Category: विश्व प्रेस

  • बार्बाडोसले बेलायती रानीलाई नमान्ने, पहिलो महिला राष्ट्रपति निर्वाचित

    बार्बाडोसले बेलायती रानीलाई नमान्ने, पहिलो महिला राष्ट्रपति निर्वाचित

    काठमाडौं । बारबाडोसले बेलायती राजतन्त्र नमान्ने भएको छ । रानी एलिजाबेथ र राजतन्त्रलाई विस्थापित गर्दै उक्त मुलुकले पहिलोपटक महिला राष्ट्रपति निर्वाचित गरेको छ ।

    क्यारेबियन टापुको यो मुलुकले उपनिवेशकालदेखि रहेको बेलायती शासनलाई अन्त्य गरेको हो ।

    बुधबार मुलुकका तल्लो र माथिल्लो दुबै सदनको दुई तिहाइ बहुमतबाट सान्ड्रा मेसन राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । बार्बाडोस सरकारले यो परिवर्तनलाई उपलब्धीको रुपमा चर्चा गर्दै गणतन्त्रतर्फको यात्रा सुरु भएको बताएको छ ।

    बेलायती उपनिवेश रहेको बार्बाडोस सन् १९६६ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । यहाँको जनसंख्या ३ लाखभन्दा कम छ । पछिल्ला वर्षमा पूर्ण सार्वभौमसत्ता र मुलुकभित्रैको नेतृत्व चयन हुनुपर्ने चर्को आवाज उठिरहेको थियो ।

    नोभेम्बर ३० मा राष्ट्रपतिमा निर्वाचित ७२ वर्षिया म्यासनले सपथ ग्रहण गर्नेछिन् । सो दिनमा बार्बाडोसले बेलायती उपनिवेश भएको अवसरमा ५५ औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

     

  • ताइवानको रक्षा अमेरिका गर्छ : बाइडेन, चीनद्वारा असन्तुष्टि व्यक्त

    ताइवानको रक्षा अमेरिका गर्छ : बाइडेन, चीनद्वारा असन्तुष्टि व्यक्त

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले ताइवानको रक्षा गर्ने बताएका छन् । चीनले उक्त प्रायद्धीपमा दाबी गरिरहँदा शुक्रबार बाइडेनको यस्तो अभिव्यक्ति आएको हो ।

    ह्वाइट हाउसले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन आएको समेत स्पष्ट पारेको छ । के अमेरिका ताइवानको प्रतिरक्षामा उभिनेछ भनेर सोधिएको प्रश्नमा बाइडनले भने, ‘अवश्य, हामी यस कुरामा प्रतिबद्धता जनाउँछौं ।’

    पछिल्लो महीना चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई आफ्नो मुलुकले शान्तिपूर्ण रुपमा एकीकरण गर्ने बताएका थिए भने चीनले सैनिक उपस्थितीलाई व्यापक तुल्याएको थियो । गत अगस्टमा बाइडेन प्रशासनका एक अधिकारीले ताइवानलाई हेर्ने अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको बताएका थिए । साथै, कुनै पनि मुलुकले त्यहाँ आक्रमण गरे अमेरिकाले प्रतिरक्षा गर्ने बताएका थिए ।

    बाल्टिमोरको टाउन हलमा बाइडेनले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको ह्वाइट हाउस प्रवक्ताले बताएका छन् । ‘हामी आत्मरक्षा गर्ने ताइवानको कार्यमा समर्थन जनाउँछौं’ उनले भने, ‘हामी यथास्थितीलाई परिवर्तन गर्ने कार्यको विरोध गर्छौं ।’

    तर, बाइडेनको अभिव्यक्तिप्रति चीनले असन्तुष्टि जनाएको छ । आफ्ना मूलभूत मान्यतामा कुनै सम्झौता नहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ताइवानको स्वतन्त्रतालाई लिएर कुनै गलत सन्देश प्रवाह नगर्न समेत प्रवक्ता वाङ वेनविनले बताए ।

    ताइवानको राष्ट्रपति कार्यालयले कुनै दबाबसामु आफूहरुको नीतिमा कुनै परिवर्तन नआउने बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जेभियर चेङले ताइवानले आफ्नो रक्षा आफै गर्ने बताए । वासिङटनको सैन्य क्षमतालाई लिएर मानिसहरु चिन्तित हुनुपर्ने कारण नरहेको बताउँदै बाइडेनले विश्वकै इतिहासमा चीन र रुसलाई अमेरिकी सेना सबैभन्दा बलियो रहेको थाहा भएको समेत बताएका छन् ।

    ‘म चीनसँग कुनैपनि किसिमको शीतयुद्ध चाहँदिन । म चीनले अमेरिका पछि हट्दैन भन्ने कुरा बुझ्नुपर्छ भन्ने मान्यता राख्छु । हामी हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन गर्दैनौं’ उनले भने । चीन र ताइवानबीच पछिल्लो ४० वर्षयताकै चिसो सैन्य सम्बन्ध रहेको छ । ताइवानले चाहिँ आफू स्वतन्त्र राष्ट्र रहेको र आफ्नो स्वतन्त्रता तथा लोकतन्त्रको प्रतीरक्षा गर्ने बताएको छ ।

  • मोदीद्वारा १९ महीनामा दशौंपटक देशवासीलाई सम्बोधन : कोरोनाभाइरस नियन्त्रण गर्ने प्रतिबद्धता

    मोदीद्वारा १९ महीनामा दशौंपटक देशवासीलाई सम्बोधन : कोरोनाभाइरस नियन्त्रण गर्ने प्रतिबद्धता

    नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान दशौं पटक देशबासीको नाममा सम्बोधन गरेका छन् । कोरोना महामारी सुरु भएको १९ महिनामा देशबासीको नाममा मोदीले १० औं पटक सम्बोधन गरेका हुन् ।

    मोदीले शुक्रबार बिहान गरेको २० मिनेटको सम्बोधनमा भारतको १ अर्ब जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको सफलतामा केन्द्रित थियो । साथै, प्रधानमन्त्री मोदीले कोरोना महामारी नियन्त्रणमा पनि सफलता प्राप्त गर्न सरकार लागिपर्ने बताएका थिए । साथै, उनले अर्थव्यवस्था, किसान र चाडपर्वबारे पनि सम्बोधनमा बोलेका छन् ।

    मोदीले १ अर्ब डोज खोप लगाएर ठूलो सफलता हासिल गरेको बताए । ‘भारतले १०० करोड खोप डोजको कठिन लक्ष्य हासिल गरेको छ । यसको पछाडि १३० करोड देशवासीहरुको शक्ति छ’ उनले भने । यती मात्र होइन नभएर भारतले अझै लक्ष्य हासिल गर्नको लागि र आफ्नो संकल्प पूर्तिको लागी कडा मेहनत गरेर अघि बढ्ने समेत बताए ।

    ‘भारतले गरेको प्रयासलाई देखेर देशभर प्रशंसा भइरहेको छ । खोप आपूर्तिको चुनौतिसँग लड्न सफल भएकोमा चारैतिर उत्साह भएको छ । देशको अर्थव्यवस्था बलियो भएको छ’ मोदीले भने । कोरोना महामारीको सामना भारतले कसरी गर्छ भनेर सोधिएको प्रश्नमा उनले १ अर्ब डोज खोपको सफलताले आलोचनालाई जवाफ दिएको बताए ।

    साथै मोदीले देशबासीलाई मास्क लगाउने बानी नछोड्न र चाडपर्व मनाउँदा सावधानीका साथ मनाउन आग्रह गरेका छन् । कोरोनालाई हराउन सक्षम हुने समेत विश्वास उनले व्यक्त गरे । यसअघि मोदीले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई जून २१ बाट कोरोना भ्याक्सिन निःशुल्क पाउने र ८० करोड गरिब जनतालाई गरीब कल्याण अन्न योजनाअन्तर्गत तिहारसम्म सम्म निःशुल्क राशनको व्यवस्था घोषणा गरेका थिए ।

  • अमेरिकामा बुस्टर डोज लगाइने : जोन्सन र मोर्डना खोपलाई अनुमति

    अमेरिकामा बुस्टर डोज लगाइने : जोन्सन र मोर्डना खोपलाई अनुमति

    वासिङ्टन । लाखौं अमेरिकीले चाँडै कोभिड-१९ विरुद्धको बुस्टर डोज प्राप्त गर्ने भएका छन् । त्यहाँको आधिकारिक निकाले बुस्टर मात्राका लागि मोर्डना र जोन्सन एन्ड जोन्सनलाई अनुमति दिएको छ ।

    फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको यो मान्यतापछि अब अमेरिकी नागरिकहरुलाई तेस्रो डोज दिने बाटो खुलेको छ ।

    भाइरस संक्रमणको कारण ७ लाख २९ हजार जनाको मृत्यु भएको बेला बुस्टर डोजबारे निर्णय भएको हो । अहिले पनि लाखौं अमेरिकीले खोपको पहिलो मात्रा पनि लगाउन पाएका छैनन् ।

    बाइडेन प्रशासनले हामीले बुस्टर डोजलाई देशव्यापी वितरण गर्ने घोषणा गर्दा यसको विरोध भएको थियो । बिहीवार जोन्सन एन्ड जोन्सन १८ वर्ष उमेरभन्दा माथिकालाई लगाउन अनुमति मिलेको छ ।

    मोर्डनाको बुस्टर डोज भने ६५ वर्षभन्दा माथिको उमेरका नागरिक, गम्भीर तथा दीर्घरोगीलाई दिने भनिएको छ । पहिलो डोज लगाएको ६ महीनापछि मात्र मोर्डनाको बुस्टर डोज दिइने निर्णय भएको छ ।

    यसअघि लगाएकै खोपको बुस्टर डोज दिइने भएको छ । तर, चिकित्सकको सल्लाहमा अर्को खोपको बुस्टर डोज पनि लगाउन सकिने भएको छ ।

  • कोरोना महामारी अझै केही वर्ष लम्बिन सक्छ : डब्लुएचओ

    कोरोना महामारी अझै केही वर्ष लम्बिन सक्छ : डब्लुएचओ

    काठमाडौं । खोपमा गरिब मुलुकहरुको पहुँच हुन नसक्दा कोभिड-१९ महामारी अझै केही वर्ष लम्बिन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

    डब्लुएचओका एक वरिष्ठ चिकित्सक डा. ब्रुस अलवार्डले कोभिड संकटले सन् २०२२ पनि प्रभावित हुने बताएका छन् । ४० प्रतिशत खोप लगाइसकेका अन्य महादेशको तुलनामा अफ्रिकी महादेशमा ५ प्रतिशत पनि खोप नलगाइएको डब्लुएचओले जनाएको छ ।

    डा. अलवार्डले गरिब मुलुकहरुलाई धेरैभन्दा धेरै खोपको मात्रा उपलब्ध गराउन विकसित मुलुकहरुलाई आग्रह गरेका छन् । साथै, विपन्न मुलुकलाई खोपको प्राथमिकतामा राख्न उनले खोप उत्पादक कम्पनीलाई आग्रह गरेका छन् ।

    जी-सेभेन लगायतका अन्तर्राष्ट्रिय बैठकमा गरिएका प्रतिबद्धताअनुसार खोप वितरण गर्न पनि डब्लुएचओले खोप उत्पादक मुलुकलाई आग्रह गरेको छ । एक तथ्यांकअनुसार अहिले खोपको बढी परिमाण बढी तथा मध्यम आय भएका मुलुकलाई दिइएको छ ।

    विश्वमा लगाइएको कूल खोपको तुलनामा अफ्रिकामा मात्र २.६ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ ।

  • ट्रम्पको आफ्नै सामाजिक संजाल ट्रुथ घोषणा : सन् २०२२ को सुरुआतदेखि लन्च हुने

    ट्रम्पको आफ्नै सामाजिक संजाल ट्रुथ घोषणा : सन् २०२२ को सुरुआतदेखि लन्च हुने

    वासिङ्टन । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै लगानीमा नयाँ सामाजिक संजाल ‘ट्रुथ’ (सत्य) लन्च गर्ने घोषणा गरेका छन् ।

    ठूला सामाजिक संजालको मनपरीलाई चुनौति दिन आफूले नयाँ सामाजिक संजाल ल्याउन लागेको ट्रम्पले जनाएका छन् । फेसबुक, ट्वीटरजस्ता संजालले अमेरिकी जनताको आवाजलाई दबाएको आरोप पनि उनको छ ।

    उनले नेतृत्व गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले भिडियो अन डिमान्ड सेवा पनि लन्च गर्ने तयारी गरेको छ । गत जनवरीमा उनका समर्थकले अमेरिकी संसद भवनमा तोडफोड गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पलाई रोक लगाएका छन् ।

    त्यसपछि ट्रम्पले आफ्नै सामाजिक संजाल ल्याउने घोषणा गरेका थिए । यसवर्षको सुरुआतमा डोनाल्ड जे ट्रम्पको नाममा उनले ब्लग संचालनमा ल्याएका थिए । तर, एक महीना नबित्दै यो ब्लग बन्द भयो ।

    ट्रम्पको कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार ट्रुथ नामक उक्त सामाजिक संजाल केही अतिथिको लागि आगामी महीना प्रयोगमा आउनेछ भने सन् २०२२ को सुरुआती तीन महीनामा अमेरिकी प्रयोगकर्तामाझ संचालनमा आउने भएको छ ।

    ‘हामी यस्तो विश्वमा बस्छौं जहाँ ट्वीटरमा तालिबानको बृहत उपस्थिती छ तर, अहिलेसम्म अमेरिकी लोकप्रिय राष्ट्रपतिलाई मौन राखिएको छ’ ट्रम्पले लेखेका छन् ।

     

  • कोरोना नियन्त्रण गर्न रुसको कदम : अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा

    कोरोना नियन्त्रण गर्न रुसको कदम : अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा

    मस्को । रूसले कोरोनाभाइरस फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भूक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको फैलावट रोक्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

    पुटिनले सरकारलाई भने, “हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरु लागू गर्ने प्रस्तावको समर्थन गर्दछु ।”

    उनले आवश्यक परेको खण्डमा बिदाका दिनहरु विस्तार गर्न सकिने बताएका छन् ।

  • जापानको आम निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीलाई आफ्नै ‘बिरासत’ जोगाउन कठिन

    जापानको आम निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीलाई आफ्नै ‘बिरासत’ जोगाउन कठिन

    जापान । जापानमा आगामी ३१ तारिख हुन गइरहेको आम निर्वाचनमा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले एक्लै बहुमत पु¥याउन नसक्ने प्रक्षेपण गरिएको छ ।

    जापानको आर्थिक पत्रिका ‘निहोन खेइजाई’ ले १९ र २० तारिख गरेको सर्वेक्षणले डेमोक्रेटिक पार्टी एक्लैले भन्दा पनि कोमेइ पार्टीसहितको सत्तारुढ २ दलले बहुमत प्राप्त गर्ने देखाएको हो । कुल ४६५ सदस्य रहने संसदमा बहुमतका लागि २३३ सिट आबश्यक पर्दछ ।

    जापानको अहिलेको संसदमा लिबरल डेमोक्रेटिक पार्टी २७६ सिटसहित एक्लै बहुमतमा छ । एकल बहुमत भए पनि कोमेइसँग सत्ता साझेदार गरेको लिबरल पार्टीले अहिलेको निर्वाचनबाट एक्लै बहुमत पुर्याउन कठिन रहेको उक्त सर्वेक्षणले देखाएको हो ।

    २९ सिट रहेको कोमेइ जापानको तेश्रो ठूलो दल हो । सन् १९५८ देखि २००५ सम्म लगातार पहिलो दल बनेको लिबरल २००९ को आम निर्वाचनमा ११९ सिटमा जित निकाल्दै दोश्रो दलमा खुम्चिएको थियो । ४८० सिटका लागि निर्वाचन भएकोमा लोकतान्त्रिक पार्टी एक्लैले ३०८ सिटमा जित निकाल्दै जापानको पहिलो दल बन्न सफल भएको थियो ।

    सन् २०१२ मा भएको आम निर्वाचनमा लिबरलले २९४ सिट जितेर लोकतान्त्रिक पार्टीबाट ‘पहिलो दलको’ उपाधी खोस्न सफल भएको थियो । सन् २००९ मा भएको निर्वाचनमा ३०८ सिट जितेको लोकतान्त्रिक पार्टीले २०१२ को निर्वाचनमा जम्मा ५७ सिटमा सीमित हुन पुग्यो ।

    सन् २००९ मा भएको निर्वाचनको नतिजालाइ छोड्ने हो भने सन् १९५८ देखि हाल सम्म लिबरल डेमोक्रेटिक पार्टीले दोश्रो हुन परेको छैन । तर अहिलेको निर्वाचनमा उसको ‘दबदबा’ कमजोर हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    निक्केइ पत्रिकाको सहयोगमा

  • रुसले गर्‍यो तालिबानलाई स्वागत, अफगान संकटबारे छलफल गर्न मस्कोमा बैठकको आयोजना

    रुसले गर्‍यो तालिबानलाई स्वागत, अफगान संकटबारे छलफल गर्न मस्कोमा बैठकको आयोजना

    मस्को । अफगानिस्तानमा क्षेत्रीय स्थायित्व तुल्याउने तालिबानको प्रयासलाई रुसले समर्थन गर्ने रुसी विदेशमन्त्री सर्जेइ लाभ्रोभले बताएका छन् । रुसले अफगानिस्तानबारे छलफल गर्न बुधबार मस्कोमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरेको छ ।

    ‘अहिले शक्तिमा नयाँ प्रशासन आएको छ’ लाभ्रोभले भने, ‘सैनिक र राजनीतिक परिस्थितीलाई स्थिर तुल्याउन तालिबानले गरेको प्रयत्नलाई हामीले नियालेका छौं । हामी तालिबानसँग मिलेर काम गर्न चाहन्छौं ।’

    अफगानिस्तानको भविष्यबारे छलफल गर्न बोलाइएको उक्त बैठकमा चीन र पाकिस्तानसहित १० मुलुकका नेताहरु सहभागी हुँदैछन् । भारत, इरान, कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तान पनि बैठकमा सहभागी हँुदैछन् ।

    विदेशमन्त्री लाभ्रोभले बैठकमा वासिङ्टनको उपस्थिती नहुनु दुःखद भएको बताए । अमेरिकाले यसअघि नै केही प्राविधिक कारणले आफूले मस्कोमा आयोजना हुने बैठकमा भाग नलिने तर, निकट भविष्यमा हुने अर्को बैठकमा भाग लिने जवाफ दिएको छ ।

    बैठकमा तालिबान डेलिगेसनको नेतृत्व तालिबान नेतृत्वको अफगानिस्तान सरकारका उपप्रधानमन्त्री तथा वरिष्ठ तालिबान नेता अब्दुल सलाम हनाफीले गर्नेछन् । उनले गतसाता अमेरिका र युरोपेली युनियनसँग पनि वार्ताको नेतृत्व गरिसकेका छन् । तर, तालिबानलाई वैधानिकता दिनेबारे आफूले हतार नगर्ने मस्कोले बताएको छ ।

  • पुटिनले राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग नलिने, चिनियाँ राष्ट्रपति पनि जाने सम्भावना न्यून

    पुटिनले राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग नलिने, चिनियाँ राष्ट्रपति पनि जाने सम्भावना न्यून

    काठमाडौं । यसै महीना स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग नलिने क्रेमलिनले बुधबार जनाएको छ । आगामी अक्टोबर ३१ देखि २१ नोभेम्बरसम्म स्कटल्याडको सबैभन्दा ठूलो सहर ग्लास्गोमा सम्मेलन हुँदैछ ।

    राष्ट्रपति पुटिनले भाग नलिने कारणबारे क्रेमलिनले केही खुलाएको छैन । जलवायु परिवर्तन रुसको सबैभन्दा महत्वपूर्ण प्राथमिकता मध्ये एक भएको क्रेमलिनका एक प्रवक्ताले जनाएका छन् ।

    पुटिनले उपस्थित नहुने निर्णयको कुनै आधिकारिक घोषण गरेका छैनन् । तर, सम्मेलनमा भाग नलिने आफ्नो निर्णयको पछाडि बेलायतमा बढ्दो कोरोनाभाइरस संक्रमण कारण रहेको उनले बताएका छन् ।

    ‘दुर्भाग्यवश, राष्ट्रपति पुटिन ग्लास्गो जानुहुने छैन’ क्रेमलिन प्रवक्ता देमित्री पेस्कोभले संवाददाताहरुसँग भने । उनले जलवायु परिवर्तन रुसी विदेश नीतिको एक महत्वपूर्ण मुद्दा रहेको समेत बताए । भौतिकरुपमा उपस्थित नभएपनि, भर्चुअल माध्यममार्फत भाग लिने सम्भावना रहेको जनाइएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सम्भवतः ग्लास्गो नजाने सम्भावना छ । तर, चिनियाँ अधिकारीहरुले नयाँ योजनाबारे केही खुलाएका छैनन् ।

    जलवायु परिवर्तनसम्वन्धी उक्त विश्व सम्मेलनमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम छ । साथै अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत नेताहरु सहभागी हुने छन् ।

  • उत्तर कोरियाले आज प्रहार गरेको क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्माण भएको पुष्टि

    उत्तर कोरियाले आज प्रहार गरेको क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्माण भएको पुष्टि

    सोल । उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।

    साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ मंगलबार बतएका थिए ।

    उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु प्रहार गर्ने र परीक्षण गर्ने गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो । यस पटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ ।

  • बेलायतमा एकैदिनमा कोरोनाले २२३ जनाको मृत्यु, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउने तयारी

    बेलायतमा एकैदिनमा कोरोनाले २२३ जनाको मृत्यु, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउने तयारी

    लन्डन । बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ । यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो ।

    उता यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । मंगलबार यहाँका सङ्क्रमितहरु करिब ५० हजार जनाको नजिक पुगेको थियो ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

    बेलायतका स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना सङ्क्रमित भेटिनु र मृत्यु दर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्रमित भएका छन् । यो समेत गरी यहाँ सङ्क्रमित हुनेको संख्या ८५ लाख पुगेको छ ।

    महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

  • बंगलादेशमा किन चर्कियो धार्मिक दंगा ? हिन्दुमाथिको ज्यादति रोक्न राष्ट्रसंघको अपिल

    बंगलादेशमा किन चर्कियो धार्मिक दंगा ? हिन्दुमाथिको ज्यादति रोक्न राष्ट्रसंघको अपिल

    ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दु र बहुसंख्यक मुस्लिम समुदायबीच सुरु भएको तनावले उग्ररुप लिन थालेको छ । पछिल्लो एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा मु्स्लिम आन्दोलनकारीले आगो लगाएका छन् भने ६६ वटा घर भत्काएका छन् । मुस्लिम आक्रमणमा हालसम्म ६ जना हिन्दु धर्माबलम्बिको ज्यान गएको छ ।

    गत साता दुर्गापुजाका क्रममा हिन्दुले मुसलमानको निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै मुसलमानहरुले हिंसा सुरु गरेका थिए ।

    इस्लामहरुको धर्मग्रन्थ कुरानलाई एउटा हिन्दु मन्दिरमा रहेको मुर्तिको पैतलामा राखिएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएको थियो । त्यसमा एक हिन्दुले अनादरपूर्ण टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दुका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।
    प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेका थिए । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुईवटा किचेन तथा २० वटा झुपडीमा आगजनी गरेका छन् । पछिल्लोपटक राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दुको घरमा आगजनी गरेका छन् ।

    दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको आरोपपछि धार्मिक तनाब बढेको थियो । सयौंको संख्यामा मुस्लिमहरुले दक्षिणपूर्वी नोआखली जिल्लामा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनकै क्रममा दुई हिन्दुहरु मारिएपछि हिंसा चर्किएको हो । उनीहरुको मृत्यु कसरी भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारले आक्रमणकारीहरुलाई कडा कारवाही गर्ने बताएको छ ।

    आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ । उनीहरुले हिन्दुका घरबाट पैसा र जिन्सी सामानहरु लुटपाट समेत गरेका छन् । घटनामा प्रहरीले ४२ जनालाई पक्राउ गरेको छ ।

    सोमबार हिन्दुहरुको संगठन हिन्दू गु्रप इन्टरनेसनल सेसाइटीको आह्वानमा ढाकामा न्यायको माग गर्दै प्रदर्शन गरिएको छ । प्रदर्शनमा ढाका युनिभर्सिटीका विद्यार्थी तथा शिक्षकहरुसमेत सहभागी थिए ।

    बंगलादेशमा हिन्दुहरु कुल जनसंख्याको १० प्रतिशतजति छन् । प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी सन् २००९ मा सत्तामा आएयता ठूलोमध्येको धार्मिक दंगा हो यो । स्वतन्त्र बंगलादेशमा सत्ता आलोपालो गरिरहेका अन्य दुई राजनीतिक संगठनभन्दा बढी धर्मनिरपेक्षतावादी मानिने अवामी लिगलाई यो दंगाले चुनौति खडा गरेको छ ।

    ज्यादती रोकः राष्ट्रसंघ
    बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भएका श्रृंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । हिन्दुमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ ।

    ‘सामाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दुमाथि भएका हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने, ‘अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निष्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौं ।’
    अमेरिकाले पनि हिन्दुमाथिको आक्रमण रोक्न अपिल गरेको छ । ‘धर्म वा विश्वासको स्वतन्त्रता हरेक व्यक्तिको मानवअअधिकार हो । सबैले आफ्नो धर्म मानिरहँदा सुरक्षित महसुस गर्नुपर्छ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

  • म्यानमारमा कैदीहरुलाई रिहा गर्ने घोषणा भएपछि जेलबाहिर आफन्तहरुको भीड

    म्यानमारमा कैदीहरुलाई रिहा गर्ने घोषणा भएपछि जेलबाहिर आफन्तहरुको भीड

    याङ्गोन । म्यानमारमा पाँच हजारभन्दा बढी कैदीहरुलाई रिहा गर्ने घोषणा भएपछि परिवारका सदस्यहरुको जेलबाहिर भीड लागेको छ । सैन्य सरकारले हजारौंको संख्यामा उनीहरुका आफन्तहरुलाई रिहा गर्ने प्रतिबद्धता जनाएपछि भीड भएको हो ।

    गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका थिए ।

    अक्टोबरको अन्त्यमा बौद्ध थन्डिथग्युत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् । छ महिनापछि आफ्ना परिवारजन छुट्टेपछि भेटघाटको सम्भावनाले खुशी भएका आफन्तजनको जेलबाहिर भीड लागेका अन्तराष्ट्रिय सञचारमाध्यमले जनाइएको छ ।

    प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ । कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

    अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन् । जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरु रहेका थिए ।

  • खड्कुँलोमा चढेर विवाह मण्डपमा पुगे दुलाहादुलही

    खड्कुँलोमा चढेर विवाह मण्डपमा पुगे दुलाहादुलही

    दिल्ली । भारतको दक्षिणी राज्य करेलामा विवाह गर्न दुलाहा र दुलही पकाउने भाँडा(खड्कुँलो)मा चढेर विवाह मण्डपमा पुगेका छन् ।

    शुक्रबारदेखि लगातार भारी बर्षाका कारण खड्कुँलोलाई डुङ्गा बनाएर उनीहरु विवाह गर्न मन्दिरसम्म पुगेका हुन् ।

    आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न लागेका थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्।

    विवाह गर्ने मन्दिर केही डुबेको थियो । उनीहरूलाई नातेदारले अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए।

    करेलामा शुक्रबारदेखि निरन्तर बर्षाका कारण बाढी र पहिरोले आक्रान्त बनेको छ । त्याहाँ ठूलो धनजनको क्षति भएको छ भने बाढीका कारण बाटो र बिजुली पनि अवरुद्ध भएको छ ।

    उद्धारको काम गर्न समेत निकै कठिन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

  •  म्यान्मारका सैन्य ‘कू’ को विरोधमा पक्राउ परेका पाँच हजार जनालाई रिहा गर्ने तयारी

     म्यान्मारका सैन्य ‘कू’ को विरोधमा पक्राउ परेका पाँच हजार जनालाई रिहा गर्ने तयारी

    म्यान्मार । म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।

    मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो । कारागारमा रहेकामध्ये अरू चार हजार ३२० जनाको बारेमा भने देशका विभिन्न अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ ।

    गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कु’ गरेको सैनिक सरकारको विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा हुन थालेका छन् ।

    सरकारी अधिकारीहरूले जेल परेकामध्ये ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने तयारी भइरहेको जनाएका छन् । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् ।

    क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।

    प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको थियो भने देशभित्र आन्दोलन भएको थियो । आन्दोलन र राजनीतिक सङ्कटका कारण देशमा अराजकता छाएको छ ।

    आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ ।

    अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् ।

    रासस

  • भारतको केरलामा बाढीबाट २६ को मृत्यु, कैयौँ बेपत्ता

    भारतको केरलामा बाढीबाट २६ को मृत्यु, कैयौँ बेपत्ता

    मुम्बई । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर भएको बर्षाका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका छन् ।

    साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

    हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन् । यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

    कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।

    सोमबार बिहानसम्म पनि यहाँ बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले सोमबार पनि बर्षा कायमै रहने बताएका छन् । वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । यसकारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरुले बताएका छन् ।

  • बेलायतमा फेरि बढ्याे काेराेना, एकै दिन ४० हजार भन्दा संक्रमित

    बेलायतमा फेरि बढ्याे काेराेना, एकै दिन ४० हजार भन्दा संक्रमित

    सिन्ह्वा। बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको छ । यो समेतगरी यहाँ चौथो दिन सम्म पनि ४० हजार भन्दा बढी सङ्क्रमित पाइएका हुन् ।

    पछिल्ला केही दिनमा संक्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् ।

    अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८४ लाख ४४ हजार नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य अधिकारीले  धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको भन्दै थप सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

  • अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

    अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

    सिन्ह्वा । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको थियो ।

    विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका छन् । उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्बिरहरु सञ्चारमाध्यमहरुले दिएका छन् । तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको हो ।

    अरु दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेको थियो । शुक्रवारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ रहेको थियो ।

    सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ । तालिबानका सशस्त्र लडाकूहरुले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरुले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो ।

  • बंगलादेशमा दुर्गा पूजामा हिन्दुमाथि हमलाः धार्मिक हिंसा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा

    बंगलादेशमा दुर्गा पूजामा हिन्दुमाथि हमलाः धार्मिक हिंसा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा

    ढाका । बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ ।

    मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ ।

    यसै साता दुर्गा पूजाका क्रममा मुस्लिमहरूले हिन्दु मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चारजनाको मृत्यु भएको थियो । हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् ।

    धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछु, ढाकस्थित दक्षेश्वरी हिन्दु मन्दिरमा हिन्दूहरूलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन् ।

    यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ ।

  • छुरा हानेर बेलायती सांसदको हत्या

    छुरा हानेर बेलायती सांसदको हत्या

    लण्डन । बेलायतमा एक सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

    एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रबार दिउँसो वेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

    सांसदको हत्याको आशंकामा २५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक-पटक छुरा प्रहार गरेको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।

    अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

  • जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन

    जापानका प्रधानमन्त्रीद्वारा संसद विघटन

    सिन्ह्वा । जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।

    जापानआगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

    सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका थिए ।

    किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् ।

    उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन्। उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गरे ।

  • खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध

    खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध

    एजेन्सी । खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् ।

    ‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले मलाई खोप लगाएको हो भनेर सोधे,’ बोल्सोनारोले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्र्दै भनेका छन् । ‘फुटबल हेर्न किन खोप लगाउनु प¥या?’ उनले प्रश्न गरेका छन् ।

    बोल्सोनारोले अहिलेसम्म कोभिड खोप लगाउन मानेका छैनन् र अरुलाई पनि नलगाउन दुत्साहन गर्दै आएका छन् । कोभिड संक्रमणलाई उनले जहिले पनि हल्का ढंगले टिप्पणी गर्दै आएका छन् । आफ्नो शरीरमा पर्याप्त एन्टीबडी भएकोले खोप लगाउन आवश्यक नभएको उनले बताउँदै आएका छन् ।

     

  • अमेरिका र तालिबानबीच दोहामा वार्ता : अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

    अमेरिका र तालिबानबीच दोहामा वार्ता : अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

    दोहा । अगस्टमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन-पर्सन बैठकका क्रममा तालिबान नेताहरुले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् । विदेश मन्त्री मुट्टाकीलाई उद्धृत गरी भ्वाइस अफ अमेरिकाद्वारा प्रशारित समाचारमा भनिएको छ , “दुवै पक्षले शनिबार ‘आफ्नो सम्बन्धमा नयाँ पृष्ठ’ खोल्न दोहामा पहिलो बैठक आयोजना गरेका हुन् ।

    अगस्टको मध्यतिर अमेरिका अफगानिस्तानबाट फर्केपछि दुई पक्षबीचको यो पहिलो इन-पर्सन बैठक हो ।” तालिवानका कार्यवाहक विदेशमन्त्री आमिर खान मुट्टाकीले अन्तर्राष्ट्रिय समुदायसँग आवद्ध हुन चाहेको र एक देश अर्को देशको विपक्षमा नरहने बताए ।

    “समान आधारमा एक-अर्कासँग राम्रो सकारात्मक सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकतालाई छलफलमा जोड दिन थालिएको छ । हामीले अफगानिस्तानले सामना गरिरहेको कठिन परिस्थितिको कारण अफगान वित्तीय सम्पत्तिको निःशर्त प्रबाह हुनुपर्ने आवश्यकतामा जोड दियौं ।”

    मुट्टाकीले भने, “हामीले अमेरिकी अधिकारीहरूलाई अस्थिर अफगानिस्तानबाट कसैले पनि लाभ उठाउन सक्दैन भनेर स्पष्टसँग बतायौं, त्यसैले कसैले पनि अफगानिस्तानको वर्तमान सरकारलाई कमजोर बनाउने वा आर्थिक तवरमा संघर्ष गरिरहेका हाम्रा अफगान जनताका लागि समस्याहरूलाई वडाउने प्रयास गर्नु नहुने कुरा हामीले वार्तामा राख्यौँ ।”

    हालै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मुलुकमा बढ्दो अनिश्चितताबीच अफगानिस्तानको रकम होल्ड गरेको थियो । आईएमएफले हालै सदस्य राष्ट्रहरूका लागि ६५० अरब अमेरिकी डलर विशेष रेखाचित्र अधिकार (एसडीआर) बाँडफाँडको घोषणा गरेपछि यी घटनाहरू भएका हुन् ।

    आइएमएफले अहिले अफगानिस्तानलाई यी कोषहरूमा पहुँच प्राप्त गर्न अनुमति नपाउने टोलो न्युजद्वारा प्रशारित एक समाचारमा गत महिना आईएमएफका प्रवक्ता गेरी राइसलाई उद्धृत गरी उल्लेख गरिएको छ । केही समय पहिले भएको पत्रकार सम्मेलनमा अफगानिस्तान सरकारको अनिश्चितताका कारण अफगानिस्तानले यस अनुदानमा पहुँच प्राप्त गर्न नपाउने आइएमएफका प्रवक्ता गेरीले बताएका थिए ।

  • अफगानिस्तानको मस्जिद विस्फोटमा इस्लामिक स्टेटको हात

    अफगानिस्तानको मस्जिद विस्फोटमा इस्लामिक स्टेटको हात

    काबुल । अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेको बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।

    अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।

    उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।

    तर यहाँको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा आइएसले हमला गरी नागरिकको हत्या गरेका थिए ।

  • सिड्नीमा १०६ दिनपछि आजदेखि लकडाउन अन्त्य

    सिड्नीमा १०६ दिनपछि आजदेखि लकडाउन अन्त्य

    अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरस महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाई छ ।

    देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । ती मध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पाइएको पनि अधिकारीहरुले जनाएका छन ।

    झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन् । उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुशीयाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन् । लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन् । त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने मौकाको रुपमा प्रयोग गरेको देखिएको छ ।

    गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए । अत्यावश्यक सेवा भने सञ्चालित नै थिए । त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्नका लागि पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो । महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले पनि सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तिव्र रुपमा कोरोना परीक्षण गराउने लगायतका कार्य गर्दै आएका थिए । रासस

  • अर्थशाष्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशाष्त्रीलाई

    अर्थशाष्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशाष्त्रीलाई

    काठमाडौं । यसवर्ष अर्थशाष्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशाष्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज पुरस्कार घोषणा गरेको हो ।

    अमेरिकी अर्थशाष्त्रीहरु डेभिड कार्ड, जोसुआ डी एङ्ग्रिस्ट र गुइदो डब्लु इम्बेन्सलाई पुरस्कार दिइने भएको हो । न्यूनतम ज्याला, आप्रवास र शिक्षामा श्रम बजारको प्रभाव कसरी पर्न सक्छ भन्ने प्राकृतिक खोज पद्दति पत्ता लगाएबापत उनीहरुलाई पुरस्कार दिइने निर्णय भएको जनाइएको छ ।

    यो अध्ययन पद्दतिले कारण र प्रभावहरुको जवाफ दिने नोबेल समितिले ठह गरेको छ । यो खोजले अन्य विधामार्फत अध्ययन र अनुसन्धान गर्न सजिलो हुने नोबेल समितिले जनाएको छ ।

  • पाकिस्तानको आणविक हतियार ‘पिता’ खानको निधन

    पाकिस्तानको आणविक हतियार ‘पिता’ खानको निधन

    काठमाडौं । पाकिस्तानका आणविक हतियारका पिता भनेर परिचित डाक्टर अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । कोभिड–१९ संक्रमणका कारण उनको निधन भएको बीबीसीले उल्लेख गरेको छ ।

    सन १९९८ मा पाकिस्तानले गरेको प्रथम आणविक हतियारको परिक्षणमा खानको ठुलो योगदान छ । भारतले सन १९७४ मै पहिलो आणविक हतियार परिक्षण गरेपछि भारतको कट्टर दुस्मन पाकिस्तानमा खानको योगदान रास्ट्रिय इज्जतकै रुपमा लिइने गरिन्छ ।

    उनले लुकिछिपि इरानदेखि  उत्तर कोरिया पुगेर आणविक हतियार बारेमा जानकारी लिएको बताइन्छ । खानकै कारण पाकिस्तान आणविक हतियार भएको एक्लो मुस्लिम रास्ट्रसमेत भएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खानको पाकिस्तानको ‘आइकन’ भएको भन्दै पाकिस्तानलाई आणविक हतियारसम्पन्न देश बनाउन उनको गम्भिर योगदान भएको बताएका छन ।

    उत्तर कोरिया लगायतका देशबाट आणविक हतियार बनाउने तरिका सिकेका बताइएका खानले पछि पाकिस्तानको सफलतापछि आफ्नो प्रणाली उत्तर कोरिया, इरान देखी लिबियासम्म फैलाइएको आरोप छ ।

    त्यहि आरोपमा उनलाइ सन २००४ मा पक्राउ समेत गरिएको थियो । उनलाई पाकिस्तानका रास्ट्रपति परवेज मुसरफले रिसाइ गरेका थिए ।

  • ताइवानसँग शान्तिपूर्णरुपमै पुनःएकीकरण हुन्छ : चिनियाँ राष्ट्रपति सी

    ताइवानसँग शान्तिपूर्णरुपमै पुनःएकीकरण हुन्छ : चिनियाँ राष्ट्रपति सी

    बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँग शान्तिपूर्ण माध्यमबाट पुनःएकीकरण हुने प्रतिबद्धता जनाएका छन् ।

    दुई सातादेखि चीनले आफ्नो दावी गरिरहेको यो टापुमा चर्किएको तनाव र अन्तर्राष्ट्रिय समुदायको बढ्दो चासोका माझ राष्ट्रपति सीको यस्तो भनाइ आएको हो ।

    सन् १९११ को क्रान्तिको ११० औं वार्षिकी मनाउन ग्रेट हल अफ दी पिपुलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त कुरा बताएका हुन् । तर, सीको यस्तो भनाइ आएलगत्तै ताइवानले प्रतिक्रिया जनाउँदै आफ्नो भाग्यको निर्णय गर्ने अधिकार नागरिकमा रहेको जनाएको छ ।

    लोकतान्त्रिक विधिबाट शासन संचालन गर्दै आएको ताइवानमाथि चीनले सैनिक र राजनीतिक दबाब बढाउँदै लगेको छ । तर, ताइवानले चाहिँ आफूले चिनियाँ दबाबविरुद्ध प्रतिरक्षा गर्ने जनाएको छ ।

    चिनियाँ नागरिकसँग पृथकतावादको विरोध गर्ने गौरवपूर्ण परम्परा रहिआएको समेत राष्ट्रपति सीले बताए ।

    ‘ताइवानको पृथकतावाद मातृभूमिलाई पुनःएकीकरण गर्ने लक्ष्यको ठूलो अवरोध बनेको छ’ त्यहाँको अन्तिम वंशलाई हटाइएको सन् १९११ को आन्दोलनको वार्षिकी मनाउन आयोजित कार्यक्रममा उनले भने ।

    शान्तिपूर्ण पुनःएकीकरणको माध्यमबाट ताइवानी जनताको आकांक्षालाई पनि पुरा गर्न सकिने उनले बताए ।

  • अमेरिकी उच्चस्तरीय डेलिगेसन टोली र तालिबानबीच आज दोहामा वार्ता हुँदै

    अमेरिकी उच्चस्तरीय डेलिगेसन टोली र तालिबानबीच आज दोहामा वार्ता हुँदै

    दोहा । अफगानिस्तानबाट आफ्ना सैकिनक फिर्ता गरेपछि पहिलोपटक उच्चस्तरीय अमेरिकी डेलिगेसन टोलीले दोहामा तालिबानका बरिष्ठ प्रतिनिधिलाई भेट्ने भएको छ ।

    दुईजना अमेरिकी अधिकारीले रोयटर्सलाई बताएअनुसार शनिबार र आइतबार दोहामा भेटवार्ता हुँदैछ । उच्चस्तरीय अमेरिकी डेलिगेसन टोलीमा स्टेट डिपार्टमेन्टका प्रतिनिधि, अमेरिकी सहयोग नियोग र अमेरिकी गुप्तचर निकायका प्रतिनिधि सहभागि हुने भएका छन् ।

    उक्त वार्तामा अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको सुरक्षित बहिर्गमन र अपहरण गरिएका भनिएका आफ्ना नागरिक मार्क फ्रेइरिक्सलाई रिहा गर्न दबाब दिने बताइएको छ ।

    साथै, अमेरिकी टोलीले आर्थिक संकटको सामना गरिरहेको अफगानिस्तानमा मानवीय सहायताको पहुँच र अफगानिस्तानको भूमिलाई अलकायदासहितका इस्लाम कट्टरपन्थीको उर्वरभूमि बन्नबाट रोक्न समेत दबाब दिने रोयटर्सले जनाएको छ ।

    तर, तालिवानसँगको वार्तामा विशेष भूमिका खेलेका अमेरिकी प्रतिनिधि जाल्मे खालिजाद भने यो वार्तामा सहभागि छैनन् । तालिबानको तर्फबाट मन्त्रिपरिषद्का केही अधिकारी सहभागि भएका छन् ।

  • अफगानिस्तानको मस्जिद विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु

    अफगानिस्तानको मस्जिद विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु

    काबुल । अफगानिस्तानको उत्तरी सहर कुन्दुजस्थित एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अगस्टमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि भएको यो अर्को हिंसात्मक घटना हो ।

    ‘हामीसँग ९० जनाभन्दा बढी घाइतेहरु उपचारका लागि आएका छन् । यो संख्या बढ्न सक्छ । अरु धेरै मान्छेहरु पनि आइरहेका छन्’ नाम उल्लेख नगर्ने सर्तमा बोर्डर अस्पतालका एक चिकित्सकले एनडीटीभीलाई भने ।

    तालिबान प्रवक्ता जाबिहुल्ला मुजाहिदले पनि कुन्दुजको सिद मुस्लिम समुदायको प्रार्थनाको समयमा उक्त विस्फोटमा केही अपरिचित मान्छेहरु मारिएको र घाइते भएको विवरण आफूले पाएको बताए ।

    यो विस्फोटको जिम्मा कसैले नलिएपनि पछिल्ला हिंसाका घटनाहरुमा तालिबानसँग राम्रो सम्बन्ध नरहेको आतंकवादी संगठन इस्लामिक स्टेट दोषी पाइएको छ ।

    रगत आवश्यक भएपछि दान गर्न अस्पताल पुगेका स्थानीय व्यापारी जालमाइ अलोकजाइले त्यहाँ देखिएको रक्तपातपूर्ण अवस्थाको वर्णन गरे । ‘मैले त्यहाँ ४० भन्दा बढी शवहरु देखेँ’ समाचार एजेन्सी एएफपीलाई उनले भने, ‘एम्बुलेन्सहरु अन्य शव ल्याउन घटनास्थल गैरहेका थिए ।’

    एमएसएफ अस्पताल पुगेको अन्तर्राष्ट्रिय स्वयंसेवक कार्यकर्ताले मृतकको संख्या अझै बढ्न सक्ने बताए ।

  • १८ हजार करोड भारुमा टाटाले किन्यो एयर इन्डिया

    १८ हजार करोड भारुमा टाटाले किन्यो एयर इन्डिया

    दिल्ली । अन्ततः एयर इंडिया घर फर्किएको छ । टाटा ग्रुपले १८ हजार करोड भारुमा यसलाई खरिद गरेको छ ।

    भारतीय अर्थ मन्त्रालय मातहतको डिपार्टमेन्ट अफ इन्भेस्टमेन्ट एन्ड पब्लिक एसेट म्यानेजमेन्ट (दीपम)ले यसको औपचारिक जानकारी दिएको हो ।

    अब टाटामार्फत एयर इंडिया र इंडिया एक्सप्रेस आएका छन् । केही दिनअघि ब्लूमबर्ग म्यागजिनले टाटा सन्सले एयर इन्डिया खरिद गर्नेबारे समाचार छापेको थियो ।

  • नोबेल शान्ति पुरस्कार रुस र फिलिपिन्सका दुई पत्रकारलाई संयुक्तरुपमा दिइने

    नोबेल शान्ति पुरस्कार रुस र फिलिपिन्सका दुई पत्रकारलाई संयुक्तरुपमा दिइने

    स्टकोहम । रुस र फिलिपिन्सका दुई पत्रकारलाई यसवर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाएर सरकारमाथि दबाब सिर्जना गर्र्दै आएका उनीहरुलाई पुरस्कार दिने निर्णय नोबेल समितिले गरेको हो ।

    ती दुई मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि साहसिक लडाइ लडेबापत फिलिपिन्सकी मारिया रेसा र रुसका दिमित्री मुरातोभलाई प्रदान गर्ने निर्णय भएको हो ।

    ‘लोकतन्त्र र दिगो शान्तिका लागि आवश्यक अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न उनीहरुले योगदान दिएबापत नोबेल शान्ति पुरस्कार दिने निर्णय भएको छ’ नोबेल समितिले भनेको छ ।

    ‘प्रेस स्वतन्त्रता संकटमा परेको बेला लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने पत्रकारहरुको प्रतिनिधित्व उनीहरुले गर्नेछन्’ नर्वेली नोबेल समितिकी अध्यक्ष बेरित रेइस एन्डर्सनले भनेकी छिन् ।

    फिलिपिन्सकी ५८ वर्षिया रेसा खोजमूलक पत्रकारिता अध्ययन गर्ने संस्था ¥यापलरकी संस्थापक समेत हुन् । ५९ वर्षिय मुरातोभ कठिन अवस्थाको बीचमा पनि एकदशकदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने पत्रकार हुन् ।

  • अरुणाञ्चलमा भारतीय र चिनियाँ सेनाबीच झडप, पीएलएले सीमा पार गरेको भारतको आरोप

    अरुणाञ्चलमा भारतीय र चिनियाँ सेनाबीच झडप, पीएलएले सीमा पार गरेको भारतको आरोप

    दिल्ली । भारतको अरुणाञ्चल प्रदेशमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच पुनः झडप भएको छ । भारतीय संचारमाध्यमका अनुसार दुईसय चिनियाँ जनमुक्ती सेना लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) पार गर्दा भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा यसैसाता सो झडप भएको बताइन्छ ।

    चीन सीमावर्ती क्षेत्रमा नियमित गस्ती गर्दा सो झडप भएको एनडीटीभीले जनाएको छ । तर, केही समयपछि दुबै पक्षका कमान्डरले विवाद साम्य पारेपछि सेनाहरु पछि हटेको जनाइएको छ ।

    स्रोतका अनुसार केही घण्टासम्म दुबै पक्षका सेनाबीच धक्कामुक्का भएको थियो र विद्यमान सीमा प्रोटोकलअनुसार विवाद साम्य भएको थियो । तर, झडपमा कुनै क्षति नपुगेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

    बिहीवार भारतीय विदेश मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले भारतले चीनबाट सीमा प्रोटोकल र नियम कार्यान्वयनको अपेक्षा गरेको बताएका थिए ।

  • उपनिवेशविरुद्धका शरणार्थी लेखकलाई साहित्यतर्फको नोबेल

    उपनिवेशविरुद्धका शरणार्थी लेखकलाई साहित्यतर्फको नोबेल

    काठमाडौं । तान्जानियामा जन्मिएका उपन्यासकार अब्दुलरजाक गुरनाहले यसवर्ष नोबेल साहित्य पुरस्कार जितेका छन् ।

    उनले आफ्नो लेखनमार्फत उपनिवेशका प्रभाव तथा संस्कृति र महादेशको भिन्नताले शरणार्थीको भाग्य कसरी लेखिन्छ भनेर यथार्थ चित्रण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको नोबेल समितिले जनाएको छ ।

    १० उपन्यास र केही छोटा कथा प्रकाशित गरेका गुरनाहले आफ्ना लेखनीहरुमा शरणार्थीको पीडालाई दर्शाएको जनाइएको छ । उनी स्वयम तान्जानियामा जन्मिएर इङ्ल्यान्डमा शरणार्थीको रुपमा हुर्किएका थिए ।

    शरणार्थीको रुपमा इङ्ल्यान्ड आएपछि उनले २१ वर्षको उमेरदेखि उपन्यास लेख्न थालेका थिए । स्वाहिली उनको पहिलो लेखकीय भाषा हो । अंग्रेजी भने उनको माध्यम भाषा हो ।

    जन्जिबार टापुमा सन् १९४८ मा जन्मिएका उनी शरणार्थीको रुपमा बेलायत पुगेका थिए । सन् १९६३ डिसेम्बरमा तान्जानियामा चलेको आन्दोलनलाई राष्ट्रपति अबेइद कुरुमीले दमन गरेपछि उनी त्यहाँबाट परिवारसहित इङ्ल्यान्डमा निर्वासनमा गएका थिए ।

    उक्त चलेको आन्दोलनमा अरब मुलका नागरिकलाई दमन गरिएको थियो । यो दमनबाट मुक्त हुन उनको परिवारले देश छाडेको थियो । उनले स्कुल पनि बीचमै छाड्नुपरेको थियो । त्यो आन्दोलनपछि तान्जानिया निर्माण भएको थियो ।

    कुरानमा वर्णित सुराजस्तै उनीद्वारा रचित अरविक र पर्सियन कविता ‘द अरबियन नाइट्स’लाई निकै चर्चित मानिन्छ । नोबेल समितले कुरानको सुराजस्तै उनको उक्त कविता चर्चित भएको जनाएको छ ।

    सन् २००५ मा प्रकाशित भएको उनको उपन्यास ‘डिजर्सन’ले उपनिवेश कालिन प्रेमकथा प्रस्तुत गर्छ । यो वियोगान्त कथालाई उनले उपनिवेशको रोमान्स समेत भन्ने गरेका छन् । उनको लेखनीमा आफू हुर्किएको र जन्मिएको इन्डियन महासागर क्षेत्रको दासत्व र दमनका चक्रहरुको अनुभव झल्किन्छ । पोर्चुगिज, इन्डियन, अरब, जर्मन र ब्रिटिस उपनिवेशको चक्रमा तान्जानिया टापु चेपिएको थियो ।

    गुनराहको लेखनीमा उनको निर्वासनकालको पीडा महसुस गर्न पाइन्छ तर, उनको आफ्नो भूगोलसँगको सम्बन्धलाई पनि देख्न पाइन्छ । उनको कामको सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनको स्मरण हो । सन् १९८७ मा उनीद्वारा लिखित मेमोरी अफ डिपार्चरले अफ्रिका महादेशमा भएको असफल विद्रोहको कथा भन्छ ।

    गुनराहको पछिल्लो पुस्तक आफ्टरलाइभ्स सन् २०२० मा प्रकाशित भएको थियो जसले स्वर्गको अन्त्यको कथा भन्छ । सन् १९१९ मा अफ्रिकामा पूर्वी जर्मनीको उपनिवेश अन्त्य भएको सेटिङमा यसलाई लेखिएको छ ।

    सत्य र सरलताप्रति उनको समर्पण निकै लोभलाग्दो रहेको नोबेल समितिले लेखेको छ ।