Category: स्वास्थ्य-जीवनशैली

  • टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

    टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

    काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।

    डा. सागरराज भण्डारीले अवकाश पाएपछिटेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. बास्तोलालाई टेकु अस्पतालको निर्देशकमा नियुक्त गरिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार उनलाई निर्देशकमा नियुक्त गरेको हो । उनले आजैदेखि पदभार सम्हालेका छन् ।
    बास्तोला यसअघि टेकु अस्पतालको प्रवक्ता समेत रहेका थिए ।

  • निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्यो, चार दिनमा सात गुणाले बढे संक्रमित

    निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्यो, चार दिनमा सात गुणाले बढे संक्रमित

    रुपन्देही । निषेधाज्ञा खुकुलो भएसँगै रुपन्देहीमा कोरोना संक्रमण बढ्न थालेको छ । एक सातायता संक्रमणदर बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    पछिल्लो तथ्यांकअनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना संक्रमित फेला परेका छन् । गत बिहीबार पाँचजनामा संक्रमण देखिएको थियो । त्यसको चार दिनपछि सात गुणा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा दुई सय तीन जनालाई परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । कार्यालयका अनुसार उक्त अवधिमा पाँच जना संक्रमितको ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा पाँच जना संक्रमितले ज्यान गुमाएका छन् ।

    लक्षणसहित परीक्षण गराउन आउनेको संख्या बढेकाले संक्रमितको संख्या बढ्न गएको स्वास्थ्य कार्यालयले बताएको छ ।

    पछिल्लो समय बुटवलका १४ जना, तिलोत्तमाका ९ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना, ओमसतियाका १ जना, कञ्चनका ३ जना, रोहिणीका २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ जना र शुद्धोधनका १ जनामा संक्रमण पुष्टि भएको हो ।

    जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित पुगेका छन् । गत शुक्रबारदेखि जिल्लामा सक्रिय संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । संक्रमणको दोस्रो चरण बढेको समयमा सकृय संक्रमित ८ हजार पुगेका थिए ।

    एक सातायता कोरोना अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका डक्टर सागर न्यौपानेले अहिले पुनः कोरोना संक्रमितले आइसियुका बेड भरिन थालेको बताए ।

    उनले सबै नागरिकलाई स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरे । संक्रमण कम भएको भन्दै प्रशासनले लकडाउन खुकुलो बनाउँदै लगेको र नागरिकले स्वास्थ्य सर्तकता अपनाउन छाडेकाले संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

  • थप २,४४४ जनामा संक्रमण, ४२ जनाको मृत्यु

    थप २,४४४ जनामा संक्रमण, ४२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ६६८ र एन्टीजेन विधीबाट ४ हजार ९९२ नमुना परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी ११ हजार १४० स्वावको नमुना परीक्षण गरिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।

    ४२ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ९ हजार ५१ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

     

  • कोरोना खोप लगाएर विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने (आदेशसहित)

    कोरोना खोप लगाएर विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने (आदेशसहित)

    काठमाडौं । अन्य मुलुकबाट कोरोनाविरुद्धको पूरा डोज लगाएर हवाई मार्ग हुँदै नेपाल आउने यात्रु अब सीधै घर जान पाउने भएका छन् ।

    सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश,२०७८’मार्फत सो व्यवस्था गरेको हो । नयाँ प्रावधान अनुसार दुवै खोप लगाएकालाई स्व-क्वारेन्टिनमा १० दिनसम्म बस्ने गरी जान दिइनेछ ।

    कोरोनाका कुनै पनि लक्षण नदेखिएका तर, खोप नलगाएका यात्रुलाई सात दिनसम्म निजले बुक गरेको वा सरकारले तोकेको होटलमा बस्नु पर्नेछ । साथै, विदेशबाट आउने प्रत्येक यात्रुले ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ नतिजा आएको हुनुपर्नेछ ।

    बेखर्ची र आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरिएका व्यक्तिले भने क्वारेन्टिनमा बसेको खर्च सरकारले नै व्यहोर्ने छ ।

    यस व्यवस्था अन्तर्गत ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिकाको हकमा भने एन्टिजिन परीक्षण गरी परिक्षण नेगेटिभ आएमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा ‘होम क्वारेन्टिन’ बस्नेगरी पठाउन सक्नेछ ।

    सरकारी र कूटनीतिक नियोगका कर्मचारीले भने सरकारले लगाएको यो नियममा बाँधिनुपर्ने छैन । सरकारी कामको सिलसिलामा विदेश गएका नागरिक, नेपाली नियोगबाट नेपाल फर्कर्ने कर्मचारी र उसको परिवारले भने कोरोना परीक्षण नेगेटिभ आएमा १० दिनको होम क्वारेन्टिनमा बस्ने अनुमति दिइएको छ । यी नियम उल्लंघन गरिएको पाइएमा कारवाही गरिने बताइएको छ ।

  • काठमाडौं उपत्यकाको कोभिड संक्रमणदर १५ प्रतिशतमा झर्‍यो, निषेधाज्ञा २१ गतेसम्म कायम

    काठमाडौं उपत्यकाको कोभिड संक्रमणदर १५ प्रतिशतमा झर्‍यो, निषेधाज्ञा २१ गतेसम्म कायम

    काठमाडौँ । उपत्यकामा कोभिड-१९ को संक्रमण दर १५ प्रतिशतमा झरेको छ । संक्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको संख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।

    महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ । एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको थियो । अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

    उपत्यकाको कोरोना संक्रमणदर १५ प्रतिशतमा झरेपछि निषेधाज्ञा खुकुलो बनाउँदै असार २१ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमणदर १० प्रतिशतमा झरेमा थप क्षेत्रहरु क्षेत्रहरु खोल्न सकिने र ५ प्रतिशतमा झरेपछि विद्यालयहरु खोल्न सकिने जानकारी नेपाल प्रेसलाई दिए ।

    अघिल्ला हप्तामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको संख्या घटेको र आउनेमध्येमा पनि थोरैमा मात्र संक्रमण देखिएको छ ।

    परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लग्ने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । उक्त एम्बुलेन्स सेवा कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्ने छ ।

    ६३ हजार संक्रमित निको

    हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन् ।

    महानगरपालिकामा हाल रहेका संक्रमितमध्ये तीन हजार ७२२ होम आइसोलेशनमा छन् भने १३५ संस्थागत आइसोलेशनमा र २२४ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

    कोभिड-१९ को संक्रमणविरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न सम्झौता गरी सेवा विस्तार गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा आठ हजार ५०८ सक्रिय संक्रमित छन् । त्यसमा काठमाडौँमा चार हजार ३९१, भक्तपुरमा एक हजार ७३२ र ललितपुरमा दुई हजार ३८५ सक्रिय संक्रमित छन् ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ मा झरेको छ । पच्चीस जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ ।

  • कोरोनाको नक्कली खोप बेच्नेबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

    कोरोनाको नक्कली खोप बेच्नेबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

    काठमाडौ । काठमाडौं लगायतका सहरी क्षेत्रमा कोरोनाको नक्कली खोप विक्री वितरण भएको सूचना प्राप्त भएकाले स्वास्थ्य मन्त्रालयले सतर्क हुन सूचना जारी गरेको छ ।

    मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ ।

    सरकारले कोरोनाको खोपको निःशुल्क वितरण गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले नागरिकलाई ठगी हुनबाट जोगिन अपिल गरेको हो ।

    यसैबीच, राष्ट्रिय उपभोक्ता मंचले पनि सोमबार विज्ञप्ति जारी गर्दै नक्कली कोभिड खोप विक्री वितरणमा संलग्नलाई कार्वाही गर्न माग गरेको छ ।

    केही व्यक्तिहरुले पूर्वी नाकाबाट काठमाडौं लगायतका सहरी क्षेत्रमा कोभिडसिल्ड खोप भन्दै ३ देखि ५ हजारसम्म विक्री वितरण भएको सूचना आएकाले यस्तो कार्यबाट सतर्क हुन भनेको छ ।

  • तामाकोसी गाँउपालिकाको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट

    तामाकोसी गाँउपालिकाको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट

    काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका ४ मालुमा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि स्थानीय युवाले हातपात गरेका छन् ।

    शनिबार राति १२ वजे तिर स्थानीय केहि युवाहरुले मदिरा सेवन गरी अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको वडा नम्वर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठले बताए ।

    गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिबार राति मदिरा सेवन गरेका युवाहरु प्रवेश गरी हुलहुज्जत सहित अन्य विरामीलाई पनि उपचार गर्नुपर्छ भन्दै डाक्टर माथि हातपात भएको गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताए ।

    अस्पतालमा कार्यरत डाक्टरले कोरोनाका विरामी भएकोले भित्र नपस्न आग्रह गर्दै केहि समस्या भए कोरोनाका विरामी भएको ठाँउभन्दा छुट्टै ठाँउमा स्वास्थ्य परिक्षण गरिदिने भनेको तर उनीहरुले पर्खाल नाघेर भित्र प्रवेश गरी कुटपिट गरेको बताइएको छ ।

    डाक्टरमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्रहरीले तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका गोपाल तिमलसिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ ।

     

  • थप १९२० जनामा संक्रमित थपिँदा ३४ जनाको मृत्यु

    थप १९२० जनामा संक्रमित थपिँदा ३४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभरको प्रयोगशालामा ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९हजार ९ जनाको मृत्यु भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।

  • ‘विश्वका ८५ देशमा डेल्टा भेरिएन्टको संक्रमण तीव्र’

    ‘विश्वका ८५ देशमा डेल्टा भेरिएन्टको संक्रमण तीव्र’

    काठमाडौं । कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा भेरिएन्टको संक्रमण अहिलेसम्म विश्वका ८५ वटा देशहरूमा भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

    कोरोनाभाइरस विरुद्धको खोप लगाएका मानिसहरुमा डेल्टा भेरिएन्टको समेत संक्रमण देखिएको डब्लूएचओले जानकारी  दिएको आजतकले बताएको छ ।

    शुक्रबार आयोजित प्रेस ब्रिफिङमा डब्लूएचओका महानिर्देशक टेड्रोस एधनॉम गेब्रियेससले भने- कोरोनाभाइरसको संक्रामक डेल्टा भेरिएन्ट विश्मा तिब्र गतिले फैलिरहेको छ । यो भेरिएन्टले विश्वनै चिन्तित बनेको छ ।

    डब्लूएचओको कोभिड इपिडिमियोलोजिस्ट डा‍. मारिया वैन करखोवका अनुसार, ‘डेल्टा कोरोनाको एकदम खतरनाक स्वरुप हो । यो अल्फा भेरिएन्ट भन्दा पनि खतरनाक छ, जुन युरोपसहित विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ ।’

    डेल्टा भेरिएन्ट भएका मानिसमा कान कम सुन्ने, कमजोर हुने, पेट दुख्ने, रगत जम्ने, म्याग्रेन जस्ता लक्षणहरु  देखा पर्ने डाक्टरले बताएका छन् । कोरोना संक्रमित भएका मानिसमा भने यो संक्रमण नदेखिएको पाइएको छ ।

    भारतमा कोरोनाभाइरसको दोस्रो लहर भन्दा पनि डेल्टा भेरिएन्ट अझै बढी खतरनाक भएको भारतको अध्ययनमा देखिएको छ । यो कोरोना संक्रमणका बिरामीमा जटिल रूपमा देखा परेको पाइएको छ ।

    (यसअघि प्रकाशित समाचारमा असावधानीबश अतिरञ्जित हुने खालको जानकारी सम्प्रेषित हुन गएकोमा क्षमा माग्दछौं)

  • काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी, अहिले नै सार्वजनिक यातायात खुलाउन मिल्दैन : स्वास्थ्य मन्त्रालय

    काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी, अहिले नै सार्वजनिक यातायात खुलाउन मिल्दैन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

    निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

    आइतबार बेलुका बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै थप आदेशहरु जारी गर्ने भएका छन् । सार्वजनिक यातायात खुलाउन दबाब आइरहेपनि तत्काल खुला गर्ने आफूहरुको तयारी नरहेको ललितपुर सीडीओ निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘सार्वजनिक यातायात खुलाउन हामीलाई दिनहुँ यातायात व्यवसायीको डेलिगेसन आइरहेको छ’ उनले भने, ‘तत्काल खुला गर्ने हाम्रो योजना छैन तर, एकदुई दिनको संक्रमण दर हेरेर निर्णय लिन्छौं ।’ निषेधाज्ञा खुकुलो भएको समयमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अझै कडाइ पनि गर्नुपर्ने हुनसक्ने उनले जनाए ।

    काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकारात्मक रहेपनि हतार नगर्ने बताए । ‘स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन’ पराजुलीले भने । अहिलेको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।

    स्वास्थ्य मन्त्रालय भन्छ : काठमाडौंमा सार्वजनिक यातायात खुलाउने परिस्थिती छैन

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले अहिलेको परिस्थितीमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताएका छन् ।

    ‘उपत्यकाबाहिर संक्रमण दर कम भएका ठाउँमा खुलाएपनि काठमाडौंको सक्रिय संक्रमित संख्या हेर्दा खुलाउने परिस्थिती छैन’ उनले भने, ‘जिल्लाको परिस्थिती हेरेर गर्न सकिन्छ । अझै केही समय काठमाडौंमा खुलाउन मिल्दैन ।’

    अहिले पनि मुलुकको पजेटिभ हुने दर झन्डै २० प्रतिशत छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेको छ । काठमाडौं जिल्लामा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

    ‘अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा यातायात खुलाउन सकिँदैन । जस्तै कञ्चनपुर जिल्ला ठूलो छ र त्यहाँको सक्रिय संक्रमित संख्या २२५ छ भने त्यहाँ खुलाउन सकिन्छ’ प्रवक्ता पौडेलले भने, ‘काठमाडौं उपत्यकाको पजेटिभिटी दर अझै उच्च छ ।’

    काठमाडौं उपत्यकाको संक्रमण दर १० प्रतिशतमा झरे चरणवद्ध रुपमा विभिन्न क्षेत्रहरु खुलाउन सकिने र ५ प्रतिशतमा झरे सार्वजनिक यातायात र विद्यालय खुलाउने आफूहरुको तयारी रहेको उनले जनाए । काठमाडौं उपत्यकामा कतिपय संक्रमित उच्च रहेको टोल र ठाउँलाई सिल गर्नुपर्ने परिस्थिती पनि आउन सक्ने पौडेलको भनाई छ ।

  • शनिबार २ हजार कोभिड बिरामी थपिए, ३० जनाको मृत्यु

    शनिबार २ हजार कोभिड बिरामी थपिए, ३० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २०१६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९८१० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार ३० जनाको मृत्यु भएको छ । ४९१४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४२ हजार २४ मा झरेको छ ।

    काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् । काठमाडौंपछि सबैभन्दा धेरै कास्कीमा १२७ जना संक्रमित थपिएका छन् ।

    नुवाकोटमा ११० जना, मोरङमा ९९, झापामा ६८ र तनहुँमा ५४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । परीक्षण भएकामध्ये संक्रमण दर १९.१ प्रतिशत छ ।

    कूल मृत्यु ८९७५ पुगेको छ । कूल संक्रमित संख्या पीसीआर परीक्षण गर्दा संक्रमित संख्या ६ लाख ३२ हजार पुगेको छ ।

  • डेल्टा भेरिएन्टबाट बच्न खोप लगाइसकेकालाई पनि मास्क लगाउन डब्लुएचओको सल्लाह

    डेल्टा भेरिएन्टबाट बच्न खोप लगाइसकेकालाई पनि मास्क लगाउन डब्लुएचओको सल्लाह

    काठमाडौं । नेपालसहित विश्वभर फैलने क्रममा रहेको कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टाको संक्रमणबाट जोगिन मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरीलाई कायम राख्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

    कतिपय खोप अभियान चलाइरहेका मुलुकले मास्क लगाउने नियमलाई खुकुलो बनाएपछि डब्लुएचओले त्यसो नगर्न समेत भनेको छ ।

    पहिलोपटक भारतमा भेटिएको कोरोनाको डेल्टा प्रजाति अहिले नेपालसहितका अन्य मुलुकमा फैलिएको छ । नेपालमा त डेल्टाको उत्परिवर्तन डेल्टा प्लस समेत भेटिएको छ ।

    ‘डेल्टा प्रजाति फैलिनुको अर्थ मास्कको प्रयोग, साबुनपानीले हात धुनु र सामाजिक दूरी अनिवार्यरुपमा बनाउनु नै हो’ डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भने ।

    डब्लुएचओका बरिष्ठ सल्लाहकार ब्रुस एलवार्डले पुरै डोज खोप लगाइसकेकाले पनि मास्क लगाउनुपर्ने जरुरी रहेको बताएका छन् । ‘दुबै डोज लगाएकाले पनि संक्रमणको चेन ब्रेक गर्नको लागि मास्क लगाउनु जरुरी छ’ उनले भने ।

    डेल्टा प्रजातिलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्न (संवेदनशिल प्रजाति) भनेको छ ।

  • भारतमा ४८ हजार नयाँ संक्रमित थपिए, १२ सयको मृत्यु

    भारतमा ४८ हजार नयाँ संक्रमित थपिए, १२ सयको मृत्यु

    दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना संक्रमित भएका हुन् ।

    संक्रमणमुक्त भएकाहरुको संख्या भने थप संक्रमितको संख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ६४ हजार ८१८ रहेको छ ।

    त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ ।

    भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड भन्दा बढी रहेको छ भने २ करोड भन्दा बढी संक्रमुणमुक्त भएको अधिकारीहरुलृ जनाएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना सक्रिय संक्रमित रहेका छन् ।

    कुल संक्रमित मध्ये ९६.७२ प्रतिशत मानिस कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १.३१ प्रतिशतको मात्रै मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ ।

    यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

  • काठमाडौं उपत्यकामा ४२७ संक्रमित थपिए, ३१ जिल्लामा सक्रिय संक्रमित ५०० माथि

    काठमाडौं उपत्यकामा ४२७ संक्रमित थपिए, ३१ जिल्लामा सक्रिय संक्रमित ५०० माथि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    काठमाडौं जिल्लामा ३०८, ललितपुरमा ७६ र भक्तपुरमा ४३ जना संक्रमित थपिएका छन् ।

    कास्की जिल्लामा २३३ जना र तनहुँमा १२५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाबाहिर पनि संक्रमित संख्यामा उच्च वृद्धि भएको छ ।

    मुलुकको संक्रमण दर १९.१ प्रतिशत नै रहेको छ ।

    काठमाडौं जिल्लामा सक्रिय संक्रमित संख्या ४३११ जना, भक्तपुरमा १८६३ र ललितपुरमा २४४२ जना सक्रिय संक्रमित छन् ।

    ३१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि र २४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • शुक्रबार २४ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

    शुक्रबार २४ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,४७६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३५१ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    थप २७ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ४५ हजार ७९४ रहेको छ ।

    कूल पीसीआर परीक्षण गर्दा ६ लाख ३१ हजार संक्रमित थपिएका छन् । कूल मृत्यु संख्या ८९४५ पुगेको छ ।

  • असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिइने, तेस्रो लहरविरुद्धको तयारी सुरु

    असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिइने, तेस्रो लहरविरुद्धको तयारी सुरु

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मसान्तसम्म मुलुकको ३३ प्रतिशत जनसंख्यालाई कोरोनाभाइरसविरुद्धको खोप दिइने जनाएको छ ।

    नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्न शुक्रबार दिउँसो मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सो जानकारी दिएका हुन् ।

    सो मितिसम्म खोप दिन सकिए कोभिड-१९ महामारीलाई केही हदसम्म भएपनि नियन्त्रण गर्न सकिने उनले जनाए । ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउन डेढकरोड डोज खोप आवश्यक पर्ने र १ करोड १० डोज खोप तत्काल अर्डर गरिएको उनले जनाए ।

    कोभ्याक्सले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप प्रदान गर्नेछ भने बाँकी डोज खोप सरकारले आफै खरिद गर्ने तयारी गरेको छ । खोप खरिदका लागि कूटनीतिक माध्यमलाई अझै सक्रिय तुल्याउन उनको आग्रह छ ।

    भाइरसका आगामी लहरबाट जोगिन मन्त्रालयले सोही अनुसार तयारी सुरु गरेको उनले जनाए ।

  • मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

    मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

    काठमाडौं । अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मिर्गौला रोग केन्द्रका प्रमुख प्रा. डा. ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए ।

    केन्द्रमा हाल दैनिक २५० मिर्गौला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मिर्गौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए ।

    नेपालमा हाल तीन लाख मानिस मिर्गौला बिगारेर हिँड्ने गरको र तीन हजारको मिर्गौला फेल भएको केन्द्रले जनाएको छ । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा. काफ्लेले जोड दिए ।

    “मिर्गौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मिर्गौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन्, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस्, दिनमा १० हजार पाइला हिँड्नुस्, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ”, उनले भने ।

    स्वस्थ खाने, समयमा खाने, पेन किलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ । पिसाबबाट प्रोटिन गएको छ भने मिर्गौलामा समस्या छ भन्ने प्रमाणित हुने भएकाले सजग हुन आह्वान गरिएको छ । मिर्गौला बचाऔँ अभियानलाई १ रुपैयाँ दान गर्न डा. काफ्लेले आह्वान गरे । हाल काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा मिर्गौला जाँच हुने गरेको छ । पन्ध्र हजारको जाँच गर्दा ७०० लाई मिर्गौला रोग भेटिएको केन्द्रको अभिलेख छ ।

    -रासस

     

  • असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

    असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

    काठमाडौं । चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

    स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको जनाए ।

    अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए ।

    उनले भने, ‘यसअघि भेरोसेलको पहिलो डोज लगाएकाले पहिलो मात्रा लगाएको कार्ड देखाएर दोस्रो डोज लगाउन पाउनेछन् ।’

    पछिल्लो पटक ६०-६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले जनाए ।

  • इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । इटालीले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

    युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरे ।

    सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड-१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

    प्रमुख विशेषज्ञ डा. पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए ।

    यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड-१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ ।

  • बिहीबार २४ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु

    बिहीबार २४ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४७४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २३२ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    थप २४ जनाको मृत्यु भएको छ भने थप २५१८ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालको सक्रिय संक्रमण संख्या ४९ हजार ५५५ मा झरेको छ । कूल मृत्यु संख्या ८९१८ पुगेको छ । कूल संक्रमित संख्या ६ लाख २९ हजार ४३१ (पीसीआर) र २९ हजार ९३४ (एन्टीजेन) पुगेको छ ।

    बिहीबार काठमाडौंमा २३४, भक्तपुरमा ३३, ललितपुरमा ६८ संक्रमित थपिएका छन् । चितवनमा १६५, मोरङमा १२८, सुनसरीमा १२३ संक्रमित थपिएका छन् ।

  • कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका संक्रमित र मृतकको संख्या

    कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका संक्रमित र मृतकको संख्या

    काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् ।

    कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।

    सो विश्वविद्यालयले जुन २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन्  ।

    रासस

  • भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

    भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

    दिल्ली । भारतमा पछिल्ला केही हप्तामा कोरोना संक्रमणदर घट्दो क्रममा देखिएको छ । यहाँ संक्रमणदर घटे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने  यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

    पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा संक्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् ।

    उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ८४८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्ममा ३ करोड भन्दा बढी संक्रमित पुगेका हुन् ।

    त्यस्तै यहाँ यो संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोनाभाइरसका संक्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । तर अहिले यहाँ मृत्युदरमा भने  कमी आएको छ । 

    पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा संक्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।

    यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै संक्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् । उनीहरुले भनेका छन् कि- यसरी पछिल्ला दिनहरुमा संक्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ ।

    यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्‍यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

    यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्‍याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

    सतर्कताका लागि आग्रह

    यता संक्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् । जसका कारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङ मलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ । नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ । सपिङ मलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् ।

    दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ । सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ ।

    अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसंख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

    अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए- भारतमा कोभिड-१९ को तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

    उनले गतहप्ता मात्र भनेका थिए- तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ ।

    उनले भनेका थिए- हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो । तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ ।

    विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकास नारायणको धारणा पनि त्यस्तै छ । उनले संक्रमितहरुको संख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागकिहरु पनि हजारौँको संखयामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे ।

    सुस्त खोप अभियान

    हुनत भारतको जनसंख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो । भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउछन् । साथै कोरोनाको खोप दिएपछि यसका संंक्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए ।

    भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ । खोपको दुवै मात्रा लिने यो संख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयलकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ ।

    उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ ।
    रासस

  • डब्लुएचओले भन्याे- फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन

    डब्लुएचओले भन्याे- फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।

    ‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ’, डब्लुएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।’

    डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ ।

    विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो)दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ ।

  • नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

    नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

    काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालकले कोरानाविरुद्धको खोप नपाएको भन्दै आइतबार सेवा अवरुद्ध गरे । उनीहरुले तत्काल खोप नपाए थप आन्दोलन गर्ने चेतावनी दिएपछि सोमबार नेपाल आयल निगमले खोप उपलब्ध गराउने प्रतिवद्धता जनायो । मजदुर र निगमबीचको सहमतिपछि डुवानी सेवा सुरु भयो । र, बुधबार दुई सय चालक तथा सहचालकले खोप लगाए ।

    निगमले उद्योग मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी खोप उपलब्ध गराएको हो । गत ३१ गते यातायात, रेष्टुरेन्ट व्यवसायी र मजदुरले मन्त्रालयमै पुगेर निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । तामाङले प्राथमिकताका आधारमा सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    यसअघि गत जेठ २६ गते निवर्तमानमन्त्री तामाङले नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै फ्रन्टलाइनमा खट्ने खेल जगतका व्यक्तिलाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिने बताएका थिए ।

    गत माघदेखि नै राष्ट्रिय शिक्षक संघले शिक्षक तथा विद्यालय कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो । शिक्षक संघले कोरोनाविरुद्धको खोपका लागि आफूहरु प्राथमिकता सूचीमा पर्नुपर्ने माग राखेको थियो ।

    संघले अग्रपंक्तिमा रहेर विद्यार्थीसँग प्रत्यक्ष जोडिएर अध्यापन गराउनुपर्ने भएकाले पटक-पटक खोप उपलब्ध गराइदिन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीहरुलाई खोप उपलब्ध गराउन थप पहल गर्ने विषयमा छलफल भइरहेको बताएको छ । तर, माग गरेको पाँच महिना भइसक्दा पनि शिक्षकहरुले खोप पाउन सकेका छैनन् ।

    कोरोना महामारीकै बीच स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङलाई खोपका लागि आएका ज्ञापनपत्र बुझन भ्याइनभ्याइ थियो । दिनहुँजसो विभिन्न सगंठनमा आवद्ध व्यक्तिहरु आफ्ना कर्मचारीहरुलाई खोप उपलब्ध गराइदिन ताकेता गर्दै मन्त्रालय पुग्ने गर्थे ।

    निर्वमान स्वास्थ्यमन्त्री तामाङले पनि ज्ञापनपत्र बुझदै खोपको प्राथमिकतामा राखिने बताउँदै आइरहेका थिए । अहिले स्वास्थ्य मन्त्रालयले लक्षित समूहहरुलाई खोप वितरण गर्दै आइरहेको छ ।

    मंगलबार पदमुक्त हुनुअघिसम्म दिनमा ३, ४ वटा संगठन खोपको माग गर्दै आइरहेको निवर्तमान स्वस्थ्यमन्त्री तामाङले बताए । केही दिनयता खोप माग गर्दै कतिले अत्यावश्यक सेवा ठप्प पारेका छन् भने कतिले सेवा ठप्प गर्ने चेतावनी दिइरहेका छन् ।

    चारैतिरबाट खोपको माग बढेसँगै स्वास्थ मन्त्रालय दबाबमा परेको छ । चीन सरकारले सहयोगस्वरुप दिएको खोप ६० देखि ६५ वर्ष समूहका नागरिकलाई लगाइएको थियो । अब बाँकी खोप कसलाई दिने वा लगाउने भन्नेमा मन्त्रालय नै अन्योलग्रस्त छ ।

    चौतर्फी प्रेसर छ, आन्दोलन गर्दैमा खोप पाइँदैनः स्वास्थ्य मन्त्रालय

    खोप माग गर्दै विभिन्न सघंसंस्था मन्त्रालय धाउन थालेपछि मन्त्रालयका कर्मचारीहरु आजित भएका छन् । अहिले खोपको माग एकदमै बढेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘खोपको माग ज्यादै बढेको छ । खोप आउने ग्यारेण्टी छैन । अहिले मन्त्रालय एकदमै दबाबमा छ’, मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल भन्छन्, ‘थप खोप ल्याउने प्रयास जारी छ । खोप आएपछि प्राथमिकताका आधारमा वितरण हुन्छ ।’

    आन्दोलन गर्दैमा खोप नपाइने पनि मन्त्रालयले प्रष्ट पारेको छ । अत्यावश्यक सेवा नै बन्द गरेर खोप माग गर्न थालेपछि मन्त्रालयले आन्दोलन गर्दैमा खोप नपाइने बताएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी उल्टै प्रश्न गर्छन्, ‘सबै मान्छे आन्दोलनमा उत्रिए भने खोप चाहिँ कहाँबाट ल्याउने ?’

    आन्दोलन गर्ने–नगर्ने सबैलाई खोप चाहिने भन्दै उनले खोप ल्याउनका लागि प्रयास भइरहेको र आएपछि प्राथमिकताका आधारमा वितरण हुने बताए ।

    अबको प्राथमिकतामा को ?

    चीन सरकारले दिएको खोप लक्षित समूहलाई लगाइसकेपछि अबको प्राथमिकता कसलाई दिने भन्ने निश्चित छैन । मन्त्रालयका सहप्रवक्त अधिकारीका अनुसार खोप आउनेवित्तिकै सबै समूहलाई लगाउने कार्यविधि बनाइएको छ । तर, खोप नआइ कसैलाई दिने, कसैलाई नदिने भन्ने हुँदैन ।

    चीन सरकारले दिएको १० लाख डोज खोप ६० वर्ष भन्दा माथिकालाई लगाइसके पनि बाँकी रहेका खोप भने दोस्रो डोजका लागि राखिएको छ ।

    दोस्रो डोज पनि लगाउन पुग्ने गरी पहिलो डोज खोप लगाइएको अधिकारीले बताए । ‘खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्रै पहिलो डोज लगाउने हो’, उनले भने, ‘पहिलो डोज पनि बढी जोखिममा परेकालाई पहिला लगाउनै पर्छ ।’

    मन्त्रालयले खोप लगाउन चाहनेका लागि आधिकारिक रुपमा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको थियो । मन्त्रालयका अनुसार अहिले ९० प्रतिशत नागरिक खोप लगाउन चाहन्छन् ।

  • बुधबार २४ सय कोभिड बिरामी थपिए, ८१ जनाको मृत्यु

    बुधबार २४ सय कोभिड बिरामी थपिए, ८१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,४२१ जना कोभिड बिरामी थपिएका छन् । १२ हजार ४१४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    थप ८१ जनाको मृत्यु भएको छ । ३५५८ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ५० हजार ५२० मा झरेको छ । तीमध्ये ४७,२८६ जना घरमै छन् भने ३,२३४ जना संस्थागत आइसोलेशनमा छन् ।

    कूल संक्रमित संख्या ६ लाख २७ हजार पुगेको छ । कूल मृत्यु ८८९४ पुगेको छ । २५ लाखले खोपको पहिलो मात्रा लगाएका छन् भने ७ लाख ३१ हजारले दोस्रो डोज लगाएका छन् ।

    पछिल्लो २४ घण्टामा भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाण्डूमा ३४६ गरी उपत्यकामा कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ ।

    सङ्क्रमितमध्ये अहिले ७३४ जना र आईसीयूमा २१३ जना भेन्टिलेटरमा छन्।

  • खोप केन्द्र अव्यवस्थित भएको ज्येष्ठ नागरिकको गुनासो (भिडियो)

    खोप केन्द्र अव्यवस्थित भएको ज्येष्ठ नागरिकको गुनासो (भिडियो)

    काठमाडौं । ललितपुर महानगरपालिकामा ७७ वर्षमाथिका नागरिकहरूलाई आज कोभिशिल्ड दोस्रो मात्रा लगाइएको छ ।

    महानगरपालिकाले यसअघि पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी वासिन्दा ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाएको हो । आज एकदिन मात्र खोप संचालन गरिनेछ । त्यसका लागि विभिन्न ८ वटा केन्द्र तोकिएका छन् ।

    खोप लगाउन आउने वृद्धवृद्धाले भने महानगरपालिकाको व्यवस्थापन प्रति असन्तुष्टि जनाएका छन् । कोरोना जोखिम न्यूनिकरणका लागि सामाजिक दूरी कायम राख्ने भनिए पनि खोप केन्द्रमा भीडभाड बढेको र व्यवस्थित नभएको पाटन हाइस्कूल खोपकेन्द्रमा आएका जोगरत्न बज्राचार्यले गुनासो गरे ।

    देवेन्द्रराज शर्माले आफूहरूलाई व्यवस्थित रूपले नराखिएको भन्दै प्रत्येक वडाले आ-आफ्नो वडामा अथवा वडाले व्यवस्था गरको स्थानमा खोप लगाएको भए दुःख कम हुने बताए ।

    करिब २४ सय ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउने महानगरको लक्ष्य छ ।

  • डेल्टा प्रजातिको कोरोना फैलिएपछि सिड्नीमा लकडाउनको तयारी, आजदेखि प्रतिबन्धहरु लागू

    डेल्टा प्रजातिको कोरोना फैलिएपछि सिड्नीमा लकडाउनको तयारी, आजदेखि प्रतिबन्धहरु लागू

    सिड्नी । निकै संक्रामक मानिने कोरोनाको नयाँ प्रजाति डेल्टा संक्रमण बुधबार १६ जनामा पुष्टि भएपछि अष्ट्रेलियाली सहर सिड्नीमा प्रतिबन्धहरु लागू गर्ने तयारी भएको छ ।

    बुधबार थप १६ सहित ३७ जनामा अहिलेसम्म भाइरस पुष्टि भएपछि सिड्नीमा थप सतर्कता अपनाउँदै प्रतिबन्धहरु लागू गर्ने तयारी भएको बीबीसीले जनाएको छ ।

    ५३ लाख जनसंख्या बसोबास गर्ने सिड्नी सहरका बासिन्दाले अब घरभित्रै बस्दा पनि मास्क अनिवार्य लगाउनुपर्ने भएको छ भने अन्य सहरमा जान समेत रोक लगाइएको छ ।

    गत डिसेम्बरपछि सिड्नीमा भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो । यसअघि एकवर्षसम्म सिड्नीमा भाइरसको संक्रमण नभएपछि जनजीवन सामान्य भएको थियो ।

    तर, पछिल्लो साता संक्रमण ह्वात्तै बढेपछि अधिकारीहरुलाई सामाजिक दूरीको नियम लागू गराउन दबाब परिरहेको छ ।

    बुधबारदेखि अधिकतम घरमा पाँचजना मात्र पाहुना आउन पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, जिम, खेलकुद मैदान र सार्वजनिक हुने ठाउँमा भेला हुन रोक लगाइएको छ ।

    मध्य र पूर्वी सिड्नीमा रहेर काम गर्ने र बस्ने बासिन्दालाई अर्को सहरमा जान प्रतिबन्ध लगाइएको छ । न्यू साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले सिड्नीभर जोखिमपूर्ण अवस्था रहेको बताए ।

    संक्रमण बढ्दै गए सिड्नीमा लकडाउन लागू गर्ने तयारी भैरहेको छ ।

  • नेपाल संसारकै ८५ औं शान्तिपूर्ण मुलुक, दक्षिण एसियामा भुटानपछि दोस्रो

    नेपाल संसारकै ८५ औं शान्तिपूर्ण मुलुक, दक्षिण एसियामा भुटानपछि दोस्रो

    काठमाडौं । नेपाल संसारकै शान्तिपूर्ण देशको सूचीमा ८५ औं स्थानमा सूचिकृत भएको छ । ग्लोबल पिस इन्डेक्सले मंगलबार सार्वजनिक गरेको यसवर्षको सूचीमा नेपाल गतवर्षभन्दा ११ स्थानले खस्किएको हो ।

    सन् २०२० मा नेपाल ७३ र २०१९ मा ७२ स्थानमा थियो । यसवर्ष नेपाल दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा खुशि हुने सूचीमा दोस्रो स्थानमा छ । सार्कमा पहिलो स्थानमा रहेको भुटान विश्वकै २२ औं स्थानमा छ ।

    नेपालले यसवर्ष २.०३३ अंक प्राप्त गरेको छ । छिमेकी मुलुक भारत संसारकै शान्तिपूर्ण मुलुकको १३५ औं स्थानमा छ । सूचीको पहिलो स्थानमा आइसल्यान्ड र अन्तिम स्थान अर्थात १६३ औं सूचीमा सार्क मुलुक अफगानिस्तान छ ।

    छिमेकी मुलुक चीन १०० औं स्थानमा छ । गतवर्ष ८७ वटा मुलुकमा शान्तिको अवस्थामा सुधार आएको छ भने ७३ वटा मुलुकमा शान्ति बहालीमा कठिनाइ देखिएको छ ।

    मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्र शान्तिपूर्ण मानिएको छ । युरोप विश्वकै सर्वाधिक शान्तिपूर्ण क्षेत्र बनेको छ ।

  • कोभ्याक्सले नेपाललाई साढे तीनलाख आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप दिने

    कोभ्याक्सले नेपाललाई साढे तीनलाख आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप दिने

    काठमाडौं । कोभ्याक्सले नेपाललाई कोभिड-१९ विरुद्ध तीनलाख ४८ हजार आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    सरकारद्वारा गठित कोभिड-१९ खोप सम्बन्धी सल्लाहकार समिति संयोजक डा. श्यामराज उप्रेतीले उक्त जानकारी दिएका हुन् ।

    अक्सफोर्डले विकास गरेको आस्ट्राजेनेका खोप जुलाई महिनाभित्र उपलब्ध गराउने व्योहोराको पत्र प्राप्त भएको उनले जानकारी दिए ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति प्रमुख बालानन्द शर्माले चीनबाट समेत खोप खरिद प्रक्रिया अघि बढाएकाले चाँडै आपूर्तिमा देखिएको अवरोध खुला हुने बताएका छन् ।

    उप्रेतीका अनुसार धनी देशहरुले कोभ्याक्समा जम्मा गरेको खोप नेपालले पाउन लागेको बताए ।

    नेपालले तत्काल १४ लाख डोज खोप मागेपनि कहिलेसम्म आइपुग्छ भन्नेबारे निधो नभएको बताए । ‘उहाँहरुले कति दिनुहुन्छ भनेर अबको लगभग एकसाताभित्र थाहा भइसक्छ र त्यो अर्को महिनासम्म हामीले पाइसक्छौं’ परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेललाई उध्दृत गर्दै बीबीसीले जनाएको छ ।

    परराष्ट्र मन्त्रालयले यसअघि जोन्सन एन्ड जोन्सनबाट ५० लाख डोज खोप खरिद गर्ने तयारी भैरहेको जनाएको थियो । उक्त खोप खरिदमा सरकार सीधै सहभागि नभएर विश्व बैंकले खरिद गर्ने तयारी भएको परराष्ट्रमन्त्रीबाट पदमुक्त हुनुअघि रघुवीर महासेठले बताएका थिए ।

    नेपालले चीनबाट नन-डिस्क्लोज सहमतिअनुसार ४० लाख डोज साइनोफार्म खोप खरिद गर्ने तयारी गरेको छ । तर, चीनबाट ल्याउने भनिएको साइनोफार्म खोपको मूल्य र परिमाणबारे थप खुलाइएको छैन । गतसाता आयोजित सीसीएमसी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि खोप लगाउन थालिने बताएका थिए ।

    भारतबाट ल्याउन बाँकी १० लाख डोज खोप आपूर्तिबारे कुनै प्रगति नभएको समेत उप्रेतीले जानकारी दिएका छन् ।

  • भोजपुरको दिङ्ला कोभिड अस्पताललाई सहयोग

    भोजपुरको दिङ्ला कोभिड अस्पताललाई सहयोग

    भोजपुर । षडानन्द नगरपालिकास्थित कोभिड अस्पताल दिङ्लालाई २ थान अक्सिजन कन्सन्ट्रेटर र एक हजार थान मास्क उपलब्ध गराइएको छ ।

    अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले उपलब्ध गराएको ती सामग्री नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंमार्फत हस्तान्तरण गरिएको छ । ती सामाग्री सहयोग गराएकोमा फाउन्डेसका अध्यक्ष डा. भुपेन्द्र बस्नेतलाई चापागाईंले धन्यवाद दिएका छन् ।

  • मंगलबार ४५ सय संक्रमित थपिए, ४१ जनाको मृत्यु

    मंगलबार ४५ सय संक्रमित थपिए, ४१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४,५२२ जना संक्रमित थपिएका छन् । १६ हजार ९१३ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    धौलागिरी अस्पतालबाट विभिन्न मितिमा भएका परीक्षणहरु एकमुष्ठ प्राप्त भएकाले संक्रमित संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ४,९५४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ५२ हजार ६४८ छ ।

    काठमाडौं जिल्लामा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका छन् ।

    पीसीआर परीक्षणबाट कूल संक्रमित ६ लाख २६ हजार ३४३, कूल मृत्यु ८८१३ पुगेको छ । संक्रमण दर १९.१ प्रतिशत छ ।

  • नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण हुने, मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक सहमति

    नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण हुने, मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक सहमति

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयपछि नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए । अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परिक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परिक्षणको लागि अनुरोध गर्न सकिने उनले बताए ।

    परिक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परिक्षण भएकोले कोरोना विरुद्धको खोपको परिक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले जनाए ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौंमा बृहत सम्मेलन गर्न लागेको छ ।

  • १३ लाख नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल दिन सर्वोच्चको आदेश

    १३ लाख नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल दिन सर्वोच्चको आदेश

    काठमाडौं । ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड-१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले मंगलबार सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ ।

    न्यायाधीश ईश्वर खतिवडाको इजलासले उक्त आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो । अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको छ ।

    विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् ।

    दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गरेका थिए । दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो । उक्त मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्माका अनुसार तत्काल खोप उपलब्ध गराउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    भारतीय कम्पनी सिरम इन्स्टिच्युटले अग्रिम भुक्तानी लिएर पनि अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउन सकेको छैन । उसले अझै १० लाख अस्ट्राजेनेका खोप उपलब्ध गराउन बाँकी छ । कोभ्याक्समार्फत आउनुपर्ने खोप पनि समयमै आउन सकेको छैन ।

  • ललितपुरमा ७७ वर्ष माथिकालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिँइदै

    ललितपुरमा ७७ वर्ष माथिकालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिँइदै

    काठमाडौं । ललितपुर महानगरपालिकाले भोलिदेखि ७७ वर्ष माथिकालाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ । महानगरभित्र रहेको ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि असार ९ गतेदेखि खोप दिन लागेको हो ।

    महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो । ललितपुर महानगरपालिकाका सबै वडाहरुवाट ७५ वर्ष माथिका कोभिशिल्ड पहिलो डोज लगाएका व्यक्तिहरुलाई खोप लगाउने भनिएता पनि खोप अभावको कारण ७७ वर्ष माथिकालाई मात्र लगाउन लागेको महानगरले जनाएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयवाट पटक पटक गरी कोभिशिल्ड दोस्रो डोजका लागि हाल सम्म २५ सय खोप प्राप्त गरेको छ । हाल प्राप्त भएको खोप अत्यन्त न्यून भएकोले प्राप्त खोपका आधारमा वडावाट सिफारिस भई आएका व्यक्तिहरु मध्येवाट ७७ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकले मात्रै खोप पाउने महानगरले जनाएको छ ।

    महानगरले ७७ वर्ष भन्दामाथिको २ हजार २ सय २० जनालाई कोभिशिल्डको खोप लगाउन लागेको हो । साथै जनप्रतिनिधी, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरु समेतलाई गरी जम्मा २५०० खोप लगाउन  लगाउन लागिएको महानगरकाे प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याले बताए । बुधबार विहान १० बजे देखि दिउंसो ४ बजे सम्म खोप कार्यक्रम सन्चालन हुनेछ ।

    महानगरले खोप लगाउन ८ वटा केन्द्र तोकेको छ ।

  • अमेरिकाले थप ५५ मिलियनबाट पनि नेपाललाई खोप दिने, यसैमहिना खोप प्राप्त हुने

    अमेरिकाले थप ५५ मिलियनबाट पनि नेपाललाई खोप दिने, यसैमहिना खोप प्राप्त हुने

    काठमाडौं । अमेरिकाले थप खोप वितरणको घोषणा गरेको छ । गतसाता सकिएको जी-सेभेनको बैठकमा जनाएको प्रतिबद्धताअनुसार अमेरिकाले विपन्न मुलुकहरुलाई थप ५५ मिलियन डोज खोप वितरण गर्ने घोषणा गरेको हो ।

    घोषणा गरिएको यो परिमाणको खोपबाट नेपालले पनि केही हिस्सा प्राप्त गर्ने भएको छ । यसअगाडि जुन ३ मा २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले सोमबार बाँकी ५५ मिलियन डोजमा पनि नेपाललाई समावेश गरेको हो ।

    अमेरिकाले तत्कालका लागि ८० मिलियन डोज खोप विपन्न मुलुकहरुलाई उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले नेपाल लगायतका देशहरुलाई जुनभित्र भ्याक्सिन पठाउने प्रतिबद्धता समेत जनाएको छ ।

    बाइडेन प्रशासनले सोमबार गरेको घोषणा अनुसार उसले दिने भनेको भ्याक्सिनमध्ये ४१ मिलियन डोज कोभ्यास संयन्त्रमार्फत वितरण गरिनेछ । जसमा १४ मिलियन ल्याटिन अमेरिका र क्यारेबीयन देशहरुलाई उपलब्ध गराइनेछ । १६ मिलियन नेपालसहित एसियाका १८ देशलाई प्रदान गरिनेछ । १० मिलियन डोज अफ्रिकाका देशहरुलाई दिइनेछ ।

    ५५ मिलियनमध्ये १४ मिलियन डोज अर्थात् २५ प्रतिशत भ्याक्सिन अमेरिकाले विभिन्न देशहरुलाई सिधै उपलब्ध गराउने भएको छ । त्यसमा पाकिस्तान, बंगालादेश, अफगानिस्तान लगायतका मुलुकहरु समावेश गरिएपनि नेपाललाई समावेश गरिएको छैन ।

    अमेरिकाले ५ सय मिलियन फाइजर भ्याक्सिन किनेर विभिन्न ९२ वटा देशहरुलाई प्रदान गर्ने समेत घोषणा यसअघि गरेको थियो । गतसाता सम्पन्न जी–सेभेन बैठकमा बेलायत र अमेरिका लगायतका विकसित मुलुकले १ अर्ब डोज खोप प्रदान गर्ने घोषणा गरेका थिए ।