Category: विश्व प्रेस

  • काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तीमा २० जनाको मृत्यु

    काबुलको सैनिक अस्पतालमा आक्रमण, कम्तीमा २० जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

    काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

    अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।

    आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए ।

    १५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।

  • ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो कोप-२६ मा पुगे, जलवायु संकटसँग जुध्न विश्व नेताहरुलाई आग्रह

    ‘टाइटानिक’ स्टार लियोनार्दो डिकाप्रियो कोप-२६ मा पुगे, जलवायु संकटसँग जुध्न विश्व नेताहरुलाई आग्रह

    ग्लास्गो । नेपालको बाघ संरक्षणमा सघाउँदै आएका हलिउड अभिनेता एवं टाइटानिक स्टार लियोनार्दो डिक्याप्रियो राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा भाग लिन स्कटल्यान्डको ग्लास्गो सहर पुगेका छन् । विश्वचर्चित वातावरण संरक्षण अभियन्ता समेत रहेका लियोनार्दो मंगलबार ग्लास्गो पुग्दा उनलाई फ्यान र मिडियाले घेरेका थिए । उनी विश्व वन्यजन्तु कोषका सद्भावनाको दूतको रुपमा यसअघि नेपालको बर्दिया आइपुगेका थिए ।

    मंंगलबार अपरान्ह कालो मास्क लगाएका लियोनार्दो सम्मेलन हलभित्र प्रवेश गरेका थिए । लियोनार्दोले लामो समयदेखि कार्बन उत्सर्जन गर्नुपर्ने पक्षमा आवाज उठाउँदै आएका छन् । उनले वन्यजन्तु र वातावरण संरक्षणको क्षेत्रमा लगानी समेत गर्दै आएका छन् । सन् १९९८ मा उनले स्थापना गरेको फाउन्डेसनले विभिन्न वातावरणीय परियोजनालाई आर्थिक सहयोग गर्दै आएको छ ।

    सन् २०१९ मा उनले स्पेनको मड्रिडमा सम्पन्न कोप–२५ सम्मेलनमा भाग लिएका थिए जहाँ उनले वातावरण अभियन्ता किशोरी ग्रेटा थनबर्गलाई भेटेका थिए । ग्रेटालाई उनले आफ्नो समयकी नेतृ भएको बताएका थिए । सयभन्दा बढी विश्व नेताहरुले सन् २०३० सम्म वनविनाश रोक्ने प्रतिबद्धतामा हस्ताक्षर गरेपछि लियोनार्दो ग्लास्गो पुगेका हुन् । जो बाइडेन, जोय बोल्सेनारो र सी जिनपिङले कार्बन उत्सर्जनमा सघाउ पुग्ने तत्वलाई हटाउने प्रतिबद्धता गरेका छन् ।

  • सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्ने विश्वका ८० राष्ट्रको प्रतिवद्धता

    सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्ने विश्वका ८० राष्ट्रको प्रतिवद्धता

    ग्लास्गो । सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मङ्गलबार बताए ।

    “सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरितगृह ग्याँस काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,” भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताए ।

  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, राष्ट्रसंघद्वारा खोपको समान वितरण गर्न आग्रह

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, राष्ट्रसंघद्वारा खोपको समान वितरण गर्न आग्रह

    काठमाडौं । विश्वमा कोरोनाभाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो । त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन् । उनले भनेका छन् – विश्वका धनी भनिएका देशहरुले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरुले पूर्ण खोप लिएका छन् ।

    उनले यो संसारकै लागि लाजमर्दो अवस्था हो भनेका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए । महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे ।

    महासचिव गुटेर्रेसले भने- म विश्वका धनी देशहरुलाई यो आग्रह गर्दछु कि खोप यो महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पुर्‍याउन सकियोस् । उहाँले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था छ ।’

    अहिले यो खोप धनी देश र मध्यमबर्गीय देशहरुमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे ।

    यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए । रासस

  • इलोन मस्कको सम्पत्ति ३१५ बिलियन डलर पुग्यो, नेपालको जीडीपीभन्दा ९ गुणाले बढी

    इलोन मस्कको सम्पत्ति ३१५ बिलियन डलर पुग्यो, नेपालको जीडीपीभन्दा ९ गुणाले बढी

    काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको सम्पत्ति ३१५ बिलियन अमेरिकी डलर पुगेको छ । कूल सम्पत्ति ३०० बिलियन डलर पुग्ने उनी पहिलो अर्बपति बनेको फोब्र्सले जनाएको छ ।

    दोस्रो स्थानमा रहेका अमेजन मालिक जेफ बेजोसको कूल सम्पत्ति १९३.२ बिलियन डलर मात्र छ ।

    मस्कको सम्पत्ति नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा ९.३५ गुणाले बढी हो । नेपालको जीडीपी सन् २०२० मा ३३.६६ बिलियन अमेरिकी डलर छ ।

  • कोप-२६ लाई पहिलो सम्बोधन गर्दै जोन्सनले भने : विश्व नेताहरु ‘जेम्स बन्ड’ बन्ने बेला आइसक्यो

    कोप-२६ लाई पहिलो सम्बोधन गर्दै जोन्सनले भने : विश्व नेताहरु ‘जेम्स बन्ड’ बन्ने बेला आइसक्यो

    ग्लास्गो । स्कटल्यान्डमा कोप-२६ अन्तर्गत विश्व नेताहरुको जलवायु सम्मेलन औपचारिकरुमा सुरु भएको छ । सम्मेलनलाई पहिलो सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्व नेताहरुलाई स्वागत गरेका छन् ।

    जोन्सनले विश्वकै क्रोध र अधैर्यता बढेको उल्लेख गर्दै ग्लास्गो सम्मेललाई मूर्तता दिने थलो बनाउनुपर्ने बताए । ‘हामीले जलवायु संकटको वास्तविक समस्यालाई ग्लास्गो सम्मेलनबाटै समाधान गर्नुपर्छ ।’

    विकसित मुलुकले सबैप्रति आफूहरुको कर्तव्य महसुस गर्नुपर्ने र हरित अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुनुपर्ने खाँचो समेत जोन्सनले औंल्याए । उनले विश्व नेताहरु र फिल्म पात्र जेम्स बन्डबीच तुलना पनि गरे ।

    उनले भने, ‘एउटा जासूसले विश्व समाप्त गर्न खोज्ने शक्तिलाई हराउँदै फिल्मको संघर्षलाई अन्त्य गर्छ । दुःखद कुरा यो फिल्म होइन र खतराको जोखिम यथार्थ हो ।’

    उनले २ डिग्री तापमानले खाद्यान्न आपूर्ति र तीन डिग्री तापमानले डढेलो र चक्रवातजस्ता विपदलाई निम्त्याउने र चार डिग्रीले सबै सहरलाई बिदा गर्नुपर्ने परिस्थिती आउनसक्ने चेतावनी पनि दिए ।

    उनले भने, ‘यो जोखिमलाई अन्त्य गर्न जति ढिला हुन्छ, उति नै हामीले मूल्य चुकाउनुपर्छ ।’ जोन्सनले अहिले प्रविधि र पैसा भएपनि इच्छाशक्ति हुनु महत्वपूर्ण कुरा भएको बताए ।

    कोप-२६ सम्मेलनमा सहभागी डेलिगेट्सको औषत उमेर ६० वर्षभन्दा माथि भएको र उनीहरुले सन् २०५० र २०६० सम्म आफूले गर्ने योजना सार्वजनिक गरेको बताउँदै अहिल्यै नजन्मिएको पुस्ताले अहिलेको नेतृत्वलाई मूल्यांकन गर्ने बताए ।

    सुरु भएको सम्मेलनलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि सम्बोधन गर्दै तापक्रमलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्न विश्व नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

  • आजदेखि ६० मुलुकका पर्यटकलाई थाइल्यान्ड खुला, खोप लगाएकालाई क्वारेन्टिन बस्नुनपर्ने

    आजदेखि ६० मुलुकका पर्यटकलाई थाइल्यान्ड खुला, खोप लगाएकालाई क्वारेन्टिन बस्नुनपर्ने

    बैंकक । कोरोनाभाइरस महामारीले बन्द रहेको थाइल्यान्डको पर्यटन आजदेखि खुला भएको छ । १८ महीनासम्म ठप्प रहेको यहाँ आज दशौं हजार पर्यटक आउने अपेक्षा गरिएको छ ।

    पूर्ण डोज खोप लगाइसकेका कोरोना संक्रमणको जोखिम कम रहेका ६० मुलुकका पर्यटकलाई होटल क्वारेन्टिनबिनै प्रवेशको अनुमति दिइएको छ । आउने वर्ष १५ मिलियन पर्यटक आउने र ३० बिलियन डलर कमाइ हुने प्रक्षेपण थाइ सरकारले गरेको छ ।

    तरपनि अझै कतिपय मुलुकलाई प्रतिबन्ध लगाइएको छ । ४२ प्रतिशत थाइ नागरिकले खोप लगाइसकेका छन् । अहिले पनि थाइल्यान्डमा दैनिकजसो १० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।

    ‘यसले हामीलाई केही भएपनि आशा उज्यालो दिएको छ । दुईवर्ष सम्म हामी काम गर्न सक्षम भएनौं’ पथ प्रदर्शक चैयागोर्न बुन्यापाकले बीबीसीलाई भने ।

    तर, पनि उनका अन्य पथप्रदर्शक साथीहरुलाई भने कम्पनीहरुले अहिलेसम्म सम्पर्क गरेका छैनन् । कोरोनाभाइरस महामारीअघि थाइल्यान्ड वार्षिक ४० मिलियन पर्यटक पुग्थे । गतवर्ष पर्यटक आगमनमा ८० प्रतिशतले कमी आएको थियो ।

    बेलायत, चीन, चापान, अमेरिका र अधिकांश युरोपेली मुलुकका पर्यटकलाई फुकेट र ब्यांककका पर्यटकीय स्थल खुला गरिएको छ । सरकारले सन् २०२३ सम्म महमारी अगाडिकै स्थितीमा पर्यटनबाट प्राप्त हुने राजस्व पुग्ने आंकलन गरेको छ ।

  • जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

    जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

    टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।

    जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो । सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।

    सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसदको तल्लो सदनमा ४६५ स्थान रहेका छन् । प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सरकारले कोभिड-१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।

    एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी-कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए ।

  • जी-२० सम्मेलन सम्पन्न : कोभिड-१९ चुनौतिसँग मिलेर लड्ने प्रतिबद्धता

    जी-२० सम्मेलन सम्पन्न : कोभिड-१९ चुनौतिसँग मिलेर लड्ने प्रतिबद्धता

    रोम । विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि-२० को सम्मेलन इटालीको रोममा सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड–१९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका थिए ।

    यस महामारीका कारण विश्वमा विविध खाले समस्याहरु उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरुले निकालेका थिए । उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन् । कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन् ।

    उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन् । हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरुले जोड दिएका हुन् ।

  • जी-२० शिखर सम्मेलन सुरु : कोरोनाभाइरस महामारी र जलवायु परिवर्तनमा केन्द्रित

    जी-२० शिखर सम्मेलन सुरु : कोरोनाभाइरस महामारी र जलवायु परिवर्तनमा केन्द्रित

    इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका छन् ।

    सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

    कोरोनाभाइरसको महामारीका कारण आफुहरू सम्मेलनमा भौतिक रुपमा उपस्थीत हुन नसकेको बैठकस्थलमा नगएका नेताहरुले बताएका छन् । सम्मेलनमा विषेशगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भइहेको जनाइएको छ ।

    सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शिर्षकमा छलफल केन्द्रीत भएको थियो । त्यसैगरी दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रीत छलफल हुने जनाइएको छ ।

    सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन् । सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, ‘हामीले यो महामारीभन्दा अगाडिका सम्मेलनमा राष्ट्रियता, संरक्षणवाद र एकपक्षीयवादमा छलफल गर्ने गरेका थियौँ, तर अहिले सवैको साझा समस्या र चुनौतीका बारेमा छलफल गर्नु परेको छ ।”

    कुनै देश तथा क्षेत्र विषेशमा छलफल गरेर वा कुनै देश विषेशले मात्रै लड्न नसक्ने भएकाले साझा चुनौतीका बारेमा विचार गर्नुपरेको उनले बताए । अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी-२० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो ।

    जी–२० अन्तर्गत अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन् ।

  • एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वकै धनी कम्पनी

    एप्पललाई उछिन्दै माइक्रोसफ्ट बन्यो विश्वकै धनी कम्पनी

    न्यूयोर्क । एप्पललाई उछिन्दै माइक्रोसफ्ट विश्वकै धनी कम्पनी बनेको छ । द भर्ज म्यागजिनका अनुसार शुक्रबार माइक्रोसफ्टको बजार मूल्य २.४९ ट्रिलियन डलर पुगेको छ ।

    उक्त म्यागजिनका अनुसार एप्पलको बजार मूल्य २.४६ ट्रिलियन डलर छ । शुक्रबार सेयर बजार बन्द हुँदासम्म माइक्रोसफ्टको बजार मूल्य त्यति पुगेको हो ।

    अफिस, विन्डोज र क्लाउड उत्पादनको विक्रीबाट माइक्रोसफ्टको कमाइमा उछाल आएको अमेरिकी मिडिया सीएनबीसीले जनाएको छ । बिहीवार एप्पलले सार्वजनिक गरेको आम्दानी विवरणमा राम्रो कमाइ भएपनि उसले ६ बिलियन डलर गुमाएको जनाएको थियो ।

    माइक्रोसफ्ट विश्वकै धनी कम्पनी भएको यो पहिलोपटक भने चाहिँ होइन । यसअघि सन २०१०, २०१८ र २०२० पनि एप्पललाई उछिनेको छ । सन् २०१८ मा एप्पल १ ट्रिलियन डलर कमाउने पहिलो अमेरिकी कम्पनी बनेको थियो ।

  • खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

    खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोप समान वितरणको माग गर्दैै मेगन मर्केल र प्रिन्स ह्यारीले जी-२० सम्मेलनका नेताहरुलाई खुला पत्र लेखेका छन् । पत्र लेखनमा उनीहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निर्देशक डा. टेड्रोसले पनि साथ दिएका छन् ।

    यो सप्ताहन्त इटालीको रोममा जी-२० सम्मेलन हुँदैछ । महामारी सुरु भएयताकै यो ठूलो भौतिक उपस्थितीमा हुने सम्मेलन हो । ड्युक एन्ड डचेज अफ ससेक्सले डब्लुएचओको वेबसाइटमार्फत यस्तो पत्र लेखेका हुन् ।

    विश्व्यापीरुपमा ८ बिलियन डोजमात्र प्रयोग भएको तर, न्यून आय भएका मुलुकमा त्यसको ३ प्रतिशत मात्र खोप लगाइएको तथ्य प्रस्तुत गर्दै उनीहरुले पत्रमा बाँकी खोप कहाँ गयो भनेर ठूला मुलुकलाई प्रश्न गरेका छन् ।

    कोभ्याक्स संयन्त्रमार्फत न्यून आय भएका मुलुकमा १.३ बिलियन डोज खोप आपूर्तिको प्रतिबद्धता जनाइएपनि अहिलेसम्म जम्मा १५० मिलियन डोज वितरण भएको बताउँदै पत्रमा उनीहरुले बाँकी खोप किन आएन भनेर प्रश्न उठाएका छन् ।

    जी-२० सम्मेलनमा भाग लिने केही ठूला मुलुकले खोपको स्टक राखेको र मिति गुज्रने वित्तिकै प्रयोगविहिन हुने भएकोतर्फ पत्रमा ध्यानाकर्षण पनि जनाइएको छ । उनीहरुले सन् २०२१ भित्र विश्वभर ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य पुरा गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

  • मोदी र पोपबीच भेटवार्ता : पोपलाई भारत भ्रमणको निम्तो

    मोदी र पोपबीच भेटवार्ता : पोपलाई भारत भ्रमणको निम्तो

    रोम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इसाइ धर्मगुरु पोप फ्रान्सिसलाई शनिबार भ्याटिकन सिटीमा भेटेका छन् । सो अवसरमा मोदीले पोपलाई भारत भ्रमणको निम्तो समेत दिए ।

    मोदी र पोप फ्रान्सिसबीचको भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय विदेशमन्त्री एस जयशंकर समेत उपस्थित थिए । समाचार संस्था पीटीआइका अनुसार २० मिनेटको भेट भएपनि एक घण्टासम्म्मै भएको थियो ।

    ‘पोप फ्रान्सिससँग निकै आत्मीय भेट भयो । बृहत क्षेत्रका विषयमा उनीसँग कुरा गर्ने मौका पाएँ र भारत भ्रमणको निम्तो समेत दिएको छु’ मोदीले भेटपछि ट्वीटमार्फत भनेका छन् ।

    स्रोतका अनुसार मोदी र पोपको भेटमा जलवायु संकटसँग लड्ने र गरिबी हटाउने विषयमा छलफल भएको थियो । जी-२० को दुई दिने सम्मेलनको लागि मोदी रोम पुगेका हुन् ।

  • चीनबिना ताइवानको भविष्य सुरक्षित हुनेछैन : विदेशमन्त्री वाङ यी

    चीनबिना ताइवानको भविष्य सुरक्षित हुनेछैन : विदेशमन्त्री वाङ यी

    बेइजिङ । चीनले आफूसँगको पुनःएकीकरण बिना ताइवानको भविष्य नरहने चेतावनी दिएको छ । चीनको अभिन्न अंग बिना पनि ताइवानले अन्तर्राष्ट्रिय वैधता नपाउने जवाफ पनि उसले दिएको छ ।

    संयुक्त राष्ट्रसंघमा ताइवानको अर्थपूर्ण सहभागिता हुनुपर्ने अमेरिकी मागको जवाफ दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त कुरा बताएका हुन् ।

    अमेरिका र अन्य केही मुलुकले ५० वर्षअघिको एक चीन सिद्धान्तलाई रोक्न नसक्ने पनि चिनियाँ स्टेट काउन्सिलरले बताए । उनले २१ औं शताब्दीमा अमेरिका र उसका गठबन्धन विजयी हुन नसक्ने पनि उनले दावी गरे ।

    जी–२० सम्मेलनमा उपस्थित हुन शनिबार इटालीको रोम पुगेका विदेशमन्त्री यीले अमेरिका र अन्य केही मुलुकले मूल्य चुकाउनुपर्ने बताए । चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले ताइवानलाई लिएर अमेरिकाले गरेको प्रश्नले अमेरिकाले यसअघि गरेका राजनीतिक प्रतिबद्धताहरुको उल्लंघन हुने बताए ।

    साथै, उक्त कदम राष्ट्रसंघीय बडापत्रको विरुद्ध भएको र यस क्षेत्रकै शान्ति र स्थायित्वलाई अवरुद्ध तुल्याउने चेतावनी पनि चिनियाँ स्टेट काउन्सिलर यीले बताएका छन् ।

    उनले भने, ‘एक चीनबारेका ऐतिहासिक र कानूनी तथ्यलाई लिएर कसैले पनि चुनौति दिन सक्दैन । ताइवानसँग शान्तिपूर्ण पुनःएकीकरण गर्ने १.४ बिलियन चिनियाँ नागरिकको आकांक्षालाई कसैले पनि पछि लैजान सक्दैन ।’

     

  • अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

    अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

    न्यूयोर्क । अमेरिकी खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ ।

    यो खोपलाई आगामी कात्तिक २८ गतेदेखि नेपालमा ११ वर्षभन्दा माथिल्लो उमेरका दीर्घरोगीलाई पनि लगाइँदैछ । न्यूयोर्क टाइम्सका अनुसार २८ मिलियन अमेरिकी बालबालिकालाई यो खोप लगाइनेछ ।

    फाइजर–बायोएनटेक कम्पनीले उत्पादन गरेको यो खोपलाई तीन साताको अन्तरमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले औपचारिकरुमा अनुमति दिएपछि अब यो खोपलाई आगामी बुधबारदेखि अमेरिकामा लगाउन थालिनेछ ।

    बाइडेन प्रशासनले बालबालिकालाई कोभिड–१९ को खोपलाई सजिलैसँग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ । औपचारिक प्रक्रिया पुरा गरेपछि तत्कालै फाइजरको १५ मिलियनको डोजको वितरण अमेरिकाभर हुने समेत जनाइएको छ ।

  • बाइडेन र मोदीसहित जी-२० समूहका नेताहरु इटालीमा भेला

    बाइडेन र मोदीसहित जी-२० समूहका नेताहरु इटालीमा भेला

    रोम । संसारका बीस धनी मुलुकका नेताहरु इटालीको राजधानीमा शुक्रबार भेला हुँदैछन् । रोयटर्सका अनुसार जी–ट्वान्टी रोम सम्मेलनमा सदस्य मुलुकहरुले विश्व तापमानलाई १.५ डिग्री सेल्सियभित्रै सीमित राख्न जरुरी कदमहरु चाल्ने अपेक्षा गरिएको छ ।

    रोम सम्मेलनले आगामी साता स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सहमती जुटाउन सजिलो तुल्याउने अपेक्षा गरिएको छ ।

    शनिबार र आइतबार रोममा हुने सम्मेलनमा विश्व नेताहरुले जलवायु परिवर्तनको संकटसँग जुध्न पेरिस सम्झौतालाई कार्यान्वयन गर्नेबारे सहमतीको ढाँचा तयार पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    रोम सम्मेलनपछि विश्व नेताहरु स्कटल्यान्डको ग्लास्गोतर्फ प्रस्थान गर्नेछन् जहाँ कोप–२६ भनिने २०० मुलुकका प्रतिनिधिहिरु सहभागि जलवायु सम्मेलनमा भाग लिनेछन् ।

    वातावरण संकट आउन नदिन जलवायु तापमानको १.५ थ्रेसहोल्डलाई कायमै राख्न जलवायु वैज्ञानिकहरुले चेतावनी दिइरहँदा सम्मेलन हुन लागेको हो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडनसहितका विश्व नेताहरु रोम पुगेका छन् । तर, सम्मेलन आयोजना हुनु अघि नै रोममा हुने जी–ट्वान्टी सम्मेलनको ढाँचा तयार भैसकेको छ । जलवायु संकटलाई राजनीतिक नेतृत्वले गम्भीररुपमा लिनुपर्ने वातावरण वैज्ञानिकहरुको आह्वानलाई कार्यान्वयन गर्ने रोम ड्राफ्को मुख्य बुँदा छ ।

    ‘विश्व तापमानलाई १.५ डिग्रीमै सीमित राख्न र २ डिग्रीमा पुग्न नदिन जरुरी कदम चाल्न हामी सहमत छौं’ उक्त सहमतीको ड्राफ्टमा उल्लेख भएको जनाइएको छ ।

    सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा लैजाने प्रतिबद्धता समेत उक्त ड्राफ्टमा समावेश भएको रोयटर्सले जनाएको छ । तर, प्रस्तावित ड्राफ्ट अझै संशोधन हुनसक्ने अधिकारीहरुले जनाएका छन् । तर, संसारका प्रमुख कार्बन उत्सर्जन गर्ने कम्पनीहरुले चाहिँ सन् २०५० सम्म यो लक्ष्य भेट्न नसकिने बताइरहेका छन् ।

    चीनले सन् २०६० सम्मको लक्ष्य राखेको छ । जी–२० मुलुकका सदस्य मुलुकहरु ब्राजिल, चीन, भारत, जर्मनी र अमेरिकाले संसारको कूल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत, विश्व जनसंख्याको ६० प्रतिशत र विश्वव्यापी ग्रीनहाउस ग्याँस उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छन् ।

  • चीनसँग तनाब बढ्दै जाँदा भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र प्रक्षेपण

    चीनसँग तनाब बढ्दै जाँदा भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र प्रक्षेपण

    दिल्ली । चीनसँग तनाव बढ्दै जाँदा भारतले एक सतहदेखि अर्को सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ।

    रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७ः३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो र बंगालको खाडीमा खसेको थियो ।

    तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले अग्नि–५ को सफल परीक्षण भारतको ‘विश्वसनीय न्यूनतम प्रतिरोध’को नीति अनुरूप रहेको र यसले पहिले प्रयोग नगर्नेँ प्रतिबद्धतालाई जोड दिने जनाएको छ ।

    पछिल्लो समय बेइजिङको आणविक शक्तिमा भएको वृद्धिसँगै नयाँ दिल्लीलाई पनि आणविक हतियार सुधार्न दबाब परेको र अग्नि–५ क्षेप्यास्त्रले भारत सीमावर्ती चिनियाँ क्षेत्रमा प्रहार गर्न सक्ने जनाइएको छ । साथै, भारतले तीनपटक युद्ध लडिसकेको यसको चीरप्रतिद्धन्द्धी पाकिस्तान सीमाभित्र पनि प्रहार गर्न सक्षमता राख्ने बताइन्छ । भारतले पछिल्लो समय चीनसँगको बढ्दो प्रतिस्पर्धासँगै मध्यमदूरीमा मार हान्न सक्ने आणविक हतियार विकासमा पनि जोड दिइरहेको छ ।

    गतवर्ष लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो । भारतीय महासागरमा चीनले बढाउँदै लगेको प्रभुत्वलाई लिएर भारतले असन्तुष्ट व्यक्त गरिरहेको छ । भारत र चीनले सन् १९६२ मा युद्ध लडिसकेका छन् ।

  • जेफ बेजोसको कम्पनीसँग मिलेर युएइले अन्तरीक्ष पर्यटन संचालन गर्ने

    जेफ बेजोसको कम्पनीसँग मिलेर युएइले अन्तरीक्ष पर्यटन संचालन गर्ने

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले अर्बपति जेफ बेजोसको ‘ब्लू ओरिजिन’सँग मिलेर अन्तरीक्ष पर्यटन संचालन गर्ने घोषणा गरेको छ ।

    युएईको अर्थ मन्त्रालयका अनुसार सरकारले अन्तरीक्ष पर्यटनका लागि मरुभूमिमा कक्षसम्म उडान भर्नसक्ने रकेट प्रक्षेपण थलोहरु स्थापनाको तयारी सुरु भएको छ ।

    युएई सरकारको यो प्रस्तावमा बेजोसको अन्तरीक्ष कार्यक्रम संचालन गर्ने कम्पनी ब्लू ओरिजिन सकारात्मक रहेको त्यहाँको अखबार द नेसनलले जनाएको छ ।

    युएईका अर्थमन्त्री अब्दुल बिन अलमारीले यसैसाता दुबईमा आयोजित अन्तर्राष्ट्रिय अन्तरीक्षयात्रीको सम्मेलनमा ब्लू ओरिजिनका उपाध्यक्ष बे्रन्ट सेरवुडसँग यसबारे बैठक गरेका छन् ।

    उनीहरुबीच अन्तरीक्ष पर्यटनमार्फत आर्थिक विकास गर्ने युएईको अर्थ मन्त्रालयको कार्यक्रमलाई अघि बढाउनेबारे छलफल भएको जनाइएको छ । ब्लू ओरिजिनले अहिलेसम्म स्टार ट्रेक फिल्मका अभिनेता विलियम स्याटनरसहित आठजनालाई अन्तरीक्षमा पठाइसकेको छ ।

     

  • पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन काश्मिरी विद्यार्थी पक्राउ

    पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन काश्मिरी विद्यार्थी पक्राउ

    काठमाडौं । यूएईमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मिरी विद्यार्थीलाई पक्राउ गरेको छ।

    बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्र विरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार राति जगदीशपुरा पुलिस स्टेशनमा इन्जिनियरिङका विद्यार्थी अरशद युसुफ, इनायत अल्ताफ र शैकत अहमद गनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

    प्रहरीले काश्मिरी विद्यार्थीहरूलाई उनीहरूको ह्वाटएप्स स्टेटस र च्याटिङको प्रमाणको आधारमा पक्राउ गरेको थियो। तीनै अभियुक्तलाई बिहीबार अदालतमा पेस गरिनेछ। टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच २४ अक्टोबरमा भएको खेलमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो।

    मंगलबार बिचपुरीको आरबीएस इन्जिनियरिङ प्राविधिक क्याम्पसका तीन कश्मिरी विद्यार्थीहरूको ह्वाटएप्स स्टेटस र च्याट भाइरल भाइरल भएको थियो। कलेज व्यवस्थापनले यो कुरा थाहा पाएपछि इन्जिनियरिङका तीन विद्यार्थीलाई निलम्बन गरेको थियो।

    भारतीय जनता युवा मोर्चाका पदाधिकारीहरूले पाकिस्तानको विजयमा कश्मिरी विद्यार्थीहरूले उत्सव मनाएको थाहा पाएपछि हंगामा मच्चाएका थिए। भाजपाका ब्रज प्रान्त क्षेत्रीय मन्त्री गौरव राजावतले आरोपी विद्यार्थीहरू विरुद्ध मुद्दा दर्ता गरेका थिए।

  • आगामी सातादेखि अष्ट्रेलियाली नागरिकले विदेश भ्रमण गर्न पाउने

    आगामी सातादेखि अष्ट्रेलियाली नागरिकले विदेश भ्रमण गर्न पाउने

    सिड्नी । अष्ट्रेलियाले आगामी सातादेखि आफ्ना नागरिकलाई बिदेश भ्रमण गर्न अनुमति दिने घोषणा गरेको छ । बीबीसीका अनुसार यसअघि लागू गरिएको बिना अनुमति विदेश भ्रमण गर्न नपाइने नियमलाई समेत हटाइने भएको छ ।

    कोभिड–१९ संक्रमण रोकथाम गर्न भन्दै अष्ट्रेलियाले १९ महीनासम्म आफ्ना नागरिकलाई विदेश भ्रमणको अनुमति दिएको थिएन । नोभेम्बर १ देखि कोरोना खोपको पूर्ण मात्रा लगाएका नागरिकहरु सरकारी अनुमति बिनै विदेश घुम्न पाउनेछन् ।

    अहिलेलाई यो नियम अष्ट्रेलियाली नागरिकलाई मात्र लागू हुने र चाँडै विदेशीलाई पनि लागू गर्ने तयारी भएको छ । ‘वर्षको अन्त्यअघि नै हामी पूर्ण डोज खोप लगाएका विदेशी पर्यटक र विद्यार्थीलाई स्वागत गर्ने तयारीमा छौं’ अष्ट्रेलियाका गृहमन्त्री करेन एन्ड्रिउजले विज्ञप्तिमा भनेका छन् ।

    प्रधानमन्त्री स्कट मरिसनले पनि अष्ट्रेलियाली नागरिकको जीवनलाई पुरानै लयमा फर्काउन सरकारले सीमा खुला गर्ने तयारी गरेको बताएका छन् । सरकारको यो निर्णयपछि झन्डै दुईवर्षदेखि परिवार र आफन्तसँग अलग भएका व्यक्तिलाई राहत दिएको छ ।

  • अमेरिकामा ११ वर्षभन्दा माथिकालाई फाइजर खोप दिइने

    अमेरिकामा ११ वर्षभन्दा माथिकालाई फाइजर खोप दिइने

    न्यूयोर्क । अमेरिकी सरकारको एक समितिले ११ वर्ष उमेरभन्दा माथिकालाई कोभिड-१९ विरुद्ध फाइजरको खोप लगाउन दिनुपर्ने पक्षमा मत दिएको छ ।

    उसको यस्तो योजनामा खाद्य तथा औषधि विभाग (एफडीए)ले समर्थन जनाएको छ । अमेरिकी संचारमाध्यमका अनुसार यी दुई औषधि नियामक निकायको अनुमतिपछि अमेरिकामा आपतकालिन प्रयोगका लागि उक्त उमेर समूहलाई फाइजर लगाइनेछ ।

    गत सेप्टेम्बरमा गरिएको परीक्षणमा ११ वर्षभन्दा माथिका बालबालिकामा कोभिड खोप परीक्षणको सुरक्षित पाइएको थियो । अमेरिकामा १२ वर्षभन्दा माथिकालाई यसअघि नै फाइजर खोप लगाइसकिएको छ ।

    यो पछिल्लो निर्णयपछि २८ मिलियन अमेरिकी बालबालिका प्रभावित हुनेछन् । यो निर्णयलाई अब एफडीए र रोग नियन्त्रण तथा रोकथाम (सीडीसी)ले अनुमोदन गर्न बाँकी छ ।

    सम्भवतः नोभेम्बर २ मा यो निर्णय हुनसक्छ किनभने त्यसको एकदिनपछि मात्र खोप अभियान सुरु हुँदैछ ।

  • सैन्य ‘कू’पछि नियन्त्रणमा लिइएका सुडानका प्रधानमन्त्री रिहा, हिंसामा सातजनाको मृत्यु

    सैन्य ‘कू’पछि नियन्त्रणमा लिइएका सुडानका प्रधानमन्त्री रिहा, हिंसामा सातजनाको मृत्यु

    खार्तुम । सैन्य ‘कू’पछि अज्ञात स्थानमा नजरबन्दमा राखिएका सुडानका प्रधानमन्त्री अब्दल्ला ह्यामडक रिहा भएका छन् ।

    त्यहाँको प्रधानमन्त्री कार्यालयका अनुसार सेनाले सत्ता नियन्त्रणमा लिएको एकदिनपछि नजरबन्दमा राखिएका ह्यामडकलाई घर फर्कन अनुमति दिइएको छ ।

    प्रधानमन्त्री ह्यामडक र उनकी पत्नीलाई सेनाले घर फर्कन अनुमति दिएको हो । सैन्य प्रमुख जनरल अब्देल फताह अल–बुरानले अन्तर्राष्ट्रिय समुदायको विरोधका बाबजुदपछि पनि मुलुकको कार्यकारी शक्ति आफ्नो हातमा लिएका छन् ।

    सैन्य कूपछि अमेरिकाले दिँदै आएको सहयोगलाई रोक्ने घोषणा गरेको छ भने युरोपेली युनियनले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पनि प्रधामन्त्री ह्यामडकलाई तत्काल रिहा गर्न माग गरेका थिए ।

    प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै बर्खास्त गरिएका प्रधानमन्त्री र उनकी पत्नीलाई राजधानी खार्तुमस्थित घरमा कडा सुरक्षाबीच राखिएको जनाएको छ । कूपछि पक्राउ गरिएका अन्य नागरिक नेताहरुलाई पनि अज्ञातस्थलमा राखिएको छ ।

    सैन्य कूपछि सुडानमा मच्चिएको हिंसामा सातजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

     

  • विदेशमन्त्री यी र तालिबान नेताबीच भेटवार्ता : अफगान भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

    विदेशमन्त्री यी र तालिबान नेताबीच भेटवार्ता : अफगान भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

    दोहा । तालिबानले अफगानिस्तानको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ । कतार भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई अफगान तालिबान सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरदारले सो बताएका हुन् ।

    ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले तालिबान नेतालाई चीनको सुरक्षा चासोबारे जिज्ञासा राखेका थिए । ‘हामी हाम्रो पूर्वप्रतिबद्धतामा अडिग छौं र विदेशी शक्तिलाई अफगानिस्तानको भूमि चीनविरुद्ध प्रयोग हुन दिनेछैनौं’ बरदारले भने ।

    काबुलको सत्तामा आउनुअघि पनि तालिबानले नेताहरुले बेइजिङमा चीनलाई उसको सुरक्षा चासोप्रति प्रतिबद्धता जनाएका थिए । नेता बरदारले विदेशमन्त्री यीलाई अफगानिस्तानको पछिल्लो परिस्थितीबारे जानकारी गराउँदै सबैकुरा नियन्त्रणमा आएको र सरकार स्थिरतातर्फ अघि बढेको बताएका थिए ।

    विदेशमन्त्री यीले अफगानिस्तान अहिले अन्यौलतापछि सुशासनको ऐतिहासिक रुपान्तरणतर्फ अघि बढेको बताउँदै राष्ट्रिय पुननिर्माण र पुनउत्र्थानतर्फ लाग्नु जरुरी भएको बताएका थिए ।

    साथै, यीले तालिबानले थप सहिष्णुता र खुलापन अपनाउने बारे चीनले आशा राखेको बताएका थिए । जातिय समूह र विभाजित वर्ग मिलेर शान्तिपूर्ण पुनर्संरचना गर्नु जरुरी रहेको सुझाउँदै विदेशमन्त्री यीले महिला तथा बालबालिकाको अधिकार तथा चासोलाई संरक्षण गर्नुपर्ने बताएका थिए ।

    साथै, यीले छिमेकी मुलुकप्रति मैत्रीपूर्ण व्यवहार प्रदर्शन गर्न तालिबानलाई आग्रह गरेका थिए । जवाफमा नेता बरदारले चिनियाँ चासोलाई पुरा गर्नेतर्फ आफूहरु गम्भीर रहेको बताएका थिए ।

     

  • ४० लाख जनसंख्या भएको चीनको लान्झाउमा लकडाउन लागू, ११ राज्यमा डेल्टा संक्रमण फैलियो

    ४० लाख जनसंख्या भएको चीनको लान्झाउमा लकडाउन लागू, ११ राज्यमा डेल्टा संक्रमण फैलियो

    बेइजिङ । पछिल्लो समय चीनमा कोरोनाभाइरस संक्रमण बढ्दै गएको छ । चीनले अत्यावश्यक अवस्थामा मात्रै मानिसलाई घरबाट बाहिर निस्कन निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढेको भन्दै चीन सरकारले उत्तरपश्चिमी सहर लान्झाउमा लकडाउन लागू गरेको छ ।

    चीनमा २९ जना कोरोना संक्रमित भेटिएका छन् जसमा लान्झाउमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । लान्झाउ शहर उत्तरपश्चिमी प्रान्त गान्सुको राजधानी हो। त्यहाँको जनसंख्या ४० लाखभन्दा बढी छ । लान्झाउमा सरकारले मानिसहरुको आवतजावतमा कडाई गर्न थालेको छ । अत्यावश्यक बाहेकका सबै सेवामा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । स्थानीय नागरिक भेला हुन समेत प्रतिबन्ध छ ।

    साथै पर्यटकीय स्थलहरुमा मानिसहरुको आवतजावतमा सिमित गरिएको छ । बढ्दो कोरोना संक्रमणले हजारौं मानिसहरूलाई घरमै बस्न प्रशासनले आग्रह गरेको छ । चीनमा डेल्टा भेरिएन्टका कारण कोरोना संक्रमण बढेको अधिकारीहरुले जनाएका छन् । एक हप्तामा कोभिड संक्रमण ११ राज्यमा फैलिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

    राजधानी बेइजिङमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । आगामी दिनमा अवस्था झन् गम्भिर हुन सक्ने चेतावनी चीन सरकारले दिएको छ । बेइजिङ प्रवेश गर्न त्यहाँका नागरिकले कोभिड परीक्षणको रिपोर्ट देखाएर मात्र प्रवेश गर्न पाउने छन् ।

  • म्यानमारबिनै आसियान शिखर सम्मेलन सुरु : बर्मेली सेना प्रमुखलाई सम्मेलनमा प्रतिबन्ध

    म्यानमारबिनै आसियान शिखर सम्मेलन सुरु : बर्मेली सेना प्रमुखलाई सम्मेलनमा प्रतिबन्ध

    काठमाडौं । म्यानमारको प्रतिनिधिबिनै दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान)को सम्मेलन आजदेखि भर्चुअलरुपमा सुरु भएको छ ।

    तीनदिने सम्मेलनको सुरुआत चाहिँ अध्यक्षता गरिरहेको ब्रुनाइ र आसियान महासचिवको स्वागत मन्तव्य बिनै भयो । गत अक्टोबर १५ मा आसियान मुलुकहरुले सम्मेलनमा म्यानमार सैनिक प्रमुख जनरल मिन हाङलाई प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

    जननिर्वाचित सरकार अपदस्थ गरेको र म्यानमारमा शान्ति पुनर्बहाली गर्न असफल भएको भन्दै आसियानले म्यानमार सेनालाई सहभागी हुन निम्तो दिएको थिएन ।

    अहस्तक्षेप र असंलग्न परराष्ट्र नीति आत्मसात गर्ने आसियान मुलुकहरुको यो निर्णयलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले अभूतपूर्व भनेका छन् । आसियानमा ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र म्यानमार सदस्य छन् ।

    म्यानमार सन् १९९७ मा अघिल्लो सैनिक सरकारको पालामा आसियनको सदस्य बनेको थियो । मंगलबारको बैठकमा मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले म्यानमारको सहभागितालाई लिएर ब्रुनाइले गरेको निर्णयलाई समर्थन जनाएका छन् ।

    थाइल्यान्डका समकक्षी प्रत्युत चान ओचाले म्यानमारसँग आसियानको निर्णय संगठनको छवि जोगाउन महत्वपूर्ण भएको बताएका छन् । तर, मंगलबार ब्रुनाइको निर्णयलाई चुनौति दिँदै म्यानमार सेनाले आफू आफ्ना कमान्डरबिना बैठकमा सहभागी नहुने बताएको छ ।

    म्यानमारमा सिंगापुरबाट संयुक्त राष्ट्रसंघका नयाँ राजदूत नियुक्ति

    सिंगापुरका समाजशास्त्री नोएलिन हेजरलाई म्यानमारका लागि नयाँ विशेष दूत रुपमा नियुक्त गरिएको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार घोषणा गरेका छन् । ७३ वर्षीया हेजरले स्विट्जरल्याण्डकी क्रिस्टिन श्रनर बर्जेनरलाई विस्थापित गरेका छन् ।

    हेजरले संयुक्त राष्ट्रसंघमा विशेष गरी सन् २००७ देखि २०१४ सम्म एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको प्रमुखका रुपमा कैयौ वरिष्ठ पदहरू सम्हालिसकेका छन् । सन् २०१३ देखि २०१५ सम्म उनले पूर्वी टिमोरको लागि विशेष सल्लाहकारको रुपमा सेवा गरेका थिए ।

    म्यानमारमा फेब्रुअरी १ बाट सैन्य कू भएपछि दश वर्षको लोकतान्त्रिक अवधिको अन्त्य भएको थियो संयुक्त राष्ट्रसंघले सैन्यलाई सरकारलाई राजनीतिक वार्ता पुनः सुरु गर्न र समयसमयमा पक्राउ परेका नागरिक अधिकारीहरूलाई मुक्त गर्न आग्रह गर्दै आएको छ ।

  • मिल्की-वे सौर्यमण्डल बाहिर पनि ग्रहको अस्तित्व फेला

    मिल्की-वे सौर्यमण्डल बाहिर पनि ग्रहको अस्तित्व फेला

    बीबीसी । अन्तरीक्षयात्रीले मिल्की वे सौर्यमण्डल बाहिर पनि पहिलोपटक ग्रहको अस्तित्व रहेको संकेत फेला पारेका छन् ।

    अन्तरीक्षबारे अध्ययनमा सहभागी ५००० भन्दा बढी वैज्ञानिकले हाम्रो सूर्यभन्दा पनि पर केही ग्रहले अन्य तारालाई परिक्रमा गरिरहेको जनाएका छन् । तर, यो सबै मिक्ली वे सौर्यमण्डलभित्रै भएको वैज्ञानिकलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ ।

    नासाको चन्द्र एक्स-रे टेलिस्कोपले पत्ता लगाएको शनि ग्रह आकारकै एक ग्रह मेसियर-५१ नाम सौर्यमण्डलमा रहेको जनाइएको छ । मिल्की वेबाट उक्त ग्रह २८ मिलियन प्रकाश वर्षको दूरीमा रहेको जनाइएको छ ।

    तारालाई परिक्रमा गरिरहेको उक्त ग्रहको कक्ष र प्रकाशको चम्काइको स्थितीको अध्ययनको आधारमा उक्त निष्कर्ष निकालिएको हो । डा. रोशनी डी स्टेफाने र उनका साथीहरुले एक्स-रेको प्रकाशजस्तै वस्तुबाट आएको चम्किलोपन प्राप्त गरेका थिए ।

    उक्त पदार्थ न्यूट्रन ग्याँसले भरिएको कुनै तारा हुनसक्ने र नजिकबाट परिक्रमा गर्दा ब्ल्याक होलले त्यहाँको ग्याँस आकर्षित गरेको हुनसक्ने अनुमान पनि अध्ययनले गरेको छ ।

    ‘हामीले अहिले विद्यमान ग्रहको स्थिती पत्ता लगाउने विधिबाटै यस्तो खोज गरेका हौं’ क्याम्ब्रिज विश्वविद्यालयको अन्तरिक्ष भौतिकशाष्त्र केन्द्रका डा. डी स्टेफानोले बीबीसीलाई भने ।

  • जापानी राजकुमारीले गरिन् प्रेमीसँग बिहे, गुम्यो शाही परिवारको हैसियत

    जापानी राजकुमारीले गरिन् प्रेमीसँग बिहे, गुम्यो शाही परिवारको हैसियत

    टोकियो । जापानी राजकुमारी माकोले कलेज सहपाठी केइ कुमुरोसँग आज विहे गरेकी छिन् । विहेसँगै उनले शाही हैसियत गुमाएकी छिन् । जापानी कानूनअनुसार सर्वसाधारणसँग विहे गर्ने राजपरिवारकी महिला सदस्यले दर्जा गुमाउने नियम छ भने शाही परिवारका पुरुषले विहे गरेपनि हैसियत नगुम्ने नियम छ ।

    राजकुमारी माकोले शाही परिवारको परम्परागत रितिरिवाजमा पनि भाग लिइनन् । साथै, परिवार छाड्नुअघि उनले शाही परिवारले दिने आर्थिक दाइजो लिन पनि अस्वीकार गरेकी छिन् ।

    यी दुबै सुविधा नलिने पहिलो जापानी राजपरिवारकी सदस्य बनेकी छिन् उनी । विहेपछि यो जोडी अमेरिका जाने तयारी गरेका छन् जहाँ कोमुरोले वकिलको पेशा गर्छन् ।

    कतिपयले यसलाई बेलायती राजंस्थाका दुई सदस्य प्रिन्स ह्यारी र मेगन मर्केलको विहेसँग तुलना गरेका छन् । उनीहरुले माको र कुमुरोलाई जापानी ह्यारी र मेगन भनेका छन् ।

    राजकुमारी माकोले विहे घोषणा गरेपछि विश्वव्यापीरुपमा कुमुरोलाई लिएर चासो व्यक्त भएको थियो । मंगलबार बिहान १० बजे राजकुमारी माकोले विहे दर्ता गर्नको लागि घर छाडेकी छिन् । आजै, यो जोडीले बिहेबारेमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

  • नासाले आगामी फेब्रुअरीमा चन्द्रमामा मानवरहित यान पठाउने

    नासाले आगामी फेब्रुअरीमा चन्द्रमामा मानवरहित यान पठाउने

    काठमाडौं । अमेरिकी अन्तरीक्ष नियोग नासाले सन् २०२२ को मध्य फेब्रुअरीमा अन्तरीक्ष यान चन्द्रमातर्फ पठाउने भएको छ ।

    यो यान चन्द्रमाको सतहमा पुगेर पृथ्वीमा फर्कने नासाले जनाएको छ । आयोजित पत्रकार सम्मेलनमा दशककै सबैभन्दा ठूलो रकेटमार्फत यान प्रक्षेपण गर्न लागिएको जनाइयो ।

    फेब्रुअरी १२ मा उडान भर्ने उक्त मानवरहित यान दुई सातामा पृथ्वीमा फर्कने जनाइएको छ । हजारौं प्रकाशवर्ष टाढाको अन्तरीक्षमा उडान भर्न सक्ने लफ्ट ओरिएन नामक क्याप्सुललाई नासाले चन्द्रमामा पठाउन लागेको हो ।

    चन्द्रमाको कक्षलाई परिक्रमा गरेर यो यान पृथ्वीमा फर्कने भनिएको छ । ‘उडानको बाहिरी भागको निर्माण सम्पन्न भएपछि हामी उडान भर्न सक्षम हुनेछौं’ नासाको मिसन म्यानेजर माइक साराफिनले भने ।

  • जसले नबोलिकनै टीकटकमा ९० करोडभन्दा धेरै फलोअर कमाए !

    जसले नबोलिकनै टीकटकमा ९० करोडभन्दा धेरै फलोअर कमाए !

    काठमाडौं । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ ।

    उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

    अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्‍याउने पहिलो व्यक्ति हुन । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिनु भएको हो । २१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ ।एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड-१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।

    लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् ।

    तर भिडिओमा उनी बोल्दैनन् । उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।

  • सैन्य कूविरुद्ध सुडानमा देशव्यापी प्रदर्शन सुरु, अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना (तस्बिरहरु)

    सैन्य कूविरुद्ध सुडानमा देशव्यापी प्रदर्शन सुरु, अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना (तस्बिरहरु)

    काठमाडौं । सैनिक कूविरुद्ध सडकमा उत्रन सुडानको प्रधानमन्त्री कार्यालयले नागरिकलाई आह्वान गरेको छ । अन्तरीम सरकारका प्रधानमन्त्रीसहितका नागरिक अगुवालाई सेनाले गरेको पक्राउको विरोधमा यस्तो आह्वान गरिएको हो ।

    सेनाविरुद्ध अहिले खार्तुमका सडकमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री अब्दुल्ला ह्यामडकलाई पक्राउ गरी अज्ञात स्थानमा राखिएको त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ ।

    सैन्य कू भएपछि त्यहाँका सैनिक प्रमुख अब्देल फताह अल बरेनले संकटकाल घोषणा गरेका छन् । साथै, अन्तरिम सरकार र संसद पनि विगठन गरिएको छ ।

    सन् २०१९ मा सेना र अन्तरिम सरकारबीच भएको शक्ति बाँडफाँटले मुलुकको शान्ति र सुरक्षालाई चुनौति थपेको सैन्य कमान्डर बरेनले बताएका छन् ।

    सुडानको नागरिक आयोगका सदस्य मोहम्मद हसनले सैन्य कूलाई राजनीतिक मूर्खतको संज्ञा दिँदै एक थोपा रगत रहेसम्म लडिरहने बताएका छन् । खार्तुममा भएको सेनाविरोधी प्रदर्शनमा १२ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

    जर्मनीले कूको भत्र्सना गर्दै अविलम्व यसको अन्त्य गर्न आग्रह गरेको छ ।

     

  • चीनका ११ राज्यमा फैलियो कोरोना, संक्रमण रोक्न लकडाउन लागू

    चीनका ११ राज्यमा फैलियो कोरोना, संक्रमण रोक्न लकडाउन लागू

    बेइजिङ । चीनको केही भूभागमा कोरोनाभाइरस संक्रमण पुनः बढ्न थालेको छ । चीनको उत्तर-पश्चिमस्थित भित्री मंगोलियामा सोमबार स्थानीयलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

    ३५ हजार ७०० जनसंख्या रहेको त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन भनिएको छ । उनीहरुलाई कडा प्रतिबन्धहरु पालना गर्न भनिएको छ । अहिले भित्री मंगोलियनको एजिन कोरोनाभाइरसको हटस्पट बनेको छ ।

    पछिल्लो साता त्यहाँ डेढसय नयाँ संक्रमित थपिएका छन् ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ११ राज्यमा कोभिड संक्रमण फैलिएको जनाएको छ । तीव्ररुपमा भाइरस संक्रमण फैलिएपछि ती राज्यमा लकडाउन लागू गरिएको छ ।

    चीनमा सोमबार भेटिएका संक्रमणमध्ये ३८ वटा भित्री मंगोलियाबाट छन् । राजधानी बेइजिङमा कोरोना संक्रमित संख्या १२ पुगेको छ । कोरोना फैलिएका राज्यबाट बेइजिङ जानेहरुले कडा सर्तहरुको पालना गर्नुपर्ने भएको छ ।

    बेइजिङसहित भित्री मंगोलिया, गांसु, निंग्जिया र गुइझोइमा कोभिड संक्रमण बढिरहेको छ । यी राज्यमा देशका अन्य राज्यबाट जान प्रतिबन्ध लगाइएको छ । संक्रमण बढेपछि सरकार सतर्क बनेको छ ।

  • सुडानमा सैन्य कू, प्रधानमन्त्रीसहित मन्त्रीहरु पक्राउ

    सुडानमा सैन्य कू, प्रधानमन्त्रीसहित मन्त्रीहरु पक्राउ

    खार्तुम । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्लाह ह्यामडकसहित मन्त्रिपरिषद्का सदस्यहरुलाई पक्राउ गरेको छ । सोमबार साँझ उनीहरुलाई पक्राउ गरिएको अलजजिराले जनाएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री ह्यामडकसहित उद्योगमन्त्री इब्राहिक अल सेइख, सूचनामन्त्री हम्जा बलौल र प्रधानमन्त्रीका सूचना सल्लाहकार फैसल मोहम्मद सलेह समेत पक्राउ परेका छन् ।

    नाम उल्लेख नगर्ने सर्तमा सुडानका एक अधिकारीले एसोसिएटेड प्रेसलाई पक्राउको पुष्टि गरे । गत महीना असफल कूको प्रयास भएपछि सुडानमा राजनीतिक अस्थिरता चुलिएको छ ।

    त्यहाँ लामो समयदेखि शासनमा रहेका नेता ओमार अल बसिर सत्ताच्युत भएपछि शक्ति बाँडफाँटलाई लिएर सेना र जननिर्वाचित सरकारबीच तनाव चुलिँदै आएको छ । सन् २०१९ मा भएको सडक प्रदर्शनपछि अल बसिर पदबाट हटेका थिए ।

    उनी सत्ताबाट हटेपछि त्यहाँको राजनीतिक संक्रमणलाई अन्त्य गर्न सन् २०२३ मा चुनाव गर्ने सहमती जुटेको थियो ।

    अलजजिराका अनुसार सबै संचारमाध्यम काटिएपछि संचारसम्पर्क गर्न मुस्किल भएको छ । सेनाले खार्तुम सहरसँग जोडिने सबै सडक र पुलहरु पनि अवरुद्द गरेको छ ।

  • आसियानको दबाबपछि म्यानमारमा सयौं राजनीतिक बन्दीहरु रिहा

    आसियानको दबाबपछि म्यानमारमा सयौं राजनीतिक बन्दीहरु रिहा

    यांगुन । म्यानमारको इन्सेइन कारागारबाट सयौं राजनीतिक बन्दीहरु रिहा भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार आममाफी भएपछि रिहाइ हुनेहरुमा नेतृ आनसाङ सूकीको दलका प्रवक्ता र एकजना लोकप्रिय हाँस्य कलाकार समेत छन् ।

    म्यानमारमा धुमधामका साथ मनाइने थाडिगुट पर्वको मौकामा त्यहाँको राष्ट्रिय टेलिभिजनले आममाफी पाउने ५ हजार ६०० जना राजनीतिक बन्दीहरुको नाम घोषणा गरेको थियो ।

    सोमबार राती उक्त घोषणा हुने वित्तिकै ती बन्दीहरुलाई रिहा गरिएको अलजजिराले जनाएको छ । सेना प्रमुख मिन आङले टेलिभिजन सम्बोधनबाट आममाफीको घोषणा गरेको केही घण्टामै राजनीतिक बन्दीहरु स्वतन्त्र भएका थिए ।

    संसदीय निर्वाचनमा धाँधली गरेको भन्दै गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो । सोही महीनामा पक्राउ परेका आफ्ना पतिलाई भेट्न पाउने आशामा फयाक्ट्री मजदुर समेत रहेकी किउ किउसहितका दर्जनौं व्यक्तिहरु मंगलबार एकाबिहानै कारागारबाहिर भेला भएका थिए ।

    दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन (आसियान)ले सेना प्रमुखलाई यस महीनाको अन्त्यमा हुने बैठकमा निम्तो नगर्ने घोषणा भएको केही दिनमै म्यानमार सेनाले राजनीतिक बन्दीहरुलाई आममाफी दिने घोषणा गरेको हो ।

     

  • सिरियामा अमेरिकी हवाइ हमलामा प्रमुख अलकायदा नेता मारिए

    सिरियामा अमेरिकी हवाइ हमलामा प्रमुख अलकायदा नेता मारिए

    दमास्कास । अमेरिकी सेनाले सिरियामा गरेको हवाइ हमलामा अलकायदा संगठनका एक प्रमुख नेता अब्दुल हमिद अल मतर मारिएका छन् । अमेरिकी केन्द्रिय कमान्डका प्रवक्ता मेजर जोन रिस्ग्बीले शुक्रबार यस्तो जानकारी दिए ।

    अलकायदाका प्रमुख नेता मारिएपछि विश्वभर हमलाको योजना बनाउने र उनीहरुलाई सघाउने क्षमतामा कमी आउने आशा उनले व्यक्त गरे ।

    उनका अनुसार उक्त हमला एमक्यू-नाइन एयरक्राफ्टमार्फत गरिएको थियो । यो हमलाका सर्वसाधारणलाई असर नपुगेको समेत अमेरिकी सेनाले दावी गरेको छ ।

    दुई दिनपहिले दक्षिण सिरियामा रहेको अमेरिकी पोस्टमाथि आक्रमण भएपछि अमेरिकाले प्रत्याक्रमण गरेको हो । यो हवाइ हमला इदबिल सहरमा भएको थियो । उक्त इलाका सिरियाको हतियारधारी समूह विद्रोही गुटको हातमा छ ।

    सिरियमा लामो समयदेखि युद्ध चलिरहेको छ । सन् २०११ देखि अहिलेसम्म सिरियमा चलेको युद्धमा ५ लाख जनाको मृत्यु भैसकेको छ ।

     

  • शिक्षा र आर्थिक सक्षमताले विवाह गर्ने उमेरको अन्तर घट्यो

    शिक्षा र आर्थिक सक्षमताले विवाह गर्ने उमेरको अन्तर घट्यो

    न्यूयोर्क । विवाह गर्ने केटा र केटीको उमेर एक–दुई वर्षले अन्तर हुनुलाई स्वभाविक मानिन्छ तर, २०–२२ को ग्याप भयो भने त्यसलाई अस्वभाविक । जनगणनाबारे अध्ययन गर्ने अमेरिकी सेन्सर ब्यूरोको पछिल्लो एक अध्ययनले पछिल्लो समय वैवाहिक उमेरको अन्तरमा कमी आएको जनाएको छ ।

    शिक्षा र शक्तिमा पहुँचको कारण विवाह गर्ने अन्तरमा कमी आएको उक्त अध्ययनको निष्कर्ष छ । २० औं शताब्दीको सुरुआतमा महिला र पुरुषबीचको उमेरको अन्तर ३० प्रतिशत थियो भने ८० को दशकमा घटेर १० प्रतिशतमा झरेको छ । यसको मुख्य कारणमा राम्रो शिक्षा र आर्थिक शक्तिलाई कारण मानिएको छ ।

    उक्त अध्ययनमा सहभागी अमेरिकी अर्थशाष्त्री टेरा म्याकिनिश भन्छिन्– विवाह गर्दा दुई जनाको उमेरको अन्तर हुँदा धेरै कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ, उनीहरुको विवाहलाई समाजले मान्यता दिदैन । यदि सम्बधमा समस्या आयो भने उमेरको फरक नै मुख्य कारण हुने गरेको छ । एउटै उमेर समूहका दम्पतीहरुमा पनि समस्या नआउने भने होइन ।

    अध्ययनले यो पनि भन्छ की उमेरमा फरक भयो भने उनीहरु आर्थिक मन्दीमा डगमगाउँछन् भने एउटै उमेर समूहमा विवाह गर्नेहरु यस्तो अवस्थामा जिउन सक्षम हुन्छन् । जुन पुरुषको पत्नीको उमेर कम हुन्छ, उसमा सन्तुष्टी बढी हुने अध्ययनको निष्कर्ष छ भने पुरुषको उमेर धेरै हुँदा सन्तुष्टी कम हुने बताइएको छ ।

    पछिल्लो समय अमेरिकामा धेरै महिला र पुरुष शिक्षित र आर्थिक रुपमा सवल हुँदै गएका छन् । त्यसकारण पनि विशेष गरी महिलालाई सही उमेरमा विवाह गर्ने निर्णय लिन सजिलो भएको छ ।