक्ति बनेक छन् । द गार्जियनका अनुसार टेक्सस निवासी यी बालकले यसवर्ष मात्र २९.५ मिलियन डलर (झन्डै साढे तीन अर्ब रुपैयाँ) कमाए ।

    गुगलको भिडियो साझेदारी साइट युट्युवमा उनले खेलौना र भिडियो गेमको समीक्षा गर्ने गरेका छन् । भिडियो उत्पादनमा उनलाई अभिभावकले पनि साथ दिने गरेका छन् । युट्युवमा उनको च्यानलको नाम रायन्स वर्ल्ड राखिएको छ ।

    ब्रान्डेड खेलौना, लुगा र पाइजामा विक्री समेत जोड्दा उनको कमाइ झन्डै २०० मिलियन डलर पुग्ने अनुमान छ । निकोलडोन नामक एक सिरिजको लागि उनले लाखौंको सम्झौता समेत गरेका छन् । उनको भिडियोका दर्शकलाई अधिकांश बालबालिकाले रुचाउने गरेका छन् ।

    सन् २०१५ देखि युट्युवमा भिडियो पोस्ट गर्न थालेका रायनले आफ्नी आमासँग अरु साथीको युट्युव भएको तर, आफूसँग नभएको भन्दै काम थालेका थिए । उनका अभिभावकले नाम थर गन बदलेर काजी राखिदिएका थिए । अहिले यही नामबाट उनले नौवटा युट्युव च्यानल चलाउने गरेका छन् ।

    उनको च्यानललाई ४१.७ मिलियनले पछ्याएका छन् भने १२.२ बिलियन हेरेका छन् । उनको सबैभन्दा बढी पटक हेरिएको भिडियो चाहिँ अण्डाको सरप्राइजवाला खेलौना प्रतिस्पर्धा थियो । यसलाई मात्र २ बिलियनले हेरेका थिए । अहिलेसम्मकै सर्वाधिक हेरिएको ६० भिडियोभित्र यो समावेश हुन्छ ।

  • युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

    युरोपेली युनियनका मुलुकमा कोरोना खोप निर्णयको प्रतीक्षा

    एएफपी । युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ ।

    आम्र्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ । जर्मनी र अरु युरोपेली मुलुकहरुले लगातार दबाब दिएपछि इएमएले फाइजरको खोप स्वीकृत गर्न लागेको हो ।

    बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेका छन् । यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय ९एफडिए० ले अनुमति दिएको थियो ।

    युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि शःसर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ ।

    इएमएले खोप स्वीकृत गर्ने बारेमा गहन अध्ययन र परामर्श गरिरहेको जनाएको छ । इएमएका प्रमुख एमर कूकले गत साता कोभिड–१९ को खोपको मूल्याँकन गर्न आफ्नो निकायले दिनरात काम गरिरहेको बताएका छन् ।

    इएमएको बारेमा निर्णय सोमबार हुनेछ, तर यस मितिमा निर्णय नभए डिसेम्बर २९ मा अर्को बैठक बस्नेछ, उनले जानकारी दिए । अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको खोप बारेमा भने जनवरी ६ मा निर्णय गर्ने इएमएले जनाएको छ ।

    फाइजर–बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । यस खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नु पर्दछ र झण्डै तीन साताको अन्तरालमा दुई डोज दिनु पर्दछ ।

  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी

    सिन्ह्वा । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ८१० जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा एक हजार २७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

    मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ६ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ३६ हजार सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड २० लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

  • संसद विघटनबारे अन्तर्राष्ट्रिय मिडियाको चासो, कुन मिडियाले के लेखे ?

    संसद विघटनबारे अन्तर्राष्ट्रिय मिडियाको चासो, कुन मिडियाले के लेखे ?

    संसद विघटन प्रकरणलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रसारण गरेका छन् । खासगरी, नेपालको विकसित घटनाक्रममा दक्षिण छिमेकी राष्ट्र भारतका मिडियाको मुख्य चासो देखिन्छ ।

    न्यूयोर्क टाइम्सको हेडलाइन छ : नेपाल अस्थिरतामा फस्यो । चीन र भारतको चासो ।’ अमेरिकी अखबारले नेपालको राजनीतिलाई लामो समयदेखि बेइजिङ र दिल्लीको चासोले निर्देशित गरिरहेको लेखेको छ ।

    वासिङ्टन पोस्टले चाहिं प्रमुख दलको आन्तरिक शक्ति संघर्षको कारण संसद विघटन भनेर हेडलाइन लेखेको छ । पार्टीभित्रको झगडाले देशलाई थप अस्थिरतातर्फ लैजाने उसले लेखेको छ । अघिल्लोपटकको चुनावमा ४७ करोड अमेरिकी डलर खर्च भएको भन्दै वासिङ्टन पोस्टले कोरोनाभाइरसको खोपका लागि ६७ करोड खर्च हुने भन्दै नेपालले यस्तो खर्च थेग्न नसक्ने उल्लेख छ ।

    एसोसिएट प्रेसले पनि संसद भंग हुँदा राजनीतिक अस्थिरताको सुरुआत भएको लेखेको छ । पुष्पकमल दाहाललाई प्रधानमन्त्री पद दिन नमान्दा सुरु भएको पार्टीको झगडा संसद भंगसम्म आइपुगेको उल्लेख छ । नेपालमा बढ्दो बेइजिङको प्रभावलाई भारतले आफ्नोतर्फ धकेलिरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

    भारतीय मिडिया प्रेस ट्रस्ट अफ इन्डियाले प्रचण्डसँगको झगडामा ओलीले संसद विघटन गरेको लेखेको छ । नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको कुरा पीटीआईले लेखेको छ । हिन्दुस्तान टाइम्सले विरोधीलाई चकित पारेर ओलीले संसद भंग गरेको हेडलाइन लेखेको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले नेपालको मन्त्रिपरिषदबाट संसद विघटनको लागि सिफारिश गर्ने निर्णयको विरोधमा सातजना मन्त्रीले राजीनामा दिएको समाचार लेखेको छ । टाइम्स अफ इन्डियाले सत्तारुढ पार्टीभित्रको विवादमा प्रधानमन्त्रीले संसद भंग गरेको हेडलाइन लेखेको छ ।

  • साउदीसहित १३ मुलुकद्वारा बेलायतसँगको उडानमा रोक

    साउदीसहित १३ मुलुकद्वारा बेलायतसँगको उडानमा रोक

    कोरोनाभाइरसको दोस्रो लहर शुरु भएसँगै साउदी अरबले एक साताका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । सीमासहित सिल गरिएको जनाइएको छ ।

    युरोपबाट साउदी फर्किएकाहरुलाई उसले एकसाता आइसोलेसनमा रहन भनेको छ । युरोपसहित कोरोना प्रभावित क्षेत्रबाट आएकालाई अनिवार्य कोभिड परीक्षणका लागि भनिएको छ ।

    टर्कीले पनि बेलायत, डेनमार्क, दक्षिण अफ्रिका र नेदरल्यान्डबाट हुने हवाई यातायातलाई अस्थायी रोक लगाएको छ । अहिलेसम्म विश्वमा ७ करोड ७१ लाख ६९ हजार ३५९ जनामा भाइरस संक्रमण पुष्टि भएको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ । १६ लाख ५९ हजार ५६० जनाको मृत्यु भएको छ ।

    भाइरसले रुप बदलेका प्रमाणहरु भेटिन थालेपछि वैज्ञानिकका लागि टाउको दुखाइको विषय बनेको छ । बेलायतमा म्युटेसनका केसहरु भेटिन थाल्दा खोपको प्रभावकारितामा चुनौती सिर्जिएको बताइन्छ। म्युटेसनको भाइरस अघिल्लोभन्दा ७० प्रतिशतले जोखिमपूर्ण हुने जनाइएको छ ।

    यसैबीच, बेलायतले अंग्रेजी नयाँवर्ष शुरु हुन थालेसँगै कडा प्रतिबन्ध लागू गरेको छ । लन्डनमा घरबाट बाहिर निस्कन रोक लगाइएको छ । फ्रान्स, जर्मनी, इटाली, स्वीट्जरल्यान्ड, पोर्चुगल, बेल्जियम, अष्ट्रिया, बुल्गेरिया, डेनमार्क, फिनल्यान्ड, रोमानिया, क्रोसिया र नेदरल्यान्डले बेलायतसँगको हवाई उडानमा रोक लगाएका छन् ।

  • बृहस्पति र शनि ८०० वर्षपछि आज राति नजिक देखिंदै

    बृहस्पति र शनि ८०० वर्षपछि आज राति नजिक देखिंदै

    काठमाडौं । जाडोयाममा दिन छोटा र रात लामा हुन्छन् । अंग्रेजी क्यालेन्डरको अन्तिम महिनाको २१ तारिख अर्थात् डिसेम्बर २१ को रात वर्षकै सबैभन्दा लामो हुन्छ । र, यो दिन विश्वभरका खगोल वैज्ञानिकको नजर आकाशतिरै केन्द्रित हुन्छ ।

    यसै क्रममा आज (सोमबार) राति आकाशमा एक अनौठो घटना पनि हुँदैछ, जसमा सौर्यमण्डलका दुई ठूला ग्रह बृहस्पति र शनिको दुर्लभ मिलनको घटना लभग ८०० सालपछि हुन गइरहेको छ ।

    खगोल वैज्ञानिकले भनेका छन्- अन्तरिक्षमा बृहस्पति र शनि वास्तवमा करोडौं किलोमिटर टाढा हुनेछन् । तर पृथ्वीबाट हेर्दा यी दुई ग्रह एकदमै नजिकै देखिने छन् । दुवै ग्रहको मिलनलाई महा-संयोजन (ग्रेट कन्जक्सन) भनिएको छ ।

    यसअघि सन् १६२३ मा पनि यी दुई ग्रहहरू नजिकिएका थिए । तर, आज रातमा नजिक भने यी ग्रहहरू ८०० वर्षपछि देखिने भएका हुन्।

  • अमेरिकाको बिदेश र रक्षा संयन्त्र साइवर आक्रमणको मुख्य निशाना

    अमेरिकाको बिदेश र रक्षा संयन्त्र साइवर आक्रमणको मुख्य निशाना

    एजेन्सी । अमेरिकी सरकारी संयन्त्रको ठूलो हिस्सा ह्याकिङको खतरामा रहेको पहिचान गर्ने एउटा साइवर सुरक्षा एजेन्सीले करिव ५० संस्थाहरु तत्कालका लागि असुरक्षित रहेको बताएको छ ।

    साइवर सुरक्षा एजेन्सी फायरआईका सीईओ केभिन मान्डियाका अनुसार ह्याकरहरुले १८ हजार संस्थाको नेटवर्क आक्रमण गर्ने प्रयास गरेका थिए त्यसमध्ये ५० वटा संस्थाको नेटवर्कलाई बढी असर पारिएको छ ।

    अमेरिकाको आन्तरिक सुरक्षा, परराष्ट्र र रक्षा बिभागलाई बढी लक्षित गरिएको छ । अमेरिकी बिदेशमन्त्री माइक पोम्पिओले यो ह्याकका लागि रुसमाथि आरोप लगाएका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दुई ट्वीट गर्दै रुसमो भूमिकामा शंका गरेका थिए भने चीनको संग्लग्नताको पनि संकेत दिएका थिए ।

    मान्डियाले सीबीएस न्युजसँग कुरा गर्दै भनेका छन्, ‘साइबर आक्रमण निकै नै चलाखीपूर्ण र योजनाबद्ध तरिकाले सुरु गरिएको छ । र रुसी बिदेशी जासुस संयन्त्रको काम गर्ने तरिकाबारे अमेरिकी अधिकारीहरु नै बताउन सक्छन् ।’

  • क्रिसमस लक्षित गरी युरोपका देशहरुमा कडा लकडाउन

    क्रिसमस लक्षित गरी युरोपका देशहरुमा कडा लकडाउन

    एजेन्सी । कोरोना महामारीका कारण सुरक्षाका लागि भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चौथो चरणको कडा लकडाउन घोषणा गरेका छन् ।

    शनिबार राती आयोजित पत्रकार सम्मेलनमा जोन्सनले प्रष्ट भनेका छन् कि पर्वको मौसम यसपल्ट पहिलेभन्दा फरक हुनेछ । उनले भने, ‘पहिलो जस्तो योजनासहित मनाइन्थ्यो, यसपल्ट हामी त्यसरी क्रिसमस मनाउन सक्दैनौं ।’

    उनले चौथो चरणको लकडाउन पूर्वी र दक्षिण इंग्ल्यान्डका केहि इलाकासमेत लन्डनमा आइतबारदेखि लागू हुनेछ । बेलायतले क्रिसमसका लागि ५ दिनसम्म छुट दिने निर्णय यसअघि गरेकोमा अब क्रिसमसको एक दिनमात्र नागरिकले कोरोनामा सुरक्षा मापदन्डबाट छुट पाउनेछन् ।

    चौथो चरणको प्रतिबन्ध लागू भएका क्षेत्रमा नागरिकलाई घरभित्रै रहन भनिएको छ र एउटा क्षेत्रबाट अर्को क्षेत्रसम्म मानिसहरु भेटघाटमा प्रतिबन्ध लगाइएको छ ।

    कोरोनाको संक्रमितको संख्या बढ्न थालेको र मुख्य पर्व क्रिसमस र नयाँ वर्ष आउन लागेकाले युरोपका देशहरुले कडा प्रकारको प्रतिबन्ध लगाइरहेका छन् ।

    अघिल्लो साता जर्मनीले कडा लकडाउन घोषणा गरेको थियो भने फ्रान्सले रात्रीकालीत कर्फ्यू नै जारी गरेको थियो । अधिकांश देशले आगामी जनवरीसम्मका लागि लकडाउन गरेका छन् । यो भनेको क्रिसमस र नयाँवर्ष लक्षित नै हो ।

  • सातामा विश्वभर चर्चित केही तस्वीर

    सातामा विश्वभर चर्चित केही तस्वीर

    
    चीनको बेइजिङस्थित एक पार्कमा ग्राहकको कपाल काट्दै हजाम। तस्वीर: रासस/एफपी

    किर्गिस्तानमा मरेको भेडालाई विरोधी टिमको पोष्टमा गोल गर्दै खेल्ने परम्परागत खेल खेल्दै स्थानीय । तस्वीर: रासस/एपी

    अमेरिकाको ज्याक्सन मेमोरियल अस्पतालमा फाइजर कम्पनीको कोभिड–१९ को खोप लगाउँदै गरेको फोटो खिच्दै फोटोग्राफरहरु । तस्वीर: रासस/एपी

    अमेरिकाको सियाटलमा कोभिड–१९ को खोप लगाउँदै एक नर्स । तस्वीर: रासस/एपी

    रसियामा स्पुटनिक खोप लगाएका कोभिड–१९ का बिरामीको तस्वीर खिच्दै पत्रकारहरु । तस्वीरस: रासस/एपी

    इन्डोेनेसियाको जकार्तामा सैनिकले जनचेतनाका लागि राखेको ब्यानरका अगाडि हिंड्दै स्थानीय । तस्वीर: रासस/एपी

    भारतको दिल्लीमा आन्दोलनरत किसान । तस्वीर: रासस/एपी

    इजरायलको तेल अभिभमा मास्क लगाइ समुद्र किनारमा पौडी खेल्दै एक व्यक्ति । तस्वीर: रासस/एपी
  • ४०० वर्षपछि शनि र बुध नजिकिंदै, नेपाली आकाशमा सोमबार हेर्न पाइने

    ४०० वर्षपछि शनि र बुध नजिकिंदै, नेपाली आकाशमा सोमबार हेर्न पाइने

    हाम्रो सौर्यमण्डलका दुई ठूला ग्रह बृहस्पति र शनि चारसय वर्षपछि एकदम नजिक हुँदैछन् । नेपाली आकाशको दक्षिणपश्चिममा सोमबार सूर्यास्तपछि खगोलशास्त्रकै दुर्लभ दृश्य देख्न पाइने भएको छ ।

    सन् १६२३ मा यसअघि यस्तो दृश्य देखिएको थियो । यो घटनाले पृथ्वीसहित सौर्यमण्डलमा महत्वपूर्ण उतारचढाव आउने ठोकुवा गरिएको छ । यसअघि उक्त क्षणमा क्राइस्ट जन्मिएको, ठूलो आगलागी हुने र हावाहुरी चलेको बताइन्छ । द गार्जियनले त्यतिबेला मानव सभ्यता नै नष्ट भएको लेखेको छ ।

    नेपाली समयानुसार राति सवा १० बजेदेखि सुरु हुने यो दृश्यको उत्कर्ष भने यसको दुई घण्टापछि हुनेछ । दक्षिणपश्चिमको १५ डिग्री देशान्तरमा यो दृश्य देख्न पाइनेछ । प्रत्येक २० वर्षमा यी दुई ठूला ग्रह नजिक हुन्छन् तर, दिउँसोमा मात्र हुने भएकाले नांगो आँखाले देख्न असम्भव हुन्छ ।

    यसअघि सन् १६२३ मा यी ग्रह नजिक हुँदा शेक्सपियरको पहिलो रचना प्रकाशित भएको थियो । दुई ग्रह नजिक हुँदा निकै चम्किलो पनि देखिने ग्रीनविच रोयल अब्जर्भेटरीले जनाएको छ । शनि ग्रह प्रत्येक २९ वर्षमा पृथ्वीको धेरै नजिक आउने गर्छ ।

  • अमेरिकी उपराष्ट्रपतिले लगाए कोरोनाविरुद्धको खोप

    अमेरिकी उपराष्ट्रपतिले लगाए कोरोनाविरुद्धको खोप

    टेलिभिजनबाट लाइभ प्रसारणसहित अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोभिड–१९ को भ्याक्सिन लिएका छन् । खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘यो चिकित्सकीय चमत्कार हो । हामी महामारीबाट मुक्त हुने आशामा छौं ।’

    कुनै अमेरिकी उच्च पदस्थ व्यक्तिले भ्याक्सिन लिएको यो पहिलोपटक हो । ‘यो बिहान भ्याक्सिनले हामीमा आत्मविश्वास दिलाएको छ’ उनले भने, ‘मैले कुनैपनि अप्ठ्यारो कुराको महसुस गर्नुपरेन ।’

    ह्वाइट हाउसबाट गरिएको लाइभ प्रसारणमै पेन्ससहित उनकी पत्नी करेन र उनका नीजि चिकित्सक जेरोमी एडम्सले पनि खोप लगाए । सीएनएनका मेडिकल सम्पादक डा. संजय गुप्ताले पनि भ्याक्सिन लिए ।

    पेन्सले भ्याक्सिन लगाइरहँदा उनको अगाडि अमेरिकी रोग नियन्त्रण महाशाखा प्रमुख एन्थोनी फाउची उपस्थित थिए । खोप लगाउने पेन्सको कामको प्रशंसा गर्दै फाउचीले यसले अन्य अमेरिकी नागरिकलाई उत्साहको संचार गरेको बताए ।

  • विद्यालयबाट अपहरित ३४४ विद्यार्थी अपहरणमुक्त

    विद्यालयबाट अपहरित ३४४ विद्यार्थी अपहरणमुक्त

    सिन्ह्वा । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका छन् ।  यस घटनामा आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।

    अपहरण मुक्त भएका प्रायःविद्यार्थीहरु केटा भएको राज्यका गभर्नर अमिनु मासारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताए । हाल ती विद्यार्थीहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए ।

    कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिहरुलाई छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

    बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए । बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।

    सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए ।
    बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरुसँग रहेको बताएका थिए ।

    सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको थिए । नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।

  • अमेरिकामा गम्भीर साइबर आक्रमणको चेतावनी

    अमेरिकामा गम्भीर साइबर आक्रमणको चेतावनी

    एजेन्सी । अमेरिकी अधिकारीहरुले यो साता देशमा गम्भीर प्रकृतिको साइबर आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । मुख्य गरी सरकार, संवेदनशील संरचना र निजी क्षेत्र हमलाको खतरामा छन् ।

    साइबर आक्रमणको माध्यमबाट अमेरिकी वित्त र वाणिज्य मन्त्रालयलाई निशाना बनाइएको छ । अमेरिकाको साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्युरीटी एजेन्सी (सीआईएसए)ले भनेको छ कि यो साइबर आक्रमण निकै नै चुनौतिपूर्ण विषय हुन सक्छ ।

    अमेरिकाका थुप्रै अधिकारीहरुले शंका गरेका छन् कि यो आक्रमणमा रुसी सरकारको संग्लग्नता छ । तर रुसले यस दावीलाई पूर्णतः खारेज गरिदिएको छ ।

    बिहीबार सीआईएसएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारी निकाय, संवेदनशील परियोजना र निजी क्षेत्र एउटा खतरनाक खेलाडीको माध्यमबाट निशानामा परिरहेको छ जसको सुरुआत सन् २०२० को मार्चमै भएको थियो ।’

    नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले साइबर सुरक्षालाई आफ्नो प्रशासनले मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । यो ह्याकिङ अभियानमा अमेरिकाका थुप्रै सरकारी एजेन्सीलाई निशाना बनाइएको छ ।

  • फ्रान्सेली राष्ट्रपतिलाई कोरोना संक्रमण

    फ्रान्सेली राष्ट्रपतिलाई कोरोना संक्रमण

    बीबीसी/फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन कोभिड–१९ संक्रमित भएका छन् । ४२ वर्षे राष्ट्रपतिले आफूलाई लक्षणसहितको भाइरस देखिएपछि आइसोलेट गरेको उनको कार्यालयले जनाएको छ ।

    आइसोलेसनबाटै उनले शासन चलाउने र अलग रहेर काम गर्ने राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । बढ्दो संक्रमणलाई रोक्न फ्रान्सले यो सातादेखि रात्रीकालिन कर्फयु जारी गरेको छ ।

    महामारी सुरु भएपछि फ्रान्समा २० लाख जनामा भाइरस संक्रमण भएको छ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार फ्रान्समा ५९ हजार ४ सय जनाले ज्यान गुमाएका छन् ।

    ‘कोरोनाको लक्षण देखिनेवित्तिकै गरिएको परिक्षणमा राष्ट्रपतिलाई कोभिड संक्रमण पुष्टि भएको छ’ उनको कार्यालय एलेसीले जनाएको छ । उनलाई कसरी भाइरस संक्रमण भयो भन्ने पुष्टि नभएपनि राष्ट्रपति कार्यालयले चाहिँ स्रोतको कन्ट्याक्ट ट्रेसिङ पुष्टि भएको जनाएको छ ।

  • चार्ली हेप्डो हमला प्रकरणः फ्रान्सेली अदालतद्वारा १४ जना दोषी ठहर

    चार्ली हेप्डो हमला प्रकरणः फ्रान्सेली अदालतद्वारा १४ जना दोषी ठहर

    एजेन्सी । फ्रान्सको एउटा अदालतले सन् २०१५ मा पेरिसस्थित एक ब्यंग्य पत्रिका चार्ली हेप्डोको कार्यालयमा भएको चरमपन्थी हमलामा आतंकबादीलाई सहयोग गरेको आरोपमा १४ जनालाई दोषी प्रमाणित गरेको छ ।

    २०१५ को जनवरीमा भएको सो आतंकबादी हमलामा १७ जनाको मृत्यु भएको थियो । ७ जनवरीमा चार्ली हेप्डोको कार्यालयमा भएको आक्रमणमा १२ जना मारिएका थिए । त्यसको १ दिनपछि एकजना महिला प्रहरी अधिकारीको गोली हानी हत्या भएको थियो भने ३ दिनपछि सुपरमार्केटमा भएको गोली हानाहानमा ४ जना मारिएका थिए ।

    बुधबार गरिएको सुनुवाईमा ११ जना अभियुक्त अदालतमै उपस्थित थिए । तीनजनाको अनुपस्थितिमै बहस गरिएको थियो ।

    एक अभियुक्त हयात बाओमुद्धिन अदालतमा उपस्थित थिइनन् । उनी सुपरमार्केटमा हमला गर्ने अमोदी कोउलीवालीकी साथी थिइन् र हमलाको एक साता अगाडि नै सिरिया भागेकी थिइन् ।

    अदालतले उनलाई आतंकबादी नेटवर्कको सदस्य पाएको भन्दै ३० वर्षको कैद सजायँ सुनाएको छ । यो हमलाका मुख्य अभियुक्त मानिएका अली रजा पोलाटलाई पनि अपराधमा सहभागी भएकोमा दोषी प्रमाणित गरी ३० वर्षको अजाय सुनाइएको छ ।

    १४ आरोपीलाई फरक फरक अभियोगमा दोषी करार गरिएको छ । अदालतमा उपस्थित ११ मध्ये ६ जना अभियुक्तलाई आतंकबाद बाहेकको अपराधमा दोषी ठहर गरिएको छ ।

  • कोरोना महामारीः फ्रान्समा रात्रिकालीन कर्फ्यू, जर्मनीमा कडा लकडाउन

    कोरोना महामारीः फ्रान्समा रात्रिकालीन कर्फ्यू, जर्मनीमा कडा लकडाउन

    एजेन्सी । इसाइहरुको महान चाड क्रिसमस र नयाँ वर्ष नजिकिँदै जाँदा कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि फ्रान्सले दोस्रो चरणको लकडाउनका क्रममा रात्रिकालीन कर्फ्यूसमेतको निर्णय गरेको छ । जर्मनीमा कडा प्रकारको लकडाउन बुधबारदेखि लागू गरिनेछ ।

    राती ८ बजेदेखि बिहान ६ बजेसम्म आवश्यकबाहेकका नागरिकलाई घरबाट बाहिर निस्कन अनुमति दिइएको छैन । क्रिसमसको पूर्वसन्ध्यामा यो नियममा केहि छुट हुनेछ तर नयाँ वर्षको पूर्वसन्ध्यामा लागू हुने छैन । बार र रेस्टुरेन्टहरु कम्तिमा २० जनवरीसम्म बन्द रहनेछन् ।

    फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या मंगलबार ७ सय ९० थपिएर जम्मा ५९ हजार ७२ पुगेका छन् । फ्रान्सका नागरिकले दिउँसोको समयमा घरबाट निस्कन आवश्यक कागजपत्र देखाउनु नपर्ने भएको छ ।

    तर दैनिक ५ हजार संक्रमण हुनु र त्यसको दर दिनदिनै दुईगुणा बढ्नुले रातीको समयमा कर्फ्यू लगाउने र सडकमा प्रहरी चेकिङ÷निगरानी बढाउने निर्णय फ्रान्स सरकारको छ ।

    संक्रमण दर अहिलेसम्मकै धेरै हुने क्रममा रहेको छिमेकी देश जर्मनीमा बुधबारदेखि निकै नै कडा खालको लकडाउन सुरु हुँदैछ । अत्यावश्यकबाहेकका पसलहरु देशभर बन्द हुँदैछन्, बालबालिकाको हेरचाह बिद्यालय वा घरमा जहाँ भए पनि एकै ठाउँमा गनुपर्नेछ । जर्मनीमा नोभेम्बरदेखि नै रेस्टुरेन्ट र बारहरु बन्द छन् ।

    जर्मन चान्सलर एन्जेला मर्केलले क्रिसमसको किनमेलका लागि बजारमा देखिएको भीडले सामाजिक दूरी कायम गर्न नसकेको आरोप लगाएकी छन् । नयाँ लकडाउन डिसेम्बर १६ देखि जनवरी १० सम्म चल्नेछ । तर २४ देखि २६ डिसेम्बरसम्म आरामको समय छ, यो समयमा एक परिवारमा अन्य घरबाट बढीमा ४ जना सदस्यलाई आमन्त्रित गर्न सकिनेछ ।

  • कोरोनाबिरुद्धको खोप अभियान अमेरिकामा पनि सुरु

    कोरोनाबिरुद्धको खोप अभियान अमेरिकामा पनि सुरु

    एजेन्सी । बेलायत पछि अमेरिकाले पनि आफ्ना नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन सुरु गरेको छ । अमेरिकामा सोमबार कोभिड–१९ को खोप लगाएर देशका सबैभन्दा ठूलो खोप अभियानको सुरुआत गरिएको छ ।

    न्युयोर्ककी एकजना नर्सलाई खोपको पहिलो डोज लगाएर यो अभियान सुरु गरिएको हो । ‘मलाई यस्तो लागिरहेको छ कि उपचार जारी छ,’ पहिलो प्रयोगकर्ता सान्द्रा लिन्डसेले भनिन् ।

    सोमबारमात्रै अमेरिकाका कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । देशका करिव १ सय ५० अस्पतालले लाखौं भाइल कोरोनाको खोप प्राप्त गरेका छन् । अमेरिकाले पनि फाइजर बायोटेक कम्पनीले विकास गरेको खोप प्रयोग गरेको हो ।

    अमेरिकाको खोप अभियान कार्यक्रमले अप्रिलसम्ममा १० करोड जनतालाई खोप लगाउने लक्ष्य राखेको छ ।

    लिन्डसे न्युयोर्कको लङ आइल्यान्ड मेडिकल सेन्टरमा आईसीयूमा कार्यरत नर्स हुन् । उनलाई खोप लगाइरहेको दृश्य न्युयोर्कका मेयर एन्ड्र्यु कोमोको फेसबुक र ट्वीटरबाट प्रत्यक्ष देखाइएको थियो । न्युयोर्क कोरोना महामारीको पहिलो धक्का ब्यहोरेको अमेरिकी शहर हो ।

    ‘मलाई अरु खोपभन्दा खासै फरक लागेन,’ लिन्डसेले भनिन्, ‘मलाई आशा छ कि यो हाम्रो इतिहासकै सबैभन्दा कठिन समयको अन्त्यको सुरुआत हो । म सबै जनतालाई विश्वस्त पार्न चाहन्छु कि यो खोप सुरक्षित छ ।’

  • भारतमा चर्कियो किसान आन्दोलन, मोदीको आग्रह अस्वीकार

    भारतमा चर्कियो किसान आन्दोलन, मोदीको आग्रह अस्वीकार

    तीन नयाँ कृषि कानुनविरुद्ध दसौं हजार भारतीय किसानले गरिरहेको आन्दोलन झनै चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आन्दोलन शान्त पार्न प्रयास गरेपनि तत्काल मत्थर हुने संकेत मिलेको छैन । कृषि कानुनले नीजि कम्पनी र बिचौलियालाई फाइदा हुने आरोप किसानको छ ।

    नयाँ कानुनले किसानको आम्दानीलाई दोब्बर बनाउने भन्दै मोदीले आश्वस्त पार्न खोजेको प्रयासलाई किसानले अस्वीकार गरेका छन् । आक्रोशित किसानले राजधानी नयाँ दिल्ली नजिकै विरोध प्रदान गरिरहेका छन् । किसान नेता र सरकारबीच भएको ६ पटकको वार्ता सफल हुन सकेन । यसलाई मोदी सरकारकै जटिल परिस्थिती मानिएको छ ।

    ‘सयौं किसानले आफ्नो आवाज व्यक्त गर्न दिल्लीतर्फ ट्रयाक्टर र्‍याली आयोजनको तयारी गरिरहेका छन्’ ३० वटा किसान समूहको संगठन संयुक्त किसान आन्दोलनका संयोजक कमलप्रित सिंह पन्नुले भने, ‘सरकारले हाम्रो आन्दोलन बिथोल्ने प्रयास गरेको छ तर, हामीले शान्तिपूर्ण आन्दोलनलाई जारी राख्छौं ।’

    स्थानीय अधिकारीले आन्दोलित किसानलाई नयाँ दिल्ली प्रवेशमा रोक लगाउन सडकमा ब्यारिकेड राखेर अवरोध गरिरहेका छन् । किसानको आन्दोलनलाई प्रतिपक्षी कांग्रेस आइ र केही अर्थशाष्त्रीले समर्थन गरेका छन् । ‘नयाँ कानुनले किसानको अहित गर्ने मेरो अध्ययनको निष्कर्ष छ’ संघिय सरकारका पूर्व आर्थिक सल्लाहकार कौसिक बासुले ट्वीट गरेका छन् ।

    तीन नयाँ कानुनले भारतीय किसानलाई आफ्नो उत्पादन विक्री गर्न झनै सुविधा हुने र विकल्प उपलब्ध हुने सरकारी दाबी छ । प्रधानमन्त्री मोदी र कृषि मन्त्रीले नयाँ कानुनबाट फाइदा लिन आग्रह गर्दै आन्दोलन मत्थर पार्न पहल गरेका छन् ।

  • चन्द्रमाको चट्टान बोकेर चिनियाँ अन्तरीक्ष यान आज पृथ्वी फर्कँदै

    चन्द्रमाको चट्टान बोकेर चिनियाँ अन्तरीक्ष यान आज पृथ्वी फर्कँदै

    एपी/चिनियाँ अन्तरीक्ष यान सोमबार चन्द्रमाको चट्टान बोकेर पृथ्वीमा फर्कने भएको छ । पृथ्वीमा फर्कने उडान सुरु भैसकेको जनाइएको छ । चार दशकपछि चन्द्रमामा यान पठाइएको यो दोस्रो पटक हो ।

    चेन्ज फाइभ लुनार नाम दिइएको उक्त यानले गतसाता चन्द्रमाको चक्कर काटिरहेको थियो । चन्द्रमा धरातलमा ल्यान्ड भए लगत्तै केही तस्विर समेत पठाएको थियो । पृथ्वीमा फर्कन उक्त यानले अहिले चन्द्रमाको चक्कर काटिरहेको चिनियाँ अन्तरीक्ष विभागले जनाएको छ ।

    प्राचिन ज्वालामुखी रहेको ठानिएको चन्द्र सतहको रुमकेर थलोमा यानले यसै महिनाको सुरुआती सातामा ल्यान्ड गरेको थियो । उक्त थलोबाट यानले २ किलो चट्टानको नमुना संकलन समेत गरेको थियो ।

    उक्त यान मंगोलिया सीमा नजिकै पर्ने उत्तरी चीनमा अवतरण गर्ने जनाइएको छ । सन् १९७६ मा सोभियत युनियनले चट्टान ल्याए यता चीन उक्त काममा सफल भएको हो । चन्द्र सतहमा प्वाल पारेर ती चट्टानका नमुना संकलन भएको हो ।

    यसअघि अमेरिका र रुसले ल्याएको भन्दा लाखौं वर्ष पुरानो चट्टान हुनसक्ने अनुमान गरिएको छ । जसले गर्दा चन्द्रमाको इतिहास र सौर्य मण्डलबारे थप अध्ययन गर्न सकिने भएको छ । यसका लागि चीनले केही देशसँग मिलेर प्रयोगशाला निर्माण गरिरहेको छ ।

    चीनले अन्तरीक्ष योजना अन्तर्गत अब मंगल ग्रहमा यान पठाउने तयारी थालेको छ । चीनले सन् २०२२ मा सम्पन्न हुने गरि स्पेस स्टेसनको समेत निर्माण गरिरहेको छ जसले गर्दा चन्द्रमामा मान्छे पठाउन सकियोस् । अमेरिकाले चाहिँ सन् २०२४ सम्म चन्द्रमामा मान्छे पठाउने योजना बुनिरहेको छ ।

  • अमेरिकामा आजदेखि खोप, जर्मनीमा कडा लकडाउन

    अमेरिकामा आजदेखि खोप, जर्मनीमा कडा लकडाउन

    अमेरिकाले सोमबारदेखि सबै राज्यमा कोभिड–१९ विरुद्धको फाइजर खोप आफ्ना नागरिकलाई लगाउन सुरु गरेको छ । सीएनएनका अनुसार ५० वटै राज्यमा खोप पुर्‍याइएको छ ।

    एकलाख ८४ हजार दुईसय ७५ कन्टेनरमा भ्याक्सिन लोड गरेर मिसिगन राज्यबाट वितरण थालिएको हो । अमेरिकी खाद्य तथा औषधी विभागले आपतकालिन प्रयोगका लागि फाइजरको खोपलाई अनुमति दिएपछि लगाउने प्रक्रिया सुरु भएको हो ।

    भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या झन्डै ३ लाख नजिक पुगेको छ । ‘प्रत्येक राज्यका एकसय ४५ थलोमा सोमबार खोप लगाइनेछ । मंगलबार ४ सय २५ र बुधबार ६६ थलोमा लगाइनेछ । अर्डर गरिएअनुसार भ्याक्सिनको मात्रा अहिलेलाई पुरा हुनेछ’ अमेरिकी संघिय सरकारका भ्याक्सिन विभाग प्रमुख जनरल गुस्तभा पेर्नाले भने ।

    अमेरिकी केन्द्रिय रोग नियन्त्रण विभागले १६ भन्दा माथिल्लो उमेरका नागरिकलाई मात्र खोप लगाउन अनुमति दिएको छ । अमेरिकी खोप निर्माण कम्पनी फाइजरले आफ्नो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको र त्यसलाई माइनस ७५ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने जनाएको थियो ।

    चिसो बिदाको दिन र क्रिसमस नजिक आउँदै गरेको पृष्ठभूमिमा लगातार सातौं दिन अमेरिकी अस्पतालमा कोभिडका गम्भिर बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्य विज्ञहरुले सर्वसाधारणमा खोपको पहुँच हुनु अघि नै भयावह स्थिती आउने चेतावनी दिएका छन् । रोग नियन्त्रण विभाग प्रमुख डा. स्टेफन हानले खोपप्रति आफूहरुको विश्वास रहेको बताए ।

    अधिकांश अमेरिकीले खोप लगाउनको लागि अझै एक महिनाभन्दा बढी समय कुर्नुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म ठूलो जनसंख्यामा भाइरस संक्रमण हुने सरकारी भनाइ छ । शनिबार मात्र एरिजोना राज्यमा सर्वाधिक ८ हजार ७६ जनालाई संक्रमण भेटियो । राज्यको जनस्वास्थ्य विभागका अनुसार अनुमान गरिएभन्दा तीव्र गतिमा भाइरसको संक्रमण भैरहेको छ ।

    जर्मनीमा कडा लकडाउन लागु
    जर्मनीमा बुधबारदेखि कडा लकडाउन लागु हुँदैछ । चान्सलर एन्जेला मर्केलले अत्यावश्यक बाहेकका सबै सेवालाई बन्द गर्न लागिएको घोषणा गरिन् । आगामी जनवरी १० सम्म कडा लकडाउन र परिस्थितीको आधारमा त्यसपछि जनजीवन खुकुलो बनाउने योजना छ ।

    यसको अर्थ जर्मनहरुले क्रिसमस र अंग्रेजी नयाँवर्ष घरमै बसेर मनाउनुपर्नेछ । चान्सलर मर्केलले जर्मनीका १६ वटै राज्यका प्रमुखलाई बोलाएर लकडाउनलाई कडाइपूर्वक लागु गराउन निर्देशन दिइन् । कोभिड संक्रमण बढिरहेको र स्वास्थ्य प्रणालीले नधान्ने हुँदा सरकारी आदेश पालना गर्न उनको आग्रह छ ।

  • कोइला खानीमा परेर २३ जनाको मृत्यु

    कोइला खानीमा परेर २३ जनाको मृत्यु

    मङ्सिर (रासस÷एएनआई) चीनको कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो ।
    उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।

    त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो । त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो ।

    सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् । यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

  • बाइडेनको पहिलो काम “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

    बाइडेनको पहिलो काम “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

    एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।
    उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिए ।

    बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आउनु भएको छ ।

    राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लाग्नु भएको हो ।

    अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो ।

    मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।
    राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् ।

    अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आउनु भएको थियो । उहाँले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताउनु भएको छ ।

    मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उहाँले अभियान नै चलाउने तयारी गर्नुभएको हो ।

    आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताउनु भएको छ ।

    अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

    आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भन्नुभयो, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरुलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।”

    उहाँले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे ।

    सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।