Category: स्वास्थ्य-जीवनशैली

  • अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छ : खोप सुरक्षित छ

    अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छ : खोप सुरक्षित छ

    जेनेभा । अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

    कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् । युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् ।

    विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

    यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाईमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन ।

    विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेकी छिन् ।

    उनले भनिन्, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।” विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरुले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

    अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकहरुले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।

    तैपनि, इन्डोनेसियाले सोमबार अस्ट्राजेनिकाको खोप लगाउन रोकेको छ भने भेनेजुएलाले यो खोप प्रयोग नगर्ने घोषणा गरेको छ ।

    यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेका हुन् । विश्वभर अस्ट्राजेनिकाको खोप करिब एक करोड १० लाख डोज लगाइएको छ, तर कुनै समस्या देखिएको छैन ।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युरोपका कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन रोकिए पनि आफ्ना नागरिकलाई खोप लगाउन आग्रह गरेका छन् ।

    कोभिड–१९ को नियन्त्रणमा निकै कठिनाई भइरहेकै अवस्थामा अस्ट्राजेनिकाको खोपको प्रभावकारितालाई लिएर मानिसमा त्रास बढेको छ ।

    नर्वेको राजधानी ओस्लोमा कोरोनाभाइरस फैलिन थालेपछि कडा प्रतिबन्धहरु घोषणा गरिएका छन् । यहाँ माध्यमिक विद्यालयहरु पनि बन्द गरिएका छन् । ओस्लोमा गत साता ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका थिए ।

    ओस्लो नगरका मेयर रेमन्ड जोहान्सेनले महामारी फैलिएयता पहिलोपटक यो सबैभन्दा कडा प्रतिबन्ध रहेको जानकारी दिए । “यो निकै कठिन र कडा छ, तर यो अत्यावश्यक पनि छ ।”

    बोस्नियामा पनि कोभिड अस्पतालहरु भरिभराउ भएका छन् र सरकारले बाध्य भएर आपतकालीन स्थितिको घोषणा गरेको छ ।

    अस्पतालका निर्देशक सेबिजा इजेबेगोभिकले फेसबुकमा लेखेको सन्देशमा अस्पतालका कर्मचारीहरु थकित भइसकेको उल्लेख छ । “हामी मानिसको जीवन बचाउन हरसम्भव प्रयत्न गर्नेछौं, तर परिस्थिति साँच्चिकै गम्भीर छ । हाम्रा बढीभन्दा बढी कर्मचारीहरु बिरामी पर्न थालेका छन् ।”

    इटालीका अधिकांश स्थानमा सोमबार लकडाउन गरिएको छ । यहाँ स्कुल, रेस्टुराँ, पसल र सङ्ग्रहालयहरु सबै बन्द गरिएका छन् । जर्मनीमा सघन उपचारमा संलग्न चिकित्सकहरुले देशमा कोभिडको तेस्रो लहर शुरु हुने खतरा देखिएको भन्दै तत्काल नयाँ प्रतिबन्धहरु घोषणा गर्न अपिल गरेका छन् ।

    ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सोमबार नयाँ स्वास्थ्य मन्त्री नियुक्त गरेका छन् । त्यहाँ पनि कोभिडका नयाँ बिरामीको संख्या बढ्नुका साथै कोभिडको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

    कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि खोप प्रभावकारी हुनसक्ने भन्दै खोप निर्माणमा अभूतपूर्व प्रयत्न गरिएको थियो, र अहिले विश्व समक्ष केही विकल्पहरु तयार भइसकेका छन् ।

    तर, निर्यात नियन्त्रण, कुटनीतिक असमझदारी र उत्पादनसँग सम्बन्धित मामिलाका कारण खोपको उपलब्धतामा प्रभाव परिरहेकै अवस्थामा अस्ट्राजेनिकाको प्रयोग स्थगनले अर्को समस्या थपेको छ ।

    जर्मनीका अर्थमन्त्रीले जोन्सन एन्ड जोन्सनको खोप उत्पादन जर्मनीको आइडिटी बायोलोजिकाले उत्पादन गर्न लागेकाले त्यसबाट युरोपलाई फाइदा पुग्ने बताए ।

    साथै रसियाको स्पुतनिक भी खोपका निर्माताहरुले केही प्रमुख युरोपेली मुलुकमा आफ्नो खोप उत्पादन हुने चरणमा रहेको बताएका छन् ।

    चीनले पनि कोभिडका खोपहरु विकास गरेको छ र विश्वका धेरै मुलुकमा बिक्री गरिरहेको छ । चीनका खोपहरु युरोप, मध्यपूर्व र दक्षिण अमेरिका पुगेका छन् ।

    सोमबार, चीनले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि तीन लाख डोज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । भारतले यसअघि नै शान्ति सेनाका लागि दुई लाख डोज दिने बताइसकेको छ । तर दुबै मुलुकले शान्ति सेनालाई कुन खोप दिने हुन् भन्ने खुलाएका छैनन् ।

    चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याइसकेको छ, तर विदेशबाट कोभिड भित्रिने आशंकामा कडा यात्रा नियमहरु लगाइरहेको छ । तर खोप लगाएका फिलिपिनी नागरिकका लागि चीन भ्रमणलाई खुकुलो बनाएको सोमबार चीनले घोषणा गरेको छ ।

    यसैबीच, ब्राजिलले फाइजरको १० करोड डोज खोप खरिद गर्न कम्पनीसँग सम्झौता गरेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले जोन्सन एन्ड जोन्सनबाट पनि थप ३ करोड ८० लाख डोज खोप किन्न लागेको जनाएको छ ।

  • फ्रान्स, इटली र जर्मनीद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक

    फ्रान्स, इटली र जर्मनीद्वारा अक्सफोर्ड-एस्ट्राजेनेका खोप प्रयोगमा रोक

    एजेन्सी । रगत जमाउने समस्या सार्वजनिक भएपछि फ्रान्स, जर्मनी र इटलीले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले भने एस्ट्राजेनेका खोपकै कारण रगत जम्ने समस्या भएकोबारे अहिलेसम्म कुनै प्रमाण फेला नपरेको दावी गरेको छ ।

    डब्ल्यूएचओले यो पनि भनेको छ कि रगत जम्ने समस्याबारे धेरै तथ्यहरु आइरहे पनि कोरोना खोप अभियान जारी राख्नु जरुरी छ । यसबारे मंगलबार डब्ल्यूएचओको बैठक बस्दैछ । उसले भनेको छ, ‘कोरोना खोपको सम्भावित खराव असरबारे अनुसन्धान गर्नुपर्नेछ ।’

    युरोपमा अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुमा रगत जम्ने सम्बन्धी समस्याका थुप्रै विरामीहरु देखिएका छन् । एस्ट्राजेनेकाले पनि आफ्नो खोपकै कारण यस्तो समस्या भएको प्रमाणित गर्ने कुनै तथ्य नरहेको दावी गरेको छ ।

    जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमबार एस्ट्राजेनेका खोपको प्रयोग नगर्ने घोषणा गरेको थियो । देशको खोप नियमक निकाय पाउल इचलिच इन्स्टिच्युड (पीईआई)को सिफारिसमा मन्त्रालयले यो घोषणा गरेको हो ।

  • राष्ट्रपतिले लगाइन् कोभिडविरुद्धको खोप

    राष्ट्रपतिले लगाइन् कोभिडविरुद्धको खोप

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रपतिले खोप लगाएको जनाएको छ ।

    महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले कोभिसिल्ड खोप लगाएकी हुन् । अग्रपंक्तिमा रहेर काम गर्नेहरु र जोखिममा रहेका समूहहरुलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम संचालन गरेकोमा राष्ट्रपतिले सरकारलाई धन्यवाद दिइन् ।

    साथै उनले ज्येष्ठ नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गरिन् । राष्ट्रपतिले खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि सहभागि थिए ।

  • राष्ट्रपतिले आज कोरोनाविरुद्धको खोप लगाउने

    राष्ट्रपतिले आज कोरोनाविरुद्धको खोप लगाउने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन् ।

    आज अपरान्ह ४ बजे महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले कोभिड-१९ भ्याक्सिन लगाउने तय भएको अस्पताल स्रोतले जनाएको छ । खोप लगाउन परिवारका सदस्यसहित राष्ट्रपति अस्पताल जाँदैछिन् ।

    नेपालमा कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा गत फागुन २३ देखि वृद्धवृद्धालाई भ्याक्सिन लगाउँदै आइएको छ ।

  • १५ लाखले लगाए कोभिडविरुद्धको खोप, आपूर्ति नहुँदा खोप अभियान प्रभावित

    १५ लाखले लगाए कोभिडविरुद्धको खोप, आपूर्ति नहुँदा खोप अभियान प्रभावित

    काठमाडौं- डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये शनिबारसम्म १५ लाखले खोप लगाएका हुन् ।

    खोप लगाएकाको उक्त संख्या कूल जनसंख्याको ४.९ प्रतिशत हो । मन्त्रालयका अनुसार खोप लगाएकामध्ये कसैमा पनि गम्भिर समस्या देखिएको छैन । तर, केही युरोपेली मुलुक र थाइल्यान्डले चाहिँ रगत जम्ने समस्या देखाउँदै खोप अभियान स्थगित गरेका छन् ।

    विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनेकाको खोप नलगाउनुपर्ने कारण नरहेको बताउँदै ढुक्क साथ खोप लगाउन आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप नेपालमा लगाइएको हो । भारतको सिरम इन्स्टिच्युटले दिएको १० लाख डोज र कोभ्याक्सबाट प्राप्त ३ लाख ४६ हजार खोप सरकारले प्राप्त गरेको थियो ।

    सरकारले सबै खोप प्रदेश र जिल्लामा पठाएपछि अहिले केन्द्रिय भण्डारण स्थलमा खोप छैन ।

    सेरमबाट अझै १० लाख डोज खोप प्राप्त हुन बाँकी छ । भुक्तानी भएपनि सेरमले खोप आपूर्ति नगर्दा अभियान प्रभावित भएको छ । मुगु, कालिकोट र पर्वत जिल्लामा खोप अभावले अभियान रोकिएको जनाइएको छ ।

  • चिनियाँ क्याफेमा जंगली जनावर पाल्न थालियो, भाइरस संक्रमणको बेवास्ता

    चिनियाँ क्याफेमा जंगली जनावर पाल्न थालियो, भाइरस संक्रमणको बेवास्ता

    शाङ्घाई– तपाइँलाई क्याफे भन्नेबित्तिकै दिमागमा कस्तो चित्र आउँछ ? स्वाभाविक रुपमा क्याफेमा थरिथरिका कफी, चिया र हल्काफुल्का खानेकुरा राखिएका हुन्छन् । तर चीनको ठूलो शहर शाङ्घाईमा कतिपय क्याफे भिन्न किसिमका छन्, र तिनीहरुको संख्या बढ्दैछ भने तिनीहरुले बढीभन्दा बढी ग्राहकलाई आकर्षित गर्न थालेको छ ।

    के तपाईंले लाट्टे कफी पिउँदै गर्दा रकून (बिरालोजस्तो स्तनपायी जङ्गली जनावर) को बच्चा टुप्लुक्क देखा पर्ला ? अथवा कापुचिनो कफी पिउँदै गर्दा सर्प बेरिन आइपुग्ला ? कुकुर वा बिराला पालिएका क्याफेका कुरा त बिर्सौं, शाङ्घाईका जीवजन्तु क्याफेमा आजभोलि अझ नयाँ अनौठा जङ्गली जीवजन्तु धेरै नै देखिन थालेका छन् ।

    विभिन्न जीवजन्तुलाई हेर्दै, छुँदै कफी पिउने पागलपन यहाँका नागरिकमा अझै छ । जङ्गली जीवजन्तुबाट मानिसमा घातक कोरोनाभाइरस सरेको कुरा यहाँ भेला हुने मानिसले अचेल बेवास्ता गर्न थालेको प्रतीत हुन्छ ।

    चीनको सर्वाधिक ठूलो शहर शाङ्घाईमा अहिले दर्जनौं यस्ता जीवजन्तु राखिएका क्याफे खुलेका छन् । यी क्याफेमा भेला हुने मानिसले जीवजन्तुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

    मध्य शाङ्घाईमा रहेको रकून क्याफेमा आठ वटा स्तनपायी रकून राखिएको छ । सबैभन्दा ठूलो रकूनको तौल करिब १० किलो छ । ग्राहकले चलाउन वा छुन खोजे यो जीव झ्यालको तलमाथि उफ्रिरहन्छ ।

    “मलाई यो जीव अति राम्रो लाग्छ,” २७ वर्षीय भलिबल खेलाडी क्विन सियू भन्छन् । साथीले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफूले क्याफेका बारेमा चाल पाएको उनले बताए ।

    ग्राहकले यस क्याफेभित्र छिर्न प्रवेश शुल्क बापत १५ डलर तिर्नु पर्छ तर यो ठाउँ क्याफे नै हो भन्ने विषयमा बहस हुन थालेको छ । रकूनको व्यवहार अनुमान लगाउन सकिँदैन । तातो कफी पिइरहँदा रकूनले एक्कासी झम्टिएर तर्साउन सक्छ । फेरि, यी क्याफेमा मानिसका लागि खानेकुरा पनि खासै धेरै किसिमको पाइन्न ।

    क्याफेका सञ्चालक चेङ चेन गत वर्ष आफ्नो क्याफेमा रकून ल्याउँदा त्यसको व्यवहारका बारेमा खासै थाहा नपाएको बताउँछ् । उनी भन्छन् -यो मेरो पहिलो अनुभव थियो । यी रकूनहरु निकै रिसाहा पनि हुन्छन्, उनी भन्छन्- मेरो जिउमा यसले चिथोरेर धेरै ठाउँमा दाग बनाइदिएको छ ।”

    यी ३६ वर्षीया क्याफे सञ्चालिका चेङलाई पनि मानिसले रकून किन पालेको भनेर प्रश्न गर्ने गरेको बताउँछन् । उनको विचारमा मानिसले प्रश्न गर्नु स्वाभाविक हो किनभने यहाँ कुकुरलाई दिइने खानेकुरा खान दिइन्छ ।

    चेङलाई जीवजन्तु पाल्ने पहिल्यैदेखि निकै ठूलो सोख थियो र उहाँका घरमा धेरैवटा कुकुर र बिराला छन् । उनलाई रकूनको पनि औधी माया लाग्छ । “सामान्यतया यहाँ कुनै ठोस नियम छैन । साँचो भन्नुपर्दा खासगरी चीनमा घरमा पालिने जीवजन्तु सम्बन्धी नियमहरु निकै कमजोर छन्,” उनी भन्छन् ।

    शाङ्घाईकै अर्को क्याफेमा सर्पहरु, छेपाराहरु र रङ्गीचङ्गी माउसुलीले ग्राहकलाई खुशी तुल्याउन प्रतिक्षा गरिरहेका छन् । यस क्याफेका सञ्चालक वाङ लिक्वुनको यस क्याफेमा ३० वटा सर्प छन् । यी सर्पहरुमा विष हुँदैन, तर यिनीहरुले मानिसलाई टोक्न सक्छन् । वाङको भनाईमा आजसम्म कुनै पनि ग्राहकलाई यी सर्पले डसेका छैनन् ।

    टाङ नाम गरेकी एक ग्राहकले क्याफेले मानिसलाई आफूमा रहेको डर भगाउन मद्दत गरेको बताइन्। २७ वर्षीया ती ग्राहकले भनिन् –“यहाँ आएपछि मानिसले आफ्नो सोचाईमा परिवर्तन पाउन सक्छन् र सरिसृप प्रजातिका जीवजन्तु साँच्चिकै मायालाग्दा हुँदा रहेछन् ।”

    तर विश्व जीव संरक्षणसँग आबद्ध वैज्ञानिक इभान सनले यी क्याफेप्रति आफूलाई निकै शंका लागेको बताए । “यी क्याफेमा जीवजन्तुको अवस्था निकै दयनीय हुने गर्दछ, र तिनीहरुले भयानक पीडा र दबाब महसुस गरेका हुन्छन् ।”

    चीनका लागि वन्यजन्तु अभियानका व्यवस्थापक समेत रहनु भएका सनले भने –“वन्यजन्तुसँग निकट अन्तक्र्रियाले पीडा र क्रुरता मात्र बढाउने होइन, यसले रोग पनि निम्त्याउँछ र मानिसमा सार्न सक्छ । जीवजन्तु राखिएका क्याफे जाने अधिकांश ग्राहक प्राणीलाई मन पराउनेहरु नै हुन्छन्, तर उनीहरुलाई जीवजन्तुको खानेबस्ने तौरतरिकाका बारेमा खासै जानकारी नहुने भएकाले मानिसलाई अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।”

  • प्रदेश १ : मन्त्री र प्रदेशसभा सदस्यले लगाए कोरोनाविरुद्धको खोप

    प्रदेश १ : मन्त्री र प्रदेशसभा सदस्यले लगाए कोरोनाविरुद्धको खोप

    विराटनगर । प्रदेश १ का मन्त्रीसहित प्रदेशसभा सदस्यलाई कोरानाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

    आइतबार प्रदेशसभा सचिवालयका ९३ जना प्रदेशसभा सदस्यसहित सचिवालयमा कार्यरत कर्मचारीलाई खोप लगाइएको हो ।

    अभियानअन्तर्गत मुख्यमन्त्री शेरधन राई, मन्त्री, प्रदेशसभा सदस्यहरूले खोप लगाएका छन् ।

  • अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

    अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

    काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसविरुद्ध लगाइँदै आएको अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।

    कोरोनाभाइरस विरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्नु अनावश्यक भएको संगठनले शुक्रबार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य संगठनले स्पष्ट पार्नु परेको हो ।

    डब्लुएचओको खोप सुझाव समितिले हालै पनि अस्ट्राजेनिका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशंकोच लगाउन सुझाव दिएको थियो ।

    डेनमार्क, नर्वे, आइसल्याण्ड, इटली, रोमानियालगायतमा देशमा अहिले अस्ट्राजेनिका खोप लगाउने अभियान स्थगित गरिएको छ । “अस्ट्राजेनिका खोप एकदमै राम्रो खोप हो, अरु कतिपय खोप भन्दा यो गुणस्तरीय छ”, डब्लुएचओका प्रवक्ता मार्गरेट हरिसले भने ।

    जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले खोपको प्रयोग र परिणामसम्बन्धी विवरणहरुको आफूहरुले अध्ययन गरिरहेको जानकारी दिए । आफूहरुको अध्ययनमा खोपकै कारणले कसैको मृत्यु भएको पुष्टि नभएको पनि उहाँले पत्रकारलाई स्पष्ट पारे ।

    उनले खोपका बारेमा आफूहरुले अध्ययनलाई जारी गरेको तर खोप लगाउने अभियानलाई भने रोक्न आवश्यक नरहेकोमा जोड दिए । अरु स्वास्थ्य निकायले पनि अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।

    स्वास्थ्यसम्बन्धी नियामक निकायले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन् तर सावधानीका लागि खोप अभियानमा ढिलाइ गरिएको युरोपेली मुलुकको भनाइ छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियान जारी राख्ने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्ने बारेमा ठोस प्रमाण नभेटिएको जनाएको छ ।

    अमेरिकामा अहिले खोप अभियान तीव्र रुपमा अघि बढेको छ । वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एक मात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

    थाईल्यान्डको निर्णयसँगै प्रधानमन्त्री प्रयुत चान–ओ–चा ले आफूले खोप लगाउने कार्य एकाएक रोकेका छन् । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

    खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ । युरोपको दबाब एवं खोपको प्रभावकारितामाथि आशंका फैलिएसँगै लन्डन स्टक एक्सचेन्जमा अस्ट्राजेनिकाको शेयरमूल्य २.५ प्रतिशतभन्दा बढीले घटेको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले केही मुलुकले कोभिड–१९ विरुद्धको खोप भण्डार गरेर समानुपातिक वितरणमा अवरोध गरिरहेको र केही मुलुकले खोपको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।

  • मदन भण्डारी अस्पताल : नाम फेरियो, काम भएन

    मदन भण्डारी अस्पताल : नाम फेरियो, काम भएन

    विराटनगर । प्रदेश १ सरकारले उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा नाम परिवर्तन गरे पनि आवश्यक स्तरोन्नति गर्ने काम भने अलपत्र छ ।

    प्रदेश सरकारको घोषणा साविकको मंगलबारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने कुरा अस्पतालको लेटरप्याड र छाप परिवर्तन गर्ने काममा मात्र सीमित बनेको छ ।

    प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको थियो । सोही अनुसार अस्पतालको नाम परिवर्तन गरिएको छ । तर, अहिले पनि साविक १५ शय्याको अस्पतालका जनशक्तिबाटै स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ । आवश्यक चिकित्सकको अभावमा भएका उपकरण पनि त्यसै थन्किएका छन् ।

    सरकारको निर्णय एक वर्ष पूरा भए पनि त्यसका लागि अस्पतालको शय्या वृद्धि र आवश्यक जनशक्ति पदपूर्ति गर्ने काम पनि हुन नसकेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. योगेश मण्डलले बताए । अस्पताल अहिले पनि निमित्त सुपरिटेन्डेन्टको भरमा चल्दै आएको छ ।

    प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रूपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा विकास एवम् स्तरोन्नति गर्नका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

    मेडिकल सुपरिटेन्डेन्ट मण्डलले सरकार ५० शय्याको अस्पतालसहितको ट्रमा सेन्टरका रूपमा विकास एवम् स्तरोन्नति गर्ने भने पनि पुरानै अवस्थाका भरमा अस्पतालबाट सेवा सञ्चालन गर्न बाध्य भएको बताए । उनले सरकारको निर्णय अनुसारको योजना कार्यान्वयनमा अहिलेसम्म जान समेत नसकेको बताए ।

    ‘प्रदेश सरकारले १५ शय्याको अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउने निर्णय गरेको थियो’ मेडिकल सुपरिटेन्डेन्ट मण्डल भन्छन्, ‘सरकारको निर्णय अहिलेसम्म कार्यान्वयनको प्रक्रियामा जान सकेको छैन । अहिलेसम्म अफिसियल लेटर पनि आएको छैन ।’

    उनले अस्पतालको नाम, लेटरप्याड र छाप परिवर्तन गर्ने बाहेकका अन्य काम अगाडि नबढेको पनि जानकारी दिए ।

    मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रूपान्तरित अस्पताल करार सेवाका चिकित्सकको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका चिकित्सक नभएका कारण सेवा प्रवाह अनुसार अस्पतालको स्तर वृद्धि नहुँदा बिरामी घण्टौंसम्म पालो कुर्न बाध्य छन् ।

    उर्लाबारीकी मीना कार्की बिरामीले सामान्यतः दुई÷तीन घण्टा पालो पर्खेपछि मात्रै चिकित्सक भेट्न पाउने गरेको गुनासो गर्छिन् ।

    ‘अस्पतालमा बिरामीको चाप बढ्दै गएको तर चिकित्सकको संख्या थोरै भएकाले पालो पर्खेर उपचार गराउन बाध्य छौं’ उनले भनिन्, ‘सामान्य रुघाखोकी लागेका कतिपय बिरामी लामो लाइन देखेर अस्पताल बाहिरको पसलबाट औषधि किनेर फर्किन्छन् ।’

  • चीनबाट खोप ल्याउन ढिलाइ, कोभिसिल्ड र सिनोफार्ममा कुन राम्रो ?

    चीनबाट खोप ल्याउन ढिलाइ, कोभिसिल्ड र सिनोफार्ममा कुन राम्रो ?

    काठमाडौं । गत जनवरी १६ मा बसेको औषधि व्यवस्था विभागको बैठकले कोभिड-१९ विरुद्धको चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगको अनुमति दियो । तर, एक महिना हुनै लाग्दा पनि चिनियाँ खोप नेपाल आउने सुरसार छैन ।

    भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउन थालेको दुई महिना पुग्न लाग्यो र खोप अभियानको दोस्रो चरण चलिरहेको छ । जबकि चिनियाँ खोप परीक्षणकै क्रममा रहेको बेला नेपालले खोप मागेको हो । खोप आपूर्ति भने कहिले हुन्छ भन्ने अनिश्चित नै छ । स्वास्थ्य मन्त्रालयले आगामी दुई सातामा खोप आउने बताए पनि यसको टुंगो छैन ।

    चीनले नेपाललाई ८ लाख सिनोफार्म खोप दिने घोषणा गरिसकेको छ । खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभाग चीनबाट प्राप्त हुने थप कागजातको प्रक्रियामा छ । स्रोतका अनुसार चीनबाट आवश्यक कागजात नेपाल आइपुग्न ढिला भएकाले आपूर्ति पनि प्रभावित भएको हो । चीनमा नयाँ वर्षको लामो विदा भएको कारणले कागजात आउन ढिलाइ भएको जनाइएको छ ।

    आठ लाख खोप निःशुल्क दिए पनि ढुवानी नेपाल स्वयम्ले गर्नुपर्ने चिनियाँ भनाइ छ । अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा भने चीनले आफैं ढुवानी गरिरहेको छ । बेइजिङबाट काठमाडौं आउने कुनै विमान नभएकाले पनि ढुवानीमा समस्या भएको बताइएको छ ।

    सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वा हिमालय एअरलाइन्सबाट खोप आपूर्ति गर्ने तयारी गरेको बुझिएको छ । तर, छोङछिङबाट नेपाल छुट्ने हिमालय एअरलाइन्सको विमान केही समयदेखि अवरुद्ध भएकाले तत्काल खोप ल्याउन सम्भव नभएको अनुमान छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिने भनेको ८ लाख डोज खोप ल्याउन चार्टर विमान पठाउन लागिएको भए पनि कुन एअरलाइन्सको गर्ने भन्ने टुंगो छैन ।

    यदि सरकारले विमान चार्टर गरेमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ । तर, अनुदान बापतको खोप ल्याउन चार्टर विमान प्रयोग गर्न नहुने सुझाव स्वास्थ्य मन्त्रालय र विभागले दिएका छन् । गएको ९ माघ गते भारतले उसकै विमानमा १० लाख डोज खोप काठमाडौं ल्याइदिएको थियो ।

    स्वास्थ्य मन्त्रालयले पूर्व प्राथमिकता परिर्वतन गर्दै ६५ वर्षमाथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय लिएको छ । अरूले कहिलेदेखि खोप पाउँछन् भन्ने निधो छैन ।

    कोभिसिल्ड राम्रो कि सिनोफार्म

    स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा कोभिसिल्ड खोप लगाउनेमध्ये १९ जनामा गम्भीर बिरामीको लक्षण थियो । तर कोही पनि घातक बिरामी भएका छैनन् ।

    स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप लगाउँदा बिरामी भए सरकारले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । एक हिसाबले भारतीय कोभिसिल्ड खोपमा आकर्षण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उच्च राजनीतिज्ञले समेत ढुक्कसाथ खोप लगाउन आग्रह गरिरहेका छन् ।

    भाइरोलोजिस्ट डा. सन्तोष दुलाल सिनोफार्मभन्दा अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप प्रभावकारी रहेको बताउँछन् । रसायनिक रूपमा कोरोनाभाइरसलाई निष्क्रिय तुल्याएर सिनोफार्म खोप बनाइएको उनले जानकारी दिए । तर, अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड चाहिं चिम्पाम्जीको एडेनो भाइरस भेक्टरमा कोरोनाको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ । जसको कारण कोभिसिल्डले शरीरमा खास असर गर्दैन ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिनोफार्मको प्रभावकारिता ७९ प्रतिशत छ भने कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी देखिएको छ । सिनोफार्ममा मृत भाइरस हुन्छ जसले मान्छेलाई संक्रमणमुक्त तुल्याउन असमर्थ हुन्छ । यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई निर्देशन दिएर कोभिड संक्रमणबाट रक्षा गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याइराख्छ ।

    जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित कुनै खोप ५० प्रतिशतभन्दा माथि प्रभावकारी छ भने ढुक्क साथ लगाउँदा हुने बताउँछन् ।
    अक्सफोर्डको कोभिसिल्ड खोपले चाहिं कोभिडको गम्भीर बिरामी मात्र नभई संक्रमण पनि रोक्ने देखिएको छ । अक्सफोर्ड युनिभर्सिटीको हालैको एक अध्ययनअनुसार कोभिसिल्ड खोप एक डोज लगाउँदा पनि मानिसहरूलाई कोभिडबाट राम्रो सुरक्षा प्रदान गरेको छ । पहिलो मात्रा लिइसकेको तीन महिनामा पनि उक्त खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । तर, फ्रान्सलगायतका कतिपय देशले भने ६५ वर्षमाथिको उमेर समूहमा अक्सफोर्ड खोपलाई प्रयोगमा नल्याउने जनाएका छन् ।

    कूटनीति हैन, खोपनीति

    पछिल्लो समय एशियाली कूटनीति राजनीतिभन्दा पनि खोपको आपूर्ति र विकासले निर्देशित छ । प्रतिष्ठित विदेश नीति म्यागजिन द डिप्लोम्याटले कोभिडको सुरुआती चरणमा मध्य एशियामा मास्क कूटनीति मौलाएको र पछिल्लो समय ‘खोप कूटनीति’को उदय भएको जनाएको छ ।

    भू–सामरिक चासो र स्वार्थले अस्थिर बनेको एशियाली प्रशान्त क्षेत्रमा खोप कूटनीतिले कूटनीतिको नयाँ आयाम सिर्जना गरेको हो । खासगरी, एशियामा भारत, चीन र रुस खोप कूटनीतिमा अगाडि देखिएका छन् । यी तीनै मुलुकले विश्वभर खोप ढुवानीलाई सफ्ट पावरको रूपमा अगाडि सारेका छन् । अमेरिकाको फाइजर र मोर्डना खोप समेत यी तीन मुलुकको छायाँमा परेका छन् ।

    ‘अवश्य पनि अस्तित्वमा रहेका क्षेत्रीय र वैश्विक एजेन्डामा खोप कूटनीतिले पनि खेल्ने काम गरिरहेको छ’ कोलम्बिया विश्वविद्यालयका निर्देशक अलेक्जेन्डर कुली भन्छन्, ‘चीनको खोप र मास्क कूटनीति यति ओझेलमा प¥यो कि त्यसले बीआरआईजस्ता ग्लोबल एजेन्डा पनि छायाँमा परे ।’

    तर, चीन र रूसबीच खोप कूटनीतिलाई लिएर अहिले रस्साकस्सी चलिरहेको छ । जस्तो, चिनियाँ प्रोजेक्ट बीआरआईको एउटा ठूलो साझेदार काजकिस्तानले चिनियाँ खोप प्रयोग नगरेर रूसी खोप स्पुतनिक-भी प्रयोग गर्ने निर्णय गर्‍यो । तर, यसबारे चीनको आफ्नै खालको व्याख्या छ । चीनले खोप आपूर्तिमा भूराजनीतिक प्रश्नको कुनै गुञ्जायस नहुने बरु यसमा स्थानीय आपूर्ति र ढुवानी संरचना जिम्मेवार रहेको प्रतिक्रिया दिएको छ । द डिप्लोम्याट म्यागजिनले खोप कूटनीति विदेश नीतिको एउटा मोडेल रहेको समेत उल्लेख गरेको छ ।

    चीनको राजनीतिक परामर्श सम्मेलनका सल्लाहकार ग्यो ओइमिन चीनले खोपसँगै विश्वव्यापी प्रभाव विस्तार गर्न खोजेको बताउँछन् ।
    ‘अवश्य पनि चीनले खोपसँगै हाम्रो प्रभावलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेको छ । यो उपयुक्त अवसर समेत हो ।’ फाइनान्सियल टाइम्सका अनुसार चीनको खोप कूटनीतिलाई काउन्टर दिन अमेरिकाले एशियामा आफ्ना साझेदार मुलुकहरू भारत, जापान र अष्ट्रेलियासँग मिलेर खोप आपूर्ति गरिरहेको छ ।

    जापानले सघाउने

    खोप कूटनीतिमा जापान पछाडि परे पनि उसले केही विकासशील मुलुकलाई आवश्यक उपकरण र सामग्री निर्यात गरेर ‘भ्याक्सिन डिप्लोमेसी’लाई अगाडि बढाउने भएको छ । उसले यसै साता एशिया प्रशान्त क्षेत्रमा रहेका कोभिड प्रभावित मुलुकलाई भाइरसविरोधी खोप लगाउने प्रयासमा आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको हो ।

    जापानको सहायता सूचीमा नेपालसहित भूटान, म्यानमार, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, पूर्वी टिमोर, फिजी, लाओस, ब्रुनाई, भियतनाम छन् । जापानले राष्ट्रसंघीय नियोग विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत रहेर पनि विकासशील मुलुकहरूलाई खोप अभियानमा सघाएको छ ।

    कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कुल १ करोड ४८ लाख डोज खोप प्राप्त गर्नेछ । त्यसको पहिलो खेप ३ लाख ४८ हजार डोज यसै साता काठमाडौं आइपुगेको छ । यसका अतिरिक्त रूस र युएईले पनि नेपाललाई खोप दिने घोषणा त गरेका छन् तर, यसको टुंगो छैन ।

  • जाजरकोटमा पनि भेटियो बर्ड फ्लु

    जाजरकोटमा पनि भेटियो बर्ड फ्लु

    काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको हो ।

    बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

    पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए ।

    योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो ।

    बर्ड फ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । उनका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३०० ब्वायलर कुखुरा, ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ ।

    विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको उनले बताए। विभागले बर्ड फ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।

  • १०४ वर्षिया वृद्धाले लगाइन् कोभिडविरुद्धको खोप

    १०४ वर्षिया वृद्धाले लगाइन् कोभिडविरुद्धको खोप

    काठमाडौं । कोभिड-१९विरुद्ध दोस्रो चरणको खोप अभियान अन्तर्गत चावहिलस्थित ओम अस्पताल खोप केन्द्रमा मंगलबार ज्येष्ठ नागरिकले खोप लगाएका छन् । अस्पतालका अनुसार खोप लगाउन पुग्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको उपस्थिती उल्लेखनीय थियो ।

    केन्द्रमा मंगलबार काठमाडौं महानगरपालिका-७ कुमारीगालकी १०४ बर्षिया महिला मनरुपा चौलागाईँले खोप लगाइन् ।

    छोरा–बुहारीसँग अस्पतालस्थित खोपकेन्द्र पुगेकी मनरुपाले १९९० सालको भुइँचालो जाँदा आफू १४ वर्षकी किशोरी रहेको सम्झँदै राणाकाल र पञ्चायती जीवनबारे रमाइला किस्सा सुनाइन् । विहानै उठ्ने, नुहाएर पूजापाठ, भजनकीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्छिन् ।

    शाकाहारी मनरुपा आफूलाई सबै खानेकुरा मनपर्ने र त्यसमा पनि दूधदही र फलफुल औधी मनपर्ने बताउँछिन् । थोरै-थोरै तर पटक–पटक खाइरहने तथा प्रशस्त पानी पिउने उनको बानी छ ।

    १० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि जानकारी छ । मास्क लगाएर हिँड्ने गरेको र बेला–बेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उनले बुढाबुढीलाई धेरै अप्ठ्यारो पार्ने कोरोनाविरुद्धको खोप लगाउन आफू अस्पताल आएको बताइन् ।

    काठमाडौं महानगरपालिका वडा ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले वडाकै ज्येष्ठ नागरिक मनरुपालाई भेटेर दीर्घायुको कामना गरे ।

    ओम अस्पतालको खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामर्ष एवं चिकित्सकको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएको वडाध्यक्ष डंगोलले बताए । ज्येष्ठ नागरिक अभियान र व्यवस्थित खोप केन्द्रबाट खुशि रहेको उनले जनाए ।

    निर्धक्क भएर खोप लगाउन ज्येष्ठ नागरिकलाई अस्पतालका मेडिकल डाइरेक्टर हरिश जोशीको आग्रह छ । केन्द्रमा आइतबारसम्म १५ सयभन्दा बढी ६५ बर्ष माथिका ज्येष्ठ नागरिकले खोप लगाइसकेको अस्पतालले जनाएको छ ।

  • दैलेखमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन चक्की

    दैलेखमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन चक्की

    सुर्खेत । दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका–१ को लक्ष्मी माध्यमिक बिद्यालयमा म्याद गुज्रेको आइरन चक्की बाँडिएको पाइएको छ ।
    गाउँपालिकाको स्वास्थ्य शाखाबाट आएको आइरन चक्की मिति सकिएको पाइएपछि फिर्ता गरिएको छ । बिद्यालयका छात्राहरुलाई आइरन चक्की खोलेर दिने क्रममा शिक्षक जीवराज रेग्मीले म्याद सकिएको फेला पारेका थिए ।

    विद्यालयकी प्रधानअध्यापक इला शाहीले आफू सदरमुकाममा रहेकाले आइरन चक्कीको म्याद सकिएको थाहा पाएलगत्तै फिर्ता पठाउन भनेको बताइन् । ‘म अहिले दैलेख बजारमा एक कार्यक्रममा छु । म्याद सकिएको थाहा पाएपछि सबै फिर्ता गर्न भनेको छु,’ उनले भनिन् ।

    उनले म्याद गुज्रेको औषधी कसरी विद्यार्थीको हातमा गयो भन्ने बारेमा अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने बताइन । ‘स्वास्थ्य राम्रो बनाउनका लागि महिनावारी हुने समूहका छात्रालाई आइरन चक्की खुवाउन सुरु भएको हो,’ उनले भनिन्, ‘हामी कसरी त्यस्तो भूल भयो आवश्यक छानविन गर्छौं ।’ उनले म्याद सकिएको आइरन चक्की कसैले पनि नखाएको दाबी गरिन । उक्त विद्यालयमा पाँच सय भन्दा बढी छात्राहरु अध्ययनरत रहेका छन् ।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र भण्डारीले शाखाबाट त्यस्तो लापरवाही नभएको दाबी गरे । ‘हामीले म्याद बाँकी रहेका चक्की पठाएका हौं । त्यहि विद्यालयले नै केहि गलत गरेको हुनसक्छ ।’ उनले भने, ‘सूचना आएपछि हामीले त्यहाँबाट पाँच सय चक्की म्याद गुज्रेको आइरन फिर्ता ल्याएका छौं ।’ उनले पालिका भरि तीस हजार चक्की आवश्यक रहेको बताए ।

    म्याद गुज्रेको आइरन चक्की वितरण भएको भन्दै स्थानीयले विरोध गरेका छन् । ‘गाउँपालिका नजिकै रहेको विद्यालयमा त म्याद गुज्रेको औषधी बाँडियो । हामीलाई औषधी खोलेर दिने गरिएको थियो ।’ नियमित रुपमा आइरन चक्की सेवन गर्दै आइरहेकी कक्षा ९ की एक छात्राले भनिन्, ‘त्यहाँ शिक्षकले म्याद गुज्रेको भनेर नभनेको भए हामी सबैले सेवन गथ्र्यौं । त्यसले हामीलाई असर गथ्र्यो कि ?’

  • कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो

    कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ ।

    कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोप काठमाडौं आइपुगेको हो । खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुशी लागेको उल्लेख गरेकी छन् । बेलायत सरकारले खोपलाई नेपालीसम्म पुर्‍याउन सहयोग गर्दैआएको र खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी रहेको उनले बताएकी छन् ।

    उनले भनेकी छन्, ‘बेलायतमा बनेको खोप भएकोले थप खुशी लागेको छ ।’

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

    चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने

    प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बिहान १० बजे अस्पतालको खोप केन्द्रमा पुगेर उनले खोप लगाउने कार्यक्रम तय भएको छ ।

    ७० वर्ष पुगेका प्रधानमन्त्री ओली कोरोनाको संवेदनशील समूहमा पर्छन् । भोलि नेपालमा दोस्रो चरणको खोप कार्यक्रम सुरु हुँदैछ । दोस्रो चरणको पहिलो दिन ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।

    विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार काठमाडौं आइपुग्नेछ ।

  • ६५ वर्षमाथिका १७ लाखलाई भोलिदेखि खोप लगाइने, कोभ्याक्सको पहिलो खेप पनि भोलि आउँदै

    ६५ वर्षमाथिका १७ लाखलाई भोलिदेखि खोप लगाइने, कोभ्याक्सको पहिलो खेप पनि भोलि आउँदै

    काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु गर्ने भएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।

    सरकारले ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गरेको हो । शनिबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ६५ वर्षमाथिका १७ लाख ६५ हजार जना नागरिकलाई खोप लगाइने बताए ।

    खोप उपलब्धताका आधारमा सरकारले प्राथमिकता परिवर्तन गर्दै ६५ वर्षभन्दा माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई लगाउने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए । ५५ वर्षमाथिकालाई १० दिनपछि मात्र खोप लगाइने भएको छ ।

    ५५ देखि ६४ वर्षसम्मका नागरिकले भने चैतमा मात्र खोप लगाउन पाउने भएका छन् ।

    खोप उपलब्धताका आधारमा त्यसलगत्तै अर्को २८ लाख जनसंख्यालाई खोप लगाइने समेत उनले जनाए । ढुक्क भएर खोप लगाउन आग्रह गर्दै स्वास्थ्यमन्त्रीले खोपको नकारात्मक असर देखिए उपचार गर्ने व्यवस्था गरिएको बताए ।

    अस्पताल केन्द्रित खोप अभियान स्थगित गरेर खोप केन्द्रबाट खोप लगाइने जनाउँदै मन्त्री त्रिपाठीले खोप अभियानमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिने बताए ।

    विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पायक पर्ने खोप केन्द्रमा खोप लगाइने उनले जानकारी दिए । आइतबार ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिइने भएको छ ।

    कोभ्याक्सअन्तर्गतको पहिलो खेप भोलि आउने

    स्वास्थ्य मन्त्री त्रिपाठीका अनुसार विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने छ ।

    कोभ्याक्समार्फत आउने कूल १ करोड ४८ लाख डोज खोपको प्रतिबद्धताअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार डोज मात्र आइपुग्ने उनले जनाए ।

    मन्त्री त्रिपाठीका अनुसार एसियामा श्रीलंका र म्यानमारपछि कोभ्याक्सअन्तर्गत खोप प्राप्त गर्ने मुलुकमा नेपाल तेस्रो हो । सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया सुरु गरेको समेत उनले जनाए ।

    मन्त्री त्रिपाठीले ढुक्क भएर अहिले प्रयोगमा आएको अक्सफोर्डको कोभिसिल्ड खोप लगाउन आग्रह गरे । यो खोपको सकारात्मक असर रहेको भन्दै उनले समस्या आए एकै दिनमा समस्या समाधान हुने गरी उपचार गरिने जनाए ।

    खोप लगाएपछि २ हजार १६७ जनामा सामान्य प्रकारको र १९ जनामा हल्का गम्भिर खालको समस्या देखिएको भन्दै मन्त्री त्रिपाठीले खोपको प्रभावकारितामा ढुक्क हुन आग्रह गरे ।

    खोप लगाएपछि अरुलाई सार्ने जोखिम हुने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । कोभिड–१९ विरुद्ध विभिन्न ८१ वटा खोपहरु विकसित भएका छन् ।

    तीमध्ये १२ वटा खोपले प्रयोगका लागि अनुमति प्राप्त गरेका छन् । नेपालमा आपतकालिन प्रयोगका लागि सिरम इन्स्टिच्युटको कोभिसिल्ड र चीनको सिनोफार्मले नियामक निकायबाट अनुमति प्राप्त गरेका छन् ।

  • भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

    भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

    दिल्ली- कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

    योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

    भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परिक्षण गरिएको छ । ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परिक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ ।

    भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

  • दैलेखको आठबीसमा अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा

    दैलेखको आठबीसमा अत्याधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा

    सुर्खेत । अन्यत्र स्वास्थ्य सेवामा अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको समयमा दैलेखको पश्चिम क्षेत्रका नागरिकले एक्सरे र भिडियो एक्सरेको सुविधा पाउँदा खुशी हुनुपरेको अवस्था छ ।

    दैलेख सदरमुकामबाट बीस कोष पश्चिममा पर्ने राकम कर्णालीमा नगरपालिकाको सहयोगमा भिडियो र एक्सरे मेसिन जडानको काम सम्पन्न भएको हो ।

    अब सामान्य चोटपटक लागेको वा हात भाँचिएका, गर्भवती महिला आदिलाई चेकजाँचको लागि कालिकोट जिल्ला अस्पताल, अछाम वा सुर्खेत आउनुपर्ने अवस्थाको अन्त्य हुने भएको राकम कर्णाली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम वडा नं. ४ का अध्यक्ष रणबहादुर माझीले नेपाल प्रेसलाई बताए ।

    ‘कर्णाली राजमार्गमा रहेको बजार तथा यस क्षेत्रमा बसोबास गर्ने तीसौं हजार नागरिकले अहिलेको जमानामा एक्सरे गर्न पनि बाहिर जानुपर्ने अवस्था आएको थियो । विगतदेखि नै यो समस्याबाट हामी गुज्रिरहेका थियौं ।’ उनले भने, ‘तर अब मेसिन जडान भएका छन् । दुइ चार दिनमै हामी समितिको वैठक बसेर सेवा सञ्चालन गर्नेछौं । यसबाट यहाँका नागरिकलाई धेरै राहत हुने अपेक्षा हामीले गरेका छौं ।’

    स्वास्थ्य चौकी प्रमुख किरण माझीले एक्सरे, भिडियो एक्सरे मेसिन जडान भइसकेको बताए ।

    ‘अब प्रिन्टर लगायतका केहि सामान एक दुइ दिनमा नै आइपुग्दैछन् । ती सबै मेसिन आएको एक दुइ दिनमै हामी एक्सरे, इसिजी लगायतका नयाँ सेवा प्रवाह गर्दैछौं ।’ उनले भने, ‘इसिजीका लागि कोठा अभाव भएका कारण अहिले कोठा व्यवस्थापनमा हामी जुटिरहेका छौं ।’

    मध्यपहाडी राजमार्ग अन्र्तगतको नयाँ शहर राकम कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक जना मेडिकल अफिसर पनि पठाएको छ ।

    प्रतिष्ठानले राकम कर्णालीमै शिक्षण अस्पताल खोल्ने गरि जग्गा पनि पाइसकेको छ । ‘अहिले प्रतिष्ठानबाट डा. कृष्ण भुसालले यहाँ बसेर सेवा प्रवाह गरिरहनु भएको छ ।

    यसका अलावा केही समयपछि अर्थोपेडिक र एमडिजीपी डाक्टरहरु पनि प्रतिष्ठानले राकम कर्णालीमा पठाउने आश्वासन दिएको छ ।’
    नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले भने, ‘ल्याव हामीले स्थापना गरिसकेका छौं । मेसिनका लागि नगरपालिकाले बजेट दिएको थियो । १८ लाख ५८ हजार ८५० रुपैंयामा एक्सरे गर्ने मेसिनहरु आएका हुन ।’

    उनले राकम कर्णाली स्वास्थ्य चौकीमा ट्रमा युनिट सञ्चालन गर्ने तयारी सुरु भएको जानकारी दिए । ‘सडक दुर्घटनामा परेकाहरुको उपचार गर्नका लागि हामीले ट्रमा युनिट स्थापना गर्ने भएका छौं ।

    यसका लागि आवश्यक पर्ने पूर्वाधारबारे अध्ययन गर्न वायो इन्जिनियर आइसकेका छन् । युनिट स्थापना भएको खण्डमा साना अप्रेसन राकममै गर्ने योजनाका साथ हामी लागिरहेका छौं ।’ उनले भेन्टिलेटरसहितको सेवा प्रवाह गर्नकालागि आफूहरु लागिपरेको बताए ।

    मोतियाविन्दुको अप्रेसन हुँदै

    यसैबीच, आठबीस नगरपालिका वडा नं. ४ को जनज्योती माध्यमिक विद्यालयमा मोतियाविन्दुको अप्रेशन शिविरि सुरु हुने भएको छ ।

    फागुन २३ देखि २५ गतेसम्म सञ्चालन हुने शिविरका लागि अहिले हरेक वडामा छनौट शिविर सञ्चालन भइरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    स्वास्थ्य शाखाका अनुसार सात्तालामा ६० जना, सिगौंडीमा १८ जना, सिंहासेनमा सात जना, पिपलकोटमा ७ जना, छेपाडीमा २० जना, तिलेपाटामा २० जना मोयिाविन्दु अप्रेशनका लागि छनौट भइसकेका छन् । अम्काना, निमायल र राकम कर्णालीमा छनौट शिविर सञ्चालन भइरहेको छ ।

  • काेराेना विरुद्धको दोस्रो डोजकाे खोप वैशाख ७ गतेदेखि

    काेराेना विरुद्धको दोस्रो डोजकाे खोप वैशाख ७ गतेदेखि

    काठमाडौं । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।

    माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।

    पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १।४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए ।

    उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । सोही खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । उनले खोपबारे बुझाउन नसक्दा शुरुमा खोप नलगाउन मानिस हिच्किचाएकोसमेत बताए ।

    विश्व स्वास्थ्य सङ्गठन, नेपालका नेशनल प्रोफेसनल अफिसर डा राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको जानकारी दिए ।

    उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी बताए। विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको उनको भनाइ छ । गम्भीर रोग लागेकालाई सतप्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ ।

     

  • गण्डकीमा खोप भण्डारण गृह शिलान्यास, ४० लाख खोप भण्डारण क्षमता

    गण्डकीमा खोप भण्डारण गृह शिलान्यास, ४० लाख खोप भण्डारण क्षमता

    पोखरा । गण्डकी प्रदेशको प्रदेश मामिला समितिको ३० औं बैठकमा सांसद इन्द्रधारा विष्टले माग राखे, ‘कोभिडविरुद्धको खोप आइसक्यो । धमाधम लक्षित वर्गले लगाउन पनि थालिसके । तर, खोप भण्डारणमा विचार पुर्‍याएनौं कि ? अब त्यतातर्फ ध्यान दिन जरुरी होला !’

    त्यतिबेला खोप भण्डारण गर्न प्रदेश सरकारले योजना त बनाएको थियो । तर, प्रारम्भिक प्रक्रिया सुरु भइसकेको थिएन । बैठकमा समिति सदस्यसमेत रहेको सांसद विष्टले भनेका थिए, ‘सामाजिक विकासमन्त्रीलाई नै लगेर खोपको भण्डार हेरौं र खोप भण्डारण कक्ष नभए त्यसको गुणस्तर कसरी कायम हुन्छ ?’

    सांसद विष्टले भने जस्तै कोभिशिल्डमात्रै नभई नेपालमा अन्य ११ प्रकारका खोप लगाइँदै आइएको छ । ती खोप लगाउने प्रायः एक वर्ष मुनिका बालबालिका छन् । तर, ती खोप खोपको उचित भण्डारण व्यवस्था नभएकै कारण गुणस्तरीयता घट्ने हो कि भन्ने सरोकारवालाको चिन्ताको विषय थियो ।

    विष्टले प्रदेश मामिला समितिमा माग राखेको करिब एक महिनापछि गण्डकी प्रदेशले आफ्नै खोप भण्डारण गृह पाउने भएको छ । हाल स्वास्थ्य तालिम केन्द्र रहेको भवन परिसरमा प्रदेश सरकारले खोप भण्डार गृह निर्माण हुने भएको हो ।

    २ महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बाले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोभिड महामारी फैलिइसकेपछि त्यसबाट पाठ सिक्दै प्रदेशले उल्लेख्य काम गरेको सुनाए । उनले भने, ‘कोभिड महामारी हाम्रो लागि एउटा गतिलो पाठ बन्यो । तर, समस्याबाट पाठ सिक्दै हामी अगाडि बढिरहेका छौं ।’

    खोप केन्द्रका लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये टेन्डरका माध्यमबाट उक्त खोप केन्द्र ७५ लाख रुपैयाँमै बन्ने गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    ‘पहिले पनि खोप कार्यक्रम सञ्चालन भइराखेकै हुन्थे । तर, भण्डारण कक्षको अभाव थियो । यो भवण २ महिनाभित्रै सम्पन्न भइसक्छ,’ डा शर्माले भने, ‘त्यसपछि भने गृहमा एकैचोटी ४० लाख परिमाणमा खोप भण्डारण गर्न सक्छौं ।’

    खोप उत्पादनदेखि भण्डारसम्म उचित तापक्रममा राख्न सकिएन भने खोपको गुणस्तर कायम नरहने भएको पनि भण्डारण कक्ष अपरिहार्य रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले बताए ।

    ‘कोभिड १९ आइसकेपछि त्यसको खोप भण्डारण गृहको आवश्यकता झनै छ । नेपालले धान्न सक्ने २ देखि ८ डिग्री सेन्टी ग्रेड तापक्रमसम्म खोप प्राप्त भएको छ,’ केसीले भने, ‘त्यसको तापक्रम मेन्टेन गर्न पनि गृह आवश्यक थियो ।’

    गण्डकी प्रदेशमा पहिलो चरणमा १८ हजार जना र अहिले ५५ वर्षमाथि उमेर समूहका करिब ३ लाख जनालाई कोभिडविरुद्धको खोप लगाउने तयारी भइरहेको केसीले जानकारी दिए ।

     

  • नेपालमा कोरोना मृतक संख्या ३ हजार नाघ्यो

    नेपालमा कोरोना मृतक संख्या ३ हजार नाघ्यो

    काठमाडौं । कोभिड-१९ बाट नेपालमा ज्यान गुमाउनेको संख्या विहिबारसम्म ३०१० पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा १०७ जना संक्रमित थपिएका छन् । यही अवधीमा ७८ जना निको भएका छन् ।

    सो अवधीमा ५,५३६ जनाको पीसीआर परिक्षण गरिएको थियो । नेपालमा संक्रमित हुने कूल संख्या २ लाख ७४ हजार ४८८ छ ।

  • सुर्खेतमा सात हजारलाई ‘कोभिसिल्ड’ लगाइयो

    सुर्खेतमा सात हजारलाई ‘कोभिसिल्ड’ लगाइयो

    सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले माघ १४ गतेदेखि हालसम्म कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ ७ हजार ४७५ जनालाई लगाएको जनाएको छ ।

    वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोपको पहिलो डोज लगाइसकिएको छ । दोश्रो डोज बैसाख पहिलाे सातादेखि १५ गतेसम्म लगाईने उनको भनाई थियो ।

    यसैबीच फागुन २३ गते देखि सुर्खेतमा ६५ वर्ष भन्दा माथिका सर्वसाधारणलाई खोप लगाइने भएको छ ।

    ‘पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाउन सुरु गर्दैछौं ।’ उनले भने, ‘सुर्खेतमा सो उमेर समूहका २४ हजार ९७६ जना रहेका छन् । यो खोप लगाउन २५६ जना स्वास्थ्यकर्मी, ६०० जना भन्दा बढी स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने योजना बनाएका छौं ।’

    उनले खोपका लागि जिल्लामा २०५७ भायल आएको बताउँदै प्रति भायल १० जनालाई खोप लगाउन सकिने बताए ।
    सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यृ भएको छ । तीन जना नेपालगन्ज तथा काठमाडौंका अस्पतालमा मृत्यृ भएको जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ ।

  • चीनद्वारा नेपाललाई पीपीइ, ग्लोब्स र मास्क प्रदान

    चीनद्वारा नेपाललाई पीपीइ, ग्लोब्स र मास्क प्रदान

    काठमाडौं । चीनले नेपाललाई राष्ट्रसंघीय जनसंख्या कोषअन्तर्गत कोभिड-१९ विरुद्ध पीपीइ, ग्लोब्स र मास्क प्रदान गरेको छ ।

    ६,०४८ सेट पीपीइ, ५० हजार ग्लोब्स र मास्क नेपालले ग्रहण गरेको हो । नेपाल, चीन र कोषको साझेदारी कार्यक्रम अन्तर्गत कोभिडविरुद्धका सामाग्री हस्तान्तरण भएको चीनले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रमुख चिकित्सक रोशन पोखरेलले कोषका पदाधिकारीबाट ती सामाग्री ग्रहण गरे ।

  • देउवाले पनि लगाए कोरोनाविरुद्धको खोप

    देउवाले पनि लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । बानेश्वरस्थित निजामती अस्पताल पुगेर देउवाले कोभिसिल्ड खोप लगाए ।

    बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् ।

    सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।

    संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारसहित १५०० लाई खोप लगाउने व्यवस्था गरिएको छ ।

  • प्रधानमन्त्रीले खोप लगाउने तर मिति टुंगो छैन

    प्रधानमन्त्रीले खोप लगाउने तर मिति टुंगो छैन

    काठमाडौं । बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् ।

    सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।

    संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारसहित १५०० लाई खोप लगाउने व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म खोप नलगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । खोप लगाउने प्रधानमन्त्रीको योजना रहेको तर, कहिले लगाउने निश्चित नभैसकेको उनले जनाए ।

    ‘प्रधानमन्त्रीले पनि खोप लगाउनुभएको छैन । उहाँको टीम हामी कसैले पनि लगाएका छैनौं । फ्रन्टलाइनरले लगाउन भन्ने हाम्रो चाहना हो’ थापाले भने । दुईपटक मृर्गौला प्रत्यारोपण गरेका ७० वर्षे प्रधानमन्त्री ओली पनि कोरोनाभाइरसको जोखिम समूहमा पर्छन् ।

    सरकारले दीर्घरोग भएका व्यक्तिलाई खोप कार्यक्रममा प्राथमिकतामा राखेको छ । स्वास्थ्य मन्त्रालयले मुटु, मस्तिष्क, फोक्सो, मृगौला र क्यान्सर भएका दीर्घरोगीलाई खोप दिन मिल्ने बताएको छ ।

    प्रधानमन्त्रीलाई समेत खोप लगाउँदा कुनै खतरा नहुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

  • स्वास्थ्य स्वयंसेविकाको विवरण एक साताभित्र पठाउन स्थानीय तहलाई  परिपत्र

    स्वास्थ्य स्वयंसेविकाको विवरण एक साताभित्र पठाउन स्थानीय तहलाई परिपत्र

    काठमाडौ । सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अद्यावधिक विवरण एक साताभित्र पठाइसक्न ७ सय ७३ वटै स्थानीय तहलाई परिपत्र गरेकाे  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

    आर्थिक वर्ष २०७८-०७९ को वजेट तर्जुमा गर्नका लागि महिला उनिहरुको अद्यावधिक विवरण आवश्यक परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले फागुन २५ गतेसम्म पठाइसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले महिला स्वास्थ्य स्वयंमसेविकको अद्यावधिक विवरण स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा मन्त्रालयले पठाएको ढाँचामा पठाउन निर्देशन दिएको हो ।

  • सरकारले थप ५० लाख डोज खोप खरिद गर्दै

    सरकारले थप ५० लाख डोज खोप खरिद गर्दै

    काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ ।

    मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।

    हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले  जानकारी दिए ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ ।

    ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिए । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उनले भने ।

    स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरु देखा नपरेको बताए ।

    डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्ष मुनिका बालबालिकाको उमेर समुहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उनको भनाई छ ।

    पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्ववति महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।

  • चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

    चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।

    यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

    सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ ।

    फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।

  • यी तीन सर्त पुरा गरे निजी क्षेत्रले खोप आपूर्ति गर्न पाउने

    यी तीन सर्त पुरा गरे निजी क्षेत्रले खोप आपूर्ति गर्न पाउने

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोप आपूर्तिका लागि सरकारले नीजि क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको छ । राजधानीमा आयोजित विभिन्न संचारमाध्यमका प्रतिनिधिसँगको छलफलमा स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो ।

    मन्त्रालयका सचिव लक्ष्मण अर्यालले २० प्रतिशत जनसंख्यालाई खोपको सुनिश्चतता गरेपछि निजी क्षेत्रलाई पनि खोप आयातका लागि अनुमति दिने बताए । निजी क्षेत्रलाई खोप आयात गर्ने कानुनी बाटो खुला गरिएको उनले जानकारी दिए ।

    तर, निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयले तोकेको तीन सर्त पुरा गरेपछि मात्रै खोप आपूर्ति एवं विक्री गर्न पाउनेछन् । सरकारको तोकेको मूल्यमा खोप विक्री गर्नुपर्ने, सरकारले तोकेको स्वास्थ्य संस्थामा मात्रै खोप लगाउनुपर्ने र मन्त्रालयले तोकेको प्राथमिकताका आधारमा खोप लगाउनुपर्ने सर्त राखिएको छ ।

    अहिले मुलुकमा खोपको प्राथमिकतामा परेका ४ लाखभन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् । फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो प्राथमिकतामा राखेर खोप कार्यक्रम संचालन गरिँदैछ ।

    सरकारले भारतको कोभिसिल्ड र चीनको सिनोफार्म खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

  • ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन’

    ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन’

    काठमाडौं । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।

    यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो ।

    निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ ।’

    तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उनले जानकारी दिए ।

    गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ ।

    ‘यो क्यान्सर उपचारका लागि सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो ।’ अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने ।

    ‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइएको छ ।

    ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् ।

    पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ ।

    ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौँ उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

    उपकरणको मूल्यमात्र करिब एक अर्बभन्दा माथि खर्च भएका जनाइएको छ । ‘क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० श्ययाको अस्पताल सञ्चालमा आउने छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ ।’ उनले भने ।

    भारतमा उनले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराउनुभएको थियो । ‘मेरो पीडाजस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबै कुरा त्यागेर देशलाई क्यान्सर मुक्त बनाउने अभियानको आधार तयार गर्न दृढताले लागेँ’, उनले आफ्ना भोगाइ सुनाए ।

    पछिल्लो समय मेदान्त तथा राजीवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो सङ्ख्यायामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र बर्सेनि कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्याङ्क छैन । जनस्वास्थ्य स्वास्थ्य कार्यालय झापाबाट गत वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

    नेपालमा बर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । सत्तरी प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठीक उल्टो रहेको छ ।

    मुटु प्रत्यारोपणको तयारी

    कार्यकारी निर्देशक प्रसाईले बीएण्डसी अस्पतालमा मुटु तथा मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको जानकारी दिए ।

    उनका अनुसार मुटु उपचार सेवाका लागि ‘क्याथ ल्याब’ सञ्चालनमा आइसकेको छ । पूर्वाञ्चलमा पहिलोपटक  ५० करोडको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको जनाइएको छ । अस्पतालले मिर्गौला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा प्रदान गरिरहेको छ ।

    बीएण्डसी अस्पतालका निर्देशक प्रा डा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक सबै प्रकारका सेवा उपलब्ध रहेको जानकारी दिए । उनले भने, ‘क्यान्सर उपचारका लागि विदेश जानुपर्र्दैन ।’ रासस

  • सांसदलाई बुधबारदेखि खोप लगाइने, भारतमा मोदीले लगाए खोप

    सांसदलाई बुधबारदेखि खोप लगाइने, भारतमा मोदीले लगाए खोप

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान भारत बायोटेकले विकास एवं उत्पादन गरेको कोभ्याक्सिन खोप लगाएका छन् । दिल्लीस्थित एम्स अस्पतालमा उनले खोप लगाए ।

    ट्वीटरमार्फत उनले खोप लगाएको जनाएका छन् । उनी लेख्छन् – विश्वब्यापी कोरोनभाइरस महामारीविरुद्ध लड्न हाम्रा चिकित्सक र वैज्ञानिकको भूमिका उल्लेखनीय छ । सबै मिलेर भारतलाई कोभिडमुक्त बनाउनुपर्छ ।’

    पुडुचेरीकी नर्स पी निभेडाले मोदीलाई खोप लगाइदिएकी थिइन् । खोप लगाउन उनलाई केरलाकी नर्स रोस्मा अलीले सघाएकी थिइन् । रोचक त के छ भने, पुडुचेरी र केरला अप्रिलामा चुनावमा जाँदैछन् ।

    नेपाली सांसदलाई बुधबारदेखि
    नेपाल सरकारले संघीय संसदका सांसदलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप दिने भएको छ । ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउनुअघि सांसदहरुलाई खोप लगाउन लागिएको हो ।

    फागुन २३ देखि ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यतालिका छ । सांसद, कर्मचारी र मर्यादापालकलाई बुधबार, विहिबार र शुक्रबार बानेश्वरको सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय भएको छ ।

    नेपाली सांसदलाई चाहिँ अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप लगाउन लागिएको हो ।

  • काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १४ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १४ हजारभन्दा बढी कुखुरा नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू फेला परेको छ ।

    पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका व्यवसायिक कुखुराको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमूना परीक्षण गर्दा बर्ड फ्लु प्रमाणित भएको हो ।

    रोग देखिएको क्षेत्रमा ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोईलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार के.जी. दाना नष्ट गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    घरपालुवा पन्छीलाई जंगली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छीपालनलाई निरूत्साहित
    गर्न/गराउन र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन पनि विभागले अनुरोध गरेको छ ।

     

  • कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, अवस्था चिन्ताजनक

    कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, अवस्था चिन्ताजनक

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

    शुक्रबार विहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।

    नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

    ‘टाउकोमा सामान्य शल्यक्रिया गरी ड्रेन राखिएको छ । चिन्ताजनक अवस्था रहेकाले अहिले नै केही भन्न सकिन्न,’ अस्पताल स्रोतले भन्याे ।

  • कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६१८ थप, चार लाखले लगाए खोप

    कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६१८ थप, चार लाखले लगाए खोप

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ बाट मृत्यु हुनेको कूल संख्यामा ६१८ थप गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृतकको संख्यामा अद्यावधिक गरिएको र भविष्यमा पनि थपघट हुने जनाए ।

    बिगत २४ घन्टामा ३ हजार ६९२ पीसीआर परिक्षण भएको छ । जसमध्ये ९४ संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ गरि जम्मा ४७ संक्रमण पुष्टि भएको छ । अहिले १,५५५ सक्रिय संक्रमित संख्या रहेको छ ।

    अहिलेसम्म नेपालमा कूल संक्रमित संख्या २ लाख ७३ हजार ७६० र कूल मृतक संख्या २,०६६ रहेको छ । यो संख्यामा अद्यावधिक गरेर मन्त्रालयले ६१८ मृतक थप गरेको हो । कूल मृतक संख्या २,६८४ पुगेको छ । शव व्यवस्थापन गर्ने जिम्मा पाएको सीसीएमसीको जानकारीका आधारका मृतक थप गरिएको हो ।

    खोप लगाउनेको संख्या ४ लाख नाघ्यो

    मन्त्रालयका अनुसार अहिलेसम्म खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७०५ पुगेको छ । सरकारले लक्षित वर्ग मानेको संख्याको ८५ प्रतिशतलाई खोप लगाइसकिएको छ । जसमा ६,७८९ जना पत्रकारले लगाएका छन् ।

    फागुन २३ गतेदेखि ५५ वर्ष माथिका नागरिकलाई खोप दिइने भएको छ । जसमा सवारी चालक र सहचालक पनि समावेश छन् । नेपालमा प्रयोगमा ल्याइएको कोभिसिल्ड खोपको गम्भिर साइड इफेक्ट नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • शहरी विकास मन्त्रालयले बनाउँदैछ आठवटा कोरोना खोप भण्डारण गृह

    शहरी विकास मन्त्रालयले बनाउँदैछ आठवटा कोरोना खोप भण्डारण गृह

    काठमाडौं । सरकारले ८ वटा स्थानमा कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक–एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।

    प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिदैँछ ।

    त्यस्तै, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदुरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रिय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ ।

    मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह एक करोड २० लाखका दरले आठ वटा भण्डारण गृह निर्माणमा कुल ९ करोड साठी लाख रकम खर्च हुनेछ ।

    पौडेलका अनुसार प्रदेश नम्बर २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश अन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेश अन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ । बागमती प्रदेश, गणडकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सुचना प्रकाशन भएको पोडेलले बताए ।

    कार्यादेश दिएको २ महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको सो भण्डारण गृहहरुमा सम्बन्धित प्रदेशहरुका लागि आवश्यक खोपहरु प्रदेश अन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोपहरु आवश्यकताबमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ ।