Category: स्वास्थ्य-जीवनशैली

  • कोरोना परीक्षणको दायरा बढाउँछौं, गाउँ-गाउँमा परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

    कोरोना परीक्षणको दायरा बढाउँछौं, गाउँ-गाउँमा परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

    काठमाडौं । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ-गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए ।

    अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार गर्ने उनको भनाई छ । ‘सबैलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा ल्याउने हाम्रो तयारी छ’ उनले भने ।

    पछिल्लो समय पीसीआर परीक्षण घटाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसबारे सोधिएको प्रश्नमा मन्त्री तामाङले परीक्षणको दायरामा विस्तार गर्ने सरकारको तयारी रहेको बताए

  • बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा हुने गरि कार्यान्वयन गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

    बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा हुने गरि कार्यान्वयन गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् । मन्त्रालयद्वारा सोमबार आयोजित प्रेसमिटमा बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा लैजाने बताए ।

    ‘यसबारे हामी अन्तर्राष्ट्रिय अनुभव लिएर बीमा सम्बन्धी पुनर्संरचनाको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँछौं’ मन्त्री तामाङले भने, ‘कोही पनि पैसा नहुँदा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा सरकार गम्भिर छ ।’ सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रुपमा कार्यन्वयनमा नआएको स्वीकार गर्दै उनले आगामी दिनमा यसलाई प्रभावकारी ढंगले कार्यन्वयनमा ल्यउने दावी समेत गरे ।

    बीमा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्दा बिरामीलाई उपचार गर्न सहज हुने उनको भनाई छ ।

    ‘म विभिन्न अस्पतालमा गएको छु । मलाई धेरै बिरामीहरुका आफन्तको उपचारमा धेरै खर्च गरेका गरिसक्यौँ २० लाख् २५ लाख माग्छ अस्पतालले, घटाइ दिनुहोस भनेर आग्रह गर्नु भएको छ । उहाँहरुको स्वास्थ्य बीमा भएको भए सहज हुन्थ्यो,’ मनत्री तामाङले भने, ‘यो अवस्थामा उहाँहरुको उपचार खर्च कम हुन्थ्यो । अब हामी स्वास्थ्य बीमा प्रभावकारी बनाउछौँ । र, त्यो अवस्थाको अन्त्य गर्छौ।’

  • भोलिदेखि भेरोसेलको पहिलो डोज खोप लगाइने यी हुन् स्थानहरू (तालिकासहित)

    भोलिदेखि भेरोसेलको पहिलो डोज खोप लगाइने यी हुन् स्थानहरू (तालिकासहित)

    काठमाडौं । महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने स्थानको तालिका सार्वजनिक गरेको छ ।

    काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने भएको छ ।

    बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइनेछ । उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा खोप लगाउन भनिएको छ ।

    खोप लगाइने स्थान (तालिकासहित) :

  • कोरोनाको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने

    कोरोनाको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने

    काठमाडौं । कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले भने ।

    ती ३९६ वटा अस्पतालको निर्माण तत्कालै सुरु हुने जानकारी दिँदै मन्त्री तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए ।

    आफू मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको बताउँदै मन्त्री तामाङले कोरोनाविरुद्ध युद्ध लड्ने आफ्नो मुख्य कार्यभार रहेको समेत बताए ।

    कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल गरिरहेको उनले जनाए ।

  • कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

    कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

    काठमाडौं । कोभिड-१९ संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन् ।

    नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट-कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्या समेत बढ्न थालेको छ । यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरुको समयमै निदान अत्यावश्यक हुन्छ ।

    के-के हुन् लक्षण ?

    डा. जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चार हप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने उनको सुझाव छ ।

    डा. जैसवालका अनुसार थोरै समय हिँड्दा नै स्वाँ–स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।

    ज्यानै जानसक्छ !

    डा. जैसवालका अनुसार यस्ता लक्षणहरुप्रति बेवास्ता गरिए बिरामीको ज्यानै जानसक्छ । कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ ।

    यस्तै, जसलाई थोरै हिँड्दा नै स्वाँ-स्वाँ हुन्छ, त्यस्ताको समेत हार्ट फेलियर हुने समस्या देखिएको छ । कतिपयलाई क्षारे रोगको जस्तो लक्षण तथा समस्या पनि देखिनसक्छ ।

    यस्तै, कतिपयलाई पार्किन्सन्स हुँदाको लक्षण पनि देखिनसक्छ । यस्ता लक्षणहरुले ब्रेनमा समेत दीर्घकालीन समस्या ल्याइदिनसक्छ ।
    डा. जैसवालका अनुसार कोभिडको उपचारका लागि धेरै दिनसम्म आइसीयू र सीसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमाबाट निस्किएजस्तो समस्या देखिने गरेको छ । यस्ता समस्यालाई पनि बेवास्ता गर्नुहुन्न । यस्तो समस्या बढ्दै गए स्ट्रोक र प्यारालाइसिस हुनेसम्मका खतरा हुन्छन् ।

    कसरी रोकथाम गर्ने ?

    डा. जैसवालकाअनुसार शरीरमा तागत नै नभएजस्तो महसुस भयो, दमको जस्तो समस्या भयो र माथि उल्लेख गरिएका लक्षणहरु देखिए तत्काल अस्पताल जानुपर्छ र विशेषज्ञबाट उचित परामर्श लिन आवश्यक छ ।

    उनले नर्भिक अस्पतालमा समेत कोभिडपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ‘पोस्ट कोभिड क्लिनिक’ सुरुवात भएको उल्लेख गर्दै त्यहाँ आएर समेत सेवा लिन सकिने बताएका छन् ।

    नर्भिकले यसअघि नै पोस्ट कोभिडको उपचारका लागि २ खालको प्याकेजको घोषणा गरिसकेको छ ।

    पोस्टकोभिड क्लिनिकमा आउने बिरामीहरुको छातिको सिटी स्क्यान वा एक्स-रे गरेर फोक्सो वा संभावित निमोनियाको अवस्था हेर्ने काम गरिने डा. जैसवाल बताउँछन् । त्यस्ता बिरामीहरुको शरीरमा रोगप्रतिरोधी क्षमता कति छ भन्ने कुरा समेत एन्टीबडी जाँचबाट हेरिन्छ । रगत बाक्लो भएको छ कि छैन भन्नेजस्ता समस्या समेत विशेष जाँचबाट हेरिन्छ । यस्तै, हेमाटोलोजी प्रोफाइल, सीआरपी लगायतका जाँच पनि गरिन्छ।

    जाँचहरुबाट आएको रिजल्टका आधारमा उचित परामर्श दिई आवश्यक औषधि र अन्य विषयमा चिकित्सकहरुले परामर्श सेवा उपलब्ध गराउनेछन् ।

    डा. जैसवाल भन्छन्- ‘पोस्ट कोभिडपछि देखिने समस्याहरुको बेवास्ता नगर्नुहोस् । यसले ज्यानै जानसक्छ । समयमै अस्पताल आएर विज्ञले सुझाएको जाँच गरी परामर्शका आधारमा औषधि लिन थाले ज्यान जोगिनसक्छ ।’

  • काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो डोज खोप लगाइने (तालिकासहित)

    काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो डोज खोप लगाइने (तालिकासहित)

    काठमाडौं । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भरोसेल खोप लगाइने भएको छ ।

    काठमाडौं महानगरपालिले खोप तालिका सार्वजनिक गर्दै जेठ २५ गतदेखि जेठ २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने जनाएको छ ।

    ६४ वर्ष उमेरकालाई जेठ २५ गते, ६३ वर्षको लागि जेठ २६ गते, ६२ वर्षकोलाई जेठ २७ गते, ६१ वर्षकोलाई जेठ २८ गते र ६० वर्षकोलाई जेठ २९ गते लगाइने भएको छ ।

    बिहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा खोप लगाइने भएको छ । उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा खोप लगाउन भनिएको छ ।

    कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई १ महिनापछि खोप लगाउन भनिएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो खोप नलगाइने भएको छ ।

  • कोभिसिल्ड खोप लगाएकालाई आस्ट्राजेनेकाकै अर्को खोपको दोस्रो डोज दिइने

    कोभिसिल्ड खोप लगाएकालाई आस्ट्राजेनेकाकै अर्को खोपको दोस्रो डोज दिइने

    काठमाडौं । कोभिसिल्डको दोस्रो खोप लगाउने प्रतीक्षामा रहेकालाई आस्ट्राजेनेकाको अर्को खोप लगाइने भएको छ ।

    स्वास्थ्य सेवा विभागले विज्ञप्ति जारी गर्दै २०७७ साल फागुन २३ गतेदेखि चैत १० गतेसम्म कोभिसिल्ड खोप लगाएकालाई अस्ट्राजेनेकाको अर्को खोप लगाइने जनाएको हो ।

    भारतको सिरम इन्स्टिच्युट र कोभ्याक्स संयन्त्रबाट तत्काल खोप नआउने भएपछि सरकारले अस्ट्राजेनेकाले उत्पादन गरेको उस्तै प्रकृतिको खोप लगाउने निर्णय गरेको हो ।

    १२ सातापछि पनि खोप लगाउन मिल्ने भएकाले सरकारले धैर्य गर्नको लागि पनि आग्रह गरेको छ । समयमै खोप लगाउन नसकिने भएपछि यसअघि सरकारले १२ सातासम्म लगाउन मिल्ने निर्णय गरेको थियो ।

  • भारतमा दुई महिनायताकै कम संक्रमण, सोमबार २४ सयले गुमाए ज्यान

    दिल्ली । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । कोभिड-१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

    पछिल्लो २४ घण्टामा २४ सय २७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७४ हजार ३९९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा अहिलेसम्म कोनाभाइरस संक्रमितको संख्या २ करोड ८९ लाख भन्दा बढी छन् भने अहिलेसम्म २ करोड ७१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ कुल ३ लाख ४९ हजार १८६ जनाले ज्यान गुमाइसकेका छन् भने १४ लाख १ हजार ६०९ जना संक्रिय संक्रमित रहेको तथ्याकंले जनाएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

  • स्वास्थ्यमा बजेट र निःशुल्क सुविधा, कसरी थाहा पाउने ? हेर्नुस् ३० जवाफ

    स्वास्थ्यमा बजेट र निःशुल्क सुविधा, कसरी थाहा पाउने ? हेर्नुस् ३० जवाफ

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सबैभन्दा धेरै स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब रुपैया बिनियोजन गरेको छ । महामारीको बेला समेत भएकाले स्वास्थ्य क्षेत्रमा ठूलो बजेट गएको छ ।

    स्वास्थ्यमा गएको बजेट र कोभिड महामारीको उपचार तथा खोपका सन्दर्भका धेरैलाई जिज्ञासाहरु छन् । कुन अस्पतालमा निःशुल्क उपचार हुन्छ, कहाँ सहमुलियत पाइन्छ र अन्य स्वास्थ्य सुविधाहरु कसरी लिने ?

    यी सबै विषयलाई सर्वसाधारणले बुझ्ने भाषामा नेकपा एमालेका स्कूल विभाग सचिव ईश्वरी रिजालले ३० वटा प्रश्नोत्तरमाला बनाएका छन् । जुन सबै लागि उपयोगी हुनसक्छ भनेर यहाँ प्रस्तुत गरिएको छ ।

    १. कुन अस्पतालहरूमा कोभिडको निःशुल्क परीक्षण र उपचार गरिन्छ ?
    सबै सरकारी अस्पताल र प्रयोगशालाहरूमा ।

    २. अक्सिजन उद्योग स्थापनाका लागि बजेटले के सहुलियत दिएको छ ?
    उपकरण आयत गर्दा लाग्ने भन्सार र मूल्य अभिवृद्धि कर पुरै छुट । सामुदायिक र निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा कुल लागतको ५० प्रतिशत पूँजीगत अनुदान दिने । महामारीको अवधिभर अक्सिजन उत्पादनमा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट दिने सहुलियत दिएको छ ।

    ३. कोभिड उपचारका लागि आईसियु, एचडियू, भेन्टिलेटर, किट्स लगायतका उपकरण खरिद गर्न बजेटमा कति रकम व्यवस्था छ ?
    रु. ४ अर्व ।

    ४. कोभिड औषधि आयातमा बजेटले के छुट दिने भनेको छ ?
    भन्सार महसुल छुट ।

    ५. कोभिड उपचारका लागि आवश्यक थप जनशक्ति बारे बजेटमा के व्यवस्था छ ?
    सेवा निवृत्त र इन्टर्नसीप स्वास्थ्य सम्वद्ध जनशक्तिलाई सेवा करारमा लिई तलव सुविधा सहित ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराएर उपचारमा खटाउने ।

    ६. आफ्नै घरमा आइसुलेसनमा बसेका कोभिड विरामीहरूका लागि बजेटमा के व्यवस्था छ ?
    सबै जनतालाई कोभिड खोप सुनिश्चित गर्न रु. २६ अर्व ७५ करोड विनियोजन गरेको छ ।

    ८. कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि वजेटले कति रकम विनियोजन गरेको छ ?
    रु. ३७ अर्व ५३ करोड ।

    ९. नागरिकहरूलाई निःशुल्क प्रदान गर्दै आएको ७० प्रकारका औषधीका लागि बजेटमा कति रकम विनियोजन भएको छ ?

    रु. ५ अर्व ६० करोड ।

    १०. निःशुल्क मुटु रोगको उपचार कुन स्तर र उमेर समूहका नागरिकलाई गरिने छ ?
    विपन्न स्तरका, चौधवर्ष मुनिका बालवालिका र ७० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई निःशुल्क मुटु रोगको उपचार गरिने छ ।

    ११. कतिप्रकारका रोगको उपचारका लागि अनुदानको व्यवस्था गरिएको छ र यसका लागि कति रकम विनियोजन भएको छ ?
    मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अलजाइमर्स, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाका रोगहरूको उपचारका लागि बजेटले अनुदानको व्यवस्था गरेको छ । यी उपचारका लागि २ अर्व ५० करोड रकम विनियोजन गरेको छ ।

    १२. सरुवा रोग अस्पताल निर्माण बारे बजेटमा के व्यवस्था छ ?
    आगामी आर्थिक वर्ष भित्र काठमाण्डौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशहरूमा ५० शैय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने र सोका लागि १ अर्व ३० करोड रकम बजेटले व्यवस्था गरेको छ ।

    १३. प्रसूति, नवजात शिशु स्याहार, मातृ स्वास्थ्य सुधार र निःसन्तानका लागि बजेटले के संवोधन गरेको छ ?
    सबै जिल्ला अस्पतालमा प्रशूति सेवा र नवजात शिशु स्याहार सेवा सञ्चालन गर्ने । हुम्ला, डोल्पा, मुगु र बझाङ लगायत २० जिल्लामा प्रशूति सेवा अगाडिको स्वास्थ्य जाँच र औषधी सुविधा सहितको मातृ प्रतीक्षा गृह सञ्चालन गर्ने । विराटनगर, बीरगञ्ज, बुटवल र धनगढीका सरकारी अस्पतालहरूमा निःसन्तान दम्पतिका लागि आईभिएफ सेवा विस्तार गर्ने ।

    १४. हाल निर्माण प्रारम्भ भएको ३९७ स्थानीय तहका अस्पतालका बारे बजेटमा के व्यवस्था छ ?
    हाल निर्माण प्रारम्भ भएका अस्पतालहरू आगामी २ वर्ष भित्र सम्पन्न गर्ने । निर्माण कार्य थालनी हुन बाँकी स्थानीय तहका हकमा आगामी आर्थिक वर्षमा निर्माण शुरु गर्ने । यी कार्य सम्पन्न गर्न ६ अर्व १५ करोड रकम बजेटले व्यवस्था गरेको छ ।

    १५. बाल पोषण र खोप सम्वन्धमा बजेटमा के व्यवस्था छ ?
    बाल स्वास्थ्य तथा पोषण कार्यक्रमलाई निरन्तरता दिने । विसिजी, पोलियो, डिपिटी, दादुरा, टाइफाइट लगायत १३ प्रकारको खोप सेवा प्रदान गरी आगामी वर्ष पूर्णखोपयुक्त वर्ष बनाई ६ लाख २० हजार बालबालिकालाई खोपसेवा दिने ।

    १६. स्वास्थ्य सेवामा आमनागरिकको पहुंच पुर्‍याउन बजेटमा थप के व्यवस्था छ ?
    स्वास्थ्य चौकी विस्तार, टेलिमेडिसियन, घुम्ती स्वास्थ्य सेवा, गर्भवती जाँच, प्रशूति, खोप सेवा, समुदायमा आधारित पुनस्र्थापना तथा प्रशामक सेवा प्रदान गर्ने ।

    १७. नेपालमा स्वास्थ्य स्वयंसेवीकाको संख्या कति छ ? वजेटले उनिहरूलाई के व्यवस्था गर्‍यो ?
    स्वास्थ्य स्वयंसेवीकाको कुल संख्या जम्मा ५२ हजार रहेको छ । उनिहरूलाई प्रदान गर्दै आएको यातायात खर्च बजेटले सतःप्रतिशत वृद्धि गरि मासिक १२ हजार पुर्‍यायो ।

    १८. क्षयरोगमुक्त स्थानीयतह घोषणा कतिवर्ष भित्र गरिन्छ र अन्य सरुवा रोगकाबारे बजेटमा के व्यवस्था छ ?
    आगामी २ वर्ष भित्र क्षयरोग मुक्त स्थानीयतह घोषण गरिने छ । मलेरिया, क्षयरोग, एड्स तथा योन रोग र कूष्टरोग नियन्त्रणका लागि १ अर्व ४६ करोड रकम विनियोजन गरिएको छ ।

    १९. मधुमेह, उच्चरक्त्तचाप, मुटु र मृगौला रोग, क्यान्सर जस्ता नसर्ने रोगको निदान र उपचारका लागि बजेटमा के व्यवस्था छ ?
    यस्ता रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक, आधुनिक उपकरण सहितको विशिष्टीकृत अस्पतालको स्थापना, स्तरोउन्नति र विस्तार गर्ने वजेटमा व्यवस्था छ ।

    २०. ४० वर्षभन्दा माथिका नागरिकको स्वास्थ्यका बारेमा बजेटले के व्यवस्था गरेको छ ?
    रक्तचाप, पिसाव र रगतको ग्लुकोजाँच, स्तन र पाठेघरको मुखको क्यान्सर वर्षमा एकपटक निःशुल्क परीक्षण गरिदिने व्यवस्था गरेको छ । तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिने व्यवस्था गरेको छ ।

    २१. मेडिकल कलेज, केन्द्रीय अस्पताल र स्वास्थ्य प्रतिष्ठानले अव के दायित्व पुरा गर्नु पर्छ ?
    कम्तीमा एउटा सरकारी अस्पतालमा नियमित रूपमा विशेषज्ञ सेवा सहितको स्याटालाइट क्लिनिक सञ्चालन गर्नु पर्ने छ । ५० शैय्याभन्दा बढी क्षमताका स्वास्थ्य संस्थाले महिनाको एकपटक आफ्नो सेवाक्षेत्र भित्र अनिवार्य रूपमा घुम्ती क्लिनिक सञ्चालन अनिवार्य गर्नु पर्ने छ ।

    २२. दुई सय शैय्या क्षमताभन्दा माथिका अस्पतालहरूले कुन रोगको उपचारका लागि कति बेड छुट्याउनु पर्ने छ ?
    मानसिक रोग उपचारका लागि न्यूनतम १० बेड ।

    २३. पचास शैय्याभन्दा माथि क्षमता भएका अस्पतालहरूले कुन उपचार कक्षको थप व्यवस्था गर्नु पर्छ ?
    जेष्ठ नागरिक उपचार कक्ष ।

    २४. सुपर स्पेसीयालिटी अस्पताल कहाँ बन्ने छ, कहिले सम्पन्न गरि सञ्चालनमा आउने छ र त्यसमा कुन रोगको निदान र उपचार हुनेछ ?
    सुपर स्पेसीयालिटी अस्पताल ३ वर्षभित्र सञ्चालनमा आउने गरी काठमाण्डौंको किर्तिपुरमा बनाइने छ । यसमा अन्तराष्ट्रिय स्तरको सेवासहित युरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी सर्जरी, स्पाइनलकर्ड सर्जरी, कार्डियोलोजी, कार्डियो सर्जरी, पल्मोनोलोजी, ग्याँस्ट्रोइन्टर्लोजी र ग्याँट्रो सर्जरीका साथै अन्य रोगको विशिष्टीकृत उपचार गरिने छ । यसमा उच्च स्तरको उपचार, डाइग्नोष्टिक सेन्टर, अध्ययन, अध्यापन र अनुसन्धानका लागि १ हजार ५ सय शैय्याको क्षमता हुने छ ।

    २५. वीर अस्पताल सेवा विस्तारका लागि कुन जिल्लामा, कुन स्तरको अस्पताल कति वर्ष भित्र सम्पन्न गरिने छ ? यो कुन स्तरको आयोजनामा समावेश गरिने छ ?
    भक्तपुर जिल्लाको दुवाकोटमा, अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल निर्माण गरी तीन वर्षभित्र सञ्चालनमा ल्याइने छ । यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने छ ।

    २६. आगामी आर्थिक वर्ष भित्र ट्रमा अस्पताल कहाँ-कहाँ बनाइने छ ?
    धनुषाको ढल्केवर, परासीको बर्दघाट र लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने छ । साथै धादिङको वेल्खुमा ट्रमा सेन्टर स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

    २७. रोग निदानका लागि विदेशमा परीक्षण गर्न नमुना पठाउनु पर्ने झन्जटबाट मुक्त हुन बजेटमा के व्यवस्था गरिएको छ ?
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्तरोउन्नति गरिने छ । प्रादेशिक प्रयोगशालालाई रिफरलर प्रयोगशालामा विकास गरिने छ ।

    २८. निरोगी नेपाल अभियानलाई सफल पार्न के कस्ता कार्यहरू गरिने छ ?
    स्वच्छ विचार, स्वस्थ खाना, नियमित व्यायमकालागि नागरिक जागरण कार्यक्रम सञ्चालगर्ने । आयुर्वेद, प्राकृतिक चिकित्सा र वैकल्पिक उपचार पद्धतिको प्रवद्र्धन गर्ने । सवै प्रदेशमा आयुर्वेदिक असपताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने ।

    २९. आगामी आर्थिक वर्ष भित्र कतिप्रतिशत मानिसलाई स्वास्थ्य विमा दायरामा ल्याइनेछ ? यसका लागि बजेट कति विनियोजन गरिएको छ ?
    स्थानीय तहका ५० प्रतिशत मानिसलाई विमा दायरामा ल्याइने छ र यसका लागि रु ७ अर्व ५० करोड बजेट विनियोजन गरिएको छ ।

    ३०. बजेटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कति रकम विनियोजन गरेको छ ?
    १ खर्व २२ अर्व ७७ करोड रकम विनियोजन भएको छ ।

  • ३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६

    ३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

     

  • बेलहिया हुँदै नेपाल भित्रियो सेनाको कोभिड सामग्री

    बेलहिया हुँदै नेपाल भित्रियो सेनाको कोभिड सामग्री

    रुपन्देही । बेलहिया नाका हुँदै कोभिड सम्बन्धी विभिन्न औषधी र सामग्री बोकेका नेपाली सेनाका ट्रकहरु नेपाल भित्रिएका छन् ।

    शुक्रबार ती सामग्री लिन भारत गएका नेपाली सेनाका २५ वटा ट्रक शनिबार बेलहिया नाका हुँदै नेपाल भित्रिएका हुन् । भारतबाट ती ट्रकहरुमा कोभिडसँग सम्बन्धित अपरेटिङ हेडलाइट, अटो रिफ्रेक्ट मिटर, बि–प्याड मेसिन, एबीजी मेशीन, ल्याब माइक्रोस्कोप, लाइट क्युरिङ कर्डलेस, आईसीयू भेन्टिलेटर, म्यानुअल स्प्रेयर, भाइरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडीटी एन्टिजेन किट, एन ९५ मास्क, पीपीईलगायतका समान ल्याइएको नेपाली सेनाको भनाइ छ ।

    यस्तै भारतले ६ वटा एम्बुलेन्स पनि प्रदान गरेको छ । तर यी सामग्री खरिद गरी आएको वा भारत सरकारले सहयोग प्रदान गरेको भन्ने केही खुलेको छैन ।

    भारत सरकारले कोभिड रोग नियन्त्रणसँग सम्बन्धित २५ वटा ट्रक भारत गएर नेपाल फर्केको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

  • शनिबार थप पाँच हजारमा भाइरस संक्रमण, ६८ जनाको मृत्यु

    शनिबार थप पाँच हजारमा भाइरस संक्रमण, ६८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५,०४२ जना कोभिडका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८१४ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    एकैदिनमा ६८ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ७,७९९ पुगेको छ । मृत्यु हुने दर १.६ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८,२४३ जना निको भएका छन् । निको हुने दर ८२ं.८ प्रतिशत छ । सक्रिय संक्रमित १५.८८ प्रतिशत छन् ।

    राजधानीका ७२३ जनासहित भक्तपुरका ७३ जना र ललितपुरका १४१ जना गरी काठमाण्डू उपत्यकामा थप ९३७ जना सङ्क्रमित थपिएका छन्। दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लाहरूमा झापा (२४५ जना) र मोरङ (२६८ जना) रहेको छ।

    नेपालका ७७ मध्ये ४६ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। कुल ८६,२६८ सक्रिय सङ्क्रमितमध्ये ६,६६० जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४५१ आईसीयूमा र ३८४ जना भेन्टिलेटरमा रहेका छन्।

  • मनसुनमा आउने स्वास्थ्य समस्यासँग सामना गर्न स्वास्थ्य मन्त्रालय तयार : प्रवक्ता पौडेल

    मनसुनमा आउने स्वास्थ्य समस्यासँग सामना गर्न स्वास्थ्य मन्त्रालय तयार : प्रवक्ता पौडेल

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले वर्षायामको बेलामा हुनसक्ने सम्भावित स्वास्थ्य समस्याहरुको सामना गर्न आफू तयारी अवस्थामा रहेको जनाएको छ ।

    विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको सामना गर्न मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

    वर्षायाममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति मन्त्रालय तयारी अवस्थामा रहेको जनाए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्स्पोन्स टीम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जनाए ।

    उनले भने, ‘प्रत्येक स्थानिय तहमा र्‍यापिड रेन्सपोन्स टीम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढी देखिन्छन् । उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्‍यापिड रेन्पोन्स टीम)ले रेस्पोन्स गर्नुहुन्छ ।’

    उनले भने, ‘डेंगु लगायतका विमारलाई चाहिने एन्टिजेन किट, परिक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्या नियमित काम भित्रै हुन्छ ।’

    स्थानीय तह तथा प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा पनि र्‍यापिड रेस्पोन्स टिम बनाइसकेको उनले जनाए ।

  • अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिडविरुद्धको स्वास्थ्य सहायता प्रदान

    अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिडविरुद्धको स्वास्थ्य सहायता प्रदान

    काठमाडौं । अष्ट्रेलियाले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

    अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् ।

    कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

  • खोप र स्वास्थ्य सामग्री जुटाउन लागिपर्छु : स्वास्थ्यमन्त्री तामाङ

    खोप र स्वास्थ्य सामग्री जुटाउन लागिपर्छु : स्वास्थ्यमन्त्री तामाङ

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले खोप तथा स्वास्थ्य सामग्री द्रुत गतिमा जुटाउन आफू लागिपर्ने बताएका छन् ।

    मन्त्रालयमा शुक्रबार बेलुका कार्यकार सम्हाल्दै मन्त्री तामाङले जनतालाई कोरोनाबाट बच्ने सुनिश्चिताका लागि निर्णायक पहल गर्ने निर्णय भएको बताए ।

    आफ्नो कार्यकाल कोभिड-१९ महामारीसँग लड्ने कुरामा केन्द्रित हुने जानकारी दिँदै मन्त्री तामाङले विषम परिस्थितीमा मन्त्री बन्न पाउनु आफ्ना लागि अवसर र चुनौती भएको समेत बताए ।

    मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री तामाङले सक्रियताका साथ लागिपर्न कर्मचारीलाई निर्देशन समेत दिए ।

  • दक्षिण कोरियाद्धारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

    दक्षिण कोरियाद्धारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।

    नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पीसीआर परीक्षण किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौं ल्याइने उक्त मन्त्रालयले बताएको छ ।

    दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ ।

  • भारतमा मृतकको संख्या पुनः उकालो लाग्यो, संक्रमित संख्या ओरालो लाग्दै

    भारतमा मृतकको संख्या पुनः उकालो लाग्यो, संक्रमित संख्या ओरालो लाग्दै

    दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार ३८० जनाले ज्यान गुमाएका छन् ।

    यहाँ दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको छैन भने संक्रमित हुनेको संख्यामा भने पछिल्लो साता ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ९७ हजार ८९४ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कुल २ करोड ८६ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६७ लाख भन्दा बढी संक्रमणमुक्त भएका भएका छन् । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार ८२ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ५५ हजार २४८ संत्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

    तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड-१९ संक्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।

    आगामी असोजमा आउन सक्ने भनिएको तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए ।

    फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जानकारी दिए । जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको उनले बताए ।

    मन्त्री त्रिपाठीले यही जेठ ५ गते नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको सशस्त्र प्रहरीले हत्या गरेको बताए । उक्त घटनामा सशस्त्र प्रहरीको ज्यादती र गैरजिम्मेवारपन देखिएको बताए ।

    सुस्ता गाउँपालिका–५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतकको घरमा पुगी पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिएका थिए ।

    आइसीयू उद्घाटन

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले आइसीयू कक्ष निर्माण गरेको छ । जिल्लामा आइसीयू कक्ष नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवनलगायतका स्थानमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै रोटरी क्लबले चार शय्याको आइसीयू कक्ष स्थापना गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिए ।

    रोटरी क्लबका सदस्यहरुले व्यक्तिगत सहयोगबाट निर्माण गरेको आइसीयू सञ्चालनपछि जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज हुने आइसीयू कक्ष निर्माण संयोजक वीरेन्द्र अग्रहरीले विश्वास व्यक्त गरे । नवनिर्मित आइसीयू कक्ष आजै अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    नवनिर्मित आइसीयू कक्षको आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गरे । मन्त्री त्रिपाठीले कोभिड-१९ को संक्रमणबाट जिल्लाबासीलाई जोगाउन उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट, एचडीयू सेवा, भेन्टिलेटरसहितको आइसीयू कक्ष स्थापनाका लागि रकम पठाउनुका साथै पीसीआर मेसिन पनि आफूले मन्त्रालयबाट पठाएको जानकारी दिए ।

    यद्यपि उनले अस्पताल व्यवस्थापन पक्षले पीसीआर मेसिन पठाएको एक महिना बितिसक्दा पनि जडान गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनले तत्काल पीसीआर मेसिन जडान गरी सञ्चालनमा नल्याए अन्यत्र पठाउने चेतावनी दिए ।

    मन्त्री त्रिपाठीका अनुसार अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड, एचडीयू सेवाका लागि एक करोड नौ लाख ७५ हजार, भेन्टिलेटरसहितको आइसीयू कक्षका लागि तीन करोड तथा एक थान पीसीआर मेसिन उपलब्ध गराइएको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले पूर्वाधार अभावका कारण पीसीआर मेसिन समयमै सञ्चालन गर्न नसकेको तर अब छिटो सञ्चालनमा ल्याउने गरी काम अघि बढेको बताए । उनले एचडीयू र अक्सिजन प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिए ।

  • काठमाडौं उपत्यकामा शुक्रबार १,३८४ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा शुक्रबार १,३८४ संक्रमित थपिए

    काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जना, ललितपुरमा २९९ जना र भक्तपुरमा १८८ जना नयाँ संक्रमित थपिएका छन् ।

    पछिल्लो समयमा काठमाडौंमा दैनिक संक्रमित हुनेको संख्या ओरालो लाग्दै आएको छ । यद्यपि संक्रिय संक्रमितको संख्या भने कम हुन सकेको छैन ।

    हाल काठमाडौं जिल्लामा १३ हजार ९६७, ललितपुरमा ५ हजार ६०७ र भक्तपुरमा ४ हजार ४८ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने २४ घण्टामा देशभर १०१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा ७ हजार ७३१ जनाले ज्यान गुमाइसकेका छन् ।

  • निको हुने बढ्दा सक्रिय संक्रमित १ लाखबाट ओरालो, शुक्रबार ६६५३ संक्रमित थपिए

    निको हुने बढ्दा सक्रिय संक्रमित १ लाखबाट ओरालो, शुक्रबार ६६५३ संक्रमित थपिए

    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका ६६५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु पुष्टि भएको छ ।

    १४ हजार १८२ पीसीआर र ६६३१ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ८६६३ जना निको भएर घर फर्किएका हुन् ।

    सक्रिय संक्रमित संख्या एकलाख भन्दा तल झरेको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ६९९ मा झरेको छ । निको हुने दर ८१.९ प्रतिशतले वृद्धि हुँदा सक्रिय संक्रमित संख्या झरेको हो ।

    कूल संक्रमित संख्या ५ लाख ८१ हजार पुगेको छ । कूल मृतक संख्या ७७३१ पुगेको छ । ४ लाख ७६ हजार जना निको भएका छन् ।

  • कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    कोभिडको तेस्रो र चौथो लहरको खतरा, बालबालिकाका लागि २० प्रतिशत बेड तयारी हालतमा राख्न पत्राचार

    काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

    अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

  • मानसिक स्वास्थ्यको स्याहार गर्न भर्चुअल प्रणायाम र योग कार्यक्रम आयोजना

    मानसिक स्वास्थ्यको स्याहार गर्न भर्चुअल प्रणायाम र योग कार्यक्रम आयोजना

    काठमाडौं । कोभिड–१९ महामारीको समयमा मानसिक, आध्यात्मिक र भावनात्मक पक्षलाई बलियो तुल्याउन भर्चुअल प्रणायाम र योग कार्यक्रम सम्पन्न भएको छ ।

    लकडाउनका कारण मानिसहरुमा हुने तनाव र एन्जाइटीजस्ता मानसिक समस्यालाई योगको माध्यमबाट निराकरण गर्न इनरह्विल क्लब अफ नारायणीले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

    जेठ १८ देखि तीन दिनसम्म चलेको उक्त भर्चुअल योग कार्यक्रम क्लब अध्यक्ष प्रमिला रानाभाटको अध्यक्षमता सम्पन्न भएको थियो । आर्ट अफ लिभिङकी प्रशिक्षक अञ्जु शर्माले प्रशिक्षण दिएको कार्यक्रममा पवन नेपालले आध्यात्मिक प्रवचन दिएका थिए । सो अवसरमा नेपालले आध्यात्मक वाणीद्वारा सोच र व्यवहारमा परिवर्तन ल्याउन सकिने बताएका थिए ।

    इनरविह्ल क्लब डिस्ट्रिक ३५० का अध्यक्ष सर्सिज पालिखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रतिनिधि विजयलक्ष्मी श्रेष्ठ विशेष अतिथि थिइन् । उक्त भर्चुअल प्रशिक्षणमा २५० जनाले भाग लिएका थिए ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय महामारीको कारण मानसिक स्वास्थ्यको समस्या ब्यापकरुपमा बढिरहेको छ । मन्त्रालयले गतसाता महामारीको समस्यामा मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दै सूचना पनि जारी गरेको थियो ।

  • सिद्धार्थ अस्पतालमा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु

    सिद्धार्थ अस्पतालमा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु

    रुपन्देही । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटरसहितको कोभिड आइसीयू सेवा शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आइसीयू तथा १० एचडीयू र १० जनरल (कोभिड आइसोलेसन) समेत गरी २५ बेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो ।

    आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसँगै बुटवल उद्योग वाणिज्य संघ र आम्दाको बीचमा आइसीयु सञ्चालनको लागि दुई पक्षिय सम्झौता भएको थियो । सोहीअनुसार संघले दुई आइसोलेसनसहित आइसीयूका ५ बेड सहयोग गरेको हो ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिड–१९ आइसीयु वार्डको शुभारम्भ गर्दै अस्पतालको स्रोत व्यवस्थित गरी आगामी दिनमा अझ व्यवस्थित गर्न निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको बताए ।

    आम्दा अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले सबैको समन्वयमा मात्र कोभिड महामारी कम गर्न सकिने बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु हुँदैन भनेर संघले जति सकिन्छ भेन्टिलेटरसहित आइसीयु सेवा सञ्चालनको लागि वातावरण बनाएको बताए ।

    सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले कोभिड केयर युनिट सञ्चालनको लागि उद्योग वाणिज्य संघलाई धन्यवाद दिँदै अस्पतालले बुधबारदेखि नै निःशुल्क यातायातको व्यवस्था गरेको बताए । प्रदेश सरकारले यसअघि नै आम्दालाई कोरोना संक्रमितको उपचारका लागि जिम्मेवारी तोकेको थियो ।

  • भारतमा शुक्रबार १ लाख ३२ हजार संक्रमित थपिए, २७ सय जनाको मृत्यु

    भारतमा शुक्रबार १ लाख ३२ हजार संक्रमित थपिए, २७ सय जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरस संक्रमण बाट २ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । १ लाख ३२ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ७ हजार ७१ जना डिस्चार्ज भएका छन् ।

    भारतमा दैनिक संक्रमितको संख्याभन्दा निको हुनेको दर पनि २१ दिनदेखि निरन्तर बढेको छ । हालसम्म यहाँ निको हुनेको कुल संख्या २ करोड ६५ लाख भन्दा बढी रहेको छ । २ करोड ८५ लाख भन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुुसार भारतमा अहिलेसम्म ३ लाख ४० हजार ७०२ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रिय संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ जना छन् ।

  • उदय शमशेरद्वारा बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग

    उदय शमशेरद्वारा बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग

    काठमाडौं । नेपाली कांग्रेस नेता उदयशमशेर राणाले ललितपुरको बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग गरेका छन् ।

    कोरोना संक्रमणलाई मध्यनजर गर्दै राणाले नेपाल भेन्टिलेटर सर्भिससँग समन्वय गरी ललितपुरको गोदावरी नगरपालिकामार्फत बज्रबाराही अस्पताललाई दुई वटा भेन्टिलेटर सहयोग गरेका हुन् ।

    बिहीबार राणाले एक कार्यक्रमकाबीच भेन्टिलेटर नगरपालिकाका मेयर गजेन्द्र महर्जनमार्फत वितरण गरेका हुन् ।

    दोस्रो चरणको कोभिडको महामारी सुरु भएपछि अस्पताललाई सक्रिय र बलियो बनाउन गरेको छलफल स्वरुप विभिन्न स्वास्थ्य उपकरण सहयोग गर्दै आएको राणाले बताए ।

    ‘सहरमा मात्रै नभइ सहरभन्दा बाहिर पनि कोरोना फैलिएकोले स्वास्थ्यको जोखिम ख्याल गर्दै भेन्टिलेटर बज्रबाराही अस्पताललाई उपलब्ध गराइएको हो,’ उनले भने ।

    उक्त भेन्टिलेटर बज्रवाराही चापागाउँ अस्पतालले आजैदेखि प्रयोगमा ल्याउने बताएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन, आइसियू तथा भेन्टिलेटरको अभावमा संक्रमितको ज्यान गइरहेको अवस्थामा भेन्टिलेटर सञ्चालनमा आएपछि नागरिकको जीवन रक्षामा मद्धत पुग्ने अस्पतालको विश्वास छ ।

  • उपत्यकामा २ हजार बढी संक्रमित थपिए, पूर्वी नवलपरासीमा एकैदिन ७७१ जना संक्रमित

    उपत्यकामा २ हजार बढी संक्रमित थपिए, पूर्वी नवलपरासीमा एकैदिन ७७१ जना संक्रमित

    काठमाडौं । बिहीवार कोरोनाभाइरस संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू र नवलपरासी पूर्व जिल्लाका छन्।

    काठमाडौं जिल्लामा १,६३० जनासहित भक्तपुरका १२९ जना र ललितपुरका २९८ जना गरी उपत्यकामा २,०५७ जना संक्रमित थपिएका छन्।

    नवलपरासी पूर्वमा ७७१ जना संक्रमित थपिएका छन् ।

    दुई सयभन्दा बढी संक्रमित थपिएका अन्य जिल्लामा सुनसरी, काभ्रे र कास्की रहेका छन्।

    नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

  • नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडिओसहित)

    नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडिओसहित)

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताएको छ ।

    डब्लुएचओको नेपाल कार्यालयले विहिबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ ।

    संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताए ।

    नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोप प्राप्त गरेको बताए ।

    ‘अहिलेको आवश्यकता भनेको बाँकी १४ लाख जनाालई अस्टाजेनेको खोपको दोस्रो डोज उपलब्ध गराउनु हो र जसमा ६५ वर्षमाथिको उच्च जोखिम समूहका मानिस छन्’ उनले भने ।

    डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न अपिल विकसित राष्ट्रलाई आग्रह गरेको जानकारी पनि उनले दिए ।

    ‘खोपको मौज्दात भएका सबै मुलुकलाई नेपलालाई यथाशक्य चाँडो खोप उपलब्ध गराउन म अपिल गर्न चाहन्छु’ उनले भने, ‘यो अहिले देखिएको अभावलाई पूर्ति गर्ने तात्कालिन उपाय हुनेछ ।’

    कोभ्याक्सबाट प्राप्त हुने खोपलाई सुनिश्चित गर्न निरन्तर प्रयासहरु जारी रहेको समेत डा. पाण्डवले बताएका छन् ।

  • बिहीबार ६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त

    बिहीबार ६,८२५ संक्रमित थपिए, ५९०४ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६,८२५ जना कोभिड बिरामी थपिएका छन् ।

    १८ हजार ५६२ वटा पीसीआर र ३,२११ वटा एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    ७५ जनाको मृत्यु भएको छ । ५,९०४ जना संक्रमणमुक्त भएका छन् ।

    कूल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । कूल मृतक संख्या ७६३० पुगेको छ ।

    सक्रिय संक्रमित संख्या १ लाख ८३९ पुगेको छ ।

  • नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने विदेशी मिडियाको दाबी गलत : स्वास्थ्य मन्त्रालय

    नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने विदेशी मिडियाको दाबी गलत : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    विहिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अहिलेसम्म नेपालमा अल्फा, डेल्टा, गामा र कप्पा नामक भेरिएन्ट भेटिएको बताउँदै नयाँ भेटिएको भन्ने खबर पूर्णतः गलत रहेको बताएको छ ।

    प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा नेपालमा भेरिएन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा मात्र रहेको उल्लेख छ । मन्त्रालयले आधिकारिक सूचना नआइकन भ्रामक सूचना सम्पे्रषण नगर्न र जिम्मेबार बन्न सचेत गराएको छ ।

    विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले पनि नेपालमा नयाँ भेरिएन्ट भेटिएको प्रमाण फेला नपरेको जनाएको छ ।

    विहिबार बेलायती अखबार डेली मेलले नेपाली भेरिएन्ट युरोपमा फैलिएको समाचार लेखेको थियो ।

  • निषेधाज्ञा लागू भएको महिना बित्दा पनि संक्रमण दर अपेक्षित घटेन : स्वास्थ्य मन्त्रालय

    निषेधाज्ञा लागू भएको महिना बित्दा पनि संक्रमण दर अपेक्षित घटेन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा लागू गरेको एक महिना बितिसक्दा पनि संक्रमण दर नियन्त्रणमा आउन नसकेको बताएको छ ।

    नेपाल प्रेससँग मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हारहारीमा अझै संक्रमित भेटिएका छन् । दैनिक संक्रमण यति भेटिनु जोखिमकै अवस्था हो ।’

    निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी रुपमा पालना गर्नुपर्ने उनको सुझाव छ । मन्त्रालयले निषेधाज्ञालाई अझै कडाइ गर्नुपर्ने र तत्काल खुकुलो गर्दा संक्रमण पुनः बढ्ने सुझाव दिएपछि काठमाडौंका तीनै प्रमुख जिल्ला अधिकारी खुकुलो बनाउने निर्णयबाट पछि हटेका थिए ।

    निषेधाज्ञामा आवागमन ६० देखि ७० प्रतिशत मात्र घटेको जनाइएको छ ।

    यसैबीच, मन्त्रालयले ग्रामिण क्षेत्रमा पर्याप्त भाइरस संक्रमणको परीक्षण हुन नसकेको समेत बताएको छ । प्रवक्ता पौडेलले ग्रामिण क्षेत्रमा परीक्षण हुन बाँकी रहेको समेत बताए । गाउँबाट एन्टीजेन परीक्षणको रिपोर्ट आउनमा ढिलाइ हुने पनि उनको भनाई छ ।

    बुधबारदेखि सरकारले पीसीआर परीक्षण पनि घटाएको छ । मृत्युदर नघट्नु तथा संक्रमण घट्नुले संक्रमणको जोखिमकै बीच निषेधाज्ञा हटाउन लागिएको हो कि भन्ने आशंका छ ।

    प्रवक्ता पौडेलले लक्षण भएका व्यक्ति परीक्षण गर्न नगएको र परीक्षण केन्द्रसम्म जान निषेधाज्ञाले समस्या भएकाले त्यसो भएको हुनसक्ने बताए । सरकारले पीसीआर परीक्षण घटाएको नभई एन्टीजेन परीक्षण ७७ जिल्लामै पुर्‍याएको समेत बताए ।

    यतिबेला मुलुकका ४८ जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

  • काठमाडौंमा आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

    काठमाडौंमा आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

    काठमाडौं । महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिएको छ । कोभिड-१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।

    यसका लागि प्रत्येक वडाले आफू अनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।

    कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो । लक्षित समूहमा पर्ने वा शङ्कामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

    कोरोनाको शङ्का भएका जो-कोहीले महानगरका ३२ वडामध्ये कुन वडामा जानकारी गराउन सहज हुन्छ, सोही वडामा जानकारी गराउनु पर्नेछ । जानकारी अनुरुप परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्ने व्यवस्था गरिएको छ ।

    यसअघि यही जेठ १४ देखि १८ गतेसम्म विशेष अभियान नै सञ्चालन गरेर ५० हजारको परीक्षण गर्ने लक्ष्य लिइएको महानगरपालिकामा पाँच हजार ७६० जनाले मात्र परीक्षण गरेका थिए । त्यसमा ४७९ को रिपोर्ट पोजेटिभ आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । ठूलो समूहमा परीक्षण गर्ने भने पनि सोही समयमा बन्दाबन्दी कडा बनाइएकाले सोचेअनुरुप परीक्षण हुन नसकेको विभागको भनाइ छ । यसका लागि महानगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य गरेको थियो ।

  • बेलायतलाई सरकारको पत्र, डब्लुएचओले भन्यो : नेपालमा नयाँ प्रजाति भेटिएको छैन

    बेलायतलाई सरकारको पत्र, डब्लुएचओले भन्यो : नेपालमा नयाँ प्रजाति भेटिएको छैन

    काठमाडौं । कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ बेलायतसहितका युरोपेली मुलुकमा फैलिएको भन्ने डेली मेल अखबारको विवरणलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ ।

    डेलीमेल अखबारले आजको संस्करणमा नेपालको भेरिएन्टको कारण बिदा प्रभावित भएको समाचार लेखेको थियो ।

    नेपाल प्रेससँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले नेपालमा अल्फा (युके भेरिएन्ट) र डेल्टा (भारतीय भेरिएन्ट)बाहेक अर्को भेरिएन्ट भेटिएको पुष्टि नभएको बताए ।

    ‘अल्फा र डेल्टाबाहेक अन्य प्रजाति हाम्रो सिक्वेन्सको सूचीमा छैन’ पौडेलले भने, ‘नेपाली भेरिएन्टले उनीहरुको बिदा प्रभावित भएको भन्ने खबर फैलिएछ । यो सत्य हैन ।’

    पौडेलले यसको यथार्थबारे बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखिएको र जवाफको प्रतीक्षामा रहेको बताए । ‘हामीले बेलायतको आइएचआरलाई पत्र लेखेका छौं र जवाफको प्रतीक्षा गरिरहेका छौं’ उनले भने ।

    डब्लुएचओले भन्यो- नेपालमा नयाँ प्रजाति भेटिएको छैन

    विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक नयाँ प्रजाति नभेटिएको जनाएको छ । नेपालमा व्यापकरुपमा डेल्टा प्रजाति फैलिएको डब्लुएचओले जनाएको छ ।

  • भारतमा २८ सयको मुत्यु, १ लाख ३४ हजार संक्रमित थपिए

    भारतमा २८ सयको मुत्यु, १ लाख ३४ हजार संक्रमित थपिए

    दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख ३४ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् भने २लाख ११ हजार ४ सय जना डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । अहिलेसम्म २ करोड ८४ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कुल ३ लाख ३७ हजार ९ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् भने हाल १७ लाख १३ हजार ४ सय १३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • बेलायती अखबार डेलीमेलको हेडलाइन- नेपाल भेरियन्टले हाम्रो विदालाई जोखिम बनायो

    बेलायती अखबार डेलीमेलको हेडलाइन- नेपाल भेरियन्टले हाम्रो विदालाई जोखिम बनायो

    काठमाडौं । बेलायतको चर्चित ट्याब्लोइड अखबार ‘डेलीमेल’ले नेपाली भेरियन्टको कोरोना भाइरसले बेलायतीको बिदालाई जोखिममा पार्न सक्ने समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ।

    डेलीमेलले कभर स्टोरी बनाउँदै लेखेको छ, ‘बैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरेको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरूलाई सचेत गराएका छन् । नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई समेत प्रतिरोध गर्न सक्ने डर उनीहरुको छ ।’

    नेपाली भेरियन्ट युरोपमा सबैभन्दा धेरै पोर्चुगलमा देखिएको हुनसक्ने भन्दै डेलीमेलले पोर्चुगलले बेलायती सूचीको ‘ग्रीन स्टाटस’ गुमाउन सक्ने दावी गरेको छ।

    भारतमा उत्पत्ति भएको B.1.167 भेरियन्टले नेपालमा दोश्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने डेल्ली मेलले अनुमान गरेको छ।

    यद्यपी नेपाली भेरियन्ट आए पनि धेरै चिन्ता लिन आवश्यक भने नभएको पत्रिकाले एक सरकारी अधिकारीलाई उदृत गरेको छ।

    नाम उल्लेख नभएका ती अधिकारीले डेलीमेलसँग भनेका छन्, ‘हजारौं भेरियन्टहरु छन् । यो भाइरस हरेक समयमा परिवर्तन भइरहन्छ ।’

  • १० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त

    १० दिनपछिको पीसीआर रिपोर्ट ‘अर्थहीन’, हेर्नुस् उज्ववल थापा र मदनकृष्णको फरक दृष्टान्त

    काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको मंगलबार उपचारका क्रममा निधन भयो । कोरोना संक्रणपछि गम्भीर बिरामी भएका थापा पछिल्लो समय मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए ।

    स्मरणीय के छ भने थापाको निधन हुनुभन्दा एक दिनअघि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआरको नेगेटिभ रिपोर्ट आउनुको अर्थ
    कोरोना संक्रमणमुक्त हुनु हो । त्यसैले यो खबरले उनका धेरै शुभेच्छुकमा आशा पनि पलायो । तर चिकित्सकहरुका लागि भने यसको खासै अर्थ थिएन । किन त ?

    मेडिसिटी अस्पतालले थापाको निधनपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, ‘उहाँको पीसीआर नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन । चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेच्छाका बाबजुद पनि उहाँको शारीरिक अवस्था सुदृढ हुन सकेन ।’

    उज्ववल थापाको भन्दा ठीक उल्टो अवस्था कलाकार मदनकृष्ण श्रेष्ठको छ । उनको रोग निको भइसकेको छ, तर पछिल्लो पीसीआर परिक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आयो ।

    करिब एक महिनाअघि कोरोना संक्रमण भएका मदनकृष्ण अस्पतालमा उपचारपछि अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । उनले पनि मेडिसिटी अस्पतालमै उपचार गराएका थिए । पहिलोपटक ८ दिन र दोस्रो पटक १४ दिन मेडिसिटी अस्पताल बसेपछि उनी घर फर्केका हुन् ।

    मंगलबारले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै लेखेका छन्, ‘मेरो पीसीआर नेगेटिभ आयो भनेर सबैलाई सुनाउने इच्छाले केही नलेखी चुपचाप कुरिरहेको थिएँ । तर हिजो टेस्ट गराउँदा घरमा सबैको नेगेटिभ देखियो । मेरो अझै पोजेटिभ देखाएको छ ।’

    शरीरमा पोजेटिभ भए पनि डाक्टरहरूले भारसरहरू मरिसकेको भनेर आश्वस्त तुल्याएको उनले बताएका छन् । ‘अब खाली ती मरेका भाइरसका लाशहरु मात्र बाँकी छन् । त्यो बाँकी हुञ्जेल पनि मेसिनले पोजेटिभ नै देखाउँछ । तर, त्यसले केही फरक पर्दैन, केही दिनपछि
    त्यो आफैं जान्छ भनेका छन्,’ उनी लेख्छन् ।

    १० दिनपछिको पीसीआर ‘अर्थहीन’

    कसैलाई सञ्चो भइसक्दा पनि रिपोर्ट पोजिटिभ आइराख्ने कसैलाई रोगले गाँज्दै लैजादा पनि रिपोर्ट नेगेटिभ आउने किन हुन्छ त ? विशेषज्ञहरु जवाफमा भन्छन्– कोरोना संक्रमणको १० दिनपछि गरिने पीसीआर परिक्षणको रिपोर्ट जे आए पनि त्यसको अर्थ छैन ।

    कोरोना संक्रमण भएको १० दिनपछि परीक्षण गर्न नै आवश्यक नरहेको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल । सरकारको गाइडलाइन पनि यही भएको उनले उल्लेख गरे ।

    ‘मानिसहरू नेगेटिभ रिपोर्ट कुरेर बस्छन् । जबकि संक्रमणको १० दिनपछि पीसीआर टेस्ट गर्नु आवश्यक नै हुँदैन । राष्ट्रिय टेस्टिङ गाइडलाइनले पनि नगर्नु भन्छ,’ डा पौडेलले भने । शरीरमा मरिसकेको भाइरसले पनि पोेजेटिभ देखाउने हुँदा कसैको महिना दिनसम्म पनि पाोजेटिभ देखिनसक्ने उनको भनाइ छ ।

    सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ पनि उस्तै छ । अन्तर्राष्ट्रिय अनुसन्धानाले १० दिनपछि कोरोना भाइरस सक्रिय नहुने देखाएको उनले बताए । ‘निष्क्रिय भाइरस अरुलाई नसर्ने भएको हुँदा नेपाल सरकारले १० दिन आइसोलेसनमा बस्न भनेको हो,’ डा पुन भन्छन्, ‘धेरैजसोलाई एक-दुई दिन ज्वरो आएर निको हुन्छ । १० दिनसम्म सबै ठीक छ भने टेस्ट गरिराख्नु पर्दैन ।’

    ‘नेगेटिभ आउँदैमा ढुक्क हुन मिल्दैन’

    लक्षणहरु बढेको वा यथावत छन् भने १० दिनपछि गरेको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि ढुक्क हुन नसकिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।

    ‘स्वास्थ्य जटिल भइसकेको अवस्थामा पीसीआर नेगेटिभ आउँदैमा सञ्चो हुँदैन । उज्ववल थापाको हकमा यही भएको हो । उहाँको पीसीआर नेगेटिभ आयो, तर त्यसबेलासम्म निमोनियाले फोक्सोमा पूरै असर गरिसकेको थियो । त्यसैले १० दिनपछि पीसीआर रिपोर्टभन्दा स्वास्थ्य अवस्था हेर्नुपर्छ,’ उनी भन्छन् ।

    डा पुन पनि नेगेटिभ रिपोर्ट आउँदैमा रोग सकियो भनेर बस्न नहुने सुझाउँछन् । ‘भाइरस नेगेटिभ हुनु भनेको यो अगाडि बढ्दैन भनेर बुझ्नुहुन्न । भाइरस सधैंभरि शरीरमा त रहँदैन । तर यसले एक प्रकारको असर छाडेको हुन्छ, जसल एक प्रकारको हलचल शरीरमा ल्याउने काम गर्छ । जब त्यो हलचल ल्याइदिन्छ, भाइरस नभए पनि असर रहिरहन्छ,’ डा पुनले भने । अंगहरूमा समस्या भइसकेको अवस्थामा त्यसले निरन्तरता पाउने उनको भनाइ छ ।

    उज्ववल थापाको रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य स्थिति गम्भीर बनिसकेको थियो । दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत थिए।

    उनको केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको थियो । थापाजस्तै कतिपय निधन हुनेहरूमा त्यस्ता संक्रमित छन्, जसको रिपोर्ट नेगेटिभ आए पनि भाइरसले दीर्घकालीन असर गरिसकेको थियो ।