Category: विश्व प्रेस

  • चीनले आज ताइवानको प्रतिरक्षा क्षेत्रभित्र ५६ वटा लडाकु बिमान पठायो

    चीनले आज ताइवानको प्रतिरक्षा क्षेत्रभित्र ५६ वटा लडाकु बिमान पठायो

    ताइपेइ । ताइवान नजिकको टापुमा चीनले सैनिक गतिविधि गरेकोप्रति अमेरिकाले चासो व्यक्त गरिरहँदा चीनले सो क्षेत्रमा आज थप ५६ वटा सैनिक बिमान पठाउने भएको छ ।

    चीनले पठाउन लागेका ती जहाजहरु लडाकु र बम बर्साउन सक्ने प्रविधि जडान गरिएका जहाज हुन् । चिनियाँ विदेश मन्त्रालयले सोमबार ताइवान क्षेत्रको स्वतन्त्रता सुनिश्चित गर्न लडाकु जहाजहरु त्यसतर्फ पठाएको जनाएको छ ।

    ग्लोबल टाइम्सका अनुसार ताइवानको प्रतिरक्षा क्षेत्रमा आज दिउँसो ५२ वटा सैनिक बिमान जसमा युद्धमा प्रयोग हुने एयरक्राफ्ट, फाइटर जेट, एन्टी-सबमरिन जहाजहरु छन् ।

    सोमबार राती १४ वटा लडाकु जहाजहरु त्यसतर्फ प्रस्थान गरेका छन् । आज त्यहाँ पठाइएका जहाजहरु अहिलेसम्म एकैदिनमा पठाइएका धेरैमध्ये हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हु चुनिङले ताइवान चीनको अंग भएको बताए ।

  • बाइडेन र सीबीच यसवर्षको अन्त्यमा उच्चस्तरीय वार्ता हुँदै

    बाइडेन र सीबीच यसवर्षको अन्त्यमा उच्चस्तरीय वार्ता हुँदै

    बेइजिङ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले यसवर्षको आखिरीमा भर्चुअल वार्ता गर्ने भएका छन् । स्वीटजरल्यान्डको सहर जुरिजमा आज बिहान भएको भेटवार्तामा चिनियाँ उच्च कूटनीतिज्ञ याङ जेइची र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच यस्तो सहमति जुटेको हो ।

    बाइडेन र सीबीचको उच्चस्तरीय संवादले दुई मुलुकबीचको अवरुद्ध संवादको गतिरोधलाई तोड्ने विश्वास गरिएको छ । जेइची र सुलेभानबीच आज भएको यो वार्ता गत सेप्टेम्बर ९ मा दुई मुलुकका राष्ट्र प्रमुखबीच भएको टेलिफोन संवादकै निरन्तरता भएको जनाइएको छ ।

    पछिल्लो समय चीनको दक्षिण समुन्द्री क्षेत्रलाई लिएर दुई मुलुकबीच तनाव चर्किएको छ । साथै, अमेरिकाले हङकङ, ताइवान र सिन्जियाङमा हुने मानवअधिकारको अवस्थालाई लिएर प्रश्न उठाउन गरेको छ । बाइडेन र सीबीच यिनै मुद्दामा छलफल हुनसक्ने जनाइएको छ ।

    साथै, अमेरिकाले कोरोनाभाइरसको उत्पत्ति बारेको अनुसन्धानबारे पनि प्रश्न उठाउने अनुमान गरिएको छ । यी सबै अमेरिकी आरोपहरुको चीनले खण्डन गर्दै भाइरसबारे राजनीति नगर्न भनिसकेको छ । तनावको यो पृष्ठभूमिमा दुई ठूला अर्थतन्त्रबीच छलफल हुन लागेको हो ।

  • वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेट : इन्डो-प्यासिफिकमा तनाव रोक्नेबारे छलफल

    वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेट : इन्डो-प्यासिफिकमा तनाव रोक्नेबारे छलफल

    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसीं) केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य याङ जिचीले स्विजरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग भेटवार्ता गरेका छन् ।

    यी दुई नेताको भेटमा चीन र अमेरिकाको द्धिपक्षीय सम्बन्ध र क्षेत्रीय तनावलाई कम गर्नेबारे छलफल भएको ग्लोबल टाइम्सले जनाएको छ । द्धिपक्षीय सहमतिलाई अघि बढाउन बैठक रचनात्मक र फलदायी भएको जनाइएको छ । व्यापार र इन्डो-प्यासिफिक क्षेत्रमा तनाव चुलिँदै गर्दा अमेरिका र चीनका कूटनीतिज्ञबीच उच्चस्तरीय वार्ता भएको हो ।

    गत सेप्टेम्बर १० मा दुबै मुलुकका राष्ट्र प्रमुखबीच भएको टेलिफोन वार्ताको सहमतिको स्पिरिटलाई अघि बढाउन वार्ता केन्द्रित भएको जनाइएको छ । रणनीतिक संचार आदानप्रदान, मतभिन्नताको व्यवस्थापन, तनाव र द्वन्द्वलाई हटाउने, आपसी लाभ र दुबै पक्षलाई फाइदा पुग्ने गरी अघि बढ्ने, चीन र अमेरिकी सम्बन्धलाई विकासको पथमा अघि बढाउने लगायतको बारेमा सहमति भएको जनाइएको छ ।

    चिनियाँ कूटनीतिज्ञ याङ जेइचीजले दुई मुलुकको आधारभूत चासो र सुरक्षित विश्वको बारेमा वार्तामा छलफल भएको जनाए । चीन र अमेरिकाबीच सहकार्य भएमा त्यसको लाभ विश्वलाई पुग्ने र दुबै मुलुक भीडन्तमा गए विश्वलाई असर पुग्ने उनको भनाई थियो ।

    भेटवार्तामा अमेरिकाले एक चीनि नीतिप्रति आफू अडिग रहेको बताएको पनि ग्लोबल टाइम्सले उध्दृत गरेको छ । दुबै पक्षले जलवायु परिवर्तन र समान चासोका अन्य विषयमा पनि छलफल गरेका थिए । आगामी दिनमा पनि संचार सम्पर्क स्थापित गर्ने सहमति पनि भएको छ ।

  • पाकिस्तानमा ५.७ म्याग्निच्युडको भूकम्प : २० जनाको मृत्यु, सयौं घाइते

    पाकिस्तानमा ५.७ म्याग्निच्युडको भूकम्प : २० जनाको मृत्यु, सयौं घाइते

    एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा आज बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

    उद्दारकर्ताहरुले भत्किएका संरचनाहरु हटाउने र अवरुद्ध सडकलाई खुलाउने प्रयास गरिरहेका छन् । प्रान्तीय राजधानी क्वेटादेखि १०० किलोमिटर पूर्व पर्ने हानी जिल्लालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो ।

    अमेरिकी भूगर्भ विभागका अनुसार जमिनको सतहदेखि २० किलोमिटर तलदेखि भूकम्पको धक्का महसुस गरिएको छ । ‘हामीले २० जनाको मृत्यु र १०० भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौं’ प्रान्तीय मन्त्री जिया लोंगोभले अलजजिरासँग भने ।

    उनका अनुसार भूकम्पपछि गएको पहिरोले सडक अवरुद्ध हुँदा उद्दार कार्यमा कठिनाइ भएको छ । बलुचिस्तान पाकिस्तानको ठूलो तर कम जनसंख्या बसोबास गर्ने प्रान्त हो ।

  • पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा १८ को मृत्यु

    पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा १८ को मृत्यु

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा विहीबार विहानै शक्तिशाली भूकम्प जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन अधिकारीहरुले बीबीसीलाई बताएअनुसार मृतकको संख्या अझै बढ्नेछ ।

    सामाजिक सन्जालमा देखिएका तस्वीर र भिडियोमा बलुचिस्तानको राजधानी क्वेटा शहरमा नागरिकहरु घर छाडेर सडकमा जम्मा भएका छन् ।

    प्रारम्भिक रिपोर्टअनुसार भूकम्प ५.७ म्याग्निच्युडको भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार भूकम्पले भत्काएर संरचनामा पुििरएर मानिसको मृत्यु भएको हो ।

    स्थानीय अधिकारीहरुका अनुसार १ सय ५० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएको छ । तीमध्ये केहिको अवस्था गम्भीर छ । उद्दार अभियान सुरु भइसकेको बताइएको छ ।

    बलुचिस्तानमा हर्नाई राज्यमा सबैभन्दा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । राज्यको राजधानी क्वेटाबाट पूर्वी क्षेत्रमा रहेको हर्नाईमा ठूलो संख्यामा कोइला खानीहरु रहेका छन् ।

  • रसायन तर्फको नोबेल पुरस्कार घोषणा : अणु बनाउने खोजबारे अमेरिकी र जर्मन बैज्ञानिकलाई पुरस्कार दिइने

    रसायन तर्फको नोबेल पुरस्कार घोषणा : अणु बनाउने खोजबारे अमेरिकी र जर्मन बैज्ञानिकलाई पुरस्कार दिइने

    काठमाडौँ । रशायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिक बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल समितिका अनुसार अणु बनाउने नयाँ तरिका विकास गरेकोमा उनीहरुलाई २०२१ को पुरस्कारबाट सम्मान घोषणा भएको हो ।

    उनीहरुको अध्ययनबाट औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको नोबेल समितिले जनाएको छ । बेन्जामिन जर्मन नागरिक र डेभिड अमेरिकी नागरिक हुन् । चिकित्सा र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

    चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियनले पुरस्कार जितेका छन् भने भौतिकशास्त्रतर्फ स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले नोबेल जितिसकेका छन् ।

  • फेसबुकको लोकप्रियतामा आउँदैछ गिरावट : कम्पनीको आन्तरिक रिपोर्टिङ सार्वजनिक

    फेसबुकको लोकप्रियतामा आउँदैछ गिरावट : कम्पनीको आन्तरिक रिपोर्टिङ सार्वजनिक

    काठमाडौं । इन्टरनेटको सामाजिक संजाल फेसबुकलाई शक्तिशाली मानिन्छ । तर, फेसबुक कम्पनीभित्रैको आन्तरिक रिपोर्टमा भने पछिल्लो समय लगातारको आर्थिक संकटसँग कम्पनी जुधिरहेको र लोकप्रियतामा गिरावट आएको उल्लेख छ ।

    साथै, अमेरिकी युवाहरुमा फेसबुकप्रतिको लोकप्रियतामा कमी आएको समेत उक्त रिपोर्टले उल्लेख गरेको छ । कम्पनीको साखमा समेत कमी आएको भनिएको छ ।

    कोरोना कालमा भ्याक्सिनलाई लिएर भएका अफवाहका पोस्टले समेत फेसबुकको विश्वसनियतामा कमी आएको भनिएको छ । साथै, फेसबुक कम्पनीको इन्स्टाग्राममा हुने बडी इमेजलाई लिएर समेत अभिभावकलाई टाउको दुःखाइ विषय भएको रिपोर्ट दिइएको छ ।

    केही मुलुकमा फेसबुकले सरकारी कडाइको सामना गर्नु परिरहेको छ । अमेरिकी संसदमा हालै भएको सुुनुवाइमा फेसबुकमा ग्लोबल सेक्युरिटी प्रमुख एंटीगेन डेविसलाई सांसदले उपभोक्ताको सुरक्षाबारे निकै सोधपुछ समेत गरे ।

    फेसबुकले लोकतन्त्रलाई कमजोर बनाउँदैछ

    फेसबुक कम्पनीकी एक पूर्व अधिकारीले अमेरिकी सांसदले सोधेका प्रश्नको जवाफमा फेसबुकले बालबालिकालाई असर पारेको, विभाजनको खाडल सिर्जना गरेको र लोकतन्त्रलाई कमजोर पारेको आरोप लगाएकी छिन् ।

    क्यापिटल हिलमा आयोजित संसदीय सुनुवाइमा कम्पनीकी पूर्व प्रोडक्ट म्यानेजर ३७ वर्षिया फ्रान्सिस हुगेन फेसबुकको आलोचनामा उत्रिइन् । उनी फेसबुककी हिवस्टलब्लोर समेत भनेर पछिल्लो समय चर्चित छिन् ।

    फेसबुकले पछिल्लो समय उपभोक्ताको सुरक्षालाई लिएर निकै आलोचना र दबाब खेपिरहेको छ । तर, फेसबुक संस्थापक मार्क जुकरबर्गले यी आलोचनाहरु कम्पनीको छवि विगार्ने नियतले आएको भन्दै खण्डन गरेका छन् ।

    फेसबुकमा लामो ब्लग लेख्दै जुकरबर्गले उपभोक्ताको सुरक्षालाई लिएर कम्पनी गम्भीर रहेको बताउँदै इन्टरनेट रेगुलेसनलाई अपडेट गर्नेबारे आफूहरु अघि बढेको बताएका छन् । साथै उनले अमेरिकी संसदलाई केही प्रश्नहरु सोधेका छन् ।

    किशोरकिशोरीले इन्टरनेट चलाउने सबैभन्दा उपयुक्त उमेर कुन हो ? इन्टरनेट सेवाले कसरी मानिसहरुको उमेरलाई प्रमाणीकरण गर्ने ? अभिभावकले निगरानी गर्न मिल्ने गरी किशोरकिशोरीको गोपनियतालाई कसरी सुरक्षित गर्ने ?

    ब्लगमा जुकरबर्गले कम्पनीको छविलाई धमिल्याउने प्रयास भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

     

  • भौतिक शाष्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन बैज्ञानिकलाई दिइने

    भौतिक शाष्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन बैज्ञानिकलाई दिइने

    स्टकहोम । यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ ।

    रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सन मंगलबार यसबारे घोषणा गर्दै जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको बताए ।

    पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययनबारे मानाबे र क्लाउसलाई र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने निर्णय भएको हो ।

    गतवर्ष कालोछिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई यही विधामा नोबेल पुरस्कार दिइएको थियो ।

     

  • संगीतमा प्रतिबन्ध लगाइने त्रासले सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे

    संगीतमा प्रतिबन्ध लगाइने त्रासले सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे

    काबुल । तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्।

    अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।

    अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।

    काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारहरूलाई सानो-सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो। तालिबानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए।

    तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए ।

  • अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटकलाई प्रवेश नदिने

    अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटकलाई प्रवेश नदिने

    सिड्नी । अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ।

    गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए । गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो। यसै बीच प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।

    अन्य देशहरूबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको हो । कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।

    प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, ‘अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्त्वपूर्ण छन् र जसले पूर्ण खोप पनि लगाएका छन् । साथसाथै अष्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थी पनि त्यतिकै महत्त्वपूर्ण छन् ।

    अष्ट्रेलियन पर्यटन परिषद् जसले एक क्षेत्रको प्रतिनिधित्व गर्दछ त्यसले महामारीभन्दा पहिले अन्तरराष्ट्रिय पर्यटकहरूबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो। यस परिषद्ले मार्च सम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ । अष्ट्रेलियाले कोभिड विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ तर पनि सङ्क्रमण भने नियन्त्रणमा आइसकेको छैन ।

  • जापानका प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार : मोटेगी परराष्ट्रमन्त्रीमा यथावत

    जापानका प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार : मोटेगी परराष्ट्रमन्त्रीमा यथावत

    टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताकारूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हालेका छन् ।

    सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो। सोमबारको अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गरेका छन् भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् । पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् ।

    अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ । त्यस्तै मन्त्रिपरिषद्मा तीन महिला समावेश गरिएका छन् जसमा किशिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन् जो जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त भएका थिए।

  • चिकित्सा शाष्त्रको नोबेल पुरस्कार घोषणा : तापक्रम र स्पर्शबीचको सम्बन्धबारे खोजी गर्ने वैज्ञानिकलाई दिइने

    चिकित्सा शाष्त्रको नोबेल पुरस्कार घोषणा : तापक्रम र स्पर्शबीचको सम्बन्धबारे खोजी गर्ने वैज्ञानिकलाई दिइने

    स्टकहोम । यसवर्षको चिकित्सा तथा मनोविज्ञानतर्फको नोबेल पुरस्कार घोषणा भएको छ । स्पर्श र तापक्रमको कारण कोषहरुमा आउने परिवर्तनबारेको खोजका लागि दुई वैज्ञानिकहरु डेभिड जुलियस र अर्डेम पाटापोर्टियमलाई संयुक्तरुपमा पुरस्कार दिइने भएको छ ।

    उनीहरुले रोगहरु र पीडाको उपचारमा प्रकाशको प्रयोगबाट कसरी दुःखाईलाई घटाउन मद्दत गर्छ भन्ने खोजी गरेका थिए ।

    ‘हामी वरिपरी रहेको विश्वलाई महसुस र अन्तक्रिया गर्न तथा बाँच्नको लागि हामीले तातो र चिसोलाई गर्न सक्ने स्पर्शको क्षमताबारे खोज गरेबापत यो पुरस्कार घोषणा गरेका छौं’ नोबेल कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘हाम्रो दैनिक जीवनमा हामीले कसरी यो महसुस गर्ने शक्तिलाई नाफाको रुपमा लिने गरेका छौं तर, हाम्रा कोषिकाहरुले तापक्रम र यसको दबाबलाई कसरी ग्रहण गर्छन् भन्ने जान्नु महत्वपूर्ण छ’ नोबेल कमिटीले भनेको छ ।

    साथै, नोबेल कमिटीले यी दुई बैज्ञानिकले हाम्रा कोषिकहरुले तातो र चिसोजस्ता कुरालाई कसरी महसुस गर्छन् भन्ने अभूतपूर्व अध्ययन गरेको उल्लेख गरेको छ । साथै उनीहरुले वातावरण र स्पर्श महसुस गर्ने शक्तिबीचको सम्बन्धबारे थुप्रै आलोचनात्मक अध्ययन समेत गरेका छन् ।

     

  • जापानी प्रधानमन्त्रीमा फुमियो किसिदा नियुक्त, अक्टोबर ३१ मा आमचुनाब घोषणा

    जापानी प्रधानमन्त्रीमा फुमियो किसिदा नियुक्त, अक्टोबर ३१ मा आमचुनाब घोषणा

    टोकियो । सत्तारुढ दल लिबरल डेमोक्रेटिक दल (एलडीपी)को नेतृत्वमा चुनिएसँगै फुमिओ किसिदाले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् ।

    गतसाता पार्टीको नेतृत्वमा चुनिएसँगै किसिदा प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । आज बोलाइएको तल्लो सदनको विशेष अधिवेशनमा किसिदा आधिकारिकरुपमै जापानको १०० औं प्रधानमन्त्री बनेका हुन् ।

    आजै प्रधानमन्त्रीको पदभार सम्हाल्ने तयारी गरेका किसिदाले मन्त्रीमण्डलको घोषणा पनि गर्ने भएका छन् । सत्तारुढ दलभित्रको सिन्जो आबेको कन्जरभेटिभ पक्षलाई मिलाएर किसिदाले मन्त्रीहरु छान्ने जापान टाइम्सले जनाएको छ ।

    तोसिमित्सी मोतेगी परराष्ट्रमन्त्री, नुबोउ किसी रक्षामन्त्री, सुन्ची सुजुकी अर्थमन्त्री, नोरिको होरुची खोपमन्त्रीको रुपमा मन्त्रीमण्डलमा रहन सक्ने रोयटर्सले जनाएको छ ।

    कोभिड-१९ महामारीको संक्रमण नियन्त्रण र महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्नु नयाँ प्रधानमन्त्री किसिदाको चुनौति हुनेछ । आगामी ३१ अक्टोबरमा संसदीय निर्वाचन समेत उनले आयोजना गर्नुपर्नेछ ।

  • चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

    चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं । विकिनी किलरको रुपमा चर्चित अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उनी सन् २००३ देखि नेपालको केन्द्रिय कारागारमा जेल जीवन बिताइरहेका छन् ।

    उनको रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी छ ।

    शोभराजले गएको वर्ष १९ कात्तिकमा अधिवक्ता शकुन्तला थापामार्फत जेष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • नेपाल सीमावर्ती भारतीय बजारबाट कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ, झडपमा आठजनाको मृत्यु

    नेपाल सीमावर्ती भारतीय बजारबाट कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ, झडपमा आठजनाको मृत्यु

    कैलाली । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको भएको हिंसामा ८ जनाको मृत्यु भएको छ । हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उक्त आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय काङ्ग्रेसकी नेता प्रियङ्का गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर हो । उत्तर प्रदेशको लाखिम्पुर खेरी जिल्लामा किसानले आन्दोलन गरेका थिए ।

    गान्धीलाई यूपी प्रहरीले लखनउमै रोक्न खोजेको थियो। प्रहरी अधिकारीले गान्धीलाई हिरासतमा लिन खोज्दा उनले गिरफ्तार वारेन्ट देखाउन भनेकी थिइन्।उनलाई हिरासतमा लिन खोजेपछि केही बेर काँग्रेस कार्यकर्ता र प्रहरीबिच धक्कामुक्का भएको थियो ।

    भारत सरकारले ल्याएको कृषि कानूनको खारेजीको माग गर्दैै भारतीय किसानहरु गतसातादेखि पुनः आन्दोलनमा उत्रिएका छन् । किसानको मागलाई कांग्रेसले समर्थन गरेको छ भने सत्तारुढ भारतीय जनता पार्टीले भने किसान आन्दोलनलाई सम्बोधन गर्न तदारुकता देखाएको छैन ।

  • भ्लादिमिर पुटिनदेखि जोर्डनका राजासम्म : ३५ विश्व नेताहरु मुछिए

    भ्लादिमिर पुटिनदेखि जोर्डनका राजासम्म : ३५ विश्व नेताहरु मुछिए

    अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक खुलासा भनिएको पान्डोरा पेपर्समा विश्व नेताहरु, राजनीतिज्ञ, अर्बपतिको गोप्य सम्पत्ति र कारोबारको खुलासा भएको छ ।

    ३५ जना वर्तमान र पूर्व विश्व नेताहरुदेखि ३०० जना सार्वजनिक पदमा बहाल व्यक्तिहरुले अफसोर कम्पनीमा लगानी गरेको खुलासा भएको हो ।

    जोर्डनका राजाले गोप्यरुपमा अमेरिका र बेलायतमा ७० मिलियन पाउन्ड बराबरको सम्पत्ति जम्मा गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

    साथै, बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर र पत्नीले लन्डनमा कार्यालय खरिद गर्दा ३१२ लाख पाउन्ड अपचलन गरेको जनाइएको छ । अफसोरबाट ब्लेयर दम्पत्तिले कार्यालय खरिद गरेको भनिएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मोनाकोमा गोप्य सम्पत्ति जम्मा गरेकोदेखि यसैसाता चुनाबमा लड्न लागेका चेक रिपब्लिकका प्रधानमन्त्री एन्ड्रेज बबिजले दक्षिण अफ्रिकामा भिल्ला खरिद गर्न १२ मिलियन पाउन्ड खर्च गरेको समेत उल्लेख छ ।

    आइसीआइजेले पान्डोरा पेपर्सलाई अहिलेसम्मकै सबैभन्दा ठूलो खुलासा भनेको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजले विश्वमा तरंग सिर्जना गरेको छ ।

  • कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

    कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

    काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या शुक्रबार ५० लाख नाघेको छ । मृत्यु बढी हुनेमा खोप नलगाएका बढी छन् भने मृत्युदर बढ्नुमा डेल्टा भेरिएन्टलाई कारण मानिएको छ ।

    डेल्टा भेरिएन्टले केही पश्चिमा मुलुकमा धनी र गरिबबीचको खोपलाई लिएर असमानता र हिच्किचाहट सिर्जना गरेको रोयटर्सले जनाएको छ । कोरोना फैलिएको एक वर्षमै २ लाख ५० हजार जनाको मृत्यु भएको थियो ।

    त्यसको आठ महीनामै थप अढाइ लाख जनाको कोरोना संक्रमणले मृत्यु भएको देखिएको छ । पछिल्लो एक सातामा अमेरिका, रुस, ब्राजिल, मेक्सिको र भारतमा मात्र विश्वकै मृत्युको आधा संख्याको मृत्यु तथ्यांक प्राप्त भएको छ ।

    पछिल्लो सातादेखि विश्वभर दैनिक ८ हजार जनाको मृत्यु भएको छ जुन प्रतिमिनेट पाँचजनाको मृत्यु हो । तर, विश्व मृत्युदरमा भने केही महीनायता गिरावट आएको छ ।

    पछिल्लो समय केही गरिब मुलुकहरुमा खोप अभियानमा वृद्धि भएको छ भने केही विकसित मुलुकहरुमा बुस्टर डोज लगाउन सुरु भएको छ । रोयटर्सका अनुसार अहिलेसम्म विश्वको आधा जनसंख्या भन्दा बढीले एक डोज खोप पनि पाएका छैनन् ।

  • कतारमा आज संसदीय निर्वाचनका लागि मतदान सुरु

    कतारमा आज संसदीय निर्वाचनका लागि मतदान सुरु

    दोहा । कतारमा आजदेखि पहिलो संसदीय चुनावका लागि मतदान सुरु भएको छ । सुरा काउन्सिल भनिने त्यहाँको संसदका लागि सदस्यहरु निर्वाचित गर्ने चुनावका लागि आज बिहानैदेखि कतारी नागरिकले मतदान सुरु गरेका छन् ।

    सहभागितामूलक निर्वाचन र नागरिकजस्ता घरेलु मुद्दालाई निर्वाचित हुने यो अंगले निक्र्यौल प्रदान गर्नेछ । कूल ४५ सिट रहेको सुरा काउन्सिलमा यो चुनाबले ३० सदस्य निर्वाचित गर्नेछ भने राजाले १५ सदस्य नियुक्त गर्नेछन् ।

    बेलुका ५ बजे सकिने मतदानको नतिजा आजै बेलुका आउने अपेक्षा गरिएको छ । निर्वाचित हुने यो आयोगले विधायकी अधिकार र बजेटसहित राज्यका सामान्य नीतिबारेका अधिकार प्राप्त गर्नेछ तर, राष्ट्रिय प्रतिरक्षा, सुरक्षा, आर्थिक तथा लगानी नीतिबारे निर्णय गर्न पाउनेछैन ।

    अलजजिराले कतारको यो चुनावलाई सरकार संचालनको आधुनिक स्वरुप भएको जनाएको छ । ‘हामी मतदान स्थलमा मतदाताको उत्साहजनक उपस्थिती देखेका छौं’ अलजजिराले भनेको छ ।

  • फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास घोषणा

    फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास घोषणा

    मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुएर्टेले अर्कोवर्षको चुनाबमा उपराष्ट्रपति पदमा उम्मेदवार नहुने बताउँदै कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने बताएका छन् ।

    शनिबार लामो समयदेखिका आफ्ना सहयोगी सांसद बोङ गोले निर्वाचन आयोगमा उपराष्ट्रपति पदमा उम्मेदवारीको घोषणा गरेपछि राष्ट्रपति डुएर्टोले यस्तो घोषणा गरेका हुन् ।

    ‘फिलिपिनोलाई लाग्छ, म उपराष्ट्रपतिका लागि योग्य छैन । म पुनः उपराष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको संवैधानिक कानून र आत्मविपरितको कुरा हो’ उनले भने, ‘म आज राजनीतिबाट सन्यासको घोषणा गर्छु ।’

    फिलिपिन्सको संविधानले एउटा कार्यकालका लागि मात्र राष्ट्रपतिको म्याद तोकेको छ । एउटा कार्यकालको अवधि ६ वर्ष हुन्छ । त्यहाँका विपक्षी दलले डुएर्टे यदि उपराष्ट्रपति पदमा उम्मेदवार भए सर्वोच्च अदालतमा उजुरी दिने बताएका थिए ।

  • ३८ वटा चिनियाँ जहाज आफ्नो क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

    ३८ वटा चिनियाँ जहाज आफ्नो क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

    काठमाडौं । ताइवानले ३८ वटा चिनियाँ जहाजहरु आप्नो हवाइ प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । यो घटनालाई उसले अहिलेसम्मकै ठूलो बेइजिङको घुसपैठ भएको दावी समेत ताइवानले गरेको छ ।

    ताइवानको रक्षा मन्त्रालयका अनुसार परमाणु बम खसाल्ने क्षमतासहितका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा पसेका छन्। चिनियाँ विमान प्रवेश गरेपछि आफूले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया दिएको ताइवानले जनाएको छ ।

    चीनले लोकतान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ। ताइवानले पछिल्लो एकवर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसन सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ ।

    ताइवानका प्रधानमन्त्री सु जिन चाङले शनिवार सम्वाददाताहरूसँग कुराकानी गर्दै चीनले क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्नता जनाएको बताए । तर, यो घटनालाई लिएर बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन ।

    तर, यसअघिका टिप्पणीहरुमा चीनले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताउँदै आएको थियो । ताइवानको रक्षा मन्त्रालयले वक्तव्यमार्फत २५ चिनियाँ पिपुल्स लिवरेसन आर्मीका विमानहरू आफ्नो दक्षिण पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीमा प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ।

    त्यस लगत्तै शुक्रवार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरू ताइवान र फिलिपिन्सको समुद्रमाथि उडेका थिए। विमानहरू थिए भने एउटा पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने विमान थियो।

    ताइवानका कतिपय टिप्पणीप्रति असन्तुष्टि जनाउन बेइजिङले समय समयमा यस्ता मिसनहरू सञ्चालन गर्ने गरेको छ। पछिल्लो मिसन के कुराको असन्तुष्टिका लागि थियो भन्ने खुल्न सकेको छैन। गत महिना मात्रै चीनले १९ वटा र जुन महिनामा १८ वटा विमानहरू ताइवानको प्रतिरक्षा प्रणाली क्षेत्रमा पठाएको थियो।

  • अष्ट्रेलियाले अक्टोबरदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने, तत्कालका लागि अष्ट्रेलियाली नागरिकलाई नियम लागू हुने

    अष्ट्रेलियाले अक्टोबरदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने, तत्कालका लागि अष्ट्रेलियाली नागरिकलाई नियम लागू हुने

    सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ ।

    पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महङ्गो क्वारिन्टिन बसाइँको सट्टा एक हप्ताको लागि घरमै क्वारिन्टिनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडान मार्फत आवतजावत खुला गरिनेछ।

    गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् ।

    प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्यूजील्याण्डजस्ता केही देशहरू बीच क्वारेन्टिनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ। सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ। १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनेपर्ने प्रधानमन्त्री मोरिसनले बताएका छन् ।

    यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारिन्टिनको आवश्यकता पर्नेछ। सरकारले खोप लगाएका यात्रुहरुको ट्राभल क्याप्स हटाउन राज्यहरूसँग मिलेर काम गर्ने जनाएको छ। एबीसी समाचारमाध्यमले जनाएअनुसार अष्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तता दिने जनाएको छ। रासस

  • ८३ वर्षपछि टाटाले नै लियो एयर इण्डियाको स्वामित्व

    ८३ वर्षपछि टाटाले नै लियो एयर इण्डियाको स्वामित्व

    काठमाडौं । भारतीय ध्वजावाहक हवाई सेवा कम्पनी एयर इण्डिया टाटा समूहलाई बिक्री गरिएको छ ।

    भारत सरकारको स्वामित्वमा रहेको एयर इन्डिया ८३ वर्षपछि पुनः टाटा कम्पनीकै स्वामित्वमा पुगेको छ । सरकारले कम्पनीको घाटा धान्नै नसकेकाले प्रतिस्पर्धाका आधारमा बढी बोल कबोल लगाएको टाटा समूहलाई बेचिएको हो । भारतीय संचारमाध्यमका अनुसार सरकारले राखेको मूल्यभन्दा ३ हजार करोड बढी टाटाले तिरेको छ ।

    जहाज बिक्रीका लागि भारतीय अर्थमन्त्री निर्मला सीतारमण, वाणिज्य मन्त्री पियुष गोयल र उड्डयन मन्त्री ज्योतीरादित्य संन्धियालगायतको समिति गठन गरिएको थियो । कम्पनीकाअनुसार एयर इन्डियाको मूल्यांकन मूल्य २० करोडको छ ।

    १९३२ मा टाटा ग्रुपले नै टाटा एयर सर्भिसको नामबाट एयर इण्डिया सुरू गरेको थियो । पछि, सन् १९३८ सम्म आन्तरिक उडान गर्दै आएकोमा कम्पनीले दास्रो विश्वयुद्धपछि सरकारलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

    कम्पनी घाटामा गएपछि भारत सरकारले यसको शाःखमात्र जोगाउने प्रयास गरेको थियो । घाटा धान्न नसकेपछि सन् २००० देखि नै कम्पनी बेच्ने भनिए पनि निजीकरण भने हुन सकेको थिएन ।

    अहिले एयर इन्डियाको ऋण करिब ३८४ अर्ब भारुभन्दा बढी पुगिसकेको छ । भने एयर इन्डियासँग २०२० मार्चसम्म कुल सम्पत्ति करिब चार खर्ब ५८ अर्ब ६३ करोड छ ।

  • फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजायको फैसला

    फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजायको फैसला

    पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो ।

    सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो ।

    त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ ।

  • रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

    रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

    जेनेभा । रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।

    अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभबीच चनियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो। संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १० बजे आसपास शुरू भएको थियो।

    विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

    स्विस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुबै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ। रूसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाईको अन्त्यमा अमेरिकाद्वारा आयोजित हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो ।

    गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए। तत्कालीन शीतयुद्धको चरम अवस्थामा पनि मस्को र वाशिंगटन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए। रासस

  • हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

    हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

    काबुल । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

    यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।

    भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् ।

  • पञ्जाब मुख्यमन्त्रीबाट हटाइएपछि अमरेन्दर सिंहको घोषणा : कांग्रेसमा बस्दिन, बीजेपीमा पनि जान्न

    पञ्जाब मुख्यमन्त्रीबाट हटाइएपछि अमरेन्दर सिंहको घोषणा : कांग्रेसमा बस्दिन, बीजेपीमा पनि जान्न

    दिल्ली । पञ्जाबको मुख्यमन्त्रीबाट हटाइएपनि अमरेन्दर सिंहले भारतीय कांग्रेस पार्टी छाड्ने घोषणा गरेका छन् । एनडीटीभीसँग कुरा गर्दै उनले कांग्रेस छाड्ने र बीजेपीमा प्रवेश नगर्ने बताएका हुन् ।

    सेप्टेम्बर १८ मा उनलाई पञ्जाबको मुख्यमन्त्रीबाट बलपूर्वक हटाइएको थियो । ‘म अब कांग्रेसमा रहन्न । मलाई कांग्रेसले यो अनुसारको व्यवहार गरेन’ उनले भने ।

    बुधबार बेलुका भारतीय गृहमन्त्री अमित शाहलाई भेटेपछि सिंह सत्तारुढ बीजेपी प्रवेश गर्ने र केन्द्रीय सरकारमा कृषि मन्त्री बन्न लागेको हल्ला व्यापक थियो ।

    स्रोतका अनुसार कांग्रेस नेताहरु अम्बिका सोनी र कमल नाथले आज सिंहलाई भेटेर पार्टीमै रहनेबारे मनाउने प्रयास गरेका छन् । तर, मंगलबारदेखि राजधानी दिल्लीमा रहेका उनले पार्टी अध्यक्ष सोनिया गान्धी र उनका कुनैपनि प्रतिनिधिलाई नभेटेको बताएका छन् ।

    आज बिहानै उनले दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटेका थिए ।

     

     

  • ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्रीमा बौडेन नियुक्त

    ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्रीमा बौडेन नियुक्त

    ट्युनिस । युवा इन्जिनियरको रुपमा विश्व बैंकमा कार्यरत नज्ला बौडेन रोमाधाने ट्युनिसियाकी पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् । राष्ट्रपति काइस सइदले बिहीवारलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

    अघिल्ला प्रधानमन्त्रीलाई बर्खास्त गर्दै बौडेनलाई राष्ट्रपतिले कार्यकारी पदमा ल्याएका हुन् । दुई महीनाअघि राष्ट्रपति सइदमाथि सत्ताविप्लवको आरोप लागेको थियो ।

    नयाँ सरकार गठनका लागि सइदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब व्यापक थियो । गत महीना प्रधानमन्त्री बर्खास्त गर्दै सइदले संसद पनि भंग गरेका थिए । संविधानमा संशोधन गर्दै उनले आफ्नो भूमिकालाई थप शक्तिशाली पनि बनाएका छन् ।

    ट्युनिसियाको दशौं प्रधानमन्त्रीको रुपमा रोमाधानेले कार्यभार सम्हालेकी हुन् । पहिलो महिला प्रधानमन्त्री हुने मौका पनि उनले पाएकी छिन् । ट्युनिसिया पछिल्लो समय राजीनितक र आर्थिक संकटसँग जुधिरहेको छ ।

  • आजदेखि दुबईमा संसारकै ठूलो प्रदर्शनी सुरु हुँदै, ६ महीना चल्ने एक्सपोमा १९२ मुलुकले भाग लिने

    आजदेखि दुबईमा संसारकै ठूलो प्रदर्शनी सुरु हुँदै, ६ महीना चल्ने एक्सपोमा १९२ मुलुकले भाग लिने

    काठमाडौं । कोरोनाभाइरस महामारीको बीचमा पनि युएईको दुबईले विश्वकै ठूलो प्रदर्शन आयोजना सुरु गरेको छ ।

    ६ महीनासम्म चल्ने प्रदर्शनको सुरुआत आज बेलुकादेखि चर्चित स्टारहरुको प्रस्तुतिसँग सुरु हुँदैछ । यो समारोहको प्रत्यक्ष प्रसारण युएईका ४३० ठाउँमा हुनेछ यद्यपी, उद्घाटन समारोहलाई गोप्य राखिएको छ ।

    एयरपोर्ट, सपिङ मल, होटलदेखि अन्य ठाउँमा पनि ठूला ठूला होर्डिङ बोर्ड लगाइएको छ । दुबईका कतिपय थलोमा पनि भव्य आतसबाजीको तयारी भएको छ ।

    यो प्रदर्शनीबाट दुबईले १.३ लाख राजस्व संकलनको आशा राखेको छ । भारतीय संगीतकार एआर रहमानले अर्केस्ट्रा प्रस्तुत गर्दैछन् भने दुई बलिउड अभिनेत्री सोनम कपुर र श्रद्धा कपुरले पनि प्रस्तुत दिनेछन् ।

    एक्सपोमा विभिन्न १९२ देशले पेवेलियन संचालन समेत गर्ने भएका छन् । २.५ करोड पाहुनाले भाग लिने आशा गरिएको एक्सपोमा १.२ लाख करोड भारु पूर्वाधार खर्च भएको छ ।

  • बेनर्जीको मुख्यमन्त्री पदको छिनोफानो गर्न आज मतदान हुँदै

    बेनर्जीको मुख्यमन्त्री पदको छिनोफानो गर्न आज मतदान हुँदै

    काठमाडौं । भारतको पश्चिम बंगालका तीन राज्य भवानीपुर, शमशेरगञ्ज र जंगीपुरमा उपचुनाबको मतदान सुरु भएको छ । वर्तमान मुख्यमन्त्री ममता बेनर्जी चुनावमा उठेकाले पनि भवानीपुर निकै चर्चामा छ ।

    मुख्यमन्त्रीमा टिकिरहन बेनर्जीलाई यो चुनाव जित्नैपर्ने हुन्छ । बेनर्जीविरुद्ध भारतीय जनता पार्टीले वकिल प्रियंका टिबरेवाललाई मैदानमा उतारेको छ । चुनावी अभियानको अन्तिम दिन बीजेपीका ८० भन्दा बढी नेताले भवानीपुरका वडा–वडामा पुगेर भोट मागे ।

    केन्द्रीय मन्त्री हरदीपसिंह पुरी र स्मृति इरानीले पनि भोट मागे । बेनर्जीको दल तृणमूल कंग्रेसले पनि पुरै शक्ति लगाएको थियो । ममताले एकपछि अर्को चुनावी ¥याली गरेकी थिइन् किनभने उनलाई यो चुनाव जित्नैपर्ने बाध्यता छ ।

    बीजेपी आफूविरुद्ध खनिएको भन्दै ममता प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहविरुद्ध खनिएकी छिन् । सीबीइ र इडीको मुद्दा ममताले उठाएकी छिन् भने बीजेपीले अघिल्लोपटकको चुनावपछिको हिंसालाई एजेन्डा बनाएको छ ।

    विधानसभा चुनावमा ममतालाई बीजेपीका शुभेन्दु अधिकारीले नन्दीग्राम सिटमा हराएका थिए । यसकारण ६ महीनापछि उपचुनाव हुन लागेको हो । उपचुनाव हारेमा बेनर्जीले मुख्यमन्त्री पद गुमाउनुपर्ने छ ।

     

  • अक्सफोर्ड अध्ययनको निष्कर्ष : कोरोना महामारीले मानिसको औषत आयु दुईवर्षले घट्यो

    अक्सफोर्ड अध्ययनको निष्कर्ष : कोरोना महामारीले मानिसको औषत आयु दुईवर्षले घट्यो

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण व्यक्तिको आयुमा कमी आएको अक्सफोड विश्वविद्यालयको नयाँ सोधले देखाएको छ ।

    अमेरिकी पुरुषको आयुमा २.२ वर्षले कमी आएको जनाइएको छ । दोस्रो विश्वयुद्धपछि मानिसको आयु घटेको यो पहिलो घटना हो ।

    २९ देशमा गरिएको उक्त सोधमध्ये २७ देशका नागरिकको आयुमा गिरावट आएको भनिएको जसमा युरोपेली मुलुक, अमेरिका र चिली पनि सामेल छन् ।

    अमेरिकामा कोरोनाभाइरस संक्रमणको कारण ७ लाखभन्दा बढीको मृत्यु भएको छ । अक्सफोर्डको उक्त अध्ययनले विभिन्न देशमा भएका कोरोनाको आधिकारिक मृत्युलाई अध्ययनको आधार मानेको थियो ।

    इन्टरनेसनल जर्नल अफ एपिडिमियोलोजीमा प्रकाशित रिसर्च पेपरकी सह प्रमुख लेखक डा. रिद्दी कश्यपका अनुसार अधिकांश देशमा महिलाभन्दा पुरुषको औषत आयुमा कमी आएको देखिएको हो ।

    १५ देशमा पुरुषको औषत आयुमा एक वर्षले कमी आएको छ । ११ मुलुकमा महिलाको औषत आयुमा गिरावट आएको छ ।

     

  • इलोन मस्क पुनः विश्वकै धनी, टेस्लाको सेयरमा उछाल आएपछि बेजोसलाई पनि उछिने

    इलोन मस्क पुनः विश्वकै धनी, टेस्लाको सेयरमा उछाल आएपछि बेजोसलाई पनि उछिने

    न्यूयोर्क । इलोन मस्क पुनः विश्वकै धनीको शीर्षस्थानमा उक्लिएका छन् । फोर्ब्स म्यागजिनका अनुसार उनको कूल सम्पत्ति २००.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

    टेस्लाको सेयरमा वृद्धि भएसँगै मस्क पुनः धनी दरिएका हुन् । अमेजन मालिक तथा अन्तरीक्ष प्रतिस्पर्धी जेफ बेजोस १९३.१ बिलियन डलरसहित दोस्रो स्थानमा छन् ।

    गत महीना शीर्षस्थानमा रहेका फेसन कम्पनी लुइसभ्यूटनका मालिक बर्नाड आर्नोल्ट १७६.६ बिलियन डलरसहित तेस्रो स्थानमा छन् । माइक्रोसफ्ट संस्थापक बिल गेट्स १२९.३ बिलियन डलरसहित चौंथो स्थानमा झरेका छन् ।

    मस्कको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा २.२ प्रतिशतले वृद्धि भएसँगै ७९१.३६ बिलियन डलर पुगेको छ । यसवर्षको फेब्रुअरी यताकै उच्च आँकडा रहेको फोर्ब्सले जनाएको छ ।

    अमेजनका सेयर बजारमा गिरावट आएपछि बेजोस दोस्रो स्थानमा झरेका हुन् । गत जनवरीमा मस्क विश्वकै सर्वाधिक धनी घोषित भएका थिए । त्यसबेला भन्दा अहिले मस्कको कमाइमा वृद्धि भएको छ ।

  • फुमियो किसिदा जापानको प्रधानमन्त्री बन्ने निश्चित, सत्तारुढ दलको नेतामा निर्वाचित

    फुमियो किसिदा जापानको प्रधानमन्त्री बन्ने निश्चित, सत्तारुढ दलको नेतामा निर्वाचित

    टोकियो । पूर्वविदेशमन्त्री फुमियो किसिदा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् ।

    सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वमा निर्वाचित भएसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको रोयटर्सले जनाएको छ । केही दिनमा उनले प्रधानमन्त्रीको रुपमा सपथ लिने समेत जनाइएको छ ।

    जापानी मध्यमवर्गमा रुचाइने र नम्र स्वभावको छवि बनाएका किसिदाको विजयलाई सत्तारुढ दलको आगामी भविष्यका लागि अर्थपूर्णरुपमा लिइएको छ ।

    किसिदाले दोस्रो चरणको मतदानमा पूर्वरक्षा तथा विदेशमन्त्री समेत रहेका तारो कोनोलाई पराजित गरे । दुई महिला उम्मेदवार ६० वर्षिया सानाइ ताकैची र ६१ वर्षिया सेइको नोदा पहिलो चरणमै बाहिरिएका थिए ।

    जापानी संसदको तल्लो सदनमा बहुमत भएकाले एलडीपीको तर्फबाट आगामी प्रधानमन्त्री बन्नेमा किसिदा निश्चित भएको रोयटर्सले जनाएको छ । किसिदाले आगामी नोभेम्बर २८ मा राष्ट्रिय चुनाबको आह्वान गर्नुपर्नेछ । साथै, कोभिड–१९ महामारीले थलिएको जापानी अर्थतन्त्रलाई उकास्नुपर्ने चुनौति छ ।

    तर, उनको व्यक्तिगत स्वभाव र शैलीको कारण उनलाई सत्तारुढ दलभित्रको विभाजित मतलाई जोगाइराख्न कठिन हुनेछैन । उनीसँग जापानको सुरक्षा र कूटनीतिलाई अमेरिका र क्वाड मुलुकसँग मिलेर अगाडि बढाउनुपर्ने चुनौति पनि छ ।

  • कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश, सत्तारुढ बीजेपीले देश बिगारेको आरोप

    कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश, सत्तारुढ बीजेपीले देश बिगारेको आरोप

    दिल्ली । जेएनयु विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमार औपचारिकरुपमा भारतीय कांग्रेस दल प्रवेश गरेका छन् । दिल्लीस्थित कांग्रेस पार्टी मुख्यालयमा नेता राहुल गान्धीले कुमारलाई पार्टी प्रवेश गराए ।

    कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी नेतालाई पार्टी प्रवेश गराएकोबारे जानकारी दिएको छ । नेता गान्धीले पनि कन्हैया कुमारलाई पार्टी स्वागत गरेको भन्दै ट्वीट गरेका छन् ।

    गुजरात विधान सभाका सदस्य जिंगेश मेवानी पनि कांग्रेस प्रवेश गरेका छन् । दुबै जनाको पार्टी प्रवेशले भारतीय संविधान र लोकतन्त्रको सुरक्षा हुने भन्दै कांग्रेस महासचिव गान्धीले पार्टीमा स्वागत गरेका छन् ।

    पार्टी प्रवेश कार्यक्रममा कन्हैया कुमारले सत्तारुढ बीजेपीप्रति आक्रामक सुनिए । बीजेपीको नाम नलिएपनि बीजेपीले सत्ता कब्जा गरेको र देशको इतिहास, वर्तमान र भविष्यलाई खराब बनाउन प्रयास गरिरहेको आरोप लगाए ।

    राष्ट्रविरोधी गतिविधि गरेको भन्दै सन् २०१६ मा कन्हैया कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । मुम्बई विस्फोटका एक दोषी अफजल गुरुलाई फाँसी दिइएको दोस्रो वार्षिकी मनाउन जेएनयुमा आयोजित कार्यक्रममा पनि उनले भाग लिएका थिए ।

    त्यसयता सत्तारुढ बीजेपी र भारतीय प्रहरीले उनलाई तारो बनाइरहेको छ । तर, कन्हैया कुमार यी आरोपलाई मान्न तयार छैनन् । सन् २०१९ मा कुमारले बिहार राज्यबाट लोकसभाको सिटमा चुनाब लडेपनि उनी पराजित भए ।

  • चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

    चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

    बेइजिङ । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

    खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।
    रासस

  • उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, अमेरिकाले भन्यो : इन्डो-प्यासिफिकमा अस्थिरता सुरु हुनसक्छ

    उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, अमेरिकाले भन्यो : इन्डो-प्यासिफिकमा अस्थिरता सुरु हुनसक्छ

    टोकियो । दक्षिण कोरिया र अमेरिकाले आणविक निशष्त्रीकरणसम्बधी वार्ता सुचारु गर्न दोहोरो व्यवहार देखाएको भन्दै उत्तर कोरियाले आज ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले दक्षिण कोरिया नियन्त्रित समुन्द्रको पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार गरेको हो ।

    जापान र दक्षिण कोरिया दुबै मुलुकले उत्तर कोरियाले मंगलबार बिहान ६ः४० बजे मिसाइल प्रहार गरेको पुष्टि गरेका छन् । जापानले चाहिँ यसअघि आफूले भन्दै आएको मिसाइल परीक्षण भएको जनाएको छ ।

    उत्तर कोरियासँगको आणविक हतियारबारेको वार्ता पुनः सुरु हुन नसकिरहेको उत्तरले मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाली राजदूतले राष्ट्रसंघीय महासभामा अमेरिकाले प्योङयाङप्रति होस्टाइल पोलिसी त्याग्न आग्रह गरेको केही घण्टामै यस्तो मिसाइल परीक्षण भएको छ ।

    राजदूतले आत्मरक्षाको अधिकारका लागि उत्तर कोरियाले मिसाइल परीक्षण गर्ने आशयको अभिव्यक्ति राष्ट्रसंघमा दिएका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाको पछिल्लो कदमलाई विश्लेषण गर्न सहयोगीहरुलाई निर्देशन दिएका छन् ।

    ‘कोरियाली प्रायद्धीपलाई स्थायित्व राख्न प्रयास गरिरहेको बेला मिसाइल परीक्षण हुनु निकै दुःखद छ’ दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता बो सियोङ चानले रोयटर्ससँग भने । यो परीक्षणलाई लिएर अमेरिकी स्टेट डिपार्टमेन्टले आपत्ति जनाएको छ । हिन्द प्रशान्त क्षेत्रमा उत्तर कोरियाको यो परीक्षणले थप अस्थिरता ल्याउने भन्दै अमेरिकाले विरोध जनाएको छ ।