Category: स्वास्थ्य-जीवनशैली

  • काठमाडौंको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

    काठमाडौंको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो ।

    उक्त केन्द्रको बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्तरूपमा शुरुवात गरे । नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि-२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो ।

    हालसम्म चन्द्रागिरिमा दुई हजार ३७९ जनालाई कोरोना संक्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिए । तीमध्ये २ हजार १८१ निको भएर घर फर्किसकेका छन् भने १५८ होम आइसोलेशन र १४ जना अस्पतालमा उपचारत छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।

    सबै वडामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

    नगरपालिकाले नगरपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख गिरीले बुधबार एक विज्ञप्ति जारी गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने जानकारी दिएका हुन् ।

    चन्द्रागिरिले निषेधाज्ञा अवधिभर सर्वसाधारण सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

  • शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।

    संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र ८ हजार ६५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

  • बाँकेमा एकैरात १० संक्रमितको मृत्यु

    बाँकेमा एकैरात १० संक्रमितको मृत्यु

    रूपन्देही । बाँकेमा एकैरातमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

    मंगलबार र बुधबार मृत्युदरमा कमी आएको थियो । यो अवधिमा जिल्ला बाहिरका १ र जिल्ला भित्रका ९ जनाको मृत्यु भएको छ ।

    बैशाख १७ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको बुधबार बेलुका ६ः१५ बजे मृत्यु भएको भएको थियो । बैशाख १९ गते भेरीमा भर्ना भएकी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको बुधबार बेलुका ७ः३० मा मृत्यु भएको थियो ।

    त्यसैगरि बुधबार राती ८ बजे भेरी अस्पतालमै उपचाररत नेपालगन्ज १ का ५८ वर्षिय पुरुषको मृत्यु भएको थियो भने त्यसको २० मिनेट पछि नेपालगन्ज १० का २७ वर्षिय युवाको मृत्यु भएको थियो ।

    बुधबार बेलुका ७ बजे नै भेरी अस्पतालमै भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षिय महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो भने बेलुका ७ः४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो ।

    बैशाख १९ गते भेरीमा भर्ना भएका नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको मध्यराती १२ बजे मृत्यु भएको थियो । बिहान १ः४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४ः३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर १ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

    यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका मध्य १२७ जनाको मृत्यु भएको छ ।

  • कोरोनाको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस : भारतीय स्वास्थ्य मन्त्रालय

    कोरोनाको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस : भारतीय स्वास्थ्य मन्त्रालय

    दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहर चाँडै सुरु हुने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।

    दिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतको स्वास्थ्य मन्त्रालयका मुख्य चिकित्सा सल्लाहकार के विजय राघवनले तेस्रो लहर चाँडै सुरु हुन लागेको बताएका हुन् ।

    ‘भाइरसको तेस्रो लहर सुरु हुने कुरा निश्चित छ । चाँडै सुरु हुने हाम्रो अनुमान छ । यसबाट झनै सतर्क हुनुपर्ने अवस्था छ’ राघवनले प्रेसमिटमा भने, ‘ठ्याक्कै यही मिति भने निश्चित छैन ।’

    भारतको स्वास्थ्य संरचनालाई नै प्रभावित तुल्याउने गरी दोस्रो लहर आउला भनेर आफूहरुले कल्पना नै नगरेको समेत उनले बताए । ‘खोप नै भारतमा भेटिएका कोरोना प्रजातिका लागि प्रभावकारी हुनेछन्’ राघवनले भने ।

    उनले मास्क लगाउनेसहितका कोभिड मापदण्ड पालना गर्न समेत नागरिकलाई आग्रह गरे ।

    यसैगरी, भारतीय राज्य महाराष्ट्रमा आगामी जुलाइ तथा अगस्टमा भाइरसको तेस्रो लहर सुरु हुन सक्ने राज्यका स्वास्थ्य मन्त्री राजेश तोपेले बताएका छन् ।

    मे अन्त्यमा राज्यको कोभिड संक्रमण प्लेटो लेभल (न्यून तह)मा पुग्ने बताउँदै स्वास्थ्य मन्त्रीले तेस्रो लहरसम्म अक्सिजन र भेन्टिलेटरको पर्याप्त उपलब्धता हुने समेत जानकारी दिए ।

  • भगवान भरोसामा सिन्धुपाल्चोक ! जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन

    भगवान भरोसामा सिन्धुपाल्चोक ! जिल्लाभर एउटा पनि आईसीयू शय्या छैन

    चाैतारा । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका चौतारा साँगाचोकगढी नगरपालिका-४ कुभिण्डेका ५२ वर्षीया एक पुरुषलाई सोमबार बिहान सदरमुकाम चौतारा अस्पतालमा ल्याइयो ।

    चिकित्सकहरुले अवस्था जटिल रहेको भन्दै तुरुन्तै आईसीयू शय्या भएको अस्पतालमा लैजान भने । गम्भीर अवस्थाका विरामीलाई करिव ५० किलोमिटर टाढा धुलिखेल अस्पताल लानुपर्ने भयो । एम्बुलेन्सबाट साँगाचोक नपुग्दै उनको निधन भयो । मृत्युपछि उनमा कोरोना संक्रमण देखियो ।

    केही दिनअघि पनि सोही वडाका एक जनाको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि उपचारको लागि धुलिखेलमा लगिए पनि त्यहाँ आईसीयू शय्या नपाएरै प्राण गयो ।

    कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले अहिले सिन्धुपाल्चोकलाई आक्रान्त बनाउँदै लगेको छ । तर, सदरमुकाम चौतारामा रहेको अस्पतालमा आईसीयू र भेन्टिलेटरको सुविधा छैन । जिल्लाको वाह्रविसे, मेलम्ची र जलवीरेमा डाक्टर सहितको स्वास्थ्य केन्द्रहरु छन् तर त्यहाँ अक्सिजन सिलिण्डरसमेत छैन ।

    सदरमुकाममा रहेको चौतारा अस्पताल र जिल्लाका अन्य क्षेत्रमा डाक्टरसहित रहेका अस्पताल अहिले वागमती प्रदेश अन्र्तगत छन् । चौतारा अस्पतालका तत्कालीन प्रमुख डाक्टर सागरकुमार राजभण्डारीले अस्पतालको सेवामा केही सुधारको प्रयास गरे पनि त्यसयता लामो समयदेखि चौतारा अस्पताल स्वयम ‘कोमामा’ नै रहेको सर्वसाधरणले मात्रै होइन जनप्रतिनिधिहरुले समेत आरोप लगाउने गरेको छन् ।

    चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले त केही दिन अघि सार्वजनिक रुपमा नै चौतारा अस्पतालको सेवाप्रति तीव्र आक्रोश पोखेका थिए ।

    चौतारा अस्पताल मात्रै होइन डाक्टरहरु नै रहेको मेलम्ची, वाह्रविसे र जलवीरेको स्वास्थ्य संस्थाहरुको अवस्था सदरमुकाम चौताराको अस्पतालभन्दा अझै नाजुक नै छ, सिटामोल र ब्यान्डेजसमेत नभएका यी स्वास्थ्य संस्थाहरुका कोरोनाका बिरामीहरुलाई उपचार गर्न सकिन्छ भन्ने त कल्पना भन्दा बहिरकै विषय भयो ।

    एक वर्ष अघि कोरोना महामारी सुरु हुँदा वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल थिए । उनी सिन्धुपाल्चोकको चौतारा क्षेत्रकै जनप्रतिनिधि हुन् । उनको कार्यकालमा पनि अस्पतालको अवस्था सुध्रिएन । अहिले उनका क्षेत्रका मतदाता उपचार नपाएर बाटो बाटोमा नै मृत्युवरण गरिरहेका छन् ।

    वागमती प्रदेश सरकारले बरु धुलिखेलको अस्पतालालाई मोटो रकम दियो तर चौतारा अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरु सुधारका लागि केही पनि गरेन ।

    सामाजिक विकास मन्त्री मात्रै होइन वागमती प्रदेशमा अर्का शक्तिशाली मन्त्री पनि सिन्धुपाल्चोककै थिए- अरुण नेपाल । उनको क्षेत्रमा रहेको वाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ ।

    सभामुख अग्निप्रसाद सापकोटाको गृह गाउँ अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने तीन दिनको बीचमा संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले कुभिण्डे र कदमबासलाई शिल गरेको छ ।

    सामाजिक सञ्जालमा ‘शिघ्र स्वास्थ्य’ लाभको कामना गर्ने र मृत्युपछि ‘हार्दिक श्रदाञ्जली’ दिने भन्दा बाहेक राजनीतिक नेतृत्व र सरकारमा रहेकाहरुले यतिबेलासम्म केही गरेका छैनन् ।

    अघिल्ला वर्षको संक्रमणमा स्थानीय सरकारहरुले पनि कोरोना रोकथाम र नियन्त्रणका लागि लिएको सक्रियता लोभलाग्दो थियो, क्वारेन्टाइन निर्माण देखि स्वास्थ्य सामग्री वितरणमा समेत स्थानीय सरकारको सक्रियता थियो तर अहिले स्थानीय सरकार समेत आफै अलमलमा परेको देखिन्छ ।

    जिल्लाका सबै स्थानीय सरकारले गत वर्ष कम्तीमा पनि ५० लाख रुपैयाँ कोरोना रोकथाम र नियन्त्रण शीर्षकमा खर्च गरेका थिए त्यो रकम सबै स्वास्थ्य सामग्री वितरणमा नै सकिएको थियो ।

    स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा केही सुविधा राखेर आपत्तमा जनतालाई सेवा दिन सकिन्छ भनेर योजना बनाएर काम गरेका थिए । अहिलेको महामारीमा कम्तिमा अक्सिजन दिन सकिने अवस्था हुने थियो तर त्यो कुनै पनि स्थानीय सरकारले गर्न सकेनन् ।

    स्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने सिन्धुपाल्चोकमा जम्मा ३० जना क्षमता रहेको केही आइसोलेसन कक्षहरु मात्रै रहेका छन् । स्थानीय सरकार, राजनीतिक दलका नेताहरु मात्रै होइन संघीय सरकारको प्रतिनिधिका रुपमा रहेका कर्मचारीहरुले पनि निषेधज्ञा लगाउने भन्दा बाहेक ठोस कार्यक्रमहरु अघि सारेको देखिँदैन ।

    सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या १ सय ५० पुगिसकेको छ । संक्रमितहरु प्राय सबै होम क्वारेन्टाइनमा नै बसिरहेका छन् तर उनीहरुको अवस्था कस्तो छ, कसरी बसिरहेका छन्, गाह्रो भए के गर्ने कुनै पनि निकायसँग यसको जवाफ छैन अहिले । भगवना भरोसा बाहेक सिन्धुवासीसँग अहिले कोरोनासँग जुध्न सक्ने विकल्प छैन ।

     बल्ल जाग्दैछन् स्थानीय तह

    कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय सरकारहरु आफूसँग भएको सीमित स्रोत र साधनलाई उपयोग गरेर जनातालाई सेवा दिनका लागि योजना बनाएर कार्यन्वयन सुरु गरेका छन् ।

    बलेफी र जुगल गाउँपालिकाले सयुक्त रुपमा जुगल गाउँपालिकाको चनौटेमा रहेको रत्नराज्य मावि भवनमा अक्सिजनसहितकाे आइसोलसन बनाउन सुरु गरेका छन् । त्यस्तै लिसंखुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले पनि सयुक्त रुपमा आइसोलेसन निर्माणका लागि पहल गरेका छन् ।

    वाह्रविसे, चौतारा-साँगाचोकगढी नगरपालिका लगायतका स्थानीय सरकारले आफ्नो क्षेत्रमा अक्सिजन सहितका बेडहरु निर्माण गरेर तयारी हालतमा राख्न सुरु गरेका छन् ।

  • बेलझुन्डी कोरोना अस्पतालले भन्यो– अक्सिजन छैन, नयाँ भर्ना लिन सक्दैनौं

    बेलझुन्डी कोरोना अस्पतालले भन्यो– अक्सिजन छैन, नयाँ भर्ना लिन सक्दैनौं

    दाङ । कोरोना अस्पताल बेलझुन्डीले अब संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ । अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको भन्दै अस्पतालका व्यवस्थापक द्रोण वलीले सामाजिक सञ्जालमार्फत अपील गरेका हुन् ।

    ‘अक्सिजनको सहज र पर्याप्त नभएको हुँदा कसैले पनि बिरामी भर्नाका लागि सिफारिस र दवाव नदिनुहोला,’ उनले फेसवुकमा लेखेका छन्, ‘थप बिरामी भर्ना गर्नु भनेको उपचाररत बिरामीको ज्यानसमेत जोखिममा पार्नु हो ।’

    उनका अनुसार अस्पतालमा हाल बेड संख्या १०० पुर्‍याइएको छ भने ५७ जना संक्रमितको उपचार भइरहेको छ । तर,अक्सिजनको अभाव भएकाले ४५ जनाको ज्यान जोखिममा छ ।

    आवश्यकता अनुसार अक्सिजनको व्यवस्था नभएकाले थप संक्रमितलाई भर्ना गर्न नसकिने व्यवस्थापक वलीले बताएका छन् । उनले अक्सिजनको सजह व्यवस्थापनका लागि सम्पुर्ण सरोकारवाला समक्ष अपील पनि गरेका छन् ।

  • एकैदिनमा रुपन्देहीमा १३ जनाको मृत्यु, करिब ५ हजार सक्रिय संक्रमित

    एकैदिनमा रुपन्देहीमा १३ जनाको मृत्यु, करिब ५ हजार सक्रिय संक्रमित

    रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिनमा १३ जनाको मृत्यु भएको छ । आज १३ जना थपिएसँगै रुपन्देहीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ८७ जना संक्रमित भेटिएका छन् । यस संगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ । २४ घण्टामा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५५ जना कोरोना पोजिटिभ देखिएका छन् ।

    तिलोत्तमा नगरपालिकामा १ सय ३६, सिद्धार्थनगर नगरपालिकामा ६७, सैनामैनामा ४३ जना र देवदहमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    बढ्दो संक्रमण ग्राफ
    बैशाख महिनासँगै रुपन्देहीमा कोरोनाको ग्राफ दैनिकरुपमा बढिहेको छ । बैशाख १ गते ३८ जना संक्रमित देखिएकोमा २ गते १५ जना ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित देखिएका थिए ।

    यस्तै ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा संक्रमण देखिएकोमा १० गते एक्कासी बढेर यो संख्या २ सय २६ मा पुगेको थियो । त्यस यता संक्रमितहरुको संख्या लगातार बढ्दै गइरहेको छ ।

    ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जना, १८ गते ४ सय ४ सय ३२ जना, १९ गते ४ सय ४१ जना, २० गते ५ सय ७९ जनामा संक्रमण देखिएको थियो । यस्तै २१ गते ७ सय ९७ जना र २२ गते ५ सय ८७ जनामा संक्रमण देखिएको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये ३२ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ६६ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमितमध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ ।

  • स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन

    स्थानीयले अवरोध गरेपछि नवलपरासी पश्चिममा २ दिनदेखि शव व्यवस्थापन भएन

    रुपन्देही । स्थानीयले शव व्यवस्थापनमा अवरोध गरेपछि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ का ४५ वर्षका महिलाको शव २ दिनदेखि व्यवस्थापन हुन सकेको छैन् । कोरोना संक्रमणबाट ज्यान गुमाएका ती महिलाको व्यवस्थापनमा ढिलाई हुँदा उनको शव अस्पतालको शव गृहमा राखिएको हो ।

    मृत्यु हुने वित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई जानकारी दिने गरिएको र तत्कालै शव लिने गरिएका पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहम्मद नुरुल होदाले जानकारी दिए । तर रामग्रामले भने अहिलेसम्म शव नबुझ्दा २ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको उनले बताए ।

    शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेकाले समस्या आएको र जग्गाको खोजी भइरहेकाले ढिलाई भएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । नगरपालिकाले वडा नं.४, ५ र ६ का लागि झरही खोला र वडा नं. १, २ र ३ का लागि वडा नं. १ मा जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    तर १८ वडा रहेको नगरपालिकामा ६ वटा वडाका लागि जग्गा व्यवस्थापन गरे पनि अन्य वडाका लागि भने जग्गाको खोजी गर्न नसकिएको पन्थीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति देविलाल पौडेलका अनुसार बैशाख पहिलो सातादेखि बुधबारसम्म जिल्लामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

  • धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण

    धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण

    जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण भएको छ । बुधबार ३ जना थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र यसअघि नै १ जना थुनुवा संक्रमित भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे ।

    ४ दिन पहिले संक्रमित भएका थुनुवालाई यदुकोहा प्रहरी कार्यालयमा छुट्टै कोठामा आइसोलेट गरिएको कार्यालयका  प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार बुधबार संक्रमण पुष्टि भएका ३ थुनुवालाई जिल्ला प्रहरी कार्यालयभित्रै आइसोलेशनमा राखिएको छ ।

    थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरीमा त्रास पैदा भएको छ । पछिल्लो समय धनुषामा कोरोना संक्रमण तीब्र गतिले बढिरहेको छ । वैशाख २१ बाट धनुषामा निषेधाज्ञा जारी छ ।

  • बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या घट्दै

    बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या घट्दै

    रुपन्देही । कोरोनाको हटस्पट मानीएको बाँकेमा आज बुधबार एकै दिन २ सय ९३ कोरोना संक्रमणमुक्त भएका छन् । ७६ वर्षका जेष्ठ नागरिकसहित १ सय ७० पुरुष र १ सय २३ महिला गरी आज २ सय ९३ जना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

    बुधबार मृतकको संख्या घटेपछि र र संक्रमणमुक्त हुनेको संख्या बढेपछि यसको व्यवस्थापनमा खटेका स्वास्थ्यकर्मीले खुसी भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार हिजो मंगलबार मात्र ३ सय ४२ जना संक्रमणमुक्त भएका थिए । वलीका अनुसार बुधबार ४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

    बुधबार मृत्यु भएका ४ जनासहित बाँकेमा अहिलेसम्म जिल्ला भित्रका १ सय ४६ र जिल्ला बाहिरका १ सय २६ गरी जम्मा २ सय ७२ जनाको मृत्यु भइसकेको छ । जिल्लामा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २२ रहेको छ भने १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका ३ पीसीआर परिक्षण प्रयोगशालामध्ये २ वटा पिसिआर प्रयोगशालाबाट प्राप्त विवरणमा १ सय ८२ महिला र १ सय ९८ पुरुष गरि थप ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । वलीले संक्रमण पुष्टि भएको १० दिन पुगेपछि संक्रमितलाई पीसीआर परीक्षण नगरी डिस्चार्ज गर्न थालेको जानकारी दिए ।

    मेडिकल कलेजले थप भर्ना रोक्यो
    अस्पतालमा अक्सिजनको अभाव भएकाले थप बिरामीको भर्ना लिन नसकिने भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना लिन रोकेको छ । बुधबार कलेजले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी ३ सय शैयासम्मको कोभिड अस्पताल तयार गरिएको भए पनि अक्सिजनको अभावमा १ सय ३५ शैया मात्रै सञ्चालनमा ल्याउने जनाएको हो । अस्पतालमा हाल १ सय ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाइएको छ ।

    अस्पतालका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक ५ दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक ८ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ । कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र उक्त परिमाणको अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग माग गरेको छ ।

    ‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ अस्पतालले विज्ञप्तिमा भनेको छ ।
    महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउनसक्ने जानकारी गराइसकेको पनि अस्पतालले प्रशासनले जनाएको छ ।

  • तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कार्वाही हुने

    तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कार्वाही हुने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कार्वाही गर्ने चेतावनी दिएको छ ।

    महामारीको समयमा केही निजी अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेको गुनासो आइरहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    बुधबार अपरान्ह वक्तव्य जारी गर्दै मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि कार्वाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

    यस्तो खाले गतिविधि पाइएमा मन्त्रालयलाई जानकारी दिनपनि अनुरोध गरिएको छ । कालो बजारीमा मन्त्रालयको नियमित अनुगमन भैरहेको बताउँदै विज्ञप्तीमा नियानुसार कार्वाही गर्ने पनि भनिएको छ ।

    गतसाता उपत्यकाका केही निजी अस्पतालहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिनेसहितका विज्ञापन प्रकाशमा आएका थिए । ती निजी अस्पतालको यस्तो गतिविधिको सामाजिक संजालमा चर्को आलोचना भएको थियो ।

  • गण्डकीमा ३ हजार कटे सक्रिय संक्रमित, अहिलेसम्मकै धेरैमा कोरोना पुष्टि

    गण्डकीमा ३ हजार कटे सक्रिय संक्रमित, अहिलेसम्मकै धेरैमा कोरोना पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार गण्डकीमा  ५ सय ७४ जना संक्रमित फेला परेका हुन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालय प्रखुम डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १ हजार २९० जनाको परीक्षण गर्दा ५ सय बढी संक्रमित थपिएका हुन् । त्यसमध्ये बुधबारमात्रै २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङजा र पर्वतका एक/ एक जना छन् ।

    संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् । बुधबारमात्रै कास्कीका २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोना संक्रमण पुष्टि हुनेमा गोरखा ६०, बागलुङ ५३, नलवलपरासी पूर्व ५२, तनहुँ ४४, म्याग्दी २९, स्याङजा २७, मनाङ ७, पर्वत ८ र लमजुङका २ जना छन् ।

    एकैदिन ठूलो मात्रामा कोरोना संक्रमित पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या पनि हालसम्मकै उच्च भएको छ । डा शर्माका अनुसार प्रदेशमा बुधबार गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार नाघेको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्मसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३१ पुगेको छ ।

    कुल सक्रियमध्ये कास्कीकामात्रै १८ सय १ जना संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ८०४ जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये ९५ प्रशितभन्दा बढीको अवस्था गम्भीर रहेको निर्देशनालयले जनाएको छ ।

  • जोखिम स्थानमा घरमै पीसीआर परीक्षण गरिने, परीक्षण बढाउन स्थानीय तहलाई निर्देशन

    जोखिम स्थानमा घरमै पीसीआर परीक्षण गरिने, परीक्षण बढाउन स्थानीय तहलाई निर्देशन

    काठमाडौं । सरकारले कोरोनाभाइरसको जोखिम भएका स्थानको घर-घरमै पुगेर अबदेखि पीसीआर परीक्षण गर्ने भएको छ । यसका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ पनि लिने भएको छ ।

    बुधबार बसेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले जोखिम देखिएका स्थानमा घरमै पुगेर पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

    बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जागेश्वर गौतमले जोखिम स्थानमा सघनरुपमा कन्ट्याक्ट ट्रेसिङ गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय समेत भएको जनाए ।

    उनका अनुसार बुधबारसम्म कोरोनाको उपचारमा प्रयोग हुने १ लाख २५ हजार भाइल रेमडेसिभिर औषधी प्राप्त भएको छ । बुधबार ३ हजार भाइल थप आएको र थप ४ हजार भोलीसम्म आइपुग्ने पनि उनले जानकारी दिए ।

  • सक्रिय संक्रमित संख्या ६६ हजार नाघ्यो, उपत्यकामा आज ३८ सय संक्रमित थपिए

    सक्रिय संक्रमित संख्या ६६ हजार नाघ्यो, उपत्यकामा आज ३८ सय संक्रमित थपिए

    काठमाडौं । बुधबारसम्म नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ६६ हजार ३५२ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ८३५ जना संक्रमित थपिएका छन् ।

    बुधबार मुलुकमा अहिलेसम्मकै सर्वाधिक संक्रमित र मृतक थपिएका छन् । ५८ जनाको मृत्यु भएको छ भने ८,६५८ जनामा संक्रमण पुष्टि भएको छ  ।

  • आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

    आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि

    काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।

    अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि बुधबार थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जना भाइरस संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

  • मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

    मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षेत्रीय प्रयोगशालामा मंगलबार दिइएको स्वाव नमूनाको बुधबार आएको नतिजामा पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गरे ।

    बुधबार बिहान संक्रामक तथा सरुवा रोग अस्पतालमा गरिएको गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ देखिएको थियो । उनी हिजो सर्वदलीय बैठकमा सहभागी थिए ।

    बैठकबाट फर्किएलगत्तै कोभिड-१९ को लक्षण देखिएपछि गुरुङले परीक्षण गराएका थिए ।

    मुख्यमन्त्रीका प्रेस संयोजक न्यौपाने पनि संक्रमित भएर ३ दिनदेखि होम आइसोलेसनमा छन् । उनकै ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा मुख्यमन्त्रीको परीक्षण गरिएको हो ।

  • बाँकेमा होम आइसोलेसनका संक्रमितलाई स्वास्थ्य किट

    बाँकेमा होम आइसोलेसनका संक्रमितलाई स्वास्थ्य किट

    रूपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ ।

    नगरक्षेत्रभित्र होम आइसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले निर्णय गरेको छ ।

    स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

    पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल दुई हजार ४०० जना होम आईसोलेसनमा बसेका छन् ।

    बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा वडास्तरीय फोकल पर्सनहरुले रिपोर्टिङ गरेका थिए ।

    स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिएका छन् ।

    स्वास्थ्यकर्मीलाई मनोवल बढाउन आग्रह

    उपमहानगरपालिकाले कोभिड –१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेको छ ।

    कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरुको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवलशम्शेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि यहाँका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गरे।

    बैठकमा उपप्रमुख उमा थापा मगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधिहरुले उच्च जोखिमका बीचमा पनि कोभिड रोकथाम र नियन्त्रणमा अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोवलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरिन् ।

    कार्यक्षेत्रमा कुनै समस्या वा कठिनाई भएमा तत्काल जनप्रतिनिधिहरुको सम्पर्कमा आउनुहोला, उपप्रमुख मगरले भनिन्,– तपाईहरुको कामको उच्च मुल्यांकन भइरहेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरेको छ । सीमानाकामा हेल्थडेस्क सञ्चालन गरिरहेको छ ।

    आइसोलेसन र हेल्थडेस्कसँगै होम आईसोलेसनमा बसेका कोभिड संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । आईसोलेसनमा बसेकाहरुको खाना र नास्ताको व्यवस्था उपमहानगरपालिकाले गरिरहेको छ ।

    यसैबीच नेपालगञ्ज उप–महानगरपालिकाभित्र रहेका संक्रमितहरुलाई निशुल्क औषधी वितरणका सम्बन्धमा मंगलबार वडास्थित स्वास्थ्य संस्थाका प्रमुखहरुको बैठक उपमहानगरपालिकामा बसेको छ ।

     

  • कोभिड-१९ बाट भारतमा एकै दिन ३ हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

    कोभिड-१९ बाट भारतमा एकै दिन ३ हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

    दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड-१९ बाट कूल संक्रमितको संख्या २ करोड ७ लाख पुगेको उल्लेख छ ।

    गत मे १ तारिखमा चार लाख कोभिड-१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको संख्या ३ लाख ५७ हजार रहेको भेटिएको छ ।

    सरकारी विवरणमा कोभिड-१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा २ लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ ।

    कोभिड–१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड-१९ को खोप अभियानलाई पनि तिब्र बनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।

    कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ । नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड-१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति सहज हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा हालसम्म कोभिड-१९ बाट सात हजार ७५२ जनाको ज्यान गइसकेको छ ।

  • अर्घाखाँचीमा सक्रिय संक्रमित बढ्दो, गाउँगाउँमा कोरोना फैलने जाेखिम

    अर्घाखाँचीमा सक्रिय संक्रमित बढ्दो, गाउँगाउँमा कोरोना फैलने जाेखिम

    रूपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या २ सय २९ पुगेको छ ।

    जसअन्तर्गत सन्धीखर्क नगरपालिकामा १ सय २७, भुमिकास्थान नगरपालिकामा ७४, शीतगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकमाा ८ र छत्रदेव गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

    हालसम्म जिल्लामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५६ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ६ जना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म ८ सय १ जना निको भएका छन् ।

  • सुदूरपश्चिममा मंगलबार एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, ४४६ संक्रमित थपिए

    सुदूरपश्चिममा मंगलबार एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु, ४४६ संक्रमित थपिए

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको छ । जसमा कञ्चनपुरमा २ जना, कैलालीमा ४ जना, बझाङमा १ जना र बर्दियामा १ जनाको मृत्यु भएको हो ।

    ८ जना मध्ये ५ जनाको एन्टिजेन पोजेटिभ आएको र ३ जनाको पिसिआर पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल सम्म प्रदेशमा १ सय ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

    स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये सबै भन्दा धेरै कैलालीका रहेका छन् । कैलालीका मात्रै १ सय ३९जनामा संक्रमण पुष्टि भएको छ ।

    कञ्चनपुरका १ सय ३१, बैतडीका ५२, डडेल्धुराका ४५, अछामका २८, डोटीका २६, बझाङका २३, दार्चुला र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा २७ जना निको भएका छन् ।

  • अक्सिजन उद्योगमा प्रहरी सुरक्षा

    अक्सिजन उद्योगमा प्रहरी सुरक्षा

    काठमाडौं । कोभिड-१९ संक्रमितको संख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ ।

    गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरुपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

    उनका अनुसार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहपछि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गर्न थालेको जनाइएको छ ।

    नेपाल प्रहरीले पनि गृहको निर्देशन अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाउन र दुरुपयोग हुन नदिन सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका प्रहरीका प्रवक्तासमेत रहनु भएका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

    ‘मुख्यतः अक्सिजनको दुरुपयोग हुनु भएन, उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनुपर्यो, भारतमा जानु भएन, स्वास्थ्य क्षेत्रमा मात्रै प्रयोग गर्नु पर्यो त्यसका लागि स्थानीय प्रशासनसँगको समन्वयमा गरी आवश्यक सुरक्षा व्यवस्था गर्नु भनेर सबै जिल्लामा निर्देशन गइसकेको छ’, उनले नेपाल प्रेसलाई भने ।

    यसअघि अक्सिजनको अभाव हुन थालेको भन्दै उद्योगीले सुरक्षाको माग गरेका थिए । अहिले मुलुकमा अक्सिजनको भन्दा सिलिण्डरको अभाव देखिएको व्यवसायीले बताउँदै आएका छन् । हाल देभभर अक्सिजनका २२ उद्योग रहेका छन् ।

  • रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिए

    रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिए

    रूपन्देही । रुपन्देहीमा अहिले सम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

    स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकाे छैठाै दिन संक्रमितको संख्या झन् बढेका हाे । मंगलबार पनि बुटवलमा संक्रमित धेरै थपिएका छन् । बुटवल उप-महानगरपालिकामा मात्र ३ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

    तिलोत्तमामा १ सय  ५८ जना, सिद्धार्थनगरमा १ सय ८ जना, सुद्धोधनमा ५७ जना, देवदहमा ४२ जना र सैनामैनामा ३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा ५ जना, गैडहवामा ३ जना र मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरमा १-१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हाे ।

    पछिल्लो २४ घण्टामा जिल्लामा ४ जनाको मृत्यु भएको छ भने २ सय २२ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्केका छन् । जिल्लामा १ सय ५७ जना लक्षण सहितको संक्रमितले अस्पताल तथा आइसोलेशनमा उपचार गराईरहेका छन् भने ४ हजार ५ सय १९ जना होम आइसोलेशनमा रहेकाे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

  • स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

    स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ ।

    महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्दै निशेषधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गर्नुभएको हो ।

    ‘पछिल्लो समय कोरोना संक्रमणका कारण थुप्रै यातायात व्यवसायी, मजदुर तथा यात्रु संक्रमित हुनुका साथै थुप्रै व्यवसायी, मजदुर तथा यात्रुले अकालमै ज्यान गुमाएका छन् ।

    यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न सबैलाई आग्रह गर्दछु’, महासचिव सिटौलाले भने । उनले कोरोना संक्रमणका कारण अकालमा ज्यान गुमाएका यातायात व्यवसायी मजदुर तथा यात्रुको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

  • उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

    उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन् ।

    कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् ।

    संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको पोखरेलको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए ।

    उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको जानकारी उनले गराए ।

    उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए ।

    खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिनुभयो ।

    उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

  • मंगलबार काठमाडौंमा ३९ सय संक्रमित थपिए

    मंगलबार काठमाडौंमा ३९ सय संक्रमित थपिए

    काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ३ हजार ८९३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    काठमाडौं जिल्लामा २ हजार ७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ५८७ जना संक्रमित थपिएका छन् ।

  • कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए

    कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए

    काठमाडौं । मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

    ७ हजार ६६० जना संक्रमित थपिएका छन् । १६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    कूल मृत्यु ३४१७ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ ।

  • झलनाथलाई अक्सिजन दिएर उपचार हुँदै, पूर्वरानीको स्वास्थ्यमा सुधार

    झलनाथलाई अक्सिजन दिएर उपचार हुँदै, पूर्वरानीको स्वास्थ्यमा सुधार

    काठमाडौं । कोरोनाभाइरस संक्रमण भइ नर्भिक अस्पतालमा उपचार गराइरहेका एमाले नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

    नर्भिकले मंगलबार विज्ञप्ती जारी गर्दै खनाललाई अक्सिजनमा राखेर उपचार गराइराखेको उल्लेख गरेको छ । खनालको अवस्था सुधारोन्मुख रहेको समेत जनाइएको छ ।

    पूर्वरानीको स्वास्थ्यमा पनि लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ । ११ दिनअघि नर्भिकमा भर्ना भएकी शाहलाई विहिबारदेखि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमार प्रेरणा शाहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको जनाइएको छ ।

  • बुटवलमा अक्सिजनसहित आइसोलेसनमै पठाउन थालियो स्वास्थ्यकर्मी

    बुटवलमा अक्सिजनसहित आइसोलेसनमै पठाउन थालियो स्वास्थ्यकर्मी

    रुपन्देही । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि निःशुल्क अक्सिजन सेवा सुरुवात गरेको छ ।

    उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ ।

    उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरि नयाँ व्यवस्था गरिएको छ ।

    एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
    बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले यस्तो कामको थालनी गरेको जनाएको छ ।

    कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसियु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ ।

    अक्सिजनसहितको आइसीयू बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुआत गरेको छ ।

    होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पुर्‍याइरहेको छ ।

    होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ ।

    आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

    सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

    संघसंस्थाको समन्वय

    उक्त कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत छन् ।

    अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवम् उपप्रमुख आचार्यले बताइन् ।

    जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उनले बताइन् ।

     

    आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा

    कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख,उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा पुगेका छन् ।

    होम आइसोलेसनमा बसेकाहरुका लागि भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु यस वर्षपनि संक्रमितको घरघरमा पुगेका छन् ।

    उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् ।

    आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताइन् ।

    बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो ।

    बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।

    होम आइसोलेसनमा मापदण्ड पूरा गर्न आग्रह

    कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ ।

    होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ ।

    संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

    कन्ट्रयाक ट्रेसिङ र लक्षण देखिए निःशुल्क परीक्षण

    उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ ।

    १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ ।

    संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेसनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पुर्‍याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । यी सबै कामका लागि फोलक पर्सन तोकिएको छ ।

  • सात हजार डोज रेमडेसिभिर औषधी ढाकाबाट काठमाडौं आइपुग्यो, आजैदेखि अस्पतालमा वितरण सुरु

    सात हजार डोज रेमडेसिभिर औषधी ढाकाबाट काठमाडौं आइपुग्यो, आजैदेखि अस्पतालमा वितरण सुरु

    काठमाडौं । कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज औषधी आज बंगलादेशबाट काठमाडौं आइपुगेको छ ।

    औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने भएको छ । विभागका प्रवक्ता सन्तोष केसीले थप डोज भोलि नेपाल आइपुग्ने जानकारी दिए ।

    कोभिड संक्रमित बढ्दै गएको र उक्त औषधीको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ । दिउँसो ३ बजेदेखि औषधीको वितरण सुरु भएको समेत उनले जानकारी दिए ।

    उक्त औषधीलाई काठमाडौं र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी भैरहेको उनले जानकारी दिए । नेपालस्थित आधिकारिक आयातकर्ताको पहलमा औषधी ल्याइएको केसीले जानकारी दिए ।

    स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार केही दिनभित्रै कोभिडका लागि चाहिने अत्यावश्यक औषधी काठमाडौं आइपुग्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार देशवासीको नाममा सम्बोधन गर्दै चीन र रुसबाट खोप ल्याउन खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।

     

  • अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु

    अस्पताल चाहर्दा चाहर्दै जनकपुरमा एकको मृत्यु

    जनकपुरधाम । जनकपुरमा अस्पताल चाहर्दै गर्दा मिथिला नगरपालिकास्थित तुलसी पाटो टोलका अन्दाजी ४० वर्षीय लोकबहादुर परियारले ज्यान गुमाएका छन् । उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

    बेड खाली नभएको भन्दै उनलाई अस्पतालहरूले उपचार नगरी फर्काएको थियो । केही दिनयता बटेश्वर गाउँपालिका-४ ससुरालीमा बसेका परियारलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्य बिग्रिएपछि सोमवार साँझ करिब ७ बजे आफन्तले स्थानीय क्लिनिकमा लगे । तर, क्लिनिकका स्वास्थ्यकर्मीले यहाँ उपचार सम्भव नहुने भन्दै जनकपुर लग्न सुझाए ।

    लगत्तै उनलाई जानकी देवी स्मृति प्रतिष्ठानको एम्बुलेन्स भाडा गरेर जनकपुर लग्यो । करिब ८ बजे प्रादेशिक अस्पतालमा पुर्‍याइएकोमा आईसियू बेड खाली नभएको जवाफपछि फर्काइयो । कोभिडका बिरामी उपचार गरिरहेको बताउने सो अस्पतालमा चिकित्सकले बिरामी भर्ना भने लिन नमानेको आफन्तको गुनासो छ ।

    प्रादेशिक अस्पतालले भर्ना नलिएपछि बिरामीलाई जानकी हेल्थ केयर र रामजानकी अस्पताल लगियो । त्यहाँ अस्पतालको मूल गेटभित्र पनि पस्न पाएनन् ।

    एम्बुलेन्स चालक रामबाबु महतो भन्छन्, ‘जनकपुरमा कुनै अस्पतालले भर्ना लिन नमानेपछि आफ्न्तले घर नै लगिदिनु भने । त्यसपछि बटेश्वरको आरपी मेडिकल हल (क्लिनिक) मा बिरामीलाई उतारिदिएँ । म अर्को विरामी बोकेर काठमाडौं आएँ । अहिले थाहा भयो उनको मृत्यु भइसकेछ ।’

    उनका अनुसार एम्बुलेन्समा राख्ने बेला ठीकै थियो । तर, ५/७ मिनेटपछि सास फेर्न गाह्रो भयो भनेपछि अक्सिजन पनि लगाइयो । अक्सिजनकै अभावका कारण उनको मृत्यू भएको हुनसक्छ ।

    आज बिहान करिब ७ बजे परियारको मृत्यु भएको आरपी मेडिकल हलका संचालक सुवोध साहले जानकारी दिए । उनले भने, ‘राति ल्याएपछि बाहिर लग्नुस् भनेर फर्काइदिएको थिएँ । बिहान क्लिनिक खोल्न पुनः अर्को व्यक्ति लिएर आइपुग्यो । यहाँ उपचार सम्भव छैन, बाहिर लग्नुस् भनेर राति फर्काएको थिएँ, फेरी किन ल्याउनुभयो भन्दै गर्दा मृत्यु भयो ।’

    क्लिनिकको सिँढीमै परियारको मृत्यु भएपछि आफन्तले समेत शव छाडेर हिँडेका छन् । शव व्यवस्थापनको लागि प्रहरी गुहारिएको छ ।

  • रुपन्देहीमा ४१ सय सक्रिय संक्रमित

    रुपन्देहीमा ४१ सय सक्रिय संक्रमित

    रुपन्देही । रुपन्देहीमा ४ हजार १ सय ५ जना सक्रिय संक्रमित पुगेका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म १३१ जनाले अस्पतालमा र ३९७४ जनाले होमआइसोलेशनमा उपचार गराइरहेका छन् ।

  • सुर्खेतको चौकुनेमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

    सुर्खेतको चौकुनेमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

    सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

    चौकुने गाउँपालिका-६ मा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा पालिकाले उक्त सेन्टरको स्थापना गरेको हो ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि उपचारमा सहज होस् भनेर अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

    ‘भारतबाट फर्किएका हरेक युवालाई पालिकामा निगरानीमा राख्ने गरेका छौं । संक्रमितलाई आइसालेसनमा बस्न अनुरोध गरिरहेका छौं ’, शाहीले भने ।

    आइसोलेसन सेन्टरमा अहिले १२ वटा बेड राखिएको छ । ‘५० बेडको आइसोलेसन सेन्टर बनाउने हाम्रो लक्ष्य हो । अहिले १२ वटा बेड तयारी अवस्थामा छन् । ६ वटा अक्सिजन सिलिण्डर पनि हामीसँग छन् । बाँकी अक्सिजन सिलिण्डर थप गर्दैछौं’, शाहीले भने ।

    उनका अनुसार भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएको र त्यसले कोरोना संक्रमणको खतरा बढाएकोले सचेतना अभियान पनि थालिएको छ ।

    चौकुने गाउँपालिकामा मंगलबार आठ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण देखिएको छ । तीमध्ये ३ जना होम आइसोलेसनमा र २ जना गाउँपालिकाको आइसोलेसनमा बसेका छन् ।

  • कोरोना संक्रमितलाई टेलिफोनबाट परामर्श

    कोरोना संक्रमितलाई टेलिफोनबाट परामर्श

    काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड-१९ को विषम परिस्थितिमा संक्रमण भएर होम आइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो ।

    अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड संक्रमण भएर होम आइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा शुरु गरिएको नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्’, उनले भने। टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने उनको भनाइ थियो ।

    ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन् ।

  • पाल्पामा होम आइसोलेसनमै संक्रमितको मृत्यु

    रुपन्देही । पाल्पामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको निधन भएको छ ।

    रामपुर नगरपालिका–१० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

    उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो ।

    वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुष १३ गते मिसन अस्पतालबाट डिस्चार्ज भई घर फर्केको र होम आइसोलेसनमा निधन भएको रामपुर–१० का वडाध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।

    हालसम्म पाल्पामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४२ पुगेको छ ।

    आइतबारसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ९ सय ७२ पुगेको छ । जसमध्ये १५६ जना सक्रिय संक्रमित रहेका छन् । २३ जनाको मृत्यु भएको छ भने ७९३ जनाले कोरोनालाई जितेका छन् ।

  • सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा ६ जना, कैलालीमा ५ जना, बझाङमा २ जना र दार्चुलामा १ जना गरेर १४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको हो ।

    निर्देशनालयका अनुसार १४ जना मध्ये ११ जनाको एन्टिजोन पोजेटिभ आएको र ३ जनाको पिसिआर पोजेटिभ आएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा मात्र १ सय २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पताल धनगढी, डडेल्धुरा अस्पताल डडेल्धुरा र जिल्ला अस्पताल डोटीमा ५ सय ७३ जनाको परीक्षण गर्दा २ सय १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।