Category: स्वास्थ्य-जीवनशैली

  • अष्ट्रियामा खोप नलगाउनेहरु लकडाउनमा : सार्वजनिक स्थानमा हिँड्डुलमा प्रतिबन्ध

    अष्ट्रियामा खोप नलगाउनेहरु लकडाउनमा : सार्वजनिक स्थानमा हिँड्डुलमा प्रतिबन्ध

    अष्ट्रिया । भियनाकी योग शिक्षक करिनाले अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप लगाएकी छैनन् र लगाउने इच्छा पनि छैन ।

    अहिले उनी लकडाउनमा छिन् । उनीजस्तै खोप नलगाउने २० लाख अष्ट्रियाली नागरिक पनि लकडाउनमै छन् ।

    उनलाई अहिले सरकारले क्याफे र रेष्टुरेन्टमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । हातमुख जोर्नको लागि काम गर्न र केही खानेकुरा किनमेल गर्नेजस्ता अत्यावश्यक काममाबाहेक उनलाई घरबाहिर निस्कन अनुमति छैन ।

    बीबीसी संवाददाताले उनलाई भियनाको एक पार्कमा व्यायाम गरिरहेको बेला भेटघाट गरे । करिनाले आफूलाई लकडाउनभित्रै राख्नुको कारण थाहा नभएको र यसले आफूलाई दुःखित तुल्याएको बताइन् ।

    ‘आज बिहान म केही क्याफेको नजिकबाट गइरहेकी थिएँ’ उनले भनिन्, ‘भित्र देखेर पनि भित्र जाने अनुमति नहुनु निकै पीडादायी हुँदो रहेछ । म एक व्यक्ति हुँ, जसलाइ परिस्थितीले दुस्मन बनाइदिएको छ ।’

    ‘म अन्य कोही व्यक्तिलाई पनि बिरामी बनाउन चाहन्न । म सचेत छु । म कोभिड-१९ को ठूलो खतरामा छैन । मलाई लाग्छ, यो मेरो नितान्त निजी मामिला हो । खोप लगाउने र खोप नलगाउने मानिसहरुको कुरालाई म बुझ्छु’ उनले भनिन् । अष्ट्रियाका विभिन्न ठाउँमा यस्तो खाले लकडाउनविरुद्ध प्रदर्शनहरु भएका छन् ।

    सार्वजनिक स्थानमा रहेका व्यक्तिहरुलाई जाँच गर्दा उनीहरुले खोप लगाएको प्रमाणपत्र देखाउन सकेनन् भने उनीहरुलाई जरिवाना तिराउने र कानूनी कार्वाही गर्ने प्रहरीले बताएको छ ।

    अष्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्णमात्रामा खोप लगाइसकेको छ । युरोपमा यो दर निकै कम हो । महामारी सुरु भएयता अष्ट्रियमा दैनिक संक्रमण दरमा तीव्ररुपमा वृद्धि भैरहेको छ ।

    चान्सलर अलेक्जेन्डर स्केलनवर्गले संक्रमण दरमा वृद्धि भएपछि सरकारले बल प्रयोग गर्नुपरेको बताएका छन् । उनले आफ्नो मुलुकको खोप लगाउने दर लाजमर्दो ढंगले कम भएको बताएका छन् । खोप नलगाउने व्यक्तिहरुको कारणले नै अर्को लकडाउन गर्नुपर्ने परिस्थिती आउने चेतावनी उनले दिए ।

  • सोमबार ४ सय संक्रमित थपिए, १ जनाको मृत्यु

    सोमबार ४ सय संक्रमित थपिए, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा थप ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने कूल मृत्‍यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । यस्तै ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् । जसमध्ये ६ हजार ७७९ जना होम आइसोलेसन, ५३२ जना संस्थागत आइसोलेसन, २२५ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना संक्रमित थपिएका छन् ।

  • चिसोमा रुघाखोकीबाट जोगिन जिंक पाइने आहारा खानूस्

    चिसोमा रुघाखोकीबाट जोगिन जिंक पाइने आहारा खानूस्

    काठमाडौं । मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण देखापर्छ । चिसो मौसम सुरु भएसँगै रुघाखोकीबाट बच्न थप सतर्कता अपनाउनु पर्ने बेला आएको छ । विज्ञहरुका अनुसार खानामा पाइने जिंकले रुघाखोकीबाट बच्न कम गर्छ ।

    जिंकले दुई दिनमै रुघाखोकी निको हुनुका साथै टाउको दुख्ने, सिगाँन बग्ने र ज्वरो आउने लक्षण कम गर्छ । जिंकको सप्लिमेन्ट खाँदा २ दिनमा निको हुने पश्चिमा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको दाबी छ ।

    जिंकले संक्रमण कम गर्नुका साथै रोग लाग्नबाट पनि कम गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । तर यो कति मात्रा प्रयोग गर्ने भन्ने प्रष्ट भने भइसकेको छैन । वेस्टर्न युनिभर्सिटीका वैज्ञानिकहरुले श्वासप्रश्वासमा हुने संक्रमणको बारेमा अध्ययन गरेका छन् । अनुसन्धानमा जिंकले रुघाखोकी र रुघाखोकीका लक्षणलाई कम गर्नें देखाएको छ । यसले सिगाँन बग्ने, टाउको दुख्ने र शरिरको तापक्रम बढेको पनि कम गर्छ ।

    जिंकले शरिरमा के गर्दछ ?

    जिंक एउटा पोषक तत्व हो जसले शरिरमा धेरै कामहरु गर्दछ । यसले शरिरको इम्यूनिटी बढाउने, पाचन प्रणालीमा सुधार गर्ने काम गर्दछ । जिंक मासु, माछा र चीजमा बढी मात्रामा पाइन्छ ।

    बेलायतको स्वाथ्य एजेन्सी (एनएचएस) ले यो बताएको छ कि खानामा पुरुषले ९.५ मिलिग्राम र महिलाले ७ मिलिग्राम जिंक लिन्छन् । जिंक लिदा धेरै मात्रामा लिनुहुँदैन । जिंकको प्रयोग बढी भयो भने शरिरमा आइरनको कमी हुन्छ र हड्डी कमजोर हुन्छ ।

    अनुसन्धानकर्ताले ५५० जनामा जिंकको २८ वटा परीक्षण गरेको थियो । रुघाखोकीका बिरामीलाई मुख वा नाकबाट स्प्रे गरेर जिंक खुवाउन सकिन्छ । अनुसन्धानको क्रममा जसलाई जिंक दिइएको थियो उनीहरुलाई २ दिनमा सधार भएको थियो । जिंक नदिएको बिरामीमा सात दिनसम्म लक्षण देखा परेको थियो । रुघाखोकीबाट गम्भिर बिरामी भएकालाई दैनिक जिंक सेवनले लक्षण कम नगरेपनि तीन दिनदेखि यसको प्रभाव देखिन थाल्छ ।

    अध्ययनका अनुसार जिंकको साइड इफेक्ट भने देखिएको छैन । त्यसकारण जो चिसो–रुघाखोकीको उपचार खोजिरहेका छन् उनीहरुलाई जिंक एकदमै प्रभावकारी हुन्छ ।

    यी पाँच कुरा खानाले जिंकको मात्रा पुरा हुन्छ ।

    ओखर :

    ओखरमा जिंक र पोटासियम धेरै मात्रामा पाइन्छ । ओखरको वियालाई सुकाएर पिसेर खानामा मिलाएर खान सकिन्छ । यसका साथै दैनिक एक मुठ्ठी ड्राई फ्रुट खान सकिन्छ ।

    माछा :

    यसमा जिंक, प्रोटिन बाहेक पोषण तत्व प्रशस्त मात्रामा पाइन्छ । माछा हप्तामा दुई पटक पकाएर खान सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

    अण्डा :

    एउटा अण्डामा ५ प्रतिशतसम्म जिंक हुन्छ । विज्ञहरु भन्छन्ण्ज्ञछण् हरेक दिन डाइटमा अण्डा खाने गर्नुहोस् । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मांसपेशीलाई पनि बलियो बनाउँछ ।

    दुध :

    यदि नन भेज खाना खान रुचाउनु हुन्न भने दुध धेरै मात्रामा खान सकिन्छ । दुध, दही, चीजले जिंकको कमीलाई पुरा गर्दछ ।

    डार्क चकलेट :

    यसले जिंकको कमी मात्र पूरा गर्दैन, महिलाहरुलाई महिनावारीमा हुने दुखाईलाई पनि कम गर्छ । डार्क चकलेटले मेटाबोलिज्मलाई सुधार्छ र मन मष्तिष्कलाई खुसी राख्दछ ।

  • मुटुरोग विशेषज्ञको नेतृत्वमा पाल्पामा निःशुल्क मुटु परीक्षण शिविर आयोजना

    मुटुरोग विशेषज्ञको नेतृत्वमा पाल्पामा निःशुल्क मुटु परीक्षण शिविर आयोजना

    काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा रहेको सेभ द हार्टको आयोजनामा पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमार्फत दुई हजार ७ सय ९५ भन्दा बढी नागरिकले सेवा लिएका छन् ।

    मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा ४ सय २८ जनाको ईसिजी र ३ सय ८१ जनाको ईकोकार्डियोग्राफी गरिएको पनि सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जनाए ।

    शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्रा. डा भगवान कोइराला र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालका एशोसिएट प्रोफेसर डा. अनिल भट्टराईको नेतृत्वमा गएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो ।

    मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौ‌ ल्याईएको र तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको पनि रानाले जानकारी दिए ।

  • हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल आइपुग्यो, प्रकोप प्रभावित कपिलवस्तुका बासिन्दालाई लगाइने

    हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल आइपुग्यो, प्रकोप प्रभावित कपिलवस्तुका बासिन्दालाई लगाइने

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुगेको छ । उक्त खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आगामी आइतबार खोप लगाउने तयारी भइरहेको छ। कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ।

    गत असोज १८ गतेदेखि कपिलवस्तुमा झाडापखालाको प्रकोप फैलिएको थियो। मन्त्रालयका अनुसार प्रकोपबाट चार जनाको मृत्यु भइसकेको छ भने हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ।

    उक्त खोप स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई डब्लूएचओका स्वास्थ्य पदाधिकारीले हस्तान्तरण गरेका छन् ।

  • २४ वटा अस्पतालमा बालबालिकासहितका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै (तस्बिरहरु)

    २४ वटा अस्पतालमा बालबालिकासहितका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै (तस्बिरहरु)

    काठमाडौं । आइतबारदेखि देशभर १२ वर्षदेखि १८ वर्षका बालबालिकासहितका दीर्घरोगीलाई कोभिड-१९ विरुद्ध फाइजर खोप लगाउन थालिएको छ । यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ ।

    मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप लगाउन थालिएको छ ।

    काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ वटा गरी मुलुकको २४ वटा खोप केन्द्रबाट फाइजर खोप लगाउन थालिएको हो । काठमाडौंको सिभिल अस्पताल लगायत राजधानीका खोप केन्द्रमा पनि खोप लगाउन थालिएको छ ।

    सिभिलमा अहिलेसम्म १२ बर्ष माथी का ५० जना दीर्घ रोगीले फाइजर खोप लगाइसकेका छन् । नेपालप्रेसकर्मी गौरव पौडेलले सिभिल अस्पतालमा फाइजर खोप लगाइरहेका व्यक्तिहरुको तस्बिर कैद गरेका छन् ।

    हेर्नूस तस्बिरहरु :

             
  • सरकारले गर्‍यो सीसीएमसी खारेज, अब प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसीसी

    सरकारले गर्‍यो सीसीएमसी खारेज, अब प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसीसी

    काठमाडौं । सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गरेको छ । त्यसको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी) गठन भएको छ ।

    सीसीएमसी गठनसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै २०७२ साल जेठ ५ मा ल्याइएको कोभिड-१९ सं‍कट व्यवस्थापन अध्यादेश खारेज गरेर नयाँ संरचना बनाइएको हो ।

    सीसीएमसी खारेजीसँगै प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्मा पनि पदमुक्त भएका छन् भने सीसीएमसीसीको संयोजकमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने नियुक्त भएका छन् । यसअघि सीसीएमसीमा सुरक्षा निकायबाट विशिष्ट श्रेणीका अधिकृत खटिँदै आएकोमा हाल प्रथम श्रेणीका अधिकारीलाई खटाइएको हो ।

    कोरोनाभाइरस संक्रमण न्यून हुँदै गएकाले सीसीएमसी खारेज गरेर नयाँ संरचना बनाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । मन्त्रिपरिषद्ले सीसीएमसीसीको कार्यविधिसमेत स्वीकृत गरिसकेको छ ।

    गत ३१ भदौमा कोभिड-१९ सं‍कट व्यवस्थापन अध्यादेश निष्क्रिय भएको थियो । व्यवस्थापिकाको पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेश संसद्ले स्वीकृत नगरेमा स्वतः निष्क्रिय हुने प्रावधान छ । बैठक बसेको ६० दिनभित्र स्वीकृत नभएपछि अध्यादेश निष्क्रिय भएको हो ।

    त्यसअघि संक्रामक रोग ऐन, २०२० अनुसार प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसी गठन भएको थियो । जुन प्रभावकारी नभएको भन्दै अध्यादेश ल्याएर बाहिरबाट सिइओ नियुक्ति गरी यससम्बन्धी संरचना हेरफेर गरिएको थियो ।

    हाल संक्रामक रोग ऐनअनुसार नै फेरि प्रधानमन्त्री कार्यालयकै सचिवको नेतृत्वमा यससम्बन्धी संरचना बनाइएको छ । प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति भने कायमै छ ।

  • आइतबार ३ सय संक्रमित थपिए, ६ जनाको मृत्यु

    आइतबार ३ सय संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार देशभर ३०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाकाे नमूना (८००८ पीसीआर र १५९८ एन्टीजेन)परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ३४८ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार २१५ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने हालसम्म ७ लाख ९८ हजार २७४ जना कोरोनामुक्त भएका छन् ।

    कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ ।

    २४ घण्टामा १५ हजार ९०६ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

     

  • काठमाडौंमा पहिलोपटक सक्रिय संक्रमित संख्या ५०० भन्दा कम

    काठमाडौंमा पहिलोपटक सक्रिय संक्रमित संख्या ५०० भन्दा कम

    काठमाडौं । कोभिड–१९ महामारी सुरु भएयता राजधानी काठमाडौं जिल्लामा सक्रिय संक्रमित संख्या आज ५०० भन्दा कम भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं जिल्लामा ४६४ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४७३ जना छन् । ललितपुर जिल्ला देशमै सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी हुने जिल्ला बनेको छ ।

    ललितपुरमा ५१२ जना कोभिडका सक्रिय संक्रमित छन् । अहिले मुलुकका मोरङ, सुनसरी, धनुषा, काठमाडौं, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा तल छन् ।

    हुम्ला र डोल्पामा मात्र संक्रमित संख्या शून्य छ ।

  • शनिबार २ सय संक्रमित थपिए, २ जनाको मृत्यु

    शनिबार २ सय संक्रमित थपिए, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार मुलुकमा २९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमित निको भएका छन् भने २ जनाको संक्रमणले मृत्यु भएको छ । हालसम्म ७ हजार २७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३४ हजार ७१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनु्सार कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६७५ जना पुगेको छ भने यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १९३ जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

    फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।

    फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए ।

    उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरिद गरिने छ । उनले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो ।

    बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताए । फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ । फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ । उनले १३२ देशले कोरोनाविरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताए ।

    उनका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ । खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ ।

  • आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

    आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

    काठमाडौं । विश्वभर कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहँदा विश्व स्वास्थ्य संगठनले आगामी वर्षदेखि सिरिन्ज (सुई) अभाव हुनसक्ने चेतावनी दिएको छ ।

    संगठनका अनुसार आगामी वर्ष विश्वभरी करिब २०० करोड सुईको कमि हुन सक्छ । डब्लूएचओको एक प्रतिवेदनका अनुसार विश्वभर कोरोना भ्याक्सीनका कारण ठूलो मात्रामा सिरिन्जको प्रयोग भइरहेको छ ।

    अहिलेसम्म विश्वभरी ७२५ करोड डोजभन्दा बढी कोरोनाभाइरसविरुद्धको खोपको प्रयोग भइसकेको छ । जसमध्ये पहिलो डोज, दोस्रो डोज र बुस्टर डोज छन् । खोपको यो मात्रा सामान्यतया एक वर्षमा दिइने कूल खोपहरुको दोब्बर भन्दा बढी हो । प्रत्येक डोजको लागि एउटा सुई प्रयोग हुन्छ त्यसैले सुईको खपत हरेक वर्ष दोब्बर भएको छ ।

    डब्लूएचओको औषधि र स्वास्थ्य उत्पादन विभागकी वरिष्ठ सल्लाहकार लिसा हेडम्यानका अनुसार, ‘अर्काे वर्ष सिरिन्जको कमि हुन सक्ने चिन्ताको विषय बनेको छ । यसले खोपको गति सुस्त हुन जान्छ । साथै यसले धेरै रोगहरुबाट बच्न प्रयासहरुमा गम्भिर प्रभाव पार्छ ।’

    सिरिन्जको अभाव हुन सक्ने भएकाले उत्पादनलाई तीव्रता दिनुपर्ने डब्लूएचओले जनाएको छ । सिरिन्जको आपूर्तीमा कमी आयो भने विश्वभरी त्रास उत्पन्न हुन सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

  • चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

    चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

    चितवन । चितवनमा पछिल्लो १० महिनामा १०१ जना एचआईभी संक्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका फोकल पर्सन तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म २ हजार २५ जनामा संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ७ हजार ८ सय ३५ जनामा परीक्षण गर्दा ५२ जना र समुदायस्तरमा गरिएको १ सय ५३ जनाको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएका छन् ।

    नयाँ पहिचान भएका संक्रमितलाई निःशुल्क एआरटी औषधि दिइएको छ । अस्पतालको एआरटी क्लिनिकबाट १ हजार २९ जनाले नियमित एआरटी औषधि लिएका छन् । जसमध्ये ४ सय ९५ जना पुरुष, ४ सय ९० जना महिला र ४४ जना बालबालिका छन् । बसौलाका अनुसार कोभिड संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ४ सय २८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको थियो । १ सय ३३ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।

    औषधि अभाव कायमै

    एचआईभी संक्रमितले नियमित खानुपर्ने ३ प्रकारका औषधिको अभाव देखिएको छ । संक्रमित आमाबाट जन्मेका उच्च जोखिममा रहेका बालबालिकालाई ३ महिना खुवाइने जिडोभुडिन (सिरफ) औषधि ६ महिनादेखि छैन । एआरटी औषधि खाएको ८ हप्ता कम वा नियमित नखाएका, सुत्केरी अवस्थामा संक्रमण पहिचान भएकाबाट जन्मेका बालबालिकालाई संक्रमणबाट जोगाउन यो औषधि खुवाउने गरिन्छ ।

    यो वर्ष संक्रमित आमाबाट जन्मेका १३ बालबालिकामध्ये ५ जना उच्चजोखिममा छन् । कम जोखिमका बालबालिकालाई ६ हप्ता खुवाउने नेभिरापिन औषधिको भने अभाव छैन । उच्च जोखिमका बालबालिकालाई यी दुबै औषधि खुवाउनुपर्छ । यस्तै संक्रमित व्यक्तिलाई अन्य रोगको संक्रमणबाट जोगाउन दिइने कोर्टिमोक्साजोल र क्षयरोग रोकथामका लागि खुवाइने आइपीटी औषधिको १० महिनादेखि अभाव छ । जसबाट करिब ३ सय संक्रमित बिरामी प्रभावित छन् ।बसौलाले भने, ‘यी औषधि सरकारले छिटै उपलब्ध गराउनुपर्छ । निःशुल्क पाइने यी औषधि तत्काल व्यवस्था हुनुपर्छ।’

    संक्रमितमा यौन रोग बढ्यो

    सन् २०११ देखि भरतपुर अस्पतालको एआरटी क्लिनिकमा सहयोग गर्दै आइरहेको एड्स हेल्थ केयर फाउन्डेसन (ए एचएफ नेपाल)ले संक्रमितमा यौन रोग बढ्न लागेको जनाएको छ । फाउन्डेसनका क्षेत्रीय प्रमुख कृष्णहरि सापकोटाले एआरटी नियमित सेवन गर्नेमा रोगप्रतिरोधात्मक क्षमता बढेपनि लापरबाहीका कारण यौन रोगहरु देखिएको बताए ।

    उनका अनुसार १ सय २ जना संक्रमितमा गरिएको परीक्षणमा ९ जनामा यौन रोग पाइएको बताए । उनले भने, ‘असुरक्षित यौनसम्पर्क गर्दा यौन रोगहरु सरेको पाइयो । अझै जनचेतना फैलाउनुपर्छ । संक्रमित १० जनामा क्षयरोगको संक्रमण पनि देखिएको छ । एचआईभी संक्रमितले नियमित स्वास्थपरीक्षण गराउनुपर्छ । बेलैमा अन्य रोग पहिचान भएमा जोखिमबाट बच्न सकिन्छ ।’ करिब १ सय जनाले १६ वर्षदेखि नियमित रुपमा एआरटी औषधि खाँदै आएका छन् ।

    संक्रमितलाई निःशुल्क क्यान्सर परीक्षण

    भरतपुर अस्पतालले एचआईभी संक्रमितको निःशुल्क पाठेघर मुखको क्यान्सर परीक्षण सुरु गरेको छ । गत महिनादेखि सुरु भएको परीक्षणमा हालसम्म ९ जना महिलाले परीक्षण गरेका छन् । डा. बसौलाका अनुसार २१ वर्ष माथिका संक्रमित महिलाले स्क्रनिङ गर्न पाउनेछन् । वर्षमा कम्तिमा एकपटक संक्रमित महिलाले निःशुल्क स्क्रिनिङ गर्न पाउने बताए ।

    संक्रमित बिमामा आकर्षित भएनन्

    सरकारले एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ बिमाको नीति ल्याएपनि संक्रमितहरु बिमामा आकर्षित हुन सकेका छैनन् । भरतपुर अस्पतालका प्रमुख मेसु डा. कृष्णप्रसाद पौडेलले संक्रमितको बिमा अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘सरकारले निःशुल्क बिमाको सुविधा दिएको छ, तर उहाँहरु बिमा गर्न मान्नुहुन्न । अन्य रोगको उपचारको खर्च अस्पतालले बेहोर्नुपरेको छ, अब बिमा अभियान चलाउनुपर्छ ।’ ६ सय ५० जनाले संक्रमितले बिमा गरेपनि नयाँ थपिएका संक्रमितले बिमा गर्न इच्छुक देखिएका छैनन् । स्वास्थ कार्यालय चितवनका प्रमुख दिपक तिवारीले एचआईभी संक्रमितको बिमालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

  • शुक्रबार ३९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    शुक्रबार ३९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार मुलुकमा ३९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११०६६ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ३ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

    गत २४ घण्टामा ९३ हजार ६९५ जनाले कोभिडविरुद्ध खोप लगाएका छन् भने अहिलेसम्म सक्रिय संक्रमित संख्या ७४९८ छ ।

    काठमाडौं र ललितपुरमा ५०० भन्दा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मुगु, हुम्ला र डोल्पामा संक्रमित संख्या शून्य छ ।

    कूल संक्रमित संख्या ९ लाख भन्दा बढी छ भने ७ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६९ छ ।

  • कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

    कपिलवस्तुमा असोजदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

    रुपन्देही । कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । महिना दिनसम्म पनि झाडापखाला नियन्त्रणमा नआएपछि थप जोखिम हुन नदिन विश्व स्वास्थ्य संगठनले साढे दुई लाखभन्दा बढी डोज खोप सहयोग गर्ने भएको छ ।

    स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार आगामी दिनमा थप जोखिम हुन नदिन दुई लाख ५२ हजार तीन सय ६३ डोज खोप दिन लागेको हो । विश्व स्वास्थ्य संगठनले खोप दिने निर्णय गरिसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

    कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा हाल पनि दैनिक १० जनाका दरले विरामी भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    असोजमा देखिएको झाडापखाला प्रयोगशालामा परीक्षण गर्दा केही बिरामीहरूमा हैजा भएको प्रमाणित भएको थियो । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३ सय ३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्यु भइसकेको छ ।

    पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पिउने, सावुनपानीले हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र झाडापखाला नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

    कृष्णनगरबाट शुरु भएको झाडा पखाला अरु पालिकामा पनि पुगेकाले प्रदेश सरकारले नियन्त्रणको लागि सजगता अपनाएको र सचेतना तथा थप जनशक्तिका लागि तयारी गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले बताए ।

  • बिहीबार ३१७ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    बिहीबार ३१७ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार मुलुकमा ३१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२,६५३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने २९९ जना निको भएका छन् ।

    ग्त २४ घण्टामा ४ हजार ५१६ जना कोभिडविरुद्ध खोप लगाएका छन् । अहिलेसम्म सक्रिय संक्रमित संख्या ७५३५ छ ।

    काठमाडौंमा मात्र ५०० भन्दा सक्रिय संक्रमित छन् । मुगु र हुम्लामा मात्र शून्य संक्रमित संख्या छ ।

    कूल संक्रमित संख्या ९ लाख भन्दा बढी छ भने ७ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६६ छ ।

  • नेपालमा कुष्ठरोगी थपिँदै : प्रभावितहरू निवारण अभियानमा

    नेपालमा कुष्ठरोगी थपिँदै : प्रभावितहरू निवारण अभियानमा

    ललितपुर । भक्तपुर, सूर्यविनायक नगरपालिका–७ का ६० वर्षीय रामबहादुर श्रेष्ठको एउटा हातले काम गर्दैन । दक्षिणकाली नगरपालिका– १, खोकना आरोग्य आश्रममा बस्दै आएकी अछामकी ४० वर्षीया वसन्ती टमाटाका दुवै हात र गोडा बाङ्गिएर काम नलाग्ने भएका छन् । त्यहीँ बस्दै आएका नेप्टे दनुवारको पनि एउटा हात गुमिसकेको छ भने अर्को हातको पूरै औँला बाङ्गिएका छन् । ललितपुर, गोदावरीका ७९ वर्षीय भाइराम महर्जनलाई २२–२३ वर्षका उमेरमा नै कुष्ठरोग लागेको रहेछ तर थाहा भएन ।

    द लेप्रोसी मिशन नेपालद्वारा सञ्चालित पाटन क्लिनिक, चापागाउँ दोबाटोमा उपचार गराउँदै आएका उनको बेलैमा औषधि खान नपाउँदा हात बिग्रियो । नेपालमा यस्ता पात्र अरू पनि छन्, जसले कुष्ठरोगबारे समयमै जानकारी नपाएर असहनीय कष्ट खेपिरहेका छन् । समयमा रोगबारे जानकारी नै नभएर उपचारमा ढिलाइ हुँदा धेरैले शारीरिक अपाङ्गताको समस्याका साथ पारिवारिक र सामाजिक अवहेलना सहिरहेका छन् ।

    नुवाकोटकी ६२ वर्षीया मखमली घले ११ वर्षकी हुँदा तमाखु खाने भाँडामा रहेको पाताले पोलेर घाउ भएको थियो । उनी भन्छिन्, ‘पाताले पोलेर डाम बस्यो भन्नेतिर मात्र गइयो । घाउ बढ्दै जाँदा ‘नाग लाग्यो’ भनेर फुकफाक गरियो ।’ कुष्ठरोग भन्ने त उनले सुनेको रहेनछ । पछि बुझ्दा उनलाई वर्षौंअघि नै कुष्ठरोग भइसकेको रहेछ । कुष्ठरोगकै कारण उनका हात र गोडाका औँला गुमे ।

    आनन्दवन अस्पताल, गोदावरी–६, लेलेमा उपचार गराउँदै आएका नवलपरासी, गैंँडाकोट नगरपालिका–१२ का २४ वर्षीय परमेश्वर रावतका शरीरमा चार वर्षअघि मुसाजस्ता ससाना गिर्खा देखिए । छाला रोगको औषधि खाँदा पनि हराएन । कुष्ठरोगको शङ्का भयो र कान चिरेर जँचाउन पठाइयो । कुष्ठरोग प्रमाणित भएपछि चिकित्सकको सल्लाहबमोजिम नौ पत्ता औषधि पनि खाए । चार महिनाअघि फेरि उनको शरीरभरि गिर्खा देखिए । उनलाई ‘रियाक्सन’ भएको रहेछ । धन्न समयमै अस्पताल पुगे र उनका नसामा रोगले असर गर्न भ्याएन ।’गिर्खा देखिनेबित्तिकै विज्ञसँगै छलफल गरी पूर्ण मात्राको १२ पत्ता औषधि खान पाएको भए फेरि अस्पताल आउनु पर्दैनथ्यो,’ रावतले चुकचुकाउँदै भने । उनी डेढ महिनादेखि आनन्दवन अस्पतालमा उपचाररत छन् ।

    काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–१२ निवासी ५४ वर्षीय कृष्णबहादुर दनुवार पनि शरीरमा ‘रियाक्सन’ भएकाले उपचार गराउँदै छन् । उनको शरीरमा आठ वर्षअघि दाग देखिएको थियो । उनी पनि त्यति बेला ‘नाग लाग्यो’ भनेर फुक्न गएछन् । खासै पोल्ने र दुख्ने समस्या नभएका कारण उनले दागप्रति त्यति ध्यान दिएनन् । समस्या गहिरिँदै गयो । दनुवार भन्छन्, ‘जति पछि हुँदै गयो, उति शरीर फुल्न र पाक्न थाल्यो । ६ महिनाअघि धुलिखेल अस्पताल जाँदा एक पटक आनन्दवन जाने सल्लाह पाइयो । करीब एक महिनादेखि अस्पताल भर्ना भएर नियमित औषधि सेवन गर्न थालेको छु । मुख अनि शरीर हेर्न हुने हुँदै गइरहेको छ ।’

    रौतहट, गौर नगरपालिकाकी ३५ वर्षीया गीतादेवी मुखियाको पनि शरीरमा १६ वर्षअघि सेतो दाग देखिएको थियो । पछि त्यहाँ फोका आएर घाउ भयो र फुट्यो । गोडा लाटो हुँदै गयो । उनी भन्छिन्, ‘उपचार गर्न विभिन्न अस्पताल धाउँदा धाउँदै कुष्ठरोग भएको चाल पाइयो । ज्यादै कम सर्ने यो रोग लाग्नुअघि १३ वर्षकै उमेरमा विवाह गरिएकाले चार सन्तान र श्रीमान् त साथमा छन् तर सासूबाट निकै हेलाँ पाएर घरबाट निकालिएँ ।’ अहिलेसम्म श्रीमान्को साथ पाए पनि घरै छाड्नुपरेको दुःख उनको मनमा गडेर बसेको छ । ‘रोग लागेर १० भन्दा बढी पटक आनन्दवन धाइसक्दा पनि सासूआमाको मप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन’, उनी गुनासो गर्छिन् ।

    समयमै शङ्का गरौँ

    कुष्ठरोगशून्य समाजको परिकल्पना गर्दै विश्वका कुष्ठरोग प्रभावित देशहरू ठोस कार्ययोजना बनाएर अघि बढिरहेका छन् तर विश्वबाट कुष्ठरोग निर्मूल नै भइसकेको भने छैन । नेपालमा पनि यो जनस्वास्थ्य समस्याका रूपमा छ । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट कुष्ठरोग लाग्छ । नर्वेली भौतिकशास्त्री डा. गेरहार्ड हेनरिक आर्मर ह्यानसनले सन् १८७३ मा कीटाणुका कारणले कुष्ठरोग हुने पत्ता लगाएका थिए । त्यसअघि समाजमा ‘महारोग’लाई वंशाणुगत रोग अथवा दैवी अभिशापले भएको मानिन्थ्यो । ‘कोढ’ लागेकालाई परिवार र समाजले छिःछिः र दुरदुर गर्थ्यो । अझै पनि ‘ह्यान्सन्स डिजिज’ लागेकालाई हेर्ने समाजको दृष्टिकोण सहज र पूर्ण सकारात्मक छैन ।

    सो रोगले खासगरी छाला र स्नायु प्रणालीमा असर गर्छ । आनन्दवन अपाङ्गता न्यूनीकरण संयोजक कृष्ण गोदार थापा भन्छन्, ‘यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, शरीर छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लोे हुने, गिर्खा देखा पर्ने, हातगोडामा छोएको पनि चाल नपाउने र विस्तारै मांसपेशी कमजोर हुन्छ । ‘सुन–बहिरी’ रोगका कारण छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन ।’

    कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट सर्ने आनन्दवन कुष्ठरोग सहयोग सेवाका इञ्चार्ज बद्री कठायत बताउँछन् । उनी भन्छन्, ‘साधारणतया सरेको दुईदेखि पाँच वर्षभित्र कुष्ठरोगका चिह्न तथा लक्षण देखापर्छन् । छालामा रातो वा फुस्रो दाग आए, अनुहारको छाला वा कानको लोती बाक्लो भए, चम्किलो देखिए, अनुहार वा शरीरमा गिर्खा देखापरे, आँखीभुइँ झरे वा पातलो भए, हातखुट्टाका औँला बाङ्गिए वा खुम्चिए यो रोग लागेको शङ्का गरी जँचाउन जानुपर्छ ।’

    यस्तै हात वा खुट्टा लत्रिए, हत्केला वा पैतालामा नदुख्ने घाउ देखिए, हत्केलाका मांसपेशी सुकेर गए, नाक थेप्चो भएर गए, लगातार हातगोडा झमझमाउने गरिरहे, हातगोडा पोल्ने वा निदाएको जस्तो भए, अनुहारतिर कमिला हिँडेको जस्तो रगरग गरे, हातका औँलाहरू र खुट्टा विस्तारै कमजोर हुँदै गएमा पनि यो रोग लागेको शङ्का गरी जँचाउन जानुपर्ने उनी बताउछन् । कठायतका अनुसार रोग लागेको शङ्का लागेमा बेलैमा नियमित उपचार र औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गता हुनबाट जोगिन्छ ।

    कुष्ठरोगको उपचार

    कुष्ठरोगको उपचार बहुऔषधि विधिबाट गरिन्छ । नेपालमा आव २०३९/४० मा बहुऔषधि उपचार प्रणाली शुरु भई विसं २०५३ देखि देशभर लागु छ । बढी कीटाणु भएका बिरामीले १२ महिना र कम कीटाणु भएका बिरामीले छ महिना नियमित औषधिसेवन गर्नुपर्छ । दुई वा तीन किसिमका औषधिको मिश्रण बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत कीटाणु निष्क्रिय बन्ने छाला तथा कुष्ठरोग विशेषज्ञ डा. सुवास खनालले बताए ।

    कुष्ठरोगको उपचारका लागि २०१३ सालमा स्थापित आनन्दवन अस्पतालमा हाल १६ देखि ८० वर्ष उमेरसम्मका ५४ बिरामी भर्ना भएर उपचार भइरहेको छ । कुष्ठरोगी तथा प्रभावितको उपचार व्यवस्थापन, सुधारात्मक शल्यक्रिया, रोग फेरि बल्झिएका बिरामीको जाँच, आँखा तथा फिजियो थेरापीका साथै नसा रोगको उपचार हुने अस्पतालले जनाएको छ । एक सय १० शय्या क्षमताको अस्पतालमा जटिल प्रकारको घाउ, ‘रियाक्शन’का साथै कुष्ठरोगको अनुसन्धानसमेत हुने गरेको छ ।

    मुलुकको एक मात्र पोषण केन्द्रका रूपमा परिचित अस्पतालका निमित्त मेडिकल निर्देशक डा. महेश शाह अस्पतालले कुष्ठरोगीका लागि कृत्रिम अङ्ग, जुत्ता, काम्रो, बैसाखी, चश्मा आदि सहयोगी सामग्री पनि उपलब्ध गराउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालले सातै प्रदेशका बिरामीलाई २४ सै घण्टा उपचार सेवा दिइरहेको छ ।

    सो रोगको बिरामीका लागि काठमाडौँ उपत्यकामा रहेर काम गरिरहेको संस्था दि लेप्रोसी मिशन नेपालका अधिकारी आर्थेन रङगङका अनुसार सन् २०२० मा ८५ नयाँ कुष्ठरोगी पत्ता लागेका थिए । यही नोभेम्बर ८(कात्तिक २२) सम्ममा १६० जना सो रोगका बिरामी भेटिइसकेका छन् । ‘मुलुकमा कोरोना संक्रमण न्यूनीकरण हुँदै जाँदा अस्पतालमा उपचार गर्न आउने बिरामी बढेसँगै नयाँ बिरामीसमेत पत्ता लगाउने क्रम बढेको छ’, उनी भन्छन् ।

    अस्पतालका मेडिकल रेकर्ड विभाग प्रमुख कान्छा श्रेष्ठका अनुसार सन् २०२० मा घाउ उपचार अनि जुत्ता आदि सहयोगी सामग्री लिन आउनेहरू तीन हजार ५३३ तथा सन् २०२१ को सोमबारसम्म चार हजार २८० ले सेवा पाइसकेका छन् । त्यसैगरी आनन्दवनले उपलब्ध गराएको तथ्याङ्कानुसार सन् २०२० मा कुष्ठरोग पुनः बल्झिएको शङ्का लागेर उपचार गराउन आउने १४ मध्ये ११ मा रोग देखिएको थियो । गत सोमबारसम्म २६ जना उपचार गराउन आएकामा २२ जनामा रोग भेटिएको थियो ।

    कुष्ठरोगीका लागि काठमाडौँ उपत्यकाभित्र चन्द्रशम्शेरकालीन आरोग्य आश्रमले पनि सहयोग गरिरहेको छ । नेपाल कुष्ठरोग निवारण सङ्घका कर्मचारी तथा आश्रम प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा घरबारबिहीन, हेलित र आफन्तको ठेगाना पत्ता नभएका व्यक्तिलाई आश्रय दिने गरिएको जहाँ हाल १६५ जना छन् । दक्षिणकाली–२ का साथै केही दाताले आश्रितका लागि बेलाबेलामा सहयोग गर्ने गरेको श्रेष्ठ बताउछिन् । आश्रमले सोमबार र बिहीबार क्लिनिक सञ्चालन गर्छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई आनन्दवन पठाइने गरेको जनाइएको छ । काठमाडौँ उपत्यका बाहिर धनुषा, लालगढमा कुष्ठरोग सेवा केन्द्र तथा पोखरा, नेपालगञ्ज र सुर्खेतमा केही स्वास्थ्य संस्था कुष्ठरोग उपचारमा सक्रिय छन् ।

    चुनौती बाँकी

    विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कानुसार सन् २०१९ मा विश्वमा कुष्ठरोगका दुई लाखभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने अपाङ्गता भएका २०–३० लाख छन् । सङ्गठनले प्रति १० हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी भएमा रोग निवारण भएको र जनस्वास्थ्य समस्याका रूपमा नरहेको मानेको छ । विसं २०६६ माघमा नेपालमा राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरियो । यद्यपि कुष्ठरोग लाग्ने समस्या बाँकी नै छ । नेपालका सबै जिल्लाबाट सन् २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिइएको ‘जिल्लास्तरीय कुष्ठरोग निवारण अभियान निर्देशिका (२०७३)’ मा नै उल्लेख थियो । राष्ट्रियस्तरमा निवारण भए पनि जिल्ला तथा स्थानीयस्तरमा चुनौती अझै छ र समुदायमा रोग संक्रमण प्रक्रिया अझै रोकिएको छैन ।

    ‘कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्यसञ्चालन निर्देशिका (२०७५)’ ले कुष्ठरोगीको चाप सबैभन्दा धेरै तराई तथा त्यसपछि पहाडमा र सबैभन्दा कम हिमाली भेगमा पाइएको उल्लेख गरेको छ । स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार सन् २०२० सम्ममा मुलुकका सबै जिल्लामा कुष्ठरोग प्रभावितलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानलाई शून्य बनाउने रणनीति लिइए पनि कुष्ठरोगीका कुरा सुन्दा त्यो अझै कार्यान्वयन हुन नसकेको देखिन्छ ।

    काठमाडौँ उपत्यकामा भेटिएका केही कुष्ठ प्रभावितले सो रोग न्यूनीकरण गर्न सरकारले थप प्रभावकारी कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । कुष्ठरोगीको संख्या न्यूनीकरणमा रामेछापका ७५ वर्षीय उमाप्रसाद तिवारी र काभ्रेपलाञ्चोक, पनौतीका ६२ वर्षीय काशीनाथ अर्याल जस्ता कुष्ठ प्रभावितले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने तिनले बताएको छन् । तिवारीलाई कुष्ठरोग भएको शङ्का गाउँलेले २०२६ सालमा गरेपछि उनी उपचारका लागि काठमाडौँ आए । यसै वर्ष पनि १० महिना आनन्दवनमा भर्ना भएर उपचार गराए । कुष्ठरोगका कारण शारीरिक र मानसिक पीडा भोगेका तिवारी २०४९ र अर्याल २०४८ सालदेखि कुष्ठरोगीको सेवामा समर्पित छन् ।

    कुष्ठरोगको उपचारबारे व्यापक प्रचारप्रसार भइरहँदा अनभिज्ञका हितमा सो रोगको उपचार हुने ठाउँ र संस्थाबारे जानकारी गराउनुपर्ने अर्याल बताउछन् । ‘रोग पहिचान भएका बिरामीसँग निकटतम सम्पर्कमा रहेका व्यक्ति र परिवारका सदस्यमा रोग सर्ने सम्भावना ध्यानमा राखी त्यस्ता व्यक्ति/परिवारका सदस्यलाई सम्पर्क जाँच अनिवार्य रूपमा गर्न गराउन आवश्यक व्यवस्था पनि सरकारले मिलाउनुपर्छ’, तिवारीको सुझाव छ ।

  • आइतबारदेखि बालबालिकालाई देशका २४ अस्पतालबाट फाइजर खोप लगाइँदै

    आइतबारदेखि बालबालिकालाई देशका २४ अस्पतालबाट फाइजर खोप लगाइँदै

    काठमाडौं । आइतबारदेखि बालबालिकालाई लगाइने कोभिडविद्धको फाइजर खोप मुलुकको २४ वटा खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ वटा खोपकेन्द्र तोकिएको छ ।

    काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

    उपत्यका बाहिर उपत्यका बाहिर, मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, सेती अस्पतालमा खोपकेन्द्र तोकिएको छ ।

    फाइजर खोप १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने छ। यो खोप मंसिर ४ गतेसम्म लगाइनेछ । मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ ।

  • मिर्गौलाको बायोप्सी परीक्षण नेपालमा हुने

    मिर्गौलाको बायोप्सी परीक्षण नेपालमा हुने

    काठमाडौं । अब नेपालमा नै मिर्गौलाको बायोप्सीको परीक्षण नियमित हुने भएको छ । ‘प्रथम प्याथोलोजी ल्याब’ले मिर्गौला बायोप्सीको परीक्षण सुरु गरेसँगै नेपालमा पहिलोपटक नियमित बायोप्सीको परीक्षण हुने भएको हो ।

    यसअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बायोप्सी परीक्षणको सुविधा भए पनि नियमित परीक्षण नगर्दा नेपालका सबै मिर्गौला बिरामीको बायोप्सीको नमूना परीक्षण गर्नका लागि भारत पठाइने गरिन्थ्यो ।

    भारत पठाउन ६ हजार रुपैयाँ लिने गर्दथ्यो तर ‘प्रथम प्याथोलोजी ल्याब’ ले पाँच हजार ५०० रुपैयाँमा नै बायोप्सीको परीक्षण गर्न थालेको छ । आजदेखि सञ्चालनमा आएको ल्याबको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)की डीन प्रा. डा. दिव्या सिंहले उद्घाटन गरे ।

    उनले स्वास्थ्य परीक्षणमा नेपाल आत्मनिर्भर बनाउन यस ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ल्याबका अध्यक्ष डा. निराजन मैनालीले मिर्गौलाका बिरामीलाई लक्षित गरी ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले विशेषज्ञ चिकित्सकसहित ल्याब सञ्चालन ल्याइएको बताए । उनले अबको पाँच वर्षभित्र कुनै पनि स्वास्थ्य परीक्षण गर्न विदेश जान नपर्ने तरिकाले आफूहरुले ल्याबलाई स्तरोन्नति गर्नेसमेत बताए ।

    यस्तै ल्याबले बिरामीलाई मोबाइल एपमा नै रिपोर्ट उपलब्ध गराउने भएको छ । बिरामीले आफ्नो रिपोर्ट जुनसुकै बेला पनि हेर्न सक्ने व्यवस्था मिलाइएको ल्याबका अध्यक्ष डा मैनालीले बताए । उनका अनुसार ल्याबमा परीक्षण गरिने रोगको बढीमा तीन दिनसम्म रिपोर्टसमेत दिने बताए ।

  • थप ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    थप ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाडौं । गएराति नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स संयन्त्र र स्विटजरल्यान्ड सरकारले उपलब्ध गराएको सो परिमाणको खोप नेपाल आइपुगेको हो ।

    खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। नेपालमा अहिलेसम्म कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर अहिलेसम्म २ करोड २० लाख ८० हजार ९३० डोज खोप आइसकेको छ।

  • बुधबार ४४० कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    बुधबार ४४० कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४४० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६८१४ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । बुधबार ४७४ जना निको भएका छन् । १ हजार ५१९ जना कोभिडविरुद्ध खोप लगाएका छन् ।

    सक्रिय संक्रमित संख्या ७५१९ छ । काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा सक्रिय संक्रमित छन् । मुगु र हुम्लामा मात्र शून्य संक्रमित संख्या छ । कूल संक्रमित संख्या ९ लाख १० हजार ७३८ छ ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६० छ ।

  • कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

    कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो ।

    मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान भनिएको छ । खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ ।

    यी दीर्घरोगीले खोप लगाउन पाउँछन्

    मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ ।

    यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिकका रक्तनली सम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभाकारी हुने अध्ययनले देखाएको छ ।

    फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ । फाइजर खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

  • मंगलबार ५ सय संक्रमित थपिँदा १ जनाको मृत्यु

    मंगलबार ५ सय संक्रमित थपिँदा १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ५३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा ४४३ जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ५३३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

    सोही अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ जना छन् ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ । यस्तै कूल ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

  • काठमाडौंका १९ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)

    काठमाडौंका १९ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)

    काठमाडौं । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले सूचना जारी गर्दै ती पसलहरुलाई ४ देखि १५ दिनसम्म निलम्बन गरेको जनाएको छ ।

    औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) मा परीक्षण गर्दा कुनै औषधि उत्पादन, बिक्री वितरण गर्ने व्यक्तिले ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने कारबाही गरेको ठहरिएमा व्यवस्थापकले त्यस्तो औषधि जफत गरी उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन वा निकासी पैठारीमा नियन्त्रण गरी ५ महिनासम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था छ ।

    हेर्नूस सूचना :

  • बालबालिकाको लागि सरकारले एक करोड डोज खोप खरिद गर्ने

    बालबालिकाको लागि सरकारले एक करोड डोज खोप खरिद गर्ने

    काठमाडौँ । सरकारले बालबालिकालाई लगाउन मिल्ने कोभिड-१९ विरुद्धको एक करोड डोज खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फाइजर र मोर्डना खोप खरिद गर्नको लागि स्वास्थ्य मन्त्रालयलाई अनुमति दिएको हो । यी दुबै खोपलाई अमेरिकासहितका मुलुकमा बालबालिकामा लगाइएको छ ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले एक करोड डोज खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । सो परिमाणको खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

    मन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । ‘‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ,’’ मन्त्री खतिवडाले भने, ‘मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।”

    सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरेको छ । १२ वर्षमाथिका बालबालिकालाई यी दुई खोप लगाउने सरकारको तयारी छ । फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।

    कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन खोप आएका छन् ।

  • थप ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय

    थप ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौं । सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

    बैठकले केही सहसचिवको नियुक्ति र पदस्थापनाको निर्णय पनि गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • सोमबार ३ सय कोभिड बिरामी थपिए, ५ जनाको मृत्यु

    सोमबार ३ सय कोभिड बिरामी थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार थप ३९० जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा १९ जना गरी ३९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    सोही अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने ४२५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १९ सय १७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ जना छन् । मन्त्रालयका अनुसार दैनिक संक्रमणदर ७.७ प्रतिशत छ ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ । यस्तै कूल ७ लाख ९५ हजार ८२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

  • विश्वभर कोरोना संक्रमित संख्या २५ करोड नाघ्यो, युरोप पुनः हटस्पट बन्दै

    विश्वभर कोरोना संक्रमित संख्या २५ करोड नाघ्यो, युरोप पुनः हटस्पट बन्दै

    काठमाडौं । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुने कूल संख्या २५ करोड नाघेको छ । युरोपमा पछिल्लो साता डेल्टा प्रजातिको कोरोनाको संक्रमणमा व्यापक वृद्धि भएको छ ।

    कतिपय मुलुकले संक्रमणमा कमी आएपछि पर्यटन र व्यापार खुला गरिरहेका छन् । पछिल्लो तीन महिनामा दैनिक संक्रमण दरमा ३६ प्रतिशतले कमी आएको छ ।

    रोयटर्सका अनुसार प्रत्येक ९० दिनमा ५० मिलियन मानिसमा भाइरस संक्रमण भएको छ । संक्रमण बढ्नुमा डेल्टा भेरिएन्टलाई कारण मानिएको छ । २४० मुलुकमध्ये ५५ वटामा अहिले पनि संक्रमणदर उच्च छ ।

    रुस, युक्रेन र ग्रीसमा दुईवर्षअघि भाइरस संक्रमण सुरु भएयताकै सबैभन्दा उच्च संक्रमण देखिएको छ । पूर्वी युरोप सबैभन्दा कम खोप लगाउने क्षेत्र अन्तर्गत पर्छ । नयाँ संक्रमितमध्ये आधाजसो युरोपमै पुष्टि भएका छन् ।

    विश्व स्वास्थ्य संगठनकी संक्रामक रोग विशेषज्ञ मारिया भान केरखोबेले सन् २०२२ को अन्त्यसम्म कोरोना नियन्त्रण हुनसक्ने बताएकी छिन् । विश्वभर कोभिडबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ ।

  • हैजा रोक्न डब्लूएचओले नेपाललाई २ लाख ५२ हजार डोज ओरल खोप दिने

    हैजा रोक्न डब्लूएचओले नेपाललाई २ लाख ५२ हजार डोज ओरल खोप दिने

    काठमाडौं । नेपालको कपिलवस्तुमा फैलिएको झाडापखाला रोकथामका लागि विश्व स्वाथ्य संगठनले २ लाख ५२ हजार ३६३ डोज ओरल खोप दिने भएको छ ।

    विश्व स्वास्थ्य संगठनको समन्वयमा मुखबाट खाने हैजाको ओरल खोप ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो । झाडापखाला फैलिएको क्षेत्रमा चाडै खोप ल्याउन प्रतिबद्ध भएको डब्लूएचओले जनाएको छ ।

    गत असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णणनगर नगरपालिकाका तीन वटा वडामा झाडापखला प्रकोप फैलिएको थियो। मन्त्रालयका अनुसार प्रकोपबाट चार जनाको मृत्यु भइसकेको छ ।

    प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने, ‘रोग फैलिन नदिन खोपको आवश्यक छ, यदि हामीले खोप अभियान सुरु गरेनौं भने रोग समाजमा दीर्घकालीन समस्याको रूपमा रहन सक्छ ।’

    झाडापखालापछि संकलन गरिएका दिसाका नमुना परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखापरेको थियो । खानेपानी संस्थानले वितरण गरेको पानीमा इकोली नामक जीवाणु फेला परेको थियो।

  • दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि उच्च सतर्कता

    दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि उच्च सतर्कता

    दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।

    उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।

    उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए । उनले यहाँका सबै सरकारी अस्पतालहरुमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताए ।

  • थप १४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    थप १४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    सोही अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । यस्तै कूल ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना छन् । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा छन् । आईसीयूमा १९७ जना र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • वायु प्रदूषणले उच्च रक्तचाप र मिर्गौलाका बिरामीमा बढी जोखिम

    वायु प्रदूषणले उच्च रक्तचाप र मिर्गौलाका बिरामीमा बढी जोखिम

    काठमाडौं । वायु प्रदुषणले मुटु सम्बन्धि रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानले वायु प्रदुषणले मुटु रोगी, उच्च रक्तचाप भएको बिरामीलाई सबैभन्दा बढी असर गर्ने जानकारी दिएको छ ।

    अुसन्धानकर्ताका अनुसार यदि बिरामी मृर्गौला रोगी र उच्च रक्तचाप जस्ता समस्यासँग जुधिरहेको छ भने वायु प्रदुषणले झनै कमजोर बनाईदिने अध्ययनले देखाएको छ ।

    २०२१ मा अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किड्नी वीकले बिहीबार दाबी गरेको छ । अनुसन्धानकर्ताका अनुसार वायु प्रदुषणले सीधा मुटुका बिरामीहरुलाई असर गर्छ । यदि वायु प्रदुषणबाट आफुलाई बचाउने हो भने हृदय रोगको जोखिम कम गर्न सकिन्छ ।

    उच्च रक्तचापबाट मिर्गौंलाका बिरामीमा ग्लाइसिन–३ को मात्रा बढेको अनुसन्धानकर्ताहरुले बताएका छन् । यो प्रत्यक्ष रुपमा वायु प्रदुषणसँग सम्बन्धित भएकाले यसले मुटु भित्रि रुपमा कमजोर बनाउँछ ।

    १०१९ जना बिरामीमा गरिएको अनुसन्धानमा यस्तो बिरामीमा मायोकार्डियल फाइब्रोसिस अर्थात मुटु कमजोर हुन थाल्छ र यसले हृदयघात वा मृत्यु समेत हुनसक्ने विज्ञहरुले बताएका छन् ।

  • हुम्लाको खार्पुनाथ स्वास्थ्यचौकीमा औषधी अभाव

    हुम्लाको खार्पुनाथ स्वास्थ्यचौकीमा औषधी अभाव

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधी अभाव हुँदा बिरामीलाई समस्या परेको छ । एक सातादेखि स्वास्थ्यचौकीमा औषधी सकिएपछि उपचारका लागि आएका वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी रित्तो हात फर्कन बाध्य छन् ।

    सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेकोमा औषधी अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । उनले भने, ‘गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।’

    स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म उपचारका लागि आउने गरेका छन् । केही दिनयता सिजनल फ्लुका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

  • स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण

    स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण

    स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो ।

    सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए । सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताउनुभयो । एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् ।

    “हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन्”, उनले भने । एचआईभी सङ्क्रमित विस्तारै खुल्न थालेको जिसी बताउँछन् । “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ”, उनले भने ।

    जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् ।

    विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताउनुभयो । “सङ्क्रमितमध्ये १३३ जनाको गर्हौ प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ”, उनले भने । एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् ।

  • थप १३९ जनामा कोरोना संक्रमण

    थप १३९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् । यसैगरी संक्रिय संक्रमितको संख्या ८ हजार १४४ रहेको छ ।