Category: स्वास्थ्य-जीवनशैली

  • बाँकेमा लकडाउन घोषणा

    बाँकेमा लकडाउन घोषणा

    रुपन्देही । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालगञ्‍ज उपमहानगर क्षेत्रमा १ साताको लकडाउन घोषणा गरिएको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको हो ।

    आज राति १२ बजेबाट वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकार शिवराम गेलालद्वारा जारी आदेशमा जनाइएको छ ।

    उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरूका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन गरिएको आदेशमा उल्लेख छ ।

    अत्यावश्यक कामबाहेकका हिंडडुलमा समेत प्रतिबन्ध लगाइएको र निषेध गरिएका कार्य गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने बताइएको छ ।

  • अमेरिका, बेलायत, न्यूजिल्यान्ड र हङकङद्वारा भारत नजान निर्देशन, एकैदिन ३ लाख संक्रमित थपिए

    अमेरिका, बेलायत, न्यूजिल्यान्ड र हङकङद्वारा भारत नजान निर्देशन, एकैदिन ३ लाख संक्रमित थपिए

    दिल्ली । भारतमा बुधबार एकैदिन झन्डै ३ लाख कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा परिवार कल्याण महाशाखाका अनुसार २ लाख ९४ हजारमा नयाँ भाइरस संक्रमित पुष्टि भएको हो ।

    अहिलेसम्मकै दोस्रो सर्वाधिक संक्रमित संख्या भएको जनाइएको छ । मंगलबार २ लाख ९४ हजार २९१ संक्रमित थपिएका थिए ।

    महामारीयता पहिलोपटक एकैदिन मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । २,०२३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा थप ६२ हजार जना संक्रमित थपिएका छन् ।

    भारत विश्वमै चौंथो सर्वाधिक मुलुक बनेको छ । भारतमा संक्रमित संख्या बढ्दै गएपछि अमेरिका, बेलायत, हङकङ, न्यूजिल्यान्ड लगायतका मुलुकले आफ्ना नागरिकलाई भारत नजान ट्राइभल एड्भाइजरी जारी गरेका छन् ।

    अमेरिकाले आफ्ना नागरिकलाई भारत नजान निर्देशन दिएको छ । बेलायतले भारतबाट बेलायत आउन रोक लगाएको छ । हङकङ र न्यूजिल्यान्डले उडान बन्द गरेका छन् ।

  • कोरोनाको ‘हट स्पट’लुम्बिनी प्रदेश- अस्पताल भरिभराऊ, स्कुल बन्द नहुँदा बालबालिकामा सल्किँदै संक्रमण

    कोरोनाको ‘हट स्पट’लुम्बिनी प्रदेश- अस्पताल भरिभराऊ, स्कुल बन्द नहुँदा बालबालिकामा सल्किँदै संक्रमण

    रुपन्देही । मंगलवार भेरी अञ्चल अस्पतालमा १९३ जनाको पीसीआर परीक्षण गर्दा १८९ जनामा कोरोना संक्रमण देखियो । यस्तै अवस्था लुम्बिनी प्रदेशका धेरै जिल्लामा बढिरहेको छ ।

    दोस्रो लहराको कोरोना महामारी देखिएपछि लुम्बिनी प्रदेशका कोरोना अस्पतालहरु संक्रमितहरुले भरिभराउ भएका छन् । दैनिकरुपमा कोरोना संक्रमण दर बृद्धि भएपछि थेग्न नसक्ने गरी विरामीहरु अस्पताल पुग्ने गरेका छन् ।

    अस्पतालमा विरामीहरुको चापले लुम्बिनी प्रदेश कोरोनाको ‘हट स्पट’ बनेको छ । तर सर्वसाधारणले भने स्वास्थ्य मापदण्डको पालनालाई गम्भीरतापूर्वक लिएका छैनन् ।

    कोरोना संक्रमणको दोस्रो लहरमा लुम्बिनी प्रदेशका धेरै स्थानमा बालबालिकामा संक्रमण दर बढी देखिएको छ । कोरोना भाइरस संक्रमणमा नयाँ भेरियन्ट बढी संक्रामक र बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

    बालबालिकामा कोरोना संक्रमण बढी दखिएपछि देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको भएपनि त्यसको यस क्षेत्रमा पालना भएको छैन ।

    उकालो लाग्दै संक्रमणकाे ग्राफ

    बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन् । यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन् । अहिले पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । यीमध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यो तथ्यांकसहित लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । भारतबाट भित्रिनेको संख्या बढेसँगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो । यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको थिए । सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए । तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन् । दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए । बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ ।

    भेरी अस्पतालमा लक्षणसहितका ४८ जना उपचार गराइरहेका छन् । आईसीयूमा ३२ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेजले आईसीयूमा २२ जनाको उपचार गरिरहेको छ ।

    प्रदेशमा चैत २६ गते ५० जना संक्रमित थपिएका थिए। त्यसको १० दिनपछि वैशाख ६ गते ४ सय ६६ जना संक्रमित थपिए । गत वर्ष वैशाखदेखि यहाँ संक्रमण उच्च दरमा बढेको थियो । चैतसम्म आउँदा संक्रमण कम बिन्दुमा झरी महिनाभर जम्मा ७ सय ३२ जना संक्रमित भएका थिए । कोरोना संक्रमणबाट सोमबार पाँच जनाको ज्यान गएको छ ।

    सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेशमा कोरोना संक्रमणदर ५३.२६ प्रतिशत रहेको र परीक्षण गर्न आउनेमध्ये आधाभन्दा धेरैमा कोरोना देखिएको जानकारी दिएका छन् ।

    आईसीयू र भेन्टिलेटरमा रहेका विरामीमा स्वासप्रश्वास, खोजी, ज्वरो, उच्च रक्तचाप लगायतका समस्या देखिएको भीम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए ।

    जिल्लाका सरकारी र निजी गरी ६ अस्पतालले कोभिड संक्रमितको उपचार गर्दै आएका छन् । सबै अस्पतालहरुमा गरेर जम्मा आईसीयू ३७ र भेन्टिलेटर १० छन् । अहिले सबै भरिन थालेका छन् । संक्रमण यसैगरी तीव्ररुपमा फैलियो भने रुपन्देहीमा आईसीयू र भेन्टिलेटर अभाव त हुन्छ नै संक्रमित राख्ने बेड अभाव पनि हुने देखिएको छ ।

    कोरोनाका विरामी दैनिक बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सरकारी अस्पतालहरुमा अक्सिजनसहितको बेड संख्या थप्ने, होटलहरुलाई आइसोलेन सेन्टर बनाउने र निजी अस्पतालहरुमा कोभिड उपचारसहितको आईसीयू र भेन्टिलेटर बनाउने तयारी सुरु गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

    बालबालिकामा संक्रमण दर बढी

    कोरोना संक्रमणको दोस्रो लहरमा लुम्बिनी प्रदेशका धेरै स्थानमा बालबालिकामा संक्रमण दर बढी देखिएको छ । कोरोना भाइरस संक्रमणमा नयाँ भेरियन्ट बढी संक्रामक र बालबालिकालाई बढी असर गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । यस कारणले पनि संक्रमणको दर बालबालिकामा बढी देखिए उनीहरुको आंकलन छ ।

    अहिले धेरै बालबालिकामा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखिन थालेका छन् । अहिलेको नयाँ कोरोना भाइरस संक्रमण भएमा सन्चो हुने दर समेत कम रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले बताए ।

    यसअघिको कोभिडको संक्रमण दर बालबालिकामा कम थियो । नयां भेरियन्टमा भने विद्यालय अध्ययन गर्ने बालबालिकामा देखापर्नुले गम्भीर बन्नुपर्ने अवस्था आएको चिकित्सकहरुको भनाइ छ ।

    लुम्बिनी प्रदेशका मुख्य शहरहरु बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहोलपुर, नेपालगञ्जमा बालबालिकामा संक्रमण बढिरहेको छ । रूपन्देहीमा एक हप्तामा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । बांकेमा ५५ जना बालबालिकामा संक्रमण देखिएको छ  ।

    विद्यालय बन्द गरिएनन्

    कोभिड–१९ को नयाँ प्रजाति फैलिएपछि सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको भएपनि त्यसको यस क्षेत्रमा पालना भएको छैन । मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभर मख्य शहरी क्षेत्रको विद्यालय बन्‍द गर्ने निर्णय गरेको हो ।

    सरकारको उक्त निर्णयपछि जिल्लास्तरमा बसेका डिसीएमसीका बैठकले स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय सञ्चालन गर्ने अनुमति दिएको छ । यसरी सञ्चालनमा रहेका विद्यालयहरु मध्ये धेरैमा शिक्षकहरु नै संक्रमित भएको बताइएको छ तर विद्यालय बन्द नगरिएको अभिभावकहरुको गुनासो छ ।

    अभिभावकहरुले आफूहरुले बच्चा विद्यालय नपठाउदा फोन गरि पठाउन दवाव दिएको गुनासो गरेका छन् । परिक्षा नजिक आएका कारण विद्यालयको भनाइलाई नकार्न नसकि डराईडराई बच्चा पठाउनुपरेको उनीहरुको भनाइ छ ।

    रूपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपनि मापदण्ड पालनामा उदासीनता देखिएको छ । बालबालिकालाई विशेष निगरानी राख्ने बेलामा खासै चासो नदिएको चिकित्सकहरु बताउँछन् ।

    बालबालिकालाई भिडभाडमा जानबाट जोखाउने, विद्यालय पढाउंदा जनस्वास्थ्यका मापदण्ड आनिवार्य पालना गर्न लगाउनेजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्वन गर्नुपर्ने बालरोग विषेशज्ञ डा.सन्तोष पोखरेल बताउँछन् । सहरी क्षेत्रका परीक्षा सञ्चालन भएका विद्यालयबाहेक अन्य विद्यालय बन्द गर्न सरकारले निर्देशन गरेपनि सरकारको निर्देशनलाई विद्यालय सञ्चालकहरुले पालना गरेका छैनन् ।

    उपत्यकाका तीन जिल्लासहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुुर आदि सहरमा बैशाख मसान्तसम्म भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

    लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगर पालिकाले मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मेयर धवलशमशेर राणाले कोरोना दर उच्च देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।

    भरिए अस्पताल

    अस्पतालहरुमा दिन प्रतिदिन विरामी संख्या बृद्धि भएको लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले बताए । उनले प्रदेश सरकार मताहतमा रहेका लुम्बिनी प्रदेशका ४ वटा अस्पतालहरुमा कोरोनको विरामीहरु संख्या उच्च रहेको उनको भनाइ छ । उनका अनुसार हाल लुम्बिनी अस्पताल बुटवलको माताहतमा रहेको बुटवलको धागो कारखाना रहेको कोरोना विशेष अस्पताल, दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल, नेपालगञ्जको भेरी अस्पताल र भैरहवाको भिम अस्पतालमा नयाँ विरामीहरुका लागि वेड खाली रहेको छैनन् ।

    दाङको बेलझुन्डीमा रहेको कोराना अस्पतालमा पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोभिड–१९ संक्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।

    उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शैया छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्‍न बाध्य छौँ ।”

    पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएकाले यसपछि आउने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्‍ने चिन्ता रहेको वलीले बताए । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक जना छन् ।

    नेपाल संस्कृत विश्‍वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्‍चालित छ । अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्‍चालन भइरहेका छन् । माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्‍चालन गर्न पाएमा ५५ सैयासम्म सञ्‍चालन गर्न सकिने वलीले बताए ।

    एकैदिन ६ जनाको मृत्य

    रुपन्देहीमा कोरोनाको संक्रमण कति भयावह बन्दै छ भन्ने स्थिति दैनिक भैरहेको विरामीको मृत्युले प्रष्ट पारेको छ । रुपन्देहीमा एकैदिनमा ६ जना कोभिड संक्रमित विरामीको मृत्यु भएको छ । भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचाारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

    बाँकेमा ’लकडाउन’

    कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिए ।

    बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ । एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरू भरिभराउ भएका छन् ।

    पाल्पामा दिनहुँ बढ्दै

    पाल्पामा केही महिनादेखि शुन्य रहेको कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । पिसिआर परिक्षण गरिएका व्यक्तिहरुमध्ये करीव ५० प्रतिशतमा कोरोना सक्रमण देखिएपछि पाल्पामा संक्रमणको दर उकालो लागेको हो ।

    पाल्पामा मंगलबार मात्र ३९ जनाको पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ८ जना, बगनासकाली, पूर्बखोला र रिब्दिकोट गाउँपालिकाका २/२ जना,रैनादेबी छहरा गाउँपालिकामा ४ जना र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    पाल्पामा हालसम्म संक्रमितको संख्या २ हजार ५५ पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ६३ जना निको भएका छन् भने ३८ जनाको मृत्यु भएको छ ।

  • नमूना नै नलिई पीसीआरको रिपोर्ट नेगेटिभ ?

    नमूना नै नलिई पीसीआरको रिपोर्ट नेगेटिभ ?

    रासस । मानिसको स्वाब संकलन नै नगरी कोभिड-१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ ।

    काठमाडौँको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर यस्ता नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ ।

    वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना संकलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी ‘पीसीआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ ।

    त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ । उनीहरुले प्रतिव्यक्ति नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ ।

  • उपत्यकाका सीडीओको बैठक : कोरोना नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्ने (भिडियो)

    उपत्यकाका सीडीओको बैठक : कोरोना नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्ने (भिडियो)

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

    मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीहरू समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले हिजो (वैशाख ६) मा गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणबाट बच्न व्यापक रूपमा प्रचार-प्रसार गर्ने, सरोकारवालाहरूसहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको छ ।

    सरकारले २०७८ वैशाख मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्धजस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउनेलगायतको निर्णय गरिसकेको छ ।

    स्थानीय प्रशासनहरूले सरकारको सोही निर्णयलाई कार्यान्वयनमा ल्याएका हुन् ।

  • कोरोना जोखिम: सार्वजनिक यातायातमा नयाँ मापदण्ड लागू

    कोरोना जोखिम: सार्वजनिक यातायातमा नयाँ मापदण्ड लागू

    काठमाडौं । पछिल्ला दिनमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै उपत्यकाको सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ ।

    यातायात व्यवसायीसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा कोरोना जोखिम वृद्धि भएको भन्दै सार्वजनिक सवारीसाधनमा महामारी नियन्त्रणका लागि ८ वटा मापदण्ड लागू गराउने निर्णय भएको हो ।

    जिल्ला प्रशासन कार्यलयका काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले महामारीको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक यातायतमा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएकाले सार्वजनिक यातायतमा सिट क्षमता भन्दा धेरै यात्रु राख्न नपाउने र सबै यात्रुले अनिवार्य प्रयोग गर्नुपर्ने छ ।’

    अब सार्वजनिक यातायातमा यात्र गर्दा यात्रु आफैंले पनि कोरोनासँग सर्तक रहनु पर्ने उनको भनाइ छ ।

     

  • बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

    बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

    रूपन्देही । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ ।

    डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    गत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।

    ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना विशेष वार्डहरु भरिभराउ भएका छन् ।

    यस्तै मंगलबार भेरी अञ्चल अस्पतालमा १९३ जनाको पिसिआर परीक्षण गर्दा १८९ जनामा पोजेटिभ देखिएको छ ।

  • भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो

    दिल्ली । कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५३ लाख २१ हजार ८९ जना कोरोना सङ्क्रमित भएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट एकै दिनमा २ लाख ५९ हजार १७० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ७६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या १ लाख ८० हजार ५३० पुगेको देखिएको छ ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २० लाख ३१ हजार भन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या १ करोड ३१ लाख ८ हजार ५८२ पुगेको छ ।

    भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ७० भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

    भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

    भारतमा सोमबार मात्रै १५ लाख १९ हजार ४८६ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २० सम्म कूल २६ करोड ९४ लाखभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ ।

  • एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा

    एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा

    पोखरा । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका-२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा ४ वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै र ५ लाख रुपैया बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो ।

    स्वास्थ्यचौकीले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखासँग जनशक्तिको माग गर्दै आए पनि हालसम्म उपलब्ध नहुँदा मेसिन भएर पनि सामान्य एक्सरे गर्न सो क्षेत्रका बासिन्दालाई पोखरा पठाउनुपरेको स्वास्थ्य केन्द्रका प्रमुख प्रताप पौडेलले जानकारी दिए। उनका अनुसार मेसिन सञ्चालन नहुँदा बिग्रने समस्या बढेको छ भने स्थानीय जनताले पनि असुविधा भोग्नुपरेको छ । केन्द्रमा एक्सरे गर्नुपर्ने १५ देखि २० बिरामी आउने गरेका छन् ।

    स्वास्थ्य बीमाको सुविधासमेत रहेको सो केन्द्रमा आकस्मिक सेवा, प्रयोगशाला, २४ घण्टा प्रसूति सेवा, बच्चाको खोप, इसिजी, परिवार नियोजनलगायतका सेवासहित नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधिसमेत उपलब्ध गराउँदै आएको उनले सो केन्द्रको स्थलगत अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मालाई जानकारी गराए। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा स्वास्थ्य केन्द्रको हातामा निर्माण भएको ४ वटा सटरसहितको ट्रष्ट फार्मेसी भवनको अनुगमनका लागि सो स्थानमा पुग्नुभएका शर्माले एक्सरे मेसिन सञ्चालनका लागि आफूले महानगरसँग समन्वय गर्ने विश्वास व्यक्त गरे ।

    सो केन्द्रमा दरबन्दीअनुसार एक चिकित्सक र एक स्टाफनर्ससमेत नहुँदा सेवाग्राहीलाई उपचारमा सोचेजस्तो सेवा प्रदान गर्न नसकिए पनि हाल छात्रवृत्तिमा अध्ययन गरेका एमबिबीएसका ३ विद्यार्थीले स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराए पनि आवश्यक जनशक्तिको अभावमा मेसिन सञ्चालन गर्न नसकिएको बताए ।

    पोखराको शिशुवा स्वास्थ्यचौकीमा मेसिन सञ्चालन गरी निरन्तर सेवा प्रदान गर्दै आएको बताउँदै उनले बोर्डले उपलब्ध गराएको पोखरा-१६ अर्मला र कृष्ति स्वास्थ्य केन्द्रको मेसिन लामो समयदेखि प्रयोगमा आउन नसकेको जानकारी दिए । कतिपय उक्त मेसिनमा प्रयोग हुने सामग्रीसमेत पाउन कठिन भइसकेको छ । वैकल्पिक व्यवस्था गरेर भए पनि एक्सरे मेसिन सञ्चालन गरेर स्थानीयवासीलाई सुविधा पुर्‍याउन महानगरले पहल शुरु गरेको बताउँदै महाशाखा प्रमुख शर्माले भने, ‘नजिकै पोखरा बजारमा सबै किसिमका स्वास्थ्य सेवा हुने हुँदा स्वास्थ्यचौकीमा सेवाग्राहीको सङ्ख्यामा समेत कमी हुने गरेको छ ।’

  • बिरामीमा कोरोना देखिएपछि सिरहा अस्पतालको ओपीडी कक्ष सारियो

    बिरामीमा कोरोना देखिएपछि सिरहा अस्पतालको ओपीडी कक्ष सारियो

    सिरहा । सिरहा अस्पतालको ओपीडी कक्षमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि ओपीडी कक्ष अर्को कोठामा सारिएको छ ।

    चारदिन अगाडी अस्पतालमा भर्ना भएकी सिरहा नगरपालिका ४ रमौलकी महिलामा कोरोना पुष्टि भएसगै ओपिडी कक्ष नै स्थान्तरण गरिएको हो ।

    कोरोनाको लक्षण देखा परेको र पिसिआर परीक्षण गर्दा पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले जानकारी दिए ।

    डा. यादवका अनुसार बिरामी महिला भारतको दरभंगाबाट सिरहा फर्केलगत्तै उनी विरामी भएपछि उपचार गराउन अस्पताल भर्ना भएकी थिइन् । कोरोना पुष्टि भएपछि उनलाई अलगै राखेर उपचार भइरहेको छ ।

    कोरोना पुष्टि हुनु अगाडी उनको ओपीडी कक्षमा उपचार गरिएको थियो । त्यहांबाट कोरोना फैलिनै जोखिम रहेकाले ओपिडी कक्ष अन्य कोठामा सारिएको डा. यादवले बताए ।

    अस्पतालमा कोरोनाका अन्य शंकास्पद बिरामीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको र आज रिपोर्ट आउने डा. यादवले जानकारी दिए ।

  • आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं । सरकारले मंगलबार पनि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिए ।

    सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर सोमबार र मंगलबार ५महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालेको छ । उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढीलाई जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

    उनका अनुसार भिटामिन ‘ए’ ६ महिनादेखि १ वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल (१ लाख युनिट) र १ वर्षदेखि ५ वर्षमुनिकालाई एकवटा क्याप्सुल (२ लाख युनिट) तथा जुकाको औषधि १ वर्षदेखि २ वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलीग्राम) र २ वर्षदेखि ५ वर्षमुनिकालाई एक ट्याबलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ ।

    सरकारले विसं २०५३ बाट भिटामिन ‘ए’ र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा २ पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ । बालभिटा ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ । विसं २०७२ बाट शुरु गरिएको बालभिटा ८ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ वटा जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।

  • जापानले पाँच मिनेटमै कोभिड सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिड सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    काठमाडौं । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो ।

    यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्ने छ ।

    यो प्रविधिले अब यहाँ कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।

    उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिए।

  • बालबालिका विद्यालयमा सुरक्षित कि घरमा ?

    बालबालिका विद्यालयमा सुरक्षित कि घरमा ?

    काठमाडौं । मन्त्रीपरिषद्ले हिजो कोरोना संवेदनशील जिल्लाहरुमा सबै शैक्षिक संस्था वैशाखभरि बन्द गर्ने निर्णय लियो । शैक्षिक संस्था सञ्चालन गर्दा बालबालिकाहरु कोरोनाको जोखिममा पर्ने तर्क गरिएको छ ।

    सरकारको निर्णयअनुसार वैशाख मसान्तसम्मलाई काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेललगायत ठूला सहर र सदरमुकामका विद्यालय आजबाट बन्द भएका छन् । बन्द भएका विद्यालयहरुले भर्चुअल कक्षाबाट शिक्षण प्रक्रिया अघि बढाउन सरकारले भने पनि त्यसको प्रभावकारीतामा स्वयम् विद्यालय सञ्चालक नै विश्वस्त छैनन् ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आइतबार एक कार्यक्रममा भनेका थिए, ‘बालबालिकाहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुन्छन् । विद्यालयभन्दा बाहिर सबै नर्मल, बाबुआमा अफिस जाने, छोराछोरी घरमा । अनि छोराछोरी घरमा बसिरहन्छन् ? बाहिर खेल्न जाँदैनन् ?’

    तर, मन्त्रीले यस्तो अभिव्यक्ति दिएकै भोलीपल्ट मन्त्रिपरिषदले १४ जिल्लाका विद्यालय बन्द गर्ने निर्णय लिएको हो । मन्त्रीपरिषदको निर्णयको बचाउ गर्दैउनै शिक्षामन्त्री श्रेष्ठले देशका प्रमुख सहरमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएकोे बताए ।

    विद्यालय बन्द गर्ने पक्षमा शिक्षा मन्त्रालय थिएन । विद्यालय सञ्चालकका संगठनहरुले पनि शैक्षिक सत्र डामाडोल हुने भन्दै विद्यालयहरु सुचारु राख्न मन्त्रालयलाई सुझाव दिएका थिए । तर, स्वास्थ्य मन्त्रालयले भने पहिले नै कोरोनाको जोखिमबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्नैपर्ने सिफारिस गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयको दवावमा नै सीसीएमसीले विद्यालय बन्द गराउन मन्त्रीपरिषदलाई सिफारिस गर्ने निर्णय लियो । स्वास्थ्यमन्त्रीको प्रतिनिधित्व रहेकोे सीसीएमसीमा शिक्षामन्त्री छैनन् । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले विद्याललय बन्द गराउनैपर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलालाई पनि कन्भिन्स्ड गरिसकेका थिए । त्यसैले मन्त्रीपरिषद वैठकमा शिक्षामन्त्री श्रेष्ठले आफ्नो अडान त्यागे ।

    विद्यालय सञ्चालकको असन्तुष्टि

    सरकारको निर्णयमा विद्यालय सञ्चालकहरु असन्तुष्ट छन् । उनीहरुले सरकारलाई शैक्षिक संस्था बन्द नगर्न सुझाव दिँदै आएका थिए । उनीहरु पनि मन्त्री श्रेष्ठ जस्तै बालबालिकाहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुने तर्क गर्छन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी विद्यालय बन्द गर्नाले विद्यार्थीहरूमा कोरोनाको जोखिम बढ्ने बताए । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरेर स्कुल सञ्चालन गर्दा विद्यार्थीहरू सुरक्षित हुने उनको भनाइ छ ।

    ‘अभिभावकले भन्दा शिक्षकले भनेका कुरा विद्यार्थीले मान्छन् । थोरै विद्यार्थी उपस्थित गराएर दुई वटा सिफ्टमा पढाउन पनि सकिन्थ्यो । अब विद्यार्थीहरू घरमा झन् असुरक्षित छन् । विद्यालय नगएपछि भिडभाडमा जान्छन् । जे पायो त्यही खान्छन् । कोरोनाको दर अझ बढ्छ,’ अध्यक्ष पुरीले भने ।

    सरकारको बन्द गर्ने मनस्थिति नहुँदा नहुँदै पनि पब्लिककै प्रेसरले बन्द गर्ने निर्णय लिएको उनको आँकलन छ ।

    ‘सरकारले यसअघि पालिकाहरूलाई अधिकार दिइसकेको थियो । शिक्षामन्त्री स्वयम् पनि बच्चाहरू विद्यालय जाँदा बढी सुरक्षित हुन्छन् भन्नुहुन्थ्यो, ’उनी भन्छन्, ‘तर पब्लिकबाट विद्यालय बन्द गर्न ठूलो दबाब आयो ।’

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा पनि विद्यालय बन्द गरेर कोरोना जोखिम घट्नेमा सहमत छैनन् । कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरू घरमा राखेर बाँकी विद्यार्थीलाई स्कुल पठाउँदा जोखिमबाट न्यूनीकरण हुने उनको तर्क छ ।

    ‘९/१० को विद्यार्थी स्कुल बन्द भए पनि घरमा बस्दैनन् । साथीभाइसँग घुम्न निस्कन्छन् । त्यसले संक्रमणको जोखिम बढाउँछ,’ उनी भन्छन् ।

    पहिलो पटकको लकडाउनपछि लामो समय बन्द हुँदा विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिएको उच्च माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीले बताए । त्यो समस्या फेरि देखापर्न सक्ने उनको चिन्ता छ ।

    ‘बच्चाहरू धेरै एक्टिभ नहुने अवस्था बनेको छ । बरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्थ्यो । बन्द नगरेको भएहुन्थ्यो,’ उनी भन्छन् ।

    शिक्षाविद्को तर्कः बन्द त गर्नैपर्थ्याे

    शिक्षाविद्हरू भने स्वास्थ्य सुरक्षाका हिसाबले स्कुल बन्द गरेर भर्चुअल सिकाइलाई जोड दिनु नै उचित हुने बताउँछन् । अहिलेको नयाँ भेरियन्टले बच्चाहरुका लागि धेरै असर गर्न सक्ने भनिएकाले विद्यालय बन्द गर्नुको विकल्प नहुने उनीहरुको तर्क छ ।

    शिक्षाविद् बालचन्द्र लुइँटेल भन्छन्, ‘विद्यालयमा कसैलाई संक्रमण देखियो भने एकैपटक हजार–दुई हजारमा सर्न सक्छ । शिक्षकको स–परिवार संक्रमित भएको केस अहिले आएका छन् । स्कुलमा बच्चा गएकै कारण जोखिम बढेको छ ।’

    निजी विद्यालयक सञ्चालकहरूले जनस्वास्थ्यविद्को सल्लाह सुनिदिन उनको आग्रह छ ।

    ‘शैक्षिक क्यालेण्डरलाई त असर गर्ने नै भयो । तर बच्चामाथि व्यवासाय गर्ने साथीहरूले उनीहरूको स्वास्थ्यलाई ख्याल गर्नुपर्यो । कक्षाकोठाको बसाइमा परिवर्तन छैन । सिट एउटै चलाएको छ । बन्द हुँदा जोखिम बढ्यो भन्नुहुन्छ । तर बच्चाहरू खेल्ने ठाउँ कहाँ छ र हाम्रोमा ? जनस्वास्थ्यले मासलाई रोक भन्छ । यो टाइम भनेको कम्प्रमाइज गर्ने समय हो,’ उनले भने ।

    भर्चुअल कक्षा कति प्रभावकारी ?

    अघिल्लो लकडाउनमा नौ महिना विद्यालय पूर्णरुपमा बन्द भए । त्यबेला विद्यालयहरुले भर्चुअल तथा वैकल्पिक कक्षाको अभ्यास गरेका थिए, जुन त्यति प्रभावकारी देखिएन ।

    प्याब्सन अध्यक्ष पुरी भर्चुअल कक्षामा सामुदायिक विद्यालयका १० प्रतिशत विद्यार्थी पनि नसमेटिएको बताउँछन् । यस्तै, निजी विद्यालयका पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्चुअल कक्षाको पहुँचमा नरहेको उनको भनाइ छ ।

    ‘यो नेपालमा प्रभावकारी हुन सक्दैन भन्ने पहिल्यै देखिएको हो,’ उनले भने ।

    हिसान महासचिव भण्डारीले पनि भर्चुअल अभ्यास प्राक्टिकल नदेखिएको बताए ।

    ‘पहिले अभ्यास गरेको कुरा हो । यो त्यति प्राक्टिकल छैन । विद्यार्थीहरू अनलाइनमा आउँदा क्लासमा जस्तो सक्रिय हुँदैनन्,’ उनी भन्छन् ।

    एन-प्याबसनका अध्यक्ष सापकोटा भर्चुअल माध्यमबाट पढाएका विषय विद्यालय खुलेपछि पुनः शिक्षकहरूले दोहो¥याउनुपरेको अनुभव सुनाउँछन् ।

    ‘बच्चालाई इंगेज गर्‍यो भन्नु मात्र हो । त्यो पढाइले कुनै अर्थ राखेन,’ उनी भन्छन् ।

    फेरि विद्यालय बन्द गरिँदा शैक्षिक सत्र बेहाल हुने उनको चिन्ता छ ।

    ‘बच्चाहरूलाई गृहकार्य दिने र अलग-अलग समयमा सब्मिट गर्न विद्यालय बोलाउने र करेक्सन गर्ने गर्नुपर्छ । नत्र शैक्षिक सत्रको बेहाल हुनेवाला छ,’ उनी भन्छन् ।

    स्थानीय तहको जिम्मेबारी

    अहिले विद्यालयस्तरका शैक्षिक संस्थाहरु स्थानीय तहको जिम्मेवारीमा पर्छन् । स्वास्थ्यको मापदण्ड पालना गरेर स्कुल चलाउन सकिने सोचाइ स्थानीय तहहरुको पनि थियो ।

    नेपाल नगरपालिका संघका प्रमुख तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु भन्छन्, ‘बन्द नगरी स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन अगाडि बढाउन सकिन्थ्यो । बन्द नगर्नु पर्ने थियो । विद्यार्थीको एक वर्ष बिग्रियो । अब परीक्षा आउन लागेको छ । जे सम्भावना छ त्यही विकल्प खोज्नुपर्छ ।’

    पहिलेजस्तै टेलिभिजन, रेडियो र अनलाइन जे सम्भावना छ, स्थानीय तहहरूले तिनै माध्यमबाट पठनपाठन सञ्चालन गर्ने कुरामा पहल गर्ने उनले बताए ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सरकारले बन्द गर्नुअघि सिकाइ निरन्तरता अभियानको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

    ‘यो बन्द गर्ने एउटा पत्रले मात्र हुँदैन । पत्र प्रेसित गर्न सजिलो छ । विद्यार्थीको भविष्य पनि सोच्नुपर्छ,’ उनी भन्छन्, ‘सरकारले वैकल्पिक भर्सनबाट सिकाइका लागि आधारभूत कार्यक्रम त बनाउनुपर्छ ।’

    भर्चुअल विधिबाट पहिलाको सिकाइ निरन्तर राख्नका लागि ‘वैकल्पिक सिकाइ निर्देशिका २०७७’ लाई ०७८ बनाएर केही परिमार्जन गरी लागू गनुपर्ने उनको जोड छ ।

    सिकाइ प्रभावकारी बनाउन अभिभावककै बीचमा समूह बनाएर, कतिपय समुदायमा वाइफाइ स्थापना गरेर विश्वसनीय र प्रविधियुक्त बनाएर जान सकिने उनको तर्क छ ।

    ’शिक्षाविद् लुइँटेल पनि अनलाइन कक्षा हुने ठाउँमा सोही माध्यम र नसक्ने ठाउँमा अभिभावसँग शिक्षकले सहकार्य गर्नुपर्ने बताउँछन् ।

  • कोरोना खोपको दोस्रो मात्रा आजदेखि दिइने, यी ठाउँमा लगाउन पाइन्छ खोप

    कोरोना खोपको दोस्रो मात्रा आजदेखि दिइने, यी ठाउँमा लगाउन पाइन्छ खोप

    काठमाडौं । सरकारले माघ र फागुन महिनामा कोरोना खोपको पहिलो मात्र लिएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिने अभियान सुरु गरेको छ ।

    पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र जेष्ठ नागरिकले आजदेखि खोपको दोस्रो मात्रा लिनेछन् ।

    भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप नेपाल ल्याएपछि सरकारले गएको माघ र फागुन महिनामा पटक पटक गरी तीन चरणमा खोप अभियान सन्चालन गरेको थियो । त्यसअनुसार तीनै चरणमा खोप लगाएकाहरुले एकैपल्ट दोस्रो मात्रा दिइनेछ ।

    सुरुमा काठमाडौंको निजामती कर्मचारी अस्पतालबाट मात्रै पहिलो चरणको खोप दिइएकोमा अहिले उपत्यकाका १९ स्थानबाट खोप लिन मिल्ने व्यवस्था गरिएको छ ।

    दोस्रो मात्रा खोप लगाउन पाइने स्थानहरु

    १. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क

    २. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

    ३. शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी

    ४. परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली

    ५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

    ६. निजामती कर्मचारी अस्पताल, मिनभवन

    ७. ओम अस्पताल, चावहिल

    ८. नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु

    ९. नेपाल आयुर्बेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर

    १०. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी

    ११. वीरेन्द्र अस्पताल, छाउनी

    १२. नेपाल प्रहरी अस्पताल, पानीपोखरी

    १३. नेपाल मेडिकल कलेज, अत्तरखेल

    १४. काठमाडौं मेडिकल कलेज, सिनामंगल

    १५. जनमैत्री अस्पताल, बालाजु

    १६. मदरल्याण्ड अस्पताल, जडिबुटी

    १७. हिमाल अस्पताल, ज्ञानेश्वर

    १८. स्तुपा अस्पताल, बौद्ध

    १९. ह्याम्प अस्पताल, धुम्बाराही

  • रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देही । कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा बुटवल उपमहानगर–८ की ६५ वर्षीय महिला र बुटवल–१३ की ७९ वर्षीय महिलाको छन् । त्यसैगरी रानीगञ्ज मोतिपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्यमा महरागञ्ज–९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष छन् ।

    दोस्रो लहर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्रमण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी कोभिड अस्पताल र १ निजी अस्पतालले कोभिडको उपचारका लागि छुट्टाइएको थियो । अहिले ती अस्पताल सबै भरिएको अवस्था छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्रमण दर निकै बढ्दो छ । शहरी क्षेत्रका भिडभाड हुने क्षेत्रबाट संक्रमितको संख्या बढी देखिएकाले र अस्पतालमा बिरामीको चाप बढेकाले सबैलाई सचेत रहन गिरीको आग्रह छ ।

  • धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु

    धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु

    कैलाली । कैलालीको धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरिएको छ । कोरोना संक्रमित बढेपछि उपचारका लागि प्रदेश सरकारले ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरेको हो ।

    सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना अस्पतालको शिलान्यास गरेका छन् । धनगढी उपमहानगरपालिका–१ स्थित कोरोना अस्पतालकै छेउमा थप ५० शय्याको अस्पतालको निर्माण सुरु गरिएको हो ।

    कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै चालु आर्थिक वर्ष अगावै निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । यसअघि निर्माण गरिएको ५० शय्याको कोरोना अस्पतालमा अहिले २१ जना संक्रमितको उपचार भइरहेको छ ।

     

  • सोमबार १,२८१ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

    सोमबार १,२८१ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं । सोमबार मुलुकमा १,२८१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७,५४८ परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

    बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २५५ जना निको भएका छन् ।

    आजसम्म कूल संक्रमित संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने कूल मृत्यु ३,०९१ पुगेको छ ।

  • गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु

    गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा सोमबार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । सोमबार कोरोना पुष्टि हुनेमा कास्कीसहित तनहुँका ६ जना, पर्वत र स्याङजामा ४/४ जना, म्याग्दी र नवलपुरका २ जना, गोरखा, बागलुङ र लमजुङका १/१ जना रहेको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    सोमबार थपिएका नयाँ संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १७ हजार २ सय ३१ पुगेको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबार साँझसम्म ४ जना कोभिड विरामी आइसियूमा र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

    कास्कीमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । चैत ३१ गते कोरोना पुष्टि भएका पोखरा २६ का ६५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको डा शर्माले जानकारी दिएका छन् ।

    ती संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ । कास्कीमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ ।

    करिब ६ सय जना सक्रिय कोरोना केशमध्ये पोखराकामात्रै ४ सयभन्दा बढी छन् । नेपाल सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई अतिप्रभावित जिल्ला घोषणा गरेको छ ।

    कोरोनाको ‘युके भेरियन्ट’ देखा परेको र फेरि महामारीको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले सोमबार शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । साथै, भिडभाडजन्य क्रियाकलाप हुने क्षेत्रहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

  • एन्टिजेन पोजेटिभ देखिएकी महिलाको मृत्यु

    एन्टिजेन पोजेटिभ देखिएकी महिलाको मृत्यु

    विराटनगर । एन्टिजेन पोजेटिभ देखिएकी उदयपुरकी एक महिलाको सोमबार मृत्यु भएको छ ।

    उदयपुर गाईघाटकी ३५ वर्षीया जैनव खातुनको मृत्यु भएको हो। कोशी अस्पतालमा भर्ना गरेको केही समयपछि  बिहान करिब साढे ६ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

    मेसु दासका अनुसार एन्टिजेन पोजेटिभ देखिएकी खातुनको पिसिआर परिक्षण गर्न अगबै मृत्यु भएको हो । मेसु दासले अस्पतालमा ल्याउदा उनको अक्सिजनको लेभल पनि निकै कम भईसकेकाले तत्काल उपचारको तयारी गर्ने क्रममा खातुनको मृत्यु भएको बताए । खातुनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

    एम्बुलेन्स चालक राजा मियाँले उदयपुरबाट विराटनगरसम्म आइपुग्दा खातुनको लागि दुई सिलिन्डर अक्सिजन सकिएको थियो ।
    उनलाई विराटनगर ल्याएपनि एन्टिजेन पोजेटिभ देखिएपछि विराटनगरका ठुला अस्पतालले भर्ना गर्न नमानेको उनले बताए ।

    स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई सोमबार बिहानको राति विराटनगर ल्याएका थिए ।
    अस्पतालले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि भर्ना गर्न नमादा विराटनगरका ठुला भनिएका आधा दर्जन अस्पताल एम्बुलेन्समा राखेर एम्बुलेन्स चालक मियाँले चाहारेका थिए ।

    कुनै अस्पतालले लिन नमानेपछि अन्त्यमा सोमबार विहान करिब ४ बजे कोशी अस्पताल लगिएको थियो ।

  • कञ्चनपुरको भीमदत्त नगरपालिकामा ९ दिन विद्यालय बन्द

    कञ्चनपुरको भीमदत्त नगरपालिकामा ९ दिन विद्यालय बन्द

    कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको विद्यालयहरू ९ दिनका लागि बन्द हुने भएका छन् ।

    सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुखहरूको बैठकले मङ्गलबारबाट ९ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    कोरोना संक्रमण बढ्न थालेको भन्दै वैशाख ७ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

    नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला चन्द सिंहको अध्यक्षमा बसेको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा वैशाख २६ गते पछि गर्ने निर्णय गरेको छ ।

     

  • खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

    खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

    काठमाडौं । सरकारले मङ्गलबारदेखि कोभिड-१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।

    उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।

    विभागले गत माघ १४ देखि १६ तथा वैशाख २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राका खोप उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको थियो । पहिलो मात्रा करिब १८ लाख मानिसले लगाएका थिए ।

    १ लाख २३ हजारलाई ‘भेरोसेल’

    यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ १ लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका १ लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाएको जानकारी दिए ।

    ‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्र र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो । गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाखा मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो । उनले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिए ।

  • कैलालीका ११ सहित १३ जनामा संक्रमण

    कैलालीका ११ सहित १३ जनामा संक्रमण

    कैलाली । कैलालीका ११ सहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १३७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    १३ जना मध्ये ९ जना धनगढी उपमहानगरपालिकामा रहेका छन् । १ जना घोडाघोडी नगरपालिकाका र १ जना बर्दागोरीया गाउँपालिकाका रहेका अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    दार्चुलाको भागेश्वारका र बैतडीको शिवनाथका एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

  • भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५० लाख नाघ्यो

    भारत । कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।सो मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना सङ्क्रमित भएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट एकै दिनमा २ लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या १ लाख ७८ हजार ७६९ पुगेको देखिएको छ ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या १ करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

    भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

    भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाख भन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्ली सवभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ ।

  • आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिए ।

    उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट ५ वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।

    ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ । उनले आज खुवाउन बाँकी भएका बालबालिकालाई भोलि खुवाइने जानकारी दिए।

    उनका अनुसार भिटामिन ‘ए’ ६ महिनादेखि १ वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र १ वर्षदेखि ५ वर्ष मुनिकालाई एक क्याप्सुल (२ लाख युनिट) तथा जुकाको औषधि १ वर्षदेखि २ वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र २ वर्षदेखि ५ वर्ष मुनिकालाई एक ट्यावलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ ।

    भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उनले जानकारी दिए । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ ।

    सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा २ पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

    यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ । बालभिटा ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ ।

    विसं २०७२ देखि शुरु गरिएको बालभिटा ८ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।

  • स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

    स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

    जुम्ला । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

    रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका छन् । जुम्ला तातोपानी गाउँपालिका-८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमा करिब ४० प्रतिशतमा विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको सोही विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए ।

    ‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ’, उनले भने, ‘शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको ५ जना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ । उक्त कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताए । ‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,’ प्रमुख सापकोटाले भने, ‘जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ ।’ उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको उनले बताए ।

    विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए । सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको बताए । यो समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको थियो ।

    यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको बताए। उनले भने, ‘यसमा हेलचेक्र्याइँ गर्नुहुन्न । हरेकले संवेदनशीलता भने अपनाउन जरुरी छ ।’ मौसम बदलिएसँगै जुम्लाको भेरीखोला, सिञ्जा र चौधबीस क्षेत्रमा ज्वरोका बिरामी बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

  • दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित

    दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित

    दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् ।

    सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

  • यी हुन् विद्यालय बन्द हुने शहर, वैशाख मसान्तसम्म कुन-कुन क्षेत्र बन्द हुने भए ? (सूचीसहित)

    यी हुन् विद्यालय बन्द हुने शहर, वैशाख मसान्तसम्म कुन-कुन क्षेत्र बन्द हुने भए ? (सूचीसहित)

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।

    काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

    बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    देशका प्रमुख सहरका कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

    सरकारले नयाँ भेरिएन्टसहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी नियन्त्रणको आदेश २०७८ समेत पारित गरेको छ ।

    मन्त्री श्रेष्ठले जिल्लास्थित डीसीसीएमसीहरुले सिफारिस गरे अनुसार शिक्षण संस्थाहरु बन्द गरिने बताए । विद्यार्थीको भविष्य अन्यौल हुन नदिन वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षाहरु भने नरोकिने उनले बताए ।

    कुन-कुन क्षेत्र बन्द हुँदैछन् ?

    सरकारले मानिसहरुको अत्यधिक भीडभाड हुने क्षेत्र र राजनीतिक दलका सभा समारोहमा समेत वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ । बन्द हुने क्षेत्रका बारेमा विस्तृत २७ बुँदे जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछन् ।

    मन्त्री श्रेष्ठका अनुसार सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रममा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र जोखिम कायमै हुने हुँदा २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    साथै, मठमन्दिर, मस्जिद गुम्बामा नित्यपूजा मात्र गराउने निर्णय पनि भएको छ । आजदैखि मन्त्रिपरिषद्का निर्णय लागू हुने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

  • विद्यालय बन्द नगर्ने, संक्रमण बढे विद्यालय नै जिम्मेवार !

    विद्यालय बन्द नगर्ने, संक्रमण बढे विद्यालय नै जिम्मेवार !

    पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । त्यसमध्ये अधिकांश संक्रमित कास्कीका छन् । पछिल्लो समय पुष्टि भइरहेका कोरोना संक्रमित विद्यालयस्तरका बालबालिका छन् ।

    आफ्ना स्कुलका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भेटिएको भन्दै अहिले पोखराका अधिकांश निजी स्कुलले भौतिक पढाइ बन्द गर्दै अनलाइन कक्षा सुचारु गरिसकेका छन् । तर, कोरोना संक्रमण जोखिम बढ्दै गएको समयमा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा अहिले पोखराका विद्यालय सञ्चालकहरु नै अन्यौलमा छन् ।

    निजी विद्यालयहरु सरकारले तोकेको मापदण्ड पूरा गर्दै विद्यालयलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने सरकारी विद्यालयहरु केही समय बन्द गर्नुपर्ने पक्षमा छन् । एसइईलगायत वार्षिक परीक्षाहरु नजिकिँदै गर्दा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने अन्यौलबीच पोखरा महानगरले शनिबार पोखरा क्षेत्रका विद्यालय सञ्चालकसँग छलफल कार्यक्रम राख्यो ।

    प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पनि विद्यालय, होस्टल आदिबाट कोरोना संक्रमण बढिरहेकाले केही दिन स्कुल बन्द गर्न सुझाइरहेको छ । ‘युके भेरियन्ट’ प्रजातिको कोरोना महामारीको दोस्रो लहरबारे चर्चा चलिरहँदा सरकारले कास्कीसहित देशभरका १४ जिल्लालाई ‘अतिप्रभावित’ जिल्ला घोषणा गरिसकेको छ ।

    तर, पोखरा महानगरले भने तत्काल विद्यालय बन्द नगर्ने र खुलेका विद्यालयबाट कोरोना संक्रमण फैलिएमा स्वयं विद्यालय नै जवाफदेही हुुनुपर्ने नीति लिएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण विद्यार्थीले मानसिक यातना भोग्नु परेको र यस वर्ष पनि सोही अवस्था दोहोरिन नदिने बताउँछन् ।

    ‘परीक्षाहरु अहिले तत्काल नगरौं । बैशाख १० गते पछि हुने परीक्षाहरु भने गरौं । अर्को महिनासम्म सबै परीक्षाहरु सकौं,’ छलफलमा उपस्थित विद्यालय सञ्चालकहरुलाई मेयर जिसीले भने, ‘तर, यो माग तपाईंहरुकै हो । भोलि तलमाथि केही भयो भने तपाईंहरु भड्खालामा पर्नुहुन्छ ।’

    ‘कास्की अतिप्रभावित जिल्ला हुँदै होइन’

    कोरोनाको न्यू भेरियन्ट नदेखिएको र हाललाई जोखिम पनि नभएकाले कास्की अतिप्रभावित जिल्ला नभएको मेयर मानबहादुर जिसीले गरेका छन् । छलफल कार्यक्रममा उनले स्थानीय तहसँग छलफल नगरी कास्कीलाई अतिप्रभावित जिल्लामा राखिएको भनाइ राखे ।

    ‘यहाँको वस्तुस्थितिबारे हामी अध्ययन गर्छौं । हामी एनलाइसिस गरिराखेकै छौं । कास्कीलाई कोरोनाको अतप्रभावित जिल्लाका रुपमा नराखेको भए हुन्थ्यो,’ मेयर जिसीले भने, ‘यहाँ धेरै पर्यटक आउने भएर पो हो कि !’ उनले बिनाअध्ययन स्कुलहरु बन्द गर्दा विद्यार्थीलाई मानसिक आघात पुग्ने दाबी गरे ।

    पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुलले पढाउञ्लेज पढाइ जारी राख्ने र समस्या उत्पन्न भएमात्रै निर्णय गरिने सुनाए । उनले भने, ‘अहिले नै पढाइ बन्द गर्ने निर्णय भएको छैन । तर, १० गते पछाडि आफूअनुकुल परीक्षाहरु सञ्चालन गर्ने छलफल भइरहेको छ ।’

    ‘मन्टेश्वरी बन्द नगरौं, परीक्षा हुँदैन’

    २ महिनाभित्र सबै परीक्षा सक्नु पर्ने महानगरको निर्णयलाई भने कास्की मन्टेश्वरी एसोसियसनले विरोध गरेको छ । मन्टेश्वरी कक्षा चलेको ३ महिना पनि पूरा नभइसकेको अवस्थामा आफूहरु परीक्षा लिन नसक्ने एसोसियसन अध्यक्ष मिलन केसीले बताइन् ।

    माघ पछिमात्रै मन्टेश्वरी खुला गर्न अनुमति पाएको र बैशाखमै परीक्षा गर्न नसक्ने केसीको भनाइ छ । ‘ससाना केटाकेटी छन् । उनीहरु भर्खर हामीसँग आएका छन् । यस्तोबला उनीहरुलाई कसरी अघिल्लो कक्षाका लागि पठाउन सकिन्छ ?’ उनले भनिन्, ‘हामी परीक्षा गर्न सक्दैनौं । पढाइ जारी राख्न पाउनुपर्छ । तर, यसका लागि अभिभावकको स्वीकृति हुनुपर्छ ।’

  • आइतबार थप ८ जनाको कोरोनाले मृत्यु, अहिलेसम्म ३,५६५ बालबालिका संक्रमित

    आइतबार थप ८ जनाको कोरोनाले मृत्यु, अहिलेसम्म ३,५६५ बालबालिका संक्रमित

    काठमाडौं । आइतबार नेपालमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ३,०८३ जनाको भाइरसले मृत्यु भएको छ ।

    २४ घण्टामा १,०९६ जना संक्रमित थपिएका थिए र संक्रमितको आधा काठमाडौं उपत्यकाका थिए ।

    भाइरसको कारण अहिलेसम्म ३,५६५ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता जागेश्वर गौतमले कोरोनाको नयाँ भेरिएन्टले बालबालिकालाई असर नगर्ने भन्ने कतिपय चिकित्सकको भनाइको खण्डन समेत गरेको छ ।

  • आइतबार १,०९६ जना संक्रमित थपिए, काठमाडौंमा मात्र ४३५ जना

    आइतबार १,०९६ जना संक्रमित थपिए, काठमाडौंमा मात्र ४३५ जना

    काठमाडौं । आइतबार नेपालमा १,०९६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५,०८४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । बितेको २४ घण्टामा २६२ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएका छन् । ११६ जना आइसीयूमा छन् । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।

  • लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

    लकडाउनको हल्लाबाटै व्यवसायी आतंकित, मन्त्रालयपिच्छे फरक निर्देशन आएको गुनासो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै १४ वटा जिल्लालाई कोरोनाको अति संवेदनशील सूचीमा राख्यो । ती जिल्लाहरुमा साँझ ७ बजेदेखि भीडभाड हुने व्यवसायहरू सञ्चालन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको आग्रह वाध्यकारी होइन, तर यसले उद्योग-व्यवसायमा प्रभाव पर्न थालिसकेको छ । रेष्टुरेन्ट, क्लब, खेलकुद, पार्टी प्यालेस, जीम, सिनेमा हललगायत व्यवसाय अहिले प्रभावित बनिरहेका छन् । खासगरी रातिको समूहमा हुने व्यवसाय निकै सुस्ताएको छ ।

    अर्कोतर्फ लकडाउनको हल्ला अझै साम्य भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको सम्वोधनमा सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट बताएका थिए । हिजो बसेको सीसीएमसीको वैठकले पनि लकडाउनमा जानेबारे कुनै छलफल र निर्णय गरेन । तर, पनि जनमानसमा लकडाउनको त्रास कायम छ । यसले व्यवसायीहरू चिन्तित छन् ।

    विगतमा ९ महिना लामो लकडाउनले थला परेका व्यवसायीहरु फेरि अर्को लकडाउन थाम्न सक्ने अवस्थामा छैनन् । कथंकदाचित सरकारले लकडाउनकै घोषणा गर्‍यो भने पनि त्यसलाई पालना गर्न नसक्ने उनीहरूको भनाइ छ ।

    नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कट्‍वाल उद्योग र व्यापार क्षेत्रले पूर्णरूपमा स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गरेको बताउँछन् । स्वास्थ्यको मापदण्ड पूरा गर्दागर्दै पनि सरकार पुनः लकडाउनका लागि अगाडि बढ्यो भने निजी क्षेत्रले त्यसको प्रतिकार निजी क्षेत्रले गर्ने उनले चेतावनी दिए ।

    कट्‍वालले भने, ‘जनस्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालन गर्दा पनि सरकारले साँझ ७ बजेदेखि भीडभाड कम गर्न अनुरोध गरेको छ । हामीले भीडभाड कम गरेर नै व्यापार र व्यवसाय सञ्चालन गरिरहेका छौं । यति गर्दा पनि सरकारले फेरि लकडाउन गर्‍यो भने हामी त्यसको प्रतिकारमा उत्रिने छौं ।’

    पहिले पनि लकडाउनको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एकतर्फी निर्णय गरेका थिए । स्वास्थ्य मन्त्रालयले उद्योग-व्यवसायमा मात्रै कोरोना सर्नेजस्तो गरी सूचना निकालेको कट्‍वालको गुनासो छ ।

    ‘पहिले करिब ९ महिना लामो भएको लकडाउनले धेरै कुरा सिकाएको छ,’ उनले भने, ‘अब सरकार लकडाउको बाटोमा जान हु्ँदैन । अनुत्पादनक क्षेत्रमा भएको भीडभाड रोकेर उद्योग र व्यवसायलाई स्वास्थ्यको मापदण्ड लागू गरी निस्वार्थ रुपमा सञ्चानल गर्न दिनुपर्छ ।’

    राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि लकडाउन गर्न लागेको हो भने नमान्ने उनले बताए । लकडाउनपछि बल्ल तंग्रिन लागेको क्षेत्रलाई फेरि समस्यामा पार्ने काम नगर्न कट्‍वालको आग्रह छ ।

    ‘अब पनि लकडाउन भयो भने मान्छे रोगले भन्दा पनि भोकले मर्ने छन्,’ उनले भने ।

    होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना साँझ ७ बजेपछि मात्रै सर्नेजस्तो सरकारले ठानिरहेको बताए । स्वास्थ्य मन्त्रालय, अर्थमन्त्रालय र पर्यटन मन्त्रालयले फरक-फरक सूचना निकालेर थप दु:ख दिइरहेको उनको गुनासो छ ।

    शाहले भने, ‘साँझ ७ बजेपछि मात्रै कोरोना सर्ने होइन । हामीले स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्छ । तर, मन्त्रालय/मन्त्रालय अनुसार नै फरक बुझाइ छ । हामीलाई पर्यटन मन्त्रालयले स्वास्थ्यको मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनेको छ ।’

    ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले साँझ ७ बजेपछि भीडभाड कम गर्नु भनेर स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्नु भन्दा पहिले नै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा भीडभाड कम भएको बताए ।

    सरकारले गत वर्षको चैत महिनामा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको भोलिपल्ट नै आफ्नै निर्देशनलाई खारेज गरेको थियो ।

    अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, भक्तपुर, चितवन, पर्सा लगायत मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल गरिएको छ ।

  • कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द, भिडभाड गर्न निषेध

    कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द, भिडभाड गर्न निषेध

    सुनसरी । कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै सुनसरी सदरमुकामको इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    नगर प्रमुख राजन मेहताले आइतबार विज्ञप्ति जारी गरी कोरोनालाई थप फैलन नदिन नगरभित्रका बिद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

    सर्वपक्षीय छलफलपछि नगरपालिकाले याे निर्णय गरेकाे हाे । स्थानीय सरकारले सरोकारवालासँग छलफल गरेर निर्णय गरेको इनरुवाको नगर शिक्षा समिति सदस्य वसन्त सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार इनरुवाका दुई बिद्यालयका दुई विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको हो।

    सरकारले संक्रमणको अवस्था हेरेर बिद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई नै दिएपछि पहिलोपल्ट सुनसरीमा इनरुवा नगरपालिकाले त्यस्ता क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

    नगरप्रमुखको वक्तव्यमा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि नगरवासीलाई अनुरोध गरिएको छ ।

  • कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

    कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

    नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताए ।

    सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि कुन क्षेत्र कसरी सन्चालन गर्ने र कहाँ बन्द गर्ने भन्ने निर्णय मन्त्रिपरिषद बैठकबाटै हुने ढकालले नेपाल प्रेससँग भने ।

    मन्त्री ढकालले भने- २२/२३ वटा प्रस्तावहरु आएका छन् । सबै विषयमा छलफल भएको छ र शहरी क्षेत्रका विद्यालय विशेषगरि नयाँ भेरियन्ट देखिएका ठाउँमा वैकल्पिक विधिबाट पठनपाठन सन्चालन गर्नुपर्छ भनेर सिफारिस भएको छ । कहिलेदेखि कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय क्याबिनेटबाट हुन्छ ।

    रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ ।

    संक्रमणको दायर हेरेर कतिपय क्षेत्र बन्द गर्नुपर्ने हुनसक्ने बैठकका एक सहभागीले बताए । रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ ।

  • शनिबार ८४३ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

    शनिबार ८४३ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । शनिबार नेपालमा ८४३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५ जनाको मृत्यु भएको छ ।

    ६,००४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् । २२६ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । ३,०७५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ३० देखि ३९ र २० देखि २९ वर्ष उमेर समूहका सर्वाधिक संक्रमित भएका छन् ।

  • नेपालले मिर्गौला शल्यचिकित्सामा असााधरण प्रगति गर्‍यो : प्रधानमन्त्री ओली

    नेपालले मिर्गौला शल्यचिकित्सामा असााधरण प्रगति गर्‍यो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मिर्गौलासम्बन्धी शल्यचिकित्साको क्षेत्रमा असाधारण र नमुना योग्य प्रगति गरेको बताएका छन् ।

    शुक्रबार राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल शल्यचिकित्सक संघको छैठौं वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन् ।‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ । म विल्कुल स्वस्थ्य छु र प्रधानमन्त्रीको जस्तो गहन जिम्मेवारी सम्हाली रहेको छु,’ उनको भनाई थियो ।

    प्रत्यारोपण पछिका १३ महिना आफू विना कुनै स्वास्थ्य समस्या काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले आफू सँगै दुवै पटकका मिर्गौलादाताहरु समेत स्वस्थ्य र सक्रीय रहेको पनि उनले बताए ।

    शल्यचिकित्सा करिब २६ सय वर्षअघि ऋषि श्रुषुतले नेपालमै विकास गरेको प्रसंग उल्लेख गर्दै उनले त्यसपछि लामो समय अन्तरमा १३ वर्ष अघि फेरि नेपालमा आएको प्रधानमन्त्रीले बताए । सन् १९०२ को असफल प्रयासबाट सुरु भएको मिर्गौला प्रत्यारोपण १९५४ देखिको पहिलो सफलता र त्यसपछि क्रमशः प्रगति भइरहेको समेत उनले उल्लेख गरे ।

    पहिलो पटक आफ्नो मिर्गौला प्रत्यारोपण गर्दा देशमा त्यो सुविधा नभएका कारण भारतमा गर्नुपरेका स्मरण गर्दै उनले १३ वर्षपछि सुविधा पाएकै कारण नेपालमा शल्यक्रिया गरिएको उनले बताए ।

    नेपालले पहिलो मिर्गौला प्रत्यारोपण गरेको १३ वर्षमा ठूला उपलब्धीहरु हासिल गरेको समेत प्रधानमन्त्रीले बताए ।

    सार्क तथा विश्वका अन्य क्षेत्रका चिकित्सकहरुको अनुभव आदानप्रदानले यस क्षेत्रमा थप प्रगतिको बाटो खोलेको बिचार उनको थियो ।

    कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा मिर्गौलासम्बन्धी शल्यक्रियामा लामो योगदान गरे बापत प्राध्यापक डा. अर्जुन देव भट्टलाई जीवनकाल उपलब्धी पुरस्कारबाट सम्मानित गरेका थिए । यसै गरी नेपाल युरालोजिकल शल्यचिकित्सक संघलाई निरन्तर सहयोग पुर्याउने भारतीय युरोलोजि विद् डा. रविन्द्र बी साबनिस नेपाल युरोलोजिकल संघको मानार्थ सदस्यता प्रदान गरेका थिए ।