Category: स्वास्थ्य-जीवनशैली

  • माछा-मासुबिना पनि जम्छ दसैं ! यी हुन् स्वादिष्ट १० शाकाहारी व्यञ्जन

    माछा-मासुबिना पनि जम्छ दसैं ! यी हुन् स्वादिष्ट १० शाकाहारी व्यञ्जन

    दसैं अधिकांश नेपालीको एक ठूलो चाड हो । दसैंको आफ्नै बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । यससँगै आपसी सद्भाव, भातृत्व र सौहार्दता आदानप्रदान गर्ने एक विशिष्ट पर्व हो दसैं ।

    दसैंमा अघिपछिभन्दा मीठो खाने र राम्रो लगाउने प्रचलन छ । कतिपयले दसैंलाई माछामासु खाने पर्वका रुपमा पनि लिन्छन् । प्रत्येक घरमा खसीबोका काटेर दसैंभर खाने, खुवाउने चलन पनि छ ।

    मासु खानेहरुले मासुका अनेक परिकार बनाउँछन्, खान्छन् । तर शाकाहारीहरु भने दसैंमा के खाने भन्ने नै चिन्ता हुने गरेकोसमेत पाइछ ।

    हुनतः दसैँमा पशुपंछीको काटमार गर्न, बलि दिन बन्द गर्नुपर्छ भन्ने बहस पनि भइरहेको छ । माछामासु नखानेहरुले निर्दोष पशुपंछीको काटमार बन्द गर्नुपर्छ भन्दै आवाज उठाउन थालेको वर्षो भइक्यो । तर यो विषयमा कुनै ठोस निर्णय कतैबाट केही भएको छैन ।

    तर शाकाहारीले पनि दसैंमा खानसक्ने थुप्रै मीठा परिकार हुन्छन् । नेपाल राष्ट्रिय शाहाकारी संघका अध्यक्ष कृष्ण बहादुर गुरुङ दसैंमा मारकाट गर्नुभन्दा पोषिला शाकाहारी खानामा जोड दिनुपर्ने तर्क गर्छन् ।

    मीठो खाना भन्नेबित्तिकै धेरै चिल्लो धेरै गुलियो र मांसाहारीहरूका लागि धेरै मासु भन्ने आम बुझाइ छ । तर त्यो गलत हो ।

    मानव स्वास्थ्यलाई ध्यानमा राखेर बनाउन जानेमा स्वस्थ शाकाहारी र जीवहिंसा रहित खाना वा पूर्ण वनस्पतिजन्य खानाबाट पनि हामी अझ बढी स्वाद र सन्तुष्टि लिन सक्छौं । रमाइलोसँग चाड मानाउन सक्छौं ।

    दसैंमा स्वस्थ र ताजा शाकाहारी खानु उत्तम हुन्छ । दसैंमा खान सकिने शाकाहारी परिकार यसप्रकार हुनसक्छन्–

    पनिर

    दसैंमा सामान्यतया शाहाकारीहरुको पहिलो रोजाइमा पर्छ पनिर । दुध फटाएर बनाइने पनिर प्राय सबैलाई मनपर्ने तरकारी भित्र पर्छ । विशेषगरी हरियो केराउ र आलुसँग मिसाएर पकाउँदा एकदमै स्वादिष्ट बन्छ । पनिरलाई तेलमा तारेर गोलभेडाको अचारमा साँधेर पनि खान सकिन्छ । र पनिर चिल्ली पनि बनाएर खान सकिन्छ ।

    च्याउ

    शाहाकारीको लागि मसरुम (च्याउ)को तरकारी पनि दसैंमा खाने एक उत्कृष्ट परिकार हो । बजारमा दुईखाले च्याउ पाइन्छ । डल्ले च्याउको पनि धेरै थरीको परिकार बन्न सक्छ । च्याउसँगै क्याप्सिकम पनि मिसाएर मसरुम चिल्ली बनाउन सकिन्छ । साथै च्याउको सूप पनि स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

    साग

    दसैंको बेला चिल्लो पिरो गुलियो बढी, हरियो सागपात कम खाने भएकाले पनि दसैंमा शाहाकारी भोजनमा सागलाई अनिवार्य जस्तै गराउनु राम्रो हुन्छ । दसैँ अवधिभर हरियो सागपात कमै खाने भएकाले पनि सागलाई खानामा छुटाउनु हुँदैन । सागपातबाट पाइने भिटामिनले खाना पचाउनमा सहयोग पुग्छ ।

    केराको बुङ्गोको तरकारी

    दसैँमा केराको बुङ्गोको तरकारी बनाए पनि खान सकिन्छ । केराको बोटको टुप्पोलाई बुङगो भनिन्छ । जसको रातो केस्राभित्र ससाना फल जस्तै दाना हुन्छन् । त्यसलाई निकालेर बुङगोको तरकारी र अचार बनाउन सकिन्छ । जुन एकदमै स्वादिष्ट र स्वस्थ्य हुन्छ ।

    गेडागुडी

    शाहाकारीहरुको लागि गेडागुडी पनि उत्कृष्ट हुनसक्छ । मिक्स गेडागुडीको झोल बनाएर खान सकिन्छ । बोडी, चना, राज्माको छुटाछुटै परिकार बनाएर पनि खान सकिन्छ ।

    विरयानी

    विरयानी भन्ने वितिकै चिकेन मात्रै हुन्छ भन्ने सोचिन्छ । तर भेज विरयानी पनि बनाउन सकिन्छ । घरमै भएको तरकारीहरुलाई प्रयोग गरेर चिकेन विरयानीभन्दा मीठो परिकार बनाएर खान सकिन्छ । नयाँ परिकारको स्वाद पनि लिन सकिन्छ ।

    आलु फ्राई

    सबैभन्दा धेरै परिकार बन्ने आलु शाहाकारीको भोजनको लागि दसैँमा उपयुक्त हुन सक्छ । आलु धेरैलाई मनपर्ने तरकारी पनि हो । तारेको, भुटेको, पोलेको, साधेको आलुको परिकार बनाएर खान सकिन्छ ।

    कुरिलो

    कुरिलोको झोल एकदमै स्वादिलो हुन्छ । बुढाबुढीदेखि बच्चाबच्चीको लागि कुरिलोको झोल एकदमै प्रभावकारी हुन्छ ।

    खीर

    खीर पनि सदाबहार खाना र खाजा भित्र पर्छ । प्राय सबैको रोजाइमा पर्ने खीर दसैँमा खान सकिन्छ ।

    सिर्कनी

    दसैंको लागि भनेर विशेष गरेर काक्रो राखिएको हुन्छ । काक्रोको पनि धेरै परिकार बनाउन सकिन्छ । काक्रोको सिर्कनी बनाएर साधेर आलुको अचारसँग मोलेर खान सकिन्छ । काक्रोलाई कोरेर दहीसँग मिसाएर अमिलो पिरो मिलाएर सिर्कनी बनाउन सकिन्छ । यो एकदमै स्वादिलो हुन्छ ।

    त्यस्तै दसैमा दुधबाट बन्ने कुराउनी, तोफुको तरकारी, घिउमा पोलेको सेलरोटी, मौसमी फलफूल, काजु, नरिवल आदि राखेको दुध, दही, हरियो बोडीको तरकारी, बिरम्ला, मुला, काँक्रो, गाँजर खान सकिन्छ ।

    (नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङसँग नेपाल प्रेसकर्मी शर्मिला पण्डितले गरेको कुराकानीमा आधारित)

  • कोरोनासँग जोगिएर कसरी मनाउने दसैँ ? विज्ञ् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

    कोरोनासँग जोगिएर कसरी मनाउने दसैँ ? विज्ञ् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

    काठमाडौं । ‘जो जहाँ छ त्यही बसेर दसैँ मनाउनुस्, फोनबाटै भएपनि आर्शिवाद थापौँ, बाचिए अर्को साल दसैं मनाउन सकिन्छ’ गतवर्ष स्वास्थ्य मन्त्रालयले सर्वसाधरणको लागि गरेको अनुरोध हो यो ।

    यस वर्ष पनि कोरोना महामारीको जोखिम समाप्त भइसकेको छैन । अहिले दैनिक १ हजारको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् भने दर्जन हाराहारीमा मृतक थपिने गरेका छन् ।

    चाडबाडको समयमा किनमेल गर्नेदेखि गाउँमा दशैँ मनाउन घर जानेहरुको लर्कोले कतै कोरोना भाइरसको ‘तेस्रो लहर’ फैलन सहयोग त पुग्ने होइन ? भन्ने चिन्ता थपिएको छ । बजारबाट पनि कोरोना संक्रमण फैलनसक्ने र दसंै मनाउन गाउँ जानेहरुबाट गाउँगाउँमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।

    गत साल पनि जोखिमकै बीचमा दसैं मनाइएको थियो । गाउँमा भएका वृद्धवृद्धामा संक्रमण फैलन सक्ने भन्दै मन्त्रालयको आग्रहलाई स्वीकारेर जहाँ छ त्यही दसैं मनाउनुपरेको थियो । दसैं मनाउन घर पुगेकाहरुले पनि वृद्धवृद्धा भएका घरमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएरै टिका लगाएका थिए । त्यतिमात्रै होइन आफन्तको घरमा समेत टिका र आशीर्वाद थाप्न जाने क्रम घटेको थियो । आफू अरुको घरमा पनि टिका थाप्न नजाने अरु पनि टिका थाप्न नआउन सार्वजनिक रुपमा आग्रह गरेका थिए । बढी भीडभाड हुने क्षेत्रहरु सार्वजनिक पीङ, शक्तिपीठहरुमा पनि सर्वसाधरणलाई रोक लगाइएको थियो ।

    गाउँमा दसैं मनाउन जानेहरुको चहलपहल शुरु भइसकेको छ ।  यसपटक पनि दसैं अघि कोरोना संक्रमणको ‘तेस्रो लहर’ आउनसक्ने मन्त्रालयले बताएको छ ।

    तर यस वर्ष ज्येष्ठ नागरिक देखि युवाहरुले समेत कोरोना भाइरसविरुद्धको खोप पाइसकेकाले पनि गतवर्ष भन्दा केही सुरक्षित महसुस गरिएको छ । त्यसो भन्दैमा कोरोना महामारीको जोखिम भने कायमै रहेकाले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    महामारीकैबीच कोरोनासँग जोगिएर दसैं कसरी मनाउने त ? के पोहोर जस्तै घरभित्र मात्रै दसैं सीमित राख्ने हो त ? यस विषयमा हामीले जनस्वास्थ्य विज्ञहरुसँग कुराकानी गरेका छौ ।

    सर्तकता अपनाएर दसैं मनाउँदा आत्तिहाल्नुपर्ने अवस्था नभएको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा भाइरोलोजिस्ट डा. शेर बहादुर पुन बताउँछन् । उनी भन्छन्,‘अहिले जोखिम हुने भनेको खोप नलगाएका र कोरोना संक्रमण नभएकालाई जोखिम नै रहेकाले उनीहरु उच्च जोखिममा छन् ।’

    ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा भाइरोलोजिस्ट डा. शेर बहादुर पुन यसो भन्छन् ः

    कोरोनाको जोखिम अहिले पनि छ त्यसकारण सर्तकता अपनाऔं । हुन त अहिले धेरै मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । लगाउने क्रम जारी छ । भेरियन्ट पनि फेरिएको छैन, त्यही भेरियन्ट छ ।

    डेल्टा भेरियन्टले नै निरन्तरता पाइरहेको छ । त्यो भनेको धेरै मानिसहरु संक्रमित पनि भइसकेको अवस्था हुन सक्छ । अहिले पनि संक्रमित हुन बाँकी भएका वा खोप लगाउन बाँकी रहेकाहरुको तथ्थाङ हेर्दापनि थाहा हुन्छ ।

    हामी दसैं मनाउँदै छौं । दसैंलाई सबैजना जमघट हुने रमाइलो गर्ने पर्वको रुपमा लिइन्छ । कोरोना भाइरस पनि जहाँ धेरै भीडभाड छ त्यो ठाउँमा फैलन सक्ने सम्भावना बढी हुन्छ । गएको वर्ष भन्दा यसवर्ष अवस्था फरक भएतापनि हामीले सतर्कता अपनाउन पर्ने हुन्छ । सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । अब गाउँसम्म गाडीबाट जानुपर्ने हुन्छ । आफन्तबीच भेटघाट, छलफल,कुराकानी हुन्छ । त्यस्तो बेलामा स्वास्थ्य सतर्कताको पनि ख्याल चै राख्नुपर्छ । कतिपय व्यक्ति लक्षणबिनै संक्रमित भएका हुनसक्छन् । त्यस्ता व्यक्तिबाट पनि कोरोना सर्नसक्र्छ । त्यसैले ख्याल गर्नुपर्छ ।

    मास्क नियमित लगाउने , साबुन पानीले हात धोइरहने , स्यानिटाइजर प्रयोग गर्ने लगायतका कामलाई दसैंमा बिर्सनु हुँदैन । घरभित्र हुँदा होस वा बाहिर हरेकपल स्वास्थ्यबारे सजगता हुनुपर्छ । दसैंको रमाइलोमा भुलेर रोग निम्त्याउनु राम्रो हुँन्दैन । त्यसैले यो दसैं पनि सतर्कतासाथ मनाउनुपर्छ ।

    कतिपयले खोप लगाउनुभएको छैन । खोप नलगाएका व्यक्तिले अझ बढी सचेत हुनुपर्छ । अहिलेसम्म संक्रमण नभएपनि उहाँहरु उच्च जोखिममा हुनुहुन्छ । त्यस्ता व्यक्तिहरुलाई जतिसक्दो चाडो खोप लगाउन मेरो सुझाव छ । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु वेश हो । त्यसलाई विशेष ध्यान दिनुपर्यो हामीले ।

    टीका लगाउने बेलामा पनि आत्तिने भन्दा होसियार हुने गर्नुपर्छ । सकेसम्म खुल्ला स्थानमा टीका लगाउने स्थान बनाउनुपर्छ । घरको छत, आँगन वा बगैंचा पनि त्यसका लागि उपयुक्त हुनसक्छ । एउटै कोठामा धेरैजना गुम्सिएर टीका लगाउनु हुँदैन । टीका लगाउने र लाइदिने दुवैले बारम्बार हात धुने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता काम गर्नुपर्छ । दसैं रमाइलो पर्व हो, रमाउनैपर्छ । तर स्वास्थ्य रमाइलोभन्दा महत्वपूर्ण हो । स्वास्थ्य सर्तकर्ता अनुपाउनुमै हाम्रो बुद्धिमता हुनेछ । घरमा हुनुहुने ज्येष्ठ नागरिक, बालबालिका र अस्वस्थ व्यक्तिलाई अझ बढी हेरचार माया दिनुपर्ने । कोरोनाका कारण गतवर्ष देखि नै हाम्रो जीवनशैली परिवर्तन भएको छ । यो परिवर्तनलाई आत्मसात गरेर यसवर्षको दसैं स्वस्थ र उत्साहका साथ मनाउनुपर्छ ।

     

  • दसैंको खानपान: कस्तो मासु स्वस्थकर ?

    दसैंको खानपान: कस्तो मासु स्वस्थकर ?

    काठमाडौं । दसैँलाई हामीमध्ये धेरैले मीठो खाने र राम्रो लगाउने चाडका रुपमा बुझ्छौं । अझ मांसाहारीका लागि त यो चाड मासु खाने पर्व नै हो भन्दा नि फरक पर्दैन । दसैंमा हुनेखाने र हुँदा खाने सबैकोमा मासुको परिकार बन्छ ।

    तर, एकैपटक धेरै परमिाणमा मासु हुने हुनाले स्टोर गर्न नजान्दा साथै सही समयमा सही तरिकाले पकाएर खान नजान्दा मीठो र शरीरका लागि आवश्यक पर्ने प्रोटिनयुक्त मासुले उल्टै हाम्रो स्वास्थ्यमा असर पुर्‍याउँछ । स्वास्थ्य विज्ञहरुले स्वस्थकर मासुका लागि विभिन्न सुझाव दिएका छन् ।

    मासुमा हामीले सामान्यतया खसी, बोका, भेडा, च्याङग्रा, कुखुरा, राँगा, सुँगुर, हाँस, तथा माछा खान्छौं । खानपानका सानोतिना कुरामा ध्यान नदिँदा चाडवाडका बेला अस्पताल नै पुग्नुपर्ने पनि हुन्छ । हामीले खाने मासु कत्तिको स्वस्थयकर छ र कस्तो मासु खानुपर्छ भन्नेमा सचेत हुन आवश्यक रहेको वरिष्ठ फिजिसियन एंव मुटुरोग विशेषज्ञ डा.विनोदकुमार दाहाल ।

    डा. दाहाल सेतोको तुलनामा रातो मासुुले स्वास्थ्यलाई खराब गर्ने भए पनि रातो मासु थोरै परमिाणमा मिलाएर खान सकिने बताउँछन् । मुटु, कलेजो, मिर्गौला रगतमा समस्या देखिएका तथा ब्लडप्रेसरलगायतका दीर्घरोगीले सकेसम्म मासु नखाँदै राम्रो हुने उनको सुझाव छ । खानु परेमा पनि ठीक्क शरीरलाई चाहिने मात्रा दिनको २/४ पिस खानुपर्ने दाहालले बताए ।

    मासु खाँदा कुन-कुन कुरामा ध्यान दिने

    मासु खाँदा आफूले खाने मासु कत्तिको स्वस्थकर छ त्यो ख्याल गर्नुपर्ने हुन्छ । थोरै खाने तर गुणस्तरको मासु खानु नै सबैका लागि उपयोगी छ । पशुपन्छी पनि स्वस्थ हुनुपर्छ, दसैंमा मासु धेरै हुने भएकाले एकैपटक पकाएर राख्ने र धेरै दिन लगाएर खाने चलन छ ।

    तर, यसरी मासु एकैपटक पकाएर बिस्तारै खानु राम्रो नहुने चिकित्सकको भनाइ छ । पाकेको मासु लामो समय खाँदा विभिन्न किटाणुले आक्रमण गर्ने भएकाले आलो मासु समय-समयमा पकाएर खाँदा राम्रो हुन्छ । चाडपर्वका नाममा जथाभावी रुपमा काटेको मासु अत्यधिक खाएमा यसले आर्थिक र शारीरिक क्षति समेत गर्छ ।

    फ्रिज हुनेले चाहिँ मासु पकाएर राख्नुभन्दा डी फ्रिजमा आलो मासु राखेर आफूलाई चाहेको बेलामा पकाएर खान सकिन्छ । पकाएर राखेको मासुभन्दा फ्रिजमा राखेको आलोमासु बढी स्वस्थकर हुने विज्ञ बताउँछन् । मासु खाँदा एकैपटक धेरै मासु खानुभन्दा समय-समयमा थोरैथोरै खानु राम्रो हुन्छ ।

    अस्वस्थ्य र मासुको बढी प्रयोगको असर

    माछामासु खानु हानिकारक होइन । तर, हामीले खाने तौरतरिका र जीवनशैलीले स्वास्थ्यको निर्धारण गर्छ । बोसो धेरै नभएको छालारहित र धेरै तारेको हुनु नहुने चिकित्सकको भनाइ छ ।

    किनेर या घरमै काटेको मासु हल्का गुलाबी रंगको छ भने त्यसमा केही खराबी हुनसक्छ हरियो र प्याजी रंगको भएमा त्यो मासु खान अयोग्छ छ भनेर बुझ्नु पर्छ । साथै, दसैंमा खसी किन्दा सिंगान बगेको, स्वस्थ प्रमाणित नगरेको पशुपन्छी खान हुन्न ।

  • नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते हुने

    नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते हुने

    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले आगामी मंसिर ११ गते नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा लिने भएको छ। परीक्षाका लागि काउन्सिलले अनलाइन फारम खुला गर्ने निर्णय गरेको छ । अनलाइन फारम असोज ३१ गतेबाट खुला हुने जनाइएको छ ।

  • सोमबार कोभिड संक्रमणबाट १२ जनाको मृत्यु, देशभर ७८५ संक्रमित थपिए

    सोमबार कोभिड संक्रमणबाट १२ जनाको मृत्यु, देशभर ७८५ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७८५ जनालाई कोरानाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाको परीक्षण भएकोमा त्यति जनालाई संक्रमण पुष्टि भएको हो ।

    आजको दैनिक संक्रमण दर ६.४३ प्रतिशत छ ।

    यस्तै सोही अवधिमा ८८८ जना निको भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २२७ जना छन् । काठमाडौंमा १९१,ललितपुरमा ७८ र भक्तपुरमा २६ जनालाई संक्रमण पुष्टि भएको छ ।

    अहिले सक्रिय संक्रमित १४ हजार ७८७ जना छन् जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा छन् भने ३१४ जना आइसियु र १११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    अहिलेसम्म नेपालमा ८ लाख ९५ हजार ९७७ जनालाई संक्रमण पुष्टि भएकोमा ७ लाख ७६ हजार ८३१ जना निको भएका छन् भने ११ हजार २४३ जनाको मृत्यु भएको छ ।

  • नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

    नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए ।

    उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोनाभाइरसविरुद्धको खोपको पनि योगदान रहेको बताए ।

    साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्नु संक्रमण घट्नुको अर्को कारण भएको उनले बताए ।

    शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र संक्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।

    नेपालमा संक्रमण दर १८.७ प्रतिशत र संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोनाभाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।

    यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

    यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

    नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने संक्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेशन, एक हजार १७२ जना संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा रहेका छन् ।

  • खरिद गरेको सात महिनापछि भारतबाट आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

    खरिद गरेको सात महिनापछि भारतबाट आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

    काठमाडौं । भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार नेपाल आइपुगेको छ । नेपालले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी दिएको थियो।

    खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप शनिबार नेपाल आइपुगेको हो । शनिबार साढे २ बजे खोप बोकेर त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    उक्त कोभिसिल्ड खोप अस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी मन्त्रालयले गरेको छ।

     

  • शनिबार ७ सय कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    शनिबार ७ सय कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार देशभर ७६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयक अनुसार १२ हजार ३१ वटन नमूना (६१६८ पीसीआर र ५८३३ एन्टीजेन) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ८९९ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा ९०९९३ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ३४० छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १ हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ९६३ पुगेको छ ।

    हालसम्म ७ लाख ७५ हजार ७२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २२१ पुगेको छ ।

  • कपिलवस्तुको झाडापखालाका बिरामीमा हैजाको जीवाणु भेटियो

    कपिलवस्तुको झाडापखालाका बिरामीमा हैजाको जीवाणु भेटियो

    रुपन्देही । ६ दिनअघि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका विरामीहरुको दिसाको नमुनामा हैजाको जीवाणु भिब्रियो कलेरा नामक व्याक्टेरिया फेलापरेको छ ।

    यसअघि झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी संस्थानले वितरण गरेको र चापाकलको पानी परीक्षण गर्दा कोलिफर्म व्याक्टेरिया फेलापरेको थियो । पानी परीक्षणको रिपोर्टमा अत्यधिक मात्रामा कोलिफर्म व्याक्टेरिया पाइएकोमा विरामीहरुको दिसाको रिपोर्टमा भिब्रियो कलेरा नामक व्याक्टेरियासमेत देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

    झाडापखाला प्रभावित क्षेत्रमा विरामीहरुको उपचार तथा अन्य व्यवस्थापनमा खटिएका स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेशचन्द्र घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षणको लागि पठाइएको दिसामा भिब्रियो कलेरा भेटिएको फोनमार्फत जानकारी गराएपनि रिपोर्ट आइनपुगेको जानकारी दिए ।

    नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरेका धारा र ४० फिटभन्दा माथि र १ सय फिटभन्दा कममा गाडेको हाते पम्पबाट परीक्षणको लागि पानीको नमुना संकलन गरिएको थियो । तीमध्ये १ सय फिटको पम्पमा जीवाणु फेला नपरेपनि संस्थानले वितरण गरेको र ४० फिटसम्मको हाते पम्पको पानीमा धेरैमात्रामा कोलिफर्म व्याक्टेरिया फेला परेको स्वास्थ्य कार्यालयले बताएको छ ।

    कार्यालयका अनुसार संस्थानको खानेपानी र ४० फिटसम्मको हातेपम्पमा २ प्रतिशत कोलिफर्म भेटिएको छ । कोलिफर्म व्याक्टेरिया दिसामा पाइने जीवाणु भएको र पानीमा कसरी मिश्रण भयो भन्ने यकिन भइनसकेको घिमिरेले बताए । कृष्णनगर नगरपालिकाका वडा नं. ७, ८ र ९ का विभिन्न गाउँमा सोमबार सांझदेखि फैलिएको झाडापखालबाट हालसम्म करिब पाँचसय जना बिरामी भएका छन् । ती मध्ये सिकिस्त अवस्थाका ३४ जनालाई अन्यत्र रिफर गरिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म पौने ५ सय बिरामी परेको, दुई जनाको मृत्यु भएको, शुक्रबारसम्म ६५ जना अस्पतालमा उपचार गराइरहेको र अन्य बिरामी उपचारपछि घर फर्किएको जानकारी दिएको छ । स्थानीयले सरकारी अस्पतालबाहेक निजी क्लिनिकमा उपचार भएकाले तथ्यांक नमिल्ने बताएका छन् ।

     

  • नेपालमा कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

    नेपालमा कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

    काठमाडौँ । कोरोनाभाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो ।

    परिषद्ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताए । “भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएका हो”, उनले भने, ‘दुवै खोप उत्तिकै प्रभावकारी छन् ।”

    काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमामा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिए । उनका अनुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव नौ प्रतिशतमा एन्टिबडी देखिएको छ । यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव एक प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ ।

    वरिष्ठ अनुसन्धान अधिकृत धिमालले खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै जानाका साथै केही व्यक्तिमा १५० दिनसम्म पनि एन्टिबडी देखिने गरेको बताए । अनुसन्धानकै क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका व्यक्तिमा एन्टिबडी परीक्षण गर्दा ५९दशमलव आठप्रतिशत मात्र एन्टिबडी देखिएको छ ।

    कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड–१९ को सङ्क्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको बताए । खोप लगाएको दिनदेखि नमूना सङ्कलनको दिनसम्मलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेकामा ८२ दशमलव ३३ प्रतिशत एन्टिबडी देखिएको छ । यस्तै चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३ दशमलव ७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको छ ।

    यस्तै अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८ दशमलव नौ, दुईटा दीर्घ रोगी भएकामा ७१ दशमलव ६९ र तीन वटा दीर्घरोगी भएकामध्ये ४२ दशमलव तीन प्रतिशत एन्टिबडी देखिएको छ । कार्यकारी प्रमुख डा ज्ञवालीले कोभिड–१९ विरुद्धको खोप नलगाएका तथा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीमा पनि एन्टिबडी विकसित भएको देखिएकाले कोभिड–१९ समुदायस्तरमा फैलिएको हुनसक्ने बताए ।

    अनुसन्धानलाई वैज्ञानिक बनाउने प्रयास गरिएको बताउँदै उनले खोप लगाएका व्यक्तिमा एन्टिबडी बढ्दै जाने गरेको बताए । काठमाडौँ विश्वविद्यालयको सहयोगमा गरिएको अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए । पचास दशमलव पाँच प्रतिशत औसत उमेरका व्यक्तिमा गरिएको अध्ययनमा १५ दशमलव चार प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो । कूल खोप लगाएकामध्ये ८५ दशमलव दुई प्रतिशतले कोभिशिल्ड, १४ दशमलव पाँच प्रतिशतले भेरोसेल, अन्य खोप लगाएका शुन्ना दशमलव दुई प्रतिशत थिए । खोप लगाएका १५ दिनदेखि १५० दिनसम्मका व्यक्ति अध्ययनमा सहभागी थिए । रासस

  • शुक्रबार ७ सय कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

    शुक्रबार ७ सय कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १०६८८ वटा (पीसीआर  ९४६६ र एन्टिजेन  १२२२) नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १०३३ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ६१४ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ९९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ८३९ पुगेको छ ।

    हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २१० पुगेको छ ।

  • डब्लुएचओद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

    डब्लुएचओद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

    काठमाडौं । विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

    बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै उनले विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् ।

  • भियाग्राको कारण पत्नी गर्भवती नभएपछि पतिले मागे सहयोग

    भियाग्राको कारण पत्नी गर्भवती नभएपछि पतिले मागे सहयोग

    काठमाडौं । भियाग्राको प्रयोग गर्दै आएका एक व्यक्तिले रिलेसनसिप पोर्टलमा आफ्नो दुःख व्यक्त गर्दै जानकारसँग सहयोगको अपील गरेका छन् । आफ्नो उमेर ५० वर्ष उल्लेख गरेका ती व्यक्तिले आफूले भियाग्राको प्रयोग गरेकाले श्रीमती  गर्भवती नभएको गुनासो गरेका छन् ।

    यौन सम्पर्क क्षमता बढाउनका लागि भियाग्रा जस्ता विभिन्न औषधिको प्रयोग हुने गरेको छ । र, कतिपय अवस्थामा त्यो हानिकारक पनि सावित भइदिन्छ ।

    ती व्यक्तिले लेखेका छन्, ‘हामीले विवाह गरेको १० वर्ष बितिसक्यो । म ५० वर्षको भएँ र मेरी पत्नी ३९ वर्षकी भइन् । म ‘इरेक्सन डिसफङ्सन’को कारणले भियाग्राको प्रयोग गर्छु । हामी पछिल्ला धेरै वर्षदेखि निरन्तर आमा–बुबा बन्ने कोसिस गरिरहेका छौं । तर, हाम्रो त्यो इच्छा पूरा भइरहेको छैन ।’

    उनले आफ्नो समस्याबारे अझै खुलस्त पार्दै लेखेका छन्– ‘पहिले डाक्टरहरूले मेरी श्रीमतीलाई गाइनोक्लोजिकल सम्बन्धी समस्या भएको बताएका थिए । जसको कारणले उनी गर्भवती भइरहेकी थिइनन् । अहिले त्यो समस्या समाधान भइसक्यो र उनी गर्भवती हुन चाहिन्छन् । तर, मलाई भित्र–भित्रै एउटा समस्याले सताइरहेको छ । म भियाग्राको प्रयोग गर्छु । र, मलाई लाग्छ त्यसको कारण श्रीमती गर्भवती नहुनु हो ।’

    त्यो समस्याप्रति एक जानकारले सल्लाह दिँदै लेखेका छन्– ‘डाक्टरको सल्लाहमा नै तपाईले भियाग्राको प्रयोग गर्नुभएको होला । यदि होइन भने यसबारे तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुहोस् । नेसनल हेल्थ सर्भिसका अनुसार भियाग्राले प्रजनन क्षमतामा ह्रास ल्याउने हालसम्म भेटिएको छैन । बच्चाको आशामा धेरै तनाव लिनु भयो भने त्यसले चाहीँ समस्या ल्याउन सक्छ ।’

  • कर्णाली सरकारले ५० डाक्टरलाई निशुल्क पढाउने, प्रतिजिल्ला पाँच डाक्टर बनाउने लक्ष्य

    कर्णाली सरकारले ५० डाक्टरलाई निशुल्क पढाउने, प्रतिजिल्ला पाँच डाक्टर बनाउने लक्ष्य

    सुर्खेत । कर्णाली प्रदे्श सरकारले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउने भन्दै चालु आर्थिक वर्षबाट कर्णालीका दश जिल्लाका पचास जनालाई एमबिबिएस अध्यापन गराउने भएको हो । सामाजिक विकासमन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीका अनुसार प्रति जिल्ला पाँच जनाका दरले पचास जनालाई डाक्टर पढाउन तयारी थालिएको हो ।

    प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि नै कर्णालीमा विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम छात्रवृत्ति, दलित छात्रवृत्ति, छोरी बुहारी छात्रवृत्ति, अपांगता भएकाहरुका लागि छात्रवृत्ति दिइरहेको सरकारले पचास जना डाक्टरका लागि छात्रवृत्तिमा पढाउन सुरु गर्ने निर्णय गरेको हो ।

    यसअघि कम्तिमा २४ हजारदेखि एक लाख ३० हजारसम्मका दरमा मन्त्रालयले छात्रवृत्ति वितरण गरेको थियो । तर ती छात्रवृत्ति पाएकामध्ये अधिकांश सरकारको सम्पर्कमा छैनन् ।

    ‘हामी कर्णालीको स्वास्थ्य सेवालाई बलियो बनाउन प्रयासरत छौं । दक्ष जनशक्तिको अभावमा कर्णालीका नागरिकको ज्यान जान नपाओस भनेर यो योजना ल्याएका हौं’, दैलेखमा जिल्ला अस्पतालको भवन शिलान्यास गर्न गएका मन्त्री बुढाले भने ।

    मन्त्रालयका योजना शाखा प्रमुख विनोद आचार्यले विभिन्न छात्रवृत्तिका लागि एक करोड रुपैयाँ विनियोजित भएको बताउँदै सोही रकमबाट डाक्टर पढाइने बताए ।

  • काठमाडौंमा आजदेखि १८ वर्षभन्दा माथिकालाई भेरोेसेल खोपको पहिलो डोज लगाइने

    काठमाडौंमा आजदेखि १८ वर्षभन्दा माथिकालाई भेरोेसेल खोपको पहिलो डोज लगाइने

    काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।

    महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् । कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।”

    खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ ।

  • आरजुलाई माफिया संज्ञा दिँदै गोविन्द केसीले भनेः कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्छु

    आरजुलाई माफिया संज्ञा दिँदै गोविन्द केसीले भनेः कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्छु

    काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका लागि संघर्षरत अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगलाई तहसनहस बनाउन लागिएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन् । उनले आयोगका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई माफिया संज्ञासमेत दिएका छन् ।

    आज एक विज्ञप्ति जारी गरी डा. केसीले शैक्षिक र मेडिकल माफियाहरुको स्वार्थमा आयोग भताभंग पार्न खोजिएको भन्दै विरोध जनाएका हुन् । प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ, नर्सिङ लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरुका लागि आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको उनको भनाइ छ ।

    ‘त्यसको मुख्य एजेण्डा चिकित्सा शिक्षा ऐनलाई कुल्चँदै नपढाइ डिग्री बेच्ने कलेजहरुलाई नयाँ भर्ना खुलाउनु हो,’ उनले भनेका छन्, ‘यस्तो अवैध काम सरकारबाट गराउने जिम्मा पार्टी कार्यकर्ता तथा निजी कलेजका सञ्चालक खगेन्द्र प्रसाद अधिकारीले लिएका छन् जो सिटिइभिटीका समेत उपाध्यक्ष हुन् । सिटिइभिटीलाई जथाभावी सम्बन्धन र घुसखोरीको अखडा बनाएर माफियाहरुका लागि काम गरिरहेका अधिकारी र उनको गिरोह अहिले चिकित्सा शिक्षा आयोगलाई धराशायी पार्न लागिरहेका छन् ।’

    सिंहदरबारस्थित कार्यालय नगइ वासस्थानबाटै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तथा आरजु देउवा र उनी वरपरका माफियाहरुको स्वार्थमा देश चलाउने अधिकार देउवालाई नभएको डा.केसीको टिप्पणी छ ।

    केही समयअगाडि डा. केसीले सत्याग्रह घोषणा गरेकोमा प्रधानमन्त्री देउवाले पाँच बुँदै प्रतिबद्धता गरेपछि स्थगित गरेका थिए । तर, ती प्रतिवद्धता कार्यान्वयन नभएको उनको गुनासो छ । उनले पाँच बुँदे माग अघि सार्दै ती माग पुरा नभए जुनसुकै बेला अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

    मागपत्रको पहिलो बुँदामा भनिएका छ, ‘राज्यको नीति निर्माणमा आरजु देउवालगायतका शैक्षिक र मेडिकल माफियाहरुको हस्तक्षेप तत्काल रोकियोस् । माफियाहरुको स्वार्थ पुर्तिका लागि कार्तिक २५ गते बोलाउन लागिएको चिकित्सा शिक्षा आयोगको बैठक रद्द गरियोस् । पार्टी कार्यकर्ता तथा माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस् । नर्सिंगलगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरशः कार्यान्वयन गरियोस् ।’

    हेर्नुस् विज्ञप्तिको पूर्णपाठ:

    प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष शेर बहादुर देउवाले आरजु देउवा लगायतका शैक्षिक र मेडिकल माफियाहरुको स्वार्थमा आयोगलाई तहसनहस बनाउन लागेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    चिकित्सा शिक्षा ऐन जारी हुँदा तत्कालीन नेकपा सरकारले राखेका माफियामुखी बुँदाहरु हटाएर जनता र विद्यार्थीमुखी प्रावधानसहित संशोधन गर्न हामीले बारम्बार माग गर्दै आएका छौं । केही कमजोरीका बाबजुद नेपालमा चिकित्सा शिक्षा ऐन आएर आयोग बनेपछि सुधारका धेरै कामहरु संस्थागत भएका छन् । यो अवस्थामा कमजोरी सुधारेर नियमनलाई बलियो बनाउनुपर्नेमा अहिलेको सरकारले निजी कलेजहरु चलाउने पार्टी कार्यकर्ताहरुको इशारामा आयोगलाई नै भताभुंग बनाउने प्रयास गरेकोमा हामी त्यसको कडा निन्दा गर्छौं ।

    प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ नर्सिंग लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरुका लागि आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । त्यसको मुख्य एजेण्डा चिकित्सा शिक्षा ऐनलाई कुल्चँदै नपढाइ डिग्री बेच्ने कलेजहरुलाई नयाँ भर्ना खुलाउनु हो । यस्तो अवैध काम सरकारबाट गराउने जिम्मा पार्टी कार्यकर्ता तथा निजी कलेजका सञ्चालक खगेन्द्र प्रसाद अधिकारीले लिएका छन् जो सिटिइभिटीका समेत उपाध्यक्ष रहेका छन् । सिटिइभिटीलाई जथाभावी सम्बन्धन र घुसखोरीको अखडा बनाएर माफियाहरुका लागि काम गरिरहेका अधिकारी र उनको गिरोह अहिले चिकित्सा शिक्षा आयोगलाई धराशायी पार्न लागिरहेका छन् ।

    यो अवस्थामा चिकित्सा शिक्षा आयोगको अध्यक्षका रुपमा प्रधानमन्त्री देउवालाई हामी कर्तव्य सम्झाउन चाहन्छौं । उनी मुठ्ठीभर माफिया र अपराधीहरुले बनाएको नभई तीन करोड नेपालीले सबैका लागि काम गर्न बनाएका प्रधानमन्त्री हुन् । आफ्नो परिवारका सदस्यको व्यापारिक स्वार्थका लागि देशको कानुनै तोडमोड गर्ने, उल्लंघन गर्ने तथा कानुन प्रतिकुल हुने गरी अध्यादेश ल्याउने उनलाई अधिकार छैन । त्यसमाथि पनि आयोगको आलंकारिक अध्यक्षको हैसियतमा माफियाहरुको स्वार्थ र इशारामा अनावश्यक रुपमा आयोगको बैठक बोलाउने तथा निर्णय गर्न दबाब दिने कुनै पनि अधिकार उनलाई छैन । सिंहदरबारस्थित कार्यालय नगइ वासस्थानबाटै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तथा आरजु देउवा तथा उनी वरपरका माफियाहरुको स्वार्थमा देश चलाउने अधिकार पनि उनलाई छैन ।

    केही महिना अगाडि हामीले सत्याग्रह घोषणा गरेकोमा प्रधानमन्त्री देउवाले पाँच बुँदै प्रतिबद्धता गरेपछि हामीले त्यसलाई स्थगित गरेका थियौं । तर उनले ती प्रतिबद्धता पूरा गर्नको बदला माफियाहरुको इशारामा चिकित्सा शिक्षा आयोगलाई नै धराशायी बनाउन खोजेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुसित सरकारले नै गरेको सम्झौता अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । यही समयमा काठमाडौं विश्वविद्यालयका भ्रष्ट पदाधिकारीहरुले अदालतको आड लिएर चिकित्सा शिक्षा ऐनको कार्यान्वयन तथा चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा भाँजो हाल्न प्रयास गरेका छन् । संवैधानिक निकायमा भएको भागवण्डाको अवैध नियुक्तिले नपुगेर प्रधान न्यायधीशले मन्त्री र राजदुत पदमा समेत भागवण्डा खोजेको भन्ने लज्जास्पद समाचारहरु अहिले आइरहेका छन् । यी सबै प्रकरणले राज्यका सबै अंगहरु कतिसम्म भ्रष्ट र पतित व्यक्तिहरुको नेतृत्वमा चलेका छन् भन्ने पुष्टि भएको छ ।

    यो अवस्थामा जिम्मेवार नागरिकको हैसियतले राज्यका सबै अंगमा हुनेहरुका जवाफदेहिताका लागि हामीले निम्न मागहरु राखेका छौं । ती पूरा नभएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्न सक्ने जानकारी गराउँछौं ।

    मागहरु:

    १. राज्यको नीति निर्माणमा आरजु देउवालगायतका शैक्षिक र मेडिकल माफियाहरुको हस्तक्षेप तत्काल रोकियोस् । माफियाहरुको स्वार्थ पुर्तिका लागि कार्तिक २५ गते बोलाउन लागिएको चिकित्सा शिक्षा आयोगको बैठक रद्द गरियोस् । पार्टी कार्यकर्ता तथा माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस् । नर्सिंगलगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरशः कार्यान्वयन गरियोस् ।

    २. बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन शुरु गरियोस् ।

    ३. स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने, सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने लगायत यस अगाडि हामीसितको भेटमा गरिएका सबै प्रतिबद्धताहरु पूरा गरियोस् ।

    ४. विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गरियोस् । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस् । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस् । काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।

    ५. यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन गरियोस् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरियोस् ।

  • बिहीबार ८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

    बिहीबार ८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८०५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६७२ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

    सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    गत २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा १५ हजार ९४२ जना सक्रिय संक्रमित छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २९४ जना छन् ।काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जनालाई संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म नेपालमा ८ लाख ९३ हजार ७२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ७३ हजार १४० जना निको भएका छन् भने ११ हजार २ सय जनाको मृत्यु भएको छ ।

  • भोलिदेखि काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाइने, यी हुन् खोप केन्द्रहरु

    भोलिदेखि काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाइने, यी हुन् खोप केन्द्रहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाभाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । महानगरले सूचना जारी गर्दै ३२ वटा वडास्थित खोप केन्द्रबाट खोप लगाइने जनाएको छ ।

    १८ वर्ष पुरा भएको सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जादाँ फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता लिएर वडामा खोप लगाउन सक्ने छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने छ ।

    काठमाडौँ महानगरपालिकामा थप पाँच खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, श्री बिरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

    खोपकेन्द्र केन्द्रवाट भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पुरा गरि खोप लगाउन महानगरले आग्रह गरेको छ ।

     

  • चीनले अनुदानमा दिने १६ लाख डोज भेरोसेल खोप कात्तिक पहिलो साता आउँदै

    चीनले अनुदानमा दिने १६ लाख डोज भेरोसेल खोप कात्तिक पहिलो साता आउँदै

    काठमाडौँ । अनुदानमा चीनले दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप कात्तिकको पहिलो साता आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार खोप आगामी कात्तिकको ३, ५ र ६ गते काठमाडौँ आइपुग्ने भएको हो ।

    शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै चीनले १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । चिनियाँ राजदूत होउ यान्छिले साउन १ गते प्रधानमन्त्री देउवालाई बधाई दिँदै सो मात्रको खोप अनुदानमा दिने जनाएकी थिइन् ।

    राज्यमन्त्री श्रेष्ठले चीनबाट थप १० लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा प्राप्त हुन लागेको जानकारी समेत दिए । यसपटक अनुदानमा आउने खोप सिनोभ्याक भएको उनले बताए । सिनोभ्याकलाई सरकारले आपतकालिन प्रयोगको अनुमति दिएको छ । मन्त्री श्रेष्ठले थप ३ लाख डोज खोप नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले अनुदानमा उपलव्ध गराउने समेत जानकारी दिए ।

  • मलेरिया खोपलाई औपचारिक मान्यता, डब्लुएचओले भन्यो : चिकित्सा विज्ञानकै महान उपलब्धी

    मलेरिया खोपलाई औपचारिक मान्यता, डब्लुएचओले भन्यो : चिकित्सा विज्ञानकै महान उपलब्धी

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । झन्डै सयवर्ष लामो प्रयत्नपछि अन्ततः मलेरियाको खोपले मूर्तता पाएको हो ।

    आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओ महानिर्देशक डा. टेड्रोसले यसलाई चिकित्सा विज्ञानकै महान उपलब्धी भएको बताए । खोप नहुँदा मलेरियाबाट ठूलो संख्यामा बालबालिका र शिशुले ज्यान गुमाएका छन् ।

    आरटीएस-एस नाम दिइएको उक्त खोपलाई ६ वर्षअघि नै डब्लुएचओले प्रभावकारी भएको बताएपनि प्रयोगका लागि औपचारिक अनुमति दिएको थिएन । तर घाना, केन्या र मालावीमा परीक्षण परियोजना सफल भएपछि खोपलाई मान्यता दिइएको डब्लुएचओले जनाएको छ ।

    खोपले अनुमति पाएपछि अब विश्वमै मलेरियाको उच्च संक्रमण भएको उप-सहारा क्षेत्र र अफ्रिकाका अन्य मुलुकमा खोप अभियान थालिने भएको छ । ‘यो ऐतिहासिक क्षण हो’ डब्लुएचओ निर्देशक टेड्रोसले भने ।

  • रुपन्देहीमा १८ वर्षमाथिका सबैले दसैंअघि नै कोरोना खोप पाउने

    रुपन्देहीमा १८ वर्षमाथिका सबैले दसैंअघि नै कोरोना खोप पाउने

    रूपन्देही । दसैं अगाडि नै रुपन्देहीमा १८ बर्षभन्दा माथिकै सबैले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीले असोज २२ र २३ गते सबै स्थानीय तहलाई उक्त उमेर समूहका व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ।

    स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरी असोज २२ र २३ गते कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन तयारी गरेको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए।

    ू१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड विरुद्धको भेरोसिल खोपको दसैं अगाडि नै लगाउनु पर्ने भएकाले असोर २२ र २३ गतेसम्म खोप कार्यक्रम सबै पालिकाहरुमा एकैसाथ लगाउने व्यवस्था गरिएको हो,ू गिरीले भने ।

    हालसम्म रुपन्देहीमा लक्षित जनसंख्याको २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कार्यालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्या रहेका छन्।

    त्यस्तै लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

  • कृष्णनगरमा घटेनन् झाडापखालाका बिरामी

    कृष्णनगरमा घटेनन् झाडापखालाका बिरामी

    रुपन्देही । सोमबार रातिदेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका कारण अस्पताल आउने बिरामीको संख्या झन बढेको छ ।

    स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार दिउँसोसम्म २ सय ५० जना बिरामी अस्पताल आएको जनाएको छ । हेल्थ असिष्टेन्ट उमेश घिमिरेले हिजो दिउँसोसम्म अस्पताल र स्थानीय क्लिनिकमा करिब २ सय बिरामी उपचारका लागि आएकोमा रातिदेखि आज बिहानसम्म ५० जना बिरामी थपिएको बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन जानकारी दिए । बिरामी सबैलाई शिवराज अस्पताल बहादुरगञ्जमा भर्ना गर्न नसकिएपछि बुटवल र तौलिहवा रेफर गरिएको छ । अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली र बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको पाण्डेले बताए ।

    शुरूमा कृष्णनगरको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाका बिरामी भेटिएको भए पनि गएरातिदेखि महाराजगंजका केही वडाबाट पनि बिरामी आएको शिवराज अस्पतालले जनाएको छ ।

    वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको छ ।
    कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउंमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए ।

    गाउँभर झाडापखाला फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोली स्थलगत अध्ययनमा पठाइएको छ । बिरामीको दिसाको नमूना संकलन गरेपनि रिपोर्ट नआइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् । यद्यपी दूषित पानी र सरसफाइको अभावका कारण हैजा फैलिएको हुनसक्ने उनीहरूको प्रारम्भिक अनुमान छ ।

  • बुधबार १०४३ कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

    बुधबार १०४३ कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १०४३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४६५ नमुना (११ हजार १६५ पीसीआर र ४३ सय एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार ८९१ जना बिरामी निको भएका छन् । सोही अवधिमा १२ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

    सक्रिय संक्रमित संख्या १६ हजार १९४ छ । आजको दैनिक संक्रमणदर ६.७४ प्रतिशत छ ।

    काठमाडौं उपत्यकामा ४४० जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित थपिएका हुन् । आठ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १९ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

    कूल संक्रमित संख्या झन्डै आठलाख पुगेको छ । ११ हजार १९२ जनाको मृत्यु भएको छ ।

    बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मुलुकका ७७ वटै जिल्लामा सक्रिय संक्रमित रहेको बताए । कूल जनसंख्याको २२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाएको पनि उनले जनाए ।

     

  • २०५० सम्म पाँच अर्ब मानिस पिउने पानीबाट बञ्चित हुनसक्ने

    २०५० सम्म पाँच अर्ब मानिस पिउने पानीबाट बञ्चित हुनसक्ने

    काठमाडौं । विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो । विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो ।

    जस्तो कि बाढी, खडेरी तथा खानेपानीको अभावका कारण धेरै मानिस प्रभावित पर्नसक्ने सो एजेन्सीले जनाएको छ । विश्वमा पानीजन्य समस्याका कारण धेरै नागरिक समस्यामा पर्नसक्ने सो संस्थाको चेतावनी छ । जलवायु परिवर्तनको प्रभावका कारण यस्ता समस्याहरु उत्पन्न हुनसक्ने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ । उक्त संस्थाले अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ ।
    उक्त एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई वर्षमा कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो ।

    उक्त एजेन्सीले आगामी सन् २०५० सम्ममा विश्वका करिब पाँच अर्ब मानिसले यस्तो समस्या झेल्नुपर्ने अवस्था रहेको पनि सो संस्थाको अनुसन्धानबाट देखिएको छ । सो एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि पानीजन्य यस्ता समस्याहरु प्रत्येक वर्ष बढ्दै गएको पाइएको देखिएको छ । यस्ता समस्याहरु पनि जलवायु परिवर्तनको प्रभावका कारणले नै देखिएको पनि सो संस्थाले जनाएको छ ।

  • केही दिनभित्र सवा तीन करोड डोज खोप आइपुग्छ : स्वास्थ्य मन्त्रालय

    केही दिनभित्र सवा तीन करोड डोज खोप आइपुग्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौँ । केही दिनभित्रै कोभिड-१९ विरुद्ध सवा तीन करोड डोज खोप नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने बताए ।

    आउन लागेका खोपहरुमा फाइजर, कोभिसिल्ड र भेरोसेल छन् । चीनले १० लाख डोज कोभ्याक्सिन खोप दिने घोषणा गरिसकेको छ । अधिकारीले भने, ‘कही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।”

    मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिए । चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो ।

    माल्दिभ्सबाट दुई लाख मात्रा खोप पनि छिटै आउन लागेको बताइएको छ । क्यानडाबाट चार लाख मात्रा खोप आउने भएको छ । यसैगरी, फाइजर खोप ६० लाख मात्राका लागि पनि प्रक्रिया सुरु भइसकेको छ ।

    मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार मोडर्ना खोप ४० लाखका लागि पनि सुनिश्चित भएर प्रक्रियामा रहेको छ । आगामी पुसभित्र सवा करोड खोप नेपाल आइसक्ने र नेपालले कोभ्याक्स सुविधामार्फत पाउने ६० लाख मात्रा खोप आउन बाँकी रहेको जानकारी उनले दिए ।

    चीनसँंग खरिद सम्झौता भएको थप ६० लाख मात्रा खोप पनि नेपाल ल्याइने प्रक्रियामा छ । हालसम्म एक करोड ७८ लाख ५८ हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

  • ललितपुरमा आजदेखि १८ बर्ष माथिकालाई भेरोसेलको पहिलो डोज खोप लगाइँदै, विदेशी पर्यटकले पनि लगाउन पाउने

    ललितपुरमा आजदेखि १८ बर्ष माथिकालाई भेरोसेलको पहिलो डोज खोप लगाइँदै, विदेशी पर्यटकले पनि लगाउन पाउने

    ललितपुर जिल्लामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको छ । जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

    साथै, ललितपुर महानगर अन्तर्गतका २९ वटै वडामा पनि खोप लगाउन सुरु भएको छ । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार बुधबारबाट १८ बर्ष माथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको हो । असोज २०, २१ र २२ गतेसम्म तीन दिन खोप लगाइने जनाइएको छ ।

    कार्यालयका अनुसार चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    जनस्वास्थ्यको मापदण्ड पालना गरी पालिकाले निर्धारण गरेको पायक पर्ने खोप केन्द्रमा पुगि खोप लगाउन समेत कार्यालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ। राष्ट्रियता खुल्ने परिचयपत्र र पासपोर्टको आधारमा विदेशी पर्यटकलाई समेत खोप लगाइने भएको छ ।

  • मंगलबार ९६८ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    मंगलबार ९६८ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा १ लाख ३२ हजार ८९६ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ ।

    संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

  • मापदण्ड पूरा नगर्ने ६ मेडिकललाई कारवाही

    मापदण्ड पूरा नगर्ने ६ मेडिकललाई कारवाही

    चितवन । चितवन भरतपुरका ६ मेडिकललाई स्थानीय प्रशासनले कारवाही गरेको छ ।

    भरतपुरको चौबिसकोठीमा रहेका ती मेडिकललाई मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोकाले कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले बताए ।

    मेडिकललाई कारवाही स्वरुप पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारवाही पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारवाही गरेका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई तीन/तीन लाख जरिवाना गरिएको छ । मिराकल फर्मालाई दुई लाख ५० हजार, रिजन फार्मेशिलाई २० हजार र अपोलो डेन्टल क्लीनिकलाई पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए ।

    चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ ।

    रासस

  • चीनद्वारा नेपाललाई थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने घोषणा

    चीनद्वारा नेपाललाई थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने घोषणा

    काठमाडौं । चीनले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता लुआन सिउतानले नेपाल प्रेसलाई यस्तो जानकारी दिएका हुन् । खोप चाँडै ल्याउनेबारे दुबै देशका सम्बन्धित निकायहरु सम्पर्कमा रहेको जानकारी उनले दिए ।

    ‘यो सहयोगले नेपाली जनताको प्रतिरोधी क्षमताका लागि सहयोगी हुने विश्वास लिएका छौं’ प्रवक्ता सिउतानले भने । चीनले यसअघि नेपाललाई २८ लाख डोज भेरोसेल खोप दिएको छ ।

    अहिले ल्याउन लागिएको चीनमा उत्पादित अर्को खोप हो । नेपालले यसअघि नै सिनोभ्याक खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

    खोप उपलब्ध गराउनेबारे आज भएको परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी थिइन् । सिनोभ्याक खोपलाई १८ वर्षमाथिल्लो उमेर समूहकाले दुई वा चार साताको ग्यापमा २ डोज लगाउनुपर्नेछ ।

     

  • सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु

    सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। १०,८७४ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १ हजार जना निको भएका छन् भने थप १० जनाले ज्यान गुमाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख २० हजार ५४८जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ७ लाख भन्दा बढी निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

  • राष्ट्रपति भण्डारीद्वारा चिनियाँ डाक्टरको टोलीलाई बिदाइ, गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचमा जोड

    राष्ट्रपति भण्डारीद्वारा चिनियाँ डाक्टरको टोलीलाई बिदाइ, गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचमा जोड

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छिन् ।

    बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताइन् ।

    क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीका रूपमा देखा परेको उनले बताइन् । वातावरण प्रदूषण, विषादीयुक्त खाद्य, सुर्ती तथा मादकपदार्थ सेवन तथा अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको भन्दै उनले यस अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानका रूपमा विकास गर्ने अस्पतालको योजनाप्रति खुसी व्यक्त गरिन् ।

    बिरामीको सेवामा सदैव खटिने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै मित्रराष्ट्र चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेकामा उनले सह्राना गरिन् । बाइस वर्षअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो अस्पताल निर्माण भएको थियो । यस अस्पतालमा प्रत्येक वर्ष चीनबाट विशेषज्ञ चिकित्सको टोली आउने गरेको छ ।

    अघिल्लो वर्ष आएका १५ विशेषज्ञ चिकित्सकको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको अस्पतालका निर्देशक डा देजकुमार गौतमले जानकारी दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले विशेषज्ञ चिनियाँ मेडिकल टिम अस्पतालमा नै उपस्थित भई नेपाली चिकित्सक र नर्सिङ स्टाफलाई प्रशिक्षित गराउनुका साथै कोभिड–१९ जस्तो महामारीका समयमा नेपालमा रही अस्पतालको सञ्चालन तथा विकासमा सहयोग गरेकामा चीन सरकार र चिकित्सक टोलीलाई धन्यवाद दिए ।

    कार्यक्रममा चिनियाँ चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आफूहरुले काम गर्दाको अनुभव व्यक्त गरे । पन्ध्र सदस्यीय टोली चीनको हुवावे प्रान्तबाट आएको हो । टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरेकी थिइन् । रासस

  • चिकित्सा शाष्त्रको नोबेल पुरस्कार घोषणा : तापक्रम र स्पर्शबीचको सम्बन्धबारे खोजी गर्ने वैज्ञानिकलाई दिइने

    चिकित्सा शाष्त्रको नोबेल पुरस्कार घोषणा : तापक्रम र स्पर्शबीचको सम्बन्धबारे खोजी गर्ने वैज्ञानिकलाई दिइने

    स्टकहोम । यसवर्षको चिकित्सा तथा मनोविज्ञानतर्फको नोबेल पुरस्कार घोषणा भएको छ । स्पर्श र तापक्रमको कारण कोषहरुमा आउने परिवर्तनबारेको खोजका लागि दुई वैज्ञानिकहरु डेभिड जुलियस र अर्डेम पाटापोर्टियमलाई संयुक्तरुपमा पुरस्कार दिइने भएको छ ।

    उनीहरुले रोगहरु र पीडाको उपचारमा प्रकाशको प्रयोगबाट कसरी दुःखाईलाई घटाउन मद्दत गर्छ भन्ने खोजी गरेका थिए ।

    ‘हामी वरिपरी रहेको विश्वलाई महसुस र अन्तक्रिया गर्न तथा बाँच्नको लागि हामीले तातो र चिसोलाई गर्न सक्ने स्पर्शको क्षमताबारे खोज गरेबापत यो पुरस्कार घोषणा गरेका छौं’ नोबेल कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘हाम्रो दैनिक जीवनमा हामीले कसरी यो महसुस गर्ने शक्तिलाई नाफाको रुपमा लिने गरेका छौं तर, हाम्रा कोषिकाहरुले तापक्रम र यसको दबाबलाई कसरी ग्रहण गर्छन् भन्ने जान्नु महत्वपूर्ण छ’ नोबेल कमिटीले भनेको छ ।

    साथै, नोबेल कमिटीले यी दुई बैज्ञानिकले हाम्रा कोषिकहरुले तातो र चिसोजस्ता कुरालाई कसरी महसुस गर्छन् भन्ने अभूतपूर्व अध्ययन गरेको उल्लेख गरेको छ । साथै उनीहरुले वातावरण र स्पर्श महसुस गर्ने शक्तिबीचको सम्बन्धबारे थुप्रै आलोचनात्मक अध्ययन समेत गरेका छन् ।

     

  • नेता नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

    नेता नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्किएका छन् ।

    उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्कनुभएको जानकारी दिए । उनका अनुसार अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्ने भएका छन् ।

    यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो ।

  • जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

    जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

    काठमाडौं । जापानले नेपाललाई सोमबार ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । आयोजित कार्यक्रममा ती एम्बुलेन्स जापानी राजदूत किकुता याकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

    ती एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस १०२ वटा प्रेषण केन्द्रबाट संचालन हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

  • आइतबार ६ सय संक्रमित थपिए, ७ जनाको मृत्यु

    आइतबार ६ सय संक्रमित थपिए, ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ६७९ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९२० जनाको नमुना (७०७० पीसीआर र ३८५० एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा २६४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।

    अहिलेसम्म कोरोनाले ११ हजार १६४ जानले ज्यान गुमाइसकेका छन् भने ७ लाख भन्दा बढी निको भएका छन् ।