Category: विश्व प्रेस

  • म्यानमारमा थप संकट : आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

    म्यानमारमा थप संकट : आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप

    यांगुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् ।

    उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् ।

    म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डेमोक्रेसी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

  • राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, कोरोनाको कारण ३० जना मात्रै सहभागी हुने

    राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, कोरोनाको कारण ३० जना मात्रै सहभागी हुने

    लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ ।

    बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको शनिबार जानकारी दिएका छन् ।

    गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत उनको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।

    बेलायतको स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

    कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।

    उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

    उनको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किएका छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेघन बेगर नै बेलायत आउन लागेकी हुन् ।

    मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

    दिवंगत राजकुमार फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो ।

    सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलीपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबारले जनाएको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् ।

    ‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलीपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलीप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिनीहरू छन् । राजकुमार फिलीप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

    शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेको व्यक्तिका रुपमा स्मरण गरेका छन ।

    बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै बिताउनुभएका राजकुमार फिलीपले पछिल्ला केही वर्ष यता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिएका थिए ।

    उनले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाएकी छिन् । महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत त थिएन । तर राजसंस्थाको नजिक उनीभन्दा धेरै अरू कोही थिएन ।

    लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेकी थिइन् । सन् १९५२ को फेब्रुअरीमा फिलीप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो ।

    बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । उनको विशेष रुचि युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । राजकुमार फिलीपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।

  • म्यान्मारमा सुरक्षाकर्मीद्वारा थप ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा थप ८० प्रदर्शनकारी मारिए

    म्यान्मार । शुक्रबार यहाँ सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।

    अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् ।

    प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

    म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

    सेनाले सत्ता हातमा लिए यता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको हो ।
    सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।

  • भारतमा आइतबार १ लाख ५२ हजार संक्रमित, दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द

    भारतमा आइतबार १ लाख ५२ हजार संक्रमित, दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द

    दिल्ली । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ ।

    सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको छ ।

    १ लाख ६९ हजार जनाको मृत्यु भएको छ ।

    संक्रमण ह्वात्तै बढेपछि भारतको राजधानी दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको संक्रमित अवस्थालाई निकै गम्भिर भएको बताएका छन् ।

  • युएईद्वारा पहिलो महिला अन्तरिक्षयात्रीको नाम घोषणा, अन्तरिक्षमा पुग्ने महिला अरबी महिला बन्दै

    युएईद्वारा पहिलो महिला अन्तरिक्षयात्रीको नाम घोषणा, अन्तरिक्षमा पुग्ने महिला अरबी महिला बन्दै

    दुबई । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।

    दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल-माट्रोसी महिला हुन् भने मोहम्मद अल-मुल्ला पुरुष हुन् ।

    सन् १९९३ मा जन्मिनु भएकी अल-माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन् ।

    युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ ।

    यदि अल-माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् ।

    यसअघि इरानी-अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

    अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाउने भएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।

    सन् २०१९ मा युएईका मेजर हज्जा अल-मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए ।

  • नेपाली टोपी ढल्काउँदै मोदीको नेपाली उखान : नदिने बजुले आइतबार पनि बार्छे

    नेपाली टोपी ढल्काउँदै मोदीको नेपाली उखान : नदिने बजुले आइतबार पनि बार्छे

    काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्कायुक्त भाषणका निम्ति प्रख्यात छन् । विपक्षीलाई उखानटुक्काले हानेर घायल बनाउने ओलीको शैली अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पछ्याएका छन् ।

    भारतका नेपालीभाषी समूदायलाई प्रभावमा लिन मोदीले एक कार्यक्रममा नेपाली टोपी शिरमा ढल्काए । अनि, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेचनर्जीलाई नेपाली उखानमार्फत कटाक्ष गरे । उनले भने, ‘नदिने बजुले आइतबार पनि बार्छे ।’

    त्यसलाई मोदीले यसरी अथ्र्याए :

    ‘जसले तपाईंलाई राम्रो कुरा दिन सक्दैन, ऊ केवल बहानाको खोजी गर्छ । दिदी (बेनर्जी) लाई १० वर्ष तपाईंहरुले पूरा शक्ति दिनुभयो । तर, दिदीले के दिइन् ? पर्चापट्टा दिइन् ? चिया बगानमा मजदुरी दिइन् ? प्रवासीहरुलाई फरेन राइट्स एक्ट लागू गरिन् ? पहाडका विद्यार्थीलाई सुविधा दिइन् ? अहँ, दिदीले केवल अभाव र भेदभाव दिइन् ।’

    उनले थपे, ‘लकडाउनका समय केन्द्र सरकारले निशूल्क चामल र चना पठाएको थियो, त्यसलाई पनि त्रिणमूलका तौलावाजले लुटे । मैले पठाएको चामल पठाएँ, त्यो तपाईंलाई राम्रो लागेको थियो कि थिएन ?

    त्यसमा पनि दिदीले गरिब, दलित, आदिवासी, पिछडावर्ग कसैलाई पनि उनीहरुको जायज हक दिइनन् । दिदीले घरमा ढल दिइनन् । खेतमा सिचाइको पानी दिइनन् । तर, यहाँका नदिलाई माफियाको हवाला गरिदिइन् ।’

  • अलिबाबामाथि चीनद्वारा २ अर्ब ७८ करोड डलर जरिवाना, एकाधिकार नियम उल्लङ्घन आरोप

    अलिबाबामाथि चीनद्वारा २ अर्ब ७८ करोड डलर जरिवाना, एकाधिकार नियम उल्लङ्घन आरोप

    शाङ्घाई । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो ।

    चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ ।

    अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ ।

    एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।

    कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ ।

    ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो ।

    अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो ।

    अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ । साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनँएको छ ।

    अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन शुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।

    आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् ।

    तर अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तिब्र बनाइएको थियो ।

    अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित हुनु भएको थियो ।

    ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।

    चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गूगल माथि पनि देश भित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् ।

  • कोरोना नियम उल्लंघन गरेबापत नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना

    कोरोना नियम उल्लंघन गरेबापत नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना

    ओस्लो । कोरोनाभाइरस रोकथामका लागि लागु गरिएको नियम उल्लंघन गरेबापत नर्वेका पधानमन्त्री एर्ना सोलवर्गलाई प्रहरीले जरिवाना गरेको छ ।

    उनले शुक्रबार आफ्नो जन्मदिन मनाउन पारिवारिक भेला आयोजना गरेकी थिइन् । सोही क्रममा प्रधानमन्त्रीलाई सामाजिक दूरीको नियम उल्लंघन गरेको आरोपमा जरिवाना तोकिएको हो ।

    प्रधानमन्त्रीलाई २० हजार नर्वेजियन क्रोन (झन्डै २ लाख ८० हजार रुपैयाँ) जरिवाना लगाइएको नर्वे प्रहरीले जनाएको छ । भाइरस संक्रमणमा व्यापक वृद्धि भएपछि नर्वेले कडा प्रतिवन्धहरु लागु गरेको छ । त्यहाँ १० जनाभन्दा बढी व्यक्तिलाई सार्वजनिक स्थानमा भेला हुन रोक लगाइएको छ ।

    नियम उल्लंघन गरेपनि उनका पति र रेष्टुरेन्टलाई भने जरिवाना गरिएको छैन । कोभिड रोकथामका लागि मापदण्ड कार्यान्वयन गर्नुपर्ने अग्रणी नेतृत्वले नै नियम उल्लंघन गरेपनि जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ ।

    १० जनाभन्दा बढी उपस्थित हुन नपाइने नियम भएपनि प्रधानमन्त्रीको जन्मदिनमा १३ जना उपस्थित भएको पाइएपछि कानुनअनुसार जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ । प्रहरीले कानुनको सामु कोही पनि ठूलो सानो नहुने भन्दै कानून सबैलाई बराबर हुने जनाएको छ ।

    प्रधानमन्त्री सोलबर्ग र उनका पति सिन्दे्र फिनसले जन्मदिन मनाउनको लागि कार्यक्रम आयोजना गरेका थिए ।

  • बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

    बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

    काठमाडौं । बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनी महारानी एलिजाबेथ द्धितीयका पति हुन् ।

    बंघिगम दरबारले निकै दुःखका साथ रानीले आफ्ना पतिको निधन भएको पुष्टि गरेको जनाएको छ । शुक्रबार बिहान उनको निधन भएको जनाइएको छ ।

    प्रधानमन्त्री बोरिस जोन्सनले प्रिन्स फिलिप युवापुस्ताका आदर्श भएको बताएका छन् । सन् १९४७ मा फिलिपले एलिजाबेथलाई विहे गरेका थिए । उनको मुटुमा केही महिनादेखि समस्या देखिएको थियो ।

    प्रिन्स फिलिप र रानी एलिजाबेथबाट चार सन्तान, आठ नातिनातिना र १० पनाति–पनातिनी छन् ।

  • ब्राजिलमा भाइरसबाट एकैदिनमा ४२ सयको मृत्यु

    ब्राजिलमा भाइरसबाट एकैदिनमा ४२ सयको मृत्यु

    ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

    सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै वेहोर्नु पर्ने अवस्था रहेको बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ ।

    ब्राजिलमा मध्य जनवरीदेखि कोरोनाभाइरस विरुद्ध खोप अभियान सुरु भएको छ । तर सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन । देशभरी अहिलेसम्म दुई करोड ७५ हजार ११ हजार ५३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

    कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा रहेको छ । ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

    देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ ।

  • सार्कबारे भारतीय विदेश मन्त्रालयले भन्यो : हामी अहिले केही बोल्ने पक्षमा छैनौं

    सार्कबारे भारतीय विदेश मन्त्रालयले भन्यो : हामी अहिले केही बोल्ने पक्षमा छैनौं

    दिल्ली । सार्क शिखर सम्मेलनबारे भारतले अन्ततः मुख खोलेको छ । यसवर्षको अन्त्यमा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागि हुनसक्ने अनुमानसहितको समाचार केही पाकिस्तानी संचारमाध्यमले प्रकाशन गरेका थिए ।

    भारत विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको छ । विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पाकिस्तानस्थित भारतको उच्चायोगले यसबारे काम गरिरहेको बताए ।

    उनले भने, ‘हाम्रो हाइ कमिसन पाकिस्तानमा अस्तित्वमा छ र राम्रोसँग काम गरिरहेको छ । संचारका लागि यो प्रभावकारी माध्यम पनि हो । सार्कलाई लिएर यो क्षणमा हामी केही पनि बोल्न चाहँदैनौ ।’

    भारत र पाकिस्तानबीचको तनावका बीच सार्कको भविष्य नै अन्यौलमा परिरहेको बेला भारतको यस्तो प्रतिक्रिया आएको हो । भारतले सार्कको विकल्पमा विमस्टेकलाई खडा गर्ने प्रयास गरिरहेको अनुमान लगाइएको छ ।

  • संसारकै धेरै अर्बपति बेइजिङमा, भारतमा अर्बपति संख्या १४० पुग्यो

    संसारकै धेरै अर्बपति बेइजिङमा, भारतमा अर्बपति संख्या १४० पुग्यो

    फोब्र्स म्यागजिनको पछिल्लो धनाढ्यको सूचीमा चिनियाँ राजधानी बेइजिङ सर्वाधिक अर्बपति हुने सहर बनेको छ । उक्त म्यागजिनका अनुसार बेइजिङमा यो वर्ष अर्बपतिको संख्या १०० पुगेको छ । यसवर्ष ३३ अर्बपति बेइजिङमा थपिएका हुन् ।

    विगत सात वर्षदेखि अर्बपति सर्वाधिक हुने सहरको सूचीमा अमेरिकाको न्यूयोर्क थियो र अर्बपति संख्या ९९ थिए ।

    कोभिड-१९ महामारीको बाबजुद पनि प्रविधि कम्पनी र सेयर बजारमा आएको उछालको कारण चीन अग्रस्थानमा आएको जनाइएको छ ।

    तर, बेइजिङका अर्बपतिको कूल सम्पत्तिभन्दा न्यूयोर्कका अर्बपतिको सम्पत्ति चाहिँ ८० बिलियन डलरले बढी छ । भिडियो सेयरिङ एप टीकटकका मालिक एवं चीनका धनाढ्य झाङ यमिङको सम्पत्ति बढेर ३५.६ बिलियन डलर पुगेको छ ।

    न्यूयोर्कका धनाढ्य एवं त्यहाँका पूर्वमेयर माइकल ब्लुमबर्गको कूल सम्पत्ति ५९ बिलियन डलर छ । कोभिड लकडाउनमा प्रविधि कम्पनीले गरेको व्यापक कमाइको कारण अमेरिकी प्रविधि धनाढ्यको कमाइ पनि बढेको छ ।

    गतवर्ष ४९३ नयाँ अर्बपति थपिएका थिए । प्रत्येक १७ घन्टामा एकजना नयाँ अर्बपति थपिने गरेको फोब्र्सले जनाएको छ । १४० जना नयाँ अर्बपतिसहित भारत तेस्रो स्थानमा छ ।

    एसिया प्यासिफिकका १,१४९ धनाढ्यसँग ४.७ ट्रिलियन डलर सम्पत्ति छ र अमेरिकी अर्बपतिसँग ४.४ ट्रिलियन सम्पत्ति । लगातार चौंथो वर्षसँगै यसवर्ष पनि अमेरिकी धनाढ्य जेफ बेजोस १७७ बिलियन डलरसहित संसारकै धनीको सूचीमा पहिलो नम्बरमा छन् ।

     

  • भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

    भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

    दिल्ली । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

    पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

    भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

    पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

  • इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा १८० जनाको मृत्यु

    इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा १८० जनाको मृत्यु

    इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ ।

    जाकार्ताका सरकारी अधिकारीहरुले जनाएअनुसार यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका थिए ।

    यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बिहीबार बिहान बताएका छन् ।

    उनका अनुसार इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । उता इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।

    बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ ।

    वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो ।

    इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ ।

  • ब्राजिलमा कोरोनाबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु

    ब्राजिलमा कोरोनाबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु

    रियो द जेनेरियो । ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।

    त्यहाँ मंगलबार ४ हजार १९५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड-१९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

    ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।

    देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताए ।

    देशमा चलेको अस्थिर राजनीतिको कारण ब्राजिलमा यो स्थिति आएको र ठूलो संख्यामा ज्यान गुमाउनुपरेको विज्ञहरुको भनाई छ । भाइरस नियन्त्रणको लागि विशेषज्ञको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

    राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथलको भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजीनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए ।

  • ब्राजिलमा कोरोना विकराल बन्दै, एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

    ब्राजिलमा कोरोना विकराल बन्दै, एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)का कारण दक्षिण अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नागरिकको मृत्यु भएको छ । यो तथ्यांक कोरोना महामारी सुरु भएयताकै यो सबैभन्दा उच्च हो । ब्राजिलमा नयाँ प्रकारको कोरोना संक्रमितको संख्या पनि उल्लेख्य बढेको छ ।

    देशभरका अस्पतालहरुमा भिडभाड बढेको छ । केहि शहरमा नागरिकहरु उपचारको पर्खाइमा रहँदै मृत्युवरण गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने स्थितिमा पुगेको छ ।

    कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो संख्या अमेरिकापछि को विश्वकै सर्बाधिक हो । कोरोनाले देश को स्वास्थ्य प्रणाली र नागरिकको जीवन तहसनहस भइरहेका बेला ब्राजिली राष्ट्रपति जाइर बोल्सोनारो कुनै पनि प्रकारको लकडाउनको विरोध गर्न छाडेका छैन ।

    उनका अनुसार लकडाउन गर्दा देशको अर्धव्यवस्थामा कोरोनाले भन्दा धेरै नकारात्मक असर पर्नेछ । स्थानीय सरकारले लगाएका केहि प्रतिबन्धहरुसमेत अदालतको साहरामा केन्द्र सरकारले फुकुवा गरिदिएको छ ।

    मंगलबार राष्ट्रपति भवनबाहिर समर्थकहरुसँग कुरा गर्दै बोल्सोनारोले क्वारेन्टिन मापदण्डको आलोचना गर्दै यसले नागरिकमा मनोवैज्ञानिक समस्या र बेरोजगारीको समस्या निम्त्याउने दावी गरे । तर पछिल्लो २४ घण्टामा ४ हजार १ सय ९५ नागरिकले कोरोनाकै कारण मृत्युवरण गर्नुपरेको बारेमा भने उनले कुनै टिप्पणी गरेनन् ।

  • टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    सियोल । उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।

    यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।

    उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गर्नु भएको थियो । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गर्नु भएको थियो जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरु भएका थिए ।

    तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ ।

    उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड-१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । तर विश्लेषकहरुले खेलभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।

  • नग्न तस्बिर खिचेको आरोपमा दुबईमा ११ महिला पक्राउ

    नग्न तस्बिर खिचेको आरोपमा दुबईमा ११ महिला पक्राउ

    सार्वजनिक स्थानमा न्यूड फोटोशूट गरेको भन्दै दुबई प्रहरीले ११ महिलालाई पक्राउ गरेको छ । शनिबार अनलाइनमा पोस्ट गरिएको भिडियोमा ती महिलाहरु एउटा समूहमा नग्न तस्बिर लिइरहेका देखिएका थिए ।

    ती महिलाहरु युक्रेनका नागरिक रहेको जनाइएको छ र उनीहरुलाई हिरासतमा लिइएको वाणिज्य दुतावासले जनाएको छ । युएईमा सार्वजनिक स्थानमा नग्न तस्बिर खिचेबापत ६ महिनासम्म जेल सजाय र १५ हजार दिराम जरिवानाको प्रावधान छ ।

    सार्वजनिक स्थानमा तस्विर खिचेबापत पक्राउ परेको यो पहिलो घटना भने होइन । यसअघि पनि प्रहरीले त्यस्तो कार्यमा संलग्न मानिसलाई पक्राउ गरेको छ । यो नियम आन्तरिक पर्यटकको हकमा पनि लागु गरिएको छ ।

  • रुसमा संविधान संशोधन, पुटिन २०३६ सम्म राष्ट्रपति बन्न पाउने

    रुसमा संविधान संशोधन, पुटिन २०३६ सम्म राष्ट्रपति बन्न पाउने

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू पदमै रहन पाउने गरी तयार पारिएको कानूनमा सोमबार हस्ताक्षर गरेका छन् ।

    पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदैछ । एक वर्षको अन्तरमा दोस्रो पल्ट गरिएको संविधान संशोधन पछि अव उनलाई आगामी दुई कार्यकालका लागि बाटो खोलिएको हो ।

    गएको वर्ष गर्मी महिनामा सार्वजनिक मतमार्फत यो परिवर्तनलाई अनुमोदन गरिएको थियो । संविधानमा २ कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था गरिएको छ । जहाँ यसअघिका र वर्तमान कार्यकाल गणना हुने छैन ।

    यसो हुँदा ६८ वर्षीय पुटिन ८३ वर्षको उमेरसम्म क्रेमलिनको हर्ताकर्ता बन्न पाउनेछन् । पुटिनले रुसको राष्ट्रपतिका रुपमा लगातार दोस्रो र समग्रमा चौथो कार्यकाल संहालिरहेका छन् ।

    कानून संशोधन गरी विदेशी नागरिकता बाहकलाई क्रेमलिनको प्रमुख बन्न पनि रोक लगाइएको छ । यो कानून संसदको तल्लो र माथिल्लो सदनले गत महिना पारित गरेको हो ।

  • इन्डोनेसियामा बाढी र पहिरोमा परी करिब ९० जनाको मृत्यु

    इन्डोनेसियामा बाढी र पहिरोमा परी करिब ९० जनाको मृत्यु

    जकार्ता- इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।

    यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

    यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

  • युरोपेली युनियन भ्रमणको लागि मोदी फ्रान्स र पोर्चुगल जाने

    युरोपेली युनियन भ्रमणको लागि मोदी फ्रान्स र पोर्चुगल जाने

    दिल्ली । यूरोपेली युनियनको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी ८ मेमा फ्रान्सको भ्रमणमा निस्कने भएका छन् ।

    भ्रमण सिलसिलामा उनी युनियनका दुई सदस्य मुलुक पोर्चुगल र फ्रान्समा जाने भएका हुन् । यसअघि सन् २०१९ मा मोदीले फ्रान्स भ्रमण गरेका थिए ।

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको निम्तोमा मोदी फ्रान्सको भ्रमणमा जान लागेका हुन् । मोदीको भ्रमण अगाडि फ्रान्सेली विदेशमन्त्री जिन ले ड्रिआन अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमणमा आउने भएका छन् ।

    फ्रान्सेली विदेशमन्त्रीका भारत भ्रमणको क्रममा फ्रान्स र अष्ट्रेलियाका विदेशमन्त्रीसँग त्रिपक्षीय बैठक पनि हुने भएको छ । कोभिड-१९ सक्रमणलाई कम गर्नको लागि पेरिस र दिल्ली दुबै देशले सक्रियता बढाएका छन् ।

  • भारतमा आजै १ लाख कोरोना संक्रमण, मुम्बइमा कर्फ्यु र लकडाउन लागु

    भारतमा आजै १ लाख कोरोना संक्रमण, मुम्बइमा कर्फ्यु र लकडाउन लागु

    दिल्ली । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।

    सरकारले रातको समयमा कर्फ्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।

    यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

    भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

    यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गरेका थिए ।

    भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले यहाँका नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताए । उनले त्यहाँको सरकारले आग्रह गरिरहेको भए पनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको जानकारी पनि दिए ।

    उनले टेलिभिजन सम्बोधनका क्रममा भनेका थिए –मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।

    एकैदिनमा १ लाख संक्रमण
    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा भारतमा १ लाख संक्रमित थपिएका छन् । अहिलेसम्म एकैदिनमा देखिएको यो सर्वाधिक संक्रमण हो । संक्रमणको दर अति नै खराब स्थितीमा पुगेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रका मुख्यमन्त्रीलाई बैठकमा बोलाएका छन् ।

    उनले अन्य राज्यमा पनि सम्भावित प्रतिबन्धको घोषणा गर्ने जनाइएको छ । भारतको सक्रिय संक्रमण दर ७.४१ लाखभन्दा माथि पुगेको छ ।

  • इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

    इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

    एजेन्सी । इण्डोनेसिया र पूर्वी टिमोरमा आइतबार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

    लगातार भइरहेको भारी वर्षाका कारण तटबन्धहरुमा पानी ओभरफ्लो भएर थुप्रै टापूका हजारौं घर जलमग्न भएका छन् ।

    बाढी र पहिरोका कारण इण्डोनेसियाको पूर्वी क्षेत्र फ्लोर्स टापूदेखि छिमेकी देश पूर्वी टिमोरसम्म नराम्ररी प्रभाविक भएका छन् ।

    इण्डोनेसियाको आपतकालीन उद्दार एजेन्सीका प्रवक्ताका रादित्य जातीका अनुसार चार उप–जिल्ला र सात गाउँमा बाढीको नराम्रो असर परेको छ । ‘प्रभावित क्षेत्रमा रहेका हाम्रो टिमको जानकारी अनुसार अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ र २७ जना अझै हराइरहेका छन् । ९ जना घाइते छन्,’ उनले भने ।

    तर पूर्वी फ्लोर्स राज्यका अधिकारीहरुले आफ्नो क्षेत्रमा कम्तिमा ६० जनाको निधन भएको बताएका छन् । राष्ट्रिय सरकारले यसको पुष्टि गरेको छैन ।

    उता पूर्वी टिमोरको राजधानी जिलीमा बाढीका कारण कम्तिमा ११ जनाको निधन भएको छ ।

  • भारतमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी मारिए

    भारतमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मी मारिए

    काठमाडौं । भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अवरेसन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेका थिए ।

    त्यसलगत्तै दुवैतर्फ गोली हानाहान भएको थियो ।

    माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् ।

  • अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

    अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

    वासिङ्टन । अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो ।

    आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए, जसबाट एक जनाको मृत्यु भएको र अर्का एक प्रहरी घाइते भएका थिए ।

    अमेरिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेको तीन महिना पुग्नैलाग्दा यस्तो घटना भएको हो ।

    क्यापिटल प्रहरीका कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले आक्रमणकारी व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिए ।

    इस्टरको विदा मनाउन पत्नी जिल बाइडेनका साथ क्याम्प डेभिडमा रहेका राष्ट्रपति जो बाइडेनले हत्या गरिएका प्रहरी अधिकारी विलियम इभान्सका परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् ।

    “क्यापिटल परिसरको सुरक्षा जाँचमा खटिएका प्रहरीमाथि भएको हिंसात्मक आक्रमण भएको र त्यसबाट एक प्रहरीको ज्यान गएको थाहा पाउँदा जिल र मलाई अत्यन्त दुःख लागेको छ ।”

    अमेरिकी संचार माध्यमहरुले आक्रमणकारी व्यक्ति एक २५ वर्षीय अश्वेत नोहा ग्रीन रहेको बताएका छन् । उनी अश्वेत राष्ट्रवादी नामको नेसन अफ इस्लाम आन्दोलनसँग आबद्ध रहेको पनि संचार माध्यमहरुले बताएका छन् ।

    प्रहरी अधिकृत पिटम्यानले आक्रमणको उद्देश्यबारे तत्काल भन्न नसकिने बताए । यो घटना आतङ्कवादसँग सम्बन्धित रहेको देखिन्न, तर हामी अनुसन्धान गर्दैछौं, उनले भने ।

  • बेलायतद्वारा चार देशका नागरिकलाई यात्रामा प्रतिबन्ध

    बेलायतद्वारा चार देशका नागरिकलाई यात्रामा प्रतिबन्ध

    लन्डन । कोरोनाभाइरस महामारीलाई कारण देखाउँदै बेलायतले  चार देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक यात्रा प्रतिबन्धमा थपिने राष्ट्रमा फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेश छन् ।

    ती राष्ट्रमा भाइरसको सङ्क्रमण तीब्र रुपमा वृद्धि भएको छ । बीबीसीका अनुसार बेलायतले यात्रा प्रतिबन्धको निर्णय केही घण्टाको पूर्व सूचनामा समेत लगाउन पाउनेछ । उक्त निर्णयको कार्यान्वयन आगामी शुक्रबारदेखि लागू हुनेछ ।

    बेलायतले कोभिड १९ को नयाँ संस्करणको सङ्क्रमण रोक्न यात्रा प्रतिबन्ध पछ्याएको छ । उक्त प्रतिबन्ध लगाइने राष्ट्रलाई बेलायतले रातो सूचीमा राखेको छ ।

    बेलायतमा शुक्रबार पछिल्लो चौबीस घण्टामा चार हजार ४७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा ५१ जनाको मृत्यु भएको छ ।

  • बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी

    बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी

    ढाका । बंगलादेशमा एकसाताको लागि देशव्यापी लकडाउन घोषणा भएको छ । सोमबारदेखि लकडाउन लागु हुने सडक मन्त्री अब्दुल क्वाडरले बताए ।

    कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ ।

    साथै, कोभिडबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्यमा केही दिनमै लकडाउन लागु गर्ने तयारी भएको मुख्यमन्त्री उद्धव ठाकरेले जनाएका छन् ।

    उनले संक्रमणको दर नघटे भारतको आर्थिक राजधानीमा कडा लकडाउन लागु गर्ने जनाए । शनिबार महाराष्ट्र राज्यमा मात्र ४७, ८२७ संक्रमित थपिएका छन् । २४ घण्टामा भारतमा ९० हजार संक्रमित थपिएका छन् ।

    उनले बढ्दो संक्रमणलाई महाराष्ट्रको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने समेत बताए ।

  • यात्रुवाहक रेल सुरुङभित्र पस्दा ताइवानमा ३४ जनाको मृत्यु, ७२ जना भित्रै फसे

    यात्रुवाहक रेल सुरुङभित्र पस्दा ताइवानमा ३४ जनाको मृत्यु, ७२ जना भित्रै फसे

    बीबीसी । ३५० यात्रु बोकेर तीव्र गतिमा कुदिरहेको रेल सुरुङभित्र पस्दा ताइवानमा शुक्रबार ३४ जनाको मृत्यु भएको छ भने ७२ जना भित्रै फसेका छन् ।

    त्यहाँको केन्द्रिय आपतकालिन अपरेसन केन्द्रका अनुसार उद्दारकर्ताहरु सुरुङभित्रै पसेर फसेकालाई उद्दार गर्ने काममा जुटेका छन् । उक्त रेल राजधानी ताइपेइदेखि ताइतुङ सहरतर्फ गैरहेको थियो ।

    दर्जनौं पर्यटक उक्त रेलमा रहेको जनाइएको छ । ती पर्यटक अप्रिल ४ मा धुमधामसँग मनाइने परम्परागत चिनियाँ फेस्टिभल क्वीङमिङ मनाउन त्यसतर्फ जाँदै थिए ।

    स्थानीय संचारमाध्यमका अनुसार बिहान १० बजे रेलको बाटोमा एउटा निर्माण कार्यमा प्रयोग हुने गाडी बिग्रिएर बस्दा तीव्र गतिमा कुदेको रेल त्यहाँ ठोक्किएर उक्त सुरुङभित्र पसेको थियो ।

    शुक्रबारको उक्त घटनालाई ताइवानको इतिहासमा दशकपछिको सबैभन्दा दुःखद रेल दुर्घटना भनिएको छ । यसअघि सन् २०१८ मा भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

  • भारतबाट सामान आयात गर्ने पाकिस्तानको निर्णय, सम्बन्धमा सुधार आउने संकेत

    भारतबाट सामान आयात गर्ने पाकिस्तानको निर्णय, सम्बन्धमा सुधार आउने संकेत

    इस्लामाबाद । पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ ।

    पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी बुधबार अबेर निर्णय गरेको जनाएको थियो । सरकारको यस कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरु बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो ।

    साथै भारतबाट करिब ३० लाख टन गहुँ पनि खरिद गरिने छ भने कपास र धागोको परिमाण भने खुलाइएको छैन ।

    पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ, र कोरोनाभाइरसको तेस्रो लहरका कारण देशका विभिन्न स्थानमा आंशिक लकडाउन गर्नु परेकाले अर्थतन्त्रमा थप तनाब अरु बढाएको छ ।

    भारतले काश्मिरलाई दिइआएको विशेष दर्जा हटाएसँगै सन् २०१९ देखि पाकिस्तानले भारतसँगको व्यापार र कुटनीतिक सम्बन्ध निलम्बन गरेको थियो । दुबै मुलुकले आआफ्ना वरिष्ट कुटनीतिज्ञलाई फिर्ता बोलाउनुका साथै कन्सुलर कर्मचारीलाई देश निकाला वा फिर्ता गरिएको थियो ।

    तर पछिल्लो केही समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पत्र आदानप्रदान भएका छन् । दुबै देशको साझा नदीका रुपमा रहेको इन्दु नदीको प्रयोगका सन्दर्भमा दुबै देशका वरिष्ट अधिकारीहरुबीच वार्ता पुनः थालनी भएको छ ।

    ब्लूमबर्गले गत साता प्रकाशन गरेको एक समाचारमा युनाइटेड अरब इमिरेट्स (युएई)ले दुबै देशबीच वार्ता गराउन मध्यस्थता गर्ने जनाएको थियो ।

    काश्मिर मामिलामा नयाँ दिल्लीको अडानमा कुनै परिवर्तन नआउँदै भारतसँग व्यापार किन खोल्न लागिएको भनी बुधबार सोधिएको प्रश्नमा पाकिस्तानी अर्थमन्त्री हमाद अजहरले जनताको भलाईका लागि सरकारले निर्णय गर्ने बताए ।

    पाकिस्तानी अर्थशास्त्री फारुख सलीमले भारतसँगको व्यापार सम्बन्ध तोड्ने पाकिस्तान सरकारको निर्णय भावनात्मक रहेको बताउँदै अहिले व्यापार पुनः शुरु गर्नु आर्थिक बाध्यता भएको उल्लेख गरे ।

    अजहरले अर्थ मन्त्रालयको कार्यभार मङ्गलबार मात्र ग्रहण गरेका थिए । प्रधानमन्त्री खानले पूर्व अर्थमन्त्रीले बढ्दो मुद्रास्फिती रोक्न नसकेको आरोप लगाउँदै अर्थमन्त्रीलाई बर्खास्त गरेका थिए ।

    यसैबीच, अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानलाई उपलब्ध गराउने भनिएको छ अर्ब डलर स्वीकृत गरेको छ । कोरोनाभाइरस महामारी शुरु भएपछि उक्त रकम रोक्का गरिएको थियो । यसै साता कोषले ५० करोड डलर पाकिस्तानलाई उपलब्ध गराएको छ ।

    पाकिस्तानमाथि करिब ११४ अर्ब डलर विदेशी ऋणभार छ । यो रकम पाकिस्तानको कूल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशतभन्दा बढी हो ।

  • पश्चिम बंगालमा चुनाव : हिंसात्मक झडपमा दुई जनाको मृत्यु

    पश्चिम बंगालमा चुनाव : हिंसात्मक झडपमा दुई जनाको मृत्यु

    नन्दीग्राम । भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।

    ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमुल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताहरुबीच ठाउँठाउँमा झडप भएका छन् ।

    राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उहाँको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ ।

    बङ्गालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ, र यहाँको वातावरण पनि निकै तनाबग्रस्त छ । प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठेकी छिन् ।

    गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कङ्ग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव उठेपछि वातावरण अझ तनावग्रस्त बनेको छ ।

    बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कङ्ग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन् । निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुबै दलले त्यसलाई अवज्ञा गरेका छन् ।

    पश्चिम बङ्गालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ । बिहीबार भइरहेको दोस्रो चरणको चुनावमा नन्दीग्राम सहित ३० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

    नौ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बङ्गालमा करिब सात करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना आगामी मे २ मा हुनेछ ।

    भारतमा हाल पश्चिम बङ्गाल सहित असम, केरला, तमिल नाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ । असम राज्यमा तीन चरणमा निर्वाचन हुनेछ, जसको दोस्रो चरणको चुनाव आज हुँदैछ ।

  • फ्रान्समा देशव्यापी लकडाउन घोषणा, युरोपभर कोरोनाको तेस्रो लहर सुरु

    फ्रान्समा देशव्यापी लकडाउन घोषणा, युरोपभर कोरोनाको तेस्रो लहर सुरु

    पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले तेस्रोपटक लकडाउन घोषणा गरेका हुन् ।

    राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भनेका थिए- यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन ।

    उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न आग्रह गरेका छन् । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उनले सो सम्बोधनका क्रममा बताए ।

    कोरोनाभाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।

    पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

    यो पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि गरिएको बताइएको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ ।

    फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिब छ महिना यताकै धेरै देखिएको पनि बताइएको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।

  • हङकङ अदालतद्वारा मिडिया धनाढ्यसहित ७ जनालाई जेल सजायको फैसला

    हङकङ अदालतद्वारा मिडिया धनाढ्यसहित ७ जनालाई जेल सजायको फैसला

    हङकङ अदालतले सन् २०१९ मा भएको प्रदर्शनमा भाग लिएको आरोपमा मिडिया धनाढ्य जिम्मी लेइ र ६ जना पूर्व सांसदलाई विहिबार दोषी ठहर गरेको छ ।

    ८२ वर्षे मिडिया व्यापारी लेइसहित सातजनाले यसअघि आफूहरु दोषी नभएको जिकिर गरेका थिए । तर, अब अदालतको आदेशपछि उनीहरु जेल बस्नुपर्ने भएको छ ।

    प्रदर्शनको सिलसिला चर्कन थालेपछि चीनले हङकङको अधिकार र स्वतन्त्रतामाथि दबाब सिर्जना गरिरहेको छ । चीनले यसैसाता आफूप्रति इमान्दारलाई निर्वाचित हुन सजिलो हुने गरि निर्वाचन कानूनमा व्यापक परिवर्तन गरेको छ ।

    यी सातैजनालाई सन् २०१९ को अगस्ट १२ देखि १८ सम्म भएको महिनौं लामो प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ । सजाय सुनाइएका मध्ये हङकङका पिता भनिने ८२ वर्षे मार्टिन ली र लामो कपाल भएको रुपमा चिनिने अभियन्ता लिङ कक हङसम्म छन् ।

  • राष्ट्रपतिले अनावश्यक दबाब दिएको भन्दै ब्राजिलमा तीनवटै सेनापतिद्वारा राजीनामा

    राष्ट्रपतिले अनावश्यक दबाब दिएको भन्दै ब्राजिलमा तीनवटै सेनापतिद्वारा राजीनामा

    ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको त्यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएको बताइएको छ ।

    राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको समाचार जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु ब्राजिलको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।

    गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।

    सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।

    ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

  • जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

    जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

    टोकियो । जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ ।

    तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।

    म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेश मन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।

    संसदमा मङ्गलबार सम्बोधन गर्दै विदेश मन्त्री मोटेगीले भने, “म्यान्मारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यान्मारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौं ।”

    संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् ।

    तर जापानको म्यान्मारसँग बलियो आर्थिक तथा म्यान्मारको सेनासँग रहेको लामो समदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ ।

    स्थानीय सञ्चार माध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ ।

    म्यान्मारमा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी व्यक्ति मारिइसकेका छन् । विश्वका शक्तिशाली मुलुकहरुले म्यान्मारको सैन्य विद्रोहलाई लिएर निन्दा एवं भत्र्सना गरिरहेका छन् ।

    जापानले म्यान्मारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्वहालीका लागि आह्वान गरेको छ ।

    म्यान्मारमा केही हजार जापानी नागरिक र सयौं जापानी कम्पनीहरु रहेको विश्वास गरिन्छ । म्यान्मारमा हाल विदेशी लगानीका दृष्टिबाट जापान पाँचौं ठूलो लगानीकर्ता मुलुक हो ।

  • चीनको प्रयोगशालाबाटै कोरोना फैलिएको प्रमाणित भएन, डब्लूएचओ भन्छ– थप अनुसन्धान आवश्यक

    चीनको प्रयोगशालाबाटै कोरोना फैलिएको प्रमाणित भएन, डब्लूएचओ भन्छ– थप अनुसन्धान आवश्यक

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले कोरोना भाइरस (कोभिड–१९)को उत्पत्ति चीनको प्रयोगशालाबाटै भएकोबारे अन्तिम निश्कर्षका लागि थप अनुसन्धान आवश्यक भएको बताएका छन् ।

    मंगलबार डब्लूएचओ प्रमुख डाक्टर टेड्रोस अधानोमले कोरोना भाइइस प्रयोगशालाबाट उत्पत्ति भएको सम्भावना न्यून रहेको बताउँदै यसका लागि ब्यापक अनुसन्धानको आवश्यकता रहने बताए ।

    सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा कोरोना भाइरस पहिलोपल्ट पत्ता लागेको थियो । चीन सरकारले आफ्नो प्रयोगशालाबाट भाइरस फैलाएको भन्ने आरोप लगातार अस्वीकार गरिरहेको छ ।

    नोभेल कोरोना भाइरसको पहिलो पहिचान भएयटा विश्वकपमा अहिलेसम्म २७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म १ अर्ब २७ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    भाइरसको उत्पत्तिबारे अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विशेषज्ञहरु सम्मिलित एक टोली गएको जनवरीमा वुहान पुगेको थियो । तर उनीहरुको अनुसन्धान चीनले उपलब्ध गराएको नमूना र प्रमाणहरुमा सीमित बनेको थियो । डब्लूएचओका अध्यक्षले सार्वजनिक रुपमै अनुसन्धानमा अप्ठेरो भएको भन्दै स्वतन्त्र अनुसन्धानको वातावरण माग गरेका थिए ।

    यो टिमले सबै सम्भावनाको जाँच गरेको थियो, जसमध्ये वुहान इन्स्टिच्युड अफ भाइरोलोजीबाट उत्पत्ति भएको सम्भावनाबारे पनि थियो । कोरोना भाइरसबारे तथ्यंक, भण्डारण र अध्ययनका लागि यो इन्स्टिच्युड विश्वकै अग्रणी संस्था हो ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य केहिले कोरोना भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको हुनसक्ने सम्भावनाबारे जोड दिएका थिए ।

    तर डब्लूएचओ र चिनियाँ विशेषज्ञद्वारा मंगलबार संयुक्त रुपमा जारी वक्तव्य तथा समाचार संस्था एएफसीमा प्रकाशित समाचार अनुसार प्रयोगशालाको चुहावटको सम्भावनालाई अस्वीकार गरिएको छ । बरु मानवसँग संसर्गमा आउने (जस्तैः घरपालुवा) जनावरमार्फत कोरोना फैलिएको हुनसक्ने सम्भावनालाई प्रवलताका साथ प्रस्तुत गरिएको छ ।