Category: स्वास्थ्य-जीवनशैली

  • सार्वजनिक यातायातमा मास्क अनिवार्य, क्षमताभन्दा बढी यात्रु राख्न नपाइने (भिडियो)

    सार्वजनिक यातायातमा मास्क अनिवार्य, क्षमताभन्दा बढी यात्रु राख्न नपाइने (भिडियो)

    काठमाडौं । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो ।

    प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताए ।

    सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि सिडिओ पराजुलीले बताए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताए ।

    सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

    कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

    शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

     

  • खोपका लागि सरकारको ताकेता, स्वास्थ्यमन्त्रीले गरे भारतीय समकक्षीलाई फोन

    खोपका लागि सरकारको ताकेता, स्वास्थ्यमन्त्रीले गरे भारतीय समकक्षीलाई फोन

    काठमाडौं । भारतीय कम्पनीले नेपालसँग अग्रिम भुक्तानी लिएर समयमा खोप नपठाएपछि सरकारले भारत सरकारसँग ताकेता शुरू गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतीय समकक्षी हर्षवर्द्धन र विदेश सचिव हर्षवर्द्धन श्रृंगलासँग खोपको विषयमा कुरा गरेका छन् ।

    भारतले प्रतिबद्धताअनुसार खोप उपलब्ध गराउन नसक्दा नेपालको खोप अभियान अवरुद्ध भएपछि स्वास्थ्यमन्त्रीले उनीहरूसँग फोनमा कुरा गरेका हुन् ।

    ‘हामीले अवरुद्ध खोप आपूर्तिलाई चाँडै सुचारु गर्न भनेका छौं । त्यसमा उहाँहरू सकारात्मक हुनुहुन्छ,’ मन्त्री त्रिपाठीले नेपाल प्रेससँग भने ।

    यसबारे आफूले भारतको राजनीतिक र प्रशासनिक नेतृत्वसँग कुरा गरिरहेको र चाँडै खोप आपूर्ति सुचारु हुनेमा आफू ढुक्क रहेको मन्त्री त्रिपाठीले बताए । ‘हामीले आफ्ना च्यानलबाट खोप आपूर्तिको निरन्तरताबारे छलफल गरिरहेका छौं,’ उनले भने ।

    सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौताअनुसार ८० प्रतिशत रकम नेपालले अग्रिम भुक्तानी गरेको थियो । तर, १० लाख डोज खोप पठाइसकेको सिरमले बाँकी १० लाख डोज खोप आपूर्ति कहिले हुने भन्नेबारे टुंगो छैन ।

    सिरमले प्रतिवद्धताअनुसार दोस्रो खेप नपठाउँदा दोस्रो चरणको खोप अभियान अवरुद्ध हुन पुगेको छ भने पहिलो चरणमै लगाइसकेकालाई दोस्रो डोज दिन ढिलाइ भएको छ । अहिले सरकारसँग पहिलो चरणमा खोप लगाएका ४ लाख ७५ हजार जनालाई चाहिने दोस्रो डोज दिन मात्र खोप बाँकी छ ।

    केही साताअघि सिरम इन्स्टिच्युटले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै तत्काल खोप आपूर्ति गर्न नसकिने जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले प्रकाशन गरेको एक विवरणमा भारतले खोप आपूर्तिमा अस्थायी रोक लगाएको र यसबाट १९० मुलुक प्रभावित हुने उल्लेख छ । भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकोले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले आपूर्तिमा अस्थायी रोक लगाइएको बीबीसीले जनाएको छ ।

    दिल्लीस्थित नेपाली दूतावासदेखि सरकारी अधिकारीहरूले पनि सिरम इन्स्टिच्युट र त्यहाँको विदेश मन्त्रालयसँग कुरा गरिरहेका छन् । तर, स्पष्ट जवाफ पाएका छैनन् । स्रोतका अनुसार नेपालको स्वास्थ्य मन्त्रालयले सिरमलाई गत ३ मार्चमा पुनः ताकेता गरेपछि सिरमले दुई साताभित्र आपूर्ति गर्ने वचन दियो तर, त्यो दुई साता पूरा भइसकेको छ । गत २१ मार्चमै परराष्ट्र मन्त्रालयले विदेश मन्त्रालयलाई पत्र लेख्दै खोप आपूर्ति सुचारु गरिदिन आग्रह गरेको छ ।

    स्वास्थ्यमन्त्री त्रिपाठीले भारतीय समकक्षी र विदेश सचिवसँग भएको कुरामा उनीहरू सकारात्मक रहेको जवाफ पाएको बताएपनि अन्तर्राष्ट्रिय संचारमाध्यमले चाहिँ विदेश मन्त्रालयले नै आपूर्तिमा रोक लगाएको जनाएका छन् । बीबीसीले सिरम इन्स्टिच्युटले नभई विदेश मन्त्रालयले घरेलु खोप आपूर्तिलाई प्राथमिकतामा राखेर अस्थायीरूपमा रोक लगाएको जनाएको छ ।

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि खोप आपूर्तिका लागि दूतावासले पहल गरिरहेको र खुला सीमानाका लागि भारतले रोक नलगाउने विश्वास व्यक्त गरे । भारत सरकारको निर्णयअनुसार आफू अघि बढेको जवाफ दूतावासले प्राप्त गरेको आचार्यको भनाई छ । भारतको उक्त कदमले नेपालसहित कोभ्याक्सिनअन्तर्गतका मुलुक प्रभावित हुने आशंकाका बीच भारतले नेपाललाई खोप आपूर्ति सुचारु गर्न सक्ने राजदूत आचार्यको ठम्याइ छ ।

    आउने सय दिनसम्म भारतमा कोरोनाको दोस्रो लहरले उचाइ छुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसले गर्दा भारतभित्रै खोप अभियानलाई तीब्र बनाउनुपर्ने दबाब भारतलाई छ । यसको प्रभाव माग र आपूर्तिको सन्तुलनमा देखिएको छ । बितेको २४ घन्टामा भारतमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ५ करोड ३१ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सिरमले खोप आपूर्ति नगर्दा खोपको मूल्य पनि बढिरहेको छ । सिरमले नेपालले भुक्तानी गरेको रकम होल्ड गर्दा खोपको मूल्य चार डलरबाट बढ्न गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जति समय रकम होल्ड गर्‍यो, उति फाइदा सिरमलाई नै पुग्न जान्छ ।

    अर्को समाचार एजेन्सी रोयटर्सले चाहिँ भारत स्वयममा स्थिर नभएसम्म अन्य मुलुकमा खोप आपूर्ति नगर्ने मनस्थितिमा रहेको समाचार लेखेको छ जसले गर्दा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामा सीधै असर गर्छ । यसले नेपालसहितका अन्य विपन्न मुलुकमा खोप रोकिनेछ । सिरमले कोभ्याक्स परियोजनाअन्तर्गत ६४ मुलुकमा खोप आपूर्ति गर्दै आएको छ । सिरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी समेत हो ।

    भारतमा बुधबार एकैदिन ७७८ वटा नयाँ प्रजातिको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन) कोरोना भेटिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ती उत्परिवर्तित विषाणुमा बेलायत, ब्राजिल र अमेरिकी म्युटेन्ट भेटिएको र यो उत्परिवर्तनले अहिले प्रयोगमा ल्याइएको खोपको प्रभावकारितामा चुनौती थप्ने आंकलन गरिएको छ । जसले गर्दा भारत स्वयमलाई खोप अभियानलाई तीब्र तुल्याउनुपर्ने दबाब कायम छ । किनभने नयाँ भेटिएका भनिएका भाइरसहरु मानव स्वास्थ्यका लागि थप खतरनाक मानिएका छन् ।

    रोयटर्सलाई युनिसेफले पठाएको इमेलमा भनिएको छ- ‘निर्यात अनुमतिपत्र प्राप्तीमा उत्पन्न जटिलताको कारण सिरमले कोभ्याक्समार्फत बिपन्न मुलुकलाई दिने भनेको खोप आपूर्तिमा ढिलाइ हुनसक्छ । सम्भवतः मार्च वा अप्रिलसम्म निर्यात सुचारु हुनसक्छ ।’ यसको अर्थ, अप्रिल अगाडि भारतले खोप निर्यात गर्ने सम्भावना कम छ ।

    जनस्वास्थ्यविद डा. राजेन्द्र बिसीले पुरानो प्रजातिविरुद्धको एन्टीबडी नेपालीले क्रमशः गुमाउँदै गएको अवस्थामा नयाँ भेरिएन्ट आए अवस्था थप जोखिमपूर्ण हुने बताउँछन् ।

    ‘नयाँ भेरिएन्टसँग लड्न चाहिने एन्टीबडी नबनिसकेकाले यसले थप खतरा पैदा गर्छ’उनी भन्छन्, ‘प्रयोगमा ल्याइएका खोपले नयाँ भेरिएन्टविरुद्ध काम गर्छ वा गर्दै भन्ने पुष्टि पनि नभएको अवस्था अहिले छ ।’ उनका अनुसार अघिल्लो पटक झन्डै ५० प्रतिशत नेपालीहरूलाई कुनै न कुनै रूपले कोरोना संक्रमण भएको छ ।

  • बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

    बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

    काठमाडौं । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीले ल्याएको कोरोनाविरुद्धको खोपलाई लिएर विवाद भएको छ । राजकुमारले उपहारस्वरुप दुइ लाख डोज खोप आफूसँगै ल्याएका थिए । बहराइनस्थित नेपाली दूतावासले राजकुमारले आफूसँग अस्ट्राजेनेकाको कोभिसिल्ड खोप ल्याएको चैत दुइ गते विज्ञप्तीमार्फत जनाएको थियो । तर, औषधी व्यवस्था विभागले गरेको परिक्षणमा चाहिँ उक्त खोप चीनको सिनोफार्म भएको खुलेको छ ।

    दूतावासले विज्ञप्तीमा तोकेबमोजिम खोप नपाइएपछि अहिले परराष्ट्र मन्त्रालयले राजदूत पदम सुन्दासमाथि छानविन सुरु गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले यसबारे बुझ्ने काम भैरहेको बताइन् । ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय हुनुपर्ने हो तर, एम्बेसीले त्यस्तो गरेको पाइएन । उहाँहरुले पनि सिफारिसको आधारमा उल्लेख गर्नुभयो होला । हामीले यसबारे बुझ्ने काम गरिरहेका छौं,’ लम्सालले भनिन् ।

    थाहै नभएको विषयमा हतार–हतार विज्ञप्ती निकालेको भन्दै राजदूत सुन्दासलाई परराष्ट्रले प्रश्न सोधेको हो । प्रवक्ता लम्सालले राजदूतावासले राजकुमारकै सिफारिसमा विज्ञप्तीमा अस्ट्राजेनेका खोप उल्लेख गरेको हुनसक्ने बताइन् । राजदूत सुन्दासको कार्यकाल सकिन जम्मा ४ महिना बाँकी छ र उनी कार्यकालको अन्त्यमा खोप विवादमा तानिएका हुन् ।

  • प्रदेश २ कोरोनाको उच्च जोखिममा, सीमामा छैन सतर्कता

    प्रदेश २ कोरोनाको उच्च जोखिममा, सीमामा छैन सतर्कता

    जनकपुरधाम । छिमेकी देश भारतका कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएसँगै सीमा जोडिएका प्रदेश २ का जिल्ला उच्च जोखिममा छन् ।

    भारतमा मजदुरी गर्न गएकाहरू होली मनाउन घर फर्किन थालेपछि संक्रमणको जोखिम बढेको हो । सीमामा आवतजावत गर्नेहरूको भीड हुँदासम्म स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छैन । विगतमा संचालित हेल्प डेस्कहरू पनि बन्द अवस्थामा छ । नयाँ हेल्प डेस्कको तयारी पनि कसैले गरेका छैनन् ।

    खुल्ला सीमाका कारण जति कडाइ भारतबाट फर्किने सबैको परीक्षण सम्भव नहुने सुरक्षा अधिकारी बताउँछन् । सीमा क्षेत्रका बासिन्दा भारतीय बजारमा निर्भर छन् । सस्तो हुने भएकोले खाद्यान्नदेखि अधिकांश सामान लिन सीमा क्षेत्रका भारतीय बजारमा पुग्छन् । जसले जोखिम बढाएको छ ।

    प्रदेश प्रहरी प्रमुख डिआईजी धीरजप्रताप सिंहले भारतबाट फर्किने नागरिकको मुख्य नाकाहरुमा परीक्षण भइरहेको दाबी गर्छन् । तर, कुन-कुन नाकाबाट परीक्षण भइरहेको भन्ने चाहिँ बताउँन सकेनन् । होली नजिकिएसँगै भारतबाट फर्किनेहरूको संख्या बढ्न थालेपछि कोरोनो जोखिम बढेकाले सतर्कता बढाउन सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले जानकारी दिए । डीआईजी सिंहका अनुसार भारतबाट फर्किनेहरूमा कोभिड-१९ को लक्षण देखिए अस्पताल पठाउन भनिएको छ ।

    नेपालमा पुनः कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेपनि यस प्रदेशमा त्यसको कुनै प्रभाव परेको देखिँदैन ।

    सप्तरी, बारा, रौतहट र पर्सा प्रशासनले पनि भीडभाड नगर्न, मास्क लगाउन जस्ता सतर्कता अपना सूचना जारी गरेको छ । प्रशासनको अनुरोध भने सूचनामै सीमित बनेको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला प्रशासन कार्यालयले भने सूचना जारी निकालेका छैनन् ।

    धनुषाको कचुरीबाट निस्केको १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रा चलिरहेको छ । परिक्रममा नेपाल र भारतका हजारौं साधुसन्त तथा श्रद्धालु सहभागी छन् । भारत र महोत्तरीको विभिन्न क्षेत्रमा भएको परिक्रमामा स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ प्रशासनले चासो देखाउन सकेन ।

    परिक्रमामा सहभागीहरू बिरामी पर्न थालेका छन् । बुधवार औरहीमा परिक्रमा टोलीले विश्राम गरे । त्यहाँ सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा औषधी लिनेहरूको भीड नै लागेको थियो । अधिकांशलाई ज्वरो र रुखाघोकीको समस्या देखिएको चिकित्सकले बताएका छन् ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले परिक्रमाकै कारण केही पूर्वतयारी गर्न नसकेको स्वीकारे । उनले परिक्रममा धेरै भीडभाड जम्मा हुने र बीचैमा बन्द गर्न लगाउँदा गलत सन्देश जाने भन्दै दुई दिनमात्र परिक्रमा चल्ने र त्यसपछि पूर्वतयारीमा जानकारी दिए ।

    प्रजिअ बास्तोलाका अनुसार संक्रमण नियन्त्रणका लागि प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको पूर्वतयारी बैठक बसेर आवश्यक रणनीति र कार्ययोजना बनाउने तयारी भइरहेको छ ।

    कोरोना नियन्त्रणमा आइसकेको प्रदेश २ मा अहिले ३६ जना सक्रिय संक्रमित फेला परिसकेका छन् । सामाजिक विकास मन्त्रालयका अन्सार हालसम्म यस प्रदेशमा कोरोना संक्रमितमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९८४ जना संक्रमणमुक्त भएका छन् ।

  • सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव : नाकामा निगरानी, बिमानस्थलमा कडाइ

    सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव : नाकामा निगरानी, बिमानस्थलमा कडाइ

    काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको छ । मन्त्रालयले विहिबार आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएको हो ।

    भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमा समेत बढेको पत्रमा जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन मन्त्रालयले सुझाव दिएको छ ।

    संक्रमण बढ्ने सम्भावना भएकाले मन्त्रालयले पूर्वतयारी योजना बनाउने पत्रमा उल्लेख छ । सञ्चालनमा रहेका नेपाल-भारत सीमानाकालाई पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न पनि सुझाइएको छ ।

    नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।

    पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालिन कार्यक्रममा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राती ९ बजेपछि रात्रीकालिन कार्यक्रम बन्द गर्न लगाउने, गर्नैपर्ने कार्यक्रममा सीमित व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णय छ । अनुगमन चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने उल्लेख छ ।

  • झापामा कोरोना संक्रमित महिलाको मृत्यु

    झापामा कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगर । झापामा कोराना संक्रमित एक महिलाको मृत्यु भएको छ । झापा जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति जीवन चौलागाईका अनुसार कन्काई नगरपालिका-२ की ३९ वर्षीया महिलाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

    कोभिड-१९ पुष्टि भएपछि ती महिला चार दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनी केही दिनअघि भारतबाट फर्किएकी थिइन् ।

    प्रदेश १ मा कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो केस हो । तीन महिलासहित आज चार नयाँ संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरू विराटनगर महानगरपालिका दुई, धरान उपमहानगरपालिका एक र अर्का एकजना प्रदेशबाहिरका छन् ।

  • १२० कोरोना संक्रमित थपिए

    १२० कोरोना संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घन्टामा मुलुकमा १२० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमित संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

    ८५ जना निको भएका छन् र अहिलेसम्म २ लाख ७२ हजार २७२ जना निको भएका छन् । निको हुने दर ९८.५ प्रतिशत पुगेको छ ।

    २४ घन्टामा मृत्युको आँकडा छैन । अहिलेसम्म मृतक संख्या ३०२० पुगेको छ । यो अवधीमा २ हजार ८९१ पीसीआर परिक्षण भएको थियो । पछिल्लो समय संक्रमण दर बढिरहेको छ ।

  • तत्काल विद्यालय बन्द नहुने, शैक्षिक संस्थामा भीडभाड नगर्न सरकारको निर्देशन

    तत्काल विद्यालय बन्द नहुने, शैक्षिक संस्थामा भीडभाड नगर्न सरकारको निर्देशन

    काठमाडौं । कोरोनाभाइरस संक्रमण बढेको भन्दै शिक्षा मन्त्रालयले शिक्षण संस्थामा भीडभाड हुने कार्यक्रम, सभा, समारोह, वार्षिक उत्सव नगर्न निर्देशन दिएको छ ।

    विहिबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भीडभाड हुने प्रकृतिका कार्यक्रम र भेला नगर्न आग्रह गरेको हो । बैठकपछि जारी वक्तव्यमा दैनिक पठनपाठन संचालन गर्दा भीडभाड नहुने गरी संचालन गर्न समेत मन्त्रालयले निर्देशन दिइएको उल्लेख छ ।

    विद्यालयमा कोभिड–१९ संक्रमणको जोखिम बढेको समीक्षा गर्दै बैठकले शिक्षक एवं विद्यार्थी सजग एवं सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ । शिक्षण संस्थामा मास्क एवं सेनिटाइजर, साबुनपानी, ज्वरो मापन तथा लक्षण देखिएकालाई उपचार गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    मन्त्रालयको वेबसाइटमा राखिएको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ ।

  • चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

    चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

    चितवन । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ ।

    एक वर्षदेखि काठमाडौंमा उपचार गराउँदै आएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडाैं बस्दै आएकी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेको थियो ।

    राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रवीण जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ ।

    विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ । कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ ।

    नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताए ।

    भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौँको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदैआएको छ । यहाँ उपचारका लागि २५ लाख लाग्ने उनले जानकारी दिए ।

    अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो ।

  • मोरङका स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन केन्द्र व्यवस्थापन शुरू

    मोरङका स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन केन्द्र व्यवस्थापन शुरू

    विराटनगर । कोरोना संक्रमणको जोखिम बढेपछि मोरङका सबै स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन केन्द्र व्यवस्थापनको प्रक्रिया थालिएको छ ।

    जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति (डीसीएमसी) मोरङको बिहीबार बसेको बैठकले विराटनगरस्थित कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार संक्रमणको सम्भावना बढेकोले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गर्ने पनि निर्णय गरिएको छ । ‘क्वारेन्टाइन, आइसोलेसन र अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ’, सीडीओ निरौलाले भने ।

    संक्रमण दर घटेसँगै अस्पतालमा चाप कम भएको थियो । स्वास्थ्यकर्मीहलाई पनि बिदा दिइएको थियो ।

    भौतिक दूरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने, मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने पनि निर्णय गरेको छ ।

    मोरङमा बिहीबारसम्म कोरोनाका सक्रिय संक्रमित २० जना पुगेका छन् ।

  • नयाँ कोरोना पत्ता लगाउने जिन सिक्वेन्स मेसिन आइपुग्यो

    नयाँ कोरोना पत्ता लगाउने जिन सिक्वेन्स मेसिन आइपुग्यो

    काठमाडौं । छिमेकी मुलुकमा भारतमा नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमणसँगै दोस्रो लहर सुरु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकैदिनमा नयाँ प्रजातिको झन्डै ८ सय भाइरस फेला परेको छ ।

    यता नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको अनुमान विज्ञहरुले गरेका छन् । यससँगै नेपालमा म्युटेन्ट भाइरसको संक्रमण र जिन (आनुवांशिक) पत्ता लगाउन जिन सिक्वेन्सिङ मेसिन आइपुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेसिन आइपुगेको हो ।

    तर, जीन सिक्वेन्स गर्न चाहिने जनशक्ति उपलब्ध नभएको निर्देशक डा. रुणा झाले बताइन् । यसका लागि सरकारले जनशक्ति हायर गर्नुपर्ने उनी बताउँछिन् । नेपालमा केही महिना पहिले यूके भेरिएन्ट भेटिएको पुष्टि भएको थियो र त्यसको परिक्षण हङकङस्थित प्रयोगशालामा गरिएको थियो ।

    कोरोनाको नयाँ प्रजाति देखिन थालेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा जिन सिक्वेन्सिङ मेसिन केन्द्रिय प्रयोगशालामा आइपुगेको हो । भन्सारमा रहेको उक्त मेसिन केही दिनमै परिक्षण गर्ने तयारी छ । यो एउटा मेसिनको मूल्य मात्रै एक करोड पर्ने र परिक्षण मूल्य पनि महंगो पर्ने जनाइएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार बुधबार त्यहाँ भेटिएको भनिएका करिब आठसय म्युटेन्स भाइरस बेलायत, अमेरिकी र ब्राजिलियन भएको जनाइएको छ ।

  • भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

    भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

    काठमाडौं । भारतले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपको आपूर्तिमा अस्थायी रोक लगाएको छ । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार विहिबारदेखि उसले खोप वितरण रोकेको हो ।

    भारतीय विदेश मन्त्रालय स्रोतलाई उध्दृत गर्दै बीबीसीले समाचार लेखेको छ । भारतभित्रै कोभिड–१९को संक्रमण बढिरहेको र घरेलु माग बढेकाले भारतले अस्थायीरुपमा आपूर्ति रोकेको जनाइएको छ ।

    भारतको यो निर्णयपछि कोभ्यास योजनाअन्तर्गत रहेका १९० देशलाई असर पर्ने ठानिएको छ । जसमा नेपाल समेत छ । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले दुई साताअघि नेपाललाई पनि पत्राचार गर्दै तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको थियो ।

    भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र यसमा अस्ट्राजेनेका खोपको हिस्सा बढी छ । भारतभित्रै तीव्र रुपमा संक्रमण बढिरहेको बेला उसले यस्तो निर्णय गरेको हो ।

    भारतले अप्रिल १ देखि ४५ वर्ष माथिकालाई पनि खोप अभियान सुरुवात गर्न लागेकाले पनि आपूर्ति रोकेको जनाइएको छ । ‘निर्यात रोक्ने यो अस्थायी उपाय हो । घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ’ विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई भनेका छन् ।

    रोयटर्सका अनुसार भारतको अवस्था स्थिर नहुँदासम्म खोप बाहिरी मुलुकमा निर्यात नहुने भएको छ ।

    चिनियाँ खोप सोमबार आउने
    चीनले सहुलियतमा दिने भनेको ८ लाख डोज सिनोफार्म खोप आगामी सोमबार मात्रै काठमाडौं आइपुग्ने भएको छ । सरकारले खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको चार्टड विमान बेइजिङ पठाउँदैछ । गत आइतबार चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच छलफल भएपछि खोप आउने टुंगो लागेको हो ।

  • ‘टाइट’ छ त्रिवेणी नाका, छैन चिन्ता !

    ‘टाइट’ छ त्रिवेणी नाका, छैन चिन्ता !

    पोखरा । कोरोना जोखिम फेरि बढ्न सक्ने भन्दै बुधबारमात्रै गृह मन्त्रालयले ७७ वटै जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । भारतलगायत देशमा कोरोनाको ‘दोस्रो लहर’ शुरु भएको र त्यसको असर नेपालमा पनि देखिन सक्ने भन्दै आइतबारमात्रै स्वास्थ्य मन्त्रालयले कुनै पनि प्रकारको भिडभाडजन्य कार्यक्रम नगर्न अनुरोध गरेको थियो ।

    कोरोनोको नयाँ ‘भेरियन्ट’ आइसकेको र यो अघिल्लो पटकभन्दा बढी जोखिमयुक्त भएकाले पनि मन्त्रालयले सजग रहन आग्रह गरेको हो । भारतमा कोरोनाको दोस्रो लहरको चर्चा चलिरहँदा नाका र सीमा क्षेत्रमा सबैभन्दा जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

    गत चैत १० गतेबाट पूर्ण रुपमा बन्द भएका सीमा नाकाहरू माघ ११ को मन्त्रिपरिषद् बैठकले भारत तथा चीनसँग जोडिएका ३० नाका खुला गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले दोस्रो चरणमा खुला गर्ने निर्णय गरेको नाकामा गण्डकीको त्रिवेणी नाका पनि परेको थियो । यो गण्डकी प्रदेशसँग जोडिएको एकमात्र भारतीय नाका पनि हो ।

    तर, मन्त्रिपरिषद्‌बाटै निर्णय भएर सर्कुलर जारी भइसक्दा पनि स्वास्थ्य मापदण्ड नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुरले फागुन अन्तिमसम्म नाका खुला सकेको थिएन । भारतीय पक्षले आफूहरू तत्कालै नाका खोल्न नमानेकाले अहिलेसम्म नाका खुल्न नसकेको त्रिवेणीस्थित छोटी भन्सार नाका प्रमुख विकास उपाध्याय बताउँछन् ।

    ‘मार्च १५ बाट खुल्ने कुरा थियो । तर, भारतीय पक्षले केही समय मागेकाले यो टरिरह्यो,’ भन्सार प्रमुख उपाध्यायले भने, ‘यो महिना भनेको उनीहरुको क्लोजिङ इअर पनि हो । त्यसैले यसबारे छलफल नै हुन सकेको थिएन ।’

    उपाध्यायले होलीपछिमात्रै त्रिवेणी नाका खुला गर्नेबारे छलफल गर्ने भनिए पनि भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले अन्योलता थपिएको बताए । ‘केही दिनमै होली आउँदैछ । त्यसपछि छलफल गर्ने कुरा थियो । तर, फेरि भारतमा कोरोना बढेको र सरकारले पनि सजगता अपनाउन भनेकाले अन्यौलता थपिएको छ,’ उनले भने ।

    त्रिवेणी नाकाबाट डर छैन : प्रजिअ
    नाका पूर्ण रुपमा खुला गर्न नसके पनि आंशिक रुपमा भने फागुन पहिलो साताबाटै शुरु भएको थियो । भारतीय पक्षमा भन्सार बन्द रहेका कारण नाका पूर्ण रुपमा खुला गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय नवलपुर प्रमुख मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।

    नाका अझै पनि आंशिकमात्रै खुलेकाले कोरोना चेकजाँचमा कुनै हेलचक्य्राइँ नभएको सिडिओ पंगेनीको दाबी छ । ‘हाम्रो नाका यसै पनि ब्यारेज हो । पुलबाटै आउने जाने हुँदा दिनमा बढीमा १० जनामात्रै आउजाउ गर्ने स्थिति छ,’ उनले भनिन्, ‘हाम्रो नाका धेरै सुरक्षित छ । डर छैन ।’

    भारतीय पक्षसँग २ पक्षीय बैठक हुन लागेकोले त्यसबाट नाका अझै सुरक्षित हुने गरी छलफल र निर्णय गरिने सिडिओ पंगेनीले बताइन् । उनले भनिन्, ‘अहिले पनि भारतीय भन्सार बन्द भएकाले आउजाउ छैन । अत्यावश्यक कामले जानेहरुको पनि मापदण्ड अनुरुप नै स्वास्थ्य जाँच गरिरहेका छौं । एकदम टाइट छ ।’

    प्रतिदिन ६ लाख रुपैयाँसम्म राजश्व संकलन हुने उक्त नाका सरकारले खुला गर्ने निर्णयसँगै केही समय खुलेको पनि थियो । तर, पछि भारतीय पक्षले आफ्नो भन्सार बन्द गरिदिएपछि नेपालतर्फको भन्सार पनि बन्द हुन पुगेको सिडिओ पंगेनीले जानकारी दिइन् ।

  • कोरोना संक्रमण नकारात्मकतातिर जान खोज्या छ, तर स्थिति भयावह छैन: प्रधानमन्त्री

    कोरोना संक्रमण नकारात्मकतातिर जान खोज्या छ, तर स्थिति भयावह छैन: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय कोरोना संक्रमण बढे पनि स्थिति भयावह भने नरहेको बताएका छन् ।  बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए।

    ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी, यद्यपी स्थिति भयावह छैन तर, भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ ओलीले भने, ‘अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’

    भाइरस पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहने प्रधानमन्त्रीको भनाइ छ। ‘हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन,’ ओलीको भनाइ छ, ‘एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने । खोप लगाएर निर्मुलन हुन सजिलो छैन । पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ।’

  • परिस्थिति हेरेर लकडाउनबारे निर्णय लिइन्छ : स्वास्थ्य मन्त्रालय

    परिस्थिति हेरेर लकडाउनबारे निर्णय लिइन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताएका हुन् ।

    ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’

    चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।

    भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने उनले जनाए ।

    मन्त्रालयका अनुसार मुलुकमा २४ घन्टामा १४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । अहिले नेपालमा ११८३ सक्रिय संक्रमित छन् ।

  • महामारी रोक्न आवश्यक संरचना तयार गर्न स्वास्थ्य समितिको सुझाव

    महामारी रोक्न आवश्यक संरचना तयार गर्न स्वास्थ्य समितिको सुझाव

    काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ ।

    कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गर्दै प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित शय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको हो ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरे ।

    कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न सरकारले चालेको कदमको स्थलगत अनुगमन तथा निरीक्षण गरी उपसमितिले १८ बुँदे सुझाव समितिसमक्ष पेश गरेको संयोजक श्रेष्ठले जानकारी दिए ।

    प्रतिवेदनमा निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका प्लान्ट निरन्तररुपमा चालु राख्ने, सङ्क्रामक तथा अन्य रोगका बारेमा जनस्तरमा निरन्तररुपमा जनचेतना विकासको अभियान सञ्चालन, हाल स्वास्थ्य सेवामा दुर्गम र सुगमसम्बन्धी नीति यथावत् भएकाले विषयविज्ञ चिकित्सकको अभाव देखिएकाले चिकित्सक बढुवा प्रणालीमा सुधार तथा अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

    खुला सीमा भएका ठाउँमा सङ्क्रामकलगायत रोगसम्बन्धी जाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था, प्रादेशिक अस्पताल प्रदेशले नै सञ्चालन तथा केन्द्र, प्रदेश र स्थानीय तहअन्तर्गत सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन पनि उपसमितिले सुझाव दिएको छ ।

    प्रादेशिक र जिल्ला अस्पताललाई भेन्टिलेटरसहितको सघन उपचार कक्षलगायत सेवा प्रदान गर्ने गरी सुविधासम्पन्न बनाउनुपर्ने, प्रादेशिक अस्पतालमा सबै रोगको उपचार हुने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने, कारागारलाई मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी सङ्क्रामक रोग तथा अन्य स्वास्थ्य समस्यामा उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा समेटिएको छ ।

    निजी अस्पतालमा स्वास्थ्योपचारमा समरुपता कायम गरी दरसम्बन्धी नीतिनिर्माण गरी लागू गर्नुपर्ने, जनस्तरमा महामारी र विपत्जस्ता अवस्थामा स्थानीय तहको भूमिका सबैभन्दा बढी हुने भएकाले तिनको क्षमता अभिवृद्धि गर्नुपर्ने, सङ्क्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लािग विद्यमान कानून अपुग भएको हुँदा तीन तहको राज्यको संरचनालाई ध्यान दिन सोसम्बन्धी छुट्टै ऐन ल्याउनुपर्ने सुझाव दिइएको छ ।

    यस्तै सर्वसाधारण नागरिकका लािग कोभिड–१९ को खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाई यथाशक्य चाँडो खोप उपलब्धताको सुनिश्चिता गर्न तथा छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले पनि सोसम्बन्धी आवश्यक सतर्कता अपनाउनका लागि कदम चाल्न पनि उपसमितिले सुझाएको छ ।

    गत भदौ ९ गते बसेको समितिको बैठकले कोरोना भाइरस नियन्त्रण गर्न सरकारबाट भएका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी सुझाव प्रदान गर्न समितिका सदस्य श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिमा सांसद अञ्जना विशङ्खे, एकवाल मियाँ, तिलबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य छन्।

    समितिले भदौ १२ देखि कार्य प्रारम्भ गरेको थियो । उपसमितिले सरकारी अस्पताल, प्रतिष्ठान, निजी अस्पताल, क्वारेन्टिन, आइसोलेशन, कोभिड–१९ सँग सम्बन्धित प्रयोगशाला, सम्बन्धित चिकित्सक, स्वास्थकर्मी, सुरक्षाकर्मी, कोरोना सङ्क्रमितको उपचारमा संलग्न जनशक्ति र सरोकार पक्षसँग छलफल गरेको थियो ।

    उपसमितिले प्रदेश सरकार, विभिन्न जिल्लामा क्रियाशील जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, कोभिड डेडिकेटेड अस्पताल, सङ्घीय सरकारअन्तर्गतका अस्पताल, प्रदेश सरकार मातहतका अस्पताल, शिक्षण अस्पताल, क्वारेन्टिन, आइसोलेशन सेन्टर, कारागारलगायतको स्थलगत अवलोकन गरेको थियो ।

    भारतमा कोरोना वृद्धिः सतर्कता खोइ

    समितिका सभापति घर्तीले उपमितिबाट प्राप्त प्रतिवेदनमाथि छलफल गरेर आवश्यक कारवाहीका लागि सरकारलाई निर्देशन दिइने बताउनुभयो । उपसमितिको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यलाई उपलब्ध गराइएको छ ।

    बैठकमा समितिका सदस्यले छिमेकी भारतसँगै विश्वका कतिपय मुलुकमा फेरि कोरोना महामारीको लहर शुरु भएकाले तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका थिए ।

    समितिका सदस्य गजेन्द्र महतले कोरोना महामारीलाई आतङ्कका रुपमा लिन नहुने तर आवश्यक उच्च सतर्कता अपनाउनुपर्ने बताए । अर्का सदस्य हितबहादुर तामाङले भारतमा कोरोना सङ्क्रणमको दर उच्च रहेको खबर सार्वजनिक भइरहेकाले नेपाल सरकारले रोकथामका लागि तयारी तीव्र पार्नुपर्नेमा जोड दिए ।

    सांसदलेसर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप सुनिश्चितता गर्नुपर्ने, अग्रपङ्क्तिमा काम गर्ने तथा जोखिम समूहलाई तत्कालै खोप लगाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

  • वर्सेनि ७० हजार क्षयरोगी थपिँदै, १७ हजारको मृत्यु

    वर्सेनि ७० हजार क्षयरोगी थपिँदै, १७ हजारको मृत्यु

    रुपन्देही । नेपालमा हरेक वर्ष क्षयरोगका बिरामी बढिरहेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७५–७६ मा करिब ७० हजार नयाँ क्षयरोगका विरामी थपिएका छन् । जनु तथ्यांकसरकारी स्वास्थ्य संस्थामा उपचार गराउनेको हो ।

    स्वास्थ्यविज्ञका अनुसार नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

    आर्थिक वर्ष २०७६–७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन् । यस्तै गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका सम्भावित विरामीको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोग भेटिएको थियो ।

    उनीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको नीतिअनुसार उपचार गरिएको थियो । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत छ ।

    यस्तै उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान गरिएको छ । हाल देशभर ४ हजार ९ सय ५५ उपचार केन्द्रहरुबाट डस्ट उपचार सेवा तथा ७६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवम् २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिएको छ ।

    यस्तै, औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र, ६ वटा डिआर होस्टेल, एउटा डिआर होम र एउटा टिटिआरएमसीमार्फत सेवा उपलब्ध गराइएको छ । नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

    रोगलाई नलुकाउन चिकित्सकको सुझाव

    जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय/कुष्ठ निरीक्षक टिकाराम अधिकारीले क्षयरोग अन्त्यका लागि निकै चुनौती भएको बताएका छन् । बहुऔषधि प्रतिरोधको असर, क्षयरोग एचआईभी सहसंक्रमण, मधुमेहका विरामीहरुमा क्षयरोगको जोखिम, निजी क्षेत्रबाट प्रदान भएका सेवाको तथ्यांक मूल धारमा ल्याउन नसक्नु, बसाईसराई, खुला सिमाना क्षयरोग नियन्त्रणका मुख्य चुनौती भएको उनले बताए ।

    सन् २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्युदर घटाइ रोग सर्ने प्रक्रियालाई नियन्त्रण गर्ने लक्ष्य सरकारले अघि बढाएको छ ।

    नेपालमा सन् १९९६ भक्तपुर, पर्सा, नवलपरासी र कैलाली जिल्लामा पाइलट कार्यक्रमका डट्स विधि शुरु भएकोमा अहिले सबै जिल्लामा लागू भएको छ । डट्सभन्दा पहिला उपचारमा रहेका विरामीहरुमध्ये करिब ३३ प्रतिशत मात्र निको हुने दर थियो भने अहिले ९० प्रतिशतभन्दा माथि रहेको उनले बताए ।

    जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले डिआर टिवि उपचारमा धेरै कठिनाइ हुने गरेको बताए । सरकारको पहिलो प्राथमिकतामा यसको उपचार निःशुल्क गराएको भए पनि चेतना अभावले समस्या देखिने वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताए । उनले रोग लुकाउने समस्या भएका कारण यो रोगका बिरामी बढेको बताए ।

    लुम्बिनी प्रदेशमा पाँच हजार बढी क्षयरोगी

    लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना क्षयरोगका विरामी छन् । लुम्बिनी प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना क्षयरोगका बिरामी छन् । सबैभन्दा कम रुकुमपूर्वमा २५ जना छन् ।
    रुपन्देही जिल्लामा १६ वटा गाउँपालिकामा उपचार केन्द्र र ९२ वटा स्वास्थ्य केन्द्रबाट औषधि उपचार उपलब्ध रहेको जनस्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका इन्चार्ज सत्यराज शाक्यले समाजमा बिस्तारै क्षयरोगी खुल्न थालेकाले उपचारमा सहज बन्दै गएको बताए । डिआर टिबी सेवा संचालन गर्दा शुरुवातमा धेरै कठिनाई आएको स्वास्थ्य स्वयंसेवी पुष्पा न्यौपाने शर्माले बताइन् । विरामीहरु फलोअपमा नआउने, छिमेकीहरुबाट सेवा केन्द्र सार्न दबाब आएको उनले बताइन् ।

     

  • मेडिसिटी अस्पतालले बिराटनगरमा मुटुरोग उपचार सेवा दिने

    मेडिसिटी अस्पतालले बिराटनगरमा मुटुरोग उपचार सेवा दिने

    ललितपुर । नेपाल मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार प्रदेश–१ को राजधानी बिराटनगरमा उपलब्ध गराउने भएको छ ।

    आगामी बैशाख १ गतेदेखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको उपचार बिराटनगरस्थित बिराट मेडिकल कलेज टंकी सिनुवरीबाट शुरु गर्ने जनाएको छ ।

    एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याब मार्फत गरिने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाबाट पूर्वाञ्चलका नागरिक लाभान्वित हुने विश्वास लिइएको छ ।

    ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र बिराटनगरस्थित बिराट मेडिकल कलेजले सोमबार सेवा विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले बिराटनगरमा सेवा बिस्तार गर्ने उल्लेख छ ।

    अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झाता पत्रमा हस्ताक्षर गरेका थिए ।

    अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले यो सम्झौता ऐतिहासिक भएको बताए । विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा बिरामीले घरदैलोमै सेवा प्राप्त गर्ने बताए ।

    कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष कार्कीका अनुसार सम्झौतापछि बिराट मेडिकल कलेजको मुटरोग विभागको सञ्चालन मेडिसिटी अस्पतालका चिकित्सकले गर्नेछन् ।

  • नर्भिक अस्पतालमा टेस्टट्यूब-बेबी सेन्टर संचालनमा आउँदै

    नर्भिक अस्पतालमा टेस्टट्यूब-बेबी सेन्टर संचालनमा आउँदै

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अत्याधुनिक प्रविधिबाट बाँझोपनको उपचार हुने भएको छ । हस्पिटलले बाँझोपनको उपचार गर्न विशेष प्रजनन् केन्द्र स्थापना गरी अन्तर्रांष्ट्रियस्तरको सेवा दिने जनाएको हो ।

    प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले २ महिनाभित्रमा आइभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । बरिष्ठ स्त्रीरोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टीमले उपचार सेवा प्रदान गर्ने भएको छ ।

    डा. शर्माका अनुसार सेवा सुरु भएपछि नर्भिक हस्पिटलको आइभीएफ एण्ड फर्टिलिटी सेन्टर मुलुकमा उपलब्ध अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ ।

    उक्त सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि-जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभीएफ सेन्टरमा प्रि-जेनेटिक डाइग्नोसिस सेवा संचालनमा आउन सकेको छैन ।

    प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराइन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण हुने उनको भनाई छ ।

    डा. शर्माले १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालमा आबद्ध रहेर स्त्रीरोग तथा बाँझोपनबाट पीडितलाई सेवा दिँदै आएकी छिन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निःसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

    परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निःसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

    बढ्दो उमेर, ढिलो विवाह, धुमपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनले देखाएका छन् ।

     

  • भारतमा कोरोना संक्रमित बढेसँगै सीमानाकामा निगरानी बढाइयो

    भारतमा कोरोना संक्रमित बढेसँगै सीमानाकामा निगरानी बढाइयो

    रुपन्देही । भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमित बढ्न थालेपछि रुपन्देहीको सीमा क्षेत्रमा निगरानी बढाइएको छ । संक्रमण बढेसँगै भारतबाट फर्कने नेपाली बढ्न थालेपछि निगरानी पनि बढाइएको हो ।

    भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा कडाइ गरेको छ भने केही स्थानमा रात्रिकालीन कर्फ्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेशलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।

    रुपन्देहीमा यस क्षेत्रकै ठूलो नाकाको रुपमा रहेको बेलहिया नाकाबाट धेरै नागरिक ओहोरदाहोर गर्ने भएकाले निगरानी बढाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    भारतमा संक्रमित बढ्न थालेपछि रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमा क्षेत्रमा जोखिम बढेको हो । यो जोखिमलाई कम गराउन नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ । संक्रमण नेपालमा पनि भित्रन सक्ने सम्भावना भएकाले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेको छ ।

    विज्ञप्तिमा सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ ।

    सीमा क्षेत्रमा नेपाल आउने यात्रुहरुका लागि भने कुनै सावधानी नअपनाइएको भन्दै आलोचना बढेपछि स्वास्थ्य कार्यालय तथा प्रशासनलले पहल थालेका हुन् ।

    स्वास्थ्य कार्यालयकै पहलमा सीमा क्षेत्रमा २ वटा टेन्ट निर्माण भएको छ । जहाँ सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

    भारतबाट नेपाल आउने शंकास्पद विरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परीक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिए । ‘भारतमा संक्रमण बढेसँगै सक्रियरुपमा हेल्थ डेस्कबाट जाँच बढाउन लागेको र पोजिटिभ देखिए आइसोलेटेडका लागि क्वारेन्टाइनमा राखिने छ ।’ उनले भने ।

    होलीमा भीडभाड नगर्न प्रशासनको आग्रह

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि नजिकै आइरहेको होलीमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

    जिल्ला प्रशासन रुपन्देहीले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट २०७७ चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्न/गराउन आग्रह गरेको छ ।

    प्रशासकीय अधिकृत जनक थापाले खुला सीमानाका कारण बढ्नसक्ने संक्रमण रोक्न सबैलाई आग्रह गरेका छन् ।

     

     

  • भारतमा कोरोनाभाइरसबाट एकै दिनमा २७५ को मृत्यु

    भारतमा कोरोनाभाइरसबाट एकै दिनमा २७५ को मृत्यु

    दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।

    सोही अवधीमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

    भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड भन्दा बढीले खोप लगाइसकेका छन् ।

    त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ ।

    परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

  • कैलालीमा पुन: फैलँदै कोरोना संक्रमण, भारतबाट फर्कनेको संख्या बढ्यो

    कैलालीमा पुन: फैलँदै कोरोना संक्रमण, भारतबाट फर्कनेको संख्या बढ्यो

    कैलाली । धनगढीको कोरोना अस्पतालमा फेरि बिरामीको चाप बढ्न थालेको छ । सोमबार एक जना र मंगलबार थप दुई जना बिरामी सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका छन् ।

    भारतबाट आएका कञ्चनपुर पुनर्वास नगरपालिका-५ का ५४ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय पुरुष, धनगढी उपमहानगर-३ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कञ्चनपुरका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो भने धनगढीका-२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू तीनै जनालाई हाल आइसियुमा राखिएको छ ।

    परीक्षणको मात्रा बढ्यो
    अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको मात्रा पनि बढेको छ ।  मंगलबार  ३१ जनाको कोरोना परीक्षण  गरिएको छ ।

    ‘केही दिनअघिसम्म दैनिक १५ देखि २० जनासम्म परीक्षण भइरहेको थियो । तर, मंगलबारबाट परीक्षणको संख्या बढेको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने, ‘अहिले हामी पनि पूर्व तयारीमा छौं ।’

    अस्पतालमा अहिले तीन जनाको उपचार भइरहेको छ । जहाँ १० शय्याको आइसियु र ५ भेन्टिलेटर रहेका छन् ।

    भारतबाट फर्किनेहरू बढे
    धनगढी उपमहानगरपालिका-३ की भावना ऐर भारतको मुम्बईबाट मंगलबार स-परिवार नेपाल आइन् । मुम्बईमा कोरोनाको दोस्रो लहर शुरु भएपछि उनी नेपाल फर्किएकी हुन् ।

    ‘मुम्बईमा धेरै त्रास छ । बाहिर निस्कन पनि हामीलाई डर लाग्छ । यसकारण सुरक्षित भइन्छ भनेर हामी घर आएका हौँ,’ उनले भनिन् ।
    नेपालबाट रोजगारीका लागि भारत पलायन भएकाहरू कोरोनाका संक्रमण र लकडाउनका कारण पुन नेपाल फर्किन थालेका हुन् ।

    ‘माघमा गएको थिएँ । फागुनमा काम गरेँ । चैत्रमा लकडाउन शुरु भयो,’ अछामका राजेन्द्र साउदले भने, ‘कोरोनाको त्रास बढेपछि काम पनि बन्द भयो त्यसैले घर फर्किएँ ।’

    पछिल्लो २४ घण्टामा भारतमा थप ४७ हजार २ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने थप २ सय ७७ जनाको मृत्यु भएको छ । भारतमा दोस्रो चरणको कोरोना फैलिएसँगै कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट अहिले प्रत्येक दिन सयौं नेपालीहरू घर फर्किरहेका छन् ।

    गौरीफन्टा नाकामा स्थापना गरिएको कोभिड-१९ परामर्श तथा परीक्षणमा खटिएका गणेश साउद पछिल्लो केही दिनयता नेपाल फर्किनेहरूको संख्या ह्वात्तै बढेको बताउँछन् ।

    ‘अहिले भारतबाट आउने क्रम दिन प्रतिदिन बढिरहेको छ । प्रत्येक दिन अहिले ४ सयको हाराहारीमा नेपाल आइरहेका छन्,’ उनी भन्छन् ।
    अहिले भारतको महाराष्ट्र र उत्तर प्रदेशबाट आउनेहरू बढिरहेको उनी बताउँछन् ।

    महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित बढिरहेका छन् । त्यही डरले नेपाल फर्किनेहरू बढेका हुनसक्ने साउदको अनुमान छ ।
    अहिले सीमा क्षेत्रमा सामान्य परीक्षणको व्यवस्था गरिएको छ । त्यसमा लक्षण देखिएको वा शंका लागेकाहरूलाई पिसीआर परीक्षण गर्ने बताइएको छ । तर, त्यो पनि प्रभावकारी हुन सकेको छैन ।

    भारतको संक्रमित क्षेत्रबाट आएकाहरूलाई सोझै घर पठाउँदा समस्या हुन सक्ने देखिएको छ । धनगढी उपमहानगरपालिकाले भने उनीहरूलाई १० दिन सम्म क्वारेन्टिनमा राखेर घर पठाउने विषयमा छलफल थालेको छ ।

    ‘हामीले १० दिन सम्म यहाँ राखेर पठाउने विषयमा छलफल थालेका छौं,’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘तर अहिले सम्म त्यसो गरेका भने छैनौं ।’

  • भारतमा कोरोनाको नयाँ लहर, नेपालका सीमा नाका ह्वाङ्गै

    भारतमा कोरोनाको नयाँ लहर, नेपालका सीमा नाका ह्वाङ्गै

    काठमाडौं । देशमा कोरोनाका त्रास घटेर जनजीवन सामान्य हुँदै गएका बेला आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै संक्रमणलाई लिएर सचेतता अपनाउन आग्रह गर्‍याे । यसले फेरि जनमानसमा चर्चा सुरु भएको छ, कतै लकडाउन हुने त होइन ?

    मन्त्रालयले विज्ञप्तिमा देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न, सामाजिक र भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ । जनताले बिर्सँदै गएका यी सचेतताका कुराहरु अहिले मन्त्रालयले किन सम्झायो त ? यसको कारण हो भारतमा सुरु भएको कोरोनाको नयाँ लहर ।

    पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ र धेरै शहरहरु पहिलेजस्तै लकडाउनमा जाने तयारीमा छन् । भारतमा आइतबार २४ घण्टाको अवधिमा ४६ हजार ९ सय ५१ नयाँ संक्रमित फेला परेका थिए । सन् २०२१ सुरु भएपछि एकैदिनमा देखिएको सबैभन्दा उच्च संख्या हो ।

    खुल्ला सिमाना भएको निकट छिमेकी देशमा यसरी कोरोना फैलिएपछि नेपालमा असर देखिने नै भयो । नेपालमा गत पुसदेखि घट्न थालेको कोरोना संक्रमण चैत सुरु भएदेखि क्रमशः बढिरहेको छ ।

    पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्ने हो भने परीक्षण कमै भए पनि कोरोना संक्रमण दर भने बढेको छ । दैनिक २ हजारदेखि ३५ सयसम्म परीक्षण हुँदा कोरोना १ सयको हाराहारीमा नयाँ विरामी भेटिन थालेका छन् । गत पुसमा यो संख्या ५० भन्दा पनि तल झरेको थियो ।

    फागुन २९ गते ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः चैत १ गते ५३ जना, २ गते ७९, ३ गते ११४, ४ गते ९४, ५ गते १०६, ६ गते १२५, ७ गते ७९, ८ गते ७७ र १०५ जनामा कोरोना पुष्टि भएको छ । यो एक हप्ताको तथ्थाङकले पनि कोरोना संक्रमण बढ्दै गइरहेको देखाउँछ ।

    टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोला पछिल्लो समय युरोपेली देश मात्र होइन, छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएकोले त्यसको असर नेपालमा पनि पर्न सक्ने बताउँछन् । उनले नेपालमा कोरोना संक्रमणको डरलाग्दो संकेत गरे ।

    ‘झट्ट सुन्दा र हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो । अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो । तर, यसको कारण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले भर्खरैको एउटा घटना सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    ‘हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ । गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । जमघट ५ घण्टासम्म चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।

    उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि ती व्यक्ति निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो । जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

    त्यो जमघटमा पुग्नुभएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो ।’

    ५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा नभएको उनी बताउँछन् । कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको डा. बास्तोलाको भनाइ छ ।

    सीमा नाका ह्वाङ्गै

    भारतको महाराष्ट्र, गुजरात, उत्तरप्रदेश लगायतका शहरमा काम गर्न पुगेका नेपालीहरु कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि धमाधम नेपाल फर्कन थालेका छन् । यी शहरमा कतै लकडाउन त कतै नाइट कर्फ्यूहरु भइराखेको छ । नेपाल भारतको सीमा नाका अहिले मूलतः खुल्लै छ ।

    महेन्द्रनगरको गड्डाचाैकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुना नाका, कपिलबस्तुको कृष्णनगर, भैरहवाको बेलिहिया नाकाबाट सयौं नेपाली भारतको कोरोना फैलिएको शहरबाट नेपाल फर्कने गरेका छन् । आइतबार विभिन्न नाकाबाट १८ सय जना नेपाल प्रवेश गरेका छन् भने शनिबार १२ सय जना आएका छन् ।

    भारतबाट नेपाल आइपुगेका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । यद्यपि यो भाइरस भेरियन्ट (नयाँ प्रजातिको भाइरस) भए नभएको पुष्टि भएको छैन । ती व्यक्तिमा सामान्य ज्वरो मात्रै थियो । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था नभएकाले ती व्यक्ति अस्पतालको समन्वयमा आइसोलेनमा छन् ।

    नेपालीहरु फर्केर आउन सक्ने नाकाहरुमा जोखिम बढ्न सक्ने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमामा १४ वटा हेल्थ डेक्सहरु सञ्चालन शुरु गरेको छ । इपिडिमियोलोजीले विभिन्न नाका भएर आउने यात्रुहरुको स्क्रिनिङ गर्ने र आवश्यक परेको ठाउँमा एन्टिजेन परीक्षण पनि शुरु गरिसकेको छ । कन्ट्रयाक्ट हिस्ट्री राखेर त्यहाँबाट आउनेहरुलाई क्वारेन्टाइनको नियम बुझाएर घर पठाउने काम भइराखेको छ ।

    भेरियन्ट प्रमाणित भएका बेलायत, जर्मनी, ब्राजिल लगायतका देशबाट विमानस्थल हुँदै नेपाल आएकाहरुको हकमा भने छुट्टै नियम बनाइएको छ । इपिडिमियोलोजीले यसपटक भने कोरोना पोजेटिभ भएका सबैलाई अस्पताल भर्ना नगर्ने निर्णय गरेको छ । लक्षण हेरेर मात्रै अस्पताल भर्ना गर्न सकिनेछ । महाशाखाले स्थापना गरेको विभिन्न नाकाको हेल्थ डेक्समा स्क्रिनिङलाई चुस्त बनाउन थालेको महाशाखाको दाबी छ ।

    हेल्थ डेक्स रहेका नजिकका अस्पतालहरुलाई पत्रचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. कृष्ण पौडेलले बताए ।

    तयारी धेरै बाँकी छ

    नेपालमा कोरोना भाइरसको दोस्रो लहर आउन नदिन नाकामा आन्तरिक तयारीहरु धेरै गर्नुपर्ने महाशाखाका प्रमुख डा पौडेल बताउँछन् ।

    उनी भन्छन्, ‘अहिले कोरोना धेरै फैलिएको ठाउँबाट नेपालीहरु फर्केर आउन सक्छन् भनेर हामीले हेल्थ डेक्सहरु सञ्चालन गरिरहेका छौं । तर अझै धेरै कामहरु गर्नुपर्ने छ ।’

    स्थानीय पालिकाहरुसँग समन्वयमा समुदायमा टेस्टिङको दायरा बढाउने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, अस्पतालहरुलाई तयारी अवस्थामा राख्नुपर्ने लगायत अभिभारा रहेको डा. पाण्डे बताउँछन् ।

    उनी भन्छन्, ‘सबै मिलेर समाना गर्ने हो भने पक्कै पनि महामारीलाई जित्न सकिन्छ । त्यही हिसाबले हामी तयारी गरिरहेका छौ ।’

    भारतले नयाँ भेरियन्ट भनेर घोषणा गरिनसकेकाले सीमानाका बन्द गर्न तत्काल नगरिने डा. पाण्डे बताउँछन् ।

    ‘अहिले सीमानाकामा निगरानी बढाउने हो, बन्द गरिहाल्ने अवस्था छैन । तर परिस्थितिलाई हेरे नयाँ रणनीति लिनुपर्ने हुन सक्छ,’ उनले भने ।

    सीमा नाकाबारे निर्णय आवश्यकताअनुसार माथिल्लो निकायले गर्ने भएकाले इडीसीडीले भने त्यहाँबाट आउनेहरुको परीक्षण, स्क्रिनिङ गर्ने काम नै मुख्य रहेको उनको भनाइ छ ।

    इडीसीडीले विमानस्थलबाट आउनेको लागि नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । बिमानस्थलबाट आएका व्यक्तिलाई भेरियन्ट पुष्टि भए छुट्टै नियम बनाइएको छ । १० दिन कडा क्वारेन्टाइनपछि मात्रै हेल्थ डेक्सबाट रिलिज गराइन्छ ।

    जनस्वास्थ्य मापदण्ड निर्विकल्पः भाइरोलोजिस्ट

    जनस्वास्थ्यविद्हरु नयाँ प्रजातिको भाइरसविरुद्ध लड्ने निर्विकल्प उपाय भनेको जनस्वास्थ्य मापदण्ड पालना नै भएको बताउँछन् । टेकु अस्पतालका चिकित्सक एवं भाइरोलोजिस्ट शेरबहादुर पुनले नयाँ भेरियन्ट देखिए पनि जनस्वास्थ्य मापदण्ड निरन्तर र फरक नहुने बताए ।

    ‘भेरियन्ट नामक कोरोना भाइरसको चेन ब्रेक गर्नको लागि सामाजिक दुरी, मास्क र हात धुने कुराहरु नै मुख्य छन्,’ उनले भने ।

    नयाँ प्रजातिको भाइरस दु्रत गतिमा फैलन सक्ने उनी बताउँछन् । कोरोनालाई जित्न निर्विकल्प भनेको भ्याक्सिन नै रहेको उनको भनाइ छ ।

    ‘भ्याक्सिन धेरैभन्दा धेरै समुदायमा पुर्‍याउन सकियो भने मात्र अलिकति नियन्त्रणमा आउने सम्भावना हुन्छ,’ उनले भने ।

    डा. पुन लकडाउन गरेर कोरोना भाइरस नियन्त्रण नहुने बताउँछन् ।

    ‘अब लकडाउन बन्दाबन्दी भनेको चाहिँ एकदमै अनियन्त्रित भएर अब नियन्त्रण गर्न नसक्ने अवस्था आयो भने हो,’ उनले भने, ‘त्यो चेन ब्रेक गर्नलाई उपयुक्त हुन्छ । तर त्यो भन्दैमा निमिट्यान्नै हुँदैन । यसले केही हदसम्म सहज बनाउँछ ।’

    स्वास्थ्य मन्त्रालय भन्छः मापदण्ड पालना गरौं

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेकाले जनस्वास्थ्य मापदण्ड पालना गर्न जोड दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले छिमेकी मुलुकमा बढेपछि नेपालमा बढ्नु स्वभाविक नै भएको बताए ।

    उनले भने, ‘हामीसँग हुने भनेकै जनस्वास्थ्यको मापदण्ड हो । एक-अर्काबीचको दुरी कायम गर्ने परम्परागत विधि नै हो । त्यसैको पालना नै महत्वपूर्ण हुन्छ । अहिलेको र योभन्दा नयाँ प्रकारका भाइरस आउँदा पनि हाम्रो हातमा हुने यही हो ।’

    राज्यको तर्फबाट गराउने भनेको निगरानी बढाउने, उपचारको व्यवस्थापन गर्ने टेस्टिङ, औषधि व्यवस्थाको प्रवन्ध गर्ने आदि रहेको उनी बताउँछन् ।

    उनले थपे, ‘धेरै किसिमका भ्याक्सिनहरु बनेका छन् । कोहीले कुनैमा काम गर्ने छ, कुनैमा काम नगर्ने छ । त्यसैले मापदण्ड त पालना गर्नैपर्छ ।’

    सहप्रवक्ता अधिकारीले लकडाउन गर्ने कुनै तयारी नरहेकोसमेत बताए ।

  • १५० कोरोना संक्रमित थपिए, तीनको मृत्यु, संक्रमण उकालो लाग्दै

    १५० कोरोना संक्रमित थपिए, तीनको मृत्यु, संक्रमण उकालो लाग्दै

    काठमाडौं । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरसका १५० संक्रमित थपिएका छन् । थप तीनजनाको मृत्यु भएको छ ।

    ४ हजार ४७२ पीसीआर परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यही समयमा ९९ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या २ लाख ७६ हजार ०५६ पुगेको छ । कूल मुत्यु संख्या ३०१९ पुगेको छ । उपत्यकामा मात्र चौविस घन्टामा ८४ संक्रमित थपिएका छन् ।

    बागमती प्रदेशमा ९६, गण्डकीमा २०, लुम्बिनीमा १९ संक्रमित थपिएका छन् ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना जोखिम कायमै छ, भीडभाड नगर्नू

    स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना जोखिम कायमै छ, भीडभाड नगर्नू

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

    मन्त्रालयले एक विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठकजस्ता भीडभाड नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा विगत केही हप्तादेखि विश्वभर र खासगरी छिमेकी देशहरूमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखिएको भन्दै सचेत रहन भनिएको छ ।

    ‘भीडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन र सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा सावुनपानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दक अनुरोध छ ‘, मन्त्रालयले भनेको छ ।

  • भारतमा कोरोना संक्रमितको संख्या वर्षकै उच्च, मुम्बईमा सबैको अनिवार्य परीक्षण

    भारतमा कोरोना संक्रमितको संख्या वर्षकै उच्च, मुम्बईमा सबैको अनिवार्य परीक्षण

    एजेन्सी । कोरोना संक्रमतिको संख्या उल्लेख्य रुपमा बढ्न थालेपछि भारतीय शहर मुम्बईका धेरै भीड हुने स्थानमा कोरोना परीक्षण अनिवार्य गर्न थालिएको छ ।

    महाराष्ट्र सरकारले सपिङ सेन्टर र रेल स्टेसनजस्ता भीडभाडयुक्त क्षेत्रमा तीव्र रुपमा सबैको परीक्षण गरिने जनाएको छ । परीक्षण गर्न नमान्नेहरुले ‘एक अपराध’कै रुपमा सजाय ब्यहोर्नुपर्ने महाराष्ट्र सरकारले चेतावनी दिएको छ । तर के कारबाही हुनेछ भन्नेबारे कुनै जानकारी गराइएको छैन ।

    भारतमा शनिबार २४ घण्टाको अवधिमा ४० हजार ९ सय ५३ नयाँ संक्रमित फेला परेका थिए । जुन सन् २०२१ सुरु भएपछि एकैदिनमा देखिएको सबैभन्दा उच्च संख्या हो । कोरोनाका कारण भारतमा १ लाख ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा बढी संक्रमित देखिएका छन् । पछिल्लो साता भारतमा कोरोना संक्रमणको दर उच्च रुपमा बढेको छ । खोप अभियान जारी भए पनि नयाँ प्रकारको कोरोनालाई खोपले असर नगरेको तथ्य सार्वजनिक भएका छन् ।

    महाराष्ट्रको पश्चिमी शहर मुम्बईमा मात्र शनिबार २४ घण्टाको अवधिमा २ हजार ९ सय ८२ नयाँ संक्रमित देखिएका थिए ।

    मुम्बईका अधिकारीहरुका अनुसार २२ मार्चदेखि तीव्र परीक्षण सुरु हुनेछ । उनीहरुले भनेका छन्, ‘जव स्वास्थ्य कर्मीहरु व्यस्त क्षेत्रमा स्वाप संकलनका लागि पुग्नेछन्, सबैजना परीक्षणका लागि तयार हुनुपर्नेछ ।’ परीक्षण निःशुल्क हुनेछ ।

    मुम्बईको स्थानीय स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले ¥यापिड एन्टीजेन टेष्ट (आरएटी) गर्न लागेका हुन् । यो परीक्षणले व्यक्तिको शरीरमा कोरोना भाइरसलाई उपयुक्त प्रोटिन छ कि छैन भनेर पत्ता लगाइन्छ । तर बिभिन्न अनुसन्धानले यो परीक्षणलाई कम विश्वसनीय देखाएको छ किनभने यसले कहिले काहीँ गलत परिणाम पनि दिनेछ ।

  • अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

    अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

    विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।

    यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको हो ।

    यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन् ।

    रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।

    उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो । त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः शुरु गर्ने बताएका छन् ।

    यता पछिल्लो समयमा भाइरसको संक्रमण बृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ ।

    युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम ग्याब्रियसले सो शुक्रबार सो आग्रह गरेका हुन । उनले शनिबार विश्वका देशहरुका नाममा जारी गरेको अपिलमा सो खोपका विरुद्ध गलत प्रचार नगर्न पनि भनेका छन् ।

    यो खोपले अप्ठेरोमा परेका विश्वका देशहरुलाई कोरोना भाइरसको प्रकोपबाट रोक्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

    पछिल्लो समयमा युरोपका देशहरुमा कोरोना भाइरसको संक्रमण थप बढेको अवस्थामा खोप बाहेकको अर्को विकल्प पनि केही नदेखिएकोले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने र खोप लगाउने काम गर्नुपर्ने उनको सुझाव छ ।

  • भारतको अर्को खोपलाई नेपालमा अनुमति, बहराइनका राजकुमारले ल्याएको खोप चिनियाँ

    भारतको अर्को खोपलाई नेपालमा अनुमति, बहराइनका राजकुमारले ल्याएको खोप चिनियाँ

    काठमाडौं । नेपालले कोभिड-१९ विरुद्ध आपतकालीन प्रयोगका लागि अर्को भारतीय खोप कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

    औषधि व्यवस्था विभागले शुक्रबार भारत बायोटेकले उत्पादन एवं विकास गरेको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको प्रवक्ता सन्तोष केसीले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार भारत बायोटेकले ४ मुलुकका २६ हजार जनसंख्यामा तीन चरणको परीक्षण पूरा गरेको कागजपत्र पेश गरेपछि अनुमति पाएको हो ।

    यसअघि भारत र जिम्बाबेले मात्र कोभ्याक्सिनलाई अनुमति दिएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लगाइसकेको यो भ्याक्सिन कोभिडविरुद्ध ८१ प्रतिशत प्रभावकारी हुने जनाइएको छ । नेपालले यसअघि अक्सफोर्ड- अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप र चीनको सिनोफार्मले उत्पादन गरेको कोर-भीलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

    बहराइनका राजकुमारले ल्याएको चिनियाँ खोप

    बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले ल्याएको कोभिडविरुद्धको खोप चिनियाँ रहेको पुष्टि भएको छ । औषधी व्यवस्था विभागले उक्त खोप चीनको सिनोफार्मले विकास गरेको कोर-भी रहेको बताएको हो ।

    कोर-भीलाई सरकारले यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । प्रवक्ता केसीले राजकुमारले ल्याएको उक्त २ हजार डोज खोपलाई स्वास्थ्य र परराष्ट्र मन्त्रालयको समन्वयमा प्रयोगमा ल्याइने बताए । राजकुमारले गोरखा जिल्लामा मानिसलाई खोप दिन चाहेका हुन् ।

  • कोरोनाविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण

    कोरोनाविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण

    काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोनाविरुद्ध खोप खरिद गर्न ७.५ मिलियन अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रूपैयाँ ऋण दिने भएको छ ।

    नेपालमा कोरोना महामारीविरुद्ध प्रभावकारिता कायम गर्न र यसले एक तिहाई जनसंख्यालाई खोप पुग्ने भएकाले खोपको वितरण समतामूलक हुने विश्व बैंकले विश्वास लिएको छ ।

    ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउने सरकारी योजनाको सहयोगका लागि विश्व बैंकले उक्त ऋण दिन लागेको हो ।

    विश्व बैकले नेपालबाहेक बंगलादेशलाई ५० मिलियन र अफगानिस्तानलाई ६ करोड अमेरिकी सहायता उपलव्ध गराउन लागेको जानकारी दिएको छ ।

  • फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

    फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

    पेरिस । कोरोनाभाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ लागु गर्ने घोषणा फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले घोषणा गरेका छन् ।

    उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोनाभाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् ।

    बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा प्रधानमन्त्रीले गरेका हुन् । भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।

    तर, प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र त्यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।

    पहिलेका लकडाउनमा यहाँ एक किसीमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।

    कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

    पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।

    विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

    उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

    प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा भनेका छन् –रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् ।

    फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

    गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा त्यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ ।
    यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ ।

    फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार भन्दा बढी पुगेको बताइएको छ ।

    भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

    भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।

    गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

    भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कूल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा कोरोना संक्रमणबाट १५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको सङ्ख्या एक लाख ५९ हजार ३७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् ।

    त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ करोड भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

  • १६ लाख ज्येष्ठ नागरिकले लगाए खोप

    १६ लाख ज्येष्ठ नागरिकले लगाए खोप

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् ।

    स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए ।

    सरकारले गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २२ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

    उनले खोप अभावका कारणले खोप अभियानलाई अहिलेका लागि स्थगन गर्नुपरेको जानकारी दिए। ‘हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौँ, उनले भने, ‘तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौँ ।’

    विभागले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेपछि ५५ वर्ष भन्दामाथिका र दीर्घरोगीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थगन गरिएको हो ।

    अहिलेसम्म भारत सरकारबाट अनुदानमा १० लाख मात्रा र नेपाल सरकारले आफै खरिद गरेको १० लाख मात्रा खोप ल्याई लगाइएको छ । यसअघि पहिलो चरणमा सञ्चालन भएको खोप अभियानमा चार लाख २९ लाखले खोप लगाएका थिए ।

    खोप शाखाका प्रमुख डा गौतमले सरकारसँग अझै सात लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिए। उनका अनुसार मौज्दात खोप पहिलो चरणमा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिनका लागि राखिएको छ । दोस्रो मात्रा आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ ।

  • काठमाडौं संसारकै प्रदुषित सहरको १० औं नम्बरमा, दिल्ली यो वर्षपनि पहिलोमै

    काठमाडौं संसारकै प्रदुषित सहरको १० औं नम्बरमा, दिल्ली यो वर्षपनि पहिलोमै

    काठमाडौं । भारतको राजधानी दिल्ली संसारकै प्रदुषित सहरको पहिलो स्थानमा सूचिकृत भएको छ । बुधबार सार्वजनिक गरिएको यसवर्षको ग्लोबल एयर-क्वालिटी सूचकमा नेपाली राजधानी काठमाडौं प्रदुषित सहरको १० औं स्थानमा छ ।

    वर्ल्ड एयर क्वालिटी रिपोर्ट २०२० का अनुसार बंगलादेशको राजधानी ढाका दोस्रो, अफगानिस्तानको काबुल चौंथो, कतारको राजधानी दोहा पाँचौ, इन्डोनेसियाको जकार्ता ९ औं नम्बरमा छन् ।

    क्षेत्रगत हिसाबले दक्षिण एसिया संसारमै प्रदुषित रुपमा देखापरेको छ । नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशका सहरहरु सूचिमा अटाएका छन् । ५० वटा प्रदुषित सहरमध्ये ४२ दक्षिण एसियाकै छन् । दिल्ली सन् २०१८ र २०१९ मा पनि प्रदुषित सहरको पहिलो स्थानमै थियो ।

    कोभिड-१९ महामारीको बेलामा पनि वायु प्रदुषण सबैभन्दा ठूलो स्वास्थ्य खतराको रुपमा रहेको जनाइएको छ । लकडाउनको समयमा वायु गुणस्तरमा सुधार भएपछि पुनः मानवीय गतिविधि बढ्दै जाँदा प्रदुषण पनि वृद्धि हुँदै गएको हो ।

  • अग्रिम पैसा लिएको भारतीय कम्पनीद्वारा भ्याक्सिनको दोस्रो खेप पठाउन आलटाल

    अग्रिम पैसा लिएको भारतीय कम्पनीद्वारा भ्याक्सिनको दोस्रो खेप पठाउन आलटाल

    काठमाडौं- अग्रिम भुक्तानी लिइसकेको भारतीय कम्पनीले खोप पठाउन ढिलाइ गरेपछि नेपालमा कोरोनाविरुद्धको खोप अभियान प्रभावित हुने भएको छ । भारतको सिरम इन्स्टिच्युटले ‘खोप आपूर्ति तत्काल गर्न नसक्ने’ जानकारीसहितको पत्र सरकारलाई पठाएको अधिकारीहरुले बताएका छन् ।

    सिरम इन्स्टिच्युट अफ इन्डियासँग स्वास्थ्य मन्त्रालयले २० लाख डोज कोभिसिल्ड खोप ल्याउने सम्झौता गरेको थियो । सम्झौताअनुसार झन्डै ८० प्रतिशत रकम (९३ करोड रुपैयाँ) नेपालले भुक्तानी गरिसकेको छ । तर, सिरमले थप १० लाख डोज खोप तत्काल उपलब्ध नगराउने भन्दै पत्र पठाएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु चिन्तामा छन् ।

    स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले सिरम इन्स्टिच्युटको पत्र आएको पुष्टि गरे । उनले भने, ‘खोप तत्काल पठाउन नसक्ने भनेर पत्र आएको छ, तर कारण खुलाइएको छैन ।’ यद्यपि, जतिसक्दो चाँडो खोप आउनेमा सरकारले विश्वास लिएको उनको भनाइ छ ।

    सिरमसँगको सम्झौताअनुसार १० लाख डोज खोप फागुन २३ गते ल्याइएको थियो । थप १० लाख डोज चैत २ गते ल्याउनुपर्ने थियो । २० लाख डोज खोप ल्याउन दुई पक्षबीच सम्झौता भएलगत्तै सरकारले ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, खोप आपूर्ति नहुने भएपछि सरकारले पूर्वनिर्धारित योजना परिवर्तन गर्दै ६५ वर्षमाथिकालाई खोप लगाउने नीति लियो ।

    सरकारसँग अहिले जम्मा ७ लाख डोज स्टकमा छ तर, यो खोप पहिलो चरणको अभियानमा लगाइएकालाई दोस्रो डोज लगाउन मात्र पर्याप्त हुन्छ । अहिले सरकारसँग भएको खोपको म्याद वैशाखसम्म मात्र छ ।

    सोमबार बेलुकासम्म नेपालमा १६ लाख ५७ हजारभन्दा बढीले भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा लिएको ८ देखि १२ साताको अन्तरालमा दोस्रो खोप लगाउने भनिएको थियो । समयमा आपूर्ति नभएपछि स्वास्थ्य मन्त्रालय तत्काल अर्को चरणको खोप अभियान सुरु गर्ने मनस्थितिमा छैन । खोपको उपलब्धता हेरेर मात्र दोस्रो डोज उपलब्ध गराउने र त्यो समय अझै धकेलिन सक्ने बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सिरमको पत्रपछि खोप अभियानलाई अघि बढाउनेबारे स्वास्थ्य विभागसँग् समन्वय गर्ने बताए । ‘हामी विभागसँग नियमित सम्पर्कमा छौं, र सोहीअनुसार अघि बढ्छौं,’ उनले नेपाल प्रेससँग भने ।

    मन्त्रालयमा खोपसम्बन्धी विज्ञ समितिका संयोजक श्यामराम उप्रेती भारतसँग खरिद सम्झौता गरिएको खोप मार्च महिनाको अन्त्यसम्म र कोभ्याक्सबाट प्राप्त हुने भनिएको १९ लाख खोप मे महिनासम्म उपलब्ध हुन सक्ने आफूहरुको अनुमान रहेको बताउँछन् ।

    ‘नेपालमा ५ प्रतिशतले खोप लगाइसके,’ उनी भन्छन्, ‘भारतमा जम्मा २ प्रतिशतले लगाएका छन् । ९० भन्दा बढी देशमा अझै खोप सुरु भएको छैन । जसले गर्दा आपूर्तिमा दबाब सिर्जना भएको हो ।’

    आपूर्तिमा ढिलाइ भए त्यसको असर खोप अभियानमा देखिने उपे्रेती बताउँछन् । कर्णालीको मुगु, कालिकोट र गण्डकी प्रदेशको पवर्तमा खोप अभियान स्थगित भएको मन्त्रालयको भनाइ छ ।

    भारतले अनुदानमा उपलब्ध गराएको १० लाख, सिरमबाट खरिद गरिएको १० लाख र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको ३ लाख ४८ हजार गरी अहिलेसम्म २३ लाख डोज कोभिसिल्ड खोप नेपाल भित्रिएको छ ।

    चीनबाट पनि तत्काल खोप नआउने

    जनवरी १६ मा बसेको औषधी व्यवस्था विभागको बैठकले कोभिडविरुद्धको चिनियाँ खोप सिनोफार्मलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो । तर एक महिनासम्म पनि चिनियाँ खोप आउने सुरसार छैन । चीनले नेपाललाई ८ लाख डोज सिनोफार्म दिने घोषणा गरिसकेको छ ।

    स्रोतका अनुसार चीनबाट आवश्यक कागजात नेपाल आइपुग्न ढिला भएकाले आपूर्ति प्रभावित भएको हो । चीनमा नयाँ वर्षको लामो बिदा भएकाले कागजात आउन ढिलाइ भएको जनाइएको छ । आठ लाख खोप निःशुल्क दिए पनि ढुवानी नेपाल स्वयमले गर्नुपर्ने चीनले बताएको छ ।

    अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकमा भने चीनले आफ्नै खर्चमा ढुवानी गरिरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिने भनेको खोप ल्याउन सरकारले जहाज चार्टर गर्ने भने पनि कुन एयरलाइन्सको जहाज भन्ने टुंगो छैन । सरकारले बिमान चार्टर गरेमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ ।

    बेइजिङबाट काठमाडौं सीधा आउने विमान नभएकाले पनि ढुवानी प्रभावित भएको जनाइएको छ । चीनको छोङछिङबाट नेपाल छुट्ने हिमालय एयरलाइन्सको विमान केही समयदेखि अवरुद्ध छ ।

    निजी क्षेत्रलाई खुला गरिने

    सरकारले नीजि क्षेत्रलाई खोप आपूर्ति गर्न अनुमति दिने प्रक्रियाको थालनी गरेको छ । २० प्रतिशत नागरिकलाई निःशुल्क खोप लगाइसकेपछि मात्रै आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले नीजि क्षेत्रलाई खोप आपूर्ति गर्न दिने निधो गरेको हो ।

    औषधी व्यवस्था विभागले सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक जोकोही उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता र उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधी वा खोपको आपतकालिन प्रयोगसम्बन्धी संहिता–२०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन भनेको छ ।

    खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेश गर्नुपर्ने सूचनामा भनिएको छ । सरकारी च्यानलबाट खोप आयातमा अनिश्चतता सिर्जना भएपछि विभागले अन्य विकल्पबाट समेत खोप आयात गर्न अनुमति दिएको बताइएको छ । निजी क्षेत्रले खोप ल्याए पनि व्यवसायीक दृष्टिकोणले तत्काल कारोबार भने गर्न नपाउने व्यवस्था सरकारले गरेको छ ।

    गत पुस २० गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको कोरोना भाइरसविरुद्धको खोप प्राप्ति र प्रयोग सम्बन्धी मापदण्डअनुसार निजीले ल्याएको खोपमा सरकारको नियन्त्रणको व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्रीले भने- खोप कुटनीति होइन, मित्रता

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कोभिडविरुद्धको खोप नेपाललाई उपलब्ध गराएको कुरालाई भ्याक्सिन डिप्लोमेसी भन्न अस्वीकार गरेका छन् । ‘त्यो खोप कुटनीति हैन बरु एउटा मित्रता हो’ सीएनएन इन्डियासँगको अन्तर्वार्तामा उनले भनेका छन् ।

    कोभिडपछि मित्रराष्ट्र मुलुक र विकास साझेदार संस्थाबीच द्धिपक्षीय र बहुपक्षीय सम्बन्ध स्थापना भएको बताउँदै प्रधानमन्त्री खोप सहयोगका लागि भारतलाई धन्यवाद पनि दिए । भारतले नेपाललाई पहिलो प्राथमिकतामा राख्दै १० लाख डोज कोभसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो ।

    अहिलेसम्म ९० भन्दा बढी मुलुकमा खोप अभियान नै सुरु भएको छैन । भारत, इटाली, जर्मनी लगायतका मुलुकमा पुनः कोरोनाको दोस्रो लहर सुरु भएको संकेत मिलेको जनाइएको छ । भारतको महाराष्ट्रमा चिन्ताजनक ढंगले संक्रमणदर बढेको त्यहाँका संचारमाध्यमले जनाएका छन् । पछिल्लो समय आफ्नै मुलुकभित्र संक्रमणदर बढेकाले भारतलाई प्रभावित थलोमा खोप वितरण चुस्त र तीव्र तुल्याउनुपर्ने दबाब छ । यो ग्राफले भारतले अन्य मुलुकमा आपूर्ति गर्ने खोप श्रृंखला प्रभावित हुनसक्ने अड्कल काटिएको छ ।

    यसै साता सार्वजनिक भएको बीबीसीको एउटा अनुसन्धानअनुसार यदि खोप आपूर्ति दुरुस्त भए सन् २०२३ को सुरुआतसम्म नेपालले सबै जनसंख्यालाई खोप लगाइसक्नेछ । पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाको खोप लक्ष्य पनि सोही समयमा पुरा हुने उल्लेख छ । तर, भारतमा चाहिँ सन् २०२२ को अन्त्यसम्म खोप अभियान सकिने बीबीसीले जनाएको छ ।

    यी देशहरुमा खोप अभियान प्रभावित हुनुमा खोप बारेका हल्ला र गलत सूचना पनि जिम्मेवार रहेको जनाइएको छ ।

  • पाटनमा मिर्गौला उपचार गराउने बिरामी बढे, एकैदिन ४५ पीडितको डायलासिस

    पाटनमा मिर्गौला उपचार गराउने बिरामी बढे, एकैदिन ४५ पीडितको डायलासिस

    पाटन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो ।

    ‘हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ’, अस्पतालका निर्देशक डा रवि शाक्यले भने, ‘एक दिनमा लगभग ४५ मिर्गौलापीडितको डायलासिस भइरहेको छ । साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउँछन् ।’
    पाटनले लामो समयदेखि सो रोगको शिकार भएका मानिसलाई निःशुल्क उपचार सेवा दिनुका साथै नयाँ बिरामीलाई भने वार्षिक एक लाख बराबरको निःशुल्क उपचार सेवा दिने गरेको डा शाक्यले जानकारी गराए ।

    सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताइन् । मिर्गौला मानव शरीरको अति महत्वपूर्ण अङ्ग हो ।
    यसले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । मिर्गौला फेल भएका मानिसको शरीरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउँदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ ।

    सो रोग लागेपछि हातखुट्टा अनि अनुहार सुनिने, थकान महसुस हुने, छाला चिलाउने, भोक नलाग्ने, कम्मरको भाग दुख्ने आदि समस्या देखिने चिकित्सकको भनाइ छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग भएका मानिसले मिर्गौला बचाउन सदैव विशेष ध्यान पुर्याउनुपर्छ । मिर्गौला स्वस्थ राख्न स्वास्थ्य, खानपान र सक्रिय दिनचर्या अपनाउनसमेत जरुरी छ ।

    यसैगरी पाटनले विगत १० वर्षअघिदेखि उपचार सेवा दिन थालेको मानसिक विभागमा समेत बिरामी खचाखच भरिएका बताएको छ । मुलुकमा कोरोना कहर देखिएसँगै पाटनले सो रोगका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेको छ ।
    अन्य रोगका बिरामी उपचार गराउन आउने सङ्ख्या १० देखि ३० प्रतिशत झरेकामा हाल पूर्ववतरूपमा फर्किँदै गइरहेको अस्पताल स्रोतले जनाएको छ ।

     

  • चीनले आफ्नै देशको खोप लगाउने नेपालीलाई मात्र भिसा दिने !

    चीनले आफ्नै देशको खोप लगाउने नेपालीलाई मात्र भिसा दिने !

    काठमाडौं- नेपालको छिमेकी राष्ट्र चीनले आफ्नो देशमा निर्मित खोप लगाएका नेपालीहरुलाई मात्रै भ्रमणका लागि भिसा दिने नीति लिएको छ । काठमाडौंस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनीया दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड-१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ।’

    स्मरणीय के छ भने अहिलेसम्म नेपालमा चिनीया खोप आएको छैन । चीनमा बनेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय नेपाल सरकारले गरेपनि ढुवानी गर्ने र लगाउने सुरसार छैन । भारतबाट आउने भनिएको खोप रोकिएपछि चीनले आफ्नो खोपलाई प्रयोगमा ल्याउन दबाब दिएको अर्थमा यसलाई हेरिएको छ ।

    चीन जाने यात्रुको अनिवार्य कोभिड नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, चीनमा पुगेपछि क्वारेन्टाइनमा रहनुपर्ने पनि जनाइएको छ । चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ ।