Category: स्वास्थ्य-जीवनशैली

  • ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

    ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

    काठमाडौं । धापासीमा रहेको ग्रान्डी अन्तरर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।

    अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना संक्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए । ‘कोभिड-१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौ’, उनले भने ।

    अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ । ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

  • निषेधाज्ञामा यसरी गरौं मानसिक स्वास्थ्यको स्याहार

    निषेधाज्ञामा यसरी गरौं मानसिक स्वास्थ्यको स्याहार

    काठमाडौं । अहिले राजधानी काठमाडौंसहितका अधिकांश जिल्लामा कोभिड-१९ महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएको छ ।

    लामो समय घरमै रहँदा धेरैजनामा मानसिक समस्या देखिने गरेको छ । फुर्सदको समयलाई सदुपयोग गर्न, स्वस्थ र सकारात्मक रहनको लागि स्वास्थ्य मन्त्रालयले नागरिकलाई केही सुझाव पनि दिएको छ ।

    यस्ता छन् स्वास्थ्य मन्त्रालयका सुझाव :
    – नियमितरुपमा शारिरिक व्यायाम, योग तथा ध्यान गर्रौ ।
    – घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हौं ।
    – रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गरौं ।
    – सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाऔं ।
    – पर्याप्ता मात्रामा सुतौं ।
    – तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविदसँग परामर्श गरौं
    – टाढा भएपनि आफन्त र साथिभाईसँग नियमित सम्पर्कमा रहौं ।
    – सामाजिक सञ्जालको प्रयोग घटाऔं र अधिक समाचार नहेरैं ।
    – दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राखौं ।

  • बाँकेमा थप १२ संक्रमितको मृत्यु

    बाँकेमा थप १२ संक्रमितको मृत्यु

    रूपन्देही । कोरोना संक्रमितको मृत्युदर बढेको बाँकेमा थप १२ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

    जिल्लाका दुई ठूला कोरोना विशेष अस्पताल भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा संक्रमितको बढी मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रमको बर्दिया गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ ।

    उनको आज बिहान ८ बजे मृत्यु भएको हो । सोही अस्पतालमा सल्यान बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान साढे ८ बजे निधन भएको छ । भेरी अस्पतालमै बाँकेका ४९ वर्षीया महिलाको उपचारको क्रममा आज पिन बिहान सोही समयमा मृत्यु भएको हो ।

    सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६स्३० बजे मृत्यु भएको हो । बाँकेको मधुवन नगरपालिका(६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पनि भेरी अस्पतालमा आज बिहान ८स्३० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

    उनका अनुसार कैलाली घोडाघोडि १ का ६० वर्षीय पुरुषको आज बिहान ४स्४५ बजे मृत्यु भएको हो । अर्का बाँके कोहलपुरका ३० वर्षीया महिलाको हिजो साझ ९स्३० बजे मृत्यु भएको छ ।

    त्यस्तै, बाँकेकै ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मध्यराति १:३० बजे मृत्यु भएको छ । बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा मृत्यु भएको छ ।

    त्यसैगरी मेडिकल कलेज कोहलपुर बैशाख २५ गते भर्ना भएका कोहलपुर ११ का ४१ वर्षिय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ भने कोहलपुरमै २४ गते भर्ना भएकी ६४ वर्षिया महिलाको आज बिहान ५:३० बजे मृत्यु भएको छ । बैशाख २२ गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर दाङका ६६ वर्षिय पुरुषको पनि बिहान ३ बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

    आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

  • राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना

    राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना

  • कोरोनाले बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक समस्या बढ्दो

    कोरोनाले बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक समस्या बढ्दो

    काठमाडौं । कान्ति बाल अस्पतालमा केही दिनअघि छोराको समस्या लिएर चिन्तित हुँदै एक अभिभावक आइपुगे । बालकको समस्या थियो- ‘मोबाइल अत्यधिक चलाएका कारण जीउ गल्ने । बालक जुनबेला पनि घरमा डराइरहन्थे । मनोविद्को परामर्शपश्चात् थाहा भयो उनलाई आफूलगायत ‘बा, आमा र भाइलाई केही हुन्छ कि’ भन्ने डरले सताइरहेको रहेछ । त्यसकै असरले अनौठो स्वभाव देखा परेको रहेछ ।

    ८ वर्षीय अर्का बालकमा सामानहरू फालिदिने, आगो लगाइदिने र बाआमाका कुरा मान्दै नमान्ने समस्या देखा परेपछि अस्पताल ल्याइयो । ती बालकले यस्तो प्रतिक्रिया जनाउन थालेको केही दिनमात्र भयो ।

    कान्ति बाल अस्पतालका चिकित्सक मनोविद् डा. रामपुकार साहका अनुसार अस्पतालमा घरमा अतालिएर मनोवैज्ञानिक समस्या देखा परेका बालबालिकाका केस लकडाउनको बीचमा धेरै आएको छ ।

    ‘एक जना बालक केहीदिनदेखि डरले हिँड्नै नसक्ने भएका थिए । यसलाई डिसिसरी डिसअर्डर भनिन्छ । यसमा तनाब धेरै भएपछि त्यो शरीरमा जान्छ । र शरीरको कुनै पनि भाग नचल्ने हुनसक्छ । तर शारीरिक रुपमा केही पनि गाह्रो भएको थिएन । अरु जाँच गर्दा रिपोर्ट नर्मल थियो,’ उनले सुनाए ।

    कारण रहेछ, कोभिडको मनोवैज्ञानिक असर । घरमा बाहिर जाँदा ज्यान जान्छ भन्ने खालका कुरा सुनेपछि उनी अत्तालिन थालेका रहेछन् । साहका अनुसार कतिलाई त खान निल्नै गाह्रो हुने भएका केस पनि आए ।

    ‘खासमा बच्चाको डर व्यक्त गर्ने तरिका फरक हुन्छ । र उनीहरूको डर व्यक्त शरीरबाटै हुन्छ,’ डा. शाह भन्छन् ।

    तस्बिर स्रोत : युनिसेफ ।

    मनोविद् करुणा कुँवरसँग पनि पछिल्लो समय यस्ता केस आइरहेका छन् । ‘एकजना अभिभावकले बच्चाले धेरै मोबाइल चलाएपछि किन चलाएको भन्दा बच्चाले मुख लगाएछन् । मुख लगायो भनेर एक थप्पड हान्दा आँखामा लागेर चोटपटक लागेछ । कतिपय अभिभावक चिन्तित हुँदै फोन गर्नुहुन्छ,’ कुँवर भन्छिन् ।

    नयाँ भेरियन्टसहितको कोरोना दोस्रो वेभको प्रभाव बालिबालिकामा पनि उत्तिकै परेको छ । कोरोनाको प्रत्यक्ष असर त बालबालिकामा छ नै । त्यसमाथि लकडाउनको समयमा बालबालिकामा मानसिक समस्या पनि देखा पर्न थालेका यी प्रतिनिधि उदाहरण हुन् ।

    डा. साहका अनुसार कान्ति बाल अस्पतालमा तीन वर्षमुनिका बालबालिकामा विकासमा कमी आएका केससमेत आउँछन् । मांसपेशी विकास नहुने (जसले गर्दा हिँडडुल गर्न, सामात्न गाह्रो हुने), बोलाउँदा नबोल्ने, बोलीकै विकास नहुने, भावनात्मक कुरा नबुझ्ने खालका समस्या आइरहेको उनले बताए । उनका अनुसार बालबालिकाको हुनुपर्ने जति बौद्धिक विकास पनि भएको पाइएको छैन ।

    जोखिममा फ्रन्टलाइनरका बच्चा

    इटालीमा गरिएको एक अनुसन्धानका अनुसार ३० प्रतिशत बालबालिका ‘पोष्ट ट्रमाटिक डिसअर्डर’को उच्च जोखिममा छन् । यो जोखिम स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनरहरूको बालबालिकामा बढी देखिएको छ । नेपालमा पनि विशेषगरी मेडिकल क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरका बच्चाहरूमा त्यस्ता समस्या देखिएका छन् ।

    कोभिडको बेला कतिपय फ्रन्टलाइनरहरू घर नजाँदा बालबालिकाबीचको दूरी बढिरहेको छ । घर गए पनि आइसोलेसनमा रहने हुँदा बालबालिकासँग नजिक हुन पाउँदैनन् । मनोविद् कुँवर सुनाउँछिन्, ‘एकजना डाक्टर साथीले मलाई सुनाउँदै थिए- म घरमा आइसोलेसनमा बस्दा नजिक नआऊ भन्दा बच्चाहरू मान्दैनन् । इरिटेट हुने र एग्रेसिभ हुने समस्या देखा परेको छ ।’

    ‘उनीहरूसँग अभिभावकले पनि राम्रोसँग कुरा गर्न नपाउने टाढै बसेर कुरा गर्नुपर्ने अवस्था छ । यसले गर्दा बालबालिका अभिभावकसँग अहिले टाढिएको अवस्था छ,’ उनी थप्छिन् ।

    मनोविद् डा. साह पनि सोही अनुभव सुनाउँछन्, ‘बाआमा कोही अफिस जानु पर्‍यो भने डाँको छाडेर रुने, टाढा भयो कि दशदेखि पन्ध्रचोटी कल गर्ने, बोलाउने । अभिभावकहरू काममा पनि जान नसक्ने । यस्तो केस बढीजसो मेडिकल क्षेत्रमा काम गर्ने अभिभावकहरूले बताउँछन् ।’

    कतिपय भने दुवै अभिभावक काममा जानु पर्ने भएकाल लकडाउनको बेला बच्चाहरूलाई समय दिन सकिरहेका हुँदैनन् । यसको परिणाम बच्चाहरूमा बोलीको विकासमा कमी आउने, सामाजिक विकासमा कमी आउने, भावनात्मक समस्या बढी आउने खालका समस्या देखा परेको डा. साह बताउँछन् ।

    अत्यधिक त्रास र निराशा

    बाल मनोविद् डा. मिनाक्षी दाहाल शिक्षक तथा अभिभावकहरूसँग कुराकानीका क्रममा संवेदनशील बालबालिकालाई यसले थप नकारात्मक असर पारिरहेको पाइएको बताउँछिन् । दाहालका अनुसार जो बालबालिका पहिला बढी डर र त्रासमा थिए । जसलाई प्रत्यक्ष असर अघिल्लो लकडाउनमा पारेको थियो, त्यस्तो बालबालिकालाई यसले थप नकारात्मक प्रभाव पारेको छ । ‘अब यस्तै हुन्छ कहिले पनि खुल्दैन भन्ने खालका सोच, निराश हुने समस्या बालबालिकामा छन् ।

    एकजना अभिभावकसँगको संवादमा उनले सुनेकी थिइन् । ‘अब निराश हुनुपर्दैन । एक महिनापछि सबै ठीक हुन्छ’ भनेर अभिभावकले सम्झाउँदा भन्दा पनि सन्तानको निराशाजन्य जवाफ थियो, ‘फेरि अर्को यस्तै आइहाल्छ नि… ।’

    यद्यपि, सबै बालबालिकालाई एउटै नियम लागू नहुने उनको अनुभव छ । ‘यसले कति गहिरो असर बनाएको छ, यसलाई उनीहरूले ग्रहण गर्नसक्ने क्षमता कस्तो छ ? युवा तथा अभिभावकले त्यसलाई कसरी लिएका छौं, कसरी यसबारे कुरा गरेका छौं त्यो पनि उतिकै महत्वपूर्ण रहेछ,’ उनी सुनाउँछिन् ।

    किन हुन्छ यस्तो ?

    मनोविद्हरूका अनुसार कोभिडको कारण जुन भयको वातावारण सिर्जना भयो, त्यसले नै यो किसिमको समस्या पैदा भयो । समाचारमा मान्छे बितेको, अक्सिजन अभाव भएको लगायतका जानकारी आउँछन् । त्यसले गर्दा बच्चालाई सही जानकारी थाहा हुन्न । त्यसपछि उनीहरूले यो अवस्थालाई डरलाग्दो र उपायविहीन भन्ने हिसाबले सोच्छन् । डा. साहका अनुसार ५ वषदेखि १० उमेर समूहका बालबालिकामा कोरोनाबारे धेरै जानकारी आउँछ ।

    ‘अभिभावकले कुरा गर्दा उनीहरूले सुन्छन् । तर, बुझिरहेका हुँदैनन् । कोरोनालाई लिएर एकदमै डरलाग्दो मनस्थिति बन्छ । उनीहरूले डराएँ भनेर भन्ने भन्दा पनि शरीरबाट व्यक्त गर्ने हो । त्यतिबेला उनीहरूको लक्षण पेट दुख्ने, टाउको दुख्ने खालको हुन्छ,’ साह भन्छन्, ‘ किशोरकिशोरीको अवस्थामा चाहिँ जानकारी पनि हुन्छ । के भइरहेको भन्ने कुरा पनि थाहा हुन्छ । तर, एकदमै धेरै चिन्ता र इन्टरनेट एडिक्ट बढेको कारण ध्यान दिन कमी आउने, चिरचिराहट हुने, छट्पटी हुने, रिसाउने इत्यादि कुरा पनि अत्यधिक मात्रामा पाउँदैछौं ।’

    स्कुल बन्द भएका कारण साथीहरू भेट्न नपाउँदा पनि उनीहरूमा छट्पटी देखिने डा. दाहाल बताउँछिन् । ‘जाँच हुन्छ कि हुँदैन, स्कुल खुल्छ कि खुल्दैन लगायतका कुराले नकारात्मक मनोभावनालाई मलजल गरेको छ,’ उनी भन्छिन् ।

    अभिभावक सजग हुन आवश्यक

    बच्चाको मनोविज्ञान उनीहरूको अभिभावकको मनोविज्ञानमा समेत भर पर्ने मनोविद्हरूको बुझाइ छ । दाहाल भन्छिन्, ‘अभिभावकले कोभिडबारे अरुसँग कुरा गर्दै गर्दा त्यसबारे बच्चाले सुनिरहेका हुन्छन् । समाचार सुनिरहेको छ । कोभिडको ग्राफ त उनीहरूले पनि उतिकै देखिरहेको हुन्छन् । भलै, कुन उमेरको छ, कति भन्न र बताउन नसक्लान् । तर उनीहरूलाई यो परिवेशले, आएको समाचारहरूले, हामीले गर्ने कुराकानीले असर पारिरहेको हुन्छ ।’

    अभिभावक स्वयम् सामाजिक सञ्जालमा व्यस्त हुँदा बालबालिकाले समय नपाएको मनोविद् कुँवर बताउँछिन् । ‘बुबाआमा स्वयम् सामाजिक सञ्जालमा व्यस्त भएको हुँदा बालबालिकालाई समय नै नदिएको जस्तो देखिन्छ । यसमा अभिभावकले ध्यान दिनुपर्नेछ,’ उनी सुझाउँछिन् ।

    बालबालिकासँग संवाद आवश्यक

    बालबालिकालाई मनोवैज्ञानिक समस्याबाट जोगाउन अभिभावक र बालबालिका बीचको दूरी घटाउनुपर्ने डा. दाहाल बताउँछिन् । ‘अभिभावकले के गरिरहेका छन् भन्ने कुरा बालबालिकाले थाहा पाउनुपर्‍यो, बच्चाले के गर्दैछ भन्ने कुरा अभिभावकले थाहा पाउनुपर्‍यो । संवाद गर्नुपर्‍यो एकअर्कासँग,’ उनको सुझाव छ ।

    मनोविद् कुँवरको पनि उही मत छ । उनका अनुसार बालबालिकासँग अभिभावकले समय बिताउनुपर्छ । ‘उनीहरूसँग कुरा गर्ने, खेल खेल्ने । आँगन छ भने सहभागी भएर कुराकानी गर्ने, घरकै र सिर्जनात्मक काममा उनीहरूलाई संलग्न गराउने । सिकाइमा समावेश गराउने गर्न सकिन्छ,’ उनी सुझाउँछिन् ।

    डा. साह अभिभावकले पनि बालबालिकाको जिज्ञासा मेटाउनुपर्ने सुझाउँछन् । ‘बच्चाहरूसँग कोरोनाबारे खुलेर सही ढंगले कुरा गर्न सक्नुपर्‍यो । झुटो बोल्नुएन । बच्चाहरूलाई जिम्मेवारीका काम सिकाएर व्यस्त राख्नुपर्‍यो । साना-साना जिवन उपयोगी सीप सिकाउनुपर्‍यो,’ उनी सुझाउँछन् ।

    इन्टरनेटको लतमा नियन्त्रण

    इन्टरनेटको लतबाट बालबालिकालाई टाढै राख्नुपर्ने मनोविद्हरूको सुझाव छ ।

    डा. साह भन्छन्, ‘यदि बच्चा ६ वर्षमुनि छ भने इलेक्ट्रोनिक ग्याजेट्स आधी घण्टादेखि एक घण्टामात्र चलाउनु दिऊँ । त्यो पनि अभिभावकको उपस्थितिमा, ४ वर्षमुनिकालाई मोबाइल दिनु जरुरी छैन ।’ ८ वर्षभन्दा माथिकालाई ४५ मिनेटदेखि एक घण्टा दिन उनी सुझाउँछन् ।

    डा. दाहालका अनुसार इन्टरनेटको कुलतमा बालबालिका यसरी फसिरहेका छन् कि उनीहरू अश्लील साइटहरूमा जाने गरिरहेका छन् । कोही दुर्व्यवहारमा पनि फसिरहेका छन् ।

    ‘आफ्ना छोराछोरीले इन्टरनेटमा के हेरिरहेका छन्, कस्तो संगत गरिरहेका छन्, सामाजिक सञ्जाल के-के चलाइरहेका छन् भन्ने अभिभाविकले याद गर्नुपर्ने देखिन्छ । सामाजिक सञ्जाल भन्नेवित्तिकै निश्चित उमेर समूहका लागि त बन्दै गरिदिनुपर्छ,’ दाहाल भन्छिन् ।

  • घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती

    घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती

    रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएपछि त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीको जिम्मेवारी थपियो । शुरुमा सबै त्रासमा रहे पनि बिस्तारै यो रोगसँग लड्न जिम्मेवारी पाएका सबै स्वास्थ्यकर्मीले सामुहिक प्रतिवद्धताका साथ काम गरे । पहिलो चरणको कोरोना संक्रमण त्रासमा काम भएपनि दोस्रो चरणको संक्रमणविरुद्ध धेरैलाई जिम्मेवारीताका साथ काम गर्न सिकाएको अनुभव छ स्वास्थ्यकर्मीको ।

    भीम अस्पतालमा कोरोनाविरुद्ध लडाईको मोर्चामा अग्रपक्तिमा अभियान्ता बनेकी छन्–४२ वर्षीया भगवती राना । उनी कोरोना विशेष अस्पतालको निमित्त नर्सिङ इन्चार्जको जिम्मेवारीमा छिन् । सँगै काम गरेका धेरैजना सहकर्मी संक्रमणमा परे पनि बिस्तारै सबैले यसलाई परास्त गरेको उनको अनुभव छ ।

    ९३ वर्षीय ससुरा बुवालाई दैनिक घरमा सेवा गरेर अस्पताल पुग्ने गरेकी भगवतीलाई महामारी घरमा प्रवेश नगरोस भन्ने चिन्ता सबैभन्दा धेरै छ । ‘जिम्मेवारी लिएपछि अफ्ठेरोमा भाग्नु नैतिकता भएन, त्यसैले दैनिक घरको काम सकेर अस्पताल आउने गरेकी छु,’ उनले भनिन् ।

    सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले सबै क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ । यस्तो त्रासदीमा भगवतीलाई दैनिक घरबाट ननिस्की सुखै छैन । ‘घरमा हेर्ने कोही हुनुहुन्न, श्रीमानले पनि दैनिकी आफ्नो काम गर्न जानुपर्छ, उहाँ सहकारीकर्मी हो, जतिसुकै कुरा गरेपनि महिलाले दोहोरो जिम्मेवारी पूरा गर्नुछ, ९३ वर्षको ससुरा वुवालाई सेवा पनि गर्नुपर्यो आफ्नो पनि जिम्मेवारी पूरा गर्नुपरयो, तर घरमा आउँदा पनि अस्पतालको जिम्मेवारीले भने निरन्तर सताउँछ,’ भगवतीले भनिन्, ‘‘घरमा वृद्ध बुबा हुनुहुन्छ, उहाँ र बालबच्चाको स्वास्थ्यको जोखिमको मानसिक त्रास पनि उत्तिकै छ, कसरी आफ्नो र परिवारको स्वास्थ्यलाई बचाएर बिरामीको हेरचाह गर्न सकिन्छ भन्ने कुराले साह्रै मानसिक तनाव हुँदोरहेछ, घरबाट भएको सहयोगका कारण कोरोनाको महामारीको संकटमा जुध्न हिम्मत बढेको छ ।’

    उनले थपिन्, ‘पहिलेको भाइरस कमजोर थियो, अहिले कडा खालको भाइरस भएकाले संक्रमण हुनेहरु सिकिस्त अवस्थामा पुग्ने गरेका छन्, तिनको उपचारमा खटिँदा आफ्नो र परिवारको स्वास्थ्य अवस्थालाई सम्झिएर मनोबल घट्नेरहेछ ।’

    जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको यो अस्पतालले अहिले कोरोना संक्रमितका बिरामीहरू मात्रै हेरिरहेको छ । दैनिकजसो बेड नपाएर अस्पतालको बरण्डामा छटपटिरहेका र उपचार हुँदाहुँदै ज्यान गुमाएका कोभिड १९ का संक्रमित देख्नु त्यहाँका स्वास्थ्यकर्मीको दिनचार्यजस्तै बनेको छ । तर सबै टिमवर्कमा काम गरे केही सहज भएको उनको अनुभव छ ।

    ‘बिरामीको सेवा नै हाम्रो पेशाको मूल धर्म भएकाले यसलाई मुख्य प्राथमिकतामा राखिन्छ, अहिलेको अवस्था धेरै संवेदनशील भएकाले पहिलाजस्तो सहज छैन, अस्पतालमा बिरामीको चाप निकै छ, कार्यालय सहयोगी लगायतको जनशक्ति अत्यन्तै कम भएकाले कार्यसम्पादनमासमस्या परेको छ, सबैको सहकार्यमा युद्ध लडिएको छ,’ भगवतीले भनिन् ।

    पहिलो र अहिलेको चरणमा पनि सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा काम गर्नेमा जनशक्ति थप अभाव भएको र बिरामीको चापले पनि यस्तो भएको राना बताउँछिन् । भन्छिन्, ‘सहकर्मीहरु पनि संक्रमित हुनुभएको छ । महामारीले मानसिक दबाब झनै डरलाग्दो रहेको छ, सुरुमा संक्रमितहरूसँग सम्पर्कमा आउनुअघि स्वास्थ्यकर्मीहरूले लगाउनु पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएर तनाव थियो अहिले हरेक घण्टामा पीपीई फेर्नु पर्दा नपुग्ने अवस्था छ ।’

    अस्पतालमा उपचारको क्रममा बिरामीले ज्यान गुमाउँदा धेरै पीडा हुने उनको अनुभव छ । उपचारको अग्रभागमा खटिंदै आएकी भगवती राना अहिले जत्तिको काममा दबाब र तनाव यसअघि कहिल्यै नव्यहोरेको बताउँछिन् । ‘मैले काम गरेको करिब २० वर्ष पुग्न थाल्यो । यस्तो संकट अहिलेसम्म आएको थिएन । जतिसक्दो प्रयास गर्दा पनि बिरामी आँखै अगाडि मृत्युवरण गरिरहेका छन् भने अर्कोतिर संक्रमणबाट आफूलाई कसरी जोगाउने भन्ने चिन्ता छ,’ उनले भनिन् ।

    महामारीसँग जुध्नका लागि परिवारको साथले अहम् भूमिका खेल्ने तथ्यलाई उनी आफैंले अनुभव गर्दै आएकी छन् । श्रीमान र सन्तानको प्रोत्साहनले अस्पतालमा विरामीको सेवा गर्ने आत्मविश्वास बढेको छ । भनिन्, ‘अस्पताल र घरको दुरी केही टाढा भएकाले श्रीमान अस्पतालसम्म आफैले ल्याउने लैजाने गर्नुहुन्छ, बिरामीको सेवामा खट्न प्रोत्साहित गर्नुहुन्छ ।

    संक्रामक महामारीको बेलामा मात्रै हैन, सामान्य अवस्थामा पनि बिरामीको हेरविचार गर्न नर्सहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । नर्सको जिम्मेबारी बिरामीको तापक्रम, रक्तचाप इत्यादी मापन गर्ने, समय समयमा औषधि दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने हो ।
    अहिले अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको डिस्चार्ज निकै कम भएको छ त्यसैले पनि अस्पतालमा चाप बढी भएको छ । सबै मिलेर महामारीको युद्ध जित्नु अहिलेको आवश्यकता भएकाले नर्सिङ दिवसमा सबै सहकर्मी, स्वास्थ्य सेवामा खटिने सबैलाई आफू बचेर सेवा गर्न भगवतीको आग्रह छ ।

    बिरामीको पीडा सुन्ने, सधैं अरुको सेवामा खट्ने नर्सहरु वास्तवमा खुसी छन् कि छैनन् ? नर्सहरुको समस्या के छ भनेर सोधिदिने अवस्थाको विकास गर्न उनको आग्रह छ । महामारीले यो क्षेत्रको जिम्मेवारी बढाएकाले पनि यसको व्यवस्थापन सबैले ध्यान पु¥यााउन भगवतीले आग्रह गरेकी छन् ।

    फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसरमा यो दिवस मनाउने गरिएको हो।  नेपालमा विसं‍. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ। विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने माघ १५ गते राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ।

  • काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत एम्बुलेन्स सेवा

    काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत एम्बुलेन्स सेवा

  • प्रदेश २ सरकार ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

    प्रदेश २ सरकार ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

    जनकपुरधाम । प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ । कोरोना परीक्षणको दायरा बढाउन प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिको बैठकबाट भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको हो ।

    मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरुसंग भर्चुअल छलफल गरेका थिए ।

    छलफलका क्रममा सम्बन्धित अधिकारीहरुले दिएको सुझाव बमोजिम थप भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको मुख्यमन्त्री राउतले बताए ।

    बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको आभावलाई मध्य नजर गर्दै संघीय सरकारसंग तत्काल ४ हजार अक्सिजन सिलिण्डर मांग गर्ने निर्णय पनि गरिएको छ ।

    यस्तै होम आइसोलेशनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरुसंग समन्वय गर्ने निर्णय पनि गरिएको छ । साथै जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

  • स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी

    स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड-१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताए ।

    उनले भने,‘सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।’ उनले अहिलेको अवस्थामा दोस्रो लहरको संक्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिए । उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे ।

    मन्त्री त्रिपाठीले कोभिड-१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । ‘खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन,’ उनले भने, ‘सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसंँग चार डलरमा खरीद गरेको हो ।’ उनले ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा संक्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे । भारतमा पनि संक्रमण बढेर निर्यात गर्न दिइएको छैन,’ उनले भने, ‘भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।’

    उनले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।

    सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताए । उनले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिए ।

    मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार संक्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै संक्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताए । उनले संक्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिए ।

  • कोरोनाबाट थप २२५ जनाको मृत्यु, ५ हजार २२५ निको भए

    कोरोनाबाट थप २२५ जनाको मृत्यु, ५ हजार २२५ निको भए

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको कारण थप २२५ जनाको मृत्यु भएको छ ।

    सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो । 

    पछिल्लो २४ घण्टामा ९ हजार ४८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३१६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । 

    पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् । 

    कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।

  • दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

    दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

    दाङ । दाङको बेलझुण्डी कोरोना अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार गएराति ८ः४५ बजेदेखि अहिले दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृतक २ जना महिला र ६ जना पुरूष हुन् । अक्सिजन अभावका कारण उनीहरूको मृत्यु भएको हो । अस्पतालमा ४० जनालाई मात्रै पुग्ने अक्सिजन भएको भन्दै वलीले भने, ‘अहिले ६१ जनाको उपचार गरिरहेका छौ । यसरी कसरी उपचार सम्भव छ ?

    उनका अनुसार अहिले ६१ मध्य ५ जनाको आईसीयूमा उपचार भइरहेको छ । अक्सिजन अभावका कारण थप संक्रमित भर्ना गर्न नसकिने अस्पतालले जनाएको छ ।

  • नगरपालिकालाई तिलोत्तमा चेम्बरको सहयोग

    नगरपालिकालाई तिलोत्तमा चेम्बरको सहयोग

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई १०० थान अक्सिजन सीलीण्डर भर्नका लागि आर्थिक सहयोग गरेको छ ।

    नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अक्सिजन अभाव अभाव हुन नदिन चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

    चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् ।

    उद्योग बाणिज्य संघको निःशुल्क परामर्श सेवा

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाइरस सम्बन्धि निःशुल्क परामर्श सेवा सुरु गरेको छ ।

    कोरोना संक्रमण भएका बिरामीलाई लक्षित गरेर संघले निःशुल्क परामर्श सेवा सुरु गरेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

    संघले सुरु गरेको ‘कोभिड–१९ निःशुल्क परामर्श सेवा’मा डा. द्वारिका प्रधान, डा. सुशिल श्रेष्ठ र डा. सुशान्त श्रेष्ठले परामर्श प्रदान गर्नेछन् ।

    मध्यान्न १२ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सकिने छ । परामर्श सेवाबाट संक्रमण भएका व्यक्तिहरुले आफ्ना समस्या राख्नुको साथै समाधान कसरी गर्न सकिन्छ, खाने आहार, औषधि तथा स्वास्थ्य उपचार लगायतका बिषयमा परामर्श लिनसक्ने संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।

    कोरोना भाईरस संक्रमितहरुलाई अस्पतालमा बेड नभएको तथा अक्सिजनको समेत अभाव भएका बेला संक्रिमतले त्यो अवस्थामा पुग्नु नपरोस् भन्ने उद्देश्यले परामर्श सेवा प्रदान गरिएको उनले बताए ।

  • बङ्गलादेशद्वारा नेपाललाई औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

    बङ्गलादेशद्वारा नेपाललाई औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

    ढाका । बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

    बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पीपीईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।

  • टेकु अस्पतालद्वारा पीसीआर परिक्षण स्थगित

    टेकु अस्पतालद्वारा पीसीआर परिक्षण स्थगित

    काठमाडौं । पीसीआर परीक्षण गर्ने कीट्स सकिएपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले परिक्षण स्थगित गरेको छ।

    परीक्षणका लागि आवश्यक परीक्षण सामग्री आउन नसकेपछि केही दिनका लागी पीसीआर स्थगित गर्नु परेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिए ।

    उनले अस्पतालमा मौज्जात किट्स सकिएको र आवश्यक परिमाणमा किट्स उपलब्ध हुन नसकेकाले आगामी आइतबार सम्मको लागी परीक्षण बन्द गरिएको बताए ।

    टेकु अस्पतालमा दैनिक पाँच  सय बढी व्यक्तिको पिसिआर परीक्षण हुँदै आएको छ।

  • भारतमा संक्रमण घट्दो अवस्थामा, मंगलबार ३,८७६ जनाको मृत्यु

    भारतमा संक्रमण घट्दो अवस्थामा, मंगलबार ३,८७६ जनाको मृत्यु

    दिल्ली । पछिल्लो साता भारतमा कोरोनाभाइरस संक्रमण घट्ने क्रममा देखिएको छ । मंगलबार ३ लाख २९ हजार संक्रमित भेटिए ।

    पछिल्लो २४ घण्टामा ३,८७६ जनाको मृत्यु भएको छ ।

    भारतमा कूल संक्रमित संख्या २ करोड २६ लाख पुगेको छ । १ करोड ९० लाख निको भएका छन् ।

    २ लाख ४९ हजार जनाको भाइरसबाट मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३७ लाख १५ हजार पुगेको छ ।

    विश्व स्वास्थ्य संगठनले भारतको संक्रमण र मृत्युदुर चिन्तित तुल्याउने खालको रहेको जनाएको छ ।

  • कोरोनाको कारण उदयपुरमा कार्यालय प्रमुख सहित तीनको मृत्यु

    उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ३४, ५४ बर्षिय पुरुष र ५० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
    यो सँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार  कोरोना भाइरसको संक्रमणपछि काठमाण्डौँको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कृषी ज्ञान केन्द्र उदयपुरका प्रमुखको सोमबार मृत्यु भएको हो ।
    कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका ८ का ५४ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा र  त्रिनपा ५ की ५० बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

    यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुई सय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एक सय ३५ र महिला एक सय ४ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सोमबार ३३ जना महिला र २७ जना पुरुषमा संक्रमण देखिएको हो ।

  • चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

    चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाकाले कोभिड-१९ का संक्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।

    अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताए ।

    सो सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र बिरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि समन्वय गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिए ।

    नगरपालिकामा हालसम्म दुई हजार ६६३ संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ । हाल चन्द्रागिरी नगरपालिकामा ३९० सक्रिय संक्रमितत छन् ।

  • सुदूरपश्चिममा कोरोना महामारी: समयमा उपचार नपाएर जान थाल्यो संक्रमितको ज्यान

    सुदूरपश्चिममा कोरोना महामारी: समयमा उपचार नपाएर जान थाल्यो संक्रमितको ज्यान

    कैलालीको टिकापुर अस्पतालमा शय्या नपाएपछि सोमबार एकजना कोरोना संक्रमित पुरुषको घर पुर्‍याउनेवित्तिकै निधन भयो । टिकापुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गएको दुई दिनमा १० जनाको मृत्यु भएको छ ।

    अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् । ३५ जना शंकास्पद संक्रमित डाक्टरको निगरानीमा छन् । अस्पतालमा शय्या अभाव हुँदा उनीहरूको अस्पताल बाहिर आँगनमा राखेर उपचार भइरहेको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल भन्छन्, ‘समुदायमा संक्रमण फैलिसकेको छ । जटिल संक्रमितलाई बचाउन कठिन छ ।’
    संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सकिन लाग्यो,’ उनले भने ।

    धनगढीमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र मालिका अक्सिजन उद्योग छ । त्यो उद्योगमा दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमता रहेको भनिए पनि मुस्किलले १ सय ५० सम्म उत्पादन भइरहेको छ ।

    प्रयोगविहीन उपकरण

    विरामीे धमाधम मृत्यु भइरहेको टीकापुर अस्पतालमा आईसीयू र भेन्टिलेटर भने प्रयोगविहीन भएको छ । एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन छ ।

    अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर ज्यान गुमाइ रहेका छन् ।

    अस्पतालले हाल २० शय्याको एचडीयु (उच्च उपचार कक्ष) स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ । अध्यक्ष रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौं, आफू पनि खोजिरहेका छौं तर पाउन सकेका छैनौं,’ उनले भने, ‘संघीय मन्त्रालय, प्रदेश सरकारमा कुरा गर्दा पनि अहिलेसम्म पाएका छैनौं ।’

    अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।

    पहाडी जिल्लामा झन् समस्या

    शुक्रवार बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो । अघिल्लो दिन कोरोना पुष्टि भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका उनको थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    अस्पतालमा आईसीयु र भेन्टिलेटर छैन । ‘आईसीयू र भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगाउन सकिने थियो’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने । कोरोनाको दोस्रो लहरबाट जिल्लामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला जिल्लामा उपचारका स्रोतसाधनको अवस्था भने चिन्ताजनक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले स्वीकारे ।

    एक सातादेखि बिरामी रहेका बाजुराको बडीमालिका नगरपालिका ९ का वडाध्यक्ष विनोदकुमार विक शनिवार जिल्ला अस्पताल गए । उनलाई शनिवार नै कोरोना संक्रमण पुष्टि भयो । त्यो बेला सम्म उनको अवस्था जटिल भइसकेको थियो । तत्काल भेन्टिलेटर आवश्यक पर्‍यो । तर, अस्पतालमा भेन्टिलेटर थिएन ।

    अस्पतालले उनलाई धनगढी लैजान सुझाव दियो। परिवारका सदस्यहरूले त्यसै गरे । अन्ततः उपचारको लागि डडेल्धुरा लैजाने क्रममा अछामको साँफेबगरमा उनको मृत्यु भयो ।

    ‘अक्सिजनसहित भेन्टिलेटर भएको भए सायद उहाँ बाच्नु हुन्थ्यो होला,’ जिल्ला अस्पतालका फोकल पर्सन चुणामणि पन्तले भने, ‘उपकरण प्रयोग नहुँदा उहाँको ज्यान गयो ।’

    जिल्ला अस्पतालमा उपकरण नभएको होइन । तर, प्रयोग भएको छैन । जनशक्ति नभएको भन्दै अस्पतालले आईसीयू र भेन्टिलेटर थन्क्याएर राखेको छ ।

    सोमबार बिहान पनि जिल्ला अस्पतालका २ जना संक्रमितले ज्यान गुमाएका छन् । अहिले अस्पतालमा भएका उपकरणहरू प्रयोगविहीन हुँदा जटिल प्रकारका संक्रमितहरुलाई बचाउनै समस्या देखिएको छ ।

    यो समस्या बाजुराको मात्रै होइन । कैलालीको सेती अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पताल बाहेकका सबै ६ जिल्ला अस्पतालहरुमा यस्तै अवस्था छ ।

    सुदूरपश्चिम प्रदेशमा प्रत्येक दिन १० जना भन्दा बढी कोरोना संक्रमितको मृत्यु भइरहेको छ । आइतबार यो संख्या बढेर १८ पुगेको छ । हाल सम्म प्रदेशमा २०८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

    यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणको कोरोना महामारीका बेला उपलब्ध गराएको भेन्टिलेटर र आईसीयू शय्या अहिले पनि प्रयोगविहीन छन् ।

    विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियनसमेत छैनन् ।

    पछिल्लो समय लक्षण सहितका जटिल खालका संक्रमितको संख्या बढिरहेको हुँदा ठूलो समस्या उत्पन्न हुन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

    ‘समुदायमा महामारी फैलिएपछिको जटिल अवस्थाको अनुमान गरेर पूर्वाधार, आईसीयू र भेन्टिलेटर थप गर्ने व्यवस्थापनको गरिनु आवश्यक छ,’ उनले भने।

    सरकारले फिर्ता माग्यो उपकरण

    सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ ।
    जनशक्ति अभावमा सञ्चालनमा नआएका भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ ।

    जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन पत्राचार भएको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. जगदीश जोईले बताए ।

    ‘पहाडका ६ जिल्ला अस्पताललाई १०/१० शय्या आईसीयू र २/२ वटा भेन्टिलेटर दिएका थियौँ, तर त्यहाँ उपकरण प्रयोग नभएपछि हामीले फिर्ता मागेका हौं ।

    उनले जनशक्ति नभएको जिल्लामा उपकरण प्रयोगविहीन राख्नु भन्दा जनशक्ति भएका ठाउँमा सञ्चालन गर्नु उपयुक्त ठानेर फिर्ता मागेको बताए ।

    प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २–२ भेन्टिलेटर छन् । ती सबै प्रयोगमा छैनन् । उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको ती अस्पतालले जनाएका छन् ।

    अहिले सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पताल ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ वटा भेन्टिलेटर चालू अवस्थामा छन् ।

    अक्सिजनको चरम अभाव

    धनगढीमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योग छ । मालिका अक्सिजन उद्योग अहिले अहिले १ सय ५० सिलिन्डर सम्म उत्पादन गरिरहेको छ । यति सेती प्रादेशिक अस्पताललाई मात्रै आवश्यक सिलिन्डर हो । तर, ९ जिल्लालाई नै वितरण गर्नु पर्ने बाध्यता छ उद्योगलाई ।
    यस्तो अवस्थामा जिल्लाका सबै अस्पतालहरूमा अक्सिजनको अभाव सृजना भएको छ । ।

    त्यसो त सेती अस्पतालको पनि आफ्नै अक्सिजन जेनेरेसन प्लान्ट छ । त्यहाँ दैनिक रूपमा ७५ सिलिन्डर भर्न सकिन्छ । तर, उक्त प्लान्टले पनि आवश्यक मात्रामा अक्सिजन उत्पादन गर्न सकिरहेको छैन । अस्पतालमा आवश्यक पर्ने आधा भन्दा बढी अक्सिजन बाहिर बाट ल्याउनु पर्ने बाध्यता छ ।

    अहिले एउटै अक्सिजन दुई जना बिरामीलाई दिएर समेत जोहो गरिरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

    कोरोना संक्रमण भयावह बन्दै गएपछि कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माण गरिएको छ । तर अक्सिजन र जनशक्ति अभावले सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

    अक्सिजन र जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘हामीले सक्दो प्रयास गरिरहेका छौं,’ मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘कोरोना संक्रमण नियन्त्रण बाहिर गइसकेको छ । रोकथामका लागि सक्दो प्रयास गर्दै छौं । सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेलौं ।’

    सेतीमा विशेषज्ञ छैनन्, आवेदन पनि पर्दैन

    सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पताल हो, सेती प्रादेशिक अस्पताल । यहाँ प्रदेशमा सबै भन्दा धेरै संक्रमितको उपचार हुन गरेको छ । तर, सीमित उपकरण हुँदा यहाँ पनि समस्या छ ।

    अस्पतालका कोरोना संक्रमितको लागि भनेर ५ वटा भेन्टिलेटर प्रयोगमा ल्याइएको छ ।

    आइतबार साँझ सम्म अस्थायी कोरोना अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये ५ जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ । १८ जना आईसीयूमा छन् । २६ जनालाई अक्सिजन दिएर राखिएको । ५ जना मोड्रेटमा छन् ।

    कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले चाहिने जनशक्ति थप गर्न थालेको छ । तर, विशेषज्ञ डाक्टरको लागि कसैले आवेदन दिएका छैनन् ।

    २ जना जना बाल रोग विशेषज्ञ, ३ जना फिजिसियन, १ जना मानसिक रोग विशेषज्ञ, १ जना कन्सल्टटेन्ट मेडिकल जनरलिष्ट र १ जना माइक्रो बायोलोजिष्ट कन्सल्टटेन्ट माग गरिएकोमा आवेदन नपरेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउदले बताए।

     

  • अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ- अक्सिजन छ, सिलिन्डर छैन

    अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ- अक्सिजन छ, सिलिन्डर छैन

    दृश्य १- पोखरा अक्सिजन प्राली

    तीव्र गतिमा आएको एउटा स्कुटर पोखरा अक्सिजन प्रालीको गेटअघि राकियो । स्कुटरमा २ जना थिए । पछाडि बसेका अधबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो ।

    स्कुटर राम्रोसँग रोकिन नपाउँदै ती अधबैंशे पुरुष हतारमा झरे र हतारमै सिलिन्डर भण्डारतिर लागे । यता, स्कुटर चलाइरकेका चालक अक्सिजन उद्योगको कार्यालयतिर लागे ।

    ‘सर… इमर्जेन्सी पर्‍यो । एक सिलिन्डर अक्सिजन जसरी पनि चाहियो,’ हस्याङफस्याङ गर्दै एकै स्वर त्यहाँ खटिएका सशस्त्रका जवानलाई सुनाए, ‘…यी हेर्नुस् त ! अस्पतालको रिपोर्टै बोकेर आएका छौं ।’ उनीहरुले बोकेको रिपोर्ट पत्र चरक अस्पतालको थियो ।

    २ दिनअघि एक्कासी स्वास्थ्यमा खराबी देखिएर अस्पताल भर्ना गरिएकी एक महिलालाई कोरोना पुष्टि भएको रहेछ । महिला ती अर्धबैंशे पुरुषका आमा रहेछन् । ‘बुढी आमालाई एक्कासी अक्सिजन कमी भयो । धन्न पहिले नै घरमा एउटा सिलिन्डर थियो र पो….!’ जाँदाजाँदै सुनाए ।

    दृश्य २- कालीगण्डकी अक्सिजन प्राली

    अगाडि ३ वटा मिनी ट्रक छन् । कामदारहरु धमाधम अक्सिजन लोड गर्दैछन् । उनीहरुलाई जतिसक्दो चाँडो सक्न व्यवस्थापनको उर्दी छ । छेउमै देखिन्छन्, केही निराश अनुहार ।

    उद्योगको कार्यालयतिर उनीहरुको नजर छ । कोही भित्रबाट निस्किहाल्छन् कि भन्ने आशाभाव उनीहरुको अनुहारमा प्रष्ट देखिन्छ । त्यतिकैमा एकजना उद्योग कर्मचारी बाहिर आउँछन् ।

    बाहिर उभिएका ती व्यक्तिहरु घेरिहाल्छन्, ‘…सर साह्रै अप्ठेरो पर्‍यो । एउटा अक्सिजन सिलिन्डर जसरी पनि मिलाइदिनुस् न ।’
    कर्मचारी सोध्छन्, ‘आफ्नै सिलिन्डर छ कि छैन ?’

    जवाफ दिन्छन्, ‘छैन सर । यहींबाट नयाँ भरेर लैजाने हो ।’

    कर्मचारी जवाफ फर्काउँछन्, ‘त्यसो भए हामी केही गर्न सक्दैनौं । मन दुखाएर भए पनि तपाईंहरुसँग माफी चाहन्छौं ।’ यत्तिकैमा उनको फोन आउँछ । फोनमा पनि उनी आफैं सिलिन्डर लिएर आए अक्सिजन पाउने नत्र नपाउने जवाफ फर्काउँदै अफिसभित्र छिर्छन् ।

    अक्सिजन पाइन्छ कि भनेर उभिएका आँखाहरु फेरि कार्यालयतिरै सोझिन्छन् । कार्यालयको ढोकामा लेखिएको छ, ‘अनुमतिबिना प्रवेश निषेध ।’

    ०००

    पूरा गण्डकी प्रदेशमा अक्सिजन उत्पादन गर्ने जम्मा २ वटामात्रै कम्पनी छन् । दुवै पोखराको औद्योगिक क्षेत्रमा छन् । उल्लेखित २ दृश्य ती दुवै कम्पनीमा सोमबार दिउँसो स्थलगत रिपोर्टिङका क्रममा देखिएका हुन् ।

    कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बजारमा अक्सिजनको माग उच्च छ । अस्पतालले मागबमोजिम अक्सिजन दिन नसक्दा कोरोना संक्रमितका आफन्तीहरु उद्योगमै धाउन थालेका छन् ।

    अन्य ठाउँजस्तो अक्सिजनकै उत्पादन अपुग भने गण्डकीमा छैन । तर, पर्याप्त सिलिन्डर नहुँदा सेवाग्राहीमात्रै नभई उद्योगीहरु पनि समस्यामा छन् । उनीहरु भन्न बाध्य छन्, ‘सिलिन्डरबिना अक्सिजन दिन सक्दैनौं ।’ सरकारले सिलिन्डर व्यवस्था गर्न सके अझै उत्पादन क्षमता बढाउन सक्ने दुबै उद्योगको प्रतिवद्धता छ ।

    ०६१ सालदेखि पोखरामा अक्सिजन उत्पादन गरिरहेका पोखरा अक्सिजन प्रालि यस अघि यतिधेरै व्यस्त हुनुपरेकै थिएन । हप्तामा मुस्किलले २ दिन उद्योग चालू हुन्थ्यो र त्यसैले बजारको माग पूरा हुन्थ्यो ।

    तर, अहिले अवस्था त्यस्तो छैन । दिनमा १८ घन्टा काम गर्दा पनि हम्मेहम्मे परिरहेको उद्योगका निमित्त प्रमुख लक्ष्मण ताम्राकार सुनाउँछन् ।
    ‘केही समयअघिसम्म पनि दैनिक जम्मा ५०÷६० सिलिन्डरमात्रै जान्थ्यो । तर, अहिले ४, ५ सयसम्म जान थालेको छ,’ उनले भने ।

    प्रालिसँग आफ्नै नाममा भएको १५ सय सिलिन्डर छ । तर, ती सिलिन्डरमध्ये अहिले उद्योगमा करिब ८ सय सिलिन्डरमात्रै रहेको ताम्राकार बताउँछन् । ‘बाँकी सिलिन्डर कहाँ छन् हामीलाई नै थाहा छैन । लैजानेले फिर्ता नै ल्याइदिएनन्,’ उनले भने, ‘त्यसैले हामीसँग भएका सिलिन्डर नै रोटेसनबाट काम चलाइरहेका छौं ।’

    उद्योगबाट पहिले गण्डकी प्रदेशका सबै जिल्लाहरुमा अक्सिजन पुग्थ्यो । तर, अहिले पोखराकै माग बढेकाले बाहिर पठाउन नसकिएको उद्योगका एक सञ्चालक विनोद कायस्थ बताउँछन् । ‘पहिले यहाँबाट मनाङ, मुस्ताङ, तनहुँ, गोरखा सबैतिर पठाउँथ्यौं । तर, अहिले पोखराकै माग बढेकाले बाहिर पठाउन सकेका छैनौं,’ उनले भने ।

    उद्योगमा पहिलेभन्दा बढी चाप बढेकाले कर्मचारीको संख्या पनि थपेर काम गरिरहेको कायस्थले सुनाए । उनका अनुसार कोरोना महामारी सुरु हुनुअघि त्यहाँ ९ जना कर्मचारी कार्यरत थिए । तर, महामारी बढेसँगै माग पनि बढेकाले अहिले कर्मचारी बढाएर ११ जना पुर्‍याइएको छ ।

    ‘पहिले यो अवस्था आउला भन्ने सोचिएकै थिएन । एक्कासी माग बढ्दा हामीलाई पनि समस्या भयो,’ सञ्चालक कायस्थ भन्छन्, ‘अब फेरि ४ जना कर्मचारी बढाएर २४ सै घन्टा चलाउने निर्णय गरिसकेका छौं ।’

    अक्सिजन उत्पादन गरिरहेको अर्को कम्पनी कालीगण्डकी अक्सिजन प्रालिको कथा पनि उस्तै छ । पहिले हप्तामा मुस्किलले ४ दिन खुल्ने उद्योग अहिले दिनमै १९ घन्टासम्म चलाइराख्नु परेको उद्योगका निर्देशक प्रेम गिरी बताउँछन् ।

    ‘एकदमै बढी माग छ अहिले । योभन्दा बढी माग भयो भने त हात उठाउनुबाहेक विकल्प हुँदैन,’ निर्देशक गिरी भन्छन्, ‘उद्योगले जति पनि अक्सिजन उत्पादन गर्न सक्छ । तर, बजारमा सिलिन्डर नै नभएपछि के गर्न सकिन्छ र ?’

    पहिले ४ जनाबाट सुरु गरेको उद्योगमा अहिले कोरोना महामारीपछि कर्मचारी थपेर १६ जनाले काम गरिरहेको गिरीले जानकारी दिए । ३ हजार सिलिन्डरमध्ये अहिले आफूहरुसँग मुस्किलले १५ सयमात्रै रहेको उनले बताए ।

    उद्योगी भन्छन्– सिलिन्डर र विद्युत आपूर्ति प्रमुख समस्या

    अक्सिजन उत्पादनका लागि अहिलेसम्म आफूहरु सक्षम रहेको तर, सरकारी पक्षबाट सहयोग नमिलेको दुवै उद्योगको गुनासो छ । उद्योगलाई आवश्यक पर्ने विजुली आपूर्ति नियमित नहुँदा योजनाबमोजिम कार्य सम्पादन गर्न नसकेको उनीहरुको भनाइ छ ।

    ‘काम गर्दागर्दै झ्याप्प बिजुली जान्छ । बिजुली गयो भने फेरि प्रोसेस सुरुदेखि नै गर्नुपर्छ,’ पोखरा अक्सिजनका सञ्चालक विनोद कायस्थ भन्छन्, ‘सरकारले यत्ति काम गरिदियो भने अझै केही समय माग थेग्न सक्छौं ।’

    कालीगण्डकी अक्सिजनको गुनासो पनि उस्तै छ । औद्योगिक क्षेत्रमा पनि विद्युत नियमित नहुँदा समस्या भोग्नु परिरहेको निर्देशक प्रेम गिरी बताउँछन् । उनी बजारमा सिलिन्डर अभाव भएकाले त्यसको आपूर्ति नहुँदासम्म समस्याको समाधान नहुने सुनाउँछन् । ‘चाहिएजति सिलिन्डर नै छैन । सिलिन्डरबिना अक्सिजन प्लान्ट स्थापना गरेरमात्रै के गर्न सकिन्छ ?’ गिरीको प्रश्न छ ।

    अक्सिजनको कृत्रिम अभाव हुन नदिन दुबै कम्पनीले अस्पतालको सिफारिस लिएर आएपछिमात्रै दिने व्यवस्था मिलाएका छन् । त्यसका लागि दुबै उद्योगमा २/२ जनाका दरले शसस्त्र प्रहरी खटिएका छन् । उनीहरुले अनुमति दिइसकेपछिमात्रै सेवाग्राहीले अक्सिजन लैजान पाउँछन् ।

  • नेपालमा संक्रमित संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित ९३ हजार

    नेपालमा संक्रमित संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित ९३ हजार

    काठमाडौं । नेपालको कोरोनाभाइरस संक्रमित संख्या ४ लाख नाघेको छ । सोमबार ९२७१ जना थपिएसँगै कूल संक्रमित संख्या ४ लाख ३ हजार ७९४ पुगेको हो ।

    कूल मृत्यु ३ हजार ८५९ पुगेको छ । सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

    कूल निको हुने संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

    काठमाडौंमा सक्रिय संक्रमित संख्या २९ हजार ०७१ पुगेको छ । काठमाडौंमा अहिलेसम्म ८६३ जनाले ज्यान गुमाएका छन् ।

  • कोभिड विरामी उद्धारमा हेलिकप्टर कम्पनीले बढी पैसा लिएका छैनन् : संघ

    कोभिड विरामी उद्धारमा हेलिकप्टर कम्पनीले बढी पैसा लिएका छैनन् : संघ

    काठमाडौं । नेपाल वायुसेवा संचालक संघले कोभिड विरामी उद्धारका लागि ‘हेलिकप्टर चाटर्ड’ को भाडा जायज भएको बताएको छ ।

    विभिन्न संचार माध्यममा हेलिकप्टर कम्पनीले कोभिडका विरामी उद्धारका लागि मंहगो पैसा लिएको समाचार आएपछि संघले सोमबार विज्ञप्ती जारी गर्दै भाडा दर बढी नभएको स्पष्ट पारेको हो । तर, कोभिडका विरामी उद्धार गर्दा थप खर्च र समय लाग्ने भएकाले भाडा मंहगो भएको संघको भनाइ छ ।

    साथै हेलिकप्टरले लिइरहेको भाडाको संघ र नागरिक उड्डयन प्राधिकरणले निगरानी गरिरहेको पनि संघले बताएको छ ।

    संघका अनुसार कोभिड विरामी उद्धार गर्दा नेपाल नागरिक उड्डयनको प्रोटाकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड पूरा गर्नु पर्ने र पाइलटलगायत कर्मचारीले पीपीई सेट, प्यारामेडिकल टोली, सेमी भेन्टिलेटर मेसिन, थप बीमा, प्रत्येक उडानपछि हेलिकप्टरको सेनिटाइजेशन, किटाणुशोध जस्ता सामग्री प्रयोग गर्नु पर्ने भएकोले उद्धारमा खटिएको हेलिकप्टरमा खर्च बढी लाग्ने संघले विज्ञप्तीमार्फत जनाएको छ ।

    संघले उद्धारमा हेलिकप्टर चाहियो भने विचौलियालाई सम्पर्क नगरी सम्बन्धि उडान कम्पनीमा सिधै सम्पर्क गर्न पनि सम्बन्धित वर्गलाई अनुरोध गरेको छ । साथै वढी रकम लिएको पाइएमा संघ र प्राधिकरणमा सम्पर्क गर्न पनि संले अनुरोध गरेको छ ।

  • आज एकैदिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित

    आज एकैदिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित

    काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् ।

    १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् । ४,००७ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

  • चीनले नेपाललाई हस्तान्तरण गर्‍यो ४०० थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर

    चीनले नेपाललाई हस्तान्तरण गर्‍यो ४०० थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर

    बेइजिङ । चीनले नेपाललाई ४ सय थान अक्सिजन सिलिन्डरसहित १० थान भेन्टिलेटर र ११७ थान अक्सिजन कन्सनटेटर प्रदान गरेको छ ।

    सोमबार बेइजिङमा आयोजित समारोहमा चिनियाँ स्वास्थ्य मन्त्रालयका अधिकारीले नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेयलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

    ती सामान ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राती साढे ११ बजे बेइजिङ प्रस्थान गर्दैछ । जहाज मंगलबार दिउँसो काठमाडौं आउने कार्यक्रम छ ।

  • अक्सिजनको व्यवस्था सीसीएमसीले गर्ने

    अक्सिजनको व्यवस्था सीसीएमसीले गर्ने

    काठमाडौं । अब कोभिड-१९ का संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए ।

    यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो । ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ सूचना भनिएको छ ।

    आइतवार मात्र सीसीएमसीले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।

  • जेठ २ गतेदेखि काठमाडौंमा दोस्रो चरणको चिनियाँ खोप लगाइने

    जेठ २ गतेदेखि काठमाडौंमा दोस्रो चरणको चिनियाँ खोप लगाइने

    काठमाडौं । आगामी जेठ २ देखि काठमाडौंमा चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप संचालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी अभियान चलाउने निर्णय गरेको हो ।

    डीसीसीएमसी काठमाडौंको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै खोप लगाउन दिने निर्णय गरेको हो । भीडभाड नगरी खोप लगाउन आग्रह गर्दै प्रशासनले सम्बन्धित निकायलाई पत्र लेखेर पठाउने निर्णय गरेको हो ।

    खोप लगाउन आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय छ ।

  • कोरोना उपचारका लागि १२ अस्पताल र ५४ आइसीयू थप

    कोरोना उपचारका लागि १२ अस्पताल र ५४ आइसीयू थप

    काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले कोरोना संक्रमणको दोस्रो लहर बढेपछि कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै संक्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए ।

    उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र ५ भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसीयु १ हजार ८७१, भेन्टिलेटर ७४१, एचडीयु २ हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।

    प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा छ पसललाई जरिवाना गरिएको छ ।

    यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराउने अक्सिजनका ४०० खाली सिलिण्डर लिन आज नेपाल वायुसेवा निगमको वाइड बडी जहाज जाँदै छ । नेपालमा अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर छ । चीन सरकारले उपलब्ध गराउने २० हजार सिलिण्डर आएपछि ३७ हजार ७६१ अक्सिजन सिलिण्डर पुग्ने छ ।

    प्रवक्ता आचार्यले अलपत्र नागरिकलाई चार्टर गरेर उद्धार गरिएको जानकारी दिए। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा, नेपालगञ्ज, लुक्ला र सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी आइतबार १४८ यात्रुलाई उद्धार गरिएको छ ।

    यस्तै उनले खोप, स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायतास्वरुप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका नेपालस्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिए ।

  • भारतमा साेमबार संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

    भारतमा साेमबार संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ ।

    भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ ।

    साथै, विगत २४ घण्टामा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा यो सहित २ लाख ४६ हजार ११६ जनाको कोभिड–१९ को संक्रमणबाट ज्यान गइसकेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा यो सहित १ करोड ८६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएको पाइएको छ ।

    यसैबीच, गत जनवरीबाट थालिएको कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको संख्या १७ करोड २ लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा ३० करोड ३७ लाख नमुना परीक्षण गरिएको छ ।

    भारतमा कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, बेड, औषधि र अस्पतालको अभावमा मानिसहरुले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

    यसैबीच, कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३३ लाख ६ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २२ हजार, भारतमा २ लाख ४६ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार तथा फ्रान्समा १ लाख ६ हजारको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

    पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापक स्तरमा लगाउन थालिएपछि कोभिड-१९ बाट प्रभावितहरुको संख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

  • ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख रुपैयाँ प्रदान गरिएको छ । दोस्रो चरणको कोरोनाभाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्ला हाल कम्तीमा पनि २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको बताइएको छ ।

    संक्रमितको उपचारमा सहजता ल्याउन तथा संक्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि जिल्ला अस्पतालमा रकम आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, ‘अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचारमा निकै समस्या भएको थियो, अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले रकम प्रदान गरेको छ, अब उपचारमा सहज हुनेछ ।’

    प्रदेश सरकारले यहाँका डोटीसहित अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला अस्पताललाई पनि अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्नका लागि ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देश्नालयले जनाएको छ ।

  • चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

    चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

    काठमाडौं । कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।

    जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।

    नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

    प्रवक्ता श्रेष्ठले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको बताइन् । नेपाल एयरलाइन्सको ‘चाटर्ड रेट’ प्रतिघण्टा १५ हजार ५ सय २० डलर हो । यो अन्य व्याक्ति तथा संघसंस्थाका तोकिएको भाडादर हो ।

    चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ डलर लाग्ने छ । प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपाल सरकारसँग जहाज भाडा दर यति नै भनेर सम्झौता भएकोे छैन ।

    सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ । होङ्सी होल्डिङ ग्रुपको सहयोगमा अक्सिजन कन्सर्नट्रेटर ल्याउन लागिएको स्रोतले जनाएको छ ।

  • सुदूरपश्चिममा एकै दिन १८ जना कोरोना संक्रमितकाे मृत्यु, थप ८५६ जनामा संक्रमण

    सुदूरपश्चिममा एकै दिन १८ जना कोरोना संक्रमितकाे मृत्यु, थप ८५६ जनामा संक्रमण

    कैलाली । सुदूरपश्चिममा प्रदेशमा आइतबार एकै दिन मात्र १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै अहिलेसम्म प्रदेशमा ज्यान गुमाउनेको संख्या २ सय ८ पुगेको छ ।

    आइतबार ज्यान गुमाउनेमा सबै भन्दा धेरै कैलालीमा  मात्र ९ जनाको मृत्यु भएको छ । यस्तै कञ्चनपुरमा ७ जना, बाजुरा र दार्चुलामा १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

    कोरोनाका लक्षण देखिएका थप ४ जनाको टिकापुर अस्पतालमा मृत्यु भएको छ । तर उनिहरुको कोरोना रिपोर्ट भने आइनसकेको जनाइएको छ ।

    आइतबार एकै दिन सुदूरपश्चिम प्रदेशमा थप ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न ६ जिल्लामा गरिएको परीक्षणमा ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । यस प्रदेशमा शनिबार ८४ जना संक्रमण मुक्त भएका छन् ।

  • बाँकेमा २६३ जना नयाँ कोरोना संक्रमित थपिँदा ४१५ जना संक्रमणमुक्त

    बाँकेमा २६३ जना नयाँ कोरोना संक्रमित थपिँदा ४१५ जना संक्रमणमुक्त

    रूपन्देही । बाँकेमा २ सय ६३ जना नयाँ कोरोना संक्रमति थपिँदा ४ सय १५ जना संक्रमणमुक्त भएका छन् । दुई प्रयोगशालामा ३ सय ७९ जनाकाे नमुना परीक्षण गर्दा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सबैभन्दा बढी पीसीआर परीक्षण हुने भेरी अस्पतालकाे रिपाेर्ट डीसीसीएमसी बाँकेले उपलब्ध गराएकाे छैन् । बाँकेमा कोरोनामुक्त हुनेको संख्या उच्च भए पनि मृत्युदर भने बढेको छ ।

    आइतबार जिल्ला बाहिरका समेत गरि १७ जनाको मृत्यु भएको छ । बाँकेका ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बाँकेमा जिल्लाभित्रका मृत्यु हुनेको संख्या  अहिलेसम्म १ सय ८६ पुगेको छ भने जिल्ला बाहिरका मृतकको संख्या १ सय ३९ पुगेको छ ।

  • आइतबार ८८५० जनामा कोरोना संक्रमण

    आइतबार ८८५० जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२  जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । र यसअघि २६ जनाको विभिन्न स्थानमा भएको निधन यसमा समावेश नगरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।  यससँगै निधन हुनेको संख्या ८८ पुगेको छ ।

    देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    यस्तै शनिबार मुलुकमा कोरोना भाइरसका ८,४१८ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै ५३ जनाको मृत्यु भएको थियो ।

  • कर्णालीमा कति छ अक्सिजन ? केन्द्रले थप पठाउने आशा

    कर्णालीमा कति छ अक्सिजन ? केन्द्रले थप पठाउने आशा

    सुर्खेत । अक्सिजन अभाव हुन थालेपछि कर्णालीले संघीय सरकारबाट सहयोग पाउने आशा गरेको छ । प्रदेशका अस्पतालमा अक्सिजनका साना-ठूला सिलिन्डर छन् ।

    प्रदेश अस्पतालमा केही दिन अघि मात्रै अर्को अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि केही सहज भने भएको कोरोना फोकल पर्सन डा. के एन पौडेल बताउँछन् । बिरामीको सबैभन्दा बढी चाप हुने सुर्खेत प्रदेश अस्पतालमा ७० वटा अक्सिजनका छन् ।

    सुर्खेतकै गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा १४ सिलिण्डर छ । दैलेख जिल्ला अस्पताल र दुल्लु अस्पतालमा साना ठूला गरी ७१ सिलिण्डर छन् । जाजरकोट अस्पतालमा ५०, कालीकोटमा ४०, मुगुमा २१, सल्यानमा २२ सिलिन्डर छन् । डोल्पामा १२ सिलिण्डर र पाँच वटा कन्सन्ट्रेटर (बत्ती र पानीद्वारा सञ्चालन हुने ) रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अम्मरसिंह शाहीले बताए ।

    प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले चीनबाट आउन लागेको अक्सिजन सिलिण्डर कर्णालीलाई प्राप्त हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘कम्तीमा कर्णालीमा एक हजार बढि सिलिण्डर आएको खण्डमा केहि राहत हुन्छ ’, उनी भन्छन्, ‘कर्णालीमा औधोगिक कारखाना पनि पर्याप्त नभएका कारण त्यति धेरैअक्सिजन सिलिण्डर कर्णालीमा रहेको भेटिएन । साना ठूला गरेर सबै स्वास्थ्य संस्था, अस्पतालमा एक हजार जति मात्रै अक्सिजन सिलिण्डर होलान् ।’

    १०० शय्याका लागि अक्सिजन थपिँदै

    प्रदेश अस्पताल कालागाउँको १०० शय्यामा अक्सिजन जडान गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अहिले नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएका कारण पाइपलाइन विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

    कालागाउँमा बेडको अभाव नरहेको कोरोना फोकल पर्सन डा. के एन पौडेल बताउँछन् । ‘यहाँ हामीलाई वेड अभावको समस्या होइन । वेड थप्न पनि सकिन्छ समस्या अक्सिजनको हो ।’ उनी भन्छन्, ‘हाल ९० जना संक्रमितलाई अक्सिजन दिएर उपचार गराइरहेका छौं ।’

    प्रदेश अस्पतालमा नयाँ भेरियन्टसहितको कोरोना आएसँगै १५ जनाको मृत्यु भएको छ । ‘अहिले सञ्चालनमा ल्याइएको अक्सिजन प्लान्टले १०० र पुरानोले २० जनालाई अक्सिजन दिन सकिन्छ । हामी १५०
    जनालाई अक्सिजनसहित उपचार गर्न सक्छौं ’, उनी भन्छन्, ‘त्यो भन्दा बढी बिरामी राख्न परेको खण्डमा हाललाई अक्सिजनले धान्न सक्दैन । हामीलाई कम्तीमा तीन सय सिलिण्डर प्राप्त भएको खण्डमा २०० जनालाई पुर्‍याउन सकिन्छ ।

  • चिकित्सक भन्छन् -दोस्रो पटक संक्रमित भएकाहरुकाे स्वास्थ्य झन जटिल

    चिकित्सक भन्छन् -दोस्रो पटक संक्रमित भएकाहरुकाे स्वास्थ्य झन जटिल

    रुपन्देही । एकपटक कोरोना संक्रमण परेर निको भएका र कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई पनि अहिलेको संक्रमणले निकै च्यापेको छ ।पहिलो चरणको संक्रमणभन्दा यो पटकको संक्रमणले निकै दुःख दिएको उनीहरुको भोगाई छ ।

    विशेषगरी खोप लगाएका र पहिलोपटक संक्रमणमा परेकाहरुले स्वास्थ्य सुरक्षा सर्तकतामा ध्यान नदिएका कारण पनि यस्तो भएकोे स्वास्थ्यकर्मीको भनाइ छ ।

    एकपटक कोरोना जितेपछि अब केही हुँदैन र कोरोनाविरुद्ध खोप लगाएकालाई केही हुँदैन भन्ने दम्भका कारण यस्तो समस्या आएको चिकित्सक संघ लुम्बिनीका सचिव डा. सागर न्यौपानेको भनाइ छ ।

    ‘एकपटक संक्रमण भएकालाई तीन महिना नहुनसक्छ भन्ने हो तर भाइरसका प्रकृति फरक फरक आइरहेकाले ठ्याक्कै यस्तो भन्ने पुष्टि हुन सकेको छैन, पहिलो पटक भएकाले तयार गरेको एन्टिबडीले तीन महिनासम्म रोगप्रतिरोधी क्षमता बढाउन सक्टछ तर अब कोरोनाले छुनसक्दैन भन्ने भ्रम धेरैमा छ त्यो सचेतनामा कमी आएकै कारण हो,’ उनले भने ।

    कोरोनाविरुद्ध दोस्रो खोप लगाएकाहरु प्नि संक्रमणको जोखिममा परेका छन् । डा. न्यौपानेका अनुसार अहिलेसम्म यसको शतप्रतिशत रोकथाम कतै हुन सकेको छैन, कोरोनाविरुद्ध खोप लगाएकाहरुमा ७० प्रतिशतसम्म रोकथाम हुन्छ भन्ने अनुमान मात्र हो ।

    तर पछिल्लो समयमा खोप लगाएका धेरैजनामा संक्रमण देखिएको छ केहीले ज्यान पनि गुमाएका छन् । कोरोनाविरुद्ध खोप लगाएको भएपनि आफ्नो आमाको संक्रमणबाट मृत्यु भएको बताउँछन् बुटवल १३ का ऋषि आजाद ।

    ‘मेरो आमामा कुनै पनि दीर्घ रोग थिएन, नियमित औषधि खानुपरेको थिएन, कोरोनाविरुद्धको खोप पनि लगाउनुभएको थियो तर मलाई संक्रमण भएपछि होमआइसोलेसनमा बसें, आमालाई पनि संक्रमण सर्यो, १५ दिन अस्पतालमा राखियो तर बचाउन सकिएन’ उनले भने ।

    पहिलो चरणको संक्रमणमा पनि आफ्नो परिवारका सदस्यहरु धेरैजना परेको तर अहिलेको जस्तो जटिल अवस्था नआएको उनको अनुभव छ । ६५ वर्षका आजादले कोरोना संक्रमण जित्न उच्च आत्मबसहित नियमित खानपान र औषधि उपचारमै गम्भीर बन्न सुझाव दिन्छन् ।

    बुटवल उपमहानगरपालिका सेमलारका तुल्सी पौडेल पनि गत कार्तिक महिनामा कोरोना संक्रमणमा परेका थिए । उनको परिवारमै त्यतिबेला संक्रमण देखिएको थियो, तर अहिलेजस्तो जटिल थिएन । उनका अनुभवमा पनि पहिलेभन्दा अहिले निकै समस्या जटिल रहेको छ ।

    बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य ०७७ कार्तिक ५ गते संक्रमणमा परेकी थिइन् । त्यतिबेला दुई साता घरमै बसेर कोरोना परास्त गरेकी आचार्यलाई अहिले पनि संक्रमणले भेटाएको छ । तर पहिलेभन्दा अहिलेको संक्रमणले निकै च्यापेको छ ।

    अहिले त राम्रोसँग बोल्न पनि सकेको छैन, निकै च्यापेको छ, खोकी पनि निकै धेरै छ, म्यासेनजरमा आफ्नो प्रतिक्रिया दिँदै उनल भनिन्– बोल्न निकै समस्या परेको छ ।

    पहिले संक्रमणमा परेकाहरु पनि अहिले संक्रमित भएको भएपनि कति जना परेका छन् भन्ने तथ्यांक जिल्ला तथा प्रदेश स्वास्थ्य कार्यालयमा छैन तर समस्या आइरहेको उनीहरु बताउछन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले दोस्रो पटक पनि संक्रमित बनेको र खोप लागेकालाई पनि संक्रमण देखिएपनि यसको आधिकारिक तथ्यांक निकाल्न नसकिएको बताए ।

    ‘स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतमा दोस्रोपटक पनि संक्रमण परेको अवस्था छ, सर्तकता बढाउन जरुरी छ उनले भने ।
    ‘पहिलो र दोस्रो डोज लगाएर दुई साता पुगेकालाई संक्रमण दर र संक्रमण भएपनि मृत्युदर अत्यन्तै कम रहेको छ, यो अहिले रुपन्देहीमा देखिएको तथ्यांकले पुष्टि हुन्छ, ६५ वर्षमाथिका संक्रमित कम छ र मृत्युदर पनि कम छ, ५० वर्षभन्दा कमीमा धेरै संक्रमण देखिएको छ,’ डा. गिरीले भने ।

     

     

  • पोखरामा एकैदिन ११ जना संक्रमितको मृत्यु

    पोखरामा एकैदिन ११ जना संक्रमितको मृत्यु

    पोखरा। गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

    प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना, स्याङजा २, म्याग्दी, पर्वत र रुपन्देहीका एक/एक जना छन् ।

    कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा, पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    त्यस्तै, पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शनिबार मेडिप्लस अस्पताल, पोखरा १२ की ३५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

    निर्दशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय संक्रमितको शुक्रबार मृत्यु भएको छ । त्यस्तै, स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा र वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

    पर्वत, कुश्मा नगरपालिका १३ का ४२ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रमा मृत्यु भएको डा शर्माले जानकारी दिए । रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो ।

    योसँगै प्रदेशभर कोरोनाका कारण मृत्यु ुहुनेको संख्या २ सय ६२ पुगेको छ । प्रदेशभर बेशाखयतामात्रै ५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।