Category: स्वास्थ्य-जीवनशैली

  • सोमबार कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाले गुमाए ज्यान

    सोमबार कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाले गुमाए ज्यान

    काठमाडौं । सोमबार नेपालमा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

    १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ५४,०४१ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । कूल मृत्यु ३३६२ पुगेको छ ।

    बैशाख १६ गते ३५ जनाको मृत्यु भएको थियो ।

  • सरकारले अवकासप्राप्त चिकित्सकलाई करारमा खटाउने

    सरकारले अवकासप्राप्त चिकित्सकलाई करारमा खटाउने

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारीविरुद्ध जुध्न सरकारले अवकासप्राप्त स्वास्थ्यकर्मीलाई खटाउने भएको छ ।

    सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रण तथा उपचारका लागि सरकारले थप कदम चाल्ने आश्वस्त पारे ।

    ‘स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ’, प्रधानमन्त्रीले भने, ‘कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गरिनेछ ।’

    सङ्क्रमणको साङ्लो तोड्न लागू निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको प्रधानमन्त्रीले बताए ।

  • ठूला सरकारी र निजी अस्पताललाई अब कोरोना अस्पताल बनाइने

    ठूला सरकारी र निजी अस्पताललाई अब कोरोना अस्पताल बनाइने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै शैय्या भएका उपत्यकाका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताएका छन् ।

    नेपाली सेनालाई प्रदेश तथा राजधानीमा १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताउँदै ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि-चन्द्र मिलिटरी अस्पतालसहित ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताए।

    देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भाइरसको दोस्रो लहर फैलिएको अवस्थामा जनतालाई स्वास्थ्य उपचारको प्रत्याभूति दिन यस्तो तयारी थालिएको बताए । कोरोनाविरुद्धको खोप प्रदान गर्नेमा नेपाल दक्षिण एसियामा भारतपछि रहेको भन्दै उनले यसलाई निरन्तरता दिइने बताए।

    नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उनले कोभिड १९ विरुद्धको लडाइँमा समन्वय गरेर काम गर्ने बताए ।

    सबै स्थानीय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण र प्रदेश र केन्द्रमा संक्रामक अस्पताल निर्माणलाई तीव्रता दिइएको प्रधानमन्त्रीले बताए ।

    प्रदेश सरकारले पनि प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन-कोभिड अस्पतालको रूपमा संचालन गर्ने उनले जनाए ।

    सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

  • प्रधानमन्त्रीको आग्रह- कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं

    प्रधानमन्त्रीको आग्रह- कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् ।

    सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे । कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।

    अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।

    सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताए ।

    नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताउँदै प्रधानमन्त्रीले स्वास्थ्य सुविधाबाट कोही पनि बन्चित हुन नपरोस् भन्नेतर्फ सरकार गम्भिर रहेको पनि उनले बताए ।

    संघ र प्रदेशबीच समन्वात्मक ढंगले कोभिडविरुद्ध एकजुट हुन सरकारका मन्त्रीलाई फोकल पर्सन तोकिएको जानकारी दिँदै प्रधानमन्त्रीले महामारीविरुद्ध एकजुट हुन राजनीतिक दलहरुलाई पनि आग्रह गरे ।

    महामारी ब्यापकरुपमा फैलिने क्रम सुरु भएसँगै कन्ट्याक्ट ट्रेसिङ र संक्रमित पहिचान बनाउने काम थालिएको उनले जनाए । अत्यावश्यक लिक्विड अक्सिजन गैरकानूनी निर्यात गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले देशमा उत्पादित अक्सिजनलाई अन्य क्षेत्रमा प्रयोग गर्न रोक लगाइने बताए ।

    जीवनदायिनी औषधीको कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई टोल तथा वस्तीमा अनुगमनमा पठाउने प्रधानमन्त्रीले जनाए ।

    जनस्वास्थ्य मापदण्ड पालनाको नेतृत्व गृह, सचेतनाको नेतृत्व संचार मन्त्रालय र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।

    २० गते रातीदेखि आन्तरिक उडान र २३ गते रातीदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने जानकारी दिँदै उनले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खोप उपलब्ध गराएकोमा मित्रराष्ट्रलाई धन्यवाद समेत दिए ।

  • काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

    काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

    काठमाडौं । नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ ।  जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ ।

    कोरोना महामारीको पहिलो चरणमा गत वर्ष बाहिरी जिल्लाका संक्रमितलाई थप उपचारका लागि रेफर गरेर काठमाडौं ल्याउने गरिन्थ्यो ।

    काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमितलाई बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ‘बेड सिफ्ट’ गरिएको छ ।

    उपत्यकाका कुनै अस्पतालमा भेन्टिलेटरसहितको बेड नपाएपछि झापा कमल गाउँपालिका-५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो ।

    स्वास्थ्यमन्त्रालयका अनुसार हिजोमात्रै नेपालमा सात हजार २११ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भयो ।  काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

    यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि अस्पतालमा तारान्तार फोन आइरहेको छ ।

    बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू शैया , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, ‘तीमध्ये २५ भेन्टिलेटरसहित आईसीयू बेड कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति  छ ।’

  • अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाम (तस्बिरहरू)

    अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाम (तस्बिरहरू)

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड-१९ विश्वव्यापी महामारीको दोस्रो वेभले अहिले विश्वलाई आक्रान्त पारेको छ ।

    नेपालमा संक्रमितको संख्या दिनानुदिन उच्च गतिले बढिरहेको छ । अस्पतालमा संक्रमितको चाप छ भने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउनेको पनि भीड लागेको छ ।

    हिजोमात्रै सात हजार २११ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमूना परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् । काठमाडौंमा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

    निषेधाज्ञाका बीच सिभिल अस्पतालमा कोरोना परीक्षणको लागि स्वाब नमूना दिन आएकाहरूको भीड हेर्नुस् तस्बिरमा

  • अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

    अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

    मन्त्रालयले कोभिड-१९ को संक्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका संक्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

    उनले अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गरेका छन् । साथै मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत आग्रह गरेको छ ।

    नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक २ हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्युड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।

    उनका अनुसार अहिले अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक ८ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । नेपालमा अक्सिजन ग्यास प्रशस्त भए पनि अक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ ।

  • कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ ।

    मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोलीले आइतबार त्यहाँ पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । तीन दिनअघि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्नुका साथै कोरोना संक्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्रा. डा. डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा. केएन पौडेलसँग जानकारी लिएका थिए ।

    खासगरी पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले संक्रमितको सङ्ख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सघाए । सामाजिक विकासमन्त्रीसमेत भएका मुख्यमन्त्री, नेपाली सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो ।

    आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा. डा. खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको छ । यसो हुन सकेमात्र श्वासप्रश्वासका बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ ।

  • लुम्बिनीमा ५८३ कोभिड दरबन्दी स्वीकृत, कोषमा १० करोड थपियो

    लुम्बिनीमा ५८३ कोभिड दरबन्दी स्वीकृत, कोषमा १० करोड थपियो

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारले कोभिडविरुद्ध स्वास्थ्य जनशक्ति थप गर्न करिव ६०० जना कोभिड विशेष दरबन्दी थप गरेको छ ।

    पुनर्गठित लुम्बिनी सरकार मन्त्रिपरिषदको पहिलो बैठकले कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत १० करोड रूपैयाँ कोषमा उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

    मन्त्री चौधरीका अनुसार बैठकले प्रदेशका ४ वटा कोभिड विशेष अस्पतालहरूको सेवा निरन्तरता र कर्मचारीहरूको करार अवधि थप गरिएको छ ।

    बैठकले भैरहवास्थित भीम अस्पतालमा ७१ जना, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १८९, बेलझुण्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १७१ र भेरी अस्पताल नेपालगन्जमा १५२ जना गरी ५८३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको मन्त्री चौधरीले बताए ।

    यसअघि प्रदेश सरकारले संक्रमितको उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

  • स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द

    स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द

    सिरहा । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका-९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई-९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

    उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोभिड-१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । संक्रमितमध्ये ७ जना आइसोलेसनमा, १ जनाको विराटनगर, १ जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् ।

    दूध डेरीमाथि कारवाही

    बिनाअनुमति दूध डेरी सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका-३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगमाथि कारवाही अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दूध, दहीलगायतका सामग्री बजारमा बिक्री गरिरहेको पाइएपछि सञ्चालकमाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

    अनुगमनका क्रममा खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरेको र खाद्यान्न गुणस्तरीयसमेत नदेखिएकाले कारवाही अघि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताए ।डेरी सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए ।

    यस्तै बजार अनुगमनकै क्रममा सिरहाको मिर्चैया नगरपालिकास्थित एक दर्जन किराना पसल तथा मिठाइ पसलबाट म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले जानकारी दिए ।

    पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, स्यानिटाइजरलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिइएको उनले जानकारी दिए। अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको भनाइ थियो ।

  • गण्डकीको स्थिति पनि भयावहः एकै दिन ८ को मृत्यु, अस्पतालका बेड भरिए

    गण्डकीको स्थिति पनि भयावहः एकै दिन ८ को मृत्यु, अस्पतालका बेड भरिए

    पोखरा । चैत ३१ मा गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ४ सय १६ थियो । त्यसमध्ये आधाभन्दा बढी होम आइसोलेसनमै थिए भने उनीहरुको अवस्था सामान्य नै थियो ।

    लगत्तै प्रदेशमा ‘युके भेरियन्ट’ प्रवेशसँगै संक्रमितको संख्यामात्रै बढेन, मृत्यु हुनेको संख्या पनि बढ्दै गयो । चैत अन्तिममा २ सय ७ जनामात्रै कोरोना संक्रमितको मृत्यु भएको थियो । तर, प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख यतामात्रै २ सय ३१ पुगेको छ ।

    अर्थात्, करिब ३ हप्ता नबित्दै २४ जनाको मृत्यु भएको छ । चैत अन्तिममा जम्मा १६ हजार संक्रमित रहेको प्रदेशमा यसै सही समयावधिमा संक्रमितको संख्या २० हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आइतबारसम्म प्रदेशमा कोरोनो संक्रमितको संख्या २० हजार ४३ पुगेको छ ।

    गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा मात्रै आइतबारसम्म १ हजार ३१५ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ सय ३० जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

    १ दिनमै ८ को मत्यु

    गण्डकीमा पछिल्लो एकहप्तामा मात्रै २१ जना संक्रमितको मृत्यु भएको छ भने एकदिनमै पोखरामा उपचाररत ८ जनाको मृत्यु भएको छ । २४ घन्टामा १ हजार १९० स्वाब परीक्षण गर्दा ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    दैनिकजसो मृत्यु र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अहिले कास्की जिल्ला लगायत विभिन्न गण्डकीका विभिन्न स्थानीय तहमा निषेधाज्ञा लागू गरिएका छन् । गण्डकी प्रदेशका स्याङजा, पर्वत, बागलुङलगायत जिल्लाका विभिन्न स्थानीय तहले निषेधाज्ञा गरेका छन् ।

    तर, ती लकडाउनसमेत आंशिक गरिएकाले कोरोनाको ‘चेन ब्रेक’ हुने लक्षण नदेखिएको विज्ञ बताउँछन् । ‘पहिलो चरणको लामो लकडाउनपछि स्वभाभिक रुपमा मान्छेहरु बाहिर निस्किन थाले । त्यसले गर्दा भिडभाड बढ्यो । स्वास्थ्य मापदण्ड मान्नतिर उनीहरुको ध्यान गएन । त्यसले झन् भयावहको स्थिति ल्यायो,’ गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्मा भन्छन्, ‘व्यक्ति आफैंले लापरवाही गर्यो भने झन् बढी समस्या निम्तेर आउने भयो ।’

    भरियो कोभिड अस्पताल, अवस्था गम्भीर !

    कोरोना संक्रमितको उपचार गर्न प्रदेशभरिमा एउटामात्र संक्रामक तथा सरुवा रोग अस्पताल छ । पोखरा ३० मा रहेको ‘लायन्स सामुदायिक अस्पताल’लाई प्रदेशले आफू मातहतमा ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको थियो ।
    कोभिड संक्रमित बिरामी राख्न ५१ बेड छुट्याइएको छ । अहिले ती सबै बेडमा कोभिड बिरामीले भरिएको अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचन बताउँछन् । अहिले अस्पतालमा ४९ जना कोरोना संक्रमितले उपचार गरिरहेका छन् ।

    ‘५ वटा बेड प्रि आइसोलेसनका लागि छुट्याइएको थियो । त्यो भनेको कोभिड लक्षण देखिएको तर, पुष्टि नभएकालाई राख्न बनाइएको थियो,’ गौचन भन्छन्, ‘अहिले ती बेडमा पनि कोरोनाकै बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था आयो ।’ उनका अनुसार अस्पतालमा खास कोरोना संक्रमितलाई राख्न ४६ वटा बेडमात्रै छुट्याइएको थियो ।

    डा. विकास गौचन

    अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये प्रायको अवस्था गम्भीर रहेको डा गौचनले जानकारी दिए । ‘सबै बिरामीको अवस्था अहिले जटिल छ । धेरैमा निमोनिया देखिएको छ । उहाँहरुलाई अक्सिजन दिएर राखेका छौं,’ डा गौचन भन्छन्, ‘अवस्था जटिल भएकाले सिलिन्डरबाट अक्सिजन दिइराख्नु परेको छ ।’

    कोभिडकै उपचार गर्ने गरी खुलेको अस्पतालमा बेड भरिएपछि त्यहाँ आउने संक्रमितलाई अन्यत्र पठाउनुको विकल्प नरहेको डा गौचनको भनाइ छ । उनी त्यहाँ आउने बिरामीलाई केहीलाई निजी र केहीलाई केन्द्रीय सरकारको मातहतमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुपर्ने बाध्यता रहेको सुनाए ।

    यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बेडको संख्या भरिँदै आएको बताएको छ । कोभिड बिरामीलाई उपचार गर्न ४० बेड त्यहाँ छुट्याइएको छ । तर, त्यहाँ पनि आइतबारसम्म २७ जना संक्रमित उपचाररत छन् । ‘कोभिड विरामीको संख्या थपिँदै गइरहेको छ । यहाँ उपचाररत रहेका धेरै विरामीको अवस्था गम्भीर नै छ,’ अस्पतालका निर्देशक डा अर्जुन आचार्यले भने ।

    ‘अटेरी गर्ने सरकारी अस्पताललाई कारवाही गर्नुपर्छ’

    कोेभिड महामारीले दोस्रो लहरमा प्रवेश गर्दै भयावह स्थिति निम्तिने आँकलन गर्दै स्वास्थ्य मन्त्रालयले सबै वैशाख २ गते एउटा परिपत्र जारी ग¥यो, ‘कोरोना संक्रमितको उपचार गर्न कम्तिमा ५० प्रतिशत बेड तयार राख्नू ।’

    राजपत्रमै प्रकाशित भएर आइसकेको उक्त परिपत्र कार्यान्वयन कहाँ पुग्यो ? सम्बन्धित निकायलाई नै थाहा छैन । आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार नाघिसकेको छ । त्यसमध्ये १ हजार ८७ जना संक्रमित घरमै ‘आइसोलेटेड’ छन् ।

    घरमै रहेका ती संक्रमितको स्वास्थ्यावस्थामा खराबी आए अस्पतालहरुले धान्न सक्ने अवस्था छैन । तर, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक विकास गौचन सरकारले जारी गरेको परिपत्रमात्रै कार्यान्वयन भए धेरै संक्रमितको उपचार गर्न सकिने बताउँछन् ।

    ‘प्रदेशका ११ वटै जिल्लामा सरकारी अस्पताल छ । स्थानीय तहका पनि आफ्नै अस्पताल बनाउन बजेट छुटिसकेको अवस्था छ । ती अस्पतालमात्रै राम्ररी चलाउन सकियो भने केही सहज हुन्छ,’ डा गौचन भन्छन्, ‘जिल्लाका अस्पतालका बेड अवस्था कस्तो छ खोजीनीति गर्नुपर्यो । परिपत्र अनुसार भएका छैनन् भने कानुनबमोजिम तत्काल कारवाही गर्नुपर्छ ।’

    सरकारले कोरोना विरामीलाई उपचार गर्न बेड तयारी राख्न परिपत्र जारी गरिसकेको अवस्थामा कोही जनताले दुख पाउन नहुने डा गौचनको भनाइ छ । ‘जनताले चाहेको अवस्थामा उनीहरुले नै दुख पाउने हुनुहुँदैन,’ उनले भने ।
    सरकारको फितलो तयारी !

    कोभिड संक्रमितको उपचार गर्ने एकमात्र अस्पताल संक्रामक अस्पतालमा अहिले सिलिन्डरबाट कोभिड बिरामीलाई अक्सिजन दिइरहेको छ । प्रदेशका केही जिल्लामा अक्सिजन प्लान्टको व्यवस्था भए पनि कोभिड अस्पतालमै व्यवस्था गरिएको छैन ।

    संक्रामक रोग अस्पतालमा अक्सिजन उत्पादनका लागि प्रदेशले १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । जुन ९० लाखमा टेन्डरमा गइसकेको प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनमगर बताउँछिन् । तर, बजेट विनियोजन भइसकेको लामो समय भइसक्दा पनि कार्यान्वयनमा ल्याउन सकेको छैन ।

    कार्यकारी निर्देशक विकास गौचन अक्सिजन प्लान्ट प्रक्रिया टेन्डर भएर सम्पूर्ण तयारी भइसकेपछि पनि सञ्चालनमा आउन केही समय लाग्ने बताउँछन् । ‘तर, त्यो इन्स्टल हुन अलिक समय लाग्छ होला !’ उनले भने ।

    अस्पतालले भने स्थापना भएको करिब ९ महिनापछिमात्रै सञ्चालक समिति पाएको छ । तत्कालीन लायन्स सामुदायिक अस्पतालबाट कोभिड उपचारमात्रै गर्न प्रदेशको मातहतमा आएको ९ महिनापछिमात्रै बिहीबार सञ्चालक समिति पाएको हो ।

    कोभिड–१९ को दोस्रो लहरले प्रदेश आक्रान्त हुन थालेपछि प्रदेश सामाजिक विकास मन्त्रालयले बल्ल आवश्यक दरबन्दी आह्वान गरेको छ । वैशाख १६ गते प्रकाशित विज्ञापनमा आवश्यक स्वास्थ्यकर्मी माग गरेको छ । विज्ञापनअनुसार बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

    सामाजिक विकास मन्त्रालयको पदपूर्ति तथा सिफारिस समितिले मन्त्रालय मातहतका विभिन्न अस्पतालमा भेन्टिलेटरसहितको आइसियू र एचडियू स्थापना र सञ्चालन गर्न कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सल्टेन्ट जनरल फिजिसियन माग गरेको हो ।

  • वीरमा ५ सय शैय्याको कोरोना अस्पताल बनाउने तयारी, उप-प्रधानमन्त्रीले गरे छलफल

    वीरमा ५ सय शैय्याको कोरोना अस्पताल बनाउने तयारी, उप-प्रधानमन्त्रीले गरे छलफल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा आइतबार छलफल गरेका छन् ।

    सीसीएमसी संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन् ।

    काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ ।

    उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए । उनले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।

  • बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन निर्देशन

    बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्किन निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन दिएको छ ।

    आइतबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले चिकित्सा विधामा अध्ययनरत विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले उपचार व्यवस्थापनमा लगाउनुपर्ने समेत निर्देशन छ ।

    विदेश जानेको लागि पीसीआर गर्ने हकमा सरकारी प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित ए वर्गका प्रयोगशालाले परीक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

  • आइतबार काठमाडौंमा मात्र ३,५९५ संक्रमित थपिए

    आइतबार काठमाडौंमा मात्र ३,५९५ संक्रमित थपिए

    काठमाडौं । आइतबार काठमाडौंमा मात्र ३ हजार ५९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा देशभर ७,२११ जना संक्रमित थपिएका हुन् । मुलुकभर भेटिएको भन्दा आधा संक्रमण काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएको हो ।

    मुलुकभर आइतबारसम्म सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

  • आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु, सक्रिय संक्रमण ४८ हजार नाघ्यो

    आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु, सक्रिय संक्रमण ४८ हजार नाघ्यो

    काठमाडौं । आइतबार नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

    १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् ।

    सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।

  • सबैको साथ र सहयोगले कोभिड विरुद्धको लडाई जित्नुको विकल्प छैन

    सबैको साथ र सहयोगले कोभिड विरुद्धको लडाई जित्नुको विकल्प छैन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

    कोभिड -१९को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

    कोभिड-१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितमा अघिल्लो पटक कोभिड-१९ का बेलाका सिकाईहरुलाई समेत आधार मान्दै अघि बढेका छौं, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८ र ७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भने,‘सबैको साथ र सहयोगले कोभिड १९ विरुद्धको लडाई जित्नुको विकल्प हामीसँग छैन ।’

    उनले वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीयतहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए ।

    जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड- १९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिए ।

    कोभिड१९को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनर्उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनस् असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए ।

    जनताको जीवन रक्षाका लागि नै ठाउँ-ठाउँमा निशेधाज्ञा जारी गर्नु परेको बताउँदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन, स्वास्थ्य मापदण्ड र निर्णयहरुलाई पालना गर्न सबैलाई आग्रह गरे ।

    सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरु, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन गर्न सुझाव दिएको छ ।

    सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमुलक समाचारका लागि प्रोत्साहन स्वरुप फेलोसीपको व्यवस्था गर्न, पत्रकारको पेशागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, आर्थिकसँग सम्बन्धित बीटको विकासका लागि प्रोत्साहन गर्ने लागयतका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

     

     

     

     

  • कोरोना अस्पतालमा अक्सिजन अभावले एकको मृत्यु

    कोरोना अस्पतालमा अक्सिजन अभावले एकको मृत्यु

    दाङ । अक्सिजनको अभावका कारण कोरोना अस्पताल बेलझुण्डिमा उपचाररत एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा घोराही १५ का ७७ वर्षीय पुरूष रहेका छन् ।

    आइसीयुमा उपचाररत उनको अक्सिजन अभावका कारण मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन् । उनका अनुसार बेलझुण्डि कोरोना अस्पतालमा अहिले अक्सिजन सकिएको छ ।

    उक्त अस्पतालमा अहिले ५९ जनाको उपचार भइरहेको र त्यसमध्ये ४० जनाको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ ।

  • कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

    कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

    कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै निधन भएको छ । उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो ।

    लम्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताएका छन् ।

    २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

  • भारतमा एकै दिनमा झण्डै चार लाख संक्रमित

    भारतमा एकै दिनमा झण्डै चार लाख संक्रमित

    दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै ४ लाख मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको संक्रमण भएको हो ।

    यसअघि हिजो एकै दिन सबैभन्दा धेरै ४ लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल १ करोड ९५ लाख ५७ हजार ४५७ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या २ लाख १५ हजार ५४२ पुगेको छ ।

    भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।

  • उपकरण अभावमा खेर जाँदै धौलागिरी अस्पतालको अक्सिजन

    उपकरण अभावमा खेर जाँदै धौलागिरी अस्पतालको अक्सिजन

    बाग्लुङ । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ ।

    धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।

    पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।

    अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने भएको र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको सन्दर्भमा धवलागिरि अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन सिलिण्डरमा भर्न सके धेरैको जीवनरक्षाका लागि सहज हुने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

    ‘अस्पतालमा विसं २०७६ पुसदेखि अक्सिजन प्लान्टबाटै बिरामीको शय्यामा अक्सिजन पुर्‍याइएको छ तर अक्सिजनको क्षमताअनुसार उत्पादन भएको अक्सिजन खपत भएको छैन‘, अध्यक्ष रानामगरले भने, ‘अहिले कोरोनाका बिरामीलाई अक्सिजन अनिवार्य देखिएपछि नेपालमा अक्सिजन अभाव भएको सुनेको छु, हाम्रोमा अक्सिजन भर्ने व्यवस्था गर्न सके अरु स्वास्थ्यचौकी तथा अस्पतालमा वितरण गर्न सकिन्थ्यो ।’

    ५० शय्याको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने निर्णयसँगै केही कामसमेत अघि बढाएको छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै भएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले बताए।

    ‘उत्पादित पूरै अक्सिजन अस्पतालले खपत गरेको छैन, अक्सिजन बिरामीको शय्यामै पुर्‍याइएको छ तर सिलिण्डरमा भर्ने व्यवस्था नहुँदा अन्यत्र पुर्‍याउन कठिन छ’, डा. पोखरेलले भने, ‘अस्पतालमा खपत नभएको समयको अक्सिजन सिलिण्डमा भर्न पाए कोरोना महामारीको समयमा अन्यत्रसमेत अक्सिजन दिन सकिन्थ्यो तर फिलिङ सिस्टम नभएकाले अक्सिजनको कम प्रयोग भएको समयमा अस्पतालको प्लान्टद्वारा उत्पादित अक्सिजन खेर गइरहेको छ ।’ अक्सिजन प्लान्ट ९० लाख ४० हजार रुपैयाँकोे लागतमा गण्डकी प्रदेश सरकारले स्थापना गरेपछि अस्पतालमा अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ तर अस्पताललाई अहिले पनि केही मात्रमा सिलिण्डरकै अक्सिजन आवश्यक परिरहेको भने छ । बिरामीलाई शय्याभन्दा बाहिर ल्याउनुपर्दा, सिफारिस गरी बाहिर पठाउनुपर्दा र हवाई उद्धार गर्दा भने आफ्नै अक्सिजन प्लान्ट भएर पनि केही मात्रामा भने अक्सिजनसहितका सिलिण्डर खरिद गर्नुपर्ने बाध्यता अस्पताललाई छ ।

    ‘अक्सिजन प्लान्ट बन्द गर्न मिल्दैन, चलाउँदा पूरै क्षमतामा चल्छ, कहिले अक्सिजन लगाउनुपर्ने बिरामी धेरै हुन्छन् त कहिले थोरै हुन्छन्, थोरै बिरामी हुँदा बचेको अक्सिजन सिलिण्डरमा भर्न नसक्दा खेर गएको छ’, डा. पोखरेलले भने । उनका अनुसार आफ्नै प्लान्टको अक्सिजन भर्न नसक्दा कहिलेकाहीँ सिलिण्डरको अक्सिजन आवश्यकता हुँदा बाहिरबाट खरिद गर्नुपर्ने परिस्थिति छ । उक्त अक्सिजन प्लान्टमा भर्ने उपकरण ‘फिलिङ सिस्टम’ खरिदका लागि गण्डकी प्रदेशसँग माग गरिरहेको डा. पोखरेलले बताए ।

    अक्सिजन भर्ने उपकरणलाई ३० देखि ५० लाख रुपैयाँ पर्ने बुझ्नमा आएको उनको भनाइ छ । अस्पतालमा प्लान्ट हुनुपूर्व अस्पतालमा निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो । धौलागिरी अस्पतालमा अहिले २५ शय्याको कोरोना वार्ड रहेको छ । अस्पतालमा ११ कोराना सङ्क्रमितको उपचार भइरहेको छ ।

  • शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु

    शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु

    काठमाडौं । शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।

    थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।

    यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

    कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।

  • भारतमा शनिबार ४ लाखभन्दा बढी संक्रमित, ३५२३ जनाको मृत्यु

    भारतमा शनिबार ४ लाखभन्दा बढी संक्रमित, ३५२३ जनाको मृत्यु

    काठमाडौं । शनिबार भारतमा चारलाख भन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन भारतमा ४ लाख १ हजार ९९३ जना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ३५२३ जनाको मृत्यु भएको छ । २ लाख ९९ हजार ९८८ जना निको भएका छन् ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९१ लाखभन्दा बढी छ । कूल मृतक संख्या २ लाख ११ ८५३ पुगेको छ । सक्रिय संक्रमित संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ ।

    १५ करोड ४९ लाखभन्दा बढीलाई खोप लगाइएको छ ।

  • बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो,  आजै मात्र ६ जनाको गयो ज्यान

    बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुग्यो, आजै मात्र ६ जनाको गयो ज्यान

    रूपन्देही । बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। याे सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेकाे संख्या १ सय १७ पुगेको छ।

    पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् ।

    नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

    त्यस्तै सोही दिन राती साढे ९ बजे नेपालगन्ज ६ की ४७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

    यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कृष्णनगर ५ कपिलवस्तुका ५१ वर्षीय पुरुषको उपचारका क्रममा गएराति १० बजे र सोही अस्पतालमै कोहलपुर ११ का ३५ वर्षीय पुरुषको गएराति साढे १२ बजे मृत्यु भएको ओलीले बताए ।

    यता नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० की ५५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मृत्यु भएको छ भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो ।

    उनको शनिबार बिहानै ४ बजे मृत्यु भएको थियो।

  • भारतबाट फर्किएका संक्रमित राख्न छुट्टै आइसोलेशन

    भारतबाट फर्किएका संक्रमित राख्न छुट्टै आइसोलेशन

    नेपालगञ्ज । भारतबाट घर फर्किएका कोरोना संक्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा. धवलशम्शेर राणाले बताए ।

    उनका अनुसार भारतबाट फर्किएका संक्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । यहाँ होम आइसोलेशनको असुविधा भएका नगरवासी र बाहिरी जिल्लाका सङ्क्रमितलाई सेवा दिइने छ ।

    ह्वाइट हाउस आइसोलेशन सेन्टरबाट यही वैशाख ४ गतेदेखि हालसम्म ५७ सङ्क्रमितले सेवा पाएको आइसोलेशन सेन्टरका स्वास्थ्य स्रोत व्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी र्दिए । आजसम्म यहाँ बाहिरी जिल्लाका २५ जनासहित ४१ रहनुभएको छ । यो आइसोलेशनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरी श्ययाको व्यवस्था मिलाइएको छ ।

    कोभिड सङ्क्रमित भएपछि होम आइसोलेशनको सुविधा नभएका नगरवासीले ह्वाइटहाउस आइसोलेशनबाट सेवा लिइरहेका छन् । यो सेन्टरमा सामान्य अवस्थाका कोभिड सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताए ।

    उनका अनुसार लक्षणका बिरामीलाई राख्नका लागि उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालीम केन्द्रमा ५० श्ययाको अक्सिजनको आइसोलेशन सेन्टर आज दिउँसोदेखि सञ्चालनमा ल्याएको छ । आइसोलेशनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरिएको छ । यसैगरी बिरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ । उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेशन स्रोत व्यक्तिको सिफारिसका आधारमा सङ्क्रमितलाई राखिने भएको छ ।

  • निषेधाज्ञालाई थप कडाइ गर्ने सीसीएमसीको निर्णय

    निषेधाज्ञालाई थप कडाइ गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं । कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    सीसीएमसी संयोजक एवं उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिन सिफारिस गरेको छ ।

    बैठकले सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको छ । उद्योगहरु संचालन गर्नुपर्ने भए मजदूर र कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरि संचालन गर्न दिन समेत सिफारिस गरेको छ ।

    बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । सीसीएमसीको सिफारिसमाथि मन्त्रिपरिषद्को आगामी बैठकमा छलफल हुने भएको छ ।

    साथै बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाकामात्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । बाँकी २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न सिफारिस भएको छ ।

  • बर्दियामा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

    बर्दियामा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

    बर्दिया । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।

    जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ ।

    आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ । ५० शैय्याको सो अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजय उपाध्यायले बताए । उनका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिकबाहेकका बिरामीको भर्नामा रोक लगाएको छ ।

    ओपीडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ । चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपीडी सेवा लिनका लागि दैनिक करिब ३ सय बिरामी आउने गरेका छन् ।

  • काठमाडौं उपत्यकामा शुक्रबार झन्डै तीन हजार संक्रमित

    काठमाडौं उपत्यकामा शुक्रबार झन्डै तीन हजार संक्रमित

    काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा मात्र झन्डै तीन हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    काठमाडौंमा २,४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना संक्रमित थपिएका छन् । रुपन्देहीका ४७३, बाँकेका ४२२ र दाङका २५२ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

    एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा मोरङमा १६१, पर्सामा १५३ र चितवनमा १११ रहेका छन्।

    शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये १३९ जना नौ वर्षभन्दा मुनिका बालबालिका छन्। त्यस्तै ३६७ जना १० देखि १९ वर्षका, २,७६१ जना २० देखि ३९ वर्षका रहेका छन्।

  • शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

    शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

    १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ ।

    कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । ३,२७९ जनाको मृत्यु भएको छ ।

  • कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु

    कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढीमा मात्रै ५८ संक्रमित थपिएका छन् । कैलालीमा अन्य स्थानीय तहमा ३८ संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलाली बाहेक अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।धनगढी ८ का ४५ वर्षीय पुरुष, लम्की चुहा कि ४३ वर्षीया महिला र बर्दगोरीया ५ कि ४० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु सेती अस्पतालले जनाएको छ ।

    आज नै जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

  • स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोनाभाइरस संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै संक्रमणको हिसाबले मुलुकको २२ जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको जनाएको छ ।

    मन्त्रालयले विज्ञप्तीमार्फत सर्वसाधारणलाई परिस्थितीप्रति संवेदनशिल बन्न आग्रह गरेको छ ।

    मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

  • आन्तरिक र बाह्य पर्यटन नगर्न सरकारको आग्रह, २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

    आन्तरिक र बाह्य पर्यटन नगर्न सरकारको आग्रह, २२ जिल्ला कोरोनाको संवेदनशील सूचीमा

    काठमाडौं । मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।

    सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

  • पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सीधै सम्पर्क गर्न सकिने

    पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सीधै सम्पर्क गर्न सकिने

    काठमाडौँ । महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्‍याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

    राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुई/दुईवटा एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गरिएको छ ।

    यी एम्बुलेन्सहरु कोभिडको सङ्क्रमण नभएका बिरामीका लागि हुन् । कोभिड सङ्क्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् ।

    कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामीलाई अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

    यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।

    उक्त सेवा प्रदान गर्नका लागि काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक सङ्घसँग सम्झौता गरिसकेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स रु एक लाख २१ हजार शुल्क भुक्तानी गर्नेछ । यसबापत सङ्घले १५ दिनका लागि चौबिसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन । यो सुविधा महानगरबाट दुई किलोमिटरभन्दा टाढासम्मका लागि हो तर डाइलासिस र क्यान्सर उपचारका लागि भने दुई किलोमिटरको दूरीभन्दा बाहिर पनि जानुपर्नेछ ।

    उक्त सेवा लिनका लागि सेवाग्राहीले कामपाको हटलाइन नं ११८० मा सम्पर्क गर्ने अर्थात् एम्बुलेन्स चालकसँग सिधै सम्पर्क पनि गर्न सक्ने व्यवस्था छ ।

    एम्बुलेन्स र चालकको नं निम्नानुसार रहेको छ ।
    चावहिल, वडा ७ परिसर
    बा ३ च २७६६ र बा १० च ७८५६
    चालक, अजय लामा ९८४१–०५४७६८ र उद्धव भण्डारी, ९८४१–१४०६२२

    स्वयम्भू, वडा १५ परिसर
    ना २ च ७७५४ र बा १० च ४३७३
    चालक, शङ्कर दाहाल, ९८०८२–७९८१९ र डम्बर गुभाजू, ९८८१–३८७२१७

    महाराजगञ्ज, वडा ३ परिसर
    बा १२ च २३६० र बा ६ च २८२
    चालक, श्याम श्रेष्ठ, ९८१३–२४६०८६ र कृष्ण गुरुङ, ९८०८२–९२५५०

    ट्रली बस मीनभवन
    बा १८ च ५६५७ र ना २ च ४१२०
    चालक, सोमबहादुर तामाङ, ९८४०–९१६२६२ र सविन थापा, ९८४०–२४१४४९

    सभा गृह, प्रदर्शनी मार्ग
    बा ६ च ९१०० र बा ५ च ५७५९
    चालक, गोवद्र्धन सापकोटा, ९८५१०–८२४२५ र तुल सिंह तामाङ, ९८१८–४३९५९५ ।

  • सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

    सङ्क्रमितका लागि शय्या क्षमता बढाउँदै चितवनका अस्पताल

    चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले शय्या क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ ।

    भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्‍याइएको छ । अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीका अनुसार हाल अस्पतालमा १० बेडको कोभिड सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा अक्सिजनसहितको साधारण बेड छन् ।

    मेडिसिन वार्डका बिरामीलाई अन्यत्र सारेर अक्सिजनसहितको कोभिड बिरामीका लागि ४० वटा बेड विस्तार गरिएको छ । यस अघि हाडजोर्नी, न्यूरो, सर्जरी लगायतका विभागका बिरामी सारेर कोभिड उपचार कक्ष स्थापना गरिएको हो ।

    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बाहिर जिल्लाबाट धेरै बिरामी आएकाले व्यवस्थापन कठिन भएको बताए । हाल अस्पतालमा ८२ जना कोभिडका बिरामी छन् ती मध्ये ५० प्रतिशत जिल्ला बाहिरका हुन् । उनका अनुसार नेपालगञ्जदेखि यहाँ कोभिडका बिरामी आएका छन् । अधिकारीले भने, ‘यस्तै अवस्था रहेमा एक दुई दिनमा अस्पतालले कोभिडलाई छुट्टयाएका बेड भरिने छन् ।’

    अस्पतालमा हाल विशेषज्ञसहितका २० चिकित्सक र ३० नर्सिङ कर्मचारी कोभिड उपचारमा जुटेका छन् । अन्य अत्यावश्यक वार्डहरु खाली गर्न नसकिने भएकाले थप व्यवस्थापन गर्न कठिन हुने अस्पतालले जनाएको छ ।

    चितवन मेडिकल कलेजमा ११३ बेड कोभिडका लागि छुट्टयाइएको छ जसमा ३४ जना बिरामी हाल उपचाररत छन् । अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीका अनुसार अस्पतालमा ३३ शय्याको कोभिड उपचार कक्ष छ जहाँ ३० वटा भेन्टिलेटर समेत छन् । अधिकारीको भनाइमा प्रसुति विभाग, आकस्मिक सघन उपचार कक्ष, हाडजोर्नी लगायतका विभागलाई अन्यत्र सारेर कोभिडका लागि व्यवस्थापन गरिएको छ ।

    कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ७० बेड कोभिडका लागि छुट्ट्याइएको छ । अस्पतालका निमित्त निर्देशक डा. मनोहर प्रधानका अनुसार कोभिडलाई भनिएकामध्ये ३० सघन उपचार कक्ष र ४० एचडियु हुन् जहाँ ६ वटा भेन्टिलेटर छन् ।

    यस अघि साधारण बिरामी राख्ने ठाउँलाई खाली गरेर कोभिड बिरामी राख्न थालिएको हो । उनका अनुसार हाल अस्पतालमा कोभिडका ४१ जना बिरामी छन् । बिरामी थपिंदै गएमा अन्य विभागलाई गाभेर क्षमता विस्तार गर्ने गरी तयारी गरिएको छ । अस्पतालमा हाल २१ विशेषज्ञ सहितका चिकित्सक र ५० नर्स कोभिड उपचारमा जुटेको उनले जानकारी दिए ।

    क्यान्सर रोगको मात्रै उपचार गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिड बिरामीका लागि छुट्टै वार्ड बनाउने तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देज गौतमका अनुसार १५ बेडको वार्ड बनाउन लागिएको हो जहाँ ५ वटा थप्न सकिने छ । कोभिड भएका क्यान्सरका बिरामीलाई उपचार गर्न वार्ड तयार गर्न लागिएको हो । एक दुई दिनमै वार्ड तयार हुने छ ।

    अन्य केही निजी अस्पतालले पनि अस्पतालमा आएका बिरामीमध्ये कोभिड देखिएमा राख्ने तयारी गरेका छन् । पुष्पाञ्जलि अस्पताल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले हालसम्म आएका कोभिडका बिरामीलाई नफर्काएको भए पनि अस्पताल बिरामीले भरिएकाले राख्ने अवस्था नरहेको जानकारी दिए । स्थानीय प्रशासनले सरकारी र निजी अस्पतालका सञ्चालकलाई कोभिड बिरामी बढ्न सक्ने भएकाले तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

    बिहीबारसम्म जिल्लाका मात्रै ७२४ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य जिल्लाबाट यहाँ उपचारका लागि आउनेको तथ्याङ्क कार्यालयले राख्ने गरेको छैन । अस्पतालहरुमा ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाबाट आएका सङ्क्रमित रहेका छन्

  • एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका छन्।

    ‘कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पु¥याउन समस्या भइरहेको अवस्था छ’, पत्रमा भनिएको छ, ‘त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।’

  • कुम्भ मेलाबाट नेपाल फर्किएका ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

    कुम्भ मेलाबाट नेपाल फर्किएका ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । यसैमहिनाको सुरुआतमा भारतको हरिद्धारमा हिन्दू धर्मावलम्वीको कूम्भ भेला भीडभाडका साथ आयोजना गरियो । उक्त मेलाबाट भारतमा कोरोना फैलिएको भनेर सत्तारुढ दल बीजेपीको आलोचना भैरहेको छ ।

    उक्त मेलामा सहभागि भएर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमित भएपछि अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजासहित उनको परिवारका सदस्यहरुलाई अहिले अक्सिजन दिएर अस्पतालमा उपचार गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त कुम्भ मेलामा सहभागि भएर नेपाल फर्किएकामध्ये ७५ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उक्त मेलामा सहभागि भएर फर्किएका झन्डै १ लाखमध्ये कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्दा ७५ प्रतिशतमा भाइरस संक्रमण पुष्टि भएको हो ।

    भारतीय अधिकारीहरुका अनुसार कुम्भ मेलामा भाग लिएर फर्किएकाबाटै विहार, उत्तर प्रदेश लगायतका राज्यमा समेत संक्रमण फैलिएको छ । मेलामा सहभागि भएर दिल्ली फर्कनेलाई भारतले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्देशन दिएको थियो ।

    तर, नेपाल आइपुगेका पूर्वराजासहितका तीर्थयात्री भने क्वारेन्टिनमा नबसेको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो ।