Category: स्वास्थ्य-जीवनशैली

  • महामारीमा असुलेकाे चर्को भाडा माया नर्सिङले पीडितको घरमै पुगेर फिर्ता गर्‍यो

    महामारीमा असुलेकाे चर्को भाडा माया नर्सिङले पीडितको घरमै पुगेर फिर्ता गर्‍यो

    सुर्खेत । प्रदेश अस्पताल कालागाउँबाट कोभिड विरामी एक महिलालाई वीरेन्द्रनगर नगरपालिका–१२ को खोरिया जाँदा लिएको तोकिएभन्दा दोब्बर भाडा माया नर्सिङ होम प्रालिले पीडित परिवारलाई आज विहान घरमै पुगेर फिर्ता दिएको छ ।

    ‘हामीले हिजै चाहिने भाडामात्र लिनुहोस भनेर भनेका थियौं, चालकले हामीलाई विचल्लीमा पार्न खोजेका कारण बाध्य भएर भनेको जति तिरेका हौं,’ मुस्किलले १० किलोमिटरको दूरीमा घर रहेको पीडित लता मन्जरीले नेपालप्रेससँग भनिन्, ‘आज विहानै घरमा आएर हामीलाई दुई हजार ४ सय रुपैयाँ फिर्ता दिएर गए ।’

    दाेब्बर भाडा असुलेकाे समाचार सार्वजनिक भएपछि नर्सिङ हाेम चरम दवावमा थियाे भने सुर्खेतका स्थानीयले बहिस्कार अभियान चलाउनुपर्ने आवाजसमेत उठाउन थालेका थिए ।

    उनले सञ्चारमाध्यम सार्वजनिक भएपछि मात्रै भाडा फिर्ता गर्ने चलन ठीक नभएको बताउँदै सरोकारवाला निकायले नियमन गर्न आवश्यक रहेकोसमेत बताइन ।

  • जो संक्रमितलाई निको पार्दा आफैं संक्रमित भए

    जो संक्रमितलाई निको पार्दा आफैं संक्रमित भए

    कैलाली । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा थिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद् सन्देश थिएन ।

    ‘के भयो डाक्टर सा’ब ?

    ‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन,’ चिन्तित मुद्रामा उनले सुनाए ।

    २०७५ फागुनदेखि सेती प्रादेशिक अस्पतालमा सेवा सुरु गरेका डा.चौधरी अहिले कोभिड–१९ को संक्रमण भएकाहरूको उपचारमा खटिएका छन् ।

    ‘कोरोना संक्रमित देखिन थालेपछि कोही न कोही त त्यहाँ जानुपर्‍यो,’ उनले भने, ‘म आफ्नै खुसीले संक्रमितको उपचारमा खटिएको हुँ ।’
    लगातार एक वर्ष भन्दा बढी कोरोना संक्रमितहरूको उपचारमा खटिएका चौधरी विगतको भन्दा बढी चिन्तामा छन् ।

    ‘पहिले त्रास बढी थियो । तर संक्रमण र मृत्युदर कम थियो,’ उनले भने ‘अहिले संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ हामी निकै चिन्तित छौँ ।’
    कोरोना संक्रमितलाई निको पार्दा पार्दै उनी आफू संक्रमित भएको पत्तै पाएनन् ।

    ‘कसरी संक्रमण भयो पत्तै भएन । तर, जसरी संक्रमित भए त्यसरी नै निका भए,’ उनले सुनाए ।

    उनको परिवारमा आमाबुवा र भाइ छन् । कोरोना निको भए लगत्तै उनी फेरि संक्रमितको उपचारमा खटिएका छन् ।

    ‘हामी सीमित स्वास्थ्यकर्मी छौं । संक्रमित असीमित भइरहेका छन्,’ उनले भने, ‘अहिले त कहाँ राखेर उपचार गर्ने भन्ने समस्या पैदा भएको छ ।’

    केही महिनायता कोरोना संक्रमितको उपचारमा खटिएका डा. सञ्जीव शाही अहिले आफैं आइसोलेसनमा छन् । कोरोना संक्रमितहरूको उपचार र व्यवस्थापनकै क्रममा आफू संक्रमित भएको उनी बताउँछन् ।

    ‘एक साताअघि संक्रमित बुवालाई लिएर आएका युवक एक्कासी कोरोना अस्पताल बाहिर बेहोस भए । म नजिकै थिए । उनको उद्धार गर्दा पनि संक्रमित भएँ कि जस्तो लग्छ,’ उनले सुनाए ।

    कोरोना संक्रमित व्यक्तिको उपचारमा खटिएका शाही तीनै संक्रमितका परिवारका सदस्यलाई पनि जोखिम मोलेर उद्धारमा खटिएका थिए ।
    उनले भने, ‘मैले त्यो बेला पीपीई लगाएको थिइनँ । पीपीई लगाउन थाल्दा उनको अवस्था थप जटिल बन्न सक्थ्यो । त्यही भएरै जोखिम मोलेँ ।’

    २० गते उनी संक्रमित भएपछि होम आइसोलेसनमा छन् । तर, चाडै निको भएर फेरि संक्रमितको उपचारमा खटिने उनको धोको छ ।
    ‘जनशक्ति कम छ । त्यसमाथि संक्रमित बढिरहेका छन् । चाँडै निको भएर उपचारमा खटिन मन छ,’ उनले भने, ‘यो बेला कोरोना अस्पतालमा हाम्रो खाँचो छ ।’

    ५० शय्याको कोरोना अस्पतालमा बिरामीको संख्या थप हुन थालेपछि ५५ शय्या पुर्‍याइएको थियो । तर, अहिले त्यही शय्या पनि कम भएको छ । कोरोना अस्पतालमा बेड अभाव भएपछि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र आकस्मिक कक्ष भन्दा बाहिर आँगनमा पनि संक्रमणको लक्षण भएका बिरामीहरूलाई राखेर उपचार भइरहेको छ ।

    यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मी रात दिन संक्रमितको उपचारमा खटिएका छन् ।

    जो रात दिन खटिन्छन्

    कल्पना कुँवर प्रत्येक दिन बिहानै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल पुग्छिन् । उनी कोभिड अस्पतालको आईसीयू तथा वार्डमा नर्सिङ इन्चार्ज हुन् ।

    थोरै जनशक्ति तर, धेरै जिम्मेवारी हुँदा कुनै दिन त २४ घण्टा सम्म काम गरेको याद छ उनलाई ।

    ‘यस्तो बेलामा एक सेकेन्ड पनि महत्वपूर्ण हुन्छ । हामी थोरै छौँ । धेरै काम गर्नु पर्छ’ उनले भनिन्, ‘मैले त कति दिन २४ घण्टा यहीँ बिताएको छु ।’

    आईसीयूमा १३ जना छन् । उनीहरूलाई पनि निकै समस्या छ । जटिल प्रकारका बिरामीहरू हुने भएका कारण संक्रमितको सेवामा उनीहरू रात दिन खटिएका छन् ।

    त्यसैमाथि दिन प्रतिदिन संक्रमण र मृत्युदर निकै उच्च रूपमा बढिरहेको छ । यसले त्रास भन्दा बढी जिम्मेवारी थप रहेको कुँवर बताउँछिन् ।

    ‘यस्तो बेला हामीलाई त्रास भन्दा बढी उहाँहरूलाई कसरी जोगाउने होला भन्ने चिन्ता हुन्छ,’ उनले भनिन्, ‘जीवन र मृत्युको दोसाँधमा रहेकालाई बचाउन हामी हर सम्भव प्रयास गर्छौं ।’

    डा.निराजन शर्मा पौडेलकाे दैनिकी पनि त्यस्तै छ । हरेक दिन दिउँसाे ४ बजेपछि अस्पतालको कोरोना विशेष अस्पताल जान्छन् । त्यहाँ रहेका ५५ भन्दा बढी बिरामीको राउण्ड लिन्छन् । त्यसपछि उनी फेरि सेतीको नर्मल आईसीयूमा रहेका बिरामी, मेडिसिन विभागका बिरामीको राउण्ड हुँदै अबेर राति घर पुग्छन् ।

    डा. शर्मा पनि पछिल्लो समय बढेको संक्रमणले चिन्तित छन् । अहिले नै अक्सिजनको अभाव सृजना भइसकेको छ यस्तै अवस्था बढ्दै गए निकै समस्या हुने उनको बुझाइ छ ।

    ‘हामी रात दिन संक्रमितलाइ निको पार्न लागिरहेका छौँ तर, संक्रमिहरूको संख्या झन्–झन् बढिरहेको छ । अवस्था भयावह हुन सक्छ,’ उनले भने ।

    उनले अहिले आएको फरक भेरियन्टको कोरोनाले युवाको बढी मृत्यु भइरहेको बताए ।

    ‘उत्पादनशील युवाहरूको बढी मृत्यु भइरहेको कुरा चिन्ताको विषय हो’, उनले भने, ‘अस्पतालमा उपकरणको पनि अभाव छ ।’ सुदूरपश्चिमका लागि रेफरल सेती प्रादेशिक अस्पतालमा १५ वटा आईसीयू र तीन वटा मात्रै भेन्टिलेटर छन् ।

    अस्पतालमा जनशक्तिको पनि अभाव छ । फिजिसियन चिकित्सक, एनेन्थेसियोलोविष्ट, मेडिकल अफिसर र नर्सिङ स्टाफ जस्ता जनशक्ति अभाव हुँदा भएकाहरू रात दिन खटिन बाध्य भएका हुन् ।

  • राजधानीका अस्पतालमा अक्सिजन अभाव

    राजधानीका अस्पतालमा अक्सिजन अभाव

    काठमाडौं । कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ ।

    अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् ।

    चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल-भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले आज संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन् ।

    सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सारिएको थियो ।

    चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।

  • प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण

    प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

    प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो ।

    पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो । 

    दुबै डोज कोभिसिल्ड खोप लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।

  • सक्रिय संक्रमित संख्या ८३ हजार पुग्यो, काठमाडौंमा आज २,२७० थपिए

    सक्रिय संक्रमित संख्या ८३ हजार पुग्यो, काठमाडौंमा आज २,२७० थपिए

    काठमाडौं । मुलुकमा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या शनिबारसम्म ८३ हजार ४९३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार यो कूल संक्रमित संख्याको २१.६४ प्रतिशत हो । काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमित संख्या २६ हजार ४२६ पुगेको छ ।

    भक्तपुरमा ३५४० र ललितपुरमा ५७१२ पुगेको छ ।

    काठमाडौंमा शनिबार २२७० जना संक्रमित थपिएका छन् । देशभर संक्रमण दर १४.७ प्रतिशत पुगेको छ । पजेटिभमध्ये मृत्युदर १.२ प्रतिशत छ ।

    शनिबार मुलुकमा कोरोनाभाइरसका ८,४१८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

  • शनिबार ८,४१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

    शनिबार ८,४१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

    काठमाडौं । शनिबार मुलुकमा कोरोनाभाइरसका ८,४१८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

    १८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

    कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । कूल मृतक संख्या ३६३२ पुगेको छ ।

  • पूर्ण क्षमतामा अक्सिजन उद्योग संचालन गर्ने सरकारको निर्णय

    पूर्ण क्षमतामा अक्सिजन उद्योग संचालन गर्ने सरकारको निर्णय

    काठमाडौं । कोभिड-१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ ।

    कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन कोभिड-१९ सहजीकरण समितिको बैठकले गरेका सिफारिसका आधारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका अध्यक्षतामा बसेको बैठकले निर्देशन गरेअनुसार र नेपाल सरकारले समयसमयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गरेका प्रतिबद्धताका आधारमा कार्ययोजना तयार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    मुख्य सचिव शङ्करदास वैरागीका अध्यक्षतामा आज सम्पन्न कोभिड-१९ सहजीकरण समितिको बैठकमा देशभरका अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने/गराउने, सो उद्योगमा विद्युत् तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने, कोभिड अस्पतालमा भएको कुल शय्याको वास्तविक विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ ।

    यसमा वास्तविक समयको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा राखी सर्वसाधारणले कुन अस्पतालमा कुन समयमा कति शयय्या उपलब्ध छन् तत्काल हेर्ने र आवश्यक पर्दा बिरामी लैजान सक्ने व्यवस्था मिलाउने सम्बन्धमा विस्तृत छलफल भएको छ । साथै अक्सिजन सुविधासहितको शय्या थप गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र मौज्दा राख्ने तथा लुकाउनेमाथि कानूनी कारवाही गर्ने/गराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुंग्याउनेलगायत विषयमा समेत छलफल भएको छ ।

    गृह मन्त्रालयका अनुसार कोभिड-१९ दोस्रो लहरको संक्रमणको प्रभावकारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४९३ अस्पताल, २० हजार ३६१ शय्या, एक हजार ८१७ सघन उपचार कक्ष, ७३६ भेन्टिलेटर, २६ निजी क्षेत्रबाट सञ्चालित प्लान्ट र दुई हजार ८६५ एचडीयू छन् ।

    अर्थ मन्त्रालयका अनुसार एक लाख ८१ ह्जार १८६ मेडिकल उपकरण र छ हजार ६०२ औषधि भन्सारबाट पैठारी भएको छ । एक सय २० फेस सिल्ड, ९ हजार २०० पल्स अक्सिमिटर, ३० हजार सिरिन्ज र २१६ मेडिकल/सर्जिकल फर्निचर आयात गरिएको अवस्था छ । सात प्रादेशिक अस्पतालका लागि कोभिड-१९ प्रयोगशाला व्यवस्थापन खर्चस्वरुप तीन करोड ३० लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको र १८ केन्द्रीय अस्पतालका लागि कोभिड-१९ प्रयोगशाला व्यवस्थापन खर्चस्वरुप चारकरोड ९५ लाख रुपैयाँ रकमान्तर भएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक प्रयोजनका लागि औद्योगिक प्रतिष्ठानमा प्रयोग भएका एक हजार ८७५ अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता भएका छन् । यसरी फिर्ता भएका कुल अक्सिजन सिलिण्डर २ हजार ९६९ छन् ।

    यस्तै उद्योग र गृह सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेतको संयुक्त टोलीबाट बिहीबाकर काठमाडौंँ उपत्यकाका विभिन्न अक्सिजन उद्योगको अनुगमन भएको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एक टोली परिचालन गरी बजार अनुगमनसमेत भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार एयर बबल सुविधाअन्तर्गत एयर इन्डियाको दिल्ली-काठमाडौंँ उडानबाट जम्मा ६१ यात्रु लिई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी तय भएको छ । उक्त उडानका सबै यात्रुलाई नेपाल पर्यटन बोर्डको समन्वयमा मन्त्रालयबाट सूचीकृत होटलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

    बिहीबारदेखि शुक्रबारसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा र लुक्ला विमानस्थलबाट ५९ आन्तरिक उडान भरी १०४ यात्रु उद्वार गरिएको छ जसमा मेडिकल उद्धाररको उडान संख्या ११ र यात्रु संख्या २२ छन् । चीनबाट प्राप्त हुने अक्सिजन सिलिण्डरको पहिलो खेप लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान सोमबार गई मङ्गलबार आउने गरी हवाई मार्गमा पर्ने विभिन्न देशसँग ओभरफ्लाई र चीनमा अवतरण अनुमतिका लागि प्रक्रिया अगाडि बढेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट सहयोगस्वरुप प्राप्त हुने स्वास्थ्य सामग्री भेन्टिलेटर-४०, अटोमेटेड एनालाइजर-२०, डीआर मेसिन-१०, पोर्टेबल अल्ट्रासाउण्ड-२०, एनेस्थेसिया मेसिन-३०० एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने जनाइएको छ । चीन सरकारबाट सहायतास्वरुप प्राप्त हुने स्वास्थ्य सामग्रीमध्ये ४०० थान सिलिण्डर र १० थान भेण्टिलेटर नेपाल पठाउनका लागि आइतबारसम्म बेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने जनाइएको छ । अमेरिकी सरकारबाट केही परिमाणमा पीपीई, एन्टिजेन टेष्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने बताइएको छ र एस्ट्राजेनेका भ्याक्सिन सहयोगका सम्बन्धमा यहाँस्थित अमेरिकी दूतावास र वासिङ्टनस्थित नेपाली राजदूतावासमार्फत आवश्यक पहल भइरहेको थाहा भएको छ ।

    स्वास्थ्य मन्त्रालयको सूची बमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत मुलुकबाट सहयोगस्वरुप प्राप्त गर्न पत्राचार भएको छ । एक मात्रा मात्र लगाउँदा पुग्ने र करीब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावास मार्फत रुसको सम्बन्धित निकायसँग माग गरिएको छ । दक्षिण कोरियाबाट सहायतास्वरुप स्वास्थ्य सामग्री जिटुजी पद्धतिबाट प्राप्त गर्नका लागि स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छ ।

    त्यस्तै बङ्गलादेश सरकारबाट सहायतास्वरुप आवश्यक औषधिजन्य स्वास्थ्य सामग्री प्राप्त हुने भएको छ । भारतबाट लिक्विड अक्सिजन नेपालमा आयात गर्न लागिआएको प्रतिबन्ध आवश्यक कूटनीतिक समन्वय र प्रयासबाट हटेको छ । सो सम्बन्धमा भारतीय गृह मन्त्रालयले सूचना जारी गरिसकेको अवस्था छ । ढाकास्थित वेक्सिम्को फार्मामार्फत रेम्डेसिभिर सोमबार र बंगलादेश सरकारबाट थप पाँच हजार भाएल्स रेम्डेसिभिर मङ्गलबार प्राप्त हुने र सोको ढुवानी नेपालले नै गर्नुपर्ने जानकारी ढाकास्थित नेपाली राजदूतावासबाट प्राप्त भएको छ ।

    महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी नेपाल सरकारद्वारा जारी भएका आदेश एवम् स्वास्थ्य मापदण्डलाई पूर्ण परिपालना गरी एकजुट भई कोभिड-१९ नियन्त्रण एवम् व्यवस्थापनसम्बन्धी कार्य गर्न÷गराउन प्रधानमन्त्री कार्यालयले सबैमा आग्रह गरेको गरेको छ ।

  • भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या २ करोड १८ लाख ९२ पुगेको छ ।

    भारतमा लगातार तेस्रो दिन ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप ४ हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २ लाख ३८ हजार २७० पुगेको हो ।

    हाल विश्वमै कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा ५ लाख ९४ हजार तथा ब्राजिलमा ४ लाख १९ हजारको ज्यान गइसकेको छ ।

    भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोभिड-१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

    गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड-१९ को खोप दिइसकिएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

    यसैबीच, बिहीबारसम्म भारतमा कोभिड-१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

  • तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

    तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

    ताप्लेजुङ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड-१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो ।

    ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट ५ हजार थान, एन–९५ मास्क १ हजार थान, पीपीई सेट २ हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ ।

    दैनिक रुपमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत जानकार छेतेन लामामार्फत मागपत्र पठाइएको प्रमुख मादेनले बताए । डिङ्जे काउन्टी तिब्बत सरकारले ताप्लेजुङमा विभिन्न विपत्का समयमा सहयोग गर्दै आएको छ ।

  • भक्तपुर इन्टरनेशनल अस्पताल कारवाहीमा, मृतक संक्रमितका परिवारलाई क्षतिपुर्ति दिने

    भक्तपुर इन्टरनेशनल अस्पताल कारवाहीमा, मृतक संक्रमितका परिवारलाई क्षतिपुर्ति दिने

    भक्तपुर । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना संक्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि-३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ ।

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारवाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा कारवाही प्रक्रिया अघि बढाउन नसकिएको उनले वताए । ‘आज सो अस्पतालमा भएको घटनाका बारेमा पीडित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल ग¥र्यौ । आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारवाही अघि बढाउँछौ’, उनले भने ।

    पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना संक्रमिको दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

    स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमितलाई भर्ना लिइएको थियो । अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक संक्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा एक संक्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

    अस्पतालको चरम लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा झडपको स्थिति आएको थियो । अस्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ । पीडित परिवार अस्पतालको चरम लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारवाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

    अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो । सो अनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ ।

    यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना संक्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए । के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उनले बताए । ‘आजको छलफलमा पीडित पक्षलाई क्षतिपूर्ति दिने भन्ने सहमति भएको छ । आइतबार थप छलफल गरेर क्षतिपूर्ति तय गर्ने सहमति भएको छ’, उनले भने ।

    त्यस्तै अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

  • कोरोनाविरुद्धको चिनियाँ खोपले पायो डब्लुएचओबाट अनुमति

    कोरोनाविरुद्धको चिनियाँ खोपले पायो डब्लुएचओबाट अनुमति

    बेइजिङ । सिनोफार्मले विकास गरेको चिनियाँ खोप भेरोसेलले विश्व स्वास्थ्य संगठनबाट शुक्रबार आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेको छ ।

    डब्लुएचओले युरोप र अमेरिकाबाहिर उत्पादन भएको खोपलाई पहिलोपटक अनुमति दिएको हो ।

    यसअघि फाइजर-बायोएनटेक, अक्सफोर्ड-अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डनाले विकास गरेका खोपले आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेका छन् ।

    चीनले विकास गरेको भेरोसेललाई नेपालमा पनि आपतकालिन प्रयोगमा ल्याइसकिएको छ । नेपालमा हजारौंले भेरोसेल खोप लगाएका छन् । ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई अनुमति दिइसकेका छन् ।

    डब्लुएचओले चिनियाँ खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको जनाएको छ । यो चिनियाँ खोप १८ वर्षभन्दा माथिल्लो उमेरकालाई २ डोज दिन भनिएको छ ।

  • अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

    अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

    काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।

    चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

    वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

    निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

    ‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौ’, उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

  • गण्डकीमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु

    गण्डकीमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३९६ जना नयाँ संक्रमित फेला परेका हुन् ।

    योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार शुक्रबारसम्म गण्डकीमा कुल २२ हजार २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बिहीबार कास्कीमा ८५६, पर्वत १६७, गोरखा ६०, तनहुँ ६१, स्याङजा ५९, नवलपरासी पूर्व ५४, बागलुङ ५३, लमजुङ २८, म्याग्दी ५६, मुस्ताङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    अहिलेसम्म प्रदेशमा १७ हजार ३ सय ८८ जना संक्रमितले कोरोना जितेका छन् भने अझै ४ हजार ६२० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित पनि अहिलेसम्मकै उच्च हो । जसमध्ये २ सय १२ जना संक्रमित उपचाररत छन् । उनीहरुमध्ये ९५ प्रतिशतको अवस्था गम्भीर रहेको निर्देशनालयले जनाएको छ ।

    गण्डकीमा शुक्रबारमात्रै ७ जना संक्रमितको ज्यान गएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो वैशाखयतामात्रै ४५ जना संक्रमितको मृत्यु भएको छ ।

    कास्की खतरामा !

    बिहीबार फेला परेका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालयका अनुसार शुक्रबार पुष्टि भएका कुल संक्रमितमध्ये ८ सय ५६ जना कास्कीकामात्रै छन् ।

    योसँगै कास्कीमा सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ पुगेको छ । कुल संक्रमितमध्ये शुक्रबारसम्म २ हजार ७२५ जना अझै सक्रिय संक्रमित छन् । कास्कीमा अहिलेसम्म १ सय ३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यो प्रदेशभरिकै सबैभन्दा धेरै आँकडा हो ।

    परीक्षण गरिएका आधाभन्दा बढीमा संक्रमण पुष्टि

    गण्डकीमा पछिल्लो समय परीक्षण गरिएका आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । स्वास्थ्य निदेशनालयका अनुसार पछिल्लो २४ घन्टामा २३ सय बढी स्वाब परीक्षण गरिएको थियो । जसमध्ये १३ सय बढीमा संक्रमण पुष्टि भएको छ ।

    बिहीबार पनि कुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार १२ सय बढीमा परीक्षण गर्दा ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    संक्रमण दर बढेपनि सोही अनुपातमा निको हुनेको संख्यामा भने कमी आएको छ । शुक्रबार १३ सय बढीमा संक्रमण पुष्टि हुँदा जम्मा ८६ जनाले कोरोना जितेका छन् । बिहीबार १ सय ४३ जना कोरोना संक्रमित निको भएका थिए । बुधबार ५ सयबढी संक्रमित फेला पर्दा ८४ जनाले मात्रै कोरोना जितेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

  • कैलालीमा शुक्रबार ४ संक्रमितको मृत्यु

    कैलालीमा शुक्रबार ४ संक्रमितको मृत्यु

    कैलाली । कैलालीमा शुक्रबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय पुरुषकाे मृत्यु  भएकाे हाे ।

    यस्तै धनगढी १ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

  • सक्रिय संक्रमित संख्या ७८ हजार, काठमाडौंमा शुक्रबार ३ हजार संक्रमित

    सक्रिय संक्रमित संख्या ७८ हजार, काठमाडौंमा शुक्रबार ३ हजार संक्रमित

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या शुक्रबारसम्म ७८ हजार ६२९ पुगेको छ ।

    काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमित संख्या २५ हजार ९४० पुगेको छ । भक्तपुरमा ३२५२ र ललितपुरमा ५४२९ पुगेको छ ।

    २२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० माथि पुगेको छ । सक्रिय संक्रमित २०० पुग्ने जिल्ला संख्या पनि दुईदर्जन पुगेको छ ।

    परीक्षण गरिएकोमध्ये संक्रमण दर १४.५ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३,०८९ जना संक्रमित थपिएका छन् ।

  • आवश्यकता भन्दा बढी स्टक राखिएपछि लुम्बिनीमा अक्सिजन अभाव

    आवश्यकता भन्दा बढी स्टक राखिएपछि लुम्बिनीमा अक्सिजन अभाव

    रुपन्देही । कोरोना संक्रमणको केन्द्र बनेको लुम्बिनी प्रदेशमा गम्भीर प्रकृतिका बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन थालेको समाचार बाहिरिन थालेपछि संक्रमितहरुलाई थप त्रास बढ्न थालेको छ ।

    विशेषगरी होम आइसोलेसनमा बसेकाहरु र केही संक्रमणको त्रासका कारणले धमाधम अक्सिजनका सिलिन्डर खरिद गरेर घरघरमा स्टक राख्न थालेपछि लुम्बिनी प्रदेशका ठूला तथा साना अस्पतालहरुमा अक्सिजन अभाव देखिए थालेको छ ।

    गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरुले बताएका छन् ।
    यो क्षेत्रमा धेरै संक्रमितको उपचार गरिरहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको बिहीबार सार्वजनिक अपील गरेको छ ।

    यससँगै बाँकेको कोहलपुर मेडिकल कलेज, दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल, रुपन्देहीको भैरहवास्थि कोरोना विशेष अस्पतालल र युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण अब बिरामी भर्ना लिन नसक्ने सूचना प्रकाशन गरिसकेका छन् ।
    यी अस्पतालहरुमा संक्रमितको संख्या बेड संख्याभन्दा दोब्बर हुनु र अक्सिजन अभावमा उपचार प्रभावित हुने सूचना सार्वजनिक भएपछि सबैमा त्रास देखिएको छ ।

    अहिलेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म अक्सिजन सिलिन्डर खपत भएको छ । यो अस्पतालमा बनाइएको अक्सिजन प्लान्ट बिग्रेकाले सप्लायर्सले मागेअनुसार अक्सिजन उपलब्ध गराउन नसक्दा यस्तो अवस्था सिर्जना भएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।

    उनले गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले अक्सिजनको खपत धेरै भएको र अस्पतालभित्रै रहेको अक्सिजन प्लान्ट मर्मत भइरहेको बताए । ‘अस्पतालमा दैनिक ३ सय सिलिन्डरसम्म अक्सिजन सप्लायर्सबाट प्राप्त हुने गरेको छ । मौज्दात अक्सिजन सकिन थालेकाले कोरोना संक्रमित बिरामीको उपचारमा समस्या आउने भएकाले हामीले सबैलाई सचेत बनाएका छौं, समन्वयका लागि आग्रह गरेका छौं’ खनालले भने ।

    केही सातायता रुपन्देहीमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ त्यसमाथि पनि यो अस्पताल रहेको बुटवल उपमहानगर सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसका साथै नवलपरासी, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठानलगायतका जिल्लाबाट बिरामी आउने भएकाले बिरामीको चाप बढेको मेसु खनालको भनाइ छ ।

    यो अस्पतालमा नेपालगञ्जस्थित एचओ कम्पनीबाट अक्सिजन खरिद गर्दै आएकोमा नपुुगेपछि अहिले रुपन्देही धकधईस्थित शंकर अक्सिजन र लुम्बिनी अक्सिजनबाट ल्याउन थालिएको छ ।

    तर नेपालगन्जबाट आउन छाडेपछि समस्या भएको हो । अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्ट मर्मत भइरहे पनि उत्पादन शुरु भइसकेको छैन । लुम्बिनीमा अक्सिजन प्लान्ट शुरु भए पनि दैनिक २० सिलिन्डरमात्रै उत्पादन हुने हुँदा वैकल्पिक व्यवस्थाका लागि योजना बनाउनुपर्ने नै हुन्छ ।

    प्रदेशका अधिकांश कोरोना संक्रमित बिरामी उपचाररत अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । रुपन्देहीको भैरहवास्थित भिम अस्पताल, बाँकेको भेरी अस्पताल, दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजनको अपुुग हुन थालेको ती अस्पतालले जनाएका छन् ।

    कोरोना महामारीको केन्द्र बनेको लुम्बिनीका धेरै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट भएर पनि त्यसबाट उत्पादन गर्ने योजना बनाउन सकेका छैनन् । केही अस्पतालमा रहेका अक्सिजन प्लान्टको मर्मत नहुँदा तीन अस्पतालमा रहेका अक्सिजन प्लान्ट बिग्रिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको हो ।

    लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले महामारी केन्द्र बनेको लुम्बिनीमा बेड र अक्सिजनको अभाव भएकाले यी दुवैको समस्या समाधान गर्ने र चार वटा मेडिकल कलेजमा कम्तीमा ५० प्रतिशत कोभिड बिरामी अनिवार्य राख्नुपर्ने नियम बनाइएको बताए । मेडिकल कलेजहरुमा आईसियू, एचडियू र अक्सिजनसहितको बेड हुने भएकाले बेडको समस्या हुन नदिने र सबै क्षेत्रको समन्वयमा निकास खोजिने बताए ।

    मन्त्रालयका सचिव डा. विकास देवकोटाले अक्सिजन अभाव भएकाले तत्काल बिग्रिएका अक्सिजन प्लान्टको मर्मत र अक्सिजनका सिलिन्डर अनावश्यक रुपमा घरमा नराख्न आग्रह गरिएको बताएका छन् । ‘वितरण गरिएका सिलिन्डरको संकलन, कम्पनीमा उत्पादन बढाउन पहल र अक्सिजन प्लान्टको क्षमता वृद्धि गर्ने गरी तयारीमा जुटेका छौं’ देवकोटाले भने ।

    लुम्बिनीमा रुपन्देहीमा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल तथा देवदह मेडिकल कलेज, बाँकेमा नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर), र पाल्पामा लुम्बिनी मेडिकल कलेज गरी चार वटा ठूला मेडिकल कलेज रहेका छन् ।

    रुपन्देहीमा निजी क्षेत्रको ठूलो अस्पतालका रुपमा रहेको र कोरोना संक्रमितको उपचार गर्दै आएको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताललले पनि अक्सिजनको अभावले बिरामी भर्ना कटौती गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

    दैनिक ५ सयभन्दा बढी अक्सिजन खपत भएको भन्दै अक्सिजन सिलिण्डरको व्यवस्था गर्न प्रदेश सरकार, स्थानीय तह तथा प्रशासनलाई गुहारेको छ ।

    अस्पतालले विज्ञप्ति जारी गर्दै दैनिक ८ सय सिलिन्डर अक्सिजन आपूर्ति गर्न अनुरोध गरेको हो । मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको चापलाई मध्यनजर गरी सञ्चालनको तयारीमा रहेको ६० बेडको एचडियू पनि अक्सिजनकै कारण सञ्चालन गर्न नसक्ने कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।

    बाँकेको नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर)ले पनि अक्सिजनको अभावले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएको छ । कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले विज्ञप्ति जारी गर्दै अक्सिजन नभए कोभिडका बिरामी लिन नसक्ने जनाएको हो । अक्सिजन आपूर्तिका लागि अस्पतालले यही वैशाख १९ र २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोध गरिसकेको छ ।

    मुख्यमन्त्री पोखरेलको अपील

    लुम्बिनीमा अक्सिजनको अभाव चुलिँदै गएपछि मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अपील गरेका छन् ।

    मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेको अपीलमा ‘अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौं’ उल्लेख छ ।

    अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने

    रुपन्देहीमा रहेका तीन वटा अक्सिजन उद्योगमा प्रहरीले निगरानी गर्ने भएको छ । उत्पादन भएका अक्सिजन अन्यत्र जाने खतरालाई रोक्न रुपन्देहीमा रहेका शंकर अक्सिजन ग्यास प्रालि, लुम्बिनी अक्सिजन इन्डष्ट्रिप र लुम्बिनी ग्यास प्रालिमा प्रहरीलाई निगरानीका रुपमा ग्राखिने जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

    बैठकले औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन बन्द गर्ने, स्थानीय स्तरका अस्पतालमा आवश्यकताका आधारमा मात्र सप्लाई गर्ने र घरघरमा लैजानेलाई पनि मापदण्ड बनाएर आवश्यकताका आधारमा मात्र दिइने निर्णय गरेको छ । यी तीन वटा उद्योगले दैनिक ११ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछन् ।

    बुटवल अक्सिजन बैंकमा अटो एसोसिएसनको सहकार्य

    बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले ३५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
    भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे । सुवेदीले जनस्वास्थ्यको संवेदनशील अवस्थामा अरु सामाजिक संघसंस्थालाई पनि महामारीविरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरे ।

     

  • शुक्रबार ९,१९६ संक्रमित थपिए, ५० जनाको मृत्यु

    शुक्रबार ९,१९६ संक्रमित थपिए, ५० जनाको मृत्यु

    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ९,१९६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।

    २०,४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । कूल मृतक संख्या ३,५७९ पुगेको छ ।

    सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ लागु गरेको समेत जनाइएको छ ।

  • गण्डकीमा कोरोनाबाट एकै दिन ७ जनाको मृत्यु

    गण्डकीमा कोरोनाबाट एकै दिन ७ जनाको मृत्यु

    पोखरा । गण्डकीमा शुक्रबार एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, म्याग्दी, रुपन्देही, पर्वत, तनहुँका संक्रमित छन् । उनीहरुको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

    बिहीबार मृत्यु भएकामध्ये पर्वत कुश्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष, पर्वतकै जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष,तनहुँ ब्यास नगरपालिका ९ का ६० वर्षीय महिला, पोखरा महानगगर २५ का ६८ वर्षीय पुरुष, म्याग्दी बेनी नगरपालिका २ का ७३ वर्षीय पुरुष छन् ।

    पोखरामा उपचारका क्रममा बिहीबार दाङ, लमही नगरपालिका ५ का ४४ वर्षीय महिला र रुपन्देही बुटवल उपमहानगरपालिका ५ का ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।

    बिहीबारमात्रै गण्डकीमा कोरोनाबाट ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार बैशाखयतामात्रै गण्डकीमा कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ ।

    प्रदेशभर कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ भने सक्रिय संक्रमितको संख्या पनि ३ हजार नाघेको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।

  • कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु

    कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु

  • अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

    अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

    भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

    भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दा-खोज्दै मृत्यु भएको उनले जानकारी दिए ।

    एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

  • शवको चापले छिटो विग्रन थाल्यो विद्युतीय शवदाह गृहको मेसिन

    शवको चापले छिटो विग्रन थाल्यो विद्युतीय शवदाह गृहको मेसिन

    काठमाडौं । पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ ।कोरोना संक्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ ।

    विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन । दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा तातेका कारण मर्मत गरिरहनु परेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

    कोरोनाबाट प्रभावित भई दैनिक मर्नेको संख्या बढेपछि पशुपति क्षेत्रमा पनि शवदाह गराउन ल्याउने क्रम बढेको हो ।

    केही दिनअघि विद्युतीय शवदाहको एक नं मेसिन मर्मत गरिएको थियो । धेरै तातेका कारण आज विद्युतीय शवदाहको दुई नं मेसिन पनि मर्मत गर्न लागिएको उनले बताए ।

    तीन दिनमा मर्मत सकिने जनाइएको छ । सामान्य अवस्थामा विद्युतीय शवदाह गृह तीन महिनामा मर्मत गरे हुने गरेकामा कोरोनाबाट मृत्यु भएका शव धेरै आएर छिटो मर्मत गर्नुपरेको हो ।

    काठमाडौं महानगरपालिकाको सहयोगमा दुई यन्त्र राख्न बस्तीले रोक्यो । महानगरपालिकाले दुई विद्युतीय शवदाह मेसिन राख्न १५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गत वर्ष भएको थियो ।

    हाल शवदाह गृह रहेको पारिपट्टि तिलगङ्गा क्षेत्रमा निर्माण गर्न लागिएको अर्को विद्युतीय शवदाह गृह बस्ती हटाउन नसकिएका कारण काम अघि बढ्न नसकेको सदस्यसचिव ढकालले बताए । अधिग्रहणमा परेको सो बस्ती हटाउन मुआब्जा वितरण भइसकेको छ ।

    यहाँबाट बस्ती हटाएकालाई गोठाटारमा रहेको कोषको जग्गामा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी बस्ती बसाउने कार्यक्रम छ । भवनसहित विद्युतीय शवदाह गृहसहित दुई नयाँ यन्त्र राख्न बोलपत्र आब्हान भइसकेर पनि स्थान खाली नभएकै कारण रोकिएको छ ।

    थप दुई यन्त्रसहित नयाँ विद्युतीय शवदाह गृह समयमै बनाउन सकिएको भए महामारीको यो घडीमा शवदाह गर्न समस्या नपर्ने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।

  • जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    काठमाडौं । मंगलबारको कोरोना रिपोर्टले डा. पुरुषोत्तम वर्मालाई ढुक्क बनायो । ढुक्क यसकारण कि, रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालमा काम गर्दा गर्दै कमजोरीले गालेको थियो उनलाई । कोरोनासँग मिल्दो लक्षण पनि देखिएको थियो ।

    सामाजिक सञ्जालमा पनि संक्रमित भनेर हल्ला फिँजियो । जे होस्, नतिजा भने सुखद् आयो ।

    डा. वर्माको फोटो सामाजिक सञ्जालमा केहीदिन यता भाइरल बनेको थियो । कोरोना महामारीमा दिलोज्यान दिएर बिरामीको उपचारमा तल्लीन कतिपय स्वास्थ्यकर्मी आफैं संक्रमित छन् । तै पनि पेसागत धर्म मात्र हैन, मानवीयताको मूल्य निभाइरहेका छन् भन्ने प्रमाणस्वरूप उनको कारुणिक फोटो देखा परेको थियो सामाजिक सञ्जालमा ।

    फोटोमा डाक्टर वर्मा हातमा सलाइन लगाएर अस्पतालमा काम गरिरहेका देखिन्थे । स्वयम् बिरामी भएर संक्रमितको उपचारमा खटिएको डाक्टर देख्दा तस्बिरले धेरैको हृदय पगाल्यो ।

    कोरोना ‘हटस्पट’ बाँकेको नेपालगञ्ज मेडिकल कलेजको कोरोना वार्डमा उनी यतिबेला पनि बिरामीको हेरचाहमा लागिरहेका छन् ।

    डेढ वर्षदेखि त्यहाँ कार्यरत डा. वर्मालाई यस्तो चाप कहिल्यै परेको थिएन । सँगै काम गर्ने तीन साथी कोरोना संक्रमित भए । र होम आइसोलेसनमा गए । थेग्नै नसक्ने थियो बिरामीको चाप । त्यही क्रममा आफैं पनि बिरामी परे उनी ।

    ‘मलाई आराम चाहिएको थियो । संक्रमण भयो भन्ने लागेको थियो । यस्तै बेलामा त हो काम देखाउने । विकल्प पनि थिएन । स्लाइन लगाएर काममा खटिएँ म,’ उनी सुनाउँछन् ।

    त्यति नै बेला एक जना सहकर्मीलाई लाग्यो- यो त पछिसम्म मेमोरी हुन्छ ।’ अनि उनले दृश्यलाई फोटोमा कैद गरे । अर्का सहकर्मीले फेसबुकमा राखिदिए । डा. वर्माले पछिमात्र थाहा पाए त्यो कुरा ।

    अघिल्लो वर्षको भन्दा धेरै गाह्रो बनाएको छ यसवर्ष कोरोनाले । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अघिल्लो सालको तुलनामा अस्पताल आउने बिरामीको संख्या मात्र बढेको छैन । समस्या पनि गम्भीर बन्दै गएको छ ।

    बिरामीमा अक्सिजन लेभल घट्ने र सास फेर्न गाह्रो हुने समस्या निकै छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएका कारण स्वास्थ्यकर्मीको अहोरात्र खटिनुपरेको छ । यसरी खटिँदा थुप्रै अनुभव व्यहोरिसकेका छन् डा. वर्माले ।

    उनको आग्रह छ- कोरोनासँग नआतिऔं । ‘भीडभाडमा नबस्ने, सही तरिकाले मास्क लगाउने र हातलाई निरन्तर साबुनपानीले धुने वा स्यानीटाइजर लगाउने मात्र गरे पनि संक्रमणबाट जोगिन सकिन्छ । फैलिन पनि कम हुन्छ,’ उनी सुझाउँछन् ।

  • सरकारले भन्यो- थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ

    सरकारले भन्यो- थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था अहिले छैन, सर्तअनुसार सिरमको खोप चाँडै आउँछ

    काठमाडौं । कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनिएको बारे सरकारले औपचारिकरुपमा टिप्पणी गरेको छ ।

    शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ । प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख छ ।

    सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने जनाइएको छ ।

    सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

    थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था तत्काल नरहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले अन्य मुलुकका खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।

    कोभिसिल्ड खोप खरिदबारे निर्णय गर्ने अधिकार स्वास्थ्य सेवा विभागको भएकाले मन्त्रालयलाई संलग्न गराइ आएका विवरणमा सत्यता नरहेको दाबी समेत मन्त्रालयले गरेको छ ।

  • हुन्डाईद्वारा गण्डकी प्रदेशलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

    गण्डकी । प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुन्डाईका प्रबन्धक भीमसिंह खत्रीले कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक दुई हजार सेट पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

    कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र संक्रमण रोकथाममा मद्दत पुगोस् भनेर हुन्डाई मोटर्स कम्पनी दक्षिण कोरियाको सहयोगमा ५० लाख रुपैयाँ मुल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रबन्धक खत्रीले जानकारी दिए ।

    हुन्डाईले गत वर्ष प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ र ‘फिभर क्लिनिक’ स्थापनाका लागि पनि सहयोग उपलव्ध गराएको थियो ।

    कार्यक्रममा सामाजिक विकासमन्त्री पुनले सार्वजनिक तथा निजी सङ्घसंस्थाको सहयोग र सहकार्यबाट सरकारले नागरिकलाई कोरोनाबाट बचाउने कार्य गर्दै आएको जनाउँदै हुन्डाई कम्पनीले स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरी पिपिई सेट उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

    गण्डकी प्रदेशमा कोरोना संक्रमण वृद्धि भएसँगै अक्सिजन सिलिन्डरको अभाव भएकाले सहयोगी संस्थाबाट सहयोगको अपेक्षा सरकारले गरेको उनले बताए ।उनले भने, ‘गण्डकी प्रदेशमा अक्सिजन प्लान्ट रहे पनि सिलिन्डरको अभाव रहेको छ, सरकारको बजेट प्रयोग गरेर खरीद गर्दा लामो प्रक्रियामा जानुपर्ने हुन्छ, त्यसैले तत्कालका लागि सहयोगी संस्थाबाट हामीले सिलिन्डर सहयोगको अपेक्षा गरेका छौँ ।’

    मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले पीपीई सेट आवश्यकताका आधारमा प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइने जानकारी दिए । मन्त्रालयले प्राप्त स्वास्थ्य सामग्री तत्कालै जिल्लाहरुमा पुग्ने व्यवस्थाका लागि प्रदेश आपूर्ति व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

  • म्याग्दी अक्सिजनमा आत्मनिर्भर

    म्याग्दी अक्सिजनमा आत्मनिर्भर

    म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना संक्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ ।

    बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताए । ‘अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैं पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैं अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौ । सिलिण्डर पनि तयारी अवस्थामा छन् ।’

    बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित ६ वटा साना अक्सिजनका सिलिण्डर छन् । अस्पतालका सिलिण्डर बिरामीलाई घर लैजान दिइएको छैन । दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ ।

    बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा आउने बिरामी र नियमित अक्सिजन लगाउनुपर्ने बिरामीका लागि बाहिरबाट अक्सिजन आयात हुन छाडेको बताए । अस्पतालमा भएका सबै ३० वटा शय्यामा अक्सिजन पाइप जडान गरिएको छ । आकस्मिक, मिर्गौला डायलायसिस, सघन उपचारकक्ष ९आइसीयू० र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइप लाइन जडान भएको छ । सिलिण्डर भरेर ओसार्नु पर्दैन ।

    पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । गत पुषदेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको बेडमै अक्सिजन पुर्‍याउन पाइपलाइन जडान गरिएको हो । पलान्टले एक दिनमा १५ वटा सम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको छ । हाल १० वटा सम्म सिलिण्डर भर्ने डाक्टर कडेलले बताए ।

    अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ जना स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रसोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको छ ।

    ‘सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा रु ७५ लाख बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, ‘सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख रुपैयाँ र अस्पतालको एक लाख ४० हजार रुपैयाँमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर पलान्ट सञ्चालनमा ल्याएका छौ।

    मन्त्रालयको ५ लाख रुपैयाँ सहयोगमा अक्सिजन पलान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको ३० लाख रुपैयाँबाट सघन उपचार कक्षमा १ वटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए ।

    वि.सं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पाँच शय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको छ । गत साउनदेखि मिर्गौलाको डायलायसिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचार कक्षसमेत सञ्चालन गरेको छ । फोहर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ ।

  • रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुग्यो

    रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुग्यो

    रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत २ जना र १ जना कोरोना विशेष अस्पतालमा गरि ३ जना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमका अनुसार बुटवल तामनगरका ६५ वर्षिय पुरुषको राती १ बजे मृत्यु भएको छ । उनी बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत थिए ।

    त्यसैगरि बैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षिय पुरुषको राती २ः२१ मा मृत्यु भएको छ भने बैशाख १९ देखि अस्पतालको इमरर्जेन्सीमा उपचाररत तिलोत्तमा १ की ६४ वर्षकी महिलाको बिहान मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

    यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

  • बाँकेमा बिहीबार राति थप ८ संक्रमितको मृत्यु

    बाँकेमा बिहीबार राति थप ८ संक्रमितको मृत्यु

    रूपन्देही । बाँकेमा बिहीबार राती थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना जिल्ला बाहिरका छन् भने ६ जना नेपालगन्ज उपमहानगरका स्थानीय हुन् ।

    यससँगै संक्रमणमा परेर जिल्ला भित्रका मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने जिल्ला बाहिरका १३० जनाको मृत्यु भएको छ ।उनीहरूले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

    डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बारबर्दिया ६ का ३७ वर्षिय पुरुषको बिहिबार राती ९ बजे मृत्यु भएको छ भने गत बैशाख २ गते भेरी अस्पता भर्ना भएकी टिकापुर कैलालीकी ४८ वर्षिया महिलाको राती ११ः३० बजे मृत्यु भएको छ ।

    त्यसैगरि २३ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ६ की ३४ वर्षिय पुरुषको राती १ः३० बजे, २१ गते भर्ना भएकी ५६ वर्षिया महिलाको राती २ बजे, नेपालगन्ज ३ का ५० वर्षिय पुरुषको बिहान ३ बजे, तथा १६ गते भर्ना भएकी नेपालगन्ज १२ की ६० वर्षिया महिलाको ३ः३० बजे मृत्यु भएको छ ।

    त्यस्तै २१ गते भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ५४ वर्षिया महिलाको बिहान ६ बजे तथा २० गते भेरीमा भर्ना भएका नेपालगन्ज ६ का बिहिबार साँझ ६ः५० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।

  • कैलालीमा दुई सय ७८ जनामा संक्रमण, ४ जनाको मृत्यु

    कैलालीमा दुई सय ७८ जनामा संक्रमण, ४ जनाको मृत्यु

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    सेती अस्पतालमा कैलालीका ३ जना बझाङका १ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ बर्सिया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।

    यस्तै बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ बर्सिया कोरोना संक्रमित महिलाको पनि बिहीबार बिहान १ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

    दुई सय ७८ जनामा संक्रमण

    कैलालीका थप दुई सय ७८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ सय ५० जनामा परीक्षण गर्दा कैलालीका दुई सय ७८ सहित तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका एक सय १७ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै अन्य स्थानीय तहमा एक सय ६१ जना संक्रमित थपिएका छन् । प्रदेशका अन्य जिल्लामा आज ९१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    प्रादेशिक अस्पतालमा अहिले ५८ जना गम्भीर प्रकृतिका संक्रमितको उपचार भइरहेको छ । २० जनाको आइसियु, तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्यको अक्सिजन सहायतामा उपचार भइरहेको अस्पतालले जानकारी दिए ।

    पछिल्लो २४ घण्टामा ६ जना संक्रमण मुक्त भएका छन् भने १४ जना अस्पताल भर्ना भएका छन् ।

  • विहीबार ९,०७० जनामा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

    विहीबार ९,०७० जनामा संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

    काठमाडौं । विहीबार नेपालमा ९,०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।

    २१ हजार १४२ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २७०७ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या ३ लाख ६८ ५८० पुगेको छ । ३,५२९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या प्रतिशत १९.६९ पुगेको छ ।

  • लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, उपचारका लागि पालो कुर्नुपर्ने

    लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, उपचारका लागि पालो कुर्नुपर्ने

    रूपन्देही । वैशाखको शुरूआतदेखि बढेको कोरोना महामारीको दोस्रो लहर चौथो सातासम्म आइपुग्दा रुपन्देहीमा भयावह देखिन थालेको छ । दिनप्रतिदिन संक्रमितको चापले अस्पतालको क्षमताले बिरामी थेग्न छाडेको छ ।

    जिल्लामा कोरोना संक्रमणबाट बुधबार मात्र १३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । सक्रिय संक्रमित ४ हजार ९ ५५ पुगेको छ । बढी जनघनत्व भएको बुटवल, तिलोत्तमा, भैरहवा, सैनामैनामा बढी संक्रमित देखिएका छन् र मृत्युदर पनि त्यो क्षेत्रमा बढी छ । स्वास्थ्य कार्यालय रूपन्देहीले विभिन्न अस्पतालमा २०७ जना गम्भीर अवस्थाका संक्रमितहरू उपचाररत रहेको जनाएको छ ।

    संक्रमितका लागि बनाइएका बुटवल र भैरहवाका दुई कोरोना विशेष अस्पतालमा क्षमताभन्दा दोब्बर बिरामीको उपचार भइरहेको छ भने निजी अस्पताल पनि भरिएका छन् । शय्या अभावमा सिकिस्त बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्न बाध्य भएको अस्पतालका अधिकारीहरू बताउँछन् ।

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालमा विरामीहरूको अत्यधिक चाप बढेपछि बिरामीले नै ल्याएका लत्ताकपडा ओछ्याएर उपचार भइरहेको छ ।

    भीम अस्पतालमा बिरामी चाप थेग्नै नसक्ने अवस्था आएपछि संक्रमित अस्पतालको पिँढीमै छट्पटाइरहेका छन् । आफन्तको हारगुहारपछि स्वास्थ्यकर्मीले भुइँमा र अस्पतालको पिँढीमा राखेर जेनतन अक्सिजन त दिएका छन् तर रेखदेख गर्ने स्वास्थ्यकर्मी छैनन् ।

    अस्पतालमा कोभिडका लागि छुट्याइएका आईसीयू, भेन्टिलेटर र एचडियू बेड मात्रै होइन, इमरजेन्सी कक्षका बेडसमेत खाली छैनन् । संक्रमितले बेड पाउनै ३/४ दिन पालो कुर्नु पर्ने अवस्था छ ।

    ५ दिन कुरेपछि बल्ल एउटा बेड पाएको तिलोत्तमाका संक्रमित कमला मरासिनीका पति केशवले बताए । ‘सकेसम्म त अस्पताल कसैलाई आउन नपरोस् । बेड अभाव छ जनशक्ति केही छैन । हामीजस्ता कुरुवालाई समेत संक्रमणको खतरा छ’, उनले भने ।

    रुपन्देहीमा अहिलेसम्म २३२ संक्रमितको मृत्यु भएको छ । बिरामीको चापका बीच अस्पतालको क्षमताले भ्याएसम्म उपचारमा कुनै कसर बाँकी नराखेको प्रवक्ता डाक्टर नारायण पोखरेल बताउँछन् ।

    ‘कोभिड कक्षमा संक्रमितको उपचार थेग्न नसकेपछि आकस्मिक कक्षमा उपचार शुरू गरेका थियौ, त्यो पनि भरिसकेको छ संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी रहेको छ ’, उनले नेपाल प्रेससँग भने ।

    अस्पतालमा अहिले ४० जना कोभिडका बिरामी उपचार गराइरहेका छन् । कोभिड कक्षतर्फ ४, आईसीयूमा, १८ जना एचडीयूमा छन् भने बाँकी आकस्मिक कक्षमा उपचाररत् छन् । भएको जनशक्तिले कोभिडको उपचार गरेपनि अहिलेसम्म फिजिसियन आएका छैनन्, ८ जना मेडिकल अफिसर १४ जना सिस्टर र कार्यालय सहयोगीबाट उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    डा. पोखरेलले बेडमा रहेका ‘बिरामी संक्रमणमुक्त भएपछि वा मृत्यु भएपछि बल्ल अर्कोले बेड पाउने’ तीतो यथार्थ सुनाए । यहाँ २५ बेडको एचडीयू, ५ बेडको आईसीयू र ४ भेन्टिलेटर छन् । एचडीयू र आईसीयूका सबै बेड भरिएपछि ११ जनालाई भुइँमै उपचार थालिएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलस्थित कोरोना विशेष अस्पतालका सबै बेड भरिएका छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना अस्पतालको ३६ बेडको एचडीयू, १५ बेडको आईसीयू र ७ बेडको फिवर क्लिनिक समेत भरिएर इमर्जेन्सीमा राखेर उपचार गरिएको बताए ।

    निजी अस्पतालमा पनि उस्तै भीड

    लुम्बिनी प्रादेशिक र भीम अस्पतालसंगै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस), मणिग्रामको क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजले पनि कोरोना संक्रमितहरूको लागि बेड छुट्याएर नै उपचार शुरू गरेका छन् ।

    यूसीएमएसमा अहिले पनि एचडीयूमा ५५, आईसीयूमा २ भेन्टिलेटरमा ७ जना संक्रमितको उपचार भईरहेको छ । त्यस्तै इमर्जेन्सी आइसोलेसनमा ३१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    यहाँ अक्सिजनसहितका १४७ बेड छुट्टयाएकोमा अक्सिजन अभाव हुन थालेपछि बिरामी भर्ना गर्न नसकिएको अस्पतालले जनाएको छ ।

    मणिग्रामस्थित क्रिमसन अस्पतालले पनि कोभिडको लागि छुट्याएका सबै बेडमा संक्रमितले भरिएका छन् । अस्पतालले १० बेडको एचडीयू, ५ बेडको सीसीयू र एउटा भेन्टिलेटर कोभिडका विरामीको लागि छुट्याएको जनाएको छ । ती सबै बेडहरू विरामीले भरिएका छन् । त्यस्तै देवदह मेडिकल कलेजमा पनि चारजना संक्रमितको उपचार भइरहेको छ ।

    संक्रमित बढ्दै जांदा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिडका विरामीहरूको उपचारको लागि अस्थायी अस्पताल बनाउने योजना अगाडि सारेको छ । बुधवारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका भोजप्रसाद श्रेष्ठले कोभिड संचालनको लागि बुटवलका केही भौतिक संरचनाहरू हेरिएको र तत्काल सर्वपक्षीय छलफल राखिएको बताए ।

    ‘हाम्रो पहिलो काम नै कोभिड नियन्त्रण र बिरामीको उपचार हुनेछ, अहिले संचालनमा रहेका अस्पतालले चाप थेग्न नसक्ने भइसकेका छन्, छिट्टै अरु कुनै भौतिक संरचनामा भएपनि बिरामीहरूको उपचार गर्ने प्रबन्धमा जुट्ने छौं ’,

    स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी वैशाख शुरूसँगै गाउँघरमा विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता गतिविधिले संक्रमण फैलिनुमा टेवा पुगेको अनुभव सुनाउँछन् ।

    दैनिक ८०० सिलिण्डर अक्सिजन माग

    रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले कम्तीमा पनि दैनिक ८०० अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ । बिरामीको चापलाई थेग्न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एचडीयूसमेत सञ्चालन गर्न असमर्थ हुनुपरेकोले सहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसंग युसीएमएसले अपिल गरेको हो ।

    भारतमा कोरोनाको महामारी, स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा, अनपेक्षित अघोषित लोडसेडिङले अक्सिजनको उत्पादनमा कमी आएको बताइएको छ ।

  • उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

    उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए ।

    ‘महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।

  • हुकमले भन्यो- खोप आयातमा कमिसनको आरोप गलत

    हुकमले भन्यो- खोप आयातमा कमिसनको आरोप गलत

    काठमाडौं । व्यवसायी सुरज वैद्यले कोरोनाविरुद्धको खोप भारतबाट ल्याउन कमिसन मागेको आरोप अस्वीकार गरेका छन् ।

    भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात गर्न कमिसन माग गरेको भन्ने आरोपमा उनले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् । वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता हुन् ।

    भारतमा पछिल्लो समय कोरोना निकै फैलिएको र सिरम इन्स्टिच्युटमा आगो लागेकाले खोप ल्याउन नसकिएको उनले लेखेका छन् ।

    हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्रा.लि. विज्ञप्तिमा भनिएको छ ‘२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल र भारतका दुई सरकार बीचको सीधा संवादबाट भएको हो, आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन ।’

  • ५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित ! (भिडियाेसहित)

    ५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित ! (भिडियाेसहित)

    पोखरा । बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगनमा बनाइएको ‘कोभिड आइसोलेनस’ पुग्दा संक्रमितले बेड भरिभराउ थियो । संक्रमितका आफन्तहरु आइसोलेसनबाहिरै लहरै सुतिरहेका थिए भने भित्र पिपिई लगाएका स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमै व्यस्त देखिन्थे ।

    आइसोलेसन वार्डभन्दा केही अगाडि अक्सिजन ‘फ्लो’ गर्ने छुट्टै कोठा बनाइएको थियो । त्यहींबाट अक्सिजन गम्भीर भित्र बेडमा उपचाररत बिरामीलाई दिइएको थियो । जम्मा ५० बेड क्षमताको वार्ड बुधबारसम्म भरिइसकेको छ । तर, ५ दिन अगाडिसम्म आइसोलेसन वार्डको अवस्था यस्तो थिएन ।

    कोरोना महामारीको पहिलो चरणमा मध्य भागतिर बनेको उक्त आइसोलेसन वार्ड खाली थियो । स्वास्थ्यकर्मीका दौद्द थिएन । भेटिएका केही संक्रमित पोखरा लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पुग्थे । किनकी प्रदेश सरकारले कोभिड बिरामीकोमात्रै उपचार गर्न तोकेको एकमात्र अस्पताल हो, त्यो । तत्कालीन सामुदायिक लायन्स अस्पताललाई गत असारमा प्रदेश सरकारले आफ्नो मातहतमा ल्याउँदै कोभिड अस्पताल बनाएको थियो ।

    कोभिड अस्पतालमा बिरामीको चाप बढेर थेग्नै नसक्ने भएपछि नयाँ संक्रमितहरु पश्चिमाञ्चल स्वास्थ्य क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा आउन थालेका हुन् । त्यहाँ बिरामीको उपचार गर्न थालेको जम्मा ५ दिन भएको छ । तर, ५ दिनको अवधिमै अहिले त्यहाँ संक्रमितले बेड भरिभराउ भइसकेका छन् । फेरि गम्भीर प्रकृतिका कोरोना संक्रमित थपिए के गर्ने ? त्यहाँ कार्यरत स्वास्थ्यकर्मी नै अन्यौलमा छन् ।

    आइसोलेसन वार्ड परिसरमा भेटिए, अस्पतालका मेडिकल अधिकृत डा. शरदचन्द्र बराल । उनैले ‘ब्रिफ्रिङ’ दिए, आइसोलेसनमा कोभिड बिरामीको ५ दिनअघिको अवस्था र आजको अवस्था । यही रफ्तारमा कोरोना संक्रमितको संख्या थपिँदै गए प्रदेशले २ दिन पनि धान्न नसक्ने उनले चेतावानी दिए ।

    ‘५ दिनअघि २ जना बिरामीबाट यहाँ कोभिड उपचार सुरु गरेका थियौं । ती २ जना बिरामी संक्रामक रोग अस्पतालबाट क्रिटिकल अवस्थामा यहाँ आइपुग्नु भाको थ्यो,’ डा बराल जम्मा ५ दिनअघिको समयमा पुग्छन्, ‘उहाँहरुलाई अहिले आइसियूमा राखेर उपचार गरिरहेका छौं । हिजोमात्रै दोस्रो पिसिआर परीक्षणका लागि पठाएका छौं । रिजल्ट आएको छैन ।’

    पोखरा क्षेत्रीय अस्पताल प्रमुख डा अर्जन आचार्यका अनुसार अहिले त्यहाँ त्यहाँ ४८ जना कोभिडका बिरामी उपचाररत छन् । जसमध्ये ९५ प्रतिशतभन्दा बढी बिरामीको अवस्था गम्भीर छ । र, उनीहरुलाई अक्सिजनको दिएर उपचार गरिँदैछ । जबकी १९ गतेमात्रै त्यहाँ जम्मा २७ जना बिरामी उपचाररत थिए ।

    गण्डकीमा बैशाख यताको तथ्यांकमात्रै नियाल्ने हो भने पनि डरलाग्दो छ । पछिल्ला २२ दिनमा प्रदेशभर कोरोनाबाट ३४ जनाको मृत्यु भइसकेको छ । यसबीचमा कोरोना संक्रमित हुनेका संख्या करिब ४ हजारले बढिसकेको छ ।

    बुधबारसम्म प्रदेशका कोरोना संक्रमितको संख्या २० हजार नाघिसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या २० हजार २८४ जना छ । बुधबारमात्रै स्याङजा र पर्वतका २ जना संक्रमितले ज्यान गुमाए ।

    अघिल्लो चरणको महामारीमा दीर्घ रोगीहरु बढी प्रभावित भएपनि दोसो लहरमा भने युवाहरुकै संख्या भएको मेडिकल डा. शरदचन्द्र बराल बताउँछन् । ‘अहिले दीर्घरोगीमात्रै होइन । सायद उहाँहरुले खोप लगाएको भएर पनि होला !’ भन्छन्, ‘दीर्घ रोग नभएका २० देखि ४० वर्षभित्रका पनि धेरै प्रभावित हुनुहुन्छ ।’

    डा. बरालले पहिलेको अहिलेको केभिड प्रकृतिमा धेरै फरक देखिएकाले पनि त्यसले ठूलो असर गरिरहेको बताए । ‘पहिलेको र अहिलेको रोगको प्रकृति एकदमै फरक छ । मैले सामान्य किसिमका बिरामीहरु आउनुहुन्थ्यो । कममात्रामा अक्सिजन लगाउनुपर्ने अवस्था थियो,’ डा बराल भन्छन्, ‘अहिले यहाँ हामीले भर्ना गरेका बिरामीमध्ये ९५ प्रतिशत बिरामी अक्सिजनमै हुनुहुन्छ । यहाँले अनुमान गर्न सक्नुहुन्छ कति भयावह स्थिति छ ।’

    दैनिक ठूलो मात्रामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो समय देशका धेरै ठाउँमा बेड नपाउने अवस्था आइसकेपछि तनहुँ, बुटवल, दाङ लगायत जिल्लाबाट पनि उपचारका लागि पोखरा आउन थालेका छन् । डा. बरालले पोखराका बेड पनि पूर्ण मात्रामा भरिइसकेकाले पोखराका उपचारका लागि आउँदा सम्पर्क गरेर अवस्था बुझेरमात्र आउन आग्रह गरे ।

    आइसोलेसन वार्ड प्रांगनमा कुरागर्दै डा बरालले कतै फोन घुमाए । बुझियो – अस्पतालमा आवश्यक अक्सिजन सकिनै लागेको रहेछ । र, उनी त्यसैको फलोअपमा रहेछन् । उनका अनुसार आइसोलेसन वार्डमा दैनिक ६० सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालले पोखरा अक्सिजन ग्यास सप्लाई सेन्टरबाट अक्सिजन परिपूर्ति गरिरहेको छ ।

    दिनानुदिन कोरोना महामारी बढ्दै गएको अवस्थामा अक्सिजन पनि एकदमै आवश्यक पर्ने डा बराल बताउँछन् । उनी संक्रमितको संख्या अझै बढ्ने र भयावह स्थिति आउन सक्ने भन्दै सरकारलाई छिटोभन्दा छिटो आइसोलेसन कक्षहरु विस्तार र बेडहरु बढाउन सुझाव दिए ।
    मानव संसाधनकोे कमीले एकै ठाउँमा सामान्य विरामी र कोभिड बिरामीको उपचार गरिरहनुपरेको यथार्थ डा बरालले सुनाए ।

    ‘हामीलाई चुनौती पनि छ । एकातिर कोभिड बिरामीको पनि उपचार, नियमित उपचार सेवा गरिराख्नु पर्छ । थोरै मानव संसाधनले सबैतिर भ्याउनु परिरहेको छ,’ उनले भने ।

  • गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गयो

    गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गयो

    पोखरा । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

    निर्देशनालका अनुसार कोरोनाबाट मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष र पोखरा १८ का ७३ वर्षीय पुरुष छन् ।

    त्यस्तै, म्याग्दी म्याग्दी धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय संक्रमित महिलाको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । तीन जनाकै उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।

    बिहीबार पनि गण्डकीका २ जना संक्रमितको मृत्यु भएको थियो । योसँगै गण्डकी प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

  • अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न उद्योगलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न उद्योगलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन दिएको छ ।

    विहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अनुगमनको क्रममा खाली अक्सिजन सिलिन्डर उद्योगधन्दामा प्रयोग भैरहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न भनेको हो ।

    अनुगमनको क्रममा ठूलो मात्रामा अक्सिजन सिलिन्डर खाली रहने वा भरेर भण्डारण गरेर राख्ने पाइएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

    ती सिलिन्डर फिर्ता नगरिए संक्रामक रोग ऐन, २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो ।