Category: विश्व प्रेस

  • तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह हसन अखुन चयन

    तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह हसन अखुन चयन

    काबुल । तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । मन्त्रिपरिषद्, सैनिक प्रमुख र अन्य प्रमुख सरकारी निकायहरुका प्रमुख चयन भएका छन् । 

    अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

    मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । तालिबान बाहेकका अन्य पक्षबाट पनि मन्त्रिपरिषद्मा समावेश गर्न व्यापक माग भैरहेपनि नयाँ क्याबिनेटमा अन्यको नाम समावेश गरिएको छैन । विदेशमन्त्रीमा मुल्लाह आमिर खान मुत्ताकी छन् ।

    यो सरकारलाई कामचलाउ अर्थात अन्तरिम सरकार भनिएको छ । अगस्ट १५ मा काबुललाई नियन्त्रणमा लिएपछि पहिलोपटक तालिबानले सरकारको घोषणा गरेको हो ।

  • खाद्यान्न अभाव चर्किएपछि श्रीलंकामा संकटकाल घोषणा

    खाद्यान्न अभाव चर्किएपछि श्रीलंकामा संकटकाल घोषणा

    कोलम्बो । खाद्यान्न अभाव भएपछि श्रीलंकामा संकटकाल घोषणा भएको छ । खानेकुराको मूल्यवृद्धि र खाद्यान्न अभाव हुन नदिन राष्ट्रपतिले पेश गरेको संकटकाल प्रस्तावलाई सोमबार त्यहाँको संसदले पारित गरेको छ ।

    तर, विपक्षी सांसदहरुले भने संकटकाल लगाउनुभन्दा विद्यमान अन्य कानूनमार्फत समस्या समाधानको उपाय खोज्न माग गरेका थिए । साथै, संकटकाल लगाउने सरकारी कदमको विपक्षीले विरोध गरेका छन् ।

    संकटकाल कानूनले अधिकारीहरुलाई पूर्जी बिनै पक्राउ गर्न सक्ने, सम्पत्ति जफत गनै सक्ने, कुनै स्थलमा प्रवेश गरेर खोजतलास गर्न सक्ने र अदालतमा उठाइन नपाइने ढंगले कुनै कानूनलाई निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

    राष्ट्रपति गोताबाय राजापाक्षेले अगस्ट ३० मा संकटकाल लागू गरेका थिए । संकटकाललाई १५ दिनभित्र संसदको २२५ संख्याको आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था थियो ।

    मतदानमा १३२ भोट संकटकालको पक्षमा थियो भने ५१ विपक्षमा । सत्तारुढ दलसँग १५० सिट थियो ।

  • सरकारको सपथग्रहणमा तालिबानले दियो ६ देशलाई निम्तो, चिनियाँ र रुसी प्रतिनिधि काबुल जाँदै

    सरकारको सपथग्रहणमा तालिबानले दियो ६ देशलाई निम्तो, चिनियाँ र रुसी प्रतिनिधि काबुल जाँदै

    काबुल । तालिबानले नयाँ सरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार बेलुकासम्म लगभग सरकार गठनले आकार लिइसकेको जनाइएको छ ।

    सरकार बनाउनुअघि तालिबानले आफू निकटका ६ मुलुकका प्रतिनिधिलाई समारोहमा बोलाएको छ । सम्भवतः तालिबानले गठन गर्ने अफगानिस्तानको नयाँ सरकारमा ६ वटा मुलुकका प्रतिनिधि सहभागि हुने जनाइएको छ ।

    टर्की, रुस, चीन, इरान, पाकिस्तान र कतारलाई समारोहमा बोलाइएको छ । आफूसँग राम्रो सम्बन्ध भएका मुलुकका प्रतिनिधिलाई तालिबानले निम्तो दिएको हो जसमा रुस र चीन पनि सामेल छन् ।

    तालिबानले निम्ता दिएका मुलुकको सम्बन्ध अमेरिका र उसका साझेदार मुलुकसँग हार्दिक छैन । चीन र रुसको सम्बन्ध अहिले न्यून विन्दुमा गुज्रिएको छ । भनिएअनुसार टर्कीका राष्ट्रपति अर्दोगनलाई अमेरिकी राष्ट्रपति बाइडेन रुचाउँदैनन् ।तालिबान मन्त्रीमण्डल चाँडै घोषणा हुने जनाइएको छ ।

  • जापानी राजनीति : वर्तमान उपप्रधानमन्त्री कोउनोलाइ समर्थन गर्न इशिबालाइ आफ्नै गुटको दवाव

    जापानी राजनीति : वर्तमान उपप्रधानमन्त्री कोउनोलाइ समर्थन गर्न इशिबालाइ आफ्नै गुटको दवाव

    टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका पूर्वमहासचिव इशिबा शिगेरुलाइ आफ्नो घोषणा फिर्ता लिएर सुगा क्याबिनेटका मंत्री कोउनो तारोउलाइ समर्थन गर्न आफ्नै गुटले दवाब दिएको छ ।

    पार्टीको निर्वाचन नजिकिदै गर्दा इशिबाले उम्मेदबारी दिने योजनालाई स्थगित गरी कोउनोलाइ समर्थन गर्नुपर्ने आवाज उठ्न थालेपछि बैठक बसेर निर्णय गर्न लागिएको जापानी संचारमाध्यमले उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री सिन्जो आबेले पूर्वसंचारमन्त्री ताखाइचि सानाएलाइ समर्थन गर्ने घोषणा यस अघिनै गरिसकेका छन् ।

    पूर्वमहासचिव इशिबा बलिया दाबेदार मानिन्थे तर इशिबाले कोउनोलाइ समर्थन गरेको खण्डमा आगामी निर्वाचनमा सबैभन्दा बलिया उम्मेदबार कोउनो बन्ने निश्चित प्रायः छ । पूर्वप्रधानमन्त्री आबेले समर्थन गरे पनि ताखाइची नेतृत्वमा आउने सम्भावना अत्यन्तै कमजोर रहेको जापानी संचारमाध्यमले उल्लेख गरेका छन् ।

    नयाँ नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका लिबरल पार्टीका महासचिव किशिदा फुमिओले भने आफ्नो घोषणालाइ यथावत राख्दै सबै गुटसँग छलफल गरिरहेका छन् । त्यसैगरी नोदा सेइकोले पनि नेतृत्वमा आफ्नो दावी प्रस्तुत गर्दै उमेद्वारी दर्ताका लागि आबश्यक पर्ने २० जना सांसदहरु जुटाउन छलफल गरिरहेकी छिन ।

    जापानमा उम्मेदबारी दर्ता गर्न मात्रै पनि २० जना सांसदहरुको समर्थन आबश्यक पर्दछ । लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठूल ो दल भएकाले पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने प्रावधान छ । अहिले पार्टी नेतृत्वमा निर्वाचित हुने व्यक्तिनै भावी प्रधानमन्त्री भएकाले लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचनलार्इ विश्वभर चासोका हेरिएको छ ।

    वर्तमान प्रधानमन्त्री योशिहिदे सुगाले पार्टीको नेतृत्वका लागि दावी नगर्ने घोषणा गरेपछि जापानको राजनीति एकाएक तातेको छ । लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचन यहि महिनाको २९ तारिख सम्पन्न हुँदैछ ।

  • गुएनामा सेनाद्वारा कू : राष्ट्रपति हिरासतमा, संविधान भंगको घोषणा

    गुएनामा सेनाद्वारा कू : राष्ट्रपति हिरासतमा, संविधान भंगको घोषणा

    पश्चिम अफ्रिकी मुलुक गुएनाको सेनाले राष्ट्रपतिलाई गिरफ्तार गर्दै मुलुकको सत्ता आफ्नो हातमा नियन्त्रणमा लिएको घोषणा गरेको छ । सेनाका प्रमुखले संविधान भंग भएको घोषणा गर्दै अब सेनाले शासन गर्ने जनाएका छन् ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमले यसलाई सैनिक कूको संज्ञा दिएका छन् । ‘हामी कुनै एक मान्छले गरेको शासनमा अब विश्वास गर्दैनौं । हामी जनतामा विश्वास गर्छौं । हामी देशको रक्षा गर्न आएका हौं जुन सिपाहीको दायित्व पनि हो’ गुएनाका सैनिक अधिकारी मामाडी डोम्बोयाले भिडिओ सन्देश जारी गर्दै भनेका छन् ।

    राष्ट्रपति अल्फा कोन्डेका सल्लाहकारले सैनिकले सत्ता कू गरेको र राष्ट्रपतिलाई हिरासतमा लिइएको जनाएका छन् । तर, गतवर्ष चुनाव जितेका ८३ वर्षिय राष्ट्रपतिलाई पक्राउ गरि राखिएको स्थानबारे भने केही खुलाइएको छैन ।

    सैनिक पोशाकमा भिडिओमा देखिएका डोम्बोयाले राष्ट्रपति कोन्डेलाई पक्राउ गरिएको र संविधान, सरकार र अन्य संस्थालाई भंग गरिएको जनाएका छन् । साथै, सबै सीमा र जमिनबाट हुने आवागमनमा पनि रोक लगाइएको छ ।

    सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

    संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गरेका छन् । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गरेको महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।

    गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन् । महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भनेका छन्, ‘गुएनामा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु । उनले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको पनि बताएका छन् ।

  • पञ्जशिर प्रान्त कब्जामा लिइसकेपछि अफगानिस्तानमा युद्ध सकिएको तालिबानको भनाई

    पञ्जशिर प्रान्त कब्जामा लिइसकेपछि अफगानिस्तानमा युद्ध सकिएको तालिबानको भनाई

    काबुल । अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन् । देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएका छन् ।

    तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीहरुका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरुले नै पञ्जशिरमा जीत हासिल गरेका हुन् ।

    तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरुको जीत भएको र प्रान्त नै आफूहरुको नियन्त्रणमा आइसकेको दाबी गरे । “अफगानिस्तानका सबै भूभाग कब्जा गर्नेक्रममा सबैभन्दा अन्त्यमा पञ्जशिर प्रान्त पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ”, प्रवक्ता मुजाहिदले भने ।

    आफूहरुको सत्तालाई तालिबान विद्रोहीहरुले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन । पञ्जशिर पनि अब यहीमार्फत सञ्चालिन हुने भएको छ । विद्रोही र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते पनि भएको विवरणहरु सार्वजनिक भएका छन् ।

    पञ्जशिर प्रान्तलाई नियन्त्रणमा लिइसकेपछि तालिबाले युद्ध सकिएको दावी गरेको छ । तर, तालिबान विरोधी सशष्त्र समूह (एनआरएफ)ले भने युद्ध जारी नै रहेको जनाएको छ ।

    पञ्जशिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ । भिडन्तका क्रममा अरु कैयौंको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन । काबुलको उत्तरमा पर्ने पञ्जशिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो भने यसलाई तालिबान विद्रोहीहरुले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन् ।

    पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागतरूपमा नै तालिबान विरोधी गढ मानिन्छ । डेढ लाखदेखि दुई लाख मानिसको बसोबास पञ्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिबान बलियो गढ बनाएको हो ।

    बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्नसक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीहरुले कब्जामा लिन नसकेको बताइन्छ ।

  • भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताको शीर्षस्थानमा (सूचीसहित)

    भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेताको शीर्षस्थानमा (सूचीसहित)

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् ।

    मर्निङ कन्सल्टले सेप्टेम्बर २ मा नयाँ सूची सार्वजनिक गरेको हो । प्रत्येक साता यो एजेन्सीले नयाँ सूची सार्वजनिक गर्छ । ७० प्रतिशत अप्रुभल रेटिङसहित मोदी शीर्ष स्थानमा छन् ।

    मेक्सिकोका राष्ट्रपति एंड्रेस म्यानुअल लोपेज, इटालेली प्रधानमन्त्री मारियो ड्रागी, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन, क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडो, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र ब्राजिलियन राष्ट्रपति जोइर बोल्सेनारोलाई मोदीले उछिनेका छन् ।

    अन्य विश्व नेताभन्दा मोदीलाई अस्वीकार गर्ने रेटिङ पनि न्यून छ । एक अधययनमा भारतका २५ प्रतिशत भारतीय एडल्ट नागरिकले मात्र मोदीलाई रुचाउँदैनन् । गतवर्षको जुनमा मोदीको अप्रुभल रेटिङ ६६ प्रतिशतले गिरावट भएको थियो ।

  • जापानी राजकुमारी माकोले आमनागरिक युवकसँग बिहे गर्ने !

    जापानी राजकुमारी माकोले आमनागरिक युवकसँग बिहे गर्ने !

    टोकियो । जापानकी राजकुमारी माकोले आफ्नो राजवंशभन्दा बाहिरको साधारण नागरिकसँग बिहे गर्ने भएकी छिन् ।

    यस्तो बिहे गरेबापत ९ करोड रुपैयाँ जरिवाना हुने बताए पनि यसको बाबजुद बिहे गर्ने निर्णय गरेकी छिन् । जापानी सञ्चारमाध्यमका अनुसार २९ वर्षिया माकोले आफ्ना प्रेमी कोमुरोसँग विवाह गर्ने निर्णय गरेकी हुन् । बिहेपछि उनीहरुले राजपरिवार छाडेर अमेरिकामा बस्ने निर्णय पनि गरेका छन् ।

    बिहेको लागि राजपरिवारले अनुमति दिएको छ । बिहेको मिति भने निश्चित भैसकेको छैन । राजकुमारी माको वर्तमान राजा आरुहितोका भाई राजकुमार आकिसिनोकी छोरी हुन् । यसअघि पनि उनीहरुको विवाहको खबर सञ्चारमाध्यममा आइरहेको थियो । त्यस समय उनका प्रेमी पढाई पूरा गर्न अमेरिका गएका थिए । विभिन्न सञ्चारमाध्यममा राजकुमारीको प्रेमको चर्चा आईरहे पनि राजपरिवारले अनुमति दिएको थिएन ।

    सामाजिक संजालमा बिहेबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् । यसअघि यो बिहेलाई लिएर केही विवाद सिर्जिएको थियो । केही व्यक्तिले राजकुमारी माकोप्रति सहानुभूति व्यक्त गरेका छन् ।

  • तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच शर्त

    तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच शर्त

    काबुल । युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् । युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ ।

    उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन् । उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए ।

    उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।

    त्यस्तै अर्को शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन् । अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ ।

    यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् ।

  • महिलासहितको समावेशी सरकार बनाउन आग्रह गर्दै काबुलमा प्रदर्शन

    महिलासहितको समावेशी सरकार बनाउन आग्रह गर्दै काबुलमा प्रदर्शन

    काबुल । आगामी सरकारमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला र नागरिक समाजका सदस्यहरुले शुक्रबार काबुलस्थित अफगान राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरेका छन् ।

    नयाँ सरकारमा महिलाहरुको भूमिकाबारे तालिबानले केही निर्णय गर्न नसक्दा हेरत र काबुलमा यस्तो प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागि महिलाहरुले राजनीति र निर्णय अधिकारमा महिलाहरुको सहभागिता गराउन समेत आग्रह गरेका छन् ।

    काबुल र्‍यालीमा सहभागि महिलाहरुले दुई दशकमा हासिल भएका उपलब्धीलाई संरक्षण गर्न र राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार सुनिश्चित गर्न तालिबान र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

    ‘महिलाको सक्रिय भूमिकाबिना कुनै पनि समाजले प्रगति गर्न सक्दैन’ नागरिक समाजकी अभियन्ता नारानोम सैदीले भनिन्, ‘यसकारण सरकार र मन्त्रिपरिषद्मा महिलाको राजनीतिक सहभागितालाई सुनिश्चित गर्नुपर्छ ।’ साथै, महिला अभियन्ताहरुले दुई दशकमा प्राप्त उपलब्धीलाई जोगाउनेको लागि आफ्नो अडानलाई बलियो तुल्याउन तथा आफ्ना कामहरु सुचारु गर्नको लागि आग्रह गरेका छन् ।

  • जापानको नेतृत्व अब कसको हातमा ? सुगाले छाडेपछि यी हुन् सम्भावित दाबेदार

    जापानको नेतृत्व अब कसको हातमा ? सुगाले छाडेपछि यी हुन् सम्भावित दाबेदार

    टोकियो/जापानका प्रधानमन्त्री योसिहिदे सुगाले लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि राजनीति तरंगित भएको छ । पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेको १ वर्ष मात्रै भएकाले अझै एक कार्यकाल नेतृत्वका लागि दावी गर्न सक्ने सबैको अपेक्षा बिपरित उनले शुक्रबार मात्रै आफू पार्टी नेतृत्वका लागि चुनावी दौडमा नरहेको घोषणा गरेका थिए ।

    अघिल्लो हप्तासम्म नेतृत्वमा दोहोरिने चाहना ब्यक्त गर्दै आएका सुगाले आफू चुनावी दौडमा नरहेको घोषणा गर्नुलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । एकथरीले सुगा जनतामा लोकप्रिय हुन नसकेकाले नेतृत्वबाट बाहिरिन खोजेको भनेका छन् भने अर्काथरीले पार्टीका पूर्वमहासचिव इसिबा सिगेरु र पार्टीभित्र अर्को बलियो गुटको नेतृत्व गरिरहेका किसिदा फुमिओले स्वयं आफै नेतृत्वमा आउने चाहना गरेपछि सुगाले नेतृत्वबाट बाहिरिने निर्णय गरेको तर्क गरेका छन् ।

    अघिल्लो पटक सुगा नेतृत्वमा आउँदा पनि उनका प्रतिस्पर्धी उनै इसिबा र किसिदा फुमिओनै थिए । नेतृत्वका लागि उम्मेदवारी दिने समय १७ तारिख भएकाले त्यतिबेला सम्म जापानमा राजनीतिक उतारचढाव त आउला नै तर जति उतारचढाव आएपनि जापान सरकारको भावी नेतृत्व यिनै चारजनामध्ये एकले गर्नसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    कसले गर्नेछन् सम्भावित नेतृत्व ?

    तारोउ कोउनो
    सुगा सरकारका क्याबिनेटका उप प्राधानमन्त्री कोउनो तारोउले पनि लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । यदि उनले उम्मेदवारी दिएको खण्डमा उनी बलियो सम्भावना भएका व्यक्ति हुन ।

    आसो गुटको नेतृत्व गर्ने उनी यस अघि २००९ सालमा नेतृत्वमा आउन उम्मेदवारी दिएका थिए । खानागावा प्रान्तको हिराचुका बासि उनलाई जापानको भावी नेतृत्व रुपमा देख्न सक्ने सम्भावना धेरै देखिन्छ ।

    सिगेरु इसिबा
    त्यस्तै जापानको सम्भावित प्रधानमन्त्रीको अर्को अनुहार हो इसिबा सिगेरु । २००८, २०१२, २०१८ र २०२० मा गरि नेतृत्वका लागि ४ पटक उमेद्वारी दिएका छन् । अहिले पनि उमेद्वारी दिएको खण्डमा उनि पनि बलिया उमेद्वार रहेको निक्केइ पत्रिकाले लेखेको छ ।

    फुमिओ किसिदा
    निक्केइ पत्रिकाले अगष्ट महिनाको २७ देखि २९ तारिख सम्म गरेको एक सर्वेक्षणले किसिदा फुमिओ पनि भावी नेतृत्वको सम्भावना बोकेको व्यक्तिको रुपमा देखाएको छ । अघिल्लो वर्ष (२०२० मा) पनि नेतृत्वको दावी गरेका उनलाई अहिले पनि जीतका लागि त्यति सहज भने नभएको विश्लेषण गरिएको छ । उनको जितका लागि कोउनो तारोउ या इसिबा सिगेरुले समर्थन गर्नुपर्ने हुन सक्ने आंकलन गरिएको छ ।

    साना ताकाइची
    लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा आउने चाहना ब्यक्त गर्ने एक मात्रै महिला साना ताकाइची हुन् । पूर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेकी उनी पहिलो पटक नेतृत्वमा आउने चाहना ब्यक्त गरेकी छिन् । पार्टीमा कुनै पनि गुटमा नरहेकी सानाको नेतृत्वमा आउने सम्भावना भने कम रहेको सर्वेक्षणले देखाएको छ ।

    उम्मेदवारी दिनका लागि उनीहरुलाई २० जना सांसदको समर्थन चाहिन्छ । कतिपयले अहिले सम्म २० जना सांसदको समर्थन समेत जुटाउन सकेका छैनन् । तर जे जस्तो भएता पनि यिनै ४ अनुहार मध्ये एकलाई जापानको नेतृत्वमा देख्न पाइने सम्भावना प्रबल देखिन्छ ।

  • बरदारले तालिबान सरकारको नेतृत्व गर्ने, आजै सरकार गठनको घोषणा गर्ने तयारी

    बरदारले तालिबान सरकारको नेतृत्व गर्ने, आजै सरकार गठनको घोषणा गर्ने तयारी

    रोयटर्स/काबुल । तालिबान सह-संस्थापक मुल्लाह बरदारले नयाँ अफगानिस्तान सरकारको नेतृत्व गर्ने भएका छन् । रोयटर्सका अनुसार सम्भवतः आजै सरकार गठनको घोषणा हुनसक्छ ।

    काबुलको उत्तरमा रहेको प्रान्त पाञ्जसिरलाई कब्जामा लिएपछि तालिबानले सरकारको घोषणा गर्न लागेको हो । नयाँ सरकारको प्राथमिकता २ लाख ४० हजारको ज्यान जाने गरि भएको द्वन्द्वका कारण ध्वस्त अफगानिस्तानको अर्थतन्त्र उकास्नु हुनेछ ।

    बरदार नेतृत्वको सरकारमा दिवंगत तालिबान सहसंस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुब र सेर मोहम्मद अब्बास स्तानेज्कीले पनि उच्च पद पाउने जनाइएको छ ।

    ‘सबै तालिबानका उच्च नेताहरु सरकारको घोषणाको अन्तिम तयारीका लागि राजधानी काबुल आइपुगेका छन्’ नाम उल्लेख नगर्ने सर्तमा तालिबान अधिकारीले रोयटर्सलाई भने ।

    तालिबान सर्वोच्च नेता हेबितुल्लाह अखुन्जादा चाहिँ इस्लामिक परम्पराअनुसारको धार्मिक र सुशासनको गतिविधिमा सक्रिय हुनेछन् । गत अगस्ट १५ मा काबुललाई कब्जामा लिएको तालिबानले पञ्जिसिरमा भने विरोधी लडाकुसँग चुनौति खेप्नुपरेको जनाइएको छ ।

  • पृथकतावादी नेताको मृत्युपछि कस्मिरमा लकडाउन, टेलिफोन र इन्टरनेट सेवामा पनि कटौती

    पृथकतावादी नेताको मृत्युपछि कस्मिरमा लकडाउन, टेलिफोन र इन्टरनेट सेवामा पनि कटौती

    कास्मिर । दिल्लीप्रति कट्टर मानिएका एकजना पृथकतावादी मुस्मिल नेताको मृत्युपछि हुनसक्ने सम्भावित हिंसालाई रोक्न भारत प्रशासित कस्मिरमा शुक्रबार दोस्रो दिन पनि लकडाउन लागू गरिएको छ ।

    ९१ वर्षिय सैयद अली गिलानीको मृत्यु गत बुधबार राती भएको थियो । उनको मृत्यु लगत्तै हिंसा चर्कन सक्ने भन्दै सरकारले सबै संचारमाध्यमहरु पूर्णतः बन्द गरेको छ भने सार्वजनिक हिँड्डुलमा समेत प्रतिबन्ध लगाइएको छ ।

    त्यहाँको मुख्य सहर श्रीनगरमा शुक्रबार सशष्त्र प्रहरीले गस्ती गरिरहेका छन् भने सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । सडकमा काँडेतार, स्टिल अवरोधकले सडकहरु बन्द गरिएको छ । शुक्रबारको मध्यान्हमा प्रार्थनापछि हिंसा हुन सक्ने भएकाले दोस्रो दिन पनि लकडाउन गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

    सैयद अली गिलानी

    गिलानीका छोराले अलजजिरालाई दिएको जानकारी अनुसार गिलानीको मृत्यु लगत्तै उनको पार्थिव शरिरलाई भारतीय सुरक्षाकर्मीले परिवारका सदस्यको उपस्थिती बिनै खाडलमा गाडेका थिए । भारतले केही वर्ष गिलानीलाई पक्राउ गरेर घरमै राखेको थियो ।

    तर, प्रहरीले चाहिँ उत्तेजना फैलाउन चाहने केही तत्वले गिलानीको शवलाई जबर्जस्त गाडिएको आरोप लगाएको र उक्त आरोपको खण्डन गरेको छ । बिहीबार बेलुका स्थानीयबासी र सुरक्षाकर्मीबीच झडप भएपछि सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो । प्रहरीमाथि ढुंगामुढा गरिएपछि प्रहरीले अश्रुग्याँस फ्याँकेको थियो भने झडपमा कोही पनि घाइते नभएको जनाइएको छ । गिलानीको मृत्युमा पाकिस्तानले बिहीवार शोक मनाएको थियो ।

  • न्यूजिल्यान्डमा इस्लामिक स्टेटको आक्रमण, ६ जना घाइते

    न्यूजिल्यान्डमा इस्लामिक स्टेटको आक्रमण, ६ जना घाइते

    वेलिङ्टन । न्यूजिल्यान्डको अकल्यान्डस्थित एक सुपरमार्केटमा आक्रमण गर्ने इस्लामिक स्टेटका समर्थकलाई प्रहरीले गोली हानी मारेको छ ।

    घटनाबारे देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले आक्रमणकारी श्रीलंकाली नागरिक रहेको र इस्लामिक स्टेटका समर्थक भएको पाइएको बताएकी छिन् ।

    ती व्यक्तिको आक्रमणबाट ६ जना घाइते भएका छन् । आक्रमणकारीलाई एक मिनेटभित्रै प्रहरीले गोली हानी मारेको थियो । ‘जुन घटना भयो त्यो भत्र्सनायोग्य छ’ शुक्रबार अपरान्ह आयोजित प्रेसमिटमा प्रधामन्त्री आर्डेनले भनिन् ।

    गत अक्टोबर २०११ मा न्यूजिल्यान्डमा प्रवेश गरेका ती व्यक्तिबारे विस्तृत जानकारी चाहिँ सरकारले दिएको छैन । प्रहरीले गोली हानेर मार्नु अगाडि आक्रमणकारीले नजिकको बजारबाट चक्कु लिएको प्रहरीले जनाएको छ ।

    घाइते भएका ६ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनास्थललाई अहिले हतियारधारी सुरक्षाफौजले नियन्त्रणमा लिएका छन् । आक्रमणकारी यसअघि पनि केही घटनामा संलग्न भएकाले अदालतमा प्रवेश गरेको र रिहा भएको जनाइएको छ ।

    न्यूजिल्यान्ड अहिले पनि लेभल चारको लकडाउनमै छ । अत्यावश्यक बाहेकका पसलहरु सबै बन्द छन् । लकडाउनकै समयमा आतंकवादी आक्रमण भएको जनाइएको छ ।

  • अमेरिकामा शक्तिशाली आँधीले तीन नेपालीसहित ४६ जनाको मृत्यु (तस्विर)

    अमेरिकामा शक्तिशाली आँधीले तीन नेपालीसहित ४६ जनाको मृत्यु (तस्विर)

    न्यूयोर्क । शक्तिशाली सामुन्द्रिक आँधी आइडापछि आएको भीषण वर्षा र बाढीले अमेरिकामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यूजर्सी राज्यमा मात्र २३ जनाको मृत्यु भएको छ ।

    न्यूयोर्क सहरमा मात्र १३ जनाको मृत्यु भएको छ ।

    न्यूयोर्कमा आँधीपछिको बाढीमा परेर एकै नेपाली परिवारका तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ घर भई अहिले न्यूयोर्कमा बस्दै आएका आङगेलु लामा, पत्नी मिङमार शेर्पा र १९ महीनाका छोरा लोप्साङ लामाको मृत्यु भएको छ ।

    न्यूजर्सी गर्भनर फिल मर्सीका अनुसार अधिकांशको मृत्यु गाडीलाई बाढीले बगाउँदा भएको छ । उनका अनुसार थप मानिसको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

    पूर्वी अमेरिकी राज्यहरु कनेक्टिकट, मेरिल्यान्ड, न्यूजर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा मात्र दर्जनौंको मृत्यु भएको छ । न्यूयोर्कमा सन् १९२७ यताकै भीषण वर्षा र बाढी आएको जनाइएको छ । सेप्टेम्बर १ मा मात्रै न्यूयोर्क र न्यूजर्सीमा अहिलेसम्मकै उच्च वर्षा मापन भएको छ ।

  • जापानका प्रधानमन्त्रीले पद छाड्दै, आगामी चुनावमा उमेद्वारी नदिने घोषणा

    जापानका प्रधानमन्त्रीले पद छाड्दै, आगामी चुनावमा उमेद्वारी नदिने घोषणा

    टोकियो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिनाको अन्त्यतिरदेखि पदबाट बिदा लिने संकेत गरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको यसै महिनाको अन्त्यमा हुने चुनावमा अध्यक्ष पदका लागि उमेद्वारी नदिने घोषणा गरेपछि उनले प्रधानमन्त्रीबाट बिदा लिने संकेत गरेका हुन् ।

    शुक्रबार विहान जम्मा १० मिनेट बसेको पार्टीको पार्टीको बोर्ड बैठकमा सुगाले अगष्ट २९ तारिखमा हुने पार्टीको निर्वाचनमा आफूले उमेद्वारी नदिने घोषणा गरेको लिबरल डेमोक्रेटिक पार्टी पुष्टी गरेको छ ।

    ‘म कोरोना संक्रमण नियन्त्रणका उपायहरुमा ध्यान केन्द्रित गर्न चाहन्छु’ बैठकमा उनले भनेका थिए, ‘त्यसैले म अध्यक्षका लागि उमेद्वारी दिने योजनामा छैन ।’ जापानमा बहुमत प्राप्त पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

    सुगाले उमेद्वारी नदिने घोषणा गरेपछि जापानको भावी प्रधानमन्त्रीका लागि बहस सुरु भएको छ।

    हालैको एक तथ्यांकले प्रधानमन्त्री सुगा जनतामाझ अलोकप्रिय रहेको देखाएको थियो ।

  • सरकारको घोषणा गर्दै तालिबान : अखुनजादाको मातहतमा राष्ट्रपति र प्रधानमन्त्री रहने

    सरकारको घोषणा गर्दै तालिबान : अखुनजादाको मातहतमा राष्ट्रपति र प्रधानमन्त्री रहने

    काबुल । सत्ता नियन्त्रणमा लिएपछि तालिबानले सरकार गठनको गृहकार्य सम्पन्न गरेको र केही दिनमै नयाँ सरकारको घोषणा हुने जनाएको छ ।

    तालिबान सांस्कृतिक आयोगका सदस्य अनामुल्ला सामागानीका अनुसार मुल्लाह हेबातुल्ला अखुनजादाले नै तालिबानको नेतृत्व गर्ने भएका छन् साथै नयाँ सरकारको नेतृत्व पनि ।

    ‘नयाँ सरकार गठनको परामर्श लगभग सकिएको छ । मन्त्रिपरिषद् बारेको आवश्यक छलफल पनि सकिएको छ । अब घोषणा हुने इस्लाम सरकार जनताको मोडेलमै हुनेछ । हाम्रो कमान्डर (अखुनजादा)ले सरकारको नेतृत्व गर्नुहुनेछ भन्नेमा शंका छैन । उहाँ नै सरकारको नेता हुनुहुनेछ र यसमा कुनै प्रश्न हुँदैन’ सामागानीले भने ।

    साथै, केही विवरणका अनुसार आगामी सरकारमा प्रधानमन्त्री पद पनि सिर्जना गरिएको छ ।

    ‘नयाँ प्रणालीको नाम गणतन्त्र वा एमिरेट हुनुपर्छ भन्ने जरुरी छैन । यो इस्लामिक गणतन्त्र जस्तै हुनुपर्छ । हेबातुल्ला नै सरकारको उच्च पदमा हुनुपर्छ र उहाँ राष्ट्रपति बन्नुहुने छैन । यहाँ अफगानिस्तानको सर्वोच्च नेता हुनुहुनेछ । उहाँको मातहतमा राष्ट्रपति र प्रधानमन्त्रीले काम गर्नेछन्’ राजनीतिक विश्लेषक अब्दुल हनान हाकानीले भने ।

    तालिबानले यसअघि नै प्रान्त र जिल्लाहरुमा गभर्नर, प्रहरी प्रमुख र प्रहरी कमान्डरहरु नियुक्त गरिसकेका छन् । बीबीसीका अनुसार सम्भवतः शुक्रबार वा शनिबार नै नयाँ सरकार घोषणा हुने भएको छ । सरकारमा महिलालाई पनि सहभागि गराउने तालिबानले जनाएको छ ।

  • गर्भपतनलाई रोक्ने सर्वोच्चको फैसलापछि अमेरिकाको टेक्ससमा अधिकारवादीहरुको प्रदर्शन

    गर्भपतनलाई रोक्ने सर्वोच्चको फैसलापछि अमेरिकाको टेक्ससमा अधिकारवादीहरुको प्रदर्शन

    वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले ६ महीनापछिको गर्भपतनमा रोक लगाउने टेक्सस राज्यको एक कानूनमाथि प्रतिबन्ध नलगाउने फैसला सुनाएको छ ।

    उक्त कानून खारेजीको माग गर्दै दायर गरिएको याचिकामा मत बाझिएपछि न्यायाधीशहरुबीच बहुमतको आधारमा मतदान भएको थियो । बिहिबार ५ जना न्यायाधीश फैसलाको पक्ष र अन्य चारजना विपक्षमा बाँडिएका थिए ।

    यो बहुचर्चित कानून आगामी बुधबारदेखि लागू हुँदैछ र यसले टेक्सस राज्यमा ६ महीना पछाडिको गर्भपतनलाई पूर्णतः वर्जित गर्नेछ । रिपब्लिकन गभर्नर ग्रेग एबर्टले हस्ताक्षर गरेको उक्त कानूनले चिकित्सकले गर्भवती महिलाको परीक्षण गर्दा हुने मुटुको चाल र गर्भवती महिलाले आफू गर्भवती भएको थाहा पाएपछि गर्भपतन गर्न रोक लगाउने उल्लेख छ ।

    तर, अधिकारवादी संस्थाहरुले भने सन् १९७३ मा सर्वोच्च अदालतले गरेको फैसलाको नजिरको आधारमा यस्तो प्रतिबन्धलाई अनुमति नदिइएको दावी गरिरहेका छन् ।

    तर, फैसलाको पक्षमा रहेका बहुमत न्यायाधीशले चाहिँ टेक्सस राज्यको संविधानअनुसार फैसला नभएको जनाएका छन् । गर्भपतन पक्षका अधिकारवादीहरुले अदालतको फैसलापछि सर्वोच्च अदालतबाहिर प्रदर्शन गर्दै आएका छन् ।

    तर, राष्ट्रपति जो बाइडेन प्रशासनले चाहिँ गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको रक्षामा आफू प्रतिबद्ध रहेको बताएको छ । सन् १९७३ को रोय भी वेडेको नजिरमा अदालतले दिएको गर्भपतन गर्न पाउने आदेशको समेत ह्वाइट हाउसले ध्यानाकर्षण गराएको छ ।

  • शक्तिशाली आँधी ‘आइदा’ न्यूयोर्क पुग्यो, सहरमा संकटकाल घोषणा

    शक्तिशाली आँधी ‘आइदा’ न्यूयोर्क पुग्यो, सहरमा संकटकाल घोषणा

    न्यूयोर्क । आइदा आँधीको कारण अहिलेसम्मकै ठूलो वर्षा र बाढी आएपछि अमेरिकी आर्थिक सहर न्यूयोर्कमा संकटकाल घोषणा गरिएको छ ।

    बाढीको वितण्ड र खतरनाक परिस्थितीको कारण सिर्जित अहिलेसम्मकै खराब मौसमी अवस्थाको कारण संकटकाल घोषणा गरिएको मेयर बिल डे ब्लासियोले बताएका छन् ।

    सामाजिक संजालमा सार्वजनिक भएका भिडिओमा सब–वे स्टेसन, सर्वसाधारणको घर र सडकमा बाढी बगेको देख्न सकिन्छ । न्यूजर्सी राज्यमा पनि संकटकाल घोषणा भएको छ जहाँ एकजनाको मृत्यु भएको छ ।

    स्थानीय मेयरका अनुसार न्यू जर्सीमा आँधीले त्यहाँको मुलिसिया हिलमा नौ घर भत्काएको छ । न्यूयोर्कको मौसम विभागका अनुसार त्यहाँको सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्चको वर्षा मापन भएको थियो ।

    न्यूयोर्कको सबवे बन्द गरिएका छन् भने रेल सेवा पनि ठप्प छ । न्यूयोर्क र न्यूजर्सीबाट बाहिर हुने उडानहरु सबै बन्द भएका छन् । आइदा आँधी अहिले पूर्वी अमेरिकाबाट उत्तरतर्फ अघि बढिरहेको छ ।

    लुसियानाका सयौं घरमा रात्रीकालिन कफूर्यु लागू गरिएको छ भने त्यहाँ बिजुली समेत छैन ।

  • जापानमा सत्तापक्ष र प्रतिपक्ष विवाद- संसद अधिवेशन नबोलाएर संविधान उल्लंघन गरेको विपक्षीको आरोप

    जापानमा सत्तापक्ष र प्रतिपक्ष विवाद- संसद अधिवेशन नबोलाएर संविधान उल्लंघन गरेको विपक्षीको आरोप

    टोकियो । संसदको विशेष अधिवेशन बोलाउनु पर्ने बिपक्षीहरुको मागलाई सत्तापक्षले अस्वीकार गरेपछि जापानमा राजनीतिक सरगर्मी चुलिएको छ ।

    संवैधानिक लोकतान्त्रिक पार्टी, कम्युनिस्ट पार्टी, लोकतान्त्रिक पार्टी र सामाजिक लोकतान्त्रिक पार्टी गरी ४ बिपक्षी दलले लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको सरकारलाई संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

    कोरोना सक्रमण बढ्दो क्रममा रहेकाले सक्रमण नियन्त्रणका लागि अहिले अवलम्बन गरिएका उपायहरु र पूरक बजेटसहितका बिषयमा छलफल गर्न संसदको विशेष अधिवेसन बोलाउनपर्ने बिपक्षी दलहरुको माग छ ।

    तर, सत्तापक्ष भने पुरक बजेट आवश्यक नभएको भन्दै संसदको अधिवेशन बोलाउन नपर्ने अडानमा छ । संसदको विशेष अधिवेशन बोलाउन आफूहरुले गरेको आग्रहलाई अस्वीकार गर्नुलाई बिपक्षी दलहरुले ‘संविधानको उल्लंघन’ भनेका छन् ।

    सरकारले जटिल परिस्थिमा पनि संसदका अधिकारलाइ नियन्त्रण गर्न खोजेको भन्दै असन्तुष्ट बनेका विपक्षी दलहरुले संक्रमण नियन्त्रणका लागि संसदीय समितिका अध्यक्ष मोरियामासमक्ष अधिवेशन बोलाउन माग गर्दै निवेदन पेश गरेका छन् ।

    विपक्षी दलहरुले संसदको विशेष अधिवेशन बोलाउन माग गरेपछि संक्रमण नियन्त्रणका लागि संसदीय समितिका अध्यक्ष मोरियामाले सत्तारुढ दल र सरकारसँग छलफल गर्ने बताएका छन् ।

    संविधानको धारा ५३ मा कुनै एक(तल्लो र उपल्लो सदन) सदनमा तत्काल कायम रहेका सदस्य संख्या मध्ये एक चौथाई सदस्यले संसदको विशेष अधिवेशनको माग गरेमा मन्त्रिपरिषदले अनिवार्य बोलाउनुपर्ने व्यवस्था छ ।

  • चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा, नेतृत्व परिवर्तन र पार्टीको उपलब्धी पोलिटब्यूरोका एजेन्डा

    चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा, नेतृत्व परिवर्तन र पार्टीको उपलब्धी पोलिटब्यूरोका एजेन्डा

    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी (पोलिटब्यूरो)को छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ । आउने वर्ष हुने पार्टीको महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने अपेक्षा गरिएको छ ।

    पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए ।

    बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।

  • अमेरिकाले काबुल दूतावासलाई दोहामा सार्‍यो, कतारबाटै अफगान मामिला हेर्ने

    अमेरिकाले काबुल दूतावासलाई दोहामा सार्‍यो, कतारबाटै अफगान मामिला हेर्ने

    काबुल । अमेरिकाले अफगानिस्तान मामिला कतारको राजधानी दोहाबाट हेर्ने भएको छ । मंगलबारदेखि काबुलस्थित दूतावास बन्द गरिएको र अफगान सम्बन्धी कार्य दोहाबाट गर्ने अमेरिकाले जनाएको छ ।

    ‘काबुलबाट सबै कर्मचारीलाई फिर्ता गरिएपनि हामीले अमेरिकी नागरिक र तिनका परिवारलाई दोहाबाट सेवा गर्छौं’ अमेरिकी दूतावासको वेबसाइटमा भनिएको छ ।

    अगस्ट १५ मा तालिबानले काबुल कब्जामा लिएपछि अमेरिकाले काबुलस्थित दूतावासका कर्मचारी र कूटनीतिज्ञलाई फिर्ता लैजान सुरु गरेको थियो ।

  • अमेरिका फर्किए लगत्तै तालिबानको टिप्पणी : आजदेखि अफगानिस्तानले स्वतन्त्रता र सार्वभौमसत्ता प्राप्त गर्‍यो

    अमेरिका फर्किए लगत्तै तालिबानको टिप्पणी : आजदेखि अफगानिस्तानले स्वतन्त्रता र सार्वभौमसत्ता प्राप्त गर्‍यो

    काबुल । अमेरिकाले अफगानिस्तान छाड्ने समयसीमा आज सकिँदैछ । अमेरिकी सेनाको अन्तिम विमान काबुलबाट उडे लगत्तै तालिबान लडाकुले काबुलमा हर्षोल्लास मनाएका छन् ।

    तालिबानले अमेरिकी फिर्तीसँगै अफगानिस्तानले वास्तविक अर्थमा स्वतन्त्रता र सार्वभौमसत्ता प्राप्त गरेको टिप्पणी गरेको छ । २० वर्षको युद्धपछि अमेरिका बाहिरिएलगत्तै तालिबानको यस्तो भनाई आएको हो ।

    तालिबानले यसलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।

    गएराति अमेरिकी सेनाले अन्तिम उडान भरेलगत्तै तालिबानी लडाकुहरु हर्षोल्लास मनाउन काबुलमा सडकमा निस्किएका थिए । उनीहरुले रात्री आकाशमा आतसबाजी मनाए भने बन्दुक पड्काएका थिए ।

    काबुल एयरपोर्टमा मंगलबार कुरा गर्दै तालिबान प्रवक्ता जाबिहुल्ला मुजाहिदले अफगानिस्तान अब वास्तविक अर्थमा स्वतन्त्र भएकोमा कुनै शंका नरहेको बताए । ‘अमेरिका हारेको थियो । देशवासीको तर्फबाट म अब सबै पक्षसँग राम्रो सम्बन्ध राख्ने बताउन चाहन्छु’ उनले भने ।

    साथै प्रवक्ताले अफगानिस्तानको स्वतन्त्रता, स्वायत्तता र इस्लामिक मूल्यलाई जोगाइने बताए ।

  • उत्तर कोरियाले पुनः थाल्यो आणविक कार्यक्रम, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

    उत्तर कोरियाले पुनः थाल्यो आणविक कार्यक्रम, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

    प्योङयाङ । उत्तर कोरियाले परमाणु कार्यक्रमलाई पुनः अघि बढाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाले परमाणु हतियार बनाउन आवश्यक पर्ने प्लुटोनियम प्रशोधन सुरु गरेको हो । राष्ट्रसंघीय परमाणु एजेन्सीले उत्तर कोरियाको यो कार्यप्रति चिन्ता जनाएको छ ।

    त्यहाँको योङब्यानस्थित प्लान्टमा प्रोसेसिङ सुरु गरिएको उत्तर कोरियाले जनाएको छ । यो ठाउँमा उत्तर कोरियाको सबैभन्दा ठूलो पाँच मेगावाटको परमाणु रियाक्टर छ । सन् २०१८ को डिसेम्बरमा यो रिक्याटरलाई बन्द गरिएको थियो ।

    परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच कुनै सहमति जुट्न सकेको छैन । यो कार्यक्रमलाई नेता किमजङ उन र अमेरिकी पूर्वराष्ट्र डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो । ट्रम्पसँगको छलफलमा किमले कार्यक्रम बन्द गर्ने प्रतिबद्धता जनाएका थिए तर, पछिल्लो पटक उनीहरुबीच यसको कार्यान्वयन भएन ।

    नेता उनको नेतृत्वमा उत्तर कोरियामा परमाणु कार्यक्रम तीव्ररुपमा अघि बढिरहेको छ । जसले गर्दा केही अन्तर्राष्ट्रिय निकायले यसमा रोक पनि लगाएका छन् । राष्ट्रसंघको अन्तर्राष्ट्रिय परमाणु एजेन्सीले जुलाईको पहिलो सातादेखि नै उत्तर कोरियाले परमाणु कार्यक्रमको थालनी गरेको जनाएको थियो ।

  • चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच वार्ता : स्थायित्वका लागि तालिबानलाई सघाउन चीनको आग्रह

    चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच वार्ता : स्थायित्वका लागि तालिबानलाई सघाउन चीनको आग्रह

    बेइजिङ । आतंकवाद तथा दोहोरो प्रवृत्तिविरुद्धको लडाइमा अफगानिस्तानलाई सघाउन चीनले अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्रीसँग सोमबार भएको टेलिफोन संवादमा चिनियाँ समकक्षी वाङ यीले यस्तो आग्रह गरेका हुन् ।

    गत अगस्ट १६ मा दुई कूटनीतिज्ञबीच संवाद भएको दुई सातामै अफगान संकटबारे चर्चा भएको हो । अफगानिस्तानको घरेलु अवस्था आधारभूत रुपमै बदलिने क्रममा रहेको र तालिबानलाई निर्देशित गर्न सबै पक्ष एकजुट हुनुपर्ने विदेशमन्त्री वाङले बताएको ग्लोबल टाइम्सले जनाएको छ । खासगरि, यसमा अमेरिकी भूमिका महत्वपूर्ण हुने उनले बताएका थिए ।

    ‘अफगानिस्तानमा रहेका कट्टरपन्थीको उपस्थितीले अफगानिस्तान युद्धले कुनै उपलब्धी हासिल गर्न नसकेको तथ्यले प्रमाणित गरेका छन् । साथै, अमेरिकी र नेटो सेनाको फिर्तीले आतंकबादीलाई फाइदा पुग्न सक्छ’ वाङ यीले भनेका छन् ।

    नयाँ अफगानिस्तान संचालनका लागि तालिबानलाई अन्तर्राष्ट्रिय समुदायसँग मिलेर साथ दिन अमेरिकाले भूमिका खेल्नुपर्ने पनि चिनियाँ विदेशमन्त्रीको भनाई छ ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले काबुलबाट सर्वसाधारणको उद्दारका लागि तालिबाने सहयोग सुनिश्चितता गर्नुपर्ने सहितको संयुक्त आवाज राष्ट्रसंघीय सुरक्षा समितिले प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए ।

  • शक्तिशाली सामुन्द्रिक आँधी इदाले अमेरिका प्रभावित, लुसियानाका लाखौं नागरिक विद्युतबाट बञ्चित

    शक्तिशाली सामुन्द्रिक आँधी इदाले अमेरिका प्रभावित, लुसियानाका लाखौं नागरिक विद्युतबाट बञ्चित

    अमेरिका । इदा नामक शक्तिशाली सामुन्द्रिक आँधीले अमेरिकी राज्य लुसियानालाई तहसनहस बनाएको छ । तीव्र बेगसहित चलेको हावा र बाढीले न्यू अर्लियन्सका लाखौं मानिसहरु विद्युतबाट बञ्चित भएका छन् ।

    आँधीबाट एकजनाको मृत्यु भएको छ ।

    आइतबार राती १०५ माइल प्रतिघण्टाको गतिमा आएको उक्त शक्तिशाली आँधी जमिनमा ठोक्किएको थियो । इदा आँधीलाई त्यहाँको मौसम विभागले चौंथो श्रेणीको खतरनाक आँधीको सूचीमा राखेको छ ।

    १६ वर्षअघि लुसियानामा आएको कट्रिना नामक सामुन्द्रिक आँधीपछि हजारौंलाई प्रभावित तुल्याउने गरी इदा आँधी आइपुगेको हो । कट्रिना आँधीलाई पनि विभागले चौंथो श्रेणीको आँधीमा राखेको छ ।

    विद्युत संरचनामा क्षति पुगेपछि जनघनत्व बढी रहेको लुसियाना सहरका लाखौं मानिसहरु विद्युत सेवाबाट बञ्चित भएका छन् । सरकारले आँधी प्रभावित ठाउँका मानिसलाई तत्काल उद्दार गर्न भनेको छ ।

  • काबुलमा इस्लामिक स्टेट लक्षित अमेरिकी रकेट आक्रमण : तीन बच्चासहित एकै परिवारका नौजना मारिए

    काबुलमा इस्लामिक स्टेट लक्षित अमेरिकी रकेट आक्रमण : तीन बच्चासहित एकै परिवारका नौजना मारिए

    काबुल । काबुल छाड्ने समयसीमा सकिन एकदिन मात्र बाँकी रहँदा अमेरिकाले सम्भावित आत्मघाती हुनसक्ने कारण देखाउँदै सोमबार बिहान इस्लामिक स्टेटका लडाकु लक्षित रकेट आक्रमण गरेको छ ।

    उक्त आक्रमणबाट काबुल एयरपोर्ट अगाडि विस्फोटक पदार्थ भरेर राखिएको एक कार ध्वस्त भएको छ । सीएनएनले अमेरिकी हमलामा एकै परिवारका ९ जना मारिएको जनाएको छ ।

    अलजजिराले अमेरिकी रकेट आक्रमणमा सर्वसाधारण र बालबालिका मारिएको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले रकेट आक्रमणको मुख्य निशाना पुनः आत्मघाती आक्रमण गराउन सक्ने इस्लामिक स्टेटका लडाकुलाई तुल्याइएको बताएको छ ।

    आक्रमणमा एक सामान्य परिवारकी २ वर्षिया बालिका र उनका दाजु मारिएका छन् । सेन्ट्रल कमान्डले ड्रोन आक्रमणपछि केही नागरिक हताहत भएको विवरण प्राप्त गरेको जनाएको छ ।

    उसले घटनाबारे छानविन गरिरहेको जनाएको छ । गत बिहीवार इस्लामिक स्टेटका लडाकुले आत्मघाती बम आक्रमण गर्दा काबुलमा १३ जना अमेरिकी सैनिक सहित १७५ जना मारिएका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार पार्किङ राखिएको एक गाडीमा केही व्यक्तिले विस्फोटक पदार्थ राख्न लागेको बेला रकेड आक्रमण भएको थियो । नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले इस्लामिक स्टेटका दुईजना लडाकु सो क्रममा मारिएको जनाए ।

    अगस्ट ३१ मा काबुल छाड्ने तयारी गरिरहेको अमेरिकाले आइतबार ३६ घण्टाभित्र पुनः आतंकवादी आक्रमण हुनसक्ने भन्दै चेतावनी जारी गरेको थियो । अगस्ट १५ मा तालिबानले काबुललाई नियन्त्रणमा लिएपछि अमेरिका र उसका साझेदार मुलुकले १ लाख १४ हजार व्यक्तिलाई उद्धार गरेको छ ।

  • प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद

    प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद

    काठमाडौं । ब्राजिलका लागि ग्रीक राजदूतकी पत्नीलाई आफ्नै श्रीमानको हत्याको योजनाकार पुष्टि गर्दै ३१ वर्षै कैद सजाय सुनाइएको छ । रियो दी जेनेरियोमा सन् २०१६ मा किरियाकोस अमिरिडिस कारमा जलेर मृत अवस्थामा फेला परेका थिए ।

    उनकी पत्नी फ्रान्सिस्को डी सौज ओलिभेराको त्यो समयमा एक सैन्य अफिसर सर्जियो गोमेजसँग सम्बन्ध बनेको थियो । गोमेजले ओलिभेरासँगको सल्लाहमा आफूले किरियाकोसको हत्या गरेको स्वीकारेका थिए । र, उनलाई २२ वर्षका लागि जेल सजाय सुनाइएको थियो ।

    तीन दिनको बहसपछि न्यायाधीशले यो सोचेर सम्झेर गरिएको अपराध भएकाले ३१ वर्ष जेल सजाय सुनाएका हुन् ।

    गोमेजका आफन्त पर्ने अर्का एक पुरुष एडुवार्डो टेडेस्चीलाघई पनि जेल सजाय सुनाइएको थियो । उनले अपराधमा सघाएको कसुरमा १ वर्ष जेल कटाइसकेका छन् ।

    ५९ वर्षीय किरियाकोस २००१ देखि ०४ सम्म रियो दी जेनेरियोमा कन्सुलको रूपमा काम गरेका थिए । उनले २००४ मा ओलिभेरासँग विवाह गरेका थिए । उनीहरूकी एक छोरी छन् ।

    किरियाकोस पुन: २०१६ मा ब्राजिलको राजदूत बनेर फर्किएका थिए । मृत्युअघि उनी आफ्नो परिवार र पत्नीसँग क्रिसमस मनाउन ब्रासिलिया गएका थिए ।

    र, त्यहीँ उनी हराइरहेको रिपोर्ट गरिएको थियो । सुरुआतमा घरमा केही नभनी एक भाडाको कार लिएर निस्किएको बताइएको थियो । र, उनी एक फ्याइओभर मुनी कारमा जलेर मृत अवस्थामा भेटिएका थिए ।

    त्यसपछि अनुसन्धानकर्ताले उनी बसिरहेको फ्लाटको सोफमा रगत लत्पतिएको फेला पारेको थियो । त्यहीँबाट उनको मृत्यु नभइ हत्या भएको पुष्टि गर्न अनुसन्धानकर्ता सफल भएका थिए ।

    -बीबीसीबाट
  • काबुल विस्फोटपछि चीनले मुख खोल्यो : तालिबानले आतंकवादी संगठनसँग सम्बन्ध अन्त्य गर्नुपर्छ

    काबुल विस्फोटपछि चीनले मुख खोल्यो : तालिबानले आतंकवादी संगठनसँग सम्बन्ध अन्त्य गर्नुपर्छ

    काबुल । चीनले १७० जनाको ज्यान जाने गरी अफगानिस्तानमा भएका श्रृंखलाबद्ध विस्फोटपछि पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ ।

    चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजानले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट (इटीआइएम)को गतिविधिलाई निषेध गर्ने प्रतिबद्धतालाई पुरा गर्न तालिबानलाई आग्रह गरेका छन् ।

    इटीआइएम क्षेत्रीय स्थिरता र विकास साभेदारीको अवरोध भएकाले उसका गतिविधिलाई रोक लगाउन चीनले आग्रह गरेको हो । गत महीना बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा तालिबान नेता बरदारले इटीआइएमलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको चर्चा छ ।

    बेइजिङले तालिबानको उक्त प्रतिबद्धता पुरा गर्न ध्यानाकर्षण गराएको हो । ‘बितेका २० वर्षमा अफगानिस्तानमा केही आतंकवादी संगठनहरु जम्मा र विकसित भएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षालाई खतरा पैदा गरेका छन्’ प्रवक्ता झाओले भने ।

    उनले इटीआइएमलाई राष्ट्रसंघीय सुरक्षा परिषद्ले आतंकवादी संगठनको रुपमा सूचीकृत गरेको चीनको भनाई छ । चीनको राष्ट्रिय र नागरिकको सुरक्षाको लागि इटीआइएमले खतरा पैदा गरेको समेत प्रवक्ता झाओले बताए ।

    तालिबानले यसअघि चीनलाई अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको स्मरण समेत उनले गरे । प्रवक्ता झाओले सबै आतंकवादी संगठनसँगको सम्बन्ध अन्त्य गर्न समेत तालिबानलाई आग्रह गरे ।

    १३ जना अमेरिकी सैनिकको ज्यान जाने गरी काबुल एयरपोर्ट बाहिर भएका विस्फोट अफगानिस्तान छाड्ने अमेरिकी अपरिपक्व, गैरजिम्मेवारी र अव्यवस्थित निर्णयको उपज भएको समेत चीनले जनाएको छ । अफगानिस्तान मिसनलाई पूर्णता दिने अमेरिकी योजनामा उक्त घटनाले थप्पड हानेको समेत चीनले जनाएको छ ।

  • काबुलमा रोकिएका ४२ नेपालीलाई भारतीय एयरफोर्सको विमानबाट उद्दार गर्ने तयारी

    काबुलमा रोकिएका ४२ नेपालीलाई भारतीय एयरफोर्सको विमानबाट उद्दार गर्ने तयारी

    काबुल । परराष्ट्र मन्त्रालयका अनुसार अहिले काबुलमा ४२ जना नेपालीहरु एयरपोर्ट नजिक उद्दारको पर्खाइमा छन् । बिहीबार भएको विस्फोटको घटनामा उनीहरु एयरपोर्टबाट १३ किमी टाढा पर्ने एक गुरुद्धारमा भेला भएर पर्खाइमा बसेको जनाइएको छ ।

    परराष्ट्रको उद्दार कार्यदलका एक सदस्यका अनुसार विस्फोट अघि नै उनीहरु गुुरुद्धार पुगिसकेकाले उनीहरु सुरक्षित छन् । दिल्लीस्थित नेपाली दूतावासले ती नेपालीलाई उद्दार गर्न भारत र अमेरिका सरकारसँग समन्वय गरिरहेको छ ।

    परराष्ट्रले हिजो साँझ विज्ञप्ति जारी गर्दै सबै नेपाली सुरक्षित अवस्थामा रहेको र सबैसँग नियमित सम्पर्क भैरहेको जनाएको छ । शिख समुदायले संचालन गरेको निशुल्क खाने र बस्ने ठाउँमा नेपाली र भारतीयहरु बसिरहेका छन् ।

    कार्यदलका ती सदस्यका अनुसार भारतीय एयरफोर्सको बिमानबाट रोकिएका ती ४२ जना नेपालीलाई उद्दार गर्न कूटनीतिक प्रयास भैरहेको जनाइएको छ । विस्फोटको एकदिन अघि ११ जना नेपाली काबुलबाट दिल्ली पुगेका छन् र उनीहरुलाई कोभिड प्रोटोकल पालना गर्दै काठमाडौं ल्याउने तयारी भएको छ ।

    अमेरिकाद्वारा इस्लामिक स्टेटविरुद्ध हवाइ हमला, विस्फोटका योजनाकार मारिएको दावी

    १७० जनाको ज्यान जाने गरि बिहीबार अफगानिस्तानमा भएको घटनापछि अमेरिकाले इस्लामिक स्टेट समूहविरुद्ध मानवरहित हवाइ हमला गरेको छ ।

    ड्रोनमार्फत गरिएको उक्त हवाइ हमलामा इस्लामिक स्टेटका एक सदस्य तथा काबुल विस्फोटका एक योजनाकारलाई मारिएको पेन्टागनले जनाएको छ । तर, कसको मृत्यु भयो भन्नेबारे पेन्टागनले उल्लेख गरेको छैन ।

    नानगहार प्रान्तमा हवाइ हमला भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

    काबुल विस्फोटको ३६ घण्टापछि अमेरिकाले इस्लामिक स्टेटविरुद्ध जवाफी हमला गरेको हो । राष्ट्रपति जो बाइडेनले शुक्रबार राती देशवासीलाई सम्बोधन गर्दै आइएआइएसविरुद्ध बदला लिने बताएका थिए । शुक्रबार नै इस्लामिक स्टेटले हमलाको जिम्मा लिएको थियो ।

    काबुलमा भएका ६ वटा विस्फोटमा १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका थिए भने मृत्यु हुने संख्या बढेर १७० पुगेको छ । ह्वाइट हाउस प्रेस सल्लाहकार जोन पास्कीले काबुल छाड्ने समयसीमा सकिनै लाग्दा थप आक्रमण हुनसक्ने बताएका छन् । अमेरिकाले काबुलमा रहेका नागरिकलाई एयरपोर्ट छाड्न भनेको छ ।

    काबुलस्थित अमेरिकी दूतावासले विमानस्थलका सबै द्धारमा रहेका नागरिकलाई तत्काल त्यो ठाउँ छाड्न भनेको छ ।

    तालिबानले काबुल विमानस्थलका मुख्य भाग सबै कब्जामा लिएको बताउँदै अमेरिकी सेना जाने वित्तिकै नियन्त्रणमा लिने जनाएको छ । अमेरिकाले अन्तिम समयसम्म उद्दारलाई जारी राख्ने र विमानस्थल अहिले पनि आफ्नै कब्जामा रहेको जनाएको छ ।

     

  • आइएसआइएसले लियो काबुल विस्फोटको जिम्मा, न्यूयोर्क टाइम्स लेख्छ : अफगान समर्थकमार्फत गराइयो घटना

    आइएसआइएसले लियो काबुल विस्फोटको जिम्मा, न्यूयोर्क टाइम्स लेख्छ : अफगान समर्थकमार्फत गराइयो घटना

    काबुल । बिहीबार काबुल विमानस्थलमा भएको विस्फोटको जिम्मा मुस्लिम कट्टरपन्थी समूह आइएसआइएसले लिएको छ । अफगानिस्तानमा रहेका आफ्ना समर्थकद्वारा उक्त घटना गराइएको उक्त संगठनको भनाई उध्दृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

    बिहीबार भएका श्रृंखलाबद्ध ६ वटा विस्फोटका घटनामा ज्यान गुमाउनेको संख्या ११० पुगेको छ भने डेढसय भन्दा बढी घाइते भएका छन् । तर, उक्त आक्रमणपछि जारी उद्दार कार्यलाई आइएसआइएसले कत्ति प्रभावित तुल्याउन सक्छ भन्ने कुरामा यकिन नभएको समेत उक्त अखबारले लेखेको छ ।

    शुक्रबार दिउँसोदेखि उद्दार कार्य पुनः सुचारु भएको छ । अष्ट्रेलिया, न्यूजिल्यान्ड, क्यानडा लगायतका मुलुकले उद्दार कार्य स्थगित गरेका छन् । अमेरिका र बेलायतले भने उद्दार कार्यलाई जारी राखेका छन् ।

    वम विस्फोटको घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले देशवासीका नाममा सम्बोधन गर्दै आइएसआइएसविरुद्ध बदला लिने चेतावनी दिएका छन् । उनले उक्त संगठनलाई निमिट्यान्ने पार्ने चेतावनी दिँदै लुकेर बसेको भए बाहिर निकाल्ने चेतावनी समेत दिएका छन् ।

    अमेरिकाले ३१ अगस्टमा काबुल छाड्ने समयसीमा छ ।

     

  • काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, रोकिएको उद्दार कार्य पुनः सुचारु

    काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, रोकिएको उद्दार कार्य पुनः सुचारु

    काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ११० पुुगेको छ । अलजजिराका अनुसार बिहीवार काबुल बिमानस्थलमा भएको गेटमा भएको विस्फोटमा १३ जना अमेरिकी सैनिक पनि मारिएका थिए ।

    थप आक्रमण हुनसक्ने भन्दै एयरपोर्टमा रहेको अमेरिकी फौजले देश छाड्ने तयारीमा रहेका अफगान नागरिकलाई उद्दार गरिरहेको छ । विस्फोटपछि रोकिएको उद्दार कार्य पुनः सुरु भएको छ ।

    ‘हामीले केही जहाजले उद्दार कार्य थालेको देखेका छौं । एयरपोर्ट बाहिर देश छाड्नेको भीड हिजोको भन्दा बढेको छ । केही जहाज मात्र बाँकी भएकाले एयरपोर्टको पर्खाल हुँदै भित्र छिर्न चाहेनेको भीड निकै उच्च छ’ अलजजिराका चाल्र्स स्टार्टफोर्डले भने ।

    बिहीवारको आक्रमण अफगानिस्तानमा रहेका आएसआइएस कट्टरपन्थीले गरेको अनुमान गरिएको छ ।

  • कोपनहेगन संसारकै सुरक्षित सहर घोषित, काठमाडौं सूचीमै समावेश भएन

    कोपनहेगन संसारकै सुरक्षित सहर घोषित, काठमाडौं सूचीमै समावेश भएन

    डेनमार्कको राजधानी कोपनहेगन यसवर्ष संसारकै सुरक्षित सहर घोषित भएको छ । इकोनोमिस्ट इन्जिलिजेन्स युनिटले आज सार्वजनिक गरेको अध्ययनमा कोपनहेगन संसारकै सुरक्षित सहर बनेको हो ।

    यसअघि लगातार पहिलो र दोस्रो सुरक्षित सहर बनेका जापानको टोकियो र सिंगापुर सूचीमा तल झरेका छन् । शुक्रबार सार्वजनिक सूचीमा शीर्षस्थानमा कोपहेगन छ ।

    पूर्वाधार, सुरक्षा, स्वास्थ्य, सामाजिक जीवन, वातावरणीय सुरक्षाको सूचकको आधारमा द इकोनोमिस्टले वर्षेनी सूची सार्वजनिक गर्ने गर्छ । कोरोनाभाइरस महामारीपछि भाइरस सुरक्षाको सूचक पनि यसमा थपिएको छ ।

    सूचीको दोस्रो स्थानमा क्यानडाको टोरन्टो, तेस्रोमा सिंगापुर, चौंथोमा सिड्नी, जापानको टोकियो पाँचौं, नेदरल्यान्डको आम्सटर्डम छैठौं, न्यूजिल्यान्डको वेलिङ्टन सातौं, चीनको हङकङ आठौं, अष्ट्रेलियाको मेलबर्न नवौं र स्वीडेनको स्टकहोम दशौं स्थानमा छन् ।

    भारतको राजधानी दिल्ली ४८ र मुम्बई ५० स्थानमा छन् । कूल ६० सहरको अध्ययनमा नेपाली राजधानी काठमाडौं सूचीमै समावेश छैन ।

     

  • काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो : अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडाद्वारा उद्धार स्थगित

    काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो : अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडाद्वारा उद्धार स्थगित

    काबुल बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, विस्फोटमा घाइते हुनेको संख्या डेढसय नाघेको उल्लेख छ ।

    ज्यान गुमाउनेमा १३ अमेरिकी सैनिक र अन्य अफगानिस्तानका नागरिक रहेको जनाइएको छ । गएराति काबुल विमानस्थलबाहिर लगातार ६ वटा बम विस्फोट भएको जनाइएको छ ।

    न्यूजिल्यान्ड, अष्ट्रेलिया र क्यानडाले बम विस्फोटको घटना लगत्तै उद्दार कार्य स्थगित गरिएको जनाएका छन् । बिम विस्फोटको घटनापछि थप आतंकवादी आक्रमण हुनसक्ने भन्दै अमेरिका लगायतका मुलुकले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    अमेरिकाले आक्रमणको घटना पछाडि अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआईको संलग्नता हुनसक्ने दावी गरेको छ ।

  • बाइडेन भन्छन्- काबुल हमलाको जवाफ अमेरिकाले दिनेछ

    बाइडेन भन्छन्- काबुल हमलाको जवाफ अमेरिकाले दिनेछ

    काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा १३ जना अमेरिकी नागरिक मारिएको हमलाको बदला लिने बताएका छन् ।

    बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन्।

    दि वाल स्टेट जर्नलमा जो बाइडेनले भनेका छन्,‘अमेरिकाले बिहीबार अफगानिस्तानमा कम्तीमा १३ अमेरिकी सेवा सदस्य र दर्जनौं अफगानिस्तानमा मारिएका हमलाको बदला लिने छ र निकासी प्रयास जारी राख्ने वाचा गरेको छ।’

    ‘हामी माफ गर्दैनौं। हामी बिर्सने छैनौं। हामी तपाइँलाई शिकार गर्नेछौं र तिर्नेछौं, बाइडेनले भने । ह्वाइट हाउसमा बिहीबार साँझ टिप्पणीको क्रममा भनेका थिए  पहिले नै मानवीय र राजनीतिक संकट भयावह भएको छ।

    यो आक्रमणले अगष्ट ३१ भित्रै काबुल छाड्ने अमेरिकी योजनामा कुनै बदलाब नआउने उनले प्रष्ट पारे ।

    बिहीबार साँझ काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ।

    उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो।

    आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ ।
    तलिबानले पनि घटनाको निन्दा गर्दै नागरिकको जीउधनको सुरक्षा गर्ने जनाएको छ । विमानस्थलबाहिर आतंककारी आक्रमण हुन सक्ने अमेरिकी चेतावनीको केही घन्टामै यो विष्फोट भएको हो ।

    अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । हजारौं बिदेशी काबुल छाड्ने तयारीका लागि विमानस्थलमा जम्मा भएका छन । हिजोको घटनाले उद्दार कार्य प्रभावित हुने होकि भन्ने चिन्ता थपिएको छ ।

    याे पनि पढ्नुस्

    काबुल विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु