Category: स्वास्थ्य-जीवनशैली

  • थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुग्यो

    थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुग्यो

    काठमाडौं । चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ ।

    नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जनाए ।

    निगमको सो जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ । खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ ।

    चीनको साइनोफार्म कम्पनीबाट नेपालले खरिद गरेको ४० लाख डोज खोपलाई निगमको जहाजले चरणबद्ध रुपमा ढुवानी गरेको हो ।

  • नर्भिकले ६ अर्ब लगानी थप्ने, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

    नर्भिकले ६ अर्ब लगानी थप्ने, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

    काठमाडौं । नर्भिक अस्पतालले सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि परिचयात्मक कार्यक्रम आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

    ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् ।

    सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिने भएको छ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिनेछ । सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुने जनाइएको छ। थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैय्याको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ ।

    यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैय्या तथा सुनसरीको दुहबीमा पनि १०० शैय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ ।

    यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ । पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा बिस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।

  • आजदेखि खोप प्रमाणीकरण कार्ड राजधानीका चार अस्पतालबाट वितरण हुने

    आजदेखि खोप प्रमाणीकरण कार्ड राजधानीका चार अस्पतालबाट वितरण हुने

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोप लगाएकालाई आजदेखि राजधानीका ४ वटा अस्पतालमा खोप प्रमाणीकरणको कार्ड दिइने भएको छ । टेकु अस्पतालमा मात्र वितरण केन्द्रित गर्दा भीडभाड बढेको गुनासोपछि सरकारले शुक्रबारदेखि चार अस्पतालबाट कार्ड बाँड्ने निर्णय गरेको हो ।

    आजदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरणको कार्ड बाँडिने भएको छ ।

    खोप महाशाखाका प्रमुख झलक गौतमका अनुसार यी सबै अस्पतालमा निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम सुरु भइसकेको छ। श्रम गन्तव्य मुलुकले खोप कार्ड अनिवार्य गरेपछि जोन्सन एन्ड जोन्सन खोप लगाएका नेपाली श्रमिकहरुले कार्ड लिन अस्पताल धाएका हुन् ।

  • बिहीबार कोभिडबाट २४ जनाको मृत्यु, २७ सय संक्रमित थपिए

    बिहीबार कोभिडबाट २४ जनाको मृत्यु, २७ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २७१४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ नमुना (९१२२ पीसीआर र ३७०७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबार थप २४ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधीमा १२८८ जना निको भएका छन् ।

    बिहीबार काठमाडौं उपत्यकामा ७५१ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका छन् ।

    आजको संक्रमण दर २१.१५ प्रतिशत छ । मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४.०६ प्रतिशत पुगेको छ ।

    काठमाडौं उपत्यकामा ५९१६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ९३५ र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित छन् ।

    १० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने २६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

    कूल संक्रमित संख्या ६ लाख ७४ हजार, कूल मृत्यु संख्या ९६६१ र कूल डिस्चार्ज हुनेको संख्या ६ लाख ३७ हजार रहेको छ ।

    १२ लाख ८१ हजारले पूर्ण डोज खोप लगाएका छन् । पहिलो डोज खोप लगाउने संख्या ३३ लाख रहेको छ ।

  • कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघ्यो

    कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघ्यो

    कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख २७ हजार नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख २७ हजार ६२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल संक्रमितको संख्या १९ करोड २० लाख ५ हजार ७५ जना रहेका छन् । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख १ हजार ७१७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    सो विश्वविद्यालयले जुलाई २२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

    विभिन्न देशको कूल संक्रमितको संख्या र कूल मृत्यु :

    संयुक्त राज्य अमेरिका : तीन करोड ४२ लाख संक्रमित,  छ लाख ९ हजार मृत्यु
    भारत : तीन करोड १२ लाख ५७ हजार संक्रमित, चार लाख १८ हजार मृत्यु
    ब्राजिल : एक करोड ९४ लाख ७३ हजार संक्रमित, पाँच लाख ४५ हजार मृत्यु
    फ्रान्स : ५९ लाख ७३ हजार संक्रमित, एक लाख ११ हजार मृत्यु
    रुस : ५९ लाख ५५ हजार संक्रमित, एक लाख ४८ हजार मृत्यु
    बेलायत : ५५ लाख ८६ हजार संक्रमित, एक लाख २९ हजार मृत्यु
    टर्की : ५५ लाख ५४ हजार संक्रमित, ५० हजार मृत्यु
    अर्जेन्टिना : ४७ लाख ९८ हजार संक्रमित, एक लाख २ हजार मृत्यु
    कोलोम्बिया : ४६ लाख ७९ हजार संक्रमित, एक लाख १७ हजार मृत्यु
    इटाली : ४२ लाख ९७ हजार संक्रमित, एक लाख २७ हजार मृत्यु
    स्पेन : ४२ लाख १९ हजार संक्रमित, ८१ हजार मृत्यु
    जर्मनी : ३७ लाख ५६ हजार संक्रमित, ९१ हजार मृत्यु
    इरान : ३६ लाख ३ हजार संक्रमित, ८७ हजार मृत्यु
    इन्डोनेसिया : २९ लाख ८३ हजार संक्रमित, ७७ हजारमृत्यु
    पोल्याण्ड : २८ लाख ८१ हजार संक्रमित, ७५ हजार मृत्यु
    मेक्सिको : २६ लाख ९३ हजार संक्रमित, दुई लाख ३७ हजार मृत्यु
    दक्षिण अफ्रिका  : २३ लाख २७ हजार संक्रमित, ६८ हजार मृत्यु
    युक्रेन : २३ लाख २१ हजार संक्रमित, ५५ हजार मृत्यु
    पेरु : २० लाख ९४ हजार संक्रमित, एक लाख ९५ हजार मृत्यु
    नेदरल्यान्ड : १८ लाख ४९ हजार संक्रमित, १८ हजार मृत्यु

  • कोरोनाको तेस्रो लहर चुनौतिपूर्ण हुने भन्दै स्वास्थ्य मन्त्रालयद्वारा बेड र अक्सिजन व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन

    कोरोनाको तेस्रो लहर चुनौतिपूर्ण हुने भन्दै स्वास्थ्य मन्त्रालयद्वारा बेड र अक्सिजन व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन

    काठमाडौं । स्वास्थ मन्त्रालयले कोरोनाभाइरसको चुनौतिपूर्ण तेस्रो लहर आउनसक्नेतर्फ सचेत गराउँदै अक्सिजन र शैय्याजस्ता पूर्वाधारलाई चुस्त दुरुस्त राख्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संक्रमण घट्न नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।

    मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाउँदै मन्त्रालयले २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।

    निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि नबुझी र खुल्लमखुल्ला ढंगले जनस्वास्थ्यका मापदण्डको उल्लंघन भैरहेको जनाउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गराउन सबै निकायलाई अनुरोध समेत गरेको छ । खोप केन्द्रमा आफ्नो पालोमा पुगेर खोप लगाउन र भीडभाड नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

    वर्तमान संक्रमणको अवस्थाले चुनौतिपूर्ण तेस्रो लहर आउनसक्नेप्रति मन्त्रालयले सजग गराएको छ ।

  • काठमाडौं उपत्यकामा शरणार्थीलाई पनि जोन्सन खोप लगाउन सुरु

    काठमाडौं उपत्यकामा शरणार्थीलाई पनि जोन्सन खोप लगाउन सुरु

    काठमाडौं । उपत्यकामा शरणार्थीहरुलाई पनि कोभिड-१९ विरुद्ध खोप लगाउन सुरु गरिएको छ । आजदेखि ललितपुरको जावलाखेलमा आश्रित तिब्बती शरणार्थीलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको हो ।

    स्वास्थ्य विभागका प्रमुख झलक शर्मा गौतमका अनुसार उक्त शिविरमा तीनसय शरणार्थीलाई खोप लगाइनेछ । काठमाडौंको जोरपाटी तथा बौद्ध क्षेत्रमा रहेका तिब्बती शरणार्थीलाई पनि जोन्सन खोप लगाउन थालिएको छ ।

    सरकारले जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण तथा अति अशक्त अपांग (क र ख वर्ग), नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाउन सुरु गरेको छ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो। उक्त खोप एक डोज मात्र लगाए पुग्नेछ ।

  • कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

    कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

    कालिकोट । जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

    कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । ‘जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो ।’ उनले भने, ‘अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।’

    अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए । ‘जिल्लामा विद्युतको लाइन छ तर त्यो विद्युत नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ’, उनले भने, ‘विद्युत नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।’

    जिल्लामा कोभिड–१९ संक्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए । ‘क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ’, उनले भने, ‘कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।’ जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    सक्रिय संक्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

  • काठमाडौंमा जोन्सन खोप अभियान स्थगित, एकैदिनमा खोपको स्टक सकियो

    काठमाडौंमा जोन्सन खोप अभियान स्थगित, एकैदिनमा खोपको स्टक सकियो

    काठमाडौं । १८ वर्षभन्दा माथिकालाई खोप लगाउन सुरु गरिएको पहिलो दिनमै जोन्सन एन्ड जोन्सन खोप सकिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खोप सकिएपछि बिहीबारदेखि जोन्सनको खोप अभियान पनि रोकिएको छ ।

    प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पहिलो दिनमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए ।

    भेरोसेल खोप लगाउने कार्य चाहिँ निरन्तर रहने पराजुलीले जनाए । प्रशासनले बुधबारदेखि १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो ।

    तर, ललितपुर र भक्तपुरमा भने खोप लगाउने कार्य चाहिँ जारी छ । जोन्सन खोप सकिएपनि चीनबाट भेरोसेल आउने भएपछि भेरोसेल अभियानलाई भने निरन्तरता दिइने भएको छ ।

  • मेडिसिटी अस्पताल र यती एअरलाइन्सबीच एयर एम्बुलेन्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

    मेडिसिटी अस्पताल र यती एअरलाइन्सबीच एयर एम्बुलेन्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

    काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि द्विपक्षीय सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    अहिले हेलीकप्टर तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन उद्धार उडान गर्न समेत सहज हुने भएको हो ।

    मेडिसिटी अस्पतालले बिरामीलार्ई हवाई तथा ग्राउण्ड एम्बुलेन्समार्फत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने आशा अस्पतालका महाप्रबन्धक विजय रिमालले गरेका छन् ।

    उनका अनुसार अस्पतालद्वारा एयरलाइन्स्का उडान दल तथा विभिन्न स्थानका ग्राउण्ड ह्याण्डलीङ कर्मचारीलाई प्री-हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

    यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार मेडिसिटी अस्पतालसँगकोे सहकार्यले उडानसेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारको लागी आवश्यक हुने बिरामीको आवश्यकता अनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ ।

  • बुधबार कोभिडबाट ३० जनाको मृत्यु, २८ सय संक्रमित थपिए

    बुधबार कोभिडबाट ३० जनाको मृत्यु, २८ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २८३८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६१ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार थप ३० जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४७५ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा ६९७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र ४९० जनामा संक्रमण पुष्टि भएको छ ।

    आज संक्रमण दर २२ प्रतिशत छ । सबैभन्दा बढी संक्रमण दर सुदूरपश्चिममा ४८.२ प्रतिशत, कर्णालीमा ४६ प्रतिशत, गण्डकीमा ३२ र प्रदेश १ मा ३१ प्रतिशत संक्रमण दर छ ।

    आजसम्म मुलुकमा २६ हजार ८३२ जना सक्रिय संक्रमित छन् । १२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले साउन लागेसँगै संक्रमितको संख्यामा पनि वृद्धि भएको जनाए ।

  • काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई जोन्सन खोप लगाउन सुरु

    काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई जोन्सन खोप लगाउन सुरु

    काठमाडौं । आजदेखि काठमाडौं जिल्लामा १८ वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई पनि जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । काठमाडौंका ५५ वटै खोप केन्द्रमा खोप लगाउन थालिएको हो ।

    प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयको सहमतिमा १८ वर्षभन्दा माथिल्लो उमेरकालाई पनि खोप लगाउन सुरु गरिएको हो ।

    प्राथमिकता तोकिएका समूहलाई लगाएर खोप स्टकमा रहने देखिएपछि किशोर उमेर समूहलाई पनि लगाउन सुरु गरिएको सीडीओ पराजुलीले जानकारी दिए । सरकारले यसअघि ५० देखि ५४ वर्ष उमेर र विदेश जाने युवाहरुलाई मात्र खोप लगाउने प्राथमिकता सार्वजनिक गरेको थियो ।

  • प्रतिबन्धित २ सय कार्टुन रेडबुलसहित ४ जना पक्राउ

    प्रतिबन्धित २ सय कार्टुन रेडबुलसहित ४ जना पक्राउ

    काठमाडौं । नेपालमा आयात गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

    काठमाडौंका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिङक रेड बुल नेपालमा ल्याई बिक्री बितरण गरिरहेको आरोपमा मंगलबार महानगरीय प्रहरी महाशाखाले ४ जनालाई पक्राउ गरेको हो ।

    महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धितरेडबुल समेत बरामद गरेको प्रहरीले महाशाखाले बताएको छ । उनीहरुको साथबाट २०२ कार्टुन (४८४८ थान) रेडबुल समेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, बाँके कोहलपुरका ३६ वर्षीय राजु पौडेल, शक्ति माता स्टोरका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सामान ओसारपोसार गर्ने सर्लाही हरिपुर घर भएका गोठाटार बस्ने३६ वर्षीय पिकअप चालक वीरेन्द्र चौधरी रहेका छन्। प्रहरीले प्रणव स्टोर न्यूरोडबाट ५९ कार्टुन,शक्तिमाता स्टोर कपनबाट ५९ कार्टुन पेय पदार्थ बरामद गरेको छ ।

    बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा बिरेन्द्र चौधरीले बिक्रिवितरण गरिरहेको अवस्थामा प्रहरीले नयाँवस्ती गोठाटारबाट सामानसहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद सामान सहित आवश्यक कार्वाहीको लागि भन्सार बिभाग पठाईने महाशाखाले जनाएको छ ।

    साथै बरामद समानहरु खुला सीमानाको फाइदा उठाउदैं भारतसंग सीमानाका जोडिएका तराईका बिभिन्न जिल्लाहरुबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिक अप भ्यान तथा रात्रीकालीन बसका बिभिन्न भागमा लुकाई काठमाडौंमा ओसारपसार गरी बजारमा बिक्रिबितरण गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको अनुसन्धानमा खटिएका प्रहरीले अधिकृतले बताएको छ।

    सरकारले २०७६ असार २ गते प्रकाशित राजपत्र भाग ५ को सुचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ( इनर्जी ड्रिङस) र यस्तै प्रकारका पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा बन्देज गरिएको थियो ।

     

     

     

     

  • कोरोनाको तेस्रो लहर नआउँदै विज्ञले दिए प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव

    कोरोनाको तेस्रो लहर नआउँदै विज्ञले दिए प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव

    काठमाडौं । कोभिड-१९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् ।

    सुझावको पहिलो बुँदामा योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने सुझाव छ । स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न समेत उनीहरुले सुझाएका छन् ।

    अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ ।

    अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न उनीहरुको माग छ । राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि भनिएको छ ।

    मागपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।

    हेर्नूस मागपत्र :

  • न्यूनतम १० लाख डोज भेरोसेल खोप ल्याउन निगमको जहाज आज बेइजिङ जाँदै

    न्यूनतम १० लाख डोज भेरोसेल खोप ल्याउन निगमको जहाज आज बेइजिङ जाँदै

    काठमाडौं । कोभिड-१९ विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।

    सो जहाज भोलि राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

    थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

  • यसरी लगियो हिमालपारिको मनाङमा जोन्सन एन्ड जोन्सन खोप (तस्विरहरु)

    यसरी लगियो हिमालपारिको मनाङमा जोन्सन एन्ड जोन्सन खोप (तस्विरहरु)

    पोखरा । बाढीग्रस्त हिमालपारिको जिल्ला मनाङमा हेलिकप्टर चार्टड गरेर ३०० डोज जोन्सन एन्ड जोन्सन खोप लगिएको छ ।

    स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा हामी नेपाल नामक सामाजिक संस्थाले खोप ढुवानी गरेको हो । सरकारले बाढी प्रभावित इलाकाका बासिन्दालाई खोपमा प्राथमिकता दिने घोषणा गरेको थियो ।

    मनाङका चामे, हुम्दे र थोचेका बासिन्दालाई लगाउन उक्त खोप प्रयोग गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बाढीग्रस्त मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

  • मंगलबार काठमाडौं उपत्यकामा ७१९ संक्रमित थपिए,  ७२ सय सक्रिय संक्रमित

    मंगलबार काठमाडौं उपत्यकामा ७१९ संक्रमित थपिए, ७२ सय सक्रिय संक्रमित

    काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित थपिएका छन् ।

    मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय संक्रमित छन् । काठमाडौंमा ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्। यस्तै, देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

  • मंगलबार डेढ महीनायताकै उच्च संक्रमण, थप २५ जनाको मृत्यु

    मंगलबार डेढ महीनायताकै उच्च संक्रमण, थप २५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,१०८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ (८,८३६ पीसीआर र ४,२९९ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    आज थपिएको संक्रमित संख्या ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३.६६ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । १,५९५ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । कूल मृत्यु संख्या ९,६०७ रहेको छ ।

  • स्वास्थ्य सचिव पोखरेलद्वारा पदभार ग्रहण, एन्टीबायोटिकको दुरुपयोग रोक्न समिति गठन

    स्वास्थ्य सचिव पोखरेलद्वारा पदभार ग्रहण, एन्टीबायोटिकको दुरुपयोग रोक्न समिति गठन

    काठमाडौं । स्वास्थ्य सचिवमा बढुवा भएलगतै डा. रोशन पोखरेलले आज स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहण गरेसँगै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषयमा काम गर्ने एक समिति गठनको फाइलमा हस्ताक्षर गरेका छन् । कोभिड खोपलाई पहिलो प्राथमिकतामा राखेर आफुले सोही अनुसार काम गर्ने उनले बताए ।

    सो अवसरमा सचिव लक्षमण अर्यालले बधाई तथा शुभकामना दिएका थिए । पदबहाली पछि बोल्दै सचिव पोखरेलले आफ्नो लक्ष्य कोभिड नियन्त्रणमा र उपचारमा केन्द्रित हुने बताए । असोजसम्म ३२ प्रतिशत र चैत सम्ममा ७२ प्रतिशत जनतालाई कोभिड बिरुद्धको खोप लगाईसक्ने सरकारको योजनालाई पूरा गर्ने गरी अघि बढ्ने बताए ।

    सचिवमा बढुवा हुनु अघि उनी मन्त्रालयमा नै १२औं तहका प्रमुख विशेषज्ञको रुपमा कार्यरत थिए।

  • सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

    सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छ ।

    राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए ।

    राष्ट्रिय सहकारी महासंघको सल्लाहकारसमेत रहेका गृहमन्त्री खाँणले भने, ‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

    सो अवसरमा महासंघका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएको थियो ।

  • ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

    ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

    काठमाडौं । नेपाल पत्रकार महासघं ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।

    महासघं ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

    उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।

    यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

  • ललितपुरमा आजदेखि जोन्सन खोप लगाइँदै, विदेश जान भिसा लिइसकेकालाई पनि दिइने

    ललितपुरमा आजदेखि जोन्सन खोप लगाइँदै, विदेश जान भिसा लिइसकेकालाई पनि दिइने

    ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि खोप लगाउन थालिएको हो ।

    ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्दै खोप अभियान थलिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जानकारी दिए । सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान भिसा लिइसकेका व्यक्तिलाई समेत खोप उपलब्ध गराइने उल्लेख छ ।

    गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएकोे छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीले ललितपुर महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे सोमबार जानकारी लिएका थिए ।

  • जोन्सन एन्ड जोन्सन र जापानको अस्ट्राजेनेकालाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

    जोन्सन एन्ड जोन्सन र जापानको अस्ट्राजेनेकालाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

    काठमाडौं । औषधि व्यवस्था विभागले जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनेका खोपलाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । विभागले सोमबार सूचना जारी गर्दै गत असार १५ र १६ गते अनुमति दिएको जनाएको छ ।

    कोभ्याक्स संयन्त्रमार्फत १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप गतसाता आइपुगेको छ र सोमबारदेखि लगाउन पनि सुरु भएको छ । जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप केही सातामै आउने तयारीमा छ ।

    जापानबाट आउने अस्ट्राजेनेका खोप यसअघि कोभिसिल्ड खोप लगाइसकेका ६५ वर्षमाथिको उमेरका १३ लाख ६८ हजारभन्दा बढीलाई लगाउने तयारी भएको छ ।

    विभागले यसअघि यी दुई खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइएको बारे केही पनि खुलाएको थिएन । लगाउने दिन घोषणा हुँदा समेत अनलाइनमा सूचना सार्वजनिक नभएपछि विभागले सूचना नै प्रकाशित गरेको हो ।

  • के साँच्चै ‘हट लेमन’ पिउँदा तौल घट्छ ?

    के साँच्चै ‘हट लेमन’ पिउँदा तौल घट्छ ?

    काठमाडौं । तातो पानीमा केही थोपा कागती हालेर ‘हट लेमन’ भन्दै पिउनुलाई शरिरको तौल घटाउने अचुक उपायका रूपमा लिने ट्रेन्ड बढ्दै छ । हामीलाई दैनिक जीवनमा भेट हुने धेरैले हट लेमन तौल घटाउने उत्तम उपाय भन्दै सुझाइरहेका हुन्छन् ।

    तर, साँच्चै यसले तौल घटाउँछ त ?

    चर्चित भारतीय न्युट्रिसियोनिस्ट किनिता कडाकियाका अनुसार तातो पानीमा भिटामिन ‘सी’को मुख्य स्रोत- कागती हालेर पिउँदा शरिरको बोसो पग्लिन्छ भन्नु मिथ्या बाहेक केही होइन ।

    ‘यदि तौल घटाउन यति सहज हुन्छ भन्ने लाग्छ भने त्यो भ्रम चाँडै तोड्नु राम्रो हुन्छ,’ उनले भनिन् ।

    अमेरिकी स्वास्थ्य समबन्धी अनलाइन- हेल्थलाइनका अनुसार तौल घटाउनका लागि हट लेमन पिउनु र सामान्य पानी पिउनुमा केही फरक छैन । तर, यसलाई हाइक क्यालोरी ड्रिङ्क्सको स्थानमा भने प्रयोग गर्न सकिन्छ । यसले केही हदसम्म तौल घटाउनमा मद्दत गर्न सक्छ ।

    हट लेमन पिउनुको फाइदा तौल घटाउनु नभएर हाइड्रेट रहनका लागि र छालाको सुरक्षाका लागि पनि प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् । कागतीमा हुने भिटामिन ‘सी’ले छालामा आउने रिङ्कल तथा सुख्खापन कम गराउँछ र घामबाट छालामा हुने क्षति पनि कम गर्छ ।

     

  • सेक्स धेरै-झगडा कम, डेढ वर्षमा कोरोनाले कसरी बदल्यो दाम्पत्य जीवन ?

    सेक्स धेरै-झगडा कम, डेढ वर्षमा कोरोनाले कसरी बदल्यो दाम्पत्य जीवन ?

    काठमाडौं । कोरोना महामारीको सुरुआतमा विज्ञहरूलाई कोभिड-१९ ले मानिसको रोमान्टिक जीवनलाई बर्बाद गरिदिने चिन्ता थियो । तर, पछिल्लो एक सर्वे अनुसार महामारीको परिणाम ठीक बिपरीत आएको छ ।

    मनमाउथ विश्वविद्यालयले गरेको सर्वेअनुसार ७० प्रतिशत रिलेशनसिपलाई लिएर खुशी छन् । यो आँकडा गत फेब्रुअरीमा भएको सर्वेको तुलनामा १० प्रतिशतले बढी हो ।

    यो आँकडा हेर्दै पार्टनरसिप साइकोलोजिस्ट डा. ग्यारी लेवान्डोस्की भन्छन्, ‘हामी सम्बन्धप्रति कस्तो धारणा राख्छौं, त्यसले आउन सक्ने समस्या बुझ्न सहयोग हुन्छ ।’

    महामारी हुँदा वा नहुँदा सम्बन्धमा नजिकपन नआउने बरू दुई जनाबीच हुने सम्झौताले सम्बन्ध बलियो बनाउने उनी बताउँछन् ।

    कोरोनाभाइरसको महामारीका कारण बाहिर निस्किने अवस्था नरहेको र घरमा सँगै बस्दा एकअर्कालाई बुझ्न पर्याप्त समय हुनुले पनि सम्बन्धलाई मजबुत बनाएको विज्ञ बताउँछन् ।

    सर्वेमा भाग लिएका कतिपय प्रेमी तथा दम्पत्तिले महामारीको समयमा शारिरीक सम्बन्ध पनि धेरै हुने गरेको र त्यसले विगतमा झैँ हुने गरेका झगडामा कमी आएको प्रतिक्रिया दिएका छन् ।

  • चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीलाई नराख्न डा.केसीको माग

    चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीलाई नराख्न डा.केसीको माग

    काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारका लागि संघर्षरत अभियन्ता डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीहरु नरहने गरी ऐन संसोधनको माग गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रीहरुलाई आयोगमा राख्दा राजनीतिक हस्तक्षेप र विसंगति देखिने उनको तर्क छ । हालको चिकित्सा शिक्षा ऐनअनुसार आयोगमा प्रधानमन्त्री अध्यक्ष तथा शिक्षा र स्वास्थ्यमन्त्री सहअध्यक्ष रहन्छन् ।

    यो व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिनुपर्ने डा. केसीको अडान छ । यसअघि आयोगका उपाध्यक्षलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अनावश्यक दवाव दिएको आरोप केही नागरिक अगूवाहरुले लगाएका थिए ।

    नयाँ सरकारसमक्ष पाँचबुँदे मागपत्र प्रस्तुत गर्दै डा.केसीले भनेका छन्, ‘पछिल्लो समयको अनुभवले चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीहरुलाई राख्दा चरम् राजनीतिक हस्तक्षेप र विसंगति देखिने कुरा पुष्टि भएको छ ।

    त्यसैले अबको संशोधनमा आयोगका अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिनुपर्छ ।’

    केसीले पूर्ववर्ती सरकारको संरक्षणमा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षप गर्न खोज्ने तथा आफ्नो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिइएको भन्दै कानूनी कारवाहीको मागसमेत गरेका छन् ।

    केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनका सबै माग पुरा गर्नुपर्ने माग पनि राखेका छन् ।

  • मेहन्दी कसरी लगाउने : यस्ता छन् चिकित्सकको टिप्स

    मेहन्दी कसरी लगाउने : यस्ता छन् चिकित्सकको टिप्स

    काठमाडौंं । हिन्दू महिलाहरुका लागि साउन महीना निकै पवित्र र विशेष मानिन्छ । भगवान शिवको प्रिय महीनाको रुपमा पनि साउनलाई लिइन्छ । राम्रो पति पाउँ भन्नका लागि अविवाहित र पतिको दीर्घायुको कामना गर्दै विवाहितहरु व्रत वस्ने गर्छन् ।

    साउन महिना सुरु भएसँगै महिलाहरु सोमबारको व्रत बस्ने, हरियो पहिरन लगाउने, हातमा मेहेन्दी लगाउने गर्दछन् । युवतीहरुलाई हत्केलामा भरिएको गाढा रङको मेहेन्दीले धेरै सुन्दर र आकर्षक देखिन्छ । मेहेन्दी हेर्दा जति आकर्षक देखिएपनि यसको बेफाइदाहरु पनि छन् । बजारमा पाइने केमिकलयुक्त मेहन्दी लगाउँदा सचेत हुनुपर्ने कुराहरु छन् ।

    चिकित्सकले गाढा मेहेन्दी लगाउँदा यसको साइड-इफेक्टलाई लिएर सचेत हुनुपर्ने बताउँछन् । खासगरि, छालाको एलर्जी हुनेजस्ता असर देखिन सक्ने भन्दै उनीहरुले मेहेन्दी लगाउने बेला ख्याल गर्न समेत आग्रह गरेका छन् । मेहन्दीले कसरी असर पार्छ त ?

    • मेहन्दीमा प्रयोग हुने रसायनले हत्केलाको छालामा एलर्जी हुनुका शरीरका भित्री अंगहरुमा समेत असर पर्न सक्छ ।
    • छाला रोग विषेशज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार प्राकृतिक रुपमा बनस्पतीबाट बनाइएको र कृत्रिम रुपमा बनाइने गरी मेहन्दी दुई किसिमका हुन्छन्। प्राकृतिक रुपमा बनाइने मेहन्दीको रङ रातो र खैरो हुन्छ । प्राकृतिक रुपमा बनाइएको मेहन्दीले छाला वा स्वास्थ्यमा खासै असर गर्दैन ।
    • कृत्रिम रुपमा बनाइएको मेहन्दीलाई बजारमा लैजान उत्पादक कम्पनीहरुले प्राकृतिक मेहन्दीकै नाम दिएका हुनसक्छन् । तर, त्यो मेहन्दी प्राकृतिक रुपमा भन्दा पनि केमिकल मिसाएर बनाइएको हुन्छ । बजारमा पाइने मेहन्दीमा केमिकल मिसाइएको हुन्छ त्यसले असर पर्छ ।
    • बजार पाइने कृत्रिम मेहन्दीमा पारा-फेनाइलेनेदायमाइन नामक रसायन मिसाइएको हुन्छ । जसले मेहन्दीको रङ गाढा बनाइदिन्छ । यस्तो रसयान मिसाइएका मेहन्दी लगाउँदा छालाको भित्री भागसम्म पुगेर लामो समयसम्म हातमा रङ बस्न सक्छ ।
    • कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नेपालमा नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा. कर्ण बताउँछन्।

    रसायन मिसिएको मेहन्दी लगाउँदा कस्तो असर पार्छ ?

    • छालामा एलर्जी हुने,
    • हात चिलाउने,
    • सुन्निने तथा फोका उठ्ने,
    • घाउ खटिरा आउने,
    • पानी तथा पिप आउने ।
    • झमझमाउने

    कर्णका अनुसार यस्तो समस्या मेहन्दी लगाउने वित्तिकै तथा मेहन्दी लगाएपछि एकसाता वा १० दिनसम्ममा पनि देखिन सक्छ । मेहन्दी लगाउँदा केमिकलको असरले हुने एलर्जी खतरनाक हुन्छ ।

    केमिकलयुक्त मेहन्दीको निरन्तर प्रयोगले हुने असर :

    •  केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकल मिर्गौलामा पुग्न सक्छ । जसले गर्दा मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम पनि बढ्छ ।

    मेहन्दी जति गाढा उती हानिकारक :

    महिलाले मेहन्दी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाइने विस्वास राखिन्छ । त्यसैले हरेक महिलाहरु आफ्नो हातमा मेहन्दीको रङ गाढा होस् भन्ने चाहन्छन् । तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यति नै हानिकारक छ र हुन्छ ।

    मेहन्दीको रङ गाढा भएको होइन, मेहन्दीमा केमिकल मिसाएर गाढा बनाइएको हो, बढी गाढा देखिएका मेहन्दीमा पारा-फेनाइलेनेदायमाइन तथा मट्टितेल तथा पेट्रोलको समेत प्रयोग भएको हुन्छ । यस्तो केमिकलले रङ छालाको भित्रसम्म पुग्छ र मेहन्दी गाढा हुन्छ, तर यसले छालालाई असर गर्छ।

    ‘मेहन्दीको एलर्जी छ वा छैन भनेर परीक्षण गर्न सकिन्छ, त्यसको लागि मेहन्दीको थोरै मात्रा घाटी, काँखी वा शरीरको कुनै भागमा लगाएर २४ घण्टा राख्ने यस्तो गर्दा यदी चिलाएन, पोलेन वा कुनै समस्या देखिएन भने तपाईलाई एलर्जी नहुनसक्छ।

    परीक्षण गरेर गर्दा एलर्जीको समस्या भएमा भने त्यस्तो मेहन्दी लगाउन नहुने डा. कर्णको भनाइ छ।

  • सोमबार कोभिड संक्रमणबाट ३२ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

    सोमबार कोभिड संक्रमणबाट ३२ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणको कारण ३२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युदरमा वृद्धि भएर १.४३ प्रतिशत पुगेको छ ।

    सोमबार २,४४५ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६६४ नमुना (७,८३३ पीसीआर र ३,८३१ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    सोमबारको संक्रमण दर २०.९६ प्रतिशत छ ।

    पछिल्लो २४ घण्टामा थप १२५८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण प्रतिशत ३.८६ प्रतिशत छ ।

    काठमाडौं जिल्लामा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा सोमबार ४७४ जना संक्रमित थपिएका छन् ।

    अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ६८ हजार ७५१, मृत्यु ९५८२ र निको हुने संख्या ६ लाख ३३ हजार पुगेको छ ।

    सोमबारसम्म ३० लाख ६७ हजार ११८ जना पहिलो डोज र ११ लाख ३४ हजार ३१७ जना दोस्रो डोज खोप लगाएका छन् ।

  • नोबेल अस्पतालले पायो मिर्गौला प्रत्यारोपणको अनुमति

    नोबेल अस्पतालले पायो मिर्गौला प्रत्यारोपणको अनुमति

    काठमाडौं । विराटनगरस्थिथ नोबेल अस्पतालमा अब मिर्गौला प्रत्यारोपण हुने भएको छ । अंग प्रत्यारोपण समन्वय समितिले नोबेललाई मिर्गौला प्रत्यारोपणका लागि सोमबार अनुमति दिएको हो ।

    अस्पतालले २ वर्षअघि नै मिर्गौला प्रत्यारोपणका लागि समितिसँग अनुमति मागेको थियो । हाल उक्त अस्पताललाई दुई वर्षको लागि अनुमति दिइएको छ ।

    मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएसँगै अब बिरामीले उपचारका लागि महंगो खर्च गरेर बाहिर जानु नपर्ने अस्पतालले जनाएको छ ।

  • गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

    गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

    काठमाडौं । कोरोनाभाइरस संक्रमणले गर्भवती र स्तनपान गराइरहेका महिलालाई जोखिम बढाएको भन्दै नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)ले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

    कोरोना संक्रमणबाट गर्भवती महिलामात्र नभई गर्भमा भएको शिशुलाई समेत असर गर्न सक्ने कुरा पनि नेसोगले ध्यानाकर्षण गराएको छ । उसले तत्काल खोपको व्यवस्था नगरिए यो समूह जोखिममा पर्न सक्नेतर्फ सचेत पनि गराएको छ ।

    गर्भवती अवस्थामा खोप प्रयोग गर्न सकिने र त्यसले गर्भमा रहेको बच्चालाई कुनै असर नगर्ने भएकाले गर्भवतीको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

    सरकारले आगामी दिनमा खोप दिनको लागि गर्भवती र स्तनपान गराइरहेका महिलालाई समेत प्राथमिकतामा राखेर खोप व्यवस्थापन गर्न नेसोगले माग गरेको छ ।

  • स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, आजको मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी

    स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस, आजको मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी

    काठमाडौं । स्वास्थ्य सेवातर्फको सचिव पदमा तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले १२ औं तहका तीन विशेषज्ञहरुको नाम सिफारिस गरेको हो ।

    जसमा डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नाम सिफारिस भएको हो । आज बस्ने मन्त्रिपरिषद् बैठकले एकजनालाई सचिवमा बढुवा गर्ने स्रोतले जनाएको छ ।

    गत असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव पदको दरबन्दी पद स्वीकृत गरेपछि सचिव नियुक्तीको प्रक्रिया अघि बढेको हो ।

  • नेपालमै क्यान्सरको औषधि उत्पादन सुरु, एक महीनाभित्र बजारमा आइपुग्ने

    नेपालमै क्यान्सरको औषधि उत्पादन सुरु, एक महीनाभित्र बजारमा आइपुग्ने

    काठमाडौैं । नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडले मुलुकमै पहिलोपटक औषधि उत्पादन सुरु गरेको हो ।

    उक्त फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन सुरु गरिएको जानकारी दिएका छन् । उनले एक महिनाभित्र औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिएका छन् ।

    यसअघि नेपालमा क्यान्सरको औषधि भारत वा तेस्रो मुलुकबाट आयात हुन्थ्यो । उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको बताए।

    कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो ।

    वैद्यले भने- क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए ।

  • प्रधानमन्त्रीसँगै अमेरिकी राजदूतद्वारा काठमाडौंका खोप केन्द्रहरुको निरीक्षण (भिडियो)

    प्रधानमन्त्रीसँगै अमेरिकी राजदूतद्वारा काठमाडौंका खोप केन्द्रहरुको निरीक्षण (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कोभिड–१९ विरुद्ध आजदेखि काठमाडौंमा सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको निरीक्षण गरेका छन् ।

    देउवासँगै राजदूत बेरीले पनि ती खोप केन्द्रहरुको निरीक्षण गरेका थिए ।

    उपत्यकास्थित अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालन गरेको कुपण्डोल खोप केन्द्रको निरिक्षण गरे ।

    खोपलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए । साथै, राजदूत बेरीले प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय समेत सम्हालेका देउवालाई खोप केन्द्रबारे चासो राखेका थिए ।

    आजदेखि मुलुकका ७७ वटै जिल्लामा जोन्सन खोप अभियान संचालनमा आएको छ । गतसाता अमेरिकाबाट १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेको थियो ।

     

  • प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै (भिडियो)

    प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै (भिडियो)

    काठमाडौं । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।

    जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण समेत गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिए ।

    स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयका अन्य पदाधिकारीलाई सँगै लिएर त्यहाँ पुगेका देउवाले खोप केन्द्रको उचित व्यवस्थापन गरेर खोप लगाउन निर्देशन दिए ।

    जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
    मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।

     

  • प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा निस्किँदै

    प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा निस्किँदै

    काठमाडौं । कोरोनाविरुद्धको खोप आपूर्ति र वितरणलाई सरकारको अर्जुनदृष्टि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमन गर्दैछन् ।

    आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता÷असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्नेछन् ।

    आजैदेखि काठमाडौंमा अमेरिका सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप वितरण सुरु हुँदैछ ।

    खोप अभियानका क्रममा तोकिएको उमेरसमूहका नागरिक भन्दा अन्य उमेरसमूहलाई वितरण गरिएको गुनासो आइरहेको समयमा प्रधानमन्त्री आफैं अनुगमनमा निस्किएका हुन् ।

    हिजो प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेको कोरोना खोपमात्र रहेको बताएका थिए ।