Category: विश्व प्रेस

  • इस्लामावाद, पन्जाब र जम्मूलगायत विभिन्न स्थानमा विद्यालय बन्द

    इस्लामावाद, पन्जाब र जम्मूलगायत विभिन्न स्थानमा विद्यालय बन्द

    काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावको अवस्थामा विभिन्न क्षेत्रमा विद्यालय बन्द भएका छन् ।

    भारतको आक्रमणपछि पाकिस्तानले राजधानी इस्लामावाद र पन्जाब प्रान्तमा विद्यालय बन्द गरेको हो ।

    यस्तै कश्मीरका कतिपय स्थानमा पनि विद्यालय र क्याम्पस बन्द भएका छन् ।

    कश्मीरमा जम्मू, साम्बा, कठुवा, राजौरी र पुंछ क्षेत्रमा शैक्षिक गतिविधि ठप्प भएका हुन् ।

  • पाकिस्तानी प्रधानमन्त्रीले भने- भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँ

    पाकिस्तानी प्रधानमन्त्रीले भने- भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँ

    काठमाडौं । भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।

    भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान(कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।

    भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ भएको दाबी गरेको छ।

    पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।

    पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’

    पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ। रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।

  • पाकिस्तानमाथि भारतकाे आक्रमण

    पाकिस्तानमाथि भारतकाे आक्रमण

    काठमाडौं  ।  भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दूकाे हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । यसलाई अपरेसन सिन्दूर नाम दिइएको छ ।

    पाकिस्तानले भारतबाट तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने चाँडै यसको जवाफ दिने प्रतिबद्धता पनि जनाएको छ । भारतले भने आक्रमणको प्रकृतिबारे उल्लेख गरेको छैन । भारतीय सञ्चारमाध्यमले पाकिस्तानका ९ वटा आतंकवादी अड्डा भारतले ध्वस्त पारेको बताइरहेका छन् ।

    आक्रमणमा भएको हताहतिकाे यकिन विवरण आइसकेको छैन ।

  • दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले गरे राजीनामाको घोषणा

    दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले गरे राजीनामाको घोषणा

    सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले बिहीबार आफूले पद छोड्ने घोषणा गरेका छन् । राष्ट्रपति पदमा नजर लगाएको खबरबीच उनले राजीनामाको घोषणा गरेका हुन् ।

    दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उनी शुक्रबारबाट आफ्नो राष्ट्रपति अभियान सुरु गर्नेछन् । हानलाई सम्भावित कन्जर्भेटिभ नेताको रूपमा हेरिएको छ, किनकि मुख्य कन्जर्भेटिभ पिपल पावर पार्टी (पीपीपी) तत्कालीन राष्ट्रपति युन सुक–योलले सन् २०२४ को डिसेम्बरमा सैन्य कानून लागू गरेपछि अराजकतामा फसेको छ।

    हानले बिहीबार टेलिभिजनमार्फत आफ्नो निर्णयको बारेमा बताए । उनले भने, ‘मैले अन्ततः हाम्रो सामु रहेका संकटहरू पार गर्न मेरो पद छोड्ने निश्चय गरेको छु ।’

    ‘मसँग दुई बाटाहरू छन् । एउटा म हाल सम्हालिरहेको भारी जिम्मेवारी पूरा गर्नु र अर्को त्यो जिम्मेवारी छोडेर झन् ठूलो जिम्मेवारी लिनु,’ हानले भने ।

    दक्षिण कोरियाली कानूनअनुसार, वित्तमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । विपक्षी नियन्त्रित संसदले युनलाई महाभियोग लगाउन मतदान गरेपछि हानलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । युनलाई पदबाट हटाइएपछि आगामी जुन ३ मा राष्ट्रपतिको विशेष निर्वाचन हुने बाटो खुलेको छ ।

    हान आफैं पनि दुई हप्ताभन्दा कम समय कार्यवाहक राष्ट्रपति भएपछि महाभियोगको सामना गर्नुपरेको थियो । विपक्षीले उनलाई युनको सैन्य कानून घोषणालाई रोक्न असफल भएको आरोप लगाएका थिए । मार्चमा अदालतले उक्त महाभियोगको निर्णय खारेज गरेपछि उनलाई पुनर्स्थापना गरिएको थियो ।

    उनी विपक्षीसँग संवैधानिक अदालतमा तीन थप न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको र युन र उनकी पत्नी किम क्योन–हीविरुद्धका विधेयकहरूलाई समर्थन नगरेको विषयमा पनि विवादमा परेका थिए ।

    डेमोक्रेटिक पार्टीका अग्रणी उम्मेदवारको योग्यतामाथि शंका

    यसैबिच, दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका अग्रणी उम्मेदवार ली जे–म्युङलाई निर्वाचन कानून उल्लंघनको आरोपमा तल्लो अदालतले दिएको सफाइको फैसला उल्टाएको छ । यो निर्णयले अब लीलाई राष्ट्रपति पदमा उम्मेदवारी दिने योग्यतामाथि शंका उत्पन्न गरेको छ ।

    मार्चमा, अदालतले लीलाई अघिल्लो अभियानमा गलत बयान दिएको निर्वाचन उल्लंघनको मुद्दामा सफाइ दिएको थियो । त्यति बेला अदालतले यो निर्णयले उनको विरुद्धको मामिला राजनीतिक प्रेरित भएको र उनलाई पूर्ण रूपमा निर्दोष साबित गरेको बताएको थियो ।

    यदि तल्लो अदालतले पनि लीलाई दोषी ठहर गरेमा उनलाई पाँच वर्षसम्म कुनै पनि पदमा उम्मेदवारी दिन निषेध गरिनेछ र उनले जेल सजायको सामना गर्नुपर्ने हुन सक्छ ।

  • चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

    चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो ।

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनका अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरिएको छ । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जिडिपी प्रयोग गरिएको छ ।

    जसअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण सार्वजनिक गरिएको थियो ।

    हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ को मूल्य (बेस इयर मूल्य)मा आधारित छन् । त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको छ ।

    जसअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

    आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.३६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा २.२९ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी, उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०/८१ मा ३.६७ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशत कायम भएको थियो ।

  • पहलगाम हमला- जनकपुरमा पाकिस्तानको झण्डा र सेना प्रमुखको पुत्ला जलाइयो

    पहलगाम हमला- जनकपुरमा पाकिस्तानको झण्डा र सेना प्रमुखको पुत्ला जलाइयो

    जनकपुरधाम । भारतको जम्मू-कश्मीरमा पर्ने पहलगाममा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

    नेपाल-भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा पाकिस्तान र आतंककारीविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले पाकिस्तानी सेना प्रमुख नजरल असीम मुनिरको पुत्ला र पाकिस्तानी झण्डा समेत जलाएका छन् ।

    उनीहरुले आतंकवाद मुर्दावाद, मानवताको रक्षा गर, हिन्दूको हत्या बन्द गर, आतंककारीलाई फासी दे, पाकिस्तान मुर्दावाद जस्ता नारा लगाएका छन् ।

    पहलगाम हमलामा बुटबलका सुदिप न्यौपानेसहित २८ जना मारिएका छन् । आतंकीले हिन्दूको पहिचान गरी हत्या गरेकाले नेपालमा समेत आक्रोश बढेको छ ।

  • स्पेनमा १० घण्टे लोडसेडिङ अन्त्य

    स्पेनमा १० घण्टे लोडसेडिङ अन्त्य

    स्पेन । युरोपेली इतिहासमै दुर्लभ घटना लामो अवधिको लोडसेडिङ अन्त्य हुन पुगेको छ । सोमबार करिब १० घण्टा अवरुद्ध बनेको विद्युत् सेवा राति अबेर सुचारु भएको छ । स्पेन, पोर्चुगलमा व्ल्याकआउट हुँदा जनजीवन प्रभावित भएको थियो ।

    सोमबार दिउँसो १२:३३ बजे एकाएक विद्युत् सेवा बन्द हुन पुगेको थियो । जसकारण मोबाइल नेटवर्कहरू समेत गायब भएका थिए । इन्टरनेटको पहुँचसमेत बन्द हुन पुग्यो ।

    सुपर मार्केटहरूमा दैनिकी उपभोग्य सामानहरू खरिद गर्नेको लर्को लागेको थियो । पसल, रेष्टुरेन्टमा नगदको मात्रै कारोबार हुँदा कार्डबाट भुक्तानी गर्नेहरू समस्यामा परेका थिए । एटीएम समेत बन्द भए ।

    ३ दिनसम्म व्ल्याकआउट हुने हल्लाले पानी, खाद्यान्न जोहो गर्न स्थानीय दिनभर व्यस्त बने । कैयन मानिसहरू दिनभर लिफ्टहरूमा फसे, रेलहरूभित्रै बस्नुपरेको थियो । अधिकांश पसल, व्यवसाय बन्द भए ।

    सोमबार राति १० बजेदेखि स्पेनका ६२ प्रतिशत सबस्टेशनहरू अनलाइन भैसकेका छन् । ६ सय ८० मध्ये ४ सय २१ वटाबाट ४३.३ प्रतिशत विद्युत् आपूर्ति सम्भव भएको थियो । उता पोर्चुगलको ग्रिड अपरेटर आरइएनले देशका ८९ सबस्टेशनमध्ये ८५ मा विद्युत् सुचारु भएको जनाएको छ ।

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत् सेवा सुचारु गर्ने काम रातारात सम्भव भएको बताएका छन् । मङ्गलवारसम्म सबै क्षेत्रमा विद्युत् सुचारु हुने दाबी गरे । प्रधानमन्त्री सान्चेजले स्पेनमा थप बिजुली पठाएकोमा फ्रान्स र मोरक्कोलाई धन्यवाद दिएका छन् ।

    अत्यधिक तापमानको भिन्नताको कारण विद्युत् सेवा रोकिन पुगेको भनिए पनि वास्तविक कारण अझै खुलेको छैन । यति लामो अवधि विद्युत् सेवा रोकिनु युरोपका लागि विरलै घटना मानिन्छ ।

    व्ल्याकआउटेज युरोपमा असामान्य छ। सन् २००३ मा इटाली र स्विट्जरल्याण्ड बीचको हाइड्रोइलेक्ट्रिक पावर लाइनमा समस्या हुँदा १२ घण्टा लोडसेडिङ हुन पुगेको थियो । सन् २००६ मा जर्मनीमा ओभरलोड विद्युत् नेटवर्कले देशका भागहरू र फ्रान्स, इटाली, स्पेन, अस्ट्रिया, बेल्जियम र नेदरल्याण्डमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो ।

    स्पेनको राष्ट्रिय ग्रीड अपरेटर रेड इलेक्ट्रीकाले सामान्य अवस्थामा फर्किन लाग्ने समय यकिन गरेको छैन । उसले यसलाई असाधारण घटना भनेको छ । उसले ‘विद्युत् प्रणालीहरू बीचको सिंक्रोनाइजेसन विफलताको कारण’ भनेर प्रारम्भिक भनाइ सार्वजनिक गरेको छ ।

    यो बिरलै घटना हो । स्पेनकै पहिलो घटना । यहाँ इन्भटर राख्ने चलन नै छैन । दिनभर नेटवर्क, बिजुली बन्द ।

  • भारतको जेएनयु छात्र संघ चुनावमा कम्युनिष्ट विध्यार्थीको वर्चश्व, बिजेपी र आरएसएस आवद्द एभीबीपीको कडा टक्कर

    भारतको जेएनयु छात्र संघ चुनावमा कम्युनिष्ट विध्यार्थीको वर्चश्व, बिजेपी र आरएसएस आवद्द एभीबीपीको कडा टक्कर

    नयाँ दिल्ली । भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को छात्र संघ चुनावमा कम्युनिस्ट विद्यार्थी विद्यार्थीको वर्चस्व देखिएको छ । अध्यक्ष पदमा आइसा र डीएसएफ गठबन्धनका उम्मेदवार नितीश कुमार विजयी भएका छन्।

    अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा सुरुवातमा एबीभीपीकी उम्मेदवार शिखा स्वराज अगाडि रहेकी थिइन्, तर अन्तिम मतगणनामा नितीश कुमारले विजय सुनिश्चित गरे ।

    जेएनयु छात्र संघका चार प्रमुख पदमध्ये अध्यक्ष, उपाध्यक्ष र महासचिवमा वामपन्थी संगठनका उम्मेदवारले जितेका छन् भने संयुक्त सचिव पदमा भने एबीभीपीले जित निकालेको छ ।

    विगतका चुनावमा भन्दा यसपटक एभिबीपीले वामपन्थीहरुलाई कडा टक्करमात्र दिएन, ४२ वटा काउन्सिलर सीटमा २३ सटि जितेको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार कुल ७,९०६ मतदाता मध्ये ५,५०० जनाले मतदान गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो । २५ अप्रिल (शुक्रबार) मा मतदान सम्पन्न भएको थियो र त्यसपछि मतगणना सुरु गरिएको हो।

  • बिलावल भुट्टोको चेतावनी- सिन्धु नदीमा कि पाकिस्तानको पानी बग्छ, कि त भारतको रगत

    बिलावल भुट्टोको चेतावनी- सिन्धु नदीमा कि पाकिस्तानको पानी बग्छ, कि त भारतको रगत

    काठमाडौं । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टोले भारतले सिन्धु नदीको पानी रोकेमा नदीमा उनीहरुको रगत बग्नसक्ने चेतावनी दिएका छन् । एउटा राजनीतिक र्‍यालीमा सहभागी भएका पाकिस्तानको प्रमुख राजनीतिक दलका नेता भुट्टोले भारतलाई अहिलेसम्मकै कडा चेतावनी दिएका हुन् ।

    भुट्टोको भनाइ उद्धृत गर्दै अलजजिरा लेख्छ- ‘सिन्धु हाम्रो हो र सधैं रहनेछ । या त यो नदीमा हाम्रो पानी बग्छ अथवा उनीहरुको रगत ।’

    भारतले पहलगाम आतंकी हमलापछि पाकिस्तानविरुद्ध चालेका ५ कदममध्ये सिन्धु नदी सम्झौता भंग गर्ने पनि एक हो । सिन्धु नदीको पानी उपभोगसम्बन्धी दुई पक्षीय सन्धि भारतले भंग गर्दै पाकिस्तानलाई पानी नदिने घोषणा गरेपछि भुट्टोको यस्तो अभिव्यक्ति आएको हो ।

    भुट्टोले नरेन्द्र मोदीले आफ्ना नागरिकलाई बेबकुफ बनाउन पहलगाम हमलाको दोष पाकिस्तानीमाथि थोपरेर पानीमाथिको ओभानो बन्न खोजेको बताए ।

    उनले भारतले सिन्धु नदी पाकिस्तानको हो भनेर स्वीकार गरिसकेकाले अब सिन्धुमाथि कि त पानी बग्ने कि भारतको रगत बग्ने चेतावनी दिए । उनले सिन्धुमाथिको डाकाडाली मन्जुर नहुने बताए ।

    बिलाबल भुट्टो लामो समय पाकिस्तानको शासन गरेका आसिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा हुन् । जर्दारी अहिले पनि पाकिस्तानको राष्ट्रपति छन् ।

  • छत्तिसगढको माओवादीको आधार इलाका भारतीय प्रहरीको घेरामा, कयौं कम्युनिस्ट लडाकु मारिए

    छत्तिसगढको माओवादीको आधार इलाका भारतीय प्रहरीको घेरामा, कयौं कम्युनिस्ट लडाकु मारिए

    काठमाडौं । भारतको छत्तिसगढ राज्यमा सुरक्षा फौजले माओवादी विद्रोहीको फौजमाथि हमला गर्दा ठूलो संख्यामा हताहती भएको दाबी गरेको छ ।

    बिजापुर क्षेत्रमा भएको भिडन्तमा तीनजना माओवादी लडाकुको शव भेटिएको र अन्य धेरै हताहत भएको दाबी गरिएको हो । सो क्षेत्रमा प्रहरी सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।

    सुरक्षाकर्मीले एक सातादेखि माओवादीको आधार क्षेत्र मानिएको कर्रेगुट्टा पहाडी क्षेत्रलाई घेराबन्दी गरेर राखेको छ । भारतको छत्तिसगढ, विहार, झारखण्डलगायतका क्षेत्रमा माओवादी जनयुद्धको प्रभाव रहेको छ ।

  • भारतले ‘ब्लेम गेम’ खेलेको पाकिस्तानको आरोप, जस्ताको त्यस्तै जवाफ दिन तयार

    भारतले ‘ब्लेम गेम’ खेलेको पाकिस्तानको आरोप, जस्ताको त्यस्तै जवाफ दिन तयार

    काठमाडौं । जम्मु कश्मिरको पहलगाममा एक नेपाली नागरिसहित २८जनाको आतंकवादीबाट भएको हत्यापछि भारत र पाकिस्तानबीच मौखिक युद्ध शुरु भएको छ । पाकिस्तान समर्थित आतंकवादीले पहलगाम घटना गराएको भन्दै भारतले इस्लामावादमाथि ५ वटा प्रतिबन्ध लगाएको छ ।

    उता पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले विगतमा जस्तै भारतले यसपटक पनि ‘ब्लेम गेम’ खोलेको भन्दै भारतीय आरोपको प्रतिवाद गरेका छन् ।

    बीबीसी उर्दुका अनुसार पाकिस्तानी उपप्रधानमन्त्रीले भारतको तर्फबाट सिन्धु जल सम्झौता स्थगनदेखि पाकिस्तानीलाई भिसा नदिनेसम्मका निर्णयलाई हतार र बचपनाको संज्ञा दिएका छन् ।

    उनले भारतलाई पाकिस्तानले व्यवहारबाटै जस्ताको तस्तै जवाफ दिने बताएका छन् । उनले आतंकी हमलामा पाकिस्तानको हात रहेको प्रमाण भारतसँग भएर सार्वजनिक गर्न चुनौति समेत दिएका छन् ।

  • कास्मिर आतंकवादी हमलाका बाछिटा : यी हुन भारतले गरेका पाँच आक्रामक निर्णय 

    कास्मिर आतंकवादी हमलाका बाछिटा : यी हुन भारतले गरेका पाँच आक्रामक निर्णय 

    काठमाडौं । भारत र पाकिस्तानको बिझाइरहने घाउ कास्मिर हो । कास्मिरको पुरा भूमिमा दुवैको दाबी छ । दुवैको गच्छे अनुसारको नियन्त्रण पनि छ ।

    पश्चिमा मिडियाहरुले भारत नियन्त्रित कास्मिर र पाकिस्तान नियन्त्रित कास्मिर भनेर यसलाई व्याख्या गर्छन् ।

    भारत प्रशासित कास्मिरमा धेरै आतंकवादी हमला हुन्छन् । भारत त्यसको आरोप पाकिस्तानमा लगाउँछ । पाकिस्तान भारतको ‘आन्तरिक आतंकवाद’ भन्छ । यी त भारत र पाकिस्तान देशको रूपमा आएपछि कै नियमित खेलोमेलो भए ।

    मङ्गलवारको घटनाले भने दुई देशको सम्बन्धमा दरार आएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स भारतमा आएकै समयमा कास्मिरको आतंकवादी हमला भयो ।

    हमलामा नेपाली सहित २८ जना पर्यटकहरू मारिए । हिन्दूहरु छानिछानी मारिएको भारतीय मिडियाहरूको भनाइ छ ।

    भारतको अनन्तनाग जिल्लाको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा विश्वसँगै नेपालले पनि गरेको छ । यो घटनाले विरोधका स्वरहरूलाई भारत पाकिस्तान मात्रै होइन इस्लामविरुद्ध पनि प्रयोग गरिएको छ ।

    भारतमा निर्वासित बङ्गलादेशकी साहित्यकार तललिमा नसरिनले कास्मिर हमलालाई लिएर इस्लामसँग जोडेर आक्रामक पोस्ट गरिन् ।

    उनले ट्विटरमा लेखिन, ‘जबसम्म इस्लाम बाच्छ, तबसम्म आतंकवाद बाँच्छ । जबसम्म इस्लाम बाँच्छ गैर इस्लामको कुनै सुरक्षा हुनेछैन ।’

    मङ्गलवारको कास्मिर हमलासँगै भारतले पाकिस्तानलाई लक्षित गरेर विभिन्न पाँच आक्रामक निर्णय गरेको छ । ती यस्ता छन्:

    १. इन्दुस नदी सम्झौता स्थगन

    भारत र पाकिस्तानको दुवै भूमि भएर बग्छ इन्दुस नदी । यो नदीको पानीलाई सम्झौता दुई देशले गर्नमा विश्व बेंकको ठूलो हात छ । सन १९६० मा त्यो सम्झौता भएको थियो । अब कास्मिरको ताजा आतंकवादी हमलाले यसलाई स्थगन गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सन १९६५, १९७१, १९९९ र २००८ मा भएका पाकिस्तानसँगको तनाव तथा युद्धमा पनि भारतले यो सन्धि स्थगन गरेको थिएन ।

    २. पाकिस्तानका नागरिकलाई भिजा निषेध

    भारतले सार्क देशका नागरिकको रूपमा पाकिस्तानी नागरिकहरूलाई दिइँदै आएको भिजा नदिने भएको छ । भारतको एनडीटिभीका अनुसार अब पाकिस्तानीहरूले भिजा पाउने छैनन् । पाएकाहरूको रद्द हुनेछ । ४८ घण्टा भित्र पाकिस्तान फिर्न आदेश दिइएको छ ।

    ३. अटारी सीमा बन्द

    भारतले पाकिस्तानसँग खुला रहेको अटारी सीमा बन्द गर्ने भएको छ । दुई देशको संयुक्त जाँच चौकी पनि बन्द हुने भएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले यसको औपचारिक जानकारी बुधवार दिएका हुन् । इजाजत लिएर भारत आएकाहरूले मे १ भित्र पाकिस्तान फिर्ता भइसक्नुपर्ने पनि मिश्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को सुरक्षा समितिको निर्णय अनुसार यस्तो भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

    ४. पाकिस्तानबाट कूटनीतिक कर्मचारी फिर्ता

    भारतले कास्मिरको हमलासँगै पाकिस्तानबाट आफ्ना कूटनीतिक कर्मचारी फिर्ता गरेको छ ।

    ५. पाकिस्तानी उच्चायुक्तको संख्या कटौती

    भारतले पाकिस्तानका कूटनीतिज्ञहरूलाई देश छोड्न भनेको छ । सात दिन भित्र छोड्न आदेश दिइएको छ । पाकिस्तानको भारतमा रहेको उच्चायुक्त कार्यालयका ५५ कर्मचारी घटाएर ३० मा झारिएको छ ।

  • आजै सुदीपको शव नेपाल ल्याउन समस्या, अहिलेसम्म कश्मीरबाटै मिलेको छैन प्रक्रिया

    आजै सुदीपको शव नेपाल ल्याउन समस्या, अहिलेसम्म कश्मीरबाटै मिलेको छैन प्रक्रिया

    रूपन्देही । भारतको जम्मु कश्मीरमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आज नेपाल नआउने भएको छ ।

    उनका काका दधिराम न्यौपानेका अनुसार अहिलेसम्म कश्मीरबाट शव ल्याउनेसम्बन्धी कुनै कागजात तयार भएको छैन ।

    मंगलबार जम्मु कश्मीरस्थित पहलगाममा आतंकवादीको आक्रमणमा बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो ।

    उनीसँगै गएका आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित नेपाली टोली शव नेपाल ल्याउनको लागि प्रक्रिया मिलाउन लागिरहेका छन् ।

    बुटवलबाट काका दधिराम काठमाडौं पुगिसकेका छन् । कश्मिरबाट दिल्ली र त्यहाँबाट काठमाडौं जहाजमा ल्याउन आज सम्भव कम भएको उनले नेपाल प्रेससँग बताए ।

     

  • नेपालीले ज्यान गुमाएको पहलगाम हमलाका तीन आतंकवादीको पहिचान, लस्कर ए तोयबाका लडाकु

    नेपालीले ज्यान गुमाएको पहलगाम हमलाका तीन आतंकवादीको पहिचान, लस्कर ए तोयबाका लडाकु

    काठमाडौं । भारतीय सुरक्षा फौजले मंगलबार जम्मु कश्मिरको पहलगाममा २६ जनाभन्दा बढीको ज्यान लिने आतंकवादी हमलाका तीन आशंकित व्यक्तिको स्केच सार्वजनिक गरेको छ ।

    टाइम्स अफ इण्डियाका अनुसार बुधबार सुरक्षा एजेन्सीले पहिचान गरेका तीन आतंकवादीको कोड नाम मुसा, युनुस र आसिफ रहेको छ । हालसम्म २८ जनाको ज्यान गएको सो आतंकी हमलामा अधिकांश पर्यटक मारिएका थिए । सुरक्षा एजेन्सीका अनुसार पहिचान भएका आतंकी हमलावारहरूमा आसिफ शैख, सुलेमान शाह र अबु तलाह छन् ।

    उनीहरू तीनैजना आतंकवादी संगठन लस्कर ए तोयबासँग आबद्ध रहेको दाबी भारतीय सुरक्षा एजेन्सीले गरेको छ । अन्य दुई आतंककारीको पहिचान भइरहेको छ । सो हमलामा नेपाली नागरिक सुदीप न्यौपानको समेत ज्यान गएको छ । उनीहरूले एके ४७ राइफल बोकेर पर्यटकको नाम सोध्दै हिन्दू पहिचान गरेर गोली हानेका थिए ।

  • पाकिस्तानको प्रतिक्रिया- पहलगाम घटना भारतको घरेलु आतंकवाद हो, हामी निन्दा गर्छौं

    पाकिस्तानको प्रतिक्रिया- पहलगाम घटना भारतको घरेलु आतंकवाद हो, हामी निन्दा गर्छौं

    काठमाडौं । भारत शासित जम्मु कश्मिरमा भएको आतंकी हमलामा पाकिस्तानमाथि आरोपित गर्ने भारतीय प्रयासको इस्लामावादले कडा शब्दमा आपत्ति जनाएको छ ।

    पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले २६ जनाभन्दा बढी हिन्दूको छानीछानी गरिएको हत्याको घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंकी हर्कतको पाकिस्तानले सधैं घृणा गर्ने बताएका छन् ।

    पाकिस्तानले पहलगाममा भएको आक्रमण भारतको ‘होम ग्रन’ हिंसा भन्दै भारतभित्रकै असन्तुष्ट विद्रोहीहरुले मच्चाएको हर्कत भनेको छ । स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले उक्त घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् ।

    उनले भने-भारतभित्र धेरै विद्रोहीहरू छन् । नागाल्याण्डदेखि काश्मिरसम्म,छत्तिसगढदेखि मनिपुर र दक्षिणतिर भारतकै विद्रोही र आतंकी संगठनहरु छन् । यो अपराधपूर्ण घटना बाह्य घुसपैठ नभएर उनीहरुकै घरेलु उत्पादनका उपज हुन् ।

    भारतले आफ्ना नागरिकमाथि विभिन्न ढंगले सेना प्रहरीमार्फत दमन गर्ने र ती नागरिकले विद्रोह गरेर उत्पन्न हुने घटनामा पाकिस्तानको नाम लिएर भारतीय सत्ता उम्किने गरेको आरोप समेत उनले लगाए ।

    रक्षामन्त्री आसिफले भने- भारतमा मान्छेहरु अधिकारको लागि बोलिरहेका छन् । हिन्दूवादी समूहहरूले मुस्लिम, क्रिश्चियन, बुद्धिष्टलगायतका अल्पसंख्यकमाथि दमन र उत्पीडन बढाइरहेका छन् । यसको उपज हुन् यस्ता घटना ।

    पाकिस्तानी रक्षामन्त्रीले आफूहरू सबैखाले आतंकवादको विरोधमा रहेको तर भारतमा सिर्जित आतंकवादविरुद्ध केही गर्न नसक्ने बताए ।

  • सी सँग फोनमा सिधा कुरा गर्न ट्रम्प आतुर, तत्काललाई सी अनिच्छुक

    सी सँग फोनमा सिधा कुरा गर्न ट्रम्प आतुर, तत्काललाई सी अनिच्छुक

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सिधा कुरा गर्न आतुर भएको अमेरिकी मिडियाले उल्लेख गरेको छ ।

    अमेरिकी मिडिया पोलिटिकोका अनुसार अनौपचारिक तथा तल्लो तहका कर्मचारीहरुसँग भन्दा सिधै सी सँग बोल्न ट्रम्प आतुर छन्। तर सिले भने कुनै ग्रीन सिग्नल दिएका छैनन् ।

    ‘सी सँग सिधा कुरा गर्न ट्रम्पले अरू कूटनीतिक च्यानल बाट कुरा गर्न अस्वीकार गरेका छन्’, पोलिटिकोले शनिवारको समाचार सामग्रीमा उल्लेख गरेको छ ।

    चीनसँग व्यापार वार्ता गर्ने टोली गठन नहुनु र चीनको लागि राजदूतको नियुक्ति नहुनु लगायतका कुराले ट्रम्प सिधै वार्ता गर्न तयार तर अरू च्यानलमा इच्छुक नभएको पाइएको बताइएको छ ।

    ओबामा कालका सुरक्षा सल्लाहकार तथा चीन विभागका निर्देशक रायन हासले ट्रम्पले सी सँग पनि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग जस्तै सी सँग पनि सिधै कुरा गर्न चाहेको प्रतिक्रिया दिएका छन् ।

  • विश्वका इशाईहरुका धर्मगुरु पोप फ्रान्सिसको निधन

    विश्वका इशाईहरुका धर्मगुरु पोप फ्रान्सिसको निधन

    काठमाडौं । विश्वकै इशाई धर्माबलम्बीहरुका धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

    पहिलो गैर युरोपेली पोप फ्रान्सिस १३ सय वर्षमा युरोपबाहिरबाट पोप बन्ने पहिलो व्यक्ति थिए । भ्याटिकनले उनको निधनको पुष्टि गरेको छ ।

  • सैन्य रणनीतिबारे अमेरिकी रक्षामन्त्रीको गोप्य च्याट लिक, पेन्टागनको नेतृत्व फेर्न ट्रम्पलाई दबाब

    सैन्य रणनीतिबारे अमेरिकी रक्षामन्त्रीको गोप्य च्याट लिक, पेन्टागनको नेतृत्व फेर्न ट्रम्पलाई दबाब

    काठमाडौं । अमेरिकी विदेश मन्त्री पिट हेग्सेथले मध्यपूर्वका देशमा अब गरिने सैन्य कारवाहीको रणनीतिबारे परिवारका सदस्यसँग गरेको गोप्य च्याट बाहिरिएको छ । हेग्सेथले यमनका हुथी विद्रोहीविरुद्ध सैन्य कारबाहीको योजनासम्बन्धी संवेदनशील जानकारी आफ्नो व्यक्तिगत सिग्नल च्याटमार्फत् श्रीमती र भाइलाई शेयर गरेको पाइएको हो ।

    अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हेग्सेथले यसअघि पनि पविारका नजिकका सदस्य र वकिलसहित आफ्ना सहयोगीसँग यस्ता संवेनदशील विषय च्याटमा खुलाएका कारण विवादमा परेका छन् ।

    उनले अमेरिकाको सबै सैन्य योजनाहरू सेयर गरेको सीएनएनले जनाएको छ । यसअघि उनले सरकारी अधिकारीसँग पनि यस्ता सैन्य कारवाहीबारे खुलासा गरेको पाइएको छ । अमेरिकी रक्षा मन्त्रालय अर्थात पेन्टागन सबैभन्दा संवेदनशील ठाउँ मानिन्छ । विश्वभर सैन्य कारवाही गर्ने भएकाले पनि पेन्टागन संवेदनशील मानिएको हो ।

    एक महिनामा २ पटक भएको यस्तो लापरवाहीलाई लिएर आलोचना भइरहेका बेला ट्रम्पमाथि उनको साटो सिनियर नेतृत्वबाट रक्षामन्त्री बनाउन दबाब समेत बढेको छ ।

  • बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि अत्याचार–भारतको कडा चेतावनी, नेपाल सरकार बेखबर

    बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि अत्याचार–भारतको कडा चेतावनी, नेपाल सरकार बेखबर

    काठमाडौं । बंगलादेशका एक प्रमुख हिन्दू नेता भाबेशचन्द्र रायको अपहरणपछि हत्या गरिएको घटनालाई लिएर भारतले कडा प्रतिक्रिया दिएको छ ।

    बंगलादेशको मोहम्मद युनुश सरकारमाथि भारतले अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाएको छ ।

    उत्तरी बंगलादेशको दिनाजपुर जिल्लाका बासिन्दा भाबेशलाई गत बुधवार उनको घरबाटै केही मुस्लिम अतिवादीले अपहरण गरेका थिए । घाइते अवस्थामा घरमा फर्काइएको उनको केही क्षणमा मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    ५८ वर्षीय हिन्दू नेता भाबेश चन्द्रलाई घरमै आएका केही व्यक्तिले अपहरण गरेका थिए । उनलाई साँझ गम्भीर घाइते अवस्थामा ल्याएर घरमा छाडिएको थियो । तत्कालै अस्पताल लगिएका उनलाई मृत घोषणा गरिएको थियो ।

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशमा हिन्दू अल्पसंख्यक नेता भाबेशको अपहरण र बर्बर हत्याको बारेमा ध्यानाकर्षण भएको भन्दै अन्तरिम सरकारको जवाफ मागेको छ ।

    विदेश प्रवक्ताले भनेका छन्–यो हत्या त्यहाँको अन्तरिम सरकारको शासनकालमा बंगलादेशका हिन्दू अल्पसंख्यकमाथि भइरहेको व्यवस्थित उत्पीडनको सिलसिलामा रुपमा आएको छ । यसअघि पनि भएका यस्तै अपराधिक घटनामा जोडिएका अपराधीहरु सजायबाट मुक्ति पाइरहेका छन् । यो घटनाको हामी निन्दा गर्छौं र एकपटक फेरि बंगलादेशकको अन्तरिम सरकारलाई बहाना नबनाई र भेदभाव नगरी हिन्दूसहित सबै अल्पसंख्यकको सुरक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गरोस् ।

    भारतले यसअघि पनि पटकपटक बंगलादेशलाई हिन्दू अल्पसंख्यकको जिउधनको सुरक्षाप्रति ध्यानाकर्षण गरारहेको छ । तर छिमेकमै भइरहेको हिन्दू अल्पसंख्यकमाथिको उत्पीडनबार नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    प्रतिशतको हिसाबले विश्वकै सबैभन्दा धेरै ८४ प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या रहेको नेपालको सरकारले बंगलादेशमा हिन्दूमाथि भइरहेका सिलसिलाबद्ध हत्या,बलात्कार र उत्पीडनका घटनामा एक शब्द पनि नबोलेकोमा आलोचना भइरहेको छ । यसबारेमा नेपालको सरकारको प्रतिक्रिया लिन खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकाल सम्पर्कमा आउनै चाहेनन् ।

    नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्ककको अध्यक्ष राष्ट्रसमेत हो । सार्क अध्यक्षको हैसियतले पनि नेपालले बंगलादेशमा भइरहेको अल्पसंख्यकमाथिको अत्याचारबारे त्यहाँको अन्तरिम सरकारको ध्यानाकर्षण गराउन सक्ने कुटनीतिक धरातलको समेत प्रयोग गरेको छैन ।

  • क्राइमियालाई रुसकै भएको मान्यता दिने तयारीमा अमेरिका

    क्राइमियालाई रुसकै भएको मान्यता दिने तयारीमा अमेरिका

    काठमाडौं । सन २०१४ मा रुसी भाषा बाहुल्य भएको युक्रेनको क्राइमियामा जनमत संग्रह भएर रुसमा गाभिने निर्णय भएको थियो ।

    पश्चिमा विश्व खासगर अमेरिकाले मान्यता नदिएको उक्त जनमत संग्रहपछि अमेरिकाले रुसलाई धेरै क्षेत्रमा नाकाबन्दी पनि लाएको थियो । तर डोनाल्ड ट्रम्पले क्राइमियालाई रुसकै भूमिको मान्यता दिने तयारी थालेका छन् ।

    अमेरिकी अखबार ब्लुमबर्गलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार मान्यता दिने तयारीमा रहेको स्रोतले यस्तो जानकारी सार्वजनिक गरेको हो । यद्यपि ह्वाइट हाउसले अन्तिम निर्णय भने दिइनसकेको बताइएको छ ।

    अमेरिकामा गत जनवरीबाट राष्ट्रपतिमा आएका डोनाल्ड ट्रम्पसँग अमेरिकाको रुसप्रतिको कठोरपन कमजोर हुँदै गएको छ ।

    चाहे युक्रेनलाई दिने हतियार तथा आर्थिक सहयोगमा कटाऊ गरेर होस् वा रुससँग शान्ति वार्ताको नाममा संवाद थालेर होस्, ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई थर्काउने र रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनलाई फकाउने रणनीति लिएको देखिएको छ । उसो त ट्रम्पले युक्रेन युद्धलाई अमेरिकाको युद्ध नभनेर ‘बाइडेनको युद्ध’ भनिसकेका छन् ।

  • थुनामा रहेका भेनेजुएलीलाई डिपोर्ट गर्ने ट्रम्पको योजनामा अदालतको अङ्कुश

    थुनामा रहेका भेनेजुएलीलाई डिपोर्ट गर्ने ट्रम्पको योजनामा अदालतको अङ्कुश

    काठमाडौं । टेक्सस राज्यको उत्तरी भागबाट पक्राउ गरेर थुनामा राखिएका भेनेजुएलीहरुलाई डिपोर्ट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा तत्काललाई सर्वोच्च अदालतले अङ्कुश लाएको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ग्याङ सदस्य भनेर पक्राउ गरिएका उनीहरूलाई डिपोर्ट नगर्ने आदेश दिइएको छ । उनीहरूको पक्राउमा १८ औँ शताब्दीको युद्धकालीन कानुन लाइएको छ ।

    गत अप्रिल ८ सम्ममा अमेरिकाबाट १३७ जना भेनेजुएलीहरुलाई एल साल्भादोरको विशाल बन्दिगृहमा डिपोर्ट गरिएको छ ।

    अमेरिकाले एल साल्भादोरलाई पैसा तिरेर आफ्ना अपराधीहरूलाई थुन्दै आएको छ । तर उक्त थुनामा मानव अधिकारको व्यापक हनन भएको भन्दै विश्वभर आलोचना जारी छ ।

    यस अगाडि गैरकानुनी रूपमा डिपोर्ट गरिएका आब्रेगो गार्सियालाई पनि फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । तर ट्रम्प सरकारले भने त्यो सम्भव नभएको जिकिर गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

  • रुस-युक्रेन युद्ध अन्त्यमा प्रगति नभए अमेरिका वार्ताबाट अलग्गिने

    रुस-युक्रेन युद्ध अन्त्यमा प्रगति नभए अमेरिका वार्ताबाट अलग्गिने

    काठमाडौं । रुस-युक्रेनबीचको युद्ध अन्त्यमा कुनै प्रगति नभए अमेरिका शान्ति वार्ताबाट अलग हुने भएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबिओले यसको औपचारिक खुलासा गरेका हुन् । बीबीसीका अनुसार अमेरिकाले हप्तौँ र महिनौसम्म कुनै प्रगतिबिना वार्तामा रहन नसक्ने रुबिओले बताएका छन् ।

    उनले भनेका छन्, ‘अमेरिकाका प्राथामिकता दिने अरु कुराहरू छन् ।’

    रुबिओले यसबारेमा तत्काल समय तोकिनु पर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सहयोगमा कटुवा र घटुवा गरेका छन् भने वार्ताबाट युद्धको अन्त्य गर्ने नेतृत्वकाट पनि अमेरिका पछि हट्न लागेको रुबिओको भनाइले संकेत गरेको छ ।

    अमेरिकाले रुसले कब्जा गरेको भूमि फिर्ता लिने बारेमा कुनै कडा अडान नलिएपछि युक्रेन बिरक्तिएको छ भने रुस उत्साहित छ ।

  • अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्‍याउने

    अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्‍याउने

    काठमाडौं । अमेरिकाले चीनको आयातमाथि लागेको भन्सार कर बढाएर २४५ प्रतिशत पुर्‍याउने बताएको छ ।

    ह्वाइट हाउसले भन्सार कर चीनको प्रतिकार करको जवाफमा भएको उल्लेख गरेको अमेरिकी मिडिया न्यूज विकले उल्लेख गरेको छ ।

    न्यूज विकका अनुसार एक सय प्रतिसतसम्म भन्सार कर बढाउने प्रावधानमा टेकेर यत्ति पुग्ने बताइएको छ ।

    चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चिआङलाई पत्रकारहरूले अमेरिकाले बढाएको भन्सार करबारेमा सोध्दा कर युद्ध अमेरिकाले सुरु गरेको र चीनले त्यसमा प्रतिकार मात्रै गरेको बताएको न्यूज विकले उल्लेख गरेको छ ।

    चीनले अमेरिकी आयातमा १२५ प्रतिशत भन्सार कर लाएको छ । चीन भन्दा एक सय प्रतिशत धेरै अमेरिकाले लगाउने भएको छ । चीनले भने भन्सार कर एक अंकको खेल मात्रै भन्दै थप नलाउने बताइसकेको छ ।

    विभिन्न आँकडाहरूका अनुसार चीनले विश्वमा गर्ने कुल निर्यातको १५ प्रतिशत हाराहारी निर्यात मात्रै अमेरिकामा हुने गरेको छ । बाँकी ८५ प्रतिशत अरू देशमा हुँदै आएको छ ।

    चिनियाँ विज्ञ भिक्टर काओले बेलायती च्यानल ४ सँग बोल्दै यही तथ्यमा आधारित भएर बोलेका थिए, ‘अमेरिका विश्व बजार होइन, विश्व बजार अमेरिका होइन । अमेरिका बिना चीनले पाँच हजार वर्ष बाँच्यो । अब पनि बाँच्छ ।’

  • अमेरिकाका हवाई ठेकदारले इरानलाई सात वर्ष लगातार गोप्य सूचना बेचेको खुलासा

    अमेरिकाका हवाई ठेकदारले इरानलाई सात वर्ष लगातार गोप्य सूचना बेचेको खुलासा

    काठमाडौं । अमेरिकाको हवाई क्षेत्रका एक ठेकेदारले इरानलाई अमेरिकी गोप्य सूचनाहरू बेचेको खुलासा भएको छ ।

    अमेरिकी फक्स च्यानलका अनुसार अमेरिकाको संघीय उड्डयन प्राधिकरण (एफएए)मा आबद्ध एक अङ्गीकृत नागरिकले इरानलाई सात वर्षसम्म सूचना बिक्री गरेको खुलेको हो ।

    उनले सन २०१७ बाट सन २०२४ सम्म सूचना बेचेको स्वीकार गरेका छन् । अबुजार रहमती नामका ती ४२ वर्षे अङ्गीकृत नागरिकले सूचना बेचेको पाइएको हो ।

    उनले बुधवार आफू दोषी भएको बयान दिएको फक्सले उल्लेख गरेको छ ।

    उनी सन २००९ को जुनदेखि सन २०१० को मेसम्म इस्लामिक क्रान्तिकारी सुरक्षा दलमा आबद्ध भएका थिए ।

    इरानको सुरक्षा दस्ताको रूपमा रहेको यसलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको छ ।

  • युक्रेन-रुससँग मध्यस्थता गर्न कतार तयार- के भने विदेश मन्त्रालयका प्रवक्ताले ?

    युक्रेन-रुससँग मध्यस्थता गर्न कतार तयार- के भने विदेश मन्त्रालयका प्रवक्ताले ?

    काठमाडौं । रुस र युक्रेनको युद्धमा मध्यस्थता गर्न कतार तयार भएको छ । रुसी विश्व च्यानल आरटीसँग कुराकानी गर्दै कतारको विदेश मन्त्रालयका प्रवक्ता मजेद महोमद अल अन्सारीले यस्तो बताएका हुन् ।

    पछिल्लो समयमा कतारले एक समन्वय शक्तिको पहिचान बनाउँदै छ । चाहे अमेरिका तालिवान मुद्दा होस् वा इजरायल हमास, सबैमा कतारले देखिने भूमिका देखाइसकेको छ ।

    यसै क्रममा युक्रेन युद्धमा पनि कतारले समन्वयको भूमिका खेल्न सक्ने बताएको हो । प्रवक्ता अन्सारीले आरटीसँग बोल्दै भनेका छन्, ‘प्रारम्भबाटै कतारले दुवै पक्षसँग समन्वय गरेर छलफलको माहोल बनाउनेमा बोल्दै आएको छ ।’

    कतारले छिमेकी साउदी अरबमा शान्तिका प्रयत्न भएकोमा प्रशंसा समेत गरेको छ । कतारका विदशेमन्त्री युक्रेन युद्ध सुरु भएपछि रुस भ्रमण गर्ने प्रथम चरणका विदेशमन्त्रीमा एक भएको भन्दै प्रवक्ता अन्सारीले कतारले समन्वय गर्न तयार भएको बताएका छन् ।

  • आफ्नै देशका राष्ट्रपतिबाट देश जोगाउन भन्दै अमेरिकी विज्ञले देखाए तानाशाहका चार उदाहरण

    आफ्नै देशका राष्ट्रपतिबाट देश जोगाउन भन्दै अमेरिकी विज्ञले देखाए तानाशाहका चार उदाहरण

    काठमाडौं । अमेरिकाका स्टार पत्रकार तथा पुलित्जर अवार्ड विजेता अनुहार निकोलस क्रिस्टोफले अमेरिकाले आफ्नो राष्ट्रपतिबाट जोगिन आवश्यक भएको बताएका छन् ।

    बुधवार न्यू योर्क टाइम्समा आलेख लेख्दै क्रिस्टोफले भनेका छन्, ‘अमेरिकालाई अमेरिकी राष्ट्रपतिबाट जोगाउने समय आएको छ ।’

    क्रिस्टोफले विभिन्न चार उदाहरण दिएर अमेरिका तानाशाही सत्तामा पुगेको तर्क गरेका छन् ।

    आफूलाई चीनमा पत्रकारिता गरेकै कोणमा पक्राउ गरिएको, उत्तर कोरियामा किम जोङ उनकै पुस्तक पत्रकारिताको पुस्तक भएको तथा रुस, भेनेजुएला र बंगलादेशमा पनि त्यस्तै हुने भन्दै अहिले अमेरिका ठीक त्यही बाटोमा पुगेको बताएका छन् ।

    कुनै आपराधिक विगत नभएका आब्रेगा गार्सियालाई एल साल्भाडोरको जेलमा लगिएको नजिर उनले तानाशाहको पहिलो उदाहरणको रूपमा देखाएका छन् ।

    विश्वविद्यालय, कानुन फार्म र आप्रवासीहरूलाई गरिएको ज्यादतीलाई उनले दोस्रो कारण देखाएका छन् ।

    सडकमा भएका मान्छे थुत्दै जेलमा हाल्ने तानाशाह नै भएको भन्दै उनले अदालतले निर्दोष देखाएकालाई विदेशी जेलमा हाल्ने तर आफूलाई आपराधिक मुद्दा हुँदा राष्ट्रपति हुने भन्दै उनले तेस्रो उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।

    चौथो उदाहरण चैँ अमेरिकी समाचार एजेन्सी एपीका पत्रकारले सत्ताले भनेको अस्वीकार गर्दा ह्वाइट हाउसमा प्रवेश नपाएको उदाहरण उनले तानाशाहको रूपमा चित्रण गरेका छन् ।

  • इरानका आणविक क्षेत्रमा आक्रमण गर्ने इजरायली प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

    इरानका आणविक क्षेत्रमा आक्रमण गर्ने इजरायली प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने इजरायली योजना अस्वीकार गरेका छन् ।

    इजरायलको कट्टर दुस्मन इरानका आणविक क्षेत्रमा आगामी मे महिनामा आक्रमण गर्ने बारेमा इजरायलको योजनामा ट्रम्पले अस्वीकार गरेको अमेरिकी अखबार न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

    यही महिनाको प्रारम्भमा ट्रम्पले इजरायली अधिकारीहरूलाई यसको अवगत गराएको समाचारमा लेखिएको छ ।

    न्यू योर्क टाइम्सका चार पत्रकारले लेखेको संयुक्त समाचारका अनुसार इरानलाई आणविक सम्झौतामा कमजोर बनाउन इजरायलले आणविक क्षेत्रमा आक्रमण गर्ने प्रस्ताव गरेको थियो ।

    इरानको आणविक क्षेत्रमा आक्रमण गरेमा ठूलो युद्धको जोखिम टर्ने भन्ने प्रस्तावमा ट्रम्पले अस्वीकार गरेको बताइएको छ ।

    समाचारमा भनिएको छ, ‘अबबाट ट्रम्पले सैन्य कदम होइन कूटनीतिक कदम छानेका छन् ।’

  • संयुक्त राष्ट्रसंघ र नेटोको सबैजसो बजेट कटौती गर्ने तयारीमा अमेरिका

    संयुक्त राष्ट्रसंघ र नेटोको सबैजसो बजेट कटौती गर्ने तयारीमा अमेरिका

    काठमाडौं । विभिन्न साझेदार मुलुकहरुलाई कर लगाउनेदेखि विश्वविद्यालयमा अनुदान कटौती गर्ने अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)लाई दिने भुक्तानी पनि कटौती गर्न सक्ने देखिएको छ ।

    अमेरिकी अखबार न्यू योर्क टाइम्सका अनुसार अमेरिकाले लगभग सबै नेटो भुक्तानी बन्द गर्न सक्नेछ । अमेरिका संयुक्त राष्ट्रसंघको पनि अनुदान काट्न सक्ने अखबारले उल्लेख गरेको छ ।

    स्टेट डिपार्टमेन्टको बजेटलाई आधार घटाउने योजना अनुसार यस्तो गर्ने योजना भएको बताइएको न्यू योर्क टाइम्सलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    अमेरिकी समाचार एजेन्सी एपीले खर्च कटौती व्यापक गर्न थालिएको भन्दै कुटौतीको सम्भावना भएको विभिन्न अधिकारीहरुसँग कुरा गरेर उल्लेख गरेको छ ।

    तर अमेरिकी कंग्रेसबाट पारित हुनुपर्ने भएकोले तत्काल कटौतीको नजिता भने आइनहाल्ने देखिएको छ । सोमबार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युरोप अमेरिकाको ‘भेसल स्टेट’ भएको भन्दै अमेरिकाले युरोपको सुरक्षा खर्च धान्न नसक्ने बताएका थिए ।

  • सोनिया र राहुल गान्धीविरुद्ध मोदी सरकारले लगायो सम्पत्ति शुद्धीकरण मुद्दा, के हो कारण ?

    सोनिया र राहुल गान्धीविरुद्ध मोदी सरकारले लगायो सम्पत्ति शुद्धीकरण मुद्दा, के हो कारण ?

    काठमाडौं । भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपपत्र दर्ता भएको छ । नरेन्द्र मोदी सरकारको प्रत्यक्ष निर्देशनमा चल्ने प्रवर्तन निर्देशनालय अर्थात इन्फोर्समेन्ट डिपार्टमेन्टले कांग्रेसका मुख्य नेता सोनिया र राहुल आमा छोराविरुद्ध आरोपपत्र दाखिल भएको हो ।

    भारतको सरकारी समाचार संस्था पीटीआईका अनुसार ९ अप्रिलमा दायर भएको चार्जसीटमाथि २५ अप्रिलमा सुनुवाइ हुनेछ । चार्जसीटमा कांग्रेसका अन्य नेता श्याम पित्रोदा र राजीव गान्धी फाउन्डेशनका ट्रष्टी सुमन दुबेलाई पनि अभियुक्त बनाइएको छ ।

    सोनिया भारतीय पूर्वप्रधानमन्धी राजीव गान्धीकी पत्नी र राहुल छोरा हुन् । इडीले यसै महिना एसोसियटेड जर्नल लिमिटेडको ६६१ करोड रुपैया बराबरको सम्पत्ति जफ गर्ने प्रक्रिया थालेको थियो । नेशनल हेराल्ड पत्रिकाको प्रकाशक संस्था एशोसियटेड जर्नल्स प्रालिको मुख्य हिस्सेदार योङ इण्डिया प्रालि हो । यो कम्पनीमा राहुल र सोनियाको हिस्सेदारी रहेको पीटीआईले जनाएको छ ।

    नेशनल हेराल्ड अखबारको स्थापना सन् १९३८ मा पण्डित जवाहरलाल नेहरुले गरेका थिए । नेहरु परिवारबाट उनीसहित छोरी इन्दिरा र नाति राजीव प्रधामन्त्री भए भने राहुल गान्धी अहिले भारतीय लोकसभामा विपक्षी दलका नेता छन् ।

    विपक्षी भारतीय कांग्रेसले भने सोनिया र राहुलमाथिको अभियोग प्रधामन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले धम्क्याउने ढंगले नयाँ राजनीति थालेको प्रतिक्रिया दिएको छ ।

  • बेलायती च्यानलमा चिनियाँ विज्ञ- चीन अमेरिकाविनै पाँच हजार वर्ष टिक्यो, अब पनि टिक्छ

    बेलायती च्यानलमा चिनियाँ विज्ञ- चीन अमेरिकाविनै पाँच हजार वर्ष टिक्यो, अब पनि टिक्छ

    काठमाडौं । बेलायतको च्यानल ४ मा बोल्दै एक चिनियाँ विज्ञले चीन अमेरिकाविनै पाँच हजार वर्ष टिकेको भन्दै अब पनि टिक्न सक्ने बताएका छन् ।

    सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन नामक संस्थाका उपसभापति भिक्टर काओले चीन र अमेरिकाको भन्सार कर युद्धसँग जोडिएको सवालमा भने, ‘चीन अन्तिमसम्म युद्ध लड्न तयार छ ।’

    विश्व बजार नै अमेरिका र अमेरिका नै विश्व बजार नभएको भन्दै काओले यस्तो बताएका हुन् ।

    चीनले अमेरिकाको १५ प्रतिशत बजार नपाउनेबारेको पत्रकारको प्रश्नमा काओले भने, ‘हामीलाई कुनै मतलब छैन ।’

  • भियतनामका विश्व चर्चित कम्युनिष्ट नेता हो चि मिन्हलाई चिनियाँ राष्ट्रपतिको श्रद्धासुमन

    भियतनामका विश्व चर्चित कम्युनिष्ट नेता हो चि मिन्हलाई चिनियाँ राष्ट्रपतिको श्रद्धासुमन

    काठमाडौं । भियतनामको राजकीय भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सि चिनफिङले श्रद्धा सुमन व्यक्त गरेका छन् । भियतनाम न्यूजका अनुसार सिले हा नोइमा रहेको सधामिस्थलमा मंगलबार श्रद्धासुमन चढाएका हुन् ।

    अमेरिकासँग सुरुङ युद्ध लढेका हो चि मिन्हलाई धेरै विश्व कम्युनिष्ट नेताहरुले मान्ने गर्छन् । नेपालमा पनि हो चि मिन्हकै लाइनमा गएर इलाम चमौतामा चर्चित नेता रत्नकुमार बान्तवाले सुरुङ युद्ध सुरु गरेका थिए । उनका आदर्श हो चि मिन्ह नै थिए ।

    दुई दिने भियतनाम भ्रमणको क्रममा पुगेका सि सोमबार भियतनाम आएका थिए । दुई देशका राजनीतिकदेखि सुरक्षासम्मका सम्झौताहरु पनि सार्वजनिक भएका छन् । सिको यो चौँथो भियतनाम भ्रमण हो ।

     

  • युरोपले सुरक्षामा आवश्यक खर्च गरेन, अमेरिकाले एक्लै खर्च गर्दैन : अमेरिकी उपराष्ट्रपति भेन्स

    युरोपले सुरक्षामा आवश्यक खर्च गरेन, अमेरिकाले एक्लै खर्च गर्दैन : अमेरिकी उपराष्ट्रपति भेन्स

    काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले युरोपले आफ्नो सुरक्षा खर्च आवश्यकताअनुसार नगरेको आरोप लगाएका छन् । उनले युरोप सँधै अमेरिकाको ‘भेसल स्टेट’ बन्न नसक्ने भन्दै उनले कटाक्ष गरेका हुन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार सोमबार अनहर्ड नामक एक च्यानलमा बोल्दै भेन्सले यस्तो बताएका हुन् । युरोपेली देशहरुसँग आलोचनात्मक टिप्पणी गर्नमा चर्चित भेन्सले भनेका छन्, ‘सिधासिधी भन्नुपर्दा मेरो जीवनभरी युरोपको सुरक्षा अमेरिकी सहायतामा चलेको छ । यो सत्य हो ।’

    युरोपको सुरक्षा बजेट कुल गाहस्थ उत्पादनको २ प्रतिसत लाने भनेर सन् २०१४ मा भनिएता पनि अहिलेसम्म त्यो लक्ष्य हासिल भएको छैन । यहीबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कटाक्ष गर्दै आएका छन् ।

    अमेरिकाले सुरक्षा गरिदिएकोले धेरै रकम बचेर युरोपले सामाजिक सुरक्षामा लगाउन पाएको ट्रम्प पक्षधर अमेरिकीहरुले आरोप लगाउँदै आएका छन् । नेटो महासचिव मार्क रुटले अमेरिकी अधिकारीहरुको भनाइमा लय मिलाँउदै युरोपले सुरक्षा बजेट बढाँउनुपर्ने बताउँदै आएका छन् ।

     

  • ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय, २ अर्ब डलरको संघीय अनुदान रोक्ने चेतावनी

    ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय, २ अर्ब डलरको संघीय अनुदान रोक्ने चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व विख्यात हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक लगाउने भएको छ ।

    ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयसँग राखेका कतिपय माग अश्वीकार गरेपछि ट्रम्प प्रशासनले अनुदान रोक्ने भएको हो । देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमाथि भएको यो ज्यादतीको विरोध भइरहेको छ ।

    यसअघि ह्वाइट हाउसको तर्फबाट हार्वर्ड विश्वविद्यालयसमक्ष केही सरोकारको सूची पठाइएको थियो । ती मागलाई विश्वालय प्रशासनले विश्वविद्यालय क्याम्पसमा यहूदीविरोधी भावनासँग लड्ने जमात तयार पारेको आरोप छ ।

    ट्रम्प प्रशासनले विश्वविद्यालयको प्रशासन, प्रवेश र नियुक्ति प्रक्रियामा संशोधन गर्न भनेको थियो । यहूदीविरोधी भावना भड्काउने उद्देश्यले हार्वर्डमा विदेशी विद्यार्थी भर्ना भएको ह्वाइट हाउसको आरोप छ । विश्वविद्यालयमा भर्ना प्रक्रियामाथि ह्वाइट हाउसले गर्न खोजेको हस्तक्षेपको हार्वर्ड प्रशासनले खारेज गरेको थियो ।

  • युक्रेन युद्धबारे ट्रम्प- यो बाइडेनको युद्ध हो, अलिकति दिमाग भएको भए रोक्नेथिए

    युक्रेन युद्धबारे ट्रम्प- यो बाइडेनको युद्ध हो, अलिकति दिमाग भएको भए रोक्नेथिए

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन युद्ध बाइडेनको कारण भएको भन्दै यसले बाइडेन युद्ध उपमा दिएका छन् । युक्रेनलाई दिइने सैन्य तथा युद्ध सहयोगमा सँधै आलोचनात्मक लाइन लिने ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै लाइनमा यसलाई बाइडेन युद्ध भनेका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार ट्रम्पले आइतबार एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनमा ‘अलिकति दिमाग’ भएको भए यो युद्ध रोकिने बताएका छन् ।

    ट्रम्पले रुसी राष्ट्रपतिको बाइडेनसँग अतिकति पनि सम्मान नहुनुको कारण त्यही युक्रेन युद्ध कारण भएको बताएका छन् । बाइडेन कालमा अमेरिकाले युक्रेनलाई १७५ अर्ब डलर सैन्य तथा युद्ध सहयोग गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

     

     

  • चीन र भियतनामी कम्युनिष्ट शासकबीच समाजवादी बाटोमा हिँड्न सहकार्य गर्ने सहमति

    चीन र भियतनामी कम्युनिष्ट शासकबीच समाजवादी बाटोमा हिँड्न सहकार्य गर्ने सहमति

    काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्नो विदेश भ्रमण छिमेकी मुलुक भियतनामबाट सुरु गरेका छन् । आसियान क्षेत्रको भियतनाको सत्ताधारी कम्युनिष्ट पार्टीका महासचिव तो लामसँग सिले भेटवार्ता गरेका छन् ।

    चिनियाँ विदेश मन्त्रालयकि प्रवक्ता माओ निङले सार्वजनिक गरेको जानकारीअनुसार दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष परा भएको तथा एकले अर्काको स्वतन्त्रताको लडाइँमा सहयोग गरेको दुई महासचिवले कुरा गरेका थिए । ू

    साथै दुई देशको आधुनिकिकरणमा सहकार्य भएको सवाल पनि उठेको बताइएको छ । चीनले छिमेक नीतिमा भियतनामलाई साथ दिएको भन्दै समाजवादी बाटोमा हिँड्न सहकार्य हुने छलफल भएको छ ।

    आपति मतभेद हटाउँदै सुरक्षादेखि राजनीतिक सहकार्य गर्ने विभिन्न छ बुँदामा सहमति भएको पनि विदेश मन्त्रालयकि प्रवक्ता माओ निङले उल्लेख गरेकी छन् ।