Category: विश्व प्रेस

  • नासाद्वारा मंगलमा यान अवतरण गर्दाको भिडियो सार्वजनिक

    नासाद्वारा मंगलमा यान अवतरण गर्दाको भिडियो सार्वजनिक

    काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले आफ्नो पर्सिभिअरेन्स यान मंगल ग्रहमा अवतरण गर्दाको क्षणको भिडियो सार्वजनिक गरेको छ ।

    उक्त भिडियोमा रोबटका चक्काले मंगलको सतहमा टेक्दासम्मको क्षणलाई कैद गरिएको छ । प्यारासुटबाट छुटेपछि यानले सतहमा टेक्दै गर्दा धुलो उडेको र मंगल ल्यान्डस्केप आकर्षक देखिन्छ ।

    उक्त रोबटले मंगलको जेजेरो क्रेटरमा ल्यान्ड गर्दाको भिडियो बाहिरिएको हो । पर्सिभिअरेन्स रोबटमा क्यामेरा बाँधेर पठाइएको थियो । अवतरणको क्षणलाई कैद गर्न सातवटा क्यामेरा बाँधिएको थियो ।

    नासाको मंगल ल्याबरोटरीमा क्यामेराको काम गर्ने नेतृत्वकर्ता डेभ ग्रुएलका अनुसार उनीहरुले मंगल सतहमा यान अवतरण हुँदै गर्दाको ३० गिगाबाइट सूचना र २३ हजारभन्दा बढी सूचना संकलन गरेका छन् ।

    ल्यान्ड गर्दा ध्वनी रेकर्ड गर्ने नासाको प्रयास चाहिँ सफल हुन सकेन । तर, यानमा माइक जडान भएकाले आउँदा दिनमा भने आवाज समेत सुन्न सकिने भएको छ ।

    ६ वटा पाङ्ग्रा उक्त रोभर सात महिनाको यात्रामा ४७ किलोमिटर यात्रा गर्दै मंगलमा पुगेको हो ।

  • फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान, प्रस्तावित कानुनमा संसोधन गर्ने सहमति

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान, प्रस्तावित कानुनमा संसोधन गर्ने सहमति

    सिड्नी- प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ ।

    अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।

    फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।

    अस्ट्रेलिया सरकारले संचारमाध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।

    अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।

    फेसबुकले अस्ट्रेलियाली संचार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो ।

    अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए। अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ ।

    साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुबै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए ।

    एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् ।

  • अमेरिका नेपालसँग मिलेर काम गर्न इच्छुक : राष्ट्रपति बाइडेन

    अमेरिका नेपालसँग मिलेर काम गर्न इच्छुक : राष्ट्रपति बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली राजदूत युवराज खतिवडाको ओहोदाको प्रमाणपत्र बुझेका छन् ।

    वासिङ्टनस्थित नेपाली राजदूतावासले जारी गरेको वक्तव्यमा राष्ट्रपति बाइडेनले कोरोनाभाइरस महामारीको कारण भौतिक उपस्थितीमा नभई विदेश मन्त्रालयबाट प्रमाणपत्र बुझेको उल्लेख छ ।

    प्रमाणपत्र बुझ्दै राष्ट्रपति बाइडेनले साझा चासोका विषयमा दुई मुलुक मिलेर अगाडि बढ्ने र द्धिदेशीय सम्बन्धलाई थप बलियो बनाउने इच्छा व्यक्त गरेको वक्तव्यमा उल्लेख छ ।

    बाइडेनले वासिङ्टन डीसीको मिसनका रुपमा नवनियुक्त राजदूत खतिवडालाई स्वागत गरेको जनाइएको छ । जवाफमा राजदूत खतिवडाले राष्ट्रपति बाइडेनलाई कार्यकालको शुभकामना दिएको र दुई मुलुक मिलेर अगाडि बढ्नुपर्ने चाहना व्यक्त गरेको जनाइएको छ ।

  • कोरोनाको क्षतिबारे अमेरिकी राष्ट्रपति बाइडेनको अपील– शोकलाई शक्तिमा बदलौं

    कोरोनाको क्षतिबारे अमेरिकी राष्ट्रपति बाइडेनको अपील– शोकलाई शक्तिमा बदलौं

    एजेन्सी । एक वर्षको अवधिमा कोरोना महामारीबाट ५ लाख नागरिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्वोधन गरेका छन् ।

    ‘एक राष्ट्रको रुपमा हामीले यस्तो कठोर परिस्थिति स्वीकार गर्नै सक्दैनौं । अब हामीले शोकलाई शक्तिमा बदल्ने समय आएको छ,’ बाइडेनले भने ।

    ह्वाइट हाउस बाहिर मैनबत्ती बालेर गरिएको प्रार्थाना र मृतकको सम्झनामा एक मिनेट मौनधारण गर्दा राष्ट्रपति, उपराष्ट्रपति तथा उनीहरुका पति पत्नीको उपस्थिति थियो ।

    २ करोड ८१ लाखभन्दा बढी अमेरिकनलाई कोरोना संक्रमण भएको छ, यो पनि कीर्तिमान हो ।

    ‘म सबै अमेरिकी नागरिकलाई भन्न चाहन्छु कि सम्झनुहोस्, गुमाएका आफ्नो मान्छे सम्झनुहोस र विगतमा के भयो सम्झनुहोस्,’ कोभिडको विरुद्धमा एकताबद्ध भएर लड्न अपील गर्दै बाइडेनले भने ।

    कोभिड–१९ का कारण मृत्यु भएका नागरिकको सम्झनामा राष्ट्रपति बाइडेनले केन्द्रीय सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा ५ दिन राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएक छन् ।

  • अमेरिकामा भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख, न्यूयोर्क टाइम्सद्वारा श्रद्धाञ्जलीस्वरुप प्रथम पृष्ठमा पाँच लाख थोप्ला

    अमेरिकामा भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख, न्यूयोर्क टाइम्सद्वारा श्रद्धाञ्जलीस्वरुप प्रथम पृष्ठमा पाँच लाख थोप्ला

    कोरोनाभाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताए ।

    अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

    अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहेको बताइन्छ ।

    तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।

    यसैबीच, अमेरिकी अखबार न्यूयोर्क टाइम्सले आफ्नो प्रथम पृष्ठमा भाइरसद्वारा दिवंगत नागरिकको श्रद्धाञ्जली स्वरुप पाँचलाख काला थोप्लाको डिजाइन गरेको छ । एउटा थोप्लाले एक मृतकलाई श्रद्धाञ्जली दिने अखबारले जनाएको छ।

  • म्यानमारमा आमहड्ताल : सेनाविरुद्ध विशाल जनप्रदर्शन

    म्यानमारमा आमहड्ताल : सेनाविरुद्ध विशाल जनप्रदर्शन

    याङगुन । सैनिक चेतावनीलाई अवज्ञा गर्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । सैन्य कूविरुद्ध आज म्यानमारमा आमहड्ताल आयोजना गरिएको छ ।

    व्यवसायी र कामदार पनि सहभागि भएकाले सबै ब्यवसाय पनि ठप्प भएका छन् । सेनाले द्वन्द्वको बाटोमा अघि बढे ज्यान जान सक्ने चेतावनी दिएपछि त्यसको पर्वाह नगरी नागरिक हड्तालमा उत्रिएका हुन् ।

    माघ १९ मा सेनाले कू गरेपछि म्यानमारमा तनाव बढेको थियो । आइतबार प्रदर्शनको क्रममा सेनाको गोली लागेर २ जनाको मृत्यु भएको थियो ।

  • संयुक्त राष्ट्रसंघद्वारा म्यान्मार सेनाको निन्दा, हिंसाको अन्त्य गर्न माग

    संयुक्त राष्ट्रसंघद्वारा म्यान्मार सेनाको निन्दा, हिंसाको अन्त्य गर्न माग

    म्यान्मारमा सैनिक ‘कू’को विरोधमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । सैनिक शासकले गरेको यस दमनको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ । लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीको कारण जुन्ता सरकारको निन्दा भएको हो ।

    सेनाले सत्ताकब्जा गरेको विरोधमा म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो । सैनिक ‘कु’ को विरोधमा लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका छन् । राजधानी न्यापिटअ, यांगुन, म्यान्डलेलगायत सहरमा ‘कु’ को विरोधमा शनिबार प्रदर्शन गरिएको थियो । म्यान्मारको दोस्रो ठूलो सहर म्यान्डलेमा शनिबार भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो ।

    दुई हप्ता भन्दा बढी राष्ट्रव्यापी सडक प्रदर्शनमा शनिबार सबैभन्दा घातक दिनको रुपमा रहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबारको हिंसालाई ‘घातक हिंसा’ भनि निन्दा गरेका छन् । उक्त हिंसामा परी दुई जनाले ज्यान गुमाए भने ३० भन्दा बढी जना घाइते भएका छन् । एक चित्सिकका अनुसार मृतकमध्ये एक जनालाई टाउकोमा र अर्कोलाई छातीमा गोली लागेको हो ।

    स्थानीय सञ्चार माध्यमले झडपपछि एक दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । ‘ग्लोबल न्यू लाइट अफ म्यानमार’ नामक राज्यद्वारा सञ्चालित एक पत्रिकाले मृत्युको बारेमा कुनै उल्लेख गरेको छैन । सुरक्षाकर्मीले कानून बमोजिम गरेका सुरक्षा कदमका कारण केही आक्रमक प्रदर्शनकारीहरू पनि घाइते भएका भनि उक्त पत्रिकाले जानकारी दिएको छ ।

    प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । उनीहरूले सुकीसहित सबै नेताहरूलाई तत्काल रिहा गर्न र नोभेम्बरमा भएको चुनावी परिणाम स्वीकार गर्नुपर्ने माग राखेका छन् । विरोध चर्कँदै गएपछि गतसाता सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजायका साथै जरिवाना गरिने चेतावनीसमेत दिएको थियो ।

    नोभेम्बरको चुनावमा सुचीको दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० ले ८० प्रतिशतभन्दा बढी मत ल्याएको थियो । तर सेनाले चुनावमा धाँधली दाबी गर्दै सत्ता हातमा लिएको हो । सेना प्रमुख मिन आङ ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

    त्यस्तै अमेरिका राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्त राष्ट्रसंघ तथा युरोपेली संघले ‘लोकतन्त्रको पक्षधर म्यान्मारवासीमाथिको दमन अस्विकार्य रहेको’ बताउँदै आएका छन् । उनीहरूले ‘म्यान्मारका जनताको आवाज विश्वले नियालिरहेको’ जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले गतसाता आफ्नो देशमा रहेको एक अर्ब डलरबराबरको म्यान्मारको सरकारी कोषमा सेनाको पहुँच रोक्ने जनाएका थिए ।

  • टेक्सस संकटमा ऊर्जा कम्पनीहरु दोषी रहेको बिल गेट्सको आरोप

    टेक्सस संकटमा ऊर्जा कम्पनीहरु दोषी रहेको बिल गेट्सको आरोप

    माइक्रोसफ्टका सह-संस्थापक एवं परोपकारमा सक्रिय धनाढ्य बिल गेट्सले टेक्ससमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो मौसममा सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेको भन्दै अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् ।

    अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा ऊर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको गेट्सले बताएका हुन् । विद्युत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उनको दावी छ ।

    घरपरिवारलाई न्यानो राख्नको लागि आवश्यक पर्ने ऊर्जाशक्तिबाट वञ्चित भएका कारण खासगरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएका उनको दावी छ ।

    सीएनएनसँगको कुराकानीमा उनले भने -“खासगरी मौसम अनुकुल नबनाइएको यो प्राकृतिक ग्याँस प्लान्टको क्षमताबारे सोच्नुपथ्र्यो । यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो । परिणामस्वरूप यसले काम गरेन । यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ ।”

    उनले भने, “हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेठोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिणपश्चिम र टेक्सास क्षेत्रलाई केही हप्तादेखि सताएको छ ।”

    टेक्सासलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ । ती राज्यमा विरामी बढेका छन् भने विद्युत आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन नभएको स्थानीयहरूको गुनासो छ ।

  • पुटिनका कट्टर आलोचक नेभेल्नीको पुनरावेदन रुसद्वारा खारेज

    पुटिनका कट्टर आलोचक नेभेल्नीको पुनरावेदन रुसद्वारा खारेज

    एजेन्सी । रुसको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कटुट आलोचक एलेक्सी नेभेल्नीको एक पुनरावेदन खारेज गरिदिएको छ । एलेक्सीले सजायको सर्त उल्लंघन गरेको अरोपको बिरुद्धमा पुनरावेदन गरेका थिए ।

    एलेक्सी गत महिना जर्मनीबाट आफ्नो उपचारपछि स्वदेश फर्किएका थिए । रुस पुगेलगत्तै उनलाई हिरासतमा राखिएको थिो । उनले कैदीबन्दीको नियम उल्लंघन गरेको आरोपमा दोषी देखाइएको थियो ।

    एलेक्सीमाथि घाटक नर्व एजेन्टमार्फक आक्रमण गरिएको थियो र उनको उपचार जर्मनीमा भएको थियो ।

    एलेक्सी आफैं यो आक्रमणको जिम्मेबार राष्ट्रपति पुटिनलाई मान्छन् र आफूमाथि लगाइएको सबै आरोप निराधार रहेको दावी गरिरहेका छन् । रुस सरकारले भने एलेक्सीको सबै आरोप अस्वीकार गरिरहेको छ ।

    सन् २०१४ मा भ्रष्टाचारको एउटा मुद्दामा एलेक्सीलाई दोषी ठहर गरिएको थियो । त्यस अनुसार उनले नियमित रुपमा रुसी पुलिससमक्ष तारिक बुझाउनुपर्ने थियो ।

    शनिबार अदालती सुनुवाईको क्रममा एलेक्सीले बाइबल र ह्यारी पोटरजस्ला कितावको उदाहरण दिँदै आफूमाथिको आरोप निराधार रहेको बताएका थिए । उनले आफू नर्व एजेन्ट आक्रमणको उपचारको क्रममा रहँदा कसरी प्रहरीसमक्ष तारिक धाउन नसकेको प्रष्टोक्ति दिए ।

    अदालतसँग उनले भने, ‘पूरा संसारलाई थाहा थियो कि म कहाँ थिएँ । जव मेरो स्वास्थ्य राम्रो भयो, मैले टिकट लिएँ र घर फर्किएँ ।’

    न्यायाधीशले उनको पुनरावेदन खारेज गरे र सजाय पूरा गर्नुपर्ने फैसला गरिदिए । तर न्यायाधीशले उनलाई यसअघि सुनाईको ३ वर्षको जेल सजायमध्येबाट ६ साता कम गरिएको छ ।

    अर्को शनिबार उनलाई एक अर्को मुद्दामा अदालतमा प्रस्तुत हुनुपर्नेछ । उनीमाथि रुशी राष्ट्रपति पुटिनको प्रशंसा गरेका दोस्राे विश्वयुद्धमा सहभागी पूर्व सैनिकको अपमान गरेको आरोप लगाइएको छ ।

  • म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

    म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

    याङ्गुन -म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

    म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

    “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

    घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।

    एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे ।

    म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ ।

  • जी-सेभेन बैठकमा विश्व नेताद्वारा भाइरस महामारीविरुद्ध लड्ने सहमति

    जी-सेभेन बैठकमा विश्व नेताद्वारा भाइरस महामारीविरुद्ध लड्ने सहमति

    विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि-७ का सदस्य राष्ट्रहरुले जि-२० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।

    यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको बैठकमा सहभागी भएका जि–७ का नेताहरुको सो धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

    जि-७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ– जि ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।

    सो विज्ञप्तिमा भनिएको छ- हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्नेछौँ ।

    सो जि–७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमनत्री बोरिस जोन्सनले गरेका थिए । सो बैठकमा हाल कोभिड–१९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

    हाल विश्वमा कोरोना भाइरसको खोप वितरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो ।

    यस जि–७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए ।

  • अमेरिकी विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ता : अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ

    अमेरिकी विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ता : अमेरिकाले पुनः विश्वको नेतृत्व गर्नेछ

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववस्थामा फर्किएको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक विदेशी संचारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले डोनाल्ड ट्रम्पको कार्यकाल अगाडिकै अवस्थामा अमेरिका फर्किएको उल्लेख गरेका छन् ।

    कोरोनाभाइरस महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता समस्या सल्ट्याउन अमेरिका प्रतिबद्ध रहेको समेत उनले बताएका छन् । बीबीसीसँग कुरा गर्दै उनले कोभिड–१९ विरुद्ध विश्वब्यापी खोप कार्यक्रममा जोड दिए ।

    भाइरसको उत्पति विषय अनुसन्धानका लागि पारदर्शिता नदेखाएको भन्दै उनले चीनको आलोचन गरे । ब्लींकेनका यी अभिव्यक्तिलाई डोनाल्ड ट्रम्पले लिएका विदेश नीतिमा हुने ब्यापक फेरबदलको संकेतको रुपमा हेरिएको छ । विश्वका धनी औद्योगिक राष्ट्रहरुको समूह जी–सेभेन भर्चुअल सत्रका लागि जुटिरहेको बेला ब्लिंकेनको यस्तो भनाइ आएको हो ।

    एकवर्षभित्र विश्वका १९० देशका मानिसलाई दुई अर्ब मात्र खोप दिने उद्देश्य रहेको विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्ने भएको छ । विश्वका सबैले खोप नलाउँदासम्म कोही पनि सुरक्षित नहुने उनले बताए ।

    भाइरस उत्पतिका विषयमा प्रकाश पार्ने सूचना उपलब्ध गराउन नसकेको भन्दै उनले चीनको विरोध गरे । इरानका विषयमा बोल्दै ब्लिंकेनले अमेरिका र उसका युरोपेली साझेदारहरु पुरानै अवस्थामा रहेको बताएका छन् । अफगानिस्तानमा विदेशी फौज राखिराख्ने विषयमा अमेरिकाले आफ्नो नीतिको समीक्षा गरिरहेको उनले बताए ।

    बन्धक बनाइएकी दुबईकी शासककी छोरी लतिफा अल मुक्तमको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको उनले बताए । म्यानमारको सैन्य कूलाई उनले ऐतिहासिक लोकतान्त्रिक संक्रमणमा दुःखलाग्दो पश्चगमन भनेका छन् । चीनको सूचना जगतलाई कम खुलापन भन्दै ब्लिंकेनले बीबीसीलाई रोक लगाउने चिनियाँ कदमको विरोध गरे ।

  • अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

    अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

    संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेका थिए ।

    अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए ।

    उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने भएको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उनले सो कुरा बताएका हुन् । बुधबार उनले भनेका थिए– अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो ।

    विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको हो भनेका थिए । हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य संगठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए ।

    गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए । यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो । पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए ।

    बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए ।

  • राजकुमार ह्यारी र बेलायती राजपरिवारबीच सम्बन्ध विच्छेद

    राजकुमार ह्यारी र बेलायती राजपरिवारबीच सम्बन्ध विच्छेद

    बेलायतका राजकुमार ह्यारी र त्यहाँको राजपरिवारबीचको सम्बन्ध विच्छेद भएको छ । ह्यारी र उनकी पत्ने मेघन मर्केलले अब दरबार नफर्कने जवाफ दिएका छन् । योसँगै उनीहरुको मानपदवी पनि स्थगित भएको छ ।

    दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी ह्यारीकी श्रीमती मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरुले मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।

    तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको जनाइएको छ । ह्यारी र मेघनको निर्णयलाई लिएर महारानीले दुःख व्यक्त गरेकी छिन् ।

    बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।

    महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् ।

    राजपरिवारको सदस्यका रूपमा उनीहरुको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।

    गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।

    उनीहरु अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।

    हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका थिए । उनीहरुका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।

  • समानान्तर विश्वको खोजी

    समानान्तर विश्वको खोजी

    काठमाडौं । सन् २०१५ मा काठमाडौंका सिनेमा घरमा रिलिज भएको हलिउड फिल्म ‘द मार्सियन’ले घरेलु बक्स अफिसमा ५० लाख ग्रस कमाएको थियो । म्याट ड्यामन स्टारर फिल्मले मंगल ग्रहमा छुटेको एउटा अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन गरिएको संघर्षको कथा भन्छ ।

    हलिउडले रातो ग्रहमाथि ३८ वटा साइन्स-फिक्सन फिल्म बनायो । जुन फिल्मको कथ्य भनेकै मान्छेको मंगल ग्रहमा जीवन र समानान्तर विश्वको खोजीको प्रयत्न थियो । यस्तो लाग्छ, विज्ञानमा आधारित यिनै फिल्मले परिकल्पना गरेको स्वैरकल्पनालाई अहिले नासासहित शक्तिशाली राष्ट्रका अन्तरिक्ष नियोगले पछ्याउँदैछन् ।

    हलिउडले लेखेको यही पटकथालाई पछ्याउँदै नासाले अभिनेता टम क्रुजलाई लिएर शून्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने तयारी समेत गरेको छ । नासाको यो तयारीमा रकेट कम्पनी स्पेस-एक्सका मालिक इलोन मस्क पनि जोडिन आइपुगेका छन् ।

     
     
    नासाको पर्सिभिअरेन्स रोभरले मंगल सतहमा अवतरण गरेपछिका तस्विरहरु । दोस्रो तस्विर जेजेरो क्रेटरमाथि ल्यान्डिङ गर्दाको । तस्विरहरु : नासा

    अन्तरिक्ष पर्यटनमा हातेमालो गर्ने मस्कको चाहनालाई नासाले पनि साथ दिएको छ । मस्क तिनै धनाढ्य हुन् जो मंगल ग्रहमा उपनिवेशको सपना देख्छन् र मानव सभ्यतालाई स्थापित गर्ने महत्वाकाङ्क्षा पनि ।

    सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रहमा ‘ट्राफिक जाम’ भयो । मंगलमा जीवनको खोजी गर्ने र अन्तरिक्ष शक्ति बन्ने होडमा तीन राष्ट्रले प्रक्षेपण गरेका यान एक साताको अन्तरमा मंगलमा प्रवेश गरे । नासा र युरोपेली युनियनको संयुक्त मिसनले प्रक्षेपण गरेको पर्सिभिअरेन्स स्पेसक्राफ्ट शुक्रबार बिहान मंगलको जेजेरो क्रेटरमा अवतरण गर्‍यो ।

    गतसाता रातो ग्रहमा पुगेका चीनको तियानवेन-१ र संयुक्त अरब एमिरेट्सको होप स्पेसक्राफ्ट अहिले कक्षमा रहेर मंगललाई परिक्रमा गरिरहेका छन् । चीनको तियानवेन–१ ले आगामी मे वा जून महिनामा सतहमा अवतरण गर्ने तयारी गरिरहेको छ ।

    अहिलेसम्म मंगल ग्रहमा १४ वटा मिसनले अवतरणको प्रयास गरेका छन् तर, आठ प्रयास विफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् । सन् १९९९ र २०२१ मा मात्र अमेरिकी प्रयास सफल भएको छ ।

    नासाको मिसन कस्तो छ ?
    ३.५ विलियन वर्ष अगाडि पानीको ठूलो ताल भएको अनुमान गरिएको क्रेटरमै नासाले यान उतारेको हो । उक्त थलोमा कुनैबेला जीव हुनसक्ने अनुमान वैज्ञानिकले गरेका छन् । सन् १९७० को दशकको भाइकिङ मिसनपछि मंगल ग्रहमा जीवनको सम्भावनाको अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकाङ्क्षी परियोजना हो ।

    नासाको पर्सिभिअरेन्स रोभर ल्यान्ड गरेको जेजेरो क्रेटरको क्षेत्र । त्यहाँ ३.५ बिलियन वर्ष अगाडि ठूलो पानीको ताल रहेको र जीवावशेष हुनसक्ने अनुमान गरिएको छ । तल्लो तस्विरमा रोभरले ल्यान्ड गरेको सुरक्षित हरियो थलो । रातो रङमा पहाड र ठूलो चट्टानसहितको जोखिम क्षेत्र ।

    कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरण राखिएको छ । ६ वटा पांग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा तय गर्दै मंगल ग्रह नजिक पुगेको हो । उक्त क्रेटरमा नासाको यानले विगतमा जीवनको अस्तित्व रहेको बारे अध्ययन गर्नेछ ।

    रोभरले चट्टानमा प्वाल पार्दै टुक्रा संकलन गर्नेछ । केही समय पछाडि प्रक्षेपण गरिएको अर्को रोभरले उक्त नमूनालाई कक्षमार्फत पृथ्वीमा ल्याउने बताइएको छ । यो प्रयत्नका लागि नासाले युरोपेली स्पेस एजेन्सीसँग सहकार्य गरेको छ । पर्सिभिअरेन्समा राखिएको एन्जेन्युइटी नामक हेलिकोप्टरले मंगलमा उडान समेत भर्नेछ । आगामी ३० दिनमा उक्त हेलिकोप्टरले पाँचवटा उडान भर्ने र मंगल सतहको उच्च गुणस्तरको तस्विर उपलब्ध गराउनेछ । एउटा ग्रहमा बसेर अर्कोमा उडान भर्ने यो पहिलो फ्लाइट हो ।

    ६ वटा पांग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा तय गर्दै मंगल ग्रहमा यसरी ल्यान्ड गरेको छ । यो क्रेटरमा नासाको यानले विगतमा जीवनको अस्तित्व रहेको बारे अध्ययन गर्नेछ ।
    यस्तो छ जेजेरो क्रेटर । कार्बोनेट र घेराभित्र कुनैबेला जीवनको अस्तित्व भएको अनुमान गरिएको छ । सोही थलोमा रोभरले माटो, चट्टान, खनिज र पानीको अध्ययन गर्नेछ ।

    नासाका अनुसार पर्सिभिअरेन्स मिसनको मुख्य उद्देश्य मंगलको जैविकताको अध्ययन गर्नु हो । उक्त ग्रहको भूगर्भ, विगतको वातावरण र चट्टानको नमूना संकलन गर्दै मानवीय जीवनको सम्भावित अध्ययन गर्नु यसकाे उद्देश्य रहेको नासाले उल्लेख गरेको छ । नासाले सन् २०२० मा पर्सिभिअरेन्सलाई चन्द्रमादेखि मंगलसम्मको मिसनको रुपमा घोषणा गरेको थियो ।

    युएईको होप अभियान
    संयुक्त अरब इमिरेट्स पनि अन्तरिक्ष महाशक्ति बन्ने होडमा छ । यो खाडी मुलुकले चीनको भन्दा एकदिन अगाडि आफ्नो होप रोभरलाई मंगलको कक्षमा प्रवेश गरायो ।

    युएईको यो मिसनले कक्षमा रहेर किन मंगल ग्रहले वातावरण गुमायो भन्ने सबैभन्दा बढी सोधिएका प्रश्नको उत्तर खोजी गर्नेछ । मंगलको वातावरण गुम्दा कसरी पानी र जीवन सतहमा गायब भए भन्ने तथ्यसहितले जलवायु अध्ययन गर्ने जनाइएको छ ।

    युएईको होभ प्रभ यान मंगलको कक्षमा । यो यानले मंगलको कक्षमा रहेर दैनिक जलवायु अपडेट र परिवर्तनबारे तथ्यांक संकलन गर्नेछ ।

    मंगल विजयसँगै युएई विश्वकै पाँचौं अन्तरिक्ष महाशक्ति बनेको मोहम्मद बिन रसिद सेन्टरले उल्लेख गरेको छ । होप रोभर अहिले मंगलको सतहभन्दा १ हजार किलोमिटर माथि रहेर ग्रहलाई फन्को मारिरहेको छ । यो यानले संकलन गर्ने १ हजार जीबी क्षमताको डेटालाई अध्ययनका लागि २०० भन्दा बढी प्राज्ञिक र वैज्ञानिक संस्थालाई निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।

    युएईको यानले चार प्रश्नको खोजी गर्नेछ । ती प्रश्नहरु हुन् : के मंगल ग्रहमा यसअघि जीवन थियो ? मंगल ग्रहको जलवायु इतिहास कस्तो छ ? मंगल ग्रहको वास्तविकता कस्तो थियो र कसरी विकास भयो ? के मानिसका लागि मंगल ग्रह अर्को गन्तव्य हुनसक्छ ?

    युएईको होप प्राेभ यानले मंगलको वातावरणमा प्रवेश गर्नु अगाडि पृथ्वीमा पठाएको तस्विर । मंगलको वातावरण गुम्दा कसरी पानी र जीवन सतहमा गायब भए भन्ने तथ्यसहितले जलवायु अध्ययन गर्ने जनाइएको छ ।

    मंगल ग्रहलाई उपनिवेश गराउनुअघि रातो ग्रह कसरी मान्छेको अस्तित्व अनुकूल थियो भन्ने कुरा बुझ्नुपर्छ । चन्द्रमा र अन्य ग्रहको खोजी छाडेर मंगल ग्रहमा अन्तरिक्षको होड गर्नु पछाडि पृथ्वीसँग उक्त ग्रहको समान वातावरण हुनु प्रमुख हो । होप प्रोभ यानका डेटा संकलनकर्ता म्यारम युसुफका अनुसार मिसनको मुख्य उद्देश्य भनेको मंगल ग्रहको दैनिक वातावरणको तथ्य संकलन गर्नु हो ।

    यो अध्ययनले अन्य ग्रहको जलवायु अध्ययनको लागि पनि मद्दत मिल्ने अपेक्षा छ । अक्सिजन, हाइड्रोजनजस्ता ऊर्जाका अणु कसरी वातावरणमा फैलन्छन् र भाग्छन् भन्ने तथ्य पेश गर्नेछ । यसले पृथ्वीको भविष्यबारे पनि बुझ्न मद्दत मिल्न सक्छ ।

    २०२० मा नासाको क्यूअरसिटी रोभरले पठाएको मंगलको सतहको तस्विर जहाँ सेताम्मे हिउँ देखिन्छ ।

    गत वर्ष आयोजित एक छलफल सत्रमा नासा र युएईका इन्जिनियरबीच भएको संवाद रोचक छ । नासाका मुख्य वैज्ञानिक जेम्स ग्रीनका अनुसार अहिले पनि मंगलको सतहमुनि जमेका हिमनदी र बरफ छन् ।

    ‘कुनैबेला मंगल पनि पृथ्वीजस्तै नीलो थियो । हुनसक्छ १३ प्रतिशतले त्यहाँको पानी नष्ट भयो’ ग्रीन भन्छन्, ‘उक्त ग्रह अध्ययन गर्नको लागि यो अचम्मको स्रोत हो ।’ उनका अनुसार समर याममा देखिने घाँस र मेथन ग्याँसको प्रवाहले त्यहाँ जीवन छ भन्ने पुष्टि गर्छ ।

    नासाको क्यूरिओसिटी रोभरले यसअघि पनि मंगलमा अक्सिजन छ भन्ने तथ्य अगाडि ल्याइसकेको छ । ‘यसले के पनि प्रमाणित गर्छ भने समर याममा जीवन मंगलको सतह मुनि छ’ ग्रीन भन्छन्, ‘माटो तातेपछि मिथेन ग्याँस बाहिर निस्कन थाल्छ । हामी मंगलमा पनि जैविकता छ भनेर परिस्थितिको गहिरो अवलोकन गरिरहेका छौं ।’

    चीनको तियानवेन-१ अभियान
    चीनको मंगल यान तियानवेन–१ ले अहिले मंगल ग्रहको कक्षमा फन्को मारिरहेको छ र सतहमा अवतरणका लागि उपकरणलाई जाँच गरिरहेको छ । यसै वर्षको अन्त्यमा यो यानले सतहमा ल्यान्ड गर्ने चिनियाँ स्पेस एजेन्सीले उल्लेख गरेको छ ।

    पाँच टन तौलको चिनियाँ यानसँग अर्बिटर, ल्यान्डर र रोभर संलग्न छन् । मे तथा जून महिनामा यसले ल्यान्ड गर्न सक्ने जनाइएको छ । ९२ मार्सियन डेज (पृथ्वीको ९५ दिन) मंगल सतहमा रहेर यसले खनिज, हिउँ र पानीको अध्ययन गर्नेछ ।

    चीनको तियानवेन-१ रोभर । पाँच टन तौलको चिनियाँ यानसँग अर्बिटर, ल्यान्डर र रोभर संलग्न छन् । मे तथा जुन महिनामा यसले ल्यान्ड गर्न सक्ने जनाइएको छ ।

    नेसनल स्पेस साइन्स सेन्टरका सहायक निर्देशक झोउ योङलायोका अनुसार चिनियाँ यानले मंगलको चुम्बकीय गुण र मंगलदेखि पृथ्वीसम्मको रेडियो कम्युनिकेसन प्रणालीबारे पनि थप अध्ययन गर्नेछ ।

    चिनियाँ यानको अर्बिटरमा जडान गरिएको राडारले चाहिं पानी र हिउँको उत्खननसहित अध्ययन गर्ने जनाइएको छ । तियानवेनले मंगलको ध्रुवसहितका केही खास क्षेत्रमा पुगेर पानीको खोजी गर्नेछ । मंगलको सबैभन्दा ठूलो समथर भूमि युटोपिया प्लानिसियामा चिनियाँ रोभरले अवतरण गर्ने भएको छ ।

    मंगलको कक्षमा प्रवेश गरेपछि चीनको तियानवेन–१ रोभरले पठाएको आकर्षक मंगल तस्विर । चिनियाँ यानको अर्बिटरमा जडान गरिएको राडारले चाहिं पानी र हिउँको उत्खननसहित अध्ययन गर्ने जनाइएको छ ।

    हरेक मंगल मिसनमा ल्यान्ड हुनुअघिको सात मिनेटलाई सर्वाधिक जटिल मानिन्छ । वैज्ञानिकहरु यसलाई ‘टेरर अफ सेभेन मिनेट’ भन्छन् । नासाको पर्सिभिअरेन्स रोभर अवतरणमा पनि यो एउटा ठूलो डर थियो । यस्तो डर अब चिनियाँ यान तियानवेन–१ तिर सोझिएको छ । मंगलको पातलो वातावरणमा यान अलग हुँदा उच्च तापक्रमको सामना गर्नुपर्ने हुन्छ । मंगलको वातावरणको अनिश्चितताको कारण पनि अवतरण गर्ने क्रममा भयंकर अनिश्चितता र खतरा हुन्छ ।

    चिनियाँ यानले ल्यान्ड गर्नुअघि आफ्नो गतिलाई प्रतिसेकेन्ड १ सय मिटरमा सीमित गर्नुपर्ने हुन्छ । यसो गर्दा ८० देखि १०० सेकेन्ड लाग्न सक्छ । मंगलको सतहभन्दा सय मिटर (३२८ फिट)भन्दा माथि यान पुग्दाको स्थितिलाई होभर चरण भनिन्छ ।

    यो सबैभन्दा जोखिमपूर्ण क्षण हो । चिनियाँ स्पेस एजेन्सीका अनुसार उसको यानका लागि अवतरण समय भनेको ९ मिनेट हो । जुन क्षणमा ११ हजार मिटर प्रतिघण्टामा उडिरहेको यानले आफूलाई ढिलो तुल्याउनुपर्छ ।

    चीनका इन्जिनियर के कुरामा विश्वास गर्छन् भने उनीहरु ‘सात मिनेटको आतङ्क’ भनिने एउटा कुख्यात अवस्थालाई सामना गर्न सक्षम छन् । मंगलको वायुमण्डलबाट त्यसको सतहसम्म पुग्न कुनै पनि अन्तरिक्ष यानलाई लाग्ने समयलाई सात मिनेटको आतंकको रुपमा चिनिन्छ । चिनियाँ वैज्ञानिक यो यान मंगल ग्रहमा कम्तीमा ९० दिन रहोस् भन्ने चाहन्छन् । मंगल ग्रहमा २४ घन्टा ३९ मिनेटको एकदिन हुन्छ । तियानवेन–१ ले मंगलमा खिचेको तस्विर पृथ्वीमा पठाइसकेको छ ।

    अब चन्द्रमामा मान्छे पठाइने
    नासाले सन् २०२४ मा चन्द्रमामा मान्छे पठाउने योजना सार्वजनिक गरेको छ । यसका लागि २८ अर्ब अमेरिकी डलर खर्च हुने उल्लेख छ । यो मिसन अन्तर्गत चन्द्रमाको सतहमा महिलालाई ओराल्ने योजना समावेश छ । आर्टिमस नाम दिइएको त्यो अन्तरिक्ष कार्यक्रममा पाँच दशकपछि एक महिला र एक पुरुषलाई समावेश गरिंदैछ । अन्तरिक्ष यात्रीहरु ओरिअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन् ।

    नासाले सन् २०२४ मा चन्द्रमामा यिनै अन्तरिक्ष यात्रीबाट एक पुरुष र एक महिलालाई चन्द्रमामा पठाउने तयारी गरेको छ । अन्तरिक्ष यात्रीहरु ओरिअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन् ।

    एसएलएल नामक शक्तिशाली रकेटले उक्त यानलाई प्रक्षेपण गर्नेछ । नासाका प्रशासक जिम ब्रिडेन्सटिनका अनुसार उक्त २८ अर्ब डलरले आर्टिमस कार्यक्रमको चारवर्षको खर्च समेट्छ । जसमा रकेट, क्याप्सुल, मानव अवतरण प्रणाली र अन्तरिक्ष यात्रीले लगाउने परिधानको खर्च जोडिन्छ । ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र यो रकमको ठूलो रणनीतिक महत्व छ ।

    नासाका प्रशासक ब्रिडेस्टिनका अनुसार राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी व्यक्तिलाई चन्द्रमामा पठाइनेछ । अन्तर्वार्ता लिइएका १२ महिला मध्येबाट उनलाई छनौट गरिने भएको छ । चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुईवर्ष अघि हुने बताइएको छ ।

    चीनको चेन्ज–५ मिसन अन्तर्गत गत डिसेम्बर १७ मा चन्द्रमाबाट चट्टान र माटो लिएको यान पृथ्वीमा फर्किएपछि ।

    चन्द्रमामा मानिस पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ । अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट हिउँ खोज्ने योजना बनाएको छ । त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धनको रुपमा प्रयोग गर्न सकिनेछ ।

    चीनले अहिले यस्तो अन्तरिक्ष यान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्ष यात्रीहरु चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्छन् । चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर, दशकको अन्त्यसम्म उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ ।

    नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद याममा हुनेछ । आर्टिमस-१ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्किनेछ । आर्टिमस-२ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ । यस मिसनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरिअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्ष यानलाई आफै नियन्त्रणमा लिन सक्नेछन् । सन् १९६० र ७० को दशकमा अपोलो कार्यक्रमका लागि अहिलेको मुद्रास्फीति सँग समायोजन गर्दा २५० अर्ब डलरभन्दा बढी रकम खर्चिएको थियो ।

    भारत दोस्रोपटक चन्द्रमामा पुग्ने प्रयासमा
    पहिलो चन्द्रमा मिसन असफल भएपछि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो)ले वर्ष २०२१ मा दोस्रोपटक चन्द्रमाका लागि प्रयास गर्दैछ । यसका लागि भारतले चन्द्रयान २ त्यसतर्फ पठाउँदैछ । यसअघि भारतले प्रक्षेपण गरेको विक्रम यान सम्पर्कविहीन भएको थियो । रुसी स्पेस एजेन्सीले लुना २५ यान अक्टोबरमा चन्द्रमामा पठाउँदैछ । यो रुसी यानले चन्द्रमामा प्राकृतिक खनिज पदार्थको खोजी गर्नेछ ।

    केही निजी कम्पनीले पनि २०२१मा चन्द्रमामा यान पठाउने तयारी गरेका छन् । जर्मनीको पिटि साइन्टिस्ट, अमेरिकाको स्पेस-एक्स र अर्को अमेरिकन कम्पनी रकेट ल्याब त्यसतर्फ पठाउने तयारी गर्दैछन् । अमेरिकी निजी कम्पनी एस्ट्रोबेटिक टेक्नोलोजीले पनि जुलाइमा सातवटा रोभरसहितको यान चन्द्रमामा पठाउँदैछ ।

    चन्द्रमाको कक्षमा फन्को मारिरहेको भारतीय अर्बिटर । यसले अहिले पनि चन्द्रमाको मौसमबारे भारतीय स्पेस एजेन्सीलाई तथ्यांक जानकारी दिइरहेको छ ।

    यसै वर्षको अन्त्यमा हब्बल टेलिस्कोपभन्दा शक्तिशाली जेम्स वेभ स्पेस टेलिस्कोप अन्तरिक्षमा पठाइँदैछ । वर्षको अन्त्यतिर फे्रन्च गुएनाबाट पठाइने टेलिस्कोपले सन् २०३० देखि काम गर्न थाल्ने अपेक्षा छ । यो टेलिस्कोपले हब्बलाई प्रतिस्थापित गर्ने भनिएको छ ।

    ६.५ लामो टेलिस्कोपले सौर्य मण्डलका पदार्थ, सौर्य मण्डलको दूरी र ब्रम्हाण्डको विकासमा मानवीय योगदानको अध्ययन गर्नेछ । यो टेलिस्कोप हब्बलजस्तो पृथ्वीको कक्षमा हुने छैन । यो टेलिस्कोपलाई सूर्य र पृथ्वीको कक्षमा राख्ने तयारी भैरहेको छ जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षणले सन्तुलन मिलाउन सक्छ ।

    नासाले जुलाइमा ग्रहको प्रतिरक्षा परीक्षण योजना अन्तर्गत क्षुद्रग्रहको दिशालाई परिवर्तन गर्न अभ्यास गर्नेछ । यसले अन्तरिक्षमा क्षुद्रग्रहको दिशा परिवर्तन गर्न र पृथ्वीमा क्षति रोक्न मद्दत गर्नेछ । यसको लक्ष्य चाहिं चन्द्रमाभन्दा ११ मिलियन किलोमिटर पर रहेको ६५८०३ डिडिमस नामक क्षुद्रग्रहलाई रोक्नु हो जसले दिशा परिवर्तन गरेर यात्रा गर्छ । चीनले चिनियाँ अन्तरिक्ष केन्द्र निर्माणको थालनी गर्दैछ ।

    फोटो फिचर : मंगल ग्रहमा ३,००० दिन बिताएको रोबोटले के खिच्यो ?

    इलोन मस्क : सपनाको उडान, महत्वाकांक्षा र मंगल ग्रह

    नासा यानले मंगल ग्रहमा अवतरण गरेलगत्तै महावीर पुनद्वारा ‘मीना’ रोबाेट बनाउने घोषणा

    वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    विश्वका शक्तिशाली मुलुकहरुको ध्यान अब स्पेस प्रतिस्पर्धामा हुनेछ । जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर आइसकेपछि उसको मुख्य चुनौती चीनसँग हुनेछ जसले अमेरिकालाई व्यापार, प्रविधि र अन्तरिक्ष प्रतिस्पर्धामा चुनौती दिइरहेको छ ।

    मंगल ग्रह होस् या चन्द्रमा मिसनमा चीनले अमेरिकी नियोग नासालाई चुनौती दिने गरी अन्तरिक्ष कार्यक्रम लन्च गरिरहेको छ । यसको एउटा उदाहरण अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय स्पेस स्टेसनलाई चुनौती दिने गरी चीन आफूले निर्माण गर्न लागेको चिनियाँ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र हुनेछ । सन् २०२१ अन्तरिक्ष र बाह्य संसारमा प्रतिस्पर्धा गर्ने शक्तिराष्ट्रको एउटा प्रस्थानविन्दु हुने कुरामा दुईमत छैन ।

    एजेन्सीहरुको सहयोगमा ।

  • भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

    भुटानमा ‘सैन्य कू’ प्रयास असफल, सैन्य अधिकारी र न्यायाधीश नियन्त्रणमा

    थिम्पु –सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ ।

    अलजजिरासहितका अन्तराष्ट्रिय संचारमाध्यमले हिमाली राष्ट्र भुटानमा सम्भावित सैन्य ‘कू’ असफल भएको उल्लेख गरेका छन् ।

    राजपरिवारका पूर्व अंगरक्षक बिग्रेडियर थिन्ले तोब्गे, उच्च अदालतका न्यायाधीश किन्ले छिरिङ र जिल्ला अदालतका मुख्य न्यायाधीश एसे दोर्जीलाई नजरबन्दमा राखिएको छ ।

    यी तीनजनालाई सम्भावित तख्तापलटको आरोपमा घरमै नजरबन्दमा राखिएको थियो र अहिले अदालतमा उपस्थित गराइएको छ । यी तीनमाथि प्रधानसेनापति जनरल बाटु छिरिङलाई भ्रष्टाचारमा मुछेर सत्ता आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाइएको छ ।

    थिम्पु जिल्ला अदालतले यी तीनलाई हिरासतमा राखेर छानविन गर्न अनुमति दिएको छ र फेब्रुअरी २७ मा पहिलो सुनुवाइ तोकिएको छ । सम्भावित कूको घटनाले भारत र चीनबीच रहेको ७ लाख ५० हजार जनसंख्याको मुलुक एकाएक चर्चामा आएको छ ।

    विवरणअनुसार तोग्बेले संयुक्त राष्ट्रसंघबाट खरिद गरिएको गाडीसम्बन्धी बोलपत्र प्रक्रियाका कागजात गैरकानुनीरुपमा कब्जामा लिएको जनाइएको छ । बोलपत्र सार्वजनिक र निश्पक्षरुपमा गरिएपनि उक्त कागजपत्रको माध्यमबाट सैनिक नेतृत्वलाई बदनाम गराउन खोजिएको भुटानी संचारमाध्यमले लेखेका छन् ।

    केही महिनाअघि पक्राउ गरिएकी एक महिलाले सम्भावित तख्तापलटबारे खुलासा गरेको जनाइएको छ ।

  • विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने दक्षिण कोरियाको तयारी

    विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने दक्षिण कोरियाको तयारी

    रासस । दक्षिण कोरिया सरकारले देशभित्र रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ ।

    दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो ।

    यहाँको कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको हो ।

    यहाँका कानूनमन्त्री पार्क बेओम्कले बाल अधिकारको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानवअधिकारको रक्षा गर्न यो कानूनले सहयोग गर्ने बताएका छन् ।

    यो कानून लागू भएपछि ती बच्चाले अनिवार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन पाउने उनले बताएका छन् । त्यस्ता बच्चाले बीमालगायत अन्य सरकारी तथा सामाजिक सुविधा पनि प्राप्त गर्नेछन् ।

    यदि कुनै विदेशी श्रमिक कोरियामा अवैधानिक बसोबास गरिरहेका छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनीहरूले पनि वैधानिकता प्राप्त गर्नेछन् ।

    हालसम्म कोरियामा अवैधानिक बस्ने तथा कोरियालीसँग विवाह गरी आएर पारपाचुके गरी अवैधानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानूनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो । कोरियामा हालसम्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ ।

  • आज राति २ः४० बजे नासाको यान मंगल ग्रहमा अवतरण गर्दै

    आज राति २ः४० बजे नासाको यान मंगल ग्रहमा अवतरण गर्दै

    काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाको पर्सिभिअरेन्सको यान नेपाली समयानुसार शुक्रबार बिहान २ः४० बजे मंगल ग्रहको सतहमा अवतरण गर्ने भएको छ ।

    पृथ्वीबाट ४७ करोड किलोमिटर यात्रा तय गर्दै ६ वटा पांग्रा भएको उक्त रोबट मंगलमा पुगेको हो । मंगलको सतहमा अवतरण गर्नुलाई यो मिसनको सबैभन्दा कठिन क्षण मानिएको छ ।

    यदि मंगलको सतहमा अवतरण गर्न सक्यो भने यसले उक्त ग्रहमा पहिले जीवन भए, नभएको अवसर प्राप्त गर्नेछ । जेजेरो क्रेटर भनिने पानीको ठूलो ताल भएको अनुमान गरिएको थोलोमा रोबट अवतरण गर्ने प्रयास गर्नेछ ।

    वैज्ञानिकले उक्त थलोमा कुनैबेला पानी रहेको र जीव हुनसक्ने अनुमान गरेका छन् । मंगल ग्रहको पातलो वायुमण्डलमा प्रवेश गर्दा पर्सिभिअरेन्सको गति २०,००० किलोमिटर प्रतिघण्टा हुनेछ । वायुमण्डलमा प्रवेश गरेको सात मिनेटमा यसले हिँडाइको गतिमा झरेर अवतरण गर्नुपर्नेछ ।

    अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरणको प्रयास गरेका छन् तर, आठ प्रयास विफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् । सन् १९९९ मा मात्र अमेरिकी प्रयास सफल भएको छ ।

    नेपाली समयानुसार शुक्रबार बिहान २ः३३ बजे यान वायुमण्डलमा प्रवेश गर्नेछ । प्यारासुट २ः३७ बजे खुल्नेछ भने २ः४० बजे पांग्राले मंगल ग्रहमा अवतरण गर्नेछ । नासाले यो सबै क्षणलाई लाइभ गर्ने तयारी गरेको छ ।

  • फेसबुकको निर्णयले अष्ट्रेलिया डराउँदैन : प्रधानमन्त्री मरिसन

    फेसबुकको निर्णयले अष्ट्रेलिया डराउँदैन : प्रधानमन्त्री मरिसन

    काठमाडौं । आफ्नो देशलाई लक्षित गरि समाचारमा प्रतिबन्ध लगाउने फेसबुकको कदमलाई लिएर अष्ट्रेलिया सरकार नडराउने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् ।

    अष्ट्रेलियालाई अनफ्रेन्ड गर्ने फेसबुकको कार्य निराशजनक रहेको समेत उनले जनाएका छन् ।

    आफ्नो प्लेटफर्ममा प्रवाह हुने समाचार बापत शुल्क तिर्नुपर्ने अष्ट्रेलियाको प्रस्तावित कानुनप्रति असन्तुष्टि जनाउँदै फेसबुकले यस्तो निर्णय लिएको थियो । विहिबार बिहानदेखि त्यहाँ अष्ट्रेलिया र विदेशी संचारमाध्यमको फेसबुक पेज रित्ता देखिएका छन् ।

    फेसबुकले भेरिफाइड पेजमा प्रवाह हुने समाचारलाई मात्र रोक लगाएको छ । भेरिफाइड नभएका पेजमार्फत भने समाचार प्रवाह भैरहेका छन् । भेरिफाइड पेज भएका नेपाली मिडियाको पेजलाई पनि रोक लगाइएको छ ।

    विदेशमा रहेकाले पनि फेसबुकमा अष्ट्रेलियाली समाचारलाई हेर्न पाएका छैनन् । अष्ट्रेलियाका थुप्रै सरकारी र आकस्मिक सेवाको पेजमा पनि रोक लगाइएको छ । तर, फेसबुकले गल्ती भन्दै केही पेजलाई सुचारु गरेको छ ।

    मिडिया उद्यमी रुपर्ट मुर्डोकका संचारमाध्यममा प्रवाह हुने कन्टेन्टलाई पैसा तिर्ने कुरामा गुगल सहमत भएको केही दिनपछि फेसबुकले अष्ट्रेलियामा यस्तो निर्णय लिएको हो ।

  • किम जोङ उन अब ‘राष्ट्रपति’, ‘अध्यक्ष’ शब्दावली बदल्ने उत्तर कोरियाको निर्णय

    किम जोङ उन अब ‘राष्ट्रपति’, ‘अध्यक्ष’ शब्दावली बदल्ने उत्तर कोरियाको निर्णय

    प्योङयाङ – उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको ‘अध्यक्ष’ पदको शब्दावली बदलेर ‘राष्ट्रपति’ नामाकरण गर्ने घोषणा गरेको छ ।

    कोरियन सेन्ट्रल न्यूज एजेन्सीले अंग्रेजी भाषामा अब नेता उनलाई राष्ट्रपति भनेर बोलाउने निर्णय भएको लेखेको छ । बुधबार दिवंगत पिता एवं अध्यक्ष किम जोङ उन द्धितीयको जन्मदिन मनाउन उन प्योङयाङ नजिकको एउटा गाउँमा पुगेका थिए ।

    अब उनलाई ‘जनवादी गणतन्त्र कोरियाका राष्ट्रपति’को रुपमा औपचारिक सम्बोधन गरिने भएको छ । यसअघि अंग्रेजी भाषामा पनि उनलाई अध्यक्षको रुपमा सम्बोधन गर्ने चलन थियो । तर, कोरियाली भाषामा चाहिँ अध्यक्ष नै भनिने भएको छ ।

    दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार किम जोङ उनले चीन र रुसी अभ्यासलाई पछ्याएर राष्ट्रपति नामाकरण गरेको उल्लेख गरेको छ ।

  • अष्ट्रेलियामा फेसबुकले लगायो समाचारमा रोक, सामाजिक संजाल कानुन विवादमा

    अष्ट्रेलियामा फेसबुकले लगायो समाचारमा रोक, सामाजिक संजाल कानुन विवादमा

    काठमाडौं । नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, गुगल लगायतका सामाजिक संजाल दर्ता हुनुपर्ने र नियमन गर्ने बहस चलिरहेका बेला अष्ट्रेलियामा पनि सामाजिक सञ्जाल सम्बन्धी नयाँ कानुन विवादमा परेको छ ।

    बीबीसीका अनुसार अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र साझा गर्नमा रोक लगाउने घोषणा गरेको छ।

    केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामाग्री साझा गर्न नमिल्ने बनाइसकिएको बताएका छन्।

    प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्न बाध्य पार्ने छ।

    यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो। तर बुधवार भने उसले विश्वकै सबैभन्दा ठुलो समाचार संस्था न्यूज कर्पसँग सहमति गरेको घोषणा गरेको छ।

  • जनतालाई विजुली दिन नसकेपछि टेक्सासका मेयरले राजीनामा दिए

    जनतालाई विजुली दिन नसकेपछि टेक्सासका मेयरले राजीनामा दिए

    एजेन्सी । विनाशकारी हिमआँधीका कारण बिद्युत उत्पादन प्लान्टमै असर परेपछि अमेरिकाको टेक्सास राज्यका अधिकांश स्थानमा विजुली छैन । जनताको पीडाको समयमा ‘बलियाहरु बाँच्नेछन्, कमजोरहरु कमजोर नै रहन्छन्’ भनेर फेसबुकमा पोष्ट गर्ने टेक्सासको एक सहरमा मेयरले राजीनामा दिनुपरेको छ ।

    कोलोराडो सिटीका मेयर टिम बोइडले रोइरहेका र सहयोगको आशामा रहेका जनतामाथिको भद्दा टिप्पणीपछि देशभरबाट आक्रोसको सामना गर्नुपर्‍यो । फेसबुलमा उनले लेखेका थिए, ‘डुब्ने र तैरिने यो तपाईको रोजाई रह्यो । शहरले, देशले वा अन्य कुनै सेवाले केहि गर्न सक्दैन ।;

    तेक्सासका लाखौं अमेरिकी तीन दिनदेखि विजुलीबिहीन अवस्थामा छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा हिमआँधीका कारण अहिलेसम्म २० जनाभन्दा बढीको मृत्यु भएको छ ।

    उनले अहिले त्यो पोष्ट हटाएका छन् र नयाँ पोष्टमा राजीनामासहित अघिल्लो पोष्टप्रति माफी पनि मागेका छन् । फेसबुक पोष्टपछि धेरैले उनी र उनको परिवारप्रति नकारात्मक टिप्पणी गरेका थिए ।

    कोलोराडो सिटी टेक्सासको मध्य पश्चिमी क्षेत्रमा छ । यहाँको जनसंख्या ४ हजार छ ।

  • दुबईकी राजकुमारी आफ्नै पिताद्वारा बन्धक, राष्ट्रसंघलाई हस्तक्षेप गर्न आग्रह

    दुबईकी राजकुमारी आफ्नै पिताद्वारा बन्धक, राष्ट्रसंघलाई हस्तक्षेप गर्न आग्रह

    काठमाडौं । दुबईका आमिरकी छोरी राजकुमारी लतिफा अल मकतुम सन् २०१८ मा देशबाट भाग्ने प्रयास गरेकी थिइन् । भाग्ने क्रममा उनलाई पक्राउ गरिएको थियो ।

    यसपछि उनले एउटा भिडियो सन्देश साथीलाई पठाएकी थिइन् जहाँ आफ्ना पिताले नै आफूलाई बन्धक बनाएको खुलासा गरेकी थिइन् । भिडियोमा आफू खतरामा रहेको समेत भनिएको थियो ।

    प्रिन्सेस लतिफाको नयाँ भिडियो पुनः बाहिरिएको छ जहाँ उनले आफू भाग्ने क्रममा कमान्डोले पक्राउ गरेर हिरासतमा राखेको जनाएकी छिन् । अहिले उनका नयाँ भिडियो आउने क्रम बन्द भएको छ र उनका साथीहरुले राष्ट्रसंघलाई यो मामिलामा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

    दुबई र संयुक्त अरब इमिरेट्सले यसअघि नै राजकुमारी लतिफाको परिवार सुरक्षित रहेको जनाइसकेका छन् । संयुक्त राष्ट्रसंघका पूर्व मानव अधिकार उच्चायुक्त एवं आयरल्यान्डका पूर्व राष्ट्रपति म्यारी रबिनसनले यो मामिलामा अन्तराष्ट्रिय कारवाहीको माग गरेका छन् ।

    लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतुम संसारका धनी राष्ट्राध्यक्षमध्ये एक हुन् । उनी दुबईका शासक र युएईका उपराष्ट्रपति समेत हुन् ।

  • अमेरिकालाई उछिनेर चीन युरोपेली संघको सबैभन्दा ठूलो ब्यापारिक साझेदार

    अमेरिकालाई उछिनेर चीन युरोपेली संघको सबैभन्दा ठूलो ब्यापारिक साझेदार

    काठमाडौं । सन् २०२० मा अमेरिकालाई उछिन्दै चीन अब युरोपेली संघको सबैभन्दा ठूलो ब्यापारिक साझेदार बनेको छ ।

    कोरोना महामारीका कारण आफ्ना ब्यापारिक साझेदार मुलुकसँग युरोपको ब्यापार घाटा बढ्यो तर, चीनले यो ट्रेन्डलाई रोक्न सक्यो ।

    पछिल्लो वर्ष चीन र युरोपेली संघबीच ७०९ अर्ब डलरको ब्यापार भयो । यसको तुलनामा अमेरिकासँग वर्ष २०२० मा ६७१ अर्ब डलरको कारोबार भयो ।

    भाइरस महामारीको सुरुआती चरणमा चीनको अर्थ व्यवस्थामा पनि ढिलाइ भएको थियो । तर, युरोपबाट आफ्ना सामाग्रीको माग बढेपछि भने चीनको अर्थव्यवस्था उकालो लाग्यो ।

    सन् २०२० मा चीनमात्र यस्तो एउटा अर्थव्यवस्था मुलुक थियो जहाँ आर्थिक विकास सम्भव देखियो । जसले गर्दा युरोपेली मुलुकले कार र विलासी सामानको माग गरे ।

    यसबीच मेडिकल उपकरण र इलेक्ट्रोनिक्सको भारी मागको कारण युरोपमा चीनको निर्यातलाई फाइदा मिल्यो । युरोपेली संघको तथ्यांक कार्यालय युरोस्टेटका अनुसार २०२० मा चीन युरोपेली संघको प्रमुख ब्यापारिक पार्टनर थियो ।

    आयात ५.६ प्रतिशत र निर्यातमा २.२ प्रतिशतले वृद्धि देखियो । तथ्यांक अनुसार अमेरिका र बेलायत युरोपेली संघको निर्यातका ठूला बजार बनेका छन् । तर, तथ्यांक अनुसार दुबै देशसँग इयुको ब्यापारमा गिरावट आएको छ ।

    सन् २०२० मा युरोपेली संघसँग अमेरिकाको ब्यापार ६७१ अर्ब डलर रह्यो । एक वर्ष पहिला यो आँकडा ७४६ अर्ब डलर थियो । राष्ट्रपतिमा जो बाइडेन आइसकेपछि युरोपसँगको ब्यापारलाई लिएर कुनै नीति बनाउँछन् वा बनाउँदैनन् भन्ने कुरा पर्खाइको विषय बनेको छ ।

    यसबीचमा युरोपेली संघ र चीनले आफ्ना आर्थिक सम्बन्धलाई अझै बलियो बनाउने प्रयास गरिरहेका छन् । जानकारहरु सन् २००२ को खराब अवस्थापछि यस वर्ष अन्तराष्ट्रिय ब्यापारमा सुधार आउने बताउँछन् ।

    रिसर्च कम्पनी आइएसएच मार्केटका अनुसार यसवर्ष अन्तराष्ट्रिय ब्यापारमा ७.६ प्रतिशतले वृद्धि हुनेछ । पछिल्लो वर्ष अन्तराष्ट्रिय ब्यापारमा १३ं.५ प्रतिशतको गिरावट आएको थियो ।

  • अमेरिकामा अहिलेसम्मकै चिसो हिमआँधी, १४ जनाको मृत्यु, टेक्ससमा २ दिनदेखि अन्धकार

    अमेरिकामा अहिलेसम्मकै चिसो हिमआँधी, १४ जनाको मृत्यु, टेक्ससमा २ दिनदेखि अन्धकार

    टेक्सस – आइतबारदेखि चल्न थालेको हिउँसहितको चिसो आँधीले चार अमेरिकी राज्यमा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मकै चिसो आँधी भनिएको यो तुफानको कारण टेक्सस राज्यमा दुई दिनदेखि विद्युत छैन ।

    बिजुली नहुँदा टेक्सस राज्यका बासिन्दालाई न्यानो भइरहन मुस्किल भएको छ । ह्युस्टनको एउटा घरमा हिटर तताएर न्यानो हुन खोज्दा कार्बन मोनोक्साइडले निसास्एिर एक आमा र छोरीको मृत्यु भएको छ ।

    ह्युस्टनमै एक घरविहीन मानिस र एक दस वर्षीय बालकको समेत मृत्यु भएको छ । टेक्ससमा अहिले आर्कटिक क्षेत्रतर्फ तीव्ररुपमा हुरी चलिरहेको छ । आर्कटिकबाट दक्षिण क्यारोलिनातर्फ बढिरहेको हुरीबाट त्यहाँ रातभरमा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् ।

    मौसम चिसिएको कारण अमेरिकाको सबैभन्दा धेरै बिजुली उत्पादन गर्ने टेक्ससको पावर हाउस बन्द भएको छ । जसले गर्दा टेक्सस राज्य र वरपरको विजुली आपूर्ति बन्द भएको छ । सम्भावित आँधीले विद्युत आपूर्ति रोक्न सक्नेतर्फ पूर्वतयारी नगरेको भन्दै सर्वसाधारणले सरकारको आलोचना गरेका छन् ।

    टेक्ससमा अहिले पनि हिमवर्षा भइरहेको र तापक्रम माइनसमै रहेको जनाइएको छ । टेक्ससबासीले गएराति पनि विद्युत बिनै रात बिताए । पूर्वी अमेरिकामा न्यानो हुनका लागि अझै एकसातादेखि १० दिन लाग्ने जनाइएको छ ।

  • एक साताभित्र दाेस्राेपटक पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि, ग्याँसको यथावत्

    एक साताभित्र दाेस्राेपटक पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि, ग्याँसको यथावत्

    काठमाडौं । नेपाल आयल निगमले एक साताभित्र दाेस्राे पटक पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । एक साता अघि मात्र पेट्रोल, डिजल तथा मट्टीतेलमा २ रुपैयाँ मूल्य बढाएकाे निगमले फेरि आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हाे । पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको छ।

    राति १२ बजेबाट नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११४, डिजल र मट्टीतेलको रु ९७ तथा हवाई इन्धनको मूल्य ६७ तिर्नुपर्ने भएको छ । एलपी ग्याँसको मूल्य भने यतावत् रहेकाे छ ।  ग्याँसकाे मूल्य अघिल्लाे साता मात्र प्रतिसिलिण्डर  १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेकाे थियाे ।

    अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।

  • ब्लगर हत्यामा संलग्न पाँचलाई बंगलादेशले सुनायो मृत्युदण्ड

    ब्लगर हत्यामा संलग्न पाँचलाई बंगलादेशले सुनायो मृत्युदण्ड

    काठमाडौं । ब्लगर हत्यामा दोषी पाइएका पाँच जनालाई बंगलादेश सरकारले मृत्युदण्डको सजाय सुनाएको छ । अर्को एकलाई जन्मकैदको सजाय सुनाइएको छ ।

    सन् २०१५ मा बंगलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयको हत्या गरेका थिए । राजधानी ढाकामा आयोजित पुस्तक प्रदर्शनी कार्यक्रममा भाग लिने क्रममा उनको हत्या भएको थियो ।

    नास्तिक रहेका रोयले बेला बेलामा धर्म निरपेक्षताको कुरा गर्थे र उनको कुरामा चित्त नबुझाएका इस्लामिक लडाकुले उनको हत्या गरेको अनुमान गरिएको थियो ।

    उक्त आक्रमणमा रोयकी पत्नी गम्भिर घाइते भएकी थिइन् ।

  • विश्व ब्यापार संगठनको प्रमुखमा पहिलो महिला नियुक्त

    विश्व ब्यापार संगठनको प्रमुखमा पहिलो महिला नियुक्त

    जेनेभा– नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ)को प्रमुखमा नियुक्त भएकी छिन् । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटिओलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ ।

    व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताएकी छिन् ।

    नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्। उनलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए ।

    लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । महानिर्देशक पदमा विजयी भएसँगै उनले भनिन्, ‘कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।’

    उनले डब्लुटिओका सामुन्ने धेरै चुनौतीहरु रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन् ।

    ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्नेछिन् र उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।

    एक जना पश्चिमी मुलुकका कुटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटिओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको बताए ।

    जेनेभामा मुख्यालय रहेको डब्लुटिओ गत वर्ष अगष्टदेखि नै नेतृत्वविहीन छ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटिओमा नयाँ प्रमुखको नियुक्ती हुन सकेको थिएन ।

    विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ ।

    शुरुमा आठ जना उम्मेदवार रहेपनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर विवाद खडा गरिदिएको थियो ।

    ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाएका थिए । बाइडेनले ओकोन्जोको नामलाई अनुमोदन गर्ने संकेत गरेको थियो ।

    अमेरिकी कूटनीतिज्ञ डेभिड बिस्बीले संयुक्तराज्य अमेरिका डा. ओकोन्जोसँग मिलेर कार्य गर्न इच्छुक रहेको बताएका थिए । सन् १९९५ मा डब्लुटिओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौं ब्यक्ति भएकी छिन् ।

    नाइजेरियाली ओकोन्जोको महानिर्देशक पदमा नियुक्तिका लागि संयुक्त राज्य अमेरिका, युरोपेली युनियन र अफ्रिकाले समर्थन जनाएका थिए ।

    यतिबेला डब्लुटिओ धेरै किसिमका चुनौतीको घेरामा परेको छ । कोभिड–१९ शुरु हुनुअघि नै विश्व अर्थतन्त्रमा संकट देखिएका थिए । डब्लुटिओले व्यापार वार्तालाई सहजीकरण गर्न सकिरहेको थिएन भने संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई मत्थर बनाउन असमर्थ भएको थियो ।

     

  • विप्लव देवको भनाइप्रति नेपालको ध्यानाकर्षण, राजदूतले जनाए साउथ ब्लकमा आपत्ति

    विप्लव देवको भनाइप्रति नेपालको ध्यानाकर्षण, राजदूतले जनाए साउथ ब्लकमा आपत्ति

    काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको सार्वजनिक अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमै आपत्ति जनाएको छ ।

    दिल्लीस्थित नेपाली दूतावासले विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै भारत सरकारको ध्यानाकर्षण गराएको हो ।

    भारतीय विदेश मन्त्रालयसँग यसबारे आपत्ति जनाएर ध्यानाकर्षण गराइएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले नेपाल प्रेसलाई जानकारी दियो । राजदूत नीलाम्बर आचार्यले यसबारेमा गर्नुपर्ने कुरा गरिएको बताए ।

    अमित शाहले सन् २०१८ मा आफू तत्कालीन भारतीय जनता पार्टीको अध्यक्ष हुँदा नै छिमेकमा समेत भारतीय जनता पार्टी विस्तार गरेर विश्वकै ठूलो पार्टी बन्न चाहेको बताएका थिए । नेपाल र श्रीलंकामा संगठन विस्तार गरेर बीजेपी सरकार गठन गर्ने उनको कुरालाई त्रिपुराका मुख्यमन्त्री विप्लव देवले खुलासा गरेका हुन् ।

    यो अभिव्यक्तिका बारेमा भारतको ध्यानाकर्षण गराएपछि दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराएको जनाएको छ । पटक–पटक आफ्ना अभिव्यक्तिले चर्चामा आउने मुख्यमन्त्री देवको भनाइलाई लिएर शाह र उनको दल बीजेपीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    भारतीय कंग्रेसले पनि औपचारिकरुपमा छिमेकीसँगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउँदै माफी माग्न भनेको छ । भारतीय कम्युनिष्ट पार्टीले पनि यसप्रति आपत्ति जनाएको छ ।

    श्रीलंकाका प्रमुख निर्वाचन आयुक्त निमल पन्छीहेवाले पनि देवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कुनै पनि श्रीलंकाली दललाई विदेशमा पार्टी विस्तार गर्ने र कुनै विदेशी दललाई श्रीलंकामा पार्टी विस्तार गर्ने कानूनी व्यवस्था नभएको भन्दै उनले अभिव्यक्ति सही नभएको टिप्पणी गरेका छन् ।

  • भारतीय कांग्रेसको प्रतिक्रिया : अमित शाहले छिमेकीसँग सम्बन्ध बिगार्न खोजे

    भारतीय कांग्रेसको प्रतिक्रिया : अमित शाहले छिमेकीसँग सम्बन्ध बिगार्न खोजे

    काठमाडौं । नेपाल र श्रीलंकामा बीजेपी सरकार स्थापना गर्नुपर्छ भन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिको भारतभित्रै ब्यापक विरोध भएको छ ।

    प्रतिपक्षी दल कंग्रेससहितका अन्य दलले औपचारिकरुपमै विरोध जनाएका छन् । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा तत्कालिन बीजेपी अध्यक्ष शाहको भनाइ उध्दृत गदै नेपाल र श्रीलंकामा बीजेपीको संगठनसहित ती देशमा पनि सरकार बिस्तार गर्नुपर्छ भन्ने उल्लेख गरेका थिए ।

    कांग्रेसले ट्वीटर ह्यान्डलमार्फत शाहको अभिव्यक्तिको विरोध गर्दै छिमेकी मुलुकसँग सम्बन्ध बिगार्न खोजेको आरोप लगाएको छ । ‘तपाइँ (बीजेपी) केवल मुर्ख बन्न सक्नुहुन्छ । यस्तै अभिव्यक्तिको कारण आज छिमेकी मुलुकसँग भारतको सम्बन्ध बिग्रिएको’ कांग्रेसले भनेको छ ।

  • अमेरिकी संसदमा ट्रम्प समर्थकले गरेको आक्रमणको अनुसन्धान स्वतन्त्र आयोगले गर्ने

    अमेरिकी संसदमा ट्रम्प समर्थकले गरेको आक्रमणको अनुसन्धान स्वतन्त्र आयोगले गर्ने

    एजेन्सी । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले ६ जनवरीमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणको अनुसन्धानकालागि स्वतन्त्र आयोग बनाउने घोषणा गरेकी छन् ।

    सांसदहरुलाई लेखेको पत्रमा उनले अनुसन्धान आयोगले सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्क र पेन्टागनमा भएको आतंककारी हमलाकै शैलीमा यो घटनाको जाँच, अनुसन्धान गर्ने उल्लेख गरेकी छन् ।

    ‘हामीलाई सत्य तथ्य थाहा हुनु जरुरी छ कि यो घटना कसरी भयो,’ उनले भनेकी छन् । सिनेटले पूर्व राष्ट्रपतिमाथिको आरोपबाट मुक्त गरिदिएको छ । तर डेमोक्रेट तथा केहि रिपब्लिकन सिनेटरले हिंसाका बारेमा एक स्वतन्त्र जाँचको माग गरिरहेका छन् । घटनामा ५ जनाको मृत्यु भएको थियो ।

    सभामुख पेलोसीका अनुसार अमेरिकी सेनाका जनरल रसेल होनरले घटनाको केहि साताअघिदेखि क्यापिटलको सुरक्षा अधिक बढाउनुपर्ने आंकलन गरेका थिए । ‘उनको यो निश्कर्ष र महाअभियोग परीक्षणबाट प्रष्ट भएको छ कि हामीलाई सत्य कुरा थाहा हुनु जरुरी छ,’ उनले भनेकी छन् ।

  • नेपालमा बीजेपी विस्तार गर्ने अमित शाहको अभिव्यक्तिको भारतमा विरोध (भिडियो)

    नेपालमा बीजेपी विस्तार गर्ने अमित शाहको अभिव्यक्तिको भारतमा विरोध (भिडियो)

    काठमाडौं । नेपाल र श्रीलंकामा पनि भारतीय जनता पार्टी (बीजेपी) को संगठन विस्तार गरेर सरकार बनाउनुपर्ने कुरा भारतका गृहमन्त्री तथा बीजेपीका पूर्व राष्ट्रिय अध्यक्ष अमित शाहले गरेकै हुन् ?

    आन्तरिक बैठकमा अमित शाहले भारतका सबै प्रदेशमा जितेर मात्र पुग्दैन श्रीलंका र नेपालमा जित्न बाँकी नै छ भनेको भनी त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सार्वजनिक रुपमा बोलेपछि यसले भारतमा तरंग सिर्जना गरेको छ ।

    लामो समय कम्युनिष्टको गढ रहेको त्रिपुरामा बीजेपीले सरकार बनाएको र अन्य प्रदेशमा पनि जितिरहेकोमा उत्साहित हुँदै एक आन्तरिक छलफलमा नेताहरुले शाहको प्रशंसा गरेपछि उनले भारतमा मात्र जितेर नपुग्ने बताएका थिए ।

    यद्यपि शाहले यो कुरा सार्वजनिक रुपमा भनेको नभई उनको भनाइ उदृत गर्दै त्रिपुराका मुख्यमन्त्रीले बोलेका हुन् । शाहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् तर भारतीय प्रमुख विपक्षी कांग्रेस आई र कम्युनिस्ट पार्टीले आपत्ति जनाउँदै तत्काल माफी माग्नुपर्ने बताएका छन् ।

    कांग्रेस आइले शाहको अभिव्यक्ति भनी विप्लव देवले बोलेको कुरा भारतीय विदेश नीतिमा क्षति पुर्याउने खालको भएको भन्दै विरोध गरेको छ ।

    कांग्रेस नेतृ सुप्रिया श्रीनातेले हिन्दुस्तान टाइम्समा शाहलाई लक्षित गर्दै भनिन् –नेपाल र श्रीलंकामा जननिर्वाचित सरकार छन् । लोकतन्त्र छ । तपाइँहरु त्यहाँ कु गर्ने कुरा गर्दै हुनुहुन्छ । एउटा लोकतन्त्रले अर्को लोकतान्त्रिक देशमा सरकार बनाउने कुरा गर्दैछ । विप्लव देवजीले बेबकुफी कुरा गरेका छन् र यसले दुष्परिणाम निम्त्याउँछ ।’

    कांग्रेस नेतृले यसलाई डिप्लोम्याटिक ब्लण्डर भनेकी छन् ।

    ‘उक्त अभिव्यक्तिले हाम्रो विदेश नीति र कूटनीतिक सम्बन्धलाई क्षति पुर्‍याउँछ’ श्रीनातले भनिन्, ‘सरकारले खुलेरै यो अभिव्यक्तिप्रति नेपाली नागरिकसँग मात्र हैन निर्वाचित सरकारसँग हात जोडेर माफी माग्नुपर्छ अन्यथा यो ठूलो गल्ती साबित हुनसक्छ ।’

    डोनाल्ड ट्रम्पको पक्ष लिएर भारतले अमेरिकी राष्ट्रपति चुनावमा गल्ती गरेको र अहिले पनि मूल्य तिरिरहेको प्रसंग निकाल्दै श्रीनातेले त्यो गल्ती नदोहोर्‍याउन सुझाव दिइन् ।

    त्रिपुराका मुख्यमन्त्री विप्लव देवले शनिबार गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष शाहले नेपाल र श्रीलंकामा बीजेपी विस्तार गरेर सरकार बनाउनुपर्छ भन्ने अभिव्यक्ति पार्टीको एक आन्तरिक भेटघाटमा दिएको बताएका थिए ।

    ‘भारतका सबै राज्यमा चुनाव जितेर नेपाल र श्रीलंकामा पनि सरकार बनाउनुपर्छ भनेर उहाँले भन्नुभएको थियो’ रविन्द्र शतवार्षिकी भवनको भ्रमणका क्रममा देवले भनेका थिए ।

    विश्वमा कम्युनिष्ट पार्टीको कीर्तिमानलाई तोडेर आफ्नो नेतृत्वमा बीजेपीलाई ग्लोबल पार्टी बनाउनुपर्छ भनेर शाहले भनेको समेत देवले उल्लेख गरेका थिए ।

    शाहको यस्तो अभिव्यक्तिलाई लिएर भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) नेता एवं पूर्वसांसद जितेन्द्र चौधरीले विरोध गरेका छन् ।

    ‘मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रको ज्ञान छैन । शाहको अभिव्यक्तिले विदेशी मुलुकको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको सन्देश जान्छ’ उनले भने ।

    चौधरीले गृहमन्त्री शाहले नेपालविरुद्ध राज्य षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् । उनले शाहको अभिव्यक्तिलाई भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जिम्मेवारी लिनुपर्ने बताएका छन् । त्रिपुरा कांग्रेसका उपध्याक्ष तपस देले शाहको अभिव्यक्तिले उपनिवेशवादी मनोविज्ञानलाई चित्रण गरेको बताएका छन् ।

    ‘जुन उपनिवेशवादका विरुद्ध भारत लडिरहेको छ, त्यही कुरा अरुमा लाद्नु राम्रो होइन’ देले भनेका छन् । भारतले नेपाल र श्रीलंकाको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्न नसक्ने पनि उनले बताएका छन् ।

  • खोप लगाएपछिको विवादमा पेरुकी विदेशमन्त्रीद्वारा राजीनामा

    खोप लगाएपछिको विवादमा पेरुकी विदेशमन्त्रीद्वारा राजीनामा

    लिमा –कोरोनाभाइरसविरुद्धको खोप लगाएकै कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटेले पदबाट राजीनामा दिनुपरेको छ । सरकारी खोप अभियान सुरु हुनुभन्दा पहिल्यै खोप लगाएपछि एस्टेटेले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

    उनले जनवरीमा चिनियाँ खोप सिनोफार्म लगाएकी थिइन् । यसको एकदिन अघि राष्ट्रपति फ्रान्सिस्को सागस्तीले त्यहाँका स्वास्थ्य मन्त्री पिलार माजेटीको राजीनामा स्वीकृत गरेका थिए ।

    पूर्वराष्ट्रपति मार्टिन विजकाराभन्दा पहिल्यै भ्याक्सिन लगाएपछि विवाद सुरु भएको थियो । गत नोभेम्बरमा विजकाराले भ्रष्टाचार प्रकरणमा राजीनामा दिनु परेको थियो । खोप लगाउन आफूले प्रोटोकल नतोडेको र परिक्षणमा सहभागि भएरै खोप लगाएको एस्टेटेले बताएकी छिन् ।

    एस्टेटेले गत नोभेम्बर महिनामा विदेशमन्त्रीको पद सम्हालेकी थिइन् । राजीनामा दिएपछि विवादबारे प्रष्टीकरण दिँदै एस्टेटेले भनेकी छिन् –मैले २२ जनवरीमा खोप लगाएकी थिएँ । पेरुको एक युनिभर्सिटीको प्रस्तावमा मैले खोप लगाएकी हुँ जो पेरुमा सिनोफार्म ट्रायलको सुपरिवेक्षक समेत हो । बचेको केही खोपबाट लगाएकी हुँ ।’

    पेरु सरकारले जनवरीको सुरुआतमा चिनियाँ खोप कम्पनी सिनोफार्मबाट झन्डै ३ करोड ८० लाख डोज खरिद गर्ने घोषणा गरेको छ ।

  • उत्तराखण्ड हिमनदी विस्फोट: ११ नेपाली अझै सम्पर्कविहीन, मृतककाे संख्या ५१ पुग्यो

    उत्तराखण्ड हिमनदी विस्फोट: ११ नेपाली अझै सम्पर्कविहीन, मृतककाे संख्या ५१ पुग्यो

    काठमाडौं । भारतको उत्तराखण्डमा भएको हिमनदी विस्फोटपछिको घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । चमोली जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार भेटिएका १२ शवसहित मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

    हालसम्म २५ जनाको मात्र सनाखत भएको जनाइएको छ । अधिकारीका अनुसार सनाखत हुने शवमा कोही पनि नेपाली छैनन् । अहिलेसम्म शव र शरिरका विभिन्न अंगसहित ४१ वटाको अन्तिम संस्कार गरिएको छ ।

    जसमा बेपत्ता भनिएका नेपालको शव भए नभएको खुलेको छैन । गत आइतबार हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दा लगायतका नदीमा बाढी आएको थियो । २०० भन्दा बढी बेपत्ता भएका थिए ।

    चमोली प्रहरीले हराइरहेका १७५ जनाको सूचि सार्वजनिक गरेको थियो । जसमा ११ जना नेपाली छन् । हराइरहेका नेपालीमध्ये ७ जना ऋषिगंगा जलविद्युत आयोजना, ३ जना तपोवन आयोजना र एकजना रैणी गाउँमा कार्यरत थिए । तपोवनमा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलेको छ ।

    अधिकांश थर र ठेगाना उल्लेख नहुँदा बेपत्ता हुने नेपालीको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

  • म्यानमारमा राजनीतिक संकट गहिरिँदै- सेना सडकमा, इन्टरनेट बन्द

    म्यानमारमा राजनीतिक संकट गहिरिँदै- सेना सडकमा, इन्टरनेट बन्द

    एजेन्सी । राजनीतिक संकट गहिरिँदै जाँदा म्यानमारको सेनाले प्रदर्शनकारीलाई लक्षित गरी सडकमा आफ्नो उपस्थिति उल्लेख्य बढाएको छ । देशभर इन्टरनेट सेवा पनि अवरुद्ध पारिएको छ ।

    सेनाको यो रबैया फेब्रुअरी १ मा भएको सैनिक ‘कू’को बिरुद्ध देशभर भइरहेको विरोधलाई दवाउने रणनीतिका रुपमा हेरिएको छ ।

    देशको उत्तरी शहर काचिनमा लगातार ९ दिनदेखि सैनिक हस्तक्षेपविरुद्ध प्रदर्शन भइरहेको छ । त्यहाँ सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको बताइन्छ ।

    संयुक्त राष्ट्रसंघका एक अधिकारीले म्यानमारको सेनाले आफ्नै जनतासँग युद्ध गर्न चाहेको आरोप लगाएका छन् । म्यानमारको लागि राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्र्ुजले सेनाका जनरत हतारमा देखिएको र यसका लागि उनलाई जवाफदेयी बनाएरै छाडिने बताएका छन् ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘सेनाले आफ्जै जनतासँग युद्धको घोषणा गरेको जस्तो देखिएको छ । आधा रातमा छापा मारेर मानिसलाई पक्राउ गरिएको छ । उनीहरुको अधिकार हनन् गरिएको छ । इन्टरनेट बन्द गरिएको छ । यस्तो लागिरहेको छ कि सेनाका जनरल निकै हतासमा छन् ।’

    युरोपेली महासंघ, अमेरिका र बेलायतले एक वक्तव्य जारी गरी गणतान्त्रिक सरकारमाथि कू गरिएको विरोधमा भएको जनप्रदर्शनमा हस्तक्षेप नगर्न म्यानमारको सेनालाई आग्रह गरेको छ ।

    म्यानमारको सेनाले यसै महिना आङ सान सू ची नेतृत्वको सरकारलाई अपदस्त गरेको थियो । गत वर्षको अन्तिममा भएको निर्वाचनमा सू चीको पार्टीले अत्याधिक बहुमत ल्याएको थियो तर सेनाले सो चुनावमा धाँधली भएको आरोप लगाएको थियो ।