Category: स्वास्थ्य-जीवनशैली

  • राउन्ड टेबल नेपालद्वारा २५ लाखको स्वास्थ्य उपकरण प्रदान

    राउन्ड टेबल नेपालद्वारा २५ लाखको स्वास्थ्य उपकरण प्रदान

    काठमाडौं । सामाजिक संस्था राउन्ड टेबल नेपालले अस्पतालहरुलाई कोभिड-१९ महामारीविरुद्ध २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

    प्रोजेक्ट लाइफलाइन कार्यक्रम अन्तर्गत संस्थाले जरुरी स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराएको हो । कोभिड बिरामीको उपचारका लागि जरुरी हुने BiPaP र HFNC उपकरण निःशुल्क उपलब्ध गराइएको हो ।

    भेन्टिलेसन थेरापीको एउटा प्रकार मानिने BiPaP कोभिड बिरामीलाई श्वासप्रश्वासमा सजिलो तुल्याउने एउटा उपकरण हो । एकसाता अघि सुरु भएको प्रोजेक्टअन्तर्गत संस्थाले अहिलेसम्म २५ वटा उपकरण वितरण गरिसकेको छ ।

    डोल्पाको दुनै जिल्ला अस्पताल, मुगुको गमगढी जिल्ला अस्पताल, कालिकोट जिल्ला अस्पताल, हुम्ला जिल्ला अस्पताल, जाजरकोट जिल्ला अस्पताल, भैरहवाको भीमा अस्पताललाई एकएक थान BiPaP उपकरण प्रदान गरिएको छ ।

    बुटवलको सिद्धार्थ महिला तथा बालबालिका अस्पताल, पाटन अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पताललाई २-२ BiPaP उपलब्ध गराइएको छ ।

    सशष्त्र प्रहरी अस्पताललाई ५, नेपाल प्रहरी अस्पताललाई ५, जे एन्ड जे क्लिनिकलाई १ र बीर अस्पताललाई २ थान BiPaP निःशुल्क भाडामा दिइएको जनाइएको छ ।

    प्रोजेक्ट लाइफलाइन कार्यक्रम अन्तर्गत ५० उपकरण देशभरका अस्पतालमा वितरण गर्ने तयारी गरिएको छ ।

  • चीनको सिचुवानका संस्थाद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

    चीनको सिचुवानका संस्थाद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । चीनको सिचुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडीआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पीपीइ छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड-१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुबै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रबद्र्धन गर्ने विश्वास दिलाए ।

    यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्बन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उनको भनाइ थियो ।

    अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ् यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कैयौं परियोजना सञ्चालन गरेको जानकारी दिँदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाँईमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    सो अवसरमा जनमैत्री संघका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागीता रहेको महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • सुनकोशी गाउँपालिका आफैंले अक्सिजन प्लान्ट स्थापना गर्दै

    सुनकोशी गाउँपालिका आफैंले अक्सिजन प्लान्ट स्थापना गर्दै

    सिन्धुपाल्चोक । अक्सिजनमा सिन्धुपाल्चोकलाई आत्मनिर्भर बनाउने र कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

    सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरूमा गएर अक्सिजन प्लान्ट भर्दा निकै समस्या भएपछि गाउँपालिकाले विभिन्न सहयोगी संघ संस्थासँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

    सुनकोशी गाउँपालिकाको कार्यपालिकाको बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने औपचारिक निर्णय गर्दै प्रक्रियासमेत अघि बढाएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

    सम्भवतः देशभरका स्थानीय सरकार मध्ये सुनकोशी गाउँपालिकाले यसरी आफ्नै पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको यो पहिलो भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए ।

    गाउँपालिकाले वडा नम्बर-६ को थुम्पाखरमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकाले एनसिसी बैंक, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, क्षमादेवी व्यावसायिक समूह लगायत अन्य सहयोगी व्यक्ति र संघ संस्थासँग पनि अक्सिजन प्लान्टको लागि सहकार्य गर्न लागेको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अक्सिजन प्लान्ट निर्माणका लागि बैंक लगायत अन्य संघ संस्थाहरूसँग समन्वय गरिदिएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । एनसिसी बैंक सञ्चालक समितिमा बस्नेत पनि सदस्य छन् ।
    अहिलेको यो महामारीमा जुध्न र भविष्यमा हुने संकटमा समेत अक्सिजन प्लान्ट स्थापना भएपछि एउटा पूर्वाधारको रुपमा यसले जिल्लाबासी र छिमेकी जिल्लाहरुलाई समेत सहयोग पुग्ने अध्यक्ष जिसीले बताए ।

    सुनकोशी गाउँपालिकाको समन्वयमा स्थापना हुने अक्सिजन प्लान्टबाट गाउँपालिकाको स्वास्थ्य संस्थामा मात्रै नभएर जिल्लाभर वितरण हुने र अन्य जिल्लामा समेत अक्सिजन प्रदान गर्न सक्ने गरेर अक्सिजन प्लान्टको लागि बजेटको स्रोत सुनिश्चित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

    प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट निर्माण गर्दै
    बागमती प्रदेश सरकारले पनि सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट र पीसीआर मेसिन राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । सदरमुकाम चौतारामा रहेको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको बागमती प्रदेश सरकारका पर्यटन, उद्योग वन तथा वातवरण मन्त्री सरेश नेपालले जानकारी दिए ।

    अक्सिजन प्लान्ट र पीसीआर मेसिन जडानका लागि प्रदेश सरकारले टेण्डर समेत आह्वान गरिसकेको छ । अक्सिजन प्लान्टका लागि केन्द्र सरकारले समेत प्रदेश सरकारलाई ७५ लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो ।

  • दश अमेरिकी कम्पनीद्वारा सहायता प्रदान, काठमाडौं आइपुग्यो ८६० थान अक्सिजन कन्सनट्रेटर (तस्विरहरु)

    दश अमेरिकी कम्पनीद्वारा सहायता प्रदान, काठमाडौं आइपुग्यो ८६० थान अक्सिजन कन्सनट्रेटर (तस्विरहरु)

    काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध दशभन्दा बढी विश्वचर्चित अमेरिकी कम्पनीले नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराएका छन् ।

    ती संस्थाले उपलब्ध गराएको ३५ टन स्वास्थ्य सामग्री लिएर डाइरेक्ट-रिलिफको चार्टर्ड जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो ।

    सिकागोबाट काठमाडौंसम्म ल्याइएका ती स्वास्थ्य सामाग्रीमा ८६० थान अक्सिजन कन्सनट्रेटर र पीपीई समावेश छन् । उपलब्ध मेडिकल सामग्रीलाई सिद्धस्थली ग्रामिण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न समेत प्रयोग गरिने भएको छ ।

    विश्वचर्चित अमेरिकी कम्पनीहरु फाइजर, ३एम, एबभाइ, ब्याक्स्टर, बीडी, हिक्मा फार्मास्युटिकल्स, टाकेडा फार्मास्युटिकल्स, तेभा फार्मास्युटिकल्स, टाइफाइ ह्युमानिटेरियन, भायट्रिज र अन्य कम्पनीले सहायता उपलब्ध गराएका हुन् ।

    डाइरेक्ट रिलिफका अध्यक्ष तथा सीइओ थोमस टीगेले नेपाली साझेदारसँग मिलेर यस्तो संकटको बेला काम गर्न पाउँदा खुशि लागेको बताएका छन् । ल्याइएका सामग्रीलाई सीसीएमसी, धुलिखेल अस्पताल, वान हार्ट वल्र्डवाइड लगायतलाई प्रदान गरिने भएको छ ।

    नेपालमा सामग्री ल्याएर आएको उक्त जहाजले भारतमा समेत स्वास्थ्य सामग्री ल्याएको थियो । अमेरिकास्थिती नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै सहायताका लागि धन्यवाद दिएको छ ।

    तस्विर : प्राञ्जल शर्मा

  • कोरोनाभाइरस नेपाल : शुक्रबार ६,९५१ संक्रमित थपिए, ९,८४१ जना निको

    कोरोनाभाइरस नेपाल : शुक्रबार ६,९५१ संक्रमित थपिए, ९,८४१ जना निको

    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ६,९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।

    निको हुने संख्यामा वृद्धि भएको छ । ९८४१ जना निको भएका छन् । निको हुने दर ७८.०७ प्रतिशत पुगेको छ ।

    सक्रिय संक्रमित संख्या पनि ओरालो लागेको छ । १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् ।

    कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । कूल मृत्यु संख्या ७ हजार ४७ पुगेको छ । कूल निको हुने संख्या ४ लाख २८ हजार पुगेको छ ।

  • स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही गर्न स्वास्थ्य मन्त्रालयको माग

    स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाही गर्न स्वास्थ्य मन्त्रालयको माग

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँकतै कसैले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ ।’

     

  • स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

    स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको जनाएको छ ।

    ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    बिहीबार राति भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको स्थानीय प्रशासनलाई उदृत गर्दै गृह मन्त्रालयले जनाएको छ ।

    घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय छानविन समिति पनि गठन भइसकेको गृह प्रवक्ता दाहालले बताए । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका जनाइएको छ ।

  • स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

    स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त

    काठमाडौं । कोभिड १९ महामारीपछि नियमित अपडेट गर्ने जिम्मेवारीका कारण चर्चामा रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा अब डा. कृष्ण पौडेल देखिने भएका छन् ।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो।

    यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालको प्रमुख भएपछि उनको ठाउँमा डा. पौडेललाई शुक्रबार मन्त्रीस्तरीय बैठकले नियुक्त गरेको हो ।

    डा. पौडेल स्वास्थ्य मन्त्रालयका काबिल अफिसर मानिन्छन् । उनी यसअघि कान्ति बाल अस्पतालको प्रमुख पनि थिए । बाल स्वास्थ्य समूहका विशेषज्ञ उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन् ।

  • अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

    अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक भन्छन्- नेपालमा खोप ढिलो भएकोमा दु:खी छु

    काठमाडौं । अक्स्फोर्ड प्रोफेसर एन्ड्री जे. पोलार्डले नेपालमा कोरोनाविरुद्धको खोप ढिलो भएको देख्दा आफू दु:खी भएको बताएका छन् ।

    नेपाली टाइम्समा आलेख लेख्दै प्रोफेसर पोलार्डले गुनासो गरेका हुन् । उनी अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशक हुन् । सन् २०२० को अप्रिल २३ बाट शुरू भएको अस्ट्राजेनेका खोपको क्लिनिकल ट्रायलको नेतृत्व उनैले गरेका थिए । पोलार्डले बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा २४ हजार स्वयंसेवकसमेत परिचालन गरेका थिए ।

    ‘यो वर्ष म पर्वतारोहीको रूपमा नेपाल गएको ३० वर्ष पुग्छ’, उनी लेख्छन्, ‘मैले जब अस्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज काठमाडौमा लाएको देख्दा मलाई अत्यन्तै गौरव लागेको थियो । तर, थप आपूर्ति नभएको सुन्दा म दु:खित भएको छु ।’

    पाटन अस्पतालको रिसर्चरहरूसँग १६ वर्षनजिक रहेर काम गरेको उनले बताएका छन् ।

    अस्ट्राजेनेकाले हाल १६० देशमा ४५ करोड डोज खोप बनाएको बताएका प्रोफेसर पोलार्डले लेखेका छन्, ‘भारतको सेरम इन्ष्टिच्युट बनाएको कोभिसिल्ड पनि अक्सफोर्ड एक भर्सन हो जुन नेपाल लाउनुपर्ने थियो । तर, भारतमा अत्यावश्यक भएकोले विलम्ब भएको छ ।’

  • कोरोना अपडेट : निको हुने दर बढ्यो, ७२०० संक्रमणमुक्त

    कोरोना अपडेट : निको हुने दर बढ्यो, ७२०० संक्रमणमुक्त

    काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको हुने प्रतिशत बढेर ७७ दशमलब २ पुगेको छ । 

    ६ हजार ९ सय ३९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार थप १ सय ५ जनाको मुत्यु भएको छ । 

    २० हजार ४ सय १४ पीसीआर र ५ सय ४८ जनाको परीक्षण गर्दा संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १७ सय ३८ जना थपिएका छन् ।

    हालसम्म संक्रमण पुष्टि भएकाको संख्या ५ लाख ४२ हजारभन्दा बढी छ । ४ लाख १८ हजारभन्दा बढी निको भएका छन् । 

     

  • नर्भिक अस्पतालमा पोस्ट-कोभिड क्लिनिक सुरु

    नर्भिक अस्पतालमा पोस्ट-कोभिड क्लिनिक सुरु

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गरेको छ ।

    अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि विशेषज्ञसहितको क्लिनिकको सुरुवात गरेको छ ।

    सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा कोभिड संक्रमण निको भएको लामो समय पछि पनि धेरैलाई शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको छ । यस्ता समस्या हुनेहरु नर्भिक अस्पतालमा उपचार लिन सकिने बताएका छन् ।

     

     

  • काठमाडौंका तीन स्थानमा बर्डफ्लु संक्रमण

    काठमाडौंका तीन स्थानमा बर्डफ्लु संक्रमण

    काठमाडौं । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका-२ का तीन स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो ।

    उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

    उनका अनुसार उक्त स्थानमा संक्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ ।

    उक्त क्षेत्रबाट ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको थियो । पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

    यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमितरुपमा निःसंक्रमणमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्री स्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ । यसअघि काठमाडौंको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो ।

    -रासस

  • कोरोना संक्रमितलाई टोल-टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष

    कोरोना संक्रमितलाई टोल-टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष

    पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर औषधी वितरण शुरु गरिएको छ ।

    गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास , सेतिदोभान र फापरथुमका संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

    गाउँपालिका अध्यक्ष आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेद कार्यालयका स्याङ्जाका कर्मचारी सहितको टोलीले होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण गरेको हो ।

    टोलीले संक्रमितहरूलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । संक्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिन युक्त औषधि वितरण गर्दा उनीहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।

    गाउँपालिकाबासीको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । कोरोनालाई नै लक्षित गरेर कोभिड-१९ अस्थायी अस्पताल सेतिदोभानमा २० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माणको तयारी गरिरहेको र आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च पनि गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष पौडेलले बताए ।

    यसअघि पनि सङ्क्रमितहरूको घरमै गएर उनीहरूको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको गाउँपालिकाले बताएको छ । आँधीखोला वडा नं १ पंचमुलमा ३६ जना, वडा नं २ चिलाउनेबासमा मा २१ जना , वडा नं ५ सेतिदोभानमा ४५ जना र वडा नं ६ फापरथुम १० जना कोरोना संक्रमित रहेका छन् ।

    कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधिको रूपमा चिकित्सकसँगको सल्लाह बमोजिम मात्रै आयुर्वेदिक औषधि वितरण गरिएको हो । औषधि वितरण सँगै बिरामीको अवस्था बुझ्ने, उनीहरूको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको आयुर्वेद कार्यालयका स्याङ्जाले बताएको छ ।

    बुधवार ८० जना कोरोना संक्रमितलाई अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्चीको मिश्रण गरी दुई किसिमको आयुर्वेदिक औषधि वितरण गरिएको हो ।

  • प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै

    प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै

    जनकपुरधाम । प्रदेश २ सरकारले पत्रकारलाई अवैधरूपमा निर्माण भएको ह्याण्ड स्यानिटाइजर वितरण गरेको पाइएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिको पहलमा प्रदेश सरकारले ८ सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

    दुई वटा ह्याण्ड स्यानिटाइजर, मास्क, फेस सिल्ड र ग्लोब्ससहितको स्वास्थ्य सामग्री प्याकेजमा राखेर बाँडिएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले चार दिन अगाडि नेपाल पत्रकार महासंघ प्रदेश कमिटीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको र अहिले महासंघले जिल्ला शाखामार्फत् पत्रकारहरूलाई वितरण भइरहेको छ ।

    उक्त प्याकेजमा पर्साको आरसीपी इन्डस्ट्रिजमा उत्पादित १ सय एमएलको २/२ वटा ह्याण्ड स्यानिटाइजर राखिएको छ । जुन ह्यान्ड स्यानिटाइजर नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन भएकोबारे स्पष्ट छैन । औषधी व्यवस्था विभागले जारी गरेको सूचना अनुसार आरसीपी इन्डस्ट्रिज कुनै निकायमा दर्ता छैन ।

    औषधी व्यवस्था विभागले ६१ उद्योगको ह्याण्ड स्यानिटाइजर मात्र प्रयोग गर्न भनेको छ । तर, त्यो सूचीमा प्रदेश सरकारले पत्रकारलाई बाँडेको स्यानिटाइजर उत्पादन गरेको आरसीपी इन्डस्ट्रिज सूचिकृत छैन । दर्ता नरहेका कम्पनीले मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा ल्याएकोले त्यस्तो स्यानिटाइजर खरिद बिक्रीमा विभागले रोक लगाएको छ ।

    औषधि विभागबाट अनुमति नलिएको उद्योगको ह्याण्ड स्यानिटाइजर प्रदेश सरकारले पत्रकारलाई बाँडेर स्वास्थ्यसँग खेलवाड गरिरहेको स्पष्ट हुन्छ । तर, यस विषयमा धेरै पत्रकारहरू नै अनभिज्ञ देखिएका छन् । पत्रकार महासंघ प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘हामीलाई उपलब्ध गराएको स्यानिटाइजर गुणस्तरहीन हो वा होइन् थाहा भएन । म यसबारे बुझ्छु ।’

    पत्रकारलाई उपलब्ध गराएकै स्यानिटाइजर प्रदेश सरकारले कर्मचारी, स्वास्थ्यकर्मी र अन्य सम्बन्धित निकायलाई पनि वितरण गरेको छ । आश्चर्य त के भने अहिलेसम्म उक्त ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन हो कि होइन भन्ने कुरामा कसैको ध्यान छैन । स्वास्थ्यजस्तो जटिल विषयमा प्रदेश सरकार जस्तो जिम्मेवार निकायको उदाशीनता स्पष्ट रूपमा झल्किन्छ ।

    गुणस्तरहीन स्यानिटाइजर वितरण गरेको विषयमा बुझ्न प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री यादवसँग पटक-पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

  • कोरोना जोखिम : सहरमा घट्दो, गाउँमा बढ्दो

    कोरोना जोखिम : सहरमा घट्दो, गाउँमा बढ्दो

    काठमाडौं । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार ६ हजार ७ सय १४ जना मात्र नयाँ संक्रमित थपिए । मंगलबारसम्म संक्रमणदर स्थिर जस्तै थियो । यो तथ्यांकले देशभर कोरोना संक्रमणको संख्या घट्दै गइरहेको बुझाउँछ ।

    काठमाडौं उपत्यकामा पनि १४ सय ९३ मात्र कोरोना संक्रमित थपिए । मंगलबारको तुलनामा यो धेरै कम हो । जबकि मंगलबार उपत्यकामा २ हजार ६ सय १३ संक्रमित थपिएका थिए ।

    केही दिन यता काठमाडौं उपत्यकाका अस्पताहरूमा पनि कोरोनाका बिरामीका चाप घटिरहेका छन् । अस्पतालहरूका अनुसार हप्तादिन यता संक्रमितको चाप घटेपछि बेडहरू उपलब्ध हुन थालेका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हप्तादिनअघिसम्म पनि बिरामीको चाप थेगिनसक्नुको थियो । अक्सिजन र बेड अभावका कारण आकस्मिक कक्षको गेटबाटै बिरामी फर्काउनुपरेको बाध्यता अस्पतालको थियो । तर अहिले संक्रमित बिरामीको संख्या घट्दै गएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।

    उनका अनुसार उपत्यका र उपत्यका बाहिरबाट बिरामी आइरहे पनि भर्ना नलिई फर्काउनुपरेको बाध्यता अहिले छैन । ‘हामीले दुई चार वटा स्टेपडाउन बनाएका छौं । अहिलेका बिरामी त्यता राखिदिन्छौं । पहिलेभन्दा चाप कमी भएको पनि छ,’ डा भण्डारी भन्छन्, ‘अहिले अस्पतालमा अक्सिजन अभाव छैन । १ सय ८ बेड छन् । पुर्‍याएकै छौं ।’

    ‘सहरी इलाकामा केही घट्न सुरु भएको छ । काठमाडौं, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायतका उपत्यकामा संक्रमण मत्थर भएका छन् । सहरहरूमा चाप घट्न सुरु भएको छ । तर संक्रमण गाउँ पस्यो । गाउँमा फैलने क्रममा छ,’- डा. बाबुराम मरासिनी

    उनका पीसीआर परीक्षण गर्दा पनि अहिले पोटेटिभ दर ५६ प्रतिशतबाट घटेर २४ प्रतिशतमा पुगेको छ ।

    ट्रमा सेन्टरमा कोभिडका १ सय २५ बेड सञ्चालनमा छन् । एक समय बिरामीको चाप बढेर १ सय ७६ सम्म पुगेको थियो । अस्पतालले धान्न नसकेर धेरै बिरामी भुइँमा बसेर उपचार गर्न बाध्य भए । तर बुधबारको तथ्यांक हेर्दा हाल ९५ जनामात्र कोभिडका बिरामी छन् ।

    अस्पतालका निर्देशक डा सन्तोष भण्डारी पहिलेको तुलनामा निकै चाप घटेको बताउँछन् । ‘वैशाखको अन्तिम सातासम्म अत्यधिक चाप थियो । अहिले त्यो घटिरहेको छ,’ उनी भन्छन् । उनका उपचाररत बिरामीलाई अक्सिजनको समस्या पनि छैन ।

    दैनिक मृत्यु हुनेको संख्या कुनै मसय ७ जनासम्म पुगेको अस्पतालमा आज एक जनामात्र मृत्यु संख्या छन् । ‘पछिल्लो समय २४ घण्टामा १ जनाको मात्र मृत्यु भयो सुरुको अवस्थामा बिरामी वार्डमा पनि मृत्यु भएको थियो । अहिलेचाहिँ वार्डमा पनि चाहिने मेसिन चलाइदिएका छौं । वार्डमै मृत्यु हुने संख्या पनि न्यून छ,’ डा पौडेल भन्छन् ।

    वीर अस्पतालमा २ सय ३० सम्म्म पुगेको कोभिड बिरामीको चाप अहिले घटेर १ सय ४४ पुगेको छ । दिनमा १४/१५ जनाको दरले निको हुने संख्या पनि बढ्दै गएको अस्पतालको निर्देशक डा शान्ता सापकोटा बताउँछिन् । मृत्यु हुने संख्या पनि वैशाखको अन्तिम साताको तुलनामा निकै घटेको उनको दाबी छ । ‘वैशाखको अन्तिम सातासम्म बिरामीको सख्या बढेको बेला मृत्यु संख्या पनि बढेको थियो । अक्सिजन पनि अभाव थियो । अहिले मृतक संख्या ३/४ जना हुन्छ,’ डा सापकोटा बताउँछिन् ।

    टिचिङ अस्पताल महाराजगञ्जमा बिरामीको चाप घटेको छ । ‘पहिला नियमित ६० जना भर्ना हुन्थे । अहिले नियमित २५ देखि ३० जना हुन्छ । ६ दिनयता घट्न थालेको छ,’ अस्पतलाका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दास बताउँछन् ।

    उनका अनुसार मृत्यु हुनेको संख्या पनि ६ दिन अघि १० जना पुग्थ्यो भने अहिले आधा घटेको छ । अन्य अस्पतालमा पनि अहिले विस्तारै चाप घट्दै गइरहेको त्यहाँ कार्यरत डाक्टरहरू बताउँछन् ।

    त्यसैगरी संक्रमणबाट निको हुने दर पनि अहिले बढेको छ । बुधबारको अपडेटअनुसार निको हुने दर ७६.९ प्रतिशत छ ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी संक्रमितहरू सरुदेखि नै सजग हुन थालेकाले निको हुने दर बढेको बताउँछन् । ‘पहिले धेरै मानिस सुरुमै गएर अस्पताल बसे ।

    अस्पतालको शय्या कमी भएका कारण त्यो पनि हो । सामान्य अवस्था हुँदा नि गएर बसिदिए । जसलाई भर्ना गर्नुपर्ने थियो, ती आउँदा बेड पाएनन् । ढिलो गरेर जाँदा ज्यान जोखिममा पर्छ भन्ने चेतना भयो । अहिले दुई तीन दिनमै छातीको एक्स रे गराएर निमोनिया छ कि छैन भनेर आफैं पनि नियाल्न थाले । यसले गर्दा निको हुने दर बढ्यो,’ डा मरासिनी भन्छन् ।

    भेन्टिलेटर र आईसीयू अभाव कायमै

    बिरामीको चाप घटेका तिनै अस्पताहरूमा भने भेन्टिलेटर र आईसीयू अभाव भने कायमै छ । टेकुमा पनि गम्भीर प्रकृतिका बिरामीको व्यवस्थापन गर्न भने समस्या छ । आइसियु र भेन्टिलेर अभावले क्रिटिकल बिरामीको उपचार गर्न कठिन छ ।

    ट्रमा सेन्टरमा पनि आईसीयू र एचडीयू चाहिने बिरामी धेरै छन् । ‘आज पनि हाम्रो वार्डमा ७ जनालाई आइसियु चाहिएको छ । तर हामीसँग आइसियु १० वटा छ, त्यो सबै भरिभराउ छ,’ निर्देशक डा पौडेल भन्छन् ।

    वीर अस्पतालमा पनि दैनिक आइसियु चाहिने बिरामी ८ जना हुन्छन् । ती बिरामीलाई आइसियु र भेन्टिलेटर उपलब्ध गराउन समस्या नै भएको निर्देशक डा. सापकोटा सुनाउँछिन् । क्रिटिकल पेसेन्ट बढेकै छन् ।

    जनरल बिरामी घटेका छन् । टिचिङ अस्पताल महाराजगञ्जको अवस्था पनि उस्तै छ । अस्पतालमा हाल आइसियुमा ५२ र भेन्टिलेटरमा २९ जना छन् । तत्काल आइसियु चाहिने ८ जना बिरामी वार्डमा छन् । ‘पाउने सम्भावना छैन । कसैको मृत्यु भयो वा कोही डिस्चार्ज नगरी व्यवस्थापन गर्न सकिन्न,’ डा. सन्तकुमार दास बताउँछन् ।

    गाउँमा भने संक्रमणको जोखिम

    कोरोना संक्रमणबाट निको हुने दर बढे पनि गाउँमा भने जोखिम कायमै रहेको बताउँछन् । जनस्वास्थ्यविद् डा. मरासिनी सहरी इलाकामा संक्रमणदर घट्न थाले पनि गाउँमा भने जोखिमको डर रहेको बताउँछन् ।

    ‘सहरी इलाकामा केही घट्न सुरु भएको छ । काठमाडौं, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायतका उपत्यकामा संक्रमण मत्थर भएका छन् । सहरहरूमा चाप घट्न सुरु भएको छ । तर संक्रमण गाउँ पस्यो । गाउँमा फैलने क्रममा छ,’ डा. मरासिनी भन्छन् ।

    गाउँमा जनस्वास्थ्यका मापदण्ड नअपनाएर विवाह र पूजामा भेला हुने क्रम अझै रहेकाले जोखिम बढ्ने उनको अनुमान छ । त्यसमाथि परीक्षणको दायरा पनि सरकारले गाउँ गाउँमा बढाउन नसकेको उनी बताउँछन् ।

    ‘गाउँमा परीक्षण हुने सम्भावना पनि एकदम कम छ । सरकारी टोली गएर स्याम्पल ल्याएर टेस्ट गर्ने अनि संक्रमित को हो, होइन भनेर छुट्यायो भने मात्र हो । पोजेटिभ भएको मान्छे पनि संक्रमितको संख्यामा अझै गनिएका छैनन्,’ उनी भन्छन् ।

    सरकारले आफूसँग भएको परीक्षणको माध्यम प्रयोग गर्न नसकेको उनको गुनासो छ । ‘सरकारी कार्यक्रम नै भएन । चीनले दिएका मोबाइल पीसीआर कहाँ गए ? त्यो काम नलाग्ने बनिसकेका होला । चीनले ठूलै संख्यामा पीसीआर मेसिन मोबाइल भ्यानमा राखेर ल्याब लगे गाउँमा पीसीआरको टेस्ट गर्न सकिन्थ्यो,’ उनी भन्छन् ।

    डा. सागरराज भण्डारी पनि गाउँमा परीक्षणको दायरा बढाउन नसकिएको बताउँछन् । ‘गाउँ गाउँमा टेस्ट उपलब्ध छैन । टेस्ट, आइसोलेट, ट्रिटमेन्ट यी तीन कुरामा ध्यान दियो भने महामारी तुरुन्तै कम गर्न सकिन्छ । हैन भने गाउँ गाउँमा गइरहेको हुन्छ,’ उनी भन्छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरराज अधिकारी पनि ग्रामीण क्षेत्रमा संक्रमण बढ्दै गइरहेको स्वीकार्छन् । ‘ग्रामीण क्षेत्रमा संक्रमणको जोखिम डरलाग्दो छ । नियन्त्रण गर्ने भनेको गाउँमा क्वारेन्टिनमार्फत् हो,’ उनी भन्छन् ।

    गाउँमा संक्रमण नियन्त्रण गर्न मन्त्रालयले परीक्षणको दायरा अझै बढाउने प्रयास गरिरहेको डा. अधिकारीको दाबी छ ।

  • कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल दिनेश केसीको निधन

    कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल दिनेश केसीको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट नेपाली सेनाले पहिलोपटक एक जना जर्नेललाई गुमाएको छ ।

    नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन आज बिहान निधन भएको छ । भाइरसको संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले नेपाल प्रेसलाई जानकारी दिए।

    केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुन् । एक महिनादेखि अस्पतालमा रहेका उनलाई साह्रो पर्दै गएपछि भन्टिलेटरमा राखिएको थियो।

  • सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहन मल्लको कोरोना संक्रमणबाट निधन

    सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहन मल्लको कोरोना संक्रमणबाट निधन

    कैलाली । संघीय संरचना कार्यान्वयन भएपछि सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ ।

    कैलालीका पुराना राजनीतिज्ञ मल्ल लामो समयदेखि निमोनियाबाट पीडित थिए । सँगै उनमा कोरोना संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको परिवारलाई उदृत गरी मल्लका पूर्व स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

    चार दशकदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए ।

    विसं २०३७-२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका उनी २१ वर्षको उमेरमै २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्वविद्यालयको सभासद भएका थिए ।

    मूलत: राप्रपाबाट राजनीति गरेका उनी २०७० सालकाे दोस्रो संविधानसभा निर्वाचन अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्लका १ छाेरा र १ छाेरी छन् ।

  • अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् ।

    उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताएका छन् । उनले भने, ‘एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको छ । यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, सहप्रवक्ता डा. अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।’

    सूचनामा अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा रहेका सघन उपचाररत संक्रमितलाई समस्या पर्ने उल्लेख गरिएको छ । उनले संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने/गराउने कार्यलाई बन्द गर्न/गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्नसमेत अनुरोध गरेका छन् ।

    मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । संक्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतमा आयात गरिरहेको छ ।
    -रासस

  • बुधबार संक्रमित हुनेको संख्या भन्दा निको हुन बढी

    बुधबार संक्रमित हुनेको संख्या भन्दा निको हुन बढी

    काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने संख्या समान भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ६,७१४ संक्रमित थपिएका छन् भने सोही अवधिमा ६,७१६ जना डिस्चार्ज भएका छन् ।

    निको हुने दर ७६.९ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ ।

    १९ हजार ३० पीसीआर र ३२२ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १,४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं जिल्लामा १,१३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छन् ।

    मुलुकमा कूल संक्रमित संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

     

  • पछिल्लो साता विश्वभर भाइरस संक्रमणदरमा कमी : डब्लूएचओ

    पछिल्लो साता विश्वभर भाइरस संक्रमणदरमा कमी : डब्लूएचओ

    काठमाडौं । विश्वमा पछिल्लो साता कोरोनाभाइरस संक्रमण र मृत्युदरमा कमी देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

    डब्लूएचओको अनुसार पछिल्लो सातामा त्यसअघिको साताभन्दा संक्रमणदरमा १४ प्रतिशत र मृत्युदरमा २ प्रतिशतले कमी आएको छ । विश्वभर पछिल्लो सातामा करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजार जनाको मृत्यु भएको छ ।

    तथ्यांकअनुसार युरोपेली क्षेत्रमा र दक्षिण-पूर्वी एसियाली मुलुकमा संक्रमण र मृत्युमा भने केहि कमी आएको देखिन्छ । अमेरिकी, भूमध्यसागरीय तथा पश्चिमी प्रशान्त क्षेत्रको अवस्था भने अघिल्लो साताकै जस्तो छ ।

    विश्वका केही मुलुकमा सुधार भए पनि मृत्यु हुने संख्यामा भने कमी आउन सकेको छैन । भारतमा पछिल्लो पटक दैनिक संक्रमणदरमा कमी आएपनि मृत्युदरमा कमी आएको छैन ।

    भारतमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा बढी संक्रमित थपिएका छन् भने ४१ सय जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

  • सल्यान अस्पतालमा मनपरी- २ लाखकाे काममा ४० लाख विल पेश गर्ने कम्पनीलाई थप १८ लाखको ठेक्का

    सल्यान अस्पतालमा मनपरी- २ लाखकाे काममा ४० लाख विल पेश गर्ने कम्पनीलाई थप १८ लाखको ठेक्का

    सुर्खेत । सल्यान जिल्ला अस्पतालमा जेठ एक गते अक्सिजन प्लान्टको नाममा ४० लाख रुपैयाँमा खरिद गरिएको अक्सिजन कन्सन्ट्रेटरबारेको विवाद अख्तियारमा पुगे पनि सोही कम्पनीलाई १८ लाख रुपैयाँमा अक्सिजन पाइपलाइन विस्तारको जिम्मा दिइएको छ ।

    ड्रागन सप्लायर्सले करिव २ लाख पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई ४० लाखको विल बनाएर रकम असुल्न खोजेपछि अख्तियारमा मुद्धा परेको छ । अहिले सोही कम्पनीलाई विना प्रतिस्पर्धा १५ शय्याको अस्पतालमा ९३ मिटर तामाको पाइपबाट अक्सिजन आपूर्तिको व्यवस्था गर्ने ठेक्का दिइएको छ ।

    ‘मुस्किलले सात लाखमा पाइपलाइन बन्ने देखिन्छ तर यहाँ आएको सबै १८ लाख नै त्यही शीर्षकमा खर्च गरेको देखाउने गरी काम भइरहेको छ,’ अस्पतालका एक कर्मचारी भन्छन्, ‘सार्वजनिक खरिद ऐन अनुसार कम्तिमा प्रक्रिया पुरा गर्नुपर्ने थियो, तीन दिने सूचना जारी गर्नुपथ्र्यो केहि गरिएन । बरु अक्सिजन प्लान्ट भन्दै अस्पताललाई कन्सन्ट्रेटर भिडाउने ठग कम्पनीलाई नै पोस्ने काम भएको छ ।’

    अस्पतालका निमित्त व्यवस्थापक दशरथकुमार श्रेष्ठले डीसीसीएमसीको निर्णयका आधारमा सो कम्पनीलाई ठेक्का दिइएको स्वीकार गरे ।

    ‘पाइपलाइन जडानको कामका लागि कुनै पनि प्रक्रिया अपनाएका छैनौं । डिसीएमसीको निर्णयका आधारमा हामीले पाईप जडान गर्ने व्यक्ति खोजेका थियौं । अरु नपाउँदा सोही कम्पनीलाई जिम्मा दिएका हौं ।’

    उनले बजेट १८ लाख भए पनि लागत खर्चका आधारमा प्राविधिक जाँचपछि मात्रै भुक्तानी गरिने प्रतिबद्धता जनाए । ‘अक्सिजन कन्सन्ट्रेटरको पनि भुक्तानी दिइसकेका छैनौं । पाइपलाइनको त काम भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिले १५ वेडमा पाइपलाइनबाट अक्सिजन दिइरहेका छौं । प्राविधिक स्टिमेटअनुसार भुक्तानी गर्नेछौं ।’

    अस्पतालको एम्बुलेन्स दुई वर्षदेखि ग्यारेजमै

    यसैबीच जिल्ला अस्पतालको एम्बुलेन्स दुई वर्षदेखि अस्पतालकै ग्यारेजमा थन्किएको पाइएको छ । कोरोना महामारीमा सुर्खेत पछि सबैभन्दा बढी संक्रमित सल्यानमा भए पनि सल्यान जिल्ला अस्पतालमा भने एउटा पनि एम्बुलेन्स सन्चालनमा छैन । दुई वर्षदेखि बिग्रेर थन्किएको एम्बुलेन्स बनाउनतर्फ भने कसैको ध्यान गएको छैन ।

    ‘एम्बुलेन्स नहुँदा अस्पतालमा धेरै समस्या भएको छ । कोरोना महामारीमा जिल्ला भरिका विरामीलाई सेवा दिनुपर्ने कार्यालयले नै एम्बुलेन्स भन्दा कमिसनतिर ध्यान दिएका कारण एम्बुलेन्स थन्किएको हो,’ शारदा नगरपालिका वडा नं. ५ का रुपेश राना भन्छन्, ‘कम्तिमा अस्पतालमा एम्बुलेन्स भएको भए नागरिकले सहजै सेवा त पाउँथे नि।’

    उनले अक्स्जिन कन्सन्ट्रेटर देखि पाइपलानसम्मका कुरा आए पनि अन्य कुरामा कार्यालय भित्र के भइरहेको छ भन्ने कुराको कसैलाई जानकारी नभएको बताए ।

    कर्णाली प्रदेश सरकारले सल्यान जिल्ला अस्पतालका लागि यो वर्ष मात्रै एक करोड रुपैयाँ दिएको छ । यसका अलावा अक्सिजन प्लान्टका लागि भन्दै चालीस लाख, पाइपलाइन जडानका लागि भन्दै १८ लाख बजेट पठाइसकेको छ तर कार्यालयले विग्रेको एम्बुलेन्स बनाउन लाग्ने दुई लाख दुई वर्षदेखि छुट्याएको छैन ।

    अस्पताल विकास समितिका अध्यक्ष सीपी वलीले अस्पतालमा बजेट नभएका कारण एम्बुलेन्स बनाउन नसकिएको बताए । ‘म अध्यक्ष भएको दश महिना भएको छ । यो दश महिनामा मैले बजेट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय, प्रदेश सरकार तथा अन्य निकायमा सहयोग माग गरिरहेको छु,’ वली भन्छन्, ‘त्यसका अलावा अस्पतालसँग बजेट नभएका कारण हामीले एम्बुलेन्स बनाउन नसकेको साँचो हो ।’

  • कोरोनाभाइरस नेपाल : मंगलबार १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ जना संक्रमित थपिए

    कोरोनाभाइरस नेपाल : मंगलबार १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ जना संक्रमित थपिए

    काठमाडौं । मंगलबार मुलुकमा ८ हजार ६ सय ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ३ सय ६ पीसीआर र ६ सय ३० एन्टिजेन्ट परीक्षण गर्दा संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १ सय ६९ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय ४ जना निको भएका छन् ।

    कुल संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ जना रहेका छन् भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

    हालसम्म कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ जना पुगेको छ ।

  • कोरोना संक्रमित बालबालिकालाई कीर्तिपुर आयुर्वेद अस्पताल पठाइयो

    कोरोना संक्रमित बालबालिकालाई कीर्तिपुर आयुर्वेद अस्पताल पठाइयो

    काठमाडौं । कोरोना संक्रमित दुई बालमन्दिरका आश्रित बालबालिकालाई सरकारले आइसोलेसनको व्यवस्था गरेको छ ।

    नेपाल बाल संगठन अन्तर्गत संचालित नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ बालबालिकामा एकैपटक कोरोना पुष्टि भएको थियो ।

    यो पनि पढ्नुहोस् : बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण

    संगठनका महासचिव समिक बडालका अनुसार प्रधानमन्त्री कार्यालयसँगको समन्वयमा ती बालबालिकालाई कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

    दुईवटै बालगृहका ४९ र केयर टेकर १० जनासमेत ५९ जनामा संक्रमण देखिएको थियो ।

  • वागमतीका ८ अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रक्रिया शुरू

    वागमतीका ८ अस्पतालमा अक्सिजन प्लान्ट राख्न प्रक्रिया शुरू

    हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

    कोरोना महामारी र अक्सिजन अभावलाई ध्यान दिँदै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत एक साताको सीमा राखेर मंगलबार टेण्डर आह्वान गरेको छ ।

    मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट, रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको लागेको हो ।

    एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने गरी प्रक्रिया शुरू गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् ।

    प्रदेश मातहतका १३ मध्ये ६ अस्पतालमा यसअघि अक्सिजन प्लान्ट संचालनमा छ । मन्त्रालयले यसअघि १३ वटै जिल्लालाका लागि ‘एक जिल्ला एक पीसीआर मेसिन’ को निर्णय गरेको बताएको छ ।

  • बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण

    बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

    नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड-१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जनामा संक्रमण पुष्टि भएको संगठनका महासचिव समिक बडालले जानकारी दिए ।

    ‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ । नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनामा पनि संक्रमण देखिएको छ । रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्छ’, बडालले नेपाल प्रेससँग भने ।

    दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् ।

    संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका छन् । केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको बडालले जानकारी दिए । एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ अभाव भएको उनले बताए ।

    बडालका अनुसार नजिकै रहेको बहिरा विद्यालयलाई व्यवस्थापन गरी त्यहाँको भवनमा नक्सालका बालबालिका राख्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि कार्यान्वयन नहुँदा ठाउँ अभाव भएको छ ।

  • कोरोना संक्रमितले अक्सिजनको मात्रा घटे के गर्ने ?

    कोरोना संक्रमितले अक्सिजनको मात्रा घटे के गर्ने ?

    कोभिड–१९ को दोस्रो महामारीमा संक्रमितहरूमध्ये अधिकांशलाई अक्सिजन आवश्यक पर्‍यो । समयमै अक्सिजन नपाउँदा धेरैको ज्यान समेत गुम्यो । डाक्टरहरूका अनुसार धेरै बिरामीको मृत्यु हुनुमा अन्तिम चरणमा अस्पताल ल्याएपछि यस्तो अवस्था आएको हो ।
    त्यसमाथि पर्याप्त स्वास्थ्य उपकरणको अभावका कारण अस्पतालले बिरामीलाई भर्ना समेत लिने अवस्था यो बीचमा देखा परे । संक्रमित होम आइसोलेसनमा बस्दा आफ्नो अक्सिजन घटेको थाहा नभएकै कारण पनि क्रिटिकल अवस्था आएको जनस्वास्थ्य विज्ञ डा. सुजनबाबु मरहट्ठा बताउँछन् ।
    यसर्थ अक्सिजन लेभल घटेको संक्रमितले कसरी थाहा पाउने ? घटिहालेमा के गर्ने ? कस्तो अवस्थामा अस्पताल लैजाने ? यसबारे डा मरहट्ठासँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंश

    कोभिड-१९ले फोक्सोमा संक्रमण गर्छ । फोक्सोले अक्सिजनबाट शरीरका विभिन्न भागमा जुन अक्सिजन सप्लाइ गर्ने क्रिया हुन्छ, अक्सिजन सप्लाइ हुने फोक्सोको संक्रमणका कारण फोक्सो कम्प्रोमाइज हुन्छ ।

    कम्प्रोमाइज भएपछि बिरामीलाई पूर्व जानकारी हुन्छ । तर यो कोरोना इन्फेक्सनमा फोक्सो संक्रमण एकदमै उच्च भइरहँदा पनि बिरामीको जानकारीमा हुँदैन । यसको लागि कोरोना संक्रमित भएका कोही पनि बिरामी होम आइसोलेसनमा हुनुहुन्छ भने उहाँले आफ्नो अक्सिजन अक्सिमिटरबाट नियमित रुपमा मनिटर गर्नुपर्छ ।

    ९० भन्दा माथि अक्सिजन स्याचुरेसन हुँदा त्यतिधेरै खतरा हुँदैन । जब ९० भन्दा अक्सिजन स्याचुरेसन घट्न थाल्छ त्यसपछि विस्तारै खतराको घण्टी निम्त्याउँछ । यसर्थ घरमा बस्दा सबै बिरामीलाई गाह्रो भएको महसुस नहुन सक्छ ।

    तर नियमित रुपमा अक्सिजन स्याचुरेसन ठीक छ कि छैन भनेर हेर्नुपर्छ ।

    हामीमा घरमै अक्सिजन दिनसक्ने अवस्था धेरैमा छैन । संक्रमणको कतिपय अवस्थामा अक्सिजनको चाप भए पनि घरमै अक्सिजन लिएर बसेको पनि देख्यौं । तर त्यसैको भरमा मात्र पनि भएन । हामी यो रोगलाई ह्याप्पी हाइपोसिया भन्छौं ।

    अक्सिजनको लेभल घटिसकेको हुन्छ तर बिरामीलाई थाहा हुँदैन । कतिपय बिरामी घरमा ठीक जस्तो देखिए पनि अचानक गाह्रो भएर अस्पताल लाँदा लाँदै भेन्टिलेटरमा राख्नु परेको वा मृत्यु भएको हामीले भोग्यौं ।

    नियमित रुपमा शरीरमा अक्सिजनको आवश्यकता हुन्छ । संक्रमितलाई अक्सिजन मात्रा घट्दै गयो भन्नुको मतलब यसले फोक्सोमा संक्रमण गरेको भन्ने बुझिन्छ । त्यसैले यसलाई ढिलाइ गर्नै मिल्दैन ।

    समयमै अक्सिजन दिन नपाइएको अवस्थामा वा अक्सिजन घटिहालेको अवस्थामा फेरि आतिनुभने हुन्न । आतिनाले झन् ठूलो समस्या निम्त्याउँछ । यदि अक्सिजन घटेको अवस्थामा तत्काल अक्सिजन दिन नपाउँदा घोप्टो परेर सुत्दा केही मात्रामा अक्सिजन बढाउन सक्छौं । तर त्यो एकदमै क्षणिक हो । बरु अक्सिजन आपूर्तिमा कसरी सहजता अपनाउनुपर्छ भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

    हामीले पहिलो संक्रमणकै बेलामा पनि संक्रमण बढ्दै जाँदा अक्सिजन आवश्यक चाहिन्छ भन्दै आएमा थियौं । अक्सिजन भनेको हाम्रो लागि अत्यावश्यक हो । यसको अर्को विकल्प पनि छ्रैन ।

    डर त्रासले पनि बढी अक्सिजनको आवश्यकता हुनसक्छ । किनकि श्वासप्रश्वास छिटो हुने हुन्छ । डरले झन् अक्सिजनको आवश्यकता बढाइदिन्छ । त्यसकारण बिरामीलाई डर त्रास हुन नदिनका लागि सकारात्मक बनाउनुपर्छ ।

  • गण्डकीका मुख्यमन्त्री नै मान्दैनन् स्वास्थ्य मापदण्ड !

    गण्डकीका मुख्यमन्त्री नै मान्दैनन् स्वास्थ्य मापदण्ड !

    पोखरा ।

    घटना १

    मुख्यमन्त्री पदमा दोहारिएपछि पृथ्वीसुब्बा गुरुङ बैशाख २९ गते प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन पुगे । बैशाख २२ गते कोरोना पुष्टि भएका मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमै थिए ।

    तर, मुख्यमन्त्री पदमा पुनर्नियुक्ति पाइसकेपछि भने कोरोना नेगेटिभको रिपोर्ट नआउँदै गुरुङ भिड जम्मा गर्दै प्रदेश प्रमुखको कार्यालयमा सपथ खान पुगे । होम आइसोलेसनबाट सिधै प्रदेश प्रमुखको पुगेका उनी स्वास्थ्य मापदण्डसमेत पूरा गरेका थिएनन् । भौतिक दूरी र पीपीईसमेत नलगाई उनी सपथ कार्यक्रममा उपस्थित थिए ।

    कास्कीका कोरोना संक्रमणदर तीव्र भएको भन्दै बैशाख १५ यता लकडाउन जारी छ । जिल्ला प्रशासन कार्यालयलेसमेत कुनै सभा, समारोह नगर्न र १० जनाभन्दा बढी भिड नगर्न निर्देशन जारी गरिसकेको छ । तर, मुख्यमन्त्रीको सपथ कार्यक्रममा ३५ जनाभन्दा बढी सहभागी थिए ।

    घटना २


    गत बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री गुरुङले ८ मन्त्रालयलाई ११ पुर्‍याए । मन्त्रीहरुको सपथ कार्यक्रममा पनि उनी भौतिक दूरीबिनै सहभागी थिए । विस्तारित मन्त्रिमण्डलमा मुख्यमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफूमातहतमा राखेका छन् ।

    स्वास्थ्य मन्त्रालयकै पदभार ग्रहण गर्ने दिन जेठ ७ गते मुख्य तथा स्वास्थ्यमन्त्री गुरुङले कर्मचारीलाई एकजुट भएर कोरोनाविरुद्ध लड्न र कुनै हेलचक््रयाइँ नगर्न निर्देशन दिए । कर्मचारीलाई निर्देशन दिँदै गर्दा कोरोना संक्रमितसमेत रहेका मुख्यमन्त्री गुरुङले कार्यक्रमस्थलमा सामान्य मास्कसमेत लगाएका थिएनन् ।

    घटना ३


    पोखरा लेखनाथस्थित प्रदेश सरकारले तोकेको एकमात्र कोभिड उपचार अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आईसीयू कक्ष उद्घाटन तथा सघन उपचार कक्ष भवनको शिलान्यास सोमबार भयो ।

    उद्घाटन तथा शिलान्यास कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै गरे । कोभिड अस्पतालकै उद्घाटन गर्दासमेत मुख्यमन्त्री गुरुङले सामान्य मापदण्डसमेत पूरा गरेका थिएनन् । सामान्य सर्जिकल मास्कको भरमा उनले भवन शिलान्यास तथा आईसीयू कक्षको उद्घाटन गरेका थिए ।

    मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङको अझै कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छैन । ‘मुख्यमन्त्रीज्युको सिटी भ्यालु हाई देखिएको छ । ३३, ३४ देखाइरहेको छ,’ उनले भने, ‘आइतबार फेरि स्वाब परीक्षणका लागि दिनु भएको छ । त्यसको रिपोर्ट आइसकेको छैन ।’

    तर, उल्लेखित घटनाक्रमले भने मुख्यमन्त्री गुरुङले स्वास्थ्यका मापदण्ड पालना नगरेको देखाउँछ । जबकि गहृमन्त्रालयले शनिबार ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा उल्लंघन गरी कुनै पनि हालतमा सर्वसाधारणलाई बाहिर निस्किन नदिन निर्देशन दिइसकेको छ ।

    भवन शिलान्यास कार्यक्रममा उपस्थित एक स्वास्थ्यकर्मीले मुख्यमन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लेख भएको बताइन् । अरुलाई सुम्झाउनु पर्नेबेला आफैं मापदण्डविपरित शिलान्यास गर्दै हिँड्नाले राम्रो सन्देश नजाने ती स्वास्थ्यकर्मीको भनाइ थियो । ‘स्वास्थ्य मन्त्रालयसमेत आफैं सम्हालिसकेपछि सामान्य मापदण्ड भए पनि पालना गरिदिएको भए, त्यसले राम्रो सन्देश दिने थियो,’ उनले भनिन् ।

    १० दिनपछि संक्रमितबाट कोरोना सर्दैन, तर मापदण्ड मान्नुपर्छ- चिकित्सक

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा स्वयं शिलान्यास कार्यक्रममा सहभागी थिए । उनले सामान्यता कोरोना पुष्टि भएको १० पछि भाइरस नसर्ने तर, स्वास्थ्य मापदण्ड भने पालना गरिनुपर्ने जानकारी दिए ।

    ‘कोरोना पुष्टि भएको १० दिनसम्म बन्द आइसोलेसनमा बस्नुपर्छ । योबेला अरुलाई कोरोना सर्छ । तर, त्यसपछि भने संक्रमितबाट अरुमा कोरोना सर्दैन,’ डा शर्माले भने, ‘१० दिनपछि कोरोनाका कुनै लक्षण नदेखिएको खण्डमा सामान्य हिँड्डुल, घरका काम गर्न सकिन्छ ।’

    शर्माले १० दिनपछि लक्षण नदेखिए पनि कम्तिमा १४ दिन तोकिएको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने बताए । ‘१० दिनदेखि भाइरस सर्दैन भनेका छौं । त्यसपछि घरका सामान्य काम गर्ने हो । तर, १४ दिनसम्म अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ ।’

    ठेक्कामा नजाँदै शिलान्यासको हतारो !

    गण्डकी प्रदेशमा कोरोना संक्रमित देखिन थालेपछि प्रदेश सरकारले कोभिड उपचार गर्नकै लागि गत असारमा लेखनाथस्थित लायन्स कम्युनिटी अस्पताललाई आफ्नो मातहतमा ल्याउँदै संक्रामक तथा सरुवा रोग अस्पतालमा बनाएको थियो ।

    अस्पतालमा कोभिड बिरामीका लागि ५१ शय्या छुट्याइएको छ र, अहिले ती सबै शय्या कोभिडका बिरामीले भरिएका छन् । उक्त अस्पताल नजिकै प्रदेश सरकारले अर्को भवन बनाउने तयारी गरेको छ । हेलिप्याडसहित सय शय्या क्षमतासहित बन्ने उक्त अत्याधुनिक भवनको शिलान्यास मुख्यमन्त्री गुरुङले सोमबार गरेका हुन् ।

    सम्झौता मितिको १५ महिनाभित्र निर्माण गरिसक्ने प्रदेश सरकारको योजना छ । उक्त योजनाका साथ भवन निर्माणका लागि ९३ लाख ३६ हजार रुपैयाँमा टेन्डर आह्वान गरिएको छ । तर, मुख्यमन्त्रीले टेन्डर प्रक्रिया अन्त्य नहुँदै भवनको शिलान्यास गरेका हुन् ।

    ‘टेन्डर केही समयअघि मात्रै भएको हो । अझै १/२ हप्ता समय छ,’ एक प्राविधिकले भने, ‘कसले बनाउने भन्नेबारे अझै थाहा छैन । त्यो टेन्डर प्रक्रिया सकिएपछि मात्रै थाहा हुन्छ । अहिले त शिलान्यास मात्रै हो ।’ भवन सय रोपनी क्षेत्रफलमा बन्नेछ ।

    गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय सचिव विनोदबहादुर कुँवरले भवन पहिलो र दोस्रो गरी २ चरणमा बन्ने जानकारी दिए । उनका अनुसार पहिलो चरणमा बन्ने भवनमा ५३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । ‘पहिलो चरणमा ५० शय्या क्षमताको भवन बन्नेछ । यसमा अस्पतालमा कार्यरत कर्मचारीका लागि आवासीय भवन पनि बन्नेछ,’ उनले भने ।

    कुवँरले दोस्रो चरणमा थप ५० शय्या क्षमताको भवन बनाउने र अस्पताललाई सय शय्या क्षमताको पुर्‍याउने लक्ष्य रहेको सुनाए । ‘यो अस्पताललाई हामीले अत्याधुनिकसहित २ सय शय्या क्षमताको बनाउने लक्ष्य राखेका छौं,’ सचिव कुँवरले भने, ‘यो अस्पताल पूर्ण रुपमा सञ्चालनमा आयो भने संक्रामक तथा सरुवा रोगमा नेपालकै उत्कृष्ट हुनेछ ।’

    संक्रामक तथा सरुवा रोग उपचार अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचन अस्पताल निर्माण सम्पन्न भएपछि जटिलभन्दा पनि जटिल रोगहरुको उपचार गर्न आफूहरु सक्षम हुने दाबी गरे । ‘अहिले अस्पतालमा सघन उपचार कक्ष अभावका कारण केही समस्या देखिएका छन् । तर, यो भवन सञ्चालन भएसँगै जटिलभन्दा पनि जटिल रोगहरु यहीं उपचार गर्न सक्षम हुनेछौं,’ उनले भने ।

    बजेट कोरोना केन्द्रित- मुख्यमन्त्री गुरुङ

    नेपाल सरकारले गत मंसिर १५ गते नै सबै संक्रामक अस्पतालको शिलान्यास गर्न भने पनि गण्डकीमा ढिलो भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । ‘हामी पपुलारिटीका लागि शिलान्यास गर्दैनौं, हाम्रो कामचाहिँ सबै डिजाइन भएर टेन्डर प्रक्रियामा गएर सकिइसकेपछिमात्रै गर्ने भनेर पख्र्या हो । धेरै दिन लाग्यो । यो ऐतिहासिक दिन हो,’ उनले भने ।

    मुख्यमन्त्री गुरुङले भवन शिलान्यास अस्पतालको लागिमात्रै नभएर प्रदेश र समग्र नेपालकै लागि सुखद कुरा भएको बताए । ‘नेपालभरिमा हामी सबैको उद्धेश्य भनेको गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल हुनुपर्दछ भन्ने छ,’ उनले भने, ‘प्रदेशले बनाएको यो संक्रामक तथा सरुवा रोग अस्पताललाई एक्सिलेन्स सेन्टर अफ नेपाल बनाउन जरुरी छ ।’ उनले अस्पतालको भवन निर्माण पछि नेपालकै राम्रो सरुवा तथा संक्रामक अस्पताल बन्ने दाबी गरे ।

    कार्यक्रममा गण्डकी प्रदेश सरकारले अहिले कोरोना महामारी केन्द्रित गरेर बजेटको तयारी थालेको जानकारी दिए । अहिले विकास निर्माणका कामभन्दा पनि जनताको जीवन बचाउने कुरा महत्वपूर्ण भएको बताए । ‘बाटो, पुलको काम अहिलेको लागि सेकेन्डरी कुरा हो । जनताको जीवन बचाउने कुरा पहिलो हो,’ उनले भने ।

    गण्डकी प्रदेशमा स्वास्थ्य सुविधा राम्रो भएको भन्दै अन्य प्रदेशका गम्भीर कोरोना संक्रमित पनि गण्डकीमै आउने र उपचारकै क्रममा मृत्यु भइरहेको मुख्यमन्त्री गुरुङको ठहर छ । ‘सबैले गण्डकीमा स्वास्थ्य सुविधा राम्रो छ भनेर गम्भीर प्रकृतिका विरामीहरु उपचार गर्न आउँछन् । स्वास्थ्यकर्मीले उपचार गर्दागर्दै पनि बचाउन सक्दैनन्,’ उनले भने, ‘यसले गम्भीर प्रकृतिको उपचार गर्दा हाम्रो अवस्था कहाँ छ भनेर देखाउँछ । त्यसैले क्रिटिकल ट्रिटमेन्टको अवस्थालाई कसरी सुधार्ने भन्नेमा हामी लाग्या छौं ।’

  • काठमाडौं महानगरमा ५० हजारको एन्टीजेन परीक्षण गरिने

    काठमाडौं महानगरमा ५० हजारको एन्टीजेन परीक्षण गरिने

    काठमाडौं । कोभिड-१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।

    परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए ।

    प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।

    महानगरका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन कामपामा सङ्क्रमण बढिरहेका छन् । नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो ।

    ठूलो समूहमा गर्न लागिएको यस किसिमको परीक्षणका लागि हाल काम गरिरहेका जनशक्तिले अपुग भए थपेर भए पनि परीक्षण गर्ने बताइएको छ । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ ।

    कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिने छ । परीक्षणका लागि कामपाका ठूला १५ वडामा प्रतिवडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक÷एक केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ ।

    यसअघि कालिमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी दुई ठाउँमा यस प्रकारको परीक्षण सम्पन्न भएको छ । हालसम्म कामपामा ५८ हजार ४०२ जना सङ्क्रमित रहेका छन् । तीमध्ये ४६ हजार ५४६ निको भइसकेका छन् भने ४०३ को कोरोनाका कारण मृत्यु भएको छ । अहिले ११ हजार ५४६ सक्रिय सङ्क्रमित रहेका छन् ।

    कामपाको ३२ वडाबाट मात्रै अहिले दैनिक ६०० जनाको पिसिआर परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४०० भन्दा बढीमा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । सङ्क्रमण बढेपछि अघिल्लो आइतबारदेखि कामपाले १६ वटा केन्द्र बनाएर पिसिआर परीक्षण गरिरहेको छ ।

  • स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

    स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

    काठमाडौं । वीर अस्पताल (कोभिड-१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा जागेश्वर गौतम नियुक्त भएका छन् ।

    मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको हो ।

    आफूले पूर्णकालिनरुपमा उक्त पद सम्हाल्न लागेको गौतमले नेपाल प्रेसलाई जानकारी दिए । गौतम यसअघि मन्त्रालयका प्रवक्ता थिए ।

    गौतमको जिम्मेवारी फेरिएसँगै प्रवक्ताको जिम्मेवारी सह-प्रवक्ता डा. समीर अधिकारीले सम्हाल्नेछन् ।

  • कोभिसिल्डको दोस्रो डोज खोप लगाउने अवधि फेरि बढ्यो, १२ देखि १६ साताभित्र लगाउने निर्णय

    कोभिसिल्डको दोस्रो डोज खोप लगाउने अवधि फेरि बढ्यो, १२ देखि १६ साताभित्र लगाउने निर्णय

    काठमाडौं । कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षभन्दा माथिका उमेर समूहलाई दोस्रो डोज खोप १२ देखि १६ हप्ताभित्र दिने तयारी भइरहेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले चार महिनाभित्र दास्रो डोज खोप दिने तयारी भएको बताएका हुन्् ।

    यसअघि पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय भएको थियो । नेपालले खरिद गरेको १० लाख डोज खोप भारतबाट आउन नसकेकोले खोप लगाउने अवधि बढेको जनाइएको छ ।

  • कोरोनाभाइरस नेपाल : सोमबार ७,४२५ संक्रमित थपिए, १८५ जनाको मृत्यु

    कोरोनाभाइरस नेपाल : सोमबार ७,४२५ संक्रमित थपिए, १८५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ४५३ परीक्षणमा ७ हजार १३५ जनामा कोरोना पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

    ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या अहिलेसम्म ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । क्वारेन्टाइनमा ९२४ जना छन् ।

    उपत्यकामा २४ घण्टामा २ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकाका तीन जिल्लामा गरी २ हजार ७८५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना रहेका छन् ।

  • काठमाडौं प्रशासनको आदेश : कोभिड-१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँच लाखसम्म जरिवाना

    काठमाडौं प्रशासनको आदेश : कोभिड-१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँच लाखसम्म जरिवाना

    काठमाडौं । यसैसाता जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो ।

    अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।

    अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारबिाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेछ ।

    मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

    त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने समेत जनाइएको छ । अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ । गत शनिबार अध्यादेशलाई कडाइका साथ कार्यान्वयन गर्नको लागि गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको थियो ।

  • १२ अस्पतालका लागि थप ८ करोड १० लाख स्वीकृत

    १२ अस्पतालका लागि थप ८ करोड १० लाख स्वीकृत

    काठमाडौं । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रूपैयाँको सहमति दिएको छ ।

    बजेट दिइएका अस्पतालमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रूपैयाँ रहेको छ ।

    यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमका लागि ७५ लाख, टीकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ लाख छ ।

    स्वास्थ्य मन्त्रालयको माग अनुसार अर्थले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न यसअघि पनि बजेट सहमति दिँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।

  • महामारीविरुद्ध ठमेल क्षेत्रलाई चिनियाँ सहयोग, गाउँ-गाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    महामारीविरुद्ध ठमेल क्षेत्रलाई चिनियाँ सहयोग, गाउँ-गाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं । नेपालमा कार्यरत एक चिनियाँ गैरसरकारी संस्थाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई सघाउन गाउँहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सुरु गरेको छ ।

    गरिबी निवारणका लागि चिनियाँ संस्था (सीएफपीए)ले काठमाडौं महानगरपालिका १७ र १९ बाट अभियान थालेको हो ।

    काठमाडौं वडा-१९ स्थित क्षेत्रपाटीमा उक्त संस्थाले २० थान अक्सिजन सिलिन्डर, २०० पीपीई लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडाध्यक्ष नवीन मानन्धरले ती सामग्री ग्रहण गरे ।

    वडा-१९ लाई ४० लिटरका ५ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । यी दुबै वडा पर्यटकीय क्षेत्र ठमेल अन्तर्गत पर्छन् र यस वरपर चिनियाँ व्यापारीहरु ठूलो संख्यामा बसोबास गर्छन् ।

    आयोजित कार्यक्रममा संस्थाका नेपाल निर्देशक झिउ झिक्वीवाङले महामारीविरुद्ध नेपाललाई सघाउन आफूहरु सँधै तयार रहेको बताए ।

    सीएफपीएले भाइरस संक्रमित काठमाडौंका १० विभिन्न समुदायलाई स्वास्थ्य उपकरण र सामग्री प्रदान गर्ने तयारी रहेको जनाएको छ । बागमती प्रदेशका ती क्षेत्रमा दक्षिणकाली र फर्पिङ नगरपालिकालाई पनि सहयोग गर्ने जनाइएको छ ।

    साथै, प्रदेश २ का सर्लाही र धनुषामा समेत अक्सिजन प्लान्ट जडान गर्ने संस्थाको योजना छ । यो कार्यक्रमबाट न्यून आय भएका १ लाख जनसंख्या लाभान्वित हुने जनाइएको छ ।

    अभियानको पहिलो चरणअन्तर्गत देशव्यापीरुपमा स्यानिटाइज, खानेकुरा प्याकिङ, स्कुल ब्याग वितरण गरिने भएको छ ।

    सन् २०१५ देखि नेपालको सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको संस्थाले अहिलेसम्म ४ लाखभन्दा बढी जनसंख्यालाई सहायता दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

  • काठमाडौंमा भेरोसेल खोप लगाउने अन्तिम दिन भोलि

    काठमाडौंमा भेरोसेल खोप लगाउने अन्तिम दिन भोलि

    काठमाडौं । वागमती प्रदेशमा जेठ २ गतेदेखि सुरु भएको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने कार्य मंगलबार देखि सकिदै छ ।

    पहिलो डोज खोप लगाएकाहरुलाई विभिन्न मितिमा दोस्रो डोज लिनलाई बोलाइएको थियो । नेपाललाई चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

    काठमाडौंमा भेरोसेल (चिनियाँ)खोप लगाउने अन्तिम दिन भोलि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपाल प्रेसलाई जानकारी दिए । ललितपुर लगायत कतिपय स्थानीय तहमा ढिलो खोप शुरु भएकाले नियमित तालिका अनुसार हुने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओेलीले आईतबार पत्रकारहरुसंगको अन्र्तक्रियामा चुनाव अगाडी नै सबै नागरिकलाई खोप लगाइ सक्ने घोषणा गरेका थिए ।