Category: विश्व प्रेस

  • बेल्जियम, लक्जेमवर्ग र नेदरल्यान्ड्सपछि स्पेनमा पनि इच्छामृत्युलाई कानूनी मान्यता

    बेल्जियम, लक्जेमवर्ग र नेदरल्यान्ड्सपछि स्पेनमा पनि इच्छामृत्युलाई कानूनी मान्यता

    एजेन्सी । स्पेनको संसदले बिहीबार स्वैच्छिक मरण अर्थात इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ। संसदमा भएको मतदानमा इच्छामृत्युको पक्षमा २ सय २ मत आयो भने विपक्षमा १ सय ४१ मत आएको थियो।

    स्पेनको तल्लो सदनमा भएको मतदान प्रक्रियामा २ जना सांसद अनुपस्थित थिए । हाल स्पेनको कानूनमा स्वेच्छिक मरण वा स्वेच्छिक मरणमा सहयोग गर्नेलाइ १० बर्ष कैद सजाय छ।

    ‘आजदेखि हामी अधिक मावनीय, निश्पक्ष र स्वतन्त्र देश बनेका छौं,’ मतदानपछि स्पेनिस प्रधानमन्त्री पेड्रो सान्चेसले ट्वीट गरेका छन्, ‘नागरिक स्तरबाट ब्यापक रुपमा माग भएको इच्छामृत्यु कानून अन्तिममा वास्तविकता बनेको छ ।’

    स्पेनमा सन २०१९ मा भएको एक सर्भेक्षणले ९० प्रतिशत नागरिक इच्छामृत्युको पक्षमा भएको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

    युरोपमा स्पेन अगाडि बेल्जियम, लक्जमबर्ग र नेदरल्यान्ड्सले इच्छामृत्युलाई कानुनी मान्यता दिइसकेका छन् ।

     

  • रुसी विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

    रुसी विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

    बेइजिङ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।

    चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहिबार बताए ।

    पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

  • भारतको सिरमले रोक्यो बेलायत पठाउन लागिएको खोप

    भारतको सिरमले रोक्यो बेलायत पठाउन लागिएको खोप

    लन्डन । भारतको सिरम इन्स्टिच्युटले खोप आपूर्ति रोकेपछि बेलायतमा खोप अभियान प्रभावित भएको छ । बीबीसीका अनुसार चार सातादेखि सिरमले बेलायत पठाउन तयार पारिएको खोपको खेपलाई रोकेर राखिरहेको छ ।

    जसले गर्दा आउने महिना बेलायतमा खोप अभाव हुने जानकारी बेलायतको स्वास्थ्य मन्त्रालयले त्यहाँका स्थानीय स्वास्थ्य संस्थालाई दिएको छ । जुलाइको अन्त्यसम्म बयोवृद्ध नागरिकलाई पहिलो डोज खोप लगाउने बेलायतको तयारी छ ।

    सिरमले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । सिरमका प्रवक्ताले चाहिँ ५ मिलियन डोज खोप बेलायतलाई पठाइसकेको बताएका छन् । भारत सरकारको आवश्यकता र खोपको उपलब्धताअनुसार मात्र खोप पठाउन सकिने सिरमको जवाफ छ ।

    सिरमले नेपाललाई पनि पत्र पठाएर तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ दिएको थियो ।

    सिरम इन्स्टिच्युट विश्वकै सवैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । कम्पनीले यो वर्षमात्र न्यून र मध्यम आय भएका मुलुकका लागि १ बिलियन डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    यसै महिनाको सुरुआतमा सिरम र बेलायतबीच १० मिलियन डोज खोप आपूर्ति गर्ने सहमति भएको थियो । तर, ढिलाइका बाबजुद पनि यो महिना त्यसको आधामात्र आपूर्ति हुने सम्भावना छ ।

  • म्यानमार हिंसाको निन्दा गर्दै प्रधानमन्त्री ओलीद्वारा नेतृ सू ची लगायतको रिहाइ माग

    म्यानमार हिंसाको निन्दा गर्दै प्रधानमन्त्री ओलीद्वारा नेतृ सू ची लगायतको रिहाइ माग

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमारमा चर्किएको हिंसालाई लिएर गम्भिर चासो र चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीतिक सौदाबाजी र नाफा नोक्सानको कुरा हैन । मानवताको कुरा हो ।’

    उनले अगाडि भने- जनताको अभिमतलाई दबाएर निर्वाचित संघसंस्था मासेर, संविधान कानून उल्लंघन गरेर, बलप्रयोगबाट नेताहरुलाई गैरकानुनी ढंगले गिरफ्तार गरेर शासन चलाउन खोजिन्छ भने त्यसलाई उचित हैन भनेर भन्न अप्ठ्यारो मान्नु पर्दैन ।’

    पक्राउ गरिएका निर्वाचित जनप्रतिनिधिलाई रिहा गर्न समेत प्रधानमन्त्रीले आग्रह गरे । ‘म्यानमारले जनतामाथिको दमन बन्द गर्नुपर्छ । जनताको अभिमतअनुसार, संविधानसम्मत ढंगले सरकार, शासन चल्नुपर्छ’ उनले भने, ‘हामी राज्यशक्तिका स्रोत जनता हुन भन्ने ठान्दछौं । गलत ढंगले उनीहरुको अभिमतलाई कुल्चनु उचित हैन ।’

    नेपालले म्यानमारमा शान्ति चाहेको र समस्यालाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने समेत प्रधानमन्त्रीले बताएका छन् । अन्य देशको आन्तरिक मामिलामा टिप्पणी नगर्ने नेपालको नीति भएपनि लोकतन्त्र कुल्चिँदा चाहिँ नेपाल मौन बस्न नसक्ने प्रधानमन्त्रीले बताएका छन् ।

    फेब्रुअरी १ मा म्यानमार सेनाले निर्वाचित नेतृ आङ साङ सू ची लगायतका नेतालाई पक्राउ गर्दै शासन आफ्नो हातमा लिएको छ । निर्वाचनमा धाँधली भएको आरोप सेनाको छ । सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।

  • तान्जानियाका राष्ट्रपतिको निधन कोरोनाका कारण भएको आशंका

    तान्जानियाका राष्ट्रपतिको निधन कोरोनाका कारण भएको आशंका

    एजेन्सी । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । उपराष्ट्रपति सामिया सुलुहु हसनले सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गरी मुटुको समस्याका कारण राष्ट्रपतिको निधन भएको पुष्टि गरेकी हुन् ।

    पछिल्लो २ साताभन्दा बढी समयदेखि मागुफुली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनको स्वस्थ्य अवस्थाका बारेमा धेरै हल्लाहरु फैलिएका थिए । विपक्षी नेताहरुले पछिल्लो साता राष्ट्रपतिलाई कोरोना संक्रमण भएको बताएका थिए, तर त्यसको पुष्टि भएको थिएन ।

    ‘निकै अफसोचका साथ म तपाईहरुलाई यो सूचित गरिरहेको छु… हामीले हाम्रा बहादुर नेता तान्जानिया गणराज्यका राष्ट्रपति जोन पोम्बे मागुफुलीलाई गुमाएका छौं,’ टेलिभिजन सम्बोधनमा उपराष्ट्रपति हसनले भनेकी छन् ।

    उनले १४ दिनसम्म राष्ट्रिय शोक मनाइने राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी पनि दिइन् ।

    तान्जानियाको संविधानअनुसार हसनलाई नयाँ राष्ट्रपतिको रुपमा जिम्मेबारी दिइनेछ । उनले मागुफुलीको बाँकी पाँच वर्षे कार्याकाल सम्पन्न गर्नेछिन्, जो गत वर्षमात्र राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    मागुफुलीलाई पछिल्लो पटक फेब्रुअरी २७ मा सार्वजनिक रुपमा देखिएको थियो । तर पछिल्लो सातामात्र प्रधानमन्त्री कासिम माजाविबाले राष्ट्रपति स्वस्थ र कडा मिहिनेत गरिरहेको दावी गरेका थिए । उनले विदेशमा रहेका घृणित तान्जानियाली नागरिकले राष्ट्रपतिको स्वास्थ्यबारे अनावश्यक हल्ला फैलाइरहेको आरोपसमेत लगाएका थिए ।

    तर विपक्षी नेता टुन्डु लिस्सुले आफ्नो स्रोत उदृत गरी बीबीसीलाई बताएअनुसार राष्ट्रपतिलाई कोरोना संक्रमण भएको र केन्याको अस्पतालमा उपचार गरेको दावी गरेका छन् ।

    मागुफुलीले पछिल्लो जुन महिनामै तान्जानियालाई कोभिडमुक्त देश घोषणा गरेका थिए । उनले मास्कको प्रभावकारीताको मजाक उडाएका थिए भने परीक्षणको बारेमा पनि शंका व्यक्त गरेका थिए । कोरोना संक्रमण रोक्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड लागू गरेका छिमेकी देशहरुलाई पनि उनले चिढ्याएका थिए ।

    तान्जानियाले कोरोना भाइरसबारेको आधिकारिक विवरण मे महिनायता सार्वजनिक गरेको छैन । सरकारले खोप अभियान सुरु गर्न पनि अस्वीकार गरिरहेको छ ।

  • अमेरिकामा एसियाली समुदायमाथि आक्रमण : ८ जनाको मृत्यु

    अमेरिकामा एसियाली समुदायमाथि आक्रमण : ८ जनाको मृत्यु

    एटलान्टा । अमेरिकको जर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

    प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

    जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् ।

    चार जनाको जर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मारिएकाहरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।

    एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय – गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा- मा आक्रमण भएको र त्यहाँ चार जना महिलाको हत्या भएको जनाएको छ । प्रहरीले मारिने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

    प्रहरीले उक्त तीनवटै आक्रमणमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ ।

    एटलान्टा प्रहरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आक्रमणमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशंकित व्यक्ति रहेको भेटिएको बताए । उनले पक्राउ परेका व्यक्ति हाल प्रहरी हिरासतमा रहेको जानकारी दिए ।

    प्रहरीले आरोनलाई एटलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गिरफ्तार गरेको थियो । मृत्यु भएका सबैलाई गोली लागेको प्रहरीको भनाई छ । अमेरिकी सङ्घीय जाँच ब्युरोले पनि उक्त घटनामा स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

    जोर्जियामा करिब पाँच लाख एसियाली मुलका व्यक्तिहरु बसोबास गर्दछन् अर्थात् यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मुलका छन् ।

    जर्जियाको डेमोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गोलीकाण्ड निकै भयानक र त्रासदीपूर्ण रहेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका तिरस्कारयुक्त घृणित अपराध अमेरिकाका लागि लज्जाको विषय रहेको भन्दै कडा शब्दमा निन्दा गरेका थिए । उनले भनेका थिए, “यो गलत छ । यो गैर–अमेरिकी कदम हो । यसलाई रोक्नै पर्दछ ।”

  • म्यान्मार कू : सेनाविरोधी प्रदर्शनमा सोमबारसम्म १३८ जनाको मृत्यु

    म्यान्मार कू : सेनाविरोधी प्रदर्शनमा सोमबारसम्म १३८ जनाको मृत्यु

    न्यापिटअ– म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।

    राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए । उनले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताए ।

    म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।

    उनले भने -“राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।”

    राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन् ।

    यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

    सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

    यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

  • अमेरिकी विदेश र रक्षामन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव बढेकामा चिन्ता व्यक्त

    अमेरिकी विदेश र रक्षामन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव बढेकामा चिन्ता व्यक्त

    टोकियो- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन्। यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।

    टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

    चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा समेत गरिएको छ ।

    जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उनीहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौतीहरु बढेको बताइएको छ ।

    अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिहरुप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

    अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गरेका छन् । उनीहरुले उत्तर कोरियाली आणविक हातहतियारहरु अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताएका छन् ।

    तर विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौं ।”

  • जोन्सनको पहिलो विदेश भ्रमण भारतदेखि, इन्डो-प्यासेफिक बेलायती विदेश नीतिको केन्द्रमा

    जोन्सनको पहिलो विदेश भ्रमण भारतदेखि, इन्डो-प्यासेफिक बेलायती विदेश नीतिको केन्द्रमा

    लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पहिलो अन्तराष्ट्रिय भ्रमणको सुरुआत भारतबाट गर्ने भएका छन् । बेलायती प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीअनुसार जोन्सनले अप्रिलको अन्त्यमा दिल्ली भ्रमण गर्न लागेका हुन् ।

    युरोपेली युनियनबाट बेलायत अलग भएपछि पहिलोपटक जोन्सनको विदेश दौडाहा हुन लागेको हो । इन्डो–प्यासेफिक क्षेत्र बेलायतको नयाँ विदेश नीतिको केन्द्रमा हुने समेत विज्ञप्तीमा जनाइएको छ । ‘इन्डो–प्यासेफिक क्षेत्र विश्वकै केन्द्र भन्ने तयारीमा छ’ उल्लेख छ ।

    दक्षिण-पूर्वी एसियाली मुलुकसँग बेलायतले मित्रता स्थापना गर्न चाहेको र क्वीन एलिजाबेथ करियर चाँडै उक्त क्षेत्रमा परिचालित हुने समेन जोन्सनले जनाएका छन् । विश्वको नयाँ शक्ति सन्तुलन र बदलिँदो भूराजनीतिअनुसार बेलायतको उपस्थितीको व्याख्या गर्दै जोन्सनले विज्ञप्ती जारी गरेका हुन् ।

    जी-सेभेन र जलवायु परिवर्तन सम्मेलन कोप–२६ मार्फत बेलायतले विश्वको नेतृत्व गर्ने उल्लेख गर्दै जोन्सनले बेलायती सुरक्षा र चासोको संवद्र्धन पुरानो विश्व प्रणालीले नहुने जनाएका छन् । गत नोभेम्बरमा जोन्सनले शीतयुद्धपछिकै ठूलो परिमाणमा सैन्य शक्तिमा खर्च गर्ने घोषणा गरेका थिए ।

    जोन्सनले बेलायतलाई आउने शताब्दीकै विज्ञान र प्रविधिको महाशक्ति बनाउने योजना पनि अघि सारेका छन् ।

  • अमेरिका-दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

    अमेरिका-दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

    प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।

    उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताएका छन् ।

    उनले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भनेका छन् ।

    उनले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरु आक्रामक रणनीति बनाए आफूहरु उत्तर-दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिए ।

    उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कायहरु गर्ने स्पष्ट पारे ।

  • नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

    नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

    दी हेग । नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ ।

    कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कफ्र्यु समेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा सोमबार बिहान ७ बजेदेखि मतदान स्थल खुला गरिएको छ । कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मङ्गलबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ ।

    एएफपीका पत्रकारका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् ।

    मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कफ्र्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् ।

    तर सन् २०१० देखि सत्तामा रहनु भएका प्रधानमन्त्री रुटको गठबन्धन नै यसपटक पनि विजयी हुने अनुमान गरिएको छ । यो विजयपछि उनले युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउनेछन् ।

    पछिल्ला चुनावी मतसर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन् ।

    नेदरल्यान्ड्सका अधिकारीहरुले कोभिडको जोखिममा रहेका बढी उमेर समूह समेतका व्यक्तिलाई अन्तिम दिनको साटो पहिल्यै मतदान गर्न आह्वान गरेको छ ।

    गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४।३० बजेसम्म लगाइएको कफ्र्यु मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिएका छन् । सन् २०१७ को चुनावमा अति–दक्षिणपन्थी नेता गर्ट विल्डर्सले ब्रेक्जिट र ट्रम्पको लोकप्रियताबाट आफूले निकै फाइदा लिनसक्ने अनुमान गरिएको थियो, तर अहिले परिस्थिति फरक भइसकेको छ ।

    ब्रेक्जिट र ट्रम्प दुबै विषय अहिले ओझेलमा परेकाले विल्डर्सको दलले प्रधानमन्त्री रुटलाई विस्थापित गर्ने सम्भावना कमजोर भएको छ ।

    “अहिलेकै सरकार लोकप्रिय छ, र प्रधानमन्त्री रुटको लोकप्रियता घटेको छैन,” विल्डर्सले एएफपीसँगको अन्तर्वार्तामा स्वीकार गरे ।

  • म्यानमार कू : सेनाको गोलीले एकैदिन २१ को मृत्यु, थप जिल्लामा प्रतिबन्ध विस्तार

    म्यानमार कू : सेनाको गोलीले एकैदिन २१ को मृत्यु, थप जिल्लामा प्रतिबन्ध विस्तार

    सैनिक कूविरुद्ध म्यानमारमा चर्किएको प्रदर्शनमा आइतबार याङ्गुनमा एकैदिन २१ जनाको मृत्यु भएको छ । सेनाले थप जिल्लामा सैनिक कानुन लागु गर्दै प्रतिबन्ध विस्तार गरेको छ ।

    पक्राउ गरिएकी नेतृ आङ साङ सू चीलाई अदालतमा उपस्थित गराउनु एकदिन अघि यो रक्तपातपूर्ण घटना भएको हो । सू चीलाई भ्रष्टाचार लगायतका आरोपमा सेनाले मुद्दा चलाएको छ ।

    नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ सू चीलाई रिहाइका लागि प्रदर्शन भैरहेको हो । गत नोभेम्बरमा यो दलले बहुमत प्राप्त गरेको थियो । फेब्रुअरी १ मा कू गरेलगत्तै उनलाई अज्ञात स्थलमा राखिएको छ ।

    सेनाले आइतबार याङ्गुनका दुई जिल्लामा सैनिक कानुन लागु गरेको थियो भने केही चिनियाँ व्यापारिक अखडामा आक्रमण भएपछि भने सैनिक कानुनलाई विस्तार गरिएको हो ।

    प्रदर्शनकारीले म्यानमारको सेनाको पछाडि चिनियाँ समर्थन रहेको आशंका गर्छन् तर सप्ताहन्तमा भएका आक्रमणमा कसको संलग्नता थियो भन्ने खुलेको छैन । गत आइतबारको घटनालाई फेब्रुअरीमा कू भए यताको सबैभन्दा हिंसात्मक भनिएको छ ।

     

  • चीनद्वारा हङकङमाथि नियन्त्रण गर्न निर्वाचन व्यवस्थामा परिवर्तन

    चीनद्वारा हङकङमाथि नियन्त्रण गर्न निर्वाचन व्यवस्थामा परिवर्तन

    हङकङ- चीन सरकारले चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णय पारित गरेको जानकारी दिएको छ ।

    बेइजिङमा गरिएको पत्रकार सम्मेलनमा चीनका विदेशमन्त्री वाङ यीले हङकङ निर्वाचन व्यवस्थाको सुधार विभिन्न पक्षका लागि फाइदाजनक हुने धारणा राखेका हुन् ।

    उनले भने, “निर्वाचनको सुरक्षाबाट देशको सुरक्षा गर्नु विश्वको सामान्य नियम हो । विश्वभरि कुनै देशले आफ्नो क्षेत्रीय निर्वाचनलाई स्वदेशको सुरक्षामाथि खतरा उत्पन्न गर्ने वातावरणलाई स्वीकार्न सक्दैन ।”

    विदेशमन्त्री वाङले भने- हङकङमा कानुन संशोधन घटनाबाट सामाजिक अशान्तिसम्म बनेको छ । जसबाट हेर्दा हाल हङकङको मुख्य समस्याको कानुन उलङ्घन गर्ने र जथाभावी हिंसा मच्चाउने पक्षलाई कानुनी दायरामा ल्याउने हो । यस विषयमा चिनियाँ केन्द्रीय सरकारले छुट दिँदैन ।”

    उनले सरकारको निर्णयबाट चिनियाँ नागरिक सन्तुष्ट भएको बताए ।

    गत वर्ष हङकङ सुरक्षा कानुनको निश्चितता तथा कार्यान्वयन सँगै चीनविरोधी तथा हङकङलाई अराजक पार्ने शक्तिलाई नियन्त्रण गरेर हङकङ मामिलामाथि बाह्य शक्तिको हस्तक्षेप पनि निषेध गरिएको छ ।

    हङकङको समृद्धि तथा स्थिरता चीनको हित मात्र नभई अन्तर्राष्ट्रिय जगतको हितसँग पनि अनुकुल रहेको चिनिया अधिकारीहरूको दावी रहेको छ । उनीहरूले राजनीतिक वातावरणमैत्री र समाज स्थिर भएको हङकङ अझ सुन्दर हुने धारणा राख्दै आएका छन् ।

  • अमेरिकाले म्यानमारका नागरिकलाई आफ्नो देशमा बस्न अनुमति दिने

    अमेरिकाले म्यानमारका नागरिकलाई आफ्नो देशमा बस्न अनुमति दिने

    वासिङ्टन- अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।

    म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

    “सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने ।

    सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उनले जानकारी दिए ।

    “म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यान्मार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,” उनले भने । यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए ।

    म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् ।

    डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी गिरफ्तार भएका छन् तर आन्दोलन जारी छ ।

  • अस्ट्रेलियाले जुलाईदेखि हवाई उडान खोल्न तयारी गर्दै

    अस्ट्रेलियाले जुलाईदेखि हवाई उडान खोल्न तयारी गर्दै

    सिड्नी- अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिंगापुरसँग हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ । कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान र यात्रामाथि कडाई गरेको छ ।

    अस्ट्रेलियाली अधिकारीहरुले पर्यटन र यात्रामा सहजीकरण गर्न सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताएका छन् ।अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर-अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ ।

    अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।

    उनले एबिसी टेलिभिजनसँग कुरा गर्दै कोरोनाभाइरसको खोप लगाउन शुरु भएको अवस्थामा अस्ट्रेलियाले अन्य मुलुकसँगको यात्रा पनि खुला हुँदै जाने बताए ।

    अस्ट्रेलियाली अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार यो सम्झौता बमोजिम खोप लगाएका सिंगापुरे र अस्ट्रेलियाली नागरिकलाई एकअर्का देशमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गर्न लागिएको छ ।

    उक्त अखबारले तेस्रो मुलुकका व्यक्तिहरु जस्तै अन्तर्राष्ट्रिय विद्यार्थी, व्यावसायिक यात्रु र स्वदेश फर्कन चाहने नागरिकले अस्ट्रेलियाका लागि उड्नु अघि सिंगापुरमा दुई साताको क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान समेटिएको जनाएको छ ।

    तर अस्ट्रेलिया समेतका कतिपय मुलुकका लागि सीमा खोलिसकेको सिंगापुरले आफूले क्वारेन्टिन केन्द्र वा खोप केन्द्रको अवधारणाका विषयमा छलफल नगरेको स्पष्ट गरेको छ ।

    सिंगापुरको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सिंगापुरले खोप प्रमाणपत्रलाई दुबै देशले मान्यता दिने बारेमा जोड दिएको जनाएको छ । विज्ञप्तिमा विद्यार्थी र व्यावसायिक यात्रुलाई उच्च प्राथमिकता दिन पनि अस्ट्रेलिया समक्ष सिंगापुरले आग्रह गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “हामीले बिना क्वारेन्टिन सिंगापुर र अस्ट्रेलियाका नागरिकलाई एकअर्का मुलुकको भ्रमण खुला गर्ने बारेमा छलफल गरेका छौं ।”

    अस्ट्रेलियामा १४ दिने अनिवार्य क्वारेन्टिनका कारण दशौं हजार अस्ट्रेलियाली नागरिक विदेशमै अलपत्र परेका छन् । पर्यटन क्षेत्रबाट अस्ट्रेलियाले वार्षिक करिब ३५ अर्ब डलर आर्जन गर्ने गरेको छ, तर एक वर्षदेखि हवाई उडान रोकिएपछि यो क्षेत्र ठूलो सङ्कटमा छ ।

    अस्ट्रेलियाले न्यूजील्यान्डसँग एकतर्फी हवाई उडान शुरु गरेको छ जहाँ न्यूजील्यान्डका नागरिकले बिना क्वारेन्टिन अस्ट्रेलियाको भ्रमण गर्न पाउँछन् । तर भाइरस देखिनासाथ यो व्यवस्था पटकपटक स्थगित हुँदै खुल्दै गर्ने गरेको छ ।

  • चार शक्ति राष्ट्रबीच इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षाबारे छलफल, १ बिलियन डोज खोप वितरण गरिने

    चार शक्ति राष्ट्रबीच इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षाबारे छलफल, १ बिलियन डोज खोप वितरण गरिने

    काठमाडौं- क्वाड भनिने चार शक्ति राष्ट्र अमेरिका, भारत, अष्ट्रेलिया र जापानका सरकार प्रमुखबीच भर्चुअल छलफल भएको छ ।

    इन्डो-प्यासेफिक क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वबारे अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री यासिहिदे सुगाबीच छलफल भएको हो ।

    भर्चुअल छलफललाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले क्षेत्रीय सुरक्षाका लागि क्वाड महत्वपूर्ण फोरम रहेको बताए । चारै नेताबीच चीनको सक्रियता र प्रभावविरुद्ध लड्ने कुरामा सहमति जुटेको बताइएको छ ।

    छलफलपछि चारै नेताले जारी गरेको संयुक्त वक्तव्यमा पनि कोभिड–१९ र क्षेत्रीय स्थायित्वका लागि एकजुट हुने उल्लेख छ । छलफलमा भारत र चीनपछि भएको पछिल्लो सीमा विवाद र झडपबारे पनि चर्चा भएको थियो ।

    छलफलपछि ट्वीट गर्दै जापानी प्रधानमन्त्री सुगाले आफूले वार्तामा खुला इन्डो-प्यासेफिक क्षेत्रको बारेमा प्रस्ताव गरेको उल्लेख गरेका छन् । साथै, उनले म्यानमार हिंसा र त्यहाँ चीनको भूमिकाबारे पनि छलफल भएको जनाएका छन् ।

    भारतीय विदेश सचिव हर्षवद्र्धनले समकालिन राजनीतिका विविध विषयमा क्वाड बैठकमा छलफल भएको जनाए । अमेरिकी राष्ट्रपति बाइडेनले खुला र स्वतन्त्र इन्डो-प्यासेफिक भविष्य हुने बताए । उनले सबै मुद्दामा अमेरिकाको चासो रहेको उल्लेख गरे ।

    उक्त अवसरमा आसियन पनि वार्ताको केन्द्रमा रह्यो । महामारीपछिको पुनर्उत्थान, वितरण प्रणाली र सामुन्द्रिक सुरक्षा पनि छलफल भएको जनाइएको छ ।

    चारै नेताले इन्डो–प्यासेफिक क्षेत्रमा कोभिडविरुद्धको खोपको पहुँच र वितरणको प्रभावकारिताका लागि क्वाड भ्याक्सिन इनिसिएटिभ कार्यक्रम पनि सुरुआत गरेका छन् । क्वाड कार्यक्रमअन्तर्गत इन्डो-प्यासेफिक क्षेत्रमा सन् २०२२ सम्म १ बिलियन डोज खोप वितरण गर्ने सहमति जुटेको छ ।

    क्वाड समूहका चारै नेताले आगामी जुनमा लन्डनमा हुने जी-सेभेन सम्मेलनको साइड लाइनमा पनि वार्ता गर्ने भएका छन् ।

  • ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

    ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

    माउन्ट आबु– प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उनको उपचार भइरहेको थियो । ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेबारी सम्हाल्दै आएकी थिइन् ।

    उनको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ । त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन् । उनको अन्त्येष्टि भने श्रद्धाञ्जली दिएको भोलिपल्ट यही मार्च १३ तारिखमा मात्रै गरिने योजना बनाइएको छ ।

  • द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

    द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

    संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा द्वन्द्व रोक्ने कामका लागि अधिकतम प्रयास गर्न विश्वका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

    राष्ट्रसंघीय अधिकार तथा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई उनले सो आग्रह गरेका हुन् । उनले भने- ‘विश्वमा द्वन्द्व कम गर्ने मात्र होइन यसलाई रोक्ने या स्थगित गर्नेतर्फ कार्यक्रमहरु केन्द्रित गर्नुपर्दछ, त्यसका लागि विश्वका सबै सदस्य राष्ट्रहरुको सक्रिय रुपमा सहयोग आवश्यक छ ।

    महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई भिडियो कन्फ्ररेन्सिङको सहायताले सम्बोधन गर्दै यसका लागि परराष्ट्र लगायतका आफ्ना नीतिहरु पनि आवश्यक रुपमा अवलम्बन गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।

    सो सम्बोधनका क्रममा उनले भनेका थिए- म सबै सदस्य राष्ट्रहरुसँग यो आग्रह गर्न चाहन्छु कि विश्वमा द्वन्द्व रोक्ने अर्थात यसको प्रभाव कम गर्ने खालका उपाय र नीतिहरुको खोजी गर्ने होइन कि द्वन्द्वको अवस्था आउनै नदिने र आए पनि त्यसलाई निर्मूल पार्नेगरी नीति नियमहरु बनाउनु आवश्यक छ ।’’

    विश्वमा अहिले नागरिकहरुले विभिन्न प्रकारका द्वन्द्वहरु र त्यसबाट सिर्जित हिंसा खेपिरहेका छन् भन्दै महासचिव गुटेरेसले यस्ता कैयौँ प्रकारका द्वन्द्व तथा हिंसाहरुलाई झन् बढाउने काममा कोभिड १९को महामारीले इन्धनको काम गरेको बताए ।

    त्यसैले पनि यस्ता द्वन्द्वहरुको कारण खोजेर तिनलाई निर्मूल गर्नेगरी काम गर्नुपर्ने उनले बताए । महासचिव गुटेरेसले यस कार्यका लागि सहजीकरण गर्न राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई निर्देशन पनि दिएका थिए ।

  • अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता हुने

    अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता हुने

    वासिङ्टन- वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो ।

    विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुबै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो ।

    ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ट कुटनीतिक पदाधिकारीहरु स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही मार्च १८ मा भेटघाट गर्नुहुने जनाएका छन् ।

    कङ्ग्रेसको बैठकमा बुधबार पहिलो पटक उपस्थित विदेश मन्त्री ब्लिन्केनले सांसदहरुलाई तिब्बत, हङकङ र पश्चिम सिनजियाङ क्षेत्रको मानव अधिकार तथा व्यापारका साथै कोरोनाभाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताएका छन् ।

    साथै उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।

    सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै विदेशमन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडेन प्रशासनको दृष्टिकोणका बारेमा पनि जानकारी गराएका थिए । उनले यी जल्दाबल्दा अन्तर्राष्ट्रिय तथा अमेरिकी चासोका विषयमा कङ्ग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैं तत्पर रहने बताए ।

    अलास्कामा चिनियाँ अधिकारीहरुसँगको भेटवार्ता अघि विदेश मन्त्री ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीहरुसँग टोकियो र सियोलमा भेटवार्ता गर्नेछन् । यी भेटवार्तामा अमेरिका र जापान-दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ ।

    राष्ट्रपति जो बाइडेनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीहरुसँग हिन्द-प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दै छन् । कङ्ग्रेसको विदेश मामिला समितिमा विदेश मन्त्री ब्लिन्केनले भने- “कुरा एकदमै सरल छ । यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रुपमा उनीहरु समक्ष राख्नेछौं ।”

    ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले यसअघि नै चिनियाँ अधिकारीहरुसँग हाम्रा गहिरो असहमति समेत विविध विषयमा छलफल हुने बताइसकेकी छिन् । अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प रहँदा अमेरिका र चीनबीचको सम्बन्ध निकै नाजूक स्थितिमा पुगेको थियो ।

    ट्रम्प प्रशासनले चीनमाथि उइगुर मुस्लिम, सिनजियाङका अल्पसंख्यक र तिब्बत मामिलामा बहुआयामिक कारबाहीहरु गरेको थियो भने हङकङ, ताइवान र दक्षिण चीन सागरमाथि चीनको हस्तक्षेपलाई लिएर चीनमाथि दबाब दिएको थियो ।

  • अमेरिकी संसदद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

    अमेरिकी संसदद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

    वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस)ले अनुमोदन गरेको छ ।

    राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन् ।

    बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कङ्ग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कङ्ग्रेसमा भएको मतदानमा २२०/२११ मत खसेको थियो । अर्थात् कङ्ग्रेसमा बहुमतमा रहेका डेमोक्रेट सदस्यहरुले विधेयकको पक्षमा मतदान गरेका भए पनि रिपब्लीकन पार्टीले विपक्षमा मतदान गरेको थियो ।

    यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिन अघि बहुमतका आधारमा पारित गरिसकेको छ । अमेरिकी श्रमिकको प्रतिघण्टा पारिश्रमिक १५ डलर पुर्‍याउने प्रस्तावलाई विधेयकबाट हटाइए पनि सिनेटमा रिपब्लीकन पार्टीका सदस्यहरुले विधेयकको विपक्षमा मतदान गरेका थिए ।

    कङ्ग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति बाइडेनले ट्वीट गर्दै कङ्ग्रेसलाई धन्यवाद दिएका थिए । उनले विधेयकमा यही शुक्रबार हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउने छ ।

    प्रस्तावित विधेयकमा निकै महत्वपूर्ण मानिएको विषय हो अधिकांश अमेरिकी नागरिकलाई एक हजार ४०० डलर उपलब्ध गराउने । यसबाहेक हरेक साता ३०० डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ । तर यो विधेयकले त्यतिमात्र कुरा समेटेको छैन ।

    यो विधेयकले डेमोक्रेटले चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुबै समेटेको छ । अमेरिकामा कोरोनाभाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको बाइडेनको ठहर छ । यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको बाइडेनले बताउँदै आएका छन् ।

    संयुक्तराज्य अमेरिकामा कोभिड-१९ को संक्रमणबाट पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

    अमेरिकी कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले पनि कोरोनाभाइरस महामारीका कारण देशका सामुन्ने उत्पन्न समस्या सम्बोधन गर्न सरकार र संसद एकै ठाउँमा आएकामा आभार व्यक्त गरेकी छिन् । 

    बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड-१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिएको छ ।

    देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लीकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन् ।

    करिब ६२८ पृष्ठ लामो यो विधेयकले खासगरी न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारको प्रयत्न समेटेको छ । बालबच्चा, बालस्याहार र पारिवारिक विदा बस्दा करछुट दिने समयावधि अहिले बढाइएको छ, र कतिपय डेमोक्रेट सदस्यहरु यो व्यवस्थालाई स्थायी रुपमै उपलब्ध गराउन प्रयासरत छन् ।

    प्रत्यक्ष भुक्तानी र बेरोजगार भत्ताका अलावा यस विधेयकले कोभिड-१९ को खोप र उपचार, स्कुल, राज्य र स्थानीय सरकार तथा विमानसेवादेखि कन्सर्ट हलसम्मका संकटग्रस्त उद्योग, व्यवसायका लागि अर्बौं डलरको व्यवस्था गरिएको छ ।

    साथै किसानहरुलाई राहत, निवृत्तीभरण प्रणाली र विद्यार्थी ऋण तथा स्वास्थ्य बीमा खरिद गर्नेहरुका लागि अनुदान तथा थोरै आर्जन गर्नेहरुका लागि मेडिकेड खरिद गर्न राज्यहरुलाई रकम उपलब्ध गराउने प्रावधान नयाँ विधेयकमा छ ।

    तर यी निकै राम्रा प्रावधानहरु प्रस्तावित राहत प्याकेजमा समेटिए पनि रिपब्लीकनहरु त्यति खुशी छैनन् । उनीहरुको भनाईमा अतिरिक्त खर्चले राष्ट्रमाथि अतिरिक्त बोझ सिर्जना गर्नेछ । यद्यपी राष्ट्रव्यापी जनमत सर्वेक्षणहरुले बाइडेनको राहत प्याकेजलाई डेमोक्रेट र स्वतन्त्र व्यक्तिसहित कैयौं रिपब्लीकनले समर्थन गरेको देखाएको छ ।

  • चीन र रुसले चन्द्रमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने

    चीन र रुसले चन्द्रमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने

    बीबीसी । चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन निर्माण गर्ने घोषणा गरेका छन् ।

    रुसको अन्तरिक्ष नियोग रसकसमसका अनुसार उसले चिनियाँ अन्तरिक्ष नियोग नेसनल स्पेस एडमिनिस्ट्रेसनसँग अनुसन्धानको विकास गर्ने उद्देश्यले चन्द्रमाको सतह र कक्षमा स्टेसन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।

    दुबै मुलुकका नियोगले जारी गरेको वक्तव्यमा उक्त केन्द्रमा अन्य मुलुकले पनि अनुसन्धान लगायतका काम गर्न पाउनेछन् । चन्द्रमामा मानवसहितको यान पुगेको ६० औं वर्षगाँठको छेकोमा रुसले यस्तो तयारी गरेको हो ।

    उक्त अन्तराष्ट्रिय लुनार स्टेसनमा चन्द्रमाको उत्खनन र प्रयोगको वैज्ञानिक अनुसन्धान गर्नको लागि काम हुने ती नियोगले जनाएका छन् । ‘चीन र रुसले आफ्नो अनुभवलाई अन्तरिक्ष विज्ञान, अनुसन्धान र विकास, अन्तरिक्ष उपकरण एवं प्रविधिको संयुक्त मार्गचित्र बनाउनको लागि प्रयोग गर्नेछन्’ चिनियाँ भाषामा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

    चिनियाँ अन्तरिक्ष कार्यक्रमका विशेषज्ञ चेन लानले यो सहमतिलाई ठूलो सम्झौता भएको बताए । ‘यो चीनका लागि सर्वाधिक ठूलो अन्तरिक्ष कार्यक्रम हुनेछ’ उनले भने, ‘त्यसैले यो महत्वपूर्ण छ ।’

    अमेरिकाले भने सन् २०२४ मा चन्द्रमामा मानवसहितको यान पठाउने आर्टेमिज कार्यक्रम कार्यान्वयन गर्ने तयारी गर्दैछ ।

  • बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

    बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

    वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्ने भएका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।

    भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ ।

    ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो-प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लागेको बताइन् ।

    चीनसँगको बढ्दो तनाबकै बीच “क्वीड” का नामले चिनिने इन्डो–प्यासिफिकका प्रमुख मुलुकहरुबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ ।

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडेनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोजेको आफूलाई विश्वास लागेको बताए ।

    “यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो र यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ,” प्रधानमन्त्री मरिसनले संवाददातहरुसँग भने ।

    प्रेस सचिव साकी र भारत दुबैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गरेकी थिइन् ।

    भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरुले क्षेत्रीय र विश्व मामिलाका केही प्रमुख विषयहरुमा छलफल गर्नु हुनेछ, र एउटा स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्र निर्माण गर्नेतर्फ सहयोगका व्यवहारिक क्षेत्रहरुका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।”

    जापानी प्रधानमन्त्री योशिहिदे सुगा समेत सहभागी हुनुहुने यस बैठकमा सामुद्रिक सुरक्षा प्रबद्र्धनका विषयमा पनि कुराकानी हुनेछ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा एसियाली मुलुकमा कोभिड–१९ विरुद्ध लड्न सुरक्षित, समतामूलक र कम खर्चिलो खोपलाई सुनिश्चित गर्ने बारेमा पनि छलफल हुने उल्लेख गरिएको छ ।

    जापानी प्रधानमन्त्री सुगाले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अलग्गै टेलिफोन सम्वाद गरेका थिए । उनीहरुबीच पूर्वी तथा दक्षिण चीन सागरका सम्बन्धमा यसअघिका समझदारीलाई चीनले उल्ट्याउन खोजेको विषयमा कुराकानी भएको थियो ।

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले संवाददाताहरुसँग कुरा गर्दै विश्वका जल्दाबल्दा समस्या सुल्झाउन क्वीड गठबन्धन सक्षम रहेको बताएका छन् । गत फेब्रुअरी १८ मा क्वीड गठबन्धन मुलुकका विदेश मन्त्रीहरुको बैठकले म्यान्मारमा सेनाले सत्ता लिएकामा आपत्ति जनाएको थियो ।

    बैठकमा अमेरिकी अधिकारीहरुले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । हाल जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध रहेको छ । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो ।

  • बुहारीको सनसनी बयानले बेलायतको राजसंस्था ‘उदांगो’

    बुहारीको सनसनी बयानले बेलायतको राजसंस्था ‘उदांगो’

    काठमाडौं- पब्लिक फिगरको व्यक्तिगत जीवन हुन्छ या हुँदैन ? ‘सेलेव्रिटी लाइफ’ श्यामश्वेत हुन्छ या रंगीन ? सार्वजनिक संस्था वा व्यक्तिको गोपनीयताको लक्ष्मणरेखा कहाँनेर कोरिएको हुन्छ ?

    यी बारम्बार बहसमा आइरहने प्रश्नहरु हुन् । बेलायती राजपरिवारकी बुहारी मेगन मर्केलको एउटा ताजा अन्तर्वार्ताले फेरि यी प्रश्नहरुलाई सतहमा ल्याइदिएको छ । अमेरिकी टेलिभिजनकर्मी ओफ्रा विन्फ्रेसँगको उक्त ‘विस्फोटक’ अन्तर्वार्ताको चर्चा बेलायतमा मात्रै सीमित नरहेर विश्वव्यापी नै बनिरहेको छ । मर्केलले दिएका अभिव्यक्तिले बेलायती राजपरिवारभित्रका धेरै रहस्य एकसाथ उद्घाटित गरेको छ ।

    अमेरिकाको सीभीएस टीभीमा प्रसारित दुई घन्टा लामो अन्तर्वार्तामा मेगन र उनका पति ह्यारीले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका थिए । बकिङ्घम प्यालेसले हिजो राति एक विज्ञप्ति जारी गर्दै ह्यारी र मर्केलले उठाएका जातीय प्रश्नहरु गम्भीर रहेको र त्यसलाई पारिवारिकरुपमै समाधान गरिने जनाएको छ । रानीका तर्फबाट जारी वक्तव्यमा ह्यारी, मेगन र उनीहरुको छोराप्रति सधैं माया रहने उल्लेख छ ।

    अन्तर्वार्तामा मर्केलले बोलेको कुरालाई प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले साहसीपूर्ण र महत्वपूर्ण बताएका छन् । ह्वाइट हाउसका प्रवक्तामार्फत उनले मानसिक स्वास्थ्यका विषयमा मर्केलले बोलेका कुरा साहसीपूर्ण भएको भन्दै यसको छानबिन गर्नुपर्नेसमेत माग गरेका छन् । अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसबाट बेलायती दरबारमाथि यसरी पहिलोपटक टिप्पणी भएको र त्यसले बेलायती दरबारको मर्यादामाथि दबाब परेको विश्लेषण अन्तर्राष्ट्रिय संचारमाध्यमको छ ।

    टेनिस खेलाडी सेरेना विलियम्स, टेलिभिजनकर्मी पायर्स मोर्गन लगायतका ठूला सेलेव्रिटीले समेत मेगनको पक्षमा बोल्दै आरोपको छानबिन गर्न माग गरेका छन् । बेलायती अखबार भने मर्केलको अभिव्यक्तिलाई लिएर विभाजित छन् ।

    ह्यारी र मर्केलले के बोले ?
    प्रिन्स ह्यारी र उनकी पत्नी मर्केलले खासमा ११ वटा महत्वपूर्ण कुरा रहस्योद्घाटन गरेका थिए । उनीहरुका अभिव्यक्तिले बेलायती राजसंस्थामाथि अनेक प्रश्न उब्जेका छन् ।

    सबैभन्दा विवादास्पद भनेको विषय चाहिं ‘वर्णविभेद’ सम्बन्धी हो । आफू गर्भवती हुँदा गर्भमा भएको बच्चा कति अश्वेत हुन्छ ? भन्ने चिन्ता र कुराकानी दरबारभित्र हुने गरेको उनले बताएकी छन् । उक्त कुरा आफ्ना पति ह्यारीसँग भएको र ह्यारीले आफूलाई बताएको मर्केलले सुनाइन् । तर, त्यो कुरा कसले गर्‍यो भन्ने बताउन उनीहरु मानिरहेका छैनन् ।

    ‘त्यो बेला यो अप्ठेरो कुरा थियो, म आफैं छक्क परें’ अन्तर्वार्तामा ह्यारीले भनेका छन् ।

    राजपरिवारभित्र छिरेपछि आफूलाई एक्लो महसूस भएको र स्वतन्त्रता गुमाएको मेगनको भनाइ छ । उनले मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताइन् । राष्ट्रपति बाइडेनको टिप्पणी यसैमा हो ।

    अर्को टिप्पणी राजकुमारी केट विन्सलेटसँग मेगनको सम्बन्धलाई लिएर भएको छ । केही वर्षअघिको समाचारमा केटलाई मेगनले बिहेको तयारीको विषयलाई लिएर रुवाएको उल्लेख थियो । मेगनले यसलाई गलत भनेकी छिन् । बिहेमा फूल बोक्ने बालिकाहरुको पोशाकलाई लिएर केट खुशी नभएको र यसले आफूलाई रुवाएको उनको भनाइ थियो । यो समयमा केट र मेगनबीचको सम्बन्ध ब्रिगिएको कुरा बेलायती मिडियाले लेखेका थिए ।

    अर्को मुख्य कुरा मानसिक स्वास्थ्य र आत्महत्याको सोच सम्बन्धी हो । राजपरिवारभित्र छिरेपछि आफूलाई एक्लो महसूस भएको र स्वतन्त्रता गुमाएको मेगनको भनाइ छ । उनले मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताइन् । राष्ट्रपति बाइडेनको टिप्पणी यसैमा हो ।

    ‘मैले परिवारमा आफूलाई सहयोग चाहिएको कुरा बताएँ । यसअघि यस्तो कहिल्यै भएको थिएन । कतै जानुपर्ने बताएँ तर जान दिन नसकिने जवाफ पाएँ । यो कुराले परिवारलाई राम्रो नहुने बताइयो’ मेगनले दरबारभित्र स्वतन्त्रता कुण्ठित भएको बारे बताइन् ।

    मेगनले आफ्नो पीडा बताउने कोही साथी नमिलेको समेत उल्लेख गरिन् । पीडा बताउनका लागि आफ्नी दिवंगत सासू राजकुमारी डायनाकी साथी भेटेको र उनलाई यसबारे बताएको जानकारी उनले दिएकी छिन् ।

    ‘मैले यी कुरा भनेको व्यक्तिसँग अहिले पनि म साथी छु, उनी मेरा श्रीमान्को आमाकी मिल्ने साथीमध्ये एक हुन्’ मेगनले भनेकी छिन् ।

    अन्तर्वार्ताकार ओफ्रा विन्फ्रेले ह्यारीलाई परिवारका अन्य सदस्यहरु विशेषगरी बुवा प्रिन्स अफ वेल्स र दाजु ड्युक अफ केम्ब्रिजसँगको सम्बन्धबारे सोधेकी थिइन् । राजकीय भूमिकाबाट आफू अलग भएपछि एक समय बुवा चार्ल्सले आफ्नो फोन पनि उठाउन छाडेको ह्यारीले बताएका थिए ।

    ‘मलाई निकै दुःख लाग्यो किनभने उनी यस्तै समयबाट गुज्रिएका थिए र यसको पीडा उनलाई थाहा छ’ ह्यारीले भनेका थिए, ‘तर, म उनलाई सधैं माया गर्नेछु । हामीबीच निकै पीडा बाँडिए र मेरो प्राथमिकता भनेको सम्बन्ध सुधार्नु नै छ ।’

    ह्यारीले आफ्नी हजुरआमा अर्थात् महारानीसँग राम्रो सम्बन्ध रहेको बताए । गत वर्ष र त्यसअघि भन्दा धेरैपटक नियमित कुराकानी हुने गरेको उनले जानकारी दिए ।

    ‘उहाँ मेरी प्रमुख संरक्षक हुनुहुन्छ, होइन र ? सधैं त्यसैगरी रहिरहनुहुनेछ’ ह्यारीले भने । मेगनले पनि महारानीको प्रशंसा गर्दै पहिलो कार्यक्रममा राम्रो गरगहना दिएको उल्लेख गरिन् ।

    ह्यारीले आफ्नो आर्थिक सहयोग काटिएको खुलासासमेत गरेका छन् । सन् २०२० को पहिलो त्रैमासिकमा परिवारले आफूलाई आर्थिक सहयोग दिन रोकेको उनले सुनाए । नेटफिल्क्स र स्पटीफाइसँग एउटा कार्यक्रम बनाउन सहयोग माग्दा नपाएको उनको भनाइ छ ।

    ‘तर, मैले आमाले मलाई छाडेको सम्पत्ति पाएँ, त्यो नभएको भए हामीले यो सबै गर्न सक्ने थिएनौं’ ह्यारीले अन्तर्वार्तामा भनेका छन् । अमेरिकी अर्बपति टेलर पेरीले क्यानडाबाट क्यालिफोर्निया सर्दा घर र सुरक्षा खर्च समेत दिएको उनले बताए ।

    मेगनका अनुसार उनले ह्यारीलाई आफूमा आत्महत्याको सोच आउन थालेको बताएको साँझ उनीहरुले रोयल अल्बर्ट हलमा आयोजित एक कार्यक्रममा भाग लिनुपर्ने थियो । उक्त दिनको तस्विरले आफूलाई सोही सोचको याद दिलाउने उनले बताइन् ।

    आफ्ना एक साथीले गर्दा त्यो तस्विर राम्रो भएको बताउँदै मेगनले सम्झिइन्, ‘त्यो तस्विरमा राम्रोसँग हेर्नुभयो भने उनले कति कडासँग मुठ्ठी समातेका थिए भन्ने देखिन्छ ।’ आत्महत्याको सोचलाई यो दृष्टिकोणले सघाएको मर्गेलको भनाइ छ ।

    राजपरिवारबारे मेगनको अनभिज्ञता पनि देखिन्छ । अन्तर्वार्तामा मेगनले पहिलोपटक महारानी भेटेको स्मरण गर्दै राजपरिवारभित्र घुँडा खुम्चाएर अभिवादन गर्नु सामान्य चलन रहेको थाहै नभएको बताइन् । राजपरिवारमा जानुअघि कहिल्यै अध्ययन नगरेको र आफ्ना पति ह्यारीका बारे अनलाइनमा कहिल्यै नहेरेको उनको भनाइ छ ।

    छोरा आर्चीको स्वभावबारे पनि मेगन र ह्यारीले खुलासा गरेका छन् । आउँदो ग्रीष्म ऋतु (असार र साउन) मा छोरी जन्माउने उनीहरुले जानकारी दिए । छोरी जन्मेपछि अरु सन्तान नजन्माउने बताउँदै ह्यारीले अरु कुरा आफूलाई नचाहिने अन्तर्वार्तामा बताए । अन्तर्वार्ताको अन्त्यतिर ओफ्राले मेगनलाई ह्यारीसँग खुशी रहेको बारेमा सोधेकी थिइन् । मेगनको जवाफ थियो -अहिलेसम्म पढिएको सबैभन्दा सुखान्त कथाभन्दा पनि खुशी ।’

    मेगन र डायनको तुलना
    मेगनले अन्तर्वार्ताको दौरान पटक-पटक आफ्नी सासू एवं राजकुमार ह्यारीकी आमा डायनाको प्रसंग निकालेकी थिइन् । राजकुमार ह्यारीले पनि आफूहरु राजकीय जीवनबाट पन्छिनुअघि आफ्नी आमा र पत्नीलाई तुलना गर्दै ‘इतिहासको पुनरावृत्ति हुने डर’ आफूलाई लागेको बताए ।

    राजकुमारी डायनालाई प्रख्यात महिला मानिन्थ्यो र उनको वरपर बेलायती मिडियाका पापाराजी घुमिरहन्थे । उनको परोपकारी कार्य र व्यक्तिगत जीवनबारे अखबारमा व्यापकताका साथ खबर छापिन्थ्यो । कतिपय प्रेसले डायनाको आलोचना गर्थे र राजकुमार विलियम र ह्यारीको वरपर उनीहरु स्कुप मार्न घुमिरहन्थे । मिडियाको यो प्रवृत्तिदेखि डायना रुष्ट भएको बताइन्छ ।

    पछिल्लो वर्षमा डायनाले आफ्नो व्यक्तिगत जीवनबारे अन्तर्वार्ता दिइन् र समाचारमा छाउन खोजेको आरोप उनीमाथि लाग्यो । मेगन पनि डायनाकै बाटोमा अघि बढ्न खोजेको भनेर कतिपय बेलायती मिडियाले टिप्पणी गरिरहेका छन् ।

    दरबारसँग सम्बन्ध विच्छेद गरेर क्यानडा जानुअघि मेगन र ह्यारीले खुलेरै बेलायती मिडियासँगको असन्तोष जाहेर गरेका थिए । अब राजपरिवारको सक्रिय सदस्यको रुपमा आफूहरु कहिल्यै बेलायत नफर्कने पनि उनीहरुले जनाएका छन् ।

    डायनाको निधनले पनि ह्यारीलाई संचारमाध्यमप्रतिको आफ्नो दृष्टिकोण राख्न बल मिलेको बताइन्छ । किनभने, आफ्नी आमा डायनालाई पापाराजीले सधैं लखेटिरहेको कुरा उनीहरुलाई थाहा छ । सन् १९९७ को अगस्ट ३१ मा फ्रान्सको राजधानी पेरिसस्थित सडकको सुरुङमार्गमा भएको कार दुर्घटनामा राजकुमारी डायनाको निधन भएको थियो । त्यसबेला ह्यारीको उमेर १२ वर्ष थियो । डायना चढेको कारलाई पापाराजीले पछ्याएको र चालकले मदिरा पिएको बताइन्छ ।

    राजदरबारभित्रका बन्देज
    परम्परागतरुपमै बेलायती राजपरिवारले आफ्ना सदस्यहरुलाई सार्वजनिक हुनबाट रोक्न पर्दा खिच्ने काम गरिरहेको छ । हजारौं सर्वसाधारण सामुन्ने बिहे तथा दाहसंस्कार आयोजना, जन्मदिन र एनिभर्सरीका तस्विर एवं भिडियो सार्वजनिक गर्ने गरेपनि विवाद आउँदा चाहिं दरबारले जहिल्यै तथ्यहरुलाई छोप्ने काम गरिरहेको छ । हुनसक्छ यही कारण, कतिपय बेलायती मिडियाले दरबारले ‘ढोंगीपन’को अन्त्य गर्नुपर्ने मत व्यक्त गरिरहेका छन् । दरबारको पछिल्लो विवाद चाहिं सार्वजनिक र निजी जीवन स्पष्ट नहुँदाको नतिजा भने अवश्य हो ।

    बीबीसीमा जोनी डेमन्ड लेख्छन्, ‘कम्तीमा राजकुमारी डायनाको निधनबाट दरबारले एउटा पाठ सिक्नुपर्थ्याे । दरबारको निजी र सार्वजनिक अन्तरविरोधबाट सिर्जित समस्याकै कारण ह्यारी र मेगनले दरबार छाडेका हुन् । खासगरी, वर्णविभेद र मानसिक स्वास्थ्य बारेका आरोप निकै संवेदनशील छन् र यसको जवाफ दरबारले दिनुपर्छ ।’

    बेलायती मिडियाका अनुसार किङ्स्टन प्यालेस तत्काल यी आरोपहरुको खण्डन गर्ने पक्षमा छैन । अमेरिकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टन खुलेरै मेगन र ह्यारीको पक्षमा उभिएकी छिन् ।

    उनी भन्छिन्, ‘यी आधुनिक युवती आफ्नो शिर निहुर्‍याउने पक्षमा थिइनन्, किनभने, यो सन् २०२१ हो ।’

    बेलायती लेबर दलका नेता केइर स्टारमर मानसिक स्वास्थ्य र वर्णविभेदको मुद्दालाई गम्भीरताका साथ लिनुपर्ने बताउँछन् । प्रधानमन्त्री बोरिस जोन्सनले खुलेर टिप्पणी गरेका त छैनन् तर, राष्ट्रिय एकताका लागि रानीले दिएको योगदानको उच्च मूल्यांकन गरिएको बताएका छन् ।

    बेलायतको निकै पुरानो राजसंस्था आउने शताब्दीहरुमा ‘सर्भाइभ गर्न सक्छ ? यसमाथि विदेशी संचारमाध्यमले बहस छेडिसकेका छन् र यो नयाँपुस्ताका लागि पनि सान्दर्भिक हुनसक्छ ।

    अन्तर्वार्ताका दौरान अन्य केही खुलासा गरिएका छन् । औपचारिक बिहेको तीनदिन अघि नै आफूहरुले बिहे गरेको ह्यारी र मेगनको भनाइ छ । आफ्ना दाजु प्रिन्स र बुवा बेलायती दरबारको प्रणालीभित्र बन्धक भएको आरोप पनि उनको छ । आफूलाई आर्थिक सहयोग कटौती गरेको र दाजुले फोन पनि उठाउन छाडेको ह्यारी बताउँछन् ।

    सीएनएनसहित केही अमेरिकी संचारमाध्यमले २१ औं शताब्दीसँग बेलायती राजसंस्थाको भूमिकामाथि प्रश्न उठाएका छन् । सीएनएनका ल्युक म्यागगीले ह्यारी दम्पती र बेलायती दरबारबीचको सम्बन्धविच्छेदलाई २१ औं शताब्दीको एउटा लोकप्रिय परिवारको ‘ट्रयाजेडी’को रुपमा व्याख्या गरेका छन् । अहिले पनि केही कमनवेल्थ मुलुकको राष्ट्र प्रमुखको रुपमा बेलायती राजसंस्था छ र यो उनीहरुको लागि बेलायतको कूटनीतिक ‘कु’ भएको म्यागगीले उल्लेख गरेका छन् ।

    बेलायतको निकै पुरानो राजसंस्था आउने शताब्दीहरुमा ‘सर्भाइभ गर्न सक्छ ? यसमाथि विदेशी संचारमाध्यमले बहस छेडिसकेका छन् र यो नयाँपुस्ताका लागि पनि सान्दर्भिक हुनसक्छ ।

    (स्रोत : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)

  • ह्यारी–मेगनको ‘नश्लभेदी’ खुलासाले बेलायती राजपरिवारमा हलचल, बकिङ्घम दरबार गम्भीर

    ह्यारी–मेगनको ‘नश्लभेदी’ खुलासाले बेलायती राजपरिवारमा हलचल, बकिङ्घम दरबार गम्भीर

    राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले राजपरिवारभित्र जातीय विभेदको आरोप लगाएपछि बेलायती राजदरबार बकिङ्घम प्यालेसले चिन्ता व्यक्त गर्दै निजी रुपमा यसबारे चर्चा गर्ने जनाएको छ ।

    ह्यारी र मेगनले हालै अमेरिकी पत्रकार ओफ्रा विन्फ्रेलाई दिएको एक अन्तर्वार्तामा राजपरिवारका एक सदस्यले जातीय विभेद गरेको खुलासा गरेका थिए ।

    ‘पूरा राजपरिवार यो सुनेर दुखी छ कि पछिल्लो केही वर्ष ह्यारी र मेगनका लागि कति चुनौतीपूर्ण रहेछ’ बकिङ्घम प्यालेसबाट जारी गरिएको एक वक्तव्यमा भनिएको छ, दुवैले उठाएको विषयहरु खासगरी जातसँग जोडिएका मुद्दा चिन्ताजनक छ । यसलाई निकै गम्भीर रुपमा लिइएको छ र राजपरिवारले यसबारे निजी रुपमा कुराकानी गर्नेछ ।’

    वक्तव्य अनुसार राजपरिवारका सदस्य ह्यारी, मेगन र उनीहरुका छोरा आर्चीलाई उनीहरु धेरै माया गरिरहनेछन् । विन्फ्रेसँग गरिएको अन्तर्वार्तामा मेगनले खुलासा गरेअनुसार उनलाई परिवारका एक सदस्यले सोधेका थिए कि उनको छोराको रंग कति कालो होला ? उनले अन्तर्वार्ताकै क्रममा यो टिप्पणी महारानी र युवराजले भने नगरेको प्रष्ट पारेकी थिइन् ।

    अमेरिकी पूर्व अभिनेत्री मेगन बेलायतको राजपरिवारमा पहिलो मिश्रित जातकी सदस्य हुन् ।

    ह्यारी र मेगनको यस अन्तर्वार्ताको विश्वभर चर्चा भएको थियो र बकिङ्घम प्यालेसमाथि लागेको रंगभेदी आरोपको जवाफ दिन लगातार दबाब बढिरहेको थियो । राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको आपतकालीन बैठकपछि बकिङ्घम दरबारबाट यो वक्तव्य आएको हो ।

    विन्फ्रेसँगको अन्तर्वार्ताका क्रममा ह्यारी र मेगनले राजपरिवारभित्रको जातीय भेदभाव र रंगभेदी व्यवहार, आफ्नो मानसिक स्वास्थ्य र उनीहरुप्रति सञ्चारमाध्यमको व्यवहारबारे कुराकानी गरेका थिए ।

    यता बेलायतका पत्रकार तथा टेलिभिजन प्रस्तोता पियर्स मोर्गनले मेगनका बारेमा गरेको आपत्तिजनक टिप्पणीपछि टेलिभिजन छाड्नुपरेको छ । उनी आईटीभीमा सन् २०१५ देखि ‘गुड मर्निङ ब्रिटेन’नामक कार्यक्रमका संचालक थिए ।

    मार्गनले ट्वीट गरेका थिए, ‘अन्तर्वार्ताका क्रममा मेगनले आफ्नो मानसिक स्वास्थ्य र आत्महत्याको सोचबारे जति पनि कुरा गरिन्, मलाई यसमा कुनै विश्वास छैन ।’

    मोर्गनको यो टिप्पणीलाई लिएर आईटीभीमा ४१ हजार उजुरी र गुनासो आएको थियो । आईटीभीका प्रवक्ताले भनेका छन्, ‘आईटीभीसँगको कुराकानीपछि मोर्गनले कार्यक्रम छाड्ने निर्णय लिएका हुन् र उनको निर्णयलाई हामीले कार्यान्वयन गरेका छौं ।’

    मोर्गन विवादमा परेको यो पहिलोपल्ट भने होइन । यसअघि थुप्रैपल्ट आफ्नो विवादास्पद ट्वीटका कारण उनी आलोचनाको शिकार भएका छन् ।

    राजपरिवारको साथ रहँदाको आफ्नो अनुभवबारे मेगनले भनेकी छन्, ‘सुरुआती दिनहरुमा म निकै नै एक्लो महसूस गर्थेँ । यतिसम्म कि मैले आफ्नो जीवनमा त्यस्तो भोगेकी थिइनँ । थुप्रै नियममा बाँधिएको हुन्थ्यो । म आफ्ना साथीहरुसँग खाना खान बाहिर निस्कन सक्दिनथेँ ।’

    उनले थपेकी छिन्, ‘म ह्यारीको साथमा मात्र खुसी हुन सक्थेँ, कहिलेकाहीँ उनलाई बाहिर जानुपर्थ्यो त्यतिबेला मलाई आधा रातसम्म निद्रा लाग्दैनथ्यो ।’

    मेगनले यसअघि प्रयोग गरेको ‘अनसर्भाइवेवल’ शब्दका बारेमा विन्फ्रेले प्रष्ट पार्न भनेपछि जवाफमा उनले भनिन्, ‘म बाँच्नै चाहन्नथेँ । म यो कुरा ह्यारीलाई भन्न सक्दिनथेँ किनभने उनले जीवनमा धेरै कुरा गुमाएका छन् । यो डरलाग्दो सोच मेरो दिमागमा सधैं चलिरहन्थ्यो ।’

    मेगनलाई सोधियो कि किन उनलाई आत्महत्याको सोच आइरहेको थियो ? ‘किनभने मलाई लागेको थियो कि त्यसपछि सबै कुरा ठीक हुँदै जानेछ’ मेगनले भनिन् ।

    अन्तर्वार्ताका क्रममा ह्यारीले पनि आफ्नो परिवारले जातीय विभेदको विरोध नगरेकोमा निकै दुखी रहेको बताए । उनीहरुले आफ्ना छोरा आर्चीलाई सुरक्षा र राजपरिवारको उपाधि नदिन भएको षड्यन्त्रबारे पनि कुराकानी गरे ।

    मेगनले भनिन्, ‘जुन नियमअनुसार मेरा सन्तानलाई राजकुमार वा राजकुमारीको उपाधि मिल्नुपर्ने थियो, त्यो नियम परिवर्तन गरियो । म गर्भवती भएको समयमा उनीहरुबाट भनियो कि मेरो छोराका लागि यो नियम परिवर्तन भएको हो । मैले सोधे किन ?’

    उनले थपिन्, ‘म गर्भवती भएकै समयमा निश्चित भइसकेको थियो कि मेरो सन्तानले कुनै उपाधि पाउने छैनन् । यही चिन्ताका बारेमा कुराकानी हुन्थ्यो र त्यतिबेलै यस्ता कुरालाई लिएर चिन्ता गरिन्थ्यो कि आर्ची जन्मिंदा उनको रंग कति कालो होला ?’

    गत वर्षको सुरुआतमा ह्यारीले उनी र पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यबाट आफैं अलग हुने घोषणा गरेका थिए र उनी आफैं आर्थिक रुपमा स्वतन्त्रताका लागि काम गर्नेछन् । राजकुमारको यो निर्णयबाट बेलायती राजपरिवारमा ठूलो हलचल मच्चिएको थियो । उनीहरुले आफूहरु उत्तरी अमेरिकामा बस्ने बताएका थिए । केही समय क्यानडामा बसेपछि यो जोडी अहिले अमेरिकामा छ ।

  • चीनद्वारा पञ्चवर्षिय योजना घोषणा : अर्थतन्त्र, प्रविधि र राष्ट्रिय सुरक्षा केन्द्रमा

    चीनद्वारा पञ्चवर्षिय योजना घोषणा : अर्थतन्त्र, प्रविधि र राष्ट्रिय सुरक्षा केन्द्रमा

    बेइजिङ- दोस्रो ठूलो अर्थतन्त्र चीनले पाँचवर्षमा आर्थिक, प्राविधिक र राष्ट्रिय सुरक्षा सुदृढ गर्ने लगायतका पाँचवर्षे योजना घोषणा गरेको छ । ग्लोबल टाइम्सका अनुसार आगामी चुनौतिसँग लड्न यो योजना महत्वपूर्ण हुने उसको भनाइ छ ।

    १० वर्षपछि चीनले पहिलोपटक पञ्चवर्षिय योजना (२०२१/२०२५) सार्वजनिक गरेको हो । तर, उक्त योजनामा कूल गार्हस्थ उत्पादनको यकिन गरिएको छैन । चीनले आगामी दिनमा कोभिड-१९ महामारीपछिको आर्थिक मन्दीबाट उम्कन यी योजना अघि सारिएको जनाइएको छ ।

    यी योजनालाई अहिले समीक्षाका लागि प्रस्ताव गरिएको छ । १९२ च्याप्टर र ७४ हजार चिनियाँ शब्द समेटिएको उक्त पञ्चवर्षिय योजनाको प्रस्तावमा महत्वाकाङ्क्षी विकास लक्ष्यसहितको विस्तृत योजना समावेश गरिएको जनाइएको छ ।

    निश्चित कूल गार्हस्थ उत्पादनको आँकडा सार्वजनिक नगरिएपनि त्यसलाई सन्तुलनमा राख्ने र वर्षेनी खास परिस्थितीअनुसार मिलाइने उल्लेख छ । अघिल्लो १३ औं योजनामा ६.५ प्रतिशतको जीडीपी लक्ष्य राखिएको थियो ।

    १) मुख्य आर्थिक परिसूचकलाई उपयुक्त आकारमा राखिने
    २) अनुसन्धान र विकास खर्चलाई ७ प्रतिशतभन्दा माथि राखिने
    ३) सहरी बेरोजगारीलाई ५ं.५ प्रतिशत रेटमा राखिने
    ४) कूल जनसंख्याको ६५ प्रतिशतलाई सहरी आवासमा रुपान्तरण गरिने
    ५) चिनियाँ नागरिकको आयु १ वर्षले बढाउने
    ६) हरियाली विकासको प्रवद्र्धन गरिने
    ७) बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)को उच्च गुणस्तरको विकासमा जोड दिने
    ८) चीनलाई शान्तिपूर्ण देशको नयाँ उचाइमा लैजाने

  • यमनको आप्रवासी शिविरमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६० पुग्यो

    यमनको आप्रवासी शिविरमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६० पुग्यो

    साना –यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर कम्तीमा पनि ६० पुगेको बताइएको छ ।

    मंगलबार बिहानसम्ममा यो आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या ६० पुगेको यहाँका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् । उनले यस आगगालीमा परेर कम्तीमा पनि ६० जना आप्रवासीको ज्यान गएको मंगलबार बिहान जानकारी गराएका बताइएको छ ।

    त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका कर्मचारी परेको बताइएको छ । कतिपय यहाँ ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका ती सुरक्षा अधिकारीले जानकारी दिए ।

    साथै यस दुर्घटनामा परेर एक सय जना भन्दा बढी घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । सो संगठनले यसमा परेर जलेका र अरु घाइतेहरुलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ ।

    आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारी अनुसार सो आगलागीका कारण धेरै मानिस अझै जलेका छन् र केही भागदौडमा परेर घाइते भएका छन् ।

    उनले मंगलबार पनि आफ्नो ट्वीटरमार्फत् केही घाइतेहरुको अवस्था गम्भीर रहेको पनि जानकारी गराए। आईओएमले विशेषगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

    हिजो नै त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका बताइएको थियो । सोमबार त्यसमा परेर आठ जनाको मात्र मृत्यु भएको बताइएको थियो । त्यसमा परेर ज्यान जानेमा कतिपय नागरिक अवैध रुपमा अफ्रिकाबाट यमन पसेका पनि छन् ।

    उनीहरु त्यहाँ आउनुअघि प्रस्थानसम्बन्धी प्रक्रिया पनि पूरा नगरेको पाइएको पनि एक समाचारमा जनाइएको छ ।

    आगलागीमा परेकामध्ये सोमबार राति र मंगलबार बिहानसम्म ६० जनाको मृत्यु भएको हो । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।

    यमन गएका केही वर्षदेखि हिंसाको चपेटामा परेको छ । यहाँको हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमनका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परिरहेको पनि बताइएको छ ।

  • म्यानमार ‘कू’ : सुरक्षाकर्मीको गोलीले एक नेपालीभाषीको मृत्यु

    म्यानमार ‘कू’ : सुरक्षाकर्मीको गोलीले एक नेपालीभाषीको मृत्यु

    याङ्गुन- सैनिक शासनविरुद्ध म्यानमारमा भएको प्रदर्शनमा सहभागि एक नेपालीभाषीको मृत्यु भएको छ ।

    ४२ वर्षिय नेपालीभाषी सानोभाइ विश्वकर्माको मृत्यु भएको बीबीसीले जनाएको छ । उत्तरी म्यानमारको एक सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँचदिनपछि उनको शव परिवारलाई बुझाइएको छ ।

    पाँचदिनअघि विश्वकर्मालाई सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए । लगत्तै प्रहरी चौकीमा पुगेर म्यानमारस्थित नेपालीले विश्वकर्माको खोजी र सोधपुछ थालेका थिए ।

    सोधखोजमा विश्वकर्मालाई पक्राउ नगरिएको दाबी गरेपनि सुरक्षाकर्मीले पाँचदिनपछि शव परिवारलाई बुझाएका हुन् । उत्तरी सहर सानको मुसे सहरमा झन्डै १०० नेपालीभाषीको बसोबास छ ।

    गत माघ १९ गते म्यानमार सैनिकले जननिर्वाचित सरकार अपदस्थ गरेर सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले म्यानमारमा सैनिक शासन लगाएको छ ।

    सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन् । मुसेमा बसोबास गर्ने नेपालीभाषीले मृतक विश्वकर्माको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।

    झन्डै ५ करोड ४० लाख जनसंख्या भएको म्यानमारमा १ लाख २५ हजार हारहारीमा नेपालीभाषी भएको साझा संस्था अखिल म्यानमारदेशीय गोर्खा हिन्दू धार्मिक संघले बताउँदै आएको छ ।

  • ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    सानफ्रान्सिस्को- विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राखेका छन् ।

    उनको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो । डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ ।

    सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलें,” घोषणा गर्नु भएको थियो । गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार “भ्यालुएबल्स एट सेन्ट” मा एउटा लिंक राखेका थिए । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।

    शनिबार डोर्सीका ट्वीट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्वीट खरिद गर्न इच्छा देखाएका थिए ।

    तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्वीट २५ लाख डलरमा खरिद गर्ने घोषणा गरेका थिए । डोर्सीको उक्त ट्वीट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन् ।

    आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन (एनएफटी)” मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण (टप सट)को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो ।

  • पाकिस्तानी प्रधानमन्त्रीले संसदमा प्राप्त गरे विश्वासको मत

    पाकिस्तानी प्रधानमन्त्रीले संसदमा प्राप्त गरे विश्वासको मत

    इस्लामाबाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । आफ्नो अविश्वास प्रस्तावविरुद्ध शनिबार भएको मतदानमा प्रधानमन्त्री खानले १७८ मत प्राप्त गरे ।

    पीटीआइका अनुसार सभामुख असद क्वाइसरले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । यो जितसँगै खानले पाकिस्तानी संसदमा आफ्नो बहुमत भएको सन्देश दिएका छन् ।

    खानको पार्टीका कार्यकता र समर्थकले उनको समर्थनमा राजधानी इस्लामाबादका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री खानलाई सेनाको समर्थन रहेको जनाइएको थियो ।

    मतदानअघि प्रधानमन्त्री खानले पाकिस्तानी सेनाको जासुसी निकायका प्रमुखलाई भेट गरेका थिए ।

  • पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै

    पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै

    इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज संसदमा अविश्वासको प्रस्तावको सामना गर्दैछन् ।

    पाकिस्तानको संसदमा केहीबेरमा मतदान हुँदैछ । पाकिस्तानी सेनाको जासुसी निकायका प्रमुख जनरल कमार जावेद वाज्दाले सेना खानको पक्षमा रहेको बताएका छन् ।

    उनले मतदान गर्ने सांसदहरुको कडा निगरानी गर्न निर्देशन दिएका छन् । तर, प्रतिपक्षी नेता मारयाम नवाजले चाहिँ सेनाको निर्देशनले जनतामा गलत सन्देश जाने बताएका छन् ।

  • नासाको पर्सिभिअरेन्स रोबर मंगल सतहमा गुड्न थाल्यो

    नासाको पर्सिभिअरेन्स रोबर मंगल सतहमा गुड्न थाल्यो

    काठमाडौं- मंगल ग्रहमा अवतरण गरेको नासाको पर्सिभिअरेन्स रोबर सतहमा गुड्न थालेको छ । रोबरले मंगल सतहमा पहिलोपटक गुडाइको परिक्षण गरेको र सफल भएको नासाले जनाएको छ ।

    पृथ्वीमा पठाइएका केही तस्विरमा रोभरले छोटो दूरीको यात्रा गरेको देखिएको छ । दुई साताअघि एक टन तौल भएको रोबर मंगल सतहमा अवतरण गरेको थियो ।

    दुई सातामा उक्त यानका धेरै प्रणाली सक्रिय भएका छन् । मंगल ग्रहमा हुनसक्ने सम्भावित जीवनको खोजीमा उक्त रोबट सक्रिय हुने बीबीसीले जनाएको छ ।

    उक्त खोजका लागि रोबरले मंगल ग्रहको एक वर्ष (पृथ्वीको झन्डै दुईवर्ष)मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ । रोबरटले ल्यान्ड भएको क्षेत्र जेजेरो क्रेटरमा चट्टान खोतलेर हेर्नेछ ।

  • चीनद्वारा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पहिलो अर्थतन्त्र बन्ने प्रधानमन्त्रीको भनाइ

    चीनद्वारा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पहिलो अर्थतन्त्र बन्ने प्रधानमन्त्रीको भनाइ

    बेइजिङ- चीनले सन् २०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको जनाएको छ । शुक्रबारदेखि बेइजिङको ग्रेट हल अफ दी पिपुलमा सुरु चिनियाँ कम्युनिष्ट पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ली खच्याङले उक्त घोषणा गरे ।

    यो लक्ष्यले कोभिड-१९ महामारीपछि बलियो आर्थिक वृद्धिदर प्राप्त गर्ने दोस्रो ठूलो अर्थतन्त्रको योजनालाई दर्शाएको छ ।

    गतवर्ष चीनको अर्थतन्त्र दशकयताकै सबैभन्दा न्यून २.३ प्रतिशतले वृद्धि भएको थियो । चीनको यो लक्ष्यले सन् २०२० को सुरुआती अवस्थाकै अवस्थामा चिनियाँ अर्थतन्त्रलाई पुनर्उत्थान गर्ने उद्देश्य समेटेको छ ।

    सन् २०२० को दोस्रो चौंथाइँमा मात्र चिनियाँ अर्थतन्त्र उकासिएको थियो र उक्त वर्षमा नाफामूलक आर्थिक वृद्धि गर्नेमा चीन एकमात्र मुलुक थियो ।

  • चिनियाँ कम्युनिष्ट पार्टीको बैठक सुरु, तीन मुख्य एजेन्डा : अर्थतन्त्र, हङकङ र अमेरिका

    चिनियाँ कम्युनिष्ट पार्टीको बैठक सुरु, तीन मुख्य एजेन्डा : अर्थतन्त्र, हङकङ र अमेरिका

    बेइजिङ- चीनले स्वशाषित क्षेत्र हङकङलाई अझै कडाइ गर्ने संकेत दिएको छ । शुक्रबारदेखि बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा सुरु हुने चिनियाँ कम्युनिष्ट पार्टीको वार्षिक सभामा हङकङ मुख्य एजेन्डा छ ।

    चिनियाँ संचारमाध्यमका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको उक्त सभासँग मुख्य तीन एजेन्डा छन् : अर्थतन्त्र, हङकङ र अमेरिकासँगको सम्बन्ध ।

    चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो उक्त भेलामा राष्ट्रपतिले सरकारको प्राथमिकता र निर्देशनलाई लिएर सम्बोधन गर्ने भएका छन् । ३,००० प्रतिनिधि सहभागि हुने उक्त भेलाले चीनको आगामी विश्व एवं घरेलु रणनीति तय गर्नेछ ।

    अर्थतन्त्र मुख्य एजेन्डा
    शुक्रबार चिनियाँ प्रधानमन्त्री लि खच्याङले उद्घाटन समारोहलाई सम्बोधन गर्दैछन् । कोभिड–१९ महामारीको कारण गतवर्ष आर्थिक वृद्धिको लक्ष्य घोषणा गरिएको थिएन । यो सभाबाट चीनले आर्थिक वृद्धि र विश्व अर्थ कुटनीतिका बारेमा केही घोषणा गर्ने अपेक्षा छ ।

    दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र मात्र गतवर्ष नाफामा थियो ।

    हङकङको चुनाव प्रणाली
    बीबीसीका अनुसार सरकारप्रति विश्वासिला र देशभक्ति भावनाले प्रेरितलाई मात्र हङकङ सरकारमा निर्वाचित हुने गरि कानुन परिवर्तन गर्ने अपेक्षा गरिएको छ । यसको अर्थ स्वशाषित थलो हङकङप्रति चीन अझै अनुदार हुने संकेत हो । हङकङका प्रतिपक्षीलाई रोकेर केन्द्रकै नियन्त्रणमा सरकार चलाउने चिनियाँ उद्देश्य देखिन्छ ।

    उक्त भेलाले चुन्ने विधायकी आयोगलाई प्रतिनिधि चुन्ने र निर्वाचित गर्ने अधिकार प्रदान गरिएको छ । उक्त चुनाव कमिटीले सरकारप्रति विश्वासिला मान्छेलाई मात्र चुन्न सक्ने आशंका व्यक्त गरिएको छ । थप ७० विधायक चुन्ने र यसको जिम्मा सरकारद्धारा गठित कमिटीलाई प्रदान गरिएको जनाइएको छ ।

    अमेरिकासँगको सम्बन्ध र सेना
    चिनियाँ कम्युनिष्ट पार्टीको भेला यस्तो समयमा हुँदैछ, जतिबेला चीन–अमेरिका सम्बन्ध सुधारतर्फ अग्रसर छ । अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेला चीनसँग उसको सम्बन्ध तनावपूर्ण थियो । ब्यापार र प्रविधि क्षेत्रमा दबाब कायम राख्दै वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन चीनसँग संवादको वातावरण सुरु गरेका छन् ।

    तर, ताइवान र हङकङको समस्या समाधान गर्न चीनले अमेरिकी समर्थन नखोज्नेजस्तो संकेत दिएको छ । चीनले हालै उसको सामुन्द्रीक क्षेत्रमा हुने विदेशी उपस्थितीलाई प्रतिवाद गर्न आफ्नो जलसेना (कोस्ट गार्ड)लाई अनुमति दिइसकेको छ ।

    साथै, चिनियाँ कम्युनिष्ट पार्टीको भेलाले जलवायु परिवर्तन र अर्थतन्त्रमा केन्द्रित रहेर अन्य निर्णय पनि गर्नसक्ने अपेक्षा गरिएको छ ।

  • इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

    इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

    रोम- इटाली सरकारले कोरोनाभाइरसविरुद्धको खोपलाई अस्ट्रेलिया पठाउन रोकि दिएको छ। एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोप आपूर्तिमा रोक लगाइएपछि व्यापक आलोचना भएको छ ।

    उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ। युरोपेली सङ्घ (ईयू)को नयाँ नियम लागु गर्ने इटाली पहिलो युरोपेली देश बनेको छ।

    सो नियममा कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।

    इटालीको कदममा युरोपेली आयोगको साथ रहेको छ । अस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रलाई उपलब्ध गराउने चरणमा छ।

    उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ। जनवरी महिनामा इटालीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

    खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको पक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।

    अस्ट्रेलियाले गत सातादेखि फाइजर र बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ। अस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो।

    अस्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ। स्वास्थ्यमन्त्रीले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताएका छन्।

  • सीले भेट्टाए ६ दशकअघि माओले महेन्द्रसँग भनेको लक्ष्य

    सीले भेट्टाए ६ दशकअघि माओले महेन्द्रसँग भनेको लक्ष्य

    पंचायतका प्रारम्भिक दिनमा राजा महेन्द्रको चीनको औपचारिक भ्रमणताका माओले चीन गरिब देश भएको बताएका थिए । ‘हाम्रो देश (चीन) अझै पनि गरिबै हो । तर, थुप्रै दशकपछि हामीले अझ राम्रो भने गर्नेछौं’ सन् १९६१ को अक्टोबर ५ मा राजा महेन्द्रलाई माओले भनेका थिए, ‘मलाई लाग्छ यसको लागि ५० देखि १०० वर्ष लाग्न सक्छ ।’ माओको कूटनैतिक पुस्तक ‘अन डिप्लोमेसी’ को पृष्ठ ३६६–३६७ मा माओ र महेन्द्रको कुराकानी उल्लेख गरिएको छ ।

    हुन पनि माओले भने झैं भयो । महेन्द्रसँग सन् १९६१ को अक्टोबर ५ मा कुरा भएको ठीक ६ दशकपछि सन् २०२१ मा आएर चीन गरिबीमुक्त देश भएको छ ।

    चीनका शक्तिशाली राष्ट्रपति सी चिनफिङले गत बिहीबार (फागुन १३ गते) चीन गरिबीमुक्त देश भएको घोषणा गरेका थिए । चीनको विश्व टेलिभिजन सेवा सीजीटीएनका अनुसार बेइजिङमा गरिबी निवारण गरेको घोषणा सभामा बोल्दै सीले गरिबी निवारणलाई एक ‘जादू’ को संज्ञा दिंदै इतिहासमा उक्त दिन महत्वपूर्ण हुने बताएका थिए ।

    माओले १०० वर्षभित्र चीनको गरिबीमा सुधार हुने बताएकोमा सीले गरिबी निवारणकै नेतृत्व गरेर देखाए । पछिल्लो आठ वर्षमा चीनले १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।
    रोचक कुरा, चीनको सत्ता कमाण्डमा सी आएको पनि ठीक आठै वर्ष भएको छ । सी सन् २०१३ को मार्च १४ (वि.सं. २०६९ चैत १) मा चीनको राष्ट्रपति बनेका हुन् । अर्थात् चीनको आक्रामक गरिबी निवारण अभियानमा सी देखिने नायकै हुन् ।

    सिबादोङ गाउँ भ्रमणपछिको निर्धारित लक्ष्यले गरिबी निवारण

    विश्वभरबाट तारिफ भएको चीनको गरिबी निवारणको सफलताको आक्रामक प्रस्थानविन्दु भने चीनको एक सानो गाउँ हो– सिबादोङ । उक्त गाउँमा सी राष्ट्रपति भएकै वर्ष सन् २०१३ को नोभेम्बर ३ (वि.सं. २०७० कात्तिक १७) मा भ्रमण गरे । उक्त गाउँको भ्रमणपछि सीले नयाँ कार्यक्रम ल्याए ।

    ‘लक्षित गरिबी निवारण’ नाम दिइएको लक्ष्य सार्वजनिक गर्नु अगाडि सन् २०१२ बाटै सीले चीनका अत्यन्तै गरिब ग्रामीण क्षेत्रहरूको भ्रमण गरेको सीजीटीएनले उल्लेख गरेको छ ।

    गरिबी निवारणसँगै चीनले संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सन् २०३० सम्म दिगो विकासअन्तर्गतको गरिबी निवारण लक्ष्य दशक अगाडि नै भेट्टाएको छ । यही तर्कलाई आधार मानेर सीले विश्वको गरिबी निवारणमा चीनको ७० प्रतिशत योगदान भएको बताएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् । गरिबहरूलाई पूर्वाधारविहीन क्षेत्रबाट शहरी क्षेत्रमा स्थानान्तरण गरेर, पूर्वाधार, व्यापार तथा पर्यटन क्षेत्रमा व्यापक लगानी गरेर चीनले गरिबी निवारण छिटो गर्न सकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको एक आलेखले चीनको गरिबी निवारणका प्रमुख कारणहरूमा अधिकतम वितरण तथा गरिबमैत्री विकास कार्यक्रमहरूको महत्वपूर्ण भूमिका भएको उल्लेख गरेको छ ।
    आलोचकहरूले भने चीनले धेरै गरीबको चाहना विपरीत जबर्जस्त स्थानान्तरण गरेको आरोप समेत लगाउँदै आएका छन् ।

    २०२१ः चीनको लागि स्वर्णिम वर्ष

    सन् १९७० को दशकबाट खुला अर्थतन्त्रउन्मुख भएको चीनले चाँडै फड्को मारेको हो । सन् २००१ मा मात्रै विश्व व्यापार संगठनको सदस्य भएको चीन सन् २०१० मा आएर जापानलाई पछि पार्दै अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र बन्यो । सन् २०१४ को अन्त्यसम्ममा आएर त पर्चेजिङ पावर प्यारिटी (पीपीपी)को आधारमा चीनले अमेरिकी अर्थतन्त्रलाई समेत जितेर सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो ।

    कोभिड–१९ महामारीले थलिएको सन् २०२० को अर्थतन्त्रको चित्र पनि चीनकै राम्रो देखिएको छ । कोभिड–१९ पछि सकारात्मक आर्थिक विकास र ठूलो अर्थतन्त्र भएको देशमा चीन मात्रै एक्लो भएको छ । सन् २०२० मा चीनले २.३ प्रतिशत अर्थतन्त्रमा वृद्धि गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।

    महामारीको समयमा समेत सकारात्मक आर्थिक विकास गरेकोले सन् २०२१ मा चीनको आर्थिक धरातल बलियो बनाउने जानकारहरूले तर्क गर्न थालेका छन् । अझ यही वर्ष गरिबी निवारण घोषणा भएपछि त चीनको आर्थिक प्रोफाइल झनै बढेको धेरैको तर्क छ ।