Category: स्वास्थ्य-जीवनशैली

  • १० लाख डोज खोप ल्याउन निगमको जहाज आज बेइजिङ उड्दै

    १० लाख डोज खोप ल्याउन निगमको जहाज आज बेइजिङ उड्दै

    काठमाडौं । कोभिड-१९ विरुद्धको १० लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । दिउँसो साढे २ बजे उड्ने जहाज राती ११ बजे बेइजिङमा अवतरण गर्ने तयारीमा छ ।

    उक्त परिमाणको भेरोसेल खोप ल्याएर जहाज भोलि दिउँसो काठमाडौं आइपुग्ने भएको छ । शुक्रबार पहिलो खेप खोप ल्याएपछि थप आपूर्तिका लागि हप्तैपिच्छे उडान भर्ने तयारी भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

    ‘शुक्रबार १० लाख डोज ल्याएपछि तालिकाअनुसार हप्तैपिच्छे खोप ल्याउने कार्यक्रम छ’ पौडेलले भने । नेपालले चिनियाँ खोप भेरोसेल उत्पादक कम्पनी साइनोफार्मसँग ४० लाख डोज खोप ल्याउन लागेको हो ।

    ल्याउन लागिएको उक्त परिमाणको खोप ५५ वर्षमाथिका नागरिकलाई लगाइने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

  • ३ वर्षे बालकको कलेजो प्रत्यारोपण गर्न सहयोगको अपिल

    ३ वर्षे बालकको कलेजो प्रत्यारोपण गर्न सहयोगको अपिल

    काठमाडौं । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शितजंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता भएको छ । कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारीक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएको, उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।

    उनको लागि “ओ पोजिटिभ” रगत समूह भएका दाताको खोजी भईरहेको र उनको परिवारमा त्यस्तो अन्य दाता व्यक्ति नभएको भन्दै उनको लागि नयाँ कलेजो दाता खोजि गर्न लागेको हो ।

    हाल टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै बालकका पिता दिनेश रावलले सबैसँग आग्रह गरेका छन्। यसको लागि इच्छुक दाताहरुले दिनेश रावललाई ९८०२०९६३२६ मा सम्पर्क गर्न सक्नेछन् ।

  • नर्भिकमा जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा

    नर्भिकमा जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच अत्याधुनिक सेन्टरको शुभारम्भ गरियो ।

    अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर सेन्टर शुभारम्भ गरे । चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. शर्मा नेतृत्वको टिमले सेन्टरबाट सेवा प्रदान गर्ने भएका छन् । डा. शर्माका अनुसार नर्भिकको फर्टिलिटि सेन्टर नेपालका मुलुकमा रहेकामध्ये अत्याधुनिक हो ।

    विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी स्तरीय सेवा दिइने जानकारी उनले दिए । ‘देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत छ’ शर्माले भने, ‘नर्भिकको आइभीएफ सेन्टर देशकै अत्याधुनिक र धेरै सुविधा उपलब्ध भएको सेन्टर पनि हो ।’

    प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ ।

    नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

    बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।

  • बुधबार २९ सय कोभिड बिरामी थपिए, थप २८ जनाको मृत्यु

    बुधबार २९ सय कोभिड बिरामी थपिए, थप २८ जनाको मृत्यु

    काठमाडौं । मुुलुकमा कोरोनाभाइरस संक्रमण दरमा पुनः वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार संक्रमण दर २६.५ प्रतिशत पुगेको छ ।

    गतसातासम्म २५ प्रतिशत रहेको संक्रमण दर निषेधाज्ञा खुकुलो भएसँगै उकालो लागेको हो । सबैभन्दा उच्च संक्रमण दर कर्णाली प्रदेशमा ५० प्रतिशत छ भने गण्डकीमा ४० प्रतिशत छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दरमा वृद्धि भएकाले जोखिम पुनः बढेको बताए । उनले सतर्कता अपनाउन जरुरी भएको जनाए ।

    बुधबार २९ सय संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा मुलुकमा २९७९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा ५४३ जना संक्रमित थपिएका छन् ।

    बुधबार थप २८ जनाको मृत्यु भएको छ । १३३३ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

    मुलुकमा बुधबारसम्म सक्रिय संक्रमित संख्या २६ हजार ५४४ पुगेको छ । पछिल्लो साता केही घटेको सक्रिय संक्रमित संख्या पुनः बढेको छ ।

  • ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

    ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

    ललितपुुर । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।

    पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन् ।

    गोदावरीमा शुक्रबार खोप लगाइने

    गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रबार लगाइने भएको छ । खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नं १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नं ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

  • डेल्टाभन्दा संक्रामक कोरोनाको नयाँ प्रजाति लाम्बडा ३० देशमा फैलियो

    डेल्टाभन्दा संक्रामक कोरोनाको नयाँ प्रजाति लाम्बडा ३० देशमा फैलियो

    काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति लाम्बडा पत्ता लागेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पेरुमा पहिलोपटक भेटिएको प्रजातिलाई विश्व स्वास्थ्य संगठनले जुन १४ मा भेरिएन्ट अफ इन्ट्रेस्टको सूचीमा राखेको छ ।

    अष्ट्रेलियाली न्यूज पोर्टल न्यूज डटकम एयूले यो भेरिएन्ट पहिलोपटक बेलायतमा पुष्टि भएको उल्लेख गरेको छ । ३० भन्दा बढी मुलुकमा फैलिएको यो प्रजाति डेल्टाभन्दा बढी संक्रामक रहेको जनाइएको छ ।

    अहिलेसम्म बेलायतमा लाम्बडाका छ वटा केस भेटिएको छ । यो भेरिएन्ट डेल्टाभन्दा बढी संक्रामक हुन सक्ने कुराले अनुन्धानकर्तालाई चिन्तित तुल्याएको छ ।

    बैज्ञानिक नाम सी.३७ रहेको लाम्बडा भेरिएन्ट अफ कन्सर्नको सूचीमा रहेका भाइरसभन्दा कति चाँडो फैलिन सक्छ भनेर अध्ययन भैरहेको छ । अहिलेसम्म भेरिएन्ट अफ कन्सर्नमा अल्फा, बेटा, गामा र एप्सिलोन रहेका छन् ।

    अगस्ट २०२० मा पहिलोपटक संक्रमण पत्ता लागेको लाम्बडा दक्षिण अमेरिकामा व्यापकरुपमा फैलिएको छ । पेरु, चिली, अर्जेन्टिना र इक्वेडरमा बढी संक्रमण भेटिएको छ । लाम्बडा भारतमा समेत भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ । पछिल्लो साता उडान खुला गरेसँगै यो भेरिएन्ट फैलन सक्ने चिन्ता बढेको छ ।

  • कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र मृतकको संख्या (सूचीसहित)

    कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र मृतकको संख्या (सूचीसहित)

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४१ लाख ५५ हजार ९३० जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।

    विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    भारतमा ३५ करोड ७५ लाख ५३ हजार ६१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ९७ हजार ६९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ९७ लाख ९१ हजार ९४४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

    बेलायतमा सात करोड ९७ लाख ४४ हजार १९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७३ लाख ३२ हजार २०७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

  • थप दुई चिनियाँ खोपले मागे नेपालमा प्रयोग अनुमति

    थप दुई चिनियाँ खोपले मागे नेपालमा प्रयोग अनुमति

    काठमाडौं । कोभिड-१९ विरुद्धका थप दुई चिनियाँ खोपले नेपालसँग आपतकालिन प्रयोगका लागि अनुमति मागेका छन् । औषधि व्यवस्था विभागका अनुसार चीनको क्यानसिनो खोप र तेस्रो चरणको ट्रायलमा रहेको अर्को एक खोपले अनुमति मागेका हुन् ।

    नेपालले चीनको साइनोफार्मसँग नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेर ल्याउन लागेपछि ती दुई चिनियाँ खोपले विभागसँग सोधखोज गरेका हुन् ।

    विभागका सूचना अधिकारी सन्तोष केसीले क्यानसिनो खोपसँग आपतकालिन प्रयोगबारे कागजपत्र र सूचना मागिएको बताए । यसअघि विभागले डब्लुएचओले मान्यता दिने खोपलाई सीधै भित्राउने निर्णय गरेको थियो ।

    बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले चिनियाँ सेनाको सैन्य स्वास्थ्य प्रतिष्ठानसँग मिलेर क्यानसिनो खोप विकास गरेको हो । चीनको सैनिकलाई उक्त खोप प्रयोग गर्न अनुमति दिइएको छ ।

    क्यानसिनोले अर्जेन्टिना, चिली, हंगेरी, इक्वेडर, मलेसिया, मलडोभा, पाकिस्तान र मेक्सिकोमा आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेको छ । सोधखोज भएको अर्को चिनियाँ खोप भने तेस्रो चरणको परीक्षणमै रहेको जनाइएको छ ।

    अहिलेसम्म नेपालले चीनमा विकास भएको भेरोसेल र सिनोभ्याक, भारतमा उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन तथा रुसको स्पतुनिक पाँच खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

    यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिएका खोपलाई सीधै नेपाल भित्राउन सकिने निर्णय विभागले गरेको छ । यसअघि विभागबाट अनुमति पाइसकेपछि मात्रै खोपहरु नेपाल भित्राउन पाइने व्यवस्था थियो ।

    डब्लुएचओले आपतकालिन प्रयोगका लागि २१ वटा खोपलाई अनुमति दिएको छ जसमा आस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन, मोर्डना, सिनोफार्म र सिनोभ्याकका खोप छन् ।

  • मंगलबार २६ सय कोभिड बिरामी थपिए, थप १५ जनाको मृत्यु

    मंगलबार २६ सय कोभिड बिरामी थपिए, थप १५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६३४ जना कोभिड बिरामी थपिएका छन् । १२ हजार ५८५ नमुना (पीसीआर ७५०३ र ५०८२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मंगलबार थप १५ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ९२६३ पुगेको छ ।

    मंगलबार उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ३६५ जना संक्रमित थपिएका छन् । ललितपुरमा १०५ र भक्तपुरमा २९ संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा मुलुकमा थप १५६५ जना संक्रमणमुक्त भएका छन् । कूल निको हुनेको संख्या ६ लाख १२ हजार पुगेको छ ।

    कूल संक्रमित संख्या ६ लाख ४८ हजार ८५ पीसीआर परीक्षणमा पुष्टि भएको छ भने ३९ हजार ९१० मा पुष्टि भएको छ ।

    निको हुने दर घट्दा सक्रिय संक्रमित संख्या पुनः उकालो लागेको छ । मंगलबारसम्म सक्रिय संक्रमित प्रतिशत ३.९९ पुगेको छ ।

    आठ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । २४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मुलुकभरको संक्रमण दर १९.२ प्रतिशत रहेको छ ।

  • सिभिल अस्पतालमा शुक्रबारदेखि नियमित सेवा

    सिभिल अस्पतालमा शुक्रबारदेखि नियमित सेवा

    काठमाडौं । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा शुक्रबारदेखि सबै सेवाहरु नियमित सञ्चालन गरिने भएको छ ।

    कोभिड १९ का महामारीको कारण आंशिक रुपमा सञ्चालन हुँदै आएका सेवाहरु आगामी शुक्रबारदेखि नियमित रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

    यसअघि कोभिडको कारण आंशिक रुपमा मात्रै अस्पतालले सेवा दिदै आएको थियो । अस्पतालले कोभिड महामारीको बीचमा बाग्मति प्रदेशको सहयोगमा १५० बेड थप गरी कोरोना अस्पतालको रुपमा सञ्चालन गरेको थियो ।

     

     

  • सोमबार २६ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु

    सोमबार २६ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६२२ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ५२७ नमुना (७४९९ पीसीआर तथा ४०२८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबार थप २३ जनाको मृत्यु छ । थप २२११ जना निको भएका छन् ।

    नेपालमा कूल कोरोना संक्रमित संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । कूल मृतक संख्या ९२४८ पुगेको छ । ६ लाख ११ हजार जना निको भएका छन् ।

    आज काठमाडौं उपत्यकामा ५६२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ३७८ संक्रमित, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका छन् ।

    भारतमा निको हुने दर ९७.११ प्रतिशत पुग्यो

    भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

    गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुून २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ ।

    यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ । हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् ।

    खोप वितरणमा समानता होस : बान कि मुन

    संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।

    अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने, ‘यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।

    उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको बताए ।

  • कोरोनाविरुद्ध खटिन १ हजार ७७ जना जनस्वास्थ्य इन्चार्ज नियुक्त गरिने

    कोरोनाविरुद्ध खटिन १ हजार ७७ जना जनस्वास्थ्य इन्चार्ज नियुक्त गरिने

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणमा खटिन स्वास्थ्य मन्त्रालयले १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्ति गर्ने भएको छ । यस सम्बन्धी कार्यविधि असार १४ गतेबाट लागु भएको र सोहीअनुसार कर्मचारी नियुक्त गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार काठमाडौं महानगरपालिकामा ७ जना, अन्य नगरपालिकामा ५-५ जना, उपमहारनगरपालिकामा २ जना र गाउँपलिकामा १ जना गरी देशको ७५३ वटा स्थानीयतहमा नियुक्त गरिने भएको छ ।

    निरीक्षकहरुले स्वास्थ्यका मापदण्ड पालना गराउन, उच्च जोखिम रहेका क्षेत्रमा अनुगमन गर्न, स्वास्थ्य सम्बन्धी परामर्श दिन, मापदण्ड नमान्नेलाई कारबाही गर्न, जोखिम क्षेत्रको प्रतिवेदन तयारी गर्ने लगायतका कामहरु गर्नुपर्ने छ ।

    स्वास्थ्य सेवा विभागले करारमा नियुक्ति गरी खटाउन पाउने कार्यविधिको व्यवस्था गरेको छ । अधिकृत सातौं तहको सेवा सुविधा र ५० प्रतिशत जोखिम भत्ता गरी मासिक ५६ हजार ७६५ रुपैयाँ तलब तोकेको छ । निरीक्षकहरुलाई स्वास्थ्य बिमा अनिवार्य गरी कामको सिलसिलामा कोरोना संक्रमण भए सम्पूर्ण उपचार नेपाल सरकारले व्यवहार्ने भएको छ ।

  • चीनबाट तीन सातामा ३० लाख डोज भेरोसेल खोप आउँदै

    चीनबाट तीन सातामा ३० लाख डोज भेरोसेल खोप आउँदै

    काठमाडौं । चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

    निगमका अनुसार पहिलो उडान जुलाई ८, दोस्रो र तेस्रो उडान जुलाई १५ र २२ मा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले चीनको बेइजिङस्थित सिनोर्फाम कम्पनीसँग सम्झौता गरेको थियो । मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति हुने जनाएको छ ।

    नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले अहिलेलाई ३ उडान तय गरिएको साथै थप उडानका लागि तयारी भइरहेको नेपाल प्रेसलाई बताए ।

  • दुबै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा हुने

    दुबै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा हुने

    दिल्ली । कोेभिडको दुबै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ ।

    भारत सरकारले गरेको एक अध्ययनले कोरोनाभाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।
    सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।

    भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टी आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिएका हुन् ।

    उनले भने, ‘कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ ।’ उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिएका थिए । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

    त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुबै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो । रासस

  • शनिबार २३ सय कोभिड बिरामी थपिए, थप १९ जनाको मृत्यु

    शनिबार २३ सय कोभिड बिरामी थपिए, थप १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,३२८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १,३३,९५,८३७ पीसीआर र ४२९६ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार थप १९ जनाको मृत्यु भएको छ । ३,०६६ जना संक्रमणमुक्त भएका छन् ।

    शनिबार उपत्यकामा ३७६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका छन् ।

    सुनसरीमा १५१, मोरङमा १३५, कास्कीमा १४६ संक्रमित थपिएका छन् । सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्लाको संख्या घटेर ११ मा सीमित भएको छ ।

    २६ जिल्लामा अझै पनि सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । काठमाडौंको सक्रिय संक्रमित संख्या ५,०५१, भक्तपुरको १,२१० र ललितपुरमा १,६९४ रहेको छ ।

    मुलुकमा कूल संक्रमित संख्या ६ लाख ४३ हजार ५८०, निको हुने संख्या ६ लाख ६६ हजार मृत्यु हुने संख्या ९,११८ छ ।

    भारतको अवस्था कस्तो छ ?

    भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ ।

    सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ ।
    संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका संक्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।

    भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामा रहेका छन् ।

    भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ । कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

  • स्वास्थ्य वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलनद्धारा दश बुँदे घोषणापत्र जारी

    स्वास्थ्य वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलनद्धारा दश बुँदे घोषणापत्र जारी

    काठमाडौं । शुक्रबार काठमाडौंमा सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं राष्ट्रिय शिखर सम्मेलनले दश बुँदे घोषणपत्र जारी गरेको छ ।

    उक्त घोषणपत्रमा संघीय संरचना अन्तर्गत वैज्ञानिक अनुसन्धानको प्रवद्र्धन गर्न स्वास्थ्य अनुसन्धानमा लगानी बढाउने उल्लेख छ । साथै युवा अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुलाई आवश्यक सहजीकरण गर्ने र अन्तर्राष्ट्रिय खोप तथा उपचार संस्थाहरुसँग साझेदारी गर्ने विषय उल्लेख गरिएको छ ।

    उक्त सम्मेलन भर्चुअल रुपमा भएको हो । सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ४७ वटा अनुसन्धानमुलक कार्यहरु प्रस्तुती दिएका थिए । त्यस्तै १९ वटा पोस्टर र २४ वटा आमन्त्रित प्रस्तुति भएको थियो ।

     

     

  • चीनबाट अर्को साता ल्याइने खोप ५५ वर्ष माथिकालाई लगाउने तयारी

    चीनबाट अर्को साता ल्याइने खोप ५५ वर्ष माथिकालाई लगाउने तयारी

    काठमाडौं । चीनबाट अर्को साता ल्याइने भनिएको १० लाख डोजभन्दा बढी खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिने तयारी भएको छ ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले दोस्रो प्राथमिकतामा राखिएका उक्त समूहका नागरिकलाई खोप दिने तयारी भएको जनाए ।

    उक्त उमेर समूहमा कतिजनाले खोप लगाउन पाउनेछन् भन्ने तथ्यांक संकलन भैरहेको उनले जनाए । यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सरकारले खोप लगाएको छ ।

    ६० भन्दा माथिका झन्डै १४ लाखले कोभिसिल्ड खोप लगाएका छन् । साथै, चीनबाट अब आउने खोप अत्यावश्यक तथा जोखिम क्षेत्रमा काम गर्ने मानिसहरुलाई लगाइने तयारी समेत भएको गौतमले जानकारी दिए ।

    कोभिसिल्ड खोप लगाएकाले चिनियाँ खोप भेरोसेल लगाउन हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा उनले कोभिसिल्ड लगाएकाले कोभिसिल्ड खोप नै लगाउनुपर्ने बताए । ‘उस्तै फर्मुलमा बनेको मात्र खोप लगाउनुपर्छ’ उनले भने ।

  • बीपी प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न केसीको माग

    बीपी प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न केसीको माग

    काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

    शुक्रबार बिज्ञप्ति जारी गर्दै उनले प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर र निर्देशक गरी चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

    उनले विज्ञप्तिमा लेखेका छन्- ‘प्रतिष्ठानका पदाधिकारीले बर्बादीतिर धकेलेका छन् । चारजनाले नैतिकता र वैधता गुमाइसकेका छन् । तत्काल पद खाली गर्नुपर्छ ।’

    साथै उनले मापदण्ड निर्धारण समितिले सुझाव दिएअनुसार बरिष्ठता, इमान्दारी र योग्यताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नसमेत आग्रह गरेका छन् ।

    बीपी प्रतिष्ठानमा १८ दिनदेखि अनियमितताकाे विरोधमा प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीले शुद्धिकरणको माग राख्दै आन्दोलन गरिरहेका छन् ।

  • विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

    विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

    जेनेभा । विश्वका झण्डै एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।

    विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ ।

    सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरुले जोड दिएका छन् ।

    उनीहरुले कोरोनाभाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरुलाई बढी पर्ने चन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोनाभाइरसबाट बच्न गाह्रो हुने अधिकारीहरुले उल्लेख गरेका छन् ।

    एक तथ्यांक अनुसार विश्वका हरेक १० मध्ये ३ जनाले सावुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ । ‘कोरोनाभाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपूर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगहरुबाट जोगिन पनि सफा पानीले हात धुनु पर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयसले भने ।

    त्यसैगरी युनिसेफका कार्यकारी निर्देशक हेनरैत्ता फोरले पनि विश्वका लाखौँ बालबालिका सफा पानी उपभोग गर्न बन्चीत हुनु दुःखद कुरा भएको बताए । तर पहिलाको भन्दा अहिले सफा पानीको प्रयोग गर्न पाउनेहरुको संख्यामा भने बृद्धि भएको उनले जानकारी दिए । सन् २०१६ देखि सन् २०२० सम्ममा सफा पानीको प्रयोग गर्न पाउनेको संख्यामा चार प्रतिशतले बृद्धि भएको उल्लेख गरे ।

    उनका अनुसार सन् २०१६ मा विश्वका ७० प्रतिशतले मात्रै सफा पानी प्रयोग गर्न पाएको तथ्यांक सार्वजनिक भएको थियो ।

  • थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै

    थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै

    काठमाडौं । अर्को साता चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल आइपुग्ने भएको छ । जुलाई ८ तारिखमा सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।

    निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले न्यूनतम १० लाख डोज खोप ल्याउन जहाज त्यसतर्फ जान लागेको जानकारी नेपाल पे्रसलाई दिए । ‘अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ’ उनले भने ।

    खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि जुलाई ८ मा जाने निश्चित भएको जानकारी पौडेलले दिए । बालुवाटारमा शुक्रबार भएको एमाले केन्द्रिय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पनि केही दिनमै खोप आउने बताएका थिए ।

  • प्रधानमन्त्रीले भने : पर्सिदेखि खोप आउँछ, विपक्षीले अहिले नदेऊ भनेर लबिङ गर्दैछन्

    प्रधानमन्त्रीले भने : पर्सिदेखि खोप आउँछ, विपक्षीले अहिले नदेऊ भनेर लबिङ गर्दैछन्

    काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पर्सीदेखि चाहिनेजति कोभिड-१९ विरुद्धको खोप आइपुग्ने बताएका छन् ।

    बालुवाटारमा जारी नेकपा एमालेको केन्द्रिय बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले उक्त जानकारी दिएका हुन् । ‘अब भ्याक्सिनको समस्या छैन । पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ’ उनले भने ।

    भारतबाट सम्झौताअनुसार दोस्रो डोज खोप नआउँदा समस्या भएको बताउँदै ओलीले केही दलका नेताहरुले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेको समेत बताए । विपक्षी दलका नेताहरुले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको आरोप लगाउँदै ओलीले सोही कारण निषेधाज्ञा तोडेको समेत बताए ।

  • कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या

    कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या

    काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २२ लाख ४ हजार ८५७ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ४७ हजार ९९ जनाको मृत्यु भएको छ ।

    सो विश्वविद्यालयले जुलाई १ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

    देश                                       संक्रमितको संख्या                              कूल मृत्यु

    संयुक्त राज्य अमेरिका     ३ करोड ३६ लाख ६४ हजार ९४९      ६ लाख ४ हजार ७१४
    भारत                              ३ करोड ४ लाख ११ हजार ६३४         ३ लाख ९९ हजार ४५९
    ब्राजिल                           १ करोड ८५ लाख ८७ हजार १४१        ५ लाख १८ हजार ६६
    फ्रान्स                            ५८ लाख ३७ हजार २६५                     १ लाख ११ हजार २४४
    रुस                              ५४ लाख ३९ हजार ५९४                      १ लाख ३२ हजार ९७३
    टर्की                              ५४ लाख २५ हजार ६५२                   ४९ हजार ७३२
    बेलायत                        ४८ लाख १७ हजार २९८                    १ लाख २८ हजार ४०४
    अर्जेन्टिना                     ४४ लाख ७० हजार ३७४                   ९४ हजार ३०४
    इटाली                          ४२ लाख ५९ हजार ९०९                    १ लाख २७ हजार ५६६
    कोलोम्बिया                 ४२ लाख ४० हजार ९८२                     १ लाख ६ हजार ५४४
    स्पेन                            ३८ लाख ८ हजार ९६०                      ८० हजार ८७५
    जर्मनी                         ३७ लाख ३६ हजार २०५                    ९० हजार ९४५
    इरान                           ३२ लाख ४ हजार ५५७                     ८४ हजार २६४
    पोल्याण्ड                     २८ लाख ७९ हजार ९१२                   ७५ हजार २१
    मेक्सिको                     २५ लाख १९ हजार २७९                   २ लाख ३३ हजार ४७
    युक्रेन                         २३ लाख १०१                                   ५४ हजार ५८१
    इन्डोनेसिया                 २१ लाख ७८ हजार ३७२                 ५८ हजार ४९१
    पेरु                            २० लाख ५२ हजार ६५                   १ लाख ९२ हजार ३३१
    दक्षिण अफ्रिका          १९ लाख ७३ हजार ९७२                 ६० हजार ६४७
    नेदरल्याण्ड                १७ लाख १२ हजार ७४७                 १८ हजार २८

  • भेरोसेलको दोस्रो डोज असार २२ देखि दिइँदै, यी हुन् खोप केन्द्र (सूचीसहित)

    भेरोसेलको दोस्रो डोज असार २२ देखि दिइँदै, यी हुन् खोप केन्द्र (सूचीसहित)

    काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ।
    कोभिड १९ विरूद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत भेरोसेलको दोश्रो मात्रा खोप असार २२ गतेदेखि २४ गतेसम्म दिन लागेको हो ।

    भेरोसेल खोपको पहिलो मात्रा लगाएका  काठमाडाैंका ६० वर्ष माथिका नागरिकहरुले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्। गत जेठ २५ देखि देशैभरमा ६० वर्ष माथिका नागरिकहरुलाई भेरोसेलको पहिलो डोजको खोप लगाएको थिए ।

    भेरोसेल खोपको दोश्रो मात्रा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाईने निर्देशनालय स्वास्थ्य कार्यालयले जनाएको छ । चीनले १० लाख डोज खोप उपलब्ध गराएलगतै प्राथमिकताको आधारमा खोप वितरण गरेको हो ।

    खोप लगाउनको लागि काठमाडौं महानगरपालिकामा १३ वटा खोप केन्द्र तोकेको छ । यी हुन् खोप केन्द्र

     

  • नर्भिकद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु

    नर्भिकद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियोथेरापीको होम सर्भिस सुरु गरेको छ ।

    पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियोथेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो ।

    हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियो थेरापिष्टहरुले होम सर्भिसको सेवा दिने केही अभ्यास रहे पनि संस्थागत रुपमै यस्तो अभ्यास त्यति धेरै भएको थिएन । नर्भिकले फिजियोथेरापी सेवालाई घरमै पुगेर दिने संस्थागत प्रयासको थालनी गरेको हो ।

    तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सीमित गरिएको छ । कोही कसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिनेछ ।

    फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गाम्भीर्यतालाई हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियो थेरापिष्टहरु अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्नेछन् ।

    नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ । नर्भिकले थालेको होम सर्भिसले फिजियो थेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड-१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियोथेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए ।

     

  • कतारका नेपाली व्यवसायीले प्रदान गरे १४ वटा भेन्टिलेटर

    कतारका नेपाली व्यवसायीले प्रदान गरे १४ वटा भेन्टिलेटर

    काठमाडौं । कतारमा रहेका नेपाली व्यवसायीले सरकारलाई १ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सहायता प्रदान गरेका छन् ।

    नेपाली बिजनेस एसोसिएसन कतारले स्वास्थ्य मन्त्रालयलाई यसैसाता १४ वटा भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सनट्रेटर, २१ सय पल्स अक्सिमिटर र ५० वटा नोजल क्यानुला प्रदान गरेको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा एसोसिएसनका प्रमुख सल्लाहकार टीवी कार्कीले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ती सामग्री प्रदान गरेका हुन् ।

    संस्थाका सदस्य महेन्द्र चौंलागाइँको संयोजकत्वमा गठितले समितिले इच्छुक दाताबाट उक्त रकम संकलन गरेको थियो । दोहास्थित नेपाली दूतावासले यसबारे जानकारी गराएको छ ।

  • संक्रमण पुनः उकालो- संक्रमण दर २६.३ प्रतिशत पुग्यो, बुधबार २८ सय संक्रमित थपिए

    संक्रमण पुनः उकालो- संक्रमण दर २६.३ प्रतिशत पुग्यो, बुधबार २८ सय संक्रमित थपिए

    काठमाडौं । मुलुकमा कोरोनाभाइरस संक्रमणमा पुनः वृद्धि भएको छ । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले संक्रमण उकालो लाग्दै २६.३ प्रतिशत पुगेको जानकारी दिए ।

    केही दिन अघिसम्म २३ प्रतिशत रहेको संक्रमण दर झन्डै साढे तीन प्रतिशतले वृद्धि भएको हो । प्रवक्ता पौडेलले भने, ‘केही दिनको तुलनामा संक्रमण पुनः बढेको हो । जोखिम हटेको होइन ।’

    पछिल्लो २४ घण्टामा मुलुकमा २८९२ जना संक्रमित थपिएका छन् । ७१८५ पीसीआर र ४३८१ एन्टीजेन नमुना गरी कूल ११ हजार ५६८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    जसअनुसार काठमाडौं उपत्यकामा बुधबार ५७२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना संक्रमित थपिएका छन् ।

    बुधबार थप ४१ जनाको मृत्यु भएको छ भने ३५९७ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित संख्या ३३ हजार ५६१ पुगेको छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

    भारतमा अवस्था कस्तो छ ?

    भारतमा आज कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् ।

    अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिन ३७ हजार ५६६ जना नयाँ सङ्क्रमित थपिएको विवरण संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो ।

    मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कमा १०२ दिनपछिकै सवैभन्दा कम सङ्क्रमितहरु भएको देखिएको थियो । भारतमा लामो समयदेखि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिदै आएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ७२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि कम हुदै गएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख ३७ हजार ६४ रहेको छ ।

    पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भारतमा अहिलेसम्म कुल तीन करोड तीन लाख ६२ हजार ८४८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये दुई करोड ९४ लाख २७ हजार ३३० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

  • कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

    कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

    काठमाडौं । नेपाल चिकित्सक संघले  दोलखाको तामाकोशी गाउँपालिका -४ मालुमा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि  हातपात गर्ने स्थानीयलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८ बमोजिम कारबाही गर्न माग गरेको छ ।

    असार १३ गते राति तामाकोशी गाउँपालिकामा स्थित कोभिड १९ अस्पताल मालुमा कार्यरत डा. रोविस कार्की लगायतका अन्य स्वास्थ्यकर्मीहरुमाथि स्थानीयले हातपात गरेका थिए ।

    संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८ बमोजिम अनुसन्धान कार्यलाई थप प्रभावकारी र दोषीलाई हदैसम्म कारवाही गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न माग गरेको हो ।

    संघले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड(१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउदै स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यसरी हातपात हुनु अझ ज्यान नै लिने भनी अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय घटना भएको बताएको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘यसको जति निन्दा गरे पनि कमै हुन्छ । उक्त घटना पश्चात् यस संघ प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमखसंग निरन्तर समन्वय गरीरहेको व्यहोरा अबगत नै छ। निरन्तर समन्वय र दबाब पश्चात् उक्त अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले पकाउ गरी थुनामा राखी अनुसन्धान कार्य अगाडी बढाईरहेको छ।’

    शनिबार राति १२ वजे तिर स्थानीय केहि युवाहरुले मदिरा सेवन गरी अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको  थियाे ।

    गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिबार राति मदिरा सेवन गरेका युवाहरु प्रवेश गरी हुलहुज्जत सहित अन्य विरामीलाई पनि उपचार गर्नुपर्छ भन्दै डाक्टर माथि हातपात भएको  थियाे  ।

    अस्पतालमा कार्यरत डाक्टरले कोरोनाका विरामी भएकोले भित्र नपस्न आग्रह गर्दै केहि समस्या भए कोरोनाका विरामी भएको ठाँउभन्दा छुट्टै ठाँउमा स्वास्थ्य परिक्षण गरिदिने भनेको तर उनीहरुले पर्खाल नाघेर भित्र प्रवेश गरी कुटपिट गरेको बताइएको छ ।

    डाक्टरमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । प्रहरीले तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका गोपाल तिमलसिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ ।

     

     

  • नेपालमा २६ जनामा कालो ढुसी संक्रमण पुष्टि, औषधि नहुँदा उपचारमा समस्या

    नेपालमा २६ जनामा कालो ढुसी संक्रमण पुष्टि, औषधि नहुँदा उपचारमा समस्या

    काठमाडौं । कोरोना बिरामीमा प्रकोपको रुपमा देखिएको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमण नेपालमा अहिलेसम्म २६ जना बिरामीमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी भर्ना भएका छन् ।

    भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले जानकारी दिए । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने हुने गरेको उनले जनाए ।

    कालो ढुसी भएका एक बिरामीले अहिलेसम्म ज्यान गुमाएका छन् भने दुईजनाको आँखा निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको समेत उनले जनाए । उक्त औषधि उपलब्ध नहुँदा अहिले बिरामीले पोसाकोनाजोल नामक वैकल्पिक औषधि प्रयोग गरिरहेका छन् ।

    एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ । औषधि महंगो हुने भएकाले समेत नेपालले खरिद प्रक्रिया अघि बढाउन सकेको छैन भने विकल्पमा पोसाकोनाजोल औषधिलाई प्रयोग गरिरहेको छ ।

  • भारतमा अमेरिकी खोप मोर्डनालाई प्रयोगको अनुमति

    भारतमा अमेरिकी खोप मोर्डनालाई प्रयोगको अनुमति

    दिल्ली । अमेरिकी खोप मोर्डनालाई भारतमा आपतकालिन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ । मंगलबार राजधानी दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय नीति आयोगका सदस्य डा. वीके पलले उक्त जानकारी दिएका हुन् ।

    केही खास प्रयोगका लागि भन्दै मोर्डनालाई अनुमति दिइएको उनले जनाए । भारतले यसअघि कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक-५ लाई प्रयोगको अनुमति दिइएको छ । भारतले फाइजरलाई अनुमति दिनेबारे विचार गरिरहेको जनाएको छ ।

    अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उक्त खोप प्रदान गर्न लागेको जनाइएको छ । औषधि उत्पादक कम्पनी सिप्लाले भारतमा खोप आपूर्तिका लागि अनुमति पाएको छ ।

  • कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या (सूचीसहित)

    कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या (सूचीसहित)

    काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोनाभाइरस संक्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् ।

    कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ ।

    सो विश्वविद्यालयले जुन २९ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

    देश                                           कूल संक्रमित                                            कूल मृत्यु

    संयुक्त राज्य अमेरिका      ३ करोड ३६ लाख ४० हजार ५२७                ६ लाख ४ हजार ११५
    भारत                               ३ करोड ३ लाख १६ हजार ८९७                   ३ लाख ९७ हजार ६३७
    ब्राजिल                             १ करोड ८४ लाख ४८ हजार ४०२                 ५ लाख १४ हजार ९२
    फ्रान्स                              ५८ लाख ३२ हजार ४९०                                १ लाख ११ हजार १७४
    टर्की                                ५४ लाख १४ हजार ३१०                                ४९ हजार ६३४
    रुस                                  ५४ लाख ८ हजार ७४४                                १ लाख ३१ हजार ६७१
    बेलायत                            ४७ लाख ७१ हजार ३६७                              १ लाख २८ हजार ३६७
    अर्जेन्टिना                         ४४ लाख २३ हजार ६३६                              ९३ हजार १४२
    इटाली                              ४२ लाख ५८ हजार ४५६                              १ लाख २७ हजार ५००
    कोलोम्बिया                      ४१ लाख ८७ हजार १९४                               १ लाख  ५ हजार ३२६
    स्पेन                                 ३७ लाख ९२ हजार ६४२                              ८० हजार ७८९
    जर्मनी                              ३७ लाख ३४ हजार ८३२                               ९० हजार ८२७
    इरान                                ३१ लाख ८० हजार ९२                                 ८३ हजार ९८५
    पोल्याण्ड                          २८ लाख ७९ हजार ६८९                              ७४ हजार ९७९
    मेक्सिको                           २५ लाख ७ हजार ४५३                                २ लाख ३२ हजार ६०८
    युक्रेन                                २२ लाख ९८ हजार ६६०                              ५४ हजार ५२२
    इन्डोनेसिया                       २१ लाख ३५ हजार ९९८                              ५७ हजार ५६१
    पेरु                                    २० लाख ४८ हजार ११५                              १ लाख ९१ हजार ८९९
    दक्षिण अफ्रिका                  १९ लाख ४१ हजार ११९                               ६० हजार ३८
    नेडरल्याण्ड                       १७ लाख ११ हजार ५४५                              १८ हजार ३४

  • काठमाडौं उपत्यकामा मंगलबार थपिए ४५८ संक्रमित

    काठमाडौं उपत्यकामा मंगलबार थपिए ४५८ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५८ जना कोभिड बिरामी थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएका छन् ।

    चितवनमा १५५, सुनसरी १३८, झापा १५०, बागलुङ ७० र मोरङमा ९० जना संक्रमित थपिएका छन् ।

    २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । २७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा बढी छ ।

    मुलुकको संक्रमण दर १९.१ प्रतिशत रहेको छ ।

  • कोरोनासँगै डेंगुको जोखिम बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोनासँगै डेंगुको जोखिम बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । कोरोनाभाइरसको जोखिम कायम रहेसँगै लामखुट्टे बाट सर्ने रोग डेंगुको जोखिम पनि बढेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को लक्षणसँग डेंगुको लक्षण मिल्दोजुल्दो हुने भएकाले विज्ञप्ती जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । वर्षायामको बेला डेंगुको जोखिम बढेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।

    एक्कासी ज्वरो आउने , खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने, थकान महसुस हुने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने जस्ता लक्षण देखा पर्‍यो भने तुरुन्त स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले अनुभवका आधारमा जथाभावी औषधी सेवन नगर्न आग्रह गरेको छ ।

    मनसुन सुरु भएसँगै वर्षायाममा डेंगु र कोरोनाबाट सुरक्षित रहनको लागि निम्न उपायहरु अपनाउन मन्त्रालयले आग्रह गरेको छ :

    • लामखुट्टेको टोकाइबाट बच्न पूर शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने
    • घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदी भए सफा गर्ने र पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
    • पानीको नाली, ढल, पोखरीमा हप्ताको दुई दिन डढेको मोबिल वा मट्टितेल छर्कने
    • खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
    • पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
    • कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने
    • बेलाबेलामा साबुनपानीले मिचिमिचि हात धुने र भौतिक दूरी कायम गर्ने
    • सुत्ने बेला झुलको प्रयोग गर्ने
    • परिवारमा कसैलाई यस्ता लक्षण देखापरे तुरुन्तै आइसोलेशनमा बस्ने
  • मंगलबार २६ सय कोभिड बिरामी थपिए, थप २० जनाको मृत्यु

    मंगलबार २६ सय कोभिड बिरामी थपिए, थप २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६३६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ७४८ (७२५९ पीसआर) एन्टीजेनसहित परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार थप २० जनाले कोभिडको कारण ज्यान गुमाएका छन् । मृत्युदर १.४२ प्रतिशत छ । कूल मृत्यु संख्या ९०७१ पुगेको छ ।

    ४३४८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ५ लाख ९२ हजार जना निको भएका छन् । निको हुने दर ९३.०३ प्रतिशत छ ।

    मंगलबारसम्म ३५ हजार ३१० सक्रिय संक्रमित छन् ।

    कूल संक्रमित संख्या ६ लाख ३६ हजार ९१६ पीसीआर र ३३ हजार ९४१ जना एन्टीजेनबाट संक्रमित पुष्टि भएका छन् ।

    भारतको अवस्था कस्तो छ ?

    गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

    भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सवभन्दा कम हो । चालीस हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ । करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।

    हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ ।

    यहाँ गत जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोना विरुद्धको खोप लागाइएको छ ।

  • कोरोनाभाइरसको तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

    कोरोनाभाइरसको तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

    बाँके । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

    बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी सुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार, तेस्रो लहरको कोरोना संक्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ ।

    उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड-१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पतालसमेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्वतयारीलाई अगाडि बढाएको छ ।

    कोरोनाको दोस्रो लहरमा करिब एक हजार संक्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

    कोरोना संक्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्रगतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा. श्रेष्ठले बताए । १ सय ३० शय्याको यो अस्पतालमा बिरामीको संख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ ।

    अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन् । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरुपको पूर्वतयारी सुरु गरेको बताइएको छ ।

    दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ ।

    कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटरलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा. श्रेष्ठको भनाइ छ । ‘कोरोनाभाइरस संक्रमण तेस्रो लहरका बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्व तयारीमा हामी जुटेका छौं’, उनले भने ।

  • कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड

    कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड

    काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड (आस्ट्राजेनेका)को पहिलो डोज खोप १४ लाख ज्येष्ठ नागरिकले लगाएका थिए । दुई महिनामै लगाउनुपर्ने दोस्रो डोज अहिलेसम्म उनीहरुले लगाउन पाएका छैनन् ।

    उनीहरुले दोस्रो मात्रा लगाउन कहिले पाउँछन् भन्ने जवाफ सरकारसँग पनि छैन । तर, आस्ट्राजेनेका खोप निर्माता कम्पनी अक्सफोर्डका एकजना विज्ञले चाहिँ मानिसलाई लामो समयपछि पनि दोस्रो डोज लगाउँदा सुरक्षित हुने बताएका छन् ।

    अक्सफोर्ड खोपका निर्देशक एन्ड्रयु पोलार्डले आस्ट्राजेनेका खोपको दोस्रो डोजको मात्रा लगाउन ढिलाई भएपनि भाइरससँग लड्न सक्ने क्षमता भने कमजोर नहुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

    उनले कोरोनाभाइरस महामारीको उच्च जोखिम भएको बेलामा नेपालमा खोप आपूर्ति नभएकोमा दुःख व्यक्त गरेका छन् । उनले खोप अभावको सामना गरिरहेको नेपालले जतिसक्दो चाँडो खोप प्राप्त गर्नुपर्ने पनि बताएका छन् ।

    डेढ दशकभन्दा बढी समयसम्म चिकित्सकहरुसँग मिलेर खोप सम्बन्धी विभिन्न अनुसन्धान पनि गरिरहेका पोलार्डले मानिसहरुलाई धैर्य राख्न आग्रह समेत गरे । ‘पहिलो डोज खोपले उनीहरुलाई महामारीबाट सुरक्षा दिन्छ । हामीले तथ्यांकहरु हेर्ने हो भने पहिलो मात्राको खोप लगाएका मानिसहरु गम्भिर बिरामी हुनबाट सुरक्षित भएको देखिन्छ’ उनले भने, ‘हामीले पहिलो डोज खोप लगाउन एकदम जरुरी हुन्छ । दास्रो डोज खोप लगाउँदा अझ बढी महामारीसँग लड्न सक्ने क्षमता हुन्छ भनेका छन् ।’

    उनले नेपालमा आस्ट्राजेनेकाको पहिलो मात्रा लगाएका १४ लाख ज्येष्ठ नागरिकहरुलाई तत्काल नआतिन सुझाव समेत दिए । ‘दोस्रो मात्राको खोप ढिला लगाउँदा चिन्ता लिनुपर्दैन । पहिलो डोज लगाएको ६ महिना वा एक वर्षपछि लगाउने अवस्था आएपनि पहिलो डोजको खोप उत्तिकै प्रभावकारी हुन्छ’ उनले भनेका छन् ।