Category: स्वास्थ्य-जीवनशैली

  • खोप आपूर्ति रोकेका हैनौं, घरेलु मागलाई प्राथमिकतामा राखेका हौं : भारत

    खोप आपूर्ति रोकेका हैनौं, घरेलु मागलाई प्राथमिकतामा राखेका हौं : भारत

    दिल्ली । अस्ट्राजेनेका खोप आपूर्तिमा रोक लगाएको भन्ने अन्तर्राष्ट्रिय समुदायको अभिव्यक्तिलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले आपूर्तिमा रोक नलगाइएको बरु, घरेलु मागलाई प्राथमिकतामा राखिएको जनाएको हो ।

    साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भारतले खोप आपूर्तिमा रोक नलगाएको दाबी गरे । उनले भारतको घरेलु माग पुरा भएपछि मात्र खोपलाई विदेशमा निर्यात गरिने बताए ।

    भारतले खोप आपूर्ति नगरेपछि कोभिड-१९ विरुद्धको नेपालको खोप अभियान स्थगित भएको छ । भारतको सिरम इन्स्टिच्युटले २० लाख खोप आपूर्तिको सम्झौताअनुसार अझै १० लाख डोज खोप आपूर्ति गर्न बाँकी छ र यसका लागि उसले भुक्तानी पनि लिइसकेको छ ।

    भारतले चाँडै खोप आपूर्ति सुचारु गर्ने भन्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन असमर्थ रहेको पत्राचार गरेको थियो । भारतीय विदेश मन्त्रालयले विदेशमा खोप आपूर्तिमा अस्थायी रोक लगाएको विवरणहरु बीबीसी लगायतका मिडियाले प्रकाशन गरेका थिए ।

    भारतले गत जनवरी २७ मा सहुलियतमा खोप उपलब्ध गराएपछि नेपालले खोप अभियान चलाएको थियो । बैशाख ७ गतेदेखि पहिलोे डोज लगाएकालाई दोस्रो डोज दिने ५ लाख मात्रा सरकारसँग सुरक्षित छ । अप्रिल २ मा सिरमले नेपाललाई सम्झौताअनुसारको १० लाख डोज उपलब्ध गराएको थियो ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म खोप आइपुग्ने कुराबारे केही बताएको छैन । गतसाता नेपाल प्रेससँग कुरा गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिलाई सुचारु गर्न आफू भारतको राजनीतिक र प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहेको बताएका थिए ।

    भारतले खोप आपूर्ति नगर्दा तीन महिनाभित्र योग्य जनसंख्यालाई खोप लगाउने सरकारी योजना पुरा नहुने देखिएको छ । तर, स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले चाहिँ अप्रिल अन्त्यसम्म खोप आपूर्ति हुने विश्वास व्यक्त गरे ।

    भारतमा सुरु भएको कोरोनाको दोस्रो लहरको कारण त्यहाँ खोपको घरेलु माग उच्च रहेको जनाइएको छ । भारतमा सेकेन्ड वेभ सुरु भएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरु बताउँछन् । बितेको २४ घण्टामा भारतमा थप ९० हजार कोरोना संक्रमित थपिएका छन् । यो एउटै दिनमा भेटिएको संक्रमित संख्या हो ।

    भारतमा ७ करोड ३० लाखलाई खोप लगाइएको छ भने नेपालमा झन्डै १७ लाखलाई खोप लगाइएको छ । खुला सीमाका कारण भारतबाट नेपाल आउनेमा पनि संक्रमण पुष्टि भएको छ । सरकारले नाकामा एन्टीजेन परिक्षण गर्दा संक्रमण फैलिएको देखिएको छ ।

  • पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक सय ५२ जनामा कोरोना भाइरसकाे  संक्रमण पुष्टि भएकाे छ । यस अवधिमा चार हजार दुइ सय १३ जनाको पिसिआर परीक्षण गर्दा एक सय ५२ जना नयाँ संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यसै अवधिमा ६५ जना कोरोनामुक्त भएको पनि मन्त्रालयको विवरणमा उल्लेख छ ।

    पछिल्लो २४ घण्टाकै अवधिमा एक जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मन्त्रालयको विवरणअनुसार अहिले देशभर ६३ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै १ हजार ५ सय ७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • भारतमा एकैदिनमा थपिए ७२ हजार कोरोना संक्रमित

    भारतमा एकैदिनमा थपिए ७२ हजार कोरोना संक्रमित

    दिल्ली । भारतमा बितेको २४ घन्टामा कोरोनाभाइरसका ७२ हजार ३३० संक्रमित भेटिएका छन् । एकैदिनमा भेटिएको यो सर्वाधिक संख्या भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतको कूल संक्रमित संख्या १ करोड २२ लाख २१ हजार ६६५ पुगेको छ । अक्टोबर ११, २०२० पछिको यो एकैदिनमा सर्वाधिक संक्रमण भएको जनाइएको छ ।

    सो अवधीमा ४५९ जनाको मृत्यु भएको छ । १ लाख ६२ हजार भन्दा बढीको मृत्यु भएको छ । महाराष्ट्रमा मात्र ३९ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

  • चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

    चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

    काठमाडौं । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको हिजाे बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।

    उनले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताए । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

    चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । चीनबाट ल्याइएको उक्त खोपलाई भने डब्लुएचओले अनुमति दिएको छैन । स्वास्थ्य मन्त्रालय भने डब्लुएचओको अनुमति कुरेर बसेको छ ।

    नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड–१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय गरेको छ ।

  • काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण, सबैखाले भेला रोक्न सिडिओ कार्यालयलाई निर्देशन

    काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण, सबैखाले भेला रोक्न सिडिओ कार्यालयलाई निर्देशन

    काठमाडौं । सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने  जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताए ।

    सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

    साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ ।

    कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

    १६२ कोरोना संक्रमित थपिए
    पछिल्लो २४ घन्टामा नेपालमा १६२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९९ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । मंगलबार नेपालमा कोरोना संक्रमण ५ प्रतिशतबाट उकालो लागेको छ ।

  • स्पेनमा पहिलोपटक यौन मामिला मन्त्री नियुक्त, घट्दो जन्मदरसँग लड्नुपर्ने कार्यभार

    स्पेनमा पहिलोपटक यौन मामिला मन्त्री नियुक्त, घट्दो जन्मदरसँग लड्नुपर्ने कार्यभार

    मड्रिड । स्पेनले पहिलोपटक यौन मामिला मन्त्री (मिनिस्टर अफ सेक्स) नियुक्त गरेको छ । मुलुकमा सिर्जित जन्मदर कमीको चुनौतिसँग लड्नुपर्ने एजेन्डा लिएर एडेलमिरा बेरेइरा पहिलो ‘मिनिस्टर अफ सेक्स’ नियुक्त भएकी छिन् ।

    सरकारले यो नयाँ मन्त्रालय गठनसँगै जन्मदरमा वृद्धि हुने विश्वास लिएको छ । पछिल्लो समय स्पेन विश्वमै न्यून जन्मदर भएको मुलुक बनेको छ । प्रधानमन्त्री मारियानो रोजयोले बेरेइरालाई मन्त्रालयको जिम्मेवारी सुम्पेकी छिन् । नवनियुक्त मन्त्री बेरेइराको कार्यकाल बढीभन्दा बढी बच्चा जन्माउनुपर्ने योजनाहरुमा केन्द्रित हुनेछ ।

    स्पेनले पछिल्लो समय जनसंख्याको संकटसँग संघर्ष गरिरहेको छ । गतवर्ष जन्मभन्दा मृत्युदर बढी मापन गरिएको थियो ।

    विज्ञहरु स्पेनमा पछिल्लो समय यौनेच्छामा देखिएको अरुचिमा केही कारणलाई जिम्मेवार ठान्छन् । जस्तो –लामो समय काम गर्नु । राती ढिलो समय खाना खाने संस्कृति र मध्यरातमा सुत्ने समस्या ।

    मड्रिडस्थित बिजनेस स्कुलका राफेल पुयोल भन्छन् –उनीहरुले परिवार निर्माण गर्न सहयोग गरिरहेका छैनन् । जब बच्चा जन्मिन्छ, त्यो निकै खराब स्वास्थ्यको हुने गर्छ ।’

    सन् २००८ यता स्पेनको जन्मदरमा १८ प्रतिशतले गिरावट आइसकेको छ । सन्तानविहिन जोडीहरुको संख्या १.५ मिलियन (सन् १९७७) बाट बढेर ४.४ मिलियन (२०१५) पुगेको थियो ।

    औषत स्पेनी महिलाहरु २ वा सोभन्दा बढी बच्चा चाहन्छन् । तर, सन् २०१५ मा १८ देखि ४८ उमेर समूहका महिलाहरुले १.३ प्रतिशत बच्चा जन्माएका थिए । तर, युरोपेली युनियनले चाहिँ १.५८ प्रतिशत आँकडा तय गरेको छ ।

    परिवार नीति हेर्ने स्पेनको एक संस्थाका अनुसार आर्थिक संकटको कारणले पनि स्पेनी महिलाहरु जीवनको उत्तराद्र्धमा बच्चा जन्माउन बाध्य छन् ।

    स्पेनको शिक्षा मन्त्रालयले जन्मदरमा आएको कमीको कारण आथिक असमानता बढ्ने र कल्याणकारी राज्यलाई प्रभावित तुल्याउने बताएको छ । मन्त्री बेरोइराको अबको चुनौति जनसंख्या असन्तुलनविरुद्ध लड्न राष्ट्रिय रणनीति तय गर्नु पनि छ ।

  • जमुनाहा नाकाबाट दैनिक हजार नागरिक भित्रिदै, कोरोना संक्रमणको उच्च जोखिममा बाँके

    जमुनाहा नाकाबाट दैनिक हजार नागरिक भित्रिदै, कोरोना संक्रमणको उच्च जोखिममा बाँके

    सुर्खेत। कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार मानिने बाँकेको जमुनाहा नाकाबाट नेपाल दैनिक रुपमा एक हजार भन्दा बढि नागरिक नेपाल फर्किन शुरु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    भारतबाट फर्किएका तीन जनामा कोरोना पुष्टि भएसँग कोरोना संक्रमणको उच्च जोखिममा बाँके परेको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार कोरोना देखिएका तिनै जनालाई आइसोलेसनमा राखिएको छ ।

    ‘यहाँ अहिले दैनिक रुपमा एक हजार भदा बढि नेपालीहरु स्वदेश फिर्ता भइरहेका छन् । हाललाई नाकामा हेल्थ डेस्क सञ्चालन गरिरहेका छौं । त्यहाँ एन्टिजोन विधीबाट कोरोना संक्रमण छ छैन भनेर हेर्दै आइरहेका छौं । हालसम्म तीन जनामा कोरोा पुष्टि भइसकेको छ ।’

    उनले नेपालप्रेससँग भने, ‘आज कोरोना पुष्टि भएका १८ जना भारतबाट आएका नागरिक होइनन् । उहाँहरु भेरी अस्पताल, मेडिकल अस्पतालमा उपचार गर्न आएकाहरु हुन । अहिले जमुनाहा नाकामा हामीले थोरै कडाई गर्न थालेका छौं । भारतबाट आउनेहरुलाई निर्वाध रुपमा प्रवेश गर्न दिइरहेका छौं ।’

    उनले भारतका कारण कोरोना संक्रमणको उच्च जोखिममा बाँके रहेको बताउँदै सकेसम्म कोरोना संक्रमण फैलिन नदिन सचेतता अपनाइरहेको बताए ।

    ‘कोरोना संक्रमण भएदेखि नै अहिलेसम्म आधिकारीक रुपमा नकाका खुला भएको छैन । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका कारण व्यावहारिक रुपमा नाकामा आवतजावत भइरहेको थियो ।’

    सिडिओ कुरुम्वाङले थपे, ‘अब भारतमा फैलिएको कोरोनाको उच्च जोखिममा बाँके रहेका कारण थोरे कडाई गर्छौं ।’ उनले कोरोना संक्रमण बढदै गएको खण्डमा लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।

    ‘अहिलेनै त्यस्तो भयावह अवस्था आएको छैन । भविष्यमा कोरोना संक्रमण तीव्र भएको खण्डमा लकडाउन गर्न पनि पर्न सक्छ ।’ उनी भन्छन्, ‘अहिले सीमा क्षेत्रमा क्वारेन्टाईन निर्माण गर्ने कार्य भएको छैन । अवस्था हेरेर आवश्यक निर्णय लिन्छौं ।’ उनले भारतबाट आउने नागरिकलाई कम्तिमा न्यूनतम सुरक्षा सावधानी प्रयोग गरेर नेपाल प्रवेश गर्न आव्हान गरे ।

  • तत्काल मौसम सुधार नहुने

    तत्काल मौसम सुधार नहुने

    काठमाडौं । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । “अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन”, मौसमविद् श्रेष्ठले भने ।

    नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहने छ ।

    त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव पाँच डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

  • शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

    शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

    काठमाडौं । नेपाल शरणार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो मुलुक बनेको छ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ६५ वर्षमाथिका व्यक्तिलाई यसैसाता खोप लगाइएको छ ।

    राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीलाई पनि खोप लगाइएको हो । दोस्रो चरणको खोप अभियानमा भुटानी शरणार्थीलाई खोप लगाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।

    ६५ वर्षमाथिका ६६८ जना शरणार्थीले खोप लगाएका हुन् । थप खोप आपूर्ति भए अन्य शरणार्थीलाई पनि लगाइने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

    नेपालमा भुटानी र तिब्बती गरी २० हजार शरणार्थी छन् । ‘शरणार्थीलाई खोप लगाएर नेपालले जनस्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम गरेको छ’ नेपालस्थित शरणार्थी उच्चायोग प्रतिनिधि कार्लोस बर्माले बताए ।

  • भेरी अस्पतालमा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि

    भेरी अस्पतालमा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि

    रूपन्देही । बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा एकै पटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्यावमा भएको पीसीआर परीक्षणमा ४५ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

    अस्पतालले दिएको जानकारी अनुसार कोरोना पुष्टि हुनेहरुमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १(१ जना छन् ।

    बाँकेमा आज आएको रिपार्टसँगै ४७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

  • चीनको प्रयोगशालाबाटै कोरोना फैलिएको प्रमाणित भएन, डब्लूएचओ भन्छ– थप अनुसन्धान आवश्यक

    चीनको प्रयोगशालाबाटै कोरोना फैलिएको प्रमाणित भएन, डब्लूएचओ भन्छ– थप अनुसन्धान आवश्यक

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले कोरोना भाइरस (कोभिड–१९)को उत्पत्ति चीनको प्रयोगशालाबाटै भएकोबारे अन्तिम निश्कर्षका लागि थप अनुसन्धान आवश्यक भएको बताएका छन् ।

    मंगलबार डब्लूएचओ प्रमुख डाक्टर टेड्रोस अधानोमले कोरोना भाइइस प्रयोगशालाबाट उत्पत्ति भएको सम्भावना न्यून रहेको बताउँदै यसका लागि ब्यापक अनुसन्धानको आवश्यकता रहने बताए ।

    सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा कोरोना भाइरस पहिलोपल्ट पत्ता लागेको थियो । चीन सरकारले आफ्नो प्रयोगशालाबाट भाइरस फैलाएको भन्ने आरोप लगातार अस्वीकार गरिरहेको छ ।

    नोभेल कोरोना भाइरसको पहिलो पहिचान भएयटा विश्वकपमा अहिलेसम्म २७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म १ अर्ब २७ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    भाइरसको उत्पत्तिबारे अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विशेषज्ञहरु सम्मिलित एक टोली गएको जनवरीमा वुहान पुगेको थियो । तर उनीहरुको अनुसन्धान चीनले उपलब्ध गराएको नमूना र प्रमाणहरुमा सीमित बनेको थियो । डब्लूएचओका अध्यक्षले सार्वजनिक रुपमै अनुसन्धानमा अप्ठेरो भएको भन्दै स्वतन्त्र अनुसन्धानको वातावरण माग गरेका थिए ।

    यो टिमले सबै सम्भावनाको जाँच गरेको थियो, जसमध्ये वुहान इन्स्टिच्युड अफ भाइरोलोजीबाट उत्पत्ति भएको सम्भावनाबारे पनि थियो । कोरोना भाइरसबारे तथ्यंक, भण्डारण र अध्ययनका लागि यो इन्स्टिच्युड विश्वकै अग्रणी संस्था हो ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य केहिले कोरोना भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको हुनसक्ने सम्भावनाबारे जोड दिएका थिए ।

    तर डब्लूएचओ र चिनियाँ विशेषज्ञद्वारा मंगलबार संयुक्त रुपमा जारी वक्तव्य तथा समाचार संस्था एएफसीमा प्रकाशित समाचार अनुसार प्रयोगशालाको चुहावटको सम्भावनालाई अस्वीकार गरिएको छ । बरु मानवसँग संसर्गमा आउने (जस्तैः घरपालुवा) जनावरमार्फत कोरोना फैलिएको हुनसक्ने सम्भावनालाई प्रवलताका साथ प्रस्तुत गरिएको छ ।

  • क्वारेन्टाइन आदेश लागू गर्न स्थानीय तहलाई सरकारको परिपत्र

    क्वारेन्टाइन आदेश लागू गर्न स्थानीय तहलाई सरकारको परिपत्र

    काठमाडौँ । सरकारले क्वारेन्टाइन आदेश, २०७७ लागू गर्न गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । भारतका विभिन्न राज्यमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि त्यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै क्वारेन्टाइन आदेश, २०७७ लागू गर्न गराउन भनेकाे हाे ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न नौ बुँदे सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनलाई रोगको निगरानी चुस्त बनाउन  भनेपछि यस्तो परिपत्र गरिएको मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जनाएको हो ।

    स्थानीय तहका सवै प्रवेश बिन्दुमा हेल्थ डेस्कमा ज्वरो आएका यात्रुको मलेरियाको आरडीटी चेकजाँच तथा सम्भव भएसम्म कोभिड–१९ को आरडीटी चेकजाँचको व्यवस्था मिलाउनुका साथै चेकजाँच रिर्पोट पोजेटिभ आएकाको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड–१९ को व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम गर्न स्वास्थ्य मन्त्रालयले भनेको छ । यसका लागि अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाको कार्यमा आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ ।

    रोगको निगराीलाई चुस्त बनाउन, कन्ट्राक्ट टे«सीङलाई बढाउन, आवश्यक पीसीआर तथा आरडीटी चेकजाँचको सुनिश्चतता गर्न पनि मन्त्रालयले भनेको छ । सबै अस्पताल र स्वास्थ्य संस्था महामारी व्यवस्थानका लागि आवश्यक तायरी अवस्थामा रहन, आफ्नो स्थानीय तहमा संक्रमणको जोखिम क्षेत्र पहिचान गरेर समुदायस्तरमा कोभिड–१९ को गरिने आरडीटी परिक्षण प्रक्रिया मापदण्ड वमोजिम गर्न र सबै निकायले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गराउनका लागि आवश्यक प्रचारप्रसार गर्न पनि भनेको छ ।

  • आजदेखि नेपालमा कोरोना संक्रमण ५ प्रतिशत माथि, थपिए १६७ संक्रमित, ३ को मृत्यु

    आजदेखि नेपालमा कोरोना संक्रमण ५ प्रतिशत माथि, थपिए १६७ संक्रमित, ३ को मृत्यु

    काठमाडौं । नेपालमा मंगलबारदेखि कोरोना संक्रमण पाँच प्रतिशतभन्दा माथि चढेको छ । २४ घण्टामा मुलुकमा १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएका संक्रमितसँगै कूल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । सोही अवधीमा ३ हजार १ सय ४० पीसीआर परीक्षण भयो ।

    ११५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । त्यस्तै १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपालको वायुप्रदूषण भुटानदेखि तिब्बतसम्म फैलियो, थिम्पुमा सतर्क रहन निर्देशन

    नेपालको वायुप्रदूषण भुटानदेखि तिब्बतसम्म फैलियो, थिम्पुमा सतर्क रहन निर्देशन

    काठमाडौं । केही दिनयता काठमाडौंसहित देशैभर फैलिएको वायुप्रदूषण भुटानको राजधानी थिम्पु र चीनको तिब्बतसम्म पुगेको छ ।

    वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले पहिलोपटक नेपालको प्रदूषण हिमाल नाघेर तिब्बतसम्मै पुगेको बताए । तुवाँलो थिम्पु पुगेपछि भुटान सरकारले पनि नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

    थिम्पुस्थित द भुटनिज अखबारका सम्पादक तेन्जिङ लाम्साङका अनुसार नेपालको बनडढेलोबाट फैलिएको प्रदूषण भुटानको आकाशसम्म पुगेको छ । प्रदूषण सिक्किम हुँदै भुटानसम्म पुगेको हो ।

    पाँचदिनयता उपत्यकाको वायुगुणस्तर मापक (एक्यूआइ) खराब देखिएको छ । वातावरणविद् पौडेलका अनुसार म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दूकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ । यो अवस्था केही दिनसम्म नबद्लिने उनले बताए ।

  • नर्भिक अस्पतालमा आकृति मिलाउने शल्यक्रियाको सुरुवात

    नर्भिक अस्पतालमा आकृति मिलाउने शल्यक्रियाको सुरुवात

    काठमाडौं । अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपाललाई नयाँ होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीको संख्या बढ्दो छ ।

    तर, अब यो बाध्यता हटेको छ ।

    राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया सेवाको थालनी गरेको छ ।

    जर्मनी र ताइवानबाट तालिम लिएर फर्किएका नेपाली चिकित्सकको सहयोगमा नर्भिकले सेवा थालनी गरेको हो ।

    अत्याधुनिक प्रविधिमार्फत चिकित्सकद्धय किशोर भण्डारी र मनीष बज्राचार्यको टीमले शल्यक्रिया सेवा सुरु गरेको हो । यस्तो सेवा यसअघि नेपालका अन्य अस्पतालले उपलब्ध गराएका छैनन् ।

    के हो अनुहारको असामान्य आकृति ?
    अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई orthognathic surgery भनिन्छ ।

    शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् । जस्तै : अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले धेरै विकास हुनु, च्यूडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसको अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटककको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रुपले विकास हुनसक्छ ।

    कस्तो असर गर्छ ?
    यसप्रकारको अवस्थाले गर्दा अनुहारको आकृति असामान्य हुनुको साथै दैनिक क्रियाकलापमा समेत भौतिक र मानसिक असर देखिने गर्दछ । उदाहरणका लागि राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिटिट्नु, अनुहारको मांशपेसीमा अत्यधिक दवाब पर्न गई जोर्नीमा असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु, आत्माविश्वासको कमी हुनु आदि ।

    कसरी गरिन्छ उपचार ?
    डा. भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेशनअघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेशनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारी टाइटेनियम प्लेट्स र स्क्रूले फिक्स गरिन्छ ।

    सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिदैन । यस्तो शल्यक्रिया अवधि ४–६ घण्टाको हुन्छ । शल्यक्रियापछि धेरैमा ३ दिन मात्र अस्पताल बस्नुपर्ने हुन्छ । बिरामीले काम, पढाई वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि विदा लिनुपर्ने हुन्छ ।

    ६ हप्तासम्म झोलिलो खानेकुरा मात्र खानुपर्छ । शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ ।

    नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ (भीएसपी) अर्थात कम्प्युटरको सहायताले अनुहारको बनोट निक्र्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याएको छ ।

  • कोरोनाको ‘हटस्पट’ नै बनेका हुन् त विद्यालय ?

    कोरोनाको ‘हटस्पट’ नै बनेका हुन् त विद्यालय ?

    काठमाडौं । आइतबार नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय शैक्षिक संस्थाहरू कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गइरहेको बताए ।

    गौतमका अनुसार कोरोना संक्रमण नेपालमा पुनः उकालो लाग्दै जाँदा संक्रमितहरूमा सीमा नाकाबाट नेपाल आउनेहरू र होटलमा काम गर्ने कर्मचारी धेरै छन् । यससँगै स्कुल वा कलेज पढाउने शिक्षकहरू पनि संक्रमित भइरहेको उनले बताए ।

    टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार टेकुमा केही दिनअघि एक जना कोरोना संक्रमित शिक्षक भर्ना भएका थिए । उनीपछि ५/६ जना शिक्षकमा कोरोना संक्रमण देखिएको थियो ।

    जनस्वास्थ्यविद् डा समीरमणि दीक्षितको भनाइमा विद्यालय कोरोनाको हटस्पट बन्दै जानु पनि स्वभाविक हो । सामान्य रुघोखोकीदेखि अन्य भाइरस पनि विद्यालयबाटै देखिन सुरु गर्ने भएकाले विद्यालयका शिक्षक र विद्यार्थी संक्रमित बन्न सक्ने उनी बताउँछन् ।

    ‘विद्यालयमा एकै ठाउँमा धेरै विद्यार्थी घुलमिल गर्ने माहोल बन्छ । संक्रमित बच्चामा संक्रमणको लक्षण देखिन्न । उनीहरूले एकले अर्कालाई सार्न सक्छन् । कोही न कोही व्यक्तिले घरभित्र लिएर जान सक्छ,’ दीक्षित भन्छन् ।

    स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढ्यो

    काठमाडौंको निजी विद्यालयमा आफ्नो छोरा पढाइरहेका एक अभिभावक चिन्तामा छन् । संक्रमण बढेसँगै बच्चालाई स्कुल पठाउन उनलाई सकस छ ।

    ‘बिहान स्कुल पठाएको छोरा साँझ आउँदा रुघाखोकीले ग्रस्त भयो । केही दिन स्कुलै पठाएनौं,’ ती अभिभावकले भने, ‘नपठाउने पनि कति दिन ? स्कुलमा पढाइ भइरहेकै छ ।’

    अहिले स्कुलहरूमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न छाडेर यस्ता समस्याहरू देखिन थालेको विज्ञहरू बताउँछन् ।

    ‘स्कुलमा अहिले मास्क लगाउने र दुरी कायम गर्ने मापदण्ड पालना भएका छैनन् । त्यसकारण शिक्षक र बालबालिकामा समस्या देखिएको छ,’ उनी भन्छन् ।

    प्रवक्ता डा गौतम स्कुलमा कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताउँछन् । ‘धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने लगायतका नियम त छन् । तर त्यसको कार्यान्वायन पक्ष धेरै फितलो भएकाले समस्या देखिन थालेको छ । मास्कको प्रयोग राम्रो भए पनि शैक्षिक संस्थामा उचित हात धुने व्यवस्था नभएको लगायतका गुनासा छन्,’ उनी भन्छन् ।

    सबै शैक्षिक संस्थामा हात धुन उचित व्यवस्थापन, मास्क अनिवार्य प्रयोग, एक अर्काबीच दुई मिटर दुरी कायम राख्न र शैक्षिक संस्थालाई जोखिम मुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

    डा बाँस्तोला लक्षण देखिएका शिक्षक तथा विद्यार्थीहरूलाई स्कुल नपठाइ आइसोलेसनमा बसाउनुपर्नेमा जोड दिन्छन् ।

    ‘शंकास्पद लक्षण देखिएमा शिक्षक र बालबालिका दुवैलाई स्कुल पठाउनु भएन । अरु स्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ,’ उनी सुझाउँछन् ।

    शैक्षिक सत्रमा पर्ला असर ?

    लामो समय कोरोना महामारीकै कारण ठप्प भएको शैक्षिक सत्र गत माघबाट सुचारु भयो । स्थानीय तहको निर्णयअनुसार बन्द भएका कतिपय स्कुल त भर्खरै मात्र खुलेका छन् । तर, पुनः संक्रमण बढिरहँदा, स्कुल नै हटस्पट बन्ने सम्भावना भइरहँदा शैक्षिक सत्रमा प्रभाव पर्ने देखिएको छ ।

    शिक्षा मन्त्रालयका अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र नयाँ शैक्षिक सत्र असारबाट सञ्चालन गर्ने योजना छ । तर, महामारी बढ्दै जाने हो भने शैक्षिक सत्रलाई निश्चय नै असर पार्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । यद्यपि, अहिलेको अवस्थामै रहने हो भने शैक्षिक सत्रमा खासै समस्या नपर्ने उनको भनाइ छ ।

    शिक्षाविद् विद्यानाथ कोइराला विद्यालयहरू अनिवार्य खोल्ने हो भने महामारी भयावह हुने बताउँछन् ।

    ‘शैक्षिक सत्रलाई सुरुदेखि नै अन्योल बनाइयो । मैले पहिल्यैदेखि नै भन्दै आइरहेको कुरा हो, स्कुल नियमित खोल्नु पर्दैन,’ उनले भने ।

    कोरोना अझै लामो समय लम्बिरहने भएकाले अनिवार्य स्कुल विकल्पमा पनि शिक्षकहरूले सोच्नुपर्ने उनको आग्रह छ ।

    ‘इच्छा लागेका र स्वास्थ्य मापदण्ड पालना गर्नसक्ने विद्यार्थीहरू स्कुल जान्छन् । नजाने विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट पढाउने तयारी शिक्षकले गर्नुप¥यो । रिसर्चका कामहरू दिनुपर्‍यो,’ कोइराला भन्छन् ।

    अब पनि विकल्पबारे नसोच्ने हो भने अझै भयावह स्थिति आउन सक्ने उनको आँकलन छ ।

    यद्यपि, स्कुलमा पढाइ अनिवार्य गर्ने वा नगर्ने भन्नेबारे स्थानीय तहलाई निर्णयको अधिकार भएको मन्त्रालयका प्रवक्ता शर्मा बताउँछन् । ‘विद्यालय सञ्चालनको कार्य ढाँचा छ । त्यो कार्यढाँचामा रहेर स्थानीय सरकारले निर्णय गर्छ । स्कल नियमित गर्ने वा आलोपालो गर्ने भन्नेबारे उनीहरूसँगै अधिकार छ । जनस्वास्थ्यको मापदण्ड हेरेर उनीहरूले सहजताका हिसाबले गर्न पाउँछन्,’ शर्मा भन्छन् ।

    ‘खोप वितरण भए समस्या हुन्न’

    खोप अभियानलाई चुस्त बनाए स्कुल हटस्पट नबन्ने डा दीक्षित सुझाउँछन् । अबको खोप स्कुलका शिक्षकहरूममा लक्षित हुनुपर्ने उनको भनाइ छ ।

    ‘मन्त्रालयले शिक्षक र लक्षित वर्गलाई खोप दिन सक्षम भइसकेका छौं भनेर भन्नुपर्‍यो । ५५ वर्ष काटेका र अग्रपंक्तिमा रहेका सबैलाई खोप दिन सक्यो भने स्कुल बन्द गर्नुपर्ने समस्या हुन्न,’ उनी भन्छन् ।

    संक्रमण अझै दुई तीन वर्षसम्म लम्बिने भएकाले राज्यले संक्रमण रोक्न खोपमै केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।

  • ललितपुरको नख्खुमा बर्डफ्लु संक्रमण पुष्टि

    ललितपुरको नख्खुमा बर्डफ्लु संक्रमण पुष्टि

    ललितपुर महानगरपालिका-१४, नख्खुमा बर्डफ्लु रोग पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार गत चैत १३ गते उक्त क्षेत्रमा बर्डफ्लु पुष्टि भएको हो ।

    बर्डफ्लु रोगको सघन निगरानी (सर्भिलेन्स)को क्रममा रोग पुष्टि भएको विभागद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यहाँका किसानले पालेका कुखुरा, बट्टाई र हाँसबाट संकलन गरिएको नमुनालाई केन्द्रीय अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको जनाइएको छ ।

    रोग फैलने सक्ने सम्भावित क्षेत्रका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको जनाइएको छ । ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाइ, ९४४ गोटा अण्डा र ३३५ किलो दाना नष्ट गरिएको जनाइएको छ ।

    रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरि नष्ट गरिएको उल्लेख छ । रोगलाई पूर्ण नियन्त्रणमा राख्न जैविक सुरक्षाका विधि अवलम्वन गर्न समेत विभागले आग्रह गरेको छ ।

  • यौन तथा प्रजननबारे बोल्न किन डराउने, किन लजाउने ?

    यौन तथा प्रजननबारे बोल्न किन डराउने, किन लजाउने ?

    ‘यौन तथा प्रजनन्’बारे कुरा गर्न आममहिला लजाउँछन्, डराउँछन् । समस्या बिकराल नभएसम्म उनीहरु रोगलाई दबाएर राख्छन् ।

    पछिल्लो समय शैक्षिक विकाससँगै समाजमा आफ्ना समस्या खुलेर राख्ने अभ्यास बढे पनि यौन तथा प्रजनन्सँग जोडिएका विषयमा खुलेर कुरा गर्न शिक्षित वर्गसमेत हिचकिचाउँछन् ।

    विद्यालयमा स्वास्थ्य तथा जनसंख्या पढाउने शिक्षक/शिक्षिकाले पनि यो विषयलाई महत्वपूर्ण नभए जस्तो गरी पाना पल्टाएर छाडिदिने गरेको पाइन्छ ।

    पेसाले म नर्स हुँ । ५/६ वर्षदेखि ‘महिलाका लागि महिला’ भन्ने संस्थासँग आबद्ध भएर पाठेघरसँग सम्बन्धित समस्या, आङ खस्ने समस्यामा केन्द्रित रहेर दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा दिँदै आइरहेकी छु ।

    आङ खस्नु भनेको महिलाहरूको सानो पेटमा रहेको पाठेघर तथा पिसाबको थैली, दिसाको थैलीमध्ये कुनै पनि अङ्गले सामान्य अवस्था छाडेर विस्तारै–विस्तारै योनि मार्गबाट बाहिर निस्कनु हो ।

    कम उमेरमा बिहे गरेर छिटो बच्चा जन्माउनाले, लामो प्रशवको कारण स्वास्थ्यकर्मीको अनुपस्थितिमा घरमा सुत्केरी गराउने, सुत्केरी अवस्थामा पर्याप्त स्याहार नपाउने, गह्रौं भारी उठाउने, टुक्रुक्क बसेर लामो समयसम्म काम गर्नेजस्ता

    विभिन्न कारणले आङ खस्ने समस्या हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तल्लो पेट तथा पेटमा रहेको अङ्गहरूलाई बलियोसँग अडाएर राख्ने मांशपेशी कमजोर बनाउने हुँदा आङ खस्ने समस्या हुन्छ ।

    बच्चा जन्माएका जुनसुकै उमेर समूहलाई यो समस्याले सताउँछ । विशेष गरेर ४०/५० नाघेका आमाहरू यो समस्याबाट धेरै पीडित हुन्छन् । आफूभित्रको लाज र समाजमा यस्ता समस्याका बारेमा कसैलाई भने अपहेलित भइन्छ भन्ने डरका कारण वर्षौंदेखिको समस्या लुकाएर राखेको पाइन्छ । कसैले यसलाई बच्चा पाइसकेपछि हुने साधारण अवस्था होला भन्ने ठान्छन् । कसैले पुनर्जन्मको पापले भनेर आफूलाई धिकार्छन् । धेरैलाई उपचार हुन्छ भन्ने कुरा थाहा नै नभएको बताउँछन् ।

    यो समस्या भइसकेपछि हिँडुडल गर्न, घरायासी काम गर्न एकदमै बाधा पुग्छ । तर काम नगरी छाक टार्न पनि धौ–धौ हुने भएकाले आफ्नो तरिकाले समस्या लुकाउनलाई योनीमार्गबाट गोलो ढुंगालाई राखेर, प्लास्टिकलाई एकपछि अर्को गर्दै बेरेर डल्लो पारेर राखेको, कपडाको पोकाहरू राखेकोदेखि फलामको गोलो चक्कालाई तलबाट राखेर अड्याउने गरेको समेत हामीले जाँच्ने क्रममा पाएका छौं ।

    हाम्रो स्वास्थ्य शिविरमा आएका यस्ता बिरामीलाई जाँच्न हाम्रा हात थर्थराउँछन् । सजिलोसँग उपचार गर्न सकिने समस्यालाई, श्रीमान्को डरले समेत यसरी लुकाएको बताउँछन् । आमाहरूको आँखामा देखिएको पीडाको आँसुले हाम्रो मन रोएको हुन्छ । जुन पीडा हामी कल्पना पनि गर्न सक्दैनौं । त्यो पीडा आमाहरूले कसरी आफैंमा सहनसक्नु भएको होला!

    हामीले हाम्रो साथ र मायाको आवश्यक आमाहरूलाई छ । यो समस्या समयमै पहिचान गर्न सके शल्यक्रिया विना उपचार गर्न सकिन्छ र जटिल अवस्थामा पुगेको भएमा शल्यक्रियाद्वारा समाधान गर्न सकिन्छ ।

    हालै हाम्रो संस्थाले मेरो जिल्लामा गरेको स्वास्थ्य शिविरमा करिब ४० प्रतिशत महिलाहरूमा देखिएको आङ खस्ने समस्याले मलाई चिन्तित बनाएको छ । समस्याका कारणहरूलाई मैले आफैंले पनि भोगेको छु, देखेको छु र बुझेको छु । म लगायत नेपालका धेरैजसो ग्रामीण भेगको कथालाई, दिनचर्यालाई, संघर्षलाई प्रत्यक्ष देखेको÷भोगेको भएर यो समस्या बढेर तथ्यांक गम्भीर बन्छ कि भन्ने कुरा साँच्चै चिन्तनको विषय हो ।

    यो समस्या रोकथाम गर्नको निम्ति हामीले एउटा स्वास्थ्य वातावरणको सिर्जना गर्न सक्नुपर्छ । लाज र संकोचलाई हटाएर यी समस्याको बारेमा घर–घरमा खुलेर कुरा गर्ने बानी बसाल्नुपर्छ । गाउँमा हुने विभिन्न आमा समूहको बैठकमा, विद्यालयको पाठ्यक्रममा, युवा क्लबहरूमा यस विषयलाई समेट्न सकेमा भोलिको दिनमा आङ खस्ने समस्याको तथ्यांक अवश्य घटाउन सकिन्छ । छोराछोरी तथा जीवनसाथीले महिलाहरूलाई प्रोत्साहन गरी साथ दिन सकेमा समस्याहरू सजिलैसँग रोक्न तथा समाधान गर्न सकिन्छ ।

    (आचार्य शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स हुन्)

  • सक्रिय संक्रमित संख्या १३ सय माथि, १४१ संक्रमित थपिए

    सक्रिय संक्रमित संख्या १३ सय माथि, १४१ संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणको दर उकालो लाग्ने क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १४१ संक्रमित थपिएका छन् ।

    यही अवधिमा मृत्य शुन्य छ भने निको हुने संख्या ८२ छ ।

    कूल संक्रमित संख्या २ लाख ७६ हजार ९८० पुगेको भने मृतक संख्या ३०२७ पुगेको छ । अहिलेसम्म १३ सय ४१ सक्रिय संक्रमित छन् ।

    पछिल्लो समय संक्रमित र सक्रिय संक्रमित संख्या बढिरहेको छ ।

  • जनावरबाट मानिसमा कोरोनाभाइरस सर्‍यो, प्रयोगशालाबाट होइन : डब्लुएचओ

    जनावरबाट मानिसमा कोरोनाभाइरस सर्‍यो, प्रयोगशालाबाट होइन : डब्लुएचओ

    बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।

    एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ ।

    अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ ।

    प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराएका थिए ।

    एपीले जेनेभास्थित डब्लुएचओको कार्यालयका एक कुटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन ।

    अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।

    कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स-कोभ-२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ ।

    प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक (प्यान्गोलिन)मा पनि भेटिएको उल्लेख छ, तर मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ ।

    उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्गम स्थल उहानको भ्रमणमा आधारित छ ।

    उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिए ।

    उनले भने, “मेरो विचारमा केही दिनभित्रै सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने र यसलाई सार्वजनिक गरिने छ ।”

  • खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

    खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

    बालुवाटारमा सोमबार आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताएका हुन् ।

    ‘कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान छन्’ उनले भने, ‘जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यता हामी अडिग छौं ।’ चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।

    भारतबाट समेत प्राप्त खोपलाई मिश्रण नगरिकन दुबै डोज खोप लगाइने स्पष्ट पार्दै प्रधानमन्त्रीले खोपको प्रभावकारितालाई लिएर कतिपयले अवरोध सिर्जना गर्न सक्ने आंशका गरे । ‘उनीहरुको आशंकालाई मेट्न जानकारी दिनुपर्ने हुन्छ’ उनले भने ।

    उनले दुबै छिमेकी मुलुकबाट प्राप्त खोपहरु प्रभावकारी रहेको समेत बताए । प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिए । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।

    खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् ।

    चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि सार्वजनिक प्रयोगका लागि भने सरकारले विश्व स्वास्थ्य संगठनको अनुमति कुरेर बसिरहेको छ ।

  • कैलालीमा १५ जनामा संक्रमण पुष्टि, १२ जनाको ‘ट्राभल हिस्ट्री’ भारत

    कैलालीमा १५ जनामा संक्रमण पुष्टि, १२ जनाको ‘ट्राभल हिस्ट्री’ भारत

    कैलाली । कैलालीमा सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । ती मध्ये १२ जना भारतबाट आएका हुन् ।

    कोरोना संक्रमण नियन्त्रणमा आइसकेपछि पहिले पटक कैलालीमा यति ठुलो संख्यमा सङ्क्रमित फेला परेका हुन् । यसले पुन संक्रमण फैलिन सक्ने सङ्केत देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    भारतका विभिन्न क्षेत्रबाट आएकाहरू मध्ये कोरोना लक्षण देखिएकाहरूलाई सीमा क्षेत्रमै एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूको पिसिआर परीक्षण पनि गरिने गरिएको छ । ती मध्येका १२ जना त्रिनगर हेल्थ डेस्कबाट पठाइएको नमुना रहेको श्रेष्ठले बताए ।

    अहिले सम्म यी १२ जना सम्पर्कमा छैनन् । उनीहरू कैलाली लगायत अन्य जिल्लाका समेत हुन् । अहिले सेती प्रादेशिक अस्पतालमा ४ जना उपचाररत छन् । ती मध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ ।

  • नेपाली सेनालाई भारतीय सेनाद्वारा १ लाख डोज खोप प्रदान

    नेपाली सेनालाई भारतीय सेनाद्वारा १ लाख डोज खोप प्रदान

    काठमाडौं । नेपाली सेनाले कोभिड–१९ विरुद्ध १ लाख डोज कोभिसिल्ड खोप प्राप्त गरेको छ । प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार भारतीय सेनाले उक्त मात्राको खोप प्रदान गरेको हो ।

    सिरम इन्स्टिच्युटले उत्पादन गरेको र अक्सफोड-अस्ट्राजेनेकाले विकास गरेको उक्त खोप काठमाडौं आइपुगेको हो ।

    एयर इन्डियाबाट ल्याएइको उक्त खोपलाई आइतबार बेलुका भारतीय सेनाका अधिकारीहरुले नेपाली सैनिक प्रतिनिधिलाई हस्तान्तरण गरे । औपचारिक हस्तान्तरण भने हुन बाँकी छ ।

    ल्याइएको उक्त खोप नेपाली सैनिकको लागि नै प्रयोगमा ल्याइने तयारी भैरहेको छ ।

  • शैक्षिक संस्था कोरोनाको हटस्पट : स्वास्थ्य मन्त्रालय

    शैक्षिक संस्था कोरोनाको हटस्पट : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था कोरोनाभाइरसको हटस्पट बन्दै गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले विद्यालय, कलेज भाइरसले प्रभावित बनेको बताए ।

    उनका अनुसार टेकुसहितका विभिन्न अस्पतालमा पछिल्लो समय कोरोनाका बिरामी बढेको र तीमध्ये अधिकांश कलेज र स्कुलका शिक्षक रहेको पाइएको छ । कोरोनाको कारण पछिल्लो समय विद्यालय र कलेज संक्रमित भएको र बन्द गर्ने क्रम बढेको समेत जनाए ।

    प्रवक्ता गौतमले विद्यालयमा जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य रुपमा लागु गर्न समेत आग्रह गरे । शैक्षिक संस्थामा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा फितलो भएको समेत उनले जनाए ।

    स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न र मापदण्ड कार्यान्यवन गर्न भनेपनि सर्वसाधारणले त्यसको अवज्ञा गर्दै आइरहेका छन् । विज्ञहरुले यस्तै अवस्था कायम रहे कोरोनाका दोस्रो लहर आउन सक्ने बताएका छन् ।

  • वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदूषण ?

    वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदूषण ?

    काठमाडौं । लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ ।

    शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा पोल्ने समस्या भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले सोमबार पनि काठमाडौंको वातावरणीय अवस्थामा सुधार नआउने जनाएको छ । ‘देशव्यापीरुपमा आगो फैलिएको छ । मौसममा आजै सुधार आउने सम्भावना छैन’ मौसमविद् मीनकुमार अर्यालले नेपालप्रेससँग भने, ‘भोलिबाट हावाको गति बढ्न सक्छ । सुधार हुने आशा राखेका छौं ।’

    पहाडी भूभागमा हल्का बदली भएपनि तत्काल पानी पर्ने सम्भावना नरहेको उनले जनाए ।

    सोमबार बिहानसम्म पनि काठमाडौको वायुको गुणस्तर (एक्यूआइ) घातक देखिएको छ । झम्सिखेल ललितपुरको एक्यूआइ सबैभन्दा बढी ४३४ पीएम देखिएको छ । अमेरिकी दूतावासको एक्यूआइ ३१९ पीएम, दरबारमार्गको ३५४, रत्नपार्कको १५२, भैंसेपाटीको ३३६ देखिएको छ ।

    वीरेन्द्र स्कुल भक्तपुरको एक्यूआइ ३०३, शंखपार्क काठमाडौंको ३१९ पीएम देखिएको छ । पोखराको एक्यूआइ १४७, नेपालगंजको १५९, दाङको १६२ प्राप्त भएको छ ।

    एयर क्वालिटी इन्डेक्सको १० बजेसम्म काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

  • आठ लाख डोज चिनियाँ खोप काठमाडौं आइपुग्यो, डब्लूएचओको अनुमतिपछि मात्र प्रयोगमा आउने

    आठ लाख डोज चिनियाँ खोप काठमाडौं आइपुग्यो, डब्लूएचओको अनुमतिपछि मात्र प्रयोगमा आउने

    काठमाडौं । चीन सरकारले सहुलियतमा उपलब्ध गराएको ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।

    बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएकाे खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

    सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिइसकेको छैन । डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल्याइने भएको छ ।

    चीनले दिएको यो खोप चारलाख जनालाई लगाउन पुग्नेछ । चीनको सिनोभ्याक बायोकेटले उत्पादन गरेको उक्त खोपलाई अक्सफोर्ड अस्ट्राजेनेकाले उत्पादन गरेको कोभिसिल्डजस्तै २ देखि ८ डिग्री सेल्सियम तापक्रममा भण्डारण गर्न सकिनेछ ।

    यो खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने जनाइएको छ । विभिन्न परिक्षणमा चिनियाँ खोप कोभिसिल्डभन्दा बढी प्रभावकारी देखिएको छ । यो खोप किन्दा कोभिसिल्ड भन्दा महंगो पर्ने जनाइएको छ ।

    अहिले नेपालमा साढे पाँच लाख मात्रा खोप बाँकी छ । यो खोप बैशाख ७ गतेदेखि पहिलो डोज लगाइसकेकालाई दोस्रो डोज दिन प्रयोग गरिनेछ ।

  • चिनियाँ कोरोना खोप ‘भेरासेल’ आज काठमाडौं आइपुग्ने

    चिनियाँ कोरोना खोप ‘भेरासेल’ आज काठमाडौं आइपुग्ने

    रासस । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप लगायतका सहायता सामाग्री आज साँझ नेपाल आइपुग्ने भएको छ ।खोपसहितको स्वास्थ्य सामाग्री लिएर आएकाे नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज साँझ साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङ पुगेको हो । सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको निगमले जनाएको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । र राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

    चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ पठाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

    कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन संघीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।

  • सार्वजनिक सवारीसाधनबाटै यात्रा गर्छन् भारतबाट फर्किएका ‘कोरोना संक्रमित’, जोखिम बढ्दो

    सार्वजनिक सवारीसाधनबाटै यात्रा गर्छन् भारतबाट फर्किएका ‘कोरोना संक्रमित’, जोखिम बढ्दो

    कैलाली । कैलालीको गौरिफन्टा नाकाहुँदै शनिबार ४०३ जना नेपाली घर फर्किए । तीमध्ये १२० जनामा कोरोना संक्रमणको लक्षण देखिएको थियो । उनीहरुको एन्टिजेन परीक्षणमा गर्दा १० जनामा पोजेटिभ देखिएको छ । उनी सार्वजनिक सवारीसाधन चढेरै घर गए ।

    भारतका विभिन्न क्षेत्रबाट नेपाल आएका उनीहरू कैलाली, डोटी र बझाङ घर भएका नागरिकहरू हुन् । उनीहरूको पिसिआर परीक्षणका लागि नमुना समेत संकलन गरिएको गौरीफन्टा हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

    एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएका सबैमा पिसिआर समेत पोजेटिभ आउने उनको भनाइ छ । तर, एन्टिजेन पोजेटिभ भएकाहरूलाई यही राख्ने व्यवस्था नहुँदा सार्वजनिक सवारीमै घर पठाउनु पर्ने बाध्यता रहेको उनी बताउँछन् ।

    ‘१० जनालाई हामीले सम्झाएर पठाएका छौँ’ उनले भने ‘स्वाबको नमूना पनि संकलन गरेका छौं । पिसिआर परीक्षण हुन्छ त्यसमा पनि पोजेटिभ आए हामी खबर गर्छाै ।’

    पछिल्लो एक सातामा ७६६ जनाको एन्टिजेन परीक्षण गरिएको छ । तीमध्ये ३४ जनामा पोजेटिभ देखिएको छ । अधिकांश अहिलेसम्म सम्पर्कमा छैनन् ।

    एन्टिजेन परीक्षणमा संक्रमितहरु सम्पर्कमा नहुँदा संक्रमण फैलिन सक्ने खतरा बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले पनि एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरू सार्वजनिक सवारीमै गन्तव्यसम्म पुग्दा थप जोखिम बढेको जनाएको छ ।

    ‘अहिलेसम्म संक्रमितहरु होम आइसोलेसनमा हुनुहुन्छ । लापरबाहीले थप जोखिम बढेको छ’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘केही समय भित्रै हामीले उहाँहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गर्छाै ।’
    भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । संक्रमणको उच्च जोखिम क्षेत्रबाट आएका र कोरोना लक्षण देखिएकाहरुको एन्टिजेन परीक्षणका गरिएको हो ।

    थपिँदै संक्रमित

    कैलालीमा कोरोना संक्रमितको सङ्ख्या बढिरहेको छ । शनिबार थप दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । तीमध्ये एक जना भारतबाट आएका हुन् ।

    कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय पुरुष र कञ्चनपुर भीमदत्त नगरपालिका ६ क २४ वर्सिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    धनगढीका पुरुष केही दिनअघि भारतको गुजरातबाट आएका थिए भने कञ्चनपुरकी महिला कोरोना संक्रमित आफन्तको कुरुवा बसेकी थिइन् ।

    अहिले धनगढीका पुरुषको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरकी महिलाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । हालसम्म सेती प्रादेशिक अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

  • कोरोनाबारे विज्ञ- फेरि अतिरञ्जित त्रास नफैलाऔं, लकडाउन आवश्यक छैन !

    कोरोनाबारे विज्ञ- फेरि अतिरञ्जित त्रास नफैलाऔं, लकडाउन आवश्यक छैन !

    काठमाडौं । गत आइतबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानीहरु अपनाउन आग्रह गर्‍याे । यसले जनमानसमा चिन्ता र कौतुहलता सृजना भयो, कतै फेरि सरकारले लकडाउन गर्ने त होइन ?

    केही दिनअघि उपत्यकाका तीन जिल्लाका सीडीओहरुले कोरोनाविरुद्ध सतर्कता अपनाउन भन्दै सूचना जारी गरेका छन् । उनीहरुले जात्रा–महोत्सवहरु नगर्न तथा होली घरभित्रै मनाउन आग्रह गरेका छन् । ललितपुर जिप्रकाले त रात्रिकालीन व्यवसायमा नै रोक लगाएको छ ।

    कोरोनालाई देखाएर विहीबार प्रधानमन्त्री केपी शर्मा ओली बिराटनगर जाने कार्यक्रम स्थगित गरियो । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले स्थिति फेरि नकारात्मकतातिर जान खोजेको भन्दै यसलाई भयावह बन्न दिनु नहुने बताएका छन् ।

    कोरोनाले लामो समयसम्म अस्तव्यस्त तुल्याएको देशको जनजीवन बल्लतल्ल पुरानै अवस्थामा फर्केको बेला पछिल्लो चहलपहलले फेरि त्रास फैलन थालेको छ । वास्तविकभन्दा भयावह अवस्था देखाएर चालिने कदमहरु देशका लागि प्रत्यूत्पादक हुन सक्ने विज्ञहरु बताउँछन् ।

    भारतमा कोरोनाको नयाँ लहर आउँदा सीमा क्षेत्रमा थप सतर्कता आवश्यक भए पनि देशभित्रका आर्थिक गतिविधि रोक्नु प्रत्यूत्पादक हुन सक्ने उनीहरुको भनाइ छ ।

    लकडाउनको अनुभव

    सरकारले कोभिड–१९ फैलन नदिन गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर, कडा लकडाउनका बाबजुद कोरोनाको महामारी रोकिएन । अर्कोतर्फ आर्थिक गतिविधि ठप्प हुँदा त्यसले देशको अर्थतन्त्र धराशयी तुल्यायो ।
    गत वर्ष लकडाउन गर्दा देशैभर त्रासको वातावरण थियो । एकतर्फ रोगको डर, अर्कोतर्फ पेटको चिन्ता । खासगरी निम्नवर्गीय मानिसहरु दोहोरो चपेटामा परेका थिए । रोजगारी गुमाएपछि काठमाडौंबाट मानिसहरु हिँड्दै गाउँ फर्किए । सीमा बन्द गरिए पनि भारतबाट नेपालमा लुकीछिपी प्रवेश गर्ने क्रम राकिएन । उनीहरु क्वारेन्टाइनमा पनि नबस्दा कोरोना झनै फैलियो ।

    संक्रमण बढ्दै जाँदा सरकारले पनि लकडाउन थप्दै लग्यो । झण्डै ९ महिना सरकारले विभिन्न रुपमा देशको जनजीवन ठप्प पर्दा मजदुरदेखि उद्योगी–व्यवसायीसम्म आहत बने । संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउनभन्दा अर्को उपाय देखेन ।

    नेपालले लकडाउन सही समयमा गरे पनि यसलाई अनावश्यकरुपमा लम्ब्याउँदा नकारात्मक प्र्रभाव बढी देखिएको विज्ञहरु बताउँछन् । कोरोना नियन्त्रणका लागि लकडाउन नै ब्रह्माश्त्र होइन भन्ने विश्वव्यापीरुपमै प्रमाणित भइसकेको उनीहरुको भनाइ छ ।

    जनस्वास्थ्यविद् समीरमणि दिक्षित भन्छन्, ‘लकडाउन जुन किसिमले सुरु गरियो, त्यो एकदमै उपयोगी पनि हो र उपयुक्त समयमै गरेको हो नेपाल सरकारले । तर, योे चाहिने भन्दा बढी समय लम्बियो । दैनिक मजदुरीबाट जीवन धान्नुपर्ने मानिसहरुलाई निकै सकस भयो ।’

    प्रारम्भिक चरणमा लकडाउनले राम्रो काम गरेको डा. दीक्षित बताउँछन् । उनले भने, ‘एक महिना मात्रै गरेको भए हुन्थ्यो । त्यो एकदम राम्रो अवसर थियो । तर लकडाउन लामो हुँदै गएपछि मान्छेले विरोध गरे ।’

    सर्वसाधरण लुकीलुकी घरबाट निस्कन थालेपछि संक्रमण फैलनबाट रोक्न नसकिएको उनको बुझाइ छ ।

    ‘अस्पताल पनि जान नपाएपछि मान्छेलाई अन्य रोगले सताउन थाल्यो । यी सबै कुराले गर्दा नेपालमा लकडाउन पछिल्लो चरण प्रभावहीन भयो,’ उनले भने ।
    सरकारले चरणवद्धरुपमा लकडाउन खोल्न नजान्दा उल्टै लकडाउनले कोरोना संक्रमणलाई बढवा दिएको उनको निश्कर्ष छ । उनले अगाडी थपे, ‘मास्क लगाउन कडाई गरेको भए, दूरी कायम गरेको भए, केही सुविधा खोलेर केही बन्द गर्न सकिन्थ्यो । सबै झापझुप्प बन्द गरियो ।’

    नाइट क्लव बन्द गर्नु ठीक भए पनि जनतालाई अत्यावश्यक वस्तुको खरिद गर्न समेत असुविधा हुनुले समस्या निम्त्याएको दिक्षितको बुझाई छ । युरोप–अमेरिका लगायतका देशले लकडाउन गरिराखेको भए पनि अत्यावश्यक वस्तुको खरिद गर्न भने छुट दिइएको उनले बताए ।

    लकडाउन ओखती होइन

    लकडाउनले नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग नगरेको डा. दिक्षितको निश्कर्ष छ । फेरि पनि लकडाउनको चर्चा भइरहेका बेला किन यो मोडल उपयुक्त होइन भन्नेबारे उनको भनाइ यस्तो छः

    ‘कोरोना रोक्न कडा लकडाउनमा जाने कुरा विकसित देशहरुका लागि ठीक हो, तर हाम्रा जस्तो विकासोन्मुख देशहरुमा यसले धेरै समस्या सृजना गर्छ । हाम्रोमा लकडाउनले सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको अनुभवबाटै प्रमाणित भइसकेको छ । एकातर्फ लकडाउनले संक्रमण रोक्न सकेन भने अर्कोतर्फ त्यसबाट अरु बिरामीहरुले धेरै दुख झेल्नुपर्यो । क्यान्सरका विरामीले उपचार पाएनन् । विरामी मानिसहरु अस्पताल जान सकेनन् । अस्पताल गएकाहरुले सहज उपचार पाएनन् । गर्भवती महिलाहरुले समयमा चेकजाँच गर्न सकेनन् ।

    लकडाउनले अन्य समस्या पनि थपिदै गयो । मानसिक समस्या बढेर मानिसहरुले आत्महत्या गर्न थाले । घरेलु हिंसा बढ्न थाल्यो । अब नयाँ प्रजातीको भाइरस नेपालमा देखिए पनि लकडाउनमा जानु हुँदैन । पहिलो कारण, जोखिम वर्गहरुलाई पहिलो मात्रा खोप दिएको पनि एक महिना भइसक्यो । अहिले सर्वसाधरणले लगाएको खोपले तेस्रो हप्तादेखि तेस्रो महिनासम्म मज्जाले मान्छेलाई कडा संक्रमणबाट बचाउँछ । लकडाउन भनेको जोखिम वर्गलाई बचाउन हो । अब खोपले नै जोखिम समूहलाई बचाइदिन्छ । अझ अरु खोप पनि आउँदैछन् ।

    नेपालमा दुई लाखभन्दा बढी मानिस संक्रमणबाट निको भइसकेका छन् । उनीहरुलाई पनि खोप लगाएसरह हो । एकचोटी कोरोना लागेर निको भइसकेकाहरु दोस्रो चोटी त्यहीरुपले कडा लाग्दैन । नयाँ भाइरसले छुन सक्दैन । नयाँ वा पुरानो जुनसुकै प्रजातिसँग पनि सामना गर्न सक्छ । केही प्रतिशत यताउता होला तर समग्रमा प्रभावकारीता देखिन्छ । यी कारणले गर्दा पहिलेजस्तो अवस्थामा हामी रहेनौं । मास्क मात्र लगाइदिने र दुरी कायम गर्यो भने संक्रमण सर्दैन भन्ने हामीलाई थाहा भयो । हवाइजहाजबाट सर्दैन रहेछ भन्ने पनि थाहा पाइसक्यौ । त्यसले गर्दा अब लकडाउन जरुरी छैन ।’

    डा. पुन भन्छन्– लकडाउनले मात्रै महामारी रोकिन्न

    टेकु अस्पतालका चिकित्सक एवं भाइरोलोजिष्ट डा शेरबहादुर पुनको भनाइ पनि लगभग यही नै छ । संक्रमण एकदमै अनियन्त्रित भएर अरु सबै उपाय सकिएपछि केही समय मानिसलाई जहाँको त्यहीँ राख्नलाई मात्रै लकडाउन जरुरी हुने उनी बताउँछन् ।

    पुनले भने, ‘पहिला हामीले महिनांै बन्द गर्दा पनि कोरोना रोकिएन । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हो । त्यो चेन ब्रेक गर्नलाई लकडाउन उपयुक्त हुन्छ । तर त्यसो भन्दैमा लकडाउनले निमिट्यान्न हुँदैन । ’

    उनले अगाडी थपे, ‘हामीले जथाभावी गर्ने हो भने त फेरि पनि यसले दुख दिन्छ । हामीले एक वर्षमा त देख्यौं नि । लकडाउन गरियो तर अन्तमा त्यत्रो मान्छे संक्रमित बने । त्यसैले लकडाउनलाई नै सबैकुरा ठान्नु हुँदैन ।’

    पाठ सिकिसकेका छाैं- स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गत वर्ष गरेको लकडाउनले पाठ सिकेको बताएको छ । लकडाउनकै समयमा स्वास्थ्यकर्मी परिचालनदेखि अस्पतालहरुको तयारी गरेको तर अहिले त्यो गर्नु नपर्ने भएकाले लकडाउनमा हतारो नगर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

    उनले भने, ‘गत वर्ष कोभिड–१९ को सुरुवाती चरणमा नेपाल सरकारले गरेको लकडाउनमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने, त्यहीअनुसार अस्पताल तयार गर्ने र जनतालाई सु–सुचित गर्ने विषयहरुमा केन्द्रित भएर लकडाउन गरियो । अब त्यस्तो हुँदैन ।’

    उनले अहिले फेरि सरकारले लकडाउन गर्नपर्ने अवस्था भइनसकेको बताए । ‘पहिले हामी सबै नयाँ थियौ । त्यही बीचमा तयारी गर्नुपर्ने थियो । अहिले धेरै हिसाबले तयार नै छौं । सर्वसाधारण पनि सचेत भइसकेका छन्,’ उनले थपे, ‘संक्रमण बढ्दै गयो र अरु उपाय आएन भने विज्ञसँग आवश्यक छलफल गरेर त्यही अनुसार निर्णय लिइनेछ ।’

  • चीनले नेपाललाई दिने ८ लाख डोज खोप एयरपोर्ट पुग्यो (तस्वीरहरु)

    चीनले नेपाललाई दिने ८ लाख डोज खोप एयरपोर्ट पुग्यो (तस्वीरहरु)

    काठमाडौं । चीनले नेपाललाई दिने भनेको कोरोनाभाइरसविरुद्धको ८ लाख डोज सिनोफार्म खोप आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

    चिनियाँ दूतावासका अनुसार यो खोप सोमबार काठमाण्डू आइपुग्ने जनाइएको छ । खोप लिन नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

    नेपालले आपतकालिन प्रयोगका लागि अनुमति दिएको उक्त खोप लामो समयदेखि बेइजिङमा अलपत्र थियो ।

  • भारतमा एकैदिन ६२ हजार संक्रमित, ब्राजिलमा मृतक संख्या ३ लाखमाथि

    भारतमा एकैदिन ६२ हजार संक्रमित, ब्राजिलमा मृतक संख्या ३ लाखमाथि

    दिल्ली । भारतमा वितेको २४ घण्टाभित्र ६२ हजार कोरोना संक्रमति थपिएका छन् । भारतमा सक्रिय कोरोना संक्रमति संख्या ४.५२ लाख पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा भाइरसबाट संक्रमित हुने संख्या १.१९ करोड पुगेको छ । पछिल्लो दिनमा महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ जहाँ २४ घन्टाभित्रमा ३६ हजार ९०२ संक्रमित थपिएका छन् ।

    अर्को प्रभावित मुलुक ब्राजिलमा मृतक संख्या ३ लाख नाघेको छ । २४ घन्टामा ब्राजिलमा ३ हजारभन्दा बढीको मृत्यु भएको छ । मृतक संख्या ३ लाख नाघेपछि पूर्वराष्ट्रपति लुलाले यसलाई अहिलेसम्मकै ठूलो नरसंहार भएको टिप्पणी गरेका छन् ।

  • आज पनि काठमाडौंमा घातक प्रदूषण, एक्युआई चार सय भन्दा बढी कायमै

    आज पनि काठमाडौंमा घातक प्रदूषण, एक्युआई चार सय भन्दा बढी कायमै

    काठमाडौं । शनिबार बिहान पनि उपत्यकाको वायुप्रदुषण घातक मापन भएको छ । प्रदुषणमा डढेलोको धुवाँ मिसिँदा आइतबारदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ ।

    शनिबार पनि सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागले अपरान्हदेखि हल्का हावा चल्ने भएकाले मौसममा क्रमशः सुधार हुँदै जाने जनाएको छ ।

    नेपालप्रेससँग कुरा गर्दै बरिष्ठ मौसमविद् राजु प्रधानांगले शनिबार बिहानसम्म काठमाडौंको दृश्यात्मकता (भिजिबिलिटी) १ किलोमिटर मात्र रहेको बताए । ‘हावा चल्न थाल्यो भने सुध्रन सक्छ । तत्काल पानी पर्न सक्ने सम्भावना छैन । सोमबारदेखि मौसममा सुधार हुने आशा गर्न सकिन्छ’ उनले भने ।

    आइतबार काठमाडौंको हावामा धुवाँसहित धुलो मिसिएको थियो । यो समस्या शनिबार बिहान केही कम भएपनि घातक चाहिँ रहेको विभागले जनाएको छ ।

    शुक्रबार बेलुका अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नासाले लिएको नेपालको तस्विर जहाँ डढेलो लागेको देख्न सकिन्छ ।

    शनिबार बिहान पनि एयर क्वालिटी इन्डेक्स (एक्युआई) रत्नपार्कमा १८७, महाराजगंजस्थित अमेरिकी दूतावासमा ४१०, दरबारमार्ग ४१६, झम्सिखेलमा ४०९ र भैंसेपाटीमा ३१६ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन घातक हो ।

    बरिष्ठ मौसमविद् भुषण तुलाधरले एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुने र यो अवस्थामा विपद घोषणा गरिनुपर्ने बताए । छातीरोग विशेषज्ञ डा. नीरज बमले अत्याधिक प्रदुषणमा क्यान्सरजन्य रसायन समेत मिसिएको हुँदा ती कण श्वास नलीमा जम्मा हुँदा दम, ब्रोङकाइटिसजस्ता रोग लाग्ने र मुटुरोग बढ्ने र क्यान्सरको खतरा हुने बताउँछन् । बरिष्ठ मौसमविद् वरुण पौडेल लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिम क्षेत्रमा भएको डढेलोको धुवाँ यहाँको प्रदुषणमा मिसिँदा तुवाँलो बनेको बताउँछन् । पानी परेन वा ठूलो हावा नचले प्रदूषण हट्न गाह्रो हुने उनको भनाई छ ।

    स्वास्थ्य मन्त्रालयले मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न धूलो उड्ने खाले निर्माण कार्य केही दिनका लागि रोक्न र अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरेको छ ।

  • स्वास्थ्य मन्त्रालयले भन्योः मर्निङ वाक नगर्नूस, सवारीसाधन सकभर नचलाउनूस्

    स्वास्थ्य मन्त्रालयले भन्योः मर्निङ वाक नगर्नूस, सवारीसाधन सकभर नचलाउनूस्

    काठमाडौं । विभिन्न जिल्लामा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा चरम प्रदुषण फैलिएपछि जनस्वास्थ्य जोखिममा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी सचेतता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी यस प्रदूषणबाट श्वासप्रश्वास लगायत विभिन्न समस्या उत्पन्न हुन सक्ने जनाएका छन् । प्रदूषणको प्रभावलाई रोकथाम गर्न उनले चार बुँदे निर्देशन पनि दिएका छन् ।

    घरबाहिर खुल्ला स्थानमा नबस्न, मर्निङवाक नगर्न र घरबाहिर गएर शारीरिक व्यायाम नगर्न विज्ञप्तिमा भनिएको छ । ‘बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं,’ मन्त्रालयले भनेको छ ।

    यसैगरी फोहोरको उचित व्यवस्थापन गर्न तर फोहोर जलाउने काम नगर्न मन्त्रालयले सल्लाह दिएको छ । घरबाहिर सकभर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न तथा कोभिड १९ का मापदण्ड पालना गर्न विज्ञप्तिमा भनिएको छ ।

    धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय र निर्माण कार्य केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अत्यावश्यक काम नभइ सवारीसाधन नचलाउन पनि भनिएको छ ।

  • जनस्वास्थ्यविद भन्छन्ः प्रदुषणले बच्चा र ज्येष्ठ नागरिक जोखिममा

    जनस्वास्थ्यविद भन्छन्ः प्रदुषणले बच्चा र ज्येष्ठ नागरिक जोखिममा

    काठमाडौं । देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण काठमाडौंको वायू प्रदुषण उच्च तहमा पुगेको छ । यो अवस्थामा खासगरि बालबच्चा र वृद्धवृद्धाहरुले उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।

    जनस्वास्थ्यविद डा. समिरमणी दिक्षितले डढेलोबाट निस्केको धुवा वायूमण्डलमा फैलिएका कारण त्यसले आँखा पोल्ने समस्या सुरु भएको बताए । अहिलेको वायूप्रदुषणबाट जोगिनका निम्ति मास्क अनिवार्य लगाउनुपर्ने उनको सुझाव छ ।

    डा. दिक्षितले नेपाल प्रेससँग भने, ‘यस्तो बेला विशेषतः आँखालाई बचाउनुपर्छ । सकेसम्म घरबाहिर ननिस्किने र निस्कनैपर्यो भने अनिवार्य मास्क लगाउने ।’ उनले केही दिन मर्निङ वाक नगर्न र खुल्ला स्थानमा व्यायाम पनि नगर्न सुझाव दिएका

  • डढेलोको धुवाँले कुहिरीमण्डल काठमाडौं‌‌ (तस्विरहरु)

    डढेलोको धुवाँले कुहिरीमण्डल काठमाडौं‌‌ (तस्विरहरु)

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार अनायास मौसम बिग्रिएर दिउँसै अँध्यारो छाएको छ । साथै, घरभित्रै बस्दा पनि आँखा पीरो हुने गरी वायु प्रदुषण बढेको छ ।

    अहिले पानी पर्ने वा हावाहुरी आउने कुनै सम्भावना नभएको मौसमविद्ले बताएका छन् । उनीहरूको भनाइअनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोले गर्दा काठमाडौंको आकाश खराब भएको हो ।

    वातावरणविद् भुषण तुलाधरले काठमाडौंमा मात्र नभएर देशका अन्य ठाउँमा पनि वायू प्रदुषण बढेको बताए । प्रदुषणले गर्दा आँखा पोलेको मात्र नभइ कतिपयमा स्वासप्रश्वासको समस्या समेत देखिने उनको भनाइ छ । ‘प्रदुषण बढेको ठाउँमा अनिवार्य मास्क लगाएर बाहिर आवतजावत गर्नुपर्छ,’ उनले भने ।

    यसैगरी मौसमविद् बरुण पौडेलले तीन जिल्लाको डढेलोबाट निस्केको धुँवा काठमाडौंको आकाशमा आएर वायू प्रदुषित बनेको बताएका छन् । ‘यहाँको स्थानीय प्रदुषण त छँदैथियो, डढेलोको धुवाँले थप बिग्रियो,’ उनले नेपाल प्रेससँग भने ।

    जनस्वास्थ्यविद् समीरमणी दिक्षितले अहिलेको वातावरणमा ज्येष्ठ नागरिक र स्वास्प्रश्वास सम्वन्धी समस्या भएकाहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सकेसम्म कम र परेको खण्डमा मास्क लगाएर मात्रै बाहिर निस्कौं । मर्निङ वाक केही दिनलाई रोकौं ।