Category: स्वास्थ्य-जीवनशैली

  • एमालेका तीन केन्द्रीय नेतामा संक्रमण, प्रधानमन्त्री पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा ?

    एमालेका तीन केन्द्रीय नेतामा संक्रमण, प्रधानमन्त्री पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा ?

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् ।

    स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा संक्रमण पुष्टि भएको छ । रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए ।

    उनलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो ।

    रिजाल र भट्टराईले मंगलवार आफूहरू संक्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै संक्रमण पुष्टि भएको थियो । यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्र ती नेताहरुमा संक्रमण दखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।

    रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए ।

    संक्रमण पुष्टि भएका तीनै जना नेता धेरै जनसम्पर्क भएका र शीर्ष नेतृत्वसँग बाक्लै भेटघाटमा रहनेमा पर्छन् । एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी र प्रभा कोइरालालाई पनि संक्रमण पुष्टि भएको छ ।

  • विवाह-व्रतबन्धमा १५ जनासम्मलाई छूट, पार्टी प्यालेसका लागि अनुमति लिनुपर्ने

    विवाह-व्रतबन्धमा १५ जनासम्मलाई छूट, पार्टी प्यालेसका लागि अनुमति लिनुपर्ने

    काठमाडौं । विहीबारदेखि काठमाडौं उपयत्यकामा लागु हुन लागेको दुई साता लामो निषेधाज्ञा (लकडाउन)को बेला विवाह र व्रतबन्ध सांस्कृतिक गतिबिधि १५ जनामा सीमित राखेर गर्न पाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले थप आदेश जारी गर्दै दुलाहा-दुलहीसहित १५ जना सहभागी भएर ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गर्न पाउनेछन् । त्यसका लागि जिल्ला प्रशासनबाट अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।

    तर विवाह र ब्रतबन्ध गर्न पार्टी प्यालेस प्रयोग गर्नु परेमा भने जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ । तर पार्टी प्यालेसमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

    विवाहव्रतबन्धमा सहभागी भइ अरु जिल्ला फर्किनुपर्ने भएमा चालकसहित बढीमा सात जना सम्मको लागि सम्बन्धित स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने बताइएको छ । त्यस्तै मृत्यु संस्कार र विरामी कुरुवाको हकमा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने छ ।

  • कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

    कास्कीमा आजदेखि निषेधाज्ञा- सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

    पोखरा  । कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    अत्यावश्यक कामबाहेक सम्पूर्ण भिडभाडजन्य गतिविधिहरु बन्द गर्न आदेश दिए पनि यातायतामा भने जोरबिजोर प्रणाली लागू गरिएको छ ।

    निषेधाज्ञापछि बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र पोखरा सुनसानप्रायः छ । बजारका अत्यावश्यक बाहेकका कुनैपनि पसलहरु खुलेका छैनन् । बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।

    पोखराका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन् । मास्क नलगाएकालाई सम्झाउने र ‘जोर’ अंकमा सवारी साधन चलाउनेलाई कारवाही गरिएको छ । निषेधाज्ञा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ६ सय ३५ जना प्रहरी परिचालित छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डीएसपी सुवास हमालले मंगलबार बिहानमात्रै २ सय ८१ वटा दुईपांग्रे, ८४ वटा चारपांग्रे र निषेधाज्ञा अटेर गरेर खोलिएका २ सयभन्दा पसल बढी बन्द गराएको जानकारी दिए । ‘अहिलेसम्म मान्छेलाई चाहिँ नियन्त्रणमा लिएका छैनौं,’ उनले भने ।

    यातायातमा जोरबिजोर प्रणाली लागू भएपछि बाटोमा फाटफुट मोटरसाइकल, ट्याक्सी, सार्वजनिक बसलगायत सवारी साधन देख्न सकिन्छ । तर, बाटोमा भिडभाड गर्ने गरी मान्छेहरु हिँड्डुल गरेको देखिँदैन ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार मंगलबारसम्म गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९ छ ।

    त्यसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमामात्रै ७ सय २७ जना सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ । जसमध्ये कास्कीकामात्रै १ सय २० जना छन् ।

  • अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन संसदीय समितिको निर्देशन

    अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन संसदीय समितिको निर्देशन

    काठमाडौं । अस्पतालमा अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले अस्पतालमा अक्सिजन र आईसीयूको अभावमा विरामी छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आईसीयूको व्यवस्था तुरुन्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

    यस्तै आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापन ३ वटै तहको सरकारको सक्रियतामा तीव्रतापूर्वक गर्न पनि समितिले निर्देशन दिएको छ । नेपालगञ्ज, वीरगञ्ज, भैरहवा लगायत भारतसँग सीमा जोडिएका ठाउँ र कोरोना बढी प्रभावित जिल्लामा दक्ष स्वास्थ्यकर्मी यथासक्य चाँडो पठाउन पनि निर्देशन दिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

    उनका अनुसार कोरोना संक्रमितका लागि सहज रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन, संक्रमितका कुरुवालाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न, संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ ।

    पीसीआर परीक्षण सहज बनाउनुका साथै एसएमएस वा टेलिफोनमार्फत चाँडै नतिजा जानकारी गराउने व्यवस्था मिलाउन, विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बैशाख ६ गते जारी गरेको आदेशको कडाईका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिएको छ ।

    आइसोलेसन, क्वारेन्टाइन, अस्पताल र स्वास्थ्य–संस्थामा अत्यावश्यक औषधी र स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, अस्पतालमा माक्स, स्यानिटाइजरको अति अभाव भएकाले त्यसको तुरुन्त व्यवस्था गर्नुपर्ने, सरकारी र निजी अस्पतालमा कोरोनाको उपचारमा लाग्ने दर रेटसम्बन्धी नीति बनाई यथाशीघ्र लागू गर्ने र कारागारमा मानवीय वातावरण सहितको बस्ने स्थिति निर्माण गरी कोरोना र अन्य स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

    यस्तै २०७७ चैत १४ गते समितिले दिएको निर्देशनलाई लागू गर्न पनि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ । जनशक्ति अभावको पूर्ति गर्न विशेष व्यवस्था गरेर तुरुन्त लागू गर्नुपर्ने, राहत वितरण र स्वास्थ्य सामग्री, औषधीको उचित र न्यायोचित रुपमा वितरण गर्न, सीमा नाका लगायतको ठाउँमा हेल्थ डेस्क र सूचना डेस्क राखि प्रभावकारी बनाउनुपर्ने, संघ, प्रदेश, स्थानीय तह र मन्त्रालयसँग समन्वय गर्नुपर्ने, सबै प्रकारका वैकल्पिक उपचार विधिलाई प्रयोग गर्ने सम्बन्धमा पनि समितिले निर्देशन दिएको छ ।

  • खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन् (फोटो/भिडियो)

    खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन् (फोटो/भिडियो)

    काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहमा रहेको खोप केन्द्रमा खोप लगाउने सर्वसाधारणको भिड खचाखच थियो । सुकुम्बासी वस्ती नजिकै रहेको प्रहरी बिटबाट सुरु भएको लाइन प्रसूतिगृहको गेट हुँदै भवनको पहिलो तल्लासम्म हेर्दा सयौंको संख्यामा देख्न सकिन्थ्यो ।

    बिहान ७ बजेदेखि लाइन बसेकी ४८ वर्षीया पावना अर्याल हातमा टोकन लिएर उभिरहेकी थिइन् । १२ बजिसक्दा समेत लाइन नसर्दा खोप नपाउने हो कि भन्ने चिन्ता अर्याललाई थियो ।

    ‘कोभिडबाट बच्न भनेर खोप लगाउन आएको । तर, यो भिडले झन् जोखिम बनायो । खोप पाउने नपाउने भर भएन,’ उनले भनिन् ।

    गेटबाहिर फर्किँदै गरेकी ६५ वर्षीया एक वृद्धा निराश मुद्रामा थिइन् । ५९ वर्षका भन्दा माथिकाले खोप नपाउने भएकाले आफू नलगाई फर्कनुपरेको उनले सुनाइन् ।

    ‘६ बजेदेखि लाइन बसेको म । तर, हाम्रो उमेरकोले नपाउने रहेछ । पहिला थाहा भएन,’ उनले भनिन् ।

    बालाजु बस्ने रुपेश खड्का भर्खरै खोप लगाएर बाहिर निस्कँदै थिए । सोमबार दिनभर लाइन बस्दासमेत पालो नपाएपछि आज पुनः लाइन बसेका थिए उनी । ‘हिजो पालो नपाएपछि आज बिहानै आएँ । बल्लबल्ल पालो पाएँ,’ उनले भने ।

    भवनको माथिल्लो तल्लामा खोप लगाउन लाइन बस्नेहरूको चर्को भिड थियो ।

    ३ सय ७४ नम्बरको टोकन लिएर बसेका ५० वर्षीय वेदबहादुर थापा आक्रोसित देखिँदै थिए ।

    ‘हामी बिहान ४ बजेदेखि लाइन बसेकाले अहिलेसम्म पाएका छैनौं । तर यहाँ कालो कोटवाला र पहुँच भएकाहरू ५/६ जना छिरे,’ उनले गुनासो गरे । आफू लाइन लागेर टोकनका साथ बस्दा पनि पालो नआएकोमा उनी आक्रोशित देखिन्थे ।

    ‘साढे ८ बजे आउनेहरु अघि नै लगाएर गइसके । पहुँचवालाले जे गर्दा पनि हुने,’ उनले भने ।

    अघिल्लो दिन पनि लाइन बसेर पालो नआएपछि फर्किएका ३५ वर्षीय विकास पुन आज पनि बिहान ४ बजेदेखि लाइन बसे । तर, बीचमा घुसपैठ भएर छिर्नेहरू खोप लगाएर फर्किँदा पालो पाउन सकस भएको बताउँछन् उनी ।

    त्यही भिडमा करिब ४ वर्षीय बालक च्यापेर लाइन बसिरहेका रोशन पुन पनि थिए । ‘बिहान ५ बजेदेखि आएको, उभिएका उभिएकै छौं । पालो अघिनै आइसक्नुपर्ने थियो । अझै आउने छाँट छैन,’ उनले भने ।

    श्रीमतीसहति आएका उनी आफूसँग भएको बच्चालाई जोखिम भयो भन्ने चिन्तामा थिए । ‘बच्चा घरमा एक्लै छाड्न मिल्दैन । यहाँ ल्याउँदा कोभिडको डर झन् बढ्यो,’ उनले सुनाए ।

    घुसपैठ भएको भन्दै झगडा र धरपकड गरिएको दृश्य पटक-पटक देख्न सकिन्थ्यो । लाइन बसिरहेकी एक महिला नयाँ मान्छेलाई भित्र छिर्न निषेध गर्न खोजिरहेकी थिइन् । भिड व्यवस्थापन गर्न बसिरहेका एक जना सईसँग उनको भनाभन समेत हुन्छ ।

    ती सईले उनलाई ‘बाहिर निकाल्’ भनेर प्रहरी जवानलाई अह्राउँछन् । ‘निकाल्नुस्, बिहान ५ बजे दुई वटा बच्चा छाडेर आएको छु । कुपन छ हातमा । अरु मनमौजी ढंगले कुपनविना पसिरहेका छन् । मलाई कसरी निकाल्न पाउनुहुन्छ ?’ उनी आक्रोसित सुनिँदै थिइन् ।

    प्रसूतिगृह खोप केन्द्रमा देखिएको यो दृश्यले कोरोना जोखिम झन् बढाउने अनुमान सहजै गर्न सकिन्थ्यो ।

    हाल १५ खोप केन्द्रहरूमा खोप वितरण

    अहिले काठमाडौं, भक्तपुर र ललितपुर गरी १५ वटा खोप केन्द्रहरूमा चीनबाट आयात गरिएको भेरोसेल खोपको पहिलो मात्र सर्वसाधारणलाई दिइएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्माका अनुसार यो खोप पहिलो मात्रामा ४ लाखलाई दिइनेछ भने चार लाख दोस्रो मात्राको लागि राखिनेछ ।

    पहिलो पटक दिइएको दोस्रो चरणको खोप हिजोबाट बन्द भएको उनले बताए ।

    दोस्रो खोप सुरुमा ४० देखि ५९ उमेर समूहकालाई दिइएको थियो भने अहिले निवेदन दिएका १८ वर्षदेखि ५९ सम्मकाले पाएका छन् । खोप केन्द्रहरूमा दैनिक ६ सय देखि १६ सय सम्मकाले खोप लगाएको उनले बताए । ‘अहिले खोपको माग बढेको छ । हामीले पुर्‍याउन सकिरहेका छैनौं,’ उनले भने ।

    खोप लगाएपछि जोखिम उस्तै

    खोपका लगाउने क्रममा नै भिडका कारण झन् जोखिम बढेको कुरा खोप शखा प्रमुख शर्मा स्वीकार्छन् । ‘भिडभाडले गर्दा जोखिम त बढ्ने नै भयो । व्यवस्थापन गर्न पनि स्वास्थ्यकेन्द्रलाई गाह्रै भएको छ,’ उनले भने ।

    मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारी पनि खोप लगाउने क्रममा जोखिम बढेको हुँदा संक्रमण बढ्ने खतरा भएको बताउँछन् । ‘संक्रमण बढ्ने जोखिम भएको हुँदा खोप वितरण छिटै बन्द गर्नेछौं,’ उनले भने ।

    अधिकारीका अनुसार खोप लगाएर पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेन भने संक्रमण हुने डर उतिकै छ । ‘खोप लगाएर पनि मापदण्ड पालना नगर्ने हो भने रोकथाम हुन्न । अहिले पनि खोप लगाइसकेका सबैमा शतप्रतिशत क्षमता विकास हुने समय भइसकेको छैन । १० जनामध्ये ४ जनालाई खोपले काम गर्‍यो भने ३ जनालाई गरेन भने संक्रमण दर अगाडि बढ्दैन । हामी सजग उतिकै रहनुपर्छ,’ उनले भने ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • तोकिएभन्दा बढी परीक्षण शुल्क लिए कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    तोकिएभन्दा बढी परीक्षण शुल्क लिए कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी लिए कारवाही गर्ने चेतावनी दिएको छ ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी नलिन आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।

    निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले तोकिएको शुल्क मात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन आग्रह गरेको छ ।

    आग्रह गर्दा गर्दै पनि थप शुल्क लिएको पाइए त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने प्रमुख बिशेषज्ञ स्थतरीय सोमबार निर्णय भइसकेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी गराएका छन् ।

    मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले १ हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

  • काठमाडौं उपत्यकामा मंगलबार दुई हजार संक्रमित थपिए

    काठमाडौं उपत्यकामा मंगलबार दुई हजार संक्रमित थपिए

    काठमाडौं । मंगलबार काठमाडौँ उपत्यकामा झन्डै दुई हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ उपत्‍यकामा १९६६ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा ४,५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

  • मंगलबार ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो

    मंगलबार ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो

    काठमाडौं । मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

    २४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ ।

    कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

    सक्रिय संक्रमित संख्या २६ हजार २२५ पुगेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १० पुगेको छ जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, मोरङ र पर्सा छन् ।

    २०० भन्दा बढी सक्रिय संक्रमित संख्या भएका जिल्ला ९ छन् जसमा सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर र कैलाली छन् ।

  • पूर्वराजा र रानीको उपचार अक्सिजनको सपोर्टमा : नर्भिक अस्पताल

    पूर्वराजा र रानीको उपचार अक्सिजनको सपोर्टमा : नर्भिक अस्पताल

    काठमाडौं । कोरोनाभाइरस संक्रमित पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई अक्सिजन दिएर अस्पतालमा उपचार भैरहेको छ ।

    नर्भिक अस्पतालले मंगलबार विज्ञप्ती जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जनाएको हो । गएको शनिबार दिउँसो उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए।

    ‘श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उद्देश्यले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।

    उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्टबिनै उपचार भइरहेको जानकारी दिइएको छ। उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

  • स्वास्थ्यकर्मी र चिकित्सकलाई बिदा नदिने सरकारको निर्णय

    स्वास्थ्यकर्मी र चिकित्सकलाई बिदा नदिने सरकारको निर्णय

    काठमाडौं । सरकारले स्वास्थ्यकर्मी एवं चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड-१९ को दोस्रो लहरको जोखिमको कारण अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो।

    स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि निर्देशन दिएको छ ।

    कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

    अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।

  • ‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’

    ‘अहिलेकै अनुपातमा संक्रमण बढे नियन्त्रण गर्न मुस्किल छ’

    सुर्खेत। विकट कर्णाली प्रदेशमा पनि दिनानुदिन कोरोना संक्रमित बढिरहेका छन् । सामान्य स्वास्थ्योपचारका लागि समेत अनेक सास्ती खेपिरहेका कर्णालीबासीलाई कोरोना कहरले झन् सताएको छ । कर्णालीमा कोरोना नियन्त्रण र संक्रमितको उपचारलगायत विषयमा कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्कासँग नेपालप्रेसकर्मी शेरबहादुर थापाले गरेको कुराकानीः

    कर्णालीमा कोरोना संक्रमणको अवस्था के छ ?

    जोखिम बढदै गइरहेको छ । भारतसँग सिधा नाका नजोडिए पनि कर्णालीबाट काम गर्न गएकाहरु फर्कने क्रम बढ्दो छ । भारतको संक्रमित क्षेत्रबाट फर्किएकाहरुबाट समुदायस्तरमा कोरोना संक्रमण हुने खतरा ज्यादा छ ।

    कर्णालीमा अहिलेसम्म करिब ८ हजारमा संक्रमण देखिएको छ । प्रदेश अस्पताल कालागाउँमा २२ जना आइसीयुमा भर्ना भएका छन् ।

    सुर्खेतमा मात्रै तीन सय पाँच जना होम आइसोलेसनमा छन् । ३२ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । तीन जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् ।

    अस्पतालमा कोरोना संक्रमितको चाप कतिको छ ?

    पछिल्ला दिनमा विरामीको चाप अत्यधिक बढेको छ । दिन दुगुणा, रात चौगुणाका दरले संक्रमित थपिएका छन् । यहीं अनुपातमा संक्रमित बढेमा नियन्त्रण गर्न मुस्किल पर्ने देखिन्छ । उपचार गर्न पनि कठिन हुनेछ ।

    कसरी व्यवस्थापन मिलाउने प्रयास भएको छ त ?

    विगतमा रुकुम पश्चिमको चौजहारी अस्पताल, दैलेख जिल्ला अस्पताल, जुम्ला र सुर्खेतमा पिसिआर मेसिन जडान गरेका थियौं । त्यहाँ कोरोना जाँच धेरै कम भइरहेको थियो ।

    संस्थागत आइसोलेसन पनि हामीले सञ्चालनमा ल्याएका छौं । कालिकोट, दैलेख, सल्यानलगायतका जिल्लामा यस्ता आइसोलेसन सेन्टर निर्माण गरेका छौं ।

    हामीले दशै जिल्लामा सकेसम्म कोरोना नियन्त्रणका लागि अथक मेहनत गर्दै आइरहेका छौं । निर्देशनालयले सकेसम्म कोभिड विरामीको उपचारमा समस्या नआओस भनेर लागि परेको छ ।

    समूदायमा कोरोना फैलिसकेपछि अब हाम्रो ध्यान भनेको उपचार प्रणालीलाई व्यवस्थित बनाउने भन्ने नै छ । प्रदेश भरिमा १४०० बेडहरु उपलब्ध छन् । आइसीयू ६२ वटा, ३४ वटा भेन्टिलेटर उपलब्ध छ ।

    जुम्लाको, चौरजहारी र प्रदेश अस्पताललाई कोभिड अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेको छ । यसका अलावा अन्य जिल्लामा रहेका जिल्ला अस्पताल, मेहलकुना अस्पताल र दुल्लु अस्पतालमा पनि कोरोनाका रोगीहरुको उपचार गर्ने व्यवस्था गर्ने पिसिएमसीले निर्णय गरेको छ ।

    त्यहाँ सामान्य लक्षण भएका विारमीहरुको उपचार हुनेछ । गम्भीर खालका विरामीहरुका हकमा तीन वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

    जाँचको दायरा फराकिलो, बनाएका छौं । विरमीको सम्पर्कमा आएकाहरुको जाँच गर्ने गरेका छौं । चारवटामध्ये अहिले प्रदेश अस्पताल कालागाउँमा मात्रै ल्याब संचालन गरिरहेका छौं ।

    यसका अलावा एन्टिेजेन सबेै जिल्लामा पठाइसकिएको छ । आइसोलेसन वार्ड अहिले सात सय छन् । सुर्खेतमा दुई सय, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय र बाँकी अन्य जिल्लामा गरी सात सय वेड थप्ने निर्णय भएको छ ।

    अबको मुख्य चुनौती के हो ?

    अहिले हामीलई अक्सिजनको चुनौती छ । मिनि अक्सिजन प्लान्ट सबै जिल्लामा स्थापना भएका छन् । टेलिमेडिसिन र हटलाईन सेवा सुरु गर्ने भएका छौं ।

    अहिले हामीलाई जनशक्तिको पनि अभाव छ । आवश्यक जनशक्ति सञ्चालनका लागि प्रदेश सरकारले थप कदम उठाउने बताएको छ ।

  • भारतमा मंगलबार ३ लाख २३ हजार संक्रमित थपिए, २,७०० को मृत्यु

    दिल्ली । लगातार छैटौं दिन भारतमा ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार चौबीस घण्टामा मात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

    सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    पछिल्लो एक दिनमा २ हजार ७ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९८ हजार ८ सय ९४ पुगेको छ ।

    भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १६ लाख ५८ हजार ७ सय नमुना परीक्षण भएको थियो ।

    भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

  • ऊर्जामन्त्री रायमाझीलाई कोरोना, अस्पताल भर्ना

    ऊर्जामन्त्री रायमाझीलाई कोरोना, अस्पताल भर्ना

    रुपन्देही । गृहजिल्ला अर्घाखाँचीबाट फर्के लगत्तै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
    उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको रायमाझीको सचिवालयले जनाएको छ।

    लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।

  • सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन डिसिसिएमसीको निर्देशन

    सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन डिसिसिएमसीको निर्देशन

    चितवन । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ ।

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

    गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई होमआइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ । स्वास्थ्य अवस्था जटिल भएका सङ्क्रमितलाई भने अस्पताल आउन डिसिसिएमसीले आग्रह गरेको छ ।

    यस्तै डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी सङ्क्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ ।

    यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ ।

    जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ । बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

    अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

    कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ९डिसिसिएमसी० ले आग्रह गरेको छ । डिसिसिएमसीले अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

    जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई २४सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको प्रजिअ लमिछानेले जानकारी दिए । यस्तै भीडभाड हुने हाटबजार बन्द गर्ने तथा सभा, सम्मेलन पनि गर्न नदिने निर्णय गरिएको छ ।

    कार्यक्रम गर्नैपरे स्वीकृति लिएर २५ भन्दा बढी व्यक्ति सहभागी नहुने गरी मात्रै गर्न पाइने डिसिसिएमसीले जनाएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४५८ पुगेको छ । तीमध्ये ४२१ होमआइसोलेसनमा र ३७ जना अस्पतालमा उपचाररत छन् ।

  • बाँकेमा थप ४ संक्रमितको मृत्युु

    बाँकेमा थप ४ संक्रमितको मृत्युु

    रूपन्देही । साेमबार बाँकेमा थप ४ जना काेराेना संक्रमितको मृत्यु भएकाे छ ।

    बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका ४ जना कोरोना संक्रमतिको आज मृत्यु भएको हाे ।

    नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना, भेरी अस्पतालमा उपचाररत १ जना र होम आइसोलेसनमा बसेका १ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मेडिकल कलेजमा उपचाररत कोहलपुर ५ कि ४५ वर्षिया महिला, नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका बर्दिया बढैयाताल ८ का संक्रमितको थप उपचारका लागि भेरी अस्पतालमा पु¥याएलगत्तै मृत्यु भएको थियो ।

    त्यस्तै नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको छ भने खजुरा २ का ८८ वर्षिय पुरुषलाई मेडिकल कलेजबाट डिस्चार्ज गराई होम आइसोलेसनमा लगेकोमा आज मृत्यु भएको छ ।

    बाँकेमा जिल्ला भित्रका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ भने जिल्ला बाहिरबाट बाँकेमा आई उपचारका क्रममा मृत्यु हुनेको संख्या १०५ पुगेको काेराेना फाेकल पर्सन तेज वलीले जानकारी दिए ।

  • काठमाडौंमा आज एकैदिन १५ सयभन्दा बढी संक्रमित थपिए

    काठमाडौंमा आज एकैदिन १५ सयभन्दा बढी संक्रमित थपिए

    काठमाडौं । सोमबार एकैदिन काठमाडौं जिल्लामा मात्र १५ सय ६७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित थपिएका छन् ।

    काठमाडौंमा अहिले ६४४ जना संस्थागत आइसोलेसन, ९४ जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् ।

  • बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन, प्रदेशले बजेट र केन्द्रले दरबन्दी दियो

    बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन, प्रदेशले बजेट र केन्द्रले दरबन्दी दियो

    रुपन्देही । प्रदेश र केन्द्र सरकारले बाँकेका स्वास्थ्यकर्मीको माग सम्बोधन गरेको छ । सोमबार प्रदेश सरकारले अक्सिजनसहितको बेड व्यवस्थापनका लागि ५० लाख रुपैयाँ व्यवस्थापन गरेलगत्तै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न दरबन्दी स्वीकृत गरेको हो ।

    कोरोना संक्रमणको माहामारी थेग्नै नसक्ने गरी फैलिएपछि स्वास्थ्यकर्मीले तत्काल जनशक्ति तथा अक्सिजन बेड व्यवस्थापन नभए थप सेवा दिन नसक्ने बताएका थिए ।

    मन्त्रालयले १० मेडिकल अफिसरसहित ४० नर्स तथा प्राविधिक र स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न भेरी अस्पतालले स्विकृति प्रदान गरेको हो ।

    जनशक्तिको अभावका कारण संक्रमितहरुलाई सेवा दिनै नसक्ने अवस्था सृजना भएपछि बाँकेको कोभिड १९ संकट व्यवस्थापन समितिले थप जनशक्ति र साधन श्रोतको व्यवस्थापन गर्न प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग माग गरेको थियो ।

    मन्त्रालयले १० मेडिकल अफिसर, ४० नर्सिङ स्टाफ, ल्याव टेक्निसियनसहितको दरबन्दी स्वीकृति प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले सरकारले बजेट तथा दरबन्दी स्वीकृत गरेपछि केही सहज हुने बताए ।

    सोमबार नै भर्ना खुल्यो
    भेरी अस्पताललाई १० जना मेडिकल अफिसरसहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृती प्रदान गरेसँगै अस्पताल प्रशासनले विभिन्न पदमा ६० जनशक्तिकालागि आजै दरखास्त आह्वान गरेको छ ।

    अस्पतालले आज नै सूचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, ३ जना नर्सिङ अधिकृत, ५ जना ल्याव टेक्निसियन, ४० जना स्टाफ नर्शका लागि दरखास्त आह्वान गरेको हो ।

    अस्पतालले प्रकाशन गरेको सूचनामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने रकमबाट भुक्तानी हुने गरी असार मसान्तसम्मका लागि करार सेवामा काम गर्न चाहनेहरुका लागि दरखास्त आह्वान गरिएको उल्लेख गरिएको छ ।

    प्रदेशले दियो अक्सिजन बेड व्यवस्थापनका लागि बजेट

    कोरोना विशेष अस्पतालमा अक्सिजनसहितको बेड व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताललाई तत्काल १ करोड ७५ लाख रकम उपलब्ध गराउने भएको छ ।

    रुपन्देहीको बुटवलस्थित लुम्बिनी कोरोना विशेष अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङ र बाँकेमा रहेका कोरोना विशेष अस्पतालका लागि आवश्यक अक्सिजन बेड व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

    केसीका अनुसार कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँ र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउन लागिएको हो ।

    मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको कोरोना रोकथाम, उपचार तथा निर्देशन समितिको बैठकले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको बेड व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो । बैठकले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।

  • लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

    लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

    काठमाडौं । कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । महामारी कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ । आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ ।

    कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ । हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन । हरेक समस्याको समाधान हुन्छ । समाधान रुखबाट झर्दैन । यसको लागि मनैदेखि लाग्नुपर्दछ ।

    सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने र गर्ने गर्थ्यौं ।

    १ बर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं । नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय नगर्नुको कारण हो । सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला ।

    अब हामीसँग बिकल्प साँघुरा हुँदैछन् । आम नागरिकको जीवनभन्दा ठूलो केहि हुँदैन । त्यो पर्नेलाई थाहा हुन्छ । १५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ । गतसालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने यसको कुनै अर्थ छैन ।

    लकडाउन गर्नु परे उल्लेखित मोडेलमा गरौँ अन्यथा भारतका धनाढ्यले जहाज चार्टर गरेर विदेश भागेझैं गाउँतिर लागौं ।

    • २/३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ ।
    • लकडाउन केवल ३ हप्ता गर्नुपर्छ । २० दिन पनि हैन, २२ दिन पनि हैन, ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर ब्यापक प्रहरी परिचालन गर्ने, माइकिंग गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने काम ब्यापक गर्नुपर्दछ । त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्दछ ।
    • स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा ब्यापक रुपमा फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्ने लगायतका काम गर्नुपर्दछ 
    • सुचना तथा संचार र शिक्षा मन्त्रालयले जनाचेताको लागि कार्यक्रम उत्पादन तथा प्रसारण र प्रकाशन गर्ने । परराष्ट्र मन्त्रालयले खोपको लागि चीन, रुस, कोभ्याक्ससंग कुटनैतिक पहल गर्ने तथा भारत लगायत देशमा फसेका नेपालीको उपचार र उद्दारको लागि पहल गर्ने गर्नुपर्दछ । मिडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्ती र गल्ली र चोक आदिमा आवतजावत कस्तो छ ? प्रहरी परिचालन कस्तो छ ? त्यसको निगरानी राख्ने ।
    • सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरेर काम गर्ने ।
    • सिमानाका पूर्ण रुपमा शिल गर्नुपर्दछ ।
    • आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने गर्नुपर्दछ ।
    • सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्नो क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्दछ । यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठिक हुन्छन् , कि अस्पताल जान्छन् । तर समुदायमा संक्रमण सार्न सक्दैनन् । यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ । ३ हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड जरिवानाको ब्यबस्था गर्ने तथा कडाइलाई कायम गर्ने गर्नुपर्दछ ।
    • यो पटकको लकडाउन छोटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौँ । यसपटकको प्रजाति निकै संक्रामक र घातक छ । १ जनाले पनि नजरअन्दाज नगरौं ।
  • कैलाली र कञ्चनपुरमा तीन संक्रमितको मृत्यु

    कैलाली र कञ्चनपुरमा तीन संक्रमितको मृत्यु

    कैलाली । कैलाली र कञ्चनपुरमा पछिल्लो २४ घण्टा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा एक जना र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको हो ।

    चैत्र ३ गते देखि धनगढी स्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुर बेदकोटन नगरपालिका १ का ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    उनको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
    सेतीमा वैशाख महिनामा मात्रै ५ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि ७ जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    उता, कञ्चनपुरमा दुई जना जना सङ्क्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    शनिवार मात्र अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस अघि भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    वैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा गए राति मृत्यु भएको थियो । वैशाख महिनामा मात्रै महाकाली अस्पतालमा ४ जना सङ्क्रमितको मृत्यु भइसकेको अस्पतालका सूचना अधिकारी नारद भट्टले जानकारी दिए ।

  • सोमबार ३,५५६ संक्रमित थपिए, १२ जनाको मृत्यु

    सोमबार ३,५५६ संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । सोमबार मुलुकमा ३,५५६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २९३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    ३७८ जना निको भएका छन् । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।

    कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । मृतक संख्या ३ हजार १७६ पुगेको छ ।

  • कोरोना कहर : गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

    कोरोना कहर : गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

    कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका-८ बालकुमारीका जनकमान जोशीलाई ४ महिनाअघि कोरोना पोजेटिभ देखियो । युट्युव, पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत गुर्जोको चर्चा सुनेपछि धुलो र चिया नियमित सेवन गरेको १४ दिनपछि ठीक भएको उनले जानकारी दिए ।

    आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटलाई सम्पर्क गरेर उनले गुर्जोको धुलो र चिया माग गरेका थिए । रोग प्रतिरोधी क्षमता बढाउने वनस्पतिका रुपमा परिचित गुर्जोका परिकारले कोरोनाका साथै अन्य स्वास्थ्य समस्या समाधानका लागि सहयोग गरेको जोशीको भोगाइ छ ।

    सिराहा लाहानका बेचुलाल श्रेष्ठको परिवारमा छोरा, बुहारी र नातिलाई कोरोना पोजेटिभ देखियो । परिवारका ३ जनामा कोरोना देखिएपछि डराएका श्रेष्ठले गुर्जोले कोरोनाबाट बचाउन सहयोग गर्छ भन्ने सुनेका थिए । उनले पनि राजलवटसँग सम्पर्क गरेर गुर्जोका परिकार लिए । कोरोना हुने र नहुने परिवारका सदस्यले नियमित सेवन गरेपछि ठीक भएको उनले बताए ।

    परिवारमा सङ्क्रमण भेटिएपछि सबै जना एकान्तवासमा बसेर नियमित गुर्जोका परिकार सेवन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको श्रेष्ठले बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले भने गुर्जोसँगै तातो पानी पिउने, वाफ लिने र पौष्टिक आहार सेवन गर्न थालेपछि कोरोना भगाउन सफल भएको बताए । कोरोनाले स्वास्थ्यमा अप्ठ्यारो भने पारेको उनको अनुभव छ ।

    कोरोना बढेपछि मदनकृष्ण श्रेष्ठको परिवारका ५ जना सदस्यलाई कोरोना पोजेटिभ देखियो । यो खबर सुनेपछि गुर्र्जो चिया र गुर्र्जो सहितको धुलो औषधी ललितपुरको सुनाकोठीस्थित घरमै पुगेर दिइएको अभियानकर्मी राजलवटले बताए । कलाकार श्रेष्ठलाई अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने प्राणायम पनि गराइएको योग शिक्षकसमेत रहेको उनले बताए । श्रेष्ठसँगै उनको सबै परिवारलाई गुर्जोको ओषधीसँगै प्राणायामको विशेष प्रकार पनि सिकाइएको थियो ।

    राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आएका छन् । यसअघि राजश्व कार्यालय लाहानको प्रमुख रहेका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका हुन् ।

    हालसम्म १ लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उनले बताए । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब २ लाख मानिसलाई खुवाइएको राजलवट बताउछन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।

    यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा. शेषराज आचार्य बताउछन् ।

    आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो:तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडिबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

    आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाई छ । आयुर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाई छ ।

    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र हाल ६५ जना कोरोना सङ्क्रमित राखी आयुर्वेद औषधी दिइएको छ । यसअघि पनि सयौँ कोरोनाका बिरामी केन्द्रमा राखेर आयुर्वेद औषधी नै दिएर उपचार गरेर पठाइएको थियो । अस्पताल, तालीम र अनुसन्धान केन्द्र भएकाले दिइएका औषधीका विषयमा अनुसन्धानसमेत भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले बताए ।

    केन्द्रमा आउने कोरोना बिरामीलाई गुर्जो, सुठो, मरिच, पिप्ला, अभ्रकभष्मलगायत आयुर्वेदिक वनस्पतिको ट्याबलेट बनाएर नियमित खुवाउने गरिएको छ । केहीलाई भने अक्सिजन दिनुपर्छ । हालसम्म केन्द्रमा भर्ना भएका कोरोनाका बिरामीको निधन नभएको कार्यकारी निर्देशक डा यादवले जानकारी दिए ।

    रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बजारमा बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सबरी साह गुर्जो चिया, तुलसी चिया, सिलाजित, च्यवनप्राश, अश्वगन्ध तेल, र अविपत्तिकर चूर्णलगायतको माग बढिरहेको बताउछन् ।

  • गण्डकीमा पनि अक्सिजन पर्याप्त, सिलिण्डर अभाव

    गण्डकीमा पनि अक्सिजन पर्याप्त, सिलिण्डर अभाव

    पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचारका पर्याप्त मात्रामा अक्सिजन भए पनि सिलिण्डरको अभाव खड्किएको छ । यद्यपि, गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कक्सिजनको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । प्रदेशमा पर्याप्त अक्सिजन भएको र सिलिण्डर थप्नका लागि पनि पहल भइरहेको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालमा अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको हो ।

    गण्डकीका ११ वटै जिल्लामा अक्सिजन उत्पादन सुरु भइसकेको र यसले महामारीलाई थेग्न पुग्ने सामाजिक विकास मन्त्री नरदेवी पुनमगर बताउँछिन् ।

    ‘गण्डकीमा हामी अक्सिजनकै कारण क्षति व्यहोनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौं,’ सामाजिक विकासमन्त्री मगरले नेपालप्रेससँग भनिन्, ‘गण्डकीका ११ वटै जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पर्याप्तमात्रामा व्यवस्था भइसकेको छ ।’

    गण्डकीका ११ वटा जिल्लामध्ये मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजाको मातृशिशु अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको छ । मध्यविन्दु, लमजुङ र गोरखाले पनि तयारी अवस्थामा छन् । जिल्ला अस्पताल मनाङले पनि आवश्यक सामान किनेको र तयारी गरिरहेको मन्त्री मगरले बताइन् ।

    ‘संक्रामक रोग अस्पताल पोखरामा पनि अक्सिजन उत्पादनका लागि १ करोड रुपैयाँ बजेट छुट्याएका थियौं । त्यो ९० लाख रुपैयाँमा टेन्डरमा गएको छ । त्यहाँ पनि आजभोलिमा काम सुरु गर्नुहुन्छ । त्यहाँ पनि खासमा पहिल्यै अक्सिजन उत्पादन सुरु भइसक्ने हो । तर, टेन्डर प्रक्रियामा गइसकेपछि ढिलाइ भएको हो’ उनी भन्छिन्, ‘हामीले आज (सोमबार) पनि बिहान छलफल गरेका थियौं । गण्डकीमा २ वटा निजी अक्सिजन प्लान्ट छन्, उनीहरुसँग कुरा गर्यौं । तयारी कस्तो छ ? सिलिन्डरको अवस्था के छ त्यसै विषयमा अनुगमन गर्यौं । अहिले हामीसँग अभाव भएको सिलिन्डरमात्रै हो । अहिले हामीसँग १ सय २५ केजीएफ सिलिन्डर छ । तर, यतिले हामीलाई पर्याप्त हुँदैन । हामी तप सिलिन्डर ल्याउने विषयमा कुराकानी गरिरहेका छौं । ’

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा पछिल्लो एकहप्तामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो एकहप्तामै ४ जना कोरोना संक्रमितले गुमाइसकेका छन् ।

    कोभिडको नयाँ प्रजाति ‘युके भेरियन्ट’ प्रवेश सँगै अहिले देशमा कोरोना महामारी दोस्रो चरणमा प्रवेश गरेको छ । कोरोनाको बद्लिँदो लक्षणसँगै यसलाई थप जटिल रुपमा विज्ञहरुले अथ्र्याइरहेका छन् ।

  • दाङमा २०२ नमुना परीक्षण गर्दा एक सय ५२ जनामा कोरोना भेटियो

    दाङमा २०२ नमुना परीक्षण गर्दा एक सय ५२ जनामा कोरोना भेटियो

    दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वाब जाँच गर्नेक्रममा दाङमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सोमवार पीसीआर परीक्षण गरिएका दुई सय २  नमुनामध्ये एक सय ५२ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

    प्रतिष्ठानमा सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ ।

  • गण्डकीमा थपिए १०१ संक्रमित

    गण्डकीमा थपिए १०१ संक्रमित

    पोखरा । गण्डकीमा सोमबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, लाइफ केयर डायग्नोस्टिक प्रालि, मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् ।

    प्रदेश स्वास्थ्य निदेशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीकामात्रै ६९ जना छन् । नवलपरासी पूर्वका १२ जना, पर्वतका ५, तनहुँ ५, म्याग्दी ५, स्याङजा ३, लमजुङ २ र छन् ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ८३८ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय १५ छ ।

  • कोरोनाबाट गण्डकीमा एकैदिन ४ जनाको मृत्यु

    कोरोनाबाट गण्डकीमा एकैदिन ४ जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट आज एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, म्याग्दी र स्याङजाका १/१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा सोमबार मृत्यु भएको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनलाई वैशाख ११ गतेमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यस्तै, कोरोनाकै कारण मृत्यु हुनेमा म्याग्दी, रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुष छन् । पोखरा मेडिप्लस अस्पतालमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । उनलाई वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले बताए ।

    कोरोनाबाट सोमबारमात्रै कास्कीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ९१ वर्षीय पुरुष र पोखरा १ का ५५ वर्षीया महिला छन् ।

    गण्डकीमा वैशाखमा मात्रै ८ संक्रमितको मृत्यु भएको छ ।

  • नेपालमा अक्सिजन उत्पादन ‘पर्याप्त’, २० हजार सिलिन्डर किन्ने तयारी

    नेपालमा अक्सिजन उत्पादन ‘पर्याप्त’, २० हजार सिलिन्डर किन्ने तयारी

    काठमाडौं । नेपालमा पनि कोभिड-१९ को दोस्रो लहरका कारण यसबाट संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यससँगै नेपालको स्वास्थ्य क्षेत्र यो महामारीसँग लड्न कति बलियो छ भन्ने लेखाजोखा विभिन्न तहबाट भइरहेका छन् ।

    कोभिडका कारण श्वासप्रश्वासमा समस्या भएका कोभिडका बिरामीहरूलाई अत्यावश्यक चिज हो, अक्सिजन । छिमेकी देश भारतमा अक्सिजनको अभावले बिरामीहरुको बेहाल भएका समाचारहरू आइरहेका छन् । नेपालमा पनि चाँडै नै त्यही अवस्था आउने चिन्ता जनमानसमा फैलिएको छ ।

    नेपालमा उत्पादन क्षमता

    उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा २२ वटा अक्सिजन उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा छन् । तीमध्ये एउटामा ५० प्रतिशत विदेशी लगानी छ भने बाँकी २१ वटा अक्सिजन उद्योग स्वदेशी लगानीका हुन् ।

    नेपालमा सञ्चालित २२ वटा उद्योगले साना-ठूला गरेर प्रतिवर्ष करिब ५० लाख सिलिन्डर अक्सिजन भर्ने गरेको उत्पादकहरू बताउँछन् ।

    अक्सिजन उत्पादकहरूले मागअनुसार अक्सिजनको कुनै कमी नहुने दावी गरेका छन् । नवज्योति अक्सिजन ग्यास प्रालिका सञ्चालक विरेन्द्रकुमार संघाईले नेपालमा सिलिन्डरको पर्याप्त व्यवस्था गर्न सके अक्सिजनको अभाव नहुने बताए ।

    उनले भने, ‘हामीसँग सिलिन्डर पर्याप्त नभएर मात्रै समस्या हुने हो । अक्सिजन व्यवसायीले नै चीनबाट अक्सिजनको खाली सिलिन्डर ल्याउन थोरैमा पनि ३ महिना लाग्छ । सरकारले हवाइ मार्गबाट सिलिन्डर ल्याएर उत्पादकलाई दियो भने अक्सिजनको कुनै अभाव हुँदैन ।’

    संघाईका अनुसार चीनबाट हवाइ मार्ग हुँदै ७ क्यूभी लिटर अक्सिजन अट्ने एउटा खाली सिलिन्डर नेपालमा ल्याउन १५ हजार भाडा लाग्छ ।

    नेपाली बजारमा अक्सिजन ग्यास सिलिन्डरको अभाव भएपछि खाना पकाउने ग्यास सिलिन्डरमा पनि अक्सिजन भर्न सकिने चर्चा भएको थियो । तर, उत्पादकका अनुसार खाना पकाउने ग्यासको सिलिन्डरमा अक्सिजन ग्यास भर्न मिल्दैन ।

    अक्सिजन ग्यासको सिलिन्डरमा प्रेसर हुन्छ । तर खाना पकाउने ग्यासको सिलिन्डरमा प्रेसर नहुने भएकाले नै अक्सिजन भर्न नमिल्ने उत्पादक बताउँछन् ।

    संघाइका अनुसार नेपालमा सानाठूला गरी करीब २३ लाख अक्सिजन सिलिन्डर रहेका छन् । ७ क्यूभी लिटर अक्सिजन अटाउने ठूला अक्सिजन सिलिन्डर करिब १५ लाख तथा १.५ क्यूभी लिटर र ६.५ क्यूभी लिटर अक्सिजन अटाउने करिब ८ लाख सिलिन्डर रहेको संघाइले बताए ।

    सरकारले देशमा कोरोना संक्रमण भयावह अवस्था हेरेर तत्कालै ६० देखि ७० हजार सिलिन्डर विदेशबाट नेपाल ल्याउनु पर्ने उनको भनाइ छ ।

    उपभोग र बजार मूल्य

    नेपालमा २२ वटा अक्सिजन उत्पादन गर्ने उद्योगहरूको मूल्यमा एकरुपता छैन । ६.५ र ७ क्यूभी लिटर अक्सिजन अस्पतालमा प्रयोग हुने गरेको छ । १.५ क्यूभीको सिलिन्डर प्राय घरमा प्रयोग हुन्छ ।

    १.५ क्यूभी अक्सिजनको ग्याससहित करिब ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पर्छ । यसमा अक्सिजनको मूल्य भने २५० रुपैयाँ मात्रै हो छ । खालि सिलिन्डर फिर्ता गरेपछि अक्सिजनको पैसा काटेर अरु पैसा बिक्रेताले फिर्ता दिन्छन् । बिरामीको अवस्था हेरेर ६ देखि ८ घन्टासम्म अक्सिजन प्रयोग गर्न सकिन्छ ।

    सात ७ क्यूभी लिटर अक्सिजनको सिलिन्डरसहित १४ हजारमा बिक्री गरिरहको एक उद्योगीले बताए । उनले भने, ‘हामीले अक्सिजनको खाली सिलिन्डर फिर्ता ल्याएपछि ६ सय रुपैयाँ अक्सिजनको पैसा काटेर फिर्ता गर्ने गरेका छौं । यो अक्सिजन विरामीको अवस्था हेरेर २५ देखि ३० घन्टा प्रयोग गर्न सकिन्छ ।’

    जोगाड गर्ने होड

    अक्सिजन सिलिन्डर बिक्रेताका अनुसार ७ र ६.५ क्यूभी लिटरभन्दा पनि १.५ क्यूभी लिटरको सिलिन्डर अभाव भएको छ । सानो अक्सिजन सिलिन्डर घरमा नै प्रयोग हुने र बजारमा अभाव हुने हल्लाले मानिसहरूले आवश्यकताभन्दा बढी जोगाड गर्न थालेका छन् ।

    भारतमा अक्सिजनको अभावले कोरोना संक्रमितको मृत्यु भएको खबर आएपछि नेपाली उपभोक्ताहरूले आफ्नो घरमा सिलिन्डर लगेर राख्न थालेको बिक्रेताहरू बताउँछन् । तर, भएको सिलिन्डर खाली हुँदा भरिरहन सकिने भएकाले घरमा नै लगेर राख्नु पर्ने अवस्था नरहेको विक्रेताको भनाइ छ ।

    २० हजार सिलिन्डर किन्ने तयारी

    नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योग पर्याप्त भए पनि सिलिन्डरको भने अभाव रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

    ‘अक्सिजन उत्पादन गर्ने उद्योग प्रशस्त नै छन्, तर सिलिन्डरको अभाब हुन सक्ने भएकाले हामीले २० हजार थान किन्ने तयारी गरेका छौं,’ उनले भने ।

    भारत आफैं समस्यामा रहेकाले चीन लगायतका तेस्रो मुलुकबाट सिलिन्डर खरिद गर्ने तयारी भइरहेको रहेको गौतमले बताए ।

    कोभिडको संक्रमण बढ्दै गएमा ढुवानीका समस्याका कारणले दुर्गम जिल्लाहरूमा अक्सिजनको अभाव हुन सक्ने उनको भनाइ छ । नेपालका २२ अक्सिजन उद्योगमध्ये ११ काठमाडौं उपत्यकामा नै छन् । बाँकी उद्योगहरु प्रदेश १, वागमती, लुम्बिनी र गण्डकी प्रदेशमा रहेका छन् । कर्णाली र सुदूरपश्चिम अक्सिजन उद्योग नभएकाले कोभिडका बिरामीले समयमा नै अक्सिजन प्राप्त गर्न नसक्ने विज्ञहरूको भनाइ छ ।

    अक्सिजन उद्योगीहरु भने दुर्गम क्षेत्रमा अक्सिजन पुर्‍याउन समस्या नहुने भए पनि ढुवानी खर्च भने बढी लाग्ने बताउँछन् । नेपालमा टिचिङ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतका केही अस्पतालहरूले आफ्नै अक्सिजन प्लान्टमार्फत रिफिलिङ गर्न सक्ने भए पनि बिरामीको चाप बढ्दै गएकाले सिलिन्डरको अभाव हुन थालेको छ ।

    टिचिङ अस्पतालले भने बिरामीको चाप बढ्दै गएकाले अक्सिजनको अभाव हुन नदिन बुलेट खरिद गर्न टेण्डर प्रकृया सुरु गरिएको जनाएको छ ।

    अक्सिजन सिलिन्डर रोटेसनमा गएपछि आउन समय लाग्ने गरेकाले अक्सिजनको अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष सौरभ सारडा बताउँछन् ।

    ‘रोटेसनमा गएको सिलिन्डर फर्किन निकै समय लाग्ने गरेको छ र समयमा समयमा बिजुली जाने गरेकाले उत्पादनमा समस्या आउने गरेको छ,’ उनको भनाइ छ ।

    अक्सिजन किन महत्वपूर्ण ?

    कोभिडका बिरामीको गम्भीर अवस्था हुँदा फोक्सोले काम गर्न छोड्ने भएकाले अक्सिजनको आवश्यकता पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

    ‘फोक्सोले काम गर्न छोड्दा शरीरका अरु अङ्ग पनि ड्यामेज हुनसक्छन् । त्यसैले, यसबाट बचाउनका लागि बिरामीलाई अक्सिजनको आवश्यक पर्छ,’ पुनले भने ।

    कोभिडसँगै नियमितरूपमा दम, निमोनिया तथा अपरेसन गरेका बिरामीलाई सामान्यतया अक्सिजन आवश्यक पर्छ । बिरामीको अवस्थानुसार अक्सिजनको मात्रा आवश्यक पर्ने चिकित्सकको भनाइ छ । कोभिडका बिरामीहरूलाई अन्य बिरामीको तुलनामा अक्सिजनको बढी आवश्यक पर्ने उनीहरू बताउँछन् ।

  • लुम्बिनीका दुई जिल्लामा आजदेखि निषेधाज्ञा

    लुम्बिनीका दुई जिल्लामा आजदेखि निषेधाज्ञा

    रूपन्देही । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा लागू हुँदैछ ।

    कोरोना संक्रमण बढ्दै गएपछि आज मध्यरातदेखि निषेधाज्ञा लागू हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राति १२ बजेदेखि वैशाख २० राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने उल्लेख उल्लेख गरेका छन् ।

    यसअघि बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा वैशाख ८ देखि १५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो । सङ्क्रमण फैलिँदै गएकाले जिल्लाभरी निषेधाज्ञाको निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

    गेलालले लकडाउन नागरिकको सुरक्षाका लागि भएकाले सोही अनुसार बुझिदिन अनुरोध गरेका छन् । बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका जिल्लाहरू हुन् । बाँकेमा सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय नाघेको छ ।

    निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।

  • भारतमा सोमबार साढे ३ लाख संक्रमित थपिए, झण्डै ३ हजारको मृत्यु

    भारतमा सोमबार साढे ३ लाख संक्रमित थपिए, झण्डै ३ हजारको मृत्यु

     दिल्ली । भारतमा एकैदिन साढे तीनलाख कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाखको संक्रमित आँकडा पार गरेको यो लगातार पाँच दिन हो ।

    ३ लाख ५२ हजार ९९१ जना संक्रमित थपिएका हुन् । २८ लाख १३ हजार सक्रिय संक्रमित थपिएका छन् । भाइरसबाट २४ घण्टामा २,८१२ जना संक्रमितको मृत्यु भएको छ ।

    भारतको अवस्था भयावह बन्दै जान थालेपछि अमेरिका, बेलायत, जर्मनीले स्वास्थ्य सामाग्री सहयोगको घोषणा गरेका छन् ।

  • ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

    ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

    ब्राजिल । कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यहाँ गत २४ घण्टामा कोभिड-१९ को सङ्क्रमणका कारण १ हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् ।

    यहाँ गत २४ घण्टामा कोभिड-१९ का करिब ३३ हजार जना सङ्क्रमति थपिएका छन् । यहाँ दिनहुँ नागरिकको ज्यान जाने र सङक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन । ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले कोभिड–१९ का कारण भयानक मात्रामा तनाव खेपिरेहको पनि बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन् । जसका कारण सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचारमा पनि समस्या भएको जनाएका छन् ।

    उता यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरुको दाबी छ ।तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।

    यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । उता यस सङ्क्रमणबाट यस राज्यका मात्र ९२ हजार जना भन्दा बढी व्यक्तिको ज्यान गएको छ । यहाँ अहिले पनि हरेक दिन नयाँ सङक्रमितहरु देखिने क्रम जारी नै छ ।

  • आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज

    आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज

    काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने क्रम आज पनि जारी छ । 

    निजामति अस्पताल मीनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ। त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ।

    त्यसैगरि, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ।

  • झाडापखालाबाट दिदीबहिनीको निधन

    दाङ । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

    शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

    दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

    उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

  • आइतबार २८ जना कोभिड बिरामीको मृत्यु, सक्रिय संक्रमित संख्या १९ हजार नाघ्यो

    आइतबार २८ जना कोभिड बिरामीको मृत्यु, सक्रिय संक्रमित संख्या १९ हजार नाघ्यो

    काठमाडौं । कोभिड-१९ को कारण आइतबार मुलुकमा अहिलेसम्मकै दोस्रो धेरै व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २८ जना कोभिड बिरामीको मृत्यु भएको बताए ।

    उनका अनुसार यो हालसम्मकै दोस्रो ठूलो उच्च हो । यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो ।

    आइतबार भाइरसबाट १४ जनाको मृत्यु भएको थियो । आइतबार सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा माथि छन् ।

  • कहाँ–कहाँ जारी हुन सक्छ निषेधाज्ञा ? यी हुन् ५ सयभन्दा बढी संक्रमित रहेका ९ जिल्ला

    कहाँ–कहाँ जारी हुन सक्छ निषेधाज्ञा ? यी हुन् ५ सयभन्दा बढी संक्रमित रहेका ९ जिल्ला

    काठमाडौं । संघीय राजधानी काठमाडौंसहित मुलकुभरका ९ जिल्लामा निषेधाज्ञा जारी हुनसक्ने देखिएको छ । ती जिल्लामा सक्रिय संक्रमित ५ सयभन्दा बढी छन् ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको छ । यसका आधारमा ती जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्छन् । यद्यपि, मन्त्रीपरिषद वैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गर्न बाँकी छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिले साँझसम्मको तथ्यांकअनुसार मुलुकभरका ७७ जिल्लामा सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार  त्यसमध्ये ९ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

    सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय २८ पुगेको छ भने दोस्रोमा बाँकेमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३९ पुगेको छ । तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ललितपुरमा १ हजार ३ सय ५१, रुपन्देहीमा १ हजार ३ सय १३, पर्सामा ६ सय ४३, भक्तपुरमा ६ सय १३, कास्की ६ सय १३, मोरङमा ५ सय ६१ र दाङमा ५ सय ५७ पुगेको छ ।

    पाँच सयभन्दा कम तर २ सयभन्दा माथि सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४ छ । जसमध्ये कैलालीमा ४ सय ३४, चितवनमा ३ सय ९६, सुर्खेतमा ३ सय ७३ र बर्दियामा २ सय ७९ रहेका छन् । यस्तै दुइ सय नजिक सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या २ रहेको छ । जसमा कञ्चनपुरमा १ सय ९९ र पाल्पामा १ सय ८३ सक्रिय संक्रमित छन् ।

  • कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग

    कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग

    काठमाडौं । बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागी सांसदहरूले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ थियो ।

    नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेकोतर्फ संकेत गरे । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको भन्दै सरकारलाई आफैंले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए । यस्तै कोभिडलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने उनको माग थियो ।

    जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको आरोप लगाए । सरकार आफैंले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने गरेको यादवको टिप्पणी छ ।

    नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारको मातहतमा रहको अक्सिजन प्लान्टहरूलाई मर्मत गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको औंल्याए ।

    बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि भइरहेका कामको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

  • सक्रिय कोरोना संक्रमित घरमैः न आइसोलेशन, न उपचार

    सक्रिय कोरोना संक्रमित घरमैः न आइसोलेशन, न उपचार

    जनकपुरधाम । आइसोलेशन अभावका कारण प्रदेश २ का कोरोनाका सक्रिय संक्रमित घरमै बस्न वाध्य भएका छन् । सक्रिय संक्रमित घरमै बस्दा समुदायमा कोरोना झन् धेरै फैलने त्रास बढेको छ ।

    घरमै बसेका संक्रमितले पनि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । संक्रमितहरु खुलेयाम घरबाहिर पनि हिँडडुल गरिरहेका छन् । सरकारले व्यवस्था गरेको आइसोलेशन नभए पनि होम क्वारिन्टिनमा बसेकाले पनि लापरबाही गरिएको एक स्वास्थ्यकर्मीले बताए । खेलाँची गर्दा कोरोनाले भयावह रुप लिने खतरा बढेको उनको भनाइ छ ।

    उनका अनुसार कतिपय ठाउँमा आइसोलेशन सेन्टर नै छैन । जहाँ आइसोलेशन सेन्टर छ, त्यहाँ पनि संक्रमितलाई राख्ने गरिएको छैन । प्रादेशिक अस्पताल जनकपुर र यस प्रदेशका अधिकांश जिल्ला अस्पतालमा आइसोलेशन सेन्टर छैन ।

    प्रदेश सरकारले रकम नपठाएसम्म आइसोलेशन सेन्टर निर्माण नगर्ने मडिकल सुपरिटेन्डेटहरु बताउँछन् ।

    सिरहा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादव भन्छन्, ‘प्रदेश सरकारले विगतको भुक्तानी हालसम्म दिएको छैन । फेरि लगानी गरेर किन फस्ने ?’ रकम पठाएपछि मात्र आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

    कोभिड–१९ धनुषा संयोजक डा. जामुन सिंहले घरमा बसेका सक्रिय संक्रमितहरुको निगरानीमा स्वास्थ्यकर्मी परिचालन हुनुपर्ने बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘वास्तावमा अहिले निगरानी भइरहेको छैन । तर हरेक वडामा स्वास्थ्यकर्मीको टोली बनाएर होम आइसोलेशनमा बसेका सक्रिय संक्रमितको निगरानी गर्न जरुरी छ ।’

    बढ्दै सक्रिय संक्रमित

    यस प्रदेशमा वैशाख १ मा मात्र २२४ जना सक्रिय संक्रमित थिए । वैशााख ८ मा सक्रिय संक्रमितको संख्या ५५९ जना पुग्यो । वैशाख ११ गतेसम्म सक्रिय संक्रमितको संख्या बढेर १ हजार ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशमा हाल ५४१ संस्थागत आइसोलेशन बेड छन् । जसमा ४४ जना बसेका छन् । अन्य सक्रिय संक्रमित होम आइसोलेशनमा छन् ।

    कोभिड अस्पताल सञ्चालनमा ढिलाइ

    प्रदेश २ मा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । विगत एक सातादेखि ९० देखि १३३ जनासम्म हरेक दिन संक्रमित थपिन्छ । कोरोना संक्रमितले वीरगञ्जका अस्पतालमा ठाउँ छैन । यसरी संक्रमित बढ्दै गयो भने प्रदेश २ मा संक्रमितले अस्पतालमा उपचारमा समेत गराउन नपाउने अवस्था आउनेछ ।

    यसअघि प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको जनकपुर नर्सिङ क्याम्पसमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको थियो । अब सो क्याम्पसमा ५० बेडको कोभिड अस्पताल नै सञ्चालन गर्ने तयारी छ । तर जनशक्ति अभावका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ ।

    प्रादेशिक अस्पतालले कोभिड अस्पताल सञ्चालनका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयसँग कर्मचारी आपूर्तिको माग गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कर्मचारी आपूर्तिका लागि मन्त्रालयमा पत्राचार गरेको चार दिन वितिसक्दा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।