Category: स्वास्थ्य-जीवनशैली

  • अस्पतालहरूमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्यमन्त्री

    अस्पतालहरूमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

    गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली–गल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । उनले भने, ‘समस्या के हो जानकारी दिनुहोस् पाँच/दश करोड बजेटको समस्या हुँदैन ।’

    उनले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उनले भने, ‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ ।’ सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टीजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा सो हुन नहुने धारणा व्यक्त गरे ।

    भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्रा.डा. कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटौंडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पुर्‍याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए ।

    भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरे । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

  • काठमाडौं उपत्यकामा घटे कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा घटे कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ५६६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जना छन् । हिजो ६६७ संक्रमित थपिएका थिए । एक साताअघि उपत्यकामा ७३९  जनामा संक्रमण पुष्टि भएको थियो ।

    हालसम्म ११ हजार ३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ७,४२० जना, भक्तपुरमा १,४०० जना र ललितपुरमा २,२१८ जना छन् ।

    हालसम्म ५०० भन्दा बढी मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ दाङ, रुपन्देही, सुर्खेत र कैलालीमा छन् ।

    धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला र कंचनपुरमा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

     

  • आइतबार १९ सय संक्रमित थपिए, २४ जनको मृत्यु

    आइतबार १९ सय संक्रमित थपिए, २४ जनको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १९सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५१६ जनाको नमुना (पीसीआर ९४४३ र एन्टीजेन ३०७३) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    आइतबार २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २२ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

    हालसम्म मुलुकमा ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा १ लाख ८३ हजार ३२२ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ७ लाख भन्दा बढीमा कोरोनाभाइरस पुष्टि भएको छ भने १०,५०९ जनाले ज्यान गुमाइसकेको तथ्यांमा उल्लेख छ ।

  • शनिबार कोभिड संक्रमणले ३० जनाको मृत्यु, दुई हजार संक्रमित थपिए

    शनिबार कोभिड संक्रमणले ३० जनाको मृत्यु, दुई हजार संक्रमित थपिए

    काठमाडौं । कोभिड-१९ संक्रमणको कारण पछिल्लो २४ घण्टामा मुलुकमा ३० जनाको मृत्यु भएको छ । शनिबार २०७५ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७५ नमुना (७७०३ पीसीआर र ५३७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    २३८२ जना निको भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या केही घटेर ३९,३२१ पुगेको छ ।

    काठमाडौंमा ४८३, ललितपुरमा १०३, भक्तपुरमा ८१, कास्कीमा ९१ जना संक्रमित थपिएका छन् । २२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

    ६३ हजार ९६३ पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । ३८ लाख ३५ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् । एक डोज खोप लगाउनेको संख्या ४९ लाख ३५ हजार छ ।

    कूल संक्रमित संख्या (पीसीआर परीक्षण गर्दा) ७ लाख ४५ हजार र एन्टीजेन परीक्षण गर्दा ७९ हजार संक्रमित पुष्टि भएका छन् । कूल मृत्यु हुने संख्या १० हजार ४८५ छ ।

  • मधुमेहपीडित ८१ वर्षीया वृद्धाको दूरबिनबाट सफल शल्यक्रिया

    मधुमेहपीडित ८१ वर्षीया वृद्धाको दूरबिनबाट सफल शल्यक्रिया

    काठमाडौं । नर्भिक अस्पतालमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

    नर्भिक अस्पतालको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

    छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् ।

    बढी उमेर समूह र मोटोपन भएका बिरामीको दूरबिन प्रविधिबाट शल्यक्रिया सम्भव हुँदैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्–‘नर्भिक अस्पतालमा दुवै उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दूरबिनबाट शल्यक्रिया गरिसकेका छौं ।’

    यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मा नेतृत्वको टिमले दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो । पेट चिरेर गरिनेभन्दा दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ ।

    सामान्यतः वृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएका महिलाको दूरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिए पनि आफ्ना दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको नर्भिक अस्पतालले जनाएको छ ।

    ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किनसक्ने डा. शर्माले बताइन् । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र भोलि शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

     

  • विश्वमै पहिलोपटक भारतले दियो कोभिडविरुद्धको डीएनएन खोपलाई आपतकालिन प्रयोगको अनुमति

    विश्वमै पहिलोपटक भारतले दियो कोभिडविरुद्धको डीएनएन खोपलाई आपतकालिन प्रयोगको अनुमति

    दिल्ली । कारोनाभाइरसविरुद्ध भारतले आफ्नो देशमा निर्मित डीएनए खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । यो विश्वमा पहिलो पटक भएको जनाइएको छ ।

    क्याडिला हेल्थकेअरले गरेको एक अध्ययनमा तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामको खोप मानिसमा ६६ प्रतिशत संक्रमणमुक्त भएको जनाएको छ ।
    भारतमा निर्माण हुन लागेको यो दोस्रो खोप हो ।

    कम्पनीले वर्षमा एक करोडभन्दा माथि खोप उत्पादन गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । भारतमा अहिले कोभिडविरुद्ध कोभिसील्ड, कोभ्याक्स र स्पुतनिक पाँच खोप प्रयोग भईरहेको छ ।

    भारतमा पहिलोपटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड-१९ विरुद्धको खोप परीक्षण गरिएको हो । उक्त खोप डेल्टा भेरियन्टको संक्रमणको लागि प्रभावकारी हुने भारतीय सरकारले दावी गरेको छ ।

  • स्वास्थ्य मन्त्रालयमा झन्डै ७ अर्ब बेरुजु

    स्वास्थ्य मन्त्रालयमा झन्डै ७ अर्ब बेरुजु

    काठमाडौं । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा झन्डै ७ अर्ब रुपैयाँ बेरुजु देखाएको छ । प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो।

    राष्ट्रपतिलाई शुक्रबार बुझाइएको उक्त प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १२ निकायमा १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु छ। जसमध्ये १ अर्ब २ करोड म्याद नाघेको पेस्की छ।

    संगठित, अन्य संस्था र समितितर्फ २६ कार्यालयमा ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु छ। जसमध्ये ७२ करोड ५६ लाख १ हजार रुपैयाँ म्याद नाघेको पेस्की छ।

  • जापानबाट आज २ लाख ८ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो, बाँकी ७ लाख सोमबार आइपुग्ने

    जापानबाट आज २ लाख ८ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो, बाँकी ७ लाख सोमबार आइपुग्ने

    काठमाडौं । जापानबाट आज थप २ लाख ८ हजार ७ सय डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउने भनेको १६ लाख डोजमध्येकै हिस्साबाट उक्त मात्रा खोप आज काठमाडौं आइपुगेको हो । यसअघि ९ लाख डोज खोप आइसकेको छ।

    बाँकी रहेको खोप ७ गते नेपाल आउने जापानी दूतावासले जनाएको छ । १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो।

    जापानबाट ल्याइएको यो खोप गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकसहित विद्यार्थीलाई लगाइएको छ । अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक शर्माले जानकारी दिए ।

    नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

    स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।

  • व्यवसायीले पाए खोप

    व्यवसायीले पाए खोप

    बाग्लुङ । अत्यावश्यकीय सेवा क्षेत्रका व्यवसायीले कोभिड-१९ विरुद्धको खोप पाएका छन् । खाद्य, किराना, तरकारी, फलफूल, ग्यास, दूध, माछामासु, होटल व्यवसायीलगायतले खोप लगाएका हुन् । कसैले पूर्ण मात्रा पाइसके भने कोही दोस्रो खोपको प्रतिक्षामा छन् ।

    उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले छ सयभन्दा बढी व्यवसायीले खोप लगाइसकेको बताउनुभयो । ‘व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा खोप लगाउन पाउने प्रबन्ध गरिएको छ’, उनले भने, ‘सञ्चालकलाई मात्र नभएर व्यवसायमा आबद्ध कर्मचारी र कामदारका लागि पनि खोप माग गरेका छौँ ।’ अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराइएको अध्यक्ष राजभण्डारीको भनाइ छ । सङ्घले जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग मिलेर व्यवसायीलाई खोप दिलाउन पहल गरेको थियो ।

    यसअघि होटल तथा रेष्टुराँ व्यवसायी सङ्घलगायत व्यवसायीका सङ्घ सङ्गठनले खोप पाउनुपर्ने माग गर्दै आएका थिए । पहिले छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीलाई आजदेखि खोप लगाउन थालिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । सञ्चालकको व्यवसाय दर्ता प्रमाणपत्र र सक्कल नागरिकताका आधारमा खोप दिइएको उनको भनाइ छ । व्यवसायीसँगै पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई यही भदौ ८ र ९ गते दोस्रो खोप लगाइने भएको छ ।

    यस्तै खोप लगाउन छुटेका वित्तीय संस्थाका कर्मचारी, स्नातक र स्नातकोत्तर तहको परीक्षामा सहभागी हुने विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो खोप लगाउन बाँकी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिन शुरु गरिएको छ । यहाँका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालित छ । स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर राजु खत्रीका अनुसार हालसम्म ५९ हजार ९३५ ले पहिलो र ४७ हजार ९०७ ले खोपको दुवै मात्रा लगाएका छन् । अझै करिब एक लाख जनसङ्ख्यालाई खोपको पहुँचमा ल्याउन बाँकी रहेको सुपरभाइजर खत्रीको भनाइ छ ।

    खोप अभियानकै बीचमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा अहिले कडा निषेधाज्ञा छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सबै सेवा क्षेत्र, बजार, व्यवसाय र यातायात बन्द छन् ।

  • शुक्रबार ३ हजार कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु

    शुक्रबार ३ हजार कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३०४२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ नमुना (१० हजार ५३० पीसीआर र ७१२४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार थप २६ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । २२४४ जना पछिल्लो २४ घण्टामा निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ४० हजार ३०९ पुगेको छ । १ लाख ८० हजार जनाले पछिल्लो अवधिमा कोभिडविरुद्धको खोप लगाएका छन् ।

    उपत्यकामा शुक्रबार ८९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जना संक्रमित थपिएका छन् । कास्कीमा २२९ जना संक्रमित थपिएका छन् ।

    पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ७ लाख ४४ हजार ३०७ र एन्टीजेन परीक्षणमा ७९ हजार ३४० संक्रमित पुष्टि भएका छन् । कूल निको हुने संख्या ६ लाख ९३ हजार ५४३ छ ।

    कूल मृत्यु हुने संख्या १० हजार ४५५ छ । कूल मृत्युदर १.४० प्रतिशत, कूल सक्रिय संक्रमित संख्या ५.४२ प्रतिशत र कूल निको हुने प्रतिशत ९३.१८ प्रतिशत छ ।

    पूर्ण डोज खोप लगाउने संख्या ३७ लाख ९९ हजार रहेको छ ।

  • दुईदिनमै चीनबाट आइपुग्यो १६ लाख डोज भेरोसेल खोप

    दुईदिनमै चीनबाट आइपुग्यो १६ लाख डोज भेरोसेल खोप

    काठमाडौं । बुधबार र बिहीबार गरि चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ। नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

    स्वास्थ्य सेवा विभागका अनुसार थप ४४ लाख डोज खोप अगस्ट महीनाको अन्तिम सातासम्म आइपुग्ने भएको छ । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो । यस्तै, जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकि ७ लाख डोज भदौ ५ र ७ गते आउने भएको छ।

    नेपालमा कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

  • म्याद गुज्रन लागेपछि सरकारले बढायो अस्ट्राजेनेका खोप लगाउने लक्षित समूह, क-कसले लगाउन पाउनेछन् ?

    म्याद गुज्रन लागेपछि सरकारले बढायो अस्ट्राजेनेका खोप लगाउने लक्षित समूह, क-कसले लगाउन पाउनेछन् ?

    काठमाडौं । अस्ट्राजेनेका खोपको मिति गुज्रने समय नजिकिएपछि सरकारले खोप लगाउने समूहको दायरा बढाएको छ । सरकारको नयाँ निर्णयअनुसार अब १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी र सीमा नाकाका प्रवेश नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई खोप दिइने भएको छ ।

    अगस्ट महिनाभित्रै खोपको म्याद सकिने भएपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पु¥याइएको हो । परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले प्रदेश निर्देशनालय र ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई पहिलो मात्रा खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेका छन्।

    जापान सरकारले साउनमा कोभ्याक्स संयन्त्रमार्फत अस्ट्राजेनेकाको ८ लाख डोज उपलब्ध गराएको थियो भने भुटानले पैंचोमा ३ लाख डोज उपलब्ध गराएको थियो । जापानले दिन बाँकी ८ लाख डोज आगामी शनिबार आउँदैछ ।

  • १८ वर्षमाथिका विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर आजदेखि खोप लगाउन पाउने

    १८ वर्षमाथिका विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर आजदेखि खोप लगाउन पाउने

    काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर कोभिड(१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर पहिलो डोज लगाउन पाउनेछन् । ४० वर्षमाथिका नागरिकलाई पनि आजदेखि खोपको पहिलो मात्रा दिइने जनाइएको छ ।

    काठमाडौं महानगरपालिकाका ३२ वडा र पालिकाले तोकेको थप खोप केन्द्र तोकिएको छ । अन्य नगरपालिकाको हकमा पनि सोही पालिकाले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ।

    साथै, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लगाउन पाइनेछ ।

  • शुक्रबारदेखि काठमाडौंमा १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोप दिइने

    शुक्रबारदेखि काठमाडौंमा १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोप दिइने

    काठमाडौं । काठमाडौं जिल्लामा भोलि (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लगाउन पाउनेछन् । ४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि खोपको पहिलो मात्रा दिइने जनाइएको छ ।

    काठमाडौं महानगरपालिकाका ३२ वडा र पालिकाले तोकेको थप खोप केन्द्र तोकिएको छ । अन्य नगरपालिकाको हकमा पनि सोही पालिकाले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ।

    साथै, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लगाउन पाइने भएको छ ।

  • कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको उपनिर्देशकमा डा. कार्की र डा. श्रेष्ठ नियुक्त

    कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको उपनिर्देशकमा डा. कार्की र डा. श्रेष्ठ नियुक्त

    काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको उपनिर्देशकमा डा.अनुपमा कार्की र डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले छाला रोग विभागका प्रमुख कार्की र क्रिटिकल केयर विशेषज्ञ डा. श्रेष्ठलाई नियुक्त गरेका हुन् । डा. अशेष ढुंगाना र डा. नविन पोखरेलको ठाउँमा उनीहरुलाई नियुक्त गरिएको डा. बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

    अस्पतालमा ठूलो संख्यामा कोभिड र ननकोभिडका बिरामीको उपचार गर्नुपर्ने भएकाले सहज र स्तरीय सेवा दिनका लागि कार्की र श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरिएको बस्नेतले बताए । ुडा. बस्नेतका अनुसार डा. कार्कीलाई ननकोभिड तर्फ र डा. श्रेष्ठलाई कोभिड तर्फको जिम्मेवारी दिइएको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ अनुसार सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइसकेको छ ।

  • अमेरिकी सांसदको पहलमा नेपाललाई साढे ७ लाख डलर बराबरको डाइटरी सप्लिमेन्ट सहायता घोषणा

    अमेरिकी सांसदको पहलमा नेपाललाई साढे ७ लाख डलर बराबरको डाइटरी सप्लिमेन्ट सहायता घोषणा

    काठमाण्डौ । अमेरिकाको टेक्सस राज्यका एक पूर्वसिनेटरको पहलमा कोभिड-१९ संक्रमितलाई गम्भीर बिरामी हुन नदिने डाइटरी सप्लीमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ ।

    आज एक कार्यक्रमकाबीच पूर्वसिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थलाई सहायता प्रदानको घोषणा गरेका हुन् । नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्ने उनले जनाए ।

    यो सप्लिमेन्ट अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गरेका हुन् । उनले तयार गरेको यो सप्लीमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा रहेको छ । कार्यक्रममा बोल्दै डा. न्याथनले यो सप्लीमेन्टीले कोभिड १९ मात्र नभई विभिन्न इन्फ्लूएञ्जाबाट बिरामीलाई गम्भीर हुनबाट रोक्नका लागि विशेष काम गर्ने दाबी गरे ।

    ‘अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको हामीले गरेको प्रयोगबाट देखिएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ’ डा. ब्रायनले भने-‘यस्तो जीवनरक्षक डाइटरी सप्लीमेन्ट कोरोना भाइरसविरुद्धको भ्याक्सिनको कम उपलब्धता हुने नेपालजस्तो मुलुकका लागि वरदान सावित हुनसक्छ ।’

    कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको आफ्नो खोजको क्रममा पत्ता लागेको उनले उल्लेख गरे ।

    ‘नाइट्रिक अक्साइड भनेको प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ । यसका साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ ।’

    डा. ब्रायनले भने- ‘हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ ।’

    अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर सिनेटर ड्यान शेलील यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । शेलीले भने–‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’

    यसैबीच, सो अवसरमा नाइट्रिक अक्साइडसँग सम्बन्धित खोजमा २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस. ब्रायनले हालसालै कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी देखिएको नोभिरिसिड नामको औषधि समेत बनाइसकेका जानकारी गराए । हाल अमेरिकामा यो औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको सो क्रममा बताइएको छ । सो औषधिको क्लिनिकल ट्रायलका लागि नेपाल सरकारसँग पनि अनुमति मागिसकिएको कार्यक्रममा जानकारी दिइएको छ ।

    कार्यक्रममा बोल्दै नर्भिक इन्टरनेशनल अस्पतालका संस्थापक बसन्तकुमार चौधरीले अमेरिकामा सफल प्रयोग भइरहेको महत्वपूर्ण डाइटरी सप्लीमेन्टको नेपालमा प्रयोगका लागि विश्वविख्यात वैज्ञानिक तथा खोजकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

    ‘सहकार्यका लागि उहाँहरुले नर्भिकलाई रोज्नुभएकोमा हामी कृतज्ञता ज्ञापन गर्छौं’ उनले भने- ‘नेपाल सरकारसँग समन्वय गरी अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने सप्लीमेन्ट कोभिड संक्रमितलाई वितरणको व्यवस्था मिलाइनेछ ।’

    चौधरीले अमेरिकी पूर्व सिनेटरबाट घोषणा भएको सहयोग नेपाल सरकारले कोभिड-१९ को तेस्रो लहर सुरु हुने भनी गरेको प्रक्षेपणभन्दा अगाडि नै प्राप्त हुने र १० हजार बोटलले २० हजार संक्रमितलाई गम्भीर हुनबाट रोक्न सकिने जानकारी दिए ।

  • बिहीबार ३ हजार कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु

    बिहीबार ३ हजार कोभिड संक्रमित थपिए, ३३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ४३८ नमुना (११ हजार ९४६ पीसीआर र ४४९२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । २१२६ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ४० हजार ५०० पुगेको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख ४२ हजार पुगेको छ । कोभिडको कारण अहिलेसम्म १० हजार ४२९ जनाले ज्यान गुमाएका छन् । कूल निको हुने संख्या ६ लाख ९१ हजार छ ।

  • कोभिड प्रोटोकल पालना गरी गाइजात्रा र जनैपूर्णिमा मनाउन काठमाडौं प्रशासनको आग्रह

    कोभिड प्रोटोकल पालना गरी गाइजात्रा र जनैपूर्णिमा मनाउन काठमाडौं प्रशासनको आग्रह

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा कायमै रहेकाले जनैपूर्णिमा, ऋषितर्पणी र गाइजात्रा लगायतका पर्व भीडभाड नहुने गरि सांकेतिकरुपमा मनाउन आग्रह गरेको छ ।

    कोभिड–१९ को संक्रमण दर उच्च रहेकाले यस अवधिमा पर्न जाने पर्वलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागतरुपमा सांकेतिकरुपले मनाउन प्रशासनले भनेको हो ।

    भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञा कायमै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

  • यस्तो हुनेछ चार प्रकारको स्मार्ट लकडाउन (कार्यविधिसहित)

    यस्तो हुनेछ चार प्रकारको स्मार्ट लकडाउन (कार्यविधिसहित)

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भदौ १ गतेदेखि देशभर स्मार्ट लकडाउनको कार्यविधि लागू गरेको छ । यसलार्ई लागू गर्न सीसीएमसीले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पनि जारी गरेको छ ।

    सोही सर्कुलरको आधारमा अहिले जिल्ला प्रशासन कार्यालयहरु संक्रमण र स्वास्थ्य पूर्वाधारलाई हेरेर लकडाउन लागू गर्ने योजनामा छन् ।

    संक्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर सीसीएमसीले मुलुकलाई चार रङमा विभाजन गरिने गाइडलाइन बनाएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।

    संक्रमितको संख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेंलो संकेतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात मिनिमल लकडाउनको नियम ल्याइएको छ ।

    सीसीएमसीको यही कार्यविधिको आधारमा काठमाडौं उपत्यकाका सीडीओहरु निषेधाज्ञाको नयाँ ढाँचा बनाउन जुटेका छन् । अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ ।

  • आज चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो, थप ८ लाख डोज भोलि ल्याइँदै

    आज चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो, थप ८ लाख डोज भोलि ल्याइँदै

    काठमाडौं । चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज बिहान काठमाडौं आइपुगेको छ । भोलि थप ८ लाख डोज ल्याउने तयारी छ ।

    खरिद गरिएको ६० लाख डोजमध्ये ८ लाख गएराति १२ बजे काठमाडौं आइपुगेको हो । ल्याइएको सो मात्राको खोपलाई विमानस्थल र टेकुको भण्डारण कक्षमा राखिएको छ ।

    बाँकी ४४ लाख डोज अगस्टको अन्तिम साता आउने कार्यक्रम छ । जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोजमध्ये बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आउने भएको छ ।

  • कोभिड महामारी नियन्त्रण गर्न सरकारद्वारा राज्यमन्त्रीको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन

    कोभिड महामारी नियन्त्रण गर्न सरकारद्वारा राज्यमन्त्रीको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन

    काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह कार्यान्वयन गर्न सरकारले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयअनुसार समिति गठन गरिएको हो।

    समिति उपाध्यक्षमा स्वास्थ्य सचिव रोशन पोखरेल छन् भने सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह छन्।

    सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा प्रवक्ता कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रुद्र मरासिनी छन्।

    सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनी छन्।

    सरकारले यो उच्चस्तरीय समितिलाई ८ बुँदे कामको जिम्मा दिएको छ । जसमा कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न सीमानाकामा हेल्थ डेस्क संचालन, क्वारेन्टाइन, परीक्षण, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार उपकरण खरिद तथा आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने छन् ।

    साथै, नन-कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने, सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने लगायत छन्।

  • अमेरिकाद्वारा वीर र प्रसूति अस्पताललाई तरल अक्सिजन ट्यांक प्रदान, थप  १ करोड ५ लाख डलर सहायता घोषणा

    अमेरिकाद्वारा वीर र प्रसूति अस्पताललाई तरल अक्सिजन ट्यांक प्रदान, थप १ करोड ५ लाख डलर सहायता घोषणा

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई कोभिड-१९ महामारीविरुद्ध दुईवटा तरल अक्सिजन ट्यांक प्रदान गरेको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरी र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) प्रमुख सेपिडे केभान्शाडले मंगलबार स्वास्थ्य सहायता प्रदान गरे ।

    ती लिक्विड अक्सिजन ट्यांकहरु अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् र यिनले एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्ने जनाइएको छ । युएसएआईडीको सहयोगमा थप चार वटा तरल अक्सिजन ट्याङ्कहरू देशभरका विभिन्न अस्पतालहरूमा जडान हुने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    मंगलबार नै अमेरिकाले नेपाललाई युएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलर बराबरको जरुरी स्वास्थ्य सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ । सो थप रकम सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्नेछ ।

    उक्त कोषले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका निम्ति स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत गर्नेछ । आफ्ना साझेदारहरूसँग मिलेर युएसएआईडीले कोभिड–१९ का बिरामीहरूलाई आइसोलेसन केन्द्रमा र दूर चिकित्साको माध्यमबाट उनीहरूको घरमा पनि मद्दत गर्दछ, अपाङ्गता भएका मानिसहरूलाई अत्यावश्यक स्वास्थ्य र पुनर्स्थापना सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने जनाइएको छ ।

    सहायता हस्तान्तरण समारोहमा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. सङ्गीता मिश्रको पनि उपस्थिति थियो ।

    सो सहायतामार्फत अमेरिकी सरकारबाट नेपाललाई प्रदान गरिएको ९ करोड अमेरिकी डलरभन्दा बढीको कोभिड–१९ सम्बन्धी सहयोगमा थप्ने काम गरेको छ जुन सहयोग यो महामारी सुरु भएदेखि जनसङ्ख्याको ६०५ भन्दा बढीमा पुगेको छ । यस सहायतामा युएसएआईडीबाट उपलब्ध गराइएको ७.५ करोड अमेरिकी डलरको प्राविधिक तथा जिन्सी सहयोग, जस्तो कि अक्सिजन सिलिन्डर, श्वासप्रश्वास यन्त्र, भेन्टिलेटर, र व्यक्तिगत सुरक्षात्मक उपकरणहरू, समावेश छन् ।

    पछिल्लो २० वर्षमा मात्र युएसएआईडीले नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न ६० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ र मातृ तथा शिशु मृत्युदर घटाउन र मलेरिया उन्मुलन गर्न सघाएको छ ।

  • बुधबार कोभिड संक्रमणले ४२ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

    बुधबार कोभिड संक्रमणले ४२ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४०३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ८३८ कूल नमुना (११ हजार ८३९ पीसीआर र ४९९९ एन्टीजेन) परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार कोभिडको कारण ४२ जनाको मृत्यु भएको छ । २१०४ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ९९३ जना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा मुलुकको सक्रिय संक्रमित संख्यामा वृद्धि भएर ४० हजार ३८३ पुगेको छ ।

    मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले २१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी रहेको बताए । उनका अनुसार बुधबार संक्रमण दर २२ प्रतिशत छ ।

  • काठमाडौंमा अस्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सुरु, कसले लगाउन पाउनेछन् ? (खोप केन्द्र सूचीसहित)

    काठमाडौंमा अस्ट्राजेनेका खोपको पहिलो डोज लगाउन सुरु, कसले लगाउन पाउनेछन् ? (खोप केन्द्र सूचीसहित)

    काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि अस्ट्राजेनेकाको पहिलो डोज लगाउन सुरु भएको छ । खोप लगाउन बाँकीमध्ये प्राथमिकता निर्धारण गरी महानगर र नगरपालिकामा पहिलो मात्रा दिन थालेको हो ।

    काठमाडौं महानगरभित्र, राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, परोपकार प्रसूति गृह अस्पताल थापाथली, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर र सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको छ ।

    कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिकामा पनि अभियान सञ्चालन भएको छ ।

    कसले लगाउन पाउनेछन् ?

    स्वास्थ्य कार्यालय प्रमुख खड्काका अनुसार यसपटक विश्वविद्यालय तहको परीक्षा दिने प्रवेश पत्र लिईसकेका विद्यार्थी, नयाँ संसद भवन निर्माणमा सम्लग्न कर्मचारी तथा मजदुर, बैदेशिक रोजगारी, अध्ययन, र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिहरु, मिर्गौलाले काम नगरी डायलासिस गर्नु पर्ने र गरेका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका विरामीहरु तोकिएका छन् ।

    यस्तै रिहाव सेन्टरमा रहेका व्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारीहरु र मजदुरहरु, माइती नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवारहरु र ३० बर्ष माथि उमेरका व्यक्तिहरु पनि यसपटक खोप लगाउने प्राथमिकतामा परेको बताए ।

    साथै, एप्समा दर्ता भई विद्युतीय दर्ता नम्बर लिएर पुग्ने १८ बर्ष माथिका सबै व्यक्तिले पनि खोप लगाउन पाउनेछन् । खोप लगाउनका लागि अहिले नागरिकता वा कुनै निकायले जारी गरेको परिचय पत्र र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर लिएर खोप केन्द्रमा जानु पर्दछ ।

     

  • चीनबाट आज र भोलि १६ लाख डोज भेरोसेल खोप आइपुग्दै, जापानबाट शनिबार ७ लाख डोज ल्याइँदै

    चीनबाट आज र भोलि १६ लाख डोज भेरोसेल खोप आइपुग्दै, जापानबाट शनिबार ७ लाख डोज ल्याइँदै

    काठमाडौं । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। खरीद प्रक्रियामार्फत ल्याउन लागिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज खोप ल्याउन लागिएको हो ।

    स्वास्थ्य सेवा विभागका अनुसार आज आठ लाख र भोलि आठ लाख डोज खोप आइपुग्नेछ । बाँकी ४४ लाख डोज खोप अगस्ट अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ। जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्येको बाँकी ७ लाख डोज भदौ ५ र ७ गते आइपुग्ने मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जनाए ।

    अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप नेपाल आइपुगेको छ ।

    ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४६ हजार १६ हजार ९३६ जनाले पहिलो मात्रा लगाएका छन्।

     

     

  • प्रधानमन्त्रीसँग सहमतिपछि डा. केसीको घोषित अनसन स्थगित

    प्रधानमन्त्रीसँग सहमतिपछि डा. केसीको घोषित अनसन स्थगित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएको छ । सहमतिपछि डा. केसीले आफ्नो घोषित अनसन स्थगित गरेका छन् ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने लगायतका माग राखेर डा. केसीले सत्याग्रहको घोषणा गरेका थिए ।

    देउवाले नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको राजीनामाको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको हो।

    त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे भएको सम्झौता कार्यान्वयन गर्न तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिने सहमति भएको छ।

  • काेराेना संक्रमण बढ्न थालेपछि भरियाे अस्पताल बेड

    काेराेना संक्रमण बढ्न थालेपछि भरियाे अस्पताल बेड

    काठमाडौं । वीर अस्पतालका निर्देशक डा. प्राध्यापक भूपेन्द्र बस्नेतले पछिल्लो केही दिन यता कोरोना भाइरसका बिरामीहरु बढ्दै गएकोले अस्पतालमा बेडहरु भरिन थालेको बताएका छन् ।

    कोरोनाको तेस्रो लहरको तयारीको छलफलका लागि मंगलबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा निर्देशक बस्नेतले अस्पतालहरुमा कोरोना संक्रमितहरु बढिरहेकोले बेडहरु भरिन थालेको बताएका हुन् ।

    उनले अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु कोरोना संक्रमितले बढी भरिएको बताए । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि वीर अस्पतालले ४५ वटा कोभिड डेडिकेट आइसीयू सञ्चालन गरिरहेको र अन्य २० वटा आइसीयूहरु १÷२ दिनमै चलाउने बताए । उनले कोरोनाबाट बचाउनका लागि अन्य आवश्यक कुराहरु थप्दै जाने बताए ।

    उनले भने, ‘कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थालेको छ, संक्रमित बढ्न थालेका छन्, अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु बढी भरिएका छन् । वीर अस्पतालमा हाल ४५ वटा कोभिड डेडिकेट आइसीयूहरु छ, त्यस्तै अरु २० वटा आइसीयू १÷२ दिनभित्रै चल्ने गरी निर्माण भइरहेको छ, सबै जडान भइसकेको छ ।’

    निर्देशक बस्नेतले तेस्रो लहरको कोरोनाबाट बच्नका लागि सरकारले काठमाडौं उपत्यकामा १४ वटा र हरेक प्रदेशमा १÷१ गरी २१ वटा अस्पताल छुट्याएको बताए ।

    उनले भने, ‘कोभिड १९ हेर्नका लागि सरकारले काठमाडौंमा वीर अस्पतालसहित १४ वटा अस्पताल छुट्याएको छ, त्यस्तै हरेक प्रदेशका १÷१ वटा गरी ७ वटा अस्पताल छुट्याएको छ, आवश्यक परे निजी अस्पतालहरुसँग पनि समन्वय गरेर काम अघि बढाइनेछ ।’

    निर्देशक बस्नेतले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले आवश्यक्तालाई हेरेर निजी अस्पतालहरुसँग समन्वय गर्दै काम अघि बढाउने बताए ।

  • मंगलबार काठमाडौं उपत्यकामा थपिए एक हजार संक्रमित

    मंगलबार काठमाडौं उपत्यकामा थपिए एक हजार संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार काठमाडौं उपत्यकामा १,०३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६७३ जना, भक्तपुरमा १४१ जना र ललितपुरमा २१९ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ११,७७४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ८१५८ जना, भक्तपुरमा १४७० जना र ललितपुरमा २१४६ जना रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै २१ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २०० भन्दा बढी १८ वटा जिल्लामा रहेको तथ्यांकमा उल्लेख छ ।

  • मंगलबार ३२ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

    मंगलबार ३२ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३२ सय ७४ जना  कारोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६८९ जनाको नमूना (पीसीआर ११५६५ र एन्टीजेन ६१२४) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा २७ जनाको मृत्यु भएको छ भने १९ सय २९ जना संक्रमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाविरुद्धको खोप १ लाख ४४ हजार ५२८ जनाले लगाएका छन् ।

    अहिलेसम्म कूल ७ लाख ३७ हजार २९४ जना कोरोना संक्रमित रहेका छन् भने १० हजार ३५४ जनाले ज्यान गुमाइसकेका छन् ।
    हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्ल्लेख छ ।

     

  • के कोभिड-१९ विरुद्धको खोप उत्पादन नेपालमा सम्भव छ : के भन्छन् विज्ञहरु ?

    के कोभिड-१९ विरुद्धको खोप उत्पादन नेपालमा सम्भव छ : के भन्छन् विज्ञहरु ?

    काठमाडौं । सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन शुरु गरेको हो । सरकारले पशुपक्षीविरुद्ध खोप उत्पादन गरेको झण्डै ६० वर्षपछि मानिसमा प्रयोग हुने खोप पनि उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउन थालेको छ ।

    सरकारले साउन २४ गते ल्याएको साझा न्यूनतम कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर नेपालमा नै खोप उत्पादनको प्रक्रिया अगाडि बढाएको हो । कोरोना भाइरस महामारी भइरहेको बेला सरकारले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्न खोप (भ्याक्सिन) प्रयोगशाला स्थापना गर्न पहल गरेको हो । सरकारले राजपत्रमा सूचना प्रकाशन गरी इच्छुक उद्योगलाई कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्न आह्वान गरेर प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।

    जनस्वास्थ्यविद्ले पनि सरकारले भनेझै नेपालमा नै खोप उत्पादन गर्नका लागि प्रयोगशाला स्थापना गरेर सम्भव रहेको बताएका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा पनि खोप उत्पादन सम्भव भएकोले सम्भाव्य अध्ययन थालिएको बताए । “विश्वमा उत्पादन भइरहेको खोप नेपालमा पनि सम्भव हुन्छ” उनले भने, ‘सबैको सहयोगले खोप उत्पादन गरी नेपालीलाई लगाउने हो ।”

    यसअघिको सरकारले पनि नेपालमा खोप उत्पादन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

    उक्त कार्यदलका सदस्यसमेत रहेका विभागका महानिर्देशक भट्टराईले खोप सरकार आफै वा इच्छुक निजी उद्योगलाई दिन सकिने बताए । उनले खोपका लागि आवश्यक प्रयोगशालाको अध्ययन गरिएको जानकारी दिए । “खोपका लागि अहिले भइरहेका प्रयोगशालालाई स्तरोउन्नति गर्ने वा नयाँ प्रयोगशाला ल्याएर उत्पादन गर्ने भन्नेमा पनि हामीले अध्ययन गरिरहेका छौ” उनले भने, ‘विभागका प्रयोगशाला स्तरोउन्नति गर्ने भन्ने कुरा छ । हेरौं कुन प्रयोगशालाबाट उत्पादन गर्छौं ।”

    उनले खोप उत्पादनका लागि प्लान्ट निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने समेत बताए । खोप उत्पादन गरेपछि नेपालमा मात्र ती सबै खोप खपत नहुने भएकोले अन्तर्राष्ट्रिय बजारको पनि अध्ययन गर्नुपर्ने उनको भनाई छ । राजपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खोप उत्पादन गर्ने उद्योगलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनेदेखि उद्योगका लागि आवश्यक पर्ने मेसिन उपकरणको पैठारीका लागि भन्सार महसुल छुट, मूल्य अभिवृद्धि कर र अन्तशुल्क पूरै छुट दिने भएको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड-१९ विरुद्धको खोपका लागि क्लिनिकल ट्रायलसम्बन्धी व्यवस्था गरी खोपको तृतीय चरणको क्लिनिकल ट्रायल पूरा गर्ने अनुमति दिने र खोप स्तरीकरण र गुणस्तर प्रमाणीकरणको कार्यमा औषधि व्यवस्था विभाग र परिषद्ले सहजीकरण गर्ने राजपत्रमा उल्लेख छ ।

    यसरी उत्पादन गरेको खोपको तृतीय चरणको क्लिनिकल ट्रायल भएको, खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्ड भन्दा बढी हुनुपर्ने, डब्लुएचओद्वारा प्रयोगको लागि सूचीकृत र औषधि व्यवस्था विभागबाट स्वीकृत भएको हुनुपर्नेछ । यसरी उत्पादन भएको खोप ६० प्रतिशत सरकारले खरिद गर्नुपर्ने हुन्छ ।

    राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका निर्देशक डा उमेश दाहालले कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने खालको प्रयोगशाला आफूमा नभएको बताए। “कोभिड–१९ को खोप उत्पादनका लागि विएसएल–३ नामक प्रयोगशाला चाहिन्छ” उनले भने, ‘तर आफूसँग विएसएल–२ मात्र प्रयोगशाला छ । त्यसैले हाम्रो प्रयोगशालाबाट कोभिड–१९ को खोप उत्पादन गर्न सकिँदैन ।”

    उनले सरकारको नीति तथा कार्यक्रमअनुसार खोप उत्पादन गर्ने सोच बनाएको अनुसार अन्य कुनै प्रयोगशाला स्तरोउन्नति गरी खोप उत्पादन गर्ने बताए । उनका अनुसार प्रयोगशालाले कुकुर, भेडाबाख्रालगायत पशुपक्षीका लागि विभिन्न १३ प्रकारका खोप उत्पादन गरिरहेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमा मानिसमा लगाउने खोप उत्पादन गर्ने प्रयोगशाला आवश्यक भएर सरकारले न्यूनतम साझा कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने कुरा समेटिएको बताए । उनले विदेशबाट कच्चापदार्थ ल्याएर नेपालमा नै कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न सकिने बताए ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को खोप उत्पादन गर्न सकिने बताए । उनले खोप प्रयोगशाला स्थापना गरेर खोप उत्पादन सम्भव भएको बताए । “रेबिज् खोप पनि हामीले किनेर ल्याइरहेका छौँ । खोप उत्पादन गर्ने प्रयोगशाला स्थापना गर्ने हो भने अरु खोप पनि उत्पादन गर्न सजिलो हुन्छ,” उनले भने, ‘खोप आयात गर्नुभन्दा विस्तारै आफ्नै मुलुकमा खोप उत्पादन ग¥यो भने हामी आत्मनिर्भर पनि हुन्छौँ ।”

    औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे पनि नेपालमा खोप उत्पादन गर्न सकिने बताउँछन् । उनले कच्चापदार्थ र प्राविधिकहरु बाहिरबाट ल्याउन सक्ने हो भने खोप उत्पादन गर्न सकिने बताए । अहिले कोरोना भाइरस विरुद्धको खोप भारतबाट कोभिसिल्ड, चीनबाट भेरोसेल, अमेरिकाबाट ‘जोन्सन एण्ड जोन्सन,’ जापान र भुटानबाट एस्ट्राजेनेकालगायतका खोप ल्याइएका छन् । रासस

  • देश फर्कने वातावरण मिलाउन भन्दै पाकिस्तानका नेपाली विद्यार्थीले लेखे परराष्ट्रलाई पत्र

    देश फर्कने वातावरण मिलाउन भन्दै पाकिस्तानका नेपाली विद्यार्थीले लेखे परराष्ट्रलाई पत्र

    काठमाडौं । पाकिस्तानमा डाक्टर पढिरहेका नेपाली विद्यार्थीले तत्काल स्वदेश फर्कनको लागि वातावरण मिलाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका छन् । उनीहरुले सीधा हवाई उडान नभएकाले भारत-पाकिस्तानको वाघा-अटारी सीमा हुँदै स्वदेश फर्कने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

    पाकिस्तानमा रहेका नेपाली चिकित्सकको संगठन ‘सोसाइट अफ नेप्लिज डक्टर फ्रम पाकिस्तान’ले परराष्ट्र मन्त्रालयलाई यसै साता पत्र लेखेको अन्तर्राष्ट्रिय समन्वय कोअर्डिनेटर डा. तुलाराम यादवले जानकारी दिए।

    पाकिस्तानमा रहेका विद्यार्थीले आर्थिक समस्याका कारण चार्टर विमानमा आउन समस्या भएकाले उद्धार गर्नका लागि आग्रह गरेका छन् । चाडपर्व नजिकिरहेको भन्दै उनीहरुले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई स्वदेश फर्किने अनुमतिको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।

  • काबुलबाट ल्याइएकालाई काठमाडौंको आइसोलेसनमा राखिने, आजसम्म २६४ जना नेपाल फर्किए

    काबुलबाट ल्याइएकालाई काठमाडौंको आइसोलेसनमा राखिने, आजसम्म २६४ जना नेपाल फर्किए

    काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि मंगलबार ल्याइएका ११८ जना नेपालीलाई सामाखुशिस्थित राधास्वामी आइसोलेसन सेन्टरमा राखिने भएको छ ।

    उनीहरुको आजै पीसीआर परीक्षण गरिने डीसीसीएमसी काठमाडौं संयोजक तथा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

    यसैगरि, उद्दार गरि ल्याइएका अन्य नेपालीलाई पनि आइसोलेसनमा राख्ने तयारी भैरहेको सीडीओ पराजुलीले जानकारी दिए । कोभिड संक्रमणको जोखिमको कारण उनीहरुलाई निको तुल्याएर घर पठाइने जिल्ला प्रशासनले जनाएको छ ।

    साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । आज आएकासहित जोड्दा आएकाको संख्या २८२ पुगेको छ ।

  • आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू, संक्रमण हेरेर मुलुकलाई चार जोनमा बाँडिने

    आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू, संक्रमण हेरेर मुलुकलाई चार जोनमा बाँडिने

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।

    सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले भदौ १ गतेदेखि मुलुकका ७७ वटै जिल्लामा कार्यविधि लागू भएको जनाए । जसअनुसार मुलुकलाई संक्रमण दर, मृत्युदर, स्वास्थ्य पूर्वाधारको अवस्था र बिरामीको चाप हेरेर रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजित गर्ने गरिनेछ ।

    रेडजोनमा समावेश भएका जिल्ला, महानगर, पालिकामा पूर्णरुपमा निषेध गर्ने र अन्य रङलाई गाइडलाइनको आधारमा निषेधाज्ञा खुकुलो बनाउने सीसीएमसीको तयारी छ । ‘साविकमा अनुमानको आधारमा लकडाउन हुन्थ्यो भने अहिले तथ्य र वैज्ञानिक ढंगले स्मार्ट लकडाउन गर्न लागेका हौं’ प्रवक्ता खतिवडाले भने ।

    स्मार्ट लकडाउनको गाइडलाइनअनुसार डीसीएमसी र पालिकाहरुलाई संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञा गर्ने जिम्मा दिइएको छ । ‘जिल्ला प्रशासन र पालिकाले सीसीएमसीको गाइडलाइनअनुसार आजदेखि काम गर्नेछन्’ प्रवक्ता खतिवडाले भने ।

    मंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । साथै, गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयनबारे तयारी भैरहेको बताए ।

    साउन महीना सुरु भएदेखि मुलुकभर कोभिड संक्रमणमा वृद्धि भएको छ । सरकारले तेस्रो लहर आउन सक्ने भन्दै सचेत समेत गराएको छ ।

     

  • सोमबार काठमाडौं उपत्यकामा थपिए ९६१ संक्रमित

    सोमबार काठमाडौं उपत्यकामा थपिए ९६१ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ९६१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६७७ जना, भक्तपुरमा ११७ जना र ललितपुरमा १६७ जना हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ११,५४५ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ८,१२३ जना, भक्तपुरमा १,४०५ जना र ललितपुरमा २०१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै २१ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २०० भन्दा बढी १६ वटा जिल्लामा रहेको तथ्यांकमा उल्लेख छ ।

     

  • सोमबार ३४ सय संक्रमित थपिए, ३५ जनाको मृत्यु

    सोमबार ३४ सय संक्रमित थपिए, ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ६११ जनाको नमुना (पीसीआर १००९३ र एन्टीजेन ५५१८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३५ जनाले ज्यान गुमाएका छन् भने २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा कोरोनाभाइरस संक्रमणदर २२.१० प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।

    हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने १० हजार ३२७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म आईसीयूमा ७९५ जना, भेन्टिलेटरमा १९७ जना, होम आइसोलेशनमा ३६०३६ जना, संस्थागत आइसोलेशनमा ३३३५ र क्वारेन्टाइनमा ४०२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    गत २४ घण्टामा १ लाख ५८ हजार ३३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।