Category: स्वास्थ्य-जीवनशैली

  • यी कामका लागि अब एकसाता राजधानीका सीडीओ कार्यालय नजानुस्

    यी कामका लागि अब एकसाता राजधानीका सीडीओ कार्यालय नजानुस्

    काठमाडौं । राजधानीका तीनवटै सीडीओ कार्यालयले सोमबारदेखि नागरिकता, पासपोर्टलगायत सबै सेवा एक साताका लागि बन्द गरेका छन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सूचना टाँसेर सर्वसाधारणलाई कार्यालय नआउन भनेका हुन् ।

    कोरोनाको दोस्रो लहर बढ्दै जाँदा कर्मचारीहरू समेत संक्रमित भएको र सेवाग्राहीमा समेत जोखिम बढ्ने भएपछि बैशाख २० गतेसम्म सबै सेवा स्थगित गरेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासनबाट स्थगित भएका नागरिकता वितरण,प्रतिलिपि,नबालक परिचयपत्र,राहदानी वितरण तथा सिफारिस,हातहतियार दर्ता नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता लगायतका काम छन् ।

    अत्यावश्यक सेवाअन्तर्गत शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य र अत्यावश्यक सिफारिसमात्र जिल्ला प्रशासनबाट प्रवाह हुनेछन् ।

  • राजधानीका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै काम बन्द

    राजधानीका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै काम बन्द

    काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् ।

    कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।

  • समाचार पढ्दा र अन्तर्वार्ता गर्दा मास्क लगाउन पत्रकारलाई सरकारको आग्रह

    समाचार पढ्दा र अन्तर्वार्ता गर्दा मास्क लगाउन पत्रकारलाई सरकारको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क नलगाउने व्यक्तिको समाचार प्रकाशन प्रसारण नगर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

    मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नपर्ने अवस्था आएको भन्दै मास्क नलगाउने व्यक्तिको समाचार सूचनाहरुलाई निरुत्साहित गर्न र प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ ।

    साथै मन्त्रालयले सञ्चार माध्यममा समाचार पढ्दा, अन्तरवार्ता लिँदा वा समाचार बनाउँदा मास्कको प्रयोग गर्न पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘समय आमसञ्चारमा समाचार पढ्दा, अन्तरवार्ता लिंदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

    मन्त्रालयले कोभिड १९ को महामारीसंग जुद्न लागि सन्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाइरहेको सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह प्रति आभार प्रकट गरेको छ ।

  • ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    ट्रान्जिटमा आउने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा कडाइ गरेको छ ।

    पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लाएको छ । आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड-१९ को परीक्षण गर्ने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई निर्देशन दिइएको छ ।

    सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देश गरेको हो ।

    मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन पनि अनुरोध गरेको छ ।

    मन्त्रालयको निर्देशनलाई अटेर गरेको पाइए कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

  • संक्रमण नरोकिए अस्पतालमा ठाउँ हुने छैन, स्वास्थ्य मापदण्ड निर्विकल्प पालना गरौं

    संक्रमण नरोकिए अस्पतालमा ठाउँ हुने छैन, स्वास्थ्य मापदण्ड निर्विकल्प पालना गरौं

    काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सरकारले नागरिकलाई र जिम्मेवार र अझ संवेदनशील बन्न आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि सूचना निकालेर संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म नहुने जनाएको छ ।

    ‘कोभिड-१९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटना हानै आँखा अगाडि देखिरहेका छौं’,मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, ‘यो महामारीले हालै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दःखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरूका निर्वाह गरेका छैनौं ।’

    शनिबारमात्र नेपालमा थप २ हजार ६१८ संक्रमित थपिएका थिए । भने २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकव छ । नेपालमा हाल सक्रिय संक्रमित संख्या १६ हजार ८२८ छन् ।

    अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण देखिएको भन्दै मन्त्रालयले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन सबैलाई अनुरोध गरेको छ ।

    ‘संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलिन हुन नदिऔं, खबरदारी गरौं । आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसपाइमा ध्यान दिने गरौं’ ,सूचनामा भनिएको छ ।

    समाजका अगुवाहरूको क्रियाकलापहरुलाई सबैले अनुसरण समेत गर्ने भन्दै मन्त्रालयले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न/नगराउन/सहभागी नबनिदिनहुन आग्रह गरेको छ ।

  • कैलालीमा दिनैपिच्छे कोरोना संक्रमितको मृत्यु, अस्पताल खचाखच

    कैलालीमा दिनैपिच्छे कोरोना संक्रमितको मृत्यु, अस्पताल खचाखच

    कैलाली । कैलालीमा कोरानाका कारण दिनहुँजसो मृत्यु हुन थालेको छ । आइतबार जिल्लाको गोदावरी नगरपालिका–३ का ६२ वर्षीया एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार कञ्चनपुर भिमदत्त नगरपालिका– ४ की ५० वर्षीया महिलाको पनि कैलालीमा  मृत्यु भएको थियो ।

    आइतबार मृत्यु भएका पुरुष निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या वैशाख ७ गते अस्पताल भर्ना भएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    दोस्रो लहरको कोरोना फैलिएसँगै कैलालीका ५ जनाको मृत्यु भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन् ।

    अस्पताल खचाखच

    अस्थायी कोरोना अस्पताल भरिएको छ । ५५ शय्याको अस्पतालका सबै बेड भरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । ३ जना भेन्टिलेटरमा छन् । आइसियुमा ७ जना छन् भने अन्य सबैलाई उच्च निगरानीमा राखिएको छ ।

    अहिले ५२ संक्रमितको उपचार भइरहेको छ । अन्य ३ जनामा पनि संक्रमण भएको हुनसक्ने शंकासहित उपचार भइरहेको छ ।

  • प्रदेश २ मा एकैदिन १ सय ३१ जनामा कोरोना पुष्टि, एकको मृत्यू

    जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेको छ । आज शनिवार मात्रै ४१ महिलासहित १ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबभन्दा बढी पर्सामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै रौतहटमा ३२, बारामा १२, धनुषामा १६, महोत्तरीमा र सिरहामा १-१ जना संक्रमित थपिएका हुन् ।

    थप एक संक्रमितको मृत्यू
    प्रदेश २ को पर्साको बिरगञ्ज महानगरपालिका १३ राधेमाई टोल घर भएका ५३ वर्षका पुरुषको कोरोनाबाट मृत्यू भएको निर्देशनालयले पुष्टि गरेको छ । निमोनिया भएपछि अस्पताल भर्ना भएका ति पुरुषमा वैशाख ६ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा गण्डक अस्पतालमा उनको आज दिउँसो मृत्यू भएको हो ।

    योसँगै प्रदेश २ मा अहिलेसम्म कोरोनाबाट मृत्यू हुनेको संख्या २ सय १७ पुगेको छ । सबभन्दा बढी पर्सामै कोरोनाबाट ५७ जनाको भइसकेको छ ।

    संक्रिय संक्रमित बढ्यो
    प्रदेश २ मा संक्रिय कोरोना संक्रमितको संख्या पनि बढेको छ । ३ दिन अघि संक्रमित संक्रमित साढे ६ सय मात्रै थिए । तर, आज त्यो संख्या बढेर १ हजार ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सक्रिय संक्रमितलाई अनिवार्य आइसोलेशनमा राख्नुपर्ने भए पनि प्रदेश २ मा सक्रिय संक्रमित घरमै बसेको पाइएको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार सक्रिय संक्रमित १ हजार ५० जनामध्ये १ हजार ६ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।

  • बाँकेका कोभिड बिशेष अस्पताल बिरामीले भरिभराउ, अहिलेकै अनुपातमा संक्रमित थपिए भयावह हुने

    बाँकेका कोभिड बिशेष अस्पताल बिरामीले भरिभराउ, अहिलेकै अनुपातमा संक्रमित थपिए भयावह हुने

    सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्धार मानिने लुम्बिनी प्रदेशको बाँकेमा कोरोनाले भयावह अवस्था निम्त्याएको छ । अस्पतालमा रहेका बेड भरिभराउ भएका छन भने, अक्सिजन आवश्यकपर्ने विरामीको व्यवस्थापनमा अस्पतालले निकै चुनौती सामना गर्नुपरेको छ ।

    जिल्लामा रहेका दुइ अस्पताल कोरोना संक्रमितको उपचार गर्नका लागि तोकिए पनि पछिल्लो समयमा त्यहाँ रहेका सबै वेड भरिभराउ भएका कारण उपचारमा नागरिकले सास्ती खेप्न थालेका छन् । जिल्ला सदरमुकाम नेपालगञ्जमा रहेका नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल बाँकेलाई कोरोना संक्रमितको उपचार गर्ने भनेर तोकिएको छ । मेडिकल कलेज कोहलपुरमा १ सय १० वेड क्षमता छ भने भेरी अस्पतालमा १ सय ४२ वेड क्षमता मात्रै छ ।

    अहिले दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि अस्पताल र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचार गर्न सकस हुन थालेको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकले समेत नेपालगञ्जका यी अस्पतलामा उपचार गर्ने गरेकाले उपचारमा थप समस्या परेको अस्पताल र स्वास्थ्यकर्मीको भनाइ छ ।

    भेरी अस्पताल बाँकेमा अहिले १ सय ८१ जनाले कोरोनाको उपचार गराइरहेका छन् । ती मध्ये सबैजसोलाई अक्सिजन दिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

    उनले भने, ‘अहिलेसम्म एक सय ८१ जना विरामी भर्ना भइसक्नुभएको छ । १ सय ४२ वेडमा उनिहरुको उपचार गरिरहेका छौं । ६ जना भेन्टिलेटरमा, ५२ जना आइसीयुमा उपचाररत छन् । वेडको संख्या अत्यन्तै कम भइरहेको छ । उपचारमा संलग्न ४० जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भइसकेका छन् । जनशक्ति अपुग छ ।’

    डा. थापा भन्छन्, ‘अहिले दैनिक २ सय ५० किलो देखि ३ सय किलो अक्सिजन खपत भइरहेको छ । हाललाई अक्सिजनको कमि छैन ।’ दुइ वटा अस्पताललाई मात्रै कोभिड अस्पताल भनेर बनाइएको खण्डमा उपचार गर्न नसकिने उनले बताए ।

    ‘नेपालगन्जमा रहेका हरेक अस्पतालमा कोभिड वेड छुट्याएर उपचार गर्न आवश्यक छ । दुइ वटा अस्पतालले मात्रै धान्न सक्ने अवस्था छैन ।’ उनी भन्छन्, ‘अहिले जनशक्ति थप गर्ने प्रक्रिया हामीले सुरु गरिसकेका छौं । अन्यत्र पनि कोभिड वेड राख्ने र अस्पतालमा पनि वेड थप्न सकिएको खण्डमा मात्रै कोरोनाको उपचार गर्न सकिने अवस्था छ । नभए समस्या हुन्छ ।’

    नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अहिले ५६ जना उपचाररत छन् । ती मध्ये एक जनाको भेन्टिलेटर, २६ जनाको आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट दिनेश श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘यहाँ रहेका सबै वेड भरिएका छन् । सुदूरपश्चिक र कर्णाली प्रदेशबाट अधिकांश नागरिक सेवा लिन आइरहेका छन् । कोरोना संक्रमतिलाई सेवा दिन जनशक्ति अभाव भइरहेको छ ।’ उनी भन्छन्, ‘एक हप्तासम्म ३२ जना स्वास्थ्यकर्मी निरन्तर खटाइरहेका छौं । त्यसपछि उनीहरुलाई एक साताका लागि होम आइसोलेसनमा राख्ने गरेका छौं । यसले अन्य सेवा प्रवाहमा कर्मचारीको अभाव देखाइरहेको छ ।’

    उनले अहिलेसम्म प्रदेश वा अन्य कुनै पनि निकायले सहयोग नगरेको गुनासो गरे । ‘गतवर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिने भनेको पौने २ करोड रुपैंया पनि अहिलेसम्म नपाएको गुनासो गरे । उनले भने, ‘अहिलेसम्म हामी आफैले आफ्नै स्रोतबाट कोभिडका विरामीको उपचार धानिरहेका छौं । यहाँ आएका ९५ प्रतिशत कोभिडका विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ ।’ यसरी नै दैनीक रुपमा कोरोना संक्रमण तीव्र भइरहने हो भने हामीलाई सम्हाल्न गाह्रो हुन्छ ।’

    बाँकेमा मात्रै कोरोना संक्रमणका कारण अहिलेसम्म ७७ जनाको मृत्यू भइसकेको कोभिड १९ सम्पर्क व्यक्ति तेज ओलीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘अहिले कोरोनाको उपचार गराउन आएका नागरिक कहिले वेड खाली होलान भनेर कुरिरहेको अवस्था छ । सबैतीरका वेड भरिभराउ छन् । अक्सिजनको अभाव हुने स्म्भावना बढिरहेको छ ।’ उनी भन्छन्, ‘बाँकेमा मात्रै अहिले १ हजार ८ सय २४ जना सक्रिय संक्रमित छन् ।’ बाँकेमा कोरोना संक्रमणबाट उपचार नपाइरहेका नागरिकलाई वेड खाली भएको ठाउँमा तत्काल स्थानान्तरण गर्नुपर्छ ।’

    दैलेख, सुर्खेत, सल्यान, दांङलगायतका जिल्लामा बेड खाली भएको खण्डमा बाँकेबाट विरामी पठाउनुपर्ने अवस्था आएको उनले बताए । उनका अनुसार यसका लागि सबैले पहल गर्न आवश्यक छ । उनले भने, ‘अहिले बाँके कोभिडका कारण रोइरहेको छ । अन्य जिल्लामा यस्तो समस्य छैन भनेर हास्ने समय होइन यो ।’ उनी भन्छन्, ‘अन्य अस्पतालमा बेड खाली भएको खण्डमा विरामीलाई उपचार गर्न दिल खोलेर वेड उपलब्ध गराइदिन म सबैसँग अपिल गर्दछु ।’

    बाँकेमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् । उनले भने, ‘कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमित विरामीको सकेसम्म व्यवस्थापन कार्य गरिरहेका छौं । अझै संक्रमित बढने त्रास उच्च छ ।’ उनि भन्छन्, ‘अहिले भेरी अस्पतालमा १ सय ४२ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ सय १० वेड रहेकोमा ती सबै भरिएका छन् । आएका अन्य विरामीलाई बाहिरै राखेर भए पनि अक्सिजन दिने काम भइरहेको छ । एक दुइ दिनमा हामी दुवै अस्पतालमा २÷२ सय वेड पु¥याउने गरी अघि बढिरहेका छौं । अहिले त्यति आत्तिहाल्नुपर्ने अवस्था नभए पनि केहि दिनपछि भने स्थिति भयावह हुने सम्भावना बढेर गएको छ ।’

    अहिले पनि धेरै मानिसलाई बेड नपुगेको गुनासो आइरहेको बताउँदै आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग सहयोग मागिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले नेपाल प्रेससँग बताए ।

    ‘यहाँ बाँके र बर्दिया बाहेकका कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि विरामी आउने गरेका छन् । कर्णालीको यो मुख्य नाका भएका कारण कर्णाली प्रदेश सरकारले सहयोग गर्छ कि भन्ने आशा गरिरहेका छौं ।’ उनले भने, ‘कोरोना संक्रमितको संख्या बढदो छ । अक्सिजन अस्तिसम्म फालाफाल थियो । अक्सिजनसहितका बेड अहिले कम भइसकेका छन् । खासमा भन्ने हो भने अहिले गुजारा मात्रै भइरहेको छ । होटलमा पनि आइसोलेसन निर्माण गर्ने योजना बनाएका छौं । कम्तिमा ५० वेडको आइसोलेसन सेन्टर होटलमा बनाउने कि भन्ने सोच छ ।’ उनले यहि अनुपातमा कोरोना संक्रमित आएमा बाँकेमा उपचार गर्न असहज हुने बताए ।

    ‘बाँकेमा अहिले फैलिएको कोरोना संक्रमण रोक्नका लागि एक मात्र विकल्प लकडाउन नै हो । लकडाउनको कुनै परवाह नगरेर आम नागरिक सडकमा आउने गरेका छन् । यसलाई कडाईका साथ रोक्न आवश्यक छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, ‘यसका लागि जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीएमसीको वैठकमा लकडाउन कडा गर्ने नगर्ने बारेमा थप छलफल हुनेछ ।’

  • शनिबार २,६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु

    शनिबार २,६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौं । शनिबार मुलुकमा कोरोनाभाइरसका २,६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा थप १४ जनाको मृत्यु भएको विवरण उपलब्ध भएको छ । सोही अवधीमा ३६८ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ ।

    कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या ३,१३६ पुगेको छ ।

  • ब्राजिलमा कोभिडबाट शुक्रबार करिब ३ हजार जनाको मृत्यु

    ब्राजिलमा कोभिडबाट शुक्रबार करिब ३ हजार जनाको मृत्यु

    ब्राजिल । गएको २४ घण्टा यता कोभिड-१९ को संक्रमणबाट यहाँका करिब ३ हजार नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड-१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो ।

    यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४२ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

  • भारतमा एकैदिन ३ लाख ५० हजार सङ्क्रमित

    भारतमा एकैदिन ३ लाख ५० हजार सङ्क्रमित

    दिल्ली । कोरोनाभाइरसबाट भारतमा एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे ३ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।

    यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा २ हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

    योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल १ करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

    कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

    त्यसैगरी अहिलेसम्म १ करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये २ लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।

  • यस्तो बन्दैछ वीरेन्द्र सैनिक अस्पताल, विपदमा ६ हजार जनासम्मको उपचार हुने (तस्बिरहरु)

    यस्तो बन्दैछ वीरेन्द्र सैनिक अस्पताल, विपदमा ६ हजार जनासम्मको उपचार हुने (तस्बिरहरु)

    काठमाडौं । वीरेन्द्र सैनिक अस्पतालमा विपदको अवस्थामा ६ हजार जना सम्मलाई उपचार गर्ने क्षमतासहितको नमुना अस्पताल (मेडिकल सेन्टर फर एक्सिलेन्स) बन्ने भएको छ ।

    सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैया क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार शिलान्यास गरेका छन् ।

    ५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आए पश्चात् नेपालकै नमुना अस्पताल को रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपदको अवस्थामा ६००० जना सम्मलाई उपचार गर्ने क्षमता रहने नेपाली सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सम्बृद्ध नेपाल नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध बताए ।

  • लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

    लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

    यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

  • बाँकेमा कोरोनाको भयावह अवस्था : एकैदिनमा ७ जनाको मृत्यु, अस्पतालमा बिरामी राख्ने ठाउँ छैन

    बाँकेमा कोरोनाको भयावह अवस्था : एकैदिनमा ७ जनाको मृत्यु, अस्पतालमा बिरामी राख्ने ठाउँ छैन

    रुपन्देही । केही सातायता कोरोना संक्रमितको प्रभावित क्षेत्र बनेको बाँकेमा २४ घण्टाको अवधिका उपचारको क्रममा सात जना बिरामीको मृत्यु भएको छ । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले बताए ।

    यो घटनासँगै २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमित बिरामीको मृत्यु भएको वलीले बताए । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

    यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएका वलीले बताए । यी घटनासँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

    बिरामीलाई भुइँमै राखेर उपचार
    केही सातायता बाँकेमा कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन गरिएको छ । अहिले बाँकेका सबै अस्पताल भरिएका छन् ।

    केही दिनयता बाँकेमा कोरोना संक्रमित बिरामीलाई उपचारको लागि भर्ना गर्न कोभिड अस्पतालमा बेड पनि अभाव हुन थालेको छ ।

    नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा बेड पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

    अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारको लागि तयार गरेको कोभिड वार्डका सबै १ सय ४२ बेड भरिएको थापाले बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकोले आउँदा दिनहरु अझै भयावह हुने सम्भावना बढेकाले स्वास्थ्यकर्मी थप चिन्तित छन् ।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका विरामीले भरीभराउ भएकोले अक्सिजनको मात्रा कम भएका विरामीलाई घर पठाउनुपर्ने बाध्यता आइसकेको बताए । उनले संक्रमण रोकथाम र संक्रमित गम्भीर प्रकृतिका विरामीलाई उपचार व्यवस्था मिलाउन सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

    संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा.आसिम किदवाईले अस्पतालमा बेड अभाव भएकोले विरामीलाई भर्ना गर्न नसकिने अवस्था रहेको बताए ।

    शिक्षण अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुले आइसियु बेड पर्खेर बसेको बताउँदै संक्रमित विरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर जान लागेको बताए ।

    भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए अहिले प्राय सबैमा संक्रमण देखिएको बताए ।

    कोरोना संक्रमित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित बन्न थालेका छन् ।

    बाँकेका कोभिड संक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर संक्रमितको संख्या बढिरहेकोले अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

    नेपालगञ्जका पत्रकार भेषराज बस्नेतले अहिले नेपालगन्ज उपमहानगरपालिकामा लकडाउन भएपनि बाहिर सबै खुला रहेको बताए । अहिले पनि दिनहुँ भारतीय नाकाबाट नेपालीहरु आइरहेको र सबै सिधै गाउँ गइरहेकाले भोलिका दिनमा थप भयानक स्थिति आउनसक्ने बताए ।

    लापरबाहीले स्थिति भयावह
    बाँकेबाट लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका मन्त्री महेन्द्र यादवले कसैले कल्पना नगरेको महामारीले बाँकेलाई भयावह बनाएको बताए ।

    उनले जनशक्ति अभावमा सबै बिरामीलाई उपचार गराउन नसकेको नेपाल प्रेसलाई बताए । ‘म हिजैदेखि जिल्लामा बसेर सबै संयन्त्रलाई चुस्त राख्न आग्रह गरेको छु, अहिले उपचार भइरहेका भेरी अस्पताल र मेडिकल कलेजमा मात्रै उपचार सम्भव नभएकाले सबै निजी अस्पताललाई कोभिड उपचारका लागि आग्रह गरिएको छ । स्वास्थ्यकर्मीले १५ दिन अगावै लकडाउन नभए स्थिति नियन्त्रण बाहिर जाने सुझाव दिए पनि हामीले कार्यान्वयन गर्न सकेनौं । यसबाट सबैले पाठ सिक्नुपर्दछ,’ उनले भने ।

    प्रदेश सरकारले आवश्यक आर्थिक व्यवस्थापन गर्ने र केन्द्र सरकारसँग पनि समन्वय गरी थप उपचारको बन्दोबस्त गर्ने तयारी गरेको मन्त्री यादवले बताए ।

  • सुदूरपश्चिममा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै कैलालीमा संक्रमित फेला परेका छन् । कैलालीमा मात्रै ५३ जनामा संक्रममण पुष्टि भएको हो । धनगढीमा सबै भन्दा धेरै २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै कैलालीकै गोदावरीमा ६ जना, घोडाघोडीमा ८ जना, टीकापुरमा ४ जना, जानकीमा ४ जना, जोशीपुरमा १ जना र चुरेमा १ जना संक्रमित फेला परेका छन् ।

    कञ्चनपुरको पुनर्वासमा ५ जना, बेलौरीमा ३ जना र लालझाडिमा पनि १ जनामा संक्रमण पुष्टि भएको छ ।

    बैतडी नवदुर्गाका १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

     

  • सक्रिय संक्रमित झन्डै १५ हजार, शुक्रबार २५ सय संक्रमित थपिए

    सक्रिय संक्रमित झन्डै १५ हजार, शुक्रबार २५ सय संक्रमित थपिए

    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका २,५५९ जना संक्रमित थपिएका छन् । ९,६६४ वटा पीसीआर र एन्टीजेनका नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    कूल संक्रमित संख्या २ लाख ९४ हजार ६०१ जना पुगेको छ । २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ३,१२२ पुगेको छ ।

    ४१० जना निको भएका छन् । निको हुनेको संख्या २ लाख ७६ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या १४ हजार ७२४ पुगेको छ ।

    शुक्रबार सबैभन्दा बढी संक्रमित हुनेमा २० देखि २९ तथा ३० देखि ३९ वर्ष उमेर समूहका छन् । १९९ जना बालबालिका संक्रमित भएका छन् ।

  • भारतमा शुक्रबार ३ लाख ३२ हजार थप संक्रमित, २,३०० जनाको मृत्यु

    भारतमा शुक्रबार ३ लाख ३२ हजार थप संक्रमित, २,३०० जनाको मृत्यु

    दिल्ली । भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोनाभाइरस संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ३२ हजार ७३० संक्रमित शुक्रबार थपिएका हुन् ।

    यो संख्या विश्वभर एकैदिन देखिएको संक्रमित संख्या हो । भारतको कूल संक्रमित संख्या १ करोड ६२ लाख ६३ हजार पुगेको छ ।

    २,२६३ जनाको एकैदिनमा मृत्यु भएको छ । कूल मृतक संख्या १ लाख ८६ हजार ९२० पुगेको छ । महाराष्ट्र राज्यमा ५६८ जना र दिल्लीमा ३०६ जनाको मृत्यु भएको छ ।

    सक्रिय संक्रमित संख्या २४ लाख २८ हजार ६१६ पुगेको छ । सत्र दिनमै भारतमा कोरोना संक्रमित संख्या तेब्बरले बढेको छ ।

  • सबै जिल्लामा प्रयोगशाला स्थापना गर्नदेखि सीमामा कडाई गर्न संसदीय समितिको निर्देशन (भिडियाे)

    सबै जिल्लामा प्रयोगशाला स्थापना गर्नदेखि सीमामा कडाई गर्न संसदीय समितिको निर्देशन (भिडियाे)

    काठमाडौं । ७७ वटै जिल्लामा पीसीआर मेशिनसहितको प्रयोगशाला स्थापना गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

    ‘प्रत्येक जिल्लामा पायक पर्ने स्थानमा कम्तिमा एउटा सुविधा सम्पन्न पिसिआर मेशिनसहितको प्रयोगशाला स्थापना गरी सीमा नाकामा अनिवार्य स्वास्थ्य र सुरक्षा टोली निर्माण गरी सीमा नाकालाई व्यवस्थित गर्न समिति निर्देशन दिन्छ ।

    समिति सभापति शशी श्रेष्ठले भनिन् । समितिले कोभिड–१९ को संक्रमण भए नभएको सीमा नाकामा नै व्यापक रुपमा परीक्षण गरी रिपोर्ट नआएसम्म विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार होल्डिड सेन्टरमा होल्ड गरी राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समिति सभापति श्रेष्ठले भनिन्, ‘नेगेटिभ रिपोर्ट आउनेलाई व्यवस्थित रुपमा अभिलेख राखी क्वारेन्टाइनमा राख्न र पोजेटिभ रिपोर्ट आउनेलाई आइशोलेसनमा राख्ने व्यवस्था तत्काल गर्नुका साथै क्वारेन्टाइन र आइसोलेसन केन्द्र महिलामैत्री बनाउन पनि सरकारलाई समिति निर्देशन दिन्छ ।’

    छिमेकी मुलुक भारतमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तिव्र रुपमा बढिरहेको भन्दै त्यहाँ विभिन्न कामको सिलसिलामा रहेका नेपाली घर फर्कने क्रम दिनानुदिन बढ्दै गएको हुनाले यस्तो निर्देशन दिइएको समिति सभापति श्रेष्ठले बताइन् ।

    सभापति श्रेष्ठका अनुसार हवाईमार्गबाट स्वदेश फर्कने नागरिकको लागि विमानस्थल नजिक क्वारेन्टाइन वा होल्डिड सेन्टर निर्माण गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार राख्ने र उनीहरुमा कोभिड–१९ को संक्रमण भए नभएको एकिन गर्न पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

    कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा विगतमा समितिले पटक–पटक दिएका निर्देशनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षा गरी कार्यन्वयन नभएका निर्देशन एवं सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न समितिले पुनः निर्देशन दिएको छ ।

    सरकारको पहलमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सम्बन्धित सरोकारवालाको सहभागितामा ‘सर्वपक्षीय उच्चस्तरीय समिति’ निर्माण गरी महामारी विरुद्धको महाअभियानमा क्रियाशील बनाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

    सभापति श्रेष्ठका अनुसार यस समितिले कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिको सामना गर्न केन्द्रीकृत एवं रणनीतिक कार्य योजनाको निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन कार्यमा सहयोग र सहकार्य गर्नुपर्नेछ ।

    हरेक निर्वाचन क्षेत्रमा कोभिड–१९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने कार्यका लागि संघीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागीतामा अनुगमन समिति निर्माण गर्न पनि निर्देशनमा भनिएको छ ।

    सक्रमितको सम्पर्कमा रहेका व्यक्तिको शिघ्र पहिचान गर्न कन्ट्याक ट्रेसिङ तथा पीसीआर परीक्षणको कार्यलाई सरल, छिटो र व्यापक बनाउनका लागि घुम्ती शिविर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

    कोभिड–१९ को प्रभाव र जोखिम विश्लेषण गरी सुरक्षित स्थानको पहिचान पश्चात् सुरक्षित निश्चित क्षेत्र निर्धारण गरी स्थानीय रुपमा विश्वव्यापी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसारको निश्चित दुरी कायम राख्दै आवतजावतमा कडाई गर्ने गराउने पनि निर्देशनमा भनिएको छ ।

    संक्रमित व्यक्तिको उपचारलाई प्रभावकारी बनाउन हाल संचालनमा रहेका आइशोलेसन कक्ष, आइसीयु क्षमता विस्तार तथा अक्सिजनको नियमित आपूर्तीमा वृद्धि गरी उपचारै नपाई अकालमा मृत्यु हुने अवस्थाको अन्त्य गर्नुपर्ने समितिको निर्देशन छ ।

    कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई सहज र शीघ्र रुपमा लगाउने व्यवस्था मिलाउन पनि भनिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा संलग्न विभिन्न निकायबीच प्रभावकारी रुपमा समन्वय कायम गर्न समितिले भनेको छ ।

    होम आइसोलेसनमा बस्न सम्भव नहुने सङ्क्रमितलाई सम्बन्धित अस्पतालको समन्वयमा सरकारले संस्थागत आइसोलेसनको व्यवस्था गर्न, कोभिड–१९ को सङ्क्रमण भएका र नभएका विरामीको अलग अलग उपचारको व्यवस्था मिलाउन पनि भनेको छ ।

    संङ्क्रमित भएका विरामीहलाई घर पठाउदा पुनः पीसीआर परीक्षण गरी पठाउने र निजी अस्पताललाई कोभिड–१९ का विरामीका लागि अनिवार्य रुपमा आइसोलेसन वा आइसीयु वार्ड छुट्याई कार्यान्वयनमा ल्याउन भनेको छ ।

    सङ्क्रमितको उपचारको सम्पूर्ण व्यवस्था मिलाई जनउत्तरदायी सरकारको दायित्व निर्वाह गर्न, सबै नागरिकको बाँच्न पाउने आधारभूत मानव अधिकारलाई संरक्षण गर्दै पर्याप्त संख्यामा अक्सिजन प्लान्ट राखी कोभिड–१९ संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटलाई उच्च प्राथमिकता दिई रकमान्तर वा विनियोजनको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

    कोभिड–१९ को कारण देखाई दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीको बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेवलिङ गर्ने जस्ता कानुन विपरीतको कार्य हुन नदिन बजार अनुगमनलाई तिव्रता दिई त्यस्ता कानुन विपरीतका काम गर्ने जो कोहीलाई कडा कारवाही गरी सार्वजनिक गर्न पनि समितिले निर्देशन दिएको छ ।

    समितिको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री एवम्पदाधिकारीको अनुपस्थिति भएको भन्दै आगामी दिनमा विषयवस्तुको गाम्भीर्यताको आधारमा समितिको बैठकलाई उच्च प्राथमिकता दिनुपर्ने सम्बन्धमा सम्बन्धित मन्त्री एवम्पदाधिकारीको गम्भीर ध्यानाकर्षण गर्ने निर्देशन पनि दिएको छ ।

  • कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न कांग्रेसको आग्रह

    कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न कांग्रेसको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरस सङ्क्रमणले मुलुकमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

    आज यहाँ आयोजित कार्यक्रममा उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सरकार उदासिन देखिएको आरोपसमेत लगाए । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु भन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित देखिएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरे ।

    देशमा भएका अस्पतालको क्षमता बढाउँदै लग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।’ राजधानीका ठूला अस्पतालमा भएका अक्सिजन प्लान्ट सञ्चालन हुनुपर्ने बताउँदै नेता सिंहले तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरे। कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाईं स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद १ लाख ११ हजार रुपैया सहयोग गरेको थियो ।

  • कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब

    कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ३३ अर्ब रूपैयाँ कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न माग गरेको छ ।

    अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा सो रकम खोप किन्नका माग गरिएको हो । कोरोनाविरुद्धको खोप पाउन योग्य ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउनका लागि सो रकम आवश्यक भएको स्वास्थ्य मन्त्रालयका सचिव लक्षमण अर्यालले बताए ।

    स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना नियन्त्रण र खोप किन्नका लागि ४८ अर्ब खर्च भएको समितिलाई जानकारी गराएका छन् । समितिमा सचिव अर्यालले आर्थिक वर्ष २०७८/७९ कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नभएर खोप किन्नका लागि मात्र सो रकम आवश्यक भएको जानकारी गराएका थिए ।

    यसैगरी मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोभिड-१९ पहिचान, रोकथाम, नियन्त्रण र उपचारमा मन्त्रालयले पाँच अर्ब १७ करोड ७२ लाख रुपैयाँ बराबर खर्च गरेको विवरणसमेत समितिमा पेस गरेको थियो ।

    यसैगरी, खोप कार्यक्रम र एचडीयूका आगि दुई अर्ब ५४ करोड ४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

  • विहिबार २,४२८ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    विहिबार २,४२८ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । विहिबार नेपालमा २,४२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ४४८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

    सोही अवधीमा २५२ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमित संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । मृतक संख्या ३ हजार ११७ पुगेको छ ।

  • कोरोना त्रास : पशुपतिनाथ दर्शनमा रोक

    कोरोना त्रास : पशुपतिनाथ दर्शनमा रोक

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न रोक लगाएको छ ।

    कोषले आज सूचना जारी गर्दै शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि पशुपति लगायतका मन्दिरमा दर्शन गर्न दर्शनार्थीलाई रोक लगाएको हो ।

    वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए ।

    विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै भोलिबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको कोषले जनाएको छ ।

    कोषले यसबाट भक्तजनहरु लाई पर्न जाने असुविधा प्रति क्षमा मागेको छ ।

  • ब्राजिलमा कोभिडबाट २४ घण्टामा ३ हजार ४७२ को मृत्यु

    ब्राजिलमा कोभिडबाट २४ घण्टामा ३ हजार ४७२ को मृत्यु

    ब्राजिल । २४ घण्टा यता कोभिड-१९ को सङ्क्रमणबाट यहाँका ३ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ ।यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड-१९ को सङ्क्रमणमा परेका यहाँका ३ हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान गएको हो ।

    यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ ।

    हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड-१९ को भयानक तनाव खेप्नु परेको समाचारमा जनाइएको छ । यस तनावका कारण यहाँका नागरिकमा जन स्वास्थ्य सम्बन्धी सुविधा पुर्‍याउन नै समस्या भएको बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९० हजार भन्दा पनि बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । यहाँका नागरिकले कोरोनाका विरुद्धको खोप पनि लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि खोप मात्र पनि प्रभावकारी नदेखिएको बताइएको छ ।

  • सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव

    सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव

    कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘युके भेरियन्ट’को कोरोना भित्रिएको पुष्टि भएको छ । भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुना चैत १५ गते काठमाडौँ पठाइएको थियो । तीमध्ये ३ जनामा भेरियन्ट पुष्टि भएको हो ।

    हङकङमा परीक्षण गर्दा ‘युके भेरियन्ट’ पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    ‘हङकङ पठाइएकाहरूको नमूनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो’ उनले भने ‘अहिले ती सबै निको भइसकेका छन् ।’

    डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक एक जनामा युके भेरियन्ट रहेको पुष्टि भएको हो । उनीहरूमध्ये १ जना कञ्चनपुरको गड्डाचौकी र २ जना गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।

    नेपालमा दोस्रो लहरको कोरोना सुरु हुँदा सुदूरपश्चिम प्रदेशमा युके भेरियन्टको कोरोना प्रवेश गरेपछि थप जोखिम बढेको छ ।

    सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले दोस्रोपटक पनि स्वाव परीक्षणको लागि पठाइएको जानकारी दिए ।

    जटिल संक्रमित थपिँदै

    अहिले प्रदेशमा जटिल प्रकारका कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै अहिले ३८ संक्रमितको उपचार भइरहेको छ ।

    तीमध्ये ३ जना भेन्टिलेटरमा छन् । १० जना आइसियुमा र अन्य १५ जना पनि गम्भीर छन् । उनीहरूलाई बेला बेला अक्सिजन आवश्यक पर्छ ।

    पहिलो चरणमा भन्दा दोस्रो चरणमा जटिल प्रकारका कोरोना सक्रमितहरुको सङ्ख्या बढिरहेको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    ‘गत वर्ष यस्तो अवस्था थिएन’ उनले भने ‘अहिले दैनिक रूपमा जटिल संक्रमितको सङ्ख्या बढिरहेको छ । ’

    नेपालमा दोस्रो लहरको कोरोना सुरु भइसकेपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

    चैत्र ३० गते कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष र वैशाख ४ गते कञ्चनपुरको वेदकोट नगरपालिका– १० का ८१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    भेन्टिलेटर र आइसियुको अभाव

    सेती प्रादेशिक अस्पतालमा १० वटा भेन्टिलेटर छन् । तर, तीव्र गतिमा कोरोना संक्रमित भेटिएसँगै भेन्टिलेटर अभाव हुने देखिएको छ । १५ आइसियु पनि कम हुने अस्पतालमा सूचना अधिकारी श्रेष्ठले बताए ।

    उनी भन्छन् ‘अहिले नै ३ भेन्टिलेटर र १० आइसियु भरिएका छन् । थप जटिल सङ्क्रमित बढिरहेका छन् । अझै थपिए कहाँ राख्ने भन्ने चिन्ता छ ।’

    कोरोना संक्रमितको सङ्ख्या बढ्न सक्नै भन्दै बुधवार मात्रै अस्पतालले ५ शय्या आइसियु थप गरेको जनाएको छ । तर, त्यो पनि पर्याप्त नहुने श्रेष्ठ बताउँछन् ।

    लक्षण नभएका सङ्क्रमितहरूलाई कैलालीको धनगढी १५ कनरिमा तयार गरिएको आइसोलेसनमा राखिने गरिएको छ । ११० जनासम्म राख्न सकिने गरी तयार पारिएको आइसलेसनमा बिहीबार बिहानसम्म ५४ जना पुगी समेका छन् ।

    २१ जना सङ्क्रमित बिहीबार बिहान मात्रै थपिएका हुन् । लक्षण नभएका सङ्क्रमितहरूलाई आइसोलेसनमा राखिने गरिएको छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘लक्षण देखिएको अवस्थामा हामी अस्पताल पठाउँछौँ ।’

    ९ जिल्लामध्ये अहिले कैलाली कञ्चनपुर र डोटीमा मात्रै भेन्टिलेटर जडान गरिएको छ । जसले गर्दा जटिल प्रकारका सङ्क्रमितहरूले उपचार नपाउने समस्या आउन सक्ने अनुमान समेत गरिएको छ ।

    कैलालीको सेती अस्पतालमा १०, महाकाली अस्पतालमा ५, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा २÷२ भेन्टिलेटर छन् ।

    भेन्टिलेटर छ, प्रयोग छैन

    सुदूरपश्चिममा १९ भेन्टिलेटर मात्रै प्रयोगमा छन् । कैलालीको टीकापुर अस्पतालमा ४ वटा भेन्टिलेटर छन् । तर, ती प्रयोगविहीन छन् ।

    जनशक्ति अभावमा भेन्टिलेटर प्रयोग हुन नसकोको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

    ‘टीकापुरमा भएको ४ वटा भेन्टिलेटर प्रयोग छैन । थप ५ वटा किन्नको लागि बजेट गएको छ’ उनले भने, ‘उपकरणको अभाव होइन जनशक्तिको अभाव छ । ’

    उनले पहाडी जिल्लाहरूमा पनि भेन्टिलेटर र आइसियु भए पनि जनशक्ति नहुँदा प्रयोग नभएको बताए ।

    बैतडीमा २ वटा भेन्टिलेट ६ महिनादेखि प्रयोगविहीन अवस्थामा रहेको अस्पतालमा प्रमुख डा. वसन्त जोशीले जानकारी दिए ।

    जिल्ला अस्पताल अछाममा रहेको २ वटा भेन्टिलेटर पनि अहिले प्रयोगमा आउन सकेको छैन । कोरोनाका जटिल बिरामी भर्ना हुन आए रिफर गर्नुको विकल्प नरहेको जिल्ला अस्पताल अछामका प्रमुख डा. अतुल भारद्धाजले जानकारी दिए ।

    ‘अक्सिजन प्लान्ट र दक्ष जनशक्ति नहुँदा भएको भेन्टिलेटर पनि प्रयोग भएको छैन’ उनले भने ‘अहिले जटिल प्रकारका सङ्क्रमितहरूलाई अन्यत्रै रिफर गर्नेपर्ने बाध्यता छ ।’

     

  • ‘संक्रमण नियन्त्रणमा राज्य प्रभावकारी भएन, नागरिक जिम्मेवार बनौं’

    ‘संक्रमण नियन्त्रणमा राज्य प्रभावकारी भएन, नागरिक जिम्मेवार बनौं’

    काठमाडौं । विज्ञले कोभिड-१९ को नयाँ प्रजातिलाई फैलिन नदिन धेरै ढिला भैसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले समुदायस्तरमै भाइरस फैलिसकेको बताउँदै कडाइका साथ मापदण्ड कार्यान्वयन र अनुगमन गर्न पनि सुझाएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सरकारले लागू गरेका मापदण्ड कार्यान्वयन फितलो भएको बताउँदै परिस्थिति जटिलतातिर उन्मुख भएको बताए ।

    ‘मन्त्रीपरिषद्को निर्णय सकारात्मक छ । यो निर्णय केही पहिले गर्नुपर्ने थियो । समुदायमा फैलिइसकेपछि त्यस्तो निर्णय गर्नु निकै ढिला भयो’ उनले भने, ‘भारतबाट जहाज चढेर काठमाडौं आइसकेपछि ज्वरो आएर अस्पतालमा भर्ना भइरहनुभएको छ पजेटिभ भएका मान्छेहरु । भारतबाट आउनेलाई क्वारेन्टिनमा कडाइ पनि भएको छैन ।’

    घरेलु उडानमार्फत मुलुकभर संक्रमण फैलिइरहेको र त्यसलाई कडाइ गर्नुपर्ने पनि उनले सुझाए ।

    ‘राज्य जहाँ प्रभावकारी छैन, त्यहाँ नागरिक सचेत नभइ उपाय नै छैन’ सुवेदीले भने, ‘आफू जोगिन र अरुलाई सर्न सक्ने भएकाले जोगिनुपर्‍यो । गैरजिम्मेवार हुनुभएन ।’

    अस्पतालमा चापहरु धेरै हुँदै गए र आइसीयू पाइन छाड्ने परिस्थिती भए लकडाउनको विकल्प नभएको उनले बताए ।

    ‘लकडाउन गर्दा देशभर एकैपटक गर्नु जरुरी छैन । केही स्थानीय निकायले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था राम्रो गरेका हुन सक्छन् । यस्ता ठाउँमा महामारी बिना लकडाउन पनि नियन्त्रण हुन सक्ला’ उनले भने ।

    संक्रमणको आँकडा र परिस्थिति अनि स्वास्थ्य उपलब्धता हेरेर मात्र लकडाउन गर्नुपर्ने उनको सुझाव छ ।

    भाइरस संक्रमणको पिक समुदायमा भाइरस नियन्त्रणमा हुने काममा निर्भर हुने उनको भनाई छ । सरकारले आगामी नौ साता निकै जोखिमपूर्ण रहेको र जेठ-असार पिक हुनसक्ने बताइसकेको छ । स्वास्थ्यका मापदण्डलाइ अहिले नै कडाइ गरे संक्रमणको रफ्तार स्लो हुने उनले बताए ।

    पहिलेको तुलनामा यूके भेरिएन्ट भाइरसले बढी संक्रमण तुल्याउने भएकाले बढी घातक भएको सुवेदीले बताए । ‘बढी फैलिँदा संक्रमण पनि बढ्छ’ उनी भन्छन्, ‘मृत्युदर बढी नभएपनि बढी संक्रमणशील हुँदा मृत्युदर पनि बढ्ने गर्छ ।’

    बढी मान्छे संक्रमित हुँदा र स्वास्थ्य सुविधा उपलब्ध नहुँदा मृत्युदर बढ्ने उनको अनुमान छ ।

    एकथरी भेरिएन्ट निको भएर पुनः संक्रमण देखिएको बताउँदै सुवेदीले भाइरसले स्वरुप परिवर्तन गरेसँगै नयाँ-नयाँ लहर वर्षौंसम्म रहन सक्ने विश्लेषण गरेका छन् ।

    भियतनाम, ताइवान, अष्ट्रेलियाजस्ता मुलुकले लिएका मापदण्डलाई कार्यान्वयन गर्दा संक्रमण निर्मुल हुनसक्ने उनको सुझाव छ । ती मुलुकले बन्दाबन्दी बिनै भाइरसलाई नियन्त्रण गर्न सफल रहेको उनको भनाई छ ।

  • भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु

    भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण, २१०४ को मृत्यु

    दिल्ली । भारतमा बिहिबार ३ लाख १४ हजार ८ सय ३५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतमा दैनिक रुपमा २ लाख भन्दा बढीलाई भाइरस संक्रमण पुष्टि भएको विश्वकै पहिलो घटना हो ।

    त्यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ ।

    त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन ।

    भारतको राजधानी दिल्लीलगायत महाराष्ट्र, मध्यप्रदेश, गुजरात, उत्तर प्रदेशजस्ता प्रमुख शहरका अस्पतालहरुमा समयमा अक्सिजन उपलब्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ ।

  • भारतबाट आएका संक्रमितको मृत्यु

    भारतबाट आएका संक्रमितको मृत्यु

    कैलाली । अछाममा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

    साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षका एक पुरुषको आज मृत्यु भएको हो । उनी एक महिना अघि भारतको गुजरातबाट आएका थिए ।

    स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा आएका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल अस्पतालका प्रमुख अतुल भारद्धावाजले जानकारी दिए ।

  • काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै

    काठमाडौंकै नगरपालिकाले मानेनन् सरकारको निर्देशन, आधाभन्दा बढी विद्यालय खुल्लै

    काठमाडौं । कोरोनाको संक्रमण बढेपछि चौतर्फी दबाबमा परेको सरकारले सोमबार मन्त्रिपरिषद् बैठक बसेर कोरोना प्रभावित जिल्लामा विद्यालय बन्द गर्ने निर्णय गर्यो । मंंगलबारदेखि वैशाख मसान्तसम्म विद्यालय बन्द गरी पठनपाठनलाई भर्चुअल माध्यममा लैजाने सरकारको निर्णयलाई काठमाडौंकै विद्यालयले अटेर गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित १४ वटा जिल्लाका शहरमा विद्यालय बन्द गर्न भनेको थियो । तर, काठमाडौंकै धेरै विद्यालय बन्द भएका छैनन् । स्थानीय तहले औपचारिक सूचना नदिएसम्म बन्द नगर्ने अडान विद्यालय सञ्चालकको छ ।

    काठमाडौंको विद्यालय बुधबार पनि खुलेपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बुधबारबाट बन्द गर्न निर्देशन दिएको छ । महानगरले विज्ञप्ति जारी गरेर सरकारले सोमबार गरेको निर्णयअनुसार विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

    कहाँ खुला, कहाँ बन्द ?

    काठमाडौं जिल्लामा १ महानगरपालिका र १० नगरपालिका गरी ११ वटा स्थानीय तह छन् । काठमाडौं महानगरपालिका भित्र ६ सय ९१ विद्यालय छन् । सबै विद्यालयमा सरकारको निर्णय कार्यान्वयन गर्न सर्कुलर जारी गरिएको वडा नम्बर १५ का वडा अध्यक्षसमेत रहेका महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नेपाल प्रेसलाई बताए । उनले भने, ‘हामीले विद्यालय बन्द भनिसकेका छौं । अनुगमन हुन्छ ।’

    काठमाडौंका १० मध्ये ३ वटा नगरपालिकाले मात्रै सरकारको निर्णय मानेर मातहतका विद्यालयह बन्द गराए । कागेश्वरी मनोहरा नगरपालिकाका ८५, टोखा नगरपालिकाका ८७ र तारकेश्वर नगरपालिकाकाभित्र रहेका १ सय २ वटै सामुदायिक र निजी विद्यालय बन्द गराइएको छ ।

    यस्तै कीर्तिपुर नगरपालिकामा रहेका ४० वटा विद्यालयमध्ये केही मात्रै बन्द छन् । अरु सबै विद्यालय खुलेका छन् । दक्षिणकाली नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक र निजी विद्यालयमध्ये केही मात्र बन्द छन् ।

    १० नगरपालिकामध्ये ५ वटा नगरपालिकाभित्रका विद्यालय सञ्चालन भइरहेका छन् । नगरपालिकाले आफ्नो पालिकाभित्र रहेको विद्यालय बन्द गर्न निर्देशन दिएको छैन् । खुलेका विद्यालयले नगरपालिकाले बन्द गर्ने सूचना नदिएकाले सञ्चालन गरिरहेको बताएका छन् ।

    गोर्कणेश्वर नगरपालिकाका १ सय १० विद्यालय, चन्द्रागिरी नगरपालिकाभित्रका ७४, नागार्जुन नगरपालिकाभित्रका ५२, बुढानिलकण्ठ नगरपालिकाभित्रका १ सय २० र शंकरापुर नगरपालिका भित्रका ३१ वटा विद्यालय सञ्चालनमा छन् ।

    केही विद्यालयमा परीक्षा भइरहेकाले बन्द नभएको नगरपालिकाका प्रमुख बताउँछन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र विद्यालयमा कोरोना संक्रमणको अवस्था भयावह नभएकाले बन्द गर्न निर्देशन नदिएको बताए ।

    उनले भने, ‘अब हामी शिक्षा समिति, अभिभावकसँग र सरोकारवालासँग छलफल गरेर विद्यालय बन्द गर्न निर्देशन दिने-नदिने निर्णय गर्नेछौ ।’

    यस्तै नार्गाजुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी भन्छिन्, ‘हामीले विद्यालय बन्द गर्न निर्देशन दिने निर्णय गरिसकेको छैनौ । संघीय सरकारले भन्नेवित्तिकै हामीले विद्यालय गर्नुपर्छ भन्ने हुदैन ।’

    गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा अध्ययापन गराइरहेका मिना लामाले आफूहरु नगरपालिकाको निर्देशन कुरेर बसेको बताइन् ।

    ‘केही विद्यार्थीमा लक्षण पनि देखिएको छ । हाम्रो विद्यालयको भौतिक पठनपाठन बन्द गर्न हाम्राे नगरपालिकाको आदेश कुरेर बस्नुपरेको छ । यसले विद्यार्थीलाई थप जोखिममा पारेको छ ।

  • बुधबार कोभिडबाट थप १० जनाको मृत्यु, अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन सरकारको आग्रह

    बुधबार कोभिडबाट थप १० जनाको मृत्यु, अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन सरकारको आग्रह

    काठमाडौं । कोभिड-१९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल मृतक संख्या ३,११२ पुगेको छ ।

    सोही दिन मुलुकभर २,३५१ जना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।

    नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

  • बुधबार २,३५१ संक्रमित थपिए, उपत्यकामा १,०५१ जना, सक्रिय संक्रमित १० हजार नाघे

    बुधबार २,३५१ संक्रमित थपिए, उपत्यकामा १,०५१ जना, सक्रिय संक्रमित १० हजार नाघे

    काठमाडौं । बुधबार मुलुकमा २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भएका छन् ।

    ८,८४४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मंगलबारसम्म सक्रिय संक्रमित संख्या १०,५८२ पुगेको छ ।

  • भारतमा कोभिड-१९ बाट २४ घण्टामा २ हजारभन्दा बढीको मृत्यु

    भारतमा कोभिड-१९ बाट २४ घण्टामा २ हजारभन्दा बढीको मृत्यु

    दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड-१९ को कारण २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन् ।

    बुधबार एक दिनमा भारतमा २ लाख ९५ हजारमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा ३ लाखभन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

    सोही अवधीमा कोरोनाबाट २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको १ लाख ८२ हजार ५५३ जना पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार देशवासीको नाममा गर्नु भएको सम्बोधनमा देशका १ करोड ३० लाख व्यक्तिले फेरि एक पटक कोभिड-१९ सँग लडाई गरिरहेका बताएका छन् ।

    केही साता अगाडीसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताउनु भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड १ लाख १९ हजार ३१० व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

    भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

    भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

  • आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

    आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

    काठमाडौं । कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।

    साथै स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना निकालेर कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।

    विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि  विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

    विमानस्थल आवात-जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग, लाइनमा तोकिएको सांकेतिक पाइलामा उभिनु पर्ने, आन्तरिक तथा वाह्य जाने यात्रुले ट्राभलर डिर्पाचर फर्म भर्नु पर्नेलगायतका नियम कार्यान्यवन गर्न पनि भनिएको छ ।

  • १० लाख मानिसको अन्धोपन हटाउन सन्दुक रुइत र बेलायती अर्बपतिले गरे सहकार्य सम्झौता

    १० लाख मानिसको अन्धोपन हटाउन सन्दुक रुइत र बेलायती अर्बपतिले गरे सहकार्य सम्झौता

    काठमाडौं । विश्वका १० लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने एक योजनामा तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत-तेज कोहली फाउन्डेसन घोषणा भयो । यो फाउन्डेसनले १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएको छ ।

    जसमा नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरिया लगायतका मुलुकमा अन्धोपन हटाउन काम गरिने भएको छ ।

    बेलायती अर्बपति तेज कोहली लामो समयदेखि अन्धोपन हटाउने अभियानम सक्रिय छन् । मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ ।

    फाउन्डेसनले सन् २०२६ भित्रै चारलाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल विश्वका नौ करोड जनसंख्यालाई मोतियाविन्दुको समस्या देखिएको छ ।

  • नक्कली पीसीआर बोकेर विदेश उड्न लागेका ११२ यात्रु बिमानबाट फिर्ता

    नक्कली पीसीआर बोकेर विदेश उड्न लागेका ११२ यात्रु बिमानबाट फिर्ता

    काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

    कतार, मेलेसिया, दुबईलगायतका खाडी मुलुक र भारत जान तयार भएका ती यात्रुलाई विमानबाट ओरालिएको हो । काठमाडौंको सुरिया ल्याबबाट पीसीआर गराएका ११२ जना यात्रुलाई फिर्ता गरिएको विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले नेपाल प्रेसलाई बताए ।

    पौडेलका अनुसार ल्याबमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि ती यात्रुलाई विमानबाट ओरालिएको हो । ९ हजार लिएर नक्कली पीसीआर रिपोर्ट बाँडिरहेको सूचनापछि मंगलबार प्रहरीले सुरिया ल्याबले छापा मारेको थियो । नक्कली रिपोर्ट तयार गरेको भेटिएपछि ल्याबका ६ जना कर्मचारीसमेत पक्राउ परेका छन् ।

    शंकास्पद पीसीआर रिपोर्ट बोकेर यात्रा गर्ने बढेपछि विमानस्थलमा निगरानी बढाइएको छ ।

  • गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

    बाँके । बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पताल भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ । होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो । भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

    उनका अनसार १५ शय्याको कोभिड आइसियूमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेशन वार्डसमेत करीबकरीब भरिइसकेको छ । सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुन सक्ने जोखिम छ ।

    भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेशल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताए । सामान्यावस्थामा अस्पतालमा भीडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा एकान्तबास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

    एक हप्ता लकडाउन गर्न सिफारिश

    कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    उनका अनुसार बाँकेको कोरोना सङ्क्रमण दर अत्यन्तै तीव्ररूपले वृद्धि भएकाले स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा सङ्घीय सरकारबाट प्राप्त मार्गनिर्देशनानुसार विद्यालय, हेल्थ क्लब, पौडी पोखरी, मनोरञ्जनस्थललगायत स्थान बन्द गर्नाका साथै जिल्लालाई लकडाउन गर्न सकिने छ । उनले बाँकेवासीलाई कोरोना महामारीको सङ्क्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै आवश्यक पर्ने खाद्यान्नलगायत जोहो गर्न आग्रहसमेत गरे । पछिल्लो समयमा केही दिनयता बाँके कोरोनाको केन्द्रविन्दु बनेको छ । सोमबार मात्रै एकैदिन ३२२ कोरोना सङ्क्रमित भेटिएका छन् ।

    वडाका सबै कर्मचारीमा सङ्क्रमण

    सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका-१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।

    वडामा कार्यरत तीन महिला र तीन पुरुषलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायत कर्मचारी छन् । सङ्क्रमित हुने सबैको स्वास्थ्यवस्था सामान्य रहेकोे वडाध्यक्ष रिजालले बताए । होम आइसोलेशनमा रहेका सङ्क्रमित कर्मचारी केहीलाई ज्वरो, कसैलाई खोकी र कसैलाई रुघाखोकीको समस्या छ ।