Category: स्वास्थ्य-जीवनशैली

  • विश्वभर पुनः बढ्यो कोरोनाभाइरस संक्रमण : कतै तेस्रो, कतै चौथो लहरको त्रास

    विश्वभर पुनः बढ्यो कोरोनाभाइरस संक्रमण : कतै तेस्रो, कतै चौथो लहरको त्रास

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्वको जनसंख्याको २.५ प्रतिशतभन्दा बढी हो ।

    जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आँकलन शुरुमा गरिएको थियो । पहिलो वेभकै समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन् । तर परिस्थिति त्यस्तो रहेन । अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ । अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन् । केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन् ।

    यसरी पछिल्ला केही महिनामा फेरि बढ्दोरुपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ । विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन् । जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ । त्यस्तै होटल, एयरलाइन्स तथा अरु पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ । विश्वका मानिस पर्यटकका रुपमा घर बाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने ने भयो ।

    अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो । हाल विश्वको जनसंख्या सात अर्ब ८७ करोडभन्दा बढी छ । चार अर्ब १५ करोड आठ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अरु बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ । खोपको समानुपातिक वितरण हुनसकेको छैन । यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतैका नागरिकले पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खिबसेका छन् । यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन् ।

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २०२ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ । यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन र एकपछि अर्कोगरी विभिन्न भेरिएन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ । यस्तो अवस्थामा कुनै एक या दुई देशमात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन्भन्दा झन् अन्यौलमा पर्दैछ ।

    विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा महामारीलाई इतिहासकै गम्भीर माहामारीको रुपमा लिइएको छ । यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण पाँच करोड व्यक्तिको मृत्यु भएको थियो । सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो । यस फ्लुले अमेरिकामा मात्र छ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । सन् १९१८ मा शुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो । यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन । सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो ।

    यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी शुरु भएको थियो । स्वाइन फ्लु सन् २००९ जनवरीबाट शुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो । यस फ्लुको शुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो । यस फ्लुबाट चार लाख ९१ हजार सङ्क्रमण पुष्टि भएको थियो भने दुई लाख ८४ हजारको मृत्यु भएको थियो । सन् १६६५ मा द ग्रेट प्लेग माहामारी शुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको शुरुवात संयुक्त अधिराज्य लण्डनबाट शुरु भएको थियो । यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो ।

    त्यसैगरी पश्चिम अफ्रिकी देशमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी शुरु भएको थियो । यस भाइरसको शुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो । यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो ।

    जोन्स हप्किन्स विश्वविद्यालयले अगस्त ३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यहाँ ग्राफिक्समा प्रस्तुत गरिएको छ । यो तथ्याङ्क नेपाली समयानुसार मंगलबार बिहान १०ः३० बजेको हो ।

    बिभिन्न अध्ययनले हाल विश्वमा कोभिड-१९ विरुद्ध खोप लगाएका व्यक्तिको मृत्यु दर कम भएको देखाएको छ । एक डोज मात्र खोप लगाएका व्यक्ति पनि खोप नलगाएका व्यक्तिको तुलनामा मृत्युको मुखबाट बचेका छन् । हाल विश्वका चार अर्ब १५ करोड आठ लाख १५ हजार ७१६ डोज खोप लगाइएको छ । विश्वमा कोरोना प्रभावित दश देशले कतिकति डोप खोप लगाएका दश देशको तथ्याङ् हेर्दा सबैभन्दा माथि चीन नै देखिन्छ । चीनले अहिलेसम्म एक अर्व ६८ करोड ८६ लाख ८३ हजार डोज खोप लगाएको देखिएको छ ।

    त्यसैगरी भारतले ४८ करोड ५२ लाख ८६ हजार ८६ डोज, अमेरिकाले ३४ करोड ६१ लाख ९१ हजार ११७ डोज, ब्राजिल १३ करोड ५८ लाख तीन हजार ३३० डोज, जर्मनी नौ करोड २७ लाख ६६८ हजार ७८७ डोज, बेलायत आठ करोड ६० लाख ६२ हजार १३५ डोज, जापान आठ करोड ९१ लाख ११ हजार ९८९ डोज, फ्रान्स सात करोड ४८ लाख ५४ हजार ८३४ डोज, टर्की सात करोड ४० लाख ८९ हजार ८३४ डोज र इटालीले छ करोड ९६ लाख ६३ हजार २४३ डोज कोरोनाविरुद्ध खोप लगाएका छन् । रासस

  • भुटानले दिने ३ लाख डोज कोभिसिल्ड खोप शनिबार काठमाडौं आइपुग्ने

    भुटानले दिने ३ लाख डोज कोभिसिल्ड खोप शनिबार काठमाडौं आइपुग्ने

    काठमाडौं । भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका (कोभिसिल्ड) खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ ।

    चार्टर्ड फ्लाइटबाट सो परिमाणको खोप आउन लागेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।

    मुलुकका १६ लाख ज्येष्ठ नागरिक कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाइमा छन् । भुटानबाट आउन लागेको उक्त खोपको म्याद ग्रुजने मिति नजिकै भएकाले कुनै ढिलाइ बिना लगाउने तयारी भैरहेको जनाइएको छ ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यसअघि भुटानबाट आउने खोप १७ दिनभित्र लगाइसकिने बताएका थिए । जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै आउने जानकारी काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

     

  • बुधबार ४१ सय कोभिड बिरामी थपिए, थप ३५ जनाको मृत्यु

    बुधबार ४१ सय कोभिड बिरामी थपिए, थप ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४१०७ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता डा. समीर अधिकारीले सो जानकारी दिएका हुन् ।

    १६ हजार २९८ कूल नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित संख्या बढेर ३३ हजार ४६४ पुगेको छ । १५३५ जना डिस्चार्ज भएका छन् ।

    काठमाडौं उपत्यकामा १२७९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका छन् ।

    बुधबार थप ३५ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमित हुनेको दर आज २६.२ प्रतिशत छ । सबैभन्दा धेरै संक्रमण दर कर्णाली प्रदेशमा ५७.३ प्रतिशत, गण्डकीमा ४४ र प्रदेश १ मा ३२ प्रतिशत छन् ।

  • शनिवार नर्भिकमा यूरोसर्जनबाट निःशुल्क ओपिडी सेवा संचालन हुने

    शनिवार नर्भिकमा यूरोसर्जनबाट निःशुल्क ओपिडी सेवा संचालन हुने

    काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपिडी अभियान संचालन हुने भएको छ । वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् ।

    प्रोस्टेट ठूलो भएका, मिर्गौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठबाट फ्रि ओपिडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।

    अस्पतालले गत सातादेखि हरेक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिवार डाक्टरद्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

    प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

    पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

    भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

    दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।

  • खोप प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाट पाइने

    खोप प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाट पाइने

    काठमाडौं । अबदेखि कोरोनाभाइरस विरुद्ध लगाइएको खोपको प्रमाणपत्र ७७ वटै जिल्ला अस्पतालबाट पाइने भएको छ ।

    स्वास्थ्य सेवा विभागले बुधबार सबै जिल्ला अस्पताललाई परिपत्र गर्दै खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको हो ।

    विदेश जाने श्रमिक तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

  • बीपी प्रतिष्ठानको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

    बीपी प्रतिष्ठानको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

    काठमाडौं । संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन स्थगित भएको छ ।

    सहमतिसँगै आजदेखि गर्ने भनिएको सबै आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकारी वार्ता टोलीका संयोजक डा. कृष्णप्रसाद पौडेलका अनुसार सहमतिपछि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

    यसअघि प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संघर्ष समितिले माग पुरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

    सहमति अनुसार मंगलबार बुझाइएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा तोक्ने, चारैजना पदाधिकारीलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कायम गर्ने लगायत छन् ।

    हेर्नूस सूची :

  • मंगलबार ३३ सय कोभिड संक्रमित थपिए, २४ जनाको मृत्यु

    मंगलबार ३३ सय कोभिड संक्रमित थपिए, २४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३८३ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ नमुना (६०८० पीसीआर र १० हजार ६३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    मंगलबार थप २४ जनाको मृत्यु भएको छ । १९९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३२ हजार ५९ छ ।

    काठमाडौं उपत्यकामा ९०४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख २ हजार ९७, कूल मृत्यु ९९२२ र कूल निको हुने संख्या ६ लाख ६० हजार छ ।

  • खोप केन्द्रमै कोभिड संक्रमणकाे जाेखिम

    खोप केन्द्रमै कोभिड संक्रमणकाे जाेखिम

    काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन ।

    राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेको छ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ ।

    काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् ।

    अर्कोतर्फ नागरिकले आफुहरुले खोप लगाउन नपाएको पनि बताएका छन् । थापाथलीस्थित प्रसुतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफुहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफुलाई बिहानभरी लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताए ।

    सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको उनको भनाई छ । खोपहुँचवालाले खोप लगाउन नपाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उनले सरकारसँग माग गरे ।

     

  • मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको खोप

    मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको खोप

    चामे । हिमालपारीको जिल्लाहरु मनाङ र मुस्ताङमा सम्पूर्ण योग्य नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । योसँगै मनाङ र मुस्ताङ आफ्ना जनसंख्यालाई शतप्रतिशत खोप लगाउने मुलुककै पहिलो जिल्ला बनेका छन् ।

    ती दुई जिल्लामा माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार त्यहाँ १८ वर्ष भन्दा माथिका ४,१९८ जनाले खोप लगाएका छन् ।

    जसमा कोभिसिल्ड २,०९६ जना, भेरोसेल ७५ जना र जोन्सन एन्ड जोन्सन २,०२७ जनाले लगाएका छन् । खोप लगाउन योग्य रहेका बाँकी नागरिक जिल्ला बाहिर रहेकाले लगाउन नसकिएको आचार्यले बताए ।

    यस्तै, मुस्ताङमा ९ हजार ५०८ जना नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा जोन्सन एण्ड जोन्सन ६ हजार ७१५ जना र भेरोसेल खोपको पहिलो र दोश्रो डोज ३ सय ३२ जनाले लगाएका छन् भने पहिलो चरण र दोस्रो चरणको खोप २ हजार ४७२ जनाले लगाएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जिल्लाका शतप्रतिशत नागरिकले खोप लगाइसकेको जानकारी दिए ।

  • जागेश्वरको प्रष्टोक्ति- शान्ति सुरक्षा कायम गर्न प्रहरीको सहयोग लिनुपर्‍यो

    जागेश्वरको प्रष्टोक्ति- शान्ति सुरक्षा कायम गर्न प्रहरीको सहयोग लिनुपर्‍यो

    काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमले आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीसँग आउँदा दिनमा सौहार्दपूर्ण वातावरणमा छलफल गर्न सकिने बताएका छन् ।

    समस्या समाधान गर्न दुई पक्षबीच छलफल भइरहेको बेला कर्मचारीले आन्दोलन गरेपछि प्रहरी प्रशासनको सहयोग लिनुपरेको उनको भनाइ छ । मंगलबार विज्ञप्तिमार्फत गौतमले समाधानका लागि निचोडमा पुग्ने क्रममा रहेको बेला कर्मचारीहरू आन्दोलित भएपछि शान्ति सुरक्षा कायम गर्न लागि प्रहरी प्रशासनको सहयोग लिनुपरेको जिकिर गरेका छन् ।

    प्रहरीको सहयोग लिँदा व्यवस्थापन र कर्मचारीबीच वैमनस्यताको वातावरण सिर्जना भएको भन्दै दु:ख व्यक्त गरे ।

    गौतमले लेखेका छन्,‘ समस्या समाधानको क्रममा व्यवस्थापन पक्ष र कर्मचारी वर्गबीच समय समयमा छलफल भई निचोडमा पुग्ने क्रममा मिति २०७८।४।१७ आइतबारका दिनको छलफलमा केही कर्मचारी साथीहरुले ठेलम ठेल गरी असहज परिस्थितिको सृजना भई शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी प्रशासनको सहयोग लिनु परेको अवस्थाले गर्दा व्यवस्थापन र कर्मचारीबीच वैमनस्यताको वातावरण सृजना भएकोमा अस्पताल प्रशासन दुःख प्रकट गर्दै आगामी दिनमा सवै प्रकारका समस्यहरुको समाधान सौहार्दपूर्ण वातावरणमा आपसी छलफल र संवादवाट गर्न सकिने व्यहोरा अनुरोध गरिन्छ।’

    अस्पतालमा आम्दानी घटेकाले कर्मचारीहरूले विगतमा खाइपाइ आएको सेवा सुविधा प्रदान गर्न असहज भएको उनको दावी छ ।

  • साउन २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

    साउन २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

    काठमाडौं । आगामी साउन २२ गते कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएर तीन साता पुरा भएकालाई दोस्रो डोज दिइने भएको हो ।

    १ लाख ६५ हजार जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन विद्युतीय दर्ता नम्बर र खोप कार्ड लिएर जानुपर्ने जनाइएको छ ।

  • ‘सिजनल फ्लु’ का बिरामी बढे, कसरी बच्ने ?

    ‘सिजनल फ्लु’ का बिरामी बढे, कसरी बच्ने ?

    चिवतव । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको संख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

    कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताए ।

    उनका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् ।

    एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उनले जानकारी दिए । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ ।

    यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उनले आग्रह गरे।

    सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ ।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको सङ्ख्या बढ्दै गएको उनले बताए । उनले भने, ‘ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।’

    अस्पताल आउने बिरामीहरु शय्या खाली नभएर भौँतारिएको उनले जानकारी दिए । अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको चाप बढ्दै गएको उनको भनाइ छ ।

  • प्रधानमन्त्रीको मौखिक आदेशपछि रोकियो जागेश्वर गौतमको सरुवा

    प्रधानमन्त्रीको मौखिक आदेशपछि रोकियो जागेश्वर गौतमको सरुवा

    काठमाडौं । कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमा रोकिएको छ ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रसूति अस्पतालमा सरुवा गरी उनको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए ।

    तर,  प्रधानमन्त्रीको निर्देशनमा तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनिएपछि सरुवा सम्बन्धी पत्र तयार नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

  • सोमबार काठमाडौं उपत्यकामा ७७० संक्रमित थपिए, ८८ सय सक्रिय संक्रमित

    सोमबार काठमाडौं उपत्यकामा ७७० संक्रमित थपिए, ८८ सय सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७० जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५५६ भक्तपुरमा ९९ र ललितपुरमा ११५ जन छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ८ हजार ८९५ जना रहेको जनाएको छ । जसमा काठमाडौंमा ६२०४, भक्तपुरमा ११४५ र ललितपुरमा १५४६ जना रहेका छन् ।

    अहिलेसम्म १४ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • वीर अस्पतालको प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त

    वीर अस्पतालको प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त

    काठमाडौं । कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै मरासिनीलाई वीर अस्पतालको प्रमुखमा नियुक्त गरेको हो । उनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत थिए ।

    उनी वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ रहेको जनाइएको छ ।

    अहिले उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए । सरकारले सोमबार मात्रै वीर अस्पतालका प्रमुख डा. जागेश्वर गौतमलाई हटाएर थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको थियो ।

    मरासिनीले मंगलबारदेखि नै कार्यभार सुरु गर्ने जनाइएको छ ।

  • सोमबार ३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    सोमबार ३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८११ नमुना (३१९८ एन्टिजेन र १०६१३ पीसीआर)परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबार थप २३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् भने १९ सय २५ जना डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ जना रहेको छ ।

    गत २४ घण्टामा कोरोनाभाइरस विरुद्धको खोप १ लाख ८१ हजार २५ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

  • कक्षा १२ सहित विश्वविद्यालयका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    कक्षा १२ सहित विश्वविद्यालयका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    काठमाडौँ । कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् ।

    परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो आग्रह गरेका हुन् । ‘हामीले शिक्षा मन्त्रालयलाई औपचारिक जानकारी गराउने तयारी गरेका छौं’ उनले भने ।

    कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ । यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

    त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न सुझाव दिएपछि परीक्षा स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।

  • वीर अस्पतालको प्रमुखबाट जागेश्वर गौतम हटाइए, प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा

    वीर अस्पतालको प्रमुखबाट जागेश्वर गौतम हटाइए, प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा

    काठमाडौं ।  पछिल्लो समय लगातार विवादमा मुछिएपछि सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै गौतमलाई हटाएको हो।

    वीरको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका मुछिएका थिए । कर्मचारीले मागका विषयमा छलफल गर्न लागेको बेला पनि उनले प्रहरी प्रशासन लगाएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटाएको आरोप पनि छ ।

    गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। गौतमलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको जनाइएको छ ।

  • वाग्मती प्रदेशका ८ अस्पतालमा अक्सिजन प्लान्ट जडानको तयारी

    वाग्मती प्रदेशका ८ अस्पतालमा अक्सिजन प्लान्ट जडानको तयारी

    काठमाडौं । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ ।

    यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेशको बाँकी ८ वटा जिल्ला अस्पताललाई वृहत अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान भई करीब पाँच करोड ५० लाख प्रदेश सरकारको लगानीमा मेसिन खरीद गरी ल्याउने काम भइरहेको र केही दिनभित्रै सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने तयारी भइरहेको वाग्मती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका प्रमुख डा. वसन्त अधिकारीले बताए ।

    प्रदेशको धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा, ललितपुर, काठमाडौँ र चितवन जिल्लाका सरकारी स्वामित्वमा रहेका अस्पतालमा कोभिड संक्रमण रोगीका उपचार कार्यलाई सहजीकरण गर्न अक्सिजन प्लान्ट, पीसीआर प्रयोगशाला, सघन उपचार कक्ष र भेन्टिलेटर उपकरण उपलब्ध गराउन प्रदेश सरकारले बजेट विनियोजित गरी बोलपत्रको माध्यमबाट उपकरण जडान गर्ने कार्यको लागि आवश्यक तयारी भइसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाइँले बताए ।

    उनले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका सबै अस्पतालमा कोभिड महामारीको सङ्कट फैलन सक्ने सम्भाव्यतालाई अध्ययन गरी प्रत्येक अस्पतालमा अक्सिजन सिलिण्डरको जर्गेना गर्ने, आवश्यकीय दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी उपलब्ध गराइसकिएको तथा थप गर्नुपरेमा प्रदेश स्वास्थ्य निर्देशनालयको चिकित्सकको टोली अनुगमन गरी आएको सिफारिस अनुसार दरबन्दी उपलब्ध भएको पनि जानकारी दिए ।

  • वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

    वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जागेश्वर गौतमलाई प्रवेश निषेध (तस्बिरहरू)

    काठमाडौं । ९ महिनादेखि सेवा सुविधा नपाएको गुनासोसहित वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीमा खटिएवापत सरकारले तोकेको भत्ता र नियमानुसारको अन्य सुविधाबाट आफूहरू वञ्चित भएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

    माग पूरा गराउन पटकपटक अनुरोध गर्दा पनि प्रमुख डा. जागेश्वर गौतमले बेवास्ता गरेपछि आफूहरू थप पीडित बनेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले बताए । आफूहरूको आन्दोलन दबाउन प्रहरी लगाइएको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका छन् । गौतमलाई अस्पताल प्रवेशमा रोक लगाएको आचार्यले बताए । उनका अनुसार प्रहरीको कुटाइबाट ३ नर्ससहित ५ जना घाइते भएका छन् ।

    ‘मंसिरदेखि भत्ता पाएका छैनौं । खाइपाइ आएको सुविधा पनि अहिले स्थगित गरिएको छ । मन्त्रालयबाट जागेश्वर आउनासाथ हौसिएका थियौं । हामीले कुरा गर्दा असार मसान्तसम्म बाँकी बक्यौता दिने आश्वासन पायौं’, अध्यक्ष आचार्यले भने, ‘तर साउन अन्तिम पुग्न लाग्दा पनि अघिल्लो आर्थिक वर्षको पैसा दिइएको छैन ।’

    गौतमले पैसा दिन सक्दैनौं भनेको । आफ्ना कर्मचारीको रोजीरोटीमा समेत धक्का लाग्ने गरी अस्पताल प्रशासनले अन्याय गरेको भन्दै आचार्यले आफ्ना कर्मचारी कुटाउने हाकिम हुन सक्दैनन् भनेर अस्पतालमा छिर्न नदिइएको प्रष्ट्याए ।

    तस्बिरहरू : उमेश कार्की/सरोज बैजु

  • कोरोना महामारी रोकथामका लागि सरकारद्वारा २३ बुँदे कार्ययोजना सार्वजनिक (सूचीसहित)

    कोरोना महामारी रोकथामका लागि सरकारद्वारा २३ बुँदे कार्ययोजना सार्वजनिक (सूचीसहित)

    काठमाडौं । सरकारले कोभिड-१९ महामारीविरुद्ध लड्नको लागि २३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री उमेश श्रेष्ठले कार्ययोजना सार्वजनिक गरे ।

    राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने उल्लेख छ ।

    कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकलाई आगामी १७ दिनभित्र दोस्रो डोज दिइने समेत राज्यमन्त्रीले जनाएका छन् । फाइजर, मोर्डना, जोन्सन र अस्ट्राजेनेकासहितको डेढकरोड डोज खोप खरिद सम्झौता भएको पनि उनले जनाएका छन् ।

    विदेश जाने प्रयोजनका लागि आवश्यक खोप प्रमाणपत्र सरकारी अस्पतालबाट निःशुल्क र सहज तरिकाले वितरण गरिने पनि जनाइएको छ । पीसीआर र एन्टीजेन परीक्षणको दायरा पनि व्यापक वृद्धि गरिने जनाइएको छ ।

    साउन २३ गतेदेखि २९ गतेसम्म मास्क सप्ताह कार्यक्रमको आयोजना गरी नागरिकलाई मास्क वितरण गरिने, प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमा लागू गरिने पनि उल्लेख छ ।

    कोरोनाको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विदेशबाट आउनेका लागि होल्डिङ जोन स्थापना गर्ने, संक्रमितलाई आइसोलेसन र उपचारका लागि पठाइने पनि जनाइएको छ ।

    हेर्नूस कार्ययोजना :

     

  • सरकारद्वारा डेढकरोड डोज खोप खरिद सम्झौता, सबै नेपालीको स्वास्थ्य बीमा गरिने

    सरकारद्वारा डेढकरोड डोज खोप खरिद सम्झौता, सबै नेपालीको स्वास्थ्य बीमा गरिने

    काठमाडौं । सरकारले वयस्क तथा किशोर किशोरीलाई लक्षित गरी कोभिड-१९ विरुद्ध १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भएको जनाएको छ ।

    सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढकरोड खोप आपूर्तिका लागि खरिद सम्झौता भएको जनाएका हुन् ।

    मन्त्री श्रेष्ठका अनुसार ४० लाख डोज मोर्डना, ५० लाख जोन्सन एन्ड जोन्सन, ४० लाख फाइजर र २० लाख अस्ट्राजेनेका खोप सुनिश्चित भएको हो ।

    साथै, मन्त्री श्रेष्ठले तेस्रो लहरलाई मध्यनजर गरी पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापन समेत गरिएको छ ।

    अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गरी एन्टीजेन र पीसीआर परीक्षणलाई पनि व्यापक बनाइने राज्यमन्त्री श्रेष्ठले जनाए । चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको योजना रहेको समेत उनले सुनाए ।

    कांग्रेसको घोषणापत्रमा उल्लेख भएअनुुसार सबै नेपाली नागरिकको स्वास्थ्य बीमालाई सुनिश्चित गर्ने बुँदालाई कार्यान्वयन गर्ने घोषणा पनि राज्यमन्त्री श्रेष्ठले गरेका छन् ।

  • भेरोसेलको दोस्रो डोज यसैसातादेखि, काठमाडौं र बुढानिलकण्ठमा भेरोसेल खोप कार्यक्रम रोकियो

    भेरोसेलको दोस्रो डोज यसैसातादेखि, काठमाडौं र बुढानिलकण्ठमा भेरोसेल खोप कार्यक्रम रोकियो

    काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो मात्रा यसैसाता देखि पाउने भएका छन् । तर, विद्युतीय दर्ता नम्बर र पहिलो डोज लगाएको खोपको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अबको चार पाँचदिनभित्रै भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिने बताए । खोप कार्यक्रमलाई व्यवस्थित गर्न विद्युतीय दर्ता नम्बर अनिवार्य गरिएको कार्यालय प्रमुख बद्री खड्काले जानकारी दिए ।

    आज सोमबार काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा भेरोसेलको पहिलो डोज दिने कार्यक्रम स्थगित भएको छ । दुबै नगरपालिकामा खोपको मौज्दात सकिएको जनाइएको छ ।

  • १७ दिनभित्र ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो डोज पाउने

    १७ दिनभित्र ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो डोज पाउने

    काठमाडौं । अबको १७ दिनभित्र ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो मात्रा पाउने भएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

    कार्यभार सम्हालेको १० दिनमा कोरोना महामारी नियन्त्रणका लागि कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका खोप दिइने जनाए ।

    जापानबाट ल्याइने भनिएको सो खोप यसअघि पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । जापानबाट उक्त परिमाणको खोप १४ दिनभित्र आइपुग्ने र तीन दिनभित्र लगाइने समेत उनले जनाए ।

    मुलुकका १४ ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकी छ ।

  • सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा

    सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदमा बसुञ्जेल सरकारी सुविधा नलिने निर्णय गरेका छन् । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा बाहेकका अन्य सेवा नलिने बताएका हुन् ।

    उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । ‘म कार्यरत रहुञ्जेल आवास, गाडी र भत्ता लिन्न’ उनले भने, ‘आफू सम्बद्ध सम्पूर्ण व्यवसायमा पनि आबद्ध हुनेछैन ।’

    राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने बताए ।

    उनी लिटिल एन्जल्स स्कूल, प्राइम कमर्सियल बैंक, सिराइचुली होटल लगायत विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका छन् ।

  • कोरोना रोकथामका लागि सरकारले सयदिने योजना ल्याउँदै, एकसाताभित्र थप ३२ लाख डोज खोप आउँदै

    कोरोना रोकथामका लागि सरकारले सयदिने योजना ल्याउँदै, एकसाताभित्र थप ३२ लाख डोज खोप आउँदै

    काठमाडौं । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारले एकसय दिने कार्ययोजना ल्याउने भएको छ । गृह मन्त्रालयमा बसेको गृहमन्त्री बालकृष्ण खाँड, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहितको सरकारी अधिकारीको बैठकले नागरिकसँगको सहकार्यमा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

    तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक तयार गरिसक्ने निर्णय उक्त बैठकले गरेको छ । विदेशबाट आएकाहरुलाई राख्न मिल्ने होल्डिङ सेन्टर निर्माणलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ ।

    नेपाल–भारत सीमा क्षेत्रमा कोभिडविरुद्धको खोप लगाउन पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आग्रह गरेका छन् । सबै सरकारी अस्पतालमा अक्सिजन व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    सरकारले आज सोमबार सय दिने कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयमा सचिव लक्ष्मण अर्याल र प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको बिदाइ कार्यक्रममा सरकारले सय दिने कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

    ४० लाख डोज फाइजर खोप खरिद गर्नको लागि आवश्यक प्रबन्ध गर्ने तयारी भएको समेत उनले जनाए । जापानबाट १६ लाख डोज र चीनबाट १६ लाख गरी एक साताभित्र ३२ लाख डोज खोप आउने जानकारी समेत स्वास्थ्य राज्यमन्त्रीले दिए ।

  • काठमाडौंमा ५ सय ५१ संक्रमित थपिए, ८ हजार सक्रिय सक्रमित

    काठमाडौंमा ५ सय ५१ संक्रमित थपिए, ८ हजार सक्रिय सक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ८५१ जना कोरोना संक्रमित थपिएका छन् ।

    जसमध्ये काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना थपिएका हुन् ।

    हाल उपत्यकामा ८ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन् भने १३ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • कोरोना अपडेट :  आइतबार २५ सय संक्रमित थपिए, २ हजार संक्रमणमुक्त

    कोरोना अपडेट :  आइतबार २५ सय संक्रमित थपिए, २ हजार संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर २५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको नमुना (८,४०२ पीसीआर र ४,२३४ एन्टिजेन)परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना डिस्चार्ज भएका छन् ।

    नेपालमा कूल ६ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ भने ६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ रहेको मन्त्रालयले जनाएको छ ।

  • खोप प्रमाणपत्रको पैसा नलिन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    खोप प्रमाणपत्रको पैसा नलिन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रमाणपत्रको पैसा नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

    बैदेशिक रोजगारी एबम अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरुलाई कोभिड -१९ बिरुद्धको खोप लगाएको प्रमाण पत्र जारी गर्दा रकम नलिन मन्त्रालयले निर्देशन दिएको हो ।

    मन्त्रालयले गत साउन ७ गतेको सचिवस्तरको निर्णय अनुसार खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन दिएको थियो । तर केही अस्पतालहरुबाट शुल्क लिएको जनगुनासो आएपछि कोभिड- १९ बिरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न निर्देशन गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले बताए ।

    खोप प्रमाणीकरण गर्नको लागि उपत्यकाको ४ वटा अस्पतालहरु तोकिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल लगनखेल, र सशस्त्र प्रहरी अस्पताल, बलम्बुबाट खोप प्रमाणीकरणको काम भइरहेको छ ।

  • कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल

    कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल

    काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।

    गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।

    ‘कोरोना नियन्त्रण चुनौतीपूर्ण भएपनि सबैको समन्वयमा काम गर्‍यौं भने असम्भव छैन । कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर योजनाबद्ध ढंगले काम गरौ’, गृहमन्त्री खाणले भने ।

    उनले होल्डिङ सेन्टर निर्माणको काम सन्तोषजनक नरहेको भन्दै थप प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए । कोरोनाको तेस्रो लहर आउनुअघि नै कोरोनाविरुद्धका संरचना तयार गर्नुपर्नेमा खाणको जोड थियो ।

    बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै सरकारी अस्पतालमा अक्सीजन व्यवस्थापन गर्न तथा कोरोनाविरुद्ध सय दिने विशेष योजना कार्यान्वयन गरिने बताए । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई खोप दिएर होल्डिङ सेन्टरमा राखिने भन्दै राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र ३२ लाख डोज खोप आउने बताए ।

    ‘हामीले ४० लाख फाइजर खोप किन्न आवश्यक प्रबन्ध गरेका छौं । त्यसमध्ये १६ लाख चीन र १६ लाख डोज जापानबाट यही हप्ता आउनेछ’, श्रेष्ठले भने ।

    बैठकमा सुरक्षा निकायका प्रमुखहरूले स्वास्थ्य मापदण्ड कार्यान्वयनका लागि सक्रियता बढाइएको जानकारी दिएका थिए ।

  • थापाथली अस्पतालमा शिशुका लागि ‘ह्युमन मिल्क बैंक’ राखिँदै (भिडियो)

    थापाथली अस्पतालमा शिशुका लागि ‘ह्युमन मिल्क बैंक’ राखिँदै (भिडियो)

    काठमाडौं । शिशुलाई आमाको दूधमात्रै खुवाउने प्रोत्साहित गर्न ‘ह्युमन मिल्क बैंक’ स्थापनाको तयारी गरेको छ ।

    स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक राख्न लागिएको हो । दूधको कमी हुने बच्चालाई प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर संकलन गरी मेसिनमा राखिने र चिकित्सकको सल्लाहअनुसार खुवाइने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

    ‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो’, पराजुलीले भने, ‘जुन आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं ।’

    दूध मौज्दात गरेर राख्न १ करोडको मेसिन खरिद गर्ने तयारी गरिएको पनि कार्यक्रममा जानकारी गराइयो । आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइसकिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । पराजुलीले भने, ‘ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाईए त्यसउपर कडा कारवाही हुन्छ ।’

    आजबाट शुरू विश्व स्तनपान सप्ताह साउन २३ सम्म चल्नेछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन सुरु गरिएकोसो सप्ताहमा सबै स्थानीय तहमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको छ ।

    शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्न सो सप्ताह मनाउने गरिन्छ ।

  • चीनमा थप ५५ जनामा कोभिड संक्रमण पुष्टि, ‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा

    चीनमा थप ५५ जनामा कोभिड संक्रमण पुष्टि, ‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा

    वेइजिङ । चीनमा शनिबार ५५ जनामा कोभिड-१९संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरूमा यहाँ कोभिड-१९ को नयाँ प्रजाती ‘डेल्टा भेरिएन्ट’ बाट संक्रमितको संख्यामा वृद्धि भइरहेको पाइएको छ ।

    थप संक्रमितमध्ये ३० व्यक्तिमा स्थानीय रूपमा फैलिएको संक्रमण भेटिएको छ भने अन्य विदेशबाट आएका यात्रुमा भेटिएको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुमा १९, हुनानमा छ, चोङकिङमा दुई र लियोनिङ, फुजियान र सिचुआनमा एक एक जनामा संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय सञ्चार माध्यम ‘चाइना डेली’ले जनाएको छ ।

    चिनियाँ अधिकारीहरूले २५ संक्रमित विदेशबाट आउने व्यक्तिमा भेटिएको जनाएका छन् । यसमध्ये नौ युनानमा, आठ शाङ्घाईमा, तीन तियानजिनमा, झेजियाङ र फुजियानमा चार र एउटा ग्वाङ्गडोङमा संक्रमित रहेका छन् ।

    ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङको विमानस्थलबाट कोभिड–१९ संक्रमितका बिरामीहरू भेटिएका थिए । नानजिङमा जुलाई २० मा पहिलो संक्रमित भेटिएपछि अहिलेसम्म १८४ जनामा संक्रमण पुष्टि भएको छ ।

  • चितवनको भरतपुर अस्पताल कोरोना संक्रमितले भरियो

    चितवनको भरतपुर अस्पताल कोरोना संक्रमितले भरियो

    चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको संख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना संक्र भएका बिरामीको निःशुल्क उपचार हुन्छ ।

    अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको छ । तीमध्ये अहिले १०४ शय्या संक्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पतालमा भर्ना हुने बिरामीको संख्या ११२ पुगेको थियो । अहिले अस्पतालमा १०४ संक्तमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए । २५ एचडीयूमा तथा २१ जना सघन उपचारकक्षमा उपचाररत छन् । अस्पतालमा २५ शय्या क्षमताको सघन उपचारकक्ष छ ।

    अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा संक्रमित बढ्दै गएको बताए । उनले अस्पतालको शय्या भरिएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था रहेको जानकारी दिए । उनले भने, ‘अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या भरिएको छ । अरु संक्रमितलाई भर्ना लिनसक्ने अवस्था छैन ।’

    अस्पतालमा रहेका शय्या संक्रमितले भरिएपछि शय्या थप गर्ने विषयमा छलफल शुरु भएको उनको भनाइ छ । संक्रमणदर बढ्दै गएपछि निजी अस्पतालहरुले पनि कोभिडको उपचार गर्नुपर्ने उनले बताए । उनले भने, ‘महामारी त सबैलाई होला नि, सरकारी अस्पताललाई मात्रै त होइन । महामारीमा सबै अस्पतालले आफ्नो दायित्व पूरा गर्नुपर्‍यो ।’ संक्रमित बढ्दै गएसँगै चिकित्सकहरुलाई शय्या मिलाइदिनका लागि फोन आउन थालेको उनले बताए ।

    अहिले जिल्लामा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । ती अस्पतालमा २१० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ । तीमध्ये २९ जना सघन उपचारकक्षमा छन् भने एचडीयूमा पनि समान २९ जनाको उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १४ जना सघन उपचारकक्षमा उपचाररत छन् ।

    कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा हालसम्म दुई हजार २३६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये दुई हजार १०६ होम आइसोलेशनमा, आठ सार्वजनिक आइसोलेशनमा र १२२ जना अस्पतालमा उपचाररत छन् । रासस

  • शनिबार ३१ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु

    शनिबार ३१ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१०६ जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ५१९ नमुना (९२६३ पीसीआर र ४२५६ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    शनिबार थप २३ जनाको मृत्यु भएको छ । १९१६ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा शनिबार ७७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा २८ हजार ९४१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ९५ हजार, कूल मृत्यु ९८५७ र कूल निको हुने संख्या ६ लाख ५४ हजार रहेको छ ।