Category: स्वास्थ्य-जीवनशैली

  • खोपबारे देउवालाई माधव नेपालको सुझाव- घोषणा गरेर आनन्दित नबन्नुहोस्

    खोपबारे देउवालाई माधव नेपालको सुझाव- घोषणा गरेर आनन्दित नबन्नुहोस्

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले खोपलाई प्राथमिकता दिएको विषय ठीक भए पनि घोषणा गरेर आनन्दित नबन्न सुझाव दिएका छन् ।

    राजधानीमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘तपाईंले घोषणा गर्नु भएको छ, ठीक छ । तर, घोषणा गरेर आनान्दित नबन्नुहोस् ।’

    नेपालका नेताहरूमा घोषणा गर्ने तर काम नगर्ने बानी रहेको भन्दै देउवालाई त्यस्तो नबन्न पनि सुझाव दिएका छन् ।

    ‘नेपालका नेताहरुको बानी छ, घोषणा गर्ने तर काम नगर्ने,’ नेपालले भने, ‘तपाईं यस्तो नबननुहोस् ।’

    खोपमा निमुखालाई प्राथमिकता दिन पनि उनले आग्रह गरे । नेपालले भने, ‘तपाईंले जनतालाई बचन दिनुभएको छ- पहिलो प्राथमिकता खोप हो, दोस्रो प्राथमिकता खोप हो र तेस्रो प्राथमिकता खोप हो । त्यो काम गर्नुहोस्, निमुखा जनतालाई प्राथमिकता दिनुहोस् ।’

  • असोजसम्म १ करोड ८३ लाख डोज खोप आइपुग्ने, १० प्रतिशत मुनाफा लिएर खोप खरिद गर्न अनुमति

    असोजसम्म १ करोड ८३ लाख डोज खोप आइपुग्ने, १० प्रतिशत मुनाफा लिएर खोप खरिद गर्न अनुमति

    काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गर्दै विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै खोप आयात र तेस्रो लहरको चुनौतिविरुद्ध लड्न आवश्यक पूर्वाधार स्थापनाको प्रगतिबारे जानकारी गराएको छ ।

    चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ ।

    १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया सुरु हुने समेत जनाइएको छ । कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले जनाएको छ ।

    हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    १० प्रतिशत नाफा लिएर खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति

    यसैबीच, सरकारले १० प्रतिशत मुनाफा लिएर विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ ।

    खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य पूर्वाधारमा वृद्धि गरिने

    मन्त्रालयले १४ सय थान हाइ डिपेन्डेन्सी युनिट ९एचडीयू०, १८० थान भेन्टिलेटर थप गर्ने चरणमा रहेको जनाएको छ । बालबालिकाको लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयू बेड थप्ने कार्य अघि बढेको प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा वक्तव्यमा उल्लेख छ ।

    अक्सिजन आपूति सुद्धढ गर्नको लागि थप ३५०० थान अक्सिजन कन्सनट्रेटर ल्याउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ । १९वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत दुईवटाको कार्य सम्पन्न भैसकेको, ४ वटाको प्रक्रिया सुरु भएको र १० वटाको सूचना प्रकाशित भएको उल्लेख छ ।

  • चीनबाट आज आठ लाख डोज खोप आइपुग्यो, साउन २४ गते थप आठ लाख आउने

    चीनबाट आज आठ लाख डोज खोप आइपुग्यो, साउन २४ गते थप आठ लाख आउने

    काठमाडौं । आज चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेप अन्तर्गत सो परिमाणको खोप आइपुगेको हो ।

    बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

    थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । थप ८ लाख डोज खरिद वा अनुदानमा आउन लागेको हो भन्ने कुरा उनले खुलाएनन् ।

    शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिने जनाएकी थिइन् ।

  • शुक्रबार कोभिडबाट २७ जनाको मृत्यु, ३६ सय संक्रमित थपिए

    शुक्रबार कोभिडबाट २७ जनाको मृत्यु, ३६ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६११ जना संक्रमित थपिएका छन् । १४ हजार ६६१ नमुना (९७८३ पीसीआर र ४८७८ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार थप २७ जनाको मृत्यु भएको छ । १८१६ जना निको भएका छन् । संक्रमणमुक्त हुने संख्या घटिरहेको छ ।

    काठमाडौं उपत्यकामा ८१९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जना संक्रमित थपिएका छन् । कास्कीमा ३३३, सुनसरीमा १७०, झापामा २३६ संक्रमित थपिएका छन् ।

    आजको संक्रमण दर २४.६२ प्रतिशत छ ।

    कूल संक्रमित संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । कूल मृत्यु ९८३४ छ । सक्रिय संक्रमित संख्या ४० हजार ८४८ पुगेको छ ।

  • टिप्स : स्वादिलो खीर कसरी पकाउने ?

    टिप्स : स्वादिलो खीर कसरी पकाउने ?

    काठमाडौं । आज साउन १५ । नेपालमा आजको दिनलाई खीर खाने पर्वका रूपमा मनाइन्छ । धेरैले खीर पकाएको र खाएको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

    नेपालीले रुचाउने परिकारभित्र पर्छ खीर । दूध र चामलबाट बनाइने यो गुलियो परिकार पकाउन भने ढंग पुर्‍याउनैपर्छ । ढंग नपुगे परिश्रम मात्रै खेर जान्छ । ‘दूधमा चामल हाल्ने त हो नि’ भनेर सोच्छन् धेरैले । तर, स्वादिलो खीर बनाउन त्यति सजिलो छैन ।

    यहाँ हामी मिठो खीर पकाउनका लागि तपाईंलाई आवश्यक टिप्स दिन गइरहेका छौंः

    आवश्यक सामाग्री

    चामल, दूध, चिनी, तेजपत्ता, काजु, बदाम, किसमिस, सुकेको नरिवलको टुक्रा, दालचिनी, पकाउनका लागि बाक्लो भाडो

    पकाउने तरिका

    खीर बनाउनुपूर्व नै चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।

    यदि तपाईं अलि पुरानो विधिबाट खीर पकाउन चाहनुहुन्छ भने घरमा मिलमा कुटाएको चामललाई घ्यूमा मोलेर पनि केहीबेर राख्न सक्नु हुन्छ । र, त्यो चामललाई खीरमा प्रयोग गर्न सक्नुहुन्छ ।

    खीर पकाउने भाँडो चाहिँ बाक्लो हुनुपर्छ । पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्छ । खीर पकाउनुअघि चामलभन्दा डेढतिहाई पानी उमाल्नुस् र त्यो पानीमा केहीबेर चामललाई पकाउनुस् । थोरै पाकेको चामलमा सबै दूध हाल्नुस् र चलाउन थाल्नुस् । यसरी खीरलाई चलाउँदा दूध उम्लेर माथि आउने गर्छ । यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ । अर्को तरिकाले उम्लेको दूधमा सीधै भिजाएको चामल पनि हाल्न सकिन्छ ।

    चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता हाल्नुस । तेजपत्ताले खीरको स्वादलाई बास्नादार बनाउँछ । खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीर पकाउँदा शुरूमै चिनी राख्नु हुँदैन । शुरूमा चिनी राखियो भने खीर डढ्न सक्छ ।

    चिनी हलिसकेपछि पहिल्यै राखिएको तेजपत्तालाई निकालिदिनुस् । अब खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो, बदाम, काजु, नरिवलको टुक्रालगायतका सामग्री हालिदिनुस् र, राम्ररी चलाउनुस् । एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । अब खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् ।

    यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ । अब ग्यासको फ्लेमलाई बन्द गर्नुहोस् । अनि तातो-तातो खीर सर्भ गर्न सक्नुहुन्छ ।

    खीरसँग आलुको अचार

    खीरका साथमा तपाईंलाई नुनिलो परिकारको पनि आवश्यकता पर्छ, अन्यथा दुई-चार गाँसमै अमन हुन्छ । खीरको सहायक परिकारका रूपमा आलुको भुजिया र आलुको अचार सबैभन्दा उत्तम मानिन्छ ।

    अचार भन्नसाथ हामीलाई मुखमा पानी आइहाल्छ । र, सम्झन्छौं जिब्रोमा झुण्डिने ट्वाक्क परेको अमिलो र पीरो अचार । हामीले खाने खीरसँग आलुको अचार पनि भयो भने सुनमा सुगन्ध हुन्छ ।

    आलुको अचार बनाउन चाहिने सामग्री

    आलु, काँक्रो, गाजर, हरियो कोसा वा सुकेको केराउ भिजाएको, प्याज, हरियो खुर्सानी, हरियो धनियाँ, तिलको छोप, मेथी, लसुन, जिरा, नुन (स्वाद अनुसार), बेसार । छोपका लागि तिल, सिलाम, आलस प्रयोग गर्न सकिन्छ ।

    तिललाई केहीबेर भुट्ने र त्यही प्यानमा अलिकति जिरा र सुकेको खुसार्नी पनि भुट्नुस । त्यसपछि तिल, खुसार्नी र जिरा ओखलमा वा मिक्सचरमा पिसेर धुलो बनाउनु पर्छ ।

    बनाउने तरिका

    उसिनेको आलुलाई राम्ररी मिच्ने, हरियो काँक्रो र गाजरलाई सानो सानो टुक्रामा मसिनो गरी काट्ने । र, एउटा कचौरा वा भाँडोमा केराउ, काँक्रो, आलु र गाजर हालेर मोल्ने । अनि स्वादअनुसार नुन हाल्ने र राम्ररी चलाउने ।

    यसरी बनाएको अचारमा तिलको छोप र खुर्सानी पनि हाल्दिनुहोस् । अब अचार झान्नुपर्छ । अचार झान्नका लागि एउटा प्यानमा तेल तताउने र त्यसमा मेथीलाई कालो हुन्जेलीसम्म फुराउनु पर्छ । फुराएको मेथीमा वेसार हाल्दिनुहोस् । अब मेथीसहितको तातो तेलमा हरियो धनियाँ राखेर अघि तयार गरेको अचारमा झान्नुहोस् । यसरी तेल र मेथीले अचार झानीसकेपछि राम्ररी फेरी चलाउनुहोस् ।

    अब खीरका लागि अचार तयार भयो । स्वादिष्ट खीरसँगै अचार छेउमा राखेर मिठो मानी-मानी खानुहोस् ।

  • ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै, १८ गतेदेखि जोन्सन खोप लगाइने

    ललितपुरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै, १८ गतेदेखि जोन्सन खोप लगाइने

    काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइन सुरु गरिएको छ । महानगरपालिकाको २९ वटा वडामै १७ गतेसम्म भेरोसेल खोप लगाइने जनाइएको छ ।

    यस्तै १८ गतेदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको जान्सेन खोप अभियान सञ्चालन हुने ललितपुर महानगरले जनाएको छ ।

  • भाइरसको तेस्रो लहर घातक हुनसक्छ, जोगिन के गर्ने ? यस्ता छन् विज्ञको सुझाव

    भाइरसको तेस्रो लहर घातक हुनसक्छ, जोगिन के गर्ने ? यस्ता छन् विज्ञको सुझाव

    काठमाडौं । एउटा प्रश्न जसको उत्तर दिन अहिले सरकारलाई पनि मुस्किल भैरहेको छ । त्यो हो- अहिले नेपाल कोरोनाभाइरसको दोस्रो लहरमै छ या तेस्रो लहरको प्रारम्भिक चरणमा ? स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेको आसपासमा तेस्रो लहर सुरु हुने प्रक्षेपण गरेको छ । विश्व स्वास्थ्य संगठनले दुई साताअघि विश्व तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको घोषणा गर्‍यो ।

    पछिल्लो साता उकालो लागेको संक्रमण, मृत्युदर, सक्रिय संक्रमित संख्याको प्रवृत्ति र गणितलाई सम्भावित तेस्रो लहरको सुरुआतसँग दाँजेर हेर्न विज्ञहरु व्यस्त छन् । डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको डेल्टाको कारण दोस्रो लहर आएको र डेल्टा उत्परिवर्तन भएर आएका नयाँ म्युटेसनले तेस्रो लहरलाई संकेत गरेको विज्ञहरुको ठम्याइ छ ।

    संक्रामक रोग विशेषज्ञ तथा टेकुस्थित शुक्रराज अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन तेस्रो लहर जोखिमपूर्ण हुनसक्ने आंकलन गर्छन् । जतिसक्दो धेरैभन्दा धेरै खोप लगाउनु नै निर्विकल्प भएको बताउँदै उनी खोप लगाउन कुरा द्रुत गतिमा हुने बताउँछन् ।

    ‘खोप लगाएका छौं भने दोस्रो लहरमा जति क्षति व्योहोर्नुपर्दैन । लगाउन ढिला भयो भने मानवीय क्षति व्योहोर्न सक्छौं । यो दोस्रो लहरबाट पाठ हो’ पुन भन्छन्, ‘तेस्रो लहरको सम्भावित चुनौतिसँग लड्न अहिलेदेखि नै पूर्वतयारी र सतर्कता अपनाउन जरुरी हुन्छ ।’

    निषेधाज्ञा खुकुलो भएपछि संक्रमित हुन बाँकी मानिसहरु र संक्रमित भएका मानिसको जम्काभेट भएकाले जोखिम झनै बढेको उनको भनाई छ । ‘अहिले काठमाडौंमा निषेधाज्ञा नभएजस्तो देखिएको छ । मान्छेले भाइरस हामीसँगै छ भन्ने बुझेका छैनन्’ पुन भन्छन्, ‘दशैं र तिहारजस्ता ठूला पर्वहरु नजिक आउँदैछन् । झन् यो बेलामा थप सतर्क हुनुपर्नेछ ।’

    ‘मेरो विचारमा निषेधाज्ञा राम्रो हैन । निषेधाज्ञाले संक्रमण विस्तारै कम त भएको होला तर, खोल्ने वित्तिकै ह्वार्र बढ्छ । मानसिक र आर्थिक क्षतिको के अर्थ भयो र ? दुःख गरेर बन्द गर्‍यो । खोल्यो अनि ह्वार्र बढ्यो । यसरी भएन । निषेधाज्ञा गरेको फाइदा उठाउनुपर्छ’ पुनको सुझाव छ, ‘निषेधाज्ञाको समयलाई संक्रमितको पहिचान, कन्ट्क्याट ट्रेसिङमा भरपुर उपयोग गर्नुपर्छ ।’

    मिडिया तथा केही विज्ञहरुले तेस्रो लहरमा बालबालिका प्रभावित हुने बताउँदैछन् । ‘बालबालिकालाई तुलनात्मरुपमा अघिल्ला लहरमा कम क्षति भएको छ । तर, पहिलो र दोस्रो लहरको तुलना गर्दा बालबालिका पहिलोभन्दा दोस्रो लहरमा बढी प्रभावित भए । केही समस्या देखिएको छ । यदि त्यसो हो भने आउने तेस्रो वेभमा बालबालिकामा समस्या बढ्छ कि भनेर भन्न खोजिएको हो’ उनी भन्छन् ।

    टेकुस्थित अस्पतालमा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन लामबद्ध सर्वसाधारण । भीडभाडले खोप केन्द्रमा संक्रमण फैलने चिन्ता विज्ञहरुले गर्दै आएका छन् ।

    तेस्रो लहरका लागि मुलुकलाई बालरोग विशेषज्ञहरुको आवश्यकता पर्ने चिकित्सक पुनको सुझाव छ ।

    दोस्रो लहरमा राजनीतिक कार्यक्रम, भीडभाड र पर्वजस्ता गतिविधिले संक्रमण बढाएको र त्यसलाई नियन्त्रण गर्न नसक्नु गल्ती भएको उनको ठम्याइ छ । ‘तेस्रो लहरमा सिक्नुपर्ने कुरा धेरै आउन सक्छ । हामीभन्दा भाइरस एक कदम अगाडि छ । जुन दिन हामी भाइरसभन्दा एक कदम अगाडि गएर बाटो ब्ब्लक गर्छौैं, तब हामी विजयी हुन्छौं । भाइरसको हर्कतबाट सिकेर नियन्त्रण गर्दै जानुपर्छ’ पुनको कथन छ ।

    डेल्टा प्लसजस्तै शक्तिशाली भेरिएन्ट आयो भने त्यो चिन्ताको विषय हुनसक्ने उनको भनाई छ । दोस्रो लहरमा भएको गल्तीबाट पाठ सिक्ने मौका रहेको बताउँदै पुन तत्काल शैय्या र अक्सिजनको व्यवस्थापन, अस्पतालहरुमा स्पेसको सिर्जना तथा जनस्वास्थ्यका मापदण्ड पालनामा कटिबद्ध हुनुपर्ने सुझाव दिन्छन् । ‘दोस्रो लहरको गल्तीबाट सिकिएन भने तेस्रो लहर हाम्रा लागि थप चुनौतिपूर्ण बन्न सक्छ’ उनको भनाई छ ।

    नेपालमा बिहीबार थप ३३६५ जना संक्रमित थपिएका छन् र संक्रमणको झन्डै आधा जनसंख्या राजधानी काठमाडौं उपत्यकाकै छन् । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । २४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा बढी छ । संक्रमण दर झन्डै २० प्रतिशत छ ।

  • कोरोना संक्रमण बढ्न थालेसँगै काठमाडौंका अस्पतालहरु बिरामीले भरिभराउ

    कोरोना संक्रमण बढ्न थालेसँगै काठमाडौंका अस्पतालहरु बिरामीले भरिभराउ

    काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाका अस्पतालहरु कोभिड–१९ का बिरामीले भरीभराउ भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणदर वृद्धिसँगै अस्पतालका शैय्याहरु भरिन थालेका हुन् ।

    मन्त्रालयको आजको तथ्यांकअनुसार पछिल्लो केहिदिनमा कोरोनाका बिरामीहरु आईसीयू र भेन्टिलेटरमा भर्ना हुनेको संख्या बढीरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकामा रहेका अस्पतालको शय्याहरु भरिँदै गएका छन् ।

    बिहीबार २ बजेसम्मको तथ्यांकअनुसार वीर अस्पतालमा १५३ जनाको क्षमता भएको एचडीयूमा ७४ जनाको उपचार भइरहेको छ । यस्तै ३५ जनाको क्षमता रहेको आईसीयूमा १७ जनको उपचार भइरहेको छ भने १० जनाको क्षमता रहेको भेन्टीलेटरमा हाल ७ जना उपचाररत छन् ।

    कोरोनाको तेस्रो लहरको तयारीमा आईसीयू १०० वटा, भेन्टिलेटर १०० वटा, एचडीयू बेड १०० वटा अक्सीजन प्लान्टको तयारी अवस्थामा रहेको वीर अस्पतालका डा. अच्यूत कार्कीले बताए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडका लागि छुट्याइएको बेडहरु भरिन थालेका छन् । अस्पतालमा १०० जना क्षमतामा रहेको एचडीयू बेडमा ४७ जनाको उपचार भइरहेको छ । यस्तै २८ जनाको क्षमता रहेको आईसीयूमा १९ जनको उपचार भइरहेको छ भने २२ जनाको क्षमता रहेको भेन्टीलेटरमा हाल १५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।

    त्रिवि शिक्षण अस्पतालमा कारोना संक्रमणका विरामीहरु धमाधम बढ्न थालेका छन् । अस्पतालमा १४५ जना विरामीको उपचार भइरहेको छ । जसमा ३३९ जना क्षमतामा रहेको एचडीयू बेडमा ९८ जनाको उपचार भइरहेको छ । यस्तै ५१ जनाको क्षमता रहेको आईसीयूमा ३३ जनको उपचार भइरहेको छ भने ३१ जनाको क्षमता रहेको भेन्टीलेटरमा हाल १४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।

    भक्तपुर अस्पतलमा ७३ जना क्षमतामा रहेको एचडीयू बेडमा १९ जनाको उपचार भइरहेको छ । यस्तै ६ जनाको क्षमता रहेको आईसीयूमा ४ जनाको उपचार भइरहेको छ भने ४ जनाको क्षमता रहेको भेन्टीलेटरमा हाल ३ जना उपचार भइरहेको छ ।

    पाटन अस्पतालमा २७० जना क्षमतामा रहेको एचडीयू बेडमा ९५ जनाको उपचार भइरहेको छ । यस्तै ३० जनाको क्षमता रहेको आईसीयूमा २५ जनको उपचार भइरहेको छ भने १५ जनाको क्षमता रहेको भेन्टीलेटरमा हाल ९ जना उपचार भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार अस्पतालमा कोभिडका बिरामीहरुको संख्या बढ्दै गएको पाईएको छ ।

  • ७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

    ७२ प्रतिशतलाई खोप लगाउन सके कोरोना नियन्त्रण गर्न सहज हुन्छ: स्वास्थ्य मन्त्रालय

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्‍यो ।

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि नागरिकलाई कोरोना भाइरसबाट जोगाउनका लागि खोपलाई पहिलो प्राथमिकता राखेको छ ।

    अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप प्राप्त भएको थियो । सरकारले आफैं खरीद गरी, विभिन्न मुलुकले अनुदानमा र कोभ्याक्स कार्यक्रममार्फत खोप ल्याएको छ । सरकारले कूल जनसंख्या ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कूल जनसंख्या ७२ प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राखे । मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।

    कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरीद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ ।

    आउन बाँकी

    यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।

    यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

    परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

    उनले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिए । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

    खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

    चालू आर्थिक वर्षमा सरकारले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि  ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि  २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । रासस

  • बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित

    बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना थपिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ४४१ रहेको छ । देशभर हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

    नेपालमा ३६ लाख ५० हजार ७३३ जनो पहिलो डोज खोप लगाईसकेका छन् भने १५ लाख ४८ हजार ८०३ जनाले दुवै मात्राको खोप लगाईसकेका छन् ।

  • बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, थप १४ जनाको मृत्यु

    बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, थप १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३६५ जना कोभिड बिरामी थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ (९५५५ पीसीआर र ४६८७ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबार थप १४ जनाको मृत्यु भएको छ । १३७३ जना डिस्चार्ज भएका छन् ।

    कूल संक्रमित संख्या ६ लाख ९० हजार छ । कूल मृत्यु ९८०७ छ । कूल निको हुने संख्या ६ लाख ५० हजार छ ।

  • भोलिदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने

    भोलिदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने

    काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ ।

    काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

    जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

    ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप लगाइने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

  • बुधबार ३८ सय कोभिड संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

    बुधबार ३८ सय कोभिड संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३८४० जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना (१० हजार ८८६ पीसीआर र ४९२२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार थप ३३ जनाको मृत्यु भएको छ । आज संक्रमण पुष्टि हुने दर २४.२ प्रतिशत रहेको मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय संक्रमण पुष्टि हुने दर बढिरहेको छ ।’

    पछिल्लो २४ घण्टामा १९९३ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जना संक्रमित थपिएका छन् ।

    गण्डकी प्रदेशमा सबैभन्दा बढी ६२ प्रतिशत संक्रमित भएका छन् । गण्डकीमा ३ जनामा परीक्षण गर्दा दुईजनामा संक्रमण भेटिएको छ । प्रदेश १ मा २७.५ प्रतिशत संक्रमण दर रहेको छ ।

    आज सक्रिय संक्रमित संख्या २९ हजार ८४४ रहेको छ ।

     

  • कस्तो अवस्थामा जोन्सन खोप लगाउने वा नलगाउने, सरकारले सार्वजनिक गर्‍यो गाइडलाइन

    कस्तो अवस्थामा जोन्सन खोप लगाउने वा नलगाउने, सरकारले सार्वजनिक गर्‍यो गाइडलाइन

    काठमाडौं । जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन भैरहँदा सामाजिक संजालमा यसको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि सरकारले प्रयोग तथा संचालन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । जसमा कुन परिस्थितीमा खोप लगाउन मिल्ने र नमिल्ने तथा विशेष निगरानीमा कसरी खोप लगाउने प्रावधान उल्लेख गरिएको छ । हेर्नूस मार्गदर्शन :

    कस्तो अवस्थामा खोप लगाउने ?

    -१८ वर्षमाथिका सबै उमेर समूह
    -स्तनपान गराइरहेका महिला
    -विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार गर्भवती महिला
    -३५ वर्ष उमेर वा सो भन्दा माथिका गर्भवती महिला
    -अत्यधिक तौल भएका महिला गर्भवती भएमा
    -गर्भावस्थाका जटिलताहरु भएका अवस्थामा जस्तै प्रि इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह
    -कोभिड-१९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्तिहरु।

    कस्तो बेलामा खोप नलगाउने ?
    -पहिला अन्य कुनै पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया (सिरियस एलर्जीक रियाक्सन) वा एनाफाइलेक्सि भएका व्यक्ति
    -यो खोपको कुनै पनि तत्व जस्तै साइट्रिक एसिड मोनोहाइड्रेट, ट्रिसोडिएम साइट्रेट डिहाइड्रेट, इथानोल, सोडिएम क्लोराइड, सोडिएम हाइड्रोक्साइड, हाइड्रोक्लोरिक एसिड आदीबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका व्यक्ति
    -१८ वर्षभन्दा कम उमेरका व्यक्ति।
    -पहिला अन्य कुनै पनि कोभिड-१९ को खोप लगाइसकेका व्यक्ति
    -कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ।
    -प्यासिभ एन्टिबडी थेरापी जस्तै मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।
    -हाल कोभिड–१९ संक्रमण भएको व्यक्ति। तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ।

    विशेष निगरानीमा खोप दिन सकिने अवस्था :
    रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधि लिई राख्नु भएको व्यक्तिलाइ विषेश निगरानी वा परामर्श जरुरी हुन्छ।

  • भाइरल ज्वरोको बिरामी बढे, भरिन थाल्याे अस्पतालकाे बेड

    भाइरल ज्वरोको बिरामी बढे, भरिन थाल्याे अस्पतालकाे बेड

    महोत्तरी । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको हो ।

    उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

    केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय-समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा. साहले बताए ।

    उनले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए ।

    यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा साहले सबैलाई आग्रह गरे ।

  • नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, थप सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह

    नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, थप सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।

    पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।

    भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले जनाएको छ ।

    भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न पनि आग्रह गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको रुपमा अल्फा र डेल्टालाई राखेको छ भने भेरिएन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पालाई राखेको छ । भेरिएन्ट अफ कन्सर्नलाई संक्रामक भाइरस मानिन्छ ।

  • आधारभूत अस्पतालको डीपीआर तयार गर्न स्थानीय निकायलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    आधारभूत अस्पतालको डीपीआर तयार गर्न स्थानीय निकायलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गर्दै आधारभूत अस्पताल निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन (डीपीआर) तयार गर्न स्थानिय तहलाई आग्रह गरेको छ ।

    आज बसेको सचिवस्तरीय बैठकले आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गर्न आग्रह गरेको हो । मन्त्रालयले सुचना जारी गर्दै आर्थिक वर्ष ०७७र७८ मा ३९६ वटा अस्पताल निर्माणको थालनी गर्न आह्वान गरेको छ ।

    सुचनामा आव २०७८र०७९ मा बाँकि २५९ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गाको सुनिश्चितता गरी सो अनुसार डीपीआर तयार गरी पेश गरिएका स्थानीय तहलाई बजेटको व्यवस्था गरिने जानकारी दिएको हो ।

  • मंगलबार ३९ सय संक्रमित थपिए, २० जनाको मृत्यु

    मंगलबार ३९ सय संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३८९९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ (१२६५५ पीसीआर र ४८६३ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार थप २० जनाको कोभिड संक्रमण मृत्यु भएको छ । १७७८ जना डिस्चार्ज भएका छन् ।

    मंगलबारको संक्रमण दर २२.२५ प्रतिशत छ । सक्रिय संक्रमण दर वृद्धि भएर ४.२१ प्रतिशत पुगेको छ । मृत्युदर पनि बढेर १.४२ प्रतिशत पुगेको छ ।

    काठमाडौंमा ४७५, ललितपुरमा १६७, भक्तपुरमा १३२, कास्कीमा २७८, चितवनमा १९३, सुनसरी १८९, मोरङमा २४९, झापामा २६१ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ६ लाख ८५ हजार, कूल मृत्यु ९७५८ जना रहेको छ । १४ लाख ५७ हजारले पूर्ण डोज खोप लगाएका छन् ।

  • नर्भिकले प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिने

    नर्भिकले प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिने

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिवारदेखि नै यो अभियानको थालनी हुनेछ ।

    प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने भएको छ ।

    प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् ।

    नर्भिक अस्पतालले आगामी शनिवारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा संचालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपिडी सेवा लिनसक्नेछन् ।

  • बालबालिकालाई खोप लगाउन सरकारले फाइजरसँग ६० लाख डोज खरिद गर्ने

    बालबालिकालाई खोप लगाउन सरकारले फाइजरसँग ६० लाख डोज खरिद गर्ने

    काठमाडौं । १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ ।

    अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ । उक्त उमेर समूहका ५० लाख जनसंख्यालाई लक्षित गर्दै फाइजर खोप खरिद गर्न लागिएको हो ।

    स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार बालबालिकाका लागि आवश्यक १ करोड डोजमध्ये थप ४० लाख कोभ्याक्स संयन्त्रमार्फत ल्याइने भएको छ । ‘६० लाख डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता भैसक्यो’ अर्यालले भने ।

    आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ । फाइजरका लागि खोप खरिद गर्न आवश्यक रकम प्रबन्ध गर्न विश्व बैंकसँग ऋण सम्झौताको तयारी भएको उनले जनाए ।

  • विदेशबाट डिपोर्ट भएकाको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने

    विदेशबाट डिपोर्ट भएकाको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने

    काठमाडौं । सरकारले विदेशबाट डिपोर्ट भएका नागरिकको क्वारेन्टिन खर्च व्योहोर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खर्च आफूले व्योहोर्ने निर्णय गरेको हो ।

    खर्चको आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    डिपोर्ट भएका, खर्च सकिएर फर्किएका नागरिकको क्वारेन्टिन खर्च सरकारले व्योहोर्ने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • कम्तीमा हजार थान अक्सिजन सिलिन्डर मौज्दातमा राख्न सातवटै प्रदेशलाई निर्देशन

    कम्तीमा हजार थान अक्सिजन सिलिन्डर मौज्दातमा राख्न सातवटै प्रदेशलाई निर्देशन

    काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै कम्तीमा एक हजार थान अक्सिजन भरिएका सिलिन्डर मौज्दातमा राख्न मन्त्रालयले सातवटै प्रदेशलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले सोमबार प्रदेश नं १, प्रदेश नं २ ,वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई परिपत्र गर्दै भाइरसको तेस्रो लहर आउन सक्ने हुनाले स्वास्थ्य पूर्वाधार र उपकरण तयारि अवस्थामा राख्न निर्देशन दिएको हो ।

    मौजुदा सिलिन्डरहरु पनि खालि नराख्न र अक्सिजन कन्सन्ट्रेटर चालु तथा चुस्त अवस्थामा राख्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले असोज १५ गतेदेखि भाइरसको तेस्रो लहर आउन सक्ने प्रक्षेपण पनि गरेको छ ।

  • कोभिड संक्रमणबाट सोमबार २५ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

    कोभिड संक्रमणबाट सोमबार २५ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४२१ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ७२७ नमुना (१२२४० पीसीआर र ५०३२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबार थप २५ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधीमा १६८६ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा सोमबार ९९९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६७७, झापामा ३१४, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका छन् ।

    काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या ८००९ छ । सक्रिय संक्रमण दर ४.०९ प्रतिशत छ र मृत्युदर १.४३ प्रतिशत छ । सोमबारको संक्रमण दर १९.८० प्रतिशत छ ।

    कूल संक्रमित संख्या ६ लाख ८२ हजार ९४७, कूल मृत्यु ९७३८ रहेको छ । ११ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

  • स्वास्थ्य राज्यमन्त्रीको स्पष्टीकरण : मैले संचालन गरेका अस्पताल गैरनाफामूलक हुन्

    स्वास्थ्य राज्यमन्त्रीको स्पष्टीकरण : मैले संचालन गरेका अस्पताल गैरनाफामूलक हुन्

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले संचालन गरेका अस्पतालहरु गैरनाफामूलक भएको दाबी गरेका छन् । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्पष्टीकरण दिँदै उनले आफूले संचालन गरेका अस्पताल गैरनाफामूलक भएको बताए ।

    आफूलाई निजी अस्पतालका संचालक भएको भन्दै आलोचना गरेका विषयमा समितिले उनलाई प्रश्न गरेको थियो । ‘नाफा नलिने सर्तमा मैले सेवा संचालन गरेको हुँ । सरकारको स्रोत साधनले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवामूलक अस्पताल संचालन गरेका हौं’ उनले भने ।

    विशुद्ध सेवामूलक भावले अस्पताल संचालन गर्न खोजिएको उनको भनाई थियो । सरकारी अस्पतालमै जस्तै सस्तो दरमा उपचार तथा पीसीआर परीक्षण गर्ने गरी अस्पताल संचालन गर्न लागेको उनले बताए ।

    आफू विगत ८ वर्षदेखि स्वास्थ्य तथा शिक्षा समितिमा आबद्ध रहेकाले पनि स्वास्थ्य क्षेत्रको समस्याबारे आफूलाई अवगत रहेको उनको भनाई छ । स्वास्थ्य सेवा प्रदान गर्नुु राज्यको दायित्व भएको समेत उनले बताए । कोरोना संक्रमितको उपचार चुस्त बनाउन आफूले प्राथमिकताका साथ काम गर्ने उनको भनाई छ । गम्भीर भएर अस्पताल अक्सिजन र पूर्वाधार व्यवस्थापनमा ध्यान दिने उनको भनाई छ ।

  • विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौंमा दुईवटा खोप केन्द्र तोकियो

    विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौंमा दुईवटा खोप केन्द्र तोकियो

    काठमाडौं । विदेश जाने श्रमिक र विद्यार्थीको लागि काठमाडौं उपत्यकास्थित दुईवटा केन्द्रबाट कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने भएको छ । नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जनाएका छन् ।

    उनले विदेश जाने श्रमिक र विद्यार्थीले खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने जानकारी दिए । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ । स्थायी खोप केन्द्रको रुपमा रहेको काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरमा गएर सरकारले तोकेअनुसार लक्षित समूहले खोप लगाउन सक्नेछन् ।

  • असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

    असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन् ।

    आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने समेत उनले जानकारी दिए । सो अवसरमा उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

    हालको स्थिर अवस्थालाई हेर्दा पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम छ । संक्रमितमध्ये २८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

  • पाँच महीनामा २ लाख संक्रमित थपिने, असोजभित्र १ करोड डोज खोप आइपुग्ने

    पाँच महीनामा २ लाख संक्रमित थपिने, असोजभित्र १ करोड डोज खोप आइपुग्ने

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी पाँच महीनामा झन्डै दुईलाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने जानकारी दिए ।

    खोपको सुनिश्चितता हुने भएकाले खोप अभाव नहुने उनको भनाई थियो । असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार डोज खोपको सुनिश्चितता भएको उनको जानकारी छ ।

    भदौ पहिलो साता जापानबाट १६ लाख डोज अस्ट्राजेनेका र भदौ चौंथो साता कोभ्याक्स सुविधाबाट थप १ करोड ५ लाख ४८ हजार खोप आउने निश्चित भएको उनको भनाई थियो ।

    साउन अन्तिमसम्म अनुदानबाट थप १६ लाख खोप आउने, भदौ दोस्रो सातासम्म भारतबाट १० लाख डोज कोभिसिल्ड आइपुग्ने र चीनबाट भेरोसेल ६० लाख डोज आउने उनले जानकारी दिए ।

  • किन आन्दोलनमा उत्रिए काठमाडौं मेडिकल कलेजका कर्मचारी ?

    किन आन्दोलनमा उत्रिए काठमाडौं मेडिकल कलेजका कर्मचारी ?

    काठमाडौं । काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले श्रेष्ठलाई कलेज भित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका छन् ।

    काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु त्यसको विरुद्धमा आन्दोलित भएका हुन् ।

    अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन् । उनीहरुले कर्मचारी बि–नियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन् ।

    अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालाको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् ।

  • उपत्यकामा थपिए ६२४ संक्रमित, सक्रिय संक्रमित ७ हजार बढी

    उपत्यकामा थपिए ६२४ संक्रमित, सक्रिय संक्रमित ७ हजार बढी

    काठमाडौ । उपत्यकामा आइतबार ६२४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ संक्रमित थपिएका छन् ।

    काठमाडौं उपत्यकामा ७,६१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
    नेपालमा मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी, कास्की र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् ।

    कोभिड– १९ तिब्र गतिमा फैलिरहेको हँदा काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिँदै १० दिनका लागि थप गरिएको छ ।

  • आइतबार २२ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    आइतबार २२ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । १३ हजार ९३४ नमुना (१०,५६९ पीसीआर र ३,२६५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन् भने २०५० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    मुलुकभर अहिले सम्म मृत्यु हुनेको संख्या ९,७१३ रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ रहेको छ भने ६ लाख ४२ हजार ६१५ जना निको भएका छन् ।

    नेपालमा कोभिड-१९ विरुद्धको पहिलो मात्राको खोप ३३ लाख ८३ हजार ०३ जनाले लगाइसकेका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या १३ लाख ९८ हजार १७८ जनाले लगाएको तथ्यांकमा उल्लेख छ ।

     

  • उद्योगी-व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

    उद्योगी-व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो ।

    महासंघको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रतिशत मिनाहा गर्न र व्यवसाय तथा उद्योगलाई टिकाइ राख्न सहुलियत दरमा विनाधितो ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्न मागसमेत गरेको छ । कोटेश्वर व्यापार संघका पूर्वअध्यक्ष एवं महासंघका उपाध्यक्ष सरोज थापाले सरकार र निजी क्षेत्रको सहकार्यका लागि समन्वय समिति गठन गर्न आग्रह गरिएको बताए ।

    महासंघले उद्योगी व्यवसायीलाई सहज तरिकाले पुर्नकर्जा उपलब्ध गराउनुपर्ने, आगामी दुई वर्षका लागि कोभिड–१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ब्याजदरमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले गर्ने लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाइनुपर्ने बताएको छ ।

    प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन पुगेको सो टोलीले सबै किसिमका आर्थिक क्रियाकलाप अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्नसमेत आग्रह गरेको छ । रासस

  • अनलाइन दर्ता गरेकाले काठमाडौंमा कोरोनाको खोप लगाउन पाउने

    अनलाइन दर्ता गरेकाले काठमाडौंमा कोरोनाको खोप लगाउन पाउने

    काठमाडौं । अनलाइनमा नाम दर्ता गरेकाले अब काठमाडौंमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूह (१८ बर्षसम्म)का लाई अनलाइन दर्ता नम्बर लिएर खोप लगाउन पाउने जनाएको छ ।

    मन्त्रालयले खोप लगाउन छुटेकालाई आफ्नो नाम स्वास्थ्य मन्त्रालयको वेवसाइटमा गई दर्ता गराउन र सो दर्ता भएको प्रमाण लिइ खोप केन्द्रमा खोप लाउन जान आग्रह गरेको छ । चीनबाट ल्याइएको खोप केहीदिनपछि लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो सात गतेसम्म सरकारले जोन्सन एन्ड जोन्सन खोप अभियान चलाएको थियो । चीनबाट भेरोसेल आइरहेकाले खोप अभियानलाई निरन्तरता दिने सरकारको तयारी छ ।

  • शनिबार ३१ सय कोभिड बिरामी थपिए, १६ जनाको मृत्यु

    शनिबार ३१ सय कोभिड बिरामी थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा शनिबार ६१५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४२१, कास्कीमा २७१, मोरङमा १६४, ललितपुरमा १०८ र चितवनमा २४८ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ६ लाख ७९ हजार १७, कूल मृत्यु संख्या ९६९५ र कूल निको हुने संख्या ६ लाख ४१ हजार पुगेको छ ।

    १३ लाख ६६ हजारले आजसम्म पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख ७७ हजारले पहिलो डोज लगाएका छन् ।

  • विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोनाभाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोनाभाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    शुक्रबार २९ सय संक्रमित थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,९७७ जना कोभिड बिरामी थपिएका छन् । १७ हजार ३०८ नमुना (१३ हजार ६९८ पीसीआर र ३,६१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार कोभिडको कारण थप १८ जनाको मृत्यु भएको छ । १,६७८ जना निको भएका छन् । कूल परीक्षणको झन्डै १७ प्रतिशतमा आज संक्रमण पुष्टि भएको छ ।

    नेपालमा कुल संक्रमित संख्या ७ लाख ३० हजार नाघेको छ भने मृतक संख्या ९,६७९ पुगेको छ ।

    आजसम्म सक्रिय संक्रमित संख्या २७ हजार ६ सय पुगेको छ । शुक्रबार काठमाडौंमा ४१० जना, ३०१ जना झापामा र १८६ जना चितवनमा संक्रमित फेला परेका छन् ।