Category: स्वास्थ्य-जीवनशैली

  • नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् ।

    समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरुको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेको सचिवालयले जनाएको छ ।
    ‘बालबालिकाको जन्मजात सुन्न नसक्ने अपांगता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरुको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हौं,’ मन्त्री पौडेलले भने ।

    अब यस निर्देशिकाअनुसार महिलाको सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

    ‘स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक,कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ,’ उनले भने ।

    निर्देशिकामा जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँगसमेत जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ ।

    निर्देशिकाअनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएइ उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ । परीक्षण उपकरण विशिष्टिकृत अस्पतालहरुमा विस्तार गर्ने मन्त्रालयले तयारी पनि अघि बढाएको छ ।

    नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १।८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको विवरणमा छ । २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो ।

    तर, बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । यस आधारमा धेरै भन्दा धेरै बालबालिकाको समयमै उपचारका लागि पहिचान गर्न देशभर नवजातको जाँचलाई गुणस्तरीय बनाइ एकरुपता कायम गर्न आवश्यक भएकाले यो निर्देशिका निर्माण भएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

    यसअघि केही अस्पतालमा यस्तो परीक्षण भए पनि प्रजनन सेवा भएका सबै स्थानमा सामान्यस्तरको परीक्षणसमेत हुने गरेको थिएन । एक वर्षभित्रै उपचार गर्न सकिए बालबालिकालाई सुन्ने बनाउन सकिने विज्ञहरुको राय छ ।

  • पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप जिल्लामा पठाउन सुरु (भिडिओ)

    पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप जिल्लामा पठाउन सुरु (भिडिओ)

    काठमाडौं । आगामी माघ २२ गते देखि शुरु हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लगाइने ’एचपीभी’ खोप अभियानका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खोप पठाउन सुरु गरिएको छ ।

    केही दिन अघि विराटनगर स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुगेको २ लाख ७५ हजार १ सय ८० भाईल खोप मध्ये ५८ हजार ८ सय ५० भाइल ७ वटा जिल्लामा पठाइएको छ ।

    झापा, मोरङ, सुनसरी, उदयपुर, सोलु, ओखलढुंगा र संखुवासभामा एक साताभित्र खोप पठाइने र करिब ६ हजार ६ सय भाइल बफर स्टकमा राखिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए ।

    आगामी माघ २२ गते देखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान संचालन गरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई नि:शुल्क खोप दिने उनले बताए ।

    एचपिभी खोप लगाउँदा एचपिभीको संक्रमणबाट हुने क्यान्सर रोग ७० प्रतिशत घटाउन सकिने विश्वास रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरूलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्ने बताइएको छ ।

  • चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

    चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

    काठमाडौं । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो ।

    हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको शहीद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

    अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ । उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ ।

    अध्ययन अनुसार नेपालमा ४८।६ प्रतिशत पुरुष र १५।३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताए।

    उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ। त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयाघात हुने गर्दछ।

    किन हुन्छ हृदयाघात ?

    गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयाघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ ।

    यस्तै उच्चरक्तचाप ३६।६ प्रतिशत, मधुमेह २५।३ प्रतिशत र कोलस्टोरोल ७।८ प्रतिशतलाई हुने गरेको छ । उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ वर्ष मुनिका चुरोट खानेमा हृदयाघात बढदै पाइएको बताए ।

    नेपालमा अहिले हृदयाघात बढ्दै गएको पाइएको छ । चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ। सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो।

    अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताए । ‘चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ’, उनले भने, ‘तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछन।’

    उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउँछन्, ‘हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । यो फ्लेवर हो भनेर तान्ने गर्दछ’, उनले भने, ‘तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्‍याउँछ । अनि हृदयाघात सम्भवना हुन्छ।’

    नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ।

    जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयाघात

    मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन् । डा। भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन्। घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।

    गंगालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ ।

    ‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, डा।अधिकारीले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ।’

    मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग ९बाथ ज्वरजन्य रोग० जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन्।

    हृदयाघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा।अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उनी बताउँछन् । एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ ।

    विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन् । स्टिमाई ९मुटुमा रक्तसंचार हुने नली बन्द हुने० एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने हृदयाघात) र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात) । ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्‍याउनसके बचाउन सकिन्छ ।

    यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ । “हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्‍याउनसके बचाउन सकिन्छ’, उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ।’

    एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ ।

    केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।

    जाडोमा बढी

    जाडोमा हृदयाघात बढी हुने गरेको केन्द्रका निर्देशक डा.रवि मल्लले बताउँछन् । मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ ।

    यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ । उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताए ।

    हृदयाघात कसरी हुन्छ ?

    मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ ।
    .
    रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ ।

    रासस

     

  • आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे चिकित्सक संघको ध्यानाकर्षण

    आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे चिकित्सक संघको ध्यानाकर्षण

    काठमाडौं । आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको नयाँ व्यवस्थामा राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    आवासीय चिकित्सकलाई अवौज्ञानिक ढंगबाट काममा लगाइनु, दैनिक ड्युटी आवरको निर्क्यौल नगरिनु, सार्वजनिक र अन्य सहुलियत बिदाका सवालमा मौन रहनुले देशको चिकित्सा शिक्षा खस्कँदै गएको संघका महासचिव डा. छवि पन्थीले बताए ।

    यस्तै, निर्वाह भत्ताको यथोचित रेखांकन नहुनु र अध्ययन शुल्कको वैज्ञानिक मानक स्थापित गर्न नसक्नुले पनि समस्या सिर्जना भएको संघले जनाएको छ ।

    समस्या समाधानका लागि निजी स्तरबाट सञ्चालित कलेजमा निःशुल्क अध्ययन, सरकारी सेवा सरह निर्वाह भत्ता र २ वर्षको सरकारी तलब स्केल र भत्ताको व्यवस्था गरी सोही संस्थामा काम दिलाउनुपर्ने भनेको छ ।

    अन्य माग यस्ता छन्

  • प्रदेशका स्वास्थ्य संस्थालाई अधिकार सम्पन्न बनाउन स्वास्थ्यमन्त्री पाठकको आग्रह 

    प्रदेशका स्वास्थ्य संस्थालाई अधिकार सम्पन्न बनाउन स्वास्थ्यमन्त्री पाठकको आग्रह 

    काठमाडौं ।  गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्रदेशका स्वास्थ्य सेवा र व्यवस्थापनलाई सुधार गर्न संघीय सरकारसँग सहकार्य र समन्वय अत्यावश्यक रहेको बताएका छन् ।

    उनले स्वास्थ्य सेवा सञ्चालन, व्यवस्थापन, र पहुँच सुधारसम्बन्धी ठोस सुझावहरू राख्दै संघ, प्रदेश, र स्थानीय तहबीच सहकार्यका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने कुरा उल्लेख गरे ।

    मन्त्री पाठकले भौगोलिक परिस्थिति, जनसंख्या, आर्थिक भार, स्वास्थ्य समस्या, र रोगको प्रकृतिलाई ध्यानमा राखी स्थानीय तहमा ५, १०, वा १५ शय्याको आधारभूत अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले अन्तर तह लागत साझेदारी प्रणालीमार्फत यी अस्पतालहरू सञ्चालन गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त समेत गरे ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा काठमाडौँमा जारी बैठकमा  मन्त्री प्रदीप पौडेलसहित सातै प्रदेशका स्वास्थ्य मन्त्री, सचिव, विभागीय प्रमुख र महानिर्देशकहरूको उपस्थिति छ ।

    मन्त्री पाठकले आधारभूत अस्पताल सञ्चालनका लागि अन्तर तह सहकार्य जरुरी भएको बताए । उनले यसका लागि भूगोल, जनसंख्या, आर्थिक भार, र व्यवस्थापन क्षमतालाई आधार मानी दुई वा बढी स्थानीय तहका रणनीतिक स्थानमा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    साथै संघीय सरकारले न्यूनतम आवश्यक जनशक्ति र उपकरणको सुनिश्चितता गर्ने, भने प्रदेश र स्थानीय तहले थप व्यवस्थापनमा साझेदारी गर्नुपर्ने उनको भनाइ थियो । आधारभूत अस्पतालहरूको अनुगमन र सुपरिवेक्षणका लागि प्रदेश र स्थानीय तह सम्मिलित संयन्त्र बनाउनुपर्नेमा उनले आवश्यकता औँल्याए ।

    मन्त्री पाठकले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा पुनरावलोकन हुनुपर्नेमा जोड दिए । ‘किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य, कुपोषण, र उष्णप्रदेशीय रोगजस्ता स्थानीय स्वास्थ्य चुनौती समाधानमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका पुनः परिभाषित गर्नुपर्छ’, उनले भने, ‘स्वयंसेविकाको योग्यता वृद्धि गर्दै तालिम र नवीनतम स्वास्थ्य प्रविधिमा पहुँच उपलब्ध गराउन र शहरी क्षेत्रमा स्वास्थ्य प्रवद्र्धनका लागि सामुदायिक स्वास्थ्य प्रवद्र्धक को व्यवस्था गर्नुपर्छ ।’

    उनले विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन संघीय शिक्षा नीति र स्वास्थ्य नीतिअनुसार विद्यालय शिक्षामा स्वास्थ्य चेतना, स्वच्छता, मानसिक स्वास्थ्य, प्राथमिक उपचार, पोषण, र योग जस्ता विषय समावेश गर्ने, प्रत्येक विद्यालयमा प्राथमिक उपचार केन्द्र स्थापना गरी नियमित स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गर्ने र वद्यालय स्वास्थ्य कार्यक्रमलाई अभिभावक र शिक्षकको सहभागितामा समुदायस्तरमा विस्तार गर्न जरुरी रहेको बताए ।

    साथै, औषधि व्यवस्थापन सुधारका लागि औषधिको गुणस्तर, उपलब्धता, र पहुँच सुनिश्चित गर्दै औषधि विधेयकलाई संघीय संरचनाअनुरूप परिमार्जन गर्नुपर्ने, प्रदेश स्तरमा औषधि वितरण, अनुगमन, र नियमनका लागि स्वायत्त निकाय स्थापना हुनुपर्ने, प्रतिजैविक औषधिको अत्यधिक प्रयोग नियन्त्रण गर्दै यसको दुरुपयोग रोक्न नीतिगत कदम चाल्नुपर्नेमा जोड दिए ।

    स्वास्थ्य सेवा ऐनमा एकरूपता ल्याउनका लागिस्वास्थ्य क्षेत्रको बहुआयामिक प्रकृति र जनशक्तिको समानुपातिक वितरणलाई ध्यानमा राख्दै संघीय संसदबाट एकल स्वास्थ्य सेवा ऐन जारी गर्नुपर्ने उनको भनाइ थियो । ‘प्रदेशका विशिष्ट स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न संघीय सरकारको सहकार्यमा विशेष कार्यक्रम सञ्चालनको आवश्यकता छ’, उनले भने ।

    बजेट र योजनामा सुधारका लागि स्वास्थ्य बजेटको वितरणमा दोहोरोपन हटाई तलबाट माथिसम्म योजना निर्माण प्रक्रिया  अवलम्बन गर्नुपर्ने, संघीय सरकारले सशर्त अनुदान प्रदेशस्तरीय आवश्यकताअनुसार हस्तान्तरण गर्नुपर्ने र प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनालाई सशक्त बनाउन बजेट बाँडफाँट प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए ।

    उनले प्रदेशस्तरीय जनरल र सरुवा रोग अस्पतालहरूको दरबन्दी र बजेट संघीय सरकारबाट सुनिश्चित गर्नुपर्ने र स्वास्थ्य बीमा कार्यालयलाई प्रभावकारी बनाउन र समयमै दाबी भुक्तानीको व्यवस्था मिलाउनुपर्ने पनि बताए ।

    मन्त्री पाठकले संघीय सरकार, प्रदेश, र स्थानीय तहबीच समन्वयकारी भूमिका प्रभावकारी बनाउन आग्रह गरे । उनका अनुसार प्रदेश र स्थानीय तहको अपनत्व र संघीय सरकारको सहकार्यले मात्र स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधार सम्भव भएको बताए । बैठकमा प्रस्तुत सुझावहरूलाई कार्यान्वयनका लागि रणनीति तयार पारिने र आगामी नीतिमा समेटिनेमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विश्वास व्यक्त गरे ।

  • इजाजत नै नलिएका अस्पतालले इजरायल जाने नेपालीको मेडिकल गर्दै

    इजाजत नै नलिएका अस्पतालले इजरायल जाने नेपालीको मेडिकल गर्दै

    काठमाडौं । रोजगारी लागि रोजगारीमा जानेहरुको नेपाल सरकारबाट स्वीकृति नै नलिएको अस्पतालले गर्दै आएको कुरा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कुरा उठेको छ ।

    समितिले आज वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणका सम्बन्धमा नेपाल मेडिकल व्यवसायी संघसँगको छलफल गरेको थियो । सो छलफलमा अनुमति नै नलिएका स्वास्थ्य संस्थाले मेडिकल गरेको कुरा उठेको हो ।

    समितिमा संसद् लालप्रसाद सावाँ लिम्बुले वैदेशिक रोजगारीमा जानेहरुको मेडिकल गर्ने इजाजत नै नलिएका अस्पताहरुले गरिरहेको बताए ।

    उनले समितिमा भने, ‘इजरायलमा नेपालबाट काम गर्न जानेका लागि अनुमति नै नलिएको मेडिसिटी, मनमोहन, त्रिस्टल, हेम्स र स्टार अस्पतालले गरिरहेका छन् । कानुनले नेपाल सरकारबाट अनुमति पत्र लिएका स्वास्थ्य संस्थाले मात्रै मेडिकल गर्न पाउने भन्ने छ । तर, अनुमति नै नलिएको अस्पतालले मेडिकल गरिरहेका छन् । इजरायल जान्ने भनेको पनि वैदेशिक रोजगारीमा जाने हो । तर, अनुमति नै नलिएको संस्थाले किन मेडिकले गरिरहेका छन् ।’

    नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष तारानाथ अर्यालले राज्यले नै सिन्डिकेट गरिरहेको बताए । उनले समितिमा भने, ‘सिन्डिकेट विरुद्ध हामी नै लागेको छौँ । वैदेशिक रोजगारीमा जानेहरुको मेडिकल गर्ने अनुमति नै नलिएका स्वास्थ्य संस्थाले मेडिक गरिरहेको छ ।’

    समितिका सदस्य तथा संसद् रमा कोइराला पौडेलले नेपालबाट मेडिकल पास भएर विदेशमा गएर के कारणले मेडिकल फेल हुन्छन् भनेर प्रश्न गरिन् । उनले भनिन्, ‘मेडिकल भनेको युनिभर्सल हुनु पर्छ । नेपालमा गरेको मेडिकलले विश्वभर नै मान्यता पाउनु पर्छ । देश नै विदेशमा गएका नेपालीको रेमिट्यान्सले चलेको छ । ति नेपालीहरु माथि अन्याय गर्नु हुँदैन ।’

    संसद् अमृतादेवी अग्रहरीले सिन्डिकेटको बन्द गर्नु पर्ने बताइन् । राज्यले र मन्त्रालयले यस विषयमा काम गर्नु पर्ने बताइन् ।

    कृष्णकुमार श्रेष्ठले आफु श्रम मन्त्री भएको बेला सिन्डिकेट गर्न खोज्ने फाइल रोकेको बताए ।

    उनले भने, ‘मैले ५ वटा अस्पतालबाट मात्रै इजरायल जाने कामदारको मेडिकल हुने विषय रोकेको थिए । तर, अहिले लागू भएछ । कसरी लागू भयो खोजौला । वैदेशिक रोजगारीमा जानका लागि मेडिकल गर्न स्वीकृत नै नलिएका अस्पतालहरुले कसरी मेडिकल गरिरहेका छन् । म मन्त्री भएको बेला इजरायलका राजदूतले भनेको ५ वटा स्वास्थ्य संस्थालाई अनुमति नदिएको कारणले अहिले मसँग बल्दैनन् ।’

     

  • तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

    तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

    दमौली । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।

    एचपिभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा अभियान सञ्चालन गरिने छभने दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

    कार्यालय प्रमुख अधिकारीका अनुसार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सय गरी १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाइनेछ ।

    भानु नगरपालिकाका एक हजार चार सय ९५, व्यास नगरपालिकाका तीन हजार आठ सय ५५, देवघाट गाउँपालिकाका छ सय ५७, बन्दीपुर गाउँपालिकाका नौ सय ३९, आँबुखैरेनी गाउँपालिकाका एक हजार दुई सय ३६, म्याग्दे गाउँपालिकाका सात सय ६६, शुक्लागण्डकी नगरपालिकाका दुई हजार सात सय छ, भिमाद नगरपालिकाका एक हजार दुई सय ७७, घिरिङ गाउँपालिकाका पाँच सय ८० र ऋषिङ गाउँपालिकाका सात सय ८७ जनामा खोप लगाइनेछ ।

    हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप प्रदान गरिनेछ । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान सञ्चालन गरिने अधिकारीले बताए ।

    करिब नौ वर्ष अगाडि चितवन र कास्कीमा एचपिभी खोप सेवा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप छ महिनाको फरकमा दुई मात्रामा दिइएको थियो ।

  • स्वास्थ्यमन्त्रीले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

    स्वास्थ्यमन्त्रीले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् ।

    प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी अस्पतालमा पालो कुर्न पर्ने अवस्थामा सुरक्षा निकायका अस्पतालमा अपरेशन वार्ड खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्य गर्न प्रस्ताव गरे ।

    ‘संघीय अस्पतालहरुमा सिफ्ट थप्ने तथा अतिरिक्त समयमा पनि काम गरेर बिरामीको चाप व्यवस्थापनमा काम भैरहेको छ’, मन्त्री पौडेलले भने, ‘सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा रेफर गरेर कसरी उपचार दिन सकिन्छ, साथ दिनुहोला ।’

    मन्त्री पौडेलले आम नागरिकका लागि खुला नभएका सेवासमेत अन्य सरकारीसरह सरकारी दररेटमा उपलब्ध गराउन सकिने गरी कसरी काम गर्न सकिन्छ भनेर समेत सुझाव माग गरे ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमसमेत सुरक्षा निकायका अस्पतालमा कसरी प्रभावकारी बनाउन सकिन्छ, सुझाव दिनसमेत आग्रह गरे ।

    मन्त्री पौडेलले गत साता सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरेर मन्त्रालयका उपचार सहायता पनि उपलब्ध गराउने तथा सरकारी अस्पतालमा भएको चाप व्यवस्थापनमा अपनाउन सकिने खाका तयार पार्न अतिरिक्त सचिव डा. टंक बारकोटीको नेतृत्वमा कार्यदल बनाएका थिए ।

    यसै सन्दर्भमा उनले सुरक्षा निकायका अधिकारीसँग मन्त्रालयमा बैठक गरेका हुन् । बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीहरु सहभागी थिए ।

    एयर एम्बुलेन्स र सर्पदंस उपचारका लागि सेनासँग सहकार्य प्रस्ताव

    स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपाली सेनाले आपतकालीन अवस्थाका गर्भवतीको सुत्केरी सेवाका लागि सेनाले थालेको उद्धारका लागि प्रशंसा गरे ।

    ‘तपाईंहरुको उद्धारले धेरै सुत्केरी र बच्चाको ज्यान जोगिएको छ’, उनले भने । मन्त्री पौडेलले आपतकालीन अवस्थामा अन्य नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले त्यसका लागि सघाइदिन सेनासँग आग्रह गरे । ‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौं’, उनले भने, ‘यसबाट उपचार र उद्धार अभावमा अप्ठेरोमा परेकाको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो ।’

    मन्त्री पौडेलले तराईमा सर्पदंशको उपचारमा सेनाले सघाइरहेको भन्दै प्रशंसा पनि गरे । उनले सेनाको विज्ञता मन्त्रालयसँग पनि सहकार्य गर्न सक्ने ढाँचामा काम गर्न तयार रहेको बताए ।

    ‘तपाईंहरुले सर्पदंशका धेरै बिरामीको उपचार गरिरहनुभएको छ’, उनले भने, ‘हाम्रा जनशक्ति अभाव भएका स्थानमा सहकार्य गर्न सकिन्छ भने आवश्यक व्यवस्थाका लागि हामी तयार छौं ।’

     

  • स्वास्थ्य बीमामा प्रधानमन्त्रीको चासो- सुधारको कार्ययोजना ल्याउन दिए निर्देशन

    स्वास्थ्य बीमामा प्रधानमन्त्रीको चासो- सुधारको कार्ययोजना ल्याउन दिए निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन् ।

    सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुनेमा जोड दिए ।

    उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भु आचार्य, सदस्यहरू डा भगवान कोइराला, डा. रघुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानूनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।

    हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुक्तानी गर्न बाँकी रहेको छ । यस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आवद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिइएको छ ।

    कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरूको कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

  • सिसी र चक्की भिटामिनको भ्रम

    सिसी र चक्की भिटामिनको भ्रम

    ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ ।

    पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ ।

    त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरु जताततै भिटामिनको खोजीमा छन् । कतिचोटी ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, “मलाई कमजोरी भएको छ कुनै तागतको झोल दिनुस् न ।” औषधि पसलेले कुनै ‘कुनै रङ्गीन झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर फर्कन्छन् ।

    विशेषगरी गाउँघरतिर महिला ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् । सहरका महिलाले पनि आफैँ ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भन्दै औषधि पसलबाट किनेर ल्याउँछन् ।

    गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटी महिला खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् र भिटामिनको माग गर्छन् । यदि उनीहरुलाई भिटामिन नदिने हो भने “कस्तो डाक्टर होला । केही रोग छैन भनेर भिटामिन दिएन” भनेर गुनासो गरेको पनि सुनिन्छ । त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि खुवाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन् ।

    भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ ।

    गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्व एवं भिटामिनहरु बढी चाहिन्छन् भन्ने कुरा पनि प्रायःलाई थाहा हुन्छ, तर ती आवश्यक तत्वहरु प्राकृतिक भोजनमै धेरै हुन्छ भन्ने कुरामा कमैले ध्यान पुर्‍याएको देखिन्छ । आमा पनि चाहे काखको बच्चा होस् चाहे बढ्ने बच्चा सबैलाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन्, बच्चालाई पोषण दिइरहेको ठान्छन् । बाबु आमा कमैलाई थाहा छ– भान्छामा भएको भोजन नै बच्चालाई सबैभन्दा उपयुक्त हुन्छ ।

    आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटस भनेका थिए, ‘भोजन नै औषधि हो ।’ विभिन्न विज्ञापनका भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारणले नै मानिसहरु सिसी र चक्की भिटामिन औषधि किनेर खान्छन् । हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामीहरु धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका टनिक किनेर खान्छौँ ।

    भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रङ्गीन झोल वा टनिकहरु बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् भन्ने गलत धारणाले गर्दा गाउँघरमा प्रत्येक रोगको लागि भिटामिन सुई लिने प्रचलन पनि धेरै मात्रामा छ ।

    अनेक भ्रामक र अज्ञानताको कारणले पछिल्लो समय गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरु छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिनेक्रम बढ्दै गएको छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभीजस्ता सञ्चार माध्यमहरुमा हर्लिक्स्, बुष्ट, बोर्नभिटाजस्ता भिटामिनहरुको प्रचारप्रसार अत्यधिक हुनु पनि हो ।

    भिटामिन ‘ए’ को कमीले हुने राति अन्धो हुने रोगको लागि ‘भिटामिन ए’ को  क्याप्सुल बाँडिन्छ । तर तपाईको घरको बारीको फल मेवा वा अम्बा खाउँ है भनेर भनिदैन । जुन ठाउँमा पर्याप्त मात्रामा अमला पाइन्छ त्यो ठाउँमा भिटामिन सी’ को चक्की बेचिन्छ महँगोमा । सस्तोमा पाइने अमला भिटामिन सीकोभन्दा धेरै सस्तो भएर पनि बेवास्ता गरिन्छ ।

    मानिसहरुले आफ्नो धेरै कमाई भ्रममा परेर यस्ता रङ्गीन झोलमा खर्च गरिरहेका छन् । औषधि पसलमा गएर रङ्गीन झोल किन्नुभन्दा अगाडि तपाईं डाक्टरलाई सोध्नुस्, ‘के वास्तवमा नै मलाई भिटामिन जरुरी छ?’ भोक लगाउने टनिक आफूले खानुभन्दा अघि वा परिवारका सदस्यहरुलाई दिनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ?के यसका सम्पूर्ण कुप्रभावहरुबारे तपाईंलाई जानकारी दिइएको छ ?कतिपय विकसित देशहरुमा कुप्रभाव पर्छ भनेर भनिएका यस्ता भिटामिनका चक्की वा झोलहरु नेपालमा प्रश्रयका साथ बिक्री वितरण भइरहेको छ । सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ भनेर बुझ्नसक्यो भने भिटामिन झोल र टनिकको कसैलाई पनि जरुरत हुँदैन ।

    त्यसैगरी धेरै मानिसहरु भोजन भनेर पाचन गराउने रस किनेर खान्छन् । तर घरमै भएका खानेकुरा ज्वानो, हिङजस्ता तत्वहरुको प्रयोग गरे पनि पच्ने प्रक्रिया राम्रो हुन्छ भनेर धेरै थोरैलाई मात्र थाहा हुन्छ होला । युवा पुस्तामा त यस्ता कुराहरुमा कमैले चासो दिएको पाइन्छ ।

    तराईमा घरघरमा पाइने मेवा पाकेर झरिरहेका हुन्छन् । त्यसलाई हेरेर आँखा तर्काएर हिँड्नेहरुलाई थाहा छैन कि मेवा कस्तो औषधि, पाचन रस र भिटामिनले भरिएको खानेकुरा हो भनेर । खाना पचाउने भनेर थरिथरिका सिसीहरु बजारबाट किनेर ल्याउनेहरुलाई थाहा छ कि छैन मेवामा शरीरका भोजन पचाउन चाहिने सबै पाचन रसहरु जस्तै– पापायीन, खिम्मोपापिन आदि हुन्छ ।

    मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । कतै पाकेको, कतैकतै पाकेको फललाई झोल बनाएर खाइन्छ, कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्रा होइन कि शरीरमा रहेका अन्य समस्या जस्तो कब्जियत हुने, खाना नपच्ने समस्या हुने आदि हटाउन पनि सक्छ । मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ ।

    आधुनिक पाचन रसका बारेमा जानिफकार प्रोफेसर म्यकस वोल्फले क्यानेडियन सिपाहीहरुमा अनुसन्धान गरेका थिए । उनले पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरुको खान दिएका सिपाहीहरुको स्वास्थ्यमा मात्र सुधार भएन कि उनीहरुमध्ये जसलाई धेरै रुघाखोकी लागि रहन्थ्यो दुई तिहाईलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाई सिपाहीलाई रुघाखोकी लागे पनि कडा रुपले लागेन ।

    प्रोफेसर वोल्फले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि, शरीरमा पर्याप्तमात्रामा पाचन रस हुने हो भने व्यक्तिहरुको शरीरमा किटाणुहरुले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरु नै खानेकुरा पचाउन पर्याप्त छन् ।

    तरै प्रायः मानिसहरु घरमा फलेको मेवा खान छोडेर, औषधि पसलमा गएर पाचन गर्ने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोल भनेर अनेकथरीका थरीथरीका बट्टाहरु किनेको पाइन्छ । नेपाली उखान ‘नजिकको तीर्थ हेला’ भने झैँ आफूसँग भएको वस्तुको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरु किन्नेक्रम बढिरहेको छ । यसले आर्थिक रुपमा मात्र नभई स्वास्थ्यका हिसाबले पनि फाइदा पुगेको छैन ।

    (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् । )

    रासस

  • म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

    म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

    म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।

    नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।

    रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम) का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् ।

    “एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ”, उनले भने, “एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।” स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताए ।

    आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो ।

    नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ ।

    वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

  • स्वास्थ्य बीमाको रकम पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौं: मन्त्री पौडेल

    स्वास्थ्य बीमाको रकम पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौं: मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।

    काठमाडौंको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरको उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् ।

    ‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको छ ।’

    सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए ।

    स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बीमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गरे ।

    ‘हाल स्वास्थ्य बीमाको रकम एक लाख रहेको छ, हामी त्यसलाई बढाएर पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौं’, उनले भने ।

    छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।

    टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताए ।

    विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर ३५१ पटक रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

    अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा २०० भन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

  • उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित भएपछिमात्र बजेट विनियोजन: स्वास्थ्य मन्त्रालय

    उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित भएपछिमात्र बजेट विनियोजन: स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।

    हालैको मन्त्रीस्तरीय निर्णय परिपत्र जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताललाई सो कार्यान्वयन गर्न आग्रह गरेको हो ।

    मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले खरिद मार्गदर्शन, २०८१ लागू गर्ने सम्बन्धमा गरिएको परिपत्रमा मालसामानको आपूर्ति समयमै गराई सेवा प्रवाहमा बाधा नपर्ने गरी खरिद कार्य सम्पन्न गर्नुपर्ने र बजेट नभई वा बजेटको सुनिश्चितता नभई खरिदको कार्य गर्न नपाइने बताएको हो ।

    मन्त्रालय र यसका मातहत निकायबाट हुने औषधि, औजार, उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन, २०८१ मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ ।

    मार्गनिर्देशनमा उल्लेख भएअनुसार सम्बन्धित निकायहरुले आवश्यक औषधि, स्वास्थ्य औजार, उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा मालसामानको वार्षिक आवश्यक परिमाण र लागतसमेत खुल्ने गरी पाँच वर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराई राख्नुपर्नेछ ।

    साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्नुपर्नेछ । आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनः नयाँ खरिद गर्न उद्यत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन मार्गनिर्देशनमा जोड दिइएको छ ।

    त्यसैगरी अस्पतालमा रहेका एक्स-रे, अल्ट्रासाउन्ड मेसिन, सिटी स्क्यान मेसिन, एमआरआई, प्रयोगशाला र शल्यक्रियामा प्रयोगमा हुने विशिष्टीकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको १० प्रतिशत उपकरण मर्मतसम्भारमा छुट्याउनुपर्नेछ ।

  • आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न निर्देशन

    आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न निर्देशन

    काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री-वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री-वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो ।

    कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन् ।

    आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन् ।

    ‘विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवर्द्धन गर्ने गरेको पाइएको छ’, उनले भनिन् ।

    कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री-वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ ।

  • स्वस्थ जीवनका लागि योग शिक्षामा मन्त्रीद्वयको जोड (भिडिओ)

    स्वस्थ जीवनका लागि योग शिक्षामा मन्त्रीद्वयको जोड (भिडिओ)

    काठमाडौं । दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

    ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ यस वर्ष राष्ट्रिय योग दिवस मनाइएको हो । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।

    तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा नेपाल प्रज्ञा-प्रतिष्ठानमा योग दिवसको मूल कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढ्न सके मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताइन् । हरेक व्यक्ति आफैँ जागरुक हुनुपर्ने र त्यसका लागि योग-अध्यास जरुरी रहेको उनको भनाइ छ ।

    योगका बिषयमा पाठ्यक्रम बनाएपछि यसलाई कक्षा कोठा र विद्यार्थीसँग जोड्न बाँकी रहेको भन्दै मन्त्री भट्टराईले अब कक्षा कोठा र विद्यार्थीलई समेत योगसँग जोड्ने गरी अघि बढ्ने संकल्प गरिन् ।

    त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले योग शिक्षालाई प्रभावकारी बनाउँदै यसलाई प्रभावकारी रुपमा लागू गर्ने गरी अघि बढ्नुपर्ने धारणा राखे । नयाँ स्वास्थ्य संस्थाको जग खन्नुभन्दा भएका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्नेमा ध्यान केन्द्रित गरेको उनले सुनाए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

    सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको छ ।

  • ‘याेग’ जीवन रुपान्तरणकाे काइदा, यस्ता छन् फाइदै फाइदा

    ‘याेग’ जीवन रुपान्तरणकाे काइदा, यस्ता छन् फाइदै फाइदा

    काठमाडौं । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आइरहेको छ । वास्तवमा योग दिवस मनाइको व्यापकता भने सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएको भन्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन विश्वसामु आह्वान गरेका थिए । उनको प्रस्तावलाई नेपाललगायत देशले समर्थन गरेसँगै त्यसैको अर्को वर्ष सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालियो ।

    विसं २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेसँगै नेपालमा मनाउँदै आइएको छ । हुन त यसअघि २०३६ साल देखि नै उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगमा सरिक रहेकाहरूबाट योग दिवस मनाउन थालिएको थियो ।

    एउटा रोचक पक्ष के छ भने विश्वमा नेपाल एउटा यस्तो देश हो जसले एकै वर्षमा दुईवटा योग दिवस मनाउँछ । एउटा राष्ट्रिय र अर्को अन्तर्राष्ट्रिय ।

    ‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नारासहित यस वर्षको योग दिवस मनाइएको छ । जसमा सरकारका विभिन्न निकायहरूले योगसँग सम्बन्धित विविध कार्यक्रम गरी मनाइएको हो ।

    आध्यात्मिक भूमि, तपोभूमिको रूपमा रहेको नेपालमा यसरी दुई पटक योग दिवस नियमित मनाइँदै आएको छ । यद्यपि जीवनशैलीमा रूपान्तरणका लागि दुई पटक कुनै समारोहमा गएर योग मनाउने भन्दा पनि बानी र आफ्नो जिउने कलाको रूपमा योगलाई आत्मसात् गरेको खण्डमा धेरै किसिमका फाइदाहरू हुन्छन् ।

    योग अध्यात्मसँग जोडिएको विषय देखिए पनि यो विशुद्ध शारीरिक र मानसिक शुद्धिको सर्वोत्तम साधन हो । महर्षि पतञ्जलिका अनुसार योग भनेको मनको चञ्चलताको शान्ति हो । योगले मनलाई स्थिर राख्नेदेखि खुशी हुने रसायनहरू उत्पादनमा भूमिका खेल्छ । यो भने सांसारिक उपलब्धि हो । योगको नियमित अभ्यासले मानिसको मानसिकदेखि आध्यात्मिक उन्नतिको द्वार समेत उजागर गर्दछ ।

    योग गर्नुका फाइदाहरु:

    सर्वोत्तम शारीरिक अभ्यास

    अन्य प्रायः सबै किसिमका शारीरिक अभ्यास निश्चित उमेर समूह र अवस्थामा मात्रै गर्न सकिने खालका हुन्छन् । विशेष तयारी र आर्थिकरुपमा पनि अलिक भार पर्ने किसिमका हुन्छन् । तर योग यस्तो साधन हो जुन अति सामान्यदेखि अति गाह्रो प्रकारका हुन्छन् । निःशुल्कदेखि सामान्य लगानीले पनि सम्भव हुन्छ ।

    जोश, जाँगर, उमेर र शारीरिक तन्दुरुस्ती र बल भएका युवा पङ्क्तिले पनि गर्न सक्छन् भने पाका उमेरका मानिसहरूले पनि सहजै अभ्यास गर्न सक्छन् । तसर्थ यो एक सर्वोत्तम शारीरिक अभ्यास हो । योग गर्नाले शारीरिक र मानिसक स्वास्थ्य सुदृढ हुनुका साथै सकारात्मक सोचको विकास गराउँछ । जेनोडोमा प्रकाशित योग र जीमले शरीरमा पार्ने प्रभावबारेको अध्ययनका अनुसार योगले शारीरिक लचकता, सन्तुलन र तनाव व्यवस्थापनमा भूमिका खेल्ने उल्लेख छ ।

    त्यस्तै, सन् २०१३ मा युरोपियन जर्नल अफ क्यान्सर केयरमा प्रकाशित क्रेमरलगायत अनुसन्धानकर्ताको एक अध्ययनले मानिसको सर्वाङ्गीण सुस्वास्थ्य जसमा गुणस्तरीय जीवन, मानसिक स्वास्थ्यदेखि क्यान्सरसम्मका विषयमा योग महत्त्वपूर्ण रहेको देखाएको थियो । त्यस्तै, जर्नल अफ फिजिकल एक्टिभिटी एण्ड हेल्थमा सन् २०१६ मा प्रकाशित अर्को अध्ययनले योगको अभ्यासलाई एउटा पूर्ण अभ्यासको रूपमा चित्रित गरेको जसले तनाव घटाउनेदेखि शारीरिक बनावटमा कार्य गर्छ ।

    मानसिक र आध्यात्मिक विकास

    योग यस्तो माध्यम हो जसले शारीरिक स्वस्थता प्रदान गर्दै मानिसकरुपमा बलियो बनाउन मद्दत गर्छ । अन्ततोगत्वा आध्यात्मिक चेतनाको स्तर वृद्धिमा समेत भूमिका खेल्छ । इण्डियन जर्नल अफ ट्रडिसनल नलेजमा प्रकाशित टेलेस र सिंह (२०१३) को अनुसन्धानले आत्मजागरण, सचेतना, आत्मिक शान्तिको विकास गर्दै योगको अभ्यासले व्यक्तिलाई उच्च चेतनासँगको सम्बन्ध स्थापित गर्दै आध्यात्मिक विकास गराउने उल्लेख गरेको छ । जर्नल अफ क्लिनिकल साइकोलोजीमा छापिएको लजार लगायतको (२००९) अध्ययनका अनुसार योगले मानिसका मानसिक स्पष्टता र भावनात्मक सुस्वास्थ्यमा वृद्धि गरी आध्यात्मिक विकासका लागि मार्ग खोल्छ ।

    शारीरिक प्रणालीलाई सहज बनाउँछ

    नियमित योग गर्नाले आन्तरिक शारीरिक प्रक्रिया जस्तै पाचन प्रणाली, रक्त सञ्चार एवम् रोग प्रतिरोधात्मक प्रणालीलाई सहज र मजबुत बनाउँछ । इन्टरनेशन जर्नल अफ योगमा प्रकाशित छाया र नागेन्द्र (२००८)को अध्ययनअनुसार योगको अभ्यासले हाम्रो शारीरिक प्रणालीलाई सहज बनाउँछ । त्यस्तै, भारतमा भएको शर्मालगायत (१९९१) को अनुसन्धानले योगाभ्यासले शरीरमा सुगरको मात्रा घटाउने तथा पाचन प्रणालीलाई सहज बनाउने देखाएको छ ।

    खुशी रहन मद्दत गर्छ

    मानिसहरूले आजको दुनियाँमा खोजी गर्ने महत्त्वपूर्ण पक्ष भनेकै खुशी हो । जसका लागि विभिन्न आयामहरूले कार्य गरेको हुन्छ । न्यूनतम आधारभूत आवश्यकता पछिका पनि फरक फरक पक्षहरूले भूमिका खेलेको हुन्छ । तर खुशी बाहिर कसैबाट प्राप्त गर्ने विषय होइन । यो आफैँसँग रहेको मस्तिष्कभित्रका सकारात्मक रसायनहरू सक्रिय बनाउँदा प्राप्त हुने विषय हो ।

    तसर्थ योगले आफैँभित्र रहेको तिनै मस्तिष्क रसायनहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ र खुशी रहन सहयोग पुर्‍याउँछ जसका लागि पक्कै पनि पैसा लाग्दैन । योगले स्वास्थ्य रहन मद्दत गर्ने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, मानसिक अवस्थालाई शान्त बनाउने भएकाले यी विषयले खुशी हुन निश्चित रूपमा सहयोग गर्छन् ।

    तसर्थ योगले आफैँभित्र रहेको तिनै मस्तिष्क रसायनहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ र खुशी रहन सहयोग पुर्‍याउँछ जसका लागि पक्कै पनि पैसा लाग्दैन । योगले स्वास्थ्य रहन मद्दत गर्ने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, मानसिक अवस्थालाई शान्त बनाउने भएकाले यी विषयले खुशी हुन निश्चित रूपमा सहयोग गर्छन् ।

    आत्मविश्वास र सृजनशीलता बढाउँछ

    आफूसँग आत्मविश्वास नहुँदा जीवनमा ठूला अवसरबाट वञ्चित हुनुपर्नेदेखि सम्बन्ध टुट्नेसम्मका घटना हुन सक्छन् । रोचक कुरा भने आत्मविश्वास पनि धेरै हदसम्म आफैँभित्र निहित हुन्छ । जसलाई उजागर गर्न योग अभ्यासले कार्य गर्न सक्छ । त्यसका लागि शारीरिक गतिविधिका अभ्याससहित श्वासको अभ्यास प्राणायाम र ध्यान गर्न सकिन्छ ।

    त्यस्तै, योग अभ्यास तथा प्राणायाम र ध्यानले मस्तिष्कमा प्रचुर मात्रामा रक्तसञ्चार गराउँछ । जसले गर्दा पर्याप्त अक्सिजन प्रवाह भई मस्तिष्कलाई तरोताजा र सक्रिय बनाउँछ । मस्तिष्कको ऊर्जा चलायमान भएपछि रसायनहरू र न्यूरोनको सञ्जाल सक्रिय हुन्छ । यसरी मस्तिष्कका सम्पूर्ण आन्तरिक प्रणालीमा सकारात्मक परिवर्तन आउनुले मानिसको सृजनशीलतामा नाटकीय वृद्धि हुन थाल्छ ।
    जर्नल अफ कग्निटिभ इनहेन्समेन्टमा प्रकाशित कोउत्सुकी र सिआउत्सु (२०२१) को अनुसन्धानअनुसार योग अभ्यासले तनाव घटाएर र स्पष्टता बढाएर मानिसको ज्ञानको लचकता र सोचाइको विविधता सृजनशीलतालाई बढाउँछ ।

    एकाग्रता र स्मरण शक्ति बढाउँछ

    यस मामिलामा विशेष गरी विद्यार्थीहरूका लागि निकै लाभदायक सिद्ध हुन सक्छ योग । योगको नियमित अभ्यासले व्यक्तिको एकाग्र गर्ने क्षमतामा वृद्धि गर्छ जसले गर्दा विषयवस्तुमा केन्द्रित हुन सजिलो बनाउँछ । अनि जुन विषयमा एकत्रित हुन सकिन्छ त्यो याद गर्न पनि सहज हुन्छ । यसबारेमा पनि निकै अध्ययन भएका छन् । सन् २०१६ मा फ्रन्टियर्स इन साइकोलोजीमा प्रकाशित गोथेलगायतको एक अध्ययनले मस्तिष्कको सम्पूर्ण प्रक्रियालाई सकारात्मक ढंगले बढाएर मानिसको एकाग्र क्षमता र स्मरण शक्ति बढाउने उल्लेख छ ।

    त्यस्तै, इन्टरनेशनल जर्नल अफ योग थेरापीमा प्रकाशित रानी र यादव (२०२१) को अनुसन्धानका अनुसार योगले तनाव घटाएर, रिल्याक्सेसन प्रदान गरेर एकाग्रता र स्मरण शक्ति वृद्धि गर्न सहयोग गर्छ । अन्य थुप्रै अनुसन्धान छन् जसमा वृद्धहरूको स्मरण शक्तिमा समेत योग अभ्यासले सकारात्मक परिवर्तन ल्याएको छ ।

    मानसिक शान्ति र शारीरिक स्वस्थता कायम राख्छ

    अन्ततः योग अभ्यासले थकानलाई विश्राम दिँदै मानसिक शान्ति कायम गराउन भूमिका खेल्छ । यसमा विशेषतः सूक्ष्म व्यायामपछिका श्वासप्रश्वासको अभ्यासले महत्त्वपूर्ण योगदान दिन्छ । त्यस्तै, पेट दुख्ने, ढाड दुख्ने, सामान्य टाउको दुख्ने, नकारात्मक सोच आउने जस्ता जीवनका साधारण समस्याहरूमा योगले सामान्य रहन मद्दत गर्छ ।

    जब यस्ता ससाना पक्षहरूमा नियमित योग गर्नाले सकारात्मक भूमिका खेल्छ तब बेग्लै किसिमको मानसिक शान्ति प्राप्त हुन्छ । त्यस्तै, नियमितको अभ्यासले उच्च रक्तचाप, कोलेस्टेरोल, थाइराइड, ग्यास्ट्रिक जस्ता समस्या आउन नदिन समेत भूमिका खेल्छ ।

    योग गर्दा ध्यान दिनुपर्ने पक्षहरु:

    योग गर्दाका अनगिन्ती फाइदाहरू भए पनि यसका निश्चित विधिहरू हुने गर्छन् । त्यसैले आधिकारिक योग प्रशिक्षकबाट पूर्णरुपमा जानकारी लिएर मात्रै अभ्यास गर्नुपर्छ । अन्यथा उल्टै हानी समेत गर्न सक्छ । त्यसैले कम्तीमा निम्न पक्षलाई ध्यान राखेर योग गर्नुहोला:

    – पेट खाली गरेर तर एक दुई गिलास पानी पिएर योग गर्नुपर्छ ।

    – शारीरिकरुपमा सफा भएर सकेसम्म नुहाएर योग गर्नु श्रेयष्कर हुन्छ ।

    – योगासन र प्राणायाम खाली पेटमा गर्नु पर्छ तर निकै भोक लागेको अवस्था भए हल्का खानेकुरा लिन सकिन्छ ।

    – सामान्यरुपमा स्वस्थ हुनुहुन्छ भने आधिकारिक प्रशिक्षकबाट सिकेर जस्तै आसनहरू गर्न सकिन्छ ।

    – कुनै पनि किसिमको दीर्घरोग जस्तै उच्च रक्तचाप, मुटु रोग आदि छ भने प्रशिक्षकको निगरानीमा मात्रै गर्नुपर्छ ।

    – योग गर्दा बिस्तारै सूक्ष्म व्यायाम हुँदै कठिन आसनको अभ्यास गर्नुपर्छ ।

    – सकेसम्म सात्त्विक भोजन लिनु राम्रो मानिन्छ ।

    – अलिक खुकुलो किसिमको सहज कपडा लगाउने ।

    – स्वच्छ हावा पस्ने कोठा वा प्राकृतिक वातावरणमा गर्न उपयुक्त हुन्छ ।

    – आसनअनुसार नै श्वासको गतिलाई मिलाउने ।

    – प्रशिक्षकको निर्देशनबाहेक आफैँ श्वास नरोक्ने र नाकबाट मात्र श्वास लिने ।

    – धैर्य भएर अभ्यास गर्ने ।

    – योगासान पछि शवासन गरेर बिस्तारै प्राणायाम तथा ध्यानको अभ्यास गर्ने ।

  • पाँचखालका बिरामीलाई निःशुल्क रगत

    पाँचखालका बिरामीलाई निःशुल्क रगत

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ ।

    नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख मशेह खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गरेका हुन् । सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको हो ।

    यस्तै नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । निःशुल्क सेवाका लागि नगरले अग्रिम रु तीन लाख रक्त सञ्चार सेवालाई दिनुपर्ने छ । “यो सम्झौताले नगरवासीमा राहत पुग्ने विश्वास लिएका छौँ”, खरेलले भने ।

    नगर प्रमुख खरेलले कम्तीमा रु एक करोडको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको सुरुआतका लागि व्यक्तिगत रूपमा रु ५० हजार बीउपुँजीको व्यवस्था गरेका छन् । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न रु २५ हजार उपलब्ध गराउने बताएका छन् ।

  • रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

    रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

    रुपन्देही । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ ।

    आगामी माघ २२ देखि पहिलो चरणमा र दोस्रो चरण फागुन १ गते देखी सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।

    विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए ।

    उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाले पालिका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको ज्ञवालीको भनाई छ । यसपछि शिक्षक, पालिकाका स्रोत व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेको ज्ञवालीले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. बिबि राउतले समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनु पर्ने बताए । ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन आग्रह गरे ।

    नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ ।

    ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

  • आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

    आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“आगो ताप्ने, हिटर बाल्ने वा गिजर आदि उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुन सक्छ । कार्बन मोनोअक्साइड गन्ध, रङ्ग र स्वादरहित एक विषाक्त ग्यास हो, जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान पनि जान सक्दछ ।”

    यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । मन्त्रालयले हावा ओहोरदोहोर हुने स्थान वा कोठामा मात्र त्यस्ता उपकरण प्रयोग गर्न, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्नु र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउनसमेत अनुरोध गरेको छ । “सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न, गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्नुहुन मन्त्रालय अनुरोध गर्दछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यी उपकरणको प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा चल्ने आदि जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल ढोका खुला गरी हावा ओहोरदोहोर गराउन वा खुला ठाउँमा जान पनि अनुरोध गरिएको छ । लक्षणहरू कम नभएमा वा अझै खराब भएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन वा मन्त्रालयको ‘हेल्लो स्वास्थ्य कल सेन्टर १११५’ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

  • खोटाङ जिल्ला अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन

    खोटाङ जिल्ला अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन

    खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधा सम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो ।

    सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्ने गरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ ।

    पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माण सुरू गरिएको थियो । अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेशनको काम बाँकी नै छ ।

    अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा पुष्कल राईले बताए ।

    ‘अस्पतालमा दैनिक सयौंको सङ्ख्यामा बिरामी आउँछन् । कतिपय भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी हुन्छन्’, उनले भने, ‘भवन अभावमा साँघुरो टहरामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।’

    अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष (सुत्केरी गराउने ठाउँ), शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ । पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।

    अस्पताल भवन निर्माणमा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो । मङ्सिर २९ गतेभित्र सबै काम सक्नेगरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ ।

    विसं २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमार्फत भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा ५० शय्यामा स्तरोन्नति गर्नेगरी अस्पताल भवनको ठेक्का लगाइएको थियो ।

    गरेको कामको नियमित भुक्तानी नपाउँदा अस्पतालको भवन निर्माणको काम बेलामा सम्पन्न गर्न नसकिएको निर्माणस्थलमा खटिएका ठेकेदार कम्पनीका साइड इञ्जिनियर हरिशङ्कर बान्तोलाले बताए ।

    पहिलो तलामा ओपीडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स-रे कक्ष, फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको हुने सम्झौतामा उल्लेख छ । चार तले आरसीसी पक्की भवन दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने प्राविधिक इस्टिमेटमा उल्लेख छ ।

    ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि सामान्य किसिमका बिरामीलाई समेत बाहिरी जिल्ला लानुपर्ने बाध्यता रहेको जिल्लावासीले बताएका छन् । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार तथा भवन अभाव भएकै कारण अधिकांश बिरामीलाई बाहिर सुविधासम्पन्न अस्पताल ‘रेफर’ गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन् ।

    स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म स्तरोन्नति नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सेवा उपलब्ध गराउने गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ । विशेषगरी खोटाङमा जन्मिएर विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका हङकङ तथा बेलायतमा रहेका खोटाङेहरूले अस्पतालका लागि आवश्यक औजार उपलब्ध गराउँदै आएका छन् ।

  • इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

    इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ ।

    मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

    कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्थाहरु नवीकरणबीना सञ्चालनमा आएको उजुरी पछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरुलाई भनेका थिए ।
    जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

    मन्त्रालयले इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीले बताए ।

  • सामाजिक सुरक्षा कोष र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्योपचार सम्झौता

    सामाजिक सुरक्षा कोष र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्योपचार सम्झौता

    रुपन्देही । दाङबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार अब प्रतिष्ठानमा हुने गरी सम्झौता गरिएको बताए ।

    सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ । सोमबार काठमाडौंमा प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको उपचार प्रतिष्ठानबाट प्राप्त गर्ने गरी सम्झौता गरिएको हो ।

    दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजारभन्दा बढी व्यक्ति आवद्ध छन् । कोषमा आवद्ध व्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशैभरको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ । कोषमा वैदेशिक रोजगारमा गएका व्यक्तिहरु, विभिन्न बैंक तथा कम्पनी, सुरक्षा गार्ड कम्पनीमा आवद्ध सुरक्षा गार्ड तथा कर्मचारीहरु आवद्ध रहँदै आएका छन् ।

    यसअघि घोराहीको मितेरी हस्पिटलबाट उपचार हुँदै आएकोमा अब विशेषज्ञ सेवासहित प्रतिष्ठानबाट कोषमा आवद्ध भएका व्यक्तिहरुको उपचार हुने कोषले जनाएको छ । कोषमा आवद्ध व्यक्तिले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुने जनाइएको छ ।

    झण्डै ४ अर्ब बजेटको ४०० बेडको ईआईए पारित

    प्रतिष्ठानमा करिब ४ अर्बको ४०० बेडको टिचिङ अस्पताल निर्माण गर्न आवश्यक ईआईए वन तथा वातावरण मन्त्रालयबाट सोमबार स्वीकृत भएको छ । नेपाल उद्योग परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र रानाले अब केही दिनमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित हुने बताए ।

    प्रतिष्ठानले ईआईए प्रतिवेदनसहित प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेकाले अबको केही दिनमा बजेट सुनिश्चित भएपछि टेन्डर निकाल्ने काम सुरु हुने उनले बताए ।

    उनका अनुसार प्रक्रिया अघि बढेपछि भवन निर्माण सुरु हुनेछ ।

  • लुम्बिनी अस्पतालमा एमआरआईका लागि पुनः बोलपत्र, फेरि पनि रद्द भए आन्दोलितको चेतावनी

    लुम्बिनी अस्पतालमा एमआरआईका लागि पुनः बोलपत्र, फेरि पनि रद्द भए आन्दोलितको चेतावनी

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो ।

    यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा विलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले जोड दिएका छन् ।

    लुम्बिनी प्रदेशका पूर्वसामाजिक तथा स्वास्थ्यमन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरताकासाथ लिनु पर्नेमा जोड दिए ।

    अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिँदै उनले कुनै पनि आर्थिक चलखेल वा बहानामा जनताले दुःख पाउन नहुने उल्लेख गरे ।

    यसै गरी पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अबको टेन्डर प्रक्रियाबाट जसरी भए पनि एमआरआई मेशिन खरिद हुने उल्लेख गरेका छन् ।

    ‘कुनै पनि बहानामा मेशिन खरिद प्रक्रिया रोकिँदैन, यसमा प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा अस्पताल प्रशासन प्रतिबद्ध भैसकेका छन् ।’–श्रेष्ठले भने, अब कुनै पनि हालतमा टेन्डर प्रक्रिया रद्द हुँदैन यदि त्यसो भयो भने सबै कानूनी प्रक्रिया सार्वजनिक गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।’

    नेपाली काँग्रेसका रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरका मेयर रामकृष्ण खाँणले मेशिन खरिद प्रक्रियामा सप्लायर्स कम्पनीहरूले नै अनावश्यक चलखेल गर्दा समस्या भएको उल्लेख गरे ।

    टेन्डर प्रक्रिया फेरी पनि रद्द भयो भने जनताले अझ बढी समय दुःख पाउने बताउँदै उनले अस्पतालको क्षमता आवश्यक तथा पूँजीको आधारमा खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिए ।

    नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले मेशिन खरिद प्रक्रियालाई पारदर्शी गराएर अघि बढ्न पर्ने बताउँदै जनताको स्वास्थ्यसँग जोडिएको संवेदनशील कुरालाई अनावश्यक गिजोल्ने र ढिलासुस्ती गर्ने काम ठिक नभएको उल्लेख गरे ।

    पटक–पटक प्रक्रिया रद्द गर्ने र खुलाउने गर्दा स्वास्थ्य सेवामा गम्भीर लापरबाही हुने बताउँदै उनले कसैले प्रश्न नउठाउने गरी यस पटकको टेन्डर प्रक्रियाबाट मेशिन खरिद गर्ने कामलाई सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष नारायण जी.सी. (निर्मल) ले एमआरआई मेशिन खरिदका लागि गरिएको टेन्डर प्रक्रिया फेरी पनि रोकिएमा वा स्थगित भएमा जनतालाई आन्दोलित गराउने चेतावनी दिएका छन् ।

    ‘विभिन्न बहानाले मेशिन खरिद प्रक्रिया रोकिँदा सेवाग्राहीले सास्ती पाएका छन्,’ उनले भने, ‘अब पनि त्यस्तो भयो भने हामीले जनता उतार्छौ, आन्दोलन गर्छौँ ।’

    उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जी.सी.ले अब पनि टेन्डर प्रक्रिया रद्द हुने र मेशिन खरिदमा विलम्ब भएमा सार्वजनिक रूपमा खबरदारी गर्न बाध्य हुने उल्लेख गरे । ढिलासुस्तीले जनताको स्वास्थ्य सेवा पाउने अधिकारबाट वञ्चित भएको उल्लेख गर्दै कुनै पनि हालतमा मेशिन खरिद प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

    यसैगरी बुटवल उद्योग वाणिज्य संघका अध्यष हरिप्रसाद अर्यालले अस्पतालमा मेशिन ल्याउने कुरा धेरै लामो समयदेखि चर्चाको विषय भए पनि पूर्णता पाउन नसकेको गुनासो गर्दै छिटो टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

    यसलाई कुनै राजनीतिक स्वार्थको विषय नबनाई विधि र कानूनी प्रक्रिया पूरा गरी मेशिन खरिद गर्नुपर्ने बताए । समयमा मेशिन खरिद हुन नसक्दा जनताले महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको बताउँदै उनले सरकारी अस्पतालमै सेवा लिने वातावरण मिलाउनु पर्नेमा जोड दिए ।

    जसरी पनि एमआरआई ल्याउँछौँ : स्वास्थ्य मन्त्री सारु

    जसरी पनि एमआरई मेशिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति तथा अस्पताल प्रशासनको प्रतिबद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो ।

    अस्पतालमा एमआरआई मेशिन ल्याएर जनतालाई सहुलियत शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउन भएका प्रतिबद्धतालाई पूरा गर्न विगतमा देखा परेका कमजोरीहरूलाई सुधार गर्दै प्राप्त सुझाव तथा छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए ।

    मेशिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटिहरूलाई आवश्यक छलफल, विज्ञहरूको सुझाव, सार्वजनिक खरिद ऐनको अध्ययन तथा सरोकारवाला निकायहरूसँग छलफल गरी पुनः बोलपत्र आह्वान गरिएको बताउँदै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव वासुदेव उपाध्यायले पारदर्शी, प्रतिस्पर्धी र मितव्ययी हुने गरी नयाँ प्रक्रियामा खरिद प्रक्रियालाई अघि बढाइएको उल्लेख गरे ।

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले विगतमा एमआरई मेशिन खरिद प्रक्रियालाई अघि बढाउँदा विभिन्न बहानामा भएका अबरोध र त्रुटिहरूलाई सच्याएर अघि बढिएको दाबी गरे ।

    समयमा मेशिन खरिद गर्न नसक्दा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल विकास समिति प्रतिबद्ध रहेको उल्लेख गरे ।

    अस्पतालमा सेवाग्राहीको बढ्दो चापसँगै यहाँको सेवा बिस्तार, गुणस्तर सुधार तथा प्रविधिमैत्री सेवा बनाउनका लागि अस्पताल विकास समितिले पहल गरिरहेको उनले बताए ।

    विगत ४ वर्ष लामो समयदेखिको प्रयासमा पनि अस्पतालमा एमआरआई मेशिन ल्याउन नसक्नु दुःखद भएको बताउँदै अध्यक्ष श्रेष्ठले यसलाई सफल बनाउनका लागि यहाँका राजनीतिक दल, सामाजिक संघ-संस्था, मिडियाकर्मी तथा सरोकारवाला सम्बद्ध सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले एमआरआई मेशिन खरिद भएमा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६/१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भई आधा मूल्यमा सेवा प्रदान गर्न सकिने उल्लेख गरे ।

    यसै गरी अस्पतालमा सामाजिक सुरक्षा कार्यक्रमबाट सेवा लिन आउने बिरामी, लक्षित वर्ग, विपन्न तथा गरिब परिवारका लागि ठूलो राहत पुग्ने उल्लेख गरे ।

    मेशिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा समेत विज्ञहरूको सुझाव, सार्वजनिक खरिद ऐन, आपूर्तिकर्ता कम्पनीहरुको राय अनुसार स्पेसिफिकेशन तयार पारिएको भए पनि त्यसमा थप सुधार गर्दै सप्लायर्स कम्पनीहरूको अधिकतम सहभागिता रहने गरी खरिद प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी गराइएको जनाए ।

    खरिद कार्यलाई अझ पारदर्शी र प्रतिस्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूर्ण कागजात सहित आवश्यक राय सुझाव माग गरी प्राप्त निर्देशनको पालना गरिएको, राष्ट्रिय सतर्कता केन्द्रबाट समेत सुझाव माग गरिएको तथा सार्वजनिक खरिद ऐनलाई अक्षरशः पालना गरी नयाँ प्रक्रियालाई अघि बढाइएको उल्लेख गरे ।

    विगतमा समेत कुनै नियतवश नभै केही प्रविधि त्रुटि भएकाले यस पटक जसरी पनि मेशिन खरिद गर्ने उद्देश्यसाथ अघि बढिएको बताउँदै उनले सबैको सुझाव र सहयोगको अपेक्षा गरे ।

    अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर स्थापना गरी पुरानो थिएटरबाट अन्य सेवातर्फको शल्यक्रिया हुने व्यवस्था मिलाइएको, अनलाइन टिकेटिङ सेवा, अनलाइन भुक्तानी सेवा, टिकट काउन्टरको संख्या वृद्धि लगायतका विभिन्न योजनाकासाथ अघि बढेको उनले उल्लेख गरे ।

    लुम्बिनी प्रदेश मात्र नभई अन्य प्रदेशका जिल्लाहरूबाट समेत दैनिक हजारौँको संख्यामा सेवा लिन आउने अस्पतालमा उपकरण तथा प्रविधिले सम्पन्न हुन आवश्यक रहेको उनले बताए ।

    जनशक्तिको व्यवस्थापन तथा आवश्यक स्वास्थ्य उपकरण थप गरी सेवालाई गुणस्तर गराउन अस्पताल प्रशासन प्रतिबद्ध रहेको बताउँदै उनले यहाँका सबै सरोकारवाला निकायले सहयोगको अपेक्षा व्यक्त गरे ।

    लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रूपमा रहेको यस अस्पताललाई १२ सय सैय्यामा स्तर वृद्धिका लागि अन्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भइरहेको छ ।

    लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरू समेत गरी यहाँ १६ बढी जिल्लाका सेवाग्राही आउने गर्दछन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क रहेको छ ।

  • अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

    अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् ।

    नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए ।

    अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् ।

    यसका लागि डाक्टर दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय मिति गठन गरिएको छ । समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् ।

    यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

    समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

    नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरुको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।

    अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । केही समयअघि अटिजमका क्षेत्रमा कार्यरत विज्ञहरुसँगसमेत मन्त्री पौडेलले अन्र्तक्रिया गर्दै चाल्नुपर्ने कदमका बारेमा रायसुझाव संकलन गरेका थिए ।

     

  • नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

    नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

    काठमाडौं । नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

    काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरू उपलब्ध गराइएको अस्पतालका निर्देशक एवं कार्यक्रममा संयोजक डा कैलाशकुमार भण्डारीले बताए ।

    डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले सुकुम्बासी र निम्न वर्गका नागरिकका लागि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न शिविर सञ्चालन गरेको जानकारी दिए । उनले महिनामा दुईपटक शिविर सञ्चालन गर्ने जानकारी पनि दिए ।

  • अपराह्नदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

    अपराह्नदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

    प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ ।

    भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ ।

  • विदेशिएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री (भिडिओ)

    विदेशिएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री (भिडिओ)

    काठमाडौ‌ं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन्।

    आजदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

    “उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ”, मन्त्री पौडेलले भने, “यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।”

    मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उदेश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने“विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ ? फर्किएर नेपाल आउन के समस्या छ? उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो ? यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ ।”

    ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।

     

  • मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

    मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

    काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।

    उनले निजको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।

    साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।

  • स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

    काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ ।

    प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    ‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौँमा हुने ‘नेपाल हेल्थ कन्क्लेभ’मा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । यीमध्ये तीन सय जनाको भौतिक उपस्थिति र सात सयजना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

    यस सम्मेलनले प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीबीच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने मन्त्रालयको विश्वास छ । यस्तै, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने एवं दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको प्रवक्ता डा बुढाथोकीले बताए ।

    प्रवासी संलग्नताको विश्वव्यापी अभ्यास, ‘इ–हेल्थ’ र उन्नत स्वास्थ्य, नीतिगत संवाद र दीर्घकालीन संलग्नता तथा अनुसन्धान, शिक्षा र नवीनतालगायत यस सम्मेलनका प्रमुख विषयवस्तु हुनेछन् । यी विषयमा सामूहिक छलफल र अनुभव आदानप्रदान हुने बताइएको छ ।

    यस्तै, सम्मेलनले नेपाल मेडिकल प्रवासी संलग्नता रूपरेखा तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य प्रणाली सुदृढ गर्न नीतिगत सिफारिस प्रस्तुतिदेखि स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मी एवं जनस्वास्थ्यकर्मीबीच दीर्घकालीन सहकार्यका लागि रणनीति तयार गर्न सम्मेलनका निष्कर्षले थप सहज हुने अपेक्षा रहेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

  • चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

    चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

    काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ ।

    गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।

    वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताए ।

    “जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ”, उनले भने, “विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।”

    तुलाधारका अनुसार काठमाडौँ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । सर्वसाधरणहरुले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।

    “राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइडा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्”, तुलाधारले भने, “नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”

    सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ ।

    “जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ”, तुलाधारले भने, “ईँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।”

    वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा विहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताए ।

    जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

    मुटुरोगीलाई बढी असर

    मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउँछन् । “प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ”, उनले भने । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।

    उनका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्ने डा. शर्माको भनाइ छ । “चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ”, उनले भने ।

    जनस्वास्थ्यविद् डा समिर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात जस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिन्छन् ।

  • स्वास्थ्यमन्त्री पौडेलले गठन गरे जेनेरिक औषधि सुझाव समिति

    स्वास्थ्यमन्त्री पौडेलले गठन गरे जेनेरिक औषधि सुझाव समिति

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले कुनै पनि कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गर्न गराउन पहल थालेको छन् । यसका लागि सुझाव दिन स्वास्थ्यमन्त्री पौडेलले जेनेरिक औषधि सुझाव समिति गठन गरेका छन् ।

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा.डा. बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसियसनका प्रतिनिधि सदस्य छन् ।

    गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको मन्त्रालयले जनाएको छ ।

    समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधिको सिफारिस गर्नुपर्दा अनिवार्य रुपमा जेनेरिक नाम लेख्न सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ ।

    यसैगरी अन्य अस्पतालहरुमा जेनेरिक औषधिको नाम लेख्न गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत भनिएको छ ।

    समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझावसमेत दिनेछ । समितिबाट प्राप्त सुझावका आधारमा मन्त्री पौडेलले निर्णय गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिए ।

    ऐनमा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधिको सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्नेछ’ भन्न उल्लेख छ, तर कार्यान्वयनमा नआउँदा अहिले चिकित्सकहरुले औषधिको ब्राण्ड नाम लेख्ने र सोही नामका औषधि किन्नुपर्ने बाध्यता छ ।

    जेनेरिक औषधि सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएको प्रवक्ता बुढाथोकीले बताए ।

  • पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

    पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

    बलेवा । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ- भगवती टोल । टोलमा परम्परागत घर नै रहेका छन् । तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका । साथै टोलमा केही गर्भवती पनि रहेका छन् ।

    ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ । यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन् ।

    उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन । यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो । त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् । स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन् । पोषणयुक्त खाना खान्छन् । तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन् ।

    मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गरेकी छन् । “म आफैँले कहिले फर्सीको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु”, उनी भन्छिन्, “आमाले शिशुलाई खुवाउने विषयमा सिकुन् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन् ।”

    समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन् । हरेक महिना एक–दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन् । “यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समज बलियो हुन्छ”, उनले भनिन्, “धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु ।”

    चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताइन् । ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उनलाई प्रारम्भिक तालिम दिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन् । आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

  • सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

    सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

    काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ ।

    कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ ।

    विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा अध्ययन गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । कार्यदलले विज्ञ तथा सरोकार भएका निकायसँग छलफल गरेर कार्यविधि तयार पार्नेछ ।

    कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारी सदस्य छन् । आमनागरिकलाई सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउनका लागि प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

  • सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्यमन्त्री पौडेलको पहल

    सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्यमन्त्री पौडेलको पहल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन् ।

    नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा. टंक बराकोटी नेतृत्वको कार्यदल बनाएका छन् ।

    कार्यदललाई आम नागरिकलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारी सहितको प्रतिवेदन दिन भनिएको छ ।

    गत २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणको लागि स्वास्थ्य सेवा खुल्ला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।

    मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न भनेका छन् । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत सदस्य छन् ।

    आम नागरिकलाईसमेत सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाएको प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

  • आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

    आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

    काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।

    आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइए सरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको छ ।

    मन्त्री पौडेलले निर्वाह भत्तामा आवासीय चिकित्सकको असन्तुष्टि समाधान गर्न सुझाव दिन कार्यदल गठन गरेका थिए ।

    मन्त्रालय तथा चिकित्सा क्षेत्रका उच्च अधिकारी संलग्न कार्यदलले दिएको प्रतिवेदनमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने चिकित्सकको निर्वाह भत्ताको विषय कार्यान्वयनका लागि कार्ययोजना तयार गरी अविलम्ब लागु गर्न मनासिव हुने पनि राय दिएको छ ।

    २०८२ वैशाख १ गतेदेखि प्रारम्भ हुने भएकोले क्यालेण्डरको परिपालना हुने गरी २०८१ मंसिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौ बैठकमा छलफल भएका आधारमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनका लागि सेल्फ अप्राइजल फाराम भरेका निजी लगानीमा सञ्चालित शिक्षण संस्था लगायतका सबै शिक्षण संस्थाहरूको स्थलगत अनुगमन, सिट निर्धारण तथा विद्यार्थी भर्नाको समग्र प्रक्रिया अविलम्ब सुचारू गर्न मनासिव हुने प्रतिवेदन पनि कार्यदलले दिएको छ ।

    चिकित्सा शिक्षाका विभिन्न तह र विधाका शैक्षिक कार्यक्रममा लिइने शुल्कका सम्बन्धमा आयोगबाट कार्यविधि तर्जुमा भइनसकेको अवस्थामा शुल्क निर्धारण सम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न शुल्क निर्धारणको आधारहरू सिफारिस गर्ने समेतको कार्यदिश तोकी चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

    कार्यदलले आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी विषय शुल्कसँग समेत अन्तरसम्बन्धित भएकाले चिकित्सा शिक्षा आयोगद्वारा गठित कार्यदललाई नै शुल्क निर्धारण सम्बन्धी कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयन गर्न पनि सुझाव दिएको छ ।

    कार्यदलले चिकित्सा शिक्षाको गुणस्तर तथा पहुँच अभिवृद्धि, एकीकृत प्रवेश परीक्षाको सुदृढीकरण, छात्रवृत्तिको व्यवस्था, विद्यार्थीको थप सेवा सुविधा, कार्यअवधि र सहुलियत, विदेशी विद्यार्थीहरूको सिट निर्धारण तथा विद्यमान कानून समयसापेक्ष बनाउन राय सुझावसहितको प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्नसमेत सुझाव दिएको छ ।

    प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले कार्यदलको सुझाव कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।