Category: स्वास्थ्य-जीवनशैली

  • युएईद्वारा नेपाललाई डेढसय भेन्टिलेटरसहितको स्वास्थ्य सहायता प्रदान

    युएईद्वारा नेपाललाई डेढसय भेन्टिलेटरसहितको स्वास्थ्य सहायता प्रदान

    काठमाडौं । संयुक्त अरब एमिरेट्स (युएई)ले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

    बुधबार विहान विशेष विमानबाट ती स्वास्थ्य सामग्री काठमाडौं विमानस्थलमा ल्याइएको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र २० हजार गगल्स समावेश छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरिएको थियो ।

  • बुधबार ५,३१६ संक्रमित थपिए, ७,२१९ जना डिस्चार्ज

    बुधबार ५,३१६ संक्रमित थपिए, ७,२१९ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५,३१६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६,८७८ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमण दर ३२.७ प्रतिशत पुगेको छ ।

    बुधबार १०१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ७,२१९ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८०.८ प्रतिशत छ ।

    सक्रिय संक्रमित संख्या १ लाख १ हजार ९९३ पुगेको छ । काठमाडौं उपत्यकामा बुधबार १,४५६ जना संक्रमित थपिएका छन् ।

  • अर्को चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा अनुमति दिने तयारी

    अर्को चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा अनुमति दिने तयारी

    काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै विभागका सूचना अधिकारी सन्तोष केसीले केही दिनमा बस्ने बैठकले उक्त खोपलाई अनुमति दिने बताए ।

    विश्व स्वास्थ्य संगठनले मंगलबार सिनोभ्याकलाई आपतकालिन प्रयोगको अनुमति दिएको थिए । ‘डब्लुएचओले अनुमति दिएपछि अब हामीलाई पनि अनुमति दिन सजिलो भयो’ उनले भने ।

    डब्लुएचओका अनुसार सिनोभ्याक खोप गम्भिर लक्षणका बिरामीमा ५१ प्रतिशत प्रभावकारी हुनेछ । केही प्रमाण र तथ्यांकबीच अझै भिन्नता रहेको पनि डब्लुएचओले जनाएको छ ।

    डब्लुएचओले अनुमति दिइसकेपछि अब यो खोपलाई कोभ्याक्स संयन्त्रमार्फत प्रयोग गर्न बाटो खुलेको छ । ‘आपतकालिन प्रयोगका लागि अनुमति दिनु भन्नुको अर्थ सुरक्षा, प्रभावकारिता र उत्पादनको हिसाबले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गर्नु हो’ डब्लुएचओले भनेको छ ।

    नेपालले यसअघि अर्को चिनियाँ खोप सिनोफार्मलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेको छ । नेपालले यसअघि सिनोफार्म (भेरोसेल)सहित अस्ट्राजेनेकाको कोभिसिल्ड, भारत बायोटेकको कोभ्याक्सिन, रुसी खोप स्पुतनिक पाँचलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेको छ ।

  • भारतमा संक्रमण र मृत्युदर पुनः बढ्यो, एकैदिन ३२ सय जनाको मृत्यु

    भारतमा संक्रमण र मृत्युदर पुनः बढ्यो, एकैदिन ३२ सय जनाको मृत्यु

    दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ लाख ३२ हजार ७ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३१ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।

    भारतमा ओरालो लागेको संक्रमण दर केही उकालो लागेको तथ्यांकमा देखिएको छ । यहाँ मृत्युदरमा भने कमी आएको छैन । भारतमा अहिलेसम्म कुल २ करोड ८३ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६१ लाख भन्दा बढी डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म ३ लाख ३५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेका छन् भने १७ लाख ९३ हजार ६ सय ४५ जना संक्रमित रहेका छन् ।

  • जेठ २५ गतेबाट ६० देखि ६४ वर्षको लागि चिनियाँ खोप लगाइने

    जेठ २५ गतेबाट ६० देखि ६४ वर्षको लागि चिनियाँ खोप लगाइने

    काठमाडौं । जेठ २५ गतेबाट नेपालका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार उक्त मितिमा चीन सरकारले दिएको भेरोसेल खोप लगाउने भएको हो ।

    खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्ने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चत गरेर पहिलो डोज दिन लागेको हो।

     

  • आइएमई फाउन्डेशनद्वारा तीन करोडको स्वास्थ्य उपकरण सहयोग

    आइएमई फाउन्डेशनद्वारा तीन करोडको स्वास्थ्य उपकरण सहयोग

    काठमाडौं । आइएमई फाउन्डेशनले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ ।

    आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।

    फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल) काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो ।

    त्यसैगरी, फाउन्डेसनले समुदायद्वारा सञ्चालित आइशोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

    यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ ।

    यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव एक सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँका दरले झण्डै ६० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ ।

    फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकूदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र नाफारहित संस्था भएको सो समूहले जनाएको छ ।

  • अक्सिजन जेनेरेटर र कन्सन्ट्रेटरको भुक्तानी रोक्न कर्णाली सरकारलाई दिर्नेशन

    अक्सिजन जेनेरेटर र कन्सन्ट्रेटरको भुक्तानी रोक्न कर्णाली सरकारलाई दिर्नेशन

    वीरेन्द्रनगर । कर्णाली सरकारलाई प्रदेश संसदीय समितिले प्रदेशका सबै जिल्लालाई अक्सिजन प्लान्ट र कन्सन्ट्रेटरको भुक्तानी तत्काललाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।

    अक्सिजन जेनेरेटर र कन्सन्ट्रेटर खरिद गर्दा भ्रष्टाचार भएको आशंका गर्दै प्रदेश सभाको सामाजिक विकास समितिले मंगलबार रकम भुक्तानी नगर्न निर्देशन दिएको हो।

    समितिकी सभापति देवी ओलीले विभिन्न अस्पतालको अनुगमन गर्दा शंकास्पद पाइएको बताउँदै त्यसको बारेमा पुरा छानविन नभएसम्मका लागि भुक्तानी रोक्न सरकारलाई निर्देशन दिइएको जानकारी दिए ।

    यद्यपि कालिकोट र मुगुले प्लान्टका नाउँमा अक्सिजन जेनेरेटरलाई ३८ लाख ८० हजारका दरमा दिइएको भुक्तानीका बारेमा भने समिति मौन छ ।

    ‘कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तीब्र गतिमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण र संक्रमितहरूको प्रभावकारी उपचारको व्यवस्थाका लागि भनेर मिनि अक्सिजन प्लान्ट जडानको लागि सामाजिक विकास मन्त्रालयबाट सम्वन्धित कार्यालयमा पठाएको अख्तियारीका सम्वन्धमा स्वास्थ्य सेवा कार्यालयहरूबाट अक्सिजन प्लान्ट खरीद गर्ने सूचनामा उल्लेखित स्पेशिफिकेसन अनुसारको सामान कार्यालयमा प्राप्त भएको एकिन नहुँदासम्म र छानविनको क्रममा रहँदासम्म मिनि अक्सिजन प्लान्टसँग सम्वन्धित भुक्तानी रोक्न निर्देशन दिने निर्णय भएको छ,’ ओलीले भनिन् ।

    त्यस्तै समितिले कोरोनाबाट त्रसित नागरिकलाई राहत दिने उदेश्यले प्रदेश सरकारले गठन गर्ने भनिएको स्वंसेवक दसता गठन गर्दा कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ ।

    सरकारले माओवादी कार्यकर्तालाई नै स्वयंसेवको रुपमा भर्ति गर्न लागेको भन्दै विवाद पनि भएको थियो । सभापति ओलीले भनिन्, ‘कोरोना भाइरस (कोभिड-१९) महामारी रोग प्रतिकार्य व्यवस्थापनमा आइपर्ने अक्सिजन व्यवस्थापन, शव व्यवस्थापन तथा समुदाय परिचालन लगायतका सहयोगका कार्यहरू सञ्चालन गर्ने लगायतका कामहरुमा सहजिकरण गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गर्ने सम्वन्धमा कर्णाली प्रदेश सरकारबाट भएको निर्णय बमोजिम सामाजिक विकास मन्त्रालयले स्वयंसेवक टोली खटाउने सम्वन्धमा कानूनी प्रक्रिया पूरा गरी आवश्यकताका आधारमा सकेसम्म स्वास्थ्यसम्वन्धी प्राविधिक तालिम लिएका जनशक्तिलाई प्राथमिकता दिई कार्य गर्न निर्देशन दिने निर्णय भएको छ।’

  • संक्रमणमा कमी आएपछि कोभिड-१९ विशेष अस्पतालमा घटे बिरामी

    संक्रमणमा कमी आएपछि कोभिड-१९ विशेष अस्पतालमा घटे बिरामी

    काठमाडौं । कोभिड–१९ को संक्रमण दरमा केही कमी आएको भन्दै काठमाडौं महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले काठमाडौं महानगरपालिकाले तत्काल थप उपचार कक्षको आवश्यकता नरहेको जनाएको हो ।

    दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बिरामीको संख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो ।

    ‘बिरामीको संख्या बढे त्यसमा पुनः विचार गरिन्छ’, उनले भने, ‘कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याए पनि हाल उक्त स्थानमा १६ वटा शय्या मात्र सञ्चालनमा आएको छ ।’ उनका अनुसार धेरै संक्रमित घरमै आइसोलेशनमा छन्, केही मात्रै अस्पताल गएकाले पनि निर्माण भएको अक्सिजनसहितका अस्पतालहरुमा शय्याअनुसार बिरामी नभएका हुन् ।

    त्यस्तै कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेदिक अस्पताल पनि जम्मा संख्याको २० प्रतिशत मात्रै कोरोनाका बिरामीले उपचार गराइरहेको कामपाको भनाइ छ ।

    हाल कामपामा ६१ हजार ९२४ कोरोना संक्रमित रहेकामा ५० हजार ६८९ जना निको भएका छन् भने १० हजार १२५ होम आइसोलेशन र १७० संस्थागत आइसोलेशनमा रहेका छन । त्यस्तै हाल १० हजार ८१६ सक्रिय संक्रमितमध्ये ५२१ ले अस्पतामा उपचार गराइरहेका छन् । कोरोनाका कारण ४१९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।

    कोभिडका बिरामीलई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । बिरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड-१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ । यी माध्यमबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीले सेवा लिएका छन् ।

    ३०९ शय्याको आइसोलेशनसहित अस्पताल सञ्चालनमा

    कामपाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याडको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ ।

    कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड-१९ आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको कोभिड-१९ आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा छन् ।

    सङ्क्रमण दरमा कमी

    कामपामा कोभिड–१९ को संक्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको थियो । अहिले २५ प्रतिशत संक्रमण दर घटेर ४५ प्रतिशतमा आएको छ ।

    अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना संक्रमित बढेपछि कामपाले स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकतानुरूप टोली तयारी अवस्थामा रहेको छ । ‘कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा कमी आएको छ’, उनले भने ।

    १२ अस्पतालसँग सम्झौता

    कोभिड–१९ को संक्रमण विरुद्ध लड्नका लागि कामपाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमाणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका १२ सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिन सम्झौता गरिसकेको छ ।

    महानगरले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल-कोरियामैत्री अस्पताल रहेका छन् ।

    यसअघि महानगरपालिकाले गत वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्न सम्झौता गरेको थियो ।

    कामपाको आर्थिक सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालय, नरदेवी आयुर्वेदिक अस्पताल, सामाखुसीमा रहेको राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टरमा अक्सिजनसहितको उपकरण जडान गरी सेवा सञ्चालनमा आइसकेको छ ।

    त्यसैगरी कामपाले यही जेठ १४ गतेदेखि एन्टिजेन विधीबाट परिक्षण गरिरहेको छ । यस विधिबाट कामपाले ५० हजारलाई परीक्षणको दायरामा ल्याउने जनाएको छ ।

    -रासस

  • मंगलबार ६,०८५ संक्रमित थपिए, ६,८९८ जना डिस्चार्ज

    मंगलबार ६,०८५ संक्रमित थपिए, ६,८९८ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ६,०८५ जना संक्रमित थपिएका छन् । २० हजार १६५ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् ।

    सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ छ । कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । कूल मृतक संख्या ७४५४ पुगेको छ ।

    केही दिन ओरालो लागेको संक्रमण पुनः उकालो लागेको छ ।

  • नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

    नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

    काठमाडौं । नेपालमा ‘कालो ढुसी’ को संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै एड्भाइजरी जारी गरेको छ । भारतमा ‘ब्ल्याक फङ्गस’ भनिने कालो ढुसीबाट हजारौं मानिस संक्रमित भइसकेका छन् । कोभिड निको भएका विरामीहरुमा यो रोग देखिएको छ ।

    मन्त्रालयले रोगका लक्षण, रोकथामका विधि र संक्रमण भए आइसोलेसनमा रहेर गर्नुपर्ने कार्यबारे एड्भाइजरीमा उल्लेख गरेको छ । कोभिड-१९ भएर निको भएका विरामीहरुमा आँखा, नाक र अनुहार विगार्ने जस्ता समस्याहरु देखा परेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा हाल कालो ढुसीको संक्रमण विरलै देखिएपनि संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग घातक भएकाले स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन जरुरी रहेको जनाइएको छ ।

    कालो ढुसी भएका मानिसहरुमा सामान्य यी देखा पर्ने लक्षणहरु

    • अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने
    • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
    • नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने
    • ज्वरो आउने
    • आँखाको ढकनी सुनिने, ढकनी झुक्ने, आँखा धमिलो देखिने
    • दाँत दुख्ने वा हल्लिने

    यी मानिसहरुमा उच्च जोखिम हुने सम्भावना हुन्छ

    • कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
    • चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
    • मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

    घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु

    • सफा र सुख्खा माक्स प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
    • नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
    • व्यक्तिगत सरसफाईमा ध्यान दिने
    • घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
    • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
    • नुुनिलो पानीले नाक सफा गर्ने
    • पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
    • मधुमेह भएका विरामीले सुगर नियन्त्रणमा राख्ने
    • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने
  • चीनबाट ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, आजै थप १ लाख डोज कुन्मिङबाट आउँदै

    चीनबाट ८ लाख डोज खोप काठमाडौं आइपुग्यो, आजै थप १ लाख डोज कुन्मिङबाट आउँदै

    काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा आज काठमाडौं आइपुगेको छ ।

    नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने भएको छ ।

    यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड-१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

    चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।

  • मन्त्री र प्रवक्ताबाहेकले कोरोनाभाइरस महामारीबारे बोल्न नपाउने

    मन्त्री र प्रवक्ताबाहेकले कोरोनाभाइरस महामारीबारे बोल्न नपाउने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिलाई आमसंचारमा बोल्न रोक लगाएको छ ।

    मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै त्यसरी बोल्दा जनमानसमा द्धिविधा बनाउने र भ्रमित तुल्याउने गरिएकाले बोल्न रोक लगाइएको हो ।

    कोभिड महामारीसहित जनस्वास्थ्यका विषयमा विभागिय मन्त्रीहरु, मन्त्रालयले तोकेका पदाधिकारीलाई मात्र बोल्न दिन निर्णय समेत मन्त्रालयले गरेको छ ।

    तोकिएका व्यक्तिबाहेक अरुलाई बोल्न रोक लगाइएको प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । तोकिएका व्यक्ति बाहेक अरुलाई बोल्न रोक लगाइदिन आग्रह गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र समेत लेख्ने भएको छ ।

    साथै, मन्त्रालयले अनाधिकृत जानकारी प्रकाशन तथा प्रसारण नगर्न र नगराउन समेत संचार माध्यमलाई आग्रह गरेको छ ।

  • भारतमा अहिलेसम्मकै कम संक्रमित, २७ सयले ज्यान गुमाए

    भारतमा अहिलेसम्मकै कम संक्रमित, २७ सयले ज्यान गुमाए

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरस संक्रमणदर हाल सम्मकै निकै कम संक्रमित थपिएका छन् । २४ घण्टामा १ लाख २७ हजार ५ सय १० नयाँ संक्रमित थपिएको यो पहिलो तथ्यांक हो । २ लाख ५५ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् भने २ हजार ७ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

    भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड ८१ हजार भन्दा बढी रहेका छन् भने अहिलेसम्म २ करोड ५९ जना भन्दा बढी डिस्चार्ज भएका छन् ।

    हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनको संख्या ३ लाख ३१ हजार ८ सय ९५ जना पुगेको छ भने १८ लाख ९५ हजार ५ सय २० जना सक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण

    चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण

    काठमाडौं । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ ।

    चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    नेपाल आइपुगेका अन्य सामग्रीमा दश वटा डीआर मेसिन, २० वटा पोर्टेबेल अल्ट्रासाउण्ड र ३० वटा ऐनेस्थेसिया मेसिन छन् । चीनले यसअघि पनि विभिन्न राज्यहरुमार्फत मेडिकल सामग्री सहयोग गरिरहेको छ ।

    चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज खोप आजै नेपाल ल्याइँदैछ

  • नेपाल एयरलाइन्सको वाइडबडी बेइजिङमा, ८ लाख डोज खोज खोप ल्याउँदै

    नेपाल एयरलाइन्सको वाइडबडी बेइजिङमा, ८ लाख डोज खोज खोप ल्याउँदै

    काठमाडौं । चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज काठमाडाैं ल्याउँदै छ ।

    खोप लिन सोमवार राति एयरबस ३३० बेइजिङ गएको थियो । बेइजिङमा अहिले खोप र त्यससँग सम्बन्धित मेडिकल सामाग्रहीरु लोड भइरहेको छ । केही बेरमा ८ लाख डोज भेरोसिल खोप लिएर विमान काठमाडौंतर्फ उड्ने नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।

    खोप आजै अपराह्न काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्या भण्डारीले चीनिया राष्ट्रपतिसँग टेलिफोन संवाद गरे लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

    बाँकी दुई लाख डोज खोप कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने भएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।

  • बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु

    बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु

    रुपन्देही । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंकलन गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकामा टोलटोलमा निःशुल्क परीक्षण शुरु गरिएको छ ।

    सोमबारदेखि मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए । यस्तोे परीक्षणबाट पनि केही संक्रमित भेटिएकाले यसलाई थप बिस्तार गरिने उनको भनाइ छ ।

    मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण हस्टस्पट क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो । यो परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।

    महामारीविरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदायस्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरेका छन् ।

    जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए ।

    मनोबल उच्च राख्न उनले आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

    ‘सावधानी र स्वास्थ्य मापदण्ड सबैले पालना गरौं, ’उनले भने । उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

    बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधि वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद औषधि, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिण्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

  • चीनबाट ल्याइने १० लाख डोज खोप यसअघि नलगाइएकालाई दिइने

    चीनबाट ल्याइने १० लाख डोज खोप यसअघि नलगाइएकालाई दिइने

    काठमाडौं । चीनले यसैसाता दिन लागेको १० लाख भेरोसोल खोप यसअघि नलगाएका नागरिकलाई प्राथमिकतामा राखेर पहिलो चरणमा दिइने भएको छ ।

    उक्त खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका खोप महाशाखा प्रमुख झलक गौतमका अनुसार एक पटक पनि खोप नलगाएका नागरिकलाई पहिलो मात्राको खोप दिइनेछ ।

    उनले भने, ‘पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोपका लागि पनि सुरक्षित गरेर अगाडि बढ्छौं । शिक्षक र सवारी चालकलाई पहिलो चरणको खोप दिने बारे हामी छलफलमा छौं । अहिले कुनै निर्णय भएको छैन ।’

    मन्त्रालयले १८ वर्षभन्दा माथिल्लो उमेरका नागरिकका लागि पहिलो डोज खोपका लागि अनलाइन आवेदन फर्म भर्न आग्रह गरेको थियो । यसबारे गौतमले भने, ‘कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियान सकिने वितिकै यो अभियान सुरु हुने तयारी भइरहेको छ ।’

    कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनका लागि जुनसुकै ठाउँबाट पनि फर्म भर्न सकिन्छ र फर्म भर्ने मिति भने नतोकएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

  • काठमाडौं उपत्यकामा १,३६२ संक्रमित थपिए, उपत्यकाका कुन जिल्लामा कति सक्रिय संक्रमित छन् ?

    काठमाडौं उपत्यकामा १,३६२ संक्रमित थपिए, उपत्यकाका कुन जिल्लामा कति सक्रिय संक्रमित छन् ?

    काठमाडौं । सोमवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं जिल्लाका रहेका छन् । राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन्।

    काठमाडौंमा १४ हजार ७९५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४४०९ र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमित छन् । दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा मोरङ पनि रहेको छ।

    ७७ मध्ये ५० जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने थप ११ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

    कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने ?
    कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ :

    ११३३
    ९८५१२५५८३९
    ९८५१२५५८३७

    एम्बुलेन्स सेवाको लागि :

    १०२

    यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

  • सोमवार ४,७६२ संक्रमित थपिए, ६४९१ जना डिस्चार्ज

    सोमवार ४,७६२ संक्रमित थपिए, ६४९१ जना डिस्चार्ज

    काठमाडौं । सोमवार नेपालमा ४७६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु पुष्टि भएको छ ।

    १७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।

    ६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

    सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ । कूल मृतक संख्या ७३८६ पुगेको छ ।

  • नेपालमा १२ जनामा कालो ढुसीको संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी जारी

    नेपालमा १२ जनामा कालो ढुसीको संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी जारी

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको भएका मानिसहरुमा ‘कालो ढुसी’को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म झन्डै एक दर्जन मानिसमा आँखा बिगार्ने ‘ब्ल्याक फङ्गस’को संक्रमण देखिएको मन्त्रालयले बताएको छ । वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंका अस्पतालबाट कालो ढुसी संक्रमणको विवरण आएको स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

    भारतमा ब्ल्याक फङ्गसबाट हजारौ मानिस संक्रमित भएका छन् । नेपालमा पनि कोभिड बिरामीका लागि यो संक्रमण घातक बनेको छ ।
    पौडेलले भने, ‘नेपालमा सुरुमा वीरगञ्जबाट कालो ढुसीको संक्रमणबारे रिपोर्ट गरिएको थियो । संक्रमण रोकथाम तथा उपचारको लागि मापदण्ड बनाएका छौं, विशेषज्ञ चिकित्सकहरुको एउटा कोर टीम बनाएर हामीले रोकथामका लागि एड्भाइजरी प्रकाशित गरिसकेका छौं ।’

    चिकित्सकका अनुसार कालो ढुसी संक्रमितको उपचारको लागि ‘एम्फोटेरिसिन बी’ औषधीको प्रयोग गरिएको छ तर नेपालामा भने अहिलेसम्म यो औषधी उपलब्ध हुन सकेको छैन । पछिल्लो समय भारतले आयात निर्यातमा रोक लगाएपछि औषधि उपलब्ध गर्नका लागि चुनौतिपूर्ण भएको छ’ पौडेलले बताए ।

    तीलगंगा इन्स्टिच्यूटका विशेषज्ञ रीता गुरुङका अनुसार कालो ढुसी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसमा बढी हुने गर्दछ । कोभिड संक्रमण भइसकेका मानिसहरुमा इम्यूनिटी (प्रतिरोध क्षमता) घटेको हुन्छ, त्यस्ता बिरामीहरुमा रोगसँग लड्ने क्षमता घट्न जान्छ । यो रोग मधुमेह रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा बढी समस्या देखिने गर्छ ।

    अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उनी बताउँछिन् ।

     

  • नर्भिक अस्पतालद्वारा सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा

    नर्भिक अस्पतालद्वारा सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा

    काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ ।

    कोभिड निको भइसकेपछि पनि देखापर्ने स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको छ ।

    अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको हो ।

    योसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर पाएका छन् ।

    नर्भिक अस्पतालले २ प्रकारका प्याकेज घोषणा गरेको छ । सस्तो दररेटको प्याकेज रु. ७५०० मै उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

    यो प्याकेजअन्तरगत बिरामीको सिबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

    यस्तै, चेस्ट एक्स–रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ । सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ । यस्तै, सोझै अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।

    नर्भिक अस्पतालले केही दिनअघि मात्रै कोभिडपछि बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेको निश्कर्षसहित त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुवात गरिसकेको छ । सोही क्लिनिकमा बिरामीहरुले प्याकेजअन्तगरतको सेवा पाउनेछन् ।

    नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ ।

    पछिल्लो समय मृत्यदर पनि बढ्दो छ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ-स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छने ।

    यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल जान उनले सुझाव दिएका छन् ।

     

  • चीनबाट भोलि ९ लाख डोज खोप काठमाडौं आइपुग्ने

    चीनबाट भोलि ९ लाख डोज खोप काठमाडौं आइपुग्ने

    काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये ९ लाख मात्रा भोलि मंगलबार काठमाडौं आइपुग्ने भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज बेइजिङबाट र १ लाख डोज कुन्मिङबाट काठमाडौं ल्याइन लागिएको हो ।

    ८ लाख डोज खोप मंगलबार दिउँसो दुई बजे काठमाडौं आइपुग्नेछ । खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राती बेइजिङ प्रस्थान गर्दैछ ।

    हिमालय एयरलाइन्सको जहाजले कुन्मिङबाट मंगलबार १ लाख र बुधबार अर्को एक लाख डोज खोप काठमाडौं ल्याउनेछ । चिनियाँ राष्ट्रपति सी जिङपिङले यसैसाता नेपाललाई १० लाख डोज अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए ।

    नेपालले चिनियाँ खोप सिनोफार्म (भेरोसेल)लाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ । चीनले यसअघि नेपाललाई ८ लाख खोप उपलब्ध गराइसकेको छ ।

  • भारतमा मृत्युदरमा सुधार आएन, पछिल्लो २४ घण्टामा ३१ सयले गुमाए ज्यान

    भारतमा मृत्युदरमा सुधार आएन, पछिल्लो २४ घण्टामा ३१ सयले गुमाए ज्यान

    दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ७ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३८ हजार २२ जना डिस्चार्ज भएका छन् ।

    भारतमा दैनिक संक्रमितको संख्यामा ओरालो लाग्दै आएको छ भने दैनिक मृत्युदरमा भने सुधार आउन सकेको छैन । अहिलेसम्म भारतमा कुल २ करोड ८० लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ५६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    भारतमा कुल ३ लाख २९ हजार १०० जनाले ज्यान गुमाइसकेका छन् भने २० लाख २६ हजार ९२ जना संक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान

    चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान

    काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्ध चीनको तिब्बतले नेपाललाई थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

    तातोपानी सीमा नाकामा तिब्बती अधिकारीहरुले नेपाली पक्षलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

    जसमा ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सनट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसीयू बेड र १५ हजार एन्टीजेन किट्स छन् ।

    चीनले महामारीविरुद्ध यसअघि पनि नेपाललाई हवाइ र स्थलमार्गबाट स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

  • निषेधाज्ञाको एक महिनाः जनजीवन ठप्प, तर थामिएन महामारी

    निषेधाज्ञाको एक महिनाः जनजीवन ठप्प, तर थामिएन महामारी

    काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिन थालेसँगै काठमाडौंमा निषेधाज्ञा जारी गरिएको एक महिना बितेको छ । गत वैशाख १६ गतेदेखि एक साताका लागि लगाइएको निषेधाज्ञाको म्याद पटक-पटक थप हुँदै एक महिना लम्बिएको हो ।

    निषेधाज्ञाले महामारी नियन्त्रणमा कति सघाउ पुग्यो त ? पछिल्लो एक महिनाको तथ्याङ केलाउने हो भने सकारात्मक जवाफ हात पर्दैन । कोरोना संक्रमणको दर अपेक्षितरुपमा घट्न सकेको छैन भने मृत्यू दर बढ्दो छ । निषेधाज्ञाबाहेक अन्य उपायहरुमा ध्यान दिन नसक्दा कोरोना चाँडै नियन्त्रणमा आउन नसकेको विज्ञहरु बताउँछन् ।

    निषेधाज्ञा सुरु भएको अघिल्लो दिन गत वैशाख १५ गते नेपालमा ४ हजार ८९७ जना संक्रमित थपिएका थिए भने १७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए । त्यसको ठिक एक महिना पछि १५ जेठमा ४ हजार ४ सय ८६ जना संक्रमित थपिए भने एक सय १६ जनाले ज्यान गुमाएका छन् ।

    यो बीचमा वैशाखको अन्तिम साता र जेठको पहिलो साता महामारी ‘पिक’ मा पुगेको देखिन्छ । वैशाख २८ गते नेपालमा कोरोना संक्रमणले नयाँ रेकर्ड राख्यो । त्यस दिन ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २२५ जनाको ज्यान गएको थियो । तर, सर्वाधिक मृत्यूको त्यो रेकर्ड जेठ ५ गते तोडियो । त्यस दिन २ सय ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए ।

    पछिल्लो साता संक्रमित हुने संख्यामा केही सुस्तता आएको देखिए पनि अवस्था भयावह नै छ । पछिल्ला तीन दिनको तथ्यांक हेर्ने हो भने १३ गते बिहीबार ६ हजार ९३९ जना संक्रमित थपिए भने १०५ जनाको मृत्यू भयो । शुक्रबार ६ हजार ९५१ जनामा संक्रमण पुष्टि हुँदा ९६ जनाको ज्यान गयो । हिजो शनिबार ४ हजार ४ सय ८६ मा संक्रमण देखियो भने एक सय १६ जनाको मृत्यू भयो ।

    निषेधाज्ञा सुरु भएको ३२ दिनको अवधिमा मात्रै २ लाख ४९ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३ हजार ८४२ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् ।

    जनजीवन ठप्प, रोजीरोटीको संकट

    कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा एक महिनामा खुकुलो हुनुको साटो झन् कडा गरिएको छ । अहिले देशको राजधानीको जनजीवन ठप्प प्राय छ । दैनिक काम गरेर खानुपर्ने मानिसहरु रोजिरोटीको समस्यामा परिरहेका छन् ।

    पछिल्लो सातामा तीन जिल्लाका सिडीओहरुले निषेधाज्ञा झन् कडा पार्न निर्देशन दिएका थिए । काठमाडौंमा अहिले खाद्यान्न र किराना पसल पनि खोल्न दिइएको छैन । अत्यावश्यक वस्तुहरुको आपूर्तिमा समेत अवरोध भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्रवाह थप संकुचित बनाइएको छ ।

    निषेधाज्ञाका कारण उद्योग-कलकारखाना बन्द हुँदा लाखौंले अल्पकालीन वा दिर्घकालीनरुपमा रोजगारी गुमाएका छन् । उनीहरुको परिवारलाई भरणपोषणको समस्या छ । काठमाडौं छाडेर गाउँ हिँडेका धेरै मानिसहरु अझै फर्किन सकेका छैनन् ।

    समग्रमा निषेधाज्ञाले देशको अर्थव्यवस्थामा गम्भिर धक्का दिएको छ । उद्योग, पर्यटन, यातायात तथा साना व्यवसायीहरुले सबैभन्दा ठूलो प्रहार व्यवहोरेका छन् । व्यवसायीहरु सरकारका तर्फबाट उद्दार प्याकेज नआएको खण्डमा फेरि उठ्न कठिन रहेको बताइरहेका छन् । सरकारले हिजो सार्वजनिक गरेको बजेटले व्यवसायीहरुलाई केही राहत दिए पनि यो पर्याप्त नरहेको उनीहरुको भनाइ छ ।

    अघिल्लो लकडाउनको अनुभव

    नेपालमा कोरोना संक्रमण देखिन थालेलगत्तै २०७६ चैत ११ देखि सरकारले देशैभर लकडाउन लागू गरेको थियो । हप्ता, महिना गर्दै ४ महिनासम्म लम्बिएको सो लकडाउनले देशको अर्थतन्त्र लथालिंग बनायो भने कोरोना महामारी फैलिनबाट पनि रोकिएन । कडा लकडाउनकै बीचमा महामारी फैलिएको थियो ।

    त्यसबेला लामो लकडाउनले मजदुर वर्गहरु भोकभोकै पर्न थालेपछि सडकमा निस्कन बाध्य भए । अन्ततः महामारीकै बचिमा सरकारले ४ महिनापछि लकडाउन खोल्न वाध्य भएको थियो । त्यसको केही समयपछि बिस्तारै कोरोना महामारी सिथिल हुँदै माग-फागुनमा आइपुग्दा लगभग अन्त्य हुन लागेको अवस्था थियो । तर चैतदेखि फेरि भारतमा कोरोनाको दोस्रो वेभ आयो र त्यसको असर नेपालमा पनि पर्न थाल्यो ।

    भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिए पनि सरकारले सिमानाकामा कडाइ गर्न सकेन । स्वास्थ्य मापदण्डबिनै दुवैतर्फ आउजाउ चलिरह्यो । यहीबीचमा देशमा राजनीतिक किचलो पनि बढ्न थाल्यो । सरकारको ध्यान महामारी नियन्त्रण गर्नेभन्दा कुर्सी जोगाउनेमा बढी केन्द्रीत भयो । अन्ततः वैशाखदेखि नेपाललाई महामारीले नराम्रोसँग गाँज्यो । त्यसपछि सरकारले निषेधाज्ञा र लकडाउनभन्दा अर्को उपाय देखेन ।

    अघिल्लोपटकको लकडाउन असफल भएको बिर्सेर सरकारले फेरि पनि त्यही मोडल अपनाएको छ । यसबेला लकडाउन गर्दासम्म कोरोना आगोझैं सल्किसकेको थियो । त्यसैले निषेधाज्ञामा संक्रमण घट्नुको साटो ह्वात्तै बढ्यो ।

    विज्ञ भन्छन्ः लकडाउन मात्रै ओखती होइन

    उपत्यकामा निषेधाज्ञा लगाएको एक महिना हुँदा पनि कोरोनाको चेन ब्रेक नभएको विज्ञहरुले बताएका छन् । लकडाउन र निषेधाज्ञाले मात्रै कोरोना महामारी नियन्त्रण हुन नसक्ने उनीहरुको भनाइ छ ।

    जनस्वास्थ्यविद् समीरमणि दिक्षित कोरोना संक्रमणको चेन ब्रेक गर्नुपरेको अवस्थामा मात्रै लकडाउनको विकल्पमा जानुपर्ने बताउँछन् । अहिले कोरोना संक्रमण नघट्नुको मुख्य कारण सरकारको लापरबाही नै रहेको उनको भनाइ छ ।

    अहिले काठमाडौंमा मात्र नभएर गाउँगाउँमा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंमा निषेधाज्ञा लागू हुने भएपछि धेरै मानिसहरु गाउँ फर्केका थिए । उनीहरुमार्फत संक्रमण उपत्यकाबाहिर बिस्तार भएको विज्ञहरु बताउँछन् ।

    दिक्षित भन्छन्, ‘संक्रमण फैलिएपछि जो जहाँ छ त्यहीँ बस्नुपर्ने हो । तर सरकार आफैले गाउँ जानको लागि तीन दिनको समय दिइयो । त्यसले पनि संक्रमण फैलन सहयोग पुग्यो ।’

    अर्का जनस्वास्थ्यविद् डा. शरद वन्त संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेर मात्रै नहुने बताउँछन् । निषेधाज्ञा समयमा पनि कतिपय मानिसहरु चलायमान हुँदा संक्रमण विस्तार भएको उनको तर्क छ ।

    उनले भने, ‘निषेधाज्ञा लागू गरेर पनि हाम्रो संक्रमण अपेक्षितरुपमा घट्न सकेको छैन । कम्तिमा यसले कामै गरेन भन्ने स्थिति त छैन तर जति प्रभावकारी हुन सक्थ्यो भएन ।’

    सिडिओको दावीः नत्र झन् भयावह हुन्थ्यो

    कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै उपत्यकाका ती जिल्ला प्रशासन प्रमुखले एकसाथ निषेधाज्ञा जारी गरेका थिए । अहिले उनीहरु निषेधाज्ञाले मात्रै कोरोना नियन्त्रण नहुने बताउँछन् । निषेधाज्ञा पनि नलगाएको भए झनै ठूलो क्षति बेहोर्नुपर्ने उनीहरुको तर्क छ ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘हामीले गर्न सक्ने भनेकै निषेधाज्ञा हो । अन्य विकल्प छैन हामीसँग ।’

    यो हदसम्म निषेधाज्ञा नगरेको भए महामारी झन् भयावह बन्ने उनले बताए ।

    ‘निषेधाज्ञाले गर्दा महामारीले रफ्तार लिन पााएन । अब यसलाई घटाउन र चेन ब्रेक गर्नुपर्ने भएकाले अलिकति कडा पारेको हो,’ उनले भने ।

    झण्डै एक महिना लकडाउन गर्दा पनि नियन्त्रण नहुनुमा राजनीतिक गतिविधीले पनि प्रभाव पारेको उनको स्वीकारोक्ति छ ।

    अझै दुई हप्ता थप्न सिफारिस

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञाले संक्रमणको चक्र घटाउन सहयोग पुर्‍याएको दावी गरेको छ । यसले महामारी नियन्त्रणको तयारी गर्न समेत सरकारलाई समय मिलेको मन्त्रालयका पदाधिकारीहरु बताउँछन् ।

    मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘निषेधाज्ञापछि अस्पताल व्यवस्थापन लगायतका तयारीको लागि हामीले समय पाउने हो । निषेधाज्ञा मात्रैले सबै कुरा हुने होइन ।’

    अधिकारीका अनुसार निषेधाज्ञा थपिदै गएसँगै कोरोना संक्रमणको चेक बेक्र गर्दै संक्रमण पनि घट्न थालेको छ ।

    उनी भन्छन्, ‘निषेधाज्ञाको प्रभाव भनेको.दुई देखि ३ हप्ताभन्दा अगाडि देखिदैन । तीन हप्तासम्म अगाडिकै संक्रमण देखिइरहेको हुन्छ । ३ हप्ताभन्दा पछि मात्रै संक्रमण घटाएको देखिन्छ । अहिले अलिकति घटेजस्तो देखिएको छ ।’

    यद्यपि, अहिलेको अवस्था हेर्दा संक्रमणको उच्च अवस्थामै गुज्रिरहेको प्रवक्ता अधिकारीको स्वीकारोक्ति छ ।

    उनले भने, ‘केही दिन अगाडि संक्रमणको एउटा अवस्थामा आइसकेपछि निषेधाज्ञाको अवस्थामा गयाैं । त्यसपछि पनि ज्यामितीय हिसाबले बढ्ने दर त केही दिनसम्म रहन्छ । त्यसका कारण एक हप्तासम्म संक्रमण नघटेको जस्तो देखिए पनि निषेधाज्ञा थपिने क्रम बढ्दै गयो । त्यतिखेर नगरेको भए अझै धेरै हुन्थ्यो ।’

    कोरोना नियन्त्रण गर्न अझै दुई साता निषेधाज्ञा आवश्यक रहेको उनको भनाइ छ ।

    अधिकारी भन्छन्, ‘अझै दुई हप्ताजति निषेधाज्ञा थप गरेर हामी अगाडि बढ्न सक्ने अवस्था भयो भने संक्रमणको दर अझ तल आउँछ । हामीलाई सहज हुँदै जान्छ । अस्पताल व्यवस्थापन गर्न धेरै चुनौति हुँदैन । त्यही आधारमा हामीले तत्काल दुई हप्ताको सिफारिस गरेका छौ ।’

    कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा एउटा मात्रै साधन नभएको उनी पनि मान्छन् ।

    ‘निषेधाज्ञाले मात्रै हुँदैन’
    जनस्वास्थ्यविद् डा. शरद वन्त

    भाइरसको संक्रमणको आफ्नो चेन हुन्छ । त्यो चेनलाई ब्रेक गर्ने हाम्रा कार्यक्रम जति प्रभावकारी भए, त्यति नै संक्रमण नियन्त्रण हुँदै जाने हो । अथवा संक्रमणको चक्र ब्रेक हुँदै जाने हो । संक्रमण रोक्न एउटै मात्र विधि यथेष्ट हुन्न । सबै विधिलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सकियो भने मात्रै संक्रमणको चेन ब्रेक गर्न सकिन्छ ।

    लकडाउन मात्रै एउटा पूर्ण विधि होइन, संक्रमण चेन रोक्न । यसको आफ्नो महत्व हुन्छ । निषेधाज्ञाले विशेषगरी मानिसहरूको चलायमानता रोक्ने कोसिस गर्छ । यो रोकियो भने मानिसहरूको बीचमा सम्पर्क कम हुन्छ र यसले संक्रमणको फैलावटलाई रोक्छ नै । तर त्यतिले मात्रै पुग्दैन ।

    निषेधाज्ञा लगाउनुअघि जुन संक्रमित भइसकेका हुन्छन्, उनीहरू देखिने बेला पनि हुन्छ । निषेधाज्ञा लगाएको भोलिपल्टदेखि नै संक्रमण घट्छ भन्ने पटक्कै होइन । यसको एउटा समय हुन्छ । हामीले संक्रमणको चक्र रोक्न निषेधाज्ञा सँगसँगै अरु जनस्वास्थ्यको विधि छन् । आयातित केसहरूलाई नियन्त्रण गर्नपर्यो । आयातित केस त भारतबाट लकडाउनपछि पनि छन् । त्यसलाई लकडाउनले रोक्न सक्दैन ।

    दोस्रो कुराचाहिँ हामीले संक्रमितहरूको समयमै पहिचान गरेर छुट्टै बसाउनुपर्छ । अनि मात्रै उसबाट संक्रमण विस्तार हुन पाउँदैन । हाम्रो सन्दर्भमा एक लाखभन्दा बढी संक्रमित घरमै बसिरहेका छन् । ती संक्रमितहरूबाट संक्रमणको विस्तार हुने सम्भावना कति छ, त्यसलाई मूल्यांकन गर्न सकिरहेका छैनौं ।

    संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको हामीले परीक्षण गरेका छैनौं । परीक्षण नगरेको हुनाले सबै संक्रमितको पहिचान गर्न सकिरहेका छैनौं । ती पहिचान नभएका संक्रमित समुदायमा चलायमान हुन सक्छन् । चलायमानतालाई एक हदसम्म निषेधाज्ञाले नियन्त्रण गरेको होला । तर निषेधाज्ञा गरेर पनि चलायमानतालाई पूर्णरुपमा रोकेको छैन । त्यसले गर्दा संक्रमण विस्तार हुने चेन ब्रेक भइसकेको छैन ।

    निषेधाज्ञा लागू गरेर पनि हाम्रो संक्रमण जुन वेगमा घट्नुपर्दथ्यो त्यो वेगमा घट्न सकेको छैन । यद्यपि यसले कामै गरेन, औचित्य नै भएन भन्ने स्थिति पनि होइन छैन ।

  • कोरोना संक्रमितलाई भेट्न स्वास्थ्य सामग्री लिएर मेयर घर-घरमा

    कोरोना संक्रमितलाई भेट्न स्वास्थ्य सामग्री लिएर मेयर घर-घरमा

    सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका-६ मान्द्राकी वृद्धा भक्तियामा श्रेष्ठले आफुले मत दिएर पठाएको जनप्रतिनिधिलाई आफ्नै घर मै भेट्दा निकै खुसी थिइन् ।

    आपत्त बिपत्तमा सरकारका प्रमुख घरमै आएर सन्चो, बिसन्चो र हालखबर सोध्दा पनि धेरै दुःख त त्यतीकै हराउँदो रहेछ श्रेष्ठले भनिन् । स्थानीय सरकारका प्रमुखले घर मै आएर साबुन, मास्क लगायत स्वास्थ्य सामग्री दिएपछि श्रेष्ठ खुसी थिइन् ।

    बाह्रविसे नगरपालिका यार्साकी विष्णुकुमारी तामाङले पनि आफ्नै बस्तीमा नगरप्रमुख आएर स्वास्थ्य सामग्री दिँदा खुशी थिइन ।

    कोरोना कहरका बिचमा पनि आफ्ना नगरबासीको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य सामग्री सहित बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा नगरपालिकाका सबै वडाहरुमा पुग्दा स्थानीय खुशी भएका थिए ।

    गाउँ-गाउँमा धेरै संक्रमितहरु अहिले पनि होम आइशोलेसनमा बस्नु भएको रहेछ, उहाँहरुलाई आवश्यक स्वास्थ्य सामग्री र औषधी बोकेर हामी जनप्रतिनिधिहरु सबै वडामा जान सुरु गरेका छौं, मेयर शेर्पाले भने । शेर्पाले संक्रमितहरुको अवस्था बुझीरहेको र नगरपालिकाबाट यस अघि भएका विकास निर्माणका कार्यहरुको पनि सँगै अनुगमन गर्न सुरु गरिएको बताए ।

    बस्तीमा बिरामीहरुको संख्या धेरै देखिएमा पीसीआर गर्ने टोली गाउँमा नै लगेर सबैको पीसीआर गर्ने तयारी नगरपालिकाले गरेको मेयर शेर्पाले जानकारी दिए । नगरपालिकाका सात वडा मध्ये हालसम्म १,२,६ र ८ वडाका बस्तीहरुमा पुगीसकेको र अब बाँकी वडाहरुमा पनि स्वास्थ्य सामग्री सहित आफुहरु पुग्ने मेयर शेर्पाले बताए ।

    हामीले नगरका सबै उपस्वास्थ्य चौकी, स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरु मार्फत प्रदान गरीएका सेवाहरुप्रति जनताको धारणा र सुझाव बुझ्न आफुले अनुगमन गरेको मेयर शेर्पाले बताए । ‘हामी नगरको आगमी वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा छौ, बस्तीमा पुगेर स्थानीयको सुझावलाई समेत लिएर बजेट निर्माण गर्ने योजनामा छौं, मेयर शेर्पाले भने ।

    नगरपालिका र विभिन्न संघ संस्थाहरु मार्फत स्वास्थ्य सचेतता र सतर्कताका सामाग्रीहरु पर्याप्त रुपमा गाउँमा पठाइएको भए पनि अझै ग्रामीण क्षेत्रमा माक्स, सेनिटाइजरको प्रयोग र भौतिक दुरीको मापदण्ड कायम गर्ने व्यवहारमा सोचेजति सुधार नदेखिएको मेयर शेर्पाको भनाई थियो ।

     

  • ४ हजार ३६९ संक्रमित थपिँदा निको भए ६ हजार २०५

    ४ हजार ३६९ संक्रमित थपिँदा निको भए ६ हजार २०५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ ।

    देशभरको प्रयोगशालामा १० हजार ९८६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०२ र एन्टीजेनबाट ६सय ६७ जनामा पोजेटिभ देखिएको हो ।

    पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

  • थाइल्यान्डका राजाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

    थाइल्यान्डका राजाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

    काठमाडौं । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

    स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

    थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान सहयोग गरेको छ ।

    त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहकाबीच नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरे । विमानस्थलमा आयोजित छोटो समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति थियो ।

    थाइल्यान्डकाका राजा महाभजिरालोङ्कर्नले नेपाललाई शनिबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

    थाइ एयर फोर्सको कार्यालयमा आयोजित समारोहमा राजाको तर्फबाट काउन्सिलर चिरायू इस्र्काङ्न ना आयुथायाले नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सामग्री प्रदान गरेका थिए ।

  • पछिल्लो २४ घण्टामा ६ हजार ८० ले जिते कोरोना

    पछिल्लो २४ घण्टामा ६ हजार ८० ले जिते कोरोना

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ कोरोना संक्रमित हुँदा त्यसभन्दा बढी ६ हजार ८० जनाले कोरोना जितेका छन्। यद्यपि पछिल्लो २४ घण्टामा अन्य दिनमा भन्दा परीक्षण कम भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १४ हजार ६ जनाको मात्रै भयो । निको हुने दर बढ्दै गएको छ। शुरुका केही दिन ७४ प्रतिशतको हाराहारीमा रहेको निको हुने दर बढेर ७८.६ प्रतिशत पुगेको छ।

    पछिल्लो २४ घण्टामा १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

  • कृषि मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट

    कृषि मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट

    काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रायलका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

     

  • रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

    रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

    काठमाडौं । सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

    किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न  बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

  • अक्सिजन उद्योगलाई सहुलियत, कोभिड उपचार उपकरण खरिदका लागि ४ अर्ब विनियोजन

    अक्सिजन उद्योगलाई सहुलियत, कोभिड उपचार उपकरण खरिदका लागि ४ अर्ब विनियोजन

    काठमाडौं । कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

    आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड उपचारका लागि अक्सिजन प्लाण्ट लगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आजश्यक बजेट व्यवस्था गरिएको बताए ।

    १ सय शैया भन्दा बढी अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ । सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरेको छ ।

  • स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन

    स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन

    काठमाडौं । सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।

    नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो ।

    निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

  • महिला स्वास्थ्य स्वयंसेविकाले १२ हजार पाउने

    महिला स्वास्थ्य स्वयंसेविकाले १२ हजार पाउने

    काठमाडौं । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजारको घोषणा गरेका छन् ।

    मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।

  • कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन

    कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन

    काठमाडौं । सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ ।
    त्यस्तै खोप  व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया विनियोजन गरेको छ ।  आर्थिक वर्ष २०७८/७९ को बजेट  प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरेको सार्वजनिक गरेका हुन् ।