बर्लिन । जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा एक शताब्दीयताकै भीषण बाढीमा १३०० भन्दा बढी बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार जर्मनी र बेल्जियममा मात्र ८० जनाको मृत्यु भएको छ ।
पानीसहितको वर्षापछि आएको बाढीले पश्चिम तथा दक्षिण जर्मनीको गाउँहरु डुबानमा परेका छन् । जर्मनीमा मृतकको संख्या अझै बढ्ने अधिकारीहरुले जनाएका छन् ।
लक्जेम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीबाट निकै प्रभावित भएका छन् ।
बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीको अवेइलर जिल्लास्थित राइनिल्यान्ड– प्लाटिनेट क्षेत्रबाट मात्रै १३०० भन्दा बढी हराइरहेको स्थानीय सरकारले जनाएको छ ।
‘केही क्षेत्रमा हामीले सय वर्ष यताकै भीषण वर्षा देखेका छौं’ जर्मनीको मौसम विभागका प्रवक्ता एन्ड्रिस फेड्रिकले सीएनएनसँग भने, ‘केही इलकामा अझै धेरै वर्षा भएको छ र बाढीले भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।’
जर्मन चान्सलर एन्जेला मर्केलले बाढी पीडितलाई राहत प्रदान गर्ने घोषणा गरेकी छिन् ।
रियो द जेनेरियो । लगातार १० दिनसम्म बाडुली लागेपछि ब्राजिलका राष्ट्रपति जोएर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । ब्राजिलको राष्ट्रपति कार्यालयका अनुसार उनको आकस्मिक शल्यक्रिया गरिने भएको छ ।
प्रारम्भिक परीक्षणमा उनको आन्द्रामा समस्या देखिएको छ । उनलाई अहिले साओपाउलोको अस्पतालमा राखिएको छ । राष्ट्रपति बोल्सोनारोले एक ट्वीट गर्दै आफू ठीक भएर चाँडै फर्कने बताएका छन्।
चुनाव प्रचारका क्रममा सन् २०१८ मा उनीमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उनको पेटमा गम्भीर घाउ भएको थियो। उक्त आक्रमणपछि ४० प्रतिशत रगत बगेको बताइएको थियो। त्यसयता धेरैपटक उनको शल्यक्रिया भएको छ ।
बोल्सोनारोलाई बुधबार ब्रासिलियास्थित एक सैनिक अस्पतालमा लगिएको थियो, जहाँ उनी चिकित्सकको निगरानीमा थिए। तर पछि उनलाई साओपाउलोको अस्पताल लगिएको थियो भने त्यहाँ उनको शल्यक्रिया हुनसक्ने बताइएको छ।
राष्ट्रपति बोल्सोनारोलाई निन्द्रा लाग्ने औषधि दिएर साओपाउलो लगिएको थियो। बोल्सोनारोका छोराले आफ्नो बुबाको पेटमा देखिएको पानी निकाल्न सामान्य भएकाले अप्रेसन गर्ने तयारी भएको बताए ।
बेइजिङ । कोभिड-१९ महामारी नियन्त्रण लिएसँगै चीनको कूल गार्हस्थ उत्पादनमा वृद्धि भएको छ । ग्लोबल टाइम्सका अनुसार सन् २०२१ को दोस्रो चौथाइमा जीडीपीमा ७.९ प्रतिशतले वृद्धि भएको हो ।
भाइरस महामारीलाई नियन्त्रणमा लिएपछि घरेलु खपतमा भएको वृद्धि र उत्पादनको गतिविधिमा बढेपछि जीडीपीको आकार बढेको हो । यो वृद्धिलाई चीनको अर्थतन्त्र महामारी अगाडिकै तहमा फर्किएको र अर्थतन्त्रमा सुधार भएको रुपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भएको मूल्यवृद्धि र आपूर्तिमा भएको गिरावटले भएपछि दोस्रो क्वार्टरमा चीनको अर्थतन्त्रमा थप दबाब पर्ने अनुमान छ । यो वर्षको सुरुआती ६ महीनामा चीनको जीडीपी १२.७ प्रतिशतले वृद्धि भएको थियो ।
सन् १९९३ देखि तथ्यांक संकलन कार्य सुरु भएपछि चीनको अर्थतन्त्रको आकार १८.३ प्रतिशतले वृद्धि भएको यो पहिलोपटक हो । ‘निकै स्वस्थवद्र्धक ढंगले चीनको अर्थतन्त्रमा वृद्धि भएको छ । सरकारले पनि महामारीले थलिएको अर्थतन्त्रलाई उकास्न सम्पूर्ण स्रोत साधन खर्च गरेको छ’ चिनियाँ सिनोस्टिल इकोनोमिक रिसर्च इन्स्टिच्युटका सोधार्थी हु क्यूमीले भने ।
नेल्सन मन्डेलाका क्रान्तिकारी सहयोद्धा । रंगभेदी स्वेत शासनविरुद्ध पर्खालझैं उभिएका स्वतन्त्रता सेनानी । दक्षिण अफ्रिकाका बहुमतप्राप्त राष्ट्रपति । यति बलिया पहिचान बोकेका दक्षिण अफ्रिकाका चौथो निर्वाचित राष्ट्रपति ज्याकोब जुमाको पछिल्ला वर्षहरुमा रसातलमा खसेका छन् ।
उनी भ्रष्टाचारका धेरै कान्डमा मुछिए । आफ्नै पार्टीबाट राजीनामा गर्न बाध्य पारिए । गत हप्ताबाट त जेल नै परे । दक्षिण अफ्रिकी इतिहासकै कारावासको सजाय भोग्ने पहिलो राष्ट्रपति उनी बनेका छन् । उनलाई १५ महिनाको जेल सजाय तोकिएको छ ।
गत असार २३ मा प्रहरीसमक्ष आफैं आत्मसमर्पण गरेका ज्याकोब जुमाको मुद्दा भ्रष्टाचारको हो । उनको कसुर भने भ्रष्टाचारको हैन । भ्रष्टाचारको छानविन गर्न गठित सरकारी आयोगलाई बयान नदिएको र असहयोग गरेको भन्दै उनी दोषी ठहर भएका हुन् । जुमाले भने आफूलाई छानविन आयोगले पक्षपात गर्ने भन्दै पन्छिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनलाई अदालतले असार १५ (जुन २९) मा फैसला सुनाएर १५ महिना कैद तोकेको थियो । पाँच दिनभित्र अर्थात असार २० भित्र प्रहरीसमक्ष आफैं हाजिर हुन आदेश थियो । हाजिर नभएको खण्डमा तीन दिनभित्रमा पक्राउ गर्न प्रहरीलाई अधिकार दिइएको थियो ।
प्रहरीले निर्धारित समयको सुरुका दिनमा पक्राउ गर्न सकेन । जुमा समर्थकको ठूलो भीड र परिवारका सदस्यहरुको ‘पक्राउ गरे रगतको खोलो बग्ने’ धम्कीको कारण उनी सहजै पक्राउ परेनन् । गत असार २० भित्रै प्रहरीमा हाजिर हुनुपर्ने अदालतको आदेशको म्याद सकिएको दिन आफ्नो घर छेउमा भेला भएका समर्थकसँग जुमाले धेरै भावनात्मक अभिव्यक्ति दिएका थिए ।
७९ बर्षका जुमाले भने, ‘महामारीको यस्तो उचाईमा मेरो उमेरको मान्छेलाई जेल हाल्नु भनेको मृत्युदण्ड दिनु जस्तै हो ।’
दक्षिण अफ्रिकी मिडिया आइविट्नेस न्युजले दक्षिण अफ्रिकामा मृत्युदण्डको कानून आफ्नै संघर्षले सन् १९९५ बाट हटाए पनि आफैंलाई मृत्युदण्ड दिन लागिएको भन्दै जुमाले दुःखेसो पोखेको उल्लेख गरेको छ ।
अन्ततः जुमाले मध्यरातमा आफ्नो गृहनगर कान्साबाट प्रहरी समक्ष आत्मसमर्पण गरे । जुमा पक्राउको बिरुद्धमा दक्षिण अफ्रिकामा हिंसा चर्केको छ । अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ भने १२ सयभन्दा बढी पक्राउ परेका छन् । हिंसा रोक्न सेना परिचालन गरिएको छ ।
यस्तो छ विवादको नालीबेली
ज्याकोब जुमाको कानूनी लफडा १६ बर्ष अगाडिबाट सुरु भएको हो । उनमा लागेको सबैभन्दा ठूलो र पहिलो आरोप बलात्कारको थियो । आफ्नै पारिवारिक साथीलाई बलात्कार गरेको आरोप उनले सन् २००५ मा खेपे । तर, उनी कानुनीरुपमा निर्दोष ठहरिए ।
सोही वर्ष उनलाई सन् १९९९ मा खरिद गरिएको अर्बौं डलरको हतियार खरिदमा पनि जोडियो । उनी उपराष्ट्रपति भएको समयमा भएको खरिदमा जोडिएको यो प्रकरण सन् २००९ मा उनी राष्ट्रपति भएपछि सेलायो ।
सन २००९ देखी २०१८ सम्म राष्ट्रपति भएका उनलाई थप आरोपहरु लागे । सन् २०१६ मा उनलाई विभिन्न १८ भ्रष्टाचारका कान्डहरुमा अदालतले दोषी देखायो । सन २०१६ मै सरकारी खर्चमा आफ्नो निजी घरको स्तरोन्नती गरेको आरोप लाग्यो । पछि उनले राज्यलाई पैसा तिरेको बिबिसीले लेखेको छ ।
सन् २०१७ मा त उनलाई झनै ठूलो संकट आयो । भारतीय मूलका गुप्ता दाजुभाइसँगको उनको अवैधानिक हिमचिमले भएको भ्रष्टाचारको विषयमा न्यायाधीशले नेतृत्व गरेको समिति बनाउने कुरा उठ्यो । जुन कुरा जुमा र गुप्ता दाजुभाइहरु कसैले पनि स्वीकार नगरेको बिबिसीले लेखेको छ । सन् २०१८ मा दक्षिण अफ्रिकाको नेसनल प्रोसिक्युटिङ अथोरिटीले विभिन्न १२ मुद्धामा सजाय हुनुपर्ने निर्क्याेल गर्याे । सोही वर्ष उनी रास्ट्रपतिबाट राजीनामा दिन बाध्य पनि भए ।
भारतको राजस्थानबाट सन् १९९३ मा दक्षिण अफ्रिका पुगेका अजय गुप्ता, अतुल गुप्ता र राजेश गुप्तासँग जुमाको नाम धेरै जोडिन्छ । दक्षिण अफ्रिकाका गुप्ता दाजुभाई भनेर चिनिने उनीहरुको कम्पनीसँग अवैधानिक सम्झौता, साँठगाँठ र ठेक्कापट्टा गरेर राज्यकोषलाई घाटा लाएको जुमामाथि आरोप छ । भारतीय समाचार पोर्टल विओनका अनुसार जुमाका छोरा दुदुजाने, छोरी दुदुजिले र श्रीमती बोङ्गी गेमा जुमा कुनै समय गुप्ताको कम्पनीमा काम गर्थे । त्यही सम्बन्धबाट गुप्ता परिवार जुमाको सत्तामा जोडिएको धेरैको भनाइ छ ।
गुप्ता दाजुभाइले कुटनैतिक पासपोर्ट मागेको दक्षिण अफ्रिकाको सन्डे टाइम्सले लेखेको छ । दक्षिण अफ्रिकाका पूर्व अर्थ उपमन्त्री सेबिसी जोनाले आफूलाइ मन्त्रीमा बढुवा गर्न गुप्ता दाजुभाइले सन २०१५ मा अफर गरेको खुलाएका थिए । उनले सन २०१६ को मार्चमा यस्तो बताएका हुन् ।
सन् २०१३ को एक विवाह कार्यक्रमले त गुप्ता दाजुभाइ र जुमाको व्यापक विरोध भयो । विवाहको जन्तीलाई प्रिटोरियाको सैन्य हवाइ अड्डामा राखिएपछि बिरोध भएको थियो । सामान्यता विभिन्न रास्ट्रप्रमुखहरु तथा कुटनीतिक मिसनका सदस्यलाई मात्रै राख्न मिल्ने हवाइ अड्डामा जन्तिका सदस्य राखिएपछि विरोध भएको थियो ।
अझ रोचक त दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तको बिहेका २०० पाहुना बोकेका गाडीलाई प्रहरीले स्कर्टिङसमेत दिएको थियो । गुप्ता दाजुभाइकी बहिनी अच्ला र भारतको दिल्लीका युवा आकाश जहाजगरिया बिचको बिहेका दौरान यी सबै मन्चन भएका थिए । यिनै कान्डबाट गुप्ता दाजुभाइ र जुमाको अधोगति सुरु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले लेखेका छन् ।
सन् २०१८ मा जुमा सत्ताबाट बाहिरिनेबित्तिकै गुप्ता दाजुभाइहरुको पनि समस्या सुरु भयो । अहिले उनीहरु दक्षिण अफ्रिकाबाट पलायन भएका छन् । उनीहरुको सम्पत्ति रोक्का भएको छ । धेरैले उनीहरु यूएईमा लुकेर बसेको अनुमान गर्दै आएका छन् । उनीहरुविरुद्ध इन्टरपोलको रेड कर्नर नोटिससमेत जारी भएको छ । गत सोमबार रेड कर्नर नोटिस जारी भएको हो ।
राजीनामा पार्टीको दबाब
सन् २०१८ मा राष्ट्रपतिबाट बाहिरिनु अगाडि सातवटा अविश्वास प्रस्ताव जुमाले सामना गरेका थिए । राष्ट्रपति निर्वाचित भएको दोश्रो बर्षबाट राजिनामा दिएको अघिल्लो बर्षसम्म लगालगी अविश्वास प्रस्तावहरु आए । सबैमा जुमा टिके ।
सन् २०१० को मार्च १८ मा जुमालाई ‘पदको अयोग्य’ भनेर अविश्वास प्रस्ताव टेबल गरिएको थियो । तर ४०० सदस्य दक्षिण अफ्रिकाको सदनका २४२ सदस्यले राष्ट्रपतिको पक्षमा मतदान गरे ।
सन् २०१२ को डिसेम्बरमा ‘संसदमा उपस्थित हुन असफल’ भनेर अर्को प्रस्ताव पेस भयो । बहुमत नपुग्ने भएपछि फिर्ता भयो । सन् २०१५ को मार्च १७ मा ‘भ्रष्टाचार र अर्थतन्त्र कमजोर’ बनाएकोमा अर्को प्रस्ताव पेस भयो । २२१ ले विपक्षमा र ११३ ले पक्षमा मत गरे । जुमा जोगिए । सोही वर्षको सेप्टेम्बर १ मा ‘कानुनको धज्जी उडाएको’ मा अर्को अविश्वास प्रस्ताव टेबल भयो । २११ ले विपक्ष र १०० ले मात्रै पक्षमा भोट गरेर जुमा जोगिए ।
सन् २०१६ को मार्च १ मा ‘मन्त्रिमन्डल पुनर्गठन’ को बिषयमा भएको अविश्वास प्रस्तावको विपक्षमा २२५ र पक्षमा ९९ मात्रै मत आयो । सोही वर्षको नोभेम्बर १० मा ‘राज्य कब्जा गरेको’ बिषयमा भएको अविश्वास प्रस्तावको पक्षमा १२६ मत मात्र आए पनि विपक्षमा २१४ आयो ।
आधा दर्जन अविश्वास प्रस्ताव झेलेका जुमालाई सन २०१७ को अगस्ट ८ मा अन्तिम अविश्वास प्रस्ताव आयो । ‘मन्त्रिमन्डल पुनर्गठन’ को विषयमा आएको प्रस्तावमा पहिलोपटक गोप्य मतदान भयो । गोप्य मतदान हुँदा पनि जुमा जोगिए । पक्षमा १७७ मत मात्रै आयो भने विपक्षमा १९८ मत । जुमाको अविश्वास प्रस्तावको तिथिमिति सहितको इन्फोग्राफिक्स संसदसम्बन्धी काम गर्ने संस्था पार्लियामेन्ट्री मोनिटोरिङ ग्रुपले बनाएको छ । ‘मोसन अफ नो कन्फिडेन्स जुमा इयर्स’ शीर्षकमा छ इन्फोग्राफिक्स ।
सातवटा अविश्वास प्रस्तावबाट समेत हटाउन नसकिएका जुमालाई उनको सत्ताधारी पार्टी अफ्रिकन नेसनल कंग्रेसले दबाव दिएर राजीनामा गरायो । सन् २०१८ को फेब्रुअरी १४ मा जुमाले राजीनामा दिए । राजीनामा दिने क्रममा जुमाले पार्टी भित्रको हिंसा र विभाजनको कारणले आफूले राजीनामा दिएको बताएका थिए । आफूले पार्टीको निर्णयमा असहमति राखे पनि पार्टीको अनुशासित सदस्य भएकोले राजीनामा दिएको बताएका थिए ।
दक्षिण अफ्रिकी राष्ट्रपति क्रिल रामापाेसा ।
उनले थपेका थिए, ‘मेरो नाममा कुनैको ज्यान जानु हुन्न । र मेरो नाममा अफ्रिकी नेसनल कंग्रेस विभाजन हुनुहुन्न । त्यसैले मैले तत्कालै लागू हुने गरी राष्ट्रपतिको पदबाट राजीनामा दिएको छु ।’
राजीनामा दिनु एक दिन अगाडि अफ्रिकन नेसनल कंग्रेसको राष्ट्रिय कार्यकारी समितिले जुमालाई फिर्ता बोलाउने निर्णय गर्दै फेब्रुअरी १४ भित्र राजीनामा दिन आग्रह गरेको थियो । सोही बमोजिम जुमाले राजीनामा दिएका हुन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफ्रिकन नेसनल कंग्रेस भित्रको गुटका कारण जुमा राजीनामा दिन बाध्य भएका हुन् ।
बेलायती समाचार संस्था रोयटर्सले जुमाको पक्राउपछि वर्तमान राष्ट्रपति सिरिल रामापोसा र जुमाको गुट अफ्रिकन नेसनल कंग्रेसमा उदांगो देखिएको लेखेको छ । सन् २०१७ मा पार्टी सभापति र २०१८ मा जुमालाई हटाएर राष्ट्रपति भएका रामापोसाको गुटले जुमालाई हटाउन भूमिका खेलेको रोयटर्सले लेखेको छ ।
दिल्ली । भारतले बहालवाला सरकारीको तलब र अवकासप्राप्त कर्मचारीको पेन्सनमा १७ देखि २८ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।
बजार महंगी बढेसँगै कर्मचारीको तलब र पेन्सनमा वृद्धि गरिएको केन्द्र सरकारले जनाएको छ । जुलाई १ देखि यो नियम लागू हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।
केन्द्रिय मन्त्री अनुराग ठाकुरका अनुसार डियरनेस अलाएन्स (डीए) नियममा संशोधन गर्दै तलब र पेन्सनमा वृद्धि गरिएको हो । डीए सरकारी कर्मचारीलाई दिइने तलब र पेन्सनको एक हिस्सा हो ।
सन् २०२० को जनवरीयता डीएमा वृद्धि गरिएको थिएन । सरकारको यो निर्णयसँगै भारतीय गोर्खा सैनिकको पेन्सनमा समेत वृद्धि भएको छ । यसले गर्दा नेपाल आउने रेमिट्यान्समा समेत वृद्धि हुने अपेक्षा छ ।
दिल्ली । भारतको मन्त्रिपरिषद् बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।
मन्त्रिपरिषद्मा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन् । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको स्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।
प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएका थिए ।
सिड्नी । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।
नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेभएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।
“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।
वासिङ्टन । अफगानिस्तानबाट नेटो सेना फिर्ता गर्ने बाइडेन प्रशासनको कदमलाई पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले गल्ती भएको बताएका छन् ।
सेनालाई फिर्ता गर्नु अफगानिस्तानी नागरिकलाई तालिवानीको हातबाट मार्नको लागि जिम्मा लगाइदिएजस्तो भएको भन्दै उनले आलोचना समेत गरेका छन् ।
‘अफगानिस्तानी महिला र युवतीहरुले निकै क्षति व्योहोर्नुपर्ने हुनसक्छ । यो एउटा गल्ती हो । उनीहरुलाई केही क्रुर मान्छेबाट मार्न छोडिएको छ । यसले मलाई मर्माहत तुल्याएको छ’ बुसले जर्मनी टेलिभिजन डच वेलीलाई भनेका छन् ।
रिपब्लिकनबाट राष्ट्रपति भएको बुसले सेप्टेम्बर ११ मा न्यूर्योकका जुम्ल्याहा भवनमा भएको आतंककारी हमलापछि सन् २००१ को अटम महीनामा अफगानिस्तानमा सेना पठाएका थिए । आफूले जस्तै जर्मन चान्सलर एन्जेला मर्केललाई पनि यस्तै अनुभूति भएको हुनसक्ने बुसको भनाई छ ।
१६ वर्षको सक्रिय राजनीतिबाट अवकास लिन लागेकी जर्मन चान्सलर मर्केलको उनले निकै प्रशंसा समेत गरे । उनले भने, ‘उनले आफ्नै कडा मिहेनतमा आफ्नो पोजिसन निर्माण गरेकी हुन् ।’ अमेरिका र नेटो सेनाले मे महीनाको सुरुआतदेखि अफगानिस्तानबाट सेना फिर्ती सुरु गरेका छन् । सेप्टेम्बर ११ सम्म सबै सेनालाई फिर्ता गर्ने जनाइएको छ ।
प्रिटोरिया । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई अदालतको मानहानी गरेको आरोपमा जेल सजाय भएपछि चर्किएको हिंसामा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
अदालतले १५ महीनाको जेल सजाय सुनाएपछि जुमाले आदेशलाई अस्वीकार गर्दै आएका थिए । तर, गतसाता उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
श्वेतोस्थित एक किनेमल केन्द्रमा भागदौड मच्चिँदा सोमबार राती १० जना मारिएका छन् । गतसाता त्यहाँको अदालतले ७९ वर्षिय जुमालाई १५ महीनाको जेल सजाय सुनाएको थियो ।
जुमाको गृहनगर क्वाजुलु नाटलबाट १२ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । केही सातायता प्रदर्शनकारी र लुटेराहरुबीच पटक-पटक प्रहरीको झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली चलाएको छ भने हिंसा मच्चिएपछि सडकमा सेनालाई पनि तैनाथ गरिएको छ ।
राष्ट्रपति सिरिल राम्फोसाले सन् १९९० यता दक्षिण अफ्रिकामा ठूलो हिंसा फैलिएको बताएका छन् । अधिकारीहरुले हिंसा कायमै रहे दक्षिण अफ्रिकामा आपतकाल लागू गर्ने संकेत दिएका छन् ।
काठमाडौं । कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप अभियान कोभ्याक्समा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा संलग्न हुने भएका छन् । हुने भएका छन् ।
चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले कोभ्याक्ससँग छुट्टा-छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन् ।
उक्त सन्धिअनुसार विकासोन्मुख देशमा कोभिड-१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाइदेखि कोभाक्सलाई खोपको आपूर्ति गर्न थालेका छन् । जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको कोभ्याक्स खोप अभियानको मुख्य सहयोगी संस्था गाभीले बताएको छ ।
कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोनसन एण्ड जोनसनलगायत विश्वका ११ खोप कम्पनी जोडिएका छन् ।
सहमतिले डेल्टा भेरिएन्टजस्ता कोभिडका नयाँ रूपले विश्व स्वास्थ्य प्रणालीमा सिर्जना गरेको जोखिमलाई नियन्त्रण गर्न सहयोगी भूमिका निर्बाह गर्नेछ । चीनमा निर्मित दुई खोप सिनोफार्म र सिनोभ्याक्सले तत्कालै एक करोड १० लाख खोप कोभ्याक्स खोप अभियानलाई दिनेछन् भने यसलाई बिस्तारै थप गर्दै जाने सहमति पनि भएको छ ।
बगदाद । इराकको एक कोभिड-१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागीलाई अहिले भने नियन्त्रणमा लिइएको छ ।
आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालको प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्।
मृतक बिरामीका आफन्तले लापर्वाहीले घटना भएको बताउँदै अस्पताल भवन बाहिर प्रदर्शन गरेका थिए । प्रहरीसँग झडप भएको र दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।
आगलागी भएको उक्त अस्पताल पछि निर्माण भएको थियो । अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्साहरूले जनाएका छन् । आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिसहरू थिए।
‘कोरोनाभाइरस वार्डभित्र निकै ठूलो विस्फोटको आवाज सुनेँ र त्यसलगतै आगलागी भयो’ अस्पतालको एक सुरक्षा गार्डले जानकारी दिए । अस्पतालमा खोजीकार्य जारी रहेको बताइएको छ।
न्यूयोर्क । अर्बपति सर रिचर्ड ब्रान्सन भर्जिन ग्यालाक्टिक रकेटमार्फत अन्तरीक्षमा पुगेका छन् । १७ वर्ष लगाएर बनाइएको रकेट अमेरिकाको न्यू मेक्सिकोबाट प्रक्षेपण भएको थियो ।
उनले बीबीसीसँग भने, ‘यो यात्रा मेरो जीवनकै अविष्मरणीय हुनेछ ।’ ब्रान्सन आफ्ना दुईजना सहयोगीसहित अन्तरीक्षमा पुगेका थिए ।
उनले च्यारिटी उद्देश्यले अन्तरीक्षमा जाने यात्रा संचालन गरेका थिए । उनी यो अभियान अन्तर्गत अन्तरीक्षमा पुग्ने पहिलो व्यक्ति बनेका छन् ।
अमेजनका पूर्व सीईओ तथा अर्बपति जेफ बेजोस पनि अन्तरीक्षमा पुग्ने तयारीमा छन् । उनी जुलाई २० मा अन्तरीक्षमा जाने कार्यक्रम छ ।
न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसको अवसर पारेर उनले सो कुरा बताएका हुन् । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ ।
उनले विश्व जनसंख्या दिवसका अवसरमा दिएको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । त्यस अवसरमा उनले भने- हामीले विश्व जनसंख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि हामीले सबैतिर आवाज उठाउनुपर्छ ।
अहिले विश्वमा कोरोनाभाइरसको महामारी जारी रहेको र यस्तो अवस्थामा आफ्नो पेशा र रोजगारी गुमाएका महिलाहरुदेखि दिएर महामारीका कारण भएको लकडाउनका कारण घरैमा बसेका महिलाहरु पनि घरेलु हिंसाको चपेटामा परिरहेको अवस्थाको मध्यनजर गर्दै महिला अधिकारको रक्षाको काममा लाग्न पनि आग्रह गरे ।
यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले विश्व जनसंख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे ।
अहिलेसम्मको तथ्यांकलाई हेर्दा विश्वमा कोभिड १९को महामारीका कारण कम्तीमा पनि ४ करोड ७० लाख महिला गरिबीतर्फ धकेलिएका छन् । उनीहरुले महामारीका कारण भएको लकडाउन तथा आफ्नो रोजगारी गुमाउनुपरेका कारण यस्तो समस्यामा परेका बताए ।
त्यसैगरी विश्वका विभिन्न देशहरुमा जारी रहेको लकडाउनका कारण विश्वका ठूलो संख्याका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएका र उनीहरु अब लकडाउन खुलेपनि विद्यालय नजाने अवस्थामा पुगेका पनि राष्ट्रसंघीय महासचिव गुटरेसको सो सन्देशमा उल्लेख गरिएको छ ।
दिल्ली । भारतको जयपुर सहरमा आइतबार चट्याङले लागेर ११ जनाको मृत्यु भएको छ । पर्यटकीय स्थल आमेर किल्लामा सेल्फि खिचिरहेको बेला उक्त घटना भएको बीबीसीले जनाएको छ । आसपासका स्थानमा २७ जना रहेको र बाँकी भुइँमा हाम फलेको जनाएको छ । भारतमा सन् २००४ यता चट्याङले गर्दा २००० भन्दा बढीको मृत्यु भइसकेको छ ।
साथै राजस्थानका विभिन्न स्थानमा चट्याङले लागेर ९ जनाको मृत्यु भएको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजस्थानको मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेको परिवारलाई ५ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। तीमध्ये १३ जनाको मृत्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ।
भारतको मौसमविदका अनुसार सन् १९६० यता चट्याङले मृत्यु हुनेको संख्या दोब्बर रहेको जनाइएको छ । भारतमा मनसुन सामान्यतया जून महिनादेखि कायम नै रहेको छ । घटनाहरु रुखहरु कम भएको क्षेत्रमा रहेको अधिकारीहरुले जनाएका छन् ।
हवाना । क्युवाली कम्युनिष्ट सरकारविरुद्ध दशकयता कै ठूलो प्रदर्शन सुरु भएको छ । हजारौंले सरकारविरोधी प्रदर्शनमा भाग लिएको बीबीसीले जनाएको छ ।
राजधानी हवानाको सडकमा उत्रिएर नारावाजी गर्दै उनीहरुले निरंकुश सरकारले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीविरुद्ध पानीका फोहोरा फ्याक्दै केहीलाई लाठिचार्ज समेत गरेको छ ।
कोरोना महामारीको कमजोर व्यवस्थापन गरेको, नागरिक स्वतन्त्रतामा बन्देज लगाएको र अर्थतन्त्रलाई ध्वस्त बनाएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनकारीले खोप अभियानलाई तीव्र तुल्याउन माग गरेका छन् ।
गतवर्ष क्युवाको अर्थतन्त्र तीनवर्ष यताकै ११ प्रतिशतले गिरावट भएको थियो । अर्थतन्त्र कमजोर हुनुमा कोरोना महामारी र अमेरिकी नाकाबन्दी प्रमुख रहेको बताइएको छ ।
क्युवाली क्रान्तिको रक्षा गर्न राष्टपति मिगुएल डियाज क्यानलले टेलिभिजनमार्फत आह्वान गरेपछि सरकारको समर्थनमा समेत प्रदर्शन भएको छ । सन् १९५९ मा भएको क्युवाली क्रान्तिपछि त्यहाँ कम्युनिष्ट सरकार स्थापना भएको थियो ।
अमेरिकाले चाहिँ क्युवाली सरकारविरोधी प्रदर्शनको समर्थन गर्दै गम्भिर चासो व्यक्त भएको जनाएको छ । ल्याटिन अमेरिका हेर्ने प्रमुख कूटनीतिज्ञ जुली चुङले ट्वीटमार्फत संयमता अपनाउन समेत आग्रह गरेका छन् ।
टोक्यो । जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको छ ।
जापानी सरकारका प्रवक्ताका अनुसार घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने बिषयमा छलफल भइरहेको तर अन्तिम निर्णय भने भइनसकेको मुख्य क्याबिनेट सचिव काट्सुनोबु काटोले एनएचके टिभी कार्यक्रममा बताए ।
व्यवसायी र सामान्य नागरिकलाई फरक हुने गरी सरकारले निर्णय गर्न नचाहेको तर महामारीका कारण व्यवसायिक गतिविधि रोकिँदा राज्यको अर्थतन्त्रमा पर्ने प्रभाबका कारण सरकारले व्यवसायी तथा विदेशमा कामगर्न जाने नागरिकलाई लक्षित गरेर ‘खोप राहदानी’ बारे छलफल अघि बढाएको उनले बताए ।
खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ । यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ । जुलाईको अन्त्यसम्म कागजी प्रमाणपत्र को रूपमा यसलाई जारी गरिने छ र पछि यसलाई डिजिटलमा परिणत गर्ने सोच पनि राखिएको छ ।
जापानको केइदानरेन भनेर चिनिने सबैभन्दा ठूलो व्यावासायिक संगठन जापान बिजनेस फेडरेशन कार्यक्रमको क्षमता बढाउन र जापानमा रेस्टुरेन्ट छुटमा पनि प्रमाणपत्र प्रयोग गर्ने सल्लाह दिएको छ । खोप प्रमाणपत्रहरू यूरोपेली संघ र दक्षिण पूर्व एशियाली राष्ट्रहरूको सदस्य राष्ट्रहरूमाका अन्तर्राष्ट्रिय यात्रीहरूको लागि पनि पेश गरिएको छ ।
प्रधानमन्त्री योशीहाइड सुगाको सरकारले जापानमा खोप अभियानलाई पछिल्ला केही सातादेखि वृद्धि गरिरहेको छ ।
न्यूयोर्क । अमेरिकाले थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राखेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लंघनमा उनीहरूको संलग्नता पाइएको दाबी गर्दै ती कम्पनीलाई कालो सूचीमा राखिएको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।
धेरै चिनियाँ कम्पनीहरूले उच्च-प्रविधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । ती कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को उइगुर र त्यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायबिरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ ।
विवरण अनुसार अमेरिकी वाणिज्य मन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लङघन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताएकी छिन् ।
बाइडेन प्रशासनले ‘बेइजिङको मानव अधिकार उल्लङ्घन’ बिरूद्ध कडा कदम चालेको एनएचकेले बताएको छ । दुई महिना अगाडि अमेरिकाले पाँच चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनच्याङ-उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो ।
चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको पनि एनएचके वल्र्डद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।
चीनले युगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दावी गर्दै आएको छ । यद्यपि अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले युगुर मुसलमान समुदायलाई शिविरमा सामूहिक हिरासतमा राखेर उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यहरूलाई दुःख दिएको बताउने गरेका छन् । अर्कोतर्फ सीसीपीले सिन्च्यिाङमा उइगुरहरूविरुद्ध मानवअधिकार हननका घटना नभएको कुरामा जोड दिँदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ ।
दुबई । पर्यटकका लागि संयुक्त अरब एमिरेट्सको दुबई सहर प्रमुख गन्तव्य हो । यो सहरमा यसैसाता ६० मिटर (१९६ फिट गहिरो) स्वीमिङ पुल संचालनमा आएको छ जुन संसारकै सबैभन्दा गहिरो पौडीपोखरी हो ।
पानीमुनीको सहरजस्तो देखिने स्टाइलमा निर्माण भएको उक्त पुल ६ वटा ओलम्पिकका पौडी पोखरी बराबर ठूलो छ । जसमा १.४ करोड लिटर पानी अटाउँछ ।
पुलभित्र खाली अपार्टमेन्ट, ग्यारेजसहित इन्डोर गेम्स सुविधा र ८० सिट क्षमताको रेष्टुरेन्ट पनि संचालनमा छ । निम्तो गरिएका पाहुनाले मात्र यो स्विमिङ पुलमा प्रवेश पाउँछन् ।
सर्वसाधारणको लागि भने जुलाई अन्त्यसम्म बुकिङ खुल्ने जनाइएको छ । डीप डाइव पुल खुलेपछि यसले पोल्यान्डमा रहेको १४७ फिट गहिरो डीपस्पटलाई पछि छाडिदिएको छ ।
पोर्ट औ प्रिन्स । हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट चयन भएका छन् । लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्नुपर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
गत बुधबार जोभेनल मोइजलाई उनकै निवासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त थियो । राष्ट्रपति नियुक्त गर्नुपर्ने संकल्प प्रस्ताव सिनेटमा लगिएपछि प्रतिपक्षी दल र अन्य संगठनले समेत समर्थन गरेका थिए ।
हाइटको संसदमा अहिले एक तिहाइ सदस्य मात्रै छन् । प्रस्ताव पारित भएपछि लाम्बार्टले सपथ ग्रहणको तयारी थालेका छन् । कार्यभार सम्हालेपछि उनले नयाँ सरकार गठनको तयारी सुरु गर्नेछन् ।
काबुल । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताए ।
युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेकोे गतिको समेत बचाउ गरेका छन् । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो ।
सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ ।
यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेका थिए ।
काठमाडौं । राष्ट्रपतिको हत्यापछि हाइटीले देशका बन्दरगाह र विमानस्थलको सुरक्षामा मद्दतका लागि अमेरिका र युरोपेली युनियनसँग सैन्य सहयोगका लागि आग्रह गरेको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइजेको बुधबार बिहान घरमै गोली हानी हत्या गरिएको थियो । राष्ट्रपतिको हत्यासँगै हाइटीमा राजनीतिक संकट पलाएको छ । पहिल्यैदेखि भोकमरी, सामूहिक हिंसा र कोरोना भाइरसको महामारीसँग जुधिरहेको हाइटी झन् ठूलो राजनीतिक संकटमा फसेको छ ।
यो संकटमा सहयोग गर्नका लागि हाइटी सरकारले विश्वका ठूला शक्ति केन्द्रसँग आह्वान गरेको हो । यद्यपि, अमेरिकाले भने सैनिक नपठाउने तर अनुसन्धान अधिकारीहरू र होमल्याण्ड सुरक्षा विभागका अधिकारीहरू हाइटी पठाउने शुक्रबार बताएको छ ।
यस्तै युरोपेली युनियनको सुरक्षा परिषद्ले आह्वान स्वीकार गरेपछि मात्र युएनको संरक्षणमा सैनिक पठाउने छ ।
बेइजिङ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी प्रविधि कम्पनीहरु गुगल, ट्वीटर र फेसबुकले प्रतिबन्ध लगाएका छन् । अमेरिकी संसद भवनमा दंगा मच्चाएपछि ट्रम्पका सामाजिक संजालका खाता निलम्बित भएका थिए ।
ती तीनै प्रविधि कम्पनीलाई ट्रम्पले मुद्दा पनि दायर गरेका छन् । आफूमाथि लगाइएको सेन्सरसिपलाई हटाउनुपर्ने उनको माग छ । अमेरिकी प्रविधि कम्पनीको चौतर्फी घेराबन्दीमा परेका ट्रम्पलाई चिनियाँ सामाजिक संजाल सिना वेइबोले भने स्वागत गर्ने तयारी गरेको छ ।
हुन त ट्रम्प सन् २०२० देखि नै चिनियाँ सामाजिक संजालमा चर्चित पात्र पनि हुन् । ट्रम्पलाई आफ्नो प्लेटफर्ममा स्वागत गर्दा होला कि नहोला भनेर सिना वेइबोले बिहीबार अपरान्ह एक सर्वेक्षण गरेको थियो । जसमा सहभागी ४५०० जनामध्ये ७८ जनाले ट्रम्पले सिना वेइबो ज्वाइन गर्ने मत व्यक्त गरेका थिए । ट्रम्पलाई अमेरिकी कमेडियन भन्दै उनीहरुले प्लेटफर्ममा आउन भनेका छन् ।
ढाका । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।
प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।
बङ्लादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ ।
घटनाका बारेमा सूचना प्राप्त हुने वित्तिकै प्रहरी गएको र सुरुमा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको थियो । पछी उद्धार गर्दै जाँदा यो समाचार तयार लेख्दासम्म ५२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कतिपय व्यक्ति भने आगलागी भएपछि भवनबाट बाहिर हाम फालेको र हाम फालेका मध्ये पनि केहीको मृत्यु भएको र केही घाइते भएको पनि प्रहरीले जनाएको छ ।
हाइटी । अवकासप्राप्त कोलम्बियाली सैनिकहरुको एक समूहले हाइटीका राष्ट्रपति जोभेनल मोइजेको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । २६ कोलम्बियाली र हैटी मूलका दुईजना अमेरिकी हत्यामा संलग्न रहेको प्रहरी प्रमुख लियोन चाल्र्सले जनाएका छन् ।
हत्यामा संलग्न भएको आशंका गरिएका थप ८ जना फरार छन् भने दुई अमेरिकीसहितका १७ जना पक्राउ परेका छन् । केही आरोपितको मृत्यु भने राजधानी पोर्ट औ प्रिन्समा भएको गोली हानहानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बन्दुकधारीको समूह राष्ट्रपतिको निजी निवासमा प्रवेश गरेर गोली हानेका थिए । गोली लागेर त्यहाँकी प्रथम महिला घाइतेछिन् । उनको अमेरिकामा उपचार भैरहेको छ ।
हत्या गर्नुको उद्देश्यबारे पुष्टि नभएको प्रहरीले जनाएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले ५३ वर्षे राष्ट्रपतिले देशभित्रैको निरंकुशताको विरोध गरेकाले हत्या भएको हुनसक्ने बताए ।
बिहीबार प्रहरीले केही आरोपितलाई हतियार, कोलम्बियाली पोसपोर्ट र अन्य प्रमाणसहित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । ‘विदेशीहरु हाम्रा राष्ट्रपतिलाई मार्न यहाँ आए’ प्रहरी प्रमुख चाल्र्सले भने ।
घटनाबारे छानविन भैरहेको उनले जनाए । संयुक्त राष्ट्रसंघले चुनावबाट अर्को प्रधानमन्त्री निर्वाचित नभएसम्म जोसेफ नै कामचलाउ प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।
दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तार गरेको मन्त्रिपरिषद्का नयाँ अनुहारलाई मन्त्रालय विभाजन गरिएको छ । १२ जना पुराना मन्त्रीले राजीनामा दिएपछि थपिएका ४३ मन्त्रीलाई पदभार प्रदान गरिएको हो ।
आगामी चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । क्याबिनेटमा महिलाको संख्या १४ पुगेको छ ।
दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विस्तार गरेको मन्त्रिपरिषद्का नयाँ अनुहारलाई मन्त्रालय विभाजन गरिएको छ । १२ जना पुराना मन्त्रीले राजीनामा दिएपछि थपिएका ४३ मन्त्रीलाई पदभार प्रदान गरिएको हो ।
आगामी चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । क्याबिनेटमा महिलाको संख्या १४ पुगेको छ ।
टोक्यो । ओलम्पिक प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा जापानले आपतकालको घोषणा गरेको छ । प्रधानमन्त्री यासिहिदे सुगाले जुलाई १२ देखि २२ अगस्टसम्म आपतकाल रहने घोषणा गरेका छन् ।
यो अवधिभर बार र रेष्टुरेन्टलाई मदिराको बिक्रीमा रोक लगाइएको छ भने बेलुका ८ बजे नै बन्द गर्नुपर्नेछ । घरेलु दर्शकलाई रंगशालामा उपस्थित भएर खेल हेर्न दिने वा नदिनेबारे निर्णय गर्न अधिकारीहरुले छलफल गर्दैछन् ।
ओलम्पिक प्रतियोगिता शुभारम्भ हुने दिन २३ जुलाई नजिकिँदै गर्दा जापानमा कोरोनाभाइरस संक्रमणमा व्यापक वृद्धि भएको छ । ओलम्पिकलाई स्थगित वा मिति सार्न भन्दै जापानमा व्यापक विरोध भैरहेको छ ।
‘भाइरस पुनः नफैलियोस् भन्नको लागि हामीले हामीले प्रतिकार्यका मापदण्डलाई अझै बलियो तुल्याउनुपर्छ’ प्रधानमन्त्री सुगाले भने । अधिकारीहरुले सबै ओलम्पिक खेलमा दर्शकलाई रोक्न सक्ने अपेक्षा गरिएको छ ।
सनफ्रान्सिस्को । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरु गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । उजुरीमा उनले आफू सेन्सरसिपबाट पीडित भएको बताएका छन् । यी तीनै प्लेटफर्मले ट्रम्पलाई अहिले प्रतिबन्ध लगाएको अवस्था छ ।
ट्रम्पले मुद्दामा ती प्रविधि कम्पनीका सीईओहरुलाई विपक्षी बनाएका छन् । उनी समर्थित भीडले अमेरिकी संसद द क्यापिटलमा दंगा गरेपछि प्रविधि कम्पनीले ट्रम्पको खाताहरु निलम्बित गरेका थिए । ट्रम्पले मुद्दा हाल्नु आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदमु भनेका छन्।
बेडमिन्स्टरस्थित गल्फ रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र सत्तारुढ डेमोक्र्याटहरूको आलोचना गरे। ‘हामीहरू चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई राम्ररी थाहा छ’ उनले भने ।
ट्रम्पले आफ्नो मुद्दामा सेन्सरसीपलाई रोक्न माग गरेका छन् । ‘यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन्’ उनले भनेका छन्। ट्रम्पले फ्लोरिडास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका हुन् ।
बुधवार नै ट्रम्पका रिपब्लिकन सहयोगीहरूले कङ्ग्रेसमा ठूला कम्पनीमाथि कारबाही गर्न माग गर्दै नोट सार्वजनिक समेत गरेका छन् । प्रविधि कम्पनीहरुले यसबारेमा केही नबताएपनि कानूनी विज्ञहरुले भने मुद्दाबारे आलोचना गरेका छन् ।
सउल । दक्षिण कोरियामा कोभिड-१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । गत २४ घन्टायता कोभिड–१९ का सङ्क्रमितरहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै भेटिएका छन् ।
गत २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । त्यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।
बुधबार मात्र पनि त्यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।
दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।
यो तथ्यांक आएपछि स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्को वेभमा प्रवेश गरेको बताइएको हो ।
त्यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
प्रिटोरिया । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उनलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ ।
स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनी निकटका अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।
सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ बर्षिय जुमाका अझै पनि हजारौँ समर्थक छन् । उनी आफै आत्मसमर्पणका लागि गएको विषयलाइ उनका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन ।
उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेका छन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।
दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।
दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।
मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिला अनुहार छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।
नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर भएका छन् । क्याबिनेटमा अधिकांश युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ ।
मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् ।
दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् ।
नयाँ मन्त्रीहरुको सूची :
नारायण राणे सर्बानंद सोनोवाल वीरेंद्र कुमार ज्योतिरादित्य सिंधिया आरसीपी सिंह अश्विनी वैष्णव पशुपति कुमार पारस किरण रिजिजू राजकुमार सिंह हरदीप सिंह पुरी मनसुख मंडाविया भूपेंद्र यादव पुरुषोत्तम रूपाला जी किशन रेड्डी अनुराग ठाकुर पंकज चौधरी अनुप्रिया पटेल सत्यपाल सिंह बघेल राजीव चंद्रशेखर शोभा करंदलाजे भानुप्रताप सिंह वर्मा दर्शना विक्रम जरदोश मीनाक्षी लेखी अन्नपूर्णा लेखी ए नारायण स्वामी कौशल किशोर अजय भट्ट बीएल वर्मा अजय कुमार देवसिंह चौहान भगवंत खूबा कपिल पाटिल प्रतिमा भौमिक सुभाष सरकार भगवत कृष्ण राव कराड़ राजकुमार रंजन सिंह भारती प्रवीण पवार विश्वेश्वर टुडू शांतनु ठाकुर महेंद्र भाई मुंजापारा जॉन बारला एल मुरुगन नीतीश प्रामाणिक
१२ जना भारतीय मन्त्रीले दिए राजीनामा (सूची)
सदानंद गौड़ा रविशंकर प्रसाद थावर चंद गहलोत रमेश पोखरियाल निशंक हर्षवर्धन प्रकाश जावड़ेकर संतोष कुमार गंगवार बाबुल सुप्रियो संजय धोत्रे रत्तन लाल कटारिया प्रताप चंद सारंगी देबश्री चौधरी
दिल्ली । मन्त्रिपरिषद् विस्तार अघि भारतका १२ जना केन्द्रिय मन्त्रीले राजीनामा दिएका छन् । अहिले राष्ट्रपति भवनमा नयाँ ४३ जना मन्त्रीको सपथ ग्रहण समारोह भैरहेको छ ।
राजीनामा दिने मन्त्रीहरुमा स्वास्थ्यमन्त्री हर्षवद्र्धन, सूचना प्रविधि मन्त्री रविशंकर प्रसाद, शिक्षामन्त्री रमेश पोखरियाल, वातावरणमन्त्री प्रकाश जावेदकरसहित छन् ।
हैटी । बन्दुकधारीले हैटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या गरेका छन् । निजी निवासमा बसिरहेका राष्ट्रपतिमाथि सशष्त्र आक्रमण हुँदा राष्ट्रपतिकी पत्नी घाइते भएकी छिन् ।
घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो ।
स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले स्थानीय लोकलटेन न्यूजलाई बताए ।
प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् । मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए ।
विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् : चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिपरिषदमा ब्यापक फेरबदल गर्दैछन् । नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम छ ।
मोदीको नयाँ मन्त्रिपरिषदमा १३ जना महिला अनुहार हुने भएका छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम हुने जनाइएको छ । मन्त्रिपरिषदमा १८ जना पूर्वराज्य मन्त्री सहभागि हुनेछन् । जसमा चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।
नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर हुने जनाइएको छ । क्याबिनेटमा युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइने जनाइएको छ ।
पुरानो मन्त्रिपरिषद्का केहीलाई हटाइने भएको छ । मोदीको क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री हुनेछन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी हुनेछन् । आठजना जनजाति मन्त्री हुनेछन् ।
दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद परिवर्तन गर्न लागेका हुन् ।