Category: स्वास्थ्य-जीवनशैली

  • निजी मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको माग

    निजी मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको माग

    काठमाडौं ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको  कदमप्रति असन्तुष्टि जनाएको छ ।

    सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरु पदीय दुरुपयोग र भ्रष्टाचार भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्नुपर्ने माग राखेका छन् ।

    उनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि हाम्रो लामो संघर्षपछि चिकित्सा शिक्षा ऐन जारी भएको हो । त्यसमा पनि अझै सुधार गर्नुपर्ने भनेर हामीले बारम्बार माग गर्दै आएका छौं र त्यसलाई जनतामुखी र विद्यार्थीमुखी हुने गरी संशोधन गर्ने सम्झौता सरकारले हामीसित गरेको छ । तर हाल कायम ऐनका प्रावधानहरु नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रुपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय छ । प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको प्रस्टै छ । विज्ञहरु सम्मिलित आयोगलाई लत्याउँदै भ्रष्ट र आपराधिक चरित्रका नेताहरुको इशारामा हुने यस्तो कुनै पनि निर्णय हाम्रा लागि स्वीकार्य छैन ।’

    उनले चिकित्स शिक्षा ऐन अनुसार कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसकने बताए । केयुले यस अगाडि नै त्यसभन्दा निकै बढी संख्यामा निजी मेडिकल कलेजहरुलाई धन्दा चलाउने अनुमति दिइसकेको उनको दाबी छ ।

    साथै, आससयपत्र नै नवीकरण नगरेकाले स्वतः रद्द भइसकेको झापास्थित विएण्डसी मेडिकल कलेजले राजनीतिक पहुँचका भरमा जबर्जस्ती अवैध रुपमा सम्बन्धन लिन प्रयास गरेको उनी बताउँछन् । मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रमा प्रधानमन्त्रीले यस्तो अराजकता तथा दण्डहीनता सिर्जना गर्दा मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर ह्रास आउने अवस्था रहेको उनको भनाई छ ।

    काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फर्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्यानाकर्षण समेत गराएका छन् । साथै यस्तो क्रियाकलाप गर्ने केयु उपकुलपति भोला थापालगायतका पदाधिकारीहरुमाथि तत्काल छानविन र कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत गरेका छन् ।

  • अमेरिकाले थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने

    अमेरिकाले थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने

    वासिङ्टन । अमेरिकाले कोभिड-१९ विरुद्धको थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने घोषणा गरेका छन् ।

    अमेरिकामै उत्पादन भएका मोर्डन, फाइजर र जोन्सन एन्ड जोन्सनको उक्त परिमाणको खोप बाँड्ने घोषणा राष्ट्रपति जो बाइडेनले गरेका हुन् ।

    जुन महिनाको अन्त्यसम्म ती भ्याक्सिनलाई विदेशमा वितरण हुने जनाइएको छ । कुनैपनि मुलुकले अन्तर्राष्ट्रिय समुदायलाई दिएको खोपभन्दा यो पाँचगुणाले बढी हो ।

    बाइडेनले यसअघि पनि ६० मिलियन अस्ट्राजेनेका खोप वितरण गर्ने घोषणा गरिसकेका छन् । अमेरिकामा भने अस्ट्राजेनेकाको भ्याक्सिनले प्रयोगको अनुमति प्राप्त गरिसकेको छैन ।

    नेपालले पनि अमेरिकाबाट खोप आपूर्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको छ । अमेरिकी राजदूत बेरीले पनि नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको र वासिङ्टनमा खबर दिइसकिएको जनाएका छन् ।

    अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई दिने भनेको ८० मिलियन डोज नेपालले प्राप्त गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

  • भारतमा एकैदिन ४३ सयको मृत्यु, २ लाख ६३ हजार संक्रमित

    भारतमा एकैदिन ४३ सयको मृत्यु, २ लाख ६३ हजार संक्रमित

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । २ लाख ६३ हजार ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् भने ४ लाख २२ हजार ४ सय ३६ जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म २ करोड ५२ लाख २८ हजार ९ सय ९६ जना कोभिड-१९ बाट संक्रमित भएका छन् भने २ करोड १५ लाख ९६ हजार ५ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

    हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ७८ हजार ७ सय १९ जना पुगेको छ भने संक्रिय संक्रमितको संख्या ३३ लाख ५३ हजार ७ सय ६५ रहेको छ ।

     

  • कोरोना संक्रमित चिकित्सकको मृत्यु

    कोरोना संक्रमित चिकित्सकको मृत्यु

    जनकपुरधाम । कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ ।

    सिरहाको लहान घर भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । महामारीमा पनि नागरिकको स्वास्थ्य सेवामा समर्पित उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए ।

    स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । अन्दाजी ३५ वर्षीय उनी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक हुन् ।

  • लकडाउन र कम्युनिज्मको नेक्सस : चीनले कसरी नियन्त्रण गर्‍यो भाइरस ?

    लकडाउन र कम्युनिज्मको नेक्सस : चीनले कसरी नियन्त्रण गर्‍यो भाइरस ?

    डिसेम्बर २०१९ !

    जतिबेला विश्व नयाँ दशकलाई स्वागत गर्ने तयारी गर्दै थियो, एउटा हेडलाइनले विश्व मिडियाको ध्यान चीनतर्फ तान्यो । मान्छेको खुशीलाई स्तब्ध पार्ने त्यो हेडलाइन चीनको वुहानबाट आएको थियो जहाँ कोरोनाभाइरसको नयाँ संक्रमण फेला पर्‍यो ।

    यो हेडलाइनले नयाँ दशकलाई स्वागत गर्ने मान्छेहरुको खुशी मात्र छिनेन, एकैपटक सामाजिक, आर्थिक, राजनीतिक र दार्शनिक आयाममा उथलपुथल ल्याइदियो ।

    संक्रमणको डेढवर्ष पुग्नै लाग्दा पनि भाइरसको स्रोत अहिलेसम्म पुष्टि हुन सकेको मात्र छैन, बरु विश्व नै विभाजित छ । केही महिनाअघि वुहानको प्रयोगशालामा पुगेको विश्व स्वास्थ्य संगठनको चिकित्सकीय टोलीले समेत भाइरसको उत्पतिबारे निष्कर्ष ल्याउन सकेन । बरु, भाइरसले अहिलेसम्म पाँचभन्दा बढी प्रजातिमा आफूलाई अनुकूलन तुल्याउँदै विश्वलाई नै हायलकायल पार्दैछ ।

    अहिले पनि आधा विश्व लकडाउनमै छ । विभिन्न मुलुकहरुले अझै केही वर्षसम्मको लागि अन्तर्राष्ट्रिय सीमामा प्रतिबन्ध मात्र लगाएका छैनन्, भाइरसको श्रृंखलाबद्ध लहरले स्वास्थ्य प्रणालीलाई चुनौति दिइरहेको छ । विश्व अर्थतन्त्र ओरालो लाग्दै गर्दा यसले धनी र गरिबबीच खाडल सिर्जना गरेको छ । माग र आपूर्तिबीच तालमेल नहुँदा खोप उत्पादन र आपूर्ति प्रभावित बनेको मात्र छैन, समयमै खोप उपलब्ध नहुँदा गरिब मुलुकहरुले थप समस्या भोग्नुपर्ने देखिएको छ ।

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बेलुका ५ बजेसम्म विश्वभर कूल संक्रमित संख्या १६ करोड ३१ लाख पुगेको छ । ३३ लाख ८१ हजार जनाले ज्यान गुमाएका छन् । १ अर्ब ४७ करोडले खोप लगाइसकेका छन् । अमेरिकामा मात्र सर्वाधिक ३ करोड २९ लाख संक्रमित भएका छन् र ५ लाख ८५ हजारको ज्यान गएको छ ।

    दोस्रो प्रभावित मुलुक भारतमा २ लाख ४९ हजार संक्रमित भएका छन् भने २ लाख ७४ हजारको मृत्यु भएको छ । अमेरिकापछि ब्राजिल, फ्रान्स, टर्की, रसिया, बेलायत, इटाली, जर्मनी, स्पेन, अर्जेन्टिना प्रभावित छन् । भाइरसको उत्पति थलो चीनमा अहिलेसम्म कूल संक्रमित संख्या ९० हजार ८७२ पुगेको छ भने ४ हजार ४३६ जनाले ज्यान गुमाएका छन् । सोमबार मुलुकभर २५ जना नयाँ संक्रमित थपिएका छन् भने मृत्यु संख्या शून्य छ ।

    कूल संक्रमित संख्याको हिसाबमा चीन अहिले विश्वभर ९७ औं स्थानमा छ । नेपाल भने कूल संक्रमण र मृत्युदरको हिसाबमा ४३ औं स्थानमा छ । जनवरी १३, २०२० मा नेपालमा कोरोनाको पहिलो संक्रमण चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा पुष्टि भएको थियो ।

    नेपालमा पहिलो संक्रमण देखिँदा चीनको वुहान पूर्ण लकडाउनमा थियो । तर, परिस्थिती ठीक उल्टो भएको छ । वुहानको जनजीवन सामान्य अवस्थामा फर्किसक्यो र नेपाल अहिले लकडाउनकै अवस्थामा छ । चीनले भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको अवस्था छ तर, नेपालले भने मृत्यु तथ्यांकमा चीनलाई उछिनेको छ ।

    चीनको सिनोभ्याक खोप उत्पादन केन्द्रमा काम गर्दै एक चिकित्सक ।

    वुहानको अवस्था कस्तो छ ?

    भाइरस संक्रमण तीव्र भएपछि झन्डै दुई महिनासम्म वुहानका दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । सरकारले हुबेइ प्रान्तको राजधानीमा लगाइएका सबै प्रतिबन्ध खुला गरेको मात्र छैन । मानिसहरु मास्क र सामाजिक दूरी बिनै जीवन बाँचिरहेका छन् । दशौं हजार सहभागी कन्सर्ट र मेलापर्व भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

    अघिल्लो जनवरी २३ तारिखमा वुहानमा लकडाउन भएपछि त्यहाँका १ करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । भाइरसको संक्रमण रोक्न चीनको केन्द्रिय सरकारले चिनियाँ उद्योगको प्रमुखको रुपमा रहेको हुबेइमा लकडाउन गरेको थियो ।

    हुबेइ प्रान्तको वुहान सहर कोरोनाभाइरस संक्रमणको प्रतिबन्ध हटाइएको अन्तिम सहर पनि थियो । डिसेम्बरमै वुहानमा भाइरस फैलिएपनि जनवरी १९ मा चीनमा नयाँवर्षका कार्यक्रम आयोजना गरिए भने स्थानीय बासिन्दाले पनि मास्कबिनै ठूला कार्यक्रममा भाग लिन थाले ।

    वुहानपछि चीनको लकडाउनलाई चीनको झन्डै ८० करोड जनसंख्यासम्म विस्तार गरियो । अर्थात, चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा बसे । वुहानमा बिरामीको उपचार, भाइरसको प्रकृति र संक्रमणको नियन्त्रण र रोकथामका लागि व्यापक प्रयास पनि भए ।

    एक हजारभन्दा बढी शैय्या रहेका दुईवटा ठूला अस्पताल रातारात बनाइए । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई वुहानमा खटाइयो । उनीहरुको साथमा धेरै टन अत्यावश्यकीय चिकित्सा सामाग्री पनि पठाइयो ।

    आफूहरुले भाइरसलाई पराजित गरेको र चीनको जीवन सामान्य अवस्थामा फर्किएको सन्देश दिन चिनियाँ राष्ट्रपति सी जिङपिङले वुहानको भ्रमण पनि गरे । भाइरस नियन्त्रणका लागि भैरहेका प्रयास एवं बिरामीको उपचारमा केन्द्र सरकार पूर्णरुपमा जनताको साथमा रहेको विश्वास राष्ट्रपतिले दिलाए । राष्ट्रपतिले भ्रमण गरेको एकदिनपछि चीनले प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाल्यो । कतिपय कलकारखाना र आवश्यक ठानिएका अन्य व्यवसाय खुला गर्न थालियो ।

    चिनियाँ राज्य नियन्त्रित मिडियाले उपलब्ध गराएको यो तस्विरमा हुबेइ प्रान्तको सिजिहाउङमा निर्माण हुँदै गरेका क्वारेन्टिन । छानामा चाहिँ लेखिएको छ- सिजिहाउङले अवश्य जित्नेछ ।

    अहिले के हुँदैछ ?

    भाइरसको कारण वुहानमा २ हजार ५४७ जनाले ज्यान गुमाए । चीनमा भाइरसबाट मृत्यु भएकामध्ये ८० प्रतिशत वुहानकै थिए । अहिले चिनियाँ अधिकारीहरुले कुनै मानिसमा संक्रमण देखिए तत्काल कन्ट्याक्ट ट्रेसिङ गर्ने, उपचारमा पठाउने र शंकास्पदलाई क्वारेन्टिनमा पठाउने कार्य गरिरहेका छन् । वुहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई आउनुपर्ने कारण र कस्तो तरिकबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ ।

    होटलमा बसेको व्यक्तिमा ज्वरो भए नभएको पत्ता लगाउन दिनमा दुईपटक ज्वरो जाँच गर्ने व्यवस्था मिलाइएको छ । स्मार्टफोन उपलब्ध भएमा उनीहरुलाई सरकारी एपमा जोड्न भनिएको छ ताकि यात्रासहित निज व्यक्तिको स्वास्थ्य अवस्था यात्राबारे नियमित अनुगमन गर्न सकियोस् । वुहान भ्रमण गर्ने व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्न अधिकारीहरुले पाँचवटा होटल तय गरेका छन् ।

    होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुको सामानलाई निसंक्रमण तुल्याउने गरेका छन् । बसमा यात्रा गर्ने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनुपर्ने नियम पनि छ ।

    भाइरस नियन्त्रणका लागि लागु गरिएको वुहान मोडेललाई चीनले अन्य राज्यमा पनि कार्यान्वयनमा ल्यायो । संक्रमित पहिचान, परीक्षण र क्वारेन्टिनमा कडाइ गर्दै चीनले लकडाउनलाई भाइरस नियन्त्रणको तयारीमा रुपमा प्रयोग ग¥यो । लकडाउनमा पनि मानिसहरु घरबाहिर निस्किएनन् र उनीहरुले सरकारलाई सहयोग गरे । अहिले आएर चीनले आफ्नो देशमा विकास भएको सिनोफार्म खोप लगाउनेलाई मात्र देश प्रवेशको अनुमति दिने निर्णय गरेको छ ।

    यी समग्र परिदृश्य हेर्दा चीनको भाइरस संक्रमण नियन्त्रणमा आएको मात्र छैन, केही महिनयता मृत्युदर शून्यमा झरेको छ । तर, बाँकी विश्वमा संक्रमण दरमा उछाल आएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिङपिङ हुबेइको एक अस्पतालमा फ्रन्टलाइन वकर्सलाई हौसला बढाउँदै ।

    भाइरसविरुद्ध कम्युनिस्ट संगठन

    वुहान लकडाउनमा रहँदाखेरी नै चिनियाँ राष्ट्रपति जिङपिङले भाइरसविरुद्ध चीनले नयाँ युद्ध लडिरहेको र यसलाई समाप्त गरेरै छाड्ने अठोट व्यक्त गरेका थिए । तर, उनले भाइरसलाई हराउन विश्वकै सबैभन्दा ठूलो चिनियाँ कम्युनिष्ट पार्टी र यसको सांगठनिक संरचनालाई गाउँ-गाउँ र जनताको गहिराइसम्म लगेर भाइरसविरुद्ध एकजुट तुल्याए । फेब्रुअरी ५, २०२१ मा द न्यूयोर्क टाइम्समा प्रकाशित एक आलेखमा चिनियाँ शासकले सन् १९८९ को तियानवेन स्क्वायरको घटनापछि भाइरसको कारण अर्को सबैभन्दा ठूलो संकट भोगेको र त्यसलाई पराजित गरेको उल्लेख छ ।

    उक्त आलेखका अनुसार चीनले कम्युनिष्ट पार्टीको सांगठनिक संरचना र चेन अफ कमान्डअनुसार दशौं हजार स्वयंसेवकलाई कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन व्यवस्थापनमा खटाएको थियो । एकैपटक ठूलो संख्यामा खोप लगाउने कानुन निर्माण गर्दै चीनले खोप निर्माता कम्पनीलाई फास्ट-ट्रयाक अनुमति पनि दिएको थियो । चिनियाँ खोपको ट्रायल नहुँदै २४ वटा देशले अर्डर गरिसकेका थिए ।

    विज्ञहरु महामारी नियन्त्रणमा चीनले प्राप्त गरेको सफलतामा उसको चिकित्सकीय, कूटनीतिक र आर्थिक पक्षलाई कारण मान्छन् । तत्काल नागरिक र स्रोतलाई परिचालन गर्नसक्ने शासकीय क्षमतालाई चीनले महामारीमा लागु गरेको विज्ञहरुको भनाई छ । यो क्षमता अमेरिकी र लोकतान्त्रिक भनिएका मुलुकमा अभाव रहेको उनीहरुको टिप्पणी छ । चिनियाँ शासकले सरकार र सरकारी निकायलाई मात्र होइन, नागरिक, निजी संस्था र उनीहरुको रुचिलाई पनि नियन्त्रण गर्न सक्ने खुबीलाई महामारीमा प्रदर्शन गर्न सकेको जनाइएको छ ।

    ‘चीनले सबै स्रोत र शक्तिलार्ई महमारीविरुद्ध केन्द्रित गर्न सक्यो’ फोडर्म विश्वविद्यालयमा चिनियाँ कानूनका प्राध्यापक कार्ल मिन्जेनर भन्छन्, ‘लाखौं मान्छेलाई कडाइ गर्नु दुःखद अवश्य पनि हो तर, उक्त कार्य गर्न चीनले कर्मचारी प्रशासनलाई पनि अधिकतम प्रयास गर्न सक्यो ।’

    वुहानमा लागु गरिएको लकडाउन

    चिनियाँ मोडेलबारे अरु के भन्छन् ?

    भाइरस नियन्त्रणमा चीनले आत्मसात गरेको मोडेललाई अँगाल्न न्यूयोर्क टाइम्सले तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाएको पनि थियो । तर, सन्की स्वभावका ट्रम्पले भाइरस र यसको विज्ञानलाई अस्वीकार गर्दै चिनियाँ भाइरसको उपमा दिए अनि अमेरिका र विश्व स्वास्थ्य संगठनको सम्बन्ध विच्छेद गरिदए ।

    न्यूयोर्कमा काउन्सिल एन्ड फरेन रिलेसन्समा ग्लोबल हेल्थका सिनियर फेलो यानजोङलाई लाग्छ, चीनले भाइरस नियन्त्रणको लागि उठाएका कदमलाई अन्य देशले आत्मसात गर्न कठिन हुने देखिन्छ ।

    ‘चाहे लोकतान्त्रिक मुलुक होस् या गैरलोकतान्त्रिक, यो कुनैपनि कोणबाट राम्रो कुरा हैन । यो निराशजनक हो । केही देशका नेता चीनको तरिकालाई आफ्नो देशमा लागु गर्न चासो देखाइरहेका छन् तर, उनीहरुसँग यस्तो गर्ने सामथ्र्य छैन’ यानजोङले भनेका छन् ।

    भाइरस नियन्त्रणका लागि चीनले लागु गरेको लकडाउन मोडेललाई इटालीले पछ्यायो । मिलानस्थित भिटा सैल्युट सान रफायलेमा भाइरोलोजी विज्ञानका प्राध्यापक रोबर्ट बुरियानी भन्छन्- ‘भाइरसविरुद्ध लड्नका लागि तानाशाह हुनु जरुरी छैन ।’ विश्व स्वास्थ्य संगठनका सल्लाहकार डा. ब्रुस अलवार्ड पनि भाइरसलाई नियन्त्रणमा लिने विषयमा लोकतान्त्रिक हुनु र तानशाही हुनुले कुनै सम्बन्ध नराख्ने बताउँछन् ।

    दक्षिण एसियाको शक्तिराष्ट्र भारत भाइरसले थलिएको बेला चीनको यो सक्रियतालाई भूराजनीतिक प्रतिस्पर्धामा महत्वका साथ लिन सकिन्छ । भर्चुअल बैठकपछि जारी संयुक्त वक्तव्यको सार र भाषा हेर्दा चीनले अहिलेको परिस्थितीलाई आफ्नो पक्षमा पार्न खोजेको जस्तो देखिन्छ ।

    दक्षिण कोरियाले लकडाउन बिनै भाइरसलाई नियन्त्रणमा लिएको थियो । उसले यसो गर्न चीनले अंगीकार गरेको संक्रमित पहिचान, उपचार र क्वारेन्टिनको विधिलाई आत्मसात गर्न सक्यो । सँगै, दक्षिण कोरियाले अक्सिजन, भेन्टिलेटर र शैय्याजस्ता अत्यावश्यक स्वास्थ्य संरचना र सामाग्रीको आपूर्तिमा जोड दिएको थियो ।

    कोरियाले यति तीव्ररुपमा क्वारेन्टिनमा जनसंख्यालाई राख्यो जसले गर्दा भाइरसको फैलावट हुन पाएन । साथै, दक्षिण कोरियाले कन्ट्याक्ट ट्रेसिङका लागि आफ्ना नागरिकलाई फोन एपमा बाँधेको थियो जसले गर्दा संक्रमित पहिचान गर्न कठिन भएन ।

    भाइरस संक्रमणको फैलावट हुँदासम्म चीनले ठूला समारोह र कार्यक्रम आयोजना हुन दिएन । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले मुलुकहरुलाई आफ्नो व्यवस्थाअनुसार भाइरस नियन्त्रणका लागि कदम चाल्न आग्रह गरेका थिए । उनको यो आग्रह पछाडि राजनीतिक व्यवस्था र नागरिकको सुझबुझपूर्ण तरिकातर्फ केन्द्रित छ । कम्युनिष्टबाहेक केही लोकतान्त्रिक मुलुकहरु भारत, इटालीले चिनियाँ मोडेलको लकडाउनलाई आत्मसात गरे भने अमेरिका, अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले लकडाउन गरेनन् ।

    लकडाउन कम्युनिष्ट शासन संरचनाको भाइरस रोकथामको शैली भएको बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसको आवश्यकता देखेनन् । नेपालमा पनि चिनियाँ शैलीको लकडाउन मोडेललाई पालना गर्न कठिन हुन तर्क समेत उठेका थिए ।

    इंग्ल्यान्डको डेपुटी चिफ मेडिकल अफिसर डा. जेनी ह्यारिसको तर्क छ- ठूलो संख्यालाई एक ठाउँमा राखेर भाइरस रोकिन्थ्यो भने सरकारले यो काम पहिल्यै गरिसक्थ्यो । बेलायतको मोडेलमा यस्तो कुरा नसुहाउने भएकाले सरकारले निकै सतर्कतापूर्वक विज्ञानमा आधारित निर्णय लिन्छ ।’

    चीनले नेपाललाई आठ लाख डोज सिनोफार्म खोप दिने घोषणापछि बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छी ।

    चीनको पदचाप कतातिर ?

    खोप राष्ट्रवाद र खोप कूटनीति अहिले सर्वाधिक ‘क्वाइन’ भएका शब्दहरु हुन् । पछिल्लो समय शक्तिशाली राष्ट्रहरुले आफ्नो हैसियत स्थापित गर्ने मामिलामा यी दुई शब्दावलीलाई भरपुर प्रयोग गरिरहेका छन् ।

    विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भारत र समृद्ध स्वास्थ्य प्रणाली भएको दाबी गर्ने अमेरिका भाइरसले कठिन अवस्थामा पुगेको बेला चीनले अहिले सफ्टपावरको रुपमा खोपलाई उपयोग गरिरहेको छ ।

    दक्षिण एसिया, ल्याटिन अमेरिका र अफ्रिकी मुलकुहरुमा चीनले आफूले विकास गरेको सिनोफार्म खोप आपूर्ति गरिरहेको छ । भाइरसले थलिएको भारतमा समेत उसले अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामाग्री एयर-लिफ्ट गर्‍यो ।

    के नेपाल चिनियाँ मोडेललाई कार्यान्वयन गर्न सक्षम छ ? अवश्य पनि नेपालमा कम्युनिस्ट पार्टीकै सरकार छ तर चीनको जस्तो होइन । आज नेकपा फुटे पनि एमाले छ । एमालेले दशौं हजार कार्यकर्तालाई चिनियाँ शैलीमा परिचालन गर्न सक्दैन ?

    नेपालसहित दक्षिण एसियाका पाँच मुलुकसँग कोभिड-१९ महामारीसँग जुध्नेसहित गरिबी निवारण र व्यापार साझेदारीका लागि क्षेत्रीय संरचना बनाउने घोषणा गत महिना बेइजिङले गरिसकेको छ । यही संरचनाअन्तर्गत रहेर उसले नेपाल लगायतका मुलकमा अक्सिजन, भेन्टिलेटर, पीपीई, कन्सनट्रटेर लगायतका स्वास्थ्य सामाग्री आपूर्ति गरिरहेको छ । भारतबाट खोप आपूर्ति रोकिएको मौकामा चीनले चीन-दक्षिण एसिया आपतकालिन आपूर्ति भण्डारसहितका संरचना स्थापना गर्ने घोषणा चीनले गर्‍यो ।

    दक्षिण एसियाको शक्तिराष्ट्र भारत भाइरसले थलिएको बेला चीनको यो सक्रियतालाई भूराजनीतिक प्रतिस्पर्धामा महत्वका साथ लिन सकिन्छ । भर्चुअल बैठकपछि जारी संयुक्त वक्तव्यको सार र भाषा हेर्दा चीनले अहिलेको परिस्थितीलाई आफ्नो पक्षमा पार्न खोजेको जस्तो देखिन्छ । भारत नहुनुको भ्याकुममा चीनले उपस्थिती खोजेको रुपमा मूल्यांकन गर्न सकिन्छ । उक्त विज्ञप्तीअनुसार चीनले कोभिड-१९ विरुद्ध जुध्न स्वास्थ्य सामाग्री र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । सोही आसपासमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष सन्देश पठाउँदै संकटमा चिनियाँ सहयोग उपलब्ध गराउने बताएका थिए ।

    भाइरस नियन्त्रणमा चिनियाँ मोडेलले मुख्यतः कन्ट्याक्ट ट्रेसिङ, टेस्ट र क्वारेन्टिनमा बढ्ता जोड दिएको देखिन्छ । चीनले लकडाउनलाई भाइरस नियन्त्रणको साध्य नभएर साधनको रुपमा लिएको देखिन्छ । भन्नुको अर्थ, लकडाउनलाई उसले स्वास्थ्य पूर्वाधार र संरचना स्थापना गर्ने समयको रुपमा लिएको देखिन्छ । दुई दिनमै हजार बेडभन्दा ठूला अस्पताल स्थापना गर्ने चिनियाँ सक्रियता लकडाउनलाई कसरी भाइरस नियन्त्रणको अवसरमा प्रयोग गर्ने भन्ने उदाहरण हो । अर्कोतर्फ, शासकीय संरचना र दलीय चरित्रलाई पनि चीनले संक्रमण रोकथाम र नियन्त्रणमा अधिकतम प्रयोग गरेको रुपमा लिन सकिन्छ ।

    के नेपाल चिनियाँ मोडेललाई कार्यान्वयन गर्न सक्षम छ ? अवश्य पनि नेपालमा कम्युनिस्ट पार्टीकै सरकार छ तर चीनको जस्तो होइन । आज नेकपा फुटे पनि एमाले छ । एमालेले दशौं हजार कार्यकर्तालाई चिनियाँ शैलीमा परिचालन गर्न सक्दैन ?

    चिनियाँ मोडलको कडाई गर्न हाम्रा लोकतान्त्रिक मान्यताहरुले पनि अवरोध उत्पन्न गराउँछन् । यद्यपी सरकारले नागरिकलाई केही साता कष्ट सहेरै भनेपनि यो संकटबाट पार लगाउन आश्वस्त पार्न सक्नुपर्छ ।

  • सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन

    सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन

    जनकपुरधाम । सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

    विराटनगरस्थित विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उनको निधन भएको हो ।

    रुघाखोकी र ज्वरो लागेपछि पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनी अस्पताल भर्ना भइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि तीन दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको थियो ।

    सप्तकोशी नगरपालिका ८ घर भएकी उनी तत्कालिन नेकपा एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

  • व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोना फैलने जोखिम

    व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोना फैलने जोखिम

    सुर्खेत । स्वास फेर्न समस्या भएपछि प्रदेश अस्पताल कालागाउँ ल्याइएका एक पुरुषको उपचारका क्रममा साताअघि मृत्यु भयो । अस्पतालमा बुबाको हेरचाहमा खटिएकी १८ वर्षीय छोरी अहिले संक्रमित छन् । सावधानी अपनाउँदा पनि संक्रमित हुनुको कारण अव्यवस्थित अस्पताल नै रहेको उनले आशंका छ ।

    कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको कालागाउँ प्रदेश अस्पताल परिषरभित्र स्तरीय क्यान्टिन र औषधि पसल छैन । संक्रमितको संसर्गमा रहेकाहरु सामान लिन बाहिर जानुपर्ने अवस्था छ । जसले संक्रमण नियन्त्रणको सट्टा फैलने जोखिम बढेको छ ।

    ‘यहाँ अस्पतालमा दिने खाना काम लाग्ने छैन । औषधि र अन्य सामान किन्न बाहिर जानैपर्छ,’ मृतककी छोरीले भनिन्, ‘चाहिनेजति सबै कुरा अस्पतालभित्रै पाइने भए बाहिर गइरहनु पर्थेन । विरामी कुरुवाका लागि मास्कबाहेक अन्य केहि सुविधा छैन ।’

    प्रदेश अस्पतालमा उपचार गर्न आएका टाढाका विरामीहरुका कुरुवाहरु नै आवश्यक सामान ल्याउने वहानामा खुलेयाम बाहिर निस्कने गरेका कारण कोरोना संक्रमण थप फैलिएको छ । जिल्लामा निषेधाज्ञा जारी हुने तर कोरोनाको राजधानीको रुपमा रहेको प्रदेश अस्पतालमा नै संक्रमण फैलिन नदिने उपाय अवलम्बन नगरिएका कारण अस्पतालबाटै जोखिम भएको छ ।

    प्रदेश अस्पतालमा कोरोना उपचार गर्न आएका विरामीका आफन्तहरुसँग कोभिडबाट जोगिनु कुनैपनि सुरक्षा सामाग्री छैन । एक मास्कको भरमा उनीहरु कुरुवा बस्नुपर्ने अवस्था छ । आजसम्म कर्णालीमा एक सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । आज मात्रै कर्णालीमा १३ जनाको ज्यान गएको छ ।

    ‘अस्पताल प्रशासनले कम्तिमा जेलको जस्तो व्यवस्था मिलाउनुपर्छ । म आफैं कोभिड संक्रमित भइ प्रदेश अस्पतालमा उपचार गराइ फर्किएको कारण त्यहाँको अवस्था मलाई थाहा छ,’ सुर्खेतका पत्रकार नगेन्द्र उपाध्याय भन्छन्, ‘अस्पतालमा आएका कुरुवा पनि कोरोना संक्रमणको उच्च जोखिममा रहने गरेका छन् । उनीहरु कोभिड विरामीसँगै बस्ने भएका कारण उनीहरुले मास्क बाहेक अन्य सामाग्री प्रयोग गर्दैनन् । त्यसैमा उनीहरु यो वा त्यो सामान ल्याउन बजार निस्कने गरेका छन् । त्यसले गर्दा कोरोना संक्रमण फैलिरहेको छ भन्दा फरक नपर्ला ।’

    उनले अस्पतालबाट कोरोना संक्रमण बाहिर नजाओस भन्ने हो भने कम्तिमा त्यहाँ भित्र बसेका नागरिकलाई कोभिड सञ्चो नभएसम्म वा नेगेटिभ नआएसम्म बाहिर जान दिन नहुने उनले बताए ।

    प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले यसबारेमा सरकारले आवश्यक व्यवस्था गर्ने बताए । ‘तपाईहरुले उठाउनु भएको कुरा प्रति सरकार गम्भीर भएको छ । यो समस्या समाधानका लागि सरकार आवश्यक कदम चाल्छ,’ उनले भने ।

  • कर्णालीमा एकै दिन १३ जनाको मृत्यु, ६ सय ६७ जनामा संक्रमण पुष्टि

    कर्णालीमा एकै दिन १३ जनाको मृत्यु, ६ सय ६७ जनामा संक्रमण पुष्टि

    सुर्खेत । कर्णाली प्रदेशमा साेमबार एकै दिन १३ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएकाे छ । प्रदेशभर साेमबार  एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैकाे मृत्यु भएकाे हाे । याे सँगै कर्णाली प्रदेशमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ सय ६२ पुगेको छ ।

    यस्तै पछिल्लाे २४ घण्टाकाे अवधिमा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ७ सय ७६ जनाको आरटीपीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ५९ जना र ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निदेशनालय सुर्खेतले जनाएको छ ।

    संक्रमित हुनेमा सबैभन्दा धेरै सुर्खेतका २ सय ५८ जना रहेका छन भने दाेस्राेमा जाजरकोटका १ सय ४२ जना रहेका छन् । यस्तै दैलेखका ७८, रुकुम पश्चिमका ६४ , सल्यानका ५७, कालिकोटका २७, जुम्लाका २१, मुगुका ११, डोल्पाका ६ तथा अन्य प्रदेशका १३ जना रहेका स्वास्थय सेवा निदेशनालयको तथ्याँकमा उल्लेख छ । यससंगै कर्णालीमा कोराना संक्रमितको संख्या १७ हजार ४ सय १२ पुगेको छ ।

    यस्तै आज थप २ सय ३८ जना संक्रमण मुक्त भएका छन् । योसंगै संक्रमणमुक्त  हुनेहरु १० हजार ४ सय ८६ पुगेका छन् । अब ५ हजार ४ सय ४९ जना संक्रमित विभिन्न आइसोलेशनमा रहेका जनाइएकाे छ ।

  • भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड

    भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड

    भक्तपुर । कोभिड-१९ को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड संक्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्तर्गत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो ।

    भक्तपुर अस्पताललाई तीन करोड ८० लाख रुपैयाँ, मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन करोड १२ लाख ७० हजार रुपैयाँ र सूर्यविनायक नगर अस्पताललाई  १ करोड ९ लाख रुपैयाँ को बजेट विनियोजन भएको सांसद महेश बस्नेतले जानकारी दिए । अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रीलगायतसँग छलफल गरेर बजेट व्यवस्थापन गर्न सकिएको सांसद बस्नेतले बताए ।

    त्यसैगरी सांसद बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा आगामी १० दिनभित्र सूर्यविनायक नगरपालिका-८ जगातीमा सञ्चालनमा आउन लागेको ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा १५ शय्याको हाइ केयर युनिट (एचडीयू) सञ्चालन गर्र्न सरकारले उक्त रकमको व्यवस्था गरेको हो ।

    सरकारले बजेटको व्यवस्था गरे पनि आउन समय लाग्ने भएकाले बजेटको निकासा छिटो गरिदिन वा सोही बजेट बराबरको सामान तत्काल उपलब्ध गराइदिनुपर्ने अस्पतालहरुको माग छ । सङ्घीय सरकारले प्रदेश सरकार मार्फत बजेट पठाउने भएको छ ।
    -रासस

  • रुपन्देहीमा घट्न थाल्यो कोराना संक्रमण दर

    रुपन्देहीमा घट्न थाल्यो कोराना संक्रमण दर

    रूपन्देही । रुपन्देहीमा कोरोना संक्रमितको संख्यामा केही दिनयता कमी आउन थालेको छ ।

    जिल्लामा पछिल्लो २४ घन्टामा १ हजार ३३६ जनाको कोरोना परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो कुल परीक्षणको करिब २८ प्रतिशत हो ।

    रुपन्देहीमा केहीदिन अघि परीक्षणको ५० प्रतिशतभन्दा धेरैमा कोरोना संंक्रमण देखिएको थियो ।स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १६४ जना संक्रमित थपिएका छन् ।

    यस्तै तिलोत्तमा नगरपालिकामा ७६, सिद्धार्थनगर नगरपालिकामा २८,देवदह नगरपालिकामा ३१, सियारी गाउँपालिकामा ११, सैनामैना नगरपालिकामा ३३, ओमसतिया गाउँपालिकामा १०, शुद्धोधन गाउँपालिकामा ९, मायादेवि गाउँपालिकामा ४, कन्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३र३ जना, गैहहवा गाउँपालिकामा २, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा र रोहिणी गाउँपालिकामा १र१ जना संक्रमित थपिएका हुन् ।

    रुपन्देहीमा कोरोनाका कुल संक्रमितको संख्या २३ हजार २५४ पुगेको छ भने १६ हजार २६५ जना निको भइसकेका छन् ।

    अहिले ६ हजार ६२८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरू मध्ये ६ २ सय होम आइसोलेसनमा छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । आइतबार ६०८ जनाको कोरोना परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको थियो ।

  • सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड संक्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् ।

    उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिल्ला समन्वय समितिका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।

    उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गरे ।

    भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँ–टोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको उल्लेख गरे ।

    उनले प्रदेश सरकारको पहिलो प्राथमिकताका साथ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउनका लागि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको पनि जानकारी दिए ।

    उक्त बैठकमा प्रदेश सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले प्रदेशका सबै जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएअनुसार अस्पतालका चिकित्सकले पनि बिरामीलाई सद्भाव व्यवहार प्रदर्शन गरी उपचार सेवालाई निरन्तरता दिनुपर्ने र मन्त्रालयले आवश्यकीय स्रोतसाधन तथा बजेट उपलब्ध गराइएअनुरुप इमान्दारीसाथ काम गर्न आग्रह गरे ।

    उक्त संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको तथा स्थानीय तहहरुमा बिरामीको चापलाई दृष्टिगत गरी आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन मन्त्रालयले निगरानीका साथ कदम अघि बढाएको चर्चा गरेका थिए ।

    प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसीयू कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सेढाईंले जानकारी दिए । उनका अनुसार १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिएका थिए ।
    –रासस

  • कोरोनाभाइरस नेपाल : सोमबार थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु पुष्टि

    कोरोनाभाइरस नेपाल : सोमबार थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९,२४७ जना संक्रमित थपिएका छन् ।

    २२ हजार ८७ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोमबार २१४ जना मृतक थपिएका छन् । ५ हजार ७६७ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

    कूल संक्रमित संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । अहिलेसम्म ५ हजार २१५ जनाले ज्यान गुमाएका छन् ।

    कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –

    • ११३३
    • ९८५१२५५८३९
    • ९८५१२५५८३७

    एम्बुलेन्स सेवाको लागि –

    • १०२

    यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

  • भारतले ल्यायो कोरोनाविरुद्धको ‘२ डीअक्सी’ औषधी, गम्भीर बिरामीलाई पानीमा घोलेर दिन सकिने

    भारतले ल्यायो कोरोनाविरुद्धको ‘२ डीअक्सी’ औषधी, गम्भीर बिरामीलाई पानीमा घोलेर दिन सकिने

    दिल्ली । भारतले कोरोनाभाइरसविरुद्ध प्रभावकारी दाबी गरिएको ‘२-डिअक्सी-डी-ग्लुकोज’ नामक औषधि सार्वजनिक गरेको छ ।

    भारतीय प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था (डीआरडीओ) मुख्यालयमा आयोजित समारोहमा रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्षवद्र्धनले औषधि सार्वजनिक गरे ।

    उक्त औषधिलाई भारतीय औषधि नियामक निकाय (डीसीजिआइ)ले मान्यता प्रदान गरेको छ । भाइरसका गम्भीर बिरामीलाई आपतकालिन अवस्थामा दिन मिल्ने गरि उक्त औषधिको विकास गरेको दाबी गरिएको छ । उक्त औषधिलाई पानीमा घोलेर खान सकिने बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अतिरिक्त अक्सिजनको सहायतामा उपचार गराइरहेका बिरामी र अस्पतालमा भर्ना भएकालाई निको हुन उक्त औषधिले मद्दत गरेको छ । क्लिनिकल परीक्षणमा उक्त प्रमाण भेटिएको दाबी भारतीय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

    भारतको स्वास्थ्य प्रणालीलाई नै चुनौति दिने गरी कोरोनाभाइरस महामारीको दोस्रो लहर फैलिएको बेला यस्तो औषधि विकास गरिएको हो । यो औषधिले अस्पताल बस्नुपर्ने समयावधीलाई पनि घटाउने दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

  • चीनबाट २ दिनमा ९७५ सिलिन्डरसहित १५७ अक्सिजन कन्सन्टेटर जहाजबाट भित्रियो

    चीनबाट २ दिनमा ९७५ सिलिन्डरसहित १५७ अक्सिजन कन्सन्टेटर जहाजबाट भित्रियो

    काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट हिजो (आइतबार) र आज (सोमबार) दुई दिनमा चीनको बेइजिङबाट ९७५ थान अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सन्टेटर आइपुगेको छ ।

    https://twitter.com/PRCAmbNepal/status/1394233179003768833

    थप सामग्री लिन आज र भोलि पुन: उडान भर्ने निगमका प्रबन्ध निर्देशक दिमप्रकाश पौडेलले जानकारी दिए ।

    कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज प्रयोग गरिँदै आइएको छ ।

  • तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

    तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

    काठमाडौं । चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ ।

    भन्सार कार्यालय प्रमुख नारद गौतमका अनुसार ती सामग्रीको जाँचपास प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ ।

    व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र एक ट्रक मास्क बोकेको तीन वटा कन्टेनर नेपाल भित्रिएको हो ।

  • न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो)

    न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो)

    काठमाडौं । सबेरैदेखि गाउँ-टोलमा प्रहरीको साइरन बज्न थाल्छ ।

    दैनिक उपभोग्य सामग्री किनबेचन गर्नेको दूरी व्यवस्थापनदेखि जम्मा हुने भीड तितरबितर पार्नेसम्मको काम उनीहरू बिहानैबाट थाल्छन् ।

    बिहान ७ देखि १० बजेभित्र अत्यावश्यक उपभोग्य सामग्री किनबेचको समय तोकिएको छ । जब यो काम सकिन्छ, त्यसपछि ती प्रहरीको भूमिका फेरिन्छ, व्यवसायिक स्थल बन्द गराउने र उपभोक्तालाई आ-आफ्ना घरतिर फर्काउने ।

    र, यसपछि तिनै प्रहरी सडक-चोकहरूमा कर्डन ड्युटी थापेर सवारी व्यवस्थापन गरिरहेका हुन्छन् ।

    यो क्रम दिनहुँ रातको १०-१२ बजेसम्म जारी रहन्छ ।

    यसरी अहिले देशभर ३४ हजार प्रहरी जनशक्ति कोभिडको दोस्रो लहरपछि जारी निषेधाज्ञा व्यवस्थापनको ड्युटीमा खटिएका छन् । खटिएकामध्ये ५ प्रतिशत प्रहरी आफैँ कोभिडबाट संक्रमित छन् । त्यसैले प्रहरी थप १२ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको बताउँछन्, केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) वसन्तबहादुर कुँवर ।

    तर, कति संख्यामा प्रहरी संक्रमित छन् ? संक्रमितमध्ये कति प्रहरीको स्वास्थ्यस्थिति कस्तो छ ? यसबारे उनले केही बताउन चाहेनन् ।

    ‘यस्तो कुराले ड्युटीमा खटिनेहरूको मनोबल घट्छ, त्यसैले यसबारे कुरै नगरौँ’, कुँवरले नेपाल प्रेससँग भने ।

    अनुमान गर्न सकिन्छ कि, बिहान सबेरैदेखि मध्यरातसम्म दुःख गर्ने यी प्रहरीले आफ्नो परिवार, स्वास्थ्य र समय नभनी काम गरेबापत पक्कै पनि सरकारबाट अतिरिक्त भत्ता वा सुविधा पाएका छन् । तर, प्रहरी प्रवक्ता कुँवर यो कुरा स्वीकार गर्दैनन् । ‘अहिलेसम्म हाम्रो जानकारीमा त्यस्तो केही छैन’, उनले बताए ।

    अर्थात्, अहिले निषेधाज्ञा व्यवस्थापनका निम्ति खटिएका ३४ हजार र स्ट्याण्डबाई राखिएका १२ हजार प्रहरी र अरु प्रहरीले पाउने सेवा, सुविधा उत्तिकै हो, फरक केही छैन ।

    बरु, निषेधाज्ञा व्यवस्थापनमा खटिएका प्रहरीको थप दुःख छ, उनीहरू निर्धक्कसाथ घर जान सक्दैनन् ।

    ‘दिनभरि सयथरिका मान्छेसँग बोलिन्छ, भेटिन्छ । त्यसक्रममा यदि आफूमा कुनै समस्या आएको छ भने आफ्नो समस्याका कारण घर-परिवार पनि समस्यामा पर्ने डर हुन्छ’, उपत्यकास्थित एक प्रहरी वृत्तका इञ्चार्जले भने, ‘घर जान मन लाग्छ, तर रोगको डर छ ।’

    हाकिमहरू को भए संक्रमित ?

    अहिले उपत्यका प्रहरीका प्रमुख (एआईजी) हरिबहादुर पालसहित चार डीएसपी कोभिडको दोस्रो लहरबाट संक्रमित भए । त्यसमध्ये उपत्यका प्रमुख पाल र लैनचौर प्रहरी वृत्तका डीएसपी दिपक खड्का होम क्वारेन्टिनमा रहेरै संक्रमणमुक्त भइसकेका छन् ।

    तर, बालाजु वृत्तका डीएसपी निर्मल बुढाथोकी, परिसरका राजकुमार केसी र नरेन्द्र चन्द संक्रमणका कारण न घर जान सकेका छन्, न त कुनै स्वास्थ्य संस्थामा उपचाररत छन् । उनीहरू कार्यालयकै एउटा कुनालाई होम क्वारिन्टिन बनाएर बसेका छन् । स्वास्थ्यस्थिति सामान्य छ ।

    यस्तै दुःख छ, ट्राफिक प्रहरीलाई । सडक भरिँदा तिनै ट्राफिक, खालि भए पनि उनैलाई भ्याइनभ्याई । यस्तो हुँदा संक्रमणको दर ट्राफिकमा बढी छ । तर, उपत्यका ट्राफिक महाशाखाले यसबारे औपचारिक रूपमा केही बताएको छैन ।

    संक्रमित हुने ट्राफिकलाई उपचारका लागि महाशाखाले रामशाहपथस्थित कार्यालयको पछिल्तिर आइसोलेसन सेन्टर बनाएको छ । त्यहाँ अहिले दुई असईसहित केही जवान र हवल्दार राखिएका छन् ।

    ‘रियल फ्रन्टलाइनर’ प्रहरी सुरक्षाकर्मी जो सडकमा बिहानदेखि रातिसम्म हजारौं व्यक्तिको सीधा सम्पर्कमा रहन्छन् उनीहरूका दुःख कसलाई सुनाउने ? फौजी अनुशासनका कारण न त उनीहरूले सार्वजनिक रूपमा अरुले जसरी आफ्ना दुःख सुनाउन सक्छन्, न त अरुले बुझिदिन्छन् ।

    संक्रमित भएका प्रहरीलाई जटिल प्रकारको स्वास्थ्य समस्या आएमा शुरूमा महाराजगञ्जस्थित प्रहरी अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा पुर्‍याइन्छ । तर, अहिलेसम्म आईसीयू र भेन्टिलेटर चाहिने स्थितिमा कोही पनि प्रहरी संक्रमित नभएको केन्द्रीय प्रवक्ता कुँवरले बताए ।

    संक्रमित प्रहरीलाई श्वासप्रश्वाससम्बन्धी समस्या नआउँदासम्मका लागि समाखुशीस्थित नम्बर २ गणमा आइसोलेसन सेन्टरमा राख्ने गरिन्छ । त्यहाँ आइतबार विभिन्न दर्जाका ५० प्रहरी राखिएका छन् । त्यसरी आइसोलेसनमा राखिएका प्रहरीमा केही इन्स्पेक्टर र बाकी जुनियर अफिसर छन् । प्रहरी आइसोलेसनको यो संख्या घट्दो छ । त्यहाँ तीनदिनअघि ८५ प्रहरी थिए । आइतबार घटेर ५० पुगेको हो ।

    अहिलेसम्म कोही पनि प्रहरी आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने स्तरमा अस्वस्थ भएका छैनन् । श्वासप्रश्वासको समस्या आएमा आइसोलेसनमै अक्सिजनको व्यवस्था गर्ने गरिएको गणका एक अधिकृतले बताए । तर, पछिल्लो समय अक्सिजन सिलिण्डरको विषयलाई लिएर प्रहरी आलोचित भएपछि श्वासप्रश्वासको समस्या आएमा नजिकको अस्पताल लैजान थालिएको छ ।

    अहिले महामारीका बेला सबैभन्दा चर्चित बनेको शब्द छ ‘कोभिडविरुद्ध लड्ने फ्रन्टलाइनर’ । स्वास्थ्यकर्मी,एम्बुलेन्स चालकदेखि स्वास्थ्य तथा औषधीसँग सम्बन्धित सबैले फ्रन्टलाइनरको रूपमा सम्मान पाएका छन् ।

    तर ‘रियल फ्रन्टलाइनर’ प्रहरी सुरक्षाकर्मी जो सडकमा बिहानदेखि रातिसम्म हजारौं व्यक्तिको सीधा सम्पर्कमा रहन्छन् उनीहरूका दुःख कसलाई सुनाउने ? फौजी अनुशासनका कारण न त उनीहरूले सार्वजनिक रूपमा अरुले जसरी आफ्ना दुःख सुनाउन सक्छन्, न त अरुले बुझिदिन्छन् ।

  • स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    स्वास्थ्य सामग्री आयातमा भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई तिब्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

    भर्चुअल रूपमा गरिएको एक कार्यक्रमका बीच अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई केन्द्र, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

    उनले एकातिर कोभिड-१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

    अर्थमन्त्री पौडेलले कोभिड-१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन समेत निर्देशन दिएका छन् ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

    राजस्वसचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी २४ सै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

    भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरिरहेको जानकारी दिए ।

  • भारतमा संक्रमण ओरालो लाग्दै, सोमबार ४ हजारभन्दा बढीको मृत्यु

    भारतमा संक्रमण ओरालो लाग्दै, सोमबार ४ हजारभन्दा बढीको मृत्यु

    दिल्ली । दैनिक ४ लाखभन्दा बढीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भइरहेको भारतमा केही दिनयता संक्रमणदर ओरालो लागेको देखिएको छ ।

    त्यहाँ पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । २५ दिनपछि पहिलोपटक एक दिनमा ३ लाखभन्दा कममा भाइरस पुष्टि भएको हो ।

    संक्रमण कम भएपनि मृत्यु हुने संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ भने सोमबार भारतमा ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमणबाट निको भएका छन् ।

    भारतमा अहिलेसम्म २ करोड ४९ लाख ६५ हजार ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड ११ लाख ७४ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३ सय ९० पुगेको छ ।

  • महामारीमा नेपाललाई स्पेनको सहयोग, अत्यावश्यक सामाग्रीसहित राजदूत काठमाडौं आउँदै

    महामारीमा नेपाललाई स्पेनको सहयोग, अत्यावश्यक सामाग्रीसहित राजदूत काठमाडौं आउँदै

    काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध स्पेनले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।

    स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागिएको र त्यसअनुरुप स्पेनले चाँडै सहयोग गर्ने जानकारी पनि उनले दिइन् ।

    स्पेनले कस्तो खालको सहयोग गर्न लागेको हो भन्ने यकिन भैसकेको छैन । राजदूत शेर्पाले ट्वीट गर्दै महामारविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी छिन् ।

    राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपाललाई अत्यावश्यक मेडिकल सामाग्रीसहित बुधवार त्यहाँबाट काठमाडौंतर्फ आउन लागेको दूतावास स्रोतले जनाएको छ । विमान पनि स्पेन सरकारले नै चार्टर्ड गर्न लागेको हो । नेपाली दूतावासले नेपाल आएका बेला अड्किएका गैरआवासीय नेपालीको विवरण समेत संकलन गरिरहेको बताइएको छ ।

    नेपाललाई मानवीय सहायता सामाग्री हस्तान्तरण गरेर विमान भोलिपल्टै फर्किनेछ । राजदूत शेर्पाले नेपाललाई सहयोगका लागि स्पेन सरकार र त्यहाँका गैरसरकारी निकायहरुसँग पनि पहल गरिररहेकी छन ।

    यसअघि युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

  • लुम्बिनीमा महामारी नियन्त्रणका लागि संघीय सरकारले पठायो ४७ करोड

    लुम्बिनीमा महामारी नियन्त्रणका लागि संघीय सरकारले पठायो ४७ करोड

    रुपन्देही । लुम्विनी प्रदेशमा कोभिडको महामारी नियन्त्रण र उपचारका लागि अर्थमन्त्रालयले करिव ४७ करोड ७ लाख ८५ हजार निकासा दिने भएको छ ।

    द्रूत कार्ययोजनाका साथ खरिद प्रक्रिया अगाडि बढाउने गरी प्रदेशका ४ वटा अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ३४ करोड ६० लाख र ३ वटा अस्पतालमा एचडीयू स्थापनाका लागि १० करोड ४७ लाख ८५ हजार रुपैयाँ निकासा दिने निर्णय भएको हो ।

    अर्थमन्त्रालयका अनुसार बुटवलको लुम्विनी प्रादेशिक अस्पताललाई ९ करोड ८० लाख, भेरी अस्पताल नेपालगन्जलाई १५ करोड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई ६ करोड ८० लाख र भिम अस्पताल भैरहवालाई ३ करोड रकम दिन लागिएको हो ।

    यस्तै एचडीयू स्थापनाका लागि लुम्विनी प्रादेशिक अस्पतालका लागि ६ करोड २५ लाख ४० हजार, तुल्सीपुर अस्पताल दाङलाई ३ करोड १२ लाख ७० हजार र पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताललाई १ करोड ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो

    उक्त रकमबाट लुम्विनी प्रादेशिक अस्पतालमा २ युनिट तुल्सीपुर अस्पतालमा १ युनिट र पृथ्वी चन्द्र अस्पतालमा १० एचडीयू शय्या निर्माण हुनेछ ।

    कोभिडका बिरामीहरुको उपचार गरी रहेका प्रदेशका यी अस्पतालहरुमा भेन्टिलेटर र अक्सिजनको अभाव हुँदा कोभिड संक्रमणका बिरामीहरुको ज्यान गइरहेपछि मन्त्री बिष्णु पौडेलले रकम निकासामा चासो देखाएका थिए ।

    यसअघि सपथग्रहण गरेकै दिन अर्थमन्त्री पौडेलले अस्पतालहरुमा एचडीयू स्थापनाका लागि १ अर्व ३६ करोड ६५ लाख रुपैयाँ निकासा दिने निर्णय सदर गरेर पदबाहली गरेका थिए ।

    योसँगै अर्थ मन्त्रालयले ४ अर्व ३१ करोड रुपैयाँ कोभिड महामारीको नियन्त्रण उपचार र अस्पतालहरुको सुधारका लागि रकम खर्च गर्ने सहमति दिएको थियो ।

    अर्थमन्त्रालयले आइतवार कोभिड–१९ को नियन्त्रण र उपचारका लागि देशभरका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक गरी ३५ वटा अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि २ अर्व ९५ करोड २० लाख बजेट निकासा हुन लागेको हो ।

  • सुदूरपश्चिम प्रदेशमा २१ संक्रमितको मृत्यु , १ हजार भन्दा बढीमा संक्रमण

    सुदूरपश्चिम प्रदेशमा २१ संक्रमितको मृत्यु , १ हजार भन्दा बढीमा संक्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै कैलालीमा ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २-२ जना, बैतडी, अछाम र दार्चुलाका १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हाे ।

    योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३४ पुगेको छ । पछिल्लाे २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ । २४ घण्टामा २ सय १७ जना संक्रमण मुक्त भएका छन् ।

  • स्वाव संकलनको तीन दिनसम्म पाइदैन कर्णालीमा रिर्पोट

    स्वाव संकलनको तीन दिनसम्म पाइदैन कर्णालीमा रिर्पोट

    सुर्खेत । गत शुक्रबार वीरेन्द्रनगर नगरपालिकाले विहानै ६ बजे देखि स्वाव संकलन थाल्यो । कोभिड-१९ सँग मिल्दा जुल्दा लक्षण भएका पाँच सय जनाले उक्त दिन स्वाव दिए । विहान ६ बजेदेखि थालिएको स्वाव संकलन करिब नौ बजेसम्म जारी रह्यो । सकेसम्म सामाजिक दुरी कायम गर्दै स्वाव दिएका नागरिकहरु समयमै नतिजा थाहा नपाउँदा अन्य रोगको औषधी सेवन गर्न थालेका छन् ।

    वीरेन्द्रनगर ८ का अमर नेपाली (नाम परिवर्तन) उनले सोही दिन विहानै स्वाव दिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने, शरिर पुरै दुख्ने लक्षण देखिँदा उनी स्थानीय एक मेडिकलमा गए । त्यहाँ उनलाई टाईफाईडको औषधी प्रयोग गर्न भनेर भनियो तर उनले कोभिड जाँच गरेर मात्रै औषधी सेवन गर्ने भनेका कारण नगरपालिकाको स्वाव संकलन केन्द्रमा लाईन लागेर स्वाव दिए । उनले स्वाव दिएको तीन दिन वित्दा पनि नतिजा के छ भन्ने थाहा पाएका छैनन् ।

    सोही दिन कमला (नाम परिवर्तन)ले पनि स्वाव दिईन । उनी देउती अस्पतालमा उपचार गराइ रहेकी थिईन । कोभिडसँग मिल्दो जुल्दो लक्षण भएका कारण स्वाव जाँच गर्न अस्पतालले उनलाई भन्यो । उनका श्रीमानसहित उनी शुक्रबार विहानै स्वाव दिएर आएपनि हालसम्म रिर्पोट नपाएको गुनासो गर्छिन् ।

    ‘नगरपालिकाले सबैको स्वाव लिने तर जाँच गर्दा मनोमानी रुपमा गर्ने गरेको पाइएको छ । पालो अनुसार जाँच हुनुपर्नेमा पावर र पहुँचका आधारमा पिसिआर जाँच हुने गरेको पाइयो ।’ कमला भन्छिन्, ‘अस्पतालमा बेड खोज्न पावर, स्वावको रिर्पोट थाहा पाउन पावर चाहिने भएपछि आम नागरिकले कसरी उपचार पाउने ?’ उनले कोभिड भए नभएको समयमै जानकारी पाउनु पर्ने भएपनि कोरोनाले निमोनिया भइसकेपछि मात्रै रिर्पोट पाउने अवसथा आउनु दुखद भएको बताईन् ।

    ‘कोरोना भए नभएको वा औषधी उपचार गर्ने बारेमा आवश्यक चेकजाँचको रिर्पोट चाँडो आइदिएको हुन्थ्यो ।’ अमर भन्छन्, ‘यहाँ त मनलाग्दी गर्ने प्रचलन बढेको छ । कोरोना संक्रमण भएको थाहा पाएको भए परिवारका अन्य व्यक्तिबाट टाढा रहन पनि सकिन्थ्यो तर रिर्पोट नै आउन ढिलाई हुँदा यसले परिवारलाई नै जोखिममा पार्ने गरेको छ । राज्यले यसबारेमा ध्यान नदिँदा कोरोना भयावह अवस्थामा फैलिएको छ ।’

    वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इत्रामकी कल्पना थापाले सोही दिन दिएको स्वावको रिर्पोट थाहा पाउन पत्रकार देखि डाक्टरसम्मको सहयोग लिएपनि थाहा पाउन सकिनन् । ‘म आफै एक कर्मचारी पनि हो । मलाई कोरोनको लक्षण मिल्दो जुल्दो छ । साना छोरा छोरी छन् । स्वाव दिएको तीन दिन वित्दा पनि रिर्पोट नपाउँदा तनाव व्यहोर्नुपरेको छ ।’ कल्पना भन्छिन्, ‘कम्तिमा स्वाव लिइसकेपछि पोजेटिभ नेगेटिभ के भएको छ भन्ने जानकारी दिनुपर्नेमा जानकारी नै दिइएको छैन । मेरो भन्दा पछि स्वाव लिएकाहरुको रिर्पोट आइसकेपनि मेरो रिर्पोट आएको छैन । यसले कोभिड फैलिने खतरा बढेको छ ।’ समयमै कोभिडको जाँच नहँुदा नीजि अस्पतालमा जानुपर्ने र त्यहाँ औषधी सेवन गर्नपर्ने बाध्यता आइलागेको उनले गुनासो गरिन् ।

    ‘सरकार कोभिडको जाँच गरेर मात्रै अन्य औषधी सेवन गर्नु भनेर भन्छ तर यहाँ तीन दिनसम्म रिर्पोट पाइदैन । के औषधी नखाएर पीडा सहेर नै हामीले बस्नु ?’ उनी भन्छिन्, ‘राज्य नै यसरी लापरवाही रुपमा अघि बढेपछि कसको के लाग्छ र ? हामी नागरिक त राज्यका लागि केहि पनि होइनौं कि जस्तो लाग्न थालिसक्यो ।’

    यता, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले सामान्यतया एक दिनमै रिर्पोट दिनुपर्ने व्यवस्था रहेको बताए । ‘एक दिनमा नै कोभिडको रिर्पोट दिनुपर्ने हो । हामीसँग पर्याप्त मेसिन नभएका कारण दिन सकिएको छैन ।’ उन भन्छन्, ‘एक दिनमा मुस्किलले साढे चार सयको रिर्पोट निकाल्न सकिन्छ, दैनिक एक हजार बढि स्वाव संकलन भइरहेका छन् । यसले समस्या आएको हो ।’ उनले अटोमेटिक किट नभएको र म्यानुअल स्वाव जाँच गर्नुपर्ने भएका कारण समस्या भएको बताए ।

  • संक्रमितको शव २१ घण्टासम्म व्यवस्थापन नगरिएको आफन्तको गुनासो

    संक्रमितको शव २१ घण्टासम्म व्यवस्थापन नगरिएको आफन्तको गुनासो

    सुर्खेत । कोरोना संक्रमितको मृत्यु दर बढेसँगै कर्णाली प्रदेश अस्पताल कालागाउँमा २१ घण्टासम्म शव व्यवस्थापन हुन नसकेको गुनासो बढ्न थालेको छ ।

    शव व्यवस्थापनका लागि अस्पतालबाहिर कुर्नुपर्ने बाध्यता रहेको बराहताल गाउँपालिका २ हरिहरपुरका कोभिड बाट ज्यान गुमाएका एक मृतकका आफन्तले बताएका छन् ।

    ‘हिजो बेलुका आठ बजे नै हाम्रो आफन्तको कोरोनाका कारण ज्यान गएको हो । उहाँको शव अहिलेपनि अस्पतालकै वेडमा छ । हामी भने उहाँको मृत्यू भइसकेपछि अस्पतालबाट बाहिर निस्केका थियौं । उहाँको अन्तिम संस्कार भएको हेरेर घर फर्कने भनेपनि अहिलेसम्म कुनै व्यवस्था भएको छैन ।’

    प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिका सदस्य पदमा खड्कासँग गुनासो गर्दै ती आफन्तले भने, ‘बाहिर निषेधाज्ञा छ । बजार पूर्ण रुपमा बन्द छ । मृत्यू भएपछि आवश्यक पर्ने सामाग्री पनि कसरी ल्याउने भन्ने पीर बढेको छ ।’

    अस्पततालको वेडमा मृत्यू भएकाहरुको समयमै शव व्यवस्थापन नगर्दा छेउछाउका शय्यामा उपचार गराइरहेका बिरामी पनि त्रसित हुने गरेका छन् । मृत्यू भएकाहरूका बारेमा सकभर थाहै नदिई व्यवस्थापन गर्नुपर्नेमा लामो समयसम्म त्यहीँ राखिदिएकोमा एक कुरुवाले गुनासो गरे ।

    शवको समयमै व्यवस्थापन गर्नुपर्नेमा त्यसो नभएको अनु्गमनका क्रममा पाइएको सांसद खड्काले बताईन । ‘कम्तीमा शवको तत्काल व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले प्रदेश अस्पतालमा चारवटा शवहरु रहेको हामीले अनुगमनका क्रममा पायौं ।’ उनी भन्छिन्, ‘मृतकका आफन्तहरु अहिलेपनि अस्पताल बाहिर कुरिरहेका छन् । वेडमा शव भएका कारण स्वास्थ्यकर्मी, कोभिडका विरामीहरुमा नकारात्मक असर परिरहेको हामीले पाएका छौं ।’

    समितिका अध्यक्ष देवी वलीले अस्पताल प्रशासनलाई कोरोनाका विरामीलाई एकै स्थानमा राखेर उपचार गर्न सुझाव दिएको बताईन । ‘एकै स्थानमा उपचार गर्ने, अस्पतालमा मृत्यू भएकाहरुको शव तत्काल व्यवस्थापन गर्ने र उपचारको माध्यमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव हामीले दिएका छौं ।’

    प्रमुख जिल्ला अधिकारी छवि रिजालले अस्पतालमा सेनाले शव व्यवस्थापन गरिरहेको जानकारी दिए । ‘हरेक दिन दिउँसो दुई बजेपछि सेनाले शव व्यवस्थापन गर्दै आइरहेको छ ’ उनी भन्छन्, ‘अब शव गृहमा राख्ने गरी व्यवस्थापन मिलाउँछौं । स्वास्थ्यकर्मी र अन्य बिरामीमा हुने मनोवैज्ञानिक त्रासलाई कम गर्न हामी पहल गर्छौं ।’

    सीडिओ रिजालले अनुसार मृत्यु भएकाहरूका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न जाँदा प्रहरीले नरोकेको बताए ।

  • टेकु अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

    टेकु अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

    काठमाडौं । अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ ।

    आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो ।

    अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बताए ।

    ८०÷९० हजार मुल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्रेटर अस्पताललाई दिइएको अध्यक्ष अवालले जानकारी दिए ।

  • गण्डकीमा २४ घन्टामा २८ जना संक्रमितको मृत्यु

    गण्डकीमा २४ घन्टामा २८ जना संक्रमितको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु भएको छ । यो कोरोनाबाट मृत्यु हुनेहरुमा हालसम्मकै उच्च संख्या हो ।

    मृत्यु हुनेमा गण्डकीकामात्रै नभई देशका विभिन्न जिल्लाबाट पोखरा उपचार गर्न आएका संक्रमितहरु समेत छन् ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मुत्यु हुनेहरुमा स्याङजाका बढी छन् ।

    पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा स्याङजाका ७, कास्की ६, तनहुँ ३, लमजुङ र नवलपरासीका २÷२ जनासहित काठमाडौं, रुपन्देही, मुस्ताङ, बागलुङ, गोरखा, दाङ, म्याग्दीका एकएक जना छन् ।

    मृत्यु हुनेमा ३३ देखि ९१ वर्ष उमेर समूहका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

  • कैलालीमा ३ संक्रमितको मृत्यु, ४१६ जना संक्रमित थपिए

    कैलालीमा ३ संक्रमितको मृत्यु, ४१६ जना संक्रमित थपिए

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा धनगढीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी २,५ र ६ का तिन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

    पछिल्लो २४ घण्टामा जिल्लामा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७४७ जनाको परिक्षण गर्दा कैलालीका ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका भित्रका १३८ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका अन्य स्थानीय तहमा २७८ जना संक्रमित भएका छन् ।
    कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

    अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १०८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १५ जना आइसियुमा छन् । पछिल्लो २४ घण्टामा १ जना निको भएका छन् भने ४ जना अस्पताल भर्ना भएका छन् ।

  • मध्यपूर्वका प्रवासी नेपालीद्वारा ५६० थान अक्सिजन सिलिन्डर सहयोग

    मध्यपूर्वका प्रवासी नेपालीद्वारा ५६० थान अक्सिजन सिलिन्डर सहयोग

    काठमाडौं । मध्यपूर्वमा बसोबास गरिरहेका नेपालीले ५६० अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एनआरएनएका अध्यक्ष कुमार पन्तले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई सिलिन्डर हस्तान्तरण गरे ।

    सरकारलाई सहयोग गरिएका ती सिलिन्डर सुदूरपश्‍चिम र कर्णाली प्रदेशका लागि एक/एक सय, लुम्बिनीका लागि २००, प्रदेश २ का लागि ८५ र गण्डकीमा ७५ थान वितरण गरिदिन अनुरोध गरिएको छ ।

  • आजदेखि चिनियाँ खोपको दोस्रो डोज लगाउन शुरु, कहाँ-कहाँ छ खोप केन्द्र ?

    आजदेखि चिनियाँ खोपको दोस्रो डोज लगाउन शुरु, कहाँ-कहाँ छ खोप केन्द्र ?

    काठमाडौं । कोभिड- १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८र०१र२२ गतेको निर्णय अनुसार आइतबारदेखि चिनियाँ भेरोसेल खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य कार्यालयले आज काठमाडौं महानगर सहित ९ वटा पालिकाहरुमा खोप केन्द्रबाट दोस्रो डोजको खोप लगाँदैछ ।

    यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप (भेरोसेल दोश्रो मात्रा) लगाउने कार्यक्रम रहेको छ ।
    कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम खोप लगाइने छ । यसअघि खोप लगाएकाहरुलाई भेरोसेल दोश्रो मात्रा लगाइने छ ।

     

  • भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

    भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

    रुपन्देही । रुपन्देहीको बेलहिया नाका भारतसँग जोडिएको नेपालको दोस्रो ठूलो नाका हो । बीरगन्जपछिको दोस्रो ठूलो नाकाको रुपमा रहेको यो नाका गतवर्षको लकडाउनमा पनि चलिरहेको थियो अहिले पनि उस्तै भीडभाड रहेको छ ।

    पूर्णरुपमा नागरिकलाई आउनजान रोकिए पनि भारतबाट नेपाल आउने नेपाली, परिचय पत्र भएका भारतीय नागरिक र भारतबाट नेपाल आउने मालबाहक सवारीसाधनलाई कुनै रोकतोक छैन ।

    सीमा नाकामा भारतबाट आउने नागरिकलाई केही मात्रामा परीक्षण गरिए पनि सवारी साधनमार्फत आउने कसैको पनि एन्टिजेन परीक्षण नहुने गरेको पाइएको छ ।

    नाकाबाट प्रवेश पाएका त्यस्ता सवारीसाधन माल ढुवानीका लागि मुलुकका विभिन्न सहरमा निर्वाध पुग्दा यसले कोरोना भाइरसको संक्रमण बढाएको छ । भारतबाट आउने कुनै मालबाहक सवारीसाधनलाई नेपालमा मालसामान ढुवानी गरेर फर्किन कम्तीमा पाँचदेखि १५ दिन समय लाग्छ । यो बीचमा सवारीसाधनका चालक, सहचालकको कैयौं ठाउँमा सामाजिक घुलमिल हुन्छन् ।

    भारतबाट आउने मानिसको जाँच गर्न नाकामा राखिएको हेल्थडेक्सले मालबाहक सवारीसाधनमा आउनेको परीक्षण गर्दैन । स्थानीय प्रशासनले क्वारेन्टिनका रुपमा मालबाहक सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए पनि भन्सार कार्यालयले त्यो पालना गरेको छैन ।

    महामारीको अवस्थामा मुख्य भन्सार नाकाहरुबाट अत्यावश्यक सामानमात्र ढुवानी हुनुपर्छ । बाँकी सबैको परीक्षणपछि मात्रै विभिन्न जिल्लाहरुमा ढुवानीको अनुमति दिए भाइरस संक्रमण जोखिम कम हुन्छ ।

    संक्रमण नियन्त्रणमा गरेकोे हेलचेक्र्याइँका कारण बेलहिया भन्सारमा रहेका १९ जना कर्मचारी संक्रमित भइसकेका छन् । संक्रमित कर्मचारी बढ्दै जान थालेपछि प्रज्ञापनपत्र पास गर्न जनशक्ति अभाव देखिएको भैरहवा भन्सारका सूचना अधिकारी तीर्थराज पासवान बताउँछन् ।

    बेलहिया नाका हुँदै दैनिक तीनदेखि सय मालबाहक गाडी अहिले नेपाल भित्रिरहेका छन् । यी गाडीका चालक र सहचालक गरी दैनिक सात आठ सय भारतीय विना परीक्षण नेपाल प्रदेश गरिरहेका छन् । जाँच बिना नेपाल प्रवेश गरिरहेका चालकहरु संक्रमणमुक्त छन् भन्ने कुनै ग्यारेन्टी पनि छैन ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले सीमा क्षेत्रमा राखिएका हेल्थ डेस्कले पैदलमार्गबाट आउने नेपालीको परीक्षण गरिए पनि मालबाहक सवारीसाधनका विषयमा धेरै ध्यान पुग्न नसकेको बताए । उनले यसका लागि भन्सार कार्यालयमा प्रज्ञापन पत्र लिने, जाँचपास लिने समयमा सवारीसाधन तथा यसका कर्मचारीलाई निर्मलीकरण तथा चेकजाँच गर्न आवश्यक रहेको बताए ।

  • आफूखुसी औषधि खाँदा संक्रमितको अवस्था जटिल बन्न थालेकोमा चिकित्सकको चिन्ता

    आफूखुसी औषधि खाँदा संक्रमितको अवस्था जटिल बन्न थालेकोमा चिकित्सकको चिन्ता

    रुपन्देही । निजी स्वास्थ्य संस्थाहरुबाट आफूखुसी औषधि लिएर प्रयोग गर्दा कोरोना संक्रमितको अवस्था थप जटिल बन्दै गएकोमा चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् । सामान्य लक्षणका आधारमा कोरोना परीक्षण नगराई कडाखाले औषधि मेडिकलबाट लिएर प्रयोग गर्न थालेपछि केही संक्रमितहरु थप गम्भीर बनेको उनीहरुको निर्क्याेल छ ।

    आफूलाई पायक पर्ने मेडिकलबाट टाइफाइडको औषधि सेवनले कोरोना संक्रमितको वास्तविक अवस्था पत्ता नलागेको र परीक्षणबिना दिइने औषधिले फोक्सोमा जटिल समस्या देखिन थालेको र निमोनियाका कारण धेरैले ज्यान गुमाउनपरेको उदाहरण चिकित्सकले भेट्टाउन थालेका छन् ।

    कोरोना विशेष अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले संक्रमणको शंका लागेकाहरुले यथासक्य छिटो परीक्षण गर्न र छातीको एक्सरेलगायतका अन्य परीक्षण गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सुझाव दिन्छन् । उनले संक्रमित बिरामी तथा उनीहरुका आफन्तले आफूखुसी औषधि सेवन गराउँदा यसले अन्य असर गरिरहेको बताउँछन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. राजेन्द्र खनालले परीक्षविना मेडिकलबाट लिइने औषधिले धेरैलाई जटिल समस्या ल्याएको बताउँछन् । ‘डक्टरको सिफारिसबिना नै औषधि लिने, मात्रा नमिलाउने, आफूखुसी अक्सिजन लिएर प्रयोग गर्ने गरेका कारण केही जटिल समस्या आउन थालेका छन् यसमा सबैले ध्यान पुर्‍याउन आवश्यक छ,’ उनले भने ।

    पश्चिम नवलपरासीमा आउने अधिकांश संक्रमित बिरामीले सुरुमा टाइफाइडको औषधि सेवन गरेको पाइएको चिकित्सकहरुको भनाइ छ । टाइफाइड र कोरोनाको लक्षण उस्तै हुने भएकाले मेडिकलहरुले कोरोनाको परीक्षण नगराई औषधि दिँदा बिरामीहरुको अवस्था जटिल हुँदै गएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. राजकुमार गुप्ताले बताए ।

    मेडिकलहरुले कडाखाले औषधि र सुईसमेत प्रयोग गर्ने भएकाले बिरामीहरुको अवस्था जटिल अवस्थामा पुगेको हो । त्यसरी औषधि सेवन गरेका बिरामीहरु ५/७ दिनपछि अस्पताल आउने र परीक्षण गर्दा कोरोना पुष्टि हुने गरेको अस्पतालले जनाएको छ ।

    लक्षण देखिने बित्तिकै परीक्षण गराए सोही अनुसारको औषधि चलाएर निको गराउन सकिने भए पनि कडाखाले औषधि पहिल्यै सेवन गरेकाले समस्या आई धेरैको मृत्यु हुने गरेको डा. गुप्ताले आफ्नो अनुभव सुनाए ।

    अस्पतालमा आउने आधाभन्दा बढी बिरामीहरु टाइफाइडको औषधि प्रयोग गरेर आउने र उनीहरुलाई आइसोलेसनमा भर्ना गरे पनि धेरैलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । मेडिकल सन्चालकहरुलाई त्यसबारे सचेत नगराए कोरोनाको अवस्था भयावह हुने र मृत्युदर पनि बढ्नसक्ने डा. गुप्ताको चेतावनी छ ।

    लक्षण देखिएमा कोरोना परीक्षण नगराई कडाखाले औषधि नदिन मेडिकलहरुलाई चिकित्सकहरुले अनुरोध गरिरहेको लुम्बिनी चिकित्सक संघका सचिव डा. सागर न्यौपाने बताउँछन् ।

    उनले परीक्षणका लागि विभिन्न स्थानमा प्रयोगशाला बनिरहेकाले यस्तो विषयमा गम्भीर बन्न र आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । उनले यसरी परीक्षणबिना लिएका औषधिले पार्ने असरका विषयमा मेडिकल सन्चालकहरु पनि सचेत हुनुपर्ने र शंका लागेका व्यक्तिहरुलाई तत्काल आइसोलेटेट भएर बसाउन र जतिसक्दो छिटो परीक्षण गराउन सबैले ध्यान दिन आग्रह गरेका छन् ।

    तुलनात्मक रुपमा खोप लगाएकाहरु धेरै सुरक्षित देखिए पनि धेरै संख्यामा खोप नपुगेको, स्वास्थ्य मापदण्ड मालनामा नागरिकले धेरै ध्यान नदिएकाले समुदायस्तरको संक्रमणले भयावह अवस्था ल्याउनसक्ने भएकाले थप सचेत रहन डा. न्यौपानेले आग्रह गरेका छन् ।

  • घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह

    घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना जारी गर्दै सर्वसाधारणलाई आफूसंँग भएका सिलिण्डर नजीकैका अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरिएको छ ।

    अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग र ७ हजार २०० सिलिण्डर उत्पादन हुने गरेको छ ।

  • कोरोनाभाइरस नेपाल : शनिबार ८१६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु

    कोरोनाभाइरस नेपाल : शनिबार ८१६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु

    काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    १८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार १ सय ८७ जना मृतक थपिएका छन् । ५ हजार ४५५ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ । ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

    सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

  • अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

    अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताए ।

    नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौं तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ ’, उनले भने, ‘अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’

    शुरुमा १ सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिए ।

  • भारतमा शनिबार ३,८९० को मृत्यु, ३ लाख २६ हजार संक्रमित थपिए

    भारतमा शनिबार ३,८९० को मृत्यु, ३ लाख २६ हजार संक्रमित थपिए

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणले शनिवार भारतमा ३ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

    ३ लाख २६ हजार ९८ जनामा नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५३ हजार २ सय ९९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित संख्या २ करोड ४३ लाख ७२ हजार ९ सय सात पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २ करोड ४ लाख ३२ हजार ८ सय ९८ रहेको छ ।

    भारतमा कोरोनाले अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ६६ हजार २ सय ७ को मृत्यु भइसकेको छ भने सक्रिय संंक्रमित ३६ लाख ७३ हजार ८ सय २ जना रहेका छन् ।

  • डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोगको जरुरी

    डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोगको जरुरी

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

    शुक्रबार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

    उनले नेपालसहितका देशहरु संक्रमणसँग जुध्न उच्च संघर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगालाई निरन्तरता दिनेछ ।’