Category: स्वास्थ्य-जीवनशैली

  • चीन सरकारले दियो सिनोफार्म खोपलाई अनुमति,

    चीन सरकारले दियो सिनोफार्म खोपलाई अनुमति,

    बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःशर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

    सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

    यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

    चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘सःशर्त’ अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए । चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ ।

    उपमन्त्री झेङले भने, ‘कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं । बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ ।

    चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ ।

  • बिरामी कुरुवाले हातपात गरेपछि लुम्बिनी अस्पतालमा चिकित्सकको धर्ना

    बिरामी कुरुवाले हातपात गरेपछि लुम्बिनी अस्पतालमा चिकित्सकको धर्ना

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इर्मेजेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन् ।

    गत पुष १० गते राति ११ बजे मादक पदार्थ सेवन गरेका बिरामी कुरुवा अनुराग रसाइलीले ड्युटीमा रहेका एक जना डाक्टरलाई हातपात गरेको र ३ जना प्यारामेडिकललाई अपशब्द बोलेको डाक्टर राजेन्द्रबहादुर क्षेत्रीले बताए ।

    बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा डाक्टरमाथि हातपात भएको क्षेत्रीले बताए ।
    डाक्टरलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिए पनि कुनै कानुनी कारबाही प्रक्रिया अघि नबढ्दा आफूहरू आन्दोलित हुन बाध्य भएको उनले बताए ।

    चिकित्सकमाथि हातपात गर्ने कुरुवालाई कानुनी कारबाही नहुँदासम्म आफूहरूको धर्ना जारी रहने उनले बताए ।

  • राष्ट्रियसभाका सांसदहरुको स्वाब संकलन, रिपोर्ट भोलिमात्र

    राष्ट्रियसभाका सांसदहरुको स्वाब संकलन, रिपोर्ट भोलिमात्र

    काठमाडौं । शुक्रवारदेखि शुरु हुने राष्ट्रियसभा बैठकमा सहभागी सांसदहरुको कोभिड -१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

    संसद भवनमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना,उयाध्यक्ष शशीकला दाहाल सहित सांसदहरुले स्वाब दिएका हुन् । कतिपय सांसद काठमाडौं बाहिरबाट आउँदै गरेकाले स्वाब संकलन बाँकी रहेको हुनसक्ने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।

    राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको हो । रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र बैठकमा बस्न पाउनेछन् । रिपोर्ट भोलिमात्र आउने बताइएको छ ।

  • नयाँ कोरोनाभाइरस भेटिएपछि दिल्लीमा कर्फ्यु

    नयाँ कोरोनाभाइरस भेटिएपछि दिल्लीमा कर्फ्यु

    दिल्ली /नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमणको डरले दिल्लीमा रात्रीकालिन कर्फ्यु घोषणा गरिएको छ । दिल्ली सरकारले अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा संक्रमण फैलिने भन्दै विहिबार र शुक्रबार निषेधाज्ञा घोषणा गरेको हो ।

    नयाँवर्ष मनाउन मानिसहरुले रात्री समयमा भीडभाड गर्ने र त्यसले संक्रमण फैलाउन मद्दत गर्ने भएपछि कर्फ्यु लगाउनुपरेको जनाइएको छ ।

    दिल्ली विपद व्यवस्थापन प्राधिकरणले डिसेम्बर ३१ को राती ११ बजेदेखि बिहान ६ बजे र जनवरी १ को राती ११ बजेदेखि भोलिपल्ट ६ बजेसम्म कर्फ्यु लागु गर्ने जनाएको हो । सार्वजनिक स्थलमा पाँचजनाभन्दा बढी भेला हुन र नयाँवर्षको कुनैपनि उत्सव, कार्यक्रम र समारोह राती नगर्न भनिएको छ ।

    दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेपछि यस्तो आदेश गर्नुपरेको जनाइएको छ । पछिल्लो समय दिल्लीमा कोभिड संक्रमण कम हुँदै गएको छ । बुधबार मात्रै दिल्लीमा ७०३ जना संक्रमित थपिएका थिए ।

  • नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी खतरनाक

    नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी खतरनाक

    कोरोना महामारीका कारण विश्व आक्रान्त बनिरहेको बेला बेलायत र अमेरिकामा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको छ । नेपालमा पनि यसले त्रास बढाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेका अनुसार यो भाइरसलाई ‘सार्स कोभिड २ भ्यारिएन्ट’ नाम दिइएको छ । नेपालमा पनि सजगता अपनाउनका लागि अहिले संक्रमित देशबाट आउनेहरूलाई सरकारले निगरानीसमेत गर्न थालेको छ । नयाँ प्रजातिको भाइरस के हो ? यसबाट कसरी सचेतना अपनाउने भन्नेबोरे डा वासुदेव पाण्डेसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी:

    नेपालमा कोभिड–१९ को खोप ल्याउने तयारी भइरहेको बेला नयाँ प्रजातिको भाइरसको त्रास देखिन थालेको छ । वास्तवमा यो कस्तो खालको भाइरस हो ?

    भाइरस त नयाँ आइरहने कुरा हो । भाइरसको प्रकृति सामान्यतया यो समयअनुसार परिवर्तन हुन्छ । परिवर्तन भएपछि समाजमा मिल्दै जाने हो । युकेमा नयाँ प्रकृतिको भाइरस देखा परेको छ । अघिल्लो भन्दा ७० प्रतिशतभन्दा बढी सर्ने क्षमता यो भाइरसले बोकेको छ ।

    परीक्षण गर्ने तरिका फरक छ कि एउटै हो ?

    केही प्रक्रिया फरक छन् । अहिले यहाँ परीक्षण गर्न सकिएन भने बाहिर नै पठाउनुपर्छ ।

    कोभिड–१९ भन्दा बढी प्रभाव पार्छ त यसले ?

    मान्छेको मृत्यु हुने भन्ने त हुँदैन । अहिलेसम्म यस्तो थाहा भएको छैन । यो भाइरसले धेरै मान्छेलाई सार्छ भन्ने कुराचाहिँ अनुसन्धानले देखाएको छ ।

    नेपालमा युके, अमेरिकाबाट नागरिक आउने क्रम जारी छ । नेपालमा कन्ट्याक्ट ट्रेसिङको पाटोमा के भइरहेका छन् ?

    जुन देशमा यो भाइरस संक्रमण छ त्यो देशबाट आउने मान्छेको सूची एयरपोर्टबाट हामीले पाएका छौं । त्यहाँ हाम्रो टिम नै बसेको छ । उनीहरूको नाम सूची तयार गर्ने, कसैलाई लक्षण देखियो भने हष्पिटलमा भर्ना गर्ने, प्रदेशतिर गइरहेका छन् भने प्रदेशमा खबर गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने ।

    अर्कोचाहिँ स्थानीयले पनि कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छन् । टिम तयार भएको हुँदा सहज छ । पहिलेजस्तो १५/२० जनाले गर्ने होइन । धेरै टिम छ अहिले त ।

    अर्को कुराचाहिँ हामीले पूर्व तयारी त सधैं गरिरहनुपर्छ । यो छाडे पनि अर्को भाइरस आउँछ । हामी सधैं तयारीका साथ बस्नुपर्छ ।

    यो भाइरसका लागि नागरिकले ध्यान दिनुपर्ने कुरा के छन् ?

    मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम गर्ने नै हुन् । तर, अहिले सचेतना भन्ने कुरा फिटिक्कै देखिन्न । जुलुसहरूले झन् संक्रमण फैलाउने डर बढिरहेका छन् । बाटो हिँड्दा पनि कठिन छ । सावधानी अपनाउनुपर्यो ।

    हामीले सचेतता अपनाऔं भनिरहेका छौं । कोरोनाकै अर्को वेभ पनि सुरु हुन सक्छ । मानिसहरूले सचेतना अपनाउन छाडिसके ।
    नयाँ प्रजातिको भाइरसबारे पनि सजग भइरहनुपर्छ । मानिसहरूमा म त्रास देख्दिनँ । तर, पहिलेभन्दा छिटो र धेरैलाई सार्ने भएको हुँदा हामीले ध्यान नदिई सुखै छैन ।

  • लिटरेचर फेस्टिभलमा स्वास्थ्य बहस

    लिटरेचर फेस्टिभलमा स्वास्थ्य बहस

    काठमाडौं । ‘शुक्रराज ट्रपिकल तथा टेकु अस्पताल कोरोनाविरुद्धको लडाइँमा कसरी एक नम्बर देखियो ?’ अस्पतालका विशेषज्ञ एवम् महामारीमा खटिने फ्रन्टलाइनर डाक्टर अनुप बास्तोलालाई यो प्रश्न सोधिएको थियो । डा. बास्तोलाले बेलीविस्तार लगाए, ‘नेपालमा पहिलो संक्रमित हामीले पत्ता लगाएपछि राज्य पनि तात्यो । रोगग्रस्त क्षेत्रबाट आएकालाई आइसोलेसन गर्न हामी तात्यौं । भारतमा संक्रमण बढ्न थालेपछि नेपालमा सजिलै बढ्न सक्छ भन्ने थाहा थियो । त्यतिबेला अन्य अस्पतालले ढोका लगाएर बसेका थिए ।’

    एउटा प्रसंग झिक्दै उनी बोल्दै थिए, ‘निमोनिया भएको महिलालाई अन्य अस्पतालमा उपचार नगरेर कोरोना भन्ने ठानेर ढोका लगाएको अवस्था थियो । यस्तो बेलामा हामी रेस्पोन्डर भयौं ।’

    टेकुले उपचार गर्न आउने कुनै पनि कोरोनाको बिरामीलाई घर फर्काएन । बास्तोलाका अनुसार टेकु टिम बलियो बनाउनतर्फ अघि बढ्यो । यसअघिका सरुवा रोगको अनुभव सँगालेको टेकुले अनवरत रुपमा बेस्ट उपचार दिन लागिपर्यो ।

    आईएमई लिटरेचर फेस्टिभलको ‘कोरोनाले गलाएको जनस्वास्थ्य’ सेसनमा वक्ताका रुपमा उभिएका अनुपले कोरोनासँग लड्दै गर्दाको अनुभव सुनाए । अनुपसँगै थिए सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी र डा. रोलिना धिताल । प्रस्तोता थिइन् सोविता गौतम । डा अनुप समग्र कोरोना पक्षबारे नेपालमा राम्रा काम भइरहेको पनि सुनाउँछन् । यही प्रसंगमा दूरदराजमा भ्याक्सिन पठाउन सरकार नचुकेको बताउँछन् । ‘कोरोनाले हामीलाई धेरै पाठ पढाएको छ । पीसीआर मेसिन बढ्नु र जनमानसमा सचेतना बढ्नु ठूलो उपलब्धि हो,’ डा अनुप भन्छन् ।

    कोरोनाकालमा कहाँ चुक्यौं ?

    डा. रोलिना कोरोनाले स्वास्थ्य क्षेत्र गलाइनसकेको तर्क गर्छिन् । नेपालको स्वास्थ्य प्रणाली विश्वको तुलनामा बलियो नहुँदा पनि केही राम्रा पक्ष रहेको उनको दावी थियो । कोरोनाको सवालमा नेपालले यो लेभलको महामारी ह्याण्डिल गरेको पहिलो पटक हो । सुरुवाती चरणमा कोरोनाविरुद्ध नेपालको तयारी राम्रो रहेको उनको बुझाइ छ ।

    ‘नेपालले सुरुमा छिटो लकडाउन गरेर राम्रो काम गरेको थियो । पछि कन्ट्याक्ट ट्रेसिङमा बाटो बिरायौं ।’ रोलिनाले भियतनामसँग तुलना गर्दै भनिन्, ‘भियतनाममा एउटालाई संक्रमण भयो भने ६०० भन्दा बढीलाई ट्रेसिङ गरियो । हाम्रोमा रिसोर्स छैन भनेर बिरायौं । आज भियतनामले महामारीमा राम्रो गरेको छ ।’

    यस्तो महामारीले पाठ सिकाएको उनको भनाइ थियो ।

    कमजोर अनुसन्धान

    संवादमा डा अनुप सुवेदीलाई प्रस्तोताको प्रश्न थियो, ‘स्वास्थ्यमा अनुसन्धान किन भइरहेको छैन ?’ डा सुवेदी यसभित्रका अन्तर्यबारे बोल्छन् । विश्वविद्यालयमा थुप्रै प्राध्यापक मेथोडोलोजी नबुझेका भएकाले रिसर्च कल्चरमा विकृति आएको बताउँछन् । ‘विश्वविद्यालयका प्राध्यापक आफैं जर्नल लेख्ने, आफैं प्रकाशित गर्ने, त्यो देखाएर प्रमोसन माग्ने कल्चर छ,’ डा सुवेदी भन्छन् ।

    राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदमा पनि संरचनागत समस्या भएको उनको ठहर छ । ‘यसले इथिकल रिभ्यू गर्छ । तर, यहाँ ठूलो द्वन्द्व छ । कसैले अनुसन्धान गर्छु भनेर आयो भने स्वीकृति दिनेहरूको नाम प्राइमरी इन्भेस्टिकेसनमा राखिसकेपछि मात्र त्यो पास हुन्छ । बाहिरबाट पढेर आएर त्यहाँ रिसर्च गर्ने मान्छेको भन्नुभएको तीतो अनुभव छ, उहाँहरू अनुसन्धानको एप्लिकेसन हालेपछि ४/५ महिना झुलाइन्छ । जब कि त्यो सामान्य स्टडी हुन्छ,’ डा सुवेदी सुनाउँछन् ।

     

     

     

  • भारतमा आइपुग्यो नयाँ कोरोना, ६ जना संक्रमित

    भारतमा आइपुग्यो नयाँ कोरोना, ६ जना संक्रमित

    बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजाति भारतमा समेत देखापरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट पुगेका ६ यात्रीमा नयाँ कोरोनाभाइरस पुष्टि भएको हो ।

    मन्त्रालयको निर्देशनअनुसार संक्रमितलाई भारतका विभिन्न ठाउँका अस्पतालमा भर्ना गरिएको छ । २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतका विभिन्न सहरबाट ३३ हजार यात्रु भारत पुगेका थिए ।

    संक्रमित ११४ जनामध्ये नयाँ प्रजातिको कोरोना ६ जनालाई पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य संक्रमितको स्वाबलाई प्रयोगशालामा पठाइएको छ ।

    बेलायतबाट फर्किएका ६ जना नेपालीमा कोरोना देखिएपनि नयाँ प्रजातिको हो वा होइन भन्ने पुष्टि गर्न नमुनालाई हङकङ पठाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनमै यसबारे पुष्टि हुने जनाइएको छ ।

  • बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको कोरोना

    बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको कोरोना

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए ।

    महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”

    उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिए ।

    महाशाखाका निर्देशक डा पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती संक्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ ।

  • कोरोनाविरुद्धको खोप ४ महिनाभित्र ल्याइने, यस्तो छ तयारी

    कोरोनाविरुद्धको खोप ४ महिनाभित्र ल्याइने, यस्तो छ तयारी

    काठमाडौं। नेपालमा कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । भ्याक्सिन भण्डारण गर्न ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप महाशाखाले जनाएको छ।
    धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोग गरिने बताइएको छ। महाशाखाका अनुसार कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको छ।
    सअनुसार खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको खोप रहेको छ।
    नेपालले खोजेजस्तो मापदण्डको खोप अहिले विश्व बजारमा नआइसकेकोले खोप खरिद प्रक्रिया अघि नबढाइएको भएपनि कोरोना खोप छिटो भित्र्याउन तीब्र रूपमा समन्वय र पहल भइरहेको खोप माहाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए। खोप पहिलो चरणमा स्वास्थ्यकर्मी र ८० वर्षमाथिकालाई सरकारले प्राथमिकतामा राखेको छ।
    सरकारले कोरोनाविरुद्धको खोप ल्याउन खोपविज्ञ डा.श्यामराज उप्रेतीको नेतृत्वको विज्ञ समिति गठन गरेको छ । समितिले खोप निर्माण गर्ने कम्पनी र सम्बन्धित देशका सरकारलाई पत्राचार गरिसकेको उप्रेतीले बताए । चार महिनाभित्रमा नेपालमा खोप आइसक्ने उनको भनाइ छ ।
  • जन्मदिनकै दिन जटिल शल्यक्रिया, होश खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !

    जन्मदिनकै दिन जटिल शल्यक्रिया, होश खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !

    काठमाडौं । जब बुटवलकी १८ वर्षीया विमलाको होश खुल्यो, शय्या वरिपरिका दृश्यले उनी चकित परिन् । उनका आँखामा रंगीबिरंगी बेलुन, क्यान्डल लाइट, आफन्त, शुभेच्छुकसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले चमक ल्याइदिए ।

    उनलाई के थाहा मृत्युसँग लडिरहेको शय्यामा जन्मदिनकै दिन पुनर्जीवन पाउँछु भनेर । संयोग पनि कस्तो ! जन्मदिनकै दिन ब्रेनट्युमरको जटिल अप्रेसन हुनु, होश आउनु र सरप्राइज बर्थडे अस्पतालले मनाइदिनु ।

    घटना नर्भिक अस्पतालको हो ।

    विमला केही दिनअघि ब्रेनमा ट्यूमर पलाएर शल्यक्रियाका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । अप्रेसन थिएटरमा पस्दै गरेकी विमलालाई लागेको थिएन, फर्केर आउँछु भनेर ।

    ‘अपरेसन थिएटरमा जानुअघि बिरामी केही आत्तिएको र निराश बनेको देख्यौं । मेरो करिअरकै पहिलो र दुर्लभ क्षण थियो यो,’ नर्भिक इन्टरनेशनल अस्पतालका सिनियर यूरो सर्जन प्रा.डा. राजीव झा भन्छन्, ‘सोही दिन उनको जन्मदिन परेको रहेछ । जन्मदिनको दिन नै जटिल शल्यक्रियाको निर्णय लिएका कारण केही अशुभ पो हुने हो कि भन्ने चिन्ता समेत रहेछ ।’

    शल्यक्रिया सफल भएपछि झा नेतृत्वको टिमले शल्यक्रियापछि उनको जन्मदिनलाई उत्सवको रुपमा त्यहीं मनाइदिने निर्णय गर्यो । ६ घण्टा लामो अथक् प्रयासपछि उनको शल्यक्रिया सफल भयो । बिहान ८ बजेदेखि सुरु भएको शल्यक्रिया सफल भएको ३ घण्टाभित्रै बिरामीको होश खुलिसकेको थियो । जब होश खुल्यो, त्यसबेला स्वास्थ्यकर्मीहरूले बिरामीको कोठा सिंगारिसकेका थिए । अपरेसनको पीडाबाट उठ्दै गर्दा विमलाका लागि नर्भिक टिमले सरप्राइज दिएको थियो– बर्थ डे गिफ्ट !

    विमलाका आफन्त र नर्भिकका स्वास्थ्यकर्मीहरुले सुरक्षित ढंगले आईसीयूमै विमलाको जन्मदिन मनाइदिए ।

    अस्पतालमा शल्यक्रिया गर्न आएकी विमला पनि नर्भिकका सरप्राइज गिफ्टका कारण दंग थिइन् । ‘बिरामीहरूको यो किसिमको केयरिङ हुने अस्पताल पनि नेपालमा रहेछ भन्ने महसूस भयो ।’

    डा. झाका अनुसार विमलाको ब्रेनको ट्यूमर जटिल प्रकारको थियो । जुनसुकै खालको जोखिम आउन सक्थ्यो । तर, अशुभ भएन । अहिलेसम्म १५ हजार बढी अप्रेसन गरिसकेका डा. झाले अपरेसनपछि होश खुलेलगत्तै बिरामीको बर्थ डे मनाइदिएको क्षण आफ्ना लागि स्मरणीय रहने बताए ।

     

  • अग्रपंक्तिमा खटिएकाहरुको समस्यामा गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    अग्रपंक्तिमा खटिएकाहरुको समस्यामा गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

    कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।

    स्वास्थ्यकर्मीहरुले आइतबार माइतीघरमण्डलमा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन् । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरु उठाउँदा पनि बेवास्ता गरिएको बताए । विश्वभर कोभिड–१९ को नयाँनयाँ रुप देखिदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेखाएको डा. लोचनले बताए ।

    स्वास्थ्यकर्मीहरुले आईसियु, भेन्टिलेटरलगायतका उपकरणहरुको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परिक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उपलब्ध गराइने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन, आइसाेलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने लगायतका माग राखेका छन् ।

    आफूहरुको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताए ।

     

  • नेपाली नाइट क्लबमा कोभिड प्रोटोकल अवज्ञा, सेकेन्ड-वेभ आउने विज्ञको चेतावनी

    नेपाली नाइट क्लबमा कोभिड प्रोटोकल अवज्ञा, सेकेन्ड-वेभ आउने विज्ञको चेतावनी

    कोरोनाभाइरस संक्रमणको जोखिम व्यापक बढेपनि हटस्पट काठमाडौंमा बेपर्वाह बढेको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सर्तमा रात्रीक्लब खुला गरेपनि यसको पालना भएको देखिएको छैन । क्रिसमस इभ अर्थात शुक्रबार ठमेलका रात्री क्लबमा यस्तो दृश्य देखियो ।

    सयौं जनाको भीडमा बिना मास्क र सामाजिक दूरीसहित तन्नेरीहरु झुमिरहेका देखिए । लर्ड अफ रिङ्स क्लबसहितका अन्य क्लबमा यस्तो जोखिमपूर्ण भीड देखिएको हो । पर्व मनाउने बहानामा यी क्लबमा सामाजिक दूरी र मास्कको पुरै अवज्ञा भएको छ । स्थानीय प्रशासनले यस्तो कुरामा वास्ता गरेको छैन ।

    जनस्वास्थ्य विज्ञ डा. समीरमणी दीक्षितले यो दृश्यलाई पुरै मुर्खताको संज्ञा दिए । नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले ‘पागलपन’ भनेका छन् । सामाजिक सञ्जाल ट्वीटर लगायतका भित्तोमा नेपाली रात्रीक्लबले कोभिड प्रोटोकल पालना नगर्दै गरेको भीडभाडको व्यापक आलोचना भएको छ ।

    अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले नेपाली रात्रीक्लबको यस्तो दृश्यलाई व्यापक महत्व दिएर फोटो फिचर प्रकाशन गरेको थियो । अन्य मुलुकमा रात्री क्लब बन्दै रहेपनि नेपाली क्लब भने नौ महिनापछि खुलेका हुन् । प्रशासनले चाहिँ सर्तसहित खोल्न अनुमति दिएको हो तर सर्तको पालना भएको छैन ।

    तस्विरहरु : एलओडी क्लब

  • कोरोनाभाइरसको नयाँ प्रजाति अन्य मुलुकमा फैलन थाल्यो

    कोरोनाभाइरसको नयाँ प्रजाति अन्य मुलुकमा फैलन थाल्यो

    बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ प्रजाति अन्य मुलुकमा समेत फैलिन थालेको छ । फ्रान्समा पहिलोपटक भेटिएको त्यहाँका अधिकारीले जनाएका छन् ।

    फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गतसाता लन्डनबाट पेरिस फर्किएका एकजना पुरुषमा यस्तो खाले भाइरस फेला परेको थियो । कुनै लक्षण नदेखिएका उनलाई टुर्सस्थित घरमा एकान्तवास राखिएको जनाइएको छ ।

    बेलायतसँगको यात्रा प्रतिबन्ध हटाएपछि फ्रान्समा संक्रमण भेटिएको हो । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अष्ट्रेलिया र नेदरल्यान्डमा पनि भेटिएको थियो ।

    भाइरस संक्रमण व्यापक भएपछि नेपालसहित दुईदर्जन मुलुकले बेलायतसँगको हवाइ सम्पर्क विच्छेद गरेका छन् । कोभिड–१९ का कारण युकेमा ७० हजारभन्दा बढीको ज्यान गएको छ । भाइरसको संक्रमण ह्वात्तै बढेपछि बेलायतमा अहिले लकडाउन छ ।

  • चितवनमा बढे डेंगी र स्क्रब टाइफसका बिरामी

    चितवनमा बढे डेंगी र स्क्रब टाइफसका बिरामी

    चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेंगी र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    डेङ्गु सङ्क्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेंगीका सबै बिरामीको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण दर गत वर्षभन्दा यस वर्ष कम छ । गत आर्थिक वर्षमा चार हजार ८०३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष डेंगी र स्क्रब टाइफस दुवैको जोखिम नरहेको जानकारी दिए। उनका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यस वर्ष कम संक्रमित भेटिएका हुन् । लकडाउनका समयमा चार/पाँच महिना मानिस घरभित्रै बसेकाले पनि यसको सङ्क्रमण दर बढ्न नपाएको उनले बताए ।

    डेंगीले हरेक तीन/तीन वर्षमा महामारीको रुप लिने बताइएको छ । जिल्लामा गत वर्ष नै डेङ्गुले महामारीको रुप लिएकाले यस वर्ष सङ्क्रमण दर कम भएको कार्यालय प्रमुख तिवारीको भनाइ छ ।डेंगी नियन्त्रणका लागि स्थानीय तहले पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    यसैगरी हालसम्म जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ तथा जिल्ला बाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    गत आबमा १२७ जनामा सङ्क्रमण देखिएको तथा दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए ।

    मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ । खेतबारीमा एवं विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा सो रोग लाग्ने उनले जानकारी दिए । रोग गर्मी र वर्षाका समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र सो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेका ठाउँमा घाउ हुने, कमलपित्त हुने र पेट दुख्ने लक्षण देखिने कार्यालयले जनाएको छ ।

  • बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नू : स्वास्थ्य मन्त्रालय

    बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नू : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।
    नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

    बेलायतमा देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको स‌ंक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको जनाइएको छ । नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत आग्रह गरेको हो । गर्नुभएको छ ।

    मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ ।

  • ७४३ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

    ७४३ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

    नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमति संख्या ७ हजार ५ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ७४३ कोरोना संक्रमित थपिएका छन् । पाँच जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ५९ नमुनाको पीसीआर परिक्षण भएको छ । अहिलेसम्म मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । अहिलेसम्म १८ लाख ९० हजार ७४० नमुनाको पीसीआर परिक्षण भएको छ ।

    २४ घन्टामै ९ सय ५२ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ । अहिले क्वारेन्टाइनमा ४०९ जना रहेका छन् । सोही अवधीमा पाँच जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।

    यसैबीच, स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै पुस १ गते यता बेलायत र त्यहाँको बाटो हुँदै नेपाल आइपुगेकालाई अनिवार्य १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । नेपाल प्रवेश गरेको मितिले १० दिनभित्र अनिवार्य पीसीआर परिक्षण गर्न पनि भनिएको छ ।

    बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखिएपछि सरकारले बुधबार रातीदेखि लागु हुने गरि बेलायत जान र आउन रोक लगाएको छ । झन्डै दुईदर्जन मुलुकले बेलायतसँगको हवाइ सम्पर्क बिच्छेद गरेका छन् ।

  • बेलायतबाट नेपाल प्रवेशमा प्रतिबन्ध

    बेलायतबाट नेपाल प्रवेशमा प्रतिबन्ध

    काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

    यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्यारेन्टिन बसी जाँच गरेपछि मात्र घर तथा गन्तव्य जान पनि अनुरोध गरेको छ।

    यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले पनि अनिवार्य रुपमा १० दिन क्वारेन्टिन बसी परीक्षण गरेर मात्र गन्तव्यमा जान सरकारले अनुरोध गरेको छ ।

     

  • थप ७२२ जनामा कोरोना संक्रमण

    थप ७२२ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ हजार नमुनाको पीसीआर परीक्षण गर्दा ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ७ हजार ७२९ जना छन् ।

    यस्तै आज ९६६जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।

    यसैगरी कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।

  • सोमबार थपिए ७४२ संक्रमित, सातको मृत्यु

    सोमबार थपिए ७४२ संक्रमित, सातको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६३५१ नमुनाको पीसीआर परीक्षण गर्दा ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    योसँगै हालसम्म देशभर कोरोना संक्रमितको सङ्ख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ७ हजार ९७६ जना छन् ।

    यस्तै आज एक हजार ७९जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४४ हजार ७४३ पुगेको छ ।

    यसैगरी कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७९५ पुगेको छ ।

  • पुरानो मेडिकल कलेजले लियो कोरोना परीक्षणकाे अतिरिक्त शुल्क

    पुरानो मेडिकल कलेजले लियो कोरोना परीक्षणकाे अतिरिक्त शुल्क

    चितवन । सरकारले कोरोना परीक्षणमा दुई हजार मात्र लिन गरेको निर्देशन विपरित  कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार लिएको पाइएको छ ।

    कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरे । उनका अनुसार यहाँ सङ्कलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क दुई हजार ४०० लिने हुँदा आफूहरुले यातायात शुल्कसहित तीन हजार लिएको स्वीकार गरे ।

    हाल भने अस्पतालले ४०० थप गरेर परीक्षण गराउँदै आएको उनको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताए ।

    जिल्ला प्रशासन कार्यालय चितवनले चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा ५०० बढी लिएको भन्दै मुद्दा चलाएको छ ।
    कलेजका प्रतिनिधिले १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले आठ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

  • थप ५८८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    थप ५८८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४४३१ नमुनाको पीसीआर परीक्षण गर्दा ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ८ हजार ३२० जना छन् ।

    यस्तै आज एक हजार ५७ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४३ हजार ६६४ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७८८ पुगेको छ।

     

  • अमेरिकामा कोभिडविरुद्ध मोर्डना खोप पनि स्वीकृत

    अमेरिकामा कोभिडविरुद्ध मोर्डना खोप पनि स्वीकृत

    फाइजरपछि अमेरिकाले कोरोनाविरुद्ध मोर्डना खोप प्रयोगमा ल्याउने भएको छ । त्यहाँको खाद्य तथा औषधी प्रशासन एफडीएले मोर्डना भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको हो ।

    यो भ्याक्सिन प्रयोग गर्नु अगाडि एफडीए कमिटिमा मतदान भएको थियो । जसमा पक्षमा २० जना र विपक्षमा १ जनाले मतदान गरेका थिए । गतसाता एफडीएले फाइजर खोपलाई अनुमति दिएको थियो ।

    आगामी मार्च महिनाभित्र एकसय मिलियन नागरिकलाई खोप लगाउने अमेरिकी योजना छ । यसका लागि सरकारले एकसय मिलियन डोज किन्ने भएको छ । अब अमेरिकासँग मोर्डना भ्याक्सिनका कूल २ सय मिलियन डोज उपलब्ध हुनेछन् ।

    मोर्डना भ्याक्सिन पनि ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ । फाइजरजस्तै मोर्डनालाई अत्यन्त चिसोमा राख्नु जरुरी छैन । फाइजर खोप माइनस ७५ डिग्री सेल्सियस र मोर्डना भ्याक्सिन माइनस २० डिग्रीमा भण्डारण गरे पुग्छ । मोर्डनाका डोजहरु २८ दिनको अन्तरमा दिनुपर्छ ।

    मोर्डना भ्याक्सिन १८ वर्षभन्दा माथिकालाई मात्र लगाउन स्वीकृत गरिएको छ ।

  • कोरोनाविरुद्धको खोप : कस्तो छ सरकारले चाहेको मापदण्ड ?

    कोरोनाविरुद्धको खोप : कस्तो छ सरकारले चाहेको मापदण्ड ?

    विश्वमा कोभिडबिरुद्धका दुई खोप उपलब्ध भैसकेका छन्। फाइजर र बायो–एनटेकको खोपलाई अमेरिकी सरकारले अनुमति दिएको छ।प्राथमिकतामा परेकालाई खोप दिन थालिएको छ ।

    तर, नेपालमा कोभिडबिरुद्धको खोप कहिले आउला भन्ने सबैको चिन्ता र चासोको बिषय बनेको छ ।खोप व्यबस्थापन महाशाखाका प्रमुख डा. झलक गौतमका अनुसार नेपालले माइनस २ देखि ८ डिग्रीसम्म भण्डारण गर्न मिल्ने खोपलाई पहिलो प्राथमिकता दिने छ ।

    गौतम भन्छन् ‘हामीले सकेसम्म माइनस २ देखी ८ डिग्रीमा भण्डारण गर्न मिल्ने खोपलाई प्राथमिकता दिन्छौं, यदि यस्तो भएन भने माइनस २० डिग्रीसम्म भण्डारण गर्न मिल्ने खोप ल्याउँछौं’ ।

    उनका अनुसार खोप ल्याउने तयारी लगभग अन्तिम चरणमा छ । अबको एक महिनाभित्र कुन खोप नेपाल भित्राउने भन्ने निर्णय हुन्छ ।
    सकेसम्म सस्तो र कम तापक्रममा भण्डारण गर्न मिल्ने खोप नेपालको प्राथमिकतामा पर्ने डा. गौतम बताउँछन् ।खोप ल्याउनको लागि सरकारले ४९ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।

    २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स कार्यक्रम अन्तर्गत सहयोगमा आउने तयारी छ । बाँकी सरकारले खरिद गर्नुपर्ने हुन्छ ।सरकारले गठन गरेको कोभिड–१९ खोपबारेको विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार सरकारले खोप ल्याउने तयारीलाई प्राथमिकतामा राखेर काम भैरहेको छ । अहिलेसम्म आएका खोपमध्ये मोडर्ना र अक्सफोर्डको खोप नेपालको लागि भण्डारणको हिसाबले सहज देखिएको छ ।

    खोप उत्पादन भइरहेका देशका सरकारसँग कुराकानी भैरहेको छ । तर, कहिलेसम्म नेपालमा खोप आइपुग्छ भन्न सकिदैँन ।
    नेपालमा अहिले सम्म प्रयोगमा आएका बिभिन्न रोगका खोपको भण्डारण २ देखी ८ डिग्री तापक्रममा भैरहेको छ । तर, २० डिग्री तापक्रमसम्म भण्डारण गर्न मिल्ने भौतिक पूर्वाधार छ ।

    नेपालमा कोरोनाबिरुद्धको खोप भित्राउनको लागि देखिएको चुनौति भनेको खोपको भण्डारण र मूल्य हो । माइनस ७० डिग्रीसम्म तापक्रममा भण्डारण गर्नुपर्ने फाइजरजस्ता खोपले अनुमति पाउनु र एक डोजको मूल्य नै १० हजारसम्म पर्ने भएपछि सरकारले खोप तत्काल भित्राउन नसक्ने हो कि भन्ने शंका उब्जिएको छ ।

    भण्डारणको हिसाबले फाइजरको खोप नेपाल आउने सम्भावना कम छ । मोडर्नाको खोप ६ महिनासम्म माइनस २० डिग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।मोर्डनाको खोपलाई २८ दिनको अवधिमा २ डोज दिनुपर्ने हुन्छ ।मूल्यको हिसाबले मोडर्नाको खोप पनि नेपाल आउने सम्भावना न्यून छ ।

    यिनै दुई कम्पनीले अमेरिकी सरकारबाट मान्याता पाएका छन् । अक्सफोर्डको एस्ट्राजेन्काको खोपले अझै प्रमाणीकरणको काम सकेको छैन । त्यसकारण अन्य कुनै सस्तो र कम तापक्रममा भण्डारण गर्न मिल्ने खोपले अनुमति नपाएसम्म तत्काल नेपालमा कोरोनाविरुद्धको खोप सरकारले खरिद गर्न नसक्ने कतिपय विज्ञको दाबी छ । कोभ्याक्स अन्तर्गत सहयोगमा आउने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भने छिट्टै उपलब्ध हुन सक्छ ।

  • ७१० संक्रमित थपिए, ११७५ निको भए

    ७१० संक्रमित थपिए, ११७५ निको भए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ८ हजार ८४० जना छन् ।

    यस्तै आज एक हजार १७५ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७७७ पुगेको छ।

     

  • संसारका सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचिमा नेपालका चार

    संसारका सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचिमा नेपालका चार

    नेपालका चारजना युवती संसारकै सर्वोत्कृष्ट मिडवाइफ र नर्सको एकसय सूचिमा छानिएका छन् । नर्स एवं मिडवाइफ अन्तराष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठनले यी नेपाली नर्सलाई छानेको हो ।

    रुक्मणी त्रिपाठी

     

    दुर्गा सापकोटा

     

    प्रशंसा बुढा लामा

    सूचिमा नेपालबाट दुईजना मिडवाइफ र दुईजना नर्स समावेश छन् । कोभिड–१९ महामारीको विषम परिस्थितीमा पनि अग्रपंक्तिमा खटिएर सेवा दिएको भन्दै उनीहरुलाई छानिएको वेबसाइटमा उल्लेख छ ।

    सुष्मा योञ्जन

    छानिएका नेपालीहरुमा मिडवाइफद्धय प्रशंसा बुढा लामा र रुक्मणी त्रिपाठी एवं नर्समा दुर्गा सापकोटा र सुष्मा योञ्जन छन् । आफूले गरेको मिहेनतको फल प्राप्त भएको भन्दै उनीहरुले खुशि व्यक्त गरेका छन्।

  • कोरोना अपडेट : ७८२ संक्रमित थपिए, १६ को मृत्यु

    कोरोना अपडेट : ७८२ संक्रमित थपिए, १६ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ९ हजार ३१७ जना छन् ।

    यस्तै आज एक हजार २९ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४१ हजार ३९२ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७६५ पुगेको छ।

     

  • गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

    गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

    काठमाडौं । पछिल्लो समय महिलाहरुले आकस्मिक गर्भनिरोधक साधन पिल्सको अत्यधिक प्रयोग गर्न थालेका छन् । तथ्यांकअनुसार अविवाहित युवतीले समेत गर्भनिरोधक ‘७२ घण्टे’ पिल्सको अधिक प्रयोग गर्न थालेका छन् । वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक पिल्स बिक्री हुने गरेको तथ्यांकले देखाएको छ ।

    औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार नेपालमा आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स अर्थात् लिभोनोरजेस्ट्रेल औषधि बिक्री गर्न स्वदेशी र विदेशी गरी १८ वटा कम्पनीले अनुमति लिएका छन् । सबै कम्पनीको गरी वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स नेपाली बजारमा बिक्री हुने गरेको छ ।

    स्वदेशी कम्पनी ओएचएम फर्मास्युटिकलको मात्रै अनवान्टेड नामक ७२ घण्टे पिल्स वार्षिक एक लाख ८० हजार ट्याब्लेट बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।

    त्यस्तै अन्य स्वदेशी र केही भारतीय कम्पनीको गरी नेपालमा वार्षिक करीब २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स बिक्री हुने गरेको देखिएको छ ।

    फर्मासिष्टहरूका अनुसार नेपालमा ७२ घण्टे पिल्स खरीद गर्न विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका महिला बढी आउँछन् ।

    के हो आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स ?

    असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्ने भएकाले यसलाई ७२ घण्टे पिल्स भनिएको हो । यो औषधि नेपाली बजारमा आइपिल, अनवान्टेड ७२, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता ब्राण्डनेममा बिक्री भैरहेको छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका अनुसार आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोन हुन्छ । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रूण बन्न नदिने र यदि भ्रूण बनिसकेको छ भने पाठेघरमा टाँसिन दिंदैन । तर यसको सेवनले शतप्रतिशत गर्भ बस्दैन भन्ने चाहिं ग्यारेन्टी हुँदैन ।

    ७२ घण्टे पिल्स सेवन गरिसकेपछि वाक्वाकी आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसूस हुने, स्तन भारी महसूस हुने जस्ता लक्षण देखिन्छ । यी समस्या त एक दुई दिनमा हराएर जान्छ तर यसले पार्ने दीर्घकालीन समस्या भने पछिसम्म रहिरहन्छ ।

    आकस्मिक रूपमा एक–दुई पटकको प्रयोगमा त्यति असर नगरे पनि पटक–पटकको प्रयोगले स्वास्थ्यमा गम्भीर असर देखिन सक्छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योती अग्रवालका अनुसार पछिल्लो समय आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स सेवन गरेर स्वास्थ्यमा समस्या देखिएर अस्पताल आउनेहरू बढेका छन् ।

    पटकपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोगले निम्त्याएको स्वास्थ्य समस्या विकराल बन्दैछ ।

    महीनावारी गडबड, महीनावारीको समयमा धेरै रगत बग्ने, तल्लो पेट दुख्ने र बाझोपनको समस्यालगायत महिलाको प्रजनन् स्वास्थ्यमै गम्भीर असर निम्त्याएको कारणहरू मध्ये पटकपटकको आकस्मिक गर्भनिरोधक साधन पनि एक हो ।

    डा. अग्रवालका अनुसार आकस्मिक गर्भनिरोधक साधन आकस्मिक अवस्थाको प्रयोगको लागि मात्र हो पटकपटक प्रयोग गर्ने औषधि होइन । बलात्कारबाट गर्भ बस्न सक्ने हुँदा, सन्तानको रहर पुगेका दम्पतीको असुरक्षित सम्पर्क हुँदा, कण्डम फुटेर योनीभित्रै वीर्य स्खलन भएमा या नियमित परिवार नियोजनको चक्की बिर्सेर वा परिवार नियोजनका अस्थायी साधन उपलब्ध नहुने ठाउँमा आकस्मिक यौन सम्पर्क भएमा अनावश्यक र अनिच्छित गर्भ रोक्न आकस्मिक गर्भनिरोधकको चक्की सेवन गर्ने हो । तर यौन सन्तुष्टि नपाइएला भनेर कण्डम प्रयोग नगरी असुरक्षित यौनसम्पर्क गर्ने र त्यसपछि गर्भ रोक्न ७२ घण्टे पिल्स खानेहरूले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोग गरेको विज्ञहरू बताउँछन् ।

    डा. भोला रिजाल नेपालमा यो औषधिको ‘मिसयुज’ बढेको बताउँछन् । गर्भपतनले वैधानिकता पाउनुपर्छ भनेर वर्षौं आवाज उठाएपछि गर्भपतनसम्बन्धी कानून बन्यो । यसले मातृ मृत्युदर घट्ला भन्ने विश्वास थियो त्यो पनि हुन सकेन ।

    गर्भपतन र गर्भपतन गराउने औषधिको दुरुप्रयोग झन् बढ्यो र यसले महिला स्वास्थ्यको स्थिति नाजुक बनाउँदै लगेको छ । अहिले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोगले पनि बाँझोपनको समस्या बढेको छ । यस्ता औषधिको प्रयोग यही हिसाबले बढ्दै गए अबको केही वर्षपछि बाँझोपनको समस्याले विकराल रूप लिन सक्ने डा. रिजाल बताउँछन् ।

    आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नेहरू शिक्षित वर्ग नै बढी छन् । अहिलेको नयाँ जेनेरेसन नै यो औषधिको दीर्घकालीन असर थाहा हुँदाहुँदै पनि प्रयोग गरिरहेका छन् ।

    फर्माशिष्ट अमित श्रेष्ठ भन्छन्, केही युवतीहरू ५०औं पटकसम्म ७२ घण्टे औषधि खरीद गर्न आउने पनि छन् । यो औषधि धेरै सेवन गर्नुहुँदैन भन्दा आफ्नो पार्टनरले कण्डम प्रयोग गर्न नमान्दा यसरी पिल्स सेवन गर्न बाध्य भएको सुनाउँछन् ।

    आकस्मिक गर्भनिरोधक साधनलाई कण्डम जस्तो जत्ति पटक यौन सम्पर्क भयो त्यति पटक प्रयोग गर्ने ट्रेन्ड नै छ । केही युवतीहरू त हप्तैपिच्छे खरीद गर्न आउने गरेको श्रेष्ठ बताउँछन् ।

    स्त्री रोग विशेषज्ञ डा. ज्योती अग्रवाल यो औषधिलाई सरकारले प्रेसक्रिप्सन विना खरीदबिक्री हुन् दिन नहुने बताउँछिन् । चिकित्सकको सल्लाह विना यो औषधि सेवन गर्दा पहिल्यै स्वास्थ्य समस्या भएका कतिपय महिलाको ज्यान पनि जान सक्छ । अन्य रोग भएका र त्यसको औषधि सेवन गरिरहेका महिलाले आकस्मिक गर्भनिरोधक पिल्स सेवन गर्नै हुँदैन ।

    अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएको अध्ययन अनुसार आकस्मिक गर्भनिरोधक औषधिले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर जस्ता जटिल समस्या देखिन पनि सक्छ ।
    आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता पातलो बनाइदिन्छ । जसका कारण भविष्यमा सन्तान चाहिंदा गर्भ तुहिने सम्भावना बढेर जान्छ । आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भई मूड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ हुने जस्ता समस्या पनि देखिन सक्छ । आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसका कारण यौनरोग लाग्न सक्छ ।

    गर्भनिरोधक प्रयोग नगरे विकल्प के त ?

    गर्भनिरोधक पिल्स नखाने, परिवार नियोजनका साधन प्रयोग नगर्ने, कण्डम नलगाउने र गर्भ रहन पनि नदिने हो भने सुरक्षित चक्र राम्रो विकल्प हो । नियमित रूपमा महीनावारी हुने महिलामा महीनावारी भएको कतिऔं दिनमा यौन सम्पर्क राखे गर्भ रहँदैन भन्ने जानकारी हुनुपर्छ ।
    महीनावारी गडबड नभएका महिलामा महीनावारी भएको ८ दिन अघि र २२ दिनपछि कुनै साधन विना सम्पर्क राखे पनि गर्भ रहँदैन ।

    महीनावारी भएको आठदेखि बाइस दिनसम्म यौनसम्पर्क राख्दा गर्भ रहन सक्छ । यस अवधिमा यौनसम्पर्क राख्नुपर्ने भए कण्डम, फेमिडोम अर्थात् महिला कण्डम, अन्य अस्थायी साधनहरू प्रयोग गर्नुपर्छ । तर महीनावारी अनियमित हुने महिलामा यो विधि भरपर्दो हुँदैन ।

    पिल्सलाई आकास्कि स्थितिमा मात्रै प्रयोग गर्न सुझाउँछिन् डाक्टर श्रेयसी अर्याल । पिल्सको नियमित प्रयोग प्रजनन् स्वास्थ्यका लागि घातक हुने उनको भनाइ छ ।

    हेर्नुहोस्, पिल्स प्रयोगबारे डाक्टर श्रेयसी अर्यालको सुझाव

  • क्रिसमसमा मास्क लगाउन आग्रह, लन्डनमा भाइरसले बदल्यो स्वरुप

    क्रिसमसमा मास्क लगाउन आग्रह, लन्डनमा भाइरसले बदल्यो स्वरुप

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस पर्वमा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । युरोपमा क्रिसमस मनाउनेको संख्या अधिक रहेको र भाइरसको संक्रमण पनि उत्कर्षमा भएकाले यस्तो आग्रह गरिएको संगठनले जनाएको छ ।

    डब्लुएचओले एक विज्ञप्ती जारी गर्दै नयाँवर्ष २०२१ मा कोभिड–१९ संक्रमणलाई रोक्नको लागि पनि मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । मास्क नलगाउँदा महामारी अझै बढ्न सक्ने खतरातर्फ पनि डब्लुएचओले सचेत गराएको छ ।

    सकेसम्म परिवार मात्रै भएर क्रिसमस मनाउन र बाहिर जानै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

    भाइरसले चरित्र बदलेपछि थपियो चिन्ता
    कोभिड–१९ ले स्वरुप बदलेपछि विज्ञहरुमा चिन्ता बढेको छ । बीबीसीका अनुसार बेलायतमा कोरोनाको स्वरुपमा परिवर्तन आएको प्रमाण भेटिएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले संसदमा नयाँ स्वरुपमा कोरोना भेटिएको र द्रुतरुपमा फैलिएको जनाएका छन् ।

    बेलायतले विश्व स्वास्थ्य संगठनलाई यसबारे जानकारी गराइसकेको छ । लन्डनमा कोभिड संक्रमण वृद्धि भएपछि बुधबारदेखि थप कडा प्रतिबन्ध लगाउने घोषणा सरकारले गरेको छ ।

    संक्रमणको आधारमा उच्च अलर्ट (टियर टु)मा रहेको लन्डनलाई अति उच्च अलर्ट (टियर थ्री)मा लैजाने घोषणा बोरिस जोन्सनको सरकारले गरेको हो । बार, पव, रेष्टुरेन्ट लगायत हस्पिटालिटी व्यवसाय बन्द हुनेछन् भने टेकअवे र डेलिभरी सेवा सुचारु हुनेछन् । तर, फिल्म हलसहितका इन्डोर मनोरञ्जन भने बन्द रहनेछन् ।

  • कोरोना अपडेट : ७७६ संक्रमित थपिए, ६ को मृत्यु

    कोरोना अपडेट : ७७६ संक्रमित थपिए, ६ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ९ हजार ५८० जना छन् ।

    यस्तै आज ९४७ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४० हजार ३६३ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७४९ पुगेको छ।

  • पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण

    पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण

    काठमाडौं । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ ।

    समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो ।

    मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन ) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए । उनका आगामी आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण शुरु गरिने छ ।

    उनले २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने बताए । “२०० भन्दा बढी सक्रिय सङ्क्रमित, हटस्पट, ठूला शहर, घना बस्ती र सङ्क्रमणको शङ्कास्पद व्यक्तिमा परीक्षण गरिनेछ”, उनले भने, “परीक्षणबाट समुदायस्तरमा सङ्क्रमण कति फैलिएको छ भन्ने थाहा हुनेछ ।”

    यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा सङ्क्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो । जसमा १३९ प्रतिशत मात्र समुदायका मानिसलाई सङ्क्रमण देखिएको थियो । ठूलो सङ्ख्यामा गरिने एन्टिजेन परीक्षणबाट १५ मिनेटमा नै सङ्क्रमण भए÷नभएको पत्ता लाग्ने छ ।

    एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन । यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले काठमाडौँ उपत्यकामा एन्टिजेन परीक्षण गर्दा आठ प्रतिशत मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए ।

     

  • कोरोना अपडेट : ७३६ संक्रमित थपिए, १३ को मृत्यु

    कोरोना अपडेट : ७३६ संक्रमित थपिए, १३ को मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ५५५ नमुनाको पीसीआर परीक्षण गर्दा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ९ हजार ७५७ जना छन् ।

    यस्तै आज ८ सय ४७ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ३८ हजार ५६९ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४३ पुगेको छ।

  • संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

    संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

    काठमाडौं- केही दिन यता नेपालका निजी तथा सरकारी अस्पतालमा कोभिड–१९का बिरामीका लागि छुट्याइएका बेड धमाधम खाली हुँदै गएका छन् । दुई सातायता बिरामीको संख्या पनि क्रमशः घट्दै गइरहेको अस्पतालहरूले जनाएका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघिसम्म कोभिडका बिरामीको चाप उत्तिकै थियो । एक महिनाअघि त कोभिडका बिरामीले बेडसमेत पाउन मुस्किल हुने अवस्था थियो । तर, केहीदिन यता अस्पतालमा कोभिडका बिरामी घट्न थालेपछि बेडहरू खाली हुन थालेका छन् ।

    अस्पतालका निर्देशक डा. सागर राज भण्डारीका अनुसार दुई हप्ताअघि ५५ जना संक्रमित उपचाररत थिए । अहिले २९ जना मात्र अस्पतालमा उपचाररत छन् । तर आइसियसुमा राख्नुपर्ने केसहरू भने पहिलेकै तुलनामा छन् । अस्पतालका निर्देशक डा. भण्डारीका अनुसार गम्भीर प्रकृतिका १८ जना बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरू छन् ।

    वीर अस्पतालमा कोभिडका बिरामीका लागि १ सय ४० बेड छुट्याएको छ । पहिले बिरामीको चाप बढेर बेडले धान्न नसक्ने स्थिति थियो । तर, केही हप्तायता कोभिडका बिरामीहरू ३० देखि ३५ जनाको हाराहारीमा उपचाररत छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार आइसियुमा राख्नुपर्ने केस भने घटेको छैन ।

    सरकारी अस्पतालमा मात्र हैन निजी अस्पतालमा पनि कोभिडका बिरामी घटिरहेका छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार अहिले अस्पतालमा कोरोनाका बिरामी ५० प्रतिशतले घटेका छन् ।

    ‘कोभिडका लागि हामीले ६० बेड छुट्याएका थियौं । पहिले त बेड नै नपाएर बिरामी राख्न नसकिने अवस्था थियो । दुई हप्तायता करिब २५ जना बिरामी छन्,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

    ह्याम्सले पहिले कोभिडको लागि बिरामीको चाप बढ्दा दुई वटा वार्ड छुट्याएको थियो । अहिले संख्या घट्दै गएपछि एउटै वार्डमा कोभिडका बिरामीको उपचार गर्ने गरिएको छ । अस्पतालको आइसियुमा १९ जना कोभिडमा बिरामी छन् । अध्यक्ष भण्डारीका अनुसार पहिलेको तथ्यांकको तुलनामा अहिले आइसियु केस ३० प्रतिशतले घटेको हो ।

    ‘पहिले आइसियु बेड चाहियो भनेर निकै फोन आउँथ्यो । केही दिन यता आइसियु चाहिने बिरामीहरूको कल समेत ९० प्रतिशत घटेको छ,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

    ‘संक्रमित घटेसँगै खाली भए बेड’

    नेपालमा कोरोना संक्रमितहरूको संख्या घटेसँगै अस्पतालमा बिरामीको संख्या घटेको विज्ञ तथा चिकित्सकहरूको दाबी छ । बितेको २४ घण्टामा ९ सय ३६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । जबकि कुनै समय ८ हजार भन्दा बढी नयाँ संक्रमित एकै दिनमा भेटिएका थिए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिले परीक्षण गरिएको मध्ये २५ प्रतिशत भन्दा बढी नयाँ संक्रमित भेटिन्थे । तर, अहिले १५ प्रतिशत मात्र नयाँ संक्रमित भेटिने गरेका छन् । यो अनुपातलाई आधार मान्दा संक्रमण घटेको डा. गौतमको दाबी छ ।

    ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पहिले परीक्षण गरिएका मध्ये ४२ प्रतिशतलाई कोरोना पोजेटिभ देखिन्थ्यो । अहिले करिब ३० प्रतिशत भन्दा कमलाई पोजेटिभ देखिने निर्देशक डा सागर राज भण्डारी बताउँछन् ।

    वीर अस्पतालमा कोभिडको आशंकामा परीक्षण गर्न आउनेको दैनिक संख्या नै ५ सयको हाराहारीमा हुन्थ्यो । अहिले परीक्षण गर्नेको दैनिक ८० देखि ९० सम्म मात्र हुने निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।

    दसैं तिहारपछि संक्रमण झन् बढ्न भन्ने विज्ञहरूको आँकलन थियो । तर, संक्रमतिहरू घट्दै जाँदा आँकलनहरू गलत भएको जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् ।

    उनी भन्छन्, ‘जाडोमा झनै बढ्छ भन्ने आँकलन थियो तर बढेन । मृत्युदर पनि कम भयो । वर्षौं पुरानाको रोग त हामी बल्ल बुझ्दैछौं । यो भर्खर एक वर्ष भयो । त्यसैले धेरै आँकलन गलत भएका छन् ।’

    परीक्षण घटे र संक्रमित घरमै बस्न थाले

    कोरोनाका बिरामी अस्पतालनै जान छाडेपछि बेडहरू खाली हुँदै गएको कतिपय विज्ञको बुझाइ छ । यससँगै परीक्षण गराउन जानेहरूको संख्यामा पनि कमी आएको विज्ञहरू बताउँछन् ।

    जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अहिले मानिसहरू परीक्षण गर्न जानै छाडेको बताउँछन् । ‘मानिसहरूले परीक्षण गर्न जान छाडे । अस्पतालहरूले कोभिडका बिरामीलाई धरौटी नलिई भर्ना नगर्ने भएपछि सामान्य नागरिकहरूले कि त परीक्षण नगर्ने कि त घरमै बसेर आराम गर्न थाले,’ डा. पाण्डे भन्छन् ।

    सरकारले गर्ने कोरोना परीक्षणको दर निकै कम भएर पनि संक्रमित कम भएका उनको दाबी छ । ‘अहिले सीमित मान्छेले मात्र परीक्षण गरिरहेका छन् । विदेशबाट आएका वा जानुपर्ने अवस्थाका मानिसले मात्र परीक्षण गर्ने गरेका छन्,’ डा. पाण्डे भन्छन् ।

    मन्त्रालयका प्रवक्ता डा. गौतम आवश्यकताअनुसार परीक्षण घटाएको स्वीकार गर्छन् । ‘अहिले अनावश्यक परीक्षण घटाएको हो । बिरामीको संख्या घटेपछि परीक्षण पनि घटाइएको हो,’ डा गौतम भन्छन् । उनका अनुसार अहिले दैनिक ५ हजारको हाराहारीमा परीक्षण गर्ने गरिएको छ ।

    गम्भीर बिरामी घरमै बस्दा संकट

    गम्भीर प्रकृतिकाख बिरामी पनि अक्सिजन लिएर घरमै बस्दा झन् संकट थपिएको ह्याम्सका अध्यक्ष रामशरण भन्डारी बताउँछन् । ‘घरमै अक्सिजन लिएर बस्ने ट्रेनका कारण अहिले अन्तिम अवस्थामा मात्र बिरामी आउने गरेका छन् । अहिले अक्सिजन लेभल घट्दै गर्दा पनि घरमै बस्ने गरेका रहेछन्,’ उनी भन्छन्, ‘अक्सिजन लिएर घरमै बसेकाहरू अन्तिम चरणमा अस्पतालमा मृत्युवरण गर्नुपरेको छ।’

    अहिले यस्तो किसिमको केस दैनिक बढ्दै गएको उनी सुनाउँछन् । उनका अनुसार अक्सिजन घटिसकेपछि घरमै बस्नु एकदमै खतरा हो । ९२ भन्दा तल अक्सिजन आयो भने तुरुन्तै अस्पताल नगइ घरमै लिएर बस्यो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने भण्डारीको दाबी छ ।

    परीक्षण नबढाए खतरा बढ्न सक्छ

    जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित अस्पताल आउने मान्छे कम भयो भनेर ढुक्क भएर बस्नु गलत भएको बताउँछन् । यो बेलामा संक्रमण घटे भनेर परीक्षण पनि घटाउनाले झनै खतरा निम्तने उनको दाबी छ ।

    ‘अस्पताल र ल्याबमा मान्छे नआए पनि समुदायमा जानुपर्ने हो । राज्य समुदायमा खोज्दै जानुपर्छ । हामीसँग विकल्प भनेकै परीक्षण छ । ५ हजार परीक्षण गरेर यथार्थ पाउँदैनौ । हामी संक्रमणमुक्त भएका भने छैनौं,’ डा. दीक्षित भन्छन्, ‘एउटै मात्र व्यक्ति संक्रमित हुनु भनेको उसले ३ देखि १२ जनालाई समाजमा सार्न सक्छ ।’

    पछिल्लो समय विवाह भोज र पार्टीहरूको आन्दोलनले संक्रमण बढाउन सक्नेउनको चिन्ता छ । जनस्वास्थ्यविद् डा. पाण्डे पनि संक्रमण घट्यो भनेर खुसी हुनुपर्ने अवस्था नभएको बताउँछन् । ‘अहिले घटिरहेको छ भनेर हामीले ध्यान दिन छाडिरहेका छौं । झन् सजग हुने बेला आएको छ । यो बेला हामीले ख्याल राखेनौं भने दोस्रो लहर आउन सक्छ,’ उनी भन्छन् ।

  • सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

    सिटी स्क्यान खरीद गर्न टिचिङ अस्पताललाई महानगरले अनुदान दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ।

    मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    ७ करोड ५० लाख रुपैयाँ बराबरको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ।

  • कोरोना अपडेट : १४ जनाको मृत्यु ,९३६ संक्रमित थपिए

    कोरोना अपडेट : १४ जनाको मृत्यु ,९३६ संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट १७३० जनाले ज्यान गुमाइसकेका छन् ।
    यस्तै  आज थप ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । हालसम्म ९ हजार ८८१ सक्रिय संक्रमित छन् । यस्तै मंगलबारै १९९६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

  • चिसोसँगै क्षयरोगको विरामी बढ्दै

    चिसोसँगै क्षयरोगको विरामी बढ्दै

    मोरङ । नेपालमा क्षयरोग टिबीबाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ ।

    नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।

    अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या बढ्न थालेको कोइरालाले जानकारी गराए।

    समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, मानिसमा चेतनाको कमी हुनु र पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।

    मोरङ जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार १५० र आव २०७६÷७७ को चैत मसान्तसम्ममा ७४१ रोगी शाखामा उपचारका लागि आएका संयोजक कोइरालाले बताए।

    क्षयरोग सुन्ने बित्तिकै बिरामी शुरुमा आत्तिने र डराउने गरेको, आफूहरुलाई सम्झाउन निकै गाह्रो पर्ने गरेको र धेरै मानिसमा क्षयरोगबारे ज्ञान नभएकाले यस्तो समस्या आउने गरेको छ ।

    क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । एक क्षयरोगीले उपचार नगराउँदा एक वर्षमा १० देखि १५ जनासम्मलाई सो रोग सर्ने सम्भावना हुन्छ ।

    नियमित क्षयरोगीका बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ छ । उनले यो रोगबाट भयभित हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुन्छ भने ।

    दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण हो । ज्वरो आउनु, खान नरुच्नु, छाती दुख्नु र खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण रहेका छन् । यदि कसैमा यस्ता लक्षणहरु देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न संयोजक कोइरालाले आग्रह गरे ।

    क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधिको अभाव नरहेको जनाइएको छ । गत आवमा विराटनगर महानगरपालिकामा १८६ जना क्षयरोगी उपचारमा आएका छन् ।

    हालको तथ्याङ्कअनुसार देशभरमा ८० हजारभन्दा बढी क्षयरोगीले उपचार गराइरहेका जानकारी उनले दिए ।

    यस्तै सामान्य क्षयरोगको उपचार नगराउँदा वा नियमित औषधि सेवन नगरेमा यो जीर्ण क्षयरोगमा परिणत हुने गर्छ । यो पनि नियमित उपचार गराएर नियमित औषधि सेवन गरेमा निको हुन्छ । जीर्ण क्षयरोगीले २० देखि २४ महिनासम्म औषधि नियमित खानुपर्ने हुन्छ ।

    जीर्ण क्षयरोगीको उपचार लामो समयसम्म चलिरहने भएकाले क्षयरोग निवारण संस्था विराटनगरले जीर्ण क्षयरोगीका बिरामीलाई डिआर आभासगृहमा राखी उपचार गराउँदै आएको छ ।

    जीर्ण क्षयरोगी ५६ जनामध्ये हाल १५ जना सो गृहमा बसेर आफ्नो उपचार गराउँदै आइरहेका छन् । सो गृहमा उपचार गराइरहेकालाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।