Category: स्वास्थ्य-जीवनशैली

  • जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

    जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।

    यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम सुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।

    आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए । ‘कोभिड-१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ’, उनले भने, ‘हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।’

    आधिकारिकरुपमा एक÷दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उनको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरेश थापाले घर–आँगनमा डाक्टर बन्ने कर्णालीमा मेघावी छात्र–छात्राको सपना पुरा भएको बताए । उनले भने, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबीबीएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।’

    प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन सुरुवात भइसकेको छ । प्रतिष्ठानमा स्नातोकत्तर तहमा भक्तपुरका डा. रहिस कोजु, काठमाडौं निवासी डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा. वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहमा अध्ययनरत छन् ।

    शिक्षाध्यक्ष प्रा.डा. थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबीबीएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उनले भने, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’

    विशेष गरी ती दुवै शैक्षिक कार्यक्रम प्रतिष्ठानमा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप, दक्ष जनशक्ति (शिक्षक)को व्यवस्थापनमा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजेन्द्रराज बाग्लेको अथक योगदान थियो । उनले भने, ‘कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको सुरुवात भएको छ । अब उत्कृष्ठ अध्यापनमा जोड दिनुपर्छ ।’

    एमबीबीएस कार्यक्रम सुरु हुने भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीबासीको सपना अब पुरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।

    ‘अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पुर्‍याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ’, उनले भने, ‘विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकहरुसमक्ष सेवा पुर्‍याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।’

    प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिए । उनले भने, ‘प्रतिष्ठानले कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।अब सेवाका साथसाथमा शिक्षामा जोड दिन्छौ ।’

    कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ठ सेवा पुर्‍याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा डाक्टरको व्यवस्था समेत गर्दै आएको छ ।

    विगतमा सिटामोलको चक्की नपाउने कर्णाली आज विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । इच्छाशक्तिका अगाडि असंभव ठानिएका हरेक कुरा असत्य साबित हुँदा रहेछन् भन्ने चरितार्थ दुर्गम कर्णाली प्रदेशको जुम्लामा भइरहेको स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पठनपाठन र चालु आवभित्रै सुरु हुने एमबीबीएस कार्यक्रमले पुष्टि गरेको छ ।
    -रासस

  • भारतमा सोमबार कोरोनाबाट ३९ सयको मृत्यु, ७० हजार संक्रमित थपिए

    भारतमा सोमबार कोरोनाबाट ३९ सयको मृत्यु, ७० हजार संक्रमित थपिए

    दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरस संक्रमणबाट ३ हजार ९२१ जनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिनदेखि भारतमा दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको देखिएको छ । सोमबारको तथ्यांक अनुसार भारतमा ७० हजार ४२१ संक्रमित थपिएका छन् ।

    एकैदिनमा यति मानिस संक्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा यहाँ १ लाख १९ हजार ५०१ डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख भन्दा बढी रहेको छ भने २ करोड ८१ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ ।

    भारतमा अहिलेसम्म ३ लाख ७४ हजार ३०५ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ७३ हजार १५८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय

    खोप वितरणमा अनियमितता गर्नेलाई छानविनको दायरामा ल्याइनेछ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप वितरणमा अनियमितता भएको पाइएमा कारवाही हुने बताएको छ । आज आइतबार नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रमुख डा. झलक गौतमले उक्त कुरा बताए ।

    उनले भने, ‘चिनजान, दबाबको भरमा खोपको मापदण्ड तोडेर खोपको ‘मिसयुज’ गर्नेलाई सरकारले छानिबिनको प्रक्रियामा अगाडी बढाइने छ ।’

    पछिल्लो समय ६२, ६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो । पहिलो मात्रा दिने अभियानमा अनियमितता भएको र लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लिएको भन्ने कुरा उठेपछि सरकारले कारवाही गर्ने बताएको हो ।

     

     

  • आइतबार परीक्षण घटेसँगै थपिए २४ सय संक्रमित, ४६ जनाको मृत्यु

    आइतबार परीक्षण घटेसँगै थपिए २४ सय संक्रमित, ४६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका २,४०७ जना संक्रमित थपिएका छन् ।

    १२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘मानिसहरु परीक्षण गर्न हिच्किचाइरहेका छन् र परीक्षण दायरा पनि घटिरहेको छ । म बिना हिच्किचाहट परीक्षण गर्न आग्रह गर्छु ।’

    काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् ।

    संक्रमित संख्या घटेपनि संक्रमित दर भने घटेको छैन । मुलुकको औषत संक्रमित हुने दर आइतबार २२ दशमलव ५ प्रतिशत छ । सबैभन्दा बढी संक्रमण दर कर्णाली प्रदेशमा छ ।

    मुलुकमा आइतबारसम्म सक्रिय संक्रमित संख्या ६८ हजार ९५५ रहेको छ ।

    मुलकुमा सक्रिय संक्रमित ३८ प्रतिशत छन् । जसमध्ये १६ प्रतिशत लुम्बिनीमा र १३ प्रतिशत प्रदेश १ मा रहेका छन् । बागमती प्रदेशको काठमाडौं जिल्लामा ३१.५ प्रतिशत सक्रिय संक्रमण छ ।

    आइतबार ४६ जनाको मृत्यु भएको छ ।

  • सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

    सोमबार र मंगलबार काठमाडौंमा ६० र ६१ वर्षकालाई भेरोसल खोप लगाइने

    काठमाडौं । आगामी सोमबार र मंगलबार उपत्यकामा ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

    जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप लगाइने जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि ६२,६३ र ६४ वर्ष उमेरकालाई खोप लगाइएपछि खोप अभियान स्थगित भएको थियो ।

    स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जानकारी दिए ।

  • भारतमा साेमबार ३३ सयको मृत्यु, संक्रमण दर ओरालो लाग्दै

    भारतमा साेमबार ३३ सयको मृत्यु, संक्रमण दर ओरालो लाग्दै

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा एकैदिन ३ हजार ३०३ जनाले ज्यान गुमाएका छन् ।

    दैनिक संक्रमित हुनेको संख्या भने ओरालो लाग्दै आएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । २४ घण्टामा यहाँ ८० हजार ८३४ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ३२ हजार ६२ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसमम कुल २ करोड ९४ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ८० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ कुल ३ लाख ७० हजार ३८४ जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख २६ हजार १५९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • कर्णाली प्रदेश : वीरेन्द्रनगरमा ५ सय शय्या र प्रत्येक जिल्लामा एक सरुवा रोग अस्पताल

    कर्णाली प्रदेश : वीरेन्द्रनगरमा ५ सय शय्या र प्रत्येक जिल्लामा एक सरुवा रोग अस्पताल

    सुर्खेत । कर्णालीका नौ जिल्लामा एक-एक वटा सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ । त्यस्तै, वीरेन्द्रनगरमा पाँच सय शय्याको सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरुवा रोगका कारण समस्यामा पर्ने कर्णालीका नागरिकलाई सास्ती हुनबाट जोगाउन सरकारले यी अस्पतालहरू स्थापना गर्न लागिएको बताएका छन् ।

    कर्णालीका सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सुविधा थप्ने, प्रदेश अस्पताल कालागाउँलाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने, कोरोना महामारी आवश्यक पर्ने औषधी तथा अन्य उपकरणहरू खरिद गरिने सरकारको योजना छ । हरेक जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रमुख कलौनीले एक स्थानीय तह एक भकारी कार्यक्रम लागू गरिने सार्वजनिक गरे । यस्तै कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि सम्भाव्यता अध्ययन गर्न जग्गा प्राप्तीको काम पनि अघि बढाइने भएको छ ।

  • अस्ट्राजेनेका खोप माग्दै नेपालले बेलायत सरकारलाई पत्र लेख्ने

    अस्ट्राजेनेका खोप माग्दै नेपालले बेलायत सरकारलाई पत्र लेख्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोभिड -१९ विरुद्धको ‘अस्ट्राजेनेका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग  कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने बताए ।

    ‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ’ उनले भने, ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौ ।’ सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उनले गरे ।

    मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ बिकल्पमा जस्तै प्रकृतिको खोप ‘अस्ट्राजेनेका’ लगाउने निर्णय गरेको छ । खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र अस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ ।

    गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

  • शनिबार ३३ सय कोभिड बिरामी थपिए, ६१ जनाको मृत्यु

    शनिबार ३३ सय कोभिड बिरामी थपिए, ६१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,३८५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६१ जनाको मृत्यु भएको छ ।

    १४ हजार ४९४ नमुना (८५०६ पीसीआर र ५९८८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरुमा २१ देखि ४० वर्ष उमेर समूहका अत्याधिक छन् ।

    परीक्षण गराउनेमध्येको पजेटिभ हुने दर १८.९ प्रतिशत छ । जुन अहिलेसम्म स्थिर छ । मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

    थप ६२९५ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित संख्या ७१ हजार ३०१ पुगेको छ ।

  • कोरोनाले भारतमा एकैदिन ४ हजारको मृत्यु, संक्रमणदर ओरालो लाग्दै

    कोरोनाले भारतमा एकैदिन ४ हजारको मृत्यु, संक्रमणदर ओरालो लाग्दै

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४ हजार २ जनाले ज्यान गुमाएका छन् ।

    गत केही दिनदेखि भारतमा कोरोना संक्रमण हुनेको संख्या एक लाख भन्दा कम रहेको छ । २४ घण्टामा ८४ हजार ३३२ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख २१ हजार ३११ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ९३ लाख भन्दा बढी रहेको छ भने २ करोड ७९ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ कुल ३ लाख ६७ हजार ८१ जनाले ज्यान गुमाइसकेका छन् भने हाल संक्रिय संक्रमितको संख्या १० लाख ८० हजार ६९० जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

    पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ ।

    मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।

    महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए ।

    उनका अनुसार इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोनाभाइरस, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिस/हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रहेका छन् ।

  • नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

    नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपीडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड-१९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।

    पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ । कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ ।

    कोभिडका बिरामीको संख्या घट्नु र कोभिड बाहेकका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

    नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

    आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने उनले बताए ।

  • भारतमा दैनिक संक्रमण एक लाख भन्दा कम , ३४ सयले गुमाए ज्यान

    भारतमा दैनिक संक्रमण एक लाख भन्दा कम , ३४ सयले गुमाए ज्यान

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण भारतमा ३ हजार ४०३ जनाले ज्यान गुमाएका छन् । यहाँ ९१ हजार ७०२ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ३४ हजार ५८० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको तथ्यांकमा देखिएको छ । तर मृत्यु हुनेको संख्यामा भने कमी नआएको मन्त्रालयले जनाएको छ ।

    यहाँ अहिलेसम्म कुल २ करोड ९२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ करोड ७७ लाख भन्दा बढी संक्रमणममुक्त भएका छन् ।

    हाल भारतमा ११ लाख २१ हजार ६७१ जना संक्रिय संक्रमित रहेका छन् भने ३ लाख ६३ हजार ०७९ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

  • काठमाडौंमा अनिश्चित समयका लागि रोकियो खोप कार्यक्रम

    काठमाडौंमा अनिश्चित समयका लागि रोकियो खोप कार्यक्रम

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित भएको छ । महानगरपालिकाले विहिबार बेलुका सूचना जारी गर्दै खोप कार्यक्रम रोकिएको जानकारी गराएको हो ।

    स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुटटाइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकोले खोप कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित भएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

    महानगरपालिकाले जेठ २५ गतेदेखि ६०/६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप दिने अभियान सञ्चालन गरेको थियो । महानगरको एक देखि ३२ वडा कार्यालयमा तय भएको कार्यक्रम स्थगित भएको हो ।

  • बिहीबार ९ हजार पीसीआर परीक्षण गर्दा ३७ सय कोभिड बिरामी थपिए

    बिहीबार ९ हजार पीसीआर परीक्षण गर्दा ३७ सय कोभिड बिरामी थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,७४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९,९०१ वटा पीसीआर र ५,३३७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    एन्टीजेन परीक्षणको थप विवरण प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण झनै घटाइएको छ ।

    परीक्षणमध्ये संक्रमणदर १८.९ प्रतिशत छ ।

    पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु पुष्टि भएको छ । कूल ८२३८ जनाको मृत्यु भएको छ । मृत्युदर १.३७ प्रतिशत छ ।

    ५२९३ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८५.७ प्रतिशत छ ।

    २२ लाख ४४ हजारले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ६ लाख ९१ हजारले दोस्रो डोज खोप लगाएका छन् ।

  • स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा

    स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री हुन् ।

    यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ ।

    श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न. ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ । यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र रु पाँच लाखको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुख्र्यौली र खरीद गरिएको दुवैथरि छ ।

  • भारतमा कोरोनाबाट एकैदिन ६१ सयको मृत्यु

    भारतमा कोरोनाबाट एकैदिन ६१ सयको मृत्यु

    दिल्ली । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा भारतमा एकैदिनमा सर्वाधिक जनाको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार विहिबार त्यहाँ ६,१४८ जनाको मृत्यु भएको छ । यो संख्या विश्वमै एकैदिनमा सर्वाधिक मृत्यु हुनेको संख्या हो ।

    तर, संक्रमण भने लगातार तेस्रो दिन एकलाख भन्दा कम छ । पछिल्लो २४ घण्टामा ९४ हजार ५२ जना संक्रमित थपिएका छन् ।

    केही पूर्वी राज्यले घर र अस्पतालमा मृत्यु हुनेको संख्या अपडेट गर्दा ती मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न

    फरक कम्पनीको खोप नलगाउन विज्ञको सुझाव, डाक्टर भन्छन्- दोस्रो डोज ढिला भए पनि समस्या हुन्न

    काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने प्रतीक्षामा रहेकालाई चिकित्सकले ढिला भएपनि नडराउन सुझाएका छन् ।

    टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले केही समय ढिला भएपनि नआत्तिन सुझाएका छन् । उक्त खोप लगाएको महिनौं बित्दा पनि समयमा दोस्रो डोज आउने सम्भावना नभएकाले चिकित्सकले धैर्य राख्न आग्रह गरेका हुन् ।

    डा. राजभण्डारीले भने, ‘पहिलो डोज लगाइसकेपछि दोस्रो डोज १२ देखि १६ हप्ताको बिचमा लगाउँदा पनि एन्टिबडी प्रशस्त मात्रामा रहने हुँदा खासै असर गर्दैन । हामीले हाम्रो शरीरमा कति समयसम्म एन्टिबडी रहन्छ भनेर हेरेका छैनौं, अन्तर्राष्ट्रियस्तरमा हेर्दा १६ हप्तासम्म एन्टिबडी स्थिर रहिरहन्छ त्यसकारण १६ हप्ताभित्र दिँदा खासै फरक पर्दैन ।’

    सोही कम्पनीको र उपलब्ध नहुने भए अस्ट्राजेनेका तथा अक्सफोर्ड कम्पनीको खोपको पनि फर्मुला मिल्ने भएकाले सोही कम्पनीले विकास गरेका अन्य खोपको लागि पहल गर्न उनले सुझाए । तर, फरक-फरक कम्पनीको फर्मुला भएका खोपहरु भने लगाउन नहुने उनले बताए ।

    उनका अनुसार कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका व्यक्तिले कोरोना लाग्दैन भनेर ढुक्कले बस्न भने हुँदैन । तर उनीहरुलाई जोखिम भने कम हुन्छ । पहिलो डोज खोप लगाउँदाको प्रभाव ३० देखि ३५ प्रतिशत हुन्छ भने दास्रो डोज खोप लगाउँदा यसको प्रभावकारिता ७० देखि ८५ प्रतिशतसम्म रहन्छ ।

    कोभिसिल्ड खोपको पहिलो डोज लगाएका व्यक्तिले भने चिनियाँ खोप (भेरोसेल) लगाउन नहुने उनको भनाई छ । यो खोपले शरीरभित्र प्रवेश गर्ने भाइरसलाई मार्ने नभई एन्टिबडीको निर्माण मात्र गर्ने हँदा पहिलो डोज लगाएपछि एन्टिबडी कायम रहँदै गर्दा अर्को खोप लगाउँदा प्रभावकारी हुन्छ ।

    त्यस्तै टेकु अस्पतालका डा. बाबुराम मरासिनी भन्छन्, ‘भारतबाट ल्याइएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरु दोस्रो डोज खोप उपलब्ध नहुँदा अन्यौलमा परेका छन् ।

    भारतमा कोरोना धेरै फैलिएकाले नेपालले खोप पाउन सकेको छैन । भारतबाट खोप प्राप्त हुन सक्दैन भने तत्काल १३ लाख नागरिकलाई दास्रो डोज खोपको लागि अन्य देशबाट आयात गर्ने प्रक्रिया अगाडी बढाउनुपर्छ ।

    मरासिनीले भने, ‘पहिलो र दोस्रो डोज खोपको अन्तर धेरै भयो भने विकसित भएको एन्टीबडी समाप्त हुन्छ । दोस्रो डोज खोप लगाएपछि मात्र पर्याप्त मात्रामा रोगसँग लड्नको लागि शक्ति जम्मा भएको हुन्छ । दोस्रो डोजको समय धेरै भयो भने एन्टिबडी रगतमा हराएर जाने सम्भावना धेरै हुन्छ । धेरै समय ग्याप हुँदा पहिलो डोज खोपको प्रभावकारी हुन सक्दैन ।’

    ‘कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुको अहिलेसम्म दोस्रो खोपको सुनिश्चितता भने छैन । मन्त्रालयका अनुसार १३ लाख नागरिक अझैपनि कोभिसिल्ड खोपको दोस्रो डोज पर्खाइमा छन्’ मरासिनीले बताए ।

  • बुधबार ४,३४४ कोभिड बिरामी थपिए, ८१ जनाको मृत्यु

    बुधबार ४,३४४ कोभिड बिरामी थपिए, ८१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४३४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ वटा एन्टीजेन नमुना परीक्षणमा ८९५ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१५ जना संक्रमित थपिएका छन् ।

    सक्रिय संक्रमित संख्या ८० हजार ३३६ पुगेको छ । ४६ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् ।

     

  • मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

    मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

    काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर-८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

    मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरका छन् । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ ।

    चन्द्रागिरी नगरपालिका वडा नम्बर-८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।

  • भारतमा एकैदिनमा २२ सयले गुमाए ज्यान, दैनिक संक्रमण १ लाखभन्दा कम

    भारतमा एकैदिनमा २२ सयले गुमाए ज्यान, दैनिक संक्रमण १ लाखभन्दा कम

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण २ हजार २१९ जनाको मृत्यु भएको छ । पछिल्लो केहि दिनयता मृत्यु हुनेको संख्यामा कमि आएको देखिएको छ ।

    २४ घण्टामा ९२ हजार ५९६ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ६२ हजार ६६४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यहाँ अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ९० लाख भन्दा बढी छ भने २ करोड ७५ लाख संक्रमण मुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कुल ३ लाख ५३ हजार ५२८ जनाले ज्यान गुमाइसकेका छन् भने १२ लाख ३१ हजार ४१५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • खेलाडीलाई कोभिड १९ खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्रीसँग माग

    खेलाडीलाई कोभिड १९ खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्रीसँग माग

    काठमाडौं । नेपाल खेलकुद महासंघले खेलाडीलगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा साथै प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

    स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पीसीआर परिक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड-१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका छन् ।

    ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड-१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका हुन् ।

    ‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ । आएको खोपको सीमितताको कारणले उमेर समूहलाई छुट्याएर गरिरहेका छौँ । सम्भवत्ः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईंहरूले पाउँनुहुनेछ । पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन,’ मन्त्री तामाङले भने, ‘तर अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ । कोभिड सँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौँ ।’

  • पतञ्जलीले उपहारमा दिएको कोरोनिल किट् वितरणमा रोक

    पतञ्जलीले उपहारमा दिएको कोरोनिल किट् वितरणमा रोक

    काठमाडौं । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरणमा नेपालले रोक लगाएको छ ।

    कोरोनाभाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो ।

    विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट् नेपालको औषधी व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ । पतञ्जलीको तर्फबाट गतसाता १५०० किट् तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो ।

    विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले उक्त किट्ले स्वास्थ्यमा असर नपर्ने देखिएपनि विभागमा दर्ता नभएकाले वितरण नगर्ने निर्णय गरिएको बताए ।

    यसअघि भुटानले पनि कोरोनिल किट्मा रोक लगाइसकेको छ ।

  • सामाजिक सुरक्षा कोषमा समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    सामाजिक सुरक्षा कोषमा समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सहभागी गराउन र अनिवार्य न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

    मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले एक विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा सहभागि नभएको र न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिइएको गुनासा पाइएको भन्दै सबै अस्पतालाई अस्पतालमा कार्यरत कर्मचारीलाई कोषमा अनिवार्य समावेश गर्न र न्यूनतम पारिश्रमिक दिन निर्देशन दिएको हो ।

    सोमबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको केन्द्रका प्रमुख डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सोमबार नै आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सामाजिक सुरक्षा कोषमा समावेश भए नभएको र न्यूनतम पारिश्रमिक लागू भए नभएको विषयमा अनुगमन गरिने जानकारी गराइसकेका छन् ।

  • मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, मंगलबार ५१ सयमा संक्रमण पुष्टि

    मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, मंगलबार ५१ सयमा संक्रमण पुष्टि

    काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ५,१५३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ वटा पीसीआर र ५,६११ वटा एन्टीजेन नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार कोभिडको कारण मृत्यु हुनेको कूल संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ ।

    मंगलबार ६,५७० जना निको भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ ।

    कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

  • कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ?

    कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ?

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लगाउनको लागि सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई फारम भर्न आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त फारम भर्न आग्रह गरेको थियो ।

    एक महिनाको अवधिमा उक्त डिजिटल फारम भर्नेको संख्या झन्डै पौने १३ लाख पुगेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म १२ लाख ७३ हजार जनाले फारम भरेका छन् ।

    मन्त्रालयमा सूचना व्यवस्थापन हेर्ने डा. अनिल थापाका अनुसार फर्म भरेकाहरुलाई प्राथमिकताको आधारमा खोप लगाइने भएको छ ।

    ‘सबैलाई खोप कहिले लगाउने भन्ने चासो छ । फर्म भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने छैन’ उनले भने, ‘खोप अभियान सञ्चालन गर्दा फर्म भरेको व्यक्तिलाई प्राथमिकताको आधारमा खोप लगाउने निर्णय सरकारले गरेको छ ।’

    थापाका अनुसार, ‘कोरोना विरुद्धको खोप लगाउनको लागि दैनिक ४२ हजारभन्दा बढीले फर्म भर्ने गरेका छन् । अनलाइन फर्म भर्नेबारे मानिसहरुलाई पर्याप्त मात्रामा सुचना नभएका कारण फर्म भर्नेको संख्या कम भएको हुन सक्छ ।’

    आफैंले फारम भर्न नसक्ने र इन्टरनेट सुविधा नभएका नागरिकलाई नजिकको पालिकामा फारम भर्ने व्यवस्था मिलाइएको छ । परिचय खुल्ने कागजपत्र लिएर आफ्नो पालिका, वडा वा स्वास्थ्य कार्यालयमा गएर हार्डकपीमा विवरण टिपाउन सकिने भएको छ ।

    उनले भने, ‘हालै फारम भर्ने बित्तिकै खोप लगाउन पाइन्छ भन्ने छैन । सरकारले खोप अभियान सञ्चालन गर्दा फर्म भरेकाहरुलाई प्राथमितामा राखेर सरकारले खोप लगाउन आउनु भनेर म्यासेज गरिनेछ । फर्म नभरेकालाई भने म्यासेज जादैन ।’

    खोप लगाउन जाँदा अनलाइन फर्म भर्दा प्राप्त हुने दर्ता कार्ड, दर्ता नम्बर वा आफ्नो परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जानुपर्ने थापाले बताए ।

    मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन अभियान सुरु भएको छ । मंगलबार ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइएको छ ।

    सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पनि खोप लगाउँदा अनलाइन फारम भरेकालाई पनि म्यासेज गरेको छ । नजिकको खोप केन्द्रमा खोप लगाउन जान आग्रह गर्दै मन्त्रालयले उक्त उमेर समूहका नागरिकलाई म्यासेज पनि गरेको छ ।

    सरकारले यसैसाता विज्ञप्ति जारी गर्दै धैर्यता अपनाउन आग्रह गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि सबै नेपालीलाई खोप लगाउनु आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताएका छन् ।

  • ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना

    ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना

    काठमाडौं । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् । नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ ।

    सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।

    त्यसबेला काठमाडौं आएका उनलाई तत्कालीन राजा महेन्द्रले यहीँ बस्न आग्रह गरे । राजा महेन्द्रले सिंह बाबुछोरालाई आफूसँगै ल्याएको ट्रक यहीँ चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्धत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।

    उनीहरुको मद्धतबाटै काठमाडौंमा शिख समुदायको प्रवेश बढी ठूलो संख्या भएको सो पुस्तकमा उल्लेख छ । नेपालका शिख समुदायका प्रेरणाका स्रोत तथा ट्रान्सपोर्ट पायोनियर ८७ वर्षीय प्रितम सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत थिए ।

    २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

     

  • बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न सरकारको अनुरोध

    बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न सरकारको अनुरोध

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ ।

    मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताए।

    सरकारले संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५०० रुपैयाँ प्रतिदिन, मध्यम बिरामीका लागि सात हजार रुपैयाँ प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ प्रतिदिन तोकेको छ ।

    उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा संक्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ ।

    सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा संक्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

    मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ ।

    यसैगरी स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार संक्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले सरकारले तोकेभन्दा बढी लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयले अनुरोध गरिएको जानकारी दिए ।

  • कोभिड १९ खोप सबैलाई पुग्ने गरी छिट्टै ल्याउँछौं – स्वास्थ्यमन्त्री तामाङ

    कोभिड १९ खोप सबैलाई पुग्ने गरी छिट्टै ल्याउँछौं – स्वास्थ्यमन्त्री तामाङ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।

    वागमती प्रदेश स्काउटअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै उमेर समूहकालाई क्रमशः खोप दिँदै जाने बताए ।

    ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरू आउनेछ । हामी धेरै पहलकदमी गरिरहेका छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु, मन्त्री तामाङले भने, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिवद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’

    वागमती प्रदेशभित्रका जिल्लाहरूमा स्थानीय स्काउट कार्यक्रम अन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि थालिएको स्काउट नगर संयोजक सुदर्शन बजगाईँले बताए ।

  • भारतमा दैनिक संक्रमण १ लाखभन्दा कम, २१ सय जनाको मृत्यु

    भारतमा दैनिक संक्रमण १ लाखभन्दा कम, २१ सय जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा २१ सय २३ जनाको मृत्यु भएको छ भने एकैदिन १ लाख ८२ हजार २८२ जना डिस्चार्ज भएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण भएको पहिलो तथ्यांक हो ।

    भारतमा अहिलेसम्म कुल २ करोड ८९ लाख भन्दा बढी संक्रमित छन् भने अहिलेसम्म २ करोड ७३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ अहिलेसम्म कुल ३ लाख ५१ हजार ३०९ जनाले ज्यान गुमाइसकेका छन् भने १३ लाख ३ हजार ७०२ जना संक्रिउ संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • भारतमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

    भारतमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

    दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड-१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको सुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् ।

    परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । ‘आज कोभाक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,’ एम्सका एक अधिकारीले बताए । ‘परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।’

    भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो ।

    कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ ।

  • प्रदेश सरकार मातहत आएपछि फेरिएको भीम अस्पताल

    प्रदेश सरकार मातहत आएपछि फेरिएको भीम अस्पताल

    रुपन्देही । झण्डै ९ दशक पुरानो भैरहवाको भीम अस्पतालमा संघीयताको कार्यान्वयनसँगै आमूल परिवर्तन भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको यो अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि सेवा बिस्तारमात्र भएको छैन यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य धरोहर बनेको छ ।

    भीम अस्पताल भनेपछि धेरैले नाक खुम्च्याउने अवस्थामा पुगेको यो अस्पतालले अहिले सेवाग्राहीको मन जित्न विभिन्न योजना कार्यान्वयन गरेको छ । सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा पाइँदैन भन्ने सोचलाई चिर्दै यो अस्पतालले निजी अस्पताको दाँजोमा सेवा दिन थालेपछि सबैको रोजाइमा पर्न थालेको छ ।

    संघीयता कार्यान्यवनको सुरुवातसंगै प्रदेश सरकारले रुपन्देहीको पुरानोमध्यको यो अस्पतालका लागि विभिन्न योजनाहरु अघि सारेको छ । वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पताल मध्यम र विपन्न वर्गका नागरिकका लागि यो अस्पताल बरदान सावित भएको छ ।

    अहिले भैरहवाबासीका लागि मात्रै नभइ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारसहित जिल्लाका विभिन्न क्षेत्र, नवलपरासी, कपिलवस्तुका बिरामी पनि उपचारको लागि यहाँ आउने गरेका छन् । विशेषज्ञ डाक्टरसहितको उपचारमा गुणस्तरीय सेवा वृद्धि भएपछि अहिले सबैको रोजाईमा परेको छ । समयक्रमसँगै भीम अस्पतालको मुहार फेरिँदै गएको छ । प्रदेश मातहत आएपछि यसको स्तरोन्नति र विकासमा थप काम भएपछि अहिले अस्पतालप्रति आमनागरिकको विश्वास बढ्दै गएको हो ।

    गतवर्षदेखि कोरोना भाइरसको संक्रमण फैलिएसँगै अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । सुरुवाती चरणमै अस्पतालले कोरोना संक्रमितको उपचारमा उल्लेखनीय भूमिका खेलेको थियो । पहिलो चरणको कोभिड संक्रमितको उपचारमा अस्पतालले राम्रै गरी प्रदेशमा नाम कमाएको थियो ।

    कोरोना संक्रमितलाई निको बनाएर उनीहरुको मन जित्न सफल भएको थियो भीम अस्पताल । अस्पतालबाट उपचार पाएर संक्रमितहरु कोरोनामुक्त भएपछि घर फर्कन लाग्दा नाचगान गरी खुशीयाली नै मनाएका थिए । पहिलो चरणको कोभिड संक्रमितको उपचारको नेतृत्व मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले गरेका थिए । अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएको उपचारपछि घर फर्किएकाहरु बताउँछन् ।

    दोस्रो चरणको कोभिड–१९ र निमोनियाबाट ग्रस्त भई उपचारका लागि भीम अस्पताल पुगेका सिद्धार्थनगर–७ का विष्णु अधिकारीले भीम अस्पतालको सेवा देखेर चकित बने । ‘अस्पताल प्रशासन, डाक्टर तथा नर्सहरुको व्यवहार, उपचार र हौसलाले १३ दिनै परास्त गरेर गर फर्किन पाएँ,’ उनले भने ‘यो समयमा उहाँहरुले गरेको सेवाप्रति म सधै ऋणी छु ।’ उपचार गुणस्तरीय भएका कारण भीम अस्पतालमा अहिले आफूजस्तै थुप्रै बिरामी उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।

    पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर आएपछि विभिन्न चुनौतीहरु थपिए । वैशाखको पहिलो हप्ता कोरोना संक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पताललाई व्यवस्थापन गर्न केही समय कठिन पनि भयो । तर अस्पताल व्यवस्थापन र प्रशासन आफ्नो कामबाट विचलित भएन ।

    दोस्रो लहरको व्यवस्थापनमा चुनौती

    ‘पहिलो लहरमा त्यत्ति ग्राहो भएन, म भदौमा अस्पतालमा हाजिर हुँदा यहाँको अवस्था राम्रै थियो, तर दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि केही समस्या उत्पन्न भयो,’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले भनिन् ।

    बेड, अक्सिजन र जनशक्ति यो चरणका चुनौती रहेको गुप्ताको अनुभव छ । डा. गुप्ताका अनुुसार दोस्रो लहर सुरु भएपछि अस्पतालाई तीन वटा कुराको व्यवस्थापन गर्न समस्या भयो । पहिलो लहरमा अस्पतालमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई घर जान खासै समस्या नभए पनि दोस्रो लहरमा संक्रमणको दर बढेपछि घर जान समस्या नै भयो । स्वास्थ्यकर्मीलाई कहाँ राख्ने, कहाँ बास र खानाको व्यवस्था गर्ने चुनौति थपिएकोले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी व्यवस्थापन गरिएको डा. गुप्ताले बताइन् । अस्पतालमा आएका अधिकांश बिरामीहरुलाई अक्सिजनको आवश्यकता भएपछि अक्सिजन पाउन समेत ग्राहो भएको उनले बताइन् ।

    ‘संक्रमितले अक्सिजन नपाए आधा घण्टामै बिरामीको ज्यान जान्छ भनेर राती १२ बजे, ३ बजे पनि फोन आउँथ्यो, वास्तवमा त्यो पीडादायी अवस्था थियो,’ उनले भनिन्, ‘तर हामीले अनेकन प्रयास गरेर समस्याको समाधान गरेरै छाड्यौं ।’ थुप्रै सिकिस्त बिरामी एकैपटक आउने र उहाँहरुलाई आइसीयू र भेन्टिलेटर चाहिने भए पनि अस्पतालमा ४–५ वटा मात्रै आइसीयू/भेन्टिलेटर रहेकाले केही समय उपचारमा निकै असहज अवस्था आएको उनको भोगाइ छ ।

    ‘अस्पताल पुगेका बिरामी र बिरामी कुरुवाले बेड नपाए पनि बाहिरै बस्छौं, यहीँ उपचार हुनुपर्छ, तर घर जाँदैनौ भनेपछि उहाँहरु यही बस्नुभयो,’ उनले भनिन्, ‘त्यसले हामीलाई थप जिम्मेबारीवोधसँगै सकारात्मक उर्जा थपियो ।’

    पहिलो चरणको कोभिडपछि लीलाराम न्यौपाने–कुन्तीदेवी प्रतिष्ठानले अस्पताल परिसरमा आकस्मिक कक्ष (इमरजेन्सी ब्लक) निर्माणसम्पन्न गरेको थियो । त्यसपछि कोरोना अस्पताल सञ्चालन गर्न थप सहज भएको डा. गुप्ताको भनाइ छ । ‘प्रतिष्ठानकै पहलमा थप १२ वटा अक्सिजनसहितको बेड राखियो, जसले गर्दा बिरामीको उपचारमा सहज भयो,’ उनले भनिन् ।

    व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछिको परिवर्तन

    प्रदेश सरकारले महामारीकै उत्कर्षमा बैशाख २२ गते व्यवस्थापन समितिको नेतृत्वमा भैरहवाका व्यवसायी नारायणप्रसाद भण्डारीलाई ल्यायो । जनशक्ति कम भएको समयमा प्राविधिक मान्छेले व्यवस्थापनको पनि जिम्मेवारी लिँदा समस्या भएको समयमा व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछि उनीहरु आफ्नो काममा खट्न पाएका छन् । अस्पताल विकास समितिले नेतृत्व पाएपछि क्रमशः अवस्था सहज हुँदै आएको डा. गुप्ताको भनाइ छ । सुरुवाती चरणमा दैनिक ३ सय अक्सिजन सिलिण्डर आवश्यक भए पनि अहिले भने दैनिक २ सय ४० सिलिण्डर आवश्यक रहेको उनले बताइन् ।

    अस्पतालले कोरोना संक्रमित बिरामीको वैशाख २ गतदेखि उपचार गर्न सुरु गरेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । हालसम्म ३ सय ५० बढी संक्रमितको उपचार गरिएको र जसमध्ये १ सय बढी बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

    दोस्रो चरणको लहरमा १ सयको हाराहारीमा कोभिड संक्रमितको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा. पोखरेलको भनाइ छ । हाल अस्पतालमा ४८ जना संक्रमित उपचाररत छन् ।

    अस्पताल विकास समितिले नेतृत्व पाएको धेरै समय भएको छैन । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा लुम्बिनी प्रदेश सरकारले वैशाख २२ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका नारायणप्रसाद भण्डारीले जेठ ४ गते पदभार ग्रहण गरेका छन् ।

    अध्यक्षको जिम्मेवारी सम्हालिसकेपछि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनले पहिलो प्राथमिकतामा राखेका छन् । भण्डारी उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्षसमेत हुन् । ‘कोरोना महामारीको विषम परिस्थितिमा मलाई प्रदेश सरकारले महत्वपूर्ण जिम्मेवारी दियो, बिरामीले अक्सिजन, बेड नपाएको अवस्थामा र मान्छे घरबाहिर निस्कने वातावरण नभएको र व्यवसाय बन्द भएको बेला जिम्मेवारी सम्हालेको छु, विभिन्न चुनौति छन्, ती चुनौतिलाई अवसरको रुपमा लिएर केही गर्ने सोचसहित काम गरिरहेको छु,’ भण्डारीले भने ।

    धेरैभन्दा धेरै बिरामीको उपचार गर्न सकिन्छ कि भनेर आफूले जिम्मेवारी सम्हालेको उनले बताए । अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु दिनरात खटेर काम गरिरहेको उनले बताए ।

    स्तरोउन्नति र अक्सिजन प्लान्ट पहिलो प्राथमिकतामा

    तत्कालको योजना भनेको अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, अस्पतालमा आएका बिरामीलाई बेड र अक्सिजनको सुविधा दिइ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रहेको उनले बताए । ‘ठूला योजना तत्काल अगाडि बढायौं भने अहिले अत्यावश्यक काम अवरोध हुनसक्छ, अक्सिजन प्लान्ट स्थापना जडान गर्ने योजना गरेर सूचनामा गएको छौं, योजना अनुसार काम अगाडि बढे अस्पतालमा आगामी असार मसान्तभित्र अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन्छ ’उनले भने ।

    अस्पतालमै जडान भएको प्लान्टले बिरामीलाई अक्सिजन दिन सकिने उनको भनाइ छ । अक्सिजन प्लान्ट जडानका लागि उद्योगी, व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको सहयोग निरन्तर आइरहेको भण्डारीले जानकारी दिए । उनका अनुसार असार मसान्तभित्रै ५ वटा भेन्टिलेटर र केही आइसीयू÷एचडीयू बेड थप्ने गरी काम अगाडि बढेको छ ।

    लामो समयको योजना भनेकै अस्पताललाई १ सय शय्या बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्ने रहेको उनले बताए । ‘अस्पतालको स्तरोन्नति गर्न पहिलो बैठकबाट निर्णय गरेर मन्त्रालयमा पत्र पनि पठाइसकेका छौं, अस्पतालमा नयाँ भवन बनाउनको लागि दुई भागमा बनाउन पहिलो भागको टेण्डर भइसकेको छ, र ठेकेदारसँग सम्झौता भइसकेको छ, ठेकेदारसँग सम्झौता गरेर आगामी १५ दिनभित्रै भवनको शिलान्यास गर्नेतर्फ अघि बढेका छौं,’ भण्डारीले भने । अस्पतालको पश्चिम क्षेत्रमा हाल क्यान्टिन रहेको क्षेत्रमा पुरानो भवनलाई विस्थापित गरेर नयाँ भवन निर्माण गरिने उनले बताए ।

    ‘यहाँका स्थानीयवासी सकभर भीममा जान नपरे हुन्थ्यो भन्ने सोचका साथ युनिभर्सल मेडिकल कलेज वा बुटवलतिर जानुहुन्थ्यो, तर अहिले ठयाक्कै यो अवस्था परिवर्तन भएको छ, अहिले यहाँका पुराना धनाढ्य वर्गका बिरामी अस्पतालमा उपचाररत हुनुहुन्छ,’ उनले भने ।

    ‘अस्पतालमा गुणस्तरीय सेवा पाएर वा राम्रो उपचार पाएको भएर बिरामी र बिरामीका आफन्तले अस्पताल रोज्नुभएको छ भन्ने विश्वास गरेका छौं, यो विश्वासलाई कायम राख्दै अस्पतालको सेवालाई अझ गुणस्तरीय र विश्वासको केन्द्रको रुपमा अगाडी बढाउन हामी झण्डै १ सय ५० जनाको टिमसहितको अस्पताल परिवार लागिपरेका छौं, ’उनले भने । सिंगो टिम अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

  • रुपन्देहीमा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

    रुपन्देहीमा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

    रुपन्देही । कोभिड-१९ विरुद्धको ‘भेरोसेल’ खोप मंगलबारदेखि लगाइँदै छ । ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालयको भनाइ छ ।

    तेस्रो चरणमा चीनबाट आएको भेरोसेल खोप मंगलबारदेखि लगाउन थालिएको हो । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिगीले जिल्लाका सबै पालिकामा गरी ६९ वटा केन्द्रबाट खोप लगाइने र नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्ने बताए ।

    यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपि उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन् ।

  • सोमबार ४,४७२ संक्रमित थपिए, ६९५१ जना डिस्चार्ज

    सोमबार ४,४७२ संक्रमित थपिए, ६९५१ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ४,४७२ जना बिरामी थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ९०३ (पीसीआर १२ हजार २ र ५९०१ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबार थप ९२ जनाको मृत्यु भएको छ । मृत्युदर १.३५ प्रतिशत छ । कूल ७, ९९० जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ६९५१ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८४.२ प्रतिशत छ ।

    नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९१ हजारको हाराहारीमा पुगेको छ जसमध्ये अहिले ७८,३६४ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।

    सोमवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू जिल्लाका छन्।

    राजधानीका ७९० जनासहित भक्तपुरका १३५ जना र ललितपुरका १९० जना गरी काठमाण्डू उपत्यकामा थप १,११५ जना सङ्क्रमित थपिएका छन्।

    नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

    सक्रिय सङ्क्रमितमध्ये ७,१८० जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४३४ आईसीयूमा र ३९७ जना भेन्टिलेटरमा रहेका छन्।

  • मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

    मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

    कर्णाली । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । मनिषा कोइराला फाउन्डेशनबाट पीपीई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

    प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपत्को समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले सो फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन् ।

    प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आइसीयू र २४ एचडीयू सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताए । यसैगरी २० कोरोना संक्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ ।