Category: स्वास्थ्य-जीवनशैली

  • नेपालसँग ‘खोप कूटनीति’ मा भारत र चीन, कसकाे ‘भेस्टेड इन्ट्रेस्ट’ कति ?

    नेपालसँग ‘खोप कूटनीति’ मा भारत र चीन, कसकाे ‘भेस्टेड इन्ट्रेस्ट’ कति ?

    काठमाडौं । दक्षिणी मित्रराष्ट्र भारतले केही दिनअघि नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ अनुदानमा उपलब्ध गरायो । अहिले उत्तरी छिमेकी चीनले पनि नेपाललाई पाँच लाख खोप निःशुल्क दिने प्रस्ताव गरेको छ । यसरी नेपाललाई कोभिडविरुद्धको लडाईंमा सहयोग गर्न दुई छिमेकीले देखाएको तत्परतालाई कतिपयले ‘खोप कूटनीति’ का रूपमा अर्थ्याउन थालेका छन् ।

    कोभिडविरुद्धको खोप लगाउन शुरू गर्ने दक्षिणएशियामा भारतपछिको दोस्रो मुलुक बनेको छ, नेपाल । त्यसो त भारतले पाकिस्तानबाहेक अरू दक्षिण एशियाली मुलुकलाई पनि अनुदानमा खोप दिइरहेको छ । अर्कोतर्फ चीनले पनि विभिन्न देशहरूलाई अनुदानमा खोप वितरण गरिरहेको छ । त्यसैले नेपाललाई छिमेकीका हिसाबले दुई देशले गरेको सहयोगमा कुनै संशय राख्नु नपर्ने सरकारी अधिकारीहरू बताउँछन् । यद्यपि, भारत र चीनले यसरी सहयोगको होड गर्नु नेपाललाई आफ्नो प्रभावमा राख्ने चाहनाकै उपज हुनसक्ने एकथरीको आशंका छ ।

    परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई ‘खोप कूटनीति’ अहिले संसारभर ट्रेन्डिङमा रहेको बताउँछन् । अप्ठ्यारो समयमा शक्तिराष्ट्रहरूले कमजोर राष्ट्रलाई सहयोग गर्नु स्वाभाविक भए पनि त्यसमा अन्य स्वार्थ मिसिन नहुने उनको भनाइ छ ।

    ‘नेपाल सरकारले कूटनीतिक माध्यमबाट प्राप्त गर्ने खोप मानवीय स्वास्थ्यका लागि मात्रै हो र यो राष्ट्रिय हित विपरीत नहुनेमा विश्वास दिलाउनुपर्छ’ भट्टराईले नेपाल प्रेससँग भने, ‘खोप दिनेको पनि आन्तरिक वा बाह्य धेरै स्वार्थ हुनसक्छ । हामीले खोप लिए पनि त्यस्ता स्वार्थको साझेदार बन्नुहुँदैन ।’

    अनुदानमा पाउँदैमा जुनसुकै खोप वा सहयोग लिनुभन्दा मुलुकको आवश्यकता र हित हेरेर लिनुपर्ने उनले सुझाए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई विश्वभर मानवीय स्वास्थ्य संकटमा परेको बेला मित्र राष्ट्रहरूले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् ।

    ‘हामीलाई खोपको खाँचो छ । विश्वका धेरै देशले नपाइसकेको अवस्थामा हामीलाई खोप दिने घोषणा मित्र राष्ट्रहरूले गरेका छन् । यसबाट हामी उत्साहित छौं’, भट्टराईले भने । खोपलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्न नहुने भट्टराईको भनाइ छ ।

    ‘यो मानवीय कुरा हो । सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएका कारण आवश्यक र उपयुक्त खोप नेपालले प्राप्त गर्न हिच्किचाउनुपर्ने कारण छैन’, भट्टराईले भने ।

    भारतका दुई रणनीति

    केपी ओली शक्तिमा आएदेखि भारतसँग उनको सम्बन्ध आमरूपमा सुमधुर छैन । प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल बिताउँदा उनले भारतीय नाकाबन्दीको सामना गरेका थिए । दोस्रो कार्यकालमा सम्बन्ध बाहिरबाट हेर्दा सहज देखिए पनि भित्र अझै पेचिलो छ ।

    खासगरी नेपालले कालापानी–लिम्पियाधुराको भूभागलाई समेटेर नक्शा जारी गरेको विषयलाई लिएर भारत ओलीसँग रुष्ट छ । ओली उक्त भूभाग भारतबाट फिर्ता ल्याउने अडानमा छन् भने भारत यो विषयमा छलफलसम्म गर्न चाहँदैन ।

    केही साताअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्दा द्विपक्षीय छलफलमा नेपालले यो विषय उठाए पनि भारतले चासो दिएन । यतिसम्म कि नेपालका परराष्ट्र मन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न समेत समय दिएनन् । दुई देशबीच सम्बन्ध सहज छैन भन्ने प्रष्ट संकेत थियो, त्यो । तर त्यसलगत्तै भारतले नेपाललाई कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउन तत्परता देखायो । तत्परता देखाएको मात्रै होइन कि नेपाललाई प्राथमिकतामा राखेर १० लाख भ्याक्सिन दियो पनि । भारतले नेपाललाई निस्वार्थ सहयोग गर्दैन भन्ने एकखालको मान्यताले गर्दा भारतले गरेको सहयोगमा विभिन्न तर्क गर्न थालिएको छ ।

    एक कूटनीतिक विश्लेषकको भनाइमा भारतले गरेको सहयोगका दुई प्रष्ट कारण छन् । पहिलो राजनीतिक र दोस्रो व्यापारिक ।

    राजनीतिक कारणबारे उनको विश्लेषण छ, ‘राजनीतिक कारण भनेको नेपाललाई आफ्नो प्रभावमा राखिराख्ने सोच हो । नेपालमा बढ्दो भारतविरोधी भावनालाई मत्थर बनाउने रणनीतिले पनि काम गरेको हुनसक्छ । त्योभन्दा बढी चाहिं नेपालमा चीनको बढ्दो प्रभावलाई काउन्टर दिएर नेपाल आफ्नो छत्रछायाँमा छ भन्ने सन्देश दिन खोजेको हो ।’

    व्यापारिक कारणबारे उनी भन्छन्, ‘नेपाललाई केही लाख खोप अनुदानमा दिएर भारतले आफ्नो खोपको ब्रान्डिङ गर्न पनि खोजेको हो । साथै, भविष्यमा आफूलाई आवश्यक थप खोप भारतबाटै किन्न यसले नेपाललाई नैतिक दबाब पनि परेको छ । कुनै उद्योगले नयाँ माल ल्याउँदा प्रवद्र्धनका लागि शुरूमा केही थान निःशुल्क बाँडेको जस्तै हो ।’

    नेपालले भारतबाट अनुदानको खोप ल्याएर बाँड्न थालिसके पनि अब आवश्यक पर्ने थप खोप कहाँबाट ल्याउने भन्ने निर्णयमा पुगिसकेको छैन । तथापि, भारतसँग थप खोपका लागि कुराकानी भइरहेको प्रधानमन्त्री ओलीले नेपालमा खोप उद्घाटन गर्दा बताएका थिए ।

    चीनको आफ्नै शैली

    भारतले उपलब्ध गराएको खोप नसकिंदै चीनले पनि नेपाललाई पाँच लाख डोज खोप आपतकालीन प्रयोगका लागि उपलब्ध गराउने प्रस्ताव गरेको छ । चीनले उपलब्ध गराउने ‘सिनोफार्म’ खोप लिन नेपाल सकारात्मक छ । यद्यपि औषधि व्यवस्था विभागबाट सो खोपलाई अनुमति प्रदान गरिसकेको छैन ।

    चीन विगत लामो समयदेखि नेपालको हितैषी मुलुक हो । भारतले नेपालमा गर्ने सहायता स्वार्थप्रेरित हुने गरेको आशंका गरिए पनि चीनको हकमा यस्तो आशंका कम गरिन्छ । तथापि पछिल्लो समयमा चीनले पनि नेपालमा हस्तक्षेपकारी भूमिका खेल्न थालेको चर्चा शुरू भइरहेको छ । यस्तो चर्चालाई बल पु¥याउने गरी पछिल्लो समयमा चिनियाँहरूका केही गतिविधि देखिएका पनि छन् । नेपाललाई भारतको प्रभावबाट मुक्त गरेर आफू निकट ल्याउन चीनले गरेका प्रयासहरू छिपेका छैनन् ।

    त्यसो त भारतले नेपाललाई १० लाख खोप उपलब्ध नगराएको भए पनि चीनले दिन सक्थ्यो ।

    ‘यदि सहयोगको होड नै गरेको भए चीनले भारतको भन्दा बढी खोप दिने प्रस्ताव गर्न सक्थ्यो’ ती विश्लेषक भन्छन्, ‘उसले भारतको भन्दा आधा परिमाणमा मात्रै दिनुले प्रतिस्पर्धाको भावना नरहेको भनेर बुझ्नुपर्छ ।’

    छिमेकीहरूबीच प्रतिस्पर्धाको भावना भए पनि नभए पनि नेपालसँग खोप स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

    उनी भन्छन्, ‘नेपाललाई बढीभन्दा बढी संख्यामा खोप चाहिएकै छ । त्यसैले जसले दिए पनि मापदण्ड पुगेको र गुणस्तरीय छ भने लिने नै हो । यसमा सम्बन्धित देशहरूको स्वार्थको खोजीनिती गरेर विषयलाई जटिल बनाइराख्नु आवश्यक छैन ।’

    त्यसो त चीनले नेपाललाई खोप उपलब्ध गराउने विषयमा पठाएको पत्रमा पनि ‘घुक्र्याउने भाषा’ प्रयोग गरेको छ । तत्काल नेपालले खोप स्वीकार नगरेको खण्डमा अरूलाई नै दिन सकिने र भविष्यमा खोप प्राप्त गर्न नेपालले लामो समय कुर्नुपर्ने हुनसक्ने पत्रमा उल्लेख छ ।

    २०७२ सालको भूकम्पपछि भारत र चीनले नेपाललाई सहयोग घोषणा गर्ने विषयमा खुलेर प्रतिस्पर्धा गरेका थिए । अहिले पनि ‘खोप कूटनीति’ मार्फत दुई देशले नेपाललाई विश्वासमा लिनका लागि प्रयास गरेको देखिन्छ ।

    त्यसो त नेपाललाई खोप उपलब्ध गराउन भारत र चीन मात्रै नभई अन्य राष्ट्रहरू समेत इच्छुक छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायतको सहयोगमा विश्व स्वास्थ्य संगठनमार्फत नेपाललाई २० लाख डोज ‘कोभ्याक्स’ खोप उपलब्ध गराउने घोषणा गरेकी छिन् । विश्वभर जारी ‘भ्याक्सिन डिप्लोमेसी’ को असर नेपालमा कस्तो पर्ने हो ? त्यो भने आगामी दिनमा देखिनेछ ।

  • म ठिकठाक छु, कोरोनाविरुद्धको खोप लाउँदिन भन्दै नभनौं

    म ठिकठाक छु, कोरोनाविरुद्धको खोप लाउँदिन भन्दै नभनौं

    कोरोनाविरुद्धको खोप किन आवश्यक भन्ने वहस अहिले संसारभर चलिरहेको छ । यहाँहरु आफू तन्दरुस्त हुनुहुन्छ, कोरोनाबाट भाइरसले कति जनालाई त कुनै लक्षण नदेखिएरै पनि यहाँहरु रोगमुक्त हुनुभएको छ । त्यस्तो पनि हुनसक्छ ।

    म खोप लगाउदिगन भनेर त्यसरी नसोच्नुहोला । किनभने यहाँहरु आफूलाई केहि नभए पनि यहाँहरुले संक्रमण गराउन सक्ने क्षमता हुन्छ । यदि सबैले खोप लगाएर आफूलाई सुरक्षित राख्नुभयो भने हामीले समाजमा त्यस्ता व्यक्तिहरु जो खोप लगाउन नसक्ने अवस्थाका हुनुहुन्छ, विभिन्न रोगका कारण, रोग प्रतिरोधात्मक क्षमताकाको कमी भएका व्यक्तिले यो खोप लगाउनु सक्नुहुन्न । हामीले खोप लगायौ भने आफूलाई केहि नभए पनि त्यस्ता व्यक्तिलाई सार्नबाट त जोगाउने भयौ नि ।

    उनीहरु पनि यहाँहरुको कारणले सुरक्षित हुने भए । खोप लगाएर के पनि हुन्छ भने जटिल अवस्थामा पुग्नसक्ने विरामीको चाप कम हुन्छ अस्पतालमा । त्यस कारण स्वास्थ्यकर्मीलाई पनि यो रोगका विरामीलाई अस्पतालमा संख्या कम भएपछि व्यवस्थापन गर्नका लागि सहज हुन्छ ।

    यसले यहाँहरुले खोप लगाएका कारणले गर्दा स्वास्थ्यकर्मी र अस्पताललाई पनि सहयोग पुग्छ । त्यसैले खोप लगाएर हामी आफूमात्र सुरक्षित हुन्छौ भन्ने होइन । हामीले समग्रमा यो रोगलाई महामारीको दर्जा जुन पाएको छ, त्यो दर्जाबाट तल झार्नका लागि पनि यहाँहरुले लगाएको खोपले योगदान गर्छ ।

    यसै कारणले जतिसुकै यहाँहरु स्वस्थ हुनुहुन्छ र मलाई कोरोना लागे पनि केहि हुँदैन भन्ने सोच्नुहुन्छ भने पनि त्यस्ता हरेक व्यक्तिले खोप लगाउन जरुरी छ । हाम्रो आफ्नो लागि मात्र होइन, आफ्नो घर परिवार, आफन्त, समाज र सारा विश्वलाई नै यो महामारीको चपेटाबाट मुक्त गराउनका लागि हामीले खोप लगाउन अत्यन्त आवश्यक छ ।

    हुन त इतिहासमा यस्ता महामारी पहिला नभएका पनि होइनन्, धेरै यस्ता महामारी । जस्तै साधारण दादुरा, निमोनिया, क्षयरोग जस्ता धेरै रोगले कुनै जमानामा यस्तै विकराल रुप लिएका थिए । तर हामीले विज्ञानमाथी भरोसा गर्यौ र औषधी, खोप लगायौ, त्यसै कारणले आज ती रोग हाम्रो नियन्त्रणमा छन् । हामीले केहि नभए पनि उपचार गर्न सक्छौ वा रोग लाग्न नदिने खोप पनि लगाएका छौ । त्यसरी नै अहिले पनि हामी सबैले विज्ञानमाथि फेरी एकपटक भरोसा गरेर खोप लगाउन आवश्यक छ । अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सबैले लगाउँ, जिवन बचाउँ ।

  • नेपालमा प्रयोगमा ल्याइएको भ्याक्सिन अफ्रिकामा स्थगित

    नेपालमा प्रयोगमा ल्याइएको भ्याक्सिन अफ्रिकामा स्थगित

    काठमाडौं । नेपालमा आपतकालिन प्रयोगमा ल्याइएको कोरोनाविरुद्धको खोपलाई दक्षिण अफ्रिकाले नलगाउने भएको छ । नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप प्रयोगमा ल्याएको छ ।

    दक्षिण अफ्रिकामा भने यो भ्याक्सिन स्थगित गरिएको छ । दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीले त्यहाँ एस्ट्राजेनेका खोप वितरण कार्य स्थगित भएको जनाएका छन् ।

    दक्षिण अफ्रिकामा देखिएको कोरोनाको भेरिएन्टविरुद्ध खोप प्रभावकारी नभएपछि अभियान स्थगित गरिएको जनाइएको छ । अफ्रिकामा यो खोप १० प्रतिशत मात्र प्रभावकारी भएको जनाइएको छ । ५० प्रतिशतभन्दा माथिको प्रभावकारितालाई मात्र राम्रो हुने जनाइएको छ ।

    वैज्ञानिकले यो भ्याक्सिन वितरण कसरी प्रभावकारी हुन्छ भन्ने निधो नगरेसम्म खोप अभियान स्थगित गरिएको जनाइएको छ । एस्ट्राजेनेकाको विकल्पमा अफ्रिकामाले फाइजर र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोगमा ल्याउनेबारे सोचिरहेको छ ।

    नेपालले अस्ट्राजेनेकालाई दोस्रो चरणमा लगाउन सुरु गरिएको छ । अमेरिकामा भने यो खोप अझै प्रयोगमा ल्याइएको छैन ।

  • लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले लगाए कोभिड-१९ खोप

    लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले लगाए कोभिड-१९ खोप

    रुपन्देही । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत निर्धारित संख्यामध्ये लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले खोप लगाएका छन् । यस प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिड-१९ खोप लगाएका हुन् ।

    प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीका अनुसार खोप लगाउन संकलन गरिएका नामावलीमा गर्भवती र सानो वच्चाको आमाले नलगाउने सूचना आएका कारण लक्ष्य पूरा नभएको बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भण्डारीका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन् । कपिलवस्तुमा २ हजार २ सय २६, दाङमा ३ हजार ५ सय ४६, बाँकेमा ४ हजार ९ सय ५७, बर्दियामा १ हजार ९ सय ३१, नवलपरासीमा १ हजार १ सय ५२ ले खोप लगाएका छन् ।

    त्यस्तै अर्घाखाँचीमा १ हजार ३ सय ७८, पाल्पामा २ हजार ७ सय १२, गुल्मीमा १ हजार ७ सय ४५, रुकुम पूर्वमा ३ सय ८२, रोल्पामा ९ सय ८७ र प्युठानमा १ हजार १ सय ३४ जनाले खोप लगाएका छन् ।

    लुम्बिनी प्रदेशमा २५ खोप केन्द्रमार्फत पहिलो चरणमा ३४ हजार ९ सय ९५ जनालाई खोप लगाउन डोज छुट्टयाइएकोमा २८ हजार ९ सय ७० जनाले मात्र खोप लगाएका छन् । अझै ६ हजार २५ डोज खोप बाँकी छ ।

  • पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

    पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

    काठमाडौं । सोमबारदेखि सरकारले दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान शुरू गर्ने भएको छ । दोस्रो चरणमा पत्रकार, दुतावास, युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ ।

    संचारमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको जनाएका छन् । सरकारले १३ हजारभन्दा बढी पत्रकारलाई खोप लगाउने तयारी गरेको छ ।

    सूचना विभागको प्रेसपासको आधारमा सरकारले खोप लगाउने पत्रकारको विवरण तयार पारेको हो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताए ।

    मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारका लागि राहतको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको समेत बताए । शनिबार सकिएको खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाए ।

    सिभिल अस्पतालमा पत्रकार र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ । शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ । शुक्रबारसम्म दोस्रो चरणको खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रहरी अस्पतालमा रक्तदान, प्रथम महिलाले भनिन्– अभियान नै चलाउँ (तस्बिरहरु)

    प्रहरी अस्पतालमा रक्तदान, प्रथम महिलाले भनिन्– अभियान नै चलाउँ (तस्बिरहरु)

    काठमाडौं । प्रथम महिला (प्रधानमन्त्री पत्नी) राधिका शाक्यले कोभिडविरुद्धको भ्याक्सिन जतिसक्दो चाँडो नेपालमा सबै नागरिकलाई पुग्नेगरि उपलब्ध हुने विश्वास व्यक्त गरेकी छन् ।

    नेपाल प्रहरी अस्पताल महाराजगन्ज र घुन्सा फाउन्डेसनको संयूक्त आयोजना तथा पठाओ नेपाल प्रालि र विमपन्नका लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा शाक्यले यसबारेमा प्रधानमन्त्री आफैं अग्रसर भइरहेको बताइन् ।

    कार्यक्रममा प्रथम महिला शाक्यले रक्तदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन् । कोभिड–१९ का कारणले रक्तदान नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएकोले यस्ता अभियान चलाइनुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निस्काम भाव राखि समाज सेवा गर्ने मान्छेहरू नामको भन्दा कामको पछि लागेर निस्वार्थ समाज सेवामा लाग्ने बताउँदै स्वास्थ्य सेवामा सहकार्यका लागि नेपाल प्रहरी अस्पताल चयन गरेकोमा घुन्सा फाउण्डेसनलाई धन्यवाद दिए ।

    नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुले आफूलाई प्रहरी अधिकारी भन्दा पनि चिकित्सकको रुपमा लिनुपर्ने उनले बताउ । उनले युनिफर्मले कतिपयमा दम्भ सिर्जना गर्ने भन्दै चिकित्सकहरु निस्कामभावले लाग्ने बताए ।

    कार्यक्रममा १ सय ६ जना पुरुष र २४ जना महिला गरी कुल १ सय ३० जनाले रक्तदान गरेको फाउन्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन् ।

  • वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

    वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

    वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड-१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् ।

    कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

    हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

    विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।

  • चीनले नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने

    चीनले नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने

    काठमाडौं । नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच शुक्रबार बेलुका टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीबीच वार्ता भएको जनाएको छ ।

    टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाललाई पाँच लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने वचन दिएका छन् । उक्त परिमाणको खोप प्रक्रिया पुर्‍याएर चाँडै काठमाडौं पठाउने यीले नेपाली समकक्षीलाई जानकारी दिए ।

    विज्ञप्तीमा खोपको वितरणमा चीनले नेपाललाई प्राथमिकतामा राखेको र अनुदानमा उपलब्ध गराउने समेत उल्लेख छ ।

    नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र स्रोतले कोभिडविरुद्धको खोप र द्धिपक्षीय हितका विषयमा उनीहरुबीच संवाद भएको जनाएको छ । अर्को छिमेकी भारतले उपलब्ध गराएको १० लाख डोज भने प्रयोगमा आइसकेको छ । खोप सहयोग गर्नेबारे मन्त्री ज्ञवालीलाई धन्यवाद समेत दिएका छन् ।

    चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप नेपाल आउने जनाइएको हो । भन्डै ८० प्रतिशतले प्रभावकारी मानिएको यो खोप नेपाल ल्याउने भने सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिनुपर्ने हुन्छ । चीनले पाकिस्तानलाई पनि ५ लाख डोज खोप उपलब्ध गराउने जनाएको छ ।

    आज शनिबार नेपालमा पहिलो चरणको खोप अभियान समापन हुँदैछ ।

  • नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने डब्लुएचओको घोषणा, यसै महिनाको अन्त्यसम्म आइपुग्ने

    नेपाललाई २२ लाख ५६ हजार डोज खोप दिने डब्लुएचओको घोषणा, यसै महिनाको अन्त्यसम्म आइपुग्ने

    काठमाडौं । नेपालले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख छ ।

    कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो ।

    नेपालले उक्त खोपलाई आपतकालिन प्रयोगमा ल्याएको एक सातापछि डब्लुएचओले यस्तो घोषणा गरेको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले खोप प्राप्त गर्ने डब्लुएचओको प्रक्षेपणमा उल्लेख छ ।

    नेपालको औषधी व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । राष्ट्रसंघले उपलब्ध गराउने उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशत (१ करोड)लाई पुग्ने जनाइएको छ ।

    नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् । बुधबारसम्म नेपालमा कोरोनाका २ लाख ७१ हजार ४३१ जना संक्रमित पुगेका छन् । मृतक संख्या २,०३१ पुगेको छ ।

  • कोभिड महामारीपछि मानसिक रोगका बिरामी बढे

    कोभिड महामारीपछि मानसिक रोगका बिरामी बढे

    काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् ।

    मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताए ।

    उनले भने, ‘यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० श्यया व्यवस्था गरेको छ, यी श्यया अहिले सधैजसो भरिभराउनै हुन्छन्, सानो बच्चामा सो रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन् भने १५ देखि ५५ वर्ष उमेर समुहका मानिस आउने क्रम बढेको छ ।’

    विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । सो अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको सङ्ख्या १० देखि ३० प्रतिशतमा झरेको थियो ।

    मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ ।

    अस्पतालमा महामारीअघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा हाल लगभग एक हजारले सो सेवा लिन थालेका डा. शाक्यको भनाइ छ ।

    अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा शाक्यले औल्ल्याए । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम सङ्ख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ । रासस

  • भारतसँग सीमा जोडिएका शहरमा तस्करीका कुखुरा छ्यापछ्याप्ती

    भारतसँग सीमा जोडिएका शहरमा तस्करीका कुखुरा छ्यापछ्याप्ती

    विराटनगर । भारतमा अहिले बर्डफ्लूको प्रकोप सुरु भएको छ । भारतसँग सीमा जोडिएका नेपाली शहरमा पनि बर्डफ्लूको जोखिम उच्च बनेको छ । बर्डफ्लूको प्रकोपका कारण भारतबाट तस्करी गरी नेपालमा ल्याएर विक्री गर्ने गिरोह सक्रिय रहँदा प्रहरीले पनि निगरानी उच्च बनाएको छ ।

    सुनसरीको कोशी गाँउपालिका मंगलबार विहान भारतबाट ल्याइएका ८० वटा बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्‍यो । पाँच दिन अघि नेकपा कटहरी गाउँपालिकाका अध्यक्ष जीतनारायण सरदारले तस्करी गरी ल्याएको १–०४००१ च ००४६ नं. को पिकअप भ्यानसहित २ लाख २५ हजार मूल्य बराबरको ७ सय ५० केजी कुखुरा प्रहरीले खाल्डोमा हालेर तत्काल नष्ट गर्‍यो । केही दिनअघि पनि मोरङ प्रहरीले ठूलो परिमाणमा तस्करीको कुखुरा बरामद गरेको थियो ।

    पछिल्ला दिनमा दैनिक जसो प्रहरीले भारतको विहार राज्यसंग सिमाना जोडिएका मोरङ, सुनसरी विभिन्न ठाउँबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका कुखुरा नियन्त्रण लिई नष्ट गर्दै आएको छ । तर कुखुरा तस्करी रोकिएको भने छैन ।

    भारतको विहार राज्यका विभिन्न ठाउँमा बाइलर कुखुरामा बर्डफ्लू देखिएपछि मोरङ, सुनसरी, झापासहितका जिल्लाहरुमा कुखुरा आयात-निर्यातमा कडाई गरिएको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका मोरङ सुनसरीसहित पूुर्वी नेपालमा बर्डफ्लू भित्रिन सक्ने भन्दै स्थानीय प्रशासनले कडाई गरे पनि भारतबाट बोइलर कुखुरा तस्करी जारी नै छ ।

    कुखुरामा नेपाल आत्मनिर्भर छ । बर्डफ्लूसहित अन्य रोग भित्रिन सक्ने भन्दै सरकारले भारतबाट कुखुरा तथा पन्छी आयातमा प्रतिबन्ध लगाएको हो । तर, अबैध बाटो हँुदै भित्रिने कुखुरा काठमाडौंसम्म पुग्ने गरेको कृषकहरु बताउँछन् ।

    ‘भारतबाट भित्रिएका कुखुरा विभिन्न बजारमा पुग्छन्,’ कुखुरा पालक कृषक सुनसरी हरीनगारका विमल चौधरी भन्छन्, ‘तस्करी फस्टाउँदा स्थानीय कृषकले उत्पादन गरेको कुखुराले बजार पाउन सकेन् ।’ भारतमा बोइलर कुखुरा नेपालको तुलनामा सस्तोमा पाइन्छ । चौधरीका अनुसार भारतबाट दैनिक २ हजारवटा कुखुरा भित्रिने गरेको छ । ‘रातभरी पारीबाट ओसारेका ओसारै गर्छन्,’ उनी भन्छन्, ‘तस्करीको कुखुरा काठमाडौंसम्म पुग्छ भन्ने सुनेको छु ।’

    खुल्ला सीमा भएका कारण प्रहरीलाई तस्करी रोक्न चुनौती थपिएको प्रदेश–१ प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विपिन रेग्मी बताउँछन् । प्रहरीले देखेसम्म नियन्त्रण गर्ने बताउँदै उनले सबै स्थानमा २४ सै घण्टा प्रहरी खटाउन नसकिएका कारण तस्करलाई सजिलो भएको स्वीकारे ।

    उनले भारतमा बर्डफ्लु भेटिएपछि सीमामा उच्च सतर्कता अपनाइएको बताउँदै डिएपी रेग्मीले सीमावर्ती क्षेत्रमा हुँदै आएको कुखुरा तस्करी रोक्न निर्देशन दिएको बताए ।तर प्रहरीले नियन्त्रणको प्रयास भईरहेको बताएपनि सीमावर्ती क्षेत्रका ग्रामीण भेगका नाका प्रयोग गरी दैनिक रूपमा खुलेआम नेपालमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा भित्रिने क्रम भने रोकिनुको सट्टा अझ बढेको छ ।

    मूल्य अन्तरले तस्करी फस्टायो

    नेपालमा बोइलर कुखुराको मासु २९० देखि ३५० प्रतिकेजी पाइन्छ । भारतमा भने १४० देखि १६० नेपाली रुपैयाँमै पाइने गरेको छ । मूल्यमा आधा अन्तर परेपछि उपभोक्ताको रोजाइ पनि भारतीय कुखुरा हुने गरेको छ । माग बढेपछि तस्करी पनि बढेको हो ।

    सीमावर्ती क्षेत्रबाट तस्करी गरेर ल्याइने ब्रोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटी केही व्यवसायीहरूले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।

    प्रहरीको सक्रियता भारतमा बर्डफ्लु पुष्टि भएपछि पछिल्लो समय सीमामा प्रहरीले सक्रियता बढाएसँगै मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको हो ।

    तस्करीमा लागेका गिरोहले विराटनगरको दरैयावस्ती, इस्लामपुर, हुलास चौकको दक्षिण गेट र सुनसरीको श्रीपुर, लाही, भण्टाबारी, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिकमा भारतीय बोइलर कुखुरा भित्र्याउने गर्छन् ।

    भारतबाट अबैध बाटो हुँदै भित्रिएको कुखुराका कारण स्थानीय कृषकको कुखुरा बिक्री न्यून छ । नेपाली कुखुराको बजार मुल्य बढी र भारतमा कम भएपछि तस्करले मुनाफा धेरै भएपछि रातारात तस्करी गर्दै आएको प्रहरीको दाबी छ ।

    भारतमा बर्डफ्लूको महामारी तीव्र रुपमा फैलिरहेको छ । पूर्वी नेपालमा हालसम्म कुखुरामा बर्डफ्लू भएको पृष्टी भएको छैन । तर भारतबाट दिनहुँ जसो प्रहरीको आँखा छलेर भित्रिने बोइलर कुखुराले जोखिम भने बढाएको छ । नेपाल सरकारले २०६३ सालबाटै भारतबाट पंक्षीजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको हो ।

    ‘भारतका ६ वटा राज्यमा बर्डफ्लु फैलिएको छ’ रानी भन्सार पशु क्वारेण्टाइन कार्यालयका क्वारेण्टाइन अधिकृत अनित घिमिरेले भने, ‘खुला सीमाका कारण नेपालमा भित्रिन सक्ने जोखिम उच्च छ ।’

    भारतमा देखिएको बर्डफ्लू नेपालमा समेत भित्रिन सक्ने भएकोले सुनसरी, मोरङ, सप्तरी र सिरहा जिल्लाका प्रहरी प्रशासनलाई यसतर्फ विशेष सतर्कता अपनाउन भन्दै परिपत्र गरिएको पनि उनले जानकारी दिए । चोरबाटो हुँदै ल्याइने वस्तु रोकथाम तथा नियन्त्रण गर्ने दायित्व सीमा सुरक्षा प्रहरी र भन्सारलगायतको भएको बताउँदै घिमिरेले यस विषयमा उनीहरूको समेत ध्यानाकर्षण गराइएको बताए ।

     

     

  • कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सघाउन वेलायत इच्छुक

    कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सघाउन वेलायत इच्छुक

    काठमाडौं । वेलायतले कोभिड १९ विरुद्धको खोप अभियानमा नेपाललाई सघाउन इच्छुक रहेको जनाएको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको भेटमा नेपालका लागि वेलायती रजादूत निकोला पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि खोप अभियान चाँडै शुरु गरेकोमा सराहना गर्दै यस अभियानमा सहयोग गर्न वेलायत इच्छुक रहेको बताएकी हुन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा कोभिड १९ महामारीविरुद्ध नेपालले चालेका कदमको समेत प्रशंसा गरेको बताइएको छ । भेटमा राजदूत पोलिटले अर्को वर्ष नोभेम्बरमा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गईरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले जनाएका छन् ।

    भेटमा उपप्रधानमन्त्री पोखरेलले कोभिड १९ संकट व्यवस्थापन केन्द्र स्थापना गरी सम्बन्धित मन्त्रालयहरु मार्फत् रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको जानकारी दिएका छन् ।

    पोखरेलले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरे ।

    उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको पनि प्राथमिकतामा रहेको जानकारी गराउँदै सन् २०१८ मा पोल्याण्डमा भएको सम्मेलनमा राष्ट्रपतिको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको स्मरण गरेका थिए ।

    पोखरेलले नेपाललाई समृद्धि, स्थिरता र विकासमा गर्ने अभियानमा संयुक्त अधिराज्यको निरन्तर सहयोग रहने अपेक्षासमेत व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • राजनीतिक माग राख्दै डा. केसीद्वारा २०औं अनशन बस्ने घोषणा

    राजनीतिक माग राख्दै डा. केसीद्वारा २०औं अनशन बस्ने घोषणा

    काठमाडौं । राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २०औं अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उनको घोषणा छ ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले दुई सूत्रीय माग राखेका  छन् । उनको पहिलो माग ‘प्रधानमन्त्रीद्वारा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने’ रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले उनले खुलेर संसद पुन:स्थापना भनेका छैनन् ।

    यसैगरी उनले विधि र प्रक्रिया मिचेर अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरिएको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग गरेका छन् ।

    विज्ञप्तिमा उनले लेखेका छन्, ‘ केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।’

    नागरिकका हैसियतले शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको केसीले उल्लेख गरेका छन् । संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको भन्दै उनले देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्ने आशा व्यक्त गरेका छन् ।

  • आयोडिनयुक्त नुनबारे एक महिने प्रचार अभियान शुरू

    आयोडिनयुक्त नुनबारे एक महिने प्रचार अभियान शुरू

    काठमाडौं । सरकारले आयोडिनयुक्त नुन खाने बानीको विकास गर्न महिनाव्यापी कार्यक्रम शुरू गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ १९ देखि फागुन १६ गतेसम्म आयोडिन सम्बन्धी सचेतना कार्यक्रम थालेको हो ।

    आयोडिनको कमि भएका नेपाललगायतका १ सय ३० देशमा आयोडिनको कमीबाट हुने समस्याबारे जनचेतना जगाउन हरेक वर्षको फेब्रुअरी विशेष महिनाको रूपमा मनाइँदै आएको छ ।

    यस वर्ष पनि माघ १९ देखि फागुन १६ गतेसम्म ‘नुन थोरै खाऔँ तर सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह भएको पाकेटको नुन मात्र खाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी महिनाव्यापी रुपमा मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको पत्र पाए लगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई महिनाव्यापी कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिसकेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जनाएको छ ।

    कार्यक्रम मनाउन आवश्यक बजेटसहित विस्तृत मार्गदर्शन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा प्रकाशित भइसकेको र प्रदेश तथा स्थानीय निकाय कार्यसञ्चालन मार्गदर्शनमा रहेकोसमेत मन्त्रालयले जनाएको छ ।

  • चीनले नेपालसहित १४ मुलुकलाई खोप उपलब्ध गराउने

    चीनले नेपालसहित १४ मुलुकलाई खोप उपलब्ध गराउने

    काठमाडौं । चीनले नेपालसहितका १४ मुलुकलाई आफूले उत्पादन गरेको सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

    विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वेनविनले यस्तो जानकारी दिएका हुन् । नेपालले चीनबाट अनुदानमा ३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

    खोप चाँडै वितरण गरिने प्रवक्ता सुहाङले जनाए । उनका अनुसार चीनले नेपालसहित पाकिस्तान, ब्रुनाइ, फिलिपिन्स, म्यानमार, कम्बोडिया, लाओस, श्रीलंका, मंगोलिया, प्यालेस्टाइन, बेलारुस, सियरालियोन, जिम्बाबे र गुएनालाई खोप उपलब्ध गराउने भएको छ ।

    चीनले दिएको उक्त खोप नेपालको डेढलाख जनसंख्यालाई लगाउन मिल्नेछ । यो खोपले चीनमा ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको जनाइएको छ ।

    तर, नेपालले भने चिनियाँ खोपलाई अहिलेसम्म प्रयोगका लागि अनुमति दिइसकेको छैन । नेपालले अक्सफोर्डले विकास गरेको एस्ट्राजेनेकाको भारतीय खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । चीनको उक्त खोप ७५ प्रतिशत प्रभावकारी हुने दाबी गरिएको छ ।

  • कोरोनाविरुद्धको खोप लगाउनुअघि एन्टीबडी परीक्षण किन ? (भिडियो)

    कोरोनाविरुद्धको खोप लगाउनुअघि एन्टीबडी परीक्षण किन ? (भिडियो)

    काठमाडौं । माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ । आइतबारसम्म ८८ हजार ७ जनाले खोप लगाइसकेका छन् ।

    अभियान चलिरहँदा कोरोना संक्रमण भएर निको भएकाले खोप लगाउनु पर्छ कि पर्दैन ? भन्ने जिज्ञासा पनि उब्जिएको छ । पछिल्लो समय जिज्ञासा मेटाउन टेकु जनस्वास्थ्य प्रयोगशाला पुग्नेको संख्या बढेको प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताले बताए ।

    एन्टीबडी परीक्षणबाट पहिला कोरोना संक्रमण भए नभएको र शरीरमा कोरोनाविरुद्ध लड्ने प्रतिरोध क्षमता विकास भएको छ छैन ? थाहा पाउन सकिन्छ ।

    एन्टीबडी परीक्षणको क्रममा कोरोनाविरुद्ध लड्ने क्षमता पर्याप्त देखिए खोप लगाउन हतार गर्नु नपर्ने विज्ञहरु बताउँछन् । तर कोरोना संक्रमण भएर निको भएकाहरुले पनि खोप भने लगाउनुपर्छ ।

    किनकि, कुनै एक प्रजातिको कोरोना भाइरस संक्रमण भए त्यही प्रजातिविरुद्ध बनेको एन्टीबडीले अरु प्रजातिको भाइरस संक्रमणबाट जोगाउन सक्दैन । अहिलेको खोपले सबै प्रजातिका कोरोना संक्रमणबाट बचाउने सम्भावना रहेको विज्ञको भनाइ छ ।

    कोरोना संक्रमण भएपछि शरीरमा एन्टीबडी कति समयसम्म रहन्छ भन्ने यकिन नभएकाले संक्रमण भएर निको भएकाले पनि खोप लगाउनुपर्ने वरिष्ठ खोप विशेषज्ञ श्याम उप्रेतीले बताए ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एन्टीबडी परीक्षण गर्नेमध्ये कोरोना संक्रमण भएर निको भएको ८–९ महिनापछि पनि शरीरमा पर्याप्त एन्टीबडी रहेको पाइएको छ ।

    खोप लगाउनुअघि एन्टीबडी परीक्षण किन आवश्यक छ ?

    खोप लगाउनुअघि र पछि शरीरमा एन्टीबडीको मात्रा परीक्षण गर्नु उत्तम हुने बताउँछन्, वरिष्ठ प्रयोगशाला विज्ञ राजेशकुमार गुप्ता ।

     

  • चीनले पनि दिने भयो अनुदानमा खोप, ३ लाख डोज खोप नेपाललाई दिने निर्णय

    चीनले पनि दिने भयो अनुदानमा खोप, ३ लाख डोज खोप नेपाललाई दिने निर्णय

    काठमाडौं। चीनले पनि नेपाललाई आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार छिटै नेपाललाई अनुदानमा खोप दिइनेछ । संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले उल्लेख गरेको छ।

    चीनले दिएको खोप १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ। चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो।

    यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ।

    अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जनाएको छ।

    भारतले अनुदानमा दिएको खोप नेपालमा यसअघि नै लगाउन थालिइसकेको छ ।

  • डा. साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

    डा. साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

    जनकपुरधाम । प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साहलाई नियुक्त गरेको छ ।यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेको छ ।

    आईतवार दिउँसो मुख्यमन्त्री लालबाबु राउतले आफ्नै निवास मधेस भवनमा तीनै जनालाई नियुक्तिपत्र प्रदान गरे । उनीहरुलाई मुख्यमन्त्री राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह र कृषि मन्त्री शैलेन्द्र साहले फूलमाला लगाएर सफल कार्यकालको बधाइ दिए ।

    जनकपुर प्रदेशिक अस्पतालाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रदेश सरकारले बनाउने निर्णग गरेको छ । मुख्यमन्त्री राउतले देशको गौरबको योजना अन्तर्गत प्रतिष्ठान गठन गरेको बताए ।

    उनले भने, ‘सक्षम, योग्य र प्रदेश सरकारले लिएको उदेश्य पुरा गर्ने उदेश्यले तीनै जनालाई नियुक्त गरिएको छ । उहाँहरुले हामीले सोचे अनुसार चाहे अनुसार प्रदेश सरकारको प्रतिष्ठा कायम राख्नेगरी अगाडी बढ्ने विश्वास लिएको छु ।’

    ‘डाक्टर साहेबहरुको लागि पनि अवसर छ । हाम्रो लागि पनि अवसर छ । तर च्यालेन्जको पहाड छ’, मुख्यमन्त्री राउतले भने, ‘अहिले कुनै पनि संरचना छैन । सम्पूर्ण संरचना निर्माण गर्नुपर्छ । बस्ने ठाउँदेखि लिएर प्रतिष्ठान संचालन गर्ने र एकेडमीक सेसनहरु सुरु गर्नुपर्छ । हामीले यसैवर्षदेखि सेसनहरु सुरु गर्ने उदेश्यका साथ काम गरिरहेको छु ।’

    सामाजिक विकासमन्त्री साहले पनि यसै वर्षदेखि कम्तिमा दुई विषयको भएपनि मास्टर डिग्रिको पढाई हुनुपर्ने बताए । उनले जनकपुरलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए ।

    उनले भने– प्रतिष्ठानले सेवा गर्ने र पाउने मौका मिल्छ । सेवाबाट हटाउने कुनै कुरा छैन ।’उपकुलपतिमा नियुक्त भएका डा. साह वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।

    उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि प्रतिष्ठान गठन भएको भन्दै सोही बमोजिम काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘सुचकाङ्कमा देशमै सबभन्दा पछाडी परेको छ प्रदेश २ । त्यसैले दक्ष जनशक्तिलाई आकर्षण र स्तरीय सेवा सुधार गर्न नितान्त जरुरी छ ।’

  • बर्डफ्लु नेपाल भित्रिएपछि भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध

    बर्डफ्लु नेपाल भित्रिएपछि भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध

    काठमाडौं । नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

    संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।

    १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।

    रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

  • नेपालमा बर्डफ्लु भित्रियो, काठमाडौं तारकेश्वरका हाँस र टर्कीमा संक्रमण पुष्टि

    नेपालमा बर्डफ्लु भित्रियो, काठमाडौं तारकेश्वरका हाँस र टर्कीमा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा बर्डफ्लु रोग (एचफाइभएनएठ) संक्रमणको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै काठमाडौं तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जनाएको हो ।

    रियल टाइम पीसीआर परिक्षण गर्दा बर्डफ्लु संक्रमण पुष्टि भएको जनाइएको छ । बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको छ ।

    संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको समेत विज्ञप्तीमा उल्लेख छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।

    १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।

    रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

  • ढुक्क भएर ‘कोभिसिल्ड’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    ढुक्क भएर ‘कोभिसिल्ड’ खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफँै हराएर जाने गरेको बताउनुभयो ।

    खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफै निको भएको छ”, उहाँले भन्नुभयो, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक÷दुई दिनमा निको हुन्छन ।”

    उहाँले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताउनुभयो । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उहाँका खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताउनुभयो । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताउनुभयो । उहाँले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताउनुभयो ।

    मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप हिजो (बुधबार) बाट देशभरी नै दिइन थालिएको छ ।

  • गर्धन दुख्यो ? यसरी गर्नुस् घरेलु उपचार

    गर्धन दुख्यो ? यसरी गर्नुस् घरेलु उपचार

    गर्धन दुखाइ तपाईंले आफ्नो दैनिक जीवनमा गर्नुभएका स-साना गल्तीका कारण हुन सक्छन । आउनुस् हामी यस कष्टको कारण र व्याख्याबारे छलफल गरौं ।

    डाक्टर भन्छन् कि एक व्यक्तिले दिनमा लगभग ६ देखि १० घण्टा सुत्नु पर्छ। त्यसो गर्दा हामी अर्को दिन काम सजिलोसँग गर्न सक्दछौं । उचित निद्राको साथ, मुटु, मस्तिष्क, र पाचन पथसहित सजिलै स्वस्थ कार्य गर्न सकिन्छ ।

    यस पीडाको सबैभन्दा सामान्य कारण जब तपाईं सुत्नुहुन्छ तपाइको गर्धनको पोस्चर कस्तो छ भन्ने कुरामा भर पर्छ । सुत्दा तपाईंले कडा वा नरम सिरानी के प्रयोग गर्नुहुन्छ एकदमै ख्याल राख्नुपर्दछ । साथै, यो निश्चित गर्नु जरूरी छ कि टाउको र तपाईंको शरीरको लाइन सिरानीमा मिल्दो छ/छैन । यसले घाँटी वरपरको मांसपेशीको तनाव सन्तुलनमा राख्न मद्दत गर्दछ।

    म निद्रा र आसनको महत्त्वमा जोड दिन चाहन्छु, किनकि धेरै जसो कडा सिरानी प्रयोग गर्नेहरूले घाँटीभित्र र वरिपरि कठिनाइ र दुखाइ सामना गर्छन् ।

    तपाईंको प्रश्न हुन सक्छ – गर्धन दुखाइ र सिरानीको सम्बन्ध के छ ? र, समस्या कहाँ छ ?

    हामीले प्रयोग गर्ने सिरानी र गर्धन दुखाइको सम्बन्ध शतप्रतिशत छ । जब मानिसले गर्धन दुखाइको समस्याबारे डाक्टरलाई भन्छन, उनीहरूलाई पहिले सिरानी प्रयोगमा रोक लगाइन्छ । यद्यपि, कसैले पनि त्यसो गर्नुको कारण सोध्दैनन्।

    तपाईं यदि गलत सिरानीको प्रयोग गरेर सुतिरख्नु भएको छ भने बिहानै ओछ्यानबाट उठ्दा घाँटीमा रहेको सबैभन्दा महत्त्वपूर्ण मांसपेशी ‘ट्रापेजियस’ दुखेको महसुस गर्नुहुन्छ ।

    यसको कारण इनन पंच सामान्य अवस्थाबाट कडा हुनु हो जसले सिरानीमा पर्ने गर्धनको वरपर चिल्लो मांसपेसीहरूमा परिवर्तन हुन्छ। जब हामी टाउको एक छेउमा फर्काउँछौ यी मांसापेसीमा तनाव बढ्छ, त्यसको नतिजा टाउको दुख्ने र पीडा हुने गर्दछ. यसलाई सर्विको जेनिक हेडेक भनिन्छ, जहाँ सर्विको को अर्थ गर्धन उठेको हो।

    केही व्यक्ति फिजियोथेरापीमा आउँदा चिकित्सा सहायता र उपचार खोज्नुहुन्छ तर टाउको दुखाइको पछिल्लो मुख्य कारण घाँटीका मांसपेसेहरू जकडिनु नै हो।

    यदि तपाईं गर्धन दुखाइ अनुभव गर्दै हुनुहुन्छ भने, सबैभन्दा पहिला सिरानी बदल्नुहोस् । तपाईं त्यस्तो सिरानी किन्नुहोस जुन तपाईंको टाउकोको स्थिति सीधा राख्न र शरीर लाइनमा राख्न मद्दत गरोस् । यस्ता सिरानीहरू पसलहरूमा मज्जाले उपलब्ध हुन्छन्।

    यद्यपि घाँटी दुखाइ भएका व्यक्तिहरू आफ्नै लागि विशेष आकारको सिरानी लिन सक्छन् त्यस्ता सिरानी प्रयोग गर्दा यो सुनिश्चित गर्नुपर्दछ कि गर्धन र थोरसिक हड्डीहरू एक सीधा लाइनमा स्थित हुन् ।

  • नेपालमा प्रयोगमा ल्याइएको खोप जर्मनीमा ६५ वर्षमाथिका लाई नदिइने

    नेपालमा प्रयोगमा ल्याइएको खोप जर्मनीमा ६५ वर्षमाथिका लाई नदिइने

    एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ ।

    एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभाबकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै जर्मनीमा वृद्धवृद्धालाई यसको प्रयोग नगर्न सिफारिस गरिएको हो ।

    वैज्ञानिक तथा विशेषज्ञहरूको एक समितिले बेलायतस्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको अस्ट्राजेनेकाको खोपलाई १८ वर्ष देखि ६५ वर्ष उमेर समूहमा प्रयोग गर्न सुझाब दिएको हो ।

    समितिले भनेको छ, “अहिले उपलब्ध तथ्याङ्कमा ६५ वर्ष र त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा प्रयोग भइ यसको प्रभावकारिता पुष्टि गर्ने आधारहरू अपर्याप्त देखिएकोले जर्मनीमा उक्त उमेर समूहमा यसलाई प्रयोग नगर्न उचित हुने निष्कर्ष निकालिएको छ ।”

  • बेलायतबाट नेपाल आउनेलाई पीसीआर र क्वारेन्टिन अनिवार्य

    बेलायतबाट नेपाल आउनेलाई पीसीआर र क्वारेन्टिन अनिवार्य

    काठमाडौं । नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमण भएका बेलायत लगायतका मुलुकबाट नेपाल आउने यात्रुले अनिवार्य पीसीआर परिक्षण तथा क्वारेन्टिन लगायतका मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

    लन्डनस्थित नेपाल दुतावासले विज्ञप्ती जारी गर्दै नेपाल जान लागेका यात्रुलाई कोभिड–१९ मापदण्ड लागु गरेको हो ।

    ७२ घन्टाभित्रको कोभिड परिक्षण रिपोर्ट हुनुपर्ने, यात्राअघि मिति तथा हवाइ उडान सम्बन्धी विवरण राजदुतावासलाई जानकारी दिनुपर्ने, हवाइ टिकट खरिद गर्दा पर्यटन मन्त्रालयले सूचिकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य बुक गरेको हुनुपर्ने सर्त छन् ।

    गैरआवसिय नेपालीले यात्रा गर्नुअघि अनिवार्यरुपमा दुतावासबाट भिजा लिनुपर्ने र नेपालसँग सीमा जोडिएका मुलुकको स्थल मार्गबाट यात्रा नगर्नुहुन समेत दुतावासले आग्रह गरेको छ ।

    बेलायतमा फैलिएको कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि भेटिएको छ । जसले गर्दा नेपाल सरकारले बेलायत लगायतका मुलुकको यात्रालाई कडाइ गरेको छ ।

  • सेलाउँदै कोरोना ? पाँच महिनापछि पहिलोपटक मृत्यु शून्य

    सेलाउँदै कोरोना ? पाँच महिनापछि पहिलोपटक मृत्यु शून्य

    काठमाडौं । कोरोनाको खोप लगाउन सुरु भएको भोलिपल्ट अर्को सुखद समाचार आएको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट देशमा कसैको पनि मृत्यु भएन ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिनामा पहिलोपटक मृत्यु शून्यमा झरेको हो । नेपालमा पहिलोपटक गत जेठ १ गते पहिलो एक महिला संक्रमितको मृत्यु भएको थियो । उनी सिन्धुपाल्चोककी सुत्केरी थिइन् । पछिल्लो ५ महिनामा दैनिक १० जनाभन्दा बढीले कोरोनाबाट ज्यान गुमाउँदै आएका थिए ।

    पछिल्लोपटक गत साउन १९ गते नेपालमा मृत्यु संख्या शून्य थियो । त्यसयताका करिब पाँच महिनामा प्रत्येक दिन कोरोनाले मृत्यु हुँदै आएको थियो । गत कात्तिक १९ गते एकै दिन सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो ।

    दैनिक मृत्युको सिलसिला रोकिएर पछिल्लो २४ घन्टामा मृत्यु शून्यमा झरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल प्रेसलाई बताए ।‘लामो समयपछि कोरोनाबाट मृत्यु शून्यमा झरेको हो,’ उनले भने ।

    नेपालमा अहिलेसम्म कुल २ हजार २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्युदर ०.७५ प्रतिशत रहेको छ जुन अन्य देशको तुलनामा न्यून हो । दैनिक मृत्युको सिलसिला रोकिएर पछिल्लो २४ घन्टामा मृत्यु शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

    संक्रमण दर पनि घट्दै
    नेपालमा कोरोनाको संक्रमण दर पनि केही समयदेखि घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । त्यसो त कोरोना परीक्षण संंख्या पनि घटिरहेको छ ।

    तथ्यांकअनुसार गत कात्तिकमा कोरोनाको महामारी नेपालमा उच्च विन्दुमा पुगेको थियो । गत ५ कात्तिकमा एकै दिन ५ हजार ७४३ जना संक्रमित भेटिएका थिए । हाल संक्रमण दरमा शिथिलता आइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको अनुपात ९८ प्रतिशतको हाराहारी छ ।

    संक्रमणको आधारमा नेपाल ४४ औं स्थानमा छ ।

  • दोस्रो दिन २८ हजारलाई कोरोनाको खोप, कसैमा छैन साइड इफेक्ट

    दोस्रो दिन २८ हजारलाई कोरोनाको खोप, कसैमा छैन साइड इफेक्ट

    काठमाडौं । कोरोना भाइरस विरुद्धको ‘कोभसिल्ड’ खोप अभियानअन्तर्गत दोस्रो दिन ७७ वटै जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका छन् । हिजोदेखि खोप लगाएका कसैलाई पनि अहिलेसम्म साइड इफेक्ट नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा ३,८४७, प्रदेश २ मा २,१६७४, बागमतीमा ११ हजार ४६१, गण्डकीमा ४, ८५३ लुम्बिनीमा २,३०३, कर्णालीमा १६७७ र सुदूर पश्चिममा २,४४१ जनाले खोप लगाएका हुन् ।

    खोप लगाएको दुई दिनमा कसैलाई पनि साइड इफेक्ट नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।‘आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कसैलाई पनि स्वास्थ्य समस्या देखिएको छैन,’ मन्त्रालयका डा. गौतमले भने ।

    सरकारले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुमध्ये खोपको उपलब्धताको आधारमा खोप लगाउने निर्णय गरेको थियो । मन्त्रालयले स्वास्थ्यकर्मी, फोहोरमैला संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक, खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयं सेवकहरु, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी–सुरक्षाकर्मीलाई पहलिो चरणमा खोप दिने मापदण्ड बनाएको छ ।

    सोही मापदण्ड अनुसार खोप लगाउने अभियान देशैभर भइरहेको मन्त्रालयले जनाएको छ ।

  • कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास

    कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास

    गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलो पटक भएको बताए । अघिल्लो बुधबारै दिएको जानकारीमा त्यस दिनमात्र ४० हजार जनाभन्दा बढी नागरिक सङ्क्रमित भएको जनाइएको थियो । त्यहाँ यति ठूलो सङ्ख्यामा एकैदिन सङ्क्रमित भेटिएको सङ्ख्या एक लाख नाघेको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा हालै देखिएको नयाँ प्रजातिको भाइरसले अवस्था झनै अस्तव्यस्त भएको बताए । उनले यो नयाँ प्रजातिको सङ्क्रमण बेलायतमा प्रवेश गरेपछि यसले पहिलेकोभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको बताउँछन् । उनले बेलायतमा कोरोनाको पहिलो लहर आएर त्यसका कारण उच्च विन्दुमा पुगेका बेलामा भन्दा अहिले यो नयाँ प्रजातिले झन् ठूलो क्षति पुर्याएको अनुभव एक पत्रकार सम्मेलनमै सुनाएका थिए ।

    उनले भने, “सो वेभको उच्च विन्दुको समयमा भन्दा यस पटकको यो नयाँ प्रजातिको सङ्क्रमणले कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको कुरा हालैको एक अध्ययनले देखाएको छ ।” उनले यस अवधिमा एकै दिनमा चार हजार ६०० भन्दा बढी नागरिकलाई अस्पताल भर्ना गर्नुपरेको छ भने अस्पतालमा भेन्टिलेटर र आइसियु वार्डकै समस्या भएको अवस्थासम्म आएको बताए । बेलायतले यस्तो अवस्था महामारी शुरु भएको वर्षदिन यता कहिल्यै भोगेको थिएन ।

    त्रास नयाँ प्रजातिको
    बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । यसरी बढ्नुमा पनि नयाँ प्रजातिको भाइरसको कारण हुनसक्ने उनीहरुको भनाई छ ।

    उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका दर्जनौँ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका ६० भन्दा बढी देशमा पुगिसकेको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।

    कारोनो भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको पनि यही भाइरसका कारण हुनसक्ने अनुमान गरेका छन् ।

    उता गत हप्ता बेलायतका प्रधानमन्त्री जोनसोनले यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक रहेको र त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने बताउनुभएको थियो । पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी सङ्क्रामक भएर फैलिने खालको रहेको अनुसन्धानबाट देखिएको छ ।

    बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ । त्यस अध्ययनले पहिलेको सङ्क्रमणका समयमा केही लापरर्बाही गर्ने गरेका बृटिशहरु यो नयाँ भाइरसको नयाँ प्रजातिले भने उनीहरुमा पहिलेको भन्दा बढी त्रास उत्पन्न भएको पाइएको पनि देखाएको छ ।

    तर अहिले आएर भने कतिपय देशमा खोप दिन थालिएकोले नागरिकमा आशा भने पलाएको छ । युरोपका देशहरुमा खोप दिने काम तिब्र बन्दैछ । खोपका धेरै डोजहरु खरिद गर्नेमा युरोपेली देशहरु नै अग्रपंक्तिमा देखिएका छन् । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको थियो । पछिल्लो समयमा यो सङ्क्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।

    खोपको आश
    महामारीको अँध्यारोको वर्षदिन पुग्नै लाग्दा केही नयाँ र सकारात्मक आशाको सञ्चार भएको छ कोरोना खोपको आविस्कारले । जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्को विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराएको पाइएको छ । तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार भने अभैm बनिसकेको छैन । हाल विश्वका कैयौँ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन् । खोपको प्रचलन भइसकेका देशमा पनि यसका नकारात्मक असरहरु ‘साइड इफेक्ट’ पनि विभिन्न ठाउँमाा देखिएका समाचार आएका छन् । जेहोस, खोपको आविस्कार वैज्ञानिकहरुको बडो संघर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधी पनि छ भन्ने सन्देश भने दिन सफल भएको छ ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनाम गेब्रियसले हाल देखा परिरहेको विश्वका देशहरु र कोभिड–१९ को खोपका सम्झौताहरुले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरुलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताउनुहुन्छ । उहाँले बुधबार भन्नुभयो, “अहिले संसारका देशहरु र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरुले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरुमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ ।”

    उहाँका अनुसार हाल ९बुधबार सम्म० संसारका कम्तीमा पनि ५० देशमा कोभिडको खोप पुगेको छ । ती सबैजसो देश विश्वका सम्पन्न देशहरुकै सूचीमा पर्दछन् । अनि अर्को महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरुमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरुको हालत भोलि के होला रु उनीहरुले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान रु भन्ने चिन्ता बढाएको छ ।

    महानिर्देशक गेब्रियसले खासमा कोभ्याक्ससँग गरिब देशका लागि भनेर गरिएका कतिपय सहयोग र सम्झौताहरुको नजिकमै विश्वका यी देशहरुले आफूखुशी गरिरहेका सम्झौताले समस्या उत्पन्न गर्ला कि भन्ने लागेको चिन्ता व्यक्त गर्नुहुन्छ ।

    उहाँले भन्नुभएको छ, “अरु केही हप्तामा नै कोभ्याक्सका लागि अझै धेरै कोरोना खोपका डोजहरु प्राप्त हुनु जरुरी छ । अन्यथा हामीले गरेका प्रतिबद्धताहरुलाई पनि पूरा गर्न सक्ने अवस्था नरहन सक्छ । म कुनै देश या खोप निर्माता कम्पनीलाई भन्न चाहन्न, मलाई लाग्छ यो कुनै एक देशको मात्र प्रयासले हुने होइन, यो विश्वव्यापी पहलको परिणामले मात्र हुन्छ । जसरी विश्वका देश महामारीबाट प्रताडित भएको अवस्था थियो आज सबैले अरु देश या गरिब देशहरुलाई पनि आफूलाई जस्तै अप्ठेरो परेको होला भनेर सोचिदिनुपर्छ ।”

    उता विश्वको सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ । सबै अमेरिकीलाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको उहाँको धारणा छ ।

    अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्ने जनाएको छ र यसपछि लगभग ३० करोड अमेरिकीलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताउनु भएको छ । यस भाइरसको सङ्क्रमणबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित देखिएको अमेरिकामा कोरोनाजन्य कारणबाट चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँ दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    शुरुका महिनाहरुमा निकै प्रभावकारी रुपमा महामारीको नियन्त्रण गरेको भनिएको बेलायत पछिल्लो समयमा बढी प्रभावित देखिन्छ । बेलायतमा एक लाख भन्दा बढी व्यक्तिको यही महामारीका कारण मृत्यु भएको छ ।

    यो आलेख तयार पार्दासम्म विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघेको छ । विश्वभर यसबाट २१ लाख भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ ।

    महामारीले विश्वलाई सताएको वर्ष दिनभन्दा बढी भयो । यसबीचमा विश्व समुदायसँग चुपचाप लागेर हेर्ने र यसबाट बच्न सतर्कता अपनाउने बाहेकको अर्को कुनै विकल्प पनि रहेन । तर अहिले खोपको आविस्कार भएकोले यसबाट केही राहातको महसुस विश्व समुदायले गर्न पाएको छ । खोपका पनि केही सीमितताहरु छन् जस्तो कि यसले पूर्ण रुपमा यो भाइरस निर्मूल पार्न सक्दैन भने अर्कातर्फ यो लगाएपछि आवधिक रुपमा यसका डोजहरु थप्दै पनि जानुपर्ने हुनसक्छ ।

    यसरी एकातर्फ खोपले आशा जगाएको छ भने अर्कातर्फ यो भाइरसका विविधि विकसित रुपहरु झन् बलियो गरी देखिँदै गएकाले पनि मानिसमा ढुक्क भएर बस्ने अवस्था देखिँदैन । नयाँ प्रजातिको भाइरसका विरुद्ध पनि पहिलेकै जस्तो लड्नुपर्ने उदाहरण युरोपेली देशहरुले प्रस्तुत गरिरहेका छन् । त्यस्तो अवस्था आउन नदिन अझै पनि विश्व समुदाय यसका नियन्त्रणात्मक विधिहरुमै बढी केन्द्रित हुनु जरुरी देखिन्छ ।

  • पहिलो दिन ९ हजार ८४ जनालाई कोरोना खोप, १० घन्टासम्म ‘साइड इफेक्ट’ कसैलाई छैन

    पहिलो दिन ९ हजार ८४ जनालाई कोरोना खोप, १० घन्टासम्म ‘साइड इफेक्ट’ कसैलाई छैन

    काठमाडौं । कोभिड–१९ खोप अभियानअन्तर्गत पहिलो दिन खोप लगाएका कसैलाई पनि १० घन्टासम्म साइड इफेक्ट नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् ।

    प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६ हजार ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३ जनाले खोप लगाएका छन् । त्यस्तै कर्णालीमा ७५१ जना र सुदूर पश्चिममा १,०८२ जनाले खोप लगाएका छन् ।

    आज सबैभन्दा बढी बाग्मती प्रदेशमा खोप लगाइएको छ भने सबैभन्दा कम प्रदेश २ मा लगाइएको छ । यस्तै काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन अस्पताल प्रसुती गृह अस्पतालमा रहेको खोप केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत भ्रमण गरी खोप लगाउने व्याक्ति र सेवा प्रदायकलाई हौसला दिए ।

    आजदेखि देशैभर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा सरसफाईकर्मीहरुले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाउन सुरु भएको छ ।

    देशभरबाट ४ लाख २० हजार जनाले ‘कोभसिल्ड’को खोप लगाउँदैछन् । नेपालबाट पहिलो खोप लगाएको टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कोरोना खोपले कुनै पनि असर नदेखिएकाले खोप सुरक्षित भएको बताए ।

    उनी भन्छन्, ‘खोप लगाउँदैमा भाइसरले आक्रामण नगर्ने भन्ने होइन । खोपले भाइरसलाई मार्ने नभइ भाइरस शरीरभित्र प्रवेश गर्न नदिनु हो । र, खोप लगाएको १४ दिनमा एन्टीबडी बनाउन शुरु गर्छ । यसले शरीरलाई प्रोटेक्सन गर्छ ।’

    ‘कोभिसिल्ड’ खोप लगाएपछि केही गतिविधि गर्न नहुने डा। भण्डारी बताउँछन् । उनका अनुसार खोप लगाइसकेकाहरुले मध्यपान गर्न हुँदैन र जनस्वास्थ्यको मापदण्ड पालना पर्छ ।

    अन्यथा भाइरसको असर देखिन सक्छ । भ्याक्सिन लगाएर समुदायलाई भने सुरक्षित बनाउन मद्दत पुग्छ । पहिलो चरणको खोप लगाएको ४ हप्तापछि दोस्रो खोप लगाउनुपर्ने हुन्छ ।

    उनी भन्छन्, ‘१८ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एलर्जी हुने व्यक्तिले खोप लगाउँदा मात्रै यसको असर देखिने हो । त्यस्ता व्यक्तिहरुको हकमा भने खोपले शतप्रतिशत काम गर्दैन । नेपालमा खोपले ७५ प्रतिशत काम गर्छ ।

  • कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको अनुभव र आग्रह (भिडियो)

    कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको अनुभव र आग्रह (भिडियो)

    काठमाडौं । करिब ११ महिनादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छिर्न त के वरपरबाट हिँड्न पनि मान्छेहरु डराउँथे । तर बुधबार अस्पतालमा बेग्लै चहलपहल थियो ।

    कोरोनाविरुद्धको खोप अभियान सुरु भएकै दिन खोप लगाउँन पाउँदा अस्पतालका निर्देशक सागरराज भण्डारीसँगै अरु स्वास्थ्यकर्मी पनि खुसी देखिन्थे । र, उनीहरुले खुसीसँगै ढुक्कसँग खोप लगाउन सबैलाई आग्रह गरिरहेका थिए ।

    हेुर्नुहोस् भिडियो

    एक दिनअघिसम्म खोप लगाउन तयार नभएका स्वास्थ्यकर्मी पनि बुधबार खोप लगाउन तयार तम्सिए । अभियान सुरु भएको दिन बुधबार नौ हजार ८४ फ्रन्टलाइनरले खोप लगाएका छन् । खोप लगाउने कसैलाई पनि अहिलेसम्म स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा आजबाट लगाउन सुरु गरिएको खोप बेलायतको अक्सफोर्ड विश्वबिद्यालयका वैज्ञानिकहरुले विकास गरेका हुन् । खोप भारतको सेरम इन्डियाले उत्पादन गरेको हो ।

    भारत सरकारले आफ्ना जनताका लागि पनि यही खोप लगाएर खोप अभियान सुरु गरेको थियो । भारतमा खोप अभियान सुरु गरेको ६ दिनपछि अर्थात् माघ ८ गते भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएको थियो ।

    खोपले भाइरससँग लड्ने एन्टीबडी तयार गर्नेछ र कोरोना संक्रमणबाट हुने जटिल स्वास्थ्य समस्याबाट बचाउँने बताइएको छ । खोप लगाएको २ सातापछि एन्टीबडी बन्न सुरु गर्ने चिकित्सकले बताएका छन् ।

  • विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

    यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उहाँ बताउनु भएको छ ।

    अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताउनु भएको छ । कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।
    विश्वभरी कोरोना भाइरस सङक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

  • पहिलो चरणमा नै नागरिकलाई खोप दिने राष्‍ट्रको सूचीमा नेपाल रहेकोप्रति राष्ट्रपति खुशी

    पहिलो चरणमा नै नागरिकलाई खोप दिने राष्‍ट्रको सूचीमा नेपाल रहेकोप्रति राष्ट्रपति खुशी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्धको अभियानमा अग्रपंक्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छिन् ।

    कोभिड-१९ खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उनीहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरिन् ।

    खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उनले विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको जानकारी दिइन् ।

    विश्‍वमा कोभिड–१९ विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले खोप अभियान शुरु गर्न लागेकामा हर्ष व्यक्त गर्दै राष्ट्रपतिले यसबाट पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएको बताइन् ।

    कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने नेपाल सरकारको निर्णयको सराहना गर्दै राष्ट्रपतिले नेपाल सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने विश्वास व्यक्त गरेकी छिन् ।

    खोप अभियान सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मीलगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको जनाउँदै राष्ट्रपतिले खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एकार्काबीचमा कम्तिमा दुई मिटरको दूरी कायम राख्‍न र पटकपटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउनका लागि सबैमा आह्वान गरेकी छिन् ।

    “कोभिड–१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ। यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन। यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ। यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ”, सन्देशमा भनिएको छ ।

  • ‘कोरोना खोप लगाइयो, अब त बाँचिएला नि !’

    ‘कोरोना खोप लगाइयो, अब त बाँचिएला नि !’

    पोखरा । अन्नपूर्ण गाउँपालिका–२ की बालिका सुवेदी पेशाले स्वस्थ्य स्वयम् सेविका हुन् । कोरोना महामारी चरम अवस्थामा पुगेका बेला पनि उनी आफ्नो जिम्मेवारीमै व्यस्त हुनुपर्यो । कोरोना ‘फ्रन्टलाइनर’मध्येकी एक सुवेदी बुधबार भने खुसी देखिइन् ।

    उनको खुसीको कारण थियो, कोभिशिल्ड खोप । सरकारले हालैमात्र भारतबाट झिकाएको कोरोनाविरुद्धको खोप पहिलो चरणमै लगाउन पाएपछि उनी खुसीसँगै निर्धक्क देखिएकी हुन् । खोप लगाइसकेपछि खुसी बाँडिन्, ‘पहिले अलि डर थियो । अहिले खोप पनि लगाइयो, बाँचिएला नि अब त !’

    बुधबार सुवेदीजस्तै कास्कीका करिब १ हजार स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप पाउनेछन् । गण्डकी प्रदेशमा भने पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाले लगाएर सुरु गरे । उनले आफूमा कुनै ‘साइड इफेक्ट’ नदेखिएकाले सबैलाई ढुक्क भएर लगाउन आग्रह गरेका छन् ।

    ‘खोप लगाएको २ घन्टा भयो । सामान्य रुघाखोकी, टाउको दुख्ने भनिएको थियो । तर, केही भएको छैन,’ थापाले कोरोना खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै भने, ‘९० प्रतिशत इफेक्टिभ भनिएको छ । यो भन्दा राम्रो खोप अहिले पाइँदैन । सबैले ढुक्क भएर लगाए हुन्छ ।’

    उपकुलपति थापाले खोपले नकारात्मक असर पार्छ भन्ने कुरा भ्रम नराख्न आम जनतालाई आग्रह गरे । ‘महामारी सुरु भएको १ वर्ष भयो । खोप भर्खरै पत्ता लाग्यो । यति छिट्टै पाउनु भनेको हाम्रो लागि खुुसीको खबर हो । आम जनतामा नकारात्मक असर पर्छ भन्ने भ्रम छ, त्यो गलत हो,’ उनले भने । उनले अमेरिकाको भ्याक्सिन भने नेपालमा ल्याउन सक्ने वातावरण नरहेको बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको पहिलो चरणको कोरोना खोप गण्डकी प्रदेशका १७ हजार जनाले लगाउने छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, शववाहन, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सरसफाइकर्मीले आदिले लगाउनेछन् ।

    गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सुरु भएको खोप कार्यक्रममा कास्कीका ४ वटा अस्पतालबाट खोप लगाउने कार्यक्रम भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित पोखराको गण्डकी मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पताल गरी ४ ठाउँमा पहिलो चरणको खोप कार्यक्रम सुरु भएको छ ।

    ‘आज कास्कीका निजी तथा सरकारी अस्पतालमा कार्यरत करिब १ हजार जना स्वास्थ्यकर्मीले खोप लगाउनुहुनेछ,’ डा शर्माले भने, ‘अबको १ महिनापछि फेरि उहाँहरुले दोस्रो पटकको खोप लगाउनुहुनेछ ।’ उनले अहिले खाप लगाएका स्वास्थ्यकर्मीले नै दोस्रो चरणमा समुदायमा खोप लगाउने भएकाले तयारी अवस्थामा राखेको बताए ।

    डा शर्माले समुदायस्तरमै जाने गरी दोस्रो चरणको खोप कार्यक्रमको लागि पनि प्रदेश तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । उनले खोप आएमा आफूहरु तत्काल समुदायस्तरमै जानेगरी जनशक्ति तयार पारिसकेको बताए । ‘अब अर्को भ्याक्सिन कहिले आउँछ भन्ने केन्द्र सरकारले भन्ने कुरा हो । प्रदेश तवरबाट हामी पूरा तयारी अवस्थामा छौं,’ उनले भने ।

    गण्डकी प्रदेशमले ३९ हजार १ सय ३९ डोज कोभिशिल्ड प्राप्त गरेको थियो । ११ गते प्रदेशले प्राप्त गरेको खोप सोमबार साँझसम्म गण्डकीका ११ वटै जिल्लामा पठाइसकिएको आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकीका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

    खड्काले एक जना खोप कार्यकर्ताले एक दिनमा १ सय २५ जनासम्मलाई खोप लगाउन सक्ने जानकारी दिए । उनले भने, ‘कास्कीका ४ वटै ठाउँबाट एक दिनमा करिब २ सय ५० जनालाई खोप लगाउने लक्ष्य राखेका छौं । तर, पहिलो दिन भएर यो संख्या अलि कम पनि हुन सक्छ ।’

    कोरोना खोपले नकारात्मक असर देखाउने जनतामा भ्रम फैलिएकाले सुरुमा स्वास्थ्यकर्मीले पनि नाम दिन नमानेको खड्काले बताए । ‘सुरुमा त लक्षित वर्गले पनि आफ्नो नाम दिन मानेका थिएनन् । तर, अहिले भने सबै स्वास्थ्यकर्मीले आफ्नो नाम टिपाउन थालेका छन्,’ उनले भने ।

    भारतको सेरम इन्स्टिच्युट कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले अनुदानमा प्राप्त गरेको हो । बुधबारबाट सुरु भएको कोरोना खोप कार्यक्रमको पहिलो दिन देशभरिका करिब १२ हजार जनाले कोरोना खोप लगाउने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

     

  • लुम्बिनी प्रदेशमा खोप अभियान सुरु

    लुम्बिनी प्रदेशमा खोप अभियान सुरु

    रुपन्देही । कोभिडविरुद्धको खोप अभियान लुम्बिनी प्रदेशमा बुधबारबाट सुरु भएको छ ।

    पहिलो खोप रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन् ।
    लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा खोप अभियानको सुरुवात गरेका छन् ।

    अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउँदैछन् । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी डा. पुष्पराज पौडेलले जनकारी दिएका छन् ।

    त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।

    बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ । त्यसैगरी दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोपको व्यवस्था गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    पहिलो चरणमा प्रदेशका १२ जिल्लामध्ये तराईका ५ जिल्लामा खोप लगाउने व्यवस्था मन्त्रालयले गरेको छ ।

    त्यसैगरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ ।

  • प्रदेश १ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन चिकित्सकको आग्रह

    प्रदेश १ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन चिकित्सकको आग्रह

    विराटनगर । प्रदेश नम्बर–१ मा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाउन सुरु गरिएको छ ।

    विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा कोसी अस्पतालका मेसु चुमनलाल दास र साही अस्पतालका डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियान सुरु गरिएको हो ।

    भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएका चिकित्सले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

    कोशी अस्पतालद्वारा सञ्चालित कोशी कोभिड उपचार केन्द्रका संयोजक डा दिपक सिग्देलले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेकोले सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका हुन् ।

    प्रदेश–१ आज २८ हजार ६०५ जनालाई खोप लगाइने जनाइएको छ । खोप लगाउन मोरङमा पाँच, सुनसरीमा चार, इलाम र झापा तीन/तीन र बाँकी १० जिल्लामा एक/एक केन्द्र तोकिएको छ।प्रदेश–१ मा ३५ हजार ५७६ जनालाई खोप दिने सरकारको तयारी छ ।

    प्रदेश १ मा कोभिड १९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउने ठाउँ तय गरिएको छ। प्रदेश १ का १४ जिल्लामा १९ खोप केन्द्र निर्धारण गरिएको छ।

    निर्धारण खोपकेन्द्रबाट पहिलो चरणमा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई खोप लगाउन शुरु गरिएको हो ।पहिलो चरणमा बुधबार मोरङ,सुनसरी,झापा,इलाम,उदयपुर,धनकुटा भोजपुर र तेह्रथुममा खोप कार्यक्रम संचालन हुनेछ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्ति निर्देशक ज्ञानबहादुर बस्नेतले कुल ३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप कार्यक्रम रहेको जानकारी दिए ।

    बस्नेतका अनुसार यसबाहेक प्रदेशका १४ जिल्लाबाहेक प्रदेश २ का सिरहा–सप्तरीका ७ हजार ६८४ जनालाई खोप लगाउने कार्यक्रमका लागि सम्बन्धित केन्द्रमा भ्याक्सिन पठाइएको छ ।सिरहा र सप्तरीका लागि समेत विराटनगरबाटै खोप पठाइएको प्रदेश स्वास्थय निर्देशनालयल जनाएको छ ।

    प्रदेश १ मा कोभिड १९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउने ठाउँ १४ जिल्लामा २३ खोप केन्द्र निर्धारण गरिएको छ। बुधबारदेखि शुरु भएको खोप लगाउने अभियान वहाडी तथा हिमाली ६ बटा जिल्लामा भोलीबाट हुदैछ ।

    कुनकुन जिल्लामा कुन बार खोप लगाउने

    प्रदेशका पाँचथर, खोटाङ र ओखलढुंगामा बिहीबार र सोलुखुम्बु तथा संखुवासभामा शुक्रबार खोप लगाउने कार्यक्रम तय गरेको छ। ६ जिल्लाबाहेक प्रदेश १ का ८ जिल्लामा बुधबार आज खोप कार्यक्रमको शुभारम्भ गरिएको छ।

    कुन जिल्लाको कुन अस्पतालमा खोप केन्द्र

    झापाको मेची, दमक र बिर्तामोड अस्पताल, मोरङको कोशी, रंगेली, विराट मेडिकल कलेज र नोबेल अस्पताल, सुनसरीको बीपी, इनरुवा, इटहरी अस्पतालमा खोप लगाउने केन्द्र तोकेको छ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सोमबार ९ हजार ६०० भायल खोप स्वास्थ्य मन्त्रालयले पठाएको थियो।
    केन्द्रले खोपका लागि कोल्ड बक्समा ‘आइसप्याक कन्डिसिन’ सुरक्षा अपनाएर पठाइएको छ ।

    एक भायलमा १० डोज खोप हुन्छ । त्यसका लागि आवश्यक पर्ने ‘एडिनालिन इन्जेक्सन र सिरिन्ज’समेत केन्द्रसम्म आएको थियो।

  • पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ

    पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ

    काठमाडौं । मुलुकमै कोरोनाविरुद्धको पहिलो खोप लगाएका चिकित्सकले ढुक्कले खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् । टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी र अनुप बाँस्तोलाले निश्चिन्त भएर कारोनाविरुद्धको
    खोप लगाउन आग्रह गरेका हुन् ।

    खोप बुधबार बिहान टेकु अस्पतालबाट लगाउन सुरु गरियो । उक्त अवसरमा राजभण्डारी र बाँस्तोलासहित जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले खोप लगाइन् ।

    अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको भारतको सिरम इन्स्ष्टिच्युटमा उत्पादन भएको कोभिसिल्ड खोप आपतकालीन प्रयोगस्वरुप लगाउन लागिएको हो । टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले पनि खोप लगाए ।

    कोरोनभाइरसविरुद्धको खोप अभियान बुधबारदेखि देशभर सुरु भएको छ । ६० खोप केन्द्रबाट जिल्ला र प्रदेशमा खोप लगाउन सुरु गरिएको हो ।